सत्यता पछ्याउनु भनेको के हो (९)

हामीले अहिले केही समयदेखि नैतिक आचरणको विषयमा सङ्गति गर्दै आएका छौँ। हामीले पछिल्लोपटक एउटा भनाइबारे सङ्गति गरेका थियौँ—“अरूलाई हिर्काउनु छ भने, अनुहारमा नहिर्काउनू; कसैमाथि औँला उठाउनु छ भने, उसको कमजोरीमाथि औँला नउठाउनू।” आज हामी “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्‍ने भनाइबारे सङ्गति गर्दै छौँ, जुन मानव नैतिक आचरणको लागि पारम्परिक संस्कृतिको अर्को मापदण्ड हो। यस भनाइमा मानिसहरूको नैतिक आचरणका कुना पक्षहरू समेटिएका छन्? के यसले मानिसहरू दिलदार र सहनशील बनेको माग गर्छ? (गर्छ।) यो मानवताको उदारतासँग सम्बन्धित माग हो। यस मागको मापदण्ड के हो? मुख्य बुँदा कहाँ छ? (जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ।) त्यो सही हो, मतलब जहाँ सम्भव हुन्छ, त्यहाँ तँ नरम बन्नुपर्छ, र मानिसहरूलाई उम्कने बाटो नै नहुने गरी आक्रमक बन्नु हुँदैन। नैतिक आचरणसम्बन्धी यो भनाइले मानिसहरू उदार बनेको र उनीहरूले सानातिना गुनासोहरू नगरेको माग गर्छ। मानिसहरूसँग सङ्गत गर्दा वा आफ्नो व्यवसाय गर्दा, यदि विवाद वा झगडा वा वैमनस्य पैदा भयो भने, पीडक पक्षसँगको व्यवहारमा अति माग नगर्, हद ननाघ् वा कठोर नबन्। आवश्यक हुँदा नरम बन्, आवश्यक हुँदा उदार बन्, अनि संसार र मानवजातिलाई ख्याल गर्। के मानिसहरूमा यस्तो ठूलो उदारता छ? (छैन।) मानिसहरूमा यस्तो ठूलो उदारता छैन। यस्तो कुरालाई रोक्ने मानव नैसर्गिक क्षमता कत्ति ठूलो छ र यो कुन हदसम्म सामान्य हुन्छ भनेर मानिसहरू निश्चित छैनन्। तँलाई चोट पुऱ्याउने, शत्रु ठान्‍ने वा तेरो हितलाई बेवास्ता गर्ने व्यक्तिप्रति सामान्य मानिसहरूको आधारभूत मनोवृत्ति के हो? यो घृणा हो। मानिसहरूको हृदयमा घृणा पैदा हुँदा, के तिनीहरू “जहाँ सम्भव हुन्छ त्यहाँ नरम” बन्‍न सक्छन्? यसो गर्न सजिलो हुँदैन, अनि धेरैजसो मानिसले यसो गर्न सक्दैनन्। धेरैजसो मानिसको सन्दर्भमा भन्नुपर्दा, के तिनीहरू अर्को व्यक्तिसँग नरम बन्‍न र पुरानो कुरा भुलेर नयाँ सुरुवात गर्न आफ्नो मानवतामा हुने विवेक र समझमा भर पर्न सक्छन्? (सक्दैनन्।) तर यो गर्न सकिँदैन भनेर भन्नु पूर्णतया सही होइन। किन यो पूर्णतया सही होइन? यो कुरा समस्या के हो, र यो कत्ति नगण्य वा महत्त्वपूर्ण हो, त्यसमा निर्भर हुन्छ। साथै, समस्याहरू विभिन्‍न हदका हुन्छन्, त्यसैले यो कति गम्भीर हो त्यसमा निर्भर हुन्छ। कसैले तँलाई बोलीले कहिलेकाहीँ मात्र चोट पुऱ्याउँदा, यदि तँ विवेक र समझ भएको व्यक्ति होस् भने यसरी सोच्नेछस, “उसले द्वेष राखेको होइन। उसले भन्नुको मतलब त्यो होइन, उसले आवेशमा प्वाक्‍क बोलेको मात्र हो। हामीले यत्तिका वर्ष मिलेर बसेको खातिर, यस्तै कुराहरूको खातिर, वा केही वा अरू कुराहरूको खातिर, म यसमा उसको विरोध गर्नेछैनँ। भनाइ नै छ, ‘ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ’ यो एउटा टिप्पणी मात्र हो, जेहोस् यसले मेरो आत्मसम्मानमा चोट पुऱ्याएको छैन वा मेरो हितलाई हानि गरेको छैन, झन् मेरो हैसियत वा भावी सम्भावनाहरूलाई असर गर्नु त परै जाओस्, त्यसैले म यसलाई अनदेखा गर्नेछु।” मानिसहरूले यी नगण्य कुराहरू सामना गर्दा, “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्‍ने भनाइ पालन गर्न सक्छन्। तर यदि कसैले साँच्चै तेरा महत्त्वपूर्ण हितहरू वा तेरो परिवारलाई हानि गर्छ, वा उसले तँलाई गर्ने हानिले तेरो जीवनभरि असर पुऱ्याउँछ भने, के तँ अझै “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्‍ने भनाइ पालन गर्न सक्छस्? उदाहरणका लागि, यदि कसलै तेरा आमाबुबाको हत्या गऱ्यो र बाँकी परिवारलाई मार्न चाहन्छ भने, के तँ त्यस्तो व्यक्तिप्रति “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्‍ने भनाइ लागू गर्न सक्छस्? (अहँ, सक्दिनँ।) देह र रगतले बनिएको कुनै पनि सामान्य व्यक्तिले यो गर्न सक्दैन। यो भनाइले मानिसहरूमा गहिरो जरा गाढेर बसेको घृणालाई पटक्कै रोक्न सक्दैन, र अवश्य नै, झन् यस मामिलामा मानिसहरूको मनोवृत्ति र रायलाई प्रभाव पार्नु त परै जाओस्। यदि कसैले जानाजानी होस् वा अनजानमा, तेरो हितलाई हानि गर्छ, वा जानाजानी वा अनजानमा तँलाई शारीरिक चोट पुऱ्याउँछ र तँ अपाङ्ग हुन्छस् वा तँलाई चोटपटक लाग्छ, वा तेरो चित्त र हृदयलाई गहन रूपमा निरुत्साहित बनाइदिन्छ भने, के तँ “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्‍ने भनाइ पालन गर्न सक्छस्? (सक्दिनँ।) तैँले यो गर्न सक्दैनस्। त्यसैले, पारम्परिक संस्कृतिले मानिसहरू आफ्नो नैतिक आचरणमा सहनशील र दिलदार हुनुपर्ने माग गर्छ, तर के मानिसहरू यो गर्न सक्छन्? यो सजिलो काम होइन। यस कुराले संलग्‍न व्यक्तिलाई कत्ति हानि र असर गरेको छ, अनि उसको विवेक र समझले यसलाई रोक्न सक्छ कि सक्दैन, त्यसमा यो निर्भर हुन्छ। यदि ठूलो हानि पुगेको छैन र उक्त व्यक्तिले यो सहन सक्छ, अनि यो उसको मानवताले रोक्न सक्ने हदबाहिर जाँदैन, भन्नुको अर्थ उसले सामान्य वयस्कको रूपमा यी कुराहरू सहन सक्छ, अनि आक्रोश र घृणा हटाउन सकिन्छ, र यो अपेक्षाकृत त्याग्‍न सजिलो छ भने, ऊ अरू व्यक्तिसँग सहनशील र नरम हुन सक्छ। तैँले यो तँलाई रोक्ने, सिकाउने, वा के गर्ने भनेर मार्गदर्शन गर्ने पारम्परिक संस्कृतिको नैतिक आचरणसम्बन्धी कुनै पनि भनाइबिना गर्न सक्छस्, किनभने यो सामान्य मानवतामा हुने कुरा हो र यो प्राप्त गर्न सकिन्छ। यदि यो कुराले तँलाई अति गहन रूपले चोट पुऱ्याएको छैन वा तँलाई शारीरिक, मानसिक र आत्मिक तवरमा ठूलो असर गरेको छैन भने, तैँले यो सजिलै गर्न सक्छस्। तर, यदि यसले तँलाई शारीरिक, मानसिक र आत्मिक तवरमा ठूलो असर गरेको छ, जसले गर्दा यसले तँलाई जीवनभरि कष्ट दिन्छ, तँलाई प्रायः खिन्‍न र रुष्ट बनाउँछ, यसको कारण तँ अक्सर उदास र निराश हुन्छस्, अनि यसले तँलाई यो मानव जाति र यो संसारलाई वैरी ठान्‍न लगाउँछ, तेरो हृदयमा शान्ति वा खुसी छैन, तँ जीवनभरि व्यावहारिक तवरमा घृणामा जिउँछस्, अर्थात् यदि यो मामिला सामान्य मानवताले रोक्न सक्ने हदबाहिर गएको छ भने, विवेक र समझ भएको व्यक्तिको रूपमा जहाँ सम्भव हुन्छ, त्यहाँ नरम बन्नू एकदमै गाह्रो हुन्छ। यदि कतिपय मानिसले यो गर्न सक्छन् भने, त्यो असाधारण मामिला हो, तर यो केमा आधारित हुनैपर्छ? कस्ता सर्तहरू पूरा गर्नैपर्छ? कतिपय मानिसहरू भन्छन्: “त्यसोभए तिनीहरूले बौद्धधर्म स्विकार्नुपर्छ र बुद्धत्व प्राप्त गर्न घृणा त्याग्नुपर्छ।” सामान्य मानिसहरूमाझ यो मुक्तिको मार्ग होला, तर यो मुक्ति मात्र हो। जे भए पनि, यो “मुक्ति” शब्दको अर्थ के हो? यसको अर्थ सांसारिक विवाद, घृणा र हत्यादेखि टाढा बस्नु, अनि यो “दृष्टिबाहिर”, दिमागबाहिर राख्नु समान हो। यदि तैँले यस्ता कुराबाट टाढा बसेर तिनलाई देख्न सकिनस् भने, तिनले तेरो भित्री भावनामा कम प्रभाव पर्नेछन्, र समयको दौरान ती तेरो स्मरणबाट मेटिनेछन्। तर त्यो “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्‍ने भनाइ पालन गर्नु होइन। मानिसहरू यस मामिलामा नरम, वा क्षमाशील र सहनशील हुन, अनि यसलाई पूर्णतया त्याग्‍न सक्दैनन्। यी कुरा मानिसहरूको हृदयको भित्री गहिराइबाट मात्र मेटिएका हुन्छन्, र तिनीहरूले तीबारे वास्ता गर्न छोड्छन्। अथवा केही बौद्ध शिक्षाको कारण मात्र मानिसहरूले मन नलागी नलागी घृणामा जिउन अनि प्रेम र घृणाको यी सांसारिक मोहमा लिप्त हुन छोड्छन्। यो त प्रेम र घृणाले भरिएको द्वन्द्व र कलहका यी ठाउँहरूबाट आफूलाई निष्क्रिय रूपमा जबर्जस्ती टाढा राख्नु मात्र हो, तर यसको अर्थ उसले “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्‍ने भनाइलाई लागू गर्न सक्छ भन्‍ने होइन। त्यसो किन? जहाँसम्म सामान्य मानवताको कुरा छ, यदि कुनै व्यक्तिलाई केही कुरा आइपऱ्यो जसले गर्दा उसको शरीर, मन र प्राणलाई तनाव वा चोटपटकजस्ता असहनीय गम्भीर हानि पुग्छ भने उसमा जति नै क्षमता भए पनि, उसले यो सहन सक्दैन। मैले “सहन सक्दैन” भन्नुको अर्थ के हो? मेरो