आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
जीवनको मार्ग जोसुकै व्यक्तिसँग हुन सक्ने कुरा होइन, न त यो हरेक व्यक्तिले सजिलै प्राप्त गर्न सक्ने कुरा नै हो। किनभने जीवन परमेश्वरबाट मात्रै आउन सक्छ, अर्थात् परमेश्वर स्वयम्को स्वामित्वमा मात्रै जीवनको सार रहेको हुन्छ, र परमेश्वर स्वयम्सँग मात्रै जीवनको मार्ग हुन्छ। त्यसैले, परमेश्वर मात्रै जीवनको स्रोत र जीवनको जिउँदो पानीको सदा बगिरहने मूल हुनुहुन्छ। संसारको सृष्टि गर्नुभएदेखि नै परमेश्वरले धेरै काम गर्नुभएको छ, जुनमा जीवनको जीवन्तता छ, उहाँले मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र उहाँले मानिसलाई जीवन प्राप्त गर्न सक्षम बनाउने अनेकौँ मूल्य चुकाउनुभएको छ। किनभने परमेश्वर स्वयम् नै शाश्वत जीवन हुनुहुन्छ, र परमेश्वर स्वयम् नै मानिसलाई पुनरुत्थानित गर्न सकिने मार्ग हुनुहुन्छ। मानिसको हृदयबाट परमेश्वर कहिल्यै अलग हुनुहुन्न, र उहाँ सधैँ मानिसहरूकै माझमा जिउनुहुन्छ। उहाँ नै मानिसको जियाइको प्रेरक शक्ति, मानिसको अस्तित्वको जड, र मानिसको जन्मपछि उसको अस्तित्वका लागि सम्पन्न संसाधन हुनुहुन्छ। उहाँले मानिसलाई पुनर्जन्म लिन सक्षम तुल्याउनुहुन्छ, र उहाँले उसलाई उसको हरेक भूमिकामा दृढताका साथ जिउन सक्षम तुल्याउनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्ने जीवनशक्तिमा निर्भर हुँदै, मानिस पुस्तौँपुस्तासम्म जिएको छ, यस समयमा परमेश्वरको जीवनको शक्तिले मानिसमाझ एकनासले सहारा प्रदान गर्दै आएको छ, र परमेश्वरले कुनै पनि साधारण मानिसले कहिल्यै नतिरेको मूल्य तिर्नुभएको छ। परमेश्वरको जीवनशक्तिले कुनै पनि शक्तिलाई विजय गर्न सक्छ; त्यसभन्दा पनि बढी, यसले कुनै पनि शक्तिलाई उछिन्छ। उहाँको जीवन अनन्त छ, उहाँको शक्ति असाधारण छ, र उहाँको जीवन शक्ति कुनै पनि सृजित प्राणी वा शत्रु शक्तिद्वारा पराजित हुन सक्दैन। समय वा स्थान जे-जस्तो भए पनि, परमेश्वरको जीवनशक्ति अस्तित्वमै रहन्छ र यसको शानदार चमकसाथ चम्कन्छ। स्वर्ग र पृथ्वीमा ठूलो परिवर्तन हुन सक्ला, तर परमेश्वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुरा बितेर जान सक्छन्, तर परमेश्वरको जीवनको अस्तित्व रहिरहनेछ, किनभने यावत् थोकहरूको अस्तित्वको स्रोत र तिनको अस्तित्वको जड परमेश्वर नै हुनुहुन्छ। मानिसको जीवनको उत्पत्ति परमेश्वरबाटै हुन्छ, परमेश्वरकै कारण स्वर्ग अस्तित्वमा रहन्छ, र परमेश्वरको जीवनको शक्तिबाटै पृथ्वीको अस्तित्व पनि उत्पन्न हुन्छ। जीवनशक्ति भएको कुनै पनि कुराले परमेश्वरको सार्वभौमिकता उछिन्न सक्दैन र जीवन्तता भएको कुनै पनि कुरा परमेश्वरको अख्तियारको दायराबाट उम्कन सक्दैन। यसरी, चाहे तिनीहरू जोसुकै हुन्, सबै मानिसले परमेश्वरको प्रभुत्वमा आफूलाई समर्पण गर्नैपर्छ, सबै मानिस परमेश्वरको नियन्त्रणमा जिउनुपर्छ, र उहाँको हातबाट कोही पनि उम्कन सक्दैन।
सायद तँ अहिले जीवन प्राप्त गर्ने कामना गर्छस्, वा सायद तँ सत्यता प्राप्त गर्ने इच्छा गर्छस् होला। जेसुकै भए पनि, तँ परमेश्वरलाई भेट्टाउने इच्छा गर्छस्, तँ भर पर्न सक्ने, र तँलाई अनन्त जीवन दिन सक्ने परमेश्वरलाई भेट्टाउने इच्छा गर्छस्। यदि तँ अनन्त जीवन प्राप्त गर्ने इच्छा गर्छस् भने, सुरुमा तैँले अनन्त जीवनको स्रोतलाई बुझ्नैपर्छ र पहिले परमेश्वर ठ्याक्कै कहाँ हुनुहुन्छ भनी जान्नैपर्छ। मैले भनिसकेको छु कि परमेश्वर मात्रै अपरिवर्तनीय जीवन हुनुहुन्छ, र परमेश्वरसँग मात्रै जीवनको मार्ग छ। परमेश्वर अपरिवर्तनीय जीवन हुनुभएको हुनाले, उहाँ अनन्त जीवन हुनुहुन्छ; परमेश्वर मात्रै जीवनको मार्ग हुनुभएकोले, परमेश्वर स्वयम् नै अनन्त जीवनको मार्ग हुनुहुन्छ। त्यसैले, तैँले सुरुमा परमेश्वर कहाँ हुनुहुन्छ, र अनन्त जीवनको यो बाटो कसरी प्राप्त गर्ने भन्ने कुरा बुझ्नुपर्छ। अब यी दुई विषयहरूलाई अलगअलग रूपमा हामी सङ्गति गरेर हेरौँ।
यदि तँ साँच्चै अनन्त जीवनको बाटो प्राप्त गर्न चाहन्छस् भने, र यसको खोजीमा तँ अत्यन्तै तृषित छस् भने, पहिले यो प्रश्नको उत्तर दे: आज परमेश्वर कहाँ हुनुहुन्छ? सायद तैँले यस्तो जवाफ दिनेछस्, “निश्चय नै, परमेश्वर स्वर्गमा बस्नुहुन्छ—उहाँ तपाईंको घरमा बसिरहनुभएको त हुनुहुन्न होला, हुनुहुन्छ त?” सायद तैँले भन्न सक्छस् कि परमेश्वर अवश्य नै सबै कुराहरूका माझमा बस्नुहुन्छ। वा तैँले भन्न सक्छस् कि परमेश्वर हरेक व्यक्तिको हृदयमा बस्नुहुन्छ, वा परमेश्वर आत्मिक जगतमा हुनुहुन्छ। यीमध्ये कुनैलाई पनि म नकार्दिनँ, तर यो कुरालाई मैले स्पष्ट पार्नैपर्छ। परमेश्वर मानिसको हृदयमा बस्नुहुन्छ भनेर भन्नु पूर्ण रूपमा सत्य होइन, तर यो पूर्ण रूपमा गलत पनि होइन। यसको कारण के हो भने, परमेश्वरमा विश्वास गर्नेहरूमध्ये, कसैको विश्वास साँचो छ र कसैको विश्वास झूटो छ, कसैलाई परमेश्वरले स्वीकार गर्नुहुन्छ र कसैलाई उहाँले अस्वीकार गर्नुहुन्छ, कसैले उहाँलाई प्रसन्न तुल्याउँछन् र कसैलाई उहाँले घृणा गर्नुहुन्छ, अनि कसैलाई उहाँले सिद्ध तुल्याउनुहुन्छ र कसैलाई उहाँले हटाउनुहुन्छ। त्यसैले म भन्छु, परमेश्वर एकदुई जना मानिसहरूको हृदयमा मात्रै बस्नुहुन्छ, र यी मानिसहरू अवश्य नै परमेश्वरमा साँचो विश्वास गर्नेहरू, परमेश्वरद्वारा स्वीकार हुनेहरू, उहाँलाई खुशी पार्नेहरू, र उहाँद्वारा सिद्ध पारिनेहरू हुन्। परमेश्वरद्वारा अगुवाइ गरिएकाहरू तिनीहरू नै हुन्। तिनीहरू परमेश्वरद्वारा अगुवाइ गरिएकाहरू भएकाले, पहिले नै परमेश्वरको अनन्त जीवनको बाटोको बारेमा सुन्ने र देख्ने मानिसहरू तिनीहरू नै हुन्। परमेश्वरमाथि झूटो विश्वास हुनेहरू, परमेश्वरद्वारा स्वीकार नहुनेहरू, परमेश्वरद्वारा घृणा गरिनेहरू, परमेश्वरद्वारा हटाइनेहरू—तिनीहरू परमेश्वरद्वारा इन्कार हुने निश्चित छ, तिनीहरू जीवनको बाटोविहीन हुने निश्चित छ र तिनीहरू परमेश्वर कहाँ हुनुहुन्छ भन्ने कुराप्रति अनजान हुने निश्चित छ। यसको विपरीत, जसको हृदयमा परमेश्वर बस्नुहुन्छ तिनीहरूलाई उहाँ कहाँ हुनुहुन्छ भन्ने कुरा थाहा हुन्छ। परमेश्वरले अनन्त जीवनको बाटो दिनुहुने मानिसहरू तिनीहरू नै हुन् र परमेश्वरलाई पछ्याउनेहरू तिनीहरू नै हुन्। अब के तँलाई परमेश्वर कहाँ हुनुहुन्छ भन्ने थाहा छ? परमेश्वर मानिसको हृदय र मानिसको छेउ दुवैमा हुनुहुन्छ। उहाँ आत्मिक जगतमा र सबै कुराहरूभन्दा माथि मात्रै हुनुहुन्न, उहाँ त अझै बढी रूपमा पृथ्वीमा हुनुहुन्छ जहाँ मानिसको अस्तित्व छ। यसरी, आखिरी दिनहरूको आगमनले परमेश्वरको कार्यका चरणहरूलाई नयाँ क्षेत्रमा लगेको छ। परमेश्वरले यावत् थोकमाझ सबै कुरामाथि सार्वभौमिकता राख्नुहुन्छ, र मानिसको हृदयमा उसको सहारा उहाँ नै हुनुहुन्छ, र यसको साथै, उहाँ मानिसकै माझमा अस्तित्वमा रहनुहुन्छ। यसरी मात्रै उहाँले जीवनको मार्ग मानवजातिकहाँ ल्याउन र मानिसलाई जीवनको मार्गमा ल्याउन सक्नुहुन्छ। मानिसले जीवनको मार्ग प्राप्त गर्न सकोस् भनेर, र मानिसको अस्तित्वका खातिर परमेश्वर पृथ्वीमा आउनुभएको र मानिसमाझ जिइरहनुभएको छ। साथ-साथै परमेश्वरले मानिसमाझ गर्नुहुने व्यवस्थापनमा सहकार्य सहज तुल्याउनको लागि यावत् थोकमाझ सबै कुरालाई निर्देशन पनि गर्नुहुन्छ। त्यसैले, यदि तैँले परमेश्वर स्वर्गमा र मानिसको हृदयमा हुनुहुन्छ भन्ने धर्मसिद्धान्तलाई मात्रै मान्छस्, तर मानिसमाझ परमेश्वरको अस्तित्वको सत्यतालाई मान्दैनस् भने, तैँले कहिल्यै पनि जीवन प्राप्त गर्नेछैनस्, र सत्यताको मार्ग पनि कहिल्यै प्राप्त गर्नेछैनस्।
परमेश्वर स्वयम् नै जीवन र सत्यता हुनुहुन्छ, र उहाँको जीवन र सत्यता सहअस्तित्वमा रहन्छन्। सत्यता प्राप्त गर्न नसक्नेले जीवन कहिल्यै प्राप्त गर्नेछैनन्। सत्यताको मार्गदर्शन, सहयोग, र आपूर्तिविना, तैँले शब्द, धर्मसिद्धान्तहरू, र अझ बढी, मृत्यु मात्रै प्राप्त गर्नेछस्। परमेश्वरको जीवन सदा-उपस्थित छ, र उहाँको सत्यता र जीवन सहअस्तित्वमा रहन्छन्। यदि तैँले सत्यताको स्रोत भेट्टाउन सक्दैनस् भने, तैँले जीवनको पोषण प्राप्त गर्नेछैनस्; तैँले जीवनको आपूर्ति प्राप्त गर्न सक्दैनस् भने, तँसँग अवश्य नै कुनै सत्यता हुनेछैन, र कल्पना र धारणाहरू बाहेक, तेरो सम्पूर्ण शरीर तेरो देहबाहेक—तेरो दुर्गन्धित देहबाहेक अरू केही हुनेछैन। यो कुरा जान्: पुस्तकका शब्दहरू जीवनका रूपमा गन्ती हुँदैनन्, इतिहासका अभिलेखहरूलाई सत्यताका रूपमा प्रतिष्ठापन गर्न सकिँदैन, र विगतका प्रावधानहरू परमेश्वरका हालका वचनहरूका विवरण हुन सक्दैनन्। पृथ्वीमा आई मानिसहरूमाझ बस्नुहुँदा परमेश्वरले व्यक्त गर्नुहुने वचनहरू मात्रै सत्यता, जीवन, परमेश्वरका अभिप्राय र उहाँको काम गर्ने वर्तमान शैली हुन्। यदि तैँले विगतका युगहरूमा परमेश्वरले बोल्नुभएका वचनहरूको अभिलेखलाई लिएर आजको दिनमा पालन गर्छस् भने, त्यसले तँलाई पुरातत्त्वविद् बनाउँछ, जुन अवस्थामा, तँलाई व्याख्या गर्ने सबैभन्दा राम्रो तरिका भनेको तँ ऐतिहासिक सम्पदासम्बन्धी विज्ञ होस् भनेर भन्नु हो। तँ सधैँ परमेश्वरले विगतका समयमा गर्नुभएका कामका निसानहरूमा विश्वास गर्छस्, तँ यसभन्दा पहिले परमेश्वरले मानिसमाझ काम गर्नुभएको बेलाको उहाँको छायामा मात्रै विश्वास गर्छस्, र पहिलेका समयहरूमा परमेश्वरले उहाँका अनुयायीहरूलाई दिनुभएको मार्गमा मात्रै विश्वास गर्छस्, तर तँ परमेश्वरको आजको कामको रुझानमा विश्वास गर्दैनस्, परमेश्वरको आजको महिमामयी मुहारमा विश्वास गर्दैनस्, र परमेश्वरले हालै व्यक्त गर्नुभएको सत्यताको मार्गमा विश्वास गर्दैनस्। त्यसकारण, तँ निर्विवाद रूपमा दिवास्वप्न देख्ने व्यक्ति होस् जो पूर्ण रूपमा वास्तविकताभन्दा टाढा छ। यदि तँ अझै पनि मानिसमा जीवन ल्याउन नसक्ने शब्दहरूमा टाँसिन्छस् भने, तँ काठको ठुटाजस्तो[क] काम नलाग्ने छस्, किनभने तँ अत्यन्तै रूढिवादी, अत्यन्तै हठी, अत्यन्तै अविवेकी छस्!
