१. मानिसहरूले किन परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“प्रारम्भमा परमेश्‍वरले स्वर्ग र पृथ्वी सृजनुभयो” (उत्पत्ति १:१)।

“अनि परमेश्‍वरले भन्‍नुभयो, उज्यालो होस्: अनि उज्यालो भयो। अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो: अनि परमेश्‍वरले उज्यालोलाई अन्धकारबाट अलग गर्नुभयो। अनि परमेश्‍वरले उज्यालोलाई दिन र अन्धकारलाई रात भन्‍नुभयो। अनि साँझ र बिहान पहिलो दिन थियो” (उत्पत्ति १:३-५)।

“अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूको बीचमा वायुमण्डल होस् र त्यसले पानीहरूलाई पानीहरूबाट अलग गरोस्। अनि परमेश्‍वरले वायुमण्डल बनाउनुभयो र पानीलाई वायुमण्डलमुनि र वायुमण्डलमाथि विभाजन गर्नुभयो: अनि त्यस्तै भयो” (उत्पत्ति १:६-७)।

“अनि परमेश्‍वरले भन्‍नुभयो, वायुमण्डलमुनिको पानी एक ठाउँमा जम्मा होस् र सुक्खा भूमि देखा परोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले सुक्खा भूमिलाई पृथ्वी; र एक ठाउँमा जम्मा भएको पानीलाई समुद्रहरू भन्‍नुभयो: अनि परमेश्‍वरले त्यो असल छ भन्‍ने देख्‍नुभयो। अनि परमेश्‍वरले भन्‍नुभयो, भूमिले घाँस उमारोस्, बीउ फलाउने बोट-बिरुवाहरू र आफ्नै प्रजातिका फल फलाउने बीउ भएका फलका रुखहरू पृथ्वीमा उमारोस्: अनि त्यस्तै भयो” (उत्पत्ति १:९-११)।

“अनि परमेश्‍वरले भन्‍नुभयो, अन्तरिक्षमा दिनलाई रातबाट छुट्याउने ज्योतिहरू होऊन्; र तिनीहरू ऋतु, दिन र वर्षहरू छुट्याउने चिन्ह होऊन्: र पृथ्वीमा ज्योति दिनलाई आकाशको अन्तरिक्षमा ती ज्योतिहरू होऊन्: अनि त्यस्तै भयो” (उत्पत्ति १:१४-१५)।

“अनि परमेश्‍वरले भन्‍नुभयो, पानीहरूले जीवन भएका प्रशस्त चल्‍ने प्राणीहरू र पृथ्वीमाथि खुला आकाशमा उड्ने पक्षीहरू उत्पन्न गरोस्। अनि परमेश्‍वरले ठूला ह्वेल माछाहरू, जसलाई पानीहरूले तिनीहरूका प्रजातिअनुसार प्रशस्त मात्रामा उत्पन्‍न गरे, र चल्‍ने हरेक जीवित प्राणीहरू र हरेक प्रजातिका पखेटा भएका पक्षीहरू बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” (उत्पत्ति १:२०-२१)।

“अनि परमेश्‍वरले भन्‍नुभयो, पृथ्वीले तिनीहरूका प्रजातिअनुसारका जीवित प्राणीहरू, चौपायाहरू र घस्रने जन्तुहरू र प्रजातिअनुसारका जनावरहरू उत्पन्‍न गरोस्: अनि त्यस्तै भयो। अनि परमेश्‍वरले प्रजातिअनुसार पृथ्वीको जन्तु, तिनीहरूका प्रजातिअनुसारका चौपायाहरू बनाउनुभयो र पृथ्वीमा घस्रने हरेक जन्तुहरूलाई तिनीहरूकै प्रजातिअनुसार बनाउनुभयो: अनि त्यो असल छ भन्‍ने परमेश्‍वरले देख्‍नुभयो” (उत्पत्ति १:२४-२५)।

“अनि परमेश्‍वरले भन्‍नुभयो, मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै रूपमा बनाऔं। अनि तिनीहरूलाई समुद्रका माछाहरू र आकाशका पक्षीहरू, पालिने पशुहरू, र सारा पृथ्वीमाथि र पृथ्वीमा घस्रने हरेक प्राणीहरूमाथि अधिकार गर्न दिऔं। त्यसकारण परमेश्‍वरले मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, उहाँले आफ्नै स्वरूपमा उसलाई बनाउनुभयो; पुरुष र महिला गरी तिनीहरूलाई उहाँले सृष्टि गर्नुभयो” (उत्पत्ति १:२६-२७)।

परमेश्वरका सान्दर्भिक वचनहरू:

