मानिसले किन सत्यता पछ्याउनै पर्छ

केही समयदेखि, हामीले मुख्य रूपमा नैतिक आचरण सम्‍बन्धी केही भनाइहरूबारे सङ्गति गर्दै आएका छौँ। हामीले एक-एक गर्दै, परम्‍परागत संस्कृतिले अघि सारेको नैतिक आचरणका हरेक पक्षका भनाइहरूलाई विश्‍लेषण, चिरफार, र खुलासा गरेका छौँ। यसले गर्दा मानिसहरू परम्‍परागत संस्कृतिमा सकारात्मक भनी ठानिने नैतिक आचरणका विभिन्‍न भनाइहरूलाई खुट्टयाउन, र तिनको सारलाई छर्लङ्ग देख्‍न सक्‍ने भएका छन्। जब व्यक्तिमा यी भनाइहरूबारे स्पष्ट बुझाइ हुन्छ, तब उसलाई ती देखि वितृष्णा लाग्‍न थाल्नेछ, र उसले तिनलाई इन्कार गर्न सक्नेछ। त्यसपछि, उसले वास्तविक जीवनमा यी कुराहरूलाई बिस्तारै छोड्न सक्छ। उसले परम्‍परागत संस्कृतिप्रतिको आफ्नो अनुमोदन, अन्धविश्‍वास, र पालनालाई पन्छ्याएर, परमेश्‍वरका वचनहरू स्विकार्न, र आफ्‍नो हृदयमा उहाँका मागहरू र व्यक्तिमा हुनुपर्ने सत्यता सिद्धान्तहरूलाई स्विकार्न सक्नेछ, ताकि उसले त्यहाँबाट परम्‍परागत संस्कृतिलाई प्रतिस्थापन गर्न सकोस्। यसरी, त्यो व्यक्ति मानव रूपमा जिउन, र उसले परमेश्‍वरको अनुमोदन पाउन सक्नेछ। समग्रमा, मानवजातिको परम्‍परागत संस्कृतिले समर्थन गरेको नैतिक आचरणका विभिन्‍न भनाइहरूलाई चिरफार गर्नुको उद्देश्य भनेको मानिसहरूलाई नैतिक आचरण सम्‍बन्धी यी भनाइहरू पछाडिका सार, र शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउन, बहकाउन, र नियन्त्रण गर्न कसरी त्यसको प्रयोग गर्छ, त्यसको स्पष्ट विवेक र ज्ञान दिनु हो। यसरी मानिसहरूले सत्यता के हो र सकारात्मक कुराहरू के हुन् भन्‍ने कुरा सटीक रूपमा खुट्टयाउन सक्‍नेछन्। अझ ठ्याक्कै भन्नुपर्दा, नैतिक आचरण सम्‍बन्धी यी भनाइहरूको सारलाई, तिनको साँचो प्रकृति, र शैतानको चाललाई स्पष्ट रूपमा बुझेपछि, मानिसहरूले सत्यता वास्तवमा के हो भनी चिन्न सक्षम हुनुपर्छ। परम्‍परागत संस्कृति र नैतिक आचरण सम्‍बन्धी भनाइहरूले मानिसहरूमा सत्यता हालिदिन्छ भनेर भ्रमित नहोऔ। यी कुराहरू सत्यता होइनन्, तिनले सत्यतालाई प्रतिस्थापन गर्न सक्दैनन्, र सत्यतासँग तिनको पक्कै पनि कुनै सम्‍बन्ध हुँदैन। तैँले परम्‍परागत संस्कृतिलाई जुनसुकै दृष्टिकोणले हेरे पनि, र यसमा जे-जस्ता निश्‍चित भनाइ वा मागहरू भए पनि, यसले शैतानले मानवजातिलाई दिने निर्देशन, गर्ने सैद्धान्तिकरण, बहकाउ, र मगज-धुवाइलाई मात्रै प्रतिनिधित्व गर्छ। यसले शैतानको छल, र शैतानको प्रकृति सारलाई प्रतिनिधित्व गर्छ। यो सत्यता र परमेश्‍वरका मागहरूसँग पूर्ण रूपमा असम्‍बन्धित छ। त्यसकारण, नैतिक आचरण, वा यसलाई लागू गर्ने, वा यसलाई बुझ्‍ने विषयमा तेरो अभ्यास जति राम्रो भए पनि, यसको अर्थ तैँले सत्यता अभ्यास गरिरहेको छस्, वा तँ मानवता र समझ भएको व्यक्ति होस् भन्‍ने हुँदैन, र यसको अर्थ तैँले परमेश्‍वरका अभिप्राय सन्तुष्ट पार्न सक्छस् भन्‍ने पक्‍कै पनि हुँदैन। कुनै पनि नैतिक आचरण सम्‍बन्धी भनाइ वा मागले—चाहे जस्तोसुकै व्यक्ति वा व्यवहारलाई लक्षित गरे पनि—परमेश्‍वरले मानिसबाट गर्नुहुने मागसँग यसको कुनै सम्‍बन्ध हुँदैन। परमेश्‍वरले मानिसलाई अभ्यास गर्न लगाउनुहुने सत्यता वा मानिसले पालना गर्नुपर्ने सिद्धान्तहरूसँग तिनको कुनै सम्‍बन्ध हुँदैन। के तिमीहरूले यस प्रश्‍नबारे सोचविचार गरिरहेका छौ? के तिमीहरूले यसलाई अब स्पष्ट रूपमा बुझ्यौ? (बुझ्यौँ।)

परम्‍परागत संस्कृतिका यी विभिन्‍न भनाइहरूका बारेमा विस्तृत सङ्गति र यिनलाई एक-एक गरी गरिने विश्‍लेषणविना, मानिसहरूले यसले अघि सारेका भनाइहरू गलत, छलपूर्ण, र अमान्य छन् भन्‍ने कुरा बुझ्‍न सक्दैनन्। परिणामस्वरूप, मानिसहरूले आफ्‍नो हृदयको गहिराइमा परम्‍परागत संस्कृतिका विभिन्‍न अभिव्यक्तिहरूलाई अझै पनि, आफूले गर्ने व्यवहार र आचरणमा पालन गरिनुपर्ने आचारसंहिता वा नियमहरूको भागको रूपमा लिन्छन्। तिनीहरूले परम्‍परागत संस्कृतिमा असल मानिएका व्यवहार र नैतिक आचरणलाई अझै पनि सत्यताको रूपमा लिन्छन् र त्यसलाई पालन गर्छन्, त्यसलाई सत्यतासँग मिसाउने समेत गर्छन् गर्छन्। अझै खराब कुरा त के हो भने, मानिसहरूले यी कुराहरूलाई सही नै भए झैँ, सकारात्मक कुरा नै भए झैँ, र सत्यता नै भए झैँ प्रचार्छन् र वकालत गर्छन्; यी कुराहरूले मानिसहरूलाई बहकाउँछन्, बाधा दिन्छन्, र सत्यतालाई स्विकार्नहेतु परमेश्‍वरको अघि आउनबाट रोक्छन्। यो सबैले देख्‍न सक्‍ने सबैभन्दा ठूलो वास्तविक समस्या हो। मानिसहरूले मानवजातिद्वारा असल र सकारात्मक ठानिएका नैतिक आचरणका भनाइहरूलाई प्राय: सत्यताको रूपमा लिन्छन्। तिनीहरूले भेलामा हुँदा र परमेश्‍वरका वचनहरूको बारेमा कुराकानी गर्दा, प्रचार अनि सङ्गति गर्न परम्‍परागत संस्कृतिका भनाइ र शब्‍दहरूलाई उद्धृत समेत गर्छन्। यो अत्यन्तै गम्‍भीर समस्या हो। यस्तो समस्या वा घटना परमेश्‍वरको घरमा देखा पर्नु हुँदैन, तर यो बारम्बार देखा पर्ने गर्छ—यो अत्यन्तै आम समस्या हो। यसले अर्को समस्या देखाउँछ: जब मानिसहरूले परम्‍परागत संस्कृति र नैतिक आचरणका भनाइहरूको वास्तविक सार बुझ्दैनन्, तिनीहरूले नैतिक आचरण सम्‍बन्धी परम्‍परागत संस्कृतिका भनाइहरूलाई प्रायजसो सत्यतालाई प्रतिस्थापन गर्ने वा अतिक्रमण गर्ने सकारात्मक कुराहरूका रूपमा व्यवहार गर्छन्। के यो आम रूपमा देखा पर्ने घटना हो? (हो।) उदाहरणको लागि, “अरूप्रति दयालु हुनुपर्छ,” “सद्भाव खजाना हो; धैर्यता सान हो,” “अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू,” “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्‍नू,” “सानो गुनको पैँचो पनि उदार मनले तिर्नुपर्छ” जस्ता परम्‍परागत संस्कृतिका भनाइहरू, र “साथीको लागि गोली खान तयार छु,” साथै “एउटा बफादार प्रजाले दुइटा राजाको सेवा गर्न सक्दैन, र एउटी असल स्‍त्रीले दुई पुरुष विवाह गर्न सक्दिन” भन्‍ने जस्ता अझै चर्चित भनाइहरू मानिसहरूको आचरणको आचारसंहिता, र व्यक्तिको आदर्शतालाई मूल्याङ्कन गर्ने सर्त र मापदण्ड बनिसकेका छन्। त्यसकारण, परमेश्‍वरको धेरै वचन र सत्यता सुनिसकेपछि पनि, मानिसहरूले परम्परागत संस्कृतिका भनाइ र सिद्धान्तहरूलाई अझै पनि अरूलाई मापन गर्ने र कामकुराहरूलाई हेर्ने मापदण्डको रूपमा प्रयोग गर्छन्। यसमा समस्या के हो? यसले परम्‍परागत संस्कृतिले मानिसको हृदयमा निकै महत्त्वपूर्ण स्थान ओगटेको छ भन्‍ने अत्यन्तै गम्‍भीर समस्यालाई देखाउँछ। के त्यस तथ्यले यो कुरा देखाउँदैन र? (देखाउँछ।) शैतानले मानिसहरूमा हालिदिएका सबै विभिन्‍न विचारहरूले तिनीहरूको हृदयमा गहिरो जरा गाडेका छन्। तिनले सारा मानवजातिको जीवन, वातावरण, र समाजमा हैकम जमाएका छन् र प्रचलित बनेका छन्। त्यसकारण, परम्‍परागत संस्कृतिले मानिसहरूको हृदयमा महत्त्वपूर्ण स्थान ओगट्ने मात्रै होइन, तिनीहरूको मानिसहरू र कामकुराहरूलाई हेर्ने, आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने सिद्धान्त र मनोवृत्ति, अनि दृष्टिकोण र शैलीहरूलाई गहन रूपमा प्रभाव र नियन्त्रण गर्छ। मानिसहरूले परमेश्‍वरको वचनले तिनीहरूमाथि गरेको विजय, साथै, त्यसले गरेको खुलासा, न्याय र सजायलाई स्विकारेपछि पनि, तिनीहरूको आत्मिक संसार र तिनीहरूको हृदयको गहिराइमा परम्‍परागत संस्कृतिका यी विचारहरूले अझै पनि महत्त्वपूर्ण स्थान लिन्छन्। यसको अर्थ, तिनीहरूले मानिसहरू र कामकुराहरूलाई कसरी हेर्छन्, कसरी आचरण र व्यवहार गर्छन् त्यसको दिशा, उद्देश्य, सिद्धान्त, मनोवृत्ति, र दृष्टिकोणलाई यी कुराहरूले नियन्त्रण गर्छन्। के यसको अर्थ मानिसहरू पूर्ण रूपमा शैतानको बन्दी बनेका छन् भन्‍ने हुँदैन र? के यो तथ्य होइन र? (हो।) यो तथ्य हो। मानिसहरूको जीवन शैली र जीवनको उद्देश्य, तिनीहरूले सबै कुराहरूप्रति राख्ने दृष्टिकोण र मनोवृत्ति, पूर्ण रूपमा परम्‍परागत संस्कृतिमा आधारित हुन्छन्, जुन परम्‍परागत संस्कृति शैतानले प्रोत्साहित गरेको र तिनीहरूमा हालिदिएको हुन्छ। परम्‍परागत संस्कृतिले मानिसहरूको जीवनमा मुख्य स्थान ओगटेको हुन्छ। परमेश्‍वरको अघि आएपछि र उहाँका वचनहरू सुनेपछि, र उहाँका केही सही भनाइ र दृष्टिकोणहरू स्विकारेपछि पनि, तिनीहरूको आत्मिक संसार र हृदयको गहिराइमा परम्‍परागत संस्कृतिका विभिन्‍न विचारहरूले अझै पनि मुख्य र महत्त्वपूर्ण स्थान लिएका हुन्छन्। यी विचारहरूका कारण, मानिसहरू परमेश्‍वर र उहाँका वचनहरू र कामलाई परम्‍परागत संस्कृतिका विधि, दृष्टिकोण, र मनोवृत्ति प्रयोग गरेर नहेरी बस्‍न सक्दैनन्। तिनीहरूले त्यसैको आधारमा परमेश्‍वरका वचनहरू, काम, पहिचान, र सारलाई मूल्याङ्कन, विश्‍लेषण, र अध्ययन समेत गर्छन्। के अवस्था त्यही होइन र? (हो।) यो निर्विवाद तथ्य हो। मानिसहरूलाई परमेश्‍वरका वचनहरू र काम, उहाँको व्यवहार, सार, शक्ति र बुद्धिले विजय गरेको भए पनि, तिनीहरूको हृदयमा परम्‍परागत संस्कृतिले अझै पनि महत्त्वपूर्ण स्थान ओगटेको हुन्छ, यहाँसम्‍म कि कुनै कुराले त्यसलाई प्रतिस्थापन गर्न सक्दैन। प्राकृतिक रूपमै, परमेश्‍वरका वचनहरू र सत्यताले पनि त्यसलाई प्रतिस्थापन गर्न सक्दैनन्। मानिसहरूलाई परमेश्‍वरले विजय गर्नुभएको भए पनि, तिनीहरूको हृदयमा परम्‍परागत संस्कृतिले लिएको ठाउँलाई उहाँका वचनहरू र सत्यताले प्रतिस्थापन गर्न सक्दैनन्। यो अत्यन्तै दुःखलाग्दो र डरलाग्दो कुरा हो। मानिसहरू परमेश्‍वरलाई पछ्याउँदै गर्दा, उहाँका वचनहरू सुन्दै गर्दा, सत्यता र उहाँका विभिन्‍न विचारहरूलाई स्विकार्दै गर्दा परम्‍परागत संस्कृतिलाई नै पक्रिरहन्छन्। झट्ट हेर्दा, यी मानिसहरू परमेश्‍वरलाई पछ्याइरहेका झैँ देखिन्छन्, तर परम्‍परागत संस्कृति र शैतानले तिनीहरूमा हालिदिएका विभिन्‍न विचार, दृष्टिकोण, र हेराइहरूले तिनीहरूको हृदयमा अडिग र प्रतिस्थापन गर्न नसकिने स्थान लिएका हुन्छन्। मानिसहरूले हरेक दिन परमेश्‍वरका वचनहरू खालान् र पिउँलान् अनि प्रायः त्यसलाई प्रार्थनापूर्वक पढ्लान् र मनन गर्लान्, तर तिनीहरूले मानिसहरू र कामकुराहरूलाई कसरी हेर्छन्, कस्तो आचरण र व्यवहार गर्छन्, भन्‍ने कुराको आधारभूत दृष्टिकोण, सिद्धान्त र तौरतरिकाहरू अझै पनि परम्परागत संस्कृतिमा नै आधारित हुन्छन्। त्यसकारण, परम्परागत संस्कृतिले मानिसहरूलाई दैनिक जीवनमा यसको चालबाजी, योजनाबद्धता, र नियन्त्रणको अधिनमा पारेर प्रभाव पार्छ। यो तिनीहरूको आफ्‍नै छाया झैँ अडिग हुन्छ र तिनीहरू त्यसबाट मुक्त हुन सक्दैनन्। यस्तो किन हुन्छ? किनभने मानिसहरूले आफ्‍नो हृदयको गहिराइबाट पराम्परागत संस्कृति र शैतानले तिनीहरूमा हालिदिएको विभिन्‍न विचार र दृष्टकोणहरूलाई उदाङ्गो पार्न, चिरफार वा खुलासा गर्न सक्दैनन्; तिनीहरूले यी कुराहरू चिन्‍न, छर्लङ्ग देख्‍न, तीविरुद्ध विद्रोह गर्न वा ती त्याग्‍न सक्दैनन्; परमेश्‍वरले तिनीहरूलाई बताउनुभएका वा सिकाउनुभएका र निर्देशन गर्नुभएका तरिकाअनुसार मानिसहरू र कामकुराहरूलाई हेर्न, आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न सक्दैनन्। यसले गर्दा अधिकांश मानिसहरू अझै पनि कस्तो प्रकारको दुर्दशामा जिउँछन् त? तिनीहरू हृदयको गहिराइमा परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र कामकुराहरूलाई हेर्ने, आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने, परमेश्‍वरका अभिप्राय वा सत्यताविरुद्ध नजाने चाहका साथ जिउँछन्, तैपनि विवश भएर र नचाहँदा-नचाहँदै पनि, तिनीहरू शैतानले सिकाएका तौरतरिकाअनुसार मानिसहरूसँग अन्तर्क्रिया गर्न, आफ्नो आचरण प्रस्तुत गर्न र मामिलाहरू सम्हाल्न जारी राख्छन्। हृदयमा, मानिसहरूले सत्यताको तृष्णा गर्छन्, र परमेश्‍वरलाई तीव्र रूपमा चाहने, परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र कामकुराहरूलाई हेर्ने, आचरण र व्यवहार गर्ने, अनि सत्यता सिद्धान्तहरूलाई उल्लङ्घन नगर्ने इच्छा गर्छन्, तैपनि, परिस्थितिहरू सधैँ तिनीहरूको इच्छाविपरीत जान्छन्। तिनीहरूले दोब्बर परिश्रम गरे पनि, तिनीहरूले पाउने परिणाम तिनीहरूको चाहनाअनुसार हुँदैन। चाहे मानिसहरूले जति सुकै सङ्घर्ष गरे पनि, जतिसुकै परिश्रम गरे पनि, जति सुकै सकारात्मक कुराहरूलाई प्रेम गर्ने सङ्कल्प र चाहना गरे पनि, आखिरमा तिनीहरूले वास्तविक जीवनमा अभ्यास गर्न सक्‍ने सत्यता कायम राख्न सक्‍ने सत्यताका सर्तहरू एकदमै थोरै हुन्छन्। मानिसहरूलाई हृदयको गहिराइमा सबैभन्दा बढी हैरान तुल्याउने कुरा यही हो। यसको कारणचाहिँ के हो त? एउट कारण त के हो भने, मानिसहरूलाई परम्परागत संस्कृतिले सिकाउने विभिन्‍न विचार र दृष्टिकोणहरूले तिनीहरूको हृदय, र बोलीवचन, कार्य, विचार, साथै तिनीहरूको आचरण र व्यवहारको शैली र तौरतरिकालाई अझै पनि नियन्त्रण गर्छ। तसर्थ, परम्परागत संस्कृतिलाई चिन्‍न, यसलाई चिरफार र खुलासा गर्न, यसलाई खुट्टयाउन र छर्लङ्ग देख्‍न, अनि अन्त्यमा यसलाई सदाको लागि त्याग्‍न मानिसहरूले एक प्रक्रिया अनुभव गर्नुपर्छ। यसो गर्नु अत्यन्तै महत्त्वपूर्ण छ, यो वैकल्‍पिक कुरा होइन। किनभने परम्परागत संस्कृतिले मानिसहरूको भित्री हृदयलाई नियन्त्रण गरिसकेको छ—यसले तिनीहरूको सम्पूर्णतालाई नियन्त्रण गर्छ। यसको अर्थ मानिसहरूले जीवनमा आफ्‍नो आचरण र मामलाहरूलाई सम्‍हाल्‍ने तरिकामा सत्यतालाई उल्‍लङ्घन गर्नबाट आफूलाई रोक्‍न सक्दैनन्, र आजको दिनसम्‍म बाध्य भए जस्तै तिनीहरू परम्‍परागत संस्कृतिद्वारा नियन्त्रित र प्रभावित हुन बाध्य हुन्छन्।

