वास्तविकतामा अझ बढी ध्यान देऊ

प्रत्येक व्यक्तिलाई परमेश्‍वरद्वारा सिद्ध बनाइने सम्भावना हुन्छ, त्यसकारण परमेश्‍वरका अभिप्रायहरूअनुसार कस्तो किसिमको सेवा उहाँको निम्ति सर्वोत्तम हुन्छ भन्‍ने कुरा सबैले बुझ्नुपर्छ। धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ के हो भन्‍ने जान्दैनन्, न त उहाँमाथि किन विश्‍वास गर्नुपर्छ भनेर नै उनीहरूले बुझ्छन्—भन्‍नुको अर्थ, धेरैसँग परमेश्‍वरको कामको वा उहाँको व्यवस्थापन योजनाको उद्देश्यको ज्ञान छैन। आज पनि धेरै मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्नु भनेको स्वर्गमा जानु र आफ्नो आत्मालाई मुक्ति दिनु हो भन्‍ने सोच्छन्। परमेश्‍वरमा विश्‍वास गर्नुको सही अर्थबारे तिनीहरूलाई रत्तीभर थाहा छैन, त्यसबाहेक तिनीहरूसँग परमेश्‍वरको व्यवस्थापन योजनाको सबैभन्दा महत्त्वपूर्ण कामको बारेमा कुनै पनि बुझाइ छैन। तिनीहरूका आफ्नै विभिन्‍न कारणले गर्दा, मानिसहरूले यसै पनि परमेश्‍वरको काममा कुनै रुचि राख्दैनन्, न त तिनीहरूले उहाँको अभिप्रायहरू वा उहाँको व्यवस्थापन योजनाबारे कुनै विचार नै गर्छन्। यस प्रवाहमा रहेको एक व्यक्तिको रूपमा, प्रत्येक व्यक्तिलाई परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाको उद्देश्य के हो थाहा हुनुपर्छ, उहाँले लामो समय पहिले नै पूरा गरिसक्‍नुभएका तथ्यहरू के हुन्, किन उहाँले मानिसहरूको यस समूहलाई चुन्‍नुभएको छ, उहाँले तिनीहरूलाई चुन्‍नुको उद्देश्य र अर्थ के हो, र उहाँले यस समूहमा के हासिल गर्न चाहनुहुन्छ सो कुरा उसलाई थाहा हुनुपर्छ। परमेश्‍वरले ठूलो रातो अजिङ्गरको देशमा महत्त्वहीन मानिसहरूको त्यस्तो समूह खडा गर्न सक्‍नु, र अहिलेसम्म काम जारी राख्‍न, तिनीहरूलाई हरप्रकारले परीक्षा गर्न र सिद्ध बनाउन, असङ्ख्य वचनहरू बोल्न, धेरै कामहरू गर्न, र सेवा गर्ने धेरै वस्तुहरू पठाउन सक्‍नु अर्थात् परमेश्‍वर एकलैले यस्तो महान् कार्य पूरा गर्नुले उहाँको काम कति महत्त्वपूर्ण छ भनी देखाउँछ। अहिले, तिमीहरू यो कुराको पूर्ण बोध गर्न सक्दैनौ। त्यसकारण, परमेश्‍वरले तिमीहरूमा गर्नुभएको कामलाई तिमीहरूले तुच्छ रूपमा हेर्नु हुँदैन; यो कुनै सानो विषय होइन। आज परमेश्‍वरले तिमीहरूलाई जे प्रकट गर्नुभएको छ त्यो नै तिमीहरूका निम्ति बुझ्ने र जान्‍ने प्रयास गर्नलाई पर्याप्त छ। यदि तैँले वास्तवमै र पूर्ण रूपमा बुझिस् भने मात्र तेरा अनुभवहरू गहन हुन र तेरो जीवन बढ्न सक्छ। आज, मानिसहरूले बुझ्ने र गर्ने कुराहरू अति थोरै छन्; तिनीहरू परमेश्‍वरका अभिप्रायहरू पूर्ण रूपमा पूरा गर्न असमर्थ छन्। यो मानिसको कमजोरी र तिनीहरू आफ्नो कर्तव्य पूरा गर्न असफल भएको अवस्था हो, यसरी तिनीहरू आशा गरिएको परिणाम प्राप्त