अन्धकारको प्रभावदेखि उम्की, र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्

अन्धकारको प्रभाव भनेको के हो? यो कथित “अन्धकारको प्रभाव” शैतानको छल, भ्रष्टता, बन्धन र मानिसहरूलाई नियन्त्रण गर्ने प्रभाव हो; शैतानको प्रभाव एउटा यस्तो प्रभाव हो जसमा मृत्युको वातावरण हुन्छ। शैतानको सत्तामा जिउने सबै विनाशतिर उन्मुख हुन्छन्। परमेश्‍वरप्रतिको विश्‍वास हासिल गरिसकेपछि तँ कसरी अन्धकारको प्रभावदेखि उम्कन सक्छस् त? तैँले परमेश्‍वरसँग इमान्दारितापूर्वक प्रार्थना गरिसकेपछि आफ्नो हृदयलाई पूर्ण रीतिले उहाँतर्फ फर्काउँछस्, जुन बिन्दुमा तेरो हृदय परमेश्‍वरका आत्माद्वारा उत्प्रेरित हुन्छ। तँ आफैलाई पूर्ण रीतिले उहाँमा समर्पित गर्न इच्छुक हुन्छस्, अनि यसै क्षणमा, तँ अन्धकारको प्रभावदेखि उम्केको हुनेछस्। यदि मानिसले गर्ने हरेक कुराले परमेश्‍वरलाई खुशी तुल्याउँछ र त्यो उहाँका मागहरूसित मेल खान्छ भने, ऊ परमेश्‍वरका वचनहरूमा र उहाँको हेरविचार तथा सुरक्षामा जिउने व्यक्ति हुन्छ। यदि मानिसहरूले परमेश्‍वरका वचनहरू अभ्यास गर्न सक्दैनन्, यदि तिनीहरूले उहाँप्रति लापरवाही व्यवहार देखाउँदै अनि उहाँको अस्तित्वमा अविश्‍वास गर्दै, सधैँ उहाँलाई मूर्ख बनाउने प्रयास गरिरहन्छन् भने—ती सबै मानिसहरू अन्धकारको प्रभावमा जिइरहेका हुन्छन्। परमेश्‍वरको मुक्ति नपाएका मानिसहरू शैतानको सत्तामा जिइरहेका हुन्छन्; यसको अर्थ, तिनीहरू सबै अन्धकारको प्रभावमा जिउँछन्। परमेश्‍वरमा विश्‍वास नगर्नेहरू शैतानको सत्तामा जिइरहेका हुन्छन्। परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्नेहरू पनि उहाँको ज्योतिमा नै जिइरहेका हुन्छन् भन्‍ने छैन, किनकि उहाँमा विश्‍वास गर्नेहरू वास्तविक रूपमा उहाँका वचनहरूमा जिइरहेका नहुन सक्छन्, न त तिनीहरू परमेश्‍वरमा समर्पित हुन सकेका नै हुन्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने कार्यमा मानिस सीमित छ, अनि ऊसित परमेश्‍वरको ज्ञान नभएको कारणले, ऊ अझै पनि पुराना नियमहरूमा, मृत शब्दहरूमा यस्तो जीवन जिइरहेका हुन्छन् जुन अँध्यारो र अनिश्चित छ, जुन न त परमेश्‍वरद्वारा पूर्ण रूपले शुद्ध गरिएको छ, न त उहाँद्वारा पूर्ण रूपले हासिल गरिएको छ। त्यसैकारण, यो स्पष्ट नै छ कि परमेश्‍वरमा विश्‍वास नगर्नेहरू अन्धकारको प्रभावमा जिइरहेका हुन्छन्, परमेश्‍वरमा विश्‍वास गर्नेहरू पनि अझै त्यसको प्रभावमा हुन सक्छन्, किनकि तिनीहरूसित पवित्र आत्माको कार्यको कमी हुन्छ। परमेश्‍वरको अनुग्रह वा कृपा प्राप्त नगरेकाहरू र पवित्र आत्माको कार्य देख्न नसक्नेहरू सबै अन्धकारको प्रभावमा जिइरहेका हुन्छन्; अनि प्रायजसो परमेश्‍वरको अनुग्रहको मात्रै आनन्द लिने, तैपनि उहाँलाई भने नचिन्ने मानिसहरू पनि त्यस्तै हुन्छन्। यदि कुनै मानिसले परमेश्‍वरमा विश्‍वास गर्छ, तापनि आफ्नो अधिकांश जीवन अन्धकारको प्रभावमा जिइरहेको छ भने, यस मानिसले आफ्नो अस्तित्वको अर्थ नै गुमाएको हुन्छ—अनि परमेश्‍वरको अस्तित्वमा विश्‍वास नगर्ने मानिसहरूको बारेमा उल्लेख गर्नु खाँचो छ र?

परमेश्‍वरको कार्यलाई स्वीकार गर्न नसक्नेहरू, अथवा परमेश्‍वरको कार्यलाई स्वीकार गर्ने तर उहाँका मागहरूलाई पूरा गर्न असमर्थ हुनेहरू सबै अन्धकारको प्रभावमा जिइरहेका मानिसहरू हुन्। सत्यतालाई अनुसरण गर्नेहरू र परमेश्‍वरका मागहरू पूरा गर्न सक्‍नेहरूले मात्रै उहाँबाट आशिषहरू प्राप्त गर्नेछन्, र तिनीहरू मात्रै अन्धकारको प्रभावदेखि उम्किनेछन्। जो स्वतन्त्र भएका छैनन्, जो सधैँ केही निश्चित कुराहरूद्वारा नियन्त्रित हुन्छन्, अनि जसले आफ्नो हृदय परमेश्‍वरलाई दिन सक्दैनन्, तिनीहरू मृत्युको वातावरणमा जिउँदै शैतानको बन्धनमुनि रहने मानिसहरू हुन्। आफ्‍ना कर्तव्यहरूप्रति विश्‍वासयोग्य नहुने, परमेश्‍वरको आज्ञाप्रति विश्‍वासयोग्य नहुने अनि मण्डलीमा गर्नुपर्ने आफ्ना काम-कर्तव्यहरू पूरा गर्न नसक्‍नेहरू अन्धकारको प्रभावमुनि जिउने मानिसहरू हुन्। जसले जानाजान मण्डली-जीवनलाई बिथोल्छन्, जसले जानी-बुझी आफ्ना दाजुभाइ-दिदीबहिनीहरूको माझमा अमेलको बीउ रोप्छन् वा जसले गुट निर्माण गर्छन्, तिनीहरू अझै गहिरो अन्धकारको प्रभावमा, शैतानको बन्धनमा जिउने मानिसहरू हुन्। परमेश्‍वरसित असामान्य सम्बन्ध कायम राख्‍नेहरू, लालची इच्‍छाहरू बोकेर हिँड्नेहरू, सधैँ लाभ हासिल गर्न चाहनेहरू, र आफ्नो स्वभाव कहिल्यै रूपान्तरण गर्न नखोज्‍नेहरू अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। सधैँ बेहोसी रहने अनि सत्यताको अभ्यासमा कहिल्यै गम्भीर नहुने, परमेश्‍वरको इच्छा पूरा गर्ने कार्यमा लागिपर्नुको सट्टामा आफ्नै देहलाई सन्तुष्ट गर्न खोज्‍नेहरू पनि, मृत्युको आवरणले ढाकिएको अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। परमेश्‍वरको निम्ति काम गर्दा जो कुटिलता र छलमा संलग्न हुन्छन्, जसले परमेश्‍वरसित लापरवाहीपूर्ण ढङ्गले व्यवहार गर्छन्, जसले परमेश्‍वरलाई ठग्छन् अनि जसले सधैँ आफ्नै निम्ति योजना बनाउँछन्, तिनीहरू अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। जसले परमेश्‍वरलाई साँचो रीतिले प्रेम गर्न सक्दैनन्, जसले सत्यताको अनुसरण गर्दैनन्, अनि जो आफ्नो स्वभावलाई रूपान्तरण गर्ने कार्यमा केन्द्रित हुँदैनन्, तिनीहरू सबै अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्।

यदि तैँले परमेश्‍वरको स्याबासी पाउने चाहना गर्छस् भने, तँ पहिले परमेश्‍वरको निम्ति आफ्नो हृदय खोलेर यसलाई पूर्ण रूपले उहाँतर्फ फर्काउँदै शैतानको अन्धकारपूर्ण प्रभावदेखि उम्कनुपर्छ। अहिले तैँले गरिरहेका कुराहरूको निम्ति के परमेश्‍वरले तँलाई स्याबासी दिनुहुन्छ? के तैँले आफ्नो हृदय परमेश्‍वरतिर फर्काएको छस्? के तैँले गरेका कुराहरू परमेश्‍वरले तँबाट माग गर्नुभएका कुरा हुन् र? के ती सत्यतासित मेल खान्छन्? सधैँ आफैलाई जाँच् र परमेश्‍वरको वचन खाने र पिउने कार्यमा ध्यान केन्द्रित गर्; उहाँको सामु आफ्नो हृदयलाई खोल्, उहाँलाई इमान्दारितापूर्वक प्रेम गर् र भक्ति पूर्वक परमेश्‍वरको निम्ति आफैलाई समर्पित गर्। यस्तो गर्ने मानिसहरूलाई परमेश्‍वरले निश्चय नै स्याबासी दिनुहुनेछ। परमेश्‍वरमा विश्‍वास गर्ने, तापनि सत्यतालाई अनुसरण नगर्नेहरूसँग शैतानको प्रभावदेखि उम्कने कुनै उपाय हुँदैन। इमान्दारितासहित आफ्नो जीवन नजिउने, अरूको सामु एक प्रकारले व्यवहार गर्ने तर तिनीहरूको पछाडि अर्कै प्रकारले व्यवहार गर्ने, नम्रता, धैर्यता तथा प्रेमको बाह्य रूप मात्रै देखाउने, तैपनि घातक, धूर्त सार भएका र परमेश्‍वरप्रति वफादार नहुनेहरू—त्यस्ता मानिसहरू अन्धकारको प्रभावमा जिउनेहरूका खास प्रतिनिधिहरू हुन्; तिनीहरू सर्प वर्गका हुन्। सधैँ आफ्नै फाइदाको निम्ति मात्रै परमेश्‍वरमा विश्‍वास गर्ने, स्वधर्मी र अभिमानी, देखावटी व्यवहार गर्ने, अनि आफ्नै हैसियतको रक्षा गर्ने मानिसहरू शैतानलाई प्रेम गर्ने, सत्यतालाई विरोध गर्नेहरू हुन्। यी मानिसहरूले परमेश्‍वरलाई विरोध गर्छन् तिनीहरू पूर्ण रूपले शैतानका हुन्। परमेश्‍वरका बोझहरूलाई ध्यान नदिने, सम्पूर्ण हृदयले परमेश्‍वरको सेवा नगर्ने, सधैँ आफ्नै स्व-रुचिहरू र आफ्नै परिवारका रुचिहरूको चासो गर्ने, परमेश्‍वरको निम्ति आफूलाई समर्पित गर्न हरेक कुरा त्याग्न नसक्‍ने, र कहिल्यै परमेश्‍वरको वचनद्वारा नजिउनेहरू परमेश्‍वरको वचनबाट बाहिर रहने मानिसहरू हुन्। त्यस्ता मानिसहरूले परमेश्‍वरको स्याबासी प्राप्त गर्न सक्दैनन्।

परमेश्‍वरले मानिसहरूलाई सृष्टि गर्नुहुँदा, तिनीहरूले उहाँको प्रशस्तताको आनन्द लिऊन् र उहाँलाई साँचो रीतिले प्रेम गरून् भनेर सृष्टि गर्नुभएको थियो; यसप्रकारले मानिसहरू उहाँको ज्योतिमा जिउन सक्नेथिए। आज, परमेश्‍वरलाई प्रेम गर्न नसक्‍ने, उहाँका बोझहरूलाई ध्यान नदिने पूर्ण रीतिले आफ्नो हृदय उहाँलाई दिन नसक्‍ने, उहाँको हृदयलाई तिनीहरूका आफ्नै हृदय जस्तै गरी ग्रहण गर्न नसक्‍ने, उहाँका बोझहरूलाई आफ्नै जस्तै गरी लिन नसक्‍ने—त्यस्ता कुनै पनि मानिसहरूमाथि परमेश्‍वरको ज्योति चम्कँदैन, त्यसैकारण तिनीहरू सबै अन्धकारको प्रभावमा जिइरहेका हुन्छन्। तिनीहरू पूर्णतया परमेश्‍वरको इच्छाको विपरीतको बाटोमा हुन्छन्, र तिनीहरूले गर्ने कुनै पनि कुरामा अलिकति सत्यता पनि हुँदैन। तिनीहरू शैतानसितै हिलोमा लुटपुटीरहेका हुन्छन्; तिनीहरू अन्धकारको प्रभावमा जिउने मानिसहरू हुन्। यदि तैँले सधैँ परमेश्‍वरका वचनहरू खान र पिउन सक्छस्, उहाँको