बाइबल सम्बन्धमा (४)

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनुसरह हो—तर वास्तवमा, कामकुराहरू के यति सरल छन् र? बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो त परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणको गवाही भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कार्यको उद्देश्यको बारेमा कुनै बुझाइ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको परमेश्‍वरको कामका दुई चरणहरू प्रस्तुत गर्छ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यलाई वर्णन गर्छ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामको अभिलेख गर्छ जुन सुसमाचारका चार पुस्तकहरूका साथै पावलको काममा पनि उल्लिखित छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति नै सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्‍वरले इतिहासलाई फर्केर हेर्नुहुन्‍न! यसैले, यदि तैँले केवल बाइबललाई मात्रै बुझ्छस्, र आज परमेश्‍वरले गर्न चाहनुभएको कामको बारेमा केही बुझ्दैनस् भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, परमेश्‍वरको खोजी गर्नुको अर्थ के हो तँलाई थाहा छैन। यदि तँ इस्राएलको इतिहासको अध्ययन गर्न, परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको इतिहासको अनुसन्धान गर्न बाइबल पढ्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तँ परमेश्‍वरमा विश्‍वास गर्ने र जीवनको पछि लाग्‍ने तर परमेश्‍वरको ज्ञानको खोजी गर्ने, र मृत वचन र धर्मसिद्धान्तहरू वा इतिहास बुझ्‍ने प्रयासको पछि नलाग्‍ने हुनाले, तैँले आजको परमेश्‍वरको इच्छा, र पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ। यदि तँ पुरातत्वविद्‌ होस् भने तैँले बाइबल पढ्न सक्‍नेथिइस्—तर तँ पुरातत्वविद्‌ होइनस्, तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्, र तैँले आजको परमेश्‍वरको इच्छाको खोजी गर्नु नै उत्तम हुनेछ। बाइबल पढेर बढीमा तैँले इस्राएलको थोरै इतिहास बुझ्न सक्‍नेछस्, अब्राहाम, दाऊद र मोशाको जीवनको बारेमा जान्‍न सक्‍नेछस्, उनीहरूले कसरी यहोवाको डर माने र उहाँको विरोध गर्नेहरूलाई यहोवाले कसरी जलाउनुभयो, र उहाँले त्यो युगका मानिसहरूसँग कसरी बोल्नुभयो भनेर तैँले पत्ता लगाउनेछस्। तैँले केवल विगतमा परमेश्‍वरले गर्नुभएको कामको बारेमा पत्ता लगाउनेछस्। बाइबलका अभिलेखहरू प्रारम्भिक इस्राएलका मानिसहरूले कसरी परमेश्‍वरको डर माने र यहोवाको अगुवाइमा जीवन बिताए भन्‍ने कुरासँग सम्बन्धित छन्। इस्राएलीहरू परमेश्‍वरका चुनिएका मानिसहरू थिए, त्यसकारण पुरानो करारमा तैँले इस्राएलका सबै मानिसहरूमा यहोवाप्रतिको बफादारिता के-कस्तो थियो, कसरी यहोवाको आज्ञापालन गर्नेहरू सबैले उहाँबाट हेरचाह पाए र कसरी उहाँले तिनीहरूलाई आशिष् दिनुभयो भनेर देख्‍न सक्छस्; जब परमेश्‍वरले इस्राएलमा काम गर्नुभयो उहाँ कृपा र प्रेमले भरिपूर्ण हुनुहुन्थ्यो, साथसाथै उहाँले भस्म पार्ने आगोको ज्वाला पनि धारण गर्नुभएको थियो, र निम्‍नस्तरका देखि लिएर शक्तिशालीसम्मका सारा इस्राएलीहरूले यहोवाको डर मान्थे र त्यसैले सम्पूर्ण राष्ट्र नै परमेश्‍वरद्वारा आशिषित थियो भन्‍ने कुरा तैँले जान्‍न सक्छस्। पुरानो करारमा अभिलेख गरिएको इस्राएलको इतिहास यही हो।

