परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्
परमेश्वरको कामको उद्देश्य, उहाँको कामले मानिसहरूमा ल्याउने अभिप्राय राखेका नतिजाहरू, र मानिसहरूका लागि उहाँका अभिप्रायहरू वास्तवमा के हुन् भन्ने कुरा बुझ्नु नै परमेश्वरलाई पछ्याउने हरेकले हासिल गर्नुपर्ने कुरा हो। आजकाल सबै मानिसमा कमी भएको कुरा परमेश्वरको कामको ज्ञान नै हो। संसारको सृष्टिदेखि वर्तमान समयसम्म—परमेश्वरले मानिसहरूलाई के गर्नुभएको छ, परमेश्वरका सबै काम के-के हुन्, र परमेश्वरका अभिप्रायहरू वास्तवमा के रहेका छन् भन्ने कुरा—मानिसहरू यी कुराहरू बोध गर्दैनन् र बुझ्दैनन्। यो धार्मिक संसारभरि मात्र नभई, परमेश्वरमा विश्वास गर्ने सबैमा अझ बढी पाइने कमी हो। जुन दिन तँ साँच्चै परमेश्वरलाई देख्नेछस्, उहाँको बुद्धिको कदर गर्नेछस्, परमेश्वरद्वारा गरिएका सबै कार्य देख्नेछस्, र परमेश्वर जे जे हुनुहुन्छ र उहाँसँग जे छ भन्ने कुरा जान्नेछस्—जब तैँले उहाँको प्रशस्तता, बुद्धि, अद्भुतता, र उहाँले मानिसहरूमा गरेका सबै काम देखेको हुनेछस्—त्यसपछि मात्रै तैँले परमेश्वरमाथिको विश्वासमा साँचो सफलता प्राप्त गरेको हुनेछस्। जब परमेश्वर सर्वसमावेशी र प्रशस्ततामा धनी हुनुहुन्छ भनेर भनिन्छ, तब उहाँ ठ्याक्कै कुन तरिकाले सर्वसमावेशी हुनुहुन्छ, र कुन तरिकाले प्रशस्ततामा धनी हुनुहुन्छ? यदि तँ यो कुरा बुझ्दैनस् भने, तँ परमेश्वरमा विश्वास गर्छस् भनेर मान्न सकिँदैन। म किन धार्मिक संसारका मानिसहरू परमेश्वरमा विश्वास गर्नेहरू होइनन् बरु दुष्कर्मीहरू हुन्, दियाबलसहरू सरह हुन् भनेर भन्छु? मैले तिनीहरू दुष्कर्मीहरू हुन् भनेर भन्नुको कारण के हो भने, तिनीहरू परमेश्वरका अभिप्रायहरू बुझ्दैनन् र उहाँको बुद्धि देख्न असमर्थ हुन्छन्। परमेश्वर तिनीहरूलाई आफ्नो काम कहिल्यै प्रकट गर्नुहुन्न। तिनीहरू सबै अन्धा छन्, र परमेश्वरका कार्यहरू देख्न सक्दैनन्। तिनीहरू परमेश्वरद्वारा त्यागिएका छन्, र उहाँको हेरचाह र सुरक्षाबाट पूर्ण रूपमा वञ्चित छन्, पवित्र आत्माको काम त झनै टाढाको कुरा हो। परमेश्वरको काम नभएकाहरू सबै दुष्कर्मी र परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्। मैले भन्ने गरेको परमेश्वरको प्रतिरोध गर्ने यी मानिसहरूले परमेश्वरलाई नचिन्नेहरू, मौखिक रूपमा परमेश्वरलाई स्वीकार गर्ने तर उहाँबारे कुनै ज्ञान नभएकाहरू, परमेश्वरलाई पछ्याउने तैपनि उहाँमा समर्पित नहुनेहरू, र उहाँको अनुग्रहको आनन्द लिने तैपनि उहाँका लागि आफ्नो गवाहीमा दृढ रहन नसक्नेहरूलाई जनाउँछन्। यदि कसैले परमेश्वरको कामको उद्देश्य बुझ्दैन र परमेश्वरले मानिसहरूमा गर्ने काम बुझ्दैन भने, ऊ परमेश्वरका अभिप्रायहरूसँग मिल्न सक्दैन, र परमेश्वरका लागि आफ्नो गवाहीमा दृढ रहन सक्दैन। मानिसहरूले परमेश्वरको प्रतिरोध