विषयवस्तु चौध: तिनीहरू परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन्
हामीले यसअघिको भेलामा ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्नेबाहेक, मण्डलीका आर्थिक कुरालाई पनि नियन्त्रण गर्छन् भन्ने तथ्यबारे सङ्गति गऱ्यौँ। हामीले सङ्गति गरेका मुख्य बुँदाहरू के-के थिए? (हामीले दुई मुख्य बुँदाबारे सङ्गति गऱ्यौँ: पहिलो बुँदा, मण्डलीको सम्पत्ति स्वामित्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिनु भन्ने थियो, जबकि दोस्रो बुँदा भेटीहरू फजुलमा उडाउने, दुरुपयोग गर्ने, सापट दिने, जालसाजीपूर्वक प्रयोग गर्ने, र चोर्ने भन्ने थियो।) हामीले यी दुई मुख्य बुँदाबारे सङ्गति गऱ्यौँ। आज हामी ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको चौधौँ विषयवस्तुबारे सङ्गति गर्नेछौँ: तिनीहरू परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन्। यो विषयवस्तुमा हामी ख्रीष्टविरोधीहरूसँग ख्रीष्टविरोधीको सार भएको पुष्टि गर्ने के-कस्ता प्रकटीकरणहरू हुन्छन् भनी हेरौँ। तिनीहरू परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन्: यसो हेर्दा, यी दुई पदावली—“परमेश्वरको घर” र “व्यक्तिगत अधिकारक्षेत्र”—ले दुष्ट ख्रीष्टविरोधीहरूले के गर्न सक्छन् भन्ने कुराको कुनै सङ्केत दिँदैनन्। “ख्रीष्टविरोधीहरू परमेश्वरको घरलाई आफ्नै घरका रूपमा लिन्छन्” भनेर भन्दा यसले यो “घर” ले केलाई जनाइरहेको छ, यो सकारात्मक कुरा हो कि नकारात्मक, यसलाई तारिफका रूपमा प्रयोग गरिँदै छ कि निन्दा गर्ने हिसाबले भन्ने कुराको कुनै बाहिरी सङ्केत दिँदैन। तर के “घर” को ठाउँमा “व्यक्तिगत अधिकारक्षेत्र” राख्दा त्यसले केही समस्या छन् भन्ने जनाउँछ? सर्वप्रथम, “व्यक्तिगत अधिकारक्षेत्र” ले हामीलाई के बताउँछ? (ख्रीष्टविरोधीहरू अन्तिम निर्णय आफै गर्न चाहन्छन्।) अरू के बताउँछ? (तिनीहरू परमेश्वरको घरलाई आफ्नो प्रभावक्षेत्रका रूपमा लिन्छन्, अनि आफ्ना विश्वासपात्र र आफ्नो घरपरिवारका मानिसहरूलाई संवर्धन गर्छन्, र त्यसपछि मण्डलीमाथि नियन्त्रण जमाउँछन्।) यो पनि ख्रीष्टविरोधीहरूको एउटा प्रकटीकरण हो। अरू केही छ? के यो वाक्यांशको सतही अर्थले यो ख्रीष्टविरोधीहरूको प्रभावक्षेत्र, ख्रीष्टविरोधीहरूले शक्ति प्रयोग गर्ने र प्रभुत्व जमाउने ठाउँ, सबथोक ख्रीष्टविरोधीहरूले नियन्त्रण गर्ने, एकाधिकार लाद्ने, र मुठीमा राख्ने ठाउँ, ख्रीष्टविरोधीहरूले हैकम जमाउने ठाउँ हो भन्ने जनाउँछ? (जनाउँछ।) हामी यस वाक्यांशमा यस्तो अर्थ पढ्न सक्छौं; किनभने हामीले यसअघि ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूबारे छलफल गर्दा, ख्रीष्टविरोधीहरूको सार चिरफार र खुलासा गर्नेबारे धेरै सङ्गति गरेका थियौँ। यीमध्ये मुख्य प्रकटीकरण भनेको ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण र शक्ति प्रयोग गर्नु हो—यद्यपि अवश्य नै अन्य विभिन्न प्रकटीकरणहरू पनि छन्।
अब हामीले ख्रीष्टविरोधीहरूले “व्यक्तिगत अधिकारक्षेत्र” अभ्यास गर्नुको सामान्य अर्थबारे सङ्गति गरिसकेकाले, “परमेश्वरको घर” ले ठ्याक्कै के अर्थ दिन्छ भन्नेबारे सङ्गति गरौँ। के तिमीहरूसँग परमेश्वरको घर भनेको के हो भन्ने कुनै अवधारणा छ—के तिमीहरू यसको सही परिभाषा दिन सक्छौ? सँगै भेला भएका दाजुभाइ-दिदीबहिनीहरूको समूह—के परमेश्वरको घर भनेको यही हो? के ख्रीष्ट र परमेश्वरलाई पछ्याउने मानिसहरूको भेला वा सभालाई नै परमेश्वरको घर मानिन्छ? के मण्डली अगुवा, डिकन र विभिन्न समूह अगुवाहरू समेत संलग्न भेलालाई परमेश्वरको घर मानिन्छ? (मानिँदैन।) परमेश्वरको घर भनेको केचाहिँ हो त? (ख्रीष्टले शासन गर्ने मण्डली मात्र परमेश्वरको घर हो।) (परमेश्वरका वचनहरूलाई आफ्ना अभ्यासका सिद्धान्तका रूपमा लिने मानिसहरूको भेलालाई मात्र परमेश्वरको घर मानिन्छ।) के यी दुई परिभाषा सही छन्? तिमीहरूले त्यो व्याख्या गर्न सक्दैनौ। तिमीहरूले सबै प्रवचन सुनेपछि पनि, यस्तो सरल परिभाषा दिन सक्दैनौ। तिमीहरूलाई यी आत्मिक पदावली र शब्दावलीलाई गम्भीरतापूर्वक लिने र तिनलाई दिनुपर्ने ध्यान दिने बानी परेको छैन भन्ने कुरा प्रस्ट छ। तिमीहरू कस्तो लापरवाह! त्यसैले सोचविचार गर: परमेश्वरको घर भनेको ठ्याक्कै के हो त? यदि यसलाई सैद्धान्तिक रूपमा परिभाषित गर्ने हो भने, परमेश्वरको घर सत्यताले शासन गर्ने ठाउँ हो, परमेश्वरका वचनहरूलाई आफ्नो अभ्यासका सिद्धान्तहरूका रूपमा लिने मानिसहरूको जनभेला हो। यो अवस्थामा, ख्रीष्टविरोधीहरूले परमेश्वरको घरलाई आफ्नो व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिनु एउटा समस्या हो; परमेश्वरलाई पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूको भेलालाई तिनीहरूले आफ्नो व्यक्तिगत प्रभावक्षेत्र, आफूले शक्ति प्रयोग गर्ने ठाउँ र आफूले शक्ति प्रयोग गर्ने निसानाका रूपमा लिइरहेका हुन्छन्। परमेश्वरको घरलाई आफ्नो व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिने ख्रीष्टविरोधीहरूबाट खुट्ट्याउन सकिने शाब्दिक अर्थ यही हो। तिमीले त्यसलाई जुनसुकै कोणबाट व्याख्या गऱ्यौ वा हेऱ्यौ भने पनि, ख्रीष्टविरोधीहरूले परमेश्वरको घरलाई आफ्नो व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिनुले मानिसहरूलाई बहकाउन र नियन्त्रण गर्न अनि पूर्ण शक्ति हातमा लिन खोज्ने तिनीहरूको प्रकृति सारलाई देखाउँछ। परमेश्वरको घर त्यो ठाउँ हो जहाँ परमेश्वर काम गर्नुहुन्छ र बोल्नुहुन्छ, जहाँ परमेश्वर मानिसहरूलाई मुक्ति दिनुहुन्छ, जहाँ परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरको काम अनुभव गर्छन्, शुद्ध पारिन्छन्, र मुक्ति प्राप्त गर्छन्, जहाँ परमेश्वरका इच्छा र अभिप्रायहरूलाई कुनै अवरोधविना अघि बढाउन सकिन्छ, र जहाँ परमेश्वरको व्यवस्थापनको योजना कार्यान्वयन र पूरा गर्न सकिन्छ। समग्रमा, परमेश्वरको घर त्यो स्थान हो जहाँ परमेश्वरको शासन चल्छ, जहाँ परमेश्वरका वचनहरू र सत्यताले शासन गर्छन्; यो कुनै पनि व्यक्तिले आफ्ना चाहना र भव्य योजनाहरू हासिल गर्नका लागि आफ्नो शक्ति प्रयोग गर्ने र आफ्नै उद्यम चलाउने ठाउँ होइन। तर, ख्रीष्टविरोधीहरूले गर्ने कुरा ठ्याक्कै परमेश्वरको चाहनाविपरीत हुन जान्छ: तिनीहरू परमेश्वर के गर्न चाहनुहुन्छ भन्नेतिर ध्यान दिँदैनन् र त्यसलाई बेवास्ता गर्छन्, तिनीहरू परमेश्वरका वचनहरू मानिसहरूमाझ साकार गरिन्छन् कि गरिँदैनन् भनेर वास्ता गर्दैनन्, न त परमेश्वरका वचन र सत्यता सिद्धान्तहरू मानिसहरूमाझ बुझ्न, अभ्यास गर्न र अनुभव गर्न सकिन्छ कि सकिँदैन भनेर नै वास्ता गर्छन्; तिनीहरू आफूसँग हैसियत, शक्ति, अन्तिम निर्णय गर्ने शक्ति छ कि छैन; आफ्ना अभिप्राय, विचार, र कामनाहरू मानिसहरूमाझ पूरा गर्न सकिन्छ कि सकिँदैन भन्नेबारे मात्र चासो देखाउँछन्। यसको मतलब, तिनीहरूको प्रभावक्षेत्रभित्र कति जना मानिसले तिनीहरूका कुरा सुन्छन् र पालन गर्छन्, तिनीहरूको कस्तो छवि, प्रतिष्ठा, र अख्तियार छ—तिनीहरूले व्यवस्थापन गर्न प्रयास गर्ने मुख्य कुरा ठ्याक्कै यिनै हुन्, र तिनीहरूले हृदयमा सबैभन्दा बढी ख्याल गर्ने कुरा यिनै हुन्। परमेश्वर मानिसमाझ बोल्नुहुन्छ र काम गर्नुहुन्छ, मानिसहरूलाई मुक्ति दिनुहुन्छ, अगुवाइ गर्नुहुन्छ, र आपूर्ति गर्नुहुन्छ, उहाँ तिनीहरूलाई चरणबद्ध रूपमा उहाँसामु आउन, उहाँका अभिप्रायहरू बुझ्न, सत्यता वास्तविकतामा प्रवेश गर्न, र बिस्तारै परमेश्वरप्रतिको समर्पण हासिल गर्न मार्गदर्शन गर्नुहुन्छ। ख्रीष्टविरोधीहरूले गर्ने सबथोक ठ्याक्कै यसविपरीत हुन्छ। परमेश्वर मानिसहरूलाई उहाँसामु आउन डोर्याउनुहुन्छ, तैपनि ख्रीष्टविरोधीहरू यी मानिसहरूका लागि परमेश्वरसित होड गर्छन् र तिनीहरूलाई आफूसामु ल्याउने कोसिस गर्छन्। परमेश्वर मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न, परमेश्वरका अभिप्रायहरू बुझ्न, र कदम-कदम गरेर परमेश्वरको प्रभुत्वमा समर्पित हुन मार्गदर्शन गर्नुहुन्छ; ख्रीष्टविरोधीहरू मानिसहरूलाई कदम-कदम गरेर नियन्त्रण गर्ने, तिनीहरूका चाल बुझ्ने, र तिनीहरूलाई दृढ रूपमा आफ्नै शक्तिको अधीनमा ल्याउने कोसिस गर्छन्। समग्रमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू सबै कुरा परमेश्वरका अनुयायीहरूलाई आफ्ना अनुयायीमा परिणत गर्नका लागि गर्छन्; तिनीहरूले सत्यता नपछ्याउने ती अलमल्ल मानिसहरूको मन जितेपछि, तिनीहरूको शक्तिको अधीनमा ल्याउन परमेश्वरलाई पछ्याउन र बफादारीसाथ आफ्नो कर्तव्य पूरा गर्न सक्नेहरूको मन जित्न एक कदम अगाडि बढेर भएभरको उपाय लगाउँछन्, मण्डलीभित्रका सबैलाई आफ्नो कुरा सुन्न लगाउँछन्, र उनीहरूलाई ख्रीष्टविरोधीहरूका चाहनाहरूअनुसार जिउन, कार्य गर्न, आचरण देखाउन, र सबथोक गर्न लगाउँछन्, ताकि अन्ततः उनीहरूले ख्रीष्टविरोधीहरूले भन्ने सबथोक पालन गरून्, तिनीहरूका चाहनाहरू पालन गरून्, र तिनीहरूका मागहरू पालन गरून्। भन्नुको मतलब, परमेश्वर जे गर्ने चाहना राख्नुहुन्छ, परमेश्वर जे प्रभाव हासिल गर्न चाहनुहुन्छ, ख्रीष्टविरोधीहरू पनि त्यही नतिजा हासिल गर्न चाहन्छन्। तिनीहरूले हासिल गर्न चाहने नतिजा मानिसहरूलाई परमेश्वरसामु आउन र परमेश्वरको आराधना गर्न लगाउनु होइन, बरु तिनीहरूसामु आउन, र तिनीहरूको आराधना गर्न लगाउनु हो। समग्रमा, ख्रीष्टविरोधीहरूले शक्ति प्राप्त गरिसकेपछि, आफ्नो प्रभावक्षेत्रभित्रको हरव्यक्ति र हरेक कामकुरालाई नियन्त्रण गर्ने प्रयास गर्छन्, तिनीहरू आफूले नियन्त्रण गर्न सक्ने क्षेत्रलाई नियन्त्रण गर्ने प्रयास गर्छन्, तिनीहरू मण्डलीलाई, परमेश्वरको घरलाई, र परमेश्वरलाई पछ्याउनेहरूलाई आफ्नो शक्ति प्रयोग गर्ने र आफूले शासन गर्न सक्ने क्षेत्र बनाउँछन्। त्यसो भन्नुको मतलब, परमेश्वर मानिसहरूलाई उहाँसामु डोऱ्याउनुहुन्छ, जबकि, ख्रीष्टविरोधीहरूचाहिँ मानिसहरूलाई बहकाउँछन् र ती मानिसहरूलाई आफूसामु डोऱ्याउँछन्। ख्रीष्टविरोधीहरूले यी सबै गर्नुको उद्देश्य भनेको परमेश्वरका अनुयायीहरूलाई आफ्ना अनुयायी बनाउनु, परमेश्वरको घर र मण्डलीलाई आफ्नो घरमा परिणत गर्नु हो। ख्रीष्टविरोधीहरूसँग यी उत्प्रेरणा र सार हुने भएकाले, तिनीहरूसँग कस्ता विशिष्ट प्रकटीकरण र व्यवहारहरू हुन्छन् जसले यी ख्रीष्टविरोधीहरू ख्रीष्टविरोधी हुन्, तिनीहरू परमेश्वरका शत्रु हुन्, तिनीहरू परमेश्वर र सत्यताप्रति शत्रुवत् पिशाच र शैतान हुन् भन्ने देखाउँछन्? यसपछि, हामी ख्रीष्टविरोधीहरूसँग तिनीहरू परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन् भनेर पुष्टि गर्ने कस्ता विशिष्ट प्रकटीकरण र शैलीहरू छन् भनी ठोस रूपमा चिरफार गर्नेछौँ।
अ. ख्रीष्टविरोधीहरू शक्तिमा एकाधिकार जमाउँछन्
ख्रीष्टविरोधीहरू कसरी परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन् भन्ने कुराको पहिलो प्रकटीकरणबारे हामीले बारम्बार सङ्गति गरेका छौँ, र यो ख्रीष्टविरोधीहरूमा मात्र हुने सारभूत प्रकटीकरण हो: ख्रीष्टविरोधीहरू अरू कुनै पनि कुराभन्दा बढी हैसियतलाई प्रेम गर्छन्। तिनीहरू किन हैसियतलाई सबैभन्दा बढी प्रेम गर्छन्? हैसियतले के जनाउँछ? (शक्ति।) ठिक भनिस्—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हैसियत छ भने मात्र तिनीहरूसँग शक्ति हुन सक्छ, र शक्ति छ भने मात्र तिनीहरूले सजिलै कामकुरा गर्न सक्छन्; शक्ति छ भने मात्र तिनीहरूका विभिन्न कामना, महत्त्वाकाङ्क्षा, र उद्देश्यहरू पूरा हुने र वास्तविकता बन्ने आशा हुन्छ। त्यसैले, ख्रीष्टविरोधीहरू अत्यन्तै धूर्त हुन्छन्, यस्ता मामलाहरूमा तिनीहरूको दृष्टिकोण स्पष्ट हुन्छ; यदि तिनीहरूले परमेश्वरको घरलाई आफ्नो व्यक्तिगत अधिकारक्षेत्र बनाउनु छ भने सुरुमा शक्तिमा एकाधिकार जमाउनैपर्छ। यो एउटा सुस्पष्ट प्रकटीकरण हो। तिमीहरूले सामना गरेका, सुनेका, वा आफ्नै आँखाले देखेका ख्रीष्टविरोधीहरूमध्ये, कुनचाहिँले शक्तिमा एकाधिकार जमाउन खोज्दैनथ्यो र? तिनीहरूले जुनसुकै माध्यम प्रयोग गरे पनि, चाहे त्यो चिप्ले भएर वा धुर्त्याइँ गरेर होस्, वा बाह्य रूपमा भलादमी र स्थिर भएर होस्, वा अझ द्वेषपूर्ण र अत्यन्तै नीच माध्यमहरू प्रयोग गरेर होस्, वा हिंसामार्फत होस्, ख्रीष्टविरोधीहरूको एउटै मात्र उद्देश्य हुन्छ: हैसियत हात पार्नु र त्यसपछि शक्ति प्रयोग गर्नु। यसर्थ, मैले सङ्गति गर्न चाहेको पहिलो कुरा भनेको ख्रीष्टविरोधीहरू सबैभन्दा पहिला, शक्तिमा एकाधिकार जमाउने कोसिस गर्छन् भन्ने हो। शक्तिप्रतिको ख्रीष्टविरोधीहरूको कामना सामान्य मानिसहरूकोभन्दा अत्यन्तै बढी हुन्छ; त्यो भ्रष्ट स्वभाव भएका साधारण मानिसहरूको चाहनाभन्दा अत्यन्तै बढी हुन्छ। भ्रष्ट स्वभाव भएका साधारण मानिसहरू आफूलाई अरूले उच्च मानून्, आफूबारे अरूले असल राय राखून् भन्ने मात्र चाहन्छन्; तिनीहरू कुराकानीमा आफू हाबी हुन रुचाउँछन्, तर शक्ति र मानिसहरूको आराधना नपाउँदा तिनीहरूलाई त्यति धेरै पीडा हुँदैन; तिनीहरू आफूसँग त्यो कुरा भए पनि वा नभए पनि जीवन चलाउन सक्छन्; तिनीहरूमा शक्तिप्रतिको केही मोह र अभीप्सा हुन्छ, तर त्यो ख्रीष्टविरोधीहरूमा भएजतिको हदमा हुँदैन। त्यो हद कति हो त? शक्ति नभएमा, खीष्टविरोधीहरू निरन्तर चिन्तित हुन्छन्, तिनीहरूले शान्ति पाउन सक्दैनन्, राम्ररी खान र सुत्न नसकेर कष्ट भोग्छन्, तिनीहरूलाई हरदिन पट्यारलाग्दो र बेचैनीपूर्ण लाग्छ, र हृदयमा, आफूले कुनै कुरा हासिल गर्न नसकिरहेको, र केही कुरा गुमाएको जस्तो पनि महसुस हुन्छ। साधारण भ्रष्ट मानिसहरूचाहिँ शक्ति पाउनमा खुसी हुन्छन्, तर शक्ति नहुँदा ज्यादै खिन्न हुँदैनन्; तिनीहरू अलि निराश महसुस गर्लान्, तर साधारण व्यक्ति हुनमा सन्तुष्ट पनि हुन्छन्। यदि ख्रीष्टविरोधीहरू साधारण बन्नुपऱ्यो भने, तिनीहरू बाँच्नै सक्दैनन्, तिनीहरू जीवन चलाउनै सक्दैनन्, तिनीहरूलाई आफूले जीवन दिशा र उद्देश्य गुमाएझैँ हुन्छ, अगाडिको मार्ग अर्थात् जीवनमा अघि बढिरहन नै जान्दैनन्। तिनीहरूलाई हैसियत भए मात्र आफ्नो जीवन ज्योतिले भरिएको हुन्छ, हैसियत र शक्ति भए मात्र जीवन सानदार, शान्तिपूर्ण र आनन्दित हुन्छ भन्ने लाग्छ। के यो सामान्य मानिसहरूभन्दा फरक होइन र? ख्रीष्टविरोधीहरू हैसियत पाइसकेपछि, असामान्य रूपले उत्साहित बन्छन्। यो देखेर अरूले यसो सोच्छन्: किन तिनीहरू पहिलेभन्दा फरक छन्? किन तिनीहरू यति प्रफुल्ल र प्रसन्न छन्? किन तिनीहरू यति खुसी छन्? सोधेपछि थाहा हुन्छ, यो त तिनीहरूसँग हैसियत भएकाले; तिनीहरूसँग शक्ति भएकाले; तिनीहरूसँग अन्तिम निर्णय गर्ने शक्ति हुने भएकाले; तिनीहरूले मानिसहरूमाथि हुकुम चलाउन सक्ने भएकाले; तिनीहरूले शक्ति प्रयोग गर्न सक्ने भएकाले; तिनीहरूसँग प्रतिष्ठा भएकाले; र तिनीहरूसित अनुयायीहरू भएकाले हो रहेछ। ख्रीष्टविरोधीहरूसँग हैसियत र शक्ति हुँदा, तिनीहरूको मानसिक दृष्टिकोणमा केही कुरा परिवर्तन हुन्छ।
