ख. प्रभु येशूले किन फरिसीहरूलाई श्राप दिनुभयो, र फरिसीहरूको सार के थियो
बाइबलका वचनहरू
“त्यसपछि यरूशलेमका शास्त्री र फरिसीहरू येशूकहाँ आए, र यसो भने, किन तपाईंका चेलाहरूले पुर्खाको परम्परा उल्लङ्घन गर्छन्? किनभने तिनीहरूले रोटी खाँदा आफ्नो हात धुँदैनन्। तर उहाँले तिनीहरूलाई यसो भन्दै उत्तर दिनुभयो, तिमीहरूले पनि किन तिमीहरूका परम्पराद्वारा परमेश्वरको आज्ञा उल्लङ्घन गर्छौ? किनभने परमेश्वरले यसो भनेर आज्ञा दिनुभएको छ, आफ्नो बाबु र आमाको सम्मान गर: र, बाबु वा आमालाई जसले सराप्छ त्यो मारियोस्। तर तिमीहरू भन्छौ, जोसुकैले आफ्नो बाबु वा आमालाई यसो भन्नेछ, तपाईंले मबाट जे लाभ पाउन सक्नुहुन्थ्यो, त्यो उपहार हो; अनि उसले आफ्नो बाबु वा आमाको सम्मान गर्नु पर्दैन, ऊ स्वतन्त्र हुनेछ। यसरी तिमीहरूले आफ्नो परम्पराद्वारा परमेश्वरको आज्ञालाई व्यर्थ तुल्याइदिएका छौ। तिमीहरू ढोङ्गीहरू, यशैयाले यसो भनेर तिमीहरूको बारेमा ठीकै अगमवाणी गरेका थिए, यी मानिसहरू आफ्ना मुखहरूले मात्र मेरा नजिक आउँछन् र तिनीहरूका ओठहरूले मात्र मेरो सम्मान गर्छन्; तर तिनीहरूका हृदय मदेखि टाढा छ। तर तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्, मानिसहरूका आज्ञाहरूलाई सिद्धान्तको रूपमा सिकाउँछन्” (मत्ती १५:१-९)।
“शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ। शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनकि तिमीहरू विधवाका घरहरू निल्छौ र लामा प्रार्थना गरेको स्वाँग पार्छौ: यसैले तिमीहरूले ठूलो दण्ड पाउनेछौ।
“शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने एक जनालाई आफ्नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ।
“धिक्कार, तिमीहरू अन्धा अगुवाहरू, तिमीहरू भन्छौ, जसले मन्दिरको शपथ खान्छ, त्यो केही पनि होइन; तर जसले मन्दिरको सुनको शपथ खान्छ, ऊचाहिँ ऋणी हो! तिमीहरू मूर्ख र अन्धाहरू हौ: किनभने कुनचाहिँ ठूलो हो, सुन कि सुनलाई शुद्ध पार्ने मन्दिर? अनि, जसले वेदीमा शपथ खान्छ, त्यो केही पनि होइन; तर जसले त्यसमा राखिएको उपहारको शपथ खान्छ, ऊ दोषी हो। तिमीहरू मूर्ख र अन्धाहरू हौ: किनभने कुनचाहिँ ठूलो हो, सुन कि सुनलाई शुद्ध पार्ने मन्दिर? त्यसकारण, वेदीको शपथ खानेले, त्यसको नाममा, र यसमा भएका सबै कुराको नाममा शपथ खान्छ। अनि मान्दिरको शपथ खानेले, त्यसको नाममा, र त्यहाँ वास बस्नुहुने उहाँको नाममा शपथ खान्छ। अनि स्वर्गको शपथ खानेले, परमेश्वरको सिंहासनको नाममा, र त्यहाँ बस्नुहुने उहाँको नाममा शपथ खान्छ।
“शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनकि तिमीहरू पुदिना, सुँप र जिराको दशांश दिन्छौ अनि न्याय, कृपा र विश्वासजस्ता व्यवस्थाका गहकिला विषयहरूलाई छोड्छौ: तिमीहरूले त ती गर्नुपर्थ्यो र अरू विषयलाई नगरी नछोड्नुपर्ने थियो। तिमीहरू दृष्टिविहिन अगुवा हौ, जसले भुसुना छान्छन् र उँटलाई चाहिँ निल्छन्।
“शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरूले कचौरा र थालको बाहिरपट्टि सफा गर्छौ, तर भित्रपट्टि ती लुटपाट र ज्यादतीले भरिएका छन्। अन्धा फरिसी हो, कचौरा र थालभित्र जे छ पहिले त्यसलाई सफा गर, ताकि तिनको बाहिरीपट्टि पनि सफा हुन सकोस्।
“शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरू त सेतो रङ्ग पोतिएका चिहानहरू जस्तै छौ, जो बाहिरी रूपमा वास्तवमै सुन्दर देखिन्छन्, तर भित्र भने मरेका मानिसहरूका हाडहरू, र सबै अशुद्धताहरूले भरिएका हुन्छन्। त्यसरी नै तिमीहरू पनि बाहिरी रूपमा मानिसहरूका अघि धर्मी देखिन्छौ, तर भित्री रूपमा तिमीहरू ढोङ्गीपन र अधर्मले भरिएका छौ।
“शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरू अगमवक्ताहरूका चिहान निर्माण गर्छौ र धर्मीहरूका चिहानघरहरू सिँगार्छौ, अनि भन्छौ, यदि हामी हाम्रा पिता-पुर्खाको पालामा भएको भए, हामी अगमवक्ताहरूको रगत बगाउने काममा तिनीहरूसँग लाग्नेथिएनौं। तिमीहरू अगमवक्ताहरूलाई मार्नेहरूका सन्तान हौ भनेर तिमीहरू आफैले गवाही दिन्छौ। त्यसो भए त तिमीहरू आफ्ना पितापुर्खा जस्तै बन। तिमीहरू सर्प हौ, तिमीहरू भाइपरका पुस्ता हौ, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कन सक्छौ? हेर, म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमानी मानिसहरू र शास्त्रीहरू पठाउँछु: र तिनीहरूमध्ये केहीलाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्नेछौ; र तीमध्ये केहीलाई तिमीहरूले तिमीहरूका सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर-सहरमा सताउनेछौ: धर्मी हाबिलको रगतदेखि बेरेक्याहका छोरा जकरिया, जसलाई तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गर्यौ, उनको रगतसम्म पृथ्वीमा बगाइएको सबै धर्मी रगत तिमीहरूमा नै आइपर्नेछ। साँच्चै म तिमीहरूलाई भन्छु, यी सबै कुरा यही पुस्तामा आउनेछन्” (मत्ती २३:१३-३६)।
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्ने कुरा तिनीहरूलाई थाहा छैन। यस्ता मूर्ख, हठी र निर्बुद्धि मानिसहरूले परमेश्वरको आशिष् प्राप्त गर्न सक्थे भनी कसरी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कार्यको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग जान्दैनथे; र त्यसमाथि, किनभने तिनीहरूले मसीहलाई बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै समय नबिताएका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव साधनहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यताको पालन गर्दैनथे। परमेश्वरप्रति तिनीहरूको विश्वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्वास वाहियात र हास्यास्पद छैन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई फेरि बनाइसक्नुभएको हुनेछ
फरिसीहरूका दुष्ट पक्षहरू कसरी प्रकट हुन्छन्? सुरुमा, हामी फरिसीहरूले देहधारी परमेश्वरलाई कसरी व्यवहार गरेका थिए, त्यसबाट हाम्रो छलफललाई सुरु गरौँ, त्यसपछि तिमीहरूले अझै बढी कुरा बुझ्न सक्छौ। देहधारी परमेश्वरका बारेमा कुरा गर्दा, हामीले सुरुमा दुई हजार वर्ष पहिले देहधारी परमेश्वर कस्तो परिवार र पृष्ठभूमिमा जन्मनुभएको थियो भन्नेबारे कुरा गर्नुपर्छ। सर्वप्रथम, प्रभु येशू समृद्ध परिवारमा जन्मनुभएको थिएन—उहाँको वंश त्यति विशिष्ट थिएन। उहाँलाई हुर्काउने बुबा, जोसेफ, एक सिकर्मी थिए, र उहाँकी आमा, मरियम साधारण विश्वासी थिइन्। प्रभु येशूका आमाबुबाको पहिचान र सामाजिक हैसियतले उहाँ जन्मेको परिवारको पृष्ठभूमिलाई प्रतिनिधित्व गर्छ, र उहाँ साधारण परिवारमा जन्मनुभएको