परमेश्‍वर देखा पर्नु र उहाँको काम

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४६

सियोनमा प्रशंसा आएको छ र परमेश्‍वरको वासस्थान देखा परेको छ। महिमित पवित्र नामलाई असङ्ख्य मानिसहरूले गुणगान गर्छन् र त्यो फैलिरहेको छ। आहा, सर्वशक्तिमान् परमेश्‍वर! ब्रह्माण्डका शिर, आखिरी दिनहरूका ख्रीष्ट—उहाँ सारा ब्रह्माण्डभित्र, प्रतापी र भव्य सियोन पर्वतमाथि उदाउनुभएको चम्किलो सूर्य हुनुहुन्छ …

हे सर्वशक्तिमान् परमेश्‍वर! हामी हर्षोल्लासका साथ तपाईंलाई पुकार्छौँ; हामी नाच्छौँ र गाउँछौँ। तपाईं साँच्चै हाम्रा उद्धारक हुनुहुन्छ, ब्रह्माण्डका महान् राजा! तपाईंले विजेताहरूको एउटा समूह बनाउनुभएको छ र परमेश्‍वरको व्यवस्थापनको योजना पूरा गर्नुभएको छ। असङ्ख्य मानिसहरू यो पर्वतमा ओइरिएर आउनेछन्। असङ्ख्य मानिसहरूले सिंहासनको सामु घुँडा टेक्नेछन्! तपाईं एकमात्र साँचो परमेश्‍वर हुनुहुन्छ र तपाईं महिमा र आदर योग्य हुनुहुन्छ। सारा महिमा, प्रशंसा र अख्तियार सिंहासनलाई होस्! त्यो सिंहासनबाट जीवनको मुहान बग्दछ, त्यसले परमेश्‍वरका सबै मानिसहरूलाई मलजल गर्छ र खुवाउँछ। प्रत्येक दिन हाम्रो जीवन परिवर्तन हुन्छ; नयाँ ज्योति र नयाँ प्रकाशले हामीलाई पछ्याउँछन्, र निरन्तर परमेश्‍वरका विषयमा नयाँ अन्तर्ज्ञानहरू दिन्छन्। अनुभवहरूका बीचमा हामी परमेश्‍वरको विषयमा पूर्ण निश्‍चयतामा पुग्छौँ। उहाँका वचनहरू निरन्तर देखा पर्छन्, जो सही छन् तिनीहरूमा देखा पर्छन्। हामी वास्तवमै अत्यन्तै आशिषित छौँ! हामी प्रत्येक दिन परमेश्‍वरसित आमने-सामने हुन्छौँ, सबै कुरामा परमेश्‍वरसित सङ्गति गर्छौँ र सबै कुरामाथि परमेश्‍वरलाई नियन्त्रण लिन दिन्छौँ। हामी होसियारीसाथ परमेश्‍वरको वचन मनन गर्छौँ, हाम्रा हृदयहरू परमेश्‍वरमा शान्त भई विश्राम गर्छन् अनि यसरी हामी परमेश्‍वरको सामु आउँछौँ जहान हामी उहाँको ज्योति पाउँछौँ। प्रत्येक दिन हाम्रा जीवनमा, कार्यहरूमा, शब्दहरूमा, सोच र विचारहरूमा हामी परमेश्‍वरको वचनभित्र जिउँछौँ, र हामीले हरसमय कामकुरा खुट्ट्याउन सक्छौँ। परमेश्‍वरको वचनले धागोलाई सियोबाट छिराउँछ; अप्रत्याशित रूपमा, हामीभित्र लुकेका कुराहरू एकपछि अर्को गर्दै ज्योतिमा आउँछन्। परमेश्‍वरसितको सङ्गतिले ढिलाइ सहन गर्दैन; हाम्रा सोच र विचारहरू परमेश्‍वरद्वारा उदाङ्गो पारिन्छन्। प्रत्येक क्षण हामी ख्रीष्टको आसनको अघि जिइरहेका हुन्छौँ जहाँ हामीले न्याय अनुभव गर्छौँ। हाम्रो शरीरभित्रका प्रत्येक ठाउँ शैतानद्वारा अझै ओगटिएको छ। आज, परमेश्‍वरको राजकीय शासन पुनःस्थापित गर्नका निम्ति उहाँको मन्दिर शुद्ध पारिनु नै पर्छ। पूर्ण रूपमा परमेश्‍वरद्वारा ओगटिनका लागि हामीले जीवन र मृत्युको सङ्घर्ष पार गर्नैपर्छ। हाम्रो पुरानो स्वरूप क्रूसमा टाँगिएपछि मात्र ख्रीष्टको पुनरुत्थान भएको जीवनले सर्वोच्च रूपमा शासन गर्न सक्छ।

अब पवित्र आत्माले हामीलाई पुनः दाबी गर्नका निम्ति लडाइँ गर्न हाम्रो हरेक कुनामा आक्रमण गर्नुहुन्छ! जबसम्म हामी आफैलाई इन्कार गर्न इच्छुक हुन्छौँ र परमेश्‍वरसित सहकार्य गर्न इच्छुक हुन्छौँ, परमेश्‍वरले निश्चय नै हरसमय हामीलाई भित्रैबाट ज्योति दिनुहुनेछ र शुद्ध गर्नुहुनेछ, अनि शैतानले जे कब्जा गरेको छ त्यो फेरि नयाँ गरी पुनः दाबी गर्नुहुनेछ, ताकि हामी चाँडोभन्दा चाँडो परमेश्‍वरद्वारा पूर्ण पारिन सकौँ। समय खेर नफाल—प्रत्येक क्षण परमेश्‍वरको वचनभित्र जिओ। सन्तहरूसितै वृद्धि हुँदै जाओ, राज्यभित्र तानिएर आओ, अनि परमेश्‍वरसँगसँगै महिमामा प्रवेश गर।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४७

फिलाडेल्फियाको मण्डलीले आकार लिएको छ, जुन पूर्ण रूपमा परमेश्‍वरको अनुग्रह र कृपाले गर्दा भएको हो। असङ्ख्यौं सन्तहरूमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय उत्पन्न हुन्छ, र तिनीहरू आफ्नो आत्मिक यात्रामा डगमगाउँदैनन्। तिनीहरू एक मात्र साँचो परमेश्‍वर देहधारी हुनुभएको छ, उहाँ ब्रह्माण्डका शिर हुनुहुन्छ, जसले सबै थोकलाई आज्ञा दिनुहुन्छ भन्‍ने आफ्नो विश्‍वासमा दृढ भई बस्छन्: यो पवित्र आत्माद्वारा गरिएको पुष्टि हो, यो पहाड जस्तै अटल छ! र यो कहिल्यै पनि परिवर्तन हुँदैन!

हे सर्वशक्तिमान् परमेश्‍वर! आज तपाईँ नै हुनुहुन्छ, जसले हाम्रा आत्मिक आँखा खोलिदिनुभएको छ, अन्‍धालाई देख्ने, लङ्गडोलाई हिँड्ने, कुष्ठरोगीलाई निको पार्नुभएको छ। तपाईँ नै हुनुहुन्छ, जसले स्वर्गको ढोका खोल्नुभएको छ, जसले हामीलाई आत्मिक क्षेत्रका रहस्यहरू बुझ्ने अनुमति दिनुभएको छ। तपाईँका पवित्र वचनहरूद्वारा व्याप्त भएर अनि हाम्रो मानवताबाट मुक्त पारेर, जुन शैतानद्वारा भ्रष्ट पारिएको थियो—अनुमान गर्न नसकिने तपाईँको काम र अनुमान गर्न नसकिने तपाईँको कृपा यस्तो छ। हामी तपाईँका साक्षीहरू हौं।

तपाईँ लामो समयसम्म लुकेर, नम्रतामा र चुपचाप रहनुभयो। तपाईँ मरेकोबाट पुनर्जीवित हुनुभयो, क्रूसमा कष्ट भोग्नुभयो, मानव जीवनको आनन्द र दुःखहरू र सतावट अनि कठिनाइ भोग्नुभयो; तपाईँले मानवीय संसारको पिडा अनुभव गर्नुभएको छ र चाख्‍नुभएको छ, अनि तपाईँलाई युगले त्यागी दिएको छ। देहधारी परमेश्‍वर स्वयम् नै परमेश्‍वर हुनुहुन्छ। परमेश्‍वरको इच्छाको खातिर तपाईँले हामीलाई गोबरको थुप्रोबाट मुक्त गर्नुभयो, तपाईँको दाहिने हातले माथि तान्नुभयो, र सित्तैँमा तपाईँको अनुग्रह दिनुभयो। कुनै पिडाहरू बाँकी नराखी तपाईँले हामीभित्र आफ्नो जीवन ल्याउनुभयो; तपाईँको रगत-पसिना र तपाईँले चुकाउनुभएको मूल्य सन्तहरूमा मूर्त भएको छ। हामी तपाईँको रगत-पसिनाका फल[क] हौँ; तपाईँले तिर्नुभएका दाम हामी नै हौँ।

हे सर्वशक्तिमान् परमेश्‍वर! तपाईँको दया र कृपा, तपाईँको धार्मिकता र प्रताप, तपाईँको पवित्रता र नम्रताले गर्दा सबै मानिसहरू तपाईंको अगि निहुरिनेछन् अनि सारा अनन्ततासम्म तपाईँको आराधना गर्नेछन्।

आज तपाईँले सबै मण्डलीलाई पूर्ण बनाउनुभएको छ—फिलाडेल्फियाको मण्डली—अनि तपाईँको ६,००० वर्षको व्यवस्थापन योजना पूरा भएको छ। सन्तहरूले आत्मामा जोडिएर अनि प्रेममा रहँदै पछ्याएर, फोहराको मुहानसँग जोडिएर आफैलाई नम्रतापूर्वक तपाईँमा समर्पण गर्न सक्छन्। जीवनको जिउँदो पानी नरोकि बग्छ, मण्डलीमा भएको हिलो र फोहोर पानीलाई पखाल्छ र शुद्ध पार्दछ, यसरी एकचोटि फेरि तपाईँको मन्दिरलाई शुद्ध पार्दछ। हामीले व्यावहारिक सत्य परमेश्‍वरलाई चिनेका छौं, उहाँको वचनभित्र हिँडेका छौं, हाम्रा आफ्नै कार्यहरू र कर्तव्यहरू चिनेका छौं, अनि मण्डलीको खातिर आफैलाई खर्चन जे गर्न सक्छौं ती सबै गरेका छौं। तपाईँको सामु सधैँ चुपचाप रहेर हामीले पवित्र आत्माको काममा ध्यान दिनुपर्छ, नत्र हामीमा तपाईँको इच्छालाई बाधा हुन्छ। सन्तहरूको माझमा परस्पर प्रेम हुन्छ, अनि कसै-कसैका बलले अरूको असफलताहरूलाई पूर्ति गर्दछ। तिनीहरू पवित्र आत्माद्वारा ज्ञान र ज्योति पाएर हरसमय आत्मामा हिँड्न सक्षम हुन्छन्। तिनीहरूले सत्यता बुझेको लगत्तै त्यसलाई व्यवहारमा अपनाउँछन्। तिनीहरू नयाँ ज्योतिसँग कदम मिलाएर अनि परमेश्‍वरका पाइलाहरूलाई पछ्याएर हिँड्छन्।

सक्रिय भएर परमेश्‍वरसँग सहकार्य गर्; उहाँलाई अधीन गर्न दिनुको अर्थ उहाँको साथमा हिँड्नु हो। हाम्रा सबै धारणाहरू, विचारहरू, मन्तव्यहरू र सांसारिक अल्झोहरू धुवाँजस्तो पातलो बतासमा हराउँछ। हामी परमेश्‍वरलाई हाम्रा आत्माहरूमा सर्वोच्च शासन गर्न दिन्छौं, उहाँको साथमा हिँड्छौं र यसरी ज्ञानभन्दा परको अनुभव प्राप्त गर्छौं, संसारमाथि विजय पाउँछौं र हाम्रा आत्माहरू स्वतन्त्र भएर उड्छन् र तिनले छुटकारा प्राप्त गर्दछ: यो सर्वशक्तिमान् परमेश्‍वर राजा बन्नुहुँदा आउने परिणाम हो। हामी ननाची र प्रशंसाको गीत नगाई, हाम्रा प्रशंसा र नयाँ स्तुतिगानहरू भेटी नचढाई कसरी रहन सक्छौं?

साँच्चै परमेश्‍वरको प्रशंसा गर्ने तरिकाहरू धेरै छन्: उहाँको नाउँ पुकार्नु, उहाँको नजिक जानु, उहाँको बारेमा सोचविचार गर्नु, प्रार्थना गर्दै पढ्नु, सङ्गतिमा सामेल हुनु, चिन्तन र मनन गर्नु, प्रार्थना गर्नु र प्रशंसाका गीतहरू गाउनु। यस किसिमको प्रशंसामा आनन्द हुन्छ, र त्यसमा अभिषेक हुन्छ; प्रशंसामा शक्ति हुन्छ, र बोझ पनि हुन्छ। प्रशंसामा विश्‍वास हुन्छ, र नयाँ अन्तर्दृष्टि हुन्छ।

सक्रिय भएर परमेश्‍वरसँग सहकार्य गर्, सेवामा समन्वय गर् र एउटै बन्, सर्वशक्तिमान् परमेश्‍वरका अभिप्रायहरू पूरा गर, पवित्र आत्मिक शरीर बन्न हतार गर्, र शैतानलाई कुल्चिमिल्ची गर्, र शैतानको भाग्यको अन्त्य गरिदेओ। फिलाडेल्फियाको मण्डली परमेश्‍वरको उपस्थितिमा उठाइलगिएको छ र उहाँको महिमामा प्रकट गरिएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २

फूटनोटहरू:

क. मूल पाठमा “का फल” भन्‍ने वाक्यांश समावेश छैन।


परमेश्‍वरका दैनिक वचनहरू  अंश ४८

विजयी राजा उहाँको महिमित सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँले छुटकारा पूरा गर्नुभएको छ र उहाँका सारा मानिसहरूलाई महिमामा प्रकट हुन डोऱ्याउनुभएको छ। उहाँले सबैथोक आफ्नो हातमा राख्नुहुन्छ र उहाँको ईश्‍वरीय बुद्धि र शक्तिले उहाँले सियोन निर्माण गर्नुभएको छ र त्यसलाई बलियो बनाउनुभएको छ। उहाँको प्रतापले उहाँ पापी संसारको न्याय गर्नुहुन्छ; उहाँले अनगिन्ती राष्ट्र र मानिसहरूको, पृथ्वी र समुद्र र तिनमा भएका सबै जीवित प्राणीहरूको, साथसाथै व्यभिचारको मद्यले मातेकाहरू सबैको न्याय गर्नुभएको छ। परमेश्‍वरले अवश्य तिनीहरूको न्याय गर्नुहुनेछ, र उहाँ पक्कै पनि तिनीहरूसित रिसाउनुहुनेछ र त्यसमा परमेश्‍वरको प्रताप प्रकट हुनेछ, जसको न्याय तुरुन्तै गरिन्छ र त्यो ढिलाइ नगरी पूरा गरिन्छ। उहाँको क्रोधको आगोले निश्चय नै तिनीहरूका घोर पापहरू भस्म पार्नेछ र कुनै पनि क्षण तिनीहरूमाथि विपत्ति आउँछ; तिनीहरूलाई उम्कने कुनै उपाय थाहा हुनेछैन र तिनीहरूसँग लुक्ने ठाउँ पनि हुनेछैन, तिनीहरू रुनेछन् र दाह्रा किट्नेछन्, र तिनीहरूले आफैमाथि विनाश ल्याउनेछन्।

परमेश्‍वरका प्रिय विजयी छोराहरू निश्चय नै सियोनमा रहनेछन्, र त्यहाँबाट कहिल्यै बिदा हुनेछैनन्। अनगिन्ती मानिसहरूले उहाँको सोरलाई ध्यानपूर्वक सुन्नेछन्, तिनीहरूले ध्यानपूर्वक उहाँका कार्यहरू नियाल्नेछन्, र तिनीहरूको प्रशंसाको आवाज कहिल्यै बन्द हुनेछैन। एक साँचो परमेश्‍वर देखा पर्नुभएको छ! हामी आत्मामा उहाँबारे निश्चित हुनेछौं र उहाँलाई नजिकबाट पछ्याउनेछौं; हामी आफ्नो सम्पूर्ण शक्ति लगाएर अगाडि बढ्नेछौं र उप्रान्त कुनै सङ्कोच मान्नेछैनौं। संसारको अन्त्य हाम्रो अगाडि प्रकट हुँदैछ; एउटा उचित मण्डली साथसाथै मानिसहरू, मामिलाहरू र हाम्रा वरिपरिका थोकहरूले पनि हाम्रो तालिमलाई अझ तीव्र बनाइरहेका छन्। हामी हाम्रो हृदयलाई फिर्ता लिन हतार गरौं जसले संसारलाई धेरै प्रेम गर्दछ! हामी हाम्रो दर्शनलाई फिर्ता लिन हतार गरौं, जुन अति अस्पष्ट छ। हामी हाम्रा पाइलाहरूमा रहौं, ताकि हामीले सीमाहरू ननाघेका होऔं। हामी आफ्ना मुखहरूलाई बन्द गरौं, ताकि हामी परमेश्‍वरको वचनमा हिँड्न सकौं, र उप्रान्त हाम्रा आफ्नै लाभहरू र हानिहरूको प्रतिस्पर्धा नगरौं। अहो, यसलाई छोडिदेओ, बाहिरी संसार र धनको लागि तिमीहरूको लालच! हो, आफैलाई यसबाट स्वतन्त्र बनाओ—तिमीहरूका पति, छोरीहरू र छोराहरूप्रतिको टाँसिरहने बन्धन! आह, तिनीहरूलाई पिठ्यूँ फर्काइदेओ—तिमीहरूका दृष्टिकोणहरू र पूर्वाग्रहहरू! अँ, बिउँझ; समय छोटो छ! आत्मा भित्रबाट माथि हेर, माथि हेर, अनि परमेश्‍वरको हातमा सबै कुरा सुम्‍प। जे भए पनि, लोतकी अर्की पत्नी नबन। पन्छ्याइएको हुनु कति दुःखलाग्दो कुरा हुन्छ! साँच्चै दुःखलाग्दो! अँ, बिउँझ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३

परमेश्‍वरका दैनिक वचनहरू  अंश ४९

पर्वत र नदीहरू परिवर्तन हुन्छन्, जल आफ्नै मार्गमा बहन्छ, र मानिसको जीवन धर्ती र आकाश झैँ निरन्तर रहँदैन। केवल सर्वशक्तिमान्‌ परमेश्‍वर नै अनन्त र पुनरुत्थान हुने जीवन हुनुहुन्छ, जुन पुस्तौँ-पुस्ता, सदाकाल नै चलिरहन्छ! सबै चीज र सबै घटना उहाँकै हातमा छन्, र शैतान उहाँको पाउमुनि छ।

आज, परमेश्‍वरको पूर्वनिर्धारित चयनद्वारा उहाँले हामीलाई शैतानको पकडबाट छुटकारा दिलाउनुहुन्छ। उहाँ साँच्चै नै हाम्रा उद्धारक हुनुहुन्छ। येशूको अनन्त, पुनरुत्थानित जीवन वास्तवमा नै हामीभित्र समाहित छ, जसले हामीलाई परमेश्‍वरको जीवनसँग जोडिन प्रेरित गर्दछ, ताकि हामी वास्तवमा नै उहाँको आमने-सामने हुन सकौं, उहाँलाई खान सकौं, उहाँलाई पिउन सकौँ, र उहाँमा रमाउन सकौं। यो परमेश्‍वरको हृदय-रक्तको निःस्वार्थ समर्पण हो।

मौसमहरू आउँछन् र जान्छन्; परमेश्‍वर हावा र तुसारो हुँदै अघि बढ्नुहुन्छ, अनि जीवनका धेरै कष्ट, सतावट र सङ्कष्टहरू, संसारका धेरै अस्वीकृति र आक्षेपहरू सामना गर्नुहुन्छ, सरकारबाट धेरै झूटो अभियोगहरू खेप्छन्, तैपनि न परमेश्‍वरको विश्‍वासमा न उहाँको संकल्पमा अलिकति नै कमी आउँछ। परमेश्‍वरको इच्छाप्रति, र परमेश्‍वरको प्रबन्ध र योजनाप्रति पूर्ण हृदयका साथ समर्पित हुनुभई, तिनलाई पूरा गर्न सकियोस् भनेर, उहाँले आफ्नै जीवनलाई एकातिर पन्छाउनुहुन्छ। बहुविविधतामा रहेका उहाँका मानिसहरूको लागि, उहाँले पीडा सहन कुनै कसर बाँकी नछाडी, तिनीहरूलाई प्रेमिलो तरिकाले खुवाउने र पिलाउने गर्नुहुन्छ। हामी जतिसुकै अज्ञानी भए पनि, वा हामी जतिसुकै कठिन रहे पनि हामी केवल उहाँसामु समर्पित हुनुपर्छ, र ख्रीष्टको पुनरुत्थान भएको जीवनले हाम्रो पुरानो स्वभावलाई बदलिदिनेछ…। उहाँ यी सबै ज्येष्ठ पुत्रहरूका लागि भोक र आराम भुलेर अथक परिश्रम गर्नुहुन्छ। कति दिन र रात, कति चर्को घाम र कठ्याङ्ग्रिने जाडो हुँदै, उहाँ पूर्ण हृदयले सियोनलाई हेर्नुहुन्छ।

सम्पूर्ण रूपले, खुशीसाथ, स्वेच्छाले परित्याग गरिएको यो संसार, घर, काम र सबै कुरा अनि सांसारिक सुखभोगहरूसँग उहाँको केही लिनु-दिनु छैन…। उहाँको मुखबाट निस्कने वचनहरूले हामीलाई वास्तवमा नै प्रहार गर्छन्, हाम्रो हृदयहरूभित्र लुकेका कुराहरूलाई उजागर गर्दछ। हामी कसरी विश्‍वस्त हुन सक्दैनौं? उहाँको मुखबाट निस्कने हरेक वाक्य जुनसुकै समयमा पनि हामीमा सत्य हुन सक्दछ। हामी जे-जे गर्छौं, उहाँको सामुन्नेमा होस् वा उहाँबाट पर लुकाएर होस्, त्यस्तो कुनै कुरा नै छैन जुन उहाँलाई थाहा हुन्‍न, त्यस्तो कुनै कुरा नै छैन जुन उहाँले बुझ्नुहुन्‍न। हाम्रा आफ्‍नै योजना र व्यवस्थाहरूको बावजूद, सबै कुराहरू उहाँको सामुन्ने प्रकट हुनेछन्।

उहाँको सामु बसेर, हाम्रो आत्माभित्र आनन्द महसुस गर्दै, सहज र शान्त रहे पनि, सदैव खालीपन र परमेश्‍वरप्रति वास्तवमै ऋणी भएको महसुस गर्नु: यो एउटा यस्तो रहस्य हो जुन अकल्पनीय र प्राप्त गर्न असम्भव छ। सर्वशक्तिमान्‌ परमेश्‍वर नै एकमात्र सच्चा परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा प्रमाणित गर्न पवित्र आत्मा पर्याप्त हुनुहुन्छ! यो निर्विवाद प्रमाण हो! यो समूहका हामी अत्यन्तै धन्य छौं! यदि परमेश्‍वरको अनुग्रह र कृपा नहुँदो हो त हामी विनाशतिर लम्कन र शैतानलाई पछ्याउन मात्र सक्‍नेथियौं। केवल सर्वशक्तिमान्‌ परमेश्‍वरले नै हामीलाई उद्दार गर्न सक्नुहुन्छ!

हे! सर्वशक्तिमान्‌ परमेश्‍वर, व्यावहारिक परमेश्‍वर! यो तपाईं नै हुनुहुन्छ जसले हाम्रो आत्मिक आँखा खोलिदिनुभएको छ, जसबाट हामी यस आत्मिक क्षेत्रका रहस्यहरूलाई हेर्न सक्छौं। यस राज्यका सम्भावनाहरू असीम छन्। प्रतीक्षा गर्ने क्रममा हामी सचेत भएर बसौं। त्यो दिन धेरै टाढा हुन सक्दैन।

युद्धको ज्वाला मडारिन्छ, तोपको धुवाँले हावा भरिन्छ, मौसम गरम हुन्छ, जलवायु परिवर्तन हुन्छ, र महामारी फैलनेछ, र मानिसहरू केवल मर्न सक्छन्, बाँच्ने कुनै आशा हुँदैन।

हे! सर्वशक्तिमान्‌ परमेश्‍वर, व्यावहारिक परमेश्‍वर! तपाईं हाम्रो अभेद्य किल्ला हुनुहुन्छ। तपाईं हाम्रो शरण हुनुहुन्छ। हामी तपाईंको छत्रछायामा रहन्छौं, र विपत्ति हामीसम्म पुग्न सक्दैन। तपाईंको दिव्य सुरक्षा र रेखदेख यही हो।

हामी सबै हाम्रा आवाजहरू गीतमा उठाउँछौं; हामी स्तुतिमा गाउँछौं, र हाम्रो स्तुतिको आवाज पूरै सियोनभरि गुन्जन्छ! सर्वशक्तिमान्‌ परमेश्‍वर, व्यावहारिक परमेश्‍वरले हाम्रो लागि त्यो सुन्दर गन्तव्य तयार गर्नुभएको छ। सचेत रहौं—ओहो, निगरानीमा रहौं! अझै पनि, समय धेरै विलम्ब भएको छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ५

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५०

राज्यका राजा, सर्वशक्तिमान् परमेश्‍वरको गवाही दिइएको समयदेखि परमेश्‍वरको व्यवस्थापनको क्षेत्र सारा ब्रह्माण्डमा त्यसको सम्पूर्णतामा खुलेको छ। परमेश्‍वरको देखा पराइको गवाही चीन देशमा मात्र दिइएको छैन, तर सर्वशक्तिमान् परमेश्‍वरको नाउँको गवाही सबै देश र सबै स्थानमा दिइएको छ। तिनीहरू सबैले यो पवित्र नाउँ पुकारिरहेका छन्, हर सम्‍भव उपायद्वारा परमेश्‍वरसित सङ्गति गर्न खोजिरहेका छन्, सर्वशक्तिमान्‌ परमेश्‍वरका अभिप्रायहरू बुझिरहेका र मण्डलीमा सामूहिक रूपमा उहाँको सेवा गरिरहेका छन्। यो पवित्र आत्माले काम गर्ने अचम्मको तरिका हो।

विभिन्न देशका भाषाहरू एक-अर्काभन्दा फरक छन्, तर आत्मा एउटै हुनुहुन्छ। यो आत्माले सारा ब्रह्माण्डका मण्डलीहरूलाई एकसाथ जोड्नुहुन्छ र परमेश्‍वरसित, अलिकति पनि भिन्नता बिना, बिलकुल एक हुनुहुन्छ। यो शङ्का गर्नै नसकिने कुरा हो। अब पवित्र आत्माले तिनीहरूलाई बोलाउनुहुन्छ, र उहाँको आवाजले तिनीहरूलाई सतर्क बनाइराख्नुहुन्छ। यो परमेश्‍वरको कृपाको आवाज हो। तिनीहरू सबैले सर्वशक्तिमान् परमेश्‍वरको पवित्र नाउँ पुकारिरहेका छन्! तिनीहरूले प्रशंसा चढाउँछन् र गाउँछन् पनि। पवित्र आत्माको काममा कहिल्यै कुनै विचलन हुन सक्दैन; यी मानिसहरू सही मार्गमा अगाडि बढ्नका लागि सके सम्म गर्छन्, तिनीहरू पछाडि फर्कँदैनन्, जुन अचम्ममाथि अचम्म छ। यो मानिसहरूले कल्पना गर्न कठिन र अनुमान गर्न असम्भव कुरा हो।

सर्वशक्तिमान् परमेश्‍वर ब्रह्माण्डमा भएको जीवनका राजा हुनुहुन्छ! उहाँ महिमित सिंहासनमा विराजमान हुनुहुन्छ र संसारको न्याय गर्नुहुन्छ, सबैमाथि सार्वभौमिकता राख्नुहुन्छ, र सबै देशहरूमाथि शासन गर्नुहुन्छ; सबै मानिसहरू उहाँको सामु घुँडा टेकेर उहाँलाई प्रार्थना गर्छन्, उहाँको नजिक हुन्छन् र उहाँसँग कुराकानी गर्छन्। तिमीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, तिमीहरूको हैसियत जति ठूलो वा तिमीहरूको वरिष्ठता जति महान् भए पनि, यदि तिमीहरू आफ्नो हृदयमा परमेश्‍वरको विरुद्ध जान्छौ भने, तिमीहरूको न्याय गरिनैपर्छ र तिमीहरू पीडादायी बिन्तीको आवाज निकाल्दै उहाँको अगाडि लम्पसार हुनैपर्छ; तिमीहरूका आफ्नै कार्यहरूको फल कटनी गर्नु भनेको वास्तवमा यही हो। यो विलापको आवाज आगो र गन्धकको कुण्डमा यातना पाएको आवाज हो, र यो परमेश्‍वरको फलामको लौरोद्वारा ताडना दिइएको चिच्याहट हो; यो ख्रीष्टको सिंहासनको सामुन्नेको न्याय हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५१

परमेश्‍वर देखा पर्ने घटना अघिबाटै सबै मण्डलीहरूमा प्रकट भइसकेको छ। बोल्नुहुने आत्मा नै हुनुहुन्छ; उहाँ प्रचण्ड रूपले फैलिएको आगो हुनुहुन्छ, उहाँले प्रताप धारण गर्नुहुन्छ र न्याय गर्नुहुन्छ। उहाँ मानिसको पुत्र हुनुहुन्छ, उहाँले खुट्टासम्‍म झुण्डिएको वस्‍त्र लगाउनुभएको छ, उहाँको छाती वरिपरि सुनौलो पेटी बाँधिएको छ। उहाँको टाउको र केश ऊनजस्तो सेता छन्; उहाँका आँखाहरू ज्वालाहरू जस्ता छन्; उहाँका पाउहरू टल्काएका काँसाजस्ता छन्, मानौं ती भट्टीमा खारिएका हुन्, र उहाँको स्वर उर्लँदो पानीहरूको आवाजजस्तै छ। उहाँले आफ्नो दाहिने हातमा सातवटा ताराहरू पक्रनुहुन्छ र उहाँको मुखबाट धारिलो दुईधारे तरवार छ, र उहाँको अनुहार जलिरहेको सूर्यजस्तो चम्किरहन्छ!

मानिसको पुत्रलाई देखिएको छ, र परमेश्‍वर स्वयम्‌लाई खुल्लमखुल्ला प्रकट गरिएको छ। परमेश्‍वरको महिमा प्रकट भएको छ, जलिरहेको सूर्यजस्तो चम्किरहेको छ! उहाँको महिमित अनुहार चहकिलो प्रकाशले चम्कन्छ; कसको आँखाले उहाँसँग विरोधको व्यवहार गर्ने आँट गर्छ? प्रतिरोधले मृत्युमा पुर्‍याउँछ! तैँले आफ्नो हृदयमा सोच्‍ने, तैँले बोल्‍ने कुनै शब्द वा तैँले गर्ने कुनै पनि कामका निम्ति रत्तीभर पनि दया देखाइँदैन। तिमीहरूले पाएको कुरा के हो सो तिमीहरूले बुझ्‍नेछौ र देख्‍नेछौ—त्यो मेरो न्यायबाहेक अरू केही होइन! जब तिमीहरू मेरा वचनहरू खाने र पिउने कोसिस गर्दैनौ र त्यसको साटो स्वेच्छाले अवरोध पुऱ्याउँछौ र मेरो निर्माणलाई ध्वस्त पार्छौ भने के म त्यसलाई सहन सक्छु? यस्तो व्यक्तिसँग म कोमल व्यवहार गर्नेछैनँ! यदि तेरो व्यवहार अझ बढी गम्भीरतासाथ पतित हुन्छ भने, तँ आगोमा नष्ट हुनेछस्! सर्वशक्तिमान्‌ परमेश्‍वर आत्मिक शरीरमा प्रकट हुनुहुन्छ, जो शिरदेखि खुट्टाको औँलासम्म मासु वा रगतले अलिकति पनि जोडिएको हुनुहुन्‍न। उहाँ ब्रह्माण्डको संसारलाई पार गर्नुहुन्छ, तेस्रो स्वर्गमा महिमित सिंहासनमा विराजमान हुनुहुन्छ, र सबै थोकमाथि शासन गर्नुहुन्छ! ब्रह्माण्ड र सबै थोक मेरो हातमा छन्। यदि मैले बोलेँ भने, यो त्यस्तै हुनेछ। यदि मैले यो ठहराउँछु भने, यो यस्तै हुनेछ। शैतान मेरो खुट्टामुनि छ; त्यो अतल कुण्डमा छ! जब मेरो आवाज बाहिर निस्कन्छ, स्वर्ग र पृथ्वी बितेर जानेछ र केही पनि रहनेछैन! सबै थोक नयाँ तुल्याइनेछन्; यो एक अपरिवर्तनीय सत्य हो जुन पूर्ण सही छ। मैले संसारलाई, साथै सबै दुष्टहरूलाई पनि जितेको छु। म यहाँ तिमीहरूसँग कुराकानी गर्दै बस्छु, र जसको कान छ उनीहरू सबैले सुन्नुपर्छ र जो जीवित छन् उनीहरूले स्वीकार गर्नुपर्छ।

दिनहरू समाप्त हुनेछन्; यस संसारमा भएका सबै थोक बिलाई जानेछन्, र सबै कुरा नयाँ गरी जन्मनेछन्। यो याद राख्! याद राख्! तँ यसबारे लापरवाह हुन मिल्दैन! स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचनहरू रहिरहनेछन्! म एकचोटि फेरि तिमीहरूलाई सल्लाह दिन्छु: व्यर्थमा नदगुर! बिउँझ! फर्क, अनि किनारा हातैमा छ। म पहिले नै तिमीहरूको बीचमा देखा परेको छु, र मेरो आवाज देखा परेको छ। मेरो आवाज तिमीहरूको अघि देखा परेको छ; प्रत्येक दिन यसले आमने-सामने तेरो सामना गर्छ, र प्रत्येक दिन यो ताजा र नयाँ हुन्छ। तैँले मलाई देख्छस् र म तँलाई देख्छु; म तँसँग निरन्तर कुरा गर्छु, र म तेरो आमनेसामने नै छु। तैपनि, तैँले मलाई इन्कार्छस् र मलाई चिन्दैनस्। मेरा भेडाहरूले मेरो आवाज सुन्न सक्छन्, तर अझै तिमीहरू हिचकिचाउँछौ! तिमीहरू हिचकिचाउँछौ! तिमीहरूको हृदय बोधो भएको छ, तिमीहरूका आँखाहरूलाई शैतानले अन्धो बनाएको छ, र तिमीहरू मेरो महिमित मुहार देख्न सक्दैनौ—तिमीहरू कति दयनीय छौ! कस्तो दयनीय!

मेरो सिंहासन सामुका सातवटा आत्माहरूलाई पृथ्वीका सबै कुनामा पठाइएका छन् र म मेरो सन्देशवाहकलाई मण्डलीहरूसँग बोल्न पठाउनेछु। म धर्मी र विश्‍वासयोग्य छु; म त्यो परमेश्‍वर हुँ जसले मानिसको हृदयका गहनतम भागहरू छानबिन गर्दछ। पवित्र आत्माले मण्डलीहरूसँग बोल्नुहुन्छ, र मेरा पुत्रबाट निस्कने मेरा वचनहरू नै हुन्; जसको कान छ तिनीहरू सबैले सुन्नुपर्छ! जो जीवित छन् तिनीहरू सबैले स्वीकार गर्नुपर्छ। बस तिनलाई खा र पि र शङ्का नगर्। समर्पित हुने र मेरा वचनहरू सुन्ने सबैले ठूला आशिष्‌हरू पाउनेछन्! गम्भीरतासाथ मेरो मुहारको खोजी गर्ने सबैले निश्चय नै नयाँ ज्योति, नयाँ अन्तर्दृष्टि र नयाँ अन्तर्ज्ञानहरू प्राप्त गर्नेछन् सबै ताजा र नयाँ हुनेछन्। मेरा वचनहरू तँकहाँ कुनै पनि समयमा देखा पर्नेछन्, र तिनले तेरो आत्माको आँखा खोल्नेछन्, ताकि तैँले आत्मिक क्षेत्रका सबै रहस्यहरू देख्न सक्। राज्य मानिसहरूमाझ नै छ। शरण स्थानमा प्रवेश गर्, र सबै अनुग्रह र आशिषहरू तँमाथि आउनेछन्; अनिकाल र महामारी तँ नजिक आउन सक्नेछैन, र ब्‍वाँसाहरू, सर्पहरू, बाघहरू र चितुवाहरूले तँलाई हानि गर्न सक्नेछैनन्। तँ मेरो साथमा जानेछस् र हिँड्नेछस्, र मसँग महिमामा प्रवेश गर्नेछस्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५२

सर्वशक्तिमान् परमेश्‍वर! उहाँको महिमित शरीर खुला ठाउँमा देखा पर्दछ, पवित्र आत्मिक शरीर खडा हुन्छ, र उहाँ पूर्ण परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ! संसार र देह दुवै परिवर्तन भएको छ, र पर्वतमा परिवर्तन भएको उहाँको रूप परमेश्‍वरको व्यक्तित्व हो। उहाँले आफ्नो शिरमा सुनको मुकुट लगाउनुहुन्छ, उहाँको वस्त्र शुद्ध सेतो छ, उहाँको छाती वरिपरि सुनौलो पेटी बाँधिएको छ र संसार र सबै थोक उहाँको पाउदान हुन्। उहाँका आँखाहरू आगोको ज्वालाजस्ता छन्, उहाँको मुखमा एउटा धारिलो दुईधारे तरवारजस्तो छ, र उहाँको दाहिने हातमा सातवटा ताराहरू छन्। परमेश्‍वरको राज्यको बाटो असीमित रूपमा चहकिलो छ, र उहाँको महिमा उठ्छ र चम्किन्छ; पर्वतहरू आनन्दित छन् र समुद्र हाँस्छ, र सूर्य, चन्द्रमा र ताराहरू सबै तिनीहरूका आ-आफ्नो नियमित क्रममा घुम्छन्, अद्वितीय, साँचो परमेश्‍वरको स्वागत गर्दैछन्, जसको विजयी वापसीले उहाँको छ हजार वर्षको व्यवस्थापन योजनाको समापनको वर्णन गर्दछ। सबै उफ्रन्छन् र आनन्दले नाच्छन्! हर्षोल्‍लास गर्छन्! सर्वशक्तिमान् परमेश्‍वर आफ्नो महिमित सिंहासनमा विराजमान हुनुहुन्छ! गाओ! सर्वशक्तिमान्‌को विजयी झन्डा महिमित, भव्य सियोन पर्वतमा उचालिएको छ! सबै जातिहरूले जयजयकार गरिरहेका छन्, सबै मानिसहरू गाउँदैछन्, सियोन पर्वत आनन्दले हाँस्दैछ, र परमेश्‍वरको महिमा उत्पन्न भएको छ! मैले परमेश्‍वरको अनुहार देख्‍नेछु भनी सपनामा पनि सोचेको थिइनँ, तर आज मैले यो देखेको छु। हरेक दिन उहाँसँग आमनेसामने हुन्छु, म उहाँको अगि मेरो हृदय उदाङ्गो पार्छु। उहाँले प्रशस्त खाने र पिउने कुराहरू प्रदान गर्नुहुन्छ। जीवन, वचनहरू, कामहरू, विचारहरू, सोचाइहरू—उहाँको महिमित ज्योतिले ती सबैलाई उज्यालो पार्दछ। उहाँले बाटोको हरेक कदममा डोऱ्याउनुहुन्छ, र कुनै पनि विद्रोही हृदयमाथि उहाँको दण्ड तुरुन्‍तै आउँछ।

परमेश्‍वरको साथमा खाँदै, सँगै बस्दै, र एकसाथ जिउँदै, उहाँको साथमा हुँदै, सँगसँगै हिँड्दै, सँगै रमाइलो गर्दै, सँगसँगै महिमा र आशिष्‌हरू प्राप्त गर्दै, उहाँसँग राजसत्तामा सहभागी हुँदै, र परमेश्‍वरको राज्यमा सँगसँगै अस्तित्वमा रहँदै—अहो, यो कस्तो सुखद छ! अहो, यो कति मीठो छ! हामी हरेक दिन उहाँसँग आमनेसामने हुन्छौं, उहाँसँग हरेक दिन बोल्छौ र नियमित कुराकानी गर्छौं, र हरेक दिन नयाँ ज्ञान र नयाँ अन्तर्दृष्टि प्राप्त हुन्छ। हाम्रा आत्मिक आँखाहरू खोलिएका छन्, र हामी सबै कुरा देख्छौं; आत्माका सबै रहस्यहरू हामीलाई प्रकट गरिएका छन्। पवित्र जीवन साँच्चै चिन्ता मुक्त हुन्छ; चाँडो-चाँडो दगुर र नरोकिओ, र लगातार अगाडि बढिरहो—अगाडि एउटा अझै अचम्मको जीवन छ। केवल मीठो स्वादमा मात्र सन्तुष्ट नबन; परमेश्‍वरमा प्रवेश गर्ने निरन्तर कोसिस गरिराख। उहाँ सबैलाई समेट्ने र प्रशस्त हुनुहुन्छ, र हामीसँग नभएका सबै प्रकारका थोकहरू उहाँसँग छन्। सक्रिय रूपमा सहकार्य गर र उहाँमा प्रवेश गर, र कुनै पनि थोक फेरि पहिलेको जस्तो रहनेछैन। हाम्रो जीवन सर्वोत्कृष्ट हुनेछ, र कुनै पनि व्यक्ति, पदार्थ, वा थोकले हामीलाई बाधा दिन सक्नेछैन।

सर्वोत्कृष्ट! सर्वोत्कृष्ट! साँचो रूपमा सर्वोत्कृष्ट! परमेश्‍वरको सर्वोत्कृष्ट जीवन भित्रै छ, र सबै थोक साँच्चै शान्त छन्। हामी संसार र सांसारिक थोकहरूलाई पार गर्दै, पति वा छोराछोरीसँग बाँधिएको कुनै महसुस गर्दैनौं। हामी बिमारी र वातावरणको बन्धनभन्दा पर पुग्छौं। शैतानले हामीलाई बाधा दिने आँट गर्दैन। हामी सबै विपत्तिहरूलाई पूर्ण रूपमा नाघ्छौं। यसो गर्नु परमेश्‍वरलाई राजसत्ता लिन दिनु हो। हामी शैतानलाई पैतालामुनि कुल्चन्छौं, मण्डलीका लागि गवाही दिन्छौं र शैतानको कुरूप अनुहारलाई पूर्ण रूपमा पर्दाफास गर्छौं। मण्डलीको निर्माण ख्रीष्टमा हुन्छ, र महिमित शरीर खडा भएको छ—उठाइको समयमा जिउनु भनेको यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५३

सर्वशक्तिमान् परमेश्‍वर, अनन्त पिता, शान्तिका राजकुमार, हाम्रा परमेश्‍वर राजा हुनुहुन्छ! सर्वशक्तिमान् परमेश्‍वरले जैतून डाँडामा आफ्‍ना पाइला टेक्नुहुन्छ। यो कति सुन्दर छ! सुन्नुहोस्! हामी पहरेदारहरूले हाम्रो आवाज माथि उठाउँछौं; हामी एकै स्वरमा गाउनेछौं किनकि परमेश्‍वर सियोनमा फर्कनुभएको छ। हामी आफ्नै आँखाले यरूशलेम उजाड भएको देख्छौं। आनन्दको स्वरसहित कराओ र एकै स्वरमा गीत गाओ, किनकि परमेश्‍वरले हामीलाई सान्त्वना दिनुभएको छ, र यरूशलेमलाई छुटाउनुभएको छ। परमेश्‍वरले आफ्नो पवित्र बाहुबल सारा जातिहरूको नजरमा प्रकट गर्नुभएको छ, परमेश्‍वरको वास्तविक व्यक्तित्व देखा परेको छ! पृथ्वीको अन्तसम्म सबै मानिसहरूले हाम्रा परमेश्‍वरको मुक्ति देखेका छन्।

अहो, सर्वशक्तिमान् परमेश्‍वर! तपाईंका सारा रहस्यहरू प्रकट गर्न तपाईंको सिंहासनबाट सात आत्मा सबै मण्डलीमा पठाइएको छ। तपाईंको महिमाको सिंहासनमा बसेर तपाईंले आफ्नो राज्यको व्यवस्थापन गर्नुभएको छ र त्यसलाई न्याय र धार्मिकताद्वारा बलियो र स्थिर बनाउनुभएको छ, र तपाईंले आफ्नो अगाडि सबै जातिहरूलाई वशमा पार्नुभएको छ। हे, सर्वशक्तिमान् परमेश्‍वर! तपाईंले राजाहरूको पेटी फुकाल्नुभएको छ, तपाईंले शहरका ढोकाहरू फेरि कहिल्यै बन्द नहुने गरी तपाईंको अगाडि खोल्‍नुभएको छ। किनकि तपाईंको ज्योति आएको छ र तपाईंको महिमा उदय हुन्छ र चहकिलो भई चम्कन्छ। पृथ्वीलाई अन्धकारले ढाक्छ र मानिसहरूमाथि घोर अन्धकार छ। हे परमेश्‍वर! तापनि, तपाईं देखा पर्नुभएको छ र हामीमा तपाईंको ज्योति चम्काउनुभएको छ, र तपाईंको महिमा हामीमाथि देखिनेछ; सबै जातिहरू तपाईंको ज्योतिमा आउनेछन्, राजाहरू तपाईंको चमकमा आउनेछन्। तपाईं आफ्ना नजर उठाउनुहुन्छ र वरिपरि हेर्नुहुन्छ: तपाईंका छोराहरू तपाईंको अगाडि भेला हुन्छन् र तिनीहरू टाढाबाट आउँछन्; तपाईंका छोरीहरू आउँदा तिनीहरूलाई अङ्गालोमा बोकिन्छ। हे, सर्वशक्तिमान् परमेश्‍वर! तपाईंको महान् प्रेमले हामीलाई समातेको छ; तपाईंले नै हामीलाई तपाईंको राज्यको बाटोमा अगाडि बढाउनुहुन्छ, र तपाईंका पवित्र वचनहरू हामीमा व्याप्त हुन्छन्।

हे, सर्वशक्तिमान् परमेश्‍वर! हामी तपाईंलाई धन्यवाद दिन्छौं र हामी तपाईंको प्रशंसा गर्दछौं। हामीलाई तपाईंलाई हेर्न, तपाईंको साक्षी दिन, तपाईंलाई उच्च पार्न, र साँचो हृदयले, शान्त र अविभाजित हृदयले गाउन दिनुहोस्। हामीलाई एउटै मन दिनुहोस् र एक साथ निर्माण गर्नुहोस्, र तपाईंद्वारा प्रयोगमा ल्याइनका लागि हामीलाई चाँडै तपाईंका अभिप्रायहरूअनुसारका व्यक्तिहरू बनाउनुहोस्। पृथ्वीमा तपाईंका अभिप्रायहरू कुनै बाधाविना पूरा हुन सकून्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय २५

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५४

सर्वशक्तिमान्‌ परमेश्‍वर सर्वशक्तिमान, सर्वप्रापक र पूर्ण रूपमा साँचो परमेश्‍वर हुनुहुन्छ! उहाँले सात ताराहरू धारण गर्नुहुन्छ, उहाँ सात आत्माहरू, सात आँखाहरूद्वारा सुसज्जित हुनुहुन्छ, उहाँले सात मोहरहरू, र चर्मपत्रहरू खोल्नुहुन्छ, तर त्यति मात्र होइन, उहाँले सात महामारीहरू र सात कचौराहरूको प्रशासन गर्नुहुन्छ र सात मेघगर्जनहरूलाई प्रकट गर्नुहुन्छ। धेरै पहिले पनि उहाँले सात तुरही बजाउनुभयो! उहाँले सृष्टि गर्नुभएका र पूर्ण बनाउनुभएका सबै थोकले उहाँको प्रशंसा गर्नुपर्छ, उहाँको महिमा गाउनुपर्छ र उहाँको सिंहासनको बढाइ गर्नुपर्छ। हे, सर्वशक्तिमान्‌ परमेश्‍वर! तपाईं सबै थोक हुनुहुन्छ। तपाईंले सबै थोक हासिल गर्नुभएको छ, र तपाईंको साथमा सबै थोक पूर्ण, चम्किला, मुक्त, स्वतन्त्र, बलिया, र शक्तिशाली छन्! केही पनि लुकाइएका वा गुप्त राखिएका छैनन्; तपाईंको साथमा, सबै रहस्यहरू प्रकटित हुन्छन्। यसअलावा, तपाईंले आफ्ना शत्रुहरूको भीडलाई न्याय गर्नुभएको छ, तपाईंले आफ्नो प्रताप प्रकट गर्नुहुन्छ, आफ्नो प्रचण्ड ज्वाला दर्साउनुहुन्छ, तपाईंले आफ्नो क्रोध प्रदर्शन गर्नुहुन्छ, र त्यो भन्दा पनि बढी, तपाईंले आफ्नो अभूतपूर्व, चिरस्थायी, पूर्ण अनन्त महिमा प्रकट गर्नुहुन्छ। सबै मानिसहरू विनासन्देह जय-जयकार गर्न र गाउन अनि यी सर्वशक्तिमान्, पूर्ण रूपमा सच्चा, सर्वजीवी, प्रचुरतापूर्ण, महिमित र अनन्तदेखि अनन्तसम्‍म रहनुहुने साँचो परमेश्‍वरको स्तुति गर्न बिउँझनुपर्छ। उहाँको सिंहासनको अटुट बढाइ गरिनुपर्छ, उहाँको पवित्र नाउँको प्रशंसा र महिमा गान गाइनुपर्छ। यो मेरो—परमेश्‍वरको—अनन्त अभिप्राय हो, र उहाँले हामीलाई प्रकट र प्रदान गर्नुहुने असीमित आशिष् हो! हामीमध्ये कसले यसको उत्तराधिकार पाउँदैन र? परमेश्‍वरको आशिष्‌को उत्तराधिकार पाउनको लागि आराधना गर्दै उहाँको पवित्र नाउँलाई बढाइ गर्नुपर्छ र उहाँको सिंहासनलाई फन्को मार्नुपर्छ। उहाँसमक्ष अरू नै आशय र अभिप्रायहरू बोकेर जानेहरू सबैलाई उहाँको प्रचण्ड ज्वालाले पगाल्नेछ। आजको दिन उहाँका शत्रुहरूको न्याय गरिने दिन हो र आजकै दिनमा तिनीहरू नाश पनि हुनेछन्। यसअलावा, यो दिन म, सर्वशक्तिमान्‌ परमेश्‍वर प्रकट हुने अनि मैले महिमा र मान प्राप्त गर्ने दिन पनि हो। हे, सबै मानिसहरू! चिरकालदेखि अनन्तसम्मै हामीलाई प्रेमिलो-दयालुपन बर्साउनुहुने, मुक्ति र आशिष् दिनुहुने, उहाँका छोराहरूलाई पूर्ण बनाउनुहुने, र सफलतापूर्वक उहाँको राज्य हासिल गर्नुहुने सर्वशक्तिमान्‌ परमेश्‍वरको स्तुति र स्वागत गर्नलाई झट्टै उठ! यो परमेश्‍वरको सानदार काम हो! यो परमेश्‍वरको अनन्त पूर्वनिर्धारित गन्तव्य र बन्दोबस्त हो—त्यसैले, उहाँ स्वयम् हामीलाई मुक्ति दिन, हामीलाई पूर्ण बनाउन, र हामीलाई महिमामा ल्याउनको लागि आउनुभएको छ।

जो उठ्दैनन् र साक्षी दिँदैनन् ती सबै अन्धाहरूका पूर्वजहरू र अज्ञानताका राजाहरू हुन्। तिनीहरू अनन्तसम्मै अज्ञानी, चिरस्थायी मूर्ख रहिरहनेछन्; अन्धाहरू अनन्तसम्मै मृतक रहिरहनेछन्। यही कारणले गर्दा हाम्रा आत्माहरू जागृत हुनुपर्छ! सबै मानिसहरू जाग्नुपर्छ। प्रतापी प्रचण्ड आगो र धर्मी न्याय ल्याउनुहुने र सम्पूर्ण रूपले पर्याप्त, प्रचुर, सर्वशक्तिमान र पूर्ण रहनुभएका महिमाका राजा, कृपाका पिता, छुटकाराका छोरा, प्रचुरतापूर्ण सात आत्माहरू, सर्वशक्तिमान्‌ परमेश्‍वरको अटुट रूपमा जय-जयकार, प्रशंसा र स्तुति गाओ। उहाँको सिंहासनको सदासर्वदा बढाइ गरिनेछ। सबै मानिसहरूले यो परमेश्‍वरको ज्ञान-बुद्धि हो भनी देख्नुपर्छ; यो उहाँको मुक्तिको सुन्दर मार्ग र उहाँको महिमावान् इच्छाको उपलब्धि हो। यदि हामी उठ्दैनौं र साक्षी दिँदैनौं भने, समय बितिसकेपछि फेरि पछाडि फर्केर जान सकिनेछैन। हामीले आशिष् पाउँछौँ कि दुर्दशा भन्‍ने कुरा, हामीले के गर्छौँ, हामीले के सोच्छौँ र हामीले अहिले के-कस्तो जीवन बाँचिरहेका छौँ भन्‍ने आधारमा हाम्रो यात्राको यो वर्तमान चरणको अवधिमै निर्णय गरिँदैछ। तिमीहरूले के-कसरी व्यवहार गर्नुपर्छ त? सदासर्वदा परमेश्‍वरको लागि साक्षी दिनुपर्छ र उहाँको बढाइ गर्नुपर्छ; सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्टको—अनन्त, अद्वितीय, सच्चा परमेश्‍वरको—बढाइ गर्नुपर्छ!

अब उप्रान्त, तिमीहरूले के स्पष्टसित देख्नुपर्छ भने परमेश्‍वरका लागि साक्षी नदिनेहरू सबै—यस अद्वितीय, सच्चा परमेश्‍वरका लागि साक्षी नदिनेहरू र उहाँको बारेमा सन्देह राख्नेहरू—तिनीहरू सबै बिरामी र मृतकहरू हुन्, र तिनीहरू परमेश्‍वरलाई चुनौती दिनेहरू हुन्! परमेश्‍वरका वचनहरू प्राचीनकालदेखि नै प्रमाणित हुँदै आइरहेका छन्: जो कोही मसँग भेला हुँदैनन्, तिनीहरू छरपष्ट हुनेछन्, जो मेरो साथ छैन, त्‍यो मेरो विरुद्धमा छ; यो ढुङ्गामा कुँदिएको अपरिवर्तनीय सत्यता हो! परमेश्‍वरका लागि साक्षी नदिनेहरू सबै शैतानका दासहरू हुन्। त्यस्ता मानिसहरू परमेश्‍वरका छोराछोरीहरूलाई बाधा पुर्‍याउन र बहकाउन अनि उहाँको व्यवस्थापनमा अवरोध पुऱ्याउन आएका छन्; तिनीहरूलाई तरवारले निराकरण गरिनैपर्छ! तिनीहरूमाथि असल अभिप्राय देखाउनेहरू सबैले आफ्नै विनाश निम्त्याउँछन्। तिमीहरूले परमेश्‍वरका आत्माका वाणीहरूलाई सुन्ने र तिनमा विश्‍वास गर्ने गर्नुपर्छ, परमेश्‍वरका आत्माको मार्गमा हिँड्नुपर्छ र परमेश्‍वरका आत्माका वचनहरूअनुरूप जिउनुपर्छ। यसअलावा, तिमीहरूले समयको अन्त्यसम्मै सर्वशक्तिमान्‌ परमेश्‍वरको सिंहासनको बढाइ गर्नुपर्छ!

सर्वशक्तिमान्‌ परमेश्‍वर सात आत्माहरूका परमेश्‍वर हुनुहुन्छ! सात आँखाहरूका र सात ताराहरूका परमेश्‍वर पनि उहाँ नै हुनुहुन्छ; उहाँले सात मोहरहरू खोल्नुहुन्छ, र सम्पूर्ण चर्मपत्रहरू उहाँले फिँजाउनुभएको छ! उहाँले सात तुरहीहरू बजाउनुभएको छ, र उहाँको इच्छाअनुसार बर्साउनको लागि उहाँको पकडमा सात कचौराहरू र सात महामारीहरू छन्। ओहो, सधैँ सिलबन्दी गरी राखिएका सात मेघगर्जनहरू! तिनीहरूलाई प्रकट गर्ने समय आएको छ! ती सात मेघगर्जनहरूलाई ल्याउनुहुने उहाँ त तिमीहरूको आँखैअगाडि आइपुगिसक्नुभएको छ!

सर्वशक्तिमान्‌ परमेश्‍वर! तपाईंको साथमा सबै थोक मुक्त र स्वतन्त्र छन्; कुनै पनि कठिनाइहरू छैनन्, र सबै थोक सहजताका साथ चलिरहेका छन्! कुनै कुराले पनि तपाईंलाई अवरोध वा विघ्‍नवाधा गर्ने आँट गर्दैन, र सबै नै तपाईंसामु समर्पित हुन्छन्। समर्पित नहुने जोकोही मरेर जानेछन्!

सर्वशक्तिमान्‌ परमेश्‍वर, सात आँखाहरू हुने परमेश्‍वर! सबै कुरा अत्यन्तै स्पष्ट छन्, सबै कुरा उज्याला र अनावृत छन्, अनि सबै कुरा खुलासा र उदाङ्गो भएका छन्। उहाँको साथमा सबै कुरा घाम झैं छर्लङ्ग हुन्छन्, अनि परमेश्‍वर मात्र होइन, तर उहाँका छोराहरू पनि यस्तै छन्। उहाँ र उहाँका छोराहरूको सामुन्ने कुनै पनि व्यक्ति, कुनै पनि वस्तु वा कुनै पनि विषयलाई लुकाउन सकिँदैन!

सर्वशक्तिमान्‌ परमेश्‍वरका सात ताराहरू चम्किला छन्! उहाँले मण्डलीलाई सिद्ध तुल्याउनुभएको छ; उहाँले मण्डलीका आफ्‍ना सन्देशवाहकहरू स्थापित गर्नुभएको छ, अनि सम्पूर्ण मण्डली नै उहाँको भरणपोषणमा छ। उहाँले सबै सात वटै मोहरहरू खोल्नुहुन्छ र उहाँ स्वयम्‌ले उहाँको व्यवस्थापन योजना र उहाँको इच्छालाई समापनतर्फ लैजानुहुन्छ। चर्मपत्र उहाँको व्यवस्थापनको रहस्यमयी आत्मिक भाषा हो, र उहाँले यसलाई फिँजाउनुभएको र प्रकट गर्नुभएको छ!

सबै मानिसहरूले यी गुञ्जायमान सात तुरहीहरूलाई सुन्नुपर्छ। उहाँको साथमा, सबै थोक सर्वविदित हुन्छन्, फेरि कहिल्यै लुप्त हुँदैनन्, र कुनै पनि दुःखकष्ट बाँकी रहँदैनन्। सबै थोक प्रकट गरिन्छन् र सबै नै विजयी हुन्छन्!

सर्वशक्तिमान्‌ परमेश्‍वरका सात तुरहीहरू खुला, महिमावान् र विजयी तुरहीहरू हुन्! तिनीहरू उहाँका शत्रुहरूलाई न्याय गर्ने तुरहीहरू पनि हुन्। उहाँको विजय-उत्सवमाझ उहाँको तुरहीलाई उचालिन्छ! उहाँले सम्पूर्ण ब्रह्माण्डमाथि शासन गर्नुहुन्छ!

उहाँले महामारीका सात कचौराहरू तयार गर्नुभएको छ, उहाँका शत्रुहरू निशाना भएका छन्, र ती महामारीहरूलाई अत्याधिक प्रवाहका साथ छोडिएको छ र ती शत्रुहरू उहाँको प्रचण्ड ज्वालामा नष्ट हुनेछन्। सर्वशक्तिमान्‌ परमेश्‍वरले आफ्‍नो अख्तियारको शक्ति देखाउनुहुन्छ र उहाँका शत्रुहरू सबै नाश हुन्छन्। अन्तिम सात मेघगर्जनहरूलाई सर्वशक्तिमान्‌ परमेश्‍वरको अगाडि अब उप्रान्त सिलबन्दी गरेर राखिँदैन; तिनीहरू सबैलाई प्रकट गरिन्छ। तिनीहरू सबैलाई प्रकट गरिन्छ! उहाँले सात मेघगर्जनहरूद्वारा, पृथ्वीलाई स्थिर गरेर र यसलाई उहाँको सेवा गर्न लगाएर र अब उप्रान्त यसलाई उजाड नहुने तुल्याएर, उहाँका शत्रुहरूलाई मृत्युको मुखमा पुर्‍याउनुहुन्छ!