इच्छालाई ध्यान दिन्छस् अनि उहाँका वचनहरूलाई अभ्यास गर्छस् भने, तँ परमेश्‍वरको होस्, तँ उहाँको वचनहरूमा जिउने व्यक्ति होस्। के तँ शैतानको सत्ताबाट उम्किने र परमेश्‍वरको ज्योतिमा जिउने इच्छा गरिरहेको छस्? यदि तँ परमेश्‍वरका वचनहरूमा जिउँछस् भने, पवित्र आत्माले आफ्नो काम गर्ने अवसर पाउनुहुनेछ; यदि तँ शैतानको प्रभावमा जिउँछस् भने, तैँले पवित्र आत्मालाई त्यस्तो कुनै अवसर दिनेछैनस्। पवित्र आत्माले मानिसहरूमा जुन काम गर्नुहुन्छ, जुन ज्योति उहाँले तिनीहरूमाथि चम्काउनुहुन्छ र जुन निर्धक्कता उहाँले तिनीहरूलाई दिनुहुन्छ, त्यो केवल एक क्षणको लागि रहन्छ; यदि मानिसहरू सावधान छैनन्, तिनीहरूले ध्यान दिँदैनन् भने, पवित्र आत्माको कामले तिनीहरूलाई त्याग्‍नेछ। यदि मानिसहरू परमेश्‍वरका वचनहरूमा जिउँछन् भने, पवित्र आत्मा तिनीहरूसित रहनुहुनेछ र उहाँले तिनीहरूमा काम गर्नुहुनेछ। यदि मानिसहरू परमेश्‍वरका वचनहरूमा जिउँदैनन् भने, तिनीहरू शैतानको बन्धनमा जिउँछन्। यदि मानिसहरू भ्रष्ट स्वभावमा जिउँछन् भने, तिनीहरूसित पवित्र आत्माको उपस्थिति वा काम हुँदैन। यदि तँ परमेश्‍वरका वचनहरूको सीमाहरूमा जिउँछस्, र यदि तँ परमेश्‍वरले माग गर्नुभएको अवस्थामा जिउँछस् भने, तँ उहाँको स्वामित्वमा रहेको व्यक्ति होस्, अनि तँमा उहाँको काम सम्पन्न हुनेछ; यदि तँ परमेश्‍वरका मागहरूको सीमाहरूमा जिइरहेको छैनस् तर शैतानको सत्तामा जिइरहेको छस् भने, तँ निश्चय नै शैतानको भ्रष्टतामा जिइरहेको हुन्छस्। परमेश्‍वरका वचनहरूमा जिएर अनि उहाँलाई आफ्नो हृदय दिएर मात्रै तैँले उहाँका मागहरू पूरा गर्न सक्छस्; तैँले परमेश्‍वरका वाणीहरूलाई आफ्नो अस्तित्वको जग र आफ्नो जीवनको वास्तविकता बनाउँदै उहाँले भन्नुभए अनुसार गर्नैपर्छ; तब मात्रै तँ परमेश्‍वरको हुनेछस्। यदि तैँले वास्तवमै परमेश्‍वरको इच्छाअनुरूप अभ्यास गर्छस् भने, उहाँले तँमा काम सम्पन्न गर्नुहुनेछ, अनि तँ उहाँका आशिषहरूमा, उहाँको मुहारको ज्योतिमा जिउनेछस्; तैँले पवित्र आत्माले गर्नुहुने काम बुझ्नेछस्, परमेश्‍वरको उपस्थितिको आनन्द तैँले अनुभव गर्नेछस्।

अन्धकारको प्रभावदेखि मुक्त हुनको लागि तँ पहिले परमेश्‍वरप्रति वफादार हुनैपर्छ र सत्यतालाई अनुसरण गर्न हृदयदेखि नै इच्छुक हुनुपर्छ; तब मात्रै तैँले सही अवस्था प्राप्त गर्न सक्छस्। सही अवस्थामा जिउनु अन्धकारको प्रभावदेखि मुक्त हुने पूर्वसर्त हो। सही अवस्थामा नहुनु भनेको परमेश्‍वरप्रति वफादार नहुनु हो, र सत्यता खोजी गर्न हृदयदेखि नै इच्छुक नहुनु हो; अनि तँ अन्धकारको प्रभावदेखि उम्कने कुरा सवालभन्दा बाहिरको कुरा हुन्छ। मानिस अन्धकारका