पृथ्वीमा हुनुहुने परमेश्वरलाई वास्तवमा कसरी चिन्ने
तिमीहरू सबै परमेश्वरको अगि इनाम पाउने र परमेश्वरद्वारा कृपा पाउने इच्छा राख्छौ; परमेश्वरमा विश्वास गरेको सुरुसुरुमा सबैले यस्तै कुराहरूको आशा राख्छन्, किनकि सबै जना उच्च कुराहरूको खोजीमा व्यस्त हुन्छन्, र कोही पनि अरूभन्दा पछि पर्न चाहँदैन। मानिसहरू यस्तै प्रकारका हुन्छन्। ठीक यही कारणले गर्दा तिमीहरूमध्ये धेरै जना स्वर्गमा हुनुहुने परमेश्वरको निरन्तर चापलुसी गरेर कृपा पाउने कोसिस गर्छौ, तापनि वास्तवमा, परमेश्वरप्रतिको तिमीहरूको बफादारीता र इमानदारीता तिमीहरूको आफैप्रतिको बफादारीता र इमानदारीताभन्दा धेरै कम हुन्छ। म यो कुरा किन भन्दैछु? किनकि परमेश्वरप्रतिको तिमीहरूको बफादारीतालाई म पटक्कै स्वीकार गर्दिनँ, त्यसबाहेक, म तिमीहरूका हृदयहरूमा भएका परमेश्वरको अस्तित्वलाई अस्वीकार गर्दछु। भन्नुको अर्थ यो हो, कि तिमीहरू जुन परमेश्वरको आराधना गर्छौ, जुन अस्पष्ट परमेश्वरको तिमीहरू सराहना गर्दछौ, उहाँको अस्तित्व छँदैछैन। तिमीहरू सत्य परमेश्वरबाट धेरै टाढा भएको कारणले गर्दा नै म यो निश्चयतापूर्वक भन्न सक्छु। तिमीहरूको वफादारीताको कारण तिमीहरूका हृदयभित्रको मूर्ति हो; मेरो कुरा गर्ने हो भने, अहिले, तिमीहरू जुन परमेश्वरलाई हेर्छौ, उहाँ न त महान् न सानो हुनुहुन्छ, तिमीहरू शब्दहरूले मात्र स्वीकार गर्दछौ। जब म तिमीहरू परमेश्वरबाट टाढा छौ भन्छु, मेरो भनाइको अर्थ तिमीहरू सत्य परमेश्वरबाट टाढा छौ भन्ने हो, त्यो अस्पष्ट परमेश्वर भने नजिक छ जस्तो देखिन्छ। जब म “महान् छैन” भन्छु, तब तिमीहरूले यो दिनमा विश्वास गरेका परमेश्वरको सन्दर्भमा भनेको हुँ, जो कुनै ठूला योग्यताहरू नभएको व्यक्तिजस्तो मात्र देखिनुहुन्छ, यस्तो व्यक्ति, जो त्यत्ति उच्च हुनुहुन्न। अनि जब म “सानो छैन” भन्छु, त्यसको अर्थ यो व्यक्तिले बतासलाई बोलाउन र झरीलाई आज्ञा गर्न नसके तापनि उहाँ त्यो काम गर्नका निम्ति परमेश्वरका आत्मालाई बोलाउन सक्षम हुनुहुन्छ, जसले आकाश र पृथ्वीलाई हल्लाउनुहुन्छ, जसले मानिसहरूलाई पूर्ण रूपमा अचम्मित बनाउनुहुन्छ। बाहिरी रूपमा पृथ्वीमा तिमीहरू यो ख्रीष्टप्रति धेरै आज्ञाकारी देखिन्छौ, तर वास्तवमा भन्ने हो भने उहाँमा तिमीहरू विश्वास गर्दैनौ, न त उहाँलाई प्रेम नै गर्छौ। भन्नुको अर्थ यो हो, कि जसलाई तिमीहरू साँचो रूपमा विश्वास गर्छौ, उहाँ तिमीहरूका आफ्नै भावनाको अस्पष्ट परमेश्वर हुनुहुन्छ, र तिमीहरूले साँच्चै प्रेम गरेको त्यो परमेश्वर, जसको