परमेश्‍वर स्वयम् अद्वितीय ७

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (१)

परमेश्‍वरको अख्तियार, परमेश्‍वरको धर्मी स्वभाव, र परमेश्‍वरको पवित्रताको संक्षिप्त विवरण

जब तिमीहरूले आफ्ना प्रार्थना सकेका हुन्छौ, तब के तिमीहरूले आफ्नो हृदय परमेश्‍वरको उपस्थितिमा शान्त भएको महसुस गर्छौ? (गर्छौं।) यदि व्यक्तिको हृदयलाई शान्त पार्न सकिन्छ भने तिनीहरूले परमेश्‍वरको वचन सुन्न र बुझ्न सक्छन् र तिनीहरूले सत्यता सुन्न र बुझ्न सक्छन्। यदि तेरो हृदयलाई शान्त पार्न सकिँदैन भने, यदि तेरो हृदय सधैँ लक्ष्यहीन रूपमा यताउता गरिरहेको छ वा सधैँ अरू कुरा नै सोचिरहेको छ भने, यसले तँलाई तँ परमेश्‍वरको वचन सुन्ने भेलामा सहभागी भएको बेलामा असर गर्नेछ। हामीले छलफल गरिरहेको विषयको मूल कुरा के हो त? हामी सबैले मुख्य बुँदाहरूलाई थोरै सोचिहेरौं। परमेश्‍वर स्वयम् अद्वितीयको बारेमा जान्ने सम्बन्धमा पहिलो भागमा हामीले परमेश्‍वरको अख्तियारको बारेमा छलफल गर्‍यौं। दोस्रो भागमा, हामीले परमेश्‍वरको धर्मी स्वभावको बारेमा छलफल गर्‍यौं, र तेस्रो भागमा, हामीले परमेश्‍वरको पवित्रताको बारेमा छलफल गर्‍यौं। के हामीले हरेक पल्ट छलफल गरेको विशिष्ट विषयवस्तुले तिमीहरूमा कुनै छाप छोडेको छ? पहिलो भाग, “परमेश्‍वरको अख्तियार” मा, के कुराले तिमीहरूमा सबैभन्दा गहिरो छाप छोड्यो? कुनचाहिँ भागले तिमीहरूमा सबैभन्दा दह्रिलो प्रभाव पार्‍यो? (परमेश्‍वरले पहिले परमेश्‍वरको वचनको अख्तियार र सामर्थ्यको बारेमा कुराकानी गर्नुभयो; परमेश्‍वर उहाँको वचनजत्तिकै असल हुनुहुन्छ र उहाँको वचन पूरा हुनेछ। परमेश्‍वरको अन्तर्निहित सार यही हो।) (परमेश्‍वरले शैतानलाई दिनुभएको आज्ञा अय्यूबलाई परीक्षा लिन सक्छस् तर ज्यान नै चाहिँ नलिनू भन्‍ने थियो। यसबाट हामीले परमेश्‍वरको वचनको अख्तियार देख्छौं।) के यसमा थप्नुपर्ने अरू केही छ? (परमेश्‍वरले आकाश र पृथ्वी अनि तिनमा भएका यावत् थोक सृष्टि गर्न वचनहरू प्रयोग गर्नुभयो, र उहाँले मानिससँग करार गर्न र तिनीहरूलाई आशिष् दिन वचनहरू बोल्नुभयो। यी सबै परमेश्‍वरको वचनको अख्तियारका उदाहरणहरू हुन्। त्यसपछि, हामीले प्रभु येशूले कसरी लाजरसलाई चिहानबाट बाहिर निस्कन आज्ञा गर्नुभयो भन्‍ने बारेमा हेर्‍यौं—यसले के देखाउँछ भने, जीवन र मृत्यु परमेश्‍वरको नियन्त्रणमा छ, शैतानसँग जीवन र मृत्युलाई नियन्त्रण गर्ने शक्ति छैन, र परमेश्‍वरको काम चाहे देहमा गरिएको होस् वा आत्मामा गरिएको होस्, उहाँको अख्तियार अद्वितीय छ।) सङ्गति सुनेपछि तिमीहरूले हासिल गरेको बुझाइ यही हो। परमेश्‍वरको अख्तियारको कुरा गर्दा, “अख्तियार” शब्दको बारेमा तिमीहरूको बुझाइ के छ त? परमेश्‍वरको अख्तियारको दायराभित्र, परमेश्‍वरले जे गर्नुहुन्छ र जे प्रकट गर्नुहुन्छ सोबारेमा मानिसहरूले के देख्छन्? (हामी परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि देख्छौं।) (हामी देख्छौं, कि परमेश्‍वरको अख्तियार सदासर्वदा विद्यमान हुन्छ र यो साँच्चिकै अस्तित्वमा छ। हामी यावत् थोकमाथि उहाँको प्रभुत्वमा बृहत् मात्रामा परमेश्‍वरको अख्तियार देख्छौं, र उहाँले हरेक व्यक्तिगत मानव जीवनको नियन्त्रण गर्नुहुने कार्यमा सानो मात्रामा परमेश्‍वरको अख्तियारलाई देख्छौं। परमेश्‍वरले वास्तवमा मानव जीवनको छ महत्त्वपूर्ण मोडहरूको योजना र नियन्त्रण गर्नुहुन्छ। यस अलावा, हामी के पनि देख्छौं भने परमेश्‍वरको अख्तियारले परमेश्‍वर स्वयम् अद्वितीयलाई प्रतिनिधित्व गर्छ, र यस्तो अख्तियार सृष्टि गरिएको वा नगरिएको कुनै पनि प्राणीमा हुन सक्दैन। परमेश्‍वरको अख्तियार उहाँको पहिचानको प्रतीक हो।) “परमेश्‍वरको पहिचान र परमेश्‍वरको स्थान” सम्बन्धी तिमीहरूको बुझाइ अलि धर्म-सैद्धान्तिक जस्तो देखिन्छ। के तिमीहरूसित परमेश्‍वरको अख्तियारको बारेमा कुनै सारभूत बुझाइ छ? (परमेश्‍वरले हामीलाई हामी सानै छँदादेखि हाम्रो रखवाली र सुरक्षा गर्नुभयो, र त्यसमा हामी परमेश्‍वरको अख्तियारलाई देख्छौं। हामीमाथि मडारिरहेको संकटहरूको बारेमा हामी अनभिज्ञ थियौं, तर परमेश्‍वरले पर्दा पछाडिबाट सधैँ हामीलाई सुरक्षा दिइरहनुभएको थियो। यो पनि परमेश्‍वरको अख्तियार हो।) एकदमै राम्रो। सानदार जवाफ।

जब हामी परमेश्‍वरको अख्तियारको बारेमा कुरा गर्छौं, तब हामी केमा ध्यान केन्द्रित गर्छौं, हाम्रो मुख्य बुँदा के हुन्छ? हामीले किन यो कुरा छलफल गर्नुपर्छ? यो कुरा छलफल गर्नुको पहिलो उद्देश्य भनेको मानिसहरूको हृदयमा सृष्टिकर्ताको रूपमा परमेश्‍वरको पहिचान र यावत् थोकमाझ उहाँको स्थान स्थापित गर्नु हो। मानिसहरूलाई सर्वप्रथम जान्न, देख्न र अनुभूति गर्न लगाउन सकिने कुरा यही हो। तैँले जे देख्छस् र जे अनुभूति गर्छस् त्यो परमेश्‍वरका कार्यहरू, परमेश्‍वरका वचनहरू र यावत् थोकमाथिको परमेश्‍वरको नियन्त्रणबाट आउँछ। त्यसो भए, परमेश्‍वरको अख्तियारबाट मानिसहरूले जे देख्छन्, सिक्छन् र जान्दछन् ती सबैबाट तिनीहरूले के-कस्तो साँचो बुझाइ प्राप्त गर्छन् त? हामीले पहिलो उद्देश्यको बारेमा यसअघि नै छलफल गरिसक्यौं। दोस्रो उद्देश्य परमेश्‍वरले उहाँको अख्तियारद्वारा जे गर्नुभएको र बोल्नुभएको र नियन्त्रित गर्नुभएको छ ती सबैमार्फत मानिसहरूलाई परमेश्‍वरको शक्ति र बुद्धि देख्ने तुल्याउनु हो। यो तँलाई यावत् थोकमाथिको उहाँको नियन्त्रणमा परमेश्‍वर कति शक्तिशाली र बुद्धिमान हुनुहुन्छ भन्‍ने कुरा देख्ने तुल्याउनु हो। परमेश्‍वरको अद्वितीय अख्तियारबारेको हाम्रो अघिल्लो छलफलमा के हामीले ध्यान केन्द्रित गरेको कुरो र हाम्रो मुख्य बुँदा यही थिएन र? उक्त छलफलपछि त्यति धेरै समय बितेको छैन तैपनि तिमीहरूमध्ये केहीले त यसलाई बिर्सिसक्यौ, जसले परमेश्‍वरको अख्तियारको बारेमा तिमीहरूले गहन बुझाइ हासिल गरेका छैनौ भन्‍ने प्रमाणित गर्छ। मानिसले परमेश्‍वरको अख्तियारलाई देखेको छैन भनेर भन्न पनि सकिन्छ। के तिमीहरूले अहिले केही बुझाइ प्राप्त गर्‍यौ? जब तैँले परमेश्‍वरले उहाँको अख्तियार अभ्यास गर्नुभएको देख्छस्, तैँले साँचो रूपमा कस्तो अनुभूति गर्छस्? के तैँले परमेश्‍वरको शक्तिलाई साँच्चिकै अनुभूति गरेको छस्? (छु।) जब तैँले उहाँले कसरी यावत् थोकको सृष्टि गर्नुभयो भन्‍ने सम्बन्धी उहाँका वचनहरू पढ्छस्, तब तैँले उहाँको शक्ति अनुभूति गर्छस् र तैँले उहाँको सर्वव्यापकता अनुभूति गर्छस्। जब तैँले मानिसहरूको नियतिमाथि परमेश्‍वरको प्रभुत्व देख्छस्, तैँले के-कस्तो अनुभूति गर्छस्? के तैँले उहाँको शक्ति र उहाँको बुद्धि अनुभूति गर्छस्? यदि परमेश्‍वरसँग यो शक्ति नभएको भए, यदि उहाँसँग यो बुद्धि नभएको भए, के उहाँ यावत् थोकहरूमाथि र मानव नियतिमाथि प्रभुत्व कायम राख्न योग्य हुनुहुनेथियो? परमेश्‍वरसँग शक्ति र बुद्धि छ, यसैले उहाँसँग अख्तियार छ। यो अद्वितीय छ। सारा सृष्टिमाझ, के तैँले कहिल्यै परमेश्‍वरको जस्तो शक्ति भएको कुनै व्यक्ति वा प्राणी देखेको छस्? के तैँले कहिल्यै आकाश र पृथ्वी र यावत् थोकको सृष्टि गर्ने, तिनीहरूलाई नियन्त्रण गर्ने र तिनीहरूमाथि प्रभुत्व कायम राख्ने कुनै व्यक्ति वा कुनै थोकलाई देखेको छस्? के सम्पूर्ण मानवजातिमाथि शासन गर्ने र तिनीहरूलाई डोर्‍याउने अनि सदासर्वदा सर्वत्र विद्यमान हुने कुनै व्यक्ति वा कुनै कुरा छ? (अहँ, छैन।) के तिमीहरूले अब परमेश्‍वरको अद्वितीय अख्तियारको साँचो अर्थ बुझ्यौ? के तिमीहरूसँग अब यसबारेमा केही बुझाइ छ? (छ।) योसँगै परमेश्‍वरको अद्वितीय अख्तियारको विषयबारेमा फर्केर सोचिहेर्ने कार्य समाप्त हुन्छ।

दोस्रो भागमा, हामीले परमेश्‍वरको धर्मी स्वभावको बारेमा कुरा गर्‍यौं। हामीले यो विषयमा त्यति धेरै छलफल गरेनौं, किनभने यस चरणमा परमेश्‍वरको काम आधारभूत रूपमा न्याय र सजायको काम हो। राज्यको युगमा, परमेश्‍वरको धर्मी स्वभाव स्पष्ट र एकदमै विस्तृत रूपमा प्रकट हुन्छ। उहाँले सृष्टिको समयदेखि कहिल्यै पनि नबोल्नुभएका वचनहरू बोल्नुभएको छ; अनि उहाँका वचनहरूमा सबै मानिसहरूले, उहाँको वचन पढ्ने र अनुभव गर्ने सबैले उहाँको धर्मी स्वभाव प्रकट भएको देखेका छन्। त्यसो भए, परमेश्‍वरको धर्मी स्वभावबारेको हाम्रो छलफलको मुख्य बुँदा के हो त? के तिमीहरूले यसलाई गहन रूपमा बोध गर्छौ? के तिमीहरूले यसलाई अनुभवबाट बुझ्छौ? (परमेश्‍वरले सदोमलाई जलाउनुभयो किनभने त्यस बेलाका मानिसहरू गहन रूपले भ्रष्ट थिए र तिनीहरूले परमेश्‍वरको क्रोध भड्काए। यसबाट हामीले परमेश्‍वरको धर्मी स्वभावलाई देख्छौं।) पहिले, हामी हेरौं न: यदि परमेश्‍वरले सदोमलाई नष्ट नगर्नुभएको भए, के तैँले उहाँको धर्मी स्वभावको बारेमा जान्न सक्थिस्? अझै पनि तैँले जान्न सक्थिस्। तैँले यसलाई राज्यको युगमा परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू र उहाँले मानिसप्रति लक्षित गर्नुभएको न्याय, सजाय र श्रापहरूमा देख्न सक्छस्। के तैँले उहाँले निनवेलाई बचाउनुभएको कार्यमा उहाँको धर्मी स्वभावलाई देख्छस्? (देख्छु।) वर्तमान युगमा, मानिसहरूले परमेश्‍वरका केही कृपा, प्रेम र सहिष्णुता देख्न सक्छन् र तिनीहरूले मानिसको पश्चात्तापपछि परिवर्तन भएको परमेश्‍वरको हृदयमा पनि यसलाई देख्‍न सक्छन्। परमेश्‍वरको धर्मी स्वभावबारेको हाम्रो छलफलको परिचय दिनलाई यी दुई वटा उदाहरणहरू उल्‍लेख गरिसकेपछि, उहाँको धर्मी स्वभाव प्रकट गरिसकिएको छ भन्‍ने कुरा एकदमै स्पष्टसित देख्न सकिन्छ, तैपनि वास्तविकतामा परमेश्‍वरको धर्मी स्वभावको सार यी दुई बाइबलीय कथाहरूमा प्रकट गरिएको कुरामा मात्र सीमित रहेको छैन। परमेश्‍वरको वचन र उहाँको काममा तिमीहरूले जे सिकेका र देखेका र अनुभव गरेका छौ, तिनका आधारमा तिमीहरूले देखेको परमेश्‍वरको धर्मी स्वभाव के हो त? तिमीहरूको आफ्नै अनुभवको आधारमा भन। (परमेश्‍वरले मानिसहरूको लागि बनाउनुभएको वातावरणहरूमा, जब मानिसहरूले सत्यताको खोजी गर्न र परमेश्‍वरको इच्छाअनुरूप कार्य गर्न सक्छन्, तब परमेश्‍वरले तिनीहरूलाई डोर्‍याउनुहुन्छ, तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ र तिनीहरूलाई हृदयमा खुसी अनुभूति गराउनुहुन्छ। जब मानिसहरू परमेश्‍वर विरुद्ध जान्छन्, उहाँको प्रतिरोध गर्छन् र उहाँको इच्छाअनुरूप कार्य गर्दैनन्, तब तिनीहरूभित्र विशाल अन्धकार हुन्छ, मानौं तिनीहरूलाई परमेश्‍वरले परित्याग गरिसक्नुभएको छ। तिनीहरूले प्रार्थना गर्दा पनि, तिनीहरूले उहाँलाई के भन्‍ने हो सो समेत जान्दैनन्। तर जब तिनीहरूले आफ्ना धारणा र कल्पनाहरूलाई पन्छाउँछन् र परमेश्‍वरसँग सहकार्य गर्न र आफूलाई सुधार्न प्रयत्न गर्न इच्छुक बन्छन्, तब तिनीहरूले क्रमिक रूपमा परमेश्‍वरको मुस्कुराइरहेको मुहार देख्न सक्छन्। यसबाट हामीले परमेश्‍वरको धर्मी स्वभावको पवित्रता अनुभव गर्छौं। परमेश्‍वर पवित्र राज्यमा देखा पर्नुहुन्छ, तर उहाँले आफूलाई अपवित्र स्थानहरूमा लुकाउनुहुन्छ।) (म उहाँले मानिसहरूलाई व्यवहार गर्ने तरिकामा परमेश्‍वरको धर्मी स्वभाव देख्छु। हाम्रा दाजुभाइ र दिदीबहिनीहरू कद र क्षमतामा, र हामी प्रत्येकबाट परमेश्‍वरलाई के आवश्यक पर्छ भन्‍ने सन्दर्भमा भिन्न छन्। हामी सबैले परमेश्‍वरबाट फरक-फरक मात्रामा अन्तर्दृष्टि प्राप्त गर्न सक्छौं, र यसमा म परमेश्‍वरको धर्मी स्वभाव देख्छु किनभने हामी मानिसहरूले यसरी मानिसलाई व्यवहार गर्न सक्दैनौं, तर परमेश्‍वरले सक्‍नुहुन्छ।) अबचाहिँ, तिमीहरू सबैसँग तिमीहरूले व्यक्त गर्न सक्‍ने केही व्यावहारिक ज्ञान छ।