ख्रीष्टविरोधीहरूको शक्तिको कामनाले तिनीहरूको सार साधारण होइन, त्यो साधारण भ्रष्ट स्वभाव होइन भन्ने सङ्केत गर्छ। र त्यसैले, आफू जोसुकैमाझ भए पनि, ख्रीष्टविरोधीहरूले अरूभन्दा पृथक् देखिने उपाय खोज्ने, देखावट गर्ने, आफ्नो प्रचार-प्रसार गर्ने, सबैलाई आफ्ना गुण र सद्गुणहरू देख्ने तुल्याउने र आफूप्रति सबैलाई ध्यान दिन लगाउने, र मण्डलीमा आफ्ना लागि कुनै न कुनै ओहोदा सुरक्षित गर्न सकेजति गर्नेछन्। मण्डलीमा निर्वाचन हुँदा, ख्रीष्टविरोधीहरूलाई आफ्नो अवसर आएको आभास हुन्छ: आफ्नो प्रचार-प्रसार गर्ने, आफ्ना चाहनाहरूलाई वास्तविकता बनाउने, र आफ्ना कामनाहरू पूरा गर्ने मौका आएको आभास हुन्छ। तिनीहरू अगुवा चयन हुन आफूले गर्नसक्ने सबथोक गर्छन्, र शक्ति प्राप्त भएमा कामकुरा फत्ते गर्न सजिलो हुनेछ भन्ने विश्वास गर्दै शक्ति प्राप्त गर्न सकेजति सबै गर्छन्। अनि, यो किन सजिलो हुनेछ? ख्रीष्टविरोधीहरूसँग शक्ति नभएको बेला, तिनीहरूको बाहिरी रूपबाट तिनीहरूका महत्त्वाकाङ्क्षा, कामना र सार थाहा पाउन नसकिने हुन सक्छ, किनकि तैँले छर्लङ्ग देख्न नसक् भनेर तिनीहरूले कुराहरू लुकाउँछन्, र ढोँग गर्छन्। तर तिनीहरूले हैसियत र शक्ति प्राप्त गरेपछि सर्वप्रथम के गर्छन्? तिनीहरूले आफ्नो हैसियत सुदृढ पार्ने, र आफ्नो शक्ति फैलाउने र बलियोगरी पक्रने मेहनत गर्छन्। अनि, तिनीहरूले आफ्नो शक्ति बलियोगरी पक्रन र आफ्नो हैसियत सुदृढ पार्न कस्ता विधिहरू प्रयोग गर्छन्? ख्रीष्टविरोधीहरूसँग धेरै माध्यम हुन्छन्; तिनीहरूले यस्तो अवसर गुमाउनेथिएनन्, तिनीहरू शक्ति आफ्नो हातमा पारिसकेपछि केही नगरी बस्नेथिएनन्। तिनीहरूका निम्ति, यस्तो अवसर आउनु भनेको ठूलो खुसीको समय हो—साथै तिनीहरूले आफ्नो धुर्त्याइँ चलाउने, र आफ्ना क्षमता पूर्ण रूपमा प्रयोग गर्ने समय हो। कुनै ख्रीष्टविरोधी निर्वाचित भएपछि, उसले पहिला उसका परिवार र आफन्तहरूलाई केलाउँछ, ऊसँग कसको नजिकको नाता छ, ऊसित कसले चेपारो घस्छ, ऊसँग कोचाहिँ निकट छ, र ऊसित को मिल्छ र कसको विचार मिल्छ भनी जाँच्छ। उसले को सोझो छ, कसले उसको पक्ष लिनेछैन, यदि उसले परमेश्वरको घरका नियम र सिद्धान्तविपरीत कुनै काम गरेमा कसले उसका बारेमा रिपोर्ट गर्छ भनेर पनि जाँच्छ—उसले यिनीहरूलाई नै निकालेर फाल्नेछ। तिनीहरूलाई केलाएपछि, ऊ सोच्छ: “मसित मेरा अधिकांश आफन्तहरूको राम्रो सम्बन्ध छ, हाम्रो ठ्याक मिल्छ, हाम्रो विचार मिल्छ; यदि तिनीहरू मेरा अधीनस्थ बने र मैले तिनीहरूलाई प्रयोग गर्न सकेँ भने, के मेरो प्रभाव बढ्नेछैन र? अनि के यसले मण्डलीभित्र मेरो हैसियतलाई स्थिर पार्नेछैन र? ‘आफन्तहरूलाई बेवास्ता नगरी सक्षमहरूलाई अघि बढाउनुपर्छ’ भन्ने भनाइ नै छ। गैरविश्वासी अधिकारीहरू सबैजना सहयोगका लागि आफ्ना नजिकका साथीभाइ र विश्वासपात्रहरूमा भर पर्नुपर्छ—अब म एक अधिकारी भएकाले, मैले पनि त्यही गर्नैपर्छ, यो राम्रो विचार हो। सुरुमा, मैले आफ्ना आफन्तहरूलाई अघि बढाउनैपर्छ। मेरा श्रीमती र छोराछोरीबारे त भन्नै परेन; पहिलो कुरा त म तिनीहरूका लागि केही पदहरू प्रबन्ध गर्नेछु। मेरी श्रीमतीले के गर्नेछे? मण्डलीमा भेटीको हेरचाह गर्नु अत्यावश्यक र महत्त्वपूर्ण भूमिका हो—आर्थिक शक्ति हाम्रै हातमा हुनुपर्छ, तबमात्र मैले स्वतन्त्र रूपमा र सजिलै पैसा खर्च गर्न सक्नेछु। यो पैसा बाहिरी व्यक्तिका हातमा राख्नु हुँदैन; यदि राखियो भने, त्यो आखिर उसैको हुनेछ, अनि खर्चको निगरानी र नियन्त्रण गरिनेछ, जुन सहज हुँदैन। के अहिले हिसाबकिताब सम्हाल्ने व्यक्ति मेरो पक्षमा छ? बाहिरबाट त ऊ ठिकै देखिन्छ, तर भित्र उसले के सोचिरहेको छ भन्ने कसलाई के थाहा। होइन, मैले उसलाई प्रतिस्थापित गरेर मेरी श्रीमतीलाई हिसाबकिताब राख्न दिन कुनै उपाय त सोच्नैपर्छ।” त्यो ख्रीष्टविरोधीले त्यसबारे श्रीमतीसँग छलफल गर्छ, र उसले यसो भन्छे, “यो त गजबको कुरा हो! अब तपाईं मण्डलीको अगुवा हुनुहुन्छ, मण्डलीका भेटीहरूमा अन्तिम निर्णय गर्ने अधिकार तपाईंकै हुन्छ, होइन र? भेटीको रेखदेख कसले गर्छ भनेर निर्णय तपाईँ नै गर्नुहोस्।” ख्रीष्टविरोधीले यसो भन्छ: “तर अहिले, हाल हिसाबकिताब राख्ने व्यक्तिलाई हटाउन कुनै राम्रो उपाय नै छैन।” उसकी श्रीमतीले त्यसबारे एकछिन सोच्छे र भन्छे: “ए त्यसो गर्न त सजिलो हुनेछैन र? भनिदिनुस् न, उसले त्यो काम गरेको धेरै समय भयो। त्यो खराब कुरा हो; खराब कर्जा, अव्यवस्थित खाता, वा नाजायज फाइदा उठाउने घटनाहरू हुन सक्छन्। कसैलाई लामो समयदेखि कुनै कुरा सुम्पिएको छ भने सजिलै गल्तीहरू हुन्छन्; समय बित्दै जाँदा, उसले आफूसँग पुँजी भएको महसुस गर्छ, र अरू मानिसको कुरा सुन्न छोड्छ। अझ बढी त, हिसाबकिताब हेर्ने व्यक्ति निकै बुढो भएको छ, ऊ सजिलै अलमल्ल पर्छ र बारम्बार कुराहरू बिर्सिन्छ। यदि कहिल्यै कुनै चुक भएमा त्यसले घाटा निम्त्याउनेछ। यो यस्तो महत्त्वपूर्ण भूमिका हो—उसलाई प्रतिस्थापित गर्नुपर्छ।” उसलाई प्रतिस्थापित गर्नुपर्छ भनेर कसले भन्नुपर्छ? यस व्यक्तिलाई प्रतिस्थापित गर्ने कुरा मण्डली अगुवाका रूपमा उसको मुखबाट आउनु हुँदैन; ख्रीष्टविरोधीकी श्रीमतीलाई राख्ने सुझाव दिन दाजुभाइ-दिदीबहिनीहरूलाई नै लगाउनुपर्छ। उसकी श्रीमतीले आफ्नो प्रस्ताव राखेपछि, मण्डलीका भेटीहरू उसलाई सुम्पिइन्छ। तर मण्डलीको सिद्धान्तअनुसार, भेटीको सुरक्षा एउटा व्यक्तिले मात्र गर्न मिल्दैन, दुई-तीन जनाले संयुक्त रूपमा गर्नुपर्छ, जसले गर्दा कुनै एउटा व्यक्तिले नियमको कमजोरीको फाइदा उठाउन र परमेश्वरको घरको रुपियाँ-पैसा हिनामिना गर्नबाट जोगिन सहयोग मिल्छ। त्यसैले ख्रीष्टविरोधीले आफ्नो नातेदार लामो समयदेखि परमेश्वरकी विश्वासी हो, उसले धेरै भेटी चढाएकी छे, उसको प्रतिष्ठा राम्रो छ, र उसलाई भरोसा गर्न सकिन्छ भन्दै भेटीको सुरक्षामा आबद्ध हुन सिफारिस गर्छ। सबैले भन्छन्, “यी दुवै तपाईंका आफन्त हुन्। तपाईंको परिवारभन्दा बाहिरको पनि कोही संलग्न हुनैपर्छ।” त्यसैले ख्रीष्टविरोधीले पैसा व्यवस्थापन र नियन्त्रण गर्नमा सहयोग गर्न एउटी अलमल्ल वृद्धा दिदीलाई सिफारिस गर्छ। सुरुमा, ख्रीष्टविरोधीले पैसालाई आफ्नो परिवारको नियन्त्रणमा ल्याउँछ, त्यसपछि विशेष गरी यो पैसा कसरी खर्च गर्ने भन्नेबारे र त्यसका एक-एक प्रक्रियालाई उसका परिवारले नियन्त्रण गर्छ—यी सबै कुराको नियन्त्रण उसैका हातमा हुन्छ।
के ख्रीष्टविरोधीले आर्थिक शक्तिमा एकाधिकार जमाएपछि र सम्पत्ति नियन्त्रण गरेपछि, आफ्नो लक्ष्य हासिल गरेको हुन्छ? गरिसकेको हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा त मण्डलीका विभिन्न कामका सुपरिवेक्षकहरूलाई नियन्त्रण गर्नु, तिनीहरूलाई आफ्नो पक्षमा ल्याउनु, र अरनखटन गर्नु हो। ख्रीष्टविरोधीलाई यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने लाग्छ; यो त प्रत्येक समूहका निम्न तहका मानिसहरूले उसले भनेअनुसार गर्छ कि गर्दैन, र उसको शक्ति सबैभन्दा तल्लो तहसम्म पुग्छ कि पुग्दैन भन्ने कुरासित सम्बन्धित छ। त्यसोभए उसले यो कसरी गर्छ? उसले बृहत् सुधारहरू ल्याउँछ। पहिला, उसले सङ्गति गर्छ, र प्रत्येक समूहको काममा फलानो र ढिस्कानो गल्ती छ भन्छ। उदाहरणका लागि, भिडियो समूहमा केही समस्या देखा परेका हुन्छन्, र ख्रीष्टविरोधीले यसो भन्छ, “यी समस्याहरू सुपरिवेक्षकले निम्त्याएका हुन्। तिनीहरूका काममा यी ठूला चुकहरू हुनु र तिनले ठूला समस्याहरू निम्त्याउनुले सुपरिवेक्षक मानकअनुरूप छैन, र उसलाई प्रतिस्थापित गर्नुपर्छ भन्ने पुष्टि गर्छ; यदि प्रतिस्थापन गरिएन भने, यो काम उचित रूपले सम्पन्न गर्न सकिँदैन। त्यसोभए, उसलाई कसले प्रतिस्थापन गर्नेछ? तिमीहरूको मनमा कोही छ—कुनै उम्मेदवारहरू छन्? समूहमा आफ्नो काम गर्नमा सबैभन्दा उत्कृष्ट को छ?” सबैले यसबारे सोच्छन् र कसैले भन्छ, “एक जना भाइ अत्यन्तै राम्रो छ, तर ऊ उपयुक्त छ कि छैन भनी मलाई थाहा छैन।” ख्रीष्टविरोधीले जबाफ दिन्छ: “यदि तिमीलाई थाहा छैन भने, उसलाई चुन्न मिल्दैन। म तिमीहरूलाई एक जना सिफारिस गर्नेछु। मेरो छोरो—ऊ २५ वर्षको छ र उसले स्पेसल इफेक्ट र भिडियो निर्माण मूल विषय लिएर कम्प्युटर विज्ञानमा स्नातक गरेको छ। ऊ परमेश्वरको नयाँ विश्वासी हो, र त्यति सत्यता पछ्याउँदैन, तर उसका पेसागत सीपहरू तिमीहरू सबैको भन्दा राम्रा छन्। के तिमीहरूमध्ये यस क्षेत्रमा पेसागत रूपमा लागेको कोही छ?” सबैले जबाफ दिन्छन्, “हामी तपाईंले भनेजस्तो पेसेवर हैनौँ, तर हामीले लामो समयदेखि आफ्नो कर्तव्य पूरा गर्दै आएका छौँ र परमेश्वरको घरको यस कामका सिद्धान्तहरू बुझ्छौँ। के उसले बुझ्छ?” “उसले नबुझे पनि फरक पर्दैन; उसले सिक्न सक्छ।” यो कुरा सबैलाई ठिकै लाग्छ र तिनीहरू उसले भनेको मान्छन्, उसले जसलाई प्रवर्धन गरे पनि त्यसमा सबै सहमत हुन्छन्, र यसरी ख्रीष्टविरोधीले अर्को महत्त्वपूर्ण भूमिका नियन्त्रण गर्छ। त्यसपछि ख्रीष्टविरोधीलाई परमेश्वरको घरका लागि सुसमाचारको काम महत्त्वपूर्ण छ—र त्यसको सुपरिवेक्षक आफ्नो पक्षको व्यक्ति होइन भनेर लाग्छ। उसलाई प्रतिस्थापित गर्नैपर्छ। उसलाई कसरी प्रतिस्थापित गर्ने? त्यही माध्यम लगाएर: त्यो हो त्रुटि कोट्याएर। ख्रीष्टविरोधीले भन्छ, “पछिल्लो पटकका सुसमाचार स्विकार्ने सम्भावना भएकालाई के भयो?” कसैले जवाफ दिन्छ, “उसले एक महिना जति विश्वास गरेपछि, केही नकारात्मक दुष्प्रचार सुन्यो र त्यसैलाई पत्यायो, त्यसैले उसले त्यसउप्रान्त विश्वास नै गरेन।” ख्रीष्टविरोधीले सोध्छ, “उसले कसरी त्यतिकै विश्वास गर्न छोड्न सक्यो? के तिमीहरूले दर्शनसम्बन्धी सत्यता प्रस्ट रूपले सङ्गति नगरेकाले हो? कि तिमीहरू अल्छी भएकाले, वा प्रतिकूल वातावरणदेखि डराएकाले र आफू खतरामा पर्न डराएकाले तिमीहरूले प्रस्टसित कामकुराबारे सङ्गति नगरेर हो? कि तिमीहरूले उसका बारेमा तुरुन्तै चासो नराखेकाले हो? कि तिमीहरूले उसलाई उसका कठिनाइहरू समाधान गर्नमा मद्दत गर्न नसकेर हो?” उसले एकपछि अर्को प्रश्नहरूको ओइरो लगाउँछ। अरूले चाहे जसरी जवाफ दिए पनि, वा चाहे जे स्पष्टीकरण दिए पनि, त्यसले केही फरक पार्दैन; ख्रीष्टविरोधीले सुसमाचार समूहको सुपरिवेक्षकमा एकदमै धेरै समस्या छन्, उसका गल्तीहरू अत्यन्तै गम्भीर छन्, ऊ गैरजिम्मेवार छ, र उक्त कामका लागि अयोग्य छ भनेर जिद कस्छ, यसरी उसलाई जबरजस्ती बर्खास्त गर्छ। अनि उसलाई बर्खास्त गरिसकेपछि ख्रीष्टविरोधीले भन्छ, “फलानो दिदीले पहिले सुसमाचार प्रचार गरेकी छे र ऊसँग अनुभव पनि छ—मलाई ऊ ठिक छे जस्तो लाग्छ।” यो सुनेर मानिसहरूले “उनी त तपाईंकी दिदी हुन्! उनी बोल्न त बोल्छिन् होला, तर उनको मानवता असल छैन। उनको अत्यन्तै नराम्रो छवि छ, उनलाई प्रयोग गर्न मिल्दैन” भन्छन्, र दाजुभाइ-दिदीबहिनीहरू असहमत हुन्छन्। ख्रीष्टविरोधीले यसो भन्छ, “यदि तिमीहरू सहमत हुँदैनौ भने सुसमाचार समूह विघटन हुनेछ। तिमीहरू अबउप्रान्त सुसमाचार प्रचारगर्न पाउँदैनौ। तिमीहरू यो कर्तव्य उचित रूपमा पूरा गर्न सक्षम छैनौ। कि त त्यसो गर्नुपऱ्यो किचाहिँ उपयुक्त समूह अगुवा रोज्नुपऱ्यो, अनि मेरी दिदी सहायक समूह अगुवा हुन्छे!” दाजुभाइ-दिदीबहिनीहरूले एक जनालाई चयन गर्छन्, र ख्रीष्टविरोधी उसकी दिदीलाई सहायक समूह अगुवा हुन दिने सर्तमा मन नलागी-नलागी सहमत हुन्छ। यसरी सहमतिमा पुगेपछि, सुसमाचार समूह यथावत् रहन सक्थ्यो।
चाहे जहाँ होस् वा जेसुकै काममा होस्, ख्रीष्टविरोधीहरूलाई आफ्ना विश्वासपात्रहरू, आफ्नो पक्षका मानिसहरूलाई छिराउनुपर्छ। ख्रीष्टविरोधीहरूले अगुवा बनेर हैसियत प्राप्त गरेपछि, तिनीहरूको पहिलो कार्य प्रत्येक समूहका सदस्यहरू आफ्नो जीवन प्रवेशमा कस्तो गरिरहेका छन् भनी जाँच्ने, वा तिनीहरूको काम कस्तो भइरहेको छ, तिनीहरूले आफ्नो काममा सामना गर्ने विभिन्न कठिनाइहरू कसरी समाधान गर्न सकिन्छ, र कुनै नसुल्झेका समस्या वा चुनौतीहरू छन् कि छैनन् भनी पत्ता लगाउने हुँदैन; बरु, ती कर्मचारीहरूको अवस्था के छ, र हरेक समूहको प्रमुख को हो, प्रत्येक टोलीमा तिनीहरूविरुद्ध को छ अनि भविष्यमा तिनीहरूको हैसियतका लागि कुन मानिसहरू खतरा बन्नेछन् भनी हेर्छन्। तिनीहरूलाई यस्ता मामलाहरूबारे अत्यन्तै राम्रो जानकारी हुन्छ, तर तिनीहरू मण्डलीको कामका परिस्थितिबारे कहिल्यै सोध्दैनन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूका स्थिति, तिनीहरूको जीवन प्रवेश, वा मण्डली जीवन कस्तो चलिरहेको छ भन्नेबारे कहिल्यै सोध्दैनन्, र तिनीहरू त्यसको ख्याल त झनै गर्न चाहँदैनन्। तर तिनीहरूलाई प्रत्येक टोलीका प्रभारीहरूबारे राम्ररी थाहा हुन्छ: उनीहरू आफ्ना आसेपासे हुन् कि होइनन्, आफूसित उनीहरूको ठ्याक मिल्छ कि मिल्दैन, र उनीहरू तिनीहरूको शक्ति वा हैसियतका लागि खतरा हुन् कि होइनन्। तिनीहरूलाई यी सबै कुरा थाहा हुन्छ र तिनीहरूले यसको प्रस्टसित बुझेका हुन्छन्। तिनीहरू समूहमा जो व्यक्ति तुलनात्मक रूपमा सोझो छ र जसले सत्य कुरा बोल्छ, ऊसँग सावधान रहनुपर्छ र उसलाई कुनै हैसियत दिनु हुँदैन भन्ने ठान्छन्; तैपनि तिनीहरू चिप्लो घस्नमा निपुण, चापलुसी गर्न जान्ने, अरू मानिसको चित्त बुझाउनका लागि मिठो बोल्ने, र उसको इसारामा कामकुरा गर्न सक्नेहरूलाई निगाह देखाउँछन्। ख्रीष्टविरोधीले आफूलाई तिनीहरूप्रति ढल्काउँछ र तिनीहरूलाई महत्त्वपूर्ण पदमा बढुवा गर्ने योजना बनाउँछ। उसले तिनीहरूलाई आफू जहाँ गयो त्यहाँ लाने, तिनीहरूले अझ बढी प्रवचनहरू सुनेको सुनिश्चित गर्ने र तिनीहरूलाई आफ्ना विश्वासपात्र बनाउनेसमेत सोच्छ। मण्डलीका सत्यता पछ्याउनेहरू, इन्साफको बोध भएकाहरू, र सत्य कुरा बोल्न आँट गर्नेहरू, परमेश्वरलाई एकनासले उच्च पार्ने र उहाँको गवाही दिनेहरू, दुष्ट शक्ति, हैसियत वा अख्तियारअघि नझुक्नेहरू—ऊ तिनीहरूसँग सावधान रहन्छ, तिनीहरूलाई घृणा गर्छ, विभेद गर्छ, र हृदयबाट अलग गर्छ। तर, ऊ आफूलाई चिप्लो घस्नेहरूलाई, विशेष गरी उसको परिवारका सदस्यहरू, टाढाका आफन्तहरू—उसका वरिपरि रहन सक्नेहरूलाई आफ्नै मानिस ठान्छ र परिवारझैँ व्यवहार गर्छ। ख्रीष्टविरोधीको अधीनमा रहेका उसका वरिपरि रहन सक्ने, उसको इसारामा चल्ने र कामकुरा गर्दा निर्देशन लिने, साथै उसका कामनाअनुसार कामकुरा गर्नेहरू—यी मानिसहरूमा विवेक वा समझ, मानवता, र अलिकति पनि परमेश्वरको डर मान्ने हृदय हुँदैन। तिनीहरू अविश्वासीहरूका झुन्ड हुन्। तिनीहरूले जे खराब कामहरू गरे पनि, ख्रीष्टविरोधीले तिनीहरूलाई संवर्धन गर्छ, सुरक्षा दिन्छ, र आफ्नै परिवार ठान्छ, तिनीहरूलाई आफ्नो अधीनमा ल्याउँछ—यसरी ख्रीष्टविरोधीको अधिकारक्षेत्र निर्माण हुन्छ।
अनि ख्रीष्टविरोधीको व्यक्तिगत अधिकारक्षेत्र को-को मिलेर बनेको हुन्छ? सर्वप्रथम, ख्रीष्टविरोधी नै प्रमुख, अगुवा, पूर्ण अख्तियार बोकेको राजा हुन्छ जसको बोलीलाई यो अधिकारक्षेत्रमा प्रश्न गर्न मिल्दैन। ऊसँग रगतको नाता भएका मानिसहरू, उसको परिवार, उसका विश्वासपात्र, साथीसँगी, कट्टर समर्थकहरू, उसलाई खुसीसाथ पछ्याउने र उसका आदेश मान्नेहरू, र अझै अन्य मानिसहरू जो खुसीसाथ ऊसँग सङ्गत गर्छन् र उसका दुष्कर्ममा जोडिन्छन्, परमेश्वरको घरका प्रबन्ध र प्रशासनिक आदेशहरू चाहे जसरी नियमन हुने भए पनि, परमेश्वरका वचन र सत्यता सिद्धान्तहरूले जे भने पनि, उसैका लागि खुसीसाथ काम गर्ने, जोखिम मोल्ने, र उसका लागि परिश्रम गर्नेहरू—यिनीहरू ख्रीष्टविरोधीको अधिकारक्षेत्रका सदस्यहरू हुन्। समग्रमा, तिनीहरू ख्रीष्टविरोधीका कट्टर अनुयायी हुन्। अनि ख्रीष्टविरोधीको अधिकारक्षेत्रका यी सबै सदस्यहरूले के गर्छन् त? के तिनीहरू आफ्नो कर्तव्य र प्रत्येक कार्य परमेश्वरको घरका प्रावधान र सिद्धान्तअनुसार पूरा गर्छन् त? के तिनीहरू परमेश्वरले माग गर्नुभएअनुसार गर्ने अनि उहाँका वचनहरू र सत्यतालाई सबैभन्दा उच्च सिद्धान्तका रूपमा लिने गर्छन्? (गर्दैनन्।) मण्डलीमा यस्ता मानिसहरू हुँदा, के सत्यता र परमेश्वरका वचनहरू अवरोधविना अघि बढ्न सक्छन्? अघि बढ्न नसक्ने मात्र होइन, ख्रीष्टविरोधी झुन्डले बाधा पुऱ्याउने, बहकाउने, र क्षति गर्ने भएकाले परमेश्वरका वचनहरू, उहाँले व्यक्त गर्ने सत्यता, अनि उहाँले मानिसहरूबाट गर्ने मागहरूलाई मण्डलीमा साकार गर्न सकिँदैन; तिनलाई कार्यान्वयन गर्न सकिँदैन। ख्रीष्टविरोधीको अधिकारक्षेत्र अस्तित्वमा रहँदा, परमेश्वरका चुनिएका जनहरूसँग सामान्य मण्डली जीवन हुन सक्दैन, न त तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य पूरा गर्न नै सक्छन्, सत्यता सिद्धान्तअनुरूप कामकुरा गर्न त झनै सक्दैनन्; मण्डलीमा प्रत्येक कार्य ख्रीष्टविरोधीद्वारा नियन्त्रित हुन्छ। जहाँ यस्तो हल्का मात्रामा हुन्छ, त्यहाँ ख्रीष्टविरोधीको बाधाले भद्रगोल मच्चाउँछ, मानिसहरू चिन्तित स्थितिमा हुन्छन्, काममा कुनै प्रगति हुँदैन, अनि मानिसहरूलाई आफ्नो काम कसरी राम्रोसँग गर्ने वा आफ्नो कर्तव्य सही तरिकाले पूरा गर्ने भनी थाहा हुँदैन; सबथोक लथालिङ्ग हुन्छ। गम्भीर स्थितिमा, सारा काम ठप्प हुन्छ, र कसैले कुनै चासो देखाउँदैन वा वास्ता गर्दैन। थोरै मानिसले समस्या छ भनेर बताउन सके पनि, यो समस्या ख्रीष्टविरोधीले निम्त्याएको हो भनी खुट्ट्याउन सक्दैनन्; तिनीहरू पनि, ख्रीष्टविरोधीको बाधा र भट्काउमा पर्छन्, अनि को सही वा गलत हो भनी जान्दैनन्; कतिपयले निश्चित समस्याहरू भेट्टाउन सक्ने भए पनि र बोल्न वा कामको कमान लिन चाहे पनि, तिनीहरू उक्त काम वहन गर्न सक्षम हुँदैनन्। ख्रीष्टविरोधीको खुलासा गर्न कोसिस गर्ने, वा इन्साफको बोध हुने र उक्त कामको जिम्मा लिन कोसिस गर्ने जोकोहीलाई उसले दबाउँछ। उसले तिनीहरूलाई कुन हदसम्म दबाउँछ? यदि तैँले आवाज उठाउने आँट गरिनस्, दयाको भीख मागिस्, उसका बारेमा जानकारी दिने आँट गरिनस्, उसका बारेमा माथिल्ला तहलाई रिपोर्ट गर्ने, उसको कामका समस्याहरू औँल्याउने, वा सत्यतामा सङ्गति गर्ने, वा “परमेश्वर” शब्द उच्चारण गर्ने आँट गरिनस् भने, ख्रीष्टविरोधीले तँलाई माफी दिनेछ। यदि तैँले सिद्धान्त कायम राखेर उसको खुलासा गरिस् भने, उसले तँलाई सास्ती दिन सम्भव भएजति सबथोक गर्नेछ, उसले तँलाई निन्दा गर्न र दबाउन हर माध्यम प्रयोग गर्नेछ, अनि तँलाई नकार्न र दबाउन आफ्नो अधिकारक्षेत्रका सदस्यहरू, साथै अरू जता मल्खु उतै ढल्कु गर्ने मानिसहरू, र आँट नभएका, कायर, साथै ख्रीष्टविरोधीको शक्तिदेखि डराउनेहरूलाई समेत उक्साउनेछ। अन्ततः, सानो आस्था र कद हुने कतिपयलाई ख्रीष्टविरोधीले घुँडा टेकाउनेछ। अनि यो कुराले ख्रीष्टविरोधी खुसी हुन्छ; उसले आफ्नो उद्देश्य हासिल गरेको हुन्छ। उसले शक्ति प्राप्त गरेपछि, उसले यस शक्तिमा एकाधिकार जमाउन र आफ्नो हैसियत सुरक्षित गर्न, मण्डलीका सबै महत्त्वपूर्ण कार्य आफ्नो आफन्तजन, र आफूसँग राम्रो सम्बन्ध भएकाहरूलाई दिने मात्र नभई, त्यो सँगसँगै ऊसँग कुनै सम्बन्ध नभएका अरू मानिसलाई भर्ती गरेर उसका लागि सेवा प्रदान गर्न र मरिन्जेल काम गर्न लगाउँछ, जसको उद्देश्य भविष्यमा आफ्नो हैसियत कायम राख्नु, सधैँ आफ्नो हातमा शक्ति राख्नु हो। उसलाई मनमा के लाग्छ भने आफ्नो अधिकारक्षेत्रमा जति धेरै मानिस हुन्छन्, आफ्नो बल त्यति नै ठूलो हुन्छ, र त्यसकारण आफ्नो शक्ति त्यति नै ठूलो हुन्छ। अनि उसको शक्ति जति ठूलो हुन्छ, उसको प्रतिरोध गर्न र नाइँ भन्न सक्नेहरू, अनि उसलाई खुलासा गर्ने आँट गर्नेहरू त्यति नै बढी डराउँछन्। यस्ता मानिसहरूको सङ्ख्या झन्-झन् कम हुँदै पनि जान्छ। मानिसहरू ऊदेखि जति बढी डराउँछन्, परमेश्वरको घर र परमेश्वरसित जोरी खोज्नलाई ऊसित त्यति बढी पुँजी हुन्छ; ऊ त्यसउप्रान्त परमेश्वरसँग डराउँदैन, र परमेश्वरको घरद्वारा निराकरण गरिनदेखि डराउँदैन। ख्रीष्टविरोधीको शक्तिको कामना, उसले त्यसद्वारा के गर्छ भन्ने कुरा, साथै उसका विभिन्न व्यवहारका आधारमा मूल्याङ्कन गर्दा, मूलतः, ख्रीष्टविरोधी भनेको परमेश्वरको शत्रु हो; ऊ शैतान र दियाबलस हो।