थियो भन्ने कुरा स्पष्ट छ। … यसले पछिल्ला पुस्ताहरूलाई के सन्देश दिन्छ? यस साधारण र सामान्य व्यक्ति जो देहधारी परमेश्वर हुनुहुन्थ्यो, उहाँसँग उच्च शिक्षा प्राप्त गर्ने अवसर थिएन न त अवस्थाहरू नै थिए। उहाँ साधारण मानिसहरू जस्तै हुनुहुन्थ्यो, उहाँ साधारण सामाजिक वातावरणमा, साधारण परिवारमा जिउनुहुन्थ्यो, र उहाँमा कुनै विशेष कुरा थिएन। ठीक यही कारणले गर्दा नै, प्रभु येशूका प्रवचन र कार्यहरूका बारेमा सुनेपछि, ती शास्त्री र फरिसीहरूले खडा भएर उहाँलाई खुला रूपमा आलोचना गर्ने, निन्दा गर्ने, र दोष दिने आँट गरे। तिनीहरूको दोषारोपणको आधार के थियो? अवश्य नै, यो पुरानो करारका व्यवस्था र प्रावधानहरूमा आधारित थियो। पहिलो, प्रभु येशूले आफ्ना चेलाहरूलाई विश्राम-दिन नमान्न अगुवाइ गर्नुभयो—उहाँले विश्राम-दिनमा पनि काम गर्नुभयो। यसको साथै, उहाँले व्यवस्था र प्रावधानहरू पालन गर्नुभएन र उहाँ मन्दिर जानुहुन्नथियो, र जब उहाँले पापीहरूलाई भेट्नुहुन्थ्यो, तब कतिपय मानिसहरूले उहाँलाई तिनीहरूलाई कसरी ठेगान लगाउने भनी सोध्थे, तर उहाँले तिनीहरूलाई व्यवस्था अनुसार व्यवहार गर्नुहुन्नथियो, बरु कृपा देखाउनुहुन्थ्यो। प्रभु येशूका कार्यहरूका यी कुनै पनि पक्ष फरिसीहरूका धार्मिक धारणाहरू अनुरूप थिएनन्। तिनीहरूले सत्यतालाई प्रेम नगरेका र त्यसरी प्रभु येशूलाई घृणा गरेका हुनाले, तिनीहरूले प्रभु येशूलाई आक्रमक रूपमा दोष दिनका लागि उहाँले व्यवस्था उल्लङ्घन गर्नुभएको बहाना लिए, र उहाँलाई मार्नुपर्छ भनेर निर्धारित गरे। यदि प्रभु येशू एउटा प्रतिष्ठित र विशिष्ट परिवारमा जन्मनुभएको भए, यदि उहाँले उच्च शिक्षा प्राप्त गर्नुभएको भए, र उहाँ यी शास्त्री र फरिसीहरूसँग नजिक हुनुभएको भए, त्यो बेलाका परिस्थितिहरू, पछि जस्तो भए त्यस्ता हुनेथिएनन्—ती परिवर्तन हुनेथिए होलान्। उहाँको सामान्यता, उहाँको साधारण अवस्था, र उहाँको जन्मको पृष्ठभूमिका कारण नै उहाँलाई फरिसीहरूले निन्दा गरे। प्रभु येशूलाई निन्दा गर्ने तिनीहरूको आधार के थियो? ती तिनीहरूले पक्रेर राखेका नीतिहरू र व्यवस्थाहरू नै थिए, जुन अनन्तका लागि कहिल्यै परिवर्तन हुनेछैनन् भन्ने तिनीहरूले विश्वास गरेका थिए। फरिसीहरूले आफूले बुझेका धर्मशास्त्रीय सिद्धान्तहरूलाई ज्ञान र मानिसहरूलाई मूल्याङ्कन गर्ने र दोष दिने औजारका रूपमा लिएका थिए, र यसलाई तिनीहरूले प्रभु येशूमाथि समेत प्रयोग गरे। प्रभु येशूलाई यसरी नै दोषी ठहराइएको थियो। तिनीहरूले कुनै व्यक्तिलाई मूल्याङ्कन गर्ने वा व्यवहार गर्ने तरिका कहिल्यै पनि व्यक्तिको सारमा, न त व्यक्तिले प्रचार गरेको कुरा सत्यता हो कि होइन भन्ने कुरामा नै निर्भर हुन्थ्यो, व्यक्तिले बोलेका वचनहरूको स्रोतमा निर्भर हुनु त परको कुरा हो—फरिसीहरूले व्यक्तिलाई मूल्याङ्कन गर्ने वा दोष दिने तरिका तिनीहरूले बाइबलको पुरानो करारबाट बुझेका प्रावधान, वचन, र धर्मसिद्धान्तमा मात्रै निर्भर हुन्थ्यो। प्रभु येशूले भन्नुभएको र गर्नुभएका कुराहरू पाप वा व्यवस्था उल्लङ्घन होइनन् भन्ने कुरा फरिसीहरूलाई हृदयमा थाहा भए पनि, तिनीहरूले उहाँलाई दोषी ठहराए, किनभने उहाँले व्यक्त गर्नुभएका सत्यताहरू र उहाँले प्रदर्शन गर्नुभएका चिन्ह र चमत्कारहरूले गर्दा धेरै मानिसहरूले उहाँलाई पछ्याउन र प्रशंसा गर्न थालेका थिए। फरिसीहरूले उहाँलाई झन्-झन् घृणा गरिरहेका थिए, र उहाँलाई दृश्यबाट हटाउन समेत चाहन्थे। तिनीहरूले प्रभु येशू नै आउनेवाला मसीह हुनुहुन्छ भनेर पहिचान गरेनन्, न त तिनीहरूले उहाँका वचनहरूमा सत्यता छ भन्ने कुरालाई नै पहिचान गरे, उहाँको काम सत्यता अनुरूप छ भन्ने कुरालाई पहिचान गर्नु त परको कुरा हो। तिनीहरूले प्रभु येशूले अहङ्कारी वचनहरू बोलिरहनुभएको र भूतहरूका राजकुमार बालजिबूलमार्फत भूतहरू निकालिरहनुभएको भनेर आलोचना गरे। तिनीहरूले यी पापहरूको दोष प्रभु येशूलाई लगाए भन्ने कुराले तिनीहरूले उहाँलाई कति धेरै घृणा गर्थे भन्ने कुरालाई देखाउँछ। त्यसकारण, तिनीहरूले प्रभु येशूलाई परमेश्वरले पठाउनुभएको हो, र उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ, र उहाँ मसीह हुनुहुन्छ भन्ने कुरालाई इन्कार गर्न जोरदार रूपमा काम गरे। तिनीहरूको तात्पर्य के थियो भने, “के परमेश्वरले यस्तो तरिकाले काम गर्नुहुनेथियो? यदि परमेश्वर देहधारी हुनुभएको भए, उहाँ प्रतिष्ठित हैसियत भएको परिवारमा जन्मनुहुनेथियो। अनि उहाँले शास्त्रीहरू र फरिसीहरूको अभिभावकत्व स्वीकार गर्नुपर्ने हुन्थ्यो। उहाँले ‘देहधारी परमेश्वर’ को नाम धारण गर्न सक्नुभन्दा पहिले धर्मशास्त्रलाई व्यवस्थित रूपमा अध्ययन गर्नुपर्ने, धर्मशास्त्रको ज्ञान बुझ्नुपर्ने, र धर्मशास्त्रका सबै ज्ञानहरूले आफूलाई सुसज्जित गर्नुपर्ने हुन्थ्यो।” तर प्रभु येशूमा यो ज्ञानले सुसज्जित हुनुहुन्नथियो, त्यसकारण तिनीहरूले यसो भन्दै उहाँलाई दोष दिए, सर्वप्रथम, तपाईंसँग त्यस्तो योग्यता छैन, तसर्थ तपाईं परमेश्वर हुन सक्नुहुन्न; दोस्रो कुरा, यो धर्मशास्त्रीय ज्ञानविना, तपाईंले परमेश्वरको कार्य गर्न सक्नुहुन्न, तपाईँ परमेश्वर हुन सक्ने कुरा त परै जाओस्; तेस्रो, तपाईंले मन्दिरभन्दा बाहिर काम गर्न हुँदै हुँदैन—तपाईंले अहिले मन्दिरमा काम गरिरहनुभएको छैन, तर सधैँ पापीहरूका बीचमा बस्नुहुन्छ, त्यसकारण तपाईंले गर्नुहुने काम धर्मशास्त्रको दायराभन्दा बाहिर छ, जसले गर्दा तपाईँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा झन् असम्भव हुन्छ। तिनीहरूको दोषारोपणको आधार कहाँबाट आयो त? धर्मशास्त्रबाट, मानिसको मन-मस्तिष्कबाट, र तिनीहरूले प्राप्त गरेको धर्मशास्त्रीय शिक्षाबाट। फरिसीहरू धारणा, कल्पना, र ज्ञानले फूलेका थिए, त्यसकारण तिनीहरूले यो ज्ञान सही हो, सत्यता हो, मान्य आधार हो, र कुनै पनि समयमा परमेश्वरले यी कुराहरूलाई उल्लङ्घन गर्न सक्नुहुन्न भन्ने विश्वास गर्थे। के तिनीहरूले सत्यताको खोजी गरे त? तिनीहरूले खोजी गरेनन्। तिनीहरूले के खोजी गरे? आत्मिक शरीरका रूपमा देखा परेका अलौकिक परमेश्वर। त्यसकारण, तिनीहरूले परमेश्वरको कामका रूपरेखा निर्धारित गरे, उहाँको कामलाई इन्कार गरे, र मानिसका धारणा, कल्पना, र ज्ञान अनुसार परमेश्वर सही हुनुहुन्छ कि गलत हुनुहुन्छ भनेर मूल्याङ्कन गरे। अनि यसको अन्तिम परिणाम के भयो? तिनीहरूले परमेश्वरको कामलाई निन्दा गरेका मात्र होइनन्, तिनीहरूले देहधारी परमेश्वरलाई क्रूसमा समेत टाँगे। तिनीहरूले परमेश्वरलाई मूल्याङ्कन गर्नका लागि आफ्ना धारणा, कल्पना, र ज्ञान प्रयोग गर्नुको परिणाम यही थियो, र तिनीहरूको दुष्टता यही हो।
—वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन)
फरिसीहरू धर्मसिद्धान्तहरूको प्रचार गर्न र नाराहरू फलाक्नमा उत्कृष्ट थिए। तिनीहरू प्रायः बाटोको कुनामा बसेर “ओहो, शक्तिमान् परमेश्वर!” वा “श्रद्धेय परमेश्वर!” भन्दै चिच्च्याउँथे। अरूका नजरमा, तिनीहरू अत्यन्तै धर्मी देखिन्थे, र तिनीहरूले व्यवस्थाविरुद्ध केही गर्दैनथे, तर के परमेश्वरले तिनीहरूको अनुमोदन गर्नुभयो त? गर्नुभएन। उहाँले तिनीहरूको निन्दा कसरी गर्नुभयो? उहाँले तिनीहरूलाई पाखण्डी फरिसीको नाम दिएर निन्दा गर्नुभयो। विगतका समयमा फरिसीहरू इस्राएलका सम्मानित वर्ग थिए, त्यसोभए अहिले त्यो नाम किन लेबल बनेको छ? यस्तो किन भयो भने फरिसीहरू एक खाले व्यक्तिको प्रतिनिधि बनेका छन्। यस प्रकारको व्यक्तिका विशेषताहरू के-के हुन् त? तिनीहरू झूटो हुनमा, देखावटी गर्नमा, ढोँग गर्नमा सिपालु छन्; तिनीहरू महान् आदर्श, पवित्रता, सोझोपन, र पारदर्शी शालीनताको नाटक गर्छन्, र तिनीहरूले फलाक्ने नाराहरू राम्रा सुनिन्छन्, तर तिनीहरूले त अलिकति पनि सत्यता अभ्यास नगर्ने रहेछन्। तिनीहरूसँग कुन चाहिँ असल व्यवहार रहेछ त? तिनीहरू पवित्र पुस्तक पढ्छन् र प्रवचन दिन्छन्; तिनीहरू अरूलाई कानुन र नियमहरू कायम राख्न अनि परमेश्वरको प्रतिरोध नगर्न सिकाउँछन्। यो सबै असल व्यवहार हो। तिनीहरूले भन्ने हरेक कुरा राम्रो सुनिन्छ, तैपनि जब अरू पछाडि फर्कन्छन् तिनीहरू गोप्य रूपमा भेटीहरू चोर्छन्। प्रभु येशूले तिनीहरूले “भुसुना छान्छन् र उँटलाई चाहिँ निल्छन्” (मत्ती २३:२४) भनी भन्नुभयो। यसको मतलब, तिनीहरूको सबै व्यवहार बाहिरी रूपमा राम्रो देखिन्छ—तिनीहरूले देखाउनको लागि नारा लगाउँछन्, तिनीहरूले उच्च सिद्धान्तहरूको बारेमा बोल्छन्, र तिनीहरूका वचनहरू मीठा सुनिन्छ, तर तिनीहरूका कार्यहरू भने अस्तव्यस्त भद्रगोल हुन्छन्, र तिनीहरू पूर्णतया परमेश्वरको प्रतिरोधी हुन्छन्। तिनीहरूको बाहिरी व्यवहार सबै नै बहाना र धोका हुन्; तिनीहरूको हृदयमा तिनीहरूसँग सत्यताप्रति अलिकति पनि प्रेम हुँदैन, न त सकारात्मक कुराहरूको लागि नै प्रेम हुन्छ। तिनीहरू सत्यताप्रति, सकारात्मक कुराहरूप्रति र परमेश्वरबाट आउने सबै कुराहरूप्रति प्रतिकूल हुन्छन्। तिनीहरूले केलाई प्रेम गर्छन् त? के तिनीहरूले निष्पक्षता र धर्मीपनलाई प्रेम गर्छन् त? (गर्दैनन्।) तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन् भनेर तिमीहरूले कसरी भन्न सक्छौ? (प्रभु येशूले स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नुभयो जसलाई तिनीहरूले अस्वीकार मात्र गरेनन्, बरु तिनीहरूले त त्यसलाई दोषी ठहराउने कामसमेत गरे।) यदि तिनीहरूले त्यसको निन्दा नगरेका भए, के त्यो कुरा बताउन सम्भव हुनेथ्यो? हुनेथिएन। प्रभु येशूको देखापराइ र कामले सबै फरिसीहरूको खुलासा गर्यो, र तिनीहरूले प्रभु येशूलाई गरेको निन्दा र प्रतिरोधद्वारा मात्र अरूले तिनीहरूको पाखण्ड देख्न सक्थे। यदि परमेश्वरको देखापराइ र काम नभएको भए, फरिसीहरूलाई कसैले पनि खुट्याउने थिएन, र यदि मानिसहरूले फरिसीहरूको बाहिरी आचरणलाई मात्र हेरेको भए, त्यसले तिनीहरूलाई ईर्ष्यालु समेत बनाउनेथ्यो। के फरिसीहरूले झूटो असल व्यवहार देखाएर मानिसहरूको विश्वास प्राप्त गर्नु बेइमानी र छली थिएन र? के यस्ता छली मानिसहरूले सत्यतालाई प्रेम गर्न सक्छन् र? तिनीहरूले कदापि सक्दैनन्। तिनीहरूले असल आचरण देखाउनु पछाडिको उद्देश्य के थियो? एकातिर मानिसहरूलाई ठग्नु थियो। अर्कोतिर, मानिसहरूलाई बहकाएर तिनीहरूको मन जित्नु थियो, ताकि मानिसहरूले तिनीहरूलाई उच्च ठानून् र आदर गरून्। र अन्त्यमा, तिनीहरू इनाम प्राप्त गर्न चाहन्थे। यो त कत्रो ठूलो ठगी थियो! के यी चलाखीपूर्ण चालबाजी थिए? के यस्ता मानिसहरूले न्याय र धार्मिकतालाई प्रेम गर्थे? निश्चय नै गर्दैनथे। तिनीहरू हैसियत, प्रसिद्धि र लाभलाई प्रेम गर्थे, र तिनीहरू इनाम र मुकुट चाहन्थे। तिनीहरू परमेश्वरले मानिसहरूलाई सिकाएका वचनहरू कहिल्यै अभ्यास गर्दैनथे, र तिनीहरूले कहिल्यै सत्यताका वास्तविकताहरू जिउँदैनथे। तिनीहरू राम्रो आचरणको खोल ओढ्ने र मानिसहरूलाई छल्ने अनि पाखण्डी तरिकाले तिनीहरूको मन जितेर आफ्नो हैसियत र ख्याति जोगाउने काम मात्र गर्थे, र त्यही हैसियत र ख्यातिलाई प्रयोग गरेर पुँजीको खोजी गर्थे र त्यसैबाट जीवन गुजारा गर्थे। के त्यो घृणित कार्य होइन र? तिनीहरूको यो आचरणबाट तैँले बुझ्न सक्छस् कि सारभूत रूपमा तिनीहरू सत्यतालाई प्रेम गर्दैनथे, किनकि तिनीहरूले त्यसको अभ्यास कहिल्यै गरेनन्। तिनीहरूले सत्यता अभ्यास नगरेको तथ्यलाई कुन कुराले देखाउँछ? सबैभन्दा ठूलो कुरा: प्रभु येशू छुटकाराको काम गर्न आउनुभयो, र प्रभु येशूले बोल्नुभएका सबै वचनहरू सत्यता हुन् र तिनको अख्तियार छ। फरिसीहरूले यसको प्रतिक्रिया कसरी दिए? प्रभु येशूका वचनहरूमा अख्तियार र शक्ति छ भनी तिनीहरूले स्विकारे पनि, तिनीहरूले तिनलाई नस्विकारेको मात्र नभई तिनको भर्त्सना र ईशनिन्दा समेत गरे। त्यो केको लागि थियो? त्यो किन थियो भने तिनीहरूले सत्यतालाई प्रेम गर्दैनथे, र तिनीहरू हृदयदेखि नै सत्यताको प्रतिकूल थिए र सत्यतालाई घृणा गर्थे। प्रभु येशूले भन्नुभएको सबै कुरामा उहाँ सही हुनुहुन्थ्यो, उहाँका वचनहरूमा अख्तियार र शक्ति थियो, उहाँ कुनै रूपले गलत हुनुहुन्थेन, र उहाँमाथि तिनीहरूको कुनै प्रभाव थिएन भनी तिनीहरूले स्विकारे। तर तिनीहरू प्रभु येशूलाई निन्दा गर्न चाहन्थे, त्यसैले तिनीहरूले छलफल र षड्यन्त्र गरे, र “उहाँलाई क्रुसमा टाँगे। कि त ऊ रहनेछैन, कि हामी रहनेछैनौँ” भने, र फरिसीहरूले प्रभु येशूलाई यसरी नै अवज्ञा गरे। त्यसबेला कसैले पनि सत्यता बुझेन, र कसैले पनि प्रभु येशूलाई देहधारी परमेश्वर भनेर चिन्न सकेन। तर मानव दृष्टिकोणबाट हेर्दा, प्रभु येशूले धेरै सत्यताहरू व्यक्त गर्नुभयो, पिशाचहरूलाई निष्कासन गर्नुभयो, र बिरामीहरूलाई निको पार्नुभयो। उहाँले थुप्रै आश्चर्यकर्महरू गर्नुभयो, पाँच वटा रोटी र दुईवटा माछाले नै ५,००० जनालाई भोजन गराउनुभयो, अनेकौँ असल कार्यहरू गर्नुभयो, र मानिसहरूलाई अति धेरै अनुग्रह प्रदान गर्नुभयो। यस्ता असल र धर्मी मानिसहरू कमै मात्र हुन्छन्, त्यसोभए फरिसीहरू किन प्रभु येशूको निन्दा गर्न चाहन्थे? तिनीहरू किन उहाँलाई क्रुसमा टाँग्न त्यति दृढ थिए? तिनीहरूले प्रभु येशूको साटो कुनै अपराधीलाई छोड्न चाहनुले धार्मिक संसारका फरिसीहरू कति दुष्ट र दुर्भावनापूर्ण थिए भन्ने कुरा देखाउँछ। तिनीहरू अति नै दुष्ट थिए! फरिसीहरूले लुकाएको दुष्ट मुहार र तिनीहरूको देखावटी, बाहिरी दयाबीचको भिन्नता यति ठूलो थियो कि धेरै मानिसहरूले कुन साँचो हो र कुन झूटो हो भनी छुट्याउनै सकेनन्, तर प्रभु येशूको देखापराइ र कामले ती सबैको खुलासा गरिदियो। फरिसीहरूले प्रायः यति राम्ररी आफ्नो भेष बदल्थे र बाहिरी रूपले तिनीहरू यतिसम्म धार्मिक देखिन्थे कि तिनीहरूले त्यति क्रूर तरिकाले प्रभु येशूलाई प्रतिरोध गर्न र सताउन सक्छन् भनेर कसैले कल्पना समेत गरेको थिएन होला। यदि तथ्यहरू खुलासा नगरिएको भए, तिनीहरूको सारलाई कसैले पनि चिन्न सक्ने थिएनन्। देहधारी परमेश्वरले दिनुभएको सत्यताको अभिव्यक्तिले मान्छेको बारेमा अत्यन्तै धेरै खुलासाहरू गर्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
बाइबलमा, येशू स्वयम् र उहाँले गर्नुभएका कामहरूको बारेमा फरिसीहरूको मूल्याङ्कन यस्तो थियो: “… तिनीहरूले भने, उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्न। … त्यससँग बालजिबुल छ, र त्यसले भूतहरूको राजकुमारद्वारा भूतहरूलाई निकाल्छ” (मर्कूस ३:२१-२२)। प्रभु येशूको बारेमा शास्त्री र फरिसीहरूको न्याय तिनीहरूले अन्य मानिसहरूका वचनहरू अनुकरण गरेर भनेका मात्र थिएनन्, न त त्यो आधारहीन अनुमान नै थियो—यो प्रभु येशूका कार्यहरूका बारेमा तिनीहरूले जे देखे र सुने त्यसबाट तिनीहरूले निकालेको निष्कर्ष थियो। तिनीहरूको निष्कर्ष बाहिरी रूपमा न्यायको नाउँमा गरिएको जस्तो अनि मानिसको नजरमा त्यो न्यायसङ्गत जस्तो देखिएको भए तापनि, तिनीहरूले जुन अहङ्कारले प्रभु येशूलाई न्याय गरे, त्यो तिनीहरूले समेत सहन कठिन थियो। प्रभु येशूप्रतिको तिनीहरूको घृणाको उन्मत्त ऊर्जाले तिनीहरूको आफ्नै जङ्गली आकांक्षाहरू अनि दुष्ट शैतानिक मुखाकृति, साथै द्वेषपूर्ण स्वभावलाई उजागर गरेको थियो जसद्वारा तिनीहरू परमेश्वरको विरोध गर्थे। प्रभु येशूको न्याय गर्दा तिनीहरूले भनेका यी कुराहरू तिनीहरूका पागलपूर्ण आकांक्षाहरू, ईर्ष्या, अनि परमेश्वर र सत्यताप्रति तिनीहरूको शत्रुताको कुरूप र द्वेषपूर्ण प्रकृतिबाट प्रेरित थिए। तिनीहरूले प्रभु येशूका कामहरूको स्रोतबारे अनुसन्धान गरेनन्, न त उहाँले भन्नुभएको वा गर्नुभएको कामको सारलाई नै अनुसन्धान गरे। त्यसको साटो, उहाँले गर्नुभएको कामलाई तिनीहरूले उन्मादपूर्ण उत्तेजनाको अवस्थामा अनि जानाजानी द्वेष भावनाले आक्रमण र अपमान गरे। यहाँसम्म कि उहाँको आत्मा अर्थात् पवित्र आत्मा, जुन परमेश्वरका आत्मा हो, उहाँलाई जानी-जानी अपमान गरे। तिनीहरूले “उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्न,” “बालजिबुल,” र “भूतहरूको राजकुमार” भनी भन्नुको अर्थ यही हो। भनाइको अर्थ, तिनीहरूले परमेश्वरका आत्मालाई बालजिबुल तथा दुष्ट आत्माहरूको राजकुमार हो भनी भने। परमेश्वरको देहधारी आत्मा, जसले देह धारण गर्नुभएको थियो, उहाँको कामलाई तिनीहरूले पागलपनको संज्ञा दिए। तिनीहरूले परमेश्वरका आत्मालाई बालजिबुल र दियाबलसहरूका राजा भनेर मात्र निन्दा गरेनन्, तर परमेश्वरको कामलाई तिरस्कार गरे अनि प्रभु येशूलाई तिरस्कार र निन्दा गरे। परमेश्वरप्रतिको तिनीहरूको विरोध र निन्दाको सार शैतान तथा दुष्ट आत्माद्वारा परमेश्वरप्रति गरिएको विरोध र निन्दाको सारसित पूर्ण रूपले समान थियो। त्यसले भ्रष्ट मानिसहरूलाई मात्र प्रतिनिधित्व गर्दैनथ्यो तर धेरै हदसम्म, ती शैतानको नै मूर्त रूप थिए। मानवजातिको माझमा तिनीहरू शैतानको माध्यम थिए, अनि तिनीहरू शैतानको मतियार तथा नोकर थिए। प्रभु येशू ख्रीष्टप्रतिको तिनीहरूको निन्दा र तिनीहरूको बदनामीको सार प्रतिष्ठाको निम्ति परमेश्वरसितको तिनीहरूको संघर्ष थियो, परमेश्वरसितको तिनीहरूको द्वन्द्व थियो, अनि परमेश्वरलाई तिनीहरूले गरेको अन्त्यहीन परीक्षा थियो। परमेश्वरप्रतिको तिनीहरूको विरोधको सार तथा उहाँप्रतिको तिनीहरूको शत्रुताको मनोवृत्ति, साथै तिनीहरूका वचन तथा तिनीहरूका विचारहरूले प्रत्यक्ष रूपमा परमेश्वरका आत्मालाई निन्दा गरेको र क्रोधित तुल्याएको थियो। यसरी, तिनीहरूले जे भने र गरे, त्यस अनुसार परमेश्वरले एउटा उचित न्याय निर्धारित गर्नुभयो, अनि तिनीहरूका कार्यहरूलाई पवित्र आत्माको विरुद्धमा गरिएको पाप भएको ठहर गर्नुभयो। यो पाप यस संसारमा अनि आउने संसारमा पनि अक्षम्य हुन्छ, जुन कुरालाई धर्मशास्त्रको निम्न खण्डमा प्रमाणित गरिएको छ: “मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्वरनिन्दा क्षमा गरिनेछैन,” र, “जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा।”
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
यहूदी फरिसीहरूले येशूको भर्त्सना गर्न मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यो समयमा येशूसँग अनुकूल हुने प्रयास गरेनन्, बरु तिनीहरूले यति लगनशीलताको साथ व्यवस्थाको शब्द-शब्द पछ्याए कि—पुरानो करारको व्यवस्थालाई पालन नगरेको र मसीह नभएको आरोप उहाँलाई लगाएपछि—तिनीहरूले आखिरमा निर्दोष येशूलाई क्रूसमा टाँगिछोडे। तिनीहरूको सार के थियो? के त्यो तिनीहरूले सत्यतासित अनुकूल हुने मार्ग नखोज्नु नै थिएन र? तिनीहरूले धर्मशास्त्रको एक-एक शब्दलाई मात्र ध्यान दिए, तर तिनीहरूले न त मेरा अभिप्रायहरूलाई ध्यान दिए न त मेरो कामका पाइला र विधिहरूलाई नै ध्यान दिए। तिनीहरू सत्यताको खोजी गर्ने मानिसहरू थिएनन्, बरु शब्दहरूमा कठोरतासाथ टाँसिने मानिसहरू थिए; तिनीहरू परमेश्वरमा विश्वास गर्ने मानिसहरू थिएनन्, बरु बाइबलमा विश्वास गर्ने मानिसहरू थिए। सारगत रूपमा, तिनीहरू बाइबलको रक्षा गर्ने कुकुरहरू थिए। बाइबलका हितहरूको सुरक्षा गर्न, बाइबलको इज्जतलाई कायम राख्न, र बाइबलको मर्यादाको संरक्षण गर्न, तिनीहरूले कृपालु येशूलाई क्रूसमा टाँग्ने हदसम्म गए। तिनीहरूले केवल बाइबलको प्रतिरक्षा गर्नको खातिर, र मानिसहरूका हृदयमा बाइबलका एक-एक शब्दको हैसियतलाई कायम गर्नको खातिर तिनीहरूले यसो गरे। त्यसकारण, तिनीहरूले धर्मशास्त्रको सिद्धान्तअनुरूप नरहनुभएका येशूलाई मृत्युदण्ड दिन आफ्नो भविष्य र पापबलि त्याग्न रुचाए। के तिनीहरू सबै नै धर्मशास्त्रका एक-एक वचनका दास थिएनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले ख्रीष्टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ
सम्बन्धित चलचित्र उद्धरणहरू
पाखण्डी फरिसीहरूलाई किन दुःख आइपऱ्यो?
फरिसीहरूले परमेश्वरको विरोध गर्नुको सार के हो?
धार्मिक फरिसीहरूको सार कसरी खुट्ट्याउने
सम्बन्धित भजनहरू
फरिसीहरूको येशूप्रतिको प्रतिरोधको जड
बाइबललाई प्रयोग गरेर परमेश्वरलाई निन्दा गर्नेहरू सबै फरिसी हुन्