तिमीहरू दिन-रात चाहना गर्दछौ, तापनि उहाँलाई व्यक्तिगत रूपमा कहिल्यै देखेका छैनौं। यस ख्रीष्टतर्फ तिमीहरूको विश्वास अपूर्ण छ, र तिमीहरूको प्रेम नगण्य छ। विश्वास भनेको आस्था वा भरोसा हो; प्रेम भनेको एक व्यक्तिको हृदयमा हुने भक्ति र प्रशंसा हो, जुन कहिल्यै विभाजित हुँदैन। तापनि आजका ख्रीष्टमा तिमीहरूको विश्वास र प्रेम योभन्दा धेरै कम छ। जब विश्वासको कुरा आउँछ, तब तिमीहरू उहाँमाथि कसरी विश्वास राख्छौ? जब प्रेमको कुरा आउँछ, तिमीहरू कस्तो प्रकारले उहाँलाई प्रेम गर्दछौ? तिमीहरूमा उहाँको स्वभावको बुझाइ छैन, अझ उहाँको गुणको बारेमा त तिमीहरूलाई झनै कम थाहा छ, यसैले तिमीहरू कसरी उहाँमा विश्वास गर्छौ? उहाँमा तिमीहरूको विश्वासको वास्तविकता कहाँ छ? उहाँलाई तिमीहरू कसरी प्रेम गर्छौ? उहाँमा तिमीहरूको प्रेमको वास्तविकता कहाँ छ?
धेरैले अहिलेसम्म कुनै सङ्कोचविना मलाई पछ्याएका छन्। त्यसैले तिमीहरूले विगत धेरै वर्षहरूमा धेरै थकान पनि अनुभव गरेका छौ। तिमीहरू प्रत्येकको जन्मजात चरित्र र बानीहरूलाई मैले स्पष्टतासाथ बुझेको छु; तिमीहरू प्रत्येकसँगको कुराकानी धेरै नै कठिन भएको छ। दुःखको कुरा यो हो कि, यद्यपि मैले तिमीहरूको बारेमा धेरै कुरा बुझे पनि तिमीहरूले चाहिँ मेरो बारेमा केही पनि बुझेका छैनौ। भ्रमको स्थितिमा तिमीहरू जोसुकैको छलमा फस्छौ भनेर मानिसहरूले भन्नु स्वभाविक नै हो। साँच्चै, तिमीहरू मेरो स्वभावलाई कति पनि बुझ्दैनौ, मेरो मनमा के छ त्यो त परै जाओस्। आज मबारे तिमीहरूका गलत बुझाइहरू चाँडो-चाँडो फैलिरहेका छन्, र मप्रतिको तिमीहरूको विश्वास अन्योलपूर्ण विश्वास नै रहिरहन्छ। तिमीहरूको ममा विश्वास छ भन्नुको साटो मसित चापलुसी गरेर अनि मलाई चिप्ले घसेर तिमीहरू मेरो कृपा पाउने कोसिस गर्दछौ भन्नु ठीक हुन्छ। तिनीहरूका अभिप्रायहरू साधारण छन्: म उसैको पछि लाग्नेछु, जसले मलाई इनाम दिन सक्छ, र उसैमा विश्वास गर्दछु, जसले मलाई ठूला-ठूला विपत्तिहरूबाट उम्काउनेछ, चाहे ऊ परमेश्वर वा कुनै पनि परमेश्वर नै किन नहोस्। यीमध्ये कुनै पनि मेरो सरोकारको विषय होइन। तिमीहरूमध्ये त्यस्ता धेरै मानिसहरू छन्, र यो अवस्था धेरै गम्भीर छ। यदि एक दिन, तिमीहरूमध्ये कति जनाले ख्रीष्टको सारको जानकारी पाएर उहाँमा विश्वास गरेका छौ भनी जाँच गरियो भने, मलाई के डर लाग्छ भने तिमीहरूमध्ये एकै जनाले पनि मेरा इच्छाहरू पूरा गर्नेछैनौ। यसैले यो प्रश्नमाथि विचार गर्दा तिमीहरू प्रत्येकलाई चोट लाग्नेछैन: तिमीहरूले विश्वास