एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (१)

धेरै चाँडो, मेरो काम सकिनेछ र हाम्रो धेरै वर्षदेखिको साथ एउटा असहनीय सम्झना बनेको छ। मैले अविच्छिन्‍न रूपमा मेरा वचनहरू दोहोर्‍याएको छु र मेरो नयाँ कामलाई निरन्तर अघि बढाएको छु। अवश्य नै, म हरेक पटक काम गर्दा मेरो सल्लाहले आवश्यक घटकका रूपमा काम गर्छ। त्यसबिना तिमीहरू सबै बरालिनेछौ र तिमीहरू झनै पूर्ण रूपले अन्योलमा पर्नेछौ। अब मेरो काम सकिन लागेको छ र अन्तिम चरणमा छ। म अझै पनि सल्लाह दिने केही काम गर्न, अर्थात् तिमीहरूले सुन भनेर सल्लाहका वचनहरू प्रदान गर्न चाहन्छु। म के मात्र आशा गर्छु भने, तिमीहरू मैले गरेको मेहनत खेर जान नदिन सक्षम हुन्छौ, र त्योभन्दा बढी, मेरा श्रमसाध्य अभिप्रायहरू बुझ्न र मेरा वचनहरूलाई आफ्नो आत्मआचरणको जगका रूपमा लिन सक्षम हुन्छौ। ती तिमीहरूले सुन्‍न इच्छा गरेका वचनहरू भए पनि वा नभए पनि, ती तिमीहरूले खुसीसाथ स्वीकार गर्ने वचन भए पनि वा अनिच्छापूर्वक स्विकार्ने वचन भए पनि, तिमीहरूले तिनलाई गम्भीर रूपमा लिनैपर्छ। अन्यथा, तिमीहरूको जथाभावी र बेपरवाह स्वभाव र हाउभाउहरूले मलाई गहिरो गरी चोट पुर्‍याउनेछन्, र त्यसभन्दा पनि बढी तिनले मलाई ठूलो घृणा महसुस गराउनेछन्। मलाई तिमीहरू सबैले मेरा वचनहरू पटक-पटक—हजारौँ पटक—ती तिमीहरूको हृदयमा कुँदिने हदसम्म समेत पढ्नेछौ भन्ने धेरै आशा छ। यसरी मात्र तिमीहरू मैले तिमीहरूमाथि राखेका अपेक्षाहरू पूरा गर्न असफल हुनेछैनौ। तर, अहिले तिमीहरूमध्ये कोही पनि यसरी जिएको छैन। यसको विपरीत, तिमीहरू सबै भोगविलासको जीवनमा, आफ्नो हृदय सन्तुष्ट हुनेगरी खान र पिउनमा डुबेका छौ र तिमीहरूमध्ये कसैले पनि मेरा वचनहरूलाई आफ्नो हृदय र आत्मालाई समृद्ध पार्नका निम्ति प्रयोग गर्दैन। यसै कारणले, म मानवजातिको साँचो मुहारबारे एउटा निष्कर्षमा पुगेको छु: मानिसले मलाई जुनै समयमा विश्‍वासघात गर्न सक्छ र कोही पनि मेरा वचनहरूप्रति पूर्ण रूपमा बफादार हुन सक्दैन।

“मानिसलाई शैतानद्वारा यति धेरै भ्रष्ट तुल्याइएको छ कि उसमा अब मानिसको रूप नै छैन।” अहिलेका बहुसङ्ख्यक मानिसहरू यो भनाइलाई अलिकति मान्यता दिन्छन्। मैले यसो भन्नुको कारण के हो भने मैले उल्लेख गरेको “मान्यता” साँचो ज्ञान नभएर एक प्रकारको सतही स्वीकारोक्ति मात्रै हो। तिमीहरूमध्ये कसैले पनि आफ्नो सटीक मूल्याङ्कन गर्न वा आफूलाई पूर्ण रूपमा चिरफार गर्न नसक्ने