गर्नुको कारण, एकातिर, तिनीहरूका भ्रष्ट स्वभावहरूबाट उत्पन्न हुन्छ; अर्कोतिर, यसको कारण तिनीहरूले परमेश्वरलाई नचिन्नु र उहाँले काम गर्ने सिद्धान्तहरू वा मानिसहरूप्रतिका उहाँका अभिप्रायहरू के हुन् भन्ने कुरा नबुझ्नु हो। यी दुई पक्ष मिलेर, परमेश्वरप्रतिको मानिसको प्रतिरोधको इतिहास बन्छ। भर्खरै परमेश्वरमा विश्वास गर्न आएकाहरू उहाँको प्रतिरोध गर्छन् किनभने मानिसहरूमा परमेश्वरको प्रतिरोध गर्ने प्रकृति हुन्छ; धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेकाहरूका हकमा, तिनीहरू परमेश्वरलाई नचिन्ने हुनाले, र त्यसमाथि, तिनीहरूमा भ्रष्ट स्वभावहरू हुने हुनाले उहाँको प्रतिरोध गर्छन्। परमेश्वर देह बन्नुभन्दा अघिको समयमा, कोही परमेश्वरको प्रतिरोध गर्छ कि गर्दैन भन्ने कुराको मापन ऊ स्वर्गमा परमेश्वरले तोकेका आदेशहरू पालन गर्छ कि गर्दैन भन्ने कुरामा आधारित हुन्थ्यो। उदाहरणका लागि, व्यवस्थाको युगमा, यहोवाका व्यवस्थाहरू पालन नगर्ने जोकोहीले परमेश्वरको प्रतिरोध गरिरहेको हुन्थ्यो; यहोवालाई चढाइएका भेटीहरू चोर्ने, वा यहोवाले कृपादृष्टि राख्नुभएकाहरूको प्रतिरोध गर्ने जोकोहीले परमेश्वरको प्रतिरोध गरिरहेको हुन्थ्यो र उसलाई ढुङ्गाले हानेर मारिन्थ्यो; आफ्ना आमाबुबालाई आदर नगर्ने, वा अरू मानिसहरूलाई हिर्काउने र अपमान गर्ने जोकोहीले व्यवस्थाहरूको अवज्ञा गरिरहेको हुन्थ्यो, र यहोवाका व्यवस्थाहरू पालन नगर्ने सबै उहाँको प्रतिरोध गर्नेहरू थिए। अनुग्रहको युगमा कुराहरू फरक थिए, जहाँ येशूको प्रतिरोध गर्ने सबै परमेश्वरको प्रतिरोध गर्नेहरू थिए, र येशूले बोल्नुभएका वचनहरूमा समर्पित नहुने सबै परमेश्वरको प्रतिरोध गर्नेहरू थिए। यस अवधिको “परमेश्वरको प्रतिरोध गर्नु” को परिभाषा अझ बढी सटीक र व्यावहारिक थियो। परमेश्वर देह बन्नुभन्दा अघि, कोही परमेश्वरको प्रतिरोध गर्छ कि गर्दैन भन्ने कुराको मापन ऊ स्वर्गमा हुनुहुने अदृश्य परमेश्वरको आराधना गर्छ कि गर्दैन र उहाँको आदर गर्छ कि गर्दैन भन्ने कुरामा आधारित हुन्थ्यो। त्यस अवधिको “परमेश्वरको प्रतिरोध गर्नु” को परिभाषा त्यति व्यावहारिक थिएन, किनभने मानिसहरू परमेश्वरलाई देख्न सक्दैनथे, र परमेश्वरको स्वरूप कस्तो छ वा उहाँ ठ्याक्कै कसरी काम गर्नुहुन्छ र बोल्नुहुन्छ भन्ने कुरा जान्दैनथे। मानिसहरूमा परमेश्वरबारे धारणाहरू छँदै थिएनन्, र तिनीहरू अस्पष्ट रूपमा परमेश्वरमा विश्वास गर्थे, किनभने परमेश्वर मानिससामु अझै देखा पर्नुभएको थिएन। त्यसकारण, मानिसहरूले आफ्ना कल्पनाहरूका आधारमा परमेश्वरमा जसरी विश्वास गरे पनि, परमेश्वरले तिनीहरूलाई दोषी ठहराउनुभएन वा तिनीहरूसँग अत्यधिक उच्च मागहरू गर्नुभएन, किनभने तिनीहरू परमेश्वरलाई देख्न पूर्ण रूपमा असमर्थ थिए। जब परमेश्वर देह बन्नुहुन्छ र मानिसहरूका बीचमा काम गर्न आउनुहुन्छ, तब सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र देहमा हुनुभएका परमेश्वरका कार्यहरू देख्छन्, जसपछि सबैका धारणाहरू पानीको फोकाजस्तै फुट्छन्। यदि देहमा देखा पर्नुभएका परमेश्वरलाई देख्नेहरू जानीबुझी उहाँमा समर्पित हुन्छन् भने, तिनीहरूलाई दोषी ठहराइनेछैन, जबकि जानाजानी उहाँको प्रतिरोध गर्नेहरूलाई परमेश्वरको प्रतिरोध गर्ने मानिसहरूका रूपमा चित्रण गरिनेछ। त्यस्ता मानिसहरू ख्रीष्टविरोधी हुन्, जानाजानी परमेश्वरको प्रतिरोध गर्ने शत्रुहरू हुन्। परमेश्वरबारे धारणाहरू राख्ने तर अझै पनि स्वेच्छाले उहाँमा समर्पित हुनेहरूलाई दोषी ठहराइनेछैन। परमेश्वर मानिसहरूलाई तिनीहरूका विचार र सोचाइहरूका लागि नभई तिनीहरूका अभिप्रायहरू र तिनीहरूले गर्ने कामकुराहरूका आधारमा दोषी ठहराउनुहुन्छ। यदि उहाँले मानिसहरूलाई तिनीहरूका विचार र सोचाइहरूका आधारमा दोषी ठहराउने हो भने, एक जना व्यक्ति पनि परमेश्वरको क्रोधित हातबाट उम्कन सक्नेछैन। जानाजानी देहधारी परमेश्वरको प्रतिरोध गर्नेहरूलाई तिनीहरूको अवज्ञाका लागि दण्ड दिइनेछ। यी मानिसहरूको प्रतिरोध तिनीहरूले परमेश्वरबारे राख्ने धारणाहरूबाट उत्पन्न हुन्छ, जसले तिनीहरूलाई परमेश्वरको काममा बाधा दिने कुराहरू गर्नतर्फ डोर्याउँछ। त्यस्ता सबै मानिस जानाजानी परमेश्वरको कामको प्रतिरोध गर्छन् र त्यसलाई भताभुङ्ग पार्ने प्रयास गर्छन्। तिनीहरूमा परमेश्वरबारे धारणाहरू मात्रै हुँदैनन्—तिनीहरू उहाँको काममा बाधा दिने गतिविधिहरूमा पनि संलग्न हुन्छन्, र यसै कारण दोषी ठहराइन्छन्। जानाजानी परमेश्वरको काममा बाधा नदिनेहरूलाई पापीका रूपमा दोषी ठहराइनेछैन, किनभने तिनीहरू स्वेच्छाले समर्पित हुन र अवरोध गर्ने र बाधा दिने कुराहरू नगर्न सक्षम हुन्छन्। यस्ता मानिसहरूलाई दोषी ठहराइनेछैन। तर, जब कसैले उहाँबारे धारणाहरू राख्दै र देहधारी परमेश्वरको काम जान्न असमर्थ हुँदै धेरै वर्षसम्म परमेश्वरको काम अनुभव गरेको हुन्छ, र उसले उहाँको काम जतिसुकै वर्ष अनुभव गरेको भए पनि, ऊ अझै परमेश्वरबारेका धारणाहरूले भरिएको हुन्छ र उहाँलाई जान्न असमर्थ हुन्छ, तब उसले बाधा दिने कुनै कुरा नगरेको भए पनि, उसको हृदय उहाँबारेका धारणाहरूले भरिपूर्ण हुन्छ—र, यी धारणाहरू स्पष्ट रूपमा नदेखिए पनि, यो व्यक्ति परमेश्वरको कामका लागि कुनै पनि हिसाबले उपयोगी हुँदैन, ऊ परमेश्वरका लागि सुसमाचार प्रचार गर्न वा उहाँका लागि आफ्नो गवाहीमा दृढ रहन असमर्थ हुन्छ—यसको अर्थ ऊ बेकम्मा र मूर्ख हो। उसले परमेश्वरलाई नचिन्ने र त्यसमाथि ऊ उहाँबारे आफ्ना धारणाहरू त्याग्न पूर्ण रूपमा असक्षम हुने हुनाले, उसलाई दोषी ठहराइन्छ। यसलाई यसरी भन्न सकिन्छ: भर्खरै परमेश्वरमा विश्वास गर्न थालेकाहरूमा उहाँबारे धारणाहरू हुनु वा उहाँलाई