यावत् थोकमाथि सार्वभौम हुनुहुने र यावत् थोकमाथि प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ। अस्तित्वमा भएका सबै कुरा उहाँले नै सृष्टि गर्नुभएको हो, र अस्तित्वमा भएका सबै कुरामाथि उहाँले नै प्रशासन चलाउनुहुन्छ; साथसाथै अस्तित्वमा भएका यावत् थोकमाथि उहाँ नै सार्वभौम हुनुहुन्छ, र अस्तित्वमा भएका यावत् थोकलाई उहाँले नै आपूर्ति गर्नुहुन्छ। परमेश्‍वरको हैसियत यही हो, र उहाँको पहिचान यही हो। यावत् थोक र अस्तित्वमा रहेका सबै कुराका लागि, परमेश्‍वरको साँचो पहिचान भनेको यावत् थोकको सृष्टिकर्ता र सार्वभौम हो। परमेश्‍वरसँग भएको पहिचान यही हो, जुन यावत् थोकका बीचमा अद्वितीय छ। कुनै पनि सृष्टिहरूले—चाहे तिनीहरू मानवजातिका बीचमा होऊन् वा आत्मिक क्षेत्रमा होऊन्—परमेश्‍वरको पहिचान र हैसियतलाई अनुकरण गर्न वा प्रतिस्थापन गर्नका लागि कुनै पनि माध्यम वा बहाना प्रयोग गर्न सक्दैनन्, किनभने यावत् थोकको बीचमा यो पहिचान, शक्ति, अख्तियार, र यावत् थोकमाथि सार्वभौम हुने यो क्षमता भएको एक मात्रै हुनुहुन्छ: हाम्रा अद्वितीय परमेश्‍वर स्वयम्। उहाँ यावत् थोकमाझ जिउनुहुन्छ र हिँड्नुहुन्छ; उहाँ सबैभन्दा उच्‍च स्थानमा, सबै थोकभन्दा माथि उठ्न पनि सक्‍नुहुन्छ। उहाँ आफैलाई विनम्र तुल्याउन र मानिस बन्‍न, देह र रगतकाहरूमध्येको एक बन्‍न, मानिसहरूको आमने-सामने आउन अनि तिनीहरूसँग खुसी र दुःख बाँड्न सक्‍नुहुन्छ, जबकि सँगसँगै उहाँले अस्तित्वमा रहेका सबै थोकमाथि हुकुम चलाउनुहुन्छ, र अस्तित्वमा रहेका यावत् थोकको नियति र ती सबै अघि बढ्ने दिशा निर्धारण गर्नुहुन्छ। यसको साथै, उहाँले सारा मानवजातिको नियतिलाई मार्गनिर्देशित गर्नुहुन्छ, र मानवजातिको अघि बढ्ने दिशा तय गर्नुहुन्छ। यस्तो परमेश्‍वरलाई जीवन भएका सबै मानिसहरूले आराधना गर्नुपर्छ, समर्पण गर्नुपर्छ, र चिन्‍नुपर्छ। यसरी, तँ मानवजातिको जुनसुकै समूह वा प्रकारमा भए तापनि, परमेश्‍वरलाई विश्‍वास गर्नु, परमेश्‍वरलाई पछ्याउनु, परमेश्‍वरको डर मान्‍नु, उहाँको सार्वभौमिकतालाई स्वीकार गर्नु, र तेरो भाग्यका लागि उहाँले गर्नुभएका प्रबन्धहरूलाई स्वीकार गर्नु कुनै पनि व्यक्ति, जीवन भएको कुनै पनि प्राणीको एक मात्र विकल्‍प हो, अर्थात् अत्यावश्यक छनौट हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय १०

ब्रह्माण्ड र आकाश-मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र प्रजनन गर्छन्, जीवनको नियम अनन्त चक्रमा पालन गर्छन्, अनि अपरिवर्तनीय नियम पालन गर्छन्। मर्नेहरूले आफूसँग जिउँदाहरूका कथा लिएर जान्छन्, अनि जिउँदाहरूले मरेकाहरूका उही दुःखद इतिहासलाई दोहोऱ्याउँछन्। त्यसकारण, मानवजातिले यो प्रश्‍न नगरी बस्‍न सक्दैन: हामी किन जिउँछौँ? अनि हामी किन मर्नुपर्छ? कसले यो संसारमाथि शासन गर्छ? अनि कसले यस मानवजातिलाई सृष्टि गर्नुभयो? के मानवजातिलाई साँच्‍चै नै प्रकृतिले नै सृष्टि गरेको हो त? के मानवजातिले साँच्‍चै आफ्नै भाग्यलाई नियन्त्रण गर्न सक्छ? … मानवजातिले निरन्तर रूपमा हजारौँ वर्षदेखि सोध्दै आएका प्रश्‍नहरू यिनै हुन्। दुःखको कुरा, यी प्रश्‍नहरूले मानिस जति एकोहरो बनेको छ, उसमा विज्ञानको तृष्णा त्यति नै बढी जागेको छ। विज्ञानले देहका लागि क्षणिक सन्तुष्टि र अस्थायी आनन्द दिन्छ, तर मानिसलाई उसको प्राणभित्रको गहिराइमा रहेको एकान्तपन, एकलोपन, र त्यति लुक्‍न नसक्ने आतङ्क र असहायपनबाट स्वतन्त्र गर्नका लागि त्यो पटक्कै पर्याप्त छैन। मानवजातिले आफ्‍नो हृदयलाई लट्याउनका लागि आफ्‍नो नाङ्गो आँखाले देख्‍न सक्‍ने र उसको मस्तिष्कले बुझ्‍न सक्‍ने वैज्ञानिक ज्ञानलाई मात्रै प्रयोग गर्छ। तैपनि त्यस्तो वैज्ञानिक ज्ञान, रहस्यहरूको अन्वेषण गर्नबाट मानवजातिलाई रोक्‍न पर्याप्त छैन। मानवजातिलाई ब्रह्माण्ड र यावत् थोकका सार्वभौम को हुनुहुन्छ भन्‍ने थाहै छैन, झन् मानवजातिको सुरुवात र भविष्यबारे जान्‍ने कुरा त परै जाओस्। मानवजाति यो नियमबीच केवल विवश भएर जिउँछन्। यसबाट कोही पनि उम्कन सक्दैन र यसलाई कसैले परिवर्तन गर्न सक्‍दैन, किनभने यावत् थोकको बीचमा र स्वर्गहरूमा अनन्‍तदेखि अनन्‍तसम्‍म रहनुहुने एउटा मात्र जन हुनुहुन्छ, जसको सबै कुरामाथि सार्वभौमिकता छ। उहाँलाई कुनै पनि मानिसले कहिल्यै देखेको छैन, जसलाई मानवजातिले कहिल्यै चिनेको छैन, जसको अस्तित्वलाई मानिसले कहिल्यै विश्‍वास गरेको छैन—तैपनि मानवजातिका पुर्खाहरूमा सास फुकिदिने र मानवजातिलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। मानिसलाई अस्तित्वमा रहन दिँदै, उसको लागि आपूर्ति गर्ने र उसलाई पोषण दिने उहाँ नै हुनुहुन्छ; मानवजातिलाई आजको दिनसम्‍म डोऱ्याउने उहाँ नै हुनुहुन्छ। यसबाहेक, मानवजातिले बाँच्नका लागि भर पर्ने एकमात्र जन उहाँ नै हुनुहुन्छ। यावत् थोकमाथि र ब्रह्माण्डका सारा जीवित प्राणीमाथि उहाँले नै सार्वभौमिकता राख्नुहुन्छ। चार ऋतुमाथि उहाँकै शासन छ अनि बतास, तुसारो, हिउँ, र पानी ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई सूर्यको ज्योति दिने र रात ल्याउने उहाँ नै हुनुहुन्छ। मानिसलाई पहाड, ताल, नदी र तीभित्रका सबै प्राणी दिँदै, स्वर्ग र पृथ्वी पसार्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँका कार्यहरू सर्वव्यापी छन्, उहाँको शक्ति सर्वव्यापी छ, उहाँको बुद्धि सर्वव्यापी छ, र उहाँको अख्तियार सर्वव्यापी छ। यी हरेक व्यवस्था र नियमहरू उहाँका कार्यहरूका मूर्तरूप हुन्, र उहाँको बुद्धि र अख्तियारको एउटा प्रकटीकरण हो। उहाँको सार्वभौमिकताबाट कसले आफूलाई उम्काउन सक्छ? उहाँका प्रबन्धबाट कसले आफूलाई छुटाउन सक्छ? यावत् थोक उहाँकै नजरमुनि अस्तित्वमा छन्, र यसबाहेक, सबै थोक उहाँकै सार्वभौमिकतामा जिउँछन्। उहाँका कार्यहरू र उहाँको शक्तिले मानवजातिलाई उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ र यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई स्वीकार गर्नेबाहेक कुनै विकल्‍प दिँदैनन्। उहाँबाहेक कुनै कुराले पनि ब्रह्माण्डमाथि शासन गर्न सक्दैन, झन् यो मानवजातिलाई अटुट रूपमा आपूर्ति गर्ने कुरा त परै जाओस्। तैँले परमेश्‍वरका कार्यहरूलाई पहिचान गर्न सके पनि वा नसके पनि, र तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गरे पनि वा नगरे पनि, तेरो भाग्य परमेश्‍वरद्वारा नियोजित हुन्छ भन्‍ने कुरामा कुनै शङ्‍का छैन, र यावत् थोकमाथि सधैँ परमेश्‍वर नै सार्वभौम हुनुहुनेछ भन्‍ने कुरामा पनि कुनै शङ्‍का छैन। मानवजातिले उहाँको अस्तित्व र अख्तियार पहिचान गर्छन् कि गर्दैनन् र बुझ्छन् कि बुझ्दैनन् भन्‍ने आधारमा ती अस्तित्व र अख्तियार निर्धारित हुँदैनन्। उहाँलाई मात्रै मानिसको विगत, वर्तमान, र भविष्य थाहा छ, र उहाँले मात्रै मानिसको भाग्य निर्धारित गर्न सक्‍नुहुन्छ। तैँले यो तथ्यलाई स्वीकार गर्न सके पनि वा नसके पनि, चाँडै नै सारा मानवजातिले आफ्‍नै आँखाले यी सबै देख्‍नेछन्, र परमेश्‍वरले चाँडै नै ल्याउनुहुने तथ्य यही नै हो। परमेश्‍वरकै नजर सामु मानवजाति जिउँछन् र मर्छन्। मानिस परमेश्‍वरको व्यवस्थापनका लागि जिउँछ, र जब उसले अन्तिम पटक आफ्‍ना आँखा चिम्‍लन्छ, ती यही व्यवस्थापनकै खातिर नै बन्द हुन्छन्। मानिस घरीघरी, आउँछ-जान्छ, आउँछ-जान्छ। कुनै अपवादबिना, यी सबै परमेश्‍वरको सार्वभौमिकता र उहाँको योजनाका भाग हुन्। परमेश्‍वरको व्यवस्थापन सदा अघि बढिरहेको छ; त्यो कहिल्यै रोकिएको छैन। उहाँले मानवजातिलाई उहाँको अस्तित्वप्रति सचेत रहने, उहाँको सार्वभौमिकतामा विश्वास गर्ने, उहाँका कार्यहरूलाई हेर्ने, र उहाँको राज्यमा फर्कने तुल्याउनुहुनेछ। यो उहाँको योजना हो, उहाँले हजारौँ वर्षदेखि व्यवस्थापन गर्दै आउनुभएको काम यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्ति दिन सकिन्छ

परमेश्‍वरले यो संसार सृष्टि गर्नुभयो, उहाँले यो मानवजाति सृष्टि गर्नुभयो र त्यसबाहेक, उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताको निर्माता हुनुहुन्थ्यो। परमेश्‍वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ र परमेश्‍वर मात्र यस मानवजातिलाई दिनरात निगरानी गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्‍वरको सार्वभौमिकताबाट अलग हुन सक्दैनन् अनि मानवजातिको इतिहास र भविष्य परमेश्‍वरको हातले गरेका प्रबन्धहरूबाट उम्कन सक्दैनन्। यदि तँ साँचो इसाई होस् भने, तैँले कुनै पनि देश वा राष्ट्रको उत्थान र पतन परमेश्‍वरका प्रबन्धहरूअन्तर्गत पर्छ भनी निश्चय नै विश्‍वास गर्नेछस्। परमेश्‍वरलाई मात्र कुनै देश वा राष्ट्रको भवितव्य थाहा छ र परमेश्‍वरले मात्र यस मानवजातिको मार्गलाई नियन्त्रण गर्नुहुन्छ। यदि मानवजाति राम्रो भवितव्य प्राप्त गर्न चाहन्छ भने, यदि कुनै देशले राम्रो भवितव्य प्राप्त गर्न चाहन्छ भने, सबैले परमेश्‍वरसामु घुँडा टेक्नैपर्छ र उहाँको आराधना गर्नैपर्छ अनि परमेश्‍वरकहाँ पश्‍चात्ताप गर्न र आफ्नो पाप स्वीकार गर्न उहाँसामु आउनैपर्छ, नत्र मानिसको भवितव्य र गन्तव्य टार्न नसकिने महाविपत्ति हुनेछ।