हुनाले, तिमीहरू मेरा वचनहरूमा सधैँ आधा मात्रै विश्‍वास गर्छौ। तर यस पटक, म तथ्यहरू प्रयोग गरेर तिमीहरूभित्र रहेको सबैभन्दा गम्भीर समस्यालाई व्याख्या गर्दै छु। त्यो समस्या भनेको विश्‍वासघात हो। तिमीहरू सबै जना “विश्‍वासघात” भन्‍ने शब्दसँग परिचित छौ, किनभने धेरैजसो मानिसले अरूलाई विश्‍वासघात गर्ने केही न केही गरेका हुन्छन्, जस्तै श्रीमान्‌ले आफ्नी श्रीमतीलाई विश्‍वासघात गर्नु, श्रीमतीले आफ्नो श्रीमान्‌लाई विश्‍वासघात गर्नु, छोराले आफ्नो बुबालाई विश्‍वासघात गर्नु, छोरीले आफ्नी आमालाई विश्‍वासघात गर्नु, नोकरले आफ्नो मालिकलाई विश्‍वासघात गर्नु, साथीहरूले एक-अर्कालाई विश्‍वासघात गर्नु, आफन्तहरूले एक-अर्कालाई विश्‍वासघात गर्नु, बिक्रेताहरूले क्रेताहरूलाई विश्‍वासघात गर्नु, इत्यादि। यी सबै उदाहरणमा विश्‍वासघातको सार रहेको छ। छोटकरीमा भन्नुपर्दा, विश्‍वासघात भनेको भाकल तोड्ने, नैतिक मान्यताहरू उल्लङ्घन गर्ने, वा मानव सदाचारविरुद्ध काम गर्ने व्यवहारको एउटा रूप हो, जसले मानवता गुमेको कुरालाई प्रदर्शन गर्छ। मानवका रूपमा, तिमीहरूलाई आफूले अरू कसैलाई विश्‍वासघात गर्ने कुनै काम गरेको याद भए पनि वा नभए पनि, वा तिमीहरूले यसअघि धेरै पटक अरूलाई विश्‍वासघात गरेको भए पनि नभए पनि, यस संसारमा जन्मिएपछि, तिमीहरू सबैले सत्यताको उल्लङ्घन हुने केही न केही गरेका छौ। तैँले आफ्ना आमाबुबा वा साथीहरूलाई विश्‍वासघात गर्न सक्ने हुनाले, तँ अरूलाई विश्‍वासघात गर्न सक्छस्, र तँ अझ बढी मलाई विश्‍वासघात गर्न र मलाई घृणा लाग्ने कुराहरू गर्न सक्छस्। अर्को शब्दमा भन्नुपर्दा, विश्‍वासघात भनेको सतही रूपमा अनैतिक व्यवहार मात्रै होइन, त्योभन्दा बढी, यो सत्यतासँग बाझिने कुरा हो। मविरुद्ध मानिसले गर्ने प्रतिरोध र विद्रोहको स्रोत ठ्याक्कै यही हो। यसैकारण मैले यसलाई निम्न कथनमा सारांशीकृत गरेको छु: विश्‍वासघात भनेको मानिसको जन्मजात प्रकृति हो, र यो प्रकृति हरेक व्यक्तिले मसँगको मेल हासिल गर्नुको अन्तर्निहित शत्रु हो।

पूर्ण रूपमा मेरो अधीनमा रहन नसक्ने व्यवहार विश्‍वासघात हो। मप्रति बफादार हुन नसक्ने व्यवहार विश्‍वासघात हो। मलाई ठग्नु र झूटको प्रयोग गरेर मलाई छल गर्नु विश्‍वासघात हो। धेरै वटा धारणा बोक्नु र तिनलाई जताततै फैलाउनु विश्‍वासघात हो। मेरा गवाही र हितहरूलाई समर्थन गर्न नसक्नु विश्‍वासघात हो। हृदयमा मबाट टाढा हुँदाहुँदै झूटा मुस्कानहरू दिनु विश्‍वासघात हो। यी सबै विश्‍वासघातका कार्य हुन् जुन तिमीहरूले सधैँ गर्न सकेका छौ, र ती तिमीहरूका लागि सामान्य कुरा हुन्। तिमीहरूमध्ये कसैले पनि यसलाई समस्याका रूपमा सोच्दैनौ होला, तर म त्यस्तो सोच्दिनँ। कुनै व्यक्तिले मलाई गर्ने विश्‍वासघातलाई म सामान्य कुराका रूपमा लिन सक्दिनँ, र म यसलाई बेवास्ता गर्न त झनै सक्दिनँ। अहिले पनि, म तिमीहरूका बीचमा काम गरिरहेको बेलामा, तिमीहरू यसरी व्यवहार गर्छौ—यदि तिमीहरूलाई निगरानी गर्ने कोही नहुने दिन आयो भने, के तिमीहरू आफूले आफैलाई स-साना इलाकाका राजा घोषणा गरेका डाँकुहरूजस्तै बन्नेछैनौ र? जब त्यसो हुन्छ र तिमीहरूले महाविपत्ति निम्त्याउँछौ, तब तिमीहरूले बिगारेको कुरा सच्याउनलाई को हुनेछ? यदि तिमीहरू विश्‍वासघातका कतिपय कार्य तिमीहरूको निरन्तरको व्यवहार नभई केवल कहिलेकाहीँ गरिने कार्य भएको, जसलाई तिमीहरूको अभिमानमा चोट पुग्नेगरी गम्भीरताका साथ उठाइनु नहुने ठान्छौ, र यदि तिमीहरू साँच्चै यही नै विश्‍वास गर्छौ भने, तिमीहरू पूर्णतया समझरहित छौ। कसैले जति बढी यस्तो सोच्छ, त्यति नै बढी ऊ विद्रोहको नमुना र प्रतीक हो। मानिसको प्रकृति नै उसको जीवन हो; यो एउटा यस्तो सिद्धान्त हो जसमा ऊ बाँच्नका लागि भर पर्छ, र उसले यसलाई परिवर्तन गर्न सक्दैन। विश्‍वासघातको प्रकृतिलाई नै उदाहरणका रूपमा लेऊ। यदि तँ आफ्ना आफन्त वा साथीहरूमध्ये कसैलाई विश्‍वासघात गर्ने कामकुरा गर्न सक्छस् भने, यसले यो तेरो जीवनको पाटो हो र तैँले जन्मँदै लिएर आएको प्रकृति हो भन्‍ने कुरा प्रमाणित गर्छ। यो कसैले पनि नकार्न नसक्ने कुरा हो। उदाहरणका लागि, यदि कुनै व्यक्तिलाई अरूबाट चोर्न रमाइलो लाग्छ भने, यसरी चोरी गरेर रमाउनु उसको जीवनकै एउटा पाटो हो, यद्यपि उसले कहिलेकाहीँ चोर्न सक्छ र कहिलेकाहीँ नचोर्न सक्छ। उसले चोरे पनि वा नचोरे पनि, यसले उसले चोरी गर्नु एक प्रकारको व्यवहार मात्रै हो भन्‍ने कुरा प्रमाणित गर्न सक्दैन। बरु, यसले चोरी गर्नु उसको जीवनकै एउटा पाटो हो—अर्थात्, उसको प्रकृति हो—भन्‍ने कुरा प्रमाणित गर्छ। कतिपयले सोध्नेछन्: यो तिनीहरूको प्रकृति नै हो भने, जब तिनीहरूले राम्रा कुराहरू देख्छन्, तब तिनीहरूले कहिलेकाहीँ किन चोर्दैनन् त? यसको जवाफ निकै सरल छ। तिनीहरूले नचोर्नुका धेरै वटा कारण हुन्छन्। तिनीहरूले कुनै कुरा नचोर्न सक्छन् किनभने त्यो धेरै ठूलो भएका कारण अरूले