सत्यता कसरी पछ्याउने (१८)
हालै हाम्रो सङ्गतिको विषयवस्तु निकै विशेष रहेको छ। यसले मानिसहरूको उत्पत्ति, तिनीहरूका सार, र तिनीहरूका वर्गीकरण समावेश छन्। हामीले तीन प्रकारका मानिसहरूका प्रकटीकरणहरूबारे छलफल गरेका छौँ, जसमध्ये हरेकको भिन्नाभिन्नै वर्गीकरण छ—पशुहरूबाट पुनर्जन्म भएका, दियाबलसहरूबाट पुनर्जन्म भएका, र मानिसहरूबाट पुनर्जन्म भएका। धेरैजसो मानिसहरूका हकमा, यसले तिनीहरूको मुडमा केही प्रभाव पारेको छ। यस पक्षको सङ्गति सुनेपछि तिमीहरूमध्ये धेरैजसोलाई कस्तो महसुस हुन्छ? के तिमीहरूमध्ये कोही यस्ता छन् जो यो विषयवस्तु सुन्न इच्छुक छैनन् र जसले यसो भन्छन्, “यी मामिलाहरू सत्यतासँग सम्बन्धित छन् जस्तो देखिँदैनन्। यी कुराहरूबारे थाहा पाउनुका कुनै उपयोगिता छ र?” जब नयाँ विश्वासीहरूले यी वचनहरू सुन्छन्, तब के तिनीहरूले धारणाहरू विकास गर्ने सम्भावना हुन्छ? के तिनीहरू नकारात्मक र कमजोर बन्ने सम्भावना हुन्छ? मानिसहरूले यी वचनहरू सुनेपछि जस्तो महसुस गरे पनि—तिनीहरूले धारणाहरू विकास गरे पनि वा तिनीहरू नकारात्मक र कमजोर बने पनि—जेसुकै भए पनि, यी वचनहरूबारे सङ्गति गर्नु मानिसहरूका लागि लाभदायक हुन्छ। यसले कम्तीमा पनि मानिसहरूलाई केही अन्तर्ज्ञान र सुझबुझ प्राप्त गर्न, आफूलाई आचरणमा ढाल्नका लागि सही विचार र दृष्टिकोणहरू बुझ्न, र आफूलाई आचरणमा ढाल्ने आधारभूत सिद्धान्तहरू बुझ्न सक्षम तुल्याउँछ। यसले मानिसहरूलाई आफूलाई कसरी आचरणमा ढाल्ने र कसरी जिउने भन्ने सन्दर्भमा निकै लाभ दिन्छ। खास गरी, यसले मानिसहरूलाई सिद्धान्तहरूअनुसार अरूलाई कसरी व्यवहार गर्ने भनी जान्न मद्दत गर्छ। यसरी, तिनीहरूले धेरै मूर्खतापूर्ण कामहरू गर्ने कार्यलाई कम गर्न र घुमाउरा बाटाहरू हिँड्न कम गर्न सक्नेछन्। हालै हाम्रो सङ्गतिको विषयवस्तु मानिसहरूको उत्पत्ति र तिनीहरूको भित्री सारसँग सम्बन्धित छ, र हामीले साँचो मानिसहरूबाट पुनर्जन्म भएकाहरूसँग हुने प्रकटीकरणहरूबारे कुरा गरेर समापन गऱ्यौँ। साँचो मानिसहरूबाट पुनर्जन्म भएकाहरूसँग मुख्यतया दुई वटा विशेषताहरू हुन्छन्। ती के-के हुन्? (सही र गलतलाई खुट्ट्याउनु, र ठीक के हो र बेठीक के हो भनी जान्नु।) यी कुराहरू व्यक्तिको मानवतामा हुनुपर्ने दुई प्राथमिक प्रकटीकरण र विशेषताहरू हुन्। मोटामोटी रूपमा भन्दा, ती कुराहरू हामीले प्रायः भन्ने गरेका विवेक र समझ हुन्। तर, मानिसहरूलाई प्रायजसो कसैमा विवेक र समझ छ कि छैन, वा कुनै व्यक्तिमा साँच्चै तीमध्ये कुनै एक छ कि छैन, उसको विवेक र समझ सामान्य छ कि छैन, वा ती सामान्य मानवतामा हुने विवेक र समझ हुन् कि होइनन् भनी कसरी खुट्ट्याउने भन्ने थाहा हुँदैन। जब मानिसहरूले सामान्य मानवतासम्बन्धी यी तथ्यहरू बुझ्दैनन्, तब विवेक र समझसम्बन्धी तिनीहरूका दृष्टिकोण वा बुझाइ सबै निकै साधारण हुन्छन्, त्यसैले हामीले मानव विवेक र समझ के हुन् भनी व्याख्या गर्न र कुनै व्यक्तिमा मानवता छ कि छैन भनी पुष्टि गर्नका लागि विशेष प्रकटीकरणहरूका दुई पक्षहरू प्रयोग गर्यौँ। पहिलो सही र गलतलाई खुट्ट्याउनु हो, र दोस्रो ठीक के हो र बेठीक के हो भनी जान्नु हो। हामीले यी दुई पक्षहरूबारे पहिले नै दुई पटक सङ्गति गरिसकेका छौँ। सही र गलतलाई खुट्ट्याउनु र ठीक के हो र बेठीक के हो भनी जान्नु मानवताका गुणहरू, मानवताका जिइएका पक्षहरू, र मानिसहरूसँग हुने मानवताका निर्दिष्ट प्रकाश र प्रकटीकरणहरू हुन्। यी दुई पक्षहरूका हकमा—सही र गलतलाई खुट्ट्याउनु र ठीक के हो र बेठीक के हो भनी जान्नुका हकमा—मैले सोही अनुरूप केही वास्तविक उदाहरणहरू सूचीबद्ध गरेँ र यी दुई पक्षहरूभित्र पर्ने मानिसहरूका केही निर्दिष्ट प्रकटीकरणहरूबारे छलफल गरेँ, र तिमीहरूलाई ती मानवता हुनुका प्रकटीकरणहरू हुन् कि होइनन्, र ती प्रकटीकरण भएका मानिसहरू सही र गलतलाई खुट्ट्याउन र ठीक के हो र बेठीक के हो भनी जान्न सक्ने मानिसहरू हुन् कि होइनन् भनी खुट्ट्याउन लगाएँ। सही र गलतलाई खुट्ट्याउने सन्दर्भमा भन्दा, हामीले मानिसहरूले सकारात्मक र नकारात्मक कुराहरूलाई कसरी व्यवहार गर्छन् भनी चिरफार गर्न केही मामिलाहरूबारे सङ्गति गर्यौँ, र हामीले नकारात्मक कुराहरू र गैर-मानवीय प्रकटीकरणहरूलाई कसरी खुट्ट्याउने भनेर पनि सङ्गति गर्यौँ। मैले तिमीहरूलाई सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनी बताउन थप निर्दिष्ट उदाहरणहरू नदिए पनि, आफ्नो दैनिक जीवनमा सकारात्मक कुराहरूप्रति मानिसहरूका केही प्रकटीकरणहरूलाई चिरफार र खुलासा गरेर, मैले सकारात्मक कुराहरूलाई कसरी व्यवहार गर्नुपर्छ र तीप्रति कस्तो मनोवृत्ति हुनुपर्छ भन्ने देखाएँ। मैले नकारात्मक कुराहरूप्रति मानिसहरूका मनोवृत्ति र प्रकटीकरणहरू खुलासा गर्न केही उदाहरणहरू पनि दिएँ, ताकि तिमीहरूले यी नकारात्मक चरित्रहरूका मनोवृत्ति र प्रकटीकरणहरूको प्रकृति के हो, तिनीहरूको मानवता साँचो मानवता हो कि होइन, र तिनीहरूको मानवताको सार के हो भनी खुट्ट्याउन सिक्न सक। हाम्रा पछिल्ला दुई सङ्गतिहरूमा, हामीले सकारात्मक र नकारात्मक कुराहरू के हुन् भनी तोकेर नै व्याख्या गरेनौँ, तर खुलासा गरिएका तथ्यहरू मूल्याङ्कन गर्दा, के अब तिमीहरूले सकारात्मक र नकारात्मक कुराहरूलाई परिभाषित गर्न सक्नुपर्दैन र? सङ्गति सुनिसकेपछि, के तिमीहरूले सकारात्मक र नकारात्मक कुराहरू ठ्याक्कै के हुन् भनी सारांश निकालेका छौ त? यदि, सङ्गतिको यो निर्दिष्ट विषयवस्तु सुनिसकेपछि, तेरो हृदयमा एउटा परिभाषा छ भने, तैँले सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनी जानेको छस् भने, र यस सन्दर्भमा सत्यता बुझ्छस् भने, तैँले सकारात्मक र नकारात्मक कुराहरूलाई कसरी खुट्ट्याउने र व्यवहार गर्ने भनी जान्नेछस्, होइन र? (हो।)
सकारात्मक कुराहरू के-के हुन्? के यो बुझ्नुपर्ने विषय होइन र? सायद तिमीहरूले सकारात्मक कुराहरूका केही उदाहरणहरू दिन सक्छौ, जस्तै परमेश्वरको धर्मी स्वभाव, परमेश्वरको प्रेमिलो स्वभाव, परमेश्वरको काम, मानिसका लागि परमेश्वरका अभिप्रायहरू, परमेश्वरले मानिसबाट गर्नुहुने मागहरू, साथै परमेश्वरले मानवजातिलाई व्यक्त गर्नुभएका सबै सत्यताहरू, सत्यताभित्र समावेश हरेक विस्तृत र निर्दिष्ट सत्यता सिद्धान्त—यी सबै सकारात्मक कुराहरू हुन्। तिमीहरूले सकारात्मक कुराहरूका केही निर्दिष्ट उदाहरणहरू दिन सक्छौ, त्यसोभए के तिमीहरूले नकारात्मक कुराहरूका केही निर्दिष्ट उदाहरणहरू दिन सक्छौ त? के परम्परागत संस्कृति नकारात्मक कुरा हो? (हो।) के दुष्ट प्रचलनहरू नकारात्मक कुराहरू हुन्? (हुन्।) के पदाधिकारी पदको जागिर पछ्याउनु नकारात्मक कुरा हो? (हो।) के धेरै धनसम्पत्तिको पछ्याउनु नकारात्मक कुरा हो? (हो।) यी सबै नकारात्मक कुराहरू हुन्। अरू के छन्? (मैले सोच्न सक्ने यति नै हो।) तिमीहरूले आफ्नो हृदयमा यी कुराहरू कहिल्यै मनन गर्दैनौ; तिमीहरूले सधैँ अन्यत्रै ध्यान दिइरहेका हुन्छौ। तैपनि, तिमीहरूले सामान्यतया परमेश्वरमा विश्वास गरेपछि र धेरै वर्षसम्म आफ्नो कर्तव्य पूरा गरेपछि, परमेश्वरका धेरै वचनहरू खाएपछि र पिएपछि, धेरै सत्यता बुझेका छौ भन्ने महसुस गर्छौ। त्यसोभए, जब निर्दिष्ट मामिलाहरूको कुरा आउँछ, तब तँसँग कुनै दृष्टिकोण किन हुँदैन? तैँले बुझेका सबै कुरा कहाँ गएका छन्? यदि तँलाई मानिसहरूले नकारात्मक कुराहरू खुट्ट्याउने मात्रै होइन तर त्यसमा समावेश सकारात्मक कुराहरू र सत्यता सिद्धान्तहरू के हुन् भनी पनि जानून् भनेर, कुनै विषयको सारलाई विश्लेषण गर्न र त्यसको सारलाई स्पष्ट रूपमा व्याख्या गर्नका लागि तैँले बुझेका सत्यताहरू प्रयोग गर्न भनियो, र यसरी तिनीहरूलाई त्यसमा समावेश भएका सत्यताहरू र परमेश्वरका अभिप्रायहरू बुझ्न मद्दत गर्न भनियो भने, तँ केही पनि बोल्दैनस्, के भन्ने भनी जान्दैनस्। के यो सत्यता नबुझ्नुको प्रकटीकरण होइन र? (हो।) त्यसोभए तैँले सामान्यतया कुरा गर्ने ती सबै बुझाइहरू के हुन् त? (शब्द र धर्मसिद्धान्तहरू।) ती सबै शब्द र धर्मसिद्धान्तहरू हुन्। कतिपय मानिसहरूले, आत्मिक भक्तिका टिप्पणीहरू लेख्दा, तिनीहरूका विचारहरू मूल फुटेझैँ गरी बगेको पाउँछन्, र तिनीहरूले ईश्वरीय रूपमा निर्देशित भएझैँ गरी लेख्छन्; तिनीहरूले अत्यधिक संरचित तरिकामा लेख्छन्, र आफूलाई यस्तो हदसम्म उत्प्रेरित गर्छन् कि तिनीहरूका आँखा रसाउँछन् र आँसु झरझर बग्छ। तर, जब तिनीहरूलाई विभिन्न मानिसहरू खुट्ट्याउन, विभिन्न कुराहरू छर्लङ्गै देख्न, र विभिन्न समस्याहरू समाधान गर्न आफूले लेखेका कुराहरूलाई वास्तविक जीवनमा लागू गर्नू भनिन्छ, तब तिनीहरू त्यसो गर्न असक्षम हुन्छन्। तिनीहरूले धेरै धर्मसिद्धान्तहरू बुझ्छन्, तर तिनीहरूले सत्यता भने बुझ्दैनन्। फलस्वरूप, तिनीहरूले सामना गर्ने कुनै पनि मामिला छर्लङ्गै देख्न सक्दैनन्, र तिनीहरूले पत्ता लगाउने कुनै पनि समस्या समाधान गर्न सक्दैनन्। तिनीहरूले यति धेरै धर्मसिद्धान्तहरू बुझ्नुको के काम हुन्छ र? सत्यता नबुझ्ने मानिसहरू कति दयनीय हुन्छन्! ती अहङ्कारी र आत्म-धर्मी मानिसहरूले धेरै धर्मसिद्धान्तहरू बुझ्छन् तैपनि कुनै वास्तविक समस्या समाधान गर्न सक्दैनन्। यो कति दयनीय कुरा हो। विषयमा फर्कौँ, हामी सकारात्मक कुराहरू के हुन् भन्ने हाम्रो सङ्गति जारी राखौँ। सत्यताको यो पक्ष स्पष्ट पारिनुपर्छ। यदि हामीले साधारण अभिव्यक्ति बनायौँ र “परमेश्वरबाट आउने सबै कुरा सकारात्मक कुरा हो” भन्यौँ भने, के यी शब्दहरू सही हुन्छन्? (हुन्छन्।) “परमेश्वरबाट आउने सबै कुरा सकारात्मक कुरा हो” भन्ने एउटा सत्यता हो, तर यदि तैँले यो अभिव्यक्तिले निर्दिष्ट रूपमा केलाई जनाउँछ वा यसभित्रको सत्यताले केलाई जनाउँछ भनी बुझ्दैनस् भने, तैँले बुझेको कुरा धर्मसिद्धान्त हो। यदि तँसँग धेरै मामिलाहरूका हकमा यो अभिव्यक्तिको अनुभूति र साँचो बुझाइ छ, र तैँले आफ्नो दृष्टिकोणलाई प्रमाणित गर्न केही विवरणहरू पनि बताउन सक्छस् भने, तेरो दृष्टिकोणको आधार परमेश्वरका वचनहरू नै हुन्छन्, र यसले तैँले केही सत्यता बुझेको छस् भन्ने प्रमाणित गर्छ। धेरै मानिसहरूले भन्छन्, “परमेश्वरबाट आउने सबै कुरा सकारात्मक कुरा हो।” सैद्धान्तिक रूपमा, यो अभिव्यक्ति सही छ, र यो सत्यताको एउटा पक्ष पनि हो। त्यसोभए, निर्दिष्ट रूपमा भन्दा, सकारात्मक कुराहरू के हुन्? “परमेश्वरबाट आउने सबै कुरा सकारात्मक कुरा हो” भन्ने कुराको निर्दिष्ट व्याख्या हुनुपर्छ। त्यसोभए, कुन-कुन कुराहरू सकारात्मक कुराहरू हुन्? परमेश्वरबाट आउने सबै कुरा सकारात्मक कुरा हो: परमेश्वरले सृष्टि गर्नुभएका, परमेश्वरले नियोजन गर्नुभएका, वा परमेश्वरको सार्वभौमिकताअन्तर्गतका सबै कुराहरू सकारात्मक कुराहरू हुन्। के यो व्याख्या सही छ? के यसले यस कुरालाई निर्दिष्ट बनाउँछ? (बनाउँछ।) यसरी, “परमेश्वरबाट आउने सबै कुरा सकारात्मक कुरा हो” भन्ने अभिव्यक्ति सैद्धान्तिक स्तरमा मात्रै रहँदैन, तर एउटा सत्यता सिद्धान्त बन्छ। यसरी भन्दा के यो कुरा स्पष्ट हुन्छ? (हुन्छ।) त्यसोभए सकारात्मक कुराहरूलाई परिभाषित गर्ने यो वाक्य पढ। (परमेश्वरले सृष्टि गर्नुभएका, परमेश्वरले नियोजन गर्नुभएका, वा परमेश्वरको सार्वभौमिकताअन्तर्गतका सबै कुराहरू सकारात्मक कुराहरू हुन्।) यो वाक्य पढेपछि तिमीहरूलाई कस्तो महसुस हुन्छ? के तिमीहरूको हृदयमा सकारात्मक कुराहरूको परिभाषा वा दायरा स्पष्ट हुन थालेको छ? (छ।) त्यसोभए फेरि पढ। (परमेश्वरले सृष्टि गर्नुभएका, परमेश्वरले नियोजन गर्नुभएका, वा परमेश्वरको सार्वभौमिकताअन्तर्गतका सबै कुराहरू सकारात्मक कुराहरू हुन्।) जब तिमीहरूले सत्यताका वचनहरू पढ्छौ, तब तिमीहरूले तिनलाई बिस्तारै पढ्न र होसियारीसाथ तिनको स्वाद लिन सिक्नुपर्छ। तिमीहरूले तिनलाई सन्तुलित तरिकाले पढ्न सिक्नुपर्छ, तिनलाई बुझ्न सकिने गतिमा गम्भीरता र श्रद्धापूर्वक पढ्नुपर्छ, ताकि सबैले सुनिसकेपछि, हरेक शब्द र वाक्य तिनीहरूको हृदयमा कुँदियोस् र त्यसले गहिरो छाप छोडोस्, र त्यसउप्रान्त, यो अभिव्यक्ति तिनीहरूले भित्री रूपमा कुनै निश्चित प्रकारको कुरालाई मापन गर्ने परमेश्वरका वचनहरूको आधार र मापदण्ड बन्छ। त्यो कति राम्रो हुनेथियो। फेरि पढ। (परमेश्वरले सृष्टि गर्नुभएका, परमेश्वरले नियोजन गर्नुभएका, वा परमेश्वरको सार्वभौमिकताअन्तर्गतका सबै कुराहरू सकारात्मक कुराहरू हुन्।) त्यो अझै पनि अलि छिटो भयो। मलाई भन, परमेश्वरका वचनहरू पढ्दा, के तिमीहरू गम्भीर, र भक्तिपूर्ण पनि हुनु पर्दैन र? (पर्छ।) यदि तिमीहरूले परमेश्वरका वचनहरूलाई गैरविश्वासीको लेखलाई जस्तै हल्का र छिटो पढ्यौ भने, श्रोताहरूलाई कस्तो महसुस हुनेछ? (तिनीहरूले कुनै भक्ति महसुस गर्नेछैनन्।) त्यसोभए, परमेश्वरका वचनहरूलाई भक्तिपूर्वक पढ्नका लागि, तिमीहरूले तिनलाई कसरी पढ्नुपर्छ? गति कस्तो हुनुपर्छ? (हामीले तिनलाई गम्भीरता र इमानदारीसाथ, शब्द-शब्द गरेर, गुञ्जायमान र शक्तिशाली शैलीमा पढ्नुपर्छ।) सही कुरा। त्यसोभए फेरि पढ, र यसलाई गुञ्जायमान र शक्तिशाली बनाउने प्रयास गर। (परमेश्वरले सृष्टि गर्नुभएका, परमेश्वरले नियोजन गर्नुभएका, वा परमेश्वरको सार्वभौमिकताअन्तर्गतका सबै कुराहरू सकारात्मक कुराहरू हुन्।) अब यो वाक्य केही पटक पढिसकिएको हुनाले, तिमीहरूले यसलाई कण्ठ गरिसकेको हुनुपर्छ, होइन र? (हो।) यो वाक्यले तीन वटा कुराहरूलाई जोड दिन्छ। पहिलो के हो? (परमेश्वरले सृष्टि गर्नुभएको कुरा।) दोस्रो के हो? (परमेश्वरले नियोजन गर्नुभएको कुरा।) अनि तेस्रो के हो? (परमेश्वरको सार्वभौमिकताअन्तर्गतका कुरा।) अनि यी सबै कुराहरू के हुन्? (ती सबै सकारात्मक कुराहरू हुन्।) तिमीहरूले यो कण्ठ गर्यौ, होइन र? (हो।) सत्यतालाई कण्ठ गर्नु र त्यसलाई आफ्नो हृदयमा कुँद्नु, सबै सत्यता सिद्धान्तहरू बुझ्नका लागि, सबै प्रकारका मानिस, घटना र कामकुराहरूलाई खुट्ट्याउनका लागि, र तिनीहरूप्रति सही अडान र दृष्टिकोण राख्नका लागि, र सही मार्ग रोज्न, र परमेश्वरलाई सन्तुष्ट पार्नका खातिर सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्षम हुनका लागि अत्यन्तै लाभदायक हुन्छ।
हामीले भर्खरै सकारात्मक कुराहरू के हुन् भन्ने बारेमा कुरा गर्यौँ। परमेश्वरले सृष्टि गर्नुभएका, परमेश्वरले नियोजन गर्नुभएका, वा परमेश्वरको सार्वभौमिकताअन्तर्गतको दायरामा रहेका सबै कामकुरा र घटनाहरू सकारात्मक कुराहरू हुन्। त्यस अवस्थामा, सकारात्मक कुराहरू धेरै सङ्ख्यामा छन्। पहिलो, परमेश्वरले सृष्टि गर्नुभएका सबै प्रकारका जीवित र निर्जीव थोकहरू सकारात्मक कुराहरू हुन्। जीवित थोकहरू जीवनका रूपहरू हुन् जो चलमल गर्न सक्षम हुन्छन्, जसले सास फेर्न सक्छन्, र जसमा जीवन्तता हुन्छ। तिनीहरूको जीवन संरचना जस्तोसुकै भए पनि, वा तिनीहरूको जीवनका नियम र विधानहरू जेसुकै भए पनि, तिनीहरू परमेश्वरद्वारा सृष्टि गरिएका भएसम्म, तिनीहरू परमेश्वरबाट आएसम्म, ती सकारात्मक कुराहरू हुन्। तँलाई ती मन नपरे पनि, ती तेरा धारणाहरूअनुसार नभए पनि, र ती मानिसहरूका लागि कुनै फाइदाका नभए पनि वा तिनले हानि समेत पुऱ्याउन सक्ने भए पनि, ती परमेश्वरद्वारा बनाइएका र उहाँद्वारा नियोजन गरिएका भएसम्म, ती सकारात्मक कुराहरू हुन्। तर कतिपय मानिसहरूसँग यसबारे धारणाहरू हुन्छन्। तिनीहरू खराब जनावरहरू अनि मानिसहरूलाई हानि पुऱ्याउन सक्ने जनावरहरू—जस्तै फ्याउरा, ब्वाँसा, वा नरभक्षी जङ्गली जनावरहरू—सकारात्मक कुरा होइनन् बरु नकारात्मक कुरा हुन् भन्ने विश्वास गर्छन्। यो दृष्टिकोण परमेश्वरका चाहनाहरूको विरुद्धमा जान्छ र यो पूर्ण रूपमा र सरासर गलत हो। वास्तवमा, परमेश्वरले सृष्टि गर्नुभएको जेसुकै कुरा, जबसम्म उहाँले त्यसलाई दोषी ठहराउनुहुन्न, त्यो सकारात्मक कुरा नै हुन्छ। मानिसहरूले त्यसविरुद्ध भेदभाव गर्नु हुँदैन, र तिनीहरूले त्यसलाई घृणित ठान्ने हुनाले त्यसलाई दोषी ठहराउने र मार्ने वा त्यसलाई तह लगाउन कुनै अन्य क्रूर माध्यमहरू अपनाउने गर्नु हुँदैन। मानिसहरूले त्यसलाई प्राकृतिक रूपमा चल्न दिनुपर्छ। तैँले त्यसलाई सुरक्षा नदिए पनि, तैँले अझै पनि त्यसलाई बाँच्नका लागि ठाउँ छोड्नुपर्छ, र तैँले त्यसलाई हानि गर्नु हुँदैन, किनभने त्यो परमेश्वरबाट आएको हो। परमेश्वरले बनाउनुभएका सबै प्रकारका विभिन्न प्राणीहरूप्रति मानिसहरूले राख्नुपर्ने मनोवृत्ति यही हो। कुनै कुरा परमेश्वरद्वारा सृष्टि गरिएको हो भने, तैँले त्यसलाई मन पराए पनि नपराए पनि, त्यो सुन्दर भए पनि वा कुरूप भए पनि, त्यो तँप्रति मित्रवत् भए पनि वा यसले खतरा उत्पन्न गरे पनि, त्यो नाङ्गो आँखाले देख्न नसकिने भए पनि वा तैँले त्यसलाई देख्न सके पनि, त्यसले तेरो जीवनमा प्रभाव पारे पनि, वा मानव अस्तित्वसँग त्यसको जे सम्बन्ध भए पनि, तैँले त्यसलाई र त्यस्ता सबै कुराहरूलाई समान ठान्नुपर्छ, तिनीहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्नुपर्छ, र तिनीहरूलाई आदर गर्नुपर्छ; तिनीहरूलाई बाँच्नका लागि ठाउँ दिनुपर्छ, तिनीहरूका बाँच्ने तरिकाहरू र तिनीहरूका बाँच्ने नियमहरूलाई आदर गर्नुपर्छ, र तिनीहरूका सबै गतिविधिहरूलाई पनि आदर गर्नुपर्छ। तैँले तिनीहरूलाई हानि गर्नु हुँदैन। कम्तीमा पनि, तँ यी प्राणीहरूसँग सहअस्तित्वमा रहन सक्षम हुनुपर्छ, र तिमीहरूले एक-अर्कालाई हस्तक्षेप गर्नु हुँदैन। यो मानिसहरूले बुझ्नुपर्ने र बोध गर्नुपर्ने कुरा हो, र यो, अवश्य पनि, विभिन्न प्राणीहरूलाई कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा पालन गरिनुपर्ने सिद्धान्त त अझ बढी हो; व्यक्तिले तिनीहरूसँग मानव इच्छाबाट आउने धारणाहरू वा उग्रताका साथ पटक्कै व्यवहार गर्नु हुँदैन। परमेश्वरले सृष्टि गर्नुभएका सबै कुराहरूसँग सम्बन्धित मामिलाहरूमा हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ।
सकारात्मक कुराहरूको परिभाषासम्बन्धी अर्को पक्ष परमेश्वरले नियोजन गर्नुभएको कुरासँग सम्बन्धित छ, र परमेश्वरले नियोजन गर्नुभएको कुराको दायरा निकै ठूलो छ। मोटामोटी रूपमा भन्दा, उदाहरणका लागि, विभिन्न जीवित थोकहरूको आयु, रूप, जन्मजात प्रकृति, र जीनहरू, साथै तिनीहरूका बाँच्ने तरिकाहरू, तिनीहरूका गतिविधिका ढाँचाहरू, तिनीहरूका आहारा जुटाउने र प्रजनन गर्ने विधिहरू, र चार ऋतुहरूमा अनुकूलन हुनका लागि तिनीहरूले अपनाउने जीवन शैलीहरू, जसमा तिनीहरूका बसाइँसराइका दिशाहरू र गतिविधि दायराहरू समावेश हुन्छन्; यसका साथै, चार ऋतुहरू, पहाड, नदी, र तालहरूका स्थानहरू, र पृथ्वीमा परमेश्वरले नियोजन गर्नुभएका विभिन्न जीवित वा निर्जीव थोकहरूको अस्तित्वका रूपहरू, र यस्तै अन्य कुराहरू—मानिसहरूले यस दायराभित्र पर्ने यी कुराहरूलाई पनि आदर गर्नुपर्छ, तिनीहरूलाई बाँच्नका लागि ठाउँ दिनुपर्छ, र तिनीहरूलाई उन्मूलन गर्न, हस्तक्षेप गर्न, वा क्षति पुऱ्याउन मानव इच्छा वा कृत्रिम माध्यमहरू प्रयोग गर्नु हुँदैन। उदाहरणका लागि, बाघहरू शाकाहारी जनावरहरू खानका लागि जन्मेका हुन्; जेब्रा, मृग, जरायो, र केही साना जनावरहरू सबै बाघका सिकार हुन्। यो कुनै प्राणीको आहारा जुटाउने तरिका हो, र उसले त्यसो गर्ने दायरा हो; यो उसको बाँच्ने नियम हो। त्यसोभए, यो बाँच्ने नियममा के समावेश हुन्छ? यसमा परमेश्वरको नियोजन समावेश हुन्छ। यो परमेश्वरद्वारा नियोजित भएकोले, मानिसहरूले यसलाई धारणागत दृष्टिकोणबाट जसरी हेरे पनि—तिनीहरूले यसलाई अद्भुत देखे पनि, वा रक्तपातपूर्ण र क्रूर देखे पनि—यो निश्चय नै सकारात्मक कुरा हो। यो पूर्ण रूपमा निश्चित छ, र तैँले यसलाई नकार्न सक्दैनस्। तैँले हृदयमा बाघले जनावरहरूको सिकार गर्नु अत्यन्तै रक्तपातपूर्ण र क्रूर छ भन्ने महसुस गरे पनि, र तैँले यस्तो दुःखद दृश्य घटिरहेको देख्न सहन समेत नसके पनि, तैँले जनावर संसारको बाँच्ने तरिकालाई आदर गर्नुपर्छ। तैँले त्यसलाई बाधा दिनु वा रोक्नु हुँदैन, यस पर्यावरणीय वातावरणलाई कृत्रिम रूपमा हस्तक्षेप गर्नु वा क्षति पुऱ्याउनु त झनै हुँदैन। बरु, तैँले कुराहरूलाई प्राकृतिक रूपमा चल्न दिनुपर्छ, र जनावर संसारको बाँच्ने वातावरणलाई सुरक्षा दिनुपर्छ। तैँले विभिन्न जनावरहरूलाई तिनीहरूको बाँच्न पाउने अधिकारबाट वञ्चित गर्नु हुँदैन। मांसाहारी जनावरहरूले शाकाहारी जनावरहरू वा अन्य जनावरहरूको सिकार गर्नु र खानु तिनीहरूको बाँच्ने नियम हो, र यो बाँच्ने नियम परमेश्वरद्वारा सृष्टि गरिएको र परमेश्वरद्वारा नियोजन गरिएको थियो। मानवजातिले यसमा हस्तक्षेप गर्नु वा यसलाई क्षति पुऱ्याउनु हुँदैन तर कुराहरूलाई प्राकृतिक रूपमा चल्न दिनुपर्छ। त्यसोभए, कुराहरूलाई प्राकृतिक रूपमा चल्न दिनुको अर्थ के हो? यसको अर्थ, जब तैँले कुनै बाघ वा अन्य कुनै मांसाहारी जनावरले मृग वा अन्य पशुको सिकार गरिरहेको देख्छस्, तब यदि तँसँग पर्याप्त साहस छ भने, तैँले टाढाबाट हेर्न र हस्तक्षेप नगर्न सक्छस्। यदि तँ डरछेरुवा छस् र यो रक्तपातपूर्ण, घातक लडाइँको दृश्य हेर्न सक्दैनस् भने, नहेर्, तर तैँले रक्तपातपूर्ण दृश्य हेर्न सक्दैनस् भन्दै तैँले यी मांसाहारी जनावरहरूको सिकार गर्ने व्यवहारलाई निन्दा गर्नु हुँदैन, परमेश्वरले यी मांसाहारी जनावरहरू सृष्टि गर्नु गल्ती थियो भनेर गुनासो गर्नु त झनै हुँदैन; यो समझको कमी भएर गरिने कार्य हो। तैँले यो नबुझ्नु सामान्य कुरा हो, तर तैँले मांसाहारी जनावरहरूलाई तिनीहरूको बाँच्न पाउने अधिकारबाट वञ्चित गर्नु हुँदैन। कतिपय मानिसहरूले सोध्छन्, “त्यसोभए के हामीले तिनीहरूलाई कृत्रिम रूपमा सुरक्षा दिनुपर्छ त?” हस्तक्षेप गर्न वा क्षति पुऱ्याउन केही पनि नगरेर, तैँले मानवको जिम्मेवारी पूरा गरिसकेको हुन्छस्। तिनीहरूलाई कृत्रिम रूपमा सुरक्षा दिनु आवश्यक छैन, किनभने जनावरहरू पनि परमेश्वरले बनाउनुभएका प्राणीहरू हुन्; अनि तिनीहरू परमेश्वरद्वारा सृष्टि गरिएका हुनाले, परमेश्वरले तिनीहरूलाई पहिले नै बाँच्न सक्ने क्षमता प्रदान गरिसक्नुभएको छ—तिनीहरूलाई तेरो हस्तक्षेप वा मद्दत आवश्यक पर्दैन। यसबाहेक, के तैँले तिनीहरूलाई मद्दत गर्न सक्छस् र? के तैँले तिनीहरूले आफ्नो सिकार गर्ने आक्रामकताको नक्कल गर्न सक्छस्? मानिसहरूसँग त्यो क्षमता हुँदैन। बढीमा, मानिसहरूले केही सिकार मार्न हतियार मात्रै प्रयोग गर्न सक्छन्, जुन जनावरहरूको आवश्यकता पूरा गर्नुभन्दा परको कुरा हो। यसका साथै, कतिपय जनावरहरूले मरेको सिकार खाँदैनन्; तिनीहरू जीवित, ताजा मासु मात्रै खान्छन्। तैँले मांसाहारी जनावरहरूको बाँच्ने अधिकारमा हस्तक्षेप गर्नु वा क्षति पुऱ्याउनु हुँदैन, न त तैँले शाकाहारी जनावरहरूलाई हानिबाट सुरक्षा नै दिनुपर्छ; तैँले तिनीहरूलाई हानि नगर्नु वा सिकार नगर्नु नै पर्याप्त हुन्छ। सबै प्रकारका जनावरहरूको आफ्नै बाँच्ने नियमहरू हुन्छन्, र तिनीहरू परमेश्वरद्वारा नियोजित नियमहरू र परमेश्वरद्वारा स्थापित विधानहरूअनुसार प्रजनन गर्नेछन् र जिउनेछन्। तिनीहरूका आफ्नै बाँच्ने नियमहरू हुन्छन्, र तिनीहरूका आफ्नै बाँच्न सक्ने क्षमताहरू हुन्छन्, र धेरै तरिकामा, तिनीहरूका बाँच्न सक्ने क्षमताहरू मानिसहरूको भन्दा पनि उत्कृष्ट हुन्छन्। तिनीहरूले हतियार र औजारहरू बनाउन वा प्रयोग गर्न नसके पनि, तिनीहरूको स्वतन्त्र रूपमा बाँच्न सक्ने क्षमता केही हिसाबमा मानिसहरूको भन्दा अझै पनि उत्कृष्ट हुन्छ। यदि मानिसहरू जङ्गलमा जिउने हो भने, तिनीहरूलाई बाँच्न गाह्रो हुनेथियो; कतिपय त तिर्खा, भोक, वा चिसोले मर्नेथिए, वा जङ्गली जनावरहरूद्वारा खाइनेथिए। जङ्गलमा स्वतन्त्र रूपमा बाँच्न सक्ने मानिसहरूको क्षमता जनावरहरूको भन्दा कम छ भन्ने कुरा स्पष्ट छ। अनि यो किन यस्तो भयो? यो पनि परमेश्वरको नियोजनसँग नै सम्बन्धित छ।
परमेश्वरले नियोजन गर्नुभएको कुराका सन्दर्भमा भन्दा, मानिसहरूले पालन गर्नुपर्ने सिद्धान्त भनेको त्यसमा कृत्रिम रूपमा हस्तक्षेप नगर्नु वा क्षति नपुऱ्याउनु हो। उदाहरणका लागि, जनावरहरूलाई गरिने व्यवहारलाई लिऔँ: मानिसहरूले तिनीहरूलाई दयाका कारण सुरक्षा दिनु आवश्यक छैन। जबसम्म तैँले तिनीहरूलाई बाधा दिँदैनस्, तिनीहरूको जिउने वातावरणमा क्षति पुऱ्याउँदैनस्, वा तिनीहरूको बाँच्ने नियम र विधानहरूलाई कमजोर पार्दैनस्, तबसम्म तैँले मानवको जिम्मेवारी पूरा गरेको हुन्छस्। यदि कुनै जनावर घाइते भयो वा त्यो कुनै कठिनाइमा पऱ्यो र त्यसले मानिसहरूसँग मद्दत माग्यो भने, के मानिसहरूले तिनीहरूलाई मद्दत गर्नुपर्छ? (गर्नुपर्छ।) यो मद्दतलाई कृत्रिम हस्तक्षेप मानिँदैन, बरु यो मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो। यो मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारी किन हो? किनभने यो मानिसहरूले गर्न सक्ने कुरा हो। यस परिस्थितिमा, मानिसहरूले प्रेम देखाउनुपर्छ र मद्दत गर्न सक्दो प्रयास गर्नुपर्छ, किनभने मानिस र जनावर दुवै प्राणी नै हुन्। कुरा यति मात्रै हो कि परमेश्वरका नजरमा, मानवजाति उहाँको मुक्तिको पात्र हो, एक उच्च-स्तरीय प्राणी हो, जो अरूभन्दा विशिष्ट छ। सबै यस भौतिक संसारमा, यस स्थानमा सँगै बस्ने हुनाले, आवश्यकता परेको समयमा एक-अर्कालाई मद्दत गर्दा कुनै पनि सिद्धान्तहरू उल्लङ्घन हुँदैन। यो मानिसहरूमा कम्तीमा पनि हुनु पर्ने चरित्र हो, र यो तिनीहरूले हासिल गर्न सक्नुपर्ने कुरा हो। यदि साँच्चै कुनै घाइते जनावर तँकहाँ मद्दत माग्न आउँछ भने, त्यसले तँलाई उच्च मान्ने गर्ने र तँलाई भरोसा गर्ने भएकोले मात्रै त्यसो गर्छ। त्यसले तेरो मद्दत माग्न सक्छ भन्ने तथ्यले नै त्यो मूर्ख छैन भन्ने प्रमाणित गर्छ; त्यो सोच्न सक्ने छ, र मानिसहरू तिनीहरूभन्दा फरक भए पनि, मानिसहरूसँग त्यसलाई बाँच्न मद्दत गर्ने उपायहरू छन् भन्ने त्यसलाई थाहा छ। अन्य जीवित प्राणीहरूले मानिसहरूलाई यति उच्च सम्मान गर्ने हुनाले, के मानिसहरूले यावत् थोकका मालिकको भूमिका राम्ररी निर्वाह गर्नु र आफूले गर्नुपर्ने दायित्वहरू पूरा गर्नु पर्दैन र? (गर्नुपर्छ।) अभ्यासको सिद्धान्त यही हो। यावत् थोकका मालिकको भूमिका राम्ररी निर्वाह गर्ने, यो चाहना हुनु मात्रै पर्याप्त छैन—यसका लागि व्यावहारिक कार्य आवश्यक हुन्छ। जब अन्य जीवित प्राणीहरूले कठिनाइहरू सामना गर्छन् वा तिनीहरूका आवश्यकताहरू हुन्छन्, तब तैँले तिनीहरूलाई सहायता गर्न मद्दतको हात बढाउनैपर्छ। यदि तिनीहरू मर्नु वा तिनीहरूले कुनै ठूलो विपत्तिको सामना गर्नु नै लेखिएको छ, र तैँले मद्दत गर्न सक्दैनस् भने, केही गर्न सकिँदैन, र तैँले कुराहरूलाई प्राकृतिक रूपमा चल्न दिनुपर्छ—तैँले सक्दो प्रयास गर्नु मात्रै पर्छ। यदि तैँले तिनीहरूले कठिनाइ वा खतरा सामना गरेको देखिस् भने, त्यो बेला तैँले आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नुपर्छ। यदि तैँले यस्तो भएको देख्दैनस् भने, यसलाई खोज्नलाई कष्ट गर्नु आवश्यक छैन—त्यो तेरो जिम्मेवारी होइन। तिनीहरूका आफ्नै भाग्य हुन्छ, र तैँले यस सन्दर्भमा सक्रिय रूपमा प्रयास लगाउनु आवश्यक छैन। यसको विपरीत, यदि तिनीहरूले कठिनाइ सामना गरिरहेका छन् र तिनीहरूले तेरो मद्दत माग्छन् भने, मद्दतको हात बढाउन तँ कर्तव्यबद्ध हुन्छस्; तैँले इन्कार नगर्नु नै राम्रो हुन्छ। उदाहरणका लागि, यदि तैँले बाटोमा कुनै जङ्गली हाँसले तेरो बाटो छेकिरहेको र तँलाई जानबाट रोक्न खोजिरहेको भेटिस् भने, यदि तँसँग मायालु हृदय छ भने, तैँले त्यो हाँस समस्यामा छ र त्यो तँकहाँ मद्दत माग्न आएको हो भनेर बुझ्नुपर्छ। यो बेला तैँले के गर्नुपर्छ? (के समस्या छ भनी हेर्न हाँसलाई पछ्याउनुपर्छ, र यदि हामीले सक्छौँ भने मद्दत गर्नुपर्छ।) ठीक हो। हाँसलाई पछ्या, त्यसले तँलाई कहाँ लैजान्छ, र त्यसले मानवीय सहयोग चाहिने कस्तो कठिनाइ वा खतरा सामना गरेको छ भनी हेर्। तैँले त्यसलाई मद्दत गर्न सक्दो गर्नुपर्छ—तैँले त्यसलाई अलपत्रमा छोड्न मिल्दैन। यो मानिसहरूमा हुनुपर्ने जिम्मेवारीको बोध हो। परमेश्वरले सृष्टि गर्नुभएका विभिन्न जीवित प्राणीहरूलाई माया गर्नु, परमेश्वरले सृष्टि गर्नुभएका सबै कुराहरूलाई माया गर्नु—यो सकारात्मक कुराहरूलाई प्रेम गर्ने चरित्र हो जुन मानिसहरूसँग हुनुपर्छ। कतिपय मानिसहरूले सोध्छन्, “के यो पुण्य कमाउनु र असल काम गर्नु हो?” होइन। “पुण्य कमाउनु र असल काम गर्नु” भन्ने भनाइ मान्य छैन। यस्ता उच्च सुनिने कुराहरू फलाक्न आवश्यक छैन। स्पष्ट रूपमा भन्दा, पुण्य कमाउने र असल काम गर्ने पूरै विचार नै वाहियात कुरा हो! यो मानवको दायित्व पूरा गर्नु हो; यो मानिसहरूसँग हुनुपर्ने सबैभन्दा आधारभूत जिम्मेवारीको बोध हो। तैँले हाँसलाई मद्दत गरिसकेपछि, तेरो जिम्मेवारी पूरा हुन्छ। त्यसले तँलाई धन्यवाद दिनुपर्छ भन्ने हुँदैन, न त त्यसले तेरो दयाको बदला चुकाओस् भन्ने नै हुन्छ—तैँले जे गरिस् त्यो मानिसहरूको दायित्व हो। यो दायित्व पूरा गर्नु र यो जिम्मेवारीको बोध हुनु भनेको परमेश्वरका वचनहरू पछ्याउनु हो—परमेश्वरले सृष्टि गर्नुभएका र नियोजन गर्नुभएका सबै कुराहरू सकारात्मक कुराहरू हुन्, र हामीले तिनीहरूलाई माया गर्नुपर्छ। परमेश्वरको आज्ञा उहाँले सृष्टि गर्नुभएका यावत् थोकलाई माया गर्नु हो। यो मानवताको सामान्य ज्ञानको भाग हो जुन कुरा, यावत् थोकका मालिकका रूपमा मानिसहरूसँग कम्तीमा पनि हुनुपर्छ। निर्दिष्ट रूपमा, यो तिनीहरूमा कम्तीमा पनि हुनुपर्ने जिम्मेवारीको बोध हो। अन्य जीवित प्राणीहरूलाई हस्तक्षेप नगर्, तिनीहरूको बाँच्ने नियमहरूलाई कमजोर नपार्, र तिनीहरूलाई तिनीहरूको बाँच्न पाउने अधिकारबाट वञ्चित नगर्; यसका साथै, तिनीहरूलाई कुनै निश्चित तरिकाले जिउन कृत्रिम रूपमा मद्दत गर्न वा कुनै निश्चित तरिकाले बाँच्न मार्गदर्शन र नियमन गर्न आवश्यक छैन। बरु, तिनीहरूको बाँच्ने विधानहरू र तिनीहरूको बाँच्ने नियमहरूलाई आदर गर। तिनीहरूलाई मद्दत चाहिँदा, तैँले देखिस् भने, तँ तिनीहरूबाट जोगिनु वा तैँले आँखा चिम्लनु हुँदैन, केवल तिनीहरूलाई हानि भएको र मरेको हेरिरहनु हुँदैन, तर मानिसहरूले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व पूरा गर्न मद्दतको हात बढाउनुपर्छ। तिनीहरूलाई मद्दत गरेर, तैँले तिनीहरूलाई बचाउँछस्। यसले तँलाई थकाउनेछैन, न त यसका लागि तैँले ठूलो मूल्य चुकाउनु वा धेरै ऊर्जा खर्च गर्नु नै आवश्यक हुन्छ, तिनीहरूलाई सुरक्षा दिन आफ्नो ज्यान दिनु त झनै पर्दैन। यो तेरा लागि कुनै ठूलो कुरा होइन; यो कुरा तैँले मानवका रूपमा गर्नुपर्ने कुरा हो। यदि तँलाई तिनीहरूलाई आफ्नो सम्पूर्ण शक्तिले सुरक्षा दिन भनिएको भए, त्यो हासिल गर्न सजिलो हुनेथिएन, तर तँ कुराहरूलाई प्राकृतिक रूपमा चल्न दिन—तिनीहरूलाई हस्तक्षेप नगर्न, तिनीहरूको जिउने वातावरणलाई क्षति नपुऱ्याउन वा तिनीहरूको बाँच्ने नियमहरूलाई कमजोर नपार्न, र तिनीहरूलाई तिनीहरूको बाँच्न पाउने अधिकारबाट वञ्चित नगर्न—सक्षम हुनुपर्छ। यदि तँ यति पनि गर्न सक्दैनस् भने, तँ गैर-मानव होस्, तँ मानवबाट पुनर्जन्म लिएको व्यक्ति होइनस्, र तँमा मानवता छैन। मानवता नहुनुको अर्थ के हो? यसको अर्थ तँमा जनावरहरूलाई सुरक्षा दिने, तिनीहरूको हेरचाह गर्ने, र परमेश्वरले बनाउनुभएका जीवित चीजहरूलाई आदर गर्ने विवेक र समझ समेत छैन भन्ने हो। यदि तैँले सधैँ तिनीहरूलाई हानि गर्ने, खाने, र तिनीहरूलाई तिनीहरूको बाँच्न पाउने अधिकारबाट वञ्चित गर्ने बारेमा सोचिरहेको हुन्छस् भने, तँ मानव होइनस् तर एक जङ्गली जनावर होस्। के अब यो कुरा स्पष्ट भयो? (भयो।)
परमेश्वरले नियोजन गर्नुभएका कुराका सम्बन्धमा, केही अन्य परिस्थितिहरू पनि छन्। उदाहरणका लागि, केही पशुका बाँच्ने नियमहरू अन्य जीवित प्राणीहरूको भन्दा केही हदसम्म फरक वा विपरीत समेत हुन्छन्, जस्तै लाटोकोसेरोहरू, चमेरोहरू, र केही अन्य पशुहरू जसको बाँच्ने नियम दिनमा सुत्ने र रातमा सक्रिय हुने हुन्छ। यो परमेश्वरले नियोजन गर्नुभएको थियो, र कहिलेकाहीँ विशेष परिस्थितिहरूले यी पशुहरूलाई यो दिनचर्या अस्थायी रूपमा परिवर्तन गर्ने तुल्याए पनि, सामान्य अवस्थाहरूमा तिनीहरूका बाँच्नेसम्बन्धी व्यवस्था र नियमहरू आधारभूत रूपमा परिवर्तन हुँदैनन्। मानिसहरूले सधैँ यी पशुहरूका नियमहरू परिवर्तन गर्ने, तिनीहरूलाई मानिसहरूजस्तै दिनमा सक्रिय हुने बनाउनेबारे सोचिरहेका हुन्छन्। तिनीहरूले यी पशुहरूका वंशाणु र रक्त सीरम, तिनीहरूका गतिविधिका ढाँचाहरू, र यस्तै अन्य कुराहरूबारे शोध गर्छन्, र तिनीहरूका बाँच्ने नियमहरू र गतिविधिका ढाँचाहरूलाई परिवर्तन गर्न र खलबल्याउन हरसम्भव तरिका सोच्छन्। के यो असल कुरा हो? (होइन।) के यस प्रकारको व्यवहार, यस प्रकारको सोचाइ सकारात्मक कुरा हो? (होइन।) यो नकारात्मक कुरा हो, र गैर-मानवहरूले गर्ने काम हो। वैज्ञानिक शोधमार्फत, यी जीवित प्राणीहरू केही हदसम्म परिवर्तन त हुन्छन्, तर तिनीहरू अन्तमा अत्यन्तै पीडादायी र असामान्य रूपमा जिउन पुग्छन्। सामान्य मानिसहरूले यो देख्नै सक्दैनन्। यसो भन्ने कतिपय मानिसहरू पनि छन्, “अहिले यति धेरै मुसाहरू छन्; यदि कुकुरहरूले मुसा समात्न सक्ने भए त कति राम्रो हुन्थ्यो। कुकुरहरूले घरको सुरक्षा गर्न सक्थे, र तिनीहरूले मुसा खाने हुनाले हामीले कुकुरको खानामा बचत गर्न सक्थ्यौँ, र हामीले बिरालो पाल्नुपर्ने पनि थिएन। यो त एउटै तीरले तीन निशाना हाने झैँ हुनेथियो। के त्यो अत्यन्तै राम्रो हुनेथिएन र?” त्यसपछि तिनीहरू बिरालो र कुकुरको वंशाणुलाई कसरी जोड्ने भनेर अनुसन्धान गर्छन्, ताकि कुकुरहरूमा कुकुर र बिरालो दुवैको वंशाणु होस् र तिनीहरू कुकुर-बिरालोको मिश्रण बनून् जसले घरको सुरक्षा पनि गर्न सकून् र मुसा पनि समात्न सकून। के यो राम्रो विचार हो? (होइन।) किन होइन? (किनभने तिनीहरू सधैँ परमेश्वरले नियोजन गर्नुभएका कुरालाई खलबल्याउन र परमेश्वरद्वारा नियोजन गर्नुभएका विधानहरूको उल्लङ्घन गर्न चाहन्छन्। शैतानले गर्ने र भ्रष्ट मानवजातिले गर्ने कुरा ठ्याक्कै यही हो।) यस्ता विचारहरू दुष्ट हुन्छन्। दुष्ट विचारहरू कहाँबाट आउँछन्? ती पूर्ण रूपमा शैतान र दुष्ट आत्माहरूबाट आउँछन्। यसरी, यस्ता भ्रष्ट मानिसहरू गैर-मानव हुन्। तिनीहरू सधैँ परमेश्वरले नियोजन गर्नुभएका सकारात्मक कुराहरूलाई परिवर्तन गर्न, र परमेश्वरले नियोजन गर्नुभएका विभिन्न जीवित कुराहरूका मौलिक कार्यहरू, गतिविधिका ढाँचाहरू, र बाँच्नेसम्बन्धी नियमहरू परिवर्तन गर्न चाहन्छन्। तिनीहरू सधैँ परमेश्वरले नियोजन गर्नुभएका जीवित कुराहरूका बाँच्ने स्वरूपहरूलाई खलबल्याउन चाहन्छन्, तिनीहरू सधैँ केही दुष्ट र घोर विद्रोही विचार, सोच, र दृष्टिकोणहरू विकास गर्छन्, र तिनीहरू सधैँ परमेश्वरले नियोजन गर्नुभएका विभिन्न कुराहरूलाई खलबल्याउन चाहन्छन्। यस्ता मानिसहरू गैर-मानव हुन्; तिनीहरूमा मानवता हुँदैन। तिनीहरूका सोचाइ वा कार्यहरू कहिल्यै विवेक र समझको दायराभित्र हुँदैनन्, बरु, तिनीहरू सधैँ सामान्य मानवताको दायरा पार जान चाहन्छन्—यो गैर-मानव हुनुको एउटा प्रकटीकरण हो। तिनीहरूले परमेश्वरले नियोजन गर्नुभएका यावत् थोकका बाँच्नेसम्बन्धी नियमहरू र बाँच्ने स्वरूपहरूलाई सामान्य मानवताको विवेक र समझभित्र रहेर आदर गर्ने वा कायम राख्ने गर्दैनन्। बरु, तिनीहरू सधैँ परमेश्वरले नियोजन गर्नुभएका बाँच्नेसम्बन्धी नियमहरूलाई खलबल्याउन, बाधा दिन, र परिवर्तन गर्न, अन्य जीवित प्राणीहरूको जीवनशैली परिवर्तन गर्न चाहन्छन्। तिनीहरू बिरालोलाई उप्रान्त बिरालो रहन नदिन र कुकुरलाई उप्रान्त कुकुर रहन नदिन चाहन्छन्, तिनीहरू सबैलाई विकृतिहरू, दुष्ट कुराहरूमा परिणत गर्न, तिनीहरूलाई दुष्ट दिशामा विकसित गराउन चाहन्छन्। तिनीहरू सधैँ सकारात्मक कुराहरूको अस्तित्वलाई खलबल्याउन चाहन्छन्, र सधैँ सकारात्मक कुराहरूका बाँच्ने स्वरूपहरूलाई खलबल्याउन चाहन्छन्। के तिनीहरू गैर-मानव होइनन् र? (हुन्।) गैर-मानवहरूद्वारा उत्पादित र धारित सोच र दृष्टिकोणहरू नकारात्मक कुराहरू हुन्, र ती सकारात्मक कुराहरूको विरोधमा हुन्छन्। तिनीहरूका दृष्टिकोणहरू नकारात्मक कुराहरू अनि सकारात्मक कुराहरूको विरोधी हुने हुनाले, के तिनीहरूले आफ्नो पेसामा उत्पादन गर्ने वस्तुहरू र तिनीहरूले निकाल्ने नतिजाहरू नकारात्मक कुराहरू हुँदैनन् र? (हुन्छन्।) यी कुराहरू नकारात्मक हुन्छन्। कतिपय कुराहरूले मानवजातिलाई प्रत्यक्ष रूपमा कुनै प्रतिकूल प्रभाव नपारे पनि वा कुनै हानि नपुऱ्याए पनि, जबसम्म ती परमेश्वरले नियोजन गर्नुभएका कुराका विरोधमा हुन्छन्, जबसम्म तिनले परमेश्वरले नियोजन गर्नुभएका व्यवस्था र नियमहरूको उल्लङ्घन गर्छन्, र जबसम्म तिनमा परमेश्वरले नियोजन गर्नुभएका व्यवस्था र नियमहरूका आधारमा मानिसको कृत्रिम हस्तक्षेप, प्रशोधन, र खलबल्याइको परिणामस्वरूप आएको फरक बाँच्ने तरिका वा फरक व्यवस्था र नियम हुन्छन्, तबसम्म यी कुराहरू नकारात्मक हुन्। यस्तो कुराको अस्तित्वलाई जतिसुकै मानिसहरूले स्वीकार र अनुमोदन गरे पनि, वा यसले जतिसुकै मानिसहरूको जीवन वा बाँच्ने कार्यमा शारीरिक सुख ल्याए पनि, यदि यो परमेश्वरले नियोजन गर्नुभएको मौलिक स्वरूपमा छैन, र यदि यो परमेश्वरले नियोजन गर्नुभएको मौलिक स्थितिमा छैन, बरु नियोजन गरिएको गरिएका संरचना, स्वरूप, वा यसको बाँच्नेसम्बन्धी व्यवस्था र नियमहरू परिवर्तन गरिएका र खलबल्याइएका छन् भने, यो नकारात्मक कुरा हो। किनभने यसलाई शैतानद्वारा प्रशोधन, क्षति, र परिवर्तन गरिएको हुन्छ, र यसमा शैतानबाट आएका अवधारणा, सोच, र दृष्टिकोणहरू, शैतानका केही विष वा शैतानका केही षड्यन्त्रहरू समेत हालिएको हुन्छ। मानिसहरूले यो कुरा छर्लङ्गै देख्न नसके पनि, यो अझै नकारात्मक कुरा नै हो। छोटकरीमा, यो परमेश्वरले नियोजन गर्नुभएको मौलिक कुराको विरुद्धमा जाने कुरा भएसम्म—चाहे त्यो जीवित कुरा होस् वा निर्जीव कुरा होस्—त्यसको मौलिक स्वरूप, संरचना, वा परमेश्वरले नियोजन गर्नुभएबमोजिमको बाँच्नेसम्बन्धी व्यवस्था र नियमहरूलाई खलबल्याइएको र परिवर्तन गरिएको भएसम्म, यसका साथै यसमा शैतानबाट आएका विभिन्न अतिरिक्त कुराहरू भरिएको वा थपिएको भएसम्म, यो नकारात्मक कुरा हो, र यो विकृत भइसकेको हुन्छ। यसले मानवजातिको भौतिक जीवन वा बाँच्ने कार्यमा जस्तोसुकै मात्रात्मक प्रभाव पारे पनि, यसमा गुणात्मक परिवर्तन भएको भएसम्म, र यसको गुणस्तर परिवर्तन गरिएको भएसम्म, यो नकारात्मक कुरा हो। यो पक्का कुरा हो, र पटक्कै झूटो होइन। कुनै कुरा नकारात्मक भएसम्म, त्यो कुरा यस संसारमा जतिसुकै लामो समयदेखि अस्तित्वमा रहेको भए पनि वा मानवजाति र समाजले यसलाई जतिसुकै लामो समयदेखि स्वीकार गरेका भए पनि, यदि यो परमेश्वरले नियोजन गर्नुभएका मौलिक कुरा होइन भने, यसलाई उहाँ अनुमोदन गर्नुहुन्न, र यदि यो परमेश्वरले अनुमोदन नगर्ने कुरा हो भने, यो नकारात्मक कुरा हो।
कतिपय मानिसहरू सोध्छन्, “स्याउ र नास्पाती दुवै परमेश्वरले नियोजन गर्नुभएका मौलिक फलहरू हुन्। यदि यी दुईलाई कलमी गरेर स्याउ-नास्पातीको मिश्रण बनाइयो भने, के त्यो नकारात्मक कुरा हो? हामीले त्यो खानु हुन्छ कि हुँदैन?” यो दैनिक जीवनमा सामना गर्न सकिने कुरा हो, होइन र? मलाई भन्, तैँले त्यो खानु हुन्छ कि हुँदैन? यदि तैँले त्यो खाइस् भने, के तँलाई विष लाग्नेछ? के त्यसले तँलाई शारीरिक हानि पुऱ्याउनेछ? के त्यसले तेरो आयुमा असर गर्नेछ? के त्यसले परमेश्वरले तँलाई हेर्ने तरिकामा असर गर्नेछ? के त्यसले तेरो परिणाममा असर गर्नेछ? यस मामिलालाई कसरी हेरिनुपर्छ? यसले तँ सत्यता सिद्धान्तहरू बुझ्छस् कि बुझ्दैनस्, र हामीले पहिले सङ्गति गरेको कुरा बुझ्छस् कि बुझ्दैनस् भन्ने कुरा जाँच्छ। यदि तँ सत्यताको यो पक्ष बुझ्छस्, र तैँले यस सन्दर्भमा सत्यता सिद्धान्तहरू बोध गरेको छस् भने, जब तैँले वास्तविक जीवनमा कामकुराहरू सामना गर्छस्, तब तँलाई कसरी अभ्यास गर्ने भन्ने थाहा हुनेछ, तँलाई कुन कार्यहरूले सत्यता उल्लङ्घन गर्छन् र कुन कार्यहरूले सत्यतालाई कायम राख्छन् र ती सत्यता सिद्धान्तहरूको दायराभित्र पर्छन् भन्ने थाहा हुनेछ। के तैँले कलमी गरिएको स्याउ-नास्पाती खानु हुन्छ? (हुँदैन।) के तँ त्यो खाने आँट गर्नेथिइनस्, कि त्यो खानै नहुने हो? (हामी त्यो खाने आँट गर्नेथिएनौँ।) तिमीहरू भन्छौ, तिमीहरू त्यो खाने आँट गर्नेथिएनौ, तर के तिमीहरूले आफ्नो दैनिक जीवनमा ती कुरा धेरै खाएका छैनौ र? अनि ती खाएपछि के भयो? के तिमीहरूलाई शारीरिक रूपमा हानि भयो? पहिले, कलमी गरिएको स्याउ-नास्पाती सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो भनी निर्धारण गरौँ। तिमीहरूले त्यो खानु हुँदैन भनेर भन्यौ। यो भनाइको भित्री अर्थ के हो भने, कलमी गरिएको स्याउ-नास्पाती नकारात्मक कुरा हो, त्यसैले त्यो खानु हुँदैन। के तिमीहरूले भन्न खोजेको यही हो? (हो।) त्यसोभए के यो बुझाइ सही छ त? के कलमी गरिएको स्याउ-नास्पातीको मामिलालाई यसरी बुझ्नुपर्छ? यदि मैले तिमीहरूलाई सङ्गति गर्न उदाहरण नदिएको भए, तिमीहरूले कलमी गरिएको स्याउ-नास्पाती खानु हुँदैन, त्यो खाँदा तिमीहरूलाई विष लाग्नेछ भन्ने सोच्नेथियौ—जसरी हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गरेर असल र खराबको ज्ञानको रूखको फल खाँदा, ऊ शैतानको परीक्षामा परेर पापमा परेकी थिई र कहिल्यै उम्कन नसक्ने गरी शैतानको हातमा परेकी थिई। तिमीहरूले के सोच्नेथियौ भने, विशेष गरी अहिले मानवजातिलाई परमेश्वरले मुक्ति दिने निर्णायक क्षण भएकाले, र समय कम हुँदै गएकाले, तिमीहरू होसियार हुनैपर्छ र जथाभावी चीजहरू खानु हुँदैन, र यदि तिमीहरूले त्यसो गर्यौ भने, तिमीहरूले सिद्धान्तहरू उल्लङ्घन गर्न र प्रशासनिक आदेशहरूविरुद्ध अपराध गर्न सक्छौ, जसले तिमीहरूलाई मुक्ति पाउने अवसरबाट वञ्चित गराउँछ, र त्यति बेला पछुताउनु बेकार हुनेछ। तिमीहरू यो मामिला छर्लङ्गै देख्न सक्दैनौ; तिमीहरूलाई यस्तो सानो कुराले अलमल्ल पारेको छ। तिमीहरू कलमी गरिएको स्याउ-नास्पाती खानु हुँदैन भन्ने सोच्छौ र खाने आँट गर्दैनौ, त्यसो गर्नु भनेको सिद्धान्तहरू उल्लङ्घन गर्नु र प्रशासनिक आदेशहरूविरुद्ध अपराध गर्नु हो, जुन भयानक हुनेछ भन्ने सोच्छौ! के तिमीहरू सबैले सोच्ने यही होइन र? त्यसोभए, तिमीहरूले कलमी गरिएको स्याउ-नास्पाती खानु हुन्छ कि हुँदैन त? (परमेश्वर, हामीले भर्खरै यसबारे छलफल गर्यौँ र हामीलाई के लाग्छ भने, हामी कलमी गरिएका स्याउ-नास्पाती खान सक्छौँ, किनभने मानिसले केवल स्याउ र नास्पातीमा सुधार मात्रै गरिरहेको छ र तिनका लागि परमेश्वरले नियोजन गर्नुभएका व्यवस्थाहरू परिवर्तन गरेको छैन। त्यसैले कलमी गरिएका स्याउ-नास्पाती खाँदा प्रशासनिक आदेशहरूविरुद्ध अपराध हुँदैन।) तिमीहरूको सङ्गतिपछि, तिमीहरूले केही स्पष्टता पाएका छौ, र स्याउ-नास्पातीका सम्बन्धमा परमेश्वरले नियोजन गर्नुभएका व्यवस्थाहरू आधारभूत रूपमा अपरिवर्तित रहेका छन्, त्यसैले तिमीहरूले त्यो खान सक्छौ भन्ने कुरा अहिले बुझेका छौ। तिमीहरूले भर्खरै भनेको कुरा सही छ; यति मात्र हो कि, तिमीहरूले यसलाई स्पष्ट रूपमा व्याख्या गरेनौ। अहिलेका लागि कलमी गरिएका स्याउ-नास्पाती खान सकिन्छ कि सकिँदैन भन्ने प्रश्नबारे छलफल नगरौँ; पहिले तिनले परमेश्वरले नियोजन गर्नुभएका व्यवस्थाहरू किन उल्लङ्घन गर्दैनन् भन्नेबारे कुरा गरौँ। स्याउका रूखहरू र नास्पातीका रूखहरू दुवै परमेश्वरद्वारा सृष्टि गरिएका बोटबिरुवा हुन्, र मानिसहरूले तिनले फलाउने फल खान सक्छन्। जब यी दुई बोटबिरुवालाई कलमी गरिन्छ वा एक-अर्कासँग परागण गरिन्छ, तब अर्को प्रकारको फल उत्पादन हुन्छ। चाहे यो कृत्रिम रूपमा गरियोस् वा प्राकृतिक रूपमा, आधारभूत रूपमा यो फलको उत्पत्ति, यसको बाँच्ने स्वरूप, र यसका बाँच्नेसम्बन्धी व्यवस्था र नियमहरू परमेश्वरद्वारा मौलिक रूपमा नियोजन गर्नुभएका कुराबाट अपरिवर्तित नै रहन्छन्। मानिसले कृत्रिम रूपमा स्याउको रूख र नास्पातीको रूखका हाँगाहरूलाई कलमी गरे पनि, तिनीहरूको मौलिक बाँच्नेसम्बन्धी व्यवस्था र नियमहरूका आधारमा, तिनीहरूको मौलिक जीवन स्वरूपहरूका आधारमा नै दुवैको साझा जीवन विशेषताहरू भएको फल उत्पादन हुन्छ। यो फललाई स्याउ-नास्पाती भनिन्छ। मानिसले दुईवटा बोटबिरुवालाई कलमी गरेर अर्को प्रकारको फल उत्पादन गर्न बस आफ्नो बाँच्ने क्षमता र आफ्नो सोच्ने तरिका, आफ्नो बुद्धि र चलाखी प्रयोग गर्छ, तर यो फल, स्याउ-नास्पाती, परमेश्वरले नियोजन गर्नुभएको दायराभन्दा बाहिर जाँदैन। यो एउटा पक्ष हो। अर्कोतर्फ, मानव हस्तक्षेपविना पनि, यदि स्याउ र नास्पातीका रूखहरू एउटै जङ्गलमा सँगै हुर्के भने, के तिनीहरू एक-अर्कामा पराग छर्नबाट जोगिन सक्छन्? एकदम प्राकृतिक परिस्थितिहरूमा, जब फूल फुल्ने मौसम आउँछ, तब तिनीहरूमा एक-अर्काको पराग छरिनेछ, र जमिनमुनि तिनीहरूका जरा प्रणालीहरू पनि एक-आपसमा गाँसिनेछन्। चाहे पराग मौरीहरूद्वारा फैलियोस् वा हावा र वायु सञ्चारमार्फत फैलियोस्, स्याउ र नास्पातीले एक-अर्काका पोषक तत्त्वहरू प्राप्त गर्नेछन्, र स्याउ-नास्पाती फल निकै प्राकृतिक रूपमा नै उत्पादन हुनेछ। त्यसोभए के तँ अझै पनि यो स्याउ-नास्पाती मानव-निर्मित हो भनेर भन्न सक्छस्? (सक्दिनँ।) यो परमेश्वरले नियोजन गर्नुभएको प्राकृतिक वातावरणमा प्राकृतिक रूपमा हुर्कने जीवित कुरा हो; यो परमेश्वरले अनुमति दिएको दायराभित्रको कुरा हो, त्यसैले यो स्याउ-नास्पातीले कुनै पनि विधान उल्लङ्घन गर्दैन। यसमा स्याउको विशेषता भए पनि वा नास्पातीको विशेषता भए पनि, छोटकरीमा, यो नकारात्मक कुरा होइन; यो अझै पनि परमेश्वरद्वारा मानवजातिका लागि तयार गरिएको एक प्रकारको फल नै हो। तँ आफ्ना चिन्ताहरूलाई पन्छाएर खान सक्छस्—यसले तँलाई नश्चय नै कुनै शारीरिक हानि पुऱ्याउने छैन। तर, जब मैले भर्खरै मानिसले कृत्रिम रूपमा स्याउ र नास्पातीका हाँगाहरूलाई कलमी गर्ने कुरा उल्लेख गरेँ, तब तिमीहरू स्याउ-नास्पाती सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो भनेर निश्चित हुन सकेनौ, र तिमीहरूले त्यो खाने आँट गरेनौ, र यस्तो सोच्यौ, “स्याउ भनेको स्याउ हो, जसमा नास्पातीको वंशाणु हुँदैन, र नास्पाती भनेको नास्पाती हो, जसमा स्याउका अंश हुँदैनन्; तिनलाई मात्र पक्का खान सकिन्छ!” के कुराहरू बुझ्ने यस्तो तरिका विकृत हुँदैनन र? (हुन्छ।) यो विकृत हुन्छ। विभिन्न जीवित प्राणीहरू एउटै साझा स्थानमा सँगै अस्तित्वमा रहन्छन्; तिनीहरूले एक-अर्कालाई प्रभाव पार्नु र एक-अर्कालाई आपूर्ति गर्नु, आफ्नै कमजोरीहरूलाई पूर्ति गर्न एक-अर्कका सबल पक्षहरूबाट लाभ लिनु अपरिहार्य नै हुन्छ। यसभित्र धेरै विवरणहरू लुकेका हुन्छन्, र रहस्यहरू हुन्छन्। छोटकरीमा भन्दा, यी सबैको उदय, अस्तित्व, र प्रभाव परमेश्वरद्वारा सृष्टि गरिएको मानवजाति बाँचोस् भनेर नै हो। सकारात्मक कुराहरूको अस्तित्वको मूल्य र महत्त्व यही हो; अन्ततः, यो मानवजातिको सामान्य बाँच्ने कार्य र मानवजातिको प्रजनन र निरन्तरतालाई कायम राख्नका लागि हो। के यो मामिला अब स्पष्ट भयो? (भयो।)
अब, हामी अर्को मामिलाबारे छलफल गरौँ, जुन मानिसहरूले आफ्नो दैनिक जीवनमा प्रायः सामना गर्छन्। यसलाई कसरी खुट्ट्याउनुपर्छ र कसरी यसलाई सम्हाल्नुपर्छ भनी हेर र ख्याल गर। मानवजातिको भोजनको माग पूरा गर्न, मानिसहरूले विभिन्न बीउ र फलहरूको जीन परिमार्जन गरेर उत्पादन बढाउँदै, अजैविक अन्न आविष्कार गरे। सुरुमा, यसको लक्ष्य वास्तवमा कीरा र रोगहरू कम गर्नु, धेरै कीटनाशकहरूको प्रयोग गर्नबाट जोगिनु, र यसरी श्रम घटाउँदै र कीरा र रोगहरूको हस्तक्षेपबाट जोगिँदै मानवजातिलाई चाहिने विभिन्न बोटबिरुवाहरू उब्जाउनु थियो, र साथसाथै मानवजातिको भोजनको आवश्यकता आपूर्ति गर्न उत्पादन बढाउनु थियो, जसको परिणामस्वरूप यस्तो उत्पादन बन्यो। यो उत्पादनलाई के भनिन्छ? अजैविक खाना। अजैविक खानाको उदयले मानवजातिको भोजनको मागलाई धेरै हदसम्म पूरा गरेको छ। मानिसहरू के विश्वास गर्छन् भने, जैविक खानाको उत्पादन तुलनात्मक रूपमा कम हुन्छ र यसले मानवजातिका आवश्यकताहरू पूरा गर्न सक्दैन। अजैविक अन्नको उदय भएदेखि, अन्नको उत्पादन निकै बढेको छ, मानिसहरूको आम्दानी पनि बढेको छ, र धेरै मानिसहरूको भोकको समस्या समाधान भएको छ। यसरी, मानवजातिले “सौभाग्यवश” अजैविक खाना खान पाएको छ। त्यसोभए, के अजैविक खाना सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? यसले “परमेश्वरले नियोजन गर्नुभएको” सिद्धान्त उल्लङ्घन गर्छ कि गर्दैन? के अजैविक खाना खानु हुन्छ? अजैविक खानाबारे तिमीहरूका दृष्टिकोण र रायहरू के छन्? तिमीहरू जैविक र अजैविक खानाको सकारात्मकता र नकारात्मकतालाई कसरी परिभाषित गर्छौ? (जैविक खाना प्राकृतिक हो, र त्यो परमेश्वरले नियोजन गर्नुभएको हो। त्यो सकारात्मक कुरा हो। अजैविक खाना वैज्ञानिक प्रशोधन र जीन परिमार्जनमार्फत उत्पादन गरिन्छ। यो परमेश्वरले सृष्टि गर्नुभएका मौलिक व्यवस्थाहरूको विरुद्धमा जान्छ। त्यसैले अजैविक खाना नकारात्मक कुरा हो।) (अजैविक खानामा भएका मौलिक जीनहरू क्षय भएका हुन्छन्, र यो परमेश्वरले सृष्टि गर्नुभएका व्यवस्थाहरूविरुद्ध जान्छ। त्यसमाथि, अजैविक खानामा खानाको मौलिक पोषण मूल्य बिथोलिएको हुन्छ; यो खाँदा मानिसहरूको स्वास्थ्यलाई कुनै फाइदा हुँदैन। अचेल, धेरै वर्षदेखि अजैविक खाना खाइरहेका धेरै मानिसहरूमा स्वास्थ्य समस्याहरू व्यापक रूपमा देखिएका छन्, त्यसैले मलाई लाग्छ यदि परिस्थितिले दिएमा, हामीले यो नखानका लागि सक्दो प्रयास गर्नुपर्छ। तर आजको समाजमा, अधिकांश खाना अजैविक छ, त्यसैले बाँच्नका लागि, हामीले निश्चित रूपमा नै अजैविक खाना खानु पर्ने हुन्छ।) तिमीहरूले भनेका सबै कुरा सिद्धान्तहरू अनुरूप छन्, र मुख्य बुँदाहरू सही छन्, तर यो अति सरलवादी भयो, र केही विवरणहरू छन् जुन स्पष्ट रूपमा व्याख्या गरिएका छैनन्। कतिपय मानिसहरू भन्छन्, “अजैविक खाना र जैविक खाना बाहिरबाट हेर्दा उस्तै देखिन्छन्, र स्वाद पनि लगभग उस्तै हुन्छ। अजैविक खाना आधारभूत रूपमा परमेश्वरले नियोजन गर्नुभएका खानाका मौलिक स्वरूपहरूभन्दा कुनै पनि तरिकाले फरक हुँदैन। कतिपय अजैविक खाना त जैविक खानाभन्दा अझ राम्रो देखिन्छ र यसको उत्पादन पनि बढी हुन्छ, र स्वाद पनि जैविक खानाभन्दा त्यति नमिठो हुँदैन। त्यसोभए जैविक खाना किन सकारात्मक कुरा हो र अजैविक खाना किन नकारात्मक कुरा हो?” तिमीहरूले भर्खरै जैविक खाना सकारात्मक कुरा हो र अजैविक खाना नकारात्मक कुरा हो भन्नेमा तिमीहरू निश्चित छौ भनेर बताए पनि, तिमीहरूले तिनलाई यसरी किन छुट्याइन्छ भन्ने कुरा बुझ्दैनौ; तिमीहरूले अझै पनि यसका विवरणहरू बुझ्दैनौ। एउटा मुख्य कुरा छ जुन तैँले जान्नैपर्छ: बाहिरबाट हेर्दा उस्तै देखिने दुईवटा चीजहरूमध्ये, एउटा किन सकारात्मक कुरा हो र अर्को किन नकारात्मक कुरा हो? कतिपय मानिसहरू यसो भन्छन्, “किनभने अजैविक खाना वैज्ञानिक रूपमा प्रशोधन गरिएको हुन्छ र विज्ञानद्वारा क्षति पुऱ्याइएको हुन्छ।” के यो भनाइ सही हो? धर्मसिद्धान्तका हिसाबमा, यो सही हो। कुरो यही हो जस्तो लाग्छ। तर मानिसहरूले यो सुनेपछि पनि अझै बुझ्दैनन्। त्यसोभए, तिनको सारका हिसाबमा, जैविक र अजैविक खानाबीच के भिन्नता छ जसले गर्दा तिनलाई क्रमशः सकारात्मक र नकारात्मक कुराहरूका रूपमा परिभाषित हुने तुल्याउँछ? यो परिभाषा केमा आधारित छ? परमेश्वरले यसलाई कसरी हेर्नुहुन्छ? यसमा सत्यता के हो? यसले यस मुद्दाको सारलाई छुन्छ।
जैविक कुराहरू परमेश्वरबाट आउँछन्। ती परमेश्वरले सृष्टि गर्नुभएका कुरा हुन्, र मानिसले तिनलाई “जैविक” भनी नाम दिएको छ। अहिलेका लागि “जैविक” शब्दको उत्पत्ति वा स्रोत के हो वा मानिसहरूले यसलाई किन यो नाम दिए भन्ने कुराबारे चिन्ता नगरौँ। हामीले अझै पनि यसलाई परमेश्वरको सृष्टि र नियोजनको दृष्टिकोणबाट हेर्नुपर्छ। परमेश्वरको सृष्टि र नियोजनभित्र, एउटा सूक्ष्म तैपनि निर्णायक कुरा छ, त्यो के हो भने जब परमेश्वरले एउटा बीउ सृष्टि गर्नुभयो, तब उहाँले त्यसमा हुनुपर्ने सबै पोषक तत्त्वहरू र अंशहरू, साथै त्यसका कार्यहरू पनि त्यसभित्र राखिदिनुभयो। बीउभित्र के-कस्ता कुराहरू राखियो भनी निर्धारण गर्ने सिद्धान्तहरूको आधार के हो? ती मानव शरीरका आवश्यकताहरूमा, मानव शरीरका भित्री अङ्गहरूका कार्यहरूको ग्रहणशीलता र यी अङ्गहरूलाई चाहिने पोषक तत्त्वहरूमा आधारित थिए। यस्तो बीउबाट उब्जिएको खाना मानव उपभोगका लागि भएकोले, यो खाना खाइसकेपछि मानव शरीरमा यसले पार्ने प्रभावहरू, र मानिसहरूले आफ्नो सामान्य शारीरिक वृद्धि र जीवितता कायम राख्न र आफ्नो शरीरको आयु लम्ब्याउन यसबाट सोस्न सक्ने पोषक तत्त्वहरू, यी सबै नै परमेश्वरले एउटा बीउ वा एक प्रकारको खाना सृष्टि गर्दा ख्याल गर्नुपर्ने कुराहरू हुन्। यो माटोमा उम्रन सक्ने बीउलाई त्यतिकै सृष्टि गर्ने अनि त्यत्तिकैमा छोड्ने कार्य होइन, अहँ, परमेश्वरले यसमा सोचविचार लगाउनुभएको हुन्छ। यस प्रकारको बीउको बोक्रा, गुदी, र भ्रूणले मानव शरीरमा कस्तो प्रभाव पार्छ, यी कुराहरूले कस्ता नतिजाहरू हासिल गर्न सक्छन्, मानव शरीरलाई के चाहिन्छ, र यस प्रकारको खाना खाएपछि मानिसहरूले यसबाट कुन पोषक तत्त्वहरू सोस्नुपर्छ, यी सबै कुराहरू परमेश्वरले ख्याल गर्नैपर्छ। परमेश्वरले यस्ता विचारहरू गर्नुहुने भएकाले, जब उहाँले यस प्रकारको बीउ सृष्टि गर्नुहुन्छ, तब उहाँले यसलाई मानिसहरूलाई चाहिने पोषणको अनुपातअनुसार सृष्टि गर्नैपर्छ, र यो बीउ यसरी परमेश्वरका विचारहरूमा अस्तित्वमा आउँछ। यो एउटा बीउको पोषक अंश र संरचनाको दृष्टिकोणबाट मानिसहरूमा पर्ने प्रभावलाई हेर्नु हो; यो एउटा यस्तो पक्ष हो जुन परमेश्वरले यो बीउ सृष्टि गर्दा ख्याल गर्नुभएको हुन्छ। यसका साथै, परमेश्वरले यस प्रकारको बीउ वा फलको आकार र रूप, यसको अङ्कुरण समयको अवधि, यसको बाँच्ने स्वरूप, यो कुन प्रकारको माटोमा उम्रन उपयुक्त छ, कुन प्रकारको माटोमा यसले कति पोषक तत्त्वहरू सोस्छ, मानिसहरूले यसलाई खाँदा यसबाट कति पोषक तत्त्वहरू सोस्न सक्छन्, र यस्तै अन्य कुराहरू ख्याल गर्नुहुन्छ। यी सबै विवरणहरू परमेश्वरले ख्याल गर्नुपर्ने कुराहरू हुन्। परमेश्वरले एउटा बीउ सृष्टि गर्दा ख्याल गर्नुहुने विभिन्न कारकहरू अन्ततः एउटै बिन्दुमा आइपुग्छन्, जुन मानवजातिको भोजनको आवश्यकता आपूर्ति गर्नु, मानवजातिको सामान्य शारीरिक वृद्धि र जीवितता हासिल गर्नु। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अर्को एउटा कुरा पनि छ जुन अत्यन्तै महत्त्वपूर्ण छ। यदि एउटा बीउमा जीवन शक्ति छैन, र यो बालुवाको कण वा ढुङ्गाजस्तै मृत चीज हो, यो माटोमा रोप्दा उम्रन सक्दैन भने, यसको अर्थ के हो भने मानिसहरूले यो खाना एक पटक खाइसकेपछि, यो फेरि उपलब्ध हुनेछैन। यस्तो बीउले मानवजातिको भोजनको आवश्यकता पूरा गर्न सक्दैन। त्यसकारण, यसमा हुनुपर्ने अंशहरू, जस्तै यसको बोक्रा र भित्री भागका साथै, यो बीउमा भ्रूण हुनैपर्छ। अवश्य पनि, यो भ्रूण सबै बीउहरूमा हुने जीवनको विशेषता नहुन सक्छ। छोटकरीमा भन्दा, यसको बोक्रा र भित्री भागका साथसाथै, यो बीउमा जीवन शक्ति पनि हुनैपर्छ। मानव भाषामा, यसलाई जीवन शक्ति भनिन्छ, तर परमेश्वरको भाषामा, यसको अर्थ यो बीउमा जीवन हुनैपर्छ भन्ने हो। “जीवन हुनु” को अर्थ के हो? यसको अर्थ यसले पुनरुत्पादन गर्न जारी राख्न सक्छ; उम्रिएर र बढेर, यसले फल फलाउन सक्नैपर्छ। एउटा बीउले, उम्रिएर, बढेर, र फुलेर, अझ धेरै फलहरू उत्पादन गर्न सक्नैपर्छ, र बीउजस्तै, यसका फलहरूमा पनि जीवन शक्ति हुनैपर्छ, र यसले पुनरुत्पादन हुन र अझ धेरै फलहरू फलाउन सक्नैपर्छ, किनभने यसरी मात्रै यसले मानवजातिको भोजनको आवश्यकतालाई अनन्त रूपमा आपूर्ति गर्न सक्छ। परमेश्वरले गर्नुहुने एउटा बीउको सृष्टि र नियोजनका दुई वटा सबैभन्दा आधारभूत र सबैभन्दा महत्त्वपूर्ण कुराहरू यिनै हुन्: एउटा हो यसमा भएका विभिन्न पोषक तत्त्वहरू र यसका कार्यहरू, र अर्को हो, यो बीउमा जीवन शक्ति हुनैपर्छ, अर्थात्, यो बीउ जीवित हुनैपर्छ। मानव भाषामा, यदि कुनै कुरा “जीवित” छ भने, त्यसलाई “जैविक” भनिन्छ। परमेश्वरले यो जैविक खाना सृष्टि गर्नुभएको समयदेखि नै, यसमा वास्तवमा नै जीवन हुन्छ। यदि तैँले यसलाई माटोमा गाडिस्, र पानी र मल हालिस् भने, यो उम्रनेछ, बढ्नेछ, फुल्नेछ, र त्यसपछि यसले फल फलाउनेछ, र यसको प्रत्येक फलको कार्य यसकै सरह हुन्छ। यही समान कार्यक्षमताले मानवजातिको भोजनको आवश्यकता, मानवजातिको भौतिक जीवितता, र मानवजातिको प्रजनन र निरन्तरतालाई अटुट रूपमा आपूर्ति गर्छ। यसका साथै, यो बीउ माटोसँग एकीकृत हुन्छ र यसले फलहरू फलाउँछ, र यी फलहरूले—त्यो बीउले जस्तै—मानवजातिलाई आपूर्ति गर्न अझ धेरै फलहरू फलाउँछन्, र पुस्ता दर पुस्ता प्रजनन र फस्टाउने उही प्रक्रियाबाट गुज्रन्छन्। यसरी, मानवजातिसँग खानाको अनन्त आपूर्ति हुन्छ। खानाको आपूर्तिसँगै, खानाको स्रोतसँगै, मानवजातिको भौतिक जीवन र जीवितता अटुट रूपमा जारी रहन्छ, र तिनीहरू कहिल्यै खानाविहीन हुनेछैनन्। यो तथ्यबाट, के देख्न सकिन्छ भने मानवजाति आजको दिनसम्म जीवित रहनका लागि, परमेश्वरले सृष्टि गर्नुभएका विभिन्न बीउहरूको योगदानलाई बेवास्ता गर्न सकिँदैन। तिनीहरूले मानवजातिलाई यस्तो योगदान दिन सक्नुको जड परमेश्वरको सृष्टि र परमेश्वरको नियोजन नै हो। तर यदि परमेश्वरले एउटा बीउका लागि नियोजन गर्नुभएका दुई सबैभन्दा महत्त्वपूर्ण कुराहरू नष्ट भएमा—एउटा बीउको पोषक तत्त्व र कार्यहरू, र अर्को त्यसको मौलिक जीवन शक्ति—यदि यी दुई कुराहरू गए भने, जब बीउ माटोमा खस्छ, त्यो उप्रान्त उम्रनेछैन, उप्रान्त बढ्नेछैन, उप्रान्त फुल्नेछैन वा उप्रान्त त्यसले फल फलाउनेछैन। यो माटोमा हराउन मात्र सक्छ, त्यसपछि मानवजातिको भोजनको स्रोत हराउनेछ। तब मानवजातिले के सामना गर्नेछ? (मृत्यु।) तिनीहरूले भोक, अनिकाल, र त्यसपछि मृत्यु सामना गर्नेछन्, र तिनीहरू पुनरुत्पादन गर्न र जारी रहन सक्नेछैनन्। यो एउटा पक्ष हो, र यो निकै गम्भीर छ। अर्को पक्ष के हो भने, जब एउटा बीउलाई कृत्रिम रूपमा प्रशोधन गरिन्छ, तब यसका पोषक तत्त्वहरू धेरै कम भएका हुन्छन्, मौलिक रूपमा धेरै प्रकारका पोषक तत्त्वहरू भएकोबाट थोरै मात्रामा मात्रै पोषक तत्त्वहरू भएको बिउ हुन्छ। यसका साथै, यसका कार्यहरू पनि परिवर्तन हुन्छन्। उदाहरणका लागि, एक निश्चित प्रकारको खानाले मस्तिष्कलाई पोषण दिन, शारीरिक शक्ति पुनः पूर्ति गर्न, र मानिसहरूलाई जीवन्तता दिन सक्थ्यो, तर अब, कृत्रिम प्रशोधनबाट गुज्रिएपछि, यी कार्यक्षमताहरू धेरै कम भएका छन्, वा हराएका समेत छन्। यदि कसैले यस प्रकारको खाना धेरै खाए पनि, उसले शारीरिक रूपमा थकित महसुस गर्छ, उसको सोचाइ सुस्त हुन्छ, र उसको स्मरणशक्ति घट्छ। ऊ वृद्ध नभए पनि, ऊ एक वृद्ध व्यक्तिजस्तै बन्छ। उसका खुट्टाहरू गह्रौँ हुन्छन्, उसको शरीर अररो हुन्छ, र उसको छाला चाउरिन्छ। ऊ शारीरिक रूपमा ठूलो भएको झैँ देखिन्छ, तर भित्री रूपमा, उसले जैविक खाना खानेहरूले भन्दा फरक महसुस गर्छ। यदि खानाको मौलिक कार्यक्षमताहरू कमजोर भए वा हराए भने पनि, मानिसहरूले खाएपछि त्यसले उनीहरूको शरीरलाई सकारात्मक रूपमा सहायता वा फाइदा नगर्ने मात्रै होइन, तर यसले उनीहरूमा धेरै नकारात्मक प्रभावहरू पनि पार्छ। शरीरलाई चाहिने विभिन्न पोषक तत्त्वहरू समयमै पुनः पूर्ति हुन सक्दैनन्, र सँगसँगै, शरीरका धेरै कार्यक्षमताहरू बिस्तारै ह्रास हुँदै जान्छन् र हराउँछन्। स्वाभाविक परिणाम स्वरूप, यो दुष्चक्रका आधारमा, मानिसहरूको सोचाइ सुस्त हुन्छ, र तिनीहरूले केही चरम व्यवहार वा विचारहरू समेत विकास गर्न सक्छन्। यस्ता प्रकटीकरणहरू अजैविक खानाले मानिसहरूमा ल्याउने केही नकारात्मक प्रभाव र परिणामहरू हुन्। अजैविक खानाले परमेश्वरले सृष्टि गर्नुभएबमोजिम हुनुपर्ने अंशहरू गुमाएका हुन्छन्, र तिनले आफ्ना मौलिक कार्यक्षमताहरू पनि गुमाएका हुन्छन्। ती परमेश्वरले सृष्टि गर्नुभएका र नियोजन गर्नुभएका मौलिक कुराहरूभन्दा फरक हुन्छन्। ती सबै कृत्रिम रूपमा प्रशोधन र परिवर्तन गरिएका हुन्छन्।
मानिसहरूले मानवजातिको भोजनको माग पूरा गर्न अजैविक खाना सृष्टि गरे तापनि, यस्तो खानाले मानव स्वास्थ्य र प्रजननमा सबै प्रकारका प्रतिकूल तत्त्वहरू भित्र्याउँछ, जसले मानवजातिको प्रजनन र अस्तित्वलाई असर गर्छ। त्यसकारण, तिमीहरूले अजैविक खानाको विषयमा खुट्ट्याउने क्षमता राख्नुपर्छ। हजारौँ वर्षदेखि, मानवजातिले जैविक खानाको आनन्द लिइरहेको छ। हामी किन जैविक खानालाई सकारात्मक कुरा भन्छौँ, जबकि अजैविक खानालाई नकारात्मक कुरा भन्छौँ? सबैभन्दा ठूलो भिन्नताको बिन्दु के हो? मामिलाको चुरो कुरो के हो? चुरो कुरो के हो भने जैविक खाना परमेश्वरले मानवजातिका लागि तयार पार्नुभएको हुन्छ; यो परमेश्वरले नियोजन गर्नुभएको हुन्छ। यसमा परमेश्वरले सृष्टि गर्नुभएका मौलिक तत्त्वहरू र कार्यक्षमताहरू हुन्छन्, र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसमा परमेश्वरले प्रदान गर्नुभएको जीवन शक्ति हुन्छ, जबकि अजैविक खानाले ती मौलिक तत्त्वहरू र कार्यक्षमताहरू गुमाएको हुन्छ, र त्यसमा परमेश्वरले प्रदान गर्नुभएको जीवनको पनि कमी हुन्छ। त्यसमा परमेश्वरले नियोजन गर्नुभएका यी दुई सबैभन्दा महत्त्वपूर्ण कुराहरूको कमी हुने हुनाले, यसले परमेश्वरले सृष्टि गर्नुभएका र नियोजन गर्नुभएका सकारात्मक कुराहरूका सिद्धान्तहरू उल्लङ्घन गर्छ। अजैविक खाना एक प्रकारको यस्तो चीज हो जसलाई मानव विज्ञानद्वारा प्रशोधन गरिएको, क्षति पुऱ्याइएको, र हेरफेर गरिएको हुन्छ, र त्यसमा उप्रान्त सकारात्मक कुराका विशेषताहरू हुँदैनन्। किनभने त्यसमा परमेश्वरले सृष्टि गर्नुभएका र नियोजन गर्नुभएका सकारात्मक कुराहरूका तत्त्वहरू र सारको कमी हुन्छ, र यसको सट्टा त्यो परमेश्वरले सृष्टि गर्नुभएका र नियोजन गर्नुभएका सकारात्मक कुराहरूका प्रयोजन र सारविरुद्ध जान्छ। सकारात्मक कुराहरूका प्रयोजन र सारविरुद्ध जानुको अर्थ के हो? यसको अर्थ के हो भने जब परमेश्वरले कुनै निश्चित बीउ सृष्टि गर्नुभयो, तब त्यसको प्रयोजन मानवजातिका लागि थियो, त्यो मानवजातिको सेवा गर्न र उसलाई फाइदा दिन, र मानवजातिको सामान्य शारीरिक आवश्यकता र अस्तित्वलाई निरन्तरता दिनका लागि थियो, जबकि अजैविक खानाले मानवजातिको सामान्य अस्तित्वलाई क्षति पुऱ्याउँछ र बाधा दिन्छ, र सँगसँगै मानिसहरूको सामान्य जीवन र अस्तित्वमा शृङ्खलाबद्ध रूपमा अपरिवर्तनीय नकारात्मक असर र परिणामहरू ल्याउँछ। त्यसैले, अजैविक खानालाई नकारात्मक कुरा भन्नु कुनै पनि हिसाबमा अन्यायपूर्ण हुँदैन। के त्यसो होइन र? (हो।) के यो मामिला अब स्पष्ट भयो? (भयो।) जैविक खाना किन सकारात्मक कुरा हो, जबकि अजैविक खाना नकारात्मक कुरा हो? समग्र रूपमा भन्दा, जैविक खाना परमेश्वरबाट आउँछ, त्यसले मानवजातिलाई फाइदा दिन्छ र सेवा गर्छ, र मानव जीवन र अस्तित्वमा योगदान दिन्छ; यसले मानिसको जीवन र अस्तित्वमा एउटा प्रतिस्थापन गर्न नसकिने कार्यक्षमता प्रदान गर्छ—यसले खेल्ने भूमिकालाई कुनै पनि कुराले प्रतिस्थापन गर्न सक्दैन। तर के अजैविक खाना मानव स्वास्थ्यका लागि फाइदाजनक हुन्छ? (हुँदैन।) ठीक उल्टो हुन्छ: यो मानव स्वास्थ्यका लागि फाइदाजनक हुँदैन; बरु, यसले मानव स्वास्थ्यलाई हानि गर्छ, र मानवहरूको शारीरिक जीवन र अस्तित्वमा धेरै पीडा र समस्या ल्याउँछ। उदाहरणका लागि, यसले शरीरमा विभिन्न असहजताहरू निम्त्याउँछ, जस्तै रक्तसञ्चार सुस्त हुनु, हात-खुट्टा अररो हुनु, खुट्टा गह्रौँ हुनु, र रिङ्गटा लाग्नु, र धेरै रोगहरू समयभन्दा पहिले सुरु हुनु र बल्झनु जस्ता समस्या निम्त्याउँछ; मानिसहरूका एलर्जी प्रतिक्रियाहरू पनि झन्-झन् गम्भीर हुँदै गइरहेका छन्। छालादेखि भित्री अङ्गहरूसम्मका विभिन्न कुराहरूलाई विविध हदसम्म प्रतिकूल प्रतिक्रियाहरूले असर गर्छन्। अजैविक खानाले मानवजातिको शारीरिक जीवन र अस्तित्वमा ल्याएका विभिन्न समस्या र पीडाहरू यिनै हुन्। मानव शरीर परमेश्वरद्वारा सृष्टि गरिएको हुनाले, परमेश्वरले मात्रै त्यसको संरचना र आवश्यकताहरू सबैभन्दा राम्ररी बुझ्नुहुन्छ। यसरी, परमेश्वरले मानव शरीरको संरचना र आवश्यकताहरूका आधारमा मानवजातिका लागि हर प्रकारका खानाहरू सृष्टि गर्नुभयो। दक्षिणदेखि उत्तरसम्म, पूर्वदेखि पश्चिमसम्म, परमेश्वरले स्थानीय मानिसहरूको जीवन र अस्तित्वका लागि अनुकूल हुने विभिन्न खानाहरू सृष्टि गर्नुभयो। परमेश्वरले सृष्टि गर्नुभएका सबै खानाहरूका मौलिक रूपहरू मानव जीवन र अस्तित्वका लागि आवश्यक पर्ने खाद्य स्रोतहरू प्रदान गर्नका लागि हुन्; ती सबै कुरा मानवको शारीरिक जीवन र अस्तित्वको लागि अत्यावश्यक हुन्छन्। अर्थात्, कुनै व्यक्तिको शरीर जिउन र त्यसले भरणपोषण पाउनका लागि, त्यो परमेश्वरले सृष्टि गर्नुभएका यी बोटबिरुवाहरूविना रहन सक्दैन। यी बोटबिरुवा र बीउहरू परमेश्वरबाट आएसम्म, ती आफ्ना मौलिक रूपमा हुन्छन्, र तिनमा परमेश्वरले सृष्टि गर्नुभएका आवश्यक कार्यक्षमताहरू र तत्त्वहरू, साथै परमेश्वरले प्रदान गर्नुभएको जीवन शक्ति हुन्छ। कुनै बीउ जहाँ परे पनि—माटो नभएको चट्टानको चिरामा खसे पनि—जबसम्म यसमा जीवन शक्ति हुन्छ, तबसम्म यो उम्रन, सामान्य रूपमा बढ्न र परिपक्व हुन, र यसले थप बीउहरू उत्पादन गर्न सक्छ। सबै कुराहरूले प्रजनन गर्ने र तिनीहरू बाँच्ने यस प्रकारको बृहत् वातावरणमा मात्रै मानिसहरूले आफ्ना शरीरका लागि खानाको स्रोत प्राप्त गर्न, तिनीहरू विभिन्न गतिविधिहरूमा निरन्तर संलग्न हुन, र तिनीहरूले प्रजनन गर्न र जिउन जारी राख्न सक्छन्। यदि विभिन्न बोटबिरुवा र बीउहरूले परमेश्वरले सृष्टि गर्नुभएका मौलिक कार्यक्षमताहरू गुमाए भने, यो मानवजाति खानाबाट वञ्चित हुनु, र मानवजातिको खानाको स्रोत खोसिनु बराबर हो। मानिसहरूले तिनीहरूको भोकलाई अस्थायी रूपमा तृप्त गर्न सक्ने गरी आफ्नो मौलिक रूपमा नरहने केही खानेकुराहरू निर्माण र उत्पादन गरे पनि, प्रशोधनबाट गुज्रिएपछि खानाका मौलिक रूप परिवर्तन हुने र तिनले आफ्ना मौलिक कार्यक्षमताहरू गुमाउने भएकाले, मानिसहरूले ती खाएपछि, तिनीहरूका शारीरिक कार्यक्षमताहरू र संवेदनाहरू सोहीअनुसार परिवर्तन आउनेछन्। समय बित्दै जाँदा, मानिसहरूका शरीरले केही प्रतिकूल प्रतिक्रियाहरू पनि अनुभव गर्नेछन्; तिनमा केही बिमारी र पीडाहरू विकास हुनेछन्, र केही गम्भीर परिणामहरू समेत आउन सक्छन्। यो मानवजातिका लागि खाना सृष्टि गर्ने परमेश्वरको मौलिक अभिप्रायविरुद्ध जान्छ, र यो परमेश्वरले मानवजातिका लागि नियोजन गर्नुभएको बाँच्ने व्यवस्था र नियमहरूको विरुद्ध पनि जान्छ। त्यसैले, यसलाई जसरी हेरे पनि, जबसम्म कुनै कुरा कुनै जीवित प्राणी सृष्टि गर्ने परमेश्वरको मौलिक अभिप्राय र परमेश्वरले नियोजन गर्नुभएको व्यवस्था र नियमहरूविरुद्ध जान्छ, तबसम्म त्यसले परमेश्वरले त्यसलाई जे कार्यक्षमताका साथ सृष्टि गर्नुभएको थियो, त्यो र त्यसले खेल्नुपर्ने भूमिका, साथै परमेश्वरले त्यसमा प्रदान गर्नुभएको जीवन शक्ति गुमाएको हुन्छ, र यसरी त्यसको सार परिवर्तन भएको हुन्छ। अजैविक खानाको उदय खाना सृष्टि गर्ने परमेश्वरको मौलिक अभिप्रायविरुद्ध जान्छ; जब वैज्ञानिकहरूले खानाका बीउहरूलाई वैज्ञानिक रूपमा प्रशोधन र हेरफेर गर्छन्, तब यसले खानाको सार परिवर्तन गराउँछ। यसरी, अजैविक खाना नकारात्मक कुरा हो। चाहे त्यसको स्वरूप अझ जीवन्त र सुन्दर बनोस्, वा यो ठूलो बनोस्, वा यसको मात्रा बढोस्—यो जस्तोसुकै तरिकाले परिवर्तन भए पनि, जबसम्म यो यसलाई सृष्टि गर्ने परमेश्वरको मौलिक अभिप्रायको विरुद्ध जान्छ र यसले परमेश्वरले दिनुभएका कार्यक्षमताहरू र जीवन शक्ति गुमाउँछ, तब यो नकारात्मक कुरा हो। यो कुरामा कुनै शङ्का छैन। चाहे त्यो जेसुकै होस्, र चाहे त्यो जुनसुकै अवधिमा वा जसको कामद्वारा देखा परेको होस्, जबसम्म त्यो परमेश्वरद्वारा सृष्टि गरिएको वा नियोजन गरिएको होइन, बरु त्यो परमेश्वरको सृष्टि र नियोजनको विरुद्ध जान्छ, तबसम्म त्यो नकारात्मक कुरा हो। के यो मामिला अब स्पष्ट भयो? (भयो।)
अजैविक खाना नकारात्मक कुरा हो भन्ने मामिलाबारे स्पष्ट रूपमा सङ्गति गरिसकेपछि, अब सङ्गति गरिनुपर्ने अर्को एउटा समस्या छ। कतिपय मानिसहरू सोध्छन्, “अजैविक खाना परमेश्वरको सृष्टि र नियोजनविरुद्ध जाने नकारात्मक कुरा भएकोले, हामीले यसलाई कसरी व्यवहार गर्नुपर्छ? के हामीले यो खानु हुन्छ? हामीले यो खानु हुँदैन, कि थोरै मात्रामा मात्रै खानुपर्छ? अभ्यास गर्ने उपयुक्त तरिका के हो?” तिमीहरूमध्ये कतिपयले भर्खरै औँल्यायौ, “आज समाजमा धेरैजसो खाना अजैविक छ, र जैविक खाना किन्न चाहँदा पनि भेट्टाउन सजिलो छैन—कतिपय देश र क्षेत्रहरूमा त महँगो मूल्यमा समेत किन्न पाइँदैन। हामीलाई जैविक खानाका फाइदा र अजैविक खानाका हानिका बारेमा थाहा भए पनि, हामी के गर्न सक्छौँ र?” बृहत् वातावरण यस्तै छ। यो शैतानको संसार हो, र यसले मानिसहरूलाई परमेश्वरले सृष्टि गर्नुभएको जीवन शक्ति प्रदान गरिएको खाना खानबाट रोक्छ। कतिपय मानिसहरू भन्छन्, “अजैविक खाना खानु हाम्रो शरीरका लागि हानिकारक छ भन्ने हामीलाई थाहा छ, तर हामीसँग जैविक खाना खाने माध्यम नै छैन। हामी के गर्ने? के हामी भोकै मर्ने?” तिमीहरू भोकै मर्नु हुँदैन। जिउनका खातिर, तिमीहरूले अजैविक नै भए पनि खाना खानुपर्छ। त्यो खानु शरीरका लागि हानिकारक भए पनि, यो भोकै मर्नुभन्दा त राम्रो हो। तिमीहरू यस्तो कठिनाइका साथ जिइरहे पनि, तिमीहरू नमरेमा र तिमीहरूले आफ्नो कर्तव्य पूरा गर्न सकेमा, अन्तिम क्षणसम्म टिक्न सकेमा र बिरामी भए तापनि तिमीहरूले मुक्ति प्राप्त गर्न सकेमा, तिमीहरूले यस संसारमाथि विजय हासिल गरेका हुन्छौ र तिमीहरू शैतानमाथि विजयी भएका हुन्छौ। अरूले भन्छन्, “अजैविक खाना मानिसहरूका लागि यति हानिकारक भएकोले र यसका असरहरू अपरिवर्तनीय भएकोले, म यो खाँदै खान्नँ। म आफ्नै करेसाबारीमा केही जैविक खाना उब्जाउने उपाय खोज्नेछु।” यदि तँसँग माध्यम छ भने, त्यो त अवश्य पनि ठीक हो। तर यदि तेरो घरमा करेसाबारी छैन र तैँले तरकारी र अन्न उब्जाउन सक्दैनस्, अनि तँ जैविक खाना किन्न नसक्ने एक साधारण व्यक्ति होस् भने नि? तब तैँले गर्न सक्ने भनेकै अजैविक खाना खानु हो। कतिपय मानिसहरू भन्छन्, “यदि मैले अजैविक खाना खाएँ भने, यसले मलाई कम्तीमा केही वर्षसम्म जीवित राख्न सक्छ, र म छोटो समयमा मर्नेछैनँ। यदि मलाई यसबाट केही अनौठा रोगहरू लागे पनि, यसबारे केही गर्न सकिँदैन।” के तिमीहरू हर प्रकारका अनौठा रोगहरू लाग्लान् र तिमीहरूको आयु घट्ला भनेर डराउँछौ? (हो।) यसबारे के गर्नुपर्छ? कतिपय मानिसहरू भन्छन्, “त्यसोभए हामी अन्तिम विकल्पमा मात्रै भर पर्न सक्छौँ—जे सकिन्छ त्यसमै चित्त बुझाउने। बाँच्नका लागि, हामीसँग अजैविक खाना खानुबाहेक अरू कुनै विकल्प छैन।” के यो सिद्धान्त सही छ? (छ।) के यो सही छ? तिमीहरूले यो सही हो कि गलत हो भनी खुट्ट्याउन सक्दैनौ। के यसो गर्नु भनेको जे सकिन्छ त्यसमै चित्त बुझाउनु, र कुनै विकल्प नहुनु हो? यो कुरा जे सकिन्छ त्यसमै चित्त बुझाउनु होइन, न त कुनै विकल्प नहुनु नै हो। बरु, यो त आस्थामार्फत जिउनु हो। के परमेश्वरका वचनहरूको एउटा पङ्क्ति छैन र? “जबसम्म तँसँग एक सास बाँकी रहन्छ, तबसम्म परमेश्वरले तँलाई मर्न दिनुहुनेछैन।” मानिसहरूको जीवन परमेश्वरको हातमा हुन्छ। कुनै व्यक्ति कति लामो समय जिउँछ र उसको शारीरिक अवस्था कस्तो हुन्छ भन्ने कुरा परमेश्वरको नियोजनमा निर्भर हुन्छ, उसले के खान्छ भन्ने कुरामा होइन। मानिसहरूसँग अजैविक खानाबारे सही विचार र दृष्टिकोण राख्नु र यसप्रति खुट्ट्याउने क्षमता राख्नु नै पर्याप्त हुन्छ। तर, मानिसहरूले अवस्थित वस्तुगत वातावरणलाई सही रूपले व्यवहार गर्नुपर्छ। यदि तँसँग आफ्नै खाना उब्जाउने आर्थिक माध्यम वा वातावरणीय अवस्थाहरूको कमी छ भने, जे उपलब्ध छ त्यही खा। त्यसोभए, के तैँले बिरामी हुने वा मर्ने चिन्ता गर्नेछस्? चिन्ता लिनु आवश्यक नै छैन। किन? हामीसँग हाम्रा हृदयमा हाम्रो आड र आधारका रूपमा परमेश्वरका वचनहरूको सत्यता छ: “मानिस रोटीले मात्र मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जिउनेछ,” र “जबसम्म तँसँग एक सास बाँकी रहन्छ, तबसम्म परमेश्वरले तँलाई मर्न दिनुहुनेछैन।” कुनै व्यक्तिको जीवन, शारीरिक अवस्था, र आयु सबै परमेश्वरका हातमा हुन्छन्। कुनै व्यक्ति बिरामी हुन्छ कि हुँदैनन्, ऊ कहिले बिरामी हुन्छ, र ऊ कहिले मर्छ—यी सबै परमेश्वरका हातमा हुन्छन्। चिन्ता लिनु वा डराउनु आवश्यक छैन। यदि तिमीहरूले जैविक खाना पाउन सक्दैनौ र अजैविक खाना मात्रै खान सक्छौ भने, ढुक्क भएर खाओ। जे उपलब्ध छ त्यही खाओ। कतिपय मानिसहरू भन्छन्, “तपाईँले अजैविक खाना नकारात्मक कुरा हो भन्नुभयो, त्यसोभए हामीलाई किन ढुक्क भएर खान भनिरहनुभएको छ?” यदि तैँले खाइनस् भने तँ कसरी जिउन सक्छस्? यदि तैँले अत्यन्तै थोरै खाइस् भने, के तेरो शरीरले साँच्चै त्यसलाई चाहिने कुरा पाउन सक्छ? गैरविश्वासीहरूले पनि अहिले अजैविक खाना जैविक खानाभन्दा धेरै कम पौष्टिक हुन्छ भनेर भन्छन्; तैँले धेरै खाए पनि, त्यसले धेरै पोषण प्रदान गर्दैन। यो पनि एउटा तथ्य हो। अर्को एउटा कुरा तिनीहरूलाई थाहा छैन: जैविक खानामा पौष्टिक तत्त्वहरूको अनुपात उपयुक्त हुन्छ। तैँले त्यो खाएपछि, त्यसले तेरो शरीरलाई धेरै पोषक तत्त्वहरू उत्पादन गर्न मद्दत गर्नेछ, रक्तसञ्चारलाई बढावा दिनेछ, र राम्रो स्वास्थ्य सुनिश्चित गर्न तँभित्र यसले आफ्ना मौलिक प्रयोजनहरू पूरा गर्नेछ। तर, अजैविक खानामा पौष्टिक तत्त्वहरूको कमी हुन्छ, त्यसैले तेरो शरीरले आवश्यकता पूरा गर्न पोषक तत्त्वहरू संश्लेषण गर्न त्यो प्रयोग गर्न सक्दैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, अजैविक खानामा जीवन शक्ति हुँदैन र विभिन्न पौष्टिक तत्त्वहरूको कमी हुन्छ; त्यसले तँलाई स्वस्थ बनाउन सक्दैन। दश वा बीस वर्षसम्म त्यो खाएपछि, मानिसहरूमा हर प्रकारका बिमारी र अनौठा रोगहरू विकास हुनेछन्, र कतिपयले त प्रजनन क्षमता समेत गुमाउनेछन्। यस्ता परिणामहरू निकै गम्भीर छन्। त्यसैले कतिपय मानिसहरूलाई यस्तो महसुस हुन्छ, “मैले प्रशस्त खाना र तरकारी खाएको छु, त्यसैले ममा पोषणको कमी त नहुनुपर्ने हो। तर मलाई किन शरीरभरि कमजोरी महसुस हुन्छ?” जैविक र अजैविक खानाबीचको भिन्नता यही हो; वास्तवमा, तैँले यो महसुस गरिसकेको छस्। तँलाई किन यस्तो महसुस हुन्छ? किनभने अजैविक खानामा जीवन शक्ति हुँदैन। तैँले त्यो धेरै खान्छस्, तर त्यसले धेरै पोषण दिँदैन, त्यसैले तँलाई शारीरिक रूपमा कमजोर र जीवन्तताको कमी महसुस हुन्छ। तर जे होस्, तैँले अझै पनि खानु त पर्छ नै; यदि खाइनस् भने, तँ भोकै हुनेछस् र काम गर्न वा बाँच्न असक्षम हुनेछस्। मानिसहरूले मूर्ख कामहरू गर्नु हुँदैन, न त तिनीहरू चरममा नै पुग्नुहुन्छ। तिनीहरूले सबै कुरालाई परमेश्वरका वचनहरूअनुसार व्यवहार गर्नुपर्छ र सबै कुरामा सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ। मानिसहरू स्पष्ट हुनुपर्ने र तिनीहरूले बुझ्नुपर्ने कुरा यही हो। छोटकरीमा, यो सबै मानिसहरूले अजैविक खानालाई कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरामा जोडिन्छ। अजैविक खानाले ल्याउने नकारात्मक असरहरू र त्यसपछिका प्रभावहरू बुझिसकेपछि, मानिसहरू यसद्वारा बाँधिनु हुँदैन, न त तिनीहरू चिन्तित हुनुपर्छ वा डराउनु नै पर्छ, किनभने सबै कुरा परमेश्वरका हातमा हुन्छ। मानिसहरूको जीवन र तिनीहरूसँग सम्बन्धित सबै कुराहरू परमेश्वरका हातमा हुन्छन्, ती परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूका अधीनमा हुन्छन्। होइन र? (हो।) यदि तैँले त्यसलाई यसरी बुझिस् भने, तेरा विचार र दृष्टिकोणहरू सही छन्। यो सबै सुनेपछि, के तिमीहरूलाई हृदय उज्यालो र आजाद भएको महसुस भयो? (भयो।) यो एउटा वास्तविक जीवनको समस्या हो जुन मानिसहरूले देख्नुपर्छ। यदि तिमीहरूले यो मामिला छर्लङ्गै देख्न सक्दैनौ भने, तिमीहरू निकै मूर्ख छौ। अजैविक खाना खाने कि नखाने भन्ने विषयमा, हामीले भर्खरै अभ्यासका धेरै सिद्धान्तहरूबारे छलफल गर्यौँ। तैँले आफ्नो वस्तुगत वातावरण र वास्तविक अवस्थाहरूका आधारमा सोहीअनुसार त्यसलाई व्यवहार गर्नुपर्छ। छोटकरीमा भन्दा, तैँले सबै कुराहरूलाई परमेश्वरका वचनहरूअनुसार हेर्नुपर्छ, र तैँले परमेश्वरका वचनहरूअनुसार नै व्यवहार पनि गर्नुपर्छ। तेरो मनसाय तेरो सामान्य शारीरिक अस्तित्व र कार्यक्षमतालाई सुनिश्चित गरेर सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्ने, परमेश्वरलाई पछ्याउने मार्गमा विचलित नहुने, र आफ्नो कर्तव्य पूरा गर्ने र सत्यता पछ्याउने मार्गमा लाग्न सक्ने हुनु हो भने, तैँले जे गरिरहेको छस् त्यो सही नै छ। परमेश्वरले नियोजन गर्नुहुने पक्षबारे हाम्रो सङ्गतिको विषयवस्तु यही हो।
हामीले परमेश्वरले नियोजन गर्नुहुने पक्षका बारेमा सङ्गति गर्न दुई वटा उदाहरणहरू प्रयोग गरेका छौँ। के यो लगभग स्पष्ट रूपमा व्याख्या गरिएको छ? (छ।) त्यसोभए, के तिमीहरू सकारात्मक र नकारात्मक कुराहरू छुट्याउन सक्छौ? के तैँले सामना गर्ने विभिन्न मानिस, घटना, र कामकुराहरूको मूल्याङ्कन गर्न सत्यताको यो पक्ष लागू गर्न सक्छस्? यदि हामीले यी दुई उदाहरणहरूबारे सङ्गति नगरेका भए, के तिमीहरूले तिनलाई मापन गर्न हामीले आज परिभाषित गरेका सकारात्मक कुराहरूसम्बन्धी सत्यताको यो पक्षलाई लागू गर्न सक्नेथियौ? (म सायद सरल कुराहरू खुट्ट्याउन सक्थेँ, तर परमेश्वरले बोल्नुभएका दुई तुलनात्मक रूपमा जटिल उदाहरणहरू म खुट्ट्याउन सक्दिनथेँ।) हामीले यसबारे सङ्गति गरेको राम्रो भयो, नत्र तिमीहरू कलमी गरिएको स्याउ-नास्पाती जस्तो स्वादिष्ट खाना खानबाट वञ्चित हुनसक्थ्यौ, होइन र? (हो।) प्रावधानहरू पालन गर्न बढी झुकाव राख्ने कतिपय मानिसहरूले कलमी गरिएको स्याउ-नास्पातीलाई हेरेर त्यो खान चाहे पनि हिम्मत नगर्न सक्छन्, र त्यो खाँदा परमेश्वरले नियोजन गर्नुभएका सिद्धान्तहरू उल्लङ्घन हुन्छन् र त्यो परमेश्वरका वचनहरूको विरुद्ध जान्छ भनी सोच्न सक्छन्, त्यसैले तिनीहरूले आफूलाई रोक्छन् र त्यो खाँदैनन्, र फलस्वरूप, तिनीहरूले यो स्वादिष्ट खाना खाने धेरै अवसरहरू गुमाउँछन्। तर, स्पष्ट रूपमा नकारात्मक रहेका कतिपय कुराहरूका हकमा, मानिसहरूमा सुझबुझको कमी भएकाले, तिनीहरूले तिनलाई निकै प्रशंसा गर्छन् र गहन रूपमा अनुमोदन गर्छन् र आफ्ना हृदयमा स्वीकार गर्छन्। अजैविक खानाको विषयमा, तिनीहरू यस्तो समेत सोच्छन्, “अजैविक खानाले मानवजातिको खानाको मागलाई धेरै हदसम्म पूरा गर्छ, र साथसाथै, यसले भोकले हुने मृत्युलाई कम गर्न मद्दत गर्न सक्छ। यो मानव विकासको इतिहासमा मानवजातिका लागि विज्ञानको साँच्चै ठूलो योगदान हो! यो साँच्चै परमेश्वरले गर्नुभएको हो; यो मामिलालाई बढावा दिनुहुने परमेश्वर नै हुनुहुन्छ।” यस्तो सरल अभिव्यक्तिले एउटा तथ्य खुलासा गर्छ। कुन तथ्य? तैँले सत्यता बुझ्दैनस् भन्ने तथ्य। यो अल्पमहत्त्वपूर्ण कुरा हो; यहाँ अझ गम्भीर समस्या छ, जुन के हो भने तैँले परमेश्वरप्रति घोर रूपमा विद्रोही र निन्दापूर्ण वचनहरू बोलेको छस्, र यसले परमेश्वरलाई तिरस्कार र घृणा महसुस गराउँछ। यदि यस्तो समस्या तँ परमेश्वरका अभिप्रायहरूको विरुद्ध जानेगरी र तैँले जानाजानी परमेश्वरको प्रतिरोध र निन्दा गर्ने गरी गम्भीर भयो भने, तैँले आफ्नो मुक्तिको आशा गुमाउन सक्छस्, र यसले तेरो गन्तव्यमा असर गर्नेछ। त्यसकारण, सत्यता बुझ्नु अत्यन्तै महत्त्वपूर्ण कुरा हो। यदि हामीले हाम्रो सङ्गतिमा उदाहरणहरू प्रयोग नगरेका भए, तिमीहरूमध्ये कतिपयले यस्तो सोच्न सक्थ्यौ, “अजैविक खाना वैज्ञानिक अनुसन्धानको परिणाम हो, र विज्ञानको विकासले मानवतामा योगदान दिन्छ, त्यसैले यस्तो योगदान सम्भवतः परमेश्वरले नियोजन गर्नुभएको हो, यो सम्भवतः परमेश्वरले योजनाबद्ध गर्नुभएको हो।” यसरी सङ्गति गरेपछि, के अब यो कुरा स्पष्ट भयो? के यो अभिव्यक्ति सही छ? (छैन।) के व्यक्तिले कुराहरूलाई यसरी बुझ्नुपर्छ? (होइन।) यदि कुनै व्यक्तिले यसो भन्छ भने, ऊ समस्यामा पर्नेछ; यो अत्यन्तै विद्रोही कुरा हो! तिमीहरूले कुराहरू वास्तवमा के हुन् र तिनको सार के हो भनी स्पष्ट रूपमा बुझ्नुभन्दा पहिले, तिनलाई जथाभाबी परिभाषित नगर, र वैज्ञानिक रूपमा प्रशोधन गरिएका कुराहरूलाई सजिलै स्वीकार गर्ने र मन पराउने नगर। विशेष गरी दुष्ट प्रचलनहरूमा सम्मानित र लोकप्रिय धेरैजसो मानिसहरूले मन पराउने कुराहरूका हकमा, तँ कडाइका साथ सतर्क हुनुपर्छ—तिनलाई परमेश्वरका वचनहरू र सत्यताअनुसार खुट्ट्याउनुपर्छ, र पटक्कै स्वीकार नगर्। कतिपय मानिसहरू भन्छन्, “हाम्रो क्षमता कमजोर छ। जब हामी अनलाइनमा विभिन्न प्रकारका जानकारीहरू फैलिएको देख्छौँ, तब हामी यो सामाजिक प्रचलन हो र यो गलत हुन सक्दैन भन्ने सोच्छौँ। यसलाई हेरेपछि, यसले हाम्रो हृदयमा असर गर्छ। यदि हामी शून्यतामा जिएका भए, हामी बहकिने थिएनौँ।” के यो अभिव्यक्ति सही छ? (छैन।) तँ वास्तविक संसारमा, वर्तमान समाजमा जिउँछस्, र तैँले अनिवार्य रूपमा धेरै अनौठा आवाजहरू र अनौठा भनाइ र सिद्धान्तहरू सुन्ने नै छस्। यी तर्कहरू अनिवार्य रूपमा तेरो हृदयमा प्रवेश गर्नेछन्, जहाँ तिनले असर गर्नेछन्, र तेरा विचारहरू परिवर्तन गर्नेछन्। मानिसहरूले के सोच्छन् भने जबसम्म तिनीहरू यस समाजमा बस्छन्, जबसम्म तिनीहरू मानिसहरूमाझ बस्छन्, तबसम्म तिनीहरू अनैच्छिक रूपमा प्रभावित हुनेछन्, तिनीहरू पहाड र जङ्गलको गहिराइमा जिउने वा तिनीहरूले आफूलाई एउटा सानो कोठामा बन्द गर्ने, यी कुराहरूबारे केही पनि नसुन्ने, नहेर्ने, वा नसोच्ने भए मात्रै, तिनीहरूको हृदय सफा हुनेछ। के यो दृष्टिकोण सही छ? (छैन।) स्पष्ट रूपमा छैन। त्यसोभए यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ? तैँले सत्यता पछ्याउनुपर्छ र सत्यता बुझ्नुपर्छ। यदि तँसँग सत्यताका सबै पक्षहरूबारे स्पष्ट बुझाइ छ भने, तैँले यी कुराहरूको सामना गर्दा, तँलाई तिनको निहित सार के हो भन्ने थाहा हुनेछ। तँ तिनलाई सकारात्मक अथवा नकारात्मक कुराहरूका रूपमा तुरुन्तै खुट्ट्याउन र परिभाषित गर्न सक्षम हुनेछस्, र—विवेक र समझ भएका आधारमा—तैँले सकारात्मक कुराहरूलाई तुरुन्तै स्वीकार गर्नेछस्, र नकारात्मक कुराहरूको प्रतिरोध गर्नेछस् वा तिनलाई अस्वीकार, आलोचना, र निन्दा गर्नेछस्। यसरी, तँ सुरक्षित हुनेछस्, र तैँले असहाय महसुस गर्नेछैनस्, न त तँलाई त्यति चिन्तित वा भयभीत हुनुपर्ने नै हुनेछ। किन? किनभने तेरो आधारका रूपमा परमेश्वरका वचनहरू हुँदा, तँसँग सकारात्मक र नकारात्मक कुराहरू खुट्ट्याउने आधारभूत क्षमता हुनेछ, विभिन्न सकारात्मक र नकारात्मक कुराहरूबारे तेरा दृष्टिकोण र विचारहरू परमेश्वरका वचनहरूमा आधारित हुनेछन्, र तँ ती सकारात्मक कुराहरू हुन् कि नकारात्मक कुराहरू भनेर निर्धारण गर्न सक्षम हुनेछस्; त्यसकारण, तैँले के गर्नुपर्छ भन्ने मामिला निकै सहज हुनेछ। के त्यसो होइन र? (हो।)
के तिमीहरूले हामीले भर्खरै सङ्गति गरेको कुरा बुझ्यौ? यदि हामीले यसबारे यसरी सङ्गति नगरेका भए, के तिमीहरूले यो कुरा बुझ्न सक्नेथियौ? (सक्नेथिएनौँ।) त्यसोभए, अझै केही वर्ष अनुभव गरेमा, के तिमीहरू सकारात्मक र नकारात्मक कुराहरू खुट्ट्याउन सक्ने हुनेछौ? (सत्यताविना, हामी यी कुराहरू खुट्ट्याउन सक्दैनौँ; कहिलेकाहीँ त हामी नकारात्मक कुराहरूको प्रशंसा र वकालत समेत गर्छौँ। त्यसैले, धेरै वर्षको अनुभवबाट मात्रै हामी खुट्ट्याउन सक्षम हुन्छौँ भन्ने हुँदैन।) के यी मामिलाहरूमा रहस्यहरू समावेश छन्? (अहँ, छैनन्।) यदि तिनमा रहस्यहरू समावेश छैनन् भने, मानिसहरूले किन ती बुझ्दैनन्? के यी बाह्य मामिलाहरू हुन्? (हुन्।) यदि ती केवल बाह्य मामिलाहरू भएका भए, ती बुझ्न त सजिलो हुनुपर्थ्यो, तर वास्तवमा, यी मामिलाहरूमा केही सत्यताहरू र विभिन्न कुराहरूबारे मानिसहरूका दृष्टिकोणहरू पनि समावेश हुन्छन्। जब कुनै कुरामा विभिन्न कुराबारे दृष्टिकोणहरू, र समस्याहरूको सार र प्रकृति समावेश हुन्छ, तब त्यसमा सत्यता समावेश हुन्छ, र जब त्यसमा सत्यता समावेश हुन्छ, तब तिमीहरूले त्यसलाई छर्लङ्गै देख्न सक्दैनौ, र तिमीहरू अन्योलग्रस्त हुन्छौ। त्यसोभए, के तिमीहरूलाई यसरी सङ्गति गर्नु आवश्यक हुन्छ जस्तो लाग्छ? (हो, लाग्छ।) आशा छ, तिमीहरूले यो सङ्गति सुनेपछि, आफ्नो ध्यान मामिलाहरूमा नै केन्द्रित गर्नेछैनौ वा प्रावधानहरू पालन गर्न सिक्नेछैनौ, बरु, सङ्गतिमार्फत, तिमीहरू सत्यता र परमेश्वरका अभिप्रायहरू बुझ्न पुग्नेछौ, सकारात्मक र नकारात्मक कुराहरू के हुन् भनी खुट्ट्याउन सक्नेछौ, र सत्यताको हिसाबमा प्रगति गर्नेछौ, र कुराहरू खुट्ट्याउने तिमीहरूको क्षमतामा सुधार हुनेछ। यसको अर्थ तिमीहरूले केही प्राप्त गरेका छौ भन्ने हुनेछ। सकारात्मक कुराहरूका हकमा—परमेश्वरले सृष्टि गर्नुभएको, परमेश्वरले नियोजन गर्नुभएको, वा परमेश्वरको सार्वभौमिकताअन्तर्गत पर्ने सबै कुराहरूका हकमा—के हामीले यसअघि दुई विशेष उदाहरणहरू सूचीबद्ध गरेपछि अब तिमीहरूले ती सबै खुट्ट्याउन सक्छौ? कि तिमीहरूले एउटै प्रकारका कुराहरू मात्रै खुट्ट्याउन सक्छौ, र तिमीहरू अझै पनि यी दुई उदाहरणहरूभन्दा फरक कुराहरू खुट्ट्याउन असमर्थ छौ? (म सायद एउटै प्रकारका कुराहरू केही हदसम्म खुट्ट्याउन सक्छु, र तुलनात्मक रूपमा सरल रहेका फरक कुराहरू पनि खुट्ट्याउन सक्छु, तर म अझै पनि निकै जटिल कुराहरू स्पष्ट रूपमा खुट्ट्याउन सक्दिनँ।) यो एउटा तथ्य हो, होइन र? यदि तिमीहरू अझै पनि खुट्ट्याउन सक्दैनौ भने, तिमीहरूले एउटा सिद्धान्तलाई बोध गर्नुपर्छ। पहिले, कुनै निश्चित कुरा परमेश्वरले सृष्टि गर्नुभएअनुसार त्यसमा हुनुपर्ने कार्यक्षमता वा परमेश्वरले नियोजन गर्नुभएअनुसार त्यसको अस्तित्वको महत्त्वविरुद्ध जान्छ कि जाँदैन भनी हेर; यो यस पक्षविरुद्धमा जान्छ कि जाँदैन भनी हेर। यदि जान्छ भने, त्यो नकारात्मक कुरा हो। यदि यो परमेश्वरको सृष्टि र नियोजनविरुद्ध जाँदैन, तर यसको अस्तित्वको रूप र यसको अस्तित्वको मूल्यले मानिसहरूमा सकारात्मक कि नकारात्मक प्रभाव पार्छ भन्न सकिँदैन भने—यसले मानिसहरूको जीवनमा केही उद्देश्य मात्रै पूरा गर्छ र केही सुविधा प्रदान गर्छ, थोरै फाइदा गर्छ तर कुनै हानि गर्दैन, जसको अर्थ यसले परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिको अस्तित्वको रूप र सामान्य जीवनलाई कमजोर पार्दैन वा बाधा दिँदैन, अनि यसले कुनै प्रतिकूल परिणामहरू पनि ल्याउँदैन, र यसको अस्तित्वलाई मानवजातिका लागि अर्थपूर्ण मान्न सकिँदैन, र योविना पनि मानिसहरू राम्रैसँग जिउन सक्छन् भने—यसलाई सकारात्मक वा नकारात्मक कुरा मान्न सकिँदैन। यो त्यस वर्गमा पर्दैन; यो एक प्रकारको कुरा वा एउटा वस्तु मात्रै हो, त्यसैले हामी यसलाई सकारात्मक वा नकारात्मक भनेर परिभाषित गर्नेछैनौँ। उदाहरणका लागि, घोडागाडा यातायातको एउटा साधन हो। यसलाई घोडाले तान्छ, जुन परमेश्वरद्वारा सृजित र नियोजित जीवित प्राणी हो। घोडाले तान्ने गाडा मानव-निर्मित हो, परमेश्वरद्वारा सृजित होइन; यो परमेश्वरले प्रदान गर्नुभएको अस्तित्वको क्षमताद्वारा मानिसले बनाएको एउटा औजार हो। यसले सामान ढुवानी गर्न र मानिसहरूलाई विभिन्न ठाउँमा लैजान सक्छ, जसले मानिसहरूको जीवन र यात्रालाई अझ सुविधाजनक बनाउँछ। त्यसोभए, तिमीहरूलाई मानव-निर्मित घोडागाडा सकारात्मक कुरा हो जस्तो लाग्छ कि नकारात्मक कुरा हो जस्तो लाग्छ? के घोडागाडाले ऊर्जा खपत गर्छ? के यसले धुवाँ उत्सर्जन गर्छ र हावालाई प्रदूषित गर्छ? (गर्दैन।) घोडागाडाले मानिसहरूको जीवन र अस्तित्वमा कुनै प्रतिकूल असर पार्दैन, र यसले मानिसहरूको जीवनलाई अलिकति बढी सुविधाजनक पनि बनाउँछ। तर, यदि यो अस्तित्वमा नभएको भए, मानिसहरू पैदल पनि यात्रा गर्न सक्थे, जुन अलिकति ढिलो मात्रै हुनेथियो; योविना मानिसहरू जिउन सक्नेथिएनन् भन्ने होइन। यो अपरिहार्य कुरा होइन। त्यसोभए, यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (मेरो बुझाइमा यो नकारात्मक कुरा होइन, तर यो सकारात्मक कुरा पनि होइन; यसलाई सकारात्मक वा नकारात्मक भन्न सकिँदैन।) यो मानिसको हातबाट आउँछ, र यसलाई सकारात्मक वा नकारात्मक भन्न सकिँदैन। यदि तैँले घोडागाडा सकारात्मक कुरा हो कि नकारात्मक कुरा भनी छलफल गर्ने हो भने, त्यो तिललाई पहाड बनाउनु, बालको खाल निकाल्नु जस्तै हुनेछ।
कतिपय मानिसहरूले भन्छन्, “रूखहरू परमेश्वरद्वारा सृष्टि गरिएका र नियोजन गरिएका हुन्, र तिनका अस्तित्वका नियमहरू र अस्तित्वका स्वरूपहरू परमेश्वरबाट आउँछन्, त्यसैले ती सकारात्मक कुराहरू हुन्। त्यसोभए, यदि रूखलाई काटेर काठमा प्रशोधन गरियो भने, यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो?” काठले मानवजातिका दैनिक आवश्यकताहरूका लागि केही सुविधा प्रदान गर्छ, जस्तै यसलाई टेबल र कुर्सीजस्ता विभिन्न प्रकारका फर्निचर बनाउन प्रयोग गरिन्छ, र खाना पकाउनका लागि बाल्न पनि सकिन्छ। यो बोटबिरुवाबाट वस्तुमा रूपान्तरित हुन्छ। यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? (यसलाई सकारात्मक वा नकारात्मक कुनै भन्न सकिँदैन।) ठीक भनिस्, अब तैँले बुझिस्, तैँले कुरा समातिस्। यो सिद्धान्तको दायराभित्रका कुराहरू मात्र—अर्थात् परमेश्वरद्वारा सृष्टि गरिएको, परमेश्वरद्वारा नियोजन गरिएको, वा परमेश्वरको सार्वभौमिकता अन्तर्गतको कुरा—सकारात्मक कुराहरू हुन्। यो सिद्धान्तको उल्लङ्घन गर्ने कुनै पनि कुरा नकारात्मक कुरा हो। यी दुई वर्गभन्दा बाहिरका कुराहरूका हकमा, यदि तैँले ती सकारात्मक हुन् कि नकारात्मक हुन् भनेर छलफल गरिस् भने, त्यो मूलतः तैँले बालको खाल निकाल्नु, तिललाई पहाड बनाउनु, र तेरा उचित काममा ध्यान नदिनुजस्तै हो। उदाहरणका लागि, कतिपय मानिसहरू सोध्छन्, “मानव निर्मित पर्दाहरू सकारात्मक कुरा हुन् कि नकारात्मक कुरा हुन्?” कतिपय मानिसहरू भन्छन्, “त्यो त कपडाको स्रोतमा निर्भर हुन्छ। यदि पर्दाहरू प्रशोधित काँचो कपासबाट बनाइएका हुन्, रङ्ग्याइएको वा ब्लिचिङ गरिएका छैनन्, र कुनै रसायन थपिएको छैन भने, ती सकारात्मक कुरा हुन्। यदि तिनलाई रङ्ग्याइएको, ब्लिचिङ गरिएको, र तिनमा प्रिन्ट गरिएको छ, वा केही रसायनहरू थपिएको छ भने, ती नकारात्मक कुरा हुन्। नकारात्मक कुराहरू हामीले हटाउनुपर्ने र त्याग्नुपर्ने कुराहरू हुन्, त्यसैले हामीले तिनलाई प्रयोग गर्नु हुँदैन। यसरी मात्र हामीले परमेश्वरका वचनहरूका सिद्धान्तहरू पालना गरिरहेका हुन्छौँ, र हामी सकारात्मक कुराहरू र सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्छौँ। त्यसकारण, हामी कपासबाट उत्पादन नगरिएका सबै कुराको भर्त्सना गर्छौँ, र प्राकृतिक स्रोतबाट नआएका सबै कुराको भर्त्सना गर्छौँ।” प्राकृतिक स्रोतबाट आउने कुराहरू के-के हुन्? कपास, रेशम, र साथै लाइलन। यी व्यक्तिहरूको रायअनुसार, यी थोरै कुराहरूबाहेक, मानिसहरूले लगाउन सक्ने अरू केही पनि छैन—यदि तँ सिद्धान्तहरूको उल्लङ्घन गर्नबाट जोगिन चाहन्छस्, र सकारात्मक कुराहरूलाई प्रेम गर्न र नकारात्मक कुराहरूलाई इन्कार गर्न सक्षम हुन चाहन्छस् भने, तैँले यी कुराहरू लगाउनैपर्छ, किनभने यी कुराहरू मात्र परमेश्वरले सृष्टि गर्नुभएका तिनका मौलिक स्वरूपमा हुन्छन्। के यो दृष्टिकोण सही छ? (छैन।) कतिपय मानिसहरू भन्नेछन्, “त्यसोभए, यो दृष्टिकोणअनुसार त, वैज्ञानिक रूपमा प्रशोधन गरिएका कपडाहरू लगाउने कोही पनि सकारात्मक कुराहरूलाई प्रेम गर्ने व्यक्ति होइन, सत्यताको अभ्यास गर्ने व्यक्ति होइन, तर खुट्ट्याउने क्षमता नभएको र सिद्धान्त विहीन व्यक्ति हो, अत्यन्तै विद्रोही र परमेश्वरद्वारा घृणा गरिएको व्यक्ति हो, र यस्तो व्यक्ति खतम भएको हुन्छ!” के यो अभिव्यक्ति उपयुक्त छ? (छैन, यो तिललाई पहाड बनाउनु हो।) यस्ता मानिसहरूका शब्दहरूका पछाडि भित्री मनसायहरू हुन्छन्, र तिनीहरूले कुराहरू बढाइचढाइ गरेर अरूलाई दोषी समेत ठहराउन सक्छन्। तिनीहरू कस्ता किसिमका मानिसहरू हुन्? (प्रावधानहरू पालना गर्ने र आत्मिक बुझाइ नभएका मानिसहरू हुन्।) तिनीहरू बेतुकका मानिसहरू, बेतुके प्रकारका हुन्। यी विधर्म र भ्रमहरू व्यक्त गर्दा, तिनीहरूले तिललाई पहाड बनाइरहेका हुन्छन् र हातका विषयहरूलाई आफ्नै रायहरू व्यक्त गर्न प्रयोग गरिरहेका हुन्छन्। तिनीहरूको मन यी विधर्म र भ्रमहरूले भरिएको हुन्छ, र तिनीहरूले अनवरत रूपमा ती फलाक्न सक्छन्, तर जब तैँले तिनीहरूलाई सत्यतासँग सम्बन्धित कुनै कुराबारे सङ्गति गर्न भन्छस्, तब तिनीहरूसँग भन्नलाई केही पनि हुँदैन। जब तैँले तिनीहरूलाई सकारात्मक कुराहरू के हुन् भनी सङ्गति गर्न भन्छस्, तब तिनीहरूले यी विधर्म र भ्रमहरू भन्छन्। के तँलाई यो घिनलाग्दो लाग्दैन र? धेरै कुराहरू परमेश्वरद्वारा सृष्टि गरिएका, परमेश्वरद्वारा नियोजन गरिएका, वा परमेश्वरको सार्वभौमिकता अन्तर्गतका सकारात्मक कुराहरूसँग सम्बन्धित हुँदैनन्। कडा शब्दमा भन्नुपर्दा, तिनले परमेश्वरद्वारा सृष्टि गरिएको, परमेश्वरद्वारा नियोजन गरिएको, वा परमेश्वरको सार्वभौमिकता अन्तर्गत रहेको सिद्धान्तको उल्लङ्घन गर्दैनन्, र तिनका अस्तित्वका स्वरूपहरूले मानवजातिको जीविकोपार्जन र जीवित रहने कार्यमा कुनै प्रतिकूल प्रभाव वा हानि गर्दैनन्। त्यसैले, जब तँ बोल्छस्, तब तँसँग विवेक र समझ हुनु, र तैँले तिललाई पहाड नबनाउनु वा इच्छाअनुसार दोष नलगाउनु सर्वोत्तम हुन्छ। परमेश्वरद्वारा सृष्टि गरिएको, परमेश्वरद्वारा नियोजन गरिएको, वा परमेश्वरको सार्वभौमिकता अन्तर्गतको दायराभित्र पर्ने कुराहरू हाम्रो सङ्गतिको योग्य छन्, र ती हाम्रा स्वीकार, बुझाइ, पालना, कदर, र सुरक्षाको योग्य छन्। यीबाहेक, यो दायरामा नपर्ने कुराहरूका हकमा, तिललाई पहाड नबनाउनु र तिनलाई सङ्गति गर्ने प्रमुख विषयहरूका रूपमा व्यवहार नगर्नु, तीबारे ठूलो उत्साहका साथ सङ्गति नगर्नु, र धेरै भेलाहरूसम्म तिनका बारेमा निकै गम्भीरतापूर्वक सङ्गति समेत नगर्नु नै सर्वोत्तम हुन्छ। यसो गर्नु हुँदैन। प्रायजसो, बेतुकका मानिसहरू, आत्मिक बुझाइ नभएका मानिसहरू, दुष्ट मानिसहरू, ख्रीष्टविरोधीहरू, र दियाबलसहरू धाक लगाउन, आफू कति चलाख छु भनी मानिसहरूलाई देखाउन यी कुराहरू गर्न मन पराउँछन्। खुट्ट्याउने क्षमता नभएका मानिसहरूले यो त सत्यताबारे सङ्गति गर्नु हो भन्ने सोच्छन्, र तिनीहरूले कुनै आत्मिक वृद्धि नपाए पनि, तिनीहरूले सहेर सुन्न बाध्य भएको महसुस गर्छन्। वास्तवमा, ती मानिसहरूका शब्दहरू सबै विधर्म र भ्रमहरू हुन्, र मैले कुरा गरिरहेको सकारात्मक कुराहरूको विषयसँग तिनको कुनै सम्बन्ध हुँदैन। त्यसकारण, यदि तैँले यस प्रकारका मानिसहरूले सकारात्मक कुराहरूसँग सम्बन्ध नभएका यी विषय र बहसहरू उठाएको सुनिस् भने, तैँले सुन्न इन्कार गर्न सक्छस्। यदि तँ सत्यता बुझ्छस् र सुझबुझ छ भने, तैँले तिनीहरूलाई खण्डन गर्न र रोक्न सक्छस्। तैँले तिनीहरूलाई कसरी रोक्छस्? तँ भन्छस्, “ठीक छ, चुप लाग! तिमीले बताइरहेका कुराहरू सत्यतासँग सम्बन्धित छैनन्, न त ती सकारात्मक कुराहरूसँग नै सम्बन्धित छन्। तिमीले जे भनिरहेको छौ ती दुष्ट शब्दहरू हुन्, र कसैले पनि ती सुन्न चाहँदैन। यहाँ सबैलाई बाधा नदेऊ, र सबैलाई आफ्नो कर्तव्य पूरा गर्नमा अवरोध नगर!” यदि तिनीहरूका शब्दहरूमा भित्री मनसायहरू छन्, र तिनीहरूले इच्छाअनुसार दोष लगाउँछन् र सकारात्मक प्रभाव पार्दैनन् भने, तिमीहरूले खडा भएर तिनीहरूलाई बाधा उत्पन्न गर्नबाट रोक्नुपर्छ, र साथै सबैलाई खुट्ट्याउने क्षमता प्राप्त गर्ने तुल्याउनका लागि तिनीहरूको खुलासा पनि गर्नुपर्छ। सुनिसकेपछि, सबैले के बुझ्नेछन् भने तिनीहरूका शब्दहरू विधर्म र भ्रमहरू हुन्, जसको सत्यतासँग कुनै सम्बन्ध छैन, तिनीहरूले नाटिकुटी गरिरहेका छन्, बालको खाल निकालिरहेका छन्, मानिसहरूलाई भ्रममा पारिरहेका छन्, शब्द र धर्मसिद्धान्तहरू बोलिरहेका छन्, र उच्च सुनिने विचारहरू फलाकिरहेका छन्, र तिनीहरूका भित्री मनसायहरू छन् र तिनीहरू समस्या खडा गर्न चाहन्छन्, र त्यसैले तिनीहरूलाई प्रतिबन्ध लगाइनुपर्छ र चुप लगाइनुपर्छ। मानौँ त्यस समयमा उपस्थित धेरैजसो मानिसहरू अलमल्ल मानिसहरू हुन् जोसँग दुष्ट मानिसहरू र दियाबलसहरूबारे कुनै खुट्ट्याउने क्षमता छैन, र तिनीहरूले भ्रमहरू फैलाइरहेका छन् र मानिसहरूलाई भ्रमित पारिरहेका छन् भनेर उनीहरूले छुट्ट्याउन सक्दैनन्। जब यी अलमल्ल व्यक्तिहरू र ती दुष्ट मानिसहरू र दियाबलसहरू एकसाथ भेला हुन्छन्, तब तिनीहरू सबै एउटै दुर्गन्धित कपडाबाट काटिएका जस्तै गरी मिल्छन्। परमेश्वरका वचनहरू सुनेपछि, तिनीहरूले सत्यता स्वीकार नगर्ने मात्र होइन, तर आडम्बरपूर्ण शब्दहरू र उच्च सुनिने रित्ता कुराहरूका भएका केही भ्रमहरू पनि फैलाउँछन्। त्यस अवस्थामा, तँ कुनै पनि विचार व्यक्त नगरी, खडा भएर चुपचाप जान सक्छस्। दियाबलसहरूलाई धाक लगाउन र प्रदर्शन गर्न दे। तिनीहरूसँग वाद-विवाद नगर्, ताकि तेरो मनलाई बाधा नपरोस् र तेरो कर्तव्य-निर्वाहमा असर नपरोस्। किन? किनभने दियाबलस सधैँ दियाबलस नै हुन्छ; पशु सधैँ पशु नै हुन्छ। तिनीहरूसँग कुनै चेतना हुँदैन, तिनीहरूले सही र गलत खुट्ट्याउन सक्दैनन्, र सही के हो र गलत के हो भन्ने जान्दैनन्; तैँले जतिसुकै सङ्गति गरे पनि, तिनीहरूले सत्यता बुझ्नु असम्भव हुन्छ। दियाबलसहरूले सधैँ शब्द र धर्मसिद्धान्तहरू बोल्नेछन्, नारा लगाउनेछन्, र उच्च सुनिने तर खोक्रा कुराहरू फलाक्नेछन्, जबकि पशुहरूबाट पुनर्जन्म भएकाहरू—आत्माविहीन मानिसहरू—सँग कुनै पनि खुट्ट्याउने क्षमता हुँदैन। जहाँ शैतानहरू र दियाबलसहरूको बाधा हुन्छ, त्यहाँ तिनीहरूले पछ्याउनेछन् र तिनीहरू त्यस झमेलामा फस्नेछन्। यदि तैँले तिनीहरूलाई खुट्ट्याउन सिकाइस् भने, तिनीहरूले त्यो सिक्न सक्दैनन्। सत्यता बुझ्नेहरूसँग मात्र चलाखी र बुद्धि हुन्छ, र तिनीहरू समस्या देख्दा लुक्नेछन्। तिनीहरूले दियाबलसले बाधा उत्पन्न गरिरहेको देख्दा खुट्ट्याउन सक्नेछन्, र तिनीहरू दुष्टताबाट टाढा रहनुपर्छ भनी जानेर, त्यस झमेलामा फस्नेछैनन्। जहाँ दियाबलसहरूले प्रदर्शन गर्छन्, जहाँ पशुहरू भेला हुन्छन्, त्यो ठाउँ दुर्गन्ध र अस्तव्यस्तता गनाउनेछ। तिनीहरू एउटै दुर्गन्धित कपडाबाट काटिएका टुक्रा जस्ता हुन् र एकसाथ भेला हुन रमाउँछन्। जसले जतिसुकै बेतुकका र दुष्ट शब्दहरू भने पनि, तिनीहरू सुन्न मन पराउँछन्, र तिनीहरूले ठूलो हर्षका साथ त्यसमा होमा हो समेत मिलाउँछन्। के यो दियाबलसहरूको भेला होइन र? यदि तँ चलाख व्यक्ति होस् भने, यस्तो अवस्था देखेपछि, तँ तुरुन्तै टाढा जानुपर्छ र तिनीहरूसँग मिसिनु हुँदैन। तँ किन तिनीहरूसँग मिसिनु हुँदैन? तैँले किन तिनीहरूसँग बहस वाद-विवाद गर्नु हुँदैन? किनभने तैँले सत्यतामा जतिसुकै सङ्गति गरे पनि, तिनीहरूले त्यो स्वीकार गर्नेछैनन्; तैँले जतिसुकै शब्दहरू भने पनि, ती सबै व्यर्थ हुनेछन्। शैतान र दियाबलसहरूका मानिसहरूले सत्यता पटक्कै स्वीकार गर्दैनन्, र पशुहरूबाट पुनर्जन्म भएकाहरूले सत्यताको अर्थ ठम्याउन सक्दैनन्, त्यसैले तैँले जति भने पनि त्यो बेकार हुन्छ। के तिनीहरू परमेश्वरका वचनहरू पढ्छन्? के तिनीहरूले परमेश्वरका वचनहरूको अर्थ ठम्याउन सक्छन्? के तिनीहरूले कहिल्यै सत्यता खोजेका हुन्छन्? तिनीहरूले मैले भनेका वचनहरू समेत स्वीकार गर्दैनन्, त्यसकारण के तैँले भन्ने केही शब्दहरूले तिनीहरूको खण्डन गर्न सक्छ र? के तिनले तिनीहरूको मन परिवर्तन गराउन सक्छ र? के तिनीहरूले तेरा शब्दहरू स्वीकार गर्न सक्छन् र? त्यसैले, मूर्ख कामहरू नगर्। चुपचाप जानु नै बुद्धिमानी छनौट हो। यदि तैँले दियाबलसलाई “तिमी किन सत्यता अभ्यास गर्दैनौ? तिमी किन सधैँ झूट बोल्छौ र छलमा संलग्न हुन्छौ?” भनेर सोधिस् भने, दियाबलसले निर्लज्जतापूर्वक तेरो खण्डन गर्नेछ; उसले बहस गर्नेछ र आफ्नो प्रतिरक्षा गर्न कुतर्क प्रयोग गर्नेछन्, र उसले झूट बोलिरहेको छ र ऊ छलमा संलग्न भइरहेको छ भनेर पटक्कै स्वीकार गर्नेछैन। यदि तैँले पशुहरूबाट पुनर्जन्म भएकाहरूलाई तिनीहरू किन सधैँ प्रावधानहरू पालना गर्छन् भनी सोधिस् भने, तिनीहरूले पनि आफ्नो प्रतिरक्षा गर्न कुतर्क प्रयोग गर्नेछन्, तिनीहरूले सत्यता अभ्यास गरिरहेका छन् भनेर भन्नेछन्। जब तैँले यस प्रकारको अवस्था सामना गर्छस्, तब तैँले दियाबलसहरू र पशुहरूबाट पुनर्जन्म भएकाहरूले सत्यता पटक्कै स्वीकार गर्दैनन् भनेर स्पष्ट रूपमा देख्न सक्नुपर्छ, त्यसैले तैँले तिनीहरूसँग सङ्गति गर्न र मूर्ख कामहरू गर्न छोड्नुपर्छ। तैँले जतिसुकै शब्दहरू भने पनि वा जतिसुकै कामहरू गरे पनि, तैँले तिनीहरूको प्रकृति सार परिवर्तन गर्न सक्दैनस्, त्यसैले धेरै कुरा गर्दा कुनै फाइदा हुँदैन। तैँले सत्यता स्वीकार गर्न सक्नेहरूसँग सत्यताबारे सङ्गति गर्नुपर्छ। त्यस्ता मानिसहरूले मात्र सजिलै सत्यता स्वीकार गर्छन्—तिनीहरूसँग मात्र तैँले सामान्य कुराकानी गर्न सक्छस्। दियाबलसहरू र पशुहरूबाट पुनर्जन्म भएका मानिसहरूका हकमा, तैँले सत्यताबारे जतिसुकै सङ्गति गरे पनि वा जतिसुकै काम गरे पनि, ती सबै व्यर्थ हुन्छन्। त्यस क्षणमा, तैँले तिनीहरूलाई निरुत्तर हुने गरी खण्डन गर्न सक्लास्, र तिनीहरूले तैँले भनेको कुरा सही हो भनी महसुस गर्न सक्लान्, तर पछि, तिनीहरूको हृदय परिवर्तन हुनेछ, र तिनीहरूले तेरो खण्डन गर्न र तँलाई लज्जित महसुस गराउन केही शब्दहरू समेत तयार गर्नेछन्। हेर त, के दियाबलसहरूले सत्यता स्वीकार गर्न सक्छन्? (सक्दैनन्।) पटक्कै सक्दैनन्। दियाबलसहरूले र पशुहरूबाट पुनर्जन्म भएकाहरूले सत्यता पटक्कै स्वीकार गर्दैनन्। यदि तिनीहरूले कुनै निश्चित क्षणमा स्वीकार गरे पनि, त्यो मुखले मात्र स्वीकार गरेको हुन्छ, र तिनीहरू पछि आफूले भनेको कुराबाट पछि हट्नेछन्। त्यसोभए, के तैँले तिनीहरूसँग सत्यताबारे सङ्गति गरेर कुनै नतिजाहरू हासिल गर्न सक्छस् र? तँ तिनीहरूलाई परिवर्तन गर्न चाहन्छस् ताकि तिनीहरूसँग विवेक र समझ होस्, ताकि तिनीहरूले सत्यता बुझ्दैनन् अनि सत्यता स्वीकार र अभ्यास गर्नुपर्छ भनेर तिनीहरूले जानून्—यो विचार र यो मनसाय आफैमा गलत छ; तँसँग यस्तो विचार र मनसाय कहिल्यै हुनु हुँदैन। के अब तैँले बुझिस्? (बुझेँ।)
हामी सकारात्मक कुराहरूको विषयमा फर्कौँ। सकारात्मक कुराहरूको दायरालाई परमेश्वरद्वारा सृष्टि गरिएको, परमेश्वरद्वारा नियोजन गरिएको, वा परमेश्वरको सार्वभौमिकता अन्तर्गतको वर्गभित्र पर्ने भनेर परिभाषित गरिएको छ। हामीले जेसुकै सामना गरे पनि, हामीले यो ख्याल गर्नुपर्छ, “के यो परमेश्वरद्वारा सृष्टि गरिएको थियो? परमेश्वरको नियोजनसँग यो कसरी सम्बन्धित छ?” यदि यो परमेश्वरद्वारा सृष्टि गरिएको थिएन र परमेश्वरको नियोजनसँग यसको कुनै सम्बन्ध छैन भने, हामीले यसलाई सावधानीपूर्वक व्यवहार गर्नुपर्छ। यदि हामी अझै पनि संसारका चलन पछ्याउँछौँ र त्यसमाथि प्रशंसाको थुप्रो थुपार्छौँ भने, के त्यो मूर्खता होइन र? यदि कुनै कुरा परमेश्वरद्वारा सृष्टि गरिएको, परमेश्वरद्वारा नियोजन गरिएको, वा परमेश्वरको सार्वभौमिकता अन्तर्गतको दायराभित्र पर्दैन भने, त्यसलाई सकारात्मक वा नकारात्मक कुरा कुनै पनि भन्न सकिँदैन, र त्यसैले यसबारे छलफल गर्नुको कुनै अर्थ हुँदैन। यदि तैँले यसबारे छलफल गरिस् भने, के त्यो तैँले यसलाई सकारात्मक कुराका रूपमा स्वीकार गर्न चाहेर हो? कि तैँले यसलाई नकारात्मक कुराका रूपमा चित्रण गर्न र यसलाई इन्कार गर्न चाहेर हो? यसलाई स्वीकार वा इन्कार गर्दा तेरो जीवन र तेरो आत्मआचरणमा के फाइदा हुन्छ? के यो तैँले गर्ने सत्यताको स्वीकृतिका लागि फाइदाजनक हुन्छ? यदि कुनै फाइदा छैन भने, यसलाई सङ्गति र छलफलको विषयका रूपमा व्यवहार गर्नुको कुनै अर्थ हुँदैन; त्यो मूर्ख हुनु र मूर्ख कामहरू गर्नु हुनेछ, होइन र? (हो।) उदाहरणका लागि, हामीले भर्खरै कुरा गरेका घोडागाडाहरू, कपडा, ओछ्यान, र कुर्सीहरू—यदि तँ सधैँ तिललाई पहाड बनाउँछस् र तिनका बारेमा “यो सकारात्मक कुरा हो कि नकारात्मक कुरा हो? मैले यसलाई स्वीकार गर्नुपर्छ कि इन्कार गर्नुपर्छ? मैले यसलाई कदर गर्नुपर्छ कि घृणा गर्नुपर्छ? यसलाई व्यवहार गर्ने उपयुक्त तरिका के हो?” भन्दै छलफल गर्न चाहन्छस् भने, यो विकृत हुनुको प्रकटीकरण हो। विकृत हुने झुकाव भएका मानिसहरूले मुख्य बुँदाहरू बोध गर्न सक्दैनन्; तिनीहरू सधैँ स्वरूप, धर्मसिद्धान्तहरू, र प्रावधानहरूमा मेहनत लगाउँछन्, र सत्यतामा कसरी मेहनत लगाउने भनेर कहिल्यै बुझ्दैनन्। धेरै कुराहरूमा सकारात्मक र नकारात्मक कुराहरूको मामला समावेश नहुने हुनाले, तिनका बारेमा सङ्गति गर्नु आवश्यक हुँदैन। किनभने, ती कुराहरू सकारात्मक वा नकारात्मक, कुनै पनि नहुँदा, तिनले तेरो जीवन प्रवेश र तैँले हिँड्ने जीवनको मार्गमा निकै कम प्रभाव पार्छन्, र त्यसैले तँ तिनमा गहिरिएर लाग्नु आवश्यक हुँदैन। यदि सक्छस् भने तँ तिनको प्रयोग गर्, र यदि गर्दैनस् भने पनि ठीकै छ। यदि मानिसहरूको स्वास्थ्यलाई असर गर्ने केही रसायन-आधारित उत्पादनहरू छन्, र तिनको गन्ध वा रासायनिक तत्त्वहरूले मानिसहरूको शरीरमा केही हानि पुऱ्याउनेछ भने, तैँले तीबाट टाढा रहने तरिका खोज्नुपर्छ, र त्यस्ता दैनिक वस्तुहरू सकेसम्म कम प्रयोग गर्नुपर्छ वा पटक्कै गर्नु हुँदैन। यसरी, तैँले तिनले गर्ने हानिलाई हटाउन वा कम गर्न सक्छस्। यी हानिहरूबाट पूर्ण रूपमा जोगिन त असम्भव हुनेछ, तर तिनीहरूले तत्कालका लागि तिमीहरूको जीवनलाई हानि नगरेसम्म, तँलाई छोटो अवधिमा बिरामी नबनाएसम्म, र परमेश्वरमाथिको तेरो विश्वास र पछ्याइलाई, वा तेरो कर्तव्य-निर्वाह र सत्यताको पछ्याइमा असर नगरेसम्म, त्यो नै पर्याप्त हुन्छ, किनभने वास्तविक वातावरण यस्तै छ। के यो सिद्धान्त अब स्पष्ट भयो? (भयो।)
हामीले “परमेश्वरद्वारा नियोजन गरिएको कुरा” को पक्षमा अलिकति सङ्गति गरेका छौँ। त्यसकारण, के हामीले “परमेश्वरको सार्वभौमिकता अन्तर्गतको कुरा” सँग सम्बन्धित सत्यताबारे पनि सङ्गति गर्नु पर्दैन र? (पर्छ।) के “परमेश्वरको सार्वभौमिकता अन्तर्गतको कुरा” र “परमेश्वरद्वारा सृष्टि गरिएको कुरा र परमेश्वरद्वारा नियोजन गरिएको कुरा” का बीचमा सूक्ष्म भिन्नता छ? (छ।) परमेश्वरको सार्वभौमिकतामा के समावेश हुन्छ? परमेश्वर मानिसहरूको भाग्यमाथि सार्वभौम हुनुहुन्छ भनेर प्रायजसो भनेर भन्ने गरिन्छ। मानिसहरूको भाग्य जस्तोसुकै भए पनि, के भाग्यको कुरा आफैमा सकारात्मक कुरा हो? (हो।) कुनै व्यक्तिको भाग्य जस्तोसुकै भए पनि, बाहिरबाट त्यो असल देखिए पनि वा खराब देखिए पनि, त्यो परमेश्वरबाट आएसम्म, परमेश्वरद्वारा नियोजन गरिएको भएसम्म, वा परमेश्वरको सार्वभौमिकता अन्तर्गत परेसम्म, त्यो सकारात्मक कुरा हो। त्यसोभए मानिसहरूको भाग्य सकारात्मक कुरा हो भनेर कसरी निर्धारण गर्न सकिन्छ? मानिसहरूका भाग्य सबै प्रकारका हुन्छन्। बाहिरी रूपमा, कतिपयले आशिषित जीवन जिएको जस्तो देखिन्छ, जबकि अरूले कष्ट भोग्छन्; कतिपय मानिसहरू जीवनभरि सम्पन्न हुन्छन्, जबकि अरूका लागि कामकुराहरू कहिल्यै सहज रूपमा अघि बढ्दैनन्; कतिपय मानिसहरू समृद्धिमा जिउँछन्, अरू चरम गरिबीमा; कतिपय मानिसहरूका सुखी, आनन्दित परिवार हुन्छन्, जबकि अरूका वैवाहिक सम्बन्ध दुःखी हुन्छ र छोराछोरी अनाज्ञाकारी हुन्छन्; कतिपय मानिसहरू जीवनभरि एकलै हुन्छन्, जबकि अरूले आफ्ना छोराछोरी र नातिनातिनाहरूले घेरिनुमा आनन्द लिन्छन्; कतिपय मानिसहरू जीवनभरि बिमारी र पीडाले ग्रस्त हुन्छन्, ठूलो वेदनामा जिइरहेका हुन्छन्, जबकि अरू बलिया र स्वस्थ हुन्छन्, तिनीहरूले आरामदायक, आजाद जीवन जिउँछन्, र अन्ततः तिनीहरू पाको उमेरमा शान्तिपूर्वक मर्छन्। के यी विभिन्न प्रकारका मानिसहरूका भाग्य होइनन् र? (हुन्।) त्यसोभए के भाग्य परमेश्वरको सार्वभौमिकता अन्तर्गत हुन्छ? (यो परमेश्वरको सार्वभौमिकता अन्तर्गत हुन्छ।) मानिसहरू आफ्ना धारणाहरूमा यस्तो सोच्छन्, “भाग्य परमेश्वरको सार्वभौमिकता अन्तर्गत हुने भएकोले, मानिसहरूका भाग्य सबै असल हुनुपर्छ। किन यति धेरै खराब भाग्यहरू छन् त?” अझै एउटा छक्क पार्ने तथ्य छ, त्यो के हो भने धेरैजसो मानिसहरूका भाग्य तिनीहरूले चाहेको जस्तो हुँदैनन्। हेर्—कति जना मानिसहरूले आफ्नो जीवनभरि कुनै कठिनाइ भोग्दैनन्, तिनीहरू धन र हैसियतमा जन्मिन्छन्, र तिनीहरूले सबैतिरबाट स्नेहको वर्षा पाउँछन्? त्यस्ता कति जना मानिसहरू छन्? कुलीन परिवारमा जन्मेकाहरूको मात्र यस्तो भाग्य हुन्छ। अरू धेरैजसो मानिसहरूले आफ्नो जीवनभरि कष्ट भोग्छन् र अनगिन्ती कठिनाइहरू सहन्छन्, हरेक पाइलामा व्यवधानहरू सामना गर्छन्—तिनीहरूका लागि कामकुरा अत्यन्तै गाह्रो हुन्छन् र पटक्कै सहज रूपमा अघि बढ्दैनन्। सैद्धान्तिक रूपमा तैँले मानिसहरूका भाग्य सबै परमेश्वरको सार्वभौमिकता अन्तर्गत छन्, र परमेश्वरको सार्वभौमिकता अन्तर्गतका सबै कुराहरू सकारात्मक कुराहरू हुन् भनी अनुमोदन गरे पनि, तैँले आफ्नो हृदयमा अझै यो कुरा बुझ्दैनस्: “यदि अविश्वसनीय रूपमा प्राधिकारमा जन्मेकाहरूका हकमा असल भाग्य हुनु सकारात्मक कुरा हो भनिन्छ भने, धर्मसिद्धान्तका हिसाबमा, यो स्वीकार्य हुन्छ। तर ८० देखि ९० प्रतिशत मानिसहरूका हकमा, कामकुराहरू सहज रूपमा अघि बढ्दैनन् र तिनीहरूले आफ्नो जीवनभरि कष्ट भोग्छन्—त्यसोभए किन यस्ता भाग्यहरू पनि सकारात्मक कुराहरू हुन्छन् र परमेश्वरको सार्वभौमिकता अन्तर्गत पनि हुन्छन् त? यो केही हदसम्म अस्वीकार्य हो जस्तो लाग्छ। चाहे नैतिक इन्साफको भावनाबाट होस् वा सहानुभूतिको भावनाबाट होस्, यस्ता भाग्यहरूलाई सकारात्मक कुराहरूका रूपमा वर्गीकृत गर्न सकिँदैन। यसको अर्थ लाग्दैन। के यो परिभाषा गलत हुन सक्छ? यदि यो साँच्चै गलत छ भने, मानिसहरूको भाग्यबारे भाग परमेश्वर सार्वभौम हुनुहुने कुराहरूबाट हटाइनुपर्छ। तर यदि यसलाई हटाइउने हो भने, त्यो परमेश्वर मानिसहरूको भाग्यमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्यलाई इन्कार गर्नु हुनेछ। के त्यो त अत्यन्तै विद्रोही कार्य हुनेछैन र? तर परमेश्वरको सार्वभौमिकता अन्तर्गतका सबै कुराहरू सकारात्मक कुराहरू हुन्, र खराब भाग्यहरू पनि सकारात्मक कुराहरू हुन् भन्ने तथ्यलाई हामीले कसरी बुझ्ने?” मानिसहरू अलि अलमल्लमा पर्छन्। यसले तिमीहरूका लागि एउटा गाह्रो प्रश्न प्रस्तुत गर्छ, गर्दैन र? (हो, गर्छ।) त्यसोभए मलाई भन। कसले यो मामला स्पष्ट रूपमा व्याख्या गर्न सक्छ हेरौँ। (मलाई लाग्छ मानिसहरूले कठिनाइहरू सामना गर्नुलाई नराम्रो कुरा मान्नु गलत हो। वास्तवमा, परमेश्वरले कसैका लागि नियोजन गर्नुभएको भाग्य, चाहे त्यो कठिनाइको होस् वा सहजताको होस्, त्यो तिनीहरूका लागि सबैभन्दा लाभदायक हुन्छ। विशेष गरी, कष्टले मानिसहरूलाई आकार दिन अझ बढी सक्छ। यसका साथै, यी कुराहरू मानिसहरूका सत्त्वहरूको पुनर्जन्मसँग सम्बन्धित हुन्छन्। सायद त्यस व्यक्तिले अघिल्लो जीवनमा गरेको दुष्कर्म वा अघिल्लो जीवनबाट बाँकी रहेको केही ऋणका कारण, उसले यस जीवनमा त्यो चुकाउनका लागि दुःख भोग्नैपर्छ। यो सबै परमेश्वरको नियोजन र प्रबन्धको अधीनमा पर्छ।) त्यसोभए यसमा सकारात्मक कुरा के छ? के तँ यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्छस्? (सक्दिनँ।) हेर् त, यदि कसैले साँच्चै तँलाई यसबारे सोध्यो भने, तैँले यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्नेथिइनस्; तँ यहीँ अड्किनेथिइस्। यदि तैँले यसलाई गम्भीरतापूर्वक लिइनस् भने, तैँले यसलाई त्यसै जान दिनेथिइस्, तर यसले “परमेश्वरको सार्वभौमिकता अन्तर्गतका सबै कुराहरू सकारात्मक कुराहरू हुन्” भन्ने सत्यताप्रतिको तेरो स्विकृतीलाई असर गर्नेथियो, यसले कुन कुराहरू सकारात्मक हुन् भनी चित्रण गर्नका लागि यो सत्यताको तेरो उपयोगलाई असर गर्नेथियो, यसले कुनै पनि सकारात्मक कुराप्रतिको तेरो स्वीकार र मान्यतालाई असर गर्नेथियो, र यसले “परमेश्वरको सार्वभौमिकता अन्तर्गतको कुरा” को दायराभित्रका सबै कुराहरूप्रतिको तेरो मनोवृत्तिलाई पनि असर गर्नेथियो, जुन मनोवृत्तिमा, अवश्य पनि, तैँले तिनलाई स्वीकार गर्छस् कि दोषी ठहराउँछस् भन्ने कुरा समावेश हुन्छ—यो समस्या निकै गम्भीर छ। यदि तैँले भाग्यको मामलालाई छर्लङ्गै देख्न सक्दैनस् भने, तैँले यसलाई नकारात्मक कुराका रूपमा व्यवहार गर्ने र त्यही रूपमा चित्रण गर्ने सम्भावना हुन्छ। तर मानिसहरूको भाग्य परमेश्वरको सार्वभौमिकता अन्तर्गत हुन्छ र परमेश्वरद्वारा नियोजन गरिएको हुन्छ। यदि तैँले मानिसहरूको भाग्य, जसमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ र जसलाई परमेश्वरले नियोजन गर्नुभएको छ, त्यसलाई नकारात्मक कुराका रूपमा चित्रण गरिस् भने, यो समस्याको प्रकृति के हो? (परमेश्वरको विरुद्धमा ईश्वरनिन्दा गर्नु।) यो परमेश्वरलाई दोषी ठहराउनु र परमेश्वरको विरुद्धमा ईश्वरनिन्दा गर्नु हो। मानव भाषामा भन्दा, यसको अर्थ हो, “तैँले ठूलो पाप गरेको छस्, त्यसैले तुरुन्तै गएर आफ्ना पापहरू स्वीकार गर्!” हामी यसबारे अझ बढी कुरा गर्नेछैनौँ।
हामीले भर्खरै “परमेश्वरको सार्वभौमिकता अन्तर्गतका सबै कुराहरू सकारात्मक कुराहरू हुन्” भनी सङ्गति गर्यौँ र हामीले मानिसहरूका भाग्यबारे उल्लेख गर्यौँ। यो विषयवस्तुको दायरा विशाल भए तापनि, यो निकै निश्चित पनि छ; यो हरेक व्यक्ति र सारा मानवजातिको जीवनसँग सम्बन्धित छ। मानिसहरूका हरेक भाग्य फरक-फरक प्रकारका हुन्छन्, तर धेरैजसो मानिसहरूका भाग्यलाई, मानिसहरूले देखेअनुसार वा आफैले अनुभव गरेअनुसार, एउटै शब्दमा वर्णन गर्न सकिन्छ: अभागी भनेर। “अभागी” को अर्थ व्यक्तिको भाग्य कठिन परिस्थिति र निराशाहरूले भरिएको छ भन्ने हुन्छ; यस्तो व्यक्तिले निकै कठिन जीवन बिताउँछ, र परिस्थितिहरू प्रायजसो उसले चाहेजस्तो हुँदैनन्। कुनै व्यक्तिले सहज अनुभवहरूको सामना गरे पनि कठिन अनुभवहरूको सामना गरे पनि, उसले जे देखे पनि वा महसुस गरे पनि, एउटै निर्विवाद कुरा के हो भने, अधिकांश मानिसहरूले आफ्नो भाग्य आफूले चाहेजस्तो नभएको पाए पनि, सबैको भाग्य परमेश्वरको सार्वभौमिकता अन्तर्गत हुन्छ। यो कुरालाई कहिल्यै इन्कार गरिनु हुँदैन। मानिसहरूको भाग्यमाथिको परमेश्वरको सार्वभौमिकताले मानिसहरूलाई स्वीकार गर्न गाह्रो हुने यस्तो वास्तविकता उत्पन्न गरेको हुनाले, मानिसहरूको भाग्यमाथि परमेश्वरको सार्वभौमिकताका सिद्धान्त र जड के हुन्, र मानिसहरूको भाग्यमाथि सार्वभौमिकता राख्नुमा परमेश्वरको मनसाय के हो—अर्थात्, परमेश्वरले किन यसरी मानिसहरूको भाग्यमाथि सार्वभौमिकता राख्नुहुन्छ, र उहाँले किन मानिसहरूका लागि यस्तो भाग्य प्रबन्ध गर्नुहुन्छ भनेर सङ्गति गर्न आवश्यक छ। पहिले, मानिसहरूको भाग्यमाथि सार्वभौमिकता राख्नुमा परमेश्वरको मनसाय के हो भन्ने कुरा हेरौँ। के मानिसहरू यस संसारमा यत्तिकै अलमलिन वा आफ्नो समय बरबाद गर्न आउँछन्? (दुवै होइन।) मानिसहरूको भाग्य प्रबन्ध गर्नुपछाडि रहेको परमेश्वरको मनसायको हकमा भन्दा, यो तिनीहरू संसारमा जिउँदा लासहरूजस्तै अलिकति घुमफिर गरून् र त्यसपछि समाप्त होऊन् भन्ने होइन। बरु, यो त मानिसहरू देहमा जिऊन् र तिनीहरूले जीवन अनुभव गरून्, र तिनीहरूले सबै प्रकारका जीवित वातावरणहरू, साथै विभिन्न अवधिहरूमा विभिन्न परिस्थितिहरू भोगून् भन्ने हो। जीवन अनुभव गर्ने बारेमा कुरा गर्दा, मानिसको देहको एउटा विशेषता छ: यदि कुनै व्यक्तिले कुनै पनि कठिन परिस्थिति, कठिनाइ, अड्चन, वा असफलताहरू नभोगी आरामदायक वातावरणमा जियो भने, उसलाई बढ्न र परिपक्व हुन सजिलो हुँदैन। यो हावा र घामको सम्पर्कमा नआई हरितगृहमा हुर्कने बोटजस्तै हो; यसको जीवन निकै नाजुक हुन्छ, किनभने यसलाई प्रकृतिबाट विभिन्न पोषक तत्त्वहरू सोस्न सजिलो हुँदैन। एक पटक यो चर्को घाम र तेज हावाको सम्पर्कमा आएपछि, यो सजिलै भाँचिन र अकालमै मर्न सक्छ, त्यसपछि यसको जीवन जारी रहन सक्दैन। त्यसकारण, मानिसको देहको प्रकृति र प्रवृत्तिका हिसाबमा भन्दा, मानवजाति हावा र वर्षा अनुभव नगर्ने हरितगृहका फूलहरूजस्तै हुनु हुँदैन, तर तिनीहरूले मानव संसारबाट आउने विभिन्न अड्चनहरू, कठिन परिस्थितिहरू, र निराशाहरू सहनुपर्छ। यस्तो जिउने वातावरणमा, मानवजातिले आफ्नो परमेश्वर-प्रदत्त स्वतन्त्र इच्छा र विचारहरू उपयोग गर्नेछ, र तिनीहरू—हर सम्भव माध्यमद्वारा, स्वतन्त्र रूपमा, दृढतापूर्वक, र कुनै पनि कठिनाइहरूको डरविना—अघि बढिरहनेछन् र जिइरहनेछन्। यसले मानिसहरूका जीवन र बाँच्ने कार्यका लागि विभिन्न जन्मजात प्रवृत्तिहरूलाई उत्प्रेरित गर्नेछ, र मानिसहरू स्वतन्त्र रूपमा जिउन र हरेक वातावरण, साथै तिनीहरू वरपरका सबै मानिस, घटना, र कामकुराहरू सामना गर्न आफ्नो परमेश्वर-प्रदत्त जन्मजात प्रवृत्ति प्रयोग गर्न सक्षम हुनेछन्। एक हिसाबमा, मानिसको देहको वस्तुगत प्रवृत्तिको दृष्टिकोणबाट हेर्दा, मानिसहरूलाई बाँच्ने इच्छा उत्पन्न गराउन यस वातावरणको उत्प्रेरणा र प्रेरणा चाहिन्छ, ताकि तिनीहरू दृढतासाथ जिउन सकून्। सतहमा, यसरी जिउनु गाह्रो भए झैँ देखिन्छ, तर यस वातावरणको उत्प्रेरणा र प्रहारहरूका बीचमा, मानिसहरूले बाँच्ने अझ बलियो चाहना विकास गर्छन्, र त्यसैले तिनीहरू अघि बढिरहनेछन्, र तिनीहरू बिस्तारै परिपक्व हुनेछन्, बिस्तारै अरूसँग जिउन अनुकूल हुनेछन्, र कम नाजुक हुनेछन्, बरु तिनीहरूसँग लगनशीलता, सहनशीलता, र दृढता हुनेछ, र कुनै पनि कठिनाइहरूसँग नडराउन सक्षम हुनेछन्। मानिसहरूको भाग्य प्रबन्ध गर्नुपछाडि परमेश्वरको प्रारम्भिक मनसाय यही हो; यो मानिसहरूको भाग्यको आधारभूत अवधारणा हो जसलाई तिनीहरूको देहको जन्मजात प्रवृत्तिको मौलिक स्वरूपमा आधारित भएर शिल्प गरिएको हुन्छ। यो एउटा पक्ष हो। अर्को के हो भने—यो आधारभूत अवधारणालाई आधार मानेर अघि बढ्दै जाँदा—जब मानिसहरूले यस संसारमा आफ्नो यात्रा गर्छन्, बाल्यकालदेखि वृद्धावस्थासम्म जाँदा, बिस्तारै उमेर बढ्दै जाने प्रक्रियामा, तिनीहरूले जीवनका घटनाहरू अनुभव गर्छन्, जीवनको अनुभव प्राप्त गर्छन्, र जीवनमा विभिन्न कठिनाइहरू सामना गर्नका लागि केही सिद्धान्त र मार्गहरू प्राप्त गर्छन्। यसरी, मानिसहरू बिस्तारै परिपक्व हुन्छन्, र स्वर्ग र पृथ्वीका बीचमा, र अरूका बीचमा आत्मनिर्भर रूपमा जिउन बढ्दो रूपमा सक्षम हुन्छन्। तिनीहरू त्यति नाजुक हुनेछैनन्, र तिनीहरूले अलिकति अड्चन वा असफलता सामना गर्दा निरुत्साहित वा निराश महसुस गर्नेछैनन्—वा जिउनुमा कुनै आशा छैन भन्ने महसुस समेत गर्नेछैनन्। बरु, विभिन्न कठिन परिस्थितिहरू अनुभव गरेपछि, तिनीहरू जीवन र मृत्युलाई सही रूपमा हेर्न झन्झन् सक्षम हुनेछन्, र तिनीहरूले जीवनमा कुन कर्तव्यहरू निर्वाह गर्नुपर्छ र तिनीहरूलाई सबैभन्दा बढी के चाहिन्छ भनेर झन्झन् महसुस गर्न सक्षम हुनेछन्, र यसरी, तिनीहरूले जीवनमा झन्झन् सहज महसुस गर्नेछन्। यस प्रक्रियामा, मानिसहरू बिस्तारै परिपक्वता हुन्छन्; अर्थात्, तिनीहरू बिस्तारै कठिनाइ र खतरासँग नडराउने, मृत्युसँग नडराउने, र कुनै पनि कठिनाइसँग नडराउने बिन्दुमा पुग्छन्। सुरुमा, जब मानिसहरू जवान हुन्छन्, तिनीहरूले केही अप्रिय र हृदय-विदारक शब्दहरू सुन्दा वा अलिकति कठिनाइ वा अड्चन सामना गर्दा तिनीहरू रुन्छन् र सुत्न सक्दैनन्, र जिउनुको कुनै आशा छैन भन्ने महसुस गर्छन्। बिस्तारै, तिनीहरू यस्तो अवस्थामा पुग्छन् जहाँ तिनीहरूले हृदय विदारक शब्दहरू सुन्दा र कठिनाइहरू सामना गर्दा तिनीहरूको हृदयमा निश्चित मात्रामा प्रतिरक्षा र प्रतिरोध क्षमता हुन्छ, र तिनीहरूले उप्रान्त जिउनुको कुनै अर्थ छैन भन्ने महसुस गर्दैनन्, न त तिनीहरूले मृत्युबारे नै सोच्छन्। पछि, जब तिनीहरूले अझ बढी हृदय विदारक शब्दहरू सुन्छन् र अड्चन र असफलताहरू सामना गर्छन्, तब निकै प्रभावित नभई नै तिनीहरूले आफ्नो हृदयमा ती सहन सक्छन्, र जीवनमा मानिसहरूले यी कुराहरू अनुभव गर्नु निकै सामान्य कुरा हो भन्ने महसुस गर्छन्, अनि उप्रान्त तिनीहरूलाई आफ्नो जीवनलाई अगाडि बढाउन अरूको सान्त्वना, प्रोत्साहन, वा सहायताको आवश्यकता पर्दैन। यसरी, के मानिसहरूले झन्-झन् धेरै दृढता प्राप्त गर्दैनन् र? मानिसहरूसँग आत्मनिर्भर रूपमा बाँच्ने क्षमता हुन्छ, र आत्मनिर्भर रूपमा बाँच्ने प्रेरणा पनि हुन्छ। सबै जना जवान र अनभिज्ञ हुने चरणबाटगुज्रनैपर्छ। चालीस वा पचास वर्षको उमेरपछि मात्र तिनीहरू बिस्तारै परिपक्वताको अवस्थामा पुग्छन् र वयस्क बन्छन्। कोही परिवार सुरु नगरेको, करियर नबनाएको, वा ऊ आमाबुबा नबनेको भए पनि, उसले जीवनमा भोगेका कुराहरूबाट, उसले बोल्ने शब्दहरूबाट, र उसको जीवनप्रति, जिउनुप्रति, उसले सामना गर्ने कठिनाइहरूप्रति, र उसले चाहेजस्तो हुने वा नहुने कुराहरूप्रति उसमा भएका अनुभूति, बुझाइ, र मनोवृत्ति मूल्याअङ्कन गर्दा, तैँले यो व्यक्ति हुर्किएको र परिपक्व भएको छ भन्ने थाहा पाउनेछस्। यो सबै केका कारण हुन्छ? यो परमेश्वरले नियोजन गर्नुभएअनुसार मानिसहरूको भाग्यमा देखा पर्ने विभिन्न कठिनाइ, निराशा, र यहाँसम्म कि अड्चन र असफलताहरूका कारण हुन्छ। त्यसकारण, यस दृष्टिकोणबाट हेर्दा, मानिसहरूको भाग्यमाथिको परमेश्वरको सार्वभौमिकता सकारात्मक कुरा हो भन्ने कुरामा कुनै शङ्का छैन, र मानिसहरूले यो सत्यतालाई पूर्ण हदसम्म स्वीकार गर्नुपर्छ। के यहाँ मानिसहरूको भाग्यमाथिको परमेश्वरको सार्वभौमिकतामा उहाँसँग साँच्चै श्रमसाध्य अभिप्रायहरू छन् भनेर भन्न सकिन्छ? (सकिन्छ।) चाहे कुनै व्यक्तिले परमेश्वरमा विश्वास गरोस् वा नगरोस्, मानिसहरू आफ्नो जन्मदेखि परिपक्व हुँदै जाँदा, असल क्षमता भएकाहरू त तिनीहरू भाग्यको अधीनमा छन् भनी बुझ्ने र परमेश्वरलाई खोज्ने अवस्थामा समेत पुग्न सक्छन्। यस तथ्यबाट मूल्याङ्कन गर्दा, के मानिसहरूको भाग्यमाथिको परमेश्वरको सार्वभौमिकताको मौलिक अभिप्राय सकारात्मक कुरा होइन र? (हो।) हेर् त, जब म यो कुरा भन्छु, तब तिमीहरू सबैले शिर हल्लाउँछौ र यो सकारात्मक कुरा हो भनी मान्छौ। किन? किनभने मैले जे भनिरहेको छु त्यो तथ्य हो, र मैले यो मामलाको सार स्पष्ट रूपमा व्याख्या गरेको छु, र तिमीहरूले पनि यो अनुभव गरेका छौ, होइन र? (हो।) मानवजातिले परमेश्वरको सार्वभौमिकता अन्तर्गत रहेको भाग्यबाट साँच्चै लाभ उठाएको छ। तेरो पृष्ठभूमि जेसुकै भए पनि, वा तँ जहाँबाट आए पनि, र तैँले यस समाजमा जुनसुकै भूमिका खेले पनि, छोटकरीमा, जबसम्म तँ परमेश्वरको सार्वभौमिकता अन्तर्गत जिउँछस्, तबसम्म तैँले परमेश्वरबाट लाभहरू प्राप्त गरेको हुन्छस्। कतिपय मानिसहरू यसो भन्छन्, “त्यो कुरा सही होइन। परमेश्वर परमेश्वरका चुनिएका मानिसहरूको भाग्यमाथि, मानवहरूको भाग्यमाथि सार्वभौम हुनुपर्छ। परमेश्वर दियाबलस वा पशुहरूबाट पुनर्जन्म भएकाहरूको भाग्यमाथि सार्वभौम हुनुहुन्न।” के यो अभिव्यक्ति सही छ? (छैन।) कुनै पनि सृजित प्राणी परमेश्वरको सार्वभौमिकता अन्तर्गत हुन्छ। कुनै कुरा एक सृजित प्राणी भएसम्म, त्यसको एउटा भाग्य हुन्छ। तँ एक सृजित प्राणी होस्, त्यसैले तेरो भाग्य छ। परमेश्वरले तेरा लागि भाग्य प्रबन्ध गर्नुभएको छ, त्यसैले तेरो भाग्य तैँले रोजेको कुरा होइन, न त यो तैँले सृष्टि गरेको कुरा नै हो; यो त परमेश्वरको सार्वभौमिकताबाट आउँछ। त्यसकारण, तैँले जुनसुकै भूमिका खेले पनि, तँ मानव, पशु, वा दियाबलसबाट पुनर्जन्म भएको भए पनि, तँ अहिले मानव जातिको सदस्यका रूपमा देखा परेको हुनाले, तेरो निश्चित रूपमा भाग्य छ, र तेरो भाग्य निश्चित रूपमा परमेश्वरको सार्वभौमिकता अन्तर्गत नै छ। यस बुँदाका आधारमा, के मानिसहरूको भाग्यमाथि परमेश्वरको सार्वभौमिकता सकारात्मक कुरा होइन र? (हो।) हामी किन मानिसहरूको भाग्यमाथि परमेश्वरको सार्वभौमिकता सकारात्मक कुरा हो भनेर भन्छौँ? किनभने परमेश्वरले कुनै पनि सृजित प्राणीका लागि प्रबन्ध गर्नुहुने भाग्यपछाडि उहाँका श्रमसाध्य अभिप्रायहरू हुन्छन्; यो सबै मानवजाति यस संसारमा परमेश्वरले दिनुभएका विभिन्न जन्मजात अवस्थाहरूका साथ सामान्य रूपमा र व्यवस्थित तरिकाले जिउन सकून् भनेर हो। परमेश्वरले कुनै पनि व्यक्तिलाई अन्यायपूर्ण व्यवहार गर्नुहुन्न। भनाइ नै छ, सूर्य असल र खराब दुवैमाथि चम्कन्छ। यो परमेश्वरको सार्वभौमिकता हो। नत्रभने, हामी किन केवल परमेश्वर मात्र मानवजातिका सृष्टिकर्ता हुनुहुन्छ, र केवल परमेश्वर मात्र मानवजातिमाथि सार्वभौम हुनुहुन्छ भनेर भन्छौँ त? किनभने परमेश्वरले यही गर्नुहुन्छ, परमेश्वरसँग यो क्षमता छ, र उहाँसँग यो सार र यो अख्तियार छ। यो बुँदाले कुरा स्पष्ट पार्छ—मानिसहरूको भाग्यमाथि परमेश्वरको सार्वभौमिकता सकारात्मक कुरा हो, र यसलाई न त इन्कार गर्न सकिन्छ न त यसमा शङ्का नै गर्न सकिन्छ। अर्थात्, मानवजातिको दैहिक जीवनका व्यवस्थाहरूलाई हेर्दा, परमेश्वरले मानिसहरूका लागि प्रबन्ध गर्नुहुने कठिनाइ र कठिन परिस्थितिहरूका भाग्यले तिनीहरूलाई बिस्तारै परिपक्व हुन र यस जीवनको यात्रालाई सहज रूपमा पूरा गर्न सक्षम हुन मद्दत गर्न सक्छ। यस दृष्टिकोणबाट हेर्दा, परमेश्वरको सार्वभौमिकता एउटा सकारात्मक कुरा हो।