ख्रीष्टविरोधीले आफ्नै अधिकारक्षेत्र स्थापित गरेपछि के गर्छ? के ऊ मण्डलीको सुसमाचारको काम कस्तो भइरहेको छ भन्नेबारे अत्यन्तै चिन्तित हुन्छ? के ऊ त्यसबारे चासो लिन्छ, वा उसले त्यसबारे सोधपुछ गर्छ? उसले केवल निरीक्षण भ्रमण गर्ने, झारा टार्ने, लापर्बाही तरिकाले थोरै शब्दहरूले काम चलाउनेभन्दा बढी केही गर्दैन। उसले निरीक्षण भ्रमण गर्नुको उद्देश्य के हो? कुन उद्देश्यले ऊ दाजुभाइ-दिदीबहिनीहरूको हालखबर के छ भनी हेर्न यी भ्रमणहरू गर्छ? के यो तिनीहरूको जीवन प्रवेश कस्तो भइरहेको छ भन्नेबारे उसलाई वास्ता भएर हो? होइन। उसले आफ्नो प्रभाव क्षेत्रभित्रको कसैले उसको प्रतिरोध गर्ने अभिप्राय राखेको छ कि छैन, उसलाई तुच्छ नजरले हेर्ने, वा उसलाई “नाइँ” भन्न आँट गर्ने, वा ऊसामु नझुक्न र उसले भनेअनुसार नगर्न आँट गर्ने कोही छ कि छैन भनी हेर्न खोजिरहेको हुन्छ; उसले आफ्नै आँखाले हेर्नुपर्छ, ऊ स्वयम् उक्त परिस्थितिसित परिचित हुनुपर्छ। त्यो एउटा पक्ष हो। अझ के भए, ख्रीष्टविरोधीले आफ्नो अधिकारक्षेत्र स्थापित गरेपछि, आफूलाई वैध राजा बनाउँछ—र यदि तैँले ऊ तानासाह, सहरको हुल्याहा, लुटेराहरूको अगुवा हो भनिस् भने, उसले आफूसित हैसियत र शक्ति हुन्जेल वास्तै गर्दैन। उसको प्रभाव क्षेत्रभित्र, उसको अधिकारक्षेत्रभित्र, सारा शक्ति उसैका हातमा हुन्छ, उसकै हैकम चल्छ। त्यो सँगसँगै, ऊ आफ्नो गुटका मानिसहरूले गर्ने आराधना, आदर, र सम्मान, साथै तिनीहरूको चिप्लो घसाइ, चापलुसी, र श्रेष्ठताको भावना र उसलाई दिने विशेष व्यवहारहरूको समेत आनन्द उठाउँछ। के तँलाई ख्रीष्टविरोधीले उच्च स्थानबाट बोल्नका लागि मात्र शक्तिमा एकाधिकार जमाउँछ भन्ने लाग्छ? के यो त्यस्तो कामना पूरा गर्नका लागि मात्र हो? होइन। ऊ योभन्दा अझ ठोस् कुरा चाहन्छ: उसले आफ्नो अधिकारक्षेत्रमा हैसियत र शक्तिको आनन्द उठाउँदा साथमा आउने सबै व्यवहार। ख्रीष्टविरोधीले आफ्नो अधिकारक्षेत्र स्थापित गरेपछि, उसले आफ्ना कट्टर अनुयायीहरू पाएपछि, उसले आफ्ना दिनहरू प्राचीन सम्राटहरूले भन्दा आराममा बिताउँछ। उसले केही पनि गर्नु पर्दैन: एकै शब्दमा उसको चाहना पूरा गरिन्छ; उसलाई चाहिने कुराहरू एकै शब्दमा अगाडी लाइन्छन्। उदाहरणका लागि, ख्रीष्टविरोधीले भन्छ, “आज मौसम राम्रो छ; मलाई किन कुखुराको मासु यति धेरै खाऊँखाऊँ लागेको?” मध्याह्नअघि नै, कसैले कुखुराको झोल पकाइसकेको हुन्छ। मध्याह्नको खाना खाने बेलामा, त्यो ख्रीष्टविरोधीले यसो भन्छ, “हामी परमेश्वरका विश्वासीहरूले रक्सी त पिउन मिल्दैन, तर हल्का पेयपदार्थ लिँदा कसो होला?” आफ्ना अगुवाका कुरा सुनेर, ख्रीष्टविरोधीका अनुयायीहरूले पेयपदार्थ किन्न कसैलाई तुरुन्तै पठाउँछन्। के उसले आफूले चाहेको जे पनि पाउँदैन र? उसले हात लम्काउनु, मुख खोल्नु मात्र पर्छ, र उसकहाँ समानहरू ल्याइनेछ र उसका सबै चाहना पूरा हुनेछन्। उसका दिनहरू एकदमै आरामसित बित्छन्। त्यसपछि ख्रीष्टविरोधीले भन्छ, “आज जाडो छ। पोहोरको स्वेटर किराले प्वाल पारेको थियो, मैले त्यो लगाउनु उचित हुँदैन—राम्रो देखिँदैन। खोइ कुन्नि, यो सालको स्वेटर कहाँ छ।” कसैले उसलाई कैयौँ स्वेटर किनिदिने प्रस्ताव गर्दा, उसले त्यो यतिकै किनेर हुँदैन, उसले सन्तहरूको मर्यादा पालन गर्नैपर्छ, र पैसा सिद्धान्तअनुसार खर्च गरिनुपर्छ भन्छ। यसो भनेलगत्तै, कसैले उसलाई कैयौँ स्वेटर किनिदिन्छ। ती आइपुगेपछि, ख्रीष्टविरोधीलाई के लाग्छ भने यदि उसले केही पनि भनेन भने, यो सब जानाजानी गरेको देखिनेछ, त्यसैले उसले भन्छ: “यी कसले किनेको? के यो सिद्धान्तहरूको उल्लङ्घन होइन? के यसले मलाई गलत देखाउँदैन? ती कसले किनेको? म उसलाई पैसा दिन्छु।” उसले आफ्नी पत्नीलाई सुरुमा मण्डलीको भेटीबाट केही पैसा निकाल्न अह्राउँछ, र आफूसँग पैसा भएपछि त्यो पैसा तिर्नेछु भन्छ। वास्तवमा, उसले यतिकै यसो भन्छ; त्यो फिर्ता गर्ने उसको कुनै योजना हुँदै हुँदैन। ख्रीष्टविरोधीले साँच्चै आफूले चाहेको जे पनि पाउँछ, सबथोक तयारी अवस्थामा भोग गर्छ। यी कुराहरूको आनन्द उठाएपछि के उसलाई हृदयमा कुनै आत्मग्लानि महसुस हुन्छ? के उसलाई आफ्नो विवेकले दोष दिएको महसुस हुन्छ? (हुँदैन।) उसले कसरी दोषी महसुस गर्न सकोस् त? उसले पछ्याएको नै ठ्याक्कै यही हो, ऊ दिनरात यसैका लागि तड्पेको हो—उसले यसलाई कसरी अस्वीकार गर्न सकोस् त? यो फाइदालाई खेर फाल्न मिल्दैन, यदि उसले त्यसको फाइदा लिएन भने त्यो खेर जानेछ र त्यो व्यर्थ हुनेछ; त्यसको फाइदा लिइसकेपछि पनि, उसले केही कर्णप्रिय कुरा भन्नेछ, ताकि पैसा खर्च गर्ने व्यक्तिले स्वेच्छाले सो गरोस्, र त्यसबारे केही पनि सोच्ने आँट नगरोस्।
ख्रीष्टविरोधीहरू आफ्नो अधिकारक्षेत्रमा, आफ्ना अधीनस्थहरूले प्रदान गर्ने विभिन्न विशेष व्यवहार र सेवाहरू प्राप्त गर्ने मात्र नभई आफू अधिकारक्षेत्रमा भएका मानिसहरूलाई तिनीहरूलाई पूर्ण रूपमा पालन गर्न प्रशिक्षण पनि दिन्छन्। उदाहरणका लागि, यदि कुनै ख्रीष्टविरोधीले सबैलाई ५ बजे उठ्नू भनेमा, सबै जना ५ बजेअघि उठ्नैपर्छ। ढिलो उठ्नेहरू काटछाँटमा पर्नेछन्—तिनीहरूले ख्रीष्टविरोधीको हाउभाउ हेर्नुपर्छ। खाना खाने बेला, ऊ नबसेसम्म कोही पनि टेबलमा बस्ने आँट गर्दैन, र उसले चम्चा चलाउन सुरु गर्नुभन्दा पहिले कसैले चलाउने आँट गर्दैन। उसले जे गर्ने निर्णय गर्छ, त्यो गरिनैपर्छ; उसले कुनै काम जसरी गर्ने निर्णय गर्छ, अरूले पालना गर्नैपर्छ, र अवज्ञा सह्य हुँदैन। उसको अधिकारक्षेत्रमा, ऊ नै अगुवा, राजा हुन्छ, साथै उसको निर्णय नै अन्तिम हुन्छ—जसले पालना गर्दैन उसलाई सास्ती दिइनेछ। उसका अधीनस्थहरूलाई उसका आदेशहरू विनाप्रश्न पालना गर्न, उसको विरुद्धमा अलिकति पनि नजान, अनि उसले जे आज्ञा गर्छ त्यो न्यायसङ्गत र सार्थक छ—यो तिनीहरूको कर्तव्य र दायित्व हो—भनी विश्वास गर्न प्रशिक्षित गरिन्छ। परमेश्वरमा विश्वास गर्ने र आफ्ना कर्तव्यहरू पूरा गर्ने नाममा, ख्रीष्टविरोधीको अधीनमा रहेकाहरूले विनाप्रश्न उसको आज्ञा मान्छन्, उसलाई आफ्नो हत्केलामा राख्छन् अनि आफ्नो राजा र मालिकका रूपमा व्यवहार गर्छन्। यदि कसैले ख्रीष्टविरोधीबारे कुनै विचार वा राय बोक्छ, यदि उसको दृष्टिकोण ख्रीष्टविरोधीको भन्दा फरक छ भने, ख्रीष्टविरोधीले उसलाई खण्डन गर्न, होच्याउन, चिरफार गर्न, आलोचना गर्न, निन्दा गर्न, र दबाउन कुनै कसर बाँकी छोड्नेछैन, उक्त व्यक्तिले पूर्ण रूपमा उसको पालन गरेपछि मात्र उसले विश्राम लिन्छ। ख्रीष्टविरोधी आफ्नो अधिकारक्षेत्रमा मौलाउँछ, जहाँ उसलाई अद्भुत रूपमा आराम हुन्छ। दाजुभाइ-दिदीबहिनीहरूले चढाएको सबै पैसा ख्रीष्टविरोधीकहाँ जान्छ, साथै ऊसँग नभएको कुनै पनि कुरा तिनीहरूले जुटाइदिनैपर्छ। दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीलाई सन्तुष्ट र खुसी पार्न उसका खाँचोहरू तत्काल पूरा गर्नैपर्छ। ख्रीष्टविरोधीले यी मानिसहरूलाई लगभग दास नै बन्न प्रशिक्षित गरेको हुन्छ। उसले सबैभन्दा बारम्बार गर्ने प्रचार उसले कति कष्ट भोग्यो र ऊ कति बफादार थियो भन्ने विषय वरिपरि घुम्छ, त्यसमा ऊ परमेश्वरलाई खुसी बनाउन र सत्यता सिद्धान्तअनुरूप हुन मानिसहरूले उसलाई कसरी बुझ्नुपर्छ र उसलाई पालन गर्नुपर्छ भनेर जोड दिन्छ। ख्रीष्टविरोधीले उच्च सुनिने प्रवचनहरू प्रचार गर्छ, नाराहरू भट्ट्याउँछ, अनि मानव धारणा र कल्पनासित पूर्ण रूपले मिल्ने धर्मसिद्धान्तहरू प्रस्तुत गर्छ, अरूको आराधना र प्रशंसा कमाउँछ। त्यो सँगसँगै, उसले आफूविरुद्ध कुनै पनि सन्देह, शङ्का, वा सुझबुझ उत्पन्न हुनबाट प्रभावकारी रूपमा रोक्छ, साथै उसलाई खुलासा गर्ने वा खुट्ट्याउने सोच र विश्वासघात गर्ने सोच पैदा गर्नबाट मानिसहरूलाई रोक्छ। यसो गर्दा उसको शक्ति सदाका लागि रहने, त्यो मण्डलीमा कुनै परिवर्तनविना अटल रहने सुनिश्चित हुन्छ। के ख्रीष्टविरोधीले निकै अगाडिसम्म सोचिरहेको हुँदैन र? त्यसो हो भने, यी सबै कार्यको उद्देश्य के हो? एउटै शब्द—शक्ति। चाहे त्यो उसको अधिकारक्षेत्र भित्रकाहरू होऊन् वा बाहिरका, चाहे त्यो उसका कट्टर अनुयायीहरू होऊन् वा उसलाई खुट्ट्याउने दाजुभाइ-दिदीबहिनीहरू, ख्रीष्टविरोधीलाई सबैभन्दा बढी केको डर र चिन्ता हुन्छ? उनीहरूलाई सबैभन्दा बढी यही कुराको डर हुन्छ: यी व्यक्तिहरूले सत्यता बुझ्नेछन्, परमेश्वरसामु आउनेछन्, उसलाई खुट्ट्याउनेछन् र इन्कार गर्नेछन्। सबैले उसलाई इन्कार गरेपछि, ऊ सेनाविनाको कमाण्डर बन्छ, उसले आफ्नो हैसियत र प्रतिष्ठा गुमाउँछ, र उसको शक्ति खोसिन्छ। त्यसकारण, उसले के विश्वास गर्छ भने आफ्नो अधिकारक्षेत्रलाई सुरक्षित गरेर, आफ्ना कट्टर अनुयायीहरूलाई वशमा राखेर, उसलाई पछ्याउनेहरूलाई पूर्ण रूपमा भ्रममा पारेर र नियन्त्रण गरेर, तिनीहरूलाई दृढ रूपमा आफ्नो पकडमा राखेर मात्र आफ्नो शक्तिलाई अटल बनाउन सकिन्छ। यसरी, ऊ आफूले प्राप्त गर्न चाहेको विशेष व्यवहारलाई, आफ्नो शक्तिले आफूलाई दिने विशेष व्यवहारलाई बलियोसित पक्रेर राख्छ। कतिपय ख्रीष्टविरोधी आचरण र व्यवहारमा चतुर हुन्छन्, र मानिसहरूको मन जित्न माहिर हुन्छन्। तिनीहरूले सम्हाल्ने अधिकारक्षेत्रभित्र तिनीहरूका लागि काम गरिदिने, तिनीहरूका भौतिक आवश्यकताहरू पूर्ति गर्ने, र तिनीहरूका लागि सूचना सङ्कलन गर्ने वा परिस्थितिहरू मिलाइदिने विभिन्न प्रकारका व्यक्तिहरू हुन्छन्। ख्रीष्टविरोधीको प्रभावको क्षेत्रभित्र, यदि असल क्षमता भएको, सत्यता पछ्याउने, र सत्यता सिद्धान्तहरू कायम राख्ने कोही पनि छैन भने, उक्त ख्रीष्टविरोधीले मण्डलीमा लामो समयसम्म नियन्त्रण गरिराख्न सक्छ, अनि यस मण्डलीका मानिसहरू पूर्ण रूपले क्षय हुनेछन् र सपार्नै नसक्ने गरी बहकिनेछन्। कामको अनुसन्धान गर्न माथिले कसैलाई पठाए पनि, त्यो व्यर्थ हुनेछ। ख्रीष्टविरोधीको नियन्त्रणमा मण्डली अभेद्य र छिर्न नसकिने बलियो गढ बनेको हुन्छ। ख्रीष्टविरोधीलाई चाहे जसले खुलासा र चिरफार गरे पनि, वा चाहे जसले सत्यता सिद्धान्तबारे सङ्गति गरे पनि, बहकाउमा परेकाहरूले उनीहरूका कुरा सुन्नेछैनन्। बरु, तिनीहरू सत्यताको विरोध गर्नेछन्, र ख्रीष्टविरोधीको खुलासा र चिरफारलाई भर्त्सना गर्नेछन्, अनि ख्रीष्टविरोधीकै पक्षमा उभिनेछन्।
ख्रीष्टविरोधी, उसका कट्टर अनुयायीहरू, र उसको अधिकारक्षेत्रका सदस्यहरू सधैँ परमेश्वरको घरका मामलाहरूबारे छलफल र जाँचबुझ गरिरहेका हुन्छन्: कसलाई कहाँ सारिएको छ? कसलाई बर्खास्त गरिएको छ? फलानो-फलानो कुरा खुलासा गर्नेबारे माथिले अर्को सङ्गति र प्रवचन जारी गरेका छन्—के हामीले त्यो सार्वजनिक गर्नुपर्छ? हामीले त्यसलाई कसरी सार्वजनिक गर्ने? त्यो पहिला कसलाई बताउने, र त्यसपछि कसलाई बताउने? के हामीले हस्तक्षेप गरेर केही संशोधन वा सम्पादन गर्नुपर्छ? हालै बाह्य मानिसहरूसँग को सम्पर्कमा रहेको छ? के कसैलाई माथिले तल पठाएका छन्? के ती मानिसहरूमध्ये कसैको हाम्रा तल्लो तहका मानिसहरूसँग सम्पर्क रहेको छ? तिनीहरू बारम्बार यस्ता कुराहरूबारे सँगै छलफल गर्छन्; तिनीहरू माथिका सबै कार्य प्रबन्धहरूको जबाफ दिन प्रायजसो मिलेमतो र षड्यन्त्र गर्छन्, जबाफी उपाय, युक्ति, र माध्यमहरूबारे छलफल गर्छन्; अनि तिनीहरू आफूभन्दा मुनिका दाजुभाइ-दिदीबहिनीहरूका परिस्थितिबारे बारम्बार छलफल र जाँच गर्छन्। ख्रीष्टविरोधी र उसको अधिकारक्षेत्रका सदस्यहरू सारा दिन नङ-मासु भएर षड्यन्त्र गर्दै बिताउँछन्। सँगै हुँदा, तिनीहरूले सत्यता, वा परमेश्वरका अभिप्रायहरू सङ्गति गर्दैनन्, झन् मण्डलीको काम, वा आफ्नो कर्तव्य कसरी पूरा गर्ने, मण्डलीको कामलाई कसरी अघि बढाउने, वा परमेश्वरका वचनको वास्तविकतामा दाजुभाइ-दिदीबहिनीहरूको प्रवेशलाई मार्गदर्शन कसरी गर्ने, वा बाह्य परिस्थितिहरू कसरी सम्हाल्ने भन्नेबारे सङ्गति गर्नु त परै जाओस्। तिनीहरू यी उचित कामकुराबारे कहिल्यै सङ्गति गर्दैनन्, बरु कोचाहिँ कोसँग नजिकिँदै छ, सँगै हुँदा यी मानिसहरू कसका बारेमा कुरा गर्छन्, कतै तिनीहरू पिठ्यूँपछाडि आफ्ना अगुवाहरूबारे कुरा काटिरहेका त छैनन् भनेर जाँच्छन्; अनि तिनीहरू कसको परिवार धनी छ, र तिनीहरूले कुनै भेटी चढाएका छन् कि छैनन् भन्नेतिर ध्यान दिन्छन्। तिनीहरू गोप्य रूपमा यिनै कुराहरूबारे छलफल गरिरहन्छन्, तिनीहरू सधैँ दाजुभाइ-दिदीबहिनीहरू र माथिका कार्य प्रबन्धहरूबारे आलोचना गरिरहेका हुन्छन्—तिनीहरू सधैँ दाजुभाइ-दिदीबहिनीहरू र माथिलाई युक्तिपूर्वक व्यवहार गर्न आफूले सक्ने सबथोक गरिरहेका हुन्छन्। तिनीहरूले गोप्य रूपमा गर्ने कुरा लज्जास्पद हुन्छ: यदि त्यो मण्डलीका लागि हानिकारक नभएमा, दाजुभाइ-दिदीबहिनीहरूका लागि हानिकारक हुन्छ; तिनीहरू सधैँ षडयन्त्र गरिरहेका वा असल क्षमता भएका र सत्यता पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूलाई नाटीकुटी गरिरहेका हुन्छन्, तिनीहरू सधैँ असल मानिसहरूलाई ढाल्न वा तिनीहरूलाई बदनाम गर्न खोजिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरूले जब पनि कुनै कुरा गर्छन्, तिनीहरू जहिले पनि त्यसबारे आफ्नो झुन्डका मानिसहरूसँग छलफल गर्छन्—यसमा षड्यन्त्र र युक्तिहरू पर्छन्। ख्रीष्टविरोधीको गिरोहले भनेको कुनै कुराले विश्लेषण थेग्न सक्दैन; ध्यानपूर्वक विश्लेषण गरिएमा, त्यो सबै कुरामा समस्याहरू भेटिन्छन्। अधिकारक्षेत्र बाहिरका मानिसहरूसित तिनीहरू कुरा लुकाउँछन् र सावधान रहन्छन्; ख्रीष्टविरोधीको अधिकारक्षेत्रमा, तिनीहरूका लागि केही पनि भन्न बन्देज छैन: तिनीहरू दाजुभाइ-दिदीबहिनीहरू, परमेश्वरको घरको काम, माथिल्लो तहका अगुवाहरू—परमेश्वरको समेत आलोचना गर्छन्। जे पनि बोल्न छुट हुन्छ। तर अधिकारक्षेत्र बाहिरको कोही उपस्थित हुँदा, तिनीहरू आफ्ना कुरा लुकाउँछन्, अड्किँदै बोल्छन्, आधा कुरा लुकाउँछन्, बाहिरका मानिसहरूले बुझ्न नसक्ने गोप्य भाषामा समेत बोल्छन्। तिनीहरूको निश्चित अर्थ भएको नजर हुन्छ, कुटिल मुस्कानको कुनै अर्थ हुन्छ, र घुर्नु र खोक्नुको समेत केही अर्थ हुन्छ—यी सबै तिनीहरूका गोप्य सङ्केतहरू हुन्। तिनीहरू कहिलेकाहीँ टाउको कन्याउँछन्, कहिलेकाहीँ आफ्ना कान तान्छन्, कहिलेकाहीँ खुट्टा बजार्छन्, कहिलेकाहीँ दुवै हात रगड्छन्; ती सबैको केही अर्थ हुन्छ। यी नै ख्रीष्टविरोधीको गिरोहका आम प्रकटीकरणहरू, तिनीहरूले मण्डलीमा शक्तिमा एकाधिकार जमाइसकेपछि प्रकट गर्ने विभिन्न व्यवहार हुन्। तिनीहरूका विभिन्न व्यवहार र प्रकटीकरणलाई मूल्याङ्कन गर्दा, र तिनीहरूलाई तिनीहरूको मानवताको दृष्टिकोणबाट चिरफार गर्दा, यी मानिसहरू के हुन्? के तिनीहरू छलीपन र दुष्टताका अनुयायी होइनन् र? (हुन्।) अनि के यी मानिसहरूमा कुनै इन्साफको बोध हुन्छ? के तिनीहरूमा कुनै विवेक वा नैतिकता हुन्छ? के तिनीहरू इमानदार हुन्छन्? हुँदैनन्। यी मानिसहरूलाई लाज हुँदैन। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले चढाएको कुरा पचाउँछन्, र त्यो आफूले पाउनुपर्ने हो ठान्छन्; त्यो सँगसँगै, तिनीहरू मनपरी गर्छन् र परमेश्वरको घरमा उद्दण्ड मच्चाउँछन्, दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याउँछन्—अनि तिनीहरू अस्थायी रूपमा मात्र मण्डलीको भरमा बाँच्ने नभई हरदिन, पुस्तौँपुस्ता त्यसै गर्छन्। के यिनीहरू मान्छेको मासु खाने र रगत पिउने दियाबलस होइनन् र? तिनीहरूमा लाज नै छैन! सँगै हुँदा, ख्रीष्टविरोधी र त्यसको गिरोह सधैँ “राष्ट्रिय मामलाहरू” छलफल गरिरहेका हुन्छन्। तर के गोप्य रूपमा हुने तिनीहरूको छलफल लज्जास्पद हुँदैन र? (हुन्छ।) तिनीहरू केका बारेमा कुरा गर्छन्? के तिनीहरू मण्डलीको कामबारे सङ्गति गर्छन्? के तिनीहरूलाई मण्डलीको कामको बोझ महसुस हुन्छ? कतिपय ठाउँमा, मण्डली सुपरिवेक्षणमा हुन्छ अनि दाजुभाइ-दिदीबहिनीहरूलाई ठूलो रातो अजिङ्गरले, सरकारले पिछा गरिरहेको र निगरानी गरिरहेको हुन्छ, यहाँसम्म कि धेरैजसो दाजुभाइ-दिदीबहिनी त सरकारको नियन्त्रणमा पर्छन् अनि गिरफ्तारी र कैदको खतरा सामना गर्छन्। के तिनीहरू वास्ता गर्छन्? के तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्ने, उनीहरूलाई जेलको सतावट र कष्ट भोगाइबाट जोगिन मद्दत गर्न कुनै उपाय निकाल्ने प्रयास गर्छन्? गोप्य रूपमा, के तिनीहरू मण्डलीलाई क्षति हुन नदिन मण्डलीका पुस्तक, सरसम्पत्ति आदि कसरी संरक्षण गर्ने भनेर छलफल गर्छन्? यदि मण्डलीमा कुनै यहूदा देखा परेमा, के तिनीहरूले तुरुन्तै प्रतिक्रिया जनाउने, प्रभावित दाजुभाइ-दिदीबहिनीहरूलाई सुरक्षा दिन उनीहरूका लागि सुरक्षित स्थानको प्रबन्ध गर्ने गर्छन्? के तिनीहरूले यस्ता कामकुरा गर्नेथिए त? (गर्नेथिएनन्।) मानिसहरूसित शक्ति हुँदा, तिनीहरू असल कामकुराहरू गर्न सक्छन् र खराब कामकुराहरू पनि गर्न सक्छन्। त्यसोभए, आफूसँग शक्ति हुँदा ख्रीष्टविरोधीले के गर्छ? (खराब कामकुरा गर्छ।) उसले के-के खराब कामकुरा गर्छ? (उसले आफ्नो कुरा नसुन्ने जोकोहीलाई सास्ती दिने उपायहरू खोज्छ। जब परमेश्वरको घरले कामबारे सोधखोज गर्न केही अगुवा र कामदारहरू पठाउँछ, तब उसले उनीहरूबाट पन्छिने उपाय, वा उनीहरूविरुद्ध कमजोरी समात्ने र उनीहरूलाई आलोचना गर्ने, उनीहरूको निन्दा गर्ने उपाय खोज्नेछ, साथै उनीहरूलाई खेदाउने, कामबारे सोध्न र त्यसका समस्याहरू पत्ता लगाउन नदिने कारणहरू खोज्नेछ।) कतिपय ख्रीष्टविरोधीहरू त्यसको ठ्याक्कै उल्टो गर्छन्: तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूका समस्याबारे रिपोर्ट गर्नेछन् भन्ने डरले, माथिले पठाएको अगुवामाथि निगरानी राख्छन्, उनीहरूलाई राम्रो खान र पिउन दिन्छन्, अनि तल्लो तहका दाजुभाइ-दिदीबहिनीहरूको सम्पर्कमा आउनबाट रोक्छन्। अगुवाहरूले दाजुभाइ-दिदीबहिनीहरूबारे सोध्दा, तिनीहरू यस्तो जवाफ दिन्छन्, “उनीहरू सबै ठिकै छन्। यतिबेला हाम्रो सुसमाचारको काम राम्ररी अगाडि बढिरहेको छ। हामीले प्रतिकूल वातावरणबाट उत्पन्न भएका सबै समस्या समाधान गरेका छौँ, र हामीलाई विश्वासघात गर्ने यहूदाहरूलाई निष्कासन गरेका छौँ; हामीले मण्डलीको काममा बाधा पुऱ्याउन खोज्नेहरूलाई तह लगाएका छौँ, र तिनीहरू सबैलाई निकालेका छौँ, अनि परमेश्वरका वचनका पुस्तकहरू सामान्य रूपमा वितरण गरिएका छन्। कुनै पनि समस्या छँदै छैन।” यसो भनेर, तिनीहरू अरू मानिसबारे केही कुराको रिपोर्ट पनि गर्छन्। माथिले कसैलाई तिनीहरूबारे अनुसन्धान गर्न पठाउँदा, यदि तिनीहरूलाई कसैले तिनीहरूबारे रिपोर्ट गरेको छ भन्ने लागेमा—तिनीहरूले माथिल्लो तहका अगुवाहरूलाई भ्रममा पार्न र ख्रीष्टविरोधीबारे रिपोर्ट गर्ने व्यक्तिमा समस्या छ भनेर सोच्ने तुल्याउन, अगुवाहरूलाई मण्डलीको काममा वास्तवमा के भइरहेको छ भनेर खुट्ट्याउन नदिन, र त्यो ख्रीष्टविरोधीका समस्याहरू पत्ता लगाउन नदिन, जानाजान त्यस व्यक्तिका समस्याहरू रिपोर्ट गर्छन्, ताकि अन्त्यमा तिनीहरू बर्खास्त नहोऊन्, र त्यसउप्रान्त खतरामा नपरून्। ख्रीष्टविरोधीले आफ्नो अधिकारक्षेत्रको रक्षा गर्नुको उद्देश्य आफ्नो शक्ति सुदृढ गर्नु र त्यसलाई प्रभावकारी बनाउनु हो, र त्यसैले तिनीहरू धेरै अनुचर, अनुगामी, कट्टर अनुयायी, र आसेपासेहरूको जगेर्ना गर्छन्। तिनीहरूले यस्ता मानिसहरूको जगेर्ना गर्नुको उद्देश्य पूर्ण रूपमा शक्तिमा एकाधिकार जमाउनु, त्यसलाई कमजोर हुन वा आफूबाट खोसिन नदिनु हो।
ख्रीष्टविरोधीहरू परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिन्छन्, र तिनीहरूले नेतृत्व सम्हालेपछि पहिलो कामस्वरूप शक्तिमा एकाधिकार जमाउँछन्। के तिमीहरूले ख्रीष्टविरोधीहरूले शक्तिमा एकाधिकार जमाएको कुनै उदाहरण सम्झेका छौ? (यसअघि, एक मण्डली अगुवा थियो जो ख्रीष्टविरोधी थियो। जब पनि कसैले उसका समस्याहरू औँल्याउँथ्यो वा उसको खुलासा गर्थ्यो, तब उसले त्यस व्यक्तिलाई दबाउँथ्यो र उसका परमेश्वरका वचनका पुस्तकहरू जफत गर्थ्यो। परिस्थितिबारे थप पत्ता लगाउन म उसको मण्डलीका केही भेला समूहहरूमा गएँ। आफ्ना दुष्ट कार्यहरू पर्दाफास होला भन्ने डरले, त्यस ख्रीष्टविरोधीले मलाई धपाउने कोसिस गऱ्यो र मलाई उसको अनुमतिविना गोप्य रूपले भेलाहरूमा सहभागी भएको आरोप लगाउने मौका छोप्यो। पछि, माथिल्लो तहका अगुवाहरूले अनुसन्धान गर्न कसैलाई पठाए, अनि उक्त ख्रीष्टविरोधीले मेरो झूटो निन्दा गऱ्यो, मेरो खोइरो खन्यो, र मलाई नजरबन्दमा समेत राख्यो, दाजुभाइ-दिदीबहिनीहरूलाई मेरो सम्पर्कमा नआउन निर्देशन दियो। त्यो बेला, यस ख्रीष्टविरोधीले, एक अगुवा र एक कामदारसँगको सहकार्यमा आठवटा मण्डलीहरू नियन्त्रण गर्थ्यो। अन्त्यमा, धेरै महिनाको सङ्गति र सुझबुझपछि, अन्ततः दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीहरूको यो समूहलाई निकालिदिए।) ख्रीष्टविरोधीहरू यसरी परिचालन हुन्छन्। तिनीहरूले मण्डलीमा जे गरे पनि, त्यसको उद्देश्य शक्तिमा आफ्नो पकड जमाउने र मानिसहरूलाई नियन्त्रण गर्ने नै हुन्छ। तिनीहरू तिनीहरूको हैसियत र शक्तिलाई खतरामा पार्ने जोकोहीप्रति विशेष रूपमा संवेदनशील हुन्छन्। तिनीहरू यस्ता मामलाहरूको गन्ध थाहा पाइहाल्छन्, र तिनीहरू यी मामलाहरू तिनीहरूको प्रतिकूल छन् र त्यसले तिनीहरूको पदलाई खतरामा पार्छ भनेर तुरुन्तै थाहा पाउँछन्। के यो दुष्ट होइन र? किन ख्रीष्टविरोधीहरू यस्ता मामलाहरूप्रति यति संवेदनशील हुन्छन्? अरूले त्यो कुरा किन थाहा पाउँदैनन्? यो तिनीहरूको प्रकृतिसँग सम्बन्धित हुन्छ; ख्रीष्टविरोधीहरू मात्र यी कुराहरूबारे सचेत हुन सक्छन्। यसले एउटा कुरा पुष्टि गर्छ: ख्रीष्टविरोधीहरूको सार यस्तो प्रकारको हुन्छ। तिनीहरूको शक्तिको कामना असाधारण हुन्छ, र तिनीहरूसँग पृथक् लालसा हुन्छ। तिनीहरू प्रभारी रहेको मण्डलीमा जब कोही आउँछ, तब तिनीहरूले उसलाई अध्ययन गर्नेछन्, र सोच्नेछन्, “के यो व्यक्तिबाट मेरो हैसियत र प्रतिष्ठामा खतरा हुन्छ? ऊ यहाँ मेरो प्रवर्धन गर्न आएको हो कि मलाई बर्खास्त गर्न? ऊ यहाँ मेरा समस्याहरू अनुसन्धान गर्न आएको हो कि कामबारे सामान्य रूपमा सङ्गति गर्न?” तिनीहरू पहिला यी कुराहरू पत्ता लगाउने कोसिस गर्छन्। तिनीहरू यस्ता मामलाहरूबारे विशेष रूपमा संवेदनशील हुन्छन् किनभने तिनीहरूमा हैसियत र शक्तिप्रति विशेष लगाव र कामना हुन्छ; तिनीहरू शक्ति र हैसियतका लागि जिउँछन्। तिनीहरू के सोच्छन् भने यदि तिनीहरूले शक्ति गुमाए, तिनीहरूका अनुचरहरू कम भए, र तिनीहरू सेनाविनाका कमाण्डर बने भने, जीवनको अर्थ गुमेको हुनेछ। त्यसकारण, ख्रीष्टविरोधीहरू आफूले प्राप्त गरेको हैसियत र शक्तिका सम्बन्धमा, आफू चाहे तीनवटा, पाँचवटा, वा दशवटा मण्डलीका प्रभारी भए पनि, जति बढी त्यति राम्रो भन्ने विश्वास गर्छन्। तिनीहरूले आफ्नो शक्ति अरू मानिसहरूलाई किमार्थ दिनेछैनन्। तिनीहरू त्यो आफ्नो अधिकार, आफूले लडेर पाएको कुरा, आफूले क्रान्ति र रणनीतिमार्फत प्राप्त गरेको कुरा हो भन्ठान्छन्। यदि अरूले त्यो पाउन चाहन्छन् भने, उनीहरू त्यसको बदलामा आफ्नो जीवन दिन तयार हुनैपर्छ। यो ठूलो रातो अजिङ्गरजस्तै हो—यदि कसैले त्यसको तानासाही शासन अन्त्य गर्न लोकतान्त्रिक परिवर्तनको सुझाव दियो, कम्युनिष्ट पार्टीलाई निष्पक्ष निर्वाचन गराउन आग्रह गऱ्यो भने, ठूलो रातो अजिङ्गरले के भन्नेथियो? “लोकतन्त्र? तैँले त्यसको बदलामा दुई करोड मानिसको टाउको दिनुपर्छ! कम्युनिष्ट पार्टीले अनगिन्ती व्यक्तिहरूको रगत बगाएर शक्ति प्राप्त गरेको हो। यदि तँ शक्ति हत्याउन चाहन्छस् भने, तैँले त्यसको बदलामा त्यति नै मानिसहरूको रगत र जीवन दिनुपर्नेछ!” ख्रीष्टविरोधीहरू पनि उस्तै हुन्। यदि तँ तिनीहरूले शक्ति त्यागून् भन्ने चाहन्छस् भने, तिनीहरूलाई मनाउन सत्यताबारे सङ्गति गर्नु मात्र पर्याप्त हुँदैन; तिनीहरूले तँसित प्रतिस्पर्धा गर्नेछन् र लड्नेछन्। तिनीहरूका विधि वा माध्यमहरू जतिसुकै घृणित भए पनि, तिनीहरूले आफ्नो शक्तिको संरक्षण गर्नैपर्छ। परमेश्वरका चुनिएका मानिसहरू सबै ब्युँझिएर एक भई तिनीहरूलाई खुलासा गरी नहटाइञ्जेल, तिनीहरू हट्नेछैनन्। के ख्रीष्टविरोधीहरू अति नै दुष्ट हुँदैनन् र? यो ख्रीष्टविरोधीहरूको दुष्ट र क्रूर स्वभावको पूर्ण पुष्टि र उदाहरण हो। नियन्त्रित पात्रहरू इच्छुक होऊन् वा नहोऊन्, तिनीहरू सच्चा रूपले झुकून् वा नझुकून्, तिनीहरू पालन गर्न र पछ्याउन इच्छुक होऊन् वा नहोऊन्, ख्रीष्टविरोधीहरूले यसबारे वास्ता गर्दैनन्। तिनीहरू मानिसहरूलाई दबाउन र नियन्त्रणमा राख्न बलपूर्वक आफ्नो शक्ति प्रयोग गर्छन्। कसैले पनि अवज्ञा गर्न पाउँदैन: जो झुक्दैन ऊ दण्डित हुनेछ। यिनीहरू ख्रीष्टविरोधी हुन्।
भर्खरै, हामीले ख्रीष्टविरोधीहरू कसरी शक्तिमा एकाधिकार जमाउँछन् भन्नेबारे केही निर्दिष्ट अभ्यास र प्रकटीकरणहरूबारे सङ्गति गऱ्यौँ। के हामी यी अभ्यास र प्रकटीकरणहरूबाट, ख्रीष्टविरोधीहरूमा क्रूर र दुष्ट स्वभाव अनि सार हुन्छ भन्ने कुरा देख्न सक्दैनौँ र? के कसैले तिनलाई बदल्न सक्छ? चाहे तिनीहरूसित तर्क गरेर, तिनीहरूलाई भावनात्मक रूपमा मनाएर, परमेश्वरका वचनहरूमा भएको सत्यता प्रस्तुत गरेर, तिनीहरूलाई काटछाँट गरेर, वा साँचो भावनाले तिनीहरूलाई बदल्न खोजेर होस्—के यीमध्ये कुनै विधिले तिनीहरूलाई शक्तिमा एकाधिकार जमाउने अभ्यास त्याग्ने तुल्याउन सक्छ? (सक्दैन।) कतिपय मानिस भन्छन्, “ख्रीष्टविरोधीहरू त भ्रष्ट स्वभाव भएका मानिस मात्र हुन्। मानिसहरूमा मानव भावनाहरू हुन्छन्। यदि तिमीले तिनीहरूलाई भावनात्मक रूपमा मनायौ, कामकुरालाई तर्कसङ्गत रूपमा व्याख्या गऱ्यौ, र फाइदा-बेफाइदाहरू प्रस्ट पाऱ्यौ भने, तिनीहरूले तर्क बुझेपछि त्यसरी कार्य नगर्लान्। तिनीहरूले आफ्ना गल्ती स्विकार्लान्, पश्चात्ताप गर्लान्, र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न छाड्लान्। तिनीहरूले परमेश्वरको घरभित्र आफ्नो अधिकारक्षेत्र स्थापित गर्ने, परमेश्वरको घरभित्र शक्तिमा एकाधिकार जमाउन आफ्ना कट्टर अनुयायीहरूलाई आकर्षित गर्ने, अनि मानवता र नैतिकता अनुरूप नहुने यी कार्यहरूमा संलग्न हुने काम नगर्लान्।” के ख्रीष्टविरोधीहरू यसरी प्रभावित हुन सक्छन्? (सक्दैनन्।) के कसैले कहिल्यै कुनै ख्रीष्टविरोधीलाई परिवर्तन गरेको छ? कतिपयले यसो भन्छन्, “सायद तिनीहरूले सानैदेखि आफ्ना आमाबाट राम्रो शिक्षा पाएनन्, तिनीहरू बिग्रिए। अहिले, यदि तिनीहरूका आमाले तिनीहरूसित कुरा गरेमा वा परिवारको सबैभन्दा प्रतिष्ठित व्यक्तिले, वा सबैभन्दा लामो समयदेखि विश्वासी रहेको व्यक्तिले तिनीहरूसित तर्क गरेमा, तिनीहरूले ख्रीष्टविरोधीहरूले गर्ने कामकुरा गर्न छोड्लान्।” के यो साँचो हो? (होइन।) किन होइन? (तिनीहरूसित तर्क गरेर काम छैन; तपाईं जति धेरै कुरा गर्नुहुन्छ, त्यति नै तिनीहरू नराम्रो मान्छन्। यदि तपाईंले त्यसपछि तिनीहरूलाई खुलासा र काटछाँट गर्नुभयो भने, तिनीहरूले तपाईंलाई घृणा गर्नेछन्।) ठिक भनिस्। के तिनीहरूले परमेश्वरका वचनहरू र सत्यता धेरै सुनेका छैनन् र? कतिपय ख्रीष्टविरोधीले परिवर्तित नै नभई दसबीस वर्षदेखि परमेश्वरमा विश्वास गरेका हुन्छन्। तिनीहरूले परमेश्वरका वचनहरू अति धेरै पढेका हुन्छन्, किन कुनै पनि परिवर्तन आएको हुँदैन? किनभने तिनीहरूको हृदय दुष्टताले भरिएको हुन्छ—परमेश्वरलेसमेत तिनीहरूलाई बचाउनुहुन्न भने, के मानिसहरूले आफूसँग भएको थोरै ज्ञान र धर्मसिद्धान्तद्वारा तिनीहरूलाई परिवर्तन गर्न सक्छन्? मानव समाजमा, देशहरूमा शिक्षा हुन्छ, र समाजमा कानुन हुन्छन्, र ती सबैले मानिसहरूलाई असल बन्न सिक्न र अपराध गर्नबाट जोगिन हौसला दिन्छन्। तर त्यसले मानिसहरूलाई किन परिवर्तन गर्न सक्दैन? के राष्ट्रिय शिक्षा र प्रणालीले समाजमा कुनै सकारात्मक प्रभाव पारेका छन्? के राष्ट्रले प्रवर्धन गर्ने ती कुराहरूमा मानवताका लागि कुनै शैक्षिक महत्त्व वा मूल्य हुन्छ? के ती प्रभावकारी भएका छन्? (छैनन्।) के मानिसहरूलाई अनुशासनमा राख्ने सबैभन्दा उच्च र कडिकडाउ स्थान, जस्तै बाल सुधार गृह र जेलजस्ता हरेक देशका कानुनी विभागहरूले समेत मानिसहरूको सार परिवर्तन गरेका छन् त? केही बलात्कारी, चोर, र ठगहरूको कुरा गरौँ—तिनीहरू यति धेरै जेल जाने र जेलबाट छुट्ने गर्छन् कि तिनीहरू बानी परेका अपराधी नै बन्छन्—के तिनीहरू अन्त्यमा परिवर्तन हुन्छन् त? अहँ, तिनीहरूलाई कसैले परिवर्तन गर्न सक्दैन। व्यक्तिको सार परिवर्तन गर्न सकिँदैन। त्यसै गरी, ख्रीष्टविरोधीहरूको सार पनि परिवर्तन गर्न सकिँदैन। शक्तिमा एकाधिकार जमाउने अभ्यासले ख्रीष्टविरोधीहरूको सारलाई जनाउँछ, र यो सार परिवर्तन गर्न सकिँदैन। यस्तो अपरिवर्तनीय व्यक्तिप्रति परमेश्वरको मनोवृत्ति के हुन्छ? के त्यो उहाँले तिनीहरूलाई परिवर्तन गर्न र बचाउन सक्दो गर्नु हो, र त्यसपछि तिनीहरूको प्रकृतिमा रूपान्तरण हासिल गर्नु हो? के परमेश्वर यो काम गर्नुहुन्छ? (गर्नुहुन्न।) अब तिमीहरूले परमेश्वर यस्तो काम गर्नुहुन्न भनेर बुझिसकेपछि, ख्रीष्टविरोधीहरूसित कसरी व्यवहार गर्नुपर्छ त? (तिनीहरूलाई इन्कार गर्नुपर्छ।) सुरुमा, खुट्ट्याउने र चिरफार गर्ने गर्; तिनीहरूलाई छर्लङ्गै देखेपछि, इन्कार गर्। कुनै व्यक्तिलाई ऊ अहङ्कारी र आत्मधर्मी अनि ख्रीष्टविरोधीजस्तै छ भन्ने सोचेर, आफ्नै धारणा र कल्पनाहरूका आधारमा इन्कार नगर्। यसो गरेर हुँदैन; तँ अन्धो बन्न मिल्दैन। सम्पर्क गरेर, अनुसन्धान गरेर र खुट्ट्याएर, बिस्तारै कुनै व्यक्ति ख्रीष्टविरोधी भएको प्रमाणित र पुष्टि गर्। सुरुमा, सबैसित ऊबारे सङ्गति र चिरफार गर्, उसलाई खुट्ट्या, अनि त्यसपछि सत्यता पछ्याउने र इन्साफको बोध भएका मण्डलीका मानिसहरूसित एक भई उसलाई इन्कार गर्। सुरुमा उसलाई खुट्ट्याउने र चिरफार गर्ने गर्, र त्यसपछि इन्कार गर्—ख्रीष्टविरोधीहरूसँग व्यवहार गर्ने यो नै सर्वोत्तम शैली हो। पाखण्ड गर्नमा माहिर र अत्यन्तै धूर्त कतिपय ख्रीष्टविरोधीहरूका हकमा भन्नुपर्दा, यदि तैँले तिनीहरूसँग सम्पर्क गरी तिनीहरूलाई अनुसन्धान गरेर र खुट्ट्याएर, तिनीहरू ख्रीष्टविरोधी भएको पुष्टि गरेको छस्, तर दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई राम्ररी चिन्दैनन्, तिनीहरूमा अझै पनि वास्तविक सुझबुझ छैन, र तैँले दाजुभाइ-दिदीबहिनीहरूसित तिनीहरूबारे सङ्गति र चिरफार गर्दा, उनीहरूले तिनीहरू ख्रीष्टविरोधी हुन् भनेर विश्वास नगर्ने र नमान्ने मात्र नभई, “तँ तिनीहरूविरुद्ध पूर्वग्राही हुनुहुन्छ; यो तेरो व्यक्तिगत राय हो” समेत भन्छन् भने—तैँले के गर्नुपर्छ? यदि तैँले “जेहोस्, मैले तिनीहरूलाई खुट्ट्याएकै छु, म तिनीहरूद्वारा भ्रममा पर्ने वा नियन्त्रित हुनेछैनँ, म तिनीहरूको कुरा सुन्नेछैनँ, र म निश्चय नै तिनीहरूलाई पालन मान्नेछैनँ। तिमीहरूले तिनीहरूलाई खुट्ट्याउनु वा नखुट्ट्याउनु मेरो चासोको विषय होइन। मैले तिमीहरूलाई तिनीहरूका प्रकटीकरण र तिनीहरूले गर्ने कामकुराबारे बताएको छु, अनि तिमीहरूले विश्वास गरे पनि वा नगरे पनि, सुने पनि वा नसुने पनि, जुनै पनि तरिकाले मेरो जिम्मेवारी पूरा भएको छ। यदि तिमीहरू तिनीहरूको बहकाउ र नियन्त्रणमा पऱ्यौ भने, यदि तिमीहरूले तिनीहरूको कुरा सुन्छौ र तिनीहरूलाई पछ्याउँछौ भने, तिमीहरू परिणामहरू भोग्न लायक छौ र तिमीहरू अभागी हुनु जायज हो!” भनिस् भने—के यो शैली स्वीकार्य हुन्छ? के यो तैँले आफ्नो कर्तव्य पूरा गर्नु मानिन्छ? के यो परमेश्वरप्रति बफादार हुनु मानिन्छ? (मानिँदैन।) त्यसोभए तैँले के गर्नुपर्छ? यस्ता कुराहरू अपरिहार्य हुन्छन्; यस्ता मामलाहरू पक्कै उत्पन्न हुनेछन्। कतिपय मानिसहरूले जतिसुकै प्रवचन सुने पनि सत्यता बुझ्न सक्दैनन्, र तिनीहरूले ख्रीष्टविरोधीहरूका प्रकटीकरणलाई आफूले सुनेका प्रवचनहरूसँग जोड्न वा तिनीहरूलाई खुट्ट्याउन सक्दैनन्। कोही ख्रीष्टविरोधी हो भन्ने कुरा घामजस्तै छर्लङ्ग हुँदा पनि, उनीहरू उसलाई छर्लङ्ग देख्न सक्दैनन् र अझै पनि भ्रममा पर्छन्। ख्रीष्टविरोधीहरूले उनीहरूलाई व्यक्तिगत रूपमा हानि नगरूञ्जेल, नदबाउञ्जेल, गाली, काटछाँट नगरूञ्जेल, वा उनीहरूकै अगाडि दुष्कर्म नगरूञ्जेल, उनीहरूले तिनीहरू ख्रीष्टविरोधी हुन् भनेर मान्नेछैनन्। अरूले तथ्य बताए पनि वा प्रमाण पेस गरे पनि, उनीहरूले त्यो पत्याउनेछैनन्। ख्रीष्टविरोधीहरूले गर्ने कार्य आफ्नै आँखाले देखेपछि र ख्रीष्टविरोधीहरूले गर्ने दुर्व्यवहार आफैले अनुभव गरेपछि मात्र उनीहरू त्यो कुरा मान्न सक्छन्। यो परिस्थितिमा के गर्नुपर्छ? (उनीहरूलाई ख्रीष्टविरोधीहरू पछ्याउन र दुर्व्यवहार अनुभव गर्न दिनुपर्छ; दुर्व्यवहारमा परेपछि मात्र उनीहरूको होस खुल्नेछ।) के यो अलि कठोर भएन र? (यो उनीहरूप्रति कठोर हुनु होइन। यस्ता मानिसहरू सङ्गतिमार्फत सत्यता बुझ्न सक्दैनन्, र आफैले दुर्व्यवहार भोगेपछि मात्र उनीहरूको चेत र होस खुल्न सक्छ। त्यसकारण, यस्ता मानिसहरूलाई सम्हाल्ने तरिका यही मात्र हो।) यो एउटा सिद्धान्त हो। तैँले सकारात्मक रूपमा कुरा गर्दा कतिपय मानिसले बुझ्दैनन्; तिनीहरूमा त्यो बुझ्ने क्षमता हुँदैन। उदाहरणका लागि, यदि तैँले तिनीहरूलाई “यो क्षेत्र खतरनाक छ; तिमी राती एक्लै हिँड्यौ भने, तिमीले लुटेराहरू भेट्न सक्छौ। कैयौँ मानिसलाई यस्तो भएको छ। राती हिँड्न नजाऊ; चाँडै फर्केर आऊ!” भनिस् भने तिनीहरू त्यो कुरा विश्वास गर्दैनन् र साथीविना नै राति एक्लै हिँड्न जिद् कस्छन्। त्यो अवस्थामा, तँ तिनीहरूलाई एक्लै हिँड्न दिन्छस् तर गोप्य रूपमा तिनीहरूको रक्षा गर्छस्, तिनीहरू साँच्चै समस्यामा नपर्ने सुनिश्चित गर्छस्। यो आफ्नो जिम्मेवारी पूरा गर्नु हो। जब वास्तविक समस्या देखा पर्छ, तब तैँले तिनीहरूको सुरक्षा गर्न, तिनीहरूमा कुनै समस्या आइपर्न नदिन, अनि पाठ सिक्न र त्यो कुरा दिमागमा राख्न मद्दत गर्न सक्छस्। अन्त्यमा, तिनीहरूले तैँले भनेको कुरा सही रहेछ भनेर विश्वास गर्नेछन्। त्यसकारण, ख्रीष्टविरोधीहरूद्वारा बहकाइएका र सत्यताबारे चाहे जसरी सङ्गति गरिए पनि तिनीहरूलाई खुट्ट्याउन नसक्नेहरूका हकमा, उनीहरूले सुझबुझ विकास गर्नका निम्ति गम्भीर हानि भोग्नुपर्छ, पाठ सिक्नुपर्छ, र त्यसलाई दिमागमा राख्नुपर्छ। अन्योलमा हुने र सल्लाहलाई बेवास्ता गर्नेहरूले ख्रीष्टविरोधीहरूको दुष्टता र क्रूरता छर्लङ्गै देख्न सक्दैनन्, साथै ख्रीष्टविरोधीहरूलाई दाजुभाइ-दिदीबहिनीका रूपमा समेत लिन्छन्, तिनीहरूसित त्यसरी नै अन्तरक्रिया गर्छन्, तिनीहरूलाई प्रेमपूर्वक मद्दत गर्ने र निष्कपट रूपमा व्यवहार गर्ने, र तिनीहरूसित हृदयबाट नै कुरा गर्नेसमेत गर्छन्। फलस्वरूप, उनीहरू ख्रीष्टविरोधीहरूको सिकार बन्छन्। कतिपय मानिसले एकपटक मात्र नभई, कैयौँपटक हानि बेहोरेपछि मात्र सुझबुझ विकास गर्छन्। त्यसपछि जब तैँले उनीहरूसित सङ्गति गर्छस् र उनीहरूलाई सहयोग गर्छस्, तब तिनीहरू तँलाई विश्वास गर्छन्। यो प्रभावकारी विधि हो, र कतिपय मानिसहरूले यस्ता कुराहरूमा कष्ट भोग्नुपर्छ। यसअघि, अन्योलमा परेको एउटा व्यक्ति थियो जसमा सुझबुझ थिएन र परमेश्वरको घरले एक ख्रीष्टविरोधीलाई बर्खास्त गर्दा उसले त्यो कुरालाई निको मानेन। ख्रीष्टविरोधीका दुष्ट कार्यहरू प्रस्ट थिए र उसलाई ख्रीष्टविरोधीका रूपमा चित्रण समेत गरिएको थियो। त्यसलाई ऊबाहेक सबैले माने, र ऊसित कसैले पनि सङ्गति गर्न सकेन। अन्ततः, ऊ ख्रीष्टविरोधीलाई पछ्याएर निस्कियो। केही समयपछि, गम्भीर हानि भोगेर, ऊ रुँदै फर्क्यो, र उसले ख्रीष्टविरोधी साँच्चै भयानक रहेछ भनेर मान्यो। वास्तवमा, ख्रीष्टविरोधी सधैँ नै त्यतिकै खराब थियो, तर उसमा ख्रीष्टविरोधीको राम्रो छाप परेकाले र उसले चापलुसी गर्न चाहेकाले, उसले ख्रीष्टविरोधीले गरेको सबथोक सह्यो र स्विकाऱ्यो। जब ख्रीष्टविरोधीले हैसियत गुमायो, तब उसले ख्रीष्टविरोधीसँग समान स्तरमा रहेर कुराकानी गऱ्यो, अनि ख्रीष्टविरोधीले गरेका कतिपय कामकुराबारे रायहरू राख्न थाल्यो। उसको दृष्टिकोण बदलियो, र उसले समस्याहरू देख्न थाल्यो। अन्त्यमा, ख्रीष्टविरोधीलाई फेरि पनि पछ्याउन आग्रह गरिए पनि, उसले सिधै अस्वीकार गऱ्यो—ऊ ख्रीष्टविरोधीलाई पछ्याउनभन्दा बरु मर्न इच्छुक थियो, किनभने उसले ठूलो हानि भोगेको र ख्रीष्टविरोधीलाई छर्लङ्गै देखेको थियो। वास्तवमा, उसले जे छर्लङ्ग देख्यो त्यो कुरा पहिल्यै उसलाई बताइएको थियो, तर उसले त्यो कुरामा सहमत भएको र त्यसलाई मानेको थिएन। त्यसमा केही गर्न सकिँदैनथ्यो। यस्ता मानिसहरूका हकमा, तिनीहरूले घुमाउरो बाटो लिनुपर्छ र अझ धेरै कष्ट सहनुपर्छ—तिनीहरूको कष्ट जायज हो। म किन त्यो जायज हो भन्छु? मेरो भन्नुको मतलब, यदि तँसँग आशिष् छन् तर तँ तिनको आनन्द उठाउन मान्दैनस्, र कष्ट भोग्न नै जिद् कस्छस् भने—त्यसमा केही गर्न सकिन्न—तैँले पहिला कष्ट सहनुपर्छ र भोग्नुपर्छ। यो जायज कष्ट हो।
ख्रीष्टविरोधीहरूले शक्तिमा एकाधिकार जमाउँदा, मुख्य गरी प्रश्न नगरी आफूलाई पालन गर्नेहरूलाई महत्त्वपूर्ण कार्यहरू सुम्पन्छन्। त्यसपछि तिनीहरू अझै ढलपल भइरहेका, सजिलै प्रभावित हुने मन भएकाहरूलाई तालिम दिन्छन्, र आफ्नो पक्षमा पार्छन्। यी व्यक्तिहरू पर्याप्त तालिम पाएर ख्रीष्टविरोधीको अधिकारक्षेत्रको सदस्य बनेपछि, ख्रीष्टविरोधी ढुक्क हुन सक्छ। ख्रीष्टविरोधीले प्रयोग गर्न नसक्नेहरूलाई ऊ पूर्ण रूपमा त्याग्छ, तिनीहरूलाई आफ्नो अधिकारक्षेत्रबाट निकाल्छ। प्रश्न नगरी उसको आज्ञापालन गर्न सक्नेहरू सबै उसका कट्टर अनुयायी, उसको अधिकारक्षेत्रका बफादार सदस्य मानिन्छन्। उसले यी व्यक्तिहरूलाई आफ्ना अनुयायी, अनुचर, र विश्वासपात्र मान्छ। यो समूहभित्र उसको शक्ति हाबी हुन्छ; अर्थात्, तिनीहरूमार्फत शक्तिको प्रभावकारी अभ्यास गरिन्छ। त्यसकारण, के भन्न सकिन्छ भने ख्रीष्टविरोधीहरूले शक्तिमा एकाधिकार जमाउँदा परमेश्वरको घरलाई आफ्नै अधिकारक्षेत्रमा रूपान्तरण गर्दा, ठूलो मेहनत लगानी गर्छन्। तिनीहरूले विभिन्न कार्य गर्छन् र यसका लागि ठूलो मूल्य चुकाउँछन्, तर यस मूल्यको नतिजा परमेश्वर, सत्यता, र सत्यता पछ्याउने सबै दाजुभाइ-दिदीबहिनीहरूसितको शत्रुता हुन्छ। यो शक्तिको मूल्य र महत्त्व के हो? त्यो ख्रीष्टविरोधीहरूले परमेश्वर र उहाँको घरविरुद्ध होड गर्न, आफ्नै गढ स्थापित गर्न, स्वतन्त्र राज्यहरू निर्माण गर्न, र स्वतन्त्र रूपले ठूलो शक्ति प्रयोग गर्न पुँजी प्राप्त गर्छन् भन्ने तथ्यमा हुन्छ।
आ. ख्रीष्टविरोधीहरू परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्छन्
यसअघि, हामीले ख्रीष्टविरोधीहरूले परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिने: शक्तिमा एकाधिकार जमाउने पहिलो प्रकटीकरणबारे सङ्गति गऱ्यौँ। शक्तिमा एकाधिकार जमाउने सम्बन्धमा, हामीले मुख्यतः ख्रीष्टविरोधीहरू कसरी शक्ति प्राप्त गर्छन्, त्यो प्राप्त गरेपछि कसरी आफ्नो हैसियत स्थिर बनाउँछन् र त्यो शक्तिलाई थप बलियो बनाउँछन्, अनि अन्ततः, त्यो शक्ति कसरी प्रयोग गर्छन् भन्नेसम्बन्धी निर्दिष्ट विषयवस्तुमा सङ्गति गऱ्यौँ। ख्रीष्टविरोधीहरूले शक्तिमा एकाधिकार जमाउनेबाहेक, परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रका रूपमा लिनुको दोस्रो ठोस अभ्यास परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु हो। परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नुको शाब्दिक अर्थ बुझ्न सजिलो हुनुपर्छ, त्यसोभए “परिस्थिति” ले केलाई जनाउँछ? कुनै ख्रीष्टविरोधीले शक्तिमा एकाधिकार जमाउने, आफ्नै अधिकारक्षेत्र स्थापित गर्ने, अनि आफ्ना कट्टर अनुयायी, आसेपासे, र प्रभावक्षेत्र जम्मा गर्ने गरिसकेपछि, के उसले आफ्नो काममा अरूलाई हस्तक्षेप गर्न दिन सक्छ? के उसले अरूलाई आफूले रेखदेख गर्ने मामलाहरू र प्रभावक्षेत्रमा संलग्न हुन वा हस्तक्षेप गर्न अनुमति दिन सक्छ? (ऊ यसको अनुमति दिँदैन।) ख्रीष्टविरोधीका लागि, शक्ति नै उसको जीवन हो। उसको प्रभावक्षेत्रभित्र, सबथोक उसकै हुकुममा चल्नुपर्छ। उसको प्रभावक्षेत्रभित्र चाहे जे भए पनि, त्यसमा संलग्न मानिस र मामलाहरू, साथै ती मामलाहरूको अन्तिम परिणाम, सबै ऊद्वारा नै निर्मित र नियन्त्रित हुनैपर्छ। यो उसका चाहनासँग मिल्ने र उसका खाँचोहरू पूरा गर्ने हुनैपर्छ, यसले उसलाई कुनै क्षति पुऱ्याउनु हुँदैन। उदाहरणका लागि, यदि उसले कुनै निश्चित मामलामा हस्तक्षेप गर्दैन, हात हाल्दैन, वा त्यसलाई आफूअनुकूल बनाउँदैन, बरु त्यसलाई आफै सामान्य तरिकाले विकसित हुन दिन्छ भने, उसको छवि बिग्रन सक्छ वा कसैले रिपोर्ट गरेर ऊ बरखास्त हुन सक्छ, यस्तोमा उसको हैसियत धरापमा पर्न सक्छ र ऊसँग भएको शक्ति हराउन सक्छ। त्यसकारण, मण्डलीभित्र हुने ठूला-साना सबै प्रकारका मामलाको हकमा भन्नुपर्दा, ख्रीष्टविरोधी आफैले ती सम्हाल्नैपर्छ। यी मामलाहरूमा उसको प्रतिष्ठा र हैसियत, साथै उसको शक्ति समावेश हुन्छन्। उसको शक्तिसँग असम्बन्धित मामलाहरूका सम्बन्धमा भन्नुपर्दा, उसले ती जाँचबुझ नगर्ने वा नदेखेझैँ गर्ने छनौट गर्ला। विशेष गरी परमेश्वरको घरको काम, दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेश, मण्डली जीवन, र यस्ता विभिन्न मामलाहरूका सम्बन्धमा, यिनले उसको हैसियत र शक्तिलाई नछोएसम्म र तिनमा माथिसँगको उसका अन्तरक्रियाहरू समावेश नभएसम्म, उसले तीबारे पर्बाह गर्दैन, जाँचबुझ गर्दैन, वा चासो लिँदैन। उदाहरणका लागि, सुसमाचार समूहले प्राप्त गर्ने मानिसहरूको मासिक सङ्ख्या उसका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ किनभने यसले उसको हैसियतलाई प्रभाव पार्छ। यदि प्रत्येक महिना रिपोर्ट गरिएको सङ्ख्याले उसको हैसियत सुनिश्चित गर्न सक्छ भने, उसले आफ्नो हैसियतको सुरक्षा गर्नका निम्ति त्यो सङ्ख्या हासिल गर्न निकै हदसम्म प्रयास गर्नेछ जबकि उसका लागि अरू मामला अप्रासङ्गिक हुन्छन्। उदाहरणका लागि, मानौँ उसले रेखदेख गर्ने क्षेत्रले सामान्य परिस्थितिमा एक महिनामा सय मानिस प्राप्त गर्नुपर्छ। तर, यदि वातावरणले साथ नदिएकोले, त्यस महिना विशेष परिस्थिति आइपरेकोले, वा कतिपय मानिस अझै पनि आफ्नो अनुसन्धान अवधिमै भएकाले प्राप्त मानिसहरूको सङ्ख्या एक सय पुगेन भने, ख्रीष्टविरोधी यस मामलामा मेहनत लगाउँछ र बेचैन हुन्छ। ऊ केबारे बेचैन हुन्छ? के उसलाई परमेश्वरको सुसमाचार फैलाउने काम सहज रूपमा अघि नबढेको देखेर भार महसुस हुन्छ र बेचैनी हुन्छ? के यो सुसमाचार प्रचार गर्नेहरूमा बोझको बोध नभएको र तिनीहरू झाराटारुवा भएको, अनि आफूले कसरी तिनीहरूलाई मलजल गर्ने र त्यो समाधान गर्ने भन्ने बेचैनी हो? कि यो सुसमाचार प्रचार गर्नलाई पर्याप्त जनशक्ति नभएको, र आफूले त्यो कसरी मिलाउनु र बढाउनुपर्छ भन्ने चिन्ता हो? होइन, ऊ यी कुराहरूबारे बेचैन हुँदैन। ऊ त कसरी माथिले उसका गुप्त शैलीहरू थाहा नपाउनेगरी त्यो सङ्ख्या बढाएर एक सयमा पुऱ्याउने भनेर बेचैन हुन्छ। यदि खास सङ्ख्या सय नभएर असी मात्र छ र उसले साँचो रूपमा त्यो रिपोर्ट दिन्छ भने, माथिले त्यो परिस्थितिबारे अनुसन्धान गर्न र थप जान्न कुनै व्यक्ति पठाउन सक्छन्, त्यसोभए उसले कसरी रिपोर्ट गर्न सक्छ ताकि माथिले शङ्का नगरून्? उसले अन्ठानब्बे जना मानिस भनेर रिपोर्ट गर्छ। कसैले यसो भन्छ, “तिमीले यस्तो झूट बोल्न मिल्दैन; यो ठगी हो, यो अस्वीकार्य छ।” उसले जबाफ दिन्छ, “ठिकै छ। मैले निर्णय गर्ने हो; यदि केही भइहाल्यो भने, म त्यसको जिम्मेवारी लिनेछु।” किन उसले यही सङ्ख्या रिपोर्ट गऱ्यो? के यसको कुनै गहिरो अर्थ छ? के उसले यो ध्यानपूर्वक विचार गरेको हो? गरेको हो। खास सङ्ख्या असी हुँदा सय जना भनेर रिपोर्ट गर्दा धेरै ठूलो अन्तर हुन्छ, जसले गर्दा पछि यो झूट छोप्न कठिन हुन्छ। तर, यदि उसले अन्ठानब्बे भनेर रिपोर्ट गऱ्यो भने, माथिले त्यो सयभन्दा मुनि छ भन्ने देखे पनि, त्यो मान्य सङ्ख्या जस्तो देखिन्छ र त्यसले माथिबाट निगरानी निम्त्याउनेछैन, जसले उसको हैसियत सुरक्षित हुने सुनिश्चित गर्छ। कहिलेकाहीँ, यदि उसले एक सय मानिस प्राप्त गऱ्यो भने, दुई सय भनेर रिपोर्ट गर्ने आँट गर्छ, अनि यदि माथिले कसैलाई अनुसन्धान गर्न पठाए भने, ऊसँग त्यो सम्हाल्ने उपायहरू हुन्छन्। उसले अतिरिक्त सय जनाले अहिले अनुसन्धान गरिरहेका छन् र तिनीहरू अर्को महिना प्राप्त हुनेछन् भनी दाबी गर्छ। यदि माथिले यो निरीक्षण गर्न कोही पनि पठाएनन् भने, उसले आफ्ना योगदानहरूको धाक देखाउने उपाय भेट्टाउँछ। कहिलेकाहीँ, यदि उसले एक महिनामा एक जना व्यक्ति पनि प्राप्त गरेको छैन भने, तीस वा पचास जना प्राप्त गरेको भनेर झूटो रिपोर्टसमेत गर्छ, त्यसपछि अर्को महिना त्यसको पूर्ति गर्ने उपाय लगाउँछ। छोटकरीमा भन्नुपर्दा, सुसमाचार प्रचार गरेर प्राप्त गरिएका मानिसहरूको सङ्ख्या रिपोर्ट गर्ने सम्बन्धमा, ख्रीष्टविरोधीले त्यो तोडमोड गर्न, त्यसबारे झूट बोल्न, ठग्न, र गुप्त शैलीहरू प्रयोग गर्न सक्छ। कुनै आँकडा कसरी रिपोर्ट गर्ने, र कुन आँकडा रिपोर्ट गर्ने भन्ने कुराहरू सिधै ख्रीष्टविरोधीद्वारा निर्देशित हुन्छन्। के यो परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु होइन र?
ख्रीष्टविरोधीले आफ्नो हैसियत र शक्ति परमेश्वरका चुनिएका मानिसहरूको कर्तव्य निर्वाहमा निरन्तर रूपमा हस्तक्षेप गर्न र बाधा दिनका लागि प्रयोग गर्छ। ऊ सिद्धान्तका आधारमा चल्ने र प्रभावकारी तरिकाले आफ्नो कर्तव्य पूरा गर्ने जोकोहीलाई दबाउने र बहिष्कार गर्ने गर्छ। उसले यसरी कार्य गर्नुको उद्देश्य के हो? परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु हो; उसले आफूभन्दा मुनिकालाई वशमा राखेर र माथिलाई छलेर पूर्ण नियन्त्रण जमाउँछ। उसले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नुको उद्देश्य के हो? सत्यता प्रकाश हुन रोक्नु, मानिसहरूलाई सत्यता थाहा पाउन नदिनु, माथिलाई ठग्नु, तल उसको कामको वास्तविक अवस्था लुकाउनु, अनि उसले कुनै वास्तविक काम गऱ्यो कि गरेन र आफ्नो काम कसरी गऱ्यो भन्ने कुरा लुकाउनु हो। अन्य कुराहरूमध्ये, उसले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नुको उद्देश्य तथ्यहरू ढाकछोप गर्नु, सत्यता छोप्नु, र आफ्ना दुष्ट अभिप्रायहरू लुकाउनु, र साथै आफ्ना दुष्ट कार्य, अत्यन्तै अवज्ञाकारी कार्य, र आफूले कुनै वास्तविक काम कसरी गर्दैन र गर्न सक्दैन भन्ने सत्यतालाई लुकाउनु हो। उदाहरणका लागि, जब परमेश्वरको घरलाई निश्चित रकम चाहिन्छ र त्यसले उसको मण्डलीमा भेटीहरू कति छन् भनेर सोध्छ, तब त्यो ख्रीष्टविरोधीले पहिला परमेश्वरको घरलाई कति चाहिन्छ भनेर सोध्छ। यदि तैँले एक-दुई हजार चाहिएको छ भनिस् भने, उसले एक-दुई सय मात्र छ भन्ने दाबी गर्छ; यदि तैँले दसौँ हजार चाहिएको छ भनिस् भने, उसले एक-दुई हजार मात्र छ भन्छ। वास्तवमा, ऊसँग मण्डलीको भेटीमा दसौँ हजार युआन हुन्छ र ऊ त्यो छोड्न इच्छुक हुँदैन। के उसले दुष्ट अभिप्रायहरू पालिरहेको छैन र? ऊ के गर्न चाहन्छ? ऊ यी भेटीहरू आफ्नै प्रयोगका लागि हत्याउन चाहन्छ। के यसलाई परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु भन्न मिल्छ? (मिल्छ।) ख्रीष्टविरोधीले भेटी नत्याग्ने हदसम्म परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्छ। यदि तैँले उसको मण्डलीमा लेखन, सङ्गीत, वा भिडियो निर्माणको सिप भएको कोही छ कि भनी सोधिस् भने, उसले भन्ला, “हामीकहाँ लेखनमा सिपालु एक जना अठहत्तर वर्षको व्यक्ति छ, ऊ भूतपूर्व पत्रकार हो र उसलाई पेटको गम्भीर समस्या छ।” वास्तवमा, यो व्यक्ति तीस-पैँतीसको, जीवनको शिखरमा हुन्छ, र ऊ पेटको कुनै गम्भीर रोगबाट पीडित हुँदैन। किन ख्रीष्टविरोधी आफ्नो पकड खुकुलो पार्दैन? किन ऊ झूटो जानकारी दिन्छ? ऊ परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्न चाहन्छ। ऊ यस्तो प्रतिभालाई जान दिएमा आफ्नो शासनमा असर पर्छ भन्ने विश्वास गर्छ; ऊ यी प्रतिभाशाली व्यक्तिहरूलाई राखिराख्न पनि चाहन्छ। के यी प्रतिभाशाली मानिसहरू साँच्चै उसैका हुन्? (होइनन्।) त्यसोभए किन ऊ तिनीहरूलाई जान दिँदैन? परमेश्वरको घरको कामलाई यी सिपालु मानिसहरू चाहिँदा, किन ऊ यिनीहरू उपलब्ध गराउँदैन र गलत जानकारीसमेत दिने हदसम्म पुग्छ? ऊ आफ्नो हैसियत सुरक्षित राख्न मानिसहरूलाई भ्रममा पार्न चाहन्छ—उसले परिस्थितिलाई वास्तवमै आफूअनुकूल प्रयोग गरिरहेको हुन्छ। ऊ यसमा संलग्न पक्षहरू यी कर्तव्यहरू पूरा गर्न इच्छुक छन् कि छैनन् भनेर सोध्दैन, न त यी मानिसहरूका परिस्थितिलाई परमेश्वरको घरसामु साँचो रूपमा प्रस्तुत नै गर्छ। बरु, ऊ तिनीहरूलाई आफ्नै प्रयोगका लागि राख्छ, वा यदि आफूले प्रयोग गर्दैन भने पनि, तिनीहरूलाई परमेश्वरको घरलाई दिन मान्दैन। उदाहरणका लागि, यदि परमेश्वरको घरलाई मण्डलीबाट एक जना भिडियो निर्माता चाहिएमा, ख्रीष्टविरोधीले यो कुरा देख्छ र सोच्छ, “भिडियो निर्माणमा सिपालु व्यक्ति उपलब्ध गराउनु—के मैले यस्तो राम्रो अवसर छोड्न मिल्छ? हरेक व्यक्तिले आफ्नै दूनो सोझ्याउँछ: मेरी छोरी, छोरा, र केही आफन्तहरूले भिडियो निर्माणबारे केही कुरा बुझेका छन्, त्यसैले तिनीहरूले परमेश्वरको घरका मागहरू पूरा गरे वा नगरे पनि म तिनीहरू नै उपलब्ध गराउनेछु।” मानिसहरू उपलब्ध गराउनेजस्तो राम्रो अवसर सामना गर्दा, उसले आफ्ना आफन्त र साथीसँगीहरूलाई प्राथमिकता दिन्छ, र बाहिरी मानिसहरूलाई कुनै मौका दिँदैन। के यो परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु होइन?
माथि उल्लिखित उदाहरणहरूका आधारमा, ख्रीष्टविरोधीले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नुले ठ्याक्कै के जनाउँछ? के यसको अर्थ ख्रीष्टविरोधीले हरव्यक्ति र हरकुरालाई नियन्त्रण र आफूअनुकूल प्रयोग गर्दै पूर्ण प्रभुत्व जमाउँछ भन्ने होइन? सबथोक उसकै हातमा हुन्छ, अनि सबै कुरामा उसकै अन्तिम निर्णय हुन्छ; बोर्डलाई नियन्त्रण गर्ने, पर्दा पछाडिबाट निर्देशन दिने र चालबाजी गर्ने ऊ नै हुन्छ। यो परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु हो। जब माथिले परिस्थिति बुझ्न उसको मण्डलीमा कोही पठाउँछन्, र यस व्यक्तिले केही मानिससँग कुरा गर्न अनि दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो जीवन प्रवेश र कर्तव्य निर्वाहमा कस्तो गरिरहेका छन् भनी हेर्न, अनि परमेश्वरका वचनका पुस्तक र प्रवचनका रेकर्डिङ परमेश्वरका चुनिएका हरेक व्यक्तिलाई वितरण गरिएका छन् कि छैनन् भनी जाँच्न चाहन्छ, तब ख्रीष्टविरोधीले भन्छ, “ठिक छ, म तपाईंलाई दुई जना दाजुभाइ-दिदीबहिनीहरूको घरमा लानेछु।” यी दुई मानिस को हुन्? के ती दुवै ख्रीष्टविरोधीको अधिकारक्षेत्रका मानिस होइनन् र? (हुन्।) यी दुई मानिस उसकी बहिनी र उसको सालो हुन्। माथिले पठाएको व्यक्तिलाई यी दुई घरमा लगेपछि, यी दुई मानिसले भन्छन्, “हाम्रो मण्डली जीवन एकदमै राम्रो छ, र हामीले सबै प्रकारका प्रवचन, सङ्गति र गवाही भिडियोहरू पाएका छौँ। हाम्रो मण्डली अगुवा मण्डलीको कामका लागि बाहिर जानुभएको निकै दिन भयो र घर फर्कनुभएको छैन।” उसको मण्डलीमा जो गए पनि, तिनीहरूले वास्तविक परिस्थिति अलिकति पनि बुझ्न सक्दैनन्। ख्रीष्टविरोधीले मण्डलीको साँचो अवस्थाबारे सबथोक, देखा परेका समस्याहरू, बाधा र अवरोध पुऱ्याइरहेका दुष्ट मानिसहरू, झारा टार्दै आफ्नो कर्तव्य पूरा गर्नेहरू, गलत भएका कार्यहरू आदि इत्यादि ढाकछोप गर्छ। त्यहाँ जाँदा तैँले देख्ने दृश्यहरू देखिँदा मात्र राम्रा हुन्छन्—त्यो सब झूटो देखावा हो। एउटा मात्र अपवाद छ: यदि माथिद्वारा पठाइएको व्यक्तिले मण्डलीका भेटीहरू राख्ने उपयुक्त ठाउँ छ कि छैन र केही भेटी लगिनुपर्ने छ कि छैन भनी सोधेमा, ख्रीष्टविरोधीले हतारपतार मण्डलीको भेटी धेरै छैन भन्छ। अन्य सारा कामका सम्बन्धमा, ऊ सकारात्मक कुरा गर्छ, तर भेटीहरू संलग्न अवस्थाको सम्बन्धमा गर्दैन—उक्त व्यक्तिले बोल्नुअघि नै ऊ त्यो कुराकानी टुङ्ग्याउँछ। ख्रीष्टविरोधीले सबै प्रकारका कर्तव्यहरू पूरा गर्न उपयुक्त मण्डलीका कर्मचारीहरूलाई नियन्त्रणमा राख्छ, जबकि उसलाई मनपर्ने र परमेश्वरको घरका सर्तहरू पूरा नगर्ने कतिपय मानिस, विशेष गरी खराब मानवता हुने र दुष्टात्माले काम गरिरहेकाहरू, वा मूलतः आत्मिक बुझाइ नहुने, घृणित मानवता हुने, आफ्नो कर्तव्य झारा टार्दै गर्ने, परमेश्वरमाथिको आस्थामा जग नहुने, र ठ्याक्कै गैरविश्वासीहरूजस्तै अरू मानिस परमेश्वरको घरलाई दिन्छ। यी मानिसहरूले आफ्नो कर्तव्य झारा टार्दै गर्नेबाहेक, बाधा र अवरोध खडा गर्ने अनि यिनीहरू जथाभाबी व्यवहारमा संलग्न हुने पनि गर्छन्, अनि कतिपयले त कष्ट सहन सक्दैनन् र परमेश्वरको घर छोड्न चाहन्छन्। कतिपयले त आधारहीन अफवाह र धारणा फैलाउने समेत गर्छन्, अनि कतिपयचाहिँ आफ्ना कर्तव्य राम्ररी पूरा गर्दैनन्, टिभी नाटक वा अनेकौँ बकवास भिडियोहरू हेरेर दिन बिताउँछन्। अनि अन्त्यमा के हुन्छ? यीमध्ये कतिपय मानिसलाई त्यहाँबाट पठाइन्छ। पठाइनेमध्ये, पन्चानब्बे प्रतिशतभन्दा बढीमा खराब मानवता हुन्छ। तिनीहरूको मानवता कति खराब हुन्छ? ज्यादै खराब हुन्छ—तिनीहरूमा मानवता हुँदैन, र कतिपयले त परमेश्वरमा बिलकुलै विश्वास गर्दैनन्। यी मानिसहरू कहाँबाट आए? के ती सबै मण्डलीले उपलब्ध गराएका होइनन् र? तिनीहरू मण्डलीद्वारा उपलब्ध गराइएका हुनाले, उपलब्ध गराउने मानिसहरूमा अवश्यै समस्या हुनुपर्छ। यी मानिसहरूमध्ये कतिपय ख्रीष्टविरोधी हुन सक्ने, र उपलब्ध गराइएका व्यक्तिहरू ख्रीष्टविरोधीका आफन्त, आसेपासे, वा कट्टर अनुयायी हुन सक्ने कुरालाई नकार्न सकिन्न। कुरा यही होइन र? के साँच्चै मानवता भएको र अलि विवेक हुने व्यक्तिले प्रतिभाशाली व्यक्तिहरू प्रदान गर्ने महत्त्वपूर्ण मामलालाई गम्भीर रूपमा लिन सक्छ? के ऊ अलि जिम्मेवार हुन सक्छ? के उसले आफ्ना केही स्वार्थी मनसाय हटाउन सक्छ? मानवता र विवेक भएको व्यक्तिले यो कुरा एकदम हासिल गर्न सक्छ, अनि एक प्रकारको व्यक्तिले मात्र हासिल गर्न सक्दैन, त्यो ख्रीष्टविरोधीहरू हो। तिनीहरू सबै राम्रा कुरा आफै राख्न चाहन्छन्, र आफूलाई फाइदा नहुने कुनै पनि कुरालाई स्पष्टसित नकार्छन् र त्यसमा सहकार्य गर्न मान्दैनन्—ख्रीष्टविरोधी यस्ता हुन्छन्।
ख्रीष्टविरोधीहरूले सधैँ पूर्ण नियन्त्रण जमाउन र मण्डलीका मामलाहरूमा हैकम चलाउन चाहनुबाहेक परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्ने तिनीहरूको अझ बढी घिनलाग्दो पक्ष पनि छ। के आफ्ना कट्टर अनुयायीहरूसँगै मिलेमतो गर्ने ख्रीष्टविरोधीहरू परमेश्वरको घरका प्रबन्धहरूप्रति समर्पित हुन, आफ्ना कर्तव्य राम्ररी पूरा गर्न, परमेश्वरको घरको काम कायम राख्न, र आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्छन्? (अहँ, सक्दैनन्।) त्यसैले मैले तिनीहरू मिलेमतो गरिरहेका हुन्छन् भनेको हुँ। तिनीहरू मिलेमतो गर्छन् भनिसकेपछि, तिनीहरूले एकसाथ भन्ने र गर्ने कुरामा गोप्य लेनदेन समावेश हुन्छ भन्ने कुरा पुष्टि हुन्छ। सतहमा, यी मानिसहरू मिलनसार, वरिष्ठताको सम्मान गर्ने झैँ देखिन्छन्, अनि अत्यन्तै प्रेमिलो, शिष्ट, र एकअर्काप्रति सम्मान देखाउने, साथै शालीन र असल चरित्रका देखिन्छन्। वास्तवमा, यो सबै सतही, नक्कली, र पाखण्डी हुन्छ। तिनीहरूले यति शिष्ट भएर एकअर्काप्रति उच्च सम्मान र शालीनता देखाउन सक्नुको कारण के हो? यसको एउटा कारण छ। तिनीहरूले एकसाथ मिलेमतो गर्नुको उद्देश्य परमेश्वरको इच्छा पालना गर्न र मण्डलीको काम राम्ररी गर्नका लागि एकअर्काबाट आफ्ना कमजोरीहरू परिपूर्ति गर्न सिक्नु वा एकअर्कालाई सत्यता वास्तविकतामा प्रवेश गर्न मदत गर्नु होइन। बरु, यो त आपसी शोषण, निर्भरता, र सहयोगका निम्ति हो। जति धेरै मानिस त्यति नै धेरै शक्ति हुने, र धेरै शक्तिले कामकुरा सम्हाल्न झन् सजिलो हुने, र निजी मामलाहरू सम्हाल्न त्यति नै सहज हुने भएकाले तिनीहरू मिलेमतो गर्छन्। त्यसैले, तिनीहरू सँगै हुँदा, अत्यन्तै मिलनसार देखिन्छन्, मानौँ तिनीहरू अत्यन्तै घनिष्ठ परिवार नै हुन्। तिनीहरू आफूभन्दा ठूलालाई शिष्ट रूपले सम्बोधन गर्छन्, आफ्नै उमेरकालाई “सिस्टर” वा “ब्रदर” भनेर बोलाउँछन्, जुन कुरा एकदमै स्नेहपूर्ण सुनिन्छ तर सरासर सांसारिकताले भरिएको हुन्छ। यदि कुनै व्यक्तिलाई त्यो परिस्थितिको तथ्यहरू थाहा छैन भने, उसले तिनीहरूलाई तिनीहरूको प्रेम, आपसी सहयोग र एकअर्काप्रतिको निर्भरताका लागि प्रशंसासमेत गर्ला; तिनीहरू कठिन घडीमा सहयोगको हात बढाउन इच्छुक देखिन्छन्, अनि निकै खुसी र सन्तुष्ट हुन्छन्, र यसो भन्छन्, “हामी सबै परिवार हौँ; हामी एउटै परमेश्वरमा विश्वास गर्छौँ।” तिनीहरू बोल्दाखेरी अर्थपूर्ण नजरद्वारा प्रेम बाँड्छन्, तिनीहरू वास्तवमै परिवार र बलियो बन्धनमा बाँधिएको समूह हौँ भनी थप पुष्टि गर्छन्। त्यसोभए, तिनीहरूले मिलेमतो गर्दा ठ्याक्कै के गर्छन्? उदाहरणका लागि, एउटी दिदी एउटा कम्पनीकी महाप्रबन्धक छे र उसको सामाजिक सम्बन्ध र सम्पर्कहरू विस्तृत छन्। उसले ख्रीष्टविरोधीको अधिकारक्षेत्रमा मानिसहरूका निम्ति धेरै कामकुरा गरेकी छे, र अधिकांश मानिसले ऊबाट निगाह पाएका छन्, त्यसैले तिनीहरू उसलाई “ठुलदिदी” भन्छन्। जब पनि कसैको घरमा केही भइरहेको हुन्छ, जस्तै छोरा विश्वविद्यालय गइरहेको हुन्छ वा छोरीले जागिर खोजिरहेकी हुन्छे, तब तिनीहरू निश्चित रूपमा उसको परामर्श लिन्छन् र मामलाहरू समाधान गर्न उसको मद्दत माग्छन्। यदि कोही अस्पताल भर्ना भएको छ, अनि त्यो अस्पतालमा काम गर्ने मण्डलीको कुनै व्यक्ति छ र उसले तिनीहरूलाई आयातित औषधीहरू दिलाउन मद्दत गर्न सक्छ भने, ख्रीष्टविरोधीले तुरुन्तै यस व्यक्तिलाई घनिष्ठ विश्वासपात्र र परिवारको अंश मान्छ। तिनीहरू मिलेमतो गरेर यस्ता कार्यहरू सम्हाल्छन्, एकअर्कालाई आपसी लाभ पुऱ्याउँछन्, र दुवै पक्षलाई फाइदा हुने अवस्था सिर्जना गर्छन्। त्यसकारण, तिनीहरू सँगै हुँदा आपसमा अत्यन्तै राम्रो सम्बन्ध भएको र एकअर्कासँग सामञ्जस्यपूर्ण भएको, सक्दो खुसी र कहिल्यै झगडा नगर्ने देखिन्छन्। तर, यो सामञ्जस्यतापछाडि, हरव्यक्तिले गोप्य मनसायहरू पालेको हुन्छ, कसरी अर्कोलाई शोषण गर्ने र अरूलाई प्रयोग गर्ने, साथै अरूलाई मद्दत गर्दै गर्दा कसरी आपसी लाभ उठाउन र अरू मानिसको निगाह फिर्ता गर्न सकिन्छ भनेर सोचिरहेको हुन्छ। ख्रीष्टविरोधीले आफ्नो अधिकारक्षेत्र स्थापित गरिसकेपछि र कट्टर अनुयायीहरू प्राप्त गरेपछि, दैनिक जीवनका सारा स-साना मामलाहरूमा सहयोग गर्न ऊसित आफ्नो समूह र “परिवार” हुन्छ। उदाहरणका लागि, जागिर खोज्ने, कलेज जाने, बढुवा पाउने, गम्भीर रोग सम्हाल्ने, अर्को ठाउँमा सर्ने, वा पक्राउ परेपछि जेलबाट छुट्न मध्यस्थकर्ताका रूपमा पैसा तिर्ने व्यक्ति भेट्टाउने मामलाका सन्दर्भमा—यी सबै मामलाहरू सम्हाल्ने एक व्यक्ति हुन्छ। ख्रीष्टविरोधीको दृष्टिकोणबाट हेर्दा, के यी “परिवारका सदस्यहरू” उपयोगी छैनन् र? के तिनीहरूमा भर पर्न सकिँदैन र? के तिनीहरू एकअर्कामा भर पर्न र एकअर्कालाई सहयोग गर्न सक्दैनन् र? (सक्छन्।) त्यसकारण, यस्तो अधिकारक्षेत्रभित्र, व्यक्तिले मानिसहरूले परमेश्वरका वचनहरूलाई आफ्ना सिद्धान्त ठानेर सँगै अन्तरक्रिया गरिरहेको, वा मानिसहरूले आफ्नो विवेकअनुसार कार्य गरेको, परमेश्वरका वचनहरूअनुसार जिएको, परमेश्वरलाई आराधना गरेको, एकअर्कासित सामान्य तरिकाले अन्तरक्रिया गरेको, हृदयदेखि नै सङ्गति गरेको, आफ्नो हृदय खोलेको र आफूलाई उदाङ्गो पारेको, आफ्नो भ्रष्ट स्वभावबारे सङ्गति गरेको र त्यसलाई चिनेको, वा एकअर्काबाट आफ्ना कमीकमजोरीहरू परिपूर्ति गर्न सिकेको देख्दैन—त्यस्तो केही पनि हुँदैन। यो टोली, यो अधिकारक्षेत्र ख्रीष्टविरोधीको गिरोहको अधिकारक्षेत्र हो, जहाँ सत्यताको कुनै प्रभुत्व हुँदैन, जहाँ पवित्र आत्मा काम गरिरहनुभएको हुँदैन, र जहाँ मानिसहरूको हृदयमा परमेश्वरका वचनहरू हुँदैनन्। बरु, यहाँ ख्रीष्टविरोधीको गिरोह सन्तुष्ट भएर, आरामसित, आनन्दमा जिउँछन्, र त्यसलाई आफ्नै घरका रूपमा लिन्छन्। वास्तवमा, यो न त परमेश्वरको घर हो न त मण्डली नै हो; यो त समाज हो, ख्रीष्टविरोधीको गिरोह हो।
ख्रीष्टविरोधीहरू मण्डलीलाई आफ्नो अधिकारक्षेत्रमा परिणत गर्छन्, त्यसलाई कुनै सामाजिक समूह र तिनीहरूको गिरोहमा रूपान्तरण गर्छन्। तिनीहरू विनाशकारी र घृणास्पद कार्यहरूमा संलग्न हुन्छन्, अनि पूर्णतया गैरविश्वासीहरूका चाल र विधिअनुसार बोल्ने र कार्य गर्ने गर्छन्। हरव्यक्ति चिप्लो बोली भएको, बोलक्कड, एकदमै गुण्डागिरी गर्ने, अन्तर्घाती र दुष्ट हुन्छ, र सत्यता स्विकार्न मान्दैन। बाहिरी रूपमा, तिनीहरू शोधित, सभ्य, शिष्ट, अनुशासित, अनि क्षमता र चरित्र भएको सुबानी समेत भएको व्यक्तिको खोल ओढ्छन्। तर, वास्तवमा तिनीहरू सबै अन्तर्घाती, धूर्त, नीच, र दुष्ट पात्र हुन्छन्। तिनीहरू एकअर्कासित मिलेमतो गर्छन्, सम्बन्ध स्थापित गर्छन्, प्रभाव जमाउन प्रतिस्पर्धा गर्छन्, फजुल खर्चमा ध्यान दिन्छन्, अनि समाजमा सामुदायिक र व्यावसायिक सम्बन्धहरूमा जोड दिन्छन्। तिनीहरू समाजमा कसको बढी प्रभाव, उच्च हैसियत, र बढी प्रतिष्ठा छ, साथै रणनीति बनाउनमा को उत्कृष्ट छ भन्नेतिर ध्यान दिन्छन्। तैँले तिनीहरूको बोली र व्यवहारबाट, कुनै सच्चा विश्वास खुट्ट्याउन सक्दैनस्; तैँले तिनीहरूको हृदयमा परमेश्वरका वचन र सत्यताका लागि सानोभन्दा सानो ठाउँ त झनै देख्न सक्दैनस्। तिनीहरूको विश्वास खेल र छलकपटभन्दा बढी केही हुँदैन। यी दुष्ट पात्रहरूले मण्डलीलाई सामाजिक समूह, दुष्ट पात्रहरूले मिलेमतो गर्ने अधिकारक्षेत्रमा परिणत गरेका हुन्छन्, जतिबेला तिनीहरू यसो भन्दै उच्च सुनिने शब्दहरू निरन्तर व्यक्त गरिरहेका हुन्छन्: “हामी परमेश्वरमा विश्वास गर्छौँ, उहाँको घरमा आफ्ना कर्तव्यहरू पूरा गर्छौँ, यसरी परमेश्वरलाई पछ्याउँछौँ, त्यस तरिकाले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको कल्याणमा योगदान पुऱ्याउँछौँ, यसरी उनीहरूलाई सहयोग र साथ दिन्छौँ, र यस्तो-यस्तो तरिकाले एकअर्कालाई प्रेम गर्छौँ।” तिनीहरू मानिसहरूलाई भ्रम र जालमा पार्ने दुष्ट माध्यमका साथसाथै विभिन्न नीच विधिहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई हानि पुऱ्याउँछन्, तैपनि आफूले कर्तव्य पूरा गरिरहेको, दाजुभाइ-दिदीबहिनीहरूलाई मद्दत गरिरहेको, परमेश्वरलाई महिमित तुल्याइरहेको, र उहाँको साक्षी दिइरहेको विश्वास गर्छन्। तिनीहरूलाई यी कार्य र व्यवहारपछाडि परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्ने ख्रीष्टविरोधीहरूको सार हुन्छ भनेर थाहा हुँदैन। ख्रीष्टविरोधीहरू परमेश्वरलाई पछ्याउनेहरूलाई आफ्नो शक्तिको जालमा पार्छन्, मण्डलीलाई आफ्नो अधिकारक्षेत्र, एउटा सामाजिक समूह, शैतानको शक्तिअन्तर्गत रहने मानिसहरूको सङ्गठनमा परिणत गर्छन्। के यस्तो सङ्गठनलाई अझै पनि मण्डली मान्न सकिन्छ? प्रस्ट रूपले सकिन्न। के ख्रीष्टविरोधीहरूको व्यवहार असाध्यै वाकवाकलाग्दो हुँदैन र? के तिमीहरूले कहिल्यै ख्रीष्टविरोधीको यस्तो गिरोह देखेका छौ? तँलाई तिनीहरूमाझ हुँदा कस्तो महसुस हुन्छ? बाहिरी रूपमा, तिनीहरू नम्र र मिलनसार देखिन्छन्—तर जब तैँले तिनीहरूसित सत्यता र परमेश्वरका अभिप्रायहरूबारे सङ्गति गर्छस्, तब तिनीहरू अत्यन्तै विकर्षण र अरुचिको मनोवृत्ति देखाउँछन्, जुन तिनीहरूको बाहिरी नम्रता र मिलनसारीविपरीत हुन्छ। तैँले तिनीहरूसित सत्यतामा सङ्गति गर्दा, तिनीहरूलाई तँ बाहिरी व्यक्ति होस् भन्ने लाग्छ, र तैँले मण्डलीको कामबारे सङ्गति गर्दा, तिनीहरूलाई झनै त्यस्तो लाग्छ; जब तँ कर्तव्य पूरा गर्दा अभ्यास गर्नुपर्ने सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्छस्, तब तिनीहरू हताश हुन्छन् र रुचि देखाउँदैनन्, र त्यति बेला तिनीहरू आफ्नो पैशाचिक स्वरूप प्रकाश गर्छन्, टाउको कन्याउँछन्, हाइ काढ्छन्, र तिनीहरूको आँखाबाट पानी बग्छ। के यो असामान्य होइन र? तैँले सत्यतामा सङ्गति गर्नेबित्तिकै तिनीहरूको पैशाचिक स्वरूप किन देखा पर्छ? के तिनीहरू प्रत्येकको हृदयमा धेरै प्रेम हुँदैन र? तैँले सत्यताबारे सङ्गति गर्न सुरु गर्दा कसरी तिनीहरू रुचि गुमाउन सक्छन्? के त्यसरी तिनीहरूको खुलासा हुँदैन र? के तिनीहरूमा बाहिरी कार्यहरू गर्ने ठूलो उत्साह र बफादारी हुँदैन र? अनि यदि तिनीहरू बफादार छन् भने, के तिनीहरूसँग वास्तविकता हुँदैन र? यदि तिनीहरूसँग वास्तविकता छ भने, मानिसहरूले सत्यता सङ्गति गरेको सुन्दा तिनीहरू खुसी हुनुपर्ने हो, तिनीहरूले त्यसको तृष्णा गर्नुपर्ने हो। किन तिनीहरूको स्थिति सधैँ असामान्य हुन्छ, दुष्टात्माको वशमा परेको समेत हुन्छ? यसले तिनीहरूका सामान्य सामञ्जस्यतापूर्ण अन्तरक्रियाहरू, अनि तिनीहरूको नम्रता र मिलनसारी पूर्णतया झूट हुन् भन्ने देखाउँछ। तिनीहरूलाई पूर्ण रूपले प्रकट त परमेश्वरको न्यायका वचनहरू र उहाँले व्यक्त गर्ने सत्यताहरूले गर्छन्। त्यसपछि तिनीहरू रिसले चूर हुन्छन्, र तिनीहरूको अवस्था सामान्यजस्तो नै हुँदैन, अनि तिनीहरू दुष्टता गर्न र बाधा पुऱ्याउन थाल्छन्। त्यसपछि, परमेश्वर तिनीहरूलाई शैतानकहाँ सुम्पनुहुन्छ र त्यसउप्रान्त तिनीहरूको चासो राख्नुहुन्न। तिनीहरूका यावत् दुष्कर्महरूमा तिनीहरूले आफ्नो साँचो रूप देखाएका हुन्छन्।
ख्रीष्टविरोधीहरूले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्ने कुरा साँच्चै वास्तविकता हो। अलि कम गम्भीर अवस्थामा, एक व्यक्तिले निश्चित सङ्ख्याका मानिसहरूलाई आफूअनुकूल प्रयोग गर्छ; गम्भीर अवस्थामा, एक गिरोहले निश्चित मात्रामा मानिसहरू र त्यसबाहेकका हरेक मामलालाई आफूअनुकूल प्रयोग गर्छ। एक व्यक्तिले आफूअनुकूल प्रयोग गर्न सक्ने कामकुरा र परिस्थितिहरूको सङ्ख्या सीमित हुन्छ; त्यसैले, ख्रीष्टविरोधीहरूले आफ्नो दलबललाई विस्तार गर्न र आफ्नो हैसियत जोगाउन मानिसहरूको एउटा समूहलाई प्रशिक्षित गराउनै पर्ने हुन्छ। तिनीहरूले आफूलाई सहयोग गर्ने, आफ्नो हैसियत र शक्ति जोगाउने, अनि परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नका लागि मद्दत गर्ने मानिसहरूको एक समूहलाई लोभ्याउनु र नियन्त्रण गर्नुपर्ने हुन्छ। ख्रीष्टविरोधीहरूले आफ्नो गिरोह बनाएपछि, तिनीहरूको प्रभावक्षेत्र बढ्दै जान्छ, जसले गर्दा तिनीहरूले थप कामकुरालाई आफूअनुकूल प्रयोग गर्न सक्छन्, अनि तिनीहरूको संलग्नता फराकिलो बन्छ। परिणामस्वरूप, पीडितहरूको सङ्ख्या बढ्छ। तिमीहरूले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्न सक्ने ख्रीष्टविरोधीको गिरोह सामना गऱ्यौ भने के गर्नुपर्छ? के तिमीहरूले कहिल्यै त्यस्तो गिरोह देखेका छौ? यस समूहका मुख्य सदस्य सामान्यता चारपाँच जना, वा दश जनाभन्दा बढी हुन्छन्। हरव्यक्ति विभिन्न कार्यका लागि जिम्मेवार हुन्छ। उदाहरणका लागि, कर्मचारी समायोजन गर्नमा खप्पिस, आर्थिक गतिविधि सम्हाल्ने, माथिलाई सामना गर्ने, र जे आइपरे पनि ख्रीष्टविरोधीका लागि कामकुरा तुरुन्तै ढाकछोप गरिदिने; साथै पर्दापछाडिबाट सल्लाह दिने, मानिसहरूलाई हानि पुऱ्याउन खराब कामकुराहरूको षडयन्त्र रच्ने; अफवाह फैलाउनमा माहिर, फूट पैदा गराउने, दुष्कर्मीहरूलाई दुष्टता गर्न सहयोग गर्ने, जानकारी सङ्कलन गर्ने, अनि लाभ उपलब्ध गराइदिने र तिनीहरूलाई चिकित्सा उपचार दिलाउने व्यक्तिहरू समेत हुन्छन्। छोटकरीमा भन्नुपर्दा, यो झुन्डमा हरप्रकारको भूमिका खेल्ने कुनै व्यक्ति हुन्छ। ख्रीष्टविरोधीहरू प्रभाव नजमाएका, सोझा र सरल, अनि समाजमा मामलाहरू सम्हाल्ने क्षमता नभएका व्यक्तिहरूलाई बेवास्ता गर्छन्। त्यसको साटो, तिनीहरू हैसियत, प्रतिष्ठा, प्रभाव भएका, अनि एक अधिकारीका रूपमा वा समाजमा ठूलो व्यवसाय गर्नमा अनुभव भएका विश्वासीहरू—संसार देखेका, कामकुरा फत्ते गर्न सक्ने, र तिनीहरूका लागि राम्रा कुराहरू प्राप्त गर्न सक्ने मानिसहरू—लाई विशिष्ट रूपमा लक्षित गर्छन्। उदाहरणका लागि, यदि एउटा कारको मूल्य ४,००,००० लाख युआन पर्छ भने, बजार बुझ्न सक्ने व्यक्तिले प्रयोग भइसकेको कार आधा मूल्यमा ख्रीष्टविरोधीलाई उपलब्ध गराउन सक्छ, जुन नयाँ कार सरह नै हुन्छ। के त्यो ख्रीष्टविरोधीले, त्यस्तो व्यक्तिसँग निकट हुन पुगेमा उसलाई भित्र्याउनेछ? (भित्र्याउनेछ।) ख्रीष्टविरोधीहरू यस्तै मानिसहरूलाई भित्र्याउँछन्। तिनीहरूको उद्देश्य के हो? तिनीहरू परमेश्वरको घर, परमेश्वरले काम गर्ने ठाउँलाई सामाजिक समूहमा परिणत गर्ने, र मानिसहरूमाझ परमेश्वरको काम र सत्यता कार्यान्वयन गर्न नसकिने अवस्था सिर्जना गर्ने उद्देश्य राख्छन्—तिनीहरू आफ्नै लक्ष्यहरू हासिल गर्न चाहन्छन्। यदि कुनै साधारण विश्वासी हृदय र सत्त्वदेखि नै परमेश्वरलाई विश्वास गर्छे, आफ्नो परिवार र करियर त्याग्न सक्छे, सोझी र सरल छे अनि कामकुरा सम्हाल्ने क्षमता राख्दिन भने, के ख्रीष्टविरोधीले उसलाई चाहनेथियो? (चाहनेथिएन।) यदि उसका श्रीमान् र छोरा दुवैले व्यापारमा पैसा कमाउन