नदेख्नेगरी खोस्न नसकिने हुन सक्छ, वा कदम चाल्नका लागि उपयुक्त समय नमिलेको हुन सक्छ, वा कुनै कुरा धेरै महँगो हुन सक्छ, त्यसलाई धेरै कडा सुरक्षा गरिएको हुन सक्छ, वा सायद तिनीहरूलाई त्यसमा कुनै विशेष रुचि नहुन सक्छ, वा त्यसले तिनीहरूलाई के काम दिन्छ भन्‍ने कुरा तिनीहरूले नदेख्न सक्छन्, इत्यादि। यी सबै कारण सम्भव छन्। तर चाहे जेसुकै होस्, तिनीहरूले कुनै कुरा चोरे पनि वा नचोरे पनि, यसले यो सोँच एउटा क्षणिक, बितेर जाने झल्कोका रूपमा मात्रै रहन्छ भन्‍ने कुरा प्रमाणित गर्न सक्दैन। यसको विपरीत, यो तिनीहरूको प्रकृतिकै एउटा पाटो हो—यस्तो प्रकृति जसलाई नयाँ बनाउन गाह्रो हुन्छ। त्यस्तो व्यक्ति एक पटक मात्रै चोरेर सन्तुष्ट हुँदैन; अरूको सम्पत्तिलाई आफ्नै दाबी गर्ने त्यस्ता सोँचहरू तिनीहरूले कुनै राम्रो कुरा, वा उपयुक्त अवस्था भेट्दा जहिले पनि उत्पन्न हुन्छन्। यसैकारण म भन्छु कि यो सोँच यस व्यक्तिमा कहिलेकाहीँ मात्रै उब्जिने कुरा होइन, यो त उसको प्रकृतिबाटै आउने कुरा हो।

जोकोहीले पनि आफ्नो बोलीवचन र कार्यहरूलाई प्रयोग गरेर आफ्नो साँचो मुहारलाई प्रतिनिधित्व गर्न सक्छ। यो साँचो मुहार, अवश्य नै, तिनीहरूको प्रकृति हो। यदि तँ टेढो तरिकाले बोल्ने व्यक्ति होस् भने, तेरो प्रकृति टेढो छ। यदि तेरो प्रकृति छली छ भने, तँ धूर्त तरिकाले काम गर्छस्, र तैँले अरूलाई तँद्वारा झुक्याइन र मूर्ख बनाइन धेरै सजिलो बनाइदिन्छस्। यदि तेरो प्रकृति अनिष्टकर छ भने, तेरा शब्दहरू सुन्नमा रमाइलो लाग्न सक्छन्, तर तेरा कार्यहरूले तेरा अनिष्टकर युक्तिहरूलाई लुकाउन सक्दैनन्। यदि तेरो प्रकृति अल्छी छ भने, तैँले भन्ने हरेक कुरामा तँ झाराटारुवा र अल्छी भएकोमा आफूलाई दोषमुक्त गर्ने प्रयास गरिरहेको हुनेछस्, तेरा कार्यहरू सुस्त र झाराटारुवा हुनेछन्, र सत्यता लुकाउनमा निकै सिपालु हुनेछन्। यदि तेरो प्रकृति समानुभूतिपूर्ण छ भने, तेरा शब्दहरू समझदार हुनेछन्, र तेरा कार्यहरू पनि सत्यतासँग राम्ररी मिल्नेछन्। यदि तेरो प्रकृति सबैप्रति बफादार हुने खालको छ भने, तेरा शब्दहरू पक्कै पनि निष्कपट हुन्छन् र तेरो काम गर्ने तरिका व्यावहारिक हुन्छ, जुन तेरो मालिकलाई असहज बनाउन सक्ने कुनै पनि कुराबाट मुक्त हुन्छ। यदि तेरो प्रकृति कामुक वा पैसाको लोभी छ भने, तेरो हृदय अक्सर यी कुराहरूद्वारा भरिएको हुनेछ, र तैँले अनजानमै यस्ता अनाचारी, अनैतिक कार्यहरू गर्नेछस् जसलाई