भन्नुको तात्पर्य, मानिसहरूको सामान्य मानवता, विचार र दृष्टिकोणले यी कुराहरू रोक्न वा हटाउन सक्दैनन्। मानवजातिको दृष्टिकोणबाट हेर्दा, उसले सहन सक्दैन, यो मानव सहनशीलताको सीमाबाहिर जान्छ भनेर भन्‍न सकिन्छ। विश्‍वासीहरूको दृष्टिकोणबाट हेर्दा, उसले केवल यो मामिला बुझ्न, ठम्याउन, वा स्विकार्न सक्दैन भन्‍न सकिन्छ। तसर्थ, घृणाका यी भावनाहरूलाई रोक्न वा हटाउन सम्भाव्य तरिका नभएकोले, के “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्‍ने भनाइ पालन गर्न सम्भव छ? (छैन।) यो हासिल गर्न नसक्नुको अर्थ के हो? मुख्यतः त्यो सामान्य मानवतामा यस्तो उदारता हुँदैन। उदाहरणका लागि, मानिलिऊँ कसैले तेरा आमाबुबाको हत्या गऱ्यो र तेरो पूरै परिवार तहसनहस पारिदियो, के तँ त्यस्तो कुरा हुन दिन सक्छस्? के त्यस्तो घृणा हटाउन सम्भव छ? के तँ आफ्नो शरीर, मन वा आत्मामा कुनै अनुभूति नगरी तेरो शत्रुलाई सामान्य मानिसहरूलाई हेरेजस्तै हेर्छस् वा तँ तेरो शत्रुलाई सामान्य मानिसहरूलाई ठानेजस्तै ठान्छस्? (त्यसो होइन।) कसैले पनि बौद्धधर्ममा विश्‍वास नगरी र आफ्नै आँखाले कर्म नदेखी यो गर्न सक्दैन, ताकि उसले प्रतिशोधमा हत्या गर्ने विचारलाई त्याग्‍न सकोस्। कतिपय मानिसहरू भन्छन्: “म दयालु छु, त्यसैले यदि कसैले मेरा आमाबुबाको हत्या गऱ्यो भने, म ऊप्रति नरम हुन सक्छु र उसलाई बद्ला लिनेछैनँ, किनभने म कर्ममा ठूलो आस्था राख्छु। ‘ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ’ भन्‍ने भनाइले यसलाई सङ्क्षेपमा सटीक रूपमा व्याख्या गर्छ: यदि बद्लाले बद्ला जन्माउँछ भने, के यसको अन्त्य कहिल्यै हुनेछ? त्यसबाहेक, उसले आफ्नो गल्ती स्विकारिसकेको छ र लम्पसार परेर मलाई क्षमासमेत मागिसकेको छ। यो कुरा अहिले हल भएको छ, म ऊप्रति नरम हुनेछु!” के मानिसहरू यस्तो दिलदार हुन सक्छन्? (सक्दैनन्।) तिनीहरू यस्तो हुन सक्दैनन्। तैँले उसलाई पक्रेपछि आफूले गर्न सक्ने कुरालाई छोडेर, तैँले उसलाई पक्रनअघि समेत, हरेक दिन बद्ला लिनेबारे मात्र सोचिरहन सक्छस्। किनभने यस कुराले तँलाई नराम्रोसँग चोट पुऱ्याएको र धेरै असर गरेको हुन्छ, तैँले सामान्य व्यक्तिको हैसियतमा बाँचुञ्जेल यसलाई अवश्य कहिल्यै भुल्न सक्नेछैनस्। तैँले सपनामा समेत आफ्नो परिवारको हत्या भएको र तैँले कठोर बद्ला लिएका दृश्यहरू देख्नेछस्। यो कुराले तेरो बाँकी जीवनभरि तेरो सास रहुञ्जेल असर गर्न सक्छ। यस्तो घृणा सजिलै त्याग्‍न सकिँदैन। अवश्य नै, योभन्दा अलि कम गम्भीर मामिलाहरू हुन्छन्। उदाहणका लागि, मानिलिऊँ कसैले तँलाई सबैसामु गालामा थप्पड हानेर लज्जित तुल्यायो र अपमान गऱ्यो, अनि कारणैबिना तेरो बेइज्जत गऱ्यो। त्यहाँदेखि, धेरै मानिसले तँलाई भेदभावको नजरले हेर्छन् र खिसीसमेत गर्छन्, त्यसैले तँलाई मानिसहरू वरपर हुँदा लाज लाग्छ। यो कुरा तेरो आमाबुबा र परिवारको हत्याभन्दा निकै कम गम्भीर हो। तैपनि, “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्‍ने भनाइ पालन गाह्रो हुन्छ, किनभने तँलाई आइपरेका यी कुराहरू सामान्य मानवताले सहने क्षमताभन्दा बाहिर गइसकेका छन्। तिनले तँलाई शारीरिक र मानसिक तवरमा ठूलो हानि गरेका छन्, अनि तेरो मर्यादा र चरित्रमा ठूलो घात गरेका छन्। तैँले ती कुनै हालतमा भुल्न वा त्याग्‍न सक्दैनस्, त्यसैले तँलाई “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्‍ने भनाइ पालन गर्न एकदमै गाह्रो हुन्छ—जुन सामान्य कुरा हो।

हामीले भर्खरै सङ्गति गरेका यी पक्षहरूलाई हेर्दा, नैतिक आचरणसम्बन्धीको “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्‍ने भनाइ मानिसहरूलाई नियन्त्रण गर्ने र अन्तर्दृष्टि दिने सिद्धान्त हो, जुन भनाइलाई पारम्परिक चिनियाँ संस्कृतिमा उल्लेख गरिएको छ। यसले सानातिना विवाद र नगण्य कलहहरूलाई मात्र समाधान गर्न सक्छ, तर गहन रूपमा घृणा पाल्ने मानिसहरूको सन्दर्भमा भन्नुपर्दा, यो पटक्कै प्रभावकारी हुँदैन। के यो मापदण्ड अघि सार्ने मानिसहरूले साँच्चै मानिसको मानवता बुझ्छन्? यो मापदण्ड अघि सार्ने मानिसहरू मानव विवेक र समझको सहने क्षमता कति धेरै छ भन्‍ने कुराबारे बिलकुलै अनभिज्ञ छैनन् भनेर कसलै भन्‍न सक्छ। यो सिद्धान्तलाई अघि सार्दा तिनीहरू जानकार र महान् देखिन सक्छन्, र मानिसहरूले तिनीहरूलाई अनुमोदन र चापलुसी गर्न सक्छन्। तथ्य के हो भने, कसैले कुनै व्यक्तिको मर्यादा वा चरित्रमा चोट पुऱ्यायो, उसको हितलाई हानि गऱ्यो, वा उसका भावी सम्भावनहरू र सारा जीवनलाई प्रभावसमेत पाऱ्यो भने, मानवताको दृष्टिकोणबाट हेर्दा पीडित व्यक्तिले बद्ला लिनैपर्छ। उसँग जति नै विवेक र समझ भए पनि, उसले यसलाई त्यतिकै छोड्नेछैन। बढीमा, उसको बदलाका हद र तरिका मात्र फरक हुनेछ। यस वास्तविक समाजमा, मानिसहरू जिउने मानव अधिकार नभएको यो अति अन्धकार र दुष्ट सामाजिक परिवेश र सामाजिक सन्दर्भमा, मानिसहरूले चोट पाउँदा बद्ला लिन सक्ने भएकैले आपसमा लडाइ गर्न र काटमार गर्न कहिल्यै छोडेका छैनन्। तिनीहरूलाई जति गम्भीर चोट पुग्छ, उति नै तिनीहरूको बद्ला लिने चाहना दह्रिलो र उति नै तिनीहरूको बद्ला लिने तरिका क्रूर हुन्छ। त्यसैले, यस समाजमा व्याप्त झुकावहरू कस्ता हुनेछन्? मानिसहरूबीचको सम्बन्धलाई के हुनेछ? के यो समाज काटमार र बद्लाले भरिनेछैन र? तसर्थ, यो मापदण्ड अघि सार्ने व्यक्तिले मानिसहरूको व्यवहारलाई नियन्त्रण गर्न नैतिक आचरणसम्बन्धीको “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्ने यो भनाइ प्रयोग गरेर तिनीहरूलाई एकदमै अप्रत्यक्ष तरिकाले बद्ला नलिनू भनिरहेको हुन्छ। मानिसहरूले अन्यपूर्ण व्यवहार भोग्दा, वा तिनीहरूको चरित्रको अपमान हुँदा वा तिनीहरूको मर्यादामा चोट पुग्दा, नैतिक आचरणसम्बन्धी यो भनाइले ती मानिसहरूलाई कार्य गर्नुअघि दुईपल्ट सोच्न लगाएर प्रभावित पार्छ, अनि आवेशमा नआउन र हद नाघेर प्रतिक्रया नदेखाउन रोक्छ। यदि यस समाजका मानिसहरूले आफूलाई अन्यायपूर्ण व्यवहार हुँदा बद्ला लिन चाहेको भए, यो व्यवहार राज्य, समाज, र तिनीहरूसँग सम्पर्कमा आउने मानिसहरूद्वारा गरिएको भए पनि, के यो मानव जाति र यो समाजलाई सम्हाल्नु गाह्रो हुनेथिएन र? जहाँ भीड हुन्छ त्यहाँ लडाइ हुन्छै हुन्छ, र प्रतिशोध सामान्य घटना हुनेथियो। त्यसैले, यो मानव जाति र यो समाज अस्तव्यस्त हुनेथिएन र? (हुनेथियो।) शासकहरूलाई अस्तव्यस्त समाज सम्हाल्न सजिलो हुन्छ कि हुँदैन? (हुँदैन, यसलाई सम्हाल्न सजिलो हुँदैन।) यही कारण, यी तथाकथित सामाजिक शिक्षाविद र विचारकहरूले मानिसहरूलाई अर्ती र अन्तर्दृष्टि दिन नैतिक आचरणसम्बन्धीको “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्‍ने भनाइ अघि सार्छन्, ताकि तिनीहरूलाई अन्यायपूर्ण व्यवहार वा भेदभाव हुँदा, अपमान गरिँदा, वा दुर्व्यवहार वा अनादारसमेत गरिँदा, अनि तिनीहरूको आत्मिक वा शारीरिक कष्ट जति नै ठूलो भए पनि, सर्वप्रथम तिनीहरूले प्रतिशोध लिने कुरा नसोचून्, बरु नैतिकतासम्बन्धी यो प्राचीन उक्ति “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” बारे सोचून्, जसले तिनीहरूलाई पारम्परिक संस्कृतिको नैतिक आचरणसम्बन्धी यी भनाइहरूको नियन्त्रणलाई अनजानमा स्विकार्न लगाउँछ, त्यसरी प्रभावकारी ढङ्गमा तिनीहरूको सोचाइ र व्यवहार नियन्त्रित हुन्छ, अनि तिनीहरूले अरू व्यक्ति, राज्य र समाजप्रति पाल्ने घृणा हटेर जान्छ। जब मानवतामा अनिवार्य रूपले हुने यी शत्रुता र क्रोध अनि व्यक्तिको मर्यादालाई रक्षा गर्ने नैसर्गिक सोचहरू हट्छन्, तब के यो समाजमा मानिसहरूबीच हुने संघर्ष र प्रतिशोधहरू उल्लेखनीय हदसम्म कम हुनेछ? (हुनेछ।) उदाहरणका लागि, कतिपय मानिसहरू भन्छन्: “यो छोडिदिऊँ, सम्झौता गरे द्वन्द्व समाधान गर्न सजिलो हुन्छ। यसो भनिएको छ ‘ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ।’ उसले मेरो परिवारको हत्या गर्नुका कारणहरू थिए। हावा नचली पात हल्लिँदैन, र दुवै पक्ष आ-आफ्नो तर्कमा अडिग रहन्छन्। त्यसबाहेक, मेरो परिवार बितेको वर्षौँ भइसकेको छ, यस विषयलाई फेरि कोट्याउनुको के तुक? जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ—मानिसहरूले आफ्नो घृणा त्याग्‍नअघि दिलदार हुन सिक्नैपर्छ, अनि तिनीहरूले आफ्नो घृणा त्याग्‍न सक्यो भने मात्र तिनीहरू जीवनमा खुसी हुन सक्छन्।” अरू मानिस छन् जसले यसो भन्छन्: “बितेको कुरा नकोट्याऊँ। यदि उसले मप्रति सानातिना गुनासोहरू गर्दैन वा मलाई पहिलेजस्तो शत्रु ठान्दैन भने, म पनि ऊसँग झगडा गर्नैछैनँ, र हामी नयाँ सुरुवात गर्नेछौँ। भनाइ नै छ, ‘ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ।’” यस्ता मानिसहरूले, जो भए पनि, आफूले बद्ला लिनै लागेको बेला आफूलाई अचानक नियन्त्रण गर्छन् भने, के तिनीहरूको बोली, कार्य र सैद्धान्तिक आधार सबै अवश्यै “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्‍नेजस्ता विचार र दृष्टिकोणको प्रभावबाट उत्पन्‍न भएका हुँदैनन् र? (हुन्छन्।) अझ अरू मानिस पनि छन् जो यसो भन्छन्: “यो सब वादविवाद किन? कुनै मानिसको राम्रो उदाहरण तिमी हौ, तिमीले यस्तो नगण्य कुरासमेत त्याग्‍न सक्दैनौ! कतिपय महान् व्यक्तिहरूको हृदय संसार अटाउने ठूलो हुन्छ। कम्तीमा, सानो उदारता त देखाऊ! के मानिसहरू जीवनमा अलिकति दिलदार हुनु पर्दैन र? सानातिना गुनासाहरू पालिराख्नुभन्दा एक कदम पछि सरेर फराकिलो नजरले हेर। सहमतिमा नपुग्ने यो सब वादविवाद देख्दा हाँस उठ्छ।” यी भनाइ र विचारहरूमा सांसारिक मामिलप्रतिको एक प्रकारको मानव मनोवृत्ति समेटिएको हुन्छ, जुन मनोवृत्ति “ज्यान लिनु नै अस्तित्व समाप्त पार्नु हो; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नुपर्छ” भन्‍ने भनाइ र नैतिकतासम्बन्धी प्राचीन उक्तिहरूका यस्ता अन्य भनाइहरूबाट मात्र आउँछ। मानिसहरू यी भनाइहरूद्वारा शिक्षित र प्रभावित हुन्छन्, अनि आफूले मानिसहरूलाई अर्ती र अन्तर्दृष्टि दिन केही भूमिका निभाएको महसुस गर्छन्, त्यसैले तिनीहरू यी कुरालाई सही र उचित ठान्छन्।

के कारण मानिसहरू घृणा त्याग्‍न सक्छन्? मुख्य कारणहरू के हुन्? एकातर्फ, तिनीहरू नैतिक आचरणसम्बन्धीको यो भनाइ—“ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू” द्वारा प्रभावित हुन्छन्। अर्कोतर्फ, तिनीहरू यदि आफूले सानातिना गुनासाहरू गऱ्यो, मानिसहरूलाई घृणा गरिरह्यो, र अरूप्रति असहनशील बन्यो भने, समाजमा स्थान पाउन सकिनेछैन अनि जन विचारद्वारा निन्दित होइनेछ र मानिसहरूले खिसी गर्नेछन्, त्यसैले मन नलागी-नलागी वा इच्छा नभई आफ्नो रिस दबाउनैपर्छ भन्‍ने सोचाइले गर्दा चिन्तित हुन्छन्। एकातिर, मानव नैसर्गिक क्षमतालाई हेर्दा, यस संसारमा जिउने मानिसहरूले यो सब दमन, निरर्थक चोट र अन्यायपूर्ण व्यवहार सहन सक्दैनन्। भन्‍नुको अर्थ, यी कुराहरू सहन सक्ने क्षमता मानिसहरूको मानवतामा छैन। तसर्थ, “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू” भन्‍ने भनाइ कसैमाथि लाद्नु अन्याय र अमानवीय कुरा हो। अर्कोतिर, साथै यस्ता विचार र दृष्टिकोणहरूले यस मामिलाप्रति मानिसहरूको हेराइ र दृष्टिकोणलाई असर गर्छन् वा बङ्ग्याउँछन् भन्‍ने कुरा स्पष्ट छ, त्यसैले तिनीहरू यस्ता मामिलाहरूलाई उचित तरिकाले सम्हाल्न सक्दैनन्, बरु “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू” भन्‍नेजस्ता भनाइहरूलाई सही र सकारात्मक कुरा ठान्छन्। मानिसहरूलाई अन्यायपूर्ण व्यवहार हुँदा, जन विचारको निन्दाबाट जोगिनका लागि आफूले भोगेको अपमान र असमान व्यवहारलाई मनमा गुम्साएर राख्नु अनि प्रतिशोधको मौका कुर्नुबाहेक तिनीहरूसँग अर्को विकल्प रहँदैन। तिनीहरू मुखले चाहिँ राम्रो जस्तो लाग्‍ने “‘ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू’ भन्‍नेजस्ता भनाइ अरूले सुन्‍ने गरी बोल्छन्। केही छैन, बद्ला लिनुको कुनै अर्थ छैन, यो त बितेको कुरा हो,” भन्छ्न्, तैपनि मानव नैसर्गिक क्षमताले तिनीहरूलाई यस घटनाद्वारा तिनीहरूमा पुगेको हानिलाई कहिल्यै बिर्सन दिँदैन, भन्‍नुको अर्थ यस घटनाले तिनीहरूको शरीर र मनमा पुऱ्याएको हानि कहिल्यै मेटाउन वा हटाउन सकिँदैन। मानिसहरूले “घृणालाई भुलिदेऊ, यो मामिला पुरै समाप्त भएको छ, यो बितेको कुरा हो” भन्‍नु त “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू” भन्‍नेजस्ता विचार र दृष्टिकोणको बन्धन र प्रभावले नै सिर्जना गर्ने देखावटी रूप मात्र हो। अवश्य नै, मानिसहरू पनि यस्ता विचार र दृष्टिकोणद्वारा सीमित हुन्छन्, अनि यो तब हुन्छ जबसम्म तिनीहरू यदि आफूले ती अभ्यास गर्न सकेनन् भने, यदि आफूमा जहाँ सम्भव छ त्यहाँ नरम हुने हृदय वा उदारता छैन भने, सबैले तिनीहरूलाई तुच्छ ठान्‍नेछन् र निन्दा गर्नेछन्, अनि समाज वा समुदायमा झन् बढी भेदभाव गरिनेछ भनेर सोच्छन्। भेदभावको नतिजा के हुन्छ? के हुन्छ भने, जब तँ मानिसहरूसँग सम्पर्क गरेर आफ्नो कामधन्दा गर्न थाल्छस्, तब मानिसहरूले भन्‍नेछन्, “यो मान्छे सानो मनको र प्रतिशोधी छ। ऊसँग व्यवहार गर्दा होसियार हुनुपर्छ!” यो तैँले समुदायमा आफ्नो कामधन्धा थाल्दा थप असरदायी बाधा बन्छ। किन यस्तो थप बाधा हुन्छ? किनभने समग्रमा समाजलाई नै “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू” भन्‍ने विचार र दृष्टिकोणले प्रभाव पार्छ। समाजको रीतिरिवाजले समग्रमा यस्तो सोचाइलाई सम्मान गर्छ, अनि सारा समाज यसद्वारा सीमित, प्रभावित र नियन्त्रित हुन्छ, तसर्थ यदि तैँले यसलाई अभ्यास गर्न सकिनस् भने, समाजमा स्थान पाउन र आफ्नो समुदायमा बाँच्न गाह्रो हुनेछ। त्यसैले, कतिपय मानिसहरूसँग यस्ता सामाजिक रीतिरिवाज पालन गर्नु अनि “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू” भन्‍नेजस्ता भनाइ र दृष्टिकोण पछ्याउनु अनि दयनीय जीवन जिउनुबाहेक अर्को विकल्प हुँदैन। यी घटनाहरूलाई विचार गर्दा, के यी तथाकथित नैतिकतावादीहरूले नैतिक विचार र दृष्टिकोणसम्बन्धी यी भनाइहरू अघि सार्नुका निश्चित उद्देश्य र अभिप्रायहरू थिएनन् र? के तिनीहरूले मानिसहरू अझ स्वतन्त्र भई जिउन सकून्, अनि तिनीहरूको शरीर, मन र आत्मा अझ धेरै मुक्त होस् भनेर यसो गरेका थिए? अथवा के मानिसहरू अझ धेरै खुसी भएर जिउन सकून् भनेर यसो गरिएको थियो? अवश्य नै थिएन। नैतिक आचरणसम्बन्धी यी भनाइहरूले मानिसहरूको सामान्य मानवताका आवश्यकताहरू पटक्कै पूरा गर्दैनन्, अनि मानिसहरू सामान्य मानवतामा जिउन सकून् भनेर ती बिलकुलै अघि सारिएको थिएन। बरु, तिनले त शासकवर्गलाई मानिसहरूमाथि नियन्त्रण जमाउन र आफ्नो शक्ति स्थिर गर्न पूर्णतया सघाउ पुऱ्याउँछ। तिनले शासकवर्गको पक्षमा काम गर्छन्, अनि शासकवर्गले सामाजिक व्यवस्था र सामाजिक रीतिरिवाजलाई वशमा राख्न सकोस् भनी ती अघि सारिएको थियो, र यसरी तिनीहरूले यी कुरा प्रयोग गरेर हरेक व्यक्ति, हरेक परिवार, हरेक व्यक्तिविशेष, हरेक समुदाय, हरेक समूह र विभिन्‍न सबै समहूद्वारा गठित समाजलाई बन्धनमा पाऱ्यो। यस्ता समाजमा, यस्ता नैतिक विचार र दृष्टिकोणको शिक्षा, प्रभाव र सिकाइअन्तर्गत समाजको मुख्यधारको नैतिक विचार र दृष्टिकोण पैदा हुन्छ र फस्टाउँछ। यसरी सामाजिक नैतिकता र सामाजिक रीतिरिवाज फस्टाउनु मानव अस्तित्वको लागि हितकर हुँदैन, न त यो मानव सोचको प्रगति र शुद्धिकरणको लागि नै झन् हितकर हुन्छ, न यो मानवता विस्तारको लागि नै अझ हितकर हुन्छ। यसको विपरीत, यी नैतिक विचार र दृष्टिकोणहरू उत्पन्न भएकोले मानव सोचाइ नियन्त्रण गर्न सकिने हदमा सीमित हुन्छ। त्यसैले, अन्त्यमा कसलाई फाइदा हुन्छ? मानव जातिलाई? वा शासकवर्गलाई? (शासकवर्गलाई।) सही हो, आखिर फाइदा शासकवर्गलाई नै हुन्छ। मानिसहरूले यी नैतिक शास्त्रपदहरूलाई आफ्नो सोचाइ र नैतिक आचरणको आधारको रूपमा लिएको हुनाले तिनीहरूलाई शासन गर्न झन् सजिलो हुन्छ, तिनीहरू आज्ञाकारी नागरिक बन्‍ने सम्भावना झन् धेरै हुन्छ, तिनीहरूलाई फस्ल्याङफुस्लुङ पार्न अझ सजिलो हुन्छ, तिनीहरू आफूले गर्ने हरेक कुरामा नैतिक शास्त्रपदका विभिन्‍न भनाइद्वारा अझ सजिलै नियन्त्रित हुन्छन्, अनि तिनीहरू सामाजिक प्रणाली, सामाजिक नैतिकता, सामाजिक रीतिरिवाज र जन विचारद्वारा झन् सजिलै नियन्त्रित हुन्छन्। यसरी एक निश्चित हदसम्म, एउटै सामाजिक प्रणाली, नैतिक वातावरण, र सामाजिक रीतिरिवाजको अधीनमा रहने मानिसहरूमा मुख्यतः एउटै विचार र दृष्टिकोण, अनि आफूलाई कसरी व्यवहारमा ढाल्ने भन्‍नेबारे एउटै आधाररेखा हुन्छ, किनभने तिनीहरूका विचार र दृष्टिकोणलाई यी तथाकथित नैतिकतावादी, विचारक र शिक्षाविदहरूले प्रशोधन र मानकीकरण गरेका हुन्छन्। यो “एउटै” शब्दको अर्थ के हो? यसको अर्थ, सबै शासितवर्गलाई—तिनीहरूको विचार र सामान्य मानवतालगायत—नैतिक शास्त्रपदका यी भनाइहरूद्वारा आत्मसात् गरिएको र सीमित पारिएको हुन्छ। मानिसहरूका विचारहरू सीमित पारिन्छ, अनि त्यससँगै तिनीहरूको मुख र दिमाग पनि सीमित पारिन्छ। सबैलाई पारम्परिक संस्कृतिका यी नैतिक विचार र दृष्टिकोणहरू स्विकार्न बाध्य पारिन्छ, र यसरी एकातर्फ तिनीहरूलाई तिनीहरूको आफ्नै व्यवहारलाई निन्दा र नियन्त्रण गर्न अनि अर्कोतर्फ अरू र यो समाजलाई निन्दा गर्न प्रयोग गरिन्छ। निश्चय नै, त्योसँगै तिनीहरू नैतिक शास्त्रपदका यी भनाइहरूमा केन्द्रित जन विचारद्वारा पनि नियन्त्रित हुन्छन्। यदि तैँले आफ्नो कार्यशैलीले “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू” भन्‍ने भनाइ उल्लङ्घन गर्छ भन्‍ने सोच्छस् भने, तँलाई साह्रै खिन्‍न र असहज लाग्छ, अनि चाँडै तँलाई यस्तो लाग्छ, “यदि म जहाँ सम्भव छ त्यहाँ नरम हुन सकिनँ भने, यदि म सङ्कुचित हृदयको क्षुद्र व्यक्तिजस्तो नीच र सानो मनको छु र घृणालाई अलिकति पनि त्याग्‍न सक्दिनँ, तर सधैँ पालेर राख्छु भने, के म हाँसोको पत्र बन्‍नेछु? के मलाई मेरा सहकर्मी र साथीसँगीले भेदभाव गर्नेछन्?” त्यसोभए, तैँले विशेष गरी दिलदार भएको नाटक गर्नैपर्छ। यदि मानिसहरूमा यी व्यवहारहरू छन् भने, के यसको अर्थ तिनीहरू जन विचारद्वारा नियन्त्रित छन् भन्‍ने हो? (हो।) निष्पक्ष रूपले भन्‍नुपर्दा, तेरो हृदयभित्र अदृश्य जन्जिरहरू छन्, भन्‍नुको मतलब, जन विचार र सम्पूर्ण समाजद्वारा हुने निन्दा तेरो लागि अदृश्य जन्जिरजस्तै हुन्छ। उदाहरणका लागि, कतिपय मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो हो, र परमेश्‍वरमा विश्‍वास गरेर मुक्ति पाइन्छ, अनि परमेश्‍वरमा विश्‍वास गर्नु भनेको सही मार्गमा हिँड्नु र खराब कुरा नगर्नु हो भन्‍ने थाहा छ, तर तिनीहरूले सुरुमा परमेश्‍वरलाई विश्‍वास गर्दा, यसबारे खुलस्त हुन, वा आफ्नो विश्‍वास स्विकार्ने आँट गर्दैनन्, यहाँसम्म कि सुसमाचार सुनाउने आँट गर्दैनन्। किन तिनीहरू यसबारे खुलस्त भएर मानिसहरूलाई बताउने आँट गर्दैनन्? के यो तिनीहरूमा समग्र वातावरणको असर परेर हो? (हो।) त्यसोभए, यो समग्र वातावरणले तँमा पार्ने प्रभाव र बाधाहरू केके हुन्? किन तँ परमेश्‍वरमा विश्‍वास गर्छस भनेर स्विकार्ने आँट गर्दैनस्? किन तँ सुसमाचार सुनाउने आँटसमेत गर्दैनस्? विश्‍वासीहरूलाई सताइने निरङ्कुश देशहरूजस्ता विशेष कारणबाहेक, जन विचारबाट आउने विभिन्‍न भनाइहरू तेरो लागि एकदमै असहनीय हुनु अर्को कारण हो। उदाहरणका लागि, कतिपय मानिसहरू तैँले धर्ममा विश्‍वास गर्न थालेपछि, परिवारको ख्याल गर्दैनस् भनेर भन्छन्; कतिपय मानिसहरू धर्ममा विश्‍वास गर्नेहरू अमर बन्‍न चाहन्छन् र आफूलाई समाजबाट अलग राख्छन् भन्दै तँलाई दुष्ट ठहराउँछन्; अरूचाहिँ विश्‍वासीहरू भोकै बस्न सक्छन् र कैयाँ दिन नथाकीकन नसुती रहन सक्छन् भनेर भन्छन्; अझ कतिपयले त झन् खराब कुरा भन्छन्। के तैँले सुरुमा यी रायहरूको प्रभावमा परेर तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भनेर स्विकार्ने आँट नगरेको होइन? के समग्र सामाजिक वातावरणभित्रका यी रायहरूले तँमा प्रभाव पार्छन्? (पार्छन्।) निश्चित हदसम्म तिनले तेरो मुडमा असर गर्छ र आत्मसम्मानमा चोट पुऱ्याउँछ, त्यसैले तैँले तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भनेर खुलस्तसित स्विकार्ने आँट गर्दैनस्। यो समाज विश्‍वासी मानिसहरू र परमेश्‍वरमा विश्‍वास गर्नेहरूप्रति अमित्रैलो र वैरी भएकोले, अनि कतिपय मानिसहरूले तैँले सहनै नसक्ने नीच अपमानजनक र निन्दात्मक टिप्पणीहरूसमेत गर्ने हुनाले, तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भनेर खुलस्तसित स्विकार्दैनस्, र भेलाहरूमा चोरजस्तो खुसुक्‍क लुकेर जानुपर्छ। यदि अरूले थाहा पाए भने तिनीहरूले निन्दा गर्छन् भनेर तँ डराउँछस्, त्यसकारण तैँले सक्ने भनेकै आफ्नो आक्रोशलाई दबाउनु मात्र हो। यसरी, तैँले ठूलो क्रोधलाई चुपचाप सहेको हुन्छस्, तर यो सब क्रोध सहने कष्ट भोगदा धेरै सुधार हुन्छ र तैँले धेरै कुरामा स्पष्ट अन्तर्ज्ञान पाएको र केही सत्यता बुझेको हुन्छस्।

हामीले भर्खरै नैतिक आचरणसम्बन्धीको “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू” भन्‍ने भनाइबारे विस्तृत सङ्गति गरेका छौँ। मानिसको दृष्टिकोणबाट हेर्दा, यस भनाइले उदारता र फराकिलो मनको सन्दर्भमा व्यक्तिमा हुनुपर्ने निम्नतम नैतिक आचरण के हो भनेर तोकिदिन्छ। तथ्य के हो भने, मानिसहरूको मानव अधिकार, मर्यादा, निष्ठा र मानवतामा भएको हानि र परेको प्रभावलाई विचार गर्दा, आपराधिक दुनियाँका लुटेरा र डाकुहरूको शब्दजालजस्तै यो “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू” भन्‍ने भनाइलाई मात्र प्रयोग गरेर मानिसहरूलाई दिलासा दिनु र सीमित पार्नु विवेक र समझ भएका मानिसहरूप्रति ठूलो अपमान हो अनि यो अमानवीय र अनैतिक कुरा हो। सामान्य मानवतामा जन्मजातै हर्ष, रिस, दुःख, र खुसी हुन्छ। म हर्ष, दुःख र खुसीबारे थप बताउनेछैनँ। रिस पनि सामान्य मानवतामा हुने एउटा संवेग हो। कस्तो परिस्थितिमा रिस उठ्छ र सामान्य तरिकामा स्वतः प्रकट हुन्छ? जब सामान्य मानवताको क्रोध प्रकट हुन्छ—अर्थात्, जब मानिसहरूको निष्ठा, मर्यादा, हित, अनि तिनीहरूको आत्मा र मनमा चोट पुग्छ, ती कुल्चिमिल्ची र अपमानित गरिन्छ, तब तिनीहरू स्वभाविक र नैसर्गिक तवरमा रिसाउँछन्, रुष्ट हुन्छन् वा घृणासमेत गर्छन्—रिस उठ्नुको कारण यही हो, र यो यसको निर्दिष्ठ प्रकटीकरण हो। कतिपय मानिसहरू कारणैबिना रिसाउँछन्। सानातिना कुराले तिनीहरूको क्रोध जाग्‍न सक्छ, वा कसैले अनायसै केही भन्दा तिनीहरूको चित्त दुख्छ र यसले गर्दा तिनीहरूको रिसको पारो चढ्न सक्छ। तिनीहरू अति रिसाहा हुन्छन्, होइनन् त? यी कुनै पनि कुरा तिनीहरूको आत्मा, निष्ठा, मर्यादा, मानव अधिकार वा आत्मिक संसारसँग सम्बन्धित छैनन्, तैपनि तिनीहरूको रिस नाकको टुप्पोमा हुन सक्छ, जसले गर्दा तिनीहरू रिसाहा भएका होलान्। कुनै पनि कुरामा र सबै कुरामा रिस पोखाउनु सामान्य कुरा होइन। हामी यहाँ सामान्य मानवताले प्रकट गर्ने रोष, रिस, क्रोध र घृणाबारे कुरा गरिरहेका छौँ। यी त मानिसहरूले नैसर्गिक रूपमा देखाउने केही प्रतिक्रिया हुन्। जब व्यक्तिको निष्ठा, मर्यादा, मानव अधिकार र आत्मालाई कुल्चिमिल्ची पारिन्छ, अपमानित गरिन्छ, वा तिनमा चोट पुऱ्याइन्छ, तब उक्त व्यक्ति रुष्ट हुन्छ। यो रोष एकछिन झनक्‍क झर्कनु होइन, न त यो क्षणिक अनुभूति नै हो, बरु यो त व्यक्तिको निष्ठा, मर्यादा र आत्मामा आघात पुग्दा सामान्य मानवले देखाउने प्रतिक्रिया हो। यो सामान्य मानव प्रतिक्रिया भएकोले, यो प्रतिक्रिया जायज र उचित छ भन्‍न सकिन्छ, त्यसैले यो अपराध होइन, र यसलाई नियन्त्रित गर्नु पर्दैन। यस हदसम्म मानिसहरूलाई चोट पुऱ्याउने समस्याहरूलाई चाहिँ निष्पक्ष ढङ्गमा समाधान गर्नुपर्छ र सम्हाल्नुपर्छ। यदि यो मामिलालाई उचित तवरमा समाधन गर्न र निष्पक्ष तरिकामा सम्हाल्न सकिँदैन, अनि मानिसहरूले “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू” भन्‍ने भनाइ अभ्यास गरेको अनुचित रूपमा आशा गरिन्छ भने, यो पीडितप्रति अनैतिक र अमानवीय कार्य हो, अनि मानिसहरू सचेत हुनुपर्ने कुरा हो।