यदि व्यक्तिले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा सत्यतालाई पूर्ण रूपमा स्विकार्न अनि राम्ररी अभ्यास र प्राप्त गर्न चाहन्छ भने, उसले परम्‍परागत संस्कृतिका विभिन्‍न विचार र दृष्टिकोणहरूलाई खोतलेर, चिरफार गरेर, अनि चिनेर यो कार्य सुरु गर्नुपर्छ। अवश्य नै, परम्‍परागत संस्कृतिका यी विचारहरूले हरेक व्यक्तिको हृदयमा महत्त्वपूर्ण स्थान ओगट्छ, तैपनि फरक-फरक मानिसहरूले यसको सैद्धान्तिकरणका फरक-फरक पक्षलाई समात्छन्; हरेक व्यक्तिले यसको फरक भागलाई ध्यान दिन्छ। कतिपय मानिसहरू यो भनाइको विशेष वकालत गर्छन्: “साथीको लागि गोली खान तयार छु।” तिनीहरू आफ्ना साथीहरूप्रति अत्यन्तै बफादार हुन्छन्, र तिनीहरूको लागि कुनै पनि कुराभन्दा पनि बढी महत्त्वपूर्ण बफादारिता नै हुन्छ। बफादारिता नै तिनीहरूको जीवन हुन्छ। तिनीहरू जन्‍मेको दिनदेखि नै बफादारिताका लागि जिउँछन्। कतिपय मानिसहरूले दयालाई अत्यन्तै महत्त्व दिन्छन्। यदि कसैले तिनीहरूलाई दया देखायो भने, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरू यसलाई हृदयमा राख्छन्, र यसको गुन फर्काउनु नै तिनीहरूको जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा बन्छ—यो तिनीहरूको जीवनको मिसन बन्छ। कतिपय मानिसहरूले अरूमा राम्रो छाप छोड्ने कुरालाई महत्त्व दिन्छन्; तिनीहरूले सम्मानजनक, आदर्श, सभ्य व्यक्ति बन्‍ने, र आफूप्रति अलाई आफ्नो सम्मान गर्न लगाउने र आफूलाई राम्रो सोच्न लगाउने कार्यमा ध्यान दिन्छन्। अरूले तिनीहरूको बारेमा राम्रो कुरा बोलून् भन्‍ने चाहन्छन्, राम्रो प्रतिष्ठा चाहन्छन्, प्रशंसा चाहन्छन्, र सबैबाट स्याबासी चाहन्छन्। परम्‍परागत संस्कृति र नैतिक आचरणका विभिन्‍न भनाइहरू पछ्याउने क्रममा हरेक व्यक्तिको ध्यान फरक-फरक कुरामा हुन्छ। कतिपयले ख्याति र सम्पत्तिलाई बहुमूल्य ठान्छन्, अरूले सत्यनिष्ठालाई, कतिपयले शुद्धतालाई बहुमूल्य ठान्छन् भने कतिपयले दयाको गुन फिर्ता गर्नुलाई। कतिपय मानिसहरूले बफादारिलाई बहुमूल्य ठान्छन्, कतिपयले परोपकारलाई भने कतिपयले सुचरित्रलाई बहुमूल्य ठान्छन्—तिनीहरूले सबैसँग शिष्ट र सभ्य व्यवहार गर्छन्, तिनीहरूले सधैँ अरूलाई बाटो छोडिदिने र प्राथमिकता दिने गर्छन्—र इत्यादि। हरेक व्यक्तिले फरक-फरक कुरामा ध्यान दिन्छ। त्यसकारण, यदि तँ परम्‍परागत संस्कृतिले तँलाई कसरी असर गरेको छ र कसरी नियन्त्रण गर्छ भनेर बुझ्‍न चाहन्छस् भने, यदि यसले तेरो हृदयको गहिराइमा कति धेरै महत्त्व बोक्छ भनेर जान्‍न चाहन्छस् भने, तैँले तँ कस्तो व्यक्ति होस्, र तैँले के कुरालाई बहुमूल्य ठान्छस् भनेर चिरफार गर्नैपर्छ। के तँ “सद्‌व्यवहार” लाई ध्यान दिन्छस् कि “परोपकार” लाई? तँ “विश्‍वसनीयता” लाई महत्त्व दिन्छस् कि “धैर्यतालाई”? परम्‍परागत संस्कृतिको कुन पक्षले तँलाई गहनतम रूपमा प्रभाव पारेको छ, र तँ किन परम्‍परागत संस्कृतिलाई पछ्याइरहेको छस् भनी चिरफार गर्न फरक-फरक दृष्टिकोणबाट र आफ्‍नो वास्तविक व्यवहारका आधारमा हेर्नैपर्छ। तैँले परम्‍परागत संस्कृतिको जुन सारलाई पछ्याउँछस्, तँ त्यस्तै प्रकारको व्यक्ति हुन्छस्। तँ कस्तो प्रकारको व्यक्ति होस्, त्यसैले तेरो जीवन नियन्त्रण गर्छ—अनि जुन कुराले तेरो जीवन नियन्त्रण गर्छ, तैँले पहिचान र विश्‍लेषण गर्नुपर्ने, बुझ्नुपर्ने, विद्रोह गर्नुपर्ने, अनि त्याग्‍नुपर्ने कुरा त्यही हो। तैँले यसलाई पत्ता लगाएर बुझिसकेपछि, बिस्तारै आफूलाई परम्‍परागत संस्कृतिबाट अलग गर्न सक्छस्, यसलाई साँच्चै त्याग्‍न सक्छस्, र अन्तिममा, यसबाट पूर्ण रूपमा उम्किएर यसलाई आफ्‍नो हृदयको गहिराइबाट उखालेर फाल्‍न सक्छस्। त्यसपछि तैँले पूर्ण रूपमा यसविरुद्ध विद्रोह गरेर यसलाई उन्‍मूलन गर्न सक्नेछस्। एकपटक यसो गरेपछि, त्यसउप्रान्त परम्‍परागत संस्कृतिले तेरो जीवनमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्नेछैन; बरु, परमेश्‍वरका वचनहरू र सत्यताले तेरो हृदयको गहिराइमा बिस्तारै मुख्य भूमिका खेल्‍न थाल्‍नेछन् र ती तेरो जीवन बन्‍नेछन्। परमेश्‍वरका वचनहरू र सत्यताले बिस्तारै त्यहाँ महत्त्वपूर्ण स्थान लिनेछन्, र परमेश्‍वरका वचनहरू र परमेश्‍वरले तेरो हृदयको सिंहासनमा बसेर तेरो राजाको रूपमा शासन गर्न थाल्‍नुहुनेछ। उहाँको वचन र उहाँले तेरो हरेक भाग ओगट्नुहुनेछ। त्यसपछि त के जीवनको हैरानी झन्कम हुनेछैन र? के तेरो जीवनबाट हैरानी झन्-झन् घट्दै जानेछैन र? (घट्दै जानेछ।) के त्यसपछि तँलाई सत्यतालाई आफ्‍नो मापदण्ड बनाएर परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र कामकुराहरूलाई हेर्न र आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न झन् सजिलो हुनेछैन र? (हुनेछ।) निकै सजिलो हुनेछ। मलाई थाहा छ तिमीहरू सबैजना हरेक दिन आफ्‍नो कर्तव्यमा अत्यन्तै व्यस्त छौ। परमेश्‍वरका वचनहरू पढ्ने बाहेक, तिमीहरूले हरेक दिन सत्यताबारे सङ्गति गर्ने, सत्यता पढ्ने, सुन्ने, कण्ठ गर्ने, र लेख्ने पनि गर्नुपर्छ। तिमीहरूले धेरै समय र उर्जा खर्च गर्छौ, धेरै मूल्य चुकाउँछौ, धेरै कष्ट भोग्छौ, र सायद धेरै धर्मसिद्धान्त बुझ्छौ। तर, आफ्‍नो कर्तव्यनिभाउने कुरा आउँदा, तिमीहरूले सत्यता अभ्यास गर्न र सिद्धान्तहरू बुझ्‍न नसक्‍नु साह्रै नराम्रो कुरा हो। तिमीहरूले यति धेरै पटक सत्यताका विभिन्न पक्षहरूबारे सुनेका र सङ्गति गरेका छौ, तर तिमीहरूमाथि कुनै कुरा आइपर्दा, तिमीहरूलाई परमेश्‍वरका वचनहरू कसरी अनुभव गर्ने, अभ्यास गर्ने, वा उपयोग गर्ने भनी थाहा नै हुँदैन। तिमीहरूलाई सत्यताको अभ्यास कसरी गर्ने भन्‍ने थाहा छैन; अझै पनि तिमीहरूले यसबारे अरूसँग खोजी र छलफल गर्नुपर्छ। परमेश्‍वरका वचनहरूलाई व्यक्तिको हृदयमा जरा गाड्न किन यत्रो समय लाग्छ? उहाँका वचनहरूद्वारा सत्यता बुझ्‍न र सिद्धान्तहरू अनुसार व्यवहार गर्न किन यति गाह्रो हुन्छ? परम्‍परागत संस्कृतिले मानिसहरूमा पारेको ठूलो प्रभाव नै यसको एउटा मुख्य कारण हो भन्‍ने कुरालाई नकार्न सकिँदैन। यसले निकै लामो समयदेखि मानिसहरूको हृदयमा महत्त्वपूर्ण स्थान ओगटेको छ, र यसले मानिसहरूको विचार र मनलाई नियन्त्रण गर्छ। परम्‍परागत संस्कृतिले मानिसको भ्रष्ट स्वभावलाई बेलगाम छोडिदिन्छ; जसरी कसाईलाई खुकुरी चलाउन सहज हुन्छ, र माछालाई पानीमा जिउन सहज हुन्छ, त्यसरी नै तिनीहरूलाई ती भ्रष्ट स्वभाव प्रकट गर्न सजिलो हुन्छ। के कुरा यही होइन र? (हो।) परम्‍परागत संस्कृति र मानिसको भ्रष्ट स्वभाव निकै घनिष्ट रूपमा सम्बन्धित हुन्छन्। यी दुई वटा कुराले सहकार्य गर्छन् र एक-अर्कालाई बल दिन्छन्। माछाले पानी भेटे जस्तै भ्रष्ट स्वभावले परम्‍परागत संस्कृतिलाई भेट्दा, तिनले आफ्‍नो सम्पूर्ण क्षमता देखाउन सक्छन्। भ्रष्ट स्वभावले परम्‍परागत संस्कृतिलाई प्रेम गर्छ र त्यसलाई परम्परागत संस्कृतिको खाँचो हुन्छ। त्यसकारण, हजारौँ वर्ष परम्‍परागत संस्कृतिको प्रशिक्षित हुँदा, मानिस शैतानद्वारा पहिला कहिल्यै नतुल्याइए झैँ गरी गहन रूपमा भ्रष्ट तुल्याइएको छ, र मानिसको भ्रष्ट स्वभाव झन्-झन् गम्‍भीर र व्यापक भएको छ। परम्परागत संस्कृतिको देखावटी रूप र बाहिरी भेसभित्र लुकेर, यी भ्रष्ट स्वभावहरू झन्-झन् गम्‍भीर बन्दै, र झन्-झन् ढाक-छोप हुँदै गएका छन्। अहङ्कार, छल, दुष्टता, हठीपन, र सत्यतादेखि वितृष्ण मान्‍ने जस्ता स्वभावहरू झन्-झन् गहन रूपमा ढाकिएका र छोपिएका छन्—ती झन्-झन् चलाखीपूर्ण रूपमा प्रकट हुन्छन्, जसले गर्दा मानिसहरूलाई ती पत्ता लगाउन गाह्रो हुन्छ। त्यसकारण, परम्‍परागत संस्कृतिको प्रशिक्षण, निर्देशन, बहकाउ, र नियन्त्रणमा परेर, मानवजातिको संसार बिस्तारै के बन्दै गएको छ त? यो भूतहरूको संसार बनेको छ। मानिसहरू मानव जसरी जिउँदैनन्; तिनीहरूमा कुनै मानव रूप वा मानवता छैन। तैपनि, परम्‍परागत संस्कृतिलाई पक्रिरहने, यसद्वारा प्रशिक्षित, ओतप्रोत, र नियन्त्रित मानिसहरू आफ्नै महानता, आदर्शता र परमताप्रति झन्-झन् विश्‍वस्त हुँदै गइरहेका छन्। तिनीहरू अत्यन्तै घमन्डी भएका छन्; तिनीहरूमध्ये कसैले पनि आफूलाई महत्त्वहीन, अयोग्य, र सानो सृजित प्राणी ठान्दैन। तिनीहरूमध्ये कोही पनि सामान्य व्यक्ति बन्‍न इच्छुक छैन; तिनीहरू सबै प्रसिद्ध, महान्, र सन्त बन्‍न चाहन्छन्। परम्‍परागत संस्कृतिको प्रशिक्षणमुनि, मानिसहरू आफैलाई मात्र उछिन्न चाहँदैनन्—सारा संसार र सारा मानवजातिलाई नै उछिन्न चाहन्छन्। तिमीहरूले गैरविश्‍वासीहरूले गाउने त्यो गीत त सुनेका छौ नि, “म अझै माथि उड्न चाहन्छु,” अनि अर्को गीत यस्तो छ, “म त एउटा सानो चरो हुँ, उड्न त चाहन्छु, तर धेरै माथि उड्न सक्दिनँ।” के यी शब्‍दहरू तर्करहित, पूर्ण रूपमा मानवतारहीत र समझरहीत छैनन् र? के ती शैतानका बर्बर गर्जन होइनन् र? (हुन्।) ती त शैतानको क्रोधित चित्कार हुन्। त्यसकारण, यसलाई जसरी हेरिए पनि, परम्‍परागत संस्कृतिको विष मानिसको हृदयमा धेरै अघि सोसिइसकेको छ, र यसलाई रातारात हटाउन सकिँदैन। यो व्यक्तिगत कमजोरी वा खराब बानीलाई विजय गर्नु जस्तो सहज छैन—तिमीहरूले आफ्‍ना विचार, दृष्टिकोण, र भ्रष्ट स्वभावलाई उदाङ्गो पार्नुपर्छ, अनि सत्यताअनुसार आफ्‍नो जीवनबाट परम्‍परागत संस्कृतिको विषाक्त जरालाई उखेलेर फाल्‍नुपर्छ। त्यसपछि, तैँले परमेश्‍वरका वचनहरू र मागहरूअनुसार, मानिसहरू र कामकुराहरूलाई हेर्नुपर्छ, आफूलाई व्यवहारमा ढाल्नुपर्छ र कार्य गर्नुपर्छ अनि परमेश्‍वरका वचनहरूको सत्यतालाई आफ्‍नो मापदण्ड बनाउनुपर्छ। यसो गरेर मात्रै तँ परमेश्‍वरलाई पछ्याउने र उहाँमा विश्‍वास गर्ने सही मार्गमा साँच्चै हिँडिरहेको हुन्छस्।

परम्‍परागत संस्कृतिको विषयलाई चिरफार र खुलासा गर्नका लागि हामीले धेरै कुरा गरिसकेका छौँ, र हामीले यसको बारेमा विस्तृत रूपमा सङ्गति गरेका छौँ। हामीले यस विषयमा चाहे जति धेरै सङ्गति गरे पनि, वा जति लामो समयसम्‍म सङ्गति गरे पनि, यसको उद्देश्य भनेको मानिसहरूले सत्यता पछ्याउँदै गर्दा, देखा पर्ने विभिन्न कठिनाइ, वा तिनीहरूको जीवन प्रवेशमा रहेका विभिन्‍न कठिनाइ र समस्याहरूलाई समाधान गर्नु नै हो। यसको लक्ष्‍य भनेको सबै बाधा, अवरोध, र कठिनाइहरूलाई हटाउनु हो—जसमध्ये परम्‍परागत संस्कृतिका विभिन्‍न भनाइ, विचार र दृष्टिकोणहरू प्रमुख हुन्—जुन सत्यता पछ्याउने मानिसहरूको मार्गमा अवरोध बन्छन्। आजको दिनसम्म आउँदा, हामीले परम्‍परागत संस्कृतिको विषयमा हाम्रो सङ्गति आधारभूत रूपमा पूरा गरेका छौँ। के त्यसोभए हामीले सत्यता पछ्याउने विषयसँग सम्‍बन्धित शीर्षकहरूमा सङ्गति पूरा गरिसक्यौँ त? (छैन।) के परम्‍परागत संस्कृतिको विषयमा हामीले गरेको सङ्गति र विश्‍लेषण सत्यता पछ्याउने विषयसँग सम्‍बन्धित थियो? (थियो।) यो सत्यता पछ्याउने कार्यसँग सम्‍बन्धित थियो। सत्यता पछ्याउने मार्गमा मानिसहरूले सामना गर्ने सबैभन्दा ठूलो कठिनाइ परम्‍परागत संस्कृति नै हो। अब हामीले परम्‍परागत संस्कृतिबारे सङ्गति गर्ने कार्यलाई पुरा गरेपछि—जुन सत्यता पछ्याउने कार्यमा मानिसका लागि सबैभन्दा ठूलो बाधा हो—आज हामी “मानिसले किन सत्यता पछ्याउनै पर्छ?” भन्‍ने प्रश्‍नबारे सङ्गति गर्नेछौँ। मानिसले किन सत्यता पछ्याउनै पर्छ? के हामीले यस प्रश्‍नबारे यसभन्दा पहिले सङ्गति गरेका छौँ त? हामीले किन यसबारे सङ्गति गर्नैपर्छ र? के यो महत्त्वपूर्ण प्रश्‍न हो? (हो।) यो किन महत्त्वपूर्ण छ? आफ्ना विचारहरू बताओ। (मेरो बुझाइ के छ भने सत्यता पछ्याउने कार्य मानिसको मुक्तिसँग सिधै सम्‍बन्धित छ। हामी सबैमा अत्यन्तै भ्रष्ट स्वभाव छ, र हामी सानै उमेरदेखि परम्‍परागत संस्कृतिद्वारा प्रशिक्षित गरिएका र गहन रूपमा विषाक्त पारिएका छौँ, त्यसकारण हामीले सत्यता पछ्याउनैपर्छ, नत्र हामीले शैतानबाट आउने नकारात्मक कुराहरूलाई खुट्टयाउन सक्नेछैनौँ। हामीले सत्यता अभ्यास पनि गर्न सक्‍नेछैनौँ, अनि सकारात्मक रूपमा र परमेश्‍वरका अभिप्रायअनुसार कसरी व्यवहार गर्ने भनेर पनि हामीलाई थाहा हुँदैन। आफ्‍नो भ्रष्ट स्वभाव अनुसार व्यवहार र आचरण गर्न बाहेक हामीसँग कुनै विकल्‍प हुनेछैन। यदि कुनै व्यक्तिले परमेश्‍वरमा यसरी विश्‍वास गर्छ भने, अन्तिममा, ऊ अझै पनि जिउँदो शैतान नै रहनेछ, परमेश्‍वरले मुक्ति दिनुहुने व्यक्ति होइन। त्यसकारण, सत्यता पछ्याउनु अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यसको साथै, सत्यता पछ्याएर मात्रै हाम्रो भ्रष्ट स्वभावलाई धुन सकिन्छ; मानिसहरू र कामकुराहरूलाई हेर्ने हाम्रो तरिका, र आचरण र व्यवहार गर्ने तरिकाबारे हाम्रो गलत विचारलाई सुधार गर्ने एक मात्र तरिका पनि यही नै हो। व्यक्तिले सत्यता बुझेपछि अनि प्राप्त गरेपछि मात्रै उसले आफ्‍नो कर्तव्य कुशलतापूर्वक गर्न र ऊ परमेश्‍वरप्रति समर्पित व्यक्ति बन्‍न सक्छ। नत्र, तिनीहरूले आफ्‍नो कर्तव्यमा मण्डलीको काममा बाधा र अवरोध ल्याउने कुराहरू गर्न अनजानमा नै आफ्‍नो भ्रष्ट स्वभाव पछ्याउनेछन्।) तिमीहरूले दुई वटा तर्क प्रस्तुत गऱ्यौ। मेरो प्रश्‍न के थियो? (मानिसले किन सत्यता पछ्याउनै पर्छ?) के त्यो सरल प्रश्‍न हो? यो सरल, कार्य-कारणको प्रश्‍न जस्तो सुनिन्छ। के तिमीहरू सबैजना, सत्यता पछ्याउने कार्य एक हिसाबमा व्यक्तिको मुक्तिसँग, र अर्को हिसाबमा बाधा-अवरोध सृजना नगर्ने कार्यसँग सम्बन्धित छ भन्‍ने दृष्टिकोण राख्छौ? (हजुर।) तिमीहरूले यस कुरालाई यसरी बताउँदा, प्रश्‍न निकै सरल जस्तो सुनिन्छ। के यो साँच्‍चै त्यति सरल छ त? आफ्ना विचारहरू बताओ। (मलाई लाग्छ, “मानिसले किन सत्यता पछ्याउनै पर्छ?” भन्‍ने प्रश्‍नको उत्तर सैद्धान्तिक दृष्टिकोणबाट दिन अलि बढी सजिलो छ जस्तो लाग्छ, तर जब यसमा वास्तवमै अभ्यास गर्ने र वास्तविकतामा प्रवेश गर्ने कुरा संलग्न हुन्छ, तब यो त्यति सरल हुँदैन।) “मानिसले किन सत्यता पछ्याउनै पर्छ?”—यसमा कति वटा प्रश्‍नहरू समावेश हुन्छन् त? यसमा सत्यता पछ्याउनुको अर्थ के हो, यसका कारणहरू के-के हुन् जस्ता प्रश्‍नहरू समावेश हुन्छन्—अरू? (सत्यता पछ्याउनुको महत्त्व।) सही भन्यौ: यसमा सत्यता पछ्याउनुको महत्त्व पनि समावेश हुन्छ; यसमा यी प्रश्‍नहरू समावेश हुन्छन्। यी कुराहरूलाई ध्यानमा राखी हेर्दा, के “मानिसले किन सत्यता पछ्याउनै पर्छ?” भन्‍ने प्रश्‍न सरल छ त? (छैन।) यी कुराहरूलाई ध्यानमा राखेर “मानिसले किन सत्यता पछ्याउनै पर्छ?” भन्‍ने प्रश्‍नलाई फेरि पनि सोचविचार गर। सुरुमा विगतलाई हेर—सत्यतालाई पछ्याउनु भनेको के हो? यसलाई कसरी परिभाषित गर्ने? (परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्न कामकुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु।) के त्यो सही हो? तिमीहरूले “पूर्ण रूपमा” भन्‍ने शब्‍द छुटाइरहेका छौ। फेरि पढ त। (“पूर्णतया परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्न कामकुराहरूलाई हेर्नु, सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु।”) “मानिसले किन सत्यता पछ्याउनैप र्छ?” भन्‍ने प्रश्‍न मानिसहरू र कामकुराहरूलाई, र आफ्‍नो आचरण र व्यवहारलाई हेर्ने मानिसहरूको दृष्टिकोणसँग सम्‍बन्धित छ। यो त मानिसहरूले कामकुराहरू र मानिसहरूलाई कसरी हेर्नुपर्छ, तिनीहरूले कसरी आचरण र व्यवहार गर्नुपर्छ; अनि तिनीहरूले किन पूर्ण रूपमा परमेश्‍वरका वचनहरूअनुसार अनि सत्यतालाई आफ्‍नो मापदण्ड बनाएर कामकुराहरू र मानिसहरूलाई हेर्नुपर्छ, साथै कसरी आचरण र व्यवहार गर्नुपर्छ भन्‍नेबारे हो। किन तिनीहरूले कार्य गर्ने यस्तो तरिका पछ्याउनुपर्छ त—के त्यस प्रश्नको जड यो होइन र? के आधारभूत प्रश्‍न त यो होइन र? (हो।) अब तिमीहरूले प्रश्‍नले जोड दिने आधारभूत कुरालाई बुझेका छौ। हामी प्रश्‍नलाई फर्केर हेरौँ, “मानिसले किन सत्यता पछ्याउनै पर्छ?” यो प्रश्‍न सरल छैन। यसमा सत्यतालाई पछ्याउनुको महत्त्व र मूल्य समावेश हुन्छ, र यसमा अर्को एउटा कुरा छ, जुन सबैभन्दा बढी महत्त्वपूर्ण छ: मानवजातिको सार र प्रवृत्तिको आधारमा, तिनीहरूलाई जीवनको रूपमा सत्यता चाहिन्छ नै, त्यसकारण तिनीहरूले यसलाई पछ्याउनैपर्छ। यो मानवजातिको भविष्य र अस्तित्वसँग पनि स्वत: सम्‍बन्धित छ। सरल रूपमा भन्दा, सत्यता पछ्याउने कार्य मानिसहरूको मुक्ति र तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तनसँग सम्‍बन्धित छ। यो मानिसहरूले जिउने विभिन्‍न कुराहरू, तिनीहरूको प्रकटीकरण, र दैनिक जीवनमा तिनीहरूले देखाउने व्यवहारसँग पनि स्वत: सम्‍बन्धित छ। यदि मानिसहरू सत्यता पछ्याउँदैनन् भने, तिनीहरूले मुक्ति पाउने सम्‍भावना शुन्य हुन्छ भनेर सहि रूपमा भन्न सकिन्छ। यदि मानिसहरूले सत्यतालाई पछ्याउँदैनन् भने, तिनीहरूले परमेश्‍वरलाई प्रतिरोध गरिरहेका, धोका दिइरहेका, र इन्कार गरिरहेका छन् भन्‍ने कुराको सम्‍भावना शतप्रतिशत हुन्छ। तिनीहरूले कुनै पनि समय र स्थानमा परमेश्‍वरलाई प्रतिरोध गर्न र धोका दिन सक्छन्, र स्वतः, मण्डली र परमेश्‍वरको घरको काममा बाधा पुऱ्याउन, वा कुनै पनि समय र स्थानमा बाधा-अवरोध ल्याउन पनि सक्छन्। मानिसहरूले सत्यता पछ्याउनैपर्ने केही सरल र सबैभन्दा आधारभूत कारणहरू यी हुन्, जुन तिनीहरूको दैनिक जीवनमा देख्‍न र बुझ्‍न सकिन्छ। तर आज हामी “मानिसले किन सत्यता पछ्याउनै पर्छ?” भन्‍ने प्रश्‍नको केही महत्त्वपूर्ण भागहरूमा मात्र सङ्गति गर्नेछौँ। हामीले यो प्रश्‍नको सबैभन्दा आधारभूत पक्षहरूबारे सङ्गति गरिसक्यौँ, जसलाई मानिसहरूले धर्मसिद्धान्तसँग सम्बन्धित मामलाको रूपमा बुझेका र पहिचान गरेका छन्, त्यसकारण आज हामी ती आधारभूत र सरल प्रश्‍नहरूबारे सङ्गति गर्नेछैनौँ। हामीले केही मुख्य तत्वहरूबारे सङ्गति गरे पुग्छ। हामी किन सत्यता पछ्याउने विषयमा सङ्गति गरिरहेका छौँ त? स्पष्ट छ, यसभित्र केही महत्त्वपूर्ण प्रश्‍नहरू समावेश छन्, मानिसहरूले छर्लङ्ग बुझ्न नसक्ने, र तिनीहरूलाई थाहा नभएका, र तिनीहरूले बोध गर्न नसक्ने प्रश्‍नहरू, तर जसको लागि तिनीहरूको समझ र बुझाइको आवश्यकता पर्छ।

मानिसले किन सत्यता पछ्याउनै पर्छ? हामी मानिसहरूले यसबारे बोध गरिसकेका र बुझिसकेका आधारभूत पक्षहरूबाट सुरु गर्नेछैनौँ, न त मानिसहरूलाई थाहा भइसकेका धर्मसिद्धान्तबाट नै सुरु गर्नेछौँ। त्यसोभए, हामी कहाँबाट सुरु गर्नेछौँ त? हामीले यो प्रश्‍नको जडबाट, अर्थात् परमेश्‍वरको व्यवस्थापन योजना र परमेश्‍वरका अभिप्रायहरूबाट सुरु गर्नुपर्छ। यो प्रश्‍नको जडबाट सुरु गर्नु भनेको के हो? यसको अर्थ हामी परमेश्‍वरको व्यवस्थापन योजना, र परमेश्‍वरले मानवजातिलाई गर्नुभएको सृष्टिबाट सुरु गर्नेछौँ। मानिसहरू अस्तित्वमा आएदेखि, जीवित प्राणीले—सृष्टि गरिएको मानवजातिले—परमेश्‍वरबाट पहिलो सास प्राप्त गरेको समयदेखि नै, परमेश्‍वरले तिनीहरूको श्रेणीहरूमध्येबाट एउटा समूह प्राप्त गर्ने योजना बनाउनुभएको छ। यो समूहले उहाँका वचनहरूलाई बोध गर्न, बुझ्‍न, र पालन गर्न सक्नेछ। तिनीहरूले परमेश्‍वरका वचनहरूअनुसार, सबै थोक, परमेश्‍वरको अनगिन्ती सृष्टि, यसका वनस्पति, पशु-प्राणी, वन-जङ्गल, समुद्र, खोला, ताल, पहाड-पर्वत, झरना, समथर भूमि, र इत्यादि कुराको रेखदेखकर्ताका रूपमा कार्य गर्न सक्नेछन्। परमेश्‍वरले यो योजना बनाउनुभएपछि, त्यहीअनुसार उहाँले मानवजातिबाट आशा गर्न थाल्‍नुभयो। एक दिन मानिसहरूले यस मानवजाति, संसारमा अस्तित्वमा रहेका सबै थोक, र तिनीहरूमाझ जिउने विभिन्न प्राणीहरूको रेखदेखकर्ताका रूपमा कार्य गर्न सक्‍नेछन्, र तिनीहरूले सुव्यवस्थित रूपमा, अनि उहाँले तय गर्नुभएका विधि, नियम, र व्यवस्थाहरूअनुसार यसो गर्न सक्छन् भनी उहाँ आशा गर्नुहुन्छ। परमेश्‍वरले यो योजना र यी अपेक्षाहरू बनाइसक्नुभएको भए पनि, उहाँको अन्तिम उद्देश्य हासिल हुन निकै लामो समय लाग्नेछ। यो दश-बीस वर्ष, वा एक-दुई शताब्दीमा पुरा गर्न सकिने कुरा होइन, न त एक-दुई सहस्राब्दीमा पूरा गर्न सकिने कुरा हो। यसको लागि छ हजार वर्ष लाग्‍नेछ। यो प्रक्रिया दौरान, मानवजातिले विभिन्‍न याम, युग, काल, र परमेश्‍वरका कामका विभिन्‍न चरणहरू अनुभव गर्नुपर्छ। तिनीहरूले आकाशमा ताराहरू स्थानान्तरण भएको, समुद्रहरू सुकेको र चट्टानहरू धुलो बनेको अनुभव गर्नुपर्छ, अनि तिनीहरूले प्रभावशाली परिवर्तन अनुभव गर्नुपर्छ। प्रारम्भिक र अत्यन्तै थोरै मानवहरू हुँदादेखि नै, मानवजातिले धेरै उतार-चढाव, अनि यो संसारको उलटफेर र परिवर्तनहरू अनुभव गरेको छ, र त्यसपछि मानिसहरूको सङ्ख्या बिस्तारै बढ्दै गएको छ र तिनीहरूले क्रमिक रूपमा अनुभवहरू बटुलेका छन्, अनि मानवजातिको कृषि, अर्थव्यवस्था, अनि जिउने र बाँच्‍ने शैली बिस्तारै परिवर्तन भएर आएको छ र नयाँ प्रणालीहरू पैदा भएका छन्। निश्‍चित याम र निश्‍चित युगमा पुगेपछि मात्रै मानिसहरू परमेश्‍वरद्वारा न्याय, सजाय, विजय गरिने, अनि परमेश्‍वरले तिनीहरूलाई सत्यता, आफ्‍ना वचनहरू र आफ्ना अभिप्रायहरू व्यक्त गर्नुहुने स्तरमा पुग्न सक्छन्। यो स्तरमा पुग्‍नका लागि, यो संसारका सबै थोकले जस्तै मानवजातिले पनि ठूलो उथलपुथल अनुभव गरेको छ। आकाशमण्डल र ब्रह्माण्डमा पनि स्वत: ठूला-ठूला परिवर्तनहरू आएका छन्। परमेश्‍वरको व्यवस्थापनसँगै क्रमिक रूपमा यी श्रृंखलावद्ध परिवर्तनहरू आएका र देखा परेका छन्। मानिसहरूलाई परमेश्‍वरको अघि आउन र उहाँको विजय, न्याय, र सजाय, अनि उहाँका वचनहरूको आपूर्ति स्विकार्न सक्‍ने अवस्थामा पुग्‍न धेरै समय लागेको छ। तर त्यो ठीकै छ; परमेश्‍वरले प्रतीक्षा गर्न सक्‍नुहुन्छ, किनभने परमेश्‍वरको योजना, र उहाँको इच्छा त्यही हो। आफ्‍नो योजना र इच्छा पूरा गर्नका लागि परमेश्‍वरले लामो समय प्रतीक्षा गर्नुपर्छ। उहाँले अहिलेसम्‍म वास्तवमा अत्यन्तै लामो समयदेखि प्रतीक्षा गर्दै आउनुभएको छ।

मानवजातिले अज्ञानता, भ्रम, र अन्योलताको प्रारम्‍भिक चरण पार गरेपछि, परमेश्‍वरले तिनीहरूलाई व्यवस्थाको युगमा डोऱ्याउनुभयो। मानवजाति, एउटा नयाँ युग: परमेश्‍वरको व्यवस्थापन योजनाभित्रको एउटा युगमा प्रवेश गरेको भए पनि, त्यसउप्रान्त तिनीहरू भेडाका बथान जस्तै अनियन्त्रित र अनुशासन रहित भएर जिउन छोडेका भए पनि, तिनीहरू व्यवस्थाले तिनीहरूको जीवन अगुवाइ, निर्देशन, र मार्गदर्शन गर्ने वातावरणमा प्रवेश गरेका भए पनि, मानिसहरू व्यवस्थाले सिकाएका, बताएका, वा सुचित गरेका, वा मानव जीवनको दायराभित्र थाहा भइसकेका एक-दुई वटा सरल कुराहरू मात्रै जान्दथे: उदाहरणको लागि, चोर्नु भनेको के हो, वा व्यभिचार के हो, हत्या के हो, हत्याका लागि मानिसहरूलाई कसरी जिम्‍मेवार तुल्याइन्छ, आफ्‍नो छिमेकीसँग कसरी अन्तरक्रिया गर्ने, फलानो वा ढिकानो कार्य गर्दा मानिसहरूलाई कसरी जिम्‍मेवार तुल्याइन्छ। मानवजाति केही नजानेको र नबुझेको आफ्नो प्रारम्‍भिक परिस्‍थितिबाट परमेश्‍वरले तिनीहरूलाई सुचित गर्नुभएका मानव आचरणका केही सरल, अत्यावश्यक नियमहरू सिक्‍ने अवस्थामा आइपुगे। परमेश्‍वरले यी व्यवस्थाहरू घोषणा गर्नुभएपछि, व्यवस्थाको अधीनमा जिउने मानिसहरूलाई नियमहरू पछ्याउन र व्यवस्था पालन गर्न आयो, र तिनीहरूको मन र भित्री संसारमा, व्यवस्थाले तिनीहरूको आचरणलाई संयमित गर्ने र अगुवाइ गर्ने कुराको रूपमा काम गर्‍यो, र मानवजातिले मानिसको प्रारम्‍भिक रूप प्राप्त गर्‍यो। यी मानिसहरूले, तिनीहरूले केही नियमहरू पछ्याउनुपर्छ र केही व्यवस्थाहरू पालना गर्नुपर्छ भन्‍ने कुरा बुझे। यी मानिसहरूले ती कुराहरूलाई चाहे जसरी पछ्याए पनि र जति कडाइका साथ पालना गरे पनि, तिनीहरूमा व्यवस्थाभन्दा पहिले आउने मानिसहरूमा भन्दा बढी मानव स्वरूप थियो। तिनीहरूको व्यवहार र जीवनको कुरा गर्दा, तिनीहरू निश्‍चित मापदण्डहरूअनुसार, र निश्‍चित बन्धनहरू भित्र रहेर व्यवहार गर्थे र जिउँथे। तिनीहरू पहिलेको जस्तो अनभिज्ञ र अनजान अनि जीवनमा उद्देश्य रहित थिएनन्। परमेश्‍वरको व्यवस्था, र परमेश्‍वरले तिनीहरूका अघि घोषणा गर्नुभएका सबै अभिव्यक्तिहरूले तिनीहरूको हृदयमा जरा गाडेका थिए र त्यहाँ निश्‍चित स्थान ओगटेका थिए। मानवजाति त्यसपछि के गर्ने भन्‍ने विषयमा अनिश्चित भएन; तिनीहरू त्यसउप्रान्त उद्देश्य, दिशा, वा बन्धन रहित भएर जिउन छोडे। तैपनि, तिनीहरू परमेश्‍वरको योजना र परमेश्‍वरको चाहनाका मानिसहरू हुनबाट धेरै चुकेका थिए। तिनीहरू अझै पनि सबै थोकका मालिकको रूपमा व्यवहार गर्न सक्‍ने अवस्थभन्दा धेरै टाढा थिए। परमेश्‍वरले अझै पनि प्रतीक्षा गर्नु र धैर्यता देखाउनु आवश्यक थियो। व्यवस्थाको अधीनमा जिउने मानिसहरूलाई परमेश्‍वरको आराधना गर्न आए पनि, तिनीहरूले यसलाई औपचारिकताको रूपमा मात्रै पूरा गर्थे। तिनीहरूको हृदयको गहिराइमा परमेश्‍वरले लिनुभएको स्थान र उहाँको स्वरूप परमेश्‍वरको वास्तविक पहिचान र सारभन्दा पूर्ण रूपमा फरक थियो। त्यसकारण, तिनीहरू अझै पनि परमेश्‍वरले चाहनुभएको, कल्पना गर्नुभएको, सबै थोकको रेखदेखकर्ताका रूपमा कार्य गर्न सक्‍ने क्षमता भएका सृजित मानव थिएनन्। तिनीहरूको हृदयको गहिराइमा, परमेश्‍वरको सार, पहिचान, र हैसियत, अझै पनि मानवजातिको शासकको जस्तो मात्रै थियो, र मानिसहरू त्यस शासकका प्रजा वा लाभार्थीहरूबाहेक केही पनि थिएनन्। त्यसकारण, व्यवस्थाको अधीनमा जिउने र व्यवस्था मात्रै जानेका यी मानिसहरूलाई परमेश्‍वरले अझै पनि अघि बढिरहन अगुवाइ गर्नु आवश्यक थियो। यी मानिसहरूले व्यवस्था बाहेक केही पनि बुझ्दैन थिए; सबै थोकको रेखदेखकर्ताको रूपमा कसरी व्यवहार गर्ने भनेर तिनीहरूलाई थाहा थिएन; परमेश्‍वर को हुनुहुन्छ भनेर तिनीहरूलाई थाहा थिएन; अनि तिनीहरूलाई जिउने सही तरिका थाहा थिएन। तिनीहरूलाई परमेश्‍वरका मागहरू अनुसार कसरी आचरण गर्ने र जिउने भनी थाहा थिएन, न त पहिला जिएको भन्दा अझै अर्थपूर्ण रूपमा कसरी जिउने, वा मानिसहरूले आफ्‍नो जीवनमा के कुरा पछ्याउनुपर्छ, र इत्यादि कुराबारे नै थाहा थियो। व्यवस्थाको अधीनमा जिउने मानिसहरू यी कुराहरूबारे पूर्ण रूपमा अनभिज्ञ थिए। व्यवस्था बाहेक, यी मानिसहरूलाई परमेश्‍वरका माग, सत्यता, वा परमेश्‍वरका वचनहरूका बारेमा केही पनि थाहा थिएन। अवस्था यस्तो भएकोले, परमेश्‍वरले मानवजाति व्यवस्थाको अधीनमा जिइरहँदा तिनीहरूलाई सहिरहनुपर्ने थियो। यी मानिसहरू तिनीहरूभन्दा पहिलेका मानिसहरूभन्दा निकै माथिल्लो चरणका थिए—तिनीहरूले कम्तीमा पनि पाप भनेको के हो, अनि तिनीहरूले व्यवस्थालाई पालना गर्नुपर्छ र पछ्याउनुपर्छ, अनि व्यवस्थाको रूपरेखामुनि जिउनुपर्छ भनी बुझ्थे—तर तिनीहरू परमेश्‍वरका मागबाट अझै पनि टाढै थिए। तैपनि, परमेश्‍वरले अझै उत्सुकतापूर्वक आशा र प्रतीक्षा गरिरहनुभएको थियो।

युगहरूको विकाससँगै, मानवजातिको विकाससँगै, सबै कुराको परिचालनसँगै, अनि परमेश्‍वरको हातको प्रबन्ध र उहाँको सार्वभौमिकता, मार्गदर्शन, र अगुवाइसँगै, मानवजाति, यावत् थोक, अनि यो ब्रह्माण्ड नै सधैँ अघि बढिरहेका छन्। हजारौँ वर्षसम्‍म व्यवस्थाको बन्धनमा परेपछि, व्यवस्थाको अधीनमा रहेको मानवजातिले त्यसउप्रान्त व्यवस्था कायम राख्न सकेन, र परमेश्‍वरको कामलाई पछ्याउँदै अर्को युगमा प्रवेश गऱ्यो, जुन परमेश्‍वरले नै सुरु गर्नुभयो—अनुग्रहको युग। अनुग्रहको युगको आगमनमा, परमेश्‍वरले अगमवक्ताहरूलाई आफ्नो कामको भविष्यवाणी गर्न पठाउनुभएको थियो भन्‍ने तथ्यमा आधारित रहेर आफ्‍नो काम आरम्‍भ गर्नुभयो। कामको यो चरण मानिसले आफ्‍नो धारणामा कल्‍पना गरेको जस्तो कोमल वा इच्छा गरेको जस्तो थिएन, न त यो कामले तिनीहरूलाई सोचेको जस्तो राम्रो महसुस नै गरायो; बरु, बाहिरबाट हेर्दा, सबथोक अगमवाणी विपरीत गइरहेको जस्तो देखियो। यी परिस्थितिहरूबाट मानिसले कहिल्यै कल्‍पना गर्न नसक्ने एउटा तथ्य देखा पऱ्यो: परमेश्‍वर देहधारी हुनुभएको देह—प्रभु येशू—क्रूसमा टाँगिनुहुने तथ्य। यो सबै कुरा मानिसले अपेक्षा गरेको भन्दा फरक थियो। बाहिरबाट हेर्दा, यो सबै एउटा निर्दयी, हिंसात्मक घटना, भयानक दृश्य जस्तो देखियो, तर यो त परमेश्‍वरले व्यवस्थाको युग अन्त्य गरेर नयाँ युग सुरुवात गर्नुभएको कार्यको बिजारोपण थियो। यो नयाँ युग तिमीहरू सबैलाई अहिले थाहा भएको अनुग्रहको युग हो। अनुग्रहको युग परमेश्‍वरले व्यवस्थाको युगमा गर्नुभएका अगमवाणीहरूको विरोध गर्न आएको जस्तो देखियो। निश्चित रूपमा, यो परमेश्‍वरको देहधारी देह क्रूसमा टाँगिएको तथ्यको रूपमा पनि आयो। यी सबै घटनाहरू आकस्मिक र प्राकृतिक रूपमा, तिनका लागि उपयुक्त परिस्थितिहरूमा घटे। पुरानो युगलाई अन्त्य गरेर नयाँ युग प्रारम्‍भ गर्न—नयाँ युग ल्याउनका लागि परमेश्‍वरले प्रयोग गर्नुभएका माध्यमहरू यस्ता थिए। यो युगको सुरुवातमा भएका सबै घटनाहरू निकै निर्दयी र हिंसात्मक, अनि अकल्‍पनीय, र अचानक आएका भए पनि, र कुनै पनि कुरा मानिसले कल्‍पना गरेजस्तो सुन्दर वा कोमल नभए पनि—अनुग्रहको युगको सुरुवाती दृश्य भयानक र हृदय-विदारक भए पनि, त्यसमा उल्‍लास मनाउन लायक एउटा कुरा के थियो त? व्यवस्थाको युगको अन्त्यको अर्थ के भयो भने त्यसपछि परमेश्‍वरले मानवजातिका व्यवस्था अन्तर्गतका विभिन्‍न व्यवहारहरूलाई सहेर बस्नु पर्नेछैन; अर्थात मानिवजातिले परमेश्‍वरको काम र उहाँको योजनाअनुरूप, ठूलो अग्रगामी फड्को मारेर नयाँ युगमा प्रवेश गरेको थियो। निश्चित रूपमा, यसको अर्थ परमेश्‍वरको प्रतीक्षाको दिनहरू घटेका छन् भन्‍ने पनि थियो। मानवजाति नयाँ युग, नयाँ कालमा प्रवेश गर्‍यो, जसको अर्थ परमेश्‍वरको कामले एउटा ठूलो अग्रगामी कदम चालेको थियो, र उहाँको काम अघि बढ्दै जाँदा उहाँको चाहना बिस्तारै साकार हुनेवाला थियो। अनुग्रहको युगको आगमन सुरुमा त्यति प्रेमल थिएन, तर परमेश्‍वरको नजरमा, चाँडै देखा पर्न लागेको मानवजाति, अर्थात उहाँले चाहनुभएको मानवजाति उहाँका माग र उद्देश्यहरूको झन्-झन् नजिक आइरहेका थिए। यो हर्ष र तारिफ योग्य, उल्‍लास योग्य कुरा थियो। मानवजातिले परमेश्‍वरलाई क्रूसमा टाँगे पनि, र त्यो मानवजातिका लागि शोकमय दृश्य भए पनि, ख्रीष्‍टलाई क्रूसमा टाँगिएको क्षणको अर्थ, परमेश्‍वरको अर्को युग—अर्थात् अनुग्रहको युग—आइसकेको छ, र अवश्य नै, त्यस युगमा परमेश्‍वरले गर्नुहुने काम सुरुवातको कगारमा छ भन्‍ने थियो। त्योभन्दा पनि बढी, यसको अर्थ परमेश्‍वरको देहधारणको महान् काम पूरा भएको छ भन्‍ने थियो। परमेश्‍वरले विजेताको रूपमा, नयाँ नाम र स्वरूपका साथ संसारका मानिसहरूको सामना गर्नेवाला हुनुहुन्थ्यो, र उहाँको नयाँ कामका विषयवस्तुहरू मानवजातिका निम्ति खुलस्त गरिने र प्रकाश पारिनेथिए। र साथ-साथै, मानवजातिको हकमा, तिनीहरू त्यसउप्रान्त बारम्‍बार व्यवस्था उल्‍लङ्घन गरेको कारण अन्योलग्रस्त भइरहनेथिएनन्, न त व्यवस्था उल्‍लङ्घन गरेको कारण त्यसद्वारा दण्डित नै हुनेथिए। अनुग्रहको युगको आगमनले मानवजातिलाई परमेश्‍वरको अघिल्‍लो कामबाट निस्केर कामको नयाँ वातावरणमा प्रवेश गर्ने तुल्यायो जहाँ कामका नयाँ चरणहरू र नयाँ विधि छन्। यसले मानवजातिलाई नयाँ प्रवेश र नयाँ जीवन प्रदान गर्‍यो, र निश्चय नै, यसले परमेश्‍वर र मानिसबीचको सम्‍बन्धलाई अझ एक कदम नजिक बनायो। परमेश्‍वरको देहधारणको कारण, मानिस परमेश्‍वरको आमने-सामने आउन सक्‍ने भए। मानिसले परमेश्‍वरको वास्तविक र साँचो आवाज र वचनहरू सुने; मानिसले उहाँको कामको शैली, साथै उहाँको स्वभाव र इत्यादि कुरा देखे। मानिसले हरेक हिसाबमा यो कुरालाई आफ्‍नै कानले सुने र आफ्‍नै आँखाले देखे; तिनीहरूले परमेश्‍वर साँच्‍चै नै र वास्तवमै मानिसबीच आउनुभएको छ, परमेश्‍वर साँच्‍चै र वास्तविक रूपमा मानिसको आमने-सामने हुनुभएको छ, र परमेश्‍वर साँच्‍चै नै र वास्तवमै मानवजातिबीच जिउन आउनुभएको छ भन्‍ने कुरा स्पष्ट रूपमा अनुभव गरे। त्यो देहधारणमा परमेश्‍वरले गर्नुभएको कामको अवधि त्यति लामो नभए पनि, त्यो बेलाका मानवजातिले, मानिस परमेश्‍वरसँग जिउँदा कस्तो अनुभूति हुन्छ भन्‍ने कुरा, दह्रिलो र ठोस रूपमा अनुभव गरे। अनि यस्ता कुराहरू अनुभव गर्ने मानिसहरूले त्यो लामो समय अनुभव नगरे पनि, उहाँको त्यो देहधारणमा परमेश्‍वरले धेरै वचनहरू बोल्‍नुभयो, र ती वचनहरू निकै विशिष्ट थिए। उहाँले निकै काम पनि गर्नुभयो, र धेरै मानिसहरूले उहाँलाई पछ्याए। मानवजाति निश्चित रूपमा पुरानो युगको व्यवस्था अन्तर्गत आफ्‍नो जीवनलाई अन्त्य गरेर एउटा पूर्णत: नयाँ युगमा आयो: अनुग्रहको युगमा।