मानिसहरूले सजिलै बिर्सनेछैनन् र घिन मान्नेछन्। मैले भनेजस्तै, यदि तँमा विश्‍वासघातको प्रकृति छ भने, तँ दोषबाट उम्कन सक्दैनस्। तैँले अरूलाई अन्याय नगरेको हुनाले तँमा विश्‍वासघातको प्रकृति छैन भन्ने ठानेर जोखिम मोलेर केही गरिहेर्ने मानसिकता नबोक्। यदि तैँले सोच्ने कुरा यही हो भने, साँच्चै, तँ घृणास्पद छस्। मैले हरेक पटक बोल्दा, मेरा वचनहरू एक जना व्यक्ति वा एक प्रकारको व्यक्तिलाई मात्रै होइन, सबै मानिसलाई लक्षित गरिएका हुन्छन्। तैँले मलाई एउटा मामिलामा विश्‍वासघात गरेको छैनस् भन्‍ने कुराले तैँले मलाई कुनै पनि मामिलामा विश्‍वासघात गर्नेछैनस् भन्‍ने कुरा प्रमाणित गर्दैन। कतिपय मानिस आफ्नो विवाहमा धक्का लाग्दा सत्यता खोज्ने विश्‍वास गुमाउँछन्। कतिपय मानिस पारिवारिक विखण्डनको बेला मप्रति बफादार हुने आफ्नो दायित्व त्याग्छन्। कतिपय मानिस क्षणिक आनन्द र उत्साह खोज्न मलाई त्याग्छन्। कतिपय मानिस ज्योतिमा जिउनु र पवित्र आत्माको कामको आनन्द प्राप्त गर्नुभन्दा बरु कुनै अँध्यारो खोँचमा खस्न रुचाउँछन्। कतिपय मानिस आफ्नो धनको लालसा पूरा गर्नका खातिर साथीहरूको सल्लाहलाई बेवास्ता गर्छन्, र अब पनि आफ्नो गल्ती स्वीकार गर्न र आफ्नो मार्ग परिवर्तन गर्न सक्दैनन्। कतिपय मानिस मेरो सुरक्षा प्राप्त गर्नका निम्ति मेरो नामअन्तर्गत अस्थायी रूपमा मात्रै जिउँछन्, जबकि अरू चाहिँ जीवनसँग टाँसिने र मृत्युको डर मान्ने हुनाले मप्रति अनिच्छापूर्वक थोरै मात्रै अर्पित हुन्छन्। के यी र यस्तै अन्य अनैतिक र, त्योभन्दा पनि बढी, निष्ठाहीन कार्यहरू मानिसहरूले आफ्नो हृदयको गहिराइमा लामो समयदेखि मलाई विश्‍वासघात गर्न प्रयोग गरेका व्यवहारहरू मात्रै होइनन् र? अवश्य नै, मलाई थाहा छ मानिसहरू मलाई विश्‍वासघात गर्न अग्रिम योजना बनाउँदैनन्, बरु तिनीहरूको विश्‍वासघात तिनीहरूको प्रकृतिको स्वाभाविक प्रकटीकरण हो। कोही पनि मलाई विश्‍वासघात गर्न चाहँदैन, मविरुद्ध विश्‍वासघाती कार्य गरेकाले कोही खुसी हुनु त झनै परको कुरा हो। यसको उल्टो, तिनीहरू डरले कामिरहेका हुन्छन्, होइन र? त्यसोभए, के तिमीहरू यी विश्‍वासघातहरूको प्रायश्चित कसरी गर्ने, र हालको अवस्थालाई कसरी परिवर्तन गर्ने भनेर सोचिरहेका छौ?

अघिल्लो: पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई वास्तवमा कसरी चिन्ने

अर्को: एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्