२. प्रेरित पावलले भने, “मैले असल लडाइँ लडेको छु, मैले मेरो यात्रा पूरा गरेको छु, मैले आस्था कायम राखेको छु: अबदेखि मेरा लागि धार्मिकताको मुकुट राखिएको छ” (२ तिमोथी ४:७-८)। हामीले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छौं, र त्यस अवधिभरि, हामीले दौड् दौड्ने र प्रभुको काम गर्ने कुरामा पावलको अनुकरण गरेका छौं। हामीले सुसमाचार फैलाएका छौं र मण्डलीहरू निर्माण गरेका छौं, र हामीले प्रभुको नाउँ र प्रभुको मार्गलाई पालना गरेका छौं। हामीलाई धार्मिकताको मुकुट पहिराइनेछ भन्‍ने विषयमा कुनै प्रश्न छैन। जबसम्म हामी प्रभुप्रतिको हाम्रो परिश्रममा लगनशील हुन्छौं र प्रभुको आगमनको प्रतीक्षामा जागा रहन्छौं, हामी उठाइएर सीधै स्वर्गको राज्यमा लगिनेछौं। के तपाईं हामीले गरेका अभ्यासमा गल्ती छ भनी भन्नुहुन्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“मलाई प्रभु, प्रभु भन्‍ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)

परमेश्वरका सान्दर्भिक वचनहरू:

परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि एउटा व्यक्ति धेरै वटा असल व्यवहारहरूमा संलग्‍न भएको हुनसक्‍ने भए पनि, उसले अझै पनि धेरै कुराहरू स्पष्ट रूपमा देख्‍न सक्दैन, सत्यतालाई बुझ्‍न सक्‍ने त कुरै नगरे हुन्छ—तैपनि, तिनीहरूका धेरै वटा असल व्यवहारहरूका कारण, तिनीहरूलाई तिनीहरू पहिले नै सत्यता अभ्यास गरिरहेका छन्, परमेश्‍वरमा समर्पित भइसकेका छन्, र उहाँका अभिप्रायहरू पहिले नै धेरै पूरा गरिसकेका छन् भन्‍ने लाग्छ। जब तँलाई केही आइपर्दैन, तब तँलाई जे भनिएको छ तँ त्यही गर्न सक्छस्; तँलाई कुनै पनि कर्तव्य पूरा गर्नेबारेमा कुनै फिक्री हुँदैन, र तैँले कुनै विरोध गर्दैनस्। जब तँलाई सुसमाचार प्रचार गर्न भनिन्छ, तँ गुनासो गर्दैनस् र यो कष्ट सहन सक्छस्, र जब तँलाई यताउता दगुर्न र काम गर्न लगाइन्छ, वा कुनै तोकिएको काम गर्न लगाइन्छ, तैँले त्यो काम गर्छस्। यसकारण, तँलाई लाग्छ कि परमेश्‍वरमा समर्पित हुने र सत्यतालाई साँचो रूपमा पछ्याउने तँ नै होस्। तैपनि, यदि तँलाई गहन रूपमा, “के तँ इमानदार व्यक्ति होस्? के तँ साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्ति होस्? के तँ त्यो व्यक्ति होस् जसको स्वभाव परिवर्तन भएको छ?” भन्दै प्रश्‍न गर्ने हो भने—यदि हरेक व्यक्तिलाई परमेश्‍वरका वचनहरू सत्यतासँग तुलना गर्न अघि सारियो भने—सायद कोही पनि मापदण्डअनुसारको छैनन, र कुनै पनि व्यक्ति सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्षम हुनेछैन भनेर भन्न सकिन्छ। त्यसैले, भ्रष्ट मानवजाति सबैले आत्मचिन्तन गर्नैपर्छ। तिनीहरूले आफू जिउने स्वभाव र आफ्ना सबै काम र कार्यहरूका आधार हुने शैतानी दर्शन, तर्क, विधर्म र झुटा तर्कहरूबारे चिन्तन गर्नैपर्छ। तिनीहरूले आफूले भ्रष्ट स्वभाव प्रकट गर्नुको मूलजड, आफूले मनमानी ढङ्गमा कार्य गर्नुको सार, र आफू केमा र कसका लागि जिउँछन् भन्‍ने कुरामा चिन्तन गर्नैपर्छ। यदि यो कुरालाई सत्यतासँग तुलना गरेर हेर्ने हो भने, सबै मानिसहरू दोषी ठहरिनेछन्। यसको कारण के हो? मानवजाति गम्भीर रूपमा भ्रष्ट हुनु नै यसको कारण हो। मानिसहरू सत्यता बुझ्दैनन्, र तिनीहरू सबै आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्। तिनीहरूमा अलिकति पनि आत्मज्ञान हुँदैन, तिनीहरू सधैँ आफ्नो धारणा र कल्पनाहरूअनुसार परमेश्‍वरमा विश्‍वास गर्छन्, कर्तव्यहरू आफ्नै रुचि र तरिकाअनुसार निर्वाह गर्छन्, र परमेश्‍वरको सेवा कसरी गर्ने भनेर धार्मिक सिद्धान्तहरू पछ्याउँछन्। त्यसमाथि, तिनीहरू अझै आफू विश्‍वासले भरिपूर्ण छु, आफ्ना कार्यहरू उचित छन् भनेर सोच्छन्, र आखिरमा तिनीहरूलाई आफूले धेरै पाएको छु भन्‍ने लाग्छ। तिनीहरूले पत्तै नपाई के सोच्न पुग्छन् भने तिनीहरू परमेश्‍वरका अभिप्रायहरूअनुसार काम गरी नै रहेका छन्, तिनलाई पूर्ण रूपमा पूरा गरेका छन्, र तिनीहरूले पहिले नै परमेश्‍वरका मागहरू पूरा गरिसकेका छन् र उहाँको इच्‍छालाई पछ्याइरहेका छन्। यदि तँलाई यस्तै लाग्छ, वा यदि तँलाई परमेश्‍वरमाथिको तेरो धेरै वर्षको विश्‍वासमा, तैँले केही प्राप्तिहरू हासिल गरेको छस् भन्‍ने लाग्छ भने, तैँले आफैलाई सावधानीपूर्वक जाँच्न परमेश्‍वरको अघि अझ धेरै फर्किआउनैपर्छ। तैँले परमेश्वरसामु आफ्ना सबै कामकुरा पूर्णतया उहाँका अभिप्रायहरूअनुसार भएका छन् कि छैनन् भनी बुझ्न आफूले यत्तिका वर्षदेखि हिँडेको मार्गलाई हेर्नुपर्छ। आफ्नो कुन व्यवहार परमेश्‍वरको विरोधमा थियो, कुनचाहिँ उहाँप्रति समर्पित थियो, आफ्ना कार्यहरूले परमेश्‍वरका मागहरू पूरा गरेका र सन्तुष्ट पारेका छन् छैनन् भनी जाँच्। तैँले यी सबै कुरा स्पष्ट पार्नुपर्छ, किनभने त्यसपछि मात्र तैँले आत्म-सचेतना प्राप्त गर्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ

परमेश्‍वरलाई पछ्याउने धेरै जनालाई कसरी आशिषहरू प्राप्त गर्ने वा विपत्ति टार्ने भन्‍ने मात्रै चासो छ। परमेश्‍वरको काम र व्यवस्थापनबारे उल्‍लेख गर्ने बित्तिकै, तिनीहरू चुप हुन्छन् र सबै रुचि गुमाउँछन्। तिनीहरू त्यस्ता अरोचक कुराहरूलाई बुझ्नाले तिनीहरूको जीवन वृद्धि गर्न सहयोग गर्नेछैन वा कुनै पनि लाभ प्रदान गर्नेछैन भन्‍ने ठान्छन्। परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरको व्यवस्थापनबारे सूचना सुनेका भए तापनि, त्यसलाई अगम्भीर शैलीले लिने गर्छन्। यसलाई तिनीहरू स्वीकार गर्नुपर्ने कुनै बहुमूल्य कुराका रूपमा देख्दैनन्, यसलाई तिनीहरूले जीवनको अंशका रूपमा लिएर यसलाई बुझ्ने त झनै गर्दैनन्। त्यस्ता मानिसहरूको परमेश्‍वरलाई पछ्याउनुको उद्देश्य निकै सरल हुन्छ, र त्यो एउटै उद्देश्यका लागि हो: आशिषित हुनु। यी मानिसहरू यो उद्देश्यसँग सरोकार नराख्ने अरू कुनै कुरालाई ध्यान दिने झमेला लिँदैनन्। तिनीहरूका लागि, आशिषहरू प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्नु जत्तिको न्यायसंगत अरू कुनै उद्देश्य हुँदैन—तिनीहरूको विश्‍वासको मूल्य यही नै हो। यदि कुनै कुराले यो उद्देश्यमा योगदान दिँदैन भने, यसले तिनीहरूको हृदय छुँदैन। आज परमेश्‍वरलाई विश्‍वास गर्ने धेरैजसो मानिसहरूको अवस्था यस्तै छ। तिनीहरूको उद्देश्य र अभिप्राय न्यायसंगत देखिन्छन्, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा तिनीहरू परमेश्‍वरमा समर्पित पनि हुन्छन्, आफैलाई परमेश्‍वरमा अर्पित पनि गर्छन्, र आफ्‍नो कर्तव्य पनि निर्वाह गर्छन्। तिनीहरूले आफ्‍नो जवानी त्याग्छन्, परिवार र पेशा त्याग्छन्, र आफैलाई व्यस्त राख्दै कैयौँ वर्ष घरदेखि टाढा बिताउँछन्। तिनीहरूको आखिरी उद्देश्यका लागि, तिनीहरूले आफ्‍नै