१. प्रभु येशूको आगमन हुनुभन्दा पहिले, फरिसीहरूले प्रायजसो सभाघरहरूमा धर्मशास्त्रको व्याख्या गर्थे र मानिसहरूको सामु प्रार्थना गर्थे। तिनीहरू धेरै धर्मी देखिन्थे, र मानिसहरूको नजरमा, तिनीहरूले धर्मशास्त्रको उल्लङ्घन हुने कुनै पनि कार्य गर्दैनन् जस्तो लाग्थ्यो। त्यसो भए फरिसीहरूलाई प्रभु येशूले किन श्राप दिनुभयो? तिनीहरूले कुन प्रकारले परमेश्वरको अपमान गरे, तिनीहरूले किन परमेश्वरको क्रोध भड्काए?
सन्दर्भका लागि बाइबलका पदहरू:
“तिमीहरूले पनि किन तिमीहरूका परम्पराद्वारा परमेश्वरको आज्ञा उल्लङ्घन गर्छौ? किनभने परमेश्वरले यसो भनेर आज्ञा दिनुभएको छ, आफ्नो बाबु र आमाको सम्मान गर: र, बाबु वा आमालाई जसले सराप्छ त्यो मारियोस्। तर तिमीहरू भन्छौ, जोसुकैले आफ्नो बाबु वा आमालाई यसो भन्नेछ, तपाईंले मबाट जे लाभ पाउन सक्नुहुन्थ्यो, त्यो उपहार हो; अनि उसले आफ्नो बाबु वा आमाको सम्मान गर्नु पर्दैन, ऊ स्वतन्त्र हुनेछ। यसरी तिमीहरूले आफ्नो परम्पराद्वारा परमेश्वरको आज्ञालाई व्यर्थ तुल्याइदिएका छौ। तिमीहरू ढोङ्गीहरू, यशैयाले यसो भनेर तिमीहरूको बारेमा ठीकै अगमवाणी गरेका थिए, यी मानिसहरू आफ्ना मुखहरूले मात्र मेरा नजिक आउँछन् र तिनीहरूका ओठहरूले मात्र मेरो सम्मान गर्छन्; तर तिनीहरूका हृदय मदेखि टाढा छ। तर तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, मानिसहरूका आज्ञाहरूलाई सिद्धान्तको रूपमा सिकाउँछन्” (मत्ती १५:३-९)।
“शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै भित्र जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ। शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनकि तिमीहरू विधवाका घरहरू निल्छौ र लामा प्रार्थना गरेको स्वाँग पार्छौ: यसैले तिमीहरूले ठूलो दण्ड पाउनेछौ।
“शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने एक जनालाई आफ्नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ।
“धिक्कार, तिमीहरू अन्धा अगुवाहरू, तिमीहरू भन्छौ, जसले मन्दिरको शपथ खान्छ, त्यो केही पनि होइन; तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊचाहिँ ऋणी हो! तिमीहरू मूर्ख र अन्धाहरू हौ: किनभने कुनचाहिँ ठूलो हो, सुन कि सुनलाई शुद्ध पार्ने मन्दिर? अनि, जसले वेदीमा शपथ खान्छ, त्यो केही पनि होइन; तर जसले त्यसमा राखिएको उपहारको शपथ खान्छ, ऊ दोषी हो। तिमीहरू मूर्ख र अन्धाहरू हौ: किनभने कुनचाहिँ ठूलो हो, सुन कि सुनलाई शुद्ध पार्ने मन्दिर? त्यसकारण, वेदीको शपथ खानेले, त्यसको नाममा, र यसमा भएका सबै कुराको नाममा शपथ खान्छ। अनि मान्दिरको शपथ खानेले, त्यसको नाममा, र त्यहाँ वास बस्नुहुने उहाँको नाममा शपथ खान्छ। अनि स्वर्गको शपथ खानेले, परमेश्वरको सिंहासनको नाममा, र त्यहाँ बस्नुहुने उहाँको नाममा शपथ खान्छ।
“शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनकि तिमीहरू पुदिना, सुँप र जिराको दशांश दिन्छौ अनि न्याय, कृपा र विश्वासजस्ता व्यवस्थाका गहकिला विषयहरूलाई छोड्छौ: तिमीहरूले त ती गर्नुपर्थ्यो र अरू विषयलाई नगरी नछोड्नुपर्ने थियो। तिमीहरू दृष्टिविहिन अगुवा हौ, जसले भुसुना छान्छन् र उँटलाई चाहिँ निल्छन्।
“शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरूले कचौरा र थालको बाहिरपट्टि सफा गर्छौ, तर भित्रपट्टि ती लुटपाट र ज्यादतीले भरिएका छन्। अन्धा फरिसी हो, कचौरा र थालभित्र जे छ पहिले त्यसलाई सफा गर, ताकि तिनको बाहिरीपट्टि पनि सफा हुन सकोस्।
“शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरू त सेतो रङ्ग पोतिएका चिहानहरू जस्तै छौ, जो बाहिरी रूपमा वास्तवमै सुन्दर देखिन्छन्, तर भित्र भने मरेका मानिसहरूका हाडहरू, र सबै अशुद्धताहरूले भरिएका हुन्छन्। त्यसरी नै तिमीहरू पनि बाहिरी रूपमा मानिसहरूका अघि धर्मी देखिन्छौ, तर भित्री रूपमा तिमीहरू ढोङ्गीपन र अधर्मले भरिएका छौ।
“शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरू अगमवक्ताहरूका चिहान निर्माण गर्छौ र धर्मीहरूका चिहानघरहरू सिँगार्छौ, अनि भन्छौ, यदि हामी हाम्रा पिता-पुर्खाको पालामा भएको भए, हामी अगमवक्ताहरूको रगत बगाउने काममा तिनीहरूसँग लाग्नेथिएनौं। तिमीहरू अगमवक्ताहरूलाई मार्नेहरूका सन्तान हौ भनेर तिमीहरू आफैले गवाही दिन्छौ। त्यसो भए त तिमीहरू आफ्ना पितापुर्खा जस्तै बन। तिमीहरू सर्प हौ, तिमीहरू भाइपरका पुस्ता हौ, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कन सक्छौ? हेर, म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमानी मानिसहरू र शास्त्रीहरू पठाउँछु: र तिनीहरूमध्ये केहीलाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्नेछौ; र तीमध्ये केहीलाई तिमीहरूले तिमीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर-सहरमा सताउनेछौ: धर्मी हाबिलको रगतदेखि बेरेक्याहका छोरा जकरिया, जसलाई तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गर्यौ, उनको रगतसम्म पृथ्वीमा बगाइएको सबै धर्मी रगत तिमीहरूमा नै आइपर्नेछ। साँच्चै म तिमीहरूलाई भन्छु, यी सबै कुरा यही पुस्तामा आउनेछन्” (मत्ती २३:१३-३६)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्वरको आशिष् प्राप्त गर्न सक्थे भन्ने लाग्छ? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेकाका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव मध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्वरप्रति तिनीहरूको विश्वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्वास वाहियात र हास्यास्पद छैन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्नुभएको हुनेछ
भ्रष्टताबाट गुज्रेको मानिस शैतानको फन्दामा जिउँछ; ऊ देहमा जिउँछ, स्वार्थी इच्छाहरूमा जिउँछ, र तिनीहरूमाझ मेरो अनुकूल रहेको एक जना पनि छैन। मेरो अनुकूल छु भन्ने मानिसहरू छन्, तर त्यस्ता मानिसहरूले अज्ञात मूर्तिहरूको पूजा गर्छन्। मेरो नामलाई पवित्र भनी स्वीकार गरे तापनि, तिनीहरूले मेरो विपरीत दिशातर्फ बढ्ने मार्गमा पाइला चाल्छन्, र तिनीहरूका बोलीवचन अहङ्कार र आत्मविश्वासले भरिएका छन्। किनभने तिनीहरू अन्तर्निहित रूपमै मेरो विरुद्धमा छन् तर म सँग मिल्दो छैनन्। हरदिन, तिनीहरूले बाइबलमा मेरा निसानहरू खोज्छन् र हचुवाको भरमा “उपयुक्त” खण्डहरू भेट्छन् जसलाई तिनीहरूले निरन्तर पढ्छन् र धर्मशास्त्रका रूपमा पाठ गर्छन्। कसरी मेरो अनुकूल बन्ने भनेर तिनीहरूलाई थाहा छैन, न त मेरो विरुद्धमा खडा हुनु भनेको के हो भन्ने नै तिनीहरूलाई थाहा छ। तिनीहरू खालि अन्धाधुन्ध धर्मशास्त्रका खण्डहरू पढ्छन्। तिनीहरू आफूले नदेखेको अस्पष्ट परमेश्वरलाई सीमित पार्छन् र बाइबलको सीमाभित्र देख्न सक्दैनन् र फुर्सतमा हेर्न यसलाई बाहिर निकाल्छन्। तिनीहरूले बाइबलको दायराभित्र मात्रै मेरो अस्तित्वमा विश्वास गर्छन्, र तिनीहरूले मलाई बाइबलसँग समान मान्छन्; बाइबलविना म हुँदिनँ, र मविना बाइबल हुँदैन। मेरो अस्तित्व वा मेरा कार्यहरूलाई तिनीहरूले ध्यानै दिँदैनन्, बरु यसको साटो धर्मशास्त्रका एक-एक शब्दलाई अत्यधिक र विशेष ध्यान दिन्छन्। धर्मशास्त्रले भविष्यवाणी नगरेसम्म मैले चाहेअनुसार केही पनि गर्नु हुँदैन भनेरसमेत धेरैले विश्वास गर्छन्। तिनीहरूले धर्मशास्त्रलाई अत्याधिक महत्त्व दिन्छन्। के भन्न सकिन्छ भने तिनीहरूले शाब्दिक वचनलाई यति हदसम्म महत्त्वपूर्ण देख्छन् कि मैले बोल्ने हरेक शब्दलाई मापन गर्न र मलाई दोष दिन तिनीहरूले बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोजी गर्ने कुरा भनेको मेरो अनुकूल हुने मार्ग वा सत्यतासँग अनुकूल हुने मार्ग होइन, बरु बाइबलका वचनहरूसँग अनुकूल हुने मार्ग हो, र तिनीहरूले बाइबलसँग नमिल्ने जुनसुकै कुरा निस्सन्देह मेरो काम होइन भन्ने विश्वास गर्छन्। के यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यनिष्ठ सन्तान होइनन् र? यहूदी फरिसीहरूले येशूको भर्त्सना गर्न मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यस समयको येशूसँग अनुकूल हुने प्रयास गरेनन्, बरु तिनीहरूले व्यवस्थाको प्रत्येक लेखलाई यस्तो गम्भीरतासाथ लिए—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगिछोडे। तिनीहरूको सार के थियो? के त्यो तिनीहरूले सत्यतासित अनुकूल हुने मार्ग नखोज्नु नै थिएन र? तिनीहरूले धर्मशास्त्रको एक-एक शब्दलाई मात्र ध्यान दिए, तर तिनीहरूले न त मेरा अभिप्रायहरूलाई ध्यान दिए न त मेरो कामका पाइला र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन्, बरु शब्दहरूमा कठोरतासाथ टाँसिने मानिसहरू थिए; तिनीहरू परमेश्वरमा विश्वास गर्ने मानिसहरू थिएनन्, बरु बाइबलमा विश्वास गर्ने मानिसहरू थिए। सारगत रूपमा, तिनीहरू बाइबलको रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका हितहरूको सुरक्षा गर्न, बाइबलको इज्जतलाई कायम राख्न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा टाँग्ने हदसम्म गए। तिनीहरूले केवल बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक शब्दको हैसियतलाई कायम गर्नको खातिर तिनीहरूले यसो गरे। त्यसकारण, तिनीहरूले धर्मशास्त्रको सिद्धान्तअनुरूप नरहनुभएका येशूलाई मृत्युदण्ड दिन आफ्नो भविष्य र पापबलि त्याग्न रुचाए। के तिनीहरू सबै नै धर्मशास्त्रका एक-एक वचनका दास थिएनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले ख्रीष्टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ
फरिसीहरूद्वारा येशूको आलोचना
मर्कूस ३:२१-२२ अनि जब उहाँका मित्रहरूले यो सुने, उहाँलाई समात्न तिनीहरू बाहिर निस्के: किनकि तिनीहरूले भने, उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्न। अनि येरूशलेमबाट आएका शास्त्रीहरूले भने, त्यससँग बालजिबुल छ, र त्यसले भूतहरूको राजकुमारद्वारा भूतहरूलाई निकाल्छ।
फरिसीहरूलाई येशूको हप्की
मत्ती १२:३१-३२ म किन तिमीहरूलाई भन्दछु, मानिसका सबै किसिमका पापहरू र ईश्वरनिन्दा क्षमा गरिनेछन्: तर मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्वरनिन्दा क्षमा गरिनेछैन। र जसले मानिसको पुत्रको विरुद्धमा वचन बोल्छ, उसलाई क्षमा दिइनेछ: तर जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा।
…………
बाइबलमा, येशू स्वयम् र उहाँले गर्नुभएका कामहरूको बारेमा फरिसीहरूको मूल्याङ्कन यस्तो थियो: “… तिनीहरूले भने, उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्न। … त्यससँग बालजिबुल छ, र त्यसले भूतहरूको राजकुमारद्वारा भूतहरूलाई निकाल्छ” (मर्कूस ३:२१-२२)। प्रभु येशूको बारेमा शास्त्री र फरिसीहरूको न्याय तिनीहरूले अन्य मानिसहरूका वचनहरू अनुकरण गरेर भनेका मात्र थिएनन्, न त त्यो आधारहीन अनुमान नै थियो—यो प्रभु येशूका कार्यहरूका बारेमा तिनीहरूले जे देखे र सुने त्यसबाट तिनीहरूले निकालेको निष्कर्ष थियो। तिनीहरूको निष्कर्ष बाहिरी रूपमा न्यायको नाउँमा गरिएको जस्तो अनि मानिसको नजरमा त्यो न्यायसङ्गत जस्तो देखिएको भए तापनि, तिनीहरूले जुन अहङ्कारले प्रभु येशूलाई न्याय गरे, त्यो तिनीहरूले समेत सहन कठिन थियो। प्रभु येशूप्रतिको तिनीहरूको घृणाको उन्मत्त ऊर्जाले तिनीहरूको आफ्नै जङ्गली आकांक्षाहरू अनि दुष्ट शैतानिक मुखाकृति, साथै द्वेषपूर्ण स्वभावलाई उजागर गरेको थियो जसद्वारा तिनीहरू परमेश्वरको विरोध गर्थे। प्रभु येशूको न्याय गर्दा तिनीहरूले भनेका यी कुराहरू तिनीहरूका पागलपूर्ण आकांक्षाहरू, ईर्ष्या, अनि परमेश्वर र सत्यताप्रति तिनीहरूको शत्रुताको कुरूप र द्वेषपूर्ण प्रकृतिबाट प्रेरित थिए। तिनीहरूले प्रभु येशूका कामहरूको स्रोतबारे अनुसन्धान गरेनन्, न त उहाँले भन्नुभएको वा गर्नुभएको कामको सारलाई नै अनुसन्धान गरे। त्यसको साटो, उहाँले गर्नुभएको कामलाई तिनीहरूले उन्मादपूर्ण उत्तेजनाको अवस्थामा अनि जानाजानी द्वेष भावनाले आक्रमण र अपमान गरे। यहाँसम्म कि उहाँको आत्मा अर्थात् पवित्र आत्मा, जुन परमेश्वरका आत्मा हो, उहाँलाई जानी-जानी अपमान गरे। तिनीहरूले “उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्न,” “बालजिबुल,” र “भूतहरूको राजकुमार” भनी भन्नुको अर्थ यही हो। भनाइको अर्थ, तिनीहरूले परमेश्वरका आत्मालाई बालजिबुल तथा दुष्ट आत्माहरूको राजकुमार हो भनी भने। परमेश्वरको देहधारी आत्मा, जसले देह धारण गर्नुभएको थियो, उहाँको कामलाई तिनीहरूले पागलपनको संज्ञा दिए। तिनीहरूले परमेश्वरका आत्मालाई बालजिबुल र दियाबलसहरूका राजा भनेर मात्र निन्दा गरेनन्, तर परमेश्वरको कामलाई तिरस्कार गरे अनि प्रभु येशूलाई तिरस्कार र निन्दा गरे। परमेश्वरप्रतिको तिनीहरूको विरोध र निन्दाको सार शैतान तथा दुष्ट आत्माद्वारा परमेश्वरप्रति गरिएको विरोध र निन्दाको सारसित पूर्ण रूपले समान थियो। त्यसले भ्रष्ट मानिसहरूलाई मात्र प्रतिनिधित्व गर्दैनथ्यो तर धेरै हदसम्म, ती शैतानको नै मूर्त रूप थिए। मानवजातिको माझमा तिनीहरू शैतानको माध्यम थिए, अनि तिनीहरू शैतानको मतियार तथा नोकर थिए। प्रभु येशू ख्रीष्टप्रतिको तिनीहरूको निन्दा र तिनीहरूको बदनामीको सार प्रतिष्ठाको निम्ति परमेश्वरसितको तिनीहरूको संघर्ष थियो, परमेश्वरसितको तिनीहरूको द्वन्द्व थियो, अनि परमेश्वरलाई तिनीहरूले गरेको अन्त्यहीन परीक्षा थियो। परमेश्वरप्रतिको तिनीहरूको विरोधको सार तथा उहाँप्रतिको तिनीहरूको शत्रुताको मनोवृत्ति, साथै तिनीहरूका वचन तथा तिनीहरूका विचारहरूले प्रत्यक्ष रूपमा परमेश्वरका आत्मालाई निन्दा गरेको र क्रोधित तुल्याएको थियो। यसरी, तिनीहरूले जे भने र गरे, त्यस अनुसार परमेश्वरले एउटा उचित न्याय निर्धारित गर्नुभयो, अनि तिनीहरूका कार्यहरूलाई पवित्र आत्माको विरुद्धमा गरिएको पाप भएको ठहर गर्नुभयो। यो पाप यस संसारमा अनि आउने संसारमा पनि अक्षम्य हुन्छ, जुन कुरालाई धर्मशास्त्रको निम्न खण्डमा प्रमाणित गरिएको छ: “मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्वरनिन्दा क्षमा गरिनेछैन,” र, “जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा।”
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
विगतका समयमा फरिसीहरू इस्राएलका सम्मानित वर्ग थिए, त्यसोभए अहिले त्यो नाम किन लेबल बनेको छ? यस्तो किन भयो भने फरिसीहरू एक खाले व्यक्तिको प्रतिनिधि बनेका छन्। यस प्रकारको व्यक्तिका विशेषताहरू के-के हुन् त? तिनीहरू झूटो हुनमा, देखावटी गर्नमा, ढोँग गर्नमा सिपालु छन्; तिनीहरू महान् आदर्श, पवित्रता, सोझोपन, र पारदर्शी शालीनताको नाटक गर्छन्, र तिनीहरूले फलाक्ने नाराहरू राम्रा सुनिन्छन्, तर तिनीहरूले त अलिकति पनि सत्यता अभ्यास नगर्ने रहेछन्। तिनीहरूसँग कुन चाहिँ असल व्यवहार रहेछ त? तिनीहरू पवित्र पुस्तक पढ्छन् र प्रवचन दिन्छन्; तिनीहरू अरूलाई कानुन र नियमहरू कायम राख्न अनि परमेश्वरको प्रतिरोध नगर्न सिकाउँछन्। यो सबै असल व्यवहार हो। तिनीहरूले भन्ने हरेक कुरा राम्रो सुनिन्छ, तैपनि जब अरू पछाडि फर्कन्छन् तिनीहरू गोप्य रूपमा भेटीहरू चोर्छन्। प्रभु येशूले तिनीहरूले “भुसुना छान्छन् र उँटलाई चाहिँ निल्छन्” (मत्ती २३:२४) भनी भन्नुभयो। यसको मतलब, तिनीहरूको सबै व्यवहार बाहिरी रूपमा राम्रो देखिन्छ—तिनीहरूले देखाउनको लागि नारा लगाउँछन्, तिनीहरूले उच्च सिद्धान्तहरूको बारेमा बोल्छन्, र तिनीहरूका वचनहरू मीठा सुनिन्छ, तर तिनीहरूका कार्यहरू भने अस्तव्यस्त भद्रगोल हुन्छन्, र तिनीहरू पूर्णतया परमेश्वरको प्रतिरोधी हुन्छन्। तिनीहरूको बाहिरी व्यवहार सबै नै बहाना र धोका हुन्; तिनीहरूको हृदयमा तिनीहरूसँग सत्यताप्रति अलिकति पनि प्रेम हुँदैन, न त सकारात्मक कुराहरूको लागि नै प्रेम हुन्छ। तिनीहरू सत्यताप्रति, सकारात्मक कुराहरूप्रति र परमेश्वरबाट आउने सबै कुराहरूप्रति प्रतिकूल हुन्छन्। तिनीहरूले केलाई प्रेम गर्छन् त? के तिनीहरूले निष्पक्षता र धर्मीपनलाई प्रेम गर्छन् त? (गर्दैनन्।) तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन् भनेर तिमीहरूले कसरी भन्न सक्छौ? (प्रभु येशूले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो जसलाई तिनीहरूले अस्वीकार मात्र गरेनन्, बरु तिनीहरूले त त्यसलाई दोषी ठहराउने कामसमेत गरे।) यदि तिनीहरूले त्यसको निन्दा नगरेका भए, के त्यो कुरा बताउन सम्भव हुनेथ्यो? हुनेथिएन। प्रभु येशूको देखापराइ र कामले सबै फरिसीहरूको खुलासा गर्यो, र तिनीहरूले प्रभु येशूलाई गरेको निन्दा र प्रतिरोधद्वारा मात्र अरूले तिनीहरूको पाखण्ड देख्न सक्थे। यदि परमेश्वरको देखापराइ र काम नभएको भए, फरिसीहरूलाई कसैले पनि खुट्याउने थिएन, र यदि मानिसहरूले फरिसीहरूको बाहिरी आचरणलाई मात्र हेरेको भए, त्यसले तिनीहरूलाई ईर्ष्यालु समेत बनाउनेथ्यो। के फरिसीहरूले झूटो असल व्यवहार देखाएर मानिसहरूको विश्वास प्राप्त गर्नु बेइमानी र छली थिएन र? के यस्ता छली मानिसहरूले सत्यतालाई प्रेम गर्न सक्छन् र? तिनीहरूले कदापि सक्दैनन्। तिनीहरूले असल आचरण देखाउनु पछाडिको उद्देश्य के थियो? एकातिर मानिसहरूलाई ठग्नु थियो। अर्कोतिर, मानिसहरूलाई बहकाएर तिनीहरूको मन जित्नु थियो, ताकि मानिसहरूले तिनीहरूलाई उच्च ठानून् र आदर गरून्। र अन्त्यमा, तिनीहरू इनाम प्राप्त गर्न चाहन्थे। यो त कत्रो ठूलो ठगी थियो! के यी चलाखीपूर्ण चालबाजी थिए? के यस्ता मानिसहरूले न्याय र धार्मिकतालाई प्रेम गर्थे? निश्चय नै गर्दैनथे। तिनीहरू हैसियत, प्रसिद्धि र लाभलाई प्रेम गर्थे, र तिनीहरू इनाम र मुकुट चाहन्थे। तिनीहरू परमेश्वरले मानिसहरूलाई सिकाएका वचनहरू कहिल्यै अभ्यास गर्दैनथे, र तिनीहरूले कहिल्यै सत्यताका वास्तविकताहरू जिउँदैनथे। तिनीहरू राम्रो आचरणको खोल ओढ्ने र मानिसहरूलाई छल्ने अनि पाखण्डी तरिकाले तिनीहरूको मन जितेर आफ्नो हैसियत र ख्याति जोगाउने काम मात्र गर्थे, र त्यही हैसियत र ख्यातिलाई प्रयोग गरेर पुँजीको खोजी गर्थे र त्यसैबाट जीवन गुजारा गर्थे। के त्यो घृणित कार्य होइन र? तिनीहरूको यो आचरणबाट तैँले बुझ्न सक्छस् कि सारभूत रूपमा तिनीहरू सत्यतालाई प्रेम गर्दैनथे, किनकि तिनीहरूले त्यसको अभ्यास कहिल्यै गरेनन्। तिनीहरूले सत्यता अभ्यास नगरेको तथ्यलाई कुन कुराले देखाउँछ? सबैभन्दा ठूलो कुरा: प्रभु येशू छुटकाराको काम गर्न आउनुभयो, र प्रभु येशूले बोल्नुभएका सबै वचनहरू सत्यता हुन् र तिनको अख्तियार छ। फरिसीहरूले यसको प्रतिक्रिया कसरी दिए? प्रभु येशूका वचनहरूमा अख्तियार र शक्ति छ भनी तिनीहरूले स्विकारे पनि, तिनीहरूले तिनलाई नस्विकारेको मात्र नभई तिनको भर्त्सना र ईशनिन्दा समेत गरे। त्यो केको लागि थियो? त्यो किन थियो भने तिनीहरूले सत्यतालाई प्रेम गर्दैनथे, र तिनीहरू हृदयदेखि नै सत्यताको प्रतिकूल थिए र सत्यतालाई घृणा गर्थे। प्रभु येशूले भन्नुभएको सबै कुरामा उहाँ सही हुनुहुन्थ्यो, उहाँका वचनहरूमा अख्तियार र शक्ति थियो, उहाँ कुनै रूपले गलत हुनुहुन्थेन, र उहाँमाथि तिनीहरूको कुनै प्रभाव थिएन भनी तिनीहरूले स्विकारे। तर तिनीहरू प्रभु येशूलाई निन्दा गर्न चाहन्थे, त्यसैले तिनीहरूले छलफल र षड्यन्त्र गरे, र “उहाँलाई क्रुसमा टाँगे। कि त ऊ रहनेछैन, कि हामी रहनेछैनौँ” भने, र फरिसीहरूले प्रभु येशूलाई यसरी नै अवज्ञा गरे। त्यसबेला कसैले पनि सत्यता बुझेन, र कसैले पनि प्रभु येशूलाई देहधारी परमेश्वर भनेर चिन्न सकेन। तर मानव दृष्टिकोणबाट हेर्दा, प्रभु येशूले धेरै सत्यताहरू व्यक्त गर्नुभयो, पिशाचहरूलाई निष्कासन गर्नुभयो, र बिरामीहरूलाई निको पार्नुभयो। उहाँले थुप्रै आश्चर्यकर्महरू गर्नुभयो, पाँच वटा रोटी र दुईवटा माछाले नै ५,००० जनालाई भोजन गराउनुभयो, अनेकौँ असल कार्यहरू गर्नुभयो, र मानिसहरूलाई अति धेरै अनुग्रह प्रदान गर्नुभयो। यस्ता असल र धर्मी मानिसहरू कमै मात्र हुन्छन्, त्यसोभए फरिसीहरू किन प्रभु येशूको निन्दा गर्न चाहन्थे? तिनीहरू किन उहाँलाई क्रुसमा टाँग्न त्यति दृढ थिए? तिनीहरूले प्रभु येशूको साटो कुनै अपराधीलाई छोड्न चाहनुले धार्मिक संसारका फरिसीहरू कति दुष्ट र दुर्भावनापूर्ण थिए भन्ने कुरा देखाउँछ। तिनीहरू अति नै दुष्ट थिए! फरिसीहरूले लुकाएको दुष्ट मुहार र तिनीहरूको देखावटी, बाहिरी दयाबीचको भिन्नता यति ठूलो थियो कि धेरै मानिसहरूले कुन साँचो हो र कुन झूटो हो भनी छुट्याउनै सकेनन्, तर प्रभु येशूको देखापराइ र कामले ती सबैको खुलासा गरिदियो। फरिसीहरूले प्रायः यति राम्ररी आफ्नो भेष बदल्थे र बाहिरी रूपले तिनीहरू यतिसम्म धार्मिक देखिन्थे कि तिनीहरूले त्यति क्रूर तरिकाले प्रभु येशूलाई प्रतिरोध गर्न र सताउन सक्छन् भनेर कसैले कल्पना समेत गरेको थिएन होला। यदि तथ्यहरू खुलासा नगरिएको भए, तिनीहरूको सारलाई कसैले पनि चिन्न सक्ने थिएनन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
फरिसीहरू ढोँगी र दुष्ट हुनुको कारण के हो भने तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् तर ज्ञानलाई प्रेम गर्छन्, त्यसकारण तिनीहरूले धर्मशास्त्रको अध्ययन गर्छन् र धर्मशास्त्रीय ज्ञान पछ्याउँछन् तैपनि सत्यता वा परमेश्वरका वचनहरूलाई कहिल्यै स्वीकार गर्दैनन्। तिनीहरूले परमेश्वरका वचनहरू पढ्दा उहाँलाई प्रार्थना गर्दैनन्, न त तिनीहरूले सत्यताको खोजी वा सङ्गति नै गर्छन्। बरु, तिनीहरूले परमेश्वरका वचनहरू अध्ययन गर्छन्, परमेश्वरले भन्नुभएको र गर्नुभएको कुरा अध्ययन गर्छन्, यसरी परमेश्वरका वचनहरूलाई सिद्धान्त, अरूलाई सिकाउने धर्मसिद्धान्तमा परिणत गर्छन्, जसलाई विद्वत्तापूर्ण अध्ययन भनिन्छ। तिनीहरू किन विद्वत्तापूर्ण अध्ययनमा संलग्न हुन्छन्? तिनीहरूले के अध्ययन गरिरहेका हुन्छन्? तिनीहरूको नजरमा, यो परमेश्वरका वचनहरू वा परमेश्वरको अभिव्यक्ति होइन, सत्यता हुनु त परको कुरा हो। बरु, यो एक प्रकारको विद्वत्ता हो, वा यसलाई धर्मशास्त्रीय ज्ञान समेत भन्न सकिन्छ। तिनीहरूको दृष्टिकोणमा, यो ज्ञान, यो विद्वत्ता प्रसार गर्नु भनेको परमेश्वरको मार्ग प्रसार गर्नु, सुसमाचार प्रसार गर्नु हो—तिनीहरूले यसैलाई प्रचार भन्छन्, तर तिनीहरूले प्रचार गर्ने सबै कुरा धर्मशास्त्रीय ज्ञान मात्रै हुन्छ।
… फरिसीहरूले आफूले बुझेका धर्मशास्त्रीय सिद्धान्तहरूलाई ज्ञान र मानिसहरूलाई मूल्याङ्कन गर्ने र दोष दिने औजारका रूपमा लिएका थिए, र यसलाई तिनीहरूले प्रभु येशूमाथि समेत प्रयोग गरे। प्रभु येशूलाई यसरी नै दोषी ठहराइएको थियो। तिनीहरूले कुनै व्यक्तिलाई मूल्याङ्कन गर्ने वा व्यवहार गर्ने तरिका कहिल्यै पनि न त व्यक्तिको सारमा, न व्यक्तिले प्रचार गरेको कुरा सत्यता हो कि होइन भन्ने कुरामा नै निर्भर हुन्थ्यो, व्यक्तिले बोलेका वचनहरूको स्रोतमा निर्भर हुनु त परको कुरा हो—फरिसीहरूले व्यक्तिलाई मूल्याङ्कन गर्ने वा दोष दिने तरिका तिनीहरूले बाइबलको पुरानो करारबाट बुझेका प्रावधान, वचन, र धर्मसिद्धान्तमा मात्रै निर्भर हुन्थ्यो। प्रभु येशूले भन्नुभएका र गर्नुभएका कुराहरू पाप वा व्यवस्था उल्लङ्घन होइनन् भन्ने कुरा फरिसीहरूलाई हृदयमा थाहा भए पनि, तिनीहरूले उहाँलाई दोषी ठहराए, किनभने उहाँले व्यक्त गर्नुभएका सत्यताहरू र उहाँले प्रदर्शन गर्नुभएका चिन्ह र चमत्कारहरूले गर्दा धेरै मानिसहरूले उहाँलाई पछ्याउन र प्रशंसा गर्न थालेका थिए। फरिसीहरूले उहाँलाई झन्-झन् घृणा गरिरहेका थिए, र उहाँलाई दृश्यबाट हटाउन समेत चाहन्थे। तिनीहरूले प्रभु येशू नै आउनेवाला मसीह हुनुहुन्छ भनेर पहिचान गरेनन्, न त तिनीहरूले उहाँका वचनहरूमा सत्यता छ भन्ने कुरालाई नै पहिचान गरे, उहाँको काम सत्यता अनुरूप छ भन्ने कुरालाई पहिचान गर्नु त परको कुरा हो। तिनीहरूले प्रभु येशूले अहङ्कारी वचनहरू बोलिरहनुभएको र भूतहरूका राजकुमार बालजिबुलमार्फत भूतहरू निकालिरहनुभएको भनेर आलोचना गरे। तिनीहरूले यी पापहरूको दोष प्रभु येशूलाई लगाए भन्ने कुराले तिनीहरूले उहाँलाई कति धेरै घृणा गर्थे भन्ने कुरा देखाउँछ। त्यसकारण, तिनीहरूले प्रभु येशूलाई परमेश्वरले पठाउनुभएको हो, र उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ, र उहाँ मसीह हुनुहुन्छ भन्ने कुरालाई इन्कार गर्न जोरदार रूपमा काम गरे। तिनीहरूको तात्पर्य के थियो भने, “के परमेश्वरले यस्तो तरिकाले काम गर्नुहुनेथियो? यदि परमेश्वर देहधारी हुनुभएको भए, उहाँ प्रतिष्ठित हैसियत भएको परिवारमा जन्मनुहुनेथियो। अनि उहाँले शास्त्रीहरू र फरिसीहरूको मार्गदर्शन स्वीकार गर्नुपर्ने हुन्थ्यो। उहाँले ‘देहधारी परमेश्वर’ को नाम धारण गर्न सक्नुभन्दा पहिले धर्मशास्त्रलाई व्यवस्थित रूपमा अध्ययन गर्नुपर्ने, धर्मशास्त्रको ज्ञान बुझ्नुपर्ने, र धर्मशास्त्रका सबै ज्ञानहरूले आफूलाई सुसज्जित गर्नुपर्ने हुन्थ्यो।” तर प्रभु येशू यो ज्ञानले सुसज्जित हुनुहुन्नथियो, त्यसकारण तिनीहरूले यसो भन्दै उहाँलाई दोष दिए, “सर्वप्रथम, तपाईंसँग त्यस्तो योग्यता छैन, तसर्थ तपाईं परमेश्वर हुन सक्नुहुन्न; दोस्रो कुरा, यो धर्मशास्त्रीय ज्ञानविना, तपाईंले परमेश्वरको कार्य गर्न सक्नुहुन्न, तपाईं परमेश्वर हुन सक्ने कुरा त परै जाओस्; तेस्रो, तपाईंले मन्दिरभन्दा बाहिर काम गर्न हुँदै हुँदैन—तपाईंले अहिले मन्दिरमा काम गरिरहनुभएको छैन, तर तपाईं सधैँ पापीहरूका बीचमा बस्नुहुन्छ, त्यसकारण तपाईंले गर्नुहुने काम धर्मशास्त्रको दायराभन्दा बाहिर छ, जसले तपाईं परमेश्वर हुनुहुन्छ भन्ने कुरा झन् असम्भव तुल्याउँछ।” तिनीहरूको दोषारोपणको आधार कहाँबाट आयो त? धर्मशास्त्रबाट, मानिसको मन-मस्तिष्कबाट, र तिनीहरूले प्राप्त गरेको धर्मशास्त्रीय शिक्षाबाट। फरिसीहरू धारणा, कल्पना, र ज्ञानले फूलेका थिए, त्यसकारण तिनीहरूले यो ज्ञान सही हो, सत्यता हो, मान्य आधार हो, र कुनै पनि समयमा परमेश्वरले यी कुराहरूलाई उल्लङ्घन गर्न सक्नुहुन्न भन्ने विश्वास गर्थे। के तिनीहरूले सत्यताको खोजी गरे त? तिनीहरूले खोजी गरेनन्। तिनीहरूले के खोजी गरे? आत्मिक शरीरका रूपमा देखा परेका अलौकिक परमेश्वर। त्यसकारण, तिनीहरूले परमेश्वरको कामका रूपरेखा निर्धारित गरे, उहाँको कामलाई इन्कार गरे, र मानिसका धारणा, कल्पना, र ज्ञान अनुसार परमेश्वर सही हुनुहुन्छ कि गलत हुनुहुन्छ भनेर मूल्याङ्कन गरे। अनि यसको अन्तिम परिणाम के भयो? तिनीहरूले परमेश्वरको कामलाई निन्दा गरेका मात्र होइनन्, तिनीहरूले देहधारी परमेश्वरलाई क्रूसमा समेत टाँगे।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन)