घ. मानिसलाई मुक्ति दिन परमेश्‍वरले किन कामका तीन चरणहरू पूरा गर्नुपर्छ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

मेरो सम्पूर्ण व्यवस्थापन योजना अर्थात् छ-हजार-वर्षे व्यवस्थापन योजनामा तीन चरणहरू वा तीन युगहरू छन्: सुरुवातको व्यवस्थाको युग; अनुग्रहको युग (जुन छुटकाराको युग पनि हो); र आखिरी दिनहरूको राज्यको युग। यी तीन युगहरूमा, हरेक युगको प्रकृतिअनुसार, मेरो कार्य अन्तर्वस्तुमा भिन्‍नभिन्‍न छन्, तर प्रत्येक चरणमा यस कार्यले मानिसको आवश्यकताहरू पूरा गर्छ—वा अझै स्पष्ट रूपमा भन्दा, मैले शैतानविरुद्ध छेडेको युद्धमा शैतानले चाल्ने युक्तिअनुसार यो कार्य गरिन्छ। मेरो कार्यको उदेश्य शैतानलाई पराजित गर्नु, मेरो विवेक र सर्वशक्तिमानता प्रकट गर्नु, शैतानको सबै युक्तिहरू उजागर गर्नु, र त्यसमार्फत शैतानको सत्ताअन्तर्गत जिउने सम्पूर्ण मानवजातिलाई मुक्ति दिनु हो। यो मेरो विवेक र सर्वशक्तिमानता देखाउन र शैतानको असहनीय कुरूपता प्रकट गर्नको लागि हो; अनि त्यो भन्दा पनि अझै बढी, यो सृष्टि गरिएका प्राणीहरूलाई असल र दुष्टबीचको भेद छुट्ट्याउने मौका दिनको लागि हो, म नै सबै थोकको सार्वभौम हुँ भनी थाहा दिनको लागि हो, शैतान मानवजातिको शत्रु हो, पतित दुष्ट हो भनी स्पष्टसित देखाउनको लागि हो, र तिनीहरूलाई असल र दुष्ट, सत्य र झूट, पवित्रता र अपवित्रता, र महान् र नीचबीचको भिन्‍नतालाई पूर्ण निश्‍चितताका साथ चिन्‍ने मौका दिनको लागि हो। यसरी, अज्ञानी मानवजाति मेरो लागि यस कुरामा गवाही दिन सक्षम हुनेछन् कि मानवजातिलाई भ्रष्ट गराउने म होइन, र केवल म—सृष्टिकर्ताले—मात्रै मानवजातिलाई मुक्ति दिन सक्छु, मानिसहरूलाई उनीहरूले खुसीसाथ उपभोग गर्ने कुराहरू दिन सक्छु; अनि तिनीहरूले जान्‍नेछन् कि म नै सबै थोकको सार्वभौम हुँ र शैतान केवल ती प्राणीहरूमध्येको एक हो जसलाई मैले सृजना गरेँ तर पछि त्यसले मलाई धोका दियो। मेरो छ-हजार-वर्षे व्यवस्थापन योजना तीन चरणहरूमा विभाजित छ, र सृष्टि गरिएका प्राणीहरूलाई मेरो गवाही दिन, मेरा अभिप्राय बुझ्न, र म नै सत्य हुँ भनी जान्‍न सक्षम बनाउने प्रभाव हासिल गर्नको निम्ति म यसरी काम गर्छु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा

परमेश्‍वरको ६,००० वर्षको व्यवस्थापनको कामलाई तीन चरणमा विभाजन गरिएको छ: व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युग। कामका यी तीन चरणहरू सबै मानवजातिको मुक्तिको लागि हो, भन्नुको तात्पर्य, ती शैतानले गम्भीर रूपमा भ्रष्ट पारेका मानवजातिको मुक्तिको लागि हो। तर परमेश्‍वरले शैतानविरुद्ध लडाइँ गर्न सक्नुभएको होस् भनेर ती अस्तित्वमा छन्। तसर्थ, जसरी मुक्तिको काम तीन चरणमा विभाजित हुन्छ, त्यसरी नै शैतानसँगको लडाइँ पनि तीन चरणमा विभाजित हुन्छ र परमेश्‍वरको कामका यी दुई पक्षहरू एकैसाथ सञ्चालन हुन्छन्। शैतानसँगको लडाइँ वास्तवमा मानवजातिको मुक्तिको लागि हो र मानवजातिको मुक्तिको काम सफलतापूर्वक एकै चरणमा पूरा गर्नसकिने कुरा होइन। शैतानसँगको लडाइँ पनि चरणहरू र कालहरूमा विभाजित गरिएको छ र शैतान विरुद्धको लडाइँ मानिसको आवश्यकता र शैतानले उसलाई कति हदसम्म भ्रष्ट बनाएको छ भन्‍ने कुराअनुसार छेडिन्छ। सायद, जसरी दुई सेनाले एकअर्कोसँग लड्छ त्यसरी यो लडाइँमा परमेश्‍वरले शैतानविरुद्ध हतियार उठाउनुहुनेछ भनी मानिसले आफ्नो कल्पनामा विश्‍वास गर्छ। मानिसको बुद्धिले कल्पना गर्न सक्ने यही मात्रै हो; यो एक अत्यन्त अस्पष्ट र अवास्तविक विचार हो, तापनि मानिसले यसैमा विश्‍वास गर्दछ। अनि मैले यहाँ मानिसको मुक्ति शैतानसँगको लडाइँको माध्यमद्वारा हुन्छ भनेकोले मानिसले लडाइँ यसरी नै सञ्चालन हुन्छ भनी कल्पना गर्छ। मानिसको मुक्तिको कार्यका तीन चरण छन्, भन्नुको अर्थ शैतानलाई एकै पटकमा सधैँका निम्ति पराजित गर्न त्योसितको लडाइँ तीनवटा चरणमा बाँडिएको छ। तापनि शैतानसँगको लडाइँको सम्पूर्ण कार्यको भित्री सत्यता के हो भने, यसका प्रभावहरू कामका धेरै चरणहरूद्वारा हासिल गरिन्छ: मानिसलाई अनुग्रह प्रदान गर्नु, मानिसको पापबलि हुनु, मानिसका पापहरू क्षमा गर्नु, मानिसलाई जित्नु र मानिसलाई सिद्ध बनाउनु। वास्तवमा, शैतानसँग लडाइँ गर्नु भनेको शैतानविरुद्ध हतियार उठाउनु होइन बरु मानिसलाई मुक्ति दिएर, मानिसको जीवनमा काम गरेर, मानिसको स्वभावलाई परिवर्तन गरेर, अनि शैतानलाई परास्त गरेर परमेश्‍वरलाई गवाही दिनु हो। शैतानको पराजय यसरी नै हुन्छ। मानिसको भ्रष्ट स्वभावलाई परिवर्तन गरेर शैतानलाई हराइन्छ। जब शैतान पराजित भएको हुन्छ, अर्थात् जब मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुन्छ, तब अपमानित भएको शैतान पूर्ण रूपमा बन्धनमा हुनेछ र यसप्रकार, मानिसले पूर्ण रूपमा मुक्ति पाएको हुनेछ। यसैले, मानिसको मुक्तिको सार भनेको शैतानविरुद्धको लडाइँ हो र त्यो लडाइँ मुख्य रूपले मानिसको मुक्तिमा झल्किन्छ। आखिरी दिनहरूको चरण, जसमा मानिस जितिनुपर्छ, यो शैतानसितको लडाइँको अन्तिम चरण हो, र यो, शैतानको सत्ताबाट मानिसलाई पूर्ण मुक्त गर्ने काम पनि हो। मानिसको विजयको भित्री अर्थ शैतानको मूर्तरूपलाई—मानिस जसलाई शैतानले भ्रष्ट पारेको छ—उसको विजयपछि सृष्टिकर्ताकहाँ फर्काएर ल्याउनु हो, जसद्वारा उसले शैतानविरुद्ध विद्रोह गर्नेछ र पूर्ण रूपमा परमेश्‍वरमा फर्कन्छ। यस तरिकाले, मानिस पूर्ण रूपमा बचाइएको हुनेछ। र यसैले, विजयको काम शैतानविरुद्ध लडाइँको अन्तिम कार्य हो र शैतानको पराजयको खातिर परमेश्‍वरको प्रबन्धको अन्तिम चरण हो। यो कामविना मानिसको पूर्ण मुक्ति अन्ततः असम्भव नै हुनेथियो, शैतानको पूर्ण पराजय पनि असम्भव हुनेथियो र मानिसजाति कहिल्यै पनि सुन्दर गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएन वा शैतानको प्रभावबाट स्वतन्त्र हुन सक्नेथिएन। फलस्वरूप, मानिसको मुक्तिको काम शैतानसँगको लडाइँको अन्त्य हुनुभन्दा अघि समाप्त हुन सक्दैन, किनकि परमेश्‍वरको व्यवस्थापन कार्यको मुख्य भाग मानवजातिको मुक्तिको लागि हो। प्रारम्भिक मानवजाति परमेश्‍वरको हातमा थियो तर शैतानको परीक्षा र भ्रष्टताको कारण, मानिस शैतानको बन्धनमा पऱ्यो र दुष्टको हातमा पऱ्यो। तसर्थ, शैतान परमेश्‍वरको व्यवस्थापन कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वशमा पारेकोले र मानिस परमेश्‍वरले सबै व्यवस्थापन पूरा गर्न प्रयोग गर्नुहुने पूँजी भएकोले यदि मानिसलाई बचाइनु छ भने, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिनैपर्छ, अर्थात् मानिसलाई शैतानको कैदबाट फिर्ता लिनैपर्छ। यसैले मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर शैतानलाई हराउनैपर्छ, यस्तो परिवर्तन जसले मानिसको सुरुको तर्कको अनुभूतिलाई पुनर्स्थापित गर्दछ। यसप्रकार जुन मानिसलाई कैद गरिएको छ, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने, शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिस शैतानको अन्धकारको प्रभावबाट स्वतन्त्र भएकोले गर्दा, मानिस यो पूरै लडाइँको लुटको सामान बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिइनुपर्ने पात्र बन्छ, त्यसपछि मानवजातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

सुरुमा, पुरानो करारको व्यवस्थाको युगको अवधिमा मानिसलाई डोऱ्याउनु एउटा बच्चाको जीवनलाई डोऱ्याउनु जस्तो थियो। सबैभन्दा पहिलेको मानव जाति यहोवाको नयाँ जन्मेको शिशु थियो; तिनीहरू इस्राएलीहरू थिए। तिनीहरूमा परमेश्‍वरको डर कसरी मान्ने वा पृथ्वीमा कसरी जिउने भन्‍ने केही ज्ञान थिएन। भन्न खोजेको कुरा के हो भने, यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, अर्थात् उहाँले आदम र हव्वालाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई कसरी यहोवाको डर मान्ने वा पृथ्वीमा रहेका यहोवाका नियमहरू कसरी पालन गर्ने भनी बुझ्ने क्षमता दिनुभएन। यहोवाको प्रत्यक्ष अगुवाइविना कसैले पनि यो कुरा जान्न सक्दैनथियो, किनकि सुरुमा त मानिसमा त्यस्ता क्षमताहरू थिएनन्। मानिसले केवल यहोवा परमेश्‍वर हुनुहुन्छ भनेर मात्रै जान्दथ्यो, तर उहाँको डर कसरी मान्ने, कस्तो प्रकारको आचरणलाई उहाँको डर मानेको भन्‍न सकिन्थ्यो, कस्तो प्रकारको मनले उहाँको डर मान्नुनुपर्थ्यो, वा उहाँको डरमा उहाँलाई के चढाउने त्यसको बारेमा मानिसलाई केही थाहा थिएन। मानिसलाई परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै थोकहरू, जुन उपभोग गर्न सकिन्छ ती कसरी उपभोग गर्ने भन्‍ने मात्र थाहा थियो, तर पृथ्वीमा कस्तो किसिमको जीवन सृष्टि गरिएको प्राणीका लागि योग्य हुन्छ भन्‍ने कुरा मानिसलाई अलिकति पनि थाहा थिएन। कसैले निर्देशन नदिई, कसैले तिनीहरूलाई व्यक्तिगत रूपमा अगुवाइ नगरी यस मानव जातिले मानव जातिको उचित जीवन कहिल्यै पनि बिताउन सक्ने थिएन, तर शैतानले क्रुद्ध बनेर कैदी बनाएका हुनेथिए। यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, भन्नुपर्दा, उहाँले मानव जातिका पुर्खा, हव्वा र आदमलाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई अरू कुनै बौद्धिकता वा बुद्धि दिनुभएन। तिनीहरू पहिलेदेखि नै पृथ्वीमा बसिरहेका भए तापनि तिनीहरूले प्रायः केही पनि बुझेका थिएनन्। यसैले, मानव जातिलाई सृष्टि गर्ने यहोवाको काम आधा मात्र भएको थियो, र त्यो पूर्ण हुनु अझै बाँकी नै थियो। उहाँले माटोबाट मानिसको ढाँचा मात्र बनाउनुभएको थियो र त्यसलाई उहाँको सास दिनुभयो, तर उहाँको डर मान्ने पर्याप्त इच्छा मानिसलाई दिनुभएन। सुरुमा, मानिसमा उहाँको डर मान्ने वा उहाँदेखि भयभीत हुने मन थिएन। मानिसले केवल उहाँका वचनहरू कसरी सुन्नुपर्छ भन्‍ने मात्र जानेको थियो, तर पृथ्वीको जीवन र मानव जीवनको सामान्य नियमहरूको आधारभूत ज्ञानको बारेमा ऊ अनजान थियो। अनि यसरी, यहोवाले पुरुष र स्त्रीलाई सृष्टि गर्नुभयो र सात दिनको योजना पूरा गर्नुभएको भए तापनि, उहाँले कुनै पनि प्रकारले मानिसलाई सृष्टि गर्ने कार्य पूरा गर्नुभएको थिएन, किनकि मानिस एक भुस मात्र थियो, र उसमा मानिस हुनुको वास्तविकताको अभाव थियो। मानिसले केवल यति मात्र जान्दथ्यो, कि मानव जातिलाई सृष्टि गर्नुहुने यहोवा हुनुहुन्छ, तर यहोवाको वचन र कानुनहरू कसरी पालन गर्नुपर्छ भन्‍ने उसलाई अलिकति पनि ज्ञान थिएन। त्यसकारण मानव जाति अस्तित्वमा आएपछि पनि यहोवाको काम पूरा हुनु अझै बाँकी नै थियो। उहाँले अझै पनि मानव जातिलाई उहाँको सामु आउन पूर्ण रूपमा अगुवाइ गर्नु बाँकी नै थियो, ताकि तिनीहरू पृथ्वीमा एकसाथ जिउन र उहाँको डर मान्न सकून्, ताकि उहाँको अगुवाइद्वारा तिनीहरू पृथ्वीमा सामान्य मानव जीवनको सही बाटोमा आउन सकून्। यस तरिकाले मात्र मुख्य रूपले यहोवाको नाउँमा सञ्चालन गरिएको काम पूरा हुन सक्थ्यो; अर्थात्, यसरी मात्र संसारको सृष्टि गर्ने यहोवाको काम पूर्ण रूपमा समाप्त हुन सक्थ्यो। यसैले, मानव जातिलाई सृष्टि गर्नुभएपछि, मानव जातिले उहाँका आदेश र कानुनको पालना गर्न सकोस् र पृथ्वीमा सामान्य मानव जीवनका सबै गतिविधिहरूमा भाग लिन सकोस् भनेर उहाँले हजारौं वर्षसम्म पृथ्वीमा मानव जातिको जीवनलाई डोऱ्याउनु पऱ्यो। त्यसपछि मात्र यहोवाको काम पूर्ण रूपमा सकियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

अनुग्रहको युगमा, मानिसलाई शैतानले पहिले नै भ्रष्ट पारिसकेको थियो, र त्यही कारणले गर्दा, सबै मानवजातिलाई छुटकारा गर्ने कार्य हासिल गर्नको निम्ति प्रशस्त अनुग्रह, असीम सहिष्णुता र धैर्यता, र अझ भन्‍ने हो भने, लक्षित प्रभाव हासिल हुनलाई मानवजातिका पापहरूको प्रायश्‍चितको लागि पर्याप्त हुने एक बलिको आवश्यकता थियो। मानवजातिले अनुग्रहको युगमा जे देखे त्यो केवल मानवजातिका पापहरूको निम्ति मेरो प्रायश्‍चितको बलि थियो जो येशू हुनुहुन्छ। तिनीहरूले परमेश्‍वर कृपालु र सहनशील हुनुहुन्छ भन्‍ने मात्रै थाहा पाए, र तिनीहरूले येशूको कृपा र प्रेमिलोदयालुपन मात्रै देखे। यो पूर्ण रूपमा यसकारणले भयो किनकि तिनीहरू अनुग्रहको युगमा जन्मेका थिए। त्यसैले, तिनीहरूको छुटकारा हुनुअगाडि, तिनीहरूले धेरै प्रकारका अनुग्रहको आनन्‍द उपभोग गर्नुपर्थ्यो जुन अनुग्रहहरू येशूले तिनीहरूमाथि बर्साउनुभएको थियो ताकि तिनीहरूले यसबाट फाइदा लिन सकून्। यस तरिकाले, अनुग्रहको आनन्द उपभोगमार्फत तिनीहरूको पापको क्षमा दिन सकिन्थ्यो, र येशूको सहिष्णुता र धैर्यताको आनन्द उपभोगमार्फत छुटकारा पाउने मौका पनि हुन सक्थ्यो। केवल येशूको सहिष्णुता र धैर्यतामार्फत मात्र तिनीहरूले क्षमा प्राप्त गर्ने र येशूले दिनुभएको प्रशस्त अनुग्रहको आनन्द लिने अधिकार जित्थे। यो त येशूले म धर्मीलाई होइन बरु पापीलाई छुटकारा दिलाउन आएको छु, पापीहरूलाई तिनीहरूका पापहरूको क्षमा दिन आएको छु भनेर भन्‍नुभएजस्तै हो। जब उहाँ देहधारी हुनुभयो, येशूले यदि न्याय, श्राप, र मानिसको उल्‍लङ्घन नसहने स्वभाव लिएर आउनुभएको भए मानिसले छुटकारा पाउने अवसर कहिल्यै पाउँदैनथ्यो र ऊ सदाको लागि पापी रहनेथ्यो। यदि यस्तो भइदिएको भए, छ-हजार-वर्षे व्यवस्थापन योजना व्यवस्थाको युगमा आएर रोकिन्थ्यो, र व्यवस्थाको युग छ हजार वर्षसम्म लम्बिने थियो। मानिसका पापहरू केवल अझै धेरै अनगिन्ती र घोर भई बढिरहन्थे र मानवजातिको सृष्टि व्यर्थको हुनेथ्यो। मानिसहरूले यहोवालाई केवल व्यवस्थाको अधीनमा भएर मात्रै सेवा गर्न सक्थे, तर तिनीहरूका पापहरू सृष्टि गरिएका पहिलो मानिसहरूको भन्दा अधिक हुनेथ्यो। येशूले मानवजातिलाई तिनीहरूको पापको क्षमा दिई तिनीहरूलाई प्रशस्त कृपा र प्रेमिलोदयालुपन बर्साएर तिनीहरूलाई जति धेरै प्रेम गर्नुभयो, येशूद्वारा मुक्ति पाउनको लागि र येशूले ठूलो मूल्य तिरेर फर्काई ल्याउनुभएको हराएको थुमा कहलिनको लागि मानवजाति त्यति नै धेरै हकदार भयो। शैतानले यस कार्यमा हस्तक्षेप गर्न सकेन, किनकि येशूले उहाँका अनुयायीहरूलाई यस्तो व्यवहार गर्नुभयो जस्तो कि एउटी स्‍नेही आमाले शिशुलाई आफ्नो काखमा राख्दा व्यवहार गर्छिन्। उहाँ तिनीहरूप्रति क्रोधित या अभिमानी हुनुहुन्‍नथ्यो, बरु सान्त्वनाले भरिएको हुनुहुन्थ्यो; उहाँ तिनीहरूको माझमा रिसको आवेगमा आउनुभएन, बरु उहाँले तिनीहरूका पापहरूमा सहिष्णुता राख्‍नुभयो र तिनीहरूको मूर्खता र अज्ञानतामा यति हदसम्‍म आँखा चिम्लनुभयो कि उहाँले भन्‍नुभयो, “अरूलाई सात गुणा सत्तरीपटक क्षमा दिनु।” यसरी उहाँको हृदयद्वारा अरूहरूको हृदय रूपान्तरित भयो, र यसरी मात्र उहाँको सहिष्णुतामार्फत मानिसहरूले आफ्नो पापको क्षमा प्राप्त गरे।

…………

येशूको छुटकाराबिना, मानवजाति सदा पापमा जिउनेथ्यो र पापको सन्तान बन्‍नेथ्यो, दुष्टका सन्तान बन्‍नेथ्यो। यही कुरा नै जारी रहेको भए, पूरै संसार शैतान बस्‍ने जगत्, शैतानको बासस्थल बन्‍नेथ्यो। यद्यपि, छुटकाराको कार्यको लागि मानवजातिप्रति कृपा र प्रेमिलोदयालुपन देखाउन आवश्यक थियो; त्यस्तो माध्यमबाट मात्रै मानवजातिले क्षमा प्राप्त गर्न सक्थ्यो र अन्ततः परमेश्‍वरद्वारा पूर्ण पारिने र पूरै रूपमा प्राप्त गरिने हक पाउन सक्थ्यो। यस चरणको कार्यबिना, यो छ-हजार-वर्षे व्यवस्थापन योजनाले प्रगति गर्न सक्दैनथ्यो। यदि येशू क्रूसमा नटाँगिनुभएको भए, यदि उहाँले केवल बिरामीहरू निको पार्ने र भूतहरू भगाउने कार्य मात्रै गर्नुभएको भए, मानिसहरूलाई तिनीहरूको पापबाट पूर्ण रूपले क्षमा गर्न सकिँदैनथ्यो। येशूले पृथ्वीमा आफ्नो कार्य गरी बिताउनुभएको साढे तीन वर्षको अवधिमा, उहाँले आफ्नो छुटकाराको कार्यको केवल आधा कार्य मात्रै पूरा गर्नुभएको थियो; त्यसपछि, उहाँले क्रूसमा टाँगिएर र पापी देहको स्वरूप बनेर अनि दुष्टको हातमा आफैलाई सुम्पिएर क्रूसीकरणको कार्यलाई पूरा गर्नुभयो र मानवजातिको भवितव्यलाई काबू गर्नुभयो। उहाँले आफूलाई शैतानको हातमा सुम्पिनुभएपछि मात्रै मानवजातिलाई छुटकारा दिलाउनुभयो। साढे तेत्तीस वर्षसम्म उहाँले पृथ्वीमा दुःख भोग्‍नुभयो, उहाँको गिल्ला गरियो, निन्दा गरियो, र उहाँलाई त्यागियो, यहाँसम्म कि उहाँको शिर राख्‍ने ठाउँ थिएन, विश्राम गर्ने स्थान थिएन, र पछि उहाँलाई उहाँको पूर्ण अस्तित्वसहित—एउटा पवित्र र निर्दोष शरीरसँगै—क्रूसमा टाँगियो। उहाँले त्यहाँ भएको हरप्रकारको कष्ट सहनुभयो। सत्तामा रहेकाहरूले उहाँको निन्दा गरे र उहाँलाई कोर्रा लगाए, यहाँसम्म कि सैनिकहरूले उहाँको मुखमा समेत थुके; तैपनि उहाँ चुप भई बस्‍नुभयो र अन्त्यसम्मै सहनुभयो, निसर्त रूपमा आफैलाई मृत्युको अन्तिम बिन्दुससम्मै सुम्पिनुभयो, र यसमार्फत उहाँले सबै मानवजातिलाई छुटकारा दिलाउनुभयो। तब मात्रै उहाँले विश्राम लिन पाउनुभयो। येशूले गर्नुभएको कार्यले केवल अनुग्रहको युगको प्रतिनिधित्व गर्छ; यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन, न त यो आखिरी दिनहरूको कार्यको प्रतिस्थापन नै थियो। अनुग्रहको युग अर्थात् दोस्रो युग—मानवजातिले पार गरिसकेको छुटकाराको युग—मा येशूले गर्नुभएको कार्यको सार यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा

येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नुभएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्‍वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्‍वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई झन् उच्च क्षेत्रमा ल्याएको छ। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिष्‌हरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू आउन सक्छन्। यी वचनहरू स्वीकार गर्दा ती मानिसहरूमा आउने परिवर्तनहरू, अनुग्रहको युगका चिह्न र चमत्कारका कामहरूलाई स्वीकार गर्दा मानिसहरूमा परेको प्रभावभन्दा बढी हुन्छ। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर प्रार्थना गरेर ऊबाट भूतहरू निकालिन्थ्यो, तर मानिसभित्रको भ्रष्ट स्वभाव अझै रहिरहन्थ्यो। मानिसलाई उसको बिमारीबाट निको पारिन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसलाई ऊभित्रको भ्रष्ट शैतानिक स्वभावबाट शुद्ध पार्नुपर्ने काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको विश्‍वासको लागि मात्र मुक्ति दिइन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसको पापी स्वभाव नाश पारिएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रहन्थ्यो। मानिसका पापहरू देहधारी परमेश्‍वरको माध्यमबाट क्षमा गरिएको थियो, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्‍ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्थ्यो, तर मानिसलाई कसरी फेरि पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापमय प्रकृति कसरी पूर्ण रूपले हटाउन र रूपान्तरित गर्न सकिन्छ, यो समस्या समाधान गर्ने ऊसँग कुनै उपाय हुँदैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसको निम्ति मानिसले जीवनको वृद्धिको मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने तरिकालाई बुझ्नु आवश्यक हुन्छ। यसबाहेक, मानिसले यो मार्गअनुसार व्यवहार गर्नु आवश्यक हुन्छ, यसैले कि उसको स्वभाव बिस्तारै परिवर्तन हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, यसैले कि उसले जे गर्छ त्यो सबै परमेश्‍वरका अभिप्रायअनुसार होस्, यसैले कि उसले आफ्नो भ्रष्ट शैतानिक स्वभावलाई त्याग्न सकोस् र त्यसरी ऊ शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकोस्, र पापबाट पूर्ण रूपमा माथि उठ्न सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ। जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्‍वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्‍वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्‍ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्‍वासले सम्पूर्ण परिवारमा आशिष्‌ ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्‍वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्‍वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्‍ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्‍ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण कामको त्यो चरण समाप्त भएपछि पनि न्याय र सजायको काम बाँकी नै रह्यो। यो चरण भनेको वचनद्वारा मानिसलाई शुद्ध बनाउनको निम्ति, अनि त्यसद्वारा पछ्याउनको लागि उसलाई एक मार्ग दिनका निम्ति हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम अघिबाटै समाप्त भइसकेको छ र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहेको छ, मानिसले अहिले पनि पाप गर्न र परमेश्‍वरको विरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। यसैले कामको यस चरणमा परमेश्‍वरले मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न वचनको प्रयोग गर्नुहुन्छ, र उसलाई सही मार्गअनुसार हिँड्ने अभ्यास गर्न लगाउनुहुन्छ। यो चरण अघिल्लोभन्दा धेरै अर्थपूर्ण छ, साथै धेरै फलदायी पनि छ, किनकि अहिले वचनले नै सोझै मानिसको जीवनलाई प्रदान गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण गर्छ; यो कामको अझै विस्तृत चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्‍वरको देहधारणको महत्त्वलाई पूरा गरेको छ र मानिसको मुक्तिको लागि परमेश्‍वरको व्यवस्थापन योजनालाई पूर्ण रूपमा समाप्त गरेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

कार्यका तीन चरणहरू परमेश्‍वरको समग्र व्यवस्थापनको मर्म हुन् र तिनीहरूमा नै परमेश्‍वरको स्वभाव र उहाँ जे हुनुहुन्छ सो व्यक्त गरिन्छ। परमेश्‍वरका कार्यका तीन चरणहरू नजान्नेहरूले परमेश्‍वरले उहाँको स्वभाव कसरी व्यक्त गर्नुहुन्छ भन्‍ने जान्दैनन्, न त तिनीहरूले परमेश्‍वरको कार्यको बुद्धिलाई नै जान्दछन्। उहाँले मानवजातिलाई मुक्ति दिने धेरै तरिकाहरू र समग्र मानवजातिको निम्ति उहाँका अभिप्रायबारे पनि तिनीहरू अनभिज्ञ नै हुन्छन्। कार्यका तीन चरणहरू मानवजातिलाई बचाउने कार्यको पूर्ण अभिव्यक्ति हुन्। कार्यका तीन चरणहरू नजान्‍नेहरू पवित्र आत्माको कामको विभिन्न विधिहरू र सिद्धान्तहरूबारे अनभिज्ञ हुन्छन् र कार्यको कुनै चरणबाट बाँकी रहेको सिद्धान्तमा नै कठोरतापूर्वक टाँसिरहनेहरू परमेश्‍वरलाई सिद्धान्तमा सीमित पार्ने मानिसहरू हुन् र परमेश्‍वरप्रति तिनीहरूको विश्‍वास अस्पष्ट र अनिश्‍चित हुन्छ। यस्ता मानिसहरूले कहिल्यै पनि परमेश्‍वरको मुक्ति प्राप्‍त गर्नेछैनन्। परमेश्‍वरका कार्यका तीन चरणहरूले मात्र परमेश्‍वरको समग्र स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ र सारा मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय साथै मानवजातिको मुक्तिको समग्र प्रक्रियालाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ। उहाँले शैतानलाई पराजित गर्नुभएको छ र मानवजातिलाई प्राप्‍त गर्नुभएको छ भन्‍ने कुराको प्रमाण यही हो; यो परमेश्‍वरको विजयको सबुत हो र परमेश्‍वरको सम्पूर्ण स्वभावको अभिव्यक्ति हो। परमेश्‍वरका कार्यका तीन चरणहरूमध्ये एक चरणलाई मात्र बुझ्नेहरूले परमेश्‍वरको आंशिक स्वभावलाई मात्र जान्दछन्। मानिसको धारणामा, यो कार्यको एक चरण सजिलै सिद्धान्त बन्न सक्छ, र मानिसले परमेश्‍वरबारे निर्दिष्ट नियमहरू स्थापित गर्ने र परमेश्‍वरको स्वभावको यही एउटा हिस्सालाई परमेश्‍वरको सम्पूर्ण स्वभावको प्रतिनिधित्वको रूपमा प्रयोग गर्ने सम्भावना हुन्छ। यसको अलाबा, यसभित्र मानिसको धेरै कल्पना मिसिन्छ, यहाँसम्‍म कि कुनै समय परमेश्‍वर यस्तो हुनुहुन्थ्यो, अनि उहाँ हरसमय यस्तै रहनुहुनेछ र कहिल्यै परिवर्तन हुनुहुनेछैन भन्‍ने विश्‍वास गरेर यस्ता मानिसले परमेश्‍वरको स्वभाव, अस्तित्व र बुद्धिलाई साथै परमेश्‍वरको कार्यको सिद्धान्तहरूलाई सीमित मापदण्डहरूभित्र कठोरतापूर्वक कैद गर्छन्। कार्यका तीन चरणहरू जान्‍नेहरूले मात्र परमेश्‍वरलाई पुर्ण रूपमा र सही रूपमा चिन्न सक्छन्। कम्तीमा पनि, तिनीहरूले परमेश्‍वरलाई इस्राएलीहरू वा यहूदीहरूका परमेश्‍वरको रूपमा परिभाषित गर्दैनन् र उहाँलाई मानिसको खातिर सदासर्वदा क्रूसमा टाँगिएको परमेश्‍वरको रूपमा हेर्नेछैनन्। यदि कसैले परमेश्‍वरलाई उहाँको कार्यको एक चरणबाट मात्र चिन्छ भने तिनीहरूको ज्ञान अत्यन्तै सानो र महासागरको एक थोपाभन्दा बढी हुँदैन। होइन भने, धेरै पुरानो धार्मिक रक्षकहरूले परमेश्‍वरलाई किन जीवितै क्रूसमा टाँग्थे? के मानिसले परमेश्‍वरलाई कुनै मापदण्डहरूभित्र सीमित गर्ने गरेकोले होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

कार्यको अन्तिम चरण एकलै खडा हुँदैन, तर यो अघिल्‍लो दुई चरणहरूसँग एकसाथ निर्माण भएको पूर्णताको भाग हो, भन्‍नुको अर्थ, कार्यका तीन वटा चरणहरूमध्ये एउटालाई मात्रै पूरा गरेर मुक्तिको सम्पूर्ण कार्यलाई पूरा गर्नु असम्‍भव छ। कामको अन्तिम चरणले मानिसलाई पूर्ण रूपमा मुक्ति दिन सके तापनि, यो एकल चरणलाई एकलै अघि बढाउनु मात्रै आवश्यक छ, र मानिसलाई शैतानको प्रभावबाट मुक्त गर्नको लागि कामका अघिल्‍ला दुई चरणहरू आवश्यक छैन भन्‍ने यसको अर्थ हुँदैन। तीन चरणहरूमध्ये कुनै पनि एउटा चरणलाई सबै मानवजातिले जान्‍नैपर्ने एक मात्र दर्शनको रूपमा लिन सकिँदैन, किनभने मुक्तिको कामको सम्पूर्णता कार्यका तीन चरण हुन्, तीमध्ये एउटा चरण मात्रै होइन। जबसम्‍म मुक्तिको काम पूरा हुँदैन, तबसम्‍म परमेश्‍वरको व्यवस्थापन पूर्ण समाप्तिमा पुग्‍न सक्‍नेछैन। परमेश्‍वरको अस्तित्व, उहाँको स्वभाव, र उहाँको बुद्धिलाई मुक्तिको कामको सम्पूर्णतामा व्यक्त गरिन्छ; मानिसलाई ती सुरुमा नै प्रकट गरिँदैन, तर मुक्तिको काममा क्रमिक रूपमा व्यक्त गरिएको छ। मुक्तिको कामको हरेक चरणले परमेश्‍वरको स्वभावको भाग, र उहाँको अस्तित्वको भागलाई व्यक्त गर्छ; कामको कुनै पनि चरणले प्रत्यक्ष रूपमा र पूर्ण रूपमा परमेश्‍वरको अस्तित्वको सम्पूर्णतालाई व्यक्त गर्न सक्दैन। त्यसैले, कार्यका तीन चरण पूरा गरिसकिएपछि मात्रै मुक्तिको कामलाई पूर्ण रूपमा समाप्त गर्न सकिन्छ, त्यसकारण परमेश्‍वरको सम्पूर्णता सम्‍बन्धी मानिसको ज्ञानलाई परमेश्‍वरको कार्यका तीन चरणहरूबाट अलग गर्न सकिँदैन। कामको एउटा चरणबाट मानिसले प्राप्त गर्ने कुरा भनेको उहाँको कामको एउटा भागमा व्यक्त गरिने परमेश्‍वरको स्वभाव मात्रै हो। पहिलेको वा पछिको चरणहरूमा व्यक्त गरिने स्वभाव र अस्तित्वलाई यसले प्रतिनिधित्व गर्न सक्दैन। किनभने मानवजातिलाई मुक्ति दिने कामलाई एउटै समयको अवधिमा, वा एउटै स्थानमा सीधै समाप्त गर्न सकिँदैन, तर यो फरक-फरक समय र फरक-फरक स्थानमा मानिसको विकासको स्तर अनुसार क्रमिक रूपमा गहिरो-गहिरो बन्दै जान्छ। यो चरण-चरणमा अघि बढाइने कार्य हो, र यसलाई एउटै चरणमा पूरा गरिँदैन। त्यसकारण, परमेश्‍वरको सम्पूर्ण बुद्धिलाई एउटै व्यक्तिगत चरणमा होइन, तर तीन चरणहरूमा स्पष्ट गरिन्छ। उहाँको सम्पूर्ण अस्तित्व र उहाँको सम्पूर्ण बुद्धिलाई यी तीन चरणमा प्रस्तुत गरिन्छ, र हरेक चरणमा उहाँको अस्तित्व समावेश हुन्छ, अनि हरेक चरण नै उहाँको कामको बुद्धिको विवरण हो। यी तीन चरणमा व्यक्त गरिने परमेश्‍वरको सम्पूर्ण स्वभावलाई मानिसले जान्‍नुपर्छ। परमेश्‍वरको अस्तित्वको यो सबै कुरा सारा मानवजातिको लागि सबैभन्दा महत्त्वपूर्ण छ, र यदि परमेश्‍वरलाई आराधना गर्दा मानिसहरूमा यो ज्ञान हुँदैन भने, तिनीहरू बुद्धलाई आराधना गर्नेहरूभन्दा फरक हुँदैनन्। मानिसको बीचमा परमेश्‍वरले गर्नुहुने कार्य मानिसबाट लुकेको छैन, र परमेश्‍वरको आराधना गर्ने सबैले यसलाई जान्‍नुपर्छ। परमेश्‍वरले मानिसको बीचमा मुक्तिको कामका तीन चरणलाई अघि बढाइसक्‍नुभएको हुनाले, कार्यका तीन चरणमा मानिसले उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अभिव्यक्तिलाई जान्‍नुपर्छ। मानिसले गर्नैपर्ने कुरा यही नै हो। मानिसबाट परमेश्‍वरले लुकाउनुहुने कुरा मानिसले हासिल गर्न नसक्‍ने र मानिसले जान्‍नु नपर्ने कुरा हो, जबकी परमेश्‍वरले मानिसलाई देखाउनुहुने कुरा मानिसले जान्‍नुपर्ने, र मानिसमा हुनुपर्ने कुरा हो। कार्यका तीन चरणमध्ये हरेकलाई अघिल्‍लो चरणको जगमा नै अघि बढाइन्छ; यसलाई स्वतन्त्र रूपमा, मुक्तिको कामभन्दा अलग रूपमा अघि बढाइँदैन। गरिने कार्य र काममा ठूला भिन्‍नताहरू भए तापनि, मूल रूपमा यो मानवजातिको मुक्ति नै हो, र मुक्तिको कामको हरेक चरण अघिल्‍लोभन्दा अझ गहन हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो

छ हजार वर्षको व्यवस्थापन योजनाको कामलाई तीन चरणमा विभाजन गरिएको छ। कुनै पनि एउटा चरणले मात्र तीनवटा युगको कामको प्रतिनिधित्व गर्न सक्दैन, तर सम्पूर्णको केवल एक भागलाई मात्र प्रतिनिधित्व गर्दछ। यहोवाको नाउँले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई प्रतिनिधित्व गर्न सक्दैन। उहाँले व्यवस्थाको युगमा आफ्नो काम गर्नुभयो भन्‍ने तथ्यले परमेश्‍वर व्यवस्थाको अधीनमा मात्र परमेश्‍वर हुन सक्नुहुन्छ भनी प्रमाणित गर्दैन। यहोवाले मानिसका लागि व्यवस्था दिनुभयो र मानिसलाई आज्ञाहरू सुम्पनुभयो र मानिसलाई मन्दिर र वेदीहरू बनाउन लगाउनुभयो; उहाँले गर्नुभएको कामले व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्दछ। उहाँले गर्नुभएको कामले परमेश्‍वर मानिसलाई व्यवस्था पालन गर्न लगाउने परमेश्‍वर मात्र हुनुहुन्छ, वा उहाँ मन्दिरमा आउनुहुने परमेश्‍वर हुनुहुन्छ वा उहाँ वेदीको सामने आउनुहुने परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्दैन। त्यसो हो भनी भन्‍नु असत्य हुनेथियो। व्यवस्था अन्तर्गत गरिएको कामले केवल एउटा युगलाई मात्र प्रतिनिधित्व गर्न सक्छ। त्यसकारण, यदि परमेश्‍वरले व्यवस्थाको युगमा मात्र काम गर्नुभएको थियो भने, मानिसले परमेश्‍वरलाई निम्नलिखित परिभाषाभित्र सीमित तुल्याउनेथियो, “परमेश्‍वर मन्दिरमा बस्नुहुने परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरको सेवा गर्न हामीले पूजाहारीको पोसाक लगाउनुपर्छ र मन्दिरभित्र प्रवेश गर्नुपर्दछ।” यदि अनुग्रहको युगमा यो काम कहिल्यै नभएको भए र व्यवस्थाको युग अहिलेसम्म जारी नै रहेको भए मानिसले परमेश्‍वर दयालु र प्रेमिलो पनि हुनुहुन्छ भनी जान्ने थिएन। यदि व्यवस्थाको युगमा काम नगरिएको भए, त्यसको साटो अनुग्रहको युगमा मात्र काम भएको भए, परमेश्‍वरले मानिसलाई छुटकारा दिन र मानिसका पापहरू क्षमा गर्न मात्र सक्नुहुन्छ भनेर मात्रै मानिसले जान्नेथिए। मानिसले उहाँ पवित्र र निर्दोष हुनुहुन्छ, र मानिसको खातिर उहाँले आफैलाई बलिदान गर्न र क्रूसमा टाँगिन सक्‍नुहुन्छ भनेर मात्र जान्नेथियो। मानिसले यी सबै कुराहरू मात्र जान्नेथियो, तर अरू केही पनि बुझेको हुनेथिएन। त्यसकारण हरेक परमेश्‍वरको स्वभावको एउटा भागलाई प्रतिनिधित्व गर्छ। व्यवस्थाको युगमा, अनि अनुग्रहको युगमा, र यस वर्तमान चरणमा परमेश्‍वरको स्वभावका कुन-कुन पक्षहरूको प्रतिनिधित्व गरियो भन्‍ने सम्बन्धमा चाहिँ: जब ती सबै तीन चरणहरूलाई एकट्ठा गरिन्छ, तब मात्र परमेश्‍वरको स्वभावको सम्पूर्णता प्रकट हुन सक्दछ। मानिसले तीन वटै चरणहरूलाई जानिसकेपछि मात्रै उसले यसलाई पूर्ण रूपमा बुझ्‍न सक्छ। यी तीन चरणमध्ये कुनैलाई पनि हटाउन सकिँदैन। तैँले यी तीन चरणको कार्यलाई बुझिस् भने मात्र परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा बुझ्नेछस्। परमेश्‍वरले व्यवस्थाको युगमा उहाँको आफ्नो काम पूरा गर्नुभयो भन्‍ने तथ्यले उहाँ व्यवस्थाको अधीनमा हुनुहुने परमेश्‍वर मात्र हुनुहुन्छ भन्‍ने कुरालाई प्रमाणित गर्दैन, र उहाँले आफ्नो छुटकाराको काम पूरा गर्नुभयो भन्‍ने तथ्यको अर्थ परमेश्‍वरले मानवजातिलाई सधैँ छुटकारा दिइरहनुहुन्छ भन्‍ने हुँदैन। यी सबै मानिसका निष्कर्षहरू हुन्। अनुग्रहको युग समाप्त भइसकेपछि, तैँले परमेश्‍वर केवल क्रूसको स्वामित्वमा हुनुहुन्छ र क्रूसले मात्र परमेश्‍वरको मुक्तिलाई प्रतिनिधित्व गर्दछ भन्न सक्दैनस्। त्यसो गर्नु भनेको परमेश्‍वरलाई परिभाषित गर्नु हो। वर्तमान चरणमा, परमेश्‍वरले मुख्य रूपमा वचनको काम गरिरहनुभएको छ, तर तँ परमेश्‍वर मानिसप्रति कहिल्यै कृपालु हुनुभएको छैन र उहाँले सजाय र न्याय मात्र ल्याउनुभएको छ भन्न सक्दैनस्। आखिरी दिनहरूका कामले यहोवाको र येशूका कामलाई साथै मानिसले नबुझेका सबै रहस्यहरूलाई प्रकट गर्दछ, जसले मानवजातिको गन्तव्य र अन्त्य, र मानवजातिको माझमा मुक्तिका सबै काम समाप्त भएको कुरालाई प्रकट गर्दछ। आखिरी दिनहरूमा गरिने कामको यो चरणले सबै कुरालाई समाप्त गर्दछ। मानिसले नबुझेका सबै रहस्यहरू प्रकट गर्नु, मानिसहरूलाई ती कुराहरू गहिरो रूपले बुझ्न दिनु र तिनीहरूका हृदयमा पूर्ण रूपमा स्पष्ट बुझाइ हुन दिनु आवश्यक छ। त्यसपछि मात्र मानवजातिलाई तिनीहरूका प्रकार अनुसार वर्गमा छुट्ट्याउन सकिन्छ। छ हजार वर्षको व्यवस्थापन योजना पूरा भएपछि मात्र मानिसले पूर्ण रूपमा परमेश्‍वरको स्वभावलाई बुझ्न सक्नेछ, किनकि त्यस बेला उहाँको व्यवस्थापन योजना अन्त्य भएको हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

सम्बन्धित प्रवचनहरू

मानिसलाई मुक्ति दिन परमेश्‍वरलाई किन कामका तीन चरणहरू आवश्यक छ?

सम्बन्धित भजनहरू

कामका तीन चरणहरूले परमेश्‍वरको मुक्ति पूर्णतः व्यक्त गर्छन्

अघिल्लो: ग. परमेश्‍वरको कामका सबै तीन चरणहरूबीचको सम्बन्ध

अर्को: क. प्रभु येशूले मानवजातिलाई उद्धार गर्नुभएको भए पनि, अझै परमेश्‍वरले आखिरी दिनहरूमा किन न्यायको काम गर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्