कुन ज्ञानचाहिँ परमेश्‍वरको धर्मी स्वभावलाई बुझ्ने चाबी हो, के तिमीहरूलाई थाहा छ? यस विषयको अनुभवबाट भन्न सकिने कुराहरू धेरै छन्, तर त्योभन्दा पहिले मैले तिमीहरूलाई भन्नुपर्ने केही मुख्य बुँदाहरू छन्। परमेश्‍वरको धर्मी स्वभाव बुझ्‍नको निम्ति सर्वप्रथम परमेश्‍वरका भावनाहरू बुझ्‍नुपर्छ: उहाँले केलाई घृणा गर्नुहुन्छ, उहाँले केलाई घिनाउनुहुन्छ, उहाँले केलाई प्रेम गर्नुहुन्छ, कोप्रति उहाँ सहनशील र कृपालु हुनुहुन्छ र उहाँले कस्तो व्यक्तिलाई त्यो कृपा प्रदान गर्नुहुन्छ। यो एउटा मुख्य बुँदा हो। व्यक्तिले यो पनि बुझ्‍नुपर्छ कि परमेश्‍वर जति नै प्रेमिलो हुनुभए तापनि, मानिसहरूका निम्ति उहाँसँग जति नै कृपा र प्रेम भए तापनि, परमेश्‍वरले उहाँको पहिचान र पदको उल्लङ्‍घन गर्ने कसैलाई पनि सहन गर्नुहुन्‍न, न त उहाँको गरिमाको उल्लङ्‍घन गर्ने कसैलाई सहनुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुहुने भए तापनि, उहाँले तिनीहरूलाई पुलपुल्याउनुहुन्न। उहाँले मानिसहरूलाई उहाँको प्रेम, उहाँको कृपा र उहाँको सहनशीलता दिनुहुन्छ, तर उहाँले तिनीहरूलाई कहिले पनि काखी च्याप्ने गर्नुभएन; परमेश्‍वरसँग उहाँका सिद्धान्तहरू र उहाँका सीमाहरू छन्। तैँले परमेश्‍वरको जतिसुकै प्रेम महसुस गरेको भए तापनि, त्यो प्रेम जतिसुकै गहिरो भए तापनि तैँले परमेश्‍वरलाई कहिले पनि अर्को व्यक्तिलाई जस्तो व्यवहार गर्नु हुँदैन। परमेश्‍वरले मानिसहरूलाई अत्यन्तै घनिष्ठताका साथ व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा साँचो भए तापनि, यदि कुनै व्यक्तिले परमेश्‍वरलाई अर्को व्यक्तिको रूपमा मात्र, उहाँ सृष्टि गरिएको कुनै अर्को प्राणी हुनुभए जसरी, एक जना मित्र वा पूजा गरिने वस्तुको रूपमा मात्र हेर्छ भने, परमेश्‍वरले तिनीहरूबाट आफ्नो मुहार लुकाउनुहुनेछ र तिनीहरूलाई त्याग्‍नुहुनेछ। यो उहाँको स्वभाव हो र मानिसहरूले यस विषयलाई लापरवाही भएर लिनु हुँदैन। यसैले, हामीले प्रायजसो आफ्नो स्वभावको बारेमा परमेश्‍वरले बोल्‍नुभएका यस्ता वचनहरू देख्छौं: तैँले कति ओटा मार्गहरू यात्रा गरेको छस्, तैँले कति काम गरेको छस् वा तैँले कति कष्ट भोगेको छस् भन्‍ने कुराले फरक पार्दैन, तैँले परमेश्‍वरको स्वभावलाई चिढ्याइस् भने उहाँले तिमीहरू हरेकलाई तिमीहरूले गरेको कामको आधारमा बदला लिनुहुनेछ। यसको अर्थ यही हो कि परमेश्‍वरले मानिसहरूलाई अत्यन्तै घनिष्ठताका साथ व्यवहार गर्नुहुन्छ, तथापि मानिसहरूले परमेश्‍वरलाई एक मित्र वा आफन्तको रूपमा व्यवहार गर्नु हुँदैन। परमेश्‍वरलाई तेरो “दोस्त” नभन्। उहाँबाट तैँले जतिसुकै प्रेम प्राप्त गरेको भए तापनि, उहाँले तँलाई जतिसुकै सहन गर्नुभए तापनि तैँले परमेश्‍वरलाई कहिले पनि मित्रको रूपमा व्यवहार गर्नु हुँदैन। यो परमेश्‍वरको धर्मी स्वभाव हो। के तिमीहरूले बुझ्दै छौ? के मैले यसबारेमा अझै केही बताउनुपर्छ? के यो विषयमा तिमीहरूसित कुनै पूर्व-बुझाइ रहेको छ? सामान्य रूपमा भन्दा, यो मानिसहरूले सजिलै गर्ने गल्ती हो, चाहे तिनीहरूले धर्मसिद्धान्तहरू बुझून् कि नबुझून् वा तिनीहरूले यो विषयको बारेमा पहिले कहिल्यै चिन्तन गरेका हुन् कि नहुन्। जब मानिसहरूले परमेश्‍वरलाई ठेस पुर्‍याउँछन्, कुनै एउटा घटना वा तिनीहरूले बोलेको कुनै एउटा कुराले त्यस्तो भएको नहुन सक्छ, बरु तिनीहरूको मनोवृत्ति वा तिनीहरू जुन स्थितिमा छन् त्यो स्थितिको कारण त्यस्तो भएको हुन सक्छ। यो एकदमै डरलाग्दो कुरा हो। केही मानिसहरू तिनीहरूसँग परमेश्‍वरको बुझाइ छ, तिनीहरूसँग उहाँको बारेमा केही ज्ञान छ, र तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्ने केही काम-कुराहरू समेत गर्न सक्छन् भनी विश्‍वास गर्छन्। तिनीहरूले आफू परमेश्‍वरको बराबरी भएको र तिनीहरूले चलाखी पूर्वक आफूलाई परमेश्‍वरसँगको मित्रतासम्म पुर्‍याएको अनुभूति गर्न थाल्छन्। यस प्रकारका अनुभूतिहरू भयानक रूपमा गलत छन्। यदि तँसँग यसबारेमा गहन बुझाइ छैन भने—यदि तैँले यसलाई स्पष्टसँग बुझ्दैनस् भने—तैँले सजिलैसँग परमेश्‍वरलाई र उहाँको धर्मी स्वभावलाई ठेस पुर्‍याउन सक्छस्। तैँले अब यो कुरा बुझ्छस्, होइन त? के परमेश्‍वरको धर्मी स्वभाव अद्वितीय छैन त? के यो कहिल्यै कुनै मानिसको चरित्र वा नैतिक कद समान हुन सक्छ र? यो कहिल्यै पनि त्यस्तो हुन सक्दैन। त्यसकारण, चाहे परमेश्‍वरले मानिसहरूलाई जे-जसरी व्यवहार गर्नुभएको नै किन नहोस् वा उहाँले मानिसहरूका बारेमा जे-जस्तो सोच्नुभएको नै किन नहोस्, परमेश्‍वरको स्थान, अख्तियार, र पहिचान परिवर्तन कहिल्यै हुँदैन भन्‍ने कुरालाई तैँले कहिल्यै बिर्सनु हुँदैन। मानवजातिको लागि, परमेश्‍वर सधैँ नै यावत् थोकका प्रभु र सृष्टिकर्ता हुनुहुन्छ।

परमेश्‍वरको पवित्रताको बारेमा तिमीहरूले के सिकेका छौ? “परमेश्‍वरको पवित्रता” बारेको त्यो भागमा, शैतानको दुष्टतालाई प्रतिभारको रूपमा प्रयोग गरिएको तथ्यको अलावा, परमेश्‍वरको पवित्रताबारेको हाम्रो छलफलको मुख्य विषयवस्तु के थियो? के यो परमेश्‍वरसँग जे छ र उहाँ जे हुनहुन्छ भन्‍ने होइन र? के परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो परमेश्‍वरसँग मात्र भएको अद्वितीय कुरा हो? (हो।) यो त्यो कुरा हो जुन सृष्टि गरिएका प्राणीहरूमा छैन। त्यसकारण हामी परमेश्‍वरको पवित्रता अद्वितीय छ भनेर भन्छौं। यो तिमीहरूले बुझ्नुपर्ने कुरा हो। हामीले परमेश्‍वरको पवित्रताको विषयमा तीन वटा भेलाहरू आयोजना गर्‍यौं। तिमीहरूले परमेश्‍वरको पवित्रतालाई के हो भनी विश्‍वास गर्छौ, के तिमीहरूले आफ्नै शब्दहरूमा, तिमीहरूको आफ्नै बुझाइद्वारा व्याख्या गर्न सक्छौ? (पछिल्लो समय परमेश्‍वरले हामीसँग कुराकानी गर्नुहुँदा हामी उहाँसामु निहुरेका थियौं। परमेश्‍वरले हामीलाई उहाँको आराधना गर्नको लागि लम्पसार पर्नु र निहुरिने कार्यको बारेमा सत्यता सङ्गति गर्नुभएको थियो। हामीले देख्यौं कि उहाँले तोक्नुभएका आवश्यक मापदण्डहरू पूरा नगरीकन उहाँको आराधना गर्न निहुरनु उहाँको इच्छाअनुसारको कार्य होइन, र यसबाट हामीले परमेश्‍वरको पवित्रता देख्यौं।) एकदमै साँचो। अरू केही पनि छन् कि? (मानवजातिको लागि परमेश्‍वरले बोल्नुभएका वचनहरूमा, हामी उहाँले सरल र स्पष्ट रूपमा बोल्नुभएको देख्छौं। उहाँले सीधा र प्रासङ्गिक कुरा गर्नुहुन्छ। शैतानले घुमाउरो पारामा कुरा गर्छ, र त्यसका कुराहरू झूटै झूटले भरिएका हुन्छन्। गत समय हामी परमेश्‍वरसमक्ष लम्पसार पर्दा जे भयो त्यसबाट हामीले उहाँका वचन र उहाँका कार्यहरू सधैँ नै सिद्धान्तबद्ध हुन्छन् भन्‍ने देख्यौं। हामीले कसरी व्यवहार गर्नुपर्छ, हामीले कसरी अवलोकन गर्नुपर्छ र हामीले कसरी अभ्यास गर्नुपर्छ भन्‍नेबारेमा उहाँले हामीलाई बताउनुहुँदा उहाँले सधैँ स्पष्ट र संक्षिप्त रूपले बताउनुहुन्छ। तर मानिसहरू त्यस तरिकाका हुँदैनन्। शैतानद्वारा मानवजातिलाई भ्रष्ट तुल्याइएदेखि, तिनीहरूले तिनीहरूका आफ्नै व्यक्तिगत आशय र उद्देश्यहरू र मन-मस्तिष्कमा भएका तिनीहरूका आफ्नै अभिलाषाहरू अनुसार व्यवहार गर्दै र बोल्दै आएका छन्। परमेश्‍वरले मानवजातिलाई हेरविचार, वास्ता र सुरक्षा गर्नुहुने शैलीबाट, हामी के देख्‍छौं भने, परमेश्‍वरले गर्नुहुने सबै सकारात्मक र स्पष्ट छ। यही तरिकामा हामी परमेश्‍वरको पवित्रताको सार प्रकट भएको देख्छौं।) राम्रो भनाइ! कोही अरूलाई केही थप्नु छ कि? (परमेश्‍वरबाट शैतानको दुष्ट सार खुलासा भएको तथ्यमार्फत हामी परमेश्‍वरको पवित्रता देख्छौं, हामी शैतानको दुष्टताको बारेमा अझै बढी ज्ञान हासिल गर्छौं, र हामी मानवजातिका दुःखकष्टका स्रोतहरू देख्छौं। विगतमा, हामी शैतानको सत्ताअन्तर्गत मानिसको दुःखकष्टको बारेमा अनभिज्ञ थियौं। परमेश्‍वरले यो कुरा खुलासा गर्नुभएपछि मात्र हामीले ख्याति र सम्पत्तिको खोजीबाट आउने सबै दुःखकष्ट शैतानको काम हो भन्‍ने देख्यौं। त्यसपछि मात्र हामीले परमेश्‍वरको पवित्रता नै मानवजातिको साँचो मुक्ति हो भन्‍ने अनुभूति गर्‍यौं।) यसमा थप्नुपर्ने अरू कुनै कुरा छ? (भ्रष्ट मानवजातिमा परमेश्‍वर सम्‍बन्धी साँचो ज्ञान र उहाँप्रतिको साँचो प्रेमको कमी छ। हामीले परमेश्‍वरको पवित्रताको सार नबुझ्ने हुनाले, र हामी उहाँको आराधना गर्न लम्पसार पर्दा र निहुरिँदा हामीले अपवित्र विचारहरू र गुप्त आशयहरूका साथ त्यसो गर्ने हुनाले, परमेश्‍वर बेखुसी हुनुहुन्छ। हामी देख्न सक्छौं कि परमेश्‍वर शैतानभन्दा फरक हुनुहुन्छ; शैतानले मानिसहरूले त्यसको आदर र प्रशंसा गरून्, त्यसलाई आराधना गर्न लम्पसार परून् र निहुरिऊन् भन्‍ने चाहन्छ। शैतानसँग कुनै पनि सिद्धान्तहरू छैनन्। यसबाट पनि मलाई परमेश्‍वरको पवित्रताको बारेमा थाहा भएको छ।) एकदमै राम्रो! अहिले हामीले परमेश्‍वरको पवित्रताको बारेमा सङ्गति गरिसकेको हुनाले, के तिमीहरूले परमेश्‍वरको सिद्धता देख्न सक्छौ? के तिमीहरू परमेश्‍वर कसरी सबै सकारात्मक कुराहरूको स्रोत हुनहुन्छ भन्‍ने देख्छौ? के तिमीहरूले परमेश्‍वर कसरी सत्यता र न्यायको प्रतिरूप हुनुहुन्छ भन्‍ने कुरा देख्न सक्छौ? के तिमीहरू परमेश्‍वर कसरी प्रेमको स्रोत हुनहुन्छ भन्‍ने देख्छौ? के तिमीहरू परमेश्‍वरले गर्नुहुने सबै कुरा, उहाँले व्यक्त गर्नुहुने सबै कुरा, र उहाँले प्रकट गर्नुहुने सबै कुरा त्रुटिरहित छन् भन्‍ने देख्छौ? (हामी देख्छौं।) मैले परमेश्‍वरको पवित्रताको बारेमा भनेको कुराका मुख्य बुँदाहरू यिनै हुन्। आज यी वचनहरू तिमीहरूलाई धर्मसिद्धान्तजस्तै लाग्न सक्छन्, तर एक दिन तैँले जब उहाँका वचन र उहाँका कामबाट साँचो परमेश्‍वर स्‍वयम्‌लाई अनुभव गर्छस् र प्रत्यक्ष देख्छस्, तब तैँले तेरो हृदयको अन्तस्करणबाट परमेश्‍वर पवित्र हुनुहुन्छ, परमेश्‍वर मानवजातिभन्दा फरक हुनुहुन्छ, र उहाँको हृदय, स्वभाव र सार सबै पवित्र छन् भनी भन्‍नेछस्। यो पवित्रताले मानिसलाई परमेश्‍वरको सिद्धता देख्ने तुल्याउँछ र परमेश्‍वरको पवित्रताको सार निष्कलङ्क छ भनी देख्ने तुल्याउँछ। परमेश्‍वरको पवित्रताको सारले उहाँ परमेश्‍वर स्वयम् अद्वितीय हुनुहुन्छ भन्‍ने निर्धारण गर्छ र यसले मानिसहरूलाई उहाँ परमेश्‍वर स्वयम् अद्वितीय हुनुहुन्छ भन्‍ने देखाउँछ र प्रमाणित पनि गर्छ। के मुख्य बुँदा यही होइन र? (हो, यही हो।)