नोआले जहाज बनाएको समयलाई फर्केर हेर: मानवजाति गहन रूपमा भ्रष्‍ट थियो, मानिसहरू परमेश्‍वरको आशिष्‌बाट तर्केका थिए, तिनीहरूलाई परमेश्‍वरले वास्ता गर्न छोड्नुभएको थियो, र तिनीहरूले परमेश्‍वरका प्रतिज्ञाहरू गुमाएका थिए। तिनीहरू परमेश्‍वरको ज्योतिविना नै अँध्यारोमा जिउँथे। त्यसपछि तिनीहरू प्रकृतिले नै कामुक बनेका थिए र तिनीहरूले घिनलाग्दो पतिततामा आफैलाई सुम्पेका थिए। यस्ता मानिसहरूले त्यस उप्रान्त परमेश्‍वरको प्रतिज्ञा पाउन सकेनन्; तिनीहरू परमेश्‍वरको मुहारको साक्षी हुन वा परमेश्‍वरको आवाज सुन्‍न अयोग्य भए, किनकि तिनीहरूले परमेश्‍वरलाई त्यागेका थिए, परमेश्‍वरले तिनीहरूलाई दिनुभएका सबै थोक पन्छाएका थिए, र परमेश्‍वरका शिक्षाहरूलाई बिर्सेका थिए। तिनीहरूका हृदय परमेश्‍वरबाट टाढा-टाढा भौँतारिए, यसो भएपछि, तिनीहरू यति पतित भए कि तिनीहरूमा अलिकति पनि समझ र मानवता रहेन र तिनीहरू झन्-झन् दुष्‍ट बने। तब तिनीहरू मृत्युतर्फ झनै नजिक हिँडे र परमेश्‍वरको क्रोध र दण्डमा परे। नोआले मात्र परमेश्‍वरको आराधना गरे र दुष्टताबाट अलग बसे, यसरी उनले परमेश्‍वरको आवाज सुन्‍न सके र उहाँका आज्ञाहरू सुने। परमेश्‍वरको वचनका आज्ञाहरू अनुसार उनले जहाज निर्माण गरे, र सबै किसिमका जीवित प्राणीहरूलाई त्यहाँ जम्मा गरे। अनि यसरी, सबै थोक तयार भइसकेपछि, परमेश्‍वरले संसारमाथि आफ्नो विनाश ल्याउनुभयो। नोआ र उनको परिवारका अरू सात जना सदस्यहरू मात्र त्यस विनाशबाट बचे, किनकि नोआले यहोवालाई आराधना गरे र दुष्‍टताबाट अलग बसे।

अब वर्तमान युगलाई हेर: परमेश्‍वरलाई आराधना गर्न र दुष्‍टता त्याग्न सक्ने नोआजस्ता धर्मी मानिसहरू अस्तित्वमा रहन छोडेका छन्। तैपनि परमेश्‍वर यस मानवजातिप्रति अझै अनुग्रहशील हुनुहुन्छ र यस अन्तिम युगको मानवजातिप्रति अझै पनि उदारता देखाउनुहुन्छ। परमेश्‍वर उहाँको देखापराइको अभिलाषा राख्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका वचनहरू मान्नेहरूलाई खोजिरहनुभएको छ, उहाँको आज्ञा नबिर्सनेहरू र आफ्नो हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई खोजिरहनुभएको छ, र उहाँसामु बालकहरूझैँ समर्पित हुने र प्रतिरोधी नहुनेहरूलाई खोजिरहनुभएको छ। यदि तँ आफैलाई परमेश्‍वरमा अर्पित गर्छस्, र कुनै शक्तिद्वारा रोकिँदैनस् भने, परमेश्‍वरले तँलाई निगाहका साथ हेर्नुहुनेछ, र तँलाई आशिष् प्रदान गर्नुहुनेछ। यदि तँसँग उच्च हैसियत, सम्माननीय प्रतिष्ठा, ज्ञानको भण्डार, विविध सम्पत्ति, र धेरै मानिसहरूको समर्थन छ, तैपनि तँ यी कुराहरूको झमेला अनुभूत गर्दैनस् र उहाँको बोलावट र उहाँको आज्ञा स्वीकार गर्न र तँबाट परमेश्‍वरले माग्‍नुभएका कार्यहरू गर्नका लागि अझै पनि परमेश्‍वरका सामु आउँछस् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा सबैभन्दा अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा न्यायवान् प्रयास हुनेछन्। यदि तैँले हैसियत वा तेरा आफ्नै लक्ष्यहरूका खातिर परमेश्‍वरको बोलावटलाई अस्वीकार गर्छस् भने, तैँले गर्ने सबै कुराहरू श्रापित हुनेछन्, र अझ बढी, परमेश्‍वरद्वारा घृणित समेत हुनेछन्। सायद, तँ राष्ट्रपति, वैज्ञानिक, पाष्टर, वा एल्डर होस्, तर तँ जति नै उच्‍च पदमा भए पनि, यदि तँ आफ्नै कामहरू अघि बढाउन आफ्नो क्षमता र ज्ञान प्रयोग गर्छस् भने, तँ जहिले पनि असफल व्यक्ति हुनेछस् र परमेश्‍वरका आशिष्‌हरूबाट सधैँ वञ्‍चित हुनेछस्, किनकि परमेश्‍वर तैँले गर्ने कुनै पनि कुरा स्वीकार गर्नुहुन्‍न, र तेरो काम न्यायवान् छ भनेर उहाँ मान्नुहुन्न, वा तँ मानवजातिको फाइदाका लागि काम गरिरहेको छस् भनी मान्यता दिनुहुन्न। उहाँ तैँले गर्ने सबै काम परमेश्‍वरले मानिसलाई दिने सुरक्षालाई टाढा धकेल्न मानव ज्ञान र बल प्रयोग गर्नु हो, र त्यो परमेश्‍वरका आशिष्‌हरू इन्कार गर्नु हो भनेर भन्‍नुहुनेछ। उहाँ तैँले मानवजातिलाई अन्धकारतिर, मृत्युतिर र मानिस परमेश्‍वरविहीन भएको र उहाँका आशिष्‌हरू गुमाएको असीमित अस्तित्वको सुरुवाततिर डोर्‍याइरहेको छस् भनेर भन्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

सामाजिक विज्ञानहरूको प्रादुर्भाव भएदेखि, मानिसको हृदय विज्ञान र ज्ञानद्वारा ओगटिएको छ। विज्ञान र ज्ञान मानवजातिलाई शासन गर्नका लागि औजार बनेका छन्, जसले गर्दा मानिससँग परमेश्‍वरलाई आराधना गर्नका निम्ति पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्नका लागि त्यति धेरै अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्‍वरको स्थान सधैँ झन्झन् तल खस्केको छ। मानिसको हृदयमा परमेश्‍वरका लागि स्थान नहुँदा, उसको भित्री संसार अँध्यारो, आशाविहीन, र खाली छ। तत्पश्‍चात् मानवजातिको हृदय र मन भर्न परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभयो भन्‍ने सत्यताप्रति विरोधाभासी हुने सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरू व्यक्त गर्न धेरै सामाजिक वैज्ञानिक, इतिहासकार, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यसरी, परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा कम हुँदै गएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरूको सङ्ख्या पहिलेभन्दा बढ्दै गएको छ। पुरानो करारीय युगमा भएका परमेश्‍वरको काम र उहाँका वचनहरूका अभिलेखहरूलाई झन्-झन् धेरै मानिसले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिन्छन्। परमेश्‍वरको गरिमा र महान्‌ताप्रति मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्, अनि तिनीहरू परमेश्‍वरको अस्तित्व र यावत् थोकमाथि उहाँको प्रभुत्व छ भन्‍ने सिद्धान्तप्रति आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र जातिहरू र राज्यहरूको नियति तिनीहरूका लागि महत्त्वपूर्ण रहँदैनन्, र मानिस केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्‍वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी, वा उहाँ कसरी मानिसको गन्तव्यमाथि सार्वभौमिकता राख्नुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोज्न केही मानिस मात्र अग्रसर हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्‍ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्‍च सभ्यता प्राप्‍त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्‍वरको मार्गदर्शनविना, शासक र समाजशास्‍त्रीहरूले मानव सभ्यता कायम राख्न आफ्नो दिमाग खियाए पनि, यसले कुनै फाइदा गर्दैन। मानिसको हृदयमा भएको खालीपनलाई कुनै व्यक्तिले पनि भर्न सक्दैन, किनकि कुनै पनि व्यक्ति मानिसको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानिसलाई खालीपनका समस्याहरूबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, आनन्द, र सहजताले मानिसलाई अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि, मानिसले अनिवार्य रूपमा पाप गर्छ र समाजको अन्यायबारे गुनासो गर्छ। यी कुराहरू हुनुले मानिसको अन्वेषण गर्ने तृष्णा र कामना रोक्‍न सक्दैन। यो हुनुको कारण चाहिँ के हो भने, मानिसलाई परमेश्‍वरले सृष्टि गर्नुभयो र उसका निरर्थक बलिदान र अन्वेषणहरूले झन्झन् ऊमाथि हैरानी ल्याउन मात्र सक्छन्, र मानिसलाई लगातार बेचैनीको अवस्थामा हुने तुल्याउँछन्, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्‍ने उसलाई थाहा हुँदैन, यहाँसम्म कि ऊ विज्ञान र ज्ञानसँग पनि डराउँछ, र ऊ खालीपनको अनुभूतिसँग झन् बढी डराउँछ। यस संसारमा, तँ चाहे स्वतन्त्र देशमा जिउने भए पनि वा मानवअधिकार नभएको देशमा जिउने भए पनि, मानवजातिको नियतिबाट उम्कन तँ पूर्ण रूपमा असक्षम हुन्छस्। तँ शासक वा शासित, जे भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो कामनाबाट उम्कन पूर्ण रूपमा असक्षम हुन्छस्, खालीपनको अवर्णनीय भावनाबाट उम्कन त झनै सक्षम हुँदैनस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई, समाजशास्‍त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तैपनि यस्ता समस्याहरू समाधान गर्न कुनै पनि महान् व्यक्ति अगाडि आउन सक्दैन। आखिर, मानिस मानिस नै हो, अनि परमेश्‍वरको हैसियत र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापित गर्न सक्दैन। मानवजातिलाई चाहिने भनेको सबैलाई राम्रोसँग खुवाइने, सबै समान र स्वतन्त्र हुने निष्पक्ष समाज मात्र होइन; मानवजातिलाई चाहिने त परमेश्‍वरको मुक्ति र मानवजातिका लागि उहाँको जीवनको आपूर्ति हो। मानिसले परमेश्‍वरको जीवनको आपूर्ति र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र उसका आवश्यकताहरू, उसको अन्वेषण गर्ने चाहना, र उसको हृदयको खालीपन समाधान हुन्छ। यदि एक देश वा जातिका मानिसहरूले परमेश्‍वरको मुक्ति र हेरचाह पाउन सक्दैनन् भने, त्यस्तो देश वा जाति पतन, अन्धकारतर्फ बढ्नेछ, र फलस्वरूप परमेश्‍वरद्वारा नष्ट गरिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ

संसारको व्यापक फैलावटमा, महासागरहरू भरिएर मैदानमा परिणत हुन्छन्, र जमिनहरू बगेर महासागरहरूमा परिवर्तन हुन्छन् र यो प्रक्रिया अनगिन्ती पटक दोहोरिन्छ। यावत् थोकमाझ, सबै कुरामाथि सार्वभौमिकता राख्नुहुने उहाँबाहेक, अरू कोही पनि यस मानवजातिलाई अगुवाइ गर्न र मार्गनिर्देशन गर्न सक्षम छैन। मानवजातिका निम्ति परिश्रम गर्ने वा तयारी गर्ने “शक्तिशाली जन” कोही पनि छैन, मानवजातिलाई ज्योतिको गन्तव्यतिर अगाडि बढ्न र मानिसको संसारका अन्यायहरूबाट मुक्त हुन अगुवाइ गर्न सक्‍ने जन त झनै छैन। मानवजातिको भविष्यप्रति परमेश्‍वर विलाप गर्नुहुन्छ, उहाँ मानिसको पतनप्रति शोक गर्नुहुन्छ, अनि मानिस पाइला दर पाइला क्षय र फर्कन नसक्‍ने मार्गतिर हिँडिरहेको कुराले उहाँलाई पीडा दिन्छ। यो कुरा कसैले कहिल्यै विचार गरेको छैन: परमेश्‍वरको हृदयलाई पूर्ण रूपमा छियाछिया बनाएको र दुष्‍टलाई खोज्न उहाँलाई छोडेको त्यस्तो मानवजाति कतातिर लागेको हुन सक्छ? यसैकारणले गर्दा नै कसैले पनि परमेश्‍वरको रिस महसुस गर्ने प्रयास गर्दैन, कसैले पनि परमेश्‍वरलाई प्रसन्न पार्ने मार्ग खोज्दैन वा परमेश्‍वरको नजिक जाने कोसिस गर्दैन, अझ भन्नुपर्दा, कसैले पनि परमेश्‍वरको शोक र पीडा बुझ्ने प्रयास गर्दैन। परमेश्‍वरको आवाज सुनेपछि पनि, मानिस आफ्नै मार्गमा हिँड्न जारी राख्छ, परमेश्‍वरबाट टाढा जान जिद कस्छ, परमेश्‍वरको अनुग्रह र हेरचाहबाट तर्कन्छ, उहाँको सत्यताबाट अलग बस्छ, परमेश्‍वरको शत्रु शैतानका हातमा आफूलाई बेच्न रुचाउँछ। र कसले सोचेको छ कि, यदि मानिस आफ्नो जिदमा लागिरह्यो भने, परमेश्‍वरलाई अत्यन्तै अवहेलना गर्ने यस मानवजातिप्रति उहाँले कस्तो व्यवहार गर्नुहुनेछ? परमेश्‍वरले मानिसलाई बारम्बार चेतावनी र अर्ती दिने कारण के हो भने, उहाँले आफ्नो हातमा अभूतपूर्व विपत्तिहरू तयार पार्नुभएको छ, जो मानिसको देह र आत्मालाई असह्य हुनेछ, जो देहका निम्ति दण्ड मात्र हुँदैनन्, बरु आत्माप्रति लक्षित हुन्छन् भन्ने कुरा कसैलाई थाहा छैन। तैँले यो कुरा थाहा पाउनुपर्छ: जब परमेश्‍वरको योजना विफल हुन्छ, र उहाँका चेतावनी र अर्तीहरूको कुनै प्रतिक्रिया दिइँदैन, तब उहाँले कस्तो रिस पोखाउनुहुनेछ? यो कुनै पनि सृजित प्राणीले कहिल्यै अनुभव नगरेको र थाहा नपाएको किसिमको हुनेछ। त्यसैले म भन्छु, यी विपत्तिहरू अभूतपूर्व छन्, र कहिल्यै दोहोरिनेछैनन्। किनकि परमेश्‍वरको योजना भनेको, मानवजातिलाई यो एक पटक मात्रै सृष्‍टि गर्नु र मानवजातिलाई यो एक पटक मात्रै मुक्ति दिनु हो। यो पहिलो पटक र अन्तिम पटक पनि हो। त्यसकारण, परमेश्‍वरले मानवजातिलाई यस पटक मुक्ति दिनुपछाडिका श्रमसाध्य अभिप्रायहरू र उत्कट प्रत्याशालाई कसैले बुझ्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

परमेश्‍वरले यो संसार सृष्‍टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। त्यसपछि, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ उप्रान्त एक्लो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै, उसको भाग्यमा परमेश्‍वरको नियोजनमा बाँच्न लेखिएको थियो। परमेश्‍वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीलाई हुर्काएर वयस्कतासम्म धान्छ। यस क्रममा, मानिस परमेश्‍वरको हेरचाहमा अस्तित्वमा रहन्छ र हुर्कन्छ भनेर कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको लालनपालनको अनुग्रहमा हुर्कन्छ र उसको हुर्काइलाई उसैको जीवनको जन्मजात प्रवृत्तिले अघि बढाउँछ भन्‍ने विश्‍वास गर्छन्। यस्तो किन हुन्छ भने, मानिस आफ्नो जीवन आफूलाई कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्‍ने कुरा जान्दैन, जीवनको जन्मजात प्रवृत्तिले कसरी चमत्कारहरू सृजना गर्छ भन्‍ने कुरा जान्नु त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो, दृढता नै उसको जीवनको अस्तित्वको स्रोत हो, अनि उसको मनमा भएका विश्वासहरू नै पुँजी हुन् जसमाथि उसको अस्तित्व निर्भर हुन्छ भन्‍ने मात्र ऊ जान्दछ। मानिस परमेश्‍वरको अनुग्रह र उहाँको आपूर्तिबारे पूर्णतः अनजान हुन्छ र परमेश्‍वरले उसलाई दिनुभएको जीवन ऊ यसरी नै खेर फाल्छ…। परमेश्‍वरले दिनरात रेखदेख गर्ने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्ने पहलकदमी लिँदैन। परमेश्‍वर आफूले योजना बनाएअनुसार, मानिसमा काम मात्र गर्नुहुन्छ, जसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कुनै दिन मानिस आफ्नो सपनाबाट ब्युँझनेछ अनि उसले अचानक जीवनको मूल्य र अर्थ, परमेश्‍वरले उसलाई प्रदान गर्नुभएको सबै कुराका निम्ति उहाँले चुकाउनुभएको मूल्य, र जुन उत्कटताका साथ परमेश्‍वर मानिस उहाँतर्फ फर्कियोस् भनी व्यग्र अभिलाषा राख्नुहुन्छ, त्यो महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्‍वर यसो गर्नुहुन्छ। मानव जीवनको उद्‌गम र निरन्तरतासँग सम्बन्धित रहस्यहरूभित्र कसैले नियालेको छैन। यी सबै कुरालाई बुझ्नुहुने परमेश्‍वरले मात्र चोट र प्रहारलाई चूपचाप सहनुहुन्छ, जुन प्रहार परमेश्‍वरबाट प्राप्‍त गरेको हरेक थोकको निम्ति धन्यवादी समेत नहुने मानिसले उहाँलाई दिन्छ। जीवनले सामान्य रूपमा ल्याउने सबै कुराहरूको आनन्द मानिसले लिन्छ, र परमेश्‍वरलाई मानिसले विश्‍वासघात गर्छ, बिर्सन्छ र उहाँबाट खोस्छ भन्‍ने कुरा त “सामान्य नै हो”। के परमेश्‍वरको योजना यति धेरै महत्त्वको हुन सक्छ? के परमेश्‍वरको बाहुलीबाट आएको यो जीवित प्राणी अर्थात् मानिस साँच्‍चै यति धेरै महत्त्वपूर्ण हुन सक्छ? निश्‍चित रूपमा नै, परमेश्‍वरको योजना महत्त्वपूर्ण छ; यद्यपि, परमेश्‍वरको बाहुलीद्वारा सृष्‍टि गरिएको यो जीवित प्राणी उहाँको योजनाको खातिर मात्र अस्तित्वमा छ। यसकारण, परमेश्‍वरले यस मनावजातिप्रतिको घृणाको खातिर आफ्‍नो योजनालाई बर्बाद पार्न सक्‍नुहुन्‍न। मानिसको देहको निम्ति होइन तर मानिसको जीवनको निम्ति, उहाँको योजना र उहाँले फुक्‍नुभएको सासको निम्ति परमेश्‍वरले सारा कष्‍टहरू सहनुहुन्छ। मानिसको देहलाई फिर्ता लिनको निम्ति होइन, तर उहाँले फुक्‍नुभएको जीवनको सासको निम्ति उहाँले यसो गर्नुहुन्छ। यो नै उहाँको योजना हो।