बाइबल इस्राएलमा परमेश्‍वरले गर्नुभएको कार्यको ऐतिहासिक अभिलेख हो, र यसले प्राचीन अगमवक्ताहरूका धेरै अगमवाणीका साथै यहोवाले त्यस समय उहाँको कार्यको दौरान बोल्‍नुभएका केही वाणीहरूको अभिलेख गर्छ। यसैले, सबै मानिसहरूले यस पुस्तकलाई पवित्र ठान्छन् (किनकि परमेश्‍वर पवित्र र महान् हुनुहुन्छ)। अवश्य नै, यी सबै यहोवाको डर मान्ने र परमेश्वरको भक्ति गर्ने तिनीहरूको हृदयको परिणाम हो। परमेश्‍वरका सृष्टिहरूले आफ्ना सृष्टिकर्ताको यति डर मान्ने र प्रिय ठान्‍ने भएकाले मात्रै मानिसहरूले यो पुस्तकलाई यसरी उल्‍लेख गर्छन्, र केही मानिसहरूले त यस पुस्तकलाई स्वर्गीय पुस्तक भनेर पनि भन्‍ने गर्छन्। वास्तवमा, यो मानव अभिलेख मात्र हो। यसलाई व्यक्तिगत तवरमा यहोवाले नामाकरण गर्नुभएको थिएन, न त यसको रचना गर्नको लागि यहोवाले व्यक्तिगत तवरमा अगुवाइ नै गर्नुभयो। अर्को शब्दमा भन्दा, यस पुस्तकको लेखक परमेश्‍वर होइनन्, मानिसहरू हुन्। पवित्र बाइबल केवल मानिसले यसलाई दिएको सम्‍मानजनक नाम मात्र हो। यो नामको बारेमा यहोवा र येशूले एकअर्कासँग छलफल गर्नुभएर निर्णय गर्नुभएको थिएन; यो मानव विचारभन्दा बढी केही पनि होइन। किनकि यो पुस्तक यहोवाले लेख्‍नुभएको थिएन, येशूले लेख्‍नुभएको हुने कुरा त परै जाओस्। यसको सट्टा, यो धेरै प्राचीन अगमवक्ता, प्रेरित र द्रष्टाहरूले मानिसहरूका लागि दिएका विवरणहरू हुन् जसलाई पछिल्ला पुस्ताले प्राचीन लेखहरूको पुस्तकको रूपमा सङ्ग्रहित गरे, र यो पुस्तक मानिसहरूको लागि विशेष रूपमा पवित्र देखिन्छ, अर्थात् तिनीहरू यो पुस्तकमा भविष्यका पुस्ताहरूद्वारा खोलिने धेरै अतुलनीय र गहिरा रहस्यहरू समावेश छन् भन्‍ने विश्‍वास गर्छन्। त्यसैले, मानिसहरू यो पुस्तक स्वर्गीय पुस्तक हो भनेर विश्‍वास गर्न अझ बढी चाहना गर्छन्। चार सुसमाचार र प्रकाशको पुस्तकलाई यसमा जोडेपछि त, यसप्रति मानिसहरूको मनोवृत्ति अरू कुनै पनि पुस्तकप्रतिभन्दा विशेष रूपमा फरक हुन्‍छ, र कसैले पनि यो “स्वर्गीय पुस्तक” को चिरफार गर्ने आँट गर्दैन किनकि यो एकदमै “पवित्र” छ।

किन बाइबल पढ्नेबित्तिकै मानिसहरूले यसमा अभ्यास गर्ने उचित मार्गहरू पाउन सक्छन्? किन तिनीहरू आफूले बुझ्न नसक्‍ने धेरै कुराहरू प्राप्त गर्न सक्छन्? आज, म बाइबललाई यस तरिकाले चिरफार गर्दै छु तर यसको मतलब म यसलाई घृणा गर्छु, वा म सन्दर्भको रूपमा रहेको यसको मूल्यलाई अस्वीकार गर्छु भन्‍ने होइन। म तँलाई अन्धकारमा पारिनबाट रोक्‍नको लागि बाइबलको अन्तर्निहित मूल्य र उत्पत्तिबारे व्याख्या र स्पष्टता प्रदान गर्दै छु। मानिसहरूमा बाइबलको बारेमा अत्यन्तै धेरै दृष्टिकोणहरू छन्, र तीमध्ये धेरै त गलत नै छन्; त्यसैले, यस तरिकाले बाइबल पढ्दा यसले उनीहरूलाई उनीहरूले