आज हामीले अघिल्ला सङ्गतिहरूबाट लिइएका विभिन्न विषयहरूलाई संक्षिप्त रूपमा हेरेका छौ। यससँगै आजको पुनरावलोकन यहीँ समाप्त हुन्छ। मलाई आशा छ, तिमीहरू सबैले हरेक बुँदा र विषयका मुख्य कुराहरूलाई गम्भीर रूपमा लिनेछौ। तिनीहरूलाई केवल धर्मसिद्धान्तको रूपमा नलेओ; जब तिमीहरूसँग केही फुर्सदको समय हुन्छ, तब तिमीहरू तिनलाई ध्यान दिएर पढ र मनन गर। तिनलाई तिमीहरूको हृदयमा कण्ठस्थ पारी राख र तिनलाई वास्तविकतामा उतार—त्यसपछि तैँले परमेश्‍वरले उहाँको स्वभाव प्रकट गर्नुभएको र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुभएको वास्तविकताको बारेमा मैले बताएका सबै कुराहरूलाई साँच्चै नै अनुभव गर्नेछस्। तैपनि, यदि तैँले तिनीहरूलाई आफ्नो स्मरण-पुस्तिकामा लेखेर मात्रै राख्छस् तर तिनीहरूलाई पढ्दैनस् वा मनन गर्दैनस् भने, तैँले तिनीहरूलाई कहिल्यै पनि आफ्नो लागि प्राप्त गर्नेछैनस्। तिमीहरूले अहिले बुझ्यौ, होइन? यी तीन विषयमा कुराकानी गरिसकेपछि, मानिसहरूले परमेश्‍वरको पहिचान, सार, र स्वभावको बारेमा सामान्य—वा विशिष्टसमेत—बुझाइ प्राप्त गरिसकेपछि, के परमेश्‍वर सम्‍बन्धी तिनीहरूको बुझाइ पूर्ण हुन्छ? (हुँदैन।) अहिले, परमेश्‍वर सम्‍बन्धी तिमीहरूको आफ्नो बुझाइमा, तिमीहरूलाई गहन बुझाइको आवश्यकता छ भन्‍ने तिमीहरूलाई लाग्‍ने अन्य कुनै क्षेत्रहरू छन्? भन्नुको अर्थ, अहिले तैँले परमेश्‍वरको अख्तियार, उहाँको धर्मी स्वभाव, र उहाँको पवित्रताको बारेमा बुझाइ हासिल गरिसकेको हुनाले, सायद तेरो मनमस्तिष्कमा उहाँको अद्वितीय पहिचान र स्थान स्थापित भयो होला; तैपनि उहाँका कार्यहरू, उहाँको शक्ति, र उहाँको सारलाई तैँले तेरो आफ्नै अनुभवद्वारा हेर्ने, बुझ्ने र तीबारे ज्ञान लिने कामचाहिँ बाँकी नै छ। अहिले तिमीहरूले यी सङ्गतिहरू सुनिसकेको हुनाले, तिमीहरूको हृदयमा परमेश्‍वर साँच्चै अस्तित्वमा हुनुहुन्छ र उहाँले यावत् थोकमाथि शासन चलाउनुहुन्छ भन्‍ने दृढ विश्‍वास करिबकरिब स्थापित भएको छ। कसैले पनि उहाँको धर्मी स्वभावको उल्लङ्घन गर्न सक्दैन; उहाँको पवित्रता यस्तो निश्चितता हो जसलाई कसैले पनि सवाल गर्न सक्दैन। यिनीहरू तथ्य हुन्। यी सङ्गतिहरूले परमेश्‍वरको पहिचान र स्थानलाई मानिसको हृदयमा जग बसाउन दिन्छन्। यस्तो जग स्थापित भइसकेपछि, मानिसहरूले अझै बढी बुझ्ने प्रयास गर्नुपर्छ।

कथा १: एउटा बीउ, पृथ्वी, एउटा रुख, सूर्यको प्रकाश, चराहरू र मान्छे

आज म तिमीहरूको माझमा एउटा नयाँ शीर्षकको बारेमा सङ्गति गर्नेछु। यो शीर्षक के हो? यसको शीर्षक: “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने हो। के यो शीर्षक अलिक ठूलो सुनिन्छ? के यो तिमीहरूको पहुँचभन्दा केही परको भएजस्तो लाग्छ? “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ”—यो शीर्षक केही दूरको कुरा जस्तो सुनिन्छ, तर परमेश्‍वरलाई पछ्याउने सबैले यो कुरा बुझेको हुनुपर्दछ किनभने यो कुरा परमेश्‍वर सम्‍बन्धी प्रत्येक व्यक्तिको ज्ञान र परमेश्‍वरलाई सन्तुष्ट पार्ने र डर मान्‍ने तिनीहरूको क्षमतासँग अलग्याउन नसक्ने गरी जोडिएको हुन्छ। त्यसैले म यस विषयमा सङ्गति गर्दैछु। यो शीर्षकको बारेमा मानिसहरूसँग सामान्य, पूर्व जानकारी हुनसक्छ वा शायद मानिसहरू यसको बारेमा केही हदसम्म जानकार हुनसक्छन्। केही मानिसहरूको दिमागमा यो ज्ञान वा चेतनाको साथमा सामान्य वा सतही स्तरको बुझाइ रहेको हुनसक्छ। अरूले आफ्‍नो हृदयमा केही विशेष अनुभवहरू गरेका हुनसक्छन् जसले उनीहरूलाई यस विषयमा गहिरो, व्यक्तिगत विचार गर्न प्रेरित गरेको हुन्छ। तर यस्तो पूर्व ज्ञान, गहिरो वा सतही जस्तोसुकै भए तापनि एकतर्फी हुन्छ र पर्याप्त मात्रामा स्पष्ट हुँदैन। त्यसैले, सङ्गतिको लागि मैले यो शीर्षकको छनौट गरेको हुँ: तिमीहरूमा गहिरो र अझै स्पष्ट बुझाइको विकास गर्न सहयोग गर्न। यो शीर्षकको विषयमा तिमीहरूसँग सङ्गति गर्न म विशेष विधिको प्रयोग गर्नेछु, यस्तो विधि जसको प्रयोग हालसम्म भएको छैन, यस्तो विधि जुन तिमीहरूलाई अलि असामान्य वा असहज लाग्न सक्छ। मैले के भन्न खोजेको हो भनेर तिमीहरूले केही समयपछि थाहा पाउनेछौ। के तिमीहरूलाई कथा मनपर्छ? (हामीलाई मनपर्छ।) अब, यस्तो देखिन्छ कि कथा सुनाउने मेरो चयन राम्रो हो किनकी तिमीहरू सबैलाई कथा धेरै मन पर्छ। अब, सुरु गरौं। यो विषयमा तिमीहरूले कुनै टिपोट गर्नुपर्दैन। म तिमीहरूलाई शान्त हुन र व्यग्र नहुन आग्रह गर्दछु। आफ्‍नो वरिपरिको वातावरण वा मानिसहरूबाट आफू बहकिन्छु जस्तो लाग्छ भने तिमीहरूले आफ्नो आँखा बन्द गर्न सक्‍नेछौ। तिमीहरूलाई सुनाउन मसँग राम्रो कथा छ। यो कथा एउटा बीउ, पृथ्वी, एउटा रुख, सूर्यको प्रकाश, चराहरू र मान्छेको बारेमा हो। यसका मुख्य चरित्रहरू को हुन्? (एउटा बीउ, पृथ्वी, एउटा रुख, सूर्यको प्रकाश, चराहरू र मान्छे।) के परमेश्‍वर यिनीहरूमध्ये कोही एक हो? (होइन।) यति हुँदाहुँदै पनि, यो कथा सुनिसकेपछि तिमीहरू आनन्दित र सन्तुष्ट भएको अनुभव गर्नेछौ भन्‍नेमा म ढुक्क छु। अब, कृपया शान्त भएर सुन।

एउटा सानो बीउ पृथ्वीमा खस्यो। ठूलो पानी पर्‍यो, र बीउबाट एउटा कोमल टुसा पलायो अनि यसका जरा बिस्तारै तलको माटोभित्र छिर्‍यो। समयसँगै, निर्दयी हावा र कठोर वर्षा झेल्दै, जूनको उज्यालो र अँध्यारो भाग बिस्तारै घट्ने, बढ्ने क्रमसँगै परिवर्तन भएका ऋतुहरूलाई हेर्दै टुसा हुर्कियो। ग्रीष्म याममा, टुसाले यस ऋतुको प्रखर रापलाई झेल्न सकोस् भनेर पृथ्वीले पानीको उपहार ल्याइदियो। र पृथ्वीकै कारण, टुसा गर्मीले आत्तिएन, र यसरी ग्रीष्म यामको कहाली लाग्दो गर्मी टर्‍यो। जब हिउँद आयो, पृथ्वीले टुसालाई आफ्नो न्यानो अङ्गालोमा बाँध्यो, र पृथ्वी र टुसाले एक-अर्कालाई बलियो गरेर पक्रिए। पृथ्वीले टुसालाई न्यानो बनाई राख्यो, त्यसैले हिउँदको कठोर जाडोमा पनि टुसा बाँच्न सफल भयो; टुसालाई हिउँदको चिसो बतास र हिम-आँधीले कुनै क्षति पुर्‍याएन। पृथ्वीमा आश्रित टुसा हुर्किएर साहसी र खुशी भयो; पृथ्वीको निःस्वार्थ पोषणले गर्दा हुर्केर स्वस्थ र बलियो भयो। खुशीसाथ यो हुर्कियो, वर्षामा गाउँदै, बतासमा झुल्दै र नाच्दै। टुसा र पृथ्वी एक-अर्कामा निर्भर हुन्छन् …

वर्षहरू बिते, र टुसा हुर्किएर एउटा अग्लो रुख बन्यो। यो असङ्ख्य पातहरू भएका बलिया हाँगासहित पृथ्वीमाथि बलियो भएर उभियो। रुखका जराहरू पहिलेको जस्तै अझै पनि पृथ्वीको मुनि नै गाडिएका थिए, र अहिले यी जराहरू माटोको निकै तलसम्म पुगे। कुनै ताका सानो टुसा जोगाएको पृथ्वी अहिले महान रुखको आधार भएको थियो।

सूर्यको एउटा किरण रुखमा परेर टल्कियो। रुखले आफ्नो शरीर हल्लायो र परसम्म फैलिने गरी आफ्ना हात फैलायो र सूर्यको प्रकाशले उज्यालो बनाएको हावामा गहिरो सास फेर्‍यो। सोही समयमा रुखभन्दा तलको भुइँले पनि सास फेर्‍यो र पृथ्वीले ताजा भएको अनुभव गर्‍यो। त्यही बेला, हाँगाबाट हुँदै एउटा बतास बग्यो, र रुख ऊर्जाको लहर पैदा गर्दै आनन्द भावमा हल्लियो। रुख र सूर्यको प्रकाश एक-आपसमा निर्भर हुन्छन् …

मान्छेहरू रुखको शीतल छहारीमा बसे र फुर्तिलो, सुगन्धमय हावाको आनन्द उठाए। हावाले उनीहरूको मुटु र फोक्सोलाई सफा बनायो, र उनीहरूभित्र रहेको रगतलाई सफा बनायो, र उनीहरूको शरीर अब सुस्त वा अवरुद्ध रहेन। मान्छे र रुख एक-आपसमा निर्भर हुन्छन् …

चिरबिर गर्ने स-साना चराहरूको एउटा झुण्ड रुखको हाँगाहरूमा आएर बसे। शायद, उनीहरू त्यहाँ कुनै परभक्षीबाट जोगिन वा उनीहरूको बच्चा जन्माउन र हुर्काउन आएका थिए, वा शायद उनीहरू त्यहाँ केही समयका लागि विश्राम लिन मात्रै आएका थिए। चरा र रुख एक-आपसमा निर्भर हुन्छन् …

रुखका जराहरू, बाङ्गिदै र बटारिँदै, पृथ्वीको तलसम्म गाडिए। यसको मूल काण्डद्वारा यसले पृथ्वीलाई हावा र वर्षाबाट आश्रय दियो, र यसको फैलिएका जराहरूले रुखको फेदमुनि रहेको पृथ्वीको रक्षा गरे। पृथ्वी रुखको आमा भएकाले रुखले यसो गरेको हो। उनीहरूले एक-अर्कालाई सुदृढ बनाए र एक-आपसमा निर्भर रहे, र उनीहरू कहिल्यै छुट्टिने छैनन् …

र यसरी, यो कथाको अन्त्य हुन्छ। मैले सुनाएको कथा एउटा बीउ, पृथ्वी, एउटा रुख, सूर्यको प्रकाश, चराहरू र मान्छेको बारेमा थियो। यसमा थोरै मात्र दृश्यहरू थिए। यो कथाले तिमीहरूमा कस्तो छाप छोड्यो? मैले यसो भनिरहँदा, के तिमीहरूले मैले भनेको कुरा बुझ्यौ? (हामीले बुझ्यौं।) कृपया, आफ्ना भावनाका बारेमा कुरा गर। यो कथा सुनेर तँलाई कस्तो अनुभव भयो? योभन्दा अघि मैले भन्नुपर्छ कि कथामा भएका सबै चरित्रहरूलाई छुन वा हेर्न सकिन्छ, उनीहरू वास्तविक वस्तु हुन्, कुनै अलङ्कार होइनन्। मेरो कथाभित्र कुनै पनि गुप्त विषय छैन, र यस कथाका मुख्य बुँदाहरूलाई कथाका केही वाक्यद्वारा नै व्यक्त गर्न सकिन्छ। (हामीले सुनेको कथाले एउटा सुन्दर चित्र कोर्दछ। एउटा बीउले टुसा हाल्छ र हुर्किएसँगै यसले वर्षका चारवटा ऋतुहरूको अनुभव गर्छ: वसन्त, ग्रीष्म, शरद र हिउँद। कुनै आमाले जस्तै गरी पृथ्वीले टुसा हाल्दै गरेको बीउको पालनपोषण गर्दछ। टुसाले चिसो कटाउन सकोस् भनेर यसले टुसालाई हिउँदमा न्यानो बनाउँछ। टुसा हुर्किएर रुख भएपछि, सूर्यको एउटा किरणले यसको हाँगामा छुन्छ जसले अत्यन्तै हर्ष ल्याउँछ। परमेश्‍वरका सिर्जनाहरूको प्रचुरतामा, म पृथ्वीलाई पनि जीवन्त देख्दछु, र पृथ्वी र रुख एक-अर्कामा निर्भर छन्। म सूर्यको किरणले रुखलाई दिने उत्कृष्ट न्यानोपन पनि देख्छु, र सामान्य प्राणी भए पनि चराहरू रुख र मान्छेहरूसँगै सहिष्णुताको एउटा सिद्ध चित्रमा सँगै आएको म देख्छु। मैले यो कथा सुनेपछि मेरो मनमा आएका भावनाहरू यिनै हुन्; यी सबै कुराहरू वास्तवमा जीवित नै छन् भन्‍ने म अनुभव गर्दछु।) धेरै राम्ररी भन्नुभयो। के अरू कसैलाई केही कुरा थप्न मन छ? (यो बीउ उम्रने र अग्लो रुखमा हुर्किने कथामा, म परमेश्‍वरको सिर्जनाको चमत्कार देख्छु। परमेश्‍वरले सबै कुराहरू एक-अर्कालाई सुदृढ बनाउने र एक-अर्कामा निर्भर रहने गरी बनाउनुभएको छ र सबै कुराहरू जोडिएका छन् र एक-अर्कालाई सेवा गर्छन् भन्‍ने कुरा देख्छु। म परमेश्‍वरको बुद्धि, उहाँको चमत्कारलाई देख्‍छु र उहाँ सबै कुराका जीवनको स्रोत हुनुहुन्छ भन्‍ने देख्छु।)