धर्मी सर्वशक्तिमान्‌ परमेश्‍वर! हामी सदासर्वदा तपाईंको स्तुति गाउनेछौं! तपाईं अटुट प्रशंसा, र अनन्त जय-जयकार र तारिफको योग्य हुनुहुन्छ! तपाईंका सात मेघगर्जनहरू तपाईंको न्यायका लागि मात्र प्रयोग गरिनु हुँदैन, बरु सबै कुराहरूलाई पूरा गर्नको लागि तपाईंको महिमा र अख्तियारको लागि अझै धेरै प्रयोग गरिनुपर्छ।

सबै मानिसहरू सर्वशक्तिमान्‌ परमेश्‍वर, आखिरी दिनहरूका ख्रीष्टको स्तुति र प्रशंसा गान गाउँदै सिंहासनको अगाडि हर्षोल्लास मनाउँछन्! तिनीहरूको आवाजले मेघगर्जनले जस्तै सम्पूर्ण ब्रह्माण्डलाई थर्काउँछ! पूर्णतया सबै थोक उहाँको कारण अस्तित्वमा छन् र उहाँकै कारण देखा पर्छन्। सबै महिमा, मान-सम्मान, अख्तियार, ज्ञान-बुद्धि, पवित्रता, विजय र प्रकाशहरू उहाँकै हुन् भनेर नमान्‍ने आँट कसले गर्छ र? यो उहाँको इच्छाको उपलब्धि हो, र यो उहाँको व्यवस्थापनको निर्माण-कार्यको अन्तिम समाप्ति हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३४

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५५

सात मेघगर्जनहरू सिंहासनबाट निस्कन्छन् अनि तिनले ब्रह्माण्ड हल्लाउँछन्, स्वर्ग र पृथ्वीलाई उलटपुलट पार्छन्, र आकाशहरूमा गुञ्जन्छन्। त्यो गर्जनले कानै छेडिदिन्छ, र मानिसहरू यसबाट उम्कनै सक्दैनन्, न त तिनीहरू यसबाट लुक्न नै सक्छन्। मेघगर्जन र चट्याङ विस्फोट भई निस्कन्छन् र एकै क्षणमा स्वर्ग र पृथ्वी रूपान्तरित हुन्छन्, र मानिसहरू मृत्युको नजिक पुग्छन्। त्यसपछि, बिजुली चम्‍केको गतिमा, सम्पूर्ण ब्रह्माण्ड नै स्वर्गबाट झर्ने हिंस्रक आँधीबेहरीमा ढाकिन्छ! पृथ्वीको सबैभन्दा पल्लो छेउका कुनाहरूमा, बाक्‍लो वर्षातले जस्तै पूर्ण रूपले, यसले शिरदेखि पाउसम्म एउटै पनि दाग नराखीकन सबै कुरालाई धुन्छ; यसबाट कुनै पनि कुरालाई लुकाउन सकिँदैन, न त कुनै पनि व्यक्तिलाई यसबाट टाढा बन्द गरेर राख्न नै सकिन्छ। मेघगर्जनका गड्याङगुडुङहरू, बिजुली चम्केझैं, चिसो ज्योतिसँगै प्रतिबिम्बित हुन्छन् र डरले मानिसहरू थरथरी काम्छन्! धारिलो दुई-धारे तरबारले विद्रोहका छोराहरूलाई प्रहार गर्छ, र शत्रुले विपत्तिको सामना गर्छ तर लुक्ने ठाउँ नै पाउँदैन; तिनीहरू हुरी र वर्षाको तेज बहाबमा आत्तिन्छन् र उक्त प्रहारले रन्थनिँदै तत्कालै एकै सासमा खुत्रुक्कै हुन्छन् र भलमा खसेर बगिजान्छन्। त्यहाँ मृत्यु मात्र छ, र तिनीहरू जीवित रहने कुनै उपाय नै छैन। ती सात मेघगर्जनहरू मबाट निस्कन्छन् र तिनले मेरो अभिप्रायलाई जनाउँछन्, र मेरो अभिप्राय भनेको मिश्रको जेठो छोरोलाई प्रहार गर्नु हो, दुष्टहरूलाई दण्ड दिई मेरा मण्डलीहरूलाई शुद्ध पार्नु हो, ताकि सबैमाझ एक-अर्काप्रति आफ्नोपनको आभास होस्, सबैले आफ्नो सच्चा व्यवहार प्रस्तुत गरून्, र सबै मसँग एकै मनका होऊन्, ताकि ब्रह्माण्डका सारा मण्डलीहरूलाई एक बनाउन सकियोस्। यो मेरो उद्देश्य हो।

मेघ गर्जन्छ, अनि त्यसपछि बिलौना गुञ्जन्छ। कतिपय व्यक्तिहरू आफ्नो चिरनिद्राबाट ब्यूँझन्छन्, अनि तिनीहरूले अत्यन्तै भयभीत भएर आफ्ना प्राणभित्र अन्तरकुन्तरमा खोजी गर्छन् र सिंहासनसामु दौडँदै फर्की आउँछन्। तिनीहरूले आफ्नो व्यापक छलहरू र उपद्रवी कार्यहरूलाई बन्द गर्छन्; यस्ता मानिसहरू यसरी ब्यूँझनको लागि त्यति ढिलो भइसकेको हुँदैन। म सिंहासनबाट हेर्छु। म मानिसको हृदयको भित्री अन्तस्करणमा हेर्छु। जसले इमानदारितापूर्वक र उत्कट रूपले मलाई चाहन्छन्, तिनीहरूलाई म मुक्ति दिन्छु, र तिनीहरूमाथि दया देखाउँछु। जसले आफ्नो हृदयमा मलाई अरू जुनसुकै कुराभन्दा बढी प्रेम गर्छन्, जसले मेरा अभिप्रायहरू बुझ्छन् र बाटोको अन्त्यसम्मै मलाई पछ्याउँछन् तिनीहरूलाई म मुक्ति दिएर अनन्तमा लैजान्छु। तिनीहरूलाई मेरा हातहरूले सुरक्षित रूपमा समाउनेछन् ताकि तिनीहरूले यो घटनास्थलको सामना गर्न नपरोस् र तिनीहरूलाई कुनै हानि नहोस्। बिजुली चम्केको दृश्य देख्दा कतिपयका हृदयमा अकथनीय पीडा हुन्छ र तिनीहरू अति नै पछुतो गर्छन्। यदि तिनीहरूले निरन्तर यसरी नै व्यवहार गर्छन् भने, तिनीहरूको लागि धेरै ढिलो भइसकेको हुन्छ। ए, सबै र हरेक थोकहरू! सबै कुरा समाप्त हुनेछन्। यो पनि मुक्ति सम्‍बन्धी मेरा माध्यमहरूमध्ये एउटा हो। म मलाई प्रेम गर्नेहरूलाई मुक्ति दिन्छु र दुष्टहरूलाई प्रहार गर्छु, म पृथ्वीमा मेरो राज्यलाई अटल र स्थिर बनाउँछु, अनि सबै राष्ट्र र सबै मानिसहरू, ब्रह्माण्ड र पृथ्वीका छेउहरूका सबैलाई म प्रताप हुँ, म प्रचण्ड ज्वाला हुँ र म हरेक मानिसको सबैभन्दा भित्री हृदयको खोजी गर्ने परमेश्‍वर हुँ भनी जानून्। यसउप्रान्त महान् सेतो सिंहासनको न्याय खुल्लमखुल्ला रूपमा जनमानसमाझ प्रकट गरिन्छ र सबै मानिसहरूसमक्ष न्याय सुरु भएको छ भनी घोषणा गरिन्छ! जसका वचनहरू हृदयबाट निस्‍केका छैनन्, जसले शङ्का गर्छन् र जसले निश्चित हुन आँट गर्दैनन् ती सबैले, मेरा चाहनाहरू बुझ्ने तर तिनलाई अभ्यास गर्न नचाहने ती सबै समय खेर फाल्नेहरूलाई—ती सबैको न्याय गरिनुपर्छ भन्‍ने कुरामा कुनै शङ्का छैन। तिमीहरूले आफ्ना अभिप्राय र आशयहरूको ध्यान दिएर जाँच गर्नुपर्छ, र आफ्नो उचित स्थान लिनुपर्छ; मेरा वचनहरूलाई इमानदारितापूर्वक अभ्यास गर, आफ्नो जीवन अनुभवलाई महत्त्व देओ, र सतही उत्साहका साथ कार्य नगर, बरु आफ्नो जीवनलाई विकसित, परिपक्व, स्थिर र अनुभवी बनाओ—अनि मात्र तिमीहरू मेरा अभिप्रायहरूअनुरूपका हुनेछौ।

मैले निर्माण गर्ने कुराहरूलाई शैतानका दासहरू र दुष्ट आत्माहरूको अवरोध गने र विनाश गर्ने कार्यहरूलाई शोषण गर्ने कुनै पनि अवसरहरू नदे। तिनीहरूलाई गम्भीर रूपले सीमित र नियन्त्रित गरिनुपर्छ; तिनीहरूलाई धारिलो तरबारले मात्र निराकरण गर्न सकिन्छ। भविष्यका समस्याहरूलाई रोकथाम गर्नको लागि सबैभन्दा दुष्टहरूलाई पूर्ण रूपमा उखेलेर फाल्नुपर्छ। अनि, मण्डली सिद्ध हुनेछ, सबै कुरूपताबाट मुक्त हुनेछ र यो स्वस्थ, जीवनशक्ति र ऊर्जाले भरिपूर्ण बन्नेछ। बिजुली चम्केपछि, मेघगर्जनको गड्याङगुडुङ गुञ्जन्छ। तिमीहरू बेपरवाह बन्नु हुँदैन, र तिमीहरूले हरेस खानु हुँदैन, बरु तिमीहरूले छुटेका कुरा पूरा गर्न आफूले सक्दो गर्नुपर्छ, अनि तिमीहरूले मेरा हातहरूले के गर्छन्, म के प्राप्त गर्न चाहन्छु, म के फाल्न चाहन्छु, म केलाई सिद्ध तुल्याउन चाहन्छु, म केलाई जरैदेखि उखेलेर फाल्न चाहन्छु, म केलाई प्रहार गर्न चाहन्छु भन्‍ने कुरा देख्न सक्‍नेछौ—यी सबै कुरा तिमीहरूको आँखैअघि घट्नेछन् अनि तिमीहरूले मेरो सर्वशक्तिमान्‌ता स्पष्ट रूपमा देख्नेछौ।

सिंहासनदेखि ब्रह्माण्ड र पृथ्वीका छेउहरूसम्म सात मेघगर्जनहरू गुञ्जन्छन्। मानिसहरूको ठूलो समूहलाई मुक्ति दिइनेछ र तिनीहरू मेरो सिंहासनअघि समर्पित हुनेछन्। जीवनको यो ज्योतिपश्चात, मानिसहरूले बाँच्ने उपायको खोजी गर्छन् र तिनीहरू मकहाँ नआई, आराधनामा घुँडा नटेकी, र आफ्नो मुखले सर्वशक्तिमान्‌ सच्चा परमेश्‍वरको नाउँ नपुकारी र बिन्तीहरू नबिसाई रहन सक्दैनन्। तर मलाई प्रतिरोध गर्नेहरू, आफ्नो हृदयलाई झन् कठोर बनाउनेहरूको हकमा, मेघगर्जन तिनीहरूको कानैमा गुञ्‍जनेछ र शङ्कै छैन, तिनीहरू नाश हुनु नै पर्छ। यो त केवल तिनीहरूको लागि प्रतीक्षामा रहेको परिणाम हो। मेरा विजयी प्रिय छोराहरू सियोनमा बस्नेछन्, र तिनीहरूले के प्राप्त गर्नेछन् भनी सबै मानिसहरूले देख्नेछन् अनि तिमीहरूको अगाडि अथाह महिमा देखा पर्नेछ। साँच्चै नै, यो एक महान् आशिष् हो, र यो वर्णन गर्नै गाह्रो हुने एक मिठास हो।

सात मेघगर्जनहरूको गड्याङगुडुङ देखा पर्नु भनेको मलाई प्रेम गर्नेहरू, मलाई हृदयदेखि नै चाहनेहरूको मुक्ति हो। ती व्यक्तिहरू जो मेरा हुन् र जसको नियति मैले पूर्वनिर्धारित गरेको छु र जसलाई मैले चुनेको छु, तिनीहरू मेरो नाउँमा आउन सक्षम हुन्छन्। तिनीहरूले मेरो सोर सुन्न सक्छन्, जुन परमेश्‍वरले तिनीहरूलाई बोलाउनुभएको हो। पृथ्वीको छेउहरूमा रहेकाहरूले देखून् कि म धर्मी हुँ, म विश्‍वासयोग्य हुँ, म प्रेमिलो-दयालुपन हुँ, म करुणा हुँ, म प्रताप हुँ, म प्रचण्ड आगो हुँ, अनि आखिरमा, म निर्दयी न्याय हुँ।

संसारका सबैले म वास्तविक र पूर्ण परमेश्‍वर स्‍वयम्‌ हुँ भनी देखून्। सबै मानिसहरू पूर्ण रूपमा विश्‍वस्त हुन्छन् र कसैले पनि फेरि मेरो प्रतिरोध गर्दैनन्, न त मेरो आलोचना गर्ने वा मेरो निन्दा गर्ने आँट नै गर्छन्। होइन भने, तिनीहरूमाथि तत्कालै श्राप आइपर्छ, र तिनीहरूमाथि विपत्ति खस्छ। तिनीहरूले तिनीहरूको आफ्नै विनाश ल्याएकोमा रुन र दाह्रा किट्न मात्र सक्नेछन्।

सबै मानिसहरूले जानून्, ब्रह्माण्ड र पृथ्वीको छेउहरूसम्म, हरेक घर-परिवारमा, र सबै मानिसहरूले यो जानून्: सर्वशक्तिमान्‌ परमेश्‍वर नै एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ। सबै जनाले, एक-एक गरी घुँडा टेक्नेछन् र मेरो आराधना गर्नेछन्, र भर्खरै बोल्न सिकेका बालबालिकाहरूले समेत “सर्वशक्तिमान्‌ परमेश्‍वर” भनी पुकार्नेछन्! शक्ति हातमा भएका अधिकारीहरूले पनि आफ्नै आँखाले साँचो परमेश्‍वर तिनीहरूको अगाडि देखा पर्नुभएको देख्नेछन्, र तिनीहरूले पनि कृपा र क्षमा माग्दै, आराधना गर्न साष्टाङ्ग दण्डवत् गर्नेछन्, तर वास्तवमा यो धेरै ढिलो भइसकेको हुनेछ, किनभने तिनीहरूको मृत्युको घडी आइसकेको हुनेछ। तिनीहरूलाई समाप्त पारी सजाय स्वरूप अथाह नरक कुण्डमा पठाउन मात्र सकिनेछ। म सम्पूर्ण युगलाई समापन गर्नेछु र मेरो राज्यलाई झन् दह्रिलो बनाउनेछु। सबै राष्ट्र र मानिसहरू सदासर्वदाको लागि मेरो सामु समर्पित हुनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३५

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५६

सर्वशक्तिमान साँचो परमेश्‍वर, सिंहासनमा विराजमान राजाले, कैयौँ राष्ट्रहरू र मानिसहरूको सामना गर्दै, सारा ब्रह्माण्डमा शासन गर्नुहुन्छ, परमेश्‍वरको महिमा संसारभर चम्किन्छ। ब्रह्माण्ड र पृथ्वीको अन्तिम छेउसम्म भएका सबै जीवित वस्तुहरूले देख्नेछन्। पर्वतहरू, नदीहरू, तालहरू, जमिनहरू, समुद्रहरू, र सबै जीवित प्राणीहरूले साँचो परमेश्‍वरको चेहराको ज्योतिमा तिनीहरूको पर्दाहरू खुलागरी तानेका छन्, र तिनीहरू सपनाबाट ब्यूँझे झैँ, तिनीहरू माटोबाट फुटी निस्‍कने टुसाहरू झैँ, पुनर्जीवित भएका छन्!

आह! एक मात्र साँचो परमेश्‍वर संसारका मानिसहरूको सामुन्ने देखा पर्नुहुन्छ। कसले प्रतिरोधसाथ उहाँको समीप आउने साहस गर्छ? सबै डरले काम्छन्। सबै पूर्ण रूपले विश्‍वस्त भएका छन्, र सबैले बारम्बार क्षमा माग्छन्। कैयौँ मानिसहरू उहाँको अघि घुँडा टेक्छन्, र कैयौँ मुखहरूले उहाँको आराधना गर्छन्! महाद्वीपहरू र सागरहरू, पर्वतहरू, नदीहरू, र यावत् थोकले अटुट रूपमा उहाँको प्रशंसा गर्छन्! वसन्त ऋतुको स्वाससँगै न्यानो बतासले आफूसँग ज्योति, अटुट वसन्त झरी ल्याउँछ। कलकल बग्‍ने खोला र कैयौँ मानिसहरू उस्तै छन्, दुवै दुःख र हर्षले भरिएका छन्, ऋणीपन र आत्म-ग्लानिका आँसु झार्छन्। नदीहरू, तालहरू, लहर र तरङ्गहरू सबैले साँचो परमेश्‍वरको पवित्र नाउँको स्तुतिगान गर्दै गाउँदैछन्! प्रशंसाको ध्वनि यस्तो स्पष्टसँग बज्दछ! एक चोटि शैतानद्वारा भ्रष्‍ट बनाइएका पुराना वस्तुहरू, तिनीहरूमध्ये प्रत्येक र हरेक नवीकरण र परिवर्तित हुनेछन् र पूर्ण रूपमा एउटा नयाँ क्षेत्रमा प्रवेश गर्नेछन् …

यो पवित्र तुरही हो, र यो गुञ्जिन थालेको छ! यसलाई सुन्। त्यो अति सुमधुर आवाज सिंहासनको वाणी हो, त्यसले प्रत्येक राष्ट्र र मानिसहरूलाई समय आएको छ, आखिरी दिनहरूको परिणाम आएको छ, मेरो व्यवस्थापनको योजना सकिएको छ, मेरो राज्य पृथ्वीमा खुला रूपमा देखा परेको छ, र संसारका राज्यहरू मेरो राज्य भएका छन्, जो म परमेश्‍वर हुँ भनी घोषणा गर्दछ। मेरा सात तुरहीहरू सिंहासनबाट गुञ्जिन्छन्, र उदेकका कुराहरू देखा पर्नेछन्! पृथ्वीको पल्‍लो छेउहरूबाट मानिसहरू हिमपहिरोको बल र मेघ गर्जनको शक्तिसँगै हरेक दिशाबाट सँगसँगै हतारिँदै आउनेछन्…।

मेरो आवाज सुन्‍न सक्‍ने र हरेक राष्ट्र र भूमिबाट भेला हुन सक्‍ने मेरा मानिसहरूमाथि म हर्षका साथ नजर लगाउँछु। कैयौँ मानिसहरू, साँचो परमेश्‍वरलाई सधैँ आफ्नो ओठमा राख्दै, निरन्तर प्रशंसा गर्छन् र उफ्रन्छन्! तिनीहरूले संसारलाई साक्षी दिन्छन्, र साँचो परमेश्‍वरप्रति तिनीहरूको साक्षीको आवाज धेरै पानीको गर्जनको आवाज जस्तै हुन्छन्। कैयौँ मानिसहरू मेरो राज्यभित्र जम्मा हुनेछन्।

मेरा सात तुरहीहरू बज्छन्, जसले सुतिरहेकाहरू ब्यूँताउँछन्! छिटो उठ्, अझै पनि ढिलो भएको छैन। तेरो जीवनलाई हेर्! तेरा आँखाहरू खोल् र अहिले यो कुन समय हो, हेर्! खोज्नुपर्ने के कुरा छ? विचार गर्नुपर्ने के कुरा छ? र पक्रिराख्नुपर्ने के कुरा छ? के तैँले मेरो जीवन प्राप्त गर्नु र तैँले माया गरेका र पक्रिराखेका सबै कुरा प्राप्त गर्नुको मूल्यका बीचमा पाइने भिन्‍नताका बारेमा कहिल्यै विचार गरेको छस्? अब उप्रान्त हठी नबन् न त खेलबाड गर्। यो मौकालाई नगुमा। यो समय फेरी आउनेछैन! यही घडी उठ्, तेरो आत्मालाई कसरत गर्ने अभ्यास गर्, शैतानको सबै युक्ति र योजनालाई हेर्न र रोक्नलाई विभिन्न किसिमका संयन्‍त्रहरू प्रयोग गर्, र शैतानमाथि विजय गर्, ताकि तेरो जीवन अनुभव अझ बलियो हुन सकोस् र तँ मेरो स्वभावमा जिउन सक्, ताकि तेरो जीवन परिपक्व र अनुभवी हुन सकोस् र तैँले सधैँ मेरा पाइलाहरू पछ्याउन सक्। निडर, कमजोर नभई, पाइला पाइलामा सधैँ अघि बढिराख्, बाटोको अन्त्य नआएसम्म सिधा बढिराख्!

जब सात तुरहीहरू फेरि बज्छन्, यो न्यायको बोलावट हुनेछ, विद्रोहीका छोराहरूको न्याय, सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय हुनेछ, र हरेक राष्ट्र परमेश्‍वरको अघि समर्पित हुनेछन्। परमेश्‍वरको महिमित चेहरा सबै राष्ट्रहरू र सबै मानिसहरूको अघि अवश्य देखा पर्नेछ। सबै जना पूर्ण रूपमा विश्‍वस्त हुनेछन्, र अटुट रूपमा साँचो परमेश्‍वरलाई पुकार्नेछन्। सर्वशक्तिमान परमेश्‍वर अझ धेरै महिमित हुनुहुनेछ, र मेरा छोराहरू र मैले सबै राष्ट्रहरू र सबै मानिसहरूको न्याय गर्दै, दुष्टलाई दण्ड दिँदै, मेरा जतिलाई कृपा देखाउँदै र मुक्त हुँदै, र राज्यलाई बलियो र स्थायी बनाउँदै महिमामा भाग लिनेछौँ र राज्याधिकार बाँड्नेछौँ। सात तुरहीहरूको आवाजद्वारा, धेरै मानिसहरू मुक्त हुनेछन्, मेरो अघि घुँडा टेक्न र निरन्तर प्रशंसाका साथ आराधना गर्न फर्किआउनेछन्!

जब सात तुरहीहरू फेरि एकचोटि बज्नेछन्, यो युगको अन्त्य हुनेछ, दियाबलसहरू र शैतानमाथिको विजयको तुरही चर्को आवाज बज्छ, जुन सलामी हो, जसले पृथ्वीको राज्यमा खुल्ला रूपले जियाई सुरु गर्नलाई घोषणा गर्दछ! यो आवाज कति उच्च छ, यो आवाज सिंहासनको वरिपरि प्रतिध्वनित हुन्छ, स्वर्ग र पृथ्वी हल्लाउँदै यो तुरही चर्को आवाजमा बज्छ, जुन मेरो व्यवस्थापन योजनाको विजयको चिन्ह हो, जुन शैतानको न्याय हो; यसले यो पुरानो संसारलाई अतल कुण्‍डमा फर्किन, पूर्ण रूपले मृत्युको दण्ड सुनाउँछ! यो तुरहीको चर्को आवाजले अनुग्रहको ढोका बन्द हुन लागेको, राज्यको जीवन पृथ्वीमा सुरु हुनेछ, जुनचाँहि सही र उचित छ भन्‍ने कुरा दर्साउँछ। परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूलाई मुक्ति दिनुहुन्छ। तिनीहरू उहाँको राज्यमा फर्किएपछि, पृथ्वीमा भएका मानिसहरूले अनिकाल र महामारीको सामना गर्नेछन्, र परमेश्‍वरको सात कचौराहरू र सात विपत्तिहरू प्रभावमा आउनेछन्। स्वर्ग र पृथ्वी बितेर जानेछन्, तर मेरा वचन बित्नेछैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ३६

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५७

आखिरी दिनहरूका ख्रीष्‍टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्‍त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्‍वरलाई चिन्‍नेछ र ऊ परमेश्‍वरद्वारा अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्‍टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्‍नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्‍नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरूसँग सिंहासनबाट बग्‍ने जीवनको पानी नभई धमिलो पानी मात्रै छ, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्‍वरलाई देख्‍न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्‍न खोज्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्‍न मात्रै खोज्छस्, र यथास्थितिलाई परिवर्तन गर्न र इतिहासलाई फाल्न खोज्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्‍वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्‍वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै विशाल र शक्तिशाली छन्—तैपनि तँ आफ्‍नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बसेको परमेश्‍वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस् र? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्‍याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्‍वरको कामका कदमहरूको खोजी गर्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्‍ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्‍त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्‍न तँलाई सहयोग गर्न सक्‍ने दर्शनशास्‍त्रका शब्‍दहरू होइनन्, ती तँलाई सिद्ध पार्ने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई सचिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूलाई बोध गर्ने तुल्याउँदैन र? के तँ परमेश्‍वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्‍वरको आगमनविना, के तँ परमेश्‍वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्‍न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।

ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर भित्र जान सक्‍ने कोही पनि छैन। ख्रीष्‍टमार्फत बाहेक परमेश्‍वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यता र जीवनको आपूर्ति स्वीकार गर्न असमर्थ हुने, अनि आशिष्‌हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्ने नगर्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्‍वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्‍नुहोस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँलाई दोषी ठहराउँछस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्‍म जल्नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नका लागि परमेश्‍वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले आफ्ना गल्ती सच्याउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्‍वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानव होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्‍ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्‍नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी आलोचना नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउन र फेरि परमेश्‍वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५८

मेरा रहस्यहरू प्रकट भएका छन् र खुला रूपमा प्रदर्शित भएका छन्, र अब लुकेका छैनन्, यो सबै पूर्ण रूपमा मेरो अनुग्रह र कृपाको कारणले भएको हो। यसबाहेक, मेरो वचन मानिसहरूमाझ देखा परेको छ, र यसलाई अब फेरि गुप्त राखिएको छैन, यो पनि मेरो अनुग्रह र कृपाको कारणले भएको हो। म ती सबैलाई प्रेम गर्दछु जसले निष्कपट रूपमा मप्रति आफैलाई समर्पित गर्छन् र ममा आफैलाई अर्पण गर्छन्। मबाट जन्मेर पनि मलाई नचिन्‍ने र मेरो प्रतिरोध समेत गर्ने सबैलाई म घृणा गर्छु। जो मेरा लागि निष्कपट छ म उसलाई त्‍याग्‍नेछैनँ; बरु, म त्यो व्यक्तिका आशिष्‌हरू दोब्बर गरिदिनेछु। खुवाउने हातलाई ठुङ्नेहरूलाई म दोब्बर दण्ड दिनेछु। र म तिनीहरूलाई सजिलै छोड्‌नेछैनँ। मेरो राज्यमा कुनै कुटिलता वा छलकपट छैन, र कुनै सांसारिकता छैन; अर्थात्, त्यहाँ मृतकको कुनै दुर्गन्ध छैन। बरु, सबै विशुद्धता र धार्मिकता छन्; सबै शुद्धता र खुलापन छ, जसमा कुनै कुरा लुकाइएको वा गुप्त राखिएको छैन। सबै कुरा ताजा छन्, सबै थोक रमाइला छन्, र सबै थोक सुधार गर्ने किसिमका छन्। जो कसैसित अझै पनि मृतकको दुर्गन्ध छ त्यो कुनै पनि प्रकारले मेरो राज्यमा रहन सक्दैन, र यसको सट्टामा मेरो फलामको डन्डाले त्योमाथि शासन गरिनेछ। अनादिकालदेखि अहिलेको दिनसम्मका सबै अन्त्यहीन रहस्यहरू तिमीहरूलाई—आखिरी दिनहरूमा मद्वारा प्राप्त गरिने मानिसहरूको समूहलाई पूर्ण रूपमा प्रकाश गरिएको छ। के तिमीहरू आशिषित महसुस गर्दैनौ? यसको साथै, सबै कुराहरू खुल्लमखुल्ला प्रकट गरिने ती दिनहरू तिमीहरूले मेरो शासनमा साझेदारी गर्ने दिनहरू हुनेछन्।

मानिसहरूको जुन समूहले साँच्चै राजाहरूको रूपमा शासन गर्छन् तिनीहरू मेरो पूर्वनिर्धारित गन्तव्य र छनौटमा निर्भर गर्दछ, र यसमा मानवीय इच्छा रत्तीभर पनि छैन। यसमा भाग लिन हिम्मत गर्ने जोकोहीले मेरो हातको प्रहार सहनुपर्नेछ, र त्यस्ता मानिसहरू मेरो दन्किरहेको आगोमा पर्ने वस्तुहरू हुनेछन्; यो मेरो धार्मिकता र महिमाको अर्को पक्ष हो। मैले भनेको छु, म सबै कुरामाथि शासन गर्दछु, म त्यो बुद्धिमान् परमेश्‍वर हुँ जसले पूर्ण अख्तियार प्रयोग गर्दछ, र म कसैप्रति दयालु छैनँ; म पूर्ण रूपमा निष्ठुर छु, व्यक्तिगत भावनाहरूबाट पूर्ण रूपमा वञ्चित छु। म जोसुकैसँग (चाहे ऊ जत्ति नै राम्ररी बोलोस्, म उसलाई छोड्ने छैनँ) मेरो धार्मिकता, शुद्धता र प्रतापद्वारा व्यवहार गर्दछु, यस अवधिमा सबैलाई मेरा कामहरूको चमत्कार देख्न सक्ने, साथै मेरा कामहरूको अर्थ बुझ्न सक्‍ने तुल्याउँछु। मैले एक-एक गरी दुष्टात्माहरूलाई तिनीहरूले गरेका हरप्रकारका कार्यहरूका लागि दण्ड दिएँ र तिनीहरू प्रत्येकलाई अतल कुण्डमा फ्याँकिदिएँ। यो काम मैले समय सुरु हुनुभन्दा अघि समाप्त गरें, तिनीहरूको निम्ति कुनै स्थिति छोडिनँ, तिनीहरूका निम्ति काम गर्ने कुनै ठाउँ छोडिनँ। मेरो चुनिएका मानिसहरू—मद्वारा पूर्वनिर्धारण गरिएकाहरू र छनौट गरिएकाहरू—कोही पनि कहिल्यै दुष्टात्माद्वारा ग्रस्त हुन सक्दैन, र त्यस्तो सट्टामा, तिनीहरू सधैँ पवित्र रहनेछन्। मैले पूर्वनिर्धारण नगरेका र नचुनेकाहरूलाई चाहिँ म शैतानको हातमा दिनेछु, र तिनीहरूलाई उप्रान्त रहन दिनेछैनँ। सबै पक्षहरूमा, मेरो प्रशासनिक आदेशहरूमा मेरो धार्मिकता र मेरो प्रताप सम्मिलित छन्। जस-जसमा शैतानले काम गर्दछ तिनीहरू एकै जनालाई पनि म छोड्‌नेछैनँ, तर तिनीहरूका शरीरसितै तिनीहरूलाई पातालमा फालिदिनेछु, किनकि म शैतानलाई घृणा गर्दछु। म कुनै पनि प्रकारले त्यसलाई सजिलै बचाउनेछैन, तर त्यसलाई आफ्नो काम गर्ने थोरै मौका समेत नदिइकन पूर्ण रूपमा नाश पार्नेछु। शैतानले केही हदसम्म भ्रष्ट बनाएका व्यक्तिहरू (अर्थात्, विपत्तिमा पर्ने मानिसहरू) मेरो आफ्नै हातको बुद्धिमत्तापूर्ण व्यवस्थापन अन्तर्गत हुन्छन्। यो शैतानको उग्र क्रोधको परिणाम हो भन्‍ने नसोच्; यो जान् कि म सर्वशक्तिमान् परमेश्‍वर हुँ, जसले ब्रह्माण्ड र सबै थोकमाथि शासन गर्छ! मैले समाधान गर्न नसक्ने समस्याहरू कुनै पनि छैन, मैले पूरा गर्न नसक्ने काम वा मैले बोल्न नसक्ने कुनै शब्द हुनु त झन् परै जाओस्। मानिसले मेरो सल्लाहकारको काम गर्नु हुँदैन। होसियार हो, मेरा हातको प्रहार परी पातालमा खस्लास्। म तँलाई भन्छु! आज मसँग ज-जसले सक्रिय रूपमा सहयोग गर्दैछन् उनीहरू बुद्धिमान् हुन्, र उनीहरू हानि हुनबाट जोगिनेछन् र न्यायको कष्टबाट बच्नेछन्। यी सबै मैले पूर्वनिर्धारण गरेका मेरा प्रबन्धहरू हुन्। आफूलाई अति नै महान् सम्झेर कुनै अविवेकी टिप्पणी नगर् र ठूला-ठूला कुराहरू नगर्। के यो सबै मेरो पूर्वनिर्धारणद्वारा भएका होइनन् र? तँ जो मेरो सल्लाहकार हुन खोज्छस्, तँलाई कुनै सरम नै छैन! तँलाई आफ्नो कद नै थाहा छैन; तँलाई के थाहा यो कति दयनीय रूपमा सानो छ! तैपनि, तँ यो कुनै ठूलो कुरा होइन भनी सोच्छस्, र आफैलाई चिन्दैनस्। बारम्बार, तँ मेरा वचनहरू सुन्न इन्कार गर्छस्, र त्यसरी मेरा कडा मेहनतहरूलाई व्यर्थ बनाउँछस् र ती मेरो अनुग्रह र दयाका अभिव्यक्ति हुन् भनी महसुस नै गर्दैनस्। बरु, तँ बारम्बार आफ्नो चलाखी देखाउने कोसिस गर्छस्। के यो कुरा तँलाई याद छ? आफूलाई त्यति चलाख ठान्ने मानिसहरूले कस्तो दण्ड पाउनुपर्छ? मेरा वचनहरूप्रति उदासीन र अविश्‍वसनीय रहने, र ती वचनहरूलाई आफ्नो हृदयमा नराख्ने, तिमीहरूले यो अनि त्यो गर्न मलाई एउटा बहानाको रूपमा प्रयोग गर्छौ। दुष्कर्मीहरू! तिमीहरू कहिले मेरो हृदयलाई पूर्ण रूपमा विचार गर्न सक्ने हुनेछौ? तिमीहरू यसबारेमा कुनै विचार नै गर्दैनौ, त्यसैले तिमीहरू “दुष्कर्मीहरू” भन्नु तिमीहरूलाई दुर्व्यवहार गर्नु होइन। यो तिमीहरूलाई एकदमै सुहाउँछ!

कुनै बेला लुकेर रहेका कुराहरूलाई एक-एक गरी आज म तिमीहरूलाई देखाउँदैछु। त्यो ठूलो रातो अजिङ्गर अतल कुण्डमा फालिएको छ र पूर्ण रूपमा नाश पारिएको छ, किनकि त्यसलाई राख्नु कुनै फाइदा छैन; यसको अर्थ, त्यसले ख्रीष्टको सेवा गर्न सक्दैन। यस दिनपछि, राता चीजहरूको कुनै अस्तित्व रहनेछैन; तिनीहरू खिइँदै बिस्तारै नाश हुनेछन्। म जे भन्छु त्यो गर्छु; यो मेरो कामको पूर्णता हो। मानवीय धारणाहरूलाई फाल्; मैले भनेका सबै कुरा मैले गरेको छु। जसले चतुर हुने कोसिस गर्छ उसले आफैमाथि विनाश र घृणा ल्याउँछ, र ऊ जिउन चाहँदैन। त्यसकारण, म तँलाई सन्तुष्ट पार्नेछु, र निश्चित रूपमा त्यस्ता मानिसहरूलाई राख्नेछैन। अबउप्रान्त जनसङ्ख्या सर्वोत्तम रूपमा वृद्धि हुनेछ, तर मसँग सक्रिय सहकार्य नगर्ने सबैलाई बढारेर शून्यतामा पुर्‍याइनेछ। मैले स्वीकृति दिएका व्यक्तिहरू तिनीहरू हुन् जसलाई म सिद्ध पार्नेछु, र म तिनीहरूमध्ये एक जनालाई पनि फाल्नेछैन। मैले भनेको कुरामा कुनै विरोधाभासहरू छैनन्। जसले मसँग सक्रिय सहकार्य गर्दैनन् तिनीहरूले अझ बढी सजाय भोग्नुपर्नेछ, तैपनि अन्त्यमा, म तिनीहरूलाई अवश्य नै मुक्ति दिनेछु। तैपनि त्यतिञ्जेलसम्ममा, तिनीहरूको जीवनको हद अति नै फरक हुनेछ। के तँ त्यस्तो व्यक्ति बन्न चाहन्छस्? उठ र मसँग सहकार्य गर! निष्कपट रूपमा मप्रति आफूलाई समर्पित गर्नेहरूसित निश्चय पनि म अन्यायपूर्ण व्यवहार गर्नेछैनँ। तिमीहरूमध्ये निष्ठासाथ मप्रति आफूलाई अर्पण गर्नेहरूलाई म मेरा सबै आशिष्‌हरू प्रदान गर्नेछु। आफैलाई पूर्ण रूपमा ममा अर्पण गर्! तँ जे खान्छस्, तँ जे लगाउँछस्, र तेरो भविष्य सबै मेरा हातमा छन्; म सबै कुरा उचित रूपमा प्रबन्ध गर्नेछु, ताकि तैँले तिनको अनन्त आनन्द उठाउन सक् र तँसँग असीमित आपूर्ति होस्। किनकि मैले भनेको छु, “तिमीहरूमध्ये मेरो लागि इमानदारीपूर्वक समर्पित हुनेहरूलाई म अवश्य नै धेरै आशिष्‌ दिनेछु।” निष्कपट रूपमा मप्रति आफूलाई समर्पित हुने हरेक व्यक्तिकहाँ सबै आशिष्‌हरू आउनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७०

परमेश्‍वरका दैनिक वचनहरू  अंश ५९

भीडहरूले मेरो जयजयकार गर्छन्, भीडहरूले मेरो प्रशंसा गर्छन्; सबै मुखले एउटै साँचो परमेश्‍वरको नाउँ लिन्छन्, सबै मानिसहरूले मेरा कामहरू हेर्न आ-आफ्नो आँखा माथि उठाउँछन्। परमेश्‍वरको राज्य मानिसहरूको संसारमा ओर्लिन्छ, मेरो व्यक्ति धनी र प्रशस्त छ। यसमा को आनन्दित हुँदैन र? आनन्दले को नाच्दैन? ए, सियोन! ममा हर्षोल्‍लास गर्न तेरो विजयको झन्डा उठा! मेरो पवित्र नाउँलाई फैलाउन तेरो विजयको गीत गा! पृथ्वीको अन्त्यसम्‍मका सबै सृष्टि! आफैलाई शुद्ध पार्न हतार गर, यसैले कि तिमीहरू मेरो निम्ति बलि बन्न सक। माथि स्वर्गका तारा मण्डलहरू! आकाशमा मेरो पराक्रमी शक्ति प्रकट गर्न आफ्‍नो स्थानमा तुरुन्तै फर्किहाल। म पृथ्वीका मानिसहरूका आवाज सुन्न मेरो कान थाप्छु, जसले गीतमा मेरो निम्ति आफ्नो असिम प्रेम र सम्मान खन्याउँछन्। यस दिन, जब सबै सृष्टिहरू जीवनमा फर्कन्छन्, म मानिसहरूको संसारमा ओर्लिन्छु। यो क्षणमा, यस बेला, सबै फूलहरू उन्मत्त बनेर फक्रिन्छन्, सबै पक्षीहरू एकै सोरमा गाउँछन्, सबै थोक आनन्दले धड्कन्छन्। परमेश्‍वरको राज्यको सलामीको आवाजमा, शैतानको राज्य ढल्छ, राज्यको स्तुतिगानको गर्जनमा कहिल्यै नउठ्ने गरी नाश हुन्छ।

पृथ्वीमा कसले खडा हुने र विरोध गर्ने हिम्मत गर्छ? जब म पृथ्वीमा ओर्लिन्छु, म आगो ल्याउँछु, क्रोध ल्याउँछु, र हर किसिमका प्राकृतिक विपत्तिहरू ल्याउँछु। अहिले सांसारिक राज्यहरू मेरो राज्य हुन्! माथि आकाशमा, बादलहरू छताछुल्ल र तरङ्गित हुन्छन्; आकाशमुनि, ताल र नदीहरू उर्लेर बढ्छन् र खुसीको साथ एक उत्तेजक धुन निकाल्छन्। विश्राम गरिरहेका जनावरहरू उनीहरूका ओडारहरूबाट निस्किन्छन्, र सबै मानिसहरू मद्वारा उनीहरूको निद्राबाट जगाइन्छन्। असङ्ख्य मानिसहरूले पर्खेका दिन आखिरमा आइपुगेको छ! तिनीहरूले आफ्ना सबैभन्दा सुन्दर गीतहरू मलाई चढाउँछन्।

यो सुन्दर क्षणमा, यो आनन्दको समयमा,

चारैतिर प्रशंसा गुञ्‍जिन्छ, माथि आकाशमा अनि तल पृथ्वीमा। यसमा को उत्साहित हुँदैन र?

कसको हृदय फुरुङ्ग हुँदैन र? यो दृश्यमा रुने को छैन र?

आकाश पुरानो समयको आकाश होइन, अब यो परमेश्‍वरको राज्यको आकाश हो।

पृथ्वी त्यो पृथ्वी होइन जुन पहिले थियो, अब त यो पवित्र भूमि हो।

ठूलो वर्षा बितिसकेपछि, त्यो फोहोर पुरानो संसार पूर्ण रूपमा नयाँ बनाइएको छ।

पर्वतहरू परिवर्तन हुँदैछन् … समुद्रहरू परिवर्तन हुँदैछन् …

मानिसहरू पनि परिवर्तन हुँदैछन् … सबै थोकहरू परिवर्तन हुँदैछन्…।

हे, तिमी मौन पर्वतहरू हो! उठ र मेरो लागि नाच!

हे, तिमी शान्त समुद्र हो, स्वतन्त्र रूपमा बग्दै जाओ!

सपना देख्ने मानिसहरू हो! बिउँझ र पछि लाग!

म आएको छु … म राजा हुँ…।

सबै मानव जातिले तिनीहरूका आँखाले मेरो अनुहार देख्नेछन्, र तिनीहरूको कानले मेरो आवाज सुन्नेछन्,

आफ्नै लागि परमेश्‍वरको राज्यको जीवन जिउनेछन्…।

कस्तो मीठो … कति सुन्दर…।

अविस्मरणीय … बिर्सनु असम्भव…।


मेरो क्रोध दन्किँदा ठूलो रातो अजिङ्गरले संघर्ष गर्दछ;

मेरो राजसी न्यायमा, दियाबलसहरूले तिनीहरूको आफ्नो वास्तविक रूपहरू देखाउँछन्;

मेरा कठोर वचनहरूमा, सबै मानिसहरूले गहिरो लाज महसुस गर्दछन्, र आफूलाई लुकाउने ठाउँ कहीँ पाउनेछैनन्।

तिनीहरूले विगतलाई सम्झन्छन्, तिनीहरूले कसरी मेरो उपहास गरेथे, र मेरो खिल्ली उडाएका थिए।

तिनीहरूले आफैलाई प्रदर्शन नगरेको, कुनै समय थिएन, तिनीहरूले मेरो विरुद्धमा विद्रोह नगरेको कुनै समय थिएन।

आज, को रुँदैन? कसलाई पछुतो लाग्दैन?

सम्पूर्ण ब्रह्माण्डको संसार रोदनले भरिएको छ …

आनन्दको आवाजहरूले भरिएको … हाँसोका आवाजहरूले भरिएको…।

अतुलनीय आनन्द … तुलना गर्नै नसकिने खुसी…।


एक सानो वर्षाले पटटट गर्दैछ … हिउँका गह्रौं टुक्राहरू फुरुरु चल्दैछन्…।

मानिसहरूभित्र, दुःख र आनन्द आपसमा मिसिदैछन् … कोही हाँस्दैछन् …

कोही सुँक्कसुँक्क गर्दैछन् … कोही आनन्द मनाइरहेका छन्…।

मानौं, सबैले बिर्सेका छन् … यो वर्षा र बादलहरू सहितको वसन्त हो कि,

फूलहरू फक्रिरहेको ग्रीष्म, प्रशस्त फसलहरूको शरद ऋतु हो,

वा तुसारो र हिउँजस्तो चिसो हिउँद हो, सो कसैले जान्दैन…।

आकाशमा बादलहरू बग्दैछन्, पृथ्वीमा समुद्रहरू घोलिएर धमिलिँदैछन्।

छोराहरूले आफ्ना पाखुरा हल्लाउँछन् … मानिसहरू नाच्नका निम्ति आफ्ना खुट्टाहरू चलाउँछन्…।

स्वर्गदूतहरूले काम गर्दैछन् … स्वर्गदूतहरू गोठालो गरिरहेका छन्…।

पृथ्वीमा मानिसहरू सबै दौडधूप गरिरहेका छन्, र पृथ्वीमा सबै थोकहरू वृद्धि हुन्छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, राज्यको स्तुतिगान

परमेश्‍वरका दैनिक वचनहरू  अंश ६०

मानवजातिको हरेक व्यक्तिले मेरो आत्माद्वारा सूक्ष्म रूपमा जाँचिन स्वीकार गर्नुपर्छ, उसको हरेक वचन र कार्यलाई नजिकबाट निरीक्षण गर्नुपर्छ, यसअलावा मेरा अचम्मका कार्यहरूलाई आदरसाथ हेर्नुपर्छ। पृथ्वीमा राज्यको आगमन हुँदाको समयमा तिमीहरूले कस्तो अनुभूति गर्छौ? जब मेरा छोराहरू र मानिसहरू मेरो सिंहासनतर्फ हूलका हूल अघि बढ्छन्, तब म ठूलो सेतो सिंहासनअघि औपचारिक रूपमा न्यायको आरम्भ गर्नेछु। भन्नुको मतलब, जब मैले स्वयम् उपस्थित भई पृथ्वीमा आफ्नो काम गर्न सुरु गर्छु र जब न्यायको युग अन्त्यतर्फ नजिकिन्छ, तब म मेरा वचनहरूलाई सम्पूर्ण ब्रह्माण्डतर्फ लक्षित गर्छु र मेरो आत्माको वाणीलाई सम्पूर्ण ब्रह्माण्डतर्फ छोडिदिन्छु। मेरा वचनहरूमार्फत, म सबै मानिसहरू र स्वर्ग र पृथ्वीमा रहेका सबै थोकलाई धोइपखाली सफा पार्छु, ताकि यो भूमि अबउप्रान्त फोहोरी र छाडा नहोस्, बरु पवित्र राज्य होस्। म सबै थोकलाई नवीकरण गर्नेछु, ताकि तिनीहरू मेरो प्रयोगको लागि उपलब्‍ध होऊन्, ताकि तिनीहरूले अबउप्रान्त पार्थिव सास नबोकून्, र अबउप्रान्त भुइँको कुनै पनि विशेषताद्वारा दूषित नबनून्। पृथ्वीमा, मानिसले मेरा वचनहरूको लक्ष्य र उत्पत्तिको बारेमा छामछाम-छुमछुम गर्दै खोजी गरेको छ, र मेरा कार्यहरूलाई अवलोकन गरेको छ, तर कसैले पनि कहिल्यै मेरा वचनहरूको उत्पत्तिको बारेमा साँचो रूपमा जानेको छैन र कसैले पनि कहिल्यै मेरा कार्यहरूको आश्‍चर्यपनलाई साँचो रूपमा देखेको छैन। आज मात्रै म व्यक्तिगत रूपमा मानिसमाझ आउँदा र मैले मेरा वचनहरू बोल्दा मानिसले मेरो बारेमा थोरै ज्ञान प्राप्त गरेको छ, र यसरी उसको सोचहरूमा भएको “म” द्वारा ओगटिएको स्थान खाली गरेको छ र यसको सट्टामा तिनीहरूको चेतना व्यावहारिक परमेश्‍वरको लागि एउटा ठाउँ सृजना गरेको छ। मानिससँग धारणाहरू छन् र ऊ उत्सुकताले भरिपूर्ण छ; कसले पो परमेश्‍वरलाई देख्न चाहँदैन र? कसले पो परमेश्‍वरको भेट गर्न चाहँदैन र? तैपनि मानिसहरूको हृदयमा ठाउँ ओगट्ने एउटै कुरो भनेको मानिसले अस्पष्ट र अमूर्त ठान्ने परमेश्‍वर हो। यदि मैले स्पष्टसित नबताएको भए, कसले पो यो कुरा महसुस गर्न सक्थ्यो र? कसले पो म वास्तवमै अस्तित्वमा छु भनेर निश्‍चयताका साथ र कुनै पनि शङ्काविना साँचो रूपमा विश्‍वास गर्थ्यो र? मानिसको हृदयमा भएको “म” र वास्तविकताको “म” बीचमा धेरै ठूलो भिन्नता छ, र कसैले पनि तिनीहरूको बीचमा तुलना गर्न सक्दैन। यदि म देह नबनेको भए, मानिसले कहिल्यै पनि मलाई चिन्दैनथ्यो, र उसले मलाई चिनेको नै थियो भने पनि, के त्यस्तो ज्ञान अझै धारणा नै हुँदैनथियो र? हरेक दिन म मानिसहरूको अटुट प्रवाहमाझ हिँड्छु, र हरेक दिन म हरेक व्यक्तिभित्र कार्य सञ्चालन गर्छु। जब मानिसले मलाई साँचो रूपमा देख्छ, तब उसले मेरा वचनहरूमा मलाई चिन्न सक्नेछ, र मैले जुन साधनहरूमार्फत बोल्छु ती साधनहरूका साथै मेरा अभिप्रायहरूको बारेमा बोध गर्नेछ।

जब राज्य औपचारिक रूपमा पृथ्वीमा आइपुग्छ, तब सबै थोकमाझ केचाहिँ चुपचाप रहँदैन र? सबै मानिसहरूमाझ कोचाहिँ डराउँदैन र? म ब्रह्माण्डरूपी संसारभरि जताततै हिँड्छु, र हरेक कुरालाई मैले व्यक्तिगत रूपमा बन्दोबस्त गरेको छु। यस समयमा, कसलाई मेरा कामहरू अद्भुत छन् भनी थाहा छैन र? मेरा हातहरूले सबै थोकलाई थाम्छन्, तैपनि म सबै थोकभन्दा माथि छु। आज, के मानिसको बीचमा भएको मेरो देहधारण र मेरो व्यक्तिगत उपस्थिति मेरो विनम्रता र लुप्तपनको साँचो अर्थ होइन र? बाह्य रूपमा, धेरै मानिसहरूले मलाई असल भनी सराहना गर्छन् र मलाई सुन्दर भनी प्रशंसा गर्छन्, तर कसले मलाई साँचो रूपमा चिन्छ र? आज, मैले किन तिमीहरूलाई मलाई चिन भनी भनिरहेको छु त? के मेरो उद्देश्य ठूलो रातो अजिङ्गरलाई सर्ममा पार्नु होइन र? म मानिसलाई मेरो प्रशंसा गर्न बाध्य पार्न चाहन्न, बरु म उसलाई मलाई चिन्न लगाउन चाहन्छु, जसमार्फत उसले मलाई प्रेम गर्नेछ र यसरी मेरो प्रशंसा गर्नेछ। त्यस्तो प्रशंसाचाहिँ प्रशंसा भन्न लायक हुन्छ, र त्यो खोक्रो कुराकानी हुँदैन; त्यस्तो प्रशंसा मात्र मेरो सिंहासनसम्म आइपुग्छन् र आकाशतिर उचालिन्छन्। मानिसलाई शैतानले प्रलोभित र भ्रष्ट तुल्याएको छ, उसले धारणा र सोचहरू अपनाएको छ, त्यसैले सारा मानवजातिलाई विजय गर्नको लागि, मानिसका सबै धारणाहरूलाई खुलासा गर्नको लागि, र मानिसका सोचहरूलाई च्यात्नको लागि म देह बनेको छु। परिणामस्वरूप, मानिस मेरो अगाडि पहिले झैँ अहिले हिँड्दैन, उसले पहिले झैँ अहिले उसका आफ्नै धारणाहरू प्रयोग गरी मेरो सेवा गर्दैन, र यसरी मानिसको धारणाहरूको “म” पूर्ण रूपमा हराएको छ। जब राज्य आउँछ, तब मैले गर्ने सबैभन्दा पहिलो काम भनेको कामको यो चरणलाई सुरु गर्नु हो र म मेरा मानिसहरूमाझ यस्तो काम गर्छु। ठूलो रातो अजिङ्गरको देशमा जन्मेका मेरा मानिसहरूको रूपमा, तिमीहरूभित्र निश्चय नै त्यो ठूलो रातो अजिङ्गरको विषको अलिकति वा एक भाग मात्र पनि छैन। त्यसैले, मेरो कामको यो चरण प्राथमिक रूपमा तिमीहरूमा केन्द्रित छ, र चीनमा मेरो देहधारण हुनुको महत्त्वको एउटा पक्ष यही हो। धेरैजसो मानिसहरूले मैले बोल्ने वचनहरूको सानो टुक्रालाई समेत बुझ्न सक्दैनन्, जब तिनीहरूले बुझ्छन्, तब तिनीहरूको बुझाइ धमिलो र भ्रमपूर्ण हुन्छ। यो मैले बोल्ने शैलीको परिवर्तनको निर्णायक मोड हो। यदि सबै मानिसहरूले मेरा वचनहरू पढ्न र तिनका अर्थहरू बुझ्न सक्‍ने भए त, मानिसमाझ कसलाई मुक्ति दिन, र नरकमा नफाल्न सकिन्थ्यो र? जब मानिसले मलाई चिन्छ र मेरो आज्ञा पालन गर्छ, त्यो समय मैले विश्राम गर्ने समय हुनेछ र त्यही समय मानिसले मेरा वचनहरूको अर्थ बुझ्न सक्षम भएको समय पनि हुनेछ। आज, तिमीहरूको कद अति सानो छ—यो दयनीय रूपमा सानो छ, उचाल्न पनि लायक छैन—मेरो बारेमा तिमीहरूको ज्ञानको त कुरै नगरौं।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ११

परमेश्‍वरका दैनिक वचनहरू  अंश ६१

जब पूर्वबाट बिजुलीका चमकहरू आउँछन्, जुन म मेरा वचनहरू बोल्न थाल्ने समय पनि हो—जब बिजुलीका चमकहरू आउँछन् तब सम्पूर्ण आकाश उज्यालो हुन्छ, र सबै ताराहरूमा एक रूपान्तरण हुन्छ। यस्तो लाग्छ, मानौँ सम्पूर्ण मानव जातिलाई सफाइ गरिएको छ। पूर्वबाट आउने यो ज्योतिको किरणमा सम्पूर्ण मानव जातिलाई उनीहरूको असली रूपमा प्रकट गरिन्छ, उनीहरूका आँखाहरू तिरमिराउँछन्, के गर्ने भनेर अनिश्चित हुन्छन्, र उनीहरूका कुरूप अनुहारहरू कसरी लुकाउने होला भनी अझै अनिश्चित हुन्छन्। तिनीहरू ती पशुहरूजस्ता छन् जो मेरो ज्योतिबाट भाग्छन् र पहाडका गुफाहरूमा शरण लिन्छन्—तर तीमध्ये एकै जना पनि मेरो ज्योतिबाट नष्ट हुन सक्दैन। सबै मानिसहरू चकित हुन्छन्, सबैले पर्खिरहेका हुन्छन्, सबैले हेरिरहेका हुन्छन्; मेरो ज्योतिको आगमनको साथमा सबै जना आफू जन्मेको दिनमा रमाउँछन्, र त्यस्तै गरी सबैले आफ्नो जन्मेको दिनलाई सराप्छन्। विवादास्पद भावनाहरू व्यक्त गर्न असम्भव हुन्छ; आत्म-निन्दाका आँसुहरूको नदीहरू बग्छन्; र तीव्र प्रवाहमा बगेर जान्छन्, एकै क्षणमा नाम-निसाना मेटिने गरी हराउँछन्। एक पटक फेरि, मेरो दिन सारा मानव जातिको नजिक पुग्छ, एक पटक फेरि मानव जातिलाई उत्तेजित गराउँछ, मानव जातिलाई अर्को एउटा नयाँ सुरुआत दिँदछ। मेरो हृदय धड्किन्छ र, मेरो हृदयको धड्कनको ताल अनुसरण गर्दै, पहाडहरू आनन्दले उफ्रन्छन्, पानीहरू आनन्दले नाच्छन्, र छालहरूले चट्टानका पहराहरूमा हान्छन्। मेरो हृदयमा जे छ त्यो व्यक्त गर्न गाह्रो हुन्छ। सबै अशुद्ध थोकहरूलाई म मेरो नजरमा जलाएर खरानी बनाउन चाहन्छु; म विद्रोहका सबै छोराहरूलाई मेरो आँखाको अगाडिबाट कहिल्यै अस्तित्वमा नरहने गरी विलुप्त पार्न चाहन्छु। त्यो ठूलो रातो अजिङ्गरको बास बस्ने ठाउँमा मैले नयाँ सुरुवात मात्र गरेको छैनँ, मैले ब्रह्माण्डमा पनि नयाँ काम सुरु गरेको छु। चाँडै, पृथ्वीका राज्यहरू मेरो राज्य हुनेछन्; चाँडै, मेरो राज्यको कारण यस पृथ्वीका राज्यहरूको अस्तित्व सदाका लागि समाप्त हुनेछ, किनकि मैले अघिबाटै विजय हासिल गरिसकेको छु, किनकि म विजयी बनेर फर्केको छु। त्यो ठूलो रातो अजिङ्गरले पृथ्वीमा मेरो काम मेटाउने आशामा मेरो योजनामा बाधा पुर्‍याउनका लागि सबै साधनहरू समाप्त गरिसक्यो, तर के म त्यसको कपटपूर्ण चालका कारण निराश हुन सक्छु? के म त्यसको धम्कीबाट आत्मविश्‍वास गुमाउँला भनी डराउँछु? स्वर्गमा वा पृथ्वीमा कहिल्यै कुनै यस्तो प्राणी भएको छैन जसलाई मैले मेरो हत्‍केलामा लिएको छैन; त्यो ठूलो रातो अजिङ्गर, त्यो औजारको बारेमा झन् यो कति धेरै सत्य छ, जसले मेरो निम्ति प्रतिभारको रूपमा काम गर्छ? के यो पनि मेरो हातमा खेलबाड गर्नुपर्ने एक वस्तु होइन र?

मानिसको संसारमा भएको मेरो देहधारणको अवधिमा मानव जाति अनजानमा नै आजको दिनसम्म मेरो मार्गनिर्देशनको अधीनमा आएको छ, अनजानमा नै मलाई चिन्न सकेको छ। तर अगाडि आउने बाटोमा कसरी हिँड्ने भन्‍नेबारे कसैलाई थाहा छैन, कोही पनि सचेत छैन—र त्यो बाटोले तिनीहरूलाई कुन दिशातिर लैजान्छ भन्‍ने कुरा थाहा पाउने त कुरै नगरौं। केवल सर्वशक्तिमान्‌ले उनीहरूमाथि नजर राख्नुभयो भने मात्र कुनै व्यक्ति त्यो बाटोको अन्त्यसम्म पुग्न सक्नेछ; पूर्वमा चम्केको ज्योतिको अगुवाइमा मात्र कसैले मेरो राज्यमा पुर्याउने प्रवेशद्वार पार गर्न सक्छ। मानिसहरू माझ कुनै यस्तो व्यक्ति छैन जसले मेरो अनुहार देखेको छ, जसले पूर्वमा ज्योति चम्केको देखेको छ; मेरो सिंहासनबाट बोलिएको वाणीहरू सुन्ने त झन् कति थोरै होलान्? वास्तवमा, प्राचीन कालदेखि कुनै पनि व्यक्ति मेरो व्यक्तित्वसँग प्रत्यक्ष सम्पर्कमा आएको छैन; केवल आज, म यस संसारमा आएपछि मात्रै मानिसहरूले मलाई देख्ने मौका पाएका छन्। तर अहिले पनि मानिसहरूले मलाई चिन्दैनन्, जसरी उनीहरूले मेरो अनुहार हेर्छन् र मेरो आवाज मात्र सुन्छन् तर मेरो अर्थ बुझ्दैनन्। सबै मानिसहरू यस्तै प्रकारका छन्। मेरा मानिसहरूमध्ये एक भएको नाताले मेरो अनुहार देख्दा के तिमीहरू गर्व महसुस गर्दैनौं र? र के मलाई नचिनेको कारण अति नै ठूलो सरम महसुस गर्दैनौ र? म मानिसहरू माझ हिँड्छु र म मानिसहरू माझ बस्छु, किनकि म देह बनेको छु र म मानव संसारमा आएको छु। मेरो उद्देश्य भनेको मानव जातिलाई मेरो देहलाई हेर्ने क्षमता दिनु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, मलाई चिन्न मानिसहरूलाई सक्षम बनाउनु हो। यसबाहेक, म मेरो देहधारी शरीरबाट मानिसहरूलाई तिनीहरूका पापहरूका लागि दोषी ठहराउनेछु; म मेरो देहधारी शरीरद्वारा, त्यो ठूलो रातो अजिङ्गरलाई हराउनेछु र त्यसको गुफालाई नष्ट गर्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय १२

परमेश्‍वरका दैनिक वचनहरू  अंश ६२

सारा ब्रह्माण्डका मानिसहरू मेरो दिनको आगमनको उत्सव मनाउँछन्, र स्वर्गदूतहरू मेरा सबै मानिसहरूमाझ हिँड्छन्। जब शैतानले बाधा दिन्छ, तब स्वर्गदूतहरू स्वर्गमा आफ्नो सेवाको कारण सधैँ मेरा मानिसहरूलाई सहयोग गर्छन्। मेरा मानिसहरू मानव कमजोरीका कारण दियाबलसहरूद्वारा भ्रमित हुँदैनन्, बरु अन्धकारका शक्तिहरूको ठूलो आक्रमणको कारणले कुहिरो पार गर्दै मानिसको जीवनको अनुभव गर्न अझ बढी कोसिस गर्छन्। मेरा सबै मानिस मेरो नाममुनि झुक्छन् र कोही पनि कहिल्यै खुल्लमखुल्ला मविरुद्ध उठ्दैनन्। स्वर्गदूतहरूको कामका कारण मानिसहरू मेरो नाम स्विकार्छन्, र सबै मेरो कार्यप्रवाहको बीचमा रहन्छन्। संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ! ओहो, धार्मिक संसार! पृथ्वीमा मेरो अख्तियारद्वारा कसरी यो नष्ट हुन सक्दैन? कसले अझै मविरुद्ध विद्रोह गर्ने र मेरो विरोध गर्ने हिम्मत गर्नेछ? शास्‍त्रीहरूले? सबै धार्मिक अधिकारीहरूले? के पृथ्वीमा भएका शासक र अखितियारवालहरूले? स्वर्गदूतहरूले? कसले मेरो शरीरको सिद्धता र पूर्णताको उत्सव मनाउँदैन? सबै मानिसहरूमध्ये कसले निरन्तर प्रशंसा गाउँदैन, र मेरो कारण को लगातार आनन्दित छैन? म ठूलो रातो अजिङ्गरको गुफा भएको देशमा बस्छु, तैपनि त्यसले मलाई डरले काँप्‍ने वा भाग्‍ने बनाउँदैन किनकि यहाँका सबै मानिसहरूले यसलाई घृणा गर्न थालेका छन्। कुनै कुराले पनि अजिङ्गरको अगाडि अजिङ्गरकै लागि कहिल्यै आफ्नो “कर्तव्य” गरेको छैन; बरु, सबै कुराले तिनीहरूलाई जे उचित लाग्छ त्यो गरेका छन्, र हरेकले आफ्नै बाटो हिँडेका छन्। पृथ्वीका देशहरू कसरी विनाश नहोलान् र? पृथ्वीका देशहरू कसरी पतन नहोलान् र? मेरा मानिसहरू कसरी खुसीले कराउन नसक्लान् र? तिनीहरूले कसरी खुसीले गाउन नसक्लान् र? के यो मानिसले गरेको काम हो? के यो मानिसका हातहरूले गरेको काम हो? मैले मानिसलाई उसको अस्तित्वको जड दिएँ, र उसको निम्ति भौतिक वस्तुहरू जुटाइदिएँ, तैपनि ऊ आफ्नो वर्तमान अवस्थासँग असन्तुष्ट छ र मेरो राज्यमा प्रवेश गर्न बिन्ती गर्छ। तर ऊ कुनै मूल्य नचुकाई, निःस्वार्थ भक्ति चढाउन तयार नभई त्यति सजिलै कसरी मेरो राज्यमा प्रवेश गर्न सक्छ? मानिसबाट कुनै कुरा लिनुको सट्टा म उसले पूरा गर्नुपर्ने मापदण्डहरू तय गर्छु, ताकि पृथ्वीमा मेरो राज्य महिमाले भरियोस्। मानिस मद्वारा डोऱ्याइएर आजको युगमा आइपुगेको छ, उसको अस्तित्व यस अवस्थामा छ, र ऊ मेरो ज्योतिको मार्गनिर्देशनमाझ जिउँछ। यदि यस्तो नभएको भए, पृथ्वीका मानिसहरूमध्ये कसलाई आफ्ना सम्भाव्यताहरू थाहा हुनेथ्यो र? कसले मेरा अभिप्रायहरू बुझ्नेथ्यो? म मानिसहरूको लागि तय गरिएका मापदण्डहरूमा मेरा प्रबन्धहरू थपिदिन्छु; के यो प्रकृतिको नियमअनुरूप छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २२

