क. परमेश्‍वरमाथिको विश्‍वास भनेको के हो त्यसलाई प्रकट गर्ने सम्बन्धमा

३३१. धेरै मानिसले परमेश्‍वरमा विश्‍वास गरे तापनि, थोरैले मात्र परमेश्‍वरप्रतिको विश्‍वासको अर्थ के हो र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन तिनीहरूले कस्तो व्यवहार गर्नुपर्छ भनी बुझ्दछन्। किनभने मानिसहरूलाई “परमेश्‍वर” भन्‍ने शब्द र “परमेश्‍वरको काम” जस्ता वाक्यांश थाहा भए पनि, तिनीहरू परमेश्‍वरलाई चिन्दैनन् र अझ उहाँको काम त झनै चिन्दैनन्। त्यसैले, परमेश्‍वरलाई नचिन्‍नेहरू सबै उहाँमाथिको विश्‍वासमा अलमल्ल पर्नु अचम्मको कुरा होइन। मानिसहरू परमेश्‍वरमाथिको विश्‍वासलाई गम्भीर रूपमा लिँदैनन् र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्ने कार्य धेरै नै अपरिचित र अनौठो लाग्‍ने कारणले नै पूर्ण रूपमा यसो हुने गर्छ। यसरी, तिनीहरू परमेश्‍वरका मागहरू पूरा गर्नबाट धेरै टाढा हुन्छन्। अर्को शब्दमा भन्‍नुपर्दा, यदि मानिसहरू परमेश्‍वरलाई चिन्दैनन् र उहाँको कामलाई चिन्दैनन् भने, तिनीहरू परमेश्‍वरका निम्ति प्रयोगयोग्य हुन सक्दैनन्, अझ तिनीहरू उहाँका अभिप्रायहरू पूरा गर्न त झनै सक्दैनन्। “परमेश्‍वरमाथिको विश्‍वास” भनेको परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु हो; परमेश्‍वरमाथिको विश्‍वासको सबैभन्दा सरल अवधारणा यही हो। एक कदम अघि बढेर भन्‍नुपर्दा, परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्नु भनेको परमेश्‍वरमा साँचो रूपले विश्‍वास गर्नुसरह होइन; बरु, यो त बलियो धार्मिक भावसहितको साधारण आस्था हो। परमेश्‍वरप्रतिको साँचो विश्‍वासको अर्थ निम्नानुसार छ: परमेश्‍वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भन्‍ने विश्‍वासका आधारमा, कुनै व्यक्तिले उहाँका वचनहरू र उहाँको काम अनुभव गर्छ अनि यसरी आफ्ना भ्रष्ट स्वभावहरू फाल्छ, परमेश्‍वरका अभिप्रायहरू पूरा गर्छ र परमेश्‍वरलाई चिन्छ। यस प्रकारको यात्रालाई मात्र “परमेश्‍वरमाथिको विश्‍वास” भन्‍न सकिन्छ। तैपनि मानिसहरू प्रायः परमेश्‍वरमाथिको विश्‍वासलाई एकदमै साधारण र हल्का कुराका रूपमा हेर्छन्। मानिसहरूले यसरी परमेश्‍वरमा विश्‍वास गर्दा, त्यसको अर्थ गुम्छ र तिनीहरूले अन्त्यसम्मै विश्‍वास गरिरहे पनि, कहिल्यै परमेश्‍वरको अनुमोदन प्राप्त गर्दैनन्, किनकि तिनीहरू गलत मार्गमा हिँड्छन्। आजको दिनसम्म शब्द र खोक्रा धर्मसिद्धान्तमाझ परमेश्‍वरमा विश्‍वास गर्नेहरूलाई अझै पनि आफूमा परमेश्‍वरमाथिको विश्‍वासको सारको अभाव रहेको र आफूले परमेश्‍वरको अनुमोदन पाउन नसकिने थाहा हुँदैन। तैपनि तिनीहरू आफूलाई शान्ति र पर्याप्त अनुग्रहले आशिषित गर्नुहोस् भनी परमेश्‍वरलाई प्रार्थना गर्छन्। हामी आफ्नो हृदयलाई शान्त पारौँ र गहन रूपमा सोचौँ: के परमेश्‍वरमा विश्‍वास गर्नु पृथ्वीको सबैभन्दा सजिलो कुरा हुन सक्छ? के परमेश्‍वरमा विश्‍वास गर्नु भनेको परमेश्‍वरबाट धेरै अनुग्रह पाउनुबाहेक अरू केही होइन भन्‍ने हुन सक्छ? के परमेश्‍वरलाई नचिनी उहाँमा विश्‍वास गर्ने वा परमेश्‍वरमा विश्‍वास गरे पनि उहाँको विरोध गर्ने मानिसहरूले साँच्चै उहाँका अभिप्रायहरू पूरा गर्न सक्छन्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

३३२. आज परमेश्‍वरमाथिको व्यावहारिक विश्‍वास भनेको के हो? यो परमेश्‍वरको वचनलाई तेरो जीवन वास्तविकताको रूपमा स्वीकार गर्नु, परमेश्‍वरलाई उहाँको वचनबाट चिन्नु, र यसरी उहाँप्रति साँचो प्रेम हासिल गर्नु हो। प्रस्ट रूपमा भन्नुपर्दा: परमेश्‍वरमा विश्‍वास गर्नु भनेको तँ उहाँमा समर्पित भएस्, तैँले उहाँलाई प्रेम गरेस्, र सृजित प्राणीद्वारा पूरा गरिनुपर्ने कर्तव्य पूरा गरेस् भन्नका लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्‍वर कति प्रेमिलो हुनुहुन्छ, परमेश्‍वर कति आदर गर्न लायक हुनुहुन्छ, र परमेश्‍वरले उहाँका सृजित प्राणीहरूमा गर्ने काम कसरी तिनीहरूको मुक्ति र तिनीहरूको सिद्धता हो भनेर जान्नैपर्छ—यी तैँले परमेश्‍वरमाथि विश्‍वास गर्नुका अत्यावश्यक तत्त्वहरू हुन्। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मूल रूपमा देहको जीवनबाट परमेश्‍वरलाई प्रेम गर्ने जीवनमा र भ्रष्टतामा जिउनुबाट परमेश्‍वरका वचनहरूको जीवनमा जिउनुमा सर्नु हो; यो शैतानको सत्ताबाट बाहिर निस्केर परमेश्‍वरको हेरचाह र सुरक्षामा जिउनु हो; यो तँ देहप्रति समर्पित हुनुभन्दा परमेश्‍वरप्रति समर्पित हुन सकेस्, परमेश्‍वरले तेरो सम्पूर्ण हृदय प्राप्त गर्न र तँलाई सिद्ध पार्न सक्नुहोस्, र तँ शैतानी भ्रष्ट स्वभावहरूबाट मुक्त हुन सकेस् भन्नका लागि हो। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मूलतः परमेश्‍वरको महान् शक्ति र महिमा तँमा प्रकट हुन सकोस्, तैँले परमेश्‍वरको इच्छालाई पछ्याएस्, परमेश्‍वरको योजना पूरा होस्, साथै तैँले शैतानको अगाडि परमेश्‍वरको साक्षी दिन सकेस् भन्नका लागि हो। परमेश्‍वरमाथिको विश्‍वास चिन्हहरू र अचम्‍मका कामहरू हेर्ने चाहनामा केन्द्रित हुनु हुँदैन, न त त्यो तेरो आफ्नै देहको खातिर नै हुनुपर्छ। त्यो परमेश्‍वरलाई चिन्नु, परमेश्‍वरप्रति समर्पित हुन सक्नु, अनि पत्रुसजस्तै मृत्युसम्मै उहाँप्रति समर्पित हुनुको पछ्याइमा केन्द्रित हुनुपर्छ। मुख्य उद्देश्य भनेको यो कुरा हासिल गर्नु हो। व्यक्तिले परमेश्‍वरलाई चिन्न र उहाँलाई सन्तुष्ट पार्नका निम्ति पनि परमेश्‍वरको वचन खान्छ र पिउँछ। परमेश्‍वरको वचन खाँदा र पिउँदा त्यसले तँलाई परमेश्‍वरको बारेमा महान् ज्ञान दिन्छ, त्यसपछि मात्र तँ उहाँमा समर्पित हुन सक्छस्। परमेश्‍वर सम्‍बन्धी ज्ञानद्वारा मात्रै तैँले उहाँलाई प्रेम गर्न सक्छस्, अनि परमेश्‍वरमाथिको मानिसको विश्‍वासमा हुनुपर्ने उद्देश्य यही मात्र हो। यदि परमेश्‍वरमाथिको विश्‍वासमा तँ सधैँ चिन्ह र आश्चर्यकर्महरू हेर्ने कामना गर्छस् भने, परमेश्‍वरमाथिको विश्‍वासको यो दृष्टिकोण गलत छ। परमेश्‍वरमा विश्‍वास गर्नु भनेको मूलतः परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवन वास्तविकताका रूपमा स्विकार्नु हो। जब परमेश्‍वरको मुखबाट आउने वचनहरू मानिसहरूद्वारा अभ्यास गरिन्छन् र तिनीहरूमा साकार हुन्छन्, तब परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। परमेश्‍वरमा विश्‍वास गर्दा, मानिस परमेश्‍वरद्वारा सिद्ध पारिने, परमेश्‍वरप्रति समर्पित हुन सक्षम हुने र परमेश्‍वरप्रति पूर्ण समर्पण हासिल गर्ने पछ्याइमा लाग्नुपर्छ। यदि तँ कुनै गुनासो नगरी परमेश्‍वरप्रति समर्पित हुन सक्छस्, तैँले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न, पत्रुसको कद हासिल गर्न, र परमेश्‍वरले भन्नुभएको जस्तो पत्रुसको शैली प्राप्त गर्न सक्छस् भने, तब तैँले परमेश्‍वरमाथिको विश्‍वासमा सफलता हासिल गरेको हुनेछस्, अनि त्यसले तँ परमेश्‍वरद्वारा प्राप्त गरिएको छस् भन्‍ने सङ्केत गर्नेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ

३३३. तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, अनिवार्य रूपमा उहाँका वचनहरू खानु र पिउनुपर्छ, उहाँका वचनहरू अनुभव गर्नुपर्छ र उहाँका वचनहरू जिउनुपर्छ। यसलाई मात्र परमेश्‍वरमाथिको विश्‍वास भन्न मिल्छ! यदि तँ मुखले म परमेश्‍वरमा विश्‍वास गर्छु भन्छस् तर उहाँको कुनै पनि वचन व्यवहारमा लागु गर्न वा कुनै पनि वास्तविकता प्रकट गर्न असक्षम छस् भने, यसलाई परमेश्‍वरमा विश्‍वास गरेको भनिँदैन। बरु, यो त “धित मरुञ्जेल खान खोज्नु” हो। सानातिना गवाहीहरू, व्यर्थका कुराहरू र सतही मामिलाहरूबारे मात्रै कुरा गर्नु, तर अलिकति वास्तविकतासमेत नहुनु: यी कुराहरू परमेश्‍वरमाथिको विश्‍वास होइनन् र तैँले परमेश्‍वरमा विश्‍वास गर्ने सच्चा मार्गलाई पटक्कै बोध गरेको छैनस्। तैँले किन अनिवार्य रूपमा परमेश्‍वरका वचनहरू अझ बढी खानु र पिउनुपर्छ? यदि तँ उहाँका वचनहरू खाँदैनस् र पिउँदैनस् तर स्वर्ग मात्र जान खोज्छस् भने, के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिले चाल्नुपर्ने पहिलो कदम के हो? परमेश्‍वर कुन मार्गद्वारा मानिसलाई सिद्ध पार्नुहुन्छ? के तँ परमेश्‍वरका वचनहरू नखाई र नपिई सिद्ध पारिन सक्छस्? के परमेश्‍वरका वचनहरू तेरो वास्तविकता नबनी तँलाई राज्यको व्यक्ति मान्न सकिन्छ? आखिर परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो? परमेश्‍वरका विश्‍वासीहरू, कम्तीमा पनि, बाहिरी रूपमा असल व्यवहारको हुनुपर्छ; सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरका वचनहरू धारण गर्नु हो। तँ कुनै पनि हालतमा उहाँका वचनहरूबाट विमुख हुन सक्दैनस्। परमेश्‍वरलाई चिन्नु र उहाँका अभिप्रायहरू पूरा गर्नु सबै उहाँकै वचनहरूमार्फत हासिल हुन्छन्। भविष्यमा, हरेक राष्ट्र, सम्प्रदाय, धर्म र क्षेत्रलाई परमेश्‍वरका वचनहरूमार्फत विजय गरिनेछ। परमेश्‍वरले सिधै बोल्नुहुनेछ र सबै मानिसले परमेश्‍वरका वचनहरू आफ्नो हातमा लिनेछन् र यसको माध्यमबाट तिनीहरू सिद्ध पारिनेछन्। भित्र र बाहिर, परमेश्‍वरका वचनहरू सर्वत्र व्याप्त हुन्छन्: सबैले आफ्नो मुखले परमेश्‍वरका वचनहरू बोल्नेछन्, परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नेछन् र परमेश्‍वरका वचनहरूलाई आफूभित्र राख्नेछन्, तिनीहरू भित्र र बाहिर दुवैतिर परमेश्‍वरका वचनहरूमा भिजेका हुनेछन्। यसरी, तिनीहरू सिद्ध पारिनेछन्। परमेश्‍वरका अभिप्रायहरू पूरा गर्ने र उहाँका लागि साक्षी दिन सक्षम हुनेहरूले परमेश्‍वरका वचनहरूलाई आफ्नो वास्तविकताका रूपमा धारण गर्छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। राज्यको युग नै वचनको युग हो

३३४. आज, तैँले व्यावहारिक परमेश्‍वरमा विश्‍वास गर्नलाई सही मार्गमा पाइला चाल्‍नुपर्छ। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैँले आशिषहरू मात्रै खोज्नु हुँदैन, तर परमेश्‍वरलाई प्रेम गर्न र उहाँलाई चिन्‍न खोज्नुपर्छ। उहाँको प्रकाशद्वारा, तेरो आफ्नै व्यक्तिगत खोजीद्वारा, तैँले उहाँको वचन खान र पिउन सक्छस्, परमेश्‍वरप्रतिको वास्तविक बुझाइको विकास गर्न, र परमेश्‍वरको साँचो प्रेम पाउन सक्छस्, जुन तेरो भित्री हृदयबाट आउँछ। अर्को शब्दमा, जब परमेश्‍वरप्रतिको लागि तेरो प्रेम धेरै निष्कपट हुन्छ, र उहाँप्रतिको तेरो प्रेमलाई कसैले नाश पार्न सक्दैन, अथवा कोही तेरो मार्गमा खडा हुन सक्दैन, तब तँ परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा हुन्छस्। यसले तँ परमेश्‍वरको होस् भन्‍ने प्रमाणित गर्छ, किनभने तेरो हृदय अघिबाटै परमेश्‍वरको नियन्त्रणमा रहेको हुन्छ र अरू केही कुराले पनि तँलाई नियन्त्रण गर्न सक्दैन। तेरो अनुभवद्वारा, तैँले चुकाएको मूल्यद्वारा, र परमेश्‍वरको कार्यद्वारा तँ उहाँको लागि अचुक प्रेम विकास गर्न सक्षम भएको हुन्छस्—र जब तैँले यसो गर्छस्, तँ शैतानको प्रभावबाट स्वतन्त्र हुनेछस् र परमेश्‍वरको वचनको प्रकाशमा जिउनेछस्। जब तँ अन्धकारको प्रभावबाट स्वतन्त्र बन्छस्, तब मात्र परमेश्‍वरले तँलाई आफ्नो बनाउनुभएको छ भनी भन्‍न सकिन्छ। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा यो लक्ष्य खोज्न कोसिस गर्नुपर्छ। यो तिमीहरू प्रत्येकको कर्तव्य हो। तिमीहरू कोही पनि अहिलेको अवस्थामा सन्‍तुष्‍ट हुनु हुँदैन। तिमीहरू परमेश्‍वरको कामप्रति दोमनमा पर्नु हुँदैन, न त यसलाई तिमीहरूले हल्का रूपमा लिन सक्छौ। तिमीहरूले परमेश्‍वरको बारेमा पूर्ण श्रद्धाका साथ हरसमय विचार गर्नुपर्छ, र सबै कुराहरू उहाँको खातिर गर्नुपर्छ। र जब तिमीहरू बोल्छौ अथवा काम गर्छौ, तिमीहरूले परमेश्‍वरको घरको हितलाई पहिलो स्थानमा राख्‍नुपर्छ। यसरी मात्रै तिमीहरू परमेश्‍वरका अभिप्राय अनुसारको व्यक्ति बन्‍न सक्छौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ

३३५. तँलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनेको दुःख भोग्नु हो, वा उहाँका निम्ति धेरै कुरा गर्नु हो, वा तेरो देह शान्तिमा हुनु हो, वा तेरा लागि सबै कुरा सहज रूपमा चल्नु हो, र सबै कुरामा तँलाई आरामदायी र सहजता होस् भन्‍ने लाग्न सक्छ। मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा यीमध्ये कुनै पनि उद्देश्यहरू राख्‍नु हुँदैन। यदि तँ यी उद्देश्यहरूले विश्‍वास गर्छस् भने, तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु बिलकुलै असम्भव हुन्छ। परमेश्‍वरका कार्यहरू, परमेश्‍वरको धर्मी स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, अनि उहाँको अद्भुतता र बुझ्न नसकिने अवस्था, यी सबै मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझाइमार्फत तैँले आफ्नो हृदयलाई आफ्ना व्यक्तिगत माग, आशा, र धारणाहरूबाट मुक्त गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तैँले परमेश्‍वरद्वारा माग गरिएका सर्तहरू पूरा गर्न सक्छस्। यसमार्फत मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस समूहमार्फत उहाँका कार्यहरू र महिमा प्रकट हुन सकून्। यो नै परमेश्‍वरमा विश्‍वास गर्नेबारे सही दृष्टिकोण हो, अनि तैँले पछ्याउनुपर्ने लक्ष्य पनि यही नै हो। परमेश्‍वरमा विश्‍वास गर्नेबारे तेरो दृष्टिकोणलाई सही पार्नैपर्छ, र तैँले परमेश्‍वरका वचनहरू प्राप्त गर्न खोज्नुपर्छ। तैँले परमेश्‍वरका वचन खानु र पिउनु आवश्यक छ र तँ सत्यतामा जिउन सक्नैपर्छ, अनि विशेष गरी तैँले उहाँका व्यावहारिक कार्यहरू, सम्पूर्ण ब्रह्माण्डमा उहाँका अद्भुत कार्यहरू, साथै उहाँले देहमा गर्ने व्यावहारिक काम देख्‍न सक्नुपर्छ। मानिसहरूले आफ्‍ना वास्तविक अनुभवहरूमार्फत परमेश्‍वरले उनीहरूमा कसरी काम गर्नुहुन्छ र तिनीहरूप्रति उहाँका अभिप्रायहरू के-के हुन् भन्ने कुरा बोध गर्नुपर्छ। यो सबैको उद्देश्य मानिसहरूले आफ्ना शैतानी भ्रष्ट स्वभावहरू फाल्न सकून् भन्ने हो। तँभित्रका सबै अशुद्धता र अधार्मिकता फालेर, अनि तेरा गलत अभिप्रायहरू फालेर, तैँले परमेश्‍वरप्रति साँचो विश्वास विकास गर्नेछस्। केवल साँचो विश्वासका साथ तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्ने जगमा मात्रै तँ उहाँलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। के तँ परमेश्‍वरलाई विश्‍वास नगरी उहाँप्रतिको प्रेम हासिल गर्न सक्छस्? तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, त्यसबारे तँ भ्रमित बन्न सक्दैनस्। कतिपय मानिस परमेश्‍वरमाथिको आस्थाले तिनीहरूलाई आशिष्‌हरू दिलाउँछ भन्‍ने देख्‍नेबित्तिकै उत्प्रेरित हुन्छन्, तर तिनीहरू आफूले शोधनहरू भोग्नुपर्ने देख्‍नेबित्तिकै सबै उत्प्रेरणा गुमाउँछन्। के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? अन्ततः तैँले आफ्नो आस्थामा परमेश्‍वरसामु पूर्ण र पूरा समर्पणता हासिल गर्नैपर्छ। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर यदि तँ अझै पनि उहाँप्रति मागहरू राख्छस्, तँसँग तैँले छोड्न नसक्ने धेरैवटा धार्मिक धारणा छन्, तैँले त्याग्न नसक्ने व्यक्तिगत हितहरू छन्, र अझै पनि तँ देहका आशिष्‌हरू खोज्छस् र परमेश्‍वरले तेरो देहलाई मुक्ति दिनुहोस्, तेरो प्राणलाई मुक्ति दिनुहोस् भन्ने चाहन्छस् भने, तँ गलत दृष्टिकोण भएको व्यक्तिको व्यवहार देखाइरहेको छस्। धार्मिक विश्‍वास हुने मानिसहरूमा परमेश्‍वरप्रति आस्था भए पनि, तिनीहरू आफ्नो स्वभाव परिवर्तन गर्न खोज्दैनन् र परमेश्‍वरको ज्ञान पछ्याउँदैनन्, बरु तिनीहरूको देहका हितहरू मात्र खोज्छन्। तिमीहरूमध्ये धेरै जनामा धार्मिक विश्वासको वर्गमा पर्ने आस्था छ; यो परमेश्‍वरमाथिको साँचो आस्था होइन। परमेश्‍वरमा विश्‍वास गर्नका निम्ति मानिसहरूमा उहाँका निम्ति दुःख भोग्न तयार हुने र आफैलाई त्याग्ने सङ्कल्प हुने हृदय हुनैपर्छ। मानिसले यी दुईवटा सर्त पूरा नगरेसम्म परमेश्‍वरमाथिको तिनीहरूको आस्था मान्य हुँदैन, र तिनीहरू आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्षम हुनेछैनन्। साँचो रूपले सत्यता, परमेश्‍वरको ज्ञान, र जीवन पछ्याउने मानिसहरू मात्रै परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ

३३६. वर्षौंपछि मैले परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसहरू देखेको छु। तिनीहरूको मनभित्र तिनीहरूको विश्‍वासले परमेश्‍वरलाई केमा रूपान्तरित गरेको छ त? केही मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर केवल एक रित्तो हावाको पोको हुनुहुन्छ। यी मानिसहरूसँग परमेश्‍वरको अस्तित्व बारेका प्रश्नहरूको कुनै जबाफ हुँदैन किनभने तिनीहरूले उहाँको उपस्थिति वा अनुपस्थिति न त अनुभव गर्न सक्छन् न त महसुस नै गर्न सक्छन्, यसको बारेमा स्पष्टसँग देख्ने वा बुझ्ने कुरा त परै जाओस्। अर्धचेतन रूपमा, यी मानिसहरूले परमेश्‍वर अस्तित्वमा हुनुहुन्न भनी सोच्छन्। अन्य मानिसहरूले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर एक मानव हुनुहुन्छ। यी मानिसहरूले सोच्छन् कि तिनीहरूले गर्न नसक्ने सबै कुराहरू उहाँले पनि गर्न सक्नुहुन्न र तिनीहरूले जसरी सोच्छन् उहाँले पनि त्यसरी नै सोच्नुहुन्छ। परमेश्‍वर सम्‍बन्धी तिनीहरूको परिभाषा भनेको “एक अदृश्य र अस्पर्शनीय व्यक्ति” भन्‍ने हुन्छ। मानिसहरूको एक अर्को समूह पनि छ जसले परमेश्‍वरमा यसरी विश्‍वास गर्छन् कि मानौँ परमेश्‍वर एक कठपुतली हुनुहुन्छ; यी मानिसहरूले परमेश्‍वरमा कुनै भावनाहरू नै हुँदैनन् भनी विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वर त एक माटोको मूर्ति हुनुहुन्छ अनि कुनै समस्याको सामना गर्दा परमेश्‍वरसँग कुनै मनोवृत्ति, दृष्टिकोण वा विचारहरू नै हुँदैनन् भन्‍ने सोच्छन्; तिनीहरू परमेश्‍वर मानवजातिको निगाहमा हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। मानिसहरूले आफूलाई जसरी विश्‍वास गर्न मन लाग्यो त्यसरी नै विश्‍वास गर्छन्। यदि उनीहरूले उहाँलाई ठूलो बनाए भने उहाँ ठूलो हुनुहुन्छ; यदि उनीहरूले उहाँलाई सानो बनाए भने उहाँ सानो हुनुहुन्छ। जब मानिसहरूले पाप गर्छन् अनि तिनीहरूलाई परमेश्‍वरको कृपा, सहनशीलता र प्रेमको आवश्‍यकता पर्छ, तब तिनीहरू परमेश्‍वरले कृपा प्रदान गर्नुपर्छ भन्‍ने ठान्छन्। यी मानिसहरूले आफ्नै मनभित्र “परमेश्‍वर” को आविष्कार गर्छन् र उक्त “परमेश्‍वर” लाई तिनीहरूका मागहरू पूरा गर्न तथा तिनीहरूका सबै चाहनाहरू सन्तुष्ट पार्न लगाउँछन्। यी मानिसहरू जुनसुकै समय र ठाउँमा भए तापनि र तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरूले परमेश्‍वरप्रतिको तिनीहरूको व्यवहारमा अनि तिनीहरूको विश्‍वासमा यही कल्पनालाई अँगाल्नेछन्। अनि यस्ता खालका मानिसहरू पनि छन् जो परमेश्‍वरको स्वभावलाई क्रोधित पारिसकेपछि पनि अझै परमेश्‍वरले तिनीहरूलाई बचाउन सक्नुहुन्छ भनी विश्‍वास गर्छन् किनभने परमेश्‍वरको प्रेम असीमित छ र उहाँको स्वभाव धर्मी छ अनि व्यक्तिले परमेश्‍वरलाई जति ठेस पुर्‍याए पनि उहाँले त्यो कुरालाई सम्झनुहुनेछैन भन्‍ने तिनीहरू ठान्छन्। तिनीहरूले के सोच्छन् भने मानवीय त्रुटि, मानवीय अपराध अनि मानवीय विद्रोह व्यक्तिको स्वभावको क्षणिक अभिव्यक्तिहरू भएका हुनाले परमेश्‍वरले मानिसहरूलाई मौका दिनुहुन्छ र तिनीहरूप्रति सहनशील र धैर्य रहनुहुन्छ; तिनीहरू परमेश्‍वरले आफूलाई पहिलेजस्तै प्रेम गर्नुहुन्छ भनी विश्‍वास गर्छन्। यसरी, तिनीहरूले मुक्ति प्राप्त गर्ने उच्च आशा राख्छन्। वास्तवमा, मानिसहरूले परमेश्‍वरमा जसरी विश्‍वास गरे तापनि, जबसम्म तिनीहरूले सत्यताको खोजी गरिरहेका हुँदैनन् तबसम्म उहाँले तिनीहरूप्रति नकारात्मक मनोवृत्ति राख्नुहुन्छ। यस्तो किन हुन्छ भने, परमेश्‍वरप्रति तेरो विश्‍वासको सिलसिलामा, तैँले परमेश्‍वरका वचनहरूको पुस्तक लिएर यसलाई अमूल्य सम्पत्तिको रूपमा लिए पनि, अनि यसलाई हरेक दिन अध्ययन र वाचन गरे पनि, तैँले वास्तविक परमेश्‍वरलाई एकातिर पन्छाएर राख्छस्। तैँले उहाँलाई केवल रित्तो हावा वा केवल एक व्यक्तिको रूपमा लिन्छस्—तिमीहरूमध्ये केहीले उहाँलाई कठपुतली भन्दा बढ्ता ठान्दैनौ। मैले किन यसरी यो कुरा राखेँ त? मैले त्यसो गरें किनभने मैले जे देख्दैछु त्यो अनुसार, तिमीहरूले कुनै समस्या वा केही परिस्थितिको सामना गरे पनि नगरे पनि, तेरो अर्धचेतनमा रहेका कुराहरू, तैँले भित्रैबाट उत्पन्न गरेका कुराहरू र परमेश्‍वरका वचनहरू वा सत्यताको खोजीको बीचमा कहिल्यै पनि कुनै सम्बन्ध नै रहेको छैन। तैँले तँ आफूले जे सोचिराखेको छस्, तेरो दृष्टिकोण जे छ त्यो मात्र जान्दछस्, अनि तैँले तेरा आफ्नै विचारहरू र रायहरूलाई जबरजस्ती परमेश्‍वरमा लाद्छस्। तेरो मनमा, ती कुराहरू परमेश्‍वरका दृष्टिकोणहरू बन्छन्, अनि तैँले ती दृष्टिकोणहरूलाई आफूले अटल रूपमा पालना गर्ने मापदण्डहरू बनाउँछस्। समयसँगै, यसरी अघि बढ्दै जाँदा यसले तँलाई परमेश्‍वरबाट टाढाभन्दा टाढा पुर्‍याउँछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

३३७. तँ ठ्याक्कै किन परमेश्‍वरमा विश्‍वास गर्छस्? धेरैजसो मानिस यस प्रश्नको कुरा आउँदा अझै पनि अलमल्ल पर्छन्, अनि तिनीहरूमा व्यावहारिक परमेश्‍वर र स्वर्गमा हुनुहुने परमेश्‍वरका बारेमा सधैँ दुई वटा अत्यन्तै भिन्न प्रकारका दृष्टिकोण हुन्छन्। यसले मानिसहरू परमेश्‍वरमा समर्पित हुनका लागि नभई निश्चित फाइदाहरू पाउन, वा प्रकोपले ल्याउने कष्टबाट बच्नका लागि उहाँमा विश्‍वास गर्छन् भन्ने देखाउँछ; त्यसपछि मात्र तिनीहरू केही हदसम्म समर्पित हुन्छन्। यस्तो समर्पण ससर्त हुन्छ—तिनीहरूको व्यक्तिगत भविष्य नै तिनीहरूको समर्पणको पूर्वसर्त हो; तिनीहरू आफूसँग कुनै विकल्प नभएकाले समर्पित हुन्छन्। त्यसोभए, आखिर तँ किन परमेश्‍वरमा विश्‍वास गर्छस्? यदि यो तेरो भविष्य र नियतिका खातिर मात्र हो भने, तैँले उहाँमा विश्‍वास नै नगरे राम्रो हुन्छ। यस किसिमको विश्‍वास भनेको आफूलाई मूर्ख बनाउनु, आफूलाई आश्‍वस्त पार्नु, र आत्म-प्रशंसा गर्नु हो। यदि तेरो आस्था परमेश्‍वरप्रतिको समर्पणको जगमा निर्माण भएको छैन भने, तँलाई उहाँको विरोध गरेकोमा अन्ततः दण्ड दिइनेछ। आफ्‍नो आस्थामा परमेश्‍वरमाथिको समर्पण नखोज्नेहरू सबै नै उहाँको विरोध गर्ने मानिसहरू हुन्। परमेश्‍वर मानिसहरूलाई सत्यताको खोजी गर्न, उहाँको वचनका लागि तिर्खाउन, उहाँका वचन खान र पिउन, र ती अभ्यास गर्न भन्नुहुन्छ, र त्यो सब तिनीहरूले परमेश्‍वरप्रतिको समर्पण प्राप्त गर्न सकून् भनेर हो। यदि तेरो साँचो अभिप्राय त्यही हो भने, परमेश्‍वरले तँलाई निश्चय नै उच्च पार्नुहुनेछ, र तँप्रति निश्चय नै अनुग्रहकारी हुनुहुनेछ। यो निस्सन्देह र अपरिवर्तनीय कुरा हो। यदि तेरो अभिप्राय परमेश्‍वरमा समर्पित हुनु होइन, अनि तेरा अन्य लक्ष्यहरू छन् भने, तैँले भन्ने र गर्ने सबै कुरा—परमेश्‍वरसामु तैँले गर्ने प्रार्थनाहरू समेत, र अझै अगाडि गएर भन्नुपर्दा, तेरो हरेक चाल—उहाँको विरोधमा हुनेछन्। तेरा शब्दहरू कोमल र तँ शालीन भए पनि, तेरो प्रत्येक चाल र अभिव्यक्ति तँ समर्पित हुने व्यक्ति भएझैँ गरी अरूका लागि उचित देखिए पनि, तेरा अभिप्रायहरू र परमेश्‍वरमाथिको आस्थाका दृष्टिकोणहरूको कुरा आउँदा, तेरो हरेक कार्य परमेश्‍वरविरुद्ध हुन्छ, त्यो दुष्टता गर्नु हो। भेडाजस्तै आज्ञाकारी देखिने, तर हृदयमा भने दुष्ट अभिप्रायहरू बोकेर हिँड्ने मानिसहरू भेडाको भेष धारण गरेका ब्‍वाँसो हुन्, र सिधै परमेश्‍वरविरुद्ध अपराध गर्नेहरू हुन्। परमेश्‍वरले तिनीहरूमध्ये एक जनालाई पनि छोड्नुहुनेछैन, अनि पवित्र आत्माले तिनीहरूमध्ये हरेकलाई प्रकट गर्नुहुनेछ। पवित्र आत्माले सबै ढोँगीलाई निश्चय नै तिरस्कार गर्नुहुनेछ भन्‍ने कुरा सबैले देख्नेछन्। अधीर नहो: परमेश्‍वरले लेखा राख्‍नुहुनेछ र क्रमैसँग तिनीहरू प्रत्येकलाई तह लगाउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तँ परमेश्‍वरमा समर्पित हुनैपर्छ

३३८. परमेश्‍वरमाथिको आफ्नो विश्‍वासको सम्बन्धमा मानिसहरूको सबै भन्दा ठूलो गल्ती भनेको तिनीहरूले मुखले मात्र विश्‍वास गर्नु, र परमेश्‍वरलाई आफ्नो दैनिक जीवनबाट पूर्ण रूपले टाढा राख्‍नु हो। वास्तवमा, सबै मानिसहरूले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छन्, तर परमेश्‍वर तिनीहरूको दैनिक जीवनको हिस्सा भने बन्‍नुभएको हुँदैन। मानिसहरूको मुखले परमेश्‍वरलाई धेरै प्रार्थना चढाउँछ, तर उनीहरूको हृदयमा परमेश्‍वरको स्थान थोरै हुन्छ, त्यसैले परमेश्‍वरले तिनीहरूको बारम्बार जाँच गर्नुहुन्छ। मानिसहरू अशुद्ध भएका हुनाले, तिनीहरूको जाँच गर्नु बाहेक परमेश्‍वरसँग अरू कुनै विकल्प हुँदैन, ताकि उनीहरू लाजमा परून् र यी परीक्षाहरूका बीचमा आफैलाई चिन्‍न सकून्। यदि होइन भने, मानवजाति प्रधान स्वर्गदूतको सन्तानहरूको रूपमा परिणत हुन्थे, र अझ धेरै भ्रष्‍ट हुन्थे। परमेश्‍वरमाथिको उनीहरूको विश्‍वासको प्रक्रियामा, परमेश्‍वरको अनन्त शुद्धीकरणको दायरामा हरेक व्यक्तिले आफ्नो व्यक्तिगत अभिप्रायहरू र उद्देश्यहरू ल्याउँछन्। यदि यसो भएन भने, कसैलाई प्रयोग गर्ने कुनै उपाय परमेश्‍वरसँग हुँदैनथ्यो, र उहाँले जे काम मानिसमा गर्नुपर्थ्यो, त्यो कुनै पनि हालतमा हुँदैनथियो। परमेश्‍वरले पहिला मानिसहरूलाई शुद्ध पार्नुहुन्छ, र यो प्रक्रियामार्फत तिनीहरूले आफैलाई चिन्‍न सक्छन् र परमेश्‍वरले तिनीहरूलाई परिवर्तन गर्नुहुन्छ। त्यसपछि मात्रै परमेश्‍वरले आफ्नो जीवनद्वारा तिनीहरूमा काम गर्नुहुन्छ, र त्यसरी मात्रै तिनीहरूको हृदय परमेश्‍वरतिर पूर्ण रूपले फर्किन सक्छ। त्यसैले म भन्छु, परमेश्‍वरमा विश्‍वास गर्ने कार्य मानिसहरूले भनेजस्तो सजिलो छैन। परमेश्‍वरको नजरमा, यदि तँसँग ज्ञान मात्रै छ तर उहाँको जीवनरूपी वचन छैन भने, र यदि तँ आफ्नो ज्ञानमा मात्र सीमित छस् तर सत्यतालाई अभ्यास गर्न र परमेश्‍वरको वचनअनुसार जिउन सक्दैनस् भने, तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय छैन भन्‍ने कुराको प्रमाण यही हो, तेरो हृदय परमेश्‍वरको होइन भनी यसले देखाउँछ। कुनै व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेर उहाँलाई चिन्दछ: यो नै अन्तिम लक्ष्य हो, र मानिसको खोजको लक्ष्य हो। तैँले परमेश्‍वरको वचन अनुसार जिउन प्रयत्‍न गर्नैपर्छ, ताकि तेरो अभ्यासमा ती वचन फलदायी हुन सकून्। यदि तँसँग सैद्धान्तिक ज्ञान मात्र छ भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास शून्य हुनेछ। यदि तैँले उहाँको वचन अभ्यास गरिस् र त्यसमा जिइस् भने मात्रै तेरो विश्‍वास पूर्ण भएको र परमेश्‍वरका अभिप्रायहरू अनुसार भएको मान्‍न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले तँ सत्यताको निम्ति जिउनुपर्छ

३३९. तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र परमेश्‍वरलाई पछ्याउँछस्, त्यसैले तँमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तैँले आफ्‍नो भ्रष्ट स्वभाव फाल्नैपर्छ, तैँले परमेश्‍वरका अभिप्रायहरूको पूर्ति पछ्याउनैपर्छ, र सृजित प्राणीको कर्तव्य पूरा गर्नैपर्छ। तँ परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौट वा मागहरू गर्नु हुँदैन, अनि तैँले परमेश्‍वरका अभिप्राय पूरा गर्नुपर्छ। तँ सृजित मानव भएको हुनाले, तँ आफूलाई सृष्टि गर्नुहुने प्रभुमा समर्पित हुनुपर्छ, किनभने तँ अन्तर्निहित रूपमा नै आफूलाई नियन्त्रण गर्न सक्दैनस्, र तँसँग तेरो आफ्नै भवितव्यलाई नियन्त्रण गर्ने कुनै अन्तर्निहित क्षमता छैन। तँ परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रीकरण र परिवर्तन पछ्याउनुपर्छ। तँ सृष्टि गरिएको प्राणी होस्, त्यसकारण तैँले तेरो कर्तव्य पालना गर्नुपर्छ, र तेरो स्थानलाई कायम राख्‍नुपर्छ, अनि तैँले आफ्‍नो कर्तव्यलाई नाघ्‍नु हुँदैन। यो तँलाई धर्मसिद्धान्तद्वारा बन्धनमा पार्नु, वा तँलाई दबाउनको लागि होइन, यो त तैँले तेरो कर्तव्य निभाउन सक्‍ने मार्ग हो, र धार्मिकताको काम गर्ने सबैले यो हासिल गर्न सक्छन् र हासिल गर्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

३४०. परमेश्‍वरमाथि मानिसको विश्‍वासको सबैभन्दा आधारभूत माग भनेको ऊसँग इमानदार हृदय हुनुपर्छ, र उसले आफूलाई पूर्ण रूपमा अर्पित गर्न, र साँच्चै समर्पित हुन सक्नुपर्छ भन्‍ने हो। साँचो विश्‍वासको साटोमा आफ्‍नो सम्पूर्ण जीवन दिनु नै मानिसका लागि सबैभन्दा कठिन कुरा हो, जसमार्फत उसले सम्पूर्ण सत्यता प्राप्त गर्न, र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्छ। यो असफल हुनेहरूले हासिल गर्न नसक्‍ने कुरा हो, र ख्रीष्टलाई भेट्टाउन नसक्‍नेहरूले त झनै हासिल गर्न नसक्ने कुरा हो। आफैलाई पूर्ण रूपले परमेश्‍वरमा अर्पित गर्नमा मानिस त्यति सिपालु नभएकाले, सृष्टिकर्ताका लागि आफ्‍नो कर्तव्य निर्वाह गर्न मानिस इच्‍छुक नभएकाले, मानिसले सत्यतालाई देखेका भए पनि यसबाट टाढै बसी आफ्‍नै मार्गमा हिँड्ने भएकाले, सधैँ असफल भएकाहरूको मार्ग अनुसरण गर्दै मानिसले पछ्याउने भएकाले, र सधैँभरि नै मानिसले स्वर्गविरुद्ध विद्रोह गर्ने भएकाले, मानिस सधैँ असफल हुन्छ, सधैँ शैतानको छलकपटको पासोमा, र आफ्‍नै जालमा फस्छ। मानिसले ख्रीष्टलाई नचिन्‍ने हुनाले, मानिस सत्यतालाई बुझ्‍न र अनुभव गर्नमा सिपालु नभएकाले, मानिसले पावलको अत्यन्तै आराधना गर्ने हुनाले र उसको स्वर्ग जाने कामना अत्यन्तै दह्रिलो भएकाले, मानिसले सधैँ ख्रीष्टलाई उसलाई पालन गर्न माग गर्ने र परमेश्‍वरलाई हुकुम गर्ने हुनाले, तसर्थ ती सबै उच्च महान् व्यक्तित्वहरू र संसारका विभिन्‍न उतार-चढाव अनुभव गरेकाहरू अझै पनि मृत्युबाट उम्कन सक्दैनन्, र परमेश्‍वरको सजायको दौरान नै मर्छन्। त्यस्ता मानिसहरूको बारेमा मैले भन्‍न सक्‍ने भनेको तिनीहरू दुःखद मृत्यु मर्छन्, र तिनीहरूको परिणाम—तिनीहरूको मृत्यु—न्यायोचित नै हुन्छ भन्‍ने हो। के तिनीहरूको असफलता स्वर्गको नियमको लागि अझै असहनीय हुँदैन र? मानिसको संसारबाट सत्यता आउँछ, तैपनि मानिसहरूमाझ सत्यता ख्रीष्‍टले नै हस्तान्तरण गर्नुभएको हो। यो ख्रीष्टबाट, अर्थात् परमेश्‍वर स्वयम्‌बाट उत्पन्‍न हुन्छ, र यसको लागि मानिस सक्षम छैन। तैपनि ख्रीष्टले सत्यता मात्रै दिनुहुन्छ; मानिस सत्यतासम्‍बन्धी आफ्‍नो खोजीमा सफल हुनेछ कि हुनेछैन भनी निर्णय गर्न उहाँ आउनुहुन्‍न। त्यसैले सत्यतासम्‍बन्धी सफलता वा असफलताको कुरा पूर्ण रूपमा मानिसकै खोजीमा निर्भर हुन्छ। सत्यतासम्‍बन्धी मानिसको सफलता वा असफलता ख्रीष्टसँग कहिल्यै सम्‍बन्धित रहेको छैन, यो कुरा त उसकै खोजीद्वारा निर्धारित हुन्छ। मानिसको गन्तव्य र उसको सफलता वा असफलताको जिम्वारी परमेश्‍वरले नै बोक्‍नुहोओस् भनेर यसलाई परमेश्‍वरको टाउकोमा थोपर्न मिल्दैन, किनभने यो परमेश्‍वर स्‍वयम्‌को मामला होइन, यो त सृष्टि गरिएका प्राणीहरूले पूरा गर्नुपर्ने कर्तव्यसँग प्रत्यक्ष रूपमा सम्‍बन्धित छ। पावल र पत्रुसका खोजी र गन्तव्यको बारेमा धेरैजसो मानिसहरूसँग थोरै ज्ञान छ, तैपनि उनीहरूलाई पत्रुस र पावलका परिणामहरूका बारेमा मात्रै थाहा छ, तर पत्रुसको सफलतापछाडिको रहस्य, वा पावललाई असफल तुल्याउने त्रुटिहरूको बारेमा तिनीहरू अनजान छन्। त्यसकारण, यदि तिमीहरू तिनीहरूको खोजीको सारलाई देख्‍न पूर्ण रूपमा असमर्थ छौ भने, तिमीहरूमध्ये धेरैजसोको खोजी असफल नै हुनेछ, र तिमीहरूमध्ये थोरै व्यक्तिहरू सफल भए भने पनि, तिनीहरू पत्रुस बराबर हुनेछैनन्। यदि तेरो खोजीको मार्ग सही छ भने, तँसँग सफलताको आशा हुन्छ; यदि सत्यताको खोजीमा तैँले हिँड्ने बाटो गलत छ भने, तँ सफलता पाउन सदासर्वदा नै असक्षम हुनेछस्, र तैँले पावलको जस्तै परिणाम भोग्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ

३४१. तँ परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा परमेश्‍वरमा समर्पित हुनैपर्छ, तैँले सत्यता अभ्यास गर्नैपर्छ र आफ्ना सबै कर्तव्य पूरा गर्नैपर्छ। यसका साथै, तैँले आफूले अनुभव गर्नुपर्ने कुराहरू बुझ्नैपर्छ। यदि तँ काटछाँट, ताडना र न्याय मात्र अनुभव गर्छस् भने, यदि तँ परमेश्‍वरको आनन्द मात्र लिन्छस्, तर परमेश्‍वरले तँलाई कुन बेला अनुशासित वा काटछाँट गर्नुहुन्छ भन्ने कुरा महसुस गर्न सक्दैनस् भने—यो अस्वीकार्य हुन्छ। सायद यस पटकको शोधनमा तँ अडिग रहन्छस्, तर यो अझै पनि पर्याप्त हुँदैन; तँ अझै पनि अगाडि बढ्दै जानैपर्छ। परमेश्‍वरलाई प्रेम गर्ने पाठ अनन्त हुन्छ; यो कुनै पनि बिन्दुमा समाप्त हुनेछैन। मानिसहरू परमेश्‍वरमाथिको विश्‍वासलाई अति नै साधारण कुरा मान्छन्, तर तिनीहरूले यो वास्तवमा अनुभव गरेपछि परमेश्‍वरमाथिको विश्‍वास मानिसहरूले कल्पना गरेजस्तो सरल छैन भन्ने थाहा पाउँछन्। जब परमेश्‍वर मानिसलाई शोधन गर्न काम गर्नुहुन्छ, तब मानिसले दुःख भोग्छ। व्यक्तिलाई गरिने शोधन जति ठूलो हुन्छ, उसको परमेश्‍वरलाई प्रेम गर्ने हृदय त्यति नै ठूलो हुनेछ, अनि उसमा परमेश्‍वरको महान् शक्ति त्यति नै बढी प्रकट गरिनेछ। यसको विपरीत, व्यक्ति शोधनबाट जति कम गुज्रन्छ, उसको परमेश्‍वरलाई प्रेम गर्ने हृदय त्यति नै सानो हुनेछ, अनि उसमा परमेश्‍वरको महान् शक्ति त्यति नै कम प्रकट गरिनेछ। व्यक्तिको शोधन र पीडा जति ठूलो हुन्छ अनि उसले जति सास्ती भोग्छ, परमेश्‍वरप्रतिको उसको प्रेम त्यति नै गहिरिनेछ, परमेश्‍वरमाथिको उसको आस्था त्यति नै सच्चा बन्नेछ, र परमेश्‍वरबारे उसको ज्ञान अझ गहन हुनेछ। तेरा अनुभवहरूमा, तैँले ठूलो शोधन र कष्टबाट गुज्रेका, निकै काटछाँट गरिएका र अनुशासनमा राखिएका ती मानिसहरूमा परमेश्‍वरप्रति गहिरो प्रेम र परमेश्‍वरको अझ गहिरो र पूर्ण ज्ञान छ भन्‍ने देख्‍नेछस्। काटछाँट गरिएको अनुभव नगरेकाहरूमा सतही ज्ञान मात्र हुन्छ। तिनीहरू यसो मात्र भन्न सक्छन्, “परमेश्‍वर भलो हुनुहुन्छ, मानिसहरूले उहाँबाट आनन्द पाऊन् भनी उहाँ तिनीहरूलाई अनुग्रह दिनुहुन्छ।” यदि तिनीहरूले काटछाँट र अनुशासन अनुभव गरेका छन् भने, तिनीहरू परमेश्‍वरको साँचो ज्ञानको विषयमा बोल्न सक्छन्। त्यसैले परमेश्‍वरले मानिसमा गर्नुहुने काम जति अद्भुत हुन्छ, त्यो त्यत्ति नै मूल्यवान् र महत्त्वपूर्ण हुन्छ। यो तेरो निम्ति जति धेरै अभेद्य हुन्छ र तेरा धारणाहरूसँग जति धेरै मेल खाँदैन, परमेश्‍वरको कामले तँलाई विजय गर्न, र तँलाई प्राप्त गर्न र तँलाई सिद्ध पार्न त्यति नै सक्षम हुन्छ। परमेश्‍वरको कामको कति ठूलो महत्त्व छ! यदि परमेश्‍वरले मानिसलाई यसरी शोधन नगर्नुभएको भए, यदि उहाँले यस विधिअनुसार काम नगर्नुभएको भए, उहाँको काम अप्रभावी र महत्त्वहीन हुनेथियो। विगतमा उल्लेख गरिएको कुराको असाधारण महत्त्व यसैमा निहित छ—परमेश्‍वरले यस समूहलाई छान्नु र प्राप्त गर्नु, अनि आखिरी दिनहरूमा तिनीहरूलाई पूर्ण पार्नु। उहाँले तिमीहरूमा जति ठूलो काम गर्नुहुन्छ, परमेश्‍वरप्रतिको तिमीहरूको प्रेम त्यति नै गहिरो र शुद्ध हुन्छ। परमेश्‍वरको काम जति महान् हुन्छ, मानिसले उहाँको बुद्धिलाई त्यति नै बढी बोध गर्न सक्छ र उहाँबारे मानिसको ज्ञान त्यति नै गहिरो हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ

३४२. परमेश्‍वरमाथिको विश्‍वासले उहाँप्रतिको समर्पण र उहाँको कामको अनुभव माग गर्छ। परमेश्‍वरले एकदमै धेरै काम गर्नुभएको छ—मानिसहरूका लागि यो सब सिद्धता, शोधन र त्योभन्दा बढी, सजाय हो भनेर भन्न सकिन्छ। परमेश्‍वरको कामको एउटै चरण पनि मानव धारणाहरूसँग मिल्दो भएको छैन; मानिसहरूले आनन्द लिएको कुरा त परमेश्‍वरका कठोर वचनहरू हुन्। जब परमेश्‍वर आउनुहुन्छ, तब मानिसहरूले उहाँको प्रताप र उहाँको क्रोधको आनन्द लिनुपर्छ। तर, उहाँका वचनहरू जतिसुकै कठोर हुन सक्ने भए पनि, उहाँ मानिसलाई मुक्ति दिन र सिद्ध पार्न आउनुहुन्छ। सृजित प्राणीका रूपमा, मानिसहरूले आफूले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्नुपर्छ र तिनीहरू शोधनबीच परमेश्‍वरका लागि आफ्नो गवाहीमा दृढ रहनुपर्छ। तिनीहरूले हरेक परीक्षामा आफूले दिनुपर्ने गवाही कायम राख्नुपर्छ र परमेश्‍वरका लागि जोरदार साक्षी दिनुपर्छ। यो गर्ने व्यक्ति विजेता हो। परमेश्‍वरले तँलाई जसरी शोधन गर्नुभए पनि, तँ आस्थाले भरिपूर्ण रहनुपर्छ र तैँले उहाँप्रतिको आस्था कहिल्यै गुमाउनु हुँदैन, अनि तैँले मानिसले गर्नुपर्ने कुरा पनि गर्नुपर्छ। परमेश्‍वरले मानिसबाट माग गर्ने कुरा यति मात्रै हो—उहाँ मानिसको हृदय पूर्ण रूपमा उहाँकहाँ फर्कन र हरक्षण उहाँतर्फ फर्कन सकोस् भन्‍ने माग गर्नुहुन्छ। यस्तो व्यक्ति विजेता हो। परमेश्‍वरले “विजेताहरू” भनेर भन्ने मानिसहरू ती हुन् जो शैतानको प्रभावमा र शैतानद्वारा घेराबन्दीमा पर्दा—अर्थात्, तिनीहरू अन्धकारका शक्तिहरूको बीचमा हुँदा—अझै पनि आफ्नो साक्षीमा दृढ रहन, आफ्नो आस्था र परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्न, र जेसुकै भए पनि, परमेश्‍वरसामु शुद्ध हृदय राख्न र परमेश्‍वरप्रतिको आफ्नो साँचो प्रेम कायम राख्न सक्छन्। यसरी, तिनीहरू परमेश्‍वरसामु आफ्नो साक्षीमा दृढ रहेका हुन्छन्। परमेश्‍वर यस्ता मानिसहरूलाई “विजेताहरू” भन्नुहुन्छ। यदि परमेश्‍वरले तँलाई आशिष्‌ दिनुहुँदा तेरो पछ्याइ उत्कृष्ट हुन्छ, तर उहाँका आशिष्‌हरूविना तँ पछि हट्छस् भने, के यो शुद्धता हो? यो मार्ग साँचो हो भनी तँ निश्चित भएको हुनाले, तैँले यसलाई अन्त्यसम्म पछ्याउनैपर्छ; तैँले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नैपर्छ। परमेश्‍वर तँलाई व्यक्तिगत रूपमा सिद्ध पार्न पृथ्वीमा आउनुभएको छ भनी तैँले देखेको हुनाले, तैँले आफ्नो हृदय पूर्ण रूपमा उहाँलाई दिनुपर्छ। यदि परमेश्‍वरले जे गर्नुभए पनि—सायद अन्त्यमा तँलाई प्रतिकूल परिणाम दिनुभए पनि—तँ अझै पनि उहाँलाई पछ्याउन सक्छस् भने, यसको अर्थ तैँले परमेश्‍वरसामु आफ्नो शुद्धता कायम राखेको छस् भन्‍ने हुन्छ। परमेश्‍वरलाई पवित्र आत्मिक शरीर र शुद्ध कन्या चढाउने कुरा, जुन कुरा गरिएको छ, त्यसको अर्थ परमेश्‍वरसामु निष्कपट हृदय राख्नु हो। मानिसको निष्कपटता नै शुद्धता हो, र परमेश्‍वरप्रति निष्कपट हुन सक्नेहरूले शुद्धता कायम राखेका हुन्छन्। तैँले अभ्यास गर्नुपर्ने कुरा यही हो। जब तैँले प्रार्थना गर्नुपर्छ, तब तँ प्रार्थना गर्छस्; जब तँ सङ्गतिमा भेला हुनुपर्छ, तब तँ त्यसै गर्छस्; जब तैँले भजन गाउनुपर्छ, तब तँ भजन गाउँछस्; र जब तैँले देहविरुद्ध विद्रोह गर्नुपर्छ, तब तँ देहविरुद्ध विद्रोह गर्छस्। जब तँ आफ्नो कर्तव्य निर्वाह गर्छस्, तब तँ झाराटारुवा हुँदैनस्; जब तँ परीक्षाहरू सामना गर्छस्, तब तँ दृढ रहन्छस्। यो परमेश्‍वरप्रतिको बफादारी हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तिमीले परमेश्‍वरप्रतिको आफ्नो बफादारी कायम राख्नुपर्छ

३४३. जब मोशाले चट्टानमा हिर्काए, र यहोवाले दिनुभएको पानी निस्कियो, यो उनको आस्थाका कारण थियो। जब दाऊदले आनन्दले भरिएको हृदयसाथ म, यहोवाको प्रशंसामा वीणा र सारङ्गी बजाए, त्यो उनको आस्थाका कारण थियो। जब अय्यूबले डाँडाहरू भरिने आफ्ना गाईवस्तु र अथाह सम्पत्ति गुमाए, र उनको शरीरभरि पीडादायी खटिराहरू आए, त्यो उनको आस्थाका कारण थियो। जब उनले म, यहोवाको आवाज सुन्न सके, र म, यहोवाको महिमा देख्न सके, त्यो उनको आस्थाका कारण थियो। पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्नु उनको आस्थाका कारण थियो। उनी मेरो खातिर क्रूसमा टाँगिन र महिमामयी गवाही दिन सक्नु पनि उनको आस्थाका कारण थियो। जब यूहन्नाले मानिसको पुत्रको महिमामयी स्वरूप देखे, त्यो उनको आस्थाका कारण थियो। जब उनले आखिरी दिनहरूको दर्शन देखे, त्यो झनै उनको आस्थाका कारण थियो। तथाकथित अन्यजाति राष्ट्रहरूको ठूलो भिडले मेरो प्रकाश प्राप्त गर्नु, र म मानिसहरूबीच मेरो काम गर्न देहमा फर्केको छु भनी जान्नुको कारण पनि तिनीहरूको आस्था नै हो। मेरा कठोर वचनहरूको ताडना पाएर पनि यसबाट सान्त्वना प्राप्त गर्ने र मुक्ति पाउनेहरू सबैले—के तिनीहरूले आफ्नो आस्थाका कारण त्यसो गरेका होइनन् र? मानिसहरूले आफ्नो आस्थाका कारण धेरै कुरा प्राप्त गरेका छन्, र ती आशिष्हरू नहुन सक्छन्। तिनीहरूले दाऊदले महसुस गरेको जस्तो सुख र आनन्द प्राप्त नगर्न सक्छन्, वा मोशाले जस्तै यहोवाबाट पानी प्राप्त नगर्न सक्छन्। उदाहरणका लागि, अय्यूबले आफ्नो आस्थाका कारण यहोवाबाट आशिष् पाए, तर उनले विपत्ति पनि प्राप्त गरे। तैँले आशिष् प्राप्त गरे पनि वा विपत्ति प्राप्त गरे पनि, दुवै आशिषित घटनाहरू हुन्। यदि तेरो आस्था नभएको भए, तैँले विजयको यो काम प्राप्त गर्न सक्नेथिइनस्, र आज तेरो आँखाअगाडि यहोवाका कार्यहरू प्रदर्शित भएको देख्न त झनै सक्नेथिइनस्—तैँले यो देख्न सक्नेथिइनस्, र यो प्राप्त गर्न त झनै सक्नेथिइनस्। यी विपत्तिहरू, यी प्रकोपहरू, र सबै न्याय—यदि ती तँमाथि नआइपरेका भए, के तैँले आज यहोवाका कार्यहरू देख्न सक्नेथिइस्? आज, आस्थाले नै तँलाई विजय गरिन सक्षम बनाउँछ, र विजय गरिनुले नै तँलाई यहोवाको हरेक कार्यमा विश्वास गर्न सक्षम बनाउँछ। आस्थाका कारण मात्रै तैँले यस्तो सजाय र न्याय प्राप्त गर्छस्। यो सजाय र न्यायमार्फत, तँ विजय गरिन्छस् र सिद्ध पारिन्छस्। यदि आजको सजाय र न्याय नभएको भए, तेरो आस्था व्यर्थ हुनेथ्यो, किनभने तैँले परमेश्‍वरलाई चिन्नेथिइनस्; तैँले उहाँमा जतिसुकै विश्वास गरे पनि, तेरो आस्था केवल खोक्रो शब्द हुनेथ्यो र त्यसमा कुनै वास्तविकता हुनेथिएन। तैँले तँलाई पूर्ण रूपमा समर्पित बनाउने विजयको यो काम प्राप्त गरेपछि मात्रै, तेरो आस्था साँचो, र भरपर्दो बन्छ, र तेरो हृदय परमेश्‍वरतर्फ फर्कन्छ। यो शब्द, “आस्था” का कारण तैँले धेरै न्याय वा धेरै सराप अनुभव गर्नुपरे पनि, तँसँग साँचो आस्था हुन्छ र तैँले सबैभन्दा साँचो, सबैभन्दा वास्तविक, र सबैभन्दा बहुमूल्य कुरा प्राप्त गरेको हुन्छस्। किनभने न्यायको क्रममा मात्रै तैँले सृजित प्राणीहरूको गन्तव्य देख्छस्; यस न्यायमा नै तैँले सृष्टिकर्ताको प्रेमिलो स्वभाव देख्छस्; यस्तो विजयको काममा नै तैँले परमेश्‍वरको बाहुली देख्छस्; यस विजयमा नै तैँले मानव जीवन पूर्ण रूपमा बुझ्छस्; यस विजयमा नै तैँले जीवनको सही मार्ग प्राप्त गर्छस् र “मानिस” को साँचो अर्थ बुझ्छस्; यस विजयमा मात्रै तैँले सर्वशक्तिमान्‌को धर्मी स्वभाव र उहाँको सुन्दर, महिमामयी मुहार देख्छस्; यस विजयको काममा नै तैँले मानिसको उत्पत्तिबारे थाहा पाउँछस् र सम्पूर्ण मानवजातिको “अमर इतिहास” बुझ्छस्; यस विजयमा नै तैँले मानवजातिका पुर्खाहरू र मानवजातिको भ्रष्टताको उत्पत्तिबारे थाहा पाउँछस्; यस विजयमा नै तैँले आनन्द र सान्त्वनाका साथै अनन्त ताडना, अनुशासन, र सृष्टिकर्ताद्वारा सृष्टि गरिएको मानवजातिलाई उहाँले दिनुभएका हप्कीका वचनहरू प्राप्त गर्छस्; यस विजयको काममा नै तैँले आशिष्‌हरू, साथै मानिसले भोग्नुपर्ने सङ्कष्टहरू प्राप्त गर्छस्...। के यो सबै तेरो अलिकति आस्थाका कारण होइन र? अनि के यी कुराहरू प्राप्त गर्दा तेरो आस्था बढ्दैन र? के तैँले असाध्यै धेरै प्राप्त गरेको छैनस् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)

अघिल्लो: १०. परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा सत्य वास्तविकतामा कसरी प्रवेश गर्ने सम्बन्धी वचनहरू

अर्को: ख. सत्यताको अभ्यास कसरी गर्ने, कसरी सत्यतालाई बुझ्‍ने र वास्तविकतामा प्रवेश गर्ने सो सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्