जे प्राप्त गर्नुपर्ने हो त्यो प्राप्त गर्नबाट रोक्‍ने मात्र होइन, अझ महत्त्वपूर्ण कुरा त के छ भने, यसले मैले गर्न चाहेको काममै बाधा पुर्‍याउँछ। यसले भविष्यको काममा ठूलो अवरोध खडा गर्छ, र लाभहरू होइन, केवल कमजोरीहरू प्रदान गर्छ। तसर्थ, मैले तँलाई जे सिकाइरहेको छु त्यो केवल बाइबलको सार र भित्री कथा हो। मैले तँलाई तैँले बाइबल पढ्नु हुँदैन, वा तैँले यो मूल्यहीन छ भनेर घोषणा गर्दै हिँड्नुपर्छ भनिरहेको छैनँ, बरु तँसँग बाइबलको सही ज्ञान र दृष्टिकोण हुनुपर्छ भनेर मात्र भनिरहेको छु। अत्यन्तै एकतर्फी नहो! बाइबल मानिसहरूद्वारा लेखिएको एउटा इतिहासको पुस्तक भए पनि, यसमा प्राचीन सन्त र अगमवक्ताहरूले जुन सिद्धान्तहरूद्वारा परमेश्‍वरको सेवा गर्थे त्यस्ता थुप्रै सिद्धान्तहरूका साथै परमेश्‍वरको सेवा गर्ने सम्बन्धमा प्रेरितहरूका भर्खरैका अनुभवहरू पनि राखिएका छन्—यी मानिसहरूले ती सबै कुरा वास्तवमै देखेका र जानेका थिए, र ती कुराले यस युगका मानिसहरूलाई साँचो मार्ग खोजी गर्नमा सन्दर्भको रूपमा काम गर्न सक्छन्। तसर्थ, बाइबल पढ्दा मानिसहरूले जीवनका थुप्रै मार्गहरू पनि प्राप्त गर्न सक्छन् जुन अरू पुस्तकहरूमा पाउन सकिँदैन। यी मार्गहरू विगतका युगहरूमा अगमवक्ता र प्रेरितहरूले अनुभव गरेका पवित्र आत्माको कामका जीवन मार्गहरू हुन्, र तीमध्ये धेरैजसो वचनहरू मूल्यवान् छन्, र तिनले मानिसहरूलाई चाहिने आवश्यक कुराहरू प्रदान गर्न सक्छन्। तसर्थ, सबै मानिसहरू बाइबल पढ्न मन पराउँछन्। बाइबलमा धेरै कुरा लुकेका छन्, तसर्थ महान् आत्मिक व्यक्तित्वहरूका लेखहरूप्रति भन्दा यसप्रति मानिसहरूको धारणा फरक छ। पुरानो र नयाँ युगमा यहोवा र येशूको सेवा गर्ने व्यक्तिहरूको अनुभव र ज्ञानहरूको अभिलेख र सङ्ग्रह नै बाइबल हो, र पछि आउने पुस्ताहरूले अभ्यास गर्नलाई यसबाट धेरै अन्तर्ज्ञान, प्रकाश र मार्गहरू प्राप्त गर्न सक्षम भएका छन्। बाइबल कुनै पनि महान् आत्मिक व्यक्तित्वका लेखहरूभन्दा उच्‍च हुनुको कारण के हो भने, उनीहरूका सबै लेखहरू बाइबलबाट लिइएका हुन्, उनीहरूका सबै अनुभवहरू बाइबलबाट आएका हुन् र ती सबैले बाइबलको व्याख्या गर्छन्। मानिसहरूले कुनै पनि महान् आत्मिक व्यक्तित्वका पुस्तकहरूबाट पोषण प्राप्त गर्न सक्‍ने भए पनि, उनीहरूले अझै पनि बाइबललाई नै पुज्छन्, किनकि यो उनीहरूका लागि अत्यन्तै महान् र गहन देखिन्छ! बाइबलले पावलका पत्रहरू र पत्रुसका पत्रहरूजस्ता जीवनका वचनहरूका केही पुस्तकहरूलाई एकट्ठा गरेको भए पनि, र मानिसहरूलाई यी पुस्तकहरूले पोषण दिन र मद्दत गर्न सक्‍ने भए पनि, यी पुस्तकहरू पुरानो भइसकेका छन्, ती अझै पुरानै युगमा पर्छन्, र ती जतिसुकै राम्रो भए पनि, ती केवल एक अवधिको लागि मात्र उपयुक्त छन्, अनन्त छैनन्। किनकि परमेश्‍वरको काम सँधै विकसित भइरहेको हुन्छ, र यो केवल पावल र पत्रुसको समयमा रोकिएर बस्‍न सक्दैन, वा सँधैभरि येशूलाई क्रूसमा टाँगिएको अनुग्रहको युगमा रहिरहन सक्दैन। त्यसैले, यी पुस्तकहरू अनुग्रहको युगका लागि मात्र