मैले भर्खरै गरेका सबै कुराहरू तिमीहरूले पहिले नै देखेका कुराहरू हुन्। उदाहरणका लागि, बीउहरू हुर्केर रुख बन्छन्, र यो प्रक्रियाको प्रत्येक विवरण तैँले देख्न नसके पनि, यही हुन्छ भनेर तँलाई थाहा हुन्छ, होइन त? तँलाई पृथ्वी र सूर्यको प्रकाशका बारेमा पनि थाहा छ। कुनै पनि रुखमा बसेका चराहरूको दृश्य सबैले देखेको छ, होइन र? र रुखको छहारीमा मानिसहरू बसेर शीतल तापेको दृश्य—तिमीहरू सबैले देखेको दृश्य हो, होइन? (हो।) तसर्थ, यी सबै कुराहरू एउटै चित्रको रूपमा प्रस्तुत हुँदा, उक्त चित्रले कस्तो भावनाको सिर्जना गर्दछ? (सहिष्णुताको भावना।) यस्तो कुनै चित्रमा भएका प्रत्येक कुराहरू के परमेश्‍वरबाट नै आएका हुन्? (हुन्।) यी चिजहरू परमेश्‍वरबाट आएका हुनाले, यी विभिन्न कुराहरूको सांसारिक अस्तित्वको मूल्य र महत्त्व परमेश्‍वरलाई थाहा छ। जब परमेश्‍वरले यी सबै कुराहरूको सिर्जना गर्नुभयो, जब प्रत्येक कुराको योजना र सिर्जना गर्नुभयो, उहाँले उद्देश्यका साथ गर्नुभयो; र जब उहाँले यी कुराहरूको सिर्जना गर्नुभयो, प्रत्येकमा जीवन भरिएको थियो। मानवजातिको अस्तित्वका लागि उहाँले सिर्जना गर्नुभएको वातावरणमा, हाम्रो कथामा व्याख्या गरिएजस्तै, एउटा बीउ र पृथ्वी एक-अर्कामा निर्भर हुन्छन्, जहाँ पृथ्वीले बीउलाई पोषण प्रदान गर्दछ र बीउहरू पृथ्वीसँग जोडिएका हुन्छन्। यो सम्बन्ध परमेश्‍वरले गर्नुभएको सृष्टिको सुरुवातमा उहाँबाट आज्ञा भएको हो। रुख, सूर्यको प्रकाश, चराहरू र मान्छेहरू मानवजातिका लागि परमेश्‍वरले सिर्जना गर्नुभएको जीवन्त वातावरणको एक चित्रण हो। पहिलो कुरा, रुखले पृथ्वी छोड्न सक्दैन न सूर्यको प्रकाशविना यो बाँच्न नै सक्छ। त्यसो भए, रुखको सिर्जना गर्नुको प्रभुको उद्देश्य के थियो त? के यो पृथ्वीको लागि मात्रै थियो भनेर हामी भन्न सक्छौं? के यो चराहरूको लागि मात्रै थियो भनेर हामी भन्न सक्छौं? के यो मान्छेहरूका लागि मात्रै थियो भनेर हामी भन्न सक्छौं? (सक्दैनौं।) यिनीहरू बीचको सम्बन्ध के हो? उनीहरू बीचको सम्बन्ध परस्पर सुदृढ बनाउने, अन्तरनिर्भरता तथा अविभाज्यता हो। यसको अर्थ, पृथ्वी, रुख, सूर्यको किरण, चराहरू तथा मान्छेहरू अस्तित्व तथा पालन पोषणका लागि एक-अर्कामा निर्भर रहेका हुन्छन्। रुखले पृथ्वीको रक्षा गर्दछ, र पृथ्वीले रुखको पालन पोषण गर्दछ; सूर्यको किरणले रुखलाई पोषण प्रदान गर्दछ भने रुखले सूर्यको किरणबाट ताजा हावा लिन्छ र सूर्यबाट पृथ्वीमा पर्ने प्रचण्ड गर्मीलाई कम गर्दछ। यसबाट अन्त्यमा कसले लाभ लिन्छ? मानवजातिले, होइन त? यो मानवजाति जिउने, अर्थात् परमेश्‍वरले सिर्जना गर्नुभएको वातावरणसँग अन्तर्निहित रहेका सिद्धान्तहरू मध्येको एक हो; प्रारम्भदेखि प्रभुले राख्नुभएको अभिप्राय पनि यही नै हो। यो चित्र सामान्य देखिए तापनि, हामीले यसभित्र परमेश्‍वरको बुद्धि तथा अभिप्रायलाई देख्न सक्छौं। मानवजाति पृथ्वी वा रूखहरूविना बाँच्न सक्दैन, र चराहरू र सूर्यको प्रकाशविना बाँच्‍न त एकदमै गाह्रो पर्दछ। होइन त? यो एउटा कथा मात्रै भए तापनि, स्वर्ग र पृथ्वी र सबै थोक र मानवजाति बाँच्न सक्ने वातावरणको रूपमा रहेको उहाँको उपहारको सूक्ष्म रूपलाई यसले चित्रण गर्दछ।

परमेश्‍वरले मानवजातिका लागि स्वर्ग र पृथ्वी र यावत् थोकका साथै बसोबास गर्ने वातावरण सृष्टि गर्नुभयो। सुरुमा, हाम्रो कथाको मुख्य बुँदाले परस्पर सुदृढीकरण, अन्तर्निर्भरता र सबै कुराहरूको सहअस्तित्वको बारेमा सम्बोधन गर्‍यो। यो सिद्धान्तअन्तर्गत, मानवजातिको अस्तित्व रहेको वातावरणको रक्षा हुन्छ; यो अस्तित्वमा रहन र दिगो हुन सक्छ। यसैको कारण, मानवजातिले प्रगति तथा प्रजनन गर्न सक्छ। हामीले देखेको चित्र रूख, पृथ्वी, सूर्यको प्रकाश, चराचुरुङ्गी र मान्छे सँगसँगै भएको चित्र हो। के यो चित्रमा परमेश्‍वर हुनुहुन्छ? त्यहाँ कसैले पनि परमेश्‍वरलाई देखेन। तर उसले दृश्यमा भएका चीजहरूबीचको परस्पर सुदृढीकरण र अन्तर्निर्भरताको नियम देख्यो; यो नियममा परमेश्‍वरको अस्तित्व र सार्वभौमिकता देख्‍न सकिन्छ। परमेश्‍वरले सबै कुराहरूको जीवन र अस्तित्व जोगाउनका लागि यस्तो सिद्धान्त र यस्तो नियम प्रयोग गर्नुहुन्छ। यसरी, उहाँले यावत् थोक र मानवजातिको लागि आवश्यक कुराहरू प्रदान गर्नुहुन्छ। के यो कथा हाम्रो मुख्य विषयसँग सम्बन्धित छ? सतही रूपमा, यो सम्बन्धित नभएजस्तो देखिन्छ, तर वास्तवमा, जुन नियमअनुसार परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभयो ती नियमहरू र सबै थोकमाथिको उहाँको प्रभुत्व सबै थोकको लागि जीवनको स्रोत उहाँ नै हुनुहुन्छ भन्‍ने कुरासँग घनिष्ठ रूपमा जोडिएका छन्। यी तथ्यहरू अभिन्‍न छन्। अब, तिमीहरूले केही कुरा सिक्‍न सुरु गर्दै छौ!

परमेश्‍वरले यावत् थोक सञ्‍चालन गर्ने नियमहरूमाथि हुकुम चलाउनुहुन्छ; उहाँले यावत् थोकको अस्तित्वमाथि शासन गर्ने नियमहरूमाथि हुकुम चलाउनुहुन्छ; उहाँले सबै कुराहरू नियन्त्रण गर्नुहुन्छ, र ती कुराहरूलाई परस्पर मजबुतीकरण र निर्भरता हुने गरी मिलाउनुहुन्छ, ताकि तिनीहरू नष्ट वा लोप नहोऊन्। यसरी मात्रै मानवजाति बाँचिरहन सक्छ; यसरी मात्रै तिनीहरू परमेश्‍वरको मार्गनिर्देशनमा रही यस्तो वातावरणमा बाँचिरहन सक्छन्। परमेश्‍वर यी सबै कुराहरू सञ्‍चालन गर्ने नियमहरूको मालिक हुनुहुन्छ, र कसैले पनि यी नियमहरूमा हस्तक्षेप गर्न सक्दैन, न त यी नियमहरूलाई परिवर्तन नै गर्न सक्छ। यी नियमहरू परमेश्‍वरलाई मात्रै थाहा छ, र परमेश्‍वरले मात्रै यी नियमहरूको व्यवस्थापन गर्नुहुन्छ। रूखहरू कहिले उम्रन्छन्; वर्षा कहिले हुन्छ; पृथ्वीले बोटबिरुवालाई कति पानी र कति पोषक तत्त्वहरू दिन्छ; कुन ऋतुमा पातहरू झर्छन्; रूखहरूले कुन ऋतुमा फल दिन्छन्; सूर्यको किरणले रूखहरूलाई कति पोषण दिन्छ; सूर्यको किरण पाइसकेपछि रूखहरूले सासको रूपमा के छोड्छन्—यी सबै कुराहरू परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुहुँदा नै कसैले पनि तोड्न नसक्‍ने नियमहरूको रूपमा पूर्वनिर्धारित गर्नुभएको हो। परमेश्‍वरले सृष्टि गर्नुभएका ती सबै कुराहरू जीवित भए पनि, वा मानिसको नजरमा, निर्जीव भए पनि, उहाँकै हातमा छन्, उहाँले नै तिनीहरूलाई नियन्त्रण गर्नुहुन्छ र उहाँले नै तिनीहरूमाथि शासन गर्नुहुन्छ। कसैले पनि यी नियमहरू परिवर्तन गर्न वा तोड्न सक्दैन। यसो भन्‍नुको अर्थ, जब परमेश्‍वरले सबै कुरा सृष्टि गर्नुभयो, तब उहाँले पृथ्वीविना रूखले जरा हाल्न, उम्रन र बढ्न सक्दैन; यदि पृथ्वीमा कुनै रूखहरू छैनन् भने पृथ्वी सुक्खा हुन्छ; रूख चराहरूका लागि घर र तिनीहरूले हावाहुरीबाट बच्न आश्रय लिन सक्‍ने ठाउँ हुनुपर्छ भन्‍ने कुरा पूर्वनिर्धारित गर्नुभयो। के पृथ्वीबिना रूख बाँच्न सक्छ? अवश्य सक्दैन। के यो घाम र पानीबिना बाँच्न सक्छ? यीबिना पनि बाँच्न सक्दैन। यी सबै चिजहरू मानवजातिका लागि हुन्, मानवजातिको अस्तित्वका लागि हुन्। रूखबाट मानिसले ताजा हावा प्राप्त गर्छ, र पृथ्वीमा मानिस बस्छ, अनि पृथ्वीलाई रूखले रक्षा गर्छ। मानिस सूर्यको किरण वा विभिन्‍न जीवित प्राणीहरूविना बाँच्न सक्दैन। यी सम्बन्धहरू जटिल भए तापनि, तैँले के याद राख्‍नुपर्छ भने सबै चीजहरूले एकअर्कालाई मजबुत पार्न सकून्, एकआपसमा निर्भर रहन सकून् र सहअस्तित्व कायम गर्न सकून् भनेर यावत् थोकमाथि शासन गर्ने नियमहरू परमेश्‍वरले नै बनाउनुभएको हो। अर्को शब्दमा भन्‍नुपर्दा, उहाँले सृष्टि गर्नुभएका प्रत्येक चीजको आ-आफ्नै मूल्य र महत्त्व छ। यदि परमेश्‍वरले कुनै महत्त्वहीन चीजको सृष्टि गर्नुभएको भए, उहाँले उक्त चीजलाई लुप्त बनाइदिनुहुनेथ्यो। परमेश्‍वरले सबै चीजहरूका लागि प्रबन्ध गर्ने तरिकाहरू मध्येको एक यही हो। यो कथामा “प्रबन्ध गर्नु” ले केलाई बुझाउँछ? के परमेश्‍वरले रूखलाई प्रत्येक दिन पानी हाल्नुहुन्छ? के रूखलाई सास फेर्न परमेश्‍वरको सहयोगको आवश्यकता पर्छ? (पर्दैन।) यहाँ “प्रबन्ध गर्नु” ले सृष्टिपछि परमेश्‍वरले गर्नुभएका सबै चीजहरूको व्यवस्थापनलाई बुझाउँछ; सबै चीजहरूमाथि शासन गर्ने नियमहरू स्थापित गरिसकेपछि परमेश्‍वरले ती चीजहरूको व्यवस्थापन गर्नु मात्रै पनि पर्याप्त हुन्छ। पृथ्वीमा बीउ रोपेपछि, रूख आफैँ बढ्छ। यसको वृद्धिका सर्तहरू सबै परमेश्‍वरले नै तर्जुमा गर्नुभएको हो। परमेश्‍वरले घाम, पानी, माटो, हावा र वरिपरिको वातावरण बनाउनुभयो; परमेश्‍वरले हावा, शीत, हिउँ र वर्षा र चार ऋतुहरू बनाउनुभयो। यी सबै कुराहरू रूख हुर्कनको लागि आवश्यक सर्तहरू हुन्, र यी चीजहरूलाई परमेश्‍वरले नै तयार पार्नुभएको हो। त्यसैले, के परमेश्‍वर यस जीवित वातावरणको स्रोत हुनुहुन्छ? (हो, हुनुहुन्छ।) के परमेश्‍वरले दिनहुँ रूखहरूको हरेक पात गन्‍नुपर्छ? पर्दैन! न त परमेश्‍वरले रूखलाई सास फेर्न सहयोग गर्नुपर्छ न त “अब रूखहरूमा चम्किने समय भयो” भन्दै दिनहुँ सूर्यको किरणलाई जगाउनु नै आवश्यक हुन्छ। उहाँले त्यसो गरिराख्‍नु पर्दैन। उक्त नियमअनुसार, चम्किने समय भएपछि सूर्य आफै चम्कन्छ; यो देखा पर्छ र रूखमा चम्कन्छ र रूखले आवश्यक पर्दा सूर्यको प्रकाश ग्रहण गर्छ, र आवश्यक नपर्दा पनि रूख उक्त नियमभित्रै रहेर बाँचिरहेको हुन्छ। तिमीहरू यस प्रक्रियालाई स्पष्ट रूपमा व्याख्या गर्न सक्षम नहुन पनि सक्छौ, तथापि यो एउटा तथ्य हो, जसलाई सबैले देख्‍न र स्वीकार गर्न सक्छन्। तैँले गर्नुपर्ने कार्य भनेको सबै चीजहरूको अस्तित्वमाथि शासन गर्ने नियमहरू परमेश्‍वरबाट आउँछन् भन्‍ने कुरालाई पहिचान गर्नु, र सबै कुराको वृद्धि र अस्तित्वमाथि परमेश्‍वरको प्रभुत्व रहन्छ भन्‍ने कुरा थाहा पाउनु हो।

अब, के यो कथामा मानिसहरूले भन्‍ने गरेको “अलङ्कार” समेटिएको छ? के यो व्यक्तित्वकरण हो? (होइन।) मैले एउटा सत्य कथा सुनाएँ। हरप्रकारका जीवित प्राणीहरू, जीवन भएका हरेक कुरामाथि परमेश्‍वरले शासन गर्नुहुन्छ; प्रत्येक जीवित प्राणीको सृष्टि गर्नुहुँदा, परमेश्‍वरले तिनमा जीवन भरिदिनुभएको थियो; प्रत्येक जीवित प्राणीको जीवन परमेश्‍वरबाट आउँछ र यसले यसलाई निर्देशित गर्ने बाटो र नियम पछ्याउँछ। यसलाई मानिसले परिवर्तन गरिरहनु पर्दैन, न त यसलाई मानिसको मद्दतको नै आवश्यकता पर्छ; यो परमेश्‍वरको सबै चीजहरूका लागि प्रबन्ध गर्ने एउटा तरिका हो। तिमीहरूले बुझ्यौ, होइन त? के मानिसले यो कुरा पहिचान गर्नु आवश्यक छ भन्‍ने तिमीहरूलाई लाग्छ? (लाग्छ।) त्यसो भए, के जीवविज्ञानसँग यो कथाको कुनै सम्बन्ध छ? के यो ज्ञानको क्षेत्र वा सिकाइको शाखासँग कुनै हिसाबले सम्बन्धित छ? हामीले जीवविज्ञानको बारेमा छलफल गरिरहेका छैनौं, र अवश्य नै हामीले कुनै पनि जैविक शोध-अध्ययन गरिरहेका छैनौं। हाम्रो कुराकानीको मुख्य विषय के हो? (सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ।) तिमीहरूले यस सृष्टिमा के देखेका छौ? के तिमीहरूले रूखहरू देखेका छौ? के तिमीहरूले पृथ्वी देखेका छौ? (छौँ।) तिमीहरूले सूर्यको किरण देखेका छौ, होइन त? के तिमीहरूले रूखमा चराहरू बसेको देखेका छौ? (हामीले देखेका छौँ।) के यस्तो वातावरणमा बाँच्न पाउँदा मानवजाति खुशी छ? (छ।) यसो भन्‍नुको अर्थ, मानवजातिको घर, उनीहरूको जीवनको वातावरण बनाउन र सुरक्षा गर्नको लागि परमेश्‍वरले—आफूले सृष्टि गर्नुभएका—सबै चीज प्रयोग गर्नुहुन्छ। यस प्रकारले, परमेश्‍वरले मानवजाति र सबै कुराको लागि प्रबन्ध गर्नुहुन्छ।

यस कुराकानीको शैली, मैले गरिरहेको सङ्गतिको तरिका तिमीहरूलाई कस्तो लाग्‍यो? (यो बुझ्न सजिलो छ, र वास्तविक जीवनका धेरै उदाहरणहरू छन्।) मैले बोलेका यी शब्दहरू खोक्रा छैनन्, छन् त? सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भनेर बुझ्नका लागि के मानिसहरूलाई यो कथाको आवश्यकता छ? (छ।) उसो भए, अब हामी अर्को कथातर्फ अघि बढौं। अर्को कथाको विषयवस्तु अलि फरक छ, र कथाको चुरो कुरा पनि अलि फरक छ। यस कथामा देखा पर्ने सबै थोक परमेश्‍वरको सृष्टिमा मानिसले आफ्नै आँखाले देख्‍न सक्‍ने कुराहरू हुन्। अब, म मेरो अर्को कथा सुरु गर्छु। यसलाई शान्त भएर सुन र मेरा कुराको अर्थ पत्ता लगाउन सक्छौ कि सक्दैनौ, विचार गर। कथा सकिएपछि, तिमीहरूले के-कति सिक्यौ भनेर बुझ्नका लागि म तिमीहरूलाई केही प्रश्‍नहरू सोध्‍नेछु। यस कथाका पात्रहरू ठूलो हिमाल, सानो नदी, ठूलो हावा र विशाल छाल हुन्।

कथा २: ठूलो हिमाल, सानो नदी, ठूलो हावा र विशाल छाल

एउटा सानो नदी थियो, घुम्दै बहँदै, अन्ततः ठूलो हिमालको फेदीमा आइपुगेको थियो। हिमालले सानो नदीको बाटोलाई छेकिदियो, त्यसैले नदीले आफ्नो कमजोर, मधुरो आवाजमा हिमाललाई भन्यो, “कृपया मलाई जान दिनुहोस्। तपाईंहरू मेरो बाटोमा उभिनुभएको छ र मेरो अगाडिको बाटो रोकिरहनुभएको छ।” “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” हिमालले सोध्यो। “म मेरो घर खोजिरहेको छु,” नदीले जवाफ दियो। “ठीक छ, अगाडि बढ्नुहोस् र म माथिबाट नै बग्नुहोस्!” तर सानो नदी धेरै कमजोर र धेरै सानो थियो, त्यसैले त्यस्तो ठूलो हिमालमाथिबाट बगेर जाने नदीको सामर्थ्य थिएन। नदी हिमालको फेदमुनिबाट मात्रै बग्न सक्थ्यो …

बालुवा र धूलो बोकेको ठूलो हावा हिमाल उभिएको ठाउँमा आइपुग्यो। हावाले हिमालतर्फ गुहार लगायो, “मलाई पार गर्न दिनुहोस्!” “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” हिमालले सोध्यो। “म हिमालको अर्कोपट्टि जान चाहन्छु,” प्रतिक्रिया स्वरूप हावा ठूलो स्वरमा करायो। “ठीक छ, यदि तपाईं मेरो कम्मर भएको ठाउँबाट फुत्कन सक्नुहुन्छ भने, तपाईं जान सक्नुहुन्छ!” ठूलो हावा यता र उता मच्चियो तर त्यसले जे गरे पनि यो हिमालको कम्मरबाट फुत्किन सकेन। ठूलो हावा थामियो र आराम गर्न रोकियो—हिमालको अर्कोपट्टि, त्यहाँका मानिसहरूलाई खुशी बनाउँदै एकसरो बतास चल्न थाल्यो। यो मानिसहरूलाई हिमालले दिएको अभिवादन थियो …

सागरको किनारमा, सागरका छालहरू ढुङ्गे किनारमा बिस्तारै बटारिन थाले। अचानक, एउटा विशाल छाल उठ्यो र हिमालतिर गयो। “मेरो बाटोबाट हट्नुहोस्!” विशाल छाल करायो। “तपाईं कहाँ जाँदै हुनुहुन्छ?” हिमालले सोध्यो। अगाडि बढ्नबाट आफूलाई रोक्न असमर्थ हुँदै, छाल गर्जियो, “म आफ्नो क्षेत्र विस्तार गर्दैछु! म मेरा पाखुराहरू तन्काउन चाहन्छु!” “ठीक छ, यदि तपाईं मेरो चुचुरोमाथिबाट जान सक्नुहुन्छ भने, म तपाईंलाई जान दिनेछु।” विशाल छाल अलिकति पछाडि हट्यो र फेरि हिमालतिर ठूलो हुँदै अघि बढ्यो। तर जतिसुकै प्रयास गरे पनि, हिमालको चुचुरोमा पुग्न सकेन। छाल बिस्तारै सागरमा फर्कन मात्रै सक्थ्यो …

हजारौं वर्षसम्म, सानो नदी हिमालको फेदतिर बिस्तारै बग्दै गयो। हिमालको दिशा पछ्याउँदै, सानो नदीले घर फर्कने बाटो बनायो, यो ठूलो नदीमा मिसियो र नदी सागरमा। हिमालको हेरचाहले गर्दा, सानो नदीले कहिल्यै आफ्नो बाटो बिराएन। नदी र हिमालले एक-अर्कालाई सुदृढ गरेका थिए र एक-आपसमा निर्भर रहेका थिए; उनीहरू एक-अर्कालाई सुदृढ गर्थे, एक-अर्कालाई क्रिया-प्रतिक्रिया दिन्थे, अनि तिनीहरू सह-अस्तित्वमा रहेका थिए।

हजारौं वर्षमा, ठूलो हावा कराउँदै बटारियो, किनभने यो नै यसको बानी थियो। यो अझै बालुवाका ठूला फोहोराहरू आफूभित्र रुमल्याउँदै हिमाललाई “भेट्न” आउँथ्यो। हावाले हिमाललाई धम्की दियो, तर हिमालको कम्मर कहिल्यै भाँचिएन। हावा र हिमालले एक-अर्कालाई झनै सुदृढ गरेका थिए र तिनीहरू एक-अर्कामा निर्भर रहेका थिए; उनीहरू एक-अर्कालाई सुदृढ गर्थे, एक-अर्कालाई क्रिया-प्रतिक्रिया दिन्थे, अनि सह-अस्तित्वमा रहेका थिए।

हजारौं वर्षसम्म, विशाल छालले कहिल्यै विश्राम लिएन, र आफ्नो क्षेत्र निरन्तर विस्तार गर्दै यो अथक रूपमा अगाडि बढ्यो। छाल गर्जियो र हिमालतिर बारम्बार उकालो लाग्यो, तर हिमाल कहिल्यै एक इन्च पनि सरेन। हिमालले सागरलाई पहरा दियो, र यस प्रकारले, सागरमा भएका प्राणीहरू बढ्दै गए र फस्टाउँदै गए। छाल र हिमालले एक-अर्कालाई थप सुदृढ गरेका थिए र तिनीहरू एक-अर्कामा निर्भर रहेका थिए; उनीहरू एक-अर्कालाई सुदृढ गर्थे, एक-अर्कालाई क्रिया-प्रतिक्रिया दिन्थे, अनि सह-अस्तित्वमा रहेका थिए।

यसरी हाम्रो कथा टुंगिन्छ। सबभन्दा पहिले, मलाई भन, यो कथा केको बारेमा थियो? त्यसमा एउटा विशाल हिमाल, एउटा सानो खोला, एउटा भीषण बतास, र एउटा निकै ठूलो छाल थिए। पहिलो अनुच्छेदमा, सानो खोला र विशाल हिमालको बारेमा के भयो? किन मैले खोला र हिमालको बारेमा कुरा गर्ने निर्णय गरेँ त? (हिमालको हेरचाहमा खोलाले कहिल्यै पनि बाटो बिराएन। तिनीहरू एक-अर्कामा निर्भर रहे।) त्यो हिमालले त्यो सानो खोलालाई संरक्षण गर्‍यो कि अवरोध गर्‍यो, तिमीहरू के भन्छौ? (यसले त्यसलाई संरक्षण गर्‍यो।) तर के यसले त्यसलाई अवरोध गरेन त? यसले र खोलाले एक-अर्काको रखवाली गरे; हिमालले खोलालाई संरक्षण पनि गर्‍यो र अवरोध पनि गर्‍यो। हिमालले खोलालाई नदीमा जोडिन जाँदा संरक्षण गर्‍यो, तर जताततै बग्दै बाढी ल्याएर मानिसहरूमा विपत्ति ल्याउनबाट यसलाई रोक्यो। के त्यो अनुच्छेद यही कुराको बारेमा थियो हैन र? खोलाको संरक्षण गरेर र यसलाई अवरुद्ध पारेर हिमालले मानिसहरूका घरहरूको सुरक्षा गर्‍यो। त्यसपछि त्यो सानो खोला हिमालको फेदीमा रहेको नदीमा मिसियो र बग्दै समुद्रमा गयो। के खोलाको अस्तित्व चलाउने नियम यही होइन र? खोलालाई नदीमा मिसिन र बग्दै समुद्रमा जान केले सक्षम बनायो? के त्यो हिमाल थिएन र? त्यो खोला हिमालको सुरक्षा र यसको अवरोधमा निर्भर थियो। त्यसैले, के यो मुख्य बुँदा होइन र? के तँ यसमा पानीको लागि हिमालको महत्त्व देख्दैनस् र? के हिमाल ठूलो र सानो बनाउनुमा परमेश्‍वरसँग उहाँको कुनै उद्देश्य थियो? (थियो।) एउटा सानो खोला र एउटा विशाल हिमालबाहेक अरू कुरा नभएको यो छोटो अनुच्छेदले हामीलाई यी दुई थोक परमेश्‍वरले सृष्टि गर्नुको मूल्य र महत्त्व देख्न सक्षम तुल्याउँछ; यसले हामीलाई तिनीहरूमाथिको उहाँको शासनपछाडिको उहाँको बुद्धि र उद्देश्य पनि देखाउँछ। के त्यो यस्तै होइन र?

दोस्रो अनुच्छेदको कथा केको बारेमा थियो? (एक भीषण बतास र एक विशाल हिमाल।) के बतास राम्रो कुरा हो? (हो।) यस्तै हुन्छ भन्‍ने जरुरी छैन—कहिलेकाहीँ बतास एकदमै शक्तिशाली हुन्छ र यसले विपत्ति ल्याउँछ। यदि तँलाई भीषण बतासमा उभिन बाध्य पारियो भने तैँले कस्तो अनुभूति गर्थिस्? यो कुरा यसको शक्तिमा निर्भर हुन्छ। यदि यो तह तीन वा तह चारको बतास थियो भने, यो सहन सकिने खालको हुन्थ्यो। बढीमा, व्यक्तिलाई आफ्नो आँखा खुला राख्न मात्र समस्या हुन्थ्यो होला। तर यदि त्यो बतास अझै तीव्र बनेर तुफान बन्यो भने, के तैँले यसलाई सहन सक्थिस् र? तैँले सहन सक्दैनथिस्। त्यसकारण, मानिसहरूले बतासलाई सधैँ राम्रो हुन्छ वा यो सधैँ नराम्रो हुन्छ भनेर भन्नु गलत हुन्छ किनभने त्यो कुरा त यसको शक्तिमा भर पर्छ। अब, यसमा हिमालको काम के हो त? के यसको काम बतासलाई छान्‍नु होइन र? हिमालले भीषण बतासलाई घटाएर केमा परिणत गर्छ? (मन्द हावा।) अब, मानिस बसोबास गर्ने वातावरणमा, धेरैजसो मानिसहरूले आँधीको अनुभव गर्छन् कि मन्द हावाको? (मन्द हावा।) के यो कुरा हिमालहरू सृष्टि गर्नुपछाडिका परमेश्‍वरका उद्देश्यहरूमध्ये एक, उहाँका अभिप्रायहरूमध्ये एक थिएन र? यदि मानिसहरू बतासमा अनियन्त्रित रूपमा, बिना कुनै अवरोध र फिल्टर नभइकनै बालुवा उडिरहने वातावरणमा बस्थे भने, कस्तो हुन्थ्यो होला? के त्यो उड्ने बालुवा र ढुङ्गाले घेरिएको भूमि बसोबास गर्न नसकिने हुन्थ्यो होला? ती ढुङ्गाहरूले मानिसहरूलाई हिर्काउँथ्यो होला, र त्यो बालुवाले तिनीहरूलाई अन्धो पार्थ्यो होला। बतासले मानिसहरूलाई भुइँबाट माथि उडाउँथ्यो होला, वा तिनीहरूलाई हावामाथि उडाएर लैजान्थ्यो होला। घरहरू भत्कन्थे होला, र हरप्रकारका विपत्तिहरू आइपर्थे होला। तैपनि, के त्यो भीषण बतासको अस्तित्वको कुनै महत्त्व हुन्छ? मैले यो नराम्रो हो भनेर भनेँ, त्यसकारण कसैलाई यसको कुनै महत्त्व हुँदैन भन्‍ने लाग्न सक्छ, तर के त्यो त्यस्तै हो र? के त्यो मन्द हावामा परिणत भएपछि त्यसको महत्त्व हुँदैन र? मौसम बाफिलो वा सासै फेर्न नसकिने भयो भने मानिसहरूलाई सबैभन्दा बढी के चाहिन्छ? तिनीहरूमा हल्कासित बग्ने, तिनीहरूलाई ताजा महसुस गराउने र तिनीहरूको टाउको हल्का गराउने, तिनीहरूको सोच तिखार्ने, तिनीहरूको मन-मस्तिष्कको स्थिति सुधार गर्ने एवं तन्दुरुस्त बनाउने मन्द हावा चाहिन्छ। अब, उदाहरणको लागि, तिमीहरू सबै एउटै कोठामा धेरै जना उकुसमुकुस भएर बसेका छौ—तिमीहरूलाई सबैभन्दा बढी के चाहिन्छ? (मन्द हावा।) बाक्लो धुवाँ वा फोहोरी हावा भएको ठाउँमा जाँदा व्यक्तिको सोच्ने प्रक्रिया ढिलो हुन्छ, रक्तसञ्चार कम हुन्छ र व्यक्तिको दिमागी स्पष्टता हराउँछ। तर अलिकति हलचल र बहावले हावालाई ताजा बनाउँछ, र मानिसहरूले ताजा हावामा फरक अनुभूति गर्छन्। सानो खोलाले विपत्ति ल्याउने भए पनि, भीषण बतासले विपत्ति ल्याउने भए पनि, जबसम्म त्यहाँ हिमाल हुन्छ, तबसम्म यसले त्यो खतरालाई मानिसका लागि फाइदाजनक शक्तिमा बदलिदिन्छ। के त्यो यस्तै होइन र?