नैतिक आचरणबारेको “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू” भन्‍ने भनाइसम्बन्धी हामीले छलफल गरेका बुँदाहरू केके हुन्? ती सरसर्ती हेरौँ। यो भनाइको सार पनि नैतिक आचरणबारे अन्य भनाइहरूको सारजस्तै छ। ती सबैले शासकवर्ग र सामाजिक रीतिरिवाजको पक्षमा काम गर्छन्—तिनलाई मानवताको दृष्टिकोणबाट सुरु गरेर प्रस्तुत गरिँदैन। यी नैतिक शास्त्रपदहरूले शासकवर्ग र सामाजिक रीतिरिवाजको पक्षमा काम गर्छन् भनेर भन्‍नु तैँले परमेश्‍वरमा विश्‍वास गरेर बुझ्नुपर्ने र प्राप्त गर्न सक्ने कुराको केही हदबाहिर हुन सक्ला, तैपनि यो राजनीति, सामाजिक विज्ञान र मानव सोचबारे केही थाहा हुनेहरूका लागि केही हदसम्म प्राप्त गर्न सकिने कुरा हो। मानव दृष्टिकोणबाट हेर्दा, भन्‍नुको अर्थ, तेरो आफ्नै दृष्टिकोणबाट हेर्दा, तँ यस्ता कुराहरूलाई कसरी सम्हाल्छस्? उदाहरणका लागि, मानिलिऊँ तँ पहिले आफ्नो विश्‍वासको खातिर पक्रा परेको थिइस्, जेल परेको थिइस्, र यातना भोगेको थिइस्। कैयौँ दिन र रात ठूलो रातो अजिङ्गरले तँलाई सुत्न दिएन र अधमरो होइञ्जेल सतायो। तँ पुरुष भए पनि वा महिला भए पनि, तेरो शरीर र मनले सबै प्रकारको दुर्व्यवहार र सतावट भोग्यो, अनि ती दियाबलसहरूले तँलाई सबै प्रकारको फोहोरी र निन्दात्मक भाषा प्रयोग गरेर अपमान, उपहास र आक्रमण पनि गरे। तैँले यो सतावट भोगेपछि, तँलाई यो देश र सरकारप्रति कस्तो महसुस हुन्छ? (घृणा।) यसले घृणा उत्पन्‍न गराउँछ, सामाजिक प्रणालीप्रति घृणा, सत्तारुढ दलप्रति घृणा, र यो देशप्रति घृणा। पहिले राज्य प्रहरीलाई देख्दा तँलाई गहिरो आदरभाव जग्‍ने गर्थ्यो, तर तिनीहरूको सतावाट, यातना र दुर्व्यवहारमा परेपछि, त्यो पहिलेको आदरभाव हराएको छ, अनि तेरो हृदय एउटै शब्दले अर्थात् घृणाले भरिएको छ। तिनीहरूमा मानवताको कमी भएकोमा घृणा, तिनीहरूको सरासर बेइमानीप्रति घृणा, र तिनीहरूले जनावर र दियाबलस शैतानले जस्तो कार्य गरेकोमा घृणा। तैँले राज्य प्रहरीबाट यातना, दुर्व्यवहार र अपमानको ठूलो कष्ठ भोगे पनि, तिनीहरूको वास्तविक रूप देखेको छस् र तिनीहरू सबै मानव रूपमा पशु हुन् अनि सत्यता र परमेश्‍वरलाई घृणा गर्ने दियाबलस हुन् भनेर देखेको छस्, त्यसैले तँमा तिनीहरूप्रति घृणा भरिएको छ। यो व्यक्तिगत घृणा वा व्यक्तिगत गुनासो होइन, यो त तिनीहरूको दुष्ट सार स्पष्टसित देख्नुको परिणाम हो। यो तैँले कल्पना गरेको, अडकल गरेको वा निर्धारित गरेको कुरा होइन, यो सब तिनीहरूले तँलाई अपमान गरेको, दुर्व्यवहार गरेको, र सताएको स्मरण—तिनीहरूको हरेक व्यवहार, कार्य र बोलीलगायत—हुन्, जसले गर्दा तेरो हृदय घृणाले भरिएको छ। के यो सामान्य हो? (हो।) तँ घृणाले भरिएपछि, यदि कसैले तँलाई “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू। घृणा पालेर नजिउनू। घृणा त्याग्‍नु नै यसलाई सम्हाल्ने सर्वोत्तम तरिका हो,” भनेर भन्छ भने, यो कुरा सुन्दा तँलाई कस्तो लाग्‍नेछ? (घृणित।) तँलाई घृणाबाहेक अरू के नै लाग्‍न सक्छ र? त्यसैले मलाई बता, के यो घृणा त्याग्‍नु सम्भव छ? (छैन।) यसलाई त्याग्‍न सकिँदैन। के सम्हाल्नै नसकिने घृणालाई त्याग्‍न सकिन्छ? यदि कसैले तँलाई मनाउन “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू” भन्‍ने भनाइ प्रयोग गर्छ भने, के तँ त्यसलाई त्याग्‍न सक्छस्? तँ कस्तो प्रतिक्रिया देखाउँछस्? तेरो पहिलो प्रतिक्रिया यस्तो हुनेछ, “यो सब ‘ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नू’ भन्‍ने भनाइ मिथ्या बकवास हो, यो त व्यर्थका दर्शकहरूले गर्ने गैरजिम्मेवार टिप्पणी हो! पारम्परिक संस्कृतिका विचार र दृष्टिकोण फैलाउने यी मानिसहरूले हरेक दिन इसाईहरू र असल मानिसहरूलाई सताउँछन्—के तिनीहरूलाई यी शब्दहरूले नियन्त्रण र असर गरेका हुन्छन्? तिनीहरू सबैलाई नधपाई वा निमिट्यान्‍न नपारी रोकिनेछैनन्! तिनीहरू भेष बद्लेको दियाबलस शैतान हुन्। मानिसहरू जीवित होइञ्जेल तिनीहरू उनीहरूलाई अत्याचार गर्छन्, उनीहरू मरेपछि अरूलाई छल्न सहानुभूतिका एक-दुई शब्द भन्छन्। के त्यो असाध्यै दुष्टपन होइन र?” के तँ यसरी प्रतिक्रिया देखाउनेछैनस् र महसुस गर्नेछैनस् र? (गर्नेछु।) तैँले निश्चय नै यस्तो महसुस गर्नेछस्, तँलाई मनाउन खोज्नेलाई घृणा गर्नेछस्, यहाँसम्म कि तिनीहरूलाई श्राप दिनसमेत चाहनेछस्। तर कतिपय मानिसहरूले बुझ्दैनन्। तिनीहरू भन्छन्, “किन तिमी यो गर्दै छौ? के यो घृणित काम होइन? के यो द्वेषपूर्ण छैन?” यी त व्यर्थका दर्शकहरूको गैरजिम्मेवार टिप्पणी हुन्। तँ यस्तो प्रत्युत्तर दिनेछस्: “म मान्छे हुँ, ममा मर्यादा र निष्ठा छ, तर तिनीहरूले मलाई मानवजस्तो व्यवहार गरेनन्। बरु तिनीहरूले मलाई जनावर वा पशुजस्तो व्यवहार गरे, मेरो निष्ठा र मर्यादामा ठूलो आघात पुऱ्याए। के द्वेषपूर्ण त तिनीहरू होइनन् र? तिमी तिनीहरूको द्वेषपूर्ण व्यवहारलाई मौन तरिकामा स्विकार्छौ, तर हामीले तिनीहरूलाई प्रतिकार र घृणा गर्दा, तिमी हाम्रो निन्दा गर्छौ। त्यसो गरेर तिमी के बन्छौ? के तिमी दुष्ट व्यक्ति हुँदैनौ र? तिनीहरू हामीलाई मानवजस्तो व्यवहार गर्दैनन्, तिनीहरू हामीलाई यातना दिन्छन्, तर तिमीचाहिँ अझै हामीलाई मानव नैतिक आचरण पालन गर्नू र खराबीको ऋण भलाइले तिर्नू भन्छौ। के तिमी बकवास कुरा मात्र गरिरहेका छैनौ र? के तिम्रो मानवता सामान्य छ? तिमी झूटो र ढोँगी हौ। तिमी असाध्यै द्वेषपूर्ण मात्र छैनौ, तर दुष्ट र बेसरम पनि छौ!” तसर्थ, कसैले तँलाई “यसलाई बिर्सिदेऊ, यो पुरै समाप्त भइसक्यो, गुनासो नराख। यदि तिमी सधैँ यस्तो छुद्र भयौ भने, अन्त्यमा तिमीलाई नै चोट पुग्‍नेछ। मानिसले घृणा त्यागेर जहाँ सम्भव छ त्यहाँ नरम हुने अभ्यास गर्नुपर्छ,” भनेर सान्त्वना दियो भने, तँलाई त्यो कस्तो लाग्‍नेछ? के तँलाई यस्तो लाग्‍नेछैन, “यो सब पारम्परिक चिनियाँ संस्कृति त शासकवर्गले मानिसहरूलाई छल्न र नियन्त्रण गर्न प्रयोग गर्ने औजार मात्र हो। तिनीहरू आफैचाहिँ कहिल्यै यी विचार र दृष्टिकोणको बन्धनमा हुँदैनन्, तर हरेक दिन मानिसहरूलाई छल गर्छन् र क्रूरतापूर्वक चोट पुऱ्याउँछन्। म मर्यादा र निष्ठा भएको व्यक्ति हुँ, जसलाई अमानवीय तरिकाले खेलबाड गरियो र जनावर वा पशुलाई जस्तै दुर्व्यवहार गरियो। मैले तिनीहरूसामु असाध्यै धेरै अपमान र बदनामी भोगेँ, मलाई सताइयो र आफ्नो मर्यादा र निष्ठाबाट वञ्चित गरियो, जसले गर्दा म मानवजस्तो समेत देखिइनँ। अनि के तिमीचाहिँ अझै नैतिकताको कुरा गर्छो? यस्तो सानदार आडम्बरी कुरा गर्ने तिमी को हौ? के म एकचोटि अपमानित भएर पुगेन र तिमी फेरि मलाई अपमान गर्न चाहन्छौ? मैले यो घृणा त्याग्‍ने कुरै आउँदैन!” के यो सामान्य मानवता प्रकट भएको हो? (हो।) यो सामान्य मानवता प्रकट भएको हो। कतिपय मानिसहरू भन्छन्: “यो सामान्य मानवता प्रकट भएको होइन, यो घृणालाई उक्साउनु हो।” त्यो अवस्थामा, यस व्यक्तिको व्यवहार र यो घृणाको कारण को हो? के तँलाई थाहा छ? यदि तिनीहरूलाई ठूलो रातो अजिङ्गरले क्रूरतापूर्वक नसताएको भए, के तिनीहरूले यस्तो व्यवहार गर्नेथिए? तिनीहरूलाई सताइएको थियो र तिनीहरू अहिले आफ्नो मनको बह पोख्दै छन्—त्यो कसरी घृणालाई उक्साउनु हो र? शैतानी शासनले मानिसहरूलाई यसरी सताउँछ, र पनि के तिनीहरूले मानिसहरूलाई आफ्नो मनको कुरा भन्‍न नदिने? शैतानले मानिसहरूलाई सताउँछ, र पनि तिनीहरूको मुख बन्द गर्न चाहन्छ। यसले तिनीहरूलाई घृणा गर्न वा प्रतिकार गर्न दिँदैन। यो कस्तो प्रकारको तर्क हो? के सामान्य मानवता भएका मानिसहरूले दमन र शोषणको विरोध गर्नु हुँदैन? के तिनीहरू केवल नम्र भई समर्पित हुनुपर्ने? शैतानले हजारौँ सालदेखि मानवजातिलाई भ्रष्ट तुल्याउँदै र हानि गर्दै आएको छ। विश्‍वासीहरूले सत्यता बुझेपछि, सचेत रहनुपर्छ, शैतानको प्रतिकार गर्नुपर्छ, यसलाई खुलासा गर्नुपर्छ, घृणा गर्नुपर्छ र त्याग्‍नुपर्छ। यो सामान्य मानवता हो, र यसलाई स्वर्गद्वारा आज्ञा गरिएको र पृथ्वीद्वारा स्विकारिएको छ। सामान्य मानवताले गर्न सक्नुपर्ने असल र धार्मिक कार्य यही हो, अनि परमेश्वर यसको प्रशंसा गर्नुहुन्छ।

