परिशिष्ट छ: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग तीन)
इ. ख्रीष्टविरोधीहरूको स्वभाव सार
क. दुष्टता
२. ख्रीष्टविरोधीहरू परमेश्वरप्रति के गर्छन्
हामीले यसअघिको भेलामा मुख्यतः ख्रीष्टविरोधीको स्वभाव सारबारे सङ्गति गऱ्यौँ र त्यसको सारांश निकाल्यौँ, र भ्रष्ट मानवताका छ वटा स्वभावबाट तीन वटा विशेषताहरू छानेर तिनलाई विश्लेषण गऱ्यौँ। यी तीन विशेषता हुन्, सत्यताप्रतिको वितृष्णा, क्रूरता, र दुष्टता। हामीले पछिल्लो पटक दुष्टताबारे सङ्गति गऱ्यौँ, र ख्रीष्टविरोधीहरूको सोच दिनभरि नै दुष्टताले भरिएको हुन्छ भन्ने तिनीहरूको दुष्ट प्रकटीकरणको विश्लेषणमार्फत हामीले ख्रीष्टविरोधीहरूलाई पहिचान गऱ्यौँ र यी प्रकटीकरणमार्फत तिनीहरूको दुष्ट स्वभाव सार पुष्टि गऱ्यौँ। हामी तिनीहरूका सोच दिनभरि नै दुष्टताले भरिएका हुन्छन् भन्ने तथ्यलाई दुइटा पक्षबाट विश्लेषण गर्दै छौँ: पहिलो, अरूसँग व्यवहार गर्दा तिनीहरूको सोचमा के हुन्छ, आफ्नो भ्रष्ट सारमा तिनीहरूले के-कस्ता तौरतरिका र प्रकटीकरणहरू प्रकाश गर्छन्; दोस्रो, परमेश्वरबारे तिनीहरूको सोचमा के हुन्छ। तिनीहरूले मानिसहरूसँग कस्तो व्यवहार गर्छन् भन्नेबारे हामीले सङ्गति सकायौँ। ख्रीष्टविरोधीहरूमा के-कस्ता विचार, धारणा, दृष्टिकोण, र उत्प्रेरणा हुन्छन्, र तिनीहरूको मनमा परमेश्वरप्रति के-कस्ता पूर्वनिर्धारित कार्य हुन्छन् भन्ने कुरामा समेत हामीले पछिल्लो पटक आंशिक रूपमा सङ्गति गऱ्यौँ: उदाहरणका लागि, शङ्का, छानबिन, अनि अरू के? (आशङ्का र रक्षात्मकता।) शङ्का, छानबिन, आशङ्का, र रक्षात्मकता। अब ख्रीष्टविरोधीहरूले परमेश्वरलाई जाँच्नेबारे सङ्गति गरौँ।
(५) जाँच
जाँचका प्रकटीकरणहरू के-के हुन्? कुन तौरतरिका वा सोचले जाँचको स्थिति वा सार प्रकट गर्छ? (यदि मैले कुनै अपराध वा कुनै दुष्टता गरेको छु भने, म सधैँ परमेश्वरलाई सोधखोज गर्न, स्पष्ट जवाफ माग्न, र मैले असल परिणाम वा गन्तव्य पाउनेछु कि पाउनेछैनँ भनेर हेर्न चाहन्छु।) यो सोचहरूसँग सम्बन्धित कुरा हो; त्यसैले, सामान्यतया कसैले बोल्दा वा कार्य गर्दा, वा उसले कुनै कुरा सामना गर्दा उसको कुन प्रकटीकरणचाहिँ जाँच हो? यदि कसैले कुनै अपराध गरेको छ र परमेश्वरले उसको अपराध याद राख्नुहोला वा त्यसलाई निन्दा गर्नुहोला भनेर महसुस गर्छ, र ऊ आफै अनिश्चित छ, परमेश्वरले उसलाई वास्तवमै निन्दा गर्नुहुनेछ कि गर्नुहुनेछैन भनेर उसलाई थाहा छैन भने, उसले परमेश्वरको मनोवृत्ति साँच्चै कस्तो छ भनी हेर्नका लागि त्यसको जाँच गर्न एउटा उपाय निकाल्छ। उसले प्रार्थनाबाट सुरु गर्छ, र त्यसबाट कुनै ज्योति वा अन्तर्दृष्टि पाएन भने पछ्याइको अघिल्लो विधिलाई पूर्ण रूपमा त्याग्नेबारे सोच्छ। यसअघि उसले सधैँ झाराटारुवा तरिकाले कामकुरा गर्थ्यो, ५०% मेहनत लगाउन सक्ने ठाउँमा ३०%, वा ३०% लगाउन सक्ने ठाँउमा १०% मात्र लगाउँथ्यो। अहिले, यदि उसले ५०% मेहनत लगाउन सक्छ भने लगाउनेछ। ऊ अरूले गर्न नमान्ने फोहोरी वा थकाइलाग्दो काम गर्छ, सधैँ अरूलेभन्दा पहिले नै त्यो काम गर्छ, र अधिकांश दाजुभाइ-दिदीबहिनीहरूले त्यो देखून् भन्ने कुरा सुनिश्चित गर्छ। अझ महत्त्वपूर्ण कुरा त, ऊ परमेश्वरले यस मामिलालाई कसरी हेर्नुहुन्छ र उसको अपराधको परिपूर्ति गर्न सकिन्छ कि सकिन्न भनेर हेर्न चाहन्छ। अधिकांश मानिसहरूले पार गर्न नसक्ने कठिनाइ वा कामकुराको सामना गर्दा, ऊ परमेश्वरले के गर्नुहुनेछ, उहाँले उसलाई अन्तर्दृष्टि र मार्गदर्शन प्रदान गर्नुहुनेछ कि गर्नुहुनेछैन भनी हेर्न चाहन्छ। यदि उसले परमेश्वरको उपस्थिति र उहाँको विशेष निगाह महसुस गर्न सक्यो भने, ऊ विश्वास गर्छ कि परमेश्वरले उसको अपराधलाई सम्झनुभएको वा निन्दा गर्नुभएको छैन, जसले त्यो कुरा माफ हुन सक्ने प्रमाणित गर्छ। यदि उसले आफूलाई यसरी समर्पित गर्छ र यस्तो मूल्य चुकाउँछ, यदि उसको मनोवृत्ति उल्लेखनीय रूपमा बदलिए पनि उसले परमेश्वरको उपस्थिति महसुस गर्दैन, र पहिलेभन्दा खुट्ट्याउन सकिने कुनै फरक महसुस गर्दैन भने, यो सम्भव छ कि परमेश्वरले उसको पहिलेको अपराधलाई निन्दा गर्नुभएको छ र अबउप्रान्त उसलाई चाहनुहुन्न। परमेश्वरले उसलाई नचाहने भएपछि, उसले भविष्यमा आफ्नो कर्तव्य निर्वाह गर्दा पहिले जत्तिको मेहनत लगाउनेछैन। यदि परमेश्वरले उसलाई अझै पनि चाहनुहुन्छ, उसलाई निन्दा गर्नुहुन्न, उसले आशिष्हरू पाउने आशा अझै पनि बाँकी छ भने, उसले आफ्नो कर्तव्य निर्वाहमा अलि सच्चाइका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेछ। के यी प्रकटीकरण र विचार जाँचकै एउटा स्वरूप हुन्? के यो एउटा निश्चित तौरतरिका हो? (हो।) तिमीहरूले भर्खरै एउटा सैद्धान्तिक पक्ष मात्रै उल्लेख गऱ्यौ, तर परमेश्वरलाई जाँच्नेसम्बन्धी विस्तृत प्रकटीकरणमा र तिनीहरूको हृदयमा यस मामिलाप्रति के-कस्ता ठोस तौरतरिका र योजनाहरू छन् भन्ने विषयमा विशिष्ट रूपमा प्रवेश गरेनौ, वा ख्रीष्टविरोधीहरू यस क्रियाकलापमा संलग्न हुँदा तिनीहरूका दृष्टिकोण र स्थितिहरू कस्ता हुन्छन् भन्ने कुराको खुलासा गरेनौ।
कतिपय मानिसमा सधैँ परमेश्वरको सर्वशक्तिमान्ता र उहाँले गर्नुहुने मानव हृदयको गहिराइको छानबिन सम्बन्धी ज्ञान वा अनुभवको कमी हुन्छ। तिनीहरूमा परमेश्वरले गर्नुहुने मानव हृदयको छानबिनबारे साँचो बोधको पनि कमी हुन्छ, त्यसैले स्वाभाविक रूपमा तिनीहरू यस मामिलाबारे शङ्काले भरिएका हुन्छन्। तिनीहरूले आफ्ना व्यक्तिपरक इच्छाहरूमा परमेश्वरले मानव हृदयको गहिराइलाई छानबिन गर्नुहुन्छ भनी विश्वास गर्न चाहे पनि, तिनीहरूसँग निर्णायक प्रमाण हुँदैन। फलस्वरूप, तिनीहरूले हृदयमा निश्चित कुराहरूको योजना बनाउँछन् र एकैसाथ तिनलाई कार्यान्वयन र लागू गर्न थाल्छन्। लागू गर्दै गर्दा, तिनीहरूले परमेश्वरलाई यीबारे साँच्चै थाहा छ कि छैन, उक्त मामिला खुलासा हुनेछन् कि हुनेछैनन्, र तिनीहरू चुपचाप बसे भने यो कुरा कसैले पत्ता लगाउन सक्छ कि सक्दैन, वा परमेश्वरले कुनै निश्चित वातावरणमार्फत यसलाई प्रकाश गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेर निरन्तर नियालिरहेका हुन्छन्। अवश्य नै, साधारण मानिसहरूमा परमेश्वरको सर्वशक्तिमान्ता र उहाँले गर्नुहुने मानव हृदयको गहिराइको छानबिनबारे केही अनिश्चितता हुन सक्छ, तर ख्रीष्टविरोधीहरू अनिश्चित मात्र हुँदैनन्—साथसाथै, तिनीहरू शङ्काले भरिएका र परमेश्वरविरुद्ध पूर्ण सावधानी अपनाइरहेका हुन्छन्। त्यसकारण, तिनीहरूले परमेश्वरलाई जाँच्ने धेरै तौरतरिकाहरू विकास गर्छन्। तिनीहरूले परमेश्वरले गर्नुहुने मानव हृदयको छानबिनलाई शङ्का गर्ने, र अझ परमेश्वरले त्यसलाई छानबिन गर्नुहुन्छ भन्ने तथ्यलाई इन्कार्ने हुनाले, तिनीहरूले प्रायः निश्चित मामिलाहरूबारे सोच्ने गर्छन्। त्यसपछि, अलिकति डर वा कुनै अवर्णनीय त्रासको भावनासाथ, तिनीहरूले गोप्य रूपमा सुटुक्क यी विचारहरू फैलाएर निश्चित मानिसहरूलाई बहकाउँछन्। यसैबीच, तिनीहरूले अलिअलि गर्दै आफ्ना तर्क र विचारहरू लगातार खुलासा गर्छन्। तिनलाई खुलासा गरिरहँदा, तिनीहरू परमेश्वरले तिनीहरूको यो व्यवहारलाई अवरोध पुऱ्याउनुहुन्छ वा खुलासा गर्नुहुन्छ कि भनी हेर्छन्। यदि उहाँले यसलाई खुलासा वा चित्रण गर्नुभयो भने, तिनीहरू तुरुन्तै पछि हट्छन्, र अर्को तरिका अपनाउँछन्। यदि यसबारे कसैलाई थाहा छैन, र तिनीहरूलाई कसैले पनि छर्लङ्ग देख्न वा खोतल्न सक्दैन भन्ने देखिएमा, तिनीहरू आफ्नो अन्तर्ज्ञान सही छ, र परमेश्वरबारे आफ्नो ज्ञान सही छ भनेर हृदयमा झनै पूर्ण रूपमा विश्वस्त हुन्छन्। तिनीहरूको दृष्टिकोणमा, परमेश्वरले मूलतः मानव हृदयको छानबिन गर्दै गर्नुहुन्न। यो कस्तो खालको तौरतरिका हो? यो जाँचको तौरतरिका हो।
आफ्नो अन्तर्निहित दुष्ट स्वभावका कारण, ख्रीष्टविरोधीहरू कहिल्यै सिधै बोल्ने वा कार्य गर्ने गर्दैनन्। तिनीहरू इमानदार मनोवृत्ति र निष्कपटतासाथ कामकुराहरू सम्हाल्दैनन्, वा इमानदार शब्द प्रयोग गरेर बोल्ने र हार्दिक मनोवृत्तिसाथ कार्य गर्ने गर्दैनन्। तिनीहरूले बोल्ने वा गर्ने कुनै पनि कुरा सुस्पष्ट हुँदैन, बरु घुमाउरो र गुपचुप हुन्छ, र तिनीहरूले कहिल्यै आफ्ना सोच वा उत्प्रेरणा सिधै व्यक्त गर्दैनन्। किनभने तिनीहरू विश्वास गर्छन् कि यदि ती व्यक्त गरियो भने, तिनीहरूलाई पूर्ण रूपमा बुझिनेछ र छर्लङ्गै देखिनेछ, तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू ज्योतिमा परेर खुलासा हुनेछन्, र तिनीहरूलाई अन्य व्यक्तिहरूमाझ उच्च वा कुलीन मानिनेछैन, वा तिनीहरूलाई अरूले आदरभावले हेर्ने वा आराधना गर्नेछैनन्; तसर्थ, तिनीहरू जहिल्यै आफ्ना निन्दनीय मनसाय र चाहनाहरूलाई ढाक्ने र लुकाउने प्रयास गर्छन्। त्यसोभए, तिनीहरूले कसरी बोल्छन् र कार्य गर्छन् त? तिनीहरूले विभिन्न विधि प्रयोग गर्छन्। गैरविश्वासीहरूमाझ प्रचलित “परिस्थितिको नाडी छाम्ने” भन्ने भनाइजस्तै, ख्रीष्टविरोधीहरूले त्यस्तै तौरतरिका अपनाउँछन्। तिनीहरूले केही गर्न चाहँदा र कुनै निश्चित दृष्टिकोण वा मनोवृत्ति राख्दा, तिनीहरू कहिल्यै त्यसलाई सिधै व्यक्त गर्दैनन्; बरु तिनीहरू आफूले खोजेको जानकारी बटुल्न सूक्ष्म वा सोधपुछ गर्ने विधि वा मानिसहरूबाट कुरा धुत्नेजस्ता निश्चित विधिहरू प्रयोग गर्छन्। आफ्नो दुष्ट स्वभावका कारण ख्रीष्टविरोधीहरू कहिल्यै सत्यता खोजी गर्दैनन्, न त त्यसलाई बुझ्न नै चाहन्छन्। तिनीहरूको एक मात्र चासो भनेको आफ्नै ख्याति, प्राप्ति, र हैसियत हो। तिनीहरू आफूलाई ख्याति, लाभ, र हैसियत दिलाउन सक्ने क्रियाकलापहरूमा संलग्न हुन्छन्, र त्यस्ता कुरा दिन नसक्नेहरूबाट टाढै बस्छन्। तिनीहरू प्रतिष्ठा, हैसियत, अलग पहिचान, र महिमासँग सम्बन्धित क्रियाकलापहरू उत्सुकतासाथ गर्छन्, जबकि मण्डलीको कामको सुरक्षा गर्ने वा अरूलाई चिढ्याउन सक्ने कुराहरूदेखि टाढै बस्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू कुनै पनि कुरालाई खोजीको मनोवृत्तिले लिँदैनन्; बरु तिनीहरू कामकुरा परीक्षण गर्नका लागि जाँचको विधि प्रयोग गर्छन्, र त्यसपछि अघि बढ्ने कि नबढ्ने भनेर निर्णय गर्छन्—ख्रीष्टविरोधीहरू यति धूर्त र दुष्ट हुन्छन्। उदाहरणका लागि, परमेश्वरको नजरमा आफू कस्तो व्यक्ति हुँ भनेर जान्न चाहँदा, तिनीहरूले आफूलाई चिनेर परमेश्वरका वचनमार्फत आफूलाई मूल्याङ्कन गर्दैनन्। बरु, तिनीहरू वरपर सोधखोज गर्छन् र इङ्गित बोली सुन्न कान थाप्छन्, अगुवा र माथिको लबज र मनोवृत्तिलाई हेर्छन्, र परमेश्वरले तिनीहरूजस्ता मानिसहरूको परिणाम कसरी निर्धारण गर्नुहुन्छ भनी हेर्न उहाँका वचनमा खोजतलास गर्छन्। तिनीहरू परमेश्वरको घरभित्र आफ्नो स्थान कहाँ छ भनी हेर्न र आफ्नो भावी परिणाम के हुनेछ भनी पत्ता लगाउन यी मार्ग र विधिहरू प्रयोग गर्छन्। के यसमा जाँचको कुनै प्रकृति संलग्न हुँदैन र? उदाहरणका लागि, कतिपय मानिसहरूलाई काटछाँट गरिएपछि, तिनीहरूले आफूलाई काटछाँट गरिनुको कारण, काम गर्ने क्रममा आफूले प्रकाश गरेका भ्रष्ट स्वभाव र गल्तीहरू, र आफूलाई चिन्न र आफ्ना विगतका गल्ती सुधार्न आफूले सत्यताका कस्ता पक्षहरूको खोजी गर्नुपर्छ भनी जाँच गर्नुको साटो, तिनीहरू आफूप्रति माथिको साँचो मनोवृत्ति पत्ता लगाउन अप्रत्यक्ष माध्यम प्रयोग गर्दै अरूमा आफ्नो झूटो छाप पार्छन्। उदाहरणका लागि, काटछाँट गरिएपछि तिनीहरू माथिको खोजी गर्न, माथिको लबज कस्तो छ, माथि धैर्यवान छ कि छैन, तिनीहरूले खोजी गरिरहेका प्रश्नहरूको जवाफ गम्भीरतापूर्वक दिइन्छ कि दिइन्न, उनीहरूले तिनीहरूप्रति नरम मनोवृत्ति अपनाउँछन् कि अपनाउँदैनन्, उनीहरूले तिनीहरूलाई कार्यहरू सुम्पनेछन् कि सुम्पनेछैनन्, उनीहरूले तिनीहरूलाई अझै पनि उच्च प्रशंसा गर्नेछन् कि गर्नेछैनन्, र तिनीहरूका पहिलेका गल्तीहरूबारे माथिले वास्तवमा के सोच्छ भनी हेर्न तुरुन्तै कुनै चानचुने मामिलाको कुरा उठाउँछन्। यी सबै तौरतरिका एक खालको जाँच हो। छोटकरीमा भन्नुपर्दा, मानिसहरूले यस्ता परिस्थितिको सामना गर्दा र यी प्रकटीकरणहरू प्रदर्शन गर्दा, के तिनीहरूलाई हृदयमा थाहा हुन्छ? (हजुर, हुन्छ।) त्यसोभए, तिमीहरूलाई थाहा हुँदा र तिमीहरूले यी कुरा गर्न चाहँदा, त्यसलाई कसरी सम्हाल्छौ? पहिलो कुरा, सबैभन्दा सरल स्तरमा, के तँ आफूविरुद्ध विद्रोह गर्न सक्छस्? कतिपय मानिसहरूलाई समय आउँदा आफूविरुद्ध विद्रोह गर्न चुनौतीपूर्ण लाग्छ; तिनीहरू यसमाथि विचार गर्छन्, “होस्, यसपालि यो कुरा मेरा आशिष् र परिणामसँग सम्बन्धित छ। म आफूविरुद्ध विद्रोह गर्न सक्दिनँ। अर्कोपालि गरौँला।” अर्कोपालि आउँदा, र फेरि तिनीहरूका आशिष् र परिणामसँग सम्बन्धित कुनै मुद्दा सामना गर्दा, तिनीहरूले अझै आफूविरुद्ध विद्रोह गर्न सक्दैनन्। यस्ता व्यक्तिहरूमा विवेकको भावना हुन्छ, र तिनीहरूसँग ख्रीष्टविरोधीको स्वभाव सार नभए पनि, यो तिनीहरूका लागि निकै समस्याजनक र खतरनाक हुन्छ। अर्कोतिर, ख्रीष्टविरोधीहरू प्रायः यी सोचहरू पाल्छन् र त्यस्तो स्थितिमा जिउँछन्, तर तिनीहरू कहिल्यै आफूविरुद्ध विद्रोह गर्दैनन्, किनकि तिनीहरूमा विवेकको भावना हुँदैन। कसैले तिनीहरूको स्थिति औल्याउँदै तिनीहरूलाई खुलासा र काटछाँट गरे भने पनि, तिनीहरू अडिग रहन्छन् र आफूविरुद्ध बिलकुलै विद्रोह गर्दैनन्, न त त्यसले गर्दा तिनीहरूले आफूलाई घृणा गर्छन् न यस स्थितिलाई त्याग्छन् र सुल्झाउँछन्। बर्खास्त गरिएपछि कतिपय ख्रीष्टविरोधीहरू सोच्छन्, “बर्खास्त हुनु त सामान्य कुराजस्तो देखिन्छ, तैपनि यो अलि अपमानजनक लाग्छ। यो कुनै उल्लेखनीय मामला नभए पनि, म एउटा महत्त्वपूर्ण कुरालाई छोड्नै सक्दिनँ। यदि म बर्खास्त भएँ भने, के त्यसको अर्थ परमेश्वरको घरले अबउप्रान्त मलाई संवर्धन गर्नेछैन भन्ने हुन्छ? त्यसपछि म परमेश्वरका नजरमा कस्तो खालको व्यक्ति हुनेछु? के मसँग अझै पनि आशा हुनेछ? के म अझै पनि परमेश्वरका घरमा उपयोगी हुनेछु?” तिनीहरूले यो चिन्तन गर्छन् र एउटा योजना बनाउँछन्, “मसँग दस हजार युआन छ, र त्यो प्रयोग गर्ने समय अहिले नै हो। म यो दस हजार युआन भेटीका रूपमा चढाउनेछु, र मप्रति माथिको मनोवृत्ति अलिकति बदलिन सक्छ कि, अनि उनीहरूले मप्रति केही निगाह देखाउन सक्छन् कि भनी हेर्नेछु। यदि परमेश्वरको घरले पैसा स्विकाऱ्यो भने, त्यसको अर्थ मसँग अझै पनि आशा छ भन्ने हुन्छ। यदि त्यसले पैसा स्विकारेन भने, त्यसले मसँग कुनै आशा छैन भन्ने प्रमाणित गर्छ, र म अरू नै योजना बनाउनेछु।” यो कस्तो खालको तौरतरिका हो? यो जाँच हो। छोटकरीमा भन्नुपर्दा, जाँच भनेको दुष्ट स्वभाव सारको तुलनात्मक रूपमा सुस्पष्ट प्रकटीकरण हो। मानिसहरू आफूले चाहेको जानकारी प्राप्त गर्न, निश्चित हुन, र त्यसपछि मनको शान्ति हासिल गर्न विभिन्न उपायहरू प्रयोग गर्छन्। जाँच गर्ने अनेकौँ तरिका छन्, जस्तै शब्दहरू प्रयोग गरेर परमेश्वरबाट कुराहरू धुत्ने, वस्तुहरू प्रयोग गरेर उहाँको जाँच गर्ने, मनमनै सोच्ने र चिन्तन-मनन गर्ने। तिमीहरूले परमेश्वरलाई जाँच्ने सबैभन्दा आम विधि के हो? (कहिलेकाहीँ परमेश्वरलाई प्रार्थना गर्दा, म आफूप्रति परमेश्वरको मनोवृत्ति जाँच्छु र आफ्नो हृदयमा शान्ति छ कि छैन भनी हेर्छु। परमेश्वरलाई जाँच्न म यही विधि प्रयोग गर्छु।) यो विधि निकै आम रूपमा प्रयोग गरिन्छ। अर्को विधि भनेको भेलामा सङ्गतिको दौरान कसैलाई केही भन्नु छ कि छैन, परमेश्वरले अन्तर्दृष्टि वा ज्योति प्रदान गर्नुहुन्छ कि गर्नुहुन्न भनी हेर्नु, र त्यसलाई प्रयोग गरेर परमेश्वर अझै पनि तिनीहरूसँग हुनुहुन्छ कि हुनुहुन्न, उहाँले अझै पनि तिनीहरूलाई प्रेम गर्नुहुन्छ कि गर्नुहुन्न भनी जाँच्नु हो। साथै, तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा, परमेश्वरले तिनीहरूलाई अन्तर्दृष्टि दिने वा मार्गदर्शन गर्ने काम गर्नुहुन्छ कि गर्नुहुन्न, तिनीहरूसँग कुनै विशेष सोच, विचार, वा अन्तर्दृष्टि छन् कि छैनन् भनी हेर्नु—यिनलाई प्रयोग गरेर तिनीहरूप्रति परमेश्वरको मनोवृत्ति कस्तो छ भनी जाँच्नु हो। यी सबै विधिहरू निकै आम रूपमा प्रयोग गरिन्छन्। अरू केही छ? (यदि मैले प्रार्थनामा परमेश्वरप्रति कुनै सङ्कल्प गरेको छु तर त्यो पूरा गर्न सकिनँ भने, म परमेश्वरले मलाई मैले खाएको शपथअनुसार व्यवहार गर्नुहुनेछ कि गर्नुहुनेछैन भनी नियाल्छु।) यो पनि एक प्रकारको विधि हो। मानिसहरूले परमेश्वरलाई व्यवहार गर्न जुनसुकै विधि प्रयोग गरे पनि, यदि तिनीहरूलाई त्यसबारे आत्म-ग्लानि भयो, र त्यसपछि तिनीहरूले यी कार्य र स्वभावबारे ज्ञान पाए र तिनलाई तुरुन्तै उल्ट्याउन सके भने, उक्त समस्या त्यति ठूलो होइन—यो एउटा सामान्य भ्रष्ट स्वभाव हो। तर, यदि कसैले निरन्तर र हठपूर्वक यसो गरिरहन सक्छ, यो गलत हो र परमेश्वरले यसलाई तिरस्कार गर्नुहुन्छ भन्ने थाहा पाएर पनि ऊ त्यसैमा अडिग रहन्छ, त्यसविरुद्ध कहिल्यै विद्रोह गर्दैन वा त्यसलाई त्याग्दैन भने, यो ख्रीष्टविरोधीको सार हो। ख्रीष्टविरोधीहरूको स्वभाव सार साधारण मानिसहरूकोभन्दा कुन हिसाबले फरक हुन्छ भने, तिनीहरूले कहिल्यै आत्म-चिन्तन गर्दैनन् वा सत्यता खोज्दैनन्, बरु निरन्तर रूपमा र हठपूर्वक विभिन्न विधिहरू प्रयोग गरेर परमेश्वर, मानिसहरूप्रति उहाँको मनोवृत्ति, कुनै व्यक्तिसम्बन्धी उहाँको निष्कर्ष, र व्यक्तिको विगत, वर्तमान र भविष्यबारे उहाँका सोच र विचार के छन् भनी जाँच्छन्। तिनीहरूले परमेश्वरका अभिप्राय, सत्यता, र विशेष गरी आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सत्यताप्रति समर्पित हुने तरिका कहिल्यै खोज्दैनन्। तिनीहरूका सबै कार्यपछाडिको उद्देश्य परमेश्वरका सोच र विचारलाई सोधखोज गर्नु हो—यो एक ख्रीष्टविरोधी हो। ख्रीष्टविरोधीहरूको यो स्वभाव स्पष्ट रूपमा दुष्ट हुन्छ। तिनीहरू यी कार्यहरूमा संलग्न हुँदा र तिनीहरूले यी प्रकटीकरणहरू प्रदर्शन गर्दा, तिनीहरूमा अलिकति पनि ग्लानि वा पछुतोको झल्को हुँदैन। तिनीहरूले आफूलाई यी कुराहरूसँग जोडे पनि कुनै पश्चात्ताप वा रोकिने अभिप्राय देखाउँदैनन्, बरु तिनीहरू आफ्ना तरिकामै अडिग रहन्छन्। परमेश्वरप्रति तिनीहरूको व्यवहार, तिनीहरूको मनोवृत्ति, र तिनीहरूको तौरतरिकालाई हेर्दा, यो कुरा स्पष्ट हुन्छ कि तिनीहरू परमेश्वरलाई आफ्नो प्रतिद्वन्द्वी मान्छन्। तिनीहरूका सोच र दृष्टिकोणमा परमेश्वरलाई जान्ने, परमेश्वरलाई प्रेम गर्ने, परमेश्वरमा समर्पित हुने, वा परमेश्वरको डर मान्ने कुनै विचार वा मनोवृत्ति हुँदैन; तिनीहरू केवल परमेश्वरबाट आफूले चाहेको जानकारी प्राप्त गर्न, र आफ्नै विधि र उपायहरू प्रयोग गरेर तिनीहरूप्रति परमेश्वरको यथार्थ मनोवृत्ति र परिभाषा निश्चित गर्न चाहन्छन्। झनै गम्भीर कुरा त के हो भने, तिनीहरूले आफ्ना तौरतरिकालाई परमेश्वरका खुलासाका वचनहरूसँग मिलाए पनि, यो व्यवहारलाई परमेश्वरले तिरस्कार गर्नुहुन्छ र यो मानिसले गर्नुपर्ने कुरा होइन भन्ने कुराको अलिकति सचेतना भए पनि, तिनीहरूले त्यसलाई कहिल्यै त्याग्नेछैनन्।
विगतमा, परमेश्वरका घरमा एउटा प्रावधान थियो: निष्कासित गरिएका वा निकालिएका मानिसहरूले पछि साँचो पश्चात्ताप प्रकट गरे, र तिनीहरू परमेश्वरका वचनहरू पढ्नमा, सुसमाचार प्रचार गर्नमा, र परमेश्वरको गवाही दिनमा दृढतापूर्वक लागिरहे, र तिनीहरूले साँच्चै पश्चात्ताप गरे भने, तिनीहरूलाई मण्डलीमा पुनः भित्र्याउन सकिन्छ। एउटा व्यक्ति थियो, जसले निकालिएपछि यी मापदण्ड पूरा गऱ्यो, र मण्डलीले उसलाई खोज्न, ऊसँग सङ्गति गर्न, उसलाई पुनः मण्डलीमा भित्र्याइएको छ भनी बताउन कसैलाई पठायो। यो सुनेपछि, ऊ निकै खुसी भयो, तर उसले गम खायो, “के यो स्वीकार साँचो हो, कि यसपछाडि कुनै विचार छ? के परमेश्वरले साँच्चै मेरो पश्चात्ताप देखेका हुन्? के उनले मलाई साँच्चै कृपा देखाएका र माफ गरेका हुन्? के मेरा विगतका कार्यहरूलाई साँच्चै बेवास्ता गरिएको हो?” उसले त्यो विश्वास गरेन, र सोच्यो, “तिनीहरूले मलाई फिर्ता लिन चाहे पनि, म संयमित हुनुपर्छ र तुरुन्तै सहमत हुनु हुँदैन, मैले निष्कासित भएपछिका यी वर्षहरूमा ठूलो कष्ट भोगेझैँ र निकै दयनीय भएझैँ व्यवहार गर्नु हुँदैन। मैले अलिक संयमित व्यवहार गर्नुपर्छ र पुनः भित्र्याइनेबित्तिकै मण्डली जीवनमा कहाँ सहभागी हुन सक्छु वा कुन कर्तव्य निर्वाह गर्न सक्छु भनेर सोध्नुहुँदैन। म धेरै उत्साहित देखिनु हुँदैन। भित्र निकै खुसी महसुस भए पनि, म शान्त रहनुपर्छ र परमेश्वरको घरले मलाई साँच्चै फेरि भित्र्याउन चाहेको हो कि मलाई निश्चित कार्यहरूमा प्रयोग गर्नका निम्ति कपट गरेको मात्र हो भनी हेर्नुपर्छ।” मनमा यो कुरा राखेर उसले भन्यो, “निष्कासित गरिएपछिको समयमा मैले चिन्तन गरेँ र आफूले गरेका गल्ती निकै ठूला भएको महसुस गरेँ। मैले परमेश्वरको घरका हितमा निकै ठूला नोक्सानी पुऱ्याएको थिएँ, र म कहिल्यै तिनको परिपूर्ति गर्न सक्दिनँ। म साँच्चै परमेश्वरद्वारा श्रापित दियाबलस र शैतान हुँ। तर, मेरो आत्मचिन्तन अझै अपूरो छ। परमेश्वरको घरले मलाई फिर्ता ल्याउन चाहेकाले, मैले अझ बढी परमेश्वरका वचन खानु र पिउनुपर्छ र चिन्तन गर्नुपर्छ र आफूलाई अझ बढी चिन्नुपर्छ। अहिले, म परमेश्वरका घरमा फिर्ता जान, परमेश्वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्न, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्न योग्य छैनँ, र म निश्चय नै परमेश्वरको सामना गर्न निकै लज्जित छु। म आफ्नो आत्मज्ञान र चिन्तन पर्याप्त भएको महसुस भएपछि मात्रै मण्डलीमा फर्कनेछु, ताकि सबैले मलाई मान्यता दिऊन्।” यो भनिरहँदा, ऊ यो सोच्दै घबराइरहेको पनि थियो, “म यसो भन्ने ढोँग मात्रै गरिरहेको छु। मलाई मण्डलीमा फिर्ता नलैजान अगुवाहरू सहमत भए भने के गर्ने? के म खतम हुदिनँ र?” वास्तवमा, ऊ निकै व्यग्र थियो, तैपनि उसले यसरी बोल्नुपऱ्यो र मण्डलीमा फिर्ता जान त्यति आतुर नभएको नाटक गर्नुपऱ्यो। उसले यी कुराहरू भन्नुको अर्थ के थियो? (ऊ मण्डलीले उसलाई साँच्चै पुनः स्विकार्छ कि स्विकार्दैन भन्ने कुरा जाँच्दै थियो।) के यो जरुरी छ? के यो शैतान र दियाबलसहरूले गर्ने काम होइन र? के सामान्य व्यक्तिले यस्तो व्यवहार गर्ला त? (अहँ, गर्दैन।) सामान्य व्यक्तिले त्यसो गर्दैन। त्यस्तो सुनौलो अवसर पाउँदा पनि उसले त्यस्तो कदम उठाउन सक्नु दुष्ट कुरा हो। मण्डलीमा पुनः भित्र्याइनु परमेश्वरको प्रेम र कृपाको अभिव्यक्ति हो, र उसले आफ्नै भ्रष्टता र कमीकमजोरीमाथि चिन्तन गर्नुपर्छ र तिनलाई चिन्नुपर्छ, र विगतका ऋण चुक्ता गर्ने तरिकाहरू खोज्नुपर्छ। यदि कसैले अझै पनि यसरी परमेश्वरलाई जाँच्न र परमेश्वरको कृपालाई यस तरिकाले व्यवहार गर्न सक्छ भने, उसले साँच्चै उहाँको दयालाई कदर गर्न सक्दैन! मानिसहरूले आफ्नो दुष्ट सारका कारण नै त्यस्ता सोच र तौरतरिका विकास गर्छन्। मूलतः, मानिसहरूले परमेश्वरलाई जाँच्दा, तिनीहरूले प्रकट र प्रकाश गर्ने कुरा सैद्धान्तिक रूपमा सधैँ अन्य कुराबाहेक परमेश्वरका सोचका साथै, मानिसहरूबारे उहाँका दृष्टिकोण र परिभाषा जाँच्नेसँग सम्बन्धित हुन्छन्। यदि मानिसहरू सत्यता खोजी गर्छन् भने, तिनीहरूले त्यस्ता अभ्यासविरुद्ध विद्रोह गर्नेछन् र तिनलाई त्याग्नेछन्, साथै सत्यता सिद्धान्तहरूअनुसार कार्य र व्यवहार गर्नेछन्। तर, ख्रीष्टविरोधीको स्वभाव सार भएका व्यक्तिहरूले त्यस्ता अभ्यास त्याग्न नसक्ने र तिनीहरूलाई ती घृणित नलाग्ने मात्र होइन, बरु तिनीहरू आफूसँग त्यस्ता उपाय र विधिहरू भएकोमा प्रायजसो आफैलाई सराहना गर्छन्। तिनीहरूले सोच्लान्, “हेर त, म कति चलाख छु। म तिमीहरूजस्तो मूर्ख होइन, जसले केवल परमेश्वर र सत्यतामा समर्पित हुन र तिनलाई पालन गर्न जानेको हुन्छ—म तिमीहरूजस्तो बिलकुलै छैनँ! म उपाय र विधिहरू प्रयोग गरेर यी कुराहरू पत्ता लगाउने प्रयास गर्छु। मैले समर्पित हुनुपऱ्यो र पालन गर्नुपऱ्यो भने पनि, म कुरोको चुरोमा पुग्ने नै छु। मबाट केही कुरा लुकाउन वा मलाई छल्न र मूर्ख बनाउन सक्छु भन्ने नसोच।” तिनीहरूको सोच र दृष्टिकोण यही नै हो। ख्रीष्टविरोधीहरूले कहिल्यै समर्पण, डर, वा निष्ठा देखाउँदैनन्, र देहधारी परमेश्वरलाई गर्ने व्यवहारमा बफादारी त झनै देखाउँदैनन्। जाँचसँग सम्बन्धित प्रकटीकरणहरूबारे हाम्रो छलफल यहीँ सक्किन्छ।
(६) माग राख्नु
अर्को विषयवस्तु के हो भने, ख्रीष्टविरोधीहरू परमेश्वरसँग मागहरू राख्छन्, र यसका झनै विशिष्ट प्रकटीकरणहरू छन्। ख्रीष्टविरोधीहरूलाई गैरविश्वासीहरूको “इनामविना औँलो पनि नउठाउनू” भन्ने भनाइले वर्णन गर्न सकिन्छ। अरू के छ? (तिनीहरूले “फाइदा नदेखेसम्म एक सिन्को भाँच्दैनन्।”) तिनीहरूले फाइदा नदेखेसम्म एक सिन्को भाँच्दैनन्—नाफा हुन्छ भने तिनीहरू लागिपर्छन्, तर नाफा हुँदैन भने लागिपर्दैनन्। परिस्थिति चाहे जस्तो भए पनि, तिनीहरूले यस्तो सोच्दै मनमा यसको लेखाजोखा गर्नुपर्छ, “यो गरेर मैले कति ठूलो फाइदा पाउन सक्छु? मैले कति नाफा कमाउन सक्छु? के यसका लागि यति ठूलो मूल्य तिर्नु जायज हो? यदि मैले ठूलो मूल्य तिरेँ तर फाइदा भने अरूलाई नै भयो, र मैले आफूलाई प्रदर्शन गर्न पाइनँ भने, म अवश्यै त्यसो गर्नेछैनँ!” के परमेश्वरका आज्ञा र मागहरूप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यही होइन र? यदि तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा अलिकति मेहनत लगाए, तर कुनै फाइदा पाएनन्, र केही कष्ट सहेर पनि अनुग्रह पाएनन् भने, तिनीहरूले तुरुन्तै मनमनै यस्तो प्रतिक्रिया जनाउँछन्, र भन्छन्, “मैले कति धेरै मेहनत लगाएँ—मैले किन कुनै लाभ पाइनँ? मेरो पारिवारिक व्यवसाय लाभप्रद छ कि छैन?” यदि तिनीहरूले हिसाबकिताब गरेर आफ्नो आम्दानी गएको महिनाको भन्दा बढी भएको पत्ता लगाए भने, तिनीहरू बाहिर गएर सुसमाचार प्रचार गर्न जारी राख्छन्, त्यसमा हुने जोखिमहरूदेखि डराउँदैनन्। तर पारिवारिक व्यवसायमा कुनै समस्या देखिनेबित्तिकै, र तिनीहरूको नाफा अघिल्लो महिनाभन्दा उल्लेखनीय रूपमा कम हुनेबित्तिकै तिनीहरूले तुरुन्तै परमेश्वरबारे गुनासो गर्छन्, हृदयमा उहाँलाई शङ्का गर्छन्, र सोच्छन्, “परमेश्वर, मैले अल्छी वा धूर्त नभई आफ्नो कर्तव्य निर्वाह गरेँ, र त्यो पनि मैले झाराटारुवा तरिकाले गरिनँ। यो महिनामा, मैले अघिल्लो महिनामा भन्दा बढी यात्रा र बढी काम गरेँ। तपाईँ किन मेरो परिवारलाई आशिष् दिइरहनुभएको छैन? मेरो पारिवारिक व्यवसाय किन राम्ररी चलिरहेको छैन?” परमेश्वर र परमेश्वरको आज्ञाप्रति तिनीहरूको मनोवृत्ति तुरुन्तै परिवर्तन हुन्छ, र तिनीहरू सोच्छन्, “यदि तपाईँले मेरो परिवारलाई आशिष् दिनुभएन भने, मैले झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्दा मलाई दोष नदिनुहोला। अर्को महिना, म त्यति नै मेहनत लगाउनेछैनँ। म पाँच बजे उठ्नुपर्ने हो भने छ बजे उठ्नेछु। म आठ बजे जानुपर्ने हो भने दस बजे जानेछु। विगतमा, मैले महिनामा सुसमाचार स्विकार्ने पाँच जनालाई धर्मान्तरित गर्न सक्थेँ; यसपालि, म दुई जनालाई मात्र धर्मान्तरित गर्नेछु। त्यति भए त पुग्ला नि!” तिनीहरू केको हिसाबकिताब गरिरहेका हुन्छन्? तिनीहरू आफ्नो लगानी र योगदान परमेश्वरले तिनीहरूलाई दिनुहुने कुरा बराबर छ कि छैन भनेर हिसाबकिताब गरिरहेका हुन्छन्। यसबाहेक, यदि परमेश्वरले तिनीहरूलाई दिनुहुने कुरा तिनीहरूले मागेको र चाहना गरेको भन्दा कैयौँ गुणा बेसी छ भने मात्रै तिनीहरूले त्यसलाई मितव्ययी साथै कष्ट भोग्न र मूल्य चुकाउन लायक ठान्छन्। अन्यथा, परमेश्वरको घरले तिनीहरूलाई जे-जस्तो काम वा कर्तव्यमा खटाए पनि, तिनीहरूले तिनलाई एउटै तरिकाले लिन्छन्—झाराटारुवा शैलीमा कार्य गर्छन्, सकेको बेला काम चलाउ गर्छन्, सकेको बेला झारा टार्छन्, र कहिल्यै अलिकति पनि सच्चापन अर्पण गर्दैनन्। यो प्रकटीकरण मागहरू राख्नु र सौदा गर्नु दुवै हो; मानिसहरूले सौदा गर्नुपर्दा मात्रै मागहरू राख्छन्, र सौदाविना कुनै माग राख्दैनन्।
परमेश्वरको आज्ञा, परमेश्वरको घरको काम, वा आफ्नै कर्तव्यप्रति ख्रीष्टविरोधीहरूले कहिल्यै अलिकति पनि निष्कपटता वा बफादारी राखेका हुँदैनन्। तिनीहरू केवल आशिष्प्रतिका चाहना, पाउन चाहेका इनाम, र अवश्य पनि, देहको शान्ति र हर्ष, आन्तरिक स्थिरता, यस जुनीमा पारिवारिक खुसी, र आफू वरिपरिको वातावरणमा सहजताका साथै अरू मानिसहरूको सम्मान, प्रशंसा, र सकारात्मक मूल्याङ्कनको बदलामा आफ्नो बुद्धिमत्ता, ऊर्जा, समय, र शारीरिक कष्ट र आफूले तिर्ने मूल्य उपयोग गर्छन्। छोटकरीमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरूले कहिल्यै परमेश्वरका घरमा निष्कपटताका साथ आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, र तिनीहरूले अलिकति पनि बफादारी अर्पण गर्दै-गर्दैनन्। कष्टहरू सहे पनि र मूल्य चुकाए पनि वा झाराटारुवा तरिकाले काम चलाए पनि, तिनीहरूको अन्तिम उद्देश्य आफ्ना चाहनाहरू पूरा गर्नका लागि परमेश्वरबाट आफूले चाहेको कुरा माग्नु हो। त्यसैले, प्रतिकूलता, काटछाँट, आफूले समर्थन नगर्ने मानिस, घटना, र कामकुराको सामना गर्दा, तिनीहरूले तुरुन्तै यस्तो सोच्छन्, “के यी कुराहरूको आगमनले मेरा हितलाई असर गरिरहेको छ? के तिनले मेरो प्रतिष्ठालाई असर गर्नेछन्? के तिनले मेरा सम्भाव्यता र भावी विकासलाई प्रभाव पार्नेछन्?” कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूका प्रकटीकरणहरू चाहे सकारात्मक वा नकारात्मक, जे भए पनि, तिनीहरू कहिल्यै सत्यता सिद्धान्तहरूअनुसार चल्दैनन्। तिनीहरूको दिमाग लेनदेनले भरिएको हुन्छ, तिनीहरू एक व्यवसायीले जस्तै आफूले चुकाउने र अर्पण गर्ने कुराको मूल्यको मूल्याङ्कन गर्छन्, र तिनीहरूको लागतले कति ठूलो नाफा निकाल्न सक्छ भनेर आकलन गर्छन्। कतिपयले यसो भन्न सक्छन्, “हामी सत्यता र जीवन प्राप्त गर्न, मुक्ति पाउन परमेश्वरमा विश्वास गर्छौँ।” तर ख्रीष्टविरोधीहरू सोच्छन्, “मुक्तिको मूल्य कति हो? अनि सत्यता बुझ्नुको चाहिँ नि? यी कुराहरूको कुनै मूल्य छैन। साँच्चै मूल्यवान् कुरा त यस जीवनमा सय गुणा र आउँदो संसारमा अनन्त जीवन प्राप्त गर्नु हो। यस जीवनमा अरूद्वारा उच्च मानिनु र सम्मान पाउनु, परमेश्वरको घरमा र आउँदो संसारमा महान् भनी सम्मानित हुनु, असङ्ख्य देशहरूमाथि अख्तियार जमाउनु—यो पो साँच्चै निकै ठूलो नाफा हो त।” ख्रीष्टविरोधीहरूको महत्त्वाकाङ्क्षा, तिनीहरूले कर्तव्य निर्वाहको पछाडि आफ्नो हृदयको गहिराइमा गर्ने हिसाबकिताब यही नै हो। यो हिसाबकिताब लेनदेन र मागहरूले भरिएको हुन्छ। आफ्नो कर्तव्य र परमेश्वरप्रतिको तिनीहरूको जाबो “निष्कपटता” परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दिनुहोओस्, विपत्तिबाट बचाउनुहोओस्, तिनीहरूलाई आशिष् र अनुग्रह दिनुहोओस्, र तिनीहरूका सबै चाहनाहरू पूरा गर्नुहोओस् भन्ने कुरा सुनिश्चित गर्नका लागि मात्र हो। त्यसकारण, ख्रीष्टविरोधीहरूको हृदय परमेश्वरप्रतिका विभिन्न मागहरूले भरिएको हुन्छ, जसलाई समग्रमा माग राख्नु भनिन्छ। सत्यता नचाहनुबाहेक, ख्रीष्टविरोधीहरू अरू सबथोक—भौतिक तथा अभौतिक दुइटै कुराको चाहना राख्छन्।
केही ख्रीष्टविरोधीहरू छन् जसले कुनै बेला दाजुभाइ-दिदीबहिनी वा मण्डलीलाई सानो योगदान पुर्याएका थिए। उदाहरणका लागि, तिनीहरूले मण्डलीमा केही जोखिमपूर्ण कार्य गरेका वा घर फर्कन नपाएका दाजुभाइ-दिदीबहिनीलाई आफ्नो घरमा राखेका हुन सक्छन्। तिनीहरूले परमेश्वरमाथि तुलनात्मक रूपमा लामो समय आस्था राखेका कारण, अधिकांश मानिसले तिनीहरूलाई इनामको हकदार र योग्य व्यक्ति मान्छन्। साथसाथै, तिनीहरू आफैले श्रेष्ठता र लाभको भावना महसुस गर्छन्। तिनीहरू आफ्नो वरिष्ठतामा भर परेर त्यसको धाक दिन्छन्, र भन्छन्, “मैले परमेश्वरमा धेरै वर्ष विश्वास गरेको छु र परमेश्वरको घरलाई केही योगदान दिएको छु। परमेश्वरले मलाई विशेष व्यवहार गर्नुपर्दैन र? उदाहरणका लागि, विदेश जानु भनेको एउटा आशिष् हो जसमा मानिसहरू रमाउँछन्। मानिसहरूको वरिष्ठतालाई ध्यानमा राख्दा मैले प्राथमिकता पाउनुपर्ने होइन र? मैले परमेश्वरको घरलाई योगदान पुर्याएकाले मलाई प्राथमिकता र विशेष हेरचाह दिइनुपर्छ, र मलाई सिद्धान्तअनुसार मूल्याङ्कन गरिनुहुन्न।” कतिपय मानिसहरूलाई त कैदसमेत गरिएको हुन्छ, र जेलबाट छुटेपछि आफू घरबारविहीन भएको पाउँदा, तिनीहरूलाई लाग्छ कि परमेश्वरको घरले तिनीहरूलाई विशेष हेरचाह प्रदान गर्नुपर्छ: उदाहरणका लागि, त्यसले तिनीहरूलाई घर किन्न मद्दत गर्न अलिकति पैसा छुट्ट्याइदिनुपर्छ, जीवनको उत्तरार्धमा तिनीहरूको जीविकाको जिम्मेवारी लिइदिनुपर्छ, वा तिनीहरूले अघि सार्ने सम्पूर्ण भौतिक आवश्यकताहरू पूरा गरिदिनुपर्छ। आवश्यक परेको खण्डमा परमेश्वरको घरले तिनीहरूलाई कार उपलब्ध गराइदिनुपर्छ। यदि तिनीहरूलाई कुनै स्वास्थ्य समस्या भएमा, परमेश्वरको घरले तिनीहरूलाई स्वास्थ्य पूरक किनिदिनुपर्छ। के तिनीहरूले आफ्नो वरिष्ठताका आधारमा फाइदा उठाइरहेका र आफ्ना योग्यताको सान देखाइरहेका छैनन् र? यी व्यक्तिहरू आफूले योगदान गरेको छु भनेर विश्वास गर्छन्, त्यसैले तिनीहरू निर्लज्ज रूपमा र खुल्लमखुल्ला परमेश्वरसँग मागहरू राख्छन्। तिनीहरू गाडी, घर, र विलासी जीवनशैली माग्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो नोकर वा दास बनाएर कामकुरा सम्हाल्न र तिनीहरूका निम्ति निःशुल्क रूपमा कामकाज गर्न लगाउँछन्। के तिनीहरू मण्डलीको भरमा बाँच्ने व्यक्तिमा परिणत भएका छैनन् र? परमेश्वरमाथिको तेरो आस्था वास्तवमा तेरै खातिर हो, र तँ आफ्नै खातिर जेल पर्छस्। तैँले निर्वाह गर्ने जुनसुकै कर्तव्य तेरै जिम्मेवारी हो। तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा र सत्यता प्राप्त गर्दा, त्यो तेरै खातिर हुन्छ। परमेश्वरमाथिको तेरो विश्वास स्वैच्छिक हो, तँलाई कसैले पनि जोरजबर्जस्ती गरिरहेको छैन। जीवन प्राप्त गर्नु अरूका लागि नभई तेरै खातिर हो। तैँले परमेश्वरको घर वा मण्डलीका लागि केही जोखिमपूर्ण कार्य गरेको भए पनि, के त्यसलाई इनामयोग्य मान्न सकिन्छ? त्यो इनामयोग्य होइन; यो त तैँले गर्नुपर्ने कुरा नै हो। यो त परमेश्वरले तँलाई उचाल्नु र तँलाई त्यस्तो अवसर दिनु हो; यो त परमेश्वरबाट प्राप्त आशिष् हो। यो तैँले मण्डलीको भरमा बाँच्न पुँजीका रूपमा उपयोग गर्नका लागि होइन। त्यसोभए के यी मानिसहरू ख्रीष्टविरोधी हुन् त? विशेष गरी, यी मानिसहरूले कुनै पनि सत्यता वास्तविकताबारे सङ्गति गर्न सक्दैनन्, र अलि कम समय विश्वास गरेका र आफूभन्दा कम उमेरका दाजुभाइ-दिदीबहिनीहरूसँग हुँदा, तिनीहरूले केवल आफ्ना पुराना अनुभवबारे सङ्गति गर्ने र आफ्ना योग्यताको सान देखाउने गर्छन्; तिनीहरूले मूल्यवान् जीवन अनुभवबारे कुनै सङ्गति गरेका वा ज्ञान प्राप्त गरेका हुँदैनन्। तिनीहरूले अरूलाई सुधार्दैनन्, बरु रवाफ देखाउँछन् र उच्च र शक्तिशाली भएको स्वाङ पार्छन्। तिनीहरू परमेश्वरका घरमा कुनै आधारभूत काम गर्न सक्दैनन्, न त कुनै वास्तविक कर्तव्य राम्ररी निर्वाह गर्न नै सक्छन्। तैपनि, तिनीहरू मण्डलीको भरमा बाँच्छन्, र हात फैलाएर परमेश्वरसँग मागहरू राख्छन्। के यो निर्लज्ज कुरा होइन र? यदि हामीले योग्यताका बारेमा कुरा गर्ने हो भने, के म तिमीहरूभन्दा बढी योग्य छैनँ र? के मैले तिमीहरूलाई रवाफ देखाएको छु? के मैले तिमीहरूबाट केही मागेको छु? (छैन।) त्यसोभए ख्रीष्टविरोधीहरूले किन त्यस्तो काम गर्न सक्छन्? किनभने तिनीहरू निर्लज्ज हुन्छन्। तिनीहरूले आफ्नो कर्तव्य स्विकार्दा तिनीहरूको मन लेनदेनले भरिएको हुन्छ। जब तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्छन्, तब तिनीहरूमा सही दृष्टिकोण हुँदैन र तिनीहरू यसलाई आफ्नो कर्तव्य वा दायित्व, अर्थात् सृजित प्राणीले गर्नुपर्ने कुरा मान्दैनन्। तिनीहरूले केही कर्तव्य निर्वाह गर्लान्, केही कष्ट सहलान्, र मूल्य चुकाउलान्, तर तिनीहरूले हृदयमा के सोचिरहेका हुन्छन्? “यो अरू कसैले गर्न नसक्ने कार्य हो। यदि मैले यो गरेँ भने म परमेश्वरका घरमा प्रख्यात हुनेछु, जहाँ गए पनि सम्मानित हुनेछु, जताततै सर्वोत्तम आनन्द पाउन योग्य हुनेछु। म परमेश्वरका घरमा प्रभावशाली व्यक्ति हुनेछु, जे चाह्यो त्यही पाउन सक्षम हुनेछु, र मसँग योग्यता भएकाले कसैले पनि केही भन्ने आँट गर्नेछैन!” तिनीहरूको चरित्रका आधारमा हेर्दा, ख्रीष्टविरोधीहरूले सम्भवतः परमेश्वर, उहाँको आज्ञा, वा परमेश्वरको घरको कामलाई थोरै पनि निष्कपट वा तत्परताका साथ व्यवहार गर्न सक्दैनन्। बाहिरी रूपमा तिनीहरू कष्ट सहन र मूल्य चुकाउन इच्छुक र सक्षम देखिए पनि, तिनीहरू यसलगत्तै परमेश्वरसँग माग राख्न र इनाम माग्नका लागि हात पसार्न तयार हुन्छन्, मण्डलीको भरमा बाँच्ने र जताततै फाइदा लुट्ने प्रयास गर्छन्। त्यसकारण, तिनीहरूका तौरतरिकाबाट मूल्याङ्कन गर्दा, तिनीहरूको ख्रीष्टविरोधी स्वभाव सारलाई दुष्ट भनेर परिभाषित गर्नु सबैभन्दा उपयुक्त हुन्छ। आफ्ना कर्तव्य र परमेश्वरको आज्ञाप्रति तिनीहरूले पाल्ने सोच र दृष्टिकोण दुष्ट हुन्छन्, सत्यतासँग मिल्दैनन्, र विवेकको मानकसँग त निश्चय नै मिल्दैनन्।
ख्रीष्टविरोधीहरू आफूले गर्ने जुनै पनि कर्तव्यमा, आफ्नै इच्छाहरू पछ्याउँछन्, व्यक्तिगत ख्याति र हैसियतको खोजी गर्छन्। तिनीहरू कहिल्यै सत्यताको खोजी वा आत्मचिन्तन गर्दैनन्। काममा कुनै विचलन वा समस्या उत्पन्न हुँदा, तिनीहरूको मनोवृत्ति न त सत्यता खोज्ने न त त्यसलाई स्विकार्ने हुन्छ। बरु, तिनीहरू सधैँ तथ्यहरूलाई ढाकछोप गर्न, आफ्नो इज्जत र व्यर्थको महिमा बचाउन लागिपर्छन्, हरेक पक्षमा आफूलाई प्रदर्शन गर्छन्, मानिसहरूको सम्मान जित्छन्। छोटकरीमा भन्नुपर्दा, तिनीहरूको हृदय दुष्टता, शैतानको दर्शन साथै मानव धारणा र कल्पनाहरूले भरिएको हुन्छ, र सत्यतासँग मिल्ने केही पनि हुँदैन। ख्रीष्टविरोधीहरू आफूले निर्वाह गर्ने कुनै पनि कर्तव्यमा कहिल्यै सत्यता खोज्दैनन्, र कहिल्यै परमेश्वरको घरका कार्य प्रबन्धहरूमा समर्पित हुने अभिप्राय राख्दैनन्। तिनीहरू सधैँ कामकुरा गर्ने आफ्नै तरिकाहरूमा टाँसिइरहन्छन्, र आफ्नै प्राथमिकताअनुसार कार्य गर्छन्। जुनसुकै काम गरिरहेका भए पनि, तिनीहरू हृदयमा आफूले कसरी लाभ लिन सकिन्छ भनेर हिसाबकिताब गरिरहेका हुन्छन्। तिनीहरू कुन कर्तव्य निर्वाह गर्दा ख्याति, लाभ र हैसियत, अरू मानिसहरूको सम्मान, र अलिकति मान जित्न सकिन्छ भनेर मात्र मापन गर्छन्। एकपटक आफ्नो कर्तव्य निर्वाह गरिसकेपछि तिनीहरू परमेश्वरको अभिलेख पुस्तकमा आफ्ना उपलब्धिहरू अभिलेख गरियोस् भन्ने आशा गर्छन्, मनमा तिनको लेखाजोखा राख्छन् र हरेक योगदान राम्ररी अभिलेख गरिएको र केही पनि नछुटाइएको सुनिश्चित गर्छन्। तिनीहरू आफूले जति धेरै काम गरियो र जति ठूलो योगदान दिइयो, तिनीहरूको राज्यमा प्रवेश गर्ने र इनाम र मुकुट पाउने आशा त्यति नै धेरै हुन्छ भनेर विश्वास गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यप्रति राख्ने मनोवृत्ति र दृष्टिकोण यस्तै हुन्छन्। तिनीहरूको मन लेनदेन र मागहरूले भरिएको हुन्छ—के यसले तिनीहरूको प्रकृति सार प्रकाश गर्दैन र? तिनीहरूको मन किन परमेश्वरप्रतिका लेनदेन र मागहरूले भरिएको हुन्छ? किनभने तिनीहरूको स्वभाव सार दुष्ट हुन्छ—यो बिलकुलै साँचो हो। यो कुरा ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यप्रति पाल्ने विचार र दृष्टिकोणमार्फत देख्न सकिन्छ—यिनले तिनीहरूको स्वभाव सार दुष्ट छ भनेर पूर्ण रूपमा पुष्टि गर्छन्। जतिसुकै सत्यता सङ्गति गरिए पनि वा मानिसहरूका भ्रष्ट स्वभावहरू जतिसुकै खुलासा र विश्लेषण गरिए पनि, ख्रीष्टविरोधीहरूले आफ्नो स्वभाव सारबारे कुनै ज्ञान देखाउँदैनन्। तिनीहरूले सत्यता स्विकार्न इन्कार गर्ने मात्र नभई हृदयमा रोष पनि विकास गर्छन्। जब तिनीहरूलाई आशिष् र इनामहरू पाउने आफ्नो आशा चकनाचुर भएको महसुस हुन्छ, तब तिनीहरू परमेश्वरले छल गरिरहनुभएको छ भन्ने विश्वास गर्छन्, र परमेश्वरको खुलासा र विश्लेषण गर्नु भनेको जानीजानी इनामहरू रोक्ने प्रयास हो, जसले मानिसहरूलाई व्यर्थैमा परमेश्वरप्रति समर्पित हुने र अन्त्यमा केही पनि प्राप्त नगर्ने तुल्याउँछ भनेर सोच्छन्। तिनीहरूको हृदयमा परमेश्वरको काम र सत्यता सम्बन्धी सकारात्मक बुझाइ नहुने मात्र नभई तिनीहरूले धारणा र गलतफहमीहरूसमेत विकास गर्छन्, जसले गर्दा परमेश्वरविरुद्ध तिनीहरूको प्रतिरोध उग्र बन्छ। त्यसकारण, भ्रष्ट मानवजातिको शैतानी स्वभाव र सारलाई जति विश्लेषण गरिन्छ, र शैतानका षड्यन्त्र, उत्प्रेरणा, र उद्देश्यहरूको जति धेरै खुलासा गरिन्छ, ख्रीष्टविरोधीहरू सत्यताप्रति त्यति नै बढी वितृष्ण हुन्छन् र त्यसप्रति घृणा पाल्छन्। यो किन हुन्छ? तिनीहरू विश्वास गर्छन् कि सत्यताबारे जति धेरै सङ्गति गरियो, तिनीहरूको आशिष् पाउने आशा त्यति नै मत्थर हुन्छ। सत्यताबारे जति धेरै सङ्गति गरियो, उति नै तिनीहरूलाई लाग्छ कि इनाम र मुकुटका लागि कष्ट भोग्ने र मूल्य चुकाउने मार्ग व्यवहार्य छैन, जसले तिनीहरूलाई आशिष्हरू प्राप्त गर्ने कुनै आशा छैन भन्ने विश्वास गराउँछ। यसरी सत्यताबारे जति बढी सङ्गति गरिन्छ र यस्तो खालको खुलासा जति धेरै हुन्छ, ख्रीष्टविरोधीहरूले परमेश्वरप्रतिको आस्थामा त्यति नै कम रुचि राख्छन्। परमेश्वरले भन्नुभएको कुनै पनि कुराले कति कष्ट सहँदा र मूल्य चुकाउँदा तिनीहरूले त्यसबराबरको इनाम पाउन सक्छन् भनेर उल्लेख नगरेको, र केवल मेहनतका आधारमा स्वर्गको राज्यमा प्रवेश गर्नेबारे उहाँले केही नभन्नुभएको देखेर, तिनीहरू परमेश्वरसँग लेनदेन गर्ने तिनीहरूको मार्ग अन्त्यमा पुगेझैँ महसुस गर्छन्। तिनीहरू परमेश्वरले दण्ड दिन दृढनिश्चय गर्नुभएको तिनीहरूलाई नै हो भनेर भित्री रूपमा अनुभूति गर्छन्, बेचैन डर अनुभव गर्छन् र तिनीहरूसँग अब धेरै दिन बाँकी छैन भन्ने महसुस गर्छन्, मानौँ तिनीहरूको अन्तिम समय आएको छ। ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने एकपछि अर्को प्रवचन सुनेर तिमीहरूलाई कस्तो महसुस हुन्छ? म तिमीहरू सबैले टाउको निहुर्याइरहेको देख्छु; के तिमीहरूलाई केही हतोत्साहको अनुभूति हुन्छ? के तिमीहरूले आफू ख्रीष्टविरोधीहरूको मार्गमा हिँडिरहेको थाहा पाएका छौ? के तिमीहरूको सोच पनि परमेश्वरसँग सौदाबाजी गर्ने यी दुष्ट सोचहरूले भरिएको छ? के अब तिमीहरूले केही बुझेका छौ? के तिमीहरू कामकुरालाई चाँडै उल्ट्याउन सक्छौ? (म पनि कामकुरालाई चाँडै उल्ट्याउनुपर्छ भनेर सोच्दैछु; म यी ख्रीष्टविरोधी स्वभावहरू बोकेर जिइरहन सक्दिनँ।) तिमीहरू सबैमा ख्रीष्टविरोधीहरूका स्वभाव र परमेश्वरसँग सौदाबाजी गर्ने र आशिष्हरू पाउने अभिप्राय भए पनि, तिमीहरू ख्रीष्टविरोधी भइसकेका छैनौ। त्यसकारण, तिमीहरूले समाधानका लागि तत्कालै सत्यता खोज्नुपर्छ, खतराबाट आफूलाई पछाडि तान्नुपर्छ, र सत्यता पछ्याउने मार्गमा हिँड्न थाल्नुपर्छ। के त्यसपछि समस्या समाधान हुँदैन र? ख्रीष्टविरोधीहरूको स्वभाव हुनु र तिनीहरूको मार्गमा हिँड्नु भनेको सजिलै समाधान गर्न सकिने समस्या हो। यदि तैँले सत्यता स्विकार्न, आत्मचिन्तन गर्न, आफूभित्रको भ्रष्ट स्वभावलाई चिन्न, ख्याति, लाभ, र हैसियत पछ्याउने समस्याको सार बुझ्न सक्छस्, र त्यसपछि पछ्याइको यो त्रुटिपूर्ण विधिलाई त्याग्छस्, परमेश्वरमाथिको आस्थाको गलत दृष्टिकोणलाई फाल्छस्, आशिष्हरू पाउने अभिप्रायलाई हटाउँछस्, सत्यता पछ्याउन र नयाँ व्यक्ति बन्नका लागि मात्रै परमेश्वरमा विश्वास गर्छस्, केवल परमेश्वरमा समर्पित हुने व्यक्ति बन्न खोज्छस्, परमेश्वरको मात्रै आराधना गर्छस्, मानवहरूलाई आदर्श मान्दैनस् वा पछ्याउँदैनस् भने, तेरो स्थिति बिस्तारै सामान्य बन्दै जानेछ। तैँले सत्यता पछ्याउने मार्गमा पाइला राख्नेछस्—यसमा कुनै शङ्कै छैन। यदि तँ सत्यतालाई स्विकार्दैनस्, यदि तँ सत्यताप्रति वितृष्ण छस्, र यदि तँ, परमेश्वरसँग सौदाबाजी गर्नु गलत हो र ख्याति, लाभ, र हैसियत पछ्याउनु पनि गलत हो भन्ने थाहा हुँदा हुँदै पनि जिद्दी नै रहन्छस् र कहिल्यै पश्चात्ताप गर्दैनस् भने, यी कुराको चाहिँ डर मान्नुपर्छ। त्यस्तो अवस्थामा तँमा ख्रीष्टविरोधीको प्रकृति सार छ र तँलाई हटाइनैपर्छ। यदि तैँले धेरै दुष्ट कुराहरू गरिस् भने, तैँले दण्ड सामना गर्नेछस्।
ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट मानवहरूबीचको भिन्नता यस तथ्यमा निहित छ कि ख्रीष्टविरोधीहरूका लागि ख्याति, प्राप्ति, हैसियत, र आशिष् पछ्याउनु र परमेश्वरसँग लेनदेन गर्नु अस्थायी वा आक्कल-झुक्कल हुने प्रकटीकरण मात्र होइन—तिनीहरू यी कुराअनुसार नै जिउँछन्। तिनीहरू एउटै मार्ग रोज्छन्, जुन ख्रीष्टविरोधीहरूको मार्ग हो, र तिनीहरू ख्रीष्टविरोधीहरूको प्रकृति र शैतानी दर्शनहरूअनुसार जिउँछन्। साधारण भ्रष्ट मानिसहरू दोस्रो रोजाइमा पुग्न र सत्यता पछ्याउने मार्गमा हिँड्न सक्छन्, तर ख्रीष्टविरोधीहरू सत्यतालाई मन पराउँदैनन् र तिनीहरूलाई यसको खाँचो हुँदैन। तिनीहरूको प्रकृति शैतानी दर्शनहरूले भरिएको हुन्छ, र तिनीहरूले सही छनोट गर्नेछैनन्। ख्रीष्टविरोधीहरूले कहिल्यै सत्यता स्विकार्नेछैनन्; तिनीहरू अन्त्यसम्मै आफ्ना गल्तीहरूमा अडिग रहनेछन्, कहिल्यै बाटो बदल्दैनन् वा पश्चात्ताप गर्दैनन्। तिनीहरूलाई थाहा छ कि तिनीहरू परमेश्वरसँग गरिने सौदाले भरिएका छन्, तिनीहरूले हर मोडमा उहाँको परीक्षा लिन्छन् र उहाँप्रति वैरभाव राख्छन्। तर तिनीहरूका आफ्नै कारण हुन्छन् र तिनीहरूले सोच्छन्, “यसमा के गलत छ र? परमेश्वरसँग केही भौतिक आशिष्हरू माग्नु र हैसियतका केही लाभहरूमा लिप्त हुनु लज्जास्पद कार्य होइनन्। मैले हत्या वा आगजनी गरेको छैन, न त मैले सार्वजनिक रूपमा परमेश्वरको प्रतिरोध गरेको छु। निश्चय नै, मैले एउटा स्वतन्त्र राज्य स्थापना गर्न काम गर्दै आइरहेको छु र एक हदसम्म स्वेच्छाचारी रूपमा कार्य गरेको छु, तर मैले कसैलाई हानि वा चोट पुर्याएको छैन, न त मैले परमेश्वरको घरका काममा असर पारेको वा नोक्सानी पुर्याएको छु।” के यो अपूरणीय कुरा होइन र? परमेश्वरको घरले सत्यताबारे जसरी सङ्गति गरे पनि वा तिनीहरूलाई जसरी खुलासा र काटछाँट गरे पनि, तिनीहरू आफ्ना गल्ती स्विकार्न इन्कार गर्छन्—यो अपूरणीय कुरा हो। ख्रीष्टविरोधीहरूको सार यही नै हो। यदि तैँले तिनीहरू दुष्ट वा क्रूर छन् भनेर भनिस् भने, तिनीहरूले मतलब गर्दैनन्, तिनीहरू आफ्नो दुष्टता र क्रूरतामा लागिरहनेछन्। यसले ख्रीष्टविरोधीहरू कट्टर रूपमा अपश्चात्तापी व्यक्ति हुन् भन्ने देखाउँछ। के तैँले अझै पनि त्यस्ता मानिसहरूसँग सत्यताबारे सङ्गति गर्नेथिइस्? तिनीहरूलाई त कुन कुराहरू सकारात्मक हुन् र कुन नकारात्मक हुन् भन्ने समेत थाहा हुँदैन; तैँले तिनीहरूलाई के भन्न सक्छस्? भन्नका लागि केही पनि हुँदैन। ख्रीष्टविरोधीहरू दुष्ट स्वभाव सारले भरिएका हुन्छन्, र तिनीहरू यही स्वभावभित्र जिउँछन्। परमेश्वरको जाँच लिनु र उहाँसँग लेनदेन गर्नु तिनीहरूको अन्तर्निहित प्रकृति हो, र तिनीहरूलाई कसैले पनि परिवर्तन गर्न सक्दैन—तिनीहरू हरेक परिस्थितिमा अपरिवर्तित नै रहन्छन्। तिनीहरू किन परिवर्तन हुँदैनन्? किनभने तिनीहरूलाई चाहे जति वटा सत्यता सङ्गति गरिए पनि, वचनहरू जतिसुकै बुझ्न सकिने र छर्लङ्गै खुलासा गर्ने भए पनि, तिनीहरू वास्तविक समस्याबारे सचेत हुँदैनन्। तिनीहरू सत्यता बुझ्न सक्दैनन् र सत्यता के हो र नकारात्मक कुरा के हुन् भनी जान्दैनन्; कारण त्यही हो।
ख्रीष्टविरोधीहरू परमेश्वरसँग लेनदेन गर्छन् र विविध मामिलामा उहाँसँग माग राख्छन्। अवश्य नै, तिनीहरूले कैयौँ कुराहरूको माग गर्छन्—मूर्त र अमूर्त, भौतिक र अभौतिक, वर्तमान र भविष्य। यदि तिनीहरूले त्यसको कल्पना गर्न सक्छन्, यदि तिनीहरूले आफू त्यसको हकदार भएको विश्वास गर्छन्, र यदि त्यो तिनीहरूले चाहना गरेको कुरा हो भने, तिनीहरूले निर्लज्ज रूपमा परमेश्वरसँग माग राख्छन्, र उहाँले ती माग पूरा गरिदिनुहुनेछ भन्ने आशा गर्छन्। उदाहरणका लागि, जब तिनीहरू कुनै निश्चित कर्तव्य निर्वाह गरिरहेका हुन्छन्, तिनीहरू अलग देखिन र असाधारण व्यक्तित्व बन्न, चर्चामा रहने अवसर पाउन र आफूले चाहेको हैसियतका साथै अझ धेरै मानिसहरूको सम्मान पाउन, परमेश्वरले तिनीहरूलाई केही विशेष क्षमताहरू प्रदान गर्नुहुनेछ भन्ने आशा गर्छन्। तिनीहरू यसो भन्दै उहाँलाई प्रार्थना गर्छन्, “परमेश्वर, म बफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छु। तपाईँबाट यो कर्तव्य स्वीकार गरेपछि, म हरदिन यो कसरी राम्ररी निर्वाह गर्ने भन्नेबारे सोचिरहन्छु। म यसका लागि जुनीभरको ऊर्जा अर्पण गर्न, तपाईँलाई आफ्नो युवावस्था र आफूसँग भएको सबथोक अर्पण गर्न इच्छुक छु; यसका लागि म कष्ट सहन इच्छुक छु। कृपया मलाई बोल्नका लागि वचनहरू प्रदान गर्नुहोस्, मलाई बौद्धिकता र बुद्धि प्रदान गर्नुहोस्, र यो कर्तव्य निर्वाह गर्ने क्रममा मेरा पेसागत सीप र क्षमताहरू सुधार्न दिनुहोस्।” आफ्नो बफादारी व्यक्त गरेपछि र आफ्नो दृष्टिकोण बताएपछि, ख्रीष्टविरोधीहरू यी कुराहरू माग्न सिधै परमेश्वरकहाँ जान्छन्। यी कुराहरू अमूर्त भए पनि, र मानिसहरूलाई परमेश्वरसँग यी कुराहरू माग्नु उचित हो भन्ने लागे पनि, के यो लेनदेन गर्नु र माग राख्नुकै एउटा स्वरूप होइन र? (हो।) यस लेनदेनको केन्द्रबिन्दु के हो? हामीले विश्लेषण गरिरहेको सार के हो? परमेश्वरले सुम्पनुभएका कर्तव्यप्रति ख्रीष्टविरोधीहरूमा अलिकति पनि इमानदारी हुँदैन, न त तिनीहरूको यस मामिलामा बफादार हुने अभिप्राय नै हुन्छ। त्यो गर्नुअघि, यो मौकाको सदुपयोग गरेर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र आफूले बुझ्नुपर्ने सत्यता र त्यो निर्वाह गर्ने क्रममा आफूले खोज्नुपर्ने सिद्धान्तहरू खोज्नुको साटो, तिनीहरूका सोच मानिसहरूमाझ आफ्नो प्रतिभा प्रदर्शन गर्न र ख्याति पाउन यस अवसरलाई कसरी हात पार्ने भन्ने कुराको वरिपरि घुमिरहेका हुन्छन्। त्यसैले, जब ख्रीष्टविरोधीहरू प्रार्थना गर्न परमेश्वरसामु आउँछन्, तिनीहरू सुरुमा बौद्धिकता, बुद्धि, अद्वितीय अन्तर्ज्ञान, सर्वोत्कृष्ट सीप, आफ्ना आत्मिक आँखा खुलाउने, इत्यादि जस्ता आफ्नो प्रतिष्ठा र हैसियतलाई लाभ पुर्याउने कुराहरूतिर हात लम्काउँछन् र ती कुराहरू माग्छन्। तिनीहरूले सत्यता बुझ्न वा आफ्नो इमानदारी अर्पण गर्न र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि यी कुराहरू चाहने होइन। स्पष्टतः यी अनुरोधहरू सौदाबाजी र मागहरूले भरिएका हुन्छन्, तैपनि तिनीहरूलाई आफू अझै न्यायसङ्गत छौँ भन्ने लाग्छ। मानिसहरूले गर्ने यस खालको प्रार्थना र यस्ता लेनदेनको कुरा आउँदा, मानिसहरूले कर्तव्य निर्वाह गर्ने क्रममा कष्ट भोगे र मूल्य चुकाए पनि, र तिनीहरूले केही मात्रामा समय र ऊर्जा खर्चिए पनि, के परमेश्वरले त्यो स्विकार्नुहुनेछ? परमेश्वरको दृष्टिकोणबाट, उहाँले त्यस्तो कर्तव्य निर्वाहलाई बिलकुलै स्विकार्नुहुनेछैन, किनकि त्यस्ता मानिसहरूमा कुनै इमानदारी, बफादारी हुँदैन, र निश्चय नै साँचो समर्पण हुँदैन। यस पक्षका आधारमा, तिनीहरूले व्यक्तिपरक रूपमा पछ्याउन चाहेको कुरा हैसियत र ख्याति साथै अरूको सम्मान र प्रशंसा हो, तैपनि आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तिनीहरूको जीवन प्रवेश वा स्वभाव परिवर्तनमा कुनै सुधार भएको हुँदैन।
मामिलाहरू आइपर्दा, ख्रीष्टविरोधीहरू तुरुन्तै हृदयमा षड्यन्त्र बुन्न, हिसाबकिताब गर्न, र योजना बनाउन थालिहाल्छन्। तिनीहरू लेखापाल जस्तै हुन्, जो हरेक कुरामा परमेश्वरसँग लेनदेन गर्छन्, धेरै कुरा चाहन्छन् र परमेश्वरसँग धेरै मागहरू राख्छन्। छोटकरीमा भन्नुपर्दा, परमेश्वरका नजरमा यी सबै मागहरू अनुचित छन्; ती परमेश्वरले मानिसहरूलाई दिन चाहनुभएका कुरा होइनन्, न त ती मानिसहरूले पाउनुपर्ने कुरा नै हुन्, किनकि यी कुराहरूले मानिसहरूको स्वभाव परिवर्तनको पछ्याइ वा मुक्ति प्राप्तिमा अलिकति पनि फाइदा पुर्याउँदैनन्। कर्तव्य निर्वाह गर्ने क्रममा, यदि परमेश्वरले तँलाई केही ज्योति वा तेरो पेसासम्बन्धी केही नयाँ विचार प्रदान गर्नुभयो भने पनि, त्यो परमेश्वरसँग माग राख्ने तेरो चाहना पूरा गर्नका लागि होइन, मानिसहरूमाझ भएको तेरो लोकप्रियता वा प्रतिष्ठा बढाउनका लागि त झनै होइन। परमेश्वरबाट त्यस्तो ज्योति र अन्तर्दृष्टि प्राप्त गरेपछि, एउटा साधारण व्यक्तिले तिनलाई आफ्नो कर्तव्यमा लागु गर्छ, आफ्नो कर्तव्य अझ राम्ररी निर्वाह गर्छ, आफूलाई अझ सही रूपमा सिद्धान्तहरू बुझ्ने बनाउँछ, र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्वरबाट धेरै अन्तर्दृष्टि, ज्योति, र अनुग्रह कसरी पाउँछ भन्ने कुरा प्रत्यक्ष रूपमा बिस्तारै अनुभव गर्छ—यो सब परमेश्वरद्वारा नै गरिन्छ। तिनीहरूले जति धेरै अनुभव गर्छन्, त्यति नै तिनीहरूलाई परमेश्वरले गर्नुहुने कामकुरा महान् लाग्छ, र त्यति नै तिनीहरूले आफूसँग धाक लगाउनका लागि केही छैन, यो सब परमेश्वरको अनुग्रह र मार्गदर्शन हो भनेर थाहा पाउँछन्। यो एक साधारण व्यक्तिले महसुस गर्न र सचेत रहन सक्ने कुरा हो। तर, ख्रीष्टविरोधीहरू फरक हुन्छन्, र परमेश्वरले तिनीहरूलाई जतिसुकै अन्तर्दृष्टि र ज्योति दिनुभए पनि, तिनीहरू यो सबको श्रेय आफैलाई दिन्छन्। कुनै दिन, जब तिनीहरूले आफ्नो योगदानको हिसाब निकालेर परमेश्वरसँग इनामहरू माग्न पुग्छन्, तब उहाँले आफ्नो अन्तर्दृष्टि र ज्योति फिर्ता लिनुहुन्छ, र ख्रीष्टविरोधीहरू प्रकाश हुन्छन्। पहिले, तिनीहरूले जे-जे गर्न सक्थे ती सबै पवित्र आत्माको काम र परमेश्वरको मार्गदर्शनका कारण थियो। तिनीहरू अरू मानिसहरूभन्दा फरक छैनन्: परमेश्वरको अन्तर्दृष्टि र ज्योतिविना, तिनीहरूले आफ्ना वरदान, बौद्धिकता, बुद्धि, असल विचार र असल सोच गुमाउँछन्—तिनीहरू केही न कामका र मूर्ख बन्छन्। ख्रीष्टविरोधीहरूले यस्ता कुराहरू सामना गर्दा र तिनीहरू यति टाढासम्म पुग्दा पनि, तिनीहरू आफ्नो मार्ग गलत छ भन्ने तथ्यबारे अझै पनि बेखबर हुन्छन्, र तिनीहरूले परमेश्वरसँग लेनदेन गरिरहेका र अनुचित रूपमा उहाँसँग मागहरू राखिरहेका छन् भन्नेबारे अनभिज्ञ हुन्छन्। तिनीहरू अझै पनि आफू जे पनि गर्न सक्षम र योग्य भएको, अरूको उच्च सम्मान, प्रशंसा, आदर, साथ, र बढाइ पाउन लायक भएको सोच्छन्। यदि तिनीहरूले यी कुराहरू पाएनन् भने, तिनीहरू परिस्थिति आशाविहीन भएको मान्छन् र झनै जथाभाबी रूपमा कार्य गर्छन्, साथै परमेश्वर र दाजुभाइ-दिदीबहिनीहरू दुवै विरुद्ध रोषले भरिन्छन्। तिनीहरू परमेश्वर अधर्मी हुनुहुन्छ भन्दै हृदयमा उहाँलाई गाली गर्छन् र उहाँबारे गुनासो गर्छन्, दाजुभाइ-दिदीबहिनीहरूलाई विवेक नभएको र काम सकिएपछि सम्बन्ध तोडिदिएको भन्दै सराप्छन्, र यहाँसम्म कि परमेश्वरको घरले तिनीहरूलाई प्रयोग गरिसकेपछि हटाउन खोजेको आरोपसमेत लगाउँछन्। यो के हो? यो एक निर्लज्ज व्यक्ति हो! के सबै ख्रीष्टविरोधीहरू यस्तै हुँदैनन् र? के तिनीहरूले प्रायः यस्तै कुरा गर्दैनन् र? तिनीहरू भन्छन्, “म उपयोगी छँदा र महत्त्वपूर्ण स्थानमा हुँदा, सबै जना मेरै वरिपरि झुम्मिन्थे। अहिले म महत्त्वपूर्ण स्थानमा नहुँदा, कसैले पनि मलाई ध्यान दिँदैन, सबैले मलाई हेयको दृष्टिले हेर्छन्, र मसँग बोल्दा तिमीहरू सबैले रुखो मनोवृत्ति देखाउँछौ।” यी शब्दहरू कहाँबाट आउँछन्? के तिनको जड ख्रीष्टविरोधीहरूको दुष्ट स्वभावमा नै हुँदैन र? तिनीहरूको दुष्ट स्वभाव मानिसहरू र परमेश्वरसँग गर्ने सौदाबाजीले भरिएको हुन्छ, जसमा तिनीहरूले परमेश्वर र मानिसहरूसँग मागहरू राख्छन्, मानौँ तिनीहरूले यसो भनिरहेका छन्, “म तिमीहरूका लागि कामकुराको ख्याल राख्छु, तिमीहरूको तर्फबाट आफूलाई समर्पित गर्छु, मूल्य चुकाउँछु, र चिन्ता गर्छु, त्यसकारण तिमीहरूले मलाई सम्मानसाथ हेर्नुपर्छ र मसँग नम्र भएर कुरा गर्नुपर्छ। चाहे मसँग हैसियत होस् वा नहोस्, मैले गरेका सबथोक तिमीहरूले सधैँ याद राख्नुपर्छ, मलाई सदैव आफ्नो मनमा राख्नुपर्छ, र मलाई कहिल्यै बिर्सनु हुँदैन—मलाई बिर्सनु भनेको तिमीहरूमा विवेक नहुनु हो। जब-जब तिमीहरूले राम्रा कुरा खान्छौ वा प्रयोग गर्छौ, तब-तब तिमीहरूले मेरा बारेमा सोच्नुपर्छ, र मैले सधैँ प्राथमिकता पाउनुपर्छ।” के ख्रीष्टविरोधीहरूले प्रायः यस्तै मागहरू राख्दैनन् र? (हो, राख्छन्।) यस्ता मानिसहरू पनि छन् जो यसो भन्छन्, “तिमीहरूले पढ्ने गरेको परमेश्वरका वचनको पुस्तक कसले छापेको हो? तिनलाई तिमीहरूका हातसम्म कसले पुर्यायो? यदि मैले जोखिम मोलेर पक्राउ पर्ने, जेल हालिने वा मृत्युदण्ड पाउने खतराको सामना नगरेको भए, के तिमीहरूले यी पुस्तक पढ्न पाउनेथियौ? यदि मैले तिमीहरूलाई मलजल गर्न कठिनाइ नसहेको र मूल्य नचुकाएको भए, के तिमीहरूले मण्डली जीवन पाउन सक्नेथियौ? यदि मैले सुसमाचार प्रचार गर्न कष्ट नसहेको र मूल्य नचुकाएको भए, के मण्डलीले यति धेरै मानिस प्राप्त गर्न सक्नेथियो? यदि मैले तिमीहरूलाई दिनभरि परमेश्वरका वचनहरू सङ्गति नगरेको भए, के तिमीहरूमा यति ठूलो आस्था हुनेथियो? यदि मैले तिमीहरूलाई रसद प्रबन्धको सहयोग गर्न दौडधुप नगरेको भए, के तिमीहरूले अहिले शान्तिपूर्वक आफ्ना कर्तव्य निर्वाह गर्न सक्नेथियौ? यदि मैले कमान नसम्हालेको भए, के मण्डलीको काम अहिले जति विकसित हुन सक्नेथियो?” के तिमीहरूले यस्ता मानिसहरू भेटेका छौ? तिनीहरूको कुरा सुन्दा लाग्छ कि तिनीहरूविना परमेश्वरको घरका काममा प्रगति नै हुन सक्नेथिएन, र पृथ्वी नै घुम्न छोड्नेथियो। के यो ख्रीष्टविरोधीहरूको मानसिकता होइन र? तिनीहरूले यी शब्दहरू चिच्याउनुको उद्देश्य के हो? तिनीहरूले कामकुराको श्रेय लिइरहेका छन् कि विलाप र गुनासो गरिरहेका छन्? तिनीहरू अब उप्रान्त आफू परमेश्वरको घरलाई आवश्यक नरहेको, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई उपेक्षा गरेको, परमेश्वरको घर मानिसहरूप्रति अन्यायपूर्ण रहेको, परमेश्वरको घरले तिनीहरूका लागि आपूर्ति नगरिरहेको, तिनीहरूलाई सम्मान नगरिरहेको, वा तिनीहरूलाई त्यहाँ वृद्ध हुन नदिइरहेको विश्वास गर्छन्। के तिनीहरूको चिच्च्याइमा सरापको तत्त्व पनि छैन र? तिनीहरू अरूलाई विवेक नभएको भन्दै सराप्दैछन्। ख्रीष्टविरोधीहरूले वास्तवमा कस्तो सेवा प्रदान गर्छन्? तिनीहरूले गर्ने सबै कुराले बाधा र अवरोध पुर्याउँछ, र तिनीहरूले भन्ने सबै कुरा बहकाउने खालका हुन्छन्। तिनीहरूमा मानवता हुँदैन; तिनीहरू दियाबलस हुन्। तिनीहरूप्रति कसैले पनि किन विवेक प्रयोग गर्ने? के यसो गर्नु उपयोगी हुन्छ? (हुँदैन।) किन उपयोगी हुँदैन? के कसैले तिनीहरूलाई पछ्याएर सत्यता बुझ्न सक्छ? (सक्दैन।) ख्रीष्टविरोधीहरूलाई आराधना गर्ने र पछ्याउने सबैले के प्राप्त गर्छन्? तिनीहरू सबैले यी ख्रीष्टविरोधीहरूसँगै मिलेर परमेश्वरलाई धोका दिन्छन् र तिनीहरू नर्कमा डोर्याइन्छन्। ख्रीष्टविरोधीहरू आफूलाई केका रूपमा हेर्छन्? (तिनीहरू आफूलाई परमेश्वरका रूपमा हेर्छन्।) यो एक निर्लज्ज सोच हो। मानिसहरूमा परमेश्वरप्रति विवेक हुनुपर्छ, तर परमेश्वरले मानिसहरूबाट कहिल्यै त्यो माग गर्नुहुन्न; उहाँले त केवल मानिसहरूले सत्यता बुझून्, तिनीहरू सत्यता अभ्यास गर्न र मुक्ति पाउन सक्षम होऊन् र मानकअनुरूपका सृजित प्राणी होऊन् भन्ने माग गर्नुहुन्छ। मैले आजसम्म तिमीहरूले मीठो खाना खाइरहेको बेला तिमीहरूलाई कहिले मलाई सम्झन र मेरा लागि अलिकति बचाएर राख्न भनेको छु, वा राम्रो ठाउँमा बस्दा मलाई सम्झन भनेको छु? तिमीहरूले राम्रो खाइरहेको, राम्रोसँग जिइरहेको र तिमीहरू खुसी भएको बेला, मैले कहिले ईर्ष्या गरेको छु र? मैले कहिले तिमीहरूमा विवेक छैन भनेर भनेको छु? तैपनि ख्रीष्टविरोधीहरू यस्ता कुराहरू भन्न र विवेक नभएकोमा मानिसहरूलाई सराप्न सक्छन्—के यो निर्लज्ज कुरा होइन र? जब परमेश्वरको घरले तिनीहरूलाई बर्खास्त गर्छ, जब तिनीहरूप्रति दाजुभाइ-दिदीबहिनीहरू पहिलेको जस्तो उत्साहित हुन छोड्छन्, तब तिनीहरूले यस्ता कुरा भन्न, आफ्ना गुनासाबारे रोइकराइ गर्न, र मानिस र परमेश्वरलाई सराप्न सक्छन्। तिनीहरूको मुखबाट हरेक प्रकारका कुराहरू निस्कन सक्छन्, र तिनीहरूको पैशाचिक प्रकृति पूर्ण रूपमा खुलासा हुन्छ। ख्रीष्टविरोधीहरूको दुष्ट स्वभावले प्रकाश गर्ने विभिन्न प्रकटीकरणहरू यिनै हुन्। तिनीहरूको हृदय परमेश्वरसँग गरिने सौदाले भरिएको हुनाले, तिनीहरू उहाँसँग विभिन्न माग र सर्तहरू राख्न थाल्छन्। ख्रीष्टविरोधीहरूलाई बढुवा वा बर्खास्त गरिँदा, परमेश्वरको घरले तिनीहरूलाई महत्त्वपूर्ण पदमा राख्दा वा नराख्दा, तिनीहरूबाट पैदा हुने विविध प्रकारका सबै प्रकटीकरणहरू तिनीहरूको दुष्ट सारसँग सम्बन्धित हुन्छ—यो पूर्णतः सही हो।
(७) अस्वीकार, निन्दा, आलोचना गर्नु, र ईश्वरनिन्दा
अब, हामी अस्वीकार, निन्दा, आलोचना गर्नु, र ईश्वरनिन्दा भन्ने शब्दहरूबारे सङ्गति गरौँ। ख्रीष्टविरोधीहरू परमेश्वरबारेका शङ्काहरूले भरिएका हुनाले तिनीहरू परमेश्वरद्वारा व्यक्त कुनै पनि सत्यतामा कुनै रुचि देखाउँदैनन्। तिनीहरूको हृदय वितृष्णा र घृणाले भरिएको हुन्छ, र तिनीहरू ख्रीष्ट सत्य हुनुहुन्छ भनेर कहिल्यै स्वीकार गर्दैनन्, अलिकति पनि समर्पण देखाउनु त टाढाको कुरा हो। तिनीहरूले प्रायः हृदयमा परमेश्वरलाई शङ्का उपशङ्का गर्ने, बारम्बार परमेश्वरका कार्यबारे धारणा र विभिन्न विचारहरू बुनिरहने हुनाले, तिनीहरूले लगातार अनि अनैच्छिक रूपमै मूल्याङ्कन गर्छन्, र यस्तो सोच्छन्, “के परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ? उहाँले भन्नुहुने कुराको अर्थ के हो? यदि तिनलाई ज्ञान र धर्मसिद्धान्तको दृष्टिकोणबाट मूल्याङ्कन गरिने हो भने, यी वचनहरूलाई कसरी बुझ्नुपर्छ? परमेश्वरले यी कुराहरू भन्नुको अर्थ के हो? उहाँले यो शब्द प्रयोग गर्नुको अर्थ के हो? उहाँले कसलाई सम्बोधन गरिरहनुभएको छ?” तिनीहरूले अनुसन्धानमाथि अनुसन्धान गर्छन् अनि वर्षौँको त्यस्तो छानबिनपछि पनि परमेश्वरले व्यक्त गर्नुहुने वचन र उहाँले गर्नुहुने काममा सबैभन्दा महत्त्वपूर्ण सत्यता देख्न सक्दैनन्: अर्थात् परमेश्वर सत्य, जीवन, र मार्ग हुनुहुन्छ भन्ने कुरा तिनीहरूले बुझ्न वा देख्न सक्दैनन्। जब मानिसहरूले परमेश्वरका सबै वचन सत्यता हुन् भनेर भन्छन्, तब ख्रीष्टविरोधीहरूले गम खान्छन् र सोच्छन्, “उहाँका सबै वचन सत्यता हुन् रे? के ती केही साधारण वचन मात्रै होइनन् र? केही चल्तीका भनाइ मात्र होइनन् र? तिनमा कुनै गहन कुरा छैन।” परमेश्वरको कामलाई हेर्दा, तिनीहरू यस्तो सोच्छन्, “परमेश्वरले मण्डलीमा र आफ्ना चुनिएका जनहरूमाझ गर्ने कामबाट म त परमेश्वरको आभा देख्दिनँ। परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर भनिन्छ, तर म त्यो देख्न सक्दिनँ। चाहे मैले अभिवर्धक काँचले हेरूँ वा खगोलीय दूरबिनले, म परमेश्वरको स्वरूप देख्न सक्दिनँ, र मैले चाहे जसरी हेरे पनि म उहाँका कार्य पत्ता लगाउन सक्दिनँ। त्यसैले, अहिले म परमेश्वर साँच्चिकै अस्तित्वमा हुनुहुन्छ भनेर १००% पुष्टि गर्न सक्दिनँ। तर यदि मैले परमेश्वर अस्तित्वमा हुनुहुन्न भनेर भने पनि, संसारमा केही अनौठा र असाधारण कुराहरू छन् भन्ने सुनेको छु; त्यसैले यदि त्यसो हो भने, परमेश्वर अस्तित्वमा हुनुपर्ने हो। तर परमेश्वर वास्तवमा कस्तो देखिनुहुन्छ? परमेश्वरले कसरी कार्य गर्नुहुन्छ? मलाई थाहा छैन। सबैभन्दा सरल उपाय भनेको परमेश्वरले आफूलाई पछ्याउनेहरूमा के गर्नुहुन्छ र तिनीहरूलाई के भन्नुहुन्छ भनेर हेर्नु हो।” तिनीहरूले अवलोकनमार्फत देख्छन् कि परमेश्वरको घरले मानिसहरूलाई प्रायः काटछाँट गर्छ, मानिसहरूलाई बारम्बार बढुवा र बर्खास्त गरिरहन्छ, र बारम्बार मानिसहरूसँग विभिन्न कर्तव्य र विभिन्न पेसागत कामका बारेमा सङ्गति, छलफल, आदान प्रदान, र इत्यादि गरिरहन्छ। तिनीहरू यस्तो सोच्छन्, “के यी सब मानिसहरूले गर्ने कुरा होइनन् र? तीमध्ये कुनै पनि अलौकिक कुरा होइनन्; ती सब त निकै सामान्य कुरा हुन्, र म परमेश्वरको आत्माले कसरी काम गरिरहेका छन् भनेर देख्न वा महसुस गर्न सक्दिनँ। यदि म त्यो महसुस गर्न सक्दिनँ भने, पवित्र आत्माको काम अस्तित्वमा छैन भनेर भन्न सकिन्न र? के यो सब मानिसहरूको चेतना र मनमा कल्पित कुरा होइन र? यदि पवित्र आत्माको काम अस्तित्वमा छैन भने, के परमेश्वरको आत्मा साँच्चै अस्तित्वमा छ त? यो पनि शङ्कास्पद नै छ जस्तो छ। यदि परमेश्वरको आत्मा अस्तित्वमा छैन भने, के परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ त? भन्न गाह्रो छ।” पाँच वर्षको अनुभवपछि पनि तिनीहरू पक्का हुन सक्दैनन्, र दश-पन्ध्र वर्षको अनुभवपछि पनि सक्दैनन्। यी कस्ता मानिस हुन्? तिनीहरूको खुलासा भएको छ—तिनीहरू अविश्वासी हुन्। यी अविश्वासीहरू यसरी नै परमेश्वरका घरमा हल्लिएर बस्छन्, र प्रवाह सँगसँगै चल्छन्। यदि अरूले सुसमाचार प्रचार गरिरहेका छन् भने तिनीहरूले पनि गर्छन्; अरूले आफ्नो कर्तव्य पूरा गरिरहेका छन् भने, तिनीहरूले पनि गर्छन्। यदि तिनीहरूले बढुवाको अवसर पाए भने, तिनीहरू आफूले परमेश्वरका घरमा “पद सम्हाल्न” सक्ने सोच्छन् र हैसियतका खातिर केही मेहनत गर्न सक्षम हुन्छन्। साथसाथै, तिनीहरूले जथाभाबी दुष्कर्म गर्न पनि सक्छन्, जसले गर्दा बाधा र अवरोध निम्तिन्छन्; यदि तिनीहरू हैसियतविनाका साधारण मण्डली सदस्य हुन् भने, तिनीहरूले केही देखावटी काम गर्नका लागि छोटो बाटो अपनाउन सक्छन्। हल्लिएर बस्नुको अर्थ यही हो। म किन “हल्लिएर बस्छन्” भन्छु? तिनीहरू हृदयमा परमेश्वरप्रति शङ्का र अस्वीकार पाल्छन्, परमेश्वरको अस्तित्व र सारप्रति अस्वीकारको मनोवृत्ति कायम राख्छन्, जसले तिनीहरूलाई परमेश्वरका घरमा आफ्नो कर्तव्य अनिच्छापूर्वक निर्वाह गर्ने तुल्याउँछ। तिनीहरू बुझ्दैनन् र सधैँ मनमनै यस्तो सोचिरहेका हुन्छन्, “यसरी आफ्नो कर्तव्य पूरा गर्नु र परमेश्वरलाई पछ्याउनुको के अर्थ हुन्छ र? मैले कुनै जागिर खाएर पैसा कमाइरहेको वा सामान्य जीवन जिइरहेको छैनँ। कतिपय युवाहरूले त आफ्नो सारा जीवन नै परमेश्वरप्रति आफूलाई समर्पित गर्नमा लगाउँछन्, तर तिनीहरूले के प्राप्त गर्नेछन्? त्यसैले, म सुरुमा नियालेर हेर्नेछु। यदि म साँच्चै कुरोको चुरोमा पुग्न र मैले आशिष्हरू पाउने आशा देख्न सकेँ भने, मेहनत गर्नु र आफूलाई समर्पित गर्नु व्यर्थ हुनेछैन। यदि मैले परमेश्वरका सटिक वचन पाउन वा कुरोको चुरोमा पुग्न सक्दिनँ भने, हल्लिएर बस्दा कुनै नोक्सानी हुँदैन। आखिरमा, म थकित हुनेछैनँ र मैले धेरै दिएको हुनेछैनँ।” के यो यतिकै हल्लिएर बस्नु होइन र? तिनीहरू आफूले गर्ने कुनै पनि कुरामा निष्कपट हुँदैनन्, तिनीहरू कुनै पनि कुरामा टिक्न वा त्यसमा उत्कृष्ट हुन सक्दैनन्, र तिनीहरूले साँचो रूपमा मूल्य चुकाउन सक्दैनन्। हल्लिएर बस्नुको अर्थ यही हो। तिनीहरू हल्लिएर बसिरहेका भए पनि, तिनीहरूका सोच निष्क्रिय हुँदैनन्—ती निकै व्यस्त हुन्छन्। तिनीहरू परमेश्वरले गर्नुहुने विभिन्न कुराबारे धारणा र विचारहरूले भरिएका हुन्छन्, अनि आफ्ना धारणासँग नमिल्ने धेरै कुराहरूलाई तिनीहरूले आफ्नो हृदयमा ज्ञान, कानुन, सामाजिक नैतिकता, परम्परागत संस्कृति, इत्यादि प्रयोग गरेर मूल्याङ्कन गर्छन्। तिनीहरूका सबै मूल्याङ्कन बाबजुद तिनीहरूले आफ्नो लेखाजोखामार्फत सत्यता देख्न वा सत्यता अभ्यास गर्ने सिद्धान्तहरू भेट्टाउन नसक्ने मात्र होइन, बरु तिनीहरू परमेश्वर र उहाँको कामप्रति हरप्रकारका निन्दा, आलोचना र ईश्वरनिन्दासमेत निर्माण गर्न पुग्छन्। ख्रीष्टविरोधीहरूले सुरुमा के कुराको आलोचना गर्छन्? तिनीहरू यसो भन्छन्, “परमेश्वरको घरको काम सबै मानिसहरूले नै तय गर्छन्; त्यो सब मानिसहरूले नै गर्छन्। म परमेश्वरले काम गर्नुभएको वा पवित्र आत्माले अगुवाइ वा मार्गदर्शन गर्नुभएको त देख्न सक्दिनँ।” के यो अविश्वासीहरूको भनाइ होइन र? सबथोक मानिसहरूले नै गर्छन् भनेर दाबी गर्नुले धेरै समस्याहरू प्रकाश गर्छ। उदाहरणका लागि, परमेश्वरको घरले तिनीहरूलाई मन नपर्ने कसैलाई चुन्यो र संवर्धन गऱ्यो भने, तिनीहरूको हृदय खरो बन्छ। के ख्रीष्टविरोधीहरू साँच्चै समर्पित हुन सक्छन् त? (अहँ, सक्दैनन्।) त्यसोभए, तिनीहरूले के गर्नेछन्? तिनीहरूले त्यसलाई कमजोर पार्ने प्रयास गर्नेछन्। यदि त्यसलाई कमजोर पार्ने कार्य असफल भयो, र दाजुभाइ-दिदीबहिनीहरूमध्ये कसैले पनि तिनीहरूको कुरा सुनेन वा तिनीहरूलाई सहयोग गरेन भने, तिनीहरू त्यसलाई निन्दा गर्न थाल्छन्, र यसो भन्छन्, “परमेश्वरको घर अन्यायपूर्ण छ र यसले मानिसहरूलाई सम्हाल्ने तरिकामा सिद्धान्तहरू छैनन्। संसारमा द्रुत घोडाहरू धेरै छन्, तर तिनलाई चिन्न सक्ने कोही पनि छैन।” यसको अर्थ के हो? यसले तिनीहरू द्रुत घोडा हुन्, तर दुर्भाग्यवश, परमेश्वरका घरमा तिनीहरूलाई चिन्न सक्ने व्यक्ति छैन भन्ने अर्थ दिन्छ। परमेश्वरको घरले गरेको आफ्ना धारणाहरूसँग मेल नखाने यस मामलालाई निन्दा गरेपछि, तिनीहरूले आधारहीन अफवाह, धारणा, र नकारात्मकताजस्ता कुराहरू फैलाउन थाल्नेछन्। अवश्य नै, तिनीहरूका सारा शब्दहरू कठोर हुनेछन्। कतिपयले त यस्तो समेत भन्न सक्छन्, “यी मानिसहरू शिक्षित छन्, राम्रा देखिन्छन्, राम्रा पहिरनमा छन् र सहरबाट आएका हुन्; हामी ग्रामीण मानिस हौँ, हामीमा केही प्रतिभा छ तर हामी आफ्ना कुरा व्यक्त गर्न, वा माथिसँग कुराकानी गर्न सक्दैनौँ—हामीलाई बढुवा पाउन सजिलो छैन। परमेश्वरका घरमा बढुवा पाउनेहरू सबै वाक्पटु, खुसामद गर्न माहिर हुन्छन्, र तिनीहरूसँग दाउपेचहरू हुन्छन्। अर्कोतिर, म स्पष्ट-वक्ता वा वाक्पटु होइन, र भित्री प्रतिभाहरू मात्र हुनु बेकार हो। त्यसैले, ‘द्रुत घोडाहरू धेरै हुन्छन्, तर थोरैले मात्रै तिनीहरूलाई चिन्न सक्छन्’ भन्ने भनाइ संसारमा जस्तै परमेश्वरका घरमा पनि लागु हुन्छ।” यस भनाइको अर्थ के हो? के यो आलोचना गर्नु होइन र? तिनीहरू परमेश्वरको घरको कामको आलोचना गर्छन् र पर्दापछाडि आफ्ना आलोचना फैलाउँछन्। परमेश्वर, उहाँको काम, उहाँका अभिव्यक्तिहरू, उहाँका वचनहरू, उहाँको स्वभाव, र उहाँका काम गर्ने विविध तरिकाहरूका सन्दर्भमा, ख्रीष्टविरोधीहरूले ती बारे लेखाजोखा, अनुसन्धान, र तर्क गर्न ज्ञान र दर्शन प्रयोग गर्छन्। अन्ततः तिनीहरू एउटा त्रुटिपूर्ण निष्कर्षमा पुग्छन्। त्यसकारण, परमेश्वरले बोल्नुभएका कुनै पनि वचनलाई तिनीहरू आफ्नो हृदयमा कहिल्यै गम्भीरतापूर्वक स्विकार्दैनन्, बुझ्दैनन्, वा मनन गर्दैनन्। बरु, तिनीहरू परमेश्वरका वचनलाई एक प्रकारको प्रतिपादित सिद्धान्त वा कर्णप्रिय शब्दका रूपमा मात्र लिन्छन्। मामिलाहरू उत्पन्न हुँदा, तिनीहरूले परमेश्वरका वचनलाई हरेक मामिलालाई हेर्ने, परिभाषित गर्ने, र मापन गर्ने तरिकाको आधार र सिद्धान्तका रूपमा लिँदैनन्। बरु तिनीहरूले यी मामिलाहरूलाई मूल्याङ्कन गर्न मानव दृष्टिकोण र शैतानको दर्शन र प्रतिपादित सिद्धान्तहरू प्रयोग गर्छन्। तिनीहरूले निकाल्ने निष्कर्ष के हो भने, तिनीहरूका धारणासँग कुनै पनि कुरा मेल खाँदैन, र परमेश्वरले व्यक्त गर्नुहुने हरेक वचन र उहाँले गर्नुहुने हरेक कार्य तिनीहरूलाई मनपर्दो हुँदैन। अन्त्यमा, ख्रीष्टविरोधीहरूको दृष्टिकोणबाट परमेश्वरले गर्नुहुने हरेक कुरा निन्दित हुन्छ।
कतिपय ख्रीष्टविरोधीहरू सधैँ परमेश्वरका घरमा शक्तिमा रहन चाहन्छन्, तर तिनीहरूमा क्षमता र विशेष सीपहरूको कमी हुन्छ, त्यसैले तिनीहरू अपरिहार्य रूपमा परमेश्वरका घरमा सरसफाइ, सामान बाँडफाँट, र अन्य सामान्य, नित्यचर्या जस्ता सानातिना कार्य गर्न पुग्छन्। छोटकरीमा भन्नुपर्दा, यस्ता मानिसहरू निश्चित रूपमा मण्डली अगुवा, प्रचारक, इत्यादि बन्न सक्दैनन्। तर, तिनीहरू साधारण अनुयायी हुन वा तिनीहरूलाई औसत लाग्ने काम गर्नमै सन्तुष्ट हुँदैनन्, किनकि तिनीहरू महत्त्वाकाङ्क्षाले भरिएका हुन्छन्। महत्त्वाकाङ्क्षाले भरिनुको प्रकटीकरण कसरी हुन्छ? तिनीहरू परमेश्वरको घरका हरेक साना वा ठूला मामिलाबारे जिज्ञासा राख्न, सोधपुछ गर्न, जानकार रहन, र विशेष गरी त्यसमा हस्तक्षेप गर्न चाहन्छन्। यदि तिनीहरूको श्रम आवश्यक पर्ने कुनै काम छ भने, तिनीहरूले सधैँ यस्तो सोध्ने गर्छन्, “हाम्रो परमेश्वरको घरको किताब छपाइ कस्तो चल्दैछ? हाम्रो मण्डलीको चलचित्र निर्देशकको छनोट कस्तो छ? हाल निर्देशक को छ? पटकथा कसले लेख्दैछ? यहाँको जिल्ला अगुवा को हो, र ऊ कस्तो छ?” तिनीहरूले यी कुराहरूबारे सोध्नुको अर्थ के हो? के तिनीहरूले यी मामिलाबारे सोधपुछ गर्नु वा तिनमा संलग्न हुनुपर्छ र? (अहँ, पर्दैन।) यी सब सत्यतासँग असम्बन्धित सामान्य मामिला हुन्। यी “असल मनसाय राख्ने मानिसहरू” किन सधैँ सोधखोज गरिरहन्छन्? तिनीहरूलाई साँच्चै चिन्ता लागेर हो कि तिनीहरूसँग अरू केही काम नभएर हो? दुवै होइन—तिनीहरूमा महत्त्वाकाङ्क्षा भएकाले र तिनीहरूले पदोन्नति र शक्ति कब्जा गर्न चाहने हुनाले हो। के तिनीहरूले यो महत्त्वाकाङ्क्षा र शक्ति कब्जा गर्ने चाहना हो भनेर थाहा पाउन सक्छन्? अहँ, सक्दैनन्; तिनीहरूमा त्यो समझ नै हुँदैन। तिनीहरूको घिनलाग्दो मानवता र कमजोर क्षमताका कारण, तिनीहरू कुनै पनि कुरा हासिल गर्न वा सबैभन्दा सरल कर्तव्यसमेत राम्ररी निर्वाह गर्न सक्दैनन्। आफ्नो कर्तव्य निर्वाह गरुन्जेल, तिनीहरू निरन्तर रूपमा खराब व्यवहार गर्छन्, अल्छे हुन्छन्, आराम गर्न उद्धत हुन्छन्, र विविध मामिलाबारे सोधखोजसमेत गर्छन्। अन्त्यमा, यी प्रकटीकरणहरूका कारण तिनीहरू निकालिन्छन्। के परमेश्वरको घरले तिनीहरूलाई निकाल्नु सही हो? (हो।) के तिनीहरू ज्यादा चासो राख्ने र जिज्ञासु भएका कारण निकालिएका हुन्? (होइनन्।) तिनीहरूले उचित मामलाहरूमा ध्यान नदिएकाले र परमेश्वरका घरमा निरन्तर सित्तैँमा खान चाहेकाले तिनीहरूलाई अन्तै पठाइएको र हल्लिएर बस्न नदिइएको हो। तिनीहरूले केही पनि राम्ररी गर्न सक्दैनथे, त्यसैले तिनीहरूलाई राख्नु सार्थक हुनेथिएन—के तिनीहरू अविश्वासी होइनन् र? के तिनीहरूलाई निकाल्नुपर्दैन र? निकालिने समय आउँदा तिनीहरू बेचैन भए र त्यसपछि मात्र तिनीहरूले सत्यता सिद्धान्तहरूको खोजी गरे, र सोधे, “परमेश्वरको घरले मानिसहरूलाई निकाल्ने र निष्कासित गर्ने सिद्धान्त वास्तवमा के हुन् भनेर मैले खोज्नुपर्छ: मलाई केका आधारमा निकालिँदैछ?” तैँले तिनीहरूलाई यस्तो प्रतिक्रिया दिनुपर्छ, “आराम मन पराउने र कामलाई घृणा गर्ने, आफूले गर्ने हरेक कुरामा बाधा र विनाश उत्पन्न गराउने तँजस्तो व्यक्ति, निकाल्नुका सिद्धान्तहरूसँग पूर्ण रूपमा मेल खान्छस्।” तिनीहरूले आफू कस्तो प्रकारको व्यक्ति हुँ भन्ने नबुझी त्यति धेरै खराब कुराहरू गरेपछि मानिसहरूलाई निकाल्नुका सिद्धान्तहरू खोज्नु अलिक हास्यास्पद देखिन्न र? (हो, देखिन्छ।) यस्ता केही मानिसहरू निकालिएका छन्, जबकि अरूलाई साधारण मण्डलीहरूमा पठाइएको छ। तिनीहरू परमेश्वरका घरमा कर्तव्य निर्वाह गर्न उपयुक्त छैनन् र तिनीहरूमा आफ्नो कर्तव्य निर्वाह गर्न चाहिने अवस्था छैन। के यस प्रकारका व्यक्तिहरूले परमेश्वरले गर्नुभएको कुरा सत्यतासँग मिल्छ भन्ने कुरा बुझ्न सक्छन्? म भन्न सक्छु कि ख्रीष्टविरोधीहरूले यो कहिल्यै बुझ्नेछैनन्, किनकि तिनीहरू अविश्वासी हुन्, र तिनीहरूले सत्यतासँग मिल्ने कुनै पनि सकारात्मक कुरालाई निन्दा र आलोचना गर्छन्। त्यो ख्रीष्टविरोधी, जो सोधखोज गर्न सधैँ आतुर हुन्छ, महत्त्वाकाङ्क्षाले भरिएको छ, र लगातार माथि उक्लन खोज्छ, जबकि आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा अलिकति पनि निष्कपट र बफादार हुँदैन, अन्यत्रै पठाइँदा ऊ थचक्क भुईँमा बस्छ र जोडले विलाप गर्छ। उसले भन्छ, “मेरो असल मनसाय बोकेको हृदय, मेरो निष्कपटता र बफादारीलाई कसैले पनि बुझ्दैन। मलाई किन अन्यत्र पठाइँदै छ? ममाथि अन्याय भएको छ, र म इच्छुक छैनँ! परमेश्वरबारे यत्ति चिन्तित कोही पनि छैन, र परमेश्वरका घरमा यत्ति बफादार कोही पनि छैन। मेरो ठूलो जोस र ठूलो दयालाई खराब आशयका रूपमा लिइँदैछ—परमेश्वर निकै अन्यायपूर्ण हुनुहुन्छ!” के यो निर्दोषताको याचना होइन र? के तिनीहरूका कुनै पनि शब्द मानिसहरूले भन्नुपर्ने कुरा हुन् त? के तीमध्ये कुनै सत्य-तथ्यसँग मिल्छन्? (मिल्दैनन्।) ती सब गुनासा, गनगन, र निन्दाले भरिएका बेमनासिब, बेतुका, अविश्वासीहरूका शब्द हुन्। यो तिनीहरू प्रकाश हुनु हो। यदि तिनीहरूलाई अन्यत्र नपठाइएको भए, तिनीहरूले आफ्नो ढोँग जारी राख्नेथिए र परमेश्वरको घरको मालिक बन्ने आकाङ्क्षा राख्नेथिए। के कुनै मालिकले यस्तो व्यवहार गर्ला त? के कुनै मालिकले यसरी झर्कोफर्को गर्ला त? के कुनै मालिकले परमेश्वरको घरलाई यसरी व्यवस्थापन गर्ला त? तिनीहरूलाई सरसफाइ गर्न भनिएको थियो, तर तिनीहरू जताततै चहारेर बसे र तिनीहरूले कुनै काम गरेनन्। तिनीहरूलाई खाना पकाउन भनिएको थियो, तर तिनीहरू दुई जनाका लागि समेत खाना पकाउन इच्छुक थिएनन्। तिनीहरूलाई थकित हुने डर थियो र तिनीहरूलाई त्यो निम्न-वर्गीय कुरा हो भन्ने लाग्यो—त्यसोभए तिनीहरूले अरू के गर्न सक्छन् त? के तिनीहरूले अगुवा हुनु र आदेशहरू जारी गर्नुबाहेक केही गर्न सक्छन् त? के परमेश्वरको घरले तिनीहरूलाई निकाल्नु उचित होइन र? (हो।) यो पूर्णतः उचित कुरा हो, तैपनि तिनीहरू पर्दापछाडि सरापिरहन्छन्, झर्कोफर्को गर्छन् र उद्दण्ड महिलाहरूले जस्तो व्यवहार गर्छन्। के यिनीहरू ख्रीष्टविरोधी होइनन् र? यो ख्रीष्टविरोधीको स्वभाव सारको प्रकटीकरण हो। आफ्ना हित वा प्राथमिकतासँग नमिल्ने मामिलाहरू सामना गर्दा, आफ्ना कामना वा चाहनाहरू पूरा नगर्ने कुराहरू सामना गर्दा, के तिनीहरू अलिकति पनि समर्पित हुन्छन्? के तिनीहरू सत्यता खोज्न सक्छन्? के तिनीहरू शान्त हुन, आफ्ना पाप स्विकार्न, र पश्चात्ताप गर्न सक्छन्? अहँ, सक्दैनन्। तिनीहरूको तात्कालिक प्रतिक्रिया भनेको उठेर निन्दा, आलोचना, ईश्वरनिन्दा, र श्रापले भरिएका शब्दहरू प्रयोग गर्दै परमेश्वरविरुद्ध रडाको मच्चाउनु हो। तिनीहरू यस्तो सोच्छन्, “यदि परमेश्वरको घरले मलाई चाहँदैन भने, ठीकै छ। तिमी कुनै कृपा देखाउँदैनौ, त्यसैले हृदयविहीन भएकोमा मलाई दोष नदेऊ। भिडौँ र को बढी क्रूर छ भन्ने हेरौँ!” के यो सत्यताको खोजी गर्नुको प्रकटीकरण हो? के यो सामान्य सृजित प्राणीमा हुनुपर्ने प्रकटीकरण हो? (अहँ, होइन।) त्यसोभए यो कस्तो खालको प्रकटीकरण हो त? साँचो रूपमा परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउनेहरूले उहाँसँग कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू साँचो र निसर्त रूपमा परमेश्वरप्रति समर्पित हुनैपर्छ। केवल परमेश्वरका शत्रुहरू—शैतान र दियाबलसहरूले—परमेश्वरलाई इन्कार, निन्दा, आलोचना, ईश्वरनिन्दा गर्नेछन् र सराप्नेछन्, यहाँसम्म कि उहाँविरुद्ध रडाको मच्चाउने र उहाँको विरोध गर्नेछन्। तैँले अहिले नै यो तथ्य स्विकार्न नसक्ने र परमेश्वरको घरले तँलाई अन्यायपूर्ण व्यवहार गरेको दाबी गर्दै सयौँ कारणहरू अघि सार्न सक्ने भए पनि, यदि तँमा चेतना, मानवता, र परमेश्वरको अलिकति पनि डर छ भने, के तैँले परमेश्वरसँग यसरी व्यवहार गर्न सक्छस्? बिलकुलै सक्दैनस्! यदि कसैले त्यसो गर्न सक्छ भने, के उसमा अलिकति पनि विवेक हुन्छ? के उसमा कुनै मानवता हुन्छ? के उसमा अलिकति पनि परमेश्वरको डर हुन्छ? (अहँ, हुँदैन।) स्पष्ट छ कि ऊ परमेश्वरका भेडाहरूमध्येको एक होइन। उसले परमेश्वरलाई कहिल्यै आफ्नो मालिकका रूपमा व्यवहार गरेको छैन; उसले कहिल्यै पनि परमेश्वरलाई आफ्नो परमेश्वर मानेन। उसका हृदयमा, परमेश्वर उसको परमेश्वर नभई उसको शत्रु हुनुहुन्छ। परमेश्वरका शत्रुहरू ख्रीष्टविरोधी र शैतान हुन्; त्यसविपरित, ख्रीष्टविरोधीहरू परमेश्वरका शत्रु हुन्—तिनीहरू शैतान र दियाबलस हुन्। ख्रीष्टविरोधीहरूले परमेश्वरले गर्ने कुनै पनि कुरा कहिल्यै पनि स्विकार्नेछैनन् र परमेश्वरले बोल्नुभएको कुनै पनि वचनलाई आमेन भन्नेछैनन्। परमेश्वरको शत्रु—शैतान—को सार यही हो र ख्रीष्टविरोधीहरूको अन्तर्निहित सार यही हो। तिनीहरू विनाकारण परमेश्वरप्रति शत्रुवत् हुन्छन्, र विनाकारण परमेश्वरलाई निन्दा गर्न सक्षम हुन्छन्। के यो दुष्टता होइन र? यो सरासर दुष्टता हो।
हरेक व्यक्तिमा ख्रीष्टविरोधीका यी स्वभावहरू फरक-फरक मात्रामा हुन्छन्, तर के तिमीहरू यी स्वभावहरूको प्रकटीकरण र मानिसहरूले विश्वास गर्दा चयन गर्ने मार्गमार्फत को ख्रीष्टविरोधी हो, को श्रमिक हो, र कोचाहिँ मुक्ति दिन सकिने परमेश्वरका चुनिएका मानिसहरूमध्येको एक हो भनेर मूल्याङ्कन गर्न सक्छौ? (सबैले ख्रीष्टविरोधी स्वभाव प्रकाश गरे पनि, आफ्नो भ्रष्ट स्वभाव प्रकाश गरेपछि केही मानिसहरूमा विवेक बोध पलाउँछ, तिनीहरूले दोषी महसुस गर्छन्, तिनीहरूले पश्चात्ताप गर्न, र सत्यता अभ्यास गर्न सक्छन्—मुक्ति पाउन सक्नेहरू यिनै हुन्। तर, विवेक बोध नभएका, गल्ती गरेपछि पनि आफूलाई सही ठान्ने, जिद्दी भई पश्चात्ताप गर्न इन्कार गर्ने, र सत्यतालाई पूर्ण रूपमा इन्कार गर्नेहरू—यी मानिसहरू ख्रीष्टविरोधी हुन् र तिनीहरूले मुक्तिको कुनै अवसर पाउँदैनन्।) के यी दुई भनाइ सही छन्? (छन्।) भर्खरै भनिएको कुरा आधारभूत रूपमा सही छ, तर यो पर्याप्त रूपमा निर्दिष्ट छैन। कतिपय मानिसहरूमा ख्रीष्टविरोधीहरूको स्वभाव भए पनि, परिस्थितिहरू सामना गर्दा तिनीहरू सत्यताको खोजी गर्न, देहविरुद्ध विद्रोह गर्न, आफ्नो भ्रष्ट स्वभाव चिनेपछि पश्चात्ताप महसुस गर्न, ऋणीपन महसुस गर्न, पछाडि फर्कन, सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न, सही मार्ग चयन गर्न, सत्यता अभ्यास गर्ने छनोट गर्न, र अन्ततः सत्यताबारे बुझाइ प्राप्त गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न, परमेश्वरप्रति समर्पण हासिल गर्न सक्षम हुन्छन्। त्यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन् र तिनीहरू परमेश्वरका चुनिएका मानिस हुन्। एउटा अर्को प्रकारको व्यक्ति हुन्छ, जसलाई आफूमा ख्रीष्टविरोधीको स्वभाव छ भनेर थाहा हुन्छ, तर परिस्थितिहरू आइपर्दा उसले आफूलाई जाँच गर्दैन। आफूले कुनै गल्ती गरेको पत्ता लाग्दा उसमा कुनै साँचो बुझाइ हुँदैन, उसले आफूभित्र ऋणीपनको दह्रो बोध विकास गर्न सक्दैन, ऊ पश्चात्ताप गर्न वा पछाडि फर्कन सक्षम हुँदैन, र सत्यता र मुक्तिबारे अलमल्ल हुन्छ। ऊ परमेश्वरका घरमा श्रम गर्न तयार र इच्छुक हुन्छ, उसले आफूलाई अह्राइएको जुनसुकै काम गर्न सक्छ, तैपनि त्यसलाई गम्भीरतापूर्वक लिँदैन; उसले बेलाबेलामा बाधा र अवरोध निम्त्याउन सक्छ, तर ऊ दुष्ट मानिस होइन। उसले काटछाँट स्विकार्न सक्छ, तर कामकुरा गर्दा कहिल्यै सक्रिय रूपमा सत्यताको खोजी गर्दैन वा कामकुरा सम्हाल्दा सत्यता सिद्धान्तहरू पछ्याउँदैन। उसले परमेश्वरका वचन खान र पिउनमा अनि सत्यतामा कुनै चाख राख्दैन। उसले आफ्ना कर्तव्यमा ठीकठाक मेहनत लगाउन सके पनि, सत्यतालाई पछ्याउने मामिलामा उसमा जोसको कमी हुन्छ र उसलाई यो गर्ने कुनै रुचि हुँदैन। उसले आफ्नो कर्तव्य निर्वाहमा कुनै बफादारी देखाउँदैन; उसले तुलनात्मक रूपमा केही इच्छुकता र निष्कपटता देखाउँछ। उसले विविध भ्रष्ट स्वभाव चिन्न सक्छ, तर परिस्थितिहरू सामना गर्दा उसले कहिल्यै आत्मचिन्तन गर्दैन, र ऊ सत्यता बुझ्न र त्यसलाई अभ्यास गर्न सक्ने मान्छे बन्ने पछ्याइमा लाग्दैन। ऊ श्रमिक हो। सबैभन्दा अन्तिम श्रेणीमा ख्रीष्टविरोधीहरू पर्छन्। तिनीहरू परमेश्वर, सत्यता र सकारात्मक कुराका शत्रु हुन्। तिनीहरूको हृदय दुष्टता, परमेश्वरविरुद्धको रडाको, परमेश्वरको विरोध, साथै इन्साफ, सकारात्मक कुराहरू, र सत्यताविरुद्धको निन्दा, मूल्याङ्कन, र ईश्वरनिन्दाले भरिएको हुन्छ। तिनीहरू परमेश्वरको अस्तित्व, यावत् थोकमाथिको उहाँको सार्वभौमिकतामा विश्वास गर्दैनन्, र परमेश्वरलाई मानवजातिको नियतिमाथि सार्वभौम हुन दिन त झनै अनिच्छुक हुन्छन्। तिनीहरू कहिल्यै पनि आफूलाई बुझ्दैनन्, र तिनीहरूले जतिसुकै गल्ती वा अपराध गरे पनि, ती कहिल्यै स्विकार्दैनन्, पश्चात्ताप गर्दैनन् वा पछाडि फर्कँदैनन्। तिनीहरूको हृदयमा कुनै पछुतो हुँदैन, र तिनीहरू सत्यतालाई पूर्ण रूपमा इन्कार गर्छन्। यी ख्रीष्टविरोधी हुन्। कुनै व्यक्ति कुन श्रेणीको व्यक्ति हो भनेर निर्धारण गर्नका लागि उसमा सत्यताप्रति स्वीकारको मनोवृत्ति छ कि छैन भनेर मूल्याङ्कन गर्नु सामान्यतया सही हुन्छ। तिमीहरू कुन श्रेणीमा पर्छौ? के तिमीहरू मुक्ति पाउन सक्ने परमेश्वरका चुनिएका मानिसहरूमध्येका हौ, कि ख्रीष्टविरोधी हौ, कि श्रमिक हौ? के तिमीहरू पहिलो श्रेणीतर्फ सर्दै छौ, कि यी कुनै पनि श्रेणीमा पर्दैनौ? यीमध्ये कुनै पनि श्रेणीमा नपर्ने कोही पनि छैन: सबैजना यी तीनमध्ये एउटामा पर्छन्। मानवता नभएका दुष्ट मानिसहरू ख्रीष्टविरोधीहरूको सार भएकाहरू हुन्; केही मानवता भएका, विवेक र समझ भएका, साथै तुलनात्मक रूपमा असल चरित्र भएका, सत्यता पछ्याउन सक्ने, सकारात्मक कुराहरूलाई प्रेम गर्न सक्ने, सत्यतालाई प्रेम गर्ने, र परमेश्वरको डर मान्ने र उहाँमा समर्पित हुन सक्नेहरूले मुक्ति पाउन सक्छन्—तिनीहरू परमेश्वरका चुनिएका मानिस हुन्। औसत चरित्र भएका, न त खासै असल, न त खासै खराब, सत्यताबारे अलिकति पनि रुचि नराख्ने र त्यसलाई पछ्याउन बिलकुलै इच्छुक नभएका, तर थोरै निष्कपटताका साथ आफ्नो कर्तव्य निर्वाह गर्नेहरू श्रमिक हुन्। मूल्याङ्कनको मानक यही हो। के कुनै ख्रीष्टविरोधी श्रमिक बन्न सक्छ? (सक्दैन।) त्यसोभए के श्रमिकहरूमध्ये मानिसहरूको कुनै श्रेणी छ, जुन परमेश्वरका चुनिएका मानिस बन्न सक्छ? (छ।) यहाँ परिवर्तनको कस्तो सम्भावना छ? (तिनीहरूले सत्यता पछ्याउनुपर्छ।) सायद, अझ धेरै वर्षको आस्था, अझ धेरै अनुभव र परिस्थितिहरू सामना गरेपछि, र अझ धेरै सत्यताको बुझाइ प्राप्त गरेपछि तिनीहरू बिस्तारै श्रम गर्ने चरणबाट परमेश्वरका चुनिएका मानिस बन्ने चरणमा प्रवेश गर्छन्। अहिले सत्यताबारे तिनीहरूको बुझाइ सानो र परमेश्वरमाथिको तिनीहरूको आस्था निकै सानो भएकाले, तिनीहरूलाई आफ्नो कर्तव्य पूरा गर्न र सत्यता अभ्यास गर्नमा त्यत्ति धेरै रुचि छैन। तिनीहरूसँग सत्यता पछ्याउने कद छैन र तिनीहरू देहका अन्य विभिन्न आवश्यकता साथै आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्न सक्दैनन्। त्यसकारण, तिनीहरू अहिलेका लागि श्रम गर्ने चरणमा मात्र रहन सक्छन्। तर, तुलनात्मक रूपमा भन्नुपर्दा, यी मानिसहरूमा विवेक छ र तिनीहरू सकारात्मक कुराहरूलाई प्रेम गर्छन्; तिनीहरूले बिस्तारै सत्यता बुझ्दै जाँदा, तिनीहरूको वातावरण परिवर्तन हुँदै जाँदा, परमेश्वरमा विश्वास गर्ने तिनीहरूको समय बढ्दै जाँदा, तिनीहरूले झनै गहन अनुभवहरू बटुल्दै जाँदा, र तिनीहरूले परमेश्वरमा साँचो आस्था विकास गर्दै जाँदा, तिनीहरूले बिस्तारै सत्यता र सकारात्मक कुराहरूलाई झनै प्रष्टसँग देख्न थाल्छन्, तिनीहरूले पछ्याउनुपर्ने मार्ग झनै स्पष्ट बन्छ, तिनीहरूले सत्यताप्रति रुचि विकास गर्छन्, र तिनीहरूले झन्-झन् सत्यतालाई प्रेम गर्छन्। त्यस्ता मानिसहरू बिस्तारै मुक्तिको मार्गमा पाइला चाल्न र परमेश्वरका चुनिएका मानिस बन्न सक्छन्; तिनीहरूमा सुध्रिने र परिवर्तन हुने ठाउँ हुन्छ। अर्कोतिर, ख्रीष्टविरोधीहरूको सार भएकाहरू परमेश्वरका चुनिएका मानिस बन्न र तिनीहरूले मुक्ति पाउन सक्छन् भन्नु जायज हुँदैन, किनकि ख्रीष्टविरोधीहरूको सार दियाबलस र परमेश्वरका शत्रुहरूको सार हो—ख्रीष्टविरोधीहरू कहिल्यै बदलिन सक्दैनन्।
हामीले भर्खरै तिनीहरूले परमेश्वरलाई र उहाँको कामलाई गर्ने व्यवहारमा तिनीहरूले प्रकाश गर्ने दुष्ट स्वभाव सारबाट उत्पन्न अस्वीकार, निन्दा, आलोचना, र ईश्वरनिन्दाबारे सङ्गति गरिरहेका थियौँ। जब कुनै कुरा ख्रीष्टविरोधीहरूका धारणा विपरीत हुन्छ वा जब त्यसले तिनीहरूको हितलाई हानि गर्छ, तब तिनीहरूको तात्कालिक प्रतिक्रिया भनेको यसो भन्दै उठ्नु, प्रतिरोध गर्नु, र त्यसलाई निन्दा गर्नु हो: “यो गलत हो, यो मानिसहरूद्वारा गरिएको हो, र म योसामु झुक्नेछैन। म यसको उजुरी गर्नेछु र यस मामिलालाई स्पष्ट पार्न प्रमाण खोज्नेछु। म आफ्नो अडान राख्नेछु, आफ्नो प्रतिरक्षा गर्नेछु, यस मामिलाका विस्तृत कुरा खोल्नेछु र यसमाझ समस्या खडा गर्ने, मेरो राम्रो प्रतिष्ठा र मेरा चलिरहेका राम्रा कामकुरा बिगार्ने व्यक्ति को हो भनेर हेर्नेछु।” ख्रीष्टविरोधीहरूका हृदयमा “यावत् थोकमा परमेश्वरका असल अभिप्राय हुन्छन्” भन्ने वाक्यांश एउटा खोक्रो भनाइ बन्छ, र त्यसले तिनीहरूको कार्य गर्ने साधन, विधि, र सिद्धान्तहरूलाई मार्गदर्शन गर्न वा बदल्न सक्दैन। त्यसविपरीत, कुनै पनि परिस्थिति सामना गर्दा तिनीहरू आफूलाई जे स्वाभाविक लाग्छ त्यसैमा भर पर्छन्, कार्य गर्नका लागि हरेक विधिबारे सोच्छन् र आफ्ना सबै क्षमता र रणनीति प्रयोग गर्छन्। निस्सन्देह रूपमा, तिनीहरूले गर्ने भनेको परमेश्वरविरुद्धको निन्दा, आलोचना, र ईश्वरनिन्दा हो। मानिसहरूका सोच शैतानका तर्क र विचारहरूले भरिपूर्ण हुन्छन्, र तिनमा कुनै सत्यता हुँदैन। त्यसकारण, त्यस्ता मामिलाहरू सामना गर्दा ख्रीष्टविरोधीहरूका प्रकटीकरणले शैतानकै प्रकटीकरणहरूलाई प्रतिविम्बित गर्छ: शैतानले परमेश्वरलाई जस्तो व्यवहार गर्छ, ख्रीष्टविरोधीहरूले पनि उहाँलाई त्यस्तै व्यवहार गर्छन्, र शैतानले परमेश्वरप्रति जे-जस्ता साधन वा शब्द प्रयोग गर्छ, ख्रीष्टविरोधीहरूले पनि त्यही प्रयोग गर्छन्। यसरी, परमेश्वरको शत्रु हुने ख्रीष्टविरोधीहरूको दुष्ट सारबारे केही भनिरहनै पर्दैन। यदि परमेश्वरमा एक-दुई दिन मात्रै विश्वास गरेको व्यक्ति छ भने पनि, के उसले आफ्नो सामान्य मानव सोचाइ र चेतनामा, मानव र परमेश्वरबीचको भिन्नता बुझ्छ? (हो, बुझ्छ।) सामान्य मानवता भएको वयस्क व्यक्तिका रूपमा, के उसले आफ्नो हृदयमा परमेश्वरसँग कसरी व्यवहार गर्ने भन्ने जान्दछ? (जान्दछ।) के मानव चेतनामा कसैले आराधना गर्ने व्यक्तिसँग व्यवहार गर्ने सबैभन्दा उपयुक्त र सर्वोत्तम तरिकासम्बन्धी मानक छ? (छ।) मानिसहरू चापलुसी गर्न, खुसामद गर्न, र आफूलाई कृपापात्र तुल्याउन प्रवृत्त हुन्छन्; यदि त्यस व्यक्तिले तिनीहरूलाई कुटे वा सरापे पनि, तिनीहरू विनम्र र आज्ञाकारी रहने उपाय भेट्टाउँछन्। यसैले, आफ्ना बाबुआमाको कुरा आउँदा, के मानिसहरूलाई सम्मान र प्रेम देखाउन आउँछ, अनि के तिनीहरूलाई कुन व्यवहार हानि र घृणा हो भन्ने थाहा हुन्छ? के यसको मूल्याङ्कन गर्न कुनै मानक छ? (छ।) यसले मानव, अर्थात् मानव छालाले ढाकिएका जीवित प्राणी जनावरहरूभन्दा फरक र माथि छन् भन्ने प्रमाणित गर्छ। तँलाई आफ्ना बाबुआमालाई सम्मान र प्रेम गर्न आउँछ, त्यसोभए परमेश्वरसँग प्रेम र सम्मानसाथ व्यवहार गर्न किन आउँदैन? तैँले कसरी परमेश्वरलाई यस्तो व्यवहार गर्न सक्छस्? यतिकै निन्दा र आलोचना गर्ने, यतिकै ईश्वरनिन्दा गर्न र सराप्न साहस गर्ने—के त्यो सामान्य मानिसहरूले गर्ने कुरा हो? (होइन।) जनावरहरूले समेत यस्तो व्यवहार गर्दैनन्। यदि कुनै व्यक्तिले कुनै जनावर पाल्यो, चाहे त्यो जङ्गली नै किन नहोस्, र त्योसँग केही समय बितायो भने, त्यसले आफ्नो मालिक को हो भनेर चिनेसम्म त्यसले त्यो मालिकलाई सधैँ सम्मान गर्नेछ, मालिकलाई आफ्नो आफन्त, आफ्नो परिवारको सदस्यका रूपमा व्यवहार गर्नेछ, जुन त्यसले अरू जनावर वा मानिसहरूलाई गर्ने व्यवहारभन्दा फरक हुन्छ। मानौँ, तँ त्यसको मालिक थिइस्: अरू दुई वा तीन वटा घरको हुन पुगेपछि तैँले त्यसलाई फेरि भेट्दा, त्यसले तेरो गन्ध मात्रै सुँघ्नुपर्छ अनि त्यसले तँप्रति स्नेह देखाउँछ। त्यो उग्र जनावर भए पनि, त्यसले तँलाई खानेछैन। त्यसको उग्रता अन्तर्निहित कुरा हो, जुन परमेश्वरको सृष्टि र पूर्वनिर्धारणबाट आउँछ। यो क्रूर वा दुष्ट स्वभाव नभई, परमेश्वरले त्यसलाई दिनुभएको बाँच्ने नैसर्गिक प्रवृत्ति हो—यो ख्रीष्टविरोधीहरूको दुष्टताभन्दा भिन्नै हुन्छ। दुई जना मानिस थिए, जसले एउटा सानो सिंहको बच्चालाई दत्तक लिएका थिए। त्यो सिंह हुर्कँदै गएपछि, त्यसको मांसाहारको खर्च उठाउन चुनौतीपूर्ण बन्यो, त्यसैले त्यो एक वर्षको भएपछि, तिनीहरूले त्यसलाई त्यसको प्राकृतिक वातावरणमै लगेर छोडिदिए। तीन वर्षपछि, तिनीहरूले त्यस सिंहलाई फेरि भेटे। सिंहले तिनीहरूलाई टाढैबाट देख्यो, र उत्सुकतासाथ तिनीहरूतिर दौडियो। तिनीहरू सुरुमा यस्तो सोच्दै चिन्तित भए, “कतै यसले हामीलाई खाने त होइन? यो त सिंह हो नि।” हेर्दै जाँदा त, त्यो सिंह नजिकै आयो, साथीले जस्तै गरी तिनीहरूलाई अङ्गालो हाल्यो, र तिनीहरूले पनि बदलामा त्यसलाई अङ्गालो हाले र सुमसुम्याए। त्यसपछि सिंहले तिनीहरूलाई आफ्नो परिवारका सदस्यहरू भेटायो, र जब तिनीहरू जाने बेला आयो, त्यसले तिनीहरूलाई बिदा गर्न हिचकिचायो। जनावरहरूमध्ये सबैभन्दा भयङ्कर जङ्गली, मांसाहारी जनावरले मानवहरूसँग अन्तरक्रिया गर्दा यस्तो दृश्य देख्न सकिन्छ। के यसले मन छुँदैन र? (छुन्छ।) मानिसहरूले भयङ्कर जनावरहरूमा पनि तिनको मैत्रीपूर्ण पक्ष देख्न सक्छन्, तर ख्रीष्टविरोधीमा यो कुरा हुँदैन। ख्रीष्टविरोधीहरूसँग शैतानको स्वभाव हुने र तिनीहरू शैतानी स्वभाव सार भएका मानिस भएकाले, फलस्वरूप तिनीहरूले परमेश्वरलाई आलोचना गर्न, निन्दा गर्न, र उहाँविरुद्ध ईश्वरनिन्दा गर्न सक्छन्। त्यस्ता मनोवृत्तिले सोहीअनुसारका प्रकटीकरण र विशेष गरी तौरतरिकाहरूमा पुऱ्याउँछन्। के ख्रीष्टविरोधीहरू जनावरभन्दा खराब हुँदैनन् र? मानिसहरू आफूले आराधना गर्नेहरू र आफ्ना सबैभन्दा नजिकका आफन्त र आमाबुबालाई सम्मान र प्रेमिलो हेरचाह देखाउन जान्दछन्, र तिनीहरूका कुन कार्यले उनीहरूलाई चोट र हानि पुऱ्याउन सक्छ भनेर जान्दछन्। तिनीहरू यी कुरा मूल्याङ्कन गर्न सक्छन्। तर, ख्रीष्टविरोधीहरू परमेश्वरप्रति त्यस्ता व्यवहार प्रदर्शन गर्न सक्षम हुन्छन्, जुन साँच्चिकै रिस उठ्दो कुरा हो। यसले त्यस्ता व्यक्तिहरूको अन्तर्निहित प्रकृति ख्रीष्टविरोधीहरूको सार हो भन्ने सङ्केत गर्छ। ठ्याक्कै भन्नुपर्दा, यी व्यक्तिहरू शैतानको मूर्तरूप हुन्, तिनीहरू जिउँदा शैतान हुन्, तिनीहरू दियाबलस हुन्—तिनीहरू परमेश्वरका भेडा होइनन्। के परमेश्वरका भेडाले उहाँलाई सराप्नेथिए? के परमेश्वरका भेडाले उहाँलाई निन्दा गर्नेथिए? (गर्नेथिएनन्।) किन गर्नेथिएनन्? (किनकि तिनीहरू परमेश्वरलाई सुन्छन् र उहाँमा समर्पित हुन्छन्।) तिनीहरू सुन्छन् र समर्पित हुन्छन्—त्यो एउटा पक्ष हो। मुख्य कुरा परमेश्वरमाथिको तिनीहरूको साँचो विश्वास हो। यदि तँ साँच्चै परमेश्वरको पहिचान, हैसियत, र सारमा विश्वास गर्छस् भने, परमेश्वरले चाहे जे गर्नुभए पनि वा उहाँले त्यो चाहे जसरी गर्नुभए पनि, त्यसले हानि नै पुऱ्याए पनि, तैँले उहाँलाई निन्दा गर्नेछैनस्। केवल साँचो रूपमा परमेश्वरमा विश्वास गर्ने, उहाँप्रति साँचो विश्वास राख्नेहरूले, आफूलाई सृजित प्राणीका स्थानमा राख्छन्, र परमेश्वरलाई सधैँ परमेश्वरझैँ व्यवहार गर्छन्। यो एक तथ्य हो।
हामीले ख्रीष्टविरोधीहरूले परमेश्वरलाई सरापेको, विरोध गरेको र उहाँविरुद्ध रडाको मच्चाएको बारे सङ्गति गरिसकेका छौँ। कतिपयले उहाँलाई खुल्लमखुल्ला विरोध गर्ने, गुटहरू स्थापित गर्ने, गठबन्धन निर्माण गर्ने, र स्वतन्त्र राज्यहरू सिर्जना गर्ने गर्छन्। अरूले बन्द ढोकापछाडि गोप्य रूपमा उहाँलाई सराप्छन्, कतिले हृदयमा उहाँलाई सराप्छन्, र हृदयमा उहाँलाई विरोध गर्छन् र उहाँविरुद्ध रडाको मच्चाउँछन्। तिनीहरूले उहाँलाई चाहे खुल्लमखुल्ला वा गोप्य रूपमा सरापे पनि, तिनीहरू सबै ख्रीष्टविरोधी हुन्; तिनीहरू परमेश्वरका भेडा होइनन्। तिनीहरू शैतानजस्तै नै हुन्, र तिनीहरू निस्सन्देह साधारण मानिस वा मानकअनुरूपका सृजित प्राणी होइनन्। धेरैजसो मानिसहरूले आफ्नै धारणासँग नमिल्ने परिस्थिति वा परमेश्वरको न्याय र सजाय सामना गर्दा, तिनीहरू केवल उदास, अलमल, र स्विकार्न असमर्थ रहेको अनुभूति गर्छन्। तिनीहरू गुनासो पोख्छन्, वा हठीपन प्रदर्शन गर्छन्; तिनीहरू नकारात्मक बन्न वा सुस्ताउन समेत सक्छन्, तर तिनीहरू विरोध गर्ने र रडाको मच्चाउने बिन्दु सम्म पुग्दैनन्। समय बित्दै जाँदा तिनीहरू प्रार्थना, परमेश्वरका वचनहरूको पठन, दाजुभाइ-दिदीबहिनीहरूको सहयोग, र पवित्र आत्माको अन्तर्दृष्टि, मार्गदर्शन, र ताडनामार्फत बिस्तारै बदलिन सक्छन्। कामकुरा आइपर्दा साधारण भ्रष्ट मानवहरूको प्रकटीकरण यही हुन्छ। अर्कोतिर, ख्रीष्टविरोधीहरूमा यी सकारात्मक प्रकटीकरणहरू हुँदैनन्, र तिनीहरूले आफ्नो बाटो बदल्नेछैनन्। यदि कुनै परिस्थिति तिनीहरूका चाहनासँग मिलेन भने, तिनीहरू सराप्छन्। यदि आगामी परिस्थिति पनि तिनीहरूका चाहनासँग मिलेन भने, तिनीहरू फेरि सराप्छन्। सराप्नु विरोध गर्नु र रडाको मच्चाउनुसँगसँगै चल्छ। कतिपय ख्रीष्टविरोधीहरूले त यसो समेत भन्छन्, “यदि मजस्तो मान्छेले मुक्ति पाउन सक्दैन भने, कसले चाहिँ सक्छ त?” के यो रडाको मच्चाउनु होइन र? के यो विरोध होइन र? (हजुर, हो।) यो विरोध हो। तिनीहरूमा समर्पणको कुनै निशान नै हुँदैन, र तिनीहरू परमेश्वरविरुद्ध रडाको मच्चाउने र उहाँलाई विरोध गर्ने आँट गर्छन्—यिनीहरू शैतान हुन्। दुष्ट स्वभावका विभिन्न प्रकटीकरणबारेको हाम्रो सङ्गतिलाई यहीँ टुङ्ग्याऔँ।
ख. सत्यताप्रति वितृष्ण हुनु
यसपछि, हामी ख्रीष्टविरोधीहरूको स्वभाव सारको दोस्रो विषयवस्तु—सत्यताप्रति वितृष्ण हुनेबारे सङ्गति गर्नेछौँ। हामीले सत्यताप्रति वितृष्ण हुने यस विषयबारेका धेरै विवरणमा यसभन्दा पहिले सङ्गति गरिसकेका छौँ, तर यहाँ हामी मुख्यतः ख्रीष्टविरोधीहरूको सत्यताप्रति वितृष्ण हुने स्वभाव सारको विश्लेषण गरेर तिनीहरूलाई चित्रण गर्नेछौँ। ख्रीष्टविरोधीहरूले सत्यतालाई कसरी लिन्छन् भन्ने कुराको प्रमुख स्वभावगत विशेषता भनेको अरुचि हुनु मात्र नभई वितृष्ण हुनु हो। अरुचि भनेको शत्रुता, निन्दा, वा विरोधको स्तरसम्म नपुगिसकेको सत्यताप्रतिको तुलनात्मक रूपमा नरम मनोवृत्ति मात्र हो। यो त केवल सत्यताप्रति रुचि नहुनु, त्यसलाई ध्यान दिन नचाहनु, र यसो भन्नु हो, “कस्ता सकारात्मक कुरा, कस्तो सत्यता? यदि मैले यी कुरा पाएँ भने पनि, के हुन्छ? के तिनले मेरो जीवन सुधार्नेछन् वा मेरा क्षमता बढाउनेछन्?” तिनीहरूलाई यी कुराहरूमा अरुचि हुन्छ, त्यसैले तिनीहरू तिनलाई वास्ता गर्दैनन्, तर यो वितृष्णाको स्तरसम्म पुग्दैन। वितृष्णाले निश्चित मनोवृत्तिलाई सङ्केत गर्छ। कस्तो प्रकारको मनोवृत्ति? कुनै पनि सकारात्मक कुरा र सत्यतासँग सम्बन्धित कुनै पनि कुरा सुन्नेबित्तिकै तिनीहरूले घृणा, विकर्षण, प्रतिरोध, र सुन्ने अनिच्छा महसुस गर्छन्। तिनीहरूले सत्यतालाई निन्दा र बदनाम गर्न प्रमाण खोज्ने प्रयास समेत गर्न सक्छन्। तिनीहरूको सत्यताप्रति वितृष्ण हुने स्वभाव सार यही नै हो।
अन्य मानिसहरूजस्तै, ख्रीष्टविरोधीहरूले पनि परमेश्वरका वचन पढ्न, परमेश्वरले भन्नुहुने कुरा सुन्न, र परमेश्वरको काम अनुभव गर्न सक्छन्। बाहिरबाट हेर्दा, तिनीहरूले परमेश्वरका वचनहरूको शाब्दिक अर्थ बुझ्न, परमेश्वरले भन्नुभएको कुरा थाहा पाउन, र यी वचनहरूले मानिसहरूलाई सही मार्ग लिन र असल मानिस बन्न सक्षम बनाउँछन् भनेर पनि जान्न सक्छन् जस्तो देखिन्छ। तर तिनीहरूका लागि यी कुरा सैद्धान्तिक मात्र रहन्छन्। ती सैद्धान्तिक मात्र रहन्छन् भन्नुको अर्थ के हो? यो कतिपय मानिसले कुनै किताबमा भएको निश्चित प्रतिपादित सिद्धान्त राम्रो छ भनेर विश्वास गर्नु, तर त्यसलाई वास्तविक जीवनसँग तुलना गर्दा, र दुष्ट प्रचलन, मानव भ्रष्टता, र समस्त मानवजातिका विभिन्न आवश्यकताहरूबारे सोच्दा, त्यो प्रतिपादित सिद्धान्त अव्यावहारिक र वास्तविक जीवनसँग नजोडिएको पाउनु, अनि यसले मानिसहरूलाई यी दुष्ट प्रचलन र यस दुष्ट समाजसँग घुलमिल हुन र तिनलाई पछ्याउन मद्दत गर्न सक्दैन भनेर बुझ्नुजस्तै हो। त्यसैले, तिनीहरूले यो प्रतिपादित सिद्धान्त राम्रो छ, तर यो सुन्दर चीजहरूप्रति मानवजातिका कामना र स्वैरकल्पना पूरा गर्न बोलिनुपर्ने कुरा मात्र हो भन्ने महसुस गर्छन्। उदाहरणका लागि, यदि कसैलाई हैसियत मन पर्छ, र ऊ एक अधिकारी बन्ने, मानिसहरूमाझ उच्च पारिने र आराधना गरिने कामना गर्छ भने, ऊ यो लक्ष्य हासिल गर्नका लागि झूट बोल्ने, आफूलाई प्रदर्शन गर्ने, र अरूलाई दमन गर्ने, इत्यादि जस्ता असामान्य विधिहरूमा भर पर्नै पर्छ। तर, सत्यताले निन्दा गर्ने कुराहरू ठ्याक्कै यिनै हुन्। त्यसले मानिसहरूका यी चाहना र महत्त्वाकाङ्क्षाहरूलाई निन्दा र इन्कार गर्छ। वास्तविक जीवनमा, मानिसहरू आफूलाई विशिष्ट देखाउनु उचित कार्य हो भन्ने सोच्छन्, तर त्यस्ता मागहरू परमेश्वर र सत्यताद्वारा निन्दित हुन्छन्। त्यसकारण, परमेश्वरका घरमा यी मागहरू स्विकारिँदैनन्, तिनलाई कार्यान्वयन गर्ने कुनै स्थान हुँदैन, र तिनलाई साकार पार्नका लागि कुनै ठाउँ हुँदैन। तर के ख्रीष्टविरोधीहरूले ती कुराहरू त्याग्नेछन्? (तिनीहरूले त्याग्नेछैनन्।) हो, तिनीहरूले ती कुरा त्याग्नेछैनन्। ख्रीष्टविरोधीहरूले यो देख्नेबित्तिकै यस्तो सोच्छन्, “अब मैले बुझेँ। त्यसोभए, सत्यताले मानिसहरू निःस्वार्थ होऊन्, आफ्नो बलिदान दिऊन्, सहनशील र उदार होऊन्, आफ्नो अहम्लाई फालेर अरूका लागि जिऊन् भन्ने माग गर्छ। यो नै सत्यता हो।” सत्यतालाई यसरी परिभाषित गरिसकेपछि, तिनीहरू सत्यतामा रुचि राख्छन्, कि त्यसबाट विकर्षित हुन्छन्? तिनीहरू त्यसबाट र परमेश्वरबाट विकर्षित हुन्छन्, र यसो भन्छन्, “परमेश्वर सधैँ सत्यता बोल्नुहुन्छ, उहाँ सधैँ मानव चाहना र महत्त्वाकाङ्क्षाजस्ता अशुद्ध कुराहरूको खुलासा गर्नुहुन्छ, र उहाँ सधैँ मानव प्राणको गहनतम स्थानमा रहेका कुराको खुलासा गर्नुहुन्छ। परमेश्वरले मानिसहरूलाई तिनीहरूको हैसियत, चाहना, र महत्त्वाकाङ्क्षाको पछ्याइबाट वञ्चित गर्ने उद्देश्यले सत्यताबारे सङ्गति गर्नुभएको जस्तो देखिन्छ। सुरुमा, म परमेश्वरले मानिसहरूका चाहना, कामना र सपनाहरू पूरा गर्न, र मानिसहरूलाई तिनीहरूले चाहेका कुरा दिन सक्नुहुन्छ भन्ने सोच्थेँ। मैले परमेश्वर यस्तो खालको परमेश्वर हुनुहोला भनेर अपेक्षा नै गरेको थिइनँ। उहाँ त्यति महान् त देखिनुहुन्न। म महत्त्वाकाङ्क्षा र चाहनाहरूले भरिएको छु: के परमेश्वरले मजस्तो व्यक्तिलाई मन पराउन सक्नुहुन्छ? परमेश्वरले सधैँ भन्दै आउनुभएका कुरालाई मूल्याङ्कन गर्दा, र उहाँका वचनहरूको भित्री अर्थ बुझ्दा, परमेश्वरले मजस्ता मानिसलाई मन पराउनुहुन्न, र मजस्तो व्यक्तिसँग मिलेर बस्न सक्नुहुन्न जस्तो देखिन्छ। म यस्तो खालको व्यावहारिक परमेश्वरसँग मिलेर बस्न सक्दिनँ जस्तो देखिन्छ। उहाँले बोल्नुहुने वचनहरू, उहाँले गर्नुहुने काम, उहाँका कार्यका सिद्धान्तहरू, र उहाँको स्वभाव—मलाई किन ती यति अप्रिय लाग्छ? परमेश्वरले मानिसहरूलाई इमानदार हुन, विवेक राख्न, तिनीहरूमाथि कामकुरा आइपर्दा खोजी गर्न, पालन गर्न, र परमेश्वरको डर मान्न, अनि आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू त्याग्न भन्नुहुन्छ—यी मैले गर्न नसक्ने कुरा हुन्! परमेश्वरको माग मानव धारणाहरूसँग नमिल्ने मात्र नभई, मानव भावनाप्रति असंवेदनशील पनि हुन्छ। म कसरी उहाँमा विश्वास गर्न सक्छु?” आफ्नो मनमा यसरी कुरा खेलाएपछि, के तिनीहरू परमेश्वरप्रति असल भावना विकास गर्छन् कि तिनीहरू उहाँबाट टाढिन्छन्? (तिनीहरू टाढिन्छन्।) एक अवधिको अनुभवपछि, ख्रीष्टविरोधीहरूले महत्त्वाकाङ्क्षा र चाहनाहरू भएका, र आकाङ्क्षाले भरिएका तिनीहरूजस्ता मानिसलाई परमेश्वरका घरमा स्वागत गरिनेछैन, यहाँ तिनीहरूका लागि आफ्ना सीपहरू प्रयोग गर्ने कुनै ठाउँ छैन, र तिनीहरूले यहाँ आफ्ना आकाङ्क्षाहरूलाई स्वतन्त्र रूपमा व्यवहारमा उतार्न सक्दैनन् भनेर झन्-झन् महसुस गर्दै जान्छन्। तिनीहरू यस्तो सोच्छन्, “मैले परमेश्वरका घरमा आफ्नो असाधारण प्रतिभा उजागर गर्न सक्दिनँ। मैले अब्बल हुने मौका कहिल्यै पाउनेछैन। तिनीहरू मसँग आत्मिक बुझाइ छैन, म सत्यता बुझ्दिनँ, र ममा ख्रीष्टविरोधीको स्वभाव छ भनेर भन्छन्। मलाई बढुवा नगरिएको वा महत्त्वपूर्ण पदमा नराखिएको मात्र नभई, निन्दा पनि गरिएको छ। मेरो आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नुमा के गलत छ र? मैले अरूलाई यातना दिनुमा के गलत छ र? मसँग शक्ति भएकाले, मैले यस्तै व्यवहार गर्नुपर्छ! शक्ति भएको भए कसले यस्तो व्यवहार गर्नेथिएन र? त्यसैले चुनावका बेला म केही छलछाम र छक्कापन्जामा संलग्न भएँ भने, त्यसमा के गलत छ र? के सबै गैरविश्वासीहरूले त्यही गर्दैनन् र? परमेश्वरका घरमा किन त्यसो गर्न दिइँदैन? तिनीहरू त यो निर्लज्ज कुरा हो समेत भन्छन्। यसलाई कसरी निर्लज्ज कुरा मान्न सकिन्छ? मानिस उभोतिर जान खोज्छ, तर खोला तलतिर बग्छ। यो उचित कुरो हो! परमेश्वरको घर रमाइलो छैन। तर यस संसारमा मानिसहरू निकै क्रूर छन्, र तिनीहरूसँग मिलजुल गर्न सजिलो छैन। तुलना गर्दा, परमेश्वरका घरमा भएका मानिसहरू अलिक राम्रो व्यवहार गर्ने हुन्छन्। कुनै परमेश्वर नभएको भए, यतातिर हल्लिएर बस्न निकै मज्जा आउनेथियो; यदि मानिसहरूलाई शासन गर्ने परमेश्वर र सत्यता नभएका भए, परमेश्वरका घरमा म नै हाकिम, मालिक, र राजा हुनेथिएँ।” परमेश्वरका घरमा आफ्नो कर्तव्य निर्वाह गर्दै गर्दा, तिनीहरूले निरन्तर विभिन्न कुराहरू अनुभव गर्छन्, तिनीहरू लगातार काटछाँटमा पर्छन्, र तिनीहरू विविध फरक-फरक कर्तव्यमा लाग्छन्, अनि अन्ततः केही कुरा थाहा पाउँछन्, र यसो भन्छन्, “परमेश्वरका घरमा घट्ने कुनै पनि घटनालाई सत्यता प्रयोग गरेर मापन र समाधान गरिन्छ। सत्यतालाई जहिल्यै जोड दिइन्छ, र परमेश्वरले सधैँ त्यसबारे कुरा गरिरहनुभएको हुन्छ। म यहाँ आफ्ना आकाङ्क्षा स्वतन्त्र रूपमा व्यक्त गर्न सक्दिनँ!” आफ्ना अनुभवहरूमा यो बिन्दुमा पुगिसकेपछि, तिनीहरू सत्यता, सत्यताको शासन, परमेश्वरले गर्नुहुने सबथोक सत्यता हुने तथ्य, र सत्यताको खोजीप्रति झन्-झन् वितृष्ण बन्दै जान्छन्। तिनीहरू कुन हदसम्म यी कुराहरूप्रति वितृष्णा महसुस गर्छन्? तिनीहरू आफैले सुरुमा स्विकारेका सत्यताका धर्मसिद्धान्तहरूसमेत स्विकार्न वा मान्न चाहँदैनन्, र तिनीहरू आफ्नो हृदयमा चरम विकर्षण महसुस गर्छन्। त्यसकारण, भेला हुने समय आउनेबित्तिकै, तिनीहरूलाई निद्रा लाग्छ र बेचैनी हुन्छ। तिनीहरू किन बेचैन हुन्छन्? तिनीहरू सोच्छन्, “यी भेलाहरू एकै पटक तीन-चार घण्टासम्म चल्छन्—यो कहिले सकिन्छ? म अब सुन्न चाहन्नँ!” तिनीहरूको मुडलाई वर्णन गर्न सक्ने एउटा वाक्यांश छ, जुन “काँटी र सियोमाथि बस्नु” हो। तिनीहरूले जबसम्म परमेश्वरका घरमा सत्यताले शासन गर्छ, तबसम्म तिनीहरूले अब्बल हुने मौका कहिल्यै पाउनेछैनन्, बरु तिनीहरूलाई सबैले रोक्नेछन्, निन्दा र अस्वीकार गर्नेछन्, अनि तिनीहरू जतिसुकै सक्षम भए पनि, तिनीहरूलाई महत्त्वपूर्ण भूमिका दिइनेछैन भनेर बुझ्छन्। फलस्वरूप, सत्यता र परमेश्वरप्रतिको तिनीहरूको घृणा झनै तीव्र हुन्छ। कसैले यस्तो सोध्न सक्छ, “तिनीहरूले किन सुरुदेखि नै घृणा महसुस गरेनन्?” तिनीहरूले वास्तवमै सुरुदेखि नै घृणा महसुस गरेका थिए, तर त्यतिबेला परमेश्वरको घरका सबैथोक तिनीहरूका लागि अपरिचित थिए। तिनीहरूसँग त्यसको कुनै अवधारणा थिएन, तर त्यसको मतलब यो होइन कि तिनीहरूले घृणा वा वितृष्णा महसुस गरेनन्। वास्तवमा, तिनीहरूले आफ्नो प्रकृति सारभित्रै सत्यताप्रति वितृष्णा महसुस गर्थे, यति मात्र हो कि तिनीहरू आफैले यो कुरा बुझेका थिएनन्। यी मानिसहरूको प्रकृति सार निस्सन्देह रूपमै सत्यताप्रति वितृष्ण हुन्छ। म किन यसो भन्छु? तिनीहरू अन्तर्निहित रूपमै अन्याय, दुष्टता, शक्ति, दुष्ट प्रचलनहरू, प्रभारी हुन, मानिसहरूलाई नियन्त्रण गर्न, र यस्ता सबै नकारात्मक कुराहरू मन पराउँछन्। तिनीहरूले प्रेम गर्ने यी कुराहरूका आधारमा हेर्दा, ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्णा महसुस गर्छन् भन्ने कुरामा कुनै शङ्का छैन। अझ, तिनीहरू केका लागि लागिपर्छन् भन्ने सन्दर्भमा भन्नुपर्दा, तिनीहरू हैसियत पाउन, आफूलाई विशिष्ट देखाउन, आफ्नो टाउकोमाथि प्रभामण्डल राख्न, मानिसहरूमाझ अगुवा बन्न, रोबदार र शक्तिशाली बन्न, आफूले जहाँसुकै बोल्दा र कार्य गर्दा प्रतिष्ठा र बल पाउन, साथै मानिसहरूलाई नियन्त्रण गर्ने क्षमता पाउन लागिपर्छन्—तिनीहरू यी कुराहरूका लागि लागिपर्छन्। यो पनि सत्यताप्रति वितृष्णा महसुस गर्नुको एउटा प्रकटीकरण हो। सत्यताप्रतिको तिनीहरूको मनोवृत्तिका आधारमा अझ हेर्दा, यी व्यक्तिहरूले जतिसुकै सत्यता सुने पनि, त्यो कुनै कामको हुनेछैन। कतिपयले सोध्न सक्छन्, “के तिनीहरूको खराब स्मरणशक्तिका कारण यस्तो भएको हो?” अहँ, होइन। कतिपय ख्रीष्टविरोधीहरूसँग उत्कृष्ट स्मरणशक्ति हुन्छ, तिनीहरू निकै वाक्पटु हुन्छन्, र तिनीहरू आफूले सिकेका कुरालाई तुरुन्तै लागु र देखावट गर्न सक्छन्। फलस्वरूप, खुट्ट्याउन नसक्ने मानिसहरूले यी व्यक्तिहरूमा राम्रो क्षमता छ र पवित्र आत्माले तिनीहरूमा काम गरिरहनुभएको छ भन्ने सोच्छन्। तर, खुट्ट्याउन सक्ने मानिसहरूले तिनीहरूले बोल्ने कुरा सब धर्मसिद्धान्त र खोक्रा शब्द हुन्, तिनमा कुनै सत्यता वास्तविकता छैन, र तिनको उद्देश्य मानिसहरूलाई बहकाउनु हो भनेर एकैपटकमा चिन्न सक्छन्। ख्रीष्टविरोधीहरू यस्तै मानिस हुन्: तिनीहरू विशेष गरी उच्च प्रवचनहरू प्रचार गर्न, आत्मिक सिद्धान्तवादहरूबारे खोक्रो तरिकाले छलफल गर्न, र शब्दहरूको खोलो बगाउन मन पराउँछन्, जुन एकचोटी सुरु भइसकेपछि विषयबाहिर जान्छ र गनगन हुन्छ। धेरै मानिसहरूले ती बुझ्न सक्दैनन्, अनि ख्रीष्टविरोधीहरूले यसो भन्छन्, “यो त तेस्रो स्वर्गको भाषा हो; तिमीहरूले कसरी बुझ्न सक्थ्यौ र?” ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुनुको मुख्य प्रकटीकरण तिनीहरूको त्यसप्रतिको मनोवृत्तिमा देखिन्छ, अनि, निश्चित रूपमा, यो तिनीहरूको आम दैनिक जीवन र क्रियाकलापमा, विशेष गरी तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्ने तरिकामा प्रकट हुन्छ। तिनीहरूले कैयौँ प्रकटीकरणहरू प्रदर्शन गर्छन्। पहिलो कुरा, तिनीहरू आफूले सत्यताको खोजी गर्नुपर्छ भन्ने कुरा स्पष्ट रूपमा थाहा हुँदा हुँदै पनि कहिल्यै त्यसो गर्दैनन्। दोस्रो कुरा, तिनीहरू कहिल्यै सत्यता अभ्यास गर्दैनन्। तिनीहरूले सत्यताको खोजी नै नगर्ने भएपछि कसरी त्यसलाई अभ्यास गर्न सक्छन् त? खोजी गरेर मात्रै बुझाइ पाउन सकिन्छ, र बुझाइले मात्रै अभ्यासतर्फ डोऱ्याउन सक्छ; तिनीहरूले खोजी गर्दैनन्, र सत्यता सिद्धान्तहरूलाई हृदयमा बिलकुलै लिँदैनन्। यहाँसम्म कि तिनीहरू तिनलाई तिरस्कार गर्छन्, तीप्रति वितृष्णा महसुस गर्छन्, र तिनलाई शत्रुताको नजरले हेर्छन्। फलस्वरूप, तिनीहरूले सत्यताको अभ्यासलाई छुँदा पनि छुँदैनन्, र बेलाबेलामा सत्यता बुझे पनि, त्यसलाई अभ्यास गर्दैनन्। उदाहरणका लागि, तिनीहरूमाथि केही आइपर्दा, र अरूले कुनै राम्रो उपाय सुझाउँदा, तिनीहरूले यसरी प्रतिवाद गर्न सक्छन्, “त्यसमा के राम्रो छ? यदि मैले त्यसो गरेँ भने, मेरा आफ्नै विचारहरू खेर जानेछैनन् र?” कतिपयले यसो भन्न सक्छन्, “हामीले तिम्रो तरिकाले कामकुरा गऱ्यौँ भने परमेश्वरको घरलाई नोक्सानी हुनेछ; हामीले सिद्धान्तहरूअनुसार कार्य गर्नैपर्छ।” तिनीहरूले यस्तो जवाफ फर्काउँछन्, “के सिद्धान्त! मेरो तरिका नै सिद्धान्त हो; म जे सोच्छु, त्यही नै सिद्धान्त हो!” के यो सत्यता अभ्यास नगर्नु होइन र? (हो।) तिनीहरूको अर्को प्रमुख प्रकटीकरण के हो भने, तिनीहरू कहिल्यै परमेश्वरका वचनहरू पढ्ने वा आत्मिक भक्तिमा संलग्न हुने गर्दैनन्। काममा व्यस्त भएर परमेश्वरका वचनहरू पढ्ने समय नपाउँदा, कतिपय मानिसहरू चुपचाप चिन्तन गर्छन् वा केही भजन गाउँछन्, र परमेश्वरका वचन नपढी धेरै दिन बिताए भने खोक्रोपनको भाव महसुस गर्छन्। व्यस्तताका बीचमा, तिनीहरूले एउटा खण्ड पढ्ने र आफूलाई पुनः भरणपोषण गर्ने समय निकाल्छन्, परमेश्वरको उपस्थिति महसुस गर्न नसकुञ्जेल मनन गरिरहन्छन्, अनि तिनीहरूको हृदय स्थिर बन्छ। त्यस्ता मानिसहरू परमेश्वरबाट त्यति धेरै टाढा हुँदैनन्। अर्कोतिर, ख्रीष्टविरोधीहरूले कुनै दिन परमेश्वरका वचनहरू नपढी बिताए भने, तिनीहरूलाई व्यथा हुँदैन। तिनीहरूले १० दिनसम्मै परमेश्वरका वचनहरू नपढे पनि केही महसुस गर्दैनन्। तिनीहरू एक वर्षसम्मै परमेश्वरका वचनहरू नपढी पनि राम्रैसँग जिउन सक्छन्, र तिनीहरू तीन वर्षसम्म पनि परमेश्वरका वचनहरू नपढी बस्न सक्छन्, र तिनीहरूलाई केही महसुस हुँदैन—तिनीहरूले हृदयमा डर वा खोक्रो महसुस गर्दैनन्, र तिनीहरू आरामदायी जीवन जिइरहन्छन्। तिनीहरूलाई परमेश्वरका वचनहरूप्रति घोर वितृष्णा महसुस हुनुपर्छ! कुनै व्यक्तिले व्यस्तताका कारण एक दिन वा सायद दस दिनसम्म परमेश्वरका वचनहरू नपढी जिउन सक्छ। तर, यदि कसैले परमेश्वरका वचनहरू नपढी पूरै महिना बिताएर पनि केही महसुस गर्दैन भने, त्यहाँ समस्या छ। परमेश्वरका वचनहरू नपढी कुनै व्यक्तिको एक वर्ष बित्यो भने, उसमा परमेश्वरका वचनहरूप्रति तिर्सना नहुने मात्र होइन—उसमा सत्यताप्रति वितृष्णा हुन्छ।
ख्रीष्टविरोधीहरूले सत्यताप्रति वितृष्ण महसुस गर्नुको अर्को प्रकटीकरण भनेको तिनीहरूले ख्रीष्टलाई गर्ने अवहेलना हो। हामीले यसअघि पनि तिनीहरूले ख्रीष्टलाई गर्ने अवहेलनाबारे सङ्गति गरेका छौँ। त्यसोभए, ख्रीष्टले तिनीहरूलाई त्यस्तो के गर्नुभएको छ, जसका कारण तिनीहरू उहाँलाई अवहेलना गर्छन्? के उहाँले तिनीहरूलाई हानि वा चोट पुऱ्याउनुभयो, वा तिनीहरूको कामना विपरीत केही गर्नुभयो? के उहाँले तिनीहरूका कुनै पनि हितलाई हानि गर्नुभयो? अहँ। ख्रीष्टले तिनीहरूविरुद्ध कुनै पनि व्यक्तिगत तुस राख्नुहुन्न, र तिनीहरूले त उहाँलाई भेटेका समेत छैनन्। त्यसोभए, तिनीहरूले कसरी उहाँलाई अवहेलना गर्न सक्छन्? यसको मूल जड सत्यताप्रति वितृष्ण महसुस गर्ने ख्रीष्टविरोधीहरूको सारमा छ। ख्रीष्टविरोधीहरूले सत्यताप्रति वितृष्ण महसुस गर्नुको अर्को प्रकटीकरण भनेको सारा सकारात्मक कुराहरूको वास्तविकताप्रतिको तिनीहरूको अवहेलना हो। सारा सकारात्मक कुराहरूको वास्तविकताले धेरै प्रकारका कुराहरू समावेश गर्छ जस्तै परमेश्वरले सृष्टि गर्नुभएका यावत् थोक र तिनका व्यवस्थाहरू, विविध जीवित प्राणीहरू र तिनको जीवनलाई शासन गर्ने व्यवस्थाहरू, र मुख्यतः मानव भनिने यी जीवित प्राणीका जीवनलाई शासन गर्ने विभिन्न व्यवस्थाहरू। उदाहरणका लागि, मानव जीवनको सबैभन्दा नजिक रहेका जन्म, उमेर, बिमारी, र मृत्युका मामिलाहरू—बुढो हुँदै गएपछि सामान्य मानिसहरूका खुट्टा कमजोर बन्छन्, तिनीहरूको स्वास्थ्य खस्किन्छ, आँखा धमिलो हुन्छन्, तिनीहरूको श्रवनशक्ति कम हुन्छ, तिनीहरूका दाँत खुकुला हुन्छन्, र तिनीहरूले सोच्छन् कि तिनीहरूले बुढ्यौलीसँग सम्झौता गर्नुपर्छ। परमेश्वर यो सबथोकमाथि सार्वभौम हुनुहुन्छ, र यो प्राकृतिक व्यवस्थाविरुद्ध कोही पनि जान सक्दैन—साधारण मानिसहरूले यी सब कुराहरू मान्न र स्विकार्न सक्छन्। तर, कुनै व्यक्ति जतिसुकै लामो समय जिए पनि, वा उसको शारीरिक स्वास्थ्य स्थिति जस्तोसुकै भए पनि, केही निश्चित कुराहरू बदलिँदैनन्, जस्तै, उसले आफ्नो कर्तव्य पूरा गर्दा अपनाउनुपर्ने तरिका, उसले लिनुपर्ने स्थान, र उसले आफ्नो कर्तव्य पूरा गर्दा अपनाउनुपर्ने मनोवृत्ति। अर्कोतिर, ख्रीष्टविरोधीहरू झुक्न तयार हुँदैनन्। तिनीहरू भन्छन्, “म को हुँ? म बुढो हुन सक्दिनँ। म हरसमय साधारण मानिसहरूभन्दा फरक हुनुपर्छ। के तिमी मलाई बुढो देख्छौ? त्यस्ता केही कुराहरू छन् जुन तिमीहरूले यो उमेरमा गर्न सक्दैनौ, तर म गर्न सक्छु। पचास कटेपछि तिमीहरूका खुट्टा कमजोर हुन सक्छन्, तर मेरा खुट्टाचाहिँ फुर्तिला नै रहन्छन्। म एउटा छतबाट अर्को छतमा हाम फाल्ने अभ्यास पनि गर्छु!” तिनीहरू सधैँ परमेश्वरले तोक्नुभएका यी सामान्य व्यवस्थाहरूलाई चुनौती दिन चाहन्छन्, तिनीहरू लगातार तिनलाई तोड्ने र अरूलाई आफू साधारण मानिसहरूभन्दा फरक, असाधारण, र श्रेष्ठ भएको देखाउने प्रयास गरिरहेका हुन्छन्। तिनीहरू किन यसो गर्छन्? तिनीहरू परमेश्वरका वचनहरूलाई चुनौती दिन र उहाँका वचनहरू सत्यता हुन् भन्ने कुरालाई इन्कार गर्न चाहन्छन्। के यो सत्यताप्रति वितृष्णा महसुस गर्ने ख्रीष्टविरोधीहरूको सारको प्रकटीकरण होइन र? (हो।) अर्को पक्ष पनि छ, त्यो के हो भने, ख्रीष्टविरोधीहरू दुष्ट प्रचलन र काला शक्तिहरूलाई आदर गर्छन्; यसले तिनीहरू सत्यताका शत्रु हुन् भन्ने कुरालाई थप पुष्टि गर्छ। ख्रीष्टविरोधीहरू शैतानको शासन, साथै दन्त्यकथामा भनिएका दुष्टात्माहरूका विभिन्न क्षमता, सीप, र कार्यहरूका साथसाथै दुष्ट प्रचलन र काला शक्तिहरूलाई गहिरो रूपमा प्रशंसा र आदर गर्छन्। यी कुराहरूमाथि तिनीहरूको विश्वास अटल हुन्छ, र तिनीहरू तिनलाई कहिल्यै शङ्का गर्दैनन्। तिनीहरूको हृदय वितृष्ण नहुने मात्र होइन, त्यो त ती कुराप्रतिको सम्मान, आदर, र ईर्ष्याले भरिएको हुन्छ। हृदयको गहिराइमा समेत, तिनीहरू यी कुराहरूलाई नजिकबाट पछ्याउँछन्। ख्रीष्टविरोधीहरूको हृदयको गहिराइमा यी दुष्ट र काला कुराप्रति यस प्रकारको मनोवृत्ति हुन्छ—के यसको अर्थ तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् भन्ने होइन र? बिलकुलै हो! यी दुष्ट र काला कुरालाई प्रेम गर्ने कुनै पनि व्यक्तिले कसरी सत्यतालाई प्रेम गर्न सक्छ र? यिनीहरू दुष्ट शक्ति र शैतानको गिरोहका मानिस हुन्। अवश्य नै, तिनीहरू शैतानका कुराहरूमा अटल भई विश्वास गर्छन्, जबकि तिनीहरूको हृदय सत्यता र सकारात्मक कुराहरूप्रतिको विकर्षण र तिरस्कारले भरिएको हुन्छ। हामी सत्यताप्रतिको वितृष्णाको विषयवस्तुको सारांश करिब करिब यहीँ टुङ्ग्याउनेछौँ।
ग. क्रूरता
ख्रीष्टविरोधीहरूको स्वभाव सारको अर्को भाग भनेको क्रूरता हो। ख्रीष्टविरोधीहरूलाई एउटा वाक्यांशमा संक्षेप गर्न सकिन्छ: ख्रीष्टविरोधीहरू दुष्ट मानिस हुन्। तिनीहरूसँग हैसियत हुँदा, तिनीहरू ख्रीष्टविरोधी हुन् भन्ने कुरा स्पष्ट हुन्छ। तिनीहरूसँग हैसियत नहुँदा, तिमीहरूले तिनीहरू ख्रीष्टविरोधी हुन् कि होइनन् भनेर कसरी मूल्याङ्कन गर्न सक्छौ? तिमीहरूले तिनीहरूको मानवता नै हेर्नुपर्छ। यदि तिनीहरूको मानवता दुर्भावनापूर्ण, कपटी, र विषालु छ भने, तिनीहरू शतप्रतिशत ख्रीष्टविरोधी हुन्। यदि कुनै व्यक्तिले कहिल्यै हैसियत पाएको छैन, र ऊ कहिल्यै अगुवा बनेको छैन, र उसको मानवता असल छैन भने, तिमीहरूले ऊ ख्रीष्टविरोधी हो कि होइन भनी कसरी निर्धारण गर्न सक्छौ? तिमीहरूले उसको मानवता विषालु छ कि छैन, र ऊ दुष्ट व्यक्ति हो कि होइन भनी हेर्नुपर्छ। यदि ऊ दुष्ट व्यक्ति हो भने, ऊसँग हैसियत छैन भने पनि, ऊ शतप्रतिशत ख्रीष्टविरोधी हो। त्यसकारण, ख्रीष्टविरोधीहरूको स्वभाव सारको अर्को प्रतिनिधिमूलक पक्ष भनेको क्रूरता हो। के ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव सिकार गर्ने सिंह वा बाघको क्रूरता समान हुन्छ? (हुँदैन।) मांसाहारी जनावरहरू भोकका कारण सिकार गर्छन्; यो शारीरिक आवश्यकता र नैसर्गिक प्रवृत्ति हो। तर ती भोका नहुँदा, तिनले सिकार गर्नेछैनन्। यो ख्रीष्टविरोधीहरूको क्रूरता भन्दा कसरी फरक छ? ख्रीष्टविरोधीहरूलाई उक्साइएन भने तिनीहरू उग्र नहुने, र उक्साइयो भने मात्र उग्र हुने हुन् र? कि तैँले तिनीहरूको कुरा सुनिनस् भने तिनीहरूले तँलाई नियन्त्रण नगर्ने, तर सुनिस् भने चाहिँ नियन्त्रण गर्ने हो? कि तैँले तिनीहरूको कुरा सुनुञ्जेल तिनीहरूले तँलाई यातना नदिने, तर सुनिनस् भने चाहिँ तँलाई यातना दिने हो? (होइन।) ख्रीष्टविरोधीहरूको क्रूरता एउटा स्वभाव, एउटा सार हो—यो वास्तविक शैतानी सार हो। यो नैसर्गिक प्रवृत्ति होइन, न त देहको आवश्यकता नै हो, बरु ख्रीष्टविरोधीहरूको स्वभावको एउटा प्रकटीकरण र विशेषता हो। त्यसोभए, ख्रीष्टविरोधीहरूका क्रूर स्वभावका प्रकटीकरण, प्रकाश, र तौरतरिकाहरू के-के हुन्? तिनीहरूका कुन-कुन कार्यले तिनीहरूको स्वभाव क्रूर छ, तिनीहरूमा दुष्ट मानिसहरूको सार छ भन्ने कुरा दर्शाउँछ? आफ्ना विचारहरू बताओ। (तिनीहरू अरूलाई यातना दिन्छन्।) (तिनीहरू आफूभन्दा फरक मानिसहरूलाई दमन र अलग गर्छन्।) (तिनीहरू अरूलाई फसाउँछन् र उनीहरूका लागि पासो थाप्छन्।) (तिनीहरू मानिसहरूलाई नियन्त्रण र चालबाजी गर्छन्।) (तिनीहरू गिरोह सिर्जना गर्छन् र कलहको बिउ रोप्छन्।) गिरोह सिर्जना गर्नु र कलहको बिउ रोप्नु अलिकति कपटी कुरा हुन्; यी दुष्ट स्वभावका प्रकटीकरण हुन्, तर क्रूरताको स्तरसम्म पुग्दैनन्। धारणहरू फैलाउनु, स्वतन्त्र राज्यहरू स्थापना गर्नु—के यी क्रूर कुरा हुन्? (हुन्।) कामका प्रबन्धहरूको विरोध गर्नु, परमेश्वरको घरको काममा बाधा पुऱ्याउनु, परमेश्वरका भेटीहरू कब्जा गर्नु, र परमेश्वरलाई सिधै विरोध गर्नु—के यी क्रूर कुरा हुन्? (हुन्।) भेटीहरू कब्जा गर्नु लोभी कुरा मात्र होइन; यो क्रूर स्वभावको प्रकटीकरण पनि हो। ख्रीष्टविरोधीहरूले भेटीहरू कब्जा गर्न सक्छन् भन्ने कुराले डाँकाहरूको स्वभाव समान अत्यन्त क्रूर स्वभावलाई सङ्केत गर्छ। हामीले भर्खरै सारांश गरेका विषयवस्तुहरू फेरि भन त। (तिनीहरू अरूलाई यातना दिन्छन्, आफूभन्दा फरक मानिसहरूलाई दमन र अलग गर्छन्, उनीहरूलाई फसाउँछन् र उनीहरूका लागि पासो थाप्छन्, मानिसहरूलाई नियन्त्रण र चालबाजी गर्छन्, धारणाहरू फैलाउँछन्, स्वतन्त्र राज्यहरू स्थापना गर्छन्, कामका प्रबन्धहरूको विरोध गर्छन्, परमेश्वरलाई आक्रमण गर्छन्, र भेटीहरू कब्जा गर्छन्।) जम्मा नौ वटा विषयवस्तु छन्। ख्रीष्टविरोधीहरूको क्रूर स्वभावका प्रकटीकरणहरू लगभग यिनै हुन्। वास्तवमा, अझै केही विशिष्ट प्रकटीकरणहरू पनि छन्, तर ती करिब करिब यीसँग मिल्दाजुल्दा छन्, त्यसैले म तिनलाई विस्तृत रूपमा सूचिकृत गर्नेछैनँ। छोटकरीमा भन्नुपर्दा, यी तौरतरिका र रणनीतिहरू अपनाउनेहरू दुष्ट मानिस हुन्। एकातिर, तिनीहरूका तौरतरिका कपटी हुन्छन्, उदाहरणका लागि, फसाउनु, पासो थाप्नु, र धारणाहरू फैलाउनु, यी सब तुलनात्मक रूपमा कपटी कुरा नै हुन्। अर्कोतिर, तिनीहरूका रणनीतिहरू निकै विषाक्त र उग्र हुन्छन्, जुन तिनीहरूमा क्रूर स्वभाव छ भन्ने देखाउन पर्याप्त हुन्छ।
ख्रीष्टविरोधीहरूको स्वभाव सारका यी तीन पक्षहरूबाट मूल्याङ्कन गर्दा, के तिनीहरूले मुक्ति पाउन सक्छन् त? (अहँ, सक्दैनन्।) के तिनीहरू परमेश्वरका घरमा श्रम गर्न इच्छुक हुन्छन् त? (अहँ, हुँदैनन्।) तिनीहरू सत्यता पछ्याउँदैनन्, तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्, र तिनीहरूको हृदय परमेश्वर र सकारात्मक कुराहरूप्रतिको शत्रुताले भरिएको हुन्छ। तिनीहरू सबैभन्दा आधारभूत कुराहरू—परमेश्वरका घरमा श्रम गर्न र आफ्नो कर्तव्य पूरा गर्न—समेत अनिच्छुक हुन्छन् अर्थात्, तिनीहरू एउटा व्यक्तिले सामान्य रूपमा गर्नुपर्ने कामकुरासमेत गर्न सक्दैनन्। तिनीहरूले त्यो गर्न नसक्ने मात्र नभई, त्यसविपरीत तिनीहरू आफ्नो कर्तव्य पूरा गरिरहेका दाजुभाइ-दिदीबहिनीहरूको सामान्य व्यवस्था, साथै सामान्य मण्डली जीवनलाई बाधा, अवरोध पुऱ्याउँछन् र बरबाद पार्छन्। साथसाथै, तिनीहरूले परमेश्वरको घरको काम, मानिसहरूको सामान्य जीवन प्रवेश, मानिसहरूमा परमेश्वरले गर्नुहुने सामान्य काममा बाधा पुऱ्याउँछन्। अनि त्यति मात्र होइन, तिनीहरू परमेश्वरका घरमा शासन गर्ने र शक्ति चलाउने चाहना पनि राख्छन्; तिनीहरू मानिसहरूलाई बहकाउने, आकर्षित गर्ने र नियन्त्रण गर्ने, परमेश्वरका घरमा आफ्नै स्वतन्त्र राज्यहरू र गुटहरू स्थापना गर्ने, र परमेश्वरलाई पछ्याउनेहरूलाई पूर्ण रूपमा आफ्नै अनुयायीमा बदल्ने कामना गर्छन्, ताकि तिनीहरूले शक्ति र प्रभाव जमाउने, परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्ने, परमेश्वरसँग प्रतिस्पर्धा गर्ने महत्त्वाकाङ्क्षा र चाहना हासिल गर्न सकून्। त्यसोभए, के परमेश्वरका घरमा ख्रीष्टविरोधीहरूलाई प्रयोग गर्नुको कुनै मूल्य छ त? के तिनीहरू परमेश्वरका घरमा कुनै राम्रो भूमिका निर्वाह गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूको मानवतादेखि तिनीहरूका पछ्याइसम्म, तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनादेखि तिनीहरू हिँड्ने मार्गसम्म, अनि सत्यता र परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्तिसम्मलाई मूल्याङ्कन गर्दा, परमेश्वरका घरमा त्यस्ता मानिसहरूले परमेश्वरको कामलाई बाधा, अवरोध पुऱ्याउने र बरबाद गर्ने कार्य मात्र गर्न सक्छन्। तिनीहरूले अलिकति पनि सकारात्मक कार्य गर्न सक्दैनन्, किनकि तिनीहरू कहिल्यै सत्यता पछ्याउँदैनन्, तिनीहरूको प्रकृति सारमा तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, र सत्यता र परमेश्वरप्रतिको शत्रुताले भरिएका हुन्छन्। यो ख्रीष्टविरोधीहरूको सार हो।
अहिलेसम्म, हामीले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूबारे पूर्ण रूपमा सङ्गति गरिसकेका छौँ। आज हामीले जेबारे सङ्गति गरेका छौँ, तीमार्फत के तिमीहरू अब ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्छौ त? त्यसलाई सबैभन्दा सरल वाक्यांशमा सारांशीकृत गर्नुपर्दा: दुष्ट मानिसहरू ख्रीष्टविरोधी हुन्, र ख्रीष्टविरोधीहरू सबै दुष्ट मानिस हुन्। त्यसलाई यसरी भन्दा, के तिमीहरूलाई कुराहरू धेरै स्पष्ट भएका छैनन् र? अब तिनलाई बुझ्न झनै सजिलो भए न र? हामीले विगत दुई वर्षदेखि लगातार रूपमा ख्रीष्टविरोधीहरूको प्रकृति सारलाई विश्लेषण गर्दै आइरहेका छौँ, र तिमीहरूले आफू ख्रीष्टविरोधी पो हौँ कि भन्ने चिन्ता गर्दै धेरै शोधन भोगेका छौ। अब, अन्ततः नतिजा आएको छ। यो प्रक्रिया निकै चुनौतीपूर्ण रहेको छ, तर अन्तिम नतिजा राम्रो छ: तिमीहरूमा ख्रीष्टविरोधीको स्वभाव छ, तर तिमीहरू ख्रीष्टविरोधी होइनौ। तिमीहरू कसरी यो बुझाइमा पुग्यौ? मेरा सङ्गतिहरूको कुन हरफले तिमीहरूलाई यो महसुस गरायो? (अस्ति, ख्रीष्टविरोधीहरू र अन्य मानिसहरूको चरित्र र स्वभाव सारबीचका भिन्नताबारे परमेश्वरको सङ्गतिमार्फत, हामीले अलिअलि बुझ्न थाल्यौँ। विवेक र समझ भएका मानिसहरूले दुष्टता गरेपछि पश्चात्ताप गर्न सक्छन् र तिनीहरू बदलिन सक्छन्, जबकि ख्रीष्टविरोधीहरूको स्वभाव सार भएकाहरू अडिग रूपमा पश्चात्तापहीन हुन्छन्, र तिनीहरूले जतिसुकै दुष्टता गरे पनि केही महसुस गर्दैनन्।) मानिसहरूमा ख्रीष्टविरोधीहरूको स्वभावका केही प्रकाशहरू हुन्छन्, तर ती अनैच्छिक हुन्छन् र तिनीहरूको सक्रिय इच्छाबाट आउँदैनन्; यी प्रकाशहरू पत्ता लाग्दा, मानिसहरूले असहजता, पीडा, पछुतो, र ऋणीपनको बोध महसुस गर्छन्, र त्यसपछि तिनीहरूले बिस्तारै आफ्नो बाटो उल्ट्याउन सक्छन्। मानिसहरूले यो बुँदा बुझेपछि झन् बढी सहज महसुस गर्छन्, र तिनीहरूले मुक्ति पाउने मौका अझै पनि बाँकी छ, र तिनीहरू ख्रीष्टविरोधी होइनन् भनी थाहा पाउँछन्। ख्रीष्टविरोधीहरूको स्वभावसँग तिनीहरूको कुनै न कुनै सम्बन्ध हुने भए पनि, सौभाग्यवश, ख्रीष्टविरोधीहरूको स्वभाव सारसँग तिनीहरूको कुनै सम्बन्ध हुँदैन। जबसम्म तँ दुष्ट व्यक्ति होइनस्, तबसम्म तँ ख्रीष्टविरोधी होइनस्। तर के त्यसको अर्थ तँमा ख्रीष्टविरोधीहरूको स्वभाव छैन भन्ने हो त? (अहँ, होइन।) अहिले मैले सबैजनामा ख्रीष्टविरोधीहरूको स्वभाव छ भनेर भन्दा, के तिमीहरू आफ्नो हृदयमा प्रतिरोध महसुस गर्छौ? (म गर्दिनँ।) तिमीहरू प्रतिरोध महसुस गर्दैनौ; अब तिमीहरूले यो तथ्य स्विकार्न सक्छौ। ख्रीष्टविरोधीहरूको स्वभाव सारका प्रकटीकरणहरूलाई सारांशीकृत गर। (ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तिनीहरूले सत्यतालाई घृणा गर्छन्, र सत्यतालाई कहिल्यै स्विकार्नेछैनन्।) यो सारसम्मै पुग्छ; ख्रीष्टविरोधीहरूले सत्यतालाई कहिल्यै स्विकार्नेछैनन्; तिनीहरू सत्यताप्रति वितृष्ण र शत्रुवत् महसुस गर्छन्। कतिपय मानिसहरू सत्यता पछ्याउँदैनन्, तर तिनीहरू त्यसप्रति शत्रुवत् हुँदैनन् र परमेश्वरले भन्नुहुने सबथोक सही र राम्रो हुन्छ भनेर पनि सोच्छन्, अनि तिनीहरू त्यसको प्रशंसा गर्छन् र त्यसलाई पछ्याउन चाहन्छन्, तर तिनीहरूमा कमजोर क्षमता हुन्छ र मार्ग हुँदैन। अरूलाई सत्यतामा कुनै रुचि हुँदैन, तर तिनीहरू त्यसप्रति शत्रुवत् पनि हुँदैनन्; तिनीहरू मनतातो किसिमका हुन्छन्। तर, ख्रीष्टविरोधीहरू फरक हुन्छन्; तिनीहरू सत्यताप्रति वितृष्ण र शत्रुवत् महसुस गर्छन्। सत्यता वा परमेश्वरको उल्लेख हुनेबित्तिकै तिनीहरूले घृणा महसुस गर्छन्, र तिनीहरूलाई सत्यता स्विकार्न लगाउने प्रयत्नले तिनीहरूलाई असामान्य बनाउँछ, तिनीहरू हृदयमा विकर्षित महसुस गर्छन् र त्यसलाई कहिल्यै स्विकार्दैनन्—ख्रीष्टविरोधीहरूको सार यही नै हो। अरू के छ? (ख्रीष्टविरोधीहरूले जस्तोसुकै गल्ती गरे पनि तिनीहरू अडिग रूपमा पश्चात्तापहीन रहन्छन्, र तिनीहरूले कहिल्यै सत्यता अभ्यास गर्नेछैनन्।) तिनीहरूले आफ्नै गल्तीहरू चिन्नेछैनन्, तिनीहरू कहिल्यै पश्चात्ताप गर्दैनन्, र धेरै वर्षसम्म पनि आफूलाई परिवर्तित गर्नेछैनन्। तिनीहरूले परमेश्वर सत्यता हुनुहुन्छ, परमेश्वरका वचन सत्यता हुन् भनेर स्विकार्दैनन्, त्यसैले तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्थे त? तिनीहरूमा मानवता हुँदैन, तिनीहरू मानव होइनन्, तिनीहरू दियाबलस, शैतान, र परमेश्वरका शत्रु हुन्, त्यसैले तिनीहरूले बिलकुलै सत्यता अभ्यास गर्नेछैनन्।
डिसेम्बर २६, २०२०
尼泊尔语-20210814-GY.png)