परिशिष्ट पाँच: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग दुई)
आ. चरित्र र स्वभाव सारबीचको भिन्नता
हामीले पछिल्लो पटक, ख्रीष्टविरोधीहरूको चरित्रको सारांश निकाल्यौँ। के तिमीहरू यसमा के-के पर्छन् भनेर बताउन सक्छौ? (पहिलो विषयवस्तु हो, झुट बोल्ने बानी; दोस्रो हो, कपटी र निर्दयी हुनु; तेस्रो हो, सम्मानबोध नभएको र लाजसरम पचेको बन्नु; चौथो हो, स्वार्थी र दुष्ट हुनु; पाँचौँ हो, शक्तिशालीसँग लपक्क टाँसिनु र कमजोरलाई दमन गर्नु; र छैठौँ हो, सामान्य मानिसहरूले भन्दा भौतिक वस्तुहरूको धेरै चाहना राख्ने हुनु।) समग्रमा छ वटा विषयवस्तु छन्। यी छ विषयवस्तु हेर्दा, ख्रीष्टविरोधीहरूको चरित्रमा मानवता, विवेक, र समझ नरहेको देख्न सकिन्छ। तिनीहरूमा न्यून निष्ठा हुन्छ, र तिनीहरूको चरित्र घिनलाग्दो हुन्छ। उदाहरणका लागि, मानौँ तँ कुनै व्यक्तिको स्वभाव, वा त्यो स्वभाव असल छ कि खराब भनेर जान्दैनस् वा बुझ्न सक्दैनस्, तर उसको चरित्रबारे जानेर तैँले उसको चरित्र घिनलाग्दो छ भन्ने पत्ता लगाउँछस्, जस्तै झुट बोल्ने बानी भएको, सम्मानबोध नभएको, वा कपटी र निर्दयी रहेको। त्यसपछि तैँले उसलाई विवेक, दयालु हृदय, वा भद्र चरित्र नभएको, बरु खराब, एकदमै कमजोर, र दुष्ट मानवता भएको व्यक्तिका रूपमा प्रारम्भिक रूपमा चित्रण गर्न सक्छस्। यदि त्यस्ता मानिसहरूसँग हैसियत छैन भने, तिनीहरूलाई अस्थायी रूपमा दुष्ट मानिसहरूका रूपमा चित्रण गर्न सकिन्छ; तिनीहरूको चरित्र मूल्याङ्कन गर्दा, के तिनीहरूलाई पूर्णतया र सम्पूर्ण रूपले ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्न सकिन्छ? यदि हामीले तिनीहरूको मानवताका यी प्रकटीकरणहरूलाई मात्रै ख्याल गर्ने हो भने, त्यस्ता मानिसलाई ८०% निश्चिततासाथ ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्न सकिन्छ। तिनीहरूमा ख्रीष्टविरोधीहरूको स्वभाव मात्र हुँदैन, र यो केवल तिनीहरूको मानवता दुष्ट, खराब, र कमजोर रहेको अवस्था मात्र होइन, त्यसैले हामीले प्रारम्भिक रूपमा तिनीहरूलाई ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्न सक्छौँ। ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गरिएको कुनै पनि व्यक्तिमा असल मानवता, इमानदारिता, दया, सरलता, सोझोपन, अरूप्रतिको निष्कपटता, वा सम्मानभाव हुँदैन; त्यसकारण चरित्रका यी पक्षहरू हुने कुनै पनि व्यक्ति ख्रीष्टविरोधी हुँदैन। ख्रीष्टविरोधीहरूको मानवता सर्वप्रथम निकै कमजोर हुन्छ। तिनीहरूमा विवेक र समझको कमी हुन्छ, अनि तिनीहरूमा मानवता र उच्च निष्ठा भएका मानिसहरूमा हुने चरित्र निश्चय नै हुँदैन। त्यसकारण, ख्रीष्टविरोधीहरूको चरित्रका आधारमा मूल्याङ्कन गर्दा, यदि तिनीहरूमा हैसियत छैन र तिनीहरू सामान्य अनुयायी वा आफ्नो कर्तव्य पूरा गरिरहेको कुनै समूहका साधारण सदस्य मात्र हुन्, तर तिनीहरूको चरित्र निकै कमजोर छ, अनि तिनीहरूमा ख्रीष्टविरोधीको चरित्रका विशेषताहरू छन् भने, हामीले प्रारम्भिक रूपमा यी मानिसहरूलाई ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गर्न सक्छौँ। अनि छर्लङ्गै देख्न नसकिनेहरूका हकमा चाहिँ के गर्नुपर्छ? तिनीहरूलाई प्रवर्धन गर्नु वा हैसियत दिनु हुँदैन। कतिपयले भन्न सक्छन्, “यदि हामीले तिनीहरूलाई हैसियत दियौँ भने, के त्यसले तिनीहरू ख्रीष्टविरोधी हुन् होइनन् भन्ने कुरा निर्धारित गर्दैन र?” के यो भनाइ सही छ? (अहँ, छैन।) यदि हामीले त्यस्ता मानिसहरूलाई हैसियत दियौँ भने, तिनीहरूले ख्रीष्टविरोधीहरूले गर्ने कुराहरू नै गर्नेछन्, र तिनीहरूले ख्रीष्टविरोधी जे-जे गर्न सक्षम हुन्छ, ती सब गर्नेछन्। सबभन्दा पहिले, तिनीहरूले स्वतन्त्र राज्यहरू स्थापना गर्नेछन्, र त्यस-अतिरिक्त, तिनीहरूले मानिसहरूलाई नियन्त्रण गर्नेछन्। के यस्तो मानिसले परमेश्वरको घरलाई फाइदा हुने कामकुरा गर्नेछ? (अहँ, गर्नेछैन।) यस्ता मानिसहरूले एकपटक हैसियत पाएपछि स्वतन्त्र राज्यहरू स्थापना गर्न, मनोमानी रूपमा कार्य गर्न, बाधा र अवरोध पुर्याउन, गुटहरू बनाउन, र दुष्ट मानिसहरूका सबै कार्य अघि बढाउन सक्छन्। यो त दाखबारीमा स्याल पस्न दिनुसरह हो, अर्थात् परमेश्वरका चुनिएका मानिसहरूलाई दुष्ट मानिसहरूको हातमा राख्नु, र तिनीहरूलाई दियाबलसहरू र शैतानहरूको हातमा सुम्पनुसरह हो। एकपटक यी मानिसहरू सत्तामा आइसकेपछि, तिनीहरू निस्सन्देह नै ख्रीष्टविरोधीहरू हुन् भन्ने पूर्वनिष्कर्ष निस्कन्छ। यदि कसैले कुनै व्यक्ति ख्रीष्टविरोधी हो कि होइन भन्ने कुरा उसको चरित्रका आधारमा मात्रै निर्धारित गर्छ भने, सत्यतथ्य थाहा नभएका, ख्रीष्टविरोधीको स्वभाव सार नबुझ्ने वा खुट्ट्याउन नसक्ने धेरैलाई यो सब अलिक ज्यादा भएजस्तो लाग्न सक्छ। तिनीहरूले यस्तो सोच्न सक्छन्, “केवल यसैका आधारमा किन कसैलाई पूर्ण रूपमा नकार्नु वा निन्दा गर्नु? केही गर्नुअघि नै तिनीहरूलाई ख्रीष्टविरोधीको बिल्ला भिराउनु अन्यायपूर्ण देखिन्छ।” तर ख्रीष्टविरोधीहरूको स्वभाव सारका आधारमा मुल्याङ्कन गर्दा, तिनीहरूमा निस्सन्देह रूपमा नै असल मानवता हुँदैन। पहिलो कुरा त, तिनीहरू निश्चय नै सत्यता पछ्याउनेहरू होइनन्; दोस्रो कुरा, तिनीहरू निस्सन्देह रूपमा नै सत्यतालाई प्रेम गर्दैनन्; यसअतिरिक्त, तिनीहरू परमेश्वरका वचनहरूमा समर्पित हुने, परमेश्वरको डर मान्ने, र दुष्टताबाट अलग बस्ने खालका मानिसहरू बिलकुलै होइनन्। त्यस्ता गुण नहुने मानिसहरूका हकमा, तिनीहरूको चरित्र भद्र छ कि नीच, असल छ कि खराब भन्ने कुरा एकदमै प्रस्ट हुन्छ।
हामीले पछिल्लो भेलामा, ख्रीष्टविरोधीहरूको चरित्रमार्फत प्रकट हुने विविध व्यवहार, बोल्ने र मामला सम्हाल्ने तरिका, आदि इत्यादिबारे सङ्गति गर्यौँ। यदि हामीले कुनै व्यक्ति ख्रीष्टविरोधी हो होइन भन्ने कुरा उसको चरित्रका आधारमा पूर्ण रूपमा निर्धारित गर्न सक्दैनौँ भने, हामीले ख्रीष्टविरोधीहरूको स्वभाव सारबारे थप सङ्गति गर्नु आवश्यक हुन्छ। एकातिर ख्रीष्टविरोधीहरूको चरित्र, र अर्कोतिर तिनीहरूको स्वभाव सार जाँचेर अनि खुट्ट्याएर, र त्यसपछि यी दुवैलाई जोडेर हामीले कुनै व्यक्तिमा ख्रीष्टविरोधी स्वभाव मात्र छ कि ऊ वास्तवमै ख्रीष्टविरोधी हो भन्ने कुरा निर्धारित गर्न सक्छौँ। आज, हामी ख्रीष्टविरोधीहरूमा के-कस्ता स्वभाव सारहरू हुन्छन् त्यसको सारांश निकालौँ। यो एउटा झनै महत्त्वपूर्ण विशेषता हो, जसले हामीलाई कुनै व्यक्ति ख्रीष्टविरोधी हो कि होइन भनेर अझ राम्रोसँग पहिचान गर्ने, खुट्ट्याउने, वा निर्धारण गर्ने तुल्याउँछ।
स्वभावका सम्बन्धमा, हामीले पहिले त्यसको एक ठोस सारांश निकालेका थियौँ—मानिसहरूका भ्रष्ट स्वभावहरू के-के हुन्? (हठीपन, अहङ्कार, छलीपन, सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता।) ती करिबकरिब यिनै छ स्वभावहरू हुन्, अनि स्वार्थीपन र नीचताजस्ता स्वभावका अन्य व्याख्याहरू पनि यी छमध्येकै कुनै एकसँग कहीँकतै सम्बन्धित वा त्योजस्तै छन्। मलाई भन त, के कसैको चरित्र र स्वभाव सारबीच कुनै भिन्नता हुन्छ? त्यो भिन्नता के हो? चरित्र मुख्यतः विवेक र समझका आधारमा मापन गरिन्छ। यसमा कुनै व्यक्तिमा निष्ठा छ कि छैन, उसको निष्ठा उच्च छ कि छैन, उसमा मर्यादा छ कि छैन, उसमा मानव नैतिकता छ कि छैन, त्यो नैतिकता कुन स्तरको छ, ऊसँग आफूलाई कसरी आचरणमा ढाल्ने भन्नेबारे कुनै न्यूनतम सीमारेखा वा सिद्धान्त छ कि छैन, उसको मानवता असल छ कि दुष्ट, अनि ऊ साधारण र इमानदार छ कि छैन भन्ने कुराहरू पर्छन्—यी पक्षहरू मानव चरित्रसँग सम्बन्धित छन्। चरित्र मूलतः मानिसहरूले आफ्नो दैनिक जीवनमा प्रकट गर्ने असलता र दुष्टताप्रतिका, सकारात्मक र नकारात्मक कुराहरूप्रतिका, अनि सही र गलतप्रतिका छनौट र झुकावहरूले बनेको हुन्छ—यो यिनै कुराहरूसँग सम्बन्धित छ। यसमा मुख्य रूपमा सत्यता संलग्न हुँदैन; यसलाई विवेकको मानक, साथै असल र दुष्ट मानवताको मानक प्रयोग गरेर मात्र मापन गरिन्छ, र यो सत्यताको स्तरसम्म खासै पुग्दैन। यदि स्वभाव संलग्न छ भने, यसलाई व्यक्तिको सार प्रयोग गरेरै मापन गर्नुपर्छ। तिनीहरूले असलता वा दुष्टता जे रुचाए पनि, अनि इन्साफ र दुष्टता, साथै सकारात्मक र नकारात्मक कुराहरूको सवालमा, तिनीहरूले के प्रकट गर्छन्, र तिनीहरूका छनौटहरू र तिनीहरूले प्रकट गर्ने स्वभावहरू वास्तवमा के हुन्, अनि तिनीहरूको प्रतिक्रिया के-कस्तो हुन सक्छ—यी कुराहरू सत्यता प्रयोग गरेरै मापन गर्नुपर्छ। यदि कुनै व्यक्तिको चरित्र तुलनात्मक रूपमा दयालु छ भने, यदि उसमा विवेक र समझ छ भने, के उसमा भ्रष्ट स्वभाव छैन भनेर भन्न सकिन्छ? (अहँ, सकिन्न।) यदि कुनै व्यक्ति अत्यन्तै दयालु छ भने, के उसमा अहङ्कार हुन्छ? (हो, हुन्छ।) यदि कुनै व्यक्ति एकदमै इमानदार छ भने, के उसमा हठी स्वभाव हुन्छ? (हो, हुन्छ।) यो भन्न सकिन्छ कि, कुनै व्यक्तिको चरित्र जतिसुकै राम्रो भए पनि, उसको निष्ठा जतिसुकै उच्च भए पनि, यी सबको अर्थ उसमा भ्रष्ट स्वभाव छैन भन्ने हुँदैन। यदि व्यक्तिमा विवेक र समझ छ भने, के यसको अर्थ तिनीहरू कहिल्यै परमेश्वरको प्रतिरोध वा उहाँविरुद्ध विद्रोह गर्दैनन् भन्ने हुन्छ? (अहँ, हुँदैन।) त्यसोभए यो विद्रोह कसरी हुन्छ? यो मानिसहरूमा भ्रष्ट स्वभाव भएकोले, र तिनीहरूको स्वभाव सारमा हठीपन, अहङ्कार, दुष्टता, आदि इत्यादि भएकोले गर्दा हुन्छ। त्यसकारण, व्यक्तिको चरित्र जतिसुकै राम्रो भए पनि, यसको अर्थ ऊसँग सत्यता छ, उसमा भ्रष्ट स्वभाव छैन, वा ऊ परमेश्वरको प्रतिरोध गर्न, उहाँलाई धोका दिन, र उहाँविरुद्ध विद्रोह गर्नबाट जोगिन, अनि सत्यता नपछ्याई परमेश्वरमा समर्पित हुन सक्छ भन्ने हुँदैन। यदि उसमा असल चरित्र छ, ऊ तुलनात्मक रूपमा साधारण, इमानदार, सीधा, दयालु हृदयवाला छ, र उसमा सम्मानबोध छ भने, यसको अर्थ उसमा सत्यता स्विकार्न सक्ने चरित्र भएको कारण उसले सत्यता स्विकार्न, सत्यतालाई प्रेम गर्न, र परमेश्वरले जे गर्नुहुन्छ त्यसमा समर्पित हुन सक्छ भन्ने मात्र हुन्छ।
असल वा खराब चरित्र विवेक, नैतिकता, र निष्ठाजस्ता आधारभूत मापदण्ड प्रयोग गरेर मापन गरिन्छ। तर, व्यक्तिको स्वभाव सारचाहिँ यसभन्दा अघि उल्लेख गरिएका छवटा भ्रष्ट स्वभावहरू प्रयोग गरेरै मापन गर्नुपर्छ। यदि व्यक्तिमा उच्च नैतिक मानक, निष्ठा, विवेक, समझ, र दयालु हृदय छ भने, उसको चरित्र तुलनात्मक रूपमा असल छ मात्र भन्न सकिन्छ। तर, त्यसको अर्थ त्यस व्यक्तिले सत्यता बुझ्छ, ऊसँग सत्यता छ, वा उसले सत्यता सिद्धान्तहरूअनुसार मामिलाहरू सम्हाल्न सक्छ भन्ने हुँदैन। यसले के पुष्टि गर्छ? ऊसँग असल चरित्र, तुलनात्मक रूपमा भद्र निष्ठा, र आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने उच्च नैतिक मानक भए पनि, यसको अर्थ उसमा भ्रष्ट स्वभाव छैन, ऊसँग सत्यता छ, वा उसको स्वभाव पूर्ण रूपमा परमेश्वरका मागहरूअनुरूप हुन्छ भन्ने हुँदैन। यदि व्यक्तिको भ्रष्ट स्वभावमा कुनै परिवर्तन देखिँदैन र उसले सत्यता बुझ्दैन भने, उसको चरित्र जतिसुकै असल भए पनि, ऊ साँचो रूपमा असल व्यक्ति होइन। मानौँ कुनै व्यक्तिले स्वभावमा तुलनात्मक परिवर्तन अनुभव गर्छ, अर्थात्, उसले आफ्ना कार्यहरूमा सत्यता खोज्छ, मामिलाहरू सम्हाल्ने तरिकामा सक्रिय रूपमा सत्यता सिद्धान्तहरू पछ्याउँछ, र सत्यता र परमेश्वरमा समर्पित हुन्छ, अनि बेलाबेलामा उसको भ्रष्ट स्वभाव सतहमा देखा परे पनि, उसले अहङ्कार र छलीपन, र गम्भीर अवस्थामा क्रूर स्वभाव प्रकाश गरे पनि, समग्रमा, उसका कार्यहरूका स्रोत, दिशा, र उद्देश्य सत्यता सिद्धान्तहरूअनुरूप हुन्छन्, र उसले कार्य गर्दा खोजी र समर्पणतासाथ गर्छ। त्यसैले, के उसको चरित्र स्वभावमा कुनै परिवर्तन नदेखाउने व्यक्तिहरूको भन्दा भद्र हुन्छ भनेर भन्न सकिन्छ? (सकिन्छ।) यदि कुनै व्यक्तिको चरित्र केवल प्राकृतिक रूपमा असल छ, र अरूको नजरमा उसको मानवता असल छ, तर उसले सत्यता पटक्कै बुझ्दैन, ऊ परमेश्वरबारे धारणा र कल्पनाहरूले भरिएको छ, ऊ परमेश्वरका वचनहरू अनुभव गर्न जान्दैन, र परमेश्वरले गर्नुहुने सबथोकमा कसरी समर्पित हुने भन्ने त कुरै छोडौँ, ऊ परमेश्वरका योजनाबद्ध कार्य र प्रबन्धहरूलाई कसरी स्वीकार गर्ने भन्नेबारे समेत अनभिज्ञ छ भने, के ऊ साँचो रूपमा असल व्यक्ति हो त? वास्तवमा भन्नुपर्दा, ऊ साँचो रूपमा असल व्यक्ति होइन, तर उसको चरित्र निकै असल छ भनेर चाहिँ ठीकसँग भन्न सकिन्छ। निकै असल चरित्र हुनु भनेको के हो? यसको अर्थ कानून तोड्न र नैतिक सम्बन्धहरू उल्लङ्घन गर्नबाट जोगिनु मात्र नभई, तुलनात्मक निष्ठा हुनु, आफ्ना कार्य र अरूसँगको अन्तरक्रियामा तुलनात्मक रूपमा निष्पक्ष र न्यायसङ्गत हुनु, अरूको फाइदा नउठाउनु, तुलनात्मक रूपमा इमानदार हुनु, अरूलाई चोट वा हानि नपुऱ्याउनु, विवेकसाथ कार्य गर्नु, र निश्चित नैतिक मानक हुनु हो—यो यी दुई मानकभन्दा अलिक उच्च कुरा हो। जब मानिसहरूले यस्तो व्यक्तिसँग अन्तरक्रिया गर्छन्, तिनीहरूलाई त्यो व्यक्ति तुलनात्मक रूपमा सोझो छ र सँगै छँदा तिनीहरू ऊविरुद्ध प्रतिरक्षात्मक रहनुपर्दैन भन्ने महसुस गर्छन्, किनकि त्यस व्यक्तिले अरूलाई हानि वा चोट पुऱ्याउँदैन र ऊसँग अन्तरक्रिया गर्दा मानिसहरूको मन शान्त रहन्छ—यी गुणहरू हुनु भनेको एक निकै असल व्यक्तिको सङ्केत हो। तर, सत्यता बुझ्ने र सत्यता अभ्यास गर्न र त्यसमा समर्पित हुन सक्नेहरूको तुलनामा, त्यस्तो मानवता कत्ति पनि भद्र होइन। अर्को शब्दमा भन्नुपर्दा, व्यक्तिको मानवता जतिसुकै असल भए पनि, त्यसले सत्यता बुझ्नु वा सत्यता अभ्यास गर्नुलाई प्रतिस्थापन गर्न सक्दैन, र त्यसले स्वभावमा परिवर्तनलाई निश्चय नै प्रतिस्थापन गर्न सक्दैन।