जुनै कोणबाट हेरे पनि, नैतिक आचरणसम्बन्धीको “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नू,” भन्‍ने भनाइ एकदमै अमानवीय र घृणित छ। यसले शासितवर्गलाई कुनै अन्यायपूर्ण व्यवहारको प्रतिरोध नगर्नू—तिनीहरूको निष्ठा, मानमर्यादा र मानव अधिकारप्रति कुनै आक्रमण, उपहास, वा चोट पुऱ्याए पनि—बरु विनम्र भई त्यो स्विकार्नू भन्छ। तिनीहरूले बदला लिनु हुँदैन वा घृणा गर्नेबारे सोच्नु हुँदैन, झन् प्रतिशोध लिने कुरा त परै जाओस्, तर जहाँ सम्भव छ त्यहाँ नरम बनेको सुनिश्चित गर्नैपर्छ। के यो अमानवीय होइन र? एकदमै स्पष्ट छ, यो अमानवीय हो। शासित वर्ग अर्थात् साधारण मानिसहरूले यो सब गर्नुपर्ने र आफू यस प्रकारको नैतिक आचरणअनुसार चल्नुपर्ने कुरालाई विचार गर्दा, के शासकवर्गको नैतिक आचरण यो मापदण्डभन्दा बढी हुनु पर्दैन र? के यो झनै तिनीहरूले गर्नुपर्ने कुरा हो? के तिनीहरूले यो गरेका छन्? के तिनीहरू यो गर्न सक्छन्? के तिनीहरूले आफूलाई नियन्त्रण र मापन गर्न यो भनाइ प्रयोग गरे? के तिनीहरूले यो भनाइलाई आफ्ना मानिसहरू, आफूले शासन गर्ने मानिसहरूसँग व्यवहार गर्दा प्रयोग गरे? (गरेनन्।) तिनीहरूले यो कहिल्यै गरेका छैनन्। तिनीहरू मानिसहरूलाई यो समाज, यो देश वा शासकवर्गलाई वैरी नठान्नू भनेर मात्र भन्छन्, अनि तिनीहरूले समाज वा आफ्नो समुदायमा जस्तोसुकै अन्यायपूर्ण व्यवहार भोगे पनि, र तिनीहरूले शारीरिक, मानसिक र आत्मिक रूपमा जति नै कष्ट भोगे पनि, जहाँ सम्भव छ त्यहाँ नरम हुन सिक्नैपर्छ। त्यसको विपरीत, यदि साधारण मानिसहरू—तिनीहरूको नजरमा सर्वसाधरण—ले तिनीहरूलाई “अहँ,” भन्यो वा शासकवर्गको हैसियत, शासन र अख्तियारबारे असहमत राय राख्यो वा आवाज उठायो भने, उनीहरूलाई कडिकडाइका साथ नियन्त्रित गरिन्छ, र कठोर सजायसमेत दिइन्छ। के “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नू” भन्‍ने भनाइलाई समर्थन गर्ने शासकवर्गले मानिसहरूप्रति राख्नुपर्ने नैतिक आचरण यही हो? यदि शासितवर्गका साधारण मानिसहरूमाझ अलिकति पनि समस्या वा अलिकति पनि हेरफेर भयो, वा यदि मानिसहरूले अलिकति पनि विरोधी सोच राख्यो भने, त्यसलाई तुरुन्तै दबाइन्छ। तिनीहरू मानिसहरूको हृदय र मनलाई नियन्त्रण गर्छन्, अनि मानिसहरूलाई कुनै सम्झौता नगरी आफ्नो कुरा मान्‍न बाध्य पार्छन्। यो त यी भनाइहरूजस्तो हो, “राजाले भारदारलाई मर्ने आज्ञा दिँदा, ऊसँग मर्नुको विकल्प हुँदैन,” र “आकाशले ढाकेका सबै जमिन राजाकै हो, संसारका सबै मानिस राजाका मोही हुन्।” आखिर, शासकले जे गर्छ त्यो सही हुन्छ, र मानिसहरू उसको छलमा पर्नुपर्छ, ऊबाट नियन्त्रित हुनुपर्छ, ऊबाट अपमानित हुनुपर्छ, उसको खेलबाडमा पर्नुपर्छ, ऊबाट कुल्चिमिल्ची हुनुपर्छ, र अन्त्यमा उसको हातबाट नष्ट हुनुपर्छ; अनि शासकवर्गले जे गरे पनि, तिनीहरू सही हुन्छन्, र मानिसहरू जीवित रहिञ्जेल, उनीहरू आज्ञाकारी नागरिक बन्नैपर्छ, अनि राजाप्रति पटक्कै अवफादार हुनु हुँदैन। राजा जति नै खराब भए पनि, उसको शासन जति नै खराब भए पनि, साधारण मानिसहरूले “अहँ,” भन्नै हुँदैन र प्रतिरोध गर्ने सोचाइ राख्नै हुँदैन, अनि पूर्णतया आज्ञापालन गर्नैपर्छ। “संसारका सबै मानिस राजाका मोही हुन्,” भन्नुको अर्थ राजाले शासन गर्ने साधारण मानिसहरू उसका मोही हुन् भन्‍ने हो, त्यसैले के राजाले “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नू” भन्‍ने भनाइको सन्दर्भमा ती साधारण मानिसहरूप्रति उदाहरण कायम गर्नु पर्दैन र? साधारण मानिसहरू मूर्ख, अज्ञानी, अनभिज्ञ र कानुन नबुझ्ने हुने भएकोले प्रायः केही गैरकानुनी र आपराधिक कामकुरा गर्छन्। त्यसैले, के राजाले नै सबैभन्दा पहिला “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नू” भन्‍ने भनाइ लागू गर्नु पर्दैन र? आफ्ना छोराछोरीसँग नरम भएजस्तै साधारण मानिसहरूसँग नरम हुनु—के राजाले गर्नुपर्ने त्यही होइन? के राजामा पनि यस्तो उदारता हुनु पर्दैन र? (पर्छ।) त्यसोभए, के उसले आफूबाट यो माग गर्छ? (गर्दैन।) जब राजाहरूले धार्मिक विश्‍वासलाई दबाउने आदेश दिए, तब के तिनीहरूले आफूबाट “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नू” भन्‍ने भनाइ पालन गर्ने माग गरे? तिनीहरूका सैनिक र प्रहरी बलले इसाईहरूलाई क्रूरतापूर्वक सताउँदा र यातना दिँदा, के तिनीहरूले आफ्नो सरकारलाई “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नू” भनाइ पालन गर्नू भनेर भने? तिनीहरूले आफ्नो सरकार वा आफ्नो प्रहरी बललाई त्यसो गर्नू कहिल्यै भनेनन्। बरु, तिनीहरूले सरकार र प्रहरी बललाई कडाइका साथ धार्मिक विश्‍वासलाई दबाउनू भनेर जोर दिए र बाध्य पारे, अनि “तिनीहरूलाई सजाय नदिई कुटेर मार्नू” र “तिनीहरूलाई गुपचुपमा खतम गर्नू” भन्‍ने जस्ता आदेशहरूसमेत दिए, जसले यो दुष्ठ संसारका राजाहरू दियाबलस हुन्, तिनीहरू दियबालस राजा हुन्, तिनीहरू शैतान हुन् भन्‍ने देखाउँछ। तिनीहरू अधिकारीहरूलाई चाहिँ आगो बाल्न दिन्छन्, तर मानिसहरूलाई दियो बाल्नसमेत दिँदैनन्। मानिसहरूले तिनीहरूविरुद्ध आवाज उठाउलान् भन्‍ने डरले तिनीहरू नैतिक आचरणसम्बन्धी यी पारम्परिक भनाइहरू मानिसहरूलाई नियन्त्रण गर्न र सीमित पार्न प्रयोग गर्छन्। त्यसैले, शासकवर्गले मानिसहरूलाई छल गर्न नैतिक आचरणसम्बन्धी सबै प्रकारका भनाइहरू प्रयोग गर्छन्। तिनीहरूको एउटै उद्देश्य भनेको मानिसहरूको हातखुट्टा जकड्नु र बाँध्नु हो, जसले गर्दा मानिसहरू तिनीहरूको शासनप्रति समर्पित हुनेछन्, र तिनीहरूको प्रतिरोध गर्नैछैनन्। तिनीहरू नैतिक आचरणसम्बन्धी यी सिद्धान्तहरू मानिसहरूलाई आँखामा छारो हालेर मूर्ख बनाउन र छल्न प्रयोग गर्छन्, ताकि तिनीहरू झुक्न र आज्ञाकारी नागरिक बन्‍न सकून्। शासकवर्गले जति नै जोगिएर मानिसहरूलाई कुल्चिमिल्ची गरे पनि, जति नै दमन र शोषण गरे पनि, मानिसहरू यसप्रति नम्र भई समर्पित हुन मात्र सक्छन्, र पटक्कै विरोध गर्न सक्दैनन्। मृत्युको मुखमा पर्दासमेत, मानिसहरू भाग्‍ने निर्णय मात्र गर्न सक्छन्। तिनीहरू विरोध गर्न सक्दैनन्, न त प्रतिरोध गर्ने सोचाइ नै राख्न सक्छन्। उनीहरूले आफू आज्ञाकारी नागरिक हुन्, आफू सधैँ राजाको शासनप्रति समर्पित र राजाप्रति सदाका लागि वफादार रहनेछन् भनेर देखाउन कोदालो र हँसियालाई हेर्न वा तिनलाई आफूसँग राख्नसमेत सक्दैनन्, न त कर्दा र नेलकटरसमेत बोक्न सक्छन्। उनीहरूको वफादारिता कुन हदसम्मको हुनुपर्छ? कसैले यसो भन्‍ने आँट गर्दैनन्, “हामीले मान्छे भएर हाम्रा राजालाई रेखदेख गर्न र नियन्त्रण गर्न पारम्परिक संस्कृतिका विचार र दृष्टिकोणहरू प्रयोग गर्नैपर्छ,” अनि राजाले खराबी गर्दै गरेको भेट्टाउँदा अलिकति पनि बेग्लै राय राख्ने आँट कसैले गर्दैन, नत्र उनीहरू मारिनेछन्। एकदमै स्पष्ट छ, शासकले आफूलाई मानिसहरूको राजा मात्र ठान्‍ने होइन, तर मानिसहरूको सार्वभौम र नियन्त्रक पनि ठान्छ। चिनियाँ इतिहासमा, यी सम्राटहरूले आफूलाई “तियान्जी” भन्थे। “तियान्जी” को अर्थ के हो? यसको अर्थ हो, दिव्य स्वर्गको छोरो, वा सङ्क्षेपमा “स्वर्गको छोरो”। किन तिनीहरूले आफूलाई “पृथ्वीको छोरो” भनेनन्? यदि तिनीहरू पृथ्वीमा जन्मेका भए, पृथ्वीको छोरो हुनुपर्ने हो, अनि तिनीहरू स्पष्टतः पृथ्वीमा जन्मेका हुनाले, किन आफूलाई “स्वर्गको छोरो” भन्छन् त? तिनीहरूले आफूलाई स्वर्गको छोरो भन्नुको उद्देश्य के थियो? के तिनीहरू सबै जीवित प्राणीलाई र यी सर्वसाधारणलाई तुच्छ ठान्‍न चाहन्थे? तिनीहरूको शासन गर्ने शैलीको पहिलो उद्देश्य मानिसहरूलाई आफ्नो शक्ति र हैसियतद्वारा नियन्त्रण गर्नु थियो। भन्नुको अर्थ, तिनीहरूले सत्ता सम्हालेर सम्राट बनेपछि, मानिसहरूलाई बेवास्ता गर्न केही जस्तो मानेनन्, र मानिसहरू अलिकति अट्टेरी देखाएमा मारिने खतरामा परे। त्यसरी यो “स्वर्गको छोरो” भन्‍ने उपाधि अस्तित्वमा आयो। यदि सम्राटले आफूलाई पृथ्वीको छोरो भनेको भए, उसको हैसियत तुच्छ देखिनेथियो, र उसले राजामा हुनुपर्ने दाबी गरेको महिमा ऊसँग हुनेथिएन, न त उसले शासितवर्गलाई धम्काउन नै सक्थ्यो। त्यसैले, उसले अघाडी बढ्दै आफूलाई स्वर्गको छोरो भनी दाबी गऱ्यो र स्वर्गको प्रतिनिधित्व गर्न चाह्यो। के उसले स्वर्गको प्रतिनिधित्व गर्न सक्थ्यो? के ऊसँग सार थियो? यदि कसैले स्वर्गको प्रतिनिधित्व गर्छु भनेर जिद्दी गर्छ र यसो गर्ने ऊसँग सार छैन भने, त्यो नाटक गर्नु हो। एकातर्फ, यी शासकहरू स्वर्ग र परमेश्‍वरलाई वैरी ठान्छन्, तर अर्कोतर्फ तिनीहरू आफ्नो शासनलाई सहज बनाउन आफू स्वर्गको छोरो भएको, र आफूलाई स्वर्गले आदेश दिएको नाटक गर्छन्। यी तथ्यहरूलाई हेर्दा, नैतिक आचरणसम्बन्धी यी विभिन्‍न भनाइहरूको उद्देश्य मानिसहरूको सामान्य सोचाइलाई सीमित पार्नु, तिनीहरूको हातखुट्टा बाँध्नु, तिनीहरूको व्यवहारलाई सीमित पार्नु, अनि सामान्य मानवताको दायराभित्र तिनीहरूको सोच, दृष्टिकोण र प्रकटीकरणहरूलाई समेत सीमित पार्नु हो। यसको जडलाई हेर्दा, तिनको उद्देश्य असल सामाजिक रीतिरिवाज र सामाजिक नैतिकता निर्माण गर्नु हो। निश्चय नै, तिनले पनि यो परिणाम हासिल गरेर शासकवर्गको लामो समयसम्म सासन गर्ने महत्त्वाकाङ्क्षालाई पूरा गर्छन्। तर तिनीहरूले जसरी शासन गरे पनि, आखिर पीडित त मानवजाति नै हुन्छ। मानवजातिलाई पारम्परिक संस्कृतिका यी विभिन्‍न विचार र दृष्टिकोणहरूले सीमित पारेका र प्रभावित गरेका छन्। मानिसहरूले सुसमाचार सुन्‍ने र परमेश्‍वरको मुक्ति ग्रहण गर्ने अवसर गुमाएका मात्रै होइनन्, तर सत्यता खोज्ने र जीवनको सही मार्गमा हिँड्ने अवसर पनि गुमाएका छन्। त्यसबाहेक, शासकहरूको नियन्त्रणमा, मानिसहरूसँग शैतानबाट आउने धेरै प्रकारका विष, झूटो शिक्षा र भ्रम, अनि अन्य नकारात्मक कुराहरू स्विकार्नुबाहेक अर्को विकल्प छैन। मानव इतिहासको विगत केही हजार वर्षदेखि, शैतानले ज्ञान फैलाएर र विभिन्‍न वैचारिक सिद्धान्तहरू प्रचार गरेर मानवजातिलाई शिक्षा दिँदै, सिकाउँदै, र छल गर्दै आएको छ, परिणामस्वरूप मानिसहरूको पुस्तौँ पुस्तालाई यी विचार र दृष्टिकोणहरूले प्रभाव र सीमित पारेका छन्। अवश्य नै, शैतानबाट आउने यी विचार र दृष्टिकोणको प्रभावले गर्दा मानिसहरूको भ्रष्ट स्वभाव तीव्र र झन् गम्भीर भएको छ। भन्नुको अर्थ, यस आधारमा मानिसहरूको भ्रष्ट स्वभाव फस्टाएको छ र “उदात्त” बनेको छ, अनि मानिसहरूको हृदयमा गहिरो जरा गाढेर बसेको छ, जसले गर्दा उनीहरू परमेश्‍वरलाई इन्कार गर्छन्, परमेश्‍वरको प्रतिरोध गर्छन्, र पापको गहिराइमा भाँसिन्छन्, जहाँबाट उनीहरू निस्कन सक्दैनन्। नैतिक आचरणसम्बन्धी यो भनाइ—“ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्नू”—को निर्माण, साथै यो मापदण्डलाई अघि सार्नुको उद्देश्य, नैतिक आचरणसम्बन्धी यो भनाइ बनिएपछि मानिसहरूमा पुगेको हानि, र अन्य विभिन्‍न पक्षहरूको सन्दर्भमा भन्नुपर्दा, हामी अहिले यी कुराबारे सङ्गति गर्नेछैनौँ, र तिमीहरू पछि आफै यसबारे थप मनन गर्ने समय निकाल्न सक्छौ।

पारम्परिक संस्कृतिको नैतिक आचरणसम्बन्धी भनाइहरू चिनियाँ मानिसहरूका लागि नौलो कुरा होइनन्, तर यी कुराले मानिसहरूलाई रातारात प्रभाव पार्दैनन्। तँ यस्तो सामाजिक वातावरणमा जिउँछस्, तैँले पारम्परिक संस्कृति र नैतिकताको पक्षसम्बन्धी यस्तो वैचारिक शिक्षा प्राप्त गरेको छस्, अनि तँ यी कुरासँग परिचित छस्, तर यी कुराले ठूलो नकारात्मक प्रभाव पार्न सक्छ भन्‍ने तँलाई कहिल्यै लागेको छैन। यी कुराले तँलाई परमेश्‍वरमा विश्‍वास गर्न, सत्यता पछ्याउन र सत्यताको वास्तविकतमा प्रवेश गर्नेदेखि कति धेरै बाधा दिनेछन्, वा तिनले तँ हिँड्ने भावी मार्गमा कति धेरै प्रभाव पार्नेछन् वा अवरोध खडा गर्नेछन्? के तँलाई यी कुराहरू थाहा छ? तिमीहरूले पारम्परिक संस्कृतिले मानवजातिलाई शिक्षा दिनमा खेल्ने भूमिका, वास्तवमा यो के हो, र मानिसहरूले कसरी यसलाई सही तरिकामा सम्हाल्नुपर्छ भनेर राम्ररी बुझ्न, आज हामीले सङ्गति गरेका विषयहरूलाई थप मनन गरेर बुझ्नुपर्छ। हामीले माथि सङ्गति गरेका यी वचनहरू तिमीहरूले पारम्परिक संस्कृतिका कुराहरू बुझ्नका लागि सहयोगी र उपयोगी हुनेछन्। अवश्य नै, यो बुझाइ पारम्परिक संस्कृति बुझ्नु मात्र होइन, तर मानवजातिप्रति शैतानको भ्रष्टता, अनि शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउन चलाउने विभिन्‍न तरिका र माध्यम, यसले मानिसहरूको मनमा हालिदिने निर्दिष्ट विभिन्‍न दृष्टिकोणसमेत, साथै विभिन्‍न तरिका, माध्यम, हेराइ, दृष्टिकोण इत्यादिबारे बुझ्नु पनि हो, जसद्वारा यसले संसार र मानवजातिसँग व्यवहार गर्छ। पारम्परिक संस्कृतिका कुराहरूलाई राम्ररी बुझेपछि, तिमीहरूले पारम्परिक संस्कृतिका विभिन्‍न भनाइ र दृष्टिकोणलाई हटाउने र इन्कार गर्ने मात्र गर्नु हुँदैन। बरु, तिमीहरूले पालन र समर्थन गर्ने नैतिक आचरणसम्बन्धी भनाइहरूले तँमाथि हानि, बाधा र बन्धनको कस्तो कष्ट ल्याउँछन्, अनि तिनले तैँले आफूलाई व्यवहारमा ढाल्ने, साथै तैँले परमेश्‍वरका वचन स्विकार्ने र सत्यता पछ्याउनेबारे तेरो सोचाइ र दृष्टिकोणलाई असर गर्न अनि बाधा र अडचन ल्याउन कस्तो भूमिका खेल्छन्, त्यसरी तँलाई सत्यता पछ्याउन, यसलाई बुझ्न, यसलाई अभ्यास गर्न, अनि परमेश्‍वरको आज्ञा पूर्णतया पालन गर्न ढिलाइ हुन्छ भनेर अझ निर्दिष्ट रूपमा बुझ्नु र विश्लेषण गर्नुपर्छ। मानिसहरूले मनन गर्नुपर्ने र थाहा पाउनुपर्ने कुरा यिनै हुन्। तिमीहरूले तिनलाई पन्छाउने वा इन्कार गर्ने मात्र गर्नु हुँदैन, तिमीहरूले तिनलाई राम्ररी चिन्‍न र बुझ्न सक्नैपर्छ, ताकि तिमीहरूले पारम्परिक संस्कृतिका यी देखावटी र भ्रमाउने कुराबाट आफ्नो मनलाई पुरै मुक्त गर्न सकून्। नैतिक आचरणसम्बन्धी कतिपय भनाइहरूले तँमा गहिरो जरा गाढेका हुँदैनन्, तर ती तेरो सोचाइ र धारणामा कहिलेकाहीँ आफै प्रकट हुन्छन् भने पनि, तिनले तँलाई क्षणिक समयको लागि वा एउटा घटनामा बाधा दिन सक्छन्। यदि तैँले तिनलाई स्पष्टसँग चिन्‍न सकिनस् भने, अझै पनि कतिपय भनाइ र दृष्टिकोणलाई निकै सकारात्मक वा सत्यताको नजिक कुरा ठान्छस्, र यो एकदमै कष्टप्रद कुरा हो। नैतिक आचरणसम्बन्धी निश्चित भनाइहरू तँलाई भित्रभित्र निकै मन पर्छ। तँ हृदयमा ती भनाइसित सहमत मात्र हुँदैनस्, तर तँलाई ती सार्वजनिक रूपमा सुनाउन सकिन्छ, मानिसहरूले ती सुन्‍न रुचि लिनेछन्, र तिनीहरूले तिनलाई सकारात्मक कुराको रूपमा लिनेछन् भन्‍ने पनि लाग्छ। निस्सन्देह, यी भनाइहरू त्याग्‍न तँलाई सबैभन्दा गाह्रो लाग्छ। तैँले तिनलाई सत्यताको रूपमा नस्विकारे पनि, तैँले भित्रभित्र आफ्नो मनमा तिनलाई सकारात्मक कुरा मान्छस्, र तिनले तेरो हृदयमा थाहै नपाई जरा गाढ्छन् र ती तेरो तेरो जीवन बन्छन्। तैँले परमेश्‍वरमा विश्‍वास गरेपछि र परमेश्‍वरद्वारा व्यक्त सत्यता स्विकारेपछि, स्वभाविकतः यी कुराहरू तँलाई सत्यता स्विकार्नदेखि बाधा दिन र रोक्न प्रकट हुनेछन्। यी नै सब कुराले मानिसहरूलाई सत्यता पछ्याउन रोकावट ल्याउँछन्। यदि तैँले तिनलाई स्पष्टसँग चिन्‍न सकिनस् बने, यी कुरालाई सजिलै सत्यता ठान्‍न र सत्यताको दर्जामा राख्न सकिन्छ, जसले गर्दा मानिसहरूमा केही नकारात्मक प्रभाव पर्न सक्छ। तैँले यी भनाइहरू—जस्तै “टिपेको पैसा खल्ती नराख्नू,” “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” र “आफूलाई कडाइ गर्नू र रूलाई सहनू”—लाई सत्यताको रूपमा लिएको छैनस् होला, अनि तैँले तिनलाई आफ्नो नैतिक आचरण नाप्ने मापन ठान्दैनस् होला, र आफूलाई व्यवहारमा ढाल्ने लक्ष्यको रूपमा तिनको पछि लाग्दैनस् होला, तर यसको अर्थ तँलाई पारम्परिक संस्कृतिले प्रभाव पारेको र भ्रष्ट तुल्याएको छैन भन्‍ने होइन। यस्तो पनि हुन सक्ला, तैँले टिपेको पैसा राखे पनि नराखे पनि, वा अरूलाई सहयोग गर्दा आनन्द मिले पनि नमिले पनि, जबसम्म त्यो वास्ता गर्दैनस्, तँ सानातिना कुराहरूप्रति उदासीन व्यक्ति होस्। तर तैँले एउटा कुरा बुझ्नुपर्छ र त्यसबारे स्पष्ट हुनुपर्छ: तँ यस्तो सामाजिक वातावरणमा अनि पारम्परिक, सांस्कृतिक र वैचारिक शिक्षाको प्रभावमा जिउँछस्, त्यसैले तैँले मानवजातिले समर्थन गर्ने यी भनाइहरू अनिवार्य रूपमा पछ्याउनेछस्, र कम्तीमा तीमध्ये केहीलाई आफ्नो नैतिक आचरण नाप्ने मानकको रूपमा अपनाउनेछस्। यो तैँले होसियारीसाथ मनन गर्नुपर्ने कुरा हो। यस्तो पनि हुन सक्ला, तँ “टिपेको पैसा खल्तीमा नराख्‍नू” वा “अरूलाई सहयोग गर्दा आनन्द मिल्छ” भन्‍नेजस्ता भनाइहरूलाई नैतिक आचरण नाप्ने मानकको रूपमा अपनाउँदैनस्, तर तँ आफ्नो हृदयमा “म साथीको लागि गोली खान पनि तयार छु” भन्‍नेजस्ता अरू भनाइहरू विशेष गरी उच्च छन् भन्‍न सोच्छस्, र ती तेरो जीवनमा प्रभाव पार्ने सिद्धान्त बनेका छन्, वा तैँले मानिसहरू र कामकुरालाई हेर्ने अनि आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने सबैभन्दा उच्च मापदण्ड बनेका छन्। यसले के देखाउँछ? तैँले हृदयमा जानाजानी पारम्परिक संस्कृतिलाई सम्मान वा पालन नगरे पनि, तेरो व्यवहारको सिद्धान्त, तैँले आफूलाई व्यवहारमा ढाल्ने तरिका, र तेरो जीवन लक्ष्य, साथै तैँले पछ्याउने जीवन लक्ष्यका सिद्धान्त, आधाररेखा र मतहरू पारम्परिक संस्कृतिबाट पटक्कै मुक्त हुँदैनन्। तिनीहरू मानिसहरूले पालन गर्ने परोपकार, धार्मिकता, सद्‌व्यवहार, बुद्धि र विश्‍वसनीयताको मूल्यमान्यता वा मानिवजातिले समर्थन गर्ने नैतिक आचरणका केही सिद्धान्तहरूबाट मुक्त भएका छैनन्—तँ यी बन्धनहरूबाट फिटिक्कै मुक्त भएको छैनस्। स्पष्टसँग भन्नुपर्दा, यदि तँ भ्रष्ट मानिस, जीवित मानव होस् र मानव संसारको खानेकुरा खान्छस् भने, तैँले पछ्याउने व्यवहार र जीवनका सिद्धान्तहरू पारम्परिक संस्कृतिबाट आउने नैतिक आचरणका सिद्धान्त र मतबाहेक अरू केही होइनन्। मैले बताउने यी वचनहरू र मैले खुलास गर्ने यी समस्याहरूलाई तिमीहरूले बुझ्नुपर्छ। यसबाहेक, सायद तँ आफूमा यी समस्याहरू छैनन् भन्‍ने सोच्छस्, त्यसैले मैले भन्‍ने कुरालाई वास्ता गर्दैनस्। तथ्य के हो भने, तैँल महसुस गरे पनि वा नगरे पनि, सबै मानिसमा विभिन्‍न हदमा यी समस्याहरू हुन्छन्, अनि यो परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउनेहरूले होसियारीसाथ मनन गर्नुपर्ने र बुझ्नुपर्ने कुरा हो।

हामीले भर्खरै “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ; जहाँ सम्भव हुन्छ, त्यहाँ नरम बन्‍नू,” भन्‍ने भनाइ मानवजातिको नैतिक आचरणको लागि तोकिएको मापदण्ड हो भनेर भन्यौँ। हामीले यस भनाइका केही समस्याहरू र यसले मानवजातिमाथि पारेका प्रभावहरू विश्‍लेषण पनि गरेका छौँ। यसले मानवजातिलाई केही अस्वस्थकर विचार र दृष्टिकोणहरू दिएको छ, र मानिसहरूको खोज र अस्तित्वमा केही नकारात्मक प्रभाव पारेको छ, जुन मानिसहरूलाई थाहा हुनुपर्छ। त्यसैले, विश्‍वासीहरूले मानवतामा हुने उदारता र फराकिलो मनसित सम्बन्धित समस्याहरूलाई कसरी बुझ्नुपर्छ? कसरी ती समस्याहरूलाई परमेश्‍वरको दृष्टिकोणबाट सही र सकारात्मक तरिकामा बुझ्न सकिन्छ? के यसलाई पनि बुझ्नुपर्दैन र? (पर्छ।) वास्तवमा यी कुराहरू बुझ्नु गाह्रो छैन। तैँले अडकल गर्नुपर्दैन, न त कुनै जानकारी अनुसन्धान नै गर्नुपर्छ। परमेश्‍वरले मानिसहरूमाझ बोल्नुभएका कुरा र उहाँले गर्नुभएका काम, अनि उहाँले हरप्रकारका मानिसहरूलाई व्यवहार गर्ने विभिन्‍न तरिकामा देखिएको उहाँको स्वभावबाट सिकेर नै हामीले परम्परागत संस्कृतिका यी भनाइ र दृष्टिकोणबारे परमेश्‍वरको खास राय र उहाँको खास अभिप्राय के रहेछ भनेर थाहा पाउन सक्छौँ। परमेश्‍वरको अभिप्राय र दृष्टिकोणलाई हेरेपछि मानिसहरूलाई सत्यता पछ्याउने मार्ग प्राप्त भएको हुनुपर्छ। मानिसहरूले पालना गर्ने “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ” भन्‍ने भनाइको अर्थ, जब व्यक्तिको टाउको काटेर भुईंमा खस्छ, तब त्यो मामिला समाप्त हुन्छ र थप यसको पछि लाग्‍नु पर्दैन भन्‍ने हो। के यो एक खालको दृष्टिकोण होइन र? के यो मानिसहरूमाझ प्रायः भइरहने दृष्टिकोण होइन र? यसको अर्थ, व्यक्ति आफ्नो भौतिक जीवनको अन्त्यमा पुगेपछि, त्यो जीवन पूरा र समाप्त हुन्छ भन्‍ने हो। त्यसपछि तुरुन्तै, त्यो व्यक्तिले आफ्नो जीवनमा गरेका सबै खराब कुरा, अनि उसले अनुभव गरेका सबै प्रेम, घृणा, तृष्णा र शत्रुता समाप्त भएको घोषणा गरिन्छ, र त्यो जीवन समाप्त भएको मानिन्छ। मानिसहरू यो विश्‍वास गर्छन्, तर परमेश्‍वरको वचन र उहाँको कार्यका सबै विभिन्‍न चिन्हरूलाई हेर्दा, के यो परमेश्‍वरका कार्यहरूको सिद्धान्त हो त? (होइन।) त्यसो भए, परमेश्‍वरका कार्यहरूको सिद्धान्त के हो? परमेश्‍वरले कुन आधारमा यस्ता काम गर्नुहुन्छ? कतिपय मानिसहरू परमेश्‍वरले यस्ता काम आफ्ना प्रशासनिक आदेशहरूको आधारमा गर्नुहुन्छ भनेर विश्‍वास गर्छन्, जुन सही हो, तर यो पूर्ण व्याख्या होइन। एकातर्फ, यो काम उहाँको प्रशासनिक आदेशअनुसार हुन्छ, तर अर्कोतर्फ, उहाँ सबै प्रकारका मानिसहरूलाई आफ्नो स्वभाव र सारको आधारमा व्यवहार गर्नुहुन्छ—योचाहिँ पूर्ण व्याख्या हो। यदि कुनै व्यक्तिलाई मारियो र उसको टाउको भुईंमा खस्यो भने, के परमेश्‍वरको दृष्टिमा यस व्यक्तिको जीवन समाप्त हुन्छ? (हुँदैन।) त्यसो भए, परमेश्‍वरले कुन तरिकामा कुनै व्यक्तिको जीवन समाप्त गर्नुहुन्छ? के परमेश्‍वरले कुनै व्यक्तिसँग यसरी नै व्यवहार गर्नुहुन्छ? (गर्नुहुन्‍न।) परमेश्‍वरले कुनै व्यक्तिलाई व्यवहार गर्ने तरिका केवल उसलाई टाउको छिनाएर मार्नु र त्यो कुरालाई त्यही सक्‍नु मात्र होइन। परमेश्‍वरले मानवजातिलाई व्यवहार गर्ने तरिकामा सुरु र अन्त्य, एकरूपता र स्थिरता हुन्छ। मानव रूपमा प्राणको पुनर्जन्म भएको समयदेखि व्यक्तिको भौतिक जीवन समाप्त भई त्यो प्राण आत्मिक संसारमा फर्केको समयसम्म, यसले आत्मिक संसार वा भौतिक संसारमा जुनै मार्ग लिए पनि, यो परमेश्‍वरको रेखदेखको अधीनमा हुनैपर्छ। अन्त्यमा, यसले इनाम पाउने हो कि दण्ड, त्यो परमेश्‍वरको प्रशासनिक आदेशमा निर्भर हुन्छ, र यसमा स्वर्गीय नियमहरू हुन्छन्। यसको अर्थ, परमेश्‍वरले कुनै व्यक्तिलाई व्यवहार गर्ने तरिका उहाँले उसको लागि तोक्‍नुभएको पूर्ण जीवन नियतिमा निर्भर हुन्छ। व्यक्तिको नियति समाप्त भएपछि, उसलाई परमेश्‍वरले तय गर्नुभएको दुष्टलाई सजाय र असललाई इनाम दिइने व्यवस्था र स्वर्गीय नियमहरूको आधारमा व्यवहार गरिन्छ। यदि यस व्यक्तिले संसारमा धेरै दुष्टता गरेको छ भने, धेरै सजाय पाउनुपर्छ; यदि उसले त्यति दुष्टता गरेको छैन र केही सुकर्महरूसमेत गरेको छ भने, उसले इनाम पाउनुपर्छ। उसले पुनर्जन्म लिइरहन सक्छ कि सक्दैन र उसको पुनर्जन्म मानवको रूपमा हुन्छ कि पशुको रूपमा, त्यो उसले यो जीवनमा गरेको कार्यमा निर्भर हुन्छ। किन म यी कुराहरूबारे सङ्गति गर्दै छु? किनभने “ज्यान लिएर केही पाइँदैन, सजाय मात्र पाइन्छ,” भन्‍ने भनाइमा “जहाँ सम्भव हुन्छ, त्यहाँ नरम बन्‍नू” भन्‍ने अर्को वाक्यांश जोडिएको छ। परमेश्‍वरले यस्तो तरिकामा बोल्‍ने वा काम गर्ने गर्नुहुन्‍न जसले परिस्थिति सुधार्न सिद्धान्तहीन प्रयास गर्न लगाउँछ। परमेश्‍वरका कार्यहरू उहाँले कुनै पनि सृष्टि गरिएको प्राणीसँग सुरुदेखि अन्त्यसम्म व्यवहार गर्ने तरिकामा प्रकट हुन्छ, र यो सबैले मानिसहरूलाई मानवको नियति, यसको योजना र बन्दोबस्त गर्ने, त्यसपछि व्यक्तिको व्यवहारअनुसार दुष्टलाई दण्ड र असललाई इनाम दिने, र दिनुपर्ने ठाउँमा दण्ड दिने कुरामा परमेश्‍वरकै सार्वभौमिकता हुन्छ भनेर स्पष्टसँग बुझ्न सक्षम बनाउँछ। परमेश्‍वरले तोक्‍नुभएअनुसार, कुनै व्यक्तिलाई कति वर्ष र कति पुनर्जन्मसम्म दण्ड दिइनुपर्छ भन्‍ने कुरा उसले कति दुष्टता गरेको छ, त्यसमा निर्भर हुन्छ, र यसलाई आत्मिक संसारले स्थापित नियमअनुसार कुनै विचलनबिना लागू गर्छ। यसलाई कसैले परिवर्तन गर्न सक्दैन, अनि यसो गर्ने जोकोहीले परमेश्‍वरले तय गर्नुभएका स्वर्गीय नियमहरू उल्लङ्घन गर्छ, र उसलाई बिनाकुनै अपवाद दण्ड दिइनेछ। परमेश्‍वरको दृष्टिमा, यी स्वर्गीय नियमहरू उल्लङ्घन गर्न सकिँदैन। यसको अर्थ के हो? यसको अर्थ हो, कुनै व्यक्तिले चाहे जुनै दुष्कर्म गरेको होस् वा जुनै स्वर्गीय नीतिनियमहरू उल्लङ्घन गरेको होस्, अन्त्यमा उसलाई कुनै सम्झौता नगरी कार्बाही गरिन्छ। संसारका कानुनहरूको विपरीत—जहाँ सजायहरू स्थगित गरिन्छ, वा कसैले मध्यस्थता गर्न सक्छ, वा न्यायधीशले आफ्नै झुकावहरू पछ्याएर जहाँ सम्भव हुन्छ त्यहाँ नरम हुँदै दