विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नका लागि मात्र आफ्ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग छ)
२. ख्रीष्टविरोधीहरूका हितहरू
पछिल्लोपटक हामीले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको विषयवस्तु नौँबारे सङ्गति गर्यौँ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्नै चासो र महत्त्वाकाङ्क्षाहरू पूरा गर्नको लागि आफ्नो कर्तव्य निर्वाह गर्छन्; तिनीहरूले परमेश्वरको घरका चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र तिनलाई व्यक्तिगत महिमासँग साट्छन्। त्यसपछि हामीले ख्रीष्टविरोधीहरूका हितहरूलाई धेरै भागमा विभाजित गर्यौँ। पहिलो तिनीहरूको आफ्नै सुरक्षा हो, दोस्रो तिनीहरूको आफ्नै प्रतिष्ठा र हैसियत हो, र तेस्रो फाइदाहरू हो। अनि, यी फाइदाहरूमा के-के पर्छन्? (पहिलो परमेश्वरको घरका सम्पत्तिहरू हिनामिना गर्नु हो, दोस्रो दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको सेवामा परिश्रम गराएर शोषण गर्नु हो, र तेस्रो परमेश्वरमा विश्वास गरेको बहानामा ठगी गर्दै खानेकुरा, पेयपदार्थ, र अरू इच्छित कुराहरू प्राप्त गर्न आफ्नो पद प्रयोग गर्नु हो।) यी “अरू कुराहरू” मा विशेष व्यवहार प्राप्त गर्ने, आफ्नो व्यक्तिगत कामकाज सम्हालिदिने, आदि इत्यादि कुराहरू पर्छन्, होइन र? (हो।) यसरी मुख्य विषयहरूलाई सङ्गति गर्नको लागि उप-विषयहरूमा र उपविषयहरूलाई विभिन्न पक्षहरूमा विभाजन गर्ने अनि त्यसपछि सङ्गति गर्ने गर्दा, के तिमीहरूलाई अन्योल हुन्छ? (अहँ, हुँदैन।) वास्तवमा, यसरी जति धेरै सङ्गति गरिन्छ, कुराहरू त्यति नै धेरै स्पष्ट बन्छन्। हामीले ख्रीष्टविरोधीहरूका हितहरूका तीन विषयहरूबारे सङ्गति गरेका छौं, तर अर्को एउटा विषय पनि छ, जुन सबैभन्दा महत्त्वपूर्ण छ, र त्यो हो, ख्रीष्टविरोधीहरूका हितहरूको चौथो भाग—तिनीहरूको सम्भाव्यता र नियति। परमेश्वरमाथिको विश्वासमा ख्रीष्टविरोधीहरूले बोकिहिँड्ने मुख्य उद्देश्य सम्भवतः सम्भाव्यता र नियति नै हुन्। तिनीहरूले आफ्नो हृदयमा राख्ने सबैभन्दा ठूला सपनाहरू, र तिनीहरूले हृदयको गहिराइमा पछ्याउने सबैभन्दा उच्च कुराहरू पनि तिनै हुन्। तिमीहरू सम्भाव्यता र नियतिको विषयप्रति सम्भवतः परिचित नै हुनुपर्छ। यो कुरा मानिसहरूको अन्ततः कहाँ पुग्छन्, मानिसहरू कहाँ जान्छन्, वा मानिसहरू भविष्य वा अर्को युगमा कहाँ जाँदै छन् भन्ने कुरासँग सम्बन्धित छ—छोटकरीमा भन्दा, यो तिनीहरूको भावी गन्तव्यसँग सम्बन्धित छ। के यो परमेश्वरको हरेक विश्वासीको हृदयमा रहने सबैभन्दा ठूलो र महत्त्वपूर्ण कुरा होइन र? (हो।) परमेश्वरमा विश्वास गर्ने सबैको लागि भावी आशा र नियति अत्यन्तै महत्त्वपूर्ण हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको लागि, तिनीहरूका हितहरूको सबैभन्दा मुख्य भाग तिनीहरूको सम्भाव्यता र नियति, अर्थात् तिनीहरूको गन्तव्य नै हुनुपर्छ भन्ने कुरा स्वभाविकै हो।
घ. तिनीहरूको सम्भाव्यता र नियति
अब हामी ख्रीष्टविरोधीहरूका हितहरूमा पर्ने सम्भाव्यता र नियतिबारे पनि विभिन्न कोण र पक्षहरूबाट सङ्गति गरौँ ताकि यी कुराहरू तुलनात्मक रूपमा स्पष्ट होऊन्। हामीले यसभन्दा पहिले सङ्गति गरेका ख्रीष्टविरोधीहरूका विभिन्न हितहरूमा भौतिक र अभौतिक दुवै किसिमका हितहरू छन्। उदाहरणको लागि, व्यक्तिका आफ्नै सुरक्षा, प्रतिष्ठा, र हैसियत सबै अभौतिक हितहरू हुन्; ती तिनीहरूको आत्मिक संसारका अस्पृश्य कुराहरू मात्रै हुन्। जबकि भौतिक हितहरूमा सम्पत्ति, खानपान, साथै विशेष व्यवहार, भौतिक सुख, आदि इत्यादि कुराहरू छन्। त्यसोभए, आजको सङ्गतिका सम्भाव्यता र नियति केसँग सम्बन्धित छन् त? यदि हामीले तिनलाई मानव धारणाहरूको दृष्टिकोणबाट हेर्यौँ भने, के यी कुराहरू स्पृश्य हुन् कि अस्पृश्य? (ती अस्पृश्य कुराहरू हुन्।) त्यसकारण, ती कुराहरू मानिसहरूको आत्मिक संसारमा, तिनीहरूका धारणा र कल्पनाहरूमा, र तिनीहरूको मनमस्तिष्कमा रहेका कुराहरू नै हुनुपर्छ। मानिसहरूको लागि, यी कुराहरू एक प्रकारका आशा र भरणपोषण हुन्, र मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभर पछ्याउने कुराहरू यिनै हुन्। यी कुराहरू मानिसहरूको लागि अदृश्य र अस्पृश्य भए पनि, यी कुराले मानिसहरूको हृदयमा प्रमुख स्थान ओगट्छन्, मानिसहरूको सम्पूर्ण जीवनमा प्रभुत्व जमाउँछन्, र तिनीहरूका विचार र व्यवहार, अभिप्राय, र पछ्याइको दिशा नियन्त्रित गर्छन्। त्यसकारण, सबैको लागि सम्भाव्यता र नियति अत्यन्तै महत्त्वपूर्ण हुन्छन्! तर भावी आशा र नियति महत्त्वपूर्ण भए पनि, ख्रीष्टविरोधीहरूले तिनलाई सामान्य र साधारण मानिसहरूको भन्दा पूर्ण रूपमा फरक तरिकाले पछ्याउँछन्। वास्तवमा त्यो भिन्नता के हो? कुन-कुन पक्षले त्यो भिन्नता देखाउँछन्, र त्यो भिन्नता नै ख्रीष्टविरोधीको पछ्याइको विधि, र ख्रीष्टविरोधीको विशेषता हो भनेर मानिसहरूलाई स्पष्ट रूपमा हेर्न र चिन्न सक्षम तुल्याउँछन्? के यो कुरा छलफल र सङ्गति गर्न लायक छैन र? अवश्य नै, धेरै मानिसहरूको प्रकटीकरण धेरै तरिकाले साँचो ख्रीष्टविरोधीहरूको जस्तै र ख्रीष्टविरोधी सार हुनेहरूको जस्तै हुन्छ। तर तिनीहरूको प्रकटीकरण र स्वभाव उस्तै हुँदा पनि, तिनीहरूको सारचाहिँ फरक हुन्छ। अब हामी ख्रीष्टविरोधीहरूका हितहरूको चौथो भाग, अर्थात् तिनीहरूको सम्भाव्यता र नियतिबारे विभिन्न पक्षहरूबाट सङ्गति गरौँ।
हामीले सम्भाव्यता र नियतिलाई कसरी चिरफार गर्न सक्छौं? ख्रीष्टविरोधीहरूका हितहरूभित्र पर्ने सम्भाव्यता र नियति सत्यता अनुरूप हुँदैनन्, र ती ख्रीष्टविरोधीहरूको सारका प्रकटीकरणहरू हुन् भनेर चिरफार गर्न हामीले कस्तो विधि र कुन-कुन उदाहरणहरू प्रयोग गर्न सक्छौं? तिनलाई कुन-कुन पक्षहरूबाट चिरफार गर्न सकिन्छ? यसको लागि होसियारीसाथ अनुसन्धान गर्नुपर्ने हुन्छ। अब हामी मानिसहरूले ख्रीष्टविरोधीहरूको सारलाई अझै सटीक र स्पष्ट रूपमा बुझ्न सकून् भनेर यसलाई धेरै वटा विस्तृत वर्गहरूमा बाँडौं। पहिलो, ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई कसरी लिन्छन्; दोस्रो, ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यलाई कसरी लिन्छन्; तेस्रो, ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन्; चौथो, ख्रीष्टविरोधीहरूले “सेवाकर्ता” भन्ने पदनामलाई कसरी लिन्छन्; र पाँचौं ख्रीष्टविरोधीहरूले मण्डलीमा रहेको आफ्नो हैसियतलाई कसरी लिन्छन्। किन यी पाँच वर्ग? पत्ता लाउने प्रयास गर त। के तिमीहरूले यी प्रत्येकबारे अलिअलि बुझाइ प्राप्त गर्न सक्छौ? के तिमीहरूले ख्रीष्टविरोधीहरूसँग सम्बन्धित केही प्रकटीकरण वा स्वभावहरू भेट्टाउन सक्छौ? यी पाँच वर्गको जगमा रहेर के कुरा चिरफार गरिनुपर्छ? यी वर्गहरूको सन्दर्भमा, ख्रीष्टविरोधीहरूका मुख्य विशेषताहरू र तिनीहरूले देखाउने प्राथमिक स्वभावहरू के-के हुन्, र सत्यतालाई सामान्य रूपमा पछ्याउने र साधारण भ्रष्ट मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट मानिसहरूबीचका भिन्नताहरू के-के हुन्? यी भिन्नताहरू केमा हुन्छन्? तिनीहरूले छनौट गरेका मार्गहरूबीचको भिन्नता के हो? तिनीहरूको प्रकटीकरणमा हुने भिन्नता के हो? के तिमीहरूले यी वर्गहरूबारे केही बुझेका छौ? (यी पाँच वर्गको कुरा गर्नुपर्दा, ख्रीष्टविरोधीहरूले मुख्य रूपमा परमेश्वरका वचनहरूको सत्यताको आधारमा विभिन्न कुरालाई हेर्ने गर्दैनन्। तिनीहरूले सधैँ निश्चित कुराहरूको सतही रूप वा आफ्नै परिस्थिति प्रयोग गरी आफ्नै धारणा र कल्पनाहरूको आधारमा परमेश्वरका अभिप्रायहरूबारे अनुमान लाउँछन्, र आफ्नो लागि कुनै सम्भाव्यता र नियति हुन्छ कि हुँदैन भनेर हेर्छन्। उदाहरणको लागि, जब तिनीहरूको कर्तव्यको कुरा आउँछ, तब यदि तिनीहरू चर्चित स्थानमा पुग्न र आफ्नो इच्छा, अभिमान, र आत्मगौरव सन्तुष्ट पार्न सक्छन् भने, तिनीहरूलाई तिनीहरू परमेश्वरको घरका लागि उपयोगी मानिसहरू हुन्, र तिनीहरूसँग भावी आशा र नियति छ भन्ने लाग्छ। तर तिनीहरूलाई काटछाँट गरिनेबित्तिकै, तिनीहरूलाई परमेश्वर तिनीहरूप्रति अप्रसन्न हुनुहुन्छ, परमेश्वर तिनीहरूप्रति असन्तुष्ट हुनुहुन्छ भन्ने लाग्छ, र तिनीहरू परमेश्वरमाथिको आफ्नो विश्वासबारे निरूत्साहित र हतोत्साहित हुन्छन्, र तिनीहरूमा नकारात्मकता र विरोध पैदा हुन्छ।) यो सारांशले केही प्रकाश प्रदान गर्छ र यो मामलाको सत्यताबारे केही व्याख्या गर्छ। तिमीहरूले भनेको कुराको समग्र अर्थबाट हेर्दा, तिमीहरूले सम्भवतः यी पाँच वर्गबारे आधारभूत बुझाइ प्राप्त गरेका छौ। यसपछि, हामी यी वर्गहरूबारे एकएक गरी सङ्गति गर्नेछौं।
१. ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई कसरी लिन्छन्
पहिलो वर्ग ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई कसरी लिन्छन् भन्ने हो। ख्रीष्टविरोधीहरू पनि परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने मानिसहरू हुन्; तिनीहरूसँग पनि परमेश्वरका वचनहरू हुन्छ, तिनीहरूले पनि प्रवचनहरू सुन्छन्, भेलाहरूमा सहभागिता जनाउँछन्, र तिनीहरूको पनि आत्मिक जीवन सामान्य हुन्छ। ख्रीष्टविरोधीहरूको लागि, परमेश्वरका वचनहरू पढ्नु पनि तिनीहरूको जीवनको एक भाग हो, र तिनीहरूले नियमित रूपमै यो काम गर्छन्। तर दुवैले परमेश्वरका वचनहरू पढे पनि, ख्रीष्टविरोधीहरू सत्यता पछ्याउनेहरूभन्दा फरक हुन्छन्; परमेश्वरका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति पूर्ण रूपमा फरक हुन्छ। त्यसोभए, ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई कसरी लिन्छन् त? पहिलो कुरा त, तिनीहरूले परमेश्वरका वचनहरूबारे अनुसन्धान र चिरफार गर्छन्, र यसलाई अनौठो परिप्रेक्ष्य र दृष्टिकोणबाट अध्ययन गर्छन्। मैले यसलाई किन “अध्ययन” भनेँ? वस्तुगत परिस्थितिको आधारमा, ख्रीष्टविरोधीहरूले यी परमेश्वरका वचनहरू हुन् भनेर स्विकार्नुपर्ने हुन्छ, र तिनीहरूलाई मनमा परमेश्वरका वचनहरू यति उच्च छन् कि साधारण मानिसहरूले यी वचनहरू व्यक्त गर्न सक्दैनन् र यी वचनहरू अरू कहीँ पाउन सकिँदैन भन्ने पनि लाग्छ। यही आधारमा, यी परमेश्वरका वचनहरू हुन् भनेर स्विकार्ने बाहेक तिनीहरूसँग अरू कुनै विकल्प हुँदैन, तर के तिनीहरूले परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा स्विकार्छन् त? स्विकार्दैनन्। त्यसोभए यति हुँदाहुँदै पनि ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू किन पढ्छन् त? किनभने, परमेश्वरका वचनहरूमा, तिनीहरूलाई चाहिने कुराहरू, तिनीहरूले जान्न चाहेका कुराहरू, र तिनीहरूलाई आत्मिक संसारमा साथ दिने कुराहरू हुन्छन्। यी कुराहरू के-के हुन्? अवश्य नै, यी कुराहरू ख्रीष्टविरोधीहरूका सम्भाव्यता र नियतिसँग नजिकबाट सम्बन्धित हुन्छन्। जब ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू अध्ययन गर्छन्, तब तिनीहरूले निरन्तर गन्तव्य, परिणाम, भविष्यमा मानिसहरू कहाँ पुग्नेछन्, आदि इत्यादिसँग सम्बन्धित वचनहरू खोजिरहेका हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको परमेश्वरका वचनहरू पढ्ने कार्यलाई “अध्ययन” भनिन्छ, र तिनीहरूले परमेश्वरका वचनहरू पढ्ने क्रममा तीबारे अनुसन्धान, विश्लेषण, र मूल्याङ्कन गरिरहेका हुन्छन्। तिनीहरूले पढ्ने क्रममा उहाँका वचनहरूबारे अनुसन्धान गर्छन्: “परमेश्वरको भाव हेर्दा त, उहाँले यस्ता मानिसहरूलाई मन पराउनुहुन्न जस्तो देखिन्छ। मलाई किन म तिनीहरूमध्ये एक हुँ जस्तो लाग्छ? मैले यी मानिसहरूलाई परमेश्वरले कुन गन्तव्य दिनुहुन्छ भनेर पत्ता लगाउनुपर्छ।” परमेश्वरले त्यस्ता मानिसहरूलाई अतल कुण्डमा फ्याँक्नेबारे बोल्नुभएको तिनीहरूले देख्छन्, तब मनमनै सोच्छन्, “यो राम्रो होइन। अतल कुण्डमा फ्याँकिनु त खतम हुनु हो, होइन र? यस्ता मानिसहरूको कुनै सम्भाव्यता हुँदैन र तिनीहरूको गन्तव्य राम्रो हुँदैन, त्यसकारण मैले के गर्नुपर्छ?” तिनीहरूले हृदयमा खिन्न लाग्दो पीडा, अप्ठ्यारो, र असहजता अनुभव गर्छन्। “के परमेश्वरले साँच्चै यस्ता मानिसहरूलाई यसरी व्यवहार गर्नुहुन्छ? अहँ, मैले हरेस खानु हुँदैन।” यसपछि, तिनीहरूले परमेश्वरका वचनहरू खोजी गर्ने कार्यलाई जारी राख्छन्। जब तिनीहरूले “मेरा पुत्रहरू हो, म तिमीहरूका लागि यो र त्यो गर्नेछु, र तिमीहरूको जीवनमा यो र त्यो हुनेछ” भन्ने परमेश्वरका वचनहरू देख्छन्, तब तिनीहरूलाई नराम्रो लाग्न छोड्छ। “परमेश्वरका वचनहरूले मेरो हृदय न्यानो पार्छन्, र ती सुन्दर छन्। म परमेश्वरले भनेका ‘पुत्रहरू’ मध्ये एक हुँ।” त्यसपछि, तिनीहरूले परमेश्वरका वचनहरूमा “ज्येष्ठ पुत्रहरू” र “राजाहरूको रूपमा शासन गर्नु” भनेर उल्लेख गरिएको देख्दा यस्तो सोच्छन्, “एकदम राम्रो! परमेश्वरमा विश्वास गर्नुका फाइदाहरू र आशाजनक भविष्य छ। मैले सही मार्ग रोजेको छु। मैले सही कुरा चुनेको छु। मैले आफ्नो विश्वासमा लगनसाथ परमेश्वरको वस्त्र पक्रिरहनुपर्छ। मैले अन्तिम क्षणमा पनि हरेस खानु हुँदैन!” तिनीहरूले पढ्ने क्रममा परमेश्वरका वचनहरूमा “अन्त्यसम्मै पछ्याउनेले अवश्य नै मुक्ति पाउनेछ” भनेर उल्लेख गरिएको देख्छन्। ख्रीष्टविरोधीहरूको लागि, यो कुरा पढ्नु भनेको जीवन डोरी समात्नुजस्तै हो। “म यी वचनहरू अनुसार अभ्यास गर्नेछु। जहिले र जहाँ भए नि, र जेसुकै भए नि, समुद्र सुके नि र चट्टानहरू धूलो बने नि, नीलो समुद्र हरियो भूमि बने नि, यी वचनहरू परिवर्तन हुनेछैनन्। स्वर्ग र पृथ्वी मरेर गए नि, यी वचनहरू मर्नेछैनन्। मैले यी वचनहरू पालन गरेँ भने, के मैले अलस परिणाम, र असल गन्तव्य प्राप्त गर्नेछैनँ र? के मेरो सम्भाव्यता र नियति निश्चित हुनेछैन र? एकदम राम्रो! म अन्त्यसम्मै पछ्याउने व्यक्ति बन्नुपर्छ!” बारम्बार खोजी गरेर, यसरी अनुसन्धान र यसरी विश्लेषण गरेर, तिनीहरूले अन्ततः परमेश्वरका वचनहरूमा जीवन डोरी भेट्टाउँछन् र सबैभन्दा ठूलो “रहस्य” पत्ता लगाउँछन्। तिनीहरू आनन्दले भरिन्छन्, “बल्ल, मैले हटाइनेबारे चिन्ता गर्नुनपर्ने भो, मैले अग्नि र गन्धक कुण्ड जानेबारे चिन्ता गर्नु नपर्ने भो, र मैले नरक जानेबारेमा चिन्ता गर्नुनपर्ने भो। मैले बल्ल मेरो गन्तव्य भेट्टाएको छु, मैले बल्ल स्वर्ग जाने बाटो, मानवजातिको सुन्दर गन्तव्य भेट्टाएको छु—कस्तो गज्जब भो!” तर यो कुरा लामो समयसम्म रहँदैन, र जब तिनीहरूले परमेश्वरका वचनहरूको गन्तव्यको सम्बन्धमा भन्ने अध्याय पढ्छन्, तब तिनीहरूले सोच्छन्: “यी वचनहरूले गन्तव्यहरूबारे के भन्छन्? परमेश्वरले विभिन्न प्रकारका मानिसहरूको गन्तव्यबारे विशिष्टीकृत रूपमा बोल्नुभएको छैन रहेछ। परमेश्वरले वास्तवमा के भनिरहनुभएको छ? मैले के गर्ने? मैले चिन्ता गर्नु हुँदैन, पढिरहनुपर्छ।” त्यसपछि, जब तिनीहरूले परमेश्वरले “आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्” भनेर भन्नुभएको देख्छन्, तब तिनीहरूले यसबारे अझै बढी सोच्छन्। “यदि म राम्रो गन्तव्य प्राप्त गर्न चाहन्छु भने, मैले पर्याप्त मात्रामा असल कार्यहरू तयार गर्नुपर्छ। अहिले परमेश्वरले सर्तहरू तय गर्नुभएको छ, त्यसैले यसले सजिलो बनाउँछ। मैले व्यर्थका प्रयासहरूमा संलग्न भएर व्यर्थमा कडा परिश्रम गरिरहनुपर्दैन—अहिले मलाई आफ्नो प्रयास कहाँ लगाउने भन्ने थाहा भयो।” सङ्गतिमार्फत, ख्रीष्टविरोधीहरूले असल कार्यहरू के हुन् भनेर जान्दछन्, “मार्ग” भेट्टाउँछन्, र समाधान प्राप्त गर्छन्। “यो त अत्यन्तै सरल कुरा रहेछ। दान र भेटी दिनु नै असल कार्यहरू हुन्। सुसमाचार प्रचार गर्नु र अझै धेरै मानिसहरूलाई प्राप्त गर्नु नै असल कार्यहरू हुन्। विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग गर्नु एक असल कार्य हो। आफूले मूल्यवान् ठानेका कुराहरू अरूलाई दिनु एक असल कार्य हो। मेरो गन्तव्यको लागि, म सबै कुरा दाउमा लाउनेछु; म यी सब कुरा त्याग्नेछु!” तर त्यसपछि तिनीहरूले सोच्छन्, “अहँ। यदि मैले मेरो सबै पैसा र भौतिक सम्पत्तिहरू त्यागेँ भने, मैले भविष्यमा कसरी बाँच्ने? मैले सुरुमा परमेश्वरको काम कहिले समाप्त हुनेछ र कहिलेदेखि पृथ्वीमा मानिसहरूलाई आफ्नो जीवनमा यी कुराहरू आवश्यक हुनेछैन भनेर हेर्न परमेश्वरका वचनहरू पढ्नुपर्छ। मैले हतार गर्नु हुँदैन। तर यदि मैले यी कुराहरू प्रदान गरिनँ भने, मैले कसरी असल कार्यहरू तयार गर्न सक्छु त? केही विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई घरमा खानबस्न दिने र अझै धेरै मानिसहरू प्राप्त गर्न सुसमाचार प्रचार गर्ने कार्य गर्नु सजिलो छ। म यी कुराहरू गर्न सक्छु।” असल कार्यहरू तयार गर्ने क्रममा, तिनीहरूले हृदयमा आफूले कति वटा असल कार्यहरू तयारी गरेका छन् र तिनीहरूको गन्तव्य कति राम्रो हुने सम्भावना छ भनेर निरन्तर हिसाबकिताब गरिरहेका हुन्छन्। “मैले धेरै असल कार्य तयार गरेको छु, तर पनि परमेश्वरले मलाई किन सङ्कल्प अभिव्यक्ति दिँदैनन्? परमेश्वरको काम अझै समाप्त भएको छैन, त्यसकारण मैले के गर्नुपर्छ? अहँ, मैले परमेश्वरका वचनहरूले सम्भाव्यता र नियतिबारे अरू के भन्छन् र तिनमा अरू के-कस्ता विशिष्ट व्याख्याहरू समावेश छन् भनेर हेर्नुपर्छ।” तिनीहरूले परमेश्वरका वचनहरूमा बारम्बार खोजी गरिरहन्छन्। यदि तिनीहरूले आफ्नो सम्भाव्यता र नियतिमा फाइदा पुर्याउने कुरा भेट्टाए भने, तिनीहरू खुशी हुन्छन्; यदि तिनीहरूले आफ्नो सम्भाव्यता र नियतिसँग बाझिने कुरा भेट्टाए भने, तिनीहरूलाई पीडा हुन्छ। यसरी, तिनीहरूले परमेश्वरका वचनहरू पढ्दाका वर्षहरूमा, परमेश्वरका वचनहरूकै कारण तिनीहरूलाई बारम्बार नकारात्मक र कमजोर महसुस हुन्छ, र उहाँका वचनहरूकै कारण तिनीहरूलाई बारम्बार सकारात्मक, खुशी, र आनन्द अनुभव हुन्छ। तर तिनीहरूमा जुनसुकै स्थिति वा भावनाहरू पैदा भए पनि, तिनीहरू आफ्नो गन्तव्य, सम्भाव्यता, र नियतिप्रति उत्कट चाहनाबाट उम्कन सक्दैनन्, र तिनीहरूले परमेश्वरका वचनहरूमा विभिन्न प्रकारका मानिसहरूको परिणामसम्बन्धी निर्धारण र अभिव्यक्तिहरूबारे खोजी गरिरहन्छन्। छोटकरीमा भन्दा, तिनीहरूले परमेश्वरका वचनहरूमा आफूले सकेजति सारा प्रयास लगाउँछन्। तिनीहरूले परमेश्वरका वचनहरू जसरी पढे पनि, तिनीहरूलाई परमेश्वरका वचनहरूमा सत्यता, बाटो, र जीवन छ भन्ने कुरा थाहा हुँदैन। तिनीहरूलाई के मात्र थाहा हुन्छ भने, परमेश्वरका वचनहरूमा तिनीहरूले आफ्नो गन्तव्य, मानवजातिको गन्तव्य, र नरक जान तथा गन्तव्य गुमाउनबाट जोगिने उपाय भेट्टाउन सक्छन्। त्यसकारण, धेरै वर्षसम्म यसरी परमेश्वरका वचनहरू पढेपछि, तिनीहरूले के प्राप्त गरेका हुन्छन्? तिनीहरूले कैयौँ सही धर्मसिद्धान्त र आत्मिक सिद्धान्तहरूबारे कुरा गर्न सक्छन्, तर तिनीहरूले परमेश्वरका वचनहरूलाई परमेश्वरको विरोध गर्ने, परमेश्वरको विरुद्ध विद्रोह गर्ने, सत्यता अभ्यास नगर्ने, र सत्यतालाई पटक्कै प्रेम नगर्ने तिनीहरूको सारसँग कहीँकतै जोड्न सक्दैनन्।
ख्रीष्टविरोधीहरूले प्रायजसो रहस्यहरू सम्बन्धमा परमेश्वरले गर्नुभएका खुलासाहरूबारे अनुसन्धान र खोजी गर्छन्। तिनीहरूले नयाँ शब्दहरू, नयाँ कुराहरू, र नयाँ अभिव्यक्तिहरूको लागि पनि उहाँका वचनहरूमा खोजी गर्छन्, यहाँसम्म कि हरेक व्यक्तिको लागि अज्ञात रहेका केही आत्मिक वा अन्य रहस्यहरू, जस्तै अन्जीरको रूख भनेको के हो, १,४४,००० पुरुष बालकहरूको अर्थ के हो, र विजेता भनेको के हो, साथै मानिसहरूले धेरै वर्षदेखि अनुसन्धान गरेर पनि नबुझेका प्रकाशको पुस्तकका केही अभिव्यक्ति र शब्दहरूबारे समेत खोजी गर्छन्। तिनीहरूले यी कुराहरूमा विशेष मेहनत गर्छन् र यी वचनहरूमा मानिसहरूको गन्तव्यबारे कुनै अभिव्यक्तिहरू छन् कि छैनन्, र मानिसहरूको गन्तव्यबारे कुनै स्पष्ट व्याख्याहरू छन् कि छैनन् भनेर निरन्तर खोजी र अनुसन्धान गरिरहेका हुन्छन्। तर तिनीहरूले जति नै धेरै हेरे पनि, तिनीहरूको प्रयास सधैँ व्यर्थ हुन्छ। त्यसकारण, जब ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू पढिरहेका हुन्छन्, जब परमेश्वरलाई पछ्याइरहेका हुन्छन्, र जब मण्डलीको बहाव अनुसार अघि बढिरहेका हुन्छन्, तब तिनीहरूले सधैँ हृदयको गहिराइमा असहज महसुस गर्छन्। तिनीहरू प्रायजसो आफैलाई सोधिरहन्छन्: “के मैले आशिष्हरू प्राप्त गर्न सक्छु? मेरो सम्भाव्यता र नियति के-के हुन्? के परमेश्वरको राज्यमा मेरो लागि ठाउँ हुनेछ? मेरो गन्तव्य आइपुग्दा, मैले नीलो आकाशतिर नियालिरहेको हुनेछु कि म आफ्नै हात देख्न नसक्ने अँध्यारो संसारमा हुनेछु? मेरो गन्तव्य आखिर के हो त?” तिनीहरूले आफ्नो हृदयमा यसरी आफैलाई प्रश्न गरिरहँदा, तिनीहरूले चुपचाप आफ्नो हृदयमा परमेश्वरलाई पनि प्रश्न गरिरहेका हुन्छन्: “के म स्वर्गको राज्य प्रवेश गर्न योग्य छु? के म नरक जानबाट जोगिन सक्छु? के म यसरी पछ्याएर स्वर्गको राज्य प्रवेश गर्न सक्छु? के मैले भविष्यका आशिष्हरू प्राप्त गर्न सक्छु? के म आउने संसार प्रवेश गर्नेछु? परमेश्वरको मनोवृत्ति के हो? मैले मनको शान्ति पाउन सकूँ भनेर परमेश्वरले मलाई किन यस विषयमा सटीक र निश्चित अभिव्यक्ति दिँदैनन्? मेरो परिणाम आखिर के हो?” के ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू अध्ययन गर्दा, र तिनीहरू बहाव अनुसार अघि बढ्दा र तिनीहरूसँग अघि बढ्ने बाहेक अरू कुनै विकल्प नहुँदा, हृदयभित्र यही कुरा सोच्दैनन् र? तिनीहरूले आफ्नो हृदयभित्र आफ्ना सम्भाव्यता र नियतिहरूप्रति राख्ने मनोवृत्ति यही हो: तिनीहरूको मस्तिष्क निरन्तर यी कुराहरूले भरिएको हुन्छ, तिनीहरूले यी कुराहरूलाई मरिहत्ते गरेर पक्रिरहन्छन् र छोड्न मान्दैनन्।
जब ख्रीष्टविरोधीहरूले परमेश्वरको वचन अध्ययन गर्छन्, तब तिनीहरूलाई आफ्नो गन्तव्य खोज्ने र रहस्यहरू अनुसन्धान गर्ने कार्यभन्दा पनि बढी रुचि लाग्ने अर्को कुरा पनि छ; त्यो हो, कहिले देहधारी परमेश्वर पृथ्वी छोडेर जानुहुन्छ, कहिले उहाँले आफ्नो सेवकाइ समाप्त गर्नुहुन्छ, कहिले उहाँको महान् अभियान पूरा हुन्छ, कहिले उहाँको काम समाप्त हुन्छ, कहिले उहाँलाई पछ्याउनेहरूले ठूलो आशिष् पाउनेछन्, र उहाँको वास्तविक व्यक्तित्व देख्नेछन्। तिनीहरूले परमेश्वरलाई पृथ्वीबाट जानुभएको देख्न पाउँछन् कि पाउँदैनन् भन्ने कुरा पनि तिनीहरूको सबैभन्दा ठूलो चिन्ताको विषय हो। परमेश्वरको व्यवस्थापन योजना सफलतापूर्वक पूरा हुने दिन बाहेक, तिनीहरूलाई ख्रीष्ट पृथ्वीबाट कहिले जानुहुन्छ, ख्रीष्ट पृथ्वीबाट जानुहुँदा अवस्था कस्तो हुनेछ, तिनीहरू तब कति वर्षका हुन्छन्, १०-२० वर्षमा ख्रीष्ट पृथ्वीबाट जानुहुँदा उहाँलाई देख्न तिनीहरू अझै जीवित हुन्छन् कि हुँदैनन्, तिनीहरूले यो घटना देखे भने के हुनेछ, र तिनीहरूले देख्न पाएनन् भने के हुनेछ भन्नेबारे अझै बढी चिन्ता लाग्छ; तिनीहरूको मनमा यस्ता हिसाबकिताबहरू हुन्छन्। कतिले त मनमनै सोच्छन्, “म ६० वर्षको भइसकेँ। यदि म अझै १० वर्षसम्म बाँचेँ भने, मैले ख्रीष्ट पृथ्वीबाट गएको देख्न पाउँछु, तर यदि १० वर्षभित्र परमेश्वरको काम समाप्त हुँदा म मरिसकेको हुन्छु भने, परमेश्वरमाथिको मेरो विश्वासको के अर्थ हुन्छ? परमेश्वरले मलाई यो युगमा जन्मिन पूर्वनिर्धारित गरेको भए पनि, यदि परमेश्वरको अनुयायी भएर मैले त्यस्तो महान् र ठूलो घटना देख्ने मौका गुमाएँ भने, मलाई आशिषित व्यक्ति मान्न सकिँदैन, र मैले कुनै पनि महान् आशिष्हरू प्राप्त गरेको हुनेछैनँ!” त्यस्ता विचारहरूले तिनीहरूमा दुःख र असन्तुष्टि पैदा गर्छ। तिनीहरू कति हदसम्म असन्तुष्ट हुन्छन्? “म पहिले नै यति बूढो भइसकेँ; परमेश्वर किन अझै पृथ्वी छोडेर गएका छैनन्? परमेश्वरको काम किन अझै समाप्त भएको छैन? हामीले कहिले सुसमाचार प्रचार गरिसक्नेछौँ? परमेश्वरको काम तुरुन्तै समाप्त होस्, परमेश्वरले तुरुन्तै आफ्नो महान् अभियान पूरा गरून्, विपत्तिहरू तुरुन्तै आऊन्, परमेश्वरले शैतानलाई छिटो नष्ट गरून् र दुष्ट मानिसहरूलाई दण्ड दिऊन्!” तिनीहरूले के गरिरहेका छन्? के तिनीहरूले परमेश्वरलाई आफ्नो व्यक्तिगत इच्छाअनुसार काम गराउने आशा गर्दै उहाँसँग आफ्नै इच्छाको आधारमा मागहरू गरिरहेका छैनन् र? के तिनीहरूको यो इच्छाभित्र तिनीहरूका व्यक्तिगत हितहरू समावेश छैनन् र? आफ्नै हितहरूको कारण, तिनीहरूले परमेश्वरले आफ्नो महान् अभियान पूरा होस्, विपत्तिहरू चाँडै आऊन्, परमेश्वरले तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनुहोस्, र परमेश्वरले आफ्नो महिमा प्राप्त गर्नुहोस् भनेर उत्कट आशा गर्छन्। तिनीहरूले आफ्नो हृदयमा के-कस्ता मनसायहरू बोकेका हुन्छन्? के तिनीहरूले परमेश्वरका अभिप्रायहरू विचार गरिरहेका हुन्छन्? (हुँदैनन्।) तिनीहरूले के गरिरहेका हुन्छन्? (तिनीहरूले आशिष्हरू प्राप्त गर्ने आशा गरिरहेका हुन्छन्।) तिनीहरूले परमेश्वरको व्यवस्थापन योजनाको काम तिनीहरूका आफ्नै हित र गन्तव्यहरूको खातिर तिनीहरूको गन्तव्यमै केन्द्रित होस् भन्ने चाहन्छन्। के यो घृणित र लाजमर्दो कुरा होइन र? सबै मामलाहरूमा, ख्रीष्टविरोधीहरूले देखाउने सार के हो? अरू सबै कुराभन्दा माथि आफ्ना हितहरूलाई राख्नु, र आफ्ना हितहरूलाई सर्वोच्च पार्नु। अर्थात्, तिनीहरूले आफ्ना हितहरूसँग कुनै पनि कुरालाई बाझिन दिँदैनन्, चाहे त्यो परमेश्वरको व्यवस्थापन योजना नै किन नहोस्। जब परमेश्वरको काम समाप्त हुनेछ, जब उहाँको महान् अभियान पूरा हुनेछ, जब उहाँले महिमा प्राप्त गर्नुहुनेछ, र जब उहाँले मानवजातिलाई नष्ट गर्नुहुनेछ, तब यी सबै कुराहरू तिनीहरूको हित र गन्तव्यहरूमै केन्द्रित हुनुपर्छ, यी सबै कुराहरू तिनीहरूको गन्तव्यसँगै जोडिनुपर्छ। नत्रभने, तिनीहरूले परमेश्वरलाई इन्कार गर्नेछन्, उहाँमाथिको विश्वास त्याग्नेछन्, र उहाँलाई धिक्कार्ने कामसमेत गर्नेछन्।
ख्रीष्टविरोधीहरूले परमेश्वरको वचनलाई कसरी लिन्छन् भन्ने कुराको एउटा मुख्य प्रकटीकरण यसलाई अध्ययन गर्नु हो। खाट्टी अविश्वासीले परमेश्वरको वचनलाई लिने मनोवृत्ति यही हो। तिनीहरूले के अध्ययन गर्छन्? तिनीहरूले सत्यता, वा परमेश्वरले मानवजातिलाई दिनुभएका मापदण्डहरू, वा मानवजातिलाई खुलासा गर्ने उहाँका वचनहरू, वा मानवजातिको न्याय गर्ने उहाँका वचनहरू अध्ययन गर्दैनन्, र तिनीहरूले अवश्य नै उहाँका अभिप्रायहरू पनि अध्ययन गर्दैनन्, बरु आफ्नै सम्भाव्यता र नियति अध्ययन गर्छन्। तिनीहरूले परमेश्वरको वचनको जुनसुकै भाग पढे पनि, यदि यसमा तिनीहरूको सम्भाव्यता र नियतिसँग सम्बन्धित वचनहरू छन् भने—जुन तिनीहरूलाई सबैभन्दा बढी चासो लाग्ने कुरा हो—तिनीहरूले त्यस्ता भागहरूलाई ध्यान दिएर अध्ययन गर्नेछन् र तिनलाई महत्त्वपूर्ण भनेर चिन्ह लगाउनेछन्। उदाहरणको लागि, जब तिनीहरूले तिनीहरूजस्ता मानिसहरूलाई खुलासा र चिरफार गर्ने परमेश्वरका वचनहरू, वा तिनीहरूजस्ता मानिसहरूको चरित्रचित्रण वा अभिव्यक्तिहरू देख्छन्, तब तिनीहरूले त्यस्ता वचनहरूलाई ध्यान दिएर अध्ययन गर्छन् र बारम्बार पढ्छन्। तिनीहरूले के खोजिरहेका हुन्छन्? के तिनीहरूले कसरी परमेश्वरका अभिप्रायहरू बुझ्न र अभ्यासका सिद्धान्तहरू पत्ता लगाउन सकिएला भनेर हेर्न खोजिरहेका हुन्छन्? के तिनीहरूले परमेश्वरको वचनद्वारा आफूलाई कसरी बुझ्न सकिन्छ भनेर हेर्न खोजिरहेका हुन्छन्? अहँ। तिनीहरूले त ती वचनहरूको भित्री कुरा पत्ता लगाउने प्रयास गरिरहेका हुन्छन्, ताकि परमेश्वरले तिनीहरूजस्ता मानिसहरूप्रति राख्नुहुने मनोवृत्ति, र परमेश्वरले तिनीहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ कि हुन्न, वा उहाँले तिनीहरूलाई मुक्ति दिनुहुन्छ कि हुन्न भन्ने कुरा स्पष्ट देख्न सकून्। तिनीहरूले परमेश्वरका ती वचनहरूको विषयवस्तु मात्र होइन, उहाँका वचनहरूको भाव र मनोवृत्ति र सोपछाडि रहेका सोचहरूबारे पनि सूक्ष्मजाँच गर्छन्। तिनीहरूले तिनीहरूजस्ता मानिसहरूको गन्तव्यसँग सम्बन्धित परमेश्वरको वचनका सबै भागहरू भेला गरेपछि, र तिनीहरूप्रतिको उहाँको मनोवृत्ति धिक्कार हो, मुक्ति होइन भन्ने पत्ता लगाएपछि, उहाँप्रतिको तिनीहरूको विश्वासको मनोवृत्ति तुरुन्तै ८०-९० प्रतिशतले सेलाउँछ। तिनीहरूको हृदयमा तुरुन्तै अविश्वास बढ्नेछ, र तिनीहरूको मनोवृत्ति १८० डिग्री परिवर्तन हुनेछ। यो परिवर्तनको हद कति हुन्छ? तिनीहरूले आफूले गर्ने योजना बनाएका कर्तव्यहरू निर्वाह गर्न, वा आफूले त्याग्ने योजना बनाएका कुराहरू त्याग्न चाहँदैनन्। तिनीहरूले सुरुमा आफ्नो परिवारलाई सुसमाचार सुनाउन चाहेका भए पनि, तिनीहरूले अब त्यसो गर्दैनन्—किनभने तिनीहरूले अब विश्वास गर्न छोडेका हुन्छन्, र तिनीहरूको परिवारका मानिसहरूले त झन् विश्वास गर्ने कुनै कुरै हुँदैन। समग्रमा भन्नुपर्दा, तिनीहरूले आफ्नो सबै मूल योजनाहरू नष्ट गर्नेछन् र त्याग्नेछन्। के परमेश्वरको वचनप्रति ख्रीष्टविरोधीहरूले राख्ने आधारभूत मनोवृत्ति यही होइन र? परमेश्वरको वचन अध्ययन गर्नुको तिनीहरूको उद्देश्य उहाँका अभिप्रायहरू बुझेर तिनीहरू उहाँप्रति निष्ठावान् हुन सकून् भनी सत्यता पछ्याउनु र सत्यता अभ्यास गर्ने सिद्धान्तहरू खोज्नु होइन; तिनीहरूको उद्देश्य त परमेश्वरले तिनीहरूजस्ता मानिसहरूका परिणाम र गन्तव्यहरू कसरी निर्धारित गर्नुहुन्छ भन्ने बारेमा सटीक अभिव्यक्ति खोज्नु हो। जब तिनीहरूले आशाको सानो किरण भेट्छन्, तब तिनीहरूले त्यसलाई ज्यान जाला छोड्दैनन्; त्यो आशाको सानो किरणको लागि, तिनीहरूले सबै कुरा त्याग्न सक्छन्, र तिनीहरूको मनोवृत्ति नाटकीय रूपमा परिवर्तन हुन्छ। तर जब आशिष्हरू प्राप्त गर्ने तिनीहरूको सबै आशा तोडिएको हुन्छ, तब तिनीहरूको मनोवृत्ति फेरि पनि नाटकीय रूपमा परिवर्तन हुन्छ, यहाँसम्म कि तिनीहरूले आफ्नो विश्वास नै गुमाउँछन् र धोकाको सहारा लिन्छन्, र आफ्नो हृदयमा परमेश्वरलाई श्रापसमेत दिन्छन्। ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू यिनै हुन्।
परमेश्वरका वचनहरू अध्ययन गर्ने क्रममा, ख्रीष्टविरोधीहरूले अवश्य नै व्यक्तिगत फाइदा खोजी गर्न पनि ती वचनहरू प्रयोग गर्नेछन्। कस्तो खाले फाइदा? परमेश्वरका वचनहरू अध्ययन गर्ने क्रममा, तिनीहरूले परमेश्वरको वाणीका नियमहरू के-के हुन्, उहाँले मानिसहरूलाई काटछाँट गर्नुहुँदा उहाँको बोलीको भाव कस्तो हुन्छ, उहाँले मानवजातिलाई खुलासा गर्नुहुँदा उहाँको बोल्ने तरिका कस्तो हुन्छ, उहाँले मानिसहरूलाई कसरी सान्त्वना र प्रोत्साहन दिनुहुन्छ, उहाँले के-कस्ता विधिहरू प्रयोग गर्नुहुन्छ, र उहाँमा कस्तो बुद्धि छ भन्ने कुराहरू सारांशित गर्छन्। ख्रीष्टविरोधीहरू परमेश्वरले कसरी बोल्नुहुन्छ र काम गर्नुहुन्छ भनेर सिक्न र अनुकरण गर्नमा विशेषज्ञ हुन्छन्; साथसाथै, तिनीहरूले अरूसँग बोल्न र सङ्गति गर्नको लागि परमेश्वरले आम रूपमा बोल्नुहुने शब्दहरू पनि प्रयोग गर्छन्। तिनीहरूले परमेश्वरका वचनहरू अध्ययन गर्ने क्रममा, निरन्तर आफूलाई तीभित्र रहेका विभिन्न सत्यताका वचनहरूले सुसज्जित गरिरहेका हुन्छन्, र तिनलाई आफ्नै कुराहरूमा परिणत गरिरहेका हुन्छन्, र यसरी तिनीहरूले काम गर्न र पूँजी बटुल्न परमेश्वरका ती वचनहरू प्रयोग गरिरहेका हुन्छन्। यो पूँजीले केलाई जनाउँछ? उदाहरणको लागि, तिनीहरूले के विश्वास गर्छन् भने[क], भेलामा जो सही शब्द र सिद्धान्तहरू बोल्न बढी सक्षम छ, जसलाई परमेश्वरका धेरै वचनहरू याद छ, जसले परमेश्वरका धेरै वचनहरू उद्धृत गर्छ, र जसले परमेश्वरका धेरै वचनहरू व्याख्या गर्छ, ऊ मण्डलीमा सबैभन्दा बढी मुक्ति पाउन सक्ने व्यक्ति हुन सक्छ। ख्रीष्टविरोधीहरूले जे गरे पनि, यो तिनीहरूको सम्भाव्यता र नियतिसँग सम्बन्धित हुन्छ। तिनीहरूले कहिल्यै पनि परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा अभ्यास गर्नेछैनन्, न त तिनीहरूले परमेश्वरका वचनहरू अभ्यास गर्न कष्ट भोग्नेछन् न त मूल्य नै चुकाउनेछन्। बरु, तिनीहरूले मानिसहरूलाई बहकाउन, आफ्नो प्रतिष्ठा उचाल्न, र आफ्नो मुक्तिको लागि पर्याप्त अवस्थाहरू तयार पार्न परमेश्वरका वचनहरू प्रयोग गर्नेछन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले परमेश्वरको वचनलाई कसरी लिन्छन् भन्ने कुराको सार के हो भने, तिनीहरूले चाहे जहिलेसुकै होस् परमेश्वरको वचनलाई कहिल्यै पनि सत्यता वा मानिसहरूले पछ्याउनुपर्ने मार्गको रूपमा लिँदैनन्। ख्रीष्टविरोधीहरूले हरेक दिन परमेश्वरका वचनहरू माथि उठाएर पढे पनि, र उहाँका वचनहरूको वाचन सुने पनि, एउटा कुरा निश्चित छ: तिनीहरूले परमेश्वरका वचनहरू अभ्यास गर्दैनन्। जब उहाँका वचनहरू अभ्यास गर्ने समय आउँछ, तब तिनीहरूको इमानदारिता हराउँछ—तिनीहरूले आफ्नै सम्भाव्यता र नियतिको लागि मात्रै षड्यन्त्र गर्छन्। बाहिरी रूपमा, तिनीहरूले आफूलाई परमेश्वरका वचनहरूलाई प्रेम गर्ने र तिनको तृष्णा गर्ने व्यक्तिको रूपमा प्रस्तुत गर्छन्। तर वास्तवमा, हरेक दिन परमेश्वरका वचनहरू पढ्ने र सङ्कलन गर्ने क्रममा, तिनीहरूको उद्देश्य भनेको आफ्नो मुक्तिका सर्तहरू हासिल गर्नु भन्ने हुन्छ; र यसको सट्टामा तिनीहरूले परमेश्वरप्रति आफ्नो राम्रो छाप परोस् भन्ने आशा लिएका हुन्छन्। तिनीहरू परमेश्वरले मानिसहरूको हृदय सूक्ष्म रूपमा जाँच्नुहुन्छ भनेर विश्वास गर्दैनन्—तिनीहरूलाई मानिसहरूले बाहिरी रूप मात्रै हेर्छन्, त्यसकारण परमेश्वरले पनि बाहिरी रूप मात्रै हेर्नुपर्छ भन्ने थाहा हुन्छ, त्यसकारण यी मामलाहरूमा तिनीहरूले ढाकछोप र छलछाम गर्छन्, र चलाकीको सहारा लिन्छन्। तिनीहरूले सोच्छन्, “मैले बाहिरी रूपमा मात्रै यो काम गर्नुपर्छ। मैले हृदयमा जे सोचे पनि त्यसले फरक पर्दैन—मानिसहरूले यो कुरा देख्न सक्दैनन्, न त परमेश्वरले नै देख्न सक्छन्। वास्तवमा, मैले परमेश्वरका वचनहरू जसरी पढे नि, मैले सृष्टि गरिएको साँचो प्राणी बन्नलाई यसो गरिरहेको छैनँ। यदि मेरा सम्भाव्यता र नियतिहरू संलग्न नभएका भए, मैले यो कठिनाइ भोग्नेथिइनँ, न त मैले यो अन्याय नै सहनेथिएँ!” तिनीहरूको मनमा परमेश्वरका वचनहरू जति नै राम्रा सुनिए पनि, ती पूरा हुन सक्दैनन्, र मानिसहरू तिनमा जिउन सक्दैनन्। केही मानिसहरू थोरै मात्रामा परमेश्वरका वचनहरू अनुसार जिए पनि, तिनीहरूले अवश्य नै आफ्नो उद्देश्यको लागि पनि त्यसो गरिरहेका हुन्छन्। गैरविश्वासीहरूले भन्छन्, “सित्तैँको खाना भन्ने कुनै कुरै हुँदैन।” तिनीहरूले मनमनै सोच्छन्, “हामीले परमेश्वरमाथिको हाम्रो विश्वासको लागि, हरदिन उहाँका वचनहरू पढ्दै र सुन्दै, र उहाँका वचनहरू अनुसार जिउँदै, यस्ता कठिनाइहरू भोग्छौं—यो सब केको लागि हो? के यो एउटै उद्देश्यको लागि मात्रै होइन र? यो सब आफ्ना सम्भाव्यता र नियतिको लागि हो भन्ने कुरा सबैलाई हृदयमा राम्ररी थाहा हुन्छ; नत्र, हामी किन यहाँ कष्ट भोग्न सांसारिक दुनियाँ पछ्याउने सुन्दर समय त्याग्थ्यौँ र?” यो मामलामा, तिनीहरूले कुन तथ्य इन्कार गरेका छन्? परमेश्वरको वचन सत्यता हो, र सत्यताले मानिसहरूलाई मुक्ति दिन, परिवर्तन गर्न, र भ्रष्ट स्वभाव त्याग्न सहयोग गर्न सक्छ। के परमेश्वरको वचनले ल्याउन सक्ने परिणाम यही होइन र? (हो।) के ख्रीष्टविरोधीहरूले यो तथ्य स्वीकार गर्छन्? तिनीहरूले यसो भन्दै यो तथ्य इन्कार गर्छन्: “सबैले परमेश्वरको वचनले मानिसहरूलाई मुक्ति दिन सक्छ भनेर दाबी गर्छन्, तर यसले कसलाई मुक्ति दिएको छ? कसले यस्तो भएको देखेको छ? म किन यसमा विश्वास गर्दिनँ?” परमेश्वरको वचनले मानिसहरूलाई मुक्ति दिन, मानिसहरूलाई परिवर्तन गर्न, र शैतानको भ्रष्ट स्वभावबाट मुक्त हुन सहयोग गर्न सक्छ भनेर किन भनिन्छ? किनभने परमेश्वरको वचन सत्यता हो, र यो मानिसहरूको जीवन बन्न सक्छ। जब मानिसहरूसित आफ्नो जीवनको रूपमा परमेश्वरको वचन हुन्छ, तब तिनीहरूले मुक्ति पाउन सक्छन्; तिनीहरू मुक्ति पाउनेहरू बन्छन्। ख्रीष्टविरोधीहरूले यो तथ्य स्वीकार गर्दैनन्। तिनीहरू के विश्वास गर्छन् भने, आशिष्हरू प्राप्त गर्न र राम्रो गन्तव्य प्राप्त गर्नलाई मात्र मानिसहरू अहिले जहाँ छन् त्यहाँ पुगेका हुन्, र मानिसहरूले परमेश्वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्नुको एउटै मात्र कारण यही हो। तिनीहरूले परमेश्वरको वचनका प्रतिफलहरू इन्कार गर्छन्, सत्यताले मानिसहरूमा हासिल गर्ने परिणामहरू इन्कार गर्छन्, र सत्यताले मानिसहरूलाई जित्न, परिवर्तन गर्न, र मुक्ति दिन सक्छ भन्ने कुरा इन्कार गर्छन्। तिनीहरूले के विश्वास गर्छन् भने, मानिसहरूले आफ्ना सम्भाव्यता र नियतिबारे चिन्ता गरेर अनि तिनलाई पछ्याउनको लागि मात्रै परमेश्वरलाई पछ्याउँछन्। तिनीहरूले परमेश्वरको वचनले मानिसहरूलाई परिवर्तन गर्न सक्छ, परमेश्वरप्रति निष्ठावान् बनाउन सक्छ, परमेश्वरमा निसर्त समर्पित हुने तुल्याउन सक्छ, वा परमेश्वरको घरमा सृष्टि गरिएका प्राणीहरूको रूपमा कर्तव्य निर्वाह गर्ने तुल्याउन सक्छ भन्ने कुरामा विश्वास गर्दैनन्—तिनीहरूले यीमध्ये कुनै कुरामा पनि विश्वास गर्दैनन्। त्यसकारण, आफ्ना हितहरूलाई पहिलो प्राथमिकता दिने ख्रीष्टविरोधीहरू आफैले सत्यता खोजी गर्दैनन्; तिनीहरू॥ परमेश्वरका वचनहरूलाई एक प्रकारको अलङ्कार, एक प्रकारको अभिव्यक्तिको रूपमा लिन्छन्, र परमेश्वरका यी वचनहरूले मानिसहरूलाई मुक्ति दिन सक्छन् भन्ने कुरामा विश्वास गर्दैनन्। तिनीहरूले के विश्वास गर्छन् भने, परमेश्वरप्रति इमानदार र निष्ठावान् रहेका सबै मानिसहरू नौटङ्कीहरू हुन् र तिनीहरूका आफ्नै हितहरू संलग्न भइरहेका हुन्छन्। तिनीहरूले जति धेरै परमेश्वरका वचनहरू सुने पनि, तिनीहरूले जति धेरै परमेश्वरका प्रवचनहरू सुने पनि, अन्त्यमा तिनीहरूको हृदयमा रहने भनेका ती दुई शब्द मात्रै हुन्—सम्भाव्यता र नियति। अर्थात्, परमेश्वरका वचनहरू, परमेश्वरको काम, र परमेश्वरको व्यवस्थापन योजनाले मानिसहरूको लागि असल सम्भाव्यता र नियति ल्याउन सक्छ, तिनीहरूको लागि राम्रो गन्तव्य ल्याउन सक्छ। ख्रीष्टविरोधीहरूको लागि, यो नै सबैभन्दा साँचो कुरा हो, यो नै सबैभन्दा सर्वोच्च सत्यता हो। यदि यस्तो नहुँदो हो त, पहिलो कुरा त तिनीहरूले परमेश्वरमा विश्वास नै गर्नेथिएनन्। दोस्रो कुरा, तिनीहरूले परमेश्वरको घरमा रहन यस्ता अन्यायहरू सहनेथिएनन्। तेस्रो कुरा, तिनीहरूले परमेश्वरको घरमा कुनै कर्तव्य निर्वाह गर्नेथिएनन्। चौथो कुरा, तिनीहरूले परमेश्वरको घरमा कुनै कठिनाइ भोग्नेथिएनन्। अनि पाँचौँ कुरा, तिनीहरू धन र वैभवमा रमाउन, संसारको पछि लाग्न, ख्याति र प्राप्तिको पछि लाग्न, पैसाको पछि लाग्न, र दुष्ट प्रचलनहरूको पछि लाग्न धेरै पहिले नै सांसारिक जीवनमा फर्केर जानेथिए। तिनीहरूको सम्भाव्यता र नियति संलग्न भएकोले मात्रै अहिले तिनीहरू अस्थायी रूपमा परमेश्वरको घरमा बसेका हुन्छन्। तिनीहरूसँग आफ्नो सम्भाव्यता र नियति सुरक्षित गर्नेबारे दृढ मनोवृत्ति हुन्छ, र सँगसँगै परमेश्वरको काम समाप्त भएपछि, स्वर्गको राज्य प्रवेश गर्ने र महान् आशिष्हरू प्राप्त गर्नेहरूमध्ये एक हुने आशा गर्दै मौका छोप्ने मानसिकता पनि हुन्छ। यो कस्तो मानसिकता हो? तिनीहरू आफ्नो उद्देश्य हासिल गर्न परमेश्वरबाट नाफा खोज्न चाहन्छन्, तैपनि उहाँमा समर्पित हुन चाहँदैनन्; यसको साथै, तिनीहरू परमेश्वरले बोल्नुभएका सबै वचनहरूमा विश्वास पनि गर्दैनन्, न त तिनीहरू परमेश्वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरामै विश्वास गर्छन्। के यो अलिक दुष्टता होइन र? परमेश्वरको वचन अध्ययन गर्ने तिनीहरूको मनोवृत्तिको हकमा, तिनीहरू अविश्वासीहरू हुन्। ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू अनुसन्धान गर्न, पढ्न, र तीप्रति व्यवहार गर्न यस्तो मनोवृत्ति प्रयोग गर्न सक्छन् भन्ने कुराले तिनीहरू कट्टर अविश्वासीहरू, शिरदेखि पाउसम्मै पूरै अविश्वासीहरू हुन् भन्ने देखाउँछ। त्यसोभए तिनीहरू किन अझै पनि परमेश्वरको घरमा केही सतही काम गर्न र पछि नहटी पछ्याइ जारी राख्न सक्छन्? तिनीहरूलाई जेजसरी काटछाँट गरिए पनि, तिनीहरू किन मण्डली जीवनमा रहन र सहभागी हुन सक्छन्, र परमेश्वरका वचनहरू सुन्ने र पढ्ने कार्य जारी राख्न सक्छन्? किन यस्तो हुन्छ? (तिनीहरूले आशिष् प्राप्त गर्न चाहन्छन्।) किनभने तिनीहरूले आशिष्हरू प्राप्त गर्न चाहन्छन्। गैरविश्वासीहरूको भनाइ नै छ, “जसले मलाई खुवाउँछ ऊ मेरी आमा हो; जसले मलाई पैसा दिन्छ ऊ मेरो बुबा हो।” यो कस्तो तर्क हो? के यो तर्क दुनियाँसित व्यवहार गर्ने शैतानको सांसारिक दर्शनले भरिएको छैन र? यो शैतानी दर्शनको प्रभावमा बसेर तिनीहरूले परमेश्वरमा विश्वास गर्छन्: “तिमीले जस्तोसुकै असाधारण काम गरेको भए नि—तिम्रो स्वभाव वा सार जस्तोसुकै भए पनि मतलब छैन, तर तिमीले मलाई आशिष्, असल गन्तव्य, र असल भविष्य दिन सक्छौ भने, र मलाई ठूला आशिष्हरू प्रदान गर्न सक्छौ भने, अहिलेको लागि म तिमीलाई पछ्याउनेछु र परमेश्वरको रूपमा हेर्नेछु।” के यहाँ साँचो विश्वासको कुनै तत्त्व छ? (छैन।) त्यसकारण, तिनीहरूले परमेश्वरका वचनहरूलाई कसरी लिन्छन् भन्ने हिसाबमा, त्यस्ता मानिसहरूलाई ख्रीष्टविरोधी र अविश्वासी भनेर व्याख्या गर्नु अत्यन्तै सटीक हुन्छ!
परमेश्वरका वचनहरूप्रतिको ख्रीष्टविरोधीहरूको मनोवृत्ति अध्ययन गर्ने मनोवृत्ति हो। तिनीहरूले कहिल्यै पनि परमेश्वरको वचनलाई परमेश्वरको वचनको रूपमा लिँदैनन्; तिनीहरूले यसलाई केको रूपमा लिन्छन्? रहस्यहरूको सङ्ग्रह? स्वप्नद्रष्टी कथा? अस्पष्ट र बुझ्न नसकिने पाठ? जब तिनीहरूले परमेश्वरका वचनहरू पढ्छन्, तब तिनीहरूले उहाँका अभिप्रायहरू खोजी गरिरहेका हुँदैनन्, न त तिनीहरूले उहाँका अभिप्राय वा स्वभाव बुझ्ने प्रयास नै गरिरहेका हुन्छन्। तिनीहरू परमेश्वरलाई चिन्नसमेत चाहँदैनन्, झन् तिनीहरूले उहाँका अभिप्रायहरूको ख्याल गर्नु त धेरै परको कुरा हो। जब तिनीहरूले “मेरो हालको अत्यावश्यक चाहना भनेको मेरा अभिप्रायहरूको बारेमा पूर्ण रूपले उचित विचार पुर्याउन सक्ने मानिसहरूको समूहको खोजी गर्नु हो” भन्ने परमेश्वरका वचनहरू पढ्छन्, तब के तिनीहरू भावुक हुन्छन् त? तिनीहरू भन्छन्: “परमेश्वरका अभिप्रायहरूबारे उचित विचार पुर्याउने मानिसहरू खोज्नु भनेको आखिर के हो? तिम्रा अभिप्रायहरूबारे उचित विचार पुर्याउनुको फाइदा के छ? के यसो गर्दा मैले खाना खान वा पैसा कमाउन सक्छु? के परमेश्वरका अभिप्रायहरूप्रति उचित ध्यान दिँदा यसमार्फत असल गन्तव्य प्राप्त हुन्छ? के यसले मलाई ठूलो आशिष् दिन सक्छ? यसले यी कुराहरू गर्न सक्दैन भने, भो बिर्सिदेऊ; मैले त्यस्तो ख्याल गरिरहनुपर्दैन। म त नरकमा फ्याँकिनबाट जोगिने र असल गन्तव्य प्राप्त गर्ने बाटो खोजिरहेको छु। यदि तिम्रा अभिप्रायहरूबारे विचारशील बन्दा यसले मलाई आशिष्हरू दिन सक्छ भने, म विचारशील बन्नेछु। कसरी यसो गर्ने त्यति मात्र भनिदेऊ।” के तिमीहरूलाई तिनीहरूले परमेश्वरले तय गर्नुभएका मापदण्डहरू पूरा गर्न सक्छन् भन्ने लाग्छ? (लाग्दैन।) परमेश्वरले एउटा मात्र प्रस्ताव गर्नुभएको छ: परमेश्वरको इच्छा पछ्याउनु, परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु। यसो गर्दा, तैँले उहाँका अभिप्रायहरूप्रति उचित वास्ता गरिरहेको हुन्छस्, अनि तैँले महान् आशिष्हरू प्राप्त गर्न सक्छस्। जब ख्रीष्टविरोधीहरूले यो सुन्छन्, तब तिनीहरूले सोच्छन्, “मैले हतार गरेछु, र मलाई गम्भीरतापूर्वक लिइनु हुँदैनथ्यो। म परमेश्वरका अभिप्रायहरूप्रति विचारशील बन्न सक्दिनँ, छोडिदेऊ। यो तरिकाले काम गर्दैन; म अर्कै तरिका खोज्छु।” त्यसपछि तिनीहरूले परमेश्वरका वचनहरूका अरू पक्षहरूमा मेहनत लाउन थाल्छन्। तिनीहरूले अरू पक्षहरूबारे अनुसन्धान र विश्लेषण गर्न मेहनत गर्छन्, तर सबै कुराको विश्लेषण गरेपछि, तिनीहरूले यसबाट केही शब्द र सिद्धान्तहरू मात्रै प्राप्त गर्छन्। तिनीहरूले सत्यतालाई प्रेम नगर्ने हुनाले, र तिनीहरूले आफ्नो हित, सम्भाव्यता, र नियतिलाई जीवनभर पछ्याउने उद्देश्यहरूको रूपमा लिने हुनाले, परमेश्वरका वचनहरू तिनीहरूको लागि सुत्रवाक्य मात्रै बनेका हुन्छन्। तिनीहरूले कहिल्यै पनि परमेश्वरको कामबाट कुनै आनन्द वा पवित्र आत्माको अगुवाइ अनुभव गरेका हुँदैनन्। जब तिनीहरूले परमेश्वरका वचनहरू पढ्छन्, तब तिनीहरूले कुनै ज्योति देख्दैनन् र कुनै अन्तर्दृष्टि वा भरणपोषण प्राप्त गर्दैनन्। तिनीहरूले केही शब्द र सिद्धान्तहरू, अनि रहस्य र गन्तव्यहरूबारे केही खुलासा र भनाइहरू मात्रै प्राप्त गर्छन्। जब तिनीहरूले यी भनाइ र सिद्धान्तहरूलाई पूँजीको रूपमा लिन्छन्, तब तिनीहरूलाई आफूले आफ्नो गन्तव्य नियन्त्रण गरेको छु, आफ्नो गन्तव्य सुरक्षित गरेको छु भन्ने लाग्छ। तर परमेश्वरका वचनहरूको निरन्तर खुलासा, न्याय, र सजाय भोगेपछि, वा परमेश्वरले मान्छेको लागि विभिन्न चरणमा दिनुभएका मापदण्डहरू सामना गरेपछि, तिनीहरूलाई आफ्नो गन्तव्य गुमाएको छु र मुक्ति पाउन सक्दिनँ भन्ने लाग्छ। यस अवधिमा, तिनीहरूलाई सधैँ भित्री रूपमा असहजता महसुस भइरहेको हुन्छ; तिनीहरू असल गन्तव्य प्राप्त गर्नको लागि निरन्तर भित्री मनको गहिराइमा मानसिक सङ्घर्ष गरिरहेका हुन्छन्। तिनीहरू परमेश्वरको एउटा वाक्यको कारण सङ्घर्ष गर्नेछन्, र परमेश्वरको अर्को वाक्यको कारण नकारात्मक हुनेछन्, र फेरि अर्को वाक्यको कारण खुशी हुनेछन्। तर यस्ता मानिसहरू खुशी भए नि वा जीवनको अन्तिम सास लिइरहेका भए पनि, तिनीहरूको लागि यो कुरा क्षणिक मात्र हुन्छ। त्यसैले, अन्त्यमा कतिपय ख्रीष्टविरोधीहरूलाई आफूजस्ता मानिसहरूलाई मुक्ति दिन सकिँदैन भन्ने लाग्छ; परमेश्वरका वचनहरूबाट तिनीहरूले उहाँ त्यस्ता मानिसहरूलाई मन पराउनुहुन्न भन्ने देख्छन्—के तिनीहरूले आशिष् प्राप्त गर्न सक्छन्, कि सक्दैनन्? तिनीहरूको सम्भाव्यता र नियति ठ्याक्कै के हो? तिनीहरूलाई यी अज्ञात कुराहरू हुन् भन्ने लाग्छ, र तिनीहरू यी कुराहरूबारे अनिश्चित हुन्छन्। यस विन्दुमा, तिनीहरूले के गर्छन्? के तिनीहरूले पश्चात्ताप गर्न सक्छन्? के तिनीहरूले पनि निनवेका मानिसहरूले जस्तै आफ्नो हातको दुष्टता त्याग्न, फर्केर परमेश्वरलाई स्विकार्न र पश्चात्ताप गर्न, परमेश्वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा स्विकार्न, र परमेश्वरका वचनहरूलाई आफ्नो अस्तित्वको जगको रूपमा स्विकार्न सक्छन्? सक्दैनन्। त्यसकारण, धेरै वर्षको पछ्याइ, धेरै वर्षको आशा, र धेरै वर्ष परमेश्वरका वचनहरूको अध्ययनपछि, यदि तिनीहरूले तिनीहरूजस्ता मानिसहरूले आशिष् पाउन सक्दैनन्, तिनीहरूसँग कुनै आशा हुँदैन, तिनीहरू परमेश्वरले मुक्ति दिनुहुने मानिसहरू हुँदै होइनन्, र तिनीहरूले चाहेको कुरा प्राप्त गर्न सक्दैनन् भन्ने निष्कर्ष निकाले भने, तिनीहरूले के गर्नेछन्? (तिनीहरूले परमेश्वरलाई त्याग्नेछन्।)
एउटा आत्मिक भनाइ छ, “म परमेश्वरलाई प्रेम गर्ने मेरो शपथ नवीकरण गर्छु: म मेरो शरीर र हृदय उहाँलाई समर्पित गर्छु।” यो भनाइ अत्यन्तै “महान्” छ। जब मैले यी शब्दहरू पहिलो पटक सुनेँ, तब मैले हृदयमा मानव भाषाको “महान्ता” गहन रूपमा अनुभव गरेँ। मानिसहरूले आफ्नो शपथलाई अत्यन्तै बहुमूल्य, अत्यन्तै शुद्ध र त्रुटिरहित ठान्छन्; तिनीहरूले प्रेमप्रतिको आफ्नो समर्पणलाई अत्यन्तै शुद्ध र पवित्र ठान्छन्। के ख्रीष्टविरोधीहरूले परमेश्वरलाई प्रेम गर्ने र आफ्नो शरीर र हृदय उहाँलाई समर्पित गर्ने आफ्नो शपथ नवीकरण गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? कतिपय मानिसहरू यसो भन्छन्: “परमेश्वरका धेरै वचन पढिसकेपछि, जब मलाई मेरो सोचाइले काम गरिरहेको छैन वा परिणामहरू प्राप्त गरिरहेको छैन भन्ने लाग्छ, तब बस म परमेश्वरलाई प्रेम गर्ने मेरो शपथ नवीकरण गर्छु, र मैले सुरुमा उहाँसँग गरेको शपथ दोहोर्याउँछु। के यो फर्किआउनु होइन र? यो गाह्रो छैन।” के ख्रीष्टविरोधीहरूले यस्तो कुरा गर्न सक्छन्? (सक्दैनन्।) किन सक्दैनन्? के “म परमेश्वरलाई प्रेम गर्ने मेरो शपथ नवीकरण गर्छु” भन्ने भनाइ मान्छेको सबैभन्दा बुद्धिमानीपूर्ण अभिव्यक्ति होइन र? के यो मानिसको सबैभन्दा ठूलो र शुद्ध प्रेम होइन र? त्यसोभए ख्रीष्टविरोधीहरूले किन यो काम गर्न सक्दैनन्? (ख्रीष्टविरोधीहरूसँग परमेश्वरबारे कुनै बुझाइ हुँदैन, साँचो प्रेम हुनु त परको कुरा हो। तिनीहरूको सबै प्रेम झूटो हुन्छ, त्यो तिनीहरूका हितहरूमा आधारित हुन्छ। तिनीहरूले प्राप्त गर्ने कुनै फाइदाहरू नहुनेबित्तिकै, तिनीहरू पिठ्युँ फर्काउँछन् र छोडिजान्छन्।) जब ख्रीष्टविरोधीहरू यो विन्दुमा पुग्छन्, तब तिनीहरूलाई केही कुरा गलत भएको छ र तिनीहरूले गलत बाजी लगाएका छन् भन्ने लाग्छ। अनि आफ्नो हौसला बढाउन, तिनीहरूले आफ्नो आत्मिक संसार समर्थन गर्ने नारा वा सिद्धान्त प्रयोग गर्नुपर्छ—कस्तो नारा? “म परमेश्वरलाई प्रेम गर्ने मेरो शपथ नवीकरण गर्छु: म मेरो शरीर र हृदय उहाँलाई समर्पित गर्छु।” यसको अर्थ तिनीहरूले नवीन सुरुवात गर्नेछन् भन्ने हुन्छ। नत्रभने, तिनीहरू बाँचिरहन सक्नेछैनन्, र परमेश्वरमाथिको तिनीहरूको विश्वास समाप्त हुनेछ। परमेश्वर आफ्नो कामको अवधिमा हरेक दिन बोल्नुहुन्छ, र हरेक पटक उहाँ बोल्नुहुँदा, उहाँका सबै वचनहरू सत्यतासँग सम्बन्धित हुन्छन्—ती सबै मान्छेको भ्रष्ट स्वभाव खुलासा गर्ने, मानिसहरू सत्यता वास्तविकताहरूमा कसरी प्रवेश गर्नुपर्छ र तिनीहरूले सत्यता सिद्धान्तहरू कसरी बुझ्नुपर्छ भनेर मापदण्ड दिने वचनहरू हुन्छन्—ती सबै यस्तै वचनहरू हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूले सोच्छन्: “यीमध्ये किन कुनै पनि वचनले गन्तव्यहरूबारे कुरा गर्ने वा आशिष्हरू प्राप्त गर्नुसँग सम्बन्धित कुराहरू उल्लेख गर्ने गर्दैन? के यसको अर्थ परमेश्वरको हातमा हाम्रा सम्भाव्यता र नियति व्यर्थ भएका छन् भन्ने हुँदैन र? के परमेश्वरको प्रतिज्ञा अब हाम्रो लागि नभएको हो? यदि परमेश्वरले यी कुराहरूबारे कहिल्यै उल्लेख गर्दैनन् भने, सायद हाम्रा आशाहरू टुट्नेछन्। यदि हाम्रा आशाहरू टुटे भने, हामीले के गर्ने? त्यो सजिलो छ। यदि परमेश्वरका वचनहरूले यी कुराहरूबारे केही भन्दैनन् भने, हामी मानव विधि प्रयोग गरौँ: हामी परमेश्वरलाई प्रेम गर्ने हाम्रो शपथ नवीकरण गरौँ!” मानिसहरूले सुरुमा परमेश्वरमा विश्वास गर्दा, कसरी यस्तो ठूलो जोश, प्रेम र विश्वास प्राप्त गरेका हुन्छन्? यी कुराहरू चरम अवस्थामा पुगेपछि, मानिसहरूले परमेश्वरको अघि यसो भन्दै संकल्प गरेका र शपथ खाएका हुन्छन्: “म यो जीवनमा जहिले भए नि र जहाँ भए नि, कुनै गुनासो वा पछुतो नगरी परमेश्वरमा समर्पित हुनेछु र आफूलाई समर्पित गर्नेछु। चाहे झरी होस् वा घाम, चाहे उकाली होस् वा ओराली, र चाहे बिरामी होऊँ वा चाहे सङ्कष्टहरू आऊन्, जबसम्म समुद्र सुक्दैन र जबसम्म ढुङ्गा धूलो हुँदैन, तबसम्म म उहाँलाई अन्त्यसम्मै पछ्याइरहनेछु। यदि मैले यो शपथ भङ्ग गरेँ भने, स्वर्गबाट आएको चट्याङले मलाई प्रहार गरोस् र मेरो गन्तव्य असल नहोस्।” तिनीहरूको शपथ अहिले किन हराएको छ? धेरै समय बितेकोले, र यसले तिनीहरूको विश्वास र प्रेम बरबाद गरेकोले यस्तो भएको हो भन्ने तिनीहरूलाई लाग्छ। तिनीहरूले हृदयमा यस्तो सोच्छन्: “अहँ, मैले आफूलाई उत्साहित पार्नुपर्छ। म जतिसक्दो ताजा र जीवन्त हुनुपर्छ, र मसँग त्यो बेलाको जस्तै धेरै विश्वास र उत्साह हुनुपर्छ। मैले मेरा आदर्शहरू, मेरो गन्तव्य, र आशिष्हरू प्राप्त गर्ने मेरो इच्छालाई पुनर्प्राप्त गर्नुपर्छ। त्यसरी, के परमेश्वरप्रतिको मेरो विश्वास र उहाँप्रतिको मेरो प्रेम पहिलेको जस्तै महान् हुनेछैन र? तब उहाँप्रतिको मेरो साँचो समर्पण पहिलेको जस्तै हुनेछैन र?” तैपनि, सत्यता पटक्कै नपछ्याउने व्यक्तिले आफ्नो हृदयको गहिराइमा जति नै सङ्घर्ष गरे पनि वा परमेश्वरप्रतिको आफ्नो सुरुको विश्वास र जोश जति नै स्मरण गरे पनि, यसले उसको वर्तमान परिस्थिति परिवर्तन गर्न सक्दैन। यो परिस्थिति के हो? जब तिनीहरूका सम्भाव्यता र नियति व्यर्थ भएका हुन्छन्, जब तिनीहरूका सम्भाव्यता र नियति तिनीहरूबाट झन्झन् टाढा जान्छन्, जब आशिष्हरू प्राप्त गर्ने तिनीहरूको इच्छा लगभग टुटिसकेको हुन्छ, र जब तिनीहरूका सबै आशावादी विचार र इच्छाहरू पूरा हुन सक्दैनन्, तब तिनीहरूलाई निरन्तर लागिपर्न निकै गाह्रो हुन्छ—यसरी निरन्तर लागिपर्दा यसले तिनीहरूको हृदयमा एकदमै धेरै पीडा दिन्छ। तिनीहरूले प्रायजसो अब सहनै नसकिएला जस्तो देखिने परिस्थिति वा मनस्थिति अनुभव गर्छन्। त्यसैले तिनीहरूले प्रायजसो परमेश्वरको काम कहिले पूरा हुनेछ भनेर प्रतीक्षा गर्छन् ताकि तिनीहरूले स्वर्गको राज्यका आशिष्हरू प्राप्त गर्न सकून्। कति मानिसहरूले त यस्तो आशा पनि गर्छन्, “परमेश्वरको काम तुरुन्तै समाप्त होस्, ठूलाठूला विपत्तिहरू तुरुन्तै आऊन्—आकाश खस्यो भने सबै मर्नेछन्, कसैले पनि असल परिणामहरू आस गर्नुपर्दैन। यदि आशिष् मैले पाउन सकिनँ भने, अरू कसैले पनि नपाओस्!” हृदयको गहिराइमा, तिनीहरू परमेश्वरको राज्य आओस् भन्ने आशा गर्दैनन्, तिनीहरू परमेश्वरको महान् अभियान पूरा होस् भन्ने आशा गर्दैनन्, र तिनीहरू परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजना अन्ततः महिमित होस्, वा परमेश्वरले मानवजाति माझबाट विजेताहरू प्राप्त गरेर मानवजातिलाई सुन्दर गन्तव्यमा लैजानुहोस् भन्ने आशा गर्दैनन्—तिनीहरू यी कुराहरूको आशा गर्दैनन्। बरु यसविपरीत, जब आशिष्हरू पाउने तिनीहरूका सबै इच्छाले विनाश सामना गरिरहेका हुन्छन्, तब तिनीहरूले हृदयको गहिराइभित्र परमेश्वरको कामलाई धिक्कार्छन्, तिनीहरू परमेश्वरको कामप्रति वितृष्ण बन्छन्, र योभन्दा पनि बढी, तिनीहरू उहाँका वचनहरूप्रति प्रतिकूल बन्छन्।
अहिले कतिपय मानिसहरूले यति धेरै वर्ष प्रवचन सुनिसकेपछि, तिनीहरूले जति धेरै सुन्छन्, त्यति नै धेरै बुझ्छन्, तिनीहरूको हृदय त्यति नै धेरै स्पष्ट हुन्छ, र तिनीहरूले त्यति नै धेरै सुन्न चाहन्छन्। तर यसको उल्टो रूपमा, अरू मानिसहरूले भने प्रवचन जति धेरै सुन्छन् तिनीहरूलाई त्यति नै धेरै दिक्क लाग्छ। तिनीहरूले परमेश्वरका वचनहरू सुन्ने बित्तिकै, तिनीहरूको पैशाचिक पक्ष प्रकट हुन्छ। तिनीहरूले परमेश्वरले सत्यता सङ्गति गर्नुभएको सुन्नेबित्तिकै र यसले मान्छेको भ्रष्ट स्वभाव छुनेबित्तिकै, तिनीहरूको विद्रोही मानसिकता देखा पर्न थाल्छ, र तिनीहरूको दिक्कपन पूरै मडारिएर बाहिर निस्किहाल्छ—तिनीहरूले यो कुरालाई कति हदसम्म लैजान्छन्? कतिपयले हृदयमा धिक्कार्छन्: तिनीहरूले परमेश्वरलाई धिक्कार्छन्, सत्यतालाई धिक्कार्छन्, मण्डली अगुवा र सेवकहरूलाई धिक्कार्छन्, र सत्यता पछ्याउनेहरूलाई धिक्कार्छन्। जब तिनीहरूले त्यस्ता मानिसहरू देख्छन्, तब तिनीहरूलाई घृणा गर्छन् र आक्रमण गर्न चाहन्छन्। जब तिनीहरूले त्यस्ता मानिसहरूले परमेश्वरका वचनहरू प्रचार गरेको, परमेश्वरका वचनहरूमा मनन गरेको, र परमेश्वरका वचनहरू सङ्गति गरेको देख्छन्, तब तिनीहरूले नथाकुन्जेल र निद्रा नलागुन्जेल हृदयमा सराप्छन्। त्यसकारण, कतिपय मानिसहरूले परमेश्वरका वचनहरूबारे गरिएको सङ्गति सुन्दा नै तिनीहरूको आँखा उज्यालो हुन्छ, जबकि कति अरूले चाहिँ परमेश्वरका वचनहरूको सङ्गति सुन्दा वा कसैले परमेश्वरका वचनहरूबाट कुनै प्रकारको ज्योति प्राप्त गरेको छु भनेर भन्दा, तिनीहरूको मन अन्योलमा पर्छ, तिनीहरूको विचार अस्पष्ट हुन्छ, र तिनीहरूको आत्मा लुत्रुक्क पर्छ। तिनीहरूको हृदय यति उकुसमुकुस बन्छ कि तिनीहरूलाई सास फेर्नसमेत गाह्रो हुन्छ, र तिनीहरूले सधैँ ताजा हावा लिन बाहिर जाने तृष्णा गर्छन्। तर जब तैँले सम्भाव्यता र नियति, परमेश्वरका आशिष्हरू, परमेश्वरको काम कहिले समाप्त हुनेछ भन्ने कुरा, र रहस्यहरूबारे सङ्गति गर्छस्, तब कोठा जति नै सानो भए पनि वा हावा जति नै गुम्सिए पनि, तिनीहरू ताजा हावा लिन बाहिर जाने वा झुल्ने गर्दैनन्, बरु कान ठाडो पारेर सुनिरहन्छन्। तैँले जति नै लामो समय कुरा गरे पनि, तिनीहरूले सुत्न वा खान नपाए पनि, त्यसले फरक पार्दैन। जब केही नयाँ विश्वासीहरू मेरो सम्पर्कमा आए, तब मैले तिनीहरूसँग मानिसहरूको स्थिति र मानिसहरूले कसरी सत्यता पछ्याउनुपर्छ भन्नेबारे सङ्गति गरेँ, तर तिनीहरूले यो कुरा बुझेनन् र केही रहस्यहरूबारे कुरा गर्नुहुन्छ कि भनेर अनुरोध गरे। मैले भनेँ: “तँ रहस्यहरूबारे सुन्न चाहन्छस्? त्यसोभए म तँलाई सुरुमा एउटा तथ्य बताउँछु। निरन्तर रहस्यहरूबारे सोधपुछ गर्ने र परमेश्वरका वचनहरूमा यी कुराहरू अनुसन्धान गर्न सधैँ ध्यान दिने मानिसहरू असल हुँदैनन्। तिनीहरू सबै अविश्वासी र फरिसीहरू हुन्छन्।” मेरो जबाफ सुनेपछि ती नयाँ विश्वासीहरू छक्क परे र लाजले थप सोधपुछ गर्न चाहेनन्, तर पछि तिनीहरूले फेरि सोधपुछ गर्ने मौका पाए, र मैले पनि तिनीहरूलाई त्यस्तै जबाफ दिएँ। मैले तिनीहरूलाई जेजसरी जबाफ दिएँ, त्यो तिमीहरूलाई कस्तो लाग्यो? (राम्रो लाग्यो। यसले तिनीहरूलाई आफ्नो बारे मनन गर्न मद्दत गर्न सक्थ्यो।) के तिनीहरूले मनन गर्थे त? गर्थेनन्। त्यसोभए तैँले तिनीहरूलाई कसरी मद्दत गर्न सक्छस्? तिनीहरूलाई यसो मात्रै भन्: “रहस्यहरू जीवन वा सत्यता होइनन्। तैँले जति धेरै रहस्य बुझे पनि, त्यो तैँले सत्यता बुझेजस्तो हुँदैन। तैँले हरेक रहस्य पत्ता लगाए पनि, तँ स्वर्ग जान पाउँछस् वा तैँले राम्रो गन्तव्य प्राप्त गर्छस् भन्ने हुँदैन।” यी वचनहरूद्वारा तिनीहरूलाई मद्दत गर्नेबारे तिमीहरूलाई के लाग्छ? के यो मामिला यसले स्पष्ट पार्दैन र? जब आत्मिक बुझाइ भएका, सत्यतालाई प्रेम गर्ने, र सत्यता पछ्याउने मानिसहरूले यी वचनहरू सुन्छन्, तब तिनीहरूले यसो भन्छन्, “मलाई त रहस्यहरू जीवन हुन् भन्ने लागेको थियो, तर अहिले ती जीवन होइनन् भन्ने थाहा भएको छ, त्यसैले म अबदेखि तीबारे अनुसन्धान गर्नेछैनँ। तर जीवनचाहिँ के हो त?” यसले तिनीहरूले अलिअलि कुरा बुझेका छन् भन्ने देखाउँछ। त्यसोभए, के यी वचनहरू सुनेपछि ख्रीष्टविरोधीहरूलाई मद्दत मिल्छ त? के तिनीहरू रूपान्तरण हुन्छन् त? तिनीहरू रूपान्तरण हुन सक्दैनन्। तिनीहरूले यी वचनहरूमा कुनै फाइदा भेट्टाउँदैनन्, तिनीहरूले यी वचनहरूमा कुनै आशिष्हरू छैनन्, यी वचनहरूमा तिनीहरूको सम्भाव्यता र नियति संलग्न छैनन्, यी तिनीहरूका सम्भाव्यता र नियतिसँग असम्बद्ध र असम्बन्धित छन्, र यी व्यर्थ छन्, त्यसकारण तिनीहरूले यी वचनहरू स्विकार्न सक्दैनन् भन्ने विश्वास गर्छन्। त्यसोभए, तिनीहरूका सम्भाव्यता र नियतिसँग के-कस्ता सङ्गतिहरूचाहिँ सम्बन्धित हुन्छन् त? उदाहरणको लागि तैँले यसो भन्न सक्छस्: “आजभोलि, संसारमा धेरै अनौठा घटनाहरू देखा परिरहेका छन्। कतिपय ठाउँमा, चार चन्द्रमा देखा परेका छन्, र धेरै पटक रक्त चन्द्रमा पनि देखिएको छ। आकाशका अनौठा घटनाहरू प्रायजसो देखा पर्दै छन्। मानव संसारमा विभिन्न महामारी र विपत्तिहरू पनि देखा परेका छन्, र कतिपय ठाउँमा, मानिसहरू नरभक्षणमा संलग्न भएका छन्। यी परिस्थितिहरू हेर्दा, यस्तो लाग्छ हामी प्रकाशको पुस्तकमा अगमवाणी गरिएको कचौरा र महामारीहरूको समयमा आइपुगिसकेका छौं।” जब ख्रीष्टविरोधीहरूले यी वचनहरू सुन्छन्, तब तिनीहरूको आँखा उज्यालो हुन्छ, र कान ठाडो हुन्छ। तिनीहरू आनन्दित हुन्छन्, “म यो युगमा जन्मेर राम्रो भयो। मैले महान् आशिष्हरू प्राप्त गर्न सक्छु। म साँच्चै नै चलाख छु! मैले सांसारिक कुराहरू पछ्याउने निर्णय गरिनँ। मैले परमेश्वरको यो चरणको काम पछ्याउनलाई मेरा सांसारिक सम्भाव्यताहरू र मेरो परिवार त्यागेँ—मैले अहिलेसम्म पछ्याउन सकेकोमा म अत्यन्तै खुशी छु। परमेश्वरको दिन नजिकै छ। यो परिस्थितिको आधारमा हेर्दा, मैले आफू मर्नुभन्दा पहिले परमेश्वरको काम पूरा हुने दिन देख्न पाउँछु जस्तो देखिन्छ। त्यो दिन, म पक्कै पनि उहाँले मुक्ति दिनुभएकाहरू मध्येको एक हुनेछु। कस्तो गज्जब भयो!” तिनीहरूले हृदयमा आफूले सही मार्ग छनौट गरेको छु, सही द्वार भेट्टाएको छु, र केही मूल्य चुकाएको छु भनेर गु्प्त रूपमा आनन्द मान्छन्। तिनीहरू आफूले यो विन्दुसम्म हरेस नखाई पछ्याएको छु, आफू अझै पनि परमेश्वरको घरमा छु, र आफूले कुनै समस्या पैदा गरेको छैन, वा आफूलाई सफाइ गरी फालिएको वा हटाइएको छैन भनेर पनि खुशी हुन्छन्। त्यसकारण, त्यहाँदेखि तिनीहरूले सत्यता अभ्यास गर्नेछन्, कि तिनै आशाहरू पक्रिराख्नेछन्? तिनीहरूको भित्री मनोवृत्ति परिवर्तन हुनेछैन। त्यसकारण, जब तिनीहरूले आफूले विश्वास गरेको परमेश्वरका वचनहरूको एउटा भाग पूरा भएको छ भन्ने पत्ता लगाउँछन्, तब तिनीहरूलाई यस्तो लाग्छ मानौँ तिनीहरूले खजाना नै भेट्टाएका छन्। तिनीहरूलाई तुरुन्तै आफू भाग्यमानी छु, सही मार्ग छनौट गरेको छु, सही द्वार प्रवेश गरेको छु, र सही परमेश्वर छनौट गरेको छु, र आफू बुद्धिमान् मानिस र बुद्धिमत्ती कन्या हुँ भन्ने लाग्छ। “धन्न, मैले त्यो बेला आफ्नो जागिर छोडेँ। मैले सही निर्णय गरेँ। म कसरी यति चलाख भएँ? यदि म त्यो बेला यति होशियार नभएको भए, मैले अहिले आशिष्हरू गुमाउँथे होला। मैले भविष्यमा पनि सतर्क भएर आफ्नो जीवनलाई आफ्नो सम्भाव्यता र नियतिको लागि सङ्घर्ष गर्ने कार्यमा समर्पित गर्न जारी राख्नुपर्छ।” यो मामलामा तिमीहरूले ख्रीष्टविरोधीहरूको कुन सार देख्न सक्छौ? के यी मानिसहरू अवसरवादी होइनन् र? परमेश्वर, उहाँका वचनहरू, वा उहाँको कामप्रति तिनीहरूमा कुनै वास्तविक विश्वास हुँदैन। तिनीहरू अवसरवादीहरू हुन्, परमेश्वरको घरमा घुसपैठ भएका मानिसहरू हुन्। त्यसकारण, परमेश्वरको घरमा, यी मानिसहरू सधैँ ठाउँ ओगट्ने, र अल्याङटल्याङ गर्दै दिन बिताउने मानिसहरू मात्र हुन्। तिनीहरू आफूले परमेश्वरलाई पछ्याएका वर्षहरू, आफूले चुकाएका मूल्यहरू, आफूले गरेका महान् कुराहरू, आफूले व्यक्तिगत रूपमा अनुभव गरेका परमेश्वरका कामहरू, र आफूले बुझेका परमेश्वरका कामका चरणहरू आफ्नो औँलामा गन्ती गर्दै बस्छन्। तिनीहरूले दिनभरि नै बारम्बार यी कुराहरू हृदयमा गन्ती गरिरहन्छन्, र सबैभन्दा महत्त्वपूर्ण कुरा, अर्थात् सत्यता र जीवनलाई भने पछाडि नै छोडिदिन्छन्। तिनीहरूले आशिष्हरू प्राप्त गर्न मात्रै परमेश्वरमा विश्वास गर्छन्—यो त अवसरवाद हो। न त परमेश्वरका कुनै पनि वचनहरूले, न त कसैको अनुभवले नै तिनीहरूको अवसरवादी मनोवृत्ति परिवर्तन गर्न सक्छ। ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्। तिनीहरूका आफ्ना हितहरूको कुरो आउँदा, तिनीहरूले कहिल्यै कुनै सम्झौता गर्दैनन्; तिनीहरूले आफ्नो दृष्टिकोण, आफूले हिँडिरहेको मार्गको दिशा र उद्देश्य कहिल्यै परिवर्तन गर्दैनन्, वा आफ्नो सम्भाव्यता र नियतिको खातिर आफ्नो व्यवहारका सिद्धान्तहरू कहिल्यै परिवर्तन गर्दैनन्। तिनीहरूले आफ्नो सम्भाव्यता र नियतिको लागि परमेश्वरका कुनै पनि वचनहरू लागू गर्दैनन्, तिनीहरूले एउटा पनि वचन लागू गर्दैनन्। कतिले भन्छन्: “तिनीहरूले कहिलेकहीँ केही वचनहरू अभ्यास गर्छन्, जस्तै विभिन्न कुराहरू त्याग्नु वा आफूलाई समर्पित गर्नु।” तिनीहरूले जुनसुकै कुरा अभ्यास गरे पनि, तिनीहरूले आफूसित आफ्ना सम्भाव्यता र नियति हुन्छन् र आफूले आशिष्हरू प्राप्त गर्न सक्छु भन्ने आधारमा मात्रै त्यसो गर्छन्। तिनीहरूले जुनसुकै सत्यता अभ्यास गरे पनि, त्यो कलङ्कित हुन्छ र त्यो अभिप्राय र उद्देश्यसाथ गरिन्छ। त्यो परमेश्वरले तोक्नुभएको अभ्यासभन्दा पूर्ण रूपमा फरक हुन्छ।
जब ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू पढ्छन्, तब तिनीहरूले मुख्य रूपमा आफ्नो गन्तव्य र रहस्यहरूबारे खोजी गर्न, साथै परमेश्वरको काम र व्यवस्थापन योजना कहिले समाप्त हुनेछ, र विपत्तिहरू कहिले आउनेछन् भन्नेजस्ता कुराहरूसित सम्बन्धित विषयवस्तु खोजी गर्न उहाँका वचनहरू प्रयोग गर्छन्। आफ्नो गन्तव्यको खातिर, तिनीहरूले धेरै मेहनत लाउन र धेरै काम गर्न सक्छन्। त्यसकारण, जब परमेश्वरको काम समाप्त हुन्छ र जब महाविपत्तिहरू आउँछन्, तब तिनीहरूले गरेका कुराहरू, चुकाएका मूल्यहरू, र त्यागेका कुराहरू आफूले चाहेका आशिष्हरूसँग साट्न सकिन्छ कि सकिँदैन, र तिनीहरू विपत्तिहरूको कष्टबाट जोगिन सक्छन् कि सक्दैनन्—यही नै तिनीहरूले जान्न चाहेको र तिनीहरूलाई वास्ता लाग्ने कुरा हो। तिनीहरूले परमेश्वरका वचनहरू अध्ययन गर्ने सम्पूर्ण प्रक्रियामा, जति धेरै वर्ष लागे पनि, तिनीहरूले आफ्नो सम्भाव्यता र नियतिबारे मात्रै वास्ता गर्छन्। त्यसकारण, परमेश्वरका वचनहरू पढ्ने क्रममा तिनीहरूले दिने ध्यान र परमेश्वरका वचनहरूमा तिनीहरूले खोज्ने विषयवस्तु सबैमा केही विशेष चिन्ह र विशेषताहरू हुन्छन्। सामान्यतया, पहिलो छ महिना वा एक वर्षमा, नयाँ विश्वासीहरूले परमेश्वरका वचनहरूमा त्यस्ता विषयहरूबारे खोजी गर्छन्। तर छ महिना वा एक वर्ष बितेपछि, कतिपय मानिसहरूले यी सबै भागहरू पहिले नै पढिसकिएका छन् भन्ने देख्छन्, र थप अनुसन्धान गर्नुको कुनै अर्थ छैन, तिनले मानिसहरूलाई सत्यतामा प्रवेश गर्न मद्दत गर्न सक्दैनन्, बरु उल्टै तिनीहरूलाई प्रभावित पार्न र सत्यतामा प्रवेश गर्नबाट बाधा दिनसमेत सक्छन् भन्ने महसुस गर्छन्, त्यसकारण तिनीहरूले यी भागहरू पढ्न छोड्छन्। तिनीहरूको लागि, कहिलेकहीँ तिनलाई झलक्क हेरेर बुझ्नु नै पर्याप्त हुन्छ। बाँकी समय, तिनीहरूले मनन गर्छन्, “म कसरी सत्यतामा प्रवेश गर्न सक्छु? मानवजातिलाई खुलासा गर्ने परमेश्वरका धेरै वचनहरू छन्। तिनले मानिसहरूको छलीपन, विद्रोहीपन, र अहङ्कारी स्वभावहरू खुलासा गर्छन्; तिनले परमेश्वरप्रतिको मानिसहरूका विभिन्न धार्मिक धारणा र मनोवृत्तिहरू खुलासा गर्छन्। अझै बढी रूपमा, तिनले मानिसहरूको असामान्य मानवताका विभिन्न प्रकटीकरणहरू खुलासा गर्छन्। त्यसैले, मानिसहरूले के अभ्यास गर्नुपर्छ भनेर मैले परमेश्वरका वचनहरूबाट कसरी पत्ता लगाउन सक्छु?” सत्यतालाई प्रेम गर्ने र पछ्याउने मानिसहरूले यी कुराहरूमा आफ्नो मेहनत समर्पित गर्छन्। तिनीहरूले प्रायजसो आफ्नो वास्तविक जीवनमा आफूले बुझ्नुपर्ने र प्रवेश गर्नुपर्ने वास्तविक समस्याहरूबारे प्रश्न सोध्छन्, जस्तै, “यसपछि हामीले के गर्नुपर्छ, र कसरी अभ्यास गर्नुपर्छ? परमेश्वरमा विश्वास गरेपछि, हामी अवश्य नै गैरविश्वासी र धार्मिक आस्था भएका मानिसहरूभन्दा फरक हुनेछौं, त्यसकारण हाम्रो जीवनमा के-कस्ता गुणात्मक परिवर्तनहरू आउनुपर्छ? आफ्नो व्यवहार प्रस्तुत गर्ने र संसारसँग व्यवहार गर्ने विषयमा, हामीले कसरी बोल्नु र व्यवहार गर्नुपर्छ, कसरी अरूसँग अन्तरक्रिया गर्नुपर्छ, र कसरी सत्यता अभ्यास गर्नुपर्छ?” तर ख्रीष्टविरोधीहरूले चाहिँ १०, २०, वा ३० वर्ष विश्वास गरे पनि, तिनीहरूले कहिल्यै पनि यी प्रश्नहरू सोध्दैनन्। तिनीहरूले परमेश्वरका वचनहरू अध्ययन गर्छन्, र परमेश्वरका वचनहरूमा आशिष्हरू प्राप्त गर्ने आशा र आफ्नो गन्तव्यबारे खोजी गर्छन्, र तिनीहरूले २०-३० वर्ष खोजी गरे पनि यही काम गरिरहन तिनीहरूलाई दिक्क लाग्दैन। समस्याको थोरै सङ्केत देख्नेबित्तिकै, तिनीहरूले तुरुन्तै परमेश्वरका वचनहरूमा आफ्नो गन्तव्यसँग सम्बन्धित विषयवस्तुहरू खोज्छन्, र त्यसपछि तिनीहरूको वर्तमान विश्वासको आधारमा तिनीहरूप्रति परमेश्वरको मनोवृत्ति कस्तो हुन सक्छ भनेर मूल्याङ्कन गर्छन्। तिनीहरूले चक्र र अवधिअनुसार आफ्नो गन्तव्य मूल्याङ्कन गरेजस्तो प्रतीत हुन्छ। परमेश्वरको काम गर्ने तरिकामा आएको परिवर्तन वा मानवजातिप्रतिको उहाँको आतुरी अभिप्रायको अभिव्यक्तिकै कारण तिनीहरूले कहिल्यै पनि आफ्ना विचार र मनोवृत्तिहरू बदलेर सत्यता पछ्याउँदैनन्। तिनीहरूले कहिल्यै पनि त्यस्तो गर्दैनन्। त्यसकारण, २०-३० वर्ष विश्वास गरेका कतिपय मानिसहरूले अझै पनि मानवजातिको नियति र गन्तव्य सम्बन्धमा परमेश्वरले उल्लेख गर्नुभएका रहस्य र विषयहरूमा आफ्नो प्रयास लगाइरहेका हुन्छन्। कतिपय मानिसहरूले कति हदसम्म प्रयास लगाइरहेका हुन्छन्? तिनीहरूले भन्छन्: “जब मैले परमेश्वरका वचनहरूको हरेक भाग तुलना गरेँ, तब मैले सबैभन्दा ठूलो रहस्य पत्ता लगाएँ। जब ख्रीष्ट पृथ्वी छोडेर जान्छन्, तब यो घटना वसन्तमा हुनेछ।” यो सुनेपछि मलाई कस्तो लाग्छ जस्तो तिमीहरूलाई लाग्छ? मलाई खुशी लाग्छ कि दुःख लाग्छ? मलाई न त खुशी नै लाग्छ न त दुःख नै लाग्छ। मेरो विचारमा यो हास्यास्पद छ। वास्तवमै यसमा आफ्नो प्रयास समर्पित गर्ने मानिसहरू पनि छन्, यहाँसम्म कि तिनीहरूलाई निश्चित मौसमसमेत थाहा हुन्छ। यदि तिनीहरू अझै अगाडि गएर निश्चित समय पत्ता लगाउन सके भने, तिनीहरूले मिनेट र सेकेन्डसमेत ठ्याक्कै बताउन सके भने, तिनीहरू साँच्चै नै “प्रतिभाशाली” हुनेछन्! त्यस्ता “प्रतिभाशाली” मानिसहरूले म आफैलाई समेत थाहा नभएको कुरा पत्ता लगाउन सक्नु हास्यास्पद पनि छ र झर्कोलाग्दो पनि छ। यो किन हास्यास्पद छ? परमेश्वर देहधारी बन्ने ठ्याक्कै समय कुनै पनि व्यक्तिलाई थाहा हुँदैन, शैतानलाई समेत थाहा हुँदैन। के परमेश्वरले शैतानलाई समेत थाहा नभएको कुरा कुनै पनि व्यक्तिलाई बताउनुहुन्छ त? अवश्य नै बताउनुहुन्न। त्यसैगरी, कहिले परमेश्वरले आफ्नो महान् काम पूरा गर्ने, र उहाँको देहले पृथ्वीमा काम पूरा गरेर जाने दिन आउँछ—के यो परमेश्वरले कसैलाई भन्नुहुने कुरा हो र? के सबैले यो कुरा थाहा पाउनुपर्छ भन्ने कुनै कारण छ र? (छैन।) के परमेश्वरले मानिसहरूलाई थाहा दिन नचाहनुभएको कुरा आफूले बोल्दा फुत्काउनुहुन्छ? अवश्य नै फुत्काउनुहुन्न। तैपनि कतिपय मानिसहरूले परमेश्वरका वचनहरूमा वास्तवमै उहाँ पृथ्वी छोडेर जानुहुने समय भेट्टाएको छु भनेर भन्छन्। तिनीहरूले यो घटना वसन्तमा हुनेछ भनेर समेत भन्छन्। के यो अनौठो कुरा होइन र? के यो हास्यास्पद छैन र? यी मानिसहरूले यो अभिव्यक्तिलाई परमेश्वरका कुन वचनहरूमा आधारित गरेका हुन्छन्? जब परमेश्वरले वसन्तमा कुनै काम गर्नेबारे कुरा गर्नुहुन्छ, तब उहाँले कुनै अर्को कुराबारे उल्लेख गरिरहनुभएको हुन सक्छ। के उहाँले यसबारे नै कुरा गरिरहनुभएको हुन सक्छ त? तिनीहरूले कसरी त्यसमा यो कुरा प्रस्तुत गर्न सक्छन्? परमेश्वरले मानिसहरूलाई तिनीहरूले के जानेको चाहनुहुन्छ भन्ने कुरा स्पष्ट रूपमै र तोकेरै भन्नुहुनेछ। मानिसहरूले जति नै धेरै अनुसन्धान गरे पनि उहाँले तिनीहरूलाई थाहा दिन नचाहनुभएको कुरा तिनीहरूले बुझ्न सक्दैनन्; यस्ता कुराहरू मानवजातिले जान्नु असम्भव हुन्छ। यी मानिसहरूले तिनीहरूलाई यो कुरा थाहा छ, र तिनीहरूको अनुसन्धानले परिणामहरू प्राप्त गरेको छ भनेर भन्छन्। तिनीहरूले तोकेरै निश्चित समयसमेत दिन्छन्। के यो निरर्थक कुरा बोल्नु होइन र? यो मानिसहरूलाई बहकाउनु, तिनीहरूको दिमाग बिथोल्नु, र तिनीहरूको दृष्टिकोण भङ्ग गर्नु हो। यो शैतानबाट आएको हुन्छ र यो परमेश्वरबाट आएको अन्तर्दृष्टि हुँदै होइन। उहाँले मानिसहरूलाई यो विषयमा अन्तर्दृष्टि दिनुहुन्न। तिनीहरूले यो कुरा थाहा पाउनु व्यर्थ हुन्छ। मानिसहरूलाई जुन कुरा थाहा नहोस् भनेर परमेश्वरले चाहनुहुन्छ, त्यो कुरा उहाँले गल्तीले पनि कहिल्यै फुत्काउनुहुन्न। त्यसैले म यसलाई हास्यास्पद भन्छु। त्यसोभए किन यो झर्कोलाग्दो छ त? (परमेश्वरले यी वचनहरूद्वारा मानिसहरूले आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न सकून् भन्ने उद्देश्यले, र मानिसहरूलाई सत्यता पछ्याउन र प्राप्त गर्न सक्षम तुल्याउन भनेर सत्यता व्यक्त गर्नुहुन्छ, तर ख्रीष्टविरोधीहरूले गन्तव्य र रहस्यहरू अनुसन्धान गर्नको लागि उहाँका वचनहरू प्रयोग गर्छन्।) यो पनि अलिअलि झर्कोलाग्दो कुरा हो, तर मेरो झर्कोको वास्तविक कारण के हो? उदाहरणको लागि, यदि धनी आमाबुबाले छोराछोरीको लागि धेरै पैसा कमाउँछन्, र तिनीहरूका छोराछोरी अझै सानै छन् र हुर्कनको लागि तिनीहरूलाई आमाबुबामा भर पर्नुपर्छ, र तिनीहरूको जीविकोपार्जन पूर्ण रूपमा ती आमाबुबामा निर्भर हुन्छ भने, के ती छोराछोरीले आफ्ना आमाबुबा चाँडै मरून् भन्ने आशा गर्छन्? के तिनीहरूले आमाबुबाको मृत्यु कहिले हुन्छ भनेर तुरुन्तै हिसाब गर्न भाग्य हेर्ने व्यक्ति खोजिहिँड्छन्? के कसैले यस्तो व्यवहार गर्छ? (गर्दैन।) यदि तिनीहरूले त्यसो गरे भने, के त्यो झर्कोलाग्दो कुरा हुँदैन र? यो झर्कोलाग्दो कुरा हुन्छ! त्यस्ता मानिसहरू घृणास्पद हुन्छन्! अहिले परमेश्वर पृथ्वीमा आउनुभएको छ, तर उहाँको देहले सय वर्षभन्दा बढी बाँच्न र सय वर्षसम्म काम गर्न सक्ने भए पनि, मानिसहरूले बुझ्न सक्ने सत्यताहरू सीमित छन्। यसबारे विचार गर, प्रभु येशूको देहधारणदेखि परमेश्वरको कामको वर्तमान चरणसम्म, मानवजातिले यी दुई हजार वर्षमा कति सत्यता प्राप्त गरेका छन्? मानवजातिले लगभग सत्यता बुझ्दै बुझ्दैनन्। यो चरणमा, परमेश्वरले काम गर्नुभएको ३० वर्ष भइसकेको छ, र उहाँले लगभग ३० वर्षदेखि बोल्दै आउनुभएको छ। परमेश्वरका वचनहरू सबैभन्दा बढी पढेकाहरूले तीस वर्षदेखि पढ्दै आएका छन्। कति वटा सत्यताचाहिँ मानिसहरूले बुझेका छन् र? तिनीहरूको बुझाइ अत्यन्तै सीमित छ। मानवजाति सत्यतामा प्रवेश गर्ने गति ढिलो हुन्छ। अर्थात्, सत्यतालाई मानिसहरूमा घुसाउनु र यसलाई तिनीहरूको जीवन बनाउनु निकै गाह्रो र निकै ढिलो कार्य हो। तर यो जति नै ढिलो भए पनि, कतिपय मानिसहरूले अझै पनि यस्तो आशा गर्छन्, “परमेश्वर पृथ्वी छोडेर कहिले जानेछन्? परमेश्वरको काम कहिले समाप्त हुनेछ?” के परमेश्वर पृथ्वी छोडेर जानुहुँदा र उहाँको काम समाप्त हुँदा यसले तिनीहरूलाई फाइदा दिनेछ? परमेश्वर पृथ्वी छोडेर जाने दिन तिनीहरू मर्नेछन्। तिनीहरूले मृत्युदण्ड पाउनेछन्। तिनीहरूसित खुशी हुनुपर्ने कुरा के छ? यो कस्तो व्यक्ति हो? के तिनीहरूमा नैतिकताको कमी छैन र? सांसारिक मानिसहरूमाझ तिनीहरूजस्ता मानिसहरूलाई बैगुनी छोराहरू भनिन्छ। हामी तिनीहरूलाई अविश्वासी र ख्रीष्टविरोधीहरू भन्छौं, र तिनीहरू केही कामका हुँदैनन्।
जब वचन देहमा देखा पर्नुहुन्छको विषयवस्तु व्यक्त गरिँदै थियो, तब धेरै मानिसहरूले के विश्वास गरे भने, “देहधारी परमेश्वरले काम मात्रै गरिरहेका छन्। उनले कामका केही चरण कार्यान्वयन गरिरहेका छन्, र उनीसँग काम गर्ने र बोल्ने विभिन्न तरिकाहरू छन्, र कुरा त्यति नै हो, र त्यसपछि उनको काम पूरा हुनेछ। उनको काम पूरा भएपछि, देहको कुनै काम हुनेछैन, र उनले बोल्नुपर्ने कुनै आवश्यकता हुनेछैन। हामीले केही कुरा प्राप्त गरेका हुनेछौं, र हामीले बस परमेश्वरको काम पूरा हुने दिनको प्रतीक्षा मात्रै गर्नुपर्छ। हामीले परमेश्वरका यी वचनहरूबारे बोल्न र प्रचार गर्न सक्ने अवस्था भएपछि, हामीसँग गन्तव्य हुनेछ र हामीले ठूला आशिष्हरू प्राप्त गर्नेछौं।” कतिपय मानिसहरूमा यही मनोवृत्ति थियो। त्यसपछि, मैले अरू धेरै वचनहरू सङ्गति गरेँ, ठ्याक्कै भन्दा, परमेश्वरलाई चिन्ने विषयका वचनहरू, साथै यो अवधिमा मैले सङ्गति गरिरहेका वचनहरू सङ्गति गरेँ। कतिपय मानिसहरूले यो देखेपछि यस्तो सोचे, “के परमेश्वरका वचनहरू सबै वचन देहमा देखा पर्नुहुन्छमा समावेश छैनन् र? उनले अहिले किन परमेश्वरलाई चिन्ने विषयमा भन्ने पुस्तक व्यक्त गरेका हुन्? परमेश्वर किन झन्झन् धेरै वचनहरू व्यक्त गरिरहन्छन्? अबदेखि, उनले केही रहस्य, स्वर्गका केही मामला, र भविष्यमा मानिसहरू कसरी स्वर्गमा परमेश्वरसँग हिँड्नेछन् भन्नेबारे कुरा गर्नुपर्छ। यी मामलाहरूबारे कुरा गर्दा हामीलाई साँच्चै नै उत्साह हुन्छ!” कस्ता मानिसहरूमा यस्ता विचारहरू थिए? (ख्रीष्टविरोधीहरूमा।) तिनीहरूले किन यी विचारहरू विकास गरे? किनभने तिनीहरूलाई सत्यताप्रति पटक्कै चासो हुँदैन। तिनीहरूले सोचे, “हामीले परमेश्वरलाई पछ्याएको धेरै वर्ष भयो। परमेश्वरले सुरुमा कसरी काम गरे भन्ने हामीलाई थाहा छ। हामीले व्यक्तिगत रूपमा परमेश्वरको कामका धेरै चरणहरू अनुभव गरेका छौं। हामीले परमेश्वरले बोल्ने तरिकाहरू व्यक्तिगत रूपमा अनुभव गरेका छौं र यसलाई आफ्नै आँखाले देखेका छौं। हामी परमेश्वरका साक्षीहरू हौँ र आशिष्हरू प्राप्त गर्न सबैभन्दा योग्य पुस्ता हौं।” परमेश्वरले सत्यता बोल्नु र व्यक्त गर्नुभएकोले नभई परमेश्वरको पूर्वनिर्धारित योजनाको कारण तिनीहरूले उहाँलाई पछ्याएका हुन्। परमेश्वरले तिनीहरूलाई कामका धेरै चरणहरू अनुभव गर्न अगुवाइ गर्नुभयो, र तिनीहरूले परमेश्वरलाई निष्क्रिय रूपमा पछ्याए। पछि, जब परमेश्वरको काम निरन्तर अघि बढिरह्यो, तब उहाँले कामको वर्तमान चरण पछ्याउन सक्ने अझै धेरै मानिसहरूलाई छनौट गर्नुभयो। परमेश्वरको कामका मुख्य प्रापकहरू निरन्तर विस्तार हुँदै र परिवर्तन हुँदै गए। सुरुमा परमेश्वरलाई पछ्याउने कतिपय मानिसहरूलाई सत्यता नपछ्याएको कारण, परमेश्वरबारे विभिन्न धारणा र गलतफहमीहरू राखेको कारण, र परमेश्वरबारे तिनीहरूमा विभिन्न प्रकारका अनाज्ञाकारिता र असन्तुष्टि पैदा भएको कारण बिस्तारै हटाइयो। यी मानिसहरूलाई हटाइनुका व्यक्तिपरक र वस्तुगत दुवै कारणहरू थिए। व्यक्तिपरक हिसाबमा भन्दा, तिनीहरूले सत्यता नपछ्याएका हुनाले, र तिनीहरूले फरिसीहरूले जस्तै परमेश्वरका वचनहरूलाई सिद्धान्तहरूको रूपमा लिएका र तिनलाई व्यापक रूपमा प्रचार गरेका हुनाले तिनीहरूलाई हटाइयो। अहिलेसम्म पनि कतिपय मानिसहरूले अझै सत्यता वास्तविकताहरू के हुन् भन्ने कुरा बुझेका छैनन्—तिनीहरू मृत मानिसहरूजस्तै हुन्। वस्तुगत रूपमा भन्दा, ती हटाइएका मानिसहरू परमेश्वरको नयाँ कामको सुरुवातलाई व्यक्तिगत रूपमा अनुभव गरेका मानिसहरू थिए, तर तिनीहरूको चरित्र, पछ्याइ, र क्षमताको कारण, तिनीहरू परमेश्वरको पछिल्लो र अझ नयाँ कामको लागि योग्य भएनन्। त्यसकारण, ती मानिसहरूलाई परमेश्वरको कामका चरणहरूले तुरुन्तै हटाइदिए, तुरुन्तै फ्याँकिदिए। यो भन्न सकिन्छ कि, परमेश्वरलाई चिन्ने विषयमा भन्ने पुस्तकका वचनहरू व्यक्त गरिनुभन्दा केही समय पहिले, धेरै मानिसहरूले गुप्त रूपमा यसो भन्दै हृदयदेखि आनन्द लिएका थिए: “मैले विरोध गरेको र दोष दिएको व्यक्तिसँग बल्ल भन्ने कुरा केही छैन। उनको कामका चरणहरू बल्ल पूरा भए। विगतमा, मसँग उनको बारे धारणाहरू थिए। मैले उनको अवज्ञा गरेँ र उनीप्रति असन्तुष्ट भएँ, र मैले उनलाई निन्दा र विरोध पनि गरेँ। अवश्य नै, म सही थिएँ। उनी परमेश्वर होइनन्; उनी ख्रीष्ट होइनन्। मैले उनलाई जसरी व्यवहार गरे नि त्यसले फरक पार्दैन, किनभने उनी परमेश्वर होइनन्। उनी परमेश्वरको माध्यम, परमेश्वरको प्रवक्ता मात्रै हुन्।” यति मात्र होइन, कतिपयले त यसोसमेत भने: “यो देह हामीभन्दा फरक छैन। बोल्ने र काम गर्ने त उनीभित्रको आत्मा हो; देहसँग यसको कुनै सम्बन्ध छैन।” कतिपय मानिसहरूले गुप्त रूपमा ख्रीष्टलाई यसरी दुस्साहस गर्दै दोष दिए र निन्दा गरे। जब वचन देहमा देखा पर्नुहुन्छ भाग २: परमेश्वरलाई चिन्ने विषयमा भन्ने पुस्तकका सत्यताहरू व्यक्त गरियो, ख्रीष्टलाई दोष दिने र निन्दा गर्ने यी मानिसहरूलाई हृदयमा असहज महसुस भयो। यो असहजताको कारण के थियो? एक हिसाबमा, तिनीहरूको हृदयमा लामो समयदेखि बसेका धारणाहरू थिए, र तिनीहरूले आफूलाई सत्यता व्यक्त गर्ने व्यक्तिविरुद्ध उभ्याएका थिए। तिनीहरू यो व्यक्तिप्रति अवज्ञाकारी र असन्तुष्ट भएका थिए, र उहाँलाई दोष दिने र निन्दा गर्ने समेत गरेका थिए। अर्को हिसाबमा, परमेश्वरले २०१३ भन्दा पछि व्यक्त गर्नुभएका वचनहरूले मानवजातिलाई अहिलेसम्म थाहा नभएका धेरै रहस्यहरू प्रकट गरेका थिए। यी रहस्यहरूले अझै ठोस जग बसाली नसकेका नयाँ विश्वासीहरूको विश्वासलाई दह्रिलो बनाए, र तिनीहरूको शङ्कास्पद हृदयमा तुरुन्तै निश्चितता प्रदान गरे। परमेश्वरमा धेरै वर्ष विश्वास गरेका तर यसभन्दा पहिले ख्रीष्टको विरोध गरेका, उहाँलाई दोष दिएका, र उहाँको निन्दा गरेका मानिसहरूको हकमा भने, यी रहस्यहरूले तिनीहरूलाई सीधै टाउकोमै प्रहार गरे, जसले गर्दा तिनीहरूलाई अझै अप्ठ्यारो भयो। तिनीहरूले सोचे, “अब हामी पूरै खत्तम भयौँ। हामीलाई परमेश्वरले हटाएका छन्। उनी हामीलाई चाहन्नन्। परमेश्वरले पहिले पनि धेरै वचनहरू व्यक्त गरेका थिए, तर हामीले उनलाई सधैँ मानवको रूपमा लियौँ। हामीले सोच्यौँ, उनको कामका चरणहरू पूरा भएपछि, बाँकी कुराहरू उनीसँग सम्बन्धित हुँदैनन्, र यो व्यक्तिले आफ्नो सेवा समाप्त गरेको हुनेछ, र त्यसपछि, हामीले स्वर्गको परमेश्वरसँग अन्तरक्रिया गर्नेछौं र स्वर्गकै परमेश्वरमा विश्वास गर्नेछौं। हामीले पृथ्वीको परमेश्वरबारे धारणाहरू राख्यौँ। हामीले उनको अवज्ञा गर्यौँ र उनलाई तिरस्कार गर्यौँ।” सन् २०१३ को अवधिमा व्यक्त गरिएका वचनहरूमार्फत, ती मानिसहरूमध्ये धेरैको दुस्साहस विलीन भयो। यसभन्दा पहिले, कतिपय मानिसहरूले परमेश्वरको कामबारे शङ्काहरू विकास गरेका थिए। तिनीहरूले परमेश्वरको देहधारी देहलाई विरोध र ईश्वरनिन्दा गरेका थिए, र कतिले त आफ्नो विश्वाससमेत त्यागेका थिए। किन यस्तो भयो? किनभने तिनीहरूले धारणाहरू विकास गरेका थिए। तिनीहरूले देहधारी परमेश्वर र परमेश्वरको कामलाई मात्र इन्कार गरेनन्, परमेश्वरको अस्तित्वलाई समेत इन्कार गरे। परमेश्वरप्रति ती मानिसहरूले राखेको मनोवृत्तिको आधारमा हेर्दा, तिनीहरूले कस्तो परिणाम प्राप्त गर्नुपर्छ? परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्ति र दृष्टिकोणको आधारमा, तिनीहरूको सार के हो? (अविश्वासीको सार।) अविश्वासीहरूको पहिलो मुख्य विशेषता अवसरवाद हो। तिनीहरूले परमेश्वरको वचनमा आफ्ना हितहरू भेट्टाएपछि, तिनलाई पक्रिरहन्छन्, त्याग्न मान्दैनन्, र यसरी उहाँका वचनहरूबाट फाइदा लिने प्रयास गर्छन्। दोस्रो विशेषता के हो भने, तिनीहरूले कुनै पनि बेला र कुनै पनि ठाउँमा परमेश्वरको निन्दा गर्न सक्छन्, तिनीहरूले कुनै पनि बेला र कुनै पनि ठाउँमा परमेश्वरबारे धारणाहरू विकास गर्न सक्छन्, र एउटा सानो कुरा मात्र तिनीहरूको धारणा अनुरूप नहुँदा पनि, तिनीहरूले परमेश्वरप्रति आलोचना, दोषारोपण, र विरोध गर्न सक्छन्। तिनीहरूले कति पनि परमेश्वरको डर मान्दैनन्। ती सबै मानिसहरूमा ख्रीष्टविरोधीहरूको सार हुन्छ; तिनीहरू सबै ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूको अर्को विशेषता के हो? ती मानिसहरूमा सत्यताप्रति कहीँकतै कुनै प्रेम हुँदैन। परमेश्वरका वचनहरू प्राप्त गर्नेहरूमा तिनीहरू नै पहिलो थिए, परमेश्वरका वचनहरू सुन्नेहरूमा तिनीहरू नै पहिलो थिए, र परमेश्वरको कामका चरण र विधिहरूलाई व्यक्तिगत रूपमै अनुभव गर्नेहरू पनि तिनीहरू नै थिए। ती मानिसहरूले विश्वास गरेको अहिले ३० वर्ष भइसकेको छ, तर तिनीहरूमध्ये धेरैजसोले परमेश्वरको घरमा कुनै कर्तव्य निर्वाह गर्न सक्दैनन्, र तिनीहरूसँग बताउनको लागि कुनै अनुभव नै छैन। तिनीहरू जहाँ गए पनि, तिनीहरूले ती मृत शब्द र सिद्धान्तहरूबारे मात्रै कुरा गर्छन्। तिनीहरूको सबैभन्दा स्पष्ट विशेषता के हो? तिनीहरूले परमेश्वरमा विश्वास गरेको ३० वर्ष भइसकेको छ, तर तिनीहरूको स्वभाव पटक्कै परिवर्तन भएको छैन, र तिनीहरूसँग परमेश्वरबारे कुनै डर वा बुझाइ छैन। तिनीहरूले गुप्त रूपमा परमेश्वरको देहधारी देहलाई त्यसै, त्यतिकै आलोचना गर्न सक्छन्, र अलिकति पनि भयभीत नभई वा डर नमानी परमेश्वरसँग निहुँ खोज्न र उहाँलाई दोष दिनसमेत सक्छन्। तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरूलाई सत्यताप्रति वितृष्णा लाग्छ, र तिनीहरू सत्यताको विरोध गर्छन्। जब देहधारी परमेश्वरको कुरा आउँछ, तब तिनीहरूले जेसुकै बोल्ने दुस्साहस गर्छन्; तिनीहरूले सबै कुरा मूल्याङ्कन र आलोचना गर्ने आँट गर्छन्, र जबजब तिनीहरूले धारणाहरूको विकास गर्छन्, तबतब तिनीहरूले ती कुराहरू फैलाउने आँट गर्छन्। के यी मानिसहरू घृणित छैनन् र? (छन्।) के तिनीहरू परमेश्वरका मानिसहरू हुन्? तिनीहरूले परमेश्वरमा विश्वास गरेको ३० वर्ष भइसकेको छ, तर तिनीहरूसँग कुनै वास्तविकता छैन, र तिनीहरूको स्वभाव पटक्कै परिवर्तन भएको छैन—के तिनीहरू मृत मानिसहरू होइनन् र? के साँच्चै सत्यता पछ्याउने र साँचो रूपमा सामान्य मानवता भएका मानिसहरू परमेश्वरमा विश्वास गरेको तीन वर्षमै केही सत्यताहरू बुझेर तिनमा प्रवेश गर्न सक्दैनन् र? (सक्छन्।) तर कतिपय मानिसहरूले परमेश्वरमा विश्वास गरेको ३० वर्ष भइसकेको भए पनि, तिनीहरूसँग कुनै अनुभव हुँदैन। यदि तैँले तिनीहरूलाई आफ्नो अनुभवबारे बताउन लगाइस् भने, तिनीहरूले सिद्धान्त, नारा, र भाषणका शब्दहरूबारे मात्रै कुरा गर्नेछन्। त्यसकारण, तिनीहरूले विगत ३० वर्षमा परमेश्वरका वचनहरूमा के प्रयास लगाएका छन्? तिनीहरूले के प्राप्त गरेका छन्? तिनीहरूले परमेश्वरका वचनहरू स्वीकार गर्दैनन् भन्ने कुरा स्पष्ट छ। तिनीहरूले मानवजातिलाई आशिष् र प्रतिज्ञाहरू दिने सम्बन्धी परमेश्वरका वचनहरू, उहाँका राम्रा सुनिने वचनहरू, उहाँका सान्त्वना र प्रोत्साहनका वचनहरू, र कर्णप्रिय वचनहरू स्वीकार गर्छन्, तर तिनीहरूले परमेश्वरले व्यक्त गर्नुहुने कुनै पनि सत्यता वा मानवजातिप्रतिका उहाँका कुनै पनि मापदण्डहरू स्वीकार गर्दैनन्। तिनीहरूले एउटा पनि स्वीकार गर्दैनन्। के यी मानिसहरूलाई हटाइनुपर्दैन र? (पर्छ।) के यस्ता मानिसहरूलाई हटाउनु अन्याय हो? (होइन।) किन होइन भने, तिनीहरूले स्पष्ट रूपमा सत्यता जानेर पनि जानीजानी पाप गर्छन्।
परमेश्वरले आखिरी दिनहरूमा धेरै काम गर्नुभएको छ र धेरै वचनहरू बोल्नुभएको छ, र मानिसहरूले यसको अनुभव गरेका छन्, र परमेश्वरको कामको हरेक चरण आफ्नै आँखाले देखेका छन्। यसलाई जुनसुकै दृष्टिकोणबाट हेरे पनि, परमेश्वरले यति धेरै सत्यता व्यक्त गर्नुहुन्छ र यति धेरै मानिसहरूलाई मुक्ति दिनुहुन्छ भन्ने कुरा निर्विवाद छ, र कसैले पनि यसबारेमा प्रश्न गर्नु हुँदैन। देहधारी परमेश्वर जति नै साधारण र सामान्य हुनुभए पनि, मान्छेलाई उहाँ जति नै अयोग्य लागे पनि, मानिसहरूले उहाँका वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्नुपर्छ। कतिपयले भन्छन्, “देहधारी परमेश्वर यति सानो र साधारण भएकाले, र त्यति महान् नभएकाले, हामीलाई कसरी उनको आदर गर्न लगाउन सकिन्छ? के त्यस्तो साधारण देह कुनै ठूलो काम गर्न सक्षम हुन सक्छ? के हामीले साँच्चै नै उनीबाट ठूला आशिष्हरू प्राप्त गर्न सक्छौं? हामीलाई थाहा छैन; हामीले गर्न सक्ने भनेको उनलाई साधारण व्यक्तिको रूपमा लिनु मात्र हो।” अरू भन्छन्, “तिमीले गरेका कतिपय कुराहरूले हामीलाई अविश्वस्त तुल्याएको छ, कतिपय कुराले हामीलाई धारणाहरू दिएको छ, र कतिपय कुरा हाम्रो समझबाहिर रहेका छ, र तिमीले हाम्रो निम्ति अस्वीकार्य कुराहरू भनेका छौ, त्यसकारण तिमीले स्वर्गको परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्दैनौ—त्यसकारण हामी अन्तिमसम्मै तिमीसँग लड्नुपर्छ। यदि तिमीले हामीलाई सुसमाचार फैलाउन लगाउँछौ भने, हामी त्यसो गर्नेछैनौं, यदि तिमीले हामीलाई हाम्रो कर्तव्य निर्वाह गर्न लगाउँछौ भने, हामी त्यसो गर्नेछैनौं, र यदि तिमीले हामीलाई तिम्रा वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्न लगाउँछौ भने, हामी त्यसो गर्नेछैनौं। तिमी जुन व्यक्ति हौ त्यो व्यक्तिसँग हामी अन्तिमसम्मै लड्नेछौं—हेरौं तिमीले हामीलाई के गर्न सक्छौ।” कुनै पनि हालतमा सत्यतालाई स्वीकार नगर्ने यी मानिसहरूको हृदयमा, परमेश्वरको कार्यलाई इन्कार गर्ने, र परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने कुरालाई इन्कार गर्ने, र उहाँको देहधारी शरीरलाई इन्कार गर्ने हजारौं, लाखौँ कारण हुन्छन्। तर तिनीहरूको लागि त्यति स्पष्ट नभएको हुनसक्ने एउटा कुरा छ: तिनीहरूसँग जति नै धेरै कारण भए पनि, यदि तिनीहरूले यी सत्यताहरू स्वीकार गर्दैनन् भने, तिनीहरूले मुक्ति पाउनेछैनन्। यदि तैँले मैले धारण गरेको व्यक्तिलाई स्वीकार गर्दैनस् वा तँ परमेश्वरको काममा समर्पित हुँदैनस् भने, ठीकै छ—म तँलाई जबरजस्ती गर्नेछैन। तर यदि तैँले परमेश्वरका यी वचनहरूलाई सत्यताको रूपमा स्वीकार गर्दैनस् र यिनलाई सत्यताको रूपमा अभ्यास गर्दैनस् भने, म इमानदारितासाथ तँलाई भन्छु: तैँले कहिल्यै पनि मुक्ति पाउनेछैनस्, न त तँ कहिल्यै स्वर्गको राज्यको ढोकाभित्र प्रवेश नै गर्नेछस्। यदि तँ परमेश्वरका यी वचनहरू, यी सत्यताहरू, र मानवजातिलाई काम गर्दै मुक्ति दिनुहुने यस ख्रीष्टबाट तर्किन्छस् भने, तैँले जति नै धेरै धर्मसिद्धान्त बुझे पनि, वा तैँले जति नै धेरै कठिनाइ भोगे पनि, तैँले सत्यता प्राप्त गर्नेछैनस्; तँ फोहोरको टुक्रा मात्रै होस्। तैँले परमेश्वरमा विश्वास गर्नुको कारण जे भए पनि, र कर्तव्य निर्वाह गर्नु पछाडिको तेरो उद्देश्य जे भए पनि, तैँले मुक्ति पाउनेछैनस्। अनि यदि तैँले मुक्ति पाउन सक्दैनस् भने, तैँले के आशिष् पाउन सक्छस् र? कतिपय मानिसहरूले स्वर्गको परमेश्वरसँग होड गर्छन्, कतिपयले पृथ्वीको परमेश्वरसँग होड गर्छन्, र परमेश्वरका वचनहरू र सत्यतासँग सङ्घर्ष गर्ने दुस्साहस गर्छन्, यहाँसम्म कि तिनीहरूलाई आफ्नो परिणाम र गन्तव्य कस्तो हुनेछ भनेर समेत चिन्ता हुँदैन। के यो दुष्टता होइन र? यी पतित मानिसहरू अत्यन्तै दुष्ट छन्। तिनीहरू प्रत्येक नै दुष्ट व्यक्ति हुन्। तिनीहरू सबै अविश्वासी, अवसरवादी, लाजहीन मानिसहरू हुन्, र यो ख्रीष्टविरोधीहरूको सार हो।
मैले परमेश्वरका वचनहरूप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति कस्तो हुन्छ भन्नेबारे भर्खरै सङ्गति गरेँ। जब ख्रीष्टविरोधीहरू परमेश्वरका वचनहरूको निकट आउँछन्, तब तिनीहरूले तीभित्र सत्यता वा अभ्यासका सिद्धान्तहरू खोज्दैनन्। तिनीहरूले परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग कसरी प्राप्त गर्ने भनेर परमेश्वरका वचनहरूबाट बुझ्ने प्रयास गर्दैनन्, र तिनीहरूले अवश्य नै उहाँका अभिप्रायहरू सन्तुष्ट पार्ने व्यक्ति बन्न सकूँ भनेर परमेश्वरका अभिप्रायहरू बुझ्ने प्रयास गर्दैनन्। बरु, तिनीहरूले परमेश्वरका वचनहरूमा आफूले चाहेको गन्तव्य, साथै आफूले चाहेका विभिन्न फाइदाहरू खोज्न चाहन्छन्, जसमा तिनीहरूले आशिष्हरू प्राप्त गर्न सक्छन् कि सक्दैनन् र यो जीवनमा तिनीहरूले कसरी अझै बढी अनुग्रह प्राप्त गर्न सक्छन्, र तिनीहरूले आउने संसारमा सय गुणा बढी प्राप्त गर्न सक्छन् कि सक्दैनन्, भन्नेजस्ता कुराहरू समावेश हुन्छन्। परमेश्वरका वचनहरूमा तिनीहरूले खोजी गर्ने कुराहरू यिनै हुन्। त्यसकारण, तैँले यसलाई जुनसुकै दृष्टिकोणबाट हेरे पनि, ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई कहिल्यै सत्यताको रूपमा लिँदैनन्, न त तिनीहरूले परमेश्वरका वचनहरू सत्यता हुन् र मानवजातिले स्विकार्नुपर्ने कुरा हुन् भनेर नै सोच्छन्। परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ कि, तिनीहरू आफूले चाहेका आशिष् र गन्तव्यहरू प्राप्त गर्नको लागि परमेश्वरका वचनहरू प्रयोग गर्न चाहन्छन्। तिनीहरू आफूले पछ्याउने कुराहरू प्राप्त गर्न र आफ्ना उद्देश्यहरू हासिल गर्नको लागि परमेश्वरका वचनहरूलाई आधारको रूपमा प्रयोग गर्न चाहन्छन्। तिनीहरूको पछ्याइ, तिनीहरूले लिने मार्ग, र परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्तिको आधारमा हेर्दा, यी मानिसहरू अविश्वासी, र अवसरवादीका हूलहरू हुन्। जब ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूमा आफूले चाहेका फाइदा र गन्तव्य भेट्टाउन सक्दैनन्, वा जब परमेश्वरका वचनहरू अध्ययन गर्ने क्रममा, सम्भाव्यता र नियतिहरूसँग सम्बन्धित परमेश्वरका वचनहरू वा मानवजातिलाई दिनुभएका परमेश्वरका प्रतिज्ञाहरूले तिनीहरूलाई खिन्न पार्छन्, र तिनीहरूका इच्छाहरू सन्तुष्ट हुन सक्दैनन्, तब तिनीहरूले आफ्नो हातमा लिएका परमेश्वरका वचनहरूलाई रूखो रूपमा र हिचकिचाहटविना एकातिर हुत्त्याउँछन्, र परमेश्वरलाई त्याग्छन् र छोड्छन्, र आफूले चाहेको जीवन पछ्याउँछन्। तिनीहरू परमेश्वरको मुक्ति स्विकार्न उहाँको अघि आउँदैनन्। जब तिनीहरूले परमेश्वरका वचनहरू पढ्छन्, तब तिनीहरूले तिनलाई सत्यताको रूपमा लिँदैनन्, बरु आफ्ना व्यक्तिगत उद्देश्यहरू हासिल गर्न र आफ्ना व्यक्तिगत इच्छा र महत्त्वाकाङ्क्षाहरू सन्तुष्ट पार्न परमेश्वरका वचनहरू प्रयोग गर्न चाहन्छन्। त्यसकारण, तिनीहरूले आफ्नो परिणाम र गन्तव्यको लागि अथक रूपमा परमेश्वरका वचनहरूमा खोजी गर्छन्। तिनीहरूले विपत्तिहरूबारे परमेश्वरले के भन्नुहुन्छ, रहस्यहरूबारे र मानवजातिको विकासबारे के खुलासाहरू गर्नुहुन्छ, र उहाँको कामबारेका पर्दापछाडिका केही जानकारी के-के छन् भनेर खोजी गर्छन्। तिनीहरूले ख्याल गर्ने विषयवस्तु यही हो। तिनीहरूलाई यो दायराभन्दा बाहिरको कुनै पनि कुरामा चासो हुँदैन। तिनीहरूले भ्रष्ट मानवजातिप्रतिका परमेश्वरका केही मापदण्डहरूलाई समेत बारम्बार घृणा र विरोध गर्छन्। परमेश्वरले भ्रष्ट मानवजातिलाई गर्नुभएको खुलासाप्रति समेत तिनीहरू प्रतिकूल हुन्छन्। तिनीहरूले प्रायजसो परमेश्वरका वचनहरूमा प्रयोग गरिएको शब्दशैली र बोलीको भावमा गल्तीहरू भेट्टाउँछन्, र तिनीहरूले परमेश्वरको विरुद्धमा प्रयोग गर्न सकिने कुराहरू खोज्ने प्रयास गर्छन्। उदाहरणको लागि, जब परमेश्वरले मानवजातिलाई “धन्दावाली” र “वेश्या” भनेर खुलासा गर्नुहुन्छ, तब तिनीहरूले भन्छन्: “यी कसरी परमेश्वरका वचनहरू हुन सक्छन्? परमेश्वरले यसरी बोल्दैनन्! परमेश्वरले त शिष्ट, कोमल, र बुज्झकी शैलीमा बोल्नुपर्छ।” जब परमेश्वरका केही वचनहरू मानव धारणाहरू अनुरूप, मानव व्याकरण अनुरूप, र भ्रष्ट मानिसहरूको परम्परागत तर्क अनुरूप हुँदैनन्, तब तिनीहरूले सोच्छन्, “यी परमेश्वरका वचनहरू होइनन्, परमेश्वरले यसरी बोल्दैनन्! परमेश्वर अत्यन्तै सर्वोच्च, महान्, र बुझ्न नसकिने छन्, त्यसैले कसरी उनका वचनहरू यति साधारण हुन सक्छन्? ती कसरी परम्परागत तर्कबाहिर जान सके? यदि परमेश्वरका वचनहरू सत्यता हुन् भने, तिनलाई यसरी बोलिनुपर्छ कि तिनलाई सबैले उच्च आदर, आराधना, र श्रद्धा गर्न सकून्। ती सब बुझ्न नसकिने किसिमको हुनुपर्छ—परमेश्वरका वचनहरू त्यस्तो हुनुपर्छ!” परमेश्वरका वचनहरूबारे तिनीहरूमा विभिन्न धारणाहरू, विभिन्न सीमाहरू, र विभिन्न मापदण्डहरूसमेत हुन्छन्। तिनीहरूका मापदण्ड र सीमाहरूको आधारमा हेर्दा, ख्रीष्टविरोधीहरूको सार शैतानकै सार हो भनेर देख्न सकिन्छ। परमेश्वर र परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति भनेको अनुसन्धान गर्नु, प्रतिरोध गर्नु, आलोचना गर्नु, परमेश्वरको विरुद्धमा प्रयोग गर्ने कुराहरू खोज्नु, र गल्तीहरू पत्ता लगाउनु हो। तिनीहरूले परमेश्वरका वचनहरूको सत्यतामा कुनै प्रयत्न लगाउँदैनन्, न त तिनीहरू यसमा समर्पित हुन्छन्, न त यसलाई स्वीकार वा अभ्यास नै गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको सार शैतान र दुष्टात्माहरूको सार हो। ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूलाई जसरी लिन्छन्, परमेश्वरलाई पनि त्यसरी नै लिन्छन्। परमेश्वरका वचनहरूले परमेश्वर स्वयम्लाई प्रतिनिधित्व गर्छन्। परमेश्वरले व्यक्त गर्नुहुने सबै सत्यताले उहाँको स्वभाव, उहाँको सार, र अझै बढी रूपमा, उहाँको पहिचान र हैसियत प्रतिनिधित्व गर्छन्। यी वचनहरू परमेश्वरको देह वा परमेश्वरको आत्माद्वारा व्यक्त गरिए पनि, र उहाँले जुनसुकै विषयवस्तु व्यक्त गर्नुभए पनि, यी वचनहरूले निश्चय नै परमेश्वरलाई प्रतिनिधित्व गर्छन्। त्यसैले, ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरू अनुसन्धान र विश्लेषण गर्नु र तीबारे धारणाहरू विकास गर्नु भनेको परमेश्वरबारे धारणाहरू विकास गर्नुजस्तै हो। तिनीहरूले परमेश्वरलाई सूक्ष्मजाँच गरिरहेका हुन्छन्। तिनीहरूले परमेश्वरका वचनहरूमा विश्वास नगर्ने र परमेश्वरका वचनहरू नस्विकार्ने हुनाले, तिनीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, र अवश्य नै तिनीहरूले परमेश्वरका वचनहरू सत्यता हुन् भनेर पनि विश्वास गर्दैनन्, र तिनीहरू परमेश्वरमा समर्पित हुन सक्दैनन्। ख्रीष्टविरोधीहरूको सार यही हो।
कतिले भन्छन्: “देहधारी परमेश्वर अत्यन्तै महत्त्वहीन र अत्यन्तै साधारण छन्। उनका वचन र व्यवहारहरूले गर्दा ममा प्राय धारणाहरू पैदा हुन्छन्, र ती मेरा कल्पनाहरूसँग पटक्कै मिल्दैनन्। म त देहधारी परमेश्वर साधारण व्यक्ति मात्रै हुन् जस्तो देख्छु। उनले परमेश्वरलाई प्रतिनिधित्व गर्दैनन्, त्यसैले उनले आफ्नो वचन र काममा जति धेरै सत्यता व्यक्त गरे पनि, उनी परमेश्वरजस्तो छैनन्।” यी वचनहरू कहाँबाट आएका हुन्? तिनले केलाई प्रतिनिधित्व गर्छन्? के तिनले शैतानलाई प्रतिनिधित्व गर्दैनन् र? सुरुदेखि अन्त्यसम्मै, शैतानले कहिल्यै पनि परमेश्वरको पहिचान र हैसियत स्वीकार गरेको छैन। यसले कहिल्यै पनि परमेश्वरका वचनहरू सत्यता हुन् भनेर विश्वास गरेको छैन र यसले अवश्य नै परमेश्वरका वचनहरूलाई पनि कहिल्यै स्वीकार गरेको छैन। त्यसकारण, जब शैतानले परमेश्वरसँग कुरा गर्छ, तब यसले समान स्थानमा बसेर कुरा गर्न चाहन्छ। यसले परमेश्वरसित जेजसरी बोल्छ, त्यो परमेश्वरलाई गिल्ला, निन्दा, र छल गर्नको लागि हुन्छ, र यसको हृदयमा परमेश्वरको लागि कुनै ठाउँ हुँदैन। अनि ख्रीष्टविरोधीहरूले गर्ने कुराहरू र ख्रीष्टविरोधीहरूले बोल्ने शब्दहरू शैतानका कुराहरूजस्तै हुन्छन्। तिनीहरूको सार उस्तै हुन्छ, यति मात्र हो कि शैतान मानवजातिको लागि अदृश्य छ, जबकि ख्रीष्टविरोधीहरू देख्न सकिने र मूर्तरूपका हुन्छन्; तिनीहरू मानव खाल ओढेका शैतानहरू हुन्। यदि तिनीहरू शैतान नभएका भए, तिनीहरूले यस्ता कुराहरू गर्न र भन्न सक्थेनन्। शैतानले प्रायजसो झूट बोल्छ, र परमेश्वरका वचनहरू पनि झूट हुन् भन्ने विश्वास गर्छ। शैतानले प्रायजसो मानिसहरूलाई छल गर्छ र त्यो कुटिल, छली, र दुष्ट छ, र परमेश्वर त्यसरी नै बोल्नुहुन्छ भन्ने यसले विश्वास गर्छ। परमेश्वरले जे भन्नुभए पनि, ख्रीष्टविरोधीहरूले सधैँ परमेश्वरका वचनहरूमा केही न केही थप्छन्, र आफ्नै अर्थ समावेश गर्छन् र स्वेच्छाचारी व्याख्याहरू गर्छन्। यति मात्र होइन, तिनीहरूले परमेश्वरका केही वचन तिनीहरूका वचनजस्ता प्रतिभाशाली छैनन्, तिनीहरूको स्तर र उच्च मापदण्डअनुरूप छैनन्, र भ्रष्ट मानवजातिलाई जित्न पर्याप्त छैनन् भन्ने समेत सोच्छन्। त्यसैले, तिनीहरूले परमेश्वरका वचनहरूको माध्यम, भाव, र विषयवस्तुलाई केही मानिसहरूको सामु ल्याउन चाहन्छन्, ताकि तिनीहरूले तिनलाई विश्लेषण र मूल्याङ्कन गर्न, र अझै बढी रूपमा तिनलाई आलोचना र निन्दा गर्न सकून्। यसो गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? परमेश्वरलाई पछ्याउने क्रममा, तिनीहरूले परमेश्वरबाट आफूले चाहेका सम्भाव्यता र नियति प्राप्त गर्न चाहन्छन्, र यो परमेश्वरबाट आफूले चाहेको गन्तव्य प्राप्त गर्ने प्रतीक्षा गर्छन्। तैपनि किन तिनीहरूले अझै यसरी व्यवहार गर्छन्? के यो आफैलाई थप्पड हान्नु होइन र? यसको एउटै मात्र कारण छ। त्यो के हो भने, तिनीहरूको नजरमा त्यस्तो परमेश्वरले बोल्नुभएका वचनहरू अत्यन्तै सामान्य र साधारण हुन्छन्—उहाँका कार्यहरू पनि अत्यन्तै साधारण हुन्छन्। त्यस्तो परमेश्वर तिनीहरूले आदर गर्न चाहेको, वा कल्पना गरेको परमेश्वर हुँदैन, र उहाँ तिनीहरूसँग मिल्दो हुनुहुन्न। यदि तिनीहरूले त्यस्तो परमेश्वरलाई पछ्याए भने, तिनीहरूको गन्तव्य, सम्भाव्यता र नियति सबै भताभुङ्ग हुन सक्छन्। त्यसैले, तिनीहरू कठोरतासाथ त्यस्तो परमेश्वरको अवज्ञा गर्छन्। तिनीहरू उहाँको आलोचना गर्छन्, अवमुल्यन गर्छन्, र उहाँको काम तोड्ने, बिथोल्ने, र बरबाद गर्ने प्रयास गर्छन्, ताकि उहाँले यो काम गर्न नसक्नुहोस्। त्यसपछि तिनीहरूको उद्देश्य हासिल हुनेछ। कतिले भन्छन्: “यदि तिनीहरूले आफ्नो उद्देश्य हासिल गरे भने, के तिनीहरूको गन्तव्य हराउनेछैन र?” यस्तो व्यक्तिले परमेश्वरको अस्तित्व स्विकार्दैन, न त परमेश्वरको देहधारी देहलाई नै स्विकार्छ, उहाँको व्यवस्थापन कार्यले मानवजातिलाई मुक्ति दिने तथ्य स्विकार्नु त झन् परै जाओस्। तिनीहरूले बस बाजी र दाउ मात्र लाउँछन्। यदि यो परमेश्वरलाई साँच्चै ढालियो भने, तिनीहरूले आफूले चाहेको जेसुकै गर्न सक्छन् र तिनीहरूले परमेश्वरको घरमा यस्ता कठिनाइहरू भोग्नु पर्दैन। त्यसपछि, तिनीहरूले संसार, दुष्ट प्रचलनहरू, र तिनीहरूले भन्ने गरेको सामान्य जीवनमा फर्केर जान सहज मान्न सक्छन्। तिनीहरूले कुनै विपत्ति भोग्नु पर्दैन, तिनीहरूले कुनै पनि प्रकारको शोधन भोग्नु पर्दैन, र तिनीहरूले अवश्य नै परमेश्वरका वचनहरूको न्याय र सजाय पनि भोग्नु पर्दैन। यो सबै अस्तित्वमा रहन छोड्छ, र संसार सामान्य रूपमै जारी रहनेछ। तिनीहरूले सपनामा यही कुराको तृष्णा गर्छन्। के यी मानिसहरू खराब छैनन् र? तिनीहरू यति खराब हुनुको मूल जड के हो? (तिनीहरूको सार शैतान हो, त्यसैले तिनीहरू परमेश्वरलाई घृणा गर्छन्।) वास्तवमा, यी ख्रीष्टविरोधी पिशाचहरूले आफ्नो हृदयको गहिराइमा, र आफ्नो आत्माभित्र महसुस गर्न सक्छन्—परमेश्वरले तिनीहरूजस्ता मानिसहरूलाई कसरी हेर्नुहुन्छ, त्यो जान्दछन्। परमेश्वरले त्यस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ। तिनीहरू परमेश्वरसँग मिल्दो हुँदैनन्। तिनीहरूको मानवता र प्रकृति सार परमेश्वरले घृणा गर्नुहुन्छ। त्यसकारण, तिनीहरूले जति नै मेहनत गरे पनि र तिनीहरूले जति नै आशिष्हरू प्राप्त गर्न चाहे पनि, तिनीहरूको अन्तिम परिणाम तिनीहरूको इच्छामा निर्भर हुँदैन। तिनीहरूले कुनै पनि तथ्य परिवर्तन गर्न सक्दैनन्। तिनीहरू परमेश्वरसँग मिल्दो हुँदैनन्। तिनीहरू परमेश्वरका वचनहरूसँग मिल्दो हुँदैनन्। तिनीहरू ख्रीष्टसँग मिल्दो हुँदैनन्। त्यसैले अन्ततः तिनीहरू के हुन पुग्छन्? तिनीहरू सबै नष्ट हुने पक्का छ। तिनीहरूले यो परिणामबारे आफ्नो हृदयमा अलिअलि बुझेका हुन्छन्, तैपनि किन तिनीहरू अझै परमेश्वरको घरमा बस्छन्? तिनीहरू आशिष्हरू प्राप्त गर्ने यस्तो राम्रो अवसर त्याग्न तयार हुँदैनन्, त्यसैले तिनीहरू बाजी लाउन चाहन्छन्, “यदि मैले यस्तो बाजी लाएँ भने, सायद मैले अझै पनि आशिष्हरू प्राप्त गर्न सक्छु। सायद म अझै पनि लुकेर बाँच्न सक्छु। सायद यदि परमेश्वर होशियार भएनन् र उनले ध्यान दिएनन् भने, म स्वर्गको राज्यद्वारबाट खुसुक्क जान सक्छु।” “सायद” भन्ने यो आकाङ्क्षी सोच लिएर, तिनीहरू परमेश्वरको घरमा निरन्तर अल्झिरहन्छन्, तर परमेश्वरप्रतिको तिनीहरूको दृष्टिकोण र मनोवृत्ति कहिल्यै परिवर्तन हुँदैन। तिनीहरूले परमेश्वरका वचनहरूलाई घृणा गर्छन्, सत्यतालाई घृणा गर्छन्, र सबै सकारात्मक कुराहरूलाई घृणा गर्छन्।
परमेश्वरले मानिसहरूलाई इमानदार हुने मापदण्ड दिनुहुन्छ। यो सुनेपछि कतिपयले सोच्छन्: “के यो अत्यन्तै न्यून मापदण्ड होइन र? हामीले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भइसकेको छ, तैपनि किन उनले हामीलाई अहिले ‘इमानदार बन’ भनेर भनिरहेका छन्? यदि यो परमेश्वरको वचन हो भने, यो गहन हुनुपर्छ, यो अझै उच्च हुनुपर्छ, अझै अबोधगम्य हुनुपर्छ, मानिसको पहुँचभन्दा अझै बाहिर हुनुपर्छ। हामीलाई आवश्यक पर्ने भनेका उच्च मापदण्डहरू हुन्, यी साधारण, महत्त्वहीन, र न्यून स्तरका मापदण्डहरू होइनन्।” त्यस्ता मानिसहरूले सत्यता वास्तविकता के हो भन्ने कुरा बुझ्दैनन्। जब सत्यता नबुझ्ने मानिसहरूले यो प्रचार सुन्छन्, तब तिनीहरू व्याकुल हुन्छन्, तर सङ्गति र अनुभव प्राप्त गरेपछि, र केही समय यसबाट गुज्रेपछि, तिनीहरूले परमेश्वरका यी वचनहरू नै मानिसलाई चाहिने वचनहरू हुन् भन्ने महसुस गर्छन्। यी वचनहरू किन मानिसलाई चाहिने कुरा हुन्? मानिसलाई शैतानले गहन हदसम्म भ्रष्ट तुल्याएको छ, त्यसकारण कुनै पनि व्यक्ति इमानदार हुँदैन; यो संसार झूटले भरिएको छ, र परमेश्वरमा विश्वास गर्नेहरूको हकमा पनि यही कुरा लागू हुन्छ। हरेक दिन मानिसहरूले एकपछि अर्को झूट बोल्छन्; तिनीहरूको बोली शैतानका झूट र छलले पुरै भरिएको हुन्छ। त्यसकारण मानिसको लागि परमेश्वरले इमानदार बन भन्ने यो सबैभन्दा सरल र सीधा मापदण्ड अघि सार्नुभएको छ। समय र अनुभवसँगै, मानिसहरूले परमेश्वरका वचनहरू, र उहाँका मापदण्ड र अभिप्रायहरूको बुझाइ प्राप्त गर्छन्; उहाँका वचनहरूको अगुवाइ र निर्देशनमार्फत, तिनीहरूले उहाँका वचनहरू कति व्यावहारिक छन्, उहाँका हरेक वचनलाई कसरी बुझ्नुपर्छ र त्यसमा कसरी प्रवेश गर्नुपर्छ, उहाँका कुनै पनि वचनहरू कसरी खोक्रा छैनन्, उहाँका सबै वचनहरू कसरी मानवजातिलाई चाहिने कुरा हुन्, परमेश्वरले मानिसहरूलाई कसरी यति राम्ररी बुझ्नुहुन्छ र तिनीहरूलाई कसरी यति छर्लङ्गसित देख्न सक्नुहुन्छ, र उहाँले तिनीहरूको भ्रष्टतालाई कसरी यति राम्ररी बुझ्नुहुन्छ भन्ने कुरा क्रमिक रूपमा बुझ्दै जान्छन्। साधारण व्यक्तिले लिने मार्ग यही हो। तैपनि जब ख्रीष्टविरोधीहरूले परमेश्वरले मानिसहरूलाई इमानदार हुन लगाउनुभएको यो वाक्यांश देख्छन्, तब तिनीहरूले यसलाई खिसी, गिल्ला, उपहास, र प्रतिरोधसमेतको मनोवृत्तिले हेर्छन्। तिनीहरूले यो वाक्यांशबारे आफ्नो राय विकास गरेपछि, यसलाई आफ्नो मनको पछाडितिर धकेल्छन्, र परमेश्वरप्रतिको तिनीहरूको घृणा बढ्छ, र तिनीहरूले उहाँलाई र उहाँको वचनलाई झन्झन् बढी घृणासाथ हेर्छन्, यहाँसम्म कि तिनीहरूले अबदेखि उहाँको वचन अध्ययनसमेत गर्दैनन्। जब कतिपय मानिसहरूले आफ्नो छली स्वभाव कसरी प्रकट गरे, र कसरी पश्चात्ताप गरे र कसरी इमानदार हुने प्रयास गरे भन्नेबारे आफ्नो अनुभव बताउँछन्, तब यी ख्रीष्टविरोधीहरूको मनमा प्रतिरोध, वाकवाकी, र घृणा पैदा हुन्छ। तिनीहरूले ती मानिसहरूले भनेको कुरा स्विकार्न नमान्ने मात्र होइन, तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गर्ने अनुभव र ज्ञानप्रति प्रतिरोध र वाकवाकीसमेत हुन्छ, यहाँसम्म कि धेरै सङ्गति गर्ने र धेरै राम्रो ज्ञान भएका मानिसहरूप्रति तिनीहरूमा घृणा र तिरस्कार नै पैदा हुन्छ। तिनीहरूले सोच्छन्, “तिमीहरू मूर्ख हौ। परमेश्वरले तिमीहरूलाई इमानदार बन्न लगाउँछन् र तिमीहरू चुपचाप त्यसो गर्छौ। तिमीहरू कसरी यति आज्ञाकारी हुन सक्छौ? तिमीहरू किन मैले बताउने वचनहरू सुन्दैनौ? मलाई हेर त—तिमीहरूमध्ये कसैलाई पनि मेरो साँचो स्थिति के हो भन्ने थाहा छैन, म कति छली र धूर्त छु भन्ने कसैलाई थाहा छैन। अनि म तिमीहरूलाई ती कुराहरूबारे बताउने पनि छैनँ; के तिमीहरू ती कुरा सुन्न योग्य छौ भन्ने तिमीहरूलाई लाग्छ?” परमेश्वरको मापदण्डप्रति तिनीहरूको मनोवृत्ति यस्तै हुन्छ; तिनीहरूले यसलाई स्विकार्न इन्कार गर्ने मात्र होइन, बरु उल्टै यसको प्रतिरोध र निन्दासमेत गर्छन्। के यी कुराहरू अविश्वासीहरूका प्रकटीकरणहरू होइनन् र? यी त खाट्टी अविश्वासीहरू हुन्। झट्ट हेर्दा, तिनीहरूले खुल्लमखुल्ला परमेश्वरको वचनलाई निन्दा गरेका हुँदैनन्, तिनीहरूले उहाँको वचनका पुस्तकहरू जलाउन भट्टीमा फ्याँकेका हुँदैनन्। बाहिरी रूपमा, तिनीहरूले हरेक दिन परमेश्वरको वचन पढ्छन् र प्रवचन सुन्छन्, र भेलाहरूमा सङ्गति गर्छन्, तर वास्तवमा, परमेश्वरको वचनप्रति तिनीहरूको हृदयको गहिराइमा गहन घृणा, प्रतिरोध, र इन्कार पैदा भएको हुन्छ। अर्को शब्दमा भन्दा, तिनीहरूले परमेश्वरको वचनबारे धारणाहरू विकास गर्नेबित्तिकै, यसलाई पहिले नै इन्कार गरिसकेका हुन्छन्। कतिपयले सोध्छन्: “के परमेश्वरले यी वचनहरू बोल्नुभन्दा पहिले नै ख्रीष्टविरोधीहरूले यी वचन इन्कार गरिसकेका थिए र?” त्यो बेला, तिनीहरूले अझै यी वचनहरू इन्कार गरेका थिएनन्। यस्तो किन भयो? किनभने तिनीहरूसँग परमेश्वरबारे धेरै धारणा र कल्पनाहरू थिए, जसले गर्दा तिनीहरूले उहाँलाई आदर र सम्मान गर्थे, र उहाँलाई महान् व्यक्तिको रूपमा लिन्थे। तर जब परमेश्वरले आफ्ना वचनहरू व्यक्त गर्नुभयो, तब उहाँबारे तिनीहरूको दृष्टिकोण पूर्ण रूपमा परिवर्तन भयो, र तिनीहरूले यसो भने: “परमेश्वरले बोल्ने वचनहरू वास्तवमा अत्यन्तै साधारण छन्! ती अत्यन्तै सरल, सीधा, र बुझ्न सजिला छन्: म आफै पनि त्यस्ता शब्दहरू बोल्न सक्छु! के सबैले परमेश्वर महान् छन् भनेर भन्दैनन् र? त्यसोभए उनले हामीलाई किन इमानदार बन भनेर भन्छन्? यदि परमेश्वर यति महान् छन् भने, यदि उनी साँच्चै नै सर्वोच्च छन् भने, उनले मानिसहरूलाई त्यस्ता साना र नीचा मापदण्डहरू दिनु हुँदैन!” जब तिनीहरूले परमेश्वरको वचन पढे, जब तिनीहरूलाई यो सतही लाग्यो, र यो मानिसहरूका धारणाहरूसँग मिल्दैन, वा परमेश्वरको भव्य छवि र पहिचानसँग मिल्दैन भन्ने लाग्यो, तब तिनीहरूले परमेश्वरका वचनहरूबारे धारणाहरू विकास गरे। तिनीहरूले यी धारणाहरू विकास गर्ने क्रममा, तिनीहरूभित्र परमेश्वरका वचनहरूप्रति गहन घृणा पैदा भयो, र त्यसपछि परमेश्वरबारेका तिनीहरूका कल्पना र धारणाहरू सँगालेर राख्ने तिनीहरूको हृदयको गहिराइको बाँध पूर्ण रूपमा भत्कियो। यो भत्काइको परिणाम के थियो? तिनीहरूले हृदयको गहिराइबाटै परमेश्वरको वचनलाई इन्कार र निन्दा गरे। त्यसैले, मानिसहरूले परमेश्वरको वचन प्रचार गर्दा ख्रीष्टविरोधीहरूको मनमा के कुरा आउँछ? तिनीहरू त रमिते मानिसहरूजस्तै हुन्छन्। जब तिनीहरूले कसैले परमेश्वरका वचनहरूको प्रशंसा गरेको वा परमेश्वरका वचनहरूबारे आफूले गरेको अनुभवबारे सङ्गति गरेको सुन्छन्, तब पनि यी ख्रीष्टविरोधीहरू रमिते नै बन्छन्, र तिनीहरूले हृदयको गहिराइबाट कहिल्यै “आमेन” भन्दैनन्। कहिलेकहीँ, तिनीहरूले मानिसहरूलाई यसो भन्दै गिल्लासमेत गर्छन्, “इमानदार भएर तिमीले के पायौ? तिमीले इमानदार हुने प्रयास गरिरहेको भए पनि, परमेश्वरले तिमीलाई अवश्य नै मुक्ति दिनेछैनन्, र तिमीले आशिष् पाउनेछौ भन्ने पनि निश्चित छैन। एकदमै थोरै मानिसहरूले मात्र आशिष्हरू प्राप्त गर्नेछन्। यदि मैले कुनै आशिष् प्राप्त गरिनँ भने, तिमीहरू कसैले पनि प्राप्त गर्नेछैनौ!” ख्रीष्टविरोधीको प्रकृति सार परमेश्वरको वचन र परमेश्वर स्वयम्प्रति विरोधी हुन्छ, र यसले गर्दा ख्रीष्टविरोधीहरूले परमेश्वरको वचन स्विकार्न सक्दैनन्, त्यसमा समर्पित हुनु त धेरै परको कुरा हो। यदि तिनीहरूले परमेश्वरको वचन स्विकार्दैनन् र तिनीहरू यसमा समर्पित हुँदैनन् भने, के तिनीहरूले यसको अनुभव प्राप्त गर्न सक्छन् त? सक्दैनन्, त्यसकारण तिनीहरूले कुरा गर्ने व्यक्तिगत ज्ञान के हो त? यो सबै कल्पना, अनुमान, धर्मसिद्धान्त, वा सिद्धान्तहरू मात्रै हुन्, वा कहिलेकहीँ तिनीहरूले अरूबाट टिपेका राम्रा शब्दहरू मात्रै पनि हुन्, र त्यसकारण, तिनीहरूबाट परमेश्वरका वचनहरूको कुनै अनुभव वा ज्ञान पैदा हुनु असम्भव हुन्छ। त्यसकारण, परमेश्वर र उहाँको वचनप्रतिको ख्रीष्टविरोधीहरूले राख्ने विभिन्न मनोवृत्तिहरूको कारण, र तिनीहरूको प्रकृति सारको कारण, तिनीहरूले परमेश्वरमा विश्वास गरेको १० वर्ष भए नि, २० वर्ष भए नि, वा अझै लामो समय भए नि, आजसम्म तैँले तिनीहरूबाट परमेश्वरको वचनको कुनै अनुभव कहिल्यै सुनेको वा देखेको हुँदैनस्, र तैँले तिनीहरूमा परमेश्वरबारे अलिअलि ज्ञान देख्नु त झनै परको कुरा हो। तिनीहरूका भाषणहरूमा, तैँले तिनीहरूसँग परमेश्वरबारे धारणा र गलतबुझाइहरू रहेको, र परमेश्वरको खुलासाद्वारा अन्तर्दृष्टि प्राप्त गरेपछि, अन्ततः तिनीहरू परमेश्वरलाई गलत रूपमा बुझ्न वा उहाँबारे धारणाहरू राख्न छोडेको अवस्थामा पुगेका छन् भन्ने कुरा सुन्नेछैनस्। तिनीहरूमा यो अनुभव हुँदैन, न त यो ज्ञान नै हुन्छ। ख्रीष्टविरोधीहरूले परमेश्वरको वचन अध्ययन गर्न जति नै धेरै प्रयास गरे पनि, तिनीहरूले सत्यता प्राप्त गर्न वा कुनै पनि व्यक्तिगत अनुभव वा ज्ञानबारे कुरा गर्न नसक्नुको कारण यही हो। तिनीहरूले विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले प्रायजसो उद्धृत् गर्ने परमेश्वरको वचनका केही चर्चित खण्डहरू पढ्ने र याद गर्ने कार्य मात्रै पछ्याउँछन्; तिनीहरू झारा टार्छन् र परिस्थितिअनुसार चल्छन्, त्यसपछि तिनीहरूले सधैँजसरी सोच्ने कार्यलाई जारी राख्छन्। तिनीहरूले परमेश्वरबारे तिनीहरूभित्र पैदा हुने धारणाहरूलाई, वा तिनीहरू र परमेश्वरबीच पैदा हुने द्वन्द्व र समस्याहरूलाई समाधान गर्दैनन्, चाहे यी कुराहरू जति नै महत्त्वपूर्ण किन नहोऊन्। यी धारणा र समस्याहरूले सधैँ तिनीहरूलाई पछ्याइरहन्छन्। तिनीहरूले यी समस्याहरू समाधान नगर्नुका परिणामहरू के-के हुन्छन्? तिनीहरूको हृदयको आक्रोश झन्झन् गहन हुँदै जान्छ, र परमेश्वरप्रतिको तिनीहरूको घृणा झन्झन् ठूलो हुँदै जान्छ। यसरी अघि बढिरहँदा, तिनीहरूले परमेश्वरमा जति लामो समय विश्वास गर्छन्, त्यति नै के-कस्ता परिणामहरू आउनेछन्? के यी सञ्चित द्वेष र धारणाहरूले तिनीहरूलाई आफ्नो सम्भाव्यता, गन्तव्य, र आशिष्हरू प्राप्त गर्ने अभिप्राय त्याग्ने तुल्याउन सक्छन्? (सक्दैनन्।) यदि यी समस्याहरू समाधान भएनन् भने, अन्तिम नतिजा के हुनेछ? (तिनीहरू विस्फोट हुनेछन्।) यो “विस्फोट” भन्ने शब्द निकै स्पष्ट छ। तिनीहरू कसरी विस्फोट हुनेछन्? त्यस्ता कति वटा तरिका छन्? (मलाई मैले पहिले पढेका परमेश्वरका केही वचनहरू याद आयो, “एउटै रातको अवधिमा समेत, तिनीहरू मुस्कुराइरहने ‘दयालु’ व्यक्तिबाट कुरूप देखिने हिंस्रक हत्यारामा परिवर्तन हुन्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कार्य र मानिसको अभ्यास)।) तिनीहरू हत्यारा बन्नुको पृष्ठभूमि के हुन्छ? आशिष्हरू प्राप्त गर्ने तिनीहरूको इच्छा टुक्रिएपछि, वास्तविकता बाहिर आउँछ, र तिनीहरूले यसो भन्छन्, “हामीमध्ये कसैलाई पनि सहज हुनेछैन, त्यसकारण मैले यो कुरा ढाकछोप गर्नु वा लुकाउनु जरुरी छैन—आशिष्हरू प्राप्त गर्नलाई मात्र म परमेश्वरमा विश्वास गर्छु। मैले आशिष्हरू प्राप्त गर्नेछैनँ भन्ने मलाई थाहा भएको भए, म धेरै पहिले नै गइसक्नेथेँ!” तिनीहरूले आफ्नो हृदयमा रहेका सबै शब्दहरू बोल्छन् र तिनीहरूलाई दोषी ठहरिनेबारे डर हुँदैन। तिनीहरूलाई किन दोषी ठहरिनेबारे डर लाग्दैन? तिनीहरू किन शिष्टताको सबै बहाना त्यागेर विस्फोट हुन सक्छन्? यस्तो किन हुन्छ भने, तिनीहरूले अबदेखि विश्वास गर्न चाहँदैनन् तर छोडिजान चाहन्छन्। तिनीहरूले आफ्नो उद्देश्यको खातिर यतिका वर्ष अपमान र कठिनाइ भोग्दै आएका हुन्छन्, र तिनीहरूले यी रणनीतिअनुसार अभ्यास गर्छन् र यी रणनीतिहरूलाई आफ्नो आत्मिक साथको रूपमा प्रयोग गर्छन्। आज जब तिनीहरूले आशिष्हरू प्राप्त गर्ने आफ्नो कुनै आशा छैन भन्ने देख्छन्, तब तिनीहरूलाई आफूले शिष्टताको सबै बहाना त्याग्नुपर्छ र खुलस्त यसो भन्नुपर्छ भन्ने लाग्छ, “म त अविश्वासी मात्रै हुँ। मलाई सकारात्मक कुराहरू मन पर्दैन। मलाई सांसारिक कुराहरू पछ्याउन मन पर्छ र मलाई दुष्ट प्रचलनहरू मन पर्छ। तिनीहरू त भन्छन् परमेश्वरका वचनहरू सत्यता हुन् र परमेश्वरका वचनहरूले मानिसहरूलाई परिवर्तन गर्न र मुक्ति दिन सक्छन्। तर मैले किन त्यो कुरा देखेको छैनँ? मैले किन त्यसलाई अनुभव वा महसुस गर्न सक्दिनँ? परमेश्वरको वचनले मानिसहरूको के कुरा परिवर्तन गरेको छ? मलाई त लाग्छ परमेश्वरका वचनहरू केही पनि होइनन्। सबैभन्दा ठोस फाइदाहरू भएको एउटा मात्र कुरा छ, र त्यो के हो भने, परमेश्वरलाई पछ्याउनेहरूले आशिष् पाउनेछन् र तिनीहरू स्वर्गको राज्य प्रवेश गर्नेछन्। यी वचनहरू साँचो हुन्। आशिष्हरू प्राप्त गर्नको लागि नभएको भए, म त परमेश्वरमा विश्वास गर्ने नै थिइनँ! परमेश्वर कहाँ छन्? यदि परमेश्वरले मानिसहरूलाई मुक्ति दिन सक्छन् भने, उनलाई किन क्रूसमा टाँगियो त? उनले त आफूलाई समेत बचाउन सकेनन् त!” तिनीहरूले वास्तवमा आफूले सोचेकै कुरा बताउँछन्—के यसमा तिनीहरूको दुष्ट पक्ष प्रकट भएको हुँदैन र? वर्षौंदेखि जम्मा भएका धारणा र घृणाहरू तिनीहरूबाट विस्फोट भएर निस्किन्छन्। ख्रीष्टविरोधीहरूले अन्ततः आफ्नो साँचो रङ्ग देखाउनु भनेको यही हो।
कतिपय ख्रीष्टविरोधीहरू यस्ता हुन्छन् जो प्राय यस्ता कुराहरू बोलिरहन्छन्: “परमेश्वरमाथिको मेरो विश्वासमा मैले मेरो परिवार र करियर त्यागेँ, धेरै मेहनत गरेँ, र धेरै कष्ट भोगेँ, र यसबाट मलाई के प्राप्त भयो? के परमेश्वर मानिसहरूलाई आशिष् दिने परमेश्वर होइनन् र? के परमेश्वर मानिसहरूलाई अनुग्रह गर्ने परमेश्वर होइनन् र? त्यसोभए मैले के पाएँ त?” परमेश्वरले मानिसलाई धेरै सत्यता प्रदान गर्नुभएको छ, र उहाँले सट्टामा केही नमागी धेरै कुराहरू दिनुभएको छ; मानिसहरूले परमेश्वरको विरुद्धमा यति धेरै विरोध र विद्रोह गरे पनि, उहाँले यो कुरा याद गर्नुहुन्न, र उहाँ अझै पनि मानिसलाई मुक्ति दिन आउनुहुन्छ। मानिसले परमेश्वरबाट यति धेरै प्राप्त गरेको छ भन्ने कुरा ख्रीष्टविरोधीहरूले देख्न सक्दैनन्। तिनीहरूले “मैले के पाएँ त?” भन्दा वास्तवमा के भनिरहेका हुन्छन्? (आशिष्हरू।) ख्रीष्टविरोधीहरू सबै कुरा चाहन्छन्। तिनीहरू परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन सबै कुरा त्याग्न सक्छन्, र यसो गरेर तिनीहरूले आफूलाई सफल हुने मौका मिल्नेछ, र यो प्रयास सार्थक हुनेछ भन्ने सोचेका हुन्छन्। तिनीहरूले संसार र आफ्ना सम्भाव्यताहरू त्याग्छन्, र भविष्यमा सम्पूर्ण संसारको मालिक हुन चाहन्छन्। तिनीहरूले यसको सट्टा जे चाहन्छन्, त्यो तिनीहरूले त्यागेका कुराहरूभन्दा बढी मोलवाला हुनुपर्छ। त्यो ती कुराहरूभन्दा बढी मूल्यवान् हुनुपर्छ, र त्यसले तिनीहरूलाई अझै ठूला फाइदाहरू प्रदान गर्नुपर्छ, अनि मात्रै तिनीहरूले सट्टापट्टा गर्नेछन्। के ख्रीष्टविरोधीहरूले आफ्नो विस्फोटको बेला रिसको झोकले यी शब्दहरू बोल्छन् भन्ने तिमीहरूलाई लाग्छ? (लाग्दैन।) तिनीहरूले यी शब्दहरूलाई लामो समयसम्म रोकेर राख्छन्, अनि मात्र यी विस्फोट हुन्छन्। त्यसपछि, ख्रीष्टविरोधीहरूले वर्षौँदेखि सोचिरहेका र पछ्याइरहेका सबै कुरा खुलासा हुन्छन्, र तिनीहरूका सबै बाहिरी मुखौटाहरू च्यातिन्छन्। तिनीहरूले भन्ने कुराको मुख्य बुँदा के हुन्छ? “मैले परमेश्वरमा विश्वास गरेको र उनलाई पछ्याएको वर्षौं भयो, तैपनि मैले के पाएँ त?” तिनीहरूले जे प्राप्त गर्न चाहन्छन्, त्यो कुरा सत्यता होइन। तिनीहरू सत्यता चाहँदैनन्। तिनीहरू जीवन चाहँदैनन्, तिनीहरू स्वभाव परिवर्तन चाहँदैनन्, तिनीहरू परमेश्वरको मुक्ति चाहँदैनन्। तिनीहरू आफूलाई सिद्ध मानिसहरू सोच्छन् र तिनीहरू यी कुराहरू प्राप्त गर्न चाहँदैनन्। तिनीहरूले यो संसारमा प्राप्त गर्न सकिनेभन्दा फरक कुनै अर्को कुरा, र केही ठूला आशिष्हरू प्राप्त गर्न चाहन्छन्। अर्थात्, तिनीहरू आफूले त्यागेका संसारका कुराहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएका आशिष्हरूसँग साट्न चाहन्छन्। तिनीहरू परमेश्वरबाट सबैभन्दा ठूलो आशिष् प्राप्त गर्न चाहन्छन्। जब तिनीहरूले आफ्ना इच्छाहरू हासिल गर्न सकिँदैन, र सबै आशा हराएको छ भन्ने देख्छन्, तब तिनीहरूले आशा मार्नुपर्ने हुन्छ। तर जब त्यसो गर्ने समय आउँछ, तब तिनीहरूको स्वभावप्रति विचार गर्दा, के तिनीहरू त्यहाँ रोकिन सक्छन् त? सक्दैनन्। कति परिवारहरूमा सबैजना विश्वासी हुन्छन्, र तिनीहरूमाझ ख्रीष्टविरोधीहरू देखा पर्छन्। जब यी ख्रीष्टविरोधीहरूले आशिष्हरू प्राप्त हुनेछैन भन्ने देख्छन्, तब तिनीहरूले आफ्नो परिवारलाई विश्वास गर्नबाट रोक्न बाधा दिन थाल्छन्। के यी अझै पनि परिवार हुन्छन् त? बाहिरी शारीरिक वा रक्तसम्बन्धको हिसाबमा तिनीहरू नजिकका परिवार हुन्छन्। तर जब हामी हरेक सदस्यले पछ्याउने मार्ग हेर्छौं, तब तिनीहरू सबैले परमेश्वरमा विश्वास गरेको १० वर्षभन्दा बढी भएको भए नि, केही ख्रीष्टविरोधीहरूको रूपमा प्रकट हुन्छन्, र केहीचाहिँ सत्यता पछ्याइरहेका र आफ्नो कर्तव्य राम्ररी निभाइरहेका हुन्छन्, र केहीले सामान्य मापदण्डअनुसार सत्यता पछ्याइरहेका हुन्छन्—यसरी तिनीहरूको प्रकृति सार प्रकट हुन्छ। अवश्य नै, तिनीहरूमध्ये सबैभन्दा खराब ख्रीष्टविरोधीहरू हुन्छन्, जसलाई मानिसले इन्कार गर्नुपर्छ र परमेश्वरको घरले हटाउनुपर्छ। त्यसोभए, के यी परिवारहरू हुन् त? के वास्तविक परिवारहरू यस्तै हुन्छन् त? तिनीहरू एउटै प्रकारका मानिसहरूसमेत होइनन्! कतिपय मानिसहरू धेरै वर्षदेखि दियाबलसहरूसँग बाँचेका हुन्छन्, तैपनि तिनीहरूलाई परिवारका सदस्यहरू ठान्छन्। तिनीहरूले तिनीहरूलाई त्याग्न सक्दैनन् र तिनीहरू आफ्ना प्रियजनहरू हुन् भनेर मूर्ख रूपमा विश्वास समेत गर्छन्। यी कस्ता प्रियजनहरू हुन्? ख्रीष्टविरोधीहरूले आफूलाई प्रकट गरेपछि, तिनीहरू हरकिसिमका दुष्टतामा संलग्न हुन्छन्। तिनीहरूले आफ्नो परिवारका साँचो विश्वासीहरूलाई समेत सताउन सक्छन्। अझै खराब कुरा त, तिनीहरूले आफ्नो परिवारका सदस्यहरूलाई दुष्ट सरकारहरूको हातमा सुम्पन सक्छन्। कतिपय आमाबुबाले आफ्ना छोराछोरीलाई बेच्छन्, र कतिपय छोराछोरीले आफ्ना आमाबुबालाई बेच्छन्। तिनीहरूको सम्बन्ध जति नै नजिक वा घनिष्ठ भए नि, ख्रीष्टविरोधीहरूले नगर्ने कुरा केही पनि हुँदैन। ख्रीष्टविरोधीहरूले आफ्नै परिवारका साँचो विश्वासीहरूलाई बेच्न र सताउन सक्नुको अर्थ, के तिनीहरू शत्रु हुन् भन्ने हुँदैन र? (हुन्छ।) मण्डलीमा एक-दुई जना ख्रीष्टविरोधीहरू देखा पर्नु भनेको विश्वासी दाजुभाइ-दिदीबहिनीहरूको लागि खतरा हो। ख्रीष्टविरोधीहरूले आफूलाई आशिष्हरू प्राप्त हुनेछैन भन्ने देख्नेबित्तिकै, लत्तो छोड्छन्, जीउछाडा बन्छन्, असली रूप देखाउँछन्, र अरू दाजुभाइ-दिदीबहिनीहरूलाई बाधा दिनेबारे सोच्न थाल्छन्। कतिपय दाजुभाइ-दिदीबहिनीहरू कमजोर र सानो कदका हुन्छन्, र तिनीहरूले सत्यता बुझ्दैनन्। ख्रीष्टविरोधीहरूले यी विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई इन्टरनेटमा देखिएका केही अफवाहहरू देखाउँछन्, त्यसपछि आफ्नै सुन्दर व्याख्याहरू थपेर आगोमा तेल हाल्छन्, र यसरी ती दाजुभाइ-दिदीबहिनीहरूलाई बिथोल्छन् र बहकाउँछन्, र अन्ततः तिनीहरूलाई बरबाद पार्छन्। अवश्य नै, कतिपय दाजुभाइ-दिदीबहिनीहरूमा समझशक्ति हुन्छ र तिनीहरूले तुरुन्तै ख्रीष्टविरोधीहरूलाई चिन्छन्। यदि तिनीहरूले ख्रीष्टविरोधीहरूलाई सार्वजनिक रूपमा निराकरण गरे भने यसले समस्या ल्याउनेछ, त्यसैले तिनीहरूलाई अलग गर्ने बुद्धिमानी उपाय खोज्दा मात्रै तिनीहरूले अरूलाई बाधा वा पीडा दिन पाउँदैनन्। शैतानहरूलाई तह लगाउँदा, मानिसहरूले बुद्धिमानी पूर्वक काम गर्नुपर्छ।
ख्रीष्टविरोधीहरूले आफ्नो सम्भाव्यता र नियतिको खातिर परमेश्वरमा विश्वास गर्छन् र परमेश्वरलाई पछ्याउँछन्। तिनीहरू आशिष् पाउने आफ्नो इच्छामा अडिग हुन्छन् र परमेश्वरको घर प्रवेश गर्दा आफ्ना महत्त्वाकाङ्क्षाहरू आफूसँगै लिएर आउँछन्, र त्यसपछि परमेश्वरको वचन पढ्ने, स्विकार्ने, र प्रचार गर्ने गर्छन्। तिनीहरूले आफ्नो सम्भाव्यता र नियतिको खातिर परमेश्वरको घरमा सम्झौता गर्छन्, अपमान सहन्छन्, र हरकिसिमका कठिनाइहरू सहन्छन्। अनि धेरै वर्ष प्रतीक्षा गरेपछि र हेरेपछि, जब तिनीहरूको आशा चकनाचुर हुन्छ, तब तिनीहरूले आफ्नो सम्भाव्यता र नियतिको कारण मण्डली र परमेश्वरको घर छोड्छन्, किनभने आशिष्हरू प्राप्त गर्ने तिनीहरूको इच्छा र अभिप्राय पूरा हुन सक्दैन। त्यस्ता मानिसहरूको परिणाम के हुन्छ? तिनीहरू निकालामा पर्नेछन्। अनि किन तिनीहरू निकालामा पर्नेछन्? तिनीहरू उहाँको घर प्रवेश गरेको क्षणदेखि नै परमेश्वरले तिनीहरूलाई मुक्ति नदिने निर्णय गर्नुहुन्छ कि तिनीहरूका आफ्नै समस्याहरू हुन्छन्? (तिनीहरूका आफ्नै समस्याहरू हुन्छन्।) जब ख्रीष्टविरोधीहरू परमेश्वरको घर प्रवेश गर्छन्, तब तिनीहरू गहूँबीच सामा उम्रेजस्तै घुलमिल हुन्छन्। कति मानिसहरूले सोध्छन्, “तर के परमेश्वरलाई यसबारेमा थाहा हुँदैन र?” परमेश्वरलाई यसबारेमा थाहा हुन्छ; परमेश्वरले यो सबै कुरा सूक्ष्म रूपले जाँच्नुहुन्छ। यस्ता मानिसहरू परिवर्तन हुन सक्दैनन्। तिनीहरूले परमेश्वरका सबै वचन पढे नि, परमेश्वरले प्रकट गर्नुभएका रहस्यहरू, मानिसको गन्तव्य, र मानिसका विभिन्न भ्रष्ट स्वभावहरूबारे पढे नि, र अरू त्यस्तै वचनहरू पढे नि, त्यसको कुनै काम हुँदैन, किनभने तिनीहरूले सत्यता स्विकार्दैनन्। परमेश्वरले बोल्नुभएका वचनहरू सबै मानवजातिप्रति सम्बोधन गरिएका हुन्छन्। ती कसैबाट लुकेका हुँदैनन् र ती सबैलाई समान रूपमा प्रदान गरिन्छ। सबैले परमेश्वरका वचनहरू पढ्न र सुन्न सक्छन्, तर अन्त्यमा, ख्रीष्टविरोधीहरूले ती कहिल्यै प्राप्त गर्नेछैनन्, किनभने तिनीहरू ख्रीष्टविरोधी, दियाबलस, र शैतानहरू हुन्। परमेश्वरको साथमा धेरै वर्ष बसेपछि पनि शैतान परिवर्तन भएन, त्यसकारण के ख्रीष्टविरोधीहरूको हकमा पनि त्यही कुरा लागू हुँदैन र? तैँले तिनीहरूलाई हरेक दिन परमेश्वरको वचन पढ्न लगाइस् भने पनि, तिनीहरूले त्यो प्राप्त गर्नेछैनन्, किनभने तिनीहरू ख्रीष्टविरोधीहरू हुन्, र तिनीहरूमा ख्रीष्टविरोधीको सार हुन्छ। ख्रीष्टविरोधीहरूलाई आफ्नै हित वा आफ्नो सम्भाव्यता र नियति त्याग्न लगाउनु असम्भव हुन्छ। यो त सुँगुरलाई रूखमा चढ्न लगाउनुजस्तै हो। यो असम्भव काम हो। ख्रीष्टविरोधीहरू तुरुन्तै फाइदाहरू देख्न चाहन्छन्, र भविष्यमा अनन्त फाइदाहरू पनि देख्न चाहन्छन्। यदि तिनीहरूले यीमध्ये कुनै एउटा कुरा प्राप्त गर्न वा सन्तुष्ट पार्न सकेनन् भने, तिनीहरू तुरुन्तै शत्रु बन्नेछन्, र कुनै पनि बेला छोडिजान सक्नेछन्। ख्रीष्टविरोधीहरूले परमेश्वरका वचनहरूका भित्री अर्थहरू खोज्छन्, तिनका भाव र शैली ध्यान दिएर सुन्छन्, र तिनीहरूले वास्ता गर्ने र प्राप्त गर्न चाहने ती विभिन्न फाइदाहरू मापन गर्न उहाँका वचनहरूको अर्थ र अभिप्राय अनुमान गर्ने प्रयास गर्छन्। जब तिनीहरूले यस्तो मनोवृत्ति लिएर परमेश्वरको वचनलाई हेर्छन्, तब के तिनीहरूले सत्यता बुझ्न सक्छन् त? (सक्दैनन्।) त्यसकारण, जुनसुकै अवस्थामा पनि, ख्रीष्टविरोधीहरू परमेश्वर र उहाँको वचनप्रति विरोधमा रहनेहरू, र घातक शत्रुहरू हुन्। कति मानिसहरू यसो भन्छन्: “फलाना-फलाना पहिले साह्रै राम्रा थिए। तिनीहरूले अहिले किन यस्तो व्यवहार गरिरहेका छन्? तिनीहरूलाई परमेश्वरको वचनबारे सङ्गति दिइएपछि, तिनीहरूले कुरा बुझेँ भनेर भने र आफ्नो कर्तव्य निभाउन परिश्रम गर्ने प्रतिज्ञा गरे, तैपनि किन तिनीहरू परिवर्तन हुन सकेनन्?” म तँलाई सत्यता बताउँछु। तिनीहरू अहिले मात्र परिवर्तन हुन नसक्ने होइनन्—तिनीहरू त भविष्यमा पनि परिवर्तन हुन सक्नेछैनन्। यस्तो किन त? किनभने तिनीहरूसँग परिवर्तन हुने कुनै अभिप्राय हुँदैन। यसबारे विचार गर: यदि ब्वाँसोले खानलाई भेडा भेट्टाउन सकेन भने, भोकले मर्न लाग्दा भोक कम गर्न यसले कहिलेकहीँ केही घाँस र केही पानी खान सक्ला। तर के यसको अर्थ यसको प्रकृति परिवर्तन भएको छ भन्ने हुन्छ र? (हुँदैन।) त्यसकारण, जब केही समयको लागि ख्रीष्टविरोधीहरूले कुनै दुष्कर्म गर्दैनन् र केही असल व्यवहार देखाउँछन्, तब यसको अर्थ तिनीहरू परिवर्तन भएका छन् वा तिनीहरूले सत्यता स्वीकार गरेका छन् भन्ने हुँदैन। तिनीहरूलाई तिनीहरूको शक्ति र हैसियत छुने तरिकाले गम्भीर रूपमा काटछाँट गरिनेबित्तिकै, र तिनीहरूसँग कुनै आशा छैन—तिनीहरूलाई निश्चित रूपमा हटाइनेछ भनेर तिनीहरूले देख्नेबित्तिकै—तिनीहरू तुरुन्तै नकारात्मक बन्छन्, र आफ्नो काम त्याग्छन्, र तिनीहरूको मूलरूपको साँचो रङ देखा पर्नेछ। यस्ता मानिसहरूलाई कसले परिवर्तन गर्न सक्छ? परमेश्वर तिनीहरूलाई मुक्ति दिने योजना गर्नुहुन्न, बरु तिनीहरूलाई खुलासा गर्न र हटाउन तथ्यहरू मात्रै प्रयोग गर्नुहुन्छ। त्यसकारण, शैतानका यी सेवकहरूलाई सबैले चिन्नु र इन्कार गर्नुपर्छ।
ख्रीष्टविरोधीहरूलाई चिन्नु दुष्ट मानिसहरू र शैतानलाई चिन्नुजस्तै हो, र ख्रीष्टविरोधीहरूलाई चिरफार गर्नु अदृश्य शैतान र दियाबलसहरूलाई चिरफार गर्नुजस्तै हो। आज हामीले चिरफार गरिरहेका ख्रीष्टविरोधीहरूलाई मानिसले देख्न सक्छ। तिनीहरूले के गर्छन् र के भन्छन् भनेर तैँले देख्न सक्छस्; तैँले तिनीहरूका सबै प्रकटीकरणहरू देख्न र तिनीहरूका अभिप्रायहरू पत्ता लगाउन सक्छस्। तैँले आत्मिक क्षेत्रका शैतान वा दियाबलसहरूलाई देख्न वा छुन सक्दैनस्, त्यसकारण ती तेरो लागि सधैँ अवधारणा र पदवीनाम मात्रै हुनेछन्। तर आज हामीले चिरफार गरिरहेका ख्रीष्टविरोधीहरू फरक छन्। तिनीहरू जीवित दियाबलस र शैतानहरू हुन्। तिनीहरू देह र रगतका मूर्त दियाबलस र शैतानहरू हुन्। ती दियाबलस र शैतानहरूले आत्मिक क्षेत्रमा परमेश्वरको विरोध गर्छन् र उहाँलाई इन्कार गर्छन्, र तिनीहरू परमेश्वरले बोल्नुभएको हरेक वचनको विरुद्ध हुन्छन्। तिनीहरू मण्डली आउँदा पनि तिनीहरूले अझै यी कुराहरू गर्छन्। तिनीहरूले पहिलेजस्तै अझै परमेश्वरका वचनहरूप्रति विरोध, वितृष्णा र इन्कार गर्छन्। तिनीहरूले प्राय परमेश्वरका वचनहरूलाई समेत घृणा गर्छन्। यो परमेश्वरको मुखबाट आएको हो भने त सानो कुराले पनि तिनीहरूको हृदयमा धेरै प्रश्नहरू उठाउँछ। तिनीहरूले यसबारे अनुसन्धान गर्नेछन्, यसलाई विश्लेषण गर्नेछन्, र आफ्नो मस्तिष्क प्रयोग गरेर यसबारे सोचविचार गर्नेछन्। त्यसकारण, परमेश्वरका वचनहरू ख्रीष्टविरोधीहरूको लागि विश्वासको विषय हुँदैनन्। तिनीहरूले परमेश्वरका वचनहरूमा कहिल्यै विश्वास गर्दैनन्। परमेश्वरका वचनहरू जति नै व्यावहारिक, साँचो, वा विश्वासयोग्य भए पनि, तिनीहरूले तिनमा विश्वास गर्दैनन्। त्यसैले, यी बुँदाहरूको आधारमा के ख्रीष्टविरोधीहरू परमेश्वरका शत्रुहरू होइनन् र? के तिनीहरूको अन्तर्निहित प्रकृति सत्यता विपरीत हुँदैन र? यस्ता मानिसहरू जन्मजातै परमेश्वरका शत्रुहरू हुन्छन्, तिनीहरू जन्मजातै सत्यताप्रति वितृष्ण हुन्छन्। तिनीहरूले परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा लिने वा सत्यताको रूपमा अङ्गाल्ने कहिल्यै गर्दैनन्। तिनीहरूको सार, परमेश्वरप्रतिको तिनीहरूको विभिन्न प्रकटीकरण, र परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको विभिन्न मनोवृत्तिको कारण, अन्ततः यस्ता मानिसहरू परमेश्वरका वचनहरूद्वारा निन्दित हुन्छन् र परमेश्वरद्वारा घृणा गरिन्छन्। त्यसकारण, के तिनीहरूले आफूले पछ्याएको सबैभन्दा ठूलो फाइदा अर्थात्, तिनीहरूको सम्भाव्यता र नियति प्राप्त गर्न सक्छन् त? कहिल्यै पनि सक्दैनन्। त्यसोभए, परमेश्वरले मानवजातिलाई दिनुहुने प्रतिज्ञा र आशिष्हरू, र उहाँले मानवजातिको लागि तय गर्नुभएको गन्तव्य उहाँले कसको बारेमा बताउनुभएको हो? के यी कुराहरूमा ख्रीष्टविरोधीहरूको कुनै भागीदारी हुन्छ? (हुँदैन।) परमेश्वरले बोल्नुभएको र मानवजातिलाई प्रतिज्ञा गर्नुभएको सुन्दर गन्तव्य परमेश्वरको मुक्तिका प्रापकहरूलाई प्रदान गरिन्छ, परमेश्वरका वचनहरूमा विश्वास गर्ने र परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा स्विकार्ने मानिसहरूलाई प्रदान गरिन्छ। यो परमेश्वरप्रति शत्रुवत् रहने र परमेश्वरको वचनलाई छलीको छलको रूपमा लिने ख्रीष्टविरोधीहरूलाई प्रदान गरिँदैन।
अप्रिल ११, २०२०
फुटनोटहरू:
क. मूल पाठमा “तिनीहरूले के विश्वास गर्छन् भने” भन्ने वाक्यांश समावेश छैन।