नयाँ युगमा प्रवेश गरेपछि, मानवजाति त्यसउप्रान्त व्यवस्थाका बन्धनहरूको अधीनमा होइन, तर परमेश्‍वरका नयाँ माग र नयाँ वचनहरूको अधीनमा जिउन थाल्यो। परमेश्‍वरका नयाँ वचन र नयाँ मागका कारण, मानवजातिले नयाँ जीवन विकास गर्‍यो जसको स्वरूप फरक थियो, परमेश्‍वरमाथि विश्‍वास गर्ने जीवन जसको स्वरूप र विषयवस्तु फरक थियो। यो जीवन परमेश्‍वरले मानिसबाट गर्नुहुने मागहरूको मापदण्ड पूरा गर्ने कार्यमा व्यवस्थाको युगको अधीनमा रहेको पहिलेको जीवनभन्दा एक कदम माथि आयो। परमेश्‍वरले मानवजातिका लागि नयाँ आज्ञाहरू जारी गर्नुभयो, र मानिसहरू त्यो बेला जस्ता थिए त्यसको आधारमा मानवजातिको लागि अझै सटीक र अझै उपयुक्त व्यवहारका मापदण्डहरू जारी गर्नुभयो, साथै मानिसहरू र कामकुराहरूप्रतिको मानिसको दृष्टिकोण, र उसको आचारण र व्यवहारको मापदण्ड र सिद्धान्तहरू जारी गर्नुभयो। त्यो बेला उहाँले बोल्‍नुभएका वचनहरू अहिले बोल्नुभएका वचनहरू जति निश्‍चित थिएनन्, न त ती अहिलेका भए जस्तो धेरै मात्रामा नै थिए, तैपनि व्यवस्थाको अधीनबाट भर्खर निस्केर आएको त्यो बेलाको मानिसका लागि, ती वचन र मागहरू पर्याप्त थिए। त्यो बेलाका मानिसहरूको कद र तिनीहरू सुसज्‍जित भएका कुराका आधारमा, तिनीहरूले हासिल गर्न र प्राप्त गर्न सक्‍ने कुराहरू यी मात्रै थिए। उदाहरणका लागि, परमेश्‍वरले मानिसहरूलाई नम्र, धैर्य, सहनशील हुन, क्रूस बोक्‍न, र इत्यादि कुरा गर्न भन्नुभयो; व्यवस्थापछि परमेश्‍वरले मानिसबाट गर्नुभएका निश्‍चित मागहरू यिनै थिए, जसमा मानवता कसरी जिइनुपर्छ भन्‍ने कुराहरू समावेश थिए। यस बाहेक, व्यवस्थाको अधीनमा जिएको मानिसले अनुग्रहको युगको आगमनको कारण परमेश्‍वरबाट प्रशस्त र निरन्तर बगी आइरहने अनुग्रह, आशिष्, र अरू यस्तै कुराहरूको आनन्द उठायो। त्यस युगको मानवजाति साँचो सुखमा जिइरहेका थिए। प्रत्येक व्यक्ति खुसी थियो, र प्रत्येक व्यक्ति परमेश्‍वरको आँखाको नानी, उहाँका काखमा रहेका बालकहरू थिए। तिनीहरूले आज्ञाहरू कायम राख्नुपर्थ्यो, र यस बाहेक केही असल व्यवहार देखाउनुपर्थ्यो, मानिसका धारणा र कल्‍पनासँग मिल्‍ने व्यवहार, तर मानवजातिका लागि, परमेश्‍वरको अनुग्रह अझै बढी मात्रामा थियो। उदाहरणका लागि भूत लागेका कारण आउने रोगहरूबाट मानिसहरूलाई निको पारियो, र तिनीहरूमा भएका अशुद्ध पिशाच र दुष्ट आत्‍माहरूलाई हटाइयो। मानिसहरू समस्यामा वा खाँचोमा हुँदा, परमेश्‍वरले तिनीहरूका लागि अपवाद स्वरूप चिन्‍ह र चमत्कार देखाउनुहुन्थ्यो, ताकि तिनीहरू आफ्‍ना विभिन्‍न रोगबाट निको हुन सकून्, र तिनीहरूको देह सन्तुष्ट हुन सकोस्, र तिनीहरूले खान र लाउन पाऊन्। त्यो युगमा मानिसहरूलाई आनन्द उठाउनका निम्ति कति धेरै अनुग्रह र आशिषहरू थिए। केवल आज्ञाहरू पालना गर्ने बाहेक, मानवजाति बढीमा धैर्य, सहनशील, प्रेमिलो, र इत्यादि मात्रै थियो। सत्यता वा परमेश्‍वरले मानिसबाट गर्नुभएका मागसँग सम्बन्धित कुराहरूबारे मानिसलाई यो भन्दा बढी केही पनि थाहा नै थिएन। मानिस पूर्ण रूपमा परमेश्‍वरको अनुग्रह र आशिषको आनन्द उठाउने कार्यमा नै केन्द्रित रहेकोले, र त्यो बेलाका मानिसलाई प्रभु येशूले गर्नुभएको प्रतिज्ञाका कारण, मानिसलाई अन्त्यहीन रूपमा परमेश्‍वरको अनुग्रहको आनन्द उठाउने बानी प्राप्त पऱ्यो। मानवजातिले के सोचे भने, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे भने, तिनीहरूले परमेश्‍वरको अनुग्रहको आनन्द उठाउनुपर्छ, र त्यो तिनीहरूको अधिकार हो। तर तिनीहरूलाई सृष्टिका प्रभुको आराधना गर्न, वा सृष्टि गरिएको प्राणीको स्थानमा बस्न, र सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न, र सृष्टि गरिएको असल प्राणी बन्‍न आउँदैनथियो। न त तिनीहरूलाई परमेश्‍वरमा कसरी समर्पित हुने, वा उहाँप्रति कसरी बफादार हुने, वा उहाँका वचनहरूलाई कसरी स्विकार्ने र मानिसहरू र कामकुराहरूलाई हेर्ने आफ्नो दृष्टिकोण, अनि आचरण र व्यवहारको आधारको रूपमा कसरी प्रयोग गर्ने भनेर थाहा थिएन। मानिस यस्ता सबै कुराबारे निकै अनजान थियो। अनि सामान्य रूपमा परमेश्‍वरको अनुग्रह प्राप्त गर्नुका साथै, मानिस सामान्य रूपमा नै मृत्युपछि स्वर्गमा प्रवेश गर्न, र त्यहाँ प्रभुसँगै असल आशिषहरूको आनन्द उठाउन चाहन्थ्यो। यति मात्र होइन, अनुग्रहको युगमा जिउने मानवजाति, अर्थात् अनुग्रह र आशिषहरूका बीचमा जिउने मानवजातिले गलत रूपमा के विश्‍वास गरे भने, परमेश्‍वर कृपालु, प्रेमिलो परमेश्‍वर मात्रै हुनुहुन्छ, उहाँको सार कृपा र प्रेमिलो-दया बाहेक केही पनि होइन। तिनीहरूका लागि, कृपा र प्रेमिलो-दया परमेश्‍वरको पहिचान, हैसियत, र सारको प्रतीक थिए; तिनीहरूको लागि सत्यता, मार्ग, र जीवनको अर्थ परमेश्‍वरका अनुग्रह र आशिषहरू, वा सायद क्रूस उठाएर क्रूसको मार्ग हिँड्नु मात्रै थियो। अनुग्रहको युगमा मानिसहरूको परमेश्‍वरबारे ज्ञान र उहाँप्रतिको झुकावमा, साथै मानवजाति र मानिसहरू स्वयम्‌प्रतिको तिनीहरूको झुकाव र ज्ञानमा यति मात्रै कुराहरू थिए। त्यसैले, कारणहरू र यसको जडलाई नियाल्दा: के कुराले यी परिस्‍थितिहरूमा डोऱ्यायो त? कोही पनि यसको दोषी छैन। तिमीहरूले परमेश्‍वरलाई अझै ठोस रूपमा वा पूर्ण रूपमा काम नगरेकोमा, नबोलेकोमा दोष दिन मिल्दैन, र तिमीहरूले जिम्‍मेवारी मानिसको काँधमा पनि थोपर्न मिल्दैन। किन? किनभने मानिस सृष्टि गरिएको मानवजाति, अर्थात् सृष्टि गरिएको प्राणी हो। तिनीहरू व्यवस्थाको युगबाट निस्केर अनुग्रहको युगमा आए। परमेश्‍वरको काम अघि बढ्ने क्रममा मानिसले जति सुकै वर्ष यो कामको अनुभव गरेको भए पनि, परमेश्‍वरले मानिसलाई प्रदान गर्नुभएको, उहाँले गर्नुभएको कुरा नै मानिसले प्राप्त गर्न र जान्‍न सक्थे। तर त्यसभन्दा बाहिर, मानवजातिसँग परमेश्‍वरले नगर्नुभएको काम, उहाँले नबोल्‍नुभएको वचन, र प्रकट नगर्नुभएको कुरालाई बुझ्ने वा जान्ने कुनै क्षमता थिएन। तर वस्तुगत परिस्‍थितिहरू र समग्र चित्रलाई हेर्दा, हजारौँ वर्षदेखि प्रगति गर्दै आएको मानवजाति अनुग्रहको युगमा आइपुगेका थिए, तिनीहरूको बुझाइ त्योभन्दा अगाडि जान सक्दैनथियो, र परमेश्‍वरले जुन काम गरिरहनुभएको थियो त्यस्तो काम मात्रै गर्न सक्‍नुहुन्थ्यो। किनभने व्यवस्थाको युगबाट उदय भएको मानवजातिलाई सजाय दिनु वा न्याय गर्नु आवश्यक थिएन, न त विजय गरिनु नै पर्थ्यो, न त सिद्ध पारिनुपर्थ्यो। त्यो बेला मानवजातिलाई एउटै कुरा मात्रै चाहिएको थियो। त्यो के थियो? पापबलि, परमेश्‍वरको बहुमूल्‍य रगत। मानवजाति व्यवस्थाबाट निस्केर आएपछि तिनीहरूलाई चाहिएको एउटै कुरा, परमेश्‍वरको बहुमूल्‍य रगत, अर्थात् त्यो पापबलि मात्रै थियो। त्यसकारण, त्यो युगमा, मानवजातिको खाँचो र वास्तविक परिस्‍थितिहरूको कारण, परमेश्‍वरले गर्नुपर्ने काम भनेको आफ्‍नै देहधारणको आफ्‍नो बहुमूल्‍य रगतलाई पापबलिको रूपमा अर्पण गर्नु थियो। व्यवस्थाअन्तर्गत जिइरहेको मानवजातिलाई छुटकारा दिने एउटै मात्र उपाय त्यही मात्रै थियो। परमेश्‍वरले पापको मूल्य र पापबलिको रूपमा आफ्‍नो बहुमूल्‍य रगत दिएर, मानवजातिको पाप हटाउनुभयो। र मानिसको पाप हटाइएपछि मात्रै मानिस परमेश्‍वरको अघि पाप रहित रूपमा आउन योग्य भयो, र उसले उहाँको अनुग्रह र निरन्तर अगुवाइ स्विकार्न सक्यो। परमेश्‍वरको बहुमूल्‍य रगत मानवजातिलाई अर्पण गरिएको थियो, र त्यो मानवजातिका निम्ति अर्पण गरिएले मानवजातिलाई छुटकारा दिन सकियो। भर्खरै छुटकारा दिइएका मानवजातिले के बुझ्‍न सक्थे र? भर्खरै छुटकारा दिइएका मानवजातिलाई के चाहिएको थियो? मानवजातिलाई तुरुन्तै विजय गरिएको, न्याय गरिएको, र सजाय दिइएको भए, तिनीहरूसँग यस कुरालाई स्वीकार गर्ने क्षमता हुनेथिएन। तिनीहरूसँग स्विकार्ने त्यस्तो क्षमता थिएन, न त तिनीहरूको अवस्था यो सब कुरा बुझ्‍ने खालको नै थियो। त्यसकारण, परमेश्‍वरको पापबलि, साथै उहाँको अनुग्रह, आशिष्, सहनशीलता, धैर्यता, कृपा, र प्रेमिलोदया बाहेक, मानवजाति त्यति बेला जुन अवस्थामा थिए, त्यो अवस्थामा तिनीहरूले परमेश्‍वरले मानिसको व्यवहारबारे गर्नुभएका केही सरल मागहरू भन्दा बढी अरू कुनै कुरा स्विकार्न सक्दैनथिए। ती कुराहरू बाहेक अरू कुनै कुरा स्विकार्न सक्दैनथिए। अनि मानिसको मुक्तिसँग अझै गहन रूपमा सम्‍बन्धित सबै सत्यताहरू—मानवजातिमा के-कस्ता गलत विचार र दृष्टिकोणहरू छन्; तिनीहरूमा के-कस्ता भ्रष्ट स्वभावहरू छन्; परमेश्‍वर विरुद्ध तिनीहरूमा के-कस्ता विद्रोही सार छन्; हामीले भर्खरै सङ्गति गरे अनुसार, मानवजातिले कायम राख्ने परम्‍परागत संस्कृतिको सार के हो; शैतानले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ; र इत्यादि कुरा—त्यो बेलाका मानवजातिले यस बारे कुनै पनि कुरा बुझ्न सक्थेन। त्यस्ता परिस्‍थितिहरूमा, परमेश्‍वरले सबैभन्दा सरल तरिकाले, सबैभन्दा सीधा रूपमा मात्रै, आचरणका सबैभन्दा प्रारम्‍भिक मागहरूसाथ मानवजातिलाई चेतावनी दिन र ऊबाट मागहरू गर्न सक्‍नुहुन्थ्यो। त्यसकारण, अनुग्रहको युगमा मानवजातिले केवल अनुग्रह र असीमित रूपमा परमेश्‍वरको बहुमूल्‍य रगतको पापबलिको आनन्द उठाउन सक्थ्यो। तर, अनुग्रहको युगमा सबैभन्दा महान् कुरा सम्पन्न गरिसकिएको थियो। अनि त्यो कुरा के थियो? परमेश्‍वरको बहुमूल्‍य रगतद्वारा परमेश्‍वरले मुक्ति दिनुपर्ने मानवजातिको पाप क्षमा गरिएको थियो। यो उत्सव मनाउन लायक कुरा हो; परमेश्‍वरले अनुग्रहको युगमा गर्नुभएको सबैभन्दा महान् कार्य यही थियो। मानिसको पाप क्षमा गरिएको भए पनि, र मानिस परमेश्‍वर सामु उप्रान्त पापी देहको स्वरूपमा वा पापीको रूपमा नआउने भए पनि, बरु पापबलिद्वारा तिनीहरूको पाप क्षमा गरिएको र तिनीहरू अब परमेश्‍वरसामु आउन योग्य भए पनि, परमेश्‍वरसँग मानिसको सम्‍बन्ध सृष्टिकर्तासँग सृष्टि गरिएको प्राणीको सम्‍बन्ध जस्तो हुनुपर्थ्यो त्यस्तो अवस्थामा अझै पनि पुगेको थिएन। अझै पनि यो सृष्टिकर्तासँग सृष्टि गरिएको मानवजातिको सम्‍बन्ध जस्तो हुनुपर्ने हो त्यस्तो थिएन। अनुग्रहको अधीनमा रहेको मानवजाति अझै पनि परमेश्‍वरले तिनीहरूबाट माग गर्नुभएको भूमिकाबाट, सबै थोकको मालिक र रेखदेखकर्ता बन्‍ने अवस्थाबाट अझै पनि निकै टाढा थियो। त्यसकारण, परमेश्‍वरले प्रतीक्षा गर्नुपर्थ्यो; उहाँ धैर्य हुनुपर्थ्यो। परमेश्‍वरले प्रतीक्षा गर्नुपर्थ्यो भन्नुको अर्थ के हो? यसको अर्थ के हो भने त्यो बेला मानवजातिले परमेश्‍वरको अनुग्रहमा जिउन जारी राख्नुपर्थ्यो, र परमेश्‍वरले अनुग्रहको युगमा गर्नुहुने विभिन्‍न प्रकारका कामको बीचमा जिउन जारी राख्नुपर्थ्यो। परमेश्‍वरले केही मानिसहरू वा एउटा जातिलाई मात्रै होइन धेरैलाई मुक्ति दिन चाहनुहुन्छ; उहाँको मुक्ति एउटा जाति वा एउटा सम्प्रदायमा भएका मानिसहरूमा मात्रै सीमित छैन। त्यसकारण, अनुग्रहको युग पनि व्यवस्थाको युग जस्तै हजारौँ वर्षसम्‍म जारी रहनुपर्थ्यो। वर्षौं वर्षसम्‍म, पुस्तौँ पुस्तासम्‍म मानवजाति परमेश्‍वरले अगुवाई गर्नुभएको नयाँ युगमा जिइरहनु आवश्यक थियो। मानिसले यसरी कैयौँ युग जिउनुपर्छ—मानिसले कैयौँ पटक ताराहरू प्रतिस्थापन भएको, कैयौँ समुद्र सुकेको र पत्थरहरू खिएर गएको, कैयौँ महासागर सुकेर उर्वर भूमि बनेको भोग्नुपर्छ, र विभिन्‍न अवधिका मानवजातिमा हुने फरक-फरक परिवर्तनहरू भोग्नुपर्छ, र पृथ्वीका असङ्ख्य कुराहरूमा आउने फरक-फरक परिवर्तनहरू भोग्नुपर्छ। अनि तिनीहरूले यी सब कुरा अनुभव गर्ने क्रममा, परमेश्‍वरका वचनहरू, उहाँको काम, र प्रभु येशूले अनुग्रहको युगमा मानवजातिलाई छुटकारा दिनुहुने तथ्य पृथ्वीको कुना-कुनासम्म, हरेक सडक र गल्‍ली, र घुम्तीहरूमा हरेक घर-परिवारलाई थाहा नभएसम्म फैलियो। अनि त्यही समय, त्यो युग, अर्थात् व्यवस्थाको युगपछि आएको अनुग्रहको युग समापन हुनुपर्नेथ्यो। परमेश्‍वरले यो युगमा चुपचाप पर्खने काम मात्रै गर्नुभएन; उहाँले प्रतीक्षा गर्ने क्रममा, उहाँले अनुग्रहको युगका मानवजातिमा विभिन्‍न तरिकाले काम गर्नुभयो। उहाँले यो युगका मानवजातिलाई अनुग्रह र आशिषहरू दिँदै अनुग्रह-आधारित आफ्‍नो कामलाई जारी राख्‍नुभयो, ताकि उहाँको व्यवहार, काम, बोलीवचन, र उहाँले काम गर्नुभएको तथ्य र अनुग्रहको युगमा उहाँका अभिप्रायहरू उहाँले चुन्‍नुभएको हरेक व्यक्तिको कानमा पुगोस्। उहाँले चुन्‍नुभएको हरेक व्यक्तिलाई उहाँले आफ्‍नो पापबलिको लाभ उठाउन सक्षम तुल्याउनुभयो, ताकि तिनीहरू त्यसउप्रान्त उहाँको अघि पापी देहको स्वरूपमा, वा पापीहरू झैँ नआऊन्। अनि परमेश्‍वरसँग मानिसको सम्‍बन्ध त्यसउप्रान्त व्यवस्थाको युगमा जस्तो उहाँलाई कहिल्यै देख्‍न नपाउने किसिमको रहेन, बरु यो सम्‍बन्ध त्यो भन्दा एक कदम अगाडि बढेर विश्‍वासीहरू र प्रभुबीच को सम्‍बन्ध, विश्‍वासीहरू र ख्रीष्टबीचको सम्‍बन्ध जस्तैभयो, तर अझै पनि त्यस्तो सम्‍बन्ध परमेश्‍वरले मानवजाति र परमेश्‍वरको बीचमा, सृष्टि गरिएको प्राणी र सृष्टिकर्ताको बीचमा अन्तत: चाहनुभएको सम्‍बन्ध होइन। त्यो बेलाको तिनीहरूको सम्‍बन्ध स्पष्ट रूपमा अझै पनि सृष्टि गरिएका प्राणीहरू र सृष्टिकर्ताबीच हुनुपर्ने सम्‍बन्ध भन्दा निकै टाढा थियो, तर व्यवस्थाको युगमा मानवजाति र परमेश्‍वरको बीचमा रहेको सम्‍बन्धको तुलनामा, यसले ठूलो प्रगति भएको प्रतिनिधित्व गर्छ। यो आनन्द र उत्सवको कारण बन्यो। तर सम्‍बन्ध यस्तो भए पनि, परमेश्‍वरले अझै पनि मानवजातिलाई डोर्याउनु पर्थ्यो; उहाँले मानवजातिलाई अघि डोर्याए लैजानु पर्नेथियो, जसको हृदयको गहिराइ परमेश्‍वरबारे धारणा, र कल्‍पना, अनुरोध, र मागहरू, अनि विद्रोहीपन र प्रतिरोधले भरिएको थियो। किन? किनभने त्यस्तो मानवजातिले परमेश्‍वरको अनुग्रहमा आनन्द लिन जानेका थिए होलान्, र तिनीहरूले परमेश्‍वर कृपालु र प्रेमिलो हुनुहुन्छ भन्‍ने जानेका थिए होलान्, तर त्यस बाहेक, तिनीहरूलाई परमेश्‍वरको वास्तविक पहिचान, हैसियत, र सार बारे केही पनि थाहा थिएन। त्यस्तो मानवजातिले शैतानको भ्रष्टता भोगेका हुनाले, तिनीहरूले परमेश्‍वरको अनुग्रहको आनन्द उठाए पनि, तिनीहरूको सार र तिनीहरूको हृदयको गहिराइमा भएका विभिन्‍न धारणा र विचारहरू परमेश्‍वर विरोधी र उहाँ विपरीत नै रहे। मानिसलाई परमेश्‍वरमा कसरी समर्पित हुने वा सृष्टि गरिएको प्राणीको कर्तव्य कसरी पूरा गर्ने भनेर थाहा थिएन, सन्तोषजनक सृष्टि गरिएको प्राणी कसरी बन्‍ने भनी थाहा हुनु त परको कुरा हो। निश्चित रूपमा, सृष्टिका प्रभुलाई कसरी आराधना गर्ने भनेर जान्‍ने त झन् कोही पनि थिएन। त्यो हदसम्‍म भ्रष्ट तुल्याइएका भ्रष्ट मानवजातिलाई संसारका असङ्ख्य कुराहरू हस्तान्तरण गरिएको भए, त्यो त शैतानकै हातमा ती कुराहरू सुम्पेको जस्तै हुनेथियो। त्यसका परिणामहरू पनि पूर्णत: उस्तै हुनेथिए, तिनलाई कुनै पनि कुराले फरक बनाउनेथिएन। त्यसकारण, परमेश्‍वरले आफ्‍नो कामलाई अझै पनि जारी राख्‍नु आवश्यक भयो, आफूले गर्ने कामको अर्को चरणमा मानवजातिलाई निरन्तर डोर्याइरहनु आवश्यक भयो। त्यो चरण परमेश्‍वरले लामो समयदेखि प्रतीक्षा गर्नुभएको, लामो समयदेखि तृष्णा गर्नुभएको कुरा, र आफ्‍नो धैर्यताले लामो समय अघि देखि मूल्य चुकाउनुभएको कुरा थियो।

अब, अन्तिममा, मानवजातिले परमेश्‍वरको पर्याप्त र प्रशस्‍त अनुग्रहको आनन्द उठाइसकेको हुनाले, यो संसार र मानवजातिलाई जुनसुकै दृष्टिकोणबाट हेर्दा पनि, तिनीहरू यस्तो स्तरमा आइपुगेका छन् जसमा उहाँले मानवजातिलाई मुक्ति दिने आफ्‍नो वास्तविक काम गर्न सक्‍नुहुन्छ। तिनीहरू परमेश्‍वरले मानवजातिलाई विजय गर्ने र सजाय दिने अनि न्याय गर्ने समयमा आइपुगेका छन्, जब उहाँले मानवजातिलाई सिद्ध पार्न, र मानवजातिबाट यावत् थोकमाझ सबै थोकको रेखदेख गर्न सक्ने एउटा समूह प्राप्त गर्न धेरै सत्यता व्यक्त गर्नुहुनेछ। यो समय आइसकेको हुनाले, परमेश्‍वरले अब धैर्यता देखाउनु पर्दैन, न त उहाँले अनुग्रहको युगका मानवजातिलाई अनुग्रहमा जिउन डोर्याउन जारी राख्नुपर्छ। अबदेखि उहाँले अनुग्रहमा जिइरहेको मानवजातिलाई आपूर्ति, वा गोठाला, वा रेखदेख, वा तिनीहरूलाई जगेर्ना गरिरहनु पर्दैन; अबदेखि उहाँले मानवजातिलाई अथक रूपमा र सर्तरहित रूपमा अनुग्रह र आशिष प्रदान गरिरहनुपर्दैन; मानवजातिले उहाँको पटक्कै आराधना नगरी लोभी भएर कुनै लाज नमानी उहाँको अनुग्रह लिँदै गर्दा, उहाँ आफ्‍नो अनुग्रह दिने कुरामा मानवजातिप्रति सर्तरहित रूपमा धैर्य हुनु पर्दैन। यसको सट्टा परमेश्‍वरले आफ्ना अभिप्रायहरू, आफ्‍नो स्वभाव, आफ्‍नो हृदयको साँचो आवाज, र आफ्‍नो सार व्यक्त गर्नुहुनेछ। यस अवधिमा, परमेश्‍वरले मानवजातिलाई चाहिने कैयौँ सत्यता र वचनहरू प्रदान गर्दै गर्दा, आफ्‍नो साँचो स्वभाव, अर्थात् धर्मी स्वभाव पनि प्रकट र व्यक्त गरिरहनुभएको छ। अनि आफ्‍नो धर्मी स्वभाव व्यक्त गर्ने क्रममा, उहाँले खोक्रो रूपमा न्याय र दोषारोपणका केही वाक्यहरू प्रदान गर्नुहुन्छ, अनि काम सक्काउनुहुन्छ भन्‍ने होइन; बरु, उहाँले मानवजातिको भ्रष्टता, तिनीहरूको सार, र तिनीहरूको शैतानी कुरूपता खुलासा गर्न तथ्यहरूको प्रयोग गर्नुहुन्छ। उहाँले उहाँ विरुद्धको मानवजातिको विद्रोहीपन, प्रतिरोध, र इन्कार, साथै उहाँबारे तिनीहरूका विभिन्‍न धारणा र उहाँप्रतिको विश्‍वासघातलाई खुलासा गर्नुहुन्छ। यस अवधिमा, उहाँले जे व्यक्त गर्नुहुन्छ त्यो उहाँले मानवजातिलाई दिनुहुने कृपा र प्रेमिलो दयाभन्दा पनि बढी हुन्छ: यो मानवजातिप्रति उहाँको घृणा, इन्कार, अनिच्छा, र दोषारोपण हो। परमेश्‍वरको स्वभावमा र स्थानमा आउने यो आकस्मिक, विपरीत परिवर्तनका लागि मानवजाति तयार हुँदैनन् र तिनीहरू यसलाई स्विकार्न सक्दैनन्। परमेश्‍वरले आफ्‍नो स्वभाव र आफ्‍ना वचनहरू चट्याङ्गको जस्तै आकस्मिक झट्काले व्यक्त गर्नुहुन्छ। निश्चित रूपमा, उहाँले अत्यन्तै धेरै धैर्य र सहनशीलतासाथ मानवजातिलाई तिनीहरूलाई चाहिने सबै कुरा प्रदान पनि गर्नुहुन्छ। विभिन्न तरिकामा र विभिन्न दृष्टिकोणबाट, परमेश्‍वरले सृष्टिकर्ताको रूपमा रहेको आफ्‍नो स्थानको परिप्रेक्ष्यबाट सृष्टि गरिएको प्राणीलाई व्यवहार गरिनुपर्ने सबैभन्दा ठीक, उचित, ठोस, र प्रत्यक्ष शैलीमा बोल्‍नुहुन्छ र आफ्‍नो स्वभाव मानवजातिलाई व्यक्त गर्नुहुन्छ। परमेश्‍वरको बोल्‍ने र काम गर्ने शैलीहरू यिनै हुन् जसका लागि उहाँले छ हजार वर्षदेखि प्रतीक्षा गर्दै तृष्णा गरिरहनुभएको छ। छ हजार वर्षको तृष्णा; छ हजार वर्षको प्रतीक्षा—यी कुराहरूले परमेश्‍वरको छ हजार वर्षको धैर्य, र उहाँको छ हजार वर्षको अपेक्षालाई जनाउँछन्। मानवजाति अझै पनि परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजाति नै हो, तर छ हजार वर्षसम्‍म अटुट रूपमा, ताराहरू हेर फेर हुने, समुद्रहरू सुक्‍ने क्रममा आएको परिवर्तनबाट गुज्रेका हुनाले, तिनीहरू सुरुमा परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिकै सार भएका मानिसहरू रहेनन्। त्यसकारण, आजको दिनमा परमेश्‍वरले कामसुरु गर्दै गर्नुहुँदा, अहिले उहाँले देख्‍नुहुने मानवजाति, उहाँले अपेक्षा गर्नुभएकै मानवजाति भए पनि, उहाँद्वारा घृणित पनि छ, र पक्कै पनि, उहाँलाई यो कुरा देख्दा साह्रै दुःख लाग्छ। मैले यहाँ तीन वटा कुरा बताएँ; के तिमीहरूलाई ती याद छ? यो मानवजाति, भनेर परमेश्‍वरले अपेक्षा गर्नुभएकै जस्तो भए पनि, तिनीहरू उहाँद्वारा घृणित पनि छन्। अर्को कुरा के थियो? (परमेश्‍वरलाई तिनीहरू देख्दा साह्रै दुःख लाग्छ।) परमेश्‍वरलाई तिनीहरू देख्दा साह्रै दुःख पनि लाग्छ। यी तीनवटै कुराहरू मानिसमा एकसाथ हुन्छन्। परमेश्‍वरले के अपेक्षा गर्नुभएको थियो? उहाँले के अपेक्षा गर्नुभएको थियो भने, यस मानवजातिले व्यवस्था अनि त्यसपछि छुटकारा अनुभव गरिसकेपछि, तिनीहरू मानिसले कायम गर्नुपर्ने केही आधारभूत व्यवस्था र आज्ञाहरूलाई बुझेर त्यसको जगमा रही अन्तिममा आजको दिनसम्‍म आउनेछन्, र अब आदम र हव्‍वा जस्तो, हृदयको गहिराइमा रित्तोपन भएका, सरल मानवजातिको रूपमा रहनेछैनन्। बरु, तिनीहरूले आफ्‍नो हृदयमा नयाँ कुराहरू बुझेका हुनेछन्। मानवजातिमा यिनै कुराहरू हुन्छन् भनेर परमेश्‍वरले अपेक्षा गर्नुभएको थियो। तर साथ-साथै मानवजाति परमेश्‍वरलाई घृणा गर्ने मानवजाति पनि हो। त्यसोभए, परमेश्‍वरले के कुरालाई घृणा गर्नुहुन्छ त? के तिमीहरू सबैलाई थाहा छैन र? (मानिसको विद्रोहीपन र प्रतिरोधलाई।) मानवजाति शैतानको भ्रष्ट स्वभावले भरिएका छन् र न त मानिस जस्तो न त पिशाच जस्तो, एउटा भयानक जीवन जिउँछन्। अब मानवजाति सर्पको प्रलोभनलाई सहन नसक्‍ने सरल मानवजाति रहेन। मानवजातिको आफ्‍नै विचार र दृष्टिकोणहरू, आफ्‍नै ठोस रायहरू छन्, र विभिन्‍न घटना र कामकुराहरूलाई हेर्ने आफ्‍नै शैली छ, तैपनि मानिसहरू र कामकुराहरूलाई हेर्ने तिनीहरूको दृष्टिकोण, वा तिनीहरूको आचरण र व्यवहारमा परमेश्‍वरले मानवजातिमा चाहनुहुने कुनै कुरा पनि छैन। मानवजातिले सोच्‍न र कुनै दृष्टिकोण राख्‍न सक्छन्, र तिनीहरूसँग आफूले गर्ने कार्यको आफ्‍नै आधार, माध्यम, र मनोवृत्ति हुन्छन्, तर तिनीहरूमा रहेका यी सबै कुराको स्रोत शैतानको भ्रष्टता हो। त्यो सबै कुरा शैतानको दृष्टिकोण र दर्शनहरूमा आधारित हुन्छ। जब मानिसहरू परमेश्‍वरको अघि आउँछन्, तब परमेश्‍वरप्रति तिनीहरूको हृदयमा समर्पणता वा इमानदारिताको कुनै निशान नै हुँदैन। मानिसहरू शैतानको विषमा डुबेका छन् र त्यसका शिक्षा र विचारहरू, र त्यसका भ्रष्ट स्वभावले भरिएका छन्। यसले के सङ्केत गर्छ? परमेश्‍वरले मानिसहरूको अस्तित्वको विधि र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिलाई परिवर्तन गर्नका लागि, अनि अझै निश्‍चित रूपमा भन्दा मानिसहरू र कामकुराहरूलाई हेर्ने तिनीहरूको दृष्टिकोणको शैली र मापदण्ड, अनि तिनीहरूको आचरण र व्यवहारलाई परिवर्तन गर्नका लागि धेरै वचनहरू बोल्‍नुपर्छ र धेरै काम गर्नुपर्छ। यो सब कार्यको नतिजा नआउञ्जेल, मानवजाति परमेश्‍वरको नजरमा घृणाको पात्र नै रहन्छन्। परमेश्‍वरलेआफ्ना घृणाका पात्रलाई मुक्ति दिनुहुँदा उहाँलाई के चाहिन्छ? के उहाँको हृदयमा हर्ष हुन्छ? के त्यहाँ खुसी हुन्छ? के त्यहाँ सान्त्वना हुन्छ? (हुँदैन।) त्यहाँ कुनै सान्त्वना हुँदैन, न त कुनै खुसी नै हुन्छ। उहाँको हृदय घृणाले भरिएको हुन्छ। त्यस्तो परिस्थितिमा बोल्‍ने, अथक रूपमा बोल्‍ने बाहेक, परमेश्‍वरले गर्नुहुने एउटै कुरा भनेको धैर्यको अभ्यास हो। परमेश्‍वरको नजरबाट, उहाँले त्यस्तो मानवजातिलाई हेर्दा महसुस गर्नुहुने दोस्रो तत्व यही हो—घृणा। तेस्रो तत्व भनेको तिनीहरूलाई उहाँलाई साह्रै दुःख लाग्छ। मानवजातिलाई सृष्टि गर्नुको परमेश्‍वरको मूल अभिप्रायलाई ध्यानमा राखी हेर्दा, मानिससँग परमेश्‍वरको सम्‍बन्ध आमाबाबु र सन्तानबीचको, अर्थात् परिवारको सम्‍बन्ध हो। सम्‍बन्धको यो आयाम मानवजातिको रगतको सम्‍बन्धहरू जस्तो नहुन सक्छ, तर परमेश्‍वरका लागि, यो मानवजातिको देहगत रगतको नाता भन्दा माथि हुन्छ। परमेश्‍वरले सुरुमा सृष्टि गर्नुभएको मानवजातिको रूप उहाँले आखिरी दिनहरूमा देख्‍नुहुने मानवजातिभन्दा पूर्ण रूपमा फरक छ। सुरुमा, मानिस सरल र अपरिपक्‍व रूपमा थियो, र तिनीहरू अज्ञानी भए पनि, तिनीहरूको हृदय चोखो र सफा थियो। तिनीहरूको आँखामा तिनीहरूको हृदयको गहिराइमा रहेको स्वच्‍छता र पारदर्शितालाई देख्‍न सकिन्थ्यो। तिनीहरूमा अहिलेका मानिसहरूमा भए जस्तो नाना प्रकारका भ्रष्ट स्वभाव थिएनन्; तिनीहरूमा कुनै हठीपन, अहङ्कार, दुष्टता, वा छल थिएन, र तिनीहरूमा सत्यताप्रति वितृष्ण मान्‍ने स्वभाव निश्चित रूपमा थिएन। मानिसहरूको बोली-वचन र व्यवहारबाट, तिनीहरूको आँखा, अनुहारबाट नै, त्यो मानवजाति परमेश्‍वरले सुरुमा सृष्टि गर्नुभएको र उहाँले प्रिय ठान्‍नुभएको मानवजाति हो भन्‍ने कुरा देख्‍न सकिन्थ्यो। तर अन्त्यमा, परमेश्‍वरले मानिसलाई फेरि नियाल्दा, मानिसको हृदयको गहिराइ त्यति सफा छैन, र तिनीहरूको आँखा त्यति सफा छैन। मानिसको हृदय शैतानको भ्रष्ट स्वभावले भरिएको छ, र जब तिनीहरूले परमेश्‍वरलाई भेट्छन्, तब तिनीहरूको अनुहार, बोली-वचन, र व्यवहार उहाँका लागि घृणास्पद हुन्छन्। तर, एउटा तथ्य छ जुन कसैले इन्कार गर्न सक्दैन, र यो तथ्यको कारण नै परमेश्‍वरले त्यस्तो मानवजातिलाई आफ्नो आँखाले हेर्दा साह्रै दुःख लाग्छ भनेर भन्‍नुहुन्छ। त्यो कुन तथ्य हो? त्यो तथ्य यो हो, जसलाई कसैले इन्कार्न सक्दैन: परमेश्‍वरको अघि फेरि एक पटक आएको यो मानवजातिलाई उहाँले आफ्‍नै हातले सृष्टि गर्नुभएको हो, तर तिनीहरू सुरुमा जस्तो थिए अब त्यस्तो मानवजाति रहेनन्। मानिसहरूको नजरदेखि लिएर तिनीहरूको विचार, र तिनीहरूको हृदयको गहिराइसम्‍म, तिनीहरू परमेश्‍वर विरुद्धको प्रतिरोध र विश्‍वासघातले भरिएका छन्; मानिसहरूको नजरदेखि लिएर तिनीहरूको विचार, र तिनीहरूको हृदयको गहिराइसम्‍म, शैतानको स्वभावभन्दा अरू केही प्रकट हुँदैन। हठीपन, अहङ्कार, छल, दुष्टता, र सत्यताप्रति वितृष्ण मान्‍ने मानिसका शैतानी स्वभाव स्पष्ट रूपमा र स्वतः, तिनीहरूको नजर र अभिव्यक्ति सबैबाट प्रकट हुन्छन्। परमेश्‍वरका वचनहरू सामना गर्दा वा परमेश्‍वरको आमने-सामने हुँदा पनि मानिसको शैतानद्वारा भ्रष्ट तुल्याइएको भ्रष्ट र शैतानी स्वभाव, र उसको सार स्पष्ट रूपमा यसरी प्रकट हुन्छ। यो तथ्यको उदयले परमेश्‍वरलाई कस्तो महसुस गराउँछ, त्यो समेट्न सक्ने एउटै वाक्य छ, र त्यो हो “यो देख्दा उहाँलाई साह्रै दुःख लाग्छ।” आजको दिनसम्‍म आएको र यो युगसम्‍म आइपुगेको मानवजाति, चाहे तिनीहरूले सामना गर्ने परिस्थिति र अवस्थाको हरेक पक्षको दृष्टिकोणबाट होस्, वा मानिसको समग्र वातावरणको परिप्रेक्ष्यबाट होस्, परमेश्‍वरको कामको तेस्रो र अन्तिम चरणमा उहाँले गर्नुहुने मागहरूको स्तरमा, मानवजातिको मुक्तिको स्तरमा आइपुगेको छ—तैपनि यो मानवजातिप्रति परमेश्‍वर अपेक्षाले भरिएको हुनुभए पनि, उहाँ तिनीहरूप्रति घृणाले पनि भरिनुभएको छ। निश्चित रूपमा परमेश्‍वरले एकपछि अर्को मानव भ्रष्टताका घटनाहरू देख्दा उहाँलाई साह्रै दुःख लाग्छ। तैपनि उत्सव मनाउनयोग्य कुरा के छ भने परमेश्‍वरले अब मानिसका निमिक्त व्यर्थको धैर्यता र व्यर्थको प्रतीक्षा गर्नु पर्दैन। उहाँले छ हजार वर्षदेखि प्रतीक्षा गर्नुभएको, छ हजार वर्षदेखि अपेक्षा गर्नुभएको, र छ हजार वर्षदेखि प्रत्याशा गर्नुभएको काम गर्नुचाहिँ आवश्यक छ: आफ्‍ना वचनहरू, आफ्‍नो स्वभाव, र हरेक सत्यता व्यक्त गर्ने काम। निश्चित रूपमा, यसको अर्थ के पनि हुन्छ भने परमेश्‍वरले चुन्‍नुभएको यस मानवजातिको बीचमा, परमेश्‍वरले धेरै समयदेखि प्रतीक्षा गर्नुभएको मानिसहरूको समूहको उदय हुनेछ, जो सबै कुराका रेखदेखकर्ता र सबै थोकका मालिक हुनेछन्। यो परिस्थितिलाई समग्र रूपमा हेर्दा, सबै कुरा अपेक्षा भन्दा धेरै टाढा गएको छ; सबै कुरा अत्यन्तै पीडादायी र दुःखलाग्दो छ। तर के कुराले परमेश्‍वरलाई सबैभन्दा खुसी तुल्याउँछ भने समयको बितेको कारण र फरक युगको कारण, मानवजाति शैतानको भ्रष्टताको अधीनमा हुने दिनहरू सक्किसकेका छन्। मानवजातिले व्यवस्थाको बप्तिस्मा र परमेश्‍वरको छुटकारा अनुभव गरेका छन्; अन्तिममा, तिनीहरू परमेश्‍वरले गर्नुहुने कामको अन्तिम चरणमा आइपुगेका छन्: मानवजातिले परमेश्‍वरको सजाय र न्याय, र उहाँको विजयलाई स्विकारेको अन्तिम परिणामस्वरूप तिनीहरूले मुक्ति पाउने चरणमा। मानवजातिका लागि, यो अवश्य नै अत्यन्तै राम्रो खबर हो, र परमेश्‍वरका लागि, यो अवश्य नै उहाँले लामो समय प्रतीक्षा गर्नुभएको कुरा हो। कुनै पनि दृष्टिकोणबाट हेर्दा, यो सारा मानवजातिको सर्वोत्तम युगको उदय हो। जुनसुकै दृष्टिकोणबाट हेर्दा पनिचाहे मानवजातिको भ्रष्टता, वा संसारका प्रचलनहरू, वा सामाजिक संरचनाहरू, वा मानवजातिको राजनीति, वा सारा संसारको स्रोतसाधन, अथवा वर्तमान विपत्तिहरूको दृष्टिकोबाट हेर्दा नै किन होस्, मानवजातिको अन्त्य नजिकै छ—यो मानवजाति अन्तिम घडीमा आइपुगेको छ। तैपनि परमेश्‍वरको कामको सबैभन्दा चरम समय यही हो, जुन समयलाई मानिसले सबैभन्दा बढी स्मरण गर्नुपर्छ र मनाउनुपर्छ, र निश्चित रूपमा, यो परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाको कामको सबैभन्दा महत्त्वपूर्ण र अर्थपूर्ण समयको उदय पनि हो, जसमा मानवजातिको भाग्य निर्धारित हुन्छ। तसर्थ, मानवजातिलाई जे सुकै भएको भए पनि, र परमेश्‍वरले जति धेरै प्रतीक्षा र धैर्य गर्नुभएको भए पनि, यो सबै सार्थक रहेको छ।

हामीले छलफल गर्ने भनी भनेको विषयमा हामी फर्कौँ, “मानिसले किन सत्यता पछ्याउनै पर्छ।” परमेश्‍वरको व्यवस्थापन योजना मानवजातिमाझ गरिने तीनवटा चरणको काममा विभाजित छन्। उहाँले पहिले नै अघिल्‍ला दुईवटा चरणहरू पूरा गरिसक्‍नुभएको छ। यी चरणहरूलाई वर्तमान समयसम्‍म हेर्दा, चाहे व्यवस्था होस् वा आज्ञाहरू हुन्, मानिसहरूको लागि ती कुराहरूको उपयोगिता भनेको तिनीहरूलाई व्यवस्था, आज्ञाहरू, परमेश्‍वरको नाम मान्‍न लगाउनु, तिनीहरूको हृदयको कुनाभित्र विश्‍वास राख्‍न लगाउनु, र केही असल व्यवहार, र केही असल सिद्धान्तहरू पालन गर्न लगाउनुभन्दा अरू केही थिएन। मान्छेले आधारभूत रूपमै परमेश्‍वरले तय गर्नुभएको मापदण्ड, अर्थात् सबै थोकको रेखदेख गर्ने र सबै थोकको मालिक बन्‍ने मापदण्ड पूरा गर्न सक्दैन। के अवस्था त्यही नै होइन र? तिनीहरूले आधारभूत रूपमै त्यो मापदण्ड पूरा गर्न सक्दैनन्। व्यवस्था र अनुग्रहको युगबाट गुज्रेको मानिसलाई परमेश्‍वरले तिनीहरूलाई गर्न लगाउन चाहना गर्नुभएको कुरा गर्न लगाइयो भने, तिनीहरू व्यवस्था वा अनुग्रहको युगमा दिइएका अनुग्रह र आशिष्‌हरूको माध्यमबाट मात्रै ती सबै कुराहरूमा संलग्‍न हुन सक्छन्। यो कुरा मान्छे सबै थोकको रेखदेख गर्ने हुनुपर्छ भन्‍ने परमेश्‍वरको मापदण्डभन्दा धेरै टाढा छ, र यसले गर्दा मानवजाति पनि परमेश्‍वरले तिनीहरूलाई गर्न लगाउनुभएका कुराहरू गर्न र उसलाई पूरा गर्न लगाउनुभएको जिम्‍मेवारी र कर्तव्य पूरा गर्नबाट धेरै टाढा हुन्छ। मान्छेले मान्छे सबै थोकको मालिक र अर्को युगको मालिक हुनुपर्छ भन्‍ने परमेश्‍वरको मापदण्ड पूरा गर्न वा त्यो स्तर भेट्टाउनै सक्दैन। त्यसकारण, परमेश्‍वरले आफ्‍नो कामको अन्तिम चरणमा मानवजातिलाई चाहिने सबै सत्यताहरू र तिनीहरूलाई सबै पक्षमा चाहिने अभ्यासका सिद्धान्तहरू व्यक्त गर्नुहुन्छ र बताउनुहुन्छ, ताकि मानिसहरूले परमेश्‍वरको आज्ञाका मापदण्डहरू के-के हुन्, तिनीहरू सबै कुरामा कसरी संलग्‍न हुनुपर्छ, सबै कुरालाई तिनीहरूले कसरी लिनुपर्छ, तिनीहरू कसरी सबै थोकको रेखदेख गर्ने हुनुपर्छ, तिनीहरूको अस्तित्व शैली के-कस्तो हुनुपर्छ, र सृष्टिकर्ताको अधीनमा रही सृष्टि गरिएको साँचो प्राणीको रूपमा कसरी परमेश्‍वरको अघि जिउनुपर्छ भनेर जान्‍न सकून्। मानिहरूसले यी कुराहरू बुझेपछि, परमेश्‍वरले तिनीहरूलाई के-कस्ता मापदण्डहरू दिनुभएको छ भन्‍ने कुरा पनि तिनीहरूले बुझ्‍नेछन्; तिनीहरूले यी कुराहरू पूरा गरेपछि, परमेश्‍वरले तिनीहरूको लागि तोक्‍नुभएका मापदण्डहरूको स्तर पनि हासिल गरेका हुनेछन्। व्यवस्था, आज्ञा, र व्यवहारसम्बन्धी सरल मापदण्डहरूले सत्यताको स्थान लिन सक्दैनन्, त्यसैले परमेश्‍वरले आखिरी दिनहरूमा मानिसहरूको अभ्यास, तिनीहरूका व्यवहार र कार्यहरू, अनि मानिसहरू र परिस्थितिलाई हेर्ने तिनीहरूको दृष्टिकोणबारे धेरैभन्दा धेरै वचन र सत्यताहरू व्यक्त गर्नुहुन्छ। परमेश्‍वरले मान्छेलाई कसरी मानिसहरू र परिस्थितिलाई हेर्ने, अनि कसरी आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने भनेर बताउनुहुन्छ। परमेश्‍वरले यो सब कुरा भन्‍नुको अर्थ के हो? यसको अर्थ परमेश्‍वर तैँले यी सबै सत्यताहरूअनुसार मानिसहरू र परिस्थितिलाई हेरेको, र सोहीअनुसार आफूलाई व्यवहारमा ढालेको र कार्यहरू गरेको, र त्यसरी यो संसारमा जिएको चाहनुहुन्छ। तैँले जे-जस्तो कर्तव्य पूरा गरे पनि तैँले परमेश्‍वरबाट जे-जस्तो आज्ञा स्विकारे पनि, तँलाई उहाँले दिने मापदण्डहरू परिवर्तन हुँदैनन्। परमेश्‍वरका मापदण्डहरू बुझेपछि, तैँले उहाँ तेरो साथमा हुनुभए नभए पनि वा उहाँले तेरो सूक्ष्मजाँच गरिहनुभएको भए नभए पनि, आफूले बुझेअनुसार उहाँका मापदण्डहरूअनुरूप अभ्यास गर्नुपर्छ, आफ्‍नो कर्तव्य निभाउनुपर्छ, र परमेश्‍वरको आज्ञा पूरा गर्नुपर्छ। यसरी मात्रै तँ परमेश्‍वरले निर्धक्‍क विश्‍वास गर्नुहुने सबै कुराको मालिक, र योग्य, र उहाँको आज्ञा पाउन लायक व्यक्ति बन्‍नेछस्। के यसले मान्छेले किन सत्यता पछ्याउनै पर्छ भन्‍ने विषयलाई छुँदैन र? (छुन्छ।) के अब तिमीहरूले बुझ्यौ? परमेश्‍वरले पूरा गर्नुहुने तथ्यहरू यिनै हुन्। त्यसकारण, सत्यता पछ्याउने कार्य आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍नु र परमेश्‍वरलाई विरोध नगर्नुसँग मात्रै सम्‍बन्धित हुँदैन। हामीले कुरा गरिरहेको सत्यता पछ्याउने कार्यमा अझै ठूलो महत्त्व र मूल्य छ। साँच्‍चै नै, यो मानिसको गन्तव्य र नियतिसँग सम्‍बन्धित छ। बुझ्यौ? (बुझ्यौँ।) मानिसले किन सत्यता पछ्याउनै पर्छ? सानो अर्थमा, यसलाई मानिसले बुझ्‍ने सबैभन्दा आधारभूत सिद्धान्तले सम्‍बोधन गरेको छ। बृहत् हिसाबमा, सबैभन्दा महत्त्वपूर्ण कारण के हो भने, परमेश्‍वरको लागि, सत्यता पछ्याउने कार्य उहाँको व्यवस्थापन, मानवजातिप्रतिको उहाँको अपेक्षा, र मानवजातिप्रति उहाँले गर्नुभएको आशासँग सम्‍बन्धित छ। यो परमेश्‍वरको व्यवस्थापन योजनाको एउटा भाग हो। यसबाट के देख्‍न सकिन्छ भने तँ जोसुकै भए पनि र तैँले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै समय भए पनि, यदि तँ सत्यता पछ्याउँदैनस् वा यसलाई प्रेम गर्दैनस् भने, तँ अवश्य नै अन्तमा हटाइने व्यक्ति बन्‍नेछस्। यो कुरा स्पष्ट छ। परमेश्‍वरले तीन चरणको काम गर्नुहुन्छ; उहाँले मानवजातिको सृष्टि गर्नुभएदेखि नै उहाँसँग व्यवस्थापन योजना थियो, र एकएक गरी यसका चरणहरू उहाँले मानवजातिमा पूरा गर्नुभयो, र मानवजातिलाई चरणबद्ध रूपमा आजको दिनसम्‍म डोर्‍याउनुभयो। उहाँले मानवजातिलाई व्यक्त गर्नुहुने सत्यताहरू र भन्नुहुने उहाँका मागका मापदण्डका हरेक पक्षलाई, मानिसभित्र काममा ल्याउने र वास्तविकता बनाउने अन्तिम उद्देश्यको लागि उहाँले गर्नुभएको श्रमसाध्य प्रयास र कति ठूलो मूल्य चुकाउनुभएको छ र कति लामो समयसम्म सहनुभएको छ। परमेश्‍वरको नजरमा, यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। परमेश्‍वरले यस मामलालाई अत्यन्तै महत्त्वपूर्ण मान्‍नुहुन्छ। परमेश्‍वरले कैयौँ वचनहरू व्यक्त गर्नुभएको छ, र यसो गर्नुभन्दा पहिले, उहाँले तयारीको धेरै काम गर्नुभयो। यदि तैँले अन्त्यमा उहाँले अहिले व्यक्त गर्नुभएका यी वचनहरू पछ्याइनस् वा तँ यी वचनहरूमा प्रवेश गरिनस् भने, परमेश्‍वरले तँलाई कस्तो नजरले हेर्नुहुनेछ? परमेश्‍वरले तँलाई कस्तो नाम दिनुहुनेछ? यो कुरा दिनको उज्यालोझैँ स्पष्ट छ। त्यसकारण, व्यक्तिको क्षमता, उसको उमेर, वा उसले परमेश्‍वरमा विश्‍वास गरेको अवधि जे-जति भए पनि, हरेक व्यक्तिले सत्यता पछ्याउने मार्गमा प्रयास लगाउनुपर्छ। तैँले कुनै पनि वस्तुगत तर्कमा जोड दिनु हुँदैन; तैँले सर्तरहित रूपमा सत्यता पछ्याउनुपर्छ। आफ्‍ना दिनहरू व्यर्थमा खेर नफाल। यदि तैँले सत्यता पछ्याइलाई आफ्नो जीवनको सबैभन्दा ठूलो कुराको रूपमा लिँदै सोही दिशामा खोजी गर्ने र प्रयास लगाउने गर्छस् भने, तैँले तेरो खोजीमा प्राप्त गरेको र भेटेको सत्यता तैँले इच्छा गरेको जस्तो नहुन सक्छ। तर यदि परमेश्‍वरले तेरो पछ्याइमा तैँले देखाएको मनोवृत्ति र तेरो इमानदारीको उचित आधारमा तँलाई गन्तव्य दिन्छु भनी भन्‍नुभयो भने, त्यो कति राम्रो हुनेछ! अहिलेका लागि तेरो गन्तव्य वा परिणाम कस्तो हुनेछ अनि के हुनेछ र भविष्य कस्तो हुन्छ, वा तँ विपत्तिबाट जोगिन सक्‍नेछस् कि मर्नेछस्—यी कुराहरू माग्ने वा तीबारे सोच्‍ने नगर्। परमेश्‍वरका वचन र उहाँका मागहरूमा सत्यता पछ्याउन, आफ्‍नो कर्तव्य राम्ररी निभाउन, परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट गर्नमा मात्र ध्यान दे, ताकि तैँले परमेश्‍वरको छ हजार वर्षको प्रतीक्षा, उहाँको छ हजार वर्षको अपेक्षा अयोग्य प्रमाणित गर्नेछैनस्। परमेश्‍वरलाई केही आराम दे; तँमा केही आशा छ भनी देख्‍ने तुल्या, र तँमा उहाँको कामना साकार हुन दे। मलाई भन्, यदि तैँले त्यसो गरिस् भने के परमेश्‍वरले तँलाई जथाभावी व्यवहार गर्नुहुनेछ? अवश्यै गर्नुहुनेछैन! अनि यदि अन्तिम परिणाम आफूले कामना गरेजस्तो नभएमा, सृष्टि गरिएको प्राणीको रूपमा त्यो तथ्यलाई कसरी लिनुपर्छ? कुनै व्यक्तिगत स्वार्थ नराखी सबै कुरामा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ। के सृष्टि गरिएको प्राणीले लिनुपर्ने दृष्टिकोण यही होइन र? (हो।) त्यो सही मानसिकता हो। यससँगै हामी मानिसले किन सत्यता पछ्याउनै पर्छ भन्‍नेबारेको हाम्रो यो सङ्गति यही समाप्त गर्नेछौँ।

