१. तपाईं भन्नुहुन्छ, हामीले परमेश्वरको आखिरी दिनको न्यायको कामलाई स्वीकार गर्नुपर्छ, तब मात्र हाम्रो भ्रष्ट शैतानी स्वभावहरू शुद्ध पारिन्छन् र परिवर्तन हुन्छन्, तब मात्र हामी परमेश्वरको राज्यमा प्रवेश गर्नेछौं। त्यसैले, प्रभुको मापदण्ड अनुसार नै हामी विनम्र र सहनशील छौं, हामी आफ्ना शत्रुहरूलाई प्रेम गर्छौं, हामी आफ्नो क्रूस बोक्छौं, हामी आफ्नो शरीरलाई अनुशासनमा राख्छौं, हामी सांसारिक थोकहरू त्याग्छौं, हामी प्रभुका निम्ति काम र प्रचार गर्छौं, इत्यादि। के यी सबै हामीभित्र भएका परिवर्तनहरू होइनन् र? के तपाईंले यो अझै पनि हामी स्वर्गीय राज्यमा प्रवेश गर्नको निम्ति पर्याप्त छैन भनी भन्नुहुन्छ? म विश्वास गर्छु, जबसम्म हामी यस प्रकारले प्रयास जारी राख्छौं, हामी पवित्र बन्नेछौं र स्वर्गको राज्यमा प्रवेश गर्नेछौं।
सन्दर्भका लागि बाइबलका पदहरू:
“मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)।
“सबै मानिसहरूसँग शान्ति र पवित्रता कायम राख, त्यो विना कुनै पनि मानिसले प्रभुलाई देख्नेछैन” (हिब्रू १२:१४)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
धेरैजसो मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा आफ्नो व्यवहारलाई विशेष जोड् दिन्छन्, जसको फलस्वरूप तिनीहरूको व्यवहारमा केही परिवर्तन आउँछन्। परमेश्वरमा विश्वास गर्न थालेपछि, तिनीहरूले धूम्रपान र मद्यपान गर्न छोड्छन्, र त्यसउप्रान्त अरूसँग प्रतिस्पर्धा गर्दैनन्, र घाटा बेहोर्दा धैर्यताको अभ्यास गर्न मन पराउँछन्। तिनीहरूका व्यवहारमा केही परिवर्तन आएको हुन्छ। कतिपय मानिसहरूलाई के लाग्छ भने परमेश्वरमा विश्वास गरेपछि तिनीहरूले परमेश्वरको वचन पढेर सत्यता बुझ्न सक्छन्; तिनीहरूले पवित्र आत्माको कार्य अनुभव गरेका छन्, र तिनीहरूको हृदयमा साँचो शान्ति प्राप्त भएको छ जसले गर्दा तिनीहरू विशेष जोसिला भएका छन्, र तिनीहरूले त्याग्न वा भोग्न नसक्ने केही छैन। तापनि, आठ, दस वा बिस वा तीस वर्षसम्म विश्वास गरेपछि पनि तिनीहरूको स्वभावमा कुनै परिवर्तन नभएको हुनाले, आखिरमा तिनीहरू पुरानै चालमा फर्कन थाल्छन्; तिनीहरूको अहङ्कार र कपट झन् स्पष्ट हुँदै जान्छ, तिनीहरू शक्ति र लाभको लागि प्रतिस्पर्धा गर्न थाल्छन्, तिनीहरू मण्डलीको पैसाको लालच गर्छन्, परमेश्वरको घरबाट फाइदा लिएका मानिसहरूप्रति तिनीहरूलाई डाहा लाग्छ। तिनीहरू परजीवी र नाशक जीव बन्छन्, र कतिलाई त झूटा अगुवा र ख्रीष्टविरोधीहरूका रूपमा प्रकाश गरेर समेत हटाइन्छ। अनि यी तथ्यहरूले के प्रमाणित गर्दछन्? व्यवहारमा मात्र भएका परिवर्तनहरू अस्थिर हुन्छन्; यदि मानिसहरूको जीवनका स्वभावहरूमा कुनै परिवर्तन भएन भने, उनीहरूले आफ्नो साँचो रङ्ग देखाउनेछन्। यस्तो किन हुन्छ भने व्यवहारमा आएको परिवर्तनको स्रोत उत्साहमा हुन्छ, र त्यसमा त्यस समय पवित्र आत्माले गर्नुभएको केही काम थपिँदा, थोरै समयको लागि तिनीहरूलाई उत्साहित हुन वा दया देखाउन धेरै सजिलो हुन्छ। जसरी गैरविश्वासीहरू भन्छन्, “एउटा असल कामकुरा गर्न सजिलो हुन्छ; जीवनभरि असल कामकुराहरू गर्नचाहिँ गाह्रो हुन्छ।” मानिसहरूले किन आफ्नो जीवनभरि नै असल कामकुरा गरिरहन सक्दैनन्? किनभने प्रकृतिअनुसार मानिसहरू दुष्ट, स्वार्थी, र भ्रष्ट हुन्छन्। व्यक्तिको व्यवहार उसको