यस संसारमा आउने सबैले जीवन र मृत्युबाट भएर जानुपर्छ, र तीमध्ये धेरै जना मृत्यु र पुनर्जन्मको चक्रबाट भएर गएका छन्। जो जीवित छन् तिनीहरू चाँडै मर्नेछन्, र मरेकाहरू चाँडै फर्कनेछन्। यी सबै कुरा जीवनको मार्ग हो जुन परमेश्‍वर आफैले प्रत्येक जीवित प्राणीहरूका लागि प्रबन्ध गर्नुभएको छ। तैपनि यो मार्ग र यो चक्र ठ्याक्कै त्यही तथ्य हो जुन मानिसले हेरोस् भन्‍ने परमेश्‍वर चाहनुहुन्छ: परमेश्‍वरले मानिसलाई दिनुभएको जीवन अन्तहीन छ, जुन भौतिकता, समय वा स्थानद्वारा बाधित हुँदैन। परमेश्‍वरले मानिसलाई प्रदान गर्नुभएको जीवनको रहस्य यस्तो छ र यो जीवन उहाँबाट नै आएको हो भन्‍ने कुराको प्रमाण हो। धेरैले मानिसको जीवन परमेश्‍वरबाट आएको हो भनी विश्‍वास नगरे पनि, मानिसले परमेश्‍वरको अस्तित्वलाई स्वीकार वा इन्कार गरे पनि, उसले अनिवार्य रूपमा परमेश्‍वरबाट आउने सबै कुराको आनन्द उठाउँछ। यदि परमेश्‍वरले एक दिन अचानक मन परिवर्तन गर्नुभयो र पृथ्वीमा अस्तित्वमा भएका सबथोक फिर्ता लिने र उहाँले दिनुभएको जीवन फिर्ता लिने इच्छा गर्नुभयो भने, केही पनि रहनेछैन। परमेश्‍वरले जीवित र निर्जीव सबै कुरालाई आपूर्ति गर्न आफ्नो जीवन प्रयोग गर्नुहुन्छ, र उहाँको महान् शक्ति र अख्तियारमार्फत सबै थोकलाई असल क्रममा राख्नुहुन्छ—यो कसैले पनि कल्पना गर्न वा बुझ्न नसक्ने तथ्य हो। यी बुझ्न नसकिने तथ्यहरू नै परमेश्‍वरको जीवनशक्तिको प्रकटीकरण र प्रमाण हुन्। अब म तँलाई एउटा रहस्य बताउँछु: परमेश्‍वरको जीवनको महानता र उहाँको जीवनको शक्ति कुनै पनि सृजित प्राणीका लागि बुझ्न नसकिने छन्। विगतमा जस्तो थियो अहिले पनि यो त्यस्तै छ, र आउने समयमा पनि यो त्यस्तै रहनेछ। मैले बताउने दोस्रो रहस्य यो हो: सारा प्राणीहरूको जीवनको स्रोत परमेश्‍वरबाट आउँदछ, ती जीवनको रूप वा संरचनामा जतिसुकै फरक भए पनि, र ती जस्तो प्रकारको जीवित प्राणी भए पनि, कुनै प्राणी परमेश्‍वरद्वारा तोकिएको जीवन मार्गविरुद्ध जान सक्दैन। जे भए पनि, मानिसले यो बुझोस् भन्‍ने मात्र म चाहन्छु: परमेश्‍वरको हेरचाह, सुरक्षा र आपूर्तिविना, मानिसले जति नै लगनशीलताका साथ कोसिस गरे पनि वा जति नै मेहनतका साथ सङ्घर्ष गरे पनि उसले प्राप्त गर्नुपर्ने ती सबै कुरा प्राप्त गर्न सक्दैन। परमेश्‍वरबाट जीवनको आपूर्तिविना, मानिसले जिउनुको मूल्य र जीवनको अर्थ गुमाउँछ। आफ्नो जीवनको मोललाई व्यर्थमा खेर फाल्ने मानिसलाई परमेश्‍वरले कसरी यस्तो लापरवाह हुने अनुमति दिन सक्नुहुन्छ? मैले पहिले भनेझैँ: परमेश्‍वर तेरो जीवनको स्रोत हुनुहुन्छ भन्‍ने कुरालाई नबिर्सी। यदि परमेश्‍वरले दिनुभएका सबै कुराको कदर गर्न मानिसले सकेन भने, परमेश्‍वरले सुरुमा जे दिनुभयो त्यो मात्र फिर्ता लिनुहुन्न, तर उहाँले मानिसलाई दिनुभएको भन्दा दोबर मूल्य उसलाई तिर्न लगाउनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