उपयुक्त छन्, आखिरी दिनहरूको राज्यको युगको लागि उपयुक्त छैनन्। तिनीहरूले केवल अनुग्रहको युगका विश्‍वासीहरूका लागि पोषण प्रदान गर्न सक्छन्, राज्यको युगका सन्तहरूको लागि सक्दैनन्, र ती जतिसुकै राम्रो भए पनि ती पुराना छन्। यहोवाले गर्नुभएको सृष्टिको काम वा इस्राएलमा उहाँले गर्नुभएको कार्य पनि यस्तै हो: यो काम जतिसुकै महान् भएको भए पनि, यो पुरानो हुनेवाला नै थियो र त्यो बितेर जाने समय आउनेवाला नै थियो। परमेश्‍वरको काम पनि यस्तै हो: यो महान् छ, तर यो समाप्त हुने समय आउने नै छ; यो सँधै सृष्टिको कार्यमाझ रहन सक्दैन, न त क्रूसीकरणको माझमा नै रहन सक्छ। क्रूसीकरणको काम जति नै विश्‍वासलाग्दो भए पनि, शैतानलाई पराजित गर्न यो जतिसुकै प्रभावकारी भए पनि, काम आखिर काम नै हो, र युगहरू आखिर युगहरू नै हुन्। काम सधैँ उही जगमा रहन सक्दैन, न त समय कहिल्यै परिवर्तन नहुने नै हुन्छ, किनकि सृष्टि भएको थियो र आखिरी दिनहरू पनि हुनैपर्छ। यो अपरिहार्य छ! त्यसकारण, आज नयाँ करारमा रहेका जीवनका वचनहरू—प्रेरितहरूका पत्रहरू, र सुसमाचारका चार पुस्तकहरू—ऐतिहासिक पुस्तकहरू भएका छन्, तिनीहरू पुरानो पञ्‍चाङ्ग भएका छन्, र पुरानो पञ्‍चाङ्गले कसरी मानिसहरूलाई नयाँ युगमा प्रवेश गराउन सक्छन्? यी पञ्‍चाङ्गहरू जीवन प्रदान गर्न जति नै सक्षम भए पनि, मानिसहरूलाई क्रूसमा अगुवाई गर्न जति नै सक्षम भए पनि, के ती पुराना भएका छैनन् र? के ती मूल्यहीन भएका छैनन् र? यसैले, म भन्छु तैँले अन्धो भएर यी पञ्‍चाङ्गहरूमा विश्‍वास गर्नु हुँदैन। ती धेरै पुराना भइसकेका छन्, तिनले तँलाई नयाँ काममा ल्याउन सक्दैनन्, र तिनले तँलाई बोझ मात्रै दिन सक्छन्। तिनले तँलाई नयाँ काम र नयाँ प्रवेशमा ल्याउन त के सक्थे र, बरु उल्टै तँलाई पुराना धार्मिक मण्डलीहरूमा चाहिँ लैजान्छन्—र यदि त्यसो भयो भने, के तँ परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा प्रतिगमन गरिरहेको हुनेथिनस् र?

बाइबलले इस्राएलका चुनिएका मानिसहरूले गरेका केही कुराहरू र इस्राएलमा परमेश्‍वरले गर्नुभएको कामको अभिलेख गरेको छ। केही अंशहरू समावेश गर्ने वा हटाउने भनेर चयन गरिएका थिए; यसको बाबजुत पनि पवित्र आत्माले स्वीकृति दिनुभएन, तर उहाँले कुनै दोष पनि दिनुभएन। बाइबल विशुद्ध रूपमा इस्राएलको इतिहास हो, जुन परमेश्‍वरको कार्यको इतिहास पनि हो। अवश्य नै, यशैया, दानिएल र अन्य अगमवक्ताहरूका अगमवाणीहरू, वा यूहन्‍नाका दर्शनहरूको पुस्तकबाहेक यसमा अभिलेख गरिएका मानिस, मामिला, र वस्तुहरू सबै वास्तविक थिए, र तीमध्ये कुनैको पनि चिन्‍हगत अर्थ थिएन। इस्राएलका प्रारम्भिक मानिसहरू ज्ञानी र सभ्य थिए, र तिनीहरूको प्राचीन ज्ञान र संस्कृति उन्‍नत थियो, र यसैले तिनीहरूले जे लेखेका थिए ती आजका मानिसहरूले लेख्‍नेभन्दा उच्‍चस्तरको थियो। यसकारण, तिनीहरूले ती पुस्तकहरू लेख्‍न सक्‍नु कुनै अनौठो कुरा होइन, किनभने यहोवाले तिनीहरूका माझमा धेरै काम गर्नुभएको थियो र तिनीहरूले धेरै कुरा देखेका थिए। दाऊदले यहोवाका