चरित्रले मानिसहरूको विवेक, नैतिकता, र निष्ठालाई जनाउँछ। व्यक्तिको चरित्र मापन गर्न उसको विवेक, नैतिकता, र निष्ठालाई मूल्याङ्कन गर्नु आवश्यक हुन्छ। तर स्वभावले के जनाउँछ, र यसलाई कसरी मापन गरिन्छ? यसलाई सत्यताले, परमेश्वरका वचनहरूले मापन गरिन्छ। मानौँ कुनै व्यक्तिको चरित्रको सबै पक्ष राम्रो छ, सबैले ऊ असल व्यक्ति हो भनेर विश्वास गर्छन्, र भ्रष्ट मानवजातिका नजरमा ऊ सिद्ध र पूर्ण छ, उसमा कुनै खोट वा दोष देखिँदैन भनेर भन्न सकिन्छ; तर सत्यताले मापन गर्दा, उसको तथाकथित असलताको सानो अंश पनि मुस्किलले उल्लेख गर्न लायक हुन्छ। उसको स्वभाव जाँच्दा अहङ्कार, हठीपन, छलीपन, दुष्टता, सत्यताप्रतिको वितृष्णा, अनि त्योभन्दा पनि बढी, क्रूर स्वभावको प्रकटीकरणसमेत भेट्टाउन सकिन्छ। के यो तथ्य होइन र? (हो।) व्यक्तिको स्वभाव सारलाई कसरी मापन गरिन्छ? यसलाई सत्यताले, सत्यता र परमेश्वरप्रति व्यक्तिको मनोवृत्तिको मूल्याङ्कन गरेर गरिन्छ। यसरी, त्यस व्यक्तिको भ्रष्ट स्वभाव पूर्णतया र सम्पूर्ण रूपले प्रकाश हुन्छ। मानिसहरूले उसलाई विवेक, निष्ठा, र उच्च नैतिक मानक भएको व्यक्तिका रूपमा देखे पनि, र अरूमाझ उसलाई सन्त वा सिद्ध व्यक्ति मानिए पनि, सत्यता र परमेश्वरसामु आउँदा उसको भ्रष्ट स्वभाव उदाङ्गो हुन्छ, उसमा कुनै सद्गुण हुँदैन, र उसमा पनि बाँकी मानवजातिसमान भ्रष्ट स्वभावहरू छन् भनेर देखिन्छ। जब परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ, मानिसहरूसामु देखा पर्नुहुन्छ, र काम गर्नुहुन्छ, उसले अन्य मानिसहरूझैँ हठीपन, अहङ्कार, छलीपन, सत्यताप्रतिको वितृष्णा, दुष्टता, र क्रूरता जस्ता प्रत्येक भ्रष्ट स्वभावहरू प्रकट गर्छ। के त्यस्ता मानिसहरू सिद्ध होइनन्? के तिनीहरू सन्त होइनन्? के तिनीहरू असल मानिस होइनन्? तिनीहरू अरू मानिसहरूका नजरमा मात्र असल हुन्; मानिसहरूमा सत्यता नहुने र उही भ्रष्ट स्वभावहरू हुने भएकाले, तिनीहरूले एकअर्कालाई मापन गर्ने मानक सत्यतामा नभई केवल विवेक, निष्ठा, र नैतिकतामा आधारित हुन्छ। व्यक्तिको चरित्रलाई सत्यताले मापन नगरिँदा त्यो कस्तो देखिन्छ? के ऊ साँचो रूपमा असल व्यक्ति हो? स्पष्टतः होइन, किनकि अरू मानिसहरूद्वारा असल भनेर निर्क्योल र मूल्याङ्कन गरिएको व्यक्तिमा कुनै पनि भ्रष्ट स्वभावको कमी हुँदैन। त्यसोभए, मानिसहरूका भ्रष्ट स्वभाव कसरी विकसित र खुलासा हुन्छन्? परमेश्वरले सत्यता व्यक्त नगर्दा वा उहाँ मानवजातिसामु देखा नपर्दा, मानिसहरूका भ्रष्ट स्वभाव अस्तित्वमै नरहेझैँ देखिन्छ। तर जब परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूसामु देखा पर्नुहुन्छ, तब तथाकथित सन्त वा अरूका नजरमा सिद्ध मानिसहरूका भ्रष्ट स्वभाव पूर्ण रूपमा खुलासा हुन्छन्। यस दृष्टिकोणबाट हेर्दा, मानिसहरूका भ्रष्ट स्वभाव तिनीहरूको चरित्रसँग सह-अस्तित्वमा रहन्छन्। परमेश्वर देखा पर्नुहुँदा मात्र मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ भन्ने होइन; बरु, जब परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ अनि मानवजातिमाझ देखा पर्नुहुन्छ र काम गर्नुहुन्छ, तब तिनीहरूको भ्रष्ट स्वभाव र कुरूपता उदाङ्गो हुन्छ। यस बिन्दुमा, मानिसहरूले असल चरित्रको पछाडि भ्रष्ट स्वभाव पनि हुन्छ भन्ने कुरा बुझ्छन् र पत्ता लगाउँछन्। असल मानिस, सिद्ध मानिस, वा अरूका नजरमा सन्त देखिनेहरूमा पनि अन्य सबैजस्तै भ्रष्ट स्वभाव हुन्छ, र अन्य व्यक्तिभन्दा कहीँकतै कम हुँदैनन्—यी मानिसहरूका भ्रष्ट स्वभाव अरू मानिसहरूका भन्दा पनि लुकेका हुन्छन् र तिनमा बहकाउने क्षमता झनै बढी हुन्छ। त्यसोभए, भ्रष्ट स्वभाव ठ्याक्कै के हो, र स्वभाव सार भनेको के हो? व्यक्तिको भ्रष्ट स्वभाव उसको सार हो; व्यक्तिको चरित्रले आत्म-आचरणका केही सतही नियमलाई मात्र प्रतिनिधित्व गर्छ, र त्यसले व्यक्तिको मानवता सारलाई झल्काउँदैन। जब हामी व्यक्तिको मानवता सारको कुरा गर्छौँ, हामीले उसको स्वभावलाई जनाइरहेका हुन्छौँ। जब हामीले व्यक्तिको चरित्रको कुरा गर्छौँ, हामी उसमा असल अभिप्राय छन् कि छैनन्, ऊ दयालु हृदयको छ कि छैन, उसको निष्ठा कस्तो छ, र उसमा नैतिक मानकहरू छन् कि छैनन् जस्ता बाहिरी रूपमै देखिने पक्षहरूलाई जनाइरहेका हुन्छौँ। के तिमीहरूले अब चरित्र भनेको के हो र स्वभाव सार भनेको के हो भनी बुझ्यौ? यस मामिलालाई भित्री रूपमा आफ्नो हृदयमा मात्रै बोध गर्न सकिन्छ; यसलाई एउटा शब्द वा वाक्यांशले परिभाषित गर्न सकिँदैन। यो निकै जटिल विषय हो। यदि यसलाई अत्यन्तै सङ्कीर्ण रूपमा परिभाषित र व्याख्या गरियो भने, यो मानकीकृत देखिन सक्छ तर वास्तवमा अस्पष्ट हुन्छ। म यसमाथि कुनै परिभाषा लागू गर्नेछैनँ, मैले यसलाई यसरी व्याख्या गरेको छु, र यदि तिमीहरूले भित्री रूपमा यसलाई बोध गऱ्यौ भने, तिमीहरूले यसलाई बुझ्नेछौ।
मानिसका कुल छ वटा भ्रष्ट स्वभावहरू छन्: हठीपन, अहङ्कार, छलीपन, सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता। यी छमध्ये कुन चाहिँ तुलनात्मक रूपमा गम्भीर हुन्छन्, अनि कुन चाहिँ अलिक साधारण वा सामान्य, तीक्ष्णताको हिसाबले अलिक मन्द, र परिस्थितिको हिसाबले कम तीव्र हुन्छन्? (हठीपन, अहङ्कार, र छलीपन अलिक मन्द हुन्छन्।) त्यो सही हो। तिमीहरूमा मानिसका भ्रष्ट स्वभावहरूका विभिन्न प्रकटीकरणसम्बन्धी अलिकति बोध र बुझाइ भएजस्तो देखिन्छ। यी तीन स्वभाव शैतानद्वारा भ्रष्ट तुल्याइएको मानवजातिमा रहेका भ्रष्ट स्वभावसँग पनि सम्बन्धित छन्, र सारका हिसाबले, तिनलाई परमेश्वरले पनि घृणा गर्नुहुन्छ, ती सत्यतासँग मेल खाँदैनन् र तिनले परमेश्वरको प्रतिरोध गर्छन्, तैपनि तुलनात्मक रूपमा तीक्ष्णताको हिसाबले ती हल्का र छिपछिपे हुन्छन्, अर्थात्, ती अलि बढी सामान्य हुन्छन्; भ्रष्ट मानवजातिको प्रत्येक सदस्यसँग फरक-फरक मात्रामा यी स्वभाव हुन्छन्। यी तीनबाहेक, सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता तीक्ष्णताको हिसाबले तुलनात्मक रूपमा धेरै नै कडा हुन्छन्। यदि अघिल्ला तीनलाई साधारण भ्रष्ट स्वभाव भनिन्छ भने, पछिल्ला तीनचाहिँ असाधारण भ्रष्ट स्वभाव हुन्, जुन तीक्ष्णताको हिसाबले झनै कडा हुन्छन्। ती झनै कडा हुनुको अर्थ के हो? यसको अर्थ परिस्थिति, सार, र व्यक्तिले कुन हदसम्म परमेश्वरको प्रतिरोध गर्छ, उहाँविरुद्ध विद्रोह गर्छ, र उहाँको विरोध गर्छ भन्ने हिसाबले यी तीन झनै कडा छन् भन्ने हो। यी तीन स्वभाव मानिसहरूले प्रत्यक्ष रूपमा सत्यतालाई अस्वीकार गर्ने, परमेश्वरलाई नकार्ने, परमेश्वरविरुद्ध कोलाहल मच्चाउने, परमेश्वरलाई आक्रमण गर्ने, परमेश्वरको जाँच गर्ने, परमेश्वरको आलोचना गर्ने, आदि जस्ता काम गरेर प्रकट गर्ने झनै गम्भीर स्वभाव हुन्। मानिसहरूका यी तीन भ्रष्ट स्वभाव अघिल्ला तीनभन्दा कसरी भिन्न छन्? अघिल्ला तीन अलि धेरै सामान्य छन्, ती समस्त भ्रष्ट मानिसहरूका साझा भ्रष्ट स्वभावहरूका विशेषता हुन्, अर्थात्, उमेर, लिङ्ग, जन्मस्थान, नश्ल, वा जाति जे भए पनि, हरेक व्यक्तिमा यी तीन स्वभाव हुन्छन्। पछिल्ला तीन स्वभाव फरक-फरक मात्रामा र कम वा अधिक हदसम्म प्रत्येक व्यक्तिमा तिनीहरूको सारका आधारमा हुन्छन्, तर भ्रष्ट मानवजातिमाझ ख्रीष्टविरोधीहरूमा मात्र यी तीन स्वभाव—दुष्टता, सत्यताप्रतिको वितृष्णा, र क्रूरता—सबैभन्दा गम्भीर हदसम्म हुन्छन्। ख्रीष्टविरोधीहरूबाहेक, साधारण भ्रष्ट मानिसहरूले निश्चित हदसम्म, वा निश्चित परिवेशमा वा विशेष प्रसङ्गमा मात्र दुष्टता, सत्यताप्रतिको वितृष्णा, र क्रूरताका स्वभाव प्रकाश गर्छन्। तिनीहरूमा यी स्वभावहरू भए पनि, तिनीहरू ख्रीष्टविरोधी होइनन्। तिनीहरूको सार दुष्ट वा क्रूर हुँदैन, र त्यो निश्चय नै सत्यताप्रति वितृष्ण हुँदैन। यो तिनीहरूको चरित्रसँग सम्बन्धित छ। यिनीहरू तुलनात्मक रूपमा दयालु हृदयका, निष्ठा भएका, सोझा, सम्मानबोध भएका, इत्यादि मानिस हुन्—तिनीहरूको चरित्र तुलनात्मक रूपमा असल हुन्छ। त्यसकारण, तिनीहरूले बेलाबेलामा, वा निश्चित परिवेश र प्रसङ्गमा मात्र पछिल्ला तीन गम्भीर भ्रष्ट स्वभाव प्रकाश गर्छन्। तर, यी स्वभावहरू तिनीहरूको सारमा हाबी हुँदैनन्। उदाहरणका लागि, साधारण भ्रष्ट स्वभाव भएका व्यक्तिहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा झाराटारुवा तरिकाले कार्य गरेर परमेश्वरको ताडनाको सामना गर्दा, तिनीहरूले यस्तो सोच्दै त्यसअघि शिर झुकाउन नमान्न सक्छन्, “अरू पनि त झाराटारुवा छन्; तिनीहरूलाई चाहिँ किन ताडना दिइँदैन? किन मैले मात्र यस्तो अनुशासन र ताडना पाइरहेको छु?” शिर झुकाउन नमान्ने यो कस्तो खालको स्वभाव हो? यो स्पष्टतः क्रूर स्वभाव हो। तिनीहरू परमेश्वरको अन्याय र पक्षपाती व्यवहारबारे गुनासो गर्छन्, जसमा केही हदसम्म परमेश्वरको विरोध गर्ने र उहाँविरुद्ध कोलाहल मच्चाउने गुण हुन्छ—यो क्रूर स्वभाव हो। यस्ता मानिसहरूका क्रूर स्वभाव यस्तै परिस्थितिहरूमा प्रकट हुन्छन्, तर फरक के हो भने, यी मानिसहरूमा दयालु हृदय, विवेकको चेतना, निष्ठा, र तुलनात्मक सोझोपन हुन्छ। जब तिनीहरूले परमेश्वरविरुद्ध गुनासो गर्छन् र क्रूर स्वभाव प्रकट गर्छन्, तब तिनीहरूको विवेकले काम गर्न थाल्छ। जब तिनीहरूको विवेकले काम गर्न थाल्छ, तब त्यो तिनीहरूको क्रूर स्वभावसँग द्वन्द गर्न थाल्छ, र तिनीहरूको मनमा निश्चित सोचहरू विकसित हुन थाल्छन्: “मैले यसरी सोच्नुहुँदैन। परमेश्वरले मलाई निकै आशिष् दिनुभएको छ, र उहाँले मलाई अनुग्रह देखाउनुभएको छ। के मैले यसरी सोच्नु भनेको विवेकको कमी हुनु होइन र? के यो परमेश्वरको प्रतिरोध गर्नु र उहाँको हृदय तोड्नु होइन र?” के यो तिनीहरूको विवेकले काम गरिरहेको होइन र? यस बिन्दुमा, तिनीहरूको असल चरित्रले काम गर्न थाल्छ। तिनीहरूको विवेकले काम गर्न थाल्नेबित्तिकै तिनीहरूको रिस, गुनासा, र शिर झुकाउने अस्वीकृति बिलाउन थाल्छन्, र अलिअलि गर्दै पन्छिँदै र हट्दै जान्छन्। के यो तिनीहरूको विवेकको असर होइन र? (हो।) त्यसोभए, के तिनीहरूले क्रूर स्वभाव प्रकाश गरिरहेका छन् त? (छन्।) तिनीहरूले क्रूर स्वभाव प्रकाश गरिरहेका छन्, तर त्यस्ता व्यक्तिमा विवेक र मानवता हुने भएकाले, तिनीहरूको विवेकले तिनीहरूको क्रूर स्वभावलाई नियन्त्रण गर्न, र तिनीहरूलाई विवेकी बन्न लगाउन सक्छ। जब तिनीहरू विवेकी र शान्त बन्छन्, तिनीहरूले आत्मचिन्तन गर्छन् र तिनीहरूले आफू पनि परमेश्वरको प्रतिरोध गर्न सक्षम रहेको कुरा बुझ्छन्। त्यतिबेला, नजानीकनै तिनीहरूमा ऋणीपन र पछुतोको भाव उत्पन्न हुन्छ: “म अहिले भर्खरै निकै आवेगमा आएको थिएँ, परमेश्वरको प्रतिरोध र उहाँविरुद्ध विद्रोह गरिरहेको थिएँ। के परमेश्वरले मलाई उहाँको प्रेमको ताडना दिनु उहाँको प्रेम नै होइन र? के यो उहाँको कृपा होइन र? मैले किन यस्तो अनुचित तरिकाले कार्य गरेँ? के मैले परमेश्वरलाई रिस उठाएको छैन? मैले यसो गरिरहन मिल्दैन; मैले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, पश्चात्ताप गर्नुपर्छ, मैले गरिरहेको दुष्टता त्याग्नुपर्छ, र मेरो विद्रोह अन्त्य गर्नुपर्छ। मैले झाराटारुवा तरिकाले कार्य गर्दैथिएँ भनेर स्विकार्ने हुनाले मैले झाराटारुवा तरिकाले कार्य गर्न बन्द गर्नुपर्छ, गम्भीरतापूर्वक कामकुरा गर्नुपर्छ, र मेरा कार्यमार्फत आफ्नो बफादारी कसरी अर्पण गर्ने, साथै मेरो कर्तव्य निर्वाह गर्नुका सिद्धान्तहरू के-के हुन् भनी खोज्नुपर्छ।” के यो तिनीहरूको असल चरित्रको प्रभाव होइन र? यी मानिसहरूमा पनि निस्सन्देह क्रूर स्वभाव छ, तर तिनीहरूको विवेकको प्रभाव र आफ्नो चेतना प्रयोग गरी गरेको कामकुराको लेखाजोखाले गर्दा अन्ततः तिनीहरूको असल, सत्यतालाई प्रेम गर्ने चरित्र प्रबल हुन्छ। यी मानिसहरूमा भ्रष्ट स्वभावहरूमाझ क्रूरता हुन्छ, के त्यसोभए त्यसकारण तिनीहरूसँग क्रूर सार हुन्छ भनेर भन्न सकिन्छ? के तिनीहरूको सार क्रूर छ भनेर भन्न सकिन्छ? सकिन्न। वस्तुगत रूपमा बोल्दा, तिनीहरूले प्रकाश गर्ने भ्रष्ट स्वभावहरूमा क्रूरता समावेश हुने भए पनि, तिनीहरूमा विवेक, चेतना, र तुलनात्मक रूपमा सत्यताप्रतिको प्रेम हुने भएकाले, तिनीहरूको क्रूरता तिनीहरूको सार नभई, एक खालको भ्रष्ट स्वभाव मात्र हो। त्यो किन तिनीहरूको सार होइन? किनभने तिनीहरूको यो भ्रष्ट स्वभाव परिवर्तन हुन सक्छ। तिनीहरूले यस्तो खालको भ्रष्ट स्वभाव प्रकाश गर्ने गरे पनि, र तिनीहरूले परमेश्वरको प्रतिरोध र उहाँविरुद्ध विद्रोह गर्न सक्ने भए पनि, चाहे छोटो समयका लागि होस् वा लामो, तिनीहरूको चरित्रमा रहेको तिनीहरूको विवेक, निष्ठा, र समझ, आदिको प्रभावले तिनीहरूको क्रूर स्वभावलाई सत्यताप्रतिको तिनीहरूको व्यवहार वा मनोवृत्तिमाथि हाबी हुनबाट रोक्छ। अन्तिम नतिजा के हुन्छ? तिनीहरूले बिना कुनै गुनासो आफ्नो पाप स्विकार्न, पश्चात्ताप गर्न, सत्यता सिद्धान्तअनुसार कार्य गर्न, सत्यताप्रति समर्पित हुन, र परमेश्वरको योजनाबद्ध कार्य स्विकार्न सक्छन्। क्रूर स्वभाव प्रकाश गरे पनि, अन्तिम नतिजा के हुन्छ भने, तिनीहरूले परमेश्वरविरुद्ध विद्रोह गर्दैनन् वा परमेश्वरको सार्वभौमिकताको विरोध गर्दैनन्—तिनीहरू समर्पित हुन्छन्। यो एक साधारण भ्रष्ट व्यक्तिको प्रकटीकरण हो। त्यस्ता मानिसहरूमा केवल भ्रष्ट स्वभावहरू हुन्छन्; तिनीहरूमा ख्रीष्टविरोधीहरूको स्वभाव सार हुँदैन। यो सही छ।
उदाहरणका लागि, दुष्ट स्वभावहरूलाई लिऊँ: मानिसहरूले परमेश्वरसामु प्रकट गर्ने सबैभन्दा दुष्ट स्वभाव के हो? परमेश्वरको परीक्षा लिनु हो। कतिपय मानिस आफूले राम्रो गन्तव्य नपाइएला, र परमेश्वरमा विश्वास गर्न थालेपछि आफूले बाटो बिराएको, कुनै दुष्टता गरेको, र धेरै अपराध गरेको हुनाले आफ्नो परिणाम निश्चित नहोला भनेर चिन्ता गर्छन्। तिनीहरू आफू नरकमा पुगिने चिन्ता गर्छन्, र आफ्नो परिणाम र गन्तव्यबारे निरन्तर त्रासमा रहन्छन्। तिनीहरू लगातार चिन्तित हुन्छन्, र तिनीहरूले सधैँ यस्तो सोच्ने गर्छन्, “मेरो भविष्यको परिणाम र गन्तव्य असल हुनेछ कि खराब? म नरकमा जानेछु कि स्वर्गमा? के म परमेश्वरका मानिसहरूमध्येको एक हुँ कि सेवाकर्ता? म नष्ट हुनेछु कि मैले मुक्ति पाउनेछु? मैले देवताका कुन वचनले यसबारे बोलेका छन् भनेर पत्ता लगाउनुपर्छ।” तिनीहरू परमेश्वरका सबै वचन सत्यता हुन्, र ती सबैले मानिसहरूका भ्रष्ट स्वभाव खुलासा गर्छन् भन्ने देख्छन्, र तिनीहरूले आफूले खोजेका जवाफहरू भेट्टाउँदैनन्, त्यसैले तिनीहरू अन्यत्र कता सोधखोज गर्ने भनेर चिन्तन गरिरहन्छन्। पछि, बढुवा हुने र महत्त्वपूर्ण भूमिकामा खटाइने अवसर पाएपछि तिनीहरू माथिलाई यस्तो सोच्दै तिनीहरूको मनको कुरा जान्ने प्रयास गर्न चाहन्छन्: “मेरोबारे माथिको राय के छ? यदि तिनको राय अनुकूल छ भने, त्यसले देवताले मैले विगतमा गरेका दुष्टता र अपराध सम्झिनुभएको छैन भन्ने प्रमाणित गर्छ। त्यसले देवताले मलाई अझै पनि मुक्ति दिनुहुनेछ, र ममा अझै आशा बाँकी छ भन्ने प्रमाणित गर्छ।” त्यसपछि, आफ्नो विचारलाई अगाडि बढाउँदै तिनीहरू सिधै भन्छन्, “हामी जहाँ छौँ, त्यहाँ अधिकांश दाजुभाइ-दिदीबहिनीहरू आफ्ना काममा त्यति दक्ष छैनन्, र तिनीहरूले छोटो समयदेखि मात्र देवतामा विश्वास गरेका हुन्। मैले नै सबैभन्दा लामो समयसम्म देवतामा विश्वास गरेको छु। म लडेको र असफल भएको छु, मैले केही अनुभव बटुलेको र केही पाठ सिकेको छु। मौका पाएँ भने, म भारी बोझ बोक्न र देवताका अभिप्रायलाई ख्याल गर्न इच्छुक छु।” तिनीहरू यी वचनलाई माथिले तिनीहरूलाई बढुवा गर्ने अभिप्राय राख्छन् कि राख्दैनन्, वा माथिले तिनीहरूलाई त्यागेका छन् कि छैनन् भनी हेर्नका लागि परीक्षाका रूपमा प्रयोग गर्छन्। वास्तवमा, तिनीहरू साँचो रूपमा यो जिम्मेवारी वा बोझ उठाउन चाहँदैनन्; तिनीहरूले यी वचन बोल्नुको उद्देश्य केवल परिस्थितिलाई जाँच्न, र तिनीहरूसँग अझै पनि मुक्ति पाउने आशा छ कि छैन भनेर हेर्नका लागि हो। यो जाँच गर्नु हो। जाँच गर्ने यो तरिकापछाडिको स्वभाव के हो? यो दुष्ट स्वभाव हो। यो तरिका चाहे जति समयसम्म प्रकट भए पनि, तिनीहरूले यो कुरा चाहे जसरी गरे पनि, वा यो जति कार्यान्वयन भए पनि, तिनीहरूले प्रकट गर्ने स्वभाव निश्चय नै दुष्ट हुन्छ, किनभने त्यो गर्ने क्रममा तिनीहरूमा धेरै सोच, आशङ्का, र चिन्ताहरू हुन्छन्। जब तिनीहरू यो दुष्ट स्वभाव प्रकट गर्छन्, तब तिनीहरू आफूले गर्ने कुन कार्यले मानवता भएका र सत्यता अभ्यास गर्न सक्ने मानिस हुन् भन्ने देखाउँछ, र तिनीहरूमा दुष्ट सार नभई भ्रष्ट स्वभाव मात्र छ भन्ने कुराको पुष्टि गर्छ? यस्ता कुराहरू गरे र बोलेपश्चात्, विवेक, समझ, निष्ठा, र मर्यादा हुनेहरूले हृदयमा असहजता र पीडा महसुस गर्छन्। तिनीहरू वेदनामा पर्छन् र यस्तो सोच्छन्, “मैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गर्दै आएको छु; म कसरी परमेश्वरलाई जाँच्न सक्छु? म कसरी अझै पनि आफ्नै गन्तव्यबारे मग्न रहन, र परमेश्वरबाट केही कुरा निकाल्न र परमेश्वरलाई मलाई एउटा ठोस जवाफ दिन लगाउन त्यस्तो विधि प्रयोग गर्न सक्छु? यो अत्यन्तै नीच कुरा हो!” तिनीहरू हृदयमा असहज महसुस गर्छन्, तर कार्य त भइसकेको छ, र वचनहरू त बोलिसकिएका छन्—तिनलाई फिर्ता लिन मिल्दैन। त्यसपछि तिनीहरूले बुझ्छन्, “ममा अलिकति सद्भावना र इन्साफको बोध भए पनि, म अझै पनि त्यस्ता नीच कार्यहरू गर्न सक्छु; यो त नीच व्यक्तिको व्यवहार हो! के यो परमेश्वरको परीक्षा लिने प्रयास होइन र? के यो परमेश्वरसँग असुली गर्नु होइन र? यो अत्यन्तै नीच र निर्लज्ज कुरा हो!” यस्ता परिस्थितिमा कस्तो कार्य तर्कसङ्गत हुन्छ? के परमेश्वरसामु आएर प्रार्थना गर्दै आफ्नो पाप स्विकार्नु तर्कसङ्गत हुन्छ, कि आफ्नै तरिकाहरूमा अड्डी कसेर टाँसिरहनु? (प्रार्थना गर्नु र पाप स्विकार्नु।) त्यसोभए, पूरै प्रक्रियाका क्रममा, त्यो विचार फुराएको क्षणदेखि त्यसलाई व्यवहारमा उतार्ने, अनि तिनीहरूले प्रार्थना र स्वीकार गर्ने बिन्दुसम्म, कुन चरणचाहिँ भ्रष्ट स्वभाव सामान्य रूपमा प्रकट हुनु हो, कुन चरण विवेकले काम गर्न थाल्नु हो, अनि कुन चरणमा सत्यता अभ्यासमा लागु हुनु हो? विचार फुर्नुदेखि कार्यान्वयन हुने चरण दुष्ट स्वभावद्वारा शासित हुन्छ। त्यसोभए, के आत्मनिरीक्षणको चरण तिनीहरूको विवेकको प्रभावद्वारा नियन्त्रित हुँदैन र? तिनीहरू आफूले गरेको कुरा गलत थियो भन्ने महसुस गर्दै आफैलाइ जाँच्न थाल्छन्—यो कुरा तिनीहरूको विवेकको प्रभावद्वारा नियन्त्रित हुन्छ। यसको पछाडि प्रार्थना र स्वीकार हुन्छन्, जुन समेत तिनीहरूको निष्ठा, विवेक, र चरित्रद्वारा शासित हुन्छन्; तिनीहरूले ग्लानि महसुस गर्न, पश्चात्ताप गर्न, र परमेश्वरप्रति ऋणी महसुस गर्न सक्छन्, अनि तिनीहरू आफ्नै मानवता र भ्रष्ट स्वभावबारे चिन्तन गर्न र तिनलाई बुझ्न, र सत्यता अभ्यास गर्ने बिन्दुसम्म पुग्न पनि सक्छन्। के यसका तीन चरणहरू छैनन् र? भ्रष्ट स्वभावको प्रकटीकरणदेखि तिनीहरूको विवेकको प्रभावसम्म, अनि त्यसपछि आफूले गरिरहेको दुष्टता त्याग्न, पश्चात्ताप गर्न, आफ्ना दैहिक चाहना र सोचहरू त्याग्न, आफ्नै भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्न, र सत्यता अभ्यास गर्न सक्नुसम्म—यी तीन चरणहरू मानवता र भ्रष्ट स्वभावहरू भएका साधारण मानिसहरूले हासिल गर्नुपर्ने कुरा हुन्। तिनीहरूको विवेकको चेतना, र तुलनात्मक रूपमा असल मानवताले गर्दा यी मानिसहरूले सत्यता अभ्यास गर्न सक्छन्। सत्यता अभ्यास गर्न सक्षम हुनुको अर्थ यस्ता मानिसहरूसँग मुक्ति पाउने आशा हुनु हो। अर्को शब्दमा भन्नुपर्दा, असल मानवता भएकाहरूमा मुक्ति पाउने सम्भावना तुलनात्मक रूपमा बढी हुन्छ।
केले ख्रीष्टविरोधीहरूलाई ख्रीष्टविरोधीको स्वभाव भएकाहरूबाट छुट्ट्याउँछ? पहिलो चरणमा, ख्रीष्टविरोधीहरूले प्रकट गर्ने कुरा बाहिरी रूपमा कुनै पनि भ्रष्ट मानवको प्रकटीकरणसँग मूलतः मेल खान्छ, तर त्यसपछिका दुई चरण फरक हुन्छन्। उदाहरणका लागि, काटछाँटमा परिरहेको बेला व्यक्तिले क्रूर भ्रष्ट स्वभाव प्रकट गर्दा, अर्को चरणमा उसको विवेकले काम गर्न थाल्नु आवश्यक हुन्छ। तर, ख्रीष्टविरोधीहरूमा विवेक हुँदैन, त्यसैले तिनीहरूले के सोच्नेछन्? तिनीहरूमा के-कस्ता प्रकटीकरणहरू हुनेछन्? तिनीहरूले परमेश्वर अन्यायपूर्ण हुनुभएको गुनासो गर्नेछन्, र परमेश्वरलाई तिनीहरूमा खोट निकाल्न खोजेको, र तिनीहरूका लागि हरेक मोडमा कठिनाइ र सङ्कट सिर्जना गर्न खोजेको आरोप लगाउनेछन्। त्यसपछि, तिनीहरू जिद्दी भई पश्चात्ताप नगरी रहिरहन्छन्, आफ्ना सबैभन्दा सुस्पष्ट गल्ती वा भ्रष्ट स्वभाव स्विकार्दैनन्, कहिल्यै आफ्ना त्रुटिहरू स्विकार्दैनन्, बढी भएर गुप्त रूपमा आफ्ना कार्यलाई जारी राख्न हरेक माध्यमसमेत अपनाउँछन्। ख्रीष्टविरोधीहरूले प्रकट गरेका भ्रष्ट स्वभावका आधारमा हेर्दा, तिनीहरूको चरित्र कस्तो हुन्छ? तिनीहरूमा अलिकति पनि विवेक हुँदैन, तिनीहरू आफूलाई जाँच्न जान्दैनन्, अनि क्रूरता, दुर्भावना, आक्रमण, र प्रतिकार प्रकट गर्छन्। तिनीहरू तथ्यलाई ढाकछोप गर्न झूटहरू रच्छन्, अरूमाथि जिम्मेवारी थोपर्छन्; तिनीहरू अरूलाई पासोमा पार्न षड्यन्त्रहरू रच्छन्, दाजुभाइ-दिदीबहिनीहरूबाट सत्य-तथ्य लुकाउँछन्; अनि तिनीहरू दृढतासाथ आफ्नो बचाउ गर्छन् र आफ्ना लागि औचित्य प्रस्तुत गर्छन्, आफ्ना तर्क जताततै फैलाउँछन्। यो तिनीहरूको क्रूर स्वभावको निरन्तरता हो। तिनीहरूमा विवेकको चेतना नहुने, र तिनीहरू आफूलाई जाँच्न, आत्मचिन्तन गर्न र आफूलाई बुझ्न असफल हुने मात्र नभई, तिनीहरूले अझ बढी भएर आफ्नो क्रूर स्वभाव प्रकट गरिरहन्छन्, परमेश्वरको घरविरुद्ध कोलाहल मच्चाउँछन्, दाजुभाइ-दिदीबहिनीहरूविरुद्ध रडाको मच्चाउँछन् र तिनीहरूको विरोध गर्छन्, र अझ गम्भीर कुरा त, तिनीहरू परमेश्वरको विरोध पनि गर्छन्। केही समयपश्चात् परिस्थिति अलिक थामिएपछि, के तिनीहरूले पश्चात्ताप गरेर आफ्नो पाप स्विकार्नेछन्? उक्त घटना घटेको केही समय भइसकेको, सत्य-तथ्य प्रकट भइसकेको, जिम्मेवारी तिनीहरूकै हो भन्ने कुरा सर्वविदित भइसकेको, र तिनीहरूले यो जिम्मेवारी वहन गर्नुपर्ने भए पनि—के तिनीहरूले त्यो कुरा स्विकार्न सक्छन्? के तिनीहरू पछुतो वा ऋणीपनको बोध महसुस गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरू विरोधमा लागिरहन्छन्, र सोच्छन्, “जे भए पनि, म कहिल्यै गलत थिइनँ, तर यदि म भएको भए पनि, मेरा अभिप्राय असल थिए, मेरो गल्ती भएको भए पनि, मलाई मात्र यसको दोष दिन मिल्दैन। तिमीहरू किन अरूलाई दोष दिँदैनौ—मलाई किन निशाना बनाउँछौ? मैले कहाँ गल्ती गरेँ? मैले जानाजानी कुनै गल्ती गरेको छैनँ। तिमीहरू सबैले गल्ती गरेका छौ, त्यसोभए तिमीहरू किन आफूलाई जवाफदेही ठहऱ्याउँदैनौ? यसबाहेक, जीवनभर गल्ती नगरी बस्न को सक्छ?” के तिनीहरू पश्चात्ताप गर्छन्? के तिनीहरू ऋणी महसुस गर्छन्? तिनीहरू आफू ऋणी भएको महसुस गर्दैनन् र पश्चात्ताप गर्दैनन्। कतिपयले त यस्तोसमेत भन्छन्, “मैले निकै ठूलो मूल्य चुकाएको छु—किन तिमीहरूमध्ये कसैले पनि यो कुरालाई ध्यान दिएको छैन? किन कसैले पनि मेरो प्रशंसा गरेको छैन? किन मलाई इनाम दिइएको छैन? केही आइपर्दा, तिमीहरू सधैँ मलाई नै दोष दिन्छौ र ममा खोट निकाल्छौ। के तिमीहरूले मविरुद्ध प्रयोग गर्न कुनै गलचेपको खोजी गरिरहेका छैनौ र?” तिनीहरूको मानसिकता र स्थिति यस्तै हुन्छ। स्पष्टतः यो क्रूर स्वभाव हो—तिनीहरू जिद्दी भई पश्चात्ताप गर्दैनन्, तथ्यहरूलाई तिनीहरूसामु उदाङ्गो पार्दा पनि तिनीहरू ती स्विकार्न मान्दैनन्, र लगातार विरोध गरिरहन्छन्। तिनीहरूले ठूलो स्वरले कसैलाई नसरापे पनि, भित्रभित्रै अनगिन्ती पटक त्यसो गरेका हुन सक्छन्—अन्धा भएकामा अगुवाहरूलाई, र असल मानिस नभएकामा, र आफूसँग हैसियत भएको बेलामा आफ्नो चाकरी गरेको, तर अहिले आफ्नो हैसियत गुमेपछि आफूलाई ध्यान नदिएको, वा आफूसँग सङ्गति नगरेको, वा आफूलाई हेरेर नमुस्कुराएकामा समेत दाजुभाइ-दिदीबहिनीहरूलाई सरापेका हुन सक्छन्। तिनीहरू आफ्ना हृदयमा परमेश्वरलाई समेत सराप्छन्, र उहाँ धर्मी नभएको भन्दै उहाँको आलोचना गर्छन्। सुरुदेखि अन्त्यसम्म तिनीहरूले प्रकट गर्ने स्वभाव क्रूर हुन्छ, तिनीहरूमा विवेकको अलिकति पनि प्रभाव, र थोरै आत्मग्लानि वा पछुतोसमेत हुँदैन। तिनीहरूमा निश्चय नै सुध्रिने, सत्यता सिद्धान्तहरू खोज्ने, पाप स्विकार्न र पश्चात्ताप गर्न परमेश्वरसामु आउने, वा परमेश्वरका योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुने अभिप्राय हुँदैन। त्यसविपरित, तिनीहरू लगातार बहस, विरोध, र गुनासो गरिरहन्छन्। ख्रीष्टविरोधीहरू र पश्चात्ताप गर्न सक्नेहरू दुवैले उही भ्रष्ट स्वभावहरू प्रकट गर्छन्, तर के यी प्रकटीकरणहरूको प्रकृतिमा कुनै भिन्नता छैन र? यीमध्ये कुन समूहसँग ख्रीष्टविरोधीको स्वभाव हुन्छ, अनि कुन समूहसँग ख्रीष्टविरोधीको सार हुन्छ? (पश्चात्ताप नगर्नेहरूमा ख्रीष्टविरोधीको सार हुन्छ।) पश्चात्ताप गर्न सक्नेहरू को हुन्? तिनीहरू ख्रीष्टविरोधीको स्वभाव भएका भ्रष्ट मानिसहरू हुन्, तर तिनीहरू ख्रीष्टविरोधी होइनन्। ख्रीष्टविरोधीको सार भएकाहरू ख्रीष्टविरोधी हुन्, जबकि ख्रीष्टविरोधीको स्वभाव भएकाहरू साधारण भ्रष्ट मानिस हुन्। ती दुईमध्ये कुन समूहचाहिँ दुष्ट मानिसहरू मिलेर बनेको हुन्छ? (ख्रीष्टविरोधीको सार भएकाहरू।) तिमीहरू यसलाई खुट्ट्याउन सक्छौ, होइन त? यो कुरा कुन समूहले तिनीहरूको विवेकले तिनीहरूलाई दोष दिइरहेको छ भन्ने कुराको कुनै सङ्केत देखाउँदैन, नसुध्री वा आत्मचिन्तन नगरी लगातार बहस गरिरहन्छ, र आफूले कुनै गल्ती गरेर काटछाँट, बर्खासी वा ताडना इत्यादि जस्ता परिस्थितिको सामना गर्दा बेपरवाह ढङ्गले आलोचना गर्दै र आफ्ना तर्कहरू फैलाउँदै हिँड्छ भन्ने कुरामा भर पर्छ। यदि तिनीहरूलाई रोक्ने कोही नभएको भए, के तिनीहरूले आफ्ना कार्य बन्द गर्नेथिए? गर्नेथिएनन्। तिनीहरूको हृदय नकारात्मकता र विरोधले भरिएको हुनेथियो, र तिनीहरूले यसो भन्नेथिए, “मानिसहरूले मलाई अन्यायपूर्ण व्यवहार गर्ने हुनाले, अनि परमेश्वरले मलाई अनुग्रह नदेखाउने वा मेरो तर्फबाट कार्य नगर्ने हुनाले, भविष्यमा आफ्नो कर्तव्य निर्वाह गर्दा म केवल झारा टार्नेछु। मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरे पनि, मैले इनाम पाउनेछैनँ, कसैले पनि मेरो प्रशंसा गर्नेछैनन्, र म अझै पनि काटछाँटमा पर्नेछु, त्यसैले म त्यसलाई लापरवाहीपूर्वक गर्नेछु। मलाई सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्न, वा मेरा काममा अरूसँग छलफल र सहकार्य गर्न, वा सत्यता खोज्न आग्रह गर्नेबारे त नसोचे पनि हुन्छ! म न त अभिमानी हुनेछु, न विनम्र नै हुनेछु, बरु उदासीन रहनेछु। यदि तिमीहरूले मलाई कुनै कुरा गर्न भन्यौ भने, म त्यो गर्नेछु; यदि तिमीहरूले मलाई कुनै कुरा गर्न भनेनौ भने, म जानेछु। तिमीहरूलाई जसरी कार्य गर्न मन छ, त्यसरी नै गर; म जस्तो छु, त्यस्तै रहनेछु। मबाट धेरै मागहरू नगर; यदि तिमीहरूले अत्यधिक मागहरू गऱ्यौ भने, म तिनलाई बेवास्ता गर्नेछु।” के यो क्रूर स्वभावकै निरन्तरता होइन र? के त्यस्ता मानिसहरूले पश्चात्ताप गर्न सक्छन्? (अहँ, सक्दैनन्।) यो त ख्रीष्टविरोधीको सार भएकाहरूको प्रकटीकरण हो। यो त ख्रीष्टविरोधीहरूले दुष्ट स्वभाव प्रकट गर्दा, उसमा विवेकको कमी भएकाले उसले पनि कहिल्यै आत्मचिन्तन नगर्नुसरह हो। तिनीहरूले जुनसुकै भ्रष्ट स्वभाव प्रकट गरे पनि वा तिनीहरूमाथि केही आइपर्दा तिनीहरूमा जस्तोसुकै मनसाय, चाहना, वा महत्त्वाकाङ्क्षा भए पनि, तिनीहरू कहिल्यै आफ्नो विवेकले बाँधिदैनन्। त्यसकारण, समय सही र तिनीहरूका लागि अनुकूल हुँदा, तिनीहरू आफूलाई जे मन लाग्यो त्यही गर्छन्। तिनीहरूका कार्यको नतिजा चाहे जे भए पनि, तिनीहरू सुध्रिँदैनन्, र आफ्ना दृष्टिकोणहरूमै टाँसिइरहन्छन् र अलिकति पनि आत्म-ग्लानिविना आफ्ना महत्त्वाकाङ्क्षा, चाहना, र मनसाय, साथै आफूले कामकुरा गर्दा सधैँ प्रयोग गर्दै आइरहेका माध्यम र विधिहरू कायम राख्छन्। तिनीहरू किन आत्म-ग्लानि महसुस गर्दैनन्? किनभने त्यस्ता मानिसहरूमा विवेक हुँदैन, तिनीहरूमा सम्मानबोध हुँदैन, र तिनीहरूलाई लाजको कुनै अनुभूति नै हुँदैन; तिनीहरूको सम्पूर्ण मानवताभित्र, तिनीहरूका भ्रष्ट स्वभावलाई रोक्न सक्ने केही पनि छैन, र तिनीहरूले आफूले प्रकट गर्ने भ्रष्ट स्वभावहरू सही हुन् वा गलत भनी जाँच्न प्रयोग गर्न मिल्ने केही पनि छैन। त्यसकारण, यी मानिसहरूले दुष्ट स्वभाव प्रकट गर्दा, अरूले त्यसलाई चाहे जसरी हेरे पनि वा प्रक्रिया र नतिजा जे भए पनि, सुरुदेखि अन्त्यसम्मै अलिकति पनि आत्म-ग्लानि, उदासी, पछुतो, ऋणीबोध महसुस गर्दैनन्, र तिनीहरू आफ्नो हृदयमा निश्चय नै सुध्रिँदैनन्। यिनीहरू ख्रीष्टविरोधी हुन्। यी दुई उदाहरणलाई विश्लेषण गर्दा, ख्रीष्टविरोधीहरूको सबैभन्दा सुस्पष्ट विशेषता के हो? (तिनीहरूमा रहेको विवेक र समझको कमी।) यो विवेक र समझको कमीले कस्तो खालको प्रकटीकरणतर्फ डोऱ्याउँछ? तिनीहरूले प्रकट गर्ने स्वभावहरूको नतिजा के हुन्छ? (तिनीहरू आत्मचिन्तन वा पश्चात्ताप गर्न सक्दैनन्।) के आत्मचिन्तन वा पश्चात्ताप गर्न नसक्नेहरूले सत्यता अभ्यास गर्न सक्छन्? कहिल्यै सक्दैनन्!
ख्रीष्टविरोधीको स्वभाव मात्र भएको व्यक्तिलाई सारमा ख्रीष्टविरोधीका रूपमा चित्रण गर्न मिल्दैन। ख्रीष्टविरोधीको प्रकृति सार भएकाहरू मात्र साँचो रूपमा ख्रीष्टविरोधी हुन्। ती दुईबीचका मानवतामा भिन्नताहरू हुन्छन्, अनि त्यसैगरी, भिन्न प्रकारका मानवताको शासनमा रहँदै गर्दा, सत्यताप्रति ती मानिसहरूले राख्ने मनोवृत्ति पनि उही हुँदैनन्—अनि जब सत्यताप्रति मानिसहरूले राख्ने मनोवृत्ति उही हुँदैन, तब तिनीहरूले छनोट गर्ने बाटो पनि फरक हुन्छन्; अनि जब मानिसहरूले छनोट गर्ने बाटो फरक हुन्छन्, तब त्यसको परिणामस्वरूप निस्कने सिद्धान्तहरू र तिनीहरूका कार्यका परिणामहरूमा पनि भिन्नता हुन्छन्। ख्रीष्टविरोधीको स्वभाव मात्र भएको व्यक्तिको विवेकले काम गरिरहने हुनाले, र उसमा समझ र सम्मानबोध हुने हुनाले, र तुलनात्मक रूपमा भन्नुपर्दा, उसले सत्यतालाई प्रेम गर्ने हुनाले, उसले आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्दा, उसको हृदयमा त्यसप्रतिको हप्की हुन्छ। त्यस्ता बेला, उसले आत्मचिन्तन गर्न र आफूलाई चिन्न सक्छ, र आफ्नो भ्रष्ट स्वभाव र भ्रष्टताको प्रकटीकरणलाई स्विकार्न सक्छ, जसले उसलाई देह र आफ्नो भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्ने, अनि सत्यता अभ्यास गर्ने र परमेश्वरमा समर्पित हुने तुल्याउँछ। तर, ख्रीष्टविरोधीका हकमा भने यस्तो हुँदैन। उसको विवेकले काम नगर्ने र उसमा विवेकशील चेतना नहुने हुनाले, र उसमा सम्मानबोध त झनै नहुने हुनाले, उसले आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्दा, उसको प्रकटीकरण सही हो कि गलत, अथवा आफूमा भ्रष्ट स्वभाव छ कि सामान्य मानवता छ, वा त्यो सत्यताअनुरूप छ कि छैन भनेर परमेश्वरका वचनअनुसार मापन गर्दैन। उसले कहिल्यै यी कुराहरूबारे चिन्तन गर्दैन। त्यसोभए, उसले कस्तो व्यवहार गर्छ? ऊ सधैँ आफूले प्रकट गर्ने भ्रष्ट स्वभाव र छनोट गर्ने बाटो सही हुन् भन्ने कुरामा कायम रहिरहन्छ। ऊ आफूले गर्ने जे पनि सही हो, आफूले बोल्ने जे पनि सही हो भन्ने सोच्छ; ऊ आफ्नै विचारमा अडिग रहन कम्मर कस्छ। अनि त्यसैले, उसले जतिसुकै ठूलो गल्ती गरे पनि, उसले जतिसुकै गम्भीर भ्रष्ट स्वभाव प्रकट गरे पनि, उसले मामिलाको गम्भीरतालाई बुझ्नेछैन, र आफूले प्रकट गरेको भ्रष्ट स्वभावलाई निश्चय नै बुझ्नेछैन। अनि उसले निश्चय नै आफ्ना चाहनालाई पन्छाउनेछैन, र आफ्नै महत्त्वाकाङ्क्षा वा भ्रष्ट स्वभावविरुद्ध विद्रोह गर्दै परमेश्वर र सत्यताप्रतिको समर्पणको बाटो छनोट गर्नेछैन। यी दुई परिणामबाट के देख्न सकिन्छ भने, यदि ख्रीष्टविरोधीको स्वभाव भएको मानिसले हृदयमा सत्यतालाई प्रेम गर्छ भने, ऊसँग त्यसको बुझाइ प्राप्त गर्ने र त्यसलाई अभ्यास गर्ने, अनि मुक्ति पाउने अवसर हुन्छ, जबकि ख्रीष्टविरोधीको सार हुने खालको व्यक्तिले सत्यता बुझ्न वा त्यसलाई अभ्यास गर्न सक्दैन, न त उसले मुक्ति नै पाउन सक्छ। यी दुईबीचको भिन्नता यही नै हो।
इ. ख्रीष्टविरोधीहरूको स्वभाव सार
आजको सङ्गतिको जोड मुख्यतः अझै पनि ख्रीष्टविरोधीहरूको स्वभाव सार ठ्याक्कै के हो भन्ने कुराको सारांश निकाल्नु हो। हामीले भर्खरै छलफल गरेका, मानिसका छ भ्रष्ट स्वभावहरूमध्ये कुन तीनलाई ख्रीष्टविरोधीहरूको स्वभाव सार भएका मानिसहरूलाई चित्रण गर्न अझ सही रूपमा प्रयोग गरिन्छ? (सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता।) हामीले दायरालाई घटाएर यी तीनमा सीमित गरेकाले, अघिल्ला तीन यस सङ्गतिको भाग हुनेछैनन्। त्यसोभए, के ख्रीष्टविरोधीहरूको स्वभाव सार भएका मानिसहरूमा हठीपन, अहङ्कार, र छलीपनका भ्रष्ट स्वभावहरूको कमी हुन्छ? (हुँदैन।) त्यसोभए अघिल्ला तीनलाई ख्रीष्टविरोधीहरूको स्वभाव सारलाई चित्रण गर्न किन प्रयोग नगर्ने? (किनभने साधारण भ्रष्ट मानिसहरूमा पनि ती अघिल्ला तीन स्वभाव हुन्छन्, र तिनले व्यक्तिको सारलाई प्रतिनिधित्व गर्दैनन्।) यो एकदमै सटिक सारांश हो। स्वभाव सारको विषयमा भन्नुपर्दा, अघिल्ला तीन भ्रष्ट स्वभाव, अनुपातमा तुलनात्मक रूपमा हल्का हुन्छन्, जबकि ख्रीष्टविरोधीहरूको स्वभाव सारको साँच्चै सारांश निकाल्न सक्ने चाहिँ पछिल्ला तीन हुन्—सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता। यी तीन भ्रष्ट स्वभावले ख्रीष्टविरोधीहरूको स्वभाव सारलाई अझ सही रूपमा चित्रण गर्न सक्छन्। अघिल्ला तीनलाई ख्रीष्टविरोधीहरूको सार चित्रण गर्न प्रयोग नगरिए पनि, ख्रीष्टविरोधीमा ती तीनै भ्रष्ट स्वभाव हुन्छन्, र ती आम मानिसहरूमा हुने भन्दा गम्भीर हुन्छन्। सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता सबैलाई तिनीहरूको हठीपनको सारांश निकाल्न र चित्रण गर्न, र तिनीहरूको हठीपनको हद वर्णन गर्नका लागि प्रयोग गर्न सकिन्छ। साथै, पछिल्ला तीन स्वभावलाई तिनीहरूको अहङ्कार र छलीपनको सारांश निकाल्न र चित्रण गर्न समान रूपमा प्रयोग गर्न सकिन्छ। ख्रीष्टविरोधीहरूको स्वभाव सारका मुख्य विशेषताहरू सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता हुन् भन्ने कुरा सुस्पष्ट छ।
क. दुष्टता
यी तीन भ्रष्ट स्वभावहरू—सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता—मध्ये ख्रीष्टविरोधीको स्वभाव सारभित्रको स्वभावको सबैभन्दा विस्तृत सारांश दुष्टता हो, र ख्रीष्टविरोधीको स्वभाव सारमा हुने सबैभन्दा आम स्वभाव यही हो। दुष्टतालाई किन ख्रीष्टविरोधीको स्वभाव सार वर्णन गर्न प्रयोग गरिन्छ? यदि ख्रीष्टविरोधीहरू निकै दुष्ट हुन्छन् भनेर भनिन्छ भने, तिनीहरूका सोचलाई मूल्याङ्कन गर्दा, तिनीहरूले हरदिन सोच्ने, बोल्ने, र गर्ने कुन कुराले तिनीहरू दुष्ट सार भएका मानिस हुन् भनेर प्रमाणित गर्छ? के यो मनन गर्नुपर्ने प्रश्न होइन र? (हो।) त्यसोभए, हामीले यी मानिसहरूमा साँच्चै दुष्ट सार छ कि छैन भनी ठम्याउन आफ्नो विश्लेषण र अवलोकन, तिनीहरूले के सोच्छन्, तिनीहरूको बोली र हाउभाउ, तिनीहरूले आफूलाई कस्तो आचरणमा ढाल्छन् र कसरी संसारसँग व्यवहार गर्छन् भन्ने कुराबाट सुरु गर्नुपर्छ। सुरुमा ख्रीष्टविरोधीहरूले हरेक दिन के सोच्छन् भन्ने कुरालाई हेरौँ। कतिपय मानिसले आफ्नो हृदयमा यस्तो सोच्ने गर्छन्: “मानिसहरूको यस समूहमाझमा मलाई सबैभन्दा सक्षम मानिँदैन, न त मसँग सबैभन्दा उच्च प्रतिभाहरू नै छन्, त्यसोभए मैले कसरी अझ धेरै लोकप्रियता पाउन, सबैको सम्मान जित्न, मेरा पुर्खाको नामलाई महिमित तुल्याउन, र आफ्नो शिरमाथि प्रभामण्डल पाउन सक्छु? मैले कसरी अरूलाई मनाएर तिनीहरूलाई मेरो कुरा सुन्न र मलाई आदरभावले हेर्न लगाउन सक्छु? हैसियत हुनु त राम्रो कुरा हो जस्तो देखिन्छ। कतिपय मानिसहरू साँच्चै इज्जतसाथ बोल्छन्, अरूलाई समस्याहरू आइपर्दा तिनीहरू उनीहरूकहाँ जान्छन्—मकहाँ चाहिँ किन कोही आउँदैन? किन कसैले पनि मलाई ख्याल गर्दैन? मसँग दिमाग, विचार, र आफ्ना कार्य गर्ने व्यवस्थित तरिका छ, र म मामिलाहरू सम्हाल्दा मूल्याङ्कन गर्न सक्छु—किन कसैले पनि मलाई ध्यान दिँदैन वा मलाई उच्च मान्दैन? म कहिले अरूभन्दा माथि पुग्नेछु? मानिसहरू कहिले मकहाँ मद्दत माग्दै आउनेछन् र मलाई समर्थन गर्नेछन्?” यी मानिसहरू केबारे सोचिरहेका छन्? तिनीहरू सकारात्मक कुराहरूबारे सोचिरहेका छन् कि नकारात्मक? (नकारात्मक कुराहरू।) कतिपय मानिसहरूले अरूहरूबीच एक-आपसमा राम्रो सम्बन्ध भएको देख्दा यसो सोच्ने गर्छन्: “तिनीहरूको सम्बन्ध कसरी यति राम्रो भयो? मैले कलहको बिउ छर्ने र तिनीहरूको सम्बन्धलाई बिगार्ने तरिका खोज्नुपर्छ; यसरी म एक्लिने छैन र मसँग सहयोगी हुनेछ।” यी मानिसहरूले के गरिरहेका हुन्छन्? तिनीहरूले जुनसुकै विधि प्रयोग गरे पनि, मुख्य कुरा कलहको बिउ छर्नु नै हो। कसैले उत्साह र जोशसाथ आफ्नो कर्तव्य निर्वाह गरिरहेको, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा जे गरे पनि ज्योति पाएको देख्दा, तिनीहरूले ईर्ष्या गर्छन् र त्यस व्यक्तिलाई कसरी कमजोर बनाउने, कसरी तिनीहरूको उत्साह मेटाउने र तिनीहरूलाई नकारात्मक महसुस गराउने भनी चिन्तन गर्छन्। यी विचारहरूलाई, व्यवहारमा उतारे वा नउतारे पनि, यी नकारात्मक विचार हुन्। यस्तो सोच्ने मानिसहरू पनि हुन्छन्: “नवनिर्वाचित अगुवाले मलाई कसरी हेर्छन्? म यस अगुवाको नजिक जानुपर्छ। हाम्रो सम्बन्ध त्यति राम्रो छैन, र हामी त्यति नजिक छैनौँ, त्यसैले मैले कसरी उनको चापलुसी गर्न सक्छु? मसँग हातमा केही पैसा छ, त्यसैले म उनलाई चाहिएको कुरा पत्ता लगाएर त्यो किनिदिनेछु। तर उनलाई कम्प्युटर चाहिएको छ भने, म त्यति पैसा खर्च गर्न इच्छुक छैनँ; यदि भविष्यमा उनी अगुवा रहेनन् भने, के त्यो पैसा खेर जानेछैन र? यदि उनलाई पन्जा वा लुगाजस्ता कुनै चीज चाहिएको छ भने, म त्यो किन्न सक्छु, र त्यो खर्च गर्न लायक छ। पैसालाई सही कुरामा खर्च गरिनुपर्छ, खेर फाल्नु हुँदैन। मैले खोक्रा शब्दले मात्र नभई वास्तविक कार्यले अगुवाको चापलुसी गर्नुपर्छ र उनलाई प्रसन्न पार्नुपर्छ—यो अगुवालाई के मन पर्छ भनेर मैले निरन्तर ख्याल राख्नुपर्छ। साथसाथै, म हरेक दिन खाना खाने बेलामा अगुवाका लागि खाना पस्किन मद्दत गर्नेछु र उनले खाना खाइसकेपछि भाँडा माझिदिनेछु। यदि अगुवाले कसैको आलोचना गरे भने, म पनि सँगसँगै लागेर उनको कुरा दोहोऱ्याउनेछु; यदि अगुवाले कसैको प्रशंसा गरे भने, म तुरुन्तै त्यस व्यक्तिलाई सिफारिस गर्नेछु र उसका सद्गुणहरूको प्रशंसा गर्नेछु।” यी मानिसहरू केबारे सोचिरहेका छन्? (अगुवालाई सन्तुष्ट पार्ने र उसको खुसामद गर्ने बारे।) परमेश्वरको घरमा काम गर्दै गर्दा, कतिपयले यस्तो पनि सोच्ने गर्छन्: “अरूले कडा मेहनत र इमानदारीसाथ काम गर्छन्। म चलाख हुनुपर्छ, म मूर्ख हुनु हुँदैन, र मैले आफैँलाई धेरै मेहनत गराउनु हुँदैन। भविष्यमा परमेश्वरको घरलाई मेरो आवश्यकता परेन भने, यो सब मेहनत खेर जानेछैन र? के मैले बित्थैमा मेहनत गरिरहेको हुनेछैन र? तर यदि मैले काम गर्दै गरिनँ भने, परमेश्वरको घरले मलाई धपाउनेछ। मैले के गर्ने? अगुवा उपस्थित हुँदा, म पूरै मेहनतसाथ काम गर्नेछु, पसिना बगाउनेछु, र अगुवालाई देखाउनेछु; ऊ आसपास नभएको बेला, म शौचालयतिर जानेछु, पानी पिउनेछु, डुल्न निस्कनेछु, वा कुनातिर गएर आराम गर्नेछु। यदि अरूले तीन बेल्चा माटो खने भने, मचाहिँ आधा बेल्चा मात्र खन्नेछु; यदि अरूले सामान बोकेर चार-पाँच चोटि ओहोरदोहोर गरे भने, म एक चोटि मात्र गर्नेछु। मौका पाउनेबित्तिकै आराम गर्नेछु र अल्छी गर्नेछु। म त्यति भोलो मनको हुनुहुन्न; धेरै मेहनत गरेर म बिरामी परेँ वा थकित भएँ भने, मलाई कसले बिचरा भन्नेछ? मेरो बिमारीको उपचार कसले गर्नेछ? के ती अगुवाले गर्नेछन्? के परमेश्वरले त्यसलाई सम्हाल्नुहुनेछ? के यी कुराका लागि परमेश्वर जिम्मेवार हुनुहुनेछ? त्यसकारण, मैले काम गर्दा, कता चाहिँ सबैभन्दा बढी देखिने गरी काम गर्न सक्छु भनेर पत्ता लगाउनुपर्छ। अल्छी गर्न मन लाग्यो भने, म फेला पर्ने सबैभन्दा कम सम्भावना कहाँ छ, मैले ध्यान आकर्षित गर्ने सबैभन्दा कम सम्भावना कहाँ छ भनेर पत्ता लगाउनुपर्छ।” यी मानिसहरू केबारे सोचिरहेका छन्? (काममा अल्छी गर्ने र धूर्त हुनेबारे।)
१. ख्रीष्टविरोधीहरूले मानिसहरूलाई के गर्छन्
दिनभरि दुष्ट विचार हुने मानिसहरूको चरित्र कस्तो हुन्छ? न्यून निष्ठा र कपटीपन भएको हुन्छ। तिनीहरूको स्वभावलाई मूल्याङ्कन गर्दा, यो के हो? (दुष्टता।) तिनीहरूले सोच्ने यी कुराहरूको प्रकृतिमा कुनै सत्यनिष्ठा छ? के त्यसमा भद्र, खुल्ला, र निष्कपट सुनिने कुनै कुरा छ? के त्यसमा कुनै राम्रो कुरा छ? (अहँ, केही पनि छैन।) त्यसोभए, संक्षेपमा भन्नुपर्दा, ख्रीष्टविरोधीको सार भएका मानिसहरूको दुष्ट स्वभावमा प्रकट हुने पहिलो कुरा भनेको तिनीहरूले दिनभरि दुष्टताबारे मात्रै सोच्छन्। तिनीहरूले चाहे ठूलै समस्या सामना गरून् वा सानोतिनो, तिनीहरूका विचार दुष्टताले भरिएका हुन्छन्। ठ्याक्कै भन्नुपर्दा, तिनीहरूले मानिसहरूलाई निश्चित कुराहरू गर्छन्, र तिनीहरूमा परमेश्वरप्रति फरक-फरक प्रकटीकरण र अभ्यासहरू हुन्छन्। त्यसोभए, तिनीहरूले मानिसहरूलाई के-कस्ता कुरा गर्छन्? तिनीहरूका विचारमा के-कस्ता अभ्यासहरू विकासित हुन्छन्? अहिले भर्खरै उल्लेख गरिएका कैयौँ उदाहरणहरूमा, के तिमीहरूले यस्तो व्यक्तिले कसरी निरन्तर अरूविरुद्ध षड्यन्त्र गरिरहेको हुन्छ भनेर देख्न सक्छौ? तिनीहरूले लगातार षड्यन्त्र रच्छन्, र तिनीहरूसँग व्यवहार गर्ने वा सम्पर्कमा आउने जोकोही पनि तिनीहरूको षड्यन्त्रको सिकार बन्छ। दोस्रो, कामकुरा गर्दा तिनीहरू कहिलेकाहीँ नबोल्ने भए पनि, तिनीहरूका कार्यका तरिका, विधि, र उत्प्रेरणाहरू सच्चा हुँदैनन्, र तिनीहरूले सत्यता अभ्यास गरिरहेका हुँदैनन्—यो एउटा भ्रामक स्वरूप मात्र हो। यसको प्रकृति के हो, र यो अभ्यास के हो? यो छल र ढोँग हो, र तिनीहरूले अरूलाई जाँच पनि गरिरहेका हुन्छन्। तिनीहरूले ढोँग गर्न र मानिसहरूलाई ठग्न सक्ने हुनाले, के तिनीहरूले मानिसहरूलाई प्रलोभनमा पार्न र बहकाउन पनि सक्छन् त? (हो, सक्छन्।) साथै, यस्तो खालको व्यक्ति हैसियत, प्रतिष्ठा, इज्जत, र आफ्नै हितका लागि अरूसँग निरन्तर सङ्घर्षमा संलग्न भइरहेको हुन्छ। तिनीहरू ख्याति, कसको अन्तिम निर्णय हुन्छ, कोसँग धेरै विचारहरू छन्, कसका राय धेरै बुद्धिमानीपूर्ण र तर्कसङ्गत छन्, कसलाई सबैले धेरै समर्थन गर्छन्, र कसले धेरै लाभ हासिल गर्न सक्छ भन्ने कुराका लागि लडाइँ गर्छन्—तिनीहरू यिनै कुराका लागि प्रतिस्पर्धा गर्छन्। आफूसँग हैसियत नभए पनि, तिनीहरू यसरी मानिसहरूविरुद्ध षड्यन्त्र रच्छन्, त्यसोभए तिनीहरूसँग हैसियत भएको बेला चाहिँ के गर्छन् त? त्यतिबेला, तिनीहरूको प्रभुत्वअन्तर्गत रहेका मानिसहरू निरन्तर सास्तीमा परिरहेका हुन्छन्; तिनीहरूले सत्यतालाई प्रेम नगर्नेहरूलाई आकर्षित गर्छन् र तिनीहरूको मन जित्छन्, अनि तिनीहरूले सत्यता स्विकार्न सक्नेहरूलाई आक्रमण र बहिष्कार गर्छन्, जसको उद्देश्य सबैलाई आफ्नो कुरा सुन्न र पालन गर्न लगाउनु हो; तिनीहरूले जहिल्यै गुट बनाइरहेका र समूहहरूमा कलहको बिउ छरिरहेका, र अन्त्यमा सबैलाई आफ्नो स्वामित्वमा ल्याइरहेका हुन्छन्। यी सबै कुराहरू तिनीहरूको सास्तीको दायराभित्र पर्छन्। ख्रीष्टविरोधीहरूले दिनभरि दुष्टताबारे सोचिरहेका हुन्छन्, र तिनीहरूले प्रकट गर्ने हरेक स्वभाव दुष्ट हुन्छ। त्यसोभए, के त्यस्ता मानिसहरूको स्वभाव दुष्ट हुन्छ भनेर भन्नु सही हुन्छ? (हो, हुन्छ।) सबैलाई आफ्नो स्थान थाहा हुने, आफ्नै काममा लागिरहने, र आफूले गर्नुपर्ने कार्य गर्ने मानिसहरूको समूहमा ख्रीष्टविरोधी देखा पर्नेबित्तिकै, उसले भित्रैबाट कलहको बिउ छर्छ, र एउटा व्यक्तिको कुरा अर्को व्यक्तिसँग काट्छ गर्छ, र ठ्याक्कै त्यसको विपरित पनि गर्छ, ती दुई व्यक्तिलाई जुधाइदिन्छ। के यो कलहको बिउ छर्नुको नतिजा होइन? त्यसोभए, ख्रीष्टविरोधीको षड्यन्त्रका केही प्रकटीकरणहरू के-के हुन्? उदाहरणका लागि, जब मण्डलीमा चुनाव हुन्छ, तब महत्त्वाकाङ्क्षा विनाका साधारण मानिसहरूले यस्तो सोच्न सक्छन्, “जोसुकै चुनिए पनि, म उसप्रति समर्पित हुनेछु; परमेश्वरले जोकोहीलाई अगुवा बन्ने अनुमति दिनुहुन्छ, म उसैलाई समर्थन गर्नेछु, र म कसैका लागि झन्झट बन्नेछैनँ वा समस्या खडा गर्नेछैनँ।” तर खराब अभिप्राय बोकेकाहरूले यसरी सोच्दैनन्। यस चुनावमा आफूले जित्ने अलिकति पनि आशा नरहेको देखे भने, तिनीहरू मनमनै लेखाजोखा गर्न थाल्छन्: “मैले सबैका लागि राम्रा कुराहरू किनिदिनुपर्छ। आजकल मण्डलीमा के कुराको कमी छ? म वायु-शोधक यन्त्र किन्नेछु र त्यसलाई भेला हुने स्थानमा राखिदिनेछु, ताकि सबैले स्वच्छ हावा लिँदा मलाई याद गरून्। यसरी, चुनावको समय आउँदा के म तिनीहरूले याद गर्ने पहिलो उम्मेदवार हुनेछैन र? त्यसकारण, मैले व्यर्थैमा कार्य वा पैसा खर्च गरिरहेको हुनेछैनँ।” यो सोचेर, तिनीहरूले तुरुन्तै सबैभन्दा सस्तो र हेर्नमा राम्रो वायु-शोधक यन्त्र किन्छन्। त्यसका साथै, तिनीहरूले सोच्छन्: “यस समयावधिमा, म होसियार हुनुपर्छ। मैले गलत कुराहरू बोल्नुहुन्न, र मैले नकारात्मक र अरूका लागि शिक्षाप्रद नहुने कुराहरू गर्नुहुन्न; मानिसहरू भेट्दा मैले चापलुसीपूर्ण शब्दहरू बोल्नुपर्छ र ‘तिमी निकै सुन्दर देखिएका छौ! तिमीले साँच्चै सत्यता पछ्याइरहेका छौ! तिमीले मैले जति लामोसमयसम्म परमेश्वरमा विश्वास नगरेका भए पनि, तिमीले मभन्दा धेरै सत्यता पछ्याएका छौ। तिम्रो मानवता असल छ, र तिमीजस्ता असल मानवता भएका मानिसहरूले मुक्ति पाउन सक्छन्—मजस्तोले चाहिँ सक्दैन’ भन्ने जस्ता कुराहरू गर्दै अरूको बारम्बार प्रशंसा गर्नुपर्छ। म विनम्र देखिनुपर्छ र अरूलाई सबै पक्षमा आफूभन्दा राम्रो भन्दै तिनीहरूको प्रशंसा गर्नुपर्छ, र अरूलाई पर्याप्त सम्मान पाएको महसुस गराउनुपर्छ।” के यो षड्यन्त्र रच्नु होइन र? ख्रीष्टविरोधीहरूले यस्ता कुराहरू सजिलै गर्छन्; साधारण मानिसहरूले तिनीहरूलाई उल्टै षड्यन्त्रमा पार्न सक्दैनन्। गैरविश्वासीहरूमाझ भनिने भनाइ के हो? (तँलाई कसैले बेच्यो, तैपनि तँ त्यसैलाई पैसा गन्न सघाउँछस्।) ख्रीष्टविरोधीहरूले यस्ता कुराहरू गर्छन्, र धेरैजसो मानिस तिनीहरूको धोका र षड्यन्त्रको सिकार हुन्छन्।
मलाई भन त, के ख्रीष्टविरोधीहरूले काटछाँट स्विकार्छन्? के तिनीहरूले आफूमा भ्रष्ट स्वभाव भएको कुरा स्विकार्छन्? (अहँ, तिनीहरूले स्विकार्दैनन्।) तिनीहरूले आफूमा भ्रष्ट स्वभाव भएको कुरा स्विकार्दैनन्, तर काटछाँट गरिएपछि पनि तिनीहरू आफूलाई चिन्ने ढोँग गर्छन्। तिनीहरू मानवतारहित र कमजोर क्षमताका दियाबलस र शैतान हौँ, र कामकुरालाई राम्रोसँग ख्याल गर्न सक्दैनौँ, मण्डलीले प्रबन्ध गरेका कार्यहरू गर्न अयोग्य छौँ, र आफ्ना कर्तव्य राम्ररी निर्वाह गरेका छैनौँ भनेर भन्छन्। त्यसपछि, तिनीहरूले अधिकांश मानिसहरूको अगाडि आफ्नो भ्रष्ट स्वभाव स्विकार्छन्, आफू दियाबलस भएको स्विकार्छन्, र अन्त्यमा, यो परमेश्वरले तिनीहरूलाई शोधन गरिरहनुभएको र मुक्ति दिइरहनुभएको हो भन्छन्, र यसो गरेर मानिसहरूलाई तिनीहरू काटछाँट स्विकार्न कति सक्षम छन् र तिनीहरू सत्यताप्रति कति समर्पित छन् भन्ने कुरा देखाउँछन्। तिनीहरू आफूलाई किन काटछाँट गरिएको हो वा आफ्ना कार्यले मण्डलीको कामलाई कति हानि र नोक्सान पुऱ्याएको छ भन्ने कुरा उल्लेख गर्दैनन्। तिनीहरू मानिसहरूलाई परमेश्वरको घरले आफूमाथि गरेको काटछाँट अनुपयुक्त र अन्यायपूर्ण छ भनी गलत अर्थ लगाउने तुल्याउन यी मामिलाहरूदेखि टाढै बस्छन् र खोक्रा वचन, धर्मसिद्धान्त, कुतर्क, र व्याख्यात्मक टिप्पणीहरू बोल्छन्, मानौँ तिनीहरूले कुनै ठूलो अन्याय भोगेका छन्। काटछाँट गरिएपछि पनि तिनीहरू हृदयमा जब्बर रहन्छन्, आफ्ना कुनै पनि विविध दुष्ट कार्यहरूलाई अलिकति पनि स्विकार्दैनन्। त्यसोभए, आफ्नो भ्रष्ट स्वभाव स्विकार्ने, सत्यता स्विकार्न इच्छुक हुने, र काटछाँटमा समर्पित हुन सक्ने भन्नेबारे तिनीहरूले गरेको सङ्गतिका यी शब्दहरू के हुन् त? के यी तिनीहरूका साँचो भावना हुन्? बिलकुलै होइनन्। ती सब मानिसहरूलाई बहकाउन र प्रलोभनमा पार्नका खातिर बोलिएका झूट, ढोँग, दुष्ट शब्दहरू हुन्। तिनीहरूले मानिसहरूलाई बहकाउनुको उद्देश्य के हो? (मानिसहरूलाई तिनीहरूको आराधना गर्न र तिनीहरूलाई पछ्याउन लगाउनु।) ठ्याक्कै यही हो, यसको उद्देश्य मानिसहरूलाई बहकाउ र प्रलोभनमा पारेर आफूलाई पछ्याउन र सुन्न लगाउनु, र सबैलाई आफू सही र असल भएको सोच्न लगाउनु हो। यसरी, तिनीहरूलाई कसैले पनि छर्लङ्गै देख्न वा तिनीहरूको विरोध गर्न सक्दैन। त्यस विपरीत, मानिसहरूले तिनीहरू सत्यता स्विकार्ने, काटछाँट स्विकार्ने, र पश्चात्ताप गर्ने मानिस हुन् भनेर विश्वास गर्छन्। त्यसोभए, तिनीहरूले किन आफ्ना दुष्ट कार्यहरू वा आफूले परमेश्वरको घरको काममा पुऱ्याएका नोक्सानीलाई स्विकार्दैनन्? तिनीहरूले किन यी मामिलाहरूलाई सङ्गति गर्नका लागि सार्वजनिक गर्दैनन्? (यदि तिनीहरूले यी कुरा भन्ने हो भने, मानिसहरूले तिनीहरूलाई खुट्ट्याउने थिए।) यदि मानिसहरूले तिनीहरूलाई खुट्ट्याउने, छर्लङ्ग देख्ने, र तिनीहरूको मानवता र स्वभाव सार छर्लङ्ग देख्ने हो भने, उनीहरूले तिनीहरूलाई त्याग्ने थिए। के उनीहरू अझै पनि तिनीहरूका छलकपटमा परेर बहकिने थिए त? के उनीहरूले अझै पनि तिनीहरूलाई उच्च सम्मान दिनेथिए त? के उनीहरूले अझै पनि तिनीहरूको अचाक्ली प्रशंसा गर्नेथिए त? के उनीहरूले अझै पनि तिनीहरूको आराधना गर्नेथिए त? उनीहरूले यीमध्ये केही पनि गर्नेथिएनन्। ख्रीष्टविरोधीहरूले आफूलाई चिनेको नाटक गर्छन्, तर वास्तवमा, यो सब मानिसहरूलाई बहकाउन र आफ्ना लागि खडा गराउन रचिएका मिथ्या र आत्म-स्पष्टीकरण हुन्, जुन तिनीहरूको गुप्त मनसाय हो। तिनीहरू मानिसहरूलाई बहकाउन र प्रलोभनमा पार्न, आफूलाई सम्मान र आराधना गर्न लगाउन महत्त्वपूर्ण मामिलाहरूलाई छल्छन् र आफैलाई चिन्ने र काटछाँट स्विकार्ने कुराबारे हल्का रूपमा कुरा गर्छन्। के यो विधि निकै दुष्ट छैन र? कतिपय मानिसहरू साँच्चै यो कुराको छलमा पर्छन्, र ख्रीष्टविरोधीहरूद्वारा बहकाइएपछि यसो भन्छन्, “त्यो व्यक्ति कस्तो राम्ररी बोल्छ—म निकै उत्प्रेरित भएँ। म धेरै पटक रोएँ!” त्यतिबेला, यी मानिसहरूले तिनीहरूलाई निकै आराधना र आदरभावले हेर्छन्, तर अन्त्यमा तिनीहरू ख्रीष्टविरोधी निस्कन्छन्; यो ख्रीष्टविरोधीहरूले अरूलाई बहकाउनु र प्रलोभनमा पार्नुको नतिजा हो। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई यसरी नै बहकाउन सक्छन्, र यसको फन्दामा पर्ने र ठगिने मानिसहरूको कुनै कमी हुँदैन। यदि यस मामिलामा कसैले ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्छ भने, ऊ सत्यता बुझ्ने र सुझबुझ भएको मान्छे हो।
ख्रीष्टविरोधीहरूले मानिसहरूलाई प्रायः सास्ती दिने गर्छन्। तिनीहरूको एउटा प्रख्यात भनाइ छ, त्यो हो: “हे साना प्यारा, तँ मसामु नझुक्ने हुनाले, म तँलाई एक-दुई चालमै घुँडा टेकाएर मेरो आराधना गर्न लगाउनेछु—यदि तँ झुकिनस् भने म तँलाई मृत्युदण्ड दिनेछु!” ख्रीष्टविरोधीहरूले के गर्न चाहन्छन्? तिनीहरू मानिसहरूलाई सास्ती दिन चाहन्छन्। तिनीहरू कस्ता मानिसहरूलाई सास्ती दिन चाहन्छन्? तैँले तिनीहरूलाई पालना गरिस्, तिनीहरूको खुसामद गरिस्, र तिनीहरूको आराधना गरिस् भने, के तिनीहरूले तँलाई सास्ती दिनेछन्? यदि तँ तिनीहरूप्रति विनम्र र आज्ञाकारी छस्, यदि तिनीहरूले तँलाई खतराका रूपमा लिँदैनन्, तँलाई निकम्मा वा दास ठान्छन् भने, तिनीहरूले तँलाई सास्ती दिने कष्ट लिनेछैनन्। यदि तिनीहरूले कुनै खराब काम वा दुष्ट कार्यहरू गरे भने, यदि तिनीहरूले आफूलाई खुट्ट्याउने, आफ्नो खुलासा र पर्दाफास गरिदिने, आफूलाई आफ्नो पदबाट तानेर तल झारिदिने, आफ्नो प्रतिष्ठालाई बर्बाद गरिदिने र आफ्ना कार्यलाई कमजोर पारिदिने कोही भेटे भने, तिनीहरूले त्यस व्यक्तिलाई कसरी सास्ती दिने भनी सोच्नेछन्। ख्रीष्टविरोधीहरूले लहडमै मानिसहरूलाई सास्ती दिने गर्दैनन्; बरु, तिनीहरूले निरन्तर मानिसहरूलाई निरीक्षण र परीक्षण गरिरहेका हुन्छन्, र पिठ्यूँपछाडि तिनीहरूका बारेमा कसले नराम्रो बोलिरहेको छ, को तिनीहरूसामु झुक्दैन, कसले तिनीहरूका कार्यलाई खुट्ट्याउँछ, कसले तिनीहरूलाई ध्यान दिँदैन, र कसले तिनीहरूसँग घुलमिल गर्न अस्वीकार गर्छ भनेर हेरिरहेका हुन्छन्। केही बेर निरीक्षण गरेर दुई वा तीनजना त्यस्ता व्यक्तिहरू भेट्टाएपछि, तिनीहरूले भेलामा ती मानिसहरूका समस्याबारे सङ्गति गर्न थाल्छन्। तिनीहरूले भन्ने कुरा सतहमा सही देखिए पनि, वास्तवमा यो कारण र उद्देश्यसाथ कसैप्रति लक्षित हुन्छ। त्यो कारण के हो? तिनीहरूले राम्ररी अनुसन्धान गरिसकेका हुन्छन्; यी व्यक्तिहरू तिनीहरूसामु झुक्दैनन्, र उनीहरूले तिनीहरूलाई खुट्ट्याउँछन्, सधैँ तिनीहरूको खुलासा र पर्दाफास गर्ने, तिनीहरूलाई कार्यालयबाट निकाल्ने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूले ती व्यक्तिहरूलाई चेतावनी दिन, खबरदारी गर्न यी कुराहरू भन्छन्। यदि ती व्यक्तिहरू पछि हटे र अघि बढिरहने आँट गरेनन् भने, र सबथोक ख्रीष्टविरोधीहरूकै चाहनाअनुसार भयो भने, ख्रीष्टविरोधीहरूले उनीहरूलाई बेवास्ता गर्छन्। तर यदि ती व्यक्तिहरूले पहिलेजस्तै गरिरहे, तिनीहरूसँग घुलमिल हुन अस्वीकार गरे अनि अझै पनि तिनीहरूको पर्दाफास गर्ने, तिनीहरूलाई माथिलाई रिपोर्ट गर्ने, र उनीहरूलाई कार्यालयबाट निकाल्ने मनसाय राखिरहे भने, उनीहरू ख्रीष्टविरोधीहरूको सास्तीको अर्को निसाना बन्छन्। तिनीहरूले अन्य तरिकाहरूबारे सोच्छन्, र झनै सशक्त र कठोर विधिहरू अपनाउँछन्, तिनीहरूका कमीकमजोरीको फाइदा उठाउने तरिकाहरू सोच्ने र तिनीहरूलाई सास्ती दिने अवसरहरू खोज्ने गर्छन्, र तिनीहरूलाई मण्डलीबाट निष्कासित नगरिएसम्म रोकिँदैनन्। ख्रीष्टविरोधीहरूले असहमत हुनेहरूलाई यस्तै प्रकारको सास्तीको स्वाद चखाउँछन्, र आफ्नो लक्ष्य हासिल नभएसम्म आराम गर्दैनन्। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई सास्ती दिन प्रयोग गर्ने विधिहरू क्रूर हुन्छन्। तिनीहरूले सुरुमा कुनै बहाना खोज्छन् र मानिसहरूलाई बिल्ला भिराउँछन्, अनि त्यसपछि तिनीहरूलाई सास्ती दिन थाल्छन्, र मानिसहरूले तिनीहरूको पालन नगरेसम्म र तिनीहरूसामु पूर्ण रूपमा नझुकेसम्म रोकिँदैनन्—नत्र त्यो सकिएकै हुँदैन। ख्रीष्टविरोधीहरूले गुट निर्माण गर्ने र मण्डलीलाई नियन्त्रण गर्ने उद्देश्यसाथ मण्डलीमा सधैँ कलहको बिउ छर्छन् र गिरोहहरू बनाउँछन्। के यो आम रूपमा घट्ने घटना होइन र? ख्रीष्टविरोधीहरूले गिरोहहरू बनाउँछन्, कलहको बिउ छर्छन्, मानिसहरूलाई आफूतिर तान्छन्, आफ्ना लागि फाइदाजनक, आफ्ना लागि बोलिदिन सक्ने, आफ्ना दुष्ट कार्यहरू ढाकछोप गरिदिने, र महत्त्वपूर्ण क्षणहरूमा आफ्नो प्रतिरक्षा गरिदिने मानिसहरूसँग मिलेर षड्यन्त्र रच्छन्। तिनीहरूले यी मानिसहरूलाई आफ्ना लागि कामकुरा गर्न लगाउँछन्, अरूको रिपोर्ट ल्याउन र आफ्नो दूत बन्न समेत लगाउँछन्। यदि तिनीहरूसँग हैसियत छ भने, यो समूह तिनीहरूको स्वतन्त्र राज्य बन्छ। यदि तिनीहरूसँग हैसियत छैन भने, तिनीहरू र तिनीहरूको समूहले मण्डलीभित्र एउटा शक्ति निर्माण गर्छन्, मण्डलीको सामान्य कामकारवाहीमा बाधा दिन्छन् र हस्तक्षेप गर्छन्, र मण्डलीको सामान्य जीवनमा र काममा बाधा दिन्छन्।
ख्रीष्टविरोधीहरूको दुष्ट सारको सबैभन्दा आम प्रकटीकरण भनेको तिनीहरू ढोँग र पाखण्डमा निकै निपुण हुनु हो। तिनीहरूको स्वभाव अत्यन्तै क्रूर, कपटी, घातक, र अहङ्कारी भए पनि, तिनीहरूले आफूलाई बाहिरी रूपमा निकै विनम्र र सौम्य देखाउँछन्। के यो ढोँग होइन र? यी मानिसहरू हरेक दिन आफ्नो हृदयमा यस्तो सोच्दै चिन्तन गर्छन्, “मैले आफूलाई झनै इसाई, झनै सम्माननीय, झनै आत्मिक, झनै बोझ बोकेको, र झनै अगुवाजस्तो देखाउन कस्तो लुगा लगाउनुपर्छ? मैले मानिसहरूलाई आफू पर्याप्त रूपमा परिष्कृत, शिष्ट, मर्यादित र भद्र छु भनी महसुस गराउन कसरी खाना खानुपर्छ? मैले नेतृत्व र आकर्षणको भाव ल्याउन, साधारण नभई असाधारण व्यक्तिजस्तो देखिन कस्तो हिँड्ने मुद्रा अपनाउनुपर्छ? अरूसँग कुराकानी गर्दा, कस्तो लबज, शब्दावली, रूप, र मुखाकृतिले मानिसहरूलाई म सामाजिक उच्च खानदान वा उच्चपदस्थ बुद्धिजीवीजस्तो उच्च वर्गको हुँ भन्ने महसुस गराउन सक्छ? मेरो पोशाक, शैली, बोली, र व्यवहारले कसरी मानिसहरूलाई मलाई उच्च सम्मान गर्ने तुल्याउन, तिनीहरूमा अमिट छाप छोड्न, र म सदाका लागि तिनीहरूका हृदयमा रहिरहन सुनिश्चित गर्न सक्छ? मैले मानिसहरूको मन जित्न र तिनीहरूलाई न्यानोपन दिन, र चिरस्थायी छाप छोड्न के भन्नुपर्छ? मैले अरूलाई मद्दत गर्न र अरूबारे राम्रो बोल्न अझ धेरै गर्नैपर्छ, परमेश्वरका वचनहरूबारे बारम्बार बोल्नैपर्छ र मानिसहरूसामु केही आत्मिक शब्दहरू प्रयोग गर्नैपर्छ, अरूलाई परमेश्वरका थप वचनहरू पढेर सुनाउनैपर्छ, तिनीहरूका लागि अझ धेरै प्रार्थना गर्नैपर्छ, मानिसहरूलाई कान थापेर मेरो कुरा सुन्न लगाउन सानो स्वरमा बोल्नैपर्छ, र तिनीहरूलाई म सौम्य, ख्याल राख्ने, माया गर्ने, दिलदार, र क्षमाशील छु भन्ने महसुस गराउनैपर्छ।” के यो ढोँग होइन र? ख्रीष्टविरोधीहरूको हृदय यिनै सोचहरूले ओगटिएको हुन्छ। तिनीहरूका सोचभरि अरू केही नभई गैरविश्वासी संसारका प्रचलनहरू हुन्छन्, जसले तिनीहरूका सोच र दृष्टिकोण संसार र शैतानका हुन् भनेर पूर्णतः सङ्केत गर्छ। कतिपय मानिसले गोप्य रूपमा वेश्या वा दुराचारी महिलाले जस्तै लुगा लगाउलान्; तिनीहरूको पहिरनले विशेष गरी दुष्ट प्रवृत्तिहरू पूरा गर्छ र त्यो निकै चल्तीको हुन्छ। तर, जब तिनीहरू मण्डलीमा आउँछन्, तब ब्रदर-सिस्टरहरूमाझ तिनीहरूको पहिरन र चालढाल पूर्णतः फरक हुन्छ। के तिनीहरू ढोँग गर्नमा एकदमै निपुण छैनन् र? (छन्।) ख्रीष्टविरोधीहरूले आफ्नो हृदयमा चिन्तन गर्ने कुरा, तिनीहरूले गर्ने कुरा, तिनीहरूका विविध प्रकटीकरण, र तिनीहरूले प्रकट गर्ने स्वभाव सबैले तिनीहरूको स्वभाव सार दुष्ट छ भनेर चित्रण गर्दछन्। ख्रीष्टविरोधीहरू सत्यता, सकारात्मक कुरा, सही मार्ग, वा परमेश्वरका मागहरूबारे चिन्तन गर्दैनन्। तिनीहरूका सोच, र तिनीहरूले छनोट गर्ने तरिका, विधि, र उद्देश्य सब दुष्ट हुन्छन्—ती सबै सही मार्गबाट विचलित हुन्छन् र सत्यतासँग मिल्दैनन्। ती सत्यताविरुद्ध समेत जान्छन्, र तिनलाई सामान्यतया दुष्टताका रूपमा सारांशीकृत गर्न सकिन्छ; यति मात्र हो कि यस दुष्टताको प्रकृति दुष्ट हुन्छ—त्यसैले, यसलाई समग्रमा दुष्टता भनिन्छ। तिनीहरू इमानदार व्यक्ति बन्ने, शुद्ध र खुल्ला हुने, वा निष्कपट र बफादार हुनेबारे चिन्तन गर्दैनन्; बरु तिनीहरू दुष्ट विधिहरूबारे सोच्ने गर्छन्। उदाहरणका लागि, आफूबारे शुद्ध तरिकाले खुलस्त बताउन सक्ने कुनै व्यक्तिलाई लिऔँ, जुन सकारात्मक कुरा र सत्यता अभ्यास गर्नु हो। के ख्रीष्टविरोधीहरू यसो गर्छन्? (गर्दैनन्।) तिनीहरू के गर्छन्? तिनीहरू निरन्तर रूपमा ढोँग गरिरहेका हुन्छन्, अनि जब तिनीहरू कुनै खराब कुरा गर्छन् र तिनीहरूको चर्तिकला पर्दाफास हुन थाल्छ, तब तिनीहरू त्यो उग्र रूपले लुकाउँछन्, आफ्नो सफाइ दिन्छन् र आफ्नो बचाव गर्छन्, र तथ्यहरू ढाकछोप गर्छन्—त्यसपछि तिनीहरू अन्ततः आफ्ना कारणहरू दिन्छन्। के यीमध्ये कुनै पनि अभ्यास सत्यता अभ्यास गर्नुसमान हुन्छन्? (हुँदैनन्।) के तीमध्ये कुनै सत्यता सिद्धान्तहरूअनुरूप हुन्छन्? झनै हुँदैनन्।
भर्खरै, हामीले ख्रीष्टविरोधीहरूको स्वभाव सारको पहिलो पक्ष—दुष्टताबारे सङ्गति र त्यसको चिरफार गऱ्यौँ। हामीले ख्रीष्टविरोधीहरूले दिनभरि सोच्ने कुराको चिरफारबाट सुरु गऱ्यौँ, र ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव चिरफार गर्न तिनीहरूका सोच, दृष्टिकोण, र तिनीहरूले विविध मामिलाहरूप्रति दिने प्रतिक्रियाका तरिका र विधिहरू प्रयोग गऱ्यौँ। हामीले ख्रीष्टविरोधीहरूले आफ्ना सोचमा रहेका कुराका आधारमा गर्ने विभिन्न कुराको प्रकृतिलाई पनि चिरफार गऱ्यौँ। हामीले यी घटनाहरूमार्फत प्रकट भएका तिनीहरूको स्वभाव सार चिरफार गर्न केही उदाहरण पनि दियौँ। यी उदाहरणका सन्दर्भमा भन्नुपर्दा, के तिमीहरूले यी व्यवहार देखाउने र यी स्वभाव प्रकट गर्नेहरूमाझ तुलनात्मक रूपमा असल मानवता भएको कोही देखेका छौ? यस्ता प्रकाश र प्रकटीकरणहरू भएको व्यक्तिको कुरा गर्नुपर्दा, के तिनीहरूका चरित्रमा इमानदारी, भलाइ, सरलता, निष्कपटता, सत्यनिष्ठा इत्यादि हुन्छ? (हुँदैन।) स्पष्टतः तिनीहरूमा यी गुणहरू हुँदैनन्। त्यसको विपरित, तिनीहरूको चरित्र कपटी, निर्दयी, झुट बोल्ने बानी भएको, स्वार्थी, दुष्ट, र सम्मानबोध नभएको हुन्छ। तिनीहरूको चरित्रका यी विशेषताहरू निकै सुस्पष्ट छन्। दिनभरि नै दुष्ट सोच पाल्ने, र विभिन्न दुष्ट कुराहरू गर्न सक्नेहरू सबैमा एकदमै खराब चरित्र हुन्छ भनेर सही रूपमा भन्न सकिन्छ। यो कुन हदसम्म खराब हुन्छ? यसमा विवेक, निष्ठा, र विशेष गरी सामान्य चेतनाको कमी हुन्छ। के यी कुराहरू नभएका मानिसहरूलाई मानव मान्न सकिन्छ? यी कुराहरू नभएका मानिसहरू मानव होइनन् भनेर निश्चिततासाथ भन्न सकिन्छ; तिनीहरूले मानवको बाहिरी खोल ओढेका मात्र हुन्छन्। कतिपयले सोध्लान्, “के यो त भेडाका भेषमा ब्वाँसोजस्तै होइन र?” त्यो त एउटा रूपक मात्र हो। भेडाका भेषमा ब्वाँसा के हुन्? ती मूलतः ब्वाँसा नै हुन्। के ब्वाँसा र दियाबलस वा ख्रीष्टविरोधीहरूबीच कुनै सारगत भिन्नता छ? ब्वाँसोले गाईवस्तु र भेडाको सिकार गर्छ र तिनलाई खान्छ, तर लोभले गर्दा नभई परमेश्वरले निर्धारित गरेको प्रकृतिले गर्दा गर्छ। तर ब्वाँसाहरूमा एउटा यस्तो कुरा हुन्छ, जुन ख्रीष्टविरोधीहरूमा हुँदैन। यदि कसैले ब्वाँसोलाई दत्तक लिन्छ र हुर्काउँछ वा त्यसको ज्यान बचाएको छ भने, त्यो ब्वाँसोले त्यस व्यक्तिलाई कहिल्यै हानि गर्नेछैन र कृतज्ञता देखाउनेछ। त्यसको विपरीत, ख्रीष्टविरोधीहरूले परमेश्वरको अनुग्रह, अगुवाइ, र परमेश्वरका वचनहरूको भरणपोषण पाउँछन्, तर तिनीहरू सबथोकमा परमेश्वरविरुद्ध षड्यन्त्र रच्छन्, सधैँ उहाँको विरोध गर्छन् र उहाँसँग वैमनस्यता साँध्छन्। तिनीहरू परमेश्वरले गर्ने कुनै पनि कुरामा समर्पित हुन सक्दैनन्; तिनीहरू त्यसप्रति आमेन भन्न सक्दैनन्—तिनीहरू विरोध गर्न चाहन्छन्। के ख्रीष्टविरोधीहरू भेडाका भेषमा ब्वाँसा हुन् भनेर भन्नु उचित हुन्छ? के यो रूपक सही छ त? (अहँ, छैन।) विगतमा, धर्ममा, ख्रीष्टविरोधी वा दुष्ट व्यक्तिको बिल्ला लागेको जोकोहीलाई भेडाका भेषमा ब्वाँसो मान्ने गरिन्थ्यो। यो त मानिसहरूले सत्यता र विभिन्न व्यक्तिहरूको मानवता सार र स्वभाव नबुझ्दा प्रयोग गरेको रूपक मात्र थियो। तथापि, जब यो स्तरमा सत्यताबारे सङ्गति गरिन्छ, तब यो रूपक प्रयोग गर्न त्यति सुहाउँदैन। दियाबलसहरू दियाबलस नै हुन्, र ख्रीष्टविरोधीहरू दियाबलसरह हुन्, र तिनीहरू परमेश्वरले सृष्टि गरेका सबै जीवित प्राणीसँग तुलना गरिन लायक छैनन्। परमेश्वरले सृष्टि गरेको कुनै पनि कुरा, जस्तै ब्वाँसाहरू वा अन्य कुनै मांसाहारी जन्तुले कहिल्यै परमेश्वरको प्रतिरोध वा उहाँविरुद्ध विद्रोह गरेका छन् त? के तिनले परमेश्वरविरुद्ध भाँडभैलो मच्चाउनेथिए वा उहाँको विरोध गर्नेथिए? के तिनले परमेश्वरले बोल्ने कुनै पनि कुरालाई आलोचना, निन्दा वा आक्रमण गर्नेथिए? तिनीहरू त्यस्ता थोक गर्दैनन्; तिनीहरू परमेश्वरले तिनका लागि तोकेको नैसर्गिक प्रवृत्ति र जिउने वातावरणअनुसार मात्र जिउँछन्। परमेश्वरले तिनीहरूलाई जे बन्न सृष्टि गर्नुभयो, तिनीहरू—विना कुनै ढोँग—त्यही नै हुन्। तर ख्रीष्टविरोधीहरू फरक हुन्छन्: तिनीहरूमा शैतानको प्रकृति हुन्छ, र तिनीहरू सकारात्मक कुराहरू र सत्यताविरुद्ध कार्य गर्नमा खप्पिस हुन्छन्। तिनीहरू ठूलो रातो अजिङ्गर जस्तै हुन्: तिनीहरू परमेश्वरविरुद्ध प्रतिरोधका कार्य गर्नमा खप्पिस हुन्छन्।
२. ख्रीष्टविरोधीहरू परमेश्वरप्रति के गर्छन्
ख्रीष्टविरोधीहरूले मानिसहरूप्रति प्रदर्शन गर्ने विभिन्न दुष्ट प्रकटीकरणहरूबारे सङ्गति गरिसकेपछि, अब हामी ख्रीष्टविरोधीहरूले दिनभरि दुष्ट कुराहरू मात्रै सोच्ने सन्दर्भमा परमेश्वरप्रति कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छन् भन्नेबारे सङ्गति गरौँ। हामीले यस विषयबारे धेरै कुरा समेटिसकेका छौँ, त्यसैले सारांश निकालौँ। हामी हल्का मामिलाहरूबाट सुरु गर्नेछौँ र बिस्तारै गम्भीर मामिलाहरूमा परिगमन गर्नेछौँ। पहिलो हो शङ्का, त्यसपछि आउँछ परमेश्वरलाई छानबिन गर्नु, अनि आशङ्का, रक्षात्मकता, माग गर्नु, र लेनदेन पनि छन्। अरू केही पनि छ कि? (परमेश्वरलाई जाँच्नु।) यो व्यवहारको प्रकृति निकै गम्भीर हुन्छ। अघि बढ्दै जाँदा, हरेक व्यवहारको प्रकृति झन्-झन् गम्भीर बन्दै जान्छ—अस्वीकार, निन्दा, फैसला गर्नु, ईशनिन्दा, दुर्वचन, आक्रमण, कोलाहल, र विरोध। यीमध्ये केही शब्दहरूको अर्थ बाहिरी रूपमा केही हदसम्म समान देखिए पनि, नजिकबाट जाँच गर्दा, तिनको गहिराइ वा जोड फरक हुन्छ। ख्रीष्टविरोधीहरूका विविध दृष्टिकोण अपनाएर वा फरक-फरक तरिकालाई ख्याल गरेर, हामी यी शब्दहरूको प्रकृतिको भिन्नता छुट्टयाउन सक्छौँ।
(१) शङ्का
शङ्का, छानबिन, र आशङ्का तुलनात्मक रूपमा प्रारम्भिक प्रकटीकरण हुन्। कतिपय मानिसले आफ्नो हृदयमा शङ्का पाल्ने मात्र गर्छन्, र सोच्छन्, “के देहधारी देह साँच्चै परमेश्वर हुनुहुन्छ? मलाई त उहाँ व्यक्ति जस्तै लाग्छ। के उहाँका सबै वचन सत्यता हुन्? तीमध्ये कुन चाहिँ सत्यताजस्तै सुनिन्छ? उहाँले बोल्ने केही कुरा मानव बोली र ज्ञानको दायराभन्दा बाहिर हुन सक्छ। मानिसहरूले रहस्य र अगमवाणीहरूलाई स्पष्ट रूपमा व्याख्या नगर्लान्, तर के अगमवक्ताहरूले पनि त्यस्ता कुराहरू भन्न सक्दैनन् र? परमेश्वर धर्मी हुनुहुन्छ भनेर भनिन्छ, तर परमेश्वर कसरी धर्मी हुनुहुन्छ? परमेश्वरले सबथोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भनेर भनिन्छ, तर त्यसोभए शैतानले किन सधैँ खराब कुराहरू गरिरहेको हुन्छ त? जब शैतानले हामीलाई पक्रन्छ र सताउँछ, जब त्यसले हामीमाथि अत्याचार गर्छ, तब परमेश्वरले किन हस्तक्षेप गर्नुहुन्न? परमेश्वर कहाँ हुनुहुन्छ? के परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ?” जब मानिसहरूमा साँचो आस्थाको कमी हुन्छ, जब तिनीहरूले परमेश्वरको सार्वभौमिकतालाई पहिचान गर्दैनन्, परमेश्वरको स्वभाव, वा परमेश्वरको सारलाई चिन्दैनन्, र सत्यता बुझ्दैनन्, तब तिनीहरूको हृदयमा यस्ता शङ्का उत्पन्न हुनेछन्। तर, मानिसहरूले बिस्तारै परमेश्वरको काम अनुभव गर्दै, सत्यता बुझ्दै, र परमेश्वरको सार्वभौमिकता पहिचान गर्दै जाँदा, यी शङ्का क्रमिक रूपमा हल हुँदै जान्छन् र साँचो आस्थामा परिणत हुनेछन्। परमेश्वरलाई पछ्याउने सबैका लागि अपरिहार्य मार्ग यही नै हो। तर के दुष्ट सार भएका ख्रीष्टविरोधीका शङ्कालाई बदल्न सकिन्छ? (अहँ, सकिन्न।) किन बदल्न सकिन्न? (ख्रीष्टविरोधीहरू अविश्वासी हुन्—तिनीहरू परमेश्वरलाई स्विकार्दैनन्।) सैद्धान्तिक रूपमा भन्नुपर्दा, तिनीहरू अविश्वासी हुन्, त्यसैले तिनीहरूले लगातार परमेश्वरमाथि शङ्का गर्छन्। वस्तुगत कारण के हो भने, यस्ता मानिसले अन्तर्निहित रूपमा नै सत्यता र सकारात्मक कुराहरू स्विकार्न मान्दैनन्। तर, परमेश्वरले गर्ने सबथोक सकारात्मक र सत्यता हुन्छ। ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण र शत्रुवत् भएका कारण, परमेश्वरले गर्ने हरेक कुरा तथ्य हो, त्यो सब परमेश्वरको सार्वभौमिकताअन्तर्गत पर्छ, र परमेश्वरजस्तै—परमेश्वरको सार्वभौमिकता पनि—निश्चय नै अस्तित्वमा छ भनेर सबैले स्विकार्ने भए पनि, ख्रीष्टविरोधीहरूले यी तथ्य हुन् भनेर मान्दैनन् वा स्विकार्दैनन्। तिनीहरूको हृदयमा परमेश्वरबारे शङ्का सदाका लागि रहिरहन्छ। स्पष्टतः यी तथ्य हुन्, तिनलाई सबैले देख्छन्, र धेरै वर्षसम्म परमेश्वरको काम अनुभव गरेपछि सामान्यतया सबैभन्दा थोरै आस्था राख्नेहरूको समेत परमेश्वरसम्बन्धी शङ्का हटेर जान्छ, र तिनीहरूमा परमेश्वरप्रतिको साँचो आस्था विकास हुन्छ। ख्रीष्टविरोधीहरूले मात्रै परमेश्वरबारेको आफ्ना शङ्का बदल्न सक्दैनन्। वस्तुगत रूपमा भन्नुपर्दा, यी व्यक्तिहरू सैद्धान्तिक रूपमा, सत्यता नस्विकार्ने अविश्वासी हुन्, तर वास्तवमा, ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुने र तिनीहरूमा दुष्ट सार हुने भएकाले यस्तो हुन्छ—मूलभूत कारण यही नै हो। परमेश्वरले गर्नुभएको कुराको पुष्टि गर्ने वा गवाही दिने मानिसहरू चाहे जति नै भए पनि, वा ख्रीष्टविरोधीहरूको आँखाअगाडि जतिसुकै जबरजस्त प्रमाण राखिदिए पनि, तिनीहरू परमेश्वरको सार वा परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्न इन्कार गर्छन्—यो अत्यन्तै दुष्ट कुरा हो। यसलाई एउटा बुँदाले चित्रण गर्न सकिन्छ: जब ख्रीष्टविरोधीहरूले यावत् थोकमाथि परमेश्वरको सार्वभौमिकताको जबरजस्त र सुस्पष्ट तथ्यलाई देख्छन्, तब तिनीहरू न त त्यसमा विश्वास गर्छन्, न त त्यसलाई मान्छन्, र तिनीहरूले परमेश्वरलाई शङ्का समेत गर्छन्। तर, गैरविश्वासी, दियाबलस र दुष्टात्माहरूले कुरा गर्ने तथाकथित बुद्ध वा अमरहरूका कार्यहरू—ख्रीष्टविरोधीहरूले नदेखेका, र मूर्त प्रमाण नभएका कार्यहरूको कुरा आउँदा—तिनीहरूले तत्परताका साथ विश्वास गर्छन्। यो चरम रूपमा दुष्टता देखाउनु हो। परमेश्वरका कार्य जतिसुकै महान् वा पृथ्वी हल्लाउने भए पनि, ख्रीष्टविरोधीहरूले अझै पनि शङ्का र अवहेलना गर्छन्, हृदयमा लगातार शङ्का पालिरहन्छन्। तैपनि, जब दियाबलस वा शैतानले कुनै विचित्रको काम गर्छन्, तब तिनीहरू वशीभूत हुन्छन्, र प्रशंसामा शिर झुकाउँछन्। परमेश्वरले जति महान् काम गरे पनि, तिनीहरूले परमेश्वरप्रतिको डर वा साँचो आस्था उत्पन्न गर्न सक्दैनन्। त्यस विपरीत, तिनीहरूले तत्परताका साथ शैतानका झूटलाई विश्वास गर्छन्, र पूर्ण हृदयले तिनलाई श्रद्धा गर्छन्। यो दुष्टता प्रदर्शन गर्नु हो। ख्रीष्टविरोधीहरूले परमेश्वरलाई शङ्का गर्छन् भन्ने तथ्य सधैँ अस्तित्वमा रहन्छ। तिनीहरू परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरालाई कहिल्यै विश्वास गर्दैनन्, र परमेश्वर सत्य हुनुहुन्छ भन्ने कुरा कहिल्यै मान्दैनन्; यी कुराहरूको गवाही जतिसुकै मानिसहरूले दिए पनि वा जतिसुकै प्रमाण पेश गरिए पनि, तिनीहरूले तिनलाई न त मान्न सक्छन्, न त विश्वास गर्न नै सक्छन्। एकातिर, यो ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव सारका कारण हुन्छ, र अर्कोतिर, यसले यी मानिसहरूमा सामान्य मानवताको विचार प्रक्रियाको कमी भएकाले त्यस्ता व्यक्तिहरू निश्चय नै मानव होइनन् भन्ने कुरालाई सङ्केत गर्छ। तिनीहरूसँग सामान्य मानवताका विचार प्रक्रियाको कमी हुन्छ भन्नुको अर्थ के हो? यसको अर्थ के हो भने, तिनीहरूमा सकारात्मक कुराहरू, सत्यता, र यावत् थोकपछाडिको सार र मूलबारे सही मूल्याङ्कन र बुझाइको कमी हुन्छ। परमेश्वरका वचन पढेर, प्रवचनहरू सुनेर, अनि परमेश्वरका वचनहरू अनुभव गरेर पनि तिनीहरू पुष्टि वा विश्वास गर्न सक्दैनन्, बरु शङ्कामै डुबिरहन्छन्। यो कुरा स्पष्ट छ कि यी व्यक्तिहरूमा सामान्य मानवताका विचार प्रक्रियाको कमी हुन्छ। के सामान्य विचार प्रक्रियाको कमी भएका, सत्यता, परमेश्वरका वचन, र सकारात्मक कुरा र तथ्यहरू बुझ्न नसक्ने मानिसहरू मानव नै हुन् त? (होइनन्। तिनीहरू मानव होइनन्।) तिनीहरू मानव होइनन्, तर तिनीहरू जनावर हुन् भनेर भन्न त सकिन्न, किनकि जनावरहरूमा दुष्ट स्वभाव हुँदैन; यी व्यक्तिहरूमा दुष्ट स्वभाव हुने भएकाले, यो वाक्य सही ठहरिन्छ: यी व्यक्तिहरू वास्तवमा नै पैशाचिक प्रकृति भएका खाँटी ख्रीष्टविरोधी हुन्। शङ्का भनेको ख्रीष्टविरोधीहरूले परमेश्वरप्रति प्रकट गर्ने सोचहरूमा रहेको एउटा स्थिति हो, र यो तिनीहरूको व्यवहारमा प्रकाश हुने एक खालको स्वभाव सार पनि हो, जुन सबैभन्दा सतही, आधारभूत, बाहिरी, र आम प्रकटीकरण हो।
(२) छानबिन
ख्रीष्टविरोधीहरूको हृदय, परमेश्वरबारेको शङ्काले भरिएको हुन्छ, त्यसोभए के तिनीहरूले साँचो रूपमा परमेश्वरका वचन, उहाँको स्वभाव, र उहाँको कामलाई स्विकार्छन्? के तिनीहरू साँचो रूपमा यी सबमा समर्पित हुन्छन्? के तिनीहरूले साँच्चै परमेश्वरलाई पछ्याउँछन्? स्पष्ट छ, यसको उत्तर हो, अहँ, तिनीहरूले त्यसो गर्दैनन्। यसपछि के हुन्छ? जब यी व्यक्तिहरू परमेश्वरको घरमा आउँछन्, तब तिनीहरूले सोच्छन्: “परमेश्वर कहाँ छन्? म उनलाई देख्न सक्दिनँ, म उनको आवाज सुन्न मात्र सक्छु। आवाजबाट मूल्याङ्कन गर्दा त, उनी महिला हुन् जस्तो लाग्छ; शब्दहरूबाट मूल्याङ्कन गर्दा, उनी शिक्षित छिन्, अशिक्षित छैनन् जस्तो देखिन्छ; तर उनको बोल्ने शैली र उनका शब्दका विषयवस्तुबाट मूल्याङ्कन गर्दा, उनले के भनिरहेकी छिन्? यो किन अन्योलपूर्ण सुनिन्छ? सुनिसकेपछि, धेरै मानिसहरू त्यो सत्यता हो भन्छन्, तर मलाई किन त्यस्तो लाग्दैन? यो सब मानवता, मानव स्वभाव, मानिसहरूले आफ्ना कार्यमा प्रकाश गर्ने विविध स्थितिसँग सम्बन्धित विषय हुन्—के यसमा जीवन र मार्ग छ? म साँच्चै बुझ्दिनँ। सुनिसकेपछि सबैले भन्छन् कि तिनीहरूले आफ्नो कर्तव्य बफादारीपूर्वक पूरा गर्नुपर्छ, परमेश्वरलाई सन्तुष्ट पार्नुपर्छ, र मुक्ति पछ्याउनुपर्छ। धेरै मानिसले त अनुभवात्मक गवाहीका लेख लेख्ने र गवाही दिने समेत गर्छन्। के यी व्यक्ति परमेश्वर हुन्? के उनी परमेश्वरजस्तो देखिन्छिन्? मैले उनको अनुहार देखेको छैन; देखेको भए, सायद मैले उनको अनुहारको भाव पढेर ठोस जवाफ पाउनेथिएँ। अहिले, उनको आवाज र उनले भनेका कुरा सुन्दा, म अझै अलि अनिश्चित छु।” तिनीहरूले के गरिरहेका छन्? तिनीहरूले छानबिन र परीक्षा गरिरहेका छन्, वास्तविक परिस्थिति बोध गर्ने प्रयास गरिरहेका छन्, उहाँ साँच्चै परमेश्वर हुनहुन्छ कि हुनुहुन्न भनी हेर्ने, अनि त्यसपछि उहाँलाई पछ्याउने कि नपछ्याउने, उहाँलाई कसरी पछ्याउने भनी निर्धारण गर्ने प्रयास गरिरहेका छन्, र तिनीहरूले प्राप्त गर्न चाहेको आशिष् र गन्तव्यका साथै आफ्ना चाहनाको उत्तर यस व्यक्तिमा पाउन सकिन्छ कि सकिन्न, र तिनीहरूले यस व्यक्तिमार्फत स्वर्गमा हुनुहुने परमेश्वर कस्तो हुनुहुन्छ, उहाँ साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्न, उहाँको स्वभाव कस्तो छ, मानवप्रति उहाँको विधि र मनोवृत्ति कस्तो हुन सक्छ, र उहाँसँग कस्ता क्षमता, सीप, र अख्तियार छन् भनी निश्चय गर्न खोजिरहेका छन्। के यो परमेश्वरलाई छानबिन गर्नु होइन र? स्पष्ट रूपमै हो।
के ख्रीष्टविरोधीहरूले परमेश्वरलाई छानबिन गरिरहँदा, परमेश्वरका वचनलाई आफ्नो जीवनका रूपमा स्विकार्न, र आफ्नो दैनिक जीवन र व्यवहारका लागि मार्गदर्शक र उद्देश्यका रूपमा लिन सक्छन्? (सक्दैनन्।) एक साधारण भ्रष्ट व्यक्तिले केही समयका लागि परमेश्वरलाई छानबिन गर्न सक्ला र त्यसपछि यस्तो सोच्ला, “यो मार्ग गलत हो, मलाई हृदयमा अशान्ति महसुस भइरहेको छ; यसरी परमेश्वरलाई छानबिन गरेर मैले उत्तरहरू पाउन सक्दिनँ। परमेश्वरका विश्वासीले कसरी उहाँलाई छानबिन गर्न सक्छ? परमेश्वरलाई छानबिन गरेर के पाउन सकिन्छ? जब विश्वासीहरूले परमेश्वरलाई छानबिन गर्छन्, परमेश्वरले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुहुन्छ, र तिनीहरूले सत्यता पाउन सक्दैनन्। परमेश्वरका वचन सत्यता हुन् र मानिसहरूले उहाँका वचनभित्रबाट मार्ग भेट्टाउन र जीवन प्राप्त गर्न सक्छन् भनेर भनिन्छ। मैले यसरी कार्य गर्नु मेरा लागि राम्रो हुँदैन—मैले उहाँलाई छानबिन गरिरहन मिल्दैन।” प्रवचनहरू सुन्दै जाँदा र परमेश्वरका वचन पढ्दै जाँदा, तिनीहरूले मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन् भन्ने कुरा क्रमिक रूपमा पत्ता लगाउँछन्, र यी भ्रष्ट स्वभाव नसुल्झेसम्म तिनीहरू परमेश्वरसँग मिल्न, आफ्ना कर्तव्य उचित रूपमा पूरा गर्न, वा कुनै पनि कुरा राम्ररी गर्न सक्दैनन् भन्ने कुरा बिस्तारै महसुस गर्न थाल्छन्। तिनीहरूले मानिसहरूका भ्रष्ट स्वभाव र विद्रोहीपनले तिनीहरूलाई बाधा पुऱ्याइरहेकाले, र तिनीहरूले आफ्ना भ्रष्ट स्वभावअनुसार कार्य गरिरहेकाले, र सत्यता सिद्धान्तहरूअनुसार मामलाहरू सम्हाल्न नसक्ने हुनाले, मानिसहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्दैनन् भन्ने कुरा बिस्तारै पत्ता लगाउँछन्। तिनीहरू त्यसपछि, यस्तो सोच्न थाल्छन्, “मैले कसरी सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्छु? मेरा भ्रष्ट स्वभाव प्रकट हुँदा, म कसरी तिनलाई सुल्झाउन सक्छु?” मानिसहरूका भ्रष्ट स्वभावको सर्वोत्तम समाधान भनेको सत्यता र परमेश्वरका वचन हुन्। मानिसहरूले सत्यताभित्र प्रवेश गर्ने सबैभन्दा सीधा तरिका भनेको तिनीहरूले सत्यता सिद्धान्तहरूको खोजी गर्नु, र आफूले गर्ने सबथोकका लागि सिद्धान्तहरू फेला पार्नु हो। यसले लक्ष्य, दिशा, मार्ग, र अभ्यासका विधि स्थापित गर्छ। यी स्थापित भइसकेपछि, मानिसहरूसँग पछ्याउने मार्ग हुन्छ, र तिनीहरूले, कार्य गर्दा, प्रशासनिक आदेशहरू उल्लङ्घन गर्ने, आफ्ना भ्रष्ट स्वभाव प्रकट गर्ने, वा बाधा र अवरोध पुऱ्याउने खासै सम्भावना हुँदैन, र तिनीहरूले परमेश्वरको प्रतिरोध गर्ने सम्भावना त झनै कम हुन्छ। तिनीहरूले यस्तो अनुभव भोगेपछि, आफूले परमेश्वरमाथिको विश्वासका लागि उपयुक्त मार्ग भेट्टाएको, र त्यो नै तिनीहरूलाई आवश्यक, तिनीहरूले प्रवेश गर्नुपर्ने, परमेश्वरमाथिको विश्वास र जीवनका लागि सही मार्ग भएको, र त्यो उहाँलाई छानबिन गर्नुभन्दा र उहाँप्रति सधैँ पर्ख र हेरको रवैया अपनाउनुभन्दा धेरै राम्रो भएको महसुस गर्छन्। तिनीहरूले परमेश्वरलाई छानबिन गर्नु व्यर्थ हो, र कसैले उहाँलाई जतिसुकै छानबिन गरे पनि, यसले तिनीहरूले प्रकट गर्ने विविध भ्रष्ट स्वभावलाई, वा आफ्नो कर्तव्य निर्वाह गर्दा उत्पन्न हुने समस्याहरूलाई सुल्झाउँदैन भन्ने महसुस गर्छन्। त्यसकारण, तिनीहरू परमेश्वरलाई छानबिन गर्ने मार्गबाट सत्यता सिद्धान्तहरू खोज्ने मार्गमा बिस्तारै परिगमन गर्छन्। साधारण भ्रष्ट मानवहरूका लागि प्रवेशको सामान्य तरिका र अनुभवात्मक प्रक्रिया यही नै हो। तर, ख्रीष्टविरोधीहरूका हकमा यो अलग छ। परमेश्वरको घरमा प्रवेश गरेको र त्यसको सङ्घार पार गरेको पहिलो दिनदेखि नै तिनीहरूले यस्तो सोच्छन्, “परमेश्वरको घरभित्रका सबथोक निकै चाखलाग्दा छन्। सबै कुरा कति नयाँ छ—यो गैरविश्वासी संसारभन्दा फरक छ। परमेश्वरको घरमा सबैजना इमानदार हुनैपर्छ; यो एउटा ठूलो परिवारजस्तो छ, र निकै जीवन्त छ!” आफ्ना ब्रदर-सिस्टरहरूलाई छानबिन गरेपछि, उनीहरूसँग परिचित भएपछि, र उनीहरूलाई राम्ररी बुझेपछि, परमेश्वरलाई छानबिन गर्ने समय आउँछ। तिनीहरूले मनमनै सोच्छन्, “परमेश्वर कहाँ छन्? परमेश्वरले के गर्दैछन्? उनले त्यो कसरी गर्दैछन्? स्वर्गमा हुने परमेश्वरलाई छानबिन गर्न गाह्रो छ; उनलाई बुझ्न गाह्रो छ र हामी त्यहाँसम्म पुग्न सक्दैनौँ। तर अब एउटा सुविधाजनक छोटो बाटो छ—परमेश्वर पृथ्वीमा आएका छन्, जसले उनलाई छानबिन गर्न सजिलो बनाइदिएको छ।” तीमध्ये केही भाग्यले पृथ्वीमा आउनुभएका परमेश्वरको सम्पर्कमा आउँछन् र यस व्यक्तिलाई आफ्नै आँखाले देख्छन्, जसले गर्दा तिनीहरूलाई परमेश्वरको छानबिन गर्न झनै सजिलो हुन्छ। तिनीहरूले यो कसरी गर्छन्? तिनीहरूले पृथ्वीमा हुनुहुने परमेश्वरका हर्षिलो कुराकानीलाई, उहाँले कुन मामिलाहरूमा एक प्रकारको बोल्ने शैली प्रयोग गर्नुहुन्छ र कुन मामिलाहरूमा अर्को प्रकारको बोल्ने शैली प्रयोग गर्नुहुन्छ भन्ने कुरालाई, उहाँ कुन प्रसङ्गमा हाँस्नुहुन्छ र खुसी हुनुहुन्छ भन्ने कुरालाई, अनि ती समयमा उहाँ केबारे कुरा गरिरहनुभएको हुन्छ भन्ने कुराका साथै, उहाँ खुसी नहुँदा वा रिसाउँदा केका बारेमा कुरा गर्नुहुन्छ भन्ने कुरालाई छानबिन गर्छन्। तिनीहरूले उहाँले के-कस्ता परिस्थितिमा मानिसहरूलाई बेवास्ता गर्नुहुन्छ वा उनीहरूसँग निकै सौहार्दपूर्ण बन्नुहुन्छ, उहाँले कहिले मानिसहरूलाई काटछाँट गर्नुहुन्छ र कहिले गर्नुहुन्न, उहाँले कस्ता मामिलाहरूलाई ध्यान दिनुहुन्छ र कस्तालाई वास्ता गर्नुहुन्न, साथै मानिसहरूले उहाँको पिठ्यूँपछाडि उहाँलाई छानबिन गर्छन्, छलकपट गर्छन् वा चोट पुऱ्याउँछन् भन्ने उहाँलाई थाहा छ कि छैन भन्ने कुराको छानबिन गर्छन्। फराकिला पक्षहरूको छानबिन गरिसकेपछि, ख्रीष्टविरोधीहरू खास-खास मुद्दामा छिर्छन्, जस्तै पृथ्वीमा हुनुहुने परमेश्वरले के खानुहुन्छ, के लगाउनुहुन्छ, र उहाँको दैनिकी कस्तो छ। तिनीहरू उहाँले के मन पराउनुहुन्छ, उहाँ कहाँ जान मन पराउनुहुन्छ, र उहाँले कुन रङ्ग मन पराउनुहुन्छ र कुन मन पराउनुहुन्न, उहाँलाई घमाइलो मौसम मन पर्छ कि बादल लागेको, र उहाँ खराब मौसममा बाहिर निस्कनुहुन्छ कि निस्कनुहुन्न भन्ने कुरा—यी सबै विशिष्ट विवरणहरूको छानबिन गर्छन्। ख्रीष्टविरोधीहरू सुरुदेखि अन्त्यसम्म छानबिन गरिरहेका हुन्छन्, र परमेश्वरको पहिचान बोकेको यो व्यक्ति के गर्न आएको हो भन्ने कुरालाई बेवास्ता गर्छन्। तिनीहरू भन्छन्, “तिमी यहाँ के गर्न आएका हौ, मलाई त्यसको मतलब छैन; मैले देख्नेबित्तिकै तिमी मेरो छानबिनको पात्र बन्नेछौ।” तिनीहरूको छानबिनको उद्देश्य के हो? तिनीहरू सोच्छन्, “यदि तिमी साँच्चै परमेश्वर हौ भन्ने कुराको पुष्टि गर्न सकेँ भने, म दृढतापूर्वक र पूरै हृदयले तिमीलाई पछ्याउन सबथोक छोड्न सक्छु। परमेश्वरमा विश्वास गर्नु भनेको बाजी थाप्नुजस्तै भएकाले, र तिमीले आफू परमेश्वर र परमेश्वरको देहधारी देह भएको दाबी गर्ने हुनाले, तिमीमा विश्वास गर्नु भनेको तिमीमा बाजी थाप्नुबराबर हो। म तिम्रो छानबिन नगर्न कसरी सक्छु? मैले तिमीलाई छानबिन गरिनँ भने, त्यो मेरा लागि अन्यायपूर्ण हुनेछ। मैले तिमीलाई छानबिन गरिनँ भने, मैले आफ्नै गन्तव्य, भविष्य, र नियतिको जिम्मेवारी उठाइरहेको हुनेछैनँ। मैले अन्त्यसम्मै तिमीलाई छानबिन गर्नुपर्छ।” आजसम्म, तिनीहरूको सबै छानबिनपछि पनि, तिनीहरू निश्चित छैनन्: “के यो व्यक्ति साँच्चै ख्रीष्ट हो? के ऊ साँच्चै देहधारी परमेश्वर हो? यो त्यति स्पष्ट छैन। जे भए पनि, धेरै मानिसहरूले उनलाई पछ्याइरहेका छन्, र सुसमाचार फैलाउने कार्यको परिस्थिति तुलनात्मक रूपमा आशाजनक छ। यो अझै फैलिन्छ जस्तो देखिन्छ, त्यसले मैले आफूलाई पछि पर्न दिनु हुँदैन। तर मैले अझै पनि उनलाई छानबिन गरिरहनुपर्छ।” तिनीहरूलाई सुधार्न सकिन्न।
ख्रीष्टविरोधीहरूमा दुष्ट स्वभाव सार हुन्छ, त्यसैले तिनीहरूले आफ्नो छानबिन कहिल्यै रोक्दैनन्। तिनीहरूले गैर-विश्वासीहरूको कुनै संस्था वा समुदायमा, सबै खालका मानिसहरूलाई छानबिन र शोषण गर्छन्, तिनीहरूका वरिष्ठहरूलाई मन पर्ने कुरा पत्ता लगाउँछन्, तिनीहरूका कमजोरीहरू पहिचान गर्छन्, र त्यसपछि ती वरिष्ठहरूको चापलुसी गर्न आफ्ना कार्यलाई तिनीहरूकै स्वादअनुसार ढाल्छन् र तिनीहरूको सेवा गर्छन्। परमेश्वरको घरमा प्रवेश गरेपछि पनि तिनीहरूको प्रकृति बदलिँदैन—तिनीहरूले आफ्नो छानबिन जारी राख्छन्। तिनीहरू परमेश्वरलाई छानबिन गर्नु भनेको विश्वासीहरूले पछ्याउनुपर्ने मार्ग होइन भन्ने कुरा बुझ्न असफल हुन्छन्। परमेश्वरलाई छानबिन गरेर, तिनीहरूले कहिल्यै परमेश्वरका कार्य बुझ्नेछैनन्, वा परमेश्वरले व्यक्त गर्नुहुने सबथोक सत्यता हो भन्ने कुरा देख्नेछैनन्, वा परमेश्वरका यी सबै सत्यता र कार्य मानवजातिको मुक्तिका लागि हुन् भनी बुझ्नेछैनन्। ख्रीष्टविरोधीहरूले यो बुँदा कहिल्यै बुझ्दैनन्। तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूले लगातार शैतानको सतावट र पछ्याइ भोगेको मात्र देख्छन्। तिनीहरूले दुष्ट मानिसहरूले दुष्ट कार्य गरिरहेको र मण्डलीभित्र बाधा पुऱ्याइरहेको, र धार्मिक संसारका ख्रीष्टविरोधी शक्तिहरूले परमेश्वरलाई निरन्तर बदनाम र निन्दा गरेको, तर परमेश्वरले यी कुनै कुरा समाधान नगरेको मात्र देख्छन्। त्यसैले, ख्रीष्टविरोधीहरू आफ्ना धारणा र कल्पनाहरूमा टाँसिइरहन्छन्, र परमेश्वरले व्यक्त गर्नुभएको कुनै पनि सत्यता स्विकार्न जिद्दीपूर्वक इन्कार गर्छन्। नतिजा के हुन्छ? परमेश्वरको प्रतिरोध गर्नका लागि तिनीहरूका धारणा र कल्पना तिनीहरूको प्रमाण बन्छन्। ख्रीष्टविरोधीहरूको नजरमा, यी तथाकथित प्रमाणका टुक्राहरू नै तिनीहरूले परमेश्वरको पहिचान र सारमा विश्वास नगर्ने वा तिनलाई स्वीकार नगर्ने कारण हुन्। सत्यता स्विकार्न इन्कार गर्ने हुनाले नै तिनीहरूले कहिल्यै यी तथ्यभित्र रहेका सत्यता, मानिसहरूले बुझ्नुपर्ने र बोध गर्नुपर्ने सत्यता, र परमेश्वरका अभिप्रायहरू देख्नेछैनन्। यो तिनीहरूकै छानबिनको नतिजा हो। यी तथ्यहरूको सामना गर्दा, सत्यता पछ्याउने, सत्यतालाई प्रेम गर्ने, र परमेश्वरमा साँचो आस्था हुनेहरूले परमेश्वरको घरमा जेसुकै घटित भए पनि परमेश्वरबाट आउने कुराहरू स्विकार्न र सही तरिकाले प्रतिक्रिया जनाउन सक्छन्, र तिनीहरू परमेश्वरलाई पर्खिन, परमेश्वरसामु शान्त हुन र उहाँलाई प्रार्थना गर्न, परमेश्वरका अभिप्राय बोध गर्न खोज्न, र यी सबथोक हुनुपछाडि परमेश्वरका असल अभिप्रायहरू छन् भनेर बुझ्न र बोध गर्न सक्छन्। दुष्ट मानिसहरूलाई प्रकाश गर्न र जरैदेखि उखेलेर फाल्न परमेश्वरले मानिसहरूले सोच्नै नसक्ने धेरै कुरा गर्नुहुन्छ। साथसाथै, परमेश्वरका चुनिएका मानिसहरूलाई सिद्ध पार्न, र तिनीहरूलाई सुझबुझ पाउने र पाठ सिक्ने तुल्याउन उहाँले सेवा प्रदान गर्नका निम्ति दुष्ट मानिस र तिनीहरूका दुष्कर्म पनि प्रयोग गर्नुहुन्छ। एकातिर, उहाँले तिनीहरूलाई प्रकाश गर्नुहुन्छ र जरैदेखि उखेलेर फाल्नुहुन्छ; अर्कोतिर, उहाँले आफ्ना चुनिएका मानिसहरूलाई कुन कुरा सकारात्मक हुन् र कुन नकारात्मक हुन्, परमेश्वरले कसलाई अनुमोदन गर्नुहुन्छ, कसलाई तिरस्कार गर्नुहुन्छ, परमेश्वरले कसलाई हटाउनुहुन्छ, र कसलाई आशिष् दिनुहुन्छ भनेर देख्न सक्षम तुल्याउनुहुन्छ। यी सब परमेश्वरका चुनिएका मानिसहरूले सिक्नुपर्ने पाठ, सत्यता पछ्याउनेहरूले हासिल गर्नुपर्ने सकारात्मक नतिजा, र मानिसहरूले बुझ्नुपर्ने सत्यता हुन्। तर, तिनीहरूको दुष्ट स्वभाव सारका कारण, ख्रीष्टविरोधीहरूले यी सबैभन्दा बहुमूल्य कुराहरू कहिल्यै पाउनेछैनन्। त्यसकारण, तिनीहरूमा एउटा मात्र स्थिति हुन्छ—परमेश्वरको उपस्थितिमा हुँदा उहाँलाई शङ्का गर्नुबाहेक, तिनीहरू उहाँलाई निरन्तर छानबिन गरिरहेका हुन्छन्। तिनीहरू यसको जरामा पुग्न नसके पनि उहाँलाई छानबिन गर्न जारी राख्छन्। यदि तैँले तिनीहरूलाई तिनीहरू थाके कि भनेर सोधिस् भने, तिनीहरू यसो भन्छन्, “बिलकुलै छैन। परमेश्वरलाई छानबिन गर्नु त कति रमाइलो, रोचक, चाखलाग्दो, र आकर्षक कुरा हो!” के यी दुष्ट शब्दहरू होइनन् र? तिनीहरूमा शैतानको मुहार छ, तिनीहरूमा ख्रीष्टविरोधीहरूको प्रकृति सार छ। तिनीहरूले सत्यता वा परमेश्वरको मुक्ति स्विकार्ने कुनै अभिप्राय राख्दैनन्; तिनीहरू परमेश्वरलाई छानबिन गर्न मात्र यहाँ छन्।
(३) आशङ्का
यसपछि, हामी परमेश्वरप्रति ख्रीष्टविरोधीहरूको आशङ्काबारे सङ्गति गर्नेछौँ। आशङ्काको शाब्दिक अर्थ के हो? परमेश्वरलाई छानबिन गर्नुका निश्चित प्रकटीकरण, सोच, र व्यवहारहरू छन्, र यही कुरा आशङ्काको हकमा पनि साँचो हो भनेर भन्नु पूर्णतः सही हुन्छ। कतिपय मानिसहरूले परमेश्वरलाई छानबिन गरिसकेपछि पनि, परमेश्वरको स्वभाव साँच्चै के हो वा परमेश्वरसँग कस्ता भावनाहरू छन् भन्ने कुरा जान्दैनन्, र परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ कि हुनहुन्न भन्नेबारेमा निश्चित हुँदैनन्। तिनीहरू यो साधारण व्यक्ति ख्रीष्ट हो कि होइन वा ऊसँग परमेश्वरको सार छ कि छैन भनेर निर्धारण गर्न त झनै सक्दैनन्। तिनीहरू यी कुरा बुझ्दैनन् र तीबारे स्पष्ट हुँदैनन्। पछि, परमेश्वरसँग अन्तरक्रिया गर्ने अवसर पाउँदा तिनीहरूले सोच्छन्, “ख्रीष्टले मसँग मानिसहरूले झारा टारुवा तरिकाले कर्तव्य निर्वाह गर्नेबारे सङ्गति गरे; के कसैले मैले झारा टारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गरेको बारे भनेको अनि ख्रीष्टले त्यसबारे थाहा पाएका हुन सक्छन्? के त्यसैकारण हामी भेटेको बेला उनले त्यो कुरा निकाले? यो पक्कै पनि कसैले मेरोबारे कुरा लगाइदिएकाले हो, र ख्रीष्टले थाहा पाएपछि उनले मलाई खुलासा गर्न निसाना साँधे। म कस्तो खालको व्यक्ति हुँ भन्ने जानेर पनि ख्रीष्टले मलाई मन पराउँछन् र? के उनी मप्रति वितृष्ण महसुस गर्छन्, वा मलाई तुच्छ ठान्छन्? के उनले मलाई बर्खास्त गर्ने तयारी गरिरहेका छन्?” केही समय पर्खँदा आफूलाई बर्खास्त नगरिएको देखेपछि, तिनीहरूले यसो सोच्छन्, “उफ्फ, म त निकै तर्सिएको थिएँ। म त ख्रीष्ट क्षुद्र होलान् भन्ने सोचिरहेको थिएँ, तर उनले त्यसो गरेनन्। अब म निश्चिन्त हुन सक्छु।” कतिपयले भन्लान्, “ख्रीष्टसँगको पछिल्लो भेटमा, म अशिक्षित व्यक्तिझैँ असङ्गत रूपमा बोलेँ, र मेरो बोली विचलित थियो। मैले आफ्नो साँचो रूप खुलासा गरेँ। के ख्रीष्टमाथि मेरो नराम्रो छाप पर्नेछ? के पछि उनले मलाई हटाउनेछन्? उनलाई नदेख्दा सबै कुरा ठीक हुन्छ—उनलाई भेटेपछि मात्र मेरा समस्याहरू आइपर्छन्। मैले उनलाई फेरि भेट्नु हुँदैन, उनलाई देख्दा म तर्कनुपर्छ, र उनीदेखि सकेसम्म टाढा बस्नुपर्छ, र मैले ख्रीष्टसँग व्यवहार, अन्तरक्रिया, वा निकट सम्पर्क गर्नु त हुँदै हुँदैन। अन्यथा, उनले मलाई तुच्छ ठान्न सक्छन्।” यी कस्ता सोच र तरिका हुन्? (आशङ्का।) यी आशङ्का हुन्। यसो भन्नेहरू पनि छन्, “गएको भेलामा परमेश्वरले एउटा सरल प्रश्न सोध्नुभयो, तर मैले त्यसको जवाफ राम्ररी दिइनँ, जसले मेरा कमजोरी खुलासा गऱ्यो। के परमेश्वरले ममा असल क्षमता छैन भन्ने सोच्नुहुनेछ, र के भविष्यमा उहाँले मलाई संवर्धन गर्नुहुनेछैन? पछिल्लो पटक कसैले म मूर्ख छु र मैले सोचविचारै नगरी कार्य गरेँ भन्दै मैले गरेको कुनै कुराको खुलासा गरिदियो। परमेश्वरले यो थाहा पाउनुभयो भने, के भविष्यमा उहाँले अझै पनि मलाई सिद्ध पार्नुहुनेछ? परमेश्वरको मनमा मेरो हैसियत के छ—उच्च कि निम्न, श्रेष्ठ कि निकृष्ट? म कुन कोष्ठकमा पर्छु? भविष्यमा, परमेश्वरसँग कुरा गर्दा, मैले आफ्ना शब्दहरूको खाका तयार पार्नुपर्छ। मैले त्यतिकै बोल्न वा मनमा भएको कुरा भन्न मिल्दैन। मैले अझ धेरै चिन्तन गर्नुपर्छ, कामकुराहरूबारे अझ धेरै सोचविचार गर्नुपर्छ, अझ धेरै ख्याल गर्नुपर्छ, आफ्नो भाषालाई सुव्यवस्थित बनाउनुपर्छ, र ख्रीष्टसामु आफ्नो सबैभन्दा उत्कृष्ट र कुशल पक्ष प्रस्तुत गर्नुपर्छ। त्यो कति अद्भुत र उत्तम हुनेथ्यो!” यो पनि आशङ्का नै हो।
ख्रीष्टविरोधीहरूको दुष्ट स्वभावको अर्को विशेषता भनेको आशङ्का हो। शङ्का र छानबिन गर्नुबाहेक, ख्रीष्टविरोधीहरूले आशङ्का पनि पाल्छन्। छोटकरीमा भन्नुपर्दा, तिनीहरूका सोचमा जुनसुकै पक्ष हाबी भए पनि, तीमध्ये कुनै पनि सत्यता अभ्यास गर्नु र खोज्नुसँग सम्बन्धित छैनन्। के यी तरिका, सोच, वा विधिहरूले ख्रीष्टविरोधीहरूको स्वभाव सार दुष्ट हुन्छ भन्ने कुरालाई पुष्टि गर्न सक्छन्? (सक्छन्।) ख्रीष्टविरोधीहरूले चाहे परमेश्वरलाई शङ्का गरिरहेका, परमेश्वरको छानबिन गरिरहेका, वा परमेश्वरप्रति आशङ्का पालिरहेका भए पनि, तिनीहरू जहिल्यै सत्यतामा केन्द्रित हुन असफल हुन्छन्, तिनीहरू कहिल्यै पछि फर्कँदैनन्, र तिनीहरू सत्यता खोज्दै नखोजी परमेश्वरसँग सम्बन्धित मामिलाहरूबारे चिन्तन गर्न र परमेश्वरसँग व्यवहार गर्न लगातार यी विधिहरू प्रयोग गर्छन्। यी कार्यहरू जतिसुकै थकाइलाग्दा र कठिन भए पनि, तिनीहरू अथक रूपमा ती गरिरहन्छन् र तिनलाई दोहोऱ्याइरहन्छन्। तिनीहरूले परमेश्वरलाई जतिसुकै लामो समयसम्म छानबिन गरेका वा उहाँबारे आशङ्का पालेका भए पनि, वा तिनीहरूले कुनै नतिजा हासिल गरेका वा नगरेका भए पनि, तिनीहरू पहिलेझैँ यो मार्ग पछ्याइरहन्छन्, यसरी नै व्यवहार गरिरहन्छन् र आफ्ना कार्य दोहोऱ्याइरहन्छन्। तिनीहरू यस्तो सोच्दै कहिल्यै आफूलाई जाँच गर्दैनन्, “के सृजित प्राणीले यही विधि र मनोवृत्तिले परमेश्वरसँग व्यवहार गर्नुपर्छ? मैले परमेश्वरलाई कस्तो व्यवहार गर्छु भन्ने कुराको प्रकृति के हो? मैले कस्तो खालको स्वभाव प्रकाश गरिरहेको छु? के उहाँलाई यस्तो व्यवहार गर्नु सत्यताअनुरूप छ? के परमेश्वरले यसलाई घृणा गर्नुहुन्छ? मैले परमेश्वरले घृणा गर्नुहुने कामकुराहरू गरिरहेँ भने, अन्तिम परिणाम के हुनेछ? के म परमेश्वरद्वारा त्यागिने र हटाइने छु? नकारात्मक परिणामहरू आउने हुनाले, मैले किन परमेश्वरका वचन र मागहरूअनुसार कार्य र अभ्यास गर्न सक्दिनँ?” के तिनीहरू यी मामिलाबारे चिन्तन गर्छन्? (गर्दैनन्।) किन गर्दैनन्? किनकि तिनीहरूको चरित्रमा विवेक र चेतनाको कमी हुन्छ। तिनीहरूमा विवेक हुँदैन, त्यसैले थाहै नपाई त्यस्ता अतार्किक र बेतुका कार्य गर्छन्। चेतनाको कमीले तिनीहरूलाई तिनीहरू को हुन् भन्ने कुरा, वा तिनीहरूले अपनाउनुपर्ने पद, दृष्टिकोण, र हैसियत कहिल्यै नबुझ्ने तुल्याउँछ। तिनीहरू कहिल्यै आफू साधारण व्यक्ति, भ्रष्ट मानव, वा परमेश्वरले घृणा गर्नुहुने शैतानसमान व्यक्ति वा शैतानको सन्तान भएको महसुस गर्दैनन्। मानिसहरूले स्विकार्नुपर्ने कुराहरू भनेको परमेश्वरका वचन, परमेश्वरका माग, तिनीहरूलाई परमेश्वरले आपूर्ति गर्नुहुने सत्यता हुन्; तिनीहरूले आफू परमेश्वरको बराबर भएझैँ गरी उहाँलाई छानबिन गर्नुहुन्न, र अन्य कुनै व्यक्तिसँग अन्तरक्रिया गरेझैँ परमेश्वरसँग हाँस्नु र कुरा गर्नुहुन्न—के यी गैर-मानवले गर्ने कुरा होइनन् र? यस क्षणमा ख्रीष्टविरोधीहरूको चरित्र प्रकाश हुन्छ, र ख्रीष्टविरोधीहरूको दुष्ट स्वभाव सार तिनीहरूमाथि हाबी हुन्छ, जसले तिनीहरूलाई अरूलाई हानि गर्ने र आफैलाई पनि कुनै फाइदा नपुऱ्याउने मूल्यहीन र अर्थहीन कार्यहरूमा अथक रूपमा संलग्न हुने तुल्याउँछ। तैपनि, तिनीहरूले छोड्न सक्दैनन्; तिनीहरू यस मार्गका त्रुटि र यी कार्यहरू पछाडिको प्रकृतिबारे अनभिज्ञ नै रहन्छन्। यस मामिलामा जतिसुकै मेहनत, कष्ट, र असफलता संलग्न भए पनि, तिनीहरूले अलिकति पनि आत्म-दोष, आरोप भाव, र ऋणीपन महसुस गर्दैनन्। तिनीहरू परमेश्वरको बराबर रहने जिद्दी गरिरहन्छन्, उच्च स्थानबाट परमेश्वरलाई छानबिन र घृणासमेत गर्छन्, र उहाँलाई बारम्बार शङ्का गर्छन् र उहाँबारे आशङ्का पाल्छन्। तिनीहरूले जतिसुकै वर्ष परमेश्वरमा विश्वास गरेका भए पनि, परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्ति र उहाँसँग व्यवहार गर्ने तरिका कहिल्यै बदलिएको हुँदैन। यदि तिनीहरूले उहाँलाई शङ्का गरिरहेका छैनन् भने, तिनीहरूले उहाँलाई छानबिन गरिरहेका हुन्छन्, अनि उहाँलाई छानबिन गरिरहेका छैनन् भने, उहाँबारे आशङ्का पालिरहेका हुन्छन्। यस्तो लाग्छ, तिनीहरूलाई भूत चढेको छ वा मोहनी लागेको छ—ख्रीष्टविरोधीहरूको दुष्ट सारका विविध प्रकटीकरणहरू यिनै हुन्। ख्रीष्टविरोधीहरू प्राकृतिक रूपमै दुष्ट हुन्छन्; ख्रीष्टविरोधीहरूको सारलाई छर्लङ्ग देख्न नसक्ने केही मानिसहरूले यसो भन्लान्, “के तँ परमेश्वरलाई छानबिन गर्नबाट पर रहन सक्दैनस्? के तँ उहाँलाई शङ्का गर्न बन्द गर्न सक्दैनस्? के तँ उहाँबारे आशङ्का पाल्ने कार्य बन्द गर्न सक्दैनस्? यदि तैँले यी कुराहरू गर्न बन्द गरिस् भने, तँ सत्यता बुझ्न, परमेश्वरलाई परमेश्वरझैँ व्यवहार गर्न, परमेश्वरप्रति साँचो आस्था विकास गर्न, र जायज रूपमै परमेश्वरका मानिसहरूमध्ये एक बन्न सक्नेछस्; तँसँग अझै पनि एक मानक अनुरूपको सृजित प्राणी बन्ने अवसर हुनेछ, अनि के तँ त्यसपछि परमेश्वरका चुनिएका मानिसहरूमध्ये एकको नामको योग्य हुनेछैनस् र? त्यो कति अद्भुत हुनेथ्यो!” तर ख्रीष्टविरोधीहरूले यस्तो प्रत्युत्तर दिन्छन्, “म त्यति मूर्ख छैनँ। मानक अनुरूपको सृजित प्राणी बन्नुको के फाइदा छ र? त्यो निकै पट्यारलाग्दो हुन्छ। मैले परमेश्वरलाई शङ्का गर्नु, छानबिन गर्नु, र उहाँबारे आशङ्का पाल्नु मात्र चाखलाग्दो हुन्छ!” ख्रीष्टविरोधीहरूको यो प्रकटीकरण ठूलो रातो अजिङ्गरले भन्ने कुराजस्तै छ: “अरू मानिस र स्वर्गसँग लडाइँ गर्नु अनन्त रमाइलोको स्रोत हो।” ख्रीष्टविरोधीहरूको दुष्ट प्रकृति सारको सही परिभाषा र साँचो प्रतिबिम्ब यही नै हो। सारांशमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू अत्यन्तै दुष्ट हुन्छन्, तिनीहरू चरम रूपमा दुष्ट हुन्छन्। परमेश्वरमा विश्वास गर्ने तर सत्यता स्विकार्न सरासर इन्कार गर्नेहरू दुष्ट मानिस हुन्। धेरै मानिसहरू ख्रीष्टविरोधीहरूले एक दिन पश्चात्ताप गर्नेछन् भन्ने सोच्दै तिनीहरूलाई सधैँ पश्चात्तापको एउटा मौका दिन चाहन्छन्—के यो तर्क सही छ? भनाइ नै छ नि, “नानीदेखिको बानी कहिल्यै हट्दैन” र “कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रोमा राखे पनि बाङ्गो नै हुन्छ।” त्यसकारण, तैँले मानवसँग व्यवहार गर्ने मानकहरू र विधिहरू ख्रीष्टविरोधीहरूसँग व्यवहार गर्न वा तिनीहरूबाट माग गर्नका निम्ति प्रयोग गर्न सक्दैनस्। तिनीहरू जे हुन्, त्यही नै हुन्। तिनीहरूले परमेश्वरलाई छानबिन वा शङ्का गरेनन् भने, वा उहाँबारे आशङ्का पालेनन् भने, तिनीहरूले असहज महसुस गर्छन्, किनकि तिनीहरू आफ्नो दुष्ट प्रकृतिद्वारा शासित हुन्छन्।
(४) रक्षात्मकता
यसपछि, हामी प्रतिरक्षात्मकताबारे सङ्गति गर्नेछौँ। ख्रीष्टविरोधीहरूमा एउटा प्रधान र सबैभन्दा स्पष्ट सोच र दृष्टिकोण हुन्छ। तिनीहरू भन्छन्, “मानिसहरूले परमेश्वरलाई तिनीहरूको नियतिलाई नियन्त्रण गर्न वा त्यसमाथि सार्वभौम हुन दिनुहुन्न; यदि परमेश्वरले कुनै व्यक्तिको नियति नियन्त्रण गरे भने, उसका लागि सब खतम भयो। खुसी प्राप्त गर्न, र कुनै चिन्ता नगरी खान, पिउन, र रमाइलो गर्नका लागि मानिसहरूले नै आफूमाथि नियन्त्रण राख्नुपर्छ। परमेश्वरले मानिसहरूलाई खान, पिउन, र रमाइलो गर्न दिँनुहुन्न, उहाँले तिनीहरूलाई राम्रोसँग जिउन दिनुहुन्न; उहाँले मानिसहरूलाई कष्ट भोग्न मात्र लगाउनुहुन्छ। त्यसकारण, हामीले आफ्नो खुसीको कमान आफै लिनुपर्छ; हामीले आफ्नो नियति परमेश्वरलाई सुम्पनु, वा निष्क्रिय रूपमा सबथोकका लागि पर्खेर बस्नु, वा परमेश्वरलाई तयारी गर्न, र हामीलाई अन्तर्दृष्टि दिन र अगुवाइ गर्न दिनु हुँदैन—हामी त्यस्तो व्यक्ति बन्न मिल्दैन। हामीसँग मानव अधिकार, स्वायत्त कार्यवाहीको अधिकार, र स्वतन्त्र इच्छा छ। हामीले सबथोक परमेश्वरलाई रिपोर्ट गर्नु र सबथोकमा उहाँबाट खोजी गर्नुपर्दैन—त्यसले हामीलाई निकै असक्षम देखाउनेछ; मूर्खहरूले मात्र त्यस्तो गर्छन्!” तिनीहरूले के गरिरहेका छन्? (परमेश्वरविरुद्ध रक्षात्मक भइरहेका छन्।) कतिपय मानिसले भन्छन्, “परमेश्वरसामु शपथ खाँदा सावधान हुनु; आफ्ना शब्दबारे होसियारीपूर्वक सोच्नु। मानिसले कार्य गर्दा स्वर्गले हेरिरहेको हुन्छ!” कतिपयले यसो भन्दै प्रार्थना गर्छन्, “हे परमेश्वर, म आफ्नो सम्पूर्ण जीवन र युवावस्था तपाईँलाई अर्पण गर्छु; म जोडी खोज्ने वा विवाह गर्नेछैनँ।” तर यसो भनेपछि तिनीहरूले पछुतो गर्छन्, र सोच्छन्, “के परमेश्वरले मेरा शब्दहरू पूरा गर्नेछन्? मलाई साँच्चै जीवनसङ्गीको आवश्यकता पऱ्यो वा बिहे गर्न मन लाग्यो भने के गर्ने? के परमेश्वरले मलाई दण्ड दिनेछन्? यो त खराब कुरो हो!” तिनीहरू त्यसबेलादेखि अवसादी र हर्षविहीन हुन्छन्, विपरित लिङ्गीदेखि टाढा बस्छन् र दण्डको डर मान्छन्। तिनीहरूले के गरिरहेका हुन्छन्? (परमेश्वरविरुद्ध रक्षात्मक भइरहेका हुन्छन्।) अर्को खालको व्यक्तिले भन्छ, “परमेश्वरप्रति आफूलाई समर्पित गर्न न त सजिलो छ, न त सरल नै। तँसँग एउटा वैकल्पिक योजना हुनुपर्छ; आफूलाई परमेश्वरप्रति समर्पित गर्नुअघि, तैँले उम्किने एउटा बाटो तयार गर्नुपर्छ। नत्र, साधनस्रोत समाप्त भएपछि परमेश्वरले तेरो हेरचाह गर्नेछैनन्! परमेश्वरप्रति आफूलाई समर्पित गर्नु तेरो मामिला हो; परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनु अर्कै कुरा हो। परमेश्वर यावत् थोकमाथि सार्वभौम छन्—के उनले तँजस्तो सानो व्यक्तिको हेरचाह गर्नेछन्? परमेश्वरले ठूल्ठूला मामिलाहरू मात्र सम्हाल्छन्; उनले यी झिनामसिना कुराहरूको वास्ता गर्दैनन्। त्यसकारण, तैँले योजना बनाउनुपर्छ र उम्किने बाटो तयार गर्नुपर्छ; परमेश्वरले पछि तँलाई चाहेनन् र निकाले भने, उनले तँलाई कुनै कृपा देखाउनेछैनन्।” यो कस्तो खालको सोचाइ हो? (परमेश्वरविरुद्धको रक्षात्मकता।) सामान्यतया, मानिसहरूले धेरै लेखाजोखा गरिरहेका हुन्छन्। कतिपयले चाहिँ अगुवा बनेपछि, केही मूल्य चुकाउँछन्, र आफूलाई साँच्चै अलिकति समर्पित गर्छन्, तर तिनीहरूको खराब मानवता, घिनलाग्दो स्वभाव, र तिनीहरूसँग भएको ख्रीष्टविरोधीहरूको स्वभावका कारण, तिनीहरूले परमेश्वरको घरमा ठूलो नोक्सानी निम्त्याउँछन्। फलस्वरूप, तिनीहरूलाई निकालिन्छ। पछि, तिनीहरूले आफूलाई आचरणमा ढाल्न सिक्छन्, आफूतिर ध्यान आकर्षित गराउँदैनन्, कसैसँग आफ्ना कुरा खोल्दैनन्, र यसो भन्छन्, “म सधैँ मानिसहरूसँग आफ्ना कुरा खोल्ने गर्थेँ, त्यसैले मेरो वास्तविकता सबैलाई थाहा हुन्थ्यो, तर त्यसपछि कसैले परमेश्वरको घरमा मलाई रिपोर्ट गरिदियो र मलाई निकालियो। त्यसैले अब मैले आफ्नो मनको ढोका बन्द गर्न, आफैलाई लुकाउन, आफ्नो प्रतिरक्षा र सुरक्षा गर्न सिक्नुपर्छ। म मानिसहरूसँग आफ्ना कुरा खोल्नेबारे सतर्क हुनुपर्छ, र मैले परमेश्वरसँग पनि आफ्ना कुरा खोल्नु हुँदैन। म उप्रान्त परमेश्वर सत्यता हुन्, र उनी विश्वासयोग्य छन् भनेर विश्वास गर्दिनँ। ब्रदर-सिस्टरहरूमा त मलाई झनै कम भरोसा छ। कोही पनि मेरो भरोसाको लायक छैन, मेरो परिवारका सदस्यहरू वा आफन्तहरू पनि छैनन्, सत्यता पछ्याउनेहरूको त कुरै नगरौँ।” तिनीहरूले के गरिरहेका छन्? (तिनीहरू रक्षात्मक भइरहेका छन्।) ख्रीष्टविरोधीहरूले काटछाँट, असफलता, गिरावट, र प्रकट अनुभव गर्दा यो सबैको लेखाजोखा राख्छन्, र यो भनाइ लिएर आउँछन्: “अरूलाई हानि गर्ने मनसाय कहिल्यै नराख्नू, तर अरूले गर्ने हानिप्रति सधैँ रक्षात्मक रहनु।” वास्तवमा, तिनीहरूले अरूलाई निकै हानि पुऱ्याएका हुन्छन्, र अन्त्यमा, तिनीहरूले आफ्नो भेष बदल्छन् र यो भ्रान्ति विकास गर्छन्। धेरै वर्षसम्म परमेश्वरमा विश्वास गरेपछि र अनेकौँ असफलता र ठक्करका साथै परमेश्वरको प्रकट र काटछाँट अनुभव गरेपछि, सामान्य परिस्थितिहरूमा मानिसहरूले यी असफलताका पाठहरूमार्फत आत्मचिन्तन गर्नुपर्छ र आफूलाई चिन्नुपर्छ, समस्या समाधान गर्न सत्यता खोज्नुपर्छ, र परमेश्वरका वचनहरूमा तिनीहरूका असफलता र गिरावटका कारणहरूका साथै तिनीहरूले अपनाउनुपर्ने अभ्यासको मार्ग खोज्नुपर्छ। तर ख्रीष्टविरोधीहरूले यस्तो गर्दैनन्। कैयौँ भूल र असफलतापश्चात्, तिनीहरूले आफ्नो व्यवहारलाई झनै तीव्र बनाउँछन्, परमेश्वरबारे तिनीहरूको शङ्का झनै बढ्छन् र झनै गम्भीर बन्छन्, तिनीहरूले परमेश्वरलाई गर्ने छानबिन झनै उग्र बन्छ, परमेश्वरबारे तिनीहरूको आशङ्का झनै गहन बन्छ, र त्यसरी नै, तिनीहरूको हृदय परमेश्वरविरुद्धको रक्षात्मकताले भरिन्छ। तिनीहरूको प्रतिरक्षात्मकता गुनासा, रिस, अवज्ञा, र आक्रोशले भरिपूर्ण हुन्छ, र तिनीहरूले बिस्तारै परमेश्वरविरुद्ध इन्कार, आलोचना, र निन्दा समेत विकास गर्छन्। के तिनीहरू बढ्दो खतरामा छैनन् र? (छन्।)
परमेश्वर, परमेश्वरले खडा गर्नुभएका वातावरण र मानिस, घटना, र कामकुराहरू, परमेश्वरले ख्रीष्टविरोधीहरूलाई प्रकाश गर्नु र ताडना दिनु, इत्यादिप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्तिबाट मूल्याङ्कन गर्दा, के तिनीहरूले सत्यताको खोजी गर्ने अलिकति पनि अभिप्राय राख्छन् त? के तिनीहरूले परमेश्वरमा समर्पित हुने अलिकति पनि अभिप्राय राख्छन्? के तिनीहरूमा यो सब आकस्मिक रूपमा भएको होइन, बरु परमेश्वरको सार्वभौमिकताअन्तर्गत पर्छ भन्ने अलिकति पनि आस्था छ त? के तिनीहरूमा यो बुझाइ र सचेतना छ? स्पष्ट छ, छैन। तिनीहरूको रक्षात्मकताको जड परमेश्वरबारे तिनीहरूको शङ्काबाट आउँछ भनेर भन्न सकिन्छ। तिनीहरूको आशङ्काको जड पनि परमेश्वरबारे तिनीहरूको शङ्काबाट आउँछ भनेर भन्न सकिन्छ। तिनीहरूले परमेश्वरलाई गर्ने छानबिनका नतिजाले तिनीहरूमा परमेश्वरबारे थप आशङ्का उत्पन्न गराउँछ, र साथसाथै परमेश्वरविरुद्ध थप प्रतिरक्षात्मक बनाउँछ। ख्रीष्टविरोधीहरूको सोचाइबाट उत्पन्न विविध सोच र दृष्टिकोण, साथै यी सोच र दृष्टिकोणको प्रभुत्वअन्तर्गत पैदा भएका विविध तौरतरिका र व्यवहारबाट मूल्याङ्कन गर्दा, यी मानिसहरू एकदम समझहीन छन्; तिनीहरू सत्यता बुझ्न सक्दैनन्, तिनीहरू परमेश्वरप्रति साँचो आस्था विकास गर्न सक्दैनन्, तिनीहरू परमेश्वरको अस्तित्वमा पूर्ण रूपमा विश्वास गर्न र त्यसलाई स्विकार्न सक्दैनन्, र तिनीहरू परमेश्वर सारा सृष्टिमाथि सार्वभौम हुनुहुन्छ, उहाँ सबथोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने कुरालाई विश्वास गर्न र स्विकार्न सक्दैनन्। यो सब तिनीहरूको दुष्ट स्वभाव सारका कारण हो।
डिसेम्बर १९, २०२०