विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग तीन)

आ. परमेश्‍वर देहधारी हुनुभएको देहलाई घृणा गर्नु

पछिल्लो सङ्गतिको शीर्षक ख्रीष्टविरोधीहरूको दसौँ प्रकटीकरण—सत्यतालाई घृणा गर्नु, निर्लज्जपूर्वक सिद्धान्तहरू उल्लङ्घन गर्नु, र परमेश्‍वरको घरका बन्दोबस्तहरूलाई बेवास्ता गर्नु—थियो। विस्तृत सङ्गतिको लागि यो विषयवस्तुलाई थप तीन खण्डमा विभाजन गरिएको छ। पहिलो खण्ड छ, परमेश्‍वरको पहिचान र सारलाई घृणा गर्नु; दोस्रो छ, परमेश्‍वर देहधारी हुनुभएको देहलाई घृणा गर्नु हो; र तेस्रो छ, परमेश्‍वरका वचनहरूलाई घृणा गर्नु। यी तीन खण्डहरूलाई ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको दसौँ विषयवस्तु चिरफार गर्न प्रयोग गरिएको छ। पहिलो खण्ड सङ्गति गरिसकिएको छ, परमेश्‍वर देहधारी हुनुभएको देहलाई घृणा गर्नु भनिने दोस्रो खण्डलाई सङ्गतिको लागि चार भागमा विभाजन गरिएको छ। यी चार भागहरू के-के हुन्? (पहिलो, खुसामद, चापलुसी, र मिठा शब्दहरू; दोस्रो, सूक्ष्मजाँच र विश्‍लेषण, र साथमा जिज्ञासा; तेस्रो, तिनीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन् त्यो तिनीहरूको मुडमा भर पर्छ; र चौथो, ख्रीष्टले भन्नुभएको कुरा केवल सुन्ने, तर न त आज्ञापालन गर्ने न समर्पित हुने।) पहिलो दुई भागहरू पछिल्लो पटक सङ्गति गरिए; यस पटक, हामी तेस्रो भाग सङ्गति गर्नेछौँ।

ग. तिनीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन्, त्यो तिनीहरूको मुडमा भर पर्छ

तेस्रो भाग “तिनीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन् त्यो तिनीहरूको मुडमा भर पर्छ” भन्‍ने हो; यो सानो वाक्यांशले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरू प्रस्ट पार्छ। तिमीहरूको बुझाइमा, वा तिमीहरूको देखाइ र भोगाइअनुसार, के यस भागसम्बन्धी केही उदाहरणहरू हुनुपर्छ, होइन र? कति मानिसहरू भन्छन्: “ख्रीष्टसँग मेरो कहिल्यै सम्पर्क भएको छैन; मैले प्रवचनहरू मात्र सुनेको छु। मसँग यस प्रकटीकरणको वास्तविक अनुभव छैन, न त मैले अरू कसैले वास्तवमै यो कुरा प्रदर्शन गरेको देखेको छु।” तिमीहरूमध्ये यस भागको वास्तविक अनुभव भएकाहरूसँग यससँग मिल्दा कुनै अनुभूति वा बुझाइहरू छन्? कुनै पनि छैन? त्यसोभए हामीले साँच्चिकै गहन सङ्गति गर्नुपर्छ, होइन र? (हो।) बाहिरबाट हेर्दा, यस भागमा मानिसहरू ख्रीष्टको सम्पर्कमा आउँदाका तिनीहरूका विभिन्न मनोवृत्ति र प्रकटीकरणहरू संलग्न हुन्छन्। वास्तवमा, यस भागमार्फत, परमेश्‍वर देहधारी हुनुभएको देहप्रति मानिसहरूका विभिन्न मनोवृत्ति र प्रकटीकरणहरू देख्न सकिने मात्र नभई, परमेश्‍वर देहधारी हुनुभएको देहप्रतिको व्यवहारमा मानिसहरूले परमेश्‍वरप्रति देखाउने साँचो मनोवृत्ति र प्रकटीकरणहरू पनि खुट्ट्याउन सकिन्छ। भन्नुको मतलब, यसमार्फत, मानिसहरूले परमेश्‍वरको पहिचान र सार भएको परमेश्‍वर स्वयम्‌लाई कस्तो मनोवृत्तिले व्यवहार गर्छन्, र तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय, साँचो आस्था, र साँचो समर्पण छ छैन भन्‍ने कुरा प्रस्ट हुन्छ। विभिन्न परिस्थितिहरू सामना गर्दा, ख्रीष्टप्रतिका मानिसहरूका विभिन्न मनोवृत्तिहरूले तिनीहरूले विश्‍वास गर्ने परमेश्‍वरप्रतिका तिनीहरूका मनोवृत्तिहरू खुलासा गर्छन्। यस साधारण व्यक्ति अर्थात् ख्रीष्टसँग व्यवहार गर्दा, तँसित कुनै धारणाहरू, साँचो आस्था, वा साँचो समर्पण हुनु नहुनुले तँसित तैँले विश्‍वास गर्ने परमेश्‍वर अर्थात् परमेश्‍वर स्वयम्‌प्रति सच्चा आस्था र साँचो समर्पण छ छैन भन्‍ने जनाउँछ। स्वर्गको परमेश्‍वरप्रतिको मानिसहरूको व्यवहारमा—तिनीहरूको मनोवृत्ति, दृष्टिकोण र तिनीहरूको साँचो विचारमा—तिनीहरू निकै अस्पष्ट हुन्छन्, तिनीहरूले परमेश्‍वरप्रति आफ्नो साँचो मनोवृत्ति खुलाउँदैनन्। तर जब मानिसहरूले वास्तवमै परमेश्‍वरलाई भेट्छन् र परमेश्‍वर देहधारी हुनुभएको ठोस मासु र रगतको देह देख्छन्, तब परमेश्‍वरप्रतिको तिनीहरूको साँचो मनोवृत्ति पूर्ण रूपमा पर्दाफास हुन्छ। मानिसहरूले बोल्ने शब्दहरू, तिनीहरूका मनका सोचहरू, तिनीहरूले स्थापित गर्ने र हृदयमा राख्ने दृष्टिकोणहरू, साथै ख्रीष्टप्रति तिनीहरूको हृदयमा भएका सोचाइ र मनोवृत्तिहरूसमेत वास्तवमा तिनीहरूले परमेश्‍वरलाई कस्तो व्यवहार गर्छन् भन्‍ने कुराका विभिन्न प्रकटीकरणहरू हुन्। स्वर्गको परमेश्‍वर अदृश्य र अमूर्त हुनुभएकोले, मानिसहरूले उहाँबारे कसरी सोच्छन्, उहाँलाई कस्तो व्यवहार गर्छन्, उहाँलाई कसरी परिभाषित गर्छन्, र तिनीहरू समर्पित छन् छैनन् भन्‍ने कुरामा, वास्तवमा मानिसहरूमा तिनीहरूका प्रकटीकरणहरू सही र सत्यतासँग मिल्दो छन् छैनन् भनेर मापन गर्ने कुनै मानक छैन। तर जब परमेश्‍वर ख्रीष्टको रूपमा देहधारी बन्नुहुन्छ, तब यो सबै बदलिन्छ: परमेश्‍वरप्रतिका मानिसहरूका यी सारा प्रकटीकरण र मनोवृत्तिहरू मापन गर्ने एउटा मानक बन्छ, र त्यसले परमेश्‍वरप्रति मानिसहरूले राख्‍ने साँचो मनोवृत्ति प्रस्ट बनाउँछ। प्रायजसो, मानिसहरू आफूमा परमेश्‍वरमाथि ठूलो आस्था र साँचो विश्‍वास छ भन्ठान्छन्, साथै परमेश्‍वर महान्, सर्वश्रेष्ठ, र प्रेमिलो हुनुहुन्छ भन्‍ने महसुस गर्छन्। तर के यो तिनीहरूको साँचो कदको प्रतिबिम्ब हो कि एउटा मुड मात्र हो? त्यो निर्क्योल गर्न गाह्रो छ। जब मानिसहरू परमेश्‍वरलाई देख्न सक्दैनन्, तिनीहरूले उहाँलाई जतिसुकै राम्रो अभिप्रायले व्यवहार गरे पनि, उहाँप्रतिको तिनीहरूको व्यवहार सधैँ अस्पष्टता, खोक्रोपन, र अव्यावहारिकताले दूषित हुन्छ, र सधैँ केही खोक्रा कल्पनाहरूले भरिपूर्ण हुन्छ। जब मानिसहरू वास्तवमै परमेश्‍वरलाई देख्छन् र उहाँको सम्पर्कमा आउँछन्, तब परमेश्‍वरमाथिको तिनीहरूको आस्थाको मात्रा, परमेश्‍वरप्रतिको तिनीहरूको समर्पणको स्तर, र परमेश्‍वरप्रति तिनीहरूमा साँचो प्रेम छ छैन भन्‍ने कुरा पूर्ण रूपले खुलस्त बन्छ। त्यसकारण, जब परमेश्‍वर देहधारी बन्नुहुन्छ, विशेषगरी जब उहाँ सम्भव हुने हदसम्म साधारण व्यक्ति बन्नुहुन्छ, तब सारा मानिसहरूको नजरमा, यो देह, यो साधारण व्यक्ति, सबैको लागि परीक्षा बन्छ र त्यसले हरव्यक्तिको आस्था र साँचो कद खुलासा गर्छ। तैँले पहिलोपटक परमेश्‍वरको अस्तित्व स्विकार्दा उहाँलाई पछ्याउन सकेको होलास्, तर जब तैँले देहधारी परमेश्‍वरलाई स्विकार्छस्, र जब परमेश्‍वर साधारण व्यक्ति बनेको देख्छस्, तब तेरो मनमा धारणाहरू भरिनेछन्। त्यो बेलामा, तैँले विश्‍वास गर्ने परमेश्‍वर—यो साधारण व्यक्ति—तेरो विश्‍वासको लागि सबैभन्दा ठूलो चुनौती बन्छ। त्यसैले, आज अब हामी यस साधारण व्यक्ति, परमेश्‍वर देहधारी हुनुभएको देह, अर्थात् ख्रीष्टद्वारा मानिसहरूमाथि पर्ने प्रभाव, साथै परमेश्‍वरप्रतिका तिनीहरूका साँचो मनोवृत्ति र दृष्टिकोणहरू खुलासा गर्ने यस साधारण व्यक्ति अर्थात् ख्रीष्टप्रति मानिसहरूले देखाउने वास्तविक प्रकटीकरणहरूबारे सङ्गति गरौँ।

तेस्रो भागको मुख्य विषयवस्तु मानिसहरूले आफ्नो मुडअनुसार ख्रीष्टलाई व्यवहार गर्नु हो। यो मुडले ठ्याक्कै के जनाउँछ भन्‍ने कुरा नै आजको सङ्गतिको केन्द्र अर्थात् मूल मुद्दा हो। यो मुड पक्कै पनि एउटा प्रतीक, अर्थात् एउटा सामान्यीकरण मात्र हो। यो मुड मात्र होइन; यसको पछाडि मानिसहरूका विभिन्न धारणा र कल्पनाहरू, साथै तिनीहरूका अनेकथरीका भ्रष्ट स्वभावहरू, र तिनीहरूको शैतानी प्रकृति सारसमेत लुकेका हुन्छन्। जब व्यक्तिले परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू गर्ने क्रममा कुनै पनि अवरोधहरू सामना गर्दैन, जब उसको मुडलाई कुनै पनि कुराले असर गर्दैन, र जब सबथोक सहज रूपमा चल्छ, तब उसले बारम्बार परमेश्‍वरसामु प्रार्थना गर्न, र खुसी र शान्तिले भरिपूर्ण नियमित जीवन जिउन सक्छ। उसको वरपरको वातावरण पनि सहज हुन्छ, धेरैजसो दाजुभाइ-दिदीबहिनीहरू एकअर्कासँग मिलेर बस्छन्, परमेश्‍वरलाई प्राय: उनीहरूलाई कर्तव्य निर्वाह गर्न र केही प्राविधिक क्षेत्रहरूबारे सिक्न मार्गदर्शन गर्नुहुन्छ, र अन्तर्दृष्टि र ज्योति प्रदान गर्नुहुन्छ, र त्यसपछि अभ्यासका सिद्धान्तहरू तुलनात्मक रूपले प्रस्ट हुन्छन्—सबथोक अत्यन्तै सामान्य हुन्छ र अत्यन्तै सहज रूपमा अघि बढ्छ। यो बेला, मानिसहरूले आफूसँग परमेश्‍वरमाथि ठूलो आस्था भएको महसुस गर्छन्, हृदयमा परमेश्‍वरसित अत्यन्तै निकट रहेको अनुभूति गर्छन्, बारम्बार परमेश्‍वरसामु आएर प्रार्थना गर्न र आफ्ना गोप्य कुराहरू बताउन सक्छन्, अनि परमेश्‍वरसित अन्तरङ्ग रूपले जोडिएको महसुस गर्छन्, र परमेश्‍वरलाई अत्यन्तै प्रेमिलो पाउँछन्। यो बेला तिनीहरूको मुड निकै राम्रो हुन्छ; तिनीहरू प्रायजसो शान्ति र आनन्दमा जिउँछन्, भेलाहरूमा सक्रिय रूपले बोल्छन्, साथै हरदिन समयमै परमेश्‍वरका वचनहरू प्रार्थना-वाचन गर्न र भजनहरू सिक्न सक्छन्। यसरी सबै कुरा राम्ररी र सहज रूपमा अघि बढिरहँदा, मानिसहरूले निरन्तर हृदयमा परमेश्‍वरलाई धन्यवाद दिन्छन्, मौन रूपमा परमेश्‍वरको प्रार्थना गर्छन्, र जीवनभर आफूलाई परमेश्‍वरप्रति अर्पित गर्ने, आफूसँग भएको सबथोक चढाउने, र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नहेतु कठिनाइहरू सहने र मूल्य चुकाउने सङ्कल्प गर्छन्। तिनीहरूले परमेश्‍वर अत्यन्तै महान्, अत्यन्तै प्रेमिलो हुनुहुन्छ भन्‍ने महसुस गर्छन्, तिनीहरूमा आफूलाई परमेश्‍वरको लागि अर्पण गर्ने सङ्कल्प र तत्परता हुन्छ, र तिनीहरू आफ्नो पूरै जीवन उहाँप्रति समर्पित गर्छन्। के यो निकै सक्रिय र सकारात्मक अवस्था होइन र? यसबाट, हामी मानिसहरूको बफादारी, परमेश्‍वरप्रति तिनीहरूको प्रेम, र तिनीहरूले गर्ने त्यागहरू देख्न सक्छौँ। सबथोक अत्यन्तै राम्रो, शान्तिपूर्ण र सहज देखिन्छ। यी सारा प्रकटीकरणहरूबाट, मानिसहरू सक्रिय रूपमा आफ्नै तवरले कोसिस गरिरहेका, र कुनै प्रतिकूलताविना परमेश्‍वरको काम र उहाँका मापदण्डहरूमा सहकार्य गरिरहेका देखिन्छन्। यसर्थ, हृदयमा, तिनीहरू निरन्तर रूपमा परमेश्‍वरलाई धन्यवाद दिन्छन्, स्वर्गको परमेश्‍वरलाई धन्यवाद दिन्छन्, पृथ्वीको ख्रीष्टलाई धन्यवाद दिन्छन्, र ख्रीष्टप्रतिको अनन्त प्रेम र आदरले भरिन्छन्। जब तिनीहरूले “यस मामुली व्यक्ति” बारे भजनहरू गाउँछन्, तिनीहरू अत्यन्तै भावुक हुन्छन्, र सोच्छन्, “साँच्चिकै यही मामुली व्यक्तिले मलाई मुक्ति दिनुभयो, मलाई यो अवसर दिनुभयो, र आज मलाई परमेश्‍वरको घरमा सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य गर्न मद्दत गर्नुभयो!” कति मानिसहरू त सिधै प्रार्थना पनि गर्छन्: “हे व्यावहारिक परमेश्‍वर, देहधारी परमेश्‍वर, ख्रीष्ट: तपाईंलाई धन्यवाद छ, म तपाईंको प्रशंसा गर्छु, किनकि तपाईंले मलाई यी सारा आशिष्‌हरू दिनुभएको छ, तपाईंले मलाई अनुग्रह दिनुभएको छ। मेरो हृदयको परमेश्‍वर तपाईं नै हुनुहुन्छ, तपाईं सृष्टिकर्ता हुनुहुन्छ, तपाईं मैले पछ्याउन चाहेको उहाँ एउटै हुनुहुन्छ। म आफूलाई जीवनभर तपाईंको लागि अर्पित हुन इच्छुक छु।” यी सारा दृश्यहरू अत्यन्तै शान्तिपूर्ण, अत्यन्तै सुन्दर छन्, र पूर्ण रूपमा सौहार्दपूर्ण देखिन्छन्, मानौँ मुक्ति पाउनु अत्यन्तै सजिलो र सहज छ। तर के यो सौहार्दता र शान्ति साँच्चिकै सदैव रहन सक्छ? के यो यथावत् रहन सक्छ? यो त्यति सजिलो छैन।

१. काटछाँट भोग्नुपर्दा तिनीहरूको व्यवहार

मानिसहरूले आफ्नो कर्तव्य गर्ने क्रममा भ्रष्ट स्वभाव खुलासा गर्नु, आफूलाई आइपरेका परिस्थितिहरूमा झर्कनु, आफ्नै दृष्टिकोणहरू राख्नु अपरिहार्य कुरा नै हो, साथै आफूखुसी रूपमा र आवेगपूर्वक काम गर्नु त झनै बढी अपरिहार्य कुरा हो। यस्ता परिस्थितिहरूमा, मानिसहरूले अपरिहार्य रूपमा काटछाँट भोग्छन्। काटछाँट सामना गर्दा, के उत्साहले भरिपूर्ण, परमेश्‍वरबारे धारणा र कल्पनाहरूले भरिएको व्यक्तिमा साँच्चिकै यो सबै सामना गर्ने, सच्चा रूपमा यो सबै अनुभव गर्ने, र यस्ता परिस्थितिहरूमा सफलतापूर्वक अघि बढ्ने कद हुन्छ? यसले एउटा प्रश्‍न खडा गर्छ, र यसैमा समस्या छ। जब मानिसहरू सबथोक अत्यन्तै अद्भुत छन्, परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ, परमेश्‍वरले मानिसहरूलाई अत्यन्तै धेरै प्रेम गर्नुहुन्छ, र उहाँको प्रेम अति महान् र अति वास्तविक छ भन्‍ने महसुस गर्छन्, र जब त्यसपछि तिनीहरूले काटछाँट र खुलासा सामना गर्छन्, तब सत्यता नबुझ्नेहरू प्राय: दुबिधा र अलमलमा पर्छन्, र भयभीत र त्रसित हुन्छन्। तिनीहरूले अचानक आफू अन्धकारमा फसेको, र अगाडिको मार्ग देख्न नसक्ने, र वर्तमान परिस्थिति सामना गर्न नजान्ने भएको महसुस गर्छन्। जब तिनीहरू परमेश्‍वरसामु आउँछन्, तिनीहरूले पहिलेकै अनुभूतिहरू खोज्छन्, र पहिलेकै जस्तो मुड, सोचाइ, दृष्टिकोण र मनोवृत्ति बोकेर प्रार्थना गर्छन्। तर त्यसपछि तिनीहरू परमेश्‍वरको अनुभूति गर्नै नसक्ने महसुस गर्छन्। अनि जब तिनीहरू परमेश्‍वरको अनुभूति गर्नै नसकिने महसुस गर्छन्, तब यस्तो सोच्न थाल्छन्: “के परमेश्‍वरले मलाई अबदेखि नचाहनुहुने हो? के परमेश्‍वरले मलाई तिरस्कार गर्नुहुन्छ? के मेरो भ्रष्ट स्वभावको कारण परमेश्‍वरले मन पराउन छोड्नुभएको हो? के परमेश्‍वरले मलाई हटाउँदै हुनुहुन्छ? यदि त्यसो हो भने, के म सक्किएको होइन र? अब मेरो अस्तित्वको के अर्थ? परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ? म अब विश्‍वास पनि गर्दिनँ होला। यदि मैले विश्‍वास नगरेको भएँ, सायद अहिले मेरो राम्रो जागिर, सौहार्दपूर्ण परिवार, र सुनौलो भविष्य हुन सक्थ्यो होला! अहिलेसम्म परमेश्‍वरमा विश्‍वास गरेर मैले केही पनि पाएको छैन, तर यदि मैले साँच्चिकै विश्‍वास गर्न छाडेँ भने, के यसअघिका मेरा सारा प्रयासहरू खेर जाँदैनन् र, के यसअघिका मेरा सारा खर्चाइ र त्यागहरू व्यर्थै हुँदैनन् र?” यी चिन्तनहरू गरेपछि, तिनीहरू अचानक उजाड र असहज महसुस गर्छन्, र सोच्छन्, “स्वर्गको परमेश्‍वर अत्यन्तै टाढा हुनुहुन्छ, र पृथ्वीको यो परमेश्‍वरले सङ्गति गर्ने र सत्यता प्रदान गर्नेबाहेक मलाई अरू के कुरामा मद्दत गर्न सक्नुहुन्छ? उहाँले मलाई अरू के दिन सक्नुहुन्छ? उहाँ अत्यन्तै मामुली, र अरूप्रति अत्यन्तै असंवेदनशील देखिनुहुन्छ। अलिकति भ्रष्ट स्वभाव हुनु के ठूलो कुरा भयो र? यदि यसलाई मानवीय तरिकाले सम्हालिन्थ्यो भने, परमेश्‍वरले अलिअलि भ्रष्ट स्वभाव भएका मानिसहरूलाई नदेखेझैँ गर्नुहुनेथ्यो; उहाँले त्यसलाई उदारतासाथ सम्हाल्नुहुनेथ्यो र मानिसहरूका सानातिना गल्तीहरू खोतल्‍ने काम नगर्नुहुनेथ्यो। परमेश्‍वरले मलाई यस्तो सानो मामलामा किन यसरी काटछाँट, ताडना, र उपेक्षासमेत गर्नुहुन्छ? यस्तो परिस्थितिमा यस्ता भ्रष्ट स्वभावहरू प्रकट गर्नु ठूलो कुरा होइन, तर परमेश्‍वरले वास्तवमा मलाई तिरस्कार गर्नुहुन्छ। के उहाँ मानिसहरूलाई साँच्चिकै प्रेम गर्नुहुन्छ कि हुन्न? उहाँको प्रेम कहाँ प्रकट हुन्छ? उहाँ ठ्याक्कै कसरी मानिसहरूलाई प्रेम गर्नुहुन्छ? जे भए पनि, यस क्षणमा, अब म परमेश्‍वरको प्रेम अनुभूति गर्न सक्दिनँ।” तिनीहरूले परमेश्‍वरको प्रेम अनुभूति गर्न नसक्नेबित्तिकै स्वर्गको परमेश्‍वरबाट निकै टाढा रहेको महसुस गर्छन्, अनि पृथ्वीको यो ख्रीष्ट, अर्थात् यो साधारण व्यक्तिबाट त झनै टाढा रहेको महसुस गर्छन्। हृदयमा यस्तो उजाड महसुस हुँदा, तिनीहरू बारम्बार प्रार्थना गर्छन्, र आफूलाई सहानुभूति दिन्छन्, “नडरा, स्वर्गको परमेश्‍वरमाथि आशा राख्, परमेश्‍वर तेरो सुरक्षा कवच हुनुहुन्छ, परमेश्‍वर तेरो शक्ति हुनुहुन्छ, परमेश्‍वरले अझै पनि मानिसहरूलाई प्रेम गर्नुहुन्छ।” यस क्षणमा, तिनीहरूले भन्‍ने गरेको परमेश्‍वर कहाँ हुनुहुन्छ? स्वर्गमा, यावत् थोकमाझ, त्यो परमेश्‍वर नै मानिसहरूलाई साँच्चिकै प्रेम गर्ने एउटै हुनुहुन्छ, मानिसहरूले आदरभावले हेर्ने र पुज्ने, तिनीहरूको सुरक्षा कवच र तिनीहरूको सधैँको साथ हुन सक्ने, र तिनीहरूको हृदयलाई सहानुभूति दिन सक्ने परमेश्‍वर हुनुहुन्छ। उहाँ नै तिनीहरूको आत्मा, हृदय र देहको भरोसा हुनुहुन्छ। तर पृथ्वीको यस परमेश्‍वरले जे गर्न सक्नुहुन्छ त्यसलाई हेर्दा, मानिसहरूको हृदयभित्र अब कुनै भरोसा बाँकी रहँदैन। तिनीहरूको मनोवृत्ति बदलिन्छ। त्यो कस्तो परिस्थितिमा बदलिन्छ? जब तिनीहरूले काटछाँट र खुलासा हुने परिस्थिति सामना गर्छन्, र झट्काहरू भेट्छन्, तब तिनीहरूको साँचो आस्था पर्दाफास हुन्छ।