कार्यहरू आफ्नै आँखाले देखे, उनले व्यक्तिगत रूपमा ती अनुभव गरे, र धेरै चिह्न र चमत्कारहरू देखे, र उनले यहोवाका कार्यहरूको प्रशंसामा ती सबै भजनहरू लेखे। तिनीहरूसँग असाधारण प्रतिभा भएको कारणले नभई निश्‍चित अवस्थाहरूको कारण तिनीहरूले यी पुस्तकहरू लेख्‍न सके। तिनीहरूले यहोवाको प्रशंसा गरे किनभने तिनीहरूले उहाँलाई देखेका थिए। यदि तैँले यहोवाको केही पनि देखेको छैनस् भने, र उहाँको अस्तित्वबारे तँ अनजान छस् भने, तैँले कसरी उहाँको प्रशंसा गर्न सक्छस्? यदि तिमीहरूले यहोवालाई देखेका छैनौ भने, तिमीहरूले उहाँको प्रशंसा गर्न जान्‍नेथेनौ, न त उहाँको उपासना गर्न नै जान्‍नेथ्यौ, तिमीहरूले उहाँको गुणगान गाउने गीत लेख्‍न सक्‍नु त परै जाओस्, र तिमीहरूलाई यहोवाका केही कामहरूको कथा लेख्‍न भनियो भने पनि, तिमीहरूले त्यसो गर्न सक्‍नेथेनौ। आज तिमीहरूले परमेश्‍वरको प्रशंसा गर्न सक्छौ र परमेश्‍वरलाई प्रेम गर्न सक्छौ किनकि तिमीहरूले उहाँलाई देखेका छौ र उहाँको कामको पनि अनुभव गरेका छौ—र यदि तिमीहरूको क्षमता सुधारिन्छ भने, के तिमीहरूले पनि दाऊदले जस्तै परमेश्‍वरको प्रशंसामा कविताहरू लेख्‍न सक्‍नेछैनौ र?

बाइबल बुझ्नु, इतिहास बुझ्नु, तर पवित्र आत्माले आज के गर्दै हुनुहुन्छ भनेर नबुझ्नु—त्यो गलत हो! तैँले इतिहासको अध्ययनमा निकै राम्रो गरेको छस्, तैँले एउटा उत्कृष्ट काम गरेको छस्, तर पवित्र आत्माले आज गर्नुहुने कामको बारेमा तैँले केही बुझ्दैनस्। के यो मूर्खता होइन र? अरू मानिसहरूले तँलाई सोध्छन्: “आज परमेश्‍वर के गर्दै हुनुहुन्छ? आज तपाईं के कुरामा प्रवेश गर्नुपर्छ? तपाईंको जीवनको खोज कस्तो भइरहेको छ? के तपाईं परमेश्‍वरको इच्छालाई बुझ्नुहुन्छ?” तँसँग उनीहरूले सोधेको कुनै प्रश्‍नको उत्तर हुनेछैन—त्यसैले तँलाई के थाहा छ र? तैँले भन्‍नेछस्: “मलाई त मैले आफ्नो देहप्रति पिठिउँ फर्काउनुपर्छ र आफैलाई चिन्‍नुपर्छ भन्‍ने मात्र थाहा छ।” अनि यदि तिनीहरूले “तपाईंलाई अरू के थाहा छ?” भनेर सोधे भने, तँलाई परमेश्‍वरको सबै बन्दोबस्तहरू पालन गर्नेबारेमा थाहा छ, र तैँले बाइबलको थोरै इतिहासको बारेमा बुझेको छस्, र यति नै हो भनेर तैँले भन्‍नेछस्। के यतिका वर्षहरूमा परमेश्‍वरमाथि विश्‍वास गरेर तैँले प्राप्त गरेको कुरा यति नै हो त? यदि तैँले बुझेको सबै कुरा यति नै हो भने, तँसँग धेरै कुराको कमी छ। यसैले, तिमीहरूको हालको कद आधारभूत रूपमा मैले तिमीहरूबाट चाहेको कुरा हासिल गर्न असमर्थ छ, र तिमीहरूको फरक छुट्याउने क्षमताका साथै तिमीहरूले बुझ्ने सत्यताहरू पनि साना छन्—भन्‍नुको अर्थ, तिमीहरूको विश्‍वास एकदम सतही छ! तिमीहरू अझ बढी सत्यताले सुसज्‍जित हुनुपर्छ, तिमीहरूलाई अझ बढी ज्ञानको आवश्यकता छ, तिमीहरूले अझ धेरै कुराहरू देख्‍नुपर्छ, त्यसपछि मात्र तिमीहरू सुसमाचार फैलाउन सक्षम हुनेछौ, किनकि तिमीहरूले हासिल गर्नुपर्ने भनेकै यही हो!

अघिल्लो: बाइबल सम्बन्धमा (३)

अर्को: अभ्यास (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्