नचिन्नु सामान्य कुरा हो, तर यदि कसैले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको छ र उहाँको धेरै काम अनुभव गरेको छ, तैपनि ऊ अझै उहाँबारे धारणाहरू राख्छ भने, त्यो सामान्य होइन, र यदि ऊसँग परमेश्वरबारे कुनै ज्ञान छैन भने त्यो अझ बढी असामान्य हो। यो सामान्य स्थिति नभएको हुनाले, उसलाई दोषी ठहराइन्छ। यी असामान्य मानिसहरू सबै काम नलाग्ने हुन्छन्; तिनीहरू नै परमेश्वरको सबैभन्दा बढी प्रतिरोध गर्ने र व्यर्थमा परमेश्वरको अनुग्रहको आनन्द लिएकाहरू हुन्। त्यस्ता सबै मानिसहरूलाई अन्तमा हटाइनेछ!
परमेश्वरको कामको उद्देश्य नबुझ्नेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन्। परमेश्वरको कामको उद्देश्य बुझ्ने तैपनि उहाँलाई सन्तुष्ट पार्न नपछ्याउनेहरूका हकमा यो अझ बढी लागू हुन्छ। भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि खण्डहरू वाचन गर्नेहरू छन्, तैपनि तिनीहरूमध्ये कसैले पनि परमेश्वरको कामको उद्देश्य बुझ्दैन, न त तिनीहरूमाझ परमेश्वरलाई चिन्न सक्ने कोही नै छ—परमेश्वरका अभिप्रायहरूसँग मिल्न सक्ने कोही हुनु त परै जाओस्। तिनीहरू सबै निकम्मा, नीच मानिस हुन्, जो “परमेश्वर” लाई उपदेश दिन उच्च स्थानमा उभिन्छन्। तिनीहरू परमेश्वरको झण्डामुनि कार्य गर्ने तर जानाजानी परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्, जो मानिसको मासु खाँदै र रगत पिउँदै परमेश्वरमा विश्वास गर्ने बिल्ला भिर्छन्। त्यस्ता सबै मानिसहरू मानव प्राणहरू निल्ने दुष्ट दियाबलस, मानिसहरूलाई सही मार्गमा लाग्नमा जानाजानी बाधा दिने मुख्य पिशाच, र मानिसहरूलाई परमेश्वरको खोजी गर्नबाट रोक्ने व्यवधान हुन्। तिनीहरू “शारीरिक रूपमा हृष्टपुष्ट” देखिन सक्छन्, तर तिनीहरू मानिसहरूलाई परमेश्वरको प्रतिरोध गर्नतर्फ डोर्याउने ख्रीष्टविरोधीहरू हुन् भन्ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र? तिनीहरू मानव प्राणहरू निल्न समर्पित जीवित दियाबलस हुन् भन्ने कुरा तिनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन् र? परमेश्वरको उपस्थितिमा आफूलाई कुलीन ठान्नेहरू सबैभन्दा नीच हुन्, जबकि आफूलाई नीच ठान्नेहरू सबैभन्दा कुलीन हुन्। अनि परमेश्वरको काम जानेको दाबी गर्ने र उहाँलाई हेर्दै अरूलाई उहाँको काम विनाकुनै रोकटोक घोषणा गर्न सक्नेहरू सबैभन्दा अज्ञानी हुन्। त्यस्ता मानिसहरूसँग परमेश्वरको कुनै गवाही हुँदैन, र तिनीहरू सबै अहङ्कारी र अभिमानी हुन्छन्। आफूले परमेश्वरबारे धेरै कम जानेको विश्वास गर्ने तर वास्तवमा परमेश्वरको व्यावहारिक अनुभव र व्यावहारिक ज्ञान भएकाहरू नै उहाँद्वारा सबैभन्दा बढी प्रेम गरिएकाहरू हुन्। त्यस्ता मानिसहरूसँग मात्रै साँचो गवाही हुन्छ र तिनीहरू मात्रै परमेश्वरद्वारा सिद्ध पारिन साँच्चै सक्षम