गर्न असमर्थ छन्। पवित्र आत्मासँग धेरै मानिसहरूमा काम गर्ने कुनै साधन छैन किनकि तिनीहरूसँग परमेश्‍वरको कामको बारेमा एकदमै खोक्रो बुझाइ छ, र तिनीहरूले परमेश्‍वरको घरको काम गर्दा त्यो कामलाई महत्त्वपूर्ण ठान्‍न तिनीहरू अनिच्छुक हुन्छन्। तिनीहरू काम गरेजस्तो देखाउनलाई झारा मात्र टार्छन्, वा बहुमतकै पछि लाग्छन्, वा देखाउनका निम्ति मात्र काम गर्छन्। आज, यस प्रवाहमा हुने प्रत्येक व्यक्तिले आफ्नो व्यवहारमा होस् वा कार्यहरूमा होस्, आफूले गर्न सक्‍ने सबै कुरा गरेको छु कि छुइनँ, र आफूले हरप्रयत्‍न लगाएको छु कि छुइनँ भनी याद गर्नुपर्छ। पवित्र आत्माले आफ्नो काम नगर्नुभएकोले नभई मानिसहरूले नै आफ्नो काम नगरेकोले गर्दा मानिसहरू आफ्‍नो कर्तव्य पूरा गर्न पूर्ण रूपमा असफल भएका छन्, जसले गर्दा पवित्र आत्माले आफ्‍नो काम गर्नु असम्भव भएको छ। परमेश्‍वरसँग अब बोल्नलाई कुनै वचन छैन, तर मानिसहरूले उहाँलाई पछ्याउन सकेकै छैनन्, तिनीहरू धेरै पछाडि परेका छन्, तिनीहरू प्रत्येक पाइलाको नजिक रहन र थुमाका पाइलाहरू नजिकबाट पछ्याउन असमर्थ छन्। तिनीहरूले जुन कुरा पालन गर्नुपर्छ, त्यो पालन गरेका छैनन्; तिनीहरूले जे अभ्यास गर्नुपर्थ्यो, त्यो अभ्यास गरेका छैनन्; तिनीहरूले जुन कुराका लागि प्रार्थना गर्नुपर्थ्यो, त्यसका लागि प्रार्थना गरेका छैनन्; तिनीहरूले जुन कुरालाई पन्साउनुपर्थ्यो, त्यो कुरा पन्साएका छैनन्। तिनीहरूले यी कुनै पनि काम गरेका छैनन्। त्यसकारण, यो भोजमा भाग लिने कुरा रित्तो छ; यो कुनै वास्तविक अर्थविनाको छ, र यो सबै तिनीहरूको कल्पनामा मात्र छ। यो भन्‍न सकिन्छ कि, आज हेर्दा, मानिसहरूले आफ्नो कर्तव्य अलिकति पनि पूरा गरेका छैनन्। सबै कुरा परमेश्‍वरले गर्नुभएको काममा र उहाँ आफैले भन्‍नुभएको कुरामा निर्भर छ। मानिसको कार्य अत्यन्तै सानो छ; तिनीहरू काम नलाग्‍ने कसिङ्गर हुन्, जो परमेश्‍वरसँग सहकार्य गर्न असमर्थ छन्। परमेश्‍वरले सयौं हजारौं वचनहरू बोल्नुभएको छ, तर मानिसहरूले तीमध्ये कुनैलाई पनि व्यवहारमा उतारेका छैनन्—चाहे यो शरीरलाई परित्याग गर्ने कुरा होस् वा चाहे ती धारणालाई त्याग्‍ने, समझशक्ति विकास गर्दै र अन्तर्दृष्टि प्राप्त गर्दै सबै कुरामा परमेश्‍वरको आज्ञापालन गर्ने, आफ्नो हृदयमा मानिसहरूलाई स्थान नदिने, आफ्नो हृदयका मूर्तिहरूलाई हटाउने, आफ्नो गलत अभिप्रायविरुद्ध विद्रोह गर्ने, भावनाको आधारमा काम नगर्ने, निष्पक्ष रूपमा र दुर्भावना नराखी काम गर्ने, आफूले बोल्दा परमेश्‍वरको चासोका विषयहरू र तिनले अरूमाथि पार्ने प्रभावहरूमा अझै बढी ध्यान दिने, परमेश्‍वरको काममा फाइदा गर्ने कामकुराहरू अझ बढी गर्ने, आफूले गर्ने सबै कामकुराहरूमा परमेश्‍वरको घरलाई फाइदा गराउन