गरेको परमेश्वर मभन्दा धेरै नै फरक छ, अनि यस्तो भएकोले तिमीहरूले परमेश्वरमा विश्वास गर्नुको सार के हो? तिमीहरू जति धेरै आफ्नो तथाकथित परमेश्वरमा विश्वास गर्छौ, त्यत्ति नै मबाट भड्केर टाढा जान्छौ। त्यसो भए यस विषयको सार के हो? यो निश्चित छ, कि तिमीहरूमध्ये कसैले पनि त्यस्तो प्रश्नमाथि कहिल्यै विचार गरेका छैनौ, तर के यसको गम्भीरता तिमीहरूमा उत्पन्न भएको छ? के तिमीहरूले यस्तै प्रकारले विश्वास गरिरहँदा उत्पन्न हुने परिणामहरूबारे सोचेका छौ?
आज, तिमीहरूले धेरै समस्याहरूको सामना गर्छौ, र तिमीहरूमध्ये एक जनालाई पनि समस्या समाधान गर्ने बानी परेको छैन। यो अवस्था जारी रहने हो भने, हार्नको लागि खडा हुनेहरू तिमीहरू मात्रै हुनेछौ। म तिमीहरूलाई समस्याहरू पहिचान गर्न सहायता गर्नेछु, तर तिनलाई समाधान गर्ने काम तिमीहरूकै हो।
म अरूमाथि शङ्का नगर्नेहरूको साँच्चै कदर गर्छु, र मलाई सत्यता स्वीकार गर्न इच्छुक हुनेहरू साँच्चै मन पर्छ; यी दुई प्रकारका मानिसप्रति म ठूलो चासो देखाउँछु, किनभने मेरो नजरमा तिनीहरू इमानदार मानिस हुन्। यदि तँ निकै छली छस् भने, तँ सबै मानिस र मामिलाहरूप्रति सतर्क र शङ्कालु हुनेछस्, यसैले मप्रतिको तेरो आस्था शङ्काको जगमाथि निर्माण हुनेछ। म त्यस्तो आस्था कहिल्यै स्विकार्न सक्दिनँ। साँचो विश्वासको अभावमा, तिमीहरू अझ बढी साँचो प्रेमरहित बन्छौ। अनि यदि तँ परमेश्वरलाई शङ्का गर्न र उहाँका बारेमा अडकलबाजी गर्न समेत सक्छस् भने, तँ निस्सन्देह सबै मानिसमध्ये सबैभन्दा छली होस्। तँ परमेश्वर मानिसजस्तै क्षमा गर्न नसकिनेगरी पापी, सङ्कीर्ण, निष्पक्षता र समझदारी नभएको, इन्साफको बोध नभएको, क्रूर युक्तिहरू प्रयोग गर्ने, कपटी र धूर्त, दुष्टता र अन्धकारमा रमाउने, इत्यादि हुन सक्नुहुन्छ कि सक्नुहुन्न भनेर अड्कलबाजी गर्छस्। के मानिसहरूमा यस्ता विचारहरू हुनुको कारण तिनीहरूमा परमेश्वरबारे अलिकति पनि ज्ञान नभएर होइन र? यस्तो विश्वास पापभन्दा कम होइन! कतिपय त यस्ता पनि छन् जो मैले मन पराउने मानिसहरू ती मात्र हुन् जो चापलुसी गर्न र जुत्ता चाट्न जान्दछन्, र जसलाई त्यसो गर्न आउँदैन तिनीहरू परमेश्वरको घरमा स्वागतयोग्य हुनेछैनन् र तिनीहरूले त्यहाँ आफ्नो स्थान गुमाउनेछन् भन्नेसमेत विश्वास गर्छन्। के यतिका वर्षपछि तिमीहरूले प्राप्त गरेको ज्ञान यति मात्रै हो? के तिमीहरूले प्राप्त गरेको कुरा यही हो? अनि मबारे तिमीहरूको ज्ञान यी गलत बुझाइहरूमा सीमित छैन; अझ खराब त तिमीहरूले गर्ने परमेश्वरको आत्माविरुद्धको ईशनिन्दा र स्वर्गको धुत्कार हो। यही कारणले म भन्छु कि तिमीहरूको जस्तो विश्वासले गर्दा तिमीहरू मबाट अझ टाढा हुनेछौ र मप्रति अझ ठूलो शत्रुतामा हुनेछौ। धेरै वर्षको कामको दौरान, तिमीहरूले धेरै वटा सत्यता देखेका छौ, तर मेरा कानले के सुनेका छन् भन्ने कुरा तिमीहरूलाई थाहा छ? तिमीहरूमध्ये कति जना सत्यता स्वीकार गर्न इच्छुक छौ? तिमीहरू सबै जना आफू सत्यताका लागि मूल्य चुकाउन इच्छुक रहेको विश्वास गर्छौ, तर तिमीहरूमध्ये कति जनाले सत्यताका लागि साँच्चिकै कष्ट भोगेका छौ? तिमीहरूको हृदयमा अधार्मिकताबाहेक केही छैन, जसले गर्दा तिमीहरू चाहे ती जोसुकै भए पनि सबै जना उत्तिकै छली र कुटिल रहेको सोच्छौ—यहाँसम्म कि तिमीहरू देहधारी परमेश्वर सामान्य मानिसजस्तै दयालु हृदय वा परोपकारी प्रेमरहित हुन सक्नुहुन्छ भन्नेसमेत विश्वास गर्छौ। त्योभन्दा पनि बढी, तिमीहरू उदात्त सद्गुण र कृपालु, परोपकारी प्रकृति स्वर्गमा हुनुहुने परमेश्वरमा मात्रै हुन्छ भन्ने विश्वास गर्छौ। तिमीहरू त्यस्तो पवित्र व्यक्ति अस्तित्वमा नरहेको, पृथ्वीमा अन्धकार र दुष्टताले मात्रै शासन गर्ने, जबकि परमेश्वर भनेको मानिसले असल र सुन्दर कुराप्रतिको आफ्नो चाहना सुम्पिने चिज, ऊद्वारा नै बनाइएको एउटा पौराणिक पात्र भएको विश्वास गर्छौ। तिमीहरूको मनमा, स्वर्गमा हुनुहुने परमेश्वर अत्यन्तै इमानदार, धर्मी, र महान् हुनुहुन्छ, आराधना र प्रशंसाको योग्य हुनुहुन्छ; जबकि, पृथ्वीमा हुनुहुने यी परमेश्वरचाहिँ स्वर्गमा हुनुहुने परमेश्वरको एउटा विकल्प, र एउटा साधन मात्रै हुनुहुन्छ। तिमीहरू यी परमेश्वर स्वर्गमा हुनुहुने परमेश्वरको बराबरी हुन सक्नुहुन्न, यिनलाई उहाँकै स्तरमा राखेर उल्लेख गर्न त झनै मिल्दैन भन्ने विश्वास गर्छौ। परमेश्वरको महान्ता र आदरको कुरा आउँदा, ती स्वर्गमा हुनुहुने परमेश्वरको महिमा हुन्, तर मानिसको प्रकृति र भ्रष्टताको कुरा आउँदा, ती त्यस्ता कुराहरू हुन् जसमा पृथ्वीमा हुनुहुने परमेश्वरको हिस्सा रहेको हुन्छ। स्वर्गमा हुनुहुने परमेश्वर अनन्त रूपमा उच्च हुनुहुन्छ, जबकि पृथ्वीमा हुनुहुने परमेश्वर सधैँभरि मामुली, कमजोर, र असक्षम हुनुहुन्छ। स्वर्गमा हुनुहुने परमेश्वरमा कुनै दैहिक भावना हुँदैन, बरु धार्मिकता मात्रै हुन्छ, जबकि पृथ्वीमा हुनुहुने परमेश्वरमा स्वार्थी अभिप्रायहरू मात्रै हुन्छन् र उहाँमा कुनै निष्पक्षता वा समझदारी हुँदैन। स्वर्गमा हुनुहुने परमेश्वरमा अलिकति पनि कुटिलपन हुँदैन र उहाँ सधैँभरि