देहधारी हुनुभएका परमेश्वरलाई ख्रीष्ट भनिन्छ, त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्नुहुने ख्रीष्टलाई परमेश्वर भनिन्छ। यसमा केही पनि अत्योक्ति छैन, किनकि उहाँसँग परमेश्वरको सार र छ, र उहाँमा परमेश्वरको स्वभाव छ, र उहाँमा उहाँको कामको बुद्धि छ, जसलाई मानिसले प्राप्त गर्न सक्दैन। आफैलाई ख्रीष्ट भन्ने, तर परमेश्वरको काम गर्न नसक्नेहरू ठगहरू हुन्। ख्रीष्ट पृथ्वीमा परमेश्वरको प्रकटीकरण मात्रै हुनुहुन्न, उहाँ त परमेश्वरले आफ्नो काम गर्दा र मानिसमाझ आफ्नो काम पूरा गर्दा धारण गर्नुहुने विशेष देह पनि हुनुहुन्छ। यो कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्ने देह होइन, बरु यो त पृथ्वीमा परमेश्वरको कामलाई पर्याप्त रूपमा वहन गर्न सक्ने, र परमेश्वरको स्वभावलाई व्यक्त गर्न सक्ने, अनि परमेश्वरलाई राम्ररी प्रतिनिधित्व गर्न सक्ने, र मानिसलाई आपूर्ति गर्न सक्ने देह हो। ढिलो वा चाँडो, ख्रीष्टको नक्कल गर्नेहरू पतन हुनेछन्, किनभने तिनीहरूले आफूलाई ख्रीष्ट भनी दाबी गर्ने भए पनि, तिनीहरूमा ख्रीष्टको कुनै पनि सार छैन। त्यसैले म भन्छु, ख्रीष्टको प्रामाणिकतालाई मानिसले परिभाषित गर्न सक्दैन, परमेश्वर स्वयम्ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्नुहुन्छ। यसरी, यदि तँ जीवनको बाटोलाई साँचो रूपमा खोज्न चाहन्छस् भने, तैँले पहिले परमेश्वर पृथ्वीमा आउनुभएर मानिसलाई जीवनको बाटो दिने काम गर्नुहुन्छ भन्ने कुरा स्वीकार गर्नैपर्छ, र मानिसलाई जीवनको बाटो दिनको लागि आखिरी दिनहरूमा उहाँ आउनुहुन्छ भनेर तैँले स्वीकार गर्नैपर्छ। यो विगत होइन; यो कुरा आज भइरहेको छ।
आखिरी दिनहरूका ख्रीष्टले जीवन ल्याउनुहुन्छ, अनि चिरस्थायी र अनन्त सत्यताको मार्ग ल्याउनुहुन्छ। यही सत्यता नै मानिसले जीवन प्राप्त गर्ने मार्ग हो, र यो एक मात्र मार्ग हो जसमार्फत मानिसले परमेश्वरलाई चिन्नेछ र परमेश्वरद्वारा ऊ अनुमोदित हुनेछ। यदि तँ आखिरी दिनहरूका ख्रीष्टले प्रदान गर्नुभएको जीवनको मार्गको खोजी गर्दैनस् भने, तैँले कहिल्यै येशूको अनुमोदन प्राप्त गर्नेछैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न कहिल्यै योग्य हुनेछैनस्, किनभने तँ इतिहासको कठपुतली र कैदी दुवै होस्। प्रावधानहरू, शब्दहरू, र इतिहासको जन्जिरद्वारा नियन्त्रित हुनेहरूले कहिल्यै जीवन प्राप्त गर्न सक्नेछैनन् न त तिनीहरूले चिरस्थायी जीवनको मार्ग नै पाउन सक्नेछन्। यस्तो किन हुन्छ भने, तिनीहरूसँग सिंहासनबाट बग्ने जीवनको पानी नभई धमिलो पानी मात्रै छ, जसलाई तिनीहरूले हजारौँ वर्षदेखि पक्रेर बसेका छन्। जीवनको पानीको आपूर्ति नपाएकाहरू सदासर्वदा नै लासहरू, शैतानका खेलौनाहरू, र नरकका पुत्रहरू भएर रहनेछन्। त्यसोभए, कसरी तिनीहरूले परमेश्वरलाई देख्न सक्छन्? तँ विगतलाई मात्रै पक्रिराख्ने प्रयास गर्छस्, ठिङ्ग उभिएर परिस्थितिलाई जस्ताको तस्तै राख्ने प्रयास मात्रै गर्छस्, र यथास्थितिलाई परिवर्तन गर्ने र इतिहासलाई फाल्ने प्रयास गर्दैनस्, त्यसकारण के तँ सधैँ परमेश्वरप्रति शत्रुवत् हुनेछैनस् र? परमेश्वरको कामका कदमहरू उर्लिरहने छालहरू र थर्किरहने चट्याङहरूजस्तै विशाल र शक्तिशाली छन्—तैपनि तँ आफ्नो मूर्खतामा अल्झिँदै र केही पनि नगरी, विनाशको प्रतीक्षा गर्दै निष्क्रिय रूपमा बस्छस्। यसरी, तँलाई थुमाका पदचापहरू पछ्याउने व्यक्ति कसरी मान्न सकिन्छ? तैँले पक्रेर बसेको परमेश्वर सधैँ नयाँ र कहिल्यै पुरानो नहुने परमेश्वर हुनुहुन्छ भनेर तैँले कसरी पुष्टि गर्न सक्छस् र? अनि तेरा पहेँलो भइसकेका पुस्तकका अक्षरहरूले तँलाई कसरी नयाँ युगमा पुर्याउन सक्छन् र? तिनले कसरी तँलाई परमेश्वरको कामका कदमहरूको खोजी गर्नका निम्ति अगुवाइ गर्न सक्छन् र? अनि, तिनले कसरी तँलाई स्वर्गमा लैजान सक्छन् र? तैँले आफ्नो हातमा जे लिएको छस् ती तँलाई अस्थायी सान्त्वना दिने शब्दहरू मात्र हुन्, तँलाई जीवन दिन सक्ने सत्यताहरू होइनन्। तैँले पढ्ने धर्मशास्त्रका शब्दहरूले तेरो जिब्रोलाई मात्रै समृद्ध तुल्याउन सक्छन् तर ती मानव जीवनको बारेमा जान्न तँलाई सहयोग गर्न सक्ने दर्शनशास्त्रका शब्दहरू होइनन्, ती तँलाई सिद्ध पार्ने मार्ग त झनै होइनन्। के यो विसङ्गतिले तँलाई सचिन्तन गर्ने कारण दिँदैन र? के यसले तँलाई त्यसभित्र रहेका रहस्यहरूलाई बोध गर्ने तुल्याउँदैन र? के तँ परमेश्वरलाई भेट्नको लागि आफूले आफैलाई स्वर्गमा पठाउन सक्छस्? परमेश्वरको आगमनविना, के तँ परमेश्वरसँग पारिवारिक खुसीको आनन्द लिन आफैलाई स्वर्ग लैजान सक्छस्? के तँ अहिले पनि सपना देखिरहेको छस्? त्यसो भए, मेरो सुझाव छ, तँ सपना देख्न छोड्, अनि अहिले कसले काम गरिरहनुभएको छ हेर्—अहिले आखिरी दिनहरूमा मानिसलाई मुक्ति दिने काम कसले गर्दै हुनुहुन्छ, हेर्। यदि तँ त्यसो गर्दैनस् भने, तैँले कहिल्यै सत्यता प्राप्त गर्नेछैनस्, र कहिल्यै जीवन प्राप्त गर्नेछैनस्।
ख्रीष्टले बोल्नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूलाई परमेश्वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर घुमाउरो बाटोबाट कोही पनि भित्र जान सक्दैन। ख्रीष्टमार्फत बाहेक परमेश्वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्वरमा विश्वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यतालाई स्वीकार नगरी र जीवनको आपूर्तिलाई स्वीकार नगरी, तैँले आशिष्हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्न सक्दैनस्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्नुहोओस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँको भर्त्सना, ईश्वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्म जल्नेछस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्वरको अभिव्यक्ति, पृथ्वीमा आफ्नो काम गर्नका लागि परमेश्वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्वरको अनुमोदन प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले छुटकारा पाउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानिस होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी आलोचना नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्म पाउन र फेरि परमेश्वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।
फूटनोटहरू:
क. काठको ठुटा: चिनियाँ टुक्का, जसको अर्थ “कामै नलाग्ने” भन्ने हुन्छ।