ध्यान दिने, आफ्नो भावनालाई आफ्नो व्यवहार नियन्त्रण गर्न नदिने, आफ्नो देहलाई खुसी तुल्याउने कुराहरू त्याग्‍ने, पुराना स्वार्थी धारणाहरू हटाउने, आदि इत्यादि कुराहरू हुन्। तिनीहरूले वास्तवमा परमेश्‍वरले मानिसको लागि तय गर्नुभएका मापदण्डहरू बुझ्छन्, तर तिनीहरू यसलाई व्यवहारमा अपनाउन इच्छुक हुँदैनन्। परमेश्‍वरले अरू के गर्न सक्‍नुहुन्छ र? अनि उहाँले अरू कस्तो प्रकारले तिनीहरूलाई प्रभावित गर्न सक्‍नुहुन्छ र? परमेश्‍वरको नजरमा विद्रोह गर्ने छोराहरूले अझै पनि कसरी उहाँका वचनहरू लिने र तिनको कदर गर्ने साहस गर्न सक्छ र? तिनीहरूसँग परमेश्‍वरको भोजन खाने साहस कसरी हुन्छ र? मानिसहरूको विवेक कहाँ छ र? तिनीहरूले पूरा गर्नुपर्ने न्यूनतम कर्तव्यहरू पनि पूरा गरेका छैनन्, तिनीहरूले सक्दो कोसिस गर्ने त कुरै नगरौँ। तिनीहरू पूरा नहुने कल्पनामा जिइरहेका छन्, होइन र? अभ्यासविना वास्तविकताको कुरा गर्न सकिँदैन। यो तथ्य सङ्लो पानीझैँ छर्लङ्ग छ!

तिमीहरूले अझ बढी वास्तविक पाठहरू सिक्‍नुपर्छ। मानिसहरूले आदरभावले हेर्ने त्यो ठूलो, खोक्रो गफ आवश्यक छैन। जब ज्ञानको चर्चा गर्ने कुरा आउँछ, प्रत्येक व्यक्तिको कुरा पहिलेको भन्दा उच्‍च हुन्छ, तर उनीहरूसँग अझै पनि अभ्यास गर्ने कुनै मार्ग हुँदैन। कति मानिसले अभ्यासका सिद्धान्तहरूलाई बुझेका छन्? कति जनाले वास्तविक पाठहरू सिकेका छन्? कसले वास्तविकताको बारेमा सङ्गति गर्न सक्छ? परमेश्‍वरका वचनहरूको ज्ञानको बारेमा बोल्न सक्‍नु भनेको तँमा वास्तविक कद छ भन्‍ने होइन; यसले तँ तीक्ष्ण बुद्धिसहित जन्मिस् र तँ प्रतिभाशाली छस् भन्‍ने मात्र देखाउँछ। यदि तैँले मार्ग देखाउन सक्दैनस् भने परिणाम केही पनि हुनेछैन, र तँ काम नलाग्‍ने कसिङ्गर नै हुनेछस्! यदि तँ अभ्यास गर्ने वास्तविक मार्गको बारेमा केही भन्‍न सक्दैनस् भने के तैँले बहाना बनाइरहेको छैनस् र? यदि तँ अरूलाई आफ्नो वास्तविक अनुभवहरू प्रदान गर्न सक्दैनस्, र त्यसरी तिनीहरूले सिक्‍न वा पछ्याउन सक्‍ने मार्ग दिन सक्दैनस् भने के तैँले जाल गरिरहेको हुँदैनस् र? के तँ एक कपटी होइनस् र? तेरो के महत्त्व छ? त्यस्तो व्यक्तिले “समाजवादको सिद्धान्त आविष्कार गर्ने व्यक्ति” को भूमिका मात्र खेल्न सक्छ, “समाजवाद ल्याउन योगदान दिने व्यक्ति” को भूमिका खेल्न सक्दैन। वास्तविकताविहीन हुनु भनेको सत्यताविहीन हुनु हो, निकम्मा हुनु हो, जिउँदो लास अनि कुनै सन्दर्भ मूल्य नभएको “मार्क्सवादी-लेनिनवादी विचारक” हुनु हो। म तिमीहरू सबैलाई सिद्धान्तको बारेमा बोल्‍न छोड र कुनै वास्तविक, सच्‍चा र सारगत कुराको बारेमा कुरा गर भन्‍ने आग्रह गर्छु; केही “आधुनिक कला” को अध्ययन गर्, केही वास्तविक कुरा भन्, केही वास्तविक योगदान