प्रकृतिद्वारा निर्देशित हुन्छ; व्यक्तिको प्रकृति जस्तो हुन्छ, उसले प्रकट गर्ने व्यवहार पनि त्यस्तै हुन्छ, र प्राकृतिक रूपमा जे प्रकट हुन्छ त्यसले जीवनको साथै त्यस व्यक्तिको प्रकृतिको पनि प्रतिनिधित्व गर्दछ। नक्कली चीजहरू टिक्न सक्दैनन्। जब परमेश्वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ, त्यो मानिसलाई असल व्यवहारले सिँगार्नका निम्ति हुँदैन—परमेश्वरको कामको उद्देश्य मानिसहरूका स्वभावहरूलाई परिवर्तन गर्नु, उनीहरूलाई नयाँ मानिसहरूका रूपमा फेरि जन्माउनु भन्ने हुन्छ। परमेश्वरले मान्छेलाई गर्ने न्याय, सजाय, परीक्षा, र शोधन सबैले उसको स्वभाव परिवर्तन गर्न मदत गर्छन् ताकि उसले परमेश्वरप्रति पूर्ण समर्पणता र बफादारी हासिल गर्न, र सामान्य रूपमा उहाँको आराधना गर्न सकोस्। यो परमेश्वरको कामको लक्ष्य हो। असल व्यवहार गर्नु नै परमेश्वरको अधीनमा बस्नु होइन, यो ख्रीष्टसँग मिल्दोजुल्दो हुनु हो भन्ने कुरा त परै जाओस्। व्यवहारमा परिवर्तनहरू हुने कुरा सिद्धान्तमा आधारित हुन्छ र उत्साहको कारण जन्मेका हुन्छन्; ती परमेश्वरको साँचो ज्ञान वा सत्यमा आधारित हुँदैनन्, ती पवित्र आत्माको मार्गनिर्देशनमा निर्भर हुने त परै जाओस्। कहिलेकाहीँ यस्तो समय पनि हुन्छ जब मानिसहरूले गर्ने काम पवित्र आत्माद्वारा अन्तर्दृष्टि र अगुवाइ पाएको हुन्छ, तापनि त्यो तिनीहरूको जीवनको प्रकाश हुँदैन। तिनीहरू अझै पनि सत्यता वास्तविकताहरूमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूको जीवन स्वभाव किमार्थ परिवर्तन भएको हुँदैन। व्यक्तिको व्यवहार जतिसुकै राम्रो भए पनि, त्यसले उनीहरू परमेश्वरप्रति समर्पित हुन्छन् वा उनीहरूले सत्यताको अभ्यास गरेका छन् भन्ने प्रमाणित गर्दैन। व्यवहारमा हुने परिवर्तनहरूले जीवन स्वभावका परिवर्तनहरू प्रतिनिधित्व गर्दैनन् र त्यस्ता परिवर्तनलाई जीवनका प्रकाशहरू भनेर भन्न सकिँदैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरमा विश्वास गर्न थालेदेखि एउटा व्यक्ति धेरै वटा असल व्यवहारहरूमा संलग्न भएको हुनसक्ने भए पनि, उसले अझै पनि धेरै कुराहरू स्पष्ट रूपमा देख्न सक्दैन, सत्यतालाई बुझ्न सक्ने त कुरै नगरे हुन्छ—तैपनि, तिनीहरूका धेरै वटा असल व्यवहारहरूका कारण, तिनीहरूलाई तिनीहरू पहिले नै सत्यता अभ्यास गरिरहेका छन्, परमेश्वरमा समर्पित भइसकेका छन्, र उहाँका अभिप्रायहरू पहिले नै धेरै पूरा गरिसकेका छन् भन्ने लाग्छ। जब तँलाई केही आइपर्दैन, तब तँलाई जे भनिएको छ तँ त्यही गर्न सक्छस्; तँलाई कुनै पनि कर्तव्य पूरा गर्नेबारेमा कुनै फिक्री हुँदैन, र तैँले कुनै विरोध गर्दैनस्। जब तँलाई सुसमाचार प्रचार गर्न भनिन्छ, तँ गुनासो गर्दैनस् र यो कष्ट सहन सक्छस्, र जब तँलाई यताउता दगुर्न र काम गर्न लगाइन्छ, वा कुनै तोकिएको काम गर्न लगाइन्छ, तैँले त्यो काम गर्छस्। यसकारण, तँलाई लाग्छ कि परमेश्वरमा समर्पित हुने र सत्यतालाई साँचो रूपमा पछ्याउने तँ नै होस्। तैपनि, यदि तँलाई गहन रूपमा, “के तँ इमानदार व्यक्ति होस्? के तँ साँचो रूपमा परमेश्वरमा समर्पित हुने व्यक्ति होस्? के तँ त्यो व्यक्ति होस् जसको स्वभाव परिवर्तन भएको छ?” भन्दै प्रश्न गर्ने हो भने—यदि हरेक व्यक्तिलाई परमेश्वरका वचनहरू सत्यतासँग तुलना गर्न अघि सारियो भने—सायद कोही