विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन् (भाग एक)
अ. ख्रीष्टविरोधीहरू परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्
आज हामी ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको पन्ध्रौँ विषयवस्तु—तिनीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन्—भन्नेमाथि सङ्गति गर्नेछौँ। यस विषयवस्तुले ख्रीष्टविरोधीहरूले परमेश्वर र ख्रीष्टलाई कस्तो व्यवहार गर्छन् भन्ने कुराका दुइटा प्रकटीकरणहरू खुलासा गर्छ, जसले ख्रीष्टविरोधीहरूको सार जनाउँछन्। यी दुवै प्रकटीकरणहरू परमेश्वर स्वयम्सँग, एकातिर परमेश्वरको आत्मा र अर्कोतिर परमेश्वरको देहधारी देहसँग सम्बन्धित छन्। ख्रीष्टविरोधीहरू परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, न त तिनीहरू उहाँको देहधारी देहलाई नै स्विकार्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरप्रति राख्ने दृष्टिकोणहरू यिनै हुन्, र ख्रीष्टविरोधीहरूले परमेश्वरलाई कसरी व्यवहार गर्छन् भन्ने कुराका मूल प्रकटीकरणहरू तिनै हुन्। अहिलेका लागि, हामी यी दुई मूल प्रकटीकरणहरूको सारमाथि सङ्गति गर्नेछैनौँ, बरु पहिला परमेश्वरको अस्तित्वबारे ख्रीष्टविरोधीहरूको अविश्वास कसरी प्रकट हुन्छ, अर्थात्, ख्रीष्टविरोधीहरूमा परमेश्वरप्रति कस्ता सोच, दृष्टिकोण, मनोवृत्ति, अनि विशिष्ट व्यवहार, प्रकटीकरण र शैलीहरू हुन्छन्, जसले तिनीहरू उहाँको अस्तित्वमा विश्वास गर्दैनन् भनेर प्रमाणित गर्छ भन्नेबारे छलफल गरौँ। के यस अविश्वासका ठोस प्रकटीकरणहरू हुन्छन्? कतिपयले भन्लान्, “परमेश्वरको अस्तित्वमाथिको ख्रीष्टविरोधीहरूको अविश्वासले तिनीहरूले यस तथ्यलाई मान्दैनन् र परमेश्वरको अस्तित्वलाई इन्कार्छन् भन्ने मात्र जनाउँछ। हृदयमा, तिनीहरू कुनै परमेश्वर छैन, र परमेश्वरका आत्मा, परमेश्वर स्वयम्, र सृष्टिकर्ता अदृश्य र अस्तित्वहीन हुनुहुन्छ भन्ने विश्वास गर्छन्। तिनीहरूका लागि, ‘परमेश्वर’ पदवी खोक्रो र मानव कल्पनाको सिर्जना मात्र हो। के यो व्याख्या र सङ्गति गर्न सरल कुरा होइन र? यो कसरी ख्रीष्टविरोधीहरूको सारसँग सम्बन्धित हुन्छ? कसरी यसका विशिष्ट प्रकटीकरणहरू छन्? के यो तिललाई पहाड बनाउनु होइन र? के यो साँच्चिकै त्यस्तो जटिल छ?” के यो सोच्ने तरिका सही हो? यदि तिमीहरूलाई ख्रीष्टविरोधीहरूले परमेश्वरको अस्तित्वमा विश्वास नगर्ने विषयबारे सङ्गति गर्न आग्रह गरियो भने, तिमीहरूले कसरी त्यसमाथि सङ्गति गर्नेथियौ र त्यसलाई चिरफार गर्नेथियौ? उदाहरणका लागि, एक जना अत्यन्तै छली व्यक्तिबारे सोच्। के तैँले उसको छलीपनका विशिष्ट प्रकटीकरणहरूबारे कुरा गर्न सक्छस्? यदि तैँले “यो व्यक्ति निकै छली छ, र ऊ सधैँ झूट बोल्छ र एउटा पनि साँचो कुरा बोल्दैन” मात्र भनिस् भने, के तब तैँले सङ्गति गरेर सक्काएको हुनेछस्? छलीपनका विशिष्ट स्थिति र प्रकटीकरणहरू के-के हुन्? तैँले त्यस व्यक्तिको छलीपनलाई कसरी चिरफार गर्न सक्छस्? तिनीहरूले दैनिक जीवनमा आफूलाई आचरणमा ढाल्न र मामलाहरू सम्हाल्न कस्ता तरिकाहरू प्रयोग गर्छन्? तिनीहरूले संसारसँग व्यवहार गर्न कस्ता विधिहरू प्रयोग गर्छन्? तिनीहरूको चरित्र कस्तो हुन्छ? मानिस, घटना, र कामकुराहरूबारे तिनीहरूको दृष्टिकोण के हुन्छ? यो व्यक्ति निकै छली छ भनेर कसरी प्रमाणित गर्न सकिन्छ? के यसका विशिष्ट विवरणहरू छैनन् र? विशिष्ट विवरणहरू पक्कै छन्। यो छलीपन भनेको के हो वा कस्ता कार्यहरू छली हुन् भन्ने कुरा मात्र होइन, र यो यस शब्दको व्याख्या गर्ने कुरा मात्र होइन, त्यसको साटो तैँले उसका विशिष्ट प्रकटीकरणहरू, व्यवहार, सोच, दृष्टिकोणहरू, र मामलाहरूलाई सम्हाल्ने विधिहरू, उसको चरित्र, आदि कुरालाई चिरफार गर्नुपर्छ। छली व्यक्तिको मुख्य विशेषता के हो भने, उसले कसैसित सङ्गति गर्न कहिल्यै आफ्नो हृदय खोल्दैन, र आफ्नो सबैभन्दा नजिकको मित्रलाई समेत उसले आफ्नो हृदयको कुरा सुनाउँदैन। यस्ता व्यक्तिहरू असाधारण रूपमा रहस्यमय हुन्छन्। वास्तवमा, यस्तो व्यक्ति वृद्ध नै हुन्छ, वा उसले धेरै संसार देखेको हुन्छ भन्ने हुँदैन, र ऊसँग अनुभवसमेत थोरै मात्रै हुन सक्छ, तैपनि ऊ अत्यन्तै रहस्यमयी हुन्छ। ऊ उमेरको हिसाबले निकै धूर्त हुन्छ। के यस्तो व्यक्ति प्रकृतिले नै छली हुँदैन र? उसले आफूलाई यति गहन रूपमा लुकाएको हुन्छ कि कसैले उसको वास्तविकता देख्न सक्दैन। उसले जति नै धेरै शब्दहरू बोले पनि, कुन साँचो र कुन झूटो हो भन्न गाह्रो हुन्छ, र उसले कुन बेला साँचो र कुन बेला झूट बोलिरहेको हुन्छ भनी कसैलाई थाहा हुँदैन। यसको साथै, ऊ वास्तविक रूप लुकाउन र कुतर्क गर्न निकै सिपालु हुन्छ। उसले प्रायः मानिसहरूमा गलत छाप छोडेर सत्यता लुकाउने गर्छ, जसले गर्दा मानिसहरूले उसको झूटो रूप मात्र देख्छन्। उसले आफू उच्च, असल, चरित्रवान्, र निष्कपट व्यक्ति भएको, र सबैले मन पराउने र अनुमोदन गर्ने व्यक्ति भएको भेष ओड्छ, र अन्त्यमा, सबैले उसलाई आराधना र सम्मान गर्छन्। त्यस्तो व्यक्तिसँग तैँले जति लामो समय बिताए पनि, उसले के विचार गरिरहेको छ भन्ने कुरा तँलाई कहिल्यै थाहा हुँदैन। सबै प्रकारका मानिस, घटना, र कामकुराहरूप्रतिको उसको दृष्टिकोण र मनोवृत्तिहरू उसको हृदयभित्र लुकेका हुन्छन्। उसले कसैलाई यी कुराहरू कहिल्यै बताउँदैन। उसले आफ्नो सबैभन्दा निकटको विश्वासपात्रसँग समेत यी कुराहरूबारे कहिल्यै सङ्गति गर्दैन। परमेश्वरलाई प्रार्थना गर्दासमेत, उसले आफ्नो हृदयको कुरा वा तीबारेको सत्यता व्यक्त नगर्न सक्छ। यति मात्र होइन, उसले आफूलाई असल मानवता भएको व्यक्ति, अत्यन्तै आत्मिक र सत्यताको पछ्याइमा समर्पित व्यक्तिका रूपमा प्रस्तुत गर्छ। उसमा कस्तो स्वभाव छ र ऊ कस्तो व्यक्ति हो भनेर कसैले पनि बुझ्न सक्दैन। छलीपनका प्रकटीकरणहरू यिनै हुन्। उदाहरणका लागि, कुनै अल्छी व्यक्तिबारे विचार गर्। अल्छीपनाका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? कतिपयले भन्लान्, “अल्छीपाना भनेको बिलकुलै कुनै काम नगर्नु, दिनभर यतिकै बसिरहनु, चलमल गर्न वा केही कुराका बारेमा चिन्ता लिन नचाहनु, र कुराकानी गर्न नचाहनु हो।” के अल्छीपनाका ठोस र मूलभूत प्रकटीकरणहरू यिनै हुन्? (होइनन्, यी त केही सतही प्रतिभास मात्र हुन्।) त्यसोभए अल्छीपनाका मूलभूत प्रकटीकरणहरू के-के हुन्? मुख्यगरी, दुई ठूला प्रकटीकरणहरू छन्: पहिलो, कुनै कठिनाइ सहने अनिच्छा, आफूले चाहे जे गरे पनि त्यसमा बोझ वा जिम्मेवारी वहन नगर्नु, आफ्नो शरीरले अलिकति असहजता भोग्नेबित्तिकै, कठिनाइ वा थकान सामना गर्नेबित्तिकै गुनासो गर्नु; दोस्रो, कुनै काम गर्नेप्रति वितृष्णा हुनु, सुखसयलको जीवन चाहनु, फुर्सद रोज्नु र श्रम मन नपराउनु, यतिकै समय खेर फाल्नु, दिनभर भौँतारिएर हिँड्नु, साथै कचकच गरिरहनु र काम गर्नुपर्नेबित्तिकै कसैले भेट्न नसक्नेगरी लुक्नु। अल्छीपनाका दुई प्रमुख प्रकटीकरणहरू यिनै हुन्; हामी यहाँ विशिष्ट प्रकटीकरणहरूबारे छलफल गर्नेछैनौँ। उदाहरणका लागि, कुनै खन्चुवा व्यक्तिकै कुरा गरौँ। खन्चुवापनका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? यो मानवताभित्रै पर्ने कुरा हो, जसलाई चिरफार गर्न र खुट्ट्याउन सजिलो हुनुपर्ने हो, होइन त? (निरन्तर रूपमा देहसुख पछ्याउनु, सधैँ स्वादिष्ठ खाना खान चाहनु, मिठो खाने चाहनाहरू पूरा गर्नु।) (स्वादिष्ठ खानाप्रति अतृप्त भोक लाग्नु।) खन्चुवापनका प्रकटीकरणहरू यिनै हुन्। के कुनै ठाउँमा स्वादिष्ठ खाना पाइन्छ भन्ने सुनेपछि, त्यो ठाउँ भेट्टाउन ठूलो प्रयत्न गर्ने मानिसहरू हुँदैनन् र? उदाहरणका लागि, मानौँ कुनै ठाउँमा एउटा नयाँ भोजनालय खुल्छ, र त्यहाँ विविध प्रकारका स्वादिष्ठ खानाहरू पाइन्छन्, तर त्यो अलि महँगो र धेरै टाढा छ, र त्यहाँ पुग्न गाडीमा एक घण्टा लाग्छ। धेरैजसो मानिसहरूले खानाकै लागि त्यति टाढा जानु उचित होइन भन्ठान्नेथिए। तर खानामा रुचि हुने मानिसहरूले भोजनालयबारे सुनेपछि यसो सोच्छन्, “एक घण्टा गाडीको यात्रा टाढा होइन। जीवन भनेकै खाने, पिउने र रमाइलो गर्ने होइन र? गएर खाऔँ न!” तर, यदि त्यही व्यक्तिलाई एक घण्टा गाडीको यात्रा गरेर आफूले गर्नुपर्ने काममा जान भनियो भने, उसले विचार गर्न थाल्नेछ, “के म त्यहाँ जाँदा थाक्नेछैनँ र? के मैले त्यत्रो समय खर्चेर त्यहाँ काम गर्न जानु फलदायी हुनेछ? मैले खराब मानिसहरू भेटेँ भने के गर्नु? कारमा पेट्रोल सकियो भने के गर्नु? मैले त्यहाँ के खानु? के त्यहाँ तयार खाना पाइनेछ? म त्यहाँको स्थानीय वातावरणसँग घुलमिल हुन सकिनँ भने के गर्नु? म राति निदाउन सकिनँ भने के गर्नु?” तिनीहरू आफूले गर्नुपर्ने कामबारे बढी नै सोच्छन्, र जताततै कठिनाइहरू देख्छन्। तर कुनै स्वादिष्ठ चिज खाने कुरामा, तिनीहरू सारा अवरोधहरू पार गर्न इच्छुक हुन्छन्; कुनै पनि अवरोध समस्या नै बन्दैन, र तिनीहरू धेरै सोच्न छोड्छन्। यी खन्चुवापनका विशिष्ट प्रकटीकरणहरू हुन्। म यसलाई यहाँ सङ्क्षिप्तमा मात्र उल्लेख गरिरहेको छु; म त्यसलाई थप व्याख्या गर्नेछैनँ।
आजको सङ्गतिको विषयमै फर्कौँ। परमेश्वरको अस्तित्वमा ख्रीष्टविरोधीहरूको अविश्वासका प्रकटीकरणहरू के-के हुन्? तिनीहरूले कस्ता विशिष्ट सोच, दृष्टिकोण, र स्थितिहरू प्रकाश गर्छन्? तिनीहरूमाथि कुराहरू आइपर्दा, तिनीहरूसँग के-के मनोवृत्ति, दृष्टिकोण, र विचारहरू हुन्छन्, जसले तिनीहरू परमेश्वरको अस्तित्वमा साँच्चिकै विश्वास गर्दैनन् भन्ने प्रमाणित गर्छ? के यो सङ्गति गर्नलायक छैन र? ख्रीष्टविरोधीहरू परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्; यस अविश्वासका विस्तृत विवरण र विशिष्ट प्रकटीकरणहरू के-के हुन्? (चाहे जे भए पनि, तिनीहरू त्यो परमेश्वरद्वारा योजनाबद्ध र प्रबन्ध गरिएको हो भनेर विश्वास गर्दैनन्, र तिनीहरू त्यो परमेश्वरबाट स्विकार्न सक्दैनन्।) (तिनीहरू परमेश्वरले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुन्छ भनेर विश्वास गर्दैनन्, त्यसकारण तिनीहरू निर्लज्जतापूर्वक दुष्कर्म गर्छन्।) यी केही विशिष्ट प्रकटीकरणहरू हुन्। ख्रीष्टविरोधीहरू परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्। परमेश्वरको अस्तित्वमाथिको यो अविश्वास एउटा इन्कार हो। तिनीहरूले के कुरालाई इन्कार गर्छन्, जसले तिनीहरू परमेश्वरको अस्तित्वलाई इन्कार गर्छन् भन्ने प्रमाणित गर्छ? (तिनीहरू सृष्टिकर्ताका रूपमा परमेश्वरको पहिचानलाई इन्कार गर्छन्।) (तिनीहरू परमेश्वरले सबथोक नियन्त्रण गर्नुहुन्छ र यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने कुरालाई इन्कार गर्छन्।) (तिनीहरू परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने कुरालाई इन्कार गर्छन्, र तिनीहरू परमेश्वरको न्याय र सजायको कामले मानिसहरूको भ्रष्टता पखाल्न र तिनीहरूलाई शैतानबाट मुक्ति दिन सक्छ भन्ने कुरालाई इन्कार गर्छन्।) यीमध्ये कुन भनाइ प्रतिनिधिमूलक र बढी मूलभूत छ? परमेश्वरको पहिचानलाई र यावत् थोकमाथिको उहाँको सार्वभौमिकतालाई इन्कार गर्न—के यी प्रतिनिधिमूलक छैनन् र? के ती मूलभूत मामलाहरू होइनन् र? (हुन्।) परमेश्वरको अस्तित्वमा विश्वास गर्नु भनेको, एकातिर, परमेश्वरको पहिचान र सारलाई मान्नु हो। यसका साथै, यो परमेश्वरको पहिचान र सारमा विश्वास गर्ने जगमा परमेश्वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्यलाई स्विकार्नु र मान्नु हो। के यो पूर्ण रूपमा परमेश्वरको अस्तित्वमा विश्वास गर्नु होइन र? के यी दुइटा कुराहरू अत्यन्तै महत्त्वपूर्ण छैनन् र? (छन् नि।) यी दुई सबैभन्दा मूलभूत मामलाहरू हुन्। त्यसकारण, परमेश्वरको अस्तित्वमाथिको ख्रीष्टविरोधीहरूको अविश्वासलाई चिरफार गर्न, हामीले पहिला दुइटा कुराहरू चिरफार गर्न आवश्यक छ: पहिलो, ख्रीष्टविरोधीहरूले परमेश्वरको पहिचान र सार स्विकार्न नमान्नु; दोस्रो, ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकता स्विकार्न नमान्नु। अन्य पक्षहरू यी दुइटा कुराहरूमै निहित हुन्छन्। यसअघि, हामीले परमेश्वर सत्यता हुनुहुन्छ, परमेश्वरका वचनहरू सत्यता हुन्, वा परमेश्वरले मानिसहरूलाई मुक्ति दिन सक्नुहुन्छ भन्ने कुरालाई ख्रीष्टविरोधीहरूले कसरी स्विकार्दैनन् भन्ने बारेमा सङ्गति गर्यौँ। यो पनि एउटा तथ्य हो। तर, म यहाँ ख्रीष्टविरोधीहरू मूलतः परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्दैनन्, र मूलतः परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन् भनेर भनिरहेको छु। यसलाई ख्रीष्टविरोधीहरूले परमेश्वरको पहिचान र सारलाई स्विकार्न नमान्ने र यावत् थोकमाथिको परमेश्वरको सार्वभौमिकतालाई स्विकार्न नमान्ने दृष्टिकोणबाट चिरफार गर्नु, झनै शक्तिशाली र प्रतिनिधिमूलक हुनेछ।
क. परमेश्वरको पहिचान र सार स्विकार्न नमान्नु
हामी पहिलो बुँदा: ख्रीष्टविरोधीहरूले परमेश्वरको पहिचान र सार स्विकार्न नमान्नुबारे सङ्गति गर्दै सुरु गरौँ। परमेश्वरको पहिचान के हो? सारा सृजित प्राणीहरूका लागि, परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, त्यसोभए यावत् थोकका लागि उहाँको पहिचान के हो? (यावत् थोकका सार्वभौम।) यो पदवी पनि सही छ, तैपनि परमेश्वरको साँचो पहिचान चाहिँ के हो? परमेश्वरलाई सम्बोधन गर्दा, के तैँले सिधै उहाँलाई “यावत् थोकका सार्वभौम” भन्न मिल्छ? यो तेरा लागि तेरी आमाको पहिचान तँलाई जन्म दिने र हुर्काउने व्यक्ति भएजस्तै हो, तर के तैँले आफ्नी आमालाई “मलाई जन्म दिने र हुर्काउने व्यक्ति” भनेर बोलाउन मिल्छ? (मिल्दैन।) तँ उनलाई के भनेर बोलाउँछस्? (आमा।) तैँले आमाका लागि प्रयोग गर्ने शब्द त्यही हो। त्यसकारण, सृष्टिकर्ता, यावत् थोकका सार्वभौमको पदवी परमेश्वर हो, र परमेश्वर स्वयम्लाई मात्र परमेश्वर भन्न मिल्छ। सारा सृजित र गैर-सृजित कुराहरूका लागि, परमेश्वर परमेश्वर नै हुनुहुन्छ; उहाँको पहिचान यावत् थोकका सार्वभौम हो, र उहाँको पदवी परमेश्वर हो। यो पदवी बोक्ने एउटै जन परमेश्वर स्वयम् हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ। परमेश्वर पदवीको योग्य उहाँसँग मात्र परमेश्वरको पहिचान र सार छ। अहिलेका लागि “सार” शब्दबारे नबोलौँ, बरु पहिचानबारे कुरा गरौँ। परमेश्वरको पहिचान भएका परमेश्वर स्वयम्ले परमेश्वरका कामकुरा गर्नुहुन्छ, परमेश्वरको स्वभाव व्यक्त गर्नुहुन्छ, अनि सारा मानवजातिलाई अगुवाइ गर्नुहुन्छ र परमेश्वरका विधिहरू प्रयोग गरेर सारा मानवजाति र यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ। परमेश्वरले गर्ने सारा कामकुरामाथि परमेश्वरमा विश्वास गर्ने र परमेश्वरको पहिचानलाई स्विकार्नेहरूको दृष्टिकोण ख्रीष्टविरोधीहरूकोभन्दा पूर्ण रूपमा फरक हुन्छ। यावत् थोकमाझ परमेश्वरले गर्नुहुने सबथोकलाई सही रूपमा बुझ्न सक्नेहरूले यसमार्फत उहाँका कार्यहरूका विधिहरू देख्नेछन्, र यावत् थोकमाझ उहाँको अस्तित्वबारे आफूलाई अझ बढी विश्वस्त पार्नेछन्। यसको विपरीत, ख्रीष्टविरोधीहरूले यी यावत् थोकलाई हेर्ने दृष्टिकोण, शैली, र कोण परमेश्वरको अस्तित्वमा विश्वास गर्नेहरूकोभन्दा पूर्ण रूपमा उल्टो हुन्छन्। यसै कारण ख्रीष्टविरोधीहरू परमेश्वरको अस्तित्वमा विश्वास गर्नु, वा यी यावत् थोक गर्न सक्षम एउटै जन परमेश्वरको पहिचान भएकै जन हुनुहुन्छ, र उहाँ मात्र परमेश्वर भनिन योग्य हुनुहुन्छ र मानिसहरूद्वारा परमेश्वर भनेर सम्बोधन गरिन योग्य हुनुहुन्छ भनेर विश्वास गर्नुभन्दा बरु मर्न तयार हुन्छन्।
यावत् थोकमाझ र सारा मानवजातिमाझ अस्तित्वमा रहेका धेरै मामलाहरू, चाहे ती नाङ्गो आँखाले देखिने होऊन् वा नहोऊन्, यदि मानिसहरूले परमेश्वरका वचनहरू र सामान्य मानवताको चेतनामार्फत तिनलाई हेर्छन् र बुझ्छन् भने, तिनीहरूले पत्ता लगाउनेछन् कि परमेश्वरले नै मानवजातिलाई यावत् थोकमाझ अगुवाइ गरिरहनुभएको छ, र उहाँ वास्तवमै अस्तित्वमा हुनुहुन्छ। यावत् थोकका व्यवस्थाहरू र यावत् थोकको विकास कुनै अदृश्य र अवर्णनीय नियमहरूअन्तर्गत योजनाबद्ध र प्रबन्धित भइरहेका छन् भने, यो सबै योजनाबद्ध र प्रबन्ध गर्न कसले सक्छ त? न त कुनै महान् व्यक्ति, न कुनै नायकले नै सक्छ, र यो निश्चय नै प्राकृतिक रूपमा निर्मित हुँदैन। बरु, त्यसो गर्ने त अदृश्य र अमूर्त, तर मानिसले बोध गर्न सक्ने, साथै यो सबैमाथि सार्वभौम जन हुनुहुन्छ। यो को हो? यो परमेश्वर हो। के परमेश्वरको अस्तित्वमा विश्वास गर्नु मानिसहरूमा हुनुपर्ने न्यूनतम चेतना होइन र? के यो मानिसहरूले कामकुरालाई हेर्दा प्रयोग गर्नुपर्ने सबैभन्दा न्यूनतम, आधारभूत दृष्टिकोण र कोण होइन र? तर, ख्रीष्टविरोधीहरूमा यो चेतना नहुने हुनाले, तिनीहरू कामकुरालाई यस्तो दृष्टिकोण र कोणबाट हेर्दैनन्। त्यसकारण, परमेश्वरले योजनाबद्ध गर्नुभएका, मानिसहरूले बोध गर्न मात्र सक्ने, र परमेश्वरले खुलस्त रूपमा मानवजातिलाई प्रस्ट भाषामा नभन्नुभएका कामकुरालाई ख्रीष्टविरोधीहरू संयोगात्मक, मानव-निर्मित, प्राकृतिक रूपमा निर्मित, वा मानिसहरूले कल्पना र चालबाजी गरेको समेत ठान्छन्। तैँले परमेश्वरको अस्तित्वको गवाही चाहे जसरी दिए पनि, तैँले परमेश्वर यावत् थोकमाझ हुनुहुन्छ, परमेश्वरसित परमेश्वरको पहिचान छ, र परमेश्वरको पहिचान हुने जनले मात्र यी कामकुरा गर्न र यावत् थोकलाई व्यवस्थित रूपमा मिलाउन सक्नुहुन्छ, र यस्तो सार्वभौम नै परमेश्वरको पहिचान बोक्नुहुने जन हुनुहुन्छ भनेर प्रमाणित गर्न जतिसुकै तथ्यहरू प्रयोग गरे पनि, के ख्रीष्टविरोधीहरूले यसलाई यस तरिकाले हेर्नेछन्? के ख्रीष्टविरोधीहरूले यसलाई यसरी बुझ्नेछन्? (बुझ्नेछैनन्।) तैँले यसलाई प्रमाणित गर्न जतिसुकै तथ्यहरू प्रस्तुत गरे पनि, ख्रीष्टविरोधीहरूले न त यसलाई विश्वास गर्नेछन् न त स्विकार्नेछन् नै। तिनीहरूले बाहिरी रूपमा केही नभने पनि, अनि तिनीहरूले त्यसलाई खण्डन गर्न कुनै प्रमाण प्रस्तुत गर्न नसके पनि, भित्रभित्रै, तिनीहरू यसमा सयौँ पटक असहमत भइरहेका र यसलाई स्विकार्न नमानिरहेका हुन्छन्, र यसमाथि अनेकौँ प्रश्न चिन्हहरू खडा गरिरहेका हुन्छन्। तिनीहरू परमेश्वरको पहिचानमा विश्वास गर्ने मानिसहरू मूर्ख हुन्, तिनीहरू बहकाइएका छन्, र यो परिपक्व सोच नभएकाहरूले मात्र गर्ने र सोच्ने कुरा हो भन्ठान्छन्। तिनीहरूका विचारमा, मानिसको स्वतन्त्र इच्छा मानिस आफैद्वारा नियन्त्रित हुनुपर्छ र स्वतन्त्र रूपमा व्यक्त गरिनुपर्छ। तिनीहरू मानिसहरूले यावत् थोकमाझ घट्ने घटनाहरूबारे आफूले नै छनौट गर्ने तवरले राय बनाउनुपर्छ, र यी घटनाहरूलाई वैज्ञानिक विधिहरू र वैज्ञानिक दृष्टिकोणमार्फत हेरिनुपर्छ, मानिसहरू यति अन्धविश्वासी हुनु हुँदैन, वा तिनीहरूले सबथोक व्याख्या गर्न परमेश्वरको सार्वभौमिकता प्रयोग गर्नु हुँदैन, वा परमेश्वरको सार्वभौमिकता प्रयोग गरेर सबथोक सम्हाल्नु हुँदैन भन्ठान्छन्। उदाहरणका लागि, मण्डलीमा, धेरै दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरको मुक्ति प्राप्त गरेदेखि उहाँले गर्नुभएका अनेकौँ चिन्ह र चमत्कारहरू अनुभव गरेका छन्। तिनीहरू त्यसबखत परमेश्वरले तिनीहरूलाई कसरी अगुवाइ गर्नुभयो, परमेश्वरले कसरी तिनीहरूलाई यी घटनाहरूमार्फत उहाँ साँच्चिकै अस्तित्वमा हुनुहुन्छ, र ती साँच्चिकै उहाँले नै गर्नुभएको हो भनेर देखाउनुभयो भन्नेबारे, साथै तिनीहरूले यी घटनाहरूमार्फत प्राप्त गरेका असीम आशिष्हरू र अनुग्रहबारे गवाही दिन्छन्। गवाहीहरू र भौतिक प्रमाण दुवैमा सबुत छ। परमेश्वरको अस्तित्वमा विश्वास गर्नेहरूको आस्थालाई यी गवाहीहरू र भौतिक प्रमाणले बलियो बनाउँछन्, तर के ती सुनेपछि, परमेश्वरको अस्तित्वमा विश्वास नगर्ने ख्रीष्टविरोधीहरूको दृष्टिकोण परिवर्तन हुन्छ? (हुँदैन।) तँ कसरी भन्न सक्छस्? किनकि, तैँले जतिसुकै साँचो रूपमा बोले पनि वा तेरो गवाहीलाई व्यक्तिगत रूपमा पुष्टि गर्ने मानिसहरू जतिसुकै भए पनि, ख्रीष्टविरोधीहरूले त्यसलाई विश्वास गर्नेछैनन्। तिनीहरूले भन्नेछन्, “म आफैले त्यो अनुभव नगरेसम्म, यदि मैले त्यो देखेको छैन भने, त्यो अस्तित्वमा छैन। तिमीहरूले जे अनुभव गर्यौ, त्यो एउटा संयोग, एउटा आकस्मिक कुरा मात्र थियो। के हरव्यक्तिले आफ्नो जीवनमा खतरनाक वा संयोगात्मक घटनाहरू अनुभव गर्दैन र? के यी संयोगवश र आकस्मिक रूपमा घट्ने घटनाहरू घट्नुले ती परमेश्वरले गरेका काम हुन् भन्ने प्रमाणित गर्छ? के यसले यी कामकुरा गर्ने परमेश्वर नै हुन् भनी प्रमाणित गर्छ? सायद यो तिम्रो कल्पना मात्र हो, सायद तिमीलाई सहयोग गर्नका लागि कोही हितकारी भएको भएर तिमी सौभाग्यशाली भएका मात्र हौ, वा सायद त्यो तिम्रो मर्ने समय छँदै थिएन र तिमी भाग्यले उम्कियौ।” हेर् त, के तिनीहरू यी मानिसहरूमाथि परमेश्वरले गर्नुभएका कामकुरालाई स्विकार्छन्? (स्विकार्दैनन्।) तिनीहरू परमेश्वरले दाजुभाइ-दिदीबहिनीहरूमाथि गर्नुभएका कामकुरालाई स्विकार्दैनन् वा तिनमा विश्वास गर्दैनन्, न त तिनीहरू परमेश्वरले यस्ता कार्यहरू गर्न सक्नुहुन्छ, वा दाजुभाइ-दिदीबहिनीहरूले अनुभव गरेका कुराहरू साँच्चिकै भएका हुन् भनेर विश्वास नै गर्छन्। तिनीहरू सोच्छन्, “संसारमा यस्ता चिजहरू कसरी अस्तित्वमा हुन सक्छन्? यदि ती हुन्छन् भने, ती केवल मानव कल्पनाका उपजहरू मात्र हुन्। एउटा भनाइ नै छ, ‘दिनमा जे सोचिन्छ, रातमा त्यसकै सपना देखिन्छ।’ यी कुराहरू सबै भ्रान्ति मात्र हुन्।” जब ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूले कसरी केही चिन्ह र आश्चर्यकर्महरू, परमेश्वरको कुनै विशेष अनुग्रह र आशिष्हरू, साथै साधारण मानिसहरूको पहुँचबाहिरका केही कुराहरू अनुभव गरे भन्नेबारे सुन्छन्, तब तिनीहरू त्यो कुरा विश्वास गर्दैनन्। त्यसोभए, के दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरका वचनहरू अनुभव गर्ने क्रममा प्राप्त गर्ने अन्तर्दृष्टि र मार्गदर्शनमा ख्रीष्टविरोधीहरूले विश्वास गर्न सक्छन् त? तिनीहरू त्यसमा पनि विश्वास गर्दैनन्। तिनीहरू परमेश्वरले मानिसहरूलाई अन्तर्दृष्टि, ज्योति र मार्गदर्शन दिनुहुन्छ भनेर विश्वास गर्दैनन्। तिनीहरू यो सबै मानव मस्तिष्कबाट, मानिसको ज्ञानमा आधारित विश्लेषण र बुझाइबाट आउँछ, र त्यसले यी अनुभवात्मक गवाहीहरू उत्पन्न गर्छ भन्ने सोच्छन्। तिनीहरू यस्तो विश्वास गर्छन्, “यदि मानिसहरूले राम्रोसँग सोचेमा र यस दिशामा जोडले लागिपरेमा, के तिनीहरूले केही ज्ञान प्राप्त गर्नेछैनन् र? यदि मैले पनि यस सम्बन्धमा मेहनत गरेँ, राम्रोसँग सोचेँ र चिन्तन गरेँ भने, कुनै लेख लेखेजस्तै, ममा पनि केही अनुभवात्मक गवाही फुर्न सक्छ।” त्यसकारण, दाजुभाइ-दिदीबहिनीहरूले परमेश्वरले तिनीहरूलाई कसरी अगुवाइ गर्नुभयो, कसरी अन्तर्दृष्टि र ज्योति दिनुभयो, न्याय गर्नुभयो, सजाय दिनुभयो, काटछाँट गर्नुभयो, र ताडना दिनुभयो, परमेश्वरले तिनीहरूलाई जाँच्न र शोधन गर्नहेतु कसरी परिस्थितिहरू खडा गर्नुभयो, साथै यसबाट तिनीहरूले कसरी परमेश्वरका अभिप्रायहरू बुझ्न पुगे, आदि कुराहरूको अनुभवात्मक गवाही दिँदा, ख्रीष्टविरोधीहरूले परमेश्वरका यीमध्ये कुनै पनि कार्यहरूलाई स्विकार्दैनन् वा तिनमा विश्वास गर्दैनन्। तिनीहरू यी सबै कुराहरू असम्भव भएको भन्ठान्छन्। ख्रीष्टविरोधीहरू दाजुभाइ-दिदीबहिनीहरूमाझ घट्ने यी घटनाहरूलाई स्विकार्दैनन् वा तिनमा विश्वास गर्दैनन्। के यसले परमेश्वरको पहिचान स्विकार्न पूर्ण रूपमा नमान्ने ख्रीष्टविरोधीहरूको सारलाई पुष्टि गर्छ? वास्तवमा, यो परमेश्वरको पहिचान स्विकार्न नमान्ने ख्रीष्टविरोधीहरूको सार प्रमाणित गर्ने सबैभन्दा शक्तिशाली प्रमाण चाहिँ होइन।
हामी अस्थायी रूपमा मण्डली र दाजुभाइ-दिदीबहिनीहरूको दायराभन्दा बाहिर जाऔँ, र मानिसका समूहहरूका र वास्तविक जीवनका विभिन्न मामलाहरूप्रति ख्रीष्टविरोधीहरूका दृष्टिकोणहरू जाँचौँ। यी मामलाहरू के-के हुन्? (मानिसहरूको जन्म, बुढ्यौली, बिमारी, र मृत्यु, साथै सामाजिक परिवर्तन, राजनीतिक बदलाव, र विपत्तिका घटनाहरू। ख्रीष्टविरोधीहरूले यी कुनै पनि कुरामा परमेश्वरको सार्वभौमिकता चिन्न सक्दैनन्।) (ख्रीष्टविरोधीहरू मानिसहरूका नियति परमेश्वरको हातमा हुन्छ भनेर विश्वास गर्दैनन्, बरु, तिनीहरू आफ्नै दुइटा हातले एउटा सुन्दर मातृभूमि सिर्जना गर्न चाहन्छन्।) यी विशिष्ट प्रकटीकरणहरू हुन्, जसले यस मामलाको सारसँग सम्बन्धित छन्। के ख्रीष्टविरोधीहरूले मानव नियति, जीवन र मृत्यु, र हरव्यक्तिले जीवनमा भोग्ने सारा अनुभवहरू परमेश्वरको सार्वभौमिकताअन्तर्गत छन् भनेर देख्न सक्छन्? तिनीहरूले यो देख्न सक्दैनन्। उदाहरणका लागि, समाजमा एउटा चर्चित भनाइ छ: “पुलहरू निर्माण गर्ने र बाटाहरू मर्मत गर्नेहरू अन्त्यमा अन्धा हुन्छन्, जबकि हत्यारा र आगजनीकर्ताहरूका सन्तानको सङ्ख्या वृद्धि हुन्छ।” के यो भनाइ कुनै चिजको मूलभूत नियम हो? के यो सत्यता हो? के यो कुनै दार्शनिक सिद्धान्त हो? (होइन।) त्यसोभए, यो भनाइ कहाँबाट आउँछ? परमेश्वरमा विश्वास गर्नेहरूबाट त निश्चय नै आउँदैन; यो मानव विकास अवधिभरि विभिन्न मानिसहरूका जिउने अवस्थाहरूमा देखिने एउटा सतही घटना हो। मानिसहरू संसारमा निष्पक्षता छैन, कुनै व्यक्तिले जति धेरै असल कार्यहरू गर्छ, ऊ त्यति नै धेरै अन्धो बन्ने सम्भावना हुन्छ, र उसले त्यति नै धेरै प्रतिशोध सामना गर्छ, जबकि कुनै व्यक्तिले जति धेरै दुष्कर्म गर्छ, ऊ त्यति नै धेरै फस्टाउँछ र उसले संसारमा सफलता पाउँछ भनी विश्वास गर्छन्। के मानवजातिका विभिन्न कामकुराका विकासका नियमहरू कुनै पनि रूपमा यस भनाइ अनुरूप छन्? यस्तो भनाइ पनि छ, “असल मान्छे जवानीमै मर्छ तर दुष्ट मान्छे धेरै वर्ष बाँच्छ।” कस्ता प्रकारका मानिसहरूले यो भनाइ सिर्जना गरेका हुन्? यस प्रकारका भनाइहरूलाई मानिसहरूले लोकोक्ति भनेर चिन्छन्; कस्ता मानिसहरूले यी उक्तिहरू बोल्न सक्छन्? के ती परमेश्वरका विश्वासीहरू हुन्? के तिनीहरू परमेश्वरको अस्तित्वमा विश्वास गर्ने मानिसहरू हुन्? (होइनन्।) निश्चित प्रकारका निन्दकहरू हुन्छन्, जो समाजमा र मानिसहरूमाझ असफल हुन्छन्, जसले जतासुकै अवरोध र दुर्भाग्यहरू सामना गर्छन्, अनि जसका आकाङ्क्षाहरू अपूरा हुन्छन्, र तिनीहरू जहाँ गए पनि फस्टाउँदैनन्। तिनीहरू आफू अलि योग्य र सक्षम भएको ठान्छन्, र तैपनि तिनीहरू नाम कमाउन, फस्टाउन, अरूलाई उछिन्न, वा आफ्ना पुर्खाहरूलाई सम्मान गर्न असक्षम भएका हुन्छन्। तिनीहरू चाहे जहाँ गए पनि बहिष्करण, हेपाइ, र दमनमा पर्छन्, र तिनीहरूमा यी सबै कुराबाट उम्कने क्षमता हुँदैन। अन्ततः, तिनीहरू यस्तो निष्कर्षमा पुग्छन्: “समाज वा मानवजातिमा कुनै निष्पक्षता छैन, असललाई इनाम र दुष्टलाई दण्ड दिने कुरा, वा प्रतिशोध हुँदैन। खराब मानिसहरू दण्डित नभई खराब कामकुरा गर्छन्, जबकि दानहरू दिने र गरिबलाई मदत गर्ने जस्ता थुप्रै असल कामहरू गरेका असल मानिसहरूले अन्त्यमा इनाम प्राप्त गर्दैनन्। त्यसकारण, असल नहुनू; त्यो बेकार हो। असल मानिसहरू अन्त्यमा अन्धा बन्न पुग्छन्—त्यसको साटो दुष्ट व्यक्ति नै बन्नुपर्छ।” तिनीहरू संसारमा र मानिसहरूका समूहमाझ असफल भएकाले संसारमा निष्पक्षता र इन्साफ नभएको, र संसारमा मुक्तिदाता नभएकोबारे गुनासो गर्छन्। तिनीहरू आफ्ना सबल पक्षहरू र दक्षता कसैले नदेखेका, र तिनीहरूलाई कसैले महत्त्वपूर्ण पदहरूमा नराखेकाले सबैले आफूलाई अन्याय गरेका छन् भन्ठान्छन्। त्यसकारण, तिनीहरू मानवजाति र संसारबारे गुनासो गर्न यस प्रकारको विकृत सिद्धान्त पैदा गर्छन्। वास्तवमा, के यी विभिन्न कामकुराहरू घट्नुको पछाडि कारणहरू छन्? के तिनका कुनै कारक सम्बन्धहरू छन्? बिलकुल छन्! ख्रीष्टविरोधीहरूको दृष्टिकोण यी मानिसहरूको जस्तै हुन्छ; तिनीहरू परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर विश्वास गर्दैनन्, न त तिनीहरू परमेश्वरको पहिचान बोकेका परमेश्वरले सार्वभौमिकता राख्ने सब थोक धर्मी हुन्छ भनेर नै विश्वास गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू परमेश्वरले गर्ने सब थोकले उहाँको पहिचान प्रतिनिधित्व गर्छ भनेर स्वीकार गर्न असफल हुने मात्र नभई, तिनीहरू समाजमा संचार हुने विकृत सिद्धान्त र विधर्ममा पनि विश्वास गर्छन्। तिनीहरू ती विकृत सिद्धान्त र विधर्म साँचो हुन्, र यस संसारमा मौलाउन सक्ने, आराधना र अनुसरण गरिनेहरूलाई मात्र तिनीहरूका हृदयका ईश्वर, र तिनीहरूको हृदयमा ईश्वरको पहिचान बोकेका ईश्वरहरू भन्न सकिने ठान्छन्। उदाहरणका लागि, चिनियाँ किंवदन्तीहरूमा, पश्चिमकी रानी आमा, जेड सम्राट्, आठ अमरहरू, गुआनयिन, र बुद्धजस्ता व्यक्तित्वहरू छन्—यी ख्रीष्टविरोधीहरूले हृदयमा साँच्चिकै आराधना गर्ने यिनीहरूकै हो। यी किंवदन्तीहरूमा, जेड सम्राट सबैभन्दा महान् हुन्छ; ऊसँग स्वर्गलोकका पापीहरूलाई मृत्युलोकमा फालेर दण्डित गर्ने शक्ति हुन्छ। जब ख्रीष्टविरोधीहरूले यो कुरा सुन्छन्, तिनीहरूमा ऊप्रति ठूलो प्रशंसा जाग्छ, र तिनीहरूले सोच्छन्, “जेड सम्राट साँच्चिकै ईश्वर हुन्! उनीसँग ईश्वरका आचरण, चालढाल, र क्षमताहरू छन्!” यी किंवदन्तीहरू, साथै सर्वसाधारणले भेटीहरू चढाउने तथाकथित अमरहरूले मानिसहरूमाथि ठूलो छाप छाडेका छन्। तिनीहरू यस्तो विश्वास गर्छन्, “यी तथाकथित अमरहरूसँग ठूलठूला सीप र शक्तिहरू छन्। उनीहरू ईश्वर पदवीका लायक छन्। उनीहरूले संसारमा हुने सारा अन्यायपूर्ण र असन्तोषजनक कामकुराबारे स्वर्गलोकबाट समाधानका अभिव्यक्तिहरू प्रदान गर्न सक्छन्, र यदि कसैले इन्साफ खोजिरहेको छ भने, उसले उनीहरूबाट जवाफ खोज्न सक्छ। उदाहरणका लागि, बाओ गोंग र गुआन गोंगजस्ता ऐतिहासिक व्यक्तित्वहरूले आत्मिक क्षेत्रमा मानवजातिका लागि इन्साफ कायम राख्छन्। कुनै व्यक्ति अन्यायमा पर्दा, र अदालतहरू अन्यायपूर्ण हुँदा उसले आफ्नो मुद्दा बाओ गोंग वा गुआन गोंगसामु ल्याएमा, उसले इन्साफ पाउने प्रत्याभूति हुन्छ।” मानिसहरू दन्त्यकथाका यी पात्रहरूले मानवजातिलाई इन्साफ दिन, दुष्ट मानिसहरूलाई दण्डित गर्न, र संसारका सारा अन्यायलाई सच्याउन सक्छन्, जसले गर्दा कष्ट भोग्ने र सङ्घर्ष गर्नेहरू आँसु झार्न छाड्छन् भन्ने विश्वास गर्छन्। तिनीहरू समाजको सबैभन्दा तल्लो तहका गरिब मानिसहरू, असक्षम र हेपाइमा परेकाहरूले, आफ्नो सारा कष्टबाट उम्किन र आफूले सामना गर्ने सारा दुर्व्यवहार र दमनलाई सुल्झाउनका निम्ति बस यी व्यक्तित्वहरूलाई भेटीहरू चढाउनुपर्ने, तिनीहरूमा विश्वास गर्नुपर्छ र तिनीहरूलाई अनुसरण गर्नुपर्छ भन्ठान्छन्। यसैगरी, तिनीहरूका हृदय र मनमा, ख्रीष्टविरोधीहरूले ईश्वरहरू सारा मानव कष्टहरू समाधान गर्ने र मानिसहरूलाई दुःखको सागरबाट उद्धार गर्ने तथाकथित बोधिसत्त्व र बुद्धजस्तै हुनुपर्छ भन्ठान्छन्। उदाहरणका लागि, एक जना मानिसकी आमा असाध्यै बिरामी र चिकित्सा उपचार हुनै नसक्ने अवस्थामा थिई, ऊ कर्तव्यनिष्ठ थियो र ऊ आमाको मृत्यु होस् भन्ने चाहँदैनथ्यो, त्यसकारण उसले हरदिन तीन सिन्का धूप बाल्थ्यो र गुआनयिन बोधिसत्त्वको मूर्तिलाई प्रत्येक दिन मिष्ठान्न खानपिन चढाउँथ्यो। त्यसपछि उसले एउटा प्रतिज्ञा गर्यो: यदि उसकी आमाको रोग निको हुन सक्यो र ऊ अर्को तीस वर्ष बाँच्न सकी भने, त्यसको बदलामा उसले स्वेच्छाले आफ्नो जीवनको ३० वर्ष त्याग्नेछ, ऊ बाँकी जीवनभर शाकाहारी बन्नेछ, र ऊ त्यसउप्रान्त सधैँ कुनै प्राणीको हत्या गर्नबाट टाढा रहनेछ। धूप बाल्ने, ढोग्ने र यो प्रतिज्ञा गरेपछि, अनि आफ्नो इमानदार हृदय चढाएपछि, उसकी आमाको रोग निको भयो। के यसको अर्थ उसको प्रतिज्ञा बोधिसत्त्वले सुने भन्ने हुन्छ? के यसको अर्थ उसकी आमा थप ३० वर्ष जिउनेछे र ऊ ३० वर्ष कम जिउनेछ भन्ने हो? होइन। तर उसले त्यही विश्वास गरेका कारण, ऊ त्यो साँचो हो भनेर विश्वस्त भयो। त्यसपछि उसले शाकाहारी बनेर आफ्नो प्रतिज्ञा पूरा गर्न थाल्यो। एक दिन, उसले यसो सोच्यो: “मेरी आमा निको भएकी छिन्, र उनको दीर्घायुमा अब कुनै समस्या छैन, त्यसैले के मैले भविष्यमा आफ्नो प्रतिज्ञा तोड्न मिल्छ? के मैले कुखुराको खुट्टा खान मिल्छ? यदि मैले खान चाहेँ भने, खान मिल्छ।” कुखुराको खुट्टा खानेबित्तिकै उसलाई आनन्द आयो, र उसको हृदय शान्त भयो, तर भोलिपल्ट, उसलाई बान्ता भयो र पखाला लाग्यो, र ऊ धेरै दिनसम्म बिरामी भयो र उसमा कुनै सुधार आएन। चौथो दिन, उसले सोच्यो: “के यो बोधिसत्त्वले दिएको दण्ड हो? के उनले मलाई मासु खाने अनुमति दिइरहेकी छैनन्? मैले यसअघि बोलेका शब्दहरूले साँच्चिकै काम गरेजस्तो देखिन्छ—मैले मासु खान मिल्दैन!” जब उसले यो सोच्यो, उसले तुरुन्तै थप तीन सिन्का धूप बाल्यो, धेरै मिष्ठान्न भोजन चढायो, र आफ्नो पाप स्विकार्यो। उसको रोग भोलिपल्टै निको भयो। जब उसले बोधिसत्त्व अत्यन्तै प्रभावकारी भएको देख्यो, उसले झनै दृढताका साथ विश्वास गर्यो कि: “मानिसहरूले कार्य गर्दा बोधिसत्त्वले हेरिरहेकी हुन्छिन्। मैले उनलाई झुक्याउने कोसिस गर्नै हुँदैन, मैले आफ्नो प्रतिज्ञा कायम राख्नैपर्छ, नत्र उनको दण्ड भोग्नुपर्छ!” त्यसपश्चात्, उसलाई “बोधिसत्त्व” पदवी पवित्र र अनुल्लङ्घनीय छ भन्ने झनै बढी महसुस भयो। उसले दिनदिनै तीन सिन्का धूप बाल्थ्यो र चाडबाड र छुट्टीका बेलामा भेटीहरू चढाउँथ्यो। समय बित्दै जाँदा, जेड सम्राट, गुआनयिन बोधिसत्त्व, गुआन गोंग, आदि जस्ता मानिसहरूले भेटीहरू चढाउने मूर्तिहरू ईश्वरहरू हुन् भन्ने विश्वास यस्तो व्यक्तिमा प्रबल बन्यो। उसको हृदयमा उनीहरूको हैसियत कुनै सन्देह वा शङ्का नरहने गरी झनै अटल बन्यो। ख्रीष्टविरोधीहरूले यी कुराहरू अनुभव नगरेका वा घरमा यस्ता मूर्ति वा माटोका प्रतिमाहरूलाई भेटीहरू नचढाएका भए पनि, तिनीहरूले अझै पनि बेलाबेलामा आफ्ना सामाजिक वृत्तमा यस्ता कुराहरू सुन्ने वा सामना गर्ने गर्छन्। उदाहरणका लागि, तिनीहरूले बुद्धले कसैको रोग निको पारेको वा दुष्ट मानिसहरूमाथि प्रतिशोध बर्साएर इन्साफ दिलाएकोबारे, कसैको घरमा कुनै फेंग शुई गुरुले केही वस्तु मिलाइदिएपछि त्यो व्यक्ति समृद्ध बनेको, वा कसैले फेंग शुई गुरु वा यिन यांग गुरुलाई चिहानबारे र समाधिस्थल रोज्नेबारे परामर्श लिँदा उसका सन्ततिहरू उच्च अधिकारी बनेका वा तिनीहरूले आफ्ना करियरमा ठूलो सफलताको आनन्द उठाएका, आदिबारे सुन्छन्। यी कुराहरूले ख्रीष्टविरोधीहरूका मनमा ईश्वरहरूसँग, मानिसहरूले दैनिक जीवनमा भेट्ने र देख्ने यी तथाकथित बुद्ध र सम्राटहरूसँग भएजस्तै सामर्थ्य र शक्ति हुनुपर्छ भन्ने छाप छोड्छन्। तिनीहरूले यो समेत सोच्छन् कि ईश्वरहरू मानिसहरूले भेटी चढाउने मूर्तिहरूजस्तै हुनुपर्छ, उनीहरूले त्रास र आश्चर्य जगाउन मानिसहरूमाझ केही चिन्ह र आश्चर्यकर्महरू देखाउनुपर्छ। अनि यदि कुनै ईश्वरले यसो गरेनन् भने, तिनीहरू त्यसलाई ईश्वर मान्नु हुँदैन भन्ने सोच्छन्। ईश्वरहरूबारे यस्ता विचार र बुझाइहरू बोकेर, ख्रीष्टविरोधीहरूले ईश्वरबारे कस्तो अवधारणा बनाउँछन् त? तिनीहरूका मनमा, स्वर्गका व्यवस्थाहरू उल्लङ्घन गर्नेहरूलाई स्वर्गका सिपाहीहरू खटाएर जुनसुकै समय र स्थानमा मृत्युलोकमा फाल्न सक्ने जेड सम्राट जस्तो प्राणी साँच्चिकै ईश्वर नै हुन्छ, र उसमै ईश्वरको पहिचान हुन्छ। अथवा, मानिसहरूले भेटीहरू चढाउने कुनै मूर्ति, जसले तिनीहरूलाई धनी हुन र उच्च अधिकारी बन्न मदत गर्न सक्छ—ख्रीष्टविरोधीहरूका लागि यस्ता प्राणीहरू पनि ईश्वरहरूको पहिचान बोक्न लायक मानिन्छन्। यो ईश्वरहरूको पहिचानबारे ख्रीष्टविरोधीहरूको भित्री बोध र बुझाइ हो। त्यसोभए, जब परमेश्वरले ठूलो रातो अजिङ्गर रहेको भूमिमा काम गर्नुहुन्छ, र केही दाजुभाइ-दिदीबहिनीहरू पक्राउ पर्छन्, मण्डलीमा क्षति पुग्छ, र परमेश्वरको काममा अवरोध र बाधा पुग्छ, तब ख्रीष्टविरोधीहरूले के सोच्छन्? “यदि यी ईश्वर हुन् भने, मण्डलीमा किन यस्ता कुराहरू आइपर्छन्? दाजुभाइ-दिदीबहिनीहरू पक्राउ परिरहँदा, ईश्वरले आकाशमा दर्शनहरू देखाउनुपर्ने हो, र गर्जन र क्रोध बर्साउनुपर्ने हो, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूलाई गिरफ्तार गर्ने दुष्ट प्रहरी तर्सेका मुसाझैँ त्रासले भागून्। मैले यस्ता घटनाहरू घटेकोबारे किन कहिल्यै सुनेको छैनँ? यी मानिसहरूले ईश्वरलाई पछ्याउने र यिनीहरू ईश्वरका चुनिएका मानिसहरू भएपछि, ईश्वरले किन तिनीहरूको उद्धार र सुरक्षा गर्दैनन्? ठूलो रातो अजिङ्गरले ईश्वरलाई पछ्याउनेहरूलाई पागल र क्रूर तरिकाले सताउँछ। ईश्वर किन मानवजातिलाई इन्साफ दिन पृथ्वीमा आउँदैनन्? ईश्वरले किन ठूलो रातो अजिङ्गरलाई अवरोध गर्दैनन्? किन उनले ठूलो रातो अजिङ्गरलाई दण्ड दिँदैनन्? ईश्वरको पहिचान भएको परमेश्वरले बोल्न र सत्यता आपूर्ति गर्न मात्र सक्ने त अवश्यै हुन सक्दैन, होइन र? जेड सम्राट्, गुयानयिन बोधिसत्त्व, र बुद्धका तुलनामा, ईश्वरसित ठूला सामर्थ्य र सीपहरू छन् जस्तो देखिँदैन। ईश्वरसित शक्ति र अख्तियार हुन्छ भनिन्छ, तर यो शक्ति र अख्तियार खै कहाँ छ? के सत्यता आपूर्ति गर्न मात्र सक्ने र ईश्वरको शक्ति र अख्तियार नहुने ईश्वर साँच्चै परमेश्वर हुन् र? जब दाजुभाइ-दिदीबहिनीहरू गिरफ्तार हुनै लागेका हुन्छन्, तब ईश्वरले दुष्ट प्रहरीसामुन्ने पर्खाल खडा गर्नुपर्ने हो, वा तिनीहरूलाई अन्धो र लङ्गडो बनाउनुपर्ने हो, र तिनीहरूलाई पागल वा मूर्ख बनाउनुपर्ने हो। खतरा आउनुपहिले नै, ईश्वरले आसन्न जोखिमबारे सबैलाई प्रस्ट रूपमा थाहा दिनुपर्छ, तिनीहरूले एउटा आवाज सुन्नुपर्छ, एउटा जोरदार सनसनी महसुस गर्नुपर्छ, र तिनीहरूसित प्रस्ट सोच हुनुपर्छ। ईश्वरले किन यस्ता कामकुरा गर्दैनन्? उनले किन यस्ता परिस्थितिहरू नजिकिँदा कुनै सङ्केतहरू दिँदैनन्? मानिसहरूले गिरफ्तारी, यातना, र सतावट भोग्दा, ईश्वरले किन यी दियाबलस र दुष्ट प्रहरीलाई रोक्ने वा दण्ड दिने गर्दैनन्? तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई हतकडी लगाउँदा, उनीहरूलाई डन्डाले हिर्काउँदा, ईश्वरले किन केही गर्दैनन्? यदि जेड सम्राट् वा गुयानयिन बोधिसत्त्व भएको भए, उनीहरूले आफ्ना अनुयायीहरूलाई कहिल्यै यसरी कष्ट भोग्न दिनेथिएनन्। उनीहरूले अवश्य नै हस्तक्षेप र मदत गर्नेथिए, दुष्ट प्रहरीलाई अन्धा बनाइदिनेथिए, तिनीहरूका अनुहार बिगार्दिनेथिए, तिनीहरूलाई पागल बनाइदिनेथिए, तिनीहरूका हातखुट्टा कुहाइदिनेथिए, तिनीहरूलाई निको नहुने रोग लगाइदिनेथिए, र तिनीहरूलाई एकअर्काबीच मारामार गराउनेथिए। ईश्वरले किन यसो गर्दैनन्? ईश्वर ठ्याक्कै कहाँ छन्? के उनी अस्तित्वमा त छन्? समस्याहरू आइपर्दा, मानिसहरूले ईश्वरलाई प्रार्थना गरे पनि उनले उनीहरूलाई उद्धार गर्दैनन्, न त उनले उनीहरूलाई खतराबाट उम्किने परिस्थितिहरू नै खडा गरिदिन्छन्। जब दुष्ट प्रहरीले यी लाचार मानिसहरूलाई यातना दिन्छन्, आम सुझबुझअनुसार ईश्वरले हस्तक्षेप र मदत गर्नुपर्ने हो, यतिकै बस्न नहुने हो, किनकि ईश्वरहरूले संसारमा अन्याय भएको हेर्न मन पराउँदैनन्, र ईश्वरहरूले मानिसहरूलाई दुःखबाट मुक्ति दिनुपर्ने र सारा प्राणीहरूलाई कष्टबाट छुटकारा दिनुपर्ने हो। अहिले मैले विश्वास गरिरहेको यस ईश्वरले किन यस्ता कामकुरा बिलकुलै गर्दैनन्? के मैले विश्वास गर्ने ईश्वर साँच्चिकै अस्तित्वमा छन्?” धेरै कुराहरू अनुभव गरेपछि, ख्रीष्टविरोधीहरू निरन्तर दुबिधामा र शङ्कालु हुन्छन्। तिनीहरू परमेश्वरमाथि विश्वास गर्ने अवधिमा तिनीहरूको भविष्य कस्तो छ भनी हेर्न, तिनीहरू कैदमा पर्नेछन् कि पर्नेछैनन्, तिनीहरूको काम सहज रूपमा अघि बढ्नेछ कि बढ्नेछैन, कुनै खलनायकले तिनीहरूमाथि बदला लिने कोसिस गर्नेछ कि गर्नेछैन, वा तिनीहरूको नियतिमा कैद छ भने त्यसबाट जोगिने कुनै उपाय छ कि छैन भनी जाँच्न ज्योतिषी र यिन यांग गुरुहरूकहाँ पनि जान्छन्।
परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने क्रममा, ख्रीष्टविरोधीहरूमा सधैँ परमेश्वरको पहिचान र सारबारे धारणाहरू उत्पन्न हुन्छन्, र तिनीहरू परमेश्वर किन बोल्ने मात्र गर्नुहुन्छ र कुनै चिन्ह र आश्चर्यकर्महरू देखाउनुहुन्न भनेर सधैँ प्रश्न गर्छन्। ख्रीष्टविरोधीहरूले पनि परमेश्वरका वचनहरू पढ्ने भएता पनि, तिनीहरूको अभिप्राय सत्यता खोज्नु वा स्वीकार गर्नु होइन, बरु तिनीहरूले तिनलाई अध्ययन र विचार-विमर्श गर्ने मानसिकताले पढ्छन्। फलस्वरूप, तिनीहरूले साँचो आस्था विकास गर्न नसक्ने मात्र नभई, उल्टै, तिनीहरूले जति बढी छानबिन गर्छन्, तिनीहरू त्यति नै बढी शङ्कालु बन्छन्, र तिनीहरूले देहधारी परमेश्वरबारे त्यति नै बढी धारणाहरू पाल्छन्। तिनीहरूको मुख्य धारणा के हो भने, तिनीहरू ख्रीष्टसँग अलौकिक मानवता हुनुपर्छ भन्ने विश्वास गर्छन्। तिनीहरू सोच्छन्: “यदि ख्रीष्टसँग सामान्य मानवता छ र उनले कुनै चिन्ह वा आश्चर्यकर्महरू देखाउँदैनन् भने, उनी ईश्वर हुन् भनेर कसरी प्रमाणित गर्न सकिन्छ?” ख्रीष्टविरोधीहरूका हृदयमा, ईश्वरको आत्मा मात्र ईश्वर हुन्छन्, र चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्ने देह मात्र ईश्वर हुन्छन्। यदि कुनै देहमा सामान्य मानवता मात्र छ र उनले चिन्ह र आश्चर्यकर्महरू गर्दैनन् भने, उनी सत्यता व्यक्त गर्न सक्ने भए पनि, उनलाई ईश्वर मानिँदैन। त्यसकारण, ख्रीष्टविरोधीहरूले देहधारी परमेश्वरको सारबारे सधैँ शङ्का गर्नु आश्चर्यको कुरा होइन। ख्रीष्टविरोधी प्रकारको व्यक्तिले आफूलाई चाहे जति धेरै कुराहरू आइपरे पनि परमेश्वरका वचनहरूमा सत्यताको खोजी गरेर तिनलाई सम्बोधन गर्ने प्रयास कहिल्यै गर्दैन, कामकुराहरूलाई परमेश्वरका वचनहरू मार्फत हेर्ने कोसिस गर्नु त परै जाओस्—जुन पूर्ण रूपमा यस कारणले हो कि उनीहरू परमेश्वरका वचनहरूको प्रत्येक पङ्क्ति सत्यता हो भनी विश्वास गर्दैनन्। परमेश्वरको घरले चाहे जसरी सत्यतामा सङ्गति गरे पनि, ख्रीष्टविरोधीहरू त्यसलाई ग्रहण गर्दैनन्, र परिणामस्वरूप तिनीहरूले जस्तोसुकै परिस्थितिको सामना गर्दा पनि तिनीहरूमा सही मनोवृत्ति हुँदैन; विशेषगरी, तिनीहरूले परमेश्वर र सत्यतालाई कसरी लिन्छन् भन्ने सन्दर्भमा, ख्रीष्टविरोधीहरू जिद्दी हुँदै आफ्ना धारणाहरू पन्छाउन मान्दैनन्। तिनीहरूले विश्वास गर्ने ईश्वर त चिन्ह र आश्चर्यकर्महरू देखाउने अलौकिक ईश्वर हो। चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्ने जोकोही होस्—चाहे त्यो गुयानयिन बोधिसत्त्व, बुद्ध, वा माजु होस्—तिनीहरू तिनलाई ईश्वर भनी बोलाउँछन्। तिनीहरू चिन्ह र आश्चर्यकर्महरू देखाउन सक्नेहरू मात्र ईश्वरको पहिचान बोकेका ईश्वरहरू हुन्, र नसक्नेहरूले जतिसुकै सत्यताहरू व्यक्त गरे पनि, तिनीहरू ईश्वर नै हुन् भन्ने जरुरी छैन भन्ने विश्वास गर्छन्। तिनीहरू सत्यता व्यक्त गर्नु भनेको परमेश्वरको महान् शक्ति र सर्वशक्तिमान्ता हो भन्ने बुझ्दैनन्; बरु, तिनीहरूले चिन्ह र आश्चर्यकर्महरू देखाउनु मात्र ईश्वरहरूको महान् शक्ति र सर्वशक्तिमान्ता हो भन्ठान्छन्। त्यसकारण, मानिसहरूलाई विजय गर्न र मुक्ति दिन सत्यता व्यक्त गर्नु, परमेश्वरका चुनिएका मानिसहरूलाई मलजल, रखवारी, र अगुवाइ गर्नु, तिनीहरूलाई वास्तवमै परमेश्वरको न्याय, सजाय, परीक्षा, र शोधन अनुभव गर्न र सत्यता बुझ्न, आफ्ना भ्रष्ट स्वभावहरू फाल्न, र परमेश्वरप्रति समर्पित हुने र उहाँको आराधना गर्ने मानिस बन्न सक्षम बनाउनु, आदि जस्ता देहधारी परमेश्वरको व्यावहारिक कामका सम्बन्धमा भन्नुपर्दा—ख्रीष्टविरोधीहरूले यी सबै मानिसको काम भएको, र परमेश्वरको नभएको ठान्छन्। ख्रीष्टविरोधीहरूका मनमा, ईश्वरहरूले वेदीको पछाडि लुकेर उनीहरूलाई भेटीहरू चढाइन लगाउनुपर्छ, मानिसहरूले चढाएका खानेकुराहरू खानुपर्छ, उनीहरूले बालेका धूपको धुँवामा सास लिनुपर्छ, उनीहरू समस्यामा पर्दा सहयोगको हात फैलाउनुपर्छ, उनीहरू आफैँ निकै शक्तिशाली भएको देखाएर तिनीहरूले बुझ्न सक्ने दायराभित्रबाटै तिनीहरूलाई तत्काल सहायता प्रदान गर्नुपर्छ, र मानिसले सहायता माग्दा र तिनीहरू आफ्नो बिन्तीमा इमानदार हुँदा तिनीहरूका आवश्यकताहरू पूरा गर्नुपर्छ। ख्रीष्टविरोधीहरूका लागि, यस्तो ईश्वर मात्र साँचो ईश्वर हो। यसबीचमा, आज परमेश्वरले गर्नुहुने सबै कुरालाई ख्रीष्टविरोधीहरूले तिरस्कार गर्छन्। अनि त्यस्तो किन हुन्छ? ख्रीष्टविरोधीहरूको प्रकृति सारलाई विचार गर्दा, उनीहरूलाई सृष्टिकर्ताले सृजित प्राणीहरूमाथि गर्नुहुने मलजल, रखवारी र मुक्तिको काम चाहिँदैन, बरु सबै कुरामा समृद्धि र आफ्ना इच्छाहरूको परिपूर्ति चाहिन्छ, यो जीवनमा दण्डित नहुने, र आउँदो संसारमा स्वर्गमा जाने कुरा चाहिन्छ। उनीहरूको दृष्टिकोण र आवश्यकताहरूले तिनीहरूको सत्यताप्रतिको घृणाको सारलाई पुष्टि गर्छ। ख्रीष्टविरोधीहरू दुष्टता, अलौकिकता, र चमत्कारहरू मन पराउँछन्, साथै शैतान र दुष्टात्माहरूका कार्यहरू र दुष्ट शब्दहरू—जुन नकारात्मक र दुष्ट कुरा हुन्—तिनलाई ईश्वरीय कुरा र सत्यताका रूपमा आराधनासमेत गर्छन्। तिनीहरूले यिनलाई आफ्नो जीवनभरको आराधना र पछ्याइको वस्तुका रूपमा, र संसारमा सम्मान र प्रसार गर्नुपर्ने कुराका रूपमा लिन्छन्। फलस्वरूप, परमेश्वरलाई पछ्याउँदै गर्दा परमेश्वरको पहिचानबारे तिनीहरूका धारणा र विचार कहिल्यै परिवर्तन हुनेछैनन्। यदि यस्ता मानिसहरूले परमेश्वरको घरमा आफ्ना महत्त्वाकाङ्क्षाहरू पूरा गर्न सकेनन्, यदि तिनीहरूलाई प्रवर्द्धन वा प्रयोग गरिएन र तिनीहरू तीव्र र ठूलो सफलता हासिल गर्न असफल भए भने, तिनीहरू जुनसुकै समय, क्षण र स्थानमा परमेश्वरलाई विश्वासघात गर्न तयार हुनेछन्। यी मानिसहरूमध्ये कतिपयले १० वर्ष, कतिपयले २० वर्ष विश्वास गरेका छन्, र तँ तिनीहरूसँग जग छ र तिनीहरूले परमेश्वरलाई छोड्नेछैनन् भन्ठान्लास्, तर वास्तवमा, तिनीहरू जुनसुकै बेला परमेश्वरलाई विश्वासघात गर्न र धर्मनिरपेक्ष संसारमा फर्कन तयार हुन्छन्। तिनीहरूले मण्डली छाडेनन् भने पनि, तिनीहरूका हृदय परमेश्वरबाट तर्किसकेका र तिनले उहाँलाई विश्वासघात गरिसकेका हुन्छन्। परिस्थितिहरूले साथ दिँदा वा अवसरहरू उत्पन्न हुँदा, तिनीहरू झूटा ईश्वर र दुष्टात्माहरूमा विश्वास गर्न पुग्नेछन्। यदि तिनीहरूले तीव्र सफलता प्राप्त गर्ने, उच्च अधिकारी बन्ने, चर्चित बन्ने, अनि महिमा र सम्पत्तिको आनन्द उठाउने मौका पाएमा, तिनीहरू मण्डली छाड्न र धर्मनिरपेक्ष संसारका प्रवृत्तिहरू पछ्याउन हिचकिचाउनेछैनन्। कतिपय ख्रीष्टविरोधीहरूले प्रश्न गर्छन्, “यदि उनी ईश्वर हुन् भने, उनले किन ठूलो रातो अजिङ्गरको सतावट र खेदो भोग्छन्? यदि उनी ईश्वर हुन् भने, उनले ठूलो रातो अजिङ्गरलाई सर्वनाश गर्न किन चिन्ह र आश्चर्यकर्महरू देखाउँदैनन्? ईश्वरका चुनिएका मानिसहरूमध्ये धेरै जनालाई ठूलो रातो अजिङ्गरले पक्राउ गरेको र सताएको छ। ईश्वरले तिनीहरूलाई किन शैतानको सतावटबाट सुरक्षा दिँदैनन् र उद्धार गर्दैनन्?” यो ठ्याक्कै यहूदी धर्मका फरिसीहरूले सोचेजस्तै हो, “यदि येशू ईश्वर हुन् भने, उनलाई किन क्रूसमा टाँग्न सकियो? उनले किन आफूलाई बचाउन सकेनन्?” ख्रीष्टविरोधीहरूले यो कुरा कहिल्यै बुझ्दैनन्, किनकि तिनीहरू सत्यता स्विकार्दैनन्, न त तिनीहरू परमेश्वरका वचनहरूले सबथोक पूरा गर्नेछन् भनेर नै विश्वास गर्छन्। तिनीहरू आफूले देखेका कुरा मात्र विश्वास गर्छन्, र परमेश्वरले गर्नुभएको सम्पूर्ण कामले देखाएको मूल्य वा महत्त्वमा विश्वास गर्दैनन्। तिनीहरू परमेश्वरले व्यक्त गर्ने हरवचन सत्यता हो र उहाँको हरवचन पूरा हुनेछ र घट्नेछ भनेर विश्वास गर्दैनन्; तिनीहरू परमेश्वरको बुद्धि शैतानका षड्यन्त्रहरूका आधारमा प्रयोग गरिन्छ, वा परमेश्वरले ठूलो रातो अजिङ्गरलाई प्रतिभारका रूपमा सेवा प्रदान गराउन प्रयोग गर्नुहुन्छ, जसले उहाँको सर्वशक्तिमान्ता र बुद्धि प्रकाश गर्छ भनेर विश्वास गर्दैनन्। तिनीहरूले परमेश्वर सबथोकमाथि सार्वभौम हुनुहुन्छ र परमेश्वरका वचनहरूले सबथोक पूरा गर्छन् भनेर विश्वास गर्दैनन्, त्यसोभए के ख्रीष्टविरोधीहरू अझै परमेश्वरका विश्वासी नै हुन् त? होइनन्। ख्रीष्टविरोधीहरू परमेश्वरलाई नकार्ने र उहाँको प्रतिरोध गर्ने मानिसहरू हुन्; तिनीहरू विशुद्ध अविश्वासीहरू हुन्।
ख्रीष्टविरोधीहरूले परमेश्वरको पहिचान स्विकार्न नमान्नु पछाडिका मुख्य कारणहरू के-के हुन्? एउटा त, ख्रीष्टविरोधीहरूले आफ्ना धारणाहरूमा परमेश्वरले गर्नुपर्छ भनेर कल्पना गरेअनुसार, संसारको सम्पूर्ण अन्याय सच्याउनुहुन्न, मानवजातिलाई इन्साफ दिनुहुन्न, वा दुष्टता गर्नेहरूलाई तुरुन्तै दण्डित गर्नुहुन्न भन्ने हो; परमेश्वरले सार्वभौमिकता राख्ने सारा कामकुरामाझ हरदिन धेरै अन्यायपूर्ण घटनाहरू घट्छन्, तैपनि परमेश्वर यसप्रति उदासीन हुनुहुन्छ, र जवाफमा एउटा वचन पनि बोल्नुहुन्न वा एउटा काम पनि गर्नुहुन्न। ख्रीष्टविरोधीहरूका नजरमा, तिनीहरूले सामना गर्ने कामकुराहरूकै दायराभित्र देख्ने संसारमा भइरहेका सब थोक तिनीहरूका धारणाहरूसँग मिल्दैनन्, र ती घट्नु हुँदैन। तिनीहरू किन यी कुराहरू घट्नु हुँदैन भन्ठान्छन्? तिनीहरू सोच्छन्: “यदि ईश्वर छन् भने, उनले किन यी कुराहरूलाई सम्हाल्दैनन्? यदि ईश्वर छन् भने, किन यति धेरै दुष्ट मानिसहरू अझै पनि राम्रोसँग जिउँछन्? किन धनीहरू झन् धनी र गरिबहरू झन् गरिब बन्छन्? किन धनी मानिसहरू हरदिन चौरासी व्यञ्जन खान्छन्, र अत्यन्तै रमाउँछन्, जबकि धेरै मानिसहरूले अझै पनि मागेर खानुपर्ने हुन्छ? निष्कपट मानिसहरू किन हेपाइ, दमन र शोषणमा पर्छन्? किन केही मानिसहरू श्रम गर्छन् र पसिना बगाउँछन्, अत्यन्तै थोरै पैसाका लागि दैनिक आठ घण्टाभन्दा बढी काम गर्छन्, जबकि अरूले चाहिँ एक घण्टामै कुनै व्यक्तिले जीवनकालमा कमाउन सक्नेभन्दा बढी कमाउँछन्? ईश्वरले किन यी सामाजिक र सांसारिक अन्यायहरूलाई सम्बोधन गर्नुहुन्न? किन कतिपय चाहिँ अत्यन्तै धनी परिवारमा जन्मिन्छन्, जबकि अरूचाहिँ गरिबी र दुःखमा जन्मिन्छन्? किन कतिपय मानिसहरूले जीवनभरि महिमा र सम्पत्ति, अनि पारिवारिक लाडप्यारको आनन्द उठाउन सक्छन्, जबकि अरूलेचाहिँ उही सामाजिक वातावरणमा जन्मिए पनि त्यसो गर्न सक्दैनन्?” ख्रीष्टविरोधीहरूको हृदयभित्रका कहिल्यै समाधान गर्न नसकिने रहस्यहरू यिनै हुन्। तिनीहरू आफूले परमेश्वरमा विश्वास गर्ने हुनाले, आफूले छर्लङ्गै देख्न नसक्ने र नबुझ्ने सम्पूर्ण कुराहरू, र तिनीहरूले समाधान गर्न नसक्ने यी सारा रहस्यहरू परमेश्वरलाई हस्तान्तरण गर्नुपर्ने, र उहाँलाई समाधानहरू प्रदान गर्न लगाउनुपर्ने, र तिनीहरूले परमेश्वरका वचनहरूमा तिनका जवाफहरू भेट्टाउनुपर्ने भन्ठान्छन्। तर, तीनदेखि पाँच वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूले यी जवाफहरू भेट्टाउन सक्दैनन्, र आठदेखि दस वर्षसम्म विश्वास गरेपछि पनि, तिनीहरूले भेट्टाउन सक्दैनन्। तिनीहरूले २० वर्षसम्म विश्वास गरेपछि यस्तो सोच्छन्, “मैले किन अझै पनि कुनै जवाफ पाएको छैनँ? ईश्वरले किन यी समस्याहरू समाधान गरेका छैनन्? ईश्वरले किन गुआनयिन बोधिसत्त्व वा जेड सम्राटले जस्तो कार्य गर्दैनन्? ईश्वरसित अख्तियार र शक्ति, अनि ईश्वरको पहिचान छ, त्यसकारण उनले यी कामकुरा गर्नुपर्ने हो! विशेषगरी मण्डलीमा, दुष्ट मानिसहरू किन प्रायः देखा पर्छन् र अवरोध र बाधाहरू निम्त्याउँछन्, र कतिपयले किन कुनै परिणाम नै नभोगी भेटीहरू समेत चोर्छन्? कतिपय मानिसहरूले प्रायः ढाँट्छन्, र कतिपयले चाहिँ धारणा र आधारहीन अफवाहहरू फैलाउँछन्, तैपनि ईश्वरको ताडना वा दण्ड भोग्दैनन्; अरूचाहिँ अचानक ईश्वरमा विश्वास गर्न छाड्छन् र समाजमा काम गर्न जान्छन्, र केही वर्षपछि तिनीहरू कहिल्यै कठिन समय नभोगी समृद्ध बन्छन्। कतिपय विश्वासीहरू ईश्वरमा विश्वास नगर्ने मानिसहरूको भन्दा खराब जीवन जिउँछन्। वास्तवमा, ईश्वरका विश्वासीहरूले कष्ट भोगिरहेका हुन्छन्, र तीमध्ये धेरै सतावटमा परिरहेका हुन्छन्, उनीहरू आफ्ना घर फर्कन सक्दैनन्, र गरिबी र दुःखमा जिइरहेका हुन्छन्। ईश्वरमा विश्वास गर्नुको अर्थ अवश्यै यो त होइन नि? ईश्वरलाई पछ्याउनुको मूल्य अवश्यै यो त होइन नि? ईश्वरले मानिसहरूलाई दिन चाहने दैनिक जीवन अवश्यै यो त होइन नि? जब मानिसहरूले हासिल गर्न नसकिने कुराहरू सामना गर्छन्, तब ईश्वरले किन कुनै असाधारण कार्य गरेर तिनीहरूलाई त्यो चिज तुरुन्तै बुझ्ने र थाहा पाउने तुल्याउनुहुन्न? मानिसहरूले नबुझ्ने धेरै कुराहरू हुन्छन्, र तिनीहरूलाई ईश्वरले किन त्यसरी कार्य गर्छन् भन्ने थाहा हुँदैन। ईश्वरले किन मानिसहरूको हृदयमा उज्यालो छर्न दियो बाल्दैनन्? उनले किन मानिसहरूलाई प्रेरणा दिँदैनन्? जब मानिसहरूले दुष्टता गर्छन्, अनि अवरोध र बाधाहरू निम्त्याउँछन्, तब ईश्वरले खडा भएर ती दुष्ट मानिसहरूलाई सिधै सराप्ने, र प्रतिशोध सामना गर्न लगाउने गर्दैनन्। मैले ईश्वरले यस्ता कामकुराहरू गरेका धेरै उदाहरणहरू देखेको छैनँ। कहिलेकाहीँ मानिसहरूलाई ईश्वरको अन्तर्दृष्टि, ज्योति, र प्रबन्धको आवश्यकता पर्छ, त्यसोभए, तिनीहरूले किन ईश्वरलाई महसुस गर्न वा देख्न सक्दैनन्? ईश्वर कहाँ छन्?” यीजस्ता सबै “किनहरू” ख्रीष्टविरोधीहरूका हृदयमा अनुत्तरित रहन्छन्। तिनीहरूले यी कुरा र घटनाहरू किन कहिल्यै परिवर्तन हुँदैनन्, उल्टिँदैनन्, र सुधार त झनै हुँदैनन् भनेर बुझ्दैनन्। तिनीहरू परमेश्वरमा विश्वास गर्नाले मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्नुपर्छ, र तिनीहरूका पूरै जीवन, चालढाल, सोचहरू, र विशेषगरी तिनीहरूको जीवनको गुणस्तर, अनि तिनीहरूका क्षमता र सीपहरू, सबै सकारात्मक दिशातर्फ विकसित हुनुपर्छ भन्ठान्छन्। तिनीहरूले दस-बिस वर्ष अवलोकन गरिसक्दा किन यी परिवर्तनहरू देख्न सक्दैनन्? मानिसहरूले आफ्ना धारणाहरूमा मनोकल्पना गर्ने वा सपना देख्ने कुराहरू तिनीहरूले परमेश्वरमा विश्वास गर्न पुगेपछि कहिल्यै समाधान वा साकार हुने गर्दैनन्। त्यसोभए, परमेश्वरमा विश्वास गर्नुको के अर्थ हो? परमेश्वरमा विश्वास गर्नु र उहाँलाई पछ्याउनुको मूल्य के हो? यी प्रश्नहरू ख्रीष्टविरोधीहरूका हृदयमा अनसुल्झा र अनुत्तरित रहन्छन्, अनि ख्रीष्टविरोधीहरूले कल्पना गरेजस्तो ती साकार वा पूरा हुँदैनन्, त्यसकारण ख्रीष्टविरोधीहरूको मनमा भएका ईश्वर कहिल्यै अस्तित्वमा हुँदैनन्। अनि स्वाभाविक रूपमा, परमेश्वरको पहिचान बोकेको जनलाई ख्रीष्टविरोधीहरूले मनमा सदाका लागि नकार्छन्।
परमेश्वरमाथि ख्रीष्टविरोधीहरूको विश्वासमा ज्यादै मिसावट छ। वास्तवमा, ख्रीष्टविरोधीहरू साँचो रूपमा परमेश्वरमा विश्वास गर्दैनन्; यो सबै ढोँग हो। तिनीहरू गैरविश्वासीहरूले दियाबलसहरू र मूर्तिहरूको आराधना गरेझैँ परमेश्वरमा विश्वास गर्छन्। तिनीहरूलाई परमेश्वरले गर्ने सबथोक स्विकार्न कठिन लाग्छ, र तिनीहरू सधैँ शङ्का र प्रश्नहरू पालिरहेका हुन्छन्। तिनीहरूले यी शङ्का र प्रश्नहरू आफ्ना हृदयमा लुकाउँछन् र तिनलाई व्यक्त गर्ने आँट गर्दैनन्, अनि तिनीहरू ढोँग गर्नमा पनि निपुण हुन्छन्, त्यसकारण तिनीहरूले परमेश्वरमा जतिसुकै वर्ष विश्वास गरे पनि, तिनीहरू पूर्णतया अविश्वासी नै रहन्छन्। तिनीहरू परमेश्वर र उहाँका सारा कार्यहरूलाई आफ्ना मनोकल्पनाहरू, परमेश्वरबारे तिनीहरूका विभिन्न कल्पना र धारणाहरू, साथै नैतिकताबारे केही परम्परागत मानव ज्ञान र धारणाहरूले मापन गर्छन्। तिनीहरू परमेश्वरको पहिचान र उहाँ अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न भनी मापन गर्न यी कुराहरू प्रयोग गर्छन्। अनि अन्तिम नतिजा के हुन्छ? तिनीहरूले परमेश्वरको अस्तित्वलाई इन्कार गर्छन्, र देहधारी परमेश्वरको पहिचान र सार स्विकार्दैनन्। के ख्रीष्टविरोधीहरूले देहधारी परमेश्वरसँग परमेश्वरको पहिचान र सार छ कि छैन भनी मापन गर्न प्रयोग गर्ने मानक गलत छैन र? प्रस्ट रूपमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूले ज्ञान अनि चर्चित, महान् व्यक्तित्वहरूलाई श्रद्धा गर्छन्, त्यसकारण यी चर्चित, महान् व्यक्तित्वहरूबाट आउने चिजहरूप्रति तिनीहरूमा कहिल्यै आपत्ति वा वितृष्णा हुँदैन। त्यसोभए, तिनीहरूले किन ख्रीष्ट सामान्य र साधारण व्यक्ति हुनुहुन्छ भन्ने देखेपछि उहाँलाई तिरस्कार गर्छन्, र ख्रीष्टले यति धेरै सत्यताहरू व्यक्त गरेको देखेपछि वितृष्णा र घृणा महसुस गर्न थाल्छन्? किनभने तिनीहरूले श्रद्धा र प्रशंसा गर्ने कुरा बिलकुलै सकारात्मक हुँदैन, त्यसको एउटा अंश पनि सकारात्मक हुँदैन। ख्रीष्टविरोधीहरूलाई के मन पर्छ? तिनीहरूलाई विचित्रता, दुष्टता, चमत्कारहरू, र अलौकिक कुराहरू मन पर्छ, जबकि ख्रीष्टविरोधीहरूका नजरमा परमेश्वरको सामान्यता र व्यावहारिकता, मानिसप्रति परमेश्वरको सच्चा प्रेम, परमेश्वरको बुद्धि, विश्वसनीयता, पवित्रता, र धार्मिकता सबै निन्दित हुन्छन्। उदाहरणका लागि, दाजुभाइ-दिदीबहिनीहरूले खुट्ट्याउने क्षमता प्राप्त गरून् र व्यावहारिक रूपमा पाठ सिकून् भनेर परमेश्वरले एउटा परिस्थिति खडा गर्नुभयो। त्यो के परिस्थिति थियो? उहाँले भूत लागेको कुनै व्यक्तिलाई तिनीहरूका बीचमा बस्ने प्रबन्ध मिलाउनुभयो। सुरुमा, यो व्यक्तिको बोल्ने र काम-कुरा गर्ने शैली, साथै उसको समझ सामान्य नै थियो; ऊ समस्याग्रस्त देखिँदै देखिँदैनथ्यो। तर सम्पर्कको केही अवधिपछि, दाजुभाइ-दिदीबहिनीहरूले उसले भनेको हरेक कुरा वाहियात छ र त्यसमा उचित ढाँचा र क्रम छैन भन्ने पत्ता लगाए। पछि, केही अलौकिक कुराहरू घटे: उसले दाजुभाइ-दिदीबहिनीहरूलाई सधैँ फलानो-ढिस्कानो दर्शन देखेको, र फलानो-ढिस्कानो प्रकाश प्राप्त गरेको भन्थ्यो। उदाहरणका लागि, एक दिन, उसलाई बाफमा पकाएको रोटी बनाउनुपर्छ भनेर प्रकाश गरियो—उसलाई बनाउनैपर्यो—त्यसको भोलिपल्ट, के हुन पुग्यो भने, ऊ बाहिर जानुपर्ने भयो, त्यसकारण उसले आफ्नो साथमा ती रोटी लग्यो। पछि, ऊ दक्षिणतिर लाग्नुपर्छ भनेर उसलाई सपनामा प्रकाश गरियो; छ माइलअगाडि उसलाई कसैले पर्खिरहेको थियो। ऊ हेर्न गयो, र ठ्याक्कै त्यहीँ एउटा बाटो बिराएको व्यक्ति थियो; उसले यस व्यक्तिलाई परमेश्वरको आखिरी दिनहरूको कामका बारेमा गवाही दियो, र उसले त्यसलाई स्विकार्यो। उसले सधैँ प्रकाशहरू पाइरहेको हुन्थ्यो, उसले सधैँ आवाजहरू सुनिरहेको हुन्थ्यो, उसलाई सधैँ अलौकिक कुराहरू भइरहेका हुन्थे। हरेक दिन, के खाने, कहाँ जाने, के गर्ने, कोसँग अन्तरक्रिया गर्ने भन्नेबारेमा, उसले सामान्य मानवताको जीवनका नियमहरूलाई पछ्याउँदैनथ्यो, न त उसले परमेश्वरका वचनहरूलाई आधार वा सिद्धान्तका रूपमा खोज्ने, न सँगै सङ्गति गर्न मानिसहरू खोज्ने काम नै गर्थ्यो। ऊ सधैँ आफ्ना भावनाहरूमा भर पर्थ्यो, र कुनै आवाज, वा प्रकाश, वा सपनाको प्रतीक्षा गर्थ्यो। के यो व्यक्ति सामान्य थियो? (थिएन।) उसको दैनिक तीन छाक खाना, र उसको दैनिकीमा नियमितता देखिन्थ्यो, तैपनि उसले सधैँ आवाजहरू सुनिरहेको हुन्थ्यो। केही मानिसहरूले उसलाई खुट्ट्याए र यी दुष्टात्मा लागेका प्रकटीकरणहरू हुन् भनेर भने। बिस्तारै, दाजुभाइ-दिदीबहिनीहरूले उसलाई झन्-झन् खुट्ट्याउन थाले, र एक दिन, ऊ मानसिक बिमारीले ग्रस्त भयो, विक्षिप्त कुराहरू बोल्न थाल्यो, र ऊ कपाल जिङ्ग्रिङ्ग पारेर पागलपनको अवस्थामा नाङ्गै भागेर गयो। त्योसँगै अन्ततः उक्त मामला निष्कर्षमा पुग्यो। के अब दाजुभाइ-दिदीबहिनीहरूले कुनै दुष्टात्माले काम गरिरहेको र भूत लागेको विशिष्ट प्रकटीकरणहरूबारे अन्तरज्योति र सुझबुझ प्राप्त गरेका छैनन् र? तिनीहरूमध्ये कतिपयले यसअघि यस्ता कुराहरूको सामना निश्चय नै गरेका थिए, र तीबारे सुझबुझ पाइसकेका थिए, जबकि अरूले चाहिँ लामो समयसम्म परमेश्वरमा विश्वास गरेका थिएनन्, र यस्ता कुराहरू भोगेका थिएनन्, र त्यसकारण तिनीहरू बहकाउमा पर्ने सम्भावना थियो। तर तिनीहरू बहकाउमा परे वा नपरे पनि वा तिनीहरूसित सुझबुझ भए पनि नभए पनि, यदि परमेश्वरले यो वातावरण खडा नगर्नुभएको भए, के तिनीहरूमा दुष्टात्माको काम वा पकडबारे साँचो सुझबुझ हुन सक्थ्यो र? (सक्थेन।) त्यसोभए परमेश्वरले यो वातावरण खडा गर्नु र यी कामकुराहरू गर्नुको उद्देश्य र महत्त्व ठ्याक्कै के थियो? यसको उद्देश्य तिनीहरूलाई व्यावहारिक रूपमा सुझबुझ प्राप्त गर्न र पाठ सिक्न, अनि दुष्टात्माको काम भएका वा भूत लागेकाहरूलाई खुट्ट्याउन सक्षम तुल्याउनु थियो। यदि मानिसहरूलाई—शिक्षकले कुनै पुस्तक पढाएर, अनि किताबी सिद्धान्तहरूबारे मात्र बोलेर आफ्ना विद्यार्थीहरूलाई कुनै वास्तविक अभ्यास वा तालिम नगराएजस्तै—दुष्टात्माको काम के हो भनेर मात्र भनियो भने, मानिसहरूले केही धर्मसिद्धान्त र भनाइहरू मात्र बुझ्नेथिए। तैँले व्यक्तिगत रूपमा देखेको छस्, आफ्नै आँखाले देखेपछि, र आफ्नै कानले सुनेपछि मात्रै, तैँले दुष्ट आत्माको काम ठ्याक्कै के हो, र यसका निश्चित प्रकटीकरणहरू के-के हुन् भनेर स्पष्ट रूपमा व्याख्या गर्न सक्छस्। अनि त्यसपछि जब तैँले त्यस्ता मानिसहरूलाई फेरि भेट्छस्, तैँले तिनीहरूलाई खुट्ट्याउन र अस्वीकार गर्न सक्नेछस्; तैँले त्यस्ता मामलालाई उचित रूपमा सम्बोधन गर्न र सम्हाल्न सक्नेछस्। त्यसकारण, के तैँले यस्तो वातावरणमा प्राप्त गर्ने कुरा भेलाहरूमा सहभागी भएर अनि दिनभरि प्रवचनहरू सुनेर प्राप्त गर्ने कुराभन्दा अझ बढी व्यावहारिक हुँदैन र? सामान्य सोच र चेतना भएका, र सत्यता पछ्याउने मानिसहरूसँग यी कामकुराहरू गर्ने परमेश्वरका तरिकाहरूबारे सही बुझाइ हुनेछ। तिनीहरूले यसो भन्दै गुनासो गर्नेछैनन्, “परमेश्वरले किन दुष्टात्माहरूलाई मण्डलीमा देखा पर्ने अनुमति दिनुहुन्छ? परमेश्वरले मलाई किन अग्रिम चेतावनी दिनुभएन? उहाँले दुष्टात्माहरूलाई किन पखाल्नुहुन्न?” तिनीहरूले यी कुराहरूबारे गुनासो गर्नुको साटो तिनीहरू आभारी हुनेछन्, परमेश्वरलाई उहाँको उत्कृष्ट र बुद्धिमानीपूर्ण कामका लागि प्रशंसा गर्नेछन्, र परमेश्वरले मानिसलाई अत्यन्तै प्रेम गर्नुहुन्छ भनेर भन्नेछन्! तर, ख्रीष्टविरोधीहरू सत्यता स्विकार्दैनन्, र सँगसँगै, तिनीहरूका हृदय परमेश्वरबारे धारणा र कल्पनाहरूले भरिएका हुन्छन्, साथै तिनीहरूले हृदयमा दियाबलसहरू र मूर्तिहरूलाई साँच्चिकै आराधना गर्छन्, अनि साँचो परमेश्वरले गर्ने सबथोकलाई तिनीहरूका मूर्तिहरूसँग दाँज्छन् र मापन गर्छन्। त्यसैले, यस्ता परिस्थितिहरू सामना गर्दा, तिनीहरूले सुरुमा यसो सोच्छन्, “के यो ईश्वरको काम हो? तिमीहरू कसरी यति मूर्ख हुन सक्छौ? ईश्वरले दुष्टात्माहरूलाई कसरी मण्डलीमा देखा पर्ने अनुमति दिन सक्छन्?” के यो गलत बुझाइ होइन र? सुरुमा, तिनीहरूले यो परमेश्वरको काम हो भन्ने कुरालाई नकार्छन् र यस्तो पनि सोच्छन्, “ईश्वरले त पक्कै पनि यस्तो गर्नेथिएनन्। ईश्वरहरू मानिसहरूले कष्ट भोगून् भन्ने चाहँदैनन्। जब गुयानयिन बोधिसत्त्वले मानिसहरूले कष्ट भोगिरहेको देख्छिन्, तब उनका मूर्तिहरूले आँसु झार्छन्; उनी सारा प्राणीहरूलाई पीडाबाट छुटकारा दिलाउन, हरव्यक्तिलाई बुद्धको नामअन्तर्गत ल्याउन, र तिनीहरूलाई मानव संसारको सारा कष्टबाट मुक्त पार्न चाहन्छिन्। ईश्वरहरू कृपालु हुनुपर्छ, आफ्ना चुनिएका मानिसहरूको हेरचाह गर्ने हुनुपर्छ, र उहाँहरूले दुष्टात्माहरूलाई मण्डलीमा देखा पर्ने अनुमति दिनु हुँदैन। यो निश्चय नै ईश्वरको काम हुन सक्दैन।” यस्ता कामकुराहरू भएपछि, ख्रीष्टविरोधीहरूका हृदयमा, तिनीहरूले पहिला परमेश्वरको पहिचानलाई झनै बढी शङ्का गर्छन्, र त्यो सँगसँगै तिनीहरू परमेश्वरका कार्यहरू स्विकार्न सयौँ, हजारौँ गुणा बढी अनिच्छुक हुन्छन्, र तिनलाई न्याय र निन्दासमेत गर्छन्। तिनीहरू यो मामलालाई परमेश्वरबाट स्विकार्ने दाजुभाइ-दिदीबहिनीहरूलाई पनि यसो भन्दै गिज्याउँछन्, “तिमीहरू मूर्खहरू अझै पनि सबथोक ईश्वरकै कार्य हो भनेर विश्वास गर्छौ। ईश्वरले यस्तो कार्य गर्थेनन्! ईश्वरले त उनका थुमाहरूको सुरक्षा र हेरचाह गर्नुपर्छ, र आफ्ना हातले तिनीहरूलाई जोगाउनुपर्छ। ईश्वरहरू मानिसहरूका आश्रय हुन्; मानिसहरूले यी सारा कठिनाइहरू भोग्नु हुँदैन। मानिसहरूलाई सारा नकारात्मक र खराब कुराहरू आइपर्नु हुँदैन, ईश्वरहरूले त्यसरी काम गर्छन्।” ख्रीष्टविरोधीहरूका हृदय परमेश्वरबारेका शङ्का, इन्कार, धारणा, र निन्दाले भरिएका हुन्छन्। फलस्वरूप, परमेश्वरले जे गर्नुभए पनि, तिनीहरूका नजरमा त्यो गलत हुन्छ र परमेश्वरले गर्नुपर्ने काम हुँदैन, र त्यो तिनीहरूका लागि परमेश्वरलाई निन्दा र इन्कार गर्ने प्रमाण र गलचेप हुन्छ। यसमा, ख्रीष्टविरोधीहरूको परमेश्वरको प्रतिरोध गर्ने प्रकृति सार पूर्ण रूपमा प्रकाश हुन्छ। उदाहरणका लागि, दाजुभाइ-दिदीबहिनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको यातना र सतावट भोग्दा, प्रहरीले इस्तिरीलाई रातो हुनेगरी तताउँछन् र उनीहरूको शरीरमा डाम्छन्, जसले यति पीडा दिन्छ कि उनीहरू बेहोस हुन्छन्, र त्यहाँ रहेका सबै रगत चिसिनेगरी भयभीत हुन्छन्। यो दृश्य देखेपछि ख्रीष्टविरोधीहरूले के सोच्छन्? “यी शैतान र दियाबलसहरू अति निर्दयी छन्! तिनीहरूमा कुनै मानवता, दया वा करुणा छैन। तिनीहरूका विधिहरू अति क्रूर छन्, म त्यो हेर्नै सक्दिनँ! यदि म त्यहाँ भएको भए, म त्यस इस्तिरीलाई चिसो पारेर कपासमा परिणत गर्नेथिएँ, र तिनलाई मानिसहरूको शरीरमा बिस्तारै, न्यानो र नरम तरिकाले, ईश्वरको हातले आफ्ना थुमाहरूलाई सुमसुम्याएझैँ छुन लगाउनेथिएँ, मानिसहरूलाई उनको कृपालु हृदय, उनको प्रेम र न्यानोपन महसुस गर्ने तुल्याउनेथिएँ, र उनलाई पछ्याउन उनीहरूमा थप आस्था र दृढ-सङ्कल्प जागृत गराउनेथिएँ। तर मानवजाति भनेका मानवजाति मात्र हुन्—हाम्रा दाजुभाइ-दिदीबहिनीहरू र हामीजस्तै मानिसहरूले यति धेरै कष्ट भोगेको देख्दा हामी केही पनि गर्न शक्तिहीन हुन्छौँ। अनि ईश्वर कहाँ छन्? ईश्वरले किन यी शैतान र दियाबलसहरूका हातलाई यसै क्षण रोक्दैनन्? उनले किन रातो-तातो इस्तिरीलाई चिस्याउँदैनन्? इस्तिरीले दाजुभाइ-दिदीबहिनीहरूलाई छुँदा, ईश्वरले किन उनीहरूलाई कुनै पीडा महसुस नगर्ने तुल्याउँदैनन्? गुआनयिन बोधिसत्त्व भएका भए, उनले पक्कै पनि यसो गर्नेथिइन्; उनी जीवित प्राणीहरूले एकअर्कालाई दुर्व्यवहार गरेको र मारेको हेर्न चाहँदिनन्, उनी तिनीहरू कसैले अलिकति पनि हेपाइ वा पीडा सहेको देख्न चाहँदिनन्। उनले सारा प्राणीहरूलाई मनमा राख्छिन्, उनको हृदय आकाशभन्दा फराकिलो छ, र उनको प्रेम असीमित छ। त्यो नै साँचो ईश्वर हो! ईश्वरले किन यस्तो कार्य गर्दैनन्? म कुनै ईश्वर होइन, ममा यो क्षमता छैन। यदि म परमेश्वर भएको भए, म मेरा मानिसहरूलाई यसरी दुःख भोग्न दिन्नथेँ।” ख्रीष्टविरोधीहरूमाथि चाहे जे आइपरे पनि, तिनीहरूका आफ्नै दृष्टिकोण, दाबी, राय, र “उत्कृष्ट विचारहरू” समेत हुन्छन्। तिनीहरूमाथि चाहे जे आइपरे पनि, तिनीहरू त्यसलाई कहिल्यै परमेश्वरका वचनहरूसित जोड्दैनन्, तिनीहरू परमेश्वरलाई बुझ्न, परमेश्वरको गवाही दिन, परमेश्वरको पहिचान पुष्टि गर्न, परमेश्वरको पहिचान बोकेका परमेश्वरको सार कहाँ र कसरी व्यक्त हुन्छ भनेर पुष्टि गर्न कहिल्यै सत्यता खोज्दैनन्—ख्रीष्टविरोधीहरू यसरी अभ्यास गर्दैनन्। बरु, तिनीहरूले हरमोडमा शैतानका, विभिन्न दुष्टात्माहरूका, वा गुआनयिन बोधिसत्व र बुद्धका दृष्टिकोणहरू प्रयोग गरेर परमेश्वरको मापन र उहाँसँग प्रतिस्पर्धा गर्छन्। यसको अन्तिम नतिजा के हुन्छ? ख्रीष्टविरोधीहरू हरमोडमा परमेश्वरलाई, उहाँका कार्यहरू र सार, उहाँले गर्ने सबथोकको अर्थ र मूल्य, र त्यसले मानिसहरूलाई कसरी शिक्षा दिन्छ भन्ने कुरालाई नकार्छन्। तिनीहरू परमेश्वरले यसरी काम गरेर मानिसहरूमा प्राप्त गर्ने अभिप्राय राख्नुभएको नतिजा, र परमेश्वरका अभिप्रायहरूको अस्तित्वलाई नकार्छन्। परमेश्वरले गर्ने सबै कुराको महत्त्व र मूल्यलाई नकारेर, के ख्रीष्टविरोधीहरू परमेश्वरको पहिचानलाई नकारिरहेका छैनन् र? (छन्।) ख्रीष्टविरोधीहरूका यी प्रकटीकरण र सार, तिनीहरूले प्रकाश गर्ने सोचहरू, अनि तिनीहरूमाथि कामकुराहरू आइपर्दा परमेश्वरबारे तिनीहरूका रिस, मागहरू, असन्तुष्टि, र प्रश्नहरू, आदि कुराहरू, सबै ख्रीष्टविरोधीहरूले परमेश्वरको पहिचानलाई नमान्नुका ठोस प्रकटीकरणहरू हुन्। तथ्यहरू यिनै हुन्।
ख्रीष्टविरोधीहरूले परमेश्वरको पहिचानलाई नकार्नुका प्रकटीकरण र स्रोतहरूबारे भर्खरै हामीले गरेको सङ्गति र चिरफारमार्फत तैँले ख्रीष्टविरोधीहरूको के सार देखिस्? के तैँले ख्रीष्टविरोधीहरू यस संसारबारे निन्दात्मक छन् र निष्पक्षता र धार्मिकतालाई प्रेम गर्छन् भन्ने देख्न सक्छस्? के ख्रीष्टविरोधीहरू दयालु मानवता, करुणा, कृपा, महान् प्रेम, र दुष्टताप्रति घृणा भएका मानिसहरू हुन्? (होइनन्।) त्यसोभए ख्रीष्टविरोधीहरू कस्ता खालका मानिस हुन्? (तिनीहरू सत्यतालाई घृणा गर्ने र त्यसप्रति वितृष्ण हुने, हरमोडमा परमेश्वरको विरोध गर्ने दुष्ट मानिसहरू हुन्।) त्यो एउटा पक्ष हो। अरू? के ख्रीष्टविरोधीहरूले “पुलहरू निर्माण गर्ने र बाटाहरू मर्मत गर्नेहरू अन्त्यमा अन्धा हुन्छन्, जबकि हत्यारा र आगजनीकर्ताहरूका सन्तानको सङ्ख्या वृद्धि हुन्छ” भन्ने सामाजिक भनाइलाई निकै अनुमोदन गर्दैनन् र? के यसको अर्थ तिनीहरू संसारको स्थितिबारे बिलौना गरिरहेका छन् र तिनीहरूलाई मानवजातिमाथि दया लागिरहेको छ भन्ने होइन र? तिनीहरू यस भनाइसित सहमत हुनुको प्रकृति के हो? के यस भनाइमा स्वर्गको अन्यायबारे कुनै गुनासो समावेश छैन र? ख्रीष्टविरोधीहरूले त्यसबारे केही गर्न नसक्ने भए पनि, तिनीहरू यस्ता रोष र भावनाहरू पाल्छन् र स्वर्ग अन्यायी भएको गुनासो गर्छन्: “स्वर्ग त निष्पक्ष हुन्छ र स्वर्गका आँखाहरू हुन्छन् भनिन्छ, होइन र? त्यसोभए किन यस संसारमा असल कार्य गर्नेहरूले इनाम पाउँदैनन्, जबकि दुष्ट मानिसहरूलाई फलिफाप हुन्छ? यस संसारमा निष्पक्षता कहाँ छ? यस संसारमा अन्यायका मामलाहरू कसरी उत्पन्न भए? किनकि स्वर्ग अन्धो र अन्यायपूर्ण छ!” यसभित्रको अन्तर्निहित अर्थ के हो भने, परमेश्वरसित कुनै निष्पक्षता छैन, र बुद्ध र गुआनयिन मात्र निष्पक्ष छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको हृदय वास्तविक परमेश्वरले गर्ने कामकुराप्रति रोष, गुनासो, इन्कार, र निन्दाले भरिएको हुन्छ। के कुराले यो सबै निम्त्याउँछ? यसको कारण के हो? यो ख्रीष्टविरोधीहरूको सारका कारण हो। यो के सार हो? निर्दिष्ट शब्दमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूको हृदय ईश्वरको परिभाषाबारेका धारणा र कल्पनाहरूले भरिपूर्ण हुन्छ; तिनीहरू वास्तविक परमेश्वरले ठ्याक्कै कसरी काम गर्नुहुन्छ र मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर जान्दैनन् वा बुझ्दैनन्। परमेश्वरले गर्ने सबथोकबारे तिनीहरूको मूल्याङ्कन तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूमा आधारित हुन्छ। अनि यी कुराहरू केमा आधारित छन्? ती पूर्णतया शैतान र दियाबलस राजाहरूले मानवजातिमा हालिदिएका विभिन्न विधर्म र भ्रमहरूमा आधारित छन्। यी विधर्म र भ्रमहरू जतिसुकै दुष्ट वा पूर्वाग्रही भए पनि, ती मानिसहरूका धारणाहरू, मनोवैज्ञानिक आवश्यकताहरू, र भावनात्मक खाँचोहरूसित मेल खान्छन्, र ठ्याक्कै यिनै कुराहरू नै आफूलाई आचरणमा ढाल्ने र यावत थोकलाई मापन गर्ने ख्रीष्टविरोधीहरूका मानक, साथै परमेश्वरलाई मापन गर्ने मानक बन्छन्; ख्रीष्टविरोधीहरू जरैदेखि गलत हुन्छन्। अर्को अझै महत्त्वपूर्ण कारणचाहिँ ख्रीष्टविरोधीहरू शक्ति र भव्य चिजहरू मन पराउँछन्। उदाहरणका लागि, मानौँ एक जना व्यक्ति कुनै दरबारमा जन्मिन्छ, र उसले हरदिन उच्च कोटीको व्यवहारको आनन्द उठाउँछ, सबैभन्दा मीठो खाना खान्छ र सबैभन्दा राम्रा कपडाहरू लगाउँछ, उसले केही गर्नुपर्दैन, र आफूले चाहेको जे पनि पाउँछ। के परमेश्वरमा विश्वास गर्ने मानिसहरूले यस्तो जीवन पछ्याउँछन्? कुनै सामान्य व्यक्तिलाई थोरै ईर्ष्या र डाह हुनेछ, तर त्यसपछि उसले यसो सोच्नेछ, “यो सबै परमेश्वरद्वारा निर्धारित हो। परमेश्वरले हामीलाई जहाँ राख्नुहुन्छ, हामी त्यहीँ जिउँछौँ। त्यस्तो जीवन हामीलाई सुहाउँछ नै भन्ने हुँदैन। के यस्तो वातावरणमा व्यक्तिले परमेश्वरमा विश्वास गर्न सक्छ? के व्यक्तिले सत्यता बुझ्न र मुक्ति पाउन सक्छ? त्यो कठिन हुनेछ। परमेश्वरले हामीलाई जे दिनुभयो, त्यो नै पर्याप्त छ; जबसम्म हामी परमेश्वरमा विश्वास गर्न सक्छौँ र परमेश्वरका वचनहरू पढ्न, आफ्नो कर्तव्य पूरा गर्न, र अन्त्यमा मुक्ति पाउन सही अवस्थामा हुन्छौँ, त्यो नै सबैभन्दा हर्षपूर्ण कुरा हो।” तर के ख्रीष्टविरोधीहरूले यस्तो सोच्नेथिए? (सोच्नेथिएनन्।) तिनीहरूले यस्तो सोच्नेथिए, “मेरा बुबा किन कुनै सम्राट् थिएनन्? यदि मेरा बुबा कुनै धनी मानिस वा सम्राट् भएका भए, मेरो जीवन साँच्चिकै जिउनलायक हुनेथ्यो। उसको बुबा किन सम्राट् हुन्? किन उसले खान वा लाउनको चिन्ता नलिई, बेपरवाह जीवन जिउँछ, आफूले चाहेको जे पनि पाउँछ, पैसा र शक्ति सधैँ उसकै कमानमा हुन्छ? स्वर्ग अन्यायपूर्ण छ! ऊ त्यति सक्षम छैन, र उसमा कुनै प्रतिभा, शिक्षा वा दिमाग छैन। उसले केका आधारमा यी यावत थोकहरू पायो? म चाहिँ किन पाउन सक्दिनँ? यदि म ती चिजहरू पाउन सक्दिनँ र अरूले सक्छन् भने, म तिनीहरूलाई घृणा गर्नेछु! अनि यदि मैले तिनीहरूलाई घृणा गर्न सकिनँ भने, म स्वर्गलाई अन्यायपूर्ण भएकोमा र मेरा लागि खराब भाग्य प्रबन्ध गरेकोमा घृणा गर्नेछु, र म मेरो दुर्भाग्यलाई घृणा गर्नेछु, मेरो बाटो छेक्ने नीच व्यक्तिलाई घृणा गर्नेछु, र मेरो घरको खराब वास्तुलाई घृणा गर्नेछु!” तिनीहरूको मनमा के चलिरहेको हुन्छ? ख्रीष्टविरोधीहरूका हृदयमा घृणा जागेपछि, तिनीहरूका मुखबाट हरप्रकारका भ्रामक तर्कहरू निस्कन सक्छन्।
सतहमा, ख्रीष्टविरोधीहरू अत्यन्तै हितकारी देखिन्छन्, तर तथ्य के हो भने, तिनीहरूले आराधना गर्ने र पछ्याउने कुनै पनि कुराहरू सकारात्मक हुँदैनन्। तिनीहरूले प्रचार गर्ने उक्ति र भनाइहरू सुन्दा तिनीहरूले संसारको स्थितिबारे बिलौना गरिरहेका र तिनीहरूलाई मानवजातिमाथि दया लागिरहेको जस्तो, र तिनीहरूले हृदयमा शुभेच्छा पालेको जस्तो सुनिएला, तर खासमा, तिनीहरू पूर्णतया दियाबलसहरू र शैतानहरू हुन्। यदि तिनीहरूले शक्ति प्राप्त गर्छन् र तिनीहरू यस संसारमा माथि उक्लिन्छन् भने, के तिनीहरू दुष्टता गर्न सक्षम हुन्छन्? के तिनीहरू असल मानिस बन्न सक्षम हुन्छन्? तिनीहरू जघन्य पापहरूले भरिएका दुर्जनहरू हुन्। तिनीहरूले शक्ति प्राप्त गर्न नसक्ने र संसारमा खासै उन्नति नगरिरहेका हुनाले, तिनीहरू अलि अन्यायमा परेको महसुस गर्छन् र त्यसपछि परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन पुग्छन्। तर, सारमा, तिनीहरू सत्यता बिलकुलै पछ्याउन चाहँदैनन्, र तिनीहरू विशेषगरी सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्; बरु, तिनीहरू सकारात्मक कुराहरूप्रति वितृष्ण हुन्छन् र दुष्ट शक्तिहरू, शक्ति, विलासी जीवनशैली, र संसारका दुष्ट प्रचलनहरूलाई प्रेम गर्छन्। त्यसकारण, तिनीहरू परमेश्वरको पहिचान र सार बोकेका परमेश्वरले भन्ने र गर्ने सबै कुरालाई तिरस्कार गर्छन्, र तिनीहरू यी कुराहरूलाई निन्दा, न्याय र बदनाम गर्छन्। परमेश्वरको काम मानिसहरूका लागि जतिसुकै मूल्यवान् वा अर्थपूर्ण भए पनि, तिनीहरूले त्यसलाई न त मान्छन्, न स्विकार्छन्। तिनीहरूले परमेश्वरको पहिचान र सारलाई नस्विकार्ने मात्र नभई, तिनीहरू कुनै ईश्वरको नक्कल गर्न पनि चाहन्छन्, सारा प्राणीहरूलाई कष्टबाट छुटकारा दिन सक्ने मुक्तिदाता भएको ढोँग गर्छन्, जसले पुलहरू निर्माण गर्ने र बाटाहरू मर्मत गर्नेहरू अन्धो नहुने, हत्यारा र आगजनीकर्ताहरू दण्डित हुने र तिनीहरूका सन्ततिहरूको सङ्ख्या नबढ्ने, अनि समाजको सबैभन्दा तल्लो स्तरका र कष्ट सहिरहेका मानिसहरूले अबउप्रान्त कष्ट नभोग्ने र तिनीहरूका गुनासाहरू सम्बोधन गर्ने स्थान पाउने सुनिश्चित गर्न सक्छ। तिनीहरू संसारको सबै पीडा हटाउन र मानिसहरूलाई दुःखबाट छुटकारा दिलाउन चाहन्छन्। ख्रीष्टविरोधीहरू साँच्चिकै हृदयको गहिराइमा “विश्वव्यापी प्रेम” र असीमित “महान् प्रेम” पाल्छन्! आखिरमा, ख्रीष्टविरोधीहरूले परमेश्वरको पहिचान र सारलाई नमान्नुका पछाडिको कारण ठ्याक्कै के हो त? तिनीहरू यसो भन्छन्: “ईश्वरले जे गरे पनि, उनी ईश्वरजस्ता छैनन्। ईश्वरजस्तो त सबैभन्दा अधिक म छु; म ईश्वर हुन सबैभन्दा योग्य छु। किनकि ईश्वरले जे गर्छन्, त्यो मेरो रुचिहरूसँग मिल्दैन वा जनमानसका रुचि र आवश्यकताहरूअनुरूप हुँदैन; मैले मात्र जनमानसका आवश्यकता र मन बुझ्न सक्छु, मैले मात्र सारा प्राणीहरूलाई कष्टबाट छुटकारा दिलाउन सक्छु, र म मात्र मानवजातिको मुक्तिदाता हुन सक्छु।” तिनीहरूका महत्त्वाकाङ्क्षा र सार खुलासा भएका छन्, छैनन् र? यस्ता महत्त्वाकाङ्क्षा र सार भएका ख्रीष्टविरोधीहरूको साँचो स्वरूप ठ्याक्कै कस्तो हुन्छ? यो प्रधान स्वर्गदूत, दियाबलस शैतान हो। तिनीहरू परमेश्वरको पहिचानलाई नकार्छन् र परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, किनभने तिनीहरू आफै ईश्वर हुन चाहन्छन्। तिनीहरू ईश्वरले तिनीहरूलेजस्तै सोच्नुपर्छ, र ईश्वरसित तिनीहरूकै जस्ता प्रकटीकरणहरू, स्वभाव, र महान् प्रेमको सार हुनुपर्छ भन्ने विश्वास गर्छन्। तिनीहरू संसारका सारा अन्याय देखेपछि संसारको स्थितिबारे बिलौना गर्ने र मानवजातिमाथि दया गर्ने मानसिकता बोकेको व्यक्ति मात्र ईश्वर हो भन्ने सोच्छन्। तिनीहरू आफूले विश्वास गर्ने परमेश्वरसँग यी गुण छैनन्, तिनीहरू मात्र यस्तो मन र यस्तो ठूलो हृदय भएका, तिनीहरूसँग मात्र यस्तो सद्गुण र महान् प्रेम भएको भन्ठान्छन्। यो नै ख्रीष्टविरोधीहरूको सार, परमेश्वरको पहिचान स्विकार्न नमान्ने तिनीहरूका विभिन्न प्रकटीकरण र सार हो। त्यसकारण, यदि तँ ख्रीष्टविरोधीहरूलाई ईश्वरका रूपमा श्रद्धा गर्छस् र तिनीहरूको आराधना गर्छस् भने, तिनीहरू तँप्रति रोष महसुस गर्नेछैनन्। यदि तैँले तिनीहरूको पहिचान र सार ईश्वरहरूको जस्तो छ, तिनीहरूसित बुद्धकै समान मन र महान् प्रेम छ, र तिनीहरू ईश्वर हुन् भन्दै तिनीहरूलाई पछ्याउँछस् भने, तिनीहरू तँसित खुसी र पूर्ण रूपमा सन्तुष्ट हुनेछन्। यो नै ख्रीष्टविरोधीहरूको सार हो। के ख्रीष्टविरोधीहरूले देखाउने यो सार दुष्ट छैन र? तैँले परमेश्वरको नाम र उहाँका अद्भुत कार्यहरूको जति नै गुणगान गरे पनि, अनि मानवजातिको मुक्तिका लागि परमेश्वरले गर्नुभएको सबथोक र उहाँले चुकाउनुभएका मूल्यहरूको गवाही दिए पनि, तिनीहरू हृदयमा अवज्ञाकारी हुनेछन् र यसो भन्नेछन्, “म यसको तारिफ गर्न सक्दिनँ। म यसलाई त्यो रूपमा हेर्दिनँ; त्यो सबै मानव मनोकामना र कल्पना मात्र हो।” जब तैँले परमेश्वर, उहाँको बुद्धि, उहाँको सर्वशक्तिमान्ता, मानवजातिलाई मुक्ति दिने उहाँका श्रमसाध्य अभिप्रायहरू, र उहाँले चुकाउनुभएका मूल्यहरूको गवाही दिन्छस्, अनि उहाँको सार, उहाँको पहिचान, र सृष्टिकर्ताले मानवजातिमाथि गर्नुभएको सबथोकको गवाही दिन्छस्, तब एक खाले व्यक्तिलाई मात्र असहज महसुस हुन्छ, र त्यो ख्रीष्टविरोधी हो। अनि उसले के सोच्छ? “तिमी किन सधैँ ईश्वरबारे कुरा गर्छौ? मैले पनि तिमीलाई धेरै मलजल र समर्थन गरेको छु। मैले तिमीलाई प्रेम गरेको छु, मदत गरेको छु, तिमी बिरामी हुँदा औषधी किनिदिएको छु, र अरूले छाडेर जाँदा तिमीलाई सहयोग गरेको छु, तिमीसँगै सङ्गति गरेको छु, र तिम्रो साथमा रहेको छु। तिमी किन मेरो प्रशंसा गर्दैनौ?” कसैले परमेश्वरको गवाही दिने वा प्रशंसा गर्नेबित्तिकै, ख्रीष्टविरोधीहरू निराश महसुस गर्छन् र ईर्ष्याका कारण उसलाई घृणा गर्छन्। कसैबाट परमेश्वरको प्रशंसा भइरहेको सुन्दा परमेश्वरका सामान्य विश्वासीहरूले के महसुस गर्छन्? सुरुमा, तिनीहरूले त्यस व्यक्तिले भनेको कुरालाई र उसले सङ्गति गरेको अनुभवात्मक गवाहीलाई “आमेन” भन्नेछन्। त्यसका साथै, तिनीहरूले ध्यानपूर्वक सुन्नेछन्, र सोच्नेछन्, “परमेश्वरले ऊमाथि त्यसरी काम गर्नुभयो—परमेश्वर अत्यन्तै महान् हुनुहुन्छ, उहाँले मानिसलाई साँच्चिकै प्रेम गर्नुहुन्छ! यदि मैले भविष्यमा त्यस्तै परिस्थितिहरू सामना गर्नुपर्यो भने, म पनि सत्यता खोज्नेछु। तिनीहरूले त्यसरी कार्य गरेर परमेश्वरलाई चोट पुर्याउँछन्; मैले पनि विगतमा त्यसरी कार्य गरेको छु, म बस यसबारे अनजान थिएँ। म परमेश्वरप्रति ऋणी छु! परमेश्वरले यसरी कार्य गर्नु मानिसहरूका लागि लाभदायक हुन्छ, तर मैले यो कुरा बुझिनँ। मलाई लाग्छ, मेरो कद यस व्यक्तिको भन्दा सानो छ, मेरो बुझाइ शुद्ध छैन, र मेरो क्षमता कमजोर छ। म सानो कदको व्यक्तिलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् भनेर परमेश्वरलाई प्रार्थना गर्छु। परीक्षाहरू सामना गर्दा ऊ कसरी कमजोर बनेन? ऊसँग परमेश्वरका वचनहरूको मार्गदर्शन थियो। यदि मैले त्यस्ता परिस्थितिहरू सामना गरिरहेको भए, म कमजोर बन्नेथिएँ र मैले ठोकर खान पनि सक्थेँ। परमेश्वरले मेरो सानो कद देखेर अहिलेसम्म त्यस्तो परिस्थिति सामना नगराएर ममाथि दया देखाउनुभएको छ। परमेश्वरले गर्ने सबथोक असल हुन्छ!” तर यो सुन्दा ख्रीष्टविरोधीहरू बेखुसी हुन्छन्: “के रे? ईश्वरले गर्ने सबथोक असल हुन्छ रे? यो असलपन कहाँ छ? यदि ईश्वरले गर्ने सबथोक त्यति असल हुन्छ भने, मानिसहरू नकारात्मक र कमजोर किन छन्? यदि ईश्वरले गर्ने सबथोक असल हुन्छ भने, कतिपय मानिसहरू किन निष्कासित हुन्छन्? यदि ईश्वरले गर्ने सबथोक असल हुन्छ भने, सुसमाचार प्रचार गर्ने र कर्तव्यहरू पूरा गर्ने क्रममा किन सधैँ अवरोध र बाधाहरू हुन्छन्? मैले कति धेरै असल कार्यहरू गरेको छु; मैले परिश्रम गरेको छु, भेटीहरू चढाएको छु, र सुसमाचार प्रचार गर्दा मानिसहरू प्राप्त गरेको छु। किन कसैले मेरो प्रशंसा गर्दैन? ईश्वरले त्यसको बदलामा मलाई किन कुनै चिज, कुनै इनाम दिएका छैनन्? यदि मानिसहरूलाई मेरै सामु मेरो प्रशंसा गर्न लाज लाग्छ भने, मेरो पिठ्यूँपछाडि गरे पनि हुन्छ। किन कसैले मेरो प्रशंसा वा सराहना गर्दैन? के ममा कुनै सद्गुण छैनन् र?” तिनीहरू निराश बन्छन्। यदि कसैले साधारण व्यक्तिको प्रशंसा गरेमा, ख्रीष्टविरोधीहरूले खासै केही महसुस गर्नेछैनन्। तर कसैले परमेश्वरको महान् शक्ति, महान् प्रेम, र बुद्धिको, वा परमेश्वरको पहिचानको गवाही दिएमा, ख्रीष्टविरोधीहरूलाई घृणा र ईर्ष्या महसुस हुन्छ। जब पनि कोही परमेश्वरप्रति समर्पित हुन, उचित सृजित प्राणी हुन र आफ्ना दायराहरू ननाघ्ने र सृष्टिकर्ताको प्रभुत्वअन्तर्गत समर्पित हुने व्यक्ति हुन इच्छुक हुन्छ, ख्रीष्टविरोधीहरूले यो कुरा मन पराउँदैनन् र भन्छन्, “तिमी किन यति इच्छुक र सक्रिय रूपमा परमेश्वरमा समर्पित हुन्छौ? तिमीलाई किन मैले भनेको कुनै पनि कुरा सुन्न यति गाह्रो हुन्छ? म जे भन्छु त्यो गलत छैन!” तिनीहरूलाई मानिसहरूले तिनीहरूका अनुयायी बनेर हरमोडमा तिनीहरूको प्रशंसा गरेको, तिनीहरूको नाम ओठमै राखेको, तिनीहरूलाई आफ्नो हृदयमा राखेको, तिनीहरूको असलपन र सबल पक्षहरूबारे सपनासमेत देखेको, र भेटेजति सबैसँग तिनीहरूको प्रशंसा गरेको मन पर्छ। यदि तिनीहरूले बिरामी परेर आफ्नो अनुहार देखाएनन् भने, मानिसहरूले यसो भन्नेछन्, “तपाईँबिना हामी के गरौँ? तपाईँ नहुँदा, हामी छरपस्ट हुन्छौ; हामी विश्वास गरिरहन वा जिइरहन सक्दैनौँ!” यदि ख्रीष्टविरोधीहरूले यो कुरा सुनेमा, तिनीहरू खुसीले गदगद हुनेथिए, र यो सुन्न तिनीहरू जस्तोसुकै कष्ट सहन वा दिनौँसम्म खाना वा निन्द्रा त्याग्न तयार हुनेथिए। तर यदि कसैले तिनीहरूको प्रशंसा गर्दैन, तिनीहरूलाई आदर्श पात्र मान्दैन, तिनीहरूको आराधना गर्दैन, वा तिनीहरूलाई गम्भीरतापूर्वक लिँदैन भने, तिनीहरू निराश महसुस गर्छन् र हृदयमा घृणा पाल्छन्—यो एक खाँटी ख्रीष्टविरोधी हो। छोटकरीमा, ख्रीष्टविरोधीहरूले परमेश्वरको पहिचान कहिल्यै स्विकार्नेछैनन्। तिनीहरू परमेश्वरको पहिचान र सारलाई स्विकार्दैनन्, परमेश्वरको पहिचान र सार बोकेको एउटै परमेश्वरले तिनीहरूमाथि गरेको कामलाई त झनै स्विकार्दैनन्, न त तिनीहरू परमेश्वरले मानवजातिमाझ गरेको सम्पूर्ण कामलाई मान्ने वा स्विकार्ने नै गर्छन्।
ख. यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकता स्विकार्न नमान्नु
अब, “तिनीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन्” भन्ने विषयको दोस्रो प्रकटीकरण: ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकता स्विकार्न नमान्नुबारे सङ्गति गरौँ। ख्रीष्टविरोधीहरूका लागि, परमेश्वरको पहिचान भएका सृष्टिकर्ता अस्तित्वमा हुँदै हुनुहुन्न, उहाँ एक मिथक मात्र हुनुहुन्छ। त्यसोभए, के ख्रीष्टविरोधीहरूले सृष्टिकर्ताले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्यलाई मान्न सक्छन्? तिनीहरूले यो तथ्यलाई मान्दैनन् भनेर भनिरहनै पर्दैन। तिनीहरूले यसलाई मान्दैनन्, र यो पनि तथ्यहरूमा आधारित छ। परमेश्वरबारे ख्रीष्टविरोधीहरूको विश्वास, ज्ञान, र बुझाइ मानव धारणा र कल्पनाहरूमा, मूर्तिहरूबारे केही मानव बोध र बुझाइहरूमा, साथै मानिसहरूलाई बहकाउनका लागि ती मूर्तिहरूले प्रयोग गर्ने झूटा शिक्षा र भ्रमहरूमा पनि आधारित हुन्छन्। के ख्रीष्टविरोधीहरूको हृदयका धारणा, कल्पना, झूटा शिक्षा, भ्रम, र अन्य कुराहरू, परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्यसित मिल्दो हुन्छन् कि विरोधाभासपूर्ण हुन्छन्? ती अवश्य नै यो तथ्यसित विरोधाभासपूर्ण हुन्छन्। मानिसहरूले भेटीहरू चढाउने मूर्तिहरूले मानवजातिमाझ दह्रिलो पकड राख्नका निम्ति मानव धारणा, कल्पना, र रुचिहरूसँग मेल खाने केही झूटा शिक्षा र भ्रमहरू अघि सारेर तिनीहरूलाई बहकाउँछन्, जस्तै “बुद्ध उपकारी हुनुहुन्छ,” “स्वर्गले जीवित प्राणीहरूलाई प्रिय ठान्छ,” “साततले मन्दिर बनाउनुभन्दा एउटा जीवन बचाउनु ठूलो हो,” र “जे निर्धारित छ त्यो हुनैपर्छ, र जे निर्धारित छैन त्यसलाई जबरजस्ती गर्नु हुँदैन।” अरू के छ? (तिमीभन्दा तीन फिटमाथि एउटा ईश्वर छ।) तिमीभन्दा तीन फिटमाथि भनेकोचाहिँ कहाँ हो? त्यो मध्यआकाशमा हो, जहाँ शैतान बस्छ। यो “ईश्वर” भनेको के हो? (यो शैतान हो।) अनि बौद्ध धर्मावलम्बीहरूले प्रायजसो प्रयोग गर्ने भनाइ चाहिँ के हो? (भलाइको बदला भलाइ र दुष्टताको बदला दुष्टता; यी कुराहरू पक्कै पनि चुक्ता हुनेछन्, अहिले समय मात्रै नआइसकेको हो।) मानिसहरू प्रायजसो संसारमा भनिने यी तुलनात्मक रूपले सकारात्मक भनाइहरू र दार्शनिक सिद्धान्तहरूलाई सत्यता ठान्छन्, तर वास्तवमा, के यी वचनहरू सत्यता हुन्? के ती र सत्यताबीच कुनै सम्बन्ध छ? (छैन।) जस्तै “भलाइको बदला भलाइ र दुष्टताको बदला दुष्टता; यी कुराहरू पक्कै पनि चुक्ता हुनेछन्, अहिले समय मात्रै नआइसकेको हो”—“भलाइको बदला भलाइ” भन्नुको मतलब के हो? “भलाइ” ले केलाई जनाउँछ? के यो इन्साफ हो, सत्यता हो, कि मानिसको थोरै सद्भावना हो? (यो मानिसको सद्भावना हो।) के मानिसको थोरै सद्भावना साँच्चिकै भलाइद्वारा नै चुक्ता हुन्छ? हुन्छ भन्ने जरुरी छैन। “पुलहरू निर्माण गर्ने र बाटाहरू मर्मत गर्नेहरू अन्त्यमा अन्धा हुन्छन्”—पुलहरू निर्माण गर्नु र बाटाहरू मर्मत गर्नु दयाका कार्यहरू हुन् भने तिनीहरू अन्त्यमा किन अन्धा हुन्छन्? के यी कार्यहरू गर्दा इनाम प्राप्त हुन्छ? (हुँदैन।) “दुष्टताको बदला दुष्टता”—हत्या र आगजनी दुष्टता हुन्, त्यसोभए के ती दुष्टताद्वारा चुक्ता हुन्छन्? (हुँदैनन्।) किन हुँदैनन्? “जबकि हत्यारा र आगजनीकर्ताहरूका सन्तानको सङ्ख्या वृद्धि हुन्छ”—यी वचनहरूले “दुष्टताको बदला दुष्टता” लाई खण्डन गर्छन्। “यी कुराहरू पक्कै पनि चुक्ता हुनेछन्, अहिले समय मात्रै नआइसकेको हो”—“समय मात्रै नआइसकेको हो” भन्नुको अर्थ के हो? समय आउनुको अर्थचाहिँ के हो? जब मानिसहरूले सत्यता बुझ्दैनन्, तब तिनीहरूले यी शब्द र भनाइहरूलाई सकारात्मक कुरा र सत्यताका रूपमा लिन्छन्। खोक्रो हृदय भएका र आत्मिक भरणपोषणको स्रोत नभएका मानिसहरूले यी तथाकथित सही शब्दहरूलाई आफूलाई सान्त्वना दिन, आफ्नो आत्मिक भरणपोषणका रूपमा, एक प्रकारको आत्मिक सहानुभूतिका रूपमा लिन्छन्, “ठिकै छ नि त, जीवनमा आशा छ, यस संसारमा अझै पनि निष्पक्षता र धार्मिकता छ, र इन्साफ कायम राख्ने अझै पनि कोही त छ। निष्पक्ष परिणाम पाउन अझै पनि सम्भव छ, र अन्ततः यो सबै कुरामाथि एउटा समाधानको बयान पारित हुनेछ।” के ती भनाइहरू यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकताबारे साँचो बुझाइहरू हुन् त? के ती, मानिसहरूले यावत् थोकमाथि परमेश्वर सार्वभौम हुनुभएको तथ्यलाई मान्नुका साँचो प्रकटीकरणहरू हुन्? (होइनन्।) के मानिसहरूले भन्ने गरेका भनाइ वा उखानहरू परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्यसँग सम्बन्धित छन्? (छैनन्।) किन छैनन्? (यी शब्दहरू सत्यता होइनन्।) तेरो जवाफले यसलाई सैद्धान्तिक तहमा प्रमाणित गर्छ, तर मूल कारण के हो? मूल कारण यो धर्मसिद्धान्तजति सरल छँदै छैन, यसलाई यही एउटा वाक्यमा व्याख्या गर्न सम्भव छँदै छैन। यावत् थोकमाथि परमेश्वर सार्वभौम हुनुहुने कुरा त्यति सरल नभएकाले यसलाई कसरी बुझ्नुपर्छ? हामीले यसअघि सङ्गति गरेजस्तै, ख्रीष्टविरोधीहरू परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर मान्दैनन्। ख्रीष्टविरोधीहरूले चाहे जे हेरिरहेका भए पनि, तिनीहरूले त्यसलाई सधैँ एक दर्शकको दृष्टिकोणबाट, र पैसा र शक्तिलाई नै जीवन ठान्ने भौतिकवादीको दृष्टिकोणबाट छानबिन र विश्लेषण गर्छन्। यदि व्यक्तिले कुनै पनि कुरालाई यस्तो दृष्टिकोण र अडानले हेर्छ भने, के त्यस समस्याको सार परिवर्तन हुनेछैन र? के त्यो फरक हुनेछैन र? यदि कसैले यावत् थोकको विकासका व्यवस्था र नियमहरूलाई कुनै भौतिकवादीको दृष्टिकोणबाट हेरेमा, अन्तिम नतिजा के हुनेछ? के संसारबारे भौतिकवादीको दृष्टिकोणले संसारसँग व्यवहार गर्ने मानव दर्शन, रणनीति, विधि, र शैलीहरू नै उत्पन्न गर्नेछैन र? के त्यसले खेलका नियमहरू उत्पन्न गर्नेछैन र? (गर्नेछ।) नतिजा यही हो, र यस समस्याको सार यसैमा छ।
भौतिकवादीले शक्तिलाई कसरी हेर्छ? उसलाई लाग्छ कि यदि व्यक्तिले शक्ति प्राप्त गर्न चाहन्छ भने, सुरुमा, ऊसित रणनीतिहरू हुनुपर्छ, दोस्रो, उसले अनेक प्रकारका मानिसहरूसँग चालबाजी गर्न सक्नुपर्छ, तेस्रो, ऊ निर्दयी हुनुपर्छ, र चौथो, ऊ परिवर्तनशील हुनैपर्छ। के यो भौतिकवादीको दृष्टिकोण होइन र? के यसमा परमेश्वरको सार्वभौमिकताप्रतिको समर्पणताको कुनै सङ्केत छ? (छैन।) भौतिकवादीहरूले शक्तिबारे यी विचारहरू कसरी निकाले? के यी विचारहरू ख्रीष्टविरोधीहरूको सारले निकालेको होइन र? (हो।) ख्रीष्टविरोधीहरूको कुन सारले? ल भन् त, यदि ख्रीष्टविरोधीहरूमा कुनै दुष्ट सार नभएको भए, के तिनीहरूले “मानिसहरूसँग चालबाजी गर्न सक्नु” भन्ने शब्दहरू निकाल्ने थिए त? के तिनीहरूले आफूसँग “रणनीतिहरू हुनुपर्छ” भनेर सोच्नेथिए त? के तिनीहरूले आफू “परिवर्तनशील हुनैपर्छ” भन्नेथिए त? यदि तिनीहरूसित क्रूर सार नभएको भए, के तिनीहरूले तिनीहरू “निर्दयी हुनुपर्छ” भन्नेथिए त? (भन्नेथिएनन्।) यो ख्रीष्टविरोधीहरूको सारद्वारा निर्धारित हुन्छ। के तिनीहरूको सारद्वारा उत्पन्न विभिन्न सोचहरू तिनीहरूको मनका विचारहरू मात्र हुन्, कि संसारसँग व्यवहार गर्ने तिनीहरूका सिद्धान्तहरू र दैनिक जीवनमा तिनीहरूको आत्म-आचरण त्यही नै हुन्छन्? (संसारसँग व्यवहार गर्ने तिनीहरूका सिद्धान्तहरू त्यही नै हुन्छन्।) तिनीहरू आफ्ना दैनिक जीवनमा र समूहहरूमाझ, निरन्तर सारांशहरू बनाइरहेका हुन्छन्, त्यसैले तिनीहरूका रणनीतिहरू झन्-झन् परिपक्व र अनुभवी बन्दै जान्छन्, र अन्त्यमा धूर्त र क्रूर बन्छन्। अत्यन्तै धूर्त र क्रूर भन्नुको अर्थ के हो? यसको अर्थ पर्याप्त मात्रामा निर्दयी, क्रूर, र अनिष्टकर हुनु हो। के तिनीहरूको निर्दयता, क्रूरता, र अनिष्टताका प्रकटीकरणहरूले तिनीहरूलाई परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित बनाउन सक्छन्? कदापि सक्दैनन्। त्यसकारण, चाहे ख्रीष्टविरोधीहरू जवान होऊन् वा वृद्ध, तिनीहरूले सबथोक आफ्नै दर्शन, व्यवस्था, खेलका नियमहरू, रणनीतिहरू, र अनुभवका आधारमा गर्छन्। के यी सबै कुरा परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्यसित मिल्छ कि विरोधाभासपूर्ण छ? (विरोधाभासपूर्ण छ।) जब ख्रीष्टविरोधीहरूले आफ्ना सारांशहरूमार्फत पैदा गरेका यी सबै व्यवस्था कार्यान्वयन गर्छन्, तब तिनीहरूको सिद्धान्त र उद्देश्य के हुन्छ? तिनीहरूको प्रेरणा के हुन्छ? तिनीहरू यसो भन्छन्, “यदि तिमी आफूले चाहेको कुरा प्राप्त गर्न चाहन्छौ भने, तिमीले त्यसका लागि जे-जे गर्नुपर्छ त्यो गर्न, र जुनसुकै हदसम्म जान, पर्याप्त मात्रामा निर्दयी, क्रूर, र अनिष्टकर हुन सिक्नैपर्छ, एउटा भनाइ नै छ नि, ‘सानो मनले भलाद्मी भइँदैन; असली पुरुष कठोर हुनैपर्छ।’” यसो भन्नुको मतलब के हो? यसको मतलब यो हो: “ईश्वरको कस्तो सार्वभौमिकता? स्वर्गका प्रबन्धहरूको कस्तो पर्खाइ? यस्ता कुनै कुराहरू हुँदैनन्! कुनचाहिँ अधिकारी वा राजा आज रहेको स्थानमा उग्र र क्रूर तरिकाले पुगेको थिएन? के यी पदहरू लडाइँ र हत्यामार्फत प्राप्त गरिएका होइनन् र?” ख्रीष्टविरोधीहरूको यो दृष्टिकोणलाई हेर्दा, के तिनीहरूले परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्य मान्छन्? (मान्दैनन्।) गैरविश्वासी संसारमा, यो बाँच्ने नियमबारे ख्रीष्टविरोधीहरूको यस्तो दृष्टिकोण हुन्छ। त्यसोभए, तिनीहरू मण्डलीमा रहने अवधिमा, के तिनीहरूले कार्य गर्दा त्यही रणनीतिहरू प्रयोग गर्नेछन्? के तिनीहरूले जीवनका उही नियमहरू पालना गर्नेछन्? यो अलिकति पनि परिवर्तन हुनेछैन। ख्रीष्टविरोधीहरू मण्डलीमा आउँदासमेत, तिनीहरूले कहिल्यै आफूलाई नियन्त्रणमा राख्ने वा सुधार्ने गर्दैनन्, तिनीहरूले कदापि यसो गर्दैनन्। तिनीहरूले यसो भन्छन्, “यदि तिमी अरूभन्दा उत्कृष्ट हुन चाहन्छौ भने, तिमीले रणनीतिहरू बोक्न सिक्नैपर्छ। वरिपरि सबै जना हुँदा, विशेषगरी प्रतिष्ठित मानिसहरू हुँदा, तिमीले देखावट गर्ने सक्दो प्रयास गर्नुपर्छ, र प्रभारी, अगुवा, र माथिलाई यो कुरा देखाउनुपर्छ। त्यसपछि तिमीले बढुवा प्राप्त गर्ने र महत्त्वपूर्ण पदहरूमा नियुक्त हुने मौका पाउनेछौ, र अरूभन्दा उत्कृष्ट हुने अवसर पाउनेछौ। त्यसका साथै, तिमीले मानिसहरूमाझ भएको बेलामा नभएको बेलाभन्दा फरक तरिकाले व्यवहार गर्न सिक्नैपर्छ, तिमीले छलमा संलग्न हुन सिक्नैपर्छ। मानिसहरूको अगाडि असल कामकुरा गर्नू, अनि भयानक, खराब, र काला कर्तुतहरू, अनि मानिसहरूलाई मन नपर्ने कामकुरा गोप्य रूपमा गर्नू। आफूलाई कहिल्यै कोहीसामु छर्लङ्ग नपार्नू। तिमीले मानिसहरूलाई आफ्नो उत्कृष्ट पाटो देखाउने, र राम्रोसँग आफ्नो भेष बदल्ने गर्नैपर्छ। तिमी साँच्चिकै जतिसुकै खराब भए पनि, तिमीले त्यसलाई राम्रोसँग ढाकछोप गर्नैपर्छ। मानिसहरूको साथ नगुमाउनू। तिमीले तिनीहरूको साथ गुमाएपछि, ढिला भइसकेको हुन्छ—त्यसपछि तिमीले कुनै मौका पाउनेछैनौ।” ख्रीष्टविरोधीहरू मण्डलीमा यस्ता रणनीतिहरू र बाँच्ने नियमहरूअनुसार पनि जिउँछन्।
यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकता अनुभव गरेका र चिन्न पुगेका सारा दाजुभाइ-दिदीबहिनीहरूका गवाहीहरूलाई ख्रीष्टविरोधीहरूले कसरी हेर्छन्? ख्रीष्टविरोधीहरूले यसो भन्छन्, “मानिसहरूसँग दिमाग, सोच, र शिक्षा हुन्छ, र तिनीहरूले सम्पादन र रचनामार्फत, यी अनुभवात्मक गवाहीहरू बनाएका हुन्। वास्तवमा, यी सबै अनुभवात्मक गवाहीहरू मानिसहरूले कल्पना गरेका हुन्, ती सबै झूटा हुन्, र ती सबै असम्भव छन्। आफैले बनाउने भएको भए, म पनि अनुभवात्मक गवाहीहरू बनाउन सक्थेँ। म अनुभवात्मक गवाहीका दस-बिस वटा लेखहरू लेख्न सक्थेँ। मैले त्यसो गर्ने कष्ट नगरेको मात्र हो। के तिमीहरूलाई म तिमीहरूका सानातिना षड्यन्त्रहरू छर्लङ्गै देख्न सक्दिनँ जस्तो लाग्छ? के तिमीहरू देखावट गर्नका लागि मात्र यसो गरिरहेका छैनौ र? तिमीहरू यसलाई ईश्वरको गवाही दिने, ईश्वरको नामको गवाही दिने, र यावत् थोकमाथि ईश्वरको सार्वभौमिकताको गवाही दिने जस्ता राम्रा संज्ञाहरू दिन्छौ, र तिमीहरूले ईश्वरको गवाही दिएको भन्छौ, तर वास्तवमा, तिमीहरू आफ्नै गवाही दिन र अरूभन्दा उत्कृष्ट हुन मात्र त्यसो गरिरहेका हुन्छौ।” तिनीहरू परमेश्वरले मानिसहरूमाथि गर्नुभएको कामबारेका सारा गवाहीहरूको सच्चाइलाई मान्दैनन्। बाहिरी संसारका विभिन्न वातावरण र परिस्थितिहरू, र हरदेशका अवस्थाहरूका सन्दर्भमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू परमेश्वरले कसरी काम गरिरहनुभएको छ भनेर छर्लङ्गै देख्न सक्दैनन्, र परमेश्वरले बाहिरी संसारका वातावरणहरू सम्हाल्ने, परिवर्तन गर्ने, वा खडा गर्ने सन्दर्भमा भन्नुपर्दा, तिनीहरू उहाँले यो सबै गर्नुको अर्थ छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरूले विश्वास गर्छन् कि “‘परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ’ भन्ने कुरा एउटा खोक्रो, उच्च सुनिने भनाइ मात्र हो। वास्तवमा, तिमी जुनसुकै देश गए पनि, तिमीले त्यस देशको सरकारको पालन गर्नुपर्छ नि, होइन? तिमी त्यस देशका सरकार अनि कानुनी बन्धनहरूको अधीनमा हुन्छौ, होइन र? के यसको अर्थ परमेश्वर यावत् थोकमाथि सार्वभौम छन् भन्ने भनाइ असफल हुन्छ भन्ने होइन र? उनले चाहे जसरी आफ्नो सार्वभौमिकता अभ्यास गरे पनि, के त्यसले कुनै पनि देशका सरकार र कानुनहरूलाई उछिन्न सक्छ?” त्यसकारण, मण्डली र मण्डलीको कामका लागि बाहिरी संसारको वातावरण र परिस्थिति प्रतिकूल हुनेबित्तिकै, ख्रीष्टविरोधीहरू गोप्य रूपमा खुसी महसुस गर्छन् र त्यसबारे हाँस्छन्, र आफ्ना पैशाचिक मुहारहरू प्रकाश गर्छन्। जब मण्डलीको काम सहज रूपमा अघि बढिरहेको हुन्छ, र परमेश्वरले त्यसलाई आशिषित र अगुवाइ गरिरहनुभएको हुन्छ, अनि सबथोक सही रूपमा चलिरहेको हुन्छ, जब बाहिरी संसारको वातावरणबाट कुनै हस्तक्षेप हुँदैन, अनि दाजुभाइ-दिदीबहिनीहरूका स्थितिहरू झन्-झन् राम्रा भइरहेका हुन्छन्, तब ख्रीष्टविरोधीहरूका हृदय बेचैन र अधैर्य हुन्छन्, तिनीहरूलाई अत्यन्तै ईर्ष्या, असहजता, र घृणा महसुस हुन्छ। तिनीहरूलाई किन घृणा महसुस हुन्छ? तिनीहरू परमेश्वर यो यावत् कुरामाथि सार्वभौम हुन सक्नुहुन्छ भनेर विश्वास गर्दैनन्। मण्डली भनेको परमेश्वरको घर हो, त्यो त्यही ठाउँ हो जहाँ परमेश्वरले उहाँको व्यवस्थापनको कार्य गर्नुहुन्छ, जहाँ परमेश्वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ, जहाँ परमेश्वरको इच्छामा अवरोध हुँदैन, र जहाँ परमेश्वरका वचनहरूलाई मानिसहरूमा साकार र पुष्टि गर्न सकिन्छ। जब मण्डलीले राम्ररी काम गरिरहेको हुन्छ, त्यसले परमेश्वरको अख्तियारको वास्तविकता प्रस्तुत गर्छ, साथै यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकता छ र यो साँचो हो भन्ने तथ्यलाई पुष्ट गर्छ। यो तथ्य स्थापित र पुष्टि भएपछि, त्यो ख्रीष्टविरोधीहरूको अनुहारमा ठूलो झापड हुन्छ। झापड खाएपछि, के ख्रीष्टविरोधीहरूले हृदयमा हर्ष, शान्ति, र आराम महसुस गर्छन्, कि अवज्ञा र क्रुद्ध महसुस गर्छन्? (तिनीहरूले अवज्ञा र क्रुद्ध महसुस गर्छन्।) तिनीहरू हृदयमा केका बारेमा सोचिरहेका हुन्छन्? तिनीहरू परमेश्वरलाई घृणा र इन्कार गर्छन्। यदि बाहिरी रूपमा मण्डली र दाजुभाइ-दिदीबहिनीहरूको परिस्थिति खासै राम्रो नभएको, यी मानिसहरू सतावट, दमन र बहिष्कारमा परिरहेको, र तिनीहरूसँग समाजमा कुनै हैसियत नभएको देखिएमा, ख्रीष्टविरोधीहरू हृदयमा निकै खुसी र प्रसन्न महसुस गर्छन्, तर जब परमेश्वरको काम र मण्डली जीवन सबै फस्टाइरहेका र निरन्तर रूपमा विकसित भइरहेका हुन्छन्, तब ख्रीष्टविरोधीहरू खुसी महसुस गर्दैनन्। तिनीहरूले किन खुसी महसुस गर्दैनन्? किनभने यो तिनीहरूका धारणाहरूसँग मिल्दै मिल्दैन, यो तिनीहरूले अपेक्षा नै नगरेको कुरा हो। परमेश्वरको सार्वभौमिकता र परमेश्वरका वचनहरू पूरा र साकार भएका हुन्छन्, जसले तिनीहरूका विचारहरू उल्ट्याएका हुन्छन्, त्यसकारण तिनीहरू दुःखी हुन्छन्। ख्रीष्टविरोधीहरूले देखाउने विचार र दृष्टिकोणहरू, साथै तिनीहरूका असन्तुष्टिका भावनाहरूका आधारमा भन्नुपर्दा, के तिनीहरू ठूलो रातो अजिङ्गरकै सरहको दृष्टिकोण बोक्दैनन् र? के तिनीहरूको प्रकृति सार ठूलो रातो अजिङ्गरकै सरह छैन र? यो पूर्ण रूपमा समान छ।
पूरै संसार, यावत् थोक, र सारा सृजित प्राणीहरूले पालना गर्ने व्यवस्था र नियमहरूका सन्दर्भमा ख्रीष्टविरोधीहरू यस्तो सोच्छन्: “प्रकृति र ऋतुहरू धेरै अघि निर्मित भएका थिए। यदि लामो समय जाडो भएमा, त्यसपछि गर्मी हुनेछ; यदि लामो समय गर्मी भएमा, त्यसपछि जाडो हुनेछ। जब पातहरू झर्ने समय आउँछ, हुरी चल्दा ती झर्ने नै छन्। के यो सबै अत्यन्तै सामान्य कुरा होइन र? यो कसरी ईश्वरको सार्वभौमिकता भयो? यो कसरी ईश्वरले तोकेको व्यवस्था भयो? ईश्वरका व्यवस्थाले के गर्न सक्छन्? मानिसहरूले कुनै परिणाम नाभोगिकन धेरै जनावरहरूको हत्या गरेका छन्; मानवजाति अझै पनि पहिलेजस्तै जिइरहन्छ, होइन र? ईश्वर यावत् थोकमाथि सार्वभौम छन् भनिन्छ, त्यसोभए ईश्वरले ती कुराहरूमाथि सार्वभौमिकता राखेको मैले कसरी देख्दिनँ? ईश्वर यावत् थोकमाथि सार्वभौम छन् भनिन्छ, तर किन दुष्ट मानिसहरू सधैँ फस्टाउँछन् जबकि असल मानिसहरू कहिल्यै हाबी हुन पाउँदैनन्?” अन्त्यमा, तिनीहरू यो निष्कर्षमा पुग्छन्: “यस संसारमा कुनै मुक्तिदाता छैन; संसारसँग चालबाजी गर्ने त मानवजातिले हो। यस संसारलाई शासन गर्ने त संसारका देशहरूका महान् हस्ती र नेताहरूले हो, र यस संसारको परिदृश्य परिवर्तन गर्ने तिनै मानिसहरूले हो। ती महान् र सक्षम मानिसहरूबिना, संसार बरबाद हुनेथ्यो। जहाँसम्म ईश्वर यावत् थोकमाथि सार्वभौम छन् भन्ने कुरा छ, त्यो म देख्न सक्दिनँ। ईश्वर कसरी तीमाथि सार्वभौम छन्? म किन यो कुरा महसुस गर्न सक्दिनँ? म किन यो कुरा बुझ्न सक्दिनँ? किन यावत् थोकमाथिको ईश्वरको सार्वभौमिकतामा मानव धारणाहरूविपरीत धेरै कुराहरू पर्छन्?” तिनीहरूले यसलाई न त मान्न सक्छन् न स्विकार्न नै सक्छन्। यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकता, यावत् थोकमाथि परमेश्वर सार्वभौम हुने तरिका, यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकतामा उहाँले प्रकाश गर्नुहुने स्वभाव, परमेश्वरका कार्य सिद्धान्तहरू, परमेश्वरको सार, आदि कुराका सम्बन्धमा भन्नुपर्दा, सत्यता पछ्याउने मानिसहरूले आफ्नो जीवनकालमा यसको सानो टुक्रा मात्र बोध गर्न सक्छन्। तैपनि यो तिनीहरूलाई सृष्टिकर्ताका सार्वभौमिकता र प्रबन्धहरूप्रति समर्पित गराउन, सृष्टिकर्ताका सारा वचनहरूप्रति समर्पित गराउन, र सृष्टिकर्तालाई परमेश्वरका रूपमा मान्न लगाउन पर्याप्त हुन्छ। केही मानिसहरूले यसलाई थोरै बुझ्न सके पनि, तिनीहरूले त्यसलाई पूर्ण रूपमा बुझ्न असम्भव हुन्छ, किनकि परमेश्वरका धेरै कामहरू उहाँको हैसियत र पहिचानबाट गरिन्छन्, र यी कामहरू र सृजित मानिसहरूका सोच र अनुभूतिबीच सधैँ कुनै न कुनै अन्तर हुनेछ। अनि मानिसहरूले आफ्ना जीवनकालमा अनुभव गर्ने कामकुरामार्फत तिनीहरूले बुझ्न सक्ने थोरै कुरालाई सत्यता पछ्याउनेहरू, अन्तर्ज्ञान भएका र सत्यता बुझ्ने क्षमता भएकाहरूले मात्र बोध गर्न सक्छन्। कमजोर क्षमताका, अन्तर्ज्ञान नभएका र सत्यतालाई बिलकुलै प्रेम नगर्नेहरूले त, यति थोरै बुझाइसमेत हासिल गर्न सक्दैनन्। प्रायः भन्ने गरिन्छ कि परमेश्वरका सोचहरू मानिसका भन्दा उच्च हुन्छन्। यसको मतलब मानवहरू सधैँ सृष्टिकर्ताका सोचहरूको स्तरमा पुग्नबाट चुक्छन्, र तिनीहरूले थोरै बुझाइ प्राप्त गर्नु भनेको परमेश्वरको अनुग्रह हो। सत्यता पछ्याउनेहरूका हकमा, परमेश्वरका धेरै वचनहरू सुनेपछि, अनि धेरै सत्यताहरू बुझेपछि र अनुभव गरेपछि परमेश्वरको कामको अन्तिम चरण स्विकार्नेहरूले मात्र यो कुरा हासिल गर्न सक्छन्—यसका लागि जीवनभरको मेहनत आवश्यक पर्छ। परमेश्वरको पहिचानलाई आधारभूत रूपमा नकार्ने ख्रीष्टविरोधीहरू आफ्नो सारका हिसाबले, सत्यता वा सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, र परमेश्वरको पहिचान र सारसँग सम्बन्धित कुनै पनि कुरालाई त झनै प्रेम गर्दैनन्, त्यसकारण तिनीहरू यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकताको तथ्यलाई मान्ने बिन्दुमा कहिल्यै पुग्नेछैनन्। यस तथ्यलाई मान्ने कुरा सत्यताको बुझाइ र पछ्याइमा आधारित हुन्छ, तर ख्रीष्टविरोधीहरू सत्यतालाई नकार्छन्, सत्यताप्रति वितृष्ण हुन्छन्, परमेश्वरलाई घृणा गर्छन्, र त्यो भन्दा बढी, परमेश्वरको पहिचान र सारलाई घृणा गर्छन्। त्यसकारण, तिनीहरूका लागि, यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकताको तथ्य सधैँ अनुपस्थित हुनेछ। “अनुपस्थित” भन्नुको अर्थ के हो? यसको अर्थ यी लन्ठकहरूले यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकताको तथ्य कहिल्यै देख्ने वा बुझ्नेछैनन् भन्ने हो। त्यसकारण, तिनीहरू यो कुरा बोध गर्न सक्दैनन्। यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकताभित्र धेरै कुराहरू समावेश हुन्छन्, र यसले धेरै सत्यताहरू, साथै परमेश्वरको बुद्धि, अनि परमेश्वरको पहिचान र सारलाई छुन्छ। परमेश्वर सार्वभौम हुनुहुने यावत् थोकका बीच उहाँले सबै कुरालाई कसरी योजनाबद्ध गर्नुहुन्छ? विधिहरू, समय, र यस मामलाबारे परमेश्वरका सोचविचारका हिसाबमा, उहाँको दिमागले त्यसलाई कसरी योजना गर्छ र खटाउँछ? यी पक्षहरूका आधारमा मूल्याङ्कन गर्दा, यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकता कुनै सरल मामला होइन; यसमा निकै जटिल सम्बन्धहरू संलग्न हुन्छन्। आत्मिक बुझाइ हुँदै नभएका र सत्यतालाई नस्विकार्ने ख्रीष्टविरोधीहरूजस्ता लन्ठकहरूले, परमेश्वरले यावत् थोकमाथि सार्वभौमिकता राख्ने तरिका कहिल्यै बुझ्नेछैनन्। तिनीहरूले यो कहिल्यै बुझ्नेछैनन् भने, के तिनीहरूले यसलाई मान्न सक्छन् त? (सक्दैनन्।) कतिपयले यसो भन्छन्, “तिनीहरूले मान्दैनन् किनकि तिनीहरूले बुझ्न सक्दैनन्। यदि तिनीहरूले यो बुझ्न सक्ने भए, के तिनीहरूले यसलाई मान्नेथिएनन् र?” यो एउटा निचोड मात्र हो; निचोडहरू तर्कसँग मेल मात्रै खान्छन्, तिनीहरू तथ्यहरूअनुरूप हुन्छन् नै भन्ने हुँदैन। त्यसोभए, तथ्यहरूको सत्यताचाहिँ के हो? ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकताको तथ्यलाई कहिल्यै मान्नेछैनन्। अहिलेका लागि, ख्रीष्टविरोधीहरूबारे कुरा नगरौँ, बरु प्रधान स्वर्गदूत, शैतान, दियाबलस, ठूलो रातो अजिङ्गरबारे कुरा गरौँ। त्यसले परमेश्वरका चुनिएका मानिसहरूलाई सताउँछ, मण्डलीमा क्षति पुर्याउँछ, र परमेश्वरको काममा बाधा दिन्छ। जब परमेश्वरले त्यसमाथि विपत्ति ल्याउनुहुन्छ, जसले गर्दा त्यो आत्तिँदै छटपटिन थाल्छ, हतासिन्छ, पूरै अलमलमा पर्छ, तब त्यसले सामना गर्न सक्दैन, र अन्त्यमा कृपा याचना गर्छ, “म स्वर्गविरुद्ध फेरि कहिल्यै लड्नेछैनँ।” यस भनाइबाट कस्तो जानकारी बटुल्न सकिन्छ? ठूलो रातो अजिङ्गरले स्वर्गको, र परमेश्वरको अस्तित्वलाई मान्छ, तर त्यसको प्रकृति परिवर्तन हुँदैन; त्यसले परमेश्वरको अस्तित्वलाई माने पनि, त्यो अझै परमेश्वरविपरीत नै हिँड्छ र त्यसले उहाँको विरोध गर्छ। जब त्यसले परमेश्वरलाई हराउन सक्दैन, तब अबउप्रान्त स्वर्गसँग नलड्ने भन्दै कृपा याचना गर्छ। तर के त्यो साँच्चिकै वशमा परेको र कृपा याचना गरिरहेको हुन्छ? हुँदैन, जब त्यो निको हुन्छ, त्यसले लडाइँलाई निरन्तरता दिनेछ; यसको प्रकृति नै यही हो, र यसको प्रकृति बदलिँदैन। ख्रीष्टविरोधीहरूमा यही प्रकृति हुन्छ।
ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकताभित्र मानवजातिको नियतिमाथि उहाँको सार्वभौमिकतालाई कसरी हेर्छन्? यसमा अति सूक्ष्म मामला समावेश हुन्छ। यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकताको कुरा आउँदा, “यावत् थोक” भन्ने अवधारणा स्थूल र ज्यादै वृहत् छ; ख्रीष्टविरोधीहरूले यो स्विकार्न सक्दैनन्, तिनीहरू यसप्रति अन्धा हुन्छन्, र यसलाई छर्लङ्गै देख्न सक्दैनन्। त्यसोभए, के ख्रीष्टविरोधीहरू परमेश्वरले तिनीहरूका आफ्नै नियतिमाथि कसरी सार्वभौमिकता राख्नुहुन्छ भन्ने कुराप्रति समर्पित हुन्छन्? के तिनीहरूले यो बोध गर्छन्? के तिनीहरूले यो बुझ्छन्? के तिनीहरूले यसलाई मान्न सक्छन्? झनै सक्दैनन्। ख्रीष्टविरोधीहरू आफ्ना वास्तविक जीवनका सारा राम्रा कुराहरू तिनीहरूले आफ्नै मेहनतले हासिल गरेको ठान्छन्। उदाहरणका लागि, यदि तिनीहरू कुनै विश्वविद्यालयमा भर्ना भएमा, तिनीहरूले यसको श्रेय आफ्नो पढाइमा राम्रो गरेकोलाई दिन्छन्, र तिनीहरू कुनै प्रतिष्ठित विश्वविद्यालयमा पढ्नकै लागि जन्मेका थिए भन्ने विश्वास गर्छन्। यदि तिनीहरूले राम्रो जीवन जिइरहेका छन् र पैसा कमाएका छन् भने, तिनीहरू आफू धनी हुन नै योग्य रहेको ठान्छन्, किनकि तिनीहरूले समृद्ध जीवन पाउनेछन्, र तिनीहरू अधिकारी र आर्थिक रूपमा समृद्ध, दुवै हुने भाग्य छ भनेर तिनीहरूलाई ज्योतिषीहरूले भनेका हुन्छन्। जब कामकुरा बिग्रिन्छन्, वा तिनीहरूले आशा गरेजस्तो हुँदैन, र तिनीहरूले कष्ट भोग्छन्, तब तिनीहरू गुनासो गर्न थाल्छन्, “मलाई नै किन यस्तो नराम्रो हुन्छ? मेरो भाग्य किन यति खराब छ? म अत्यन्तै अभागी छु!” तिनीहरूले यी कुराहरूलाई मानव दृष्टिकोणबाट अर्थ्याउने र हेर्ने गर्छन्। यदि सबथोक सहज रूपमा चलिरहेको छ भने, तिनीहरू निकै अभिमानी र घमन्डी बन्छन्, हरमोडमा देखावट गर्छन्, उग्र र डरलाग्दो मुद्रा देखाउँछन्, र ढिठ र अहङ्कारी तरिकाले आफूलाई आचरणमा ढाल्छन्; तर तिनीहरूले चाहेजस्तो नहुँदा तिनीहरू परमेश्वर र अन्य मानिसहरूलाई दोष दिन्छन्, र परिस्थितिलाई उल्टाएर त्यसबाट उम्किने उपाय खोज्ने प्रयास गर्छन्। तिनीहरू परमेश्वरले पूर्वनिर्धारित गर्नुहुने अनि गर्नुहुने सबथोक राम्रो हुन्छ भन्छन्, तर गोप्यमा, तिनीहरूले दिमाग खियाउँछन्, परिस्थितिलाई उल्टाउनका लागि हरमाध्यम प्रयोग गर्छन्, र त्यसबाट उम्किने वा त्यसलाई बदल्ने कोसिस गर्छन्, र यसो भन्छन्, “म मेरो भाग्य यति खराब छ र म अत्यन्तै अभागी छु भनेर विश्वास गर्न मान्दिनँ। म संसार अत्यन्तै अन्यायपूर्ण छ, मजस्तो सक्षम व्यक्तिले अन्त्यमा दिनको ज्योति देख्नेछैन, मेरो चम्किने समय कहिल्यै आउनेछैन भनेर विश्वास गर्न मान्दिन। वास्तवमा, नियति भनेको एउटा खोक्रो खबटा मात्र हो, यो त एउटा भनाइ मात्र हो; यो सबै आफ्नै मेहनत र सङ्घर्षहरूमा भर पर्छ। एउटा भनाइ नै छ, ‘अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ।’ यो नै सर्वोच्च मत हो; मैले यो कहिल्यै बिर्सनु हुँदैन, मैले यो प्रयोग गरेर आफूलाई प्रेरित गर्नैपर्छ।” तिनीहरूले परमेश्वरले गर्ने सबथोक राम्रो हुन्छ, परमेश्वर सबथोकमाथि सार्वभौम हुनुहुन्छ, र तिनीहरू परमेश्वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन्छन् भनेर बारम्बार भन्छन्, तर अन्त्यमा तिनीहरू “अब्बल हुनका लागि ठूलो कष्ट सहनुपर्छ” भन्छन्। सतहमा, तिनीहरूले आत्मिक शब्दहरू बोल्छन्, तर गोप्य रूपमा, तिनीहरूले कार्यान्वयन, अभ्यास र पछ्याउने सिद्धान्तहरू संसारसँग व्यवहार गर्ने शैतानका दर्शनहरू, तर्क, र सोच हुन्। के यसमा कुनै समर्पण हुन्छ? (हुँदैन।) ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकतालाई यसरी नै हेर्छन्, बुझ्छन् र लिन्छन्। यी प्रकटीकरण र उदाहरणहरूका आधारमा भन्नुपर्दा, के ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकता भएको तथ्यलाई मान्ने र त्यसमा विश्वास गर्ने गर्छन्, कि त्यसलाई शङ्का र निन्दा गर्छन्? (तिनीहरूले त्यसलाई शङ्का र निन्दा गर्छन्।) तिनीहरूले चाहे जे भने पनि, तिनीहरूका वास्तविक प्रकटीकरणहरूका आधारमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू मूलतः यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकता हुन्छ भन्ने तथ्यलाई तिरस्कार गर्छन् र त्यसमा विश्वास गर्दैनन्। कतिपय ख्रीष्टविरोधीहरूले त बेतुके भनाइहरूसमेत राख्छन्: “तिमीले कसरी कुनै कुरातर्फ लागिपर्ने कार्य नगरी, अनि निष्क्रिय रूपमा ईश्वरको सार्वभौमिकताको प्रतीक्षा मात्र गर्न मिल्छ? के तिमीले आफ्नो खाना आफैले पकाउनुपर्दैन? के तिमीले केही पनि नगरी आकाशबाट फल प्राप्त होला भनेर प्रतीक्षा गर्न मिल्छ? ईश्वरले चाहे जसरी सार्वभौमिकता राखे पनि, मानिसहरूले कडा मेहनत गर्न र कदम चाल्न आवश्यक हुन्छ, होइन र?” ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकतालाई स्विकार्न नमान्ने मात्र नभई, त्यसलाई इन्कार्ने र गलत अर्थ्याउने समेत गर्छन्। तिनीहरूले त्यसलाई गलत अर्थ्याउनुको उद्देश्य के हो? तिनीहरूले कामना गर्ने सारा फाइदाहरूका लागि नैतिकताहीन रूपमा लड्न कुनै आधार र बहाना खोजिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूका आधारमा भन्नुपर्दा, यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकताको तथ्यबारे तिनीहरूको साँचो दृष्टिकोण के हो? अविश्वास, इन्कार, र निन्दा—यो नै तिनीहरूको साँचो दृष्टिकोण हो।
आज हामीले सङ्गति गरेका दुइटा बुँदाहरूमा, हामीले मुख्यगरी ख्रीष्टविरोधीहरूले परमेश्वरको अस्तित्वमा विश्वास नगर्ने प्रकटीकरणलाई चिरफार गर्यौँ। यो सङ्गति सुनेपछि, के तिमीहरूले कुनै बुझाइ प्राप्त गरेका छौ? कुन मानिसहरूमा यी समस्याहरू छन्? कस्तो प्रकारको व्यक्तिसँग ख्रीष्टविरोधीहरूको स्वभाव हुन्छ तर ख्रीष्टविरोधीहरूको सार हुँदैन, र ऊ परिवर्तन हुन सक्छ? कुन मानिसहरूमा उही समस्याहरू छन्, तर ख्रीष्टविरोधीहरूको सार छ, तिनीहरू परिवर्तन हुन सक्दैनन्, सदा परमेश्वरका शत्रु हुन्छन्, र मुक्तिका नभएर विनाशका पात्र हुन्? के तिमीहरूले पनि यी प्रकटीकरणहरू देखाउँछौ? के तिमीहरूलाई तिमीहरू परिवर्तन हुन सक्छौ जस्तो लाग्छ? के तिमीहरूले सत्यता स्विकार्न र यी सोचहरूलाई बदल्न र प्रतिस्थापित गर्न त्यसलाई प्रयोग गर्न सक्छौ? (सक्छौँ।) कुन मानिसहरू बदलिन सक्दैनन्? एकखाले व्यक्ति हुन्छ जो विलासी जीवन जिउने, दरबारजस्तै सजिसजाउ गरिएका ठूला घरहरूमा बस्ने, र थुप्रै विलासी गाडीहरू भएका गैरविश्वासीहरूलाई देखेपछि, लोभिन्छ र बिलौना गर्छ, “धनी हुनु, अधिकारी हुनु, सक्षम हुनु त गजब हुने रहेछ! ऊ किन यति सक्षम छ? ऊ किन यति भाग्यमानी छ? उसले आफ्नो पैसा कसरी कमायो?” जब तिनीहरूले कसैसँग सामाजिक हैसियत भएको देख्छन्, तब तिनीहरू उसलाई निकै चिल्लो घस्छन्, खुसामद गर्छन्, र उसको चापलुसी गर्ने कोसिस गर्छन्, उसका लागि जे पनि गर्न, जुनसुकै हदसम्म चाकरी गर्न तयार हुन्छन्। तिनीहरू समाजका दुष्ट प्रचलनहरूलाई अत्यन्तै मन पराउँछन् र प्रायः तिनको हिस्सा बन्ने चाहना राख्छन्, परमेश्वरमाथिको आस्थाले तिनीहरूलाई त्यसो गर्नबाट रोक्दा तनावग्रस्त हुन्छन्। अझ बढी, तिनीहरू संसारमा आफू पछाडि परेको महसुस गर्छन्; तिनीहरू एक्ला, असहाय, तिनीहरूलाई भरणपोषण गर्ने केही नभएको, तिनीहरूले कुनै सान्त्वना भेट्टाउन नसक्ने महसुस गर्छन्, र प्रायः विक्षिप्त महसुस गर्छन्। अर्को खाले व्यक्तिले पैसा र शक्ति भएकाहरूले समाजमा आफ्ना मामलाहरू सम्हाल्दा सफलताको आनन्द उठाएको देख्दा ठूलो प्रशंसा महसुस गर्छ र प्रायः यसो भन्दै वाहवाही गर्छ, “तिनीहरूले एक जना व्यक्तिको हत्या गरे, तर तिनीहरूसँग पैसा र सम्पर्क भएका कारण, तिनीहरू छोटो समय मात्र कारागारमा बसेर निस्के। त्यो नै वास्तविक क्षमता हो!” तिनीहरू समाजका यस्ता मानिसहरूलाई निकै सम्मान गर्छन् र उच्च मान्छन्। अझै अर्कोखाले व्यक्तिले समाजका संवेदनशील राजनीतिक विषयहरूलाई विशेष ध्यान दिन्छ र तीबारे गहन रूपमा चासो राख्छ, अनि राजनीतिसँग सम्बन्धित केही मामलाहरूमा साँच्चिकै संलग्न हुन र हाम फाल्नसमेत चाहन्छ। यी र यस्तै प्रकारका अन्य मानिसहरूसित, भित्र गहिराइमा, परमेश्वरप्रति ख्रीष्टविरोधीहरूसरह नै मनोवृत्ति हुन्छ: तिनीहरू परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, परमेश्वरको पहिचान, वा यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकता छ भन्ने तथ्यलाई मान्दैनन्। यी मानिसहरू ख्रीष्टविरोधीहरूकै गिरोहमा पर्छन्। तिनीहरू मण्डली वा परमेश्वरको घरका होइनन् र अन्त्यमा पखालिनेछन्। तिनीहरू परमेश्वरमा विश्वास गर्नेहरूसित मिलेर रहन सक्दैनन् र तिनीहरूले हिँड्ने मार्ग परमेश्वरका मागहरूसित मिल्दैन। यी सबै मानिसहरू खतरनाक हुन्छन्; तिनीहरूले अहिलेसम्म कुनै दुष्टता नगरेका, र खुलेआम परमेश्वरलाई इन्कार, न्याय, वा निन्दा नगरेका, वा खुलेआम मानिसहरूलाई बहकाउमा नपारेका र मण्डलीमा हैसियतका लागि प्रतिस्पर्धा नगरेका भए पनि, तिनीहरूमा ख्रीष्टविरोधीहरूको सार हुन्छ, किनभने तिनीहरूले आधारभूत रूपमा परमेश्वरको पहिचानलाई मान्दैनन्, र यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकता छ भन्ने तथ्यलाई त झनै मान्दैनन्। तिनीहरू दुष्ट शक्तिहरूका र शैतानको गिरोहका हिस्सा हुन्। तिनीहरू दुष्टता, र दियाबलसहरू र शैतानले प्रवर्द्धन गरेको कुनै पनि झूटा शिक्षा वा भ्रम, साथै संसारमा उत्पन्न हुने, चर्चित, वा फैलिएको कुनै पनि दुष्ट प्रचलनलाई श्रद्धा गर्छन्। तिनीहरू परमेश्वरको घरका वा मण्डलीका होइनन् र परमेश्वरको मुक्तिका पात्र होइनन्। यी मानिसहरू परमेश्वरका साँचो शत्रु हुन्, तिनीहरू ख्रीष्टविरोधी हुन्।
नोभेम्बर १४, २०२०