मानिसहरूले काटछाँट हुने परिस्थिति सामना गरेपछि, तिनीहरूको तथाकथित साँचो आस्थाले तुरुन्तै स्वर्गको अस्पष्ट परमेश्‍वरमाथि भरोसा गर्छ। पृथ्वीको देखिने परमेश्‍वरको हकमा, तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? मानिसहरूको पहिलो प्रतिक्रिया अस्वीकार गर्ने र त्याग्ने, अबउप्रान्त भरोसा वा विश्‍वास नगर्ने, बरु उहाँबाट पन्छिने, लुक्ने, र आफूलाई टाढा राख्ने हुन्छ। मानिसहरूको मुड यस्तै हुन्छ। काटछाँट हुने परिस्थिति सामना गर्नुपर्दा, मानिसहरूले बुझ्ने सत्यता, तिनीहरूको तथाकथित साँचो आस्था, बफादारी, प्रेम, र समर्पण अत्यन्तै कमजोर बन्छन्। जब यी सारा परिस्थितिहरू बदलिन्छन्, देहधारी परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति पनि त्यहीअनुसार बदलिन्छ। तिनीहरूका अघिल्ला त्यागहरू—तिनीहरूको तथाकथित बफादारी, खर्चाइ, र तिनीहरूले तिरेको मूल्य, साथै तिनीहरूको तथाकथित समर्पण—यस क्षणमा कुनै बफादारी वा साँचो समर्पण नभई उत्साह मात्र भएको खुलासा हुन्छ। यो उत्साहलाई केले दूषित पारेको हुन्छ? यसलाई मानव भावनाहरू, मानव असलपन, र मानव निष्ठाले दूषित पारेको हुन्छ। यो निष्ठालाई आवेशको रूपमा पनि बुझ्न सकिन्छ, जस्तो कि, “यदि म कसैलाई पछ्याउँछु भने, मैले साँचो भातृ निष्ठा देखाउन, उसको लागि आफ्नो जीवन अर्पण गर्न, ठूलो प्रयत्न गर्न, उसको लागि जोखिम मोल्न, र उसको लागि सबथोक चढाउन जरुरी हुन्छ,” र यो मानव आवेशको प्रकटीकरण हो। यस्ता मानव प्रकटीकरणहरू यस्तो क्षणमा खुलासा हुन्छन्। अनि, ती किन खुलासा हुन्छन्? किनभने, मानिसहरूका सोचाइ र दृष्टिकोणमा, तिनीहरूले यस साधारण व्यक्ति नै देहधारी परमेश्‍वर हो, ख्रीष्ट हो, परमेश्‍वर हो, र उहाँमा परमेश्‍वरको पहिचान छ भन्‍ने कुरा स्विकारेका देखिन्छन्—तर तिनीहरूको वास्तविक कद, तिनीहरूले बुझ्ने सत्यता, र परमेश्‍वरबारे तिनीहरूको ज्ञानलाई हेर्दा, तिनीहरूले यस साधारण व्यक्तिलाई साँचो रूपमा स्विकारेका हुँदैनन्, न त तिनीहरूले यस साधारण व्यक्तिलाई ख्रीष्टको रूपमा, र परमेश्‍वरको रूपमा व्यवहार नै गरेका हुन्छन्। जब सबथोक राम्रो तरिकाले चलिरहेको हुन्छ, जब सबथोक आफूले चाहेजस्तै हुन्छ, जब मानिसहरूले परमेश्‍वरले तिनीहरूलाई आशिष्, ज्योति, अगुवाइ, र अनुग्रह प्रदान गरिरहनुभएको छ भन्‍ने महसुस गर्छन्, र जब मानिसहरूले परमेश्‍वरबाट प्राप्त गर्ने कुराहरू तिनीहरूका धारणा र कल्पनाहरूसँग मेल खान्छन्, तब तिनीहरूले परमेश्‍वरले गवाही दिनुभएको यस साधारण व्यक्तिलाई मानिसको परमेश्‍वरको रूपमा व्यक्तिगत रूपमा स्विकार्न सक्छन्। तर जब यी सारा परिस्थितिहरू बदलिन्छन्, जब परमेश्‍वरले यी सारा चिजहरू लैजानुहुन्छ, र जब मानिसहरूमा साँचो बुझाइ र साँचो कद हुँदैन, तब तिनीहरूको सबथोक खुलासा हुन्छ, र तिनीहरूले जे व्यक्त गर्छन्, परमेश्‍वरप्रतिको तिनीहरूको साँचो मनोवृत्ति ठ्याक्कै त्यही हुन्छ। यो साँचो मनोवृत्ति कसरी उत्पन्न हुन्छ? यो कहाँबाट उत्पत्ति हुन्छ? यो मानिसहरूको भ्रष्ट स्वभाव र परमेश्‍वरबारे तिनीहरूको ज्ञानको कमीबाट उत्पत्ति हुन्छ। म किन यसो भन्छु? यो मानिसहरूमा हुने भ्रष्ट स्वभाव भनेको के हो? (शैतानद्वारा भ्रष्ट पारिएपछि, मानिसहरूले भित्री रूपमा परमेश्‍वरविरुद्ध सतर्कता अपनाउँछन् र उहाँविरुद्ध अवरोध खडा गर्छन्। परमेश्‍वरले जे गर्नुभए पनि तिनीहरू सधैँ आश्‍चर्य मान्दै प्रश्‍न गर्छन्, “के परमेश्‍वरले मलाई हानि गर्नुहुनेछ?”) के मानिसहरू र परमेश्‍वरबीचको सम्बन्ध एउटा अवरोध भएको मामला मात्र हो? के यो त्यति सामान्य छ? यो एउटा अवरोध भएको मामला मात्र होइन; यो त दुई फरक सारहरूको समस्या हो। मानवहरूसित भ्रष्ट स्वभाव हुन्छन्—के परमेश्‍वरसित भ्रष्ट स्वभाव हुन्छ? (हुँदैन।) त्यसोभए किन मानिसहरू र परमेश्‍वरबीच बेमेल हुन्छ, किन मानिसहरू परमेश्‍वरप्रति शत्रुवत्‌ हुन्छन्? कसको कारणले गर्दा हो? परमेश्‍वरको कारणले हो कि मानिसहरूको? (मानिसहरूको कारणले।) उदाहरणको लागि, यदि दुई मानिसहरू झगडा गर्छन् र एकअर्कासँग बोल्न छाड्छन् भने, तिनीहरू बोले पनि, त्यो देखावटी मात्र हुनेछ, र तिनीहरूको हृदयमा एउटा अवरोध सिर्जना भएको हुनेछ। यो अवरोध कसरी उत्पन्न हुन्छ? यो तिनीहरूमा मिल्नै नसक्ने फरक दृष्टिकोणहरू भएकोले, साथै दुईमध्ये कुनै एकले पनि आफ्नो दृष्टिकोण त्याग्न नचाहेकोले, एकता हुँदै नहुने भएर उत्पन्न हुन्छ। मानिसहरूबीच यसरी नै अवरोधहरू सिर्जना हुन्छन्। तर यदि हामीले मानिसहरू र परमेश्‍वरबीचको सम्बन्धलाई एउटा अवरोध भएको कुराको रूपमा मात्र व्याख्या गर्‍यौँ भने, के त्यो न्यून अभिव्यक्ति हुँदैन र, के त्यसले भन्न खोजेको कुरा बुझाउन चुक्दैन र? अवरोध भएको साँचो हो, तर यदि हामीले मानिसहरूको भ्रष्ट स्वभावसम्बन्धी समस्या व्याख्या गर्न “अवरोध” भन्‍ने शब्द मात्र प्रयोग गर्‍यौँ भने, त्यो अत्यन्तै हल्का हुनेछ। यस्तो किन हुनेछ भने, शैतानद्वारा भ्रष्ट पारिएपछि, मानिसहरूमा शैतानी भ्रष्ट स्वभाव र सार हुन्छ; तिनीहरूको जन्मसिद्ध प्रकृति परमेश्‍वरप्रति शत्रुवत्‌ हुन्छ। शैतान परमेश्‍वरप्रति शत्रुवत्‌ हुन्छ। के त्यसले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा लिन्छ? के त्यसमा परमेश्‍वरप्रति आस्था वा समर्पण हुन्छ? त्यसमा न त साँचो आस्था हुन्छ न साँचो समर्पण नै हुन्छ—शैतान यस्तै हुन्छ। मानिसहरू शैतानजस्तै हुन्छन्; तिनीहरूमा शैतानका भ्रष्ट स्वभाव र सार हुन्छन्, तर तिनीहरूमा परमेश्‍वरप्रति साँचो आस्था र समर्पण हुँदैन। त्यसोभए के हामीले यो साँचो आस्था र समर्पणको कमीले गर्दा मात्र मानिसहरू र परमेश्‍वरबीच अवरोध खडा भएको हो भन्न मिल्छ? (मिल्दैन।) यसले त मानिसहरू परमेश्‍वरप्रति शत्रुवत्‌ छन् भन्‍ने मात्र जनाउँछ। जब परमेश्‍वरले गर्नुहुने काम मानिसहरूका स्वाद, मुड, र चाहनाहरूसित मिल्छ, र जब त्यसले तिनीहरूका रूचिहरू पूरा गर्छ, र सबथोक सहज रूपमा र तिनीहरूले चाहेझैँ अघि बढ्ने तुल्याउँछ, तब मानिसहरू परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ भन्‍ने महसुस गर्छन्। तर के यस्ता समयमा परमेश्‍वर प्रेमिलो हुनुभएको आभास साँचो हो? (होइन।) यो त मानिसहरूले फाइदा उठाएको र बदलामा केही राम्रा शब्दहरू बोलेको मात्र हो; लाभ उठाउनु र दयालुपनको नाटक गर्नु भनेको यही हो। यस्ता परिस्थितिमा, के मानिसहरूले बोल्‍ने शब्दहरूले परमेश्‍वरबारेको साँचो ज्ञान प्रतिबिम्बित गर्छन्? परमेश्‍वरबारेको यो ज्ञान साँचो हो कि झूटो? (झूटो।) यो ज्ञान सत्यतासँग मिल्दो हुँदैन, न त परमेश्‍वरको सारसँग नै मिल्दो हुन्छ। यो साँचो ज्ञान होइन, यो एउटा कल्पना हो, मानव भावना र आवेशहरूबाट उब्जिने एउटा धारणा हो। जब यो धारणा चकनाचुर, पर्दाफास र खुलासा हुन्छ, तब मानिसहरू निराश महसुस गर्छन्; यसले तिनीहरूले इच्छा गरेका सारा कुरा खोसिएको इङ्गित गर्छ। परमेश्‍वर अनेक रूपमा प्रेमिलो र असल हुनुहुन्छ भन्‍ने मानिसहरूको यसअघिको बुझाइलाई के यसमा आलोचना र निन्दा गरिएको छैन र? यो त तिनीहरूले पहिले विश्‍वास गरेभन्दा ठ्याक्कै उल्टो भएको छ। के मानिसहरूले यो तथ्य स्विकार्न सक्छन्? (सक्दैनन्।) जब परमेश्‍वरले तँलाई केही पनि दिनुहुन्न, तब उहाँले तँलाई खालि उहाँका वचनहरूद्वारा जिउन, र उहाँकै वचनहरूअनुसार बोल्न र काम गर्न, कर्तव्य गर्न, परमेश्‍वरको सेवा गर्न, र अरूसँग मिलेर अघि बढ्न दिनुहुन्छ। जब तँ उहाँका वचनहरूद्वारा जिउँछस्, र जब तँ परमेश्‍वरको परिश्रमपूर्ण हेरचाह अनुभूति गर्न, र सच्‍चाइसाथ परमेश्‍वरलाई प्रेम गर्न र उहाँप्रति समर्पित हुन सक्छस्, तब तँभित्रका अशुद्धताहरू कम हुनेछन्, र तँलाई महसुस हुने परमेश्‍वरको प्रेमिलो स्वभाव र सार सच्‍चा हुनेछन्।

मानिसहरूले अनुशासन र काटछाँट सामना गर्दा, तिनीहरूले परमेश्‍वरबारे धारणा, गुनासो र गलतफहमीहरू विकास गर्छन्। जब यी कुराहरू देखा पर्छन्, मानिसहरूले अचानक महसुस गर्छन् कि परमेश्‍वर असंवेदनशील हुनुहुन्छ, मानौँ उहाँ तिनीहरूले कल्पना गरेजस्तो प्रेमिलो हुनुहुन्न: “सबैले भन्छन् परमेश्‍वर प्रेमिलो हुनुहुन्छ, तर मैले यो किन महसुस गर्न सक्दिनँ? यदि परमेश्‍वर साँच्चै प्रेमिलो हुनुहुन्छ भने, उहाँले मलाई आशिष्‌ र सान्त्वना दिनुपर्छ। जब म गल्ती गर्न लागेको हुन्छु, उहाँले मलाई आफैलाई लज्जित पार्न वा गल्ती गर्न दिनुको सट्टा चेतावनी दिनुपर्छ; मलाई गल्ती गर्न वा गलत मार्ग लिनबाट रोकी, मैले गल्ती गर्नुअघि नै उहाँले यी काम गर्नुपर्छ!” मानिसहरूले प्रतिकूलताहरू सामना गर्दा तिनीहरूको मनमा यस्ता धारणा र सोचहरू खेल्छन्। यस्तो बेला, मानिसहरूको बोल्ने र व्यवहार गर्ने तरिका कम खुलस्त हुन्छ। जब मानिसहरूले काटछाँट सामना गर्छन्, जब तिनीहरूले प्रतिकूलताहरू सामना गर्छन्, तिनीहरूको मनोवृत्ति खराब हुन्छ; तिनीहरूले महसुस गर्न थाल्छन् कि परमेश्‍वरले तिनीहरूलाई त्यति धेरै प्रेम गर्नुहुन्न वा त्यति धेरै कृपासाथ व्यवहार गर्नुहुन्न, र तिनीहरूलाई उतिकै निगाह गरिएको छैन। तिनीहरू मनमनै सोच्छन्: “यदि परमेश्‍वरले मलाई प्रेम गर्नुहुन्न भने, मैले उहाँलाई किन प्रेम गर्ने? म पनि परमेश्‍वरलाई प्रेम गर्दिनँ।” पहिले, परमेश्‍वरसँगको कुराकानीमा तिनीहरू धेरै सक्रिय हुन्थे; परमेश्‍वरले जे सोध्नुभयो, तिनीहरूले जवाफ दिन्थे। तिनीहरू जहिले पनि धेरै कुरा सुनाउन चाहन्थे, बोलेर कहिल्यै कुरा सकिँदैनथ्यो, तिनीहरू हृदयको सबै कुरा बताउन र प्रवाह गर्न चाहन्थे, र परमेश्‍वरको विश्‍वासपात्र बन्ने आकाङ्क्षा राख्थे। तर काटछाँट सामना गर्नुपर्दा, तिनीहरूलाई यस्तो लाग्छ कि परमेश्‍वर अब त्यति प्रेमिलो हुनुहुन्न, परमेश्‍वरले तिनीहरूलाई त्यति प्रेम गर्नुहुन्न, अनि तिनीहरू पनि परमेश्‍वरलाई प्रेम गर्न चाहँदैनन्। जब परमेश्‍वरले केही सोध्नुहुन्छ, तिनीहरू केवल एक शब्दको छोटो र झाराटारुवा जवाफ दिन्छन्। यदि परमेश्‍वरले, “तिमीहरूले हालसालै आफ्नो कर्तव्य कत्तिको राम्रोसँग गरिरहेका छौ?” भनेर सोध्नुभयो भने तिनीहरू यस्तो जवाफ दिन्छन्, “ठीकठाकै।” “के तिमीहरूलाई कुनै कठिनाइ छ?” “कहिलेकाहीँ।” “के तिमीहरू दाजुभाइ-दिदीबहिनीहरूसँग सौहार्दपूर्ण रूपले सहकार्य गर्न सक्छौ?” तिनीहरू मनमा यस्तो सोच्छन्, “हूँ, म आफ्नो हेरचाह त आफै गर्न सक्दिनँ, म कसरी अरूसँग सौहार्दपूर्ण सहकार्य गर्न सक्छु?” “तिमीहरूमा कुनै कमजोरी छ?” “म ठिक छु।” तिनीहरू थप बोल्न अनिच्छुक हुन्छन्, र पूर्णतया नकारात्मक र गुनासो गर्ने मनोवृत्ति देखाउँछन्। तिनीहरू पूरै उदास र निराश हुन्छन्, गुनासो र अन्याय भएको भावनाले भरिन्छन्, र आवश्यक भन्दा बढी बोल्न चाहँदैनन्। यस्तो किन हुन्छ? किनभने अहिले तिनीहरूको मनस्थिति राम्रो छैन, तिनीहरूको स्थिति अलि विरक्त छ, र तिनीहरू कसैसँग पनि बोल्ने मुडमा छैनन्। “के तैँले हालसालै प्रार्थना गरेको छस्?” भनेर सोध्दा, तिनीहरू यस्तो जवाफ दिन्छन्, “मेरा प्रार्थनाहरू अझै तिनै शब्दहरू हुन्।” “तेरो अवस्था अहिले राम्रो छैन; के तैँले कठिनाइहरू सामना गर्दा सत्यता खोजेको छस्?” “म सबै कुरा बुझ्छु, तर पनि म सक्रिय हुन सक्दिनँ।” “तैँले परमेश्‍वरबारे गलतबुझाइहरू विकास गरेको छस्। के तँलाई तेरो समस्या केमा छ भन्‍ने थाहा छ? कस्ता भ्रष्ट स्वभावहरूले तँलाई परमेश्‍वरसामु आउनबाट रोकिरहेका छन्? तँलाई परमेश्‍वरसामु प्रार्थना गर्न आउन पनि मन नलाग्ने गरी के कुराले तँलाई यति नकारात्मक बनाउँदै छ?” “मलाई था’ छैन।” यो कस्तो मनोवृत्ति हो? (नकारात्मक र द्वन्द्वात्मक।) सही हो, त्यसमा अलिकति पनि समर्पणको सङ्केत छैन, बरु तिनीहरू गुनासो र कुण्ठाहरूले भरिएका छन्। आफ्नो आत्मिक र मानसिक संसारमा, तिनीहरू परमेश्‍वरलाई मानिसहरूले वर्णन गरेको बुद्ध वा बोधिसत्त्व व्यक्तित्वको रूपमा बुझ्छन्। मानिसहरू के गर्छन् वा तिनीहरू कसरी जिइरहेका छन् भन्‍ने वास्ता नगरी, ती बुद्ध वा बोधिसत्त्व व्यक्तित्वहरूले कहिल्यै एक शब्द पनि बोल्दैनन्, बस मानिसहरूका चालबाजीहरूमा समर्पित हुन्छन्। तिनीहरूलाई लाग्छ कि परमेश्‍वरले तिनीहरूलाई काटछाँट गर्नु हुँदैन, झन् तिनीहरूलाई हानि गर्ने त कुरै नगरौँ; तिनीहरूले जेसुकै गल्ती गरे पनि, परमेश्‍वरले तिनीहरूलाई शान्त पार्ने काम मात्र गर्नुपर्छ, तिनीहरूलाई काटछाँट, पर्दाफास वा खुलासा गर्नु हुँदैन, र निश्‍चय नै तिनीहरूलाई अनुशासित गर्नु हुँदैन। तिनीहरू आफ्ना मुड र स्वभावहरूअनुसार परमेश्‍वरमा विश्‍वास गर्न र कर्तव्य निभाउन चाहन्छन्, जे मन लाग्छ त्यही गर्न चाहन्छन्, र तिनीहरूले जे गरे पनि परमेश्‍वर सन्तुष्ट, खुसी र स्विकार्ने हुनुपर्छ भन्‍ने सोचाइ राख्छन्। तर तिनीहरूको इच्छाअनुसार कामकुरा चल्दैनन्; परमेश्‍वरले यसरी काम गर्नुहुन्न। त्यसपछि मानिसहरू सोच्छन्, “यदि उहाँले मैले सोचेजस्तो काम गर्नुहुन्‍न भने, के उहाँ अझै पनि परमेश्‍वर हुनुहुन्छ? के उहाँ अझै मेरो लगानी, खर्चाइ र त्यागको लायक हुनुहुन्छ? यदि हुनुहुन्‍न भने, मेरो निष्कपट हृदय चढाउनु मूर्खता हो, होइन र?” तसर्थ, जब काटछाँट हुने समय आउँछ, मानिसहरूको सुरुको प्रतिक्रिया भनेको परमेश्‍वरले के भनिरहनुभएको छ त्यसलाई सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट सुन्दै नसुन्ने हुन्छ, तिनीहरूले न त उहाँका मापदण्डहरू के हुन् भन्‍नेबारे नै सुन्छन्, न त मानवीय समस्याहरू, अवस्थाहरू, वा परमेश्‍वरले खुलासा गर्नुहुने स्वभावहरू के हुन्, वा मानिसहरूले यी कुराहरूलाई कसरी स्विकार्ने, सम्मान गर्ने, वा कसरी अधीनमा बस्ने भन्‍नेबारे नै सुन्‍छन्। यस्ता कुराहरू मानिसहरूका मनमा हुँदैनन्। परमेश्‍वर मानिसहरूसँग जसरी बोल्नु भए पनि वा उहाँले तिनीहरूलाई जसरी मार्गदर्शन गर्नुभए पनि, यदि उहाँको भाव वा बोल्ने तरिका तिनी असंवेदनशील हुन्छ भने—यदि तिनीहरूका मुडहरू, आत्मसम्मान, र कमजोरीलाई विचार गरिँदैन भने—मानिसहरूमा धारणाहरू आउँछन्, र तिनीहरू परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्न चाहँदैनन्, न त तिनीहरू सृष्टि गरिएको प्राणी नै हुन चाहन्छन्। यहाँ सबैभन्दा ठूलो समस्या के हुन्छ भने, जब परमेश्‍वरले राम्रो समय दिनुहुन्छ, र सबथोक मानिसहरूले चाहेजस्तै हुन दिनुहुन्छ, तब तिनीहरू सृष्टि गरिएको प्राणीको रूपमै कार्य गर्न तयार हुन्छन्, तर जब परमेश्‍वरले मानिसहरूलाई अनुशासनमा राख्‍न र खुलासा गर्न, पाठ सिकाउन र सत्यता बुझाउन र उहाँको अभिप्राय ज्ञात गराउन प्रतिकूल स्थिति ल्याउनुहुन्छ—यस्ता समयहरूमा मानिसहरू उहाँप्रति तुरुन्तै आफ्नो पिठिउँ फर्काउँछन् र उप्रान्त सृष्टि गरिएको प्राणी बन्ने इच्छा गर्दैनन्। जब व्यक्ति सृष्टि गरिएको प्राणी हुन चाहँदैन, तब के त्यो दृष्टिकोण र स्थितिबाट तिनीहरू परमेश्‍वरमा समर्पित हुन सक्छन्? के तिनीहरू परमेश्‍वरको पहिचान र सार स्विकार्न सक्छन्? सक्दैनन्। जब राम्रा मनस्थितिहरू, राम्रा अवस्थाहरू, र उत्साहका समयहरू हुन्छन्—जब मानिसहरू परमेश्‍वरको विश्‍वासपात्र बन्न चाहने समयहरू हुन्छन्—तब त्यसबाट त्यस्तो समय आइदिन्छ जुन बेला मानिसहरू काटछाँट, र परमेश्‍वरद्वारा तय गरिएको वातावरण आइपर्दा उहाँलाई त्याग्न चाहन्छन्, यो कस्तो नाटकीय परिवर्तन हो! वास्तवमा, यो मामिलाको सत्यता के हो? मानिसहरूले जान्नुपर्ने कुरा के हो? व्यक्तिले सृष्टि गरिएको प्राणीको रूपमा परमेश्‍वरप्रति कस्तो मनोवृत्ति राख्नुपर्छ भनी जान्नुपर्दैन? पालन गरिनुपर्ने सिद्धान्तहरू के-के हुन्? मानिसलाई एक व्यक्ति—एक भ्रष्ट मानवजातिको रूपमा—परमेश्‍वरले दिनुहुने सबै कुरा र उहाँले प्रबन्ध गर्नुहुने वातावरणहरूप्रति व्यक्तिले कस्तो दृष्टिकोण र विचार अपनाउनुपर्छ? मानिसहरूले आफ्नो बारेमा परमेश्‍वरबाट हुने काटछाँटप्रति कस्तो मनोवृत्ति अपनाउनुपर्छ? तिनीहरूले त्यसलाई कुन रूपमा लिनुपर्छ? के मानिसहरूले यस्ता विषयहरूमाथि विचार गर्नुपर्दैन? (पर्छ।) मानिसहरूले यस्ता कुराहरूमाथि चिन्तन र मनन गर्नुपर्छ। व्यक्तिले परमेश्‍वरसँग जहिले र जसरी व्यवहार गरे पनि, वास्तवमा, मानिसको पहिचान बदलिँदैन; मानिसहरू सदैव सृष्टि गरिएका प्राणीहरू नै हुन्। यदि तैँले सृष्टि गरिएको एक प्राणीको रूपमा रहेको तेरो स्थान स्विकार्दैनस् भने, त्यसको अर्थ तँ विद्रोही छस् र तेरो स्वभाव परिवर्तन हुने अवस्थाबाट, र परमेश्‍वरको डर मान्‍ने र दुष्टतादेखि अलग बस्ने अवस्थाबाट तँ टाढा छस् भन्‍ने हुन्छ। यदि तैँले सृष्टि गरिएको प्राणीको रूपमा रहेको तेरो स्थान स्विकारेको छस् भने, परमेश्‍वरप्रति तेरो दृष्टिकोण कस्तो हुनुपर्छ? (निःसर्त समर्पण।) कम्तीमा पनि तँमा यो एउटा कुरा हुनुपर्छ: निसर्त समर्पण। यसको अर्थ, कुनै पनि समयमा परमेश्‍वरले जे गर्नुहुन्छ त्यो गलत कहिल्यै हुँदैन; गल्ती गर्ने त मानिसहरू मात्र हुन्। जुनसुकै वातावरण उत्पन्न भए पनि—विशेषगरी प्रतिकूल परिस्थिति सामना गर्दा, र विशेषगरी परमेश्‍वरले मानिसहरूलाई खुलासा वा भन्डाफोर गर्नुहुँदा—व्यक्तिले गर्नुपर्ने सबैभन्दा पहिले कुरा परमेश्‍वरका वचन र कार्यहरू सही छन् कि गलत भनी जाँच, अध्ययन वा मूल्याङ्कन गर्नुको साटो आत्मचिन्तन गर्न आफ्नै बोली र कार्यहरू अनि आफ्नै भ्रष्ट स्वभाव जाँच्न परमेश्‍वरसामु आउनु हो। यदि तँ तेरो उचित स्थानमा बस्छस् भने, तैँले के गर्नुपर्छ त्यो ठिकसँग जान्नुपर्छ। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ र तिनीहरू सत्यता बुझ्दैनन्। यो त्यस्तो ठूलो समस्या होइन। तर जब मानिसहरूले आफूमा भ्रष्ट स्वभाव हुँदा पनि र आफूले सत्यता नबुझ्दा पनि अझै सत्यता खोजी गर्दैनन्—तब तिनीहरूमा ठूलो समस्या हुन्छ। तँसित भ्रष्ट स्वभाव छ र तँ सत्यता बुझ्दैनस्, र तैँले मनोमानी रूपले परमेश्‍वरको आलोचना गर्न सक्छस्, र तेरो मनस्थिति, रुचि र भावनाहरूद्वारा निर्देशित भई उहाँको नजिक आउन वा उहाँसित अन्तरक्रिया गर्न सक्छस्। तैपनि, यदि तैँले सत्यता खोज्‍ने र अभ्यास गर्ने गर्दैनस् भने, स्थितिहरू त्यति सरल हुनेवाला छैनन्। तँ परमेश्‍वरमा समर्पित हुन असमर्थ मात्र हुनेछैनस्, तैँले त उहाँ धर्मी हुनुहुन्‍न, उहाँले गर्नुहुने सबै कुरा सही नै हुन्छ भन्‍ने जरुरी छैन भन्दै, उहाँको विषयमा गलत बुझ्‍ने र गुनासोहरू गर्ने, उहाँको आलोचना गर्ने, र हृदयमा उहाँलाई गाली र अस्वीकार गर्ने कामसमेत गर्नेछस्। तैँले अझै पनि यस्ता कुराहरू उत्पन्न हुन दिनु के खतरनाक हुँदैन र? (हुन्छ।) यो धेरै खतरनाक हुन्छ। सत्यता खोजी नगर्दा व्यक्तिले आफ्नो जीवनको मूल्य चुकाउनुपर्ने हुन सक्छ! अनि, कुनै पनि समय र कुनै पनि ठाउँमा यस्तो हुन सक्छ। वर्तमानमा तेरा भावनाहरू, आकाङ्क्षाहरू, इच्छाहरू, वा आदर्शहरू जति नै उल्लासपूर्ण भए पनि, र यस क्षणमा तैँले आफ्नो हृदयमा परमेश्‍वरलाई जति नै धेरै प्रेम गरे पनि यो सब अस्थायी हुन्छ। यो कुरा कुनै पाष्टरले विवाह गराउँदा दुवै पक्षलाई “के तँ उसलाई आफ्नो पति (वा पत्नी) को रूपमा स्विकार्छस्? सुख र दुःखमा, विपत्तिमा, गरिबीमा, र यस्तै अन्य कुराहरूमा, के तँ ऊसँग जीवन बिताउन इच्छुक छस्?” भनेर सोध्नुजस्तै हो। दुवै पक्ष आँखाभरि आँसु र भावनाले भरिएको हृदयले एकअर्काप्रति आफ्नो जीवन समर्पण गर्ने र एकअर्काप्रति आजीवन जिम्मेवारी लिने वाचा गर्छन्। त्यस क्षणका ती गम्भीर वाचाहरू के हुन्? ती मानिसहरूका क्षणिक भावना र चाहनाहरू मात्र हुन्। तर के साँच्चै दुवै पक्षमा त्यस्तो निष्ठा हुन्छ? के तिनीहरूमा साँच्चै त्यस्तो मानवता हुन्छ? त्यो अज्ञात रहन्छ; अर्को दस, बीस वा तीस वर्षमा सत्यता प्रकट हुनेछ। कतिपय जोडीको तीनदेखि पाँच वर्षपछि, कसैको दश वर्षपछि र कसैको तीस वर्षपछि सम्बन्धविच्छेद हुन्छ। तिनीहरूका प्रारम्भिक चाहनाहरू कहाँ गए? तिनीहरूका गम्भीर प्रतिज्ञाहरू के भए? ती धेरै पहिले टुटे। यी गम्भीर प्रतिज्ञाहरूले के भूमिका खेल्छन्? केही पनि खेल्दैनन्; ती केवल इच्छाहरू, क्षणिक भावनाहरू हुन्—भावना र इच्छाहरूले केही निर्धारण गर्दैनन्। कुनै पनि जोडीलाई साँच्चै सँगै जीवन बिताउन, र सँगै वृद्ध हुन के आवश्यक हुन्छ? आदर्श रूपमा भन्नुपर्दा, कम्तीमा पनि, दुवै व्यक्तिहरूको राम्रो व्यक्तित्व र इमानदार चरित्र हुनु आवश्यक हुन्छ। अझ ठोस रूपमा भन्नुपर्दा, तिनीहरूले आफ्नो जीवनकालमा धेरै कुराहरू सामना गर्नेछन्—ठूला र साना, राम्रा र नराम्रा, कठिनाइहरू, अवरोधहरू, बाधाहरू, र प्रायः इच्छा नगरिएका कुराहरू। एकअर्कालाई जीवनको अन्त्यसम्म साथ दिनको लागि, दुवै पक्षहरूमा साँचो सहिष्णुता, धैर्यता, प्रेम, वास्ता, हेरचाह, र मानवतामा हुनुपर्ने अपेक्षाकृत सकारात्मक कुराहरू हुनु आवश्यक छ। यी गुणहरूबिना, तिनीहरूले विवाह गरेदेखिका वाचा र आदर्शहरू, इच्छाहरू र कल्पनाहरूमा भर परेर, तिनीहरू पक्कै पनि अन्तिम गन्तव्यसम्‍म पुग्न सक्दैनन्। परमेश्‍वरमा विश्‍वास गर्ने सन्दर्भमा पनि यही कुरा लागु हुन्छ; यदि कसैले सत्यता खोजी गर्दैन, बरु थोरै उत्साह र इच्छामा मात्र भर पर्छ भने, उसले पक्कै पनि दृढ रहिरहन र अन्त्यसम्‍मै परमेश्‍वरलाई पछ्याइरहन किमार्थ सक्दैन।

आफ्नो मुडमा भर नपरी र आफ्नो मुड वा वातावरणबाट प्रभावित नभई कसैले कसरी परमेश्‍वरलाई विश्‍वास गर्न र पछ्याउन सक्छ? यो कसरी हासिल गर्न सकिन्छ? परमेश्‍वरमा विश्‍वास गर्नको लागि न्यूनतम मापदण्ड के हो? यसको लागि सत्यतालाई प्रेम गर्ने र सत्यता खोज्ने मनोवृत्ति चाहिन्छ। कति मानिसहरू सोध्छन्, “के इच्छाशक्ति हुनु र प्रतिज्ञा गर्नु महत्त्वपूर्ण छ?” यी कुरा अपरिहार्य छन्, तर यो सब विश्‍वासको चरणमा निर्भर रहन्छ। यदि कुनै व्यक्ति विश्‍वास गरेको पहिलो एक वा दुई वर्षमा छ भने, यी कुराहरूबिना, तिनीहरूको उत्साह जाग्न सक्दैन। उत्साह नहुँदा, परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति मन्द बन्‍न सक्छ, आफ्नो पछ्याइमा धेरै जोसिलो पनि नहुने, पछि पनि नहट्ने, केवल जे भनिएको हो त्यति मात्र गर्ने किसिमको हुन सक्छ। यस्तो व्यक्तिलाई प्रगति गर्न कठिनाइ हुन्छ, र उसमा स्पष्ट मनोवृत्ति हुँदैन। त्यसकारण, नयाँ विश्‍वासीहरूलाई यो उत्साह चाहिन्छ। यो उत्साहले व्यक्तिमा धेरै सकारात्मक कुराहरू ल्याउन सक्छ, उसलाई सत्यता, दर्शन र परमेश्‍वरको कामको उद्देश्य छिटो बुझ्न र तुरुन्तै जग बसाल्न सक्षम बनाउन सक्छ। यसअलावा, जब मानिसहरूले सक्रियता र उत्साहपूर्वक आफूलाई समर्पित गर्छन् र मूल्य चुकाउँछन्, तब तिनीहरू सत्यता वास्तविकतामा छिटो प्रवेश गर्छन्। सुरुमा, व्यक्तिलाई यो उत्साह चाहिन्छ र उसमा इच्छाशक्ति र आदर्श हुनुपर्छ। तर तीन वर्षभन्दा बढी परमेश्‍वरमा विश्‍वास गरेपछि पनि जोसको चरणमा रह्यो भने खतरा हुन सक्छ। यो खतरा केमा छ? मानिसहरू परमेश्‍वरमाथिको विश्‍वास र स्वभाव परिवर्तनको मामलालाई सधैँ आफ्ना कल्पना र धारणाहरूका आधारमा हेर्छन्। तिनीहरू आफ्ना कल्पना र धारणाहरूकै आधारमा परमेश्‍वरलाई चिन्ने र उहाँका काम र मानवप्रति उहाँका मापदण्डहरू बुझ्ने कोसिस गर्छन्। के त्यस्ता मानिसहरूले सत्यता वास्तविकतामा प्रवेश गर्न वा परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्छन्? (सक्दैनन्।) यदि व्यक्तिले सत्यता बुझ्न सक्दैन भने, समस्याहरू उत्पन्न हुन्छन्। के कुनै यस्तो व्यक्ति छ, जो परमेश्‍वरमा विश्‍वास गर्छ र जसले सधैँ कृपा र आशिष्‌ लिई आफ्नो सम्पूर्ण जीवन पुलपुल्याइको वातावरणमा बिताएको छ? छैन, ढिलोचाँडो, सबैले वास्तविक जीवन र परमेश्‍वरले तिनीहरूका लागि तय गर्नुभएका विभिन्न वातावरण सामना गर्नैपर्छ। जब तँ यी विभिन्न वातावरणहरू सामना गर्छस् र जब वास्तविक जीवनका विभिन्न समस्याहरूसित जुध्छस्, तब तेरो उत्साहले कस्तो भूमिका खेल्न सक्छ? यसले तँ आफैलाई संयम राख्‍न, मूल्य चुकाउन, र कष्ट भोग्न मात्र प्रेरित गर्न सक्छ, तर यसले तँलाई सत्यता वा परमेश्‍वरको अभिप्राय बुझ्न मार्गदर्शन गर्न सक्दैन। तर यदि तँ सत्यता खोजी गर्छस् र सत्यता बुझ्छस् भने, त्यो फरक हुन्छ। त्यो कसरी फरक हुन्छ? जब तैँले सत्यता बुझ्छस् र यी परिस्थितिहरू सामना गर्छस्, तब तँ यी कुराहरूलाई उप्रान्त आफ्नो उत्साह वा धारणाहरूका आधारमा लिँदैनस्। जबजब तैँले कुनै कुरा सामना गर्छस्, तबतब तँ पहिले खोजी र प्रार्थना गर्न, साथै सत्यता सिद्धान्तहरू भेट्टाउन परमेश्‍वरसामु आउँछस्। त्यसपछि, तँ यो चेतना र मनोवृत्तिसाथ समर्पित बन्छस्। यो मनोवृत्ति र चेतना अत्यन्तै महत्त्वपूर्ण छन्। कुनै विशेष परीक्षामा, तैँले केही प्राप्त नगर्ने पनि हुन सक्छ, र तँ सत्यतामा धेरै गहिरो रूपमा प्रवेश नगर्ने, र सत्यता वास्तविकता के हो भनेर बुझ्दै नबुझ्ने पनि हुन सक्छ। तर यस परीक्षा दौरान, यस्तो समर्पित चेतना र मनोवृत्तिले तँलाई मानिसहरूले सृष्टि गरिएको प्राणीको रूपमा कसरी व्यवहार गर्नुपर्छ र परमेश्‍वरको अगाडि सबैभन्दा सामान्य र उचित हुनको लागि के गर्नुपर्छ भनेर साँच्चै अनुभव गर्न मदत गर्छ। तैँले परमेश्‍वरको अभिप्राय नबुझ्न सक्छस् वा तँलाई त्यस्तो वातावरणमा परमेश्‍वर तैँले के प्राप्त वा हासिल गरेको चाहनुहुन्छ भन्‍ने कुरा ठ्याक्कै थाहा नहुन सक्छ, तथापि तैँले आफू परमेश्‍वर र त्यस्ता परिस्थितिहरूप्रति समर्पित हुन सक्ने रहेको महसुस गर्छस्। तैँले तेरो हृदयको गहिराइबाट परमेश्‍वरले तेरो लागि तय गर्नुभएको वातावरण स्विकार्न सक्छस्। तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफूले परमेश्‍वरविरुद्ध विद्रोह वा विरोध नगरी, आफ्नो उचित स्थान कायम राखेको महसुस गर्छस्, र तेरो हृदयले सुरक्षित महसुस गर्छ। यस्तो सुरक्षित महसुस गर्दैगर्दा, तेरो स्वर्गको परमेश्‍वरप्रतिको निर्भरता अस्पष्ट रहँदैन, र तैँले पृथ्वीको परमेश्‍वरबाट टाढा रहेको अनुभूत गर्ने वा उहाँलाई अस्वीकार गर्ने गर्दैनस्। बरु यसको साटो, यसमा तेरो हृदयको गहिराइदेखि नै अलि बढी डर र अलि बढी निकटता हुन्छ। यो कुरा हेर्, सत्यता खोज्ने र समर्पित गहुन सक्ने व्यक्ति अनि जोसमा भर पर्ने र न्यून इच्छाशक्ति भएको व्यक्तिबीचको भिन्नता हेर्—के त्यो भिन्नता ठूलो छैन र? त्यो भिन्नता ठूलो छ। उत्साहमा निर्भर रहने र इच्छाशक्ति मात्र भएको व्यक्तिले परिस्थितिहरू सामना गर्दा प्रतिरोध, तर्क, र गुनासो गर्छ, र अन्यायमा परेको महसुस गर्छ। उसले यस्तो सोच्न सक्छ, “परमेश्‍वरले मलाई किन यस्तो व्यवहार गरिरहनुभएको छ? म अझै सानै छु, परमेश्‍वरले मलाई किन ललाइफकाइ गर्नुहुन्न? परमेश्‍वरले किन मेरो विगतका उपलब्धिहरूलाई गन्नुहुन्न? मलाई इनाम दिनुको सट्टा सजाय किन? म अझै एकदमै सानै छु, मलाई के थाहा छ र? घरमा मेरा आमाबाबुले समेत मलाई कहिल्यै यस्तो व्यवहार गर्नुभएन; उनीहरूले मलाई आफ्नो अमूल्य बच्चा, आफ्नो सानो शिशुको रूपमा प्रिय ठाने। परमेश्‍वरको घरमा आएर अहिले म धेरै हुर्किसकेकोले परमेश्‍वरले मलाई यसरी व्यवहार गर्नु एकदमै असंवेदनशील लाग्छ!” तिनीहरूले गर्ने त्रुटिपूर्ण तर्कहरू यिनै हुन्। त्यस्ता त्रुटिपूर्ण तर्कहरू कसरी उत्पन्‍न हुन्छन्? यदि कुनै व्यक्तिले सत्यता खोज्छ र बुझ्छ भने, के ऊसँग अझै पनि यी त्रुटिपूर्ण तर्कहरू हुन सक्छन्? यदि कुनै व्यक्तिले यी सत्यताहरू बुझ्छ र सामान्य रूपमा आफ्नो कर्तव्य गर्दै जाँदा यो ज्ञान राख्छ भने, के परिस्थितिहरू सामना गर्दा उसमा अझै पनि त्यस्ता गुनासा र आवेगहरू हुन सक्छन्? (सक्दैनन्।) उसले पक्कै पनि ती कुरा बोल्दैन। बरु, उसले आफूलाई एक साधारण सृष्टि गरिएको प्राणीको रूपमा हेर्छ र परमेश्‍वरसामु आउँछ, र उमेर, लिङ्ग, वा पद र हैसियतको प्रवाह नगरी, बस ऊ समर्पित बन्छ र परमेश्‍वरका वचनहरू सुन्छ। जब मानिसहरूले परमेश्‍वरले बोल्‍नुभएका वचनहरू र उहाँका मापदण्डहरू सुन्न सक्छन्, तब तिनीहरूको हृदयमा समर्पण हुन्छ। जब कुनै व्यक्ति सचेत रूपमा समर्पित हुन सक्छ, जब उसमा समर्पणको मनोवृत्ति हुन्छ, तब ऊ प्रेम, समर्पण र परमेश्‍वरको डरसहित, आफ्नो मुड वा भावनाहरूमा भर नपरी, वास्तवमै सृष्टि गरिएको प्राणीको हैसियतमा उभिन्छ। काटछाँट भोग्‍नुपर्ने अवस्था सामना गर्दा मानिसहरूमा आउने केही प्रतिक्रियाहरू यिनै हुन्। मुख्य प्रतिक्रियाहरू के-के हुन्? नराम्रो महसुस गर्नु, निराश महसुस हुनु, अन्यायमा परेको महसुस गर्नु, र ढाडसको जरुरी पर्नु हो। जब तिनीहरूले ढाडस वा न्यानोपन प्राप्त गर्दैनन्, तब तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरबारे गुनासा र गलतफहमीहरू राख्न थाल्छन्। तिनीहरू अबउप्रान्त परमेश्‍वरलाई प्रार्थना गर्न चाहँदैनन्, र हृदयको गहिराइमा, तिनीहरूले परमेश्‍वरलाई त्याग्ने विचार गर्छन्, उहाँबाट टाढा हुन चाहन्छन्—स्वर्गको परमेश्‍वर र पृथ्वीको परमेश्‍वर दुवैबाट टाढा हुन चाहन्छन्। केही मानिसहरू त, यदि मैले तिनीहरूलाई अलिकति काटछाँट गरेँ भने, हामी अर्कोपटक भेट्दा मबाट टाढिन खोज्छन्, र मसँग अन्तरक्रिया गर्न चाहँदैनन्। प्रायजसो, तिनीहरूलाई काटछाँट नगरिँदा, तिनीहरू सधैँ मेरो वरिपरि हुन्छन्, मलाई चिया दिन्छन्, मलाई केही चाहिन्छ कि भनेर सोध्छन्, राम्रो मुडमा हुन्छन्, अनि लगनशील, बोलाइलो, र परमेश्‍वरसँगको सम्बन्धमा नजिक हुन्छन्। तर तिनीहरूको काटछाँट भइसकेपछि, यो अवस्था उस्तै रहँदैन—तिनीहरूले अब मलाई चिया दिने वा अभिवादन गर्ने गर्दैनन्, र यदि मैले तिनीहरूलाई केही प्रश्‍नहरू सोधेँ भने, तिनीहरू छोडेर जान्छन्, र त्यसपछि देखै पर्दैनन्।

मूलभूमि चीनमा हुँदा, म केही दाजुभाइ-दिदीबहिनीहरूको घरमा बसेँ। यीमध्ये केही मानिसहरूमा खराब मानवता थियो, कोही नयाँ विश्‍वासीहरू थिए, केहीले हाम्रो पहिलो भेटघाटमै धेरै धारणाहरू बनाए र तिनीहरूले सत्यता बुझ्दैनथे, र अरूहरूले बिलकुलै सत्यता खोजिरहेका थिएनन्। यी मानिसहरूले आफ्नो भ्रष्टता खुलासा गरेको देखेर, मैले तिनीहरूलाई काटछाँट गर्न सकिनँ; मैले नम्रतासाथ र कुशलतापूर्वक बोल्नुपर्थ्यो। यदि तैँले तिनीहरूलाई साँच्चै काटछाँट गर्थिस् भने, तिनीहरूले धारणाहरू बनाएर विद्रोह गर्नेथिए, त्यसैले तैँले तिनीहरूलाई मनाउन र तिनीहरूसँग संवाद गर्न आवश्यक थियो, र तिनीहरूलाई मार्गदर्शन गर्न सत्यताबारे थप सङ्गति गर्न आवश्यक थियो। यदि तैँले संवाद वा सङ्गति नगरी सिधै मागहरू राख्थिस् भने, यसले बिलकुल काम गर्दैनथ्यो। उदाहरणको लागि, तैँले यसो भन्न सक्थिस्, “यो खाना अलि धेरै नुनिलो छ; अर्कोपटक यसलाई अलि कम नुनिलो बनाउनुपर्छ होला। धेरै नुन खानु स्वास्थ्यको लागि राम्रो होइन। परमेश्‍वरको विश्‍वासी भएको नाताले, तिमीहरूले सामान्य ज्ञान पनि लागु गर्नुपर्छ र अज्ञानी हुनु हुँदैन। तिमीहरूले सकारात्मक कुराहरू स्वीकार गर्नैपर्छ। यदि तँलाई मेरो विश्‍वास लाग्दैन भने, तैँले परम्परागत चिनियाँ औषधिविज्ञलाई धेरै नुन सेवनले मृगौलामा पार्ने असरबारे सोध्न सक्छस्।” यो शैली तिनीहरूलाई स्वीकार्य हुन्छ। तर यदि तैँले “यो खानामा धेरै नुन छ, के तँ कसैलाई नुन खुवाएर मार्न खोज्दै छस्? किन सधैँ यति धेरै नुनिलो बनाउनु? यो त खानलाई अति नुनिलो छ! तँ यति अज्ञानी कसरी हुन मिल्छ? अर्कोपटक यसलाई यति नुनिलो नबना!” भनेर भन्छस् भने, यस्तो तरिकाले काम गर्नेछैन। अर्को खानामा, तिनीहरूले कति पनि नुन नहाल्न सक्छन्। त्यसपछि तैँले भन्छस्, “यो किन खल्लो छ?” “खल्लो? तिमीले यो धेरै नुनिलो भयो भनेको हैन? धेरै नुनले मृगौलालाई हानि पुर्‍याउँछ, त्यसैले नुन हाल्दै नहाल्नु राम्रो होइन र? त्यसपछि त यसले मृगौलालाई हानि नै गर्दैन नि।” धेरै कठोर बन्दा त्यसले काम गर्दैन; संवाद गर्नु र मनाउनु आवश्यक छ। धेरै मानिसहरू निकै नै समस्याजनक हुन्छन्; तिनीहरूसँग कुरा गर्दा, तैँले आफ्नो बोल्ने तरिका र समयबारे सजग हुनुपर्छ, र तिनीहरूको मनस्थितिलाई पनि ध्यान दिनुपर्छ—तैँले केही संवाद गर्नुपर्छ। कहिलेकाहीँ, यदि तैँले संयोगवश अलि धेरै कठोर बोलिस् भने, तैँले तिनीहरूलाई चोट पुर्‍याउन सक्छस्, र तिनीहरूले भित्री रूपमा प्रतिरोध गर्न सक्छन्। सतहमा त यो धेरै भएजस्तो लाग्दैन, तर भित्री रूपमा, यो फरक हुन्छ। सामान्यतया, जब तैँले तिनीहरूलाई केही गर्न भन्छस्, तिनीहरूले त्यो तुरुन्तै गर्छन्, तर यदि तैँले तिनीहरूको भावनालाई चोट पुर्‍याइस् भने, तिनीहरू काम गर्न कम उत्साहित बन्छन्, र अल्याङटल्याङ गर्दै पूरै अनिच्छुक बनेर बस्छन्। तिनीहरू भन्छन्, “म खराब मुडमा हुँदा म कसरी तिमीप्रति राम्रो व्यवहार गर्न सक्छु? म राम्रो मुडमा हुँदा राम्रो हुनेछु, तर म राम्रो मुडमा नहुँदा, जसोतसो धान्ने काम गरे हुन्छ।” यो कस्तो प्रकारको प्राणी हो? के मानिसहरूसँग व्यवहार गर्न गाह्रो छैन र? (छ।) मानिसहरू यस्तै हुन्छन्, समझ नछिर्ने र तर्कहीन। पछि आत्मचिन्तन गर्दा, तिनीहरूले आफ्नो शिर झुकाउन सक्छन्, आफ्ना पापहरू स्विकार्न सक्छन्, र नराम्रोसँग रुन सक्छन्, तर तिनीहरूले फेरि त्यस्ता मामलाहरू सामना गर्दा र तिनीहरूको काटछाँट हुँदा, तिनीहरूले अझै पनि त्यस्तै प्रतिक्रिया देखाउँछन्। के यो सत्यता खोज्ने मान्छे हो? (होइन।) यो कस्तो मान्छे हो? यस्तो व्यक्ति जिद्दी हुन्छ र सत्यता स्वीकार गर्दैन। काटछाँट र विषमताहरू सामना गर्ने मानिसहरूले परमेश्‍वरप्रति राख्ने मनोवृत्ति यही हो। छोटकरीमा भन्दा, तिनीहरू समर्पित हुँदैनन्, सत्यता स्विकार्न सक्दैनन्, र चोट लाग्दा, तिनीहरूले आफ्नो आवेगअनुसार परमेश्‍वरलाई व्यवहार गर्छन्। के यो गम्भीर समस्या होइन र? जब म केही मानिसहरूलाई भेट्छु, मैले तिनीहरूलाई काटछाँट गर्नुअघि नै, मामलाबारे बोल्दा मात्र नै, तिनीहरूले शिर निहुराउँछन्, झर्को मान्दै बोल्छन्, खराब मनोवृत्ति राख्छन्, र सरसामान फाल्नेसमेत गर्छन्। तँ तिनीहरूसँग खुलेर कुरा गर्न सक्दैनस्; तैँले घुमाउरोसित कुरा गर्नुपर्छ र कुशल हुनुपर्छ। के मैले पनि मानिसहरूले जस्तो घुमाउरोसित बोल्न सक्छु त? तैँले यसलाई स्विकार्न सके पनि नसके पनि, मैले सत्य के हो भन्नै पर्छ—परमेश्‍वरको घरमा सत्यता सिद्धान्तहरूअनुसार नै काम गरिनुपर्छ। कति मानिसहरू काटछाँटमा पर्दा बाहिरी रूपमा प्रतिक्रिया जनाउँदैनन्, तर भित्री रूपमा तिनीहरू रिसाइरहेका हुन्छन्। के यस्तो व्यक्तिले कर्तव्य राम्रोसँग गर्न सक्छ त? (सक्दैन।) यदि तिनीहरूले कर्तव्य ठीकसँग गर्न सक्दैनन् र तिनीहरूले गल्ती गरिरहन्छन् भने, मण्डलीले तिनीहरूलाई सिद्धान्तहरूअनुसार तह लगाउनुपर्छ।

२. ख्रीष्टको खेदो हुँदा, र टाउको राख्ने ठाउँ नहुँदा उहाँप्रति तिनीहरूको व्यवहार

मूलभूमि चीनमा बसेर परमेश्‍वरमा विश्‍वास गर्दा र उहाँलाई पछ्याउँदा हरदिन खतरा हुन्छ। विश्‍वास गर्नको लागि यो अत्यन्तै कठोर परिस्थिति हो, किनभने कुनै पनि बेला पक्राउ पर्ने सम्‍भावना हुन्छ। तिमीहरू सबैले खेदो हुने वातावरण अनुभव गरेका छौ—अनि के मैले पनि अनुभव गरेको छैनँ र? तिमीहरू र म एउटै वातावरणमा बाँचेका छौँ, त्यसैले त्यो वातावरणमा म प्राय नलुकी बस्‍न सकिनँ। कहिलेकहीँ दिनमा दुईतीन वटा ठाउँमा भाग्‍नुपरेको थियो; कहिलेकहीँ त मैले सोच्दै नसोचेको ठाउँमा समेत जानुपरेको थियो। सबैभन्दा गाह्रो त मेरो जाने ठाउँ कहीँ पनि नहुँदा हुन्थ्यो—म दिउँसो भेला आयोजना गर्थेँ, तर राती कहाँ जाँदा सुरक्षित हुन्छ मलाई थाहा हुँदैनथ्यो। कहिलेकहीँ, बल्‍लबल्‍ल एउटा ठाउँ भेटिन्थ्यो, तर भोलिपल्‍ट नै त्यहाँबाट गइहाल्‍नुपर्थ्यो, किनभने ठूलो रातो अजिङ्गरले त्यो ठाउँतर्फ कठोर कदम चालिसकेको हुन्थ्यो। यस्तो दृश्य देख्दा साँचो विश्‍वासीले के सोच्छन्? “मानिसलाई मुक्ति दिन पृथ्वीमा देह भई आउनु भनेको परमेश्‍वरले मूल्य चुकाउनुभएको हो। यो उहाँले भोग्‍नुभएका कष्टहरूमध्येको एक हो, र यसले उहाँको यो वचन पूरा गर्छ, ‘फ्याउराहरू बस्‍ने दुला छन् र पक्षीहरूका गुँड छन्; तर मानिसको पुत्रको निम्ति आफ्नो टाउको राख्‍ने ठाउँ छैन’ (लूका ९:५८)। परिस्थिति साँच्‍चै यस्तै छन्—अनि मानिसले जस्तै देहधारी ख्रीष्टले पनि यस्तो कष्ट व्यक्तिगत रूपमा भोग्‍नुहुन्छ।” परमेश्‍वरमा साँचो विश्‍वास गर्नेहरूले मानिसलाई मुक्ति दिने उहाँको काम कति कठिन छ भन्‍ने देख्‍न सक्छन्, र यही कारणले गर्दा, तिनीहरू परमेश्‍वरलाई प्रेम गर्छन्, र उहाँले मानवजातिको लागि चुकाउनुभएको मूल्यको निम्ति उहाँलाई धन्यवाद दिन्छन्। तर अत्यन्तै खराब मानवता भएकाहरू, दुर्भावपूर्ण रहेकाहरू र सत्यतालाई पूर्ण रूपले इन्कार गर्नेहरू, साथै जिज्ञासाको कारण वा आश्‍चर्यकर्महरू देख्न चाहेर मात्र ख्रीष्टलाई पछ्याउनेहरू यस्ता दृश्यहरू देख्दा यस तरिकाले सोच्दैनन्। तिनीहरूले मनमनै सोच्छन्, “तपाईँको बस्ने ठाउँ छैन? तपाईँ परमेश्‍वर हुनुहुन्छ, मानिसहरूलाई मुक्ति दिने काम गर्नुहुन्छ, तर तपाईँ आफैलाई मुक्ति दिन सक्नुहुन्न र भोलि कहाँ बस्ने भनेर तपाईँ आफैलाई थाहै छैन। अहिले तपाईँको लागि बास बस्ने ठाउँसमेत छैन—म कसरी तपाईँमा विश्‍वास गर्न वा तपाईँलाई पछ्याउन सक्छु?” परिस्थितिहरू जति जोखिमपूर्ण हुन्छन्, तिनीहरू त्यति नै बढी आनन्द लिन्छन्, र सोच्छन्, “भाग्यवश, मैले पूर्ण रूपमा सबथोक त्यागिनँ; भाग्यवश, मैले एउटा वैकल्पिक योजना बनाएँ। देख्नुभो? अब तपाईँको घर भन्‍ने ठाउँ कतै छैन! मलाई यस्तै हुन्छ भन्‍ने थाहा थियो—तपाईँको टाउको राख्ने ठावैँ छैन, र मैले पनि तपाईँको लागि बास खोज्न मद्दत गर्नुपरेको छ।” तिनीहरू खुलासा भएका छन्, छैनन् र? यदि यस्ता मानिसहरू प्रभु येशूलाई क्रूसमा टाँगिएको कुराको साक्षी बन्थे भने, तिनीहरूले कस्तो व्यवहार गर्थे होला? प्रभु येशू क्रूस बोकेर गलगथातिर लगिरहनुभएको बेलामा, यस्ता मानिसहरू कहाँ हुन्थे? के तिनीहरूले उहाँलाई पछ्याइरहन सक्थे? (सक्थेनन्।) तिनीहरूले परमेश्‍वरको पहिचान, उहाँको सार, र उहाँको अस्तित्वसमेत नकार्थे। तिनीहरू भाग्थे, आफ्नो हेरचाह गर्नतिर लाग्थे, र परमेश्‍वरलाई पछ्याउन छाड्थे। त्यसअघि तिनीहरूले जतिसुकै प्रवचनहरू सुनेका भए पनि, ती सबै तिनीहरूका हृदयबाट हराउँथे, कुनै नामनिशाना नछाडी गायब हुन्थे। तिनीहरूले आफ्नो अगाडि देखेको सबथोक वास्तविक र मानवबाट उत्पत्ति भएको कुरा हो, जुन परमेश्‍वरसँग असम्बन्धित छ भन्‍ने विश्‍वास गर्थे। तिनीहरूले सोच्थे, “यो व्यक्ति बस एक मानव हो; उहाँमा परमेश्‍वरको पहिचान वा सार कहाँ छ? यदि उहाँ परमेश्‍वर हुनुहुन्थ्यो भने, के उहाँ यसरी लुक्ने र आफूलाई लुकाउने गर्नुहुनेथ्यो, र शैतानद्वारा खेदो गरिएर आफ्नो टाउको राख्ने ठाउँ नपाउने र शरण नपाउने स्थितिमा पुग्नुहुनेथ्यो? यदि उहाँ परमेश्‍वर हुनुहुन्थ्यो भने, खेदो गरिँदा कसैले देख्‍न नकोस् भनेर उहाँ अचानक रूपान्तरित भएर सबैको आँखैअघि गायब हुनुपर्थ्यो, र उहाँलाई अदृश्य बन्न आउनुपर्थ्यो—त्योचाहिँ परमेश्‍वर हुनुहुनेथ्यो!” मूलभूमि चीनको खतरनाक वातावरणमा, कतिपय दाजुभाइ-दिदीबहिनीहरू, म तिनीहरूको ठाउँमा गएको देखेर, आफ्नो सुरक्षालाई नै जोखिममा राखेर मलाई पाहुना राख्थे र सुरक्षा दिन्थे, जबकि अरूहरूचाहिँ कुनै अत्तोपत्तोबिना हराउँथे। कतिपय त दर्शक बनेर रमाउँदै परैबाट हेरेर बस्थे। यी मानिसहरू को हुन्? तिनीहरू अविश्‍वासी, ख्रीष्टविरोधीहरू हुन्। जब यी मानिसहरूले मेरो लुक्ने ठाउँ कतै पनि नभएको देख्थे, तिनीहरूले यो परिस्थितिलाई कुन रूपमा लिन्थे? तिनीहरूले त्यसलाई कसरी बुझ्थे? “ख्रीष्ट पनि खतरामा छ, कब्जामा पर्न लागेको छ। कठै, मण्डली त सक्‍कियो, परमेश्‍वरको घरको काम स्वाहा भयो। यो चरणको काम नै एउटा गल्ती हो, परमेश्‍वरले जे गवाही दिनुभयो त्यो नै गलत छ—यो त परमेश्‍वरले गवाही दिनुभएको कुरो होइन। मैले चाँडो आफ्नै जीवन जिउनु उत्तम हुन्छ; म त धनमाल कमाउन हिँडेँ!” यो ख्रीष्टविरोधीको व्यवहार हो। जब ख्रीष्टले खेदो सामना गर्नुभयो, र उहाँले लुक्न र टाउको राख्न कुनै ठाउँ पाउनुभएन, यस्तो परिवेशमा एकैमनको भएर परमेश्‍वरको दुःख बाँड्नु र उहाँसँग मण्डलीको काम जारी राख्नुको साटो, तिनीहरू रमिते बने र उहाँलाई हेरेर गिज्याए। तिनीहरूले अरूलाई विनाश, अवरोध, र बाधाहरू सिर्जना गर्नसमेत उक्साए, र यसको साथै, जब केही मानिसहरूले मेरो लुक्ने ठाउँ नभएको र बस्ने ठाउँ कतै पनि नभएको देखे, तब तिनीहरूले मौका छोपी मण्डलीको काममा बाधा दिए र परमेश्‍वरको घरको सम्पत्ति हत्याए। येशूलाई क्रूसमा टाँग्दा पनि धेरै अविश्‍वासी र ख्रीष्टविरोधीहरूले ठ्याक्कै यस्तै सोचे, “मण्डली त सक्‍कियो, परमेश्‍वरको काम स्वाहा भयो, शैतानले पूर्ण रूपले ध्वस्त पार्‍यो। हामी यहाँबाट भागेर मालमत्ता बाँड्‍न सुरु गर्नु नै उत्तम हुन्छ!” तिनीहरूले जस्तोसुकै परिस्थितिहरू सामना गरे पनि, यी अविश्‍वासी र ख्रीष्टविरोधीहरूले सधैँ आफ्ना क्रूर स्वभावहरू प्रकट गर्नेछन्, र अविश्‍वासीहरूका साँचो विशेषता खुलासा गर्नेछन्। जब मण्डलीले समस्या वा प्रतिकूल परिस्थितिको सानो सङ्केत सामना गर्छ, तब तिनीहरू तत्काल भाग्न चाहन्छन्, र सारा दाजुभाइ-दिदीबहिनीहरू छुट्टिऊन्, पछि हटून्, र अबउप्रान्त ख्रीष्टलाई नपछ्याऊन् भन्‍ने चाहन्छन्। तिनीहरू यो पछ्याइ गलत होस्, र परमेश्‍वरको काम अपूरो रहोस् भन्‍ने उत्कट इच्छा गर्छन्। ख्रीष्टविरोधीहरूका साँचो विशेषता यिनै हुन्। यस्ता परिस्थितिहरू सामना गर्दा ख्रीष्टप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तै हुन्छ।

३. तिनीहरूले ख्रीष्टबारे धारणाहरू जन्माउँदा तिनीहरूको व्यवहार

अर्को विषयवस्तु ख्रीष्टविरोधीहरूसँग देहधारी परमेश्‍वरको देहबारे धारणाहरू हुँदा तिनीहरूमा हुने प्रकटीकरणहरू हो। उदाहरणको लागि, जब तिनीहरू देहधारी परमेश्‍वरले मानवको जस्तो लाग्‍ने निश्‍चित काम गर्नुभएको वा निश्‍चित वचनहरू बोल्‍नुभएको देख्छन्, तब तिनीहरूले ईश्‍वरीयताको अलिकति पनि छनक पाउँदैनन्, र तिनीहरू हृदयको गहिराइदेखि नै प्रतिरोधी बन्छन् र धारणा र निन्दा पैदा गर्छन्, अनि सोच्छन्, “मैले उहाँलाई जसरी हेरे पनि, त्यो व्यक्ति परमेश्‍वरजस्तो देखिनुहुन्न; उहाँ एक साधारण व्यक्तिजस्तो मात्र देखिनुहुन्छ। यदि उहाँ मानवझैँ हुनुहुन्छ भने, के उहाँ अझै पनि परमेश्‍वर हुन सक्नुहुन्छ? यदि उहाँ मानव हुनुहुन्छ भने, यसरी उहाँलाई पछ्याउनु ठूलो मूर्खता हुँदैन र?” तिनीहरूले ख्रीष्टका बोली र कार्यहरूबारे, ख्रीष्टको जीवनशैली, उहाँको कपडा र रूप, साथै उहाँको बोल्ने शैली, उहाँको भाव, उहाँको शब्द चयन आदि इत्यादिबारे पनि धारणाहरू पैदा गर्छन्—तिनीहरूले यी सबैबारे धारणाहरू उत्पन्‍न गर्न सक्छन्। अनि, यी धारणाहरू उत्पन्न हुँदा, तिनीहरू कस्तो प्रतिक्रिया जनाउँछन्? तिनीहरू यी सोचहरूलाई बोक्छन् र तिनलाई छोड्दैनन्, यी धारणाहरू बुझ्नु भनेको चाबी हातमा लिनुजस्तै हो भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू यो “चाबी” ठ्याक्कै समयमा आएको छ, तिनीहरूसँग यी धारणाहरू भएपछि, त्यसबाट तिनीहरूलाई लाभ लिने क्षमता मिलेको छ, र त्यसलाई सम्हाल्न सजिलो भएको छ भन्‍ने सोच्छन्। ख्रीष्टविरोधीहरू यसरी नै सोच्छन्; तिनीहरू धारणाहरू बोक्नु भनेको लाभ लिने क्षमता प्राप्त गर्नुसरह हो, त्यसैले तिनीहरूले जुनसुकै समय र स्थानमा ख्रीष्टलाई नकार्न मिल्छ र परमेश्‍वर देहधारी हुनुभएको देहमा परमेश्‍वरको सार हुन्छ भन्‍ने तथ्यलाई पनि नकार्न मिल्छ भन्‍ने महसुस गर्छन्। कतिपय मानिसहरूले सोध्छन्, “ख्रीष्टविरोधीहरू किन यस्ता अभिप्रायहरू बोक्छन्?” ल भन् त, के ख्रीष्टविरोधीहरू, अर्थात् शैतानका पक्षधरहरू परमेश्‍वरको काम सफलतापूर्वक सम्पन्न होस् भन्‍ने आशा गर्छन्, कि गर्दैनन्? (गर्दैनन्।) तिनीहरू किन त्यस्तो आशा गर्दैनन्? त्यो केले खुलाउँछ? ख्रीष्टविरोधीहरू जन्मसिद्ध रूपमै सत्यताप्रति वितृष्ण हुन्छन्, र परमेश्‍वरले व्यक्त गर्नुहुने सारा वचनहरू सत्यता हुन्, तर तिनीहरूलाई हृदयमा ती पूर्ण रूपमा घृणित लाग्छन् र तिनलाई सुन्न वा स्विकार्न तिनीहरू अनिच्छुक हुन्छन्। मानवजातिको खुलासा र न्यायसम्बन्धी परमेश्‍वरका वचनहरू यिनै ख्रीष्टविरोधी र दुष्ट मानिसहरूप्रति लक्षित निन्दा हुन्, र तिनीहरूको लागि, यी वचनहरू निन्दा, न्याय, र श्राप हुन्, र यी वचनहरू सुन्दा तिनीहरूलाई असहज र अप्ठ्यारो महसुस हुन्छ। तिनीहरू हृदयमा के सोच्छन्? “परमेश्‍वरले बोल्ने यी सारा वचनहरूले मेरो न्याय र निन्दा गरिरहेका छन्। मजस्तो व्यक्तिले मुक्ति पाउन नसक्ने देखिन्छ; म हटाइने र अस्वीकृत हुने खालको छु। मैले मुक्ति पाउने आशा नै नभएपछि परमेश्‍वरमा विश्‍वास गर्नुको के अर्थ? तर तथ्य के हो भने उहाँ परमेश्‍वर नै हुनुहुन्छ, परमेश्‍वर देहधारी हुनुभएको देह उहाँ नै हुनुहुन्छ, जसले धेरै वचनहरू बोल्नुभएको छ र जसका धेरै अनुयायीहरू छन्। यसमा म के गरूँ?” यो कुराले तिनीहरूलाई चिन्तित बनाउँछ; यदि तिनीहरूले केही कुरा प्राप्त गर्न सक्दैनन् भने, तिनीहरू अरूले पनि त्यो कुरा प्राप्त नगरून् भन्‍ने चाहन्छन्। यदि अरूले प्राप्त गर्न सक्छन् तर आफूले सक्दैनन् भने, तिनीहरू अत्यन्तै धेरै घृणाले भरिन्छन् र बेखुसी बन्छन्। तिनीहरू देहधारी परमेश्‍वर परमेश्‍वर नहुनुहोस् र उहाँले गर्नुभएको काम झूटो होस् र परमेश्‍वरद्वारा गरिएको नहोस् भन्‍ने आशा गर्छन्। यसरी, तिनीहरू भित्री रूपमा सन्तुलित बनेको, र समस्या जडबाटै समाधान भएको महसुस गर्छन्। तिनीहरू मनमनै सोच्छन्, “यदि यो व्यक्ति देहधारी परमेश्‍वर होइन भने, के उहाँलाई पछ्याउनेहरू मूर्ख बनिरहेका छैनन् र? यदि त्यसो हो भने, ढिलोचाँडो यी मानिसहरू अलग्गिनेछन्। यदि तिनीहरू छरपस्ट भए, र ती कसैले केही पनि प्राप्त गरेनन् भने, म आफूले केही पनि प्राप्त नगरे पनि ढुक्क हुन र सन्तुलित महसुस गर्न सक्छु, हैन र?” यो तिनीहरूको मानसिकता हो; तिनीहरू केही पनि प्राप्त गर्न सक्दैनन्, त्यसैले तिनीहरू अरूले पनि केही पनि प्राप्त नगरून् भन्‍ने चाहन्छन्। अरूलाई केही कुरा प्राप्त गर्नबाट वञ्चित गराउने सर्वोत्तम उपाय भनेको ख्रीष्टलाई नकार्नु, ख्रीष्टको सारलाई नकार्नु, ख्रीष्टले गर्नुभएको कामलाई नकार्नु, र ख्रीष्टले बोल्नुभएका सारा वचनहरूलाई नकार्नु हो। यसो गरिएमा, तिनीहरू निन्दित हुनेछैनन्, र तिनीहरूले केही प्राप्त नगर्दा पनि चित्त बुझाउँछन् र त्यसमा सन्तुष्ट हुन्छन्, र तिनीहरूले यस मामलाबारे थप चिन्ता लिनुपर्दैन। ख्रीष्टविरोधी मानिसहरूको प्रकृति सार यही हो। त्यसैले, के तिनीहरूसँग ख्रीष्टबारे धारणाहरू हुन्छन्? अनि तिनीहरूसँग धारणाहरू हुँदा, के तिनीहरूले तिनलाई समाधान गर्छन्? के तिनीहरूले तिनलाई त्याग्न सक्छन्? सक्दैनन्। तिनीहरूका धारणाहरू कसरी पैदा हुन्छन्? तिनीहरूलाई धारणाहरू पैदा गर्न सजिलो छ: “तपाईँले बोल्दा, म तपाईँको सूक्ष्मजाँच गर्छु, तपाईँका वचनहरूपछाडिका मनसाय के हुन् र ती कहाँबाट आउँछन्, त्यो बुझ्ने कोसिस गर्छु। के ती तपाईँले सुन्नुभएका वा सिक्नुभएका कुरा हुन्, कि कसैले तपाईँलाई ती कुराहरू भन्न लगायो? के कसैले तपाईँलाई रिपोर्ट वा उजुरी गर्‍यो? तपाईँ कसको खुलासा गर्दै हुनुहुन्छ?” तिनीहरू यसरी सूक्ष्मजाँच गर्छन्। के तिनीहरू सत्यता बुझ्न सक्छन्? तिनीहरू सत्यता कहिल्यै बुझ्न सक्दैनन्; तिनीहरू हृदयमा त्यसको प्रतिरोध गर्छन्। तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, त्यसको प्रतिरोध गर्छन्, त्यसलाई घृणा गर्छन्, र तिनीहरू यस्तो प्रकृति सार बोकेर प्रवचनहरू सुन्छन्। सिद्धान्त र धर्मसिद्धान्तहरूबाहेक तिनीहरूले बुझ्ने भनेको त धारणाहरू मात्र हुन्। कस्ता धारणाहरू? “ख्रीष्ट यस तरिकाले बोल्नुहुन्छ, कहिलेकाहीँ ठट्टा पनि गर्नुहुन्छ; त्यो आदरपूर्ण होइन! उहाँ कहिलेकाहीँ रूपक भनाइहरू प्रयोग गर्नुहुन्छ; त्यो गम्भीर हुँदैन! उहाँको बोलीमा वाक्पटुता छैन; उहाँ अत्यन्तै शिक्षित हुनुहुन्न! कहिलेकाहीँ उहाँले मनन गरेर आफ्ना शब्द चयनबारे सोच्नुपर्छ; उहाँ विश्‍वविद्यालय जानुभएन, जानुभयो र? कहिलेकाहीँ उहाँको भाषण कुनै खास व्यक्तितिर लक्षित हुन्छ—कोहो कोहोतिर? के कसैले उजुरी गरेको छ? त्यो को थियो? ख्रीष्टले बोल्नुहुँदा उहाँ किन सधैँ मेरो आलोचना गर्नुहुन्छ? के उहाँ दिनभरि मलाई हेरिरहनुभएको र नियालिरहनुभएको हुन्छ? के उहाँ पूरै दिन मानिसहरूबारे मनन गरेर बिताउनुहुन्छ? ख्रीष्टले हृदयमा के सोचिरहनुभएको हुन्छ? देहधारी परमेश्‍वरको बोली स्वर्गको परमेश्‍वरको निर्विवाद अख्तियारसहितको गर्जिलो आवाजजस्तो सुनिँदैन—उहाँको प्रकटीकरण किन यति मानवजस्तो देखिन्छ? मैले उहाँलाई जसरी हेरे पनि, उहाँ एक व्यक्ति मात्र हुनुहुन्छ। के देहधारी परमेश्‍वरसँग कुनै कमजोरी छन्? के उहाँले हृदयमा मानिसहरूलाई घृणा गर्नुहुन्छ? मानिसहरूसँगका अन्तरक्रियाहरूमा, के उहाँसँग दुनियाँसँग व्यवहार गर्ने कुनै दर्शन हुन्छ?” के यी धारणाहरू प्रशस्त छैनन् र? (छन्।) ख्रीष्टविरोधीहरूका सोचहरू सत्यतासँग असम्बन्धित कुराहरूले भरिएका हुन्छन्, ती सबै शैतानको सोचाइ र तर्कबाट, दुनियाँसँग व्यवहार गर्ने शैतानको दर्शनबाट आउँछन्। भित्र गहिराइमा, तिनीहरू दुष्टताले भरिएका हुन्छन्, सत्यताप्रति वितृष्ण स्थिति र स्वभावले भरिएका हुन्छन्। तिनीहरू सत्यता खोज्न वा प्राप्त गर्न आउँदैनन्, तिनीहरू त परमेश्‍वरको सूक्ष्मजाँच गर्न आउँछन्। तिनीहरूका धारणाहरू जुनसुकै समय र जुनसुकै ठाउँमा उत्पन्न हुन्छन्, र तिनीहरूले अवलोकन र सूक्ष्मजाँच गर्दा धारणाहरू उत्पन्‍न गर्छन्। तिनीहरूका धारणाहरू तिनीहरूको न्याय र निन्दाको क्रममा सिर्जित हुन्छन्, र तिनीहरू हृदयमा यी धारणाहरूसँग बलियो रूपमा टाँस्‍सिन्छन्। जब तिनीहरू देहधारी परमेश्‍वरको मानवीय पक्ष नियाल्छन्, तब तिनीहरूले धारणाहरू जन्माउँछन्। जब तिनीहरूले ईश्‍वरीय पक्ष देख्छन्, तिनीहरू उत्सुक र चकित हुन्छन्, र यसले पनि धारणाहरू पैदा गराउँछ। ख्रीष्टप्रति र परमेश्‍वर देहधारी हुनुभएको देहप्रति तिनीहरूमा समर्पण वा हृदयको गहिराइदेखिको साँचो स्वीकारको मनोवृत्ति हुँदैन। बरु, तिनीहरू ख्रीष्टविरुद्ध उभिन्छन्, र उहाँको हेराइ, सोचाइ, र चालढाल नियाल्छन् र सूक्ष्मजाँच गर्छन्, र ख्रीष्टको भाषणमा हरप्रकारको लवज, बोलीको आरोहअवरोह, शब्द चयन, र इङ्गित कुराहरू, आदि इत्यादि सुन्दै, ख्रीष्टको हरेक भाव नियाल्ने र सूक्ष्मजाँच गर्ने कामसमेत गर्छन्। जब ख्रीष्टविरोधीहरू यस तरिकाले ख्रीष्टलाई नियाल्छन् र सूक्ष्मजाँच गर्छन्, तब तिनीहरूको मनोवृत्ति ख्रीष्टलाई आफ्नो परमेश्‍वरको रूपमा स्विकार्न सकूँ र ख्रीष्टलाई आफ्नो सत्यता र आफ्नो जीवन बनाउन स्विकार्न सकूँ भनेर सत्यता खोज्ने र बुझ्ने भन्‍ने हुँदैन। त्यसको उल्टो, तिनीहरू यस व्यक्तिलाई सूक्ष्मजाँच गर्न, उहाँलाई पूरासित सूक्ष्मजाँच र बोध गर्न चाहन्छन्। तिनीहरू के बोध गर्न खोजिरहेका हुन्छन्? तिनीहरू यो व्यक्ति परमेश्‍वरसित कसरी मेल खान्छ भनेर सूक्ष्मजाँच गरिरहेका हुन्छन्, र यदि उहाँ साँच्चिकै परमेश्‍वरसित मेल खानुहुन्छ भने, तिनीहरू उहाँलाई स्विकार्छन्। यदि उहाँलाई जति सूक्ष्मजाँच गरे पनि, उहाँ परमेश्‍वरझैँ देखिनुभएन भने, तिनीहरू त्यो विचार पूरै त्याग्छन् र देहधारी परमेश्‍वरबारे धारणाहरूमा अडिन्छन्, वा आशिष्‌हरू पाइने आशा नभएको ठानेर, तुरुन्तै त्यहाँबाट निस्कने मौका हेर्छन्।

ख्रीष्टविरोधीहरूले परमेश्‍वर देहधारी हुनुभएको देहबारे धारणाहरू जन्माउनु निकै सामान्य कुरा हो। तिनीहरूको ख्रीष्टविरोधी सार, र सत्यताप्रति प्रतिकूल सारको कारण, तिनीहरूले आफ्ना धारणाहरू त्याग्न असम्भव छ। जब केही पनि भइरहेको हुँदैन, तिनीहरू परमेश्‍वरका वचनहरूको पुस्तक पढ्छन् र यी वचनहरूलाई परमेश्‍वरको रूपमा देख्छन्, तर देहधारी परमेश्‍वरलाई भेटेर उहाँ परमेश्‍वरजस्तो नहुनुभएको थाहा पाएपछि, तिनीहरूमा तुरुन्तै धारणाहरू पैदा हुन्छन्, र तिनीहरूको मनोवृत्ति बदलिन्छ। देहधारी परमेश्‍वरको सम्पर्कमा नहुँदा, तिनीहरू बस परमेश्‍वरका वचनहरूको पुस्तक समात्छन् र उहाँका वचनहरूलाई परमेश्‍वरको रूपमा लिन्छन्, तर तिनीहरू अझै पनि आशिष्‌हरू प्राप्त गर्ने अस्पष्ट मनोकल्पना र अभिप्राय बोक्छन्, र आनाकानीपूर्वक केही प्रयास लगाउने, केही कर्तव्यहरू गर्ने, र परमेश्‍वरको घरमा भूमिका निभाउने गर्छन्। तर तिनीहरू परमेश्‍वर देहधारी हुनुभएको देहको सम्पर्कमा आउनेबित्तिकै, तिनीहरूको मन धारणाहरूले भरिन्छ। तिनीहरूलाई काटछाँट नगरिए पनि, कर्तव्य गर्ने तिनीहरूको जोश उल्लेखनीय रूपमा घट्न सक्छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू र परमेश्‍वर देहधारी हुनुभएको देहलाई यस्तै व्यवहार गर्छन्। तिनीहरूले प्राय: परमेश्‍वरका वचनहरूलाई परमेश्‍वरले धारण गर्नुभएको देहबाट छुट्याउँछन्, अनि परमेश्‍वरका वचनहरूलाई परमेश्‍वरको रूपमा तर परमेश्‍वरले धारण गर्नुभएको देहलाई मानवको रूपमा लिन्छन्। जब परमेश्‍वरले धारण गर्नुभएको देह तिनीहरूका धारणाहरूसँग मिल्दो हुँदैन वा ती धारणाहरूको विपरीत जान्छ, तब तिनीहरू तुरुन्तै परमेश्‍वरका वचनहरूतर्फ फर्कन्छन् र प्रार्थना-वाचन गर्छन्, र ती धारणाहरूलाई बलपूर्वक दबाउने र थुन्‍ने कोसिस गर्छन्। त्यसपछि, तिनीहरूले परमेश्‍वरका वचनहरूको आराधना गर्छन्, मानौँ तिनीहरू परमेश्‍वर स्वयम्‌को आराधना गरिरहेका छन्, अनि यस्तो लाग्छ तिनीहरूका धारणाहरू समाधान भइसकेका छन्। तर वास्तवमा, ख्रीष्टप्रति तिनीहरूका भित्री अवज्ञा र तिरस्कार बिलकुलै समाधान भएका हुँदैनन्। ख्रीष्टप्रतिको व्यवहारमा, ख्रीष्टविरोधीहरूले निरन्तर धारणाहरू जन्माउँछन् र मृत्युपर्यन्त जिद्दीपूर्वक तिनमै अडिन्छन्। धारणाहरू नहुँदा, तिनीहरू सूक्ष्मजाँच र विश्‍लेषण गर्छन्; तर धारणाहरू हुँदा, तिनीहरू सूक्ष्मजाँच र विश्‍लेषण मात्र होइन, जिद्दीपूर्वक तिनमै टाँसिने कामसमेत गर्छन्। तिनीहरू न त आफ्ना धारणाहरू समाधान गर्छन् न त सत्यता नै खोज्छन्; तिनीहरू आफू ठिक छु भन्‍नेमा विश्‍वस्त हुन्छन्। के यो शैतानी कुरो होइन र? (हो।) देहधारी परमेश्‍वरबारे धारणाहरू हुँदा ख्रीष्टविरोधीहरूमा हुने प्रकटीकरणहरू यिनै हुन्।

४. बढुवा पाउँदा वा बर्खासीमा पर्दा तिनीहरूको व्यवहार

मण्डलीमा, कतिपय मानिसहरूमा काम गर्ने केही सामर्थ्य र क्षमता हुन्छ। बढुवा हुँदा, तिनीहरूमा धेरै उत्साह हुन्छ, तिनीहरू सक्रिय रूपमा आफ्ना कर्तव्यहरू गर्छन्, जिम्मेवारी लिन्छन्, मूल्य चुकाउन इच्छुक हुन्छन्, र तिनीहरूमा बफादारी पनि हुन्छ। तर आफ्नो काम गर्ने असक्षमताको कारण आफ्नो पदबाट बरखास्त भएर तिनीहरूको हैसियत गुम्दा, परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति बदलिन्छ। तिनीहरूसँग हैसियत हुँदा, तिनीहरू परमेश्‍वरसित यसरी बोल्थे: “हाम्रा परिवारका दाजुभाइ-दिदीबहिनीहरू यस्ता छन्, हाम्रो परिवारको भवनको नवीकरण हुन आवश्यक छ, हाम्रो परिवारको आँगन चिटिक्‍क पार्न आवश्यक छ…।” सबथोक “हाम्रो परिवार” को कुरा हुन्छ। तिनीहरूको बढुवा हुँदा, तिनीहरू परमेश्‍वरको घरका हिस्सा बने, र तिनीहरू परमेश्‍वरसँग परिवारजस्तै एकैमनका भएझैँ देखिन्थे, परमेश्‍वरको हृदयको ख्याल गर्दै उहाँसँगसँगै परमेश्‍वरको घरको काम सम्हाल्न, र परमेश्‍वरसँग समान हैसियतले कुराकानी गर्न सक्षम भएझैँ देखिन्थे। जब तिनीहरूलाई बढुवा गरेर महत्त्वपूर्ण पदमा राखियो, तब तिनीहरूलाई सम्मानित महसुस भयो, र सँगसँगै, जिम्मेवारी पनि महसुस भयो। मसँग बोल्दा होस् वा दाजुभाइ-दिदीबहिनीहरूसँग, तिनीहरू प्राय: “हाम्रो परिवार” भन्‍ने गर्थे। यो सुनेपछि, तँलाई यो व्यक्ति खराब छैन, उसको मन राम्रो छ, ऊ न्यानो हृदयको छ, परमेश्‍वरको घरलाई आफ्नै घरजस्तो ठान्छ, सबथोकको ख्याल राख्छ र तीप्रति धेरै जिम्मेवारी बोक्छ, हरेक कुराबारे अग्रिम रूपमा सोच्छ, र ऊ सत्यता पछ्याउने र मूल्य तिर्न उत्सुक व्यक्ति हो जस्तो लाग्छ। तर के तिनीहरू बरखास्त भएपछि पनि यसरी नै बोल्छन् त? तिनीहरू बरखास्त भएपछि, तिनीहरूको मुड उस्तै रहँदैन—त्यो मनोवृत्ति हराउँछ। अब तिनीहरू “हाम्रो परिवार” भन्दैनन्, र कुनै काम अह्राउँदा, तिनीहरू उत्सुक हुँदैनन्। तिनीहरूले के सोच्छन् त? “यसअघि, तिमीले मलाई बढुवा गर्दा, मसित हैसियत थियो, र म सम्पूर्ण हृदयले तिमीसँगै थिएँ। अब त मसँग हैसियत छैन, हामी परिवार रहेनौँ, त्यसैले त्यो तिमी आफै गर। त्यो कसरी गर्ने भनेर मलाई नसोध, र मलाई थाहा नदेऊ, मसँग त्यसको कुनै सरोकार छैन। म तिमीलाई सन्देशहरू मात्र पुर्‍याइदिनेछु, त्योबाहेक केही पनि गर्नेछैन—म तिमीले अह्राएको जे पनि अलिअलि त गर्नेछु तर अब तिम्रो र मेरो मन मिल्दैन।” त्यसपछि तिनीहरूले तँलाई बाह्य व्यक्तिको रूपमा हेर्छन्। यदि तैँले तिनीहरूलाई केही काम अह्राइस् भने, तिनीहरूले यसरी काम गर्छन् मानौँ तिनीहरू अरू कसैको लागि जागिरको काम गरिरहेका छन्, तिनीहरूले देखावटी रूपमा झारा मात्रै टार्छन्। पहिले तिनीहरूले पाँचवटा कामहरू गरेका हुन्थे होला, तर अहिले तिनीहरू एकदुइटा मात्र गर्छन्, प्रक्रिया मात्र पूरा गर्छन्, अल्याङटल्याङ गर्छन्, केही देखावटी काम गर्छन्, र त्यतिमै रोकिन्छन्। यस्तो किन हुन्छ? तिनीहरू भन्छन्: “पहिले, म सम्पूर्ण हृदयले तिमीसँगै थिएँ, तिमीलाई सबै कुरामा मद्दत गर्थेँ, तिम्रा मामलाहरूलाई मेरा आफ्नै र हाम्रो साझा काम ठानेर तिम्रो पक्षमा काम गर्थेँ। तर तिमीले मेरा भावनाहरूबारे सोच्दै नसोची मलाई बरखास्त गर्‍यौ! तिमी मेरा भावनाहरूबारे सोच्दैनौ—म कसरी तिम्रो लागि काम गर्न सक्छु? यदि तिमीले मलाई फेरि पनि बढुवा गर्‍यौ र हैसियत दियौ भने ठिक छ। तर यदि तिमीले मलाई हैसियत दिएनौ भने, त्यो कुरा बिर्सिदेऊ। यदि तिमी फेरि पनि मलाई कामकुरा गराउन चाहन्छौ भने, त्यो पहिलेजस्तो राम्रो हुनेछैन। यदि तिमी मलाई प्रयोग गर्छौ भने, तिमीले मलाई प्रसिद्धि र हैसियत दिनुपर्छ। यदि हैसियत नै छैन, र तिमी मलाई आदेश मात्र दिन्छौ अनि मैले केही काम गरोस् भन्‍ने अपेक्षा गर्छौ भने, त्यसमा कदर कहाँ हुन्छ? त्यसको केही स्पष्टीकरण हुनुपर्छ!” अब अहिले, तैँले बोल्दा त्यसको प्रभावकारिता नै हुँदैन। जब तैँले तिनीहरूलाई केही कुरा अह्राउँछस्, अब तिनीहरू पहिलेजति समर्पित हुँदैनन्, आफ्नो सारा हृदय र मन समर्पित गर्दैनन्; तिनीहरूको मनोवृत्ति बदलिएको छ। यदि तैँले तिनीहरूलाई फेरि केही काम अह्राइस्, वा यदि परमेश्‍वरको घरले तिनीहरूलाई केही अह्रायो भने, तिनीहरू त्यसलाई अतिरिक्त काम, अर्थात् बाह्य व्यक्तिको मामला मान्छन्, यस्तो लाग्छ मानौँ तिनीहरूले त्यो गर्न खोज्नु नै तेरो लागि ठूलो सम्मान हो। तिनीहरूलाई लाग्छ कि यदि तिनीहरूले त्यसो गरेनन् भने, त्यो काम अनुचित नै देखिनेछ, र खासगरी तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने भएकाले त्यो अनुचित देखिनेछ। तर यदि त्यो काम गरे भने, तिनीहरूले अनिच्छापूर्वक गर्नेछन् र झारा मात्र टार्नेछन्। तिनीहरू किन यसो गर्छन् त? तिनीहरू यस्तो सोच्छन्, “मैले तिमीलाई पहिले शतप्रतिशत विश्‍वास गरेँ, तिम्रा मामलाहरूलाई मेरो आफ्नै ठानेँ, तर तिमीले मलाई त्यसरी पाखा लगायौ, जसले मेरो मन र आत्मसम्मानमा चोट पुर्‍यायो; तिमीले मलाई बेवास्ता गर्‍यौ। ठिक छ, यदि तिमी मप्रति निर्दयी हुन्छौ भने, मलाई अधार्मिक भनेर दोष नदिनू। यदि तिमीले मलाई फेरि प्रयोग गर्‍यौ भने, म सायद पहिलेजस्तो हुन सक्दिनँ, किनभने हाम्रो सम्बन्ध टुटिसकेको छ। म त्यति सजिलै अह्राइखटाइ गरिने, आइज भन्दा आइहाल्ने र जा भन्दा गइहाल्ने व्यक्ति होइन। म को हुँ? परमेश्‍वरमा विश्‍वास नगर्ने भए, के अरूलाई म यसरी आफूलाई मनलाग्दी चलाउन दिन्थेँ र?” जब ख्रीष्टविरोधीहरू बरखास्त हुन्छन् र आफ्नो हैसियत गुमाउँछन्, तब तिनीहरूको मनोवृत्तिमा यति उल्लेखनीय परिवर्तन आउन सक्छ। तिनीहरूसँग हैसियत हुँदा, तिनीहरूले परमेश्‍वरको घरलाई “हाम्रो परिवार” भनेर बारम्बार कुरा त गर्ने गर्थे, तर तिनीहरूले परमेश्‍वरको घरका मामलाहरूलाई साँच्चिकै आफ्‍नो ठानेनन्। बरखास्त भएर हैसियत गुमेपछि, तिनीहरूलाई परमेश्‍वरको घरले कर्तव्य गर्न अह्राएमा, तिनीहरू सम्झौताविना त्यो कर्तव्य गर्न अनिच्छुक हुन्छन्, र त्यसपछि पनि, तिनीहरू स्पष्टीकरण वा कुनै न कुनै किसिमको कदर चाहन्छन्। कतिपयले त यस्तोसमेत भन्छन्, “पछिल्लोपटक तिमीले मलाई बरखास्त गरेर त्यसरी पाखा लगायौ। यदि तिमी अहिले मैले केही गरूँ भन्‍ने चाहन्छौ भने, पवित्र आत्माले प्रयोग गर्नुभएको मान्छे आफै मसित बोलेन, वा देहधारी परमेश्‍वर स्वयम् आएर मसित बोल्नुभएन भने, त्यसलाई बिर्सिदेऊ!” तिनीहरू कति धीरोद्धते हुन्! ल भन् त, के परमेश्‍वरको घरले यस्ता मानिसहरूलाई प्रयोग गर्नुपर्छ? (पर्दैन।) तिनीहरू आफूलाई महत्त्वपूर्ण व्यक्ति ठान्छन्, तर खासमा, परमेश्‍वरको घरले यस्ता मानिसहरूलाई महत्त्व दिँदैन। तँ अगुवाइमा जतिसुकै प्रतिभाशाली, सक्षम, वा दक्ष भए पनि, परमेश्‍वरको घरले तँलाई प्रयोग गर्नेछैन। कतिपयले सोध्लान्, “के तपाईँ दुष्ट मानिसहरूसामु नझुक्‍ने हुनुभएकोले यस्तो भएको हो?” होइन; यो परमेश्‍वरको घरको प्रशासनिक आदेश र मानिसहरूलाई प्रयोग गर्ने सिद्धान्त हो। यदि ख्रीष्टविरोधीहरूलाई परमेश्‍वरको घरमा शक्ति सम्हाल्न दिइयो भने, के दाजुभाइ-दिदीबहिनीहरू र मण्डलीको लागि त्यो राम्रो कुरा हो, कि नराम्रो हो? (नराम्रो कुरा हो।) के परमेश्‍वरको घरले यस्तो खराब काम गर्न सक्छ? कदापि सक्दैन। जब तिनीहरू ख्रीष्टविरोधी हुन् भनेर खुलासा भएको थिएन, परमेश्‍वरको घरले तिनीहरूलाई सेवा गर्न लगाउन मन नलागीनलागी बढुवा गरेको थियो। तिनीहरू ख्रीष्टविरोधी भएको खुलासा भएपछि, के परमेश्‍वरको घरले अझै पनि तिनीहरूलाई बढुवा गर्न सक्थ्यो त? त्यो सम्भवै थिएन। तिनीहरू मनोकल्पना गरिरहेका छन् र ठूलो कामना गर्दै सोचिरहेका छन्। कतिपय ख्रीष्टविरोधीहरू यस्तो सोच्छन्: “अहँ, परमेश्‍वरको घर मविना चल्न सक्दैन। मबाहेक परमेश्‍वरको घरको कसैले पनि यो काम लिनै सक्दैन। मेरो ठाउँ कसले लिन सक्छ र?” ख्रीष्टविरोधीहरू यो दावी गर्न चाहन्छन्। अब हामी यी ख्रीष्टविरोधीहरूलाई तिनीहरू परमेश्‍वरको घरमा नहुँदा परमेश्‍वरको काम सहज रूपमा अघि बढ्न र सम्पन्न हुन सक्छ कि सक्दैन भनेर देखाइदिऔँ।

अहिले परमेश्‍वरको घरको विभिन्न कामको सहज सञ्चालन र विकास हुँदै छ—के भएभरका ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई मण्डलीबाट निकाल्नु र निष्कासित गर्नुसित यसको कुनै सम्बन्ध छ? यो अत्यन्तै सम्बन्धित छ! ख्रीष्टविरोधीहरूले यो कुरा चाल पाउँदैनन्; तिनीहरूलाई हटाइँदा, निष्कासित गरिँदा, र प्रतिबन्धित गरिँदा नै परमेश्‍वरको घरको काम सहज रूपमा अघि बढ्न सक्छ भनेर तिनीहरूलाई थाहै हुँदैन—तिनीहरू स्वाङ पार्ने र गुनासो गर्नेसमेत गर्छन्! तँ केको बारे गुनासो गरिरहेको छस्? तँ आफूसित प्रतिभा र दिमाग, अनि काम गर्ने सामर्थ्य र क्षमता छ भन्ठान्छस्, तर तैँले परमेश्‍वरको घरमा के गर्न सक्छस्? यी मानिसहरूले केवल परमेश्‍वरको काम बिथोल्ने र तोडफोड गर्ने शैतानका नोकरहरूको भूमिका खेल्छन्। तिनीहरूको अनुपस्थितिमा, परमेश्‍वरका चुनिएका मानिसहरूको मण्डली जीवन, उनीहरूको कर्तव्य गराइको जीवन, र उनीहरूको दैनिक जीवन सबै अझ बढी शान्त, सहज र शान्तिपूर्ण हुनेथ्यो—जुन ख्रीष्टविरोधीहरूले महसुस गर्दैनन्। यी ख्रीष्टविरोधीहरू आफ्नो सामर्थ्यको अधिमूल्यन गर्छन् र तिनीहरू वास्तवमा के हुन् भनेर थाहा पाउँदैनन्। तिनीहरू सोच्छन् कि तिनीहरूविना परमेश्‍वरको घर चल्न सक्दैन, कामहरू कार्यान्वयन गर्न सकिँदैन र विभिन्न प्राविधिक कार्यहरू अघि बढ्न सक्दैनन्। तिनीहरू परमेश्‍वरको घरमा धार्मिकता र सत्यताको शक्ति चल्छ भन्‍ने कुरा बुझ्दैनन्। तिनीहरूलाई किन थाहा हुँदैन? ख्रीष्टविरोधीहरू किन यस्तो सानो मामला बुझ्न सक्दैनन्? यसले ख्रीष्टविरोधीहरूसँग सत्यताप्रति वितृष्ण र सत्यताप्रति शत्रुवत्‌ सार छ भन्‍ने मात्र देखाउँछ। तिनीहरू सत्यताप्रति वितृष्ण र शत्रुवत्‌ भएकै कारण तिनीहरूलाई सत्यता के हो, सकारात्मक कुराहरू के हुन् भनेर थाहा हुँदैन। तर त्यसको उल्टो, तिनीहरू सोच्छन् कि परमेश्‍वरको प्रतिरोध गर्ने तिनीहरूका दुष्ट र दुर्भावपूर्ण व्यवहारहरू राम्रा र सही छन्, तिनमा कुनै गल्तीहरू छैनन्। तिनीहरू आफूले मात्र सत्यता बुझ्ने, आफू मात्र परमेश्‍वरप्रति बफादार रहेको, र परमेश्‍वरको घरमा शक्ति सम्हाल्न आफू मात्र योग्य रहेको विश्‍वास गर्छन्। तिनीहरू गलत छन्! परमेश्‍वरको घरमा सत्यताको शक्ति चल्छ। सबका सब ख्रीष्टविरोधीहरू निन्दित र अस्वीकृत हुन्छन्, र हटाइन्छन्; तिनीहरूले परमेश्‍वरको घरमा ठाउँ प्राप्त गर्ने सम्भावनै हुँदैन र तिनीहरू सदासदाको लागि अस्वीकृत मात्र हुन सक्छन्।

कतिपय ख्रीष्टविरोधीहरूमा केही वरदानहरू, केही क्षमता, र केही सामर्थ्य हुन्छन्, र तिनीहरू शक्तिको खेल खेल्न सिपालु हुन्छन्। तिनीहरू परमेश्‍वरको घरमा आफूलाई बढुवा गरिनुपर्ने र महत्त्वपूर्ण पदहरूमा राखिनुपर्ने भन्ठान्छन्। तर आज हेर्दा, त्यस्तो भएको छैन। यी मानिसहरू निन्दित, प्रतिबन्धित, र अस्वीकृत भएका छन्, र कतिपय त मण्डलीबाट निकालिएका र निष्कासितसमेत गरिएका छन्। तिनीहरूले तिनीहरूजस्ता ठूला क्षमता र उच्च प्रतिभाहरू भएका “उच्‍चकुलीन” व्यक्तित्वहरू परमेश्‍वरको घरमा पछारिएर अस्वीकृत होलान् भनेर कहिल्यै कल्पना गरेका थिएनन्। तिनीहरू यसको कारण बुझ्‍नै सक्दैनन्। त्यसोभए, के हामीले तिनीहरूमाथि काम गर्न जारी राख्नुपर्छ? जरूरी छैन। के तँ शैतानसँग तर्क गर्न सक्छस्? शैतानसँग तर्क गर्ने कोसिस गर्नु भनेको बहिरोलाई प्रवचन सुनाउनुजस्तै हो; शैतानलाई व्याख्या गर्ने एउटै तरिका छ, र त्यो हो—समझ नछिर्ने। कतिपय मानिसहरूले भन्‍ने गर्छन्, “परमेश्‍वर मानिसहरूलाई इमानदार हुन आग्रह गर्नुहुन्छ, तर इमानदार भएर त्यस्तो केचाहिँ राम्रो हुन्छ? थोरै झूट बोल्दैमा, मानिसहरूलाई धोका दिँदैमा, के बिग्रिन्छ? कुटिल र छली भएर के बिग्रिन्छ? बेइमान भएर के बिग्रिन्छ? चतुर हुँदैमा, झाराटारुवा हुँदैमा के बिग्रिन्छ? परमेश्‍वरको मूल्याङ्कन गरेर के बिग्रिन्छ? परमेश्‍वरबारे धारणाहरू राख्दैमा के बिग्रिन्छ? परमेश्‍वरविरुद्ध विद्रोही हुँदैमा के बिग्रिन्छ, त्यो कुनचाहिँ ठूलो गल्ती हो र? यो वास्तवमा सिद्धान्तको मामला नै होइन!” कतिपय मानिसहरू त यस्तोसमेत भन्छन्, “के सक्षम व्यक्तिले आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नु अत्यन्तै सामान्य होइन र? यस संसारमा, ठूलाले सानालाई हेप्छन्, र बलियाले कमजोरलाई शोषण गर्छन्। यदि क्षमता छ भने, आफूले आफ्नै राज्य सिर्जना गर्नुपर्छ, त्यसमा के समस्या छ र? सबै जनासँग आफ्नो क्षमताअनुसारको शक्ति हुन्छ, र सबैले आफ्नो शक्तिले जति सकिन्छ त्यति धेरै मानिसहरूलाई शासन गर्नुपर्छ!” अरूले चाहिँ यसो भन्छन्, “व्यभिचारी हुनुमा के समस्या छ र? व्यभिचारमा के समस्या छ? दुष्ट प्रवृत्तिहरू पछ्याउनुमा के समस्या छ?” र यस्तै आदि इत्यादि कुराहरू भन्छन्। यी शब्दहरू सुनेपछि तिमीहरूलाई के महसुस हुन्छ? (घिन लाग्छ।) घिन मात्र लाग्छ? यी शब्दहरू सुनेपछि त यस्तो महसुस हुन्छ, “हामी सबैमा मान्छेको उही छाला छ, तर किन कतिपय मानिसहरू यी नकारात्मक कुराहरूलाई घृणा नगर्ने मात्र नभई तिनलाई प्रियसमेत ठान्छन्? किन कतिपय मानिसहरू तिनलाई घृणा गर्छन्? मानिसहरूबीच किन यति ठूलो भिन्नता हुन्छ? किन सत्यता र सकारात्मक कुराहरूप्रति वितृष्ण मानिसहरू सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्? तिनीहरू किन नकारात्मक कुराहरूलाई प्रिय ठान्छन् र तिनलाई खजानासमेत मान्छन्? तिनीहरू किन यी कुराहरूका दुष्टता र घृणितपन चिन्न सक्दैनन्?” मानिसहरूको हृदयमा यस्ता चिन्तनहरू उत्पन्‍न हुन्छन्। ख्रीष्टविरोधीहरूका यी शब्दहरू सुन्दा, मानिसहरू एकातिर घिनाउँछन् र अर्कोतिर निःशब्द बन्छन्। यस्ता मानिसहरूको प्रकृति बदल्न सकिँदैन; तिनीहरू बदलिन सक्दैनन्, यही कारणले गर्दा परमेश्‍वरले दियाबलसहरू वा शैतानलाई मुक्ति नदिने भन्नुहुन्छ। परमेश्‍वरको मुक्ति मानवजातिको लागि हो, पशु वा पिशाचहरूको लागि होइन। परमेश्‍वरले दियाबलस र पशु भन्‍नुहुने ठ्याक्कै यिनै ख्रीष्टविरोधी मानिसहरूलाई हो; तिनीहरूलाई मानवजातिमा गन्न मिल्दैन। यो प्रस्टै छ, होइन र?

५. बदलिँदो परिस्थितिहरूमा मण्डलीप्रति तिनीहरूको व्यवहार

ख्रीष्टविरोधीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन् भन्‍ने कुरा तिनीहरूको मुडमा भर पर्छ—भर्खरै यो विषयवस्तुका कतिवटा पक्षहरू सङ्गति गरियो? काटछाँट सामना गर्दा, तिनीहरूले ख्रीष्टलाई निश्‍चित तरिकाले व्यवहार गर्छन्, त्यो एउटा पक्ष हो। अरू के छ? (तिनीहरूले देहधारी परमेश्‍वरबारे धारणाहरू बनाउँदा, तिनीहरूको बढुवा वा बर्खासी हुँदा, र ख्रीष्टलाई खेदो गरिँदा।) त्यसलाई जोड्दा जम्मा चारवटा पक्षहरू हुन्छन्। अब हामी सङ्गतिलाई निरन्तरता दिऔँ। ख्रीष्टविरोधीहरू सत्यताप्रति प्रतिकूल हुन्छन्, त्यसैले तिनीहरू सत्यता प्राप्त गर्नको लागि परमेश्‍वरमा विश्‍वास गर्दैनन्—तिनीहरू आशिष्‌हरू प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्छन्; तिनीहरूका आफ्नै योजना, अभिप्राय र उद्देश्यहरू हुन्छन्। यसअलावा, तिनीहरू शक्ति र प्रभाव मन पराउँछन्, त्यसैले तिनीहरू पर्खेर हेरौँ भन्‍ने मनोवृत्तिले परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरू कसरी पर्खेर हेर्छन्? भन्नुको मतलब, तिनीहरूले विश्‍वास गर्दा परमेश्‍वरको घरका मानिसहरूको सङ्ख्या बढिरहेको छ छैन, सुसमाचारको काम कसरी विस्तार भइरहेको छ, त्यो सहज छ छैन, र परमेश्‍वरको घरको प्रभाव निरन्तर बढिरहेको छ छैन भन्‍ने कुरा पनि अवलोकन गर्छन्। यसबाहेक, तिनीहरू परमेश्‍वरको घरमा कर्तव्य गर्ने मानिसहरूको सङ्ख्या बढिरहेको छ छैन, इच्छापूर्वक परमेश्‍वरको निम्ति परिश्रम गर्ने मानिसहरू झन्-झन् बढ्दै छन् छैनन्, र परमेश्‍वरको घरको निम्ति काम गर्न इच्छुक मानिसहरूको सङ्ख्या झन्झन् बढ्दै छ छैन भन्‍ने कुरा पनि अवलोकन गर्छन्। तिनीहरूले परमेश्‍वरको घरमा कर्तव्य गर्नेहरूको सामाजिक र शैक्षिक पृष्ठभूमि कस्तो छ, समाजमा तिनीहरूको पहिचान र हैसियत साँच्चिकै कस्तो छ भनेरसमेत अवलोकन गर्छन्। अवलोकनमार्फत, तिनीहरूले झन्झन् धेरै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको, परमेश्‍वरको घरमा मानिसहरूको सङ्ख्या बढिरहेको, र झन्झन् धेरै मानिसहरू आफ्ना परिवार, काम, र सम्भाव्यताहरू त्यागेर परमेश्‍वरको घरमा कर्तव्य गर्न इच्छुक भएको देख्छन्। तिनीहरूले जब यी कुराहरू देख्छन्, तब तिनीहरूलाई आफू अबउप्रान्त उदासीन रहन नमिल्ने र आफूलाई परमेश्‍वरको घरको कामप्रति र कर्तव्य गर्नेहरूप्रति समर्पित हुनुपर्ने महसुस गर्छन्, अनि तिनीहरू भावी आशिष्‌हरूको हिस्सा बन्न सकूँ भनेर सदस्य बन्छन्। तर परमेश्‍वरको घरमा कर्तव्यहरू गर्न र भूमिका खेल्न सक्ने भए पनि, तिनीहरूले आफ्नो सम्भाव्यता र नियतिप्रतिको अपेक्षा कहिल्यै त्याग्‍दैनन्, र हृदयमा निरन्तर आकलन गरिरहेका हुन्छन्। यो समूह, अर्थात् यी ख्रीष्टविरोधीहरूमा यस्ता महत्त्वाकाङ्क्षा र स्वभावहरू हुने भएकोले, परमेश्‍वरको घरको हैसियत र प्रसिद्धि बढ्ने क्रममा ख्रीष्ट र परमेश्‍वरप्रति तिनीहरूको मनोवृत्ति बदलिनेछ। त्यसकारण, कर्तव्य गर्ने क्रममा, एकातिर, तिनीहरूले आफ्नै सम्भाव्यता र नियतिको निम्ति जोरदार योजना, चतुर्‍याइँ र व्यवस्थापन गरिरहेका हुन्छन्; र अर्कोतिर, तिनीहरूले परमेश्‍वरको घरको विकास, त्यसको वैदेशिक र आन्तरिक प्रभाव, र मानिसहरूको सङ्ख्या बिस्तारै बढिरहेको छ छैन, मण्डलीको स्तर निरन्तर विस्तार भइरहेको छ छैन, समाजका केही प्रख्यात मानिसहरूसँग मण्डली जोडिएको छ छैन, त्यसले पश्‍चिममा एक तहको ख्याति पाएको छ छैन, र त्यसले बलियो जग स्थापित गरेको छ छैन भनेर पनि हेर्छन्। तिनीहरूले निरन्तर यी मामलाहरूबारे हेरिरहेका र सोधपुछ गरिरहेका हुन्छन्। मण्डलीको काममा सामेल नहुने र कर्तव्यहरू नगर्ने कतिपय मानिसहरूले समेत तिनीहरूका आफ्नै सम्भाव्यता र नियतिको लागि चतुर्‍याइँ गरिरहेका हुन्छन्, र मण्डलीको विकासबारे ठूलो चासो देखाइरहेका हुन्छन्। यसर्थ, तिनीहरूले मण्डलीको वेबसाइटमा यस्ता जानकारी खोज्‍ने र मण्डलीभित्रै पनि यी मामलाहरूबारे सोधपुछ गर्ने गर्छन्। जब तिनीहरूले विदेशमा परमेश्‍वरको घरको काम सहज रूपमा विस्तार भइरहेको र अझ बढी आशालाग्दो बनिरहेको, र यो काम पश्‍चिममा झन् राम्ररी फैलिरहेको र परिस्थिति झन् सुधार भइरहेको देख्छन्, तब तिनीहरूले हृदयमा आश्‍वस्त महसुस गर्छन्। के तिनीहरूले अनुभूत गर्ने आश्‍वस्तताले तिनीहरूमा आएको साँचो परिवर्तन जनाउँछ? (जनाउँदैन।) तिनीहरू आश्‍वस्त भइरहँदा, देहधारी परमेश्‍वरप्रति, ख्रीष्टप्रति रहेको तिनीहरूको मनोवृत्तिमा थोरै “सम्मान्” र प्रशंसा मात्र हुन्छ, त्यसमा साँचो समर्पण हुँदैन।

जब ख्रीष्ट मूलभूमि चीनमा काम गरिरहनुभएको थियो, ख्रीष्टविरोधीहरू प्राय: जान्न चाहन्थे, “के देहधारी परमेश्‍वरलाई गिरफ्तार गर्न सकिन्छ? के उहाँ शासकीय अधिकारीहरूको हातमा पर्न सक्नुहुन्छ?” यसरी सोच्दा, तिनीहरूमा यस “महत्त्वहीन व्यक्ति” प्रति अलिअलि तिरस्कार जाग्थ्यो। जब तिनीहरूले देहधारी परमेश्‍वरसित प्राय: घर भन्नलाई कुनै ठाउँ नभएको, आफ्नो टाउको राख्ने ठाउँ नपाएको, र पक्राउ पर्नबाट जोगिन उहाँ जहाँ सकिन्छ त्यहाँ लुकिरहनुभएको सुने, तब तिनीहरूको सानो जिज्ञासा र देहधारी परमेश्‍वरप्रतिको आनाकानीपूर्ण “सम्मान” पूरै नष्ट भए। तर जब तिनीहरूले देहधारी परमेश्‍वर, अर्थात् ख्रीष्ट संयुक्त राज्यमा, अर्थात् मानवजातिले अभिलासा राख्ने स्वतन्त्रताको भूमिमा, हुनुहुन्छ भन्‍ने सुने, तब तिनीहरूमा देहधारी परमेश्‍वरप्रति ईर्ष्या जाग्यो—सम्मान जागेन, ईर्ष्या जाग्यो। तर जब तिनीहरूले देहधारी परमेश्‍वर पश्‍चिममा मानवजातिमाझ अस्वीकृत, अपमानित, निन्दित, र आलोचित हुनुभएको छ भनेर सुने, तब ख्रीष्टविरोधीहरूको हृदयको गहिराइमा खलबलीका छालहरू उठे: “तपाईं परमेश्‍वर हुनुहुन्छ, मानिसहरू किन तपाईंलाई स्विकार्दैनन्? तपाईं परमेश्‍वर हुनुहुन्छ, धार्मिक समुदायले किन तपाईंलाई स्विकार्नुको साटो तपाईंबारे त्यति धेरै हल्लाहरू फैलाउँछ? तपाईं किन अगाडि आएर आफ्नो बचाउ गर्नुहुन्न? तपाईंले वकिलहरूको टोली खटाउनुपर्छ! अनलाइनका ती बदनाम र अपमानजनक शब्दहरू, धार्मिक समुदायद्वारा सिर्जित तपाईंलाई अत्यन्तै खराब देखाउने हल्लाहरू हेर्नुस् त! तपाईंलाई पछ्याउँदा हामीलाई लज्जित महसुस हुन्छ, साथै यी कुराहरू उल्लेख गर्नसमेत अफ्ठ्यारो लाग्छ। तपाईं पूर्वमा र पश्‍चिममा निन्दित हुनुभएको छ, धार्मिक समुदायद्वारा, मानवजातिद्वारा, र यस संसारद्वारा अस्वीकृत हुनुभएको छ। तपाईंलाई पछ्याउँदा हामीलाई अपमानित महसुस हुन्छ।” यो ख्रीष्टविरोधीहरूको मानसिकता हो। हृदयमा अपमानित महसुस गर्दा, तिनीहरूमा यस “महत्त्वहीन व्यक्ति” प्रति तिरस्कार र सहानुभूति—सबैभन्दा आनाकानीपूर्ण सहानुभूति—पनि उब्जिन्थे, किनकि तिनीहरूले उहाँलाई आँखा र हृदयबाट देख्थे। यो सहानुभूति कसरी उत्पन्न हुन्थ्यो? तिनीहरूले सोच्थे, “तपाईं व्यक्तिगत लाभ वा क्षतिबारे चिन्ता नगरी यस्तो महान् कार्य गरिरहनुभएको छ, जसलाई निःस्वार्थ समर्पण मान्न सकिन्छ। यस्तो ठूलो कष्ट र अपमान सहेर, तपाईं के प्राप्त गर्न खोज्दै हुनुहुन्छ? तार्किक रूपमा बोल्नुपर्दा, तपाईं असल व्यक्ति नै हुनुपर्छ; नत्र, तपाईंले कसरी यस्तो ठूलो अपमान सहन र यति धेरै पीडा भोग्न सक्नुहुन्थ्यो? यो निकै दयनीय छ र सजिलो छैन; तपाईंलाई हृदयमा अत्यन्तै अन्यायमा परेको महसुस भएको हुनुपर्छ।” यसरी, तिनीहरूले ख्रीष्टप्रति थोरै सहानुभूति महसुस गर्थे। तिनीहरूले सोच्थे, “यदि त्यो म भएको भए, म त्यस्तो ठूलो कष्ट सहन सक्दिनथेँ; म मेरो कुरा मानवजातिसामु प्रस्तुत गर्नेथिएँ। म एकातिर वकिलहरूको टोली खटाएर अनलाइनका ती झूटा हल्लाहरू मेटाउनेथिएँ, र अर्कोतिर, धार्मिक समुदायमा केही आश्‍चर्यकर्म र अचम्मका कार्यहरू देखाउनेथिएँ र परमेश्‍वर को हो—को सही र को गलत हो—भनेर तिनीहरूलाई हेर्न दिनेथिएँ, र ती अपमान र निन्दा गर्नेहरूको मुख बन्द गर्दिनेथिएँ, र तिनीहरूलाई दण्डित गरेर पाठ सिकाउनेथिएँ। के त्यसउप्रान्त तिनीहरूले त्यसो गर्ने आँट गर्नेथिए होला त? तपाईं किन त्यसो गर्नुहुन्न? तपाईं किन कहिल्यै आफ्नो बचाउ गर्नुहुन्न? के यो तपाईंमा शक्ति, साहस, वा बहादुरी नभएर हो? साँच्चिकै के भइरहेको छ? के यो कायरता हुन सक्छ? तपाईंको हृदयमा धैरै कुरा लुकेको छ, यस्तो ठूलो अन्याय सहेर पनि मौन रहनुहुन्छ, अझ काम विस्तार गर्नुहुन्छ, र मण्डलीमा मानिसहरूसित धैर्यपूर्वक र गहन रूपले कुरा गर्नुहुन्छ, तिनीहरूलाई भरणपोषण गर्नुहुन्छ, तैपनि तिनीहरू सधैँ धारणाहरू बोक्छन् र विद्रोही हुन्छन्। तपाईंको हृदय पीडामा हुनुपर्छ! तपाईंले यो सबै सहन सक्नुभएको देख्दा, तपाईं वास्तवमै अत्यन्तै राम्रो र सहानुभूतिलायक व्यक्ति हुनुहुन्छ।” तिनीहरूको सहानुभूति यसरी नै आएको हो। यो ख्रीष्टविरोधीहरूको सहानुभूति हो। ख्रीष्टविरोधीहरूलाई खुलासा गरेको सुरुवातदेखि अहिलेसम्म, तिनीहरूले गरेको “राम्रो” भनेको यस्तै मात्र हो। यो “राम्रो” कतिको राम्रोसँग गरिएको छ? के यो साँचो हो? (होइन।)

ख्रीष्टविरोधीहरू ख्रीष्टलाई पछ्याउँछन् र तिनीहरूले धेरै वर्ष परमेश्‍वरले बोल्नुभएका वचनहरू स्विकारेका छन्, तर तिनीहरूले ख्रीष्टलाई यो जुनीमा आफ्नो मुक्तिदाताको रूपमा स्विकार्न सकेकोमा कहिल्यै सम्मानित महसुस गरेका छैनन्, न त तिनीहरूले ख्रीष्टले जस्तै कष्ट भोगेकोमा, ख्रीष्टले जस्तै संसारद्वारा निन्दित र अस्वीकृत हुनुपरेकोमा कहिल्यै सम्मानित नै महसुस गरेका छन्। बरु, तिनीहरू त ख्रीष्टका दुःखहरूलाई फाइदा उठाउने वस्तु र प्रमाणको रूपमा लिन्छन्, जुनद्वारा तिनीहरू ख्रीष्टलाई घृणा र अस्वीकार गर्छन्। तिनीहरूमा ख्रीष्टसँग यी सारा दुःखहरू बाँडेर लिने तत्परता र मनोवृत्ति हुँदैन। बरु, तिनीहरू रमिते भएर उभिन्छन्, ख्रीष्टले सहनुहुने सारा दुःखहरू नियाल्छन्, मानवजातिले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन् भनेर नियाल्छन्, र तिनीहरू यिनै अवलोकनहरूको आधारमा ख्रीष्टप्रति व्यवहार गर्छन्। जब परमेश्‍वरको नाम उद्घोष हुन्छ र सुसमाचारको काम सारा मानवजातिमाझ फैलन्छ, साथै सुसमाचारको कामका सम्भाव्यताहरू आसलाग्दा देखिन्छन्, तब ख्रीष्टविरोधीहरू बिस्तारै देहधारी परमेश्‍वरसित नजिकिन्छन्, र उहाँप्रति थोरै सम्मान र ईर्ष्या महसुस गर्छन्। त्यो सँगसँगै, तिनीहरू परमेश्‍वरको घरसित नजिकिने ठूला प्रयासहरू गर्छन्, परमेश्‍वरको घरको सदस्य र परमेश्‍वरको कामको विस्तारको हिस्सा बन्ने प्रयत्न गर्छन्। के त्यति नै हो? के त्यो त्यति सरल कुरा हो? होइन; तिनीहरू परमेश्‍वरको घरका विभिन्न कार्य परियोजनाहरूको विस्तार अवस्थाको आधारमा परमेश्‍वरको घर र ख्रीष्टप्रति जुनसुकै समय र स्थानमा आफ्नो मनोवृत्ति बदल्छन्। यदि तिनीहरूले मानवजातिमाझ, र विशेषगरी पश्‍चिममा, कुनै निश्‍चित वर्णका मानिसहरूले “यी वचनहरू साँच्चिकै परमेश्‍वरका वचनहरू हुन्, तिनमा साँच्चिकै अख्तियार छ! परमेश्‍वरका वचनहरूबाट हामी परमेश्‍वरको सार देख्छौ, हामी निश्‍चित छौँ यो साधारण व्यक्ति नै परमेश्‍वर हो, र यो मार्ग नै साँचो मार्ग हो” भनेर भनेको सुनेमा, ख्रीष्टविरोधीहरू हृदयमा गोप्यतासाथ रमाउँछन्: “धन्‍न, म छोडेर गइनँ; यो साँच्चिकै साँचो मार्ग हो! हेर त, पश्‍चिमेलीहरू पनि देहधारी परमेश्‍वर कहाँ हुनुहुन्छ भनेर भनिरहेका छन्। मैले उहाँका वचनहरू अझ धेरै सुन्नुपर्छ, मैले चाँडो गरेर प्रवचनहरू सुन्नुपर्छ!” यस क्षणमा, ख्रीष्टविरोधीहरू परमेश्‍वरको सोर अत्यन्तै सुन्दर छ, र त्यसले तिनीहरूको आत्मालाई अत्यन्तै शुद्ध पार्छ भन्‍ने महसुस गर्छन्, साथै तिनीहरू त्यसलाई प्रिय ठान्नुपर्ने महसुस गर्छन्। तर जब परमेश्‍वरको घरले विदेशमा र मानवजातिमाझ काम विस्तार गर्ने क्रममा बेलाबेलामा झट्काहरू सामना गर्छ, वा जब परमेश्‍वरको घरको काममा बाधा वा असर आइपर्छ, बाह्य शक्तिहरूको हस्तक्षेप हुन्छ, वा परमेश्‍वरको घरले केही कठिनाइहरू सामना गर्छ, ख्रीष्टविरोधीहरूलाई फेरि पनि हृदयमा छटपटी हुन्छ: “देहधारी परमेश्‍वर कहाँ हुनुहुन्छ? के उहाँ बोलिरहनुभएको छ? यो मामला कसरी सम्हालिँदै छ? के परमेश्‍वरले समस्याहरू समाधान गर्नुहुन्छ? के परमेश्‍वरका चुनिएका मानिसहरू डराएका छन्? कसैले परमेश्‍वरको घर छोडेर गएको छ? के परमेश्‍वरको घरको निम्ति बोल्ने वा कदम चाल्ने, वा यसको पक्षमा उभिने कुनै चर्चित वा वरिष्ठ मानिसहरू छन्? मैले त कोही पनि छैनन् भन्‍ने सुनेँ। त्यसोभए के गर्नुपर्ने हो? के परमेश्‍वरको मण्डली सक्किएकै हो त? के मैले यहाँबाट सक्दो चाँडो निस्कनुपर्ने हो?” के यो छटपटी महत्त्वपूर्ण छ? यो बेला, परमेश्‍वरका प्रवचनहरू फेरि सुन्दा, तिनीहरूले सोच्छन्: “अबदेखि ती खोक्रा शब्दहरूबारे बोल्न वा यति ठूला कुरा गर्न छाडिदिनुस्। अब म तपाईंको कुरा सुन्नेछैन। परमेश्‍वरको घरलाई जुनसुकै बेला संसारले निल्न सक्छ; ती वचनहरूको के काम छ? के तिनले मानिसहरूलाई मुक्ति दिन सक्छन्? परमेश्‍वरको घरको प्रभाव एक मिलिकमै गायब हुन सक्छ; त्यसका मानिसहरू सबै त्यसरी नै तितरबितर हुन सक्छन्।” अब तिनीहरू मेरो कुरा सुन्नै रुचाउँदैनन्। के कुनै सम्मान बाँकी छ? कुनै सहानुभूति? (छैन।) केचाहिँ बाँकी छ? हेर्ने र गिज्याउने चाहना मात्र। कति मानिसहरू पर्दापछाडि नराम्रा कुराहरू भन्छन्, हानि पुग्ने शब्दहरू बोल्छन्, र परमेश्‍वरको घरका दुर्भाग्यहरू देखेर रमाउँछन्: “मलाई लाग्छ समस्या खडा हुँदै छ, मलाई त तपाईं अडिग रहन सक्नुहुन्छ जस्तो लाग्दैन। के ती सत्यताहरूको केही काम छ? के तपाईंका वचनहरू प्रभावकारी छन्? अब के गर्ने? समस्या त आइसक्‍यो, होइन र?” तिनीहरूको पैशाचिक पाटो सतहमा आउँछ। दियाबलसहरूले जे गर्थे, ख्रीष्टविरोधीहरूले गर्ने पनि त्यही होइन र? तिनीहरूमा सबैभन्दा आधारभूत मानव नैतिकतासमेत छैन; तिनीहरू पूर्णतया दुष्ट छन्, खाएकै थालमा चुठ्छन्! तिनीहरू परमेश्‍वरको घरमा खान्छन्, परमेश्‍वरका वचनहरूको भरणपोषण लिन्छन्, परमेश्‍वरको सुरक्षा र अनुग्रह लिन्छन्, तर समस्या आउन लागेको पहिलो सङ्केतमै तिनीहरू बाह्य मानिसहरूको पक्षमा लाग्छन्, परमेश्‍वरको घरका हितहरूमा घात गर्छन्, र त्यसका दुर्भाग्यहरूमा रमाउँछन्। तिनीहरू दियाबलस हैनन् भने के हुन् त? तिनीहरू पूर्णतः दियाबलस हुन्! परमेश्‍वरको घरले गति लिएको देखेपछि, तिनीहरू घुँडा टेकेर देहधारी परमेश्‍वरसामु यसरी “पाउ पर्छन्,” मानौँ तिनीहरू परमेश्‍वरका अनुयायी हुन्। तर जब तिनीहरूले परमेश्‍वरको घरलाई शैतानले कब्जा र निन्दा गरेको देख्छन्, तब तिनीहरू परमेश्‍वरसामु लम्पसार पर्न छाड्छन्। बरु, तिनीहरू गौरव र इज्जतसाथ प्रस्तुत हुन्छन्, र आफू अत्यन्तै सम्मानित भएकोले कसैको सामु घुँडा टेक्न नमिल्ने ठान्छन्, र उत्सुकतासाथ तँलाई गिज्याउने प्रतीक्षा गर्छन्। तँसित कुरा गर्दा तिनीहरूको बोलीको लवज र ध्वनि पनि चर्को बन्छन्; तिनीहरू थर्काउने शैलीमा बोल्न थाल्छन्, असाधारण व्यवहार गर्छन्, र तिनीहरूको पैशाचिक आनीबानी बाहिर आउँछ, र चाँचाँडो बदलिन्छ। ल भन् त, यी मानिसहरूले कहिले परमेश्‍वरको डर मान्नेछन्? (कहिल्यै मान्नेछैनन्।) ठ्याक्कै मिलाइस्, त्यो साँचो भनाइ हो। यी मानिसहरू शैतानकोटिका छन्; तिनीहरूले कहिल्यै परमेश्‍वरको डर मान्नेछैनन् किनकि तिनीहरू सत्यता स्विकार्दैनन्—तिनीहरू शैतानको स्वामित्वमा हुनेहरू हुन्। शैतानको स्वामित्वमा हुनेहरूको प्रकृति सार नै यही हो, यही नै शैतानको स्वामित्वमा रहने ख्रीष्टविरोधीहरूको डरलाग्दो मुहार हो। तिनीहरू सधैँ परमेश्‍वरको घरलाई गिज्याउन तयार हुन्छन्, र सधैँ देहधारी परमेश्‍वरको गिल्ला गर्न खोजिरहेका हुन्छन्, ख्रीष्टलाई नकार्ने र परमेश्‍वरको सारलाई नकार्ने सामग्री निरन्तर तयार र सङ्कलन गरिरहेका हुन्छन्, साथै तिनीहरू बाह्य पक्षहरूसँग लागेर परमेश्‍वरको घरका हितहरूमा घात गर्न सधैँ तयार हुन्छन्। परमेश्‍वरको घरले जति बढी समस्याहरू सामना गर्छ, ख्रीष्टविरोधीहरू त्यति नै बढी खुसी र प्रसन्न हुन्छन्। जब दाजुभाइ-दिदीबहिनीहरू सामान्य तरिकाले कर्तव्य गर्न सक्छन् र जब परमेश्‍वरको घरको काम सबै मिलेको हुन्छ, तब तिनीहरू असहज र असन्तुष्ट महसुस गर्छन्, र परमेश्‍वरको घरमा तुरुन्तै समस्याहरू आइपरून् भन्‍ने इच्छा गर्छन्, परमेश्‍वरको घरको काम सहज रूपमा अगाडि नबढोस्, त्यसमा झट्का र अवरोधहरू आइपरून् भन्‍ने आशा गर्छन्। छोटोमा भन्दा, यदि परमेश्‍वरको घरमा सबथोक राम्रो चलिरहेको छ, र दाजुभाइ-दिदीबहिनीहरू सामान्य रूपले कर्तव्य गर्न र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छन् भने, ख्रीष्टविरोधीहरूले हृदयमा खुसी प्राप्त गर्दैनन्। जब दाजुभाइ-दिदीबहिनीहरूले परमेश्‍वरका वचनहरू सुन्छन्, उहाँका वचनहरूअनुसार अभ्यास गर्छन्, परमेश्‍वर र ख्रीष्टलाई महान् भनेर सम्मान् गर्छन्, र ख्रीष्टको गवाही दिन र बढाइ गर्न सक्छन्, ख्रीष्टविरोधीहरूको लागि त्यो सबैभन्दा असहनीय घडी हो, तिनीहरू सबैभन्दा बढी आलोचना र सतावटमा पर्ने समय यही हो।

ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका विभिन्न खबरहरू सोध्छन्। यदि तिनीहरूले परमेश्‍वरको घरको सुसमाचार विस्तारको काम कसरी अघि बढिरहेको छ, परमेश्‍वरको घरका विभिन्न व्यावसायिक कामहरू कसरी विकसित भइरहेका छन्, ती सहज रूपमा अघि बढिरहेका छन् छैनन्, विदेशमा मानिसहरूको सङ्ख्या बढिरहेको छ छैन, मण्डलीको आकार वृद्धि भइरहेको छ छैन, विभिन्न देशहरूमा मण्डलीहरू स्थापना भएका छन् छैनन् भनेर लामो समयसम्म थाहा पाउन सकेनन् भने, वा यदि तिनीहरूले बढी आकाङ्क्षी व्यक्तिहरू वा समाजका ख्यातिप्राप्त मानिसहरू परमेश्‍वरको घर प्रवेश गरिरहेको सुन्न पाएनन् भने, तिनीहरूलाई देहधारी परमेश्‍वरमा विश्‍वास गर्नु उराठलाग्दो र नरमाइलो लाग्छ। तिनीहरू देहधारी परमेश्‍वरप्रति ध्यान दिन छाड्छन्, र अझ जीवन्त वा प्रभावशाली सम्प्रदायहरूसँग जोडिने विचारसमेत गर्छन्। तर यदि तिनीहरूले परमेश्‍वरको घरबारे कहिलेकाहीँ केही राम्रा खबरहरू, जस्तै दाजुभाइ-दिदीबहिनीहरूका गवाही भिडियोहरूले केही मानव अधिकार संस्थाहरूमा रुचि जगाइरहेको र ठूलो ध्यान खिचिरहेको सुनेमा, तिनीहरूको हृदय खुसी, आशा र आनन्दले भरिन्छ। उदाहरणको लागि, यदि परमेश्‍वरको घरले एक चर्चित समूहबाट ध्यान र प्रचार पायो भने, तिनीहरू अझ बढी प्रसन्न र उत्साहित बन्छन्: “यो साधारण व्यक्ति बिलकुलै सामान्य छैन जस्तो देखिन्छ; उहाँले केही ठूलै कुरा हासिल गर्न लागेझैँ देखिन्छ!” यदि मण्डलीको नाम भाग्यवश कुनै ठूलो व्यक्तित्व वा कुनै नेताले नै उल्लेख गरेमा, ख्रीष्टविरोधीहरूमा झन् बढी हलचल हुन्छ: “यो जुनीमा, मैले सबैभन्दा ठूलो र सही निर्णय गरेको छु, जुन सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउनु हो। अबदेखि, मैले सर्वशक्तिमान् परमेश्‍वरलाई कहिल्यै नछाड्ने, उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्ने, र हृदयमा उहाँलाई आदर गर्ने निर्णय गरेको छु, किनभने यस परमेश्‍वरले फलानो नेताबाट सम्मान पाउनुभएको छ। यदि उहाँलाई नेताले नै सम्मान गर्छन् भने, मैले पनि सम्मान गर्नुपर्छ। नेताहरूले यो परमेश्‍वरको नाम लिएका छन् र उहाँलाई कदर गरेका छन् भने उहाँमाथि विश्‍वास गर्दा र उहाँलाई पछ्याउँदा के पछुतो होला र? के मैले उहाँलाई झनै दृढतापूर्वक पछ्याउनुपर्दैन र? म अबदेखि सर्वशक्तिमान् परमेश्‍वरको मण्डली छाडिजाने सोच कहिल्यै नबनाउन दृढसङ्कल्पित छु। मैले राम्रोसँग कार्यसम्पादन गर्न, धेरै कष्टहरू सहन, झन् ठूलो मूल्य चुकाउन, काम गर्दा दाजुभाइ-दिदीबहिनीहरूको धेरै सल्लाह लिन, र मण्डलीले जे भन्छ त्यसलाई पालना गर्न जरुरी छ। सायद भविष्यमा, जब मण्डली विस्तार हुन्छ र मैले झनै ठूलो ख्याति पाउँछु, तब म उच्च दर्जाको पद पाएर अरूभन्दा अलग देखिन सक्छु!” यसबारे सोचेर, तिनीहरूलाई हृदयमा खुसी महसुस हुन्छ: “मैले यति राम्रो, यति सही निर्णय गरेँ! म कस्तो चलाख छु! यसअघि मैले निस्केर जाने सोच पनि बनाएको थिएँ—त्यो समयमा म कस्तो मूर्ख र अज्ञानी थिएँ! म कलिलो र आवेगपूर्ण थिएँ, गलत निर्णय र मूल्याङ्कन गर्ने सम्भावना भइरहन्थ्यो। अब म प्रौढ भइसकेकोले, म धेरै स्थिर बनेको छु र मलाई कसरी लुक्‍ने भन्‍ने आउँछ, साथै म अन्ततः आशा पनि देख्छु। धन्न म निस्केर गइनँ, मैले ती अफवाहहरूको विश्‍वास गरिनँ, र म तिनको भ्रम वा बहकाइमा परिनँ। त्यो निकै खतरनाक थियो! म भविष्यमा अझ सावधान हुनुपर्छ। यो व्यक्ति असाधारण देखिनुहुन्छ, र मैले उहाँलाई राम्रो व्यवहार गर्नैपर्छ!” यसरी उत्साहित र आवेगपूर्ण भएर, तिनीहरूले चढाउनको लागि केही स्वास्थ्य सामग्री र केही राम्रा चिजहरू किन्थे, र तिनमा लेख्थे: “मेरो प्रिय परमेश्‍वरप्रति समर्पित, यी सामग्रीहरू।” फेदमा तिनीहरूले यस्तो लेखेर हस्ताक्षर गर्थे: “यो मितिमा फलानोद्वारा विशेष रूपले प्रस्तुत गरिएको र सम्मानपूर्वक पेश गरिएको।” यो विशेष र मूल्यवान् उपहार थियो, तर त्यसपछाडि एउटा कथा र गोप्य मनसाय थियो। यो सुन्दा, तिमीहरूले “त्यसोभए मानिसहरूले परमेश्‍वरलाई दिने भेटीहरूलाई तपाईंले यसरी नै बुझ्दै आउनुभएको छ” भनेर भन्‍नेथिएनौ र? मैले त्यसलाई यो तरिकाले बुझेको होइन, न त सारा मानिसहरू यस्तो शैलीमा व्यवहार नै गर्छन्, साथै सबै भेटीहरू यस्ता मनसायले चढाइँदैन। तर कतिपय मानिसहरूको वस्तुहरू चढाउने कार्य वास्तवमै यस्ता अभिप्रायहरू र यस्तो पृष्ठभूमिद्वारा प्रभावित र प्रेरित हुन्छ भन्‍ने कुरा नकार्न सकिँदैन। के यो वस्तुगत दृष्टिकोण होइन र? (हो।)

ख्रीष्टविरोधीहरूले दिमागभित्र सबथोक अनुमान गर्दा, तिनीहरूको मुख्य ध्यान आफ्नै स्वार्थमा हुन्छ। तिनीहरू स्वार्थी र घृणास्पद हुन्छन्, सबै कुरामा आफ्नै अनुमान लगाउँछन्। परमेश्‍वरको घरका विभिन्न कामहरूको प्रगति सम्बन्धमा, सत्यता पछ्याउने धैरैजसो, साथै सबै साधारण विश्‍वासीहरूमध्ये अधिकांश मानिसहरू यस्ता मामलाहरूबारे जान्न वा सोधपुछ गर्न चाहँदैनन्, किनभने सत्यता पछ्याउनमा यी सामान्य मामलाहरूबारे जान्नुको कुनै सम्बन्ध छैन। यीबारे जानेर केही काम छैन; यसको मतलब तँसित जीवन वा सत्यता छ भन्‍ने हुँदैन, न त यी कुराबारे ज्ञान नहुनुले तँ सानो कदको छस् भन्‍ने नै जनाउँछ। यी मामलाहरू सत्यतासँग असम्बन्धित छन् र यिनले सत्यता बुझ्न वा परमेश्‍वरको डर मान्न मद्दत गर्दैनन्। समझ भएका मानिसहरू पुग्न सक्ने एउटा तह यही हो। तर ख्रीष्टविरोधीहरू दृढतासाथ यी मामलाहरूमा टाँस्सिन्छन्, र यिनैलाई सर्वोच्च सत्यता मान्छन्। तिनीहरूले यी मामलाहरूबारे सोधपुछ गर्छन् र जानकारी लिन्छन्। यी मामलाहरूबारे जानकारी लिएपछि, तिनीहरूले त्यसलाई आफैमा सीमित राख्दैनन्; तिनीहरूले हरेक दाजुभाइ-दिदीबहिनी यी कुराहरूबारे जिज्ञासु हुन्छन् भन्‍ने विश्‍वास लिएर त्यसलाई सबैतिर फैलाउँछन्, तर वास्तवमा धेरै मानिसहरूले चाख देखाउँदैनन्। म आफै पनि यी मामलाहरूबारे विरलै सोधपुछ गर्छु। यदि मैले त्यसमा संलग्न कसैलाई भेटेँ भने, म त्यसबारे कुरा गर्न सक्छु, तर म सक्रिय रूपमा मानिसहरू खोजीखोजी सोधपुछ गर्दिनँ। म सोधपुछ त गर्छु, तर एउटै परिस्थितिमा मात्र: कुनै काम कसरी गर्नुपर्छ, तिमीहरूको कामको प्रगति के-कस्तो छ, र कुनै समस्याहरू छन् छैनन् वा कुनै बेवास्ताहरू भएका छन् छैनन् भन्‍ने सम्बन्धमा मात्र। म यो कुरामा मात्र सोधपुछ गर्छु, तर त्यसबाहेक, म जिज्ञासा वा चासोको कारण सोधपुछ गर्ने काम कदापि गर्दिनँ। मेरा सोधपुछहरू कामसँग मात्र सम्बन्धित हुन्छन्, जानकारीको स्रोत वा जिज्ञासासँग होइन। सत्यतालाई प्रेम नगर्ने ख्रीष्टविरोधीहरू यी मामलाहरूको गहिराइमा पुग्न उत्सुक हुन्छन्, र तिनीहरूले त्यसो गर्नुको एउटा खास उद्देश्य हुन्छ। तिनीहरूले विभिन्न कालखण्डका र फरकफरक सम्प्रदाय, वर्ण, र जातीय समूहहरूका मण्डली परिस्थितिहरूलगायतका बाह्य अवस्था र वातावरणहरू प्रयोग गरेर परमेश्‍वरको कामको सहीपन वा गलतता मूल्याङ्कन गर्छन्, र साथै ख्रीष्ट परमेश्‍वर हो वा होइन भनेरसमेत मूल्याङ्कन गर्छन्। तिनीहरू कस्ता प्राणी हुन्? के तिनीहरू परमेश्‍वरमा विश्‍वास गरिरहेका छन् त? प्रस्टै छ, तिनीहरू अविश्‍वासी हुन्। तैँले जति नै धेरै सत्यता सङ्गति गरे पनि, तिनीहरूले त्यो सुन्न वा बुझ्न सक्दैनन्। तर तिनीहरूले मण्डलीका बाह्य मूल्याङ्कनहरू र विभिन्न देशहरूमा मण्डलीका हैसियत र परिस्थिति कस्ता छन् भनेर विस्तृत रूपमा सोधपुछ गर्छन्, र यसरी तिनीहरूलाई अविश्‍वासीहरूबाट लगभग छुट्याउनै सकिँदैन। गोप्य मनसाय बोकेका अविश्‍वासीहरूका प्रकटीकरणहरू यिनै हुन्। के तिमीहरूको वरिपरि यस्ता कुनै मानिसहरू छन्? तिमीहरूले नदेखेको हुन सक्छ। हरेकपटक हामी भेला भएर ख्रीष्टविरोधीहरूका विभिन्न सारहरू खुलासा गर्दा, यस्ता एक भाग मानिसहरू निन्दित हुन्छन्। खुलासा भइसकेपछि, तिनीहरूको साँचो रङ्ग लुक्छ, र तिनीहरू आफूलाई प्रस्तुत गर्ने आँट गर्दैनन्। विशेषगरी यो सङ्गतिपछि, केही मानिसहरूले सोधपुछ गर्ने आँट नै गर्नेछैनन्। तर तिनीहरूले सिधै सोध्ने आँट नगरे पनि, तिनीहरूले अझै पनि पर्दापछाडि अफवाहहरू सङ्कलन गर्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूमाझ सोध्न छाड्छन्, तर गोप्य रूपले इन्टरनेटमा जाँचबुझ गर्छन्। यसअलावा, तिनीहरू हाम्रो मण्डलीबारे गैरविश्‍वासीहरू, सम्प्रदायहरू, र पश्‍चिमा देशहरूले के सोच्छन् र भन्छन् भनेर पत्ता लगाउन लगभग उन्मत्त बनेर आफ्नो मार्गबाहिर जान्छन्। के यो अलि पालगपन नै होइन र? तिनीहरू आसक्त हुन्छन्, र आफूलाई रोक्न सक्दैनन्। सत्यतालाई प्रेम नगर्ने र सत्यताप्रति प्रतिकूल रहने मानिसहरू समझभन्दा बाहिर हुन्छन्।

हामीले भर्खरै खुलासा गरेको कुरा ख्रीष्टविरोधीहरूले परमेश्‍वर देहधारी हुनुभएको देहलाई मण्डलीका परिस्थितिहरू र परमेश्‍वरको कामको विस्तारअनुसार कसरी हेर्छन् भन्‍ने हो। यो ख्रीष्टविरोधीहरूले कसरी आफ्नो मुडअनुसार ख्रीष्टलाई व्यवहार गर्छन् भन्‍ने कुराको एउटा पक्ष हो। के मैले छलफल गरेका यी कुराहरू मण्डलीमा भइरहेका छन्? के ती गम्भीर मामलाहरू हुन्? के ती उल्लेख गर्न योग्य छन्? (छन्।) यी मामलाहरू सङ्गति गर्नुको के महत्त्व छ? के यसको मतलब यो सुनेपछि कतिपय मानिसहरूले अबदेखि यी मामलाहरूबारे सोधपुछ गर्ने आँट गर्नेछैनन्, मण्डलीका अवस्था र परिस्थितिहरूबारे जिज्ञासु हुने आँट गर्नेछैनन् भन्‍ने हो? त्यसको महत्त्व त्यो मात्र हो? (होइन।) त्यसोभए, यी कुराहरू खुलासा गर्नुको महत्त्व के हो? मानिसहरूले यसबाट कस्तो सत्यता बुझ्नुपर्छ? यदि तिमीहरूले यसबारे अझै पनि सोचेका छैनौ भने, तिमीहरूले बोल्न छोड्दा हुन्छ। म यो कुरा तिमीहरूसँग अन्त्यमा सङ्गति गर्नेछु। यी तिमीहरूबाट धेरै टाढाका मामला हुन्, त्यसैले यसलाई तत्काल व्यक्त गर्न तिमीहरूलाई गाह्रो लाग्न सक्छ। तिमीहरूले एकाग्र भएर सोच्‍नुपर्छ र आफ्नो भाषा मिलाउनुपर्छ; कहाँबाट सुरु गर्ने भनेर तिमीहरूलाई थाहा नहुन सक्छ, वा तिमीहरू त्यसलाई प्रस्ट रूपमा व्यक्त गर्न सक्षम नहुन सक्छौ। मानिसहरूले बुझ्ने कुरा एकदमै थोरै हुन्छ, यो निकै दयनीय हो। कुनै मामलाको सार र कारण प्रस्ट रूपले व्याख्या गर्न नसक्नु भनेको यी कुराहरूलाई छर्लङ्गै नदेख्‍नुको सङ्केत हो।

जब मानिसहरूले स्वर्गको परमेश्‍वरमा विश्‍वास गर्छन् र आफूलाई परमेश्‍वरमा अर्पित गरेर कर्तव्यहरू गर्छन्, तब मानिसहरूको लागि मण्डली, परमेश्‍वरको घर, र परमेश्‍वर एउटै अवधारणा हुन् भनेर भन्न सकिन्छ। मण्डलीमा आफ्नो कर्तव्य गर्नुलाई आफूलाई परमेश्‍वरमा अर्पित गरेको मानिन्छ; परमेश्‍वरको घरको लागि काम गर्नु भनेको मण्डलीको लागि काम गर्नुजस्तै हो, र यो परमेश्‍वरप्रति बफादार हुनु र परमेश्‍वरको आज्ञा स्विकार्नु पनि हो। यी कुराहरूलाई पर्यायवाची रूपमा छलफल गर्न सकिन्छ र एउटै अवधारणाको रूपमा हेर्ने गरिन्छ। तर जब परमेश्‍वर देह बनेर साधारण व्यक्तिको रूपमा देखा पर्नुहुन्छ, धेरैजसो मानिसहरूको लागि, मण्डली, परमेश्‍वरको घर, र परमेश्‍वर (भन्नुको मतलब, ख्रीष्ट) सजिलै छुट्टिन्छन्। मानिसहरूले सोच्छन्, “मण्डलीको लागि काम गर्नु र परमेश्‍वरको घरको लागि, परमेश्‍वरको लागि काम गर्नु एउटै हो; परमेश्‍वरको घरको लागि काम गर्नु भनेको आफ्नो कर्तव्य गर्नु हो। तर ख्रीष्टको लागि काम गर्ने सन्दर्भमा कामकुराहरू त्यति प्रस्ट हुँदैनन्। के यसले कुनै व्यक्तिको सेवा गर्नु जनाउँदैन र? यो कताकता कुनै व्यक्तिको लागि काम गर्नेजस्तो देखिन्छ।” धेरैको हृदयको गहिराइमा, यी तीन कुराहरू प्रस्ट रूपले छुट्ट्याउन र जोड्न कठिन हुन्छ। धेरैजसो मानिसहरूको हकमा, जब तिनीहरू परमेश्‍वरको घरमा कर्तव्य गर्छन्, तिनीहरूले कसको लागि कर्तव्य गर्छन् भन्‍ने सम्बन्धमा यो नै तिनीहरूको आधारभूत बुझाइ हो: जब तिनीहरू मण्डलीभित्रै कर्तव्यहरू गर्छन्, तिनीहरू मण्डली भनिने संस्था, अर्थात् यो नामको निम्ति कर्तव्य गरिरहेका हुन्छन्। त्यसोभए मण्डलीको तथाकथित वरिष्ठचाहिँ को हो त? त्यो अवश्यै स्वर्गको परमेश्‍वर हो, जुन सबैको मनमा निर्विवाद छ। परमेश्‍वरको घरको लागि काम गर्नुलाई धेरैजसो मानिसहरूले त्यो नाम र दाजुभाइ-दिदीबहिनीहरूको समूहको लागि काम गर्नुको रूपमा बुझ्छन्, र यसलाई निश्‍चय नै कर्तव्य गर्नुमा वर्गीकरण गर्न सकिन्छ; यो कर्तव्य गर्नु नै हो, र यो अवश्यै परमेश्‍वरप्रति पनि लक्षित हुन्छ। त्यसकारण, मानिसहरूको मनमा, मण्डली, दाजुभाइ-दिदीबहिनीहरू, र परमेश्‍वरको घरलाई बराबर मान्न सकिन्छ, यी सबै स्वर्गको अस्पष्ट परमेश्‍वरप्रति लक्षित हुन्छन्। यसले के बुझाउँछ? धेरैजसो मानिसहरूको हकमा, परमेश्‍वरको घरमा, कर्तव्यहरू गर्ने होस् वा मामलाहरू व्यवस्थापन गर्ने, तिनीहरूले त्यो काम अमूर्त संस्थाको रूपमा मण्डलीको लागि, दाजुभाइ-दिदीबहिनीहरूको मूर्त समूहको लागि, र विशेषगरी स्वर्गको अस्पष्ट र अदृश्य परमेश्‍वरको लागि गरिरहेका हुन्छन्—तिनीहरूले आफ्नो कर्तव्य गर्ने यी तीनको लागि हो। देहधारी परमेश्‍वरको कुरा गर्नुपर्दा, मानिसहरूले उहाँलाई मण्डलीको एक सदस्य, वा दाजुभाइ-दिदीबहिनीहरूमध्ये सर्वोच्च अगुवाको रूपमा मान्न सक्छन्, अनि अवश्य नै कतिपयले ख्रीष्टलाई परमेश्‍वरको घरको प्रवक्ता वा प्रतिनिधिको रूपमा पनि बुझ्छन्। त्यसकारण, धेरै मानिसहरूको लागि, तिनीहरू मण्डलीमा कसको निम्ति कर्तव्यहरू गरिरहेका छन् भन्‍ने अवधारणा निकै अस्पष्ट हुन्छ। उदाहरणको लागि, यदि कसैलाई दाजुभाइ-दिदीबहिनीहरूको निम्ति केही काम गर्न, वा कुनै सेवा प्रदान गर्न आग्रह गरियो भने, तिनीहरू त्यसो गर्नुलाई पूर्णतया जायज मान्छन्। अथवा यदि तिनीहरूलाई मण्डली वा परमेश्‍वरको घरको लागि केही गर्न आग्रह गरियो भने, तिनीहरू त्यो गर्न खुसी हुन्छन्, र त्यो आफ्नो अकाट्य कर्तव्य भएको महसुस गर्छन्। तर यदि देहधारी ख्रीष्टले तिनीहरूलाई उस्तै काम गराउनुभयो वा सुम्पनुभयो भने, तिनीहरू निराश हुन्छन्: “एउटा व्यक्तिको लागि काम गर्ने? म मानिसहरूको सेवा गर्नको लागि परमेश्‍वरमा विश्‍वास गर्न आएको होइन; म आफ्नो कर्तव्य गर्न आएको हुँ। म कसैलाई पर्खेर बस्न आएको होइन, म यहाँ कसैको लागि सेवा गर्न आएको होइन!” मण्डलीमा कर्तव्य गरिरहेका मानिसहरू धेरै छन्। यदि तैँले तिनीहरूलाई मण्डलीको लागि केही गर्न, परमेश्‍वरको घर वा दाजुभाइ-दिदीबहिनीहरूको लागि केही गर्न आग्रह गरिस् भने, तिनीहरू खुसीसाथ यी कामहरू स्विकार्छन्, र आफूसँग त्यसो गर्ने ठोस आधार रहेको महसुस गर्छन्। कस्तो आधार? “म यो परमेश्‍वरले दिनुभएको मानेर स्विकार्छु; यो मेरो कर्तव्य हो, मेरो जिम्मेवारी हो।” तर देहधारी परमेश्‍वरले तिनीहरूलाई केही काम अह्राउनुहुँदा, तिनीहरूको “परमेश्‍वरले दिनुभएको मानेर स्विकार्ने” सिद्धान्त गायब हुन्छ, र तिनीहरू त्यो गर्न निरुत्सुक, बेखुसी र अनिच्छुक हुन्छन्। तिनीहरू सोच्छन्, “यदि त्यो मण्डलीको लागि हो भने, ठिक छ, किनभने म मण्डलीको लागि काम गर्ने व्यक्ति हुँ; यदि त्यो दाजुभाइ-दिदीबहिनीहरूको लागि हो भने, उनीहरू सबै परमेश्‍वरको घरकै अर्थात् परमेश्‍वरकै हुन्, त्यो पनि ठिक छ; यदि त्यो परमेश्‍वरको घरको लागि हो भने, ‘परमेश्‍वरको घर’ भन्‍ने यो नाम अत्यन्तै पवित्र, अत्यन्त भव्य र आदर्शमयी छ, परमेश्‍वरको घरको लागि काम गर्नु पूर्ण रूपले जायज छ; त्यसले महिमा र कदर ल्याउँछ। तर तपाईंजस्तो महत्त्वहीन व्यक्तिको लागि केही गर्नु, यो के हो? के यो मैले आफ्नो कर्तव्य गर्नु हो? यो सही वा उचित देखिँदैन। यो मेरो कर्तव्य गर्नु होइन, न त काम नै हो। मैले यसलाई कुन रूपमा हेर्नुपर्छ?” तिनीहरू यसलाई कसरी सम्हाल्ने भन्‍नेबारे निश्‍चित नभएर दोधारमा पर्छन्। तिनीहरू सोच्छन्, “यो काम होइन, न त यो मेरो कर्तव्य गर्नु हो, र यसबाट निश्‍चय नै दाजुभाइ-दिदीबहिनीहरूलाई लाभ मिल्दैन। यदि तपाईं मलाई तपाईंको निम्ति यो गर्न आग्रह गर्नुहुन्छ भने ठिक छ, म गर्न त गर्नेछु, तर म त्यसमा खुसी वा सन्तुष्ट हुनेछैन। यो सही वा उचित देखिँदैन! मैले तपाईंको लागि जे गरेँ त्यो कसले सम्झिनेछ वा थाहा पाउनेछ? के त्यसले कसैको निगाह प्राप्त गर्न सक्छ? के त्यसबाट मलाई कुनै इनाम मिल्छ? के त्यो मेरो कर्तव्य गरेकोमा गनिन्छ? के मैले त्यसलाई सत्यता सिद्धान्तहरूअनुसार गर्नुपर्छ?” तिनीहरू हृदयमा अनिच्छुक हुन्छन्, स्विकार्न नहुने काम स्विकारेझैँ त्यो असहज र अनावश्यक भएको महसुस गर्छन्। तिनीहरू समस्यामा परेको महसुस गर्छन् र आनाकानीपूर्वक त्यसो गर्छन्, साथै केही लाभको आशा राख्छन्, मुखर फोरेर “म यो काम गर्न चाहन्नँ” भनेरसमेत भन्छन्, र निकै आनाकानी गर्छन्। म यदि तँ त्यो काम गर्न चाहँदैनस् भने, म भन्छु, तैँले गर्नुपर्दैन। म जबरजस्ती कसैलाई पनि मेरो निम्ति व्यक्तिगत काम गराउँदिनँ। यदि तँ गर्न चाहन्छस् भने गर्; गर्न चाहँदैनस् भने, म अरू नै कोही खोज्नेछु। जो इच्छुक छ, म उसैलाई गराउनेछु। त्य सामान्य कुरा होइन र? परमेश्‍वरको घरमा पछ्याउने मानिसहरू यति धेरै भएपछि, त्यो काम गर्न सहमत र इच्छुक व्यक्ति खोज्न सजिलो छ। म त्यस्तो व्यक्ति भेट्टाउन सक्छु। तँलाई नै रोज्नुपर्छ भन्‍ने छैन; यो निकै सजिलो छ! के परमेश्‍वरको घरमा भरपर्दो, निष्कपट, र काम सम्हाल्न सक्ने व्यक्ति भेट्टाउन गाह्रो छ र? (छैन।) मैले निजी तवरमा कुनै पनि व्यक्तिसँग अत्यन्तै निकट वा राम्रो सम्बन्ध विकास नगरेको, र कुनै व्यक्तिगत मित्रता वा गहिरो भावनात्मक नाताहरू नगाँसेको भए पनि, यी तीस वर्षमा, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका सबैले खाएका, पिएका र सुनेका भनेकै मेरा वचनहरू हुन्। यी मानिसहरूले, सारमा होस् वा हृदयको गहिराइमा, बाहिरी रूपमा होस् वा शाब्दिक रूपमा, मलाई नै विश्‍वास गर्छन् र पछ्याउँछन्। मैले सिधै कसैलाई पनि विशेष लाभ वा प्रतिज्ञाहरू नदिएको, र सिधै कसैलाई प्रशंसा वा बढुवा नगरेको भए पनि, जसले मलाई सुरुदेखि हालसम्म पछ्याएको छ उसले प्रचुर मात्रामा परमेश्‍वरका वचनहरू खाएको र पिएको छ। मैले बोलेको कुरामार्फत, यी मानिसहरूले चाहे केही सत्यताहरू बुझेका भए पनि वा चाहे आचारणसम्बन्धी धर्मसिद्धान्तहरू बुझेका भए पनि, के तिनीहरूले धेरै कुरा हासिल गरेका छैनन् र? (छन्।) यो दृष्टिकोणबाट हेर्दा, म तिमीहरूप्रति ऋणी हुनुनपर्ने, होइन र? मैले यसो भन्न नहुने हो, तर आज मैले यो कुरा भन्नैपर्छ। तिमीहरूचाहिँ मप्रति ऋणी हुनुपर्ने होइन र? (हो।) त्यसोभए, यदि मैले व्यक्तिगत रूपमा तिमीहरूमध्ये कसैलाई केही गर्न अह्राएँ भने, तिमीहरू अनिच्छुक हुँदैनौ, होइन त? (हामी इच्छुक छौँ।) जुनसुकै दृष्टिकोणबाट भए पनि, मैले तिमीहरूलाई केही गर्न आग्रह गर्दा, के मैले तिमीहरूलाई फकाउनु वा खुसामद गर्नुपर्ने हो, वा मिठा वचन र प्रतिज्ञाहरू दिनुपर्ने हो त? (होइन।) तर कतिपय मानिसहरू अनिच्छुक हुन्छन्, र भन्छन्: “तपाईंको लागि केही गर्न किन कुनै प्रेरणा मिल्दैन? त्यसबाट कुनै लाभ नहुने मात्र नभई त्यो थकानयुक्त र समस्याजनक पनि छ!” यो सुन्दा तिमीहरूलाई कस्तो महसुस हुन्छ? (कन्सिरी तात्छ) यदि संसारको नजरमा मामुली रहेको कुनै साधारण व्यक्तिलाई कुनै उच्च अधिकारीले कुनै काम सुम्प्यो र उसलाई भेट्न आयो भने, ज्यादै खुसी र सम्मानित् महसुस गरेर उसले त्यसलाई हरतरिकाले चापलुसी गर्ने कोसिस गर्न सक्छ, र उसले त्यो सानो मामलालाई जीवनभर कहिल्यै बिर्सने पनि छैन। यदि मानिसहरूले हैसियत भएको व्यक्तिलाई यस्तो व्यवहार गर्न सक्छन् भने, ख्रीष्टलाई किन त्यस्तै व्यवहार गर्न सक्दैनन्? तिनीहरू किन यसो गर्न सक्दैनन्? किन यस्तो हुन्छ? (किनभने मानवहरू जन्मसिद्ध रूपमै परमेश्‍वरप्रति शत्रुवत्‌ हुन्छन्।) ठिक भनिस्; यसले त्यही कुरा प्रमाणित गर्छ। मानिसहरू उच्च हैसियतको शैतानसँग मिल्न सक्छन्, तर तिनीहरू हृदयबाटै ख्रीष्टलाई घृणा गर्छन्, उहाँलाई प्रतिरोध र अस्वीकार गर्छन्, नकार्छन्, र त्याग्छन्। यदि कुनै दियाबलसलाई ढोग्न र आराधना गर्न लगाइयो भने, तिनीहरू खुसीसाथ घुँडा टेक्छन्, तर जोबाट तिनीहरूले अत्यन्तै धैरै कुरा पाएका छन्, त्यही ख्रीष्ट अर्थात् यस साधारण व्यक्तिलाई ढोग्न लगाइयो भने, तिनीहरू परमेश्‍वरलाई आफूसरह ठानेर उहाँसित उभिन र बोल्न वा अन्तरक्रिया गर्नसमेत अनिच्छुक हुन्छन्। यस्ता प्राणीहरू के हुन्? तिनीहरू पैशाचिक हुन्, मानव हैनन्। पछि, मैले अरू कसैलाई उक्त काम सम्हाल्न आग्रह गरेँ, र यो व्यक्तिले राम्रोसँग गर्‍यो। यसबारे सन्देश ल्याउने व्यक्तिले भन्यो: “यसपटक उक्त काम सम्हाल्ने व्यक्ति साँच्चिकै खुसी छ, ऊ परमेश्‍वरको लागि केही गर्न साँच्चिकै इच्छुक छ।” मैले भनेँ, “ठिक छ, यदि ऊ इच्छुक छ भने राम्रो हो। तर यस्तो सानो काम गर्नु कुनचाहिँ ठूलो कुरा हो र? यो अपेक्षित नै हो, त्यो घोषणा गर्न कुनै सन्देश पठाउनु आवश्यक छैन।” यो पठाइएको सन्देशबारे तिमीहरूलाई के लाग्छ? यो सुन्दा तिमीहरूलाई कस्तो महसुस हुन्छ? के यसले तिमीहरूलाई भावशून्य महसुस गराउँछ? (गराउँछ।) यसले तिमीहरूलाई किन भावशून्य महसुस गराउँछ? (यो मानिसहरूले गर्नुपर्ने कुरा नै हो, तर तिनीहरू आफूलाई परमेश्‍वरसामु कृपापात्र बनाउने कोसिस गरिरहेका हुन्छन्, मानौँ परमेश्‍वरको लागि केही गर्नु भनेको परमेश्‍वरलाई ठूलो निगाह प्रदान गर्नु हो।) त्यसोभए, यो भन्‍नेचाहिँ कस्तो व्यक्ति हो? उसको चरित्र कस्तो छ? (उसको चरित्र निकृष्ट छ, उसमा समझ छैन।) यो मानवताको कमी हुनु हो।

कतिपय मानिसहरूको हकमा, तिनीहरूले परमेश्‍वरको अनुग्रह र आशिष्‌हरूबारे, परमेश्‍वरले मान्छेलाई भरणपोषण गर्नेबारे सुन्नेबित्तिकै, तिनीहरूको हृदय अत्यन्तै भावुक हुन्छ, र तिनीहरूले परमेश्‍वरलाई निरन्तर धन्यवाद दिइरहन्छन्: “परमेश्‍वरले मान्छेलाई अति धेरै प्रेम गर्नुहुन्छ!” तिनीहरू अत्यधिक मात्रामा उत्साहित हुन्छन्! जबजब यी विषयहरू उल्लेख हुन्छन्, तब यी मानिसहरूका आँखा आँसुले भरिन्छन्, तिनीहरूका हृदय मार्मिक हुन्छन्, र तिनीहरू आफूलाई लगनसाथ परमेश्‍वरमा अर्पित गर्न दृढसङ्कल्पित हुन्छन्। तर जब तिनीहरूलाई यस अदृश्य र अमूर्त देहधारी परमेश्‍वरको लागि थोरै केही गर्न आग्रह गरिन्छ, तब तिनीहरू अत्यन्तै अपमानित महसुस गर्छन्, र निरुत्सुक र अनिच्छुक बन्छन्। यहाँ के भइरहेको छ? (तिनीहरू अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्छन्, देहधारी परमेश्‍वरमा होइन। तिनीहरू स्वर्गको अस्पष्ट परमेश्‍वरलाई भव्य ठान्छन्, तर देहधारी परमेश्‍वरलाई महत्त्वहीन देख्छन्।) मैले सुनेको छु, कति मानिसहरू दाजुभाइ-दिदीबहिनीहरूका जुत्ता सफा गर्न, मोजा धुन, र कपडासमेत धोइदिन अत्यन्तै तयार हुन्छन्, तर ख्रीष्टको लागि केही गर्न आग्रह गर्दा, तिनीहरू अनिच्छुक हुन्छन्। अरूले यो देखिसहँदैनन् र भन्छन्, “यो व्यक्तिलाई के भएको छ? ऊ ख्रीष्टको लागि भन्दा दाजुभाइ-दिदीबहिनीहरूको लागि काम गर्न रुचाउँछ। यो कस्तो व्यक्ति हो?” कतिपय मानिसहरू, मैले कुनै काममा खटाउँदा, र परमेश्‍वरको घरका सिद्धान्तहरू र मण्डलीका नियमहरूअनुसार कार्य गर्न लगाउँदा, त्यो सुनेपछि त्यसलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू भन्छन्: “तपाईं के कुरा गर्दै हुनुहुन्छ? मैले दाजुभाइ-दिदीबहिनीहरूलाई सोध्नुपर्छ; मैले दाजुभाइ-दिदीबहिनीहरूबारे विचार गर्नुपर्छ, ताकि उनीहरूमध्ये अधिकांशलाई लाभ होस्।” उदाहरणको लागि, मैले केही मानिसहरूलाई फलफूलका बिरुवा रोप्ने जिम्मेवारी दिएँ र यो क्षेत्रमा कस्ता फलफूलका बिरुवा रोप्न उपयुक्त छ भनी बजारमा गएर हेर्न पनि निर्देशन दिएँ। एकातिर, ती स्थानीय हावापानी र माटोको लागि उचित हुनैपर्छ, र अर्कोतिर, हामीले कुन फलफूललाई स्थानीय जनताले उच्च पौष्टिक महत्त्वका ठान्छन् भनी हेर्नुपर्छ र तिनलाई छानेर उचित मात्रामा रोप्नुपर्छ। मैले बोलिसकेपछि, मेरो कुरा सुन्नेहरूले कस्तो कार्य गर्नुपर्छ? (तिनीहरूले तपाईंले भन्नुभएको कुरालाई तत्काल कार्यान्वयन गर्नुपर्छ।) तिनीहरूले त्यसलाई कसरी कार्यान्वयन गर्नुपर्छ? (तिनीहरूले सान्दर्भिक जानकारीहरू खोज्नुपर्छ, ज्ञान भएका मानिसहरूलाई सोध्नुपर्छ, त्यसका ससाना विवरणहरूबारे केही सिक्नुपर्छ, र त्यसलाई कार्यान्वयन गर्नुपर्छ।) त्यस तरिकाले कार्यान्वयन गर्नु नै मेरा निर्देशनहरू पछ्याउनु हो, जुन स्थानीय हावापानीबारे विचार गर्ने र कुन फलफूल पोषणयुक्त छन् भनी जाँच्ने भन्‍ने हो। अब, के तिमीहरूलाई मेरा सोचविचारहरू बृहत्‌ र व्यावहारिक थिए भन्‍ने लाग्छ? तर मेरो कुरा सुन्नेहरूले तिनलाई कसरी कार्यान्वयन गरे? तिनीहरूले स्थानीय मण्डलीका सारा दाजुभाइ-दिदीबहिनीहरूको राय सोधे, सबैलाई कस्तो फलफूल खाना मन पर्छ भनी सोधे, र त्यसपछि रोप्नको लागि सबैका प्रिय फलफूलको सङ्ख्या र मात्रा हिसाब गरे। तिनीहरूले त्यसलाई यसरी कार्यान्वयन गरे। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका रायहरू खोजे, यस समूह र यस पदवीनामलाई नै हृदयमा सर्वोच्च ठाने। दाजुभाइ-दिदीबहिनीहरूको सेवा गर्नु नै तिनीहरूको कर्तव्यको उद्देश्य र लक्ष्य हो। तिनीहरूलाई लाग्छ कि दाजुभाइ-दिदीबहिनीहरूको सेवा गर्नु नै परमेश्‍वरको घरको सेवा गर्नु हो, र परमेश्‍वरको घरको सेवा गर्नु नै दाजुभाइ-दिदीबहिनीहरूको सेवा गर्नु हो। दाजुभाइ-दिदीबहिनीहरू खुसी र सन्तुष्ट भए भने, परमेश्‍वर पनि खुसी र सन्तुष्ट हुनुहुन्छ। दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरका पूर्ण प्रतिनिधि हुन्, सत्यताका प्रतीक हुन्, र परमेश्‍वरका प्रवक्ता हुन्। दाजुभाइ-दिदीबहिनीहरूकै अन्तिम निर्णय चल्छ; उनीहरू नै परमेश्‍वरको घरका मुख्य आधार हुन्। त्यसकारण, जे गरिए पनि, त्यसलाई दाजुभाइ-दिदीबहिनीहरूको पदवीनाम र समूहबाट छुट्ट्याउन मिल्दैन। परमेश्‍वरको घरमा काम गर्ने वा कर्तव्य निभाउने जोकसैको लागि, दाजुभाइ-दिदीबहिनीहरू मात्र तिनीहरूको सेवाका उचित लक्षित पात्रहरू हुन्। तिनीहरूले त्यसलाई त्यसरी नै कार्यान्वयन गरे; मेरो कुराले कुनै अर्थ राख्दैनथ्यो। मेरा निर्देशनहरू जति पूर्ण भए पनि, तिनीहरूको निम्ति ती खोक्रो धर्मसिद्धान्त, र नाराहरू मात्र थिए। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना रायहरू पूर्ण रूपमा व्यक्त गर्न दिनु, उनीहरूलाई बोल्ने र निर्णय गर्ने पर्याप्त अधिकार दिनु, साथै परमेश्‍वरको घरमा लोकतन्त्र अभ्यास गर्नु नै सर्वोच्च सत्यता हो भन्‍ने विश्‍वास गर्थे। मैले जे भने पनि, तिनीहरूले त्यसलाई यसरी हेर्थे: “तपाईं काम गरेको बहाना मात्र गर्नुहुन्छ, झारा टार्नुहुन्छ, र त्यसपछि त्यो दाजुभाइ-दिदीबहिनीहरूको जिम्मेवारी बन्छ, तपाईंको जिम्मेवारी रहँदैन। तपाईं पन्छिन सक्नुहुन्छ! हामी के खान्छौँ र पिउँछौँ भन्‍ने कुराको तपाईंसँग कुनै सरोकार छैन; पैसा मात्र तिर्नुहोस्, अरू केही पनि गर्नु पर्दैन। हामीलाई खान र पिउन पुग्छ, त्यो नै सर्वोच्च सत्यता हो। परमेश्‍वरको घरको सेवा गर्नु, दाजुभाइ-दिदीबहिनीहरूको सेवा गर्नु, दाजुभाइ-दिदीबहिनीहरूलाई खुसी पार्नु, उनीहरूलाई पूर्ण मानव अधिकार र स्वतन्त्रता दिनु, यो नै सर्वोच्च सत्यता हो।” यी कस्ता मानिसहरू हुन्? के ख्रीष्टविरोधीहरूले यसै गर्नेथिएनन् र? ख्रीष्टविरोधीहरू सत्यताप्रति प्रतिकूल रहने पहिलो प्रकटीकरण भनेको तिनीहरू सत्यतालाई निन्दा र अस्वीकार गर्छन्; त्यसपछि, तिनीहरूले आफूलाई व्यवहार र कार्यान्वयन योग्य लागेका वैकल्पि सिद्धान्त र नाराहरू खोज्छन्, सार्वजनिक रूपमा सत्यता उल्लङ्घन गर्छन्, र ख्रीष्टलाई सार्वजनिक रूपमा निन्दा र इन्कार गर्छन्। ख्रीष्टविरोधीहरू यस्तै सानो मामलामा खुलासा हुन्छन्। के तिनीहरू सत्यता स्विकार्ने मानिसहरू हुन् त? (होइनन्।)

म प्राय: केही मानिसहरूले यसो भनेको सुन्छु, “ओहो, हेर त दाजुभाइ-दिदीबहिनीहरू कति निराश छन्”; वा, “ओहो, हेर त दाजुभाइ-दिदीबहिनीहरू कति खुसी छन्”; वा, “ओहो, हेर त दाजुभाइ-दिदीबहिनीहरूलाई कति धेरै प्रहार गरिएको छ; उनीहरूले साँच्चै दु:ख भोगिरहेका छन्।” तिनीहरूको हृदयमा दाजुभाइ-दिदीबहिनीहरूले किन यति उच्च हैसियत राख्छन्? तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई किन त्यति धेरै प्रेम गर्छन्? यति धेरै मानिसहरूलाई प्रेम गर्ने तिनीहरू कति उदार होलान्? ल ठिक छ; म केही कुरा भन्‍नेछु र तैँले मैले भनेझैँ गर्, हुन्छ? तैँले यति धेरै मानिसहरूलाई राख्न सक्छस्, त्यसैले मजस्तो थप एक व्यक्तिलाई थप्दा कुनै समस्या हुँदैन, होइन र? तैँले मलाई पनि राख्न सक्नुपर्ने होइन र? त्यसको उल्टो, तिनीहरू मैले भनेको मान्न सक्दैनन्, न त मलाई राख्न मात्र नै सक्छन्। तिनीहरूले सारा दाजुभाइ-दिदीबहिनीहरूलाई राख्न सक्छन्, मण्डलीका सबैलाई राख्न सक्छन्, तर ख्रीष्टलाई राख्नै सक्दैनन्। यो कस्तो प्राणी हो? के यो मानवजाति हो? के यस्तो व्यक्ति ख्रीष्टको अनुयायी हुन योग्य हुन्छ? (हुँदैन।) त्यसोभए हामीले तिनीहरूलाई कसरी परिभाषित गर्नुपर्छ? (दियाबलस, ख्रीष्टविरोधी भनेर।) के तिनीहरू परमेश्‍वरको घरका लोकतान्त्रिक निर्वाचनहरूको अवधारणालाई गलत व्याख्या गरिरहेका छैनन् र? दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वरको घरका मामलाहरूमा संलग्न गराएर, उनीहरूलाई आफ्ना रायहरू व्यक्त गर्न दिएर, उनीहरूलाई अगुवाहरू चयन गर्न र बदल्न दिएर, साथै उनीहरूलाई निर्णयहरू गर्न दिएर—के तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू परमेश्‍वरको घरका वरिष्ठ हुन् भन्‍ने लाग्छ? के यो परमेश्‍वरको घरका लोकतान्त्रिक निर्वाचनहरूबारे गलतबुझाइ होइन र? लोकतान्त्रिक निर्वाचनहरूको सिद्धान्त के हो? के दाजुभाइ-दिदीबहिनीहरूलाई लोकतान्त्रिक तरिकाले मत हाल्न दिनुको अर्थ तिनीहरूले अन्तिम निर्णय गर्न सक्छन् भन्‍ने हो? के त्यसको अर्थ मानिसहरूका भ्रष्ट स्वभावहरूलाई नै अन्तिम निर्णय गर्न दिनु हो? होइन, यसको अर्थ दाजुभाइ-दिदीबहिनीहरू, अर्थात् यी प्राकृतिक र भ्रष्ट मानवहरू आफैलाई शक्ति सम्हाल्न दिनु होइन, यो त दाजुभाइ-दिदीबहिनीहरूले हृदयमा बुझेको सत्यतालाई चाहिँ शक्ति सम्हाल्न दिनु हो। यो आवेशीपनलाई शक्ति सम्हाल्न दिनु होइन, यो मानव धारणाहरूलाई शक्ति सम्हाल्न दिनु होइन, यो मानव विद्रोह र प्रतिरोधलाई शक्ति सम्हाल्न दिनु होइन, र यो मानिसहरूका दुष्ट स्वभावहरूलाई शक्ति सम्हाल्न दिनु होइन—यो त सत्यतालाई शक्ति सम्हाल्न दिनु हो। कति मानिसहरू सोध्छन्, “केही मण्डलीका निर्वाचनहरूबाट अन्त्यमा किन ख्रीष्टविरोधीहरू नै चुनिन्छन्, वा मण्डलीका अगुवा र सेवकहरूले किन गलत निर्णयहरू गर्छन्?” किनभने मानिसहरूको कद अत्यन्तै सानो छ; तिनीहरू सत्यता बुझ्दैनन् र मानिसहरूलाई खुट्ट्याउन सक्दैनन्। तर मण्डलीका निर्वाचनहरूको सिद्धान्त सत्यता सिद्धान्तहरूमा आधारित हुन्छ; यो सत्यताको जगमा निर्मित हुन्छ। त्यसैले, यी ख्रीष्टविरोधीहरूले—यी आत्मिक बुझाइ नभएकाहरूले—गलत रूपमा के विश्‍वास गर्छन्? तिनीहरूले परमेश्‍वरको घरमा दाजुभाइ-दिदीबहिनीहरूलाई महान् भनेर सम्मान गरिने, दाजुभाइ-दिदीबहिनीहरूलाई उच्च पारिने, र दाजुभाइ-दिदीबहिनीहरूको नामपदवी र समूहलाई परमेश्‍वरको नजरमा सम्मानयोग्य रूपमा हेरिने भन्ठान्छन्। तर खासमा, के दाजुभाइ-दिदीबहिनीहरू सम्मानयोग्य हुन्छन् त? के उनीहरूमा सत्यता हुन्छ त? धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूमा सत्यता वास्तविकता हुँदैन, उनीहरूका कार्यहरूमा सिद्धान्तहरू हुँदैनन्, साथै उनीहरूले परमेश्‍वरको घरका विभिन्न कार्य परियोजनाहरूमा अराजकतासमेत सिर्जना गर्न सक्छन्। यदि माथिबाट समस्याहरूमा हस्तक्षेप, साथै सामयिक सुधार र समाधान नगरिने हो भने, के यी दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य राम्ररी गर्न सक्लान् त? उनीहरूले आफ्नो कर्तव्य राम्ररी गर्न नसक्ने मात्र होइन, उनीहरूले धेरै बाधा र अवरोधहरू सिर्जना गर्नसमेत सक्छन्। के यी मानिसहरूमा सत्यता हुन्छ त? के उनीहरू महान् भनी सम्मानित हुन योग्य छन् त? छैनन्। त्यसोभए किन ख्रीष्टविरोधीहरू अझै यस तरिकाले व्यवहार गर्छन् त? यो तिनीहरूको जन्मसिद्ध प्रकृति हो। तिनीहरू सत्यता नकार्न र ख्रीष्टलाई निन्दा गर्न बहाना खोज्छन्—के यो तिनीहरूको जन्मसिद्ध प्रकृति होइन र? तिनीहरूमा शैतानको प्रकृति छ; तिनीहरू बेकाबु रूपले त्यसद्वारा प्रेरित छन्।

आजको सङ्गति मुख्यगरी कसरी ख्रीष्टविरोधीहरू आफ्नो मुडको आधारमा ख्रीष्टलाई व्यवहार गर्छन् भन्‍नेमा केन्द्रित छ। हामी जे सङ्गति गरिरहेका छौँ त्यसको हरेक पक्ष ख्रीष्टविरोधीहरूको मुडसँग सम्बन्धित छ। बाहिरबाट हेर्दा, त्यो यस्तो देखिन्छ, तर खासमा, यो मुड कसरी पैदा हुन्छ? यो ख्रीष्टविरोधीहरूको भ्रष्ट स्वभाव र सारद्वारा निर्धारित हुन्छ। ख्रीष्टविरोधी सार भएको कारण, तिनीहरूले अनेकथरीका सोचहरू पैदा गर्छन्, र यी विभिन्न सोचहरूद्वारा सञ्‍चालित भएर, तिनीहरूले विभिन्न धारणा, विचार, दृष्टिकोण, र अडानहरू उत्पन्‍न गर्छन्, अनि यसमार्फत तिनीहरूले विभिन्न मुडहरू सिर्जना गर्छन्। यी मुडहरू उत्पन्न भएपछि, ख्रीष्टविरोधीहरूले स्वर्गको परमेश्‍वर र पृथ्वीको परमेश्‍वर—ख्रीष्ट—लाई विभिन्न तरिकाले, र विभिन्न विधि र मनोवृत्तिद्वारा व्यवहार गर्छन्। यी तरिका, विधि, र मनोवृत्तिहरूबाट, ख्रीष्टविरोधीहरूको सार सत्यताप्रति वितृष्ण, सत्यताप्रति शत्रुवत्‌, ख्रीष्टलाई नकार्ने र ख्रीष्टलाई निन्दा गर्ने प्रकारको भएको भनी काफी रूपमा प्रमाणित गर्न सकिन्छ। जब तिनीहरूले सत्यताका साथै देहधारी परमेश्‍वरको सार र पहिचान संलग्न मामलाहरू सामना गर्छन्, तब तिनीहरू जानीबुझी परमेश्‍वरको विरोधमा उभिन्छन्, र परमेश्‍वरका शत्रुहरूको भूमिका खेल्छन्। जब केही पनि बिग्रेको हुँदैन, तिनीहरू परमेश्‍वरको नाम फलाक्छन्, र आफ्नो बोलीमा निरन्तर रूपले “परमेश्‍वर, मेरो परमेश्‍वर” भनेरसमेत भट्याउँछन्। तिनीहरू हरेक कुरामा सुरुमा परमेश्‍वरलाई पुकार्छन्: “परमेश्‍वर, हेर्नूस्,” “परमेश्‍वर, तपाईंलाई थाहा छ,” “परमेश्‍वर, मेरो कुरा सुन्नूस्,” “परमेश्‍वर, मैले एउटा मामलाबारे खोजी गर्नु छ,” “परमेश्‍वर, परिस्थिति यस्तो छ,” आदि इत्यादि। तर “परमेश्‍वर” लाई पुकार्दा, तिनीहरू हृदयमा ख्रीष्टप्रतिका धारणा, शत्रुता, र तिरस्कारले भरिएका हुन्छन्। जब मण्डली, परमेश्‍वरको घर, र ख्रीष्टले विभिन्न वातावरण र परिस्थितिहरू सामना गर्छन्, ख्रीष्ट र परमेश्‍वरप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति बारम्बार बदलिन्छ, र त्यसमा थुप्रै रूपान्तरणहरू आउँछ। ख्रीष्टले तिनीहरूलाई मापदण्डहरू दिनुहुँदा र तिनीहरूलाई दया र मैत्रीभाव देखाउनुहुँदा, तिनीहरूको मनोवृत्ति निकै भद्र र नम्र देखिन्छ; ख्रीष्टले तिनीहरूलाई काटछाँट गर्दै कठोर व्यवहार गर्नुहुँदा, ख्रीष्टप्रति तिनीहरूमा हुने मनोवृत्ति घिन, घृणा र अवहेलनाको हुन्छ, र उहाँलाई बेवास्ता र अस्वीकारसमेत गर्ने खालको हुन्छ। जब ख्रीष्टले प्रस्टसित तिनीहरूलाई इनाम र आशिष्‌हरूको प्रतिज्ञा गर्नुहुन्छ, तिनीहरू हृदयमा गोप्य रूपले रमाउँछन्, साथै उहाँलाई चापलुसी गर्ने, खुसामद गर्ने, र चिल्लो घस्ने कामसमेत गर्छन्, र यी लाभहरू प्राप्त गर्नको निम्ति आफ्नो इज्जत र निष्ठा त्याग्नसमेत हिचकिचाउँदैनन्। तर तिनीहरूको मनोवृत्ति जे-जस्तो भए पनि, तिनीहरू ख्रीष्टलाई साँचो रूपमा कहिल्यै स्विकार्दैनन् र उहाँमाथि कहिल्यै आस्था राख्दैनन्, उहाँप्रति साँचो रूपमा समर्पित हुने त कुरै नगरौँ। ख्रीष्टप्रति तिनीहरूमा पन्छिने, निन्दा गर्ने, र सतर्कपूर्ण हिचकिचाहटको मनोवृत्ति हुन्छ, र तिनीहरू हृदयको गहिराइदेखि नै उहाँलाई अस्वीकार गर्छन्। तिनीहरू जहाँ भए पनि वा तिनीहरूको मुड जस्तो भए पनि, तिनीहरूको सार बदलिँदैन। तिनीहरूले बेलाबेलामा केही अनपेक्षित परिवर्तन वा बदलावहरू देखाए पनि, यी अस्थायी कुराहरू हुन्। यसको कारण के हो भने, ख्रीष्टविरोधीहरूको प्रकृति सार ख्रीष्टप्रति शत्रुवत् हुन्छ, र त्यसैले तिनीहरूले यस साधारण व्यक्तिलाई आफ्नो प्रभु, अर्थात् आफ्नो परमेश्‍वरको रूपमा कहिल्यै स्विकार्नेछैनन्।

कसरी ख्रीष्टविरोधीहरू आफ्नो मुडको आधारमा ख्रीष्टलाई व्यवहार गर्छन् भन्‍नेसम्बन्धी विभिन्न पक्षहरूको सङ्गति मूलत: सकिएको छ। मैले यसअघि तिमीहरूलाई सोधेको, सम्बोधन गर्नुपर्ने अन्तिम सवाल भनेको यी मामलाहरू खुलासा गर्नुको महत्त्व के हो, र मानिसहरूले बुझ्नुपर्ने सत्यता के हो भन्‍ने हो। यी मामलाहरू खुलासा गर्नुको महत्त्व दुइटा पक्षहरूबाट भन्न सकिन्छ। एउटा पक्षले परमेश्‍वरप्रतिको मानिसहरूको साँचो मनोवृत्तिको सार साँच्चिकै के हो भनेर खुलासा गर्छ, र यसले मानवजातिको भ्रष्टताका विभिन्न प्रकटीकरणहरू चिन्न मद्दत गर्छ। यो आफूलाई चिन्न र मानिसहरूका भ्रष्ट स्वभावहरू चिन्न उपयोगी हुन्छ। अर्को पक्षले चाहिँ मानिसहरूलाई परमेश्‍वरप्रति सही मनोवृत्ति वास्तवमा कस्तो हुनुपर्छ भनेर थाहा दिन्छ। तँलाई तैँले परमेश्‍वरलाई जुन तरिकाले व्यवहार गर्छस् त्यो नै उहाँलाई परमेश्‍वरको रूपमा व्यवहार गर्नु हो भन्‍ने लाग्न सक्छ, तर खासमा, यसमा धेरै अशुद्धताहरू छन्, धेरै शैतानी तत्वहरू छन्—यी ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू हुन्, जसलाई परमेश्‍वरले मान्ने वा स्विकार्ने गर्नुहुन्न। यो शुद्ध पारिनुपर्ने अशुद्धता हो। यसमा सकारात्मक र नकारात्मक दुवै मूल्य छ: कम्तीमा पनि, नकारात्मक दृष्टिकोणबाट भन्नुपर्दा, यसले तँलाई यी कुराहरू प्रतिकूल छन्, यी ख्रीष्टविरोधीका प्रकटीकरणहरू हुन् भनेर थाहा दिन्छ। सकारात्मक पक्ष के हो भने, यसले तँलाई परमेश्‍वरले यी कुराहरू मन पराउनुहुन्न, तैँले उहाँलाई यसरी व्यवहार गरेको उहाँले स्विकार्नुहुन्न भनेर थाहा दिन्छ। यसको आशय के हो भने, मानिसहरूलाई परमेश्‍वरप्रतिको आफ्नो व्यवहार जतिसुकै सही, राम्रो, तर्कसङ्गत, वा मानव भावनाहरूसँग मिल्दो लागे पनि, परमेश्‍वरले त्यो स्विकार्नुहुन्न। यदि परमेश्‍वरले त्यो स्विकार्नुहुन्न भने, तैँले के गर्नुपर्छ? यदि तैँले “म त्यो काम यसरी गर्नेछु, मलाई यो राम्रो हो भन्‍ने लाग्छ र म यसमै अडिने छु; चाहे तपाईंले यसलाई स्विकार्नुहोस् वा नस्विकार्नुहोस्, म त सिधा हिसाबले काम गरिरहेको छु” भनेर भनिस् भने, के यो ठिक हो? (होइन।) हामी अरू मामलाको सन्दर्थमा, यो मनोवृत्ति सही हो कि होइन भनेर छलफल गर्नेछैनौँ; परमेश्‍वरलाई व्यवहार गर्ने कुरामा, यस तरिकाले व्यवहार गर्नु निकै खतरनाक हो, र तैँले मार्ग परिवर्तन गर्नुपर्छ। परमेश्‍वरले स्विकार्न नसक्ने कुराप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? मानिसहरूमा हुनुपर्ने एउटै मात्र मनोवृत्ति भनेको परमेश्‍वरबाट आउने सबथोक स्विकार्नु हो; चाहे उनीहरूलाई त्यो राम्रो लागे पनि नराम्रो लागे पनि, त्यो सुन्नलायक वा रूखो र अप्रिय लागे पनि, उनीहरूले निःशर्त रूपमा स्विकार्नुपर्छ र समर्पित हुनुपर्छ, त्यसलाई आफूलाई परिवर्तन र शुद्धीकरण गर्ने सत्यताको रूपमा लिनुपर्छ। यी मामलाहरू खुलासा गर्नुको महत्त्व के हो? के तिनलाई नकारात्मक र सक्रिय, अनि सकारात्मक र उल्टो दुवै पक्षबाट सम्बोधन गरिएको छैन र? त्यसोभए, मानिसहरूले बुझ्नुपर्ने सत्यता के हो त? (परमेश्‍वर नै सत्यता हुनुहुन्छ, परमेश्‍वर नै सृष्टिकर्ता हुनुहुन्छ। चाहे देहधारी रूपमा होस् वा अरू कुनै पनि तरिकाले देखा परेर होस्, उहाँले बोल्नुहुने वचनहरू सत्यता हुन्, र हामीले निःशर्त रूपमा समर्पित हुनुपर्छ र स्विकार्नुपर्छ।) के यो भनाइलाई सबैले आमेन भन्न सक्छौ? (आमेन।) म पनि त्यसलाई आमेन भन्छु; निःशर्त रूपमा स्वीकार गर्नु र समर्पित हुनु, यो नै सत्यता हो। परमेश्‍वर मानिसहरूमाझ जुन रूपमा वा जुन तरिकाले देखापर्नुभए पनि वा जिउनुभए पनि, परमेश्‍वर जुन स्वरूपमा अस्तित्वमा हुनुभए पनि, परमेश्‍वर सदैव परमेश्‍वर नै रहनुहुन्छ। यो नै सत्यता हो, र यो नै मानिसहरूले सबैभन्दा बुझ्नुपर्ने सत्यता हो। दोस्रो कुरा, सृष्टि गरिएको प्राणीमा परमेश्‍वरप्रति निःशर्त समर्पणको मनोवृत्ति हुनुपर्छ। यसअलावा, मानिसहरूले नबुझ्ने अर्को कुरा छ: मानिसहरू किन परमेश्‍वरलाई पछ्याउँछन्? के त्यो न्यास्रोपन मेटाउनलाई हो? के तिनीहरूको दिमाग भर्न र तिनीहरूको आत्मिक खोक्रोपन सम्बोधन गर्नलाई हो? के त्यो तिनीहरूको भावी नियति समाधान गर्नलाई हो? के शुद्ध हुनलाई हो, कि सत्यताको विश्‍वविद्यालय जानलाई हो? मानिसहरू परमेश्‍वरलाई पछ्याएर के समाधान गर्न खोज्छन्? यो मानिसहरूले जान्नुपर्ने कुरा हो। (तिनीहरू आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न खोज्छन्।) ठिक भनिस्। मानिसहरू आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न परमेश्‍वरलाई पछ्याउँछन्। के मानिसहरू आफ्नो भ्रष्ट स्वभावलाई आफैले समाधान गर्न सक्छन्? के प्रसिद्धि, ज्ञान र शिक्षा भएका मानिसहरूले त्यसलाई समाधान गर्न सक्छन्? के मानवजातिमाझ यो समस्यालाई समाधान गर्न सक्ने कोही छ? (यसलाई कसैले पनि समाधान गर्न सक्दैन।) परमेश्‍वर आज यही समस्या समाधान गर्न आउनुभएको छ; देहधारी परमेश्‍वर, अर्थात् परमेश्‍वर स्वयम्‌ले मात्र यसलाई समाधान गर्न सक्नुहुन्छ। मानवझैँ देखिनुहुने देहधारी ख्रीष्टले यो समस्या किन समाधान गर्न सक्नुहुन्छ? मानवहरूसँग भाषा, सोच, र विचारहरू हुन्छन्, तैपनि उनीहरूले किन समाधान गर्न सक्दैनन्? के कुरामा भिन्नता छ? (परमेश्‍वर नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ; मानवहरूसँग सत्यता हुँदैन।) परमेश्‍वर नै सत्यता, मार्ग र जीवन हुनुहुन्छ। यो तथ्यलाई स्विकारेर अनि परमेश्‍वर देहधारी हुनुभएको सारा देहलाई स्विकारेर मात्र मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्न सकिन्छ। यसको आशय मानिसहरू आफ्ना भ्रष्ट स्वभावहरू समाधान गर्न परमेश्‍वरसामु आउँछन् भन्‍ने हुन्छ, जसको अर्थ सत्यता प्राप्त गर्न परमेश्‍वरसामु आउनु हो। सत्यता प्राप्त गरेर मात्र मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्न सकिन्छ। तैँले सत्यता प्राप्त नगरी तिनलाई कसरी समाधान गर्न सक्छस् र? के धर्मसिद्धान्तहरूले भ्रष्ट स्वभाव समाधान गर्न सक्छन् र? के त्यो ज्ञानले गर्न सक्छ? के त्यो धारणा र कल्पनाहरूले गर्न सक्छन्? सक्दैनन्। व्यावहारिक परमेश्‍वरले मात्र तँलाई तिनको समाधान गर्न मद्दत गर्न सक्नुहुन्छ। त्यसकारण, कुनै पनि चर्चित पात्र, महान् व्यक्ति, वा सन्तलाई आराधना गर्नु अर्थहीन छ; तिनले तेरा वास्तविक कठिनाइहरू समाधान गर्न वा तँलाई मुक्ति दिन सक्दैनन्। यसअलावा, कुनै पनि विषय, पेशा, वा ज्ञानको क्षेत्र सिकेर तेरा वास्तविक कठिनाइ वा वास्तविक समस्याहरू समाधान हुन सक्दैनन्। यदि तैँले “म यो साधारण व्यक्तिलाई हेयको दृष्टिले हेर्छु” भनेर भन्छस् भने, तेरो दृष्टिकोण बदलिनुपर्छ। तथ्य यही हो; परमेश्‍वरले यसरी नै कार्य गर्नुभएको छ। यदि तँ परमेश्‍वरलाई आफ्नो जीवनको रूपमा स्विकार्न चाहन्छस् भने, तैँले परमेश्‍वरको हरेक वाक्य र उहाँको हरेक कार्य स्विकार्नुपर्छ। यदि तँ परमेश्‍वरलाई सत्यताको रूपमा मान्छस् भने, तैँले परमेश्‍वर जुन तरिकाले वा जुन रूपमा अस्तित्वमा हुनुभए पनि वा देखा पर्नुभए पनि उहाँ सधैँ सत्यता हुनुहुन्छ भन्‍ने विवादरहित र पूर्ण तथ्यलाई विश्‍वास र स्वीकार गर्नुपर्छ। यो तथ्यलाई स्विकारिसकेपछि, तैँले परमेश्‍वर देहधारण हुनुभएको देह, अर्थात् यस साधारण व्यक्तिलाई कस्तो मनोवृत्तिले हेर्नुपर्छ? त्यसैमा सत्यता खोज्नुपर्छ।

कसरी ख्रीष्टविरोधीहरू आफ्नो मुडको आधारमा ख्रीष्टलाई व्यवहार गर्छन् भन्‍नेसम्बन्धी प्रकटीकरणहरू खुलासा गर्दा, मानिसहरूले बुझ्नुपर्ने अन्तर्निहित सत्यता के हो? केही विषयवस्तुहरू सारांशीकृत गर् ताकि यी कुराहरू प्रष्ट होऊन्, अनि त्यसपछि तैँले यो सत्यता बुझ्छस् र तँ यसबारे प्रस्ट हुन्छस्। (हामीले चारवटा विषयवस्तुहरू सारांशीकृत गर्‍यौँ: पहिलो, परमेश्‍वर सधैँ परमेश्‍वर नै रहनुहुन्छ, र यो नै सत्यता हो। दोस्रो, परमेश्‍वरप्रति सृष्टि गरिएको प्राणीमा निःशर्त समर्पणको मनोवृत्ति हुनुपर्छ। तेस्रो, परमेश्‍वर नै सत्यता, मार्ग, र जीवन हुनुहुन्छ, साथै यो तथ्यलाई स्विकारेर अनि परमेश्‍वर देहधारी हुनुभएको देहलाई पूरै स्विकारेर मात्र मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान गर्न सकिन्छ। चौथो, यदि मानिसहरूले परमेश्‍वरलाई सत्यताको रूपमा मान्छन् भने, तिनीहरूले परमेश्‍वर जुन तरिकाले वा स्वरूपमा रहनुभए पनि वा देखा पर्नुभए पनि, उहाँ सधैँ सत्यता हुनुहुन्छ भन्‍ने विवादरहित तथ्यलाई विश्‍वास र स्वीकार गर्नुपर्छ।) के यी चार विषयवस्तुहरू महत्त्वपूर्ण छन्? (हजुर।) वास्तवमा, यी विषयवस्तुहरू धर्मसिद्धान्तको सन्दर्भमा सबैलाई थाहा छ, तर ख्रीष्टलाई कस्तो व्यवहार गर्ने भन्‍ने मामलामा कुन सत्यता सिद्धान्तहरू संलग्न हुन्छन् भन्‍ने सम्बन्धमा, वास्तविक परिस्थितिहरू सामना गर्दा मानिसहरू दुविधामा पर्छन्। तिनीहरू तिनलाई अभ्यास गर्न जान्दैनन्, र तिनीहरूले पहिले बुझेका सत्यताहरू लागु गर्नै नसकिने धर्मसिद्धान्त मात्र बन्छन्। मानिसहरूले जतिसुकै धर्मसिद्धान्तहरू बुझे पनि त्यो बेकार छ भनी देखाउन यही पर्याप्त छ; सत्यता नबुझेमा, तिनीहरूका समस्याहरू अझै पनि समाधान गर्न सकिँदैन।

जुन २०, २०२०

अघिल्लो: विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग दुई)

अर्को: विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग चार)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्