तेस्रो अनुच्छेदको कथा केको बारेमा थियो? (विशाल पहाड र निकै ठूलो छाल।) विशाल पहाड र निकै ठूलो छाल। यो अनुच्छेदको परिवेश हिमालको फेदको, समुद्री किनारमा रहेको छ। हामी हिमाल, समुद्री फोहोरा, र विशाल छाल देख्छौं। यस उदाहरणमा छालको लागि हिमाल के हो त? (संरक्षक र अवरोध।) यो संरक्षक र अवरोध दुवै हो। संरक्षकको रूपमा यसले समुद्रलाई लोप हुनबाट रोक्छ ताकि यसमा बस्ने प्राणीहरू बाँच्न र वृद्धि हुन सकून्। अवरोधको रूपमा हिमालले समुद्रको पानीलाई अतिप्रवाह भई विपत्ति ल्याउनबाट रोक्छ, मानिसहरूका घरहरूलाई हानि र विनाश गर्नबाट रोक्छ। यसकारण, हामी हिमाललाई संरक्षक र अवरोध दुवै भनेर भन्न सक्छौं।

विशाल हिमाल र सानो खोला, विशाल हिमाल र भीषण बतास, र विशाल हिमाल र निकै ठूलो छालबीचको अन्तरसम्बन्धको महत्त्व यही हो; तिनीहरूको परस्पर मजबुतीकरण र निष्प्रभावीकरण अनि तिनीहरूको सह-अस्तित्वको महत्त्व यही हो। परमेश्‍वरले सृष्टि गर्नुभएका यी कुराहरूलाई तिनीहरूको अस्तित्वमा नियम र व्यवस्थाले सञ्‍चालन गर्छ। त्यसो भए, यो कथामा तिमीहरूले परमेश्‍वरका के-कस्ता कार्यहरू देख्छौ त? के परमेश्‍वरले ‍यावत् थोकको सृष्टि गर्नुभएदेखि तिनीहरूलाई बेवास्ता गर्नुभएको छ? के उहाँले तिनीहरूलाई त्यसपछि बेवास्ता गर्नको लागि नियमहरू बनाउनुभयो र यी सबै कुराहरूले कार्य गर्ने तरिकाहरूको प्रारूप तयार गर्नुभयो? के यही भयो त? (होइन।) त्यसो भए, के भयो त? परमेश्‍वर अझै नियन्त्रणकारी भूमिकामा हुनुहुन्छ। उहाँले पानी, हावा, र छालहरूलाई नियन्त्रण गर्नुहुन्छ। उहाँले तिनीहरूलाई अनियन्त्रित बन्न दिनुहुन्न, न त उहाँले तिनीहरूलाई मानिसहरू बसोबास गर्ने घरहरूलाई हानि वा विनाश गर्न नै दिनुहुन्छ। यस कारणले गर्दा, मानिसहरू भूमिमा निरन्तर बाँचिरहन, वृद्धि हुन, र उन्नति गर्न सक्छन्। यसको मतलब, उहाँले यावत् थोकको सृष्टि गर्नुहुँदा उहाँले तिनीहरूको अस्तित्वका नियमहरूको बारेमा पनि पहिले नै योजना गरिसक्नुभएको थियो। जब परमेश्‍वरले हरेक थोकको सृष्टि गर्नुभयो, उहाँले यसले मानवजातिलाई फाइदा गर्नेछ भन्‍ने कुरा सुनिश्चित गर्नुभयो, र उहाँले यसमाथि नियन्त्रण कायम गर्नुभयो ताकि यसले मानवजातिलाई हानि गर्न वा उसमा विपत्ति ल्याउन नसकोस्। परमेश्‍वरको व्यवस्थापन नभएको भए, के पानी कुनै नियन्त्रणविना नै बग्नेथिएन र? के हावा कुनै नियन्त्रणविना नै बहने थिएन र? के पानी र हावाले नियम पालना गर्छन्? यदि परमेश्‍वरले तिनीहरूको व्यवस्थापन नगर्नुभएको भए, कुनै पनि नियमहरूले तिनीहरूलाई शासन गर्नेथिएन, अनि हावा कुर्लन्थ्यो र पानी अनियन्त्रित हुन्थ्यो र बाढी ल्याउँथ्यो। यदि छालहरू हिमालभन्दा अग्ला थिए भने, के समुद्र अस्तित्वमा रहन सक्थ्यो र? सक्दैनथियो। यदि हिमाल छालहरू जति अग्लो थिएन भने, समुद्र अस्तित्वमा रहनेथिएन, र हिमालले आफ्नो मूल्य र महत्त्व गुमाउनेथियो।

के तिमीहरू यी दुई कथामा परमेश्‍वरको बुद्धि देख्छौ? परमेश्‍वरले अस्तित्वमा रहने हरेक थोकको सृष्टि गर्नुभयो, र उहाँ अस्तित्वमा रहने हरेक थोकमाथि सार्वभौम हुनुहुन्छ; उहाँले यी सबै थोकको व्यवस्थापन गर्नुहुन्छ र उहाँले यी सबै थोकको भरणपोषण गर्नुहुन्छ, अनि यी सबै कुराहरूभित्र, उहाँले अस्तित्वमा रहने हरेक थोकको हरेक शब्द र कार्यलाई हेर्नुहुन्छ र सूक्ष्म निरीक्षण गर्नुहुन्छ। त्यस्तै, परमेश्‍वरले मानव जीवनको हरेक कुना पनि हेर्नुहुन्छ र सूक्ष्म निरीक्षण गर्नुहुन्छ। यसरी, परमेश्‍वरले उहाँको सृष्टिभित्र अस्तित्वमा रहने हरेक थोकको हरेक कुरा नजिकबाटै जान्नुहुन्छ, हरेक थोकको कार्यदेखि, यसको प्रकृति, अनि यसका जीवन-अस्तित्वका नियमहरू, यसको जीवनको महत्त्व र यसको अस्तित्वको मूल्यसम्म, यी सबै कुरा सम्पूर्ण रूपमा परमेश्‍वरलाई थाहा हुन्छ। परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभयो—के उहाँले ती कुराहरूलाई शासित गर्ने नियमहरूको अध्ययन गर्नुपर्छ जस्तो तिमीहरूलाई लाग्छ? के परमेश्‍वरले ती कुराहरूको बारेमा सिक्न र तिनलाई बुझ्‍नका लागि मानव ज्ञान वा विज्ञान अध्ययन गर्नुपर्छ? (पर्दैन।) के परमेश्‍वरले बुझ्नुभएझैँ सबै कुरा बुझ्‍नका लागि ज्ञान र विद्वता भएको कुनै व्यक्ति मानवजातिमाझ छ? कोही पनि छैन, होइन र? जुन नियमहरूद्वारा यावत् थोक जिउँछन् र वृद्धि हुन्छन्, के ती नियमहरूलाई साँचो रूपले बुझ्ने कुनै खगोलशास्त्री र जीवविज्ञानवेत्ताहरू छन्? के तिनीहरूले हरेक थोकको अस्तित्वको महत्त्वलाई साँचो रूपले बुझ्न सक्छन्? (अहँ, तिनीहरूले सक्दैनन्।) किनभने परमेश्‍वरले नै यावत् थोक सृष्टि गर्नुभयो, र मानवजातिले जति नै धेरै वा जति नै गहन रूपमा यो ज्ञानलाई अध्ययन गरे पनि, वा जति नै लामो समय तिनीहरू यसलाई सिक्नको लागि प्रयत्न गरे पनि, तिनीहरूले परमेश्‍वरले गर्नुभएको यावत् थोकको सृष्टिको रहस्य वा उद्देश्यलाई कहिल्यै पनि बुझ्न सक्‍नेछैनन्। के अवस्था यस्तै होइन र? अब, यहाँसम्मको हाम्रो छलफलबाट, के तिमीहरूले “सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने पदावलीको साँचो अर्थको आंशिक बुझाइ हासिल गरेका छौं भन्‍ने अनुभूति गर्छौ? (गर्छौं।) मैले यो विषयको बारेमा—सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने बारेमा—छलफल गर्दा, धेरै मानिसहरूले अर्को वाक्यांश “परमेश्‍वर सत्यता हुनुहुन्छ, र परमेश्‍वरले हामीलाई भरणपोषण गर्न उहाँको वचन प्रयोग गर्नुहुन्छ” भन्‍ने बारेमा सोच्नेथिए र उक्त विषयको त्यो तहको अर्थभन्दा पर केही पनि सोच्दैनथिए भन्‍ने मलाई थाहा थियो। केहीले त परमेश्‍वरले मानव जीवन, दैनिक खाद्य र पेय पदार्थ र हरेक दैनिक आवश्यकताको प्रबन्ध गर्नुभएको कुरालाई उहाँले भरणपोषण गर्नुभएको कुराको रूपमा लिन सकिँदैन भन्‍ने समेत ठान्छन्। के यस्तो ठान्ने कोही छैनन् त? तैपनि, के उहाँको सृष्टिप्रतिको परमेश्‍वरको अभिप्राय—मानवजातिलाई सामान्य रूपमा अस्तित्वमा रहन र जिउन सक्षम तुल्याउने कार्य—स्पष्ट छैन र? परमेश्‍वरले मानिसहरू जिउने वातावरणलाई कायम राख्नुहुन्छ र उहाँले मानवजातिलाई तिनीहरूको जीवन-अस्तित्वको लागि चाहिने सबै कुरा प्रदान गर्नुहुन्छ। यस अलावा, उहाँले यावत् थोकमाथि प्रभुत्व कायम राख्नुहुन्छ र त्यसको व्यवस्थापन गर्नुहुन्छ। यी सबैले मानवजातिलाई सामान्य तवरमा बाँच्न, उन्नति गर्न र वृद्धि हुन सक्षम तुल्याउँछन्; यसप्रकार परमेश्‍वरले सारा सृष्टि र मानवजातिलाई भरणपोषण गर्नुहुन्छ। के मानिसहरूले यी कुराहरूलाई पहिचान गर्नुपर्छ र बुझ्नुपर्छ भन्‍ने कुरा साँचो होइन र? सायद केहीले भन्न सक्लान्, “यो विषय साँचो परमेश्‍वर स्‍वयम्‌ बारेको हाम्रो ज्ञानभन्दा धेरै टाढा छ, र हामी यो कुरा जान्न चाहन्‍नौँ किनभने हामी रोटीले मात्र जिउँदैनौँ, बरु हामी त परमेश्‍वरको वचनले जिउँछौं।” के यो बुझाइ सही छ? (छैन।) यो किन गलत छ त? यदि तिमीहरूसँग परमेश्‍वरले भन्नुभएका कुराहरूको मात्र ज्ञान छ भने के तिमीहरूसँग परमेश्‍वरको बारेमा पूर्ण बुझाइ हुनसक्छ? यदि तिमीहरूले परमेश्‍वरको कामलाई मात्र स्वीकार गर्छौ र परमेश्‍वरको न्याय र सजायलाई मात्र स्वीकार गर्छौ भने, के तिमीहरूसँग परमेश्‍वरको बारेमा पूर्ण बुझाइ हुन्छ? यदि तिमीहरूले परमेश्‍वरको स्वभावको सानो भागको बारेमा मात्र, परमेश्‍वरको अख्तियारको सानो भागको बारेमा मात्र जान्दछौ भने, के तिमीहरू त्यसलाई परमेश्‍वरको बुझाइ हासिल गर्नको लागि पर्याप्त छ भन्‍ने मान्छौ? (मान्दैनौं।) परमेश्‍वरका कार्यहरू उहाँले यावत् थोकको सृष्टि गर्नुभएदेखि सुरु भयो, र ती कार्यहरू आजका दिनसम्मै जारी छन्—परमेश्‍वरका कार्यहरू हरपल, हरक्षण स्पष्ट देखिन्छन्। यदि कुनै व्यक्तिले परमेश्‍वरले मानिसहरूमा उहाँको काम गर्न र तिनीहरूलाई मुक्ति दिनका लागि मानिसहरूको एक समूहलाई चुन्नुभएको कारणले मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र अन्य कुनै पनि कुराहरू न त उहाँको अख्तियार, उहाँको पहिचान, न त उहाँका कार्यहरू कुनैको पनि यससँग कुनै सम्बन्ध छ भन्‍ने विश्‍वास गर्छ भने, के उक्त व्यक्तिमा परमेश्‍वर सम्‍बन्धी साँचो ज्ञान छ भनेर मान्न सकिन्छ? यस्तो तथाकथित “परमेश्‍वर सम्‍बन्धी ज्ञान” हुने मानिसहरूमा केवल एकपक्षीय बुझाइ हुन्छ, जसअनुरूप ती मानिसहरूले परमेश्‍वरका कार्यहरूलाई मानिसहरूको एक समूहमा सीमित गरिदिन्छन्। के यो परमेश्‍वर सम्‍बन्धी साँचो ज्ञान हो त? के त्यस प्रकारको ज्ञान भएका मानिसहरूले परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभएको कुरा र ती यावत् थोकमाथिको उहाँको सार्वभौमिकतालाई इन्कार गरिरहेका हुँदैनन् र? केही मानिसहरू यस बुँदामा संलग्न हुन चाहँदैनन्, बरु तिनीहरू मनमै सोचिरहन्छन्: “मैले यावत् थोकमाथि परमेश्‍वरको सार्वभौमिकतालाई देखेको छैन। यो त एकदमै टाढाको विचार हो, र म यसलाई बुझ्न चाहन्न। परमेश्‍वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ, र यसको मसँग कुनै सम्बन्ध छैन। म परमेश्‍वरको अगुवाइ र उहाँको वचन मात्र स्वीकार गर्छु, ताकि मैले परमेश्‍वरद्वारा मुक्ति पाउन र म उहाँद्वारा सिद्ध बन्न सकूँ। मलाई अरू कुनै कुराको चासो छैन। परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुहुँदा बनाउनुभएका नियमहरू र उहाँले यावत् थोक र मानवजातिलाई भरणपोषण गर्नको लागि गर्नुहुने कुराहरूसँग मेरो कुनै सम्बन्ध छैन।” यो कस्तो प्रकारको कुरा हो? के यो विद्रोहको कार्य होइन र? के तिमीहरूमध्येमा कोही यस प्रकारको बुझाइ भएको व्यक्ति छ? मलाई थाहा छ, तिमीहरूले त्यसो नभनीकन पनि, यहाँ तिमीहरूमध्ये धेरै जना त्यस्तै छौ। धर्मशास्त्र पालना गर्ने यस्ता मानिसहरूले हरेक कुरालाई तिनीहरूको “आत्मिक” दृष्टिकोणबाट हेर्छन्। तिनीहरूले परमेश्‍वरलाई बाइबलमा मात्र सीमित गर्न चाहन्छन्, परमेश्‍वरलाई उहाँले बोल्नुभएका वचनहरूद्वारा, शाब्दिक रूपमा लिखित वचनहरूबाट आउने अर्थमा मात्र सीमित गर्न चाहन्छन्। तिनीहरूले परमेश्‍वरलाई अझ बढी चिन्न चाहँदैनन् र तिनीहरू परमेश्‍वरले अन्य कुराहरू गरेर उहाँको ध्यान बाँड्नुभएको चाहँदैनन्। यस प्रकारको सोचाइ मूर्खतापूर्ण छ, र यो एकदमै धार्मिक प्रकारको पनि छ। के यस प्रकारको विचारधारा हुने मानिसहरूले परमेश्‍वरलाई चिन्न सक्छन्? तिनीहरूले परमेश्‍वरलाई चिन्नु एकदमै मुस्किल हुन्छ। आज मैले तिमीहरूलाई फरक-फरक पक्षलाई सम्‍बोधन गर्ने दुई वटा कथा भनेको छु। तिमीहरूले भर्खरै तिनीहरूको बारेमा सुनेको कारण, तिमीहरूलाई ती गहन वा अलि अमूर्त लाग्‍न सक्छ, बोध गर्न र बुझ्न अलि गाह्रो लाग्‍न सक्छ। तिनलाई परमेश्‍वरका कार्यहरू र परमेश्‍वर स्‍वयम्‌सँग जोडेर हेर्न गाह्रो हुन सक्छ। तथापि, परमेश्‍वरका सबै कार्य र सृष्टिभित्र र मानवजातिमाझ उहाँले गर्नुभएका सबै कुरालाई हरेक व्यक्तिले, परमेश्‍वरलाई चिन्न खोज्ने हरेकले स्पष्ट र दुरुस्त रूपमा जान्नुपर्छ। यो ज्ञानले तिमीहरूलाई परमेश्‍वरको साँचो अस्तित्वमाथिको तिमीहरूको विश्‍वासमा निश्चितता प्रदान गर्नेछ। यसले तिमीहरूलाई परमेश्‍वरको बुद्धि, उहाँको शक्ति र उहाँले यावत् थोकको लागि भरणपोषण गर्ने शैलीको बारेमा सही ज्ञान पनि प्रदान गर्नेछ। यसले तँलाई परमेश्‍वरको साँचो अस्तित्वको महसुस गर्न र उहाँको अस्तित्व काल्पनिक होइन, मिथ्या होइन, अस्पष्टता होइन, सिद्धान्त होइन, र निश्चय पनि कुनै प्रकारको आत्मिक सान्त्वना होइन, बरु एउटा साँचो अस्तित्व हो भनी देखाउनेछ। यसको साथै, यसले मानिसहरूलाई परमेश्‍वरले सधैँ नै सारा सृष्टि र मानवजातिलाई भरणपोषण गर्नुभएको छ भन्‍ने कुरा जनाउनेछ; परमेश्‍वरले उहाँको आफ्नै शैली र उहाँको आफ्नै तालअनुसार यसो गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभएर तिनीहरूलाई नियमहरू प्रदान गर्नुभएकोले तिनीहरू हरेकले उहाँको पूर्वनिर्धारित प्रबन्ध अन्तर्गत आफ्ना तोकिएका कार्यहरू गर्न, आफ्ना उत्तरदायित्वहरू वहन गर्न, र आफ्ना भूमिकाहरू निर्वाह गर्न सक्छन्; उहाँको पूर्वनिर्धारित प्रबन्ध अन्तर्गत मानवजातिको सेवामा, र मानवजातिले बसोबास गर्ने स्थान र वातावरणमा हरेक थोकको आफ्नै प्रयोजन हुन्छ। यदि परमेश्‍वरले त्यसो नगर्नुभएको भए र मानवजातिसँग बसोबास गर्नको लागि त्यस्तो वातावरण नभएको भए, मानवजातिले परमेश्‍वरमा विश्‍वास गर्नु वा उहाँलाई पछ्याउनु असम्भव हुनेथियो; यो सबै नै खोक्रो कुराभन्दा बढी केही पनि हुनेथिएन। के यो यस्तै होइन र?