विश्वासयोग्य हुनुहुन्छ, जबकि पृथ्वीमा हुनुहुने परमेश्वरको सधैँ एउटा बेइमान पक्ष हुन्छ। स्वर्गमा हुनुहुने परमेश्वर मानिसलाई धेरै प्रेम गर्नुहुन्छ, जबकि पृथ्वीमा हुनुहुने परमेश्वर मानिसको अपर्याप्त रेखदेख गर्नुहुन्छ, यहाँसम्म कि उसलाई पूर्ण रूपमा बेवास्ता नै गर्नुहुन्छ। यो त्रुटिपूर्ण र बेतुके ज्ञान लामो समयदेखि तिमीहरूको हृदयमा रहिआएको छ; यो त्रुटिपूर्ण छ, र तिमीहरू अघि बढ्दै जाँदा जिद्दीपूर्वक यसमा लागिरहन सक्छौ। तिमीहरू ख्रीष्टका सबै कार्यलाई अधर्मीहरूको दृष्टिकोणबाट हेर्छौ र उहाँका सबै काम, साथै उहाँको पहिचान र सारलाई दुष्टहरूको दृष्टिकोणबाट मूल्याङ्कन गर्छौ। तिमीहरूले गम्भीर गल्ती गरेका छौ र तिमीहरूभन्दा अघि आउनेहरूद्वारा कहिल्यै नगरिएको काम गरेका छौ। अर्थात्, तिमीहरूले जहिले पनि शिरमा मुकुट लगाएका स्वर्गका उच्च ईश्वरको मात्रै सेवा गरेका छौ, जबकि तिमीहरू कहिल्यै परमेश्वरको “सेवामा खटेका” छैनौ, जसलाई तिमीहरू यति मामुली ठान्छौ कि उहाँ तिमीहरूका लागि अदृश्य नै हुनुहुन्छ। के यो तिमीहरूको पाप होइन र? के यो तिमीहरूले परमेश्वरको स्वभावलाई चिढ्याउनुको उत्कृष्ट उदाहरण होइन र? तिमीहरू स्वर्गमा हुनुहुने ईश्वरलाई उत्कट रूपमा श्रद्धा गर्छौ। तिमीहरू उच्च स्वहरूलाई गहिरो आदर गर्छौ र असाधारण वाक्पटुता भएका मानिसहरूको धेरै प्रशंसा गर्छौ। तँ आफ्ना हातहरू सम्पत्तिले भरिदिने ईश्वरद्वारा आज्ञा गरिन धेरै इच्छुक छस्, र तँ आफ्नो हरेक चाहना पूरा गर्न सक्ने ईश्वरको धेरै तृष्णा गर्छस्। तैँले श्रद्धा नगर्ने एक मात्र जन यही परमेश्वर हुनुहुन्छ जो उच्च हुनुहुन्न; तैँले घृणा गर्ने एउटै कुरा कसैले पनि उच्च सम्मान गर्न नसक्ने यी परमेश्वरसँगको सङ्गत हो। तँलाई गर्न अनिच्छा लाग्ने एउटै कुरा भनेको यी परमेश्वरका लागि काम गर्नु हो जसले तँलाई कहिल्यै एक पैसा पनि दिनुभएको छैन र तँलाई उहाँको तृष्णा गराउन नसक्ने एक मात्र जन यिनै अप्रिय परमेश्वर हुनुहुन्छ। यी परमेश्वर तँलाई आफ्नो दृष्टिकोण फराकिलो बनाउन, आफूले कुनै खजाना भेटाएको जस्तो महसुस गर्न सक्षम तुल्याउन सक्नुहुन्न, तैँले इच्छाएको कुरा त झनै पूरा गर्न सक्नुहुन्न। त्यसोभए, तँ किन उहाँलाई पछ्याउँछस्? के तैँले यस्ता प्रश्नहरूबारे विचार गरेको छस्? तँ जे गर्छस् त्यसले यी ख्रीष्टलाई मात्रै चिढ्याउँदैन; अझ महत्त्वपूर्ण कुरा, यसले स्वर्गमा हुनुहुने परमेश्वरलाई चिढ्याउँछ। मलाई लाग्छ, परमेश्वरमाथिको तिमीहरूको विश्वासको उद्देश्य यो होइन!
