परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक)
हामीले पछिल्लो भेलामा ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरू सम्बन्धी पन्ध्रौँ विषयवस्तुको हाम्रो सङ्गतिलाई टुङ्ग्यायौँ। यी पन्ध्रवटा विषयवस्तुहरूबारे सङ्गति गरेपछि, के तिमीहरूले ख्रीष्ट विरोधीहरूका विभिन्न प्रकटीकरण र सारहरूको सारांश निकालेका छौ? के तिमीहरूले तिनको आधारभूत अवधारणा र बुझाइ प्राप्त गरेका छौ? के तिमीहरू ख्रीष्टविरोधीको सार बोकेका व्यक्तिहरूलाई खुट्ट्याउन सक्छौ? (म तुलनात्मक रूपमा स्पष्ट देखिने घटनाहरू खुट्ट्याउन सक्छु, तर मलाई धूर्त र कपटी घटनाहरू खुट्ट्याउन अझै पनि गाह्रो लाग्छ।) आज, दुइटा पक्षबाट ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको सारांश निकालौँ: पहिलो, ख्रीष्टविरोधीहरूको चरित्र, र दोस्रो, तिनीहरूको स्वभाव सार। के ख्रीष्टविरोधीहरूलाई यी दुई पक्षहरूबाट खुट्ट्याउन सजिलो हुन्छ? (हुन्छ।) यदि हामीले कम सङ्गति गर्यौँ र धेरै उदाहरणहरू दिएनौँ भने, तिमीहरू तिनलाई खुट्ट्याउन सक्षम नहुन सक्छौ; यदि हामीले बढी सङ्गति गर्यौँ भने, तिमीहरूले बुझ्न सक्छौ, तर ख्रीष्टविरोधीहरूले दुष्टता गरिरहेको देख्दा यी कुराहरूलाई तिनीहरूसँग दाँज्न तिमीहरूलाई अझै गाह्रै पर्न सक्छ। ख्रीष्टविरोधीहरूको प्रकृति सारको सारांश निकाल्दा र तिनीहरूलाई यी दुइटा पक्षहरूबाट खुट्ट्याउँदा तिमीहरूका लागि यो अझ प्रस्ट हुन सक्छ।
अ. ख्रीष्टविरोधीहरूको चरित्र
पहिलो पक्ष ख्रीष्टविरोधीहरूको चरित्र हो। किटेरै भन्नुपर्दा, यो पक्ष ख्रीष्टविरोधीहरूमा कस्तो प्रकारको मानवता हुन्छ भन्नेसित सम्बन्धित छ। मानवताले के-के समेट्छ? यसले विवेक, समझ, निष्ठा, इज्जत, साथै मानव असलपन र दुष्टता समेट्छ। ख्रीष्टविरोधीहरूको चरित्र खुट्ट्याउने कुरामा तिनीहरूको मानवताका विभिन्न पक्षहरू समावेश हुन्छन्। पहिला सामान्य मानवतामा आम रूपमा हुने प्रकटीकरणहरू, अथवा सामान्य मानवतामा हुनुपर्ने गुणहरूबारे छलफल गरौँ। ल भन् त, यस वर्गमा कुन निश्चित विषयवस्तु पर्छ? (इमानदारी र दया।) अरू के पर्छ? (सम्मानको भावना।) सोझोपन र सम्मानको भावना दुइटै हुनु अत्यावश्यक छ। (साथै, अरूलाई प्रेम, सहनशीलता, विचारशीलता, र क्षमा देखाउनु।) त्यो पनि हो। यो सबैबारे सारांशमा कुरा गरौँ। सर्वप्रथम, सामान्य मानवतामा इमानदारीको गुण हुन्छ—के यो सकारात्मक हो? (हो।) यसबाहेक, त्यसमा दया र सच्चाइ हुन्छ, अनि हदको हिसाबले सच्चाइ र इमानदारीबीच भिन्नता हुन्छ। के तिमीहरूलाई व्यक्तिको चरित्रमा करुणा समावेश हुनुपर्छ जस्तो लाग्छ? (लाग्छ।) के करुणालाई दयाअन्तर्गत वर्गीकरण गर्न सकिन्छ? (सकिन्छ।) दयालु हृदय भएको व्यक्तिमा निश्चय नै करुणा हुन्छ। त्यसपछि त्यसमा सरलता र सम्मानको भावना हुन्छ। सम्मानको भावनामा इज्जत, आत्मज्ञान र समझ समावेश हुन्छन्। अर्को भनेको सोझोपन हो। सोझोपनका प्रकटीकरणहरू के-के हुन्? यिनमा इन्साफको बोध भावना, दुष्टताप्रति घिन, दुष्टताप्रति घृणा, र सकारात्मक कुराहरूप्रति अनुराग समावेश हुन्छन्। यदि कोहीमा सोझोपन मात्र छ भने पनि त्यो अपर्याप्त हुन्छ; यदि उसमा सहनशीलता र धैर्यता छैन, र उसले मानिसहरूका स्थिति वा परिस्थितिहरूबारे विचार नगरी भद्दा रूपमा बोल्छ भने, त्यो ठिक होइन, र उसको चरित्रमा केही कुराहरूको कमी हुन्छ। सहनशीलता र धैर्यता पनि छ, जुन दुइटै दयाका निश्चित प्रकटीकरणहरू हुन् र तिनलाई अवश्यै एउटै गुणका रूपमा लिन सकिन्छ। सामान्य मानवतामा हुनुपर्ने गुणहरू यिनै हुन्: इमानदारी, दया, सच्चाइ, सरलता, सम्मानको भावना, सोझोपन, साथै सहनशीलता र धैर्यता—जम्मा सातवटा छन्। सामान्य मानवतामा हुने यी गुणहरूलाई कुनै व्यक्तिमा सामान्य मानवता छ कि छैन भनी मापन गर्नका लागि प्रयोग गर्न सकिन्छ। तर, आजको सङ्गतिको विषय सामान्य मानवतामा हुनुपर्ने निश्चित प्रकटीकरणहरू वा यी गुणहरू कुन व्यक्तिहरूमा हुन्छन् भन्नेबारे होइन। बरु, हामी “ख्रीष्टविरोधीहरूको चरित्रचाहिँ ठ्याक्कै के हो” भन्ने विषयमा सङ्गति गर्न गइरहेका छौँ। भर्खरै उल्लिखित सामान्य चरित्रका विभिन्न पक्षहरूसँग तुलना गर्दा, के ख्रीष्टविरोधीहरूमा यीमध्ये कुनै गुण हुन्छ, अथवा तिनीहरूमा कुन-कुन गुणहरू हुन्छन्? (तिनीहरूमा कुनै पनि गुण हुँदैन।) तिमीहरूमा ख्रीष्टविरोधीहरूबारे यस्तो छाप बसेको हुनाले, ख्रीष्टविरोधीहरूको चरित्रका कुन तत्त्वहरूका कारण मानिसहरूले तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा वर्गीकृत गर्छन्, र यी व्यक्तिहरूमा खराब मानवता हुन्छ, तिनीहरूमा सामान्य मानवता हुँदैन, र ख्रीष्टविरोधी मानवता हुन्छ भनेर देखाउँछन् भन्नेबारे सारांशमा कुरा गरौँ। यदि कसैसँग यसअघि सारांश निकालिएका सामान्य मानवताका कैयौँ प्रकटीकरणहरूमध्ये एकदुईवटा प्रकटीकरणहरू छन् भने उसमा केही सामान्य मानवता हुन सक्छ। यदि उसमा ती सबै छन् भने, उसमा सबैभन्दा धेरै सामान्य मानवता हुन्छ। तर ख्रीष्टविरोधीहरूमा यी कुनै पनि गुणहरू हुँदैन, त्यसोभए तिनीहरूको मानवतामा ठ्याक्कै केचाहिँ समावेश हुन्छ? पहिला यस पक्षबारे सङ्गति गरौँ।
क. झूट बोल्ने बानी
सामान्य चरित्रमा हुने पहिलो गुण इमानदारी हो। के ख्रीष्टविरोधीहरूको चरित्रमा इमानदारी समावेश हुन्छ? प्रस्ट रूपमा, ख्रीष्टविरोधीहरूमा इमानदार मानवताको कमी हुन्छ; तिनीहरूको मानवता निश्चय नै इमानदारीविरुद्ध हुन्छ। त्यसोभए, ख्रीष्टविरोधीहरूको मानवतामा इमानदारीको साटो असामान्य मानवताका कस्ता तत्त्वहरू हुन्छन्? (तिनीहरूले बारम्बार झूट बोल्छन् र मानिसहरूलाई झुक्क्याउँछन्।) के हामी बारम्बार झूट बोल्नु र झूट बोल्ने बानी हुनु एउटै हो भन्न सक्छौँ? के यो सारांश झन् प्रस्ट छैन र? यदि हामीले यो व्यक्तिले सधैँ झूट बोल्छ वा खासै साँचो बोल्दैन भन्यौँ भने, त्यसमा मात्राको कमी हुन्छ। यदि हामीले तिनीहरूको चरित्र वर्णन गर्न “झूटले भरिएको” जस्ता अभिव्यक्तिहरू प्रयोग गर्यौँ भने, त्यो पर्याप्त मात्रामा औपचारिक होइन। त्यसकारण, तिनीहरूको वर्णन गर्न र ख्रीष्टविरोधीहरूको मानवता इमानदार हुँदैन भनी व्यक्त गर्न “झूट बोल्ने बानी” भन्ने वाक्यांश प्रयोग गर्दा बढी सुहाउँछ। “झूट बोल्ने बानी” पहिलो गुण हो—जुन ख्रीष्टविरोधीहरूको मानवतामा बारम्बार प्रकट र खुलासा हुने कुरा हो। यो नै मानिसहरूले सामना गर्ने सक्ने सबैभन्दा सामान्य, सजिलै देख्न सकिने, र सहज रूपमा खुट्ट्याउन सकिने गुण हुनुपर्छ। अब, के झूट बोल्ने बानीका खास प्रकटीकरणहरूबारे सङ्गति गर्नु योग्य हुन्छ? (हुन्छ।)
ख्रीष्टविरोधीहरूको मानवता बेइमान हुन्छ, जसको अर्थ तिनीहरू अलिकति पनि सत्यवादी हुँदैनन्। तिनीहरूले भन्ने र गर्ने हरेक कुरा अशुद्ध हुन्छन् र ती तिनीहरूका आफ्नै अभिप्राय र लक्ष्यहरूद्वारा दूषित भएका हुन्छन्, र त्यो सबैमा तिनीहरूका भन्न नमिल्ने र अकथनीय चाल र योजनाहरू लुकेका हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूका बोलीवचन र कार्यहरू अत्यन्तै धेरै दूषित र झूटहरूद्वारा अत्यन्तै धेरै भरिएका हुन्छन्। तिनीहरूले जति धेरै बोले पनि, तिनीहरूका शब्दहरूमध्ये कुन साँचो, कुन झूटो, कुन सही, र कुन गलत हुन् भनी थाहा पाउन असम्भव हुन्छ। किनभने तिनीहरू बेइमान हुन्छन्, र तिनीहरूका मन अत्यन्तै जटिल, षड्यन्त्रपूर्ण युक्तिहरूले भरिएका र चलाकीपनले गाँजिएका हुन्छन्। तिनीहरूले भन्ने कुनै कुरा पनि सीधा र स्पष्ट हुँदैन। तिनीहरूले एकलाई एक, दुईलाई दुई, होलाई हो अनि होइनलाई होइन भन्दैनन्। त्यसको साटो, तिनीहरू सबै मामलाहरूमा घुमाउरो कुरा गर्छन् र परिणामहरूको बारेमा परिकल्पना गर्दै र हरेक कोणबाट गुण र दोष तौलँदै मनमस्तिष्कमा कामको बारेमा थुप्रैपटक विचारविमर्श गर्छन्। त्यसपछि, तिनीहरूले आफूले भन्न चाहेका कुराहरूलाई भाषामार्फत यसरी हेरफेर गर्छन् कि तिनीहरूले भन्ने हरेक कुरा भद्दा सुनिन्छ। इमान्दार मानिसहरूले तिनीहरूले भन्ने कुरा कहिल्यै बुझ्दैनन् अनि सजिलै तिनीहरूको धोका र छलमा पर्छन्, अनि त्यस्ता मानिसहरूसित बोल्ने र कुराकानी गर्ने जोकोहीले पनि आफ्नो अनुभव पट्यारलाग्दो र कठिन पाउँछन्। तिनीहरूले कहिल्यै एकलाई एक, दुईलाई दुई भन्दैनन्, तिनीहरूले कहिल्यै आफूले के सोचिरहेको छु भनेर भन्दैनन्, अनि तिनीहरूले कहिल्यै कामकुरा जस्तो छ, त्यस्तै बयान गर्दैनन्। तिनीहरूले भन्ने हरेक कुरा खोतल्नै नसकिने हुन्छ, अनि तिनीहरूका कामहरूका लक्ष्य र अभिप्रायहरू धेरै नै जटिल हुन्छन्। यदि सत्यता बाहिरियो भने—यदि अरू मानिसहरूले तिनीहरूको वास्तविक रूप देखे, र तिनीहरूलाई समाते भने—कुरो घुमाउनलाई तिनीहरूले तुरुन्तै अर्को झूट सिर्जना गर्छन्। यस प्रकारको मानिसले बारम्बार झूट बोलिरहन्छ, र झूट् बोलिसकेपछि, त्यो झूट्लाई कायम गराउन त्यस्ता मानिसहरूले थप झूट्हरू बोल्नुपर्ने हुन्छ। तिनीहरूले आफ्ना अभिप्राय लुकाउन अरूलाई धोका दिन्छन्, र आफूले बोलेका झूट्हरूको समर्थनमा हरप्रकारका बहाना र स्पष्टीकरणहरू कथ्छन्, ताकि कुन कुरा साँचो हो र कुनचाहिँ साँचो होइन भनेर छुट्याउन मानिसहरूलाई कठिन होस्, र यसले गर्दा, तिनीहरूले कहिले साँचो बोलिरहेका छन् भन्ने कुरा मानसिहरूलाई थाहै हुँदैन, तिनीहरूले कहिले झूट बोलिरहेका हुन्छन् भनी जान्ने त कुरै भएन। जब तिनीहरूले झूट बोल्छन्, तिनीहरू लाज मान्दैनन् वा हिचकिचाउँदैनन्, मानौँ तिनीहरूले सत्यता नै बोलिरहेका छन्। के यसको अर्थ, तिनीहरूलाई झूटो बोल्ने बानी परेको छ भन्ने होइन र? उदाहरणको लागि, कहिलेकाहीँ ख्रीष्टविरोधीहरू बाहिरबाट अरूप्रति असल, तिनीहरूप्रति विचारशील, न्यानो हृदयले बोल्ने देखिन्छ, जुन सुन्नमा दयालु र मार्मिक लाग्छ। तर तिनीहरूले यसरी बोले पनि, तिनीहरू इमान्दार हुन् कि होइनन् भनी कसैले बताउन सक्दैन, र केही दिनपछि कुनै घटना घटेर तिनीहरू इमान्दार थिए कि थिएनन् भनी खुलासा हुन्जेलसम्म सधैँ पर्खनुपर्छ। ख्रीष्टविरोधीहरू सधैँ केही निश्चित अभिप्राय र लक्ष्यहरू लिएर बोल्छन्, तर तिनीहरू वास्तवमा कुन कुराको पछाडि लागेका छन् भनी कसैले बताउन सक्दैन। त्यस्ता मानिसहरूलाई झूट बोल्ने बानी परेको हुन्छ र तिनीहरू आफ्ना कुनै पनि झूटहरूका परिणामहरूबारे विचारै गर्दैनन्। यदि तिनीहरूको झूटले तिनीहरूलाई फाइदा दिन्छ र अरूलाई छल्न सक्छ भने, यदि त्यसले आफ्नो लक्ष्य हासिल गर्न सक्छ भने, परिणामहरू जेसुकै हुन् तिनीहरूले केही मतलब गर्दैनन्। तिनीहरूको खुलासा हुनेबित्तिकै तिनिहरूले निरन्तर ढाकछोप गर्ने, झूटो बोल्ने र छल्ने काम गरिरहन्छन्। यी मानिसहरूले जुन सिद्धान्त र विधिद्वारा सद्व्यवहार गर्छन् र संसारलाई सामना गर्छन् त्यो झूटहरूद्वारा मानिसहरूलाई छल्ने हो। तिनीहरू दुई-जिब्रे हुन्छन् अनि आफ्ना श्रोताहरूसित अनुकूल हुने गरी बोल्छन्; परिस्थितिले जस्तो भूमिका माग गर्दछ, तिनीहरूले त्यही भूमिका निर्वाह गर्दछन्। तिनीहरू चाप्लुसीपूर्ण र धूर्त हुन्छन्, तिनीहरूका मुख झूटहरूले भरिएका हुन्छन् अनि तिनीहरू भरोसा गर्न नसकिने किसिमका हुन्छन्। तिनीहरूसित थोरै समय सम्पर्कमा हुनेहरू भ्रममा पर्छन् वा व्याकुल हुँदै जान्छन् अनि तिनीहरूले कुनै रसद, सहायता वा सुधार प्राप्त गर्न सक्दैनन्। त्यस्ता मानिसहरूका मुखबाट निस्कने वचनहरू अप्रिय वा राम्रो, तर्कसङ्गत वा हास्यास्पद, अथवा मानवतासित मेल वा बेमेलमा रहेको, अशिष्ट वा सभ्य जे-जस्तो भए पनि, ती सबै नै मूलत: मिथ्या, दूषित शब्द, र झूटहरू हुन्।
ख्रीष्टविरोधी वर्गका मानिसहरूमा, झूट बोल्ने बानी तिनीहरूको एउटा मुख्य गुण हो। तिनीहरूको भाषा, बोल्ने तरिका, अभिव्यक्तिको शैली, तिनीहरूका शब्दहरूको अर्थ र तीपछाडिका अभिप्रायमार्फत, यी मानिसहरूमा सामान्य मानवताको कमी छ, र तिनीहरूले इमानदार मानिसहरूको मानवताका मानकहरू पूरा गर्दैनन् भन्ने देखिन्छ। ख्रीष्टविरोधीहरूको झूट बोल्ने बानी हुन्छ। तिनीहरूका झूट र छल धेरैजसो मानिसहरूकोभन्दा बढी गम्भीर हुन्छ; यो कुनै साधारण भ्रष्ट स्वभाव होइन, तर यसले विवेक र समझ गुमेको र मानवता पूर्ण रूपमा हराएको रूप लिइसकेको छ। सारमा भन्नुपर्दा, यी मानिसहरू भूतहरू हुन्; भूतहरू प्रायः झूट बोल्छन् र यसरी मानिसहरूलाई छल्छन्, तिनीहरूले भनेको कुनै पनि कुरा सत्य हुँदैन। जब धेरैजसो मानिसहरूले झूट बोल्छन्, तिनीहरूले त्यो झूटलाई बनाउनुपर्ने हुन्छ, तिनीहरूले त्यसको लागि सावधानीपूर्ण सोच्नुपर्छ; तर एक ख्रीष्टविरोधीले कुनै पनि कुरा बनाउनु पर्दैन, वा कुनै सोचविचार गर्नु पर्दैन: तिनीहरूले मुख मात्र खोल्नुपर्छ, र त्यो झूट आइहाल्छ—त्यसकारण, तैँले थाहा पाउनुअगावै, तँलाई फन्दामा पारिसकिएको हुन्छ। तिनीहरूका झूट र छल यस्ता हुन्छन् कि ढिलो प्रतिक्रिया दिने मानिसहरूलाई यो कुरा पत्ता लगाउन दुई-तीन दिन लाग्न सक्छ; त्यसपछि मात्र तिनीहरूले उक्त व्यक्तिले के आशय राखेको थियो भन्ने थाहा पाउँछन्। सत्यता नबुझ्ने मानिसहरूले खुट्ट्याउन सक्दैनन्। ख्रीष्टविरोधीहरूको झूट बोल्ने बानी हुन्छ: तँलाई तिनीहरूको यो चरित्रबारे के लाग्छ? प्रस्ट रूपमा यो सामान्य मानवताको अंश होइन। के यसमा कुनै भूतिया कुरा छैन र? किटेरै भन्नुपर्दा, यो भूतिया प्रकृति हो। झूट बोल्ने बानी, झूटहरू बोल्नु, र मानिसहरूलाई छल्नु: के ती विद्यालयमा सिकिएका कामकुरा गर्ने तरिकाहरू हुन्, कि ती तिनीहरूको पारिवारिक प्रभावको नतिजा हुन्? दुइटै होइनन्। यी कुराहरू तिनीहरूका अन्तर्निहित प्रकृति हुन्, तिनीहरूले जन्मिँदै यी कुराहरू लिएर आएका थिए। आमाबुबाले आफ्ना छोराछोरीलाई शिक्षा दिँदा, कसैले पनि आफ्नो बच्चालाई सानै उमेरदेखि ढाँट्न र छल्न सिकाउँदैन, न त कसैले तिनीहरूलाई जबरजस्ती ढाँट्न वा छल्न नै लगाउँछ, तैपनि हुर्के-बढेपछि झूट मात्र बोल्ने छोराछोरीहरू पनि हुन्छन्, जो आफूले जस्तोसुकै झूटहरू बोले पनि गम्भीर मुद्रामै हुन्छन्, र आफूले बोलेका झूटहरूबारे आफ्नो विवेकमा कहिल्यै पछुतो, उत्पीडन, वा असहजता महसुस गर्दैनन्; बरु, यस्ता बालबालिकाहरू आफूलाई निकै चलाख, उच्च बौद्धिकता भएको ठान्छन्, तिनीहरू झूट र अन्य दाउपेचहरू प्रयोग गरेर अरूलाई मूर्ख बनाउन र छल्न सकेकोमा खुसी, गर्व, र मनमनै हर्षित महसुस गर्छन्। यो तिनीहरूको अन्तर्निहित प्रकृति हो। ख्रीष्टविरोधीहरू प्राकृतिक रूपमै यस्तै हुन्छन्। झूट बोल्ने बानी तिनीहरूको प्रकृति सार नै हो। तिनीहरू प्रायः भेलाहरूमा सहभागी हुने, साथै प्रवचन र सङ्गतिहरू सुन्ने भए पनि, ख्रीष्टविरोधीहरूले कहिल्यै आत्मचिन्तन वा आफूलाई चिन्ने कोसिस गर्दैनन्, साथै अरूलाई झुक्क्याउन तिनीहरूले चाहे जतिसुकै झूटहरू बोलेका भए पनि, तिनीहरूलाई विवेकले धिक्कार्दैन, तिनीहरू कुनै समाधानका लागि सकारात्मक रूपमा सत्यता खोज्ने कोसिस त झनै गर्दैनन्—यसले सारमा ख्रीष्टविरोधीहरू अविश्वासी हुन् भन्ने प्रमाणित गर्छ। तिनीहरूले मानिसहरूलाई चाहे जतिसुकै धर्मसिद्धान्तहरूको भाषण दिन सक्ने भए पनि, तिनीहरूले यी धर्मसिद्धान्तहरू आफूमा कहिल्यै लागु गर्दैनन्, तिनीहरूले कहिल्यै आफ्नो चिरफार गर्दैनन्, र तिनीहरूले चाहे जतिसुकै झूटहरू बोले पनि वा जतिसुकै मानिसहरूलाई झुक्क्याए पनि, तिनीहरू त्यसबारे कहिल्यै खुल्दैनन्, बरु त्यसको साटो ढोँग गर्छन्, नाटक गर्छन्, र आफू छली मानिस भएको कुरा अरूसामु स्विकार्ने आँट कहिल्यै गर्दैनन्। यसबाहेक, तिनीहरू आफूलाई आवश्यक लाग्नेबित्तिकै झूट बोल्ने र मानिसहरूलाई झुक्क्याउने काम गरिरहन्छन्। के यो तिनीहरूको प्रकृति होइन र? हो, र यसलाई परिवर्तन गर्ने कुनै उपाय नै छैन। यो प्रकृति सामान्य मानवताको अभिव्यक्ति होइन; ठ्याक्कै भन्नुपर्दा, यो भूतिया प्रकृति हो, यो शैतानको स्वभाव हो, यस्ता मानिसहरू दियाबलस हुन्, तिनीहरू देहधारी भूत हुन्।
ख्रीष्टविरोधीहरूको चरित्रको पहिलो प्रकटीकरण झूट बोल्ने बानी हो, जसलाई हामी भूतिया प्रकृति भनेर वर्गीकृत गर्नेछौँ। यस भूतिया प्रकृतिको प्रकटीकरण के हो भने जहिलेसुकै वा जहाँसुकै भए पनि, चाहे जुनसुकै अवसरमा भए पनि वा तिनीहरूले जोसँग अन्तरक्रिया गरे पनि, यस्ता मानिसहरूले भन्ने शब्दहरू साँप र भूतहरूका कुराजस्तै हुन्छन्—ती भरोसा योग्य हुँदैनन्। यस्ता मानिसहरूसित विशेष रूपले सावधान र खुट्टयाउने हुनैपर्छ, भूतहरूका शब्दहरू हतारमा विश्वास गरिहाल्नु हुँदैन। तिनीहरूको झूट बोल्ने बानीको निश्चित प्रकटीकरण के हो भने तिनीहरूका जिब्रोबाट झूटहरू निस्किहाल्छन्; तिनीहरूले बोल्ने शब्दहरूले विचार-विमर्श, विश्लेषण, वा खुट्ट्याइको सामना गर्न सक्दैनन्। तिनीहरूले जुनसुकै बेला झूट बोल्न सक्छन्, साथै तिनीहरू सारा मामलाहरूमा तिनीहरूले कुनै पनि साँचो कुरा भन्न नमिल्ने र तिनीहरूले भनेको सबथोक झूट नै हुनुपर्ने विश्वास गर्छन्। तैँले तिनीहरूको उमेरबारे नै सोधिस् भने पनि, तिनीहरूले यसबारे सोचविचार गर्छन्, र यसो सोच्छन्, “तिनीहरू मेरो उमेर सोधेर के गर्न खोजिरहेका छन्? यदि मैले म बुढो छु भनेमा, के तिनीहरूले मलाई हेयको दृष्टिले हेर्नेछन् र जगेर्ना गर्नेछैनन्? यदि मैले म सानै उमेरको छु भनेमा, के तिनीहरूले ममा अनुभवको कमी छ भन्दै मलाई हेयको दृष्टिले हेर्नेछन्? मैले कसरी जवाफ दिनुपर्ला?” यति सानो मामलामा पनि तिनीहरूले अझै अनि झूट बोल्न र तँलाई साँचो कुरा नबताउन सक्छन्, उल्टै तँलाई नै यस्तो प्रश्न गर्न सक्छन्, “तिमीलाई के लाग्छ?” तैँले भन्छस् “पचास वर्ष हो?” “झन्डै मिल्यो।” “पैँतालिस हो?” “नजिक-नजिक पुग्यौ।” के तिनीहरूले तँलाई सही जवाफ दिनेछन् त? तिनीहरूका प्रतिक्रियामार्फत के तैँले तिनीहरूको उमेर थाहा पाउन सक्छस्? (सक्दिनँ।) त्यो झूट बोल्ने बानी हो।
ख्रीष्टविरोधीहरूको झूट बोल्ने बानीको अर्को प्रकटीकरण पनि छ, त्यो के हो भने, तिनीहरू गवाही दिँदासमेत झूट बोल्छन्। झूटो गवाही दिनु भनेको श्रापित कार्य हो जसले परमेश्वरको स्वभाव चिढ्याउँछ। गवाही दिने मामलामासमेत तिनीहरू बनावटीपन, झूट, र छलकपटमा संलग्न हुने आँट गर्छन्, जसले साँच्चिकै परिणामहरूप्रति तिनीहरूको लापरवाहीपूर्ण बेवास्ता र तिनीहरूको अपरिवर्तनशील प्रकृति देखाउँछ! जब तिनीहरू अरूले अनुभव र बुझाइका आधारमा गवाही दिएको तर आफूले नसकेको देख्छन्, तब तिनीहरू अरूको नक्कल गर्छन्, अरू मानिसहरूले जे भन्छन् त्यही नै भन्छन् र अरूले भोगेका अनुभवहरू नै बनाएर भन्छन्। यदि तिनीहरूले कुनै कुरा अरूलेझैँ बुझ्दैनन् भने, तिनीहरू आफूले बुझ्ने दाबी गर्छन्। यदि तिनीहरूमा यस्ता अनुभवहरू, बुझाइ, र अन्तर्दृष्टि छैनन् भने, तिनीहरू आफूमा यी कुराहरू भएको जिद कस्छन्। परमेश्वरले तिनीहरूलाई ताडना नादिनुभएको भए पनि, उहाँले दिनुभएको छ भनेर जिद कस्छन्। यो मामलामा समेत तिनीहरूले झूट बोल्न र जाल-झेल गर्न सक्छन्, परिणामहरू जतिसुकै गम्भीर हुन सक्ने भए पनि कुनै चिन्ता वा चासो देखाउँदैनन्। के यो झूट बोल्ने बानी होइन र? यसबाहेक, यस्ता मानिसहरूले जोकोहीलाई झुक्क्याउनेछन्। कतिपयलाई आश्चर्य लाग्ला, “जे भए पनि, ख्रीष्टविरोधीहरू मानिस नै त हुन्: तिनीहरूले आफू निकटका, आफूलाई मदत गरेका, वा आफूसँगै कठिनाइहरू भोगेका मानिसहरूलाई त झुक्क्याउँदैनन् होला नि? तिनीहरूले परिवारका सदस्यहरूलाई त झुक्क्याउँदैनन् होला नि?” तिनीहरूको झूट बोल्ने बानी हुन्छ भन्नुको आशय के हो भने तिनीहरू जसलाई पनि झुक्क्याउन सक्छन्, चाहे आफ्ना आमाबुबा, छोराछोरी, र, अवश्य नै आफ्ना दाजुभाइ-दिदीबहिनीहरू नै किन नहोऊन्। ठूला हुन् वा साना मामलाहरूमा तिनीहरूले मानिसहरूलाई झुक्क्याउन सक्छन्, यहाँसम्म कि जहाँ तिनीहरूले साँचो बोल्नुपर्छ, जहाँ साँचो बोल्दा कुनै परिणाम भोग्नु पर्दैन वा तिनीहरूलाई कुनै रूपमा असर गर्दैन, र जहाँ बुद्धि प्रयोग गर्नु आवश्यक नै हुँदैन, त्यहाँ समेत मानिसहरूलाई झुक्क्याउँछन्। तिनीहरू साना मामलाहरू समाधान गर्न पनि मानिसहरूलाई झुक्क्याउँछन् र झुटहरू प्रयोग गर्छन् जुन मामलाहरू बाह्य मानिसहरूका लागि झूट बोल्न योग्य नै हुँदैन, जहाँ तिनीहरूलाई सिधा कुरा गर्न नै सजिलो हुनेथ्यो, र पटक्कै समस्या हुँदैनथ्यो। के यो झूट बोल्ने बानी होइन र? झूट बोल्ने बानी दियाबलसहरू र शैतानको एउटा प्रमुख प्रकटीकरण हो भन्न सकिन्छ। यस दृष्टिकोणबाट, के हामी ख्रीष्टविरोधीहरूको मानवता बेइमान मात्र हुँदैन, त्यसको चिन्ह झूट बोल्ने बानी पनि हुन्छ, जसका कारण त्यो भरहीन हुन्छ भन्न सक्दैनौँ र? (हो, सक्छौँ।) यदि यस्ता व्यक्तिहरूले कुनै गल्ती गर्छन्, र दाजुभाइ-दिदीबहिनीहरूबाट काटछाँट गरिएपछि र आलोचित भएपछि आँसु झार्छन्, बाहिरी रूपमा परमेश्वरप्रति ऋणी भएको दाबी गर्छन्, र भविष्यमा पश्चात्ताप गर्ने प्रतिज्ञा गर्छन् भने, के तैँले तिनीहरूको विश्वास गर्ने आँट गर्छस्? (गर्दिनँ।) किन गर्दैनस्? सबैभन्दा दरिलो प्रमाण यो हो कि तिनीहरूमा झूट बोल्ने बानी हुन्छ! तिनीहरूले बाहिरी रूपमा पश्चात्ताप गर्ने, नराम्रोसँग रुने, छाती पिट्ने, र कसम खाने काम गरे पनि, तिनीहरूको विश्वास नगर्, किनभने तिनीहरू मानिसहरूलाई झुक्क्याउनका लागि गोहीको आँसु झारिरहेका हुन्छन्। तिनीहरूले बोल्ने दुःखी र पछुतोका शब्दहरू हृदयदेखि भनिएको नभई मानिसहरूको विश्वास जित्नका लागि ठगीपूर्ण माध्यममार्फत बनाइएका अनैतिक चालहरू हुन्। मानिसहरूका अगाडि तिनीहरू नराम्रोसँग रुन्छन्, गल्ती स्विकार्छन्, कसम खान्छन्, र आफ्नो स्थानबारे थाहा दिन्छन्। तर, निजी रूपमा तिनीहरूसँग राम्रो सम्बन्ध भएका, र तिनीहरूले तुलनात्मक रूपमा भरोसा गर्ने मानिसहरूले फरक कथा सुनाउँछन्। सार्वजनिक रूपमा गल्ती स्विकार्नु र आफ्ना तरिकाहरू बदल्ने कसम खानु बाहिरबाट सच्चा देखिएला, तर तिनीहरूले पर्दापछाडि जे भन्छन् त्यसले प्रमाणित गर्छ कि तिनीहरूले त्यसअघि भनेको कुरा साँचो नभई झूटो थियो, जसको उद्देश्य अझ धेरै मानिसहरूको आँखामा छारो हाल्नु थियो। पर्दापछाडि तिनीहरूले के भन्नेछन्? के तिनीहरूले यसअघि आफूले भनेको कुरा झूट थियो भनेर स्विकार्नेछन्? अहँ, स्विकार्नेछैनन्। तिनीहरूले नकारात्मकता फैलाउनेछन्, तर्कहरू प्रस्तुत गर्नेछन्, र आफूलाई जायज साबित गर्नेछन्। यस स्पष्टीकरण र बहसले तिनीहरूका स्वीकारोक्ति, पश्चात्ताप, र कसमहरू सबै झूटा थिए, जसको उद्देश्य मानिसहरूलाई झुक्क्याउनु थियो भन्ने पुष्टि गर्छ। के यस्ता व्यक्तिहरूको भरोसा गर्न सकिन्छ? के यो झूट बोल्ने बानी होइन र? तिनीहरूले झुटा स्वीकारोक्ति रच्न, झूटो आँसु झार्न र आफ्ना मार्गहरू परिवर्तन गर्ने कसम खान समेत सक्छन्, र तिनीहरूको कसम समेत झूट हुन्छ। के यो भूतिया प्रकृति होइन र? तिनीहरूले “म यति मात्र बुझ्छु; मलाई बाँकी कुरा थाहा छैन, साथै म बिस्तारै बुझाइ प्राप्त गर्नका निम्ति परमेश्वरको अन्तर्दृष्टि खोज्छु र दाजुभाइ-दिदीबहिनीहरूको सहयोगको आशा गर्छु” भने पनि, यो इमानदार मनोवृत्ति र भनाइ हुनेथ्यो। तर, ख्रीष्टविरोधीहरूले यस्ता साँचो शब्दहरू कदापि भन्न सक्दैनन्। तिनीहरूलाई के महसुस हुन्छ भने, “मैले सत्य बोलेँ भने मानिसहरूले मलाई हेयको दृष्टिले हेर्नेछन्: मेरो इज्जत घट्नेछ र मलाई अपमानित महसुस हुनेछ—के मेरो प्रतिष्ठा पूर्ण रूपमा गुम्नेछैन र? म को हुँ? के मैले हार स्विकार्न मिल्छ? मैले नबुझे पनि, निकै राम्ररी बुझेको ढोँग गर्नैपर्छ; मैले पहिला मानिसहरूलाई झुक्क्याएर तिनीहरूको हृदयमा आफ्नो स्थान बलियो बनाउनैपर्छ।” के यो ख्रीष्टविरोधीहरूको प्रकटीकरण होइन र? ख्रीष्टविरोधीहरूले बोल्ने स्रोत र तरिकाका साथै तिनीहरूले बोल्ने शब्दहरूबाट यस्ता मानिसहरू कहिल्यै इमानदार हुनेछैनन् भन्ने प्रस्ट हुन्छ; यो तिनीहरूको क्षमताभन्दा बाहिरको कुरा हो। झुट बोल्ने बानी तिनीहरूको चरित्रमै अन्तर्निहित भएकाले, तिनीहरू हरेक कुरामा मानिसहरूलाई झुक्याउन र मामलाहरू लुकाउन चाहन्छन्, साँचो तथ्य वा वास्तविक स्थिति कसैले थाहा नपाऊन् वा नदेखून् भन्ने चाहन्छन्। तिनीहरूको सबैभन्दा भित्री सत्त्व अत्यन्तै अन्धकारमय हुन्छ। ख्रीष्टविरोधीहरूको चरित्रको यो पक्षलाई विश्वसनीय रूपमा मानवता नभएको र भूतिया प्रकृति भएको भनेर परिभाषित गर्न सकिन्छ। तिनीहरूको जिब्रोबाट बिनासोच सजिलै झूटहरू निस्कन्छन्, यतिसम्म कि तिनीहरू निद्रामा बोल्दा पनि साँचो कुरा केही भन्दैनन्—सबै चालबाजी, सबै झूट हुन्छ। यो झूट बोल्ने बानी हो।
ख्रीष्टविरोधीहरूको चरित्रमा इमानदारी हुँदैन। तिनीहरूले नबोलिरहेको बेलामा पनि, तिनीहरू कसरी मानिसहरूलाई झुक्याउने, फुस्ल्याउने र भ्रममा पार्ने—कसलाई भ्रममा पार्ने, तिनीहरूलाई भ्रममा पार्न चाहेको बेलामा के भन्ने, कुराकानी सुरु गर्न कस्ता विधिहरू प्रयोग गर्ने, र मानिसहरूलाई विश्वास दिलाउन कुन उदाहरणहरू प्रयोग गर्ने भनेर हृदयमा चिन्तन गरिरहेका हुन्छन्। तिनीहरूले जे भने पनि वा जे सोचे पनि, तिनीहरूले हृदयमा इमानदार मनोवृत्ति, इमानदार राय, वा इमानदार सोचहरू बोकेका हुँदैनन्। तिनीहरूको जीवनको हरक्षण, हरसेकेन्ड, मानिसहरूलाई झुक्याउन र मानिसहरूसित खेलबाड गर्न चाहने स्थितिमा बित्छ। हरसेकेन्ड र हरक्षण तिनीहरू अरूलाई कसरी झुक्क्याउने, कसरी भ्रममा पार्ने, र कसरी फुस्ल्याउने भनेर सोचिरहेका हुन्छन्, र तिनीहरूका सम्पूर्ण मन र भित्री हृदयआई यिनै सोचहरूले ओगटेका हुन्छन्। के यो तिनीहरूको प्रकृति होइन र? के यस्ता मानिसहरूले प्रवचनहरू सुन्दा वा परमेश्वरका वचनहरू पढ्दा सत्यता बुझ्न सक्छन् त? बुझे पनि, के तिनीहरूले त्यसलाई अभ्यास गर्न सक्छन् त? (सक्दैनन्।) तिनीहरूको भित्री हृदय र चरित्रलाई मूल्याङ्कन गर्दा, यस्ता व्यक्तिहरू पक्कै पनि मुक्तिका ग्रहणकर्ता होइनन्, किनभने तिनीहरूका मन र भित्री संसारमा तिनीहरूले प्रेम गर्ने र सोच्ने सबथोक भूतिया प्रकृतिले भरिएको हुन्छ, सत्यता र सकारात्मक कुराहरूको विरुद्धमा हुन्छ, साथै त्यसमा एउटा पनि सराहनीय अंश हुँदैन। त्यसोभए, के ख्रीष्टविरोधीहरूको मानवतामा झूट बोल्ने बानीको गुण निश्चित हुन्छ? (हुन्छ।) झूट बोल्ने बानी भएका मानिसहरूले कुनै पनि सत्यता अभ्यास गर्दैनन्। यसका परिणामहरू के-के हुन्छन्? कुनै पनि सत्यता अभ्यास नगर्ने व्यक्तिका निश्चित प्रकटीकरणहरू के-के हुन्? के तिनीहरूले जथाभावी कार्य गर्न सक्छन्? के तिनीहरू स्वेच्छाचारी बनेर नियमकानुनको धज्जी उडाउन सक्छन्? के तिनीहरूले स्वतन्त्र राज्यहरू स्थापना गर्न सक्छन्? के तिनीहरूले भेटीहरू फजुलमा उडाउन सक्छन्? के तिनीहरूले मानिसहरूलाई भ्रममा पार्न सक्छन्? के तिनीहरूले मानिसहरूको मन जित्न सक्छन्? तिनीहरूले यी सबै गर्न सक्छन्। यो एउटा नमुना ख्रीष्टविरोधी हो—उसको झूट बोल्ने बानी हुन्छ। जब तथ्यहरू खुलासा हुन्छन्, जति जोडा आँखाले उसलाई हेरिरहेका भए पनि, जतिसुकै मानिसहरूले सामूहिक रूपमा उसको गवाही दिएर खुलासा गरे पनि, ऊ त्यसलाई स्विकार्न मान्दैन। अन्त्यमा, तँलाई झेल्न उसले एउटा तरकिब अपनाउँछ, बिर्सेको दाबी गर्छ र अज्ञानताको नाटक गर्छ। यो समयमा, यस परिस्थितिमा, उसले एक शब्द पनि सत्य बोल्न सक्दैन, न त टाउको हल्लाएर “त्यो म नै थिएँ, म गलत थिएँ, म अर्कोपटक बदलिनेछु, र निश्चय नै फेरि यस्तो गल्ती गर्नेछैन” भनेर स्विकार्न नै सक्छ। यो एक ख्रीष्टविरोधी हो, जसले कहिल्यै दोष स्वीकार्दैन, कहिल्यै कुनै पनि बेला एक शब्द पनि साँचो बोल्दैन। के यस्तो मानवता हुँदा उसलाई मुक्ति दिन सकिन्छ? के उसले सत्यता प्राप्त गर्न सक्छ? कदापि सक्दैन। उसले सत्यता बुझे पनि त्यो प्राप्त गर्न सक्दैन किनकि ऊ सत्यतालाई अस्वीकार, प्रतिरोध र विरोध गर्छ। इमानदारीपूर्वक बोल्ने र आफ्ना गल्तीहरू स्विकार्ने सबैभन्दा आधारभूत स्तरमा उसले यो सबैभन्दा सरल सत्यतालाई अभ्यास गर्न वा त्यसलाई व्यवहारमा लागु गर्न समेत सक्दैनन्। उसले आफ्नो हैसियत त्याग्छ, आफ्ना सम्भाव्यताहरू र नियति त्याग्छ र आफ्नै अभिप्रायहरू त्याग्छ भनेर कसरी अपेक्षा गर्न सकिन्छ? के उसले तिनलाई त्याग्न र तिनको विरुद्धमा विद्रोह गर्न सक्छ? ऊ त्यसो गर्न झनै सक्दैन। यदि ऊ एउटा साँचो कुरा समेत बोल्न सक्दैन भने, उसले योभन्दा पनि गाह्रो काम गर्छ भनेर अपेक्षा गर्नु अव्यावहारिक हुन्छ।
के तिमीहरू वरपर झूट बोल्ने बानी भएका मानिसहरू छन्? कतिपयले भन्लान्, “मैले अहिलेसम्म झूट बोल्ने बानी भएको व्यक्ति भेटेको छैन, तर मलाई म नै झूट बोल्ने व्यक्ति हुँ कि जस्तो लाग्छ।” म तँलाई सत्य कुरा भन्छु; तँ एक खतरनाक परिस्थितिमा छस्। के झूट बोल्ने बानी भएका मानिसहरूमा मानवताको कुनै छनक हुन्छ? के तिनीहरू भूतहरूभन्दा अलिकति पनि फरक हुन्छन्? के तिमीहरूमध्ये कसैको झूट बोल्ने बानी छ? मानिलिऊँ, चाहे जस्तोसुकै वातावरण वा पृष्ठभूमि भए पनि, जेसुकै आइपरे पनि, व्यक्तिबाट अत्यन्तै प्राकृतिक रूपमा झूटहरू निस्कन्छन्, तर उसको अनुहार रातो हुँदैन वा उसको धड्कन बढ्दैन, र उसले त्यो सबै झूटहरूद्वारा सम्हाल्न र समाधान गर्न सक्छ। आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने क्रममा, र जीवनको हरेक पक्षमा, बोल्ने अवसर भएसम्म, तिनीहरूले भन्ने सबथोक झूट हुन्छ, एउटा पनि वाक्य साँचो हुँदैन। सबै वाक्यहरूले अभिप्राय र उद्देश्यहरू बोकेका हुन्छन् र साथमा शैतानका षड्यन्त्रहरू हुन्छन्। यो कुनै इमानदार व्यक्ति होइन। कुनै पनि परिस्थितिमा, घाँटीमा छुरा हुँदा समेत झूट बोल्न सक्नु—के यो आशा नै नभएको व्यक्ति होइन र? ख्रीष्टविरोधीहरूको झूट बोल्ने बानीका विभिन्न प्रकटीकरणहरू मूल्याङ्कन गर्दा, तिनीहरूले अति धेरै झूटहरू बोल्छन्। तिनीहरूको बोलीको उद्देश्य नै मानिसहरूलाई झुक्क्याउनु, भ्रममा पार्नु र फुल्याउनु हो। तिनीहरूका सबै शब्दहरू शैतानका षड्यन्त्र र अभिप्रायहरूले भरिएका हुन्छन्, तिनमा सामान्य मानवताको इमानदारीको कुनै प्रकटीकरण हुँदैन। यो भन्न सकिन्छ कि ख्रीष्टविरोधीहरूमा इमानदारीको गुण हुँदै हुदैन जुन सामान्य मानवताको अंश हो। इमानदारी नभएका र झूट बोल्ने बानी भएका मानिसहरूलाई भूतिया प्रकृति भएका मानिसमा वर्गीकृत गरिन्छ—तिनीहरू भूत हुन्। यस्ता मानिसहरूले सजिलै मुक्ति पाउँदैनन्, किनभने तिनीहरू सत्यतालाई स्विकार्दैनन् र तिनीहरूलाई त्यो स्विकार्न चुनौतीपूर्ण लाग्छ।
ख. अन्तर्घाती र निर्दयी
झूट बोल्ने बानीबाहेक, ख्रीष्टविरोधीहरूका अरू कस्ता प्रकटीकरणहरू हुन्छन्? हामीले भर्खरै सामान्य मानवतामा हुने दया र सच्चाइजस्ता अत्यावश्यक गुणहरूबारे सङ्गति गर्यौँ, र यो प्रस्टै छ कि ख्रीष्टविरोधीहरूमा यी गुणहरूको पूर्णतया कमी हुन्छ। जे कुरा सामान्य मानवतामा अन्तर्निहित रूपमै हुन्छ त्यो कुरा ख्रीष्टविरोधीहरूमा हुँदैन; तिनीहरूमा सामान्य मानवता विपरीतका कुराहरू अर्थात् नकारात्मक कुराहरू मात्र हुन्छन्। त्यसोभए, दया र सच्चाइ विपरीत के हुन्छ? (अन्तर्घात र निर्दयता।) ठ्याक्कै मिलाइस्, तैँले सही बोलेको छस्—त्यो अन्तर्घात र निर्दयता नै हो। ख्रीष्टविरोधीहरूमा दया र सच्चाइजस्ता गुणहरूको कमी हुन्छ, बरु, तिनीहरूमा दया र सच्चाइ विपरीतका अन्तर्घाती र निर्दयी तत्वहरू हुन्छन्। के अन्तर्घाती र निर्दयी हुनु र हामीले यसअघि छलफल गरेको झूट बोल्ने बानीबीच कुनै सम्बन्ध छ? (छ।) कुनै न कुनै सम्बन्ध छ। ख्रीष्टविरोधीहरूले आफ्नो अन्तर्घात र निर्दयता कसरी प्रकट गर्छन्? (झूटहरू रच्ने र अरूलाई फसाउने तिनीहरूको क्षमतामार्फत।) झूटहरू रच्नु र अरूलाई फसाउनुमा झूट बोल्ने बानी र अन्तर्घाती र निर्दयी हुनु दुइटै संलग्न हुन्छन्; यी दुई गुणहरूको निकट सम्बन्ध छ। उदाहरणका लागि, यदि तिनीहरूले कुनै गलत कार्य गर्छन् र जिम्मेवारी लिन चाहँदैनन् भने, तिनीहरूले भ्रमपूर्ण हुलिया बनाउँछन्, झूटहरू बोल्छन्, र मानिसहरूलाई त्यो आफूले नभई अरू कसैले गरेको भनी विश्वास गराउँछन्। तिनीहरूले दोष अरू कोहीमाथि थोपर्छन्, र उसैलाई परिणामहरू भोग्न बाध्य पार्छन्। यो दुष्ट र नीच मात्र हो, त्योभन्दा बढी अन्तर्घाती र निर्दयी हो। ख्रीष्टविरोधीहरूका अन्तर्घात र निर्दयताका अरू केही प्रकटीकरणहरू के-के हुन्? (तिनीहरूले मानिसहरूलाई सताउन, आक्रमण गर्न र उनीहरूविरुद्ध प्रतिशोध लिन सक्छन्।) मानिसहरूलाई सताउन सक्नु भनेको निर्दयी हुनु हो। जसले तिनीहरूको हैसियत, ख्याति, वा प्रतिष्ठामा खतरा पुर्याउँछ, वा जो तिनीहरूप्रति प्रतिकूल हुन्छ, तिनीहरू उसलाई हमला गर्न र ऊविरुद्ध प्रतिशोध लिन हदैसम्म जान्छ। कहिलेकाहीँ, तिनीहरूले अरूलाई प्रयोग गरेर पनि मानिसहरूलाई हानि गर्न सक्छन्—यो अन्तर्घात र निर्दयता हो। छोटकरीमा, “अन्तर्घाती र निर्दयी” भन्ने वाक्यांशले ख्रीष्टविरोधीहरू निकै दुर्भावपूर्ण हुन्छन् भन्ने जनाउँछ। तिनीहरूले मानिसहरूसित जसरी व्यवहार र अन्तरक्रिया गर्छन्, त्यो विवेकमा आधारित हुँदैन, साथै तिनीहरू समान स्तरमा मिलेर बस्दैनन्; बरु, हरमोडमा, तिनीहरू अरूलाई आफ्नो प्रयोजनका लागि शोषण, नियन्त्रण, र आफूअनुकूल प्रयोग गर्न खोज्छन्। तिनीहरूको अरूसँग अन्तरक्रिया गर्ने तरिका सामान्य वा सोझो हुँदैन; बरु, तिनीहरू निश्चित उपाय र विधिहरू प्रयोग गरेर मानिसहरूलाई भ्रममा पार्छन्, शोषण गर्छन्, र उनीहरूलाई थाहै नदिई चलाखीपूर्ण तरिकाले हतियारको रूपमा प्रयोग गर्छन्। जोकोहीप्रति तिनीहरूको व्यवहारमा, बाहिरबाट त्यो असल वा खराब जस्तोसुकै देखिए पनि त्यसमा कुनै प्रकारको सच्चाइ हुँदैन। तिनीहरू आफूलाई उपयोगी लागेकाहरूसँग नजिकिन्छन् र आफूलाई बेकार लागेकाहरूबाट टाढिन्छन्, र तिनीहरूप्रति कुनै ध्यान दिँदैनन्। केही हदसम्म निष्कपट वा जोखिममा रहेका व्यक्तिहरूप्रति समेत तिनीहरूले विभिन्न उपाय र विधिहरू प्रयोग गरेर उनीहरूलाई भ्रम र पासोमा पार्ने उपायहरू सोच्छन्, र उनीहरूलाई आफ्नो लागि उपयोगी बनाउँछन्। तर जब मानिसहरू कमजोर हुन्छन्, कठिनाइमा हुन्छन्, वा सहायता चाहिएको अवस्थामा हुन्छन्, तब ख्रीष्टविरोधीहरू सिधै आँखा चिम्लन्छन् र उनीहरूप्रति उदासीन रहन्छन्। तिनीहरूले यस्ता मानिसहरूप्रति कहिल्यै प्रेम देखाउँदैनन् र उनीहरूलाई मदत गर्दैनन्। बरु उल्टै, तिनीहरू उनीहरूलाई हेप्न, भ्रममा पार्न, र उनीहरूलाई अझ बढी शोषण गर्ने उपायहरू सोच्न प्रवृत्त हुन्छन्। यदि तिनीहरूले उनीहरूलाई शोषण गर्न सक्दैनन् भने, तिनीहरू उनीहरूलाई पाखा लगाउँछन्, र उनीहरूप्रति कुनै प्रेम वा सहानुभूति देखाउँदैनन्—के यसमा दयाको कुनै छनक छ र? के यो दुर्भावको प्रकटीकरण होइन र? ख्रीष्टविरोधीहरूले मानिसहरूसँग अन्तरक्रिया गर्ने तरिका र दर्शन भनेको षड्यन्त्र र रणनीतिहरू प्रयोग गरेर मानिसहरूलाई शोषण गर्नु र छल्नु हो, जसले गर्दा मानिसहरूले तिनीहरूलाई छर्लङ्गै चिन्न नसकून्, तैपनि उनीहरू तिनीहरूका लागि दास बन्न तयार रहून् र सधैँ तिनीहरूको हुकुममा चलून्। तिनीहरूले आफूलाई खुट्ट्याउने र अब शोषण गर्न नसकिनेहरूलाई हेप्न र दुःख दिन सक्छन्। तिनीहरूले ती मानिसहरूमाथि सजिलै दोष लगाउन सक्छन्, जसले गर्दा दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई परित्याग गर्छन्, र त्यसपछि निष्कासन गर्छन् वा निकाल्छन्। छोटकरीमा, ख्रीष्टविरोधीहरू अन्तर्घाती र निर्दयी हुन्छन्, तिनीहरूमा दया र सच्चाइ हुँदै हुँदैन। तिनीहरूले कहिल्यै सच्चा रूपमा अरूलाई मदत गर्दैनन्, अरू कठिनाइहरूमा पर्दा कुनै सहानुभूति वा प्रेम देखाउँदैनन्। अन्तरक्रियाहरूमा, तिनीहरू आफ्नै फाइदा र लाभका निम्ति षड्यन्त्र गर्छन्। तिनीहरूकहाँ जो आए पनि वा जसले कठिनाइमा तिनीहरूबाट मदत मागे पनि, तिनीहरू सधैँ त्यस व्यक्तिबारे आकलनहरू गरिरहेका हुन्छन्, र हृदयमा यस्तो सोचिरहेका हुन्छन्: “यदि मैले यस व्यक्तिलाई मदत गरेँ भने, मैले भविष्यमा मैले ऊबाट के फाइदा लिन सक्छु? के उसले मलाई मदत गर्न सक्छ? के ऊ मेरो लागि उपयोगी हुन सक्छ? मैले ऊबाट के पाउन सक्छु?” के तिनीहरूले सधैँ यी मामलाहरूबारे सोचिरहनु स्वार्थी र नीच होइन र? (हजुर, हो।) मण्डलीका चुनावहरूमा, ख्रीष्टविरोधीहरूले कस्ता विधिहरू अपनाउनेछन्? (तिनीहरूले अरूलाई तुच्छ ठान्नेछन् र आफूलाई उच्च तुल्याउनेछन्, साथै आफूभन्दा राम्रालाई तल झार्नेछन्।) अरूलाई तुच्छ ठान्नु र आफूलाई उच्च तुल्याउनु पनि अन्तर्घाती र निर्दयी कुरा नै हो। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई आफूतिर तान्न र आफ्ना योगदानहरूबारे धाकरवाफ देखाएर सम्मान कमाउन र मत सुरक्षित गर्नका लागि स-साना निगाहहरू पनि प्रयोग गर्न सक्छन्। अरू केही छ? (तिनीहरूले उम्मेद्वारहरूको निष्पक्ष र वस्तुगत मूल्याङ्कन गर्न सक्दैनन्; तिनीहरूले आफ्नै पूर्वाग्रह र पक्षपात मिसाउनेछन्।) यसमा अरूको अपमान गर्न झूटहरू रच्ने काम पनि पर्छ। ख्रीष्टविरोधीहरू अन्तर्घाती र निर्दयी हुनुका धेरैवटा विशेष प्रकटीकरणहरू यसअघि नै सङ्गति गरिएका छन्। अन्तर्घाती भन्नुको अर्थ थुप्रै षड्यन्त्रहरू हुनु हो, अनि तिनीहरूको आफूलाई आचरणमा ढाल्ने, संसारसँग व्यवहार गर्ने, र कुनै पनि काम गर्ने सिद्धान्त भनेको रणनीतिमा निर्भर हुनु हो—जसमा सच्चाइ हुँदैन, झूटोपन र छलकपट मात्र हुन्छ। निर्दयता मूलत: तिनीहरूका कार्यविधिहरूका निर्दयता र क्रूरतासँग सम्बन्धित छ, जसमा कृपा देखाइँदैन, मानव संवेदना हुँदैन, अरूलाई हानि पुर्याइन्छ, र तिनीहरू अरूलाई चोट पुर्याएर आफ्ना उद्देश्यहरू हासिल गर्न तयार हुन्छन्—यो निर्दयता हो, र यो सिधै मानव दयाको विपरीत हो। यदि कुनै व्यक्तिको मानवतामा दया छ भने, साधारण मामलाहरू सामना गर्नुपर्दा, तिनीहरू सकेसम्म अरूप्रति उदार हुनेछन्, साथै तिनीहरूले मानिसहरूलाई माफी दिनेछन्। यस्तो व्यक्ति अरू मानिसहरूका समस्या र गल्तीहरूप्रति सहनशील हुन्छ, उसले सानोतिनो कुराहरूमा खोट देखाउँदैन, र ऊ सकेसम्म मिलेर बस्छ। यसअलावा, तिनीहरू करुणामय हुन्छन् र, अरू मानिसहरू कठिनाइबाट गुज्रिरहेको देख्नेबित्तिकै, तिनीहरू मदत गर्न तयार हुन्छन्, अरूलाई मदत गर्न पाउँदा खुसी हुन्छन् र अरूलाई शिक्षित तुल्याउनुलाई व्यक्तिगत जिम्मेवारी ठान्छन्—यो दया हो। के ख्रीष्टविरोधीहरूमा यो गुण हुन्छ? (हुँदैन।) तिनीहरू यस्तो विश्वास गर्छन्, “यदि तिमी कठिनाइमा छौ र मैले तिमीलाई मदत गरेँ भने, तिमीले मूल्य तिर्नुपर्छ। यदि मैले तिमीलाई फाइदाहरू दिएँ भने, मैले त्यसबाट के पाउँछु? यदि मैले तिमीलाई सहानुभूति दिएँ भने, मलाई चाहिँ कसले सहानुभूति दिनेछ? यदि मैले तिमीलाई मदत गरेँ भने, के तिमीले मेरो भलाइ सम्झिनेछौ? यदि तिमी मलाई तिमीलाई मदत गर्नका निम्ति आफैलाई त्याग्न अनुरोध गरिरहेका छौ भने तिमी सपनामा हुनुपर्छ! हामीबीच के सम्बन्ध छ? तिमीले मलाई के फाइदा दिन सक्छौ? के तिमीले यसअघि कहिल्यै मलाई मदत गरेका छौ? तिमी को हौ? के तिमी मदत गर्न लायक छौ? यदि तिमी राजाकी छोरी वा एक धनाढ्य व्यक्ति छोरा थियौ भने, सायद तिमीलाई मदत गर्दा मलाई केही महिमा र नाफा मिल्न सक्थ्यो। तर तिमी त्यो होइनौ। मैले तिमीलाई किन मदत गर्ने? तिमीलाई मदत गरेर मैले कस्ता फाइदाहरू पाउँछु?” तिनीहरूले कोही कठिनाइमा परेको, कोही कमजोर भएको, वा कसैलाई मदत चाहिएको देख्दा यस्तै सोच्छन्। के यो दयालु कुरा हो? जब यी मानिसहरूले कसैलाई कमजोर स्थितिमा देख्छन्, तिनीहरूले उसलाई उपहास र गिल्ला मात्र गर्दैनन्, हृदयमा आकलनहरू समेत गर्छन्। कतिपयले त यसलाई आफ्नो प्रदर्शन् गर्ने वा त्यस व्यक्तिको मन जित्ने अवसरको रूपमा समेत हेर्छन्। यो कुनै पनि दयालु कुरा होइन। ख्रीष्टविरोधीहरू प्रायः यस्ता अवसरहरूको फाइदा लिएर आफ्नो प्रदर्शन गर्छन्। तिनीहरू नाफा नहुने देखिएमा, र आफूसँग कुनै उद्देश्य र उत्प्रेरणा नहुन्जेल कार्य गर्दैनन्। यदि तिनीहरूले कसैलाई सहयोग गर्छन् भने, तिनीहरू उसलाई आफ्नो सहयोगीको रूपमा पाउन चाहन्छन्। यदि तिनीहरूले दुई जना मानिसहरूलाई मदत गर्छन् र सहानुभूति देखाउँछन् भने, तिनीहरू दुई जना सहयोगी, अर्थात् दुई जना दाहिने हात प्राप्त गर्न चाहन्छन्। नत्र, तिनीहरूले सिन्को समेत भाँच्नेछैनन्, साथै निश्चय नै तिनीहरूले सहायता चाहिएकाहरूप्रति प्रेम देखाउनेछैनन्।
ख्रीष्टविरोधीहरूको अन्तर्घात र निर्दयताको मूल प्रकटीकरण यो हो कि तिनीहरूले गर्ने सबथोकको एउटा अत्यन्तै प्रस्ट उद्देश्य हुन्छ। तिनीहरूले सोच्ने पहिलो कुरा तिनीहरूका आफ्नै हितहरू हो; साथै तिनीहरूका विधिहरू घृणास्पद, कच्चा, घिनलाग्दा, तुच्छ, र शङ्कास्पद हुन्छन्। तिनीहरूको कामकुरा गर्ने तरिकामा, तिनीहरूले मानिसहरूलाई व्यवहार गर्ने तरिकामा र उनीहरूलाई व्यवहार गर्ने सिद्धान्तहरूमा कुनै सच्चाइ हुँदैन। तिनीहरू जुन तरिकाले मानिसहरूसित व्यवहार गर्छन् त्यो उनीहरूबाट फाइदा लिनु र उनीहरूसित खेलबाड गर्नु हो, अनि जब तिनीहरूका लागि मानिसहरूको उपयोगी मूल्य हुँदैन, तिनीहरूले उनीहरूलाई पाखा लगाउँछन्। यदि तिनीहरूका लागि तेरो कुनै उपयोगी मूल्य छ भने, तिनीहरूले तेरो बारेमा चासो राखेको बहाना बनाउँछन्: “तिमीलाई कस्तो छ? तिमीलाई केही गाह्रोसाह्रो भयो? म तिमीलाई तिम्रा कठिनाइहरू समाधान गर्न मदत गर्न सक्छु। तिमीलाई केही समस्याहरू छन् भने मलाई भन। तिम्रो लागि म छु। यस्तो राम्रो सम्बन्ध हुनु हामी कति भाग्यमानी छौँ!” तिनीहरूले अत्यन्तै ध्यान दिइरहेको देखिन्छ। तर यदि त्यस्तो कुनै दिन तिनीहरूका लागि तेरो कुनै उपयोगी मूल्य बाँकी रहेन भने, तिनीहरूले तँलाई परित्याग गर्नेछन्, कुनातिर फालिदिनेछन् र बेवास्ता गर्नेछन्, मानौँ तिनीहरूले तँलाई यसअघि कहिल्यै भेटेका पनि थिएनन्। जब तँलाई साँच्चिकै समस्या आइपरेको हुन्छ र तँ तिनीहरूकहाँ मदत खोज्दै जान्छस्, तब तिनीहरूको मनोवृत्ति अचानक परिवर्तन हुन्छ, तिनीहरूका शब्दहरू अब तिनीहरूले पहिलोपटक सहयोगको वाचा गर्नेबेला जति मिठा सुनिँदैनन्—अनि यस्तोचाहिँ किन हुन्छ? किनभने तिनीहरूका लागि तेरो कुनै उपयोगी मूल्य छैन। अन्तत: तिनीहरूले तँप्रति ध्यान दिनै छाड्नेछन्। त्यति मात्र होइन: यदि तिनीहरूले तैँले केही गलत गरेको छस् भनेर थाहा पाएमा वा आफ्नो फाइदाका लागि प्रयोग गर्न सक्ने केही फेला पारेमा, तिनीहरू कठोर रूपमा तँप्रति अनाकर्षित हुन्छन्, र तिनीहरूले तँलाई निन्दासमेत गर्न सक्छन्। तँलाई यो विधिबारे के लाग्छ? के यो दया र सच्चाइको प्रकटीकरण हो? जब ख्रीष्टविरोधीहरूले अरूप्रति व्यवहार गर्दा यस्तो अन्तर्घात र निर्दयता प्रकट गर्छन्, के त्यसमा मानवताको कुनै छनक संलग्न हुन्छ? के तिनीहरूमा मानिसहरूप्रति अलिकति पनि सच्चाइ हुन्छ? कदापि हुँदैन। तिनीहरूले गर्ने सबथोक आफ्नै नाफा, गौरव, र प्रतिष्ठाका लागि, अरूमाझ आफूलाई हैसियत र ख्याति दिनका लागि हुन्छ। यदि तिनीहरूले भेट्ने हरेक व्यक्तिबाट फाइदा लिन सक्ने भए, तिनीहरूले फाइदा लिनेछन्। तिनीहरूले जोबाट फाइदा लिन सक्दैनन् उनीहरूलाई तिरस्कार गर्छन् र कुनै चासो दिँदैनन्; तँ आफैले तिनीहरूसँग कुरा गर्ने प्रयास गरे पनि, तिनीहरूले तँलाई बेवास्ता गर्छन्, र तँलाई हेर्नसमेत हेर्दैनन्। तर यदि कुनै दिन तिनीहरूलाई तेरो आवश्यकता पर्यो भने, तँप्रति तिनीहरूको मनोवृत्ति अचानक बदलिन्छ, र तिनीहरू अत्यन्तै सचेत र मिलनसार बन्छन्, जसले तँलाई अलमल्ल पार्छ। तँप्रति तिनीहरूको मनोवृत्ति किन बदलिएको हो? (किनभने अब तँसित तिनीहरूका लागि उपयोगी मूल्य छ।) ठिक भनिस्: जब तिनीहरूले तँसित उपयोगी मूल्य भएको देख्छन्, तब तिनीहरूको मनोवृत्ति बदलिन्छ। के तिमीहरू वरपर यस्ता मानिसहरू छन्? यी मानिसहरूले अरूसँग अन्तरक्रिया गर्दा, तिनीहरूले प्रस्ट रूपमा केही खराब गरिरहेका छन् जस्तो देखिँदैन। तिनीहरूका दैनिक हाउभाउ, बोलीचाली र व्यवहारबाट पनि कुनै प्रस्ट समस्याहरू छन् जस्तो देखिँदैन। तर, यदि तैँले तिनीहरूले अरू मानिसहरूसँग कसरी अन्तरक्रिया गर्छन्, विशेषगरी तिनीहरूले आफूनिकट र आफ्ना प्रियजनहरूसित कसरी अन्तरक्रिया गर्छन् भनेर राम्ररी हेरिस् भने, यदि तैँले तिनीहरूले कसरी अरूको शोषण गर्छन् र तिनीहरूले पछि उनीहरूलाई कस्तो व्यवहार गर्छन् भनेर हेरिस् भने, यसमार्फत तैँले अरूसँगका अन्तरक्रियाहरूमा ख्रीष्टविरोधीहरूका अभिप्राय, मनोवृत्ति, र तरिकाहरू नियाल्न सक्छस्। तिनीहरू सबै व्यक्तिगत उपलब्धि मात्र खोजिरहेका हुन्छन्, शैतानका दर्शनद्वारा जिइरहेका हुन्छन्, र तिनीहरूमा कुनै सामान्य मानवता हुँदैन।
ख्रीष्टविरोधीहरूको मानवतामा अन्तर्घात र निर्दयता जस्ता गुणहरू हुन्छन्। के तिनीहरू मानिस र वस्तुहरूसँग व्यवहार गर्दा इमानदार, दयालु, र सच्चा मानिसहरूसित मिलेर बस्न सक्छन्? के तिनीहरू यस्ता मानिसहरूसित नजिकिन इच्छुक हुन्छन्? (अहँ, हुँदैनन्।) तिनीहरू यी मानिसहरूलाई कसरी हेर्छन्? तिनीहरू यसो भन्छन्, “यी सबै मानिसहरू महामूर्खहरू हुन्, र तिनीहरूको बोलीवचन एकदमै झर्रो हुन्छ। तिमीले विचार पुर्याएर मात्र बोल्नुपर्छ—तिमी किन यति साँचो रूपमा बोल्छौ? किन तिम्रो बोलीवचन सधैँ यति सरल हुन्छ?” यी मानिसहरू ख्रीष्टविरोधीहरूका लागि दयनीय रूपमा मूर्ख हुन्छन्, र ख्रीष्टविरोधीहरू उनीहरूलाई हेयको दृष्टिले हेर्छन्। यी मानिसहरूले कुनै दयालु र मानिसहरूलाई इमानदारीपूर्वक व्यवहार गर्ने व्यक्ति देख्दा, त्यो व्यक्ति कठिनाइमा परेर उसलाई मदत चाहिएको खण्डमा, उनीहरूले उसलाई साँच्चिकै मदत गर्छन्, साथै यी मानिसहरूले त्यस व्यक्तिको भलाइको आशा गर्छन् र त्यस व्यक्तिलाई लाभ, सहायता, र शिक्षा प्रदान गर्ने इच्छा राख्छन्—ख्रीष्टविरोधीहरू यी मानिसहरूलाई मूर्ख र बेवकूफ ठान्छन्। ख्रीष्टविरोधीहरू मानवताका यी सुन्दर पक्षहरू मानिसहरूमा हुनुपर्ने असल र सुन्दर कुराहरू हुन् भन्ने विश्वास गर्दैनन्। बरु, तिनीहरू सामान्य मानवताका यी अत्यावश्यक गुणहरूप्रति घृणा, दिगमिग, र तिरस्कार महसुस गर्छन्। तिनीहरूले इमानदार मानिसहरूलाई मूर्ख भन्छन्; तिनीहरूले दयालु मानिसहरूलाई पनि त्यही भन्छन्, र सच्चा मानिसहरूलाई त झन् त्यसरी नै बोलाउँछन्। जसले केही हदसम्म इमानदारीका साथ परमेश्वरमा विश्वास गर्छन्, र जसले केही हदसम्म इमानदारीका साथ आफ्ना कर्तव्य निभाउँछन्, जो दयालु हृदयका हुन्छन् र अरू मानिसहरूलाई कहिल्यै चोट पुर्याउँदैनन् वा हानि गर्दैनन्, जसले अरूलाई प्रेम र सहानुभूति दिन्छन्, जसले अरूलाई सहयोग गर्नका लागि आफ्ना नाफाहरू त्याग्न र आफ्ना कठिनाइहरूलाई जित्न सक्छन्, जसले कमजोर र सहयोगको आवश्यकता परेका मानिसहरू देख्दा बोझिलो र जिम्मेवार महसुस गर्छन्—ख्रीष्टविरोधीहरूले भित्री रूपमा यी मानिसहरूप्रति झन् बढी तिरस्कार राख्छन्। जो परमेश्वरमाथिको आस्थामा केही हदसम्म इमानदार छन्, जोसँग परमेश्वरको डर मान्ने हृदय छ, जसले यावत् थोकमा परमेश्वरको छानबिन स्विकार्छन्, जो इमानदारी, बफादारी, र जिम्मेवारीका साथ आफ्ना कर्तव्यहरू निभाउन सक्षम छन्, साथै जसले आफ्ना कर्तव्यहरूलाई इमानदार मनोवृत्तिले हेर्छन्, उनीहरूका सन्दर्भमा भन्नुपर्दा—ख्रीष्टविरोधीहरूले भित्री रूपमा यस्ता व्यक्तिहरूलाई तिरस्कार र घृणा गर्छन्, बाहिरी रूपमा देखिनेगरी उनीहरूलाई पन्छाउँछन् र आफूलाई उनीहरूदेखि टाढा राख्छन्। ख्रीष्टविरोधीहरूक नजरमा, सामान्य मानवताका लागि अत्यावश्यक यी सारा सकारात्मक तत्वहरू कुनै सकारात्मक कुरै होइनन्: ती प्रशंसा वा प्रवर्धनका लायक छैनन्। बरु, ख्रीष्टविरोधीहरू तिनीहरूका आफ्नै षड्यन्त्र, रणनीति, मानिसहरूसँग व्यवहार गर्ने भित्री तरिकाहरू, र क्रूरता सराहनीय भएको ठान्छन्। सधैँभरि, तिनीहरूले जे गरे पनि, तिनीहरू मनन गरिरहेका हुन्छन् र मनमा आफ्ना विधि र षड्यन्त्रहरू निखारिरहेका हुन्छन्। उक्त मामला जतिसुकै ठूलो वा सानो भए पनि, तिनीहरू यसरी व्यवहार गर्नु जायज र जरुरी भएको ठान्छन्; नत्र, यसले तिनीहरूको प्रतिष्ठामा घाटा र क्षति पुर्याउनेछ। ख्रीष्टविरोधीहरूको मानवतामा यी तत्वहरू हुँदा हुँदै के तिनीहरूले सत्यतालाई स्विकार्न सक्छन्? के तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन्? कदापि सक्दैनन्। तैँले इमानदारी, दया, र अन्य सकारात्मक कुराहरूलाई जतिसुकै जोड दिए पनि, तैँले मानिसहरूमा यी पक्षहरू हुन र तिनीहरूले यस सकारात्मक मानवताबमोजिम मानिसहरूलाई व्यवहार गर्न, आफ्ना कर्तव्यहरूलाई व्यवहार गर्न, र विभिन्न मामलाहरूलाई सम्हाल्न आवश्यक गराए पनि, ख्रीष्टविरोधीहरूको हृदयको गहिराइमा यी कुराहरूप्रति अस्वीकार, तिरस्कार र शत्रुता हुन्छ। किन? किनभने ख्रीष्टविरोधीहरूमा यी सकारात्मक कुराहरू पटक्कै हुँदैन; तिनीहरूको सारमा दानवी प्रकृतिमा पर्ने अन्तर्घात र निर्दयताको चरित्र हुन्छ। के यो चरित्र र परमेश्वरले आवश्यक गर्नुहुने इमानदार, दयालु, र सच्चा हुनेबीच दूरी छ? यी दुईबीच दूरी हुने मात्र नभई, ती त ठ्याक्कै एक-अर्काका विपरीत छन्—ती अलग प्रकृतिका दुई चरित्रहरू हुन्। के ख्रीष्टविरोधीहरूका अन्तर्घात र निर्दयताको कुनै प्रकटीकरण र प्रकास सामान्य मानवतासँग मिल्छ? के त्यो सत्यतासँग मिल्छ? पक्कै पनि मिल्दैन; यो सबै शैतानका युक्ति र योजनाहरू हुन्। शैतानका युक्ति र योजनाहरूले प्रकट गर्ने प्रकृति ठ्याक्कै अन्तर्घाती र निर्दयी हुन्छ, जुन परमेश्वरले आवश्यक गराउनुभए अनुसार सामान्य मानवतामा हुन नहुने तत्वहरू हुन्। सङ्गति गरिएका अन्तर्घात र निर्दयताका विभिन्न प्रकटीकरणहरूका आधारमा, तिमीहरूका वरिपरि यस्तो मानवता भएका मानिसहरू छन् छैनन् भनेर विचार गर। यस्तो अन्तर्घआती र निर्दयी चरित्र भएका ख्रीष्टविरोधीहरूले निस्सन्देह कदम चाल्न सक्छन्। तिनीहरूका कदमहरू अरूले हेर्न, सुन्न र बुझ्न सक्ने हुन्छन्। यदि ती बुझ्न सकिने छन् भने, मानिसहरूले तिनको आभास पाउनुपर्छ र यस्ता व्यक्तिहरूलाई चिन्न र खुट्ट्याउन सक्नुपर्छ। ख्रीष्टविरोधीहरूको अन्तर्घाती र निर्दयी चरित्र अत्यन्तै सामान्य र प्रस्ट प्रकटीकरण हुनुपर्छ। यो कुनै गुप्त विचार, सोच, वा अभिप्राय होइन, बरु तिनीहरूको खुलासा भएको मानवता र तिनीहरूका कार्यहरूका विधि, उपाय, र रणनीतिहरू हुन्। मानिसहरूले यस पक्षलाई बुझ्न सक्नुपर्छ।
ग. सम्मानबोध नभएको र लाजसरम पचेको
सामान्य मानवतामा सरलता हुन्छ, तर के ख्रीष्टविरोधीहरू सरल हुन्छन्? हुँदैनन् भन्ने स्पष्ट छ। हामीले भर्खरै सङ्गति गरेका कपटीपन, निर्दयता, र झूट बोल्ने बानी सरलताका विपरीत हुन्। सरलता बुझ्न सहज छ, त्यसकारण हामी त्यसबारे सङ्गति गर्नेछैनौँ। सम्मानबोध हुनेबारे सङ्गति गरौँ। सम्मानबोध हुनु भनेको सामान्य मानवतामा हुनुपर्ने कुरा हो; यसको मतलब समझ हुनु हो। सम्मानबोध हुनुको विपरीतार्थी शब्द के हो? (लाजसरम पचेको।) लाजसरम पचेको हुनुको अर्थ लज्जाहीन हुनु हो। अर्को शब्दमा भन्दा, यसलाई सम्मानबोध नहुनु हो भनेर सारांश गर्न सकिन्छ। ख्रीष्टविरोधीहरू के-कस्ता क्रियाकलापहरू गर्छन्, तिनीहरूमा सम्मानबोध नभएको र तिनीहरू लाजसरम पचेका हुन् भनी देखाउने निश्चित प्रकटीकरण वा अभ्यासहरू के-के हुन्? ख्रीष्टविरोधीहरू हैसियतका लागि परमेश्वरसित खुलेआम प्रतिस्पर्धा गर्छन्, यस कार्यमा सम्मानबोध हुँदैन र यो लाजसरम पचाउनु हो। ख्रीष्टिविरोधीहरूले मात्र खुलेआम रूपमा हैसियत र परमेश्वरका चुनिएका मानिसहरूका लागि उहाँसित प्रतिस्पर्धा गर्न सक्छन्। चाहे मानिसहरू इच्छुक भए पनि वा नभए पनि, ख्रीष्टविरोधीहरू उनीहरूलाई नियन्त्रणमा राख्न चाहन्छन्। चाहे आफूमा सामर्थ्य भए पनि वा नभए पनि, ख्रीष्टविरोधीहरू हैसियतका निम्ति लागिपर्न चाहन्छन्, र त्यो प्राप्त गरेपछि, तिनीहरू मण्डलीकै भरमा जिउँछन्, र परमेश्वरका चुनिएका मानिसहरूको श्रमबाट खाने र पिउने गर्छन्, आफूले चाहिँ केही नगरी परमेश्वरका चुनिएका मानिसहरूलाई तिनीहरूको आपूर्ति गर्न लगाउँछन्। तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूका लागि बिलकुलै जीवन आपूर्ति गर्दैनन्, तैपनि उनीहरूलाई आफ्नो शक्तिअन्तर्गत ल्याउन चाहन्छन्, उनीहरूलाई आफ्नो कुरा सुन्ने, सेवा गर्ने, र आफ्ना लागि दासझैँ काम गर्ने तुल्याउँछन्, साथै तिनीहरू मानिसहरूका हृदयमा आफ्नै स्थान स्थापित गर्न चाहन्छन्। यदि तैँले अरूका बारेमा राम्रो कुरा गरिस्, परमेश्वरको महान् दया, अनुग्रह, आशिष् र सर्वशक्तिमान्ताको प्रशंसा गरिस् भने, तिनीहरू बेखुसी र अप्रसन्न महसुस गर्छन्। तिनीहरू सधैँ तैँले तिनीहरूका बारेमा उच्च प्रशंसाका साथ बोलेको, हृदयमा तिनीहरूका लागि स्थान राखेको, तिनीहरूलाई आदर गरेको र उच्च मानेको चाहन्छन्, अनि त्यो अप्रदूषित हुनुपर्छ। तैँले गर्ने सबथोक तिनीहरूकै लागि र तिनीहरूका बारेमा ख्याल गरेर गरिएको हुनुपर्छ। तैँले हरमोडमा, तेरो हरेक भनाइ र कार्यमा, तिनीहरूलाई अग्रस्थानमा राख्नैपर्छ, र सधैँ तिनीहरूका सोच र भावनाहरूलाई ध्यानमा राख्नुपर्छ। के यो सम्मानबोध नहुनु र लाजसरम पचाएको हुनु होइन र? के ख्रीष्टविरोधीहरू यस्तै व्यवहार गर्दैनन् र? (हजुर, गर्छन्।) अरू कस्ता प्रकटीकरणहरू छन्? तिनीहरूले भेटीहरू चोर्ने र फजुलमा उडाउने गर्छन्, र परमेश्वरका भेटीहरू हिनामिना गरेर आफैसँग राख्छन्। यो पनि सम्मानबोध नहुनु र लाजसरम पचाउनु हो—यो कुरा प्रस्टै छ!
भेटीहरू चोर्ने कुरा गर्दा, एउटा विशेष घटना घट्यो। केही दाजुभाइ-दिदीबहिनीहरूले वस्तुहरू चढाए जुन एउटा निश्चित मण्डलीमा पठाइयो, अनि चढाइएका वस्तुहरूको रक्षा गर्ने प्रभारी व्यक्तिले दुइटा बोत्तलहरू देख्यो, जसमा माथिका लागि भनेर लेबल थिएन, र कुनै निश्चित निर्देशनहरू पनि थिएनन्। ती के थिए भन्ने थाहा नपाएर, त्यस व्यक्तिले अनुमतिबिना ती वस्तुहरू राख्यो र माथिकहाँ पठाएन। पछि, मैले ऊसँग ती वस्तुहरू छन् कि भनी सोध्दा उसले ऊसँग दुइटा बोत्तलहरू रहेको बतायो। मैले कसरी ती वस्तुहरू तयारी अवस्थामा थिए भनेर सोधेँ, र उसले उक्त परिस्थितिबारे स्पष्टीकरण दियो, “यी दुई बोत्तलहरूमा ती के हुन् वा ती माथिका लागि हुन् भनेर जनाउने लेबल नभएकोहुनाले हामीले तिनलाई यहीँ राख्यौँ। यदि तिनमा हामीले उपयोग गर्न मिल्ने वस्तुका रूपमा लेबल लगाइएको भए, हामीले तिनलाई राखेर प्रयोग गर्नेथियौँ। यदि ती बेच्न मिल्ने भएका भए, हामीले बेच्नेथियौँ।” तिमीहरूलाई यहाँ समस्या चाहिँ के हो जस्तो लाग्छ? यहाँ विभिन्न ठाउँहरूबाट केही मूल्यवान् सामानहरू ल्याइन्छन्, कतिपयमा निर्देशनहरू हुन्छन् र धेरैजसोमा निर्देशन वा लेबलहरू राखिएका हुँदैनन्। सामान्य परिस्थितिहरूमा, यदि तिमीहरूले तर्कसङ्गत विश्लेषण प्रयोग गर्ने हो भने, यी वस्तुहरू कसलाई दिइनुपर्छ? (ती वस्तुहरू परमेश्वरलाई भेटीस्वरूप दिइनुपर्छ।) सामान्य चेतना भएका मानिसहरूले यसरी सोच्नुपर्छ। तर, कसैले यसो भन्यो, “यी वस्तुहरू माथिका लागि हुन् भनेर लेबल गरिएका छैनन्।” घुमाउरो रूपमा त्यस व्यक्तिले यसो भन्न खोजेको थियो, “ती तिम्रा लागि होइनन्। तिमीसँग तिनको के सरोकार छ? ती तिम्रा लागि हुन् भनेर लेबल नगरिएको हुनाले, मसँग तिनलाई सम्हाल्ने अधिकार छ। म ती वस्तुहरू तिमीलाई दिन्नँ। यदि मैले तिनलाई बेच्न चाहेँ भने, म बेचिदिनेछु। यदि मैले तिनलाई प्रयोग गर्न चाहेँ भने, म प्रयोग गर्नेछु। यदि मैले तिनलाई प्रयोग गर्न वा बेच्न चाहिनँ भने, म तिनलाई त्यहीँ राखेर खेर फाल्नेछु!” प्रभारी व्यक्तिको दृष्टिकोण यही थियो। तँलाई यस दृष्टिकोणबारे के लाग्छ? के टाढाबाट यी मूल्यवान् वस्तुहरू मण्डलीमा ल्याउने वा ती कसलाई दिनुपर्ने हो भनी निर्दिष्ट नगरी व्यक्तिहरूलाई दिने मानिसहरू हुन्छन्? (हुँदैनन्।) मूल्यवान् वस्तुहरू मण्डलीलाई, परमेश्वरको घरलाई, वा दाजुभाइ-दिदीबहिनीहरूलाई दिएर यति महान् प्रेमको भण्डारको प्रदर्शन कसले गर्नेथ्यो र? आजको दिनसम्म, मैले यस्तो महान् प्रेम भएको, वा यस्तो भेटी वा दान दिने व्यक्ति देखेकै छैन। साधारण र सस्तो वस्तुहरूका लागि समेत, तैँले पैसा तिर्नुपर्छ। त्यसकारण, के यी मूल्यवान् सामानहरू त्यत्तिकै अरूलाई सित्तैमा दिने कोही छ? (छैन।) यी वस्तुहरू पठाउने मानिसहरूले ती कसका लागि हुन् भनेर नतोके पनि, मानिसहरूलाई ती कसले पाउनुपर्ने हो भनेर थाहा हुनुपर्छ; यो मानवतामा हुनुपर्ने चेतना हो। प्रभारी व्यक्तिले यस मामलालाई कसरी सम्हाल्नुपर्छ? उसले यी वस्तुहरूसँग के गर्नुपर्छ? कम्तीमा पनि, उसले माथिलाई सोध्नुपर्छ, “के तपाईँ यी वस्तुहरू चाहनुहुन्छ? यदि चाहनुहुन्न भने, हामीले तिनलाई के गर्नुपर्छ?” केवल यी दुइटा प्रश्नहरू सोधिएमा, उक्त समस्या समाधान हुन सक्थ्यो; यी दुइटा प्रश्नहरूले व्यक्तिको चरित्रमा सामान्य मानवता छ भन्ने जनाउनेथ्यो। तर भेटीहरूको रक्षा गर्ने प्रभारी व्यक्तिले यी दुई सामान्य प्रश्नहरू समेत सोध्न सकेन, न त उसमा एक व्यक्तिसँग हुनुपर्ने सबैभन्दा अत्यावश्यक चेतना नै थियो। उसले कसरी यी वस्तुहरू मण्डलीका लागि हुन् भन्ने विश्वास गर्न सक्यो? उसले अर्को भनाइ पनि थप्यो: “ती माथिका लागि भनेर लेबल गरिएका छैनन्।” के यो समस्या होइन र? “ती माथिका लागि भनेर लेबल गरिएका छैनन्” भन्नुले के अर्थ्याउँछ? उसले किन यो भनाइ थप्यो? (उसले परमेश्वरका भेटीहरू त्यत्तिकै फजुलमा उडाउनुको कारण फेला पार्नका लागि।) कुरा ठ्याक्कै त्यही हो। के यस्ता कामकुरा गर्ने व्यक्तिको मानवतामा साँच्चिकै सम्मानबोध हुन सक्छ? स्पष्ट रूपमा हुन सक्दैन। यो चरित्र नभएको व्यक्तिमा कस्तो मानवता हुन्छ? के यो सम्मानबोध नहुनु होइन र? के उसलाई यी भेटी हुन् भन्ने साँच्चिकै थाहा थिएन र? उसलाई यी भेटी हुन् भन्ने थाहा थियो, तर उसको मानवतामा सम्मानबोध नभएकोले उसले लाजसरम पचेका यस्ता शब्दहरू बोल्न सक्यो, र पछि, उसले ती भेटीहरूलाई आफ्नै भएको भनी दाबी गर्दै, प्राकृतिक र सहज रूपमा तिनको आनन्द उठाउन, तिनलाई कब्जा गर्नर फजुलमा उडाउन सक्यो। ख्रीष्टविरोधी मानवता भएका मानिसहरूले मात्र यस्ता प्रकटीकरणहरू देखाउन सक्छन्।
ख्रीष्टविरोधीहरूमा विवेक र समझको कमी हुन्छ; तिनीहरूले सम्मानबोध नभएको र लाजसरम पचेको कुरा अरू कसरी प्रकट गर्छन्? जब तिनीहरूले कुनै गल्ती गर्छन्, तिनीहरू पछुतो महसुस गर्न जान्दैनन्, साथै तिनीहरूले हृदयमा कुनै दोष महसुस गर्दैनन्। तिनीहरू कसरी गल्ती सपार्ने वा पश्चात्ताप गर्ने भनी चिन्तन गर्दैनन्, र आफ्ना कार्यहरू जायज भएको विश्वास समेत गर्छन्। काटछाँट सामना गर्नुपर्दा वा प्रतिस्थापित हुँदा, तिनीहरू अन्यायपूर्ण व्यवहारमा परेको महसुस गर्छन्। तिनीहरू लगातार बहस गर्छन् र कुतर्कमा संलग्न हुन्छन्—यो सम्मानबोध नहुनु हो। तिनीहरू कुनै वास्तविक काम गर्दैनन्; हरेक मोडमा, तिनीहरू अरूलाई भाषण दिन्छन्, र खोक्रो सिद्धान्तवादहरूले मानिसहरूलाई भ्रममा पार्छन्, अरूलाई आफू आत्मिक भएको र आफूले सत्यता बुझेको सोच्ने तुल्याउँछन्। तिनीहरू आफूले कति काम गरेको छु र दुःख भोगेको छु भन्नेबारे पनि बारम्बार फाइँफुट्टी लाउँछन्, र आफू परेमश्वरको अनुग्रहका साथै दाजुभाइ-दिदीबहिनीहरूको आतिथ्य र हेरचाह पाउन योग्य भएको भन्छन्, यसरी सामान्य रूपमा मण्डलीमा निर्भर भएर जिउँछन्, साथै तिनीहरू स्वादिष्ठ चिजहरू खान र पिउन अनि विशेष व्यवहारको आनन्द उठाउन पनि चाहन्छन्। यो सम्मानबोध नहुनु र लाज पचेको हुनु हो। यसबाहेक, प्रस्ट रूपमा क्षमता कमजोर भए पनि, सत्यता नबुझे पनि, अभ्यासका सिद्धान्तहरू फेला पार्न नसके पनि, साथै कुनै पनि काम गर्न नसके पनि, तिनीहरू सक्षम र सबथोकमा राम्रो भएको धाक लगाउँछन्। के यो लाजसरम पचाउनु होइन र? प्रस्ट रूपमा आफू केही नहुँदा पनि, तिनीहरू सबथोक थाहा भएको ढोँग गर्छन् ताकि मानिसहरूले तिनीहरूलाई सम्मान गरून् र उच्च मानून्। यदि कसैलाई समस्याहरू आइपरेको छ तर उसले तिनीहरूको सल्लाह लिनुको साटो अरू मानिसहरूलाई सोध्छ भने, तिनीहरू रिसाउँछन्, ईर्ष्या गर्छन्, र रुष्ट बन्छन्, अनि जसरी सकिन्छ त्यस व्यक्तिलाई यातना दिने उपाय खोज्छन्। के यो लाजसरम पचाएको हुनु होइन र? तिनीहरूले प्रायः झूट बोल्छन् र तिनीहरूमा विभिन्न भ्रष्ट स्वभावहरू छन् भन्ने प्रस्टै छ, तर तिनीहरू आफूमा भ्रष्ट स्वभावहरू नभएको, तिनीहरूले परमेश्वरको निगाह र प्रेम पाएको ढोँग गर्छन्; हरेक मोडमा, तिनीहरू दुःख सहन निकै सक्षम भएको, समर्पित हुन सक्ने, सत्यता र काटछाँट स्वीकार्न सक्ने, मेहनत वा आलोचनादेखि नडराउने, र कहिल्यै गुनासो नगर्ने ढोँग गर्छन्—तर वास्तवमा, तिनीहरू रुष्टताले भरिएका हुन्छन्। तिनीहरूले स्पष्ट रूपले कुनै बुझाइ सङ्गति गर्न, वा प्रस्ट रूपमा सत्यताहरूबारे कुरा गर्न नसक्ने भए पनि, र तिनीहरूमा अनुभवात्मक गवाही नभए पनि, तिनीहरू ढोँग र छलकपटमा संलग्न हुन्छन्, आत्मज्ञानबारे खोक्रो रूपमा बोल्छन् ताकि मानिसहरूले तिनीहरूलाई निकै आत्मिक भएको र निकै बुझाइ भएको व्यक्तिका रूपमा हेरून्। के यो लाजसरम पचेको हुनु होइन र? तिनीहरूमा स्पष्ट रूपमा अनेकौँ समस्याहरू र खराब मानवता छन्, तिनीहरू कुनै बफादारीबिना आफ्नो कर्तव्य पूरा गर्छन्, र जे काम गरे पनि आफ्नै बौद्धिकता र चलाखीपनमा भर पर्छन्, बिलकुलै सत्यता खोज्दैनन्, तैपनि आफूले बोझ बोकेको, आफू निकै आत्मिक भएको र आफूमा क्षमता भएको, र आफू धेरैजसो मानिसहरूभन्दा श्रेष्ठ रहेको विश्वास गर्छन्। के यो लाजसरम पचेको हुनु होइन र? के यी कुराहरू ख्रीष्टविरोधीहरूमा मानवता नहुनुका प्रकटीकरणहरू होइनन् र? के तिनीहरूले बारम्बार यस्ता कुराहरू प्रकट गर्दैनन् र? स्पष्ट रूपमा, तिनीहरूमा सत्यता सिद्धान्तहरूको बुझाइको कमी छ, तिनीहरूले चाहे जे गरे पनि अभ्यासका कुनै सिद्धान्तहरू फेला पार्न सक्दैनन्, तर तिनीहरू खोजी वा सङ्गति गर्न मान्दैनन्; तिनीहरू काम फत्ते गर्न आफ्नै चलाखीपन, अनुभव र बौद्धिकतामा भर पर्छन्। तिनीहरू अगुवा हुने, अरूलाई निर्देशन दिने, र सबैलाई आफ्नो कुरा सुन्न लगाउने कामना समेत गर्छन्, अनि कसैले यसो नगर्दा तिनीहरू रिसाउँछन्। के यो लाजसरम पचेको हुनु होइन र? तिनीहरूमा महत्त्वाकाङ्क्षा, वरदान र थोरै चलाखीपन भएका कारण सधैँ परमेश्वरको घरमा पृथक देखिन, र परमेश्वरको घरले तिनीहरूलाई महत्त्वपूर्ण पदमा राखेर जगेर्ना गरोस् भन्ने चाहन्छन्। यदि तिनीहरूको जगेर्ना भइरहेको छैन भने, तिनीहरू निराश र रुष्ट हुन्छन्, परमेश्वरको घर अन्यायपूर्ण भएको, त्यसले प्रतिभाशाली मानिसहरू चिन्न नसक्ने, र तिनीहरूका असाधारण क्षमताहरू पत्ता लगाउनका लागि परमेश्वरको घरमा प्रतिभा चिन्न सक्ने राम्रो न्यायाधीश नभएको गुनासो गर्छन्। यदि तिनीहरूको जगेर्ना भइरहेको छैन भने, तिनीहरू आफ्ना कर्तव्यहरू पूरा गर्नका लागि कडा मेहनत गर्न, कठिनाइहरू सहन, वा मूल्य तिर्न चाहँदैनन्, बरु, तिनीहरू आफ्नो धूर्त्याइँ प्रयोग गरेर कामबाट उम्कन मात्र चाहन्छन्। हृदयमा, तिनीहरू आशा गर्छन् कि परमेश्वरको घरको कसैले तिनीहरूलाई सम्मान गर्नेछ र उत्थान गर्नेछ, ताकि तिनीहरूले अरूलाई उछिन्न र आफ्ना भव्य योजनाहरू यहीँ कार्यान्वयन गर्न सकून्। के यी महत्त्वाकाङ्क्षा र चाहना होइनन् र? के यो लाजसरम पचाएको हुनु होइन र? के यो ख्रीष्टविरोधीहरूको सबैभन्दा आम प्रकटीकरण होइन र? यदि तँसित साँच्चिकै क्षमताहरू छन् भने, तैँले सत्यता पछ्याउनुपर्छ, आफ्ना कर्तव्यहरू राम्ररी पूरा गर्नमा ध्यान दिनुपर्छ, अनि परमेश्वरका चुनिएका मानिसहरूले तँलाई स्वतः सम्मान गर्नेछन्। यदि तँसित कुनै पनि सत्यता छैन तर तँ अझै पनि सधैँ पृथक देखिन चाहन्छस् भने, त्यो समझको अत्यन्तै कमी हुनु हो! यदि तँमा महत्त्वाकाङ्क्षा र चाहनाहरू पनि छन्, साथै तँ सधैँ पूर्णतः लागिपर्न चाहन्छस् भने, तेरो पतन हुने निश्चित छ। समाजमा एकपटक निश्चित हैसियत र प्रतिष्ठा पाएपछि, केही मानिसहरू अनुचित रूपमा आफ्नो प्रभाव जमाउन, अन्तिम निर्णय गर्न, र परमेश्वरमा विश्वास गर्न र उहाँको घरमा प्रवेश गर्न आएपछि सबैलाई आफ्ना आज्ञाहरू मान्ने बनाउन चाहन्छन्। तिनीहरू आफ्ना योग्यता र प्रमाणपत्रहरू पेश गर्न चाहन्छन्, सबैलाई आफूभन्दा मूनिको ठान्छन् र ती सबै आफ्नो शक्तिको अधीनमा हुनुपर्ने सोच्छन्। के यो लाजसरम पचेको हुनु होइन र? हो नि। जब केही मानिसहरूले परमेश्वरको घरमा आफ्ना कर्तव्यहरू पूरा गर्दा केही नतिजाहरू हासिल गर्छन् र केही योगदानहरू दिन्छन्, तब तिनीहरू सधैँ दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई उच्च सम्मानका साथ, आफूभन्दा जेठो, उच्चपदस्थ अधिकारी, र विशेष व्यक्तित्वका रूपमा व्यवहार गरून् भन्ने चाहन्छन्। तिनीहरू आफूलाई मानिसहरूले उच्च मानून्, पछ्याऊन्, र तिनीहरूको कुरा सुनून् भन्ने समेत चाहन्छन्। तिनीहरू मण्डलीका अग्रणी व्यक्तित्व बन्ने आकाङ्क्षा राख्छन्; तिनीहरू सबै कुराको निर्णय गर्न, फैसला गर्न र सबै मामलाहरूमा अन्तिम निर्णय गर्न चाहन्छन्। यदि कसैले पनि तिनीहरूको कुरा सुनेन वा अवलम्बन गरेन भने, तिनीहरू आफ्नो पद त्याग्न, र अरू सबैको खोइरो खन्न र सबैलाई हाँसोमा उडाउन चाहन्छन्। के यो लाजसरम पचेको हुनु होइन र? लाजसरम पचेको हुनु बाहेक, तिनीहरू अत्यन्तै दुर्भावनापूर्ण हुन्छन्—यिनीहरू ख्रीष्टविरोधी हुन्।
ख्रीष्टविरोधीहरूको लाजसरम पचाउने चरित्रको प्रकटीकरण अत्यन्तै व्यापक छ। धेरैजसो मानिसहरूले यो कुरा केही हदसम्म देखाउँछन्, तर ख्रीष्टविरोधीहरूमा यो प्रकटीकरण हुने मात्र होइन, तिनीहरूले त्यो कति गम्भीर प्रकृतिको छ भनेर पनि कहिल्यै चिन्दैनन्, न त तिनीहरू पश्चात्ताप गर्छन्, त्यसबारे जान्न खोज्छन्, वा त्यसविरुद्ध विद्रोह नै गर्छन्। बरु, तिनीहरू त्यसलाई प्राकृतिक ठान्छन्, जुन तिनीहरूले सत्यता स्विकार्न नमान्नु हो। तिनीहरूको व्यवहार जति नै लाजसरम पचेको, समझहीन, घिनलाग्दो, र घृणास्पद भए पनि, तिनीहरू त्यो प्राकृतिक र जायज नै हो भन्ने विश्वास गर्छन्। तिनीहरू त्यो व्यावहारिक भएको, र आफ्ना वरदान र क्षमताहरूका कारण आफू अगुवाइ गर्न योग्य भएको, साथै तिनीहरूले आफ्ना योगदानहरूका कारण श्रेष्ठता प्रस्तुत गर्नुपर्ने, र अरूले तिनीहरूको कुरा सुन्नुपर्ने ठान्छन्, र तिनीहरू यसलाई लाजसरम पचाउने कुराका रूपमा हेर्दैनन्। के तिनीहरू आशारहित छैनन् र? यो सामान्य मानवता होइन; यो ख्रीष्टविरोधीहरूको चरित्र हो। साधारण भ्रष्ट मानिसहरूसँग धेरै वा थोरै मात्रामा, र गम्भीरताको फरक-फरक हदमा यी प्रकटीकरणहरू र सोचहरू होलान्, तर परमेश्वरका वचनहरू पढेर, अनि सत्यतालाई स्विकारेर र बुझेर, तिनीहरूले यस्ता कुराहरू सामान्य मानवतामा हुनुपर्ने कुरा होइनन् भन्ने पहिचान गर्छन्। तिनीहरूले यो पनि पहिचान गर्छन् कि जब यस्ता विचार, सोच, योजना, वा अनुचित मागहरू उत्पन्न हुन्छन्, तब तिनीहरूले तिनका विरुद्धमा विद्रोह गर्नुपर्छ, तिनलाई त्याग्नुपर्छ, तिनलाई उल्ट्याउनुपर्छ, पश्चात्ताप गर्न सिक्नुपर्छ, सत्यता स्विकार्नुपर्छ, र सत्यताअनुरूप अभ्यास गर्नुपर्छ। ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट व्यक्तिहरूबीच के भिन्नता छ? भिन्नता ख्रीष्टविरोधीहरूले कहिल्यै आफ्ना विचार, सोच, र चाहनाहरू गलत छन्, परमेश्वरद्वारा निन्दित र तिरस्कृत छन्, वा ती शैतानका नकारात्मक कुराहरू हुन् भनेर विश्वास गर्नेछैनन् भन्ने तथ्यमा छ। फलस्वरूप, तिनीहरूले यी सोच वा विश्वासहरू कहिल्यै छोड्दैनन्। बरु, तिनीहरू त्यसैमा अडिग रहन्छन्, तिनका विरुद्ध विद्रोह गर्दैनन्, साथै तिनीहरूले निश्चय नै सही र सकारात्मक कुरालाई स्विकार्दैनन्, र तिनलाई आफूले गर्नुपर्ने अभ्यास र पालना गर्नुपर्ने सिद्धान्त बन्न दिन्छन्। ख्रीष्टविरोधीहरू र साधारण भ्रष्ट व्यक्तिहरूबीचको भिन्नता यही हो। यताउता हेर्: जसले यस्तो लाजसरम पचाउँछ, तर कहिल्यै त्यसलाई पहिचान गर्दैन वा जसमा त्यसबारे कुनै चेतना छैन, त्यो नै नमुना ख्रीष्टविरोधी हो।
ख्रीष्टविरोधीहरूको अर्को खास विशेषता छ जुन मानिसहरूले खुट्टयाउन निकै सहज हुन्छ: तिनीहरूमा लज्जाबोध हुँदैन। बाइबलमा लेखिएझैँ “दुष्ट मानिस साह्रै जिद्दी हुन्छ” (हितोपदेश २१:२९)—ख्रीष्टविरोधीहरू मात्र साँच्चिकै दुष्ट मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू निर्लज्ज हुन्छन्; तिनीहरूले, जतिसुकै लाजसरम पचेका, मानिसहरूका भावनाहरूप्रति असंवेदनशील वा सत्यताविपरीत कार्यहरू गरे पनि, तिनीहरू यसबारे सचेत हुँदैनन्, न त यसलाई पहिचान गर्छन्। तिनीहरू सही र सकारात्मक कुरालाई स्विकार्दैनन् अनि आफ्ना गलत दृष्टिकोण र अभ्यासहरू छोड्दैनन्; बरु, तिनीहरू अन्त्यसम्म तिनमै अडिग रहन्छन्। ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्। तिमीहरू कुन अवस्थामा छौ? जब तिमीहरूमा यी अनुचित मागहरू, निर्लज्ज सोचहरू, र परमेश्वरले घृणा गर्नुहुने अभिप्राय र विचारहरू आउँछन्, के तिमीहरू यी कुराहरू परमेश्वरद्वारा तिरस्कृत छन् भनेर सचेत भई तीविरुद्ध विद्रोह गर्न र तिनलाई छोड्न सक्षम हुन्छौ? कि, सत्यता सुनेपछि, तिमीहरू तिनलाई छोड्न अस्वीकार गर्छौ, तिनमै अडिग हुन्छौ, र आफू नै सही छु भन्ने सोच्छौ? (जब म तिनका बारेमा सचेत हुन्छु, म तिनलाई परमेश्वरका वचनहरूसित जोड्न, र यी सोचहरू घृणास्पद र लाजसरम पचेका छन् भन्ने महसुस गर्छु, साथै म प्रार्थना गर्न र तीविरुद्ध विद्रोह गर्न सक्षम हुन्छु।) जो सचेत रूपमा प्रार्थना गर्न र तीविरुद्ध विद्रोह गर्न सक्छन् तिनीहरू ख्रीष्टविरोधी होइनन्; जो कहिल्यै प्रार्थना गर्दैनन् वा तीविरुद्ध विद्रोह गर्दैनन्, बरु आफ्नै सोचहरूको पछि लाग्छन्, हृदयमा परमेश्वरको विरोध गर्छन्, र सत्यतालाई स्विकार्न मान्दैनन्, तिनीहरू नमुना ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले गरेका कामकुरा जतिसुकै निर्लज्ज भए पनि, तिनीहरू तिनलाई स्विकार्न वा मान्न इन्कार गर्छन्। के यिनीहरू सकारात्मक कुराहरू नस्विकार्ने बरु नकारात्मक र दुष्ट कुराहरूलाई प्रेम गर्ने मानिसहरू हुन् भन्ने प्रस्ट छैन र? के तिमीहरू आफू कुन वर्गमा पर्छु भनेर छुट्ट्याउन असक्षम छौ, कि तिमीहरूलाई लाजसरम पचेका यी सोचहरू कहिल्यै आएका छैनन्? (मलाई यी सोचहरू आएका छन्, र तीबारे सचेत बनेपछि, मैले परमेश्वरलाई प्रार्थना गर्न र तीविरुद्ध विद्रोह गर्न सकेको छु। कहिलेकाहीँ म तिनका बारेमा सचेत भइनँ, मैले ती लाजसरम पचेका कुरा हुन् भन्ने थाहै नपाई व्यवहार गरेको र बोलेको, र पछि मेरो खुलासा भएपछि मात्र त्यो कुरा महसुस गरेको छु, त्यसपछि म प्रार्थना गर्न र तीविरुद्ध विद्रोह गर्न सक्षम भएँ।) यदि तिमीहरूलाई यी कुराहरू निर्लज्ज हुन् भन्ने थाहै छैन भने, त्यो कुनै समस्या होइन; यदि तिमीहरू थाहा पाएर पनि सत्यता स्विकार्दैनौ वा आफूविरुद्ध विद्रोह गर्दैनौ भने, यो चाहिँ गम्भीर समस्या हो। मानौँ कि, धेरैजसो समय, तिमीहरू असंवेदनशील हुन्छौ, यो कुरालाई परमेश्वरको वचनसित जोड्न सक्दैनौ, र आफ्नो समस्या के हो भनेर पत्तो पाउँदैनौ, तर जब तिमीहरूले त्यसको पत्तो पाउँछौ, तब तिमीहरूलाई हृदयमा तुरुन्तै दोषी र ग्लानि महसुस हुन्छ, र कसैलाई हेर्न पनि अत्यन्तै लाज लाग्छ, अनि तिमीहरू आफूलाई घृणास्पद, नीच, र कमजोर निष्ठा भएको सोच्छौ, त्यसकारण तिमीहरू आफूलाई घृणा गर्छौ र आफैसँग घिन महसुस गर्छौ, त्यसपछि कसरी परिवर्तन हुने र यी कुराहरूलाई छोड्ने भनेर चिन्तन गर्छौ। यो सामान्य अवस्था हो। यदि तिमीहरू सचेत बनेपछि आफूविरुद्ध विद्रोह गर्न सक्छौ भने, तिमीहरूले मुक्ति पाउने आशा रहन्छ। यदि तिमीहरू सचेत बनेर पनि आफूविरुद्ध विद्रोह गर्दैनौ भने, तिमीहरूमा मुक्तिको कुनै आशा रहँदैन। कुनै व्यक्तिले मुक्ति पाउन सक्नु वा नसक्नु उसले सत्यता स्विकार्न सक्नु वा नसक्नुमा भर पर्छ। कतिपयले भन्लान्, “म असंवेदनशील र मन्द-बुद्धिको छु, मेरो क्षमता पनि कमजोर छ, तर मैले सुनेको कुरा अलिकति बुझुञ्जेल, म परमेश्वरका वचनहरूअनुसार अभ्यास गर्न र आफूविरुद्ध विद्रोह गर्न सक्छु।” यस्ता मानिसहरूले मुक्ति पाउन सक्छन्। कुनै व्यक्तिको क्षमता चाहे जति नै राम्रो भए पनि वा उसले सत्यता जतिसुकै बुझे पनि, यदि उसले आफूविरुद्ध विद्रोह गर्दैन भने, यदि उसले सत्यता अभ्यास नगर्ने वा नस्विकार्ने भनेर जिद कस्छ, र हृदयमा त्यसको प्रतिरोध र विरोध गर्छ भने, कुरै सक्कियो—उसले मुक्ति पाउने आशा रहँदैन। लाजसरम पचेको हुनु पनि ख्रीष्टविरोधीहरूको चरित्रको एउटा आम विशेषता हो। आफू वरिपरि त्यस्ता मानिसहरू छन् कि भनेर हेर, अनि त्यसपछि तिमीहरू यस वर्गमा पर्छौ कि पर्दैनौ—तिमीहरूलाई निरन्तर रूपमा आफू सिद्ध र महान् भएको महसुस हुन्छ कि हुँदैन, तिमीहरू सधैँ आफूलाई मुक्तिदाता ठान्छौ कि ठान्दैनौ, तिमीहरू सधैँ आफूलाई अरू सबैभन्दा माथि राखियोस् भन्ने आकाङ्क्षा राख्छौ कि राख्दैनौ, तिमीहरू आफू कति उच्च स्थानमा उभिएको छु भनी हेर्न आफूलाई जुनसुकै समूहका अरू मानिसहरूसित दाँज्छौ कि दाँज्दैनौ, अनि तिमीहरूले अन्त्यमा अरू मानिसहरूलाई उछिन्न सके पनि नसके पनि, तिमीहरू उत्कृष्ट बन्ने चाहना राख्छौ कि राख्दैनौ, र आफूलाई अरूले उच्च ठानेको चाहन्छौ कि चाँदैनौ, भीडभन्दा पृथक हुन, र समूहको विशेष सदस्य बन्न चाहन्छौ कि चाहँदैनौ भनी निर्धारण गर्न आत्म-जाँच गर। तँलाई के कुराले विशेष बनाउँछ? के तेरो टाउकोमा सिङ पलाएको छ, कि तँसित त्रिनेत्र छन्, कि तिन वटा टाउको र छवटा हातहरू छन्? तँमा त्यस्तो विशेष केही पनि छैन भने तँलाई किन सधैँ आफू पृथक र अद्वितीय भएझैँ लाग्छ? यो लाजसरम पचेको हुनु हो। एकातिर, तेरो शारीरिक जन्मजात योग्यतामा अत्यन्तै विशेष कुरा केही छैन, र अर्कोतर्फ तेरो क्षमतामा पनि अत्यन्तै विशेष कुरा केही छैन। अझ महत्त्वपूर्ण कुरा, तँ पनि अरूजस्तै भ्रष्ट स्वभावहरूले भरिएको छस्, तँमा पनि सत्यताको बुझाइको कमी छ, र तँ पनि परमेश्वरको प्रतिरोध गर्ने शैतानी प्रवृत्तिको छस्। तैँले धाक लगाउनुपर्ने के छ र? धाक लगाउनलाई स्पष्ट रूपमा केही छैन। तँसित भएका थोरै सीप, योग्यता, वरदान, र प्रतिभाहरू उल्लेख गर्नलायक छैनन्, किनकि तिनले सामान्य मानवताको प्रतिनिधित्व गर्दैनन् र ती सकारात्मक कुराहरूसँग असम्बन्धित छन्। तैपनि, तँ उल्लेख गर्न लायक नभएका कुराहरू अगाडि ल्याउन जिद कस्छस्, तिनलाई आफ्नै सम्मानको पदकका रूपमा लिन्छस्, मानिसहरूको सम्मान र आदर पाउनका निम्ति तिनलाई चारैतिर आफ्नो महिमा र पुँजीका रूपमा प्रदर्शन गर्छस्, अरू मानिसहरूबाट आपूर्ति पाउन पुँजीका रूपमा समेत प्रयोग गर्छस्, र अरूले दिने सम्मान र अनुकूल व्यवहारमा रमाउँछस्। के यो लाजसरम पचेको हुनु होइन र? यी अनुचित माग, सोच, अभिप्राय, विचारहरू, साथै असाधारण मानवता र समझले निम्त्याएका अन्य त्यस्ता कुराहरू सबै लाजसरम पचेको हुनुका प्रकटीकरणहरू हुन्। यदि लाजसरम पचेको हुनुका यी प्रकटीकरणहरू कसैको मानवतामा हाबी हुन्छन्, र तिनीहरूलाई सत्यता स्विकार्न र बुझ्नबाट रोक्ने ठूलो विशेषता बन्छन् भने, यो ख्रीष्टविरोधीहरूको खास विशेषता हो।
कतिपय मानिसहरू दाजुभाइ-दिदीबहिनीहरूका लागि स्वादिष्ठ, उच्च गुणस्तरीय, र चलेका चिजहरू किन्नका लागि भेटीहरू खर्च गर्छन्, अनि दाबी गर्छन् कि तिनीहरूले यो उनीहरूको ख्याल गरेर गरिरहेका हुन्, ताकि उनीहरू परमेश्वरको घरमा खुसी र मस्त जीवन जिउन सकून्, र त्यसपछि परमेश्वरको प्रेमप्रति कृतज्ञ हुन सकून्। तँलाई यो युक्ति कस्तो लाग्छ? के यो करुणामय कुरा नै हो? (अहँ, होइन। तिनीहरू परमेश्वरका भेटीहरूलाई आफ्नै पैसाका रूपमा लिन्छन्, भेटीलाई परमेश्वरको घरका सिद्धान्तहरूअनुसार सामान्य र व्यावहारिक ढङ्गले प्रयोग गर्नुको साटो जसरी मन लाग्छ त्यसरी खर्च गर्छन्।) यो मानवताको कस्तो समस्या हो? (लाज पचेको हुनु।) यस्ता व्यक्तिहरूले हैसियत प्राप्त गर्नेबित्तिकै तिनीहरू खाँटी ख्रीष्टविरोधी बन्छन्। तिनीहरू आफूलाई अरूको कृपापात्र तुल्याउन भेटीहरू प्रयोग गर्छन्, र भन्छन्, “दाजुभाइ-दिदीबहिनीहरूसँग लत्ताकपडाको अभाव छ र उनीहरू कठोर जीवन जिउँछन्। उनीहरूसित धेरै कठिनाइहरू छन्, तर यसबारे कसैले चासो दिँदैन। मैले यो कुरा याद गरेको छु, र म यसको जिम्मेवारी लिनेछु। दाजुभाइ-दिदीबहिनीहरूका लागि कामकुरा सहज बनाउन, उनीहरू परमेश्वरको घरमा जिउने क्रममा उनीहरूलाई परमेश्वरको हार्दिकता, परमेश्वरको महान् प्रेम, र परमेश्वरको अनुग्रह अनुभव गर्ने तुल्याउन, परमेश्वरको घरले उनीहरूको जीवनको हरेक पक्षको तृप्ति गर्न केही पैसा खर्च गर्नु आवश्यक हुन्छ। त्यसकारण, मैले यसबारे थप सोच्न-विचार गर्नु, र दाजुभाइ-दिदीबहिनीहरूलाई के कुराको कमी वा आवश्यकता छ भनेर राम्रोसँग ख्याल गर्नु आवश्यक छ। पानी तातो राख्ने कपहरू किन्नुपर्छ ताकि दाजुभाइ-दिदीबहिनीहरूका लागि पानी पिउन र बाहिर जाँदा बोक्न सजिलो होस्। दाजुभाइ-दिदीबहिनीहरूका लागि कुर्सीहरू किन्नुपर्छ: कुर्सीहरूमा ढाड अड्याउने ठाउँ नरम हुनुपर्छ ताकि लामो समयसम्म बस्दा उनीहरूको ढाड नदुखोस्। यी कुर्सीहरूमा बस्न आरामदायी हुनुपर्छ, र तिनको उचाइ, कोण, र नरमपन उचित हुनुपर्छ। जतिसुकै मूल्य परे पनि, हामीले दाजुभाइ-दिदीबहिनीहरूका लागि कुनै खर्च गर्न बाँकी राख्नु हुँदैन, किनकि उनीहरू परमेश्वरको घरका खम्बा र परमेश्वरको घरको काम विस्तार गर्ने पुँजी र मुख्य आधार हुन्। त्यसकारण, दाजुभाइ-दिदीबहिनीहरूको राम्रो हेरचाह गर्नाले परमेश्वरको घरको काममा सुधार आउँछ।” अधिकांश दाजुभाइ-दिदीबहिनीहरू यो सुनेर रुन थाल्छन्, कृतज्ञताले भरिन्छन् र यो परमेश्वरको महान् प्रेम हो भन्दै चिच्याइरहन्छन्। यो मामला सम्हाल्नेहरू यो कुरा सुनेपछि भित्री रूपमा न्यानो महसुस गर्छन्, र सोच्छन्, “बल्ल मेरो मनको कुरा बुझ्ने मानिसहरू आए।” यो के हो? (लाजसरम पचेको हुनु।) दाजुभाइ-दिदीबहिनीहरूलाई त्यति ठूला लाभहरू प्रदान गर्नुलाई कसरी लाजसरम पचेको हुनु मान्न सकिन्छ? के यो अपमान हो? (अहँ, होइन।) तिनीहरू मानिसहरूको मन जित्नका निम्ति यो उदारता देखाउन परमेश्वरको घरको पैसा प्रयोग गरिरहेका छन्, र दाजुभाइ-दिदीबहिनीहरूप्रति विचारशीलता र प्रेमिलो हेरचाह देखाउने नाटक गरिरहेका छन्। तिनीहरूको वास्तविक उद्देश्य चाहिँ के हो? हल्का रूपमा भन्दा, तिनीहरूको उद्देश्य दाजुभाइ-दिदीबहिनीहरूसँगै यी लाभहरूको आनन्द उठाउनु हो। गम्भीर रूपमा भन्दा, यो आफूलाई मानिसहरूसामु कृपापात्र तुल्याउनु हो, ताकि मानिसहरूले सधैँ तिनीहरूलाई सम्झिउन्, आफ्नो हृदयमा तिनीहरूका लागि ठाउँ राखून्, र तिनीहरू कति असल थिए भनेर सम्झिरहून्। यदि तिनीहरूले आफ्नै पैसा खर्च गरिरहेका भए, के तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई उस्तै व्यवहार गर्नेथिए त? (निश्चय नै गर्नेथिएनन्।) तिनीहरूको साँचो रङ्ग खुलासा हुनेथ्यो, र तिनीहरूले मानिसहरूलाई यस्तो व्यवहार गर्नेथिएनन्। तिनीहरूले परमेश्वरका भेटीहरूलाई आफ्नै इच्छाअनुसार जथाभाबी प्रयोग गरिरहेको कार्यलाई मूल्याङ्कन गर्दा, तिनीहरू निष्ठा र नैतिक स्तर नभएका, नीच र निर्लज्ज मानिस हुन्? के तिनीहरू साँच्चिकै अरू मानिसहरूलाई दयालु व्यवहार गर्न सक्छन्? तिनीहरू कस्ता व्यक्ति हुन्? (तिनीहरू लाजसरम पचेका ख्रीष्टविरोधी हुन्।) ख्रीष्टविरोधीहरूको मानवतामा हुने र त्यसमा प्रकट हुने लाजसरम पचाउने कार्यमा केही कपटी र निर्दयी कुरा पनि छ—तिनीहरू आफ्ना व्यक्तिगत लक्ष्यहरू हासिल गर्नका लागि झूट प्रयोग गर्छन्। तिनीहरूका मुखबाट निस्कने कुन शब्दहरू चाहिँ साँचो हुन्छ? तिनीहरू मानिसहरूप्रति निकै विचारशील, उनीहरूलाई साँच्चिकै प्रेम गर्ने, र उनीहरूबारे धेरै नै सोच्नेझैँ देखिए पनि, पर्दापछाडि, तिनीहरू वास्तवमा दुर्भावनापूर्ण आशयहरू बोकिरहेका हुन्छन्। तिनीहरू आफैले कुनै मूल्य तिर्दैनन्; तिनीहरूले भेटीहरू खर्च गर्छन्, र अन्त्यमा, तिनीहरूले लाभ पाइरहँदा घाटा भोग्ने त परमेश्वरको घरले नै हो। ख्रीष्टविरोधीहरू यही नै गर्छन्—तिनीहरू लाजसरम पचेका मात्र होइन, कपटी र निर्दयी पनि हुन्छन्। तिनीहरूमा झूट बोल्ने बानी हुन्छ, तिनीहरू जहाँ गए पनि मानिसहरूलाई झूट बोल्ने र झुक्क्याउने गर्छन्, एक शब्द पनि सत्य बोल्दैनन्। यो नै घिनलाग्दो कुरा हो, तर तिनीहरू अझै पनि निष्कपट, दयालु, अरूप्रति असल, प्रेमिलो, सहानुभूतिपूर्ण, कोहीप्रति कठोर हृदय बनाउन वा आफूलाई हेप्नेहरूविरुद्ध प्रतिकार गर्न असक्षम भएकोबारे धक लगाउँछन्। तिनीहरू आफ्नो छवि बनाउने र मानिसहरूको हृदयमा स्थान ओगट्ने कामनासाथ आफू सिद्ध र शिष्ट व्यक्ति भएको धाक समेत देखाउँछन्। के यो लाजसरम पचाउनु होइन र? यो ख्रीष्टविरोधीहरूको प्रकृति हो; तिनीहरूको मानवता यस्तै कुराहरूले भरिएको हुन्छ।
खराब कामकुरा गर्दै छाडा रूपमा दौडने र लाजसरम पचाउनेहरूलाई मानिसहरूले केही हदसम्म खुट्ट्याउन सक्छन्, तर ख्रीष्टविरोधीहरू लाजसरम पचेका हुन्छन् भन्ने कुरा खुट्ट्याउन सजिलो छैन। मैले एक जना ख्रीष्टविरोधीले लाजसरम पचाएको एउटा विशेष प्रकटीकरण देखेको छु: ऊ प्रायः जङ्गली र ढीठ व्यवहार देखाउँथ्यो, उसको झूट बोल्ने बानी थियो, र उसको निश्चित बोल्ने शैली थियो, जुन मिलेको र सुव्यवस्थित थियो। तर, कार्यहरू सम्हाल्ने सन्दर्भमा, उसले सुरु गरेको काम सम्पन्न गर्न सक्दैनथ्यो, ऊ खराब कामकुरा गर्दै छाडा दौडिन्थ्यो, र उसमा कुनै पनि सिद्धान्तहरू छँदै थिएन। केही समय परमेश्वरको घरमा आफ्ना कर्तव्यहरू पूरा गरेपछि, उसले गरेको सबथोक बिग्र्यो, र उसले जे गरे पनि राम्रो भएन। सबैभन्दा ठूलो समस्या त यो थियो कि ऊ अझै पनि मानिसहरूलाई भ्रममा पार्न, उनीहरूको हृदयमा राम्रो छाप छोड्न चाहन्थ्यो, र हरेक मोडमा अरूले उसका बारेमा के सोच्छन् र उसलाई उच्च ठान्छन् कि ठान्दैनन् भनेर सोधपुछ गर्थ्यो। अन्ततः जब उसले आफ्ना कर्तव्यहरूमा निरन्तर रूपले गल्तीहरू गरिरहेको छ र केही पनि राम्रोसँग गर्न सकिरहेको छैन भन्ने प्रस्ट भयो, तब परमेश्वरको घरले उसलाई खेदायो। ऊ यी स्पष्ट प्रकटीकरणहरू चिन्न असफल भएको मात्र होइन, उसलाई खेदाउँदा उसले अत्यन्तै निर्दोष भएको नाटक पनि गर्यो। निर्दोष भएको नाटक गर्नु भन्नुको मतलब के हो? यसको मतलब उसले विगतका आफ्ना दुष्ट कार्यहरू—उसका झूटहरू, छलकपट, र अरू मानिसहरूलाई भ्रममा पार्ने कार्य, साथै उसले एउटा स्वतन्त्र राज्य सिर्जना गरेर मण्डलीलाई आफ्नै परिवारको नियन्त्रणमा ल्याएको, खराब कार्यहरू गर्दै छाडा दौडेको र सिद्धान्तविना व्यवहार गरेको, कहिल्यै सत्यता खोजी नगरेको, र आफूलाई जे मन लाग्छ त्यही गरेको, लगायतका दुष्ट कार्यहरू—कहिल्यै स्विकारेन र उसले आफ्ना यी दुष्ट कार्यहरू बिलकुलै चिन्न सकेन भन्ने हो। यसको उल्टो, ऊ आफूले परमेश्वरको घरमा कैयौँ वर्ष आफ्नो कर्तव्य पूरा गरेको, धेरै कष्ट भोगेको, उच्च मूल्य तिरेको, अत्यन्तै लामो समय बिताएको, र आफ्नो धेरै ऊर्जा खर्चेको, तर अन्त्यमा, ऊ त्यस्तो अवस्थामा पुगेकोजहाँ उसको प्रतिष्ठा खराब भयो र सबैले उसलाई हेयको दृष्टिले हेरे, जहाँ उसलाई कसैले पनि दया गरें वा सहानुभूति देखाएन, र कसैले पनि उसको पक्षमा बोलिदिएन भन्ने विश्वास गर्थ्यो। के यो निर्दोष भएको नाटक गर्नु होइन र? यो निर्दोष भएको नाटक गर्नु कस्तो मानवताको प्रकटीकरण हो? (समझ नहुनु र लाजसरम पचाएको हुनुको।) ठ्याक्कै त्यही हो। उसले आफूले गरेका कामकुरा र निर्वाह गर्नुपर्ने कर्तव्यहरूलाई आफ्नै योग्यता ठान्थ्यो। ऊ आफूले गरेका सत्यता सिद्धान्तहरूसँग नमिल्ने वा बाधा र अवरोध पुर्याउने कुनै पनि कार्यलाई पूर्ण रूपमा अस्वीकार गर्थ्यो, र अन्त्यमा, उसले निर्दोष भएको नाटक गर्थ्यो। यो लाजसरम पचाएको हुनु हो, र ऊ एक खाट्टी ख्रीष्टविरोधी हो। के तिमीहरूले कहिल्यै यस्ता व्यक्तिहरू भेटेका छौ? तिमीहरूले तिनीहरूलाई चाहे जुन कार्यको प्रभारी बनाए पनि वा जे कार्य दिए पनि, तिनीहरू बल पुष्ट गर्न, स्वतन्त्र राज्य स्थापित गर्न, र अरूलाई चर्चा बाहिर राख्न खोज्छन् ताकि आफू चर्चामा आउन सकियोस्। तिनीहरू सबैलाई उछिन्न चाहन्छन्, कसैलाई पनि कुनै सत्य कुरा भन्दैनन्, तिनीहरूका कुरा सुन्नेहरूलाई तिनीहरूका कुन भनाइहरू साँचो हुन् र कुन गलत हुन् भन्नेबारे अनिश्चित हुने तुल्याउँछन्। जब अन्त्यमा तिनीहरूलाई खेदाइन्छ, तिनीहरू आफूलाई अत्यन्तै निर्दोष समेत ठान्छन् र कसैले आफ्नो प्रतिरक्षा गर्ने आशा गर्छन्। के तिमीहरूलाई कसैले तिनीहरूको बचाउ गर्नेछ जस्तो लाग्छ? (अहँ, गर्नेछैनन्।) यदि कसैले गर्यो भने, ऊ साँचो तथ्यहरूबारे अनजान, बुद्धि नभएको, तिनीहरूले भ्रममा पारेको, वा तिनीहरूजस्तै व्यक्ति हुनुपर्ने हुन्छ।
घ. स्वार्थी र नीच
ख्रीष्टविरोधीहरूसित कुनै विवेक, समझ वा मानवता हुँदैन। तिनीहरू लाज पचाउने मात्र हुँदैनन्, त्यसमाथि तिनीहरूसित अर्को पहिचान पनि हुन्छ: तिनीहरू असामान्य रूपले स्वार्थी र नीच हुन्छन्। तिनीहरूको “स्वार्थीपन र नीचता” को शाब्दिक अर्थ बुझ्न त्यति गाह्रो छैन: तिनीहरूले आफ्नो हितबाहेकका सबै कुराप्रति आँखा चिम्लन्छन्। आफ्ना हितहरूसित सम्बन्धित जुनसुकै कुरामा तिनीहरूको पूरा ध्यान जान्छ, र तिनीहरूले यसका लागि दुःख भोग्नेछन्, मूल्य चुकाउनेछन्, तिनीहरूले आफैलाई त्यसमा तल्लीन बनाउनेछन्, र आफूलाई त्यसमा समर्पित गर्नेछन्। तिनीहरूको हितसित सम्बन्धित नभएको कुनै पनि थोकप्रति तिनीहरूले आफ्ना आँखाहरू बन्द गर्छन् र त्यसमा कुनै ध्यान दिँदैनन्; अरूले आफूलाई जस्तो मन लाग्यो त्यसै गर्न सक्छन्—कुनै व्यक्तिले बाधा वा अवरोध पुर्याइरहेको भए पनि ख्रीष्टविरोधीहरू त्यसलाई वास्ता गर्दैनन्, र तिनीहरूलाई यो कुराको सरोकार तिनीहरूसित हुँदैन भन्ने लाग्छ। व्यावहारिक रूपमा भन्नुपर्दा, तिनीहरूले आफ्नै काममा ध्यान दिन्छन्। तर यस किसिमको व्यक्ति नीच, तुच्छ, र घिनलाग्दो हुन्छ भन्दा अझै सटीक हुन्छ; हामी तिनीहरूलाई “स्वार्थी र नीच” को रूपमा परिभाषित गर्दछौँ। ख्रीष्टविरोधीहरूको स्वार्थीपन र नीचता कसरी प्रकट हुन्छ? आफ्नो प्रतिष्ठा वा इज्जतमा फाइदा पुर्याउने कुनै पनि कुरामा तिनीहरूले गर्नुपर्ने वा भन्नुपर्ने कुराहरू गर्न वा भन्नलाई जोड गर्छन्, र तिनीहरूले स्वेच्छिक रूपमा कष्ट सहन्छन्। तर परमेश्वरको घरले बन्दोबस्त गरेको काम वा परमेश्वरका चुनिएका मानिसहरूको जीवन वृद्धिमा फाइदा पुर्याउने कामको हकमा, तिनीहरूले यसलाई पूर्ण रूपमा बेवास्ता गर्छन्। दुष्ट मानिसहरूले बाधा र अवरोध गर्दा, र हरप्रकारको दुष्ट काम गर्दा, र त्यसरी मण्डलीको काममा गम्भीर असर पुर्याउँदा पनि, तिनीहरू उदासीन र निस्फिक्री रहन्छन्, मानौं तिनीहरूसँग त्यसको केही सम्बन्ध नै छैन। अनि, यदि कसैले थाहा पाएर कुनै दुष्ट व्यक्तिका दुष्ट कार्यहरूबारे उजुरी गऱ्यो भने तिनीहरूले केही देखेको छैन भन्दै अनभिज्ञ भएको बहाना गर्छन्। तर यदि कसैले तिनीहरूको उजुरी गर्छन्, र तिनीहरूले वास्तविक काम गर्दैनन्, केवल प्रसिद्धि, प्राप्ति र हैसियत मात्र खोजिहिँड्छन् भनेर खुलासा गरिदिन्छन् भने, तिनीहरू रिसले चुर हुन्छन्। कस्तो प्रतिक्रिया दिने भनेर छलफल गर्न हतारमा बैठकहरू बोलाउँछन्, तिनीहरूको पिठिउँपछाडि कसले कुरा गऱ्यो, त्यसको मुख्य अगुवा को हो, र त्यसमा को संलग्न थियो भनी पत्ता लगाउन अनुसन्धानहरू गरिन्छन्। तिनीहरू त्यसको जडमा नपुगुञ्जेल र त्यो विषयलाई समाधान नगरुञ्जेल खाँदैनन् वा निदाउँदैनन्; कहिलेकहीँ त तिनीहरू आफ्नो बारेमा उजुरी गर्नमा संलग्न रहेका हरेकलाई पछारेपछि मात्र खुसी हुन्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? के तिनीहरूले मण्डलीको काम गरिरहेका हुन्छन्? तिनीहरूले आफ्नै शक्ति र प्रतिष्ठाका निम्ति, शुद्ध र सरल भएको अभिनय गरिरहेका हुन्छन्। तिनीहरू आफ्नै कार्य सञ्चालन गरिरहेका हुन्छन्। तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि ख्रीष्टविरोधीहरू परमेश्वरको घरका हितहरूबारे कहिल्यै केही पनि सोच्दैनन्। तिनीहरू आफ्ना हितहरू प्रभावित होलान् कि भन्ने मात्र सोच्छन्, तिनीहरू आफ्नो अगाडि भएको र आफूलाई फाइदा गर्ने थोरै कामको बारेमा मात्र सोच्छन्। तिनीहरूका लागि मण्डलीको प्राथमिक काम आफ्नो फुर्सदको समयमा गर्ने काम मात्र हुन्छ। तिनीहरूले यसलाई कुनै गम्भीरतासाथ लिँदैनन्। तिनीहरू उक्साइएमा मात्र काम गर्छन्, आफूलाई मनपर्ने काम मात्र गर्छन्, र आफ्नो हैसियत र शक्ति कायम राख्नको निम्ति मात्र काम गर्छन्। तिनीहरूको नजरमा, परमेश्वरको घरद्वारा प्रबन्ध गरिएको कुनै पनि काम, सुसमाचार प्रचार गर्ने काम र परमेश्वरका चुनिएका जनहरूको जीवन प्रवेशको कुनै महत्त्व हुँदैन। अरू मानिसहरूलाई तिनीहरूको काममा जस्तोसुकै कठिनाइहरू भए पनि, तिनीहरूले जुनै समस्या पहिचान गरे पनि वा तिनीहरूलाई जुनै समस्याको उजुरी दिए पनि, तिनीहरूका कुराहरू जति नै इमानदार भए पनि, ख्रीष्टविरोधीहरूले त्यसमा ध्यान दिँदैनन्, तिनीहरू संलग्न हुँदैनन्, मानौं, तिनीहरूसित यसको कुनै सम्बन्ध छैन। मण्डलीको काममा जति ठूला समस्याहरू उत्पन्न भइरहेका भए पनि, तिनीहरू बिलकुलै उदासीन हुन्छन्। तिनीहरूसामु नै कुनै समस्या हुँदा पनि तिनीहरू झारा टार्न मात्र त्यसको सम्बोधन गर्छन्। जब तिनीहरूलाई सीधै माथिबाट काट-छाँट गरिन्छ र समस्या समाधान गर्ने आदेश दिइन्छ तब मात्र तिनीहरू मन नलागी-नलागी थोरै वास्तविक काम गर्छन् र माथिकालाई देखाउनका लागि दिनेछन्; त्यसको लगत्तै, तिनीहरू आफ्नै काममा लागिरहन्छन्। मण्डलीको काम, अझ विस्तृत सन्दर्भका महत्त्वपूर्ण कामकुराका सम्बन्धमा, तिनीहरू यी कुराहरूमा रुचि देखाउँदैनन्, र तिनलाई बेवास्ता गर्छन्। तिनीहरू आफूले थाहा पाएका समस्याहरूलाई पनि बेवास्ता गर्छन्, र त्यस्ता समस्याहरूको बारेमा सोध्दा तिनीहरूले झारा टार्ने जबाफ दिन्छन्, वा तिनीहरू अनिर्णित हुन्छन्, र मन नलागीनलागी त्यसलाई सम्बोधन गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? यति मात्र होइन, ख्रीष्टविरोधीहरूले जुनै कर्तव्य निभाइरहेका भए पनि त्यसले तिनीहरूलाई चर्चामा ल्याउन मदत गर्नेछ कि गर्नेछैन भन्ने मात्र सोच्छन्; त्यसले तिनीहरूको प्रतिष्ठा बढाउनेछ भने, तिनीहरू यो कसरी गर्ने, कसरी पूरा गर्ने भनी तरिका सिक्न आफ्नो दिमाग खियाउँछन्; यसले तिनीहरूलाई अलग राख्छ कि राख्दैन भन्ने कुराको मात्र तिनीहरू वास्ता गर्छन्। तिनीहरूले चाहे जे गरे वा सोचे पनि, तिनीहरू आफ्नै ख्याति, लाभ र हैसियतको मात्र चिन्ता गरिरहेका हुन्छन्। तिनीहरूले जुनसुकै कर्तव्य निभाइरहेका भए पनि, तिनीहरू को उच्च वा नीच छ, कसले जित्छ र को हार्छ, कसको ठूलो प्रतिष्ठा छ भन्ने कुरामा मात्र प्रतिस्पर्धा गर्छन्। तिनीहरू कति जना मानिसहरूले तिनीहरूलाई आराधना गर्छन् र आदरका साथ हेर्छन्, कति जना मानिसहरूले तिनीहरूको आज्ञा पालन गर्छन्, र तिनीहरूका कति जना अनुयायीहरू छन् भन्ने कुराको मात्र वास्ता गर्छन्। तिनीहरू कहिल्यै सत्यताको सङ्गति गर्दैनन् वा वास्तविक समस्याहरू समाधान गर्दैनन्। तिनीहरू आफ्नो कर्तव्य निभाउँदा कसरी सिद्धान्त अनुसार काम गर्ने भनेर कहिल्यै विचार गर्दैनन्, न त तिनीहरू बफादार भएका छन् कि छैनन्, तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेका छन् कि छैनन्, तिनीहरूका काममा कतै विचलन र चुक भएका छन् कि, वा कुनै समस्याहरू छन् कि भन्नेबारेमा चिन्तन नै गर्छन्, तिनीहरू परमेश्वरको घरले मागेको कुरा र परमेश्वरका अभिप्रायहरू के-के हुन् भन्नेबारे त झन सोच्दैनन्। तिनीहरूले यी कुराहरूमा अलिकति पनि ध्यान दिँदैनन्। तिनीहरूले केवल आफ्नो टाउको सीधा पारेर प्रसिद्धि, लाभ र हैसियतका लागि, आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि मात्र काम गर्छन्। यो स्वार्थीपन र नीचताको अभिव्यक्ति हो, होइन र? यसले तिनीहरूको हृदय तिनीहरूका आफ्नै महत्त्वकाङ्क्षा, चाहना र अर्थहीन मागहरूले भरिएको छ भन्ने प्रमाणित गर्छ; तिनीहरूले जे गर्छन् ती सबै तिनीहरूका महत्त्वकाङ्क्षा र चाहनाहरूद्वारा सञ्चालित हुन्छन्। तिनीहरूले चाहे जे नै गरे पनि, त्यसको प्रेरणा र स्रोत तिनीहरूको आफ्नै महत्त्वकाङ्क्षा, चाहना, र अर्थहीन मागहरू हुन्। यो स्वार्थीपन र नीचताको ठेट प्रकटीकरण हो।
कतिपय अगुवाहरूले कुनै वास्तविक काम नै गर्दैनन्; माथिलाई रिपोर्ट गर्नका निम्ति, काटछाँट र बर्खासीबाट जोगिनका निम्ति, र आफ्नै हैसियत सुरक्षित गर्नका लागि, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूसँग हदैसम्म जान्छन्, र उनीहरूलाई तिनीहरूका लागि सेवा प्रदान गर्न बाध्य तुल्याउँछन्। तिनीहरूका काममा, तिनीहरूले शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्छन्, सत्यता सिद्धान्तहरूबारे सङ्गति गर्ने, वास्तविक समस्याहरू समाधान गर्ने, अरूलाई प्रेमिलो हृदयले मदत गर्ने, वा अरू मानिसहरूका कठिनाइहरूलाई ख्याल गर्ने गर्दैनन्, साथै आफ्ना कर्तव्यहरू पूरा गर्ने क्रममा र आफ्नो जीवन प्रवेशमा मानिसहरूले सामना गर्ने वास्तविक कठिनाइहरूलाई कहिल्यै सम्बोधन गर्दैनन्। तिनीहरू नकारात्मक हुने कसैलाई कहिल्यै सहयोग गर्दैनन्। दमन गर्ने र झपार्ने बाहेक, तिनीहरू केवल धर्मसिद्धान्तहरू बोल्छन् र आफ्ना नाराहरू फलाक्छन्। तिनीहरूको उद्देश्य के हो? तिनीहरू परमेश्वरको बोझलाई ख्याल गर्दैनन्, बरु आफूलाई सुशोभित गर्न र आफ्नो हैसियत सुरक्षित गर्नका निम्ति दाजुभाइ-दिदीबहिनीहरूले कर्तव्य निर्वाह गरेर ल्याएका परिणाम दुरुपयोग गर्न चाहन्छन्। यदि दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा राम्रा नतिजाहरू देखाएमा, तिनीहरू प्रसन्न हुन्छन्। तिनीहरू भित्री रूपमा आफ्नै सद्गुणको प्रशंसा गर्दै र आफूले निकै राम्रोसँग आफ्ना कर्तव्यहरू पूरा गरेको सोच्दै माथिसामु श्रेय आफै लिन्छन्। यसका साथै, तिनीहरू यो काम गर्ने क्रममा आफूले सामना गरेका धेरै कठिनाइहरू, परमेश्वरले कसरी तिनीहरूका लागि बाटो खोलिदिनुभयो, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई सँगै मिहिनेत गर्न र यी कठिनाइहरू पार गर्न कसरी अगुवाइ गरे, तिनीहरूले उनीहरूलाई यो काम पूरा गर्न कसरी मदत गरे, तिनीहरूले सिद्धान्तहरू कसरी पालना गरे, र दुष्ट मानिसहरूलाई कसरी निकाले भनी माथिलाई रिपोर्ट गर्छन्। तिनीहरू आफूले काममा तिरेको मूल्य र गरेका योगदानहरूमा पनि विशेष रूपमा प्रकाश पार्छन्, ताकि माथिले तिनीहरूकै प्रयासका कारण काम राम्रोसँग सम्पन्न भएको हो भन्ने थाहा पाओस्। अप्रत्यक्ष रूपमा, तिनीहरूले माथिलाई यसो भनिरहेका हुन्छन्, “मेरो अगुवाइले नामअनुसारको काम गर्छ, र तिमीहरूले मलाई अगुवा चुनेर सही निर्णय गर्यौ।” के यो स्वार्थी र नीच हुनुको प्रकटीकरण होइन र? स्वार्थी र नीच हुने मानवता प्रकट गर्ने मानिसहरूसँग प्रायः केही थेगोहरू हुन्छन्। उदाहरणका लागि, तिनीहरूलाई कुनै मण्डलीको अगुवाइ गर्न प्रबन्ध गरेपछि, तिनीहरूले सधैँ यसो भन्छन्, “मेरो मण्डलीमा त हाम्रो मण्डली जीवन असाध्यै राम्रो, अति गजब छ। मेरा दाजुभाइ-दिदीबहिनीहरूले गजबको र गहिरो जीवन प्रवेश पाएका छन्, र सबैसँग जीवन अनुभवहरू छन्। उनीहरूले परमेश्वरलाई कसरी प्रेम गर्छन्, र हाम्रो काम कति राम्रोसँग गरिन्छ भन्ने कुरा नै हेर न।” यी कुराहरू ख्रीष्टविरोधीहरूका थेगोहरू हुन्। तिनीहरूका थेगोहरू मूल्याङ्कन गर्दा, तिनीहरूले आफू जिम्मेवार रहेको मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नै भेडाझैँ व्यवहार गर्छन्, मण्डलीमा आफ्नो नियन्त्रणमा रहेको सबथोकलाई आफ्नै निजी सम्पत्ति ठान्छन् भन्ने प्रस्टै देखिन्छ। के यो लाजसरम पचाउनु होइन र? यो किन लाजसरम पचाउनु हो? स्वार्थीपन र नीचताको कुनै पनि प्रकटीकरण लाजसरम पचाउने व्यवहारबाटै पैदा हुन्छ। त्यसकारण, स्वार्थी र नीच हुनु भनेको लाजसरम पचेको हुनु हो। स्वार्थीपन र नीचताका प्रकटीकरणहरू देखाउने यी मानिसहरूले पक्कै पनि लाजसरम पचाउँछन्। अगुवाइ सुम्पिएको र एउटा मण्डलीको जिम्मेवारी दिइएको बेला, परमेश्वरका चुनिएका मानिसहरूलाई तिनीहरूका कर्तव्यहरू निर्वाह गर्न अगुवाइ गर्दा, निश्चित काम गर्दा, तिनीहरूले यी कुराहरूलाई आफ्नै निजी सम्पत्तिका रूपमा लिन्छन्। कसैले पनि हस्तक्षेप गर्न पाउँदैन; हरेक कुरामा तिनीहरूले नै अन्तिम निर्णय गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरका चुनिएका मानिसहरू, मण्डलीको काम, साथै मण्डलीका सुविधाहरू र सम्पत्तिलाई आफ्नै निजी सम्पत्ति ठान्छन्। यो आफैमा समस्याजनक कुरा होः तिनीहरू परमेश्वरको घरका सम्पत्तिहरू कब्जा गर्ने र परमेश्वरका चुनिएका मानिसहरूमाथि हाबी हुने उद्देश्य राख्छन्। यसबाहेक, तिनीहरूले यी कुराहरूलाई अरूसित प्रतिस्पर्धा गर्ने पुँजीका रूपमा हेर्छन्, र परमेश्वरको घरका हितहरूलाई विश्वासघात गर्न र परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गर्न समेत सङ्कोच मान्दैनन्। के तिमीहरूलाई ख्रीष्टविरोधीहरूसँग विवेक र समझ हुन्छ जस्तो लाग्छ? के तिनीहरूको हृदयमा परमेश्वरका लागि ठाउँ हुन्छ? के तिनीहरूमा परमेश्वरको डर मान्ने र उहाँप्रति समर्पित हुने हृदय हुन्छ? बिलकुलै हुँदैन। त्यसकारण, ख्रीष्टविरोधीहरूलाई शैतानका नोकर वा धर्तीका भूत भन्नु अतिशयोक्ति हुँदैन। ख्रीष्टविरोधीको हृदयमा परमेश्वर वा मण्डली हुँदैन, साथै उसले निश्चय नै परमेश्वरका चुनिएका मानिसहरूको वास्ता गर्दैन। मलाई भन् त, जहाँ दाजुभाइ-दिदीबहिनीहरू हुन्छन्, र जहाँ परमेश्वर काम गर्नुहुन्छ, यस्तो ठाउँलाई कसरी परमेश्वरको घर भन्न सकिँदैन र? कुन अर्थमा ती मण्डली होइनन् र? तर ख्रीष्टविरोधीहरूले आफ्नो प्रभाव क्षेत्रभित्रका कुराबारे मात्र सोच्छन्। तिनीहरू अरू ठाउँबारे वास्ता गर्दैनन् वा चासो राख्दैनन्। तिनीहरूले कुनै समस्या फेला पारे भने पनि, त्यसप्रति ध्यान दिँदैनन्। अझ नराम्रो कुरा त के हो भने, कुनै ठाउँमा केही गलत भएर मण्डलीको काममा नोक्सान पुग्दा पनि तिनीहरूले त्यसप्रति ध्यान दिँदैनन्। किन बेवास्ता गरेको भनेर सोध्दा, तिनीहरू यसो भन्दै निरर्थक भ्रमका कुरा गर्छन्, “अर्काको मामलामा हात हाल्नु हुँदैन।” तिनीहरूको कुरा तर्कसंगत लाग्छ, तिनीहरूले आफूले गर्ने कामको सीमा बुझेजस्तो, र तिनीहरूमा बाह्य समस्या नभएजस्तो देखिन्छ, तर सारचाहिँ कस्तो हुन्छ? यो त यस्ता तिनीहरूको स्वार्थीपन र नीचता प्रकट भएको हो। तिनीहरू आफ्नै लागि, आफ्नै प्रसिद्धि, लाभ, र हैसियतको लागि मात्र काम गर्छन्। तिनीहरूले आफ्ना कर्तव्य फिटिक्कै पूरा गरिरहेका हुँदैनन्। यो ख्रीष्टविरोधीहरूको अर्को ठेट विशेषता हो—तिनीहरू स्वार्थी र नीच हुन्छन्।
ख्रीष्टविरोधीहरूको स्वार्थीपन र दुष्टताको सार प्रस्टै छ; तिनीहरूका यस्ता प्रकटीकरणहरू एकदमै स्पष्ट हुन्छन्। मण्डलीले तिनीहरूलाई सानो काम सुम्पन्छ, र यदि त्यसले नाम र दाम दिन्छ र तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिन्छ भने, तिनीहरू अत्यन्तै चासो लिएर त्यो काम स्विकार्न इच्छुक हुन्छन्। यदि त्यो काममा जस पाइँदैन वा मानिसलाई चिढ्याउनुपर्ने हुन्छ, वा त्यसले तिनीहरूलाई आफ्नो प्रदर्शन गर्न दिँदैन वा तिनीहरूको प्रसिद्धि, प्राप्ति वा हैसियतलाई फाइदा गर्दैन भने, तिनीहरू चासो देखाउँदैनन् र त्यो काम स्विकार्नेछैनन्, मानौँ यो कामको तिनीहरूसँग कुनै सम्बन्ध छैन, र त्यो तिनीहरूले गर्नुपर्ने काम होइन। तिनीहरूलाई कठिनाइहरू आइपर्दा, तिनीहरू ती समाधान गर्न मरेकाटे सत्यता खोज्दैनन्, झन् त्यसलाई समग्रतामा हेरेर मण्डलीको कामबारे सोच्ने त कुरै छाडौँ। उदाहरणका लागि, परमेश्वरको घरको कामको दायराभित्र, कामको समग्र आवश्यकताको आधारमा, केही व्यक्तिहरूलाई स्थानान्तर गरिनुपर्ने हुन सक्छ। यदि मण्डलीबाट एकदुई जना मानिसहरूलाई स्थानान्तर गरियो भने, मण्डलीका अगुवाहरूले यस मामिलालाई सम्हाल्ने बुद्धिमानी तरिका के होला? तिनीहरू समग्र हितहरूबारे नभई, आफ्नै मण्डलीको हितबारे मात्रै चिन्तित हुन्छन् भने, र यदि ती मानिसहरूलाई सरुवा गर्न बिलकुलै अनिच्छुक हुन्छन् भने, के समस्या हुन्छ? किन मण्डली अगुवाका रूपमा तिनीहरूले परमेश्वरको घरका केन्द्रीकृत बन्दोबस्तहरू पालना गर्न सक्दैनन्? के त्यस्तो व्यक्तिले परमेश्वरका अभिप्रायहरूको ख्याल गर्छ? के उसले कामको समग्र परिदृश्यमा ध्यान दिन्छ? यदि तिनीहरूले परमेश्वरको घरको कामलाई समग्र रूपमा सोच्दैनन्, केवल आफ्नै मण्डलीका हितहरूबारे सोच्छन् भने, के तिनीहरू अत्यन्तै स्वार्थी र नीच हुँदैनन् र? मण्डली अगुवाहरू बिनासर्त परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूमा, अनि परमेश्वरको घरका केन्द्रीय बन्दोबस्त र समन्वयमा समर्पित हुनुपर्छ। यो कुरा सत्यता सिद्धान्तअनुरूप हुन्छ। परमेश्वरको घरको कामले मागेमा, व्यक्ति जोसुकै भए पनि, हरेक व्यक्तिले परमेश्वरको घरका समन्वय र बन्दोबस्तहरूलाई मान्नुपर्छ, र कुनै पनि व्यक्तिगत अगुवा वा सेवकको स्वामित्वमा वा उसको निर्णयको अधीनमा भएजस्तै गरी उसको नियन्त्रणमा बस्नु हुँदैन। परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरको घरका केन्द्रीय बन्दोबस्तहरूलाई पालना गर्नु पूर्णतया स्वाभाविक र जायज कुरा हो, र कुनै अगुवा वा सेवकले सिद्धान्तविपरीत आफूखुसी सरुवा नगरेसम्म यी बन्दोबस्तहरूलाई कसैले पनि उल्लङ्घन गर्न मिल्दैन, आफूखुसी सरुवा गरेको खण्डमा यो बन्दोबस्तलाई अवज्ञा गर्न सकिन्छ। यदि सिद्धान्तहरूबमोजिम सामान्य सरुवा गरिएको छ भने, परमेश्वरका चुनिएका मानिसहरू सबैले पालना गर्नुपर्छ, र कुनै पनि अगुवा वा सेवकसँग अरू कसैलाई नियन्त्रण गर्ने अधिकार वा कारण हुँदैन। के तिमीहरू यस्तो कुनै काम हुन्छ भनेर भन्छौ जुन परमेश्वरको घरको काम हुँदैन? के यस्तो कुनै काम हुन्छ जसमा परमेश्वरको राज्यको सुसमाचारको विस्तार सामेल हुँदैन? यो सबै परमेश्वरको घरको काम हो, प्रत्येक काम बराबर छ, र यहाँ “तेरो” र “मेरो” हुँदैन। यदि सरुवा सिद्धान्तहरूअनुरूप छ र मण्डलीको कामका मापदण्डहरूका आधारमा गरिएको हो भने, यी मानिसहरूको आवश्यकता जहाँ धेरै छ तिनीहरू त्यहीँ जानुपर्छ। तर, यस प्रकारको परिस्थितिको सामना गर्दा ख्रीष्टविरोधीहरूको प्रतिक्रियाचाहिँ कस्तो हुन्छ त? तिनीहरू यी उचित मानिसहरूलाई आफ्नो नजिक राख्न विभिन्न निहुँ र बहाना बनाउँछन्, अनि तिनीहरूले दुई साधारण मानिसहरू मात्र उपलब्ध गराउँछन्, र त्यसपछि कि त व्यस्तता छ भनेर, वा काम गर्ने हातहरूको कमी छ, मानिसहरू भेट्टाउन गाह्रो छ भनेर, र यदि यी दुईलाई सरुवा गरियो भने काम प्रभावित हुनेछ भन्दै तैँतिर दबाब पारिदिने बहाना खोज्छन्। अनि उनीहरूले के गर्नुपर्छ भनी तँलाई सोध्छन्, र तँलाई मानिसलाई सरुवा गर्नुको मतलब तँ उनीहरूप्रति ऋणी भएको अर्थ लाग्छ भन्ने महसुस गराउँछन्। के दियाबलसहरू यस्तै प्रकारले काम गर्दैनन् र? गैरविश्वासीहरूले यसरी नै कामकुरा गर्छन्। मण्डलीमा सधैँ आफ्नै हितहरू जाँच्ने र रक्षा गर्ने मानिसहरू—के तीअसल मानिसहरू हुन्? के उनीहरू सिद्धान्तअनुसार काम गर्ने मानिसहरू हुन्? अवश्यै होइनन्। तिनीहरू गैरविश्वासी र अविश्वासीहरू हुन्। अनि, के यो स्वार्थीपन र निकृष्टता होइन र? यदि कुनै ख्रीष्टविरोधीको अधीनमा रहेर काम गर्ने राम्रो क्षमता भएको व्यक्तिलाई अर्को कर्तव्य पूरा गर्न सरुवा गरियो भने, ख्रीष्टविरोधीले आफ्नो हृदयमा हठी भएर यसलाई विरोध र इन्कार गर्छ—तिनीहरू यसबाट सबै सकियो भन्न चाहन्छन्, र तिनीहरूसँग अगुवा वा समूह अगुवा भएर काम गर्ने कुनै जाँगर हुँदैन। यो कस्तो समस्या हो? मण्डलीका बन्दोबस्तहरूप्रति किन तिनीहरूमा कुनै आज्ञापालन हुँदैन? तिनीहरूले आफ्नो “दाहिने हात” को सरुवा हुँदा यसले तिनीहरूको कामको नतिजा र प्रगतिमा असर गर्छ, र फलस्वरूप तिनीहरूको हैसियत र प्रतिष्ठामा असर पुग्नेछ, जसले गर्दा तिनीहरूले कामका नतिजाहरू सुनिश्चित गर्नका लागि आफूले अझै धेरै परिश्रम गर्न र कष्ट भोग्न बाध्य हुनुपर्छ भन्ने सोच्छन्—जुन तिनीहरूले अन्तिम विकल्पको रूपमा मात्र गर्न चाहने कुरा हो। तिनीहरूलाई आरामको बानी परेको हुन्छ, र तिनीहरू अझै बढी परिश्रम गर्न वा कष्ट भोग्न चाहँदैनन्, त्यसैले तिनीहरू त्यस व्यक्तिलाई जान दिन चाहँदैनन्। यदि परमेश्वरको घरले स्थानान्तरलाई जोड दिन्छ भने, तिनीहरूले धेरै गुनासो गर्छन् र तिनीहरूको आफ्नै काम समेत त्याग्न चाहन्छन्। के यो स्वार्थी र खराब कुरा होइन र? परमेश्वरका चुनिएका मानिसहरूलाई परमेश्वरको घरले केन्द्रीय रूपमा अह्राउखटाउ गर्छ। यसको कुनै अगुवा, समूह प्रमुख, वा व्यक्तिसँग कुनै सरोकार हुँदैन। सबैले सिद्धान्तअनुसार काम गर्नुपर्छ; यो परमेश्वरको घरको नियम हो। ख्रीष्टविरोधीहरू परमेश्वरको घरका सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्, तिनीहरू आफ्नै हैसियत र हितहरूको खातिर निरन्तर षड्यन्त्र रच्छन्, र आफ्नै शक्ति र हैसियतलाई दह्रिलो बनाउन असल क्षमता भएका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो सेवा गर्न लगाउँछन्। के यो स्वार्थी र नीच होइन र? बाहिरबाट हेर्दा, असल क्षमता भएका मानिसहरूलाई आफ्नै साथमा राख्दा र परमेश्वरको घरलाई ती मानिसहरूलाई सरुवा गर्न नदिँदा, तिनीहरूले मण्डलीको कामको बारेमा सोचेर तिनीहरूलाई सरुवा हुन नदिएजस्तो देखिन्छ, तर वास्तवमा तिनीहरूले आफ्नै शक्ति र हैसियतको बारेमा मात्र सोचिरहेका हुन्छन्, मण्डलीको कामको बारेमा बिलकुलै सोचिरहेका हुँदैनन्। तिनीहरू आफूले मण्डलीको काम राम्रोसित नगर्ने आफूलाई हटाइने, र आफ्नो हैसियत गुम्ने हो कि भनी डराउने गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको बृहत् कामको बारेमा सोच्दैनन्, बरु आफ्नै हैसियतको बारेमा मात्रै सोच्छन्, परमेश्वरको घरका हितहरूमा पुग्ने क्षतिको बारेमा कुनै हिसाबकिताब नगरी आफ्नै हैसियत जोगाउँछन्, र मण्डलीको काममा हानि पुर्याउँदै आफ्नै हैसियत र हितहरूको रक्षा गर्छन्। यो स्वार्थी र नीच हो। यस्तो परिस्थितिको सामना गर्दा, व्यक्तिले कम्तिमा पनि आफ्नो अन्तस्करणले सोच्नुपर्छ: “यी मानिसहरू सबै परमेश्वरको घरका हुन्, तिनीहरू मेरो व्यक्तिगत सम्पत्ति होइनन्। म पनि परमेश्वरको घरको सदस्य हुँ। परमेश्वरको घरलाई मानिसहरूको सरूवा गर्नबाट रोक्ने मलाई के अधिकार छ र? मैले आफ्नै जिम्मेवारीको क्षेत्रभित्रको काममा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा, परमेश्वरको घरको समग्र हितलाई विचार गर्नुपर्छ।” विवेक र समझ हुने व्यक्तिहरूमा यस्ता विचारहरू पाइनुपर्छ, र परमेश्वरमा विश्वास गर्नेहरूमा यस्तो समझ हुनुपर्छ। परमेश्वरको घर समग्र काममा सामेल हुन्छ अनि मण्डलीहरू आंशिक कामहरूमा सामेल हुन्छन्। त्यसकारण, जब परमेश्वरको घरमा मण्डलीको विशेष खाँचो हुन्छ, तब अगुवा र सेवकहरूका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरको घरका बन्दोबस्तहरूलाई पालना गर्नु हो। झूटा अगुवा र ख्रीष्टविरोधीहरूमा त्यस्तो विवेक र समझ हुँदैन। तिनीहरू सबै निकै स्वार्थी हुन्छन्, तिनीहरूले आफ्नै बारेमा मात्रै सोच्छन्, र तिनीहरूले मण्डलीको कामको बारेमा सोच्दैनन्। तिनीहरूले आफ्नै आँखाअगाडि फाइदा हुने कुरा मात्रै सोच्छन्, तिनीहरूले परमेश्वरको घरको व्यापक कामबारे सोच्दैनन्, त्यसकारण तिनीहरू परमेश्वरको घरका बन्दोबस्तहरू पालना गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्। तिनीहरू अत्यन्तै स्वार्थी र दुष्ट हुन्छन्! परमेश्वरको घरमा, तिनीहरू निडर भई बाधक बन्छन्, र अटेरी गर्ने दुस्साहस समेत गर्छन्, तिनीहरू मानवताको कमी भएका मानिसहरू हुन्, तिनीहरू दुष्ट मानिसहरू हुन्। ख्रीष्टविरोधीहरू त्यस्तै प्रकारका मानिसहरू हुन्। तिनीहरू सधैँ मण्डलीको काम, र दाजुभाइ-दिदीबहिनीहरूलाई, र आफ्नै जिम्मेवारीको दायराभित्र पर्ने परमेश्वरको घरको सम्पत्तिलाई समेत तिनीहरूको आफ्नै निजी सम्पत्तिजस्तो व्यवहार गर्छन्। तिनीहरू यी कुराहरूलाई कसरी वितरण, स्थानान्तरण र प्रयोग गर्ने त्यो तिनीहरूकै तजबिजमा निर्भर हुन्छ, र परमेश्वरको घरलाई हस्तक्षेप गर्न अनुमति दिइँदैन भन्ने विश्वास गर्छन्। एकपल्ट ती कुराहरू तिनीहरूको हातमा पुगेपछि यस्तो लाग्छ मानौँ ती शैतानको कब्जामा छन्, र कसैलाई पनि ती कुराहरू छुने कुनै अनुमति हुँदैन। तिनीहरू ठूलाठालू र नाइके हुन्छन्, र तिनीहरूको क्षेत्रमा जाने जोकोहीले सुशील र नम्र तरिकाले तिनीहरूको आदेश र प्रबन्धहरू पालन गर्नुपर्छ, र तिनीहरूका भावहरूअनुसार चल्नुपर्छ। यो ख्रीष्टविरोधीहरूको चरित्रभित्रको स्वार्थीपन र नीचताको प्रकटीकरण हो। तिनीहरूले परमेश्वरको घरको कामप्रति कुनै विचार गर्दैनन्, सिद्धान्त अलिकति पनि पालन गर्दैनन्, र केवल तिनीहरूको आफ्नै हित र प्रतिष्ठाको बारेमा मात्र सोच्छन्—यी कुराहरू ख्रीष्टविरोधीहरूका स्वार्थीपन र दुष्टताका पहिचान हुन्।
अर्को परिस्थिति पनि छ। चाहे त्यो दाजुभाइ-दिदीबहिनीहरूले चढाएका पैसा होस् वा सामानहरू, सामान्य परिस्थितिहरूमा, रकम जतिसुकै भए पनि, त्यो परमेश्वरको घरलाई नै हस्तान्तरण गरिनुपर्छ। तर, कतिपय ख्रीष्टविरोधीहरूले यस्तो गलत बुझाइ राख्छन् “दाजुभाइ-दिदीबहिनीहरूले हाम्रो मण्डलीमा चढाएको पैसा हाम्रो मण्डलीकै हुन्छ, र त्यो हाम्रो मण्डलीलाई नै राख्न र प्रयोग गर्नका लागि हो। कसैसँग पनि हामीले त्यसलाई कसरी प्रयोग वा वितरण गर्छौँ भन्ने कुरामा हस्तक्षेप गर्ने अधिकार छैन, र ती कुराहरू खोसेर लाने योग्यता निश्चय नै छैन।” त्यसैले, यदि तैँले तिनीहरूलाई मण्डलीले भेटीस्वरूप कति प्राप्त गरेको छ भनेर सोधिस् भने, तिनीहरू तैँले त्यो खोसेर पो लाने हो कि भनेर डराउनेछन्, र तिनीहरूले तँलाई वास्तविक रकम बताउनेछैनन्। कतिपय मानिसहरूलाई अचम्म लाग्ला, “तिनीहरू त्यो खोसेर लगिने पो हो कि भनेर डराउँछन् भन्नुको मतलब के हो? के तिनीहरू आफैले त्यसलाई खर्च गर्न चाहन्छन्?” चाहन्छन् नै भन्ने छैन। तिनीहरूले सोच्छन्, “हाम्रो मण्डलीलाई पनि पैसा चाहिन्छ। यदि त्यो खोसेर लगियो भने, हामीले कसरी आफ्नो काम गर्न सक्छौँ?” माथिसँग यी मामलाहरूका लागि सिद्धान्तहरू छन्, त्यसैले तैँले ती मामला सम्हाल्दा सिद्धान्तहरू किन पालना गर्दैनस्? उनीहरूले तेरा काममा प्रयोग गर्नका लागि पर्याप्त छुट्याएका हुन्छन्, र बाँकी सबै परमेश्वरको घरले एकरूपताका साथ प्रबन्ध गर्छ। यी स्रोतसाधनहरू मण्डली अगुवाका निजी सम्पत्ति होइनन्; ती त परमेश्वरको घरका हुन्। तर, आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका निम्ति र आफ्नै कामका खातिर अनि आफ्नो प्रभावको दायराभित्रका स्रोतसाधनहरू सुनिश्चित गर्नका लागि, कतिपय ख्रीष्टविरोधीहरूले यी चिजहरू आफैसँग राख्छन् र आफ्नै ठानेर हडप्छन्, र अरू कसैलाई ती प्रयोग गर्न दिँदैनन्। के यो स्वार्थीपन र नीचताको प्रकटीकरण होइन र? यो पनि ख्रीष्टविरोधीहरूको चरित्रको एउटा खाँटी र निश्चित प्रकटीकरण हो।
यी ख्रीष्टविरोधीहरू खराब र दुष्ट, कुरूप, दुष्ट, नीच, र तुच्छ हुन्छन्। तिनीहरूबारे कुरा गर्नु नै घिनलाग्दो र रिसउठ्दो हुन्छ। तिनीहरू बाहिरबाट मानवझैँ देखिएलान् र तिनीहरूले मिठो बोली बोल्लान्, तिनीहरू हर प्रकारका धर्मसिद्धान्त बुझेर त्यसमा निपुण बनेजस्तो देखिन्छन्, तर तिनीहरूले कार्य गर्नेबित्तिकै, तिनीहरूको कुरूप र दुष्ट मानवता खुलासा हुन्छ, जुन विकर्षक हुन्छ। हरेक ख्रीष्टविरोधीको चरित्रमा यी कुरूप र दुष्ट गुणहरू हुने भएकाले, तिनीहरूले यस्ता दुष्ट कार्यहरू गर्न सक्छन्। त्यही कारणले तिनीहरूलाई ख्रीष्टविरोधी भनिएको हो। के यो तर्कले अर्थ राख्छ? (राख्छ।) अर्को शब्दमा भन्दा, तिनीहरूको चरित्रमा ती द्वेषपूर्ण र दुष्ट स्वभावहरू हुनुले नै तिनीहरूलाई ख्रीष्टविरोधीहरूका दुष्ट कार्यहरू गर्ने तुल्याउँछ, र यसरी तिनीहरू ख्रीष्टविरोधीका रूपमा वर्गीकृत हुन्छन्। कुरा त्यही नै हो। यदि कुनै व्यक्ति ख्रीष्टविरोधी हो भने, के उसको मानवतालाई दयालु, सोझो, इमानदार, र सच्चा भनेर व्याख्या गर्दा सही हुनेथ्यो? पक्कै हुनेथिएन। यदि कुनै व्यक्तिमा झूट बोल्ने बानी छ भने, उसमा ख्रीष्टविरोधीको गुण छ। यदि कोही कपटी र निर्दयी छ भने, उसमा पनि ख्रीष्टविरोधीको गुण हुन्छ। यदि कुनै व्यक्ति स्वार्थी र नीच छ, व्यक्तिगत लाभले मात्र हाँकिएको छ, खराब कामहरू गर्दै छाडा दौडन्छ, र लाजसरम पचाउँछ भने, ऊ दुष्ट व्यक्ति हो। यदि यस्तो दुष्ट व्यक्ति शक्तिमा पुग्यो भने, ऊ ख्रीष्टविरोधी बन्छ।
ङ. शक्तिशालीसँग लपक्क टाँसिने र कमजोरलाई दमन गर्ने
ख्रीष्टविरोधीहरूको मानवतामा घिनलाग्दो र घृणित कुरा पनि हुन्छ—त्यो हो, तिनीहरू शक्तिशालीसँग लपक्क टाँसिन्छन् र कमजोरलाई दमन गर्छन्। यदि मण्डलीमा वा संसारमा निश्चित प्रतिष्ठित व्यक्तित्वहरू वा शक्ति वा हैसियत भएका मानिसहरू छन् भने, उनीहरू जोसुकै भए पनि, ख्रीष्टविरोधीहरूले आफ्ना हृदयमा उनीहरूप्रति अनन्त ईर्ष्या र प्रशंसा बोक्छन्, साथै तिनीहरूको चापलुसी समेत गर्छन्। जब तिनीहरू इसाई धर्ममा विश्वास गर्छन्, तिनीहरूले निश्चित शीर्षस्थ राजनीतिज्ञहरू विश्वासी भएको दाबी गर्छन्, र जब तिनीहरूले आखिरी दिनहरूमा परमेश्वरको यो चरणको काम स्विकार्छन्, तिनीहरू नामी सम्प्रदायहरूका केही पाष्टरहरूले पनि यो कुरा स्विकारेका छन् भनेर भन्छन्। तिनीहरूले जे गरे पनि त्यसलाई सधैँ प्रभावशाली शीर्षक दिन्छन्, तिनीहरूले सधैँ सेलिब्रेटीहरूको श्रद्धा र अनुकरण गर्छन्, अनि तिनीहरू कम्तीमा कुनै प्रतिष्ठित व्यक्तित्व वा हैसियत भएको व्यक्तिसँग लपक्क टाँसिन पाएपछि मात्र सन्तुष्ट महसुस गर्छन्। जब हैसियत भएका मानिसहरूको कुरा आउँछ, चाहे तिनीहरू असल होऊन् वा खराब, ख्रीष्टविरोधीहरू अथक रूपमा आफूलाई कृपापात्र तुल्याउँछन् र उनीहरूको चापलुसी र खुसामद गर्छन्। तिनीहरू उनीहरूलाई चिया ल्याइदिन र उनीहरूको दिसा सोहोर्न समेत इच्छुक हुन्छन्। अर्कोतिर, हैसियत नभएकाहरूसित व्यवहार गर्दा, यी व्यक्तिहरू जति नै सोझो, इमानदार, र दयालु भए पनि, ख्रीष्टविरोधीहरू मौका पाउने बित्तिकै उनीहरूलाई हेप्ने र कुल्चीमिल्ची गर्छन्। तिनीहरू प्रायः फलानो-फलानो व्यक्ति समाजको व्यावसायिक कार्यकारी हो, फलानो-फलानो व्यक्तिको बुबा धनी छ, फलानो-फलानो व्यक्तिसँग यति पैसा छ, र फलानो-फलानो व्यक्तिको परिवार वा कम्पनी यति ठूलो छ भनेर रबाफ देखाउँछन्, र समाजमा उनीहरूको ख्यातिलाई जोड दिन्छन्। मण्डलीमा रहेका झूटा अगुवा र ख्रीष्टविरोधीहरूका सम्बन्धमा भन्नुपर्दा, तिनीहरूले जस्तोसुकै दुष्ट कार्यहरू गरे पनि, ख्रीष्टविरोधीहरूले कहिल्यै तिनीहरूको रिपोर्ट गर्ने, खुलासा गर्ने, वा तिनीहरूलाई खुट्ट्याउने गर्दैनन्। बरु, तिनीहरू तिनीहरूका पछिपछि लाग्छन्, र आफूलाई जे गर्न भनियो त्यही गर्छन्। तिनीहरू आफूले जुन तहका अगुवालाई पछ्याउँछन् उसैको अनुयायी, पैदल सैनिक, र दास-दासी बन्छन्। शक्ति, प्रभाव, सम्पत्ति, र हैसियत भएकाहरूसँग व्यवहार गर्दा, तिनीहरू अत्यन्तै अधीनस्थ, विनम्र, र अनाडी देखिन्छन्। तिनीहरू अत्यन्तै आज्ञाकारी र समर्पणकारी हुन्छन्, ती मानिसहरूले भनेको सबै कुरामा टाउको हल्लाएर सहमति जनाउँछन् र त्यसको पालन गर्छन्। तर, हैसियतबिनाका साधारण मानिसहरूसित व्यवहार गर्दा, तिनीहरूले फरक शैली अपनाउँछन्, रोबदार बोल्ने शैली प्रयोग गरेर मानिसलाई दबाउन खोज्छन्, श्रेष्ठ हुन चाहन्छन्, मानौँ तिनीहरू अजेय, अरू सबैभन्दा बलिया र उच्च छन्, जसले गर्दा तिनीहरूमा भएका कुनै पनि समस्या, त्रुटि, वा कमजोरीहरू खुट्ट्याउन कठिन हुन्छ। यो कस्तो चरित्र हो? के यो कुरा र कपटी, निर्दयी हुनु, अनि लाज सरम पचेको हुनुबीच कुनै सम्बन्ध छ? (हो, छ।) शक्तिशालीसँग लपक्क टाँसिने र कमजोरलाई दमन गर्ने—के ख्रीष्टविरोधीहरूको मानवताको कुरूप र दुष्ट पक्ष यही होइन र? के तिमीहरूलाई त्यस्तो मानवता भएका मानिसहरू सोझा हुन्छन् जस्तो लाग्छ? (लाग्दैन।) के तिनीहरूले हैसियत र शक्ति भएकाहरूलाई भन्ने कुराहरू सत्य हुन्छन्? के तिनीहरूले कमजोरहरूलाई भन्ने कुराहरू सत्य हुन्छन्? (ती कुनै पनि सत्य हुँदैन।) त्यसकारण, झूट बोल्ने बानीसँग यस विषयवस्तुको केही सम्बन्ध छ। यस विषयवस्तुलाई मूल्याङ्कन गर्दा, ख्रीष्टविरोधीहरूको चरित्र हदैसम्म घृणायोग्य हुन्छ, र तिनीहरूसँग दुई पूर्णतया फरक मुहारहरू हुन्छन्। यस्तो व्यक्तिका लागि एउटा उपनाम छ—“छेपारो।” तिनीहरूले मानिसहरूलाई कहिल्यै पनि सत्यता सिद्धान्तहरू, मानवता, वा ती मानिसहरूले परमेश्वरका घरमा सत्यता पछ्याइरहेका छन् कि छैनन् भन्ने आधारमा व्यवहार गर्दैनन्। बरु, तिनीहरूले मानिसहरूलाई उनीहरूका हैसियत र प्रभावका आधारमा मात्र फरक-फरक व्यवहार गर्छन्। हैसियत र क्षमताहरू भएका मानिसहरूसँग व्यवहार गर्दा, तिनीहरू हदैसम्म गएर आफूलाई कृपापात्र तुल्याउँछन्, उनीहरूको चापलुसी गर्छन्, र उनीहरूसित नजिकिन्छन्। तिनीहरूलाई यी मानिसहरूले कुटे पनि वा गाली नै गरे पनि, तिनीहरूले कुनै गुनासोबिना त्यसलाई इच्छुक भई सहन्छन्। तिनीहरू आफ्नै उपयोगहीनता निरन्तर रूपमा स्विकार्छन् र दास बन्छन्, तैपनि भित्री रूपमा तिनीहरूले साँच्चिकै जे सोच्छन् त्यो तिनीहरूको बाहिरी व्यवहारभन्दा पूर्ण रूपमा फरक हुन्छ। यदि हैसियत र प्रतिष्ठा भएको कसैले बोलेमा, त्यो सत्यतासँग पूर्ण रूपमा असम्बन्धित शैतानको कुनै भ्रम वा विधर्म नै भए पनि, तिनीहरूले त्यो सुन्नेछन्, टाउको हल्लाएर सहमति जनाउनेछन्, र सतही रूपमा स्विकार्नेछन्। अर्कोतिर, यदि कसैसित सामर्थ्य वा हैसियत छैन भने, उसका शब्दहरू जति नै सही भए पनि, ख्रीष्टविरोधीहरूले तिनलाई बेवास्ता गर्नेछन् र हेयको दृष्टिले हेर्नेछन्। उसले भनेको कुरा सिद्धान्तहरू र सत्यतासित मिले पनि, तिनीहरूले त्यो सुन्नेछैनन्, बरु उसको खण्डन गर्नेछन्, उसलाई गिज्याउनेछन् र गिल्ला गर्नेछन्। यो ख्रीष्टविरोधीहरूको चरित्रमा भेटिने अर्को विशेषता हो। आफूलाई आचरणमा ढाल्ने र संसारसँग व्यवहार गर्ने तिनीहरूका तरिका र सिद्धान्तहरू मूल्याङ्कन गर्दा, यी व्यक्तिहरूलाई निश्चय नै विवादरहित रूपमा अविश्वासीहरू भनेर वर्गीकृत गर्न सकिन्छ। तिनीहरूको चरित्रका प्रकटीकरणहरू निकृष्ट, घिनलाग्दा र नीच हुन्छन्।
शक्तिशालीसँग लपक्क टाँसिने र कमजोरलाई दमन गर्ने व्यवहार ख्रीष्टविरोधीहरूजस्ता मानिसहरूको सामाजिक अन्तरक्रियाको एउटा खाँटी विधि हो। तिनीहरू गैरविश्वासीहरूसँग जमेर कुरा गर्छन् र निकटता देखाउँछन्, तर दाजुभाइ-दिदीबहिनीहरूलाई देख्ने बित्तिकै तिनीहरूसँग भन्ने कुरा नै हुँदैन र कुनै साझा भाषा हुँदैन। यी ख्रीष्टविरोधीहरू हुन्। परमेश्वरमाथिको आस्था, कर्तव्य निर्वाह, जीवन प्रवेश, वा स्वभाव परिवर्तनहरूसँग सम्बन्धित मामलाहरू छलफल गर्दा, तिनीहरूसँग भन्ने कुरा पनि हुँदैन र तिनीहरूलाई रुचि पनि हुँदैन। तर, विशेषगरी सम्पत्ति र प्रभाव भएका गैरविश्वासीहरू, राजनीतिक व्यक्तित्व, सामाजका कुलीन वर्ग, सङ्गीत र चलचित्रका प्रतिष्ठित व्यक्तित्वहरू, सामाजिक प्रचलनहरू, साथै भोजन र मनोरञ्जनसँग सम्बन्धित मामलाहरूबारे कुरा गर्दा, तिनीहरू अत्यन्तै बोलक्कड हुन्छन् र तिनीहरूलाई रोक्नै सकिँदैन। तिनीहरू त्यस्तो जीवन र सामाजिक हैसियतको अत्यन्तै तृष्णा गर्छन् भन्ने देखिन्छ। यस्ता व्यक्तिहरूले परमेश्वरमा विश्वास गर्ने भए पनि, त्यो तिनीहरूका आफ्नै कठिनाइहरू र गोप्य अभिप्रायहरू अनि उद्देश्यहरूका कारणले गर्दा मात्रै हो। तिनीहरू आशिष्का लागि मात्र परमेश्वरमा विश्वास गर्छन्, र परमेश्वरमा विश्वास गरिसकेपछि पनि तिनीहरूले त्यस्ता कुराहरू छोड्न सक्दैनन्। त्यसकारण, भोजन र मनोरञ्जनका मामलाहरू छलफल गर्दा, तिनीहरू निकै उत्साहित हुन्छन्। दाजुभाइ-दिदीबहिनीहरूसँग कुरा गर्दा, कथा अर्कै हुन्छ। हृदय र प्राणको गहिराइदेखि, तिनीहरू ती मानिसहरूलाई हेयको दृष्टिले हेर्छन् जो परमेश्वरमा विश्वास गर्छन्, जो सत्यता पछ्याउँछन्, र जो इमानदार र सोझा छन्। तिनीहरू त्यस्ता व्यक्तिहरूविरुद्ध विभेद गर्छन् र उनीहरूलाई खिसी गर्छन्। ख्रीष्टविरोधीहरूले मण्डलीमा अगुवाहरू देख्दा यस्तो सोच्छन्, “तिनीहरू अगुवाजस्ता नै देखिँदैनन्; तिनीहरू अधिकारीहरूसँग बिलकुलै मिल्दोजुल्दो छैनन्। सांसारिक अधिकारीहरूको तुलनामा तिनीहरू अत्यन्तै निकृष्ट छन्, तिनीहरूको आचरण र शैलीमा कमी छ!” यदि तिनीहरूले केही अगुवाहरूले उच्च तहको शिक्षा हासिल गरेका छैनन् भन्ने थाहा पाएमा, तिनीहरूले हृदयमा उनीहरूविरुद्ध विभेद गर्छन्। तिमीहरूलाई तिनीहरूले मलाई देख्दा तिनीहरूलाई कस्तो महसुस हुन्छ जस्तो लाग्छ? एकै नजरमा, तिनीहरूले सोच्छन्, “ख्रीष्ट, देहधारी परमेश्वर उच्च शिक्षाबिना कोही पनि होइन, जो खासै अग्लो छैन, जसको रूपरङ्ग आकर्षक छैन, जसमा आचरण छैन, र जसको पहिरन सामान्य छ। सबैले ऊसँग सत्यता छ भन्छन्; ध्यान दिन लायक कुरा यही मात्र हो, र उसमा अरू केही भव्य कुरा छैन। हेर त, ती शक्तिशाली मानिसहरूले समाजमा कस्ता पहिरन लगाउँछन्! तिम्रा कपडा र जुत्ताहरू कुन ब्रान्डका हुन्? तिम्रो कपालको ढाँचा के हो? के तिमीले कुनै चर्चित सैलुनमा कपाल कटायौ? एकपटक कपाल काट्दा कति मूल्य पर्यो?” म भन्छु, “म कपाल काट्नमा एक सुका पनि खर्च गर्दिनँ; म घरमा आफै काट्छु।” तिनीहरूले भन्छन्, “के तिमी सौन्दर्य उपचार गराउँछौ? के तिमी होटेलहरूमा बस्छौ? कति तारे होटेलमा बस्छौ? के तिमीले कहिल्यै विलासी समुद्री-जहाज चढेका छौ?” म भन्छु, “मलाई यी कुराहरूका बारेमा थाहा छैन।” तिनीहरूले भन्छन्, “त्यसोभए तिमी त अत्यन्तै अज्ञानी रहेछौ। पहिचान र हैसियत यति आदर्शमयी हुँदा पनि, किन तिमीलाई संसारका यी विलासी र उच्चस्तरीय कुराहरूको ज्ञान वा बुझाइ छैन? तिम्रा परिस्थितिहरू अनुसार, तिमी आफैले यो कुराको केही अनुभव लिनुपर्छ। कम्तीमा पनि, तिमी कुनै उच्चस्तरीय ब्युटी सैलुनमा जानुपर्छ, कुनै पाँचतारे होटेलमा बस्नुपर्छ, र कुनै विलासी समुद्री जहाज चढ्नुपर्छ। कम्तीमा पनि, जहाज चढ्दा तिमी पहिलो श्रेणीमा बस्नुपर्छ।” तिनीहरूले मलाई देख्दा, मलाई कम सोच्छन्, तर तिनीहरू एउटा कुरा स्विकार्न बाध्य हुन्छन्, त्यो हो, “तिमीले भेलाहरूमा भनेको कुनै पनि कुरा मैले यसअघि कहिल्यै सुनेको छैनँ: मैले तिमीले भनेको कुरा अवश्यै सुन्नुपर्छ।” तर भेला सकिएपछि तिनीहरूले मलाई चिन्नै छोड्छन्। ठ्याक्कै ब्वाँसोजस्तै: तैँले त्यसलाई खाना दिएपछि, त्यसले फनक्क फर्केर तँलाई नै टोक्छ। ब्वाँसोको प्रकृति नै त्यही हो। जब ख्रीष्टविरोधीहरूले पैसा र प्रभाव नभएका ती साधारण दाजुभाइ-दिदीबहिनीहरूलाई देख्छन्, जो केवल सत्यतालाई प्रेम गर्छन् र त्यसलाई पछ्याउन सक्षम हुन्छन्, र जो इच्छुक भई आफ्ना कर्तव्यहरू निर्वाह गर्छन्, तब तिनीहरूले उनीहरूलाई तिरस्कार र बहिष्कार गर्छन्। जब तिनीहरूले ख्रीष्टलाई हेर्छन् र एक साधारण व्यक्ति देख्छन्, जो हुलिया, रूपरङ्ग, आचरण जस्ता हरेक हिसाबमा सादा र साधारण व्यक्ति हुन्छ, तब के तिनीहरूले आफ्ना भित्री स्वभाव र दृष्टिकोण तुरुन्तै बदल्न सक्छन्? (अहँ, सक्दैनन्।) कामकुराहरूप्रति तिनीहरूको मनोवृत्ति तिनीहरूको चरित्रमा आधारित हुन्छ। सामान्य मानवताको कमी हुँदा, तिनीहरूको ख्रीष्टप्रतिको मनोवृत्ति निस्सन्देह रूपमा कुनै साधारण व्यक्तिप्रतिको मनोवृत्ति जस्तै हुन्छ। त्यसमा अलिकति पनि सम्मान हुँदैन; यो तिनीहरूको सार र चरित्रद्वारा निर्धारित हुन्छ। ख्रीष्टविरोधीको मानवताको यस पक्षको प्रकटीकरण अरू पक्षहरूमा जत्तिकै घिनलाग्दो र घृणास्पद हुन्छ।
हामीले भर्खरै सङ्गति गरेका, ख्रीष्टविरोधीको चरित्रमा रहेका विभिन्न विशेषताहरूले एक-एक गरेर तिनीहरूको चरित्रको असलपन वा खराबपन, उत्कृष्टता वा निकृष्टतालाई प्रकट गर्न सक्छन्। झूट बोल्ने बानी भएको व्यक्तिको चरित्र उत्कृष्ट हुन्छ कि निकृष्ट? (निकृष्ट।) स्वार्थी र नीच व्यक्तिको मानवता असल हुन्छ कि खराब? (खराब।) लाजसरम पचेको व्यक्तिको मानवता असल हुन्छ कि खराब? (खराब।) कपटी र निर्दयी व्यक्तिको चरित्र उत्कृष्ट हुन्छ कि निकृष्ट? (निकृष्ट।) शक्तिशालीसँग लपक्क टाँसिन र कमजोरलाई दमन गर्न मात्र जान्ने, अनि त्यस्ता सिद्धान्तहरू मात्र पालना गर्ने व्यक्तिको चरित्र कस्तो हुन्छ? (घृणायोग्य।) त्यस्ता व्यक्तिहरू हदैसम्म घृणायोग्य हुन्छन्, सामान्य मानवता नभएको मात्र नभई तिनीहरू मानव नै होइनन्—तिनीहरू फोहोर हुन्, दियाबलस हुन् भन्दा पनि सही हुन्छ। जसमा अलिकति पनि विवेक र समझ हुँदैन, ऊ दियाबलस हो, मानव होइन।
च. भौतिक वस्तुहरूप्रति सामान्य मानिसहरूले भन्दा धेरै चाहना राख्ने
ख्रीष्टविरोधीहरूको मानवतामा अर्को प्रकटीकरण पनि छ: तिनीहरू भौतिक वस्तुहरूप्रति सामान्य मानिसहरूले भन्दा धेरै चाहना राख्छन्। भन्नुको मतलब, भौतिक वस्तुहरूप्रति तिनीहरूको चाहना र माग अत्यन्तै ठूलो छ—त्यो असीमित छ। तिनीहरू विलासी जीवनशैलीको आकाङ्क्षाहरूले भरिएका हुन्छन्, र तिनीहरूको लोभको तृप्ति कहिल्यै हुँदैन। कतिपयले भन्लान्: “अधिकांश ख्रीष्टविरोधीहरूमा यो प्रकटीकरण हुँदैन।” यो नहुनुको अर्थ तिनीहरूको मानवतामा यो कुरा छैन भन्ने होइन। त्यस्ता मानिसहरूले एकपटक हैसियत प्राप्त गरेपछि, के खाने, कस्तो पहिरन लगाउने, र कस्तो देखिने भन्नेबारे तिनीहरूका सिद्धान्तहरू के-के हुन्छन्? आफूसँग हैसियत हुने बित्तिकै, तिनीहरूलाई आफ्नै तरिकाले चल्नैपर्ने हुन्छ, तिनीहरूले अवसरहरू फेला पार्छन्, तिनीहरूका निश्चित सर्तहरू हुन्छन्, र तिनीहरूको जीवन फरक हुन्छ। तिनीहरूले खानेकुरामा धेरै ध्यान दिन थाल्छन्, देखावट र विलासीतामा जोड दिन्छन्। तिनीहरू ब्रान्डेड वस्त्रहरू लगाउने र सामानहरू प्रयोग गर्ने अड्डी कस्छन्, र तिनीहरू बस्ने घर र चढ्ने गाडी उच्चस्तरीय र विलासी नै हुनुपर्छ। तिनीहरूले कामकाजको साधन किन्दा पनि, त्यसमा विलासी सामानहरू जोडिएको हुनपर्छ। कतिपयले सोध्लान्: “यदि तिनीहरूसँग पैसा छैन भने, तिनीहरू किन यस्ता वस्तुहरूमा जोड दिन्छन्?” तिनीहरूसँग पैसा छैन भन्दैमा, तिनीहरू त्यस्ता वस्तुहरू पछ्याउँदैनन्, र तिनीहरूको मानवतामा यो चाहना हुँदैन भन्ने होइन। त्यसकारण, ख्रीष्टविरोधीहरूले एकपटक परमेश्वरको घरका भेटीहरूमाथि पकड पाएपछि, तिनीहरूले जथाभाबी तिनलाई फजुल रूपमा उडाउँछन्। तिनीहरू सबथोक किन्न र त्यसको आनन्द लिन चाहन्छन्, यतिसम्म कि तिनीहरू निर्लज्ज बन्छन् र तिनीहरूलाई नियन्त्रणमा राख्नै गाह्रो हुन्छ। तिनीहरूलाई सुनले लेपन गरिएको कपमा उच्च गुणस्तरीय चिया पिउनुपर्छ, तिनीहरूको खाना भव्य भोज हुनैपर्छ, तिनीहरू विशेष स्तरको जिनसेंग मात्र खान अड्डी कस्छन्, र सधैँ नयाँ मोडेलका विश्व-स्तरीय ब्रान्डका कम्प्युटर र फोनहरू मात्र प्रयोग गर्छन्। तिनीहरू हजारौँ रुपैयाँ पर्ने चस्मा लगाउँछन्, कपाल मिलाउन हजारौँ रुपैयाँ खर्च गर्छन्, साथै मसाज र साउनाका लागि हजार वा त्योभन्दा बढी मूल्य तिर्छन्। छोटकरीमा भन्दा, तिनीहरू सबथोक उच्च-गुणस्तरीय र ब्रान्डेड माग गर्छन्, प्रतिष्ठित व्यक्तित्व र शक्तिशाली मानिसहरूले आनन्द लिने वस्तुहरूको आनन्द लिन चाहन्छन्। ख्रीष्टविरोधीहरूसँग एकपटक हैसियत भएपछि, यी सारा कुरूप चिजहरू स्पष्ट हुन्छन्। भेलाहरूमा, यदि तीनदेखि पाँचजना मानिसहरूले मात्र तिनीहरूको प्रवचन सुनेमा, तिनीहरूलाई त्यो अपर्याप्त लाग्छ र तिनीहरू तीन-सयदेखि पाँच-सय मानिसहरू हुनुपर्ने अड्डी कस्छन्। जब अरूले बाह्य परिस्थितिहरू प्रतिकूल भएका कारण तीनदेखि पाँच जना मानिसहरू भेला हुनु राम्रै हो भन्छन्, तब तिनीहरू प्रतिवाद गर्छन्: “यो तँ हुँदैन—मेरो प्रवचन सुन्ने मानिसहरू किन यति थोरै छन्? यो मैले समय दिन लायक छैन। हामीले एउटा भव्य मण्डली भवन किन्नुपर्छ जसले अलि गरिमामय प्रवचनका लागि दसौँ हजार मानिसहरू अटाउन सकोस्।” के तिनीहरू काल खोजिरहेका छैनन् र? ख्रीष्टविरोधीहरूले गर्ने कामकुरा यस्तै हुन्छ। के तिनीहरू लाजसरम पचेका पनि भइरहेका छैनन् र? तिनीहरूमा विलासी जीवन र भौतिक वस्तुहरूप्रति अत्यन्तै अनियन्त्रित चाहना र रुचि हुन्छ, जुन ख्रीष्टविरोधीहरूको चरित्रको अर्को विशेषता हो। कसैले, मिठो खाना, विलासी गाडी, ब्रान्डेड कपडा, अनि उच्च-स्तरीय र महँगो वस्तुहरू उल्लेख गर्ने बित्तिकै तिनीहरूका आँखाहरू चम्किन्छन् र लोभले हरिया बन्छन्, साथै तिनीहरूका चाहनाहरू सतहमा आउँछन्। यो चाहना कसरी पैदा हुन्छ? यो निस्सन्देह तिनीहरूको भूतिया प्रकृतिको प्रकाश हो। कतिपय ख्रीष्टविरोधीहरूमा पैसाको अभाव हुन सक्छ, र उच्च-स्तरीय गहना वा दुई-तीन क्यारेटको हिराको औँठी लगाएको व्यक्ति देख्दा, तिनीहरूको आँखा चम्किन्छ, र तिनीहरूले यसो सोच्छन्, “यदि मैले परमेश्वरमा विश्वास नगरेको भए, मैले पाँच क्यारेटको लाउन सक्थेँ।” तिनीहरूले आफूसँग एक क्यारेटको औँठीसमेत नभएको तथ्यबारे सोच-विचार गर्छन्, अनि दुःखी हुन्छन् र तिनीहरू परमेश्वरमा विश्वास गर्नु सार्थक छैन भनेर सोच्न र विश्वास गर्न थाल्छन्। तैपनि, थप सोच-विचार गरेपछि, तिनीहरूले यसो सोच्छन्, “मैले परमेश्वरमा आस्था राखेकाले, भविष्यमा ठूला आशिष्हरू प्राप्त गर्नेछु। म पाँच-सय क्यारेटको हिरा लिएर टाउकोमा पहिरिन सक्छु।” के तिनीहरूमा चाहनाहरू छैनन् र? टिभीमा धनी व्यक्तिहरू डिजाइनर कपडाहरू लगाएर र समुद्रमा विलासी जहाजहरूमा तैरिरहेको देख्दा, तिनीहरूलाई त्यो अत्यन्तै आनन्दमयी, मनोरम, प्रतिष्ठित, र डाहलाग्दो लाग्छ। तिनीहरूले र्याल चुहाउँछन् र यसो भन्छन्, “म कहिले त्यस्तो व्यक्ति, अर्थात् मानिसहरूमाझको अतिमानुष बन्न सक्छु होला? मैले कहिले यस्तो जीवनको आनन्द लिन सक्ने होला?” तिनीहरू त्यो कुरा बारम्बार हेर्छन् र अन्त्यमा परमेश्वरमा विश्वास गर्नु भनेको साँच्चिकै अरोचक हुन्छ भन्ने सोचाइमा पुग्छन्। तर त्यसपछि तिनीहरूले फेरि एकपटक चिन्तन गर्छन्, र सोच्छन्, “मैले यसरी सोच्न मिल्दैन। म किन परमेश्वरमा विश्वास गर्छु? ‘अब्बल मानिस हुनका लागि ठूला कठिनाइहरू सहनुपर्छ।’ भविष्यमा, मेरो जीवन तिनीहरूको भन्दा धेरै राम्रो हुनेछ। तिनीहरू विलासी समुद्री-जहाजमा घुम्छन्, तर म कुनै विलासी हवाइ-जहाज वा विलासी उडनतस्तरीमा उड्नेछु—म चन्द्रमामा जानेछु!” के यी सोचहरू अलिकति पनि व्यावहारिक छन् त? के ती सामान्य मानवतासँग मिल्छन्? (अहँ, मिल्दैनन्।) यो ख्रीष्टविरोधीहरूको मानवतामा हुने अर्को तत्त्व हो—भौतिक वस्तुहरू र विलासी जीवनशैलीप्रतिको अत्यन्तै अनियन्त्रित चाहना हो। तिनीहरूले एकपटक यी कुराहरू पाएपछि, तिनीहरू अतृप्त रूपमा लोभी बन्छन्, अत्यन्तै लोभी नजर र प्रकृति देखाउँछन्, र यी चिजहरू सदाका लागि आफूसँग होस् भन्ने चाहन्छन्। ख्रीष्टविरोधीहरूको मानवतामा, तिनीहरूले शक्तिशालीलाई ईर्ष्या गर्ने कुरा मात्र पर्दैन; तिनीहरू भौतिक वस्तुहरू र उच्च गुणस्तरीय जीवनको चाहना पनि राख्छन्। सामान्य मानवतामा जीवन र भौतिक वस्तुहरूप्रति आवश्यकताहरूको यथोचित दायरा हुन्छ: तिनीहरूको दैनिक आवश्यकताहरू, काम र जियाइ परिवेशका आवश्यकताहरू, साथै शारीरिक आवश्यकताहरू पनि हुन्छन्। यी आवश्यकताहरू पूरा भएमा त्यो नै काफी हुन्छ, र आफ्नो क्षमता र आर्थिक अवस्थाका आधारमा तिनलाई समायोजन गर्नु केही हदसम्म सामान्य मानिन्छ। तर, ख्रीष्टविरोधीहरूको भौतिक वस्तुहरूप्रतिको आवश्यकता र असत्ती असामान्य र कहिल्यै तृप्त नहुने प्रकारको हुन्छ। कतिपय ख्रीष्टविरोधीहरू विशेषगरी उच्च गुणस्तरीय जीवन पछ्याउँछन्—जब तिनीहरू कुनै अतिथि सत्कार गर्ने परिवारमा बस्छन् र त्यहाँको खानामा सबै सामान्य परिकारहरू मात्र हुन्छन्, तब तिनीहरू अलि झर्को मान्छन्। यसका साथै, यदि त्यस परिवारका मानिसहरू सत्यता पछ्याइरहेका छन्, अलिक इमानदार छन्, र तिनीहरूलाई मक्ख पार्दैनन्, खुसामद गर्दैनन् वा तिनीहरूले सुन्न चाहेको कुरा भन्दैनन् भने, तिनीहरूलाई त्यो कुरा झनै दिक्क लाग्छ, र तिनीहरूले सोच्छन्, “मैले कहाँचाहिँ राम्रो खाना खान र ठूलो घरमा बस्न पाउँछु? बस्ने व्यवस्था कसकोमा राम्रो छ? कोसँग गाडी छ र कसले मलाई ठाउँ-ठाउँमा लान र त्यहाँबाट ल्याउन सक्छ ताकि मैले हिँड्न नपरोस्?” तिनीहरू सधैँ यस्ता मामलाहरूको चिन्ता लिइरहेका हुन्छन्। के तिमीहरूका वरिपरि यस्ता मानिसहरू छन्? के तिमीहरू यस्ता व्यक्ति हौ? (यी कुराहरू हाम्रो मानवतामा पनि छन्।) त्यसोभए के तिमीहरूले तिनलाई नियन्त्रणमा राख्न सक्छौ? सुखमा लिप्त हुनु काम अतृप्त लोभ जस्तो हुँदैन; आफ्नो कर्तव्य निर्वाहलाई असर नगरी यसलाई संयममा राख्नुपर्छ। यो सामान्य भ्रष्ट मानिसहरूमा हुने मानवता हो। तर, ख्रीष्टविरोधीहरूले संयम अभ्यास गर्दैनन्; तिनीहरू अतृप्त र अत्यन्तै लोभ गर्ने बानी भएका हुन्छन्। यस प्रकटीकरणका सम्बन्धमा, के तिमीहरूलाई अरू केही थप्नु छ? (परमेश्वर, मैले यसअघि एउटा ख्रीष्टविरोधी देखेको छु। त्यसबखत, एक जना दिदीले उसलाई दशवटा भन्दा बढी ज्याकेटहरू किनिदिएकी थिइन्, र ती सबै चर्चित ब्रान्डका थिए, अनि त्यस ख्रीष्टविरोधीले तिनलाई पालैपालो लगाई, हरेक पटक बाहिर निस्कँदा नयाँ लगाई। पछि, ऊ अगुवा बनी, र उसले गाडी किन्नका लागि परमेश्वरका भेटीहरू प्रयोग गरी। एक जनाले त उसलाई पाहुना राख्नकै लागि एउटा घरसमेत किनिन्, अनि जब ऊ किनमेल गर्न बाहिर जान्थी, अतिथि सत्कार गर्ने यी दिदी उसकै पछि लाग्थिन्। यदि उसलाई एउटा कपडा मन पर्यो भने, उसले औँलाले देखाउने बित्तिकै त्यस दिदीले हतार-हतार उसका लागि त्यो किनिदिन्थिन्। जब ऊ घर फर्कन्थी, उसले अतिथि सत्कार गर्ने परिवारलाई पहिल्यै फोन गर्थी र आफूलाई मःमः खान मन लागेको भन्थी। मःमः पकाउने समय ठ्याक्कै हिसाब गर्नुपर्थ्यो—चाँडो भयो भने, ती चिसो हुन्थे, र ढिला भयो भने, ऊ घर पुग्दा भोक-भोकै पर्खेर बस्नुपर्थ्यो। ऊ बुढी महारानीझैँ थिई; उसको जीवनशैली अत्यन्तै विलासी थियो। पछि, यस ख्रीष्टविरोधी निष्कासित भई।) हेर्, यी मानिसहरू कति अज्ञानी र मूर्ख थिए, तिनीहरूले एउटी ख्रीष्टविरोधीका लागि घर र गाडी नै किने! ख्रीष्टविरोधीहरू विश्वास गर्छन् कि मानिसहरू यस संसारमा रमाइलो गर्नकै लागि आउँछन्, र यदि कोही यी चिजहरूमा लिप्त भएन भने, उसले व्यर्थमा जीवन जिएको हुन्छ। यो नै तिनीहरूको सिद्धान्त र वाद हो। के यो वाद सही हो? यो विशुद्ध रूपमा गैरविश्वासी, पशु, र आत्माविहीन मृत मानिसहरूको विचार हो। जो मानिसहरू परमेश्वरमा विश्वास गर्छन् र अझै पनि त्यस्ता दृष्टिकोणहरू बोक्छन् तिनीहरू पूर्णतः अविश्वासी र गैरविश्वासीहरू हुन्। यस्ता मानिसहरूले एकपटक हैसियत प्राप्त गरेपछि, तिनीहरू पूर्ण रूपमा ख्रीष्टविरोधी बन्छन्, र हैसियतबिना, तिनीहरू दुष्ट मानिस हुन्छन्।
झूट बोल्ने बानी, कपटीपन र निर्दयता, सम्मानबोध नहुनु र लाजसरम पचेको हुनु, स्वार्थी र नीच हुनु, शक्तिशालीसँग लपक्क टाँसिनु र कमजोरलाई दमन गर्नु, अनि भौतिक वस्तुहरूप्रति सामान्य मानिसहरूले भन्दा धेरै चाहना राख्नु—ख्रीष्टविरोधीहरूको चरित्रका यी विशेषताहरू खाँटी, अत्यन्तै प्रतिनिधि गर्ने, र प्रस्ट छन्। यीमध्ये कतिपय प्रकटीकरणहरू साधारण मानिसहरूमा केही हदसम्म देखा पर्न सक्छन्, तर तिनीहरूका प्रकटीकरणहरू भ्रष्ट स्वभाव मात्र हुन् वा असामान्य मानवताको वा शैतानको भ्रष्टताबाट पैदा हुने मानवताको कमीका प्रकटीकरणहरू मात्र हुन्। परमेश्वरका वचनहरू पढेर, यी मानिसहरूले विवेकको चेतना अनि यी वस्तुहरू छोड्ने र तिनका विरुद्ध विद्रोह गर्ने र पश्चात्ताप गर्ने क्षमता विकास गर्छन्। यी विशेषताहरूले तिनीहरूमा प्रबल भूमिका खेल्दैनन्, र तिनले तिनीहरूको सत्यता पछ्याइलाई वा तिनीहरूका कर्तव्य निर्वाहलाई असर गर्नेछैनन्। ख्रीष्टविरोधीहरूले मात्र चाहे जतिवटा प्रवचनहरू सुने पनि सत्यता स्विकार्न मान्दैनन्। तिनीहरूको मानवतामा अन्तर्निहित रहेका प्रवृत्ति र विशेषताहरू बदलिनेछैनन्, त्यही कारणले गर्दा त्यस्ता मानिसहरू परमेश्वरको घरमा निन्दित हुन्छन् र तिनीहरूले कहिल्यै मुक्ति पाउन सक्दैनन्। तिनीहरूले किन मुक्ति पाउन सक्दैनन्? त्यस्तो चरित्र भएका मानिसहरूले मुक्ति पाउन सक्दैनन् किनभने तिनीहरूले सत्यता स्विकार्न मान्दैनन्, साथै तिनीहरू सत्यताप्रति, परमेश्वरप्रति, अनि सारा सकारात्मक कुराहरूप्रति शत्रुवत् हुन्छन्। तिनीहरूमा मुक्ति प्राप्त गर्ने अवस्था र मानवता नै हुँदैन, त्यसकारण, हटाइनु र नरकमा फालिनु नै यी व्यक्तिहरूको नियति हुन्छ।
डिसेम्बर १२, २०२०