हामी फेरि पनि विशाल हिमाल र सानो खोलाको कथालाई हेरौं। हिमालको काम के हो? जीवित कुराहरू हिमालमा फल्छन्-फुल्छन्, त्यसकारण यसको अस्तित्वको अन्तर्निहित महत्त्व छ, र यसले त्यो सानो खोलालाई अवरोध गरेर त्यसलाई जता मन लाग्यो त्यता बगेर मानिसहरूलाई विपत्ति ल्याउनबाट रोक्छ। अवस्था त्यही होइन र? हिमाल यसको आफ्नै सारतत्वको शैलीमा अस्तित्वमा रहन्छ, र यसले आफूमा रहेका असंख्य सजीव वस्तुहरूलाई—रूख र घाँसहरू र अन्य सबै वनस्पति र जनावरहरूलाई—हुर्कन-बढ्न दिन्छ। यसले सानो खोला बहने बाटोको दिशा पनि तय गर्छ—हिमालले खोला-नालाका पानीहरूलाई जम्मा पार्छ र तिनीहरूलाई प्राकृतिक रूपले हिमालको फेदी वरपर पठाउँछ जहाँ तिनीहरू नदीमा मिसिन्छन् र अन्त्यमा तिनीहरू सागरमा पुग्छन्। यी नियमहरू प्राकृतिक रूपले आफै बनेका थिएनन्, तिनीहरूलाई विशेष गरी परमेश्‍वरले सृष्टिको समयमा स्थापित गर्नुभएको थियो। विशाल हिमाल र भीषण बतासको कुरा गर्दा, हिमाललाई पनि बतासको आवश्यकता पर्छ। हिमाललाई आफूमा बसोबास गर्ने सजीव कुराहरूलाई सुम्सुम्याउन बतासको आवश्यकता पर्छ भने यसले उही बेला भीषण बतासको शक्तिलाई चाहिँ नियन्त्रित गरेर अनियन्त्रित रूपले बहन दिँदैन। यो नियमले केही निश्चित रूपमा विशाल हिमालको कर्तव्यलाई मूर्तरूप प्रदान गर्छ; त्यसो भए, के यो विशाल हिमालको कर्तव्यसम्बन्धी नियमको स्वरूप आफै निर्मित भयो त? (भएन।) यो त परमेश्‍वरले निर्माण गर्नुभएको हो। विशाल हिमालको आफ्नो कर्तव्य छ र भीषण बतासको पनि आफ्नै कर्तव्य छ। अब हामी विशाल हिमाल र ठूलो छालतर्फ फर्कौँ। हिमालको अस्तित्वविना, के पानीले आफै बग्ने दिशा भेट्टाउन सक्थ्यो त? (सक्दैनथियो।) पानी बाढी बन्न सक्नेथियो। हिमालको रूपमा हिमालको आफ्नै अस्तित्वरूपी महत्त्व छ, र समुद्रको पनि समुद्रको रूपमा आफ्नै अस्तित्वरूपी महत्त्व छ; तथापि, तिनीहरू सामान्य रूपले सँगसँगै अस्तित्वमा रहन सक्ने र तिनीहरूले एक-अर्कालाई हस्तक्षेप नगर्ने परिस्थितिहरू अन्तर्गत तिनीहरूले एक-अर्कालाई सीमित पनि गर्छन्—विशाल हिमालले समुद्रलाई सीमित गर्छ ताकि समुद्र बाढी नबनोस् र यसरी यसले मानिसहरूका घरहरूको संरक्षण गर्छ र समुद्रलाई सीमित गरेर यसले आफूभित्र बस्ने सजीव वस्तुहरूलाई पोषण दिन्छ भन्‍ने कुरालाई पनि सुनिश्चित गर्छ। के यो भू-दृश्यले आफैले आफ्नो स्वरूप धारण गर्‍यो त? (गरेन।) यो पनि परमेश्‍वरले नै सृष्टि गर्नुभएको थियो। हामीले यो प्रतिरूपबाट के देख्छौं भने जब परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभयो, उहाँले हिमाल कहाँ उभिनेछ, खोला कतातिर बग्नेछ, कुन दिशाबाट भीषण बतास बहन सुरु गर्नेछ र यो कता जानेछ, र विशाल छालहरू कति उचाइसम्म पुग्नेछन् भन्‍ने कुराहरू पूर्वनिर्धारित गर्नुभयो। यी सबै कुराहरूमा परमेश्‍वरका अभिप्राय र उद्देश्य समावेश छन्—तिनीहरू परमेश्‍वरका कार्यहरू हुन्। अब, के तिमीहरूले सबै कुरामा परमेश्‍वरका कार्यहरू देख्न सक्छौ? (सक्छौं।)

यी कुराहरू छलफल गर्नुको हाम्रो उद्देश्य के हो त? के यो मानिसहरूलाई परमेश्‍वरले जुन नियमहरूद्वारा यावत् थोकको सृष्टि गर्नुभयो ती नियमहरू अध्ययन गर्न लगाउनको लागि हो? के यो खगोलशास्त्र र भूगोलमा रुचि जगाउनको लागि हो? (होइन।) त्यसो भए, के हो त? यो मानिसहरूलाई परमेश्‍वरका कार्यहरू बुझ्‍न लगाउनको लागि हो। परमेश्‍वरका कार्यहरूमा, मानिसहरूले सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरा पुष्टि र प्रमाणित गर्न सक्छन्। यदि तैँले यो कुरा बुझ्न सक्छस् भने तैँले तेरो हृदयमा परमेश्‍वरको स्थानलाई साँचो रूपमा सुनिश्चित गर्न सक्‍नेछस्, र तैँले परमेश्‍वर, परमेश्‍वर स्वयम् अद्वितीय, आकाश र पृथ्वी अनि यावत् थोकको सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने पुष्टि गर्न सक्‍नेछस्। त्यसो भए, के यावत् थोकका नियमहरू र परमेश्‍वरका कार्यहरूको बारेमा जान्नु परमेश्‍वर सम्‍बन्धी तेरो बुझाइको लागि उपयोगी हुन्छ त? (हुन्छ।) यो कति उपयोगी हुन्छ त? सबैभन्दा पहिले, जब तैँले परमेश्‍वरका कार्यहरूको बारेमा बुझिसकेको हुन्छस्, के तैँले अझै पनि खगोलशास्त्र र भूगोलमा रुचि राख्न सक्छस्? के तँसँग अझै पनि सन्देहवादी हृदय हुन सक्छ र तैँले परमेश्‍वर यावत् थोकका सृष्टिकर्ता हुनहुन्छ भन्‍ने कुरामा शङ्का गर्न सक्छस्? के तँसँग अझै पनि शोधकर्ताको हृदय हुन सक्छ र तैँले परमेश्‍वर यावत् थोकका सृष्टिकर्ता हुनहुन्छ भन्‍ने कुरामा शङ्का गर्न सक्छस्? (सक्दिनँ।) जब तैँले परमेश्‍वर यावत् थोकका सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरालाई पुष्टि गरिसकेको हुन्छस् र परमेश्‍वरको सृष्टिका केही नियमहरूलाई बुझिसकेको हुन्छस्, के तैँले तेरो हृदयमा परमेश्‍वरले यावत् थोकको भरणपोषण गर्नुहुन्छ भन्‍ने कुरामा साँच्‍चै विश्‍वास गर्नेछस्? (गर्नेछु।) के यहाँ “भरणपोषण” को खास महत्त्व रहेको छ, वा यसको प्रयोगले कुनै खास परिस्थितिलाई जनाउँछ? “परमेश्‍वरले यावत् थोकको भरणपोषण गर्नुहुन्छ” भन्‍ने पदावली एकदमै फराकिलो महत्त्व र दायरा भएको पदावली हो। परमेश्‍वरले मानिसहरूलाई केवल तिनीहरूको दैनिक खाद्य र पेय पदार्थ मात्रै उपलब्ध गराउनुहुन्न; उहाँले त मानवजातिलाई तिनीहरूले देख्न सक्ने हरेक कुरा लगायत तिनीहरूलाई आवश्यक पर्ने हरेक कुरा उपलब्ध गराउनुहुन्छ, अनि उहाँले त तिनीहरूलाई तिनीहरूले देख्न नसक्ने कुराहरूसमेत उपलब्ध गराउनुहुन्छ। परमेश्‍वरले मानवजातिको लागि अत्यावश्यक यो सजीव वातावरणलाई कायम राख्नुहुन्छ, व्यवस्थापन गर्नुहुन्छ र त्यसमाथि शासन गर्नुहुन्छ। भन्नुको अर्थ, हरेक ऋतुमा मानवजातिलाई जे-जस्तो वातावरण चाहिन्छ, त्यस्तो वातावरण परमेश्‍वरले तयार गर्नुभएको छ। परमेश्‍वरले हावा र तापक्रमको प्रकार पनि व्यवस्थापन गर्नुहुन्छ ताकि ती मानव जीवन-अस्तित्वको लागि उपयुक्त हुन सकून्। यी कुराहरूलाई शासन गर्ने नियमहरू आफै वा आकस्मिक तवरमा उत्पन्न हुँदैनन्; तिनीहरू त परमेश्‍वरको सार्वभौमिकता र उहाँका कार्यहरूका परिणाम हुन्। परमेश्‍वर स्‍वयम्‌ नै यी सबै नियमहरूको स्रोत र यावत् थोकको लागि जीवनको स्रोत हुनुहुन्छ। तैँले यसमा विश्‍वास गरे पनि नगरे पनि, तैँले यसलाई देख्न सके पनि नसके पनि, वा तैँले यसलाई बुझ्न सके पनि नसके पनि, यो कुरा एक स्थापित र अकाट्य तथ्यको रूपमा रहेको छ।

मलाई थाहा छ, धेरैजसो मानिसहरूलाई बाइबलमा समावेश भएका परमेश्‍वरका वचनहरू र काममा मात्र विश्‍वास छ। थोरै मानिसहरूका लागि परमेश्‍वरले उहाँका कार्यहरू प्रकट गर्नुभएको छ र मानिसहरूलाई उहाँको अस्तित्वको महत्त्व देखाउनुभएको छ। उहाँले तिनीहरूलाई उहाँको पहिचानको बारेमा केही बुझाइ प्राप्त गर्ने तुल्याउनुभएको छ, र उहाँले उहाँको अस्तित्वको तथ्यलाई पुष्टि गर्नुभएको छ। तथापि, धेरैभन्दा धेरै मानिसहरूका लागि, परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभएको र उहाँले यावत् थोकको व्यवस्थापन र भरणपोषण गर्नुहुन्छ भन्‍ने तथ्य अस्पष्ट र अनिश्‍चित देखिन्छ; त्यस्ता मानिसहरूले शङ्काको मनोवृत्तिसमेत कायम राख्छन्। यो मनोवृत्तिले तिनीहरूलाई प्राकृतिक संसारका नियम-व्यवस्थाहरू स्वतः सृजित भए, प्रकृतिका परिवर्तन, अवस्थांन्तर, घटना र यसलाई शासित गर्ने नियम-व्यवस्थाहरू प्रकृति आफैबाट उत्पन्न भए भन्‍ने विश्‍वास गर्ने तुल्याउँछ। परमेश्‍वरले कसरी यावत् थोकको सृष्टि गर्नुभयो र कसरी तिनीहरूमाथि शासन गर्नुहुन्छ भन्‍ने कुरालाई मानिसहरूले आफ्नो हृदयमा परिकल्पना गर्न सक्दैनन्; तिनीहरूले परमेश्‍वरले कसरी यावत् थोकको व्यवस्थापन र भरणपोषण गर्नुहुन्छ भन्‍ने बुझ्न सक्दैनन्। यस तार्किक आधारको दायरा अन्तर्गत, मानिसहरूले परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभयो, तिनीहरूमाथि शासन गर्नुहुन्छ र तिनीहरूलाई भरणपोषण गर्नुहुन्छ भनेर विश्‍वास गर्न सक्दैनन्; यी कुराहरू विश्‍वास गर्नेहरू पनि तिनीहरूको विश्‍वासमा व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युगमा सीमित छन्: तिनीहरू विश्‍वास गर्छन् कि परमेश्‍वरका कार्यहरू र उहाँका भरणपोषणहरू विशुद्ध रूपमा उहाँका चुनिएका मानिसहरूका लागि मात्र हुन्। यो मलाई हेर्न पनि अत्यन्तै घृणा लाग्ने कुरा हो, र मलाई एकदमै धेरै पीडा दिने कुरा हो, किनभने परमेश्‍वरले ल्याउनुहुने सबै थोकमा मानव रमाउने भए पनि तिनीहरूका लागि उहाँले जे गर्नुहुन्छ र तिनीहरूलाई जे दिनुहुन्छ त्यो कुरालाई तिनीहरू इन्कार गर्छन्। मानिसहरूले के कुरा मात्र विश्‍वास गर्छन् भने आकाश र पृथ्वी अनि यावत् थोक तिनीहरूका आफ्नै प्राकृतिक नियमहरू र तिनीहरूका आफ्नै जीवन-अस्तित्वको प्राकृतिक व्यवस्थाहरूद्वारा शासित हुन्छन् र तिनीहरूलाई व्यवस्थापन गर्ने कुनै शासक वा तिनीहरूलाई भरणपोषण गर्ने वा तिनीहरूलाई हेरविचार गर्ने कुनै सार्वभौम प्रभु छैन। तैँले परमेश्‍वरमा विश्‍वास गरे पनि, तैँले यी सबै परमेश्‍वरका कार्य हुन् भन्‍नेमा विश्‍वास नगर्न सक्छस्; वास्तवमा, परमेश्‍वरमा विश्‍वास गर्ने हरेकले, परमेश्‍वरको वचन स्वीकार गर्ने हरेकले, र परमेश्‍वरलाई पछ्याउने हरेकले धेरैजसो बेवास्ता गर्ने कुराहरू यिनै हुन्। त्यसकारण, बाइबलसँग वा तथाकथित आत्मिक शब्दावलीसँग सम्बन्ध नभएका कुराहरूको बारेमा मैले छलफल गर्न सुरु गर्नेबित्तिकै, कतिपय मानिसहरूलाई अल्छी वा दिक्क वा असहज समेत लाग्छ। तिनीहरूलाई मेरा वचनहरू आत्मिक मानिसहरू र आत्मिक वस्तुहरूसँग सम्‍बन्धित छैनन् भन्‍ने लाग्छ। यो एकदमै नराम्रो कुरा हो। जब परमेश्‍वरका कार्यहरूलाई जान्ने कुरा आउँछ, हामीले खगोलशास्त्रको नाम नलिए पनि वा भूगोल वा जीवविज्ञानको शोध-अध्ययन नगरे पनि, हामीले यावत् थोकमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्नैपर्छ, हामीले यावत् थोकको लागि उहाँको भरणपोषणलाई र उहाँ नै यावत् थोकको लागि जीवनको स्रोत हुनुपर्छ भन्‍ने कुरालाई जान्नैपर्छ। यो जरुरी र अध्ययन गर्नैपर्ने पाठ हो। मलाई विश्‍वास छ, तिमीहरूले मेरा वचनहरू बुझ्यौ, हो?