हाम्रो सङ्गतिले अहिले भर्खरै मानिसले किन सत्यता पछ्याउनै पर्छ भन्‍ने विषयलाई परमेश्‍वरको दृष्टिकोण र परमेश्‍वरको व्यवस्थापन योजनाको हिसाबबाट हेर्‍यो। अर्को पक्षमा हेर्दा, यो अलिक सरल छ। मानिस स्वयम्‌को हिसाबमा, मानिसको दृष्टिकोणले हेर्दा, मानिसले किन सत्यता पछ्याउनै पर्छ? सरल रूपमा भन्दा, यदि मानिसहरू व्यवस्थाको अधीनमा जिउँथे र सत्यता बुझ्दैनथे भने, र तिनीहरूको खोज भनेकै व्यवस्था पालना गर्नुबाहेक अरू केही हुन्थेन भने, यसको अन्तिम परिणाम के हुन्थ्यो? त्यसबाट आउने एउटै कुरा के हुन्थ्यो भने, मान्छेले व्यवस्था पालना गर्न नसक्दा उसलाई व्यवस्थाले दोषी ठहराउनेथियो। अनि त्यो युगदेखि अनुग्रहको युगसम्‍म: त्यो युगमा, मानिसहरूले धेरै कुरा बुझेका थिएनन्, र मान्छेको बारेमा तिनीहरूले परमेश्‍वरबाट धेरै नयाँ कुराहरू—मानव व्यवहारसम्‍बन्धी मार्गदर्शन र आज्ञाहरू—प्राप्त गरे। सिद्धान्तको हिसाबमा मान्छेले राम्रो फाइदा पायो। तर तिनीहरूले सत्यता नबुझी परमेश्‍वरको अझै धेरै सुरक्षा, निगाह, आशिष्‌, र अनुग्रह पाउँछु भन्‍ने आशा गरे; मान्छेको दृष्टिकोण अझै पनि परमेश्‍वरसित अनुरोध गर्ने किसिमको थियो, र ती अनुरोध गर्ने क्रममा, तिनीहरूको खोजी अझै पनि देहको जीवन, र देहको सहजता, अनि अझै उत्तम भौतिक जीवनशैलीप्रति लक्षित र निर्देशित थियो। तिनीहरूको खोजीको उद्देश्य अझै पनि सत्यताविपरीत र सत्यताविरुद्ध थियो। मानिसहरू अझै पनि सत्यता पछ्याउन सक्‍ने अवस्थामा पुगेका थिएनन्, र तिनीहरूले सत्यतालाई अस्तित्वको आधारको रूपमा लिने वास्तविक जीवन प्रवेश गर्न सकेका थिएनन्। यी कुराहरू सबै नियम-व्यवस्थाहरू वा अनुग्रहको युगका सबै आज्ञा र सर्तहरू बुझेको जगमा, तर सत्यता अझै बुझ्‍न बाँकी रहेको आधारमा, मानिसहरूले जिएको जीवनका वास्तविकताहरू थिए। यी कुराहरू मान्छेको जीवनका वास्तविकताहरू हुँदा, तिनीहरूले प्राय थाहै नपाई आफ्‍नो दिशा गुमाउँछन्। यो त मानिसहरूले यसो भनेजस्तै हो: “म अन्योल र दोधारमा छु।” यस्तो निरन्तरको अन्योल अवस्थामा, मानिसहरू प्राय शून्यतामा डुब्छन्, कमजोर हुन्छन्, र तिनीहरूलाई मान्छे किन जिउँछ वा भविष्य के हुन्छ भन्‍ने थाहा हुँदैन, झन् तिनीहरूलाई वास्तविक जीवनमा आफूले भेट्‍ने विभिन्‍न मानिसहरू, घटना, र परिस्थितिहरू कसरी सामना गर्ने, वा ती कुराहरू सामना गर्दा कस्तो सही शैली अपनाउने भनेर थाहा हुने त कुरै नगरौँ। परमेश्‍वरका त्यस्ता धेरै अनुयायी वा विश्‍वासीहरू छन्, जसले आज्ञाहरू पालन गरे पनि र परमेश्‍वरको धेरै अनुग्रह र आशिष्‌हरू प्राप्त गरे पनि, तिनीहरू अझै पनि हैसियत, सम्पत्ति, सुन्दर भविष्य, मित्रहरूमाझ आफ्नो उच्‍च अवस्था, सुन्दर विवाह, घरायसी सन्तुष्टि र सम्पत्तिको पछि लाग्छन्—अनि आजको समाजमा, तिनीहरू देह र जीवनसुख र सहजता पछ्याउँछन्; तिनीहरू आरामदायी हवेली र कारहरूको पछि लाग्छन्; मानवजातिको रहस्य र भविष्य अन्वेषण गर्दै विश्‍वभरि यात्रा गर्न खोज्छन्। मानवजातिले कैयौँ व्यवस्था र व्यवहारसम्‍बन्धी मापदण्डहरूका विभिन्‍न नियम र निषेधहरू स्विकार्ने क्रममा, तिनीहरू आफ्‍नो भविष्य, र मानवजातिका रहस्यहरू, अनि मानवजातिको दायराबाहिरका हरेक मामला अन्वेषण गर्ने प्रवृत्ति त्याग्‍न सक्दैनन्। अनि मानिसहरूले त्यसो गर्ने क्रममा, प्रायजसो खोक्रो, निराश, पीडित, झन्झट, अशान्ति, र डर महसुस गर्छन्, यहाँसम्‍म कि धेरै कुराहरू तिनीहरूको जीवनमा आइलाग्दा, तिनीहरूले आफ्‍नो आवेग र भावनाहरू नियन्त्रण गर्नुपर्ने ठूलो दबाबमा हुन्छन्। कतिपय मानिसहरू कुनै पनि तनावपूर्ण अवस्था जस्तै काममा सामना गर्नुपर्ने कठोर अवस्थाहरू, घरायसी कलह, घरायसी हैरानी, वैवाहिक हैरानी, वा समाजको भेदभाव आदि इत्यादि सामना गर्दा निरुत्साहित हुने, निराश हुने, र दबाबमा पर्ने गर्छन्। कतिपय मानिसहरू त चरम भावनाको सिकारसमेत हुन्छन्; कतिपयले त आफ्‍नो जीवन चरम तरिकाले अन्त्य गर्नेसमेत निर्णय गर्छन्। अवश्यै, कतिपय मानिसहरू अरूबाट टाढा बस्‍ने र एकलोपनमा रमाउने पनि हुन्छन्। अनि यसले समाजमा के निम्त्याएको छ? पुरुष होस् वा स्त्री, एकलै बस्‍ने; डिप्रेसनमा पर्ने; आदि इत्यादि। इसाईहरूको जीवनमा पनि यस्ता घटनाहरूको कमी छैनन्; यस्ता कुराहरू बारम्‍बार भइरहन्छन्। सबै कुरालाई ध्यानमा राखी हेर्दा, यसको कारण, यसको मूलजड के हो भने, मानवजातिले सत्यता के हो भन्‍ने नै बुझ्दैन, न त तिनीहरूले मान्छे कहाँबाट आएको हो र कहाँ गइरहेको छ, अनि मानिस किन जिउँदो छ र ऊ कसरी जिउनुपर्छ भन्‍ने नै बुझेका हुन्छन्। विभिन्‍न धेरै प्रकारका मानिसहरू, घटनाहरू, र परिस्थितिहरू सामना गर्दा, तिनीहरूले सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तमा खुसीसाथ र सहजसाथ जिउन सक्षम हुन यी कुराहरू कसरी सम्हाल्ने, कसरी समाधान गर्ने, कसरी हटाउने, वा यी कुराहरूलाई भित्रीसम्म कसरी हेर्ने र बुझ्‍ने भनेर जान्दैनन्। मानवजातिसँग यो क्षमता छैन। परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताबिना, र उहाँले तिनीहरूलाई कसरी मानिसहरू र परिस्थितिलाई हेर्ने, र कसरी आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने भनेर नबताउनुहुँदा, मानिसहरू आफ्‍नै प्रयासमा, आफूले बटुलेको ज्ञानमा, र आफूले सिकेका जीवन सीपहरूमा, अनि आफूले बुझेका चलनहरूमा, साथै व्यवहारका नियमहरू वा संसारसँग व्यवहार गर्ने दर्शनहरूमा भर पर्छन्। तिनीहरू मानव जीवनको आफ्‍नो अनुभव र यससम्‍बन्धी भोगाइ, अनि किताबबाट सिकेका कुराहरूमा भर पर्छन्—तैपनि, वास्तविक जीवनका कठिनाइहरू आइपर्दा, तिनीहरू शक्तिहीन हुन्छन्। यस्तो अवस्थामा जीवन जिउनेहरूको कुरा गर्दा, तिनीहरूले बाइबल पढ्दा पनि केही सीप लाग्दैन। प्रभु येशूलाई प्रार्थना गर्दा पनि, र यहोवालाई प्रार्थना गर्दा पनि केही सीप लाग्दैन। प्राचीन अगमवक्ताहरूले भनेका कुराहरू पढ्दा पनि तिनीहरूको कुनै समस्या समाधान हुँदैन। त्यसकारण, कतिपय मानिसहरू विश्‍वभरि घुम्छन्; तिनीहरू चन्द्रमा र मंगल ग्रह जान्छन्, वा भविष्य बताउने भविष्यवक्ताहरूलाई खोजेर तिनीहरूसँग कुरा गर्छन्। तर यी कुराहरू गरिसकेपछि पनि मानिसहरूको हृदय शान्ति, आनन्द, र सान्त्वनारहित नै रहन्छ। तिनीहरूको प्रगतिको दिशा र उद्देश्य अझै पनि तिनीहरूद्वारा प्राप्त गर्न नसकिने र खोक्रोझैँ लाग्छ। समग्रमा, मानवजातिको जीवन एकदमै खोक्रो रहेको छ। मानवजातिको जीवन यस्तो यथास्थितिमा रहेको हुनाले, तिनीहरूले आफूलाई मनोरञ्जन दिन अनेक तरिका अपनाउँछन्: उदाहरणको लागि, पश्‍चिमीहरूले मन पराउने आधुनिक भिडियो गेमहरू, अनि बन्जी जङ्पिङ, र सर्फिङ, पर्वतारोहण, र स्काइडाइभिङ, र चिनियाँहरूलाई मनपर्ने विभिन्‍न नाट्य, गीत, र नृत्यहरू, र दक्षिण एसियाका लेडीब्वाइ शोहरू। मानिसहरूले आफ्‍नो आत्मिक संसार र शारीरिक इच्छा पूरा गर्ने विभिन्‍न कुराहरू पनि हेर्ने गर्छन्। तैपनि तिनीहरूको मनोरञ्जनका कुराहरू जे भए पनि, तिनीहरूले जे हेरे पनि, मानिसहरूको हृदयको गहिराइमा भविष्यबारे अन्योल नै रहन्छ। मान्छेले जतिपटक संसार घुमेका भए पनि, वा तिनीहरू चन्द्रमा र मंगल ग्रहमा गएर आएका भए पनि, तिनीहरू फर्केर आई शान्त भएपछि, तिनीहरू पहिलेजस्तै ऊर्जारहित नै हुन्छन्। यदि केही हुन्छ नै भने, त्यो यो हो कि तिनीहरू जानुपहिलेभन्दा गएपछिचाहिँ झन् दुःखित र असन्तुष्ट बन्छन्। मानवजाति यति खोक्रो, यति शक्तिहीन, र यति चकित र विचलित हुनु, अनि आउनेवाला र अज्ञात कुरा अन्वेषण गर्न चाहनुको कारण तिनीहरूले आफूलाई मनोरञ्जन दिन नआएर, र कसरी जिउने त्यो थाहा नभएर हो भन्‍ने तिनीहरू सोच्छन्। तिनीहरू जीवनको आनन्द कसरी लिने वा पलपलको आनन्द कसरी लिने त्यो थाहा नभएको कारण यस्तो भएको हो भन्‍ने सोच्छन्; तिनीहरूका रुचि र चासोका विषयहरू सरल भएकाले, र बृहत् नभएकाले यस्तो भएको हो भन्‍ने सोच्छन्। तैपनि मानवजातिले जतिवटा रुचिहरू जगेर्ना गरे पनि, तिनीहरू जतिवटा मनोरन्जनमा संलग्‍न भए पनि, तिनीहरू संसारको जतिवटा ठाउँमा पुगे पनि, मानवजातिलाई अझै पनि के महसुस हुन्छ भने, तिनीहरू जसरी जिउँछन् त्यो र तिनीहरूको अस्तित्वको दिशा र उद्देश्य तिनीहरूले चाहेजस्तो छैन। छोटकरीमा भन्दा, मानिसहरूले सामान्य रूपमा अनुभव गर्ने भनेको खोक्रोपन र न्यास्रोपन हो। कतिपय मानिसहरूले यो खोक्रोपन र न्यास्रोपनको कारण संसारका सबै मीठा परिकारहरू चाख्‍न चाहन्छन्; तिनीहरू जहाँ गए पनि यस्ता कुरा खाने उद्देश्य राख्छन्। अरूहरू जहाँ गए पनि रमाइलो गर्न चाहन्छन्, र तिनीहरू धीत मरुन्जेल रमाइलो गर्छन्, र खान्छन्, अनि आफूलाई मनोरञ्जन दिन्छन्—तैपनि तिनीहरूले खानपान र रमाइलो गरेपछि, तिनीहरू पहिलेकोभन्दा रित्तो बन्छन्। यसको लागि के गर्नुपर्ने हो? किन यो भावना त्याग्‍नु असम्‍भव छ? जब मानिसहरू अल्झिएर बस्छन्, तिनीहरूमध्ये कतिले लागूऔषध प्रयोग गर्न थाल्छन्, अफिम खान्छन्, एक्स्टसी चक्की लिन्छन्, र विविध वस्तुहरूद्वारा आफूलाई नशा दिन्छन्। अनि परिणाम के हुन्छ? के मानिसको खोक्रोपन समाधान गर्नको लागि यीमध्ये कुनै विधिले काम गर्छ? के यीमध्ये कुनैले जरैबाट समस्या समाधान गर्न सक्छ? (सक्दैन।) किन सक्दैन? किनभने मानिसहरू आफ्‍नो भावनाअनुसार जिउँछन्। तिनीहरूले सत्यता बुझेका हुँदैनन्, र मानवजातिको खोक्रोपन, असहजता, चिन्ता, आदि इत्यादि समस्या के कुराले पैदा गरेको हुन्छ तिनीहरूलाई थाहा हुँदैन, न त त्यसलाई कुन माध्यमले समाधान गर्ने त्यो नै तिनीहरूलाई थाहा हुन्छ। तिनीहरूलाई के लाग्छ भने, यदि देहगत आनन्द लिइयो भने र तिनीहरूको भौतिक इच्छाको संसार सन्तुष्ट र पूर्ण भयो भने, तिनीहरूको आत्माको खोक्रो अनुभूति हट्नेछ। के यस्तो हुन्छ र? वास्तवमा यस्तो हुँदैन। यदि तैँले प्रवचनहरू सुनेर त्यसलाई धर्मसिद्धान्तको रूपमा स्विकार्छस्, तर त्यसलाई पछ्याउने वा अभ्यास गर्ने गर्दैनस् भने, र यदि तैँले परमेश्‍वरका यी वचनहरूलाई मानिसहरू र कामकुराहरूलाई हेर्ने तेरो दृष्टिकोण, र तेरो व्यवहार र कार्यको आधार र मापदण्डको रूपमा लिँदैनस् भने, तेरो अस्तित्व शैली र जीवन दृष्टिकोण कहिल्यै परिवर्तन हुँदैन। अनि, यदि यी कुराहरू परिवर्तन भएनन् भने, यसको अर्थ तेरो जीवन, यसको शैली, र यसको अस्तित्वको मूल्यमान्यता कहिल्यै परिवर्तन हुनेछैनन्। अनि तेरो जीवन अस्तित्वको मूल्यमान्यता र शैली कहिल्यै परिवर्तन हुँदैनन् भन्‍नुको अर्थ के हो? यसको अर्थ के हो भने, ढिलोचाँडो एक दिन तैँले बुझेका धर्मसिद्धान्तहरू तँलाई आत्माका खम्बा हुन् जस्ता लाग्‍नेछ; ढिलोचाँडो, ती कुराहरू तेरो लागि सूत्रवाक्य र सिद्धान्तहरू, अर्थात् परिस्थिति आइपर्दा तेरो भित्री संसारमा तैँले अनुभव गर्ने खोक्रोपन ढाक्‍ने कुराहरू बन्‍नेछन्। यदि तेरो खोजको दिशा र उद्देश्य परिवर्तन भएन भने, तँ परमेश्‍वरका कुनै वचनहरू नसुनेका मानिसहरूजस्तै हुनेछस्। तेरो खोजको दिशा र उद्देश्य अझै पनि मनोरञ्जन, र देहगत शान्तिको खोजी हुनेछ। तैँले आफ्‍नो खोक्रोपन र बेचैनी संसार घुम्दै अनि रहस्यमय कुराहरू अन्वेषण गर्दै समाधान गर्ने प्रयास गर्नेछस्। त्यसपछि त तैँले ती मानिसहरूकै मार्ग हिँडिरहेको हुन्छस् भन्‍नेमा कुनै शङ्का हुँदैन। संसारका सबभन्दा स्वादिष्ट कुराहरू चाखेपछि र यसका भव्य विलासिताको आनन्द उठाएपछि पनि तिनीहरूलाई खोक्रो महसुस हुन्छ, र तँलाई पनि त्यस्तै हुनेछ। सायद तैँले साँचो मार्ग र परमेश्‍वरका वचनहरू स्विकार्छस् होला, तर यदि तँ तिनलाई पछ्याउँदैनस् वा अभ्यास गर्दैनस् भने, तँ पनि तिनीहरूजस्तै प्राय खोक्रो, विचलित, अप्रसन्‍न, र दबाब महसुस गर्नेछस्, कुनै साँचो खुसी, साँचो आनन्द, साँचो स्वतन्त्रता, र कुनै साँचो शान्ति महसुस गर्नेछैनस्। त्यसपछि, अन्त्यमा, तेरो परिणाम पनि तिनीहरूको जस्तै हुनेछ।

मानिसको परिणामको कुरा आउँदा, परमेश्‍वरले के कुरा हेर्नुहुन्छ? उहाँले उहाँका कति धेरै वचनहरू तैँले पढिस् वा कति प्रवचनहरू सुनिस् भन्‍ने कुरा हेर्नुहुन्‍न। परमेश्‍वरले यी कुराहरू हेर्नुहुन्‍न। उहाँले तैँले आफ्‍नो खोजमा कति सत्यता प्राप्त गरिस्, तँ कतिवटा सत्यता अभ्यास गर्न सक्छस् त्यो कुरा हेर्नुहुन्छ; उहाँले तैँले मानिसहरू र कामकुराहरूलाई हेर्ने तेरो दृष्टिकोण, र तेरो जीवनमा तैँले गर्ने व्यवहार र कार्यको लागि उहाँका वचनहरूलाई आधारको रूपमा र सत्यतालाई मापदण्डको रूपमा लिन्छस् कि लिँदैनस्—तँसँग त्यस्तो अनुभव र गवाही छ कि छैन त्यो कुरा हेर्नुहुन्छ। यदि तेरो दैनिक जीवनमा र परमेश्‍वरलाई पछ्याउने तेरो यात्रामा त्यस्तो कुनै गवाही छैन, र यीमध्ये कुनै पनि कुरा ठोस बनेका छैनन् भने, परमेश्‍वरले तँलाई गैरविश्‍वासीहरूजस्तै ठान्‍नुहुन्छ। के उहाँले त्यसरी हेर्नु सबै कुरा समाप्त हुनु हो? होइन; परमेश्‍वरले तँलाई त्यसरी हेरेर त्यतिकै छोडिदिनुहुनेछ भन्‍ने हुँदैन। बरु, उहाँले त्यसद्वारा तेरो परिणाम निर्धारित गर्नुहुनेछ। परमेश्‍वरले तेरो परिणाम तैँले हिँड्ने मार्गको आधारमा तय गर्नुहुन्छ; तैँले आफ्‍नो खोज र उद्देश्यको क्रममा कसरी काम गर्छस्, सत्यताप्रति तेरो मनोवृत्ति के छ, र तैँले सत्यता पछ्याउने मार्गमा पाइला चालेको छस् कि छैनस् त्यसको आधारमा तेरो परिणाम तय गर्नुहुन्छ। उहाँले किन त्यसरी तय गर्नुहुन्छ? यदि सत्यता नपछ्याउने कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू पढेको छ र धेरै वचन सुनेको छ, तैपनि उहाँका वचनहरूलाई मानिसहरू र परिस्थितिलाई हेर्ने उसको दृष्टिकोण, र उसको व्यवहार र कार्यको मापदण्डको रूपमा लिन सक्दैन भने, त्यो व्यक्तिलाई अन्त्यमा मुक्ति दिन सकिँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो: यदि त्यो व्यक्तिलाई रहन दिइयो भने परिणाम के हुनेछ? के तिनीहरू सबै थोकका मालिक बन्‍न सक्छन्? के तिनीहरू परमेश्‍वरको ठाउँ लिएर सबै थोकको रेखदेखकर्ता बन्‍न सक्छन्? के तिनीहरू आज्ञा दिन लायक छन्? के भरोसा गर्न लायक छन्? यदि परमेश्‍वरले सबै थोक तेरो हातमा जिम्‍मा दिनुभयो भने, के तैँले पनि अहिले मानवजातिले गरिरहेजस्तै, परमेश्‍वरले सृष्टि गर्नुभएका जीवित प्राणीहरूलाई जथाभाबी मार्ने, परमेश्‍वरले सृष्टि गर्नुभएका अनगन्ती कुराहरू नष्ट गर्ने, परमेश्‍वरले मानवजातिलाई सुम्पनुभएका अनगन्ती कुराहरू अशुद्ध पार्ने काम गर्नेथिस्? अवश्य गर्नेथिस्! त्यसैले, यदि परमेश्‍वरले यो संसार र सबै थोक तेरो हातमा सुम्पनुहुन्थ्यो भने, अन्तिममा सबै थोकको परिणाम के हुन्थ्यो? ती कुराहरूको कुनै साँचो रेखदेखकर्ता हुनेथिएन; ती कुराहरू शैतानले भ्रष्ट तुल्याएको मानवजातिद्वारा पूर्ण रूपमा दूषित र नष्ट पारिनेथिए। अन्तिममा, सबै थोक, सबै थोकमाझ रहेका जीवित प्राणीहरू, र शैतानले भ्रष्ट तुल्याएको मानवजातिको नियति एउटै हुनेथियो: ती सबै परमेश्‍वरद्वारा नष्ट पारिन्थे। यो परमेश्‍वरले देख्‍न नचाहनुहुने कुरा हो। त्यसकारण, यदि त्यस्तो व्यक्तिले परमेश्‍वरका धेरै वचनहरू सुनेको छ र उहाँका वचनहरूमा धेरै धर्मसिद्धान्तहरू मात्रै बुझेको छ, तर उसले अझै पनि सबै थोकको मालिक हुने कर्तव्य लिन वा उहाँका वचनहरूअनुसार मानिसहरू र कामकुराहरूलाई हेर्न, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न सक्दैन भने, ऊ अनुपयुक्त हुन्छ र उसलाई परमेश्‍वरले कुनै कामकाज जिम्‍मा दिनुहुन्‍न। आफूले मेहनतसाथ सृष्टि गरेका सबै कुरालाई शैतानद्वारा भ्रष्ट तुल्याइएको मानवजातिले फेरि पनि अशुद्ध र नष्ट पारेको हेर्न परमेश्‍वर चाहनुहुन्‍न, न त उहाँ आफूले छ हजार वर्षसम्‍म व्यवस्थापन गरेको मानवजाति त्यस्ता मानिसहरूको हातमा नष्ट भएको नै हेर्न चाहनुहुन्छ। उहाँ त उहाँले मेहनतसाथ सृष्टि गर्नुभएका सबै थोक उहाँको मुक्ति प्राप्त गरेका मानिसहरूको समूहको रेखदेखमा, परमेश्‍वरको वास्ता, सुरक्षा, र नेतृत्वमा, अनि सबै थोकको नियम र परमेश्‍वरले अघि सार्नुभएका व्यवस्थाहरूमा रही निरन्तर अस्तित्वमा रहिरहेको मात्रै हेर्न चाहनुहुन्छ। त्यसोभए, त्यस्तो भारी दायित्व लिन सक्‍ने ती मानिसहरू कस्ता हुन्छन्? त्यस्ता मानिसहरूको प्रकार त एउटा मात्रै छ, र त्यो प्रकार के हो भने, तिनीहरू मैले उल्‍लेख गरेका प्रकारका, सत्यता पछ्याउने, परमेश्‍वरका वचनहरूलाई कठोरसाथ पालना गरेर, र सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर मानिसहरू र परिस्थितिलाई हेर्ने, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने प्रकारका मानिसहरू हुन्। त्यस्ता मानिसहरू भरोसालायक हुन्छन्। तिनीहरूको अस्तित्व शैली शैतानले भ्रष्ट तुल्याएको मानवजातिको शैलीबाट पूर्ण रूपमा मुक्त भएको हुन्छ; तिनीहरूले आफ्‍नो खोजको उद्देश्य र शैलीमा, मानिसहरू र कामकुराहरूलाई हेर्ने तिनीहरूको दृष्टिकोणमा, र आफ्‍नो व्यवहार र कार्यमा, पूर्णतया परमेश्‍वरका वचनहरूअनुसार काम गर्न सक्छन्, र पूर्णतया सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिन सक्छन्। त्यस्ता मानिसहरू साँच्‍चै नै निरन्तर जिइरहन लायक, र परमेश्‍वरले सबै थोक सुम्पनलायक मानिसहरू हुन्। परमेश्‍वरको आज्ञाजस्तो गह्रौँ दायित्व बोक्‍न सक्‍ने मानिसहरू यिनीहरू नै हुन्। सत्यता नपछ्याउने व्यक्तिलाई परमेश्‍वरले अवश्य नै सबै थोक सुम्पनुहुन्‍न। अवश्य नै, उहाँका वचनहरू नसुन्‍ने मानिसहरूलाई उहाँले सबै थोक सुम्पनुहुन्‍न, र अवश्य नै उहाँले त्यस्ता मानिसहरूलाई कुनै काम जिम्मा दिनुहुन्‍न। तिनीहरूले आफ्‍नो कर्तव्यसमेत राम्ररी पूरा गर्न सक्दैनन्, परमेश्‍वरको आज्ञा पूरा गर्न सक्‍नु त परको कुरा हो। यदि परमेश्‍वरले तिनीहरूलाई सबै थोक सुम्पनुहुन्थ्यो भने, तिनीहरूसँग कुनै बफादारिता हुन्थेन, न त तिनीहरूले उहाँका वचनहरूअनुसार काम नै गर्थे। तिनीहरू खुसी हुँदा थोरै काम गर्थे, र खुसी नहुँदा, खान, पिउन, र रमाइलो गर्न जान्थे। प्रायजसो, तिनीहरू खोक्रो र असहज महसुस गर्थे र तिनीहरूमा परमेश्‍वरको आज्ञाप्रति कुनै बफादारिता नहुने हुनाले तिनीहरूले हृदयको सबै उद्देश्य गुमाएका हुन्थे। त्यस्ता मानिसहरू अवश्य नै परमेश्‍वरले चाहनुहुने मानिसहरू होइनन्। त्यसकारण, यदि तैँले परमेश्‍वरका अभिप्रायहरू बुझेको छस्, र भ्रष्ट मानवजातिको कमीकमजोरी जान्‍नुका साथै भ्रष्ट मानवजातिले कस्तो मार्ग हिँड्नुपर्छ भन्‍ने थाहा पाएको छस् भने, तँ सत्यता पछ्याउँदै अघि बढ्नुपर्छ। परमेश्‍वरका वचनहरू सुन्, र परमेश्‍वरका वचनहरूअनुसार, र सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर मानिसहरू र कामकुराहरूलाई हेर्ने, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने दिशातर्फ अघि बढ्। आफूलाई यो उद्देश्य, यो दिशातर्फ केन्द्रित गर्, अनि ढिलोचाँडो एक दिन परमेश्‍वरले याद गरेर तेरो योगदान र मूल्यचुकाइ स्विकार्नुहुनेछ। त्यसपछि, तँ जीवित रहनुको मूल्य हुनेछ; परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुनेछ, र तँ त्यसउप्रान्त सामान्य व्यक्ति रहनेछैनस्। तँलाई नोआले ठूलो जहाज निर्माण गर्दा जति लागिपरेका थिए त्यति लागिपर्न लगाइनेछैन, तर तैँले कम्तीमा पनि यो जीवनकालसम्‍म लागिपर्नुपर्छ। के तँ एक सय बीस वर्ष बाँच्‍नेछस् र? त्यो कसैलाई थाहा छैन, तर यो भन्‍नु पर्याप्त छ कि आधुनिक मानवजातिको आयु त्यति लामो छैन। अहिले सत्यता पछ्याउनु त्यो ठूलो जहाज बनाउनुभन्दा धेरै सजिलो छ। त्यो ठूलो जहाज बनाउनु कति गाह्रो थियो, र त्यो बेला कुनै आधुनिक औजार थिएन—त्यो कार्य प्रतिकूल वातावरणमा, पूर्णतया मानव बलद्वारा नै पूरा गरिएको थियो। मदत गर्नेहरू थोरै भएकाले, यो काम पूरा गर्न धेरै समय लाग्यो। अहिले तिमीहरूले त्यो ठूलो जहाज बनाउनुभन्दा सत्यता पछ्याउनु धेरै सजिलो छ। सत्यता पछ्याउने कुरा आउँदा, तिमीहरूको ठूलो स्तरको वातावरण र तिमीहरूको जीवनको सानो स्तरको अवस्थाले तिमीहरूलाई फाइदा र सहजता दिएको छ।