दे, र केही समर्पणको भावना राख्। तँ बोल्दा वास्तविकताको सामना गर्; मानिसहरूलाई खुसी बनाउन वा बसेर तँलाई ध्यान दिने बनाउनका लागि अवास्तविक र अतिरञ्‍जित कुरामा लिप्त नबन्। त्यसमा मूल्य कहाँ हुन्छ? मानिसहरूलाई तँसँग न्यानो व्यवहार गर्न लगाउनुको के अर्थ छ? आफ्नो बोलीमा थोरै “कलात्मक” बन्, आफ्नो आचरणमा केही बढी निष्पक्ष बन्, परिस्थिति सम्हाल्ने आफ्नो शैलीमा अलि विवेकी बन्, आफूले भन्‍ने कुरामा अलि व्यावहारिक बन्, आफ्नो हरेक कार्यद्वारा परमेश्‍वरको घरमा फाइदा पुर्‍याउने बारेमा सोच्, आफू भावनात्मक हुँदा आफ्नो अन्तस्करणको आवाज सुन्, दयाको ऋण घृणाले नतिर् वा दया गर्दा अकृतज्ञ नबन्, र पाखण्डी नबन्, नत्र तँ खराब प्रभाव बन्छस्। तैँले परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा तिनलाई अझ बढी वास्तविकतासँग जोड्, र तैँले सङ्गति गर्दा, वास्तविकताको बारेमा अझ बढी कुरा गर्। आफूलाई उच्‍च नठान्; यसले परमेश्‍वरलाई सन्तुष्ट पार्दैन। अरूसँगको बातचितमा तँ अलि सहनशील बन्, अलि नरम बन्, अलि उदार बन् र “प्रधानमन्त्रीको स्वभाव”[क] बाट सिक्। जब तँसँग नराम्रा विचारहरू हुन्छन्, तब देहलाई परित्याग गर्ने अझै बढी अभ्यास गर्। जब तँ काम गरिरहेको हुन्छस्, तब वास्तविक मार्गहरूको बारेमा अझै बढी कुरा गर्, र अत्यन्तै उच्‍च कुरा नगर्, अन्यथा तैँले भनेका कुराहरू मानिसहरूका लागि प्राप्त गर्नै नसकिने हुनेछन्। रमाइलो थोरै, योगदान धेरै गर्—तेरो समर्पणको निःस्वार्थ भाव देखा। परमेश्‍वरका अभिप्रायहरूप्रति अझै बढी विचारशील बन्, तेरो अन्तस्करणको आवाज अझै बढी सुन्, अझ बढी विचारशील बन्, र परमेश्‍वर कसरी तिमीहरूसित हरेक दिन धैर्यता र लगनशीलताका साथ बोल्नुहुन्छ भन्‍ने कुरालाई नबिर्सी। “पुरानो पञ्‍चाङ्ग” घरीघरी पढ्। धेरै प्रार्थना गर् र बारम्बार सङगति गर्। यस्तो अस्तव्यस्त हुन छोड्; केही समझ देखा र केही अन्तर्दृष्टि प्राप्त गर्। जब तेरो पापी हात पसारिन्छ, त्यसलाई पछाडि तान्; त्यत्ति धेरै परसम्म पुग्‍न नदे। त्यो कुनै कामको हुँदैन, र तैँले परमेश्‍वरबाट जे पाउँछस् त्यो श्रापबाहेक अरू केही हुनेछैन, त्यसैले होसियार बन्। तेरो हृदयलाई अरूमाथि दया गर्न दे, र सधैँ हातमा हतियार लिएर प्रहार नगर्। अरूलाई सहयोग गर्ने सोच लिएर, सत्यको ज्ञानको बारेमा धेरै सङ्गति गर् र जीवनको बारेमा धेरै कुरा गर्। धेरै गर् र थोरै बोल्। अभ्यास धेरै गर् र अनुसन्धान र विश्‍लेषण थोरै गर्। आफैलाई पवित्र आत्माद्वारा धेरै उत्प्रेरित हुन दे, र तँलाई सिद्ध बनाउन परमेश्‍वरलाई धेरै मौका दे। मानव तत्त्वहरूलाई अझ धेरै हटा; तँमा काम गर्ने मानवका तरिकाहरू अझै पनि धेरै छन्, र काम गर्ने तेरो सतही तरिका र व्यवहार अझै पनि अरूका निम्ति घृणित छ: यीमध्ये धेरै कुराहरूलाई हटा। तेरो मनोवैज्ञानिक स्थिति अझै पनि अति घृणास्पद छ; त्यसलाई सुधार गर्न अझै बढी समय खर्च गर्। तँ अझै पनि मानिसहरूलाई धेरै मान दिन्छस्; परमेश्‍वरलाई अझ बढी मान दे, र त्यत्ति धेरै विवेकहीन नबन्। “मन्दिर” सधैँ परमेश्‍वरको हुन्छ, र तिनलाई मानिसहरूले कब्जा गर्नु हुँदैन। संक्षेपमा, धार्मिकतामा धेरै र भावनाहरूमा कम ध्यान दे। देहलाई हटाउनु सर्वोत्तम हुन्छ। वास्तविकताको बारेमा धेरै र ज्ञानको बारेमा थोरै कुरा गर्; सबैभन्दा उत्तम भनेको चुप लाग्‍नु र केही नभन्‍नु नै हो। अभ्यासको मार्गको बारेमा धेरै कुरा गर्, र मूल्यहीन घमण्डका कुराहरू कम गर्। अहिले नै अभ्यास गर्न सुरु गर्नु सर्वोत्तम हुन्छ।

परमेश्‍वरले मानिसहरूको लागि तय गर्नुभएका मापदण्डहरू त्यति धेरै उच्‍च छैनन्। मानिसहरूले लगनशील र इमानदार भई अभ्यास गरे भने, “उत्तीर्णाङ्क” प्राप्त गर्नेछन्। साँचो कुरा भन्‍ने हो भने, सत्यताको बुझाइ, ज्ञान र बोध प्राप्त गर्नु सत्यता अभ्यास गर्नुभन्दा धेरै जटिल छ। पहिला, तैँले आफूले जति बुझ्छस् त्यति अभ्यास गर् अनि तैँले जे बोध गरेको छस् त्यो अभ्यास गर्। यस तरिकाले, तैँले सत्यताको साँचो ज्ञान र बोध क्रमिक रूपमा हासिल गर्दै जानेछस्। पवित्र आत्माले यिनै चरण र माध्यममार्फत काम गर्नुहुन्छ। यदि यस तरिकाले आज्ञाकारिताको अभ्यास गरिनस् भने, तैँले केही पनि हासिल गर्नैछैनस्। यदि तँ सधैँ आफ्नै इच्छाअनुसार काम गर्छस् र आज्ञाकारिता अभ्यास गर्दैनस् भने, के पवित्र आत्माले तँभित्र काम गर्नुहुनेछ? के पवित्र आत्माले तैँले चाहेअनुसार काम गर्नुहुन्छ? कि उहाँले तँसित जे कमी छ त्योअनुसार र परमेश्‍वरका वचनहरूको अधारमा काम गर्नुहुन्छ? यदि तँलाई यो कुरा स्पष्ट छैन भने, तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछैनस्। किन धेरैजसो मानिसहरू परमेश्‍वरका वचनहरू पढ्नमा लागिपर्छन्, तर तिनीहरूले केवल ज्ञान मात्र प्राप्त गर्छन् र त्यसपछि वास्तविक मार्गको बारेमा केही पनि भन्‍न सक्दैनन्? के तँलाई ज्ञान धारण गर्नु नै सत्य धारण गर्नु हो भन्‍ने लाग्छ? के त्यो एक भ्रमित दृष्टिकोण होइन र? तैँले समुद्र किनारमा जत्ति धेरै बालुवाका कण छन्, त्यति नै धेरै ज्ञानका टुक्राहरूको कुरा बोल्न सक्छस् होला, तर तीमध्ये कुनैमा पनि वास्तविक मार्ग हुँदैन। के तैँले यसो गरेर मानिसहरूलाई मूर्ख बनाउने कोसिस गरिरहेको छैनस् र? के तैँले समर्थन गर्ने कुनै सार नभएको खोक्रो तमासा प्रदर्शन गरिरहेको छैनस् र? यस्ता सबै व्यवहार मानिसहरूका लागि हानिकारक हुन्छन्! सिद्धान्त जति उच्‍च हुन्छ र त्यो जति धेरै वास्तविकतारहित हुन्छ, त्यति नै धेरै यो मानिसहरूलाई वास्तविकताभित्र लैजान असक्षम हुन्छ। सिद्धान्त जति उच्‍च हुन्छ, त्यति नै बढी त्यसले तँलाई परमेश्‍वरलाई चुनौती दिने र विरोध गर्ने बनाउँछ। आध्यात्मिक सिद्धान्तलाई शीरमा नचढाओ—यसको केही फाइदा छैन! कतिपय मानिसले दशकौँदेखि आध्यात्मिक सिद्धान्तबारे कुरा गरिरहेका छन्, र तिनीहरू अध्यात्मवादका दिग्गज भएका छन्, तर आखिरमा तिनीहरू पनि सत्यता वास्तविकतामा प्रवेश गर्न असफल हुन्छन्। किनभने तिनीहरूले परमेश्‍वरका वचनहरू अभ्यास वा अनुभव गरेका छैनन्, तिनीहरूसित अभ्यासका सिद्धान्त वा मार्ग छैनन्। यस्ता मानिसहरूसित सत्यता वास्तविकता हुँदैन, अनि कसरी तिनीहरूले अरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको सही मार्गमा ल्याउन सक्छन्? तिनीहरूले मानिसहरूलाई बहकाउन मात्र सक्छन्। के यो अरूलाई र आफैलाई हानि गर्नु होइन र? कम्तीमा पनि, तँ आफ्नो ठीक अगाडि भएका वास्तविक समस्या समाधन गर्न सक्षम हुनैपर्छ। भन्‍नुको अर्थ, तँ परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गर्न अनि सत्यतालाई व्यवहारमा उतार्न सक्षम हुनैपर्छ। यो मात्र परमेश्‍वरप्रतिको आज्ञाकारिता हो। तैँले जीवन प्रवेश प्राप्त गरेको छस् भने मात्र, परमेश्‍वरको लागि काम गर्न योग्य हुन्छस् र तँ इमानदारीसाथ परमेश्‍वरमा समर्पित हुँदा मात्र, तैँले परमेश्‍वरबाट अनुमोदन पाउन सक्छस्। सधैँभरि भव्य अभिव्यक्तिहरू नदे र ठूलो सिद्धान्तको कुरा नगर्; यो वास्तविक होइन। तैँले मानिसहरूलाई तेरो प्रशंसा गर्न लगाउनका लागि आध्यात्मिक सिद्धान्तबारे आडम्बरी कुरा गर्नु भनेको परमेश्‍वरको गवाही दिनु होइन, त्यो त आफ्नै प्रदर्शन गर्नु मात्र हो। यसले मानिसहरूलाई फिटिक्‍कै फाइदा पुर्‍याउँदैन र तिनीहरूमा कुनै सुधार ल्याउँदैन, अनि यसले तिनीहरूलाई सजिलैसित आध्यात्मिक सिद्धान्तको आराधना गर्ने र सत्यता अभ्यास गर्नमा ध्यान नदिने बनाउँछ—अनि के यो मानिसहरूलाई बहकाइरहेको कुरा होइन र? यसो गरिरहँदा, अनेकौँ खोक्रो सिद्धान्त र नियमहरू जन्मनेछन्, जसले मानिसहरूलाई विवश र फन्दामा पार्नेछन्; यो साँच्‍चै नै लज्‍जास्पद कुरा हो। त्यसैले, जे वास्तविक छ त्यो धेरै बोल्, साँच्‍चै अस्तित्वमा रहेका समस्याहरूबारे धेरै कुरा गर् र वास्तविक समस्याहरू समाधान गर्नलाई सत्यता खोज्न धेरै समय बिता; सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो। सत्यता अभ्यास गर्न सिक्‍नका लागि ढिलो नगर्: वास्तविकतामा प्रवेश गर्ने मार्ग यही हो। अरूको अनुभव र ज्ञानलाई आफ्नो निजी सम्पत्ति नठान् र अरूको प्रशंसा पाउन तिनलाई उचालेर नदेखा। तैँले तेरो आफ्नै जीवन प्रवेश प्राप्त गर्नुपर्छ। तैँले सत्यता अभ्यास गरेर र परमेश्‍वरको आज्ञापालन गरेर मात्र जीवन प्रवेश प्राप्त गर्नेछस्। यो नै हरेक व्यक्तिले अभ्यास र ध्यान केन्द्रित गर्नुपर्ने कुरा हुनुपर्छ।

तैँले जे सङ्गति गर्छस् त्यसले यदि मानिसहरूलाई हिँड्ने मार्ग दिन सक्छ भने, त्यो तँसित वास्तविकता भएको जस्तै अवस्था हो। जुनसुकै कुरा गरे पनि तैँले मानिसहरूलाई अभ्यासमा ल्याउनुपर्छ र उनीहरूले पछ्याउन सक्‍ने मार्ग दिनुपर्छ। उनीहरूलाई ज्ञान मात्र लिन नदे; त्योभन्दा महत्त्वपूर्ण कुरा भनेको हिँड्ने मार्ग प्राप्त गर्नु हो। परमेश्‍वरमा विश्‍वास गर्नका लागि, मानिसहरूले परमेश्‍वरको काममा उहाँले डोऱ्याउनुभएको मार्गमा हिँड्नुपर्छ। भन्‍नुको अर्थ, परमेश्‍वरमा विश्‍वास गर्ने प्रक्रिया भनेको पवित्र आत्माले डोऱ्याउनुहुने मार्गमा हिँड्ने प्रक्रिया हो। त्यसरी नै, चाहे जे भए पनि तँसँग आफूले हिँड्न सक्‍ने एउटा मार्ग हुनुपर्छ, र तैँले परमेश्‍वरद्वारा सिद्ध पारिइने मार्गमा पाइला टेक्‍नुपर्छ। धेरै पछाडि नपर्, र आफैलाई धेरै कुराहरूको चिन्तामा नपार्। परमेश्‍वरले डोऱ्याउनुभएको बाटोमा अवरोध खडा नगरी हिँडिस् भने मात्र तैँले पवित्र आत्माको काम प्राप्त गर्न सक्‍नेछस् र प्रवेश गर्ने मार्ग पाउनेछस्। यसलाई मात्र परमेश्‍वरका अभिप्रायहरूको अनुरूप बनेको र मानवजातिको कर्तव्य पूरा गरेको मानिन्छ। यस प्रवाहमा रहेको एक व्यक्तिको रूपमा, प्रत्येक व्यक्तिले आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ, मानिसहरूले जे गर्नुपर्ने हो त्यो काम अझै धेरै गर्नुपर्छ, र स्वेच्छाचारी व्यवहार गर्नु हुँदैन। काम गरिरहेका मानिसहरूले आफ्ना वचनहरू स्पष्ट पार्नैपर्छ, पछ्याउने मानिसहरूले कठिनाइ सहन र आज्ञापालन गर्नमा धेरै ध्यान केन्द्रित गर्नुपर्छ, र सबै जना आफ्नो स्थानमै रहिरहनुपर्छ, कोही पनि पङ्‌क्तिबाट बाहिर निस्कनु हुँदैन। अभ्यास कसरी गर्नुपर्छ र आफूले कुन कार्य पूरा गर्नुपर्छ भन्‍ने विषयमा प्रत्येक व्यक्ति हृदयदेखि नै स्पष्ट हुनुपर्छ। पवित्र आत्माले डोऱ्याउनुभएको बाटोमा हिँड्; गलत बाटोमा नजा वा नभड्की। तैँले आजको कामलाई स्पष्ट रूपमा देख्‍नुपर्छ। आजको कामका साधनहरूमा प्रवेश गर्नु नै तिमीहरूले अभ्यास गर्नुपर्ने कुरा हो। तँ प्रवेश गर्नुपर्ने पहिलो कुरा यही नै हो। अन्य कुराहरूमा थप वचनहरू खेर नफाल्। परमेश्‍वरको घरको आजको काम गर्नु नै तिमीहरूको जिम्मेवारी हो, आजको कामको तौरतरिकामा प्रवेश गर्नु नै तिमीहरूको कर्तव्य हो, र आजको सत्यता अभ्यास गर्नु नै तिमीहरूले वहन गर्नुपर्ने बोझ हो।

फूटनोट:

क. प्रधानमन्त्रीको स्वभाव: फराकिलो मन र उदारता भएको व्यक्तिलाई वर्णन गर्न प्रयोग गरिने एउटा ठेट चिनियाँ भनाइ।

अघिल्लो: परमेश्‍वरसँग तेरो सम्बन्ध कस्तो छ?

अर्को: आज्ञा पालन र सत्यता अभ्यास गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्