परमेश्‍वरका दैनिक वचनहरू  अंश ६३

राज्यमा, सृष्टिका असंख्य थोकहरू पुनर्जीवित हुन र आफ्‍नो जीवनशक्ति पुन: प्राप्त गर्न थाल्छन्। पृथ्वीका स्थिति परिवर्तनहरूको कारण, एउटा मुलुक र अर्को मुलुक बीचका सिमानाहरू पनि सर्न थाल्छन्। मैले अगमवाणी जब मुलुकबाट मुलुक विभाजित हुन्छ, र एउटा मुलुक अर्को मुलुकसँग जोडिन्छ, तब यही नै प्रत्येक देशलाई टुक्राटुक्रा हुने गरी मैले प्रहार गर्ने समय हुनेछ भनेर अगमवाणी गरेको छु। यो समयमा, म सारा सृष्टिको नवीकरण गर्नेछु र सम्पूर्ण ब्रह्माण्डको पुनर्विभाजन गर्नेछु, र यसरी ब्रह्माण्डलाई व्यवस्थित गरेर पुरानोलाई नयाँमा रूपान्तरित गर्नेछु—मेरो योजना यही हो र मेरा कामहरू यिनै हुन्। जब प्रत्येक देश र मेरा चुनिएको प्रत्येक मानिस मेरो सिंहासनअघि फर्कन्छन्, तब म त्यसद्वारा मानव संसारलाई स्वर्गको सारा प्रचुरता प्रदान गर्नेछु, ताकि मैले गर्दा त्यो संसार अतुलनीय प्रचुरताले भरियोस्। पुरानो संसार अस्तित्वमा रहँदा, म प्रत्येक देशमाथि आफ्नो क्रोध बर्साउनेछु र सारा ब्रह्माण्डलाई सार्वजनिक गरिने प्रशासनिक आदेशहरू जारी गर्नेछु, र ती उल्‍लङ्घन गर्ने जोकोहीलाई सजाय दिइनेछ:

म सारा ब्रह्माण्डसँग बोल्दा, सबै मानिसले मेरो आवाज सुन्छन्, अर्थात् सबै मानिसले मैले ब्रह्माण्डभरि गरेका सबै कार्य देख्छन्। मेरा अभिप्रायविरुद्ध जानेहरू, अर्थात् मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्नेहरू मेरो सजायमा ढल्नेछन्। म आकाशका अनगिन्ती ताराहरूलाई नवीकरण गर्नेछु; मैले गर्दा नै घाम र जून पनि नवीकरण हुनेछन्, आकाशहरू यसउप्रान्त पहिलेजस्तो रहँदैनन् र संसारका सबै थोक नवीकरण हुनेछन्—यो सब मेरा वचनहरूको कारण पूर्ण हुनेछ। ब्रह्माण्डभित्रका सबै देशहरू पुनर्विभाजित हुनेछन् र मेरो राज्यद्वारा प्रतिस्थापित गरिनेछन्, ताकि पृथ्वीका देशहरू सदाका लागि हराएर जाऊन्, र त्यहाँ मलाई आराधना गर्ने राज्य मात्र होस्; पृथ्वीका सबै देशहरू नष्ट हुनेछन् र ती अस्तित्वमा रहन छोड्नेछन्। ब्रह्माण्डभित्रका मानव जातिमध्ये, जो दियाबलसका हुन् तिनीहरू सबै सखाप हुनेछन्। शैतानको पूजा गर्ने सबै मेरो प्रज्वलित अग्‍निमा खस्नेछन्—अर्थात्, अहिले प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म प्रत्येक मानिसलाई सजाय दिन्छु, तब धार्मिक समुदायहरू विभिन्‍न हदमा, मेरो राज्यमा फर्कनेछन्, अनि मेरा काममार्फत विजय गरिनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवार पवित्र जन आइसक्नुभएको छ भनेर देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकृत गरिनेछ, र तिनीहरूले आफ्‍ना कार्यहरूअनुसारका विभिन्न सजाय पाउनेछन्; र मेरो प्रतिरोध गरेकाहरू सबै नष्ट हुनेछन्, अनि पृथ्वीमा आफ्ना कार्यहरूमा मलाई समावेश नगर्नेहरूका हकमा, तिनीहरूले आफूलाई जसरी व्यवहार गरेका हुन्‍छन् सोही कारण तिनीहरू मेरा पुत्रहरू र मेरा मानिसहरूको अधीनमा रही पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। म असङ्ख्या देश र असङ्ख्य मानिसहरूकहाँ देखा पर्नेछु, र म पृथ्वीमा आफ्‍नै आवाज व्यक्त गर्नेछु, मेरो महान् कामको पूर्ती घोषणा गर्नेछु, सबै मानिसलाई यो उनीहरूकै आँखाले देख्न दिनेछु।

मेरा वाणीहरू झन्झन् गहन हुँदै जाँदा, म ब्रह्माण्डको स्थिति पनि अवलोकन गर्छु। मेरा वचनहरूका कारण, यावत् थोक नवीन बनाइन्छन्। स्वर्ग, अनि पृथ्वी पनि परिवर्तन हुन्छ। मानव त्यसको मौलिक स्वरूपमा खुलासा गरिन्छ र, बिस्तारै सबै मानिसलाई उनीहरूको प्रकारअनुसार अलग गरिन्छ, र अनजान रूपमै उनीहरू आफ्‍नो “परिवार” कहाँ फर्काइन्छन्। यसले मलाई अत्यन्तै प्रसन्न तुल्याउँछ। म बाधाबाट मुक्त छु, र थाहै नभई, मेरो महान् काम पूरा हुन्छ, र यावत् थोक रूपान्तरित हुन्छन्। संसारको सृष्टि गर्दा, मैले यावत् थोकलाई तिनीहरूको प्रकारअनुसार छुट्टयाएँ, रूप भएका यावत् थोकलाई वर्गीकृत गरेँ। जब मेरो व्यवस्थापनको योजनाको समाप्ति नजिकिन्छ, म सृष्टिको पहिलेको स्थिति पुनर्स्थापित गर्नेछु; म सबै कुरालाई मौलिक स्थितिमा पुनर्स्थापित गर्नेछु, सबै कुरालाई पूर्णतः परिवर्तन गर्नेछु, र सबै कुरालाई मेरो योजनाअन्तर्गत पर्ने तुल्याउनेछु। समय आइसकेको छ! मेरो योजनाको अन्तिम चरण पूरा हुन लागेको छ। ए, फोहोर पुरानो संसार! यो निश्‍चय नै मेरा वचनहरूमाझ भत्किनेछ! यसलाई मेरो योजनाले अवश्यै शून्यतामा झार्नेछ! ए, यावत् थोकहरू! ती सबैले मेरा वचनहरूमाझ नयाँ जीवन प्राप्त गर्नेछन्—तिनले आफ्नो सार्वभौम पाउनेछन्! ए, पवित्र र निष्खोट नयाँ संसार! यो निश्चय नै मेरो महिमामाझ पुनर्जीवित हुनेछ! ए, सियोन पर्वत! अबउप्रान्त चुप नबस्—म विजयसाथ फर्केको छु! म यावत् कुरामाझ सारा पृथ्वीलाई नियाल्छु। पृथ्वीका मानिसहरूले नयाँ जीवन सुरु गरेका छन् र तिनीहरूसँग नयाँ आशाहरू छन्। ए, मेरा मानिसहरू हो! तिमीहरू कसरी पो मेरो ज्योतिमाझ जीवनमा फर्किआउन नसक्लाऊ र? मेरो मार्गदर्शनमुनि तिमीहरू कसरी पो हर्षले उफ्रन नसक्लाऊ र? भूमिहरू हर्षोल्लासमा चिच्याइरहेका छन्, पानीहरू उल्लासमय हाँसोले गर्जिरहेका छन्! ए, पुनरुत्थानित इस्राएल! मेरो पूर्वनिर्धारणका कारण तैँले कसरी पो गर्व महसुस गर्न नसक्लास् र? को रोएको छ र? कसले विलाप गरेको छ र? पुरानो दिनको इस्राएल उप्रान्त अस्तित्वमा छैन, र आजको इस्राएल संसारमा ठाडो र उच्‍च हुँदै उदाएको छ, र सारा मानवताको हृदयमा खडा भएको छ। आजको इस्राएलले निश्चय नै मेरा मानिसहरूका कारण अस्तित्वको आधार प्राप्त गर्नेछ! हे, घृणित मिश्र! के तैँले अझै मेरो प्रतिरोध गर्नेथिइस् र? तैँले कसरी पो मेरो कृपाको फाइदा उठाएर मेरो सजायबाट उम्कने प्रयास गर्न सक्छस् र? तँ कसरी पो मेरो सजायभित्र नजिउन सक्छस् र? मैले प्रेम गर्ने सबै निश्चय नै अनन्तका लागि अस्तित्वमा रहनेछन्, र मेरो प्रतिरोध गर्ने सबैले निश्चय नै अनन्तका लागि मबाट सजाय पाउनेछन्। किनभने म ईर्ष्यालु परमेश्‍वर हुँ र म सबै मानिसहरूलाई तिनीहरूले गरेका सबै कुराका निम्ति हल्का रूपमा छाड्नेछैन। म सारा पृथ्वीलाई छानबिन गर्नेछु र, संसारको पूर्वमा धार्मिकता, प्रताप, क्रोध, र सजायसहित देखा पर्दै, म अनगिन्ती मानिससामु आफूलाई प्रकाश गर्नेछु!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २६

परमेश्‍वरका दैनिक वचनहरू  अंश ६४

जब मेरो प्रशंसामा स्वर्गदूतहरूले सङ्गीत बजाउँछन्, यसले ममा मानिसप्रतिको सहानुभूतिलाई जगाएरै छाड्छ। मेरो हृदय तुरुन्तै उदास हुन्छ, र यो पीडादायी भावनाबाट आफैलाई मुक्त गर्नु असम्‍भव छ। मानिसबाट अलग गरिनु र फेरि मिल्‍नुको आनन्द र शोकमा, हामी भावनाको आदनप्रदान गर्न असमर्थ छौं। स्वर्गमा माथि र पृथ्वीमा मुनि अलग गरिएको कारण, म र मानिस बिरलै भेट्छौं। अतीतका भावनाहरूबाट को उम्कन सक्छ? अतीतका मीठा यादहरूलाई कसले रोक्‍न सक्छ र? विगतका भावनाहरू जारी रहोस् भन्‍ने आशा कसले गर्दैन र? कसले मेरो आगमनको तृष्णा गर्दैन र? मानिससँगको मेरो मिलापको लागि कसले तृष्णा गर्दैन र? मेरो हृदय बेचैन छ, र मानिसको आत्मा अत्यन्तै चिन्तित छ। आत्मामा उस्तै भए पनि, हामी त्यति एकसाथ हुन सक्दैनौं, र हामी त्यति एकअर्कालाई भेट्न सक्दैनौं। त्यसैले सारा मानवजातिको जीवन शोकले भरिएको छ र यसमा जोशको कमी छ, किनभने मानिसले सधैँ मेरो तृष्णा गरेको छ। यो यस्तो छ मानौं मानवजाति स्वर्गबाट फ्याँकिएका वस्तुहरू हुन्; तिनीहरू भुइँबाट नजर उठाएर मलाई हेर्दै पृथ्वीबाट मेरो नाम पुकार्छन्—तर तिनीहरू भोको ब्‍वाँसोको मुखबाट कसरी उम्कन सक्छन् र? यसका खतराहरू र यसका परीक्षाहरूबाट तिनीहरूले आफैलाई कसरी मुक्त गर्न सक्छन् र? मेरो योजनाको प्रबन्धप्रति समर्पित हुन कसरी मानवजातिले आफैलाई बलिदान गर्न सक्दैन? जब तिनीहरूले उच्‍च सोरमा बिन्ती गर्छन्, म तिनीहरूबाट मेरो अनुहार लुकाउँछु, अबउप्रान्त तिनीहरूलाई हेर्नै सक्दिनँ तर तिनीहरूको आँसुसहितको रुवाइलाई नसुनी म कसरी बस्‍न सक्छु र? म मानव संसारका अन्यायहरूलाई सच्याउनेछु। मेरा मानिसहरूलाई फेरि हानी गर्नबाट शैतानलाई रोक्दै, फेरि आफूखुसी गर्नबाट शत्रुहरूलाई रोक्दै, म संसारभरि मेरै हातद्वारा मेरो काम गर्नेछु। मेरा सबै शत्रुहरूलाई भुइँमा लडेर मेरो अगाडि आफ्‍ना अपराधहरू स्वीकार गर्ने तुल्याउँदै म पृथ्वीमा राजा बन्‍नेछु र मेरो सिंहासनलाई त्यहाँ सार्नेछु। उदासपन, साथै रिसको बेलामा, कसैलाई पनि बाँकी नराखी अनि मेरा शत्रुहरूको हृदयमा आतङ्क पैदा गर्दै म सारा ब्रह्माण्डलाई कुल्चिमिल्ची गर्नेछु। म सारा पृथ्वीलाई अवशेषमा परिवर्तन गर्नेछु, र मेरा शत्रुहरूलाई त्यही अवशेषमा खसाल्‍नेछु, ताकि अबउप्रान्त तिनीहरूले मानवजातिलाई भ्रष्ट नबनाऊन्। मेरो योजना पहिले नै निश्‍चित भइसकेको छ, र कसैले पनि यसलाई परिवर्तन गर्दैन, चाहे तिनीहरू जोसुकै होऊन्। म ब्रह्माण्डमाथिको प्रतापी वैभवमा डुलिहिँड्ने क्रममा सारा मानवजातिलाई नयाँ बनाइनेछ, र सबैलाई पुनर्जीवित पारिनेछ। मानिसले अबउप्रान्त कहिल्यै पनि बिलौना गर्नेछैन, सहयोगको लागि मलाई पुकार्नेछैन। त्यसपछि मेरो हृदय आनन्दित हुनेछ, र मानिसहरू खुसियाली मनाउँदै मकहाँ फर्कनेछन्। सारा ब्रह्माण्ड तलदेखि माथिसम्मै हर्षोल्लासमा उर्लनेछ …

संसारका राष्ट्रहरूका बीचमा आज म आफूले पूरा गर्ने भनी तय गरेको काम गरिरहेको छु। मेरो योजनाभित्रका सारा काम गर्दै म मानवजातिको बीचमा हिँड्डुल गरिरहेको छु, र सारा मानवजातिले मेरा अभिप्रायअनुसार फुटकर राष्ट्रहरूलाई तोडिरहेका छन्। पृथ्वीका मानिसहरूले आफ्‍नो गन्तव्यमा ध्यान केन्द्रित गरेका छन्, किनभने त्यो दिन वास्तवमा नै नजिक आइरहेको छ र स्वर्गदूतहरूले आफ्‍ना तुरहीहरूलाई फुकिरहेका छन्। अबउप्रान्त ढिलाइ हुनेछैन, र सारा सृष्टि नै त्यसबेला हर्षोल्लासमा नाच्‍न थाल्‍नेछन्। कसले आफ्‍नो इच्‍छाअनुसार मेरो दिनलाई लम्ब्याउन सक्छ? के पृथ्वीको मानवले? वा आकाशका ताराहरूले? वा स्वर्गदूतहरूले? जब इस्राएलका मानिसहरूको मुक्तिको पहल गर्न म वाणी बोल्छु, तब सारा मानवजातिको सामने मेरो दिन आउँछ। इस्राएल फर्कीआउने घटनाप्रति हरेक मानिस डराउँछ। जब इस्राएल फर्केर आउँछ, त्यो मेरो महिमाको दिन हुनेछ, र त्यो यस्तो दिन पनि हुनेछ, जुन दिन सबै कुरा परिवर्तन हुन्छन् र नवीकरण हुन्छन्। सारा ब्रह्माण्डमाथि धर्मी न्याय आइपर्न लागेका कारण, सबै मानिसहरू डरपोक बन्छन् र भयभीत हुन्छन्, किनभने मानव संसारमा धार्मिकता नसुनिएको कुरा हो। जब धर्मी सूर्य देखा पर्छ, पूर्व प्रकाशित हुनेछ, अनि त्यसपछि यसले सारा ब्रम्‍हाण्डलाई उज्यालो पार्नेछ र यो सबैकहाँ पुग्नेछ। यदि मानिसले साँच्‍चै नै मेरो धार्मिकता अभ्यास गर्न सक्छ भने, डराउनुपर्ने कारण के हुनेछ र? मेरा सबै मानिसहरू मेरो दिनको आगमनको लागि प्रतिक्षारत छन्, तिनीहरू सबै मेरो दिनको आगमनको तृष्‍णा गर्छन्। मैले धार्मिकताको सूर्यका रूपमा रहेको मेरो भूमिकामा सारा मानवजातिमाथि प्रतिशोध ल्याउन र मानवजातिको गन्तव्य प्रबन्ध गरिदिन तिनीहरू मेरो प्रतीक्षा गर्छन्। सारा ब्रह्माण्डभन्दा माथि मेरो राज्य आकारमा आइरहेको छ, र मेरो सिंहासनले करोडौँ मानिसहरूको हृदय ओगट्छ। स्वर्गदूतहरूको सहकार्यमा मेरो महान् उपलब्धिलाई चाँडै नै पूरा गरिनेछ। मेरा सबै पुत्रहरू र मेरा मानिसहरू उत्कट इच्‍छासाथ मेरो पुनरागमनको प्रतीक्षा गर्दै, म तिनीहरूबाट फेरि कहिल्यै अलग नहुने गरी तिनीहरूसँग पुनर्मिलन हुने तृष्णा गर्छन्। म तिनीहरूसँगै भएका कारण मेरा राज्यका सबै मानिस एकअर्कातर्फ नदौडी र हर्षित नभई कसरी बस्‍न सक्थे र? के यो त्यस्तो पुनर्मिलन हो जसका लागि कुनै मूल्य चुकाउनु आवश्यक छैन? म सबै मानिसहरूका नजरमा सम्‍मानित छु, म सबैका शब्दहरूमा प्रचारित छु। त्यसमाथि, जब म फर्कनेछु, तब म शत्रुका सबै शक्तिहरूलाई विजय गर्नेछु। समय आइपुगेको छ! म मेरो कार्यलाई अघि बढाउनेछु, म मानिसहरूका बीचमा राजाको रूपमा शासन गर्नेछु! म फर्कन लागेको अवस्थामा छु! र म बिदा हुनलागेको छु! सबैले आशा गरेको यही नै हो, तिनीहरूले कामना गर्ने यही नै हो। म सारा मानवजातिलाई मेरो दिनको आगमन देख्ने तुल्याउने छु, र तिनीहरूले मेरो दिनको आगमनलाई आनन्दको साथ स्वागत गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २७

परमेश्‍वरका दैनिक वचनहरू  अंश ६५

जुन दिन सबै कुराको पुनरुत्थान भएका थिए, म मानिसको बीचमा आएँ र मैले उसँग सुन्दर दिन र रातहरू बिताएको छु। यस अवस्थामा मात्र मानिसले मेरो पहुँचको बारेमा थोरै महसुस गर्न सक्छ, र मसँग बारम्बार कुराकानी हुँदैजाँदा उसले मसित के छ र म को हुँ भन्‍ने बारे केही देख्छ—फलस्वरूप, उसले मेरो बारेमा केही ज्ञान प्राप्त गर्दछ। सबै मानिसहरूमाझ म मेरो शिर उठाउँछु र हेर्छु, र तिनीहरू सबैले मलाई देख्छन्। तर जब संसारमा विपत्ति आउँछ, तिनीहरू तुरुन्त चिन्तित बन्छन् र तिनीहरूका हृदयबाट मेरो स्वरूप हराउँछ; विपत्ति आएकोले त्रासित बनेर तिनीहरूले मेरो अर्तीमा कुनै ध्यान दिँदैनन्। धेरै वर्षदेखि म मानिसको माझबाट भएर गएको छु, तर ऊ सधैँ अनभिज्ञ रहेको छ, उसले मलाई कहिल्यै चिनेको छैन। मेरो आफ्नै मुखले आज म उसलाई यो भन्छु, ताकि सबै मानिसहरू मबाट केही प्राप्त गर्न मकहाँ आउन सकून्, तर अझै पनि उनीहरू मबाट टाढा बस्छन्, यसैले तिनीहरूले मलाई चिन्दैनन्। जब मेरा पाइलाहरूले ब्रह्माण्डको वारपार र पृथ्वीको अन्तिम छेउसम्म टेक्छन्, तब मानिसले आफ्नै बारेमा सोच्न थाल्छ, र सबै मानिसहरू मकहाँ आउनेछन् र मेरो अगाडि झुकेर मेरो आराधना गर्नेछन्। यो मैले महिमा प्राप्त गर्ने दिन, मेरो पुनरागमनको दिन, साथै मेरो प्रस्थानको दिन पनि हुनेछ। अब मैले सारा मानव जातिको बीचमा मेरो काम सुरु गरेको छु, औपचारिक रूपमा सम्पूर्ण ब्रह्माण्डमा मेरो व्यवस्थापन योजनाको अन्तिम काम सुरु गरेको छु। यस क्षणदेखि उसो, सतर्क नहुने जो-कोही व्यक्ति निर्दयी सजायको बीचमा डुब्‍न जिम्मेवार हुन्छन्, र कुनै पनि क्षणमा यो हुन सक्छ। म निर्दयी भएकोले यस्तो हुने होइन, बरु यो मेरो व्यवस्थापन योजनाको एउटा चरण हो; सबै कुरा मेरो योजनाको चरणहरू अनुसार अगाडि बढ्नु पर्छ, र कुनै पनि मानिसले यसलाई परिवर्तन गर्न सक्दैन। जब म औपचारिक रूपमा मेरो काम सुरु गर्दछु, म अघि बढ्दा सबै मानिसहरू पनि अघि बढ्छन्, यसरी कि सारा ब्रह्माण्डभरिका मानिसहरू आफूलाई मेरा पाइलासँगै व्यस्त राख्छन्, सारा ब्रह्माण्ड “आनन्दमा व्यस्त” स्थितिमा हुन्छ, र मानिस मद्वारा अझै प्रोत्साहित हुन्छ। त्यसको फलस्वरूप, ठूलो रातो अजिङ्गर आफै मद्वारा उन्मत्त र अलमल्ल अवस्थामा पुग्छ, र त्यसले मेरो काममा सेवा गर्छ र अनिच्छुक भए पनि त्यो आफ्नै चाहनाहरूको पछि लाग्न असमर्थ हुन्छ, तर मेरा योजनाबद्ध कार्यहरूप्रति समर्पित हुनुबाहेक त्योसित अरू कुनै विकल्प हुँदैन। मेरा सबै योजनाहरूमा, त्यो ठूलो रातो अजिङ्गर मेरो प्रतिभार हो, मेरो शत्रु र मेरो नोकर पनि हो; त्यसैले, मैले त्यसबाट मेरा “मागहरू” कहिल्यै खुकुलो पारेको छैन। यसैकारण मेरो देहधारणको कामको अन्तिम चरण त्यसको घरमा पूरा हुन्छ—ठूलो रातो अजिङ्गरलाई राम्रोसँग मेरो सेवा गर्न यो अझ बढी अनुकूल हुन्छ, जसको माध्यमबाट म त्यसलाई जित्‍नेछु र मेरो योजना पूरा गर्नेछु। जब म काम गर्दछु, सबै स्वर्गदूतहरू मसँग निर्णायक लडाइँमा लाग्छन् र अन्तिम चरणमा मेरा अभिप्राय पूरा गर्ने सङ्कल्प गर्दछन्, जसको कारण पृथ्वीका मानिसहरू पनि स्वर्गदूतहरू झैं मेरो सामुन्ने समर्पित हुनेछन्, र तिनीहरूमा मेरो विरोध गर्ने कुनै इच्छा हुँदैन, र मलाई धोका दिँदैनन्। यी सबै सारा ब्रह्माण्डभरिमा हुने मेरो कामका गतिविधिहरू हुन्।

मानिस बीचको मेरो आगमनको उद्देश्य र महत्त्व सम्पूर्ण मानव जातिलाई मुक्ति दिनु, सबै मानव जातिलाई मेरो परिवारमा फर्काउनु, स्वर्गलाई पृथ्वीसँग पुनर्मिलन गराउनु, र मानिसलाई स्वर्ग र पृथ्वीको बीचमा “सङ्केत” व्यक्त गर्नु हो, किनकि मानिसको अन्तर्निहित कार्य त्यही हो। मैले मानव जातिलाई सृष्टि गरेको समयमा, मैले मानव जातिका लागि सबै थोक तयार गरेको थिएँ र पछि, मैले मानव जातिलाई मेरो आवश्यकताहरू अनुसार दिएका सम्पत्तिहरू प्राप्त गर्न दिएँ। यसैले, म भन्छु कि मेरो मार्गदर्शन अन्तर्गत नै सबै मानवजाति आजको दिनमा आइपुगेको छ। र यो सबै मेरो योजना नै हो। सबै मानव जातिमा असङ्ख्य मानिसहरू मेरो प्रेमको संरक्षण अन्तर्गत अस्तित्वमा छन्, र अरू असङ्ख्य मेरो घृणाको सजाय अन्तर्गत बाँचिरहेका छन्। सबै मानिसहरूले मलाई प्रार्थना गर्ने भए तापनि, उनीहरू आफ्नो वर्तमान अवस्था परिवर्तन गर्न असमर्थ छन्; आशा गुमाइसकेपछि तिनीहरूले प्रकृतिलाई आफ्‍नै बाटो लाग्‍न दिनसक्छन् र मेरो विरुद्धमा विद्रोह गर्न छोड्छन्, किनकि यी सबै कुराहरू मानिस आफैले प्राप्त गर्न सक्छ। जब मानिसको जीवनको अवस्थाको कुरा आउँछ, मानिसले वास्तविक जीवन पाउनु अझै बाँकी नै छ, उसले अझै पनि संसारका अन्याय, उजाडता, र दयनीय अवस्थाहरूलाई देखेको छैन—यसैले, यो विपत्तिको आगमनको लागि थिएन भने, अधिकांश मानिसहरूले अझै पनि प्रकृति आमालाई अङ्गालो हाल्‍नेथियो, र अझै पनि आफूलाई “जीवन” का स्वादहरूमा डुबाउनेथियो। के यो संसारको वास्तविकता होइन र? के यो मैले मानिसको लागि बोल्‍ने मुक्तिको आवाज होइन र? किन मानिसहरूको बीचमा मलाई साँच्चिकै माया गर्ने कोही छैन? मानिसले मलाई किन सजाय र परीक्षाको बेला मात्र प्रेम गर्छ, तैपनि मेरो सुरक्षामुनि हुँदा कसैले पनि मलाई प्रेम गर्दैन? मैले धेरै चोटि मानिसहरूलाई मेरो सजाय दिएको छु। तिनीहरू त्यसलाई एकचोटि हेर्छन्, तर त्यसपछि त्यसलाई बेवास्ता गर्दछन्, र तिनीहरू यस बेला यसको अध्ययन र चिन्तन गर्दैनन्, त्यसैले मानिसमाथि आउने कुरा निर्दयी न्याय मात्र हो। यो मेरो काम गर्ने तरिकाहरूमध्येको एउटा मात्रै हो, तर अझै पनि यो मानिसलाई परिवर्तन गर्न र उसलाई मलाई प्रेम गर्ने बनाउनका निम्ति हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २९

परमेश्‍वरका दैनिक वचनहरू  अंश ६६

म राज्यमा शासन गर्दछु, र यसबाहेक म सम्पूर्ण ब्रह्माण्डमा शासन गर्दछु: म राज्यको राजा र ब्रह्माण्डका प्रमुख, दुवै हुँ। यस समयदेखि उसो म तिनीहरू सबैलाई भेला गर्नेछु जो चुनिएकाहरू होइनन् र अन्यजातिहरूको माझमा काम सुरु गर्नेछु, र म मेरो प्रशासनिक आदेशहरू सम्पूर्ण ब्रह्माण्डमा घोषणा गर्नेछु, यसैले कि मैले आफ्नो कार्यको अर्को चरण सफलतापूर्वक सुरु गर्न सकूँ। अन्यजातिहरूमाझ मेरो कामहरू फैलाउन म सजायको प्रयोग गर्नेछु, भन्‍नुको अर्थ, म ती सबै अन्यजातिहरूको विरुद्धमा “शक्ति” प्रयोग गर्नेछु। स्वाभाविक रूपमा, यो काम त्यत्ति बेला नै गरिन्छ जब चुनिएकाहरूको बीचमा मेरो काम हुन्छ। जब मेरा मानिसहरूले पृथ्वीमा शासन गर्छन् र शक्ति प्रयोग गर्छन्, त्यो त्यस दिन पनि हुनेछ जब पृथ्वीका सबै मानिसहरू जितिएका हुनेछन्, र यसबाहेक, यो त्यही समय हुनेछ जब म विश्राम गर्छु—र त्यसपछि मात्र म जितिएकाहरू सबैकहाँ देखा पर्नेछु। म पवित्र राज्यमा देखा पर्छु, र म आफैलाई फोहोरको देशबाट लुकाउँछु। जितिएकाहरू र मेरो सामु समर्पित हुनेहरू सबैले आफ्नै आँखाले मेरो मुहार देख्न सक्नेछन्, र तिनीहरूका आफ्नै कानले मेरो स्वर सुन्न सक्नेछन्। आखिरी दिनहरूमा जन्मनेहरूको आशिष् यही नै हो, यो मद्वारा पूर्वनिर्धारित आशिष् हो, र यसलाई कुनै पनि मानिसले परिवर्तन गर्न सक्दैन। आज म भविष्यको कामका लागि यस तरिकाले काम गर्दछु। मेरा सबै काम एक-अर्कोसित सम्बन्धित छ, यी सबैमा एउटा बोलावट र जबाफ हुन्छ: कुनै चरण कहिल्यै पनि अचानक रोकिएको छैन र कुनै पनि चरण अर्कोबाट स्वतन्त्र भएर पूरा भएको छैन। के यो यस्तै होइन र? के विगतको काम आजको कार्यको आधार होइन? के विगतका वचनहरू आजका वचनहरूका लागि अग्रदूत होइनन् र? के विगतका चरणहरू आजका चरणहरूको सुरुआत होइनन् र? जब मैले औपचारिक रूपमा चर्मपत्रको मुट्ठो खोल्छु, त्यसै बेला ब्रह्माण्डभरिका मानिसहरूले सजाय पाउँछन्, त्यसै बेला विश्‍वभरिका मानिसहरू परीक्षाको सिकार हुन्छन्, र यो मेरो कामको चरम सीमा हो; सबै मानिसहरू ज्योति विनाको भूमिमा बस्छन्, र सबै मानिसहरू उनीहरूको वातावरणले ल्याएको जोखिमहरूका बीचमा जिउँछन्। अर्को शब्दमा भन्नुपर्दा, यो त्यस्तो जीवन हो जुन मानिसले सृष्टिको समयदेखि अहिलेसम्म कहिल्यै पनि अनुभव गरेका छैन र युगौंयुगसम्म कसैले पनि यस प्रकारको जीवन “उपभोग” गरेको छैन, र त्यसैले म भन्छु कि मैले त्यस्तो काम गरें जुन पहिले कहिल्यै गरिएको थिएन। यो वास्तविक स्थिति हो, र भित्री अर्थ यही हो। मेरो दिन सबै मानव जातिको नजिक आउने हुनाले, यो टाढा देखिँदैन तर मानिसकै आँखाको सामु भएकोले, फलस्वरूप, भयभीत नहुने को होला र? र यसमा खुशी हुन नसक्ने को होला? फोहोरी सहर बेबिलोन त्यसको अन्त्यमा आइपुगेको छ; मानिसले फेरि एउटा नयाँ संसारलाई भेटेको छ, र आकाश र पृथ्वी परिवर्तन भएको र नयाँ बनाइएको छ।

जब म सबै राष्ट्रहरू र सबै मानिसहरू सामु देखा पर्छु, आकाशमा सेता बादलहरू निस्केर मलाई घेर्छन्। त्यसरी नै पृथ्वीमा पक्षीहरू पनि पृथ्वीको वातावरणको मुख्य कुराहरू झल्काउँदै मेरो निम्ति गाउँछन् र खुसीले नाच्छन्, र यसरी पृथ्वीका सबै थोकहरूलाई जीवित बनाउँछन्, अब “बिस्तारै तल झर्दैनन्,” तर बरु यसको साटो सजिवताको वातावरण बीच जिउँछन्। जब म बादलहरूमाझ हुन्छु, मानिसले मेरो अनुहार र मेरो आँखालाई मधुरो गरी चिन्दछ, र यस बेला उसलाई अलिअलि डर लाग्छ। विगतमा, उसले मेरो बारेमा किम्बदन्ती ऐतिहासिक विवरणहरू सुनेको छ, त्यसको फलस्वरूप ऊ आधा विश्‍वासी र आधा शङ्कालु छ। म कहाँ छु वा मेरो अनुहार कति ठूलो छ भनी उसले जान्दैन—के यो समुद्रजस्तै चौडा छ, वा हरिया चौरहरूजस्तै असीम छ? यी कुराहरू कसैले पनि जान्दैन। आज जब मानिसले बादलमा मेरो अनुहार देख्छ तब मात्र किम्बदन्तीको म वास्तविक हुँ भनी महसुस गर्छ, यसैले ऊ मप्रति केही बढी अनुकूल हुन थाल्छ, र मेरो कामका कारणले गर्दा मात्र मप्रतिको उसको प्रशंसा केही ठूलो हुन्छ। तर मानिसले अझै पनि मलाई चिन्दैन, र उसले बादलहरूमा मेरो एक भाग मात्र देख्छ। त्यसपछि म मेरा बाहुलीहरू बढाउँछु र ती मानिसहरूलाई देखाउँछु। मानिस छक्क पर्छ, र मेरो हातद्वारा प्रहार गरिएला भनी गहन रूपमा डर मान्दै उसको मुख छोप्छ, त्यसैले उसले आफ्नो प्रशंसामा थोरै डर थप्छ। मानिसले मेरो चालमा ध्यान दिएर हेर्छ, किनभने उसले ध्यान दिएन भने ऊ मबाट प्रहार गरिनेछ भनी ऊ गम्भीर रूपमा डराएको हुन्छ—तर म मानिसले मलाई हेर्ने कुरामा मात्र सीमित छैन, र म मेरो हातमा भएको काम गरिरहन्छु। मैले गर्ने सबै कामहरूको कारणले मात्र मानिससँग मप्रति केही निगाह हुन्छ, र यसरी मसँग सम्बन्ध स्थापित गर्न बिस्तारै मतिर आउँछ। जब म मेरो पूर्णतामा मानिसकहाँ प्रकट हुन्छु मानिसले मेरो अनुहार देख्नेछ र त्यस बेलादेखि उसो म मानिसबाट म आफैलाई लुकाउने वा अस्पष्ट बनाउनेछैन। सारा ब्रह्माण्डमा म सबै मानिसहरूका सामु खुल्लमखुल्ला देखा पर्नेछु, अनि मासु र रगतका सबैले मेरा कामहरू देख्नेछन्। जो आत्माका हुन्, तिनीहरू सबै शान्तिसाथ मेरो परिवारमा बस्नेछन् र निश्चित रूपमा मसँग अद्भुत आशिषहरूको आनन्द लिनेछन्। ती सबै जसलाई म वास्ता गर्छु तिनीहरू दण्डबाट उम्कनेछन् र आत्माको पीडा र शरीरको वेदनाबाट बच्नेछन्। म सबै मानिसहरूको सामु खुल्लमखुल्ला देखा पर्नेछु अनि शासन गर्नेछु र शक्ति प्रयोग गर्नेछु, जसले गर्दा लासको दुर्गन्ध ब्रह्माण्डमा व्याप्त हुनेछैन, त्यसको साटो मेरा ताजा सुगन्ध सारा संसारमा फैलिनेछ, किनकि मेरो दिन नजिक आउँदैछ, मानिस ब्युँझिँदैछ, पृथ्वीमा सबै कुरा ठीक क्रममा छ, र पृथ्वीको बाँच्ने दिन अब छैन, किनकि म आइपुगेको छु!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय २९

परमेश्‍वरका दैनिक वचनहरू  अंश ६७

म स्वर्गहरूलाई मेरा कार्यहरूको प्रकटीकरणद्वारा भर्नेछु र पृथ्वीका सबै थोकलाई मेरो शक्तिअन्तर्गत लम्पसार परेर लड्न लगाउनेछु, यसरी “विश्‍व एकता” का लागि मेरो योजना कार्यान्वयन गर्नेछु र मेरो यो चाहनालाई सम्पन्न गर्नेछु, ताकि मानवजाति अबउप्रान्त पृथ्वीमा “यताउता भौँतारिने” छैनन्, बरु चाँडै तिनीहरूसँग सुहाउँदो गन्तव्य हुनेछ। म हरेक किसिमले मानवजातिका लागि सोचविचार गर्छु, ताकि सारा मानवजाति चाँडै नै शान्ति र खुसीको भूमिमा जिउन आऊन्, ताकि तिनीहरूका जीवनका दिनहरू अबउप्रान्त उजाड नहोऊन्, र ताकि पृथ्वीमा मेरो योजना शून्यतामा नपुगोस्। मानिस अस्तित्वमा हुने हुनाले, म मेरो राज्य पृथ्वीमा निर्माण गर्नेछु, किनभने मेरो महिमाको प्रकटीकरणको एक अंश पृथ्वीमा रहेको छ। माथि स्वर्गमा, म मेरो सहरलाई उचित तुल्याउनेछु ताकि स्वर्ग माथि र तलका सबै थोक नवीन बनून्। म स्वर्गको माथि र तल अस्तित्वमा रहेका सबै थोकलाई एकतामा ल्याउनेछु, ताकि पृथ्वीका यावत् थोक स्वर्गमा भएका सबै थोकसँग एकीकृत होऊन्। यो मेरो योजना हो; अन्तिम युगमा मैले जे हासिल गर्नेछु त्यो यही हो—मेरो कामको यो भागमा कसैले पनि हस्तक्षेप नगरोस्! अविश्‍वासी राष्ट्रहरूमाझ मेरो कामलाई फैलाउनु नै पृथ्वीमा मैले गर्ने मेरो कामको अन्तिम भाग हो। मैले गर्ने कामलाई कसैले पनि बोध गर्न सक्दैन, र यही कारणले गर्दा, मानिसहरू निकै नै भ्रममा परेका छन्। अनि म पृथ्वीमा मैले गर्ने मेरो काममा पूरै व्यस्त भएको हुनाले, मानिसहरूले यसलाई “खेल खेल्ने” अवसर बनाउँछन्। तिनीहरूलाई अत्यन्तै उपद्रवी बन्नबाट रोक्नको लागि, मैले तिनीहरूलाई अग्निकुण्डको अनुशासन कारबाही सहन गर्नको लागि मेरो सजायअन्तर्गत राखेको छु। यो मेरो कामको एउटा चरण हो, र म मेरो कामको यो चरणलाई पूरा गर्नको लागि उक्त अग्निकुण्डको सामर्थ्य प्रयोग गर्नेछु; अन्यथा, मेरो कामलाई अघि बढाउन नै असम्भव हुन्छ। म सारा ब्रह्माण्डभरिका मानवजातिलाई मेरो सिंहासनअघि आफैलाई समर्पण गर्न लगाउनेछु, मेरो न्यायका कारण विभिन्न श्रेणीमा विभाजित हुनेछन्, ती श्रेणीहरू अनुसार वर्गीकृत हुनेछन्, र यसरी तिनीहरूको परिवारमा वर्गीकरण गरिनेछन्, ताकि सम्पूर्ण मानवजातिले म विरुद्ध विद्रोह गर्न छाडून्, यसको साटो तिनीहरू मैले नामाकरण गरेका श्रेणीहरूअनुसार सुसङ्गठित र व्यवस्थित प्रबन्धमा रहून्—कोही पनि इच्छाअनुसार चलफिर नगरोस्! सारा ब्रह्माण्डभरि र त्यसको माथि, मैले नयाँ काम गरेको छु; ब्रह्माण्डमा रहेका सारा मानव नै मेरो आकस्मिक देखा पराइका कारण अचम्‍मित र अक्क न बक्क भएका छन्, र मेरो खुल्लमखुल्ला देखा पराइद्वारा तिनीहरूको क्षितिज बृहत् रूपमा विस्तारित भएको छ। आज यस्तै त छ नि होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्‍वरका वचनहरू, अध्याय ४३

परमेश्‍वरका दैनिक वचनहरू  अंश ६८

म मेरो काम गैरयहूदी जातिहरू माझ फैलाउँदैछु। मेरो महिमा सारा ब्रह्माण्डभरि चम्किनेछ; सबै खाले सबै मानिसहरूले आफूभित्र मेरा अभिप्रायहरू बोक्‍छन्, अनि तिनीहरू सबै मेरो बाहुलीद्वारा परिचालित हुन्छन् र मैले सुम्पेका कामहरूमा लागिपर्छन्। यस घडीदेखि, सबै मानिसहरूलाई अर्कै संसारमा ल्याएर म नयाँ युगमा प्रवेश गरेको छु। जब म आफ्नो “गृह मुलुक” फर्कें; मेरो मौलिक योजनामा मैले अर्को नयाँ कामको सुरुवात गरेँ, ताकि मानिस मकहाँ अझ गहन रूपमा आउन सकून्। म ब्रह्माण्डलाई यसको समग्रतामा विचार गर्छु र यो मेरो कामको निम्ति उपयुक्त समय हो भन्‍ने देख्छु,[क] त्यसैले मानिसको बीचमा मेरो काम गर्दै म सबैतिर दौडधूप गर्छु। आखिर, यो नयाँ युग हो र धेरैभन्दा धेरै नयाँ मानिसहरूलाई नयाँ युगमा लिन र मैले हटाउनुपर्ने मानिसहरूमध्ये धेरैलाई मिल्काउन मैले नयाँ काम ल्याएको छु। ठूलो रातो अजिङ्गरको राष्ट्रमा, मैले मानवजातिमा अथाह कामको एउटा चरण पूरा गर्दै तिनीहरूलाई हावामा नै बहन लगाएको छु, त्यसपछि धेरै जना बिस्तार-बिस्तार हावाको बहावसँगै अलग हुन्छन्। साँच्चै, यो मैले सफा गर्न लागेको “खलो” हो; मैले उत्कट चाह गरेको कुरा यही हो र यो मेरो योजना पनि हो। किनकि म काममा हुँदा धेरै दियाबलसहरू गुप्‍त रूपमा पसेका छन्, तर म तिनीहरूलाई धपाउन हतारमा छैनँ। बरु, उपयुक्त समयमा म तिनीहरूलाई तितरबितर पार्नेछु। त्यसपछि मात्र, मलाई साँच्चै प्रेम गर्नेहरूलाई मबाट अञ्‍जीरको फल र लिलीको बास्ना प्राप्‍त गर्न दिएर म जीवनको मूल हुनेछु। शैतान बास बस्ने मुलुकमा, धूलोलो भूमिमा कुनै विशुद्ध सुन रहँदैन, त्यहाँ केवल बालुवा मात्र हुन्छ, र त्यसैले, यी परिस्थितिहरूको सामना गरेपछि म यस्तो चरणको काम गर्छु। मैले प्राप्‍त गर्ने कुरा भनेको शुद्ध र खारिएको सुन हो, बालुवा होइन भन्‍ने तिमीहरूले जान्नुपर्छ। मेरो घरमा दुष्ट कसरी रहन सक्छ? म फ्याउराहरूलाई मेरो स्वर्गमा परजीवीका रूपमा कसरी जिउन दिन सक्छु र? यी तिनीहरूलाई भगाउन हरविधि अपनाउँछु। मेरा अभिप्रायहरू प्रकट हुनअघि मैले के गर्न लागेको छु सो कसैलाई पनि थाहा हुँदैन। यही मौका छोपेर म ती दियाबलसहरूलाई धपाउँछु र तिनीहरू मेरो उपस्थिति छोडेर जान बाध्य हुन्छन्। म दुष्टहरूलाई यसै गर्छु, तर तिनीहरूले मेरो सेवा गर्ने दिन अझै बाँकी हुनेछ। आशिष्‌ पाउने मानिसहरूको इच्छा अत्यन्तै प्रबल हुन्छ; यसकारण म मेरो शरीर घुमाएर मेरो महिमित मुहार गैरयहूदीहरूलाई देखाउँछु, ताकि मानिसहरू तिनीहरूको आफ्नै संसारमा जिऊन् र मैले भन्नुपर्ने मेरा वचनहरू मैले भन्दै जाँदा र मानिसहरूलाई चाहिने कुरा आपूर्ति गर्दै जाँदा तिनीहरूले आफ्नो न्याय आफै गरून्। मानिसहरू होसमा आउँदा मैले मेरो काम लामो समय अघिदेखि नै फैलाएको हुनेछु। त्यसपछि म मानिसहरूलाई मेरा अभिप्रायहरू व्यक्त गर्नेछु र सबै मानिसहरूले मेरो काममा सहकार्य गर्ने गरी नजिकबाट मलाई पछ्याउन दिएर र मैले गर्नुपर्ने सबै काम मसँगै तिनीहरूको आफ्नै क्षमतामा गर्न दिएर मानिसहरूमाझ मेरो कामको दोस्रो भाग सुरु गर्नेछु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

फूटनोटहरू:

क. मूल पाठमा “भन्‍ने देख्छु” भन्‍ने वाक्यांश समावेश छैन।


परमेश्‍वरका दैनिक वचनहरू  अंश ६९

मेरो महिमा देख्नेछन् भन्‍ने विश्‍वास तिनीहरू कसैसँग पनि विश्‍वास छैन र म तिनीहरूलाई बाध्य बनाउँदिनँ, बरु मानवजातिबाट मेरो महिमा हटाउनेछु र यसलाई अर्कै संसारमा लैजानेछु। जब मानिसहरूले पश्‍चात्ताप गर्छन्, तब म मेरो महिमा लिनेछु र विश्‍वास भएकाहरूलाई यो देखाउनेछु। मैले काम गर्ने सिद्धान्त यही हो। किनभने मेरो महिमाले कनान छोड्ने समय छ र मेरो महिमाले चुनिएकाहरूलाई छोड्ने समय पनि छ। यसको अतिरिक्त, मेरो महिमाले पृथ्वी छोड्ने, यसलाई मधुरो गराउने र यसलाई अन्धकारमा डुबाउने एउटा समय छ। कनानको मुलुकले पनि सूर्यको उज्यालो देखिनेछैन; सबै मानिसहरूले विश्‍वास गुमाउनेछन्, तर कनानको मुलुकको सुगन्ध कसैले पनि त्याग्‍न सक्दैनन्। म नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्दा मात्र, म मेरो महिमाको अर्को भागलाई सुरुमा कनानको भूमिमा प्रकट गर्छु, सारा निस्पट्ट अँध्यारो पृथ्वीभर ज्योतिको झिलमिल चम्किने तुल्याउँछु, ताकि सारा पृथ्वी ज्योतिमा आउन सकोस्, ताकि सारा पृथ्वीभरिका मानिसहरूले ज्योतिको शक्तिबाट लाभ लिन सकून्, जसले गर्दा मेरो महिमा अझ बढोस् र हरेक राष्ट्रमा नयाँ देखियोस्, र म मानव संसारमा आएको लामो समय भइसक्यो र मैले मेरो महिमालाई इस्राएलबाट पूर्वतिर लामो समय अघि नै ल्याएको छु भन्‍ने कुरा सारा मानवजातिले महसुस गर्न सकून्, किनभने मेरो महिमा पूर्वबाट चम्किन्छ, र यसलाई अनुग्रहको युगदेखि यस दिनसम्म ल्याइएको छ। तर म इस्राएलबाट निस्केको थिएँ र त्यहाँबाट म पूर्वमा आइपुगेँ। जब पूर्वको ज्योति बिस्तारै सेतो हुँदै जान्छ तब मात्र पृथ्वीभरको अँध्यारो ज्योतिमा परिणत हुन थाल्छ, तब मात्र म लामो समयअघि नै इस्राएलबाट गएको थिएँ र म पूर्वमा नयाँ भएर उदाइरहेको छु भन्‍ने कुरा मानिसहरूले पत्ता लगाउनेछन्। एक पटक इस्राएलमा ओर्लेर पछि यसबाट प्रस्थान गरेपछि, म फेरि इस्राएलमा नै जन्मिनेछु भन्ने हुन सक्दैन, किनभने मेरो कामले सारा ब्रह्माण्डलाई नै अगुवाइ गर्छ र अझ के भने, बिजुली पूर्वदेखि आउँछ र पश्‍चिमसम्म नै चम्किन्छ। यसैले, म पूर्वमा ओर्लेको छु, र मैले कनानलाई पूर्वमा मेरा चुनिएका मानिसहरूकहाँ ल्याएको छु। म सारा पृथ्वीभरिका मेरा चुनिएका मानिसहरूलाई कनानको भूमिमा ल्याउनेछु, त्यसैले सारा ब्रह्माण्डलाई नियन्त्रण गर्न, म कनानको भूमिमा वाणी जारी गर्ने कामलाई निरन्तरता दिन्छु। यस बेला, सारा पृथ्वीमा कुनै ज्योति छैन। कनानमा भएकाहरू बाहेक, सबै मानिसहरू भोक र ठन्डिको जोखिममा छन्। मैले मेरो महिमा इस्राएललाई दिएँ, अनि यसबाट लिएँ, यसरी मैले इस्राएलीहरूलाई, र सारा मानिसलाई पूर्वतिर पनि ल्याएँ, तिनीहरू सबैलाई ज्योतिमा ल्याएँ, ताकि तिनीहरूको ज्योतिसँग पुनर्मिलन होस्, तिनीहरू यससँगै संलग्न होऊन् र तिनीहरूले उपरान्त खोज्न नपरोस्। खोजिरहनेहरू सबैलाई मैले फेरि ज्योति देख्ने, मसँग इस्राएलमा भएको महिमा देख्ने, तिनीहरूलाई लामो समयअघि नै म मानवजातिमाझ सेतो बादलमा ओर्लेको कुरा देख्ने, र तिनीहरूलाई सेता बादलहरूका गुच्छा र झुप्पा-झुप्‍पा प्रशस्त फलहरू देख्ने तुल्याउनेछु। यसभन्दा पनि बढी, मैले तिनीहरूलाई इस्राएलको यहोवा परमेश्‍वर देख्ने, यहूदीहरूको “मालिक”, प्रतीक्षा गरिएको मसीह, र सारा युगभरि राजाहरूद्वारा सताइएको मेरो पूर्ण देखापराइ देख्ने तुल्याउनेछु। म सारा ब्रह्माण्डभरि काम गर्नेछु र महान् काम निर्वाह गर्नेछु, र आखिरी दिनहरूमा मेरो सारा महिमा र मेरा सबै कार्य मानिसलाई प्रकट गर्नेछु, अनि मलाई वर्षौँदेखि प्रतीक्षा गरिरहेकाहरूलाई, म सेतो बादलमा आएको उत्कट चाह गर्नेहरूलाई, म फेरि देखा परेको उत्कट चाह गर्ने इस्राएललाई, र मलाई सताउने सबै मानवजातिलाई मेरो सारा महिमित मुहार देखाउनेछु, ताकि मैले मेरो महिमा धेरै पहिले नै लिएको छु र मैले यसलाई पूर्वतिर ल्याएको छु, र यो अब यहूदियामा छैन भन्‍ने कुरा सबैले जानून्, किनभने आखिरी दिनहरू आइसकेका छन्!

सारा ब्रह्माण्डभरि म मेरो काम गरिरहेको छु र पूर्वमा मेघ गर्जन असीम रूपमा जारी हुन्छ, जसले सबै देश र सम्प्रदायहरूलाई हल्लाइदिन्छ। सारा मानिसहरूलाई वर्तमानमा डोर्‍याएको मेरै वाणीहरूले हो। म सबै मानिसहरूलाई मेरा वाणीद्वारा विजय गरिने, यही प्रवाहमा पार्ने, र मेरो सामु आत्मसमर्पण गर्ने तुल्याउँछु, किनभने मैले मेरो महिमालाई उहिले नै सारा पृथ्वीबाट फिर्ता लिएको छु र यसलाई पूर्वमा नयाँ रूपमा जारी गरेको छु। मेरो महिमा देख्ने अभिलाषा कसलाई हुँदैन? कसले व्यग्रतापूर्वक मेरो पुनरागमनको प्रतीक्षा गर्दैन? मेरो पुन: देखापराइको तृष्णा कसले गर्दैन? मेरो प्रेमिलो स्वभावका निम्ति को लालायित हुँदैन? ज्योतिमा कोचाहिँ आउँदैन? कनानको सम्‍पन्‍नतालाई कसले हेर्दैन? उद्धारकको आगमनलाई कसले चाह गर्दैन? महाशक्ति भएकोलाई कसले आदर गर्दैन? मेरा वाणीहरू पृथ्वीभरि प्रसार गरिनेछन्; शक्तिशाली मेघगर्जनहरूले पहाड़ र नदीहरू थर्काएझैँ, म मेरा चुनिएका मानिसहरूसँग अझ धेरै वचन व्यक्त गर्नेछु र बोल्नेछु। म मेरा वचनहरू सारा ब्रह्माण्ड र मानवजातिलाई सुनाउँछु। यसकारण, मेरो मुखबाट निस्कने वचनहरू मानिसहरूको खजाना बनेका छन् र सबै मानिसहरूले मेरा वचनहरूलाई प्रिय ठान्छन्। बिजुली पूर्वदेखि पश्‍चिमसम्म नै चम्कन्छ। मेरा वचनहरू यस्ता छन् कि मानिस तीबाट अलग हुन अनिच्छुक हुन्छन्, अनि ती वचन मानिसलाई अथाह लाग्छ, र त्यसभन्दा पनि बढी, तिनले मानिसलाई आनन्दित हुने तुल्याउँछन्। भर्खरै जन्‍मेका शिशुझैँ, सबै मानिसहरू खुसी र आनन्दित महसुस गर्छन्, र मेरो आगमनको उत्सव मनाउँछन्। मेरा वाणीहरूको माध्यमले म सबै मानिसहरूलाई मेरो सामु ल्याउनेछु। त्यसपछि, म मानिसहरूमाझ औपचारिक रूपमा प्रवेश गर्नेछु, र तिनीहरूलाई मलाई श्रद्धा गर्न आउने तुल्याउनेछु। मैले जगमगाउने मेरो महिमा र मेरो मुखका वचनहरूसँगै, म यसलाई यस्तो बनाइदिनेछु कि सबै मानिसहरू मेरो सामु आउनेछन् र तिनीहरूले बिजुली पूर्वबाट चम्केको, म पूर्वको “जैतूनको डाँड़ामा” ओर्लेको, म पृथ्वीमा लामो समयअघि नै आएको, र म अबउप्रान्त यहूदीको छोरा नभई पूर्वको बिजुली भएको देख्नेछन्। किनभने म उहिले नै बौरी उठेको छु र म मानवजातिको माझबाट प्रस्थान गरेको छु, र मानिसहरू माझ महिमासहित फेरि देखा परेको छु। आजभन्दा कैयौँ युगहरू अघिदेखि आराधना गरिएको म नै हुँ, र कैयौँ युगहरू अघि इस्राएलीहरूद्वारा त्यागिएको बालक पनि म नै हुँ। यसभन्दा पनि बढी, म हालको युगको महा-महिमित सर्वशक्तिमान् परमेश्‍वर हुँ। सबै जना मेरो सिंहासन सामु आऊन् र तिनीहरूले मेरो महिमामय मुहार देखून्, मेरा वाणी सुनून्, र मेरा कार्यहरू हेरून्। मेरो अभिप्रायको सम्पूर्णता यही हो; यो नै मेरो योजनाको अन्त र उत्कर्ष हो, साथै मेरो व्यवस्थापनको उद्देश्य हो: असङ्ख्य राष्ट्रले मलाई श्रद्धा गरून्, असङ्ख्य मुखले मलाई स्वीकार गरून्, असङ्ख्य मानिसले ममाथि भरोसा राखून् र मेरा चुनिएका असङ्ख्य मानिसले मेरो सामु समर्पण गरून्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सात मेघगर्जन गर्जिन्छन्—राज्यको सुसमाचार सारा ब्रह्माण्डभरि फैलिनेछ भन्‍ने अगमवाणी

परमेश्‍वरका दैनिक वचनहरू  अंश ७०

धेरै सहस्राब्दीदेखि मानिसले मुक्तिदाताको आगमन देख्न सक्‍ने उत्कट इच्छा गरेको छ। हजारौँ वर्षदेखि उहाँको निम्ति उत्कट इच्छा गर्ने र चाह गर्नेहरूका बीचमा मुक्तिदाता येशू व्यक्तिगत रूपमै सेतो बादलको सवारीमा ओर्लनुभएको देख्ने उत्कट इच्छा मानिसले गरेको छ। मानिसले मुक्तिदाताको आगमन र तिनीहरूसँगको पुनर्मिलनको पनि उत्कट इच्छा गरेको छ; अर्थात्, हजारौँ वर्षदेखि मानिसहरूबाट अलग गरिनुभएका मुक्तिदाता येशू फर्केर आउनुभएको र यहूदीहरू माझ गर्नुभएको छुटकाराको काम फेरि एक पटक कार्यान्वयन गरेको, मानिसप्रति करुणामय र प्रेमिलो भएको, मानिसको पाप क्षमा गरेको, मानिसका पापहरू बहन गरेको, मानिसका सबै अपराधहरू समेत बहन गरेको र मानिसलाई पापबाट छुटकारा दिएको उत्कट चाह गरेको छ। मानिसले खास चाहेको कुराचाहिँ मुक्तिदाता येशू पहिलेको जस्तै हुनुभएको होस् भन्‍ने हो—एक मुक्तिदाता जो प्रेमिलो, दयालु र सम्मानीय हुनुहुन्छ, जो मानिससँग कहिल्यै क्रोधित हुनुहुन्न, र जसले कहिल्यै पनि मानिसको निन्दा गर्नुहुन्न, तर जसले क्षमा गर्नुहुन्छ, मानिसका सबै पापहरू लिनुहुन्छ र पहिलेको जस्तै, मानिसको निम्ति क्रूसमाथि मर्नुहुनेछ। येशू बिदा भएर जानुभएपछि, उहाँलाई पछ्याउने चेलाहरू, साथै उहाँको नाउँमा मुक्ति पाउने सन्तहरू सबैले उहाँको उत्कट चाह गर्दै र उहाँको प्रतीक्षा गर्दै आएका छन्। अनुग्रहको युगमा येशू ख्रीष्टको अनुग्रहद्वारा मुक्ति पाएका सबै मानिसहरू आखिरी दिनहरूको त्यो महान् दिनको तृष्णा गर्दै आइरहेका छन् जब मुक्तिदाता येशू सारा मानिसहरूकहाँ देखा पर्न सेतो बादलमा ओर्लनुहुनेछ। वास्तवमा, यो आज मुक्तिदाता येशूको नाउँ ग्रहण गर्ने सबै जनाको सामूहिक इच्छा पनि हो। येशू मुक्तिदाताको मुक्तिलाई जान्‍ने ब्रह्माण्डका हरेकले पृथ्वीमा हुनुहुँदा: “म जसरी गएको छु त्यसै गरी आउनेछु” भन्नुभएको कुरा पूरा गर्न येशू ख्रीष्ट अचानक देखा पर्नुभएको होस् भनी उत्कट इच्छा गर्दैआइरहेका छन्। क्रुसीकरण र पुनरुत्थानपछि, सर्वोच्चको दाहिने हातपट्टिको उहाँको स्थान लिन येशू सेतो बादलमा स्वर्ग फर्केर जानुभयो भनी मानिसले विश्‍वास गर्छ। त्यसरी नै, हजारौँ वर्षदेखि उहाँको उत्कट चाह गर्नेहरूमाझ, येशू सेतो बादलमा (यो बादलले येशू स्वर्गमा फर्कनुहुँदा चढ्नुभएको बादललाई जनाउँछ) फेरि ओर्लिआउनुहुनेछ र उहाँले यहूदीहरूको स्वरूप बहन गर्नुहुनेछ र पोसाक धारण गर्नुहुनेछ। मानिसकहाँ देखा पर्नुभएपछि, उहाँले तिनीहरूलाई खाना दिनुहुनेछ र तिनीहरूका निम्ति जिउँदो पानी निस्कन लगाउनुहुनेछ र मानिसहरू माझ अनुग्रहले पूर्ण, प्रेमले पूर्ण, सुस्पष्ट र यथार्थ भएर जिउनुहुनेछ। मानिसहरूले यस्तै सारा धारणाहरूमा विश्‍वास गर्छन्। तैपनि मुक्तिदाता येशूले यसो गर्नुभएन; उहाँले मानिसहरूले बुझेको भन्दा विपरीत गर्नुभयो। उहाँको पुनःआगमनको उत्कट इच्छा गर्नेहरूमाझ उहाँ आउनुभएन र सेतो बादलमा सवार भएर उहाँ सबै मानिसहरूकहाँ देखा पर्नुभएन। उहाँ पहिले नै आइसक्नुभएको छ, तर मानिसलाई थाहा छैन र यसबारे अज्ञात रहन्छ। उहाँ अघि नै “सेतो बादलमा” (त्यो बादलचाहिँ उहाँको आत्मा, उहाँका वचनहरू, उहाँको सारा स्वभाव र उहाँ जे हुनुहुन्छ सो सबै हो) ओर्लिआइसक्नुभएको छ भन्‍ने कुराप्रति बेखवर भएर, मानिसले उहाँलाई लक्ष्यहीन रूपमा प्रतीक्षा मात्रै गरिरहन्छन् र अहिले उहाँ आखिरी दिनहरूको अवधिमा उहाँले बनाउनुहुने विजेताहरूको समूह माझ हुनुहुन्छ। मानिसले यो कुरा जान्दैन: मानिसको निम्ति पवित्र मुक्तिदाता येशूसित भएको सारा स्नेह र प्रेमको बाबजुद पनि, फोहोरी र अशुद्ध आत्माहरूले बास गरेको “मन्दिरहरू” मा उहाँले कसरी काम गर्न सक्नुहुन्छ? मानिसले उहाँको आगमनको प्रतीक्षा गर्दैआइरहेको भए पनि, अधर्मीको देह खानेहरू, अधर्मीको रगत पिउनेहरू, र अधर्मीको वस्‍त्र धारण गर्नेहरू, उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्ने र उहाँलाई निरन्तर धुतिरहनेहरूकहाँ उहाँ कसरी देखा पर्न सक्नुहुन्थ्यो? येशू प्रेमले पूर्ण, र करुणाले भरिएको हुनुहुन्छ, र उहाँ पाप बलि र उद्धारले पूर्ण हुनुहुन्छ भन्‍ने मात्र मानिसले जान्दछ। यद्यपि, उहाँ स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ जो धार्मिकता, प्रताप, क्रोध र न्यायले पूर्ण, अख्तियारले भएको र प्रतिष्ठाले पूर्ण हुनुहुन्छ भन्‍ने कुरा मानिसले जान्दैन। यसकारण, मानिसले उद्धारकर्ताको आगमनको उत्कट इच्छा र चाह गरे पनि, र तिनीहरूको प्रार्थनाले “स्वर्ग” नै हल्लाए पनि, उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्नेहरूकहाँ मुक्तिदाता येशू देखा पर्नुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ७१

परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापनको योजना अन्त्यतिर आइरहेको छ, र उहाँ देखा पर्नुभएको खोजी गर्ने सबैका निम्ति राज्यको ढोका यसअघि नै खोलिसकिएको छ। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, तिमीहरू के पर्खदैछौ? तिमीहरूले खोजेको के हो? के तिमीहरू परमेश्‍वर देखा पर्नुहुने पर्खाइमा छौ? के तिमीहरू उहाँका पाइलाहरू खोजिरहेका छौ? परमेश्‍वरको देखा पराइलाई कस्तो तृष्णा गर्छन्! अनि परमेश्‍वरका पाइलाहरू भेट्टाउन कति गाह्रो छ! यस्तो युगमा, यस्तो संसारमा, परमेश्‍वर देखा पर्नुहुने दिनलाई देख्‍नको लागि हामीले के गर्नुपर्छ? परमेश्‍वरका पाइलाहरू पछ्याउन हामीले के गर्नुपर्छ? परमेश्‍वर देखा पर्नुहुने पर्खाइमा रहेका सबै जनाले यस्तो प्रकारको प्रश्नहरूको सामना गरिरहेका हुन्छन्। तिमीहरू सबैले एकभन्दा धेरै समय ती कुराहरूको विचार गरेका छौ—तर परिणाम के भयो त? परमेश्‍वर कहाँ देखा पर्नुहुन्छ? परमेश्‍वरका पाइलाहरू कहाँ छन्? के तिमीहरूले यसको जवाफ पाएका छौ? धेरै मानिसहरूले यसरी जवाफ दिन सक्छन्: “उहाँलाई पछ्याउनेहरूका बीचमा परमेश्‍वर देखा पर्नुहुन्छ र उहाँका पाइलाहरू हामीमाझ छन्; यो त स्पष्ट छ!” जो कसैले पनि सूत्रगत उत्तर दिन सक्छ, तर के तिमीहरू परमेश्‍वर देखा पर्नु वा उहाँका पाइलाहरूको अर्थ के हो भनी बुझ्छौ? परमेश्‍वर देखा पर्नुले उहाँ आफै व्यक्तिगत रूपमा उपस्थित भई उहाँको काम गर्नको निम्ति पृथ्वीमा उहाँको आगमनलाई जनाउँछ। उहाँको आफ्नै पहिचान र स्वभावको साथमा, र उहाँको आफ्नै अन्तर्निहित शैलीमा, उहाँ मानिसहरूको बीचमा युगको सुरुवात गर्ने र युगको अन्त गर्ने काम गर्न ओर्ली आउनुहुन्छ। यस्तो देखापराइ चाहिँ एक प्रकारको समारोह भने होइन। यो कुनै चिन्ह, तस्वीर, अचम्मको काम वा कुनै किसिमको ठूलो दर्शन होइन; यो कुनै प्रकारको धार्मिक प्रक्रिया हुने त कुरै छौडौं। यो जो कसैले पनि छुन र हेर्न सक्ने वास्तविक र यथार्थ तथ्य हो। यस्तो देखापराइ चाहिँ झारा टार्नका लागि वा कुनै छोटो समयको कामका निम्ति होइन; बरु, यो त उहाँको व्यवस्थापन योजनाको कामको एउटा चरणको निम्ति हो। परमेश्‍वरको देखापराइ जहिले पनि अर्थपूर्ण हुन्छ र यसले सँधै उहाँको व्यवस्थापनको योजनासँग केही सम्बन्ध राख्छ। यहाँ भनिएको “देखापराइ” त्यस्तो “देखापराइ” भन्दा पूर्ण रूपले भिन्न छ, जसमा परमेश्‍वरले मानिसलाई अगुवाइ गर्नुहुन्छ, मार्गदर्शन र अन्तर्दृष्टि दिनुहुन्छ। प्रत्येक चोटि उहाँले आफैलाई प्रकट गर्नुहुँदा परमेश्‍वरले उहाँको महान कामको चरणलाई अघि बढाउनुहुन्छ। यो कार्य अरू कुनै युगको भन्दा भिन्न हुन्छ। यो मानिसको निम्ति अकल्पनीय छ र मानिसले कहिल्यै अनुभव गरेको छैन। यो काम नयाँ युगलाई सुरुवात गर्ने र पुरानो युगलाई अन्त्य गर्ने काम हो, र यो मानवजातिको मुक्तिको निम्ति कामको नयाँ र उच्च रूप हो; अझ भन्‍ने हो भने, यो मानवजातिलाई नयाँ युगमा ल्याउने काम हो। परमेश्‍वरको देखापराइले यही कुरालाई नै जनाउँछ।

तिमीहरूले परमेश्‍वर देखा पर्नुको अर्थ के हो भन्‍ने बुझिसकेपछि, कसरी तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई खोज्नुपर्छ? यो प्रश्न व्याख्या गर्न गाह्रो छैन: जहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, त्यहाँ तिमीहरूले उहाँका पाइलाहरूलाई भेट्टाउँनेछौ। यस्तो व्याख्या सरल सुनिन्छ, तर अभ्यासमा ल्याउन त्यति सहज छैन, किनकि धेरै मानिसहरूलाई परमेश्‍वर कहाँ देखा पर्नुहुन्छ भन्‍ने थाहा छैन, उहाँ कहाँ देखा पर्न चाहनुहुन्छ, कहाँ देखा पर्नुपर्ने हो भन्‍नेबारेमा थाहा हुने त कुरै छौडौं। केहीले आवेगका साथ विश्‍वास गर्छन् कि जहाँ पवित्र आत्माको काम हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। अर्को रूपमा, तिनीहरू विश्‍वास गर्छन् कि जहाँ आत्मिक व्यक्तित्वहरू हुन्छन्, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। या, तिनीहरू विश्‍वास गर्छन् कि जहाँ उच्च प्रसिद्धिका मानिसहरू हुन्छन्, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ। केही क्षणको लागि, यस्ता विश्‍वासहरू सही छन् कि गलत छन् भन्‍ने कुरालाई हामी एकातिर छोडौं। यस्तो प्रश्नको व्याख्या गर्न, हामीसँग पहिला स्पष्ट उद्देश्य हुनुपर्दछ: हामी परमेश्‍वरका पाइलाहरू खोजिरहेका छौँ। हामी आत्मिक व्यक्तित्वहरूलाई खोजिरहेका छैनौँ, झन् चर्चित व्यक्तित्वहरूलाई पछ्याउनु त परै जाओस्; हामी परमेश्‍वरका पाइलाहरू पछ्याइरहेका छौँ। यसकारण, हामीले परमेश्‍वरका पदचापहरू खोजिरहेका हुनाले, हामीले परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरका वचनहरू, उहाँका वाणीहरू खोज्नुपर्छ। किनभने जहाँ परमेश्‍वरद्वारा बोलिएका नयाँ वचनहरू हुन्छन्, त्यहाँ परमेश्‍वरको आवाज हुन्छ, र जहाँ परमेश्‍वरका पदचापहरू हुन्छन्, त्यहाँ परमेश्‍वरका कार्यहरू हुन्छन्; जहाँ परमेश्‍वरको अभिव्यक्ति हुन्छ, त्यहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ-त्यहाँ सत्यता, मार्ग, र जीवन अस्तित्वमा हुन्छन्। परमेश्‍वरका पदचापहरू खोज्दा, तिमीहरूले “परमेश्‍वर सत्य, मार्ग र जीवन हुनुहुन्छ” भन्‍ने वचनहरूलाई बेवास्ता गरेका छौ। अनि त्यसकारण, धेरै मानिसहरूले सत्यता प्राप्त गर्दा पनि, तिनीहरूले परमेश्‍वरका पदचापहरू भेट्टाएका छन् भनी विश्‍वास गर्दैनन्, र तिनीहरूले परमेश्‍वरको देखापराइलाई स्वीकार गर्नु त परै जाओस्। कस्तो गम्भीर भुल! परमेश्‍वरको देखापराइ मानिसका धारणाहरूसँग मेल खानै सक्दैन, परमेश्‍वर मानिसले माग गरेअनुसार त झनै देखा पर्न सक्नुहुन्न। परमेश्‍वरले आफ्‍नो काम गर्नुहुँदा उहाँका आफ्नै छनोटहरू गर्नुहुन्छ र उहाँका आफ्नै योजनाहरू बनाउनुहुन्छ; यसअलावा, उहाँसँग उहाँका आफ्नै उद्देश्यहरू र उहाँका आफ्नै विधिहरू छन्। उहाँले जुनसुकै काम गर्नुभए पनि, उहाँले यसका बारेमा मानिससँग छलफल गर्नु वा उसको सल्लाह माग्नु आवश्यक छैन, हरेक व्यक्तिलाई उहाँको कामका बारेमा सूचित गर्नु त परै जाओस्। यो परमेश्‍वरको स्वभाव हो, र अझ भन्‍ने हो भने, यसलाई सबैले चिन्नैपर्छ। यदि तिमीहरू परमेश्‍वरको देखापराइ देख्‍न, परमेश्‍वरका पाइलाहरू पछ्याउन चाहन्छौ भने, सर्वप्रथम तिमीहरू आफ्ना धारणाहरूबाट टाढा जानुपर्छ। तिमीहरूले परमेश्‍वरसँग यो वा त्यो गर्नू भनी माग गर्नुहुँदैन, उहाँलाई तिमीहरूले तिमीहरूका सीमामा राख्‍न र तिमीहरूका धारणाहरूमा उहाँलाई सीमित गर्न त झनै हुँदैन। त्यसको सट्टा, तिमीहरूले परमेश्‍वरका पाइलाहरू कसरी खोज्नुपर्छ, कसरी परमेश्‍वर देखापराइलाई स्विकार्नुपर्छ, र कसरी परमेश्‍वरको नयाँ काममा समर्पित हुनुपर्छ भनेर आफैसँग माग गर्नुपर्छ: मानिसले गर्नुपर्ने यही हो। मानिस सत्यता होइन, र ऊसँग सत्यता छैन, त्यसैले उसले खोजी गर्नुपर्छ, स्वीकार गर्नुपर्छ, र समर्पित हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ७२

तिमीहरू अमेरिकी, बेलायती वा जुनसुकै राष्ट्रको भए तापनि, तिमीहरूले आफू स्वयम्‌भन्दा माथि उठेर, तिमीहरूको आफ्नै राष्ट्रियताको सीमाभन्दा बाहिर आफ्नो पाइला चाली परमेश्‍वरको कामलाई सृष्टि गरिएको प्राणीको पहिचानबाट हेर्नुपर्छ। यो तरिकाले, तिमीहरूले परमेश्‍वरका पाइलाहरूलाई कुनै विशेष क्षेत्रमा सीमित पार्नेछैनौ। यस्तो हुन्छ किनभने आजकल धेरै मानिसहरूले परमेश्‍वर कुनै विशेष राष्ट्र वा निश्चित मानिसहरूका बीचमा देखा पर्नु असम्भव छ भनी मान्छन्। परमेश्‍वरको कामको महत्त्व कति गहन छ, र परमेश्‍वर देखा पर्नु कति महत्त्वपूर्ण छ! कसरी मानिसका धारणाहरू र विचारले यसको मापन गर्न सम्भव छ र? त्यसैले म भन्छु, परमेश्‍वर देखा पर्नुभएको खोजी गर्नको निम्ति तिमीहरूले राष्ट्रियता र जातीयताका धारणाहरूलाई तोड्नुपर्छ। त्यसपछि मात्रै तिमीहरू आफ्नै धारणाहरूको वशमा हुनेछैनौ; त्यसपछि मात्रै तिमीहरू परमेश्‍वरको देखा पराइलाई स्वागत गर्न योग्य हुनेछौ। अन्यथा, तिमीहरू अनन्त अन्धकारमा रहनेछौ, र तिमीहरूले कहिल्यै पनि परमेश्‍वरबाट स्वीकृति प्राप्त गर्नेछैनौ।

परमेश्‍वर सम्पूर्ण मानवजातिको परमेश्‍वर हुनुहुन्छ। उहाँ आफूलाई कुनै देश वा राष्ट्रको व्यक्तिगत सम्पत्ति मान्‍नुहुन्‍न, बरु उहाँ त कुनै पनि स्वरूप, देश वा राष्ट्रमा सीमित नभई, उहाँले योजना गर्नुभएअनुसार आफ्नो काम गर्नुहुन्छ। सायद तैँले यो स्वरूपलाई कहिल्यै कल्पना गरेको छैनस्, वा सायद यो स्वरूपप्रति तेरो मनोवृत्ति इन्कारको हुन सक्छ, वा सायद परमेश्‍वर जुन देशमा वा राष्ट्रमा देखा पर्नुहुन्छ त्यो बस सबैद्वारा भेदभाव गरिएको र पृथ्वीमा सबैभन्दा पछि परेको हुन सक्छ। तैपनि परमश्‍वरसँग उहाँको बुद्धि छ। उहाँको महान् शक्तिको साथ र उहाँको सत्यता अनि उहाँको स्वभावमार्फत, उहाँले उहाँसँग एउटै मन भएका मानिसहरूको समूहलाई, र उहाँले पूर्ण पार्ने कामना गर्नुभएको मानिसहरूको समूहलाई साँच्चै प्राप्त गर्नुभएको छ—यो उहाँले विजय गर्नुभएको त्यो समूह हो, जसले सबै प्रकारका परीक्षाहरू र कष्टहरू र सबै प्रकारका सतावट सहेर अन्त्यसम्म नै उहाँलाई पछ्याउन सक्छ। कुनै पनि स्वरूप वा देशमा सीमित नरहेको परमेश्‍वरको देखा पराइको उद्देश्य भनेको, उहाँको काम उहाँले योजना गर्नुभएअनुसार पूरा गर्न उहाँलाई सक्षम तुल्याउनु हो। यो चाहिँ परमेश्‍वर यहूदियामा देहधारी हुनुभएको जस्तो हो: उहाँको उद्देश्य सम्पूर्ण मानवजातिलाई छुटकारा दिन क्रूसीकरणको काम पूर्ण गर्नु थियो। तैपनि यहूदीहरूले परमेश्‍वरका निम्ति यो गर्नु असम्भव छ भनेर विश्‍वास गर्थे, र तिनीहरूले परमेश्‍वरलाई देहधारी हुन र प्रभु येशूको स्वरूप धारण गर्न असम्भव छ भन्‍ने ठाने। तिनीहरूको “असम्भव” नै तिनीहरूले परमेश्‍वरको निन्दा र विरोध गर्ने आधार बन्यो, र अन्ततः यसले इस्राएलको विनाशतर्फ डोऱ्यायो। आज पनि धेरै मानिसहरूले उस्तै गल्ती गरेका छन्। तिनीहरूले आफ्नो सारा शक्तिले परमेश्‍वरको चाँडै हुने देखा पराइको घोषणा गर्छन्, तैपनि उही बेला परमेश्‍वरको देखा पराइलाई निन्दा गर्छन्; तिनीहरूको “असम्भव”ले फेरि एकचोटि परमेश्‍वरको देखा पराइलाई तिनीहरूको कल्पनाका सीमाहरूभित्र सीमित गर्छ। अनि त्यसैले मैले परमेश्‍वरको वचन पाउँदा धेरै मानिसहरूको उन्मत्त हाँसो छुटेको देखेको छु। तर के यो हाँसो यहूदीहरूको भर्त्सना र ईश्‍वरनिन्दा भन्दा फरक छ र? तिमीहरू सत्यताको उपस्थितिमा आदरयुक्त छैनौ, तिमीहरूमा तृष्णाको मनोवृत्ति त झनै छैन। तिमीहरू केवल अन्धाधुन्ध अध्ययन गर्छौ, र बेपरवाह भएर पर्खी बस्छौ। यसरी अध्ययन गरी पर्खी बसेर तिमीहरूले के प्राप्त गर्न सक्छौ? के तिमीहरूले परमेश्‍वरबाट व्यक्तिगत मार्गदर्शन पाउँछौ भन्‍ने तिमीहरूलाई लाग्छ? यदि तँ परमेश्‍वरका वाणी खुट्ट्याउन सक्दैनस् भने, तँ कसरी परमेश्‍वरको देखा पराइ देख्न योग्य छस्? परमेश्‍वर जहाँ-जहाँ देखा पर्नुहुन्छ, त्यहाँ सत्यता व्यक्त हुनेछ, र त्यहाँ परमेश्‍वरको आवाज हुनेछ। सत्यता स्वीकार गर्न सक्नेहरूले मात्रै परमेश्‍वरको आवाज सुन्‍न सक्नेछन्, र त्यस्ता मानिसहरू मात्रै परमेश्‍वरको देखा पराइ देख्‍न योग्य हुन्छन्। तेरा धारणा त्यागिदे! आफैलाई शान्त पार् र यी वचनहरूलाई होसियारीसाथ पढ्। तँसँग सत्यताको तृष्णा गर्ने हृदय भएसम्म, परमेश्‍वरले तैँले उहाँका अभिप्राय र वचन बुझ्नेछस् भनेर तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। तिमीहरूका “असम्भवता”का तर्कलाई त्यागिदेओ! मानिसहरूले कुनै कुरा असम्भव छ भन्‍ने विश्‍वास जति धेरै गर्छन्, त्यो हुने सम्भावना त्यति नै धेरै हुन्छ, किनभने परमेश्‍वरको बुद्धि स्वर्गहरूभन्दा उच्च छ, परमेश्‍वरका सोचहरू मानिसका सोचहरूभन्दा उच्च छन्, र परमेश्‍वरले मानिसका सोच र धारणाका सीमाभन्दा बाहिर आफ्नो काम गर्नुहुन्छ। कुनै कुरा जति धेरै असम्भव हुन्छ, त्यसभित्र त्यति नै धेरै खोज्न सकिने सत्यता हुन्छ; कुनै कुरा मानिसका धारणाहरूद्वारा जति कल्पना गर्न सकिँदैन, त्यसमा त्यति नै धेरै परमेश्‍वरका अभिप्रायहरू समावेश हुन्छन्। किनभने, उहाँ जहाँ देखा पर्नुभए पनि, परमेश्‍वर अझै परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ देखा पर्नुहुने स्थान वा शैलीका कारण उहाँको सार बिलकुलै परिवर्तन हुनेछैन। परमेश्‍वरका पाइलाहरू चाहे जहाँ भए पनि परमेश्‍वरको स्वभाव परिवर्तन हुनेछैन, र उहाँका पाइलाहरू चाहे जहाँ भए पनि, उहाँ सबै मानवजातिका परमेश्‍वर हुनुहुन्छ, जसरी प्रभु येशू इस्राएलीहरूका मात्रै परमेश्‍वर नभई, एसिया, युरोप र अमेरिकाका सबै मानिसहरूका परमेश्‍वर हुनुहुन्छ, र त्योभन्दा पनि बढी, उहाँ सम्पूर्ण ब्रह्माण्डमाथि र ब्रह्माण्डभर एक मात्र परमेश्‍वर हुनुहुन्छ। त्यसैले, हामी परमेश्‍वरका अभिप्रायको खोजी गरौँ र उहाँका वाणी र वचनहरूमा उहाँको देखा पराइ पत्ता लगाऔँ, र उहाँका पाइलाहरूसँग पाइला मिलाऔँ! परमेश्‍वर नै सत्य, मार्ग र जीवन हुनुहुन्छ। उहाँका वचनहरू र उहाँको देखा पराइ एकैसाथ अस्तित्वमा हुन्छन्, र उहाँको स्वभाव अनि उहाँका पाइलाहरू मानवजातिलाई सदैव सार्वजनिक रूपमा देखाइन्छन्। प्रिय दाजुभाइ-दिदीबहिनीहरू, म आशा गर्छु कि तिमीहरू सबैले यी वचनहरूमा परमेश्‍वरको देखा पराइ देख्न सक्छौ, तिमीहरूले उहाँका पाइलाहरूसँग गति मिलाउन थाल्नेछौ र नयाँ युगतर्फ लम्कनेछौ, र परमेश्‍वरको देखा पराइ कुर्नेहरूका लागि उहाँले तयार पार्नुभएको सुन्दर नयाँ स्वर्ग र पृथ्वीमा प्रवेश गर्नेछौ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट १: परमेश्‍वरको देखा पराइले नयाँ युगलाई प्रारम्भ गरेको छ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ७३

परमेश्‍वर मौन हुनुहुन्छ, र कहिल्यै हामीकहाँ प्रकट हुनुभएको छैन, तैपनि उहाँको काम कहिल्यै रोकिएको छैन। उहाँले सारा पृथ्वीलाई छानबिन गर्नुहुन्छ, सबै थोकहरूलाई आज्ञा गर्नुहुन्छ, र मानिसका सबै शब्दहरू र कामहरूलाई हेर्नुहुन्छ। उहाँले उहाँको व्यवस्थापनलाई मौनता पूर्वक र नाटकीय प्रभाव विना मापन चरणहरू र उहाँको योजनाअनुसार सञ्चालन गर्नुहुन्छ, तापनि उहाँका पाइलाहरू मानवजातिका नजिक हुनेगरि एक-एक गरेर अगाडि बढ्छन्, र उहाँको न्याय आसन बिजुलीको गतिमा ब्रम्‍हाण्डमा तैनात गरिन्छ, त्यसपछि उहाँको सिंहासन तुरुन्त हाम्रा बीचमा ओर्लन्छ। त्यो कस्तो प्रतापी दृश्य हो, कस्तो शानदार र प्रभावशाली नाटकीय दृश्य! ढुकुरजस्तै र गर्जने सिंह जस्तै गरी पवित्र आत्मा हाम्रा बीचमा आउनुहुन्छ। उहाँ बुद्धि हुनुहुन्छ, उहाँ धार्मिकता र प्रताप हुनुहुन्छ, र उहाँ अख्तियार चलाउँदै अनि प्रेमिलोपन र कृपाले भरिएर, हाम्रा बीचमा गोप्य रूपमा आउनुहुन्छ। उहाँको आगमनबारे कोही सचेत छैन, उहाँको आगमनलाई कसैले स्वागत गर्दैन, र, त्यो भन्दा पनि बढी, उहाँले गर्न लाग्नुभएको सबै कुरा कसैलाई पनि थाहा छैन। मानिसको जीवन पहिलेको जस्तै चलिरहन्छ, उसको हृदय केही फरक हुँदैन, र दिनहरू सदाझैँ गुज्रन्छन्। परमेश्‍वर अनुयायीहरूमध्ये सबैभन्दा नगण्य र एक साधारण विश्‍वासीका रूपमा, साधारण व्यक्तिझैँ, हाम्रा माझमा जिउनुहुन्छ। उहाँका आफ्नै पछ्याइहरू, आफ्नै उद्देश्यहरू छन्; र, त्यो भन्दा पनि बढी, उहाँसँग साधारण मानिसहरूसँग नभएको ईश्‍वरत्व छ। उहाँको ईश्‍वरत्वको अस्तित्वलाई कसैले पनि ध्यान दिएको छैन, र उहाँको र मानिसका सार बीचको भिन्नतालाई कसैले अनुभूत गरेको छैन। हामी उहाँसँग स्वतन्त्र र निडर भएर एकसाथ जिउँछौँ, किनकि हाम्रा नजरमा उहाँ एक नगण्य विश्‍वासी मात्र हुनुहुन्छ। उहाँ हाम्रा हरेक चाल हेर्नुहुन्छ, र हाम्रा सबै सोच र विचारहरू उहाँका सामु उदाङ्गो पारिएका छन्। कसैले पनि उहाँको अस्तित्वमा चासो राख्दैन, कसैले पनि उहाँले गर्ने कार्यबारे कुनै कुरा कल्पना गर्दैन, र, त्यो भन्दा पनि बढी, उहाँको पहिचानबारे कसैलाई अलिकति पनि शङ्का लागेको छैन। उहाँको हामीसँग कुनै पनि सरोकार नभए झैँ गरी, हामी केवल आफ्ना पछ्याइहरू जारी राख्छौँ …

पवित्र आत्माले उहाँद्वारा वचनहरूका खण्ड अचानक व्यक्त गर्नुहुन्छ, र यो अति नै अप्रत्याशित जस्तो अनुभूति भए पनि, हामी यसलाई परमेश्‍वरबाट आएको वाणीको रूपमा मान्यता दिन्छौं र यसलाई परमेश्‍वरबाट आएको रूपमा सहजै स्वीकार गर्छौं। त्यो हुनुको कारणचाहिँ, यी वचनहरूलाई जसले व्यक्त गरे पनि, जबसम्‍म ती पवित्र आत्माबाट आउँछन् तबसम्‍म हामीले तिनीहरूलाई स्वीकार गर्नुपर्छ र तिनीहरूलाई इन्कार गर्नुहुन्न। अर्को वाणी मबाट, वा तपाईंबाट, वा अरू कसैबाट आउनसक्छ। यो जो भए पनि, सबै परमेश्‍वरबाटको अनुग्रह नै हो। यो जो भए पनि, हामीले यस व्यक्तिलाई आराधना गर्नु हुँदैन, किनभने जे नै भए पनि, यो व्यक्ति सम्भव त परमेश्‍वर हुन सक्दैन, नत हामीले कुनै किसिमले पनि यस्तो सामान्य व्यक्तिलाई हाम्रो परमेश्‍वर भनी छान्न नै सक्छौं। हाम्रा परमेश्‍वर अति नै महान् र आदरयोग्य हुनुहुन्छ; यस्तो नगण्य व्यक्ति कसरी उहाँको स्थानमा खडा हुन सक्थ्यो? अझै अधिक कुराचाहिँ, परमेश्‍वर आएर हामीलाई स्वर्गको राज्यमा फर्काएर लानका लागि हामीले उहाँलाई पर्खिरहेका छौँ, यसैले यति महत्त्वपूर्ण र कठिन कार्य कसरी यति तुच्छ व्यक्तिको दायित्व हुन सक्थ्यो? यदि प्रभु फेरि आउनुहुन्छ भने, यो सेतो बादलमा हुनैपर्छ, ताकि सबै भीडले देख्‍न सकून्। त्यो कति महिमित हुनेछ! उहाँ साधारण मानिसहरूको समूहमा कसरी गुप्‍त रूपमा लुक्न सम्भव हुनसक्छ?