सक्छन्, समाजमा तिनीहरूको प्रभाव छ, र तिनीहरूलाई कसैले पनि हेप्ने आँट गर्दैन भने, के ख्रीष्टविरोधीका लागि यस्ती पाको उमेरकी महिलाको कुनै मूल्य हुन्छ? ख्रीष्टविरोधीका नजरमा उसको अन्तर्निहित उपयोगिता नभए पनि, उसको परिवारको सन्दर्भमा ऊ अत्यन्तै मूल्यवान् हुन्छे। ऊसँग पैसाको कमी छैन, उसले घरमा दाजुभाइ-दिदीबहिनीहरूलाई आतिथ्य प्रदान गर्न सक्छे, र यदि केही आइपऱ्यो भने, त्यो समाधान गर्न उसले आफ्नो परिवारको मद्दत पाउन सक्छे। यस्तो व्यक्ति ख्रीष्टविरोधीका लागि मूल्यवान् हुन्छ। ख्रीष्टविरोधी यस्तो व्यक्तिलाई लोभ्याउन र भ्रममा पार्न सम्भव भएजति सबथोक गर्छ, उसलाई आफ्नो पक्षमा उभिने र ऊद्वारा प्रयोग हुने तुल्याउँछ। ख्रीष्टविरोधी आफूलाई काम लाग्ने मानिसहरूलाई सही रूपमा मूल्याङ्कन गर्छ। ऊ साँचो आस्था हुने, निष्कपट रूपमा परमेश्वरमा विश्वास गर्ने, वा असल चरित्र भएका, र कर्तव्य निर्वाहमा बफादार, अनि हेरचाह र मलजल पाएपछि प्रगति गर्न र साँच्चै मूल्य चुकाउन सक्नेहरूलाई वास्ता गर्दैन वा महत्त्व दिँदैन। तँ जति बढी सोझो हुन्छस्, र तँमा जति बढी विवेक र समझ हुन्छ, ऊ तँबाट त्यति नै विकर्षित हुन्छ। यदि तैँले साँचो रूपमा र सीधा बोलिस् भने, उसलाई तँप्रति विकर्षण जाग्छ र घृणा लाग्छ। तँलाई देख्दा ऊ तँबाट टाढै बस्छ। यदि तैँले ऊसँग कुराकानी गरिस् भने, उसले सतही कुराकानी गर्छ तर तँ उसका लागि मूल्यवान् नभइन्जेल उसले हृदयदेखि बोल्दैन। ऊ आफ्ना लागि मूल्यवान्, र आफ्नो शक्ति र हैसियतलाई फाइदा पुग्ने मानिसहरूलाई प्राथमिकता दिन्छ। यदि ऊद्वारा प्रयोग हुन सक्ने, र कामकुरा गर्न, साँचो तथ्यहरू ढाकछोप गर्न, उसका लागि उचित बहानाहरू खोजेर खराब कामकुरा गर्न, अनि कसैले नदेख्नेगरी, कसैले त्यो खुलासा गर्न वा छर्लङ्ग देख्न नसक्नेगरी दाजुभाइ-दिदीबहिनीहरूलाई भ्रममा पार्न उसलाई मद्दत गर्न सक्ने व्यक्ति उसको शोषण र नियुक्तिको पात्र बन्छ। यदि कुनै व्यक्ति जोसँग कुरा गर्दा पनि सधैँ चिप्लो घसेर बोल्छ, अख्तियार भएकाहरूको गुणगान गाउँछ, हैसियत हुनेलाई पछ्याउँछ, र कसैप्रति सुझबुझ देखाउँदैन भने, के ख्रीष्टविरोधीले उसलाई प्रयोग गर्छ? ख्रीष्टविरोधीका लागि यस्तो व्यक्ति मूल्यवान् हुन्छ, तर ऊ त्यस्तो व्यक्तिप्रति सावधानी पनि अपनाउँछ। ऊ आफूलाई चिप्लो घस्नेहरूलाई पूर्ण रूपमा भरोसा गर्दैन, र उसले तिनीहरूलाई निश्चित कुराहरू थाहा दिनेछैन। यदि बैठकहरू पदक्रमअनुसार श्रेणीकरण गरिएका छन् भने, उसले यस्ता व्यक्तिहरूलाई बढी महत्त्वपूर्ण भेलाहरूमा राख्दैन। यस्ता दोधारे व्यक्तिहरू कम महत्त्वका वा साधारण भेलाहरूमा सहभागी हुन सक्छन्। किनभने यदि अर्को अगुवा पैदा भएमा, यी दोधारे व्यक्तिहरूले कुनै पनि बेला त्यो ख्रीष्टविरोधीलाई विश्वासघात र खुलासा गर्न सक्छन्। ख्रीष्टविरोधी यस्ता मानिसहरूसँग व्यवहार गर्नमा धूर्त हुन्छ, तिनीहरूलाई अवस्थाअनुसार प्रयोग गर्छ। त्यसकारण, परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्ने सन्दर्भमा भन्नुपर्दा, ख्रीष्टविरोधी एकदमै सावधान हुन्छ। ऊ यस्ता मामलाहरूलाई व्यवस्थित तरिकाले र लेखाजोखा गरेर सम्हाल्छ, कसरी कार्य गर्ने र कुन मानिसहरूलाई गलचेपका रूपमा प्रयोग गर्ने भनेर होसियारीसाथ विचार गर्छ। ऊ मनमा घनिष्ठ आसेपासे र साधारण आसेपासेहरूबीचको फरक छुट्ट्याउँछ।
जब ख्रीष्टविरोधीले कुनै नौलो व्यक्ति, जस्तै माथिल्लो तहको अगुवा वा आफूले राम्ररी नचिनेको व्यक्तिलाई भेट्छ, तब ऊ पहिला उक्त व्यक्तिको चरित्र, उसमा कुनै पछ्याइ वा सोखहरू छन् कि छैनन्, उसमा साँचो आस्था छ कि छैन, उसले परमेश्वरमा विश्वास गरेको वर्ष अवधि, ऊसँग सत्यता वास्तविकता र उसलाई खुट्ट्याउने शक्ति छ कि छैन, अनि उसले जीवन प्रवेशको बोझ बोक्छ कि बोक्दैन भनेर जाँच-पडताल गर्छ। ऊ हरेक पक्षको मूल्याङ्कन र अवलोकन गर्छ, त्यसपछि उसलाई कुराहरू ओकल्न लगाउन र उसको परीक्षा लिन विभिन्न विधि प्रयोग गर्छ। यदि उसले कुनै व्यक्ति अलमल्ल भएको देखेमा, सावधानी अपनाउनुपर्ने ठान्दैन र उसलाई बेवास्ता गर्छ। तर, यदि कुनै व्यक्ति चतुर र बुझ्न गाह्रो रहेछ भन्ने देखिएमा, उसलाई आफू सावधान हुनुपर्ने महसुस हुन्छ। ख्रीष्टविरोधीले परिस्थितिलाई नियन्त्रणमा राख्नुको उद्देश्य सबथोक नियन्त्रण गर्नु, सबै प्रकारका मानिसलाई नियन्त्रणमा राख्नु लगायत सबथोकमा अन्तिम निर्णय गर्न चाहनु हो। परमेश्वरको घरका प्रावधानहरू उसका लागि कागजको टुक्राजस्तै अर्थहीन बन्छन्, साथै परमेश्वरका प्रशासनिक आदेश र स्वभावको कुनै अस्तित्व हुँदैन, मानौँ ती हावा हुन्। उसको महत्त्वाकाङ्क्षा र कामना मानिसहरूलाई नियन्त्रणमा राख्ने र उसको कुरा सुन्न लगाउनेमा सीमित हुँदैन; ऊ हरव्यक्तिले अनुभव गर्ने हरघटना, साथै उसकै अगाडि उसको प्रभावक्षेत्रभित्र र बाहिर दुवै ठाउँमा हुने मामलाहरूलाई नियन्त्रणमा राख्ने हदसम्म जान्छ। यो नियन्त्रणको उद्देश्य के हो? उसको शक्ति र हैसियत, साथै उसको प्रतिष्ठा जोगाउनु हो। एउटा वाक्यांशले ख्रीष्टविरोधीले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्ने कुरालाई समेट्छ: सबथोक उसको नियन्त्रणमा हुन्छ। यसर्थ, ख्रीष्टविरोधीले ठूला वा साना, कुनै पनि मामलालाई अनदेखा गर्ने आँट गर्दैन। उसले कुनै पनि कुरालाई अनदेखा गर्ने आँट गर्दैन, ऊ आफ्नो हैसियत वा प्रभाव क्षेत्रसँग सम्बन्धित कुनै पनि कुरामा सहभागी हुन र हस्तक्षेप गर्न चाहन्छ, कुनै पनि फाइदा छुटाउन चाहँदैन। ऊ मण्डलीभित्र धेरै मामलामा सक्रिय रूपले संलग्न हुन, र कामकुरा कसरी अघि बढिरहेका छन् भनी अवस्था बुझ्न चाहन्छ। उदाहरणका लागि, यदि कतिपय मानिस साँच्चै उसको कुरा सुन्दैनन् वा ऊप्रति समर्पित हुँदैनन् र सधैँ ऊबारे रायहरू राख्छन् भने, उसले तिनीहरूलाई सास्ती दिने उपायहरू खोज्छ। तर यदि उसले तिनीहरूलाई काटछाँट गर्ने कुनै बहाना भेट्टाउन सकेन भने के गर्छ? उसले परमेश्वरको घरबाट पठाइएका पुस्तक र प्रवचनका रेकर्डिङहरू नियन्त्रण गर्ने उपाय खोज्छ। उसले आफूप्रति को आज्ञाकारी छ भन्ने आधारमा यी सामग्रीहरू कसले तुरुन्तै पाउँछ भनेर निर्धारण गर्छ। यदि तैँले उसको कुरा सुनिनस् वा त्यस अवधिमा प्रतिकुल व्यवहार देखाइस् भने, उसले स्रोतसाधन सीमित छन् भनेर दाबी गर्नेछ र तँलाई ती सामग्री पठाउनेछैन। ख्रीष्टविरोधीले तेरो व्यवहार हेर्छ। यदि तैँले त्यसबारे प्रस्ट रूपले सोचिस्, त्यसलाई छर्लङ्गै देखिस्, र ख्रीष्टविरोधीको मनोविज्ञान बुझिस् भने; यदि तैँले स्वेच्छाले आफ्ना भूलहरू स्विकारिस्, र ख्रीष्टविरोधीसित नजिकिइस् भने, उसले बहाना बनाएर यसो भन्नेछ, “यसपटक, परमेश्वरको घरले सबैका लागि पर्याप्त सर सामग्री पठाएको छ, र तिमीले पनि पाउँछौ।” तर, यदि उसले तँ केही समयपछि फेरि टाढिएको देख्यो भने, उसले तँलाई अझै सास्ती दिनेछ। नयाँ सामग्रीहरू आइपुग्दा उसले तँलाई जानकारीसमेत दिनेछैन, उसले तँलाई केही पनि दिँदै दिनेछैन, अनि उसले कुनै बहाना खोजेर तँसित भएको चिजसमेत जफत गर्न सक्छ। विशेष गरी जब ख्रीष्टविरोधीले आफूले पर्दापछाडि गरेका गलत कार्यहरू कसैलाई थाहा हुन सक्छ र त्यसले ती कार्य रिपोर्ट गर्न सक्छ भन्ने थाहा पाउँछ, तब ऊ पहिल्यै कदम चालिहाल्छ, सक्रिय रूपमा आफ्ना गल्तीहरू मान्छ अनि आफूबारेको ज्ञान बताउँछ, र सुरुमा नरम शैली प्रयोग गर्छ। एक पटक ख्रीष्टविरोधीले नरम शैली काम नलाग्ने देखेपछि, र यस व्यक्तिले अझै पनि उसको रिपोर्ट गर्ने सक्ने सोचेर उसलाई हृदयमा अलि असुरक्षित महसुस भएपछि, उसले ठूलो प्रयास गर्दै अझ धेरै मानिसहरू एकत्रित गरेर यस व्यक्तिलाई घेरा हाल्नेछ र बलजफती धम्की दिनेछ। त्यस व्यक्तिले सम्झौता नगरुन्जेल, उसको रिपोर्ट गर्दिनँ भन्ने आफ्नो अडान नजनाउन्जेल यो क्रम जारी रहन्छ, र त्यसपछि मात्र ख्रीष्टविरोधी रोकिन्छ। कतिपय अवस्थामा, ख्रीष्टविरोधीले पहिला अरूको खुलासा गर्न पनि सक्छ; अरूले उसको खुलासा र रिपोर्ट गर्लान् भन्ने डरले, उसले पहिल्यै कदम चाल्छ, अर्को व्यक्तिलाई झूटा आरोपहरू लगाउन र उसका लागि पासो थाप्न जानाजानी अर्को व्यक्तिविरुद्ध गलचेप समात्छ। पछि, उसले त्यस व्यक्तिलाई एक्ल्याउने र निष्कासन गर्ने बहाना भेट्टाउँछ, माथि र मण्डलीसँग उसको सम्पर्क टुटाइदिन्छ। अब, ख्रीष्टविरोधी सुरक्षित महसुस गर्छ र उसले उप्रान्त चिन्ता लिँदैन। के यो परिस्थितिहरूलाई आफूअनुकूल प्रयोग गर्नु होइन र? (हो।) यस्ता मामलाहरूमा ख्रीष्टविरोधीका कार्यहरू एकदुईवटा एकाध घटना वा एकदुई वटा विधि प्रयोग गर्ने मात्र होइनन् भन्न सकिन्छ। ख्रीष्टविरोधीले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्न, आफ्नो हैसियत सुरक्षित गर्न, र आफ्नो अधिकारक्षेत्र डगमगिन नदिनका निम्ति, धेरै दुष्कर्म गर्छ। उदाहरणका लागि, उसले मण्डलीभित्र कर्मचारी प्रणाली र प्रबन्धहरू फेरबदल गर्छ। उसले अझ धेरै मानिसहरूलाई नियन्त्रण गर्न दाजुभाइ-दिदीबहिनीहरूमाझ फूट पैदा गराउँछ, दाजुभाइ-दिदीबहिनीहरूलाई आपसमा आक्रमण र आलोचना गर्न लगाउँछ। उसले इन्साफको बोध बढी भएका कतिपय दाजुभाइ-दिदीबहिनीहरूलाई घेराउ गर्न आफ्ना अनुयायीहरूलाई उक्साउने समेत गर्छ; उसले दाजुभाइ-दिदीबहिनीहरूसामु माथिले आफूलाई निकै उच्च मान्ने दाबीसमेत गर्छ। यति मात्र नभएर, उसले आफ्नो उत्कृष्ट कामबारे सेखी देखाउँदै र आफूले आत्मज्ञान प्राप्त गरेको, स्वेच्छाले आफ्ना समस्याहरू उदाङ्गो पार्न सक्ने इत्यादि दाबी गर्दै माथिलाई पत्रहरू लेख्छ। उसले माथिबाट निगाह पाउने उद्देश्यले पत्रहरू लेख्छ र आफ्ना समस्याहरूबारे जानकारी दिन्छ। उसले परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्न, आफ्ना कट्टर अनुयायीहरूलाई नियन्त्रणमा राख्न, दाजुभाइ-दिदीबहिनीहरूलाई झुक्क्याउन, र सँगसँगै परमेश्वरको घरलाई झुक्क्याउन विभिन्न माध्यम र विधिहरू प्रयोग गर्छ। यी नै ख्रीष्टविरोधीहरूले मण्डलीभित्र परिस्थितिहरू नियन्त्रण गर्न उपयोग गर्ने विभिन्न अभ्यास हुन्। अवश्य नै, अझ धेरै निर्दिष्ट अभ्यासहरू छन्, तर तिनलाई यहाँ सूचिकृत गरिनेछैन। सारांशमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूले कसरी मण्डलीलाई नियन्त्रण गर्छन् भन्ने मामलाहरू आम हुन्, अनि तिनीहरूले प्रकाश गर्ने विभिन्न अभ्यासहरू पनि आम हुन्।
इ. ख्रीष्टविरोधीहरू मानिसहरूको हृदय जाँचपडताल र नियन्त्रण गर्छन्
शक्तिमा एकाधिकार जमाउने र परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नुका साथसाथै, अन्य कस्ता कार्यहरूले ख्रीष्टविरोधीहरू परमेश्वरको घरलाई आफ्नै अधिकारक्षेत्रका रूपमा लिन्छन् भनेर पुष्टि गर्न सक्छन्? शक्तिमा एकाधिकार जमाउने सम्बन्धमा, हामीले मुख्यतः कर्मचारी मामलाका पक्षहरूबारे सङ्गति गऱ्यौँ, जबकि परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु मुख्य गरी घटनाहरूको विकासलाई नियन्त्रण गर्नेसम्बन्धी हो। ख्रीष्टविरोधीहरूले शक्तिमा एकाधिकार जमाउनु एउटा बाहिरी कार्य हो, र परिस्थितिलाई आफूअनुकूल प्रयोग गर्नु पनि बाहिरी कुरा नै हो जुन मानिसहरूले देख्न सक्छन्—यी पक्षहरूलाई नियन्त्रण गर्न सजिलो हुन्छ। तर, एउटा कुरा नियन्त्रण गर्न जोकोहीलाई अत्यन्तै गाह्रो हुन्छ। त्यो एउटा कुरा के हो? (मानिसहरूको हृदय र सोच नियन्त्रण गर्नु।) ल भन्, के त्यो सही हो? (हजुर, हो।) बाइबल भन्छ, “हृदय अरू सब थोकभन्दा बढी छली हुन्छ” (यर्मिया १७:९), अर्थात्, मानव हृदय नियन्त्रण गर्न सबैभन्दा गाह्रो कुरा हो। के ख्रीष्टविरोधीहरूले सबैभन्दा गाह्रो कुरालाई नियन्त्रण गर्ने प्रयास गर्नेथिए त? के तिनीहरू “मानव हृदय सबैभन्दा छली र नियन्त्रण गर्न गाह्रो हुने भएकाले, म त्यसलाई नियन्त्रण गर्नेछैनँ। तिनीहरूले जे सोच्न मन लागे पनि सोचून्; मसित शक्ति भएसम्म, यदि मानिसहरूमाथि मेरो नियन्त्रण छ भने, त्यो पर्याप्त हुन्छ। म तिनीहरूका कार्य र व्यवहार मात्र नियन्त्रण गर्नेछु, तिनीहरूका सोच सम्हाल्ने काम परमेश्वरलाई दिन सकिन्छ; ममा क्षमता छैन, त्यसैले म तिनमा टाउको दुखाउनेछैनँ” भनेर भन्लान् त? के ख्रीष्टविरोधीहरूले यसरी सम्झौता गर्नेथिए त? (अहँ, गर्नेथिएनन्।) ख्रीष्टविरोधीहरूको सारलाई मूल्याङ्कन गर्दा, तिनीहरूको महत्त्वाकाङ्क्षा भनेको कुनै व्यक्तिको सम्पूर्णतालाई नियन्त्रण गर्नु हो। तिनीहरूका लागि नियन्त्रण गर्न सबैभन्दा चुनौतीपूर्ण कुरा मानव हृदय हो, तर यसलाई नियन्त्रण गर्ने तिनीहरूको सबैभन्दा बढी कामना पनि हुन्छ। तिनीहरू मानिसहरूलाई आफ्नो शक्तिको पासोमा पार्छन्, सबथोकमा पूर्ण नियन्त्रण जमाउँछन्: घटनाहरू कुन दिशामा मोडिन्छन्, कति जना मानिस संलग्न छन्, कस्ता मामलाहरू घटनाक्रममा ल्याइन्छन्, यी घटनाहरूको पूर्ण विकासक्रम, र परिणामहरू के-के हुनेछन्—यी सबै तिनीहरूले चालु गर्ने कुरा र तिनीहरूको हृदयको कामनाअनुसार विकसित हुन्छन्। तर, एउटा कुरा छ, जुन किटेरै भन्नुपर्दा, मानिसहरूले हृदयमा के सोचिरहेका हुन्छन् त? उनीहरू तिनीहरूबारे के सोचिरहेका हुन्छन्? के उनीहरूमा तिनीहरूको राम्रो छाप परेको हुन्छ कि हुँदैन? के उनीहरू तिनीहरूलाई मन पराउँछन् कि पराउँदैनन्? के उनीहरू हृदयमा, तिनीहरू ख्रीष्टविरोधी हुन् भनेर विश्वास गर्छन्? के उनीहरू तिनीहरूका कार्यलाई खुट्ट्याउने वा मन नपराउने गर्छन्? मानिसहरूले बाहिरी रूपमा तिनीहरूलाई सम्मान देखाउँदा र चिप्लो घस्दा, उनीहरू हृदयमा साँच्चै के सोचिरहेका हुन्छन्? के उनीहरूको हृदयमा भएको कुरा उनीहरूका बाहिरी स्वरूपसँग साँच्चै मिल्छ? के उनीहरू तिनीहरूप्रति साँच्चै आज्ञाकारी छन् त? यो ख्रीष्टविरोधीहरूलाई एकदमै परेसान पार्ने मामिला हो। तिनीहरू जति परेसान हुन्छन्, त्यति नै जबाफ खोज्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरको घरलाई आफ्नै अधिकारक्षेत्रका रूपमा लिनुको तेस्रो प्रकटीकरण यही हो—मानिसहरूको हृदय जाँचपडताल र नियन्त्रण गर्ने।
के मानिसहरूको हृदय जाँचपडताल र नियन्त्रण गर्न सजिलो छ? जाँचपडताल र नियन्त्रण गर्नुले कुनै कामकुरा गर्दा कार्य वा व्यवहारका दुई फरक हदलाई जनाउँछन्। जब कुनै ख्रीष्टविरोधीले शक्ति हातमा लिन्छ अनि कुनै घटनाको पूरै विकासक्रम र परिणाम नियन्त्रण गर्छ, जब ऊ यी कुराहरूलाई नियन्त्रण गर्छ, तब उसको अधीनमा वा उसको प्रभाव क्षेत्रभित्र रहेका मानिसहरू हृदयमा साँच्चै के सोचिरहेका हुन्छन्—उनीहरू उसलाई परमेश्वर वा सिद्ध व्यक्ति ठान्छन् कि ठान्दैनन्, उनीहरू ऊप्रति घृणा, राय, वा धारणाहरू राख्छन् कि राख्दैनन्, र उनीहरू उसलाई खुट्ट्याउँछन् कि खुट्ट्याउँदैनन्—मानिसहरूले हृदयमा साँच्चै सोचिरहेका यी कुराहरू अनुमान गर्न निकै चुनौतीपूर्ण हुन्छ। त्यसोभए ऊ के गर्छ? ऊ आफ्ना अधीनस्थहरूलाई नियाल्छ, सुझबुझ नभएका र शोषण गर्न सजिला जोकोहीलाई लाभहरू दिन्छ वा केही कर्णप्रिय शब्दहरू भन्छ। यी मानिसहरू ठ्याक्कै रबरका भकुण्डोजस्तै हुन्छन्: तैँले तिनीहरूलाई हिर्काउँदैपिच्छे तिनीहरू अझ माथि पुग्छन् र तिनीहरूमा थप ऊर्जा भरिन्छ। ऊ यस्ता व्यक्तिहरूलाई गोटीका रूपमा उपयोग गर्छ। उसले उनीहरूलाई के गर्न प्रयोग गर्छ? उसले यी गोटीहरूलाई ऊप्रति मानिसहरूको हृदय जाँचपडताल गर्न लगाउँछ। उसले कुनै गोटीलाई भन्ला, “हालै, हाम्रो मण्डलीका सिस्टर ली र उसकी छोरीले कम भेटी चढाउँदै आएका छन्। उनीहरूले धेरै चढाउने गर्थे, तर अहिले उनीहरू त्यति आउँदैनन्। हाल उनीहरू के गर्दै छन्? के उनीहरूले बाहिरकाहरूसँग कुनै सम्पर्क राखेका छन्? घरमा केही भइरहेको छ कि? गएर हेर अनि केही मद्दत प्रस्ताव गर त।” त्यो व्यक्ति सिस्टर लीको घर गएर यताउति हेर्छ र सोच्छ, “यहाँ कुनै अपरिचित अनुहारहरू छैनन्। ती दुई सिस्टरले निकै शान्त जीवन जिइरहेका छन् जस्तो देखिन्छ। उनीहरूले कुनै कठिनाइ सामना गरिसेकेका जस्तो देखिँदैन। उनीहरू किन हाम्रा भेलाहरूमा गइरहेका छैनन्? म थप सोधपुछ गर्छु।” यस व्यक्तिले सोध्छ, “के तपाईंहरूले घरमा हालै कुनै नयाँ ज्योति प्राप्त गर्नुभएको छ? म हालसालै अलि कमजोर महसुस गरिरहेको छु; मसित एकछिन सङ्गति गर्नुहोस् न।” उक्त व्यक्ति सत्यता र मद्दत खोज्न आएको देखेर ती सिस्टरहरूले ऊसित सङ्गति गर्छन् र यसो भन्छन्, “हालै, हामीले परमेश्वरका विश्वासीहरूले अरू मानिसलाई पछ्याउनु वा सधैँ उनीहरूमा भर पर्नु हुँदैन भन्ने नयाँ ज्योति पाएका छौँ; चुनौतीहरू सामना गर्दा, हामी परमेश्वरसामु आएर प्रार्थना गर्नुपर्छ; यो नै सर्वोच्च बुद्धि हो। मानिसहरू भरपर्दा हुँदैनन्, व्यक्ति परमेश्वरमा मात्र भर पर्न सक्छ; उहाँ मानिसहरूलाई सत्यता, जीवन र उनीहरूले हिँड्नुपर्ने मार्ग प्रदान गर्न सक्नुहुन्छ—मानिसहरू यसो गर्न सक्दैनन्। म सधैँ अरूमा भर पर्ने गर्थेँ, तर पछि एउटी बहिनीसँगको सङ्गतिमार्फत…।” उसले जबाफ दिन्छ, “एउटी बहिनीसँगको सङ्गतिमार्फत? ती बहिनी कहाँ हुनुहुन्छ? के उहाँ बाहिरी व्यक्ति हुनुहुन्छ?” ती सिस्टरहरूले भन्छन्, “उहाँ ठ्याक्कै बाहिरी व्यक्ति नै चाहिँ हुनुहुन्न; उहाँ हाम्रै मण्डलीकी बहिनी हुनुहुन्छ जो धेरै वर्ष टाढा रहेर आफ्नो कर्तव्य पूरा गरेर फकर्नुभएको हो।” उसले जबाफ दिन्छ, “तैपनि के त्यो बाहिरी व्यक्तिसँग सम्पर्क राख्नु नै होइन र? तपाईंले जथाभाबी बाहिरकाहरूसँग सङ्गत गर्नुभयो; तपाईंले यो विषय मण्डलीलाई रिपोर्ट गर्नुपर्छ!” यो जानकारी बटुलेपछि, त्यस व्यक्तिले दुई महत्त्वपूर्ण जानकारीहरू खुलाउँछ: पहिलो, ती दुई सिस्टर अगुवासँग नजिक हुन चाहँदैनन्, र उनीहरूले उसलाई केही खुट्ट्याएको देखियो; दोस्रो, उनीहरूले बाहिरी व्यक्तिसँग सम्पर्क गरेका छन्, र त्यस बाहिरी व्यक्तिले उनीहरूलाई केही कुरा भनेको छ; विवरणहरू स्पष्ट छैनन्, ती सिस्टरहरूले त्यो व्यक्तिबारे केही पनि भन्दैनन्, उनीहरूले जानाजानी त्यो कुरा लुकाइरहेका छन्, त्यसको मतलब अगुवाप्रति उनीहरूको बफादारी ढलपल भइरहेको छ र उनीहरू ऊबाट सावधान हुन थालेका छन्। जब यो व्यक्ति फर्केर उनीहरूबारे ख्रीष्टविरोधीलाई रिपोर्ट गर्छ, तब के त्यो सुनेर ख्रीष्टविरोधी खुसी हुन्छ? के उसले “धेरै राम्रो, मेरा अधीनस्थहरूले अन्ततः मलाई केही खुट्ट्याएका रहेछन्” भन्ने सोच्नेथियो? (अहँ, सोच्नेथिएन।) उसले के सोच्नेथियो? “यो नराम्रो हो। ती दुई सिस्टर आज्ञाकारी थिए, उनीहरू मण्डलीका सच्चा विश्वासी थिए, र उनीहरूले धेरै भेटी चढाउँथे। यो अपरिचित व्यक्तिले उनीहरूसित अन्तरक्रिया गर्न थालेदेखि, यी दुई अलि अनाज्ञाकारी बनेका छन्। के उनीहरूले भविष्यमा भेटी चढाउन जारी राख्नेछन्? यो समस्याजनक र जोखिमयुक्त हो।” ख्रीष्टविरोधीलाई छपपटाहट हुन्छ। किन उसलाई छटपटाहट हुन्छ? (मानिसहरूले उसलाई खुट्ट्याएका छन् र उप्रान्त उसको कुरा सुन्दैनन्।) ठ्याक्कै भनिस्, मानिसहरूका हृदय अबउप्रान्त उसको चालबाजी र नियन्त्रणमा हुँदैन, उनीहरूको हृदय परिवर्तन भइरहेको छ, त्यसैले उसलाई छटपटाहट हुन्छ। विगतमा, यी दुई जना सोझा र सरल थिए, उनीहरू निकै आज्ञाकारी थिए र उनलाई खुट्ट्याउन ध्यान दिँदैनथे, उसले चाहे जे भने पनि केही नसोची त्यो स्विकार्थे। अब उनीहरूको हृदयमा परिवर्तन आएको छ, उनीहरूमा सुझबुझ विकास भएको छ, र उनीहरूले दूरी कायम गरिरहेका छन्, सम्भवतः उसलाई इन्कार गरिरहेका छन्, र सायद उसको रिपोर्ट गर्ने अभिप्राय समेत राखिरहेका छन्—त्यसले समस्या निम्त्याउँछ। के यो ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय कसरी जाँचपडताल र नियन्त्रण गर्छन् भन्ने कुराको निर्दिष्ट प्रकटीकरण होइन र?
