विषयवस्तु तेह्र: तिनीहरूले मानिसहरूको हृदयको साथै मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्छन्

अ. ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्छन्

आज हामी ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको तेह्रौँ विषयवस्तु—तिनीहरूले मानिसहरूको हृदयको साथै मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्छन्—भन्‍नेबारे सङ्गति गरौँ। ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको आधारमा भन्नुपर्दा, यी प्रत्येक विषयवस्तुले सत्यताप्रति प्रतिकूल, क्रूर र दुष्ट रहेको तिनीहरूको स्वभाव र सार समेट्छ। विषयवस्तु तेह्र पनि यसप्रति अपवाद छैन। “तिनीहरूले मानिसहरूको हृदयको साथै मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्छन्”—यस प्रकटीकरणको आधारमा, तैँले देख्न सक्छस् कि ख्रीष्टविरोधीहरू महत्त्वाकाङ्क्षी मात्र नभई लोभी पनि हुन्छन्; तिनीहरूले आफ्नो हृदयमा धेरै चाहनाहरू बोकेका हुन्छन्। के यी चाहनाहरू मान्य हुन्छन् त? (अहँ, हुँदैनन्।) के मानिसहरूको हृदय नियन्त्रण गर्नु सकारात्मक कुरा हो? “नियन्त्रण” शब्दबाटै प्रस्ट देख्न सकिन्छ कि यो सकारात्मक कुरा होइन। यो कुन अर्थमा सकारात्मक होइन? नियन्त्रण जमाउनु किन गलत हो? के तिमीहरू मानिसहरूको हृदय नियन्त्रण गर्न चाहन्छौ? (चाहँदैनौँ।) तर तिमीहरूले त्यसो गर्न नचाहे पनि कतिपय यस्ता समय आउँछन् जुन बेला तिमीहरूले त्यही तरिकाले कार्य नगरी बस्‍नै सक्दैनौँ। यसलाई “स्वभाव” भनिन्छ; यसलाई “सार” भनिन्छ। ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्नु भनेको मान्य आवश्यकता होइन, न त यो जायज र मनासिब नै हो; यो त नकारात्मक कुरा हो। यो “मानिसहरूको हृदय नियन्त्रण गर्नु” भनेको के हो? मानिसहरूको हृदय नियन्त्रण गर्नु भनेको अमूर्त कुरा होइन; यो त निकै मूर्त र विशिष्ट कुरा हो, यसका विशिष्ट विधि, आचरण र भाषा, साथै विशिष्ट सोच, दृष्टिकोण, अभिप्राय र मनसायहरू हुन्छन्। अब त्यसो भएकोले, ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्नुका मूर्त प्रकटीकरणहरूचाहिँ के-के हुन् त, र यो नियन्त्रणलाई ठ्याक्कै कसरी परिभाषित गरिन्छ त? (अरूको अनुमोदन र सम्मान प्राप्त गर्नको निम्ति, र अरूलाई भ्रममा पार्ने लक्ष्य हासिल गर्नको लागि बाह्य दुःख र मूल्यचुकाइजस्ता कुराहरू प्रदर्शन गरेर।) ख्रीष्टविरोधीहरूले खास प्रकारका आचरण र प्रकटीकरणहरू प्रयोग गरेर मानिसहरूको निगाह प्राप्त गर्छन्, र यसमार्फत मानिसहरूको हृदयमा स्थान बनाउँछन्, र मानिसहरूलाई तिनीहरूको सम्मान गर्न लगाउँछन्। जब ख्रीष्टविरोधीहरूले अरूको सम्मान प्राप्त गर्छन्, यो परिणाम स्वत: नै मानिसहरूलाई भ्रममा पार्ने प्रकृतिको हुन्छ। तर ख्रीष्टविरोधीहरूको हृदयमा भने, यो साँच्चै यी उपायहरू प्रयोग गरेर अरूलाई भ्रममा पार्ने तिनीहरूको व्यक्तिपरक चाहना होइन; तिनीहरूले चाहेको कुरा त सम्मानित हुनु हो—तिनीहरूको उद्देश्य नै त्यही हो। अरू केही छ? (ख्रीष्टविरोधीहरूले ससाना निगाहहरू प्रयोग गरेर मानिसहरूलाई भ्रममा पार्छन् र आफ्नो पक्षमा ल्याउँछन्, साथै अरूलाई तिनीहरूको सम्मान र आदर गर्न लगाउन र तिनीहरूका आदेशहरू पालना गर्न लगाउन तिनीहरूले आफ्ना क्षमताहरू प्रदर्शन गर्छन्, र यसरी तिनीहरूले मानिसहरूको मन जित्ने र उनीहरूमाथि नियन्त्रण राख्ने आफ्नो लक्ष्य हासिल गर्छन्।) यो एउटा पक्ष हो। (ख्रीष्टविरोधीहरू आत्मिक भएको बहाना गर्छन्। तिनीहरूलाई काटछाँट गर्दा तिनीहरूले त्यो कुरा बुझ्दैनन्, तैपनि तिनीहरू बुझेको र त्यसलाई पालना गर्न सक्षम भएको बहाना गर्छन्, ताकि अरूलाई तिनीहरूले उत्सुकतापूर्वक सत्यता पछ्याइरहेका र धेरै आत्मिक बुझाइ प्राप्त गरेका छन् भन्ने भान परोस्। तिनीहरू अरू मानिसहरूलाई तिनीहरूको सम्मान र आदर गर्ने तुल्याउन सत्यता पछ्याउने र बुझ्ने मानिसको जस्तो भेष पहिरन्छन्।) यो अर्को पक्ष हो। ख्रीष्टविरोधीहरू सधैँ तिनीहरू कति आत्मिक छन्, र तिनीहरू सत्यता पछ्याउन र त्यसप्रति समर्पित हुन सक्षम छन् भनेर अरूले देखून् भन्ने चाहन्छन्। वास्तवमा, तिनीहरूमा अलिकति पनि बुझाइ हुँदैन, तर तिनीहरूले अरूलाई तिनीहरूको सम्मान र आदर गर्ने तुल्याउन आत्मिक व्यक्तिको आवरण पहिरन्छन्। तिनीहरूले यस्ता उपायहरू प्रयोग गरेर मानिसहरूको हृदय नियन्त्रण गर्छन्। थप केही छ? (ख्रीष्टविरोधीहरू देखावा गर्न र आफूलाई स्थापित गर्नको लागि शब्द र सिद्धान्तहरू बोल्छन्, ताकि अरूले तिनीहरू सत्यता बुझ्छन् र तिनीहरूसित कद छ भन्ने सोचून्, र तिनीहरूलाई सम्मान गरून्, आराधना गरून् र तिनीहरूका कुरा सुनून्। यी माध्यमहरूद्वारा तिनीहरूले मानिसहरूलाई नियन्त्रण गर्छन्।) यो एउटा ठोस प्रकटीकरण हो, तर “तिनीहरूले शब्द र सिद्धान्तहरू बोछन्” भन्नु पूर्णतया उचित हुँदैन। ख्रीष्टविरोधीहरूलाई आफूले शब्द र सिद्धान्तहरू बोलिरहेको छु भन्‍ने कुरा थाहै हुँदैन; तिनीहरू त आफूले बोलेका कुराहरू वास्तविकता हुन्, ती ठूला सिद्धान्त र प्रवचनहरू हुन् भन्‍ने विश्‍वास गर्छन्, र मानिसहरूलाई भ्रममा पार्न तिनीहरूले ती कुराहरू प्रयोग गर्छन्। यदि ख्रीष्टविरोधीहरूले ती कुराहरू शब्द र सिद्धान्त मात्र हुन् भनेर थाहा पाउँथे भने, तिनीहरूले ती कुराहरूबारे बोल्न छाड्नेथिए। अरू केही छ? (ख्रीष्टविरोधीहरू खुल्लमखुल्ला सिद्धान्तहरूको विपरीत जान्छन्, र सबैको विश्‍वास प्राप्त गर्न छल्याहा शैलीमा आफूसँग भएका शक्ति र मिथ्याभासी आत्मिक सिद्धान्तहरू प्रयोग गर्छन्, र यसरी मानिसहरूमाथि नियन्त्रण राख्ने आफ्नो लक्ष्य हासिल गर्छन्।) (ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको माथिसँगको सम्बन्ध टुटाउँछन्। तिनीहरूले कार्य प्रबन्धहरू कार्यान्वयन गर्दैनन्, आफ्नो अधिकारक्षेत्रभित्र निरङ्कुश शक्ति चलाउँछन्, साथै आफ्नै राज्यहरू स्थापित गर्ने र मानिसहरूलाई नियन्त्रण गर्ने कोसिस गर्छन्।) यो पनि एउटा ठोस प्रकटीकरण हो। यसलाई अझ उचित रूपमा भन्नुपर्दा, तिनीहरूले माथिलाई धोका दिन्छन्, आफूभन्दा मूनिकाहरूबाट कुरा लुकाउँछन्, मानिसहरूको मन जित्‍ने प्रयास गर्छन्, र यसरी मानिसहरूको हृदय नियन्त्रण गर्ने लक्ष्य हासिल गर्न अरूलाई साँचो परिस्थिति हेर्न दिँदैनन्, र छलपूर्वक अरूको विश्‍वास प्राप्त गर्छन्। तिनीहरूले माथिलाई धोका दिनु र आफूभन्दा मूनिकाहरूबाट कुरा लुकाउनुको उद्देश्य माथिलाई र दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूबारे सत्यता बुझ्न नदिनु हो, ताकि माथिले र दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूमाथि भरोसा गरून्, र अन्त्यमा दाजुभाइ-दिदीबहिनीहरू तिनीहरूलाई आराधना गर्ने बन्‍न पुगून्—त्यसपछि तिनीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्ने तिनीहरूको लक्ष्य हासिल गरेका हुनेछन्। थप केही छ? (मानिसहरूले पालना गर्नको निमित्त ख्रीष्टविरोधीहरूले सही देखिने धेरै नियमहरू सिर्जना गर्छन्, र यी नियमहरू प्रयोग गरेर तिनीहरूले सत्यतालाई प्रतिस्थापित गर्छन्, ताकि मानिसहरूलाई यी नियमहरू पालना गर्नु भनेको सत्यता अभ्यास गर्नुसरह हो भन्ने लागोस्। यी माध्यमहरूद्वारा ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्छन् र मानिसहरूलाई आफूतर्फ डोर्‍याउँछन्।) यसलाई ख्रीष्टविरोधीहरूले तिनीहरूको कुरा मानिसहरूले सुनून्, र यसरी मानिसहरूको हृदय नियन्त्रण गर्ने तिनीहरूको लक्ष्य हासिल होस् भनेर सत्यताको ठाउँमा धेरै नियम र प्रावधानहरू सिर्जना गर्नु, र आफूलाई आत्मिक र सत्यता बुझ्ने व्यक्तिको रूपमा साबित गर्न खोजेको रूपमा व्याख्या गर्नुपर्छ। यदि तिनीहरूले सिर्जना गर्ने नियमहरू मण्डली जीवनको लागि र आफ्नो कर्तव्य निर्वाह गर्ने मानिसहरूको लागि लाभदायी भएका भए, साथै यदि ती सत्यता सिद्धान्तहरूविपरीत नभएका भए र तिनले परमेश्‍वरको घरका हितहरूमा कुनै हानि गर्दैनथे भने, यसमा केही पनि गलत हुनेथिएन। मण्डलीमा अनेकथरीका मानिसहरू सम्हाल्ने क्रममा, सत्यता सङ्गति गर्नुबाहेक, केही प्रशासनिक नियमहरू स्थापित गरेर मानिसहरूलाई नियममा राख्न जरूरी हुन्छ। यदि यी प्रशासनिक नियमहरू सत्यता सिद्धान्तहरूविपरीत छैनन्, बरु मानिसहरूको लागि लाभदायी छन् भने, ती सकारात्मक कुराहरू हुन्, र यसो गर्नु मानिसहरूको हृदय नियन्त्रण गर्नु होइन। तर यदि यी नियमहरूलाई सत्यता सिद्धान्तहरूको रूपमा प्रस्तुत गरिँदै छ भने, यसमा समस्या छ। अब त्यसोभए, के ख्रीष्टविरोधीहरू मानिसहरूलाई लाभ हुने र सत्यता सिद्धान्तहरूसँग मिल्दो नियमहरू बनाउन सक्षम छन् त? (अहँ, छैनन्।) यसलाई कसरी व्याख्या गर्ने भनेर सारांशमा भन त। (ख्रीष्टविरोधीहरूले सत्यता सिद्धान्तहरूसँग मेल नखाने केही नियमहरू बनाउँछन् र तिनीहरूले आफूमा आत्मिकता भएको र आफूले सत्यता बुझेको नाटक गर्दै मानिसहरूलाई आज्ञापालन गर्न लगाउँछन्, र मानिसहरूको हृदय नियन्त्रण गर्ने तिनीहरूको लक्ष्य हासिल गर्छन्।) यो तुलनात्मक रूपले उचित हुन्छ। थप केही छ? (ख्रीष्टविरोधीहरू ठुल्ठुलाजस्ता सुनिने विचारहरू फलाकेर आफ्नो चलाखीपन र अन्तर्ज्ञान देखाउन, र यसरी मानिसहरूलाई तिनीहरूको सम्मान गर्ने तुल्याउन रुचाउँछन्। उदाहरणको लागि, कुनै मामलामा सबैले छलफल गरेर त्यसबारे के गर्ने भनी निर्णय गरिसकेपछि, ख्रीष्टविरोधीहरूले एक सेट सिद्धान्तहरू भट्याएर अरू सबैका सुझावहरू खण्डन गर्छन् र सबैजनालाई तिनीहरूको कुराचाहिँ सुन्‍न लगाउँछन्, जबकि तिनीहरूको दृष्टिकोण त्योभन्दा खासै राम्रो केही हुँदैन। त्यसपछि, समय बित्दै जाने क्रमम, मामला जेसुकै भए पनि, कसैले पनि सत्यता सङ्गति गर्ने वा सत्यता सिद्धान्तहरू खोज्ने आँट गर्नेछैन, उनीहरूले ख्रीष्टविरोधीहरूलाई नै अन्तिम निर्णय गर्न दिनुपर्ने महसुस गर्नेछन्, र यसरी अन्त्यमा ख्रीष्टविरोधीहरू मानिसहरूलाई नियन्त्रण गर्ने आफ्नो लक्ष्यमा पुग्नेछन्।) ख्रीष्टविरोधीहरूले हरेक मोडमा ठुल्ठुलाजस्ता सुनिने विचारहरू फलाक्छन्, र यसरी अरूका सुझावहरू खण्डन गर्छन्, आफ्नो देखावा गर्छन्, र अरूलाई तिनीहरू निकै चलाख भएको विश्‍वास दिलाउँछन्, र यसमार्फत अरू मानिसहरूलाई भ्रममा पार्ने र नियन्त्रणमा राख्‍ने आफ्नो लक्ष्य हासिल गर्छन्। हामीले विगतमा ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्ने र भ्रममा पार्ने प्रकटीकरणहरूबारे धेरै सङ्गति गरेका छौँ। ख्रीष्टविरोधीहरूले यसो गर्ने क्रममा, यसमा थुप्रै प्रकारका रणनीति, प्रकटीकरण र विधिहरू संलग्न भएका हुन्छन्। मानिसहरूलाई भ्रममा पार्न तिनीहरूले कहिलेकाहीँ कार्यहरू प्रयोग गर्छन्, कहिलेकाहीँ बोली प्रयोग गर्छन्, र कति अरू बेलामा एकप्रकारको दृष्टिकोण प्रयोग गर्छन्। समग्रमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूले गर्ने यी सारा कामकुराहरूमा अन्तर्निहित लक्ष्यहरू हुन्छन्; यी कुनै पनि कार्यहरू शुद्ध र खुलस्त हुँदैनन्, र यी कुनै पनि सत्यतासँग मिल्दो हुँदैनन्। तिनीहरूले जे गर्छन् त्यो सबै मानिसहरूलाई भ्रममा पार्न साथै तिनीहरूलाई आफ्नो सम्मान र आराधना गर्ने तुल्याउनकै निम्ति गर्छन्। ख्रीष्टविरोधीहरूले बाहिरी रूपमा जे भन्छन् र गर्छन्, ती आवरण मात्र हुन्—ती सबै मानिसहरूले असल ठान्‍ने असल आचरण र कामकुराहरू हुन्—तर खासमा, यदि कसैले ती कुराहरूको सार छानबिन गर्ने हो भने, निस्सन्देह नै ख्रीष्टविरोधीहरूका कार्यपद्धतिहरूमा लुकेका अन्तर्निहित मनसाय र उद्देश्यहरू अत्यन्तै आपत्तिजनक, सत्यताविपरीत र परमेश्‍वरलाई घिन लाग्‍ने खालका छन्।

मानिसहरूको हृदय नियन्त्रण गर्ने तिनीहरूको कार्यशैलीको आधारमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूको मानवता घृणास्पद र स्वार्थी हुन्छ, र तिनीहरूको स्वभाव सत्यताप्रति प्रतिकूल, दुष्ट, र क्रूर हुन्छ। ख्रीष्टविरोधीहरूले आफ्ना उद्देश्यहरू हासिल गर्न लाजको कुनै भावना नराखी अनेकथरीका घृणास्पद र गोप्य चालहरू प्रयोग गर्छन्—यो तिनीहरूको दुष्ट प्रकृतिको एउटा विशेषता हो। यसअलावा, तिनीहरू सधैँ मानिसहरूलाई नियन्त्रण गर्न, र आफूअनुकूल प्रयोग गर्न र हेप्न चाहन्छन्, र त्यसको लागि मानिसहरू इच्छुक छन् छैनन् भन्नेबारे कुनै चासो राख्दैनन्, र त्यसबारे तिनीहरूलाई कुनै जानकारी दिने वा तिनीहरूबाट कुनै सहमति प्राप्त गर्ने काम गर्दैनन्। तिनीहरू मानिसहरूले हृदयमा सोच्ने र चाहने सबथोक तिनीहरूकै नियन्त्रणमा होस् भन्‍ने चाहन्छन्, र तिनीहरू मानिसहरूले हृदयमा तिनीहरूको लागि ठाउँ राखून्, तिनीहरूलाई आराधना गरून् र हरकुराको लागि तिनीहरूकै मुख ताकून् भन्ने चाहन्छन्। तिनीहरू आफ्ना शब्द र दृष्टिकोणहरूद्वारा मानिसहरूलाई परिसीमित गर्न र प्रभाव पार्न, साथै तिनीहरूका आफ्नै इच्छाहरूको आधारमा उनीहरूलाई आफूअनुकूल प्रयोग र नियन्त्रण गर्न चाहन्छन्। यो कस्तो स्वभाव हो? के यो क्रूरता होइन र? यो त बाघले तेरो घाँटी ङ्याक्नुजस्तै हो—तैँले जति नै सास फेर्न र चल्न खोजे पनि, तैँले चाहेजस्तो गर्न सक्दैनस्, बरु तँ त्यसको डरलाग्दो मुखको दरिलो र घातक पकडमा रहन्छस्। तैँले मुक्त हुन जति कोसिस गरे पनि सक्दैनस्, र तैँले बाघलाई बङ्गारा खुकुलो पार्न बिन्ती गरे पनि, त्यो असम्भव हुन्छ, त्यसको लागि छलफलको ठावैँ हुँदैन। ख्रीष्टविरोधीहरूसित ठ्याक्कै यस्तै स्वभाव हुन्छ। मानौँ, तैँले तिनीहरूलाई छलफलमा संलग्न गराइस् र यसो भनिस् रे, “के तपाईं मानिसहरूलाई नियन्त्रण गर्ने उपायहरू सोच्न छोड्न सक्नुहुन्न? के तपाईं आफूलाई उचित व्यवहारमा ढालेर एक अनुयायी बन्न सक्नुहुन्न? के तपाईं आफूलाई उचित व्यवहारमा ढालेर आफ्ना कर्तव्यहरू पूरा गर्न र आफ्नो स्थानमा रहन सक्नुहुन्न?” यसो भन्दा, के तिनीहरू यसमा सहमत हुन सक्थे त? के तैँले तेरो असल आचरण वा आफूले बुझेको सत्यता प्रयोग गरेर तिनीहरूलाई तिनीहरूको मार्ग हिँड्नबाट रोक्न सक्थिस् त? के तिनीहरूको दृष्टिकोण बदल्न सक्ने कोही छ त? ख्रीष्टविरोधीहरूको क्रूर स्वभावलाई हेर्दा, तिनीहरूका सोच र दृष्टिकोणहरू कसैले पनि बदल्न सक्नेछैन, न त मानिसहरूको हृदय नियन्त्रण गर्ने तिनीहरूको चाहनालाई नै कसैले बदल्न सक्‍नेछ। तिनलाई कसैले पनि बदल्न सक्दैन, र तिनीहरूसँग कुनै संवाद हुन सक्दैन—यसलाई “क्रूरता” भनिन्छ। मानिसहरूलाई नियन्त्रण गर्ने ख्रीष्टविरोधीहरूको महत्त्वाकाङ्क्षा र चाहना तिनीहरूको सारको प्रकटीकरण हो। यदि तैँले तिनीहरूलाई सुधार्न असल आचरण प्रयोग गरिस् भने, के त्यसले काम गर्ला त? यदि तैँले काटछाँट, न्याय र सजाय भोगेको आफ्नो व्यावहारिक अनुभव प्रयोग गरेर तिनीहरूलाई सहयोग र साथ दिन्थिस् भने—के तिनीहरू रूपान्तरण हुन सक्थे त? के तिनीहरूले गरिरहेको काम रोक्थे त? (अहँ, रोक्नदैनथे।) के तिमीहरूले यसअघि यस्तो व्यक्तिलाई भेटेका छौ? (हजुर। यस्तो व्यक्तिको सन्दर्भमा कुरा गर्नुपर्दा, उसले जहाँसुकै आफ्नो कर्तव्य गर्ने भए पनि, र उसले एकदुई पटक असफलता भोगे पनि र ठेस खाए पनि, वा रोगको ताडना भोगे पनि, हैसियत पछ्याउने उसको चाहना बदल्न सकिँदैन। ऊ जहाँ गए पनि, उसले हैसियत र शक्ति प्राप्त गर्न चाहन्छ।) यदि ठाउँ वा समूह परिवर्तन गरेर तिनीहरू रूपान्तरण हुँदैनन् भने, तिनीहरू ठूला हुञ्जेल पर्खँदा कसो होला—के तिनीहरू त्यसपछि अलि परिवर्तन होलान् त? के तिनीहरूले शक्ति र अख्तियारको पछ्याइलाई अलि त्याग्लान् त, के त्यो पछ्याइ अलि कमजोर बन्ला त? (अहँ। उमेरसँग यसको कुनै सम्बन्ध छैन; तिनीहरूको यो स्वभाव बदल्न सकिँदैन।) ख्रीष्टविरोधीहरूमाथि क्रूर स्वभावले शासन र नियन्त्रण गर्छ, त्यसैले तिनीहरू बदलिन सक्दैनन्। यस्तो लाग्छ, ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव धेरै मानिसहरू आफैले भोगेको र देखेको जस्तो कुरा हो। ख्रीष्टविरोधीहरूद्वारा मानिसहरूको हृदय नियन्त्रण गरिनु एउटा वास्तविकता हो र यसको तथ्यगत प्रमाण छ—यो निकै गम्भीर मामला हो। यस्ता मानिसहरूले मानिसहरूको हृदय नियन्त्रण गर्ने कुरा बिर्सन वा पाखा लगाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार नै यस्तै हुन्छ। व्यक्तिपरक दृष्टिकोणबाट हेर्दा, तिनीहरूले त्यो कुरा पाखा लगाउन नसकेको देखिन्छ; तर वस्तुगत दृष्टिकोणबाट हेर्दा, तिनीहरूलाई कसैले पनि रूपान्तरण गर्न नसकिने हुन्छ—तिनीहरू सम्पूर्ण रूपले ख्रीष्टविरोधीहरू हुन्। ल मलाई भन् त, के निष्कासित भएर दाजुभाइ-दिदीबहिनीहरूको साथविहीन भएपछि, अरूको हृदय नियन्त्रण गर्ने चाहना हटेका कुनै ख्रीष्टविरोधीहरू छन् त? के ख्रीष्टविरोधीहरू तिनीहरूको परिवेश वा भौगोलिक स्थानमा आउने परिवर्तनहरूको आधारमा बदलिनेछन् त? (अहँ, बदलिनेछैनन्।) तिनीहरू समय र स्थान परिवर्तनसँगै परिवर्तन हुनेछैनन्—यो कुरा तिनीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ। मानिसहरूको हृदय नियन्त्रण गर्ने क्रममा, ख्रीष्टविरोधीहरू वास्तवमा मानिसहरूमाझ शक्ति प्रयोग गर्न खोजिरहेका हुन्छन्, अर्थात् हर्ताकर्ता बन्‍ने, आफै निर्णय गर्ने, र मानिसहरूलाई नियन्त्रण गर्ने र मानिसहरूको हृदयलाई आफूअनुकूल प्रयोग गर्ने शक्ति प्रयोग गर्न खोजिरहेका हुन्छन्—तिनीहरूले प्राप्त गर्ने इच्छा राखेको शक्ति नै यही हो। मानिसहरूको हृदय नियन्त्रण गर्नहेतु, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई तिनीहरूको सम्मान गर्ने तुल्याउन, मानिसहरूलाई झुक्याउन र बहकाउन, र मानिसहरूसामु आफ्नो झूटो रूप प्रस्तुत गर्न हर तरिका र उपायहरू प्रयोग गर्नेछन्, र तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू र चरित्र ढाकछोप गर्न पनि केही निश्‍चित तरिका र उपायहरू प्रयोग गर्नेछन्, अनि मानिसहरूलाई सत्यताप्रति प्रतिकूल रहेको तिनीहरूको ख्रीष्टविरोधी सार खुट्ट्याउन वा छर्लङ्गै देख्नबाट समेत रोक्नेछन्। बाह्य रूपमा, तिनीहरूले आफूलाई कुनै दोष वा त्रुटि नभएका, वा भ्रष्ट स्वभावको कुनै छनक नभएका, आत्मिक र सिद्ध मानिसको रूपमा प्रस्तुत गर्ने गर्छन्, र यसरी तिनीहरू अरूलाई आफ्नो सम्मान, आदर, प्रशंसा, आराधना र भरोसा गर्ने तुल्याउने आफ्नो लक्ष्यमा पुग्छन्। यी लक्ष्यहरूमा पुग्नु भनेको, सारभूत रूपमा, तिनीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्नुको परिणाम हो। ख्रीष्टविरोधीहरूका सारा स्वभाव र प्रकटीकरणहरूबारेको यो सङ्गतिमा, हाम्रो छलफल बढीजसो ख्रीष्टविरोधीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्ने अनि शक्ति र लाभको लागि हानथाप गर्ने कुरामा केन्द्रित भएको छ। अब यो विषयमा हामीले धेरै सङ्गति गरिसकेकाले, आजको लागि हामी यो सङ्गति यही टुङ्ग्याऔँ।

आ. ख्रीष्टविरोधीहरूले मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्छन्

आज हामीले सङ्गति गर्न लागेको मुख्य विषय के हो भने, मानिसहरूको हृदय नियन्त्रण गर्ने प्रयास गर्न खोज्नु, र शक्तिप्रतिको तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहनाबाहेक, ख्रीष्टविरोधीहरूको अर्को एउटा पनि घातक प्रकटीकरण छ। त्यो हो, तिनीहरूले मण्डलीको आर्थिक पक्षप्रति पनि ठूलो चाहना देखाउँछन्, त्यस्तो चाहना जसलाई लोभ पनि भन्न सकिन्छ। हैसियतप्रतिको प्रेमको अलावा, ख्रीष्टविरोधीहरूमा आर्थिक पक्षप्रति पनि विशेष प्रेम हुन्छ। आर्थिक पक्षप्रति तिनीहरूले लिने रुचि र आनन्द प्रचुर र अनियन्त्रित हुन्छ; हामी यसलाई ख्रीष्टविरोधीहरूले मण्डलीको आर्थिक पक्ष नियन्त्रण गरेको भनेर परिभाषित गर्छौँ। ख्रीष्टविरोधीहरूले मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्न खोज्नु र मानिसहरूको हृदय नियन्त्रण गर्न खोज्नु उस्तै कुरा हुन्—दुवै समान रूपले अमान्य र बेसमझ प्रयासहरू हुन्। यो प्रस्ट रूपले अपमानजनक कुरा हो। मानिसहरूको हृदय नियन्त्रण गर्ने महत्त्वाकाङ्क्षा र चाहना राख्नु नै घिनलाग्दो कुरा हो, यो पहिले नै अत्यन्तै अपमानजनक छ, त्यसमाथि ख्रीष्टविरोधीहरू मण्डलीको आर्थिक पक्षसमेत नियन्त्रण गर्न चाहन्छन्—यो तिनीहरूमा हुने अझ घृणास्पद कुरा हो। अब त्यसोभए, जब ख्रीष्टविरोधीहरूले मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्न खोज्छन्, यसका ठोस प्रकटीकरणहरू के-के हुन् त? के यो तिनीहरूले मानिसहरूको हृदय नियन्त्रण गर्न खोजेभन्दा सजिलो तरिकाले खुट्ट्याउन सकिने हुन्छ? जब ख्रीष्टविरोधीहरू मानिसहरूको हृदय नियन्त्रण गर्न खोजिरहेका हुन्छन्, तब तिनीहरूले प्रयोगमा ल्याउने केही शैली र स्वभावहरू मानिसहरूले खुट्ट्याउन सक्छन्। तर यदि तिनीहरू अत्यन्तै गोप्य र कुटिल छन्, र तिनका पछाडि केही कथन, रणनीति, वा शैतानी चालहरू छन्, र तिनलाई ख्रीष्टविरोधीहरूले बाहिर खुलासा गर्दैनन्, बस गोप्य रूपमा मात्र सोच्छन् भने, यी कुराहरू सजिलै खुट्ट्याउन सकिनेछैनन्। तर मण्डलीका आर्थिक पक्षहरू नियन्त्रण गर्न खोज्नुका केही ठोस प्रकटीकरण र शैलीहरू हुनुपर्छ। के तिमीहरूलाई यी शैलीहरू खुट्ट्याउन सजिलो लाग्छ? जब तिमीहरूले यी कुराहरू आफ्नै आँखाले देखेका र आफ्नै कानले सुनेका हुन्छौ, के तिमीहरू यी ख्रीष्टविरोधीहरूका कार्य हुन् भनेर खुट्ट्याउन सक्छौ? (यदि ती प्रस्ट व्यवहारहरू हुन् भने, सक्छौँ। उदाहरणको लागि, ख्रीष्टविरोधीहरूले भेटीहरू सुरक्षा गर्ने प्रभारी को हो भनेर सोधपुछ गर्ने गर्छन्।) यो सजिलै खुट्ट्याउन सकिन्छ किनभने आर्थिक पक्ष एक संवेदनशील मामला हो, र धेरैजसो मानिसहरूले यसबारे सोधपुछ गर्दैनन्, तिनीहरू आर्थिक पक्षबारे षडयन्त्र गर्ने लोभी मानिसहरू रहेछन् भने मात्र तिनीहरूले यस्ता जानकारीबारे चासो राख्ने र सोधपुछ गर्नेछन्। त्यसैले, अब हामी मण्डलीका आर्थिक पक्षहरू नियन्त्रण गर्न खोज्‍ने ख्रीष्टविरोधीहरूका ठोस प्रकटीकरणहरू कस्ता हुन्छन् भन्नेबारे सङ्गति गरौँ।

ख्रीष्टविरोधीहरूले मण्डलीका आर्थिक पक्षहरू नियन्त्रण गर्ने विषय सन्दर्भमा, धेरैजसो मानिसहरूले मनमा यो कुरालाई तिनीहरूले विगतमा देखेका ठगी वा मण्डलीको सम्पत्ति दुरुपयोगका उदाहरणहरूसँग जोड्नेछन्, होइन र? अथवा सायद केही मानिसहरू यस्ता पनि हुन्छन् जो उमेरदार नभएका वा छोटो समय मात्र परमेश्‍वरमा विश्‍वास गरेका कारण, यी कुराहरूबारे त्यति चासो राख्दैनन् र यीबारे सोच्दा पनि सोच्दैनन्। त्यसैले, हामी अब यसबारे विस्तारमा सङ्गति गरौँ, जसले गर्दा तिमीहरूले मण्डलीका आर्थिक पक्षहरूसँग सम्बन्धित केही समस्या, नियम, साथै वर्जित कुराहरू बुझ्न सक्छौ। कतिपय यसो भन्नेहरू पनि छन्, “मैले मण्डलीका आर्थिक पक्षसित सम्बन्धित मामलाहरूबारे कहिल्यै चासो राखेको वा सोधपुछ गरेको छैन। ममा त्यस्तो लोभ छैन। मसँग यसको कुनै सरोकार छैन, र यो मण्डलीको निकै संवेदनशील विषय हो, त्यसैले मैले यसबारे जाने पनि नजाने पनि ठिकै हुनेछ।” के यो दृष्टिकोण ठिक छ त? (अहँ, छैन।) कसरी? तर तिमीहरूले जे सोचे पनि, आज हामीले सङ्गति गरिरहेको विषयले ख्रीष्टविरोधीहरूको स्वभाव समेट्छ, र ख्रीष्टविरोधीहरूको स्वभाव विश्‍लेषण र चिरफार गर्ने दृष्टिकोणबाट हेर्दा, तिमीहरू प्रत्येकले यो सब पूरा र प्रस्टसित बुझ्नु सार्थक हुनेछ। हामी यो मामला प्रयोग गरेर ख्रीष्टविरोधीहरूको स्वभाव चिरफार गर्नेछौँ, त्यसैले अब हामी पहिला ख्रीष्टविरोधीहरूले मण्डलीको सम्पत्तिलाई कुन रूपमा हेर्छन्, मण्डलीको सम्पत्ति भनेको ठ्याक्कै के हो र तिनीहरूको सोचमा त्यो कसको स्वामित्त्वको कुरा हो, साथै ख्रीष्टविरोधीहरूले गोप्य रूपमा यो सम्पत्तिलाई कसरी लिन्छन् र विनियोजन गर्छन् भन्नेबारे सङ्गति गरौँ। सर्वप्रथम, मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले चढाएका पैसा र विभिन्न वस्तुहरूलाई ख्रीष्टविरोधीहरूले कसरी परिभाषित गर्छन्? तिनीहरूको चरित्रलाई हेर्दा, ख्रीष्टविरोधीहरू लोभी हुन्छन्, र तिनीहरूको लोभ ज्यादै ठूलो हुन्छ, त्यसैले तिनीहरू यो सम्पत्तिप्रति उदासीन रहनेछैनन्। बरु, तिनीहरूले यसमा निकै चासो राख्नेछन्, र मण्डलीको सम्पत्ति कति छ, यसको सुरक्षा प्रभारी को हो, यो कहाँ राखिएको छ, र यसबारे कति मानिसहरूलाई थाहा छ भन्नेबारे ध्यानपूर्वक जाँच्‍ने र पत्ता लगाउने गर्छन्। मण्डलीको आर्थिक पक्षसम्बन्धी आधारभूत जानकारी सम्बन्धमा, ख्रीष्टविरोधीहरूले सुरुमै यसमा सबैभन्दा बढ्ता चासो देखाउनेछन्, र यसप्रति विशेष ध्यान दिनेछन्, सोधपुछ गर्नेछन्, र यताउता बुझ्‍नेछन्, र यो जानकारी प्राप्त गर्न सक्दो प्रयास गर्नेछन्। यदि तिनीहरूमा कुनै लोभ नभएको भए, र यदि तिनीहरूले कुनै षडयन्त्रहरू नपालेका भए, के तिनीहरूले यी कुराहरूमा रुचि राख्नेथिए त? (पक्कै राख्नेथिएनन्।) ख्रीष्टविरोधीहरू सामान्य मानवता भएका मानिसहरूभन्दा फरक हुन्छन्, किनकि तिनीहरूको चासोमा गोप्य मनसाय हुन्छ। तिनीहरूको चासो यो सम्पत्ति सुरक्षित राख्नेबारे हुँदैन, तिनीहरू त यसको स्वामित्त्व लिन, वा यसलाई आफूले चाहेअनुसार प्रयोग गर्न सक्षम हुन चाहन्छन्। त्यसैले, ख्रीष्टविरोधीहरूले मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्ने कार्यको पहिलो प्रकटीकरण मण्डलीको सम्पत्ति स्वामित्त्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिनु हो।

अ. मण्डलीको सम्पत्ति स्वामित्त्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिनु

ख्रीष्टविरोधीहरूले हैसियत प्राप्त गरेपछि, तिनीहरूमा भित्री रूपमा एउटा गलत र निर्लज्ज विचार, अर्थात् अगुवा बनेपछि तिनीहरूले मण्डलीका आर्थिक पक्षहरूबारे जानकारी लिने अधिकार मात्र नभई ती कुरा नियन्त्रण गर्ने पूर्ण शक्तिसमेत प्राप्त हुन्छ भन्‍ने विचार पैदा हुन्छ। अनि, मण्डलीका आर्थिक पक्षहरूमाथि नियन्त्रण राख्नुमा तिनीहरूको उद्देश्य के हुन्छ? मण्डलीको सम्पत्ति स्वामित्त्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिने शक्ति प्राप्त गर्नु। मण्डलीको सम्पत्ति स्वामित्त्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिनुको अर्थ के हो? त्यसको अर्थ यो हो कि, तिनीहरू कुनै मण्डलीको प्रभारी रहुञ्जेल, तिनीहरूको सुपरिवेक्षणमा रहेका दाजुभाइ-दिदीबहिनीहरूले चढाएका पैसा र सामानहरू सबै तिनीहरूको व्यवस्थापन, प्रयोग र स्वामित्त्वअन्तर्गत पर्छन्। के यो विचार ठिक हो, कि बेठिक हो? प्रस्ट रूपले यो बेठिक हो, तर ख्रीष्टविरोधीहरूले यस्तै सोच्छन्। अगुवा बनेपछि तिनीहरूले गर्ने पहिलो काम भनेकै आर्थिक पक्षहरू सम्बन्धमा प्रयत्‍न लगाउनु र योजनाहरू रच्नु हो। सर्वप्रथम, तिनीहरूले मण्डलीका आर्थिक पक्षहरू कसले व्यवस्थापन गरिरहेको छ, आर्थिक पक्षहरू कति मानिसहरूले व्यवस्थापन गरिरहेका छन्, मण्डलीसँग कति पैसा छ, र यी आर्थिक पक्षहरू व्यवस्थापन गर्ने मानिसहरू आफ्ना सक्षम दाहिने हात वा भरोसायोग्य एजेन्ट हुन् होइनन् भनी पत्ता लगाउँछन्। यदि होइनन् भने, तिनीहरूले हतारहतार कुनै न कुनै निहु बनाएर उनीहरूलाई बरखास्त गर्छन् र उनीहरूको ठाउँमा आफ्नै एजेन्टहरू राख्छन्। अनि, के तिनीहरू ती आर्थिक पक्षहरू व्यवस्थापन गर्ने मानिसहरू प्रतिस्थापन गरेपछि रोकिन्छन् त? अहँ, यो त्यति सामान्य कुरा होइन। तिनीहरूका महत्त्वाकाङ्क्षाहरू योभन्दा अखण्डै ज्यादा हुन्छन्; तिनीहरू मण्डलीको सम्पत्तिसम्बन्धी हरेक कुराको प्रष्ट बुझाइ राख्न जिद्‌ कस्छन्। मानिसहरूलाई भेटी चढाउन आह्वान गर्नुअलावा, ख्रीष्टविरोधीहरूले यो सम्पत्ति कसरी सम्हाल्छन्? लगाउनको लागि केही किन्नुपर्दा र चिकित्सककहाँ जानुपर्दा, तिनीहरूले मण्डलीबाट पैसा लिन्छन्, साथै आफूसँग कपडा छैन भने, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूले दान दिएका केही राम्रा सामानहरू छानेर लिन्छन्। तर ती कुरा छानेर मात्र तिनीहरूलाई पुग्दैन; तिनीहरूलाई त हरेक कपडा लगाएर हेर्नुपर्छ, अनि तिनीहरूले सबैभन्दा राम्राहरू आफूसँगै राख्छन्, र आफूले नचाहेका निकृष्ट कपडाहरू मण्डलीको लागि छाड्छन्। छोटकरीमा भन्‍नुपर्दा, तिनीहरूले आफ्नो खाना, खर्च र २ रुपैयाँको बस भाडामा समेत मण्डलीको पैसा नै प्रयोग गर्छन्, अनि कतिपयले त विलासी सामानहरू, स्वास्थ्य पूरक सामग्रीहरू, कस्मेटिक सामानहरू, र व्यक्तिगत प्रयोजनका सारा सामाग्रीहरू समेत मण्डलीको पैसाले नै किन्छन्। ख्रीष्टविरोधीहरू अगुवाइको पदमा पुग्नेबित्तिकै, र थोरै काम गर्नुपहिले नै मण्डलीको सम्पत्ति प्रयोग गर्नमा निकै सक्रिय हुनेछन्, र तिनीहरूले यही कार्यलाई नै प्राथमिकतामा राख्‍नेछन्। ख्रीष्टविरोधीहरूले यो सम्पत्ति प्रयोग गर्न थालेपछि, तिनीहरूको पूरै आत्मिक दृष्टिकोण र जीवनको गुणस्तर समग्र रूपमा रूपान्तरित हुनेछ र पहिलेभन्दा बिलकुलै फरक बन्‍नेछ। अवसर पाउनेबित्तिकै, तिनीहरूले हेयरस्टाइल मिलाउनेछन् र शरीर मसाज गराउनेछन्, तिनीहरूले आफैलाई लाडप्यार गर्नेछन्, आफ्नो स्वास्थ्यको हेरचाह हुने कामकुराहरू गर्नेछन्, र आफ्नो लागि स्वास्थ्यवर्धक सुप बनाउनेछन्—तिनीहरूले प्रयोग गर्ने विभिन्न विद्युतीय सामग्रीहरू समेत उन्नत हुनेछन्। अगुवा बन्नेबित्तिकै, ख्रीष्टविरोधीहरूले मण्डलीका धनी मानिसहरू र भेटी चढाउन सक्नेहरूको टिपोट राख्‍नेछन्। त्यसपछि ती धनाढ्य मानिसहरूले पैसाको खोला बगाउनुपर्ने हुन्छ, र ख्रीष्टविरोधीहरूको नजरमा बारम्बार भेटी चढाउनेहरू मण्डलीका बहुमूल्य सदस्य र प्रिय पात्रहरू बन्‍नेछन्। जब ख्रीष्टविरोधीहरू मण्डलीमा प्रवेश गर्छन्, त्यो अङ्गुरको बगैँचामा स्याल पस्नुजस्तै हो—त्यो अङ्गुरको बगैँचामा विपत्ति आउनेछ। त्यो स्यालले राम्रा अङ्गुरहरू खाने मात्र नभई पूरै बगैँचा फोहोर पार्नेछ।

ख्रीष्टविरोधीहरूको मनमा, दाजुभाइ-दिदीबहिनीहरूले चढाएका पैसा र सामानहरू, जसलाई एकमुस्टमा “भेटी” भनेर चिनिन्छ, ती सबै मण्डलीका “सार्वजनिक” सम्पत्ति हुन्। तर यसको अर्थ यो सार्वजनिक सम्पत्ति सामुदायिक प्रयोजनको लागि हो भन्ने होइन; बरु यसले त यो सबैले चढाएको सामुदायिक भेटी हो र व्यावहारिक प्रयोजनको लागि यसको प्रयोगाधिकार अगुवाहरूमा निहित हुन्छ भन्ने जनाउँछ। ख्रीष्टविरोधीहरूको दृष्टिकोणमा, मण्डलीको सम्पत्ति स्वामित्त्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिनु तिनीहरूको कर्तव्य हो, किनकि तिनीहरू अगुवा हुन्, तिनीहरू शीर्ष स्थानमा रहन्छन्, साथै मण्डलीको सबथोक, विशेषगरी राम्राराम्रा सामानहरू तिनीहरूको स्वामित्त्वमा र तिनीहरूको अख्तियारअन्तर्गत हुनुपर्छ। ख्रीष्टविरोधीहरू यस्तो विश्‍वास गर्छन्: “दाजुभाइ-दिदीबहिनीहरूले चढाउने पैसा र सामानहरू परमेश्‍वरलाई दिइँदै छ भनेर भन्नु सतही अभिव्यक्ति मात्र हो। परमेश्‍वरले यीमध्ये कति सामानहरू नै प्रयोग गर्न सक्नुहुन्छ र? के स्वर्गबाट आएर परमेश्‍वरले यी भेटीहरू मानिसहरूलाई बाँड्न सक्नुहुन्छ र? त्यसैले, यी भेटीहरू कसरी खर्च, विनियोजन र प्रयोग गर्ने भनेर मानिसहरूले नै निर्णय गर्नुपर्ने होइन र?” मण्डलीको सम्पत्ति सम्बन्धमा ख्रीष्टविरोधीहरूले बोक्ने निर्लज्ज विचार यही हो। योभन्‍दा नि निर्लज्ज कुरा के छ? तिनीहरूले यसो भन्छन्: “मानिसहरूले धर्तीमा चढाएका पैसा र सामानहरू स्वर्गको परमेश्‍वरले प्रयोग गर्न सक्नुहुन्न, त्यसैले यी कुराहरू कसरी विनियोजन र प्रयोग गर्न सकिन्छ? के मण्डलीका अगुवाहरूले तिनलाई उपभोग गर्न, प्रयोग गर्न, र तीबाट आनन्द लिन मद्दत गर्नुपर्दैन र? त्यसो गर्नु भनेको स्वर्गको परमेश्‍वरले नै ती कुरा प्रयोग गर्नुसरह हुनेछ।” त्यसैले, ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूका भेटीहरूलाई आफ्नै व्यक्तिगत सम्पत्ति बनाउँछन्। तिनीहरू कसले के र कहिले चढाउँछ भन्नेबारे पूर्ण रूपले प्रस्ट हुन्छन्—यी कुराहरूबारे तिनीहरूलाई रिपोर्ट गरिनु र थाहा दिइनु जरूरी हुन्छ। तिनीहरूले अरू मामलाहरूबारे चिन्ता लिँदैनन्। तिनीहरूको लागि आफ्नो शक्तिमाथि दह्रिलो पकड राख्नेबाहेक अर्को एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा छ—त्यो हो, मण्डलीका आर्थिक पक्षहरू नियन्त्रण गर्नु। तिनीहरूको लागि अगुवा हुनुको सार्थकता त्यही हो। ख्रीष्टविरोधीहरूले मण्डलीको सम्पत्तिलाई जेजसरी हेर्छन् र सम्हाल्छन्, के त्यसमा सत्यतासँग वा परमेश्‍वरका मापदण्डहरूसँग मिल्ने कुनै पनि पक्ष छ त? (अहँ, छैन।) सुरुवातदेखि आजको दिनसम्‍मै, के परमेश्‍वरले कहिल्यै दाजुभाइ-दिदीबहिनीहरूले उहाँलाई दिएका भेटीहरू कुन व्यक्तिले स्वामित्त्वमा लिनुपर्छ वा प्रयोग गर्नुपर्छ भनेर भन्नुभएको छ? के परमेश्‍वरले मण्डलीका अगुवा र सेवक, प्रेरित, र अगमवक्ताहरूलाई मण्डलीको सम्पत्ति स्वामित्त्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिने अख्तियार हुनुपर्छ भनेर कहिल्यै भन्नुभएको छ? के परमेश्‍वरले जो अगुवा बन्छ उसले नै मण्डलीको सम्पत्ति प्रयोग गर्न र स्वामित्त्वमा लिन पाउँछ भनेर भन्नुभएको छ? (अहँ, भन्नुभएको छैन।) त्यसोभए ख्रीष्टविरोधीहरूमा किन यस्तो गलतबुझाइ भएको हो? मण्डलीको सम्पत्ति सम्बन्धमा परमेश्‍वरमा वचनहरूमा त्यस्ता कुनै प्रस्ट सर्तहरू छैनन्, तैपनि ख्रीष्टविरोधीहरूले किन त्यसप्रति यस्तो दृष्टिकोण राख्छन् त? (तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन।) के यो त्यति सरल कुरा हो त? यो सन्दर्भमा तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुँदैन भन्नु खोक्रो अभिव्यक्ति मात्र हो। यी शब्दहरूले ख्रीष्टविरोधीहरूको स्वभाव सम्बोधन गर्न सक्दैनन्। के ख्रीष्टविरोधीहरू अगुवाइको पदमा नहुँदा तिनीहरू मण्डलीको सम्पत्तिप्रति लालायित हुँदैनन् त? (हुन्छन्।) त्यसोभए के तैँले तिनीहरू अगुवा बनेपछि तिनीहरूले परमेश्‍वरको डर मान्ने हृदय गुमाउँछन् भन्न मिल्छ त? तिनीहरू अगुवा बन्नुअघि तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुन्छ भन्ने अवश्यै हो र? के यसो भन्न मिल्छ त? (मिल्दैन।) त्यसैले, यस्तो व्याख्या मान्य हुँदैन। ख्रीष्टविरोधीहरू मण्डलीको सम्पत्तिप्रति लालायित हुन्छन्: यस्तो किन हो? (तिनीहरूमा दुष्ट स्वभाव हुन्छ।) (तिनीहरू स्वभावैले लोभी हुन्छन्।) (तिनीहरू स्वभावैले अरू सबथोक छोडी नाफा खोज्ने खालका हुन्छन्।) के सबथोक छोडी नाफा खोज्नु नै ख्रीष्टविरोधीहरूको स्वभाव सार हो त? (होइन।) यो तिनीहरूको चरित्रको एउटा प्रकटीकरण मात्र हो। त्यसैले, अब हामी ख्रीष्टविरोधीहरूको भित्री स्वभाव के हो भनी चिरफार गरौँ। (त्यो दुष्ट र क्रूर हुन्छ।) सर्वप्रथम त त्यो क्रूर हुन्छ, र त्यसपछि दुष्ट हुन्छ। क्रूर भन्नुको अर्थ के हो? त्यसको अर्थ अरू मानिसहरू सहमत भए पनि नभए पनि वा उनीहरूले जे सोचे पनि तिनीहरूले बलजफ्तीपूर्वक ती वस्तुहरू खोसिलिनेछन् जुन तिनीहरूको वस्तु वा स्वामित्त्वको कुरा होइन: यो एउटा क्रूर स्वभाव हो। ख्रीष्टविरोधीहरू अर्थात् यी दियाबलस र शैतानहरूको जन्मसिद्ध प्रकृति सार भनेकै यावत् थोकको लागि परमेश्‍वरसित होडबाजी गर्नु हो। मण्डलीभित्र, ख्रीष्टविरोधीहरू उहाँका चुनिएका मानिसहरूको लागि परमेश्‍वरसित लडाइँ गर्नुबाहेक, मानिसहरूले उहाँलाई चढाएका भेटीहरू खोस्नेसमेत प्रयास गर्छन्। बाहिरी रूपमा, ख्रीष्टविरोधीहरू लालची भएझैँ देखिन्छन्, तर वास्तवमा, त्यो तिनीहरूसँग ख्रीष्टविरोधी स्वभाव र सार भएकाले गर्दा हो। तिनीहरूले मानिसहरूद्वारा परमेश्‍वरलाई चढाइएका पैसा र सामानहरू राख्ने र हसुर्ने इच्छा राख्नु—यो सारभूत रूपमा क्रूरता हो। यो त उदाहरणको लागि, तैँले एउटा नयाँ न्यानो ज्याकेट किनिस् जुन स्टाइलिस र राम्रो गुणस्तरको छ, अनि कसैले त्यसलाई देखेर “तिम्रो यो न्यानो ज्याकेट मेरोभन्दा राम्रो छ। मैले लगाइरहेको झुत्रो ज्याकेटमा प्वालैप्वाल छन्, र यसको स्टाइल नै छैन। तिम्रो चाहिँ किन यति राम्रो हुन सक्छ?” भनेर भन्नु र त्यसो भनिसकेपछि उसले तँबाट बलपूर्वक त्यो न्यानो ज्याकेट फुकालेर लानु र उसको बिग्रेको ज्याकेट तँलाई दिनुजस्तै हो। अनि, तैँले ऊसित साट्न इन्कार गर्नै मिल्दैन—उसले तँलाई दुःख दिनेछ, कठिनाइमा पार्नेछ, कुट्नेछ र मार्नसमेत सक्‍नेछ। के तैँले उसको प्रतिरोध गर्ने आँट गर्नेथिस् त? तैँले उसको प्रतिरोध गर्ने आँट गर्दैनथिस्, र तेरो इच्छाविपरीत उसले तेरो सामान लानेछ। त्यसैले, त्यो व्यक्तिको स्वभाव कस्तो हो? त्यो क्रूर स्वभाव हो। त्यसमा र ख्रीष्टविरोधीहरूले मण्डलीको सम्पत्ति हडप्ने र प्रयोग गर्ने स्वभावमा कुनै भिन्नता छ? (अहँ, छैन।) सम्पत्तिबारे ख्रीष्टविरोधीहरूको दृष्टिकोणअनुसार, तिनीहरू अगुवा र “अधिकारी” बनेर तिनीहरूले मण्डलीको सम्पत्ति हडपेलगत्तै मण्डलीको सम्पत्ति तिनीहरूकै हुन्छ। भेटी जसले चढाएको भए पनि, वा भेटीको रूपमा जे चढाइएको भए पनि, ख्रीष्टविरोधीहरूले त्यसलाई हडप्‍नेछन्। कुनै कुरा हडप्‍नुको अर्थ के हो? त्यसको अर्थ मण्डलीका नियमहरूअनुसार उचितसँग प्रयोग र विनियोजन हुनुपर्ने मण्डलीको सम्पत्ति ख्रीष्टविरोधीहरूको नियन्त्रणमा पुग्छ, र त्यसपछि त्यसलाई प्रयोग गर्ने शक्ति तिनीहरूमा मात्र हुन्छ भन्ने हो। मण्डलीको कामको लागि वा मण्डलीका सेवकहरूलाई आवश्यक पर्दासमेत, ख्रीष्टविरोधीहरूले त्यो सम्पत्ति प्रयोग गर्न अनुमति दिँदैनन्। त्यसलाई तिनीहरूले मात्र प्रयोग गर्न पाउँछन्। मण्डलीको सम्पत्ति केकसरी प्रयोग र विनियोजन गर्ने भन्‍ने सम्बन्धमा ख्रीष्टविरोधीहरूले नै अन्तिम निर्णय गर्छन्; यदि तिनीहरूले तँलाई प्रयोग गर्न दिन चाहेमा, तैँले त्यसलाई प्रयोग गर्न सक्छस्, र यदि चाहेनन् भने, तैँले प्रयोग गर्न सक्दैनस्। ख्रीष्टविरोधीहरूले स्वामित्त्वमा लिइसकेपछि, यदि मण्डलीको भेटी प्रशस्त छैन र तिनीहरूका व्यक्तिगत खर्चमा प्रयोग गरेर सिद्धियो भने, मण्डलीको कामको लागि पैसा बाँकी नरहला भनेर तिनीहरूले वास्तै गर्दैनन्। तिनीहरूले मण्डलीको काम वा मण्डलीको सामान्य खर्चबारे पनि विचार गर्दैनन्। तिनीहरू त त्यो रकम लिएर आफ्नै लागि खर्च गर्न मात्र चाहन्छन्, र त्यसलाई आफ्नै कमाइ मान्छन्। के यस तरिकाले काम गर्नु लाजमर्दो होइन र? (हो नि।) तुलनात्मक रूपले सम्पन्न क्षेत्रहरूमा रहेका कतिपय मण्डलीहरूमा ख्रीष्टविरोधीहरूले यस्तो सोच्छन्: “यो ठाउँ निकै राम्रो छ। खर्चको कुरा आउँदा, मैले जति पनि खर्च गर्न र जेसुकै गर्न सक्छु, मण्डलीका नियम र सिद्धान्तहरू पालना गर्नुपर्दैन। मैले जसरी चाहन्छु त्यसरी खर्चन सक्छु। अगुवा बनेदेखि, अन्तत: म हिसाब नगरी जति पनि खर्च गरेर जीवन जिउन सक्ने भएको छु। मैले कुनै कुरामा पैसा खर्च गर्न चाहेमा मैले भन्नु मात्र पर्छ, त्यसबारे चिन्ता लिनुपर्दैन, र निश्‍चय नै त्यसबारे कसैसित कुरा गर्नुपर्दैन।” मण्डलीको सम्पत्ति खर्च गर्ने सम्बन्धमा, ख्रीष्टविरोधीहरू आफैले सारा शक्ति प्रयोग गर्छन्, लापरवाहीपूर्वक कार्य गर्छन्, र पानीझैँ पैसा बगाउँछन्। मण्डलीका सिद्धान्तहरू वा कार्य बन्दोबस्तहरूबमोजिम कुनै पनि काम नगर्नुअलावा, ख्रीष्टविरोधीहरूले मण्डलीको सम्पत्तिलाई पनि बिनाकुनै सिद्धान्त त्यही रूपमा लिन्छन्। के तिनीहरूले सिद्धान्तहरू नबुझेको हो कि? होइन, तिनीहरूलाई मण्डलीको सम्पत्ति बाँडफाँड र खर्च गर्नेसम्बन्धी सिद्धान्तहरू राम्रोसँग थाहा हुन्छ, तर तिनीहरूले आफ्नो लोभ र चाहनाहरू नियन्त्रणमा राख्न सक्दैनन्। तिनीहरू विनाहैसियतका साधारण मानिसहरू हुँदा, नम्र हुन्छन् र सामान्य दैनिक जीवन जिउँछन्, तर अगुवा बनेलगत्तै, तिनीहरूले आफूलाई ठूलो सोच्छन्। तिनीहरू लवाइखवाइबारे विशेष सचेत बन्छन्—तिनीहरूले सामान्य खाना खान छाड्छन्, अनि आफ्नो लागि गुणस्तरीय र चर्चित ब्राण्डका कपडा खोज्छन्। सबथोक उच्च गुणस्तरको हुनुपर्छ; त्यसपछि मात्र तिनीहरूलाई आफ्नो पहिचान र हैसियतसित मिलेको अनुभूति हुन्छ। ख्रीष्टविरोधीहरू अगुवा बनेलगत्तै, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई उपहारहरू टक्र्याउनैपर्छ, मानौँ उनीहरू तिनीहरूप्रति ऋणी छन्। यदि कुनै राम्रो चिज भेटिएमा प्राथमिकता त्यसमा जानैपर्छ, र दाजुभाइ-दिदीबहिनीहरूले त्यसमा पैसा खर्च गर्नुपर्ने अपेक्षा हुनेछ। ख्रीष्टविरोधीहरू अगुवा बन्नुको अर्थ मण्डलीको सम्पत्ति आफूले स्वामित्त्वमा राख्न र प्रयोग गर्न प्राथमिकता दिने शक्ति आफूमा हुनु हो भन्ठान्छन्। तिनीहरूले यस तरिकाले सोच्ने मात्र नभई व्यवहार पनि यस्तै गर्छन्। यसअलावा, तिनीहरूले यो कुरालाई धेरै परसम्‍म र अरू मानिसहरूलाई घिन लाग्‍ने हदसम्म लैजान्छन्। यो दृष्टिकोणबाट हेर्दा, ख्रीष्टविरोधीहरूको चरित्र कस्तो हुन्छ? अगुवा बनेपछि, अलिकति काम गर्नुअगावै, तिनीहरू भेटीहरू लिन र तिनको प्रयोगमा प्राथमिकता पाउन चाहन्छन्। कस्तो व्यक्तिले यस्ता कामकुराहरू गर्न सक्छ? डाँका, तानाशाह, वा रैथाने दादाले मात्र यस्ता कामकुराहरू गर्न सक्छ।

एउटा अगुवाले तल उल्लेखित कार्य गर्‍यो। उसले गरेको काम खुट्ट्याएर त्यसलाई चिरफार गर्ने कोसिस गर्। एकदिन, मैले एक प्याकेट चिनियाँ जडिबुटीको पौष्टिक पूरक प्राप्त गरेँ। मैले मनमनै सोचेँ, “मैले त यो किनिदेऊ भनेर कसैलाई भनेको थिइनँ, त्यसैले यो कहाँबाट पठाइयो? यो कसले किन्यो? मैले कसरी थाहा पाइनँ?” पछि, सोधखोज गरेपछि, मैले थाहा पाएँ कि एउटा अगुवाले माथि नसोधी आफैले किनेको रहेछ। उसले यो चिज माथिलाई चाहिएको छ भनेर भन्यो। यो सुनेपछि, तलका दाजुभाइ-दिदीबहिनीहरूले भने, “यो किनियोस् भनेर माथिकै चाहना भएकोले, यो सरल छ, हामीले मण्डलीको पैसा प्रयोग गरेर यो किने हुन्छ। माथिको जे किन्‍ने चाहना भए पनि ठिकै हुन्छ, र विशेषगरी यो परमेश्‍वरको लागि भएकोले, हामीलाई कुनै आपत्ति छैन।” अनि, खर्च गरिएको त्यो पैसा कसको थियो? (परमेश्‍वरको भेटी।) उसले किन परमेश्‍वरका भेटीहरू त्यसरी मनपरी खर्च गरेको हो? के यो खरिद गर्ने अधिकार माथिले दिएको हो? मलाई नसोधी, उसले गोप्य रूपमा आफैले औषधी किन्ने निर्णय गरेको थियो। अनि, खरिद गर्ने क्रममा, उसले रोकिएर सोचेन, “के यो माथिको लागि उपयोगी हुनेछ? के मैले किनिरहेको चिज उचित छ? मैले कति किन्नुपर्छ? के माथिबाट मलाई यो पैसा खर्च गर्न अनुमति हुनेछ?” के उसले यी कुराहरू मसँग सोधेको थियो? (थिएन।) उसले सोध्दै नसोधी सिधै यो सामान किनेको थियो। यो दानशीलता कहाँबाट आयो? यो कस्तो व्यक्तिगत बफादारी हो? उसले परमेश्‍वरको लागि केही चिज किन्न परमेश्‍वरकै पैसा प्रयोग गर्‍यो, र यसलाई आफूले गर्नुपर्ने कर्तव्यको रूपमा लियो, र त्यो चिज किनेर परमेश्‍वरलाई सन्तुष्ट पार्न उसले गर्नुपर्ने सबै गर्‍यो र सारा कठिनाइहरू पार गर्‍यो। यहाँ परमेश्‍वरलाई सन्तुष्ट पार्नुको अर्थ के हो? त्यसको अर्थ हो: “म तपाईंलाई नसोधी तपाईंलाई राम्रो सरप्राइज दिन सक्छु। हेर्नू त, ममा यो क्षमता छ! मैले यसो गर्न सक्छु भनेर तपाईंलाई थाहा थियो? तपाईंलाई के लाग्छ? के यो राम्रो सरप्राइज होइन र? तपाईं खुसी हुनुहुन्न र? के तपाईंलाई आराम महसुस भयो?” यो तैँले खर्च गरेको पैसा कसको थियो? के त्यो तेरो थियो? यदि तैँले परमेश्‍वरको पैसा खर्च गरेको होस् भने, के तैँले परमेश्‍वरको मन्जुरी लिइस्? तैँले परमेश्‍वरबाट पैसा चोरिस् र खर्च गरिस्, अनि परमेश्‍वरलाई राम्रो सरप्राइज दिन चाहेको भनिस्: यो कस्तो तर्क हो? तँ कसको पैसाले त्यस्तो दानशील बनिरहेको थिइस्? (परमेश्‍वरको घरको पैसाले।) परमेश्‍वरको घरको पैसाले दानशील बन्नु भनेको परमेश्‍वरका भेटीहरूले दानशील बन्नु हो। के यो घिनलाग्दो कुरा होइन र? (हो।) यो सुनेपछि तिमीहरूलाई घृणा महसुस हुन सक्छ, तर त्यो व्यक्तिले घृणा महसुस गर्नु त कहाँ हो कहाँ, ऊ आफूप्रति निकै खुसी थियो। उक्त सामान डेलिभर भएपछि, उसले मनन गर्‍यो: “जवाफ किन नआएको? मैले तपाईंको लागि यति राम्रो कार्य गरेको छु, तर तपाईंले मलाई किन धन्यवाद दिनुभएन? तपाईंलाई त्यो सामान कस्तो लागिरहेको छ? तपाईं त्यसमा सन्तुष्ट हुनुहुन्छ? तपाईं मैले भविष्यमा तपाईंको लागि अझ धेरै किनोस् भन्ने चाहनुहुन्छ? तपाईंले मेरो कस्तो मूल्याङ्कन गरिरहनुभएको छ? के तपाईंले मलाई अबदेखि महत्त्वपूर्ण पदमा राख्नुहुनेछ? तपाईं मैले गरेको काममा सन्तुष्ट हुनुहुन्छ? मैले तपाईंको पैसा खर्च गरेर तपाईंको लागि केही गरेँ—मेरो दयाबारे तपाईंलाई के लाग्छ? के तपाईं खुसी हुनुहुन्छ? कृपया, केही त भन्नोस्। किन कुनै जवाफ नदिनुभएको?” के मैले उसलाई जवाफ दिनुपर्ने थियो त? (थिएन।) किन थिएन? यो घटना निकै पहिले घटेको हो, तर यतिका समयसम्म मलाई त्यसप्रति घृणा लाग्न छोडेको छैन—हरेकपटक उसले किनेको त्यो चिज हेर्दा मलाई घृणा लाग्छ। तिमीहरू नै भन त, घृणा लाग्नु मनासिब हो? के यो घटनालाई चिरफार गर्नु सार्थक हुनेछ? (हजुर, हुनेछ।) यो कस्तो आचरण हो? के यो बफादारीको अभिव्यक्ति हो? दयाको अभिव्यक्ति हो? कि परमेश्‍वरको डर मान्ने हृदयको अभिव्यक्ति हो? (यीमध्ये कुनै पनि होइन।) यसलाई कसैसित चापलुसी र खेलबाड गर्नु भनिन्छ, र यसको अर्थ हो: “म तपाईंका चाहनाहरू पूरा गर्न र तपाईंमा मेरो राम्रो छाप छोड्नको लागि म तपाईंको पैसाले केही किन्छु, ताकि तपाईंले मलाई अझ धेरै निगाह देखाउनुहोस्।” त्यो अगुवाले मलाई खुसी पार्न, चापलुसी गर्न र चिप्लो घस्न चाहन्थ्यो, तर ऊ अन्त्यमा असफल भयो, र उसको भित्री वास्तविकता छर्लङ्गै देखियो। उसले के-के गल्तीहरू गर्‍यो? पहिलो कुरा त, मैले उसलाई मेरो लागि त्यसो गर्ने आदेश दिएको थिइनँ; मैले उसलाई यसो गर्नू भनेर भनेकै थिइनँ। दोस्रो कुरा, यदि उसले आफ्नो हृदयको दयाले यसो गर्न चाहेको थियो भने पनि, उसले पहिला सोधेर मन्जुरी लिएर त्यसपछि मात्र अघि बढ्नुपर्थ्यो। अनि, उसले त्यो काम गरिरहँदा, के उसले थाहा पाउनुपर्ने मामलाहरूमा सोधपुछ गर्नुपर्दैनथ्यो र? उदाहरणको लागि, कति किन्ने, कति पैसाले किन्दा ठिक हुने, कुन गुणस्तरका सामानहरू किन्ने, पैसा कसरी खर्चने—के उसले यी कुराहरू सोधपुछ गर्नुपर्दैनथ्यो र? यी कुराहरू सोधपुछ गरेको भए सत्यता सिद्धान्तहरूबमोजिम कार्य गरेको हुनेथ्यो। त्यसोभए, उसले यी कुराहरू सोधपुछ गर्न नसक्नुको प्रकृति कस्तो हो? सानो स्तरमा हेर्दा, उसले आफूलाई निकै चलाख ठानिरहेको थियो, तर ठूलो स्तरमा हेर्दा, यसलाई मनोमानीपूर्वक कार्य गर्नु, परमेश्‍वरलाई कुनै वास्ता नगर्नु, र लापरवाहीपूर्ख कार्य गर्नु भनेर भनिन्छ! मैले उसलाई त्यो सामान किन्नू भनेर कहिल्यै भनेको थिइनँ, त्यसैले उसले केको लागि असल अभिप्रायको नाटक गरिरहेको थियो त? के उसले आफैलाई समस्यामा पार्न खोजिरहेको थिएन र? यसअलावा, ख्रीष्टविरोधीहरूले सम्पत्तिलाई जुन रूपमा लिन्छन् त्यो नै उसको सबैभन्दा ठूलो समस्या थियो, र आज हामी त्यसैबारे सङ्गति र चिरफार गरिरहेका छौँ। उसलाई ऊ मण्डली अगुवा भएकोले मण्डलीमा परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरलाई चढाएका भेटीहरू चलाउन ऊ योग्य भएको, परमेश्‍वरलाई चढाइएका ती भेटीहरू प्रयोग गर्ने र राख्ने शक्ति उसमा निहित रहेको, र तिनका बारेमा अन्तिम निर्णय गर्ने अधिकार उसकै रहेको विश्‍वास लाग्थ्यो। त्यो मण्डलीमा उसले राजाकै शक्ति चलाउँथ्यो र ऊ रैथाने तानाशाह बनेको थियो। उसले सोच्थ्यो: “आफूले किन्ने चिजबारे मैले तपाईंलाई जानकारी गराउन वा सोध्न जरुरी छैन, म तपाईंको लागि त्यो त्यतिकै गरिदिहाल्छु। तपाईं मन्जुर हुनुहोस् वा नहोस्, यदि मलाई यो तरिकाले त्यसो गर्नु उचित हुन्छ भन्ने लाग्यो र मैले यही तरिकाले गर्न चाहेँ भने, म यसरी नै गर्नेछु।” त्यो मान्छे कस्तो चिज हो? के ऊ ख्रीष्टविरोधी होइन र? ख्रीष्टविरोधीहरू त्यति धेरै निर्लज्ज हुन्छन्। जब त्यो व्यक्तिलाई हैसियत दिइयो र जब ऊ अगुवा बन्यो, तब उसले राजा बन्‍न चाह्यो, र मण्डलीको सम्पत्ति हत्याउन चाह्यो। उसलाई मण्डलीको सम्पत्तिबारे उसले मात्र निर्णय गर्न पाउँछ, र सो सम्पत्ति स्वामित्त्वमा राख्ने र प्रयोग गर्ने शक्ति उसमा मात्र छ भन्ने लाग्यो। उसलाई मेरो लागि सरसामान किन्ने र कुन सामान किन्ने भन्नेबारे अन्तिम निर्णय उसले नै गर्नुपर्छ भन्ने पनि लाग्यो। तर के मलाई तैँले सरसामान किनिदिनुपर्छ र? मैले जे प्रयोग गरे पनि र जसरी प्रयोग गरे पनि, के मैले तँलाई संलग्न गराउनुपर्छ र? के यो समझ नहुनु होइन र? के यो निर्लज्ज हुनु होइन र? के तैँले तँ को होस् भन्ने बिर्सेको छस्? के यो ठ्याक्कै हैसियत दिइएपछि प्रधान दूतले परमेश्‍वरसँग समान स्तरमा रहन चाहेजस्तै भएन र? यसो गर्ने व्यक्तिले कतिवटा गल्तीहरू गर्‍यो? पहिलो त उसले मण्डलीको सम्पत्तिलाई आफ्नै व्यक्तिगत सम्पत्तिझैँ विनियोजन गर्‍यो; दोस्रो, उसले आफैले मेरो लागि सरसामान किन्‍ने निर्णय गर्‍यो; तेस्रोचाहिँ, उसले आफैले यो निर्णय गरेपछि, यसबारे माथि जानकारी गराएन, न त माथि सोधखोज नै गर्‍यो न त रिपोर्ट नै गर्‍यो। यी सबै आफैमा निकै गम्भीर थिए। त्यो ख्रीष्टविरोधीले त्यहाँ दक्षतापूर्वक कार्य सञ्चालन गरिरहेजस्तो देखिन्थ्यो। उसले आदेश दिएलगत्तै, उसका नोकरहरूले उसका आदेशहरू सुशीलसाथ कार्यान्वयन गरिहाल्थे। तिनीहरूले रोकिएर यस्तो सोध्दैनथे: “हामी यो सामान किन्न धेरै पैसा खर्चिरहेका छौँ—के परमेश्‍वरले यो मगाउनुभएको हो त? यस तरिकाले पैसा खर्च गर्न मिल्छ त? के यसो गर्नु उचित हुन्छ त? खासमा यो कसले मगाएको हो?” ती नोकरहरूले यी कुराहरूसमेत सोध्दैनथे। के तिनीहरूले कुनै जिम्मेवारी लिए त? के तिनीहरूमा कुनै बफादारी थियो त? अहँ, तिनीहरूमा कुनै बफादारी थिएन, र त्यसैले तिनीहरूलाई हटाइनुपर्छ। यो आफ्नै इच्छाहरूअनुसार कुनै सिद्धान्तविना भेटीहरू प्रयोग गर्ने विगतको उदाहरण हो। मेरो अनुमोदनविना परमेश्‍वरका भेटीहरू प्रयोग गरेर परमेश्‍वरको लागि सरसामान किन्नु: यसो गर्नु गम्भीर त्रुटि गर्नु हो।

अर्को एउटा उदाहरण छ, र म चाहन्छु, यी मानिसहरूले के गरे त्यो तिमीहरूले सुन अनि तिमीहरूलाई त्यो रिसउठ्दो लाग्छ लाग्दैन त्यो हेर। मण्डली भेलाहरूमा, म बसिरहेको कुर्सी अत्यन्तै नरम थियो, र त्यसमा बस्दा म निकै तल पुग्थेँ। टेबुल पनि निकै अग्लो भएकोले मैले ढाड सिधा पार्नुपर्थ्यो, र यसरी लामो समय बस्दा मलाई थकान हुन्थ्यो। त्यसैले, मैले तिनीहरूलाई अलि अग्लो र कम नरम सिट भएको कुर्सी किन्नू भनेँ। के यसो गर्नु सजिलो हुनुपर्ने होइन र? (हजुर, हो।) यो वास्तवमा निकै सामान्य मामला हो। सुरुमा, तिनीहरूले त्यो समयमा म बसिरहेको कुर्सीको उचाइ नाप्नुपर्थ्यो, र दुई इन्च बढी उचाइको वा सायद त्योभन्दा अलि अग्लो कुर्सी खोज्नुपर्थ्यो, र त्यसपछि सिट कति नरम छ भनी जाँच्नुपर्थ्यो, र अलि कडा सिट भएको खोज्नुपर्थ्यो। सुरुमा, तिनीहरूले पसलहरूमा खोज्न सक्थे, र यदि तिनीहरूले कुनै मिल्दो देखेनन् भने, तिनीहरूले अनलाइनमा पनि खोज्न सक्थे। के यो सजिलै गर्न सकिने काम होइन र? के यसमा कुनै कठिनाइहरू छन् र? पैसा खर्च गरेर केही किन्नुलाई चुनौती भन्न मिल्दैन, यसअलावा, यदि धेरै मानिसहरूले आफ्ना विचारहरू राखेमा यो काम गर्न सजिलै हुनुपर्छ। त्यसैले, केही समयपछि, म त्यो मण्डलीको अर्को भेलामा गएँ र मैले तिनीहरूलाई नयाँ कुर्सी किन्यौ किनेनौ भनेर सोधेँ। तिनीहरूले भने, “हामीले हेर्‍यौँ, तर कुनै पनि मिल्दो देखेनौँ, र हामीलाई तपाईंले कस्तो कुर्सी चाहनुभएको भनेर पनि थाहा थिएन।” यो सुनेर म झस्किएँ। मैले सोचेँ, “मैले बुझेअनुसार, यहाँ सबैखाले र सबै गुणस्तरका सरसामान बेच्ने धेरै थरीका पसलहरू छन्, त्यसैले एउटा कुर्सी किन्नु त्यस्तो कठिन नहुनुपर्ने हो। मैले धेरै अपेक्षा पनि त गरिरहेको छैन।” तर खरिद इन्चार्जले भन्यो, “यो किन्न सजिलो छैन; तपाईंले चाहनुभएको जस्तो एउटा पनि बिक्रीमा छैन। सायद तपाईंले यहाँ भएको कुर्सीले नै काम चलाउन सक्नुहुन्छ।” मैले मनमनै सोचेँ, “तिमीहरूले किनेनौ भने ठिकै छ, अलिकति पैसा नै बच्छ, अहिलेको लागि म यसैले काम चलाउनेछु।” केही समय बितेपछि, म अर्को ठाउँमा गएँ, जहाँ राम्रा कुर्सीहरू धेरै थिए जुन बस्नको लागि आरामदायी थिए, र ती पुराना शैलीका र राम्रा गुणस्तरका छन् भनेर एकै नजरमा भन्न सकिन्थ्यो। त्यसैले, मैले एउटा फोटो खिचेँ र तिनीहरूलाई त्यो फोटो हेरेर जुन रङ्गको भए पनि कुर्सी किन्न आग्रह गरेँ, र यदि कुनै स्टोरमा पनि त्यो पाइएन भने, अनलाइनमा हेर्नू भनेँ। मैले तिनीहरूलाई किटेरै अफिसका सरसामान बेच्ने ठाउँहरूमा खोज्नू भनेँ। पछि तिनीहरूले यस्तो जवाफ दिए: “हामीले अनलाइनमा गएर खोज्यौँ, तर एउटा पनि थिएन। सबै उत्पादकहरूले भने कि यो पुरानो मोडल हो, र आजकल यस्तो स्टाइलका कुर्सीहरू कसैले बनाउँदैन, त्यसैले हामीले किन्न सकेनौँ।” यो सुनेपछि मलाई अर्को झट्का लाग्यो र मैले सोचेँ, “यी मानिसहरूले कामकुरा सम्हाल्नै सक्दैनन्, तिनीहरूमाथि साँच्चै भर पर्न सकिँदैन। तिनीहरूलाई यो सानो काम मात्र त सुम्पिइएको थियो, तर तिनीहरूले दुईपटक मैले चाहेको चिज किन्न सक्दैनौँ भने र मलाई नकारे।” मैले तिनीहरूलाई खोजी जारी राख्न र अरू वेबसाइटहरूमा भेटिन्छ कि भनी हेर्न आग्रह गरेँ। यसैबीच पर्खने क्रममा, मैले मण्डलीको सरसामान राख्ने एउटा कोठामा एउटा कुर्सी फेला पारेँ। गुलाबी फूलहरूको चित्रवाला खोल लगाइएको र फोमको कुसन भएको त्यो कुर्सी पूरै बनिसकेको थिएन। त्यसको पछाडिको भाग, हात राख्ने ठाउँ, त्यसको खुट्टा, र बस्ने ठाउँ अत्यन्तै सिधा थिए। कुर्सीको प्रत्येक भाग सिधा थियो; त्यसका सबैतिर नब्‍बे डिग्री र वर्गाकार छेउहरू थिए। मैले भनेँ, “के यो कुर्सी कसैले आफैले बनाएको हो?” एउटा व्यक्तिले हतारहतार अगाडि आएर जवाफ दियो, “तपाईंलाई एउटा कुर्सी चाहिएको थिएन र? हामीले तपाईंको लागि यो कुर्सी बनायौँ, र हामी तपाईंलाई त्यसबारे बताउन र त्यसमा एकपटक बसिहेर्न आग्रह गर्न लागिरहेका थियौँ।” तिनीहरू अति नै दयालु बनिरहेका थिए, त्यसैले मैले सोचेँ: “म यसमा अवश्यै बसिहेर्नेछु।” म त्यो कुर्सीमा ढ्याक्क बसेँ, र मलाई ढुङ्गामाथि बसेझैँ अत्यन्तै असहज महसुस भयो, किनकि कुसनभित्रको फोम निकै कडा थियो। “ठिकै छ”, मेरो छेउमा उभिरहेको व्यक्तिले भन्यो, “यसलाई अलि नरम बनाउन सकिन्छ। यो अझै बनिसकेको छैन। हामीले यसलाई अझ राम्रो बनाएपछि तपाईंले फेरि बसेर हेर्न सक्नुहुन्छ।” त्यसमा फेरि बसेर हेर्नु, वाहियात! त्यो कुर्सीमा बस्नुभन्दा त काठको सानो पिरामा बस्नु राम्रो हुनेथ्यो; कम्तीमा मलाई ढुङ्गामाथि बसेजस्तो महसुस त हुँदैनथ्यो। मैले भनेँ, “अहँ, यसले हुँदैन। सक्छौ भने खोज्न जारी राख। यदि केही पनि पाउन सकेनौ भने, त्यसलाई बिर्सिदेऊ।” त्यसैले, मैले तिनीहरूलाई खोज्न जारी राख्न लगाएँ। सायद कुर्सी बनाउने मानिसहरूले बुझेनन् होला। तिनीहरूले सोचेका होलान्, “हामीले तपाईंप्रति धेरै दयालु व्यवहार देखाउँदै, सामग्री, स्टाइल, र साइज छानेर तपाईंको लागि छुट्टै कुर्सी बनाएका छौँ। तपाईं किन यो दयालु व्यवहारको कदर गर्नुहुन्न? अनि यतिमात्र नभएर, तपाईं आफूलाई ढुङ्गामाथि बसेजस्तो लागेको र यो कडा भएको भनेरसमेत भन्नुहुन्छ। तपाईं किन यति रोजीछानी गर्नुहुन्छ? हामीले तपाईंको लागि जे बनाउँछौँ तपाईंले त्यो प्रयोग गर्नुहोस्, त्यसपछि त कुरै सकियो त। तर तपाईं अझै पनि एउटा कुर्सी किन्न चाहँदै हुनुहुन्छ। हामीले तपाईंलाई तपाईंले चाहनुभएको स्टाइलको कुर्सी कतै पनि भेटिँदैन भनेर धेरैपटक भनिसक्यौँ, तर तपाईं जिद्‌ कसेर हामीलाई त्यस्तै कुर्सी नै किन्न लगाउनुहुन्छ। त्यसलाई पैसा लाग्दैन र? अलिकति पैसा बचाउँदा हुँदैन र? आफै कुर्सी बनाउँदा एकदमै कम मात्र खर्च हुन्छ; सामानहरू खासै महङ्गो हुँदैनन्। हामीले जे चिज आफै बनाउन सक्छौँ, त्यो किन्नुको साटो हामीले आफै बनाउनुपर्छ। तपाईंलाई पैसा बचाउनुको महत्त्व कस्तो थाहा नभएको?” तिमीहरू नै भन त, के मैले त्यो कुर्सी प्रयोग गर्नु राम्रो हुन्थ्यो कि हुन्‍नथ्यो? (तपाईंले त्यो प्रयोग नगर्नु नै राम्रो हुन्थ्यो।) तिनीहरूले आफूले बनाएको कुर्सी मैले प्रयोग गर्दिनँ भन्ने बुझेपछि, त्यसलाई एक ठाउँमा थन्काए, र तिनीहरूमध्येबाट पनि कसैले त्यसलाई प्रयोग गरेन। भन त, यदि मैले त्यसलाई प्रयोग गरिनँ भने, के मैले मानिसहरूको मन दुखाइरहेको थिएँ त? (अहँ, थिएन।) यतिका वर्षसम्म म त्यति कडा कुसन भएको कुर्सीमा कहिल्यै बसेको छैन—यो त निकै नै अनौठो अनुभव थियो। यी मानिसहरूले मलाई देखाएको ठूलो “दयालु व्यवहार” त्यही थियो। केही समयपछि, केही अनपेक्षित परिस्थितिवश, मेरो लागि वास्तवमै एउटा कुर्सी किनियो, त्यसैले मानिसहरूले आखिरमा मलाई केही “दयालु व्यवहार” देखाइछाडे। मैले तिनीहरूलाई मेरो लागि केही किन्न लगाएको त्यो नै पहिलोपटक थियो, र तिनीहरूले यो कुरा मबाटै सुने, साथै तिनीहरूले जुन तरिकाले यो काम गरे, त्यो एकदमै घिनलाग्दो थियो। मलाई त्यो एउटा कुर्सी खरिद गर्न अत्यन्तै गाह्रो र जटिल थियो, सबथोक तिनीहरूमार्फत जानुपर्थ्यो र तिनीहरूसँग छलफल गरिनुपर्थ्यो, र त्यसको साथै म तिनीहरूको मुडबारे पनि सावधान हुनुपर्थ्यो। यदि तिनीहरू राम्रो मुडमा थिएछन् भने तिनीहरूले मलाई किनिदिन सक्थे, र राम्रो मुडमा थिएनछन् भने, तिनीहरूले नकिनिदिन सक्थे, र त्यसपछि त मैले प्रयोग गर्न पनि पाउँदिनथेँ। “ए तपाईं आरामदायी कुर्सी पो प्रयोग गर्न चाहनुहुन्छ, हामीले त प्रयोग गर्न पाएका छैनौँ, सपना देख्दै गर्नुस्। सिकर्मीले बनाएको यही प्रयोग गर्नुस्। हामीले आरामदायी कुर्सीहरू प्रयोग गर्न पाएपछि तपाईंले नि प्रयोग गर्न सक्नुहुन्छ।” के ती मानिसहरू ठ्याक्कै यस्तै चिज होइनन् र? ती कस्ता मानिसहरू हुन्? के ती निकृष्ट चरित्रका मानिसहरू होइनन् र? मैले त तिनीहरूलाई केही भेटी खर्च गरेर केही चिज किन्नू मात्र भनिरहेको थिएँ, तिनीहरूले आफ्ना हात र आँखा अलिकति चलाए पुग्थ्यो, तर त्यो काम गर्न तिनीहरूलाई त्यति गाह्रो र त्यति समस्या भयो। तिनीहरूलाई आफ्नै पैसा खर्च गर्न लगाइएको भए त झन् के हुन्थ्यो होला? सुरुमा, मैले कसको पैसा खर्च गर्ने भनेर भनिनँ—के तिनीहरूले मैले तिनीहरूको आफ्नै पैसा खर्च गराउन खोजेको सोचेर अन्त्यमा अति डर मान्दै खरिद गर्नै अस्वीकार गरेको हो त? के त्यो एउटा कारण हुन सक्छ? तँलाई केही चिज किन्‍न लगाउँदा म तँलाई कसरी तेरो आफ्नै पैसा खर्च गराउन सक्छु? यदि मण्डलीको कोषमा पैसा छ भने, खरिद गर्, यदि छैन भने, नगर्। मैले कुनै पनि हालतमा तँलाई तेरो आफ्नो पैसा खर्च गराउने कुरा हुँदैन। त्यसोभए, तिनीहरूलाई यो सानो काम गर्न पनि किन यति धेरै मेहनत लागेको हो? यी मानिसहरूमा त कुनै मानवता नै छैन! जब तिनीहरू कुनै काम फत्ते गराउन खोजिरहेका हुँदैनन्, साथै जब म तिनीहरूसँग कुराकानी गरिरहेको हुँदिनँ, त्यसबेला तिनीहरू दयालु र समझदार छन् जस्ता देखिन्छन्, तर तिनीहरूले कुनै काम गर्न थालेपछि, त्यो दया र समझ देखिँदैन। ती मानिसहरू भद्रगोल छन्! म तिनीहरूसित कसरी मिलेर रहन सक्छु र?

भेटीको विषय समेट्ने यहाँ अर्को उदाहरण छ। एउटा सानो किचन भएको ठाउँ छ, जहाँ पकाउने भाँडाकुँडा र थालबटुको सबै साझा रूपमा प्रयोग गरिन्छ, र कहिलेकाहीँ, जाडो याममा, त्यहाँका मानिसहरूलाई रुघा लागिछाड्छ। मैले तिनीहरूलाई एउटा निसङ्क्रमण मेसिन वा ओजोन डिसइन्फेक्टर किनेर पकाउने भाँडाकुँडा र सबै साझा थालबटुकाहरू किटाणुरहित बनाउनू भनेँ। त्यसो गर्नु सुरक्षित र स्वच्छ हुन्थ्यो। के यो ठूलो माग थियो र? (अहँ, थिएन।) मैले कसैलाई यो काम सुम्पेँ, र छोटो समयमै, एउटा ओजोन डिसइन्फेक्टर किनियो भन्ने सुनेँ। मेरा चिन्ता हट्यो, र त्यसपछि मैले त्यो मामलाबारे थप सोचिनँ। तर पछि थाहा पाउँदा, त्यसमा गल्ती भइसकेको रहेछ। त्यो व्यक्तिले किनेको मेसिन ओजोन डिसइन्फेक्टर नभएर एयर ड्रायर रहेछ। त्यो छली शैलीमा खरिद गरिएको थियो, र त्यो असाध्यै कमसल स्तरको थियो, र त्यसमा निसङक्रमण उपयोगिता बिलकुलै थिएन। के त्यो काम गर्ने व्यक्तिलाई त्यो कुरा थाहा थिएन? (उसलाई थाहा हुनुपर्ने हो।) तर सायद त्यो दुर्जनलाई थाहै थिएन। किन थाहा थिएन? मैले जुन व्यक्तिलाई त्यो काम सुम्पेको थिएँ, ऊ आफैले त्यो काम नगरेर एउटा दलाल खोजेर त्यो काम गराएको थियो, त्यसैले उसले ठ्याक्कै के सामान किनियो, वा त्यो राम्रो थियो कि कमसल थियो भनेर कहिल्यै थाहा पाएन। त्यो काम जसरी गरियो त्यसबारे तँ के सोच्छस्? के त्यो सद्‌विवेकले गरिएको थियो, कि थिएन? के त्यो व्यक्तिमा कुनै विश्‍वसनीयता थियो? के ऊ भर पर्न योग्य थियो? (अहँ, थिएन।) त्यो कस्तो व्यक्ति थियो? के त्यो निष्ठा र मानवता भएको व्यक्ति थियो? (थिएन।) त्यो त गोलमाले, पूरै दुर्जन व्यक्ति थियो। अनि, त्यो कुरा त्यतिमै पनि टुङ्गिदैन। त्यसलगत्तै, त्यो कामको जिम्मेवारी लिने व्यक्तिले मनन गर्न थाल्यो: “ओजोन डिसइन्फेक्टर प्रयोग गरेर सरसामान निर्मलीकरण गर्नु निकै प्रभावकारी हुने रहेछ। हाम्रा डाइनिङ् हलहरू धेरै मानिसहरूले प्रयोग गर्ने भएकाले सायद हामीले त्यहाँ पनि ओजोन डिसइन्फेक्टर किन्नुपर्छ। तपाईंले एउटा किन्नु भयो, हामी पनि केही किन्नेछौँ। तपाईंले सानो किचनको लागि सानो डिसइन्फेक्टर किन्नुभयो, हामी हाम्रा ठूला डाइनिङ् हलहरूका लागि ठूला डिसइन्फेक्टरहरू किन्नेछौँ।” उसले त्यस्तो विचार गरिसकेपछि त्यसबारे अरू धेरै दुर्जनहरूसँग छलफल गर्‍यो, र त्यसपछि त्यो किन्‍ने निर्णय गरियो। ती ओजोन डिसइन्फेक्टरहरू किनिएपछि, दाजुभाइ-दिदीबहिनीहरूले भने कि सबैले आआफ्नै थालबटुका प्रयोग गर्ने र कुनै पनि भाँडाकुँडा साझा रूपमा प्रयोग नगर्ने गरेकाले, तिनलाई निर्मलीकरण गर्नु जरुरी छैन, र निर्मलीकरण गर्नु वाहियात हुन्छ। अनि अन्त्यमा, ती मेसिनहरू त्यतिकै थन्काइयो, र अहिले पनि केही त भँडार कोठामा प्याकेजसमेत नखोली जस्ताको तस्तै राखिएका छन्। त्यो मामला त्यसरी सम्हालिनु तिमीहरूलाई कस्तो लाग्छ? के त्यो चेतनशील ढङ्गले गरिएको हो? के त्यो प्रशस्त समय भएको र काम नभएको व्यक्तिले जथाभावी रूपमा पैसा खर्च गरेको होइन र? कतिपय मानिसहरूले यी खरिदहरूको आदेश माथिबाटै आएको भन्ठाने, र यस्तोसमेत भने, “रिसाउनु हुँदैन! हामीले यो परमेश्‍वरले नै दिनुभएको भनेर स्विकार्नुपर्छ। परमेश्‍वरले मानिसहरूलाई यति धेरै प्रेम गर्नुहुन्छ कि उहाँले हामीलाई कामै नलाग्ने चिजहरू पनि किनिदिनुहुन्छ। उहाँ हामीमाथि ठूलो खर्च गर्न इच्छुक हुनुहुन्छ। परमेश्‍वर हामीलाई अत्यन्तै राम्रो व्यवहार गर्नुहुन्छ!” तर अब तिनीहरूले ती खरिदहरू केही दुर्जनहरूको गोप्य कार्यहरूका परिणाम हुन् भनेर थाहा पाएका छन्। तिनीहरूले भेटीहरू यसरी दुरुपयोग गरे, कसैले पनि जिम्मेवारी लिएन, कसैले पनि ती कुरा हेरेन, र कसैले पनि ती खरिदहरू उचित थिए थिएनन् भनेर जाँच्‍ने वा खरिदपछि तिनको रिपोर्ट गर्ने काम गरेन। त्यो व्यक्तिले के आधारमा ती सामानहरू किनेको थियो? मैले उसलाई किचनको लागि एउटा निसङ्क्रमण मेसिन किन्न लगाएको आधारमा। के मैले उसलाई सारा डाइनिङ् हलहरूको लागि किन्नू भनेको थिएँ र? मैले उसलाई कहिल्यै त्यस्तो कामको आदेश दिइनँ। त्यसोभए, उसले सारा डाइनिङ् हलहरूको लागि किन्नुमा उसको मनसाय के थियो? के त्यो उसले भेटीहरूलाई आफ्नो व्यक्तिगत सम्पत्ति ठानेको, र जसरी मन लाग्यो त्यसरी विनियोजन गरेको होइन र? के ऊसँग ती भेटी विनियोजन गर्ने अख्तियार थियो? (थिएन।) ती मेसिनहरू किन्नुअघि, उसले मलाई “हामीले सानो किचनको लागि एउटा किनेकाले, ठूला डाइनिङ् हलहरूको लागि पनि किन्नुपर्छ कि?” भनेर कहिल्यै सोधेन। अनि उसले खरिद गरेपछि कतिवटा ओजोन डिसइन्फेक्टर किनियो, र तिनको कूल मूल्य कति पर्‍यो भनेर पनि रिपोर्ट गरेन, न त उसले दाजुभाइ-दिदीबहिनीहरूलाई ती काम नलागेको तथ्य नै रिपोर्ट गर्‍यो। त्यो मामला सम्हालिएको घिनलाग्दो तरिका त्यही थियो। अनि त्यो गोलमाले व्यक्तिले काटछाँट गर्दासमेत अझै प्रतिरोध गरिरहेको थियो। त्यस्तो व्यक्तिलाई कस्तो व्यवहार गर्नुपर्छ? (मण्डलीबाट निष्कासन गरिनुपर्छ।) त्यो घटनाको प्रकृतिको आधारमा भन्नुपर्दा, उसलाई मण्डलीबाट निष्कासन गर्नु अतिशयोक्ति हुँदैन, किनभने यो भेटीहरूसम्बन्धी मामला हो, र भेटीहरू चलाउँदा त्यसले प्रशासनिक आदेशहरू उल्लङ्घन गर्‍यो। त्यो लापरवाहीपूर्वक गरिएको काम थियो! के त्यो पैसा उसले आफ्नै ठानेको हो? के ऊसँग त्यसलाई प्रयोग गर्ने र जथाभावी चलाउने अख्तियार थियो? मैले मानिसहरूलाई जे चिज खरिद गर्न जिम्मा दिएको थिएँ त्यसमा तिनीहरूले अनेक कठिनाइहरू सिर्जना गरे, र त्यो काम फत्ते गर्नु तिनीहरूको लागि ठूलो सङ्घर्ष थियो, र त्यसअलावा मैले तिनीहरूसित सबथोकबारे छलफल पनि गर्नुपरेको थियो। तर मैले मानिसहरूलाई जे गर्न वा जे चिज किन्न जिम्मा लगाएको थिइनँ, ती चिजहरू तिनीहरूले नहिचकिचाई किने, साथमा तिनीहरूले ती सामग्रीहरू उपयोगी हुनेछन् कि छैनन् भनेर योजना बनाउने वा अधिकांश मानिसहरूको परामर्श लिने काम कहिल्यै गरेनन्—तिनीहरूले बस आफूखुसी पैसा खेर फाले। केही समयअघि, केही विशेष परिस्थितिहरू थिए जसले गर्दा पर्याप्त खान नपाइने डरले कतिपय मानिसहरूलाई छ महिनादेखि एक वर्षसम्म पुग्ने खाद्यान्न किन्न लगाइयो। उक्त मामलाबारे तिनीहरूलाई यसरी संक्षिप्त र सरल तरिकाले बुझाइयो, र तिनीहरूले तीन दिनमै खरिद कार्यहरू सकाएको भनी एक हप्ताभित्रै रिपोर्ट गरे, र तिनीहरूले अर्गानिक उत्पादनहरू र अर्गानिक भनेर प्रमाणित हुने क्रममा रहेका उत्पादनहरू किनेका थिए। तिनीहरूको काम कस्तो थियो? के तिनीहरूले उत्कृष्ट काम गरेका थिएनन् र? मैले अरू केही भन्नुपर्ने आवश्यकता नै थिएन, उक्त मामला पार लगाइसकिएको थियो। तिनीहरूले तत्परतासाथ यो काम सम्हाले, र तिनीहरूले विशेष दक्षता, तीव्रता, बौद्धिकता, र विचारशीलता देखाए। तिनीहरूले आफूलाई चाहिने खाद्यान्न मात्र नभई दैनिक आवश्यकताका कुराहरू पनि किनेका थिए। ती दैनिक आवश्यकताका कुराहरूमा तिनीहरूलाई आवश्यक पर्ने सबथोक थिए, तिनीहरूले तैँले कल्पना गर्न सक्ने सबथोक, र मिठाई, तरबूजाको बीउ, र अन्य खाजाहरूसमेत किन्न सकेका थिए। मलाई मनमनै यी मानिसहरूले साँच्चिकै जिउन जानेका छन् भन्ने लाग्यो; तिनीहरूले पैसा कसरी खर्च गर्ने भनेर जानेका थिए, र पैसा खर्च गर्न आँट पनि गर्थे। तिनीहरू सक्षम थिए, तिनीहरूको अस्तित्वजीवी कला जङ्गली जनावरहरूको भन्दा बलियो थियो, र तिनीहरूको चाल मैले अपेक्षा गरेभन्दा चाँडो थियो। जीवनअस्तित्वमा रहनको निम्ति, तिनीहरूले असम्भव कामहरूसमेत गर्न सक्थे—तिनीहरूले गर्न नसक्ने केही थिएन। यो घटनाबाट मैले देखेँ कि यी मानिसहरू पूर्णतया दिमागहीन वा कार्यहरू सम्पन्न गर्न पूर्ण असक्षम होइनन्, बरु मुख्यगरी त्यो कुरा तिनीहरूले ती कार्यहरू कसको लागि गरिरहेका छन् भन्नेमा भर पर्ने रहेछ। यदि तिनीहरू आफ्नै लागि काम गरिरहेका हुन्थे भने, तिनीहरू निकै सक्रिय, चलाख, कार्यमा तीब्र, र दक्ष देखिन्थे—तिनीहरूलाई अह्राउनु पर्दैनथ्यो, र मैले तिनीहरूबारे चिन्ता लिनु पर्दैनथ्यो। तर जब तिनीहरू परमेश्‍वरको घरमा कर्तव्य गरिरहेका हुन्थे, तिनीहरूलाई जुनसुकै काम सम्हाल्न गाह्रो लाग्थ्यो, तिनीहरूले कहिल्यै सिद्धान्तहरू भेट्टाउन सक्दैनथे र काम सधैँ लथालिङ्ग पार्थे। यसको एउटा कारण थियो, र तिनीहरूले आफ्नो लागि काम गर्नु र परमेश्‍वरको घरको लागि काम गर्नुबीच ठूलो भिन्नता थियो। अहिलेको लागि, यी मानिसहरूमा कस्तो स्वभाव वा सार थियो भन्नेबारे कुरा नगरौँ। तर काम सम्हाल्नेबारेमा ती मानिसहरूले बोकेका ती दुई पूर्ण फरक मनोवृत्तिहरूले तिनीहरूमा साँच्चिकै निकृष्ट चरित्र थियो भन्ने खुलाउँथ्यो। अनि, तिनीहरूको चरित्र कति निकृष्ट थियो त? म तिमीहरूलाई परिभाषा बताउँछु, ती मानिसहरू मानव थिएनन्, तिनीहरू पशुको हूल थिए! के यो परिभाषा तिनीहरूलाई सुहाउँछ? (हजुर, सुहाउँछ।) यी शब्दहरू स्विकार्न कठिन होला, र यी सुन्दा निराश लाग्‍ला, तर ती मानिसहरूले कामकुराहरू ठ्याक्कै यही तरिकाले सम्हाले, र तिनीहरू यस्तै चिज हुन्। मैले भनेको कुरा तथ्यहरूमा आधारित छ र यो आधारहीन अपमान होइन। जब परमेश्‍वरको घरले केही मानिसहरूलाई प्रयोग गरिरहेको हुन्छ, तिनीहरूको कम उमेर, अलि कमजोर क्षमता, साथै जग र कदको कमीलाई ध्यानमा राख्दै, यसले निरन्तर तिनीहरूलाई मद्दत गर्नेछ, र तिनीहरूसित सत्यता र सिद्धान्तहरू सङ्गति गर्नेछ। तर अन्त्यमा, कमजोर चरित्र कमजोर चरित्र नै हुन्छ, पशु पशु नै हुन्छ, र ती मानिसहरू कहिल्यै बदलिनेछैनन्। तिनीहरूले सत्यता अभ्यास नगर्ने मात्र नभई तिनीहरू झन्झन् खराब बन्नेछन्, औँलो दिँदा डुँडुलो निल्नेछन्, र तिनीहरूमा सामान्य मानवतामा हुनुपर्ने सानो लाजको भावनासमेत हुनेछैन। तिनीहरूले परमेश्‍वरको घरको लागि केही चिज किन्दा वा कुनै काम गर्दा, कसरी यी चिजहरू सस्तोमा किनेर पैसा बचत गर्ने र कसरी व्यावहारिक चिज पनि पाउने भन्नेबारे कहिल्यै सल्लाह माग्दैनन्। तिनीहरूले कहिल्यै यसो गर्दैनन्। तिनीहरूले अन्धाधुन्ध पैसा खर्च गर्छन्, जथाभावी सरसामान किन्छन्, र बस बेकारका केही उत्पादनहरू मात्र खरिद गर्छन्। तर जब व्यक्तिगत रूपमा मेरो लागि कुनै काम सम्पन्न गर्ने वा केही चिज किन्ने समय आउँछ, तिनीहरूले त्यसलाई गम्भीर रूपमा लिन थाल्छन् र खर्च कटौती गर्ने अनि कम खर्च गरेर धेरै काम फत्ते गर्नेबारे सोच्छन्। तिनीहरू यस तरिकाले काम गर्नु सिद्धान्तहरू पालना गर्नु र सत्यता अभ्यास गर्नु हो भन्ठान्छन्। के यी मानिसहरूमा अलिकति पनि समझ छ त? यो पैसा कसको हो, र यो कसको लागि खर्च गरिनुपर्छ—यी कुराहरूसमेत तिनीहरूलाई स्पष्ट छैन। के यो कुनै दुर्जनले झैँ कामकुरा सम्हाल्नु होइन र? के तिमीहरूका वरपर यस्ता मानिसहरू छन्? मण्डलीको लागि मूल्यवान् र महङ्गा सरसामान खरिद गर्दा वित्त विभाग वा आफूसँगै काम गर्ने दाजुभाइ-दिदीबहिनीहरूसित छलफल नगर्ने, आफूलाई इच्छा लाग्दा भेटीहरू दुरुपयोग गरिहाल्ने, आफ्नै पैसा खर्च गर्दाचाहिँ पैसा बचत गर्न र खर्चहरू कम गर्न जरूरी छ भनी थाहा हुने, तर परमेश्‍वरका भेटीहरू खर्च गर्दा स्वेच्छाचारीपूर्वक पैसा उडाउनेहरू—यस्ता मानिसहरू अत्यन्तै तिरस्कारयोग्य हुन्छन्! तिनीहरू अत्यन्तै घिनलाग्दा हुन्छन्! होइन र? (हो।) यस्ता कुराबारे सोच्नेबित्तिकै मलाई घृणा लाग्छ। ती पशुहरू गार्ड कुकुरहरूभन्दा पनि तल्लो स्तरका हुन्छन्। के तिनीहरू परमेश्‍वरको घरमा जिउन योग्य हुन्छन् र?

एउटा अगुवा थियो जसले दाजुभाइ-दिदीबहिनीहरूले विभिन्न ठाउँहरूमा परमेश्‍वरलाई चढाएका मूल्यवान् वस्तु, साधारण लत्ताकपडा, खाने स्वास्थ्य सामग्री र अन्य कुराहरू उसको आफ्नै सुरक्षामा राख्थ्यो। अनि, ब्रान्डेड झोलाहरू ऊ आफै बोक्थ्यो, छालाको जुत्ता आफ्नै खुट्टामा, औँठी आफ्नै औँलामा, हार आफ्नै घाँटीमा, र अन्य कुराहरू आफै लगाउँथ्यो—उसले प्रयोग गर्न सक्ने कुनै पनि वस्तु, कसैको सहमति नलिई आफ्नो कब्जामा लिन्थ्यो र प्रयोग गर्थ्यो। एकदिन, माथिका ब्रदरले उसलाई दाजुभाइ-दिदीबहिनीहरूले विभिन्न ठाउँहरूमा परमेश्‍वरलाई चढाएका सबै वस्तुहरू किन हस्तानातरण नगरेको भनेर सोध्यो। उसले जवाफ दियो: “दाजुभाइ-दिदीबहिनीहरूले यी कुराहरू मण्डलीलाई दिइएको हो भने, तिनीहरूले परमेश्‍वरलाई चढाइएको हो भनेनन्।” उसले ती कुराहरू मण्डलीलाई नै दिइएको हो भनी विशेष जोड पनि दियो, र उसको अव्यक्त आशय यो थियो कि, ऊ आफै मण्डलीको पूर्णाधिकार प्राप्त प्रतिनिधि भएकोले, परमेश्‍वरले यी वस्तुहरू प्राप्त गर्ने आशा त्याग्दा नै बेस हुन्छ, साथै ती वस्तुहरू परमेश्‍वरको लागि नभई मण्डलीको उपयोगको लागि हो। यसलाई अझ ठोस रूपमा भन्नुपर्दा, उसको आशय यस्तो थियो: “यी वस्तुहरू मेरो प्रयोजनको लागि हो, परमेश्‍वरले प्रयोग गर्नको लागि चढाइएको होइन। तिमीले के मागिरहेका छौ? के तिमी यो माग्न योग्य छौ?” यो सुन्दा के तिमीहरूलाई रिस उठ्दैन? (उठ्छ।) यो सुन्दा जो कसैलाई रिस उठ्छ। ल भन त, दाजुभाइ-दिदीबहिनीहरूले मण्डलीलाई दिने वस्तुहरू मण्डलीका अगुवाहरूलाई दिइएका हुन् भनेर विश्‍वास गर्ने कोही छ? मण्डलीलाई वस्तुहरू चढाउँदा, ती चढाइएका वस्तुहरू फलानो-फलानो मण्डली अगुवालाई दिइएको हो भनेर भन्ने कोही छ? के कसैसँग यस्तो अभिप्राय छ? (छैन।) यदि वस्तुहरू चढाउँदा तिनीहरूले “कृपया यो फलानो-फलानोलाई दिनुहोस्” भनेर लेख्छन् भने—तब मात्र त्यो वस्तु उक्त अगुवाको निजी स्वामित्वमा जान्छ। नत्र, चढाइएका सबै वस्तुहरू, चाहे त्यो पैसा होस् वा वस्तु, ती सबै दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरलाई दिएका हुन्। परमेश्‍वरलाई चढाइएका वस्तुहरूलाई सामूहिक रूपमा भेटी भनिन्छ। ती कुराहरूलाई भेटीको रूपमा तोकिसकिएपछि, ती परमेश्‍वरको प्रयोजनको लागि हुन्। अनि, जब ती परमेश्‍वरको प्रयोजनको लागि हुन्छन्, तब परमेश्‍वरले तिनलाई कसरी प्रयोग गर्नुहुन्छ? परमेश्‍वरले ती कुराहरू कसरी वितरण गर्नुहुन्छ? (उहाँले मण्डलीको काममा प्रयोग गर्न भनी मण्डलीलाई दिनुहुन्छ।) ठिक भनिस्। तिनलाई मण्डलीको काममा प्रयोग गर्ने सिद्धान्त र निर्दिष्ट विवरणहरू छन्, जसमा मण्डलीमा पूर्णकालीन रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नेहरूको जिउने खर्च र मण्डलीको कामका विभिन्न खर्चहरू पर्छन्। परमेश्‍वरको देहधारण अवधिमा, यो प्रयोजनमा यी दुई विषयहरू पर्छन्: ख्रीष्टका दैनिक खर्चहरू, र मण्डलीको कामका सबै लागतहरू। अब, यी दुई विषयहरूमा, भेटीहरूलाई व्यक्तिगत तलब, इनाम, खर्च, र पारिश्रमिकमा रूपान्तरण गर्न सकिन्छ भन्ने कोही छ? (अहँ, छैन।) भेटीहरू कुनै एक व्यक्तिको हुँदैन। भेटीहरूको प्रयोग र बाँडफाँड परमेश्‍वरको घरद्वारा नै गरिनुपर्छ, र ती मुख्य रूपमा मण्डलीको काममा प्रयोग गरिनुपर्छ: जो मण्डली अगुवा हो उसलाई भेटीहरू कब्जा वा प्रयोग गर्ने अख्तियार हुनेछ भन्‍ने कुरा यहाँ समावेश गरिएको छैन। त्यसकारण, तिनलाई ठ्याक्कै कसरी प्रयोग गरिनुपर्छ? यी भेटीहरू मण्डलीको सम्पत्ति प्रयोगमा लागू हुने सिद्धान्तहरूअनुसार नै बाँडफाँड गरिनुपर्छ। यस दृष्टिकोणबाट हेर्दा, ख्रीष्टविरोधीहरूले भेटीहरूलाई सधैँ आफ्नो स्वामित्वमा राख्न र प्रयोग गर्न प्राथमिकता दिने कुरा लाजमर्दो छैन र? ख्रीष्टविरोधीहरू सधैँ दाजुभाइ-दिदीबहिनीहरूले चढाएका पैसा र वस्तुहरू जो अगुवाइको पदमा छ उसैको हुन्छ भन्ने सोच्छन्। के यो लाजमर्दो सोचाइ होइन र? (हजुर, हो) यो अत्यन्तै लाजमर्दो कुरा हो! ख्रीष्टविरोधीहरू आफ्नो स्वभावमा दुष्ट र क्रूर हुने मात्र होइनन्, तिनीहरूको चरित्र एकरत्ती पनि लाजको भावना नभएको नीच र निकृष्टसमेत हुन्छ।

यी विषयहरूबारे सङ्गति गरेर अनि यी मामलाहरूबारे कुरा गरेर, मानिसहरूले बुझ्नुपर्ने र अभ्यास गर्नुपर्ने सत्यताहरू स्पष्ट हुनेछन्। तर यदि हामीले यी कुराहरू सङ्गति गरेनौँ भने, कतिपय सत्यताहरूबारे मानिसहरूको बुझाइ शाब्दिक र धर्मसिद्धान्तको स्तरमै सीमित र अलि खोक्रो हुनेछ। यदि हामीले सत्यताबारेको हाम्रो सङ्गतिमा केही वास्तविक मामलाहरू समाविष्ट गर्‍यौँ भने, मानिसहरूलाई स्पष्ट रूपमा कुराहरू बुझ्न धेरै सजिलो हुनेछ, र सत्यताबारे तिनीहरूको बुझाइ अझ ठोस र व्यावहारिक हुनेछ। त्यसकारण, यी कुराहरू सङ्गति गर्नुको उद्देश्य कुनै पनि हिसाबले कसैलाई बदनाम गर्ने वा कठिनाइमा पार्ने होइन। यी वास्तवमै घटित भएका कुराहरू हुन्, र यी कुराहरू हामीले सङ्गति गरिरहेका विषयवस्तुसँग जोडिएका छन्। त्यसैले, केही मानिसहरू जीवित शिक्षण सामग्री बनेका छन्, र हामीले सङ्गति र चिरफार गरिरहेका विशिष्ट उदाहरणहरूका चित्र र पात्रहरू भएका छन्। यो एकदमै सामान्य कुरा हो। सत्यताको परिभाषाअनुसार, यो मानव जीवनको क्रममा प्रकट हुने वचन, विचार, दृष्टिकोण, कार्य र स्वभावहरूसँग जोडिएको हुन्छ। यदि हामीले सत्यताको शाब्दिक अर्थलाई वास्तविक जीवनबाट अलग राखेर सङ्गति र व्याख्या गर्ने हो भने, मानिसहरूले सत्यताको वास्तविक बुझाइ कहिले प्राप्त गर्न सक्नेछन् र? यस तरिकाले काम गर्दा मानिसहरूलाई सत्यता बुझ्न एकदमै गाह्रो हुनेछ, र मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न कठिन हुनेछ। सङ्गति र चिरफारको लागि केही ठेट उदाहरणहरू बाहिर ल्याउँदा मानिसहरूलाई सत्यता बुझ्न, र तिनीहरूले अभ्यास गर्नुपर्ने सिद्धान्तहरू, परमेश्‍वरका अभिप्रायहरू र तिनीहरूले अनुसरण गर्ने तरिकाहरू बुझ्न अझ अनुकूल हुनेछ। यस कारणले गर्दा, कुरा जे भए पनि, यो विधि मानिसहरूको लागि उपयुक्त र लाभदायक दुवै छ। यदि यी मामलाहरूले सत्यता छुँदैनथे, वा हामीले चिरफार गरिरहेका ख्रीष्टविरोधीहरूको स्वभाव समावेश गर्दैनथे भने, म यीबारे कुरा गर्न अनिच्छुक हुनेथेँ। तर यस्ता कामकुराहरू गरेका मानिसहरूका स्वभाव र सारहरूले हामीले सङ्गति गरिरहेका विषयवस्तु छुन्छन्, र त्यसैले आवश्यक पर्दा हामीले यी कुराहरूबारे सङ्गति गर्नैपर्छ। यस विषयमा सङ्गति गर्नुको उद्देश्य मानिसहरूलाई दबाउनु वा कठिनाइमा पार्नु होइन, न त तिनीहरूलाई सार्वजनिक अपमानमा पार्नु नै हो; बरु, यो त मानवजातिको स्वभाव र सार चिरफार गर्नको लागि हो हो, र अझ महत्त्वपूर्ण कुरा, मानवजातिभित्रका ख्रीष्टविरोधीहरूको स्वभाव चिरफार गर्नको लागि हो। हाम्रो सङ्गतिले यी विषयहरू समेट्दा, यदि तिमीहरूको दिमागमा फलानो-फलानो व्यक्तिले यस्तोउस्तो काम गर्‍यो भन्ने कुरा मात्र आउँछ, तर तिमीहरूले यो कसरी सत्यता र मानिसहरूको भ्रष्ट स्वभावहरूसँग सम्बन्धित छ भन्नेबारे सोच्न सकेनौ भने, के यसले तिमीहरूले सत्यता बुझेका छौ भनेर प्रमाणित गर्छ र? (गर्दैन।) यदि तिमीहरू केवल एउटा कुरा, वा एक विशेष व्यक्ति मात्र सम्झन्छौ, र तिमीहरूमा त्यस व्यक्तिप्रति पक्षपात, राय र पूर्वाग्रहहरू उब्जिन्छन् भने, के तिमीहरू सत्यताको बुझाइमा पुगेका छौ भन्न मिल्छ? यो सत्यता बुझ्नु होइन। त्यसोभए, कस्ता परिस्थितिहरूमा तिमीहरू सत्यताको बुझाइमा पुगेका छौ भनेर मान्न सकिन्छ? हामीले ख्रीष्टविरोधीहरूको सारका विभिन्न प्रकटीकरणहरूबारे सङ्गति र चिरफार गर्दा, म लगभग हरेकपटक नै ठेट उदाहरणहरूको रूपमा धेरै कथाहरू उल्लेख गर्छु, र तिमीहरूसँग यी कथाहरूमा त्रुटिहरू कहाँ छन् र मानिसहरूले कसरी पछ्याउनुपर्छ भन्नेबारे सङ्गति गर्छु। यदि तिमीहरूले यसप्रकारको सङ्गति गरेपछि पनि बुझ्दैनौ भने, यसको मतलब तिमीहरूको बुझाइमा समस्या छ, तिमीहरूको क्षमता धेरै कमजोर छ र तिमीहरूमा आत्मिक बुझाइको कमी छ। त्यसोभए, कस्ता अवस्थाहरूमा तिमीहरूमा बोध क्षमता र आत्मिक बुझाइ रहेको र तिमीहरूले हामीले सङ्गति गरेका उदाहरणहरूका सत्यता बुझेको मान्न सकिन्छ? सर्वप्रथम त, तिमीहरू हामीले सङ्गति गरिरहेका उदाहरणहरूसँग आफूलाई तुलना गर्न र आफूलाई चिन्न सक्षम हुनुपर्छ, र अफूसँग पनि यस्तो स्वभाव छ छैन भनेर हेर्न, आफूसँग हैसियत र अख्तियार भएको भए त्यस्ता कामकुराहरू गर्न सक्षम हुन्थ्यौ हुँदैनथ्यौ, र आफूसँग पनि त्यस्ता सोच र रायहरू छन् छैनन्, वा आफूले यसप्रकारको स्वभाव प्रकट गर्छौ गर्दैनौ भनेर हेर्न सक्षम हुनुपर्छ। यो एउटा पक्ष हो। यसअलावा, हामीले सङ्गति गरिरहेका उदाहरणहरूमा, तिमीहरूले आफूले बुझ्नुपर्ने र पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरूलाई सकारात्मक तरिकाले खोज्‍नुपर्छ। यसको मतलब तिमीहरूले अभ्यास गर्नुपर्ने मार्ग पत्ता लगाउनु, र यी परिस्थितिहरूमा तिमीहरूले कस्तो अडान लिने र कसरी सही र परमेश्‍वरका अभिप्रायहरूसँग मिल्दो तरिकामा अभ्यास गर्ने भनेर जान्नु हो। यसबाहेक, चिरफारमार्फत तिमीहरूले आफ्नो स्वभाव ख्रीष्टविरोधीहरूको जस्तै हो भनेर चिन्न सक्‍नुपर्छ, र त्यो सम्बन्ध बुझेर त्यसलाई कसरी समाधान गर्ने भनेर जान्नुपर्छ। यस तरिकाले, तिमीहरू सत्यताको बुझाइमा पुगेका हुनेछौ, र तिमीहरू आत्मिक बुझाइ भएको र सत्यता बुझ्ने क्षमता भएको व्यक्ति हुनेछौ। यदि तिमीहरूले कुनै कथा सुनिसकेपछि, सबै तथ्य र विवरणहरू, सबै कारण र प्रभावहरू सम्झिन्छौ, र तिनलाई व्याख्या गर्न सक्छौ, तर तिमीहरू मानिसहरूले अभ्यास र प्रवेश गर्नुपर्ने सत्यता सिद्धान्तहरू बुझ्दैनौ, र कुनै परिस्थिति सामना गर्नुपर्दा, मानिसहरू र वस्तुहरूलाई प्रस्ट बुझ्न र आफैलाई चिन्न सक्षम हुन यी सत्यताहरू कसरी लागु गर्ने भनेर थाहा पाउँदैनौ भने, यसको मतलब तिमीहरूमा बोध क्षमताको कमी छ। यस्तो बोध क्षमता नभएको व्यक्ति आत्मिक बुझाइ नभएको व्यक्ति हो।

म तिमीहरूलाई अर्को उदाहरण दिन्छु। एउटा मान्छे भर्खरै अगुवा चुनिएको थियो। उसले कामका विभिन्न पक्षहरूको वास्तविक अवस्था साँच्चै बुझ्नु र बोध गर्नुअघि नै, अर्थात् कामका हरेक पक्षहरूमा आफूलाई राम्ररी होम्‍नुअघि नै, उसले व्यक्तिगत सोधपुछहरू गर्न थालेको थियो: “हाम्रो मण्डलीमा परमेश्‍वरलाई चढाइएका भेटीहरू सुरक्षित राख्न कोको जिम्मेवार छन्? तिनीहरूको नामको सूचीसहित मलाई रिपोर्ट गर्नुहोस्। साथै, मलाई सबै खाता नम्बर र पासवर्डहरू दिनुहोस्। म कति पैसा छ भनेर बुझ्न चाहन्छु।” उसले कुनै पनि काममा चासो दिएन। उसलाई सबैभन्दा बढी चासो लागेको, र सबैभन्दा धेरै घत लागेको एउटै कुरा भनेको, भेटीहरू सुरक्षित राख्ने मानिसहरूका नाम, साथै खाता नम्बर र पासवर्डहरू थिए। के त्यहाँ केही गडबड हुन लागेको थिएन र? ऊ भेटीहरू आफ्नो हातमा पार्न चाहन्थ्यो, होइन र? यस्तो परिस्थिति सामना गर्नुपर्दा, तिमीहरूले के गर्नुपर्छ? के ऊ अगुवा बनेकोले उसलाई मण्डलीको सम्पत्ति सुम्पिइनुपर्छ, र उसलाई यसबारेमा जान्ने अधिकार र नियन्त्रण गर्ने शक्ति दिइनुपर्छ? (अहँ, उसलाई यो जानकारी दिइनु हुँदैन।) किन हुँदैन? यदि तिमीहरूले उसलाई यो दिएनौ भने, के तिमीहरू अवज्ञाको दोषी हुँदैनौ र? (उसले यी प्रकटीकरणहरू देखाएको तथ्यले उसमा केही समस्या छ भन्ने प्रमाणित गर्छ, र त्यसकारण परमेश्‍वरलाई चढाइएका भेटीहरू सुरक्षित गर्न, हामी उसलाई यो जानकारी दिन सक्दैनौँ।) त्यो ठिक हो: उसमा केही समस्या भएकोले, तिमीहरूले उसलाई यो जानकारी दिन मिल्दैन। तिमीहरूको जवाफले मेरो अघिल्लो सङ्गति व्यर्थ भएको छैन र तिमीहरूले कुरा बुझेका छौ भन्ने प्रमाणित गर्छ। अनि, किन तिमीहरूले उसलाई यो जानकारी दिन मिल्दैन? कुनै पनि अगुवाको जिम्मेवारी र कर्तव्य भनेको भेटीहरूमा ध्यान केन्द्रित गर्ने, वा भेटीहरूसँग सम्बन्धित कुनै पनि जानकारी प्राप्त गर्न प्रयास गर्ने होइन। यी कुराहरू अगुवाका कर्तव्य वा जिम्मेवारीहरू होइनन्। हरठाउँका मण्डलीहरूमा भेटीहरू व्यवस्थित गर्न र सुरक्षित राख्न तोकिएका मानिसहरू हुन्छन्। यसअलावा, भेटीहरूको प्रयोगलाई नियन्त्रण गर्न मण्डलीसँग कडा नियम र सिद्धान्तहरू हुन्छन्। कसैसँग पनि भेटीहरू आफूले नै प्रयोग गर्न प्राथमिकता दिने शक्ति हुँदैन, भेटीहरूको स्वामित्व आफूले लिन प्राथमिकता दिने शक्ति हुने त झन् कुरै नगरौँ। यो कुरा बिनाकुनै अपवाद सबैमा लागु हुन्छ। के यो तथ्य होइन र? के यो सहि होइन र? (हजुर, हो।) ख्रीष्टविरोधीहरूले भेटीहरूमाथिको स्व-प्रयोगलाई प्राथमिकता दिन चाहने कुरा आफैमा गलत हो। तिनीहरू आफू अगुवा भएकोले आफूले निर्बाध रूपमा भेटीहरू प्रयोग गर्न सक्नुपर्छ भन्ने सोच्छन्: के यो सत्यता हो त? यो पैसा परमेश्‍वरको हो—तिनीहरू किन यसको दुरुपयोग गर्छन्? तिनीहरू किन यसलाई मनलागी प्रयोग गर्छन्? के तिनीहरू यसो गर्न योग्य छन्? के परमेश्‍वर तिनीहरूले यसरी भेटीहरू प्रयोग गरून् भनेर सहमत हुनुहुन्छ? के परमेश्‍वरका चुनिएका मानिसहरूले यसलाई अनुमोदन गर्छन्? ख्रीष्टविरोधीहरूले भेटीहरू कब्जा गरेर दुरुपयोग गर्नु: यो तिनीहरूको क्रूर स्वभावद्वारा निर्धारण गरिएको हुन्छ, यो विभिन्‍न कुराहरू हेर्ने तिनीहरूको लोभसिर्जित तरिका हो, र यो परमेश्‍वरको वचनले तोकेको कुरा होइन। यो ख्रीष्टविरोधी सधैँ सबै भेटीहरू नियन्त्रण गर्न, र भेटी सुरक्षाको जिम्मामा रहेका मानिसहरूबारे सबै जानकारी, र सबै खाता नम्बर र पासवर्डहरू नियन्त्रण गर्न चाहन्थ्यो। यो गम्भीर समस्या हो, होइन र? के उसले परमेश्‍वरका भेटीहरूबारेका अन्तर्निहित तथ्यहरू जान्न र तिनलाई राम्रोसँग सुरक्षित राख्‍न चाहन्थ्यो, र के तिनलाई ऊ स्वतन्त्र रूपमा कसैलाई पनि लापरवाहीपूर्वक खर्च गर्न अनुमति नदिई, उचित तरिकामा बाँडफाँड गर्न र तिनलाई अक्षुण्ण राख्न चाहन्थ्यो? के उसलाई यस्तो गर्ने मन थियो? के उसका कार्यहरूबाट राम्रो नियतको कुनै संकेत देख्न सकिन्छ? (सकिँदैन।) त्यसोभए, यदि कुनै व्यक्तिले साँच्चै भेटीहरूको लालच गर्दैन भने, अगुवाको रूपमा चुनिएको खण्डमा उसले के गर्नेछ? (उसले पहिले मण्डलीका कामका विभिन्न पक्षहरूको प्रभावकारिताबारे पत्ता लगाउनेछ, साथै भेटीहरू कसरी सुरक्षित राखिन्छन् र ती राखिएको ठाउँ सुरक्षित छन् छैनन् भनेर पत्ता लगाउनेछ। तर खाता नम्बर, पासवर्ड, वा राखिएको रकमबारे सोधपुछ गर्नेछैन।) ठीक भनिस्, तर अर्को पनि कुरा छ। साँच्चिकै भेटीको लोभ नगर्ने व्यक्तिलाई अगुवाको रूपमा छनोट गरिएपछि, उसले भेटीहरू राखिएको ठाउँ सुरक्षित छ छैन, साथै तिनको सुरक्षाको जिम्मा लिने मानिसहरू उपयुक्त र भरपर्दा छन् छैनन्, उनीहरू भेटीहरू हिनामिना गर्छन् गर्दैनन्, र उनीहरूले सिद्धान्तहरूअनुसार भेटीहरू सुरक्षित राखिरहेका छन् छैनन् भनेर जाँच गर्नेछ। उसले पहिले यी कुराहरू विचार गर्नेछ। भेटीहरूको परिमाण र पासवर्डहरूजस्ता संवेदनशील जानकारीको हकमा, ती लोभ नगर्ने मानिसहरू—ती सभ्य र सम्मानित मानिसहरू—यसबाट टाढै रहनेछन्। तर लोभी व्यक्तिले यसलाई बेवास्ता गर्नेछैन, उसले यस्तो बहाना प्रयोग गर्नेछ: “म अगुवा हुँ। के मैले कामको हरेक पक्षको जिम्मा लिनुपर्दैन र? अरू सबै कुराहरू मलाई सुम्पिइयो, तर भेटीहरू चाहिँ किन नसुम्पिइएको?” आफूसँग भएको शक्ति प्रयोग गरेर, उसले यस बहानामा मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्न चाहन्छ। त्यो समस्या हो। उसले आफ्नो काम गरिरहेको वा आफ्ना जिम्मेवारीहरू राम्ररी पूरा गरिरहेको हुनेछैन, न त उसले सामान्य प्रक्रिया र सिद्धान्तहरूअनुसार नै मण्डलीको आर्थिक पक्षहरू व्यवस्थापन गरिरहेको हुनेछ। बरु, उसले ती कुराहरूबारे आफ्नै योजनाहरू बनाउनेछ। सामान्य मानिसले जसरी सोच्न सक्ने जोकोहीले यो कुरा बुझ्न सक्छ। त्यो अगुवाले यस्तो गर्न थालेलगत्तै कसैले उसको रिपोर्ट गर्‍यो र उसलाई रोकियो। पछि, त्यो व्यक्तिले मलाई रिपोर्ट गर्‍यो, अनि के यसो गर्नु सही थियो भनेर सोध्यो, र मैले यो सही थियो भनिदिएँ। यसलाई परमेश्‍वरको घरका हितहरू रक्षा गर्नु भनिन्छ; त्यो सूचना त्यस्तो मानिसलाई दिन मिल्दैन। अलिकति पनि काम नगरी सुरुमै परमेश्‍वरको घरको पैसा नियन्त्रण गर्न चाहनु—के यो ठूलो रातो अजिङ्गरजस्तै हुनु होइन र? जब ठूलो रातो अजिङ्गरले दाजुभाइ-दिदीबहिनीहरूलाई गिरफ्तार गर्छ, त्यसले गर्ने पहिलो काम उनीहरूलाई पिट्ने भन्‍ने हुँदैन, किनकि उनीहरूलाई मरणासन्न हुनेगरी पिटेपछि तिनीहरू स्पष्ट रूपमा बोल्न सक्दैनन् भन्ने त्यसलाई डर हुन्छ—त्यसले पहिले मण्डलीको पैसा कहाँ राखिएको छ, त्यो पैसा कसले सुरक्षित राखिरहेको छ, र त्यो पैसा कति छ भनेर सोध्छ। अनि, त्यसपछि मात्र त्यसले मण्डलीका अगुवाहरू को हुन् भनेर सोध्नेछ। त्यसको उदेश्य पैसा कब्जा गर्ने मात्र हुन्छ। त्यो अगुवाले जे गर्‍यो र ठूलो रातो अजिङ्गरले जे गर्छ, दुवैको प्रकृति उस्तै छ। त्यो अगुवाले कुनै पनि कामबारे सोधपुछ गरेन, उसले एउटा कुराको पनि बोझ लिएन, र उसले आर्थिक पक्षहरूमा मात्र ध्यान दियो—के यो निकृष्ट हुनु होइन र? त्यो निकृष्ट मान्छेका कार्यव्यवहारहरू एकदमै प्रस्ट थिए! उसको हैसियत सुरक्षित हुनुअघि नै, ऊ पैसा हडप्न चाहन्थ्यो। के ऊ अत्यन्तै हतारमा थिएन र? अरू मानिसहरूले उसलाई खुट्ट्याउन सक्‍नेछन् भन्नेबारे उसलाई खासै थाहा थिएन, र उसलाई चाँडै बरखास्त गरियो। यस्तो प्रस्ट रूपमा व्यवहार गर्ने यसप्रकारको व्यक्तिको हकमा, तिमीहरूले यो कुरा याद गर: उसलाई चाँडै बरखास्त गर। यसप्रकारका व्यक्तिबारे अरू केही खुट्ट्याउन आवश्यक छैन, जस्तै उसको स्वभाव, मानवता, शिक्षा, पारिवारिक पृष्ठभूमि, उसले परमेश्‍वरमा विश्‍वास गरेको समयावधि, उसको जग छ वा छैन, उसका जीवन अनुभवहरू कस्ता छन्—तिमीहरूले यी कुनै पनि कुराहरू खुट्ट्याउन आवश्यक छैन, यो एउटै कुरा त्यस्तो व्यक्ति ख्रीष्टविरोधी हो भनी निर्धारण गर्न काफी छ। त्यो व्यक्तिलाई बरखास्त गर्न र हटाउन तिमीहरू सबै मिल्नुपर्छ। तिमीहरूलाई अगुवाको रूपमा उसको आवश्यकता पर्दैन। तर किन? यदि तैले उसलाई नेतृत्व गर्न अनुमति दिइस् भने, उसले मण्डलीमा भएजति सबै पैसा दुरुपयोग गर्नेछ, त्यो सबै हिनामिना गर्नेछ, र त्यसपछि मण्डलीको काम रोकिनेछ र त्यो पूरा गर्न असम्भव हुनेछ। यदि तैँले यस्तो किसिमको व्यक्ति भेटिस् जो पैसा हडप्नमा लिप्त छ, जसको ध्यान सधैँ धनमा केन्द्रित छ, र जो लालची छ भने, र यदि उसको वास्तविक प्रकृतिका लक्षणहरू देखा पर्न बाँकी नै छन्, र सबैले ऊसँग केही वरदानहरू छन्, ऊ आफ्नो काममा सक्षम छ, ऊ सबैलाई सत्यता वास्तविकतामा प्रवेश गराउन नेतृत्व गर्न सक्षम छन् भन्ने सोच्दै मूर्खतापूर्वक उसलाई चुनेका छन्, र अगुवा बन्नेबित्तिकै, उसले अपेक्षाविपरीत पैसा आफ्नै खल्तीमा भर्छ भने, तिमीहरूले चाँडोभन्दा चाँडो उसलाई त्यो पदबाट हटाउनुपर्छ। गर्नुपर्ने भनेकै बिलकुलै यही हो। पछि तिमीहरूले अरू कसैलाई चुन्‍न सक्छौ। एकदिन अगुवा नहुँदा मण्डली टुट्दैन। परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, कुनै विशेष अगुवामा होइन। ल भन त, दाजुभाइ-दिदीबहिनीहरूले गर्ने मूल्याङ्कनमा गल्ती हुने अवस्थाहरू हुँदैनन् र? त्यो व्यक्ति अगुवा बन्नुअघि, ऊ लोभी थियो भनेर भन्ने कुनै ठावैँ थिएन। अरूसँग अन्तरक्रिया गर्दा, उसले फाइदा उठाउने प्रयास गर्दैनथ्यो, उसले सरसामान किन्दा आफ्नै पैसा खर्च गर्थ्यो, र भिक्षा पनि दिन्थ्यो। तर अगुवा बनेपछि उसको पहिलो काम मण्डलीको आर्थिक पक्षहरूबारे जानकारी लिनु थियो। धेरैजसो मानिसहरूले यसप्रकारको दुष्ट इच्छा दबाउन सक्दैनन्—यो एकदमै अविश्‍वसनीय कुरा हो! ऊ कसरी रातारात बदलिन सक्यो? ऊ रातारात बदलिएको होइन, बरु ऊ सुरुमै त्यसप्रकारको प्राणी थियो, फरक यति मात्र हो कि, पहिले ऊ उसको खुलासा गर्ने परिस्थितिहरूमा थिएन, तर अहिले उसलाई यो परिस्थितिले खुलासा गरेको छ। यो व्यक्तिको खुलासा त भइसक्यो, तैपनि तिमीहरू किन अझै ऊप्रति कृपालु हुन्छौ? बस उसलाई लात्तले हानेर बाहिर निकाल्देओ, ऊ जति टाढा पुग्यो उति राम्रो! के तिमीहरू यसो गर्ने आँट गर्छौ? (गर्छौँ।) मण्डलीको सम्पत्तिबारे षडयन्त्र रचिरहने व्यक्तिको हकमा, तिमीहरूले उसलाई पूर्ण रूपले नबुझी चयन नगर। यदि अज्ञानतावश तिमीहरूले उसलाई राम्ररी नबुझी छनोट गर्‍यौ, र त्यसपछि ऊ एक लोभी प्राणी र यहूदा हो भन्‍ने पत्ता लाग्यो भने, तिमीहरूले उसलाई चाँडोभन्दा चाँडो लात हानेर निकाल्नु र हटाउनुपर्छ। कृपालु नबन, र नहिचकिचाओ। कोही यस्ता छन् जो यसो भन्छन्: “त्यो व्यक्ति लोभी भए पनि, उसको अरू सबै पक्ष ठिक छ। उसले मानिसहरूलाई परमेश्‍वरको वचनको बुझाइमा पुर्‍याउन सक्छ, र उसले मानिसहरूलाई आफ्ना कर्तव्यहरू सामान्य रूपमा गर्न लगाउन सक्छ।” तर ऊ केही क्षणको लागि मात्र यस्तो हुन्छ। समय बित्दै जाँदा, ऊ त्यस्तो रहनेछैन। उसको पैशाचिक अनुहार बाहिर आउन केही दिन पनि लाग्दैन। हामीले विगतमा सङ्गति गरेका ख्रीष्टविरोधीका सबै प्रकटीकरण र स्वभावहरू अलिअलि गरेर उसमा खुलासा हुँदै जानेछ। तर के त्यतिबेलासम्म उसलाई बरखास्त गर्न ढिलो हुँदैन र? मण्डलीको काम त पहिले नै प्रभावित भइसकेको हुनेछ। यदि तैले मैले भनेका कुराहरू विश्‍वास गर्दैनस् र तँ हिचकिचाउँछस् भने, पछुतो लाग्दा सुँकसुँक गर्न नथाल्। पहिले कुनै व्यक्तिले भेटीहरूलाई कुन रूपमा हेर्छ त्यो हेर्: त्यही नै सबैभन्दा सरल रणनीति हो, साथै कुनै व्यक्तिमा ख्रीष्टविरोधीहरूको सार छ छैन भनेर हेर्ने सबैभन्दा सीधा र स्पष्ट रणनीति त्यही हो। हामीले विगतमा सङ्गति गरेका विषयहरूमा, हामीले केही प्रकटीकरण, प्रकाश, दृष्टिकोण, वचन र कार्यहरूमार्फत ख्रीष्टविरोधीहरूको स्वभाव पहिचान गर्नुपर्थ्यो, र तिनीहरूको स्वभावको आधारमा तिनीहरूमा ख्रीष्टविरोधी सार छ छैन भनेर हेर्नुपर्थ्यो। यो एउटै मात्र मामलामा, यी कुराहरू गर्न आवश्यक छैन: यो सीधा, स्पष्ट र सरल छ, र यसको लागि कम प्रयास र समय भए पुग्छ। व्यक्तिले यस्तो प्रकटीकरण देखाउँछ भने—निरन्तर रूपमा भेटीको स्वामित्व आफै लिनमा प्राथमिकता दिन्छ वा जबरजस्ती भेटीहरू कब्जा गर्न चाहन्छ भने—तँ निश्‍चित हो कि ऊ शतप्रतिशत ख्रीष्टविरोधी हो। उसलाई ख्रीष्टविरोधी ठहर्‍याइनुपर्छ, र उसले अगुवाको रूपमा सेवा गर्न मिल्दैन, र दाजुभाइ-बहिनीहरूले उसलाई बरखास्त र अस्वीकार गर्नुपर्छ।

हामीले भर्खरै भेटीहरू स्वामित्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिने ख्रीष्टविरोधीहरूको प्रकटीकरणहरूबारे सङ्गति गर्‍यौँ, र यसलाई मण्डलीका आर्थिक पक्षहरू नियन्त्रण गर्ने प्रयासमा ख्रीष्टविरोधीहरूले व्यक्त गर्ने स्वभाव र सारहरू व्याख्या र चिरफार गर्न प्रयोग गर्‍यौँ। यो पहिलो विषयवस्तु हो। स्वामित्व र प्रयोग—मण्डलीको सम्पत्ति सम्बन्धमा ख्रीष्टविरोधीहरूको सबैभन्दा प्रारम्भिक र आधारभूत दृष्टिकोण यही हो। यो विषयवस्तुमा, हामीले ख्रीष्टविरोधीहरूले मण्डलीको सम्पत्ति कसरी राख्छन् र प्रयोग गर्छन् भन्नेबारे ठोस रूपमा सङ्गति गरेनौँ। हामी अर्को विषयवस्तुमा अझै ठोस रूपमा कुरा गर्नेछौँ, र त्यो विषयवस्तु ख्रीष्टविरोधीहरूले भेटीहरू फजुलमा उडाउने, हिनामिना गर्ने, सापट दिने, जालसाजीपूर्वक प्रयोग गर्ने, र चोर्ने कुरा हो।

आ. भेटीहरू फजुलमा उडाउनु, हिनामिना गर्नु, सापट दिनु, जालसाजीपूर्वक प्रयोग गर्नु, र चोर्नु

१. भेटीहरू फजुलमा उडाउनु

ख्रीष्टविरोधीहरू सोच्छन्, हैसियत र अख्तियारले तिनीहरूलाई भेटीहरू आफ्नो स्वामित्त्वमा लिन र प्रयोग गर्न प्राथमिकता दिने शक्ति दिन्छ। त्यसोभए, तिनीहरूले त्यो शक्ति प्राप्त गरेपछि, भेटीहरू कसरी विनियोजन र प्रयोग गर्छन् त? के तिनीहरूले यो काम मण्डलीका नियमहरू वा मण्डलीका कार्य आवश्यकतासम्बन्धी सिद्धान्तहरूअनुसार गर्छन् त, कि गर्दैनन्? के तिनीहरूले यसो गर्न सक्छन् त? (अहँ, सक्दैनन्।) तिनीहरूले यसो गर्न नसक्नुले धेरै कुराहरूमा असर पार्छ। ख्रीष्टविरोधीहरूले हैसियत प्राप्त गरिसकेपछि, तिनीहरू मण्डलीका केही कामहरूमा अपरिहार्य रूपमै संलग्न नभई सक्दैनन्, जुन काममा मण्डलीको सम्पत्तिको व्यय र विनियोजनहरू पर्छन्। त्यस्तो अवस्थामा, तिनीहरूले कुन सिद्धान्तहरूद्वारा मण्डलीको सम्पत्ति विनियोजन गर्छन्? के त्यो मितव्ययी हुने सिद्धान्त हो? के त्यो मिहिन रूपमा खर्च योजना बनाउनु र सम्भव भएसम्म मितव्ययी हुनु हो? के त्यो यावत्‌ थोकमा परमेश्‍वरको घरबारे विचार गर्नु हो? होइन। तिनीहरू साइकल चढेर कुनै ठाउँमा पुग्न सक्ने भए पनि बसमै पैसा खर्च गर्छन्। अनि जब तिनीहरूलाई सधैँ बसमा वा भाडाको गाडीमा जान असुविधाजनक वा असहज लाग्छ, तब तिनीहरूले परमेश्‍वरको घरको पैसाले कार किन्ने विचार गर्छन्। अनि कार किन्ने बेलामा पनि, तिनीहरूले कम मूल्यका र औसत मोडलका कारप्रति नाक खुम्च्याउँछन्, र ब्रान्ड र नाम चलेको आयातित उच्चस्तरीय मोडल नै रोज्छन्, जसको मूल्य चिनियाँ रकम दस लाखभन्दा बढी पर्छ। तिनीहरूले सोच्छन्, “यो ठूलो कुरा होइन, र जे भए पनि पैसा तिर्ने त परमेश्‍वरको घरले हो, साथै परमेश्‍वरको घरको पैसा भनेको सबैको पैसा हो। सबै जना मिलेर एउटा कार किन्नु कुनै गाह्रो काम होइन। परमेश्‍वरको घर यति ठूलो छ कि, सारा ब्रह्माण्ड नै परमेश्‍वरको हो, त्यसैले परमेश्‍वरको घरले एउटा कार किन्नु त्यस्तो ठूलो कुरा हो र? शैतानको संसारमा, मानिसहरूले चढ्ने सबै कारहरूको मूल्य दसौँ लाख पर्छ, त्यसैले हाम्रो मण्डलीले दस लाखमै एउटा कार किन्नु निकै मितव्ययी कुरा हो। त्यसअलावा, यो कार मैले मात्र प्रयोग गर्नको लागि होइन, यसलाई त सम्पूर्ण मण्डलीले साझा रूपमा प्रयोग गर्नेछ।” ख्रीष्टविरोधीहरूले मुख खोल्नेबित्तिकै, कुनै हिचकिचाहट, डर र ग्लानि महसुसबिना नै दस लाखभन्दा बढी खर्च भइहाल्छ। अनि, कार किनेपछि तिनीहरूले त्यसैमा आनन्द लिन थाल्छन्। तिनीहरू पैदलमा जानुपर्ने ठाउँहरूमा पैदल जान छाड्छन्, साइकल चढेर जानुपर्ने ठाउँहरूमा साइकलमा जान छाड्छन्, र भाडाका गाडीमा जान सकिने ठाउँहरूमा भाडाका गाडीमा जाँदैनन्; त्यसको सट्टामा तिनीहरू आफ्नै कार प्रयोग गर्न जिद्‌ कस्छन्। तिनीहरू आफूले ठूलै काम गर्ने सक्नेझैँ साँच्चिकै स्वाङ पार्छन्। ख्रीष्टविरोधीहरूले व्यर्थमा धेरै पैसा खर्च गर्छन्, तिनीहरूले किन्ने सबथोक राम्रो, उच्चस्तरीय र अत्याधुनिक हुनुपर्छ। उदाहरणको लागि, आधारभूत र उच्च गुणस्तरका कुनैकुनै मेसिन वा सामाग्रीहरूको मूल्य दसौँ हजारले फरक पर्न सक्छ। यी परिस्थितिहरूमा, ख्रीष्टविरोधीहरूले उच्चस्तरीय मोडल नै किन्न चाहनेछन्, र जबसम्‍म तिनीहरूले आफ्नै पैसा खर्च गर्नु परिरहेको हुँदैन, तबसम्‍म तिनीहरूलाई यसो गर्दा कुनै चिन्ता हुनेछैन। यदि तिनीहरूले आफ्नै गोजीको पैसा तिर्नुपर्थ्यो भने, तिनीहरूसित तल्लो स्तरको वा कम गुणस्तरको किन्नसमेत पैसा हुँदैनथ्यो, तर जब तैँले त्यसको पैसा परमेश्‍वरको घरले तिर्नेछ भनेर भन्छस्, तब तिनीहरूले उच्चस्तरीय नै चाहनेछन्। के यिनीहरू पशु होइनन् र? के तिनीहरू विवेकहीन छैनन् र? के यो भेटीहरू फजुलमा उडाउनु होइन र? (हजुर, हो।) भेटीहरू फजुलमा उडाउने मानिसहरूमा कमजोर मानवता हुन्छ, तिनीहरू स्वार्थी र घृणित हुन्छन्! ख्रीष्टविरोधीहरूले भेटीहरू प्रयोग गर्ने शक्ति प्राप्त गरिसकेपछि, तिनीहरूले ती भेटीहरू आफ्नै लागि लिन चाहन्छन्, र सिद्धान्तहरूबारे वास्तै नगरी तिनलाई प्रयोग गर्न थाल्छन्, र हरेक खरिदमा उच्चस्तरीय सरसामान लिन जिद्‌ कस्छन्। चस्मा किन्दा पनि तिनीहरूले निलो प्रकाश र अल्ट्राभ्वाइलेट किरणहरू छेक्ने, सबैभन्दा सफा लेन्स भएको उच्चस्तरीय चस्मा चाहन्छन्, र कम्प्युटर खरिद गर्दा पनि उच्चस्तरीय र सबैभन्दा नयाँ मोडलको चाहन्छन्। तिनीहरूलाई आफ्नो कर्तव्यमा विभिन्न उपकरण र सामाग्रीहरू काम लाग्ने वा नलाग्ने जे भए पनि, यस्ता सरसामान किन्ने कुरा उठ्नेबित्तिकै, तिनीहरू उच्चस्तरीय नै किन्न चाहन्छन्। के यो भेटीहरू उडाउनु होइन र? आफ्नै पैसा खर्च गर्नुपर्दा तिनीहरूलाई मितव्ययी हुन आउँछ, र त्यो व्यावहारिक छ भने जस्तोसुकै सामानले पनि काम चल्छ, तर परमेश्‍वरको घरको लागि केही चिज किन्ने कुरामा, तिनीहरूले व्यावहारिकता र पैसा बचत गर्नेबारे विचारै गर्दैनन्। तिनीहरूले त बस त्यो चर्चित ब्रान्डको हुनुपर्छ, त्यसले तिनीहरूको हैसियत देखाउनुपर्छ भन्ने मात्र सोच्छन्, र जुन सबैभन्दा महङ्गो छ तिनीहरूले त्यही किन्छन्। के यो तिनीहरूको आफ्नै विनाश निम्त्याउनु होइन र? भेटीहरू पानी बगाएसरी खर्च गर्नु—के ख्रीष्टविरोधीहरूले गर्ने यही होइन र? (हो।)

एउटा केटो माथिका ब्रदरसँगै दाँत माझ्ने ब्रसहरू किन्न गएको थियो। उसले ब्रदरको लागि एक डलरभन्दा अलि बढी मूल्य पर्ने ब्रस किन्यो तर आफ्नो लागि चाहिँ १५ डलरभन्दा बढी मूल्य पर्ने आयतित ब्रस किन्यो। अब, के तिमीहरूले तिनीहरूको हैसियतको हिसाबमा माथिका ब्रदर र त्यो साधारण ब्रदरबीच केही फरक, केही भिन्नता थियो भन्नेथिएनौ र? (भन्नेथियौँ।) तर्कको हिसाबमा—हैसियत, स्थान, वा परमेश्‍वरको विनियोजन गर्ने तरिकाजस्ता कुराहरू उल्लेख नगरौँ, र माथिका ब्रदरले यतिका वर्ष कडा मेहनत गर्दै आएको तथ्यबारे मात्र छलफल गरौँ—के उसले उच्च गुणस्तरको वस्तु प्रयोग गर्नुपर्ने होइन र? तर ऊ यसबारे रोजीछानी गर्ने खालको थिएन। उसले कस्ता सिद्धान्तहरू पछ्याइरहेको थियो त? सकेसम्म मितव्ययी हुने: यस्तो सामान कुनै जटिल कुरा होइन, त्यसैले त्यति महङ्गो प्रयोग गर्नु जायज हुँदैन, त्यसमा त्यति धेरै पैसा खर्च गर्नु जरुरी छैन, त्यो प्रयोग गर्न योग्य छ भने काफी हुन्छ। अब, यी दुई मानिसहरूको पहिचान, दर्जा, र हैसियतको कुरा आउँदा, तिनीहरूबीच एउटा असमानता छ, र राम्रो सामान प्रयोग गर्नुपर्ने व्यक्तिको लागि सबैभन्दा औसत सामान किनिएको थियो, र औसत सामान प्रयोग गर्नुपर्ने व्यक्तिको लागि चाहिँ सबैभन्दा राम्रो गुणस्तरको किनिएको थियो। यसमा समस्या के थियो? यी दुईमध्ये कसमा समस्या थियो? त्यो राम्रो सामान प्रयोग गर्ने व्यक्तिमा समस्या थियो। उसलाई ऊ को हो भनेर कुनै ज्ञान थिएन र उसमा लाजको भावना नै थिएन, र परमेश्‍वरको घरले पैसा तिर्थ्यो भने उसले सबैभन्दा राम्रो र महङ्गो सामान किन्थ्यो। के यो व्यक्तिमा अलिकति पनि समझ थियो र? यदि उसले माथिका ब्रदरसँग किनमेल गर्दा त यसो गर्छ भने—उसकै अगाडि यी कुराहरू छान्छ भने—ऊ एक्लैले किनमेल गरिरहेको भए उसले के गर्थ्यो होला? उसले कति पैसा अनावश्यक रूपमा खर्च गर्थ्यो होला? ऊ अझै अघि बढ्नेथ्यो, र त्यसमा त्यो दस डलरको भिन्नता नहुनेथ्यो; उसले जुनसुकै मूल्यका सामानहरू किन्ने, र तिनको लागि जतिसुकै पैसा खर्च गर्ने आँट गर्नेथ्यो। उसले परमेश्‍वरको घरका भेटीहरू र पैसा यसरी नै खर्च गर्‍यो; के उसले आफ्नै विनाश निम्त्याइरहेको थिएन र? कतिपय मानिसहरू यस्तो सोच्छन्, “मैले परमेश्‍वरको घरको लागि यति ठूलो काम गरेको छु, यति धेरै जोखिमहरू लिएको छु, यति धेरै कठिनाइहरू सहेको छु, र म धेरैपटक जेल परेको छु। विशेष व्यवहार पाउनु त मेरो अधिकार नै हो नि।” के यो तेरो “अधिकार” सत्यता हो त? जो जेल परेको छ, वा जसले कठिनाइहरू भोगेको छ, वा धेरै वर्षसम्म उहाँको लागि यात्रा गरेको छ, उसले विशेष व्यवहारको अधिकार पाउनुपर्छ, र भेटीहरू प्रयोग गर्न र हडप्‍न, साथै तिनलाई मनमौजी रूपमा उडाउन पहिलो प्राथमिकता पाउनुपर्छ, र यो एउटा प्रशासनिक आदेश हो भनेर परमेश्‍वरले उहाँको कुन वचनमा प्रबन्ध गर्नुभएको छ? के परमेश्‍वरले कहिल्यै यस्तो कुनै वचन व्यक्त गर्नुभएको छ? (अहँ, छैन।) त्यसोभए, यस्तो व्यक्तिका साथै अगुवा, सेवक, र परमेश्‍वरको घरमा आफ्नो कर्तव्य गर्ने सारा मानिसहरूले भेटी कसरी प्रयोग गर्नुपर्छ भन्नेबारे परमेश्‍वरले के भन्नुभएको छ त? तिनीहरूले तिनलाई सामान्य व्यय र सामान्य खर्चहरूको लागि प्रयोग गर्नुपर्छ; भेटीहरूलाई प्रयोग गर्ने वा कब्जामा लिने विशेष अधिकार कसैलाई पनि हुँदैन। परमेश्‍वरले उहाँका भेटीहरू कुनै एक व्यक्तिको निजी सम्पत्ति बनाउनुहुनेछैन। त्यो सँगसँगै, मानिसहरूले भेटीहरू प्रयोग र विनियोजन गर्दा पैसा फजुलमा उडाउनुपर्छ भनेर परमेश्‍वरले तोक्नुभएको छैन। कस्तो व्यक्तिले पैसा फजुलमा उडाउँछ? फजुलमा पैसा उडाउने व्यक्तिको स्वभाव कस्तो हुन्छ? यो त पशु, तानाशाह, बदमास, गुन्डा, र लाजपचेका घृणास्पद खलपात्रहरूले गर्ने चिज हो, यो ख्रीष्टविरोधीहरूले गर्ने चिज हो। थोरै पनि मानवता भएको र केही लाज भएको कोही पनि यतिसम्म गिर्दैन। कतिपय मानिसहरू छन्, जो मण्डली अगुवा बनेपछि, यसले तिनीहरूलाई भेटीहरू र मण्डलीको सम्पत्ति प्रयोग गर्ने अख्तियार दिन्छ भन्ठान्छन्। तिनीहरूले भएभरका चिजहरू किन्न चाहन्छन् र ती चिज किन्‍ने दुस्साहस देखाउँछन्, र तिनीहरूले भएभरका सबै चिजहरू प्राप्त गर्न चाहन्छन्। तिनीहरूले जे किन्छन्, र जे प्रयोग गर्छन् त्यो पाउन तिनीहरू आफू योग्य छु भन्ठान्छन्; त्यसअलावा, तिनीहरूले कहिल्यै मूल्य सोध्ने कष्ट गर्दैनन्। अनि यदि कसैले तिनीहरूलाई सस्तो र साधारण चिज किनिदियो भने, तिनीहरू रिसाउनेछन् र त्यस व्यक्तिविरुद्ध तिक्तता बोक्‍नेछन्। तिनीहरू ख्रीष्टविरोधीहरू हुन्।

२. भेटीहरू हिनामिना गर्नु

ख्रीष्टविरोधीहरूले मण्डलीका आर्थिक पक्षहरू नियन्त्रण गर्ने प्रयास गर्नुको अर्को प्रकटीकरण हिनामिना हो। “हिनामिना” शब्द बुझ्न सजिलो हुनुपर्छ। के हिनामिनाको अर्थ मण्डलीको सम्पत्ति लिएर दाजुभाइ-दिदीबहिनीहरूलाई दिनु वा त्यसलाई मण्डलीको काममा विनियोजन गर्नु ताकि त्यसलाई उचित प्रयोग गरियोस् भन्ने हो? (अहँ, होइन।) त्यसोभए “हिनामिना” को अर्थ के हो त? (त्यसको अर्थ त्यसलाई उचित तरिकाले खर्च नगरेर मनमौजी रूपमा वा गुपचुप तरिकाले प्रयोग गर्नु हो।) “त्यसलाई गुपचुप तरिकाले प्रयोग गर्नु” भन्नु सही भए पनि, त्यसले ठ्याक्कै अर्थ दिँदैन। यदि कुनै व्यक्तिले पूर्णकालीन कर्तव्य गरिरहेकाहरूको जिउने खर्चहरूको लागि गुपचुप तरिकाले मण्डलीको सम्पत्ति प्रयोग गर्छ भने, यसमा केही गल्ती छैन, र यो हिनामिना होइन। हिनामिना त निन्दित हुन्छ, र यो सिद्धान्तबमोजिम हुँदैन। उदाहरणको लागि, कतिपय मण्डली अगुवाहरूले मण्डलीको पैसा नियन्त्रणमा लिन्छन्, र जब तिनीहरूका छोराछोरीसँग कलेज जाने पैसा हुँदैन, र तिनीहरूसँग घरमा त्यति पैसा हुँदैन, तब तिनीहरू परमेश्‍वरसामु प्रार्थना गर्न आउँछन्, र यसो भन्छन्, “हे परमेश्‍वर, सुरुमा मलाई मेरो गल्ती स्विकार्न र तपाईंसँग क्षमा माग्न दिनुहोस्। यदि तपाईंले दण्ड दिनैपर्छ भने, कृपया मेरो बच्चाको साटो मलाई दण्डित गर्नुहोस्। मलाई यो ठिक होइन भन्ने थाहा छ, तर अहिले म कठिन स्थितिमा छु, र मैले यसो गर्नुपरेको छ। तपाईंको अनुग्रह सधैँ प्रचुर हुन्छ, त्यसैले आशा छ योचोटि मलाई यो समस्याबाट उम्‍कन मदत गर्नुहुनेछ र मलाई आशिष् दिनुहुनेछ। मेरो बच्चाको कलेजको ट्युसन फिस तिर्न बिसतिस हजार रुपियाँ कमी छ, र यताउता सापट माग्दै जोरजाम गर्दा पनि मसँग अझै पर्याप्त पैसा छैन। के म मेरो बच्चाको ट्युसन शुल्क तिर्न तपाईंको पैसा चलाउन सक्छु?” अनि, तिनीहरूले प्रार्थना गरिसकेपछि, तिनीहरूलाई अलि शान्ति महसुस हुन्छ र, परमेश्‍वर यसमा सहमत हुनुभयो भन्ठानेर, तिनीहरूले निजी प्रयोजनको लागि पैसा लान्छन्। यो हिनामिना हो, होइन र? पैसालाई जे कुरामा प्रयोग गर्नुपर्ने हो त्यसमा प्रयोग नगरेर अन्यत्र प्रयोग गर्नु, परमेश्‍वरको घरका भेटीहरू प्रयोग गर्ने सिद्धान्तहरू उल्लङ्घन गर्नु: यसैलाई “हिनामिना” भनिन्छ। जब परिवारको कुनै सदस्य बिरामी पर्छ र पैसाको आवश्यकता पर्छ, वा कुनै व्यावसायिक कारोबारमा तिनीहरूलाई पैसाको कमी हुन्छ, तब तिनीहरूले भेटीहरूबारे षडयन्त्रहरू रच्न थाल्छन्, अनि तिनीहरूले हृदयमा प्रार्थना गर्छन्, र यसो भन्छन्: “हे परमेश्‍वर, कृपया मलाई क्षमा गर्नुहोस्, मैले त्यसो गर्न चाहेको थिइनँ, तर मेरो परिवारले साँच्चै नै केही कठिनाइहरू सामना गरिरहेको छ। तपाईंको प्रेम सागरझैँ विशाल र आकाशझैँ असीमित छ र तपाईं मानिसहरूका अपराधहरू सम्झनुहुन्न। मैले यो रकम प्रयोग गरिसकेपछि, मेरो पारिवारिक व्यावसायले केही पैसा कमाएलगत्तै म तपाईंलाई यसको दुईगुणा तिर्नेछु, कृपया मलाई यो रकम प्रयोग गर्न दिनुहोस्।” तिनीहरूले यसरी नै परमेश्‍वरको भेटी चलाउँछन्। चाहे कुनै आफन्तलाई पैसा चाहिएको होस् वा कुनै साथीलाई, यदि यी अगुवाहरूको हातमा पैसा छ भने, तिनीहरूले दिनेछन्, र यसक्रममा न त सिद्धान्तहरूबमोजिम कार्य गर्नेछन् न त अरूको सहमति नै लिनेछन्, यी परमेश्‍वरलाई चढाइएका भेटीहरू हुन् भन्ने तथ्यबारे तिनीहरूले एकपटक सोच्ने त झन् कुरै नगरौँ। बरु, तिनीहरूले आफै पहल गरेर निर्णय लिनेछन्, अनि पैसा मण्डलीबाहिर लानेछन् र त्यसलाई अन्य उद्देश्यको लागि प्रयोग गर्नेछन्। के यो हिनामिना होइन र? (हो।) यो हिनामिना हो। अब, कतिपय मानिसहरूले चाहिँ गुपचुपमा पैसा हिनामिना गरेपछि पूरै पैसा फिर्ता गर्छन्; तर के त्यसको अर्थ तिनीहरू भेटी हिनामिना गरेको पापको दोषी रहँदैनन् भन्ने हो? के त्यसको अर्थ तिनीहरू दोषबाट मुक्त हुन्छन् भन्ने हो? अथवा, यदि हिनामिना भएको समयमा, तिनीहरूका आफ्नै कारणहरू, कुनै सन्दर्भ, वा कठिनाइहरू थिए भने, र तिनीहरूसित पैसा हिनामिना गर्नुबाहेक अर्को कुनै विकल्प नै थिएन भने, के यो हिनामिनालाई माफी गरेर निन्दा नगर्न मिल्छ? (अहँ, मिल्दैन।) त्यसो हो भने, भेटीहरू हिनामिना गर्नु एउटा गम्भीर पाप हो! के यो यहूदाले जे गरेको थियो त्योभन्दा कुनै फरक छ र? के भेटीहरू हिनामिना गर्ने मानिसहरू यहूदाजस्तै होइनन् र? (हजुर, हुन्।) जब तिनीहरूका छोराछोरीहरू विश्‍वविद्यालय गइरहेका हुन्छन्, जब तिनीहरूको परिवारको कसैले कुनै व्यावसाय गरिरहेका हुन्छन्, वा कुनै वृद्ध व्यक्तिलाई उपचारको आवश्यकता परेको हुन्छ, वा खेती गर्नको लागि तिनीहरूसँग कुनै मल हुँदैन, यी सारा परिस्थितिहरूमा, तिनीहरू मण्डलीको पैसा खर्च गर्न चाहन्छन्। कतिपयले त लाज वा डर नमानी दाजुभाइ-दिदीबहिनीहरूले चढाएका भेटीका रसिदसमेत नष्ट पार्छन् र पैसा कुम्ल्याउँछन् र आफूखुसी खर्च गर्छन्। कतिपयले त भेलाहरूमा दाजुभाइ-दिदीबहिनीहरूले चढाएको पैसाको भेटीसमेत लिन्छन्, र भेला सकिनेबित्तिकै, तिनीहरू त्यसले सरसामान किन्छन्। अनि कतिपय दाजुभाइ-दिदीबहिनीहरू यस्ता हुन्छन्, जो यी मानिसहरूले भेटीहरू हिनामिना गरेको आफ्नै आँखाले देखे पनि, अझै तिनीहरूलाई नै पैसा राख्न दिन्छन्, त्यसप्रति कसैले पनि जिम्मेवारी उठाउँदैनन्, र त्यसलाई रोक्न कोही पनि अघि सर्दैनन्। उनीहरू सबै यी अगुवाहरूलाई चिढ्याउने डर मान्छन्, त्यसैले तिनीहरूले खर्च गर्दा उनीहरूले हेरेर बस्‍ने काम मात्र गर्छन्। अनि यस्तो हुँदा, के तैँले त्यो पैसा परमेश्‍वरलाई चढाइस् कि चढाइनस्? यदि तैँले अरू मानिसहरूलाई दान दिइरहेको छस् भने, तैँले त्यो पैसा परमेश्‍वरलाई चढाएको होइन भनेर प्रस्ट पार्नुपर्छ, र त्यसपछि परमेश्‍वरले त्यो पैसा सम्झनुहुनेछैन। त्यसपछि, त्यो पैसा कसको हो, त्यसलाई कसले खर्च गर्छ, र त्यसलाई कसरी खर्च गरिन्छ, ती सबै कुराहरूको परमेश्‍वरको घरसित कुनै सम्बन्ध हुनेछैन। तर अर्कोतर्फ, यदि तेरो यो पैसा वास्तवमै परमेश्‍वरलाई चढाइएको हो, तैपनि मण्डलीले त्यसलाई प्रयोग गर्ने मौका नपाउँदै कुनै व्यक्तिले त्यसलाई त्यसरी नै खर्चन्छ, त्यसरी नै फजुलमा उडाउँछ, र तैँले अलिकति पनि चिन्ता लिँदैनस्, न त त्यसलाई रोक्छस् न त रिपोर्ट नै गर्छस् भने, त्यो अवस्थामा, तँमा समस्या छ, तँ पापमा संलग्न छस्, साथै जब तिनीहरू दण्डित हुन्छन्, तँ पनि उम्कन सक्नेछैनस्।

३. भेटीहरू सापट दिनु

भेटीहरूको स्वेच्छाचारी प्रयोग, अनुचित उपभोग र खर्च संलग्‍न हुने सबथोक अपरिहार्य रूपमा प्रशासनिक आदेशहरूसित सम्बन्धित हुन्छ, र यसमा ती आदेश उल्लङ्घन गर्ने विशेषता हुन्छ। कतिपयले मण्डलीको सम्पत्तिको व्यवस्थापन गर्ने क्रममा यसो भन्न सक्छन्: “मण्डलीको सम्पत्ति त्यतिकै बसिरहेको छ। हिजोआज, बैंकहरूसित हरप्रकारका लगानी कार्यक्रमहरू छन्, जस्तै बोण्ड र कोषहरू, ती सबैले राम्रो ब्याज दिन्छन्। यदि हामीले मण्डलीबाट पैसा लिएर यसलाई लगानी गऱ्यौं र हामीले केही ब्याज कमाउन सक्यौँ भने, के यसले परमेश्‍वरको घरलाई फाइदा पुऱ्याउँदैन र?” त्यसपछि, यस विषयमा छलफल नगरी, मण्डलीमा कसैको सहमति प्राप्त नगरी, उनीहरू आफैले पैसा सापट दिन्छन्। त्यसो गर्नुको उद्देश्य के हो? यसलाई राम्ररी भन्दा, यो कार्य परमेश्‍वरको घरले केही ब्याज कमाओस् भनी परमेश्‍वरको घरलाई विचार गर्दै त्यसो गर्नु हो; तर वास्तविकतामा, यी मानिसहरूले स्वार्थी मनसाय बोकिरहेका हुन्छन्। उनीहरू कसैलाई थाहा नदिई पैसा सापट दिन चाहन्छन् र त्यसपछि, अन्त्यमा, मूलधन परमेश्‍वरको घरमा फिर्ता गर्छन् र ब्याजचाहिँ आफ्नै लागि राख्छन्। के यो मनमा एक बेइमान उद्देश्य राख्‍ने कार्य होइन र? यसलाई भेटी सापट दिनु भनिन्छ। के भेटी सापट दिनुलाई त्यसको उचित प्रयोग मान्न सकिन्छ? (सकिँदैन, यसलाई उचित मान्न सकिँदैन।) अरूले यसो भन्छन्, “परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ, परमेश्‍वरको घर स्नेही छ। कहिलेकहीँ, हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई पैसाको कमी हुँदा, के हामीले उनीहरूलाई परमेश्‍वरका भेटीहरू सापट दिन सक्दैनौं र?” त्यसपछि कतिपय मानिसहरूले यस विषयमा आफैले निर्णय गर्छन्, र कतिपय ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई यसो भन्दै अपिलसमेत गर्छन् र उल्‍काउँछन्: “परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ, परमेश्‍वरले जीवन दिनुहुन्छ, मानिसलाई सबै कुरा दिनुहुन्छ, त्यसैले केही पैसा सापट दिनु कुनै ठूलो कुरा हुँदैन, यसो गर्दा के हुन्छ र? हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूको जरुरी खाँचोहरूको समयमा मदत पुऱ्याउनु, उनीहरूका जीवनका कठिनाइहरूमा मदत गर्न पैसा सापट दिनु के परमेश्‍वर अभिप्राय होइन? यदि परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ भने मानिसहरूले एकअर्कालाई कसरी प्रेम गर्न सक्दैनन् र? जानुहोस्, उनीहरूलाई केही पैसा सापट दिनुहोस्!” अज्ञानी मानिसहरूको ठूलो बहुमतले यो सुनेर यसो भन्छन्: “यदि तपाईं त्यसो भन्नुहुन्छ भने निश्चय दिनेछौ। जे भए पनि, यो सबैको पैसा हो, त्यसैले यसलाई हामी सबैले कसैलाई सहयोग गरेका मानौँ।” त्यसकारण, जब एक व्यक्तिले ठुल्ठुला विचारहरू फलाक्छ र चापलुसहरूको झुन्डले उसको कुरा खान्छ, र अन्त्यमा पैसा खर्च हुन्छ। यस्तोमा के तैँले “यो पैसा परमेश्‍वरलाई चढाइएको हो” भन्नु केही अर्थ हुन्छ त? यदि अर्थ हुन्छ भने, त्यो अघिबाटै परमेश्‍वरको पैसा हो र त्यसलाई पवित्रीकरण गरिसकिएको छ, त्यसैले त्यसको प्रयोग परमेश्‍वरले स्थापित गर्नुभएका सिद्धान्तहरूअनुसार गरियो भने मात्रै त्यो उचित प्रयोग हुनेछ। यदि कुनै अर्थ हुँदैन भने, यदि तैँले चढाएको पैसाको कुनै अर्थ हुँदैन भने, तैँले त्यो भेटी चढाउनु कस्तो कार्य हो? के त्यो खेलाँची मात्र हो? के तैँले परमेश्‍वरसँग ठट्टा गर्दैछस् र उहाँलाई धोखा दिँदैछस्? तैँले चढाउन चाहेका कुराहरू वेदीमा राखेपछि, तैँले तीबारे लोभ गर्न थाल्छस्, किनकी ती चिजहरू त्यहाँ राखिए पनि परमेश्‍वरले ती प्रयोग गरिरहनुभएको छैन, र आखिरमा उहाँलाई ती कुराहरूको कुनै उपयोग छैन जस्तो देखिन्छ। त्यसैले तैँले तिनलाई प्रयोग गर्नुपर्ने हुँदा, तिनलाई तँ आफैले लिन्छस् र प्रयोग गर्छस्। अथवा हुनसक्छ, तैँले धेरै नै चढाएको छस्, र पछि पछुताएर तैँले त्यसबाट केही फिर्ता लिन्छस्। अथवा हुन सक्छ, भेटी चढाउँदा तैँले स्पष्ट रूपमा सोचविचार गरिरहेको थिइनस्, र अब त्यसको लागि उपयोगिता थाहा पाएकोले, तैँले त्यो फिर्ता लिन्छस्। यो कस्तो प्रकृतिको व्यवहार हो? पैसा र यी वस्तुहरू: व्यक्तिले एकपटक यी वस्तुहरू परमेश्‍वरलाई चढाएपछि, यी वेदीमा चढाउनुजस्तै हो, अनि वेदीमा चढाइएका यी कुराहरू के हुन्? यी भेटीहरू हुन्। चाहे यो एउटा ढुङ्गा, वा बालुवाको एउटा कण, बफ्याएको एउटा रोटी, वा एक कचौरा पानी मात्रै भए पनि, जब तँ यसलाई वेदीमा राख्छस्, तब यो वस्तु परमेश्‍वरको हुन्छ, मानिसको हुँदैन, र कुनै पनि मानिसले अब त्यसलाई छुनु हुँदैन। चाहे यो तैँले आफ्नै निम्ति लोभ गरेको होस् वा नहोस्, वा तैँले यसका एक उचित उपयोग छ भनी विचार गरे पनि नगरे पनि, अब यसमा कुनै मानिसको अधिकार हुँदैन। कतिपयले भन्छन्, “के परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्न र? यदि उहाँले मानवजातिलाई एक हिस्सा दिनुभयो भने के हुन्छ र? अहिले, तपाईं तिर्खाउनुभएको छैन र तपाईंलाई पानीको आवश्यकता छैन, तर म तिर्खाएको छु, त्यसैले म किन पिउन सक्दिनँ र?” तर त्यसबेला तैँले परमेश्‍वर त्यसमा सहमत हुनुहुन्छ वा हुनुहुन्न त्यो हेर्नुपर्छ। यदि परमेश्‍वर सहमत हुनुहुन्छ भने, त्यसले उहाँले तँलाई अधिकार दिनुभएको छ र तँसित त्यो उपयोग गर्ने अधिकार छ भनी प्रमाणित गर्दछ; तर यदि परमेश्‍वर सहमत हुनुहुन्न भने तँसित त्यो उपयोग गर्ने कुनै अधिकार हुँदैन। तँसँग अधिकार नभएको, परमेश्‍वरले तँलाई अधिकार नदिनुभएको अवस्थामा, परमेश्‍वरको स्वामित्वमा रहेको कुनै वस्तु प्रयोग गर्नु भनेको वर्जित गरिएको ठूलो कुरा उल्लङ्घन गर्नु हो, जुन कार्यलाई परमेश्‍वरले सबैभन्दा बढी घृणा गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूबाट हुने उल्‍लङ्घन सहनुहुन्न भनेर मानिसहरूले सधैँ भन्‍ने गर्छन्, तर तिनीहरूले परमेश्‍वरको स्वभाव वास्तवमा कस्तो छ, वा तिनीहरूले गर्ने कुन कुराहरूले सबैभन्दा बढी उहाँको स्वभाव चिढ्याउने सम्भावना हुन्छ भनेर कहिल्यै बुझेका हुँदैनन्। परमेश्‍वरका भेटीहरूको मामलामा, धेरै मानिसहरूले त्यसलाई निरन्तर आफ्नो मनमा राख्छन्, आफूलाई जसरी मन लाग्छ त्यसरी तिनलाई प्रयोग गर्न वा विनियोजन गर्न, आफ्नै इच्छाअनुसार तिनलाई उपयोग, कब्जा गर्न वा फजुलमा उडाउन चाहन्छन्; तर म तँलाई भन्छु, तँ खतम होलास्, तँ मृत्युको योग्य बन्लास्! परमेश्‍वरको स्वभाव यस्तो हुन्छ। परमेश्‍वरले कसैलाई पनि उहाँका सम्पत्तिहरू छुन दिनुहुन्‍न; उहाँको मर्यादा यस्तो हुन्छ। केवल एउटा स्थितिमा मात्र परमेश्‍वरले मानिसहरूलाई ती प्रयोग गर्ने अधिकार दिनुहुन्छ, र त्यो हो मण्डलीका नियमहरू र तिनलाई प्रयोग गर्ने सिद्धान्तहरूअनुसार उचित प्रयोग गर्नु। यी सीमाहरू भित्र रहनु परमेश्‍वरको लागि स्वीकार्य छ, तर यी सीमाहरूबाट भड्केर जानु परमेश्‍वरको स्वभावविरुद्धको अपराध, र प्रशासनिक आदेशहरूको उल्लङ्घन हुनेछ। यो यतिसम्म कडा छ, सम्झौता गर्ने कुनै ठाउँ छैन, र कुनै वैकल्पिक तरिका छैन। त्यसकारण, जसले भेटीहरू फजुलमा उडाउने, हिनामिना गर्ने र सापट दिने गर्छन्, तिनीहरू परमेश्‍वरको नजरमा ख्रीष्टविरोधीहरू हुन्। अनि, तिनीहरूलाई ख्रीष्टविरोधी मान्नेजस्तो कठोर व्यवहार किन गरिन्छ? यदि परमेश्‍वरमा विश्‍वास गर्ने कुनै व्यक्तिले परमेश्‍वरको स्वामित्वमा रहेको र पवित्रीकरण गरिएका वस्तुहरू जानाजानी छुने, वा प्रयोग गर्ने वा बरबाद पार्ने कार्यसम्म गर्छ भने त्यो कस्तो खालको व्यक्ति हो? त्यस्तो व्यक्ति परमेश्‍वरको शत्रु हो। परमेश्‍वरका शत्रुहरूले मात्र उहाँका सम्पत्तिप्रति त्यस्तो मनोवृत्ति राख्छन्; कुनै साधारण भ्रष्ट व्यक्तिले त्यसो गर्दैन, एउटा जनावरले पनि त्यसो गर्दैन, केवल परमेश्‍वरका शत्रुहरू, शैतान, र ठूलो रातो अजिङ्गरले मात्र त्यस्तो काम गर्छ। के यसो भन्‍नु अति कठोर हुन्छ? होइन, यो तथ्य हो र यसो भन्‍नु पूर्ण रूपले सही छ। शैतानका खलकले कसरी परमेश्‍वरका सामानहरू छुन सक्छन् र? परमेश्‍वरको मर्यादा यस्तो हुन्छ!

४. जालसाजीपूर्वक भेटीहरू प्रयोग गर्नु

अरू कतिपय मानिसहरू यस्ता छन्, जो अनेक बहानामा परमेश्‍वरको परिवारलाई यसो भन्दै पैसा माग्छन्, “हाम्रो मण्डलीलाई एउटा कुर्सीको कमी छ, त्यसैले हाम्रो लागि एउटा किनिदिनोस्। हाम्रो मण्डलीका कतिपय दाजुभाइ-दिदीबहिनीहरूसँग कर्तव्य निभाउनको लागि कम्प्युटर छैनन्, त्यसैले हाम्रो लागि एउटा म्याक किनिदिनोस्। हामीले कामको क्रममा मानिसहरूलाई बारम्बार सम्पर्क गर्छौँ, र फोन छैन भने हाम्रो कामै हुँदैन, त्यसैले हामीलाई एउटा आइफोन किनिदिनोस्। तर एउटा मात्र भएर हुँदैन, एउटाले त अत्यन्तै असुविधाजनक हुन्छ, किनकि कहिलेकाहीँ हामी फरकफरक मानिसहरूसँग सम्पर्कमा रहनुपर्छ। अनि, एउटा मात्र लाइन हुँदा सजिलै निगरानीमा पर्न सकिन्छ, त्यसैले धेरै लाइनहरू भए मात्र काम हुन्छ।” अनि त्यसैले, यीमध्ये कतिपय मानिसहरूसँग चारपाँच वटा फोनहरू हुन्छन् र तिनीहरूले एकैपटक दुईतीन वटा ल्यापटप बोक्छन्; तिनीहरू अत्यन्तै प्रभावशाली देखिन्छन्, तर तिनीहरूको कार्य सम्पादन कमजोर हुन्छ। तिनीहरूले यी सारा वस्तुहरू कसरी प्राप्त गरे? तिनीहरूले त्यो सबै जालसाजीपूर्वक प्राप्त गरे। विगतमा, हामीले एउटी मूर्ख आइमाईको कुरा गरेका थियौँ, जो खाट्टी ख्रीष्टविरोधी थिई। जब परमेश्‍वरको घरले एउटा मण्डली भवन नवीकरण गरिरहेको थियो, उसले एउटा केटोसँग मिलेर जालसाजीपूर्वक मण्डलीको पैसा प्रयोग गरी, र परमेश्‍वरको घरलाई ठूलो क्षति पुर्‍याई। त्यो मान्छेले भवन नवीकरण गर्दा सबैभन्दा महङ्गा सरसामान किनेर एकदमै धेरै थप पैसा खर्च गराउँदै गैरविश्‍वासी ठेकेदारले जस्तै पैसा कुम्ल्यायो। जब केही मानिसहरूले त्यहाँ समस्या देखे, त्यो मूर्ख महिलाले उसलाई त्यो कुरा लुकाउन र ढाकछोप गर्न मद्दत गरी, अनि तिनीहरूले मिलेर परमेश्‍वरको घरको पैसा धुत्ने काम गरे। तर अन्त्यमा, तिनीहरू समातिए, र ती दुवै निष्कासित भए। यसमा तिनीहरू आफैले आफ्नो विनाश निम्त्याए र आफ्नो जीवन बर्बाद पारे। के अब रोइकराइ गरेर तिनीहरूलाई केही फाइदा हुन्थ्यो र? यो सबै कुराको अन्त्य यसरी भयो, तर तिनीहरूले सुरुमा किन त्यस्तो व्यवहार गरे त? त्यो मूर्ख महिलाले जालसाजीपूर्वक भेटीहरू प्रयोग गरिरहँदा परिणामहरूबारे किन सोचिन? के परमेश्‍वरको घरले उसलाई निष्कासन गर्नु र पैसा फिर्ता गराउनु कठोर थियो र? (अहँ, थिएन।) त्यसले जे पाउनुपर्ने हो त्यो पाई! यस्तो व्यक्ति दयाको लायक हुँदैन। तिनीहरूसित कृपालु हुने कुरा हुँदैन। अनि त्यसपछि हामीले यसअघि कुरा गरेको महिला अगुवा छे। उसले मण्डलीको धेरै पैसा लिएर एउटा गैरविश्‍वासीलाई सापट दिई। पछि, उसलाई तह लगाइयो। कतिपयले मनमनै सोच्लान्, “उसले त अलिकति पैसा सापट दिएकी मात्र होइन र? उसलाई फिर्ता गर्न लगाए भैगो नि। उसलाई किन निकाल्नु? त्यसो गर्दा त कुनै असल व्यक्ति एक्कासी गैरविश्‍वासी बन्छ, र उसले जिउनको लागि काम खोज्‍न जानुपर्छ। ऊ अत्यन्तै दयनीय छे!” के त्यो व्यक्ति दयनीय छे? बरु तँ किन ऊ तिरस्कारलायक छे भनेर भन्दैनस्? तँ किन उसले गरेका कामहरू हेर्दैनस्? उसले गरेको काम तँलाई ऊप्रति जीवनभर घिनाउने बनाउन काफी छ, तर तँ त उसलाई दया देखाइरहेको छस्! ज-जसले उसलाई दया देखाउँछन्—तिनीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू सबै मन्दबुद्धि भएका र सबैप्रति अविवेकीपूर्ण रूपमा दया देखाउने मानिसहरू हुन्।

५. भेटीहरू चोर्नु

ख्रीष्टविरोधीहरूले मण्डलीका आर्थिक पक्षहरू नियन्त्रण गर्नुको एउटा अन्तिम प्रकटीकरण छ, र त्यो हो, भेटीहरू चोर्नु। कतिपय अज्ञानी मानिसहरूले भेटीहरू चढाउँदा “दान दिएको कुरा कसैलाई थाहा नदिने” सिद्धान्त पालना गर्छन्, र आफूले चढाउने रकम कोही भरोसायोग्य छ छैन भनेर आफूलाई थाहै नभएको व्यक्तिको हातमा थम्याउँछन्। उनीहरू भन्छन्, “यसपटक मैले ठुलै रकम चढाइरहेको छु, त्यसैले यसबारे कसैलाई थाहा नदिनू, र यसलाई खातामा नलेख्नू। म यो काम परमेश्‍वरसामु गरिरहेको छु, अरू मानिसहरूसामु होइन। परमेश्‍वरलाई त्यो कुरा थाहा भयो भने हुन्छ। यदि हामीले दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा दियौँ भने, सायद उनीहरूले मलाई आराधना गर्नेछन्। त्यसैले, उनीहरूले मलाई सम्मान नगरून् भनेर म यो काम गोप्य रूपमा गरिरहेको छु।” यसो गरेपछि, उनीहरूलाई आफूप्रति निकै राम्रो महसुस हुन्छ, र उनीहरूले सोच्छन्, “मैले शिष्ट, गोप्य, र शान्त तरिकाले भेटी चढाएँ, त्यसलाई अभिलेखमा राखिनँ, र त्यसबारे कुनै पनि दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा दिइनँ।” तर यसरी अज्ञानी रूपमा काम गर्दा, लोभी मानिसहरूलाई मौकाको फाइदा लुट्ने बाटो खुलेको हुन्छ। भेटी चढाउनेबित्तिकै, त्यो भेटी दिइएको ख्रीष्टविरोधी बैंक जान्छ र त्यो रकम जम्मा गर्छ र त्यसलाई आफ्नै ठान्छ। उसले भेटी चढाउने व्यक्तिलाई यसोसमेत भन्छ, “अर्कोपटक भेटी चढाउँदा पनि तपाईंले यसैगरी चढाउनुपर्छ। यो तरिका सही हो र सिद्धान्तहरूसँग मिल्छ; भेटीहरू चढाउँदा नम्र हुनुपर्छ। परमेश्‍वरको घरले भेटी चढाउन मानिसहरूलाई अनुरोध नगर्नू भनेको छ। यसको मतलब यसले मानिसहरूलाई नम्र हुन, भेटी चढाएपछि पनि त्यसबारे कुरा नगर्न, र दिइएको रकम नखुलाउन, र कसलाई दिइयो भनेर त झनै नभन्न आग्रह गरिरहेको छ।” के यो भेटी चढाउने व्यक्तिले भित्रैसम्‍म मानिसहरूलाई बुझ्न सक्छ र? उसले किन यस्तो मूर्खतापूर्ण कदम चाल्छ? मानव हृदय कति दुष्ट र अनिष्टकर हुन सक्छ भन्ने थाहा नभएर उसले त्यो व्यक्तिमा सम्पूर्ण रूपमा भरोसा गर्छ, र अन्त्यमा, उसको पैसा चोरिन्छ। यो एउटा व्यक्तिले कुनै ख्रीष्टविरोधीलाई पैसा चोर्ने मौका दिनु हो। तर यस्तो मौका नपाई पनि कुनै ख्रीष्टविरोधीले पैसा चोर्न सकेको कुनै घटना छ? के त्यस्ता घटनाहरू छन् जहाँ कसैले हिसाबकिताब राख्ने क्रममा जानाजान गलत रकम वा कम रकम लेख्छ र मानिसहरूले ध्यान नदिइरहेको बेलामा गुपचुप रूपमा थोरैथोरै गर्दै पैसा निकाल्छ? यस्ता खालका मानिसहरू धेरै छन्। यस्ता मानिसहरू धनका लोभी हुन्छन्, तिनीहरू निकृष्ट र दुर्भावपूर्ण चरित्रका हुन्छन्, र तिनीहरूले अवसर पाउनेबित्तिकै जे पनि गर्न सक्छन्। भनाइ नै छ, “अवसर भनेको तम्तयारहरूको लागि मात्र हो।” लोभ नभएका मानिसहरूले यी कुराहरू ख्याल गर्दैनन्, तर लोभी मानिसहरूले सधैँ ख्याल गर्छन्। तिनीहरूको दिमागले निरन्तर रूपमा षडयन्त्र रच्‍नेबारे सोचिरहेको र पैसा दुरुपयोग गर्ने मौकाहरू खोजिरहेको हुन्छ, र यसरी मौकाको फाइदा उठाउँदै गोप्य रूपमा पैसा खर्च गर्ने उपायहरू रचिरहेको हुन्छ।

एउटी मूर्ख आइमाई थिई। एकपटक ऊसँग कुरा गर्ने क्रममा मैले मण्डलीले केही पुस्तकहरू छपाउन चाहेको विषय उठाएँ, र छपाइबारे उसलाई केही थाहा छ कि भनी सोधेँ। जवाफमा उसले धेरै सिद्धान्तहरू बोली र त्यसपछि तुरुन्तै यसो भनी, “प्रायजसो, छापाखानाहरूले पुस्तकहरू छाप्दा कमिसन दिन्छन्। यदि हामीले कुनै गैरविश्‍वासीलाई यो काम गरायौँ भने, पक्कै पनि ठूलै बेइमानी हुनेछ, र उसले गोप्य रूपमा पक्कै राम्रो नाफा लिनेछ।” बोल्ने क्रममा ऊ खुसीले मुस्कुराउन थाली। उसका आँखाहरू चम्किला बने, उसको आँखीभौ ठाडो भयो, र उसका गालाहरू रातो भए, र ऊ खुसी र उत्तेजित बनी। मैले मनमनै सोचेँ, “यदि तैँले यो छपाइको काम सम्हाल्न सक्छस् भने, सम्हाल्, र तँलाई त्यसबारे जति थाहा छ, मलाई त्यति नै बता। तँ के कारणले यति उत्साहित बनेकी?” तर मैले यसलाई मनमा सोच्न थाल्नेबित्तिकै, मैले थाहा पाएँ: यसमा नाफा कमाउने अवसर थियो। उसलाई छपाइ कसरी गर्ने, कुन पुस्तकहरू छाप्‍नुपर्ने हो, त्यसको गुणस्तर कस्तो हुनेछ, वा कसरी छापाखाना खोज्ने भन्नेबारे उसलाई कुनै चासो थिएन—उसलाई त त्यसको एक अंश लिनुको मात्र चासो थियो। अहिलेसम्म केही पनि गरिएको थिएन, तर उसले कमिसन लिनेबारे कुरा गर्न थालिसकेकी थिई। मैले सोचेँ, “गरिबीले तँलाई पागल बनाएको हुनुपर्छ। तैँले कसरी परमेश्‍वरको घरका पुस्तकहरू छपाउँदा, त्यसबाट कमिसन पाउने आशा गर्न सकिस्? पुस्तकहरू वितरण गर्दा, परमेश्‍वरको घरले एक सुको कमाउँदैन, सबथोक सित्तैमा दिइन्छ, अनि तँचाहिँ त्यसको हिस्सा प्राप्त गर्न चाहन्छस्?” के यी आइमाईले काल खोजिरहेकी थिइन र? उसलाई यो काम दिन परमेश्‍वरको घर सहमत हुनुपहिले नै, जब मैले सोधपुछ मात्र गर्दै थिएँ, उसले हिस्साबारे कुरा गर्न थालिसकेकी थिई। यदि त्यो काम वास्तवमै उसलाई सुम्पिइन्थ्यो भने, ऊ कमिसन पाउने कुरामै रोकिने थिइन, बरु ऊ त सारा पैसा लिएर भागेकी हुन सक्थी—तैँले उसलाई जति दिन्थिस् उसले तँबाट त्यति नै धेरै धुत्ने थिई, उसले त्यति नै धेरै चोर्ने थिई। के मैले यसलाई बढाइचढाइ गरिरहेको छु त? त्यो आइमाई अनौठो चरित्रकी थिई, थिइन र? मलाई सोध्छस् भने, ऊ एक लुटेरि र गुन्डी थिई जो सकुन्जेल पैसा प्राप्त गर्ने दुस्‍साहस गर्थी। अहिलेको लागि परमेश्‍वर यसमा सहमत हुनुहुन्छ कि हुन्न भनेर सोध्न थाती राखौँ, र हामी दाजुभाइ-दिदीबहिनीहरूलाई मात्र उसले सद्‌विवेकसाथ यो काम सम्हाल्छे कि सम्हाल्दिन, उसले जसरी सम्हाल्छे त्यसलाई उनीहरूले स्विकार्न सक्छन् कि सक्दैनन्, र परमेश्‍वरका चुनिएका मानिसहरूले उसलाई माफी दिन सक्छन् कि सक्दैनन् भनेर सोधौँ।

त्यसपछि कतिपय त्यस्ता मानिसहरू छन् जसलाई उल्लेख गर्दासमेत घिन लाग्छ। जब तिनीहरूको परमेश्‍वरको घरको लागि कुनै काम लिन्छन्, तब तिनीहरूले गैरविश्‍वासीहरूसँग मिलेर मूल्य बढाउँछन्, र परमेश्‍वरको घरलाई अत्यधिक रकम तिराएर घाटा लगाउँछन्। यदि तैँले त्यो खरिद नगर्ने वा तिनीहरूको प्रस्ताव नमान्‍ने कुरा गरिस् भने, तिनीहरू सबै रिसाउनेछन्, र तँलाई उक्साउन वा निरुत्साहित गर्न, र मण्डलीबाट पैसा प्राप्त गर्न अनेक कोसिसहरू गर्नेछन्। जब गैरविश्‍वासीहरूलाई पैसा तिरिन्छ, र जब तिनीहरूले लाभ पाएका हुन्छन्, र तिनीहरूको छवि पनि बढेको हुन्छ, तब तिनीहरू भर्खरै चिठ्ठा जितेझैँ खुसी हुन्छन्। यो त जुन खुवाउने हातलाई नै टोक्‍नु, भेटीहरू फजुलमा उडाउनु, र परमेश्‍वरको घरको लागि कहिल्यै कति पनि लाभ प्राप्त गर्ने कोसिस नगर्नु हो। अनि, पुस्तकहरू छाप्‍न जिम्मा लिने ती मूर्ख आइमाईहरू किन बरखास्त भए? किनकि तिनीहरूले परमेश्‍वरको घरलाई घाटा तुल्याए, र लापरवाहीपूर्वक काम गरे। जब तिनीहरूले गैरविश्‍वासीहरूसँग मोलमोलाइ गरे, तिनीहरूले सकुन्जेल मूल्य घटाइरहे, यतिसम्म कि त्यो उत्पादन मूल्यभन्दा पनि कम भयो, त्यो घिनलाग्दो अवस्थासम्म पुग्यो र गैरविश्‍वासीहरूले तिनीहरूसँग काम गर्नै चाहेनन्। अन्त्यमा, ती गैरविश्‍वासीहरू मन नलागीनलागी सहमत त भए, तर गुणस्तर निकै घट्यो। ल भन् त, के त्यस्तो एउटा पनि व्यक्ति छ जसले घाटामा व्यापार गरोस्? यो संसारका मानिसहरूलाई बाँच्नु छ, र व्यवसाय गर्दा तिनीहरूले उत्पादन खर्चका अलावा जिउने खर्च र श्रम लागत पूर्ति हुनेगरी पर्याप्त पैसा कमाउनुपर्छ। ती आइमाईहरूले मूल्यमा हदभन्दा ज्यादा सम्झौता गर्दै त्यसलाई सक्दो घटाएर ती गैरविश्‍वासीहरूलाई कुनै पैसा कमाउनै दिएनन्, र तिनीहरूले परमेश्‍वरको घरको लागि पैसा बचत गरिरहेको ठाने, तर अन्त्यमा के भयो? अर्को पक्षले कामको गुणस्तर र बाइन्डिङमा सम्झौता गरिदियो। यदि तिनीहरूले यसैबाट घाटा पूर्ति गर्दैनथे भने, के तिनीहरूलाई घाटा लाग्दैनथ्यो त? यदि तिनीहरूले घाटा बेहोर्नुपर्थ्यो भने, के तिनीहरूले यो काम गर्थे त? के तिनीहरूले ती आइमाईहरूलाई मोलमोलाइमा जित्न दिन सक्थे र? अहँ, त्यो असम्भव थियो। यदि तिनीहरूले ती आइमाईहरूलाई मोलमोलाइमा जित्न दिन्थे भने, तिनीहरूले व्यवसाय गरिरहेकै हुँदैनथे, तिनीहरूले परोपकार गरिरहेका हुन्थे। ती मूर्ख आइमाईहरूले यो कुरा बुझ्नै सकेनन्, तिनीहरूले यस तरिकाले परमेश्‍वरको घरको काम सम्हाले, र कामकुरा लथालिङ्ग पारे। अनि अन्त्यमा, तिनीहरूले बहानैबहाना बनाए र यसो भने: “मैले परमेश्‍वरको घरको बारेमा सोचिरहेकी थिएँ। मैले परमेश्‍वरको घरको पैसा बचत गरिरहेकी थिएँ। एक रुपैयाँ बचाउनु भनेको एक रुपैयाँ बचाउनु हो, र दुई रुपैयाँ बचाउनु भनेको एक रुपैयाँ कमाउनु हो!” तिनीहरूले बकवास बोलेका बोल्यै थिए! के तिनीहरूलाई औधोगिक प्रावधानहरूको अर्थ थाहा थियो र? के तिनीहरूलाई स्थापित अभ्यासहरू र मनासिब हुनुको अर्थ थाहा थियो? अनि, अन्तिम नतिजा के भयो? कतिपय पुस्तकहरू अत्यन्तै कम गुणस्तरका थिए, एकदुई पटक पल्टाएपछि पन्नाहरू उक्‍किन थाल्थे, र पूरै पुस्तक च्यातिन्थे, जसले गर्दा त्यो पढ्न सम्भव हुँदैनथ्यो, त्यसैले सबथोक फेरि छाप्‍नुको विकल्प नै थिएन। के यसबाट पैसा बचत भयो कि झन् बढी खर्च लाग्यो? (झन् बढी खर्च भयो।) यो ती मूर्ख आइमाईहरूले निम्त्याएको असफलता थियो।

ख्रीष्टविरोधीहरूले भेटीलाई जुन रूपमा लिन्छन् त्यसमा सिद्धान्त र मानवता बिलकुलै हुँदैन र यही नै तिनीहरूको दुष्ट र क्रूर स्वभावको प्रमाण हो। तिनीहरूले भेटी र परमेश्‍वरका सारा सम्पत्तिलाई जुन रूपमा हेर्छन् त्यसको आधारमा भन्नुपर्दा, ख्रीष्टविरोधीको स्वभाव साँच्चै परमेश्‍वरविरोधी हुन्छ। तिनीहरूले परमेश्‍वरका भेटीहरूलाई अत्यन्तै निन्दा गर्छन्, तीसँग खेलवाड गर्छन् र तिनलाई जसरी मन लाग्छ त्यही रूपमा लिन्छन्, तीप्रति अलिकति पनि सम्मान देखाउँदैनन्, र तिनीहरूमा कुनै पनि सीमा हुँदैन। यदि तिनीहरूले परमेश्‍वरका सम्पत्तिहरूप्रति यस्तै व्यवहार गर्छन् भने, परमेश्‍वर स्वयम्‌प्रति कस्तो व्यवहार गर्लान्? अथवा उहाँले बोल्नुभएका वचनहरूप्रति कस्तो व्यवहार गर्लान्? जवाफ प्रस्टै छ। यो ख्रीष्टविरोधीको प्रकृति सार हो, यो दुष्टता र क्रूरता हाबी भएको ख्रीष्टविरोधीको सार हो; यो एक पक्‍का ख्रीष्टविरोधी हो। यसलाई राम्रोसँग याद राख्: भेटीहरू फजुलमा उडाउन, हिनामिना गर्न, सापट दिन, जालसाजीपूर्वक प्रयोग गर्न, वा चोर्न सक्ने व्यक्तिको हकमा, अन्य प्रकटीकरणहरू हेर्न आवश्यक पर्दैन। यीमध्ये एउटा गुण हुनेबित्तिकै यो व्यक्तिलाई ख्रीष्टविरोधी मान्ने पर्याप्त आधार हुन्छ। तिनीहरू यस्ता व्यक्ति हुन् होइनन्, र भविष्यमा तिनीहरूले यस्ता काम गर्न सक्छन् सक्दैनन् भनेर हेर्न तैँले सोधपुछ वा अनुसन्धान गर्न आवश्यक छैन, तिनीहरूलाई जाँच्न त झनै आवश्यक छैन। तिनीहरूसँग एउटा गुण मिल्नेबित्तिकै, तिनीहरू ख्रीष्टविरोधी अर्थात् परमेश्‍वरको शत्रु ठहरिन्छन्। एकपटक तिमीहरू सबैले हेर: चाहे त्यो तिमीहरूले चुनिसकेको अगुवा होस्, वा तिमीहरूले चयन गर्ने निर्णय गरेको अगुवा होस्, वा तिमीहरूलाई निकै राम्रा लाग्ने मानिसहरूमध्येको एक होस्, चाहे यस्तो आचरण वा यस्तो प्रवृति देखाउने जोसुकै नै किन नहोस्, ऊ ख्रीष्टविरोधी नहुन सक्दै सक्दैन।

आज मैले सङ्गति गरेका कुराहरूबाट तिमीहरूले कुनै खालको पाठ सिकेका छौ? के तिमीहरूले कुनै सत्यताको बुझाइ प्राप्त गरेका छौ? तिमीहरू यसबारे प्रस्ट रूपमा बोल्न सक्दैनौ, त्यसैले तिमीहरूले कस्तो पाठ सिक्नुपर्छ भनेर म तिमीहरूलाई बताउनेछु। मानिसहरूले परमेश्‍वरलाई चढाउने वस्तुहरूबारे तैँले कुनै पनि योजनाहरू रच्नु हुँदैन। यी वस्तुहरू जे भए पनि, यी मूल्यवान् भए पनि नभए पनि, यी तँलाई काम लागे पनि नलागे पनि, यी बहुमूल्य भए पनि नभए पनि—तैँले यीबारे कुनै पनि योजनाहरू रच्नु हुँदैन। यदि तँसँग क्षमता छ भने बाहिर गएर पैसा कमा—तँलाई जति मन लाग्छ त्यत्ति कमा, यसमा कसैले पनि हस्तक्षेप गर्नेछैन, तर तैँले परमेश्‍वरका भेटीहरूबारे कुनै पनि योजनाहरू कदापि रच्नु हुँदैन। तिमीहरूमा यो सतर्कता हुनुपर्छ; तिमीहरूमा यो चेतना हुनुपर्छ। माथिको कुरा एउटा पाठ हो। अर्को पाठ यो हो कि, भेटीहरू फजुलमा उडाउने, हिनामिना गर्ने, सापट दिने, जालसाजीपूर्वक प्रयोग गर्ने, र चोरी गर्ने काममा संलग्न हुने जोकोहीलाई यहूदा कोटिको व्यक्ति मानिनुपर्छ। यसप्रकारका कार्य र अभ्यासहरू गर्ने मानिसहरूले अघिबाटै परमेश्‍वरको स्वभाव चिढ्याएका हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन। तैँले यो मामलाबारे कुनै मनोकामना राख्नु हुँदैन। मैले यसलाई यसरी प्रस्तुत गरेको छु र परमेश्‍वरले यी कुराहरू हुन दिनुहुनेछ। यो तय भइसकेको छ, र यसमा सम्झौता गर्ने कुनै ठाउँ छैन। कतिपय मानिसहरूले यसो भन्नेछन्: “मैले एउटा सन्दर्भमा हिनामिना गरेको थिएँ: मैले जथाभावी रूपमा त्यो पैसा खर्च गर्दा म कलिलै र अज्ञानी थिएँ, तर मैले परमेश्‍वरको घरलाई अति धेरै पैसा ठगिनँ, बिसदेखि तीस रुपैयाँसम्‍म वा तीस वा पचास रुपैयाँ मात्र चोरेँ।” तर यो कति रकम हो भन्‍ने कुरा होइन; समस्या के हो भने, जब तैँले यसो गर्छस्, तेरा कार्यहरूको निसाना परमेश्‍वर हुनुहुन्छ। तैँले परमेश्‍वरका थोकहरू छोएको हुन्छस्, र तैँले त्यसो गर्नु अस्वीकार्य हुन्छ। परमेश्‍वरका थोकहरू साझा सम्पत्ति होइनन्, ती सबैको होइनन्, ती मण्डलीका होइनन्, ती परमेश्‍वरको घरका होइनन्: ती परमेश्‍वरका हुन्, र तँ यी अवधारणाहरूबारे दुविधामा पर्नु हुँदैन। परमेश्‍वरले त्यस्तो सोच्नुहुन्न, न त उहाँले तँलाई “मेरा थोकहरू र भेटीहरू मण्डलीका हुन्, र तिनलाई मण्डलीद्वारा वितरण गरिनुपर्छ” भनेर नै भन्नुभएको छ, उहाँले “मलाई चढाइएका सारा भेटीहरू मण्डलीका हुन्, परमेश्‍वरको घरका हुन्, र ती दाजुभाइ-दिदीबहिनीहरूका नियन्त्रणमा छन्, र जसले तिनको प्रयोग गर्न चाहन्छ उसले त्यसको रिपोर्ट मात्र गर्नुपर्छ” भनेर त झनै भन्‍नुभएको छैन। परमेश्‍वरले यस्तो भन्नुभएको छैन, उहाँले कहिल्यै यस्तो भन्नुभएन। त्यसोभए, परमेश्‍वरले के भन्‍नुभयो त? परमेश्‍वरलाई चढाइएको चिज परमेश्‍वरकै हुन्छ, अनि त्यो चिज वेदीमा राखिसकेपछि त्यो सधैँको लागि परमेश्‍वरको हुन्छ, र कुनै पनि मानवसँग अनधिकृत रूपमा त्यो प्रयोग गर्ने अधिकार वा शक्ति हुँदैन। भेटीहरूबारे योजनाहरू रच्नु, र तिनलाई हिनामिना गर्नु, जालसाजीपूर्वक प्रयोग गर्नु, चोर्नु, सापट दिनु, र फजुलमा उडाउनु—यी सबै कार्यहरूलाई परमेश्‍वरको स्वभावविरुद्ध भएको अपराध, र ख्रीष्टविरोधीहरूका कार्यहरूको निन्दा गरिन्छ, र यी कार्यहरू पवित्र आत्माविरुद्ध गरिने ईशनिन्दाको पापसरह हुन्, र यसको निम्ति परमेश्‍वरले तँलाई कहिल्यै पनि क्षमा गर्नुहुनेछैन। परमेश्‍वरको मर्यादा त्यस्तो हुन्छ, र मानिसहरूले यसलाई कदापि कम आँक्‍नु हुँदैन। तैँले अरू मानिसहरूलाई लुट्दा वा उनीहरूबाट चोरी गर्दा कानुनतः तँलाई एकदुई वर्ष वा तीनदेखि पाँच वर्षको सजाय हुन सक्छ, र तीनदेखि पाँच वर्ष जेल बसेपछि तँ कुनै अपराधको दोषी रहनेछैनस्। तर जब तैँले परमेश्‍वरका थोकहरू र परमेश्‍वरका भेटीहरू लिन्छस्, परमेश्‍वरको नजरमा त्यो सधैँ एउटा पाप हुन्छ, एउटा यस्तो पाप जसलाई क्षमा गर्न सकिँदैन। मैले तँलाई यी वचनहरू भनेको छु, र जो यीविरुद्ध जान्छ उसले परिणामहरू भोग्नुपर्नेछ। समय आएपछि, मैले तँलाई भनिनँ भनेर तैँले गुनासो नगर्नु नै बेस हुनेछ। मैले मेरो वचन आज तँलाई यसैमार्फत प्रस्ट पारेको छु, काठमा किला ठोकेझैँ यसलाई तँभित्र घुसाएको छु, र यो कुरा पूरा हुने नै छ। तैँले यसलाई विश्‍वास गर्नु नगर्नु तेरो कुरा हो। कतिपयले आफूलाई डर लागेको छैन भन्छन्। यदि तँलाई डर लागेको छैन भने, परिस्थितिहरू कस्ता हुनेछन्, पर्खेर हेर्। तँ दण्डित हुञ्जेल नपर्खी, किनकि त्यतिन्जेल रुन, दाह्रा किट्न, र छाती पिट्न ज्यादै ढिला भइसकेको हुनेछ।

अक्टोबर २४, २०२०

अघिल्लो: विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग छ)

अर्को: विषयवस्तु चौध: तिनीहरू परमेश्‍वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रको रूपमा लिन्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्