तैपनि मानिसहरूका बीचमा लुक्‍नुभएका यी साधारण व्यक्तिले नै, हामीलाई मुक्ति दिने नयाँ काम गरिरहनुभएको छ। उहाँ हामीलाई कुनै स्पष्टीकरण दिनुहुन्न, न त उहाँ किन आउनुभएको हो भनी हामीलाई बताउनु नै हुन्छ, तर बस उहाँले गर्ने अभिप्राय राख्नुभएको काम उहाँको योजना र कार्यविधिअनुसार गर्नुहुन्छ। उहाँ वचन र वाणीहरू झन् बारम्बार बोलिरहनुहुन्छ। सान्त्वना दिने, अर्ती दिने, स्मरण गराउने, र चेतावनी दिनेदेखि, हप्काउने र अनुशासित गर्नेसम्म; नम्र र कोमल लबजदेखि कठोर र प्रतापी वचनहरूसम्‍म—ती सबैले मानिसलाई प्रचुर कृपा र अत्यन्तै भय महसुस गराउँछन्। उहाँले भन्नुहुने सबै कुराले हामीभित्र गहिराइमा लुकेका गुप्‍त कुराहरूलाई ठ्याक्कै प्रहार गर्छन्; उहाँका वचनहरूले हाम्रा हृदयलाई डस्छन्, हाम्रा आत्माहरूलाई डस्छन्, र हामीलाई सहनै नसकिने लाजले भरेर छोडी दिन्छन्, आफैलाई कहाँ लुकाउने भनी हामीलाई थाहै हुँदैन। यस व्यक्तिका हृदयमा हुनुभएका परमेश्‍वरले साँच्चै हामीलाई प्रेम गर्नुहुन्छ कि गर्नुहुन्न र उहाँ के गर्न चाहनुहुन्छ भनी हामी शङ्का गर्न थाल्छौँ। सायद, यी दुःखहरू भोगिसकेपछि मात्र हामी उठाइ लगिन सक्छौ? आउने गन्तव्य र हाम्रो भविष्यको नियतिका बारेमा … हामी हाम्रा मस्तिष्कमा हिसाब गरिरहेका हुन्छौँ। पहिले झैँ, अझै पनि, हाम्रा बीचमा काम गर्न परमेश्‍वरले देहधारण गरिसक्नुभयो भनी हामी कसैले पनि विश्‍वास गर्दैनौँ। यति लामो समयदेखि उहाँ हामीसँग हुनुहुन्छ, उहाँले हामीसँग आमने-सामने भएर धेरै वचनहरू बोलिसक्‍नुभएको छ तापनि, हाम्रा भविष्यका परमेश्‍वरका रूपमा यस साधारण व्यक्तिलाई स्वीकार गर्न हामी अनिच्छुक रहेका छौँ, र यस नगण्य व्यक्तिलाई हाम्रो भविष्य र हाम्रो नियतिको नियन्त्रणका लागि जिम्मा दिने त परै जाओस्। उहाँबाट नै हामीले जीवित पानीको अन्त्यहीन आपूर्तिको आनन्द लिन्छौँ, अनि उहाँमार्फत नै हामी मानिस र परमेश्‍वर आमने-सामने हुने जीवन जिउँछौँ। तर स्वर्गमा हुनुहुने प्रभु येशूको अनुग्रहका निम्ति मात्र हामी कृतज्ञ छौँ, र ईश्‍वरत्व भएका यी साधारण व्यक्तिका भावनाहरूलाई कहिल्यै कुनै ध्यान दिएका छैनौँ। मानवजातिले उहाँलाई गरेको इन्कारप्रति अप्रभावित भएझैँ गरी, मानिसको अपरिपक्वता र अज्ञानतालाई अनन्त रूपमा क्षमा गरेझैँ गरी, र उहाँप्रति मानिसको अनादरकारी मनोवृत्तिप्रति सदा सहनशील भएझैँ गरी, उहाँ अझै पनि, पहिलाजस्तै, देहमा लुकेर नम्रतासाथ आफ्नो काम गर्नुहुन्छ, र आफ्नो हृदयको आवाज अभिव्यक्त गर्नुहुन्छ।

हामीले थाहै नपाई, यी नगण्य मानिसले हामीलाई परमेश्‍वरको कामको एकपछि अर्को कदममा अगुवाइ गर्नुभएको छ। हामी असङ्ख्य परीक्षा भोग्छौँ, र असङ्ख्य ताडनाहरू भोग्छौँ, र हामी मृत्युद्वारा जाँचिन्छौँ। हामी परमेश्‍वरको धर्मी र प्रतापी स्वभावबारे जान्दछौँ, उहाँको प्रेमिलो-दयालुपन र कृपाको आनन्द पनि लिन्छौँ, परमेश्‍वरको महान् शक्ति र बुद्धि बुझ्छौँ, परमेश्‍वरको प्रेमिलो स्वभाव देख्छौँ, र मानिसलाई मुक्ति दिने परमेश्‍वरको उत्कट अभिप्रायलाई देख्छौँ। यस साधारण व्यक्तिका वचनहरूमा, हामीले परमेश्‍वरको स्वभाव र सार जान्न, परमेश्‍वरका अभिप्राय बुझ्न, मानिसको प्रकृति सार जान्न, र मुक्ति र सिद्धताको बाटो देख्न पुग्छौँ। उहाँका वचनहरूले हामीलाई “मर्ने” तुल्याउँछन्, र तिनले हामीलाई “पुनर्जन्म लिने” तुल्याउँछन्; उहाँका वचनहरूले हामीलाई सान्त्वना दिन्छन्, तैपनि हामीलाई पछुतो र ऋणी भावको वेदनामा पार्छन्; उहाँका वचनहरूले हामीमा हर्ष र शान्ति ल्याउँछन्, तर असीमित पीडा पनि ल्याउँछन्। कहिलेकहीँ हामी उहाँका हातहरूमा राखिएर काटिने थुमाहरूजस्तै हुन्छौँ; कहिलेकहीँ हामी उहाँको आँखाका नानी जस्तै हुन्छौँ, र उहाँको कोमल प्रेमको आनन्द लिन्छौँ। कहिलेकहीँ हामी उहाँका शत्रु जस्तै हुन्छौँ, र उहाँका हेराइमा उहाँको क्रोधद्वारा खरानीमा परिणत हुन्छौँ। हामी उहाँद्वारा मुक्ति दिइएका मानवजाति हौँ, हामी उहाँका नजरमा किरा हौँ, अनि हामी हराएका भेडाहरू हौँ, जसलाई भेट्टाउन उहाँ दिन र रात लागी पर्नुहुन्छ। उहाँ हामीप्रति कृपालु हुनुहुन्छ, उहाँ हामीलाई घृणा गर्नुहुन्छ, उहाँले हामीलाई उठाउनुहुन्छ, उहाँले हामीलाई सान्त्वना दिनुहुन्छ र हामीलाई अर्ती दिनुहुन्छ, उहाँले हामीलाई अगुवाइ गर्नुहुन्छ, उहाँले हामीलाई अन्तर्दृष्टि दिनुहुन्छ, उहाँले हामीलाई ताडना दिनुहुन्छ र अनुशासनमा राख्‍नुहुन्छ, अनि उहाँले हामीलाई श्राप पनि दिनुहुन्छ। रात र दिन, उहाँ हाम्रा बारेमा फिक्री गर्न कहिल्यै छोड्नुहुन्न, र रात र दिन, हाम्रो सुरक्षा र हेरचाह गर्नुहुन्छ, हाम्रो साथ कहिल्यै छोड्नुहुन्न, तर हाम्रो खातिर आफ्नो रगत-पसिना बगाउनुहुन्छ र हाम्रा निम्ति कुनै पनि मूल्य चुकाउनुहुन्छ। यो सानो र साधारण मासुले बनेको शरीरका वाणीहरूभित्र, हामीले परमेश्‍वरको सम्पूर्णताको आनन्द लिएका छौँ र परमेश्‍वरले हामीलाई दिनुभएको गन्तव्यलाई देखेका छौँ। यसको बाबजुद पनि, व्यर्थताले हाम्रा हृदयभित्र अझै समस्या ल्याउँछ, र यस किसिमका व्यक्तिलाई हाम्रा परमेश्‍वरका रूपमा सक्रिय पूर्वक स्वीकार गर्न हामी अझै अनिच्छुक छौँ। उहाँले हामीलाई यति धेरै मन्न दिनुभएको भएको छ, आनन्द लिनको लागि धेरै कुरा दिनुभएको छ, तापनि यो कुनैले पनि हाम्रा हृदयमा प्रभुको स्थानलाई लिन सक्दैन। हामी यस व्यक्तिको विशेष पहिचान र दर्जालाई अति नै अनिच्छुक भएर मात्र आदर गर्छौं। उहाँ परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्न उहाँले आफ्नो मुख खोलेर हामीलाई आग्रह नगरेसम्म, हामीले उहाँलाई चाँडै आउनुहुने परमेश्‍वरको रूपमा स्वीकार गर्न आफै अग्रसर हुँदैनौं, तापनि उहाँले हाम्रो माझमा लामो समयदेखि काम गरिरहनुभएको छ।

हामीले के गर्नुपर्छ भनी हामीलाई अर्ती दिन, साथसाथै, उहाँको हृदयको आवाज व्यक्त गर्दै परमेश्‍वरले विभिन्न विधि र धेरै दृष्टिकोणहरू प्रयोग गरेर आफ्ना वाणीहरूलाई निरन्तरता दिनुहुन्छ। उहाँका वचनहरूले जीवन शक्ति बोक्छन्, हामीले हिँड्नुपर्ने मार्ग हामीलाई प्रदान गर्छन्, र हामीलाई सत्यता ठ्याक्कै के हो भनी बोध गर्ने तुल्याउँछन्। हामी उहाँका वचनहरूद्वारा आकर्षित हुन थाल्छौँ, हामी उहाँको बोलाइको सुर र शैलीमा ध्यान केन्द्रित गर्न थाल्छौँ, र यस नगण्य व्यक्तिको हृदयको आवाजलाई अवचेतन रूपमा ध्यान दिन थाल्छौँ। उहाँ हाम्रा लागि हृदय लगाएर काम गर्नुहुन्छ, हाम्रा खातिर निद्रा र भोक गुमाउनुहुन्छ, हाम्रा निम्ति रुनुहुन्छ, हाम्रा निम्ति सुस्केरा हाल्नुहुन्छ, हाम्रा निम्ति बिमारीमा ऐया भन्नुहुन्छ; उहाँ हाम्रो गन्तव्य र मुक्तिका खातिर अपमान सहनुहुन्छ र हाम्रो संवेदनहीनता र विद्रोहीपनले उहाँको हृदयबाट आँसु र रगत बगाउँछन्। कुनै पनि साधारण व्यक्तिसँग उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती कुराहरू हुँदैन, र कुनै पनि भ्रष्ट मानिससँग ती हुन सक्दैन वा उसले त्यो हासिल गर्न सक्दैन। कुनै पनि साधारण व्यक्तिमा नभएको सहनशीलता र धैर्यता उहाँसँग छ, र उहाँसँग हुने प्रेम कुनै सृजित प्राणीसँग हुँदैन। उहाँ बाहेक अरू कसैले पनि हाम्रा सबै सोचहरू जान्न, वा आफ्नै हातको हत्केला जस्तै गरी हाम्रा प्रकृति र सारलाई जान्न, वा मानवजातिको विद्रोहीपन र भ्रष्टतालाई न्याय गर्न, वा स्वर्गका परमेश्‍वरका तर्फबाट यसरी हामीसँग बोल्न र हामीमा काम गर्न सक्दैन। उहाँबाहेक अरू कोहीसँग पनि परमेश्वरको अख्तियार, बुद्धि, र गरिमा छैन; परमेश्‍वरको स्वभाव र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, ती सम्पूर्ण रूपमा उहाँमा व्यक्त हुन्छन्। उहाँबाहेक अरू कसैले पनि हामीलाई मार्ग देखाउन र हामीकहाँ ज्योति ल्याउन सक्दैन। सृष्टि भएदेखि आजसम्म पनि परमेश्‍वरले थाहा नदिनुभएका रहस्यलाई उहाँबाहेक अरू कसैले खुलासा गर्न सक्दैन। उहाँबाहेक अरू कसैले पनि हामीलाई शैतानको बन्धनबाट र हाम्रा आफ्नै भ्रष्ट स्वभावहरूबाट मुक्ति दिन सक्दैन। उहाँले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ; उहाँले परमेश्‍वरको हृदयको आवाज, परमेश्‍वरका अर्तीहरू, र सबै मानवजातिप्रति परमेश्‍वरका न्यायका वचनहरू व्यक्त गर्नुहुन्छ। उहाँले नयाँ युग, नयाँ कालखण्ड खोलिदिनुभएको छ, र नयाँ स्वर्ग र पृथ्वी र नयाँ काम प्रारम्भ गर्नुभएको छ, उहाँले हामीकहाँ आशा ल्याउनुभएको छ र हामीले अस्पष्ट स्थितिमा जिएको जीवनलाई अन्त्य गर्नुभएको छ, र उहाँले हाम्रो सम्पूर्ण सत्वलाई मुक्तिको मार्ग पूर्ण रूपमा देख्ने तुल्याउनुभएको छ। उहाँले हाम्रो सम्पूर्ण सत्वलाई विजय गर्नुभएको छ र हाम्रा हृदय प्राप्त गर्नुभएको छ। त्यस क्षणदेखि, हाम्रा हृदयले सचेतना प्राप्त गरेका छन्, र हाम्रा आत्मा पुनर्जीवित भएझैँ देखिन्छन्: यी साधारण, नगण्य व्यक्ति, यी व्यक्ति जो हाम्रा बीचमा जिउनुहुन्छ र लामो समयदेखि हामीद्वारा इन्कार गरिनुभएको छ—के उहाँ प्रभु येशू नै हुनुहुन्न, जो हामी बिउँझिँदा वा सपनामा हुँदा, जहिले पनि हाम्रा विचारमा हुनुहुन्छ, र जसको हामी रात-दिन तृष्णा गर्छौँ? यो उहाँ नै हुनुहुन्छ! यो साँच्चै उहाँ नै हुनुहुन्छ! उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ! उहाँ सत्य, मार्ग, र जीवन हुनुहुन्छ! उहाँले हामीलाई फेरि जिउन र ज्योति देख्न सक्षम बनाउनुभएको छ र हाम्रा हृदयहरूलाई बरालिनबाट रोक्नुभएको छ। हामी परमेश्‍वरका घरमा फर्केका छौँ, हामी उहाँको सिंहासनको सामु फर्केका छौँ, हामी उहाँसँग आमने-सामने छौँ, हामीले उहाँको मुहार देखेका छौँ, र हामीले हाम्रो अगाडिको बाटो देखेका छौँ। यस बेला, उहाँले हाम्रा हृदयलाई पूर्ण रूपमा जित्‍नुभएको छ; उहाँ को हुनुहुन्छ भन्‍ने कुरालाई अब हामी शङ्का गर्दैनौँ, उहाँको काम र उहाँका वचनलाई विरोध गर्दैनौँ, र हामी उहाँका सामु लम्पसार पर्छौँ। हाम्रा पूरै बाँकी जीवनभरि परमेश्‍वरका पाइलाहरू पछ्याउन, उहाँद्वारा सिद्ध पारिन, उहाँको अनुग्रहको ऋण तिर्न, र हाम्रा निम्ति भएको उहाँको प्रेमको ऋण तिर्न, उहाँको योजनाबद्ध कार्यमा र प्रबन्धमा आज्ञाकारी हुन, र उहाँको काममा साथ दिन, र उहाँले हामीलाई जिम्मा दिनुभएका कुराहरूलाई पूरा गर्न सक्‍नुभन्दा अरू हामीले केही कुराको पनि चाहना गर्दैनौँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँको देखा पराइ हेर्नु

परमेश्‍वरका दैनिक वचनहरू  अंश ७४

परमेश्‍वर र मानिसको चर्चा एउटै दर्जामा राखेर गर्न मिल्दैन। उहाँको सार र उहाँको कार्य मानिसका लागि अति नै अथाह र बुझ्नै नसकिने हुन्छन्। यदि परमेश्‍वरले व्यक्तिगत रूपले आफ्नो कार्य नगर्नुभएको भए र मानवजातिमाझ उहाँका वचनहरू नबोल्‍नुभएको भए, जेसुकै भए पनि, मानिसले परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्‍नेथिएन। त्यसैले, आफ्नो सम्पूर्ण जीवन परमेश्‍वरमा समर्पण गर्नेहरूले पनि उहाँको अनुमोदन प्राप्त गर्न सक्‍नेथिएनन्। यदि परमेश्‍वरले कामको सुरुवात गर्नुभएन भने, मानिसले त्यो काम जति नै राम्रो गरे पनि त्यो सब व्यर्थको हुनेछ, किनकि परमेश्‍वरका विचारहरू सधैँ मानिसका विचारहरूभन्दा उच्च हुन्छन्, र परमेश्‍वरको बुद्धिको भेउ कुनै पनि व्यक्तिले पाउन सक्दैन। यसैले म भन्छु कि जसले परमेश्‍वर र उहाँको कार्यलाई “पूर्ण रूपमा बुझेको” दाबी गर्छन्, तिनीहरू धेरै अयोग्य छन्; तिनीहरू सबै अति अहङ्कारी र अनभिज्ञ छन्। मानिसले परमेश्‍वरको कार्यलाई सीमित गर्नु हुँदैन; यसबाहेक, मानिसले परमेश्‍वरको कार्यलाई सीमित गर्न सक्दैन। परमेश्‍वरको नजरमा, मानिस कमिलाभन्दा पनि सानो छ; त्यसैले मानिसले कसरी परमेश्‍वरको कार्यलाई बुझ्न सक्छ र? जसले गर्वसाथ “परमेश्‍वरले यसरी वा त्यसरी कार्य गर्नुहुन्न” वा “परमेश्‍वर यस्तो वा त्यस्तो हुनुहुन्छ” भनी फलाक्छन्—के उनीहरू अहङ्कारसाथ बोलिरहेका हुँदैनन् र? हामी सबैले जान्नुपर्छ कि देहबाट आएको मानिस शैतानद्वारा भ्रष्ट पारिएको छ। मानवजातिको प्रकृति नै परमेश्‍वरको विरोध गर्ने हुन्छ। मानवजाति परमेश्‍वरको बराबरी हुनै सक्दैन, परमेश्‍वरको कार्यमा मानवजातिले सल्लाह दिन त झनै सक्दैन। जहाँसम्‍म परमेश्‍वरले मानिसलाई कसरी डोऱ्याउनुहुन्छ भन्‍ने सवाल छ, यो परमेश्‍वर आफैले गर्नुहुने कार्य हो। मानिसले यो वा त्यो विचार व्यक्त नगरी समर्पित हुनु नै उचित हुन्छ, किनकि मानिस धुलो मात्र हो। परमेश्‍वरको खोजी गर्नु नै हाम्रो अभिप्राय भएकोले, हामीले हाम्रा धारणाहरूलाई परमेश्‍वरले विचार गर्नुहोओस् भनी तिनलाई उहाँको कार्यमा थप्‍नु हुँदैन, हामीले जानीजानी र जोडदार रूपले परमेश्‍वरको कार्यको विरोध गर्न आफ्नो भ्रष्ट स्वभाव प्रयोग गर्नु त झनै हुँदैन। के त्यसले हामीलाई ख्रीष्ट-विरोधीहरू बनाउँदैन र? त्यस्ता मानिसहरूले कसरी परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्? हामी परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छौं, र हामी उहाँलाई सन्तुष्ट पार्न र उहाँलाई हेर्न चाहन्छौं, त्यसैले हामीले सत्यताको मार्ग खोज्नुपर्दछ, र परमेश्‍वरसँग मिल्ने उपायको खोजी गर्नुपर्छ। हामी उहाँप्रतिको हठपूर्ण विरोधमा खडा हुनु हुँदैन। त्यस्तो कार्यबाट के भलाइ हुन सक्छ र?

आज, परमेश्‍वरले नयाँ काम गर्नुभएको छ। तैँले यी वचनहरू स्वीकार गर्न सक्दैनस् होला, र ती तँलाई असामान्य लाग्न सक्छ, तर म तँलाई अहिलेका लागि तेरो स्वाभाविकता खुलासा नगर्ने सल्लाह दिन्छु, किनकि परमेश्‍वरको अगाडि साँच्चै धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्, अनि जो वास्तवमा भक्त छन् तिनीहरूले मात्र उहाँद्वारा अन्तर्दृष्टि र मार्गनिर्देशन पाउन सक्छन्। प्रतिफलहरू गम्भीर शान्तिको साथ सत्यताको खोजी गरेर प्राप्त गरिन्छ, झगडा र विवाद गरेर होइन। जब म “आज, परमेश्‍वरले नयाँ काम गर्नुभएको छ” भन्छु, तब म परमेश्‍वर देहमा फर्कनुहुने बारेमा कुरा गरिरहेको हुन्छु। सायद, तैँले यी वचनहरूलाई वास्ता गर्दैनस् होला; सायद, तँ ती वचनहरूलाई तुच्छ ठान्छस् होला; वा सायद, तँलाई तिनमा ठूलो रुचि छ होला। जेसुकै भए पनि, परमेश्‍वरको देखापराइको साँचो तृष्णा गर्नेहरू सबैले हतारमा निष्कर्ष निकाल्‍नुभन्दा यस तथ्यलाई सामना गर्न सक्छन् र ध्यानपूर्वक जाँच गर्छन् भन्‍ने मेरो आशा छ; एक बुद्धिमान् व्यक्तिले त्यसै गर्नुपर्छ।

यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन कार्य होइन, तर यसका निम्ति हामी प्रत्येकले पहिला यो एउटा सत्यतालाई जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँसँग परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँसँग परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको काम अघि ल्याउनुहुनेछ, र परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि मार्ग औँल्याउन सक्नुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले त्यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्ने अभिप्राय राख्छ भने, त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र उहाँले बोल्नुहुने वचनहरूबाट पुष्टि गर्नै पर्दछ। भन्नुको अर्थ, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो मार्ग हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारका आधारमा छुट्ट्याउनैपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी निर्धारण गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै पक्षहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र छानबिन गर्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ। बाहिरी स्वरूपले सार निर्धारण गर्न सक्दैन; अझ भन्‍ने हो भने, परमेश्‍वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खाँदैन। के येशूको बाहिरी स्वरूप मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोसाकले उहाँको वास्तविक पहिचानलाई प्रस्तुत गर्न सक्थे र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी स्वरूपलाई हेरेकाले र इमानदारीपूर्वक उहाँको मुखका वचनहरू स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र? म आशा गर्छु, परमेश्‍वरको देखा पर्ने घटनाको खोजी गर्ने प्रत्येक दाजुभाइ-दिदीबहिनीहरूले इतिहासको त्रासदी दोऱ्याउनेछैनन्। तैँले आधुनिक समयको फरिसी बनेर परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍नु हुँदैन। तैँले परमेश्‍वरको पुनरागमनलाई कसरी स्वागत गर्नुपर्छ त्यो राम्ररी विचार गर्नुपर्छ, अनि सत्यताको अधीनमा बस्ने व्यक्ति कसरी बन्ने त्यस विषयमा स्पष्ट विचार हुनुपर्छ। येशू बादलमा सवार भएर फर्केर आउनुहुने दिनको प्रतीक्षा गर्ने सबैको जिम्मेवारी यही हो। हामीले आफ्ना आत्मिक आँखाहरूलाई स्पष्ट देख्‍ने बनाउनुपर्छ, अनि बढाइचढाइ गरिएका काल्पनिक शब्दहरूको दलदलमा फस्नु हुँदैन। हामीले परमेश्‍वरको वास्तविक कार्यबारे सोच्नुपर्छ, र परमेश्‍वरको व्यावहारिक पक्षलाई हेर्नुपर्छ। तिमीहरू प्रभु येशू बादलमा सवार भएर अचानक तिमीहरूको बीचमा आउनुहुने, र उहाँलाई कहिल्यै नचिनेका र नदेखेका, र उहाँको इच्छा कसरी पालन गर्नुपर्छ भनी नजानेका तिमीहरूलाई लैजानुहुने दिनको चाहनामा बगेर सधैँ अन्तै जाने नगर वा आफै दिवा सपनामा बगेर नजाओ। व्यावहारिक विषयहरूमा अझ बढी सोचविचार गर्नु नै राम्रो हुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

परमेश्‍वरका दैनिक वचनहरू  अंश ७५

के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भन्ने लाग्छ? तिनीहरूले मसीहलाई कसरी देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेकाका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव मध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्‍वास वाहियात र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै सोध्छु: तिमीहरूसित येशूको थोरै पनि बुझाइ नभएकाले, तिमीहरूलाई पनि त्यो समयका फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तिमीहरूले सत्यताको मार्ग खुट्ट्याउन सक्छौ? के तिमीहरूले ख्रीष्टको विरोध गर्नेछैनौ भनी साँच्‍चै प्रत्याभूति गराउन सक्छौ? के तिमीहरूले पवित्र आत्माको काम अनुसरण गर्न सक्छौ? तिमीहरूलाई आफूले ख्रीष्टको विरोध गर्नेछु कि गर्नेछैनँ भनेर थाहा छैन भने, म भन्छु, तिमीहरू पहिले नै मृत्युको मुखमा जिइरहेका छौ। मसीहलाई नचिन्‍नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरू सबैले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। तिनीहरूले येशूको पुनरागमनलाई शैतानको बहकाउका रूपमा झनै देख्‍न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत बनाउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्माविरुद्धको ईश्‍वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने, तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरू आफ्ना त्रुटिहरू स्विकार्न हठपूर्वक इन्कार गर्छौ भने, तिमीहरूले सेतो बादलमा येशू देह भई फर्कनुहुँदा उहाँले गर्नुहुने काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यो भन्छुः सत्यतालाई नस्विकार्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरू पक्कै पनि तिनै हुन् जसले पवित्र आत्माविरुद्ध ईशनिन्दा गर्छन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिस हुन्। तिमीहरू येशूको अनुग्रहको मात्र चाहना गर्छौ, र स्वर्गको आनन्दमय क्षेत्रको आनन्द लिन मात्र चाहन्छौ; तर येशूले बोल्नुभएका वचनहरू तिमीहरूले कहिल्यै पालन गरेका छैनौ, र येशू देहमा फर्कनुहुँदा उहाँले व्यक्त गर्नुभएको सत्यता कहिल्यै स्विकारेका छैनौ। सेतो बादलमा येशूको पुनरागमन हुने तथ्यको सट्टामा तिमीहरू के दिनेछौ? के तिमीहरूले बारम्बार पाप गर्ने र त्यसपछि घरिघरि स्विकार्ने इमानदारी दिनेछौ? सेतो बादलमा फर्कनुहुने येशूलाई तिमीहरू बलिका रूपमा के चढाउनेछौ? के तिमीहरूले आफूलाई उच्‍च पार्ने वर्षौँको कार्यको पुँजी चढाउनेछौँ? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा दिलाउन तिमीहरूले के देखाउनेछौ? के कुनै सत्यताप्रति समर्पित नहुने तिमीहरूको त्यही अहङ्कारी प्रकृति देखाउनेछौ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

परमेश्‍वरका दैनिक वचनहरू  अंश ७६

तिमीहरूको बफादारिता बोलीवचनमा मात्र छ, तिमीहरूको ज्ञान सोचाइ र धारणाबारे मात्र हो, तिमीहरूका प्रयासहरू स्वर्गका आशिष्‌हरू प्राप्‍त गर्नका लागि मात्र हुन्, अनि त्यसो भए तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ? आज पनि तिमीहरू सत्यताको हरेक वचनलाई अनसुनी गर्छौ। तिमीहरूलाई परमेश्‍वर के हुनुहुन्छ थाहा छैन, ख्रीष्ट के हुनुहुन्छ थाहा छैन, कसरी यहोवाको डर मान्ने थाहा छैन, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने थाहा छैन, र परमेश्‍वर स्वयम्‌को काम र मानिसको बहकाउलाई कसरी छुट्ट्याउने थाहा छैन। तँ त परमेश्‍वरले व्यक्त गर्नुभएको तेरो विचारसित नमिल्ने सत्यको जुनसुकै वचनको निन्दा गर्न मात्र जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो समर्पण कहाँ छ? तेरो बफादारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो मनोवृत्ति कहाँ छ? परमेश्‍वरको डर मान्ने तेरो हृदय कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्‍वरमा विश्‍वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू स्विकार्न नसक्‍नेहरू निश्‍चय नै नरकका सन्तान, प्रधान स्वर्गदूतका सन्तती हुन्, र यिनीहरू सदाका लागि नष्ट पारिने श्रेणीमा पर्छन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्न चाहन्छु कि, जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा ओर्लनुभएको आफ्नै आँखाले देख्छौ, त्यो सार्वजनिक रूपमा धार्मिकताको सूर्यको देखापराइको समय हुनेछ। सायद त्यो क्षण तेरा निम्ति ठूलो उत्साहको समय हुनेछ, तैपनि तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने समय पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको घोषणाको समय हुनेछ र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। किनकि सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू र चिन्हहरू नखोज्नेहरू, अनि यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु ल्याइएका र सृष्टिकर्ताको अङ्गालोमा प्रवेश गराइएका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू मात्र अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय व्यक्त गर्नुहुने अनि जीवन र साँचो मार्ग जारी गर्नुहुने येशूलाई मान्दैनन्। यसकारण, सेतो बादलमा येशू खुल्लमखुल्ला फर्कनुहुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ भनेर भन्न सकिन्छ। तिनीहरू अति जिद्दी, आफैमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता पतितहरूले येशूबाट कसरी इनाम पाउन सक्छन्? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो दोषी ठहराइनुको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको ईशनिन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताका लागि तिर्खाउने र त्यसको खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। स्वेच्छाचारी रूपमा निचोडमा नपुग; त्योभन्दा पनि, परमेश्‍वरमाथिको विश्‍वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा कम्तीमा पनि विनम्र र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ। सत्यता सुनेका तैपनि यसलाई अवहेलना गर्नेहरू मूर्ख र अज्ञानीहरू हुन्। सत्यता सुनेका तैपनि लापरवाही रूपमा निचोडमा पुग्‍ने वा यसको निन्दा गर्नेहरू अहङ्कारी मानिस हुन्। येशूमा विश्‍वास गर्ने कोही पनि अरूलाई सराप्न वा निन्दा गर्न योग्य भएका हुँदैनन्। तिमीहरू सबै नै समझ भएका र सत्यतालाई स्विकार्ने व्यक्ति हुनुपर्छ। सायद, सत्यताको मार्ग सुनेर र जीवनको वचन पढेर, तँ यी १०,००० वचनहरूमध्ये एउटा मात्र तेरो दृष्टिकोण र बाइबलअनुरूप छ भनेर विश्वास गर्छस् भने, तैँले त्यो एक भागमा निरन्तर खोजी गरिरहनुपर्छ। अझै पनि म तँलाई विनम्र हुन, धेरै आत्मविश्‍वासी नहुन र आफैलाई अति उच्‍च नपार्न सल्लाह दिन्छु। तैँले आफूमा भएको परमेश्वरको अलिकति डर मान्ने हृदयद्वारा ठूलो ज्योति प्राप्‍त गर्नेछस्। यदि तैँले यी वचनहरूलाई सावधानीपूर्वक जाँच्छस् र पटकपटक चिन्तन गर्छस् भने, ती सत्यता हुन् वा होइनन्, र ती जीवन हुन् वा होइनन् भनी तैँले बुझ्नेछस्। सायद केही मानिसहरूले केही वाक्यहरू मात्र पढेर, “यो पवित्र आत्माको केही अन्तर्दृष्टिबाहेक अरू केही पनि होइन” वा “यिनी मानिसहरूलाई भ्रममा पार्न आउने झूटा ख्रीष्ट हुन्” भनी यी वचनहरूको अन्धाधुन्ध निन्दा गर्नेछन्। यसो भन्‍नेहरू अज्ञानताद्वारा अन्धा भएका छन्। तैँले परमेश्‍वरको काम र बुद्धिबारे अत्यन्त थोरै बुझ्छस्, र म तँलाई फेरि शून्यबाट सुरु गर्न सल्लाह दिन्छु! आखिरी दिनहरूमा झुटा ख्रीष्टहरूको देखापराइको कारण परमेश्‍वरले व्यक्त गरेका वचनहरूलाई तिमीहरूले अन्धाधुन्ध रूपमा निन्दा गर्नु हुँदैन र तिमीहरू आफू भ्रमित हुने डरले गर्दा पवित्र आत्माविरुद्ध निन्दा गर्ने व्यक्ति हुनै हुँदैन। के त्यो एकदमै दुःखलाग्दो कुरा हुँदैनथ्यो र? धेरै परीक्षण गरेपछि पनि, यदि तैँले यी वचनहरू सत्यता होइनन्, बाटो होइनन् र परमेश्‍वरको अभिव्यक्ति होइनन् भनी विश्‍वास गर्छस् भने, तँलाई अन्तमा दण्ड दिइनेछ र तँ आशिष्‌रहित हुनेछस्। यदि तैँले यति स्पष्ट र खुल्ला रूपमा बताइएको सत्यता स्वीकार गर्न सक्दैनस् भने, के तँ परमेश्‍वरको मुक्तिको निम्ति अयोग्य छैनस् र? के तँ परमेश्‍वरको सिंहासनसामु फर्कनलाई पर्याप्‍त आशिष्‌ नपाएको व्यक्ति होइनस् र? यसबारे विचार गर्! दुस्साहसी र अविवेकी नबन् र परमेश्‍वरप्रतिको विश्‍वासलाई खेलको रूपमा नली। तेरो गन्तव्यको खातिर, तेरो भविष्यको आशाको खातिर, तेरो जीवनको खातिर विचार गर् र आफैसँग खेलवाड नगर्। के तैँले यी वचनहरू स्वीकार गर्न सक्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

अघिल्लो: कार्यका तीन चरणहरू

अर्को: आखिरी दिनहरूको न्याय

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्