पनि मापदण्डअनुसारको छैनन, र कुनै पनि व्यक्ति सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्षम हुनेछैन भनेर भन्न सकिन्छ। त्यसैले, भ्रष्ट मानवजाति सबैले आत्मचिन्तन गर्नैपर्छ। तिनीहरूले आफू जिउने स्वभाव र आफ्ना सबै काम र कार्यहरूका आधार हुने शैतानी दर्शन, तर्क, विधर्म र झुटा तर्कहरूबारे चिन्तन गर्नैपर्छ। तिनीहरूले आफूले भ्रष्ट स्वभाव प्रकट गर्नुको मूलजड, आफूले मनमानी ढङ्गमा कार्य गर्नुको सार, र आफू केमा र कसका लागि जिउँछन् भन्ने कुरामा चिन्तन गर्नैपर्छ। यदि यो कुरालाई सत्यतासँग तुलना गरेर हेर्ने हो भने, सबै मानिसहरू दोषी ठहरिनेछन्। यसको कारण के हो? मानवजाति गम्भीर रूपमा भ्रष्ट हुनु नै यसको कारण हो। मानिसहरू सत्यता बुझ्दैनन्, र तिनीहरू सबै आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्। तिनीहरूमा अलिकति पनि आत्मज्ञान हुँदैन, तिनीहरू सधैँ आफ्नो धारणा र कल्पनाहरूअनुसार परमेश्वरमा विश्वास गर्छन्, कर्तव्यहरू आफ्नै रुचि र तरिकाअनुसार निर्वाह गर्छन्, र परमेश्वरको सेवा कसरी गर्ने भनेर धार्मिक सिद्धान्तहरू पछ्याउँछन्। त्यसमाथि, तिनीहरू अझै आफू विश्वासले भरिपूर्ण छु, आफ्ना कार्यहरू उचित छन् भनेर सोच्छन्, र आखिरमा तिनीहरूलाई आफूले धेरै पाएको छु भन्ने लाग्छ। तिनीहरूले पत्तै नपाई के सोच्न पुग्छन् भने तिनीहरू परमेश्वरका अभिप्रायहरूअनुसार काम गरी नै रहेका छन्, तिनलाई पूर्ण रूपमा पूरा गरेका छन्, र तिनीहरूले पहिले नै परमेश्वरका मागहरू पूरा गरिसकेका छन् र उहाँको इच्छालाई पछ्याइरहेका छन्। यदि तँलाई यस्तै लाग्छ, वा यदि तँलाई परमेश्वरमाथिको तेरो धेरै वर्षको विश्वासमा, तैँले केही प्राप्तिहरू हासिल गरेको छस् भन्ने लाग्छ भने, तैँले आफैलाई सावधानीपूर्वक जाँच्न परमेश्वरको अघि अझ धेरै फर्किआउनैपर्छ। तैँले परमेश्वरसामु आफ्ना सबै कामकुरा पूर्णतया उहाँका अभिप्रायहरूअनुसार भएका छन् कि छैनन् भनी बुझ्न आफूले यत्तिका वर्षदेखि हिँडेको मार्गलाई हेर्नुपर्छ। आफ्नो कुन व्यवहार परमेश्वरको विरोधमा थियो, कुनचाहिँ उहाँप्रति समर्पित थियो, आफ्ना कार्यहरूले परमेश्वरका मागहरू पूरा गरेका र सन्तुष्ट पारेका छन् छैनन् भनी जाँच्। तैँले यी सबै कुरा स्पष्ट पार्नुपर्छ, किनभने त्यसपछि मात्र तैँले आत्म-सचेतना प्राप्त गर्नेछस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ
भर्खरै छुटकारा पाएको, र परिवर्तन भई नसकेको, वा परमेश्वरद्वारा सिद्ध पारिइ नसकेको तँजस्तो पापी—के तँ परमेश्वरका अभिप्रायअनुरूप बन्न सक्छस्? अझै आफ्नो पुरानो सत्व बोकेको तेरो सन्दर्भमा भन्नुपर्दा, येशूले तँलाई मुक्ति दिनुभएको थियो, र परमेश्वरले दिनुभएको मुक्तिको कारण तँ पापी छैनस् भन्ने साँचो हो, तर यसले तँ पापरहित वा फोहोररहित छस् भन्ने कुरालाई प्रमाणित गर्दैन। तँलाई परिवर्तन गरिएको छैन भने तँ कसरी पवित्र पारिन सक्छस्? भित्री रूपमा, तँ फोहोरले भरिएको, स्वार्थी र नीच छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ त निकै भाग्यमानी हुनुपर्नेछ! परमेश्वरमाथिको विश्वासमा तैँले एउटा कदम छुटाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँलाई परिवर्तन गरिएको छैन। तँ परमेश्वरका अभिप्रायअनुरूप बन्नका लागि, परमेश्वरले तँलाई परिवर्तन गर्न र पखाल्न व्यक्तिगत