सर्वशक्तिमान्‌को जीवन आपूर्ति छोडेर गएको हुनाले, मानवजाति आफ्नो अस्तित्वको उद्देश्यबारे अनभिज्ञ छ, तर ऊ मृत्युसँग डराउँछ। तिनीहरू सहयोग वा सहारारहित छन्‌, अझै पनि आफ्ना आँखा चिम्लन अनिच्छुक हुन्छन्‌, र तिनीहरू भावना नभएको आत्मा बोकेर आफ्नो देहलाई थाम्नका लागि आफैलाई दह्रिलो बनाउँछन्, र यस संसारमा जसोतोसो एक तुच्छ अस्तित्व लतार्छन्। तँ यसरी आशाबिना जिउँछस्, त्यसै गरी अन्य चाहिँ लक्ष्यबिना जिउँछन्। केवल किंवदन्तीका पवित्र उहाँले मात्र ती मानिसहरूलाई मुक्ति दिनुहुनेछ, जो आफ्नो कष्टमाझ विलाप गर्दै उहाँको आगमनको व्यग्र तृष्णा गर्छन्‌। त्यस्तो विश्‍वास चेतनाको कमी हुनेहरूमा लामो समयदेखि साकार नभएर नै रहेको छ। तथापि, तिनीहरू अझै पनि यसको यसरी तृष्णा गर्छन्। सर्वशक्तिमान्‌ले यी गहन कष्ट भोगेका मानिसहरूमाथि कृपा गर्नुहुन्छ; साथसाथै, बिलकुलै चेतना नभएका यी मानिसहरूप्रति उहाँ वितृष्ण महसुस गर्नुहुन्छ, किनकि मानिसहरूबाट उत्तर प्राप्त गर्नुअघि उहाँले निकै लामो समय पर्खनुपर्छ। उहाँ खोज्न चाहनुहुन्छ, तेरो हृदय र तेरो आत्मा खोज्न चाहनुहुन्छ, र तेरा लागि पानी र खाना ल्याउन चाहनुहुन्छ, ताकि तँ ब्युँझेस् र तैँले उप्रान्त तिर्खाउने र भोकाउने नगरेस्। जब तँ थाक्छस् र जब तैँले यस संसारको केही उजाडता महसुस गर्छस्, तब हराएको महसुस नगर्, नरो। सर्वशक्तिमान्‌ परमेश्‍वर, रखवालाले जुनसुकै बखत पनि तेरो आगमनलाई अङ्गाल्नुहुनेछ। उहाँ तेरो छेउमै रखवाली गर्दै हुनुहुन्छ, उहाँ तँ पछाडि फर्किने प्रतीक्षा गर्दै हुनुहुन्छ, तैँले तेरो स्मृति अचानक पुनः प्राप्त गर्ने दिन कुर्दै हुनुहुन्छ: जब तैँले तँ परमेश्‍वरबाट आइस्, अनि तैँले कुनै अज्ञात समयमा आफ्नो दिशा गुमाइस्, कुनै अज्ञात समयमा तैँले बाटोमा चेतना गुमाइस्, र कुनै अज्ञात समयमा तैँले एक “पिता” पाइस् भन्‍ने कुरा थाहा पाउँछस्; यसका अतिरिक्त, जब तैँले सर्वशक्तिमान्‌ले सदा तेरो रखवाली गर्दै, अत्यन्तै लामो समयदेखि त्यहाँ तेरो फिर्ती पर्खँदै आउनुभएको छ भन्‍ने कुरा थाहा पाउँछस्। उहाँले व्यग्र रूपमा तृष्णा गर्दै, र उत्तररहित प्रतिक्रिया पर्खँदै आउनुभएको छ। उहाँले बाटो हेर्दै बस्नु अमूल्य कुरा हो, र त्यो मानव हृदय र मानव आत्माका खातिर हो। सायद उहाँ अनिश्चित कालसम्म बाटो हेर्नुहुन्छ, वा सायद त्यो समाप्त भएको छ। तर, तेरो हृदय र तेरो आत्मा अहिले ठ्याक्कै कहाँ छन् भन्‍ने कुरा तैँले जान्नुपर्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सर्वशक्तिमान्‌को सुस्केरा

अघिल्लो: ३. क्याथोलिक विश्‍वासीहरू पादरीहरूको कुरा सुन्छन्, पादरीहरू बिशपहरूको कुरा सुन्छन्, र बिशपहरू पोपको कुरा सुन्छन्। तपाईंले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामको जति राम्रो सङ्गति गर्नुभए पनि, जबसम्म पोप र पादरीहरूले प्रभुको आगमनको घोषणा गर्दैनन्, हामी यसलाई स्वीकार गर्न सक्दैनौं—हामी क्याथोलिकहरू पादरीहरू र पोपको कुरा सुन्छौं।

अर्को: २. परमेश्‍वरलाई नदेखेका हुनाले, कतिपय मानिसहरू संसारमा परमेश्‍वर हुनुहुन्न भनी भन्छन्, जबकि अरूले परमेश्‍वरको अस्तित्वको गवाही दिन आफ्नो व्यक्तिगत अनुभवहरूको प्रयोग गर्छन्। परमेश्‍वर साँच्चै हुनुहुन्छ भन्ने कुरा हामीलाई थाहा छैन, तब कसरी परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा हामी निश्चय गर्न सक्छौं?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्