तिमीहरू परमेश्वर तिमीहरूसँग प्रसन्न हुनुभएको तृष्णा गर्छौ, तर तिमीहरू परमेश्वरबाट टाढा छौ। यहाँ के भएको छ? तिमीहरू उहाँका वचनहरू मात्रै स्वीकार गर्छौ, तर उहाँको काटछाँटलाई स्वीकार गर्दैनौ, तिमीहरूले उहाँमा पूर्ण विश्वास राख्न उहाँको हरेक प्रबन्धलाई स्वीकार गर्न सक्नु त झनै परको कुरा हो। त्यसोभए, यहाँ भएको चाहिँ के हो? अन्तिम विश्लेषणमा, तिमीहरूको विश्वास एउटा खाली अण्डाको खोल हो, जसले कहिल्यै चल्ला कोरल्न सक्दैन। किनभने तिमीहरूको विश्वासले तिमीहरूलाई सत्यता ल्याइदिएको वा तिमीहरूलाई जीवन दिएको छैन, बरु यसको सट्टा तिमीहरूलाई भरणपोषण र आशाको भ्रामक आभास दिएको छ। परमेश्वरमा विश्वास गर्नुमा तिमीहरूको लक्ष्य यही भरणपोषण र आशाको आभास हो, सत्यता र जीवन होइन। तसर्थ म भन्छु कि परमेश्वरमाथिको तिमीहरूको विश्वासको तरिका दासत्वपूर्ण र लाजमर्दो शैलीमा परमेश्वरको निगाह प्राप्त गर्ने प्रयास गर्ने मात्र रहिआएको छ, र यसलाई कुनै पनि हिसाबले साँचो विश्वास मान्न सकिँदैन। यस्तो विश्वासबाट चल्ला कसरी जन्मन सक्छ र? अर्को शब्दमा भन्नुपर्दा, यस्तो विश्वासले के हासिल गर्न सक्छ र? परमेश्वरमाथिको तिमीहरूको विश्वासको उद्देश्य उहाँलाई प्रयोग गरेर आफ्नै लक्ष्यहरू हासिल गर्नु हो। के यो तिमीहरूले परमेश्वरको स्वभावलाई चिढ्याएको थप तथ्य होइन र? तिमीहरू स्वर्गमा हुनुहुने परमेश्वरको अस्तित्वमा विश्वास गर्छौ र पृथ्वीमा हुनुहुने परमेश्वरको अस्तित्वलाई नकार्छौ, तैपनि म तिमीहरूका दृष्टिकोणहरूलाई मान्यता दिन्नँ; म जमिनमा दृढतापूर्वक खुट्टा टेकेर पृथ्वीमा हुनुहुने परमेश्वरको सेवा गर्नेहरूलाई मात्रै अनुमोदन गर्छु, तर पृथ्वीमा हुनुहुने ख्रीष्टलाई कहिल्यै स्वीकार नगर्नेहरूलाई कहिल्यै अनुमोदन गर्दिनँ। त्यस्ता मानिसहरू स्वर्गमा हुनुहुने परमेश्वरप्रति जतिसुकै बफादार भए पनि, अन्तमा तिनीहरू दुष्टलाई दण्ड दिने मेरो हातबाट उम्कनेछैनन्। यी मानिसहरू दुष्ट हुन्; तिनीहरू तिनै दुष्ट जन हुन् जो परमेश्वरको विरोध गर्छन् र कहिल्यै खुसीसाथ ख्रीष्टको अधीनमा रहेका छैनन्। अवश्य नै, तिनीहरूको सङ्ख्यामा ख्रीष्टलाई नचिन्ने र, अझ भन्नुपर्दा, स्वीकार नगर्ने सबै पर्छन्। के तँ आफू स्वर्गमा हुनुहुने परमेश्वरप्रति बफादार भएसम्म ख्रीष्टप्रति आफूखुसी व्यवहार गर्न सकिन्छ भन्ने ठान्छस्? गलत! ख्रीष्टप्रतिको तेरो अज्ञानता स्वर्गमा हुनुहुने परमेश्वरप्रतिको अज्ञानता हो। तँ स्वर्गमा हुनुहुने परमेश्वरप्रति जतिसुकै बफादार भए पनि, यो खोक्रो कुरा र ढोँग मात्रै हो, किनभने पृथ्वीमा हुनुहुने परमेश्वर मानिसले सत्यता प्राप्त गर्न र अझ गहिरो ज्ञान पाउनमा मात्रै निर्णायक हुनुहुन्न, त्योभन्दा बढी मानिसलाई दोषी ठहराउन र त्यसपछि तथ्यहरूलाई पक्रेर दुष्टलाई दण्ड दिनमा निर्णायक हुनुहुन्छ। के तैँले यसका लाभदायक र हानिकारक परिणामहरू बुझेको छस्? के तैँले तिनको अनुभव गरेको छस्? मलाई तिमीहरूले एक दिन चाँडै नै यो सत्यता बुझे हुनेथियो भन्ने इच्छा छ: परमेश्वरलाई चिन्नका लागि, तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्वरलाई मात्र होइन, अझ महत्त्वपूर्ण त, पृथ्वीमा हुनुहुने परमेश्वरलाई चिन्नुपर्छ। आफ्ना प्राथमिकताहरूबारे अन्योलमा पर्ने वा गौण कुरालाई मुख्य कुराको ठाउँ लिन दिने नगर। यसरी मात्रै तँ साँच्चै परमेश्वरसँग राम्रो सम्बन्ध निर्माण गर्न, परमेश्वरको अझ नजिक हुन, र आफ्नो हृदयलाई उहाँको अझ नजिक ल्याउन सक्छस्। यदि तँ धेरै वर्षदेखि विश्वासमा छस् र तैँले लामो समयदेखि मसँग सङ्गत गरेको छस्, तैपनि तँ मबाट टाढा नै रहन्छस् भने, म त भन्छु तँ प्रायजसो परमेश्वरको स्वभावलाई चिढ्याउँछस्, र तेरो परिणाम अनुमान गर्न धेरै गाह्रो हुनेछ। यदि मसँगको धेरै वर्षको सङ्गतले तँलाई मानवता र सत्यता भएको व्यक्तिमा परिणत गर्न नसकेको मात्र नभएर, त्यसभन्दा बढी, तेरा दुष्ट तरिकाहरूलाई तेरो प्रकृतिमा रुपान्तरित गरेको छ, र तँमा पहिलेभन्दा दोब्बर अहङ्कार भएको मात्र नभएर मबारे तेरा गलतफहमीहरू पनि बढेका छन्, जसले गर्दा तँ मलाई आफ्नो खेल्ने साथीका रूपमा हेर्न थाल्छस् भने, म भन्छु कि तेरो व्यथा अब सतही मात्रै छैन, तेरो हड्डीसम्मै छिरेको छ। अब बाँकी रहेको भनेको तैँले आफ्नो अन्त्येष्टिको प्रबन्ध गरिनलाई पर्खनु मात्रै हो। त्यतिबेला तैँले मलाई तेरो परमेश्वर हुन बिन्ती गर्नु पर्दैन, किनभने तैँले मृत्युको योग्य पाप, क्षमा गर्न नसकिने पाप गरेको छस्। मैले तँलाई छोडिदिएँ भने पनि, स्वर्गमा हुनुहुने परमेश्वरले तेरो ज्यान लिन जिद्दी गर्नुहुनेछ, किनभने परमेश्वरको स्वभावविरुद्धको तेरो अपराध कुनै साधारण समस्या नभएर निकै गम्भीर प्रकृतिको समस्या हो। समय आएपछि, तँलाई अगाडि नै नभनेकोमा मलाई दोष नदे। कुरा यहीँ आएर टुङ्गिन्छ: जब तँ ख्रीष्ट—पृथ्वीमा हुनुहुने परमेश्वर—सँग एक साधारण व्यक्तिको रूपमा सङ्गत गर्छस्, अर्थात्, जब तँ यी परमेश्वर एक व्यक्तिभन्दा बढी केही नभएको विश्वास गर्छस्, त्यसपछि नै तँ नष्ट हुनेछस्। तिमीहरू सबैलाई मेरो एक मात्र चेतावनी यही हो।