रूपमै काम गर्नुपर्छ; नत्र भने, तँलाई छुटकारा मात्र दिइएको हुनाले, तँ पवित्र बन्ने कुनै सम्भावना हुँदैन। यसरी तँ परमेश्वरको साथमा असल आशिषहरूको आनन्द उठाउन अयोग्य हुनेछस्, किनभने तैँले मानिसलाई व्यवस्थापन गर्ने परमेश्वरको कामको एक चरण छुटाएको छस्, जुन परिवर्तन हुनु र सिद्ध पारिनुको महत्त्वपूर्ण चरण हो। भर्खरै छुटकारा दिइएको पापी, यसर्थ तँ प्रत्यक्ष रूपमा परमेश्वरको उत्तराधिकार प्राप्त गर्न असक्षम छस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। उपाधि र पहिचानको सम्बन्धमा
येशू मानिसमाझ आउनुभए पनि र उहाँले धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिलाई छुटकारा दिने काम मात्र पूरा गर्नुभयो र मानिसको पापबलिका रूपमा सेवा गर्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्ति दिनका निम्ति येशूले पापबलि बनेर मानिसका पापहरू बोक्नु मात्र आवश्यक थिएन, तर मानिसलाई उसको शैतानद्वारा भ्रष्ट तुल्याइएको स्वभाव पूर्ण रूपमा फाल्ने तुल्याउन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। र यसैले, मानिसलाई उसका पापहरूबाट क्षमा गरिएपछि, मानिसलाई नयाँ युगमा डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभयो, र सजाय अनि न्यायको काम सुरु गर्नुभयो। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा समर्पित हुने सबैले अझ उच्च सत्यताको आनन्द उठाउनेछन् र अझ ठूला आशिष्हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रस्तावना
मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिए न। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। … आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, उनीहरू कति दयनीय छन् भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु उनीहरूसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्
तिमीहरू सोच्छौ होला, वर्षौँसम्म अनुयायी भएर तिमीहरूले जे-जस्तो भए पनि कडा मेहनत गरेका छौ र जे भए पनि तिमीहरू श्रमिक हुन परमेश्वरको घरमा फाइदा उठाउन सक्छौ। म त भन्छु तिमीहरूमध्ये अधिकांशले यसरी नै सोच्छौ, किनभने तिमीहरूले सधैँ कसरी विभिन्न कुराहरूबाट फाइदा लिने र आफूबाट फाइदा लिन नदिने सिद्धान्तलाई पछ्याएका छौ। यसरी, अब म तिमीहरूलाई पूर्ण गम्भीरताका साथ भन्दैछु: तेरो कडा मेहनत कति सराहनीय छ, तेरा योग्यताहरू कति प्रभावशाली छन्, कति नजिकबाट तैँले मलाई पछ्याउँदैछस्, तँ कति प्रख्यात छस्, वा तैँले आफ्नो मनोवृत्तिमा कति सुधार गरिस् भन्ने कुरामा म ध्यान दिँदिन; जबसम्म तैँले मेरा मागहरू पूरा गरेको हुँदैनस्, तबसम्म तैँले कहिल्यै पनि मेरो प्रशंसा प्राप्त गर्न सक्नेछैनस्। जतिसक्दो चाँडो तिमीहरूका ती सबै विचारहरू र आकलनहरूलाई महत्त्व दिन छोडिदेऊ र मेरा आवश्यकताहरूलाई गम्भीरताका साथ लिन थाल; होइन भने, म मेरो कामको अन्त्य गर्न सबैलाई खरानी पारिदिनेछु र अझै खराब कुरा त, मेरो वर्षौंको काम र कष्टलाई शून्यमा बदलिदिन्छु, किनभने म मेरा शत्रुहरूलाई अनि ती व्यक्तिहरू जसबाट दुष्टताको गन्ध आउँछ र जसमा अझै शैतानको पुरानो रूप छ तिनीहरूलाई मेरो राज्यमा ल्याउन वा अर्को चरणमा लैजान सक्दिनँ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अपराधले मानिसलाई नर्कतर्फ डोर्याउनेछ