मानिसहरूको भाग्यको अर्को पक्षलाई हेर्दा के देखिन्छ भने, धेरै मानिसहरू कठिन, निराशाजनक जीवन जिउँछन्। तिनीहरूले कुनै खराब काम गरेको जस्तो देखिँदैन, तर तिनीहरूलाई दण्ड दिइँदै छ जस्तो देखिन्छ। उदाहरणका लागि, कतिपय मानिसहरूले आफ्नो युवावस्थामा आफ्ना बुबा, अधबैँसे उमेरमा आफ्ना श्रीमान्, र बृद्धावस्थामा आफ्ना छोरा गुमाउँछन्, र तिनीहरूको परिवार मृत्युले छिन्नभिन्न हुन्छ। कतिपय सवारी दुर्घटना वा विमान दुर्घटना जस्ता दुर्घटनाहरूमा पर्छन्। कतिपयमा अपाङ्गताहरू हुन्छन्: कतिपय दृष्टिविहीन हुन्छन्, कतिपय बहिरा हुन्छन्, र कतिपयले आफ्ना हात वा खुट्टा गुमाएका हुन्छन्। कतिपय ठगिएर चरम गरिबीमा धकेलिन्छन्, र अरूले आफ्नो सम्पूर्ण जीवन ऋण तिरेर बिताउँछन्। जब यी विभिन्न दुर्भाग्यपूर्ण कुराहरू मानिसहरूमाथि आइपर्छन्, तब धेरैले यसो भन्छन्, “स्वर्ग अन्यायी छ। यो स्वर्गले गर्नुपर्ने काम हो जस्तो देखिँदैन। यदि परमेश्वर मानिसहरूको भाग्यमाथि सार्वभौम हुनुहुन्छ भने, उहाँले तिनीहरूलाई कसरी यति दुखी बनाउन सक्नुहुन्थ्यो र? उहाँले निर्दोष मानिसहरूलाई यस्ता प्रहारहरू भोग्न र यस्तो दुर्भाग्य सामना गर्न कसरी दिन सक्नुहुन्थ्यो र?” यदि मानिसहरूले यसलाई मानिसहरूको भाग्य नियोजन गर्नका लागि सृष्टिकर्ताको मौलिक अभिप्रायको दृष्टिकोणबाट हेरे भने, मानवजातिका लागि सृष्टिकर्ताका अभिप्रायहरू श्रमसाध्य छन्, र मानिसहरूको भाग्यमाथिको परमेश्वरको सार्वभौमिकता सकारात्मक कुरा हो। तर जब मानिसहरूको भाग्यमा मानवताको विवेकको दृष्टिकोणबाट वियोगान्तक देखिने विशेष कुराहरू आइपर्छन्, तब मानिसहरूको भाग्यमाथिको परमेश्वरको सार्वभौमिकता किन सकारात्मक कुरा हो भनी मानिसहरूले बोध गर्न नै सक्दैनन्, र के भइरहेको छ भनी तिनीहरूले पत्ता लगाउन नै सक्दैनन्। धेरै मानिसहरूले सृष्टिकर्ताले मानिसहरूको भाग्यको प्रबन्ध गर्नु पछाडि अन्यायपूर्ण पक्षहरू छन् भन्ने विश्वास गर्छन्, र परमेश्वरको सार्वभौमिकताअन्तर्गतका सबै कुराहरू सकारात्मक हुन् भन्नु त्यति तर्कसङ्गत लाग्दैन भन्ने महसुस गर्छन्। त्यसकारण, कतिपय मानिसहरूले एउटा प्रचलित भनाइ निकालेका छन्: “पुलहरू निर्माण गर्ने र बाटाहरू मर्मत गर्नेहरू अन्त्यमा अन्धा हुन्छन्, जबकी धेरै दुष्ट कार्य गर्नेहरूले ठूला-ठूला परिवारको आशिष् पाउँछन्।” कतिपय मानिसहरू भन्छन्, “यो अन्याय हो। पुलहरू निर्माण गर्नु र बाटाहरू मर्मत गर्नु भनेको पुण्य कमाउनु र असल कार्य गर्नु हो। त्यसो गर्ने मानिसहरूसँग ठूला परिवारहरू हुनुपर्छ र तिनीहरू धेरै धनी हुनुपर्छ। तिनीहरू कसरी अन्धा हुन सक्छन् र? के यस्तो भाग्य पनि परमेश्वरको सार्वभौमिकताअन्तर्गत हुन्छ र यो पनि सकारात्मक कुरा हो र? यो त तर्कसङ्गत छैन!” यदि मानिसहरू सत्यता बुझ्दैनन् र तिनीहरूमा परमेश्वरबारे ज्ञान छैन भने, तिनीहरूले साँच्चै यी कुराहरू पत्ता लगाउन वा अर्थ लगाउन सक्दैनन्। गैरविश्वासीहरू सधैँ भन्ने गर्छन्, “स्वर्गले जीवित प्राणीहरूलाई प्रिय ठान्छ।” यसको अर्थ के हो? यसको अर्थ के हो भने, यदि परमेश्वर हुनुहुन्छ भने, यदि स्वर्ग छ भने, परमेश्वरले आफ्ना प्रजाको हेरचाह गर्नुपर्छ। यदि उहाँ सृष्टिकर्ता हुनुहुन्छ भने, उहाँले आफ्ना सृजित प्राणीहरूको हेरचाह गर्नुपर्छ र तिनीहरूलाई दयालु व्यवहार गर्नुपर्छ; उहाँले तिनीहरूलाई यी पीडाहरू भोग्न दिनु हुँदैन। मानिसहरूका नजरमा, यदि मानवजाति शैतान र दियाबलसहरूको शक्तिअन्तर्गत जिएको भए, तिनीहरूले यी पीडाहरू भोग्न सक्छन् भनी बुझ्नु ठिकै हुन्थ्यो, तर मानवजाति परमेश्वरको प्रभुत्व र परमेश्वरको सार्वभौमिकताअन्तर्गत जिउने हुनाले, तिनीहरूले ती भोग्नु हुँदैन। विशेष गरी जब यस प्रकारको भाग्य परमेश्वरको सार्वभौमिकताअन्तर्गत हुन्छ भन्ने कुरा आउँछ, तब मानिसहरूले के भइरहेको छ भनेर झनै बुझ्न सक्दैनन्। यदि मानिसहरू सत्यता बुझ्दैनन् भने, परमेश्वरले सार्वभौमिकता अभ्यास गर्नुहुने र प्रबन्ध गर्नुहुने हरेक कुराको पछाडि अर्थ हुन्छ भनेर चिन्न तिनीहरूलाई निकै गाह्रो हुन्छ; तिनीहरूले कतिपय कुराहरू बोध गर्न नै सक्दैनन्, र तिनीहरू यी विशेष परिस्थितिहरूमा अल्झिन्छन्। यदि कसैसँग परमेश्वरको डर मान्ने हृदय अलिकति भए पनि छ भने, उसले यसो भन्नेछ, “यदि हामीले यो मामिला व्याख्या गर्न सक्दैनौँ भने, यसबारे कुरा नगरौँ, हामीले यसलाई आफूखुसी आलोचना गर्नु हुँदैन।” उसमा अलिकति समझ छ भनेर मान्न सकिन्छ। कतिपय मानिसहरूमा विवेक वा समझ हुँदैन, परमेश्वरको डर मान्ने हृदय त झनै हुँदैन। तिनीहरू अत्यन्तै दुस्साहसी हुन्छन् र तिनीहरूले चाहेजस्तो नहुने कुराहरू सामना गर्दा मनमानी ढङ्गले आलोचना गर्ने आँट गर्छन्, “छी! स्वर्गले जीवित प्राणीहरूलाई प्रिय ठान्छ भनेर मानिसहरू भन्छन्, त्यसोभए निकै असल देखिने कतिपय मानिसहरू किन कलिलै उमेरमा मर्छन् त? अनि तिनीहरू हिंसात्मक मृत्यु मर्छन्, र आफ्ना धेरै छोराछोरी छोडेर जान्छन्। यो कति दयनीय, कति दुःखद कुरा हो! अनि मानिसहरू परमेश्वरको सार्वभौमिकता सकारात्मक कुरा हो भन्ने दाबी अझै पनि गर्छन्। यदि मानिसको यस्तो दुःखद भाग्य हुनु परमेश्वरको सार्वभौमिकताअन्तर्गतको कुरा हो भने, परमेश्वर धर्मी हुनुहुन्न!” यी मानिसहरूले यसरी मनमानी ढङ्गले परमेश्वरको आलोचना गर्छन्। मानिसहरूको भाग्य निस्सन्देह परमेश्वरको सार्वभौमिकताअन्तर्गत हुन्छ। यसलाई कुनै पनि समयमा कहिल्यै प्रश्न उठाउन वा इन्कार गर्न सकिँदैन। “मानिसहरूको भाग्य परमेश्वरको हातमा हुन्छ” भन्ने भनाइ हर समय सही हुन्छ र यो हर समयमा तथ्य हुन्छ, किनभने मानिसहरूको भाग्यमाथिको परमेश्वरको सार्वभौमिकता सकारात्मक कुरा हो, र यो कुनै पनि समयमा कहिल्यै परिवर्तन हुनेछैन। त्यसोभए मानिसहरू किन यस्ता दुःखद परिस्थितिहरूको सामना गर्छन्? एउटा कुरा छ जुन मानिसहरूलाई थाहा छैन, वा तिनीहरूले यसलाई धर्मसिद्धान्तका रूपमा बुझे पनि स्पष्ट रूपमा व्याख्या गर्न सक्दैनन्, जुन के हो भने हरेक व्यक्तिको भाग्यको एउटा कारण र प्रभाव हुन्छ। तेरो भाग्य कस्तो प्रकारको छ र तैँले यस जीवनमा के-कस्ता कुराहरू भोग्छस् भन्ने कुरा तेरो अघिल्लो जीवनका प्रभाव हुन सक्छन्, र तेरो अर्को जीवनका लागि पनि यी कारण बन्न सक्छन्। यो गैरविश्वासीहरूले भनेजस्तै हो, “जे रोप्यो त्यही फल्छ।” तेरो अघिल्लो जीवनमा, तैँले केही कारण र प्रभावहरू रोपेको हुन सक्छस्—यदि परमेश्वरले तेरा लागि यस जीवनमा मानिसका रूपमा पुनर्जन्म हुने र मानवजातिको सदस्य बन्ने प्रबन्ध गर्नुहुन्छ भने, तैँले आफूले रोपेका कारण र प्रभावहरूको मूल्य चुकाउनैपर्छ; तैँले तिनको पूर्ति गर्नैपर्छ। तैँले तिनको पूर्ति गर्नेवाला छस् कि छैनस् र गर्नुपर्छ कि पर्दैन भन्ने कुरा तैँले निर्णय गर्ने होइन। दुष्ट कार्य गरेको कोही पनि दण्ड स्वीकार गर्न इच्छुक हुँदैन। सृष्टिकर्ताले मात्रै यो मामिला प्रबन्ध गर्न सक्नुहुन्छ, उहाँसँग यो गर्ने अख्तियार छ, र अवश्य नै, उहाँसँग यो गर्ने शक्ति छ। त्यसोभए यो काम गर्नुका पछाडि सृष्टिकर्ताको सिद्धान्त के हो? त्यो असललाई इनाम दिनु र दुष्टलाई दण्ड दिनु हो। मानवजातिले परमेश्वरको सार्वभौमिकता नबुझे पनि, परमेश्वरलाई नचिने पनि, र परमेश्वरको सार्वभौमिकताका आधारभूत कुरा र सिद्धान्तहरू नबुझे पनि, परमेश्वरका हकमा, उहाँसँग धर्मी स्वभाव भएकोले र सृष्टिकर्ताको पहिचान भएकोले, उहाँले मानवजाति र यावत् थोकका लागि स्वर्गीय नियम र व्यवस्थाहरू स्थापित गर्नुभएको छ। यी स्वर्गीय नियम र व्यवस्थाहरू केमा आधारित छन्? ती परमेश्वरको धर्मी स्वभाव र परमेश्वरको अख्तियार र शक्तिमा आधारित छन्। यी स्वर्गीय नियम र व्यवस्थाहरूको स्थापना मानव संसारको एउटा परिघटनामा प्रतिबिम्बित हुन्छ, जुन मानिसहरूको पुनर्जन्म हो। मानव पुनर्जन्मको प्रक्रिया प्रायजसो कारण र प्रभावसँग सीधै सम्बन्धित हुन्छ, र यो कारण-प्रभावको सम्बन्ध मानिसहरूको भाग्यका केही विशेष कुराहरूमा प्रतिबिम्बित भएको र प्रकट भएको हुन्छ। यसका साथै, मानव पुनर्जन्मको प्रक्रियामा, मानिसहरूले परमेश्वरका इनामहरू साथै परमेश्वरका दण्डहरू पनि प्राप्त गर्छन्। परमेश्वरले दुष्ट कार्य गर्नेहरूलाई दण्ड दिनुहुन्छ; अर्थात्, उहाँले तिनीहरूलाई हर प्रकारका दुर्भाग्य र विपत्तिहरू, र मानिसहरूले अयोग्य र अनुचित ठान्ने हर प्रकारका दण्डहरू सामना गराउनुहुन्छ। यीमध्ये केही दण्डहरू मानिसका नजरमा निकै दुःखद किसिमका पनि हुन्छन्, तर यो दुःखद अवस्था तिनीहरूमाथि किन आइपर्छ भन्ने कुराको एउटा पृष्ठभूमि हुन्छ। परमेश्वरले विनाकारण तिनीहरूलाई यो कुराले प्रहार गर्नुभएको हुँदैन, बरु यो त तिनीहरूले अनगिन्ती दुष्ट कार्यहरू गरेकाले तिनीहरूले भोग्नै पर्ने दण्ड हो। जब मानिसहरूले यस मामिलाको नालीबेली छर्लङ्गै देख्न सक्दैनन्, तब तिनीहरू बकवास गर्छन् र स्वर्ग र परमेश्वरबारे गुनासो गर्छन्, जुन निकै मूर्खतापूर्ण कुरा हो। त्यसोभए परमेश्वरको अनुग्रहको आनन्द लिनेहरूको अवस्था के हुन्छ त? तिनीहरूले आफ्नो अघिल्लो जीवनमा पुण्य कमाएका र धेरै असल कामहरू गरेका हुनाले—मानवजातिलाई फाइदा पुऱ्याउने धेरै कुराहरू, र परमेश्वरका स्वर्गीय नियम र व्यवस्थाहरूअनुसार तिनीहरूलाई दोषी नठहराउने बरु इनाम दिलाउने धेरै कुराहरू गरेका हुनाले, तिनीहरूले यस जीवनमा धेरै आशिष्हरूको आनन्द लिन्छन्। म तँलाई एउटा उदाहरण दिन्छु। मानौँ, एउटा सुखी परिवारमा जन्मिएकी एउटी महिला छे—परिवार धेरै धनी नभए पनि, त्यसमा धेरै छोराहरू छन् र छोरीहरू छैनन्, र परमेश्वरले उसलाई यस परिवारमा हुने प्रबन्ध गर्नुहुन्छ। यो बालिका जन्मिनेबित्तिकै, ऊ परिवारको आँखाको नानी बन्छे—ऊ यति बहुमूल्य हुन्छे कि तिनीहरू उसको नजिकै सास फेर्दा समेत उसलाई हानि होला भनेर डराउँछन्। यो केटी सुन्दर, चलाख, र मायालु हुन्छे, र उसका आमाबुबा र अग्रजहरू सबैले उसलाई मन पराउँछन्। उसको सम्पूर्ण जीवन सहज हुन्छ। उसले जे गरे पनि वा जे-जे कठिनाइहरू सामना गरे पनि, उसलाई मद्दत गर्ने असल मानिसहरू सधैँ हुन्छन्, र उसका सबै कठिनाइहरू सजिलै समाधान हुन्छन्। उसलाई कुनै चिन्ता हुँदैन र ऊ आरामदायी, खुसी जीवन जिउँछे। ऊ साँच्चै आशिषित हुन्छे! यहाँ के भइरहेको हुन्छ? के सृष्टिकर्ताले निश्चित मानिसहरूप्रति पक्षपात गर्नुहुन्छ? (गर्नुहुन्न।) त्यसोभए किन कतिपय मानिसहरूले यति ठूला आशिष्हरूको आनन्द लिन पाउँछन् त? स्वर्गीय नियम र व्यवस्थाहरूमा के तोकिएको छ भने, मानवजातिका लागि लाभदायक कामकुराहरू गर्ने निश्चित प्रकारको व्यक्तिलाई इनाम दिइनुपर्छ, र ऊ त्यस्तै व्यक्तिहरूमध्ये एक हुन सक्छे। सृष्टिकर्ताबाट इनाम प्राप्त गरेपछि, उसले मानव संसारमा यति ठूला आशिष्हरूको आनन्द लिन्छे। उसले कहिल्यै खाने-लाउने चिन्ता गर्नुपर्दैन; ऊ जहाँ गए पनि, उसलाई मद्दत गर्न असल मानिसहरू हुन्छन्, र ऊ जहाँ गए पनि, मानिसहरूले उसलाई मन पराउँछन्। ऊ चालीस वा पचासको दशकमा हुँदा र उसका छोराछोरीहरू हुर्किसक्दा पनि, उसका आमाबुबाले अझै पनि उसलाई आफ्नो आँखाको नानी जस्तै व्यवहार गर्छन्; कुनै पनि समय तिनीहरूसँग कुनै राम्रो कुरा हुँदा, तिनीहरूले त्यो उसका लागि साँचेर राख्छन्। उसले यस्ता आशिष्हरूको आनन्द उठाइरहेको देख्दा अरूले उस्ल्को ईर्ष्या गर्छन्, र कतिपयले यस्ता आशिष्हरूको आनन्द लिन नपाएकाले यो अन्याय हो भन्ने महसुस गर्छन्। यदि तँ पनि सृष्टिकर्ताले प्रबन्ध गर्नुभएको यस्तो भाग्यको आनन्द लिन चाहन्छस्, र उसले जस्तै यस्तो सौभाग्य र आशिष्हरूको आनन्द लिन चाहन्छस् भने, तैँले पनि धेरै पुण्य कमाउनुपर्छ र अझै असल कामकुरा गर्नुपर्छ, र पुण्य कमाउने र असल काम गर्ने भनी स्वर्गले तोकेका कुराहरू पनि अझ धेरै गर्नुपर्छ—तब तैँले पनि यस्ता आशिष्हरूको आनन्द लिन सक्नेछस्। यो घटना, यो तथ्यले मानिसहरूलाई के बताउँछ? मानव संसारमा कुनै व्यक्तिको भाग्य जस्तोसुकै खालको भए पनि—उसले आशिष्हरूको आनन्द उठाए पनि वा दुर्घटनाहरू सामना गरे पनि, उसको सम्पूर्ण जीवन सहज भए पनि वा उसले धेरै दुर्भाग्य र विपत्तिहरू सामना गरे पनि—उसको विगत र वर्तमान जीवनसँग यसको निश्चित सम्बन्ध हुन्छ। अन्ततः, उसको भाग्य के हो भन्ने कुरा परमेश्वरले तोक्नुभएका स्वर्गीय नियम र व्यवस्थाहरूसँग सम्बन्धित हुन्छ। यदि उसको पहिलेको जीवनमा उसले गरेका सबै कुराहरू इनाम पाउने नतिजा दिने स्वर्गीय नियम र व्यवस्थाहरूका प्रावधानहरू अनुरूप थिए भने, यस जीवनमा उसको भाग्य मानिसहरूका नजरमा शानदार, सहज, र निकै असल हुन सक्छ। यदि उसको अघिल्लो जीवनमा उसले गरेका कामहरूले धेरै स्वर्गीय व्यवस्थाहरू उल्लङ्घन गरे, र ती कुरा दण्ड पाउने परिणाम दिने भनी परमेश्वरले तोक्नुभएका स्वर्गीय नियम र व्यवस्थाहरूका प्रावधानहरूसँग मेल खान गए भने, परमेश्वरले उसका लागि प्रबन्ध गर्नुहुने भाग्य, मानिसहरूका नजरमा, यस्तो हुनेछ कि उसले निकै कष्टकर र दयनीय जीवन बिताउनेछ, मानौँ यो जीवनमा ऊ विगतका ऋणहरू तिर्नका लागि आएको मात्रै हो। उसले कहिल्यै कुनै राम्रो खाना वा लाउन पाउँदैन, र कसैले पनि उसलाई मन पराउँदैन वा उसको वास्ता गर्दैन। उसले यस जीवनमा यति धेरै कष्ट भोग्नुको कारण उसको खराब भाग्य हो भन्ने महसुस गर्छ। उसले परमेश्वरमा विश्वास गरेपछि मात्रै उसले व्यक्तिको सम्पूर्ण जीवन परमेश्वरद्वारा नियोजन गरिएको हुन्छ भन्ने बुझ्छ। जब उसले परमेश्वरले कामकुराहरू नियोजन गर्नुहुन्छ भन्ने पहिचान गर्छ, तब उसलाई परमेश्वरमा समर्पित हुन बढी सजिलो हुन्छ, र ऊ अझ बढी शिष्ट हुन्छ र उप्रान्त ऊ आफ्नो भाग्यविरुद्ध लड्दैन। पहिले, उसले भित्रबाट विद्रोही महसुस गर्थ्यो: “मैले के खराब कामहरू गरेको छु र? यस जीवनमा मेरो विवेक सफा छ। मैले कसैलाई कहिल्यै हानि गरेको छैन। मैले किन यस्तो भाग्य सामना गर्नुपर्यो? स्वर्ग अन्यायपूर्ण छ!” परमेश्वरको काम स्वीकार गरेपछि, उसले यो बुझ्छ: “यो परमेश्वरको धार्मिकता हो। परमेश्वरले मलाई यी कामकुराहरूमार्फत उहाँको सामु आउन प्रेरित गर्नुभएको छ!” यसरी सोच्नु पनि सही हो, र यो एउटा तथ्य हो। तर मानिसहरूले प्राप्त गर्ने दण्ड परमेश्वरको सार्वभौमिकताबाट आउँछ भन्ने कुरा पनि तथ्य नै हो। यी सबै कुराहरू—कारण र प्रभाएको चक्र, दुष्टलाई दण्ड दिनु र असललाई इनाम दिनु, र स्वर्गीय नियम र व्यवस्थाहरू—केमा आएर टुङ्गिन्छन्? यी सबैको पछाडि परमेश्वरको धर्मी स्वभाव हुन्छ; परमेश्वरको धर्मी स्वभावले नै यी सबैमाथि सार्वभौमिकता राख्छ। त्यसकारण, मानिसहरूका धारणा, रुचि, वा चाहनाअनुरूप नहुने सबै प्रकारका कुराहरू तिनीहरूको भाग्यमा देखा पर्दा पनि, मानिसहरूको भाग्यमाथिको परमेश्वरको सार्वभौमिकताको मामिला सकारात्मक कुरा नै रहन्छ। के यो तर्कसङ्गत छैन र? (छ।) तेरो मानवीय दयाका कारण, जब तैँले मानिसहरूले कष्ट भोगिरहेको देख्छस्, तब तँ यस्तो सोच्छस्, “त्यो व्यक्ति कति दयनीय छ! म कसैले कष्ट भोगेको देख्न सक्दिनँ, र म दुष्ट मानिसहरूले अरूलाई हेपेको देख्न सक्दिनँ।” कतिपय मानिसहरू यस जीवनमा सधैँ हेपिन्छन्। त्यसको कारण के हो? किनभने तिनीहरूको अघिल्लो जीवनमा तिनीहरूले सधैँ मानिसहरूलाई हेप्थे र केही मानिसहरूलाई हानि गरेका थिए, त्यसैले यस जीवनमा तिनीहरू आफै हेपिनुपर्छ। यदि तँ सधैँ मानिसहरूलाई हेप्छस् भने, तैँले अन्त्यमा फलाउने फल भनेको आफै हेपिनु हो। यो सृष्टिकर्ताको धार्मिकता हो। आफूलाई यसरी आचरणमा ढालेर, तैँले स्वर्गीय व्यवस्थाहरू उल्लङ्घन गरेको हुन्छस्, त्यसैले तैँले आफ्नो अघिल्लो जीवनमा गरेका दुष्ट कार्यका लागि मूल्य चुकाउनुपर्छ र पीडा र सास्ती सहनुपर्छ। यो परमेश्वरको धार्मिकता हो, र तँ यसबाट उम्कन सक्दैनस्। त्यसकारण, मानिसहरूका लागि हर प्रकारका भाग्यहरू हुन्छन् भन्ने तथ्यले के कुरा झन्-झन् स्पष्ट पार्छ भने परमेश्वरले तोक्नुभएका स्वर्गीय नियम र व्यवस्थाहरूलाई कुनै पनि व्यक्तिले परिवर्तन गर्न सक्दैन, र कोही पनि यसको अपवाद हुँदैन। सृष्टिकर्ताले मानवजातिका लागि कहिल्यै दैहिक भावना राख्नुभएको छैन, र अवश्य पनि, सृष्टिकर्ताको सार भनेको कुनै दैहिक भावना नहुनु हो। उहाँसँग केवल धर्मी स्वभाव छ। परमेश्वरले गर्नुहुने सबै कुरा, मानव भाषामा, तर्कसङ्गत र धर्मी हुन्छन्। त्यसोभए यसलाई सत्यताको दृष्टिकोणबाट कसरी हेर्नुपर्छ? यो परमेश्वरको धर्मी स्वभाव हो—यी सबै सकारात्मक कुराहरू हुन्। मानिसहरूले यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्छ, र परमेश्वरको बारेमा वास्तविकताअनुरूप नहुने वा सत्यताअनुरूप नहुने कुनै पनि दोषारोपण वा मूल्याङ्कनहरू गर्नु हुँदैन। यदि तैँले मानवीय दृष्टिकोणबाट केही मानिसहरूप्रति सहानुभूति र दया राखे पनि, केही सत्यताहरू बुझ्ने परमेश्वरको एक अनुयायीका रूपमा, तैँले परमेश्वरको धर्मी स्वभावको प्रशंसा गर्नुपर्छ, र तैँले परमेश्वरको सार्वभौमिकताको पनि प्रशंसा गर्नुपर्छ। परमेश्वरले यसरी सार्वभौमिकता राख्नु निकै असल कुरा हो! परमेश्वरले मानिसहरूको भाग्यमाथि यसरी सार्वभौमिकता राख्नुहुने भएकोले नै मानवजाति आजसम्म व्यवस्थित रूपमा बाँच्न सकेको छ। यदि शैतान मानिसहरूको भाग्यमाथि सार्वभौम भएको भए, मानवजाति धेरै अघिदेखि नै अराजकतामा हुनेथियो, र तिनीहरूलाई आजको दिनसम्म जिउन असम्भव हुनेथियो। दियाबलसको क्षेत्र कस्तो छ हेर्; परमेश्वरको सार्वभौमिकताविना, मानव संसार दियाबलसको क्षेत्रसरह हुनेथियो। दियाबलसको क्षेत्र के हो? सबैभन्दा वास्तविक उदाहरण चिनियाँ कम्युनिस्ट पार्टीको तानाशाही शासनभित्रका आन्तरिक सङ्घर्षहरू हुन्—जुन खुला र गोप्य दुवै रूपमा गरिन्छन् र यो रक्तपात र हत्यापूर्ण अभिप्रायले भरिएको हुन्छ। त्यो दियाबलसको क्षेत्र हो। के चिनियाँ कम्युनिस्ट पार्टीको तानाशाही शासनको आन्तरिक स्थिति अराजक छैन र? मानिसहरू प्रायजसो बेपत्ता हुन्छन्, र स्पष्ट रूपमा तिनीहरूको हत्या गरिँदा पनि, कसैले त्यसको घोषणा गर्ने आँट गर्दैन। यो दियाबलसको क्षेत्रको अराजकता हो, र यो आजको दुष्ट संसारको अराजकता पनि हो।
मानिसहरूको भाग्यमाथि परमेश्वरको सार्वभौमिकता हुनु एक सकारात्मक कुरा हो भन्ने कुरा निस्सन्देह रूपमा पक्का छ। मानिसहरूको भाग्य रचना गर्नुमा परमेश्वरको मौलिक अभिप्रायको दृष्टिकोणबाट हेर्दा होस् वा परमेश्वरले स्थापित गर्नुभएका स्वर्गीय नियम र व्यवस्थाहरूद्वारा उत्पादित मानिसहरूको भाग्यको नतिजाको दृष्टिकोणबाट हेर्दा होस्, मानिसहरूको भाग्यमाथिको परमेश्वरको सार्वभौमिकता सकारात्मक कुरा हो, नकारात्मक होइन भन्ने कुरा पूर्ण निश्चितताका साथ भनिनुपर्छ। यदि तँसँग यस सत्यताबारे धारणाहरू छन् भने, तैँले आफ्ना धारणाहरू समाधान गर्न उहाँका वचनहरूमा सत्यता खोज्न सक्छस्, तर तैँले आफ्ना धारणाहरू र कल्पनाहरूका आधारमा यसो भन्न मिल्दैन, “परमेश्वरको सार्वभौमिकताअन्तर्गत मानिसहरूको भाग्य सबै असल र तिनीहरूका लागि लाभदायक हुनुपर्छ। परमेश्वरको सार्वभौमिकताका कारण कतिपय मानिसहरूका परिस्थितिहरू किन यति नराम्रा हुन्छन्? परमेश्वरको सार्वभौमिकता यस्तो हुनु हुँदैन, होइन र?” तैँले यस्तो कुरा कहिल्यै भन्नु हुँदैन। यस्तो अत्यन्तै विद्रोही र ईश्वर-निन्दापूर्ण अभिव्यक्ति तेरो मुखबाट कहिल्यै निस्कनु हुँदैन। आजदेखि, तैँले “मानिसहरूको भाग्य परमेश्वरको सार्वभौमिकताअन्तर्गत छ, र परमेश्वरको सार्वभौमिकता एक सकारात्मक कुरा हो” भन्ने सत्यतालाई स्वीकार र पुष्टि गर्नैपर्छ। यसमा शङ्का नगर्। तैँले आफ्नै आँखाले देख्ने वा तैँले अनुभव गर्ने मानिसहरूको भाग्य तेरा धारणाहरूसँग जतिसुकै बाझिए पनि, वा तैँले ती अमानवीय छन् भनी सोचे पनि, तैँले मानिसहरूको भाग्यमाथिको परमेश्वरको सार्वभौमिकता वास्तविक हो, र त्यो सकारात्मक कुरा हो भनी विश्वास गर्नुपर्छ र पुष्टि गर्नुपर्छ। यो कुरालाई शङ्का गर्न सकिँदैन। के यो सत्यताबारे स्पष्ट रूपमा सङ्गति गरियो? (हजुर।) यो परमेश्वरलाई चिन्ने सम्बन्धी एउटा अत्यन्तै महत्त्वपूर्ण विषय हो, र यो समाधान भयो, होइन र? (हो।) त्यसोभए आजका लागि हाम्रो सङ्गति यहीँ अन्त्य गरौँ। अलबिदा।
अप्रिल ६, २०२४