“मानिसले किन सत्यता पछ्याउनै पर्छ” भन्‍नेबारेको आजको सङ्गतिले मुख्य रूपमा दुई वटा विषय समेट्यो। एउटा, परमेश्‍वरको दृष्टिकोणबाट उहाँको व्यवस्थापन योजना, उहाँका इच्छाहरू, र उहाँका तृष्णाहरूबारे गरिएको सरल सङ्गति थियो; अर्को, मानिसहरूको आफ्‍नै दृष्टिकोणबाट तिनीहरूमा रहेका समस्याहरूबारे गरिएको चिरफार थियो, जसले सत्यता पछ्याउनुको आवश्यकता र महत्त्व व्याख्या गर्‍यो। यी दुवै कोणहरूबाट हेर्दा, सत्यता पछ्याउने कार्य मान्छेको लागि अत्यन्तै महत्त्वपूर्ण, र अत्यन्तै जरुरी कुरा हो। जुनसुकै दृष्टिकोणबाट हेर्दा पनि, सत्यता पछ्याउने कार्य परमेश्‍वरको हरेक अनुयायी र उहाँका वचनहरू सुनेको हरेक व्यक्तिले जीवनमा छनौट गर्नुपर्ने मार्ग र लक्ष्य हो। सत्यता पछ्याउने कार्यलाई आदर्श वा कामनाको रूपमा मात्रै लिनु हुँदैन, न त यस सम्बन्धमा दिइएका अभिव्यक्तिहरूलाई आत्मिक सान्त्वनाको रूपमा नै लिनु हुन्छ; बरु, परमेश्‍वरले बोल्‍नुभएका वचनहरू र उहाँले मानिसहरूलाई दिनुभएका मापदण्डहरूलाई व्यावहारिक रूपमा लिनुपर्छ र तिनलाई आफ्‍नो वास्तविक जीवनको सिद्धान्त र आधारमा परिणत गर्नुपर्छ, ताकि तिनीहरूको जीवन उद्देश्य र अस्तित्व शैली परिवर्तन हुन सकोस्, जसले अवश्य नै व्यक्तिको जीवन अझै सार्थक पनि बनाउँछ। यस तरिकाले, सानो हिसाबमा हेर्दा, सत्यता पछ्याउने क्रममा, तैँले हिँड्ने मार्ग र तेरो निर्णय सही हुनेछ—अनि बृहत् हिसाबमा हेर्दा, सत्यता पछ्याको कारण अन्ततः तैँले आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍नेछस्, र मुक्ति पाउनेछस्। परमेश्‍वरको नजरमा, मुक्ति पाउने मानिसहरू उहाँको आँखाका नानी वा उहाँको हातका खजाना मात्रै हुँदैनन्, र उहाँको राज्यका सरल आधारहरू मात्रै पनि हुँदैनन्। भविष्यको मानवजातिको सदस्यको रूपमा, तँमा आउने आशिष्‌ अत्यन्तै ठूलो, र पहिले कहिल्यै नदेखिएको र फेरि कहिल्यै नदेखिने किसिमको हुन्छ; तेरो जीवनमा एकपछि अर्को गरी असल कुराहरू आउनेछन्, र ती यसरी आउनेछन् कि तैँले कल्‍पनासमेत गर्न सक्दैनस्। जे भए पनि, अहिले गर्नुपर्ने पहिलो कुरा भनेको सत्यता पछ्याउने लक्ष्य स्थापित गर्नु हो। यो लक्ष्य स्थापित गर्नुको उद्देश्य तेरो आत्मिक संसारको खोक्रोपन समाधान गर्नु होइन, न त तेरो हृदयमा भएको कुण्ठा र घृणा, वा अनिश्‍चितता र भ्रान्ति समाधान गर्नु हो। यसको उद्देश्य त्यो होइन। बरु, यसको उद्देश्‍य त व्यक्तिले आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने वास्तविक र साँचो लक्ष्य प्रदान गर्नु हो। यो कुरा त्यति सरल छ। यो सरल छ, के तिमीहरूलाई त्यस्तो लाग्दैन? तिमीहरूले सरल छ भन्‍ने आँट गर्दैनौ, तर तथ्य यही हो, यो निकै सरल छ—यो कुरा अन्ततः व्यक्तिमा सत्यता पछ्याउने सङ्कल्प छ कि छैन भन्‍ने कुरामै निर्भर हुन्छ। यदि तँसँग साँच्‍चै त्यो सङ्कल्प छ भने, अभ्यास गर्ने निश्‍चित मार्ग नभएको कुन सत्यता हुन्छ र? ती सबैको मार्ग हुन्छ, होइन र? (हो।) सत्यताको कुनै पनि क्षेत्रमा सत्यता अभ्यास गर्ने निश्‍चित आधार हुनु, र कामको कुनै पनि भाग अभ्यास गर्ने निश्‍चित सिद्धान्तहरू हुनु—साँच्‍चै सङ्कल्प भएका मानिसहरूले यो कुरा हासिल गर्न सक्छन्। कतिले यसो भन्‍न सक्छन्, “समस्याहरू सामना गर्दा कसरी अभ्यास गर्ने मलाई अझै थाहा हुँदैन।” त्यस्तो किन हुन्छ भने, तँ खोजी गर्न चुक्छस्। यदि तैँले खोजी गरेको भए, तँसँग मार्ग हुन्थ्यो। यसको लागि त एउटा भनाइ छ नि, होइन र? त्यो के हो भने, “खोज, अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याओ, अनि त्यो तिमीहरूको निम्ति खोलिनेछ” (मत्ती ७:७)। के तैँले खोजी गरेको छस्? के तैँले ढकढकाएको छस्? परमेश्‍वरका वचनहरू पढ्ने क्रममा के तैँले सत्यताबारे मनन गरेको छस्? यदि तैँले त्यस्तो मनन गर्न मेहनत गरिस् भने, तैँले सबै कुरा बुझ्‍न सक्‍नेछस्। सबै सत्यता परमेश्‍वरका वचनहरूमै छन्; तैँले पढ्ने र मनन गर्नेचाहिँ गर्नुपर्छ। हात बाँधेर नबस्; एकाग्रचित्तले ध्यान दे। आफै समाधान गर्न नसक्‍ने समस्याहरूको हकमा, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र केही समयसम्‍म सत्यता खोजी गर्नुपर्छ, र कहिलेकहीँ, धैर्य गरेर परमेश्‍वरलाई उहाँकै समयमा प्रतीक्षा गर्नुपर्छ। यदि परमेश्‍वरले कुनै वातावरण तय गर्नुहुन्छ, र यसमा उहाँले सबै कुरा प्रकट गर्नुहुन्छ, र तेरो लागि उहाँका वचनहरूको एउटा खण्ड उजागर गरेर तेरो हृदयमा स्पष्टता प्रदान गर्नुहुन्छ, र तैँले अभ्यासका निश्‍चित सिद्धान्तहरू प्राप्त गर्छस् भने, के यसरी तैँले बुझेको हुँदैनस् र? त्यसकारण, सत्यता पछ्याउने कार्य त्यस्तो अमूर्त कुरा होइन, न त यो कठिन नै छ। चाहे यो तेरो दैनिक जीवनबाट होस्, वा तेरो कर्तव्यबाट होस्, वा मण्डलीको कामबाट होस्, वा अरूसँगको तेरो अन्तरक्रियाबाट होस्, जुनसुकै दृष्टिकोणबाट हेरे पनि, तैँले अभ्यासको दिशा र मापदण्ड पत्ता लगाउन सत्यता खोजी गर्न सक्छस्। यो त्यति गाह्रो छैन। अहिले मानिसले परमेश्‍वरमा विश्‍वास गर्नु विगतमा भन्दा सजिलो भएको छ, किनभने परमेश्‍वरका वचनहरू धेरै छन्, र तिमीहरूले धेरै प्रवचनहरू सुन्छौ, र सत्यताको हरेक पक्षमा धेरै सङ्गति गरिएका छन्। यदि कुनै व्यक्तिमा आत्मिक बुझाइ छ र उसँग क्षमता छ भने, उसले बुझिसकेको हुन्छ। आत्मिक बुझाइको कमी भएका र भयानक क्षमताका मानिसहरूले मात्रै सधैँ यो बुझिनँ वा त्यो बुझिनँ भनेर भन्छन् र वास्तविकता कहिल्यै देख्‍न सक्दैनन्। तिनीहरूको जीवनमा केही आइपर्नेबित्तिकै, अन्योलमा पर्छन्; सत्यता सङ्गति गर्दा कुरा स्पष्ट हुन्छ, तर केही समयपछि नै तिनीहरू फेरि अन्योलमा परिहाल्छन्। यस्तो किन हुन्छ भने तिनीहरूले कुनै चिन्ता नगरी आफ्‍ना दिनहरू बिताउँछन्। तिनीहरू अत्यन्तै अल्छी हुन्छन्, र तिनीहरूले खोजी गर्दैनन्। यदि तैँले खोजी गरिस् भने र परमेश्‍वरका अझै धेरै सान्दर्भिक वचनहरू पढिस् भने, तँलाई बुझ्‍न सजिलो हुनेछ, किनभने ती सबै वचनहरू सहजै बुझ्‍न सकिने आम भाषामा लेखिएका छन्। मानसिक रूपमा अशक्त व्यक्तिले बाहेक, कुनै पनि सामान्य व्यक्तिले ती वचनहरू बुझ्‍न सक्छ। ती वचनहरूले विभिन्‍न विषयहरू स्पष्ट रूपमा व्याख्या गर्छन् र तँलाई सबै कुरा बताउँछन्। तैँले सत्यता पछ्याउने कार्य ठूलो होइन भन्दैनस् भने, यदि तँ सत्यता प्राप्त गर्न साँच्‍चै हृदयदेखि नै तृष्णा गर्छस् र सत्यता पछ्याउने कार्यलाई जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा ठान्छस् भने, सत्यता बुझ्‍न र अभ्यास गर्नबाट तँलाई कुनै पनि कुराले बाधा दिन वा रोक्‍न सक्दैन।

सत्यता पछ्याउने कार्यमा लिनुपर्ने सबैभन्दा सरल सोच भनेको तैँले परमेश्‍वरबाट सबैथोक स्विकार्नुपर्छ र सबै कुरामा समर्पित हुनुपर्छ। यो यसको एउटा भाग हो। अर्को भाग के हो भने, आफ्‍नो कर्तव्य र आफूले गर्नुपर्ने कार्यमा, र त्योभन्दा पनि ठूलो कुरा, परमेश्‍वरले दिनुभएको आज्ञा र तेरो दायित्व, साथै तेरो कर्तव्यभन्दा बाहिरको तर तैँले गर्नुपर्ने महत्त्वपूर्ण कार्य, तेरो लागि तय गरिएको काम र तँलाई तोकेरै गर्न लगाइएको काममा—तैँले मूल्य चुकाउनुपर्छ, चाहे यो जति नै कठिन किन नहोस्। यदि तँ पूर्ण रूपमा लागिपर्नु परे पनि, सतावट आइपर्ने नै देखिए पनि, र यसले तेरो ज्यान खतरामा पार्ने नै भए पनि, तँ मूल्य चुकाउनदेखि डराउनु हुँदैन, बरु बफादारी प्रदान गर्दै मृत्युसम्‍मै समर्पित हुनुपर्छ। सत्यता पछ्याउने कार्य वास्तविकतामा, यसप्रतिको वास्तविक खर्चाइमा र यसको वास्तविक अभ्यासमा यसरी नै प्रकट हुन्छ। के यो गाह्रो छ? (छैन।) मलाई यो गाह्रो छैन भन्‍ने मानिसहरू मन पर्छ, किनभने तिनीहरूमा सत्यता पछ्याउने चाहने, दृढ र विश्‍वासयोग्य हृदय हुन्छ—तिनीहरूको हृदयमा शक्ति हुन्छ, र त्यसैले तिनीहरूलाई आइपर्ने कुनै पनि कुरा कठिन हुँदैन। यदि मानिसहरूमा आत्मविश्‍वासको कमी छ, र मानिसहरूले प्राय भन्‍ने गरेजस्तै तिनीहरूले आफैमाथि शङ्का गर्छन् भने, तिनीहरूको लागि सबै कुरा सक्‍किएको हुन्छ। यदि कुनै व्यक्ति कुनै पनि उपयोगी काम गर्न उत्प्रेरित नहुने हिलोको बेकामे डल्लोजस्तै छ भने, तर ऊ खाने, पिउने, र रमाइलो गर्नमा चाहिँ उत्साहित हुन्छ भने, र कठिनाइहरू सामना गर्दा ऊ नकारात्मक बन्छ, र सत्यता सङ्गति गर्ने कार्यमा उसमा कुनै उत्साह हुँदैन, र जोसजाँगरको नामनिसानै छैन भने, त्यस्ताहरू कस्ता व्यक्ति हुन्? तिनीहरू सत्यतालाई प्रेम नगर्ने मानिसहरू हुन्। यदि अनुग्रहको युगमा वा व्यवस्थाको युगमा मानिसहरूलाई सत्यता पछ्याउन लगाइएको भए, तिनीहरूको लागि त्यो कुरा चुनौतीपूर्ण हुन्थ्यो। त्यो कार्य सजिलो हुन्थेन, किनभने त्यो बेला मानवजातिको अवस्था फरक थियो, र तिनीहरूप्रतिको परमेश्‍वरका मापदण्डहरूको स्तर पनि फरक नै थियो। त्यसैले त विगतका युगहरूमा नोआ, अब्राहाम, अय्यूब, र पत्रुसजस्ता प्रसिद्ध मानिसहरूबाहेक परमेश्‍वरका वचनहरू पालना गर्न र उहाँमा समर्पित हुन सक्‍ने मानिसहरू धेरै थिएनन्। तर परमेश्‍वरले ती दुई युगका मानिसहरूलाई दोष दिनुभएन, किनभने उहाँले मानिसहरूलाई मुक्तिको मापदण्डमा कसरी पुग्‍ने भनेर बताउनुभएको थिएन। अन्तिम युगको कामको यो चरणमा, परमेश्‍वरले मानिसहरूलाई स्पष्ट रूपमै तिनीहरूले अभ्यास गर्नुपर्ने सत्यताका हरेक पक्षहरू बताउनुहुन्छ। यदि त्यसपछि पनि मानिसहरूले ती अभ्यास गर्दैनन् र परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्दैनन् भने, त्यो परमेश्‍वरको गल्ती होइन; त्यो त मानिसले सत्यतालाई प्रेम नगर्नु र सत्यताप्रति वितृष्णा मान्‍नुको समस्या हो। त्यसकारण, सत्यता पछ्याउने यो युगमा सत्यता पछ्याउन मानिसहरूको लागि त्यति चुनौतीपूर्ण छैन—वास्तवमा, यो तिनीहरूले गर्न सक्‍ने कुरा हो। एक हिसाबमा, यो सबै यसप्रति अनुकूल भएकोले यस्तो भएको हो; अर्को हिसाबमा, मानिसहरूको अवस्था र जग सत्यता पछ्याउनको लागि पर्याप्त भएकोले यस्तो भएको हो। यदि कसैले अन्तिममा सत्यता प्राप्त गर्न सक्दैन भने, उसका समस्याहरू अत्यन्तै चरम भएर यस्तो भएको हुन्छ। त्यस्तो व्यक्ति उसले भोग्‍ने जस्तोसुकै दण्ड भोग्‍न लायक हुन्छ, उसले पाउने जुनसुकै परिणाम पाउन र उसले पाउने जस्तोसुकै मृत्यु पाउन लायक हुन्छ। त्यस्ताहरू कुनै दया पाउन लायक हुँदैनन्। परमेश्‍वरको नजरमा, मानिसहरूको लागि करुणा वा दया भन्‍ने शब्‍द हुँदैन। उहाँले कुनै व्यक्तिले पाउनुपर्ने परिणाम मान्छेप्रतिको उहाँका मापदण्डहरू, उहाँको स्वभाव, र उहाँले स्थापित गर्नुभएका क्रम र नियमहरूअनुसार निर्धारित गर्नुहुन्छ; अनि कार्य प्रस्तुतिले परिणाम ल्याएअनुसार, व्यक्तिको विद्यमान जीवन र आउँदो संसार कस्तो हुन्छ भन्‍ने कुरा निर्धारित गरिन्छ। यो कुरा त्यति सरल छ। अन्तिममा कति मानिसहरू बाँच्‍नेछन्, वा कति मानिसहरू दण्डित हुनेछन् त्यसले फरक पार्दैन। परमेश्‍वरले त्यसको मतलब गर्नुहुन्‍न। यी वचनहरूमा तिमीहरूले के बुझ्यौ? यी वचनहरूले तिमीहरूलाई के जानकारी दिए? के तिमीहरूलाई थाहा छ? तिमीहरू उत्तर दिन सक्‍ने गरी बाठो र बुद्धिमान्‌ छौ कि छैनौ म हेर्छु। यदि उत्तर दिन सक्दैनौ भने, म तिमीहरूलाई एउटा शब्‍दले मूल्याङ्कन गर्छु, र त्यो हो मूर्ख। म किन तिमीहरूलाई मूर्ख भन्दै छु? म त्यो बताउनेछ। परमेश्‍वरले अन्त्यमा कति मानिसहरू बाँच्‍नेछन् र कति मानिसहरू विनाश र दण्डमा पर्नेछन्, त्यसको मतलब गर्नुहुन्‍न भनेर मैले भनेँ। यसले तिमीहरूलाई के बताउँछ? यसले तिमीहरूलाई परमेश्‍वरले मानिसहरूको सङ्ख्या पूर्वनिर्धारित गर्नुभएको छैन भन्‍ने बताउँछ। तैँले यस सम्बन्धमा संघर्ष गर्न सक्छस्, तर जो अन्तिममा बाँच्‍नेछ वा दण्डित हुनेछ, चाहे त्यो व्यक्ति तँ होस्, वा अर्को व्यक्ति होस्, वा कुनै समूह होस्, त्यो कुरा निर्क्योल गर्न परमेश्‍वरले पहिले नै टाउको गन्‍ने काम गरिसक्‍नुभएको हुँदैन। परमेश्‍वरले अहिलेजस्तै काम गर्नुहुन्छ र बोल्‍नुहुन्छ। परमेश्‍वरले हरेक व्यक्तिलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ र हरेक व्यक्तिलाई प्रचुर अवसर दिनुहुन्छ। उहाँले तँलाई प्रचुर अवसर, र प्रचुर अनुग्रह, अनि प्रचुर मात्रामा उहाँका वचनहरू, उहाँको काम, र उहाँको कृपा र सहनशीलता प्रदान गर्नुहुन्छ। उहाँले हरेक व्यक्तिसँग निष्पक्ष रहनुहुन्छ। यदि तैँले सत्यता पछ्याउन सक्छस्, र तँ परमेश्‍वर पछ्याउने मार्गमा छस्, र जति धेरै कठिनाइ वा चुनौतीहरू सामना गरे पनि तँ सत्यता स्विकार्न सक्छस् भने, र यदि तेरो भ्रष्ट स्वभाव पखालिएको छ भने, तैँले मुक्ति पाउनेछस्। यदि तँ परमेश्‍वरको लागि गवाही दिन र सृष्टि गरिएको योग्य प्राणी बन्‍न, र सबै थोकको योग्य मालिक बन्‍न सक्छस् भने, तँ जीवित रहिरहनेछस्। यदि तँ जीवित रहिरहिस् भने, त्यो तेरो राम्रो भाग्य भएकोले होइन; बरु, तेरो आफ्‍नै योगदान र प्रयास, र तेरो आफ्‍नै खोजीको कारण यस्तो भएको हुन्छ। यो कुरा पाउन तँ लायक हुन्छस् र यो तैँले पाउनैपर्ने कुरा हुन्छ। तँलाई परमेश्‍वरले थप कुनै कुरा दिनुपर्ने जरुरी हुँदैन। परमेश्‍वरले तँलाई पूरक मार्गदर्शन र तालिम दिनुहुन्‍न; उहाँले तँसित कुनै पूरक वचन बोल्‍ने, वा तँलाई विशेष निगाह दिने गर्नुहुन्‍न। उहाँले यी कुराहरू गर्नुहुन्‍न। प्रकृतिमा सबैभन्दा उपयुक्त प्राणी जीवित रहने गरेजस्तै, यो पनि त्यस्तै कुरा हो। हरेक प्राणीले परमेश्‍वरले तय गर्नुभएका क्रम र नियमहरूअनुसार नै सन्तान जन्‍माउँछ, चाहे जति नै सङ्ख्यामा ती जन्मने वा मर्ने नै किन नगरून्। बाँच्‍न सक्‍नेहरू बाँच्छन्, र नसक्‍नेहरू मर्छन्, र त्यसपछि नयाँहरू जन्मन्छन्। त्यसपछि तिनीहरूमध्ये जति वटा बाँच्‍न सक्छन्, तिनीहरूको सङ्ख्या त्यति नै हुन्छ। खराब वर्षमा, एउटा पनि बाँच्दैन; असल वर्षमा, धेरै वटा बाँच्छन्। अन्त्यमा यो सब कुराले सन्तुलन कायम गर्छ। त्यसोभए, आफैले सृष्टि गर्नुभएको मानवजातिसँग परमेश्‍वरले कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्‍वरको मनोवृत्ति उस्तै हुन्छ। अनि, यसरी उहाँले हरेक व्यक्तिलाई उसको अवसर दिनुहुन्छ, र हरेक व्यक्तिसँग सार्वजनिक र बिना क्षतिपूर्ति बोल्‍नुहुन्छ। उहाँ हरेक व्यक्तिप्रति अनुग्रही हुनुहुन्छ, र हरेक व्यक्तिको उत्थान गर्नुहुन्छ; उहाँ हरेक व्यक्तिलाई अगुवाइ, हेरचाह, र रक्षा गर्नुहुन्छ। यदि अन्त्यमा, तँ सत्यता पछ्याएर जीवित रहन्छस्, अनि परमेश्‍वरको मापदण्डका स्तरहरू पूरा गर्छस् भने, तँ सफल हुनेछस्। तैपनि यदि तँ सत्यता खोज्‍ने वा सही मार्ग हिँड्ने नगरी, सधैँ अल्याङटल्याङ गर्दै दिनहरू बिताउँछस्, आफ्नो भाग्य खोटो छ भन्‍ने सोच्छस्, चाहिनेभन्दा बढी चलाकी गर्छस्, के गर्ने भन्‍नेबारे निश्‍चित हुँदैनस्, र सधैँ आफ्‍ना भावनाहरूअनुसार जिउँछस् भने, अन्त्यमा तैँले केही पनि प्राप्त गर्नेछैनस्। परमेश्‍वरले तेरो जीवनमा गर्नुभएको कामलाई बेवास्ता गर्दै, उहाँले तँलाई डोर्‍याउनुहुन्छ वा तँलाई अवसर दिनुहुन्छ, अनुशासनमा राख्‍नुहुन्छ, र अन्तर्दृष्टि र साथ दिनुहुन्छ भन्‍ने कुरा वास्ता नगरी सधैँ अल्याङटल्याङ गर्दै दिन बिताउन मन गर्छस् भने, उहाँले तँ अत्यन्तै मूर्ख होस् भन्‍ने देख्‍नुहुनेछ, र तँलाई बेवास्ता गर्नुहुनेछ। तैँले सत्यता पछ्याउन थालेको दिनदेखि परमेश्‍वरले तँमा काम गर्नुहुनेछ। उहाँले तेरा अपराधहरू याद गर्नुहुनेछैन। तँ सत्यता पछ्याउँदैनस् भने, परमेश्‍वरले तँलाई जबरजस्ती गर्ने वा घिस्याउने गर्नुहुन्‍न। सत्यता पछ्याए, प्राप्ति हुनेछ; नपछ्याए, प्राप्ति हुनेछैन। मानिसहरूले आफ्‍नो इच्छाअनुसार सत्यता पछ्याउन वा नपछ्याउन सक्छन्। यो निर्णय गर्ने काम तिनीहरूकै हो। जब परमेश्‍वरको काम अन्त्य हुन्छ, उहाँले उत्तर माग्‍नुहुन्छ, र सत्यताका मापदण्डअनुसार तँलाई मापन गर्नुहुन्छ। यदि तँसँग कुनै गवाही छैन भने, तँलाई हटाइनु नै पर्नेछ; तँ जीवित रहिरहन सक्‍नेछैनस्। तैँले यसो भन्‍नेछस्, “मैले धेरै कर्तव्य निभाएको र धेरै श्रम गरेको छु। धेरै मेहनत गरेको, अनि धेरै मूल्य चुकाएको छु!” अनि परमेश्‍वरले भन्‍नुहुनेछ, “तर के तैँले सत्यता पछ्याइस् त?” तैँले यसबारेमा विचार गर्नेछस्, र तैँले परमेश्‍वरलाई विश्‍वास गरेको बीस, तीस, चालीस वा पचास वर्षको अवधिमा, सत्यता पछ्याएनछु भन्‍ने देख्‍नेछस्। परमेश्‍वरले भन्‍नुहुनेछ, “तँ आफै सत्यता पछ्याएनछु भनेर भन्छस्। त्यसो हो भने, तँ गइहाल्। जहाँ जान मन लाग्छ, जा।” तैँले भन्‍नेछस्, “के आफूले मुक्ति दिनुपर्ने मानिसहरूमध्ये एकजना कम हुँदा, र सबै थोकका मालिकहरूमध्ये एकजना कम हुँदा, परमेश्‍वरलाई दुःख लाग्दैन?” यस अवस्थामा, के अझै परमेश्‍वरले त्यसलाई दयालाग्दो ठान्नुहुनेछ? परमेश्‍वरले धैर्य गर्नुभएको धेरै भयो; उहाँको प्रतीक्षा काफी भइसक्यो। तँप्रतिको उहाँका अपेक्षाहरू समाप्त भएका छन्; उहाँले तँप्रति आशा गुमाउनुभएको छ, र अबउप्रान्त तँलाई उहाँले ध्यान दिनुहुनेछैन। उहाँले तेरो लागि एक थोपा आँसु बगाउनुहुनेछैन, वा तेरो लागि कुनै पीडा र कष्ट भोग्‍नुहुनेछैन। यस्तो किन हो? किनभने त्यो बेला सबै थोकको परिणाम आइसकेको हुनेछ, अनि परमेश्‍वरको काम समाप्त हुनेछ, उहाँको व्यवस्थापन योजना पूरा हुनेछ, र उहाँले विश्राम लिनुहुनेछ। कुनै व्यक्तिको लागि परमेश्‍वर खुसी हुनुहुने, वा कसैको लागि पीडा भोग्‍ने, बिलौना गर्ने वा रुने गर्नुहुनेछैन। अवश्य नै, उहाँले कुनै व्यक्ति जीवित रह्यो भनेर, वा कुनै व्यक्ति सबै थोकको मालिक बन्‍न सक्यो भनेर आनन्द र खुसी पनि मनाउनुहुनेछैन। यस्तो किन त? परमेश्‍वरले यो मानवताको लागि धेरै समय, एकदमै लामो समय बिताउनुभएको छ, र उहाँलाई विश्राम चाहिन्छ। उहाँलाई उहाँको छ हजार वर्षे व्यवस्थापन योजनाको पुस्तक बन्द गर्नु छ, अनि उहाँले यसप्रति थप कुनै ध्यान दिनुहुने, वा कुनै योजना बनाउनुहुने, वा कुनै वचन बोल्नुहुने वा मानिसमा कुनै काम गर्ने गर्नुहुनेछैन। उहाँले भविष्यको काम र आगामी दिनहरू अर्को युगका मालिकहरूको हातमा सुम्पिदिनुहुनेछ। अनि, मैले तिमीहरूलाई भनिरहेको यो कुरा के हो? यो कुरा के हो भने, अन्त्यमा कति मानिसहरू रहनेछन् र को-को रहन सक्‍नेछन् भन्‍ने तिमीहरूलाई अब थाहा भइसकेको छ, त्यसैले तिमीहरू हरेकजना त्यसतर्फ लम्कन सक्छौ—अनि त्यसो गर्ने एउटै मार्ग भनेको सत्यता पछ्याउनु हो। आफ्‍ना दिनहरू खेर नफाल; झाराटारुवा भएर हुँदैन। यदि कुनै यस्तो दिन आयो जुन दिन परमेश्‍वरले तैँले चुकाएको कुनै मूल्य स्मरण गर्नुहुन्‍न र तैँले हिँड्ने मार्ग वा तेरो परिणाम के हुनेछ भनेर कुनै वास्ता गर्नुहुन्‍न भने, त्यो दिन तेरो परिणाम साँच्‍चै नै निर्धारित गरिनेछ। अब तिमीहरूले के गर्नुपर्छ? तिमीहरूले वर्तमानको फाइदा उठाउनुपर्छ, परमेश्‍वरको हृदय अझै पनि मानवजातिको लागि लागिपरेको, उहाँले अझै पनि मानवजातिको लागि योजना बनाइरहेको, र हरेक मानव चाल र हाउभाउको लागि उहाँले अझै पनि शोक र फिक्री गरिरहेको यो समयको फाइदा उठाउनुपर्छ। मानिसहरूले जतिसक्दो चाँडो आफ्‍नो निर्णय गर्नुपर्छ। आफूले पछ्याउने लक्ष्य र दिशा निर्धारित गर; आफ्‍नो योजना बनाउन परमेश्‍वर विश्राममा जानुहुने दिनसम्‍म नकुर। यदि तिमीहरूले साँचो फिक्री, पछुतो, शोक, र विलाप महसुस गर्दैनौ भने, यो सबै कुरा आउँदा ढिला भइसकेको हुनेछ। तँलाई कसैले पनि मुक्त दिन सक्‍नेछैन, चाहे परमेश्‍वरले नै किन नहोस्। यस्तो किन हुन्छ भने त्यो समय आएपछि, अर्थात् परमेश्‍वरको योजना अन्त्य हुने क्षण आएपछि, र उहाँले अन्तिम छाप लगाई आफ्‍नो योजनाको पुस्तक बन्द गर्नुभएपछि, उहाँले काम गर्न छोड्नुहुनेछ। परमेश्‍वरलाई विश्राम चाहिन्छ; उहाँले आफ्‍नो छ हजार वर्षे व्यवस्थापन योजनाको फल चाख्‍नु र जीवित रहने मानिसहरूले उहाँको लागि सबै थोक रेखदेख गरेको आनन्द लिनु छ। परमेश्‍वरले जीवित रहने मानिसहरूले उहाँको इच्छा वा उहाँको चाहना उल्‍लङ्घन नगरी, उहाँले स्थापित गर्नुभएका नियम र मापदण्डहरूअनुसार, अनि ऋतुहरू, र यावत्‌ थोक, अनि मानवजातिको लागि उहाँले सृष्टि गर्नुभएका व्यवस्थाअनुसार सावधानीसाथ सबै कुरा व्यवस्थापन गरेको दृश्य हेर्न चाहनुहुन्छ। परमेश्‍वर विश्रामको आनन्द लिन चाहनुहुन्छ; उहाँ मानवजातिको लागि थप चिन्ता नगरी वा तिनीहरूको खातिर थप काम नगरी सहजताको आनन्द लिन चाहनुहुन्छ। के तिमीहरूले यो कुरा बुझ्यौ? (बुझ्यौँ।) त्यो दिन चाँडै आउनेछ। यदि हामीले आदम र हव्‍वाको समयको मानव आयुको कुरा गरिरहेका हुन्थ्यौँ भने, मानिसहरूको आयु अझै सयौँ वर्ष बाँकी हुन्थ्यो, र त्यो बाँकी रहेको समय निकै लामो समय हुन्थ्यो। नोआलाई जहाज बनाउन कति वर्ष लाग्यो, हेर त। मलाई लाग्छ आज एक सय वर्षभन्दा बढी बाँच्‍ने मानिसहरू एकदमै कम छन्, र तँ नब्‍बे वा सय वर्ष बाँचे पनि, तँसित कति नै दशक बाँकी हुन्छ र? धेरै हुँदैन। यदि आज तँ बीस वर्ष पुगिस् र नब्‍बे वर्ष बाँच्छस् भने, तँ अझै सत्तरी वर्ष बाँच्‍नेछस्, त्यो त नोआलाई ठूलो जहाज बनाउन लागेकोभन्दा अझै कम समय हो। परमेश्‍वरको लागि, छ हजार वर्ष त आँखा झिमिक्‍क गरेजस्तै हो, र मानिसको लागि साठी, सत्तरी, वा सय वर्ष, परमेश्‍वरको लागि केही सेकेन्ड हो—बढीमा, केही मिनेट हो; आँखा झिमिक्‍क गरेजस्तै हो। सही मार्ग नहिँड्ने वा सत्यता नपछ्याउने मानिसहरूले पनि प्राय भन्‍ने गर्छन्, “जीवन छोटो छ: आँखा झिमिक्‍क गर्दा बूढो भइन्छ; झिमिक्‍क गर्दा घर छोराछोरी र नातानातिनाले भरिन्छ; झिमिक्‍क गर्दा, हाम्रो जीवन समाप्त हुन्छ।” अनि, तैँले सत्यता पछ्याउँदाचाहिँ के हुन्छ? तेरो लागि, समय अझै आतुरी हुन्छ। सत्यता नपछ्याउने र खोक्रो संसारमा जिउने मानिसहरूले आफ्‍ना दिनहरू व्यर्थमा खेर फाल्छन्, र तिनीहरू सबैले समय चाँडै बितेको महसुस गर्छन्। तैँले सत्यता पछ्याउँदाचाहिँ के हुन्छ? परमेश्‍वरले मिलाउनुभएको कुनै पनि वातावरण, कुनै पनि व्यक्ति, घटना, वा वस्तु तेरो लागि केही समयसम्‍म अनुभव गर्नको लागि पर्याप्त हुन्छ—अनि लामो समयपछि मात्रै तैँले अलिअलि ज्ञान, अन्तदृष्टि, र अनुभव प्राप्त गर्नेछस्। यो सजिलो छैन। जब तँसँग साँच्‍चै त्यो ज्ञान र अनुभव हुन्छ, तँलाई यस्तो लाग्छ: “हरे! मान्छेले जीवनभरि सत्यता पछ्याएर पनि केही प्राप्त नगर्ने रैछ!” अहिले धेरै मानिसहरूले आफ्‍नो अनुभव लेखहरू लेखिरहेका छन्, र बीस-तीस वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका कतिपयले दश-बीस वर्ष पहिले आफू असफल भएको र पछारिएकोबारे लेखेको देख्छु। तिनीहरूले हालैका केही कुरा र वर्तमान जीवन प्रवेशबारे लेख्‍न चाहन्छन्, तर तिनीहरूसँग केही हुँदैन। तिनीहरूको अनुभव अत्यन्तै अपुग हुन्छ। अनुभव गवाही लेख्‍ने क्रममा, कतिपय मानिसहरूले आफू विगतका असफल भएको र पछारिएको कुरा फर्केर हेर्नुपर्छ, र कमजोर स्मरण शक्ति भएकालाई त ती याद गर्न पनि अरूको मदत चाहिन्छ। परमेश्‍वरमा विश्‍वास गरेको दश, बीस, वा तीस वर्षको अवधिमा तिनीहरूले प्राप्त गरेको कुरा त्यति थोरै हुन्छ, र त्यो लेख्‍न साह्रै गाह्रो हुन्छ। कतिपय लेखहरू त टुक्राटुक्रा गरी जोडिएका हुन्छन्, र ती टुक्राहरू जबरजस्ती जोडिएका हुन्छन्। वास्तवमा, ती कुराहरूलाई जीवन अनुभवको रूपमा समेत लिन सकिँदैन; जीवनसँग तिनको कुनै सम्‍बन्ध नै हुँदैन। सत्यता नपछ्याउँदा, मानिस यति दयनीय हुन्छ। कुरा यही त हो नि, होइन र? (हो।) कुरा यही हो। आशा छ तिमीहरू कसैले पनि परमेश्‍वरको काम समाप्त भएको त्यो दिन, उहाँको अघि पश्‍चात्ताप गर्दै घुँडा टेकेर यसो भन्‍नु नपरोस्, “अब मैले आफैलाई चिनेँ! अहिले सत्यता कसरी पछ्याउने मलाई थाहा भयो!” त्यो धेरै ढिला भयो! परमेश्‍वरले तँलाई कुनै ध्यान दिनुहुनेछैन; तँ सत्यता पछ्याउने व्यक्ति होस् कि होइनस्, वा तँमा कस्तो भ्रष्ट स्वभाव छ, वा उहाँप्रति तेरो मनोवृत्ति कस्तो छ, त्यो उहाँले वास्ता गर्नुहुनेछैन, न त तँलाई शैतानले कति भ्रष्ट तुल्याएको छ वा तँ कस्तो व्यक्ति होस् भन्‍ने कुरा नै उहाँले वास्ता गर्नुहुनेछ। जब त्यस्तो हुन्छ, के तँ भित्रैसम्‍म जम्नेछैनस् र? (जम्‍नेछु।) अहिले यसबारेमा कल्‍पना गर्। साँच्‍चै त्यो क्षण आयो भने, के तँ दुःखित हुनेछस् र? (हुनेछु।) तँ किन दुःखित हुनेछस्? यसको तात्पर्य तैँले फेरि कहिल्यै अर्को मौका पाउनेछैनस् भन्‍ने हो। तैँले फेरि कहिल्यै परमेश्‍वरका वचनहरू सुन्‍नेछैनस्, र परमेश्‍वरले तेरो बारेमा फेरि कहिल्यै चिन्ता गर्नुहुनेछैन; तँ फेरि कहिल्यै उहाँको सरोकारको व्यक्ति वा उहाँद्वारा सृष्टि गरिएको प्राणी बन्नेछैनस्। उहाँसँग तेरो कुनै सम्‍बन्ध हुनेछैन। त्यो सोच्दा पनि कति भयानक छ। यदि तैँले अहिले त्यो कुरा कल्‍पना गर्न सक्छस्, तैपनि तँ त्यस्तै अवस्थामा पुगिस् भने, के तँ स्तब्ध हुनेछैनस् र? यो त बाइबलले भनेजस्तै हुनेछ: समय आएपछि, मानिसहरूले आफ्‍नो छाती पिट्नेछन्, बिलौना गर्नेछन्, दारा किट्नेछन्, र त्यही रुवाइ नै तिनीहरूको मृत्यु हुन सक्छ। अनि मरुन्जेल रुनुको कुनै अर्थ हुनेछैन—धेरै ढिला भइसकेको हुनेछ! परमेश्‍वर अबउप्रान्त तेरो परमेश्‍वर हुनुहुनेछैन, र तँ अबउप्रान्त परमेश्‍वरद्वारा सृष्टि गरिएको प्राणी हुनेछैनस्। उहाँसँग तेरो कुनै सम्‍बन्ध हुनेछैन; उहाँले तँलाई चाहनुहुनेछैन। तँ कस्तो छस्, परमेश्‍वरसँग त्यसको कुनै सम्‍बन्ध हुनेछैन। तँ उहाँको हृदयमा रहन छोड्नेछस्, र उहाँले अब तेरो लागि चिन्ता गर्नुहुनेछैन। के त्यसपछि तँ परमेश्‍वरमाथिको विश्‍वासको तेरो बाटोको अन्त्यमा पुगेको हुँदैनस् र? (हुन्छु।) त्यसैले, यदि तँ परमेश्‍वरले तँलाई घृणा र तिरस्कार गर्नुहुने समय आउन सक्छ भनेर कल्‍पना गर्न सक्छस् भने, तैँले वर्तमानको कदर गर्नुपर्छ। परमेश्‍वरले तँलाई सजाय दिन, वा न्याय गर्न, वा तँला काटछाँट गर्न सक्‍नुहुन्छ; उहाँले तँलाई धिक्‍कार्न र गाली गर्न सक्‍नुहुन्छ। यो सबै कदर गर्न लायक छ: परमेश्‍वरले कम्तीमा पनि अझै तँलाई उहाँद्वारा सृष्टि गरिएको प्राणीका रूपमा स्विकार्नुहुन्छ, र कम्तीमा पनि उहाँ अझै तँबाट अपेक्षाहरू गर्नुहुन्छ, र तँ कम्तीमा पनि अझै उहाँको हृदयमा छस्, र उहाँ अझै तँलाई हप्काउन र धिक्‍कार्न तयार हुनुहुन्छ, मतलब उहाँले उहाँको हृदयमा अझै पनि तेरो बारेमा चिन्ता गर्नुहुन्छ। यो चिन्ता कसैले आफ्‍नो जीवनको सट्टा साट्न सक्‍ने कुरा होइन। अब, मूर्ख नबन! बुझ्यौ? (बुझ्यौँ।) बुझ्यौ भने, तिमीहरू साँच्‍चै मूर्ख होइनौ; तिमीहरूले मूर्ख बनेको नाटक गरिरहेका छौ, होइन र? आशा छ, तिमीहरू साँच्‍चै मूर्ख होइनौ। यदि तिमीहरूले यी कुराहरू बुझ्यौ भने, आफ्‍ना दिनहरू व्यर्थमा खेर नफाल। सत्यता पछ्याउनु मानव जीवनको ठूलो मामला हो। सत्यता पछ्याउनुजत्तिको महत्त्वपूर्ण अरू कुनै कुरा छैन, र महत्तवको हिसाबमा सत्यता प्राप्त गर्ने कार्यलाई अरू कुनै मामलाले उछिन्दैन। के आजको दिनसम्‍म परमेश्‍वर पछ्याउनु सजिलो भयो र? छिटो गर्, र सत्यता पछ्याउने कार्यलाई महत्त्वको विषय बना! आखिरी दिनहरूमा गरिने कामको यो चरण परमेश्‍वरले आफ्‍नो छ हजार वर्षे व्यवस्थापन योजनाअन्तर्गत मानिसहरूमा गर्नुहुने कामको सबैभन्दा महत्त्वपूर्ण चरण हो। सत्यता पछ्याउने कार्य परमेश्‍वरले आफ्‍ना चुनिएका मानिसहरूबाट गर्ने सबैभन्दा ठूलो अपेक्षा हो। उहाँले के आशा गर्नुहुन्छ भने, मानिसहरू सही मार्गमा हिँड्न सकून्, अर्थात् सत्यता पछ्याउन सकून्। परमेश्‍वरलाई निराश नतुल्या, खिन्‍न नबन, र अन्तिम क्षण आउँदा तँलाई आफ्‍नो हृदयबाट हटाएर तेरो चिन्ता नगर्ने वा तँलाई घृणासमेत नगर्ने नबना। यस्तो अवस्थामा पुग्‍न नदे। बुझिस्? (बुझेँ।)

आजको हाम्रो सङ्गतिको विषय के थियो? (मानिसले किन सत्यता पछ्याउनै पर्छ।) मानिसले किन सत्यता पछ्याउनै पर्छ—यो निकै गहन विषय हो, होइन र? यो किन गहन हो? किनभने यो महत्त्वपूर्ण छ। हरेक व्यक्तिको भविष्यको लागि, हरेक व्यक्तिको जीवनको लागि, र अर्को युगमा हरेक व्यक्ति जे-जसरी अस्तित्वमा रहन्छ त्यसको लागि, यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। त्यसकारण, तिमीहरूले अझै गहन रूपमा बुझ्‍नको लागि आजको यो विषयको छलफललाई अझै एक-दुईपटक सुन्‍नेछौ भन्‍ने मेरो आशा छ। विगतमा तिमीहरूले सत्यता पछ्याए पनि नपछ्याए पनि, र अहिले तिमीहरू सत्यता पछ्याउन इच्छुक भए पनि नभए पनि, “मानिसले किन सत्यता पछ्याउनै पर्छ” भन्‍ने विषयमा आज गरिएको सङ्गति र त्यसभन्दा अगाडि बढ्ने क्रममा सत्यता पछ्याउन रोज्‍नेतर्फ सङ्कल्प गरेर त्यसतर्फको आफ्‍नो इच्छा दह्रिलो बढाउँदै अघि बढ। यो नै तिमीहरूको लागि सबैभन्दा उत्कृष्ट विकल्‍प हो। के तिमीहरू यसो गर्न सक्छौ? (सक्छौँ।) एकदम राम्रो। आज हामीले मानिसले किन सत्यता पछ्याउनै पर्छ भन्‍ने विषयमा सङ्गति गर्यौँ। हाम्रो सङ्गतिको अर्को विषय सत्यता कसरी पछ्याउने भन्‍ने हो। यो विषय के हो भनेर मैले तिमीहरूलाई बताइसकेको हुनाले, यसबारेमा केही सोचविचार गर अनि यस विषयमा तिमीहरूको हृदयमा के ज्ञान छ भनेर हेर। सुरुमा यसको थोरै पूर्वावलोकन गर। आजको सङ्गति यहीँ समाप्त हुन्छ।

सेप्टेम्‍बर ३, २०२२

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (१६)

अर्को: सत्यता कसरी पछ्याउने (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्