प्रभावहरूदेखि उम्कने आधार मेरा वचनहरू नै हुन्, अनि मेरा वचनहरू अनुसार अभ्यास गर्न नसक्ने मानिसहरू अन्धकारको प्रभावको बन्धनदेखि उम्कन सक्नेछैनन्। सही अवस्थामा जिउनु भनेको परमेश्‍वरका वचनहरूको अगुवाइमा जिउनु, परमेश्‍वरप्रति वफादारीताको अवस्थामा जिउनु, सत्यताको खोजी गर्ने अवस्थामा जिउनु, परमेश्‍वरको खातिर इमान्दारितापूर्वक आफैलाई समर्पित गर्ने वास्तविकतामा जिउनु र परमेश्‍वरलाई साँचो रीतिले प्रेम गर्ने अवस्थामा जिउनु हो। जो यस्तो अवस्थाहरूमा र यस वास्तविकतामा जिउँछन्, तिनीहरू सत्यताको गहिराइभित्र प्रवेश गर्ने क्रममा विस्तारै रूपान्तरण हुनेछन्, अनि काम गहन हुँदै जाँदा तिनीहरू रूपान्तरण हुनेछन्; अनि अन्त्यमा तिनीहरू निश्चय नै त्यस्ता मानिसहरू हुनेछन् जो परमेश्‍वरद्वारा हासिल गरिएका हुन्छन्, जसले उहाँलाई साँचो प्रकारले प्रेम गर्छन्। अन्धकारको प्रभावदेखि उम्केकाहरूले विस्तारै परमेश्‍वरको इच्छालाई पत्ता लगाउन सक्छन्, विस्तारै त्यसलाई बुझ्न थाल्छन्, अन्ततः तिनीहरू परमेश्‍वरका विश्‍वासपात्रहरू हुन्छन्। तिनीहरूले परमेश्‍वरको बारेमा कुनै धारणा मनमा नराख्ने र उहाँको विरुद्धमा कुनै विद्रोह नगर्ने मात्र होइन, तर पहिले तिनीहरूलाई प्रभुत्व गरेको त्यस्ता धारणा तथा विद्रोहहरूलाई तिनीहरूले झन् बढी घृणा पनि गर्छन्, अनि तिनीहरूको हृदयमा परमेश्‍वरको निम्ति साँचो प्रेम उदय हुन्छ। अन्धकारको प्रभावदेखि उम्कन नसक्‍ने मानिसहरू सबै देहद्वारा पूर्णरूपमा भरिएका हुन्छन्, विद्रोहले भरिपूर्ण हुन्छन्; तिनीहरूका हृदय जीविका सम्‍बन्धी मानव धारणा तथा दर्शनशास्त्रहरू, साथै तिनीहरूका आफ्नै अभिप्राय तथा सोचविचारहरूले भरिएका हुन्छन्। परमेश्‍वरले चाहनुहुने भनेको मानिसले दिने अद्वितीय प्रेम हो; उहाँले चाहना गर्नुहुने कुरा भनेको मानिस उहाँका वचनहरूद्वारा र उहाँप्रतिको प्रेमले भरिएको हृदयद्वारा भरपूर भएको होस् भन्‍ने नै हो। परमेश्‍वरका वचनहरूमा जिउन, तिनीहरूले खोजतलास गर्नुपर्ने कुराहरू उहाँका वचनहरूमा खोज्न, उहाँका वचनहरूका निम्ति परमेश्‍वरलाई प्रेम गर्न, उहाँका वचनहरूलाई पछ्याउन, उहाँका वचनहरूका निम्ति जिउन—मानिसले हासिल गर्न प्रयास गर्नुपर्ने लक्ष्यहरू यिनै हुन्। हरेक कुरा परमेश्‍वरका वचनहरूको जगमा निर्माण हुनुपर्छ; तब मात्रै मानिसले परमेश्‍वरका मागहरूलाई पूरा गर्न सक्नेछ। यदि मानिस परमेश्‍वरका वचनहरूले सुसज्जित छैन भने, ऊ केही होइन, केवल शैतानको कब्जामा परेको भुसुना हो! यस कुरालाई मूल्याङ्कन गर्: परमेश्‍वरको वचनले तँभित्र कतिसम्म जरा गाडेको छ? कुन कुराहरूमा तँ उहाँका वचनहरू अनुसार जिइरहेको छस्? कुन कुराहरूमा तँ उहाँका