क. प्रभु येशूले मानवजातिलाई उद्धार गर्नुभएको भए पनि, अझै परमेश्‍वरले आखिरी दिनहरूमा किन न्यायको काम गर्नुपर्छ

बाइबलका वचनहरू

“अनि उहाँले राष्ट्रहरूको बीचमा न्याय गर्नुहुनेछ र धेरै मानिसहरूलाई हप्काउनुहुनेछ” (यशैया २:४)

“किनभने उहाँ आउनुहुन्छ, किनभने उहाँ पृथ्वीको न्याय गर्न आउनुहुन्छ: उहाँले संसारलाई धार्मिकताद्वारा, र मानिसहरूलाई आफ्‍नो सत्यताद्वारा न्याय गर्नुहुनेछ” (भजनसंग्रह ९६:१३)

“अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ” (यूहन्‍ना १२:४७-४८)

“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)

“किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)

“तिनले उच्‍च सोरमा भने, परमेश्‍वरको डर मान, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको घडी आएको छ” (प्रकाश १४:६-७)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

तैँले येशू आखिरी दिनहरूको अवधिमा ओर्लनुहुनेछ भन्‍ने मात्रै जान्दछस्, तर उहाँ खास कसरी ओर्लनुहुनेछ? भर्खरै छुटकारा पाएको, र परिवर्तन भई नसकेको, वा परमेश्‍वरद्वारा सिद्ध भई नसकेको तँजस्तो पापी, के तँ परमेश्‍वरका अभिप्रायअनुरूपको बन्‍न सक्छस्? अझै आफ्नो पुरानो व्यक्तित्व बोकेको तेरो सन्दर्भमा भन्नुपर्दा, येशूले तँलाई मुक्ति दिनुभएको थियो, र परमेश्‍वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्‍ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन। तँलाई परिवर्तन गरिएको छैन भने तँ कसरी सन्तमय बन्‍न सक्छस्? भित्री रूपमा, तँ अपवित्रताले भरिएको, स्वार्थी र तुच्छ छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ निकै भाग्यमानी हुनुपर्नेछ! परमेश्‍वरमाथिको विश्वासमा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँलाई परिवर्तन गरिएको छैन। तँ परमेश्‍वरका अभिप्रायअनुरूपको बन्‍नका लागि, परमेश्‍वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्‍नेछैनस्। यसरी तँ परमेश्‍वरका असल आशिषहरूमा भाग पाउन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको एक चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले यसर्थ प्रत्यक्ष रूपमा परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा

मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौँ वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई किनिएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्ण रूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय, सजाय, र शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र ऊ शुद्ध पारिन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ। किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्‍ने थाहा पाए, तब तिनीहरूले गुनासोका शब्दहरू बोले, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानवजाति अझै पनि परमेश्‍वरको शासनको अधीनमा पूर्ण रूपमा बस्न असमर्थ छ भनी देखाउँदैन र? के यही नै तिनीहरूको भ्रष्ट शैतानिक स्वभाव होइन? जब तँलाई सजायको अधीनमा पारिएको थिएन, तेरा हातहरू अरू सबैका भन्दा माथि उठ्थे, यहाँसम्म कि येशूको भन्दा पनि माथि। र तँ ठूलो स्वरमा कराउँथिस्: “परमेश्‍वरको प्यारो छोरा हुनू! परमेश्‍वरको एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मरौँला! त्यो वृद्ध शैतानविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरविरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर शक्तिबाट नराम्रो घतले खसोस्। परमेश्‍वरले हामीलाई पूर्ण बनाउनुहोओस्!” तेरो पुकार अरू सबैको भन्दा चर्को थियो। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, मानवजातिको भ्रष्ट स्वभाव प्रकट भयो। त्यसपछि तिनीहरूको पुकार रोकियो, र उनीहरूको संकल्प असफल भयो। मानिसको भ्रष्टता यही नै हो; जुन पापभन्दा गहिरो गाडिएको छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिसलाई बिस्तारै यस बिन्दुबाट परिवर्तन गर्न सकिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू आउन सक्छन्। यी वचनहरू स्वीकार गर्दा ती मानिसहरूमा आउने परिवर्तनहरू, अनुग्रहको युगका चिह्न र चमत्कारका कामहरूलाई स्वीकार गर्दा मानिसहरूमा परेको प्रभावभन्दा बढी हुन्छ। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर प्रार्थना गरेर ऊबाट भूतहरू निकालिन्थ्यो, तर मानिसभित्रको भ्रष्ट स्वभाव अझै रहिरहन्थ्यो। मानिसलाई उसको बिमारीबाट निको पारिन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसलाई ऊभित्रको भ्रष्ट शैतानिक स्वभावबाट शुद्ध पार्नुपर्ने काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको विश्‍वासको लागि मात्र मुक्ति दिइन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसको पापी स्वभाव नाश पारिएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रहन्थ्यो। मानिसका पापहरू देहधारी परमेश्‍वरको माध्यमबाट क्षमा गरिएको थियो, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्‍ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्थ्यो, तर मानिसलाई कसरी फेरि पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापमय प्रकृति कसरी पूर्ण रूपले हटाउन र रूपान्तरित गर्न सकिन्छ, यो समस्या समाधान गर्ने ऊसँग कुनै उपाय हुँदैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसको निम्ति मानिसले जीवनको वृद्धिको मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने तरिकालाई बुझ्नु आवश्यक हुन्छ। यसबाहेक, मानिसले यो मार्गअनुसार व्यवहार गर्नु आवश्यक हुन्छ, यसैले कि उसको स्वभाव बिस्तारै परिवर्तन हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, यसैले कि उसले जे गर्छ त्यो सबै परमेश्‍वरका अभिप्रायअनुसार होस्, यसैले कि उसले आफ्नो भ्रष्ट शैतानिक स्वभावलाई त्याग्न सकोस् र त्यसरी ऊ शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकोस्, र पापबाट पूर्ण रूपमा माथि उठ्न सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ। जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्‍वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्‍वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्‍ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्‍वासले सम्पूर्ण परिवारमा आशिष्‌ ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्‍वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्‍वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्‍ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्‍ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण कामको त्यो चरण समाप्त भएपछि पनि न्याय र सजायको काम बाँकी नै रह्यो। यो चरण भनेको वचनद्वारा मानिसलाई शुद्ध बनाउनको निम्ति, अनि त्यसद्वारा पछ्याउनको लागि उसलाई एक मार्ग दिनका निम्ति हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम अघिबाटै समाप्त भइसकेको छ र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहेको छ, मानिसले अहिले पनि पाप गर्न र परमेश्‍वरको विरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। यसैले कामको यस चरणमा परमेश्‍वरले मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न वचनको प्रयोग गर्नुहुन्छ, र उसलाई सही मार्गअनुसार हिँड्ने अभ्यास गर्न लगाउनुहुन्छ। यो चरण अघिल्लोभन्दा धेरै अर्थपूर्ण छ, साथै धेरै फलदायी पनि छ, किनकि अहिले वचनले नै सोझै मानिसको जीवनलाई प्रदान गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण गर्छ; यो कामको अझै विस्तृत चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्‍वरको देहधारणको महत्त्वलाई पूरा गरेको छ र मानिसको मुक्तिको लागि परमेश्‍वरको व्यवस्थापन योजनालाई पूर्ण रूपमा समाप्त गरेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

युगलाई समापन गर्ने आफ्‍नो अन्तिम काममा, परमेश्‍वरको स्वभाव सजाय र न्याय हो, जसमा उहाँले खुल्लमखुल्ला सबै मानिसहरू न्याय गर्न र साँचो हृदयले उहाँलाई प्रेम गर्नेहरूलाई सिद्ध बनाउनको लागि सबै अधर्मी कुरालाई प्रकट गर्नुहुन्छ। यस्तो स्वभावले मात्र युगलाई अन्त्यमा पुर्‍याउन सक्छ। आखिरी दिनहरू पहिले नै आइसकेका छन्। सृष्टिमा भएका सबै थोकहरूलाई तिनीहरूको प्रकारअनुसार अलग गरिनेछ, र तिनीहरूका प्रकृतिको आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानवताको परिणाम र तिनीहरूको गन्तव्य प्रकट गर्नुहुने क्षण यही नै हो। यदि मानिसहरूले सजाय र न्याय भोग्दैनन् भने, तिनीहरूको विद्रोहीपन र अधार्मिकता प्रकट गर्ने कुनै तरिका हुनेछैन। केवल सजाय र न्यायको माध्यमबाट मात्र सबै सृष्टिको परिणाम प्रकट गर्न सकिन्छ। जब मानिसलाई सजाय दिइन्छ र न्याय गरिन्छ, तब मात्र उसले आफ्नो वास्तविक रङ्ग देखाउँदछ। खराबलाई खराबको साथमा, असललाई असलको साथमा राखिनेछ, र सारा मानव जातिलाई तिनीहरूको आफ्नै प्रकारअनुसार अलग गरिनेछ। सजाय र न्यायद्वारा, सबै सृष्टिको परिणाम प्रकट गरिनेछ, यसरी दुष्टलाई दण्ड दिन र असललाई इनाम दिन सकिन्छ, र सबै मानिस परमेश्‍वरको प्रभुत्वप्रति आत्मसमर्पण गर्छन्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसको भ्रष्टता चरम सीमामा पुगेकाले, र उसको विद्रोहीपन अत्यन्तै गम्भीर बनेकाले परमेश्‍वरको धर्मी स्वभाव, अर्थात् विशेष गरी दण्ड र न्याय मिसिएको, र आखिरी दिनहरूमा प्रकट भएको स्वभावले मात्र मानिसलाई पूर्ण रूपमा परिवर्तन गर्न र पूर्ण बनाउन सक्छ। यो स्वभावले मात्र खराबीलाई प्रकट गर्न र त्यसरी सबै अधर्मीहरूलाई कडा दण्ड दिनु सक्छ। त्यसकारण, यस प्रकारको स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ, अनि उहाँको स्वभावको प्रकाश तथा प्रदर्शन प्रत्येक नयाँ युगको कामका लागि प्रकट गरिन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकट गर्नुहुन्छ भन्‍ने होइन। आखिरी दिनहरूमा मानिसका परिणामहरू प्रकट गर्ने क्रममा, परमेश्‍वरले मानिसलाई असीम करुणा र प्रेम प्रदान गर्नुहुन्छ र ऊप्रति प्रेमिलो गरिरहनुहुन्छ, मानिसलाई धर्मी न्यायको अधीनमा ल्याउनुभएन, बरु उसलाई सहनशीलता, धैर्य र क्षमा देखाउनुहुन्छ, र मानिसको पाप जति नै गम्भीर नै भए पनि त्यसको निम्ति अलिकति पनि धर्मी न्याय नगरी क्षमा गर्नुहुन्छ भन्‍ने मान्यता राख्दा: परमेश्‍वरको सबै व्यवस्थापन कहिले समाप्त हुनेछ? यस्तो प्रकारको स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेछ? उदाहरणको लागि, एक जना न्यायाधीश, जो सधैँ प्रेमिलो छ, दयालु अनुहार र कोमल हृदयका न्यायाधीश छ, उसलाई लिऊँ। मानिसहरूले जस्तो-सुकै अपराध गरेको भए पनि उसले तिनीहरूलाई प्रेम गर्छ, र तिनीहरू जो-सुकै भए पनि तिनीहरूलाई प्रेम गर्छ। त्यो अवस्थामा, के ऊ निर्णयमा पुग्नसक्छ? आखिरी दिनहरूमा, केवल धर्मी इन्साफले मात्र मानिसलाई उनीहरूको प्रकारअनुसार छुट्ट्याउन सक्छ र मानिसलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यस तरिकाले, न्याय र सजायको परमेश्‍वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

आखिरी दिनहरूको अवधिमा परमेश्‍वरको न्याय र सजायको कामको अवधिमा—अर्थात्, शुद्धीकरणको अन्तिम कार्यको अवधिमा—दृढ रूपमा खडा रहन सक्‍नेहरू नै परमेश्‍वरसँगै अन्तिम विश्रामभित्र प्रवेश गर्नेहरू हुनेछन्; त्यस्तै, विश्राममा प्रवेश गर्नेहरू सबै शैतानको प्रभावलाई तोडेर मुक्त भएका र परमेश्‍वरको शुद्धीकरणको अन्तिम कार्य भएर गुज्रिएपछि परमेश्‍वरद्वारा हासिल गरिएकाहरू हुनेछन्। अन्तमा परमेश्‍वरद्वारा हासिल गरिने यी मानव अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई तिनीहरूको अन्तिम विश्रामको निम्ति शुद्धीकरण गर्नु हो; नत्र, कुनै पनि मानवता किसिम बमोजिमका फरक वर्गहरूमा वर्गीकरण गर्न वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कार्यले मात्र मानवलाई उनीहरूको अधर्मबाट शुद्ध पार्नेछ, र उहाँको सजाय र न्यायको कार्यले मात्र मानवजातिका ती विद्रोही तत्त्वहरूलाई ज्योतिमा ल्याउनेछ, त्यसैद्वारा मुक्त गर्न सकिनेलाई मुक्त गर्न नसकिनेबाट र टिक्नेहरूलाई नटिक्नेहरूबाट अलग गरिनेछ। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च अवस्थामा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरूले मानव विश्रामको दिन सुरुवात गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशाना हुन् र खराब र अधर्मी मानिस हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्‍वरका लागि श्रम पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूको खराबीको कारण साथै मुक्त गरिनलाई तिनीहरूको विद्रोहीपन र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। मानवजाति माझमा रहेका पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि, दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, तिनीहरू सबैलाई नष्ट पारिनेछन्। जहाँसम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, खराब काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछ, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तिम युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, तिनीहरू परमेश्‍वरविरुद्ध विद्रोही भएका छन् वा छैनन्, तिनीहरूले उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्‍ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्ने र मुक्ति पाउन नसक्ने मानिसहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्‍चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई तिनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिनेछ। यसरी वर्गीकरण गरिसकेपछि, तिनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको विजयको कार्यलाई अघि बढाइसक्‍नुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम अघि बढाउनुहुनेछ। वास्तवमा, उहाँले मानवजातिको मुक्तिको काम गर्न सुरु गर्नुभएदेखि नै मानिसहरूलाई असल र खराबमा छुट्टाउँदै आउनुभएको छ। यति मात्र हो, उहाँको काम समाप्‍त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; उहाँको काम पूरा भएपछि उहाँले तिनीहरूलाई वर्ग-वर्गमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्‍नुहुनेछ भन्‍ने होइन। बरु, उहाँको काम पूर्ण रूपमा समाप्त भएपछि मात्रै यो काम पूरा हुनेछ। दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने परमेश्‍वरको कामको समग्र उद्देश्य भनेको नै सबै मानवलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले अनन्त विश्राममा विशुद्ध रूपमा पवित्र मानवजातिलाई ल्याउन सक्नुभएको होस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको समग्र व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्‍वरले खराबलाई नष्ट पार्नुभएन, तर रहन दिनुभयो भने, सबै मानव विश्राममा प्रवेश गर्न अझै असमर्थ हुनेथियो, र सारा मानवजातिलाई अझ उत्तम राज्यमा ल्याउन परमेश्‍वर असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण हुँदैनथियो। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र हुनेछ; यसरी मात्र परमेश्‍वर शान्तिपूर्वक विश्राममा बस्न सक्‍नुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

सम्बन्धित चलचित्र उद्धरणहरू

के हाम्रा पापहरू क्षमा हुनु साँच्‍चै नै स्वर्गको राज्यको टिकट प्राप्त गर्नु हो?

सम्बन्धित प्रवचनहरू

प्रभु येशूले मानवजातिलाई छुटकारा दिनुभएको छ, त्यसोभए आखिरी दिनहरूमा आउनुहुँदा उहाँले किन न्यायको काम गर्नुहुन्छ?

हाम्रा पापहरू क्षमा भएपछि, के प्रभुको पुनरागमन हुँदा उहाँले हामीलाई सीधै आफ्‍नो राज्यमा लैजानुहुनेछ?

सम्बन्धित भजनहरू

शुद्ध पारिनलाई आखिरी दिनहरूको ख्रीष्टको न्यायलाई स्वीकार गर

न्याय र सजायको काम छुटकाराको कामभन्दा गहन छ

अघिल्लो: घ. मानिसलाई मुक्ति दिन परमेश्‍वरले किन कामका तीन चरणहरू पूरा गर्नुपर्छ

अर्को: ख. परमेश्‍वर कसरी न्यायको काम गर्नुहुन्छ र यसले कस्तो परिणाम ल्याउन सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्