मैले भर्खरै बताएका दुई कथाहरू विषयवस्तु र अभिव्यक्तिको शैलीको हिसाबमा केही अनौठा भए पनि, तिनीहरूलाई केही विशेष शैलीमा बताइएको भए पनि, तिनीहरू तिमीहरूलाई अलि गहन कुरा प्राप्त गर्न र स्वीकार गर्न मद्दत गर्नका लागि सिधा भाषा र सरल विधि प्रयोग गर्ने मेरा प्रयासहरू थिए। यो मेरो आफ्नै लक्ष्य थियो। यी साना कथाहरूमा र तिनीहरूले चित्रित गर्ने तस्विरहरूमा, म तिमीहरूले परमेश्‍वर सबै सृष्टिमाथिका सार्वभौम प्रभु हुनुहुन्छ भनी हेर र विश्‍वास गर भन्‍ने चाहन्थेँ। यी कथाहरू भन्नुको लक्ष्य भनेको तिमीहरूलाई कथाको सीमित दायराभित्र परमेश्‍वरका असीमित कार्यहरू देख्ने र जान्ने तुल्याउनु हो। तिमीहरूले कहिले आफूमा यो नतिजालाई वास्तविकतामा बदल्नेछौ र हासिल गर्नेछौ भन्‍ने सवालमा—त्यो कुरा तिमीहरूका आफ्नै अनुभवहरू र तिमीहरूको आफ्नै खोजीमा निर्भर रहन्छ। यदि तँ सत्यताको खोजी गर्ने र परमेश्‍वरलाई चिन्न चाहने व्यक्ति होस् भने, यी कुराहरूले अझ मजबुत स्मारकको काम गर्नेछन्; तिनीहरूले तँलाई यस्तो गहन चेतना अर्थात् तेरो बुझाइमा स्पष्टता प्रदान गर्नेछन् जुन क्रमिक रूपमा परमेश्‍वरका वास्तविक कार्यहरूतर्फ खिचिइनेछन् जुन दूरी र त्रुटिविनाको निकटता हुनेछ। तैपनि, यदि तँ परमेश्‍वरलाई चिन्‍न खोज्ने व्यक्ति होइनस् भने, यी कथाहरूले तँलाई कुनै पनि हानि पुर्‍याउन सक्दैनन्। तिनीहरूलाई केवल साँचो कथा मान्दा हुन्छ।

के तिमीहरूले यी दुई कथाहरूबाट कुनै बुझाइ हासिल गरेका छौ? सबभन्दा पहिले, के यी दुई कथाहरू मानवजातिप्रतिको परमेश्‍वरको चिन्तासम्बन्धी हाम्रो अघिल्लो छलफलभन्दा फरक थिए? के त्यसमा कुनै अन्तर्निहित सम्बन्ध छ? के यी दुई कथाहरूभित्र हामीले परमेश्‍वरका कार्यहरू र उहाँले मानवजातिको लागि योजना गर्नुहुने हरेक कुरामा उहाँको विस्तृत सोचविचार देख्छौँ भन्‍ने कुरा साँचो हो? के परमेश्‍वरले गर्नुहुने सबै कुरा र उहाँले सोच्नुहुने सबै कुरा मानवजातिको अस्तित्वको लागि हो भन्‍ने कुरा साँचो हो? (हो।) के मानवजातिको लागि परमेश्‍वरको होसियारीपूर्ण सोच र चिन्तन एकदमै स्पष्ट छैन र? मानिसहरूले केही पनि गर्न जरुरी छैन। परमेश्‍वरले मानिसहरूको लागि हावा तयार गर्नुभएको छ—तिनीहरूले गर्नुपर्ने भनेको त सास फेर्नु मात्र हो। तिनीहरूले खाने सागसब्जी र फलफूलहरू सहजै उपलब्ध हुन्छन्। उत्तरदेखि दक्षिणसम्म, पूर्वदेखि पश्‍चिमसम्म, हरेक क्षेत्रको आ-आफ्नै प्राकृतिक स्रोत-साधनहरू छन्। विभिन्‍न क्षेत्रीय बाली, फलफूल र सागसब्जीहरू सबै नै परमेश्‍वरले तयार गर्नुभएको छ। बृहत् वातावरणमा, परमेश्‍वरले सबै थोकलाई परस्पर सुदृढीकरण गर्ने, अन्तरनिर्भर रहने, परस्पर मजबुतीकरण गर्ने, परस्पर प्रतिरोध गर्ने, र सहअस्तित्वमा रहने बनाउनुभयो। यो यावत् थोकको जीवन र अस्तित्व कायम गर्ने उहाँको विधि र उहाँको शासन हो; यस तरिकाले, मानवजाति आजका दिनसम्म पनि यो सजीव वातावरणमा सुरक्षित र शान्त रूपले वृद्धि हुन सकेको छ, एक पुस्तादेखि अर्को पुस्तामा वंश-वृद्धि गर्न सकेको छ। भन्‍नुको अर्थ, परमेश्‍वरले प्राकृतिक वातावरणमा सन्तुलन ल्याउनुहुन्छ। यदि परमेश्‍वर सार्वभौम र नियन्त्रणकारी भूमिकामा हुनुहुन्‍नथ्यो भने, यो वातावरण परमेश्‍वरद्वारा नै सृष्टि गरिएको भए पनि यसलाई सम्हाल्न वा सन्तुलनमा राख्‍ने कार्य कसैको वशमा हुँदैनथ्यो। केही स्थानहरूमा हावा नै छैन, र मानवजाति त्यस्ता ठाउँहरूमा बाँच्न सक्दैनन्। परमेश्‍वरले तँलाई त्यहाँ जान अनुमति दिनुहुन्‍न। त्यसकारण, उचित सीमाभन्दा पर नजाओ। यो कुरा मानवजातिको सुरक्षाको लागि हो—भित्रभित्रै रहस्यहरू छन्। वातावरणको हरेक पक्ष, पृथ्वीको लम्बाइ र चौडाइ, पृथ्वीका हरेक प्राणी—सजीव र निर्जीव—सबै नै परमेश्‍वरले अग्रिम रूपमा परिकल्पना र तयार गर्नुभएको थियो। किन यो कुरा आवश्यक छ? किन त्यो कुरा अनावश्यक छ? यो कुरा यहाँ हुनुको उद्देश्य के हो र त्यो कुराचाहिँ किन त्यहाँ हुनुपर्छ? यी सबै प्रश्‍नहरूको बारेमा परमेश्‍वरले पहिले नै सोचिसक्‍नुभएको थियो, र यी प्रश्‍नहरूको बारेमा मानिसहरूले सोच्नु कुनै आवश्यक छैन। केही मूर्ख मानिसहरू छन् जो सधैँ हिमाललाई सार्न पाए हुन्थ्यो भनेर सोच्छन्, बरु त्यसको साटो, तराईमा सर्दा हुँदैन र? यदि तँलाई हिमाल मन पर्दैन भने, किन तँ तिनीहरूको छेउछाउ बसोबास गर्छस्? के त्यो मूर्खता होइन र? यदि तैँले त्यो हिमाललाई सार्थिस् भने के हुन्थ्यो? हुरीबतास र विशाल छालहरू आउँथे, अनि मानिसहरूका घरहरू विनाश हुन्थे। के त्यो मुर्ख्याइँ हुँदैनथ्यो र? मानिसहरू विनाश गर्न मात्र सक्षम छन्। तिनीहरूले आफूले बसोबास गर्नुपर्ने एउटै ठाउँलाई पनि सम्हाल्न सक्दैनन्, तर पनि तिनीहरू यावत् थोकको प्रबन्ध गर्न चाहन्छन्। यो असम्भव छ।

परमेश्‍वरले मानवजातिलाई सबै थोकको व्यवस्थापन गर्न र तिनीहरूमाथि प्रभुत्व कायम राख्‍न दिनुहुन्छ, तर के मानिसले राम्रो काम गर्छ त? मानिसले उसले सक्‍नेजति सबै कुरा विनाश गर्छ। उसले उसको लागि परमेश्‍वरले बनाउनुभएको कुनै पनि कुरालाई त्यसको मौलिक अवस्थामा राख्‍न सक्दैन—उसले उल्टो काम गरेको छ र परमेश्‍वरको सृष्टिको विनाश गरेको छ। मानवजातिले हिमालहरूलाई सारेका छन्, समुद्रमा जमीन निकालेका छन्, र तराईहरूलाई मानिस बस्‍नै नसक्‍ने मरुभूमिमा परिणत गरेका छन्। त्यसमाथि तिनीहरूले मरुभूमिमै उद्योग र परमाणुको आधार क्षेत्र निर्माण गरेका छन् र यसरी जताततै विनाशको बीउ रोपेका छन्। अब, नदीहरू नदी रहेनन्, समुद्र पनि समुद्र रहेन…। मानिसले प्राकृतिक वातावरण र यसका नियमहरू भङ्ग गरिसकेपछि, उसको विपत्ति र मृत्युको दिन त्यति टाढा हुँदैन; यो अपरिहार्य छ। जब विपत्ति आउँछ, तब मानवजातिले उसको लागि परमेश्‍वरले बनाउनुभएका हरेक कुरा कति मूल्यवान् छन् र मानवजातिको लागि ती कति महत्त्वपूर्ण छन् भनी थाहा पाउनेछ। मानिसको लागि, वायु र वर्षा समयमै हुने वातावरणमा बस्‍नु स्वर्गमा बस्‍नु जस्तै हो। मानिसहरूले यो एक आशिष् हो भनी महसुस गर्दैनन्, तर तिनीहरूले यसलाई गुमाएको क्षण, यो कति दुर्लभ र अमूल्य छ भनी देख्‍नेछन्। अनि यो गुमिसकेपछि, कसरी फिर्ता पाउन सकिन्छ र? यदि परमेश्‍वर यसलाई पुनः सृष्टि गर्न इच्छुक हुनुभएन भने, मानिसहरूले के गर्न सक्छन् र? के तैँले गर्न सक्‍ने कुनै कुरा छ र? वास्तवमा, तैँले गर्न सक्‍ने केही कुरा छ। यो एकदमै सरल छ—जब म तिमीहरूलाई यो के हो भनेर बताउँछु, तब तत्कालै तिमीहरूले यो सम्‍भव छ भनी जान्‍नेछौ। मानिसले आफैलाई उसको अस्तित्वको वर्तमान अवस्थामा कसरी ल्याइपुर्‍यायो? के यो उसको लोभ र विनाशको कारणले भएको हो? यदि मानिसले यो विनाशलाई अन्त्य गर्छ भने, के उसको जिउने वातावरण क्रमिक रूपमा आफै सही हुनेछैन र? यदि परमेश्‍वरले केही पनि गर्नुहुन्‍न भने, यदि परमेश्‍वर मानवजातिको लागि अबउप्रान्त केही पनि गर्न चाहनुहुन्‍न भने—भन्‍नुको मतलब, यदि उहाँले यस मामिलामा कुनै हस्तक्षेप गर्नुहुन्‍न भने—मानवजातिको सर्वश्रेष्ठ समाधान भनेको सबै विनाशलाई रोक्‍नु र आफू जिउने वातावरणलाई प्राकृतिक अवस्थामा फर्कन दिनु नै हुनेछ। यी सबै विनाशको अन्त्य गर्नु भनेको परमेश्‍वरले सृष्टि गर्नुभएका कुराहरूको लुटपाट र विध्वंसको पनि अन्त्य गर्नु हो। यसो गर्नाले मानिस बसोबास गर्ने वातावरण क्रमिक रूपमा सुधार भई पूर्वावस्थामा फर्कन्छ जबकि यसो गर्न नसक्दा यसको परिणामस्वरूप जीवनको लागि झन् घिनलाग्दो वातावरण पैदा हुन्छ जसको विनाश समयसँगै अझ चाँडो हुनेछ। के मेरो समाधान सरल छ? यो सरल र सम्भव छ, होइन र? वास्तवमै सरल र केही मानिसहरूको लागि सम्भव छ—तर के पृथ्वीका अधिकांश मानिसहरूको लागि यो सम्भव छ त? (यो सम्भव छैन।) कम्तीमा पनि तिमीहरूका लागि, के यो सम्भव छ? (छ।) कुन कुराले तिमीहरूलाई “छ” भन्‍न लगाउँछ? के यो परमेश्‍वरका कार्यहरूसम्‍बन्धी बुझाइको जगबाट आउँछ भनेर भन्‍न सकिन्छ? के यसको सर्त भनेको परमेश्‍वरको सार्वभौमिकता र योजनाप्रतिको आज्ञाकारिता हो भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) परिस्थिति बदल्ने तरिकाहरू छन्, तर त्यो कुरा हामीले अहिले छलफल गर्दै गरेको विषय होइन। परमेश्‍वर प्रत्येक मानव जीवनको लागि उत्तरदायी हुनुहुन्छ र उहाँ अन्त्यसम्मै उत्तरदायी हुनुहुन्छ। परमेश्‍वरले तेरो भरणपोषण गर्नुहुन्छ, र यदि शैतानद्वारा विनाश गरिएको यो वातावरणमा तँलाई बिरामी पारिएको वा प्रदूषित गरिएको, वा अपवित्र तुल्याइएको भए पनि—परमेश्‍वरले तेरो भरणपोषण गर्नुहुन्छ, र तँलाई निरन्तर जिउन दिनुहुन्छ। तँलाई यस कुरामा विश्‍वास हुनुपर्छ। परमेश्‍वरले हल्का रूपले कुनै पनि मानिसलाई मर्न दिनुहुन्‍न।

के अहिले तिमीहरूले “परमेश्‍वर यावत् थोकको जीवनको स्रोत हुनुहुन्छ” भनेर पहिचान गर्नुको केही महत्त्व अनुभूति गर्न सकेका छौ? (हो, हामीले सकेका छौँ।) तिमीहरूसँग कस्तो अनुभूति छ? मलाई भन। (विगतमा, हामीले कहिल्यै पनि हिमाल, समुन्द्र र तालहरूलाई परमेश्‍वरको कार्यद्वारा जोड्नेबारेमा सोचेका थिएनौं। आजको परमेश्‍वरको सङ्गति नसुनुन्जेलसम्म, हामीले यी कुराहरूभित्र परमेश्‍वरका कार्यहरू र बुद्धि हुन्छन् भन्‍ने बुझेका थिएनौं; हामीले देख्यौं कि जब परमेश्‍वरले यावत् थोकको सृष्टि गर्न थाल्नुभयो, तब उहाँले हरेक थोकमा पहिले नै नियति र उहाँको शुभेच्छा राखिसक्‍नुभएको थियो। सबै थोक परस्पर सुदृढीकरण र अन्तर्निर्भरतामा रहन्छन्, र मानवजाति अन्तिम हिताधिकारी हो। आज हामीले जे सुन्यौं त्यो एकदमै ताजा र नयाँ लाग्यो—हामीले परमेश्‍वरका कार्यहरू कति वास्तविक रहेछन् भन्‍ने अनुभूति गर्‍यौं। वास्तविक संसारमा, हाम्रो दैनिक जीवनमा, र हामीले सबै थोकको सामना गर्दा, हामीले यो यस्तै हुन्छ भन्‍ने देख्छौं।) तिमीहरूले साँचो रूपमा देखेका छौ, छैनौ त? परमेश्‍वरले कुनै उत्कृष्ट जगविना मानवजातिलाई भरणपोषण गर्नुहुन्‍न; उहाँको भरणपोषण केवल केही छोटा वचनहरू मात्र होइनन्। परमेश्‍वरले यति धेरै काम-कुराहरू गर्नुभएको छ, र तैँले नदेख्‍ने कुराहरूसमेत सबै नै तेरो फाइदाका लगि हुन्छन्। मानिस यो वातावरणमा जिउँछ, परमेश्‍वरले सृष्टि गर्नुभएका यावत् थोकहरूमाझ जिउँछ, जहाँ मानिसहरू र यावत् थोकहरू एकअर्कामा निर्भर रहन्छन्। उदाहरणको लागि, वनस्पतिहरूले सास फेरेर हावा शुद्ध पार्ने वायु बाहिर निकाल्छन् र मानिसहरूले त्यो शुद्ध हावामा सास फेर्छन् र यसबाट फाइदा लिन्छन्; तैपनि केही वनस्पतिहरूचाहिँ मानिसहरूका लागि विषालु हुन्छन् जबकि अन्य वनस्पतिहरूले ती विषालु वनस्पतिहरूलाई निष्प्रभावी तुल्याउँछन्। यो परमेश्‍वरको सृष्टिको अद्‌भुत पक्ष हो। तर यो विषयलाई अहिलेको लागि यहीँ छोडौं; आज हाम्रो छलफल मुख्य रूपमा मानिस र सृष्टिका अन्य कुराहरूबीचको सहअस्तित्वको बारेमा थियो, जुनविना मानिस बाँच्न सक्दैन। परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुको महत्त्व के छ? मानिस सृष्टिका अन्य कुराहरूविना बाँच्न सक्दैन, र यो कुरा उसलाई बाँच्न हावा चाहिएजस्तै हो—यदि तँलाई हावारहित शून्य ठाउँमा राखिएको भए, तँ चाँडै नै मर्नेथिइस्। यो एकदमै सरल सिद्धान्त हो जसले मानिस सृष्टिका अन्य कुराहरूविना एकलै बाँच्न सक्दैन भन्‍ने देखाउँछ। त्यसो भए, यावत् थोकहरूप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? यस्तो मनोवृत्ति हुनुपर्छ, जसले ती कुराहरूलाई मूल्यवान् ठान्छ, तिनलाई संरक्षण गर्छ, तिनको कुशल प्रयोग गर्छ, तिनलाई विनाश गर्दैन, तिनलाई खेर फाल्दैन, र तिनलाई जथाभावी परिवर्तन गर्दैन, किनभने सबै थोक परमेश्‍वरबाट आएका हुन्, सबै थोक मानवजातिको लागि उहाँको भरणपोषण हुन्, र मानवजातिले तिनीहरूलाई विवेकपूर्ण रूपले व्यवहार गर्नुपर्छ। आज हामीले यी दुई विषयमा छलफल गरेका छौँ। तिनीहरूको बारेमा ध्यानपूर्वक सोच र तिनीहरूलाई राम्रोसित मनन गर। अर्कोपालि, हामी केही कुराहरूलाई थप विस्तृत रूपमा छलफल गर्नेछौं। आजको भेला यहीँ समाप्त हुन्छ। जय मसीह!

जनवरी १८, २०१४

अघिल्लो: परमेश्‍वर स्वयम् अद्वितीय ६

अर्को: परमेश्‍वर स्वयम् अद्वितीय ८

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्