वचनहरू अनुसार जिइरहेको छैनस्? यदि परमेश्‍वरका वचनहरूले तँलाई पूर्ण रूपले पक्रेको छैन भने, कुन कुराले यथार्थमा तेरो हृदयलाई ओगटेको छ? तेरो दिनदिनको जीवनमा, तँ शैतानद्वारा नियन्त्रित भइरहेको छस् कि परमेश्‍वरका वचनहरूद्वारा ओगटिएको छस्? के तेरा प्रार्थनाहरू उहाँका वचनहरूको जगमा आधारित छन्? के परमेश्‍वरका वचनहरूद्वारा अन्तर्दृष्टि पाएर तँ आफ्नो नकारात्मक अवस्थादेखि बाहिर निस्केको छस्? परमेश्‍वरका वचनहरूलाई तेरो अस्तित्वको जगको रूपमा लिनु—यही नै हरेक व्यक्ति प्रवेश गर्नुपर्ने कुरा हो। यदि तेरो जीवनमा उहाँका वचनहरूले स्थान लिएका छैनन् भने, तँ अन्धकारको प्रभावमा जिइरहेको छस्, तैँले परमेश्‍वरको विरुद्धमा विद्रोह गरिरहेको छस्, तैँले उहाँको प्रतिरोध गरिरहेको छस्, तैँले उहाँको नाउँलाई अनादर गरिरहेको छस्। त्यस्ता मानिसहरूको परमेश्‍वरप्रतिको विश्‍वास पूर्ण बदमासी र बाधा मात्रै हुन्छ। तेरो जीवनको कति भाग उहाँका वचनहरू अनुसार जिइएको छ? तेरो जीवनको कति भाग उहाँका वचनहरू अनुसार जिइएको छैन? परमेश्‍वरको वचनले तँलाई माग गरेको कति कुरा तँमा पूरा भएको छ? कति कुरा तँमा हराएको छ? के तैँले त्यस्ता कुराहरूलाई नजिकबाट नियालेको छस्?

अन्धकारको प्रभावदेखि उम्किनको निम्ति पवित्र आत्माको काम र मानिसको समर्पित सहकार्य दुवै आवश्यक हुन्छ। मानिस ठीक मार्गमा छैन भनी म किन भन्छु? ठीक मार्गमा भएका मानिसहरूले पहिले आफ्नो हृदय परमेश्‍वरलाई दिन सक्छन्। यो एउटा यस्तो कार्य हो जसभित्र प्रवेश गर्न निकै लामो समय लाग्छ, किनकि मानवजाति सधैँ अन्धकारको प्रभावमा बाँचेको छ र हजारौँ वर्षदेखि शैतानको बन्धनमा रहेको छ। त्यसैकारण, यसभित्रको प्रवेश एक वा दुई दिनमा हासिल गर्न सकिँदैन। मानिसहरूले तिनीहरूका आफ्नै अवस्थालाई बुझ्न सकून् भनेर मैले यो विषय उठाएँ; जब मानिसले अन्धकारको प्रभाव के हो र ज्योतिमा जिउनु भनेको के हो भनी बुझ्दछ, तब प्रवेश गर्ने कार्य धेरै सजिलो हुन्छ। किनभने शैतानको प्रभावदेखि उम्किनभन्दा अघि तैँले यो के हो भनी जान्नुपर्छ; त्यसपछि मात्रै तँसँग त्यसलाई त्याग्‍ने उपाय हुनेछ। त्यसपछि के गर्ने भनी निर्णय गर्ने काम मानिसहरूको आफ्नै हातमा हुन्छ। हरेक कुराभित्र सकारात्मक पक्षबाट प्रवेश गर् र कहिल्यै निष्क्रिय भएर नपर्खी। यसरी मात्रै तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सक्नेछस्।

अघिल्लो: देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता

अर्को: विश्‍वासमा, व्यक्तिले वास्तविकतालाई जोड दिनुपर्छ—धार्मिक विधिविधानमा संलग्‍न हुनु विश्‍वास होइन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्