जब ख्रीष्टविरोधीले कुनै असामान्य कुरा देख्छ, तब तुरुन्तै आफ्ना आसेपासे वा चम्चाहरूलाई अवस्था पत्ता लगाउन र त्यसका भित्री कारणहरू बुझ्न पठाइहाल्छ। यदि कुनै परिवर्तन भएको छैन, यदि मानिसहरू उस्तै छन् र उनीहरूको हृदय परिवर्तन भएको छैन भने, ऊ आश्वस्त हुन्छ, ऊ उप्रान्त असहज वा तनावग्रस्त रहँदैन। तर, यदि उसले कुनै असामान्य, उसलाई थाहा नभएको, उसको चालबाजीअन्तर्गत नपर्ने, उसले कल्पना नगरेको कुरा पत्ता लगाएमा, त्यो समस्याजनक हुन्छ। ऊ चिन्तित र बेचैन बन्छ, र उसले हतारमा कदम चाल्नेछ। उसका कदमहरूको उद्देश्य के हो? ऊ मानिसहरू आफूसित एकै मनको होऊन् र उनीहरूको हृदय नबदलियोस् भन्ने चाहन्छ। मानिसहरूले आफ्ना विचार उसलाई थाहा दिनैपर्छ अनि बफादारी, दृढता, र निष्कपटता व्यक्त गर्दै निरन्तर उसलाई रिपोर्ट गर्नुपर्छ। उसले मानिसहरूका हृदयका बदलिँदो सोच र विचारहरू, अनि उनीहरूका सोचका दिशा र सिद्धान्तहरू नियन्त्रण गर्नैपर्छ। असहमति पाल्ने जोकोही पत्ता लाग्नेबित्तिकै, उसले त्यसलाई परिवर्तन गर्नतिर लाग्नैपर्छ। यदि त्यो व्यक्ति परिवर्तन हुन वा साथी बन्न सक्दैन भने, उल्टै शत्रु बन्नेछ। उसको शत्रु बन्नुका परिणामहरू केके हुन्? ऊ सास्ती र दमनमा पर्नेछ। यो एउटा तरिका हो। अर्को तरिका पनि छ। ख्रीष्टविरोधी आफ्नो वरिपरिका मानिसहरूबारे सधैँ आशङ्कित हुन्छ, उनीहरूलाई पूर्ण रूपमा ठम्याउन कहिल्यै सक्दैन, मानिसहरूले उसलाई खुट्ट्याउलान् र उसको रिपोर्ट गर्लान् भनेर थुरथुर हुन्छ, र हृदयमा यसो भन्छ: “के तिमीले मैले भेटी चोरेको र आफ्नै तवरले कामकुरा गरेको देख्यौ? यदि देखेको भए, के तिमीले खुट्ट्याउन सक्थ्यौ? के तिमीले मेरो रिपोर्ट गर्न सक्थ्यौ?” कतिपय ख्रीष्टविरोधी पर्दापछाडि यौन लम्पट पनि हुन्छन्, र यसो सोच्छन्, “यी कुराबारे कसलाई थाहा छ? यसबारे थाहा भएकाहरू के सोचिरहेका छन्? के मैले जसोतसो ढोँग गरेर, झूटो छाप पारेर, अनि त्यसपछि यी मानिसहरूलाई जाँच्न, उनीहरूको भित्री सोच निकाल्न, र उनीहरू साँच्चै के सोचिरहेका छन् भनी बुझ्न आवश्यक छ?” के ख्रीष्टविरोधीहरूले यस्ता कामकुरा गर्नेछन् त? ख्रीष्टविरोधीहरूजस्ता दुष्ट मानिसहरूलाई त यस्ता कामकुरा गर्ने बानी नै हुन्छ; तिनीहरूका लागि त्यो स्वाभाविक हुन्छ—तिनीहरू त्यो उत्कृष्ट रूपमा गर्छन्। ख्रीष्टविरोधीले मानिसहरूलाई एकसाथ भेला पार्छ र भन्छ, “आज, यहाँ मैले सबैलाई मण्डलीमा मैले हालै गरेको काममा मेरा कमीकमजोरीहरूमा आत्म-आलोचना गर्न र मैले प्रकाश गरेका भ्रष्ट स्वभावहरूसम्बन्धी मेरो ज्ञानबारे कुरा गर्ने उद्देश्यले मात्र बोलाएको हुँ। खुलस्तसित बोल्नुहोस्, नहिचकिचाउनुहोस्। म तपाईंहरूलाई भर्त्सना गर्नेछैनँ। मन खोलेर आमने-सामने खुलस्त रूपले सङ्गति गरौँ। यदि मैले केही गल्ती गरेँ भने, म परिवर्तन हुनेछ; यदि गरिनँ भने, म गल्ती नगर्न यसलाई चेतावनीका रूपमा लिनेछु। परमेश्वरको घरमा सबथोक खुला, नलुकाइएको, र उदाङ्गो हुन्छ। हामी सबथोक परमेश्वरसामु गर्छौँ, र कोही पनि अरू कोहीबाट सावधान हुन आवश्यक छैन। दाजुभाइ-दिदीबहिनीहरू हो, ढुक्क हुनुहोस्। म आफैलाई जाँचेर सुरु गर्छु। हालै, मैले आफ्नो अल्छीपन र देहगत लालसाका कारण आफ्नो काम राम्ररी गरेको छैनँ। हाल सुसमाचारको काम राम्रो भइरहेको छैन, र मैले मण्डली जीवनलाई त्यति ध्यान दिएको छैनँ। म सुसमाचारको काममा व्यस्त भएँ र मैले अरू मामलाका लागि समय निकाल्न सकिनँ। अवश्यै म जिम्मेवार छु। मैले आफ्ना कल्पनाहरूमा भर परेर, मण्डली जीवन दाजुभाइ-दिदीबहिनीहरू स्वयंद्वारा सञ्चालित हुन्छ, र मैले खासै चिन्ता लिनुपर्दैन भन्ने अनुमान गरेँ। तपाईंहरू सबै जना वयस्क हुनुहुन्छ, र परमेश्वरका वचनहरू अत्यन्तै प्रस्ट छन्, त्यसैले मैले आफूलाई सारा हृदयले सुसमाचारको काममा अर्पित गरेँ। तर, मैले सुसमाचारको काममा पनि राम्रो गरिनँ। मैले दाजुभाइ-दिदीबहिनीहरूसामु आफ्ना गल्तीहरू स्विकार्नैपर्छ, तपाईंहरूलाई क्षमा माग्नुपर्छ, र परमेश्वरलाई क्षमा माग्नुपर्छ। यहाँ, म तपाईंहरू सबैसामु झुक्छु।” सबैले यो कुरा देख्छन् र मनमनै सोच्छन्, “ऊ बदलिएको रहेछ; ऊ पहिलेजस्तो धूर्त देखिँदैन। आज किन ऊ यति निष्कपट छ? केही गडबड छ। म निष्कर्षमा पुगिहाल्नु हुँदैन; अब उसले के भन्छ, म हेर्नेछु।” ख्रीष्टविरोधी भन्दै जान्छ, उसले ऊ दियाबलस, शैतान हो भनेर चिन्छु भन्छ, आफूले कुनै वास्तविक काम गरेको छैन भनेर मान्छ, अनि माथिको अधीनमा रहन र दाजुभाइ-दिदीबहिनीहरूको कुनै पनि आलोचना वा हप्काइ स्विकार्न इच्छुक छु भन्छ। उसले अझै यसो समेत भन्दै जान्छ, “उनीहरूले मलाई बरखास्त गर्छन् र अगुवाइ गर्न दिँदैनन् भने पनि, म सबैभन्दा तलकामध्ये हुन इच्छुक छु। म मेरो काम सम्हाल्न हाम्रो मण्डलीकी सिस्टर ली र उहाँकी छोरीलाई सिफारिस गर्छु।” उसले आफ्नो उत्तराधिकारी चयन गरिसकेको छ। के उसको मनोवृत्ति निकै निष्कपट छैन र? कुनै शङ्का गर्नुपर्ने आवश्यकता छ र? यसो भन्दै गर्दा, ऊ रुनसमेत थाल्छ। त्यसपछि, उसले आफ्नी श्रीमतीलाई ल्याउँछ र भन्छ, “यस समयावधिमा, तिमीले पनि कुनै वास्तविक काम गरेकी छैनौ, बाधा र अवरोध मात्र खडा गरेकी छौ, अनि दाजुभाइ-दिदीबहिनीहरूलाई अन्धाधुन्ध काटछाँट समेत गरेकी छौ। तिमीलाई पनि बरखास्त गर्नुपर्छ।” ख्रीष्टविरोधीले मानिसहरूलाई ऊ निष्कपट भएको अनुभूति गराउन आफू र त्यसपछि उसको परिवारमाथि औँला उठाउँछ। सबैले यो कुरा सुनेपछि, कसैले यसो भन्छ, “वास्तवमा, हामीले तपाईंहरूलाई लामो समयदेखि खुट्ट्याउँदै आएका छौँ। तपाईंहरू मामलाबारे हामीसँग परामर्श लिनुहुन्न; तपाईंहरूमध्ये थोरै जना बसेर कामकुराबारे गोप्य रूपमा छलफल गर्नुहुन्छ र निर्णय गर्नुहुन्छ। यो कुरा परमेश्वरको घरको कामका सिद्धान्तहरूसित मेल खाँदैन। त्यसमाथि, तपाईंहरूले तपाईंहरूमध्ये अगुवा को हुने भनेर हामीलाई थाहै नदिई आफै निर्णय गर्नुभएको छ—हामीलाई जान्ने अधिकारसमेत छैन। तपाईंहरूले चुनेको व्यक्तिले वास्तविक काम गर्न नसक्ने मात्र होइन तर बाधासमेत खडा गर्छ, तर तपाईंहरू उसलाई बर्खास्त गर्नुहुन्न।” दाजुभाइ-दिदीबहिनीहरू एकपछि अर्को गर्दै आफ्ना राय व्यक्त गर्छन्। यो कुरा सुनेपछि, ख्रीष्टविरोधी सोच्छ, “यो त नराम्रो हो! तर, उनीहरूले आफ्ना वास्तविक विचारहरू एकैपटक व्यक्त गर्नु चाहिँ राम्रो हो। यसले मेरो भावी काममा फाइदा गर्नेछ। यदि उनीहरूले नबोलेर मलाई पछाडिबाट छुरा रोपेका, र मलाई थाहै नदिई माथिलाई सीधै रिपोर्ट पत्र लेखेका भए, म त खतम हुनेथिएँ, होइन र? भाग्यवश, मैले यो चाल चलेँ, म चलाख छु र चाँडो प्रतिक्रिया जनाउँछु, अनि मैले बेलैमा उनीहरूका राय बुझेँ।” त्यसपछि उसले चिल्लो कुरा गर्दै भन्दै जान्छ, “तपाईंहरूले भरोसा र आज मेरा गल्तीहरूलाई निष्कपटतासाथ आलोचना गरेकोमा दाजुभाइ-दिदीबहिनीहरूलाई धन्यवाद छ। म ती कुराहरूलाई भविष्यमा पक्कै पनि बदल्नेछु। यदि बद्लिनँ भने, दण्ड र श्राप मेरो टाउकोमा आइलागून्।” ख्रीष्टविरोधीले मानिसहरूको हृदय जाँचपडताल र नियन्त्रण गर्ने कुरा लुकेर सुन्नु र ढोकाबाट चियाएर हेर्नुमा मात्र सीमित हुँदैन। गम्भीर अवस्थाहरूमा, ऊसँग आवश्यक पर्दा प्रयोग गर्ने निर्णायक गोप्य स्रोतसाधन हुन्छ। कस्तो स्रोतसाधन? ऊ लोकतन्त्र र स्वतन्त्रता अभ्यास गर्छ, मानिसहरूलाई पर्याप्त वाक स्वतन्त्रता दिन्छ, उनीहरूलाई आफ्ना राय र गहनतम विचारहरू व्यक्त गर्ने पूर्ण स्वतन्त्रता दिन्छ, मानिसहरूलाई आफ्ना गहनतम भावनाहरू व्यक्त गर्न प्रोत्साहन गर्छ, चाहे ती गुनासा नै किन नहोऊन्। त्यसपछि, आफ्नोभन्दा फरक विचार भएका वा ऊबारे राय राख्नेहरूको कमजोरी च्यापेर उनीहरू सबैलाई एकैपटकमा हटाउँछ। ख्रीष्टविरोधीको शैली कस्तो लाग्यो? यो अत्यन्तै दुष्ट हो! के यो ठूलो रातो अजिङ्गरको शैलीसँग अलि मिल्दैन र? तिनीहरू मूलतः एउटै समूह हुन्, तिनीहरूको प्रकृति सार एउटै हुन्छ। ठूलो रातो अजिङ्गर यसै गरी कार्य गर्दैन र? ख्रीष्टविरोधीले कस्तो प्रदर्शन गर्छ भनी हेर्नु भनेको ठूलो रातो अजिङ्गरको कुरूप अनुहार हेर्नुजस्तै हो।
ख्रीष्टविरोधीहरू मिठा र सही शब्दहरू प्रयोग गरेर मानिसहरूलाई लोभ्याउन र आफूप्रति घनिष्ठ नाउन माहिर हुन्छन्। मानिसहरूलाई जाँचपडताल गरेर उनीहरूलाई साँचो परिस्थितिहरू भन्न लगाएपछि, नतिजा के हुन्छ? के मानिसहरूले तिनीहरूलाई यी साँचो कुराहरू भनेकाले ख्रीष्टविरोधीहरूले पश्चात्ताप गर्नेछन्? के तिनीहरूले हार मान्ने, दुष्टता गर्न छोड्ने, आफ्नो शक्ति त्याग्ने, शक्तिप्रतिको आफ्नो कामना छोड्ने, र आफ्नो अधिकारक्षेत्र विघटन गर्ने काम गर्नेछन्? कहिल्यै गर्नेछैनन्। बरु, तिनीहरू झनै खराब हुनेछन्। तिनीहरूले मानिसहरूका हृदय नियन्त्रण गर्न आफूले सक्ने सबथोक गरेपछि, आफूसँग मिल्नेहरूलाई राख्छन् र नमिल्नेजति सबैलाई तह लगाउँछन्। यस्तै परिस्थितिहरूमा मण्डलीका कतिपय दाजुभाइ-दिदीबहिनी निकालिएका छन्, निष्कासित गरिएका छन्, वा उनीहरूका परमेश्वरका वचनका पुस्तकहरू जफत गरिएका छन् भन्ने कुरालाई हामीले नकार्न मिल्दैन। यी व्यक्तिहरू अन्यायमा परेका थिए। अन्यायमा परेका यी दाजुभाइ-दिदीबहिनीहरूले के गर्नुपर्छ? के कुनै ख्रीष्टविरोधी मण्डलीमा देखा परेर उनीहरूलाई यसरी सास्ती दिएका र विश्वास गर्न असम्भव तुल्याएका कारण उनीहरूले परमेश्वरमा विश्वास गर्न छाड्नुपर्छ? के उनीहरूले त्यसो गर्न मिल्छ? (अहँ, मिल्दैन।) के ख्रीष्टविरोधीहरू वा अन्धकार अथवा दुष्ट शक्तिहरूसामु सम्झौता गर्नु वा झुक्नु उचित हुन्छ? के तिमीहरूले रोज्नुपर्ने मार्ग त्यही हो? (अहँ, होइन।) त्यसोभए, तिमीहरूले कुन मार्ग रोज्नुपर्छ? (ख्रीष्टविरोधीहरूको खुलासा र रिपोर्ट गर्ने मार्ग।) मेरो कुरा सुन्, जब तैँले कुनै व्यक्ति ख्रीष्टविरोधी हो भनेर थाहा पाउँछस्, यदि उसको प्रभाव उल्लेखनीय छ, अनि धेरै अगुवा र कामदारहरूले उसको कुरा सुन्छन् र तेरो कुरा सुन्नेछैनन्, अनि यदि तैँले उसको खुलासा गरिस् र सम्भवतः तँलाई एक्ल्याइन वा निकालिन सक्छ, तब तैँले आफ्नो रणनीतिलाई ध्यानपूर्वक विचार गर्नैपर्छ। उसलाई एक्लै सामना नगर्; जित्ने सम्भावना कम छ। सुरुमा सत्यता बुझ्ने र सुझबुझ भएका केही मानिसलाई सम्पर्क गर्, अनि उनीहरूबाट सङ्गति खोज्। यदि तिमीहरू सहमतिमा पुग्यौ भने, सत्यता स्विकार्न र सहमतिमा आउन सक्ने थप दुई अगुवा वा कामदारसँग कुरा गर्। कैयौँ मानिसहरू सँगै काम गरेर, संयुक्त रूपले ख्रीष्टविरोधीलाई खुलासा गर र सम्हाल। यसरी, तिमीहरूलाई सफलता मिल्ने मौका हुन्छ। यदि ख्रीष्टविरोधीको प्रभाव ज्यादै ठूलो छ भने, तिमीहरू माथिलाई रिपोर्ट पत्र पनि लेख्न सक्छौ। यो सबैभन्दा उत्तम शैली हो। यदि केही अगुवा र कामदारले तिमीहरूलाई साँच्चै दबाउन खोज्छन् भने, तिमीहरू तिनीहरूलाई यसो भन्न सक्छौ, “यदि तिमीहरू हामीले गरेको खुलासा र रिपोर्ट स्विकार्दैनौ भने, हामी यस मामलालाई माथिकहाँ उठाउनेछौँ र उनीहरूलाई नै तिमीहरूलाई सम्हाल्न दिनेछौँ!” यसो गर्दा तिमीहरूलाई सफलता मिल्ने झन् बढी मौका हुन्छ, किनकि तिनीहरू तिमीहरूविरुद्ध जाने आँट गर्नेछैनन्। ख्रीष्टविरोधीहरूलाई सम्हाल्दा, तैँले यो भरपर्दो शैली अपनाउनैपर्छ—कहिल्यै एक्लै सामना नगर्। यदि तँसित केही अगुवा र कामदारहरूको साथ छैन भने, तेरा प्रयासहरू विफल भएरै छाड्छन्, तैँले रिपोर्ट पत्र लेखेर माथिलाई बुझाइस् भने मात्र तेरा प्रयासहरू सफल हुन्छन्। ख्रीष्टविरोधीहरू अत्यन्तै अन्तर्घाती र धूर्त हुन्छन्। यदि तँसित पर्याप्त प्रमाण छैन भने, तिनीहरूविरुद्ध नजा। तिनीहरूसँग तर्क वा वादविवाद गर्नु बेकार छ, प्रेम देखाउनु र तिनीहरूलाई परिवर्तन गर्न खोज्नु बेकार छ, अनि तिनीहरूसित सत्यताबारे सङ्गति गरेर काम लाग्नेवाला छैन; तैँले तिनीहरूलाई परिवर्तन गर्न सक्नेछैनस्। तैँले तिनीहरूलाई परिवर्तन गर्न नसक्ने परिस्थितिमा, तिनीहरूसित हृदयदेखि नै कुरा गर्नु, तिनीहरूसित तर्क गर्नु, र तिनीहरूलाई पश्चात्ताप गर्न पर्खनु तेरो सर्वोत्तम कार्यविधि हुँदैन। बरु, तिनीहरूलाई थाहा नदिई तिनीहरूको खुलासा र रिपोर्ट गर्, माथिलाई नै तिनीहरूलाई सम्हाल्न दे, अनि तिनीहरूको खुलासा गर्न, रिपोर्ट गर्न, र तिनीहरूलाई अस्वीकार गर्न अझ धेरै मानिसहरूलाई प्रोत्साहित गर्, ताकि अन्त्यमा तिनीहरू मण्डलीबाट जरैदेखि फालिऊन्। के यो राम्रो शैली होइन र? यदि तिनीहरूले तेरा भित्री सोचहरू बाहिर निकाल्ने, तेरो जाँचपडताल गर्ने, र तँसँग तिनीहरूबारे सुझबुझ छ कि छैन भनी हेर्ने उद्देश्य राखेमा, तैँले तिनीहरू ख्रीष्टविरोधी हुन् भनेर पहिल्यै चिनिसकेको छस् भने तैँले के गर्नुपर्छ? (मैले तिनीहरूलाई साँचो कुरा भन्नु हुँदैन, बरु हालका लागि तिनीहरूकै कुरा पछ्याउनुपर्छ, तिनीहरूलाई मेरो खुट्ट्याइ पत्ता लगाउन दिनु हुँदैन, र त्यसपछि मैले गोप्य रूपमा तिनीहरूको खुलासा र रिपोर्ट गर्नुपर्छ।) यो तरिका कस्तो छ? (राम्रो।) तैँले दियाबलस र शैतानहरूका युक्तिहरू छर्लङ्गै देख्नैपर्छ र तिनीहरूका पासो वा जालमा पर्नबाट जोगिनैपर्छ। तैँले शैतान र दियाबलसहरूसँग व्यवहार गर्दा, बुद्धि प्रयोग गर्नैपर्छ, र तिनीहरूसित साँचो कुरा बोल्नैहुँदैन। किनभने तैँले परमेश्वर र सच्चा दाजुभाइ-दिदीबहिनीहरूसित मात्र साँचो कुरा बोल्न मिल्छ। तैँले शैतान, दियाबलस, वा ख्रीष्टविरोधीहरूसित कहिल्यै साँचो कुरा बोल्नु हुँदैन। तेरो हृदयको कुरा बुझ्न अनि तेरो हृदयमा सार्वभौमिकता राख्न र त्यसलाई छानबिन गर्न परमेश्वर मात्र योग्य हुनुहुन्छ। तेरो हृदयलाई नियन्त्रण गर्न वा छानबिन गर्न कोही पनि, विशेष गरी दियाबलस र शैतानहरू, योग्य हुँदैनन्। त्यसकारण, यदि दियाबलस र शैतानहरूले तँबाट सत्य निकाल्ने प्रयास गर्छन् भने, तँसित “नाइँ” भन्ने, त्यसको जबाफ दिन अस्वीकार गर्ने, र जानकारी नदिने अधिकार छ—यो तेरो अधिकार हो। यदि तँ “तँ दियाबलस, मबाट मेरा शब्दहरू फुत्काउन चाहन्छस्, तर म तँलाई साँचो कुरा भन्नेछैनँ, म तँलाई बताउनेछैनँ। म तेरो रिपोर्ट गर्नेछु—तैँले मलाई के गर्न सक्छस्? यदि तैँले मलाई यातना दिने आँट गरिस् भने म तेरो रिपोर्ट गर्नेछु; यदि तैँले मलाई यातना दिइस् भने, परमेश्वरले तँलाई श्राप र दण्ड दिनुहुनेछ!” भनिस् भने, के यसले काम गर्छ? (अहँ, गर्दैन।) बाइबल भन्छ: “यसैले तिमीहरू सर्पहरूझैँ बुद्धिमान् र ढुकुरहरूझैँ हानिरहित होओ” (मत्ती १०:१६)। यस्ता परिस्थितिमा, तँ सर्पझैँ चतुर हुनैपर्छ; तँ बुद्धिमान् हुनुपर्छ। हाम्रा हृदय परमेश्वरले मात्र छानबिन गर्न र स्वामित्वमा राख्न योग्य छन्, र ती उहाँलाई मात्र दिनुपर्छ। हाम्रा हृदयको योग्य परमेश्वर मात्र हुनुहुन्छ, शैतान र दियाबलसहरू योग्य छैनन्! त्यसकारण, के ख्रीष्टविरोधीहरूलाई हाम्रो हृदयमा के छ वा हामी के सोचिरहेका छौँ भनेर जान्ने अधिकार छ? तिनीहरूलाई त्यो अधिकार छैन। तिनीहरूले तँबाट सत्य फुत्काउने र तेरो जाँचपडताल गर्ने प्रयास गर्नुको उद्देश्य के हो? तिनीहरूको उद्देश्य तँलाई नियन्त्रण गर्नु हो; तैँले यो कुरा प्रस्ट रूपमा बुझ्नैपर्छ। त्यसैले, तिनीहरूलाई साँचो कुरा नभन्। तैँले तिनीहरूलाई खुलासा र अस्वीकार गर्न, पदबाट झार्न, र कहिल्यै सफल हुन नदिनका लागि अझ धेरै दाजुभाइ-दिदीबहिनीहरूलाई एकजुट गर्ने उपायहरू खोज्नैपर्छ। तिनीहरूलाई मण्डलीबाट जरैदेखि उखेलेर फाल्, परमेश्वरको घरमा फेरि बाधा पुऱ्याउने र शक्ति चलाउने कुनै पनि मौका नदे।
ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय जाँचपडताल गर्नु र नियन्त्रण गर्नु साँचो वास्तविकता हो। ख्रीष्टविरोधीहरूको सार मूल्याङ्कन गर्दा, के प्रस्ट हुन्छ भने यस्ता गतिविधिहरूमा संलग्न हुनु तिनीहरूका लागि स्वाभाविक कुरा हो, र यो निकै आम हो। विभिन्न मण्डलीमा, ख्रीष्टविरोधीहरू प्रायजसो आफ्ना विश्वासपात्रहरूलाई दाजुभाइ-दिदीबहिनीहरूमाझ घुसपैठ गर्न, हालखबर जाँचपडताल गर्न, र भित्री जानकारी बटुल्न पठाउँछन्। कहिलेकाहीँ, तिनीहरूले सङ्कलन गर्ने जानकारी स-साना घरायसी मामला वा मानिसहरूबीचका सामान्य कुराकानीसँग सम्बन्धित हुन्छ, जुन बिलकुलै महत्त्वपूर्ण हुँदैनन्। तर, ख्रीष्टविरोधीहरू सधैँ यी मामलाहरूबारे सधैँ बखेडा खडा गर्छन्, अनि मानिसहरूका विचार र रायमा आउने परिवर्तनहरू तुरुन्तै बुझ्न यी मामलाहरूलाई सोच र दृष्टिकोणका उचाइमा समेत पुऱ्याउँछन्। यसको उद्देश्य तिनीहरूले परिस्थितिहरू र हरव्यक्तिको परिस्थितिलाई सहजै नियन्त्रण गर्न, प्रत्येकलाई तुरुन्तै प्रतिक्रिया दिन सक्नका लागि हो। ख्रीष्टविरोधीहरू शक्ति र हैसियतका सम्बन्धमा आफ्ना कार्यहरूमा अत्यन्तै निर्दिष्ट हुन्छन्। कुन हदसम्म निर्दिष्ट हुन्छन्? तिनीहरूले मामलाहरू कसरी सम्हाल्छन् भन्नेबारे हरव्यक्तिको दृष्टिकोण, साथै भौतिक वस्तु, पैसा, हैसियत, परमेश्वरप्रतिको विश्वास, कर्तव्य पूर्ति, र जागिर परित्याग सम्बन्धी तिनीहरूका दृष्टिकोणका सन्दर्भमा भन्नुपर्दा—तिनीहरू यो सबै कुरा आफ्नै हातका हत्केला झैँ गरी छर्लङ्ग जान्न चाहन्छन्। ख्रीष्टविरोधीहरूले यो कुरा आफ्नै हातका हत्केला झैँ छर्लङ्ग जानेपछि, तिनीहरू मानिसहरूलाई आपूर्ति गर्न, मानिसहरूका गलत दृष्टिकोण बदल्न, वा समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्दैनन्। बरु, तिनीहरू आफ्नै हैसियत, शक्ति र अधिकारक्षेत्रलाई सेवा पुऱ्याउन यो ज्ञान प्रयोग गर्छन्। ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय जाँचपडताल गर्नु र नियन्त्रण गर्नुको उद्देश्य यही हो। ख्रीष्टविरोधीहरूलाई आफूले गर्ने सबथोक अर्थपूर्ण र मूल्यवान् लाग्छ, तर यी सबै तथाकथित अर्थपूर्ण र मूल्यवान् कुरालाई नै परमेश्वर ठ्याक्कै निन्दा गर्नुहुन्छ। तिनीहरूले प्रस्ट रूपमा परमेश्वरलाई धोका दिन्छन् र उहाँसँग तिनीहरूको शत्रुता हुन्छ।
नोभेम्बर ७, २०२०
尼泊尔语-20210814-GY.png)