हुन्छन्। परमेश्वरका अभिप्रायहरू नबुझ्नेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन्। परमेश्वरका अभिप्रायहरू बुझ्ने तैपनि सत्यता अभ्यास नगर्नेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन्। परमेश्वरका वचनहरू खाने र पिउने, तैपनि परमेश्वरका वचनहरूको सारविरुद्ध जानेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन्। देहधारी परमेश्वरबारे धारणाहरू राख्ने, र त्यसमाथि जानाजानी विद्रोहमा संलग्न हुनेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन्। परमेश्वरलाई गलत ठहराउनेहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन्। अनि परमेश्वरलाई चिन्न नसक्ने र उहाँको गवाही दिन नसक्ने जोकोही परमेश्वरको प्रतिरोध गर्ने व्यक्ति हो। त्यसैले, म तिमीहरूलाई अर्ती दिन्छु: यदि तिमीहरूसँग साँच्चै यो मार्गमा हिँड्ने आस्था छ भने, पछ्याइरह। तर यदि तिमीहरू परमेश्वरको प्रतिरोध गर्नबाट आफूलाई रोक्न असमर्थ छौ भने, धेरै ढिला हुनुभन्दा अघि नै तिमीहरू पछि हट्नु सबैभन्दा राम्रो हुन्छ, नत्र तिमीहरू साँच्चै कठिनाइमा पर्नेछौ, किनभने तिमीहरूको प्रकृति अत्यन्तै भ्रष्ट छ। तिमीहरू बफादारीरहित छौ, समर्पणतारहित छौ, धार्मिकता र सत्यताका लागि तिर्खाउने हृदयरहित, र परमेश्वरप्रतिको प्रेमरहित छौ। परमेश्वरको अघि सारमा तिमीहरूको स्थिति पूर्ण रूपमा अस्तव्यस्त छ भनेर भन्न सकिन्छ। तिमीहरू आफूले पालन गर्नुपर्ने कुरा पालन गर्न असमर्थ छौ, आफूले भन्नुपर्ने कुरा भन्न असमर्थ छौ, आफूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्न असमर्थ छौ, र आफूले पूरा गर्नुपर्ने कार्य पूरा गर्न असमर्थ छौ; तिमीहरूसँग हुनुपर्ने बफादारी छैन, हुनुपर्ने विवेक छैन, हुनुपर्ने समर्पणता छैन, वा हुनुपर्ने सङ्कल्प छैन; तिमीहरूले भोग्नुपर्ने कष्ट भोगेका छैनौ, र तिमीहरूसँग हुनुपर्ने आस्था पनि छैन। तिमीहरूमा कुनै पनि असल गुणको पूर्ण रूपमा कमी छ। के तिमीहरूलाई जिइरहन लाज लाग्दैन? म तिमीहरूलाई के सल्लाह दिन्छु भने, तिमीहरूले ढिलो गर्नुभन्दा बरु चाँडै नै अनन्त विश्राममा आफ्ना आँखा चिम्लनु राम्रो हुन्छ, ताकि परमेश्वरलाई तिमीहरूका कारण चिन्ता गर्न र तिमीहरूका खातिर कष्ट भोग्नबाट जोगाउन सकियोस्। तिमीहरू परमेश्वरमा विश्वास गर्छौ तैपनि उहाँका अभिप्रायहरू बुझ्दैनौ; तिमीहरू परमेश्वरका वचनहरू खान्छौ र पिउँछौ तैपनि मानिसप्रतिका परमेश्वरका मागहरू पालन गर्न असमर्थ छौ। तिमीहरू परमेश्वरमा विश्वास गर्छौ तैपनि उहाँलाई चिन्दैनौ, र तिमीहरू लागिपर्ने कुनै लक्ष्यविना, बिलकुलै कुनै मूल्य वा कुनै अर्थविनै जिउँछौ। तिमीहरू मानव हौ तैपनि तिमीहरूमा अलिकति पनि विवेक, निष्ठा, वा विश्वसनीयता छैन—के तिमीहरू अझै आफैलाई मानव भन्न सक्छौ? तिमीहरू परमेश्वरमा विश्वास गर्छौ तैपनि उहाँलाई छल गर्छौ; तिमीहरू परमेश्वरको पैसाको लालसा समेत गर्छौ र उहाँलाई चढाइएका भेटीहरू खान्छौ। अनि तैपनि अन्तमा तिमीहरू परमेश्वरका भावनाहरूको अलिकति पनि ख्याल गर्न वा उहाँप्रति अलिकति पनि विवेक देखाउन असफल हुन्छौ। तिमीहरू परमेश्वरले गर्नुभएको एउटा सानो मागसमेत पूरा गर्न सक्दैनौ। के तिमीहरू अझै आफैलाई मानव भन्न सक्छौ? तिमीहरू परमेश्वरले प्रदान गरेको खानेकुरा खान्छौ, उहाँले दिनुभएको अक्सिजनले सास फेर्छौ, र उहाँको अनुग्रहको आनन्द लिन्छौ, तर अन्तमा तिमीहरूसँग परमेश्वरबारे अलिकति पनि ज्ञान हुँदैन। यसको विपरीत, तिमीहरू परमेश्वरको प्रतिरोध गर्ने बेकम्मा बनेका छौ। के यसले तिमीहरूलाई कुकुरसँग समेत तुलना गर्न नसकिने पशु बनाउँदैन? जनावरहरूमध्ये, के तिमीहरूभन्दा बढी दुर्भावपूर्ण कोही छन्?
उच्च स्थानमा उभिएर अरूलाई उपदेश दिने ती पाष्टर र एल्डरहरू परमेश्वरको प्रतिरोध गर्नेहरू हुन्; तिनीहरू सबै शैतानका सहयोगीहरू हुन्। उच्च स्थानमा नउभिए पनि अरूलाई उपदेश दिने तिमीहरू परमेश्वरको अझ बढी प्रतिरोध गर्दैनौ र? के तिमीहरू शैतानसँग अझ बढी मिलेका छैनौ र? परमेश्वरको कामको उद्देश्य नबुझ्नेहरू परमेश्वरका अभिप्रायहरूसँग कसरी मिल्ने भनेर जान्दैनन्। उहाँको कामको उद्देश्य बुझ्नेहरूका हकमा पनि यस्तै हुन सक्छ र? परमेश्वरको काम कहिल्यै गलत हुँदैन; बरु, समस्या मानिसहरूको पछ्याइमा हुन्छ। जानाजानी परमेश्वरको प्रतिरोध गर्ने ती पतितहरू ती पाष्टर र एल्डरहरूभन्दा अझ बढी कुटिल र दुष्ट हुँदैनन् र? परमेश्वरको प्रतिरोध गर्नेहरू धेरै छन्, तर तिनीहरूमध्ये परमेश्वरको प्रतिरोध गर्ने विभिन्न स्थिति पनि धेरै छन्। जसरी सबै प्रकारका विश्वासीहरू हुन्छन्, त्यसरी नै परमेश्वरको प्रतिरोध गर्नेहरू पनि सबै प्रकारका हुन्छन्, हरेक एक-अर्काभन्दा फरक हुन्छ। परमेश्वरको कामको उद्देश्य स्पष्ट रूपमा चिन्न असफल हुनेहरूमध्ये एक जनाले पनि मुक्ति पाउन सक्दैन। विगतमा कसैले परमेश्वरको जसरी प्रतिरोध गरेको भए पनि, जब उसले परमेश्वरको कामको उद्देश्य बुझ्छ र परमेश्वरलाई सन्तुष्ट पार्न लागिपर्न सक्षम हुन्छ, तब परमेश्वरले उसका विगतका सबै पाप पूर्ण रूपमा मेटाउनुहुनेछ। यदि कोही सत्यता खोज्न र अभ्यास गर्न सक्छ भने, परमेश्वरले उसले गरेका सबै कुरा सम्झनुहुनेछैन। यसबाहेक, ऊ सत्यता अभ्यास गर्न सक्षम हुने हुनाले परमेश्वरले उसलाई धर्मी व्यक्तिका रूपमा चित्रण गर्नुहुनेछ। परमेश्वरको धार्मिकता यही हो। कसैले परमेश्वरलाई देख्नु वा उहाँको काम अनुभव गर्नुभन्दा अघि, उसले परमेश्वरलाई जसरी व्यवहार गरेको भए पनि, उहाँ त्यसलाई सम्झनुहुन्न। तर, कसैले परमेश्वरलाई देखेपछि र उहाँको काम अनुभव गरेपछि, उसका सबै कार्य र कदमलाई परमेश्वरद्वारा “अभिलेख” मा दर्ता गरिनेछ, किनभने उसले परमेश्वरलाई देखेको छ र उहाँको कामको बीचमा जिएको छ।
जब कसैले परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ भन्ने कुरा साँच्चै देख्छ, परमेश्वरको सर्वोच्चतालाई हेर्छ, र परमेश्वरको काम साँच्चै जान्न पुग्छ—र, अझ भन्नुपर्दा, जब उसको पुरानो स्वभाव परिवर्तन हुन्छ—तब उसले परमेश्वरको प्रतिरोध गर्ने आफ्नो विद्रोही स्वभाव पूर्ण रूपमा फालेको हुनेछ। यसलाई यसरी भन्न सकिन्छ: सबैले परमेश्वरको प्रतिरोध गरेका छन्, र सबैले परमेश्वरको विरुद्ध विद्रोह गरेका छन्। तर, यदि तँ देहधारी परमेश्वरमा जानीबुझी समर्पित हुन सक्छस्, र यस उप्रान्त तेरो बफादारीले परमेश्वरको हृदयलाई सन्तुष्ट पार्न सक्छस्, तँ अभ्यास गर्नुपर्ने सत्यता अभ्यास गर्छस्, पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्छस्, र पालन गर्नुपर्ने प्रावधानहरू पालन गर्छस् भने, तँ परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो विद्रोहीपन फाल्न इच्छुक र परमेश्वरद्वारा सिद्ध पारिन सक्ने व्यक्ति होस्। यदि तँ हृदयमा कुनै पछुतोविना, हठी भई आफ्ना गलत मार्गहरूमा लागिरहन्छस्, र परमेश्वरसँग सहकार्य गर्ने र उहाँलाई सन्तुष्ट पार्ने अलिकति पनि अभिप्राय नराखी तेरो विद्रोही आचरणलाई जारी राख्छस् भने, तँ जस्तो हठी र सुधार्न नसकिने व्यक्तिलाई दण्ड दिनका लागि छुट्ट्याइनेछ, र परमेश्वरद्वारा सिद्ध नपारिने व्यक्तिका रूपमा छुट्ट्याइनेछ। यदि यस्तो भयो भने, तँ आज परमेश्वरको शत्रु हुनेछस् र भोलि पनि परमेश्वरको शत्रु हुनेछस्, र त्यसको भोलिपल्ट पनि परमेश्वरको शत्रु नै रहनेछस्—तँ सधैँभरि परमेश्वरको प्रतिरोध गर्ने व्यक्ति, परमेश्वरको शत्रु हुनेछस्। त्यसोभए परमेश्वर तँलाई कसरी त्यतिकै छोड्न सक्नुहुन्छ र? मानिसहरूमा परमेश्वरको प्रतिरोध गर्ने प्रकृति हुन्छ, तर तिनीहरूले जानाजानी परमेश्वरको प्रतिरोध गर्ने “रहस्य” खोज्नु हुँदैन किनभने आफ्नो प्रकृति परिवर्तन गर्न निकै गाह्रो हुन्छ। यदि तैँले प्रयास गर्ने हो भने, भविष्यमा तेरो सजाय अझ गम्भीर नहोस्, र तेरो पाशविक प्रकृति विस्फोट भएर अनियन्त्रित नहोस्, र अन्ततः परमेश्वरद्वारा तेरो देह नष्ट नहोस् भनेर, तँ धेरै ढिला हुनुभन्दा अघि नै आफ्नो बाटो लाग्नु सबैभन्दा राम्रो हुन्छ। तँ आशिष्हरू प्राप्त गर्न परमेश्वरमा विश्वास गर्छस्; तर यदि अन्तमा तँ उल्टै विपत्तिको सामना गर्छस् भने, तेरो विश्वास साँच्चै सार्थक हुनेछैन। म तिमीहरूलाई अर्ती दिन्छु, तिमीहरूले अर्को योजना बनाउनु नै राम्रो हुन्छ। तिमीहरूका लागि परमेश्वरमा विश्वास गर्नुभन्दा अरू नै कुनै काम गर्नु नै राम्रो हुँदैन र? के तिमीहरू साँच्चै आफ्ना लागि यही एउटै मात्र मार्ग हो भन्ने विश्वास गर्छौ? के तिमीहरू सत्यता नखोजिकन पनि जिइरहनेछैनौ र? यसरी आफूलाई परमेश्वरको विरुद्धमा किन खडा गर्छौ?