अभिरुचिहरू, जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, र तिनीहरूले खोजी गर्ने दिशालाई समेत परिवर्तन गर्छन्; तैपनि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको उद्देश्यलाई तिनीहरूले परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्‍नै आदर्शहरूको व्यवस्थापन गर्दै दौडधूप गर्छन्; बाटो जति टाढा भए पनि, र बाटोमा जति धेरै कठिनाइ र बाधाहरू भए पनि, तिनीहरू दृढ रहन्छन् र मृत्युको डर मान्दैनन्। आफैलाई निरन्तर रूपमा यस तरिकामा समर्पित गर्नका लागि कुन शक्तिले तिनीहरूलाई बाध्य तुल्याउँछ त? के तिनीहरूको विवेकले हो त? के यो तिनीहरूको महान् र आदर्शमय चरित्रले हो? के यो अन्त्यसम्‍मै दुष्टताका शक्तिहरूसँग युद्ध गर्ने तिनीहरूको संकल्पले हो? के यो इनामको खोजी नगरिकन परमेश्‍वरको गवाही दिने तिनीहरूको विश्‍वासले हो? के यो परमेश्‍वरको इच्‍छा पूरा गर्न सबै कुरा त्याग्‍न इच्छुक हुने तिनीहरूको बफादारीले हो? अथवा के यो विलासी व्यक्तिगत मागहरूलाई सँधै त्याग्‍ने तिनीहरूको भक्तिको आत्मा हो? परमेश्‍वरको व्यवस्थापनको कामलाई कहिल्यै नबुझेको कुनै व्यक्तिले त्यति धेरै त्याग गर्नु भनेको वास्तवमा चमत्कार नै हो! अहिलेका लागि, यी मानिसहरूले कति दिएका छन् त्यसको बारेमा छलफल नगरौं। तैपनि, तिनीहरूको आचरणलाई हामीले चिरफार गर्नु अत्यन्तै योग्य हुन्छ। तिनीहरूसँग अति निकट रूपले सम्‍बन्धित रहेका लाभहरू बाहेक, परमेश्‍वरलाई कहिल्यै नबुझ्‍ने मानिसहरूले उहाँका लागि त्यति धेरै त्याग गर्नुका अरू कुनै कारणहरू हुन सक्छन्? यसमा, हामी पहिले पहिचान नगरिएको समस्या पत्ता लगाउँछौं: परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थको मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध हो। मालिकले दिने इनामहरू प्राप्त गर्नका लागि मात्रै कर्मचारीले कडा मेहनत गर्छ। त्यस्तो स्वार्थ-आधारित सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम गरिने कुरा हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, असहाय दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, पार गर्न नसकिने खाडल मात्रै हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ

मानवले अरू मानवको मूल्याङ्कन गर्ने मानक उनीहरूको व्यवहारमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्ट हुन्। परमेश्‍वरले मानवको मूल्याङ्कन गर्नुहुने मानकचाहिँ उनीहरूको सार उहाँमा समर्पित हुन्छ कि हुँदैन भन्‍ने कुरामा आधारित हुन्छ; परमेश्‍वरमा समर्पित हुने व्यक्ति धर्मी व्यक्ति हो, जबकि समर्पित नहुने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो, चाहे त्यो व्यक्तिको व्यवहार असल होस् वा खराब, र चाहे उसको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कार्यहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न असल शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्‍वरले मानिसहरूका परिणामहरू उनीहरूको व्यवहार हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी सबैले गलत विश्वास गर्छन्; यसकारण, धेरै मानिसहरूले परमेश्‍वरलाई छलेर उनीहरूलाई क्षणिक निगाह प्रदान गराउनका लागि यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको स्थितिमा बाँच्ने मानिसहरू सबैले सङ्कष्टको दिन सहेका हुनेछन् र परमेश्‍वरको गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै आफ्ना कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्‍वरमा समर्पित भएका मानिसहरू हुनेछन्। सेवा गर्ने अवसरलाई केवल सत्यता अभ्यास गर्नबाट पन्छिने अभिप्रायका साथ प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको प्रबन्ध गर्न परमेश्‍वरसँग उपयुक्त मानकहरू छन्; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरणअनुरूप मात्र गर्नुहुन्न, न त कुनै व्यक्तिले एउटा समयावधिमा कस्तो कार्य गर्छ भन्‍ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्‍चय नै उहाँका निम्ति विगतमा गरिएको सेवाका कारण कसैको दुष्ट आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले उहाँप्रति आफूलाई निश्चित समयसम्म समर्पित गरेको कारण नै कसैलाई मृत्युबाट जोगाउनुहुनेछ। आफ्नो दुष्टताको बदलाबाट कोही जोगिन सक्दैन, र कसैले पनि आफ्नो दुष्ट व्यवहार ढाक्न सक्दैन, र त्यसरी विनाशका कष्टहरूबाट जोगिन सक्दैन। यदि मानिसहरूले आफ्नो कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको अर्थ उनीहरू परमेश्‍वरप्रति अनन्त रूपमा बफादार छन् र इनाम खोज्दैनन्, चाहे उनीहरूले आशिष्‌हरू प्राप्‍त गरून् वा विपत्ति भोगून्। यदि मानिसहरू आशिष्‌हरू देख्दा, परमेश्‍वरप्रति बफादार हुन्छन्, तर कुनै आशिष्‌हरू देख्न नसक्दा चाहिँ आफ्नो बफादारी गुमाउँछन् भने, र यदि यी मानिसहरू—जसले एक समय परमेश्‍वरका निम्ति बफादारीपूर्वक परिश्रम गरे—अन्त्यमा अझै गवाही दिन वा आफूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, यस्ता मानिसहरू अझै पनि विनाशका पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू अनन्तकालभरि बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

मानौं तँ परमेश्‍वरका लागि काम गर्न सक्छस्, तर तँ परमेश्‍वरप्रति समर्पित हुँदैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस्। यसरी तैँले सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा नगरेको मात्रै हुनेछैनस्, तँलाई त परमेश्‍वरले दोषी पनि ठहर्‍याउनु हुनेछ, किनभने तँ त्यस्तो व्यक्ति होस् जोसँग सत्य छैन, जो परमेश्‍वरप्रति समर्पित हुन सक्दैन, र जसले परमेश्‍वरविरुद्ध विद्रोह गर्छ। तँ परमेश्‍वरका लागि काम गर्ने बारेमा मात्रै ध्यान दिन्छस्, तर सत्यता अभ्यास गर्ने वा आफैलाई चिन्‍नेबारेमा ध्यान दिँदैनस्। तैँले सृष्टिकर्तालाई बुझ्दैनस् वा चिन्दैनस्, तँ सृष्टिकर्ताप्रति समर्पित हुने वा उहाँलाई प्रेम गर्ने गर्दैनस्, र तँ जन्मजातै परमेश्वरविरुद्ध विद्रोह गर्ने व्यक्ति होस्। यिनै कारणहरूले गर्दा त्यस्ता मानिसहरूलाई सृष्टिकर्ताले मन पराउनुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

मानिसहरू के भन्छन् भने, परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र जबसम्‍म मानिसले उहाँलाई अन्त्यसम्‍मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्‍चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्‍मै पछ्याउँथ्यो भने, के उहाँले मानिसलाई पन्छाउन सक्‍नुहुन्थ्यो? म सबै मानिसहरूप्रति निष्पक्ष छु, र म सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसको लागि मैले तय गरेका मापदण्डहरूमा उचित सर्तहरू छन्, र उनीहरू जोसुकै भए पनि मैले तय गरेको मापदण्ड सबै मानिसहरूले पूरा गर्नुपर्छ। तेरा योग्यताहरू कति छन् वा कति लामो समयदेखि ती योग्यता तँमा रहेका छन्, म त्यो कुराको वास्ता गर्दिनँ; तँ मेरो मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् र तैँले सत्यप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् म त्यो कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँलाई लज्जित पार्छस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि प्रहार गर्नेछु र दण्ड दिनेछु, र त्यसपछि तैँले के भन्‍नेछस्? के तँ परमेश्‍वर धर्मी हुनुहुन्‍नु भनेर भन्‍न सक्‍नेछस्? यदि मैले आज बोलेका वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले अनुमोदन गर्ने प्रकारको व्यक्ति होस्। परमेश्‍वरलाई पछ्याउने क्रममा तैँले सधैँ आफूले कष्ट भोगेको छु, आँधीबेरीमा उहाँलाई पछ्याएको छु, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छु भनेर भन्छस्, तर परमेश्‍वरले बोल्‍नुभएको वचनमा तँ जिएको छैनस्; तँ उहाँको लागि दौडधूप गर्ने र हरदिन आफूलाई उहाँमा समर्पित गर्न मात्रै चाहन्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारेमा कहिल्यै पनि विचार गरेको छैनस्। तँ यो पनि बन्छस्, “जेसुकै भए पनि, परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने म विश्‍वास गर्छु। मैले उहाँका लागि कष्ट भोगेको छु, उहाँको लागि दगुरिहिँडेको छु, र उहाँको लागि आफैलाई समर्पित गरेको छु, अनि कुनै सम्‍मान प्राप्त नगरे पनि कठिन परिश्रम गरेको छु; उहाँले निश्‍चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूदेखि कलङ्कित छैन: यसमा कुनै पनि मानव इच्‍छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। विद्रोही र विरोध गर्नेहरू सबैलाई, उहाँको मार्ग नपछ्याउनेहरू सबैलाई दण्ड दिइनेछ; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि छूट दिइनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईंको निम्ति दौडधूप गर्छु; जब अन्त्य आउँछ, के तपाईं मलाई अलिकति आशिष् दिन सक्‍नुहुन्छ?” त्यसैले म तँलाई प्रश्‍न गर्छु, “के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्?” तैँले जुन धार्मिकताको बारेमा कुरा गर्छस् त्यो लेनदेनमा आधारित छ। म सबै मानिसहरूप्रति धर्मी र निष्पक्ष छु, र मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू सबैलाई मुक्ति दिइनेछ र उनीहरूले मेरा आशिषहरू प्राप्त गर्नेछन् भन्‍ने मात्र तँ ठान्छस्। “मलाई अन्त्यसम्‍मै पछ्याउनेहरूलाई निश्‍चय नै मुक्ति दिइनेछ” भन्‍ने मेरो वचनमा भित्री आशय छ: मलाई अन्त्यसम्‍मै पछ्याउनेहरू नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेहरू हुन्, मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्ने र सिद्ध पारिनेहरू तिनीहरू नै हुन्। तैँले के-कस्ता अवस्थाहरू प्राप्त गरेको छस्? मलाई अन्त्यसम्‍मै पछ्याउनेबाहेक तैँले अरू के प्राप्त गरेको छस्? के तैँले मेरा वचनहरूलाई पालन गरेको छस्? तैँले मेरा पाँच मापदण्डहरूमध्ये एउटालाई पूरा गरेको छस्, तर तँसँग बाँकी चार वटालाई पूरा गर्ने कुनै अभिप्राय छैन। तैँले सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्गलाई मात्रै भेट्टाएको छस्, र भाग्यमानी हुने आशावादी मनोवृत्तिसाथ यसलाई पछ्याएको छस्। तँजस्तो व्यक्तिको लागि मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय हो, यो एउटा धर्मी प्रतिशोध हो र यो दुष्ट काम गर्ने सबैलाई दिइने धर्मी दण्ड हो; तिनीहरूले अन्त्यसम्मै पछ्याए पनि मेरो मार्ग नपछ्याउनेहरू सबैलाई अवश्य नै दण्ड दिइनेछ। परमेश्‍वरको धार्मिकता नै यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, उनीहरू कति दयनीय छन् भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु उनीहरूसँग सत्यता छ कि छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्‍वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्

मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म खटेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहोरी छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारले जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र सृष्टि गरिएको प्राणीको रूपमा आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै आश गर्छस्, र आफ्‍नो जीवन स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

अघिल्लो: १. तपाईं भन्नुहुन्छ, हामीले परमेश्‍वरको आखिरी दिनको न्यायको कामलाई स्वीकार गर्नुपर्छ, तब मात्र हाम्रो भ्रष्ट शैतानी स्वभावहरू शुद्ध पारिन्छन् र परिवर्तन हुन्छन्, तब मात्र हामी परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछौं। त्यसैले, प्रभुको मापदण्ड अनुसार नै हामी विनम्र र सहनशील छौं, हामी आफ्ना शत्रुहरूलाई प्रेम गर्छौं, हामी आफ्नो क्रूस बोक्छौं, हामी आफ्नो शरीरलाई अनुशासनमा राख्छौं, हामी सांसारिक थोकहरू त्याग्छौं, हामी प्रभुका निम्ति काम र प्रचार गर्छौं, इत्यादि। के यी सबै हामीभित्र भएका परिवर्तनहरू होइनन् र? के तपाईंले यो अझै पनि हामी स्वर्गीय राज्यमा प्रवेश गर्नको निम्ति पर्याप्त छैन भनी भन्नुहुन्छ? म विश्‍वास गर्छु, जबसम्म हामी यस प्रकारले प्रयास जारी राख्छौं, हामी पवित्र बन्नेछौं र स्वर्गको राज्यमा प्रवेश गर्नेछौं।

अर्को: ३. प्रभु येशूले भन्नुभयो, “मलाई प्रभु, प्रभु भन्‍ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्‍छालाई पछ्याउँछ जो स्वर्गमा हुनुहुन्छ। त्‍यस दिन मलाई धेरैले यसो भन्‍नेछन्, प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेका छैनौँ र? अनि तपाईंको नाउँमा दियाबलसहरू धपाएनौँ र? र तपाईंको नाउँमा धेरै अचम्मका कामहरू गरेनौँ र? अनि म तिनीहरूका निम्ति घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिल्‍यै चिनिनँ। दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ” (मत्ती ७:२१-२३)। “प्रभु, प्रभु” भन्ने सबैले विश्‍वास गर्छन् र प्रभुको सेवा गर्छन्। तिनीहरूले सधैँ बलिदान गरेका हुन्छन्, आफैलाई खर्च गरेका हुन्छन्, र प्रभुका लागि कठोर परिश्रम गरेका हुन्छन्, र तिनीहरूले सुसमाचार फैलाएका हुन्छन् र मण्डलीहरू निर्माण गरेका हुन्छन्। के तिनीहरूले यी सब गरेर प्रभुको इच्छा पालन गरेका हुँदैनन् र? जब प्रभु येशू फर्केर आउनुहुन्छ, प्रभुले तिनीहरूलाई किन स्याबासी दिनुहुनेछैन, र त्यसको सट्टामा उहाँले तिनीहरूलाई दुष्कर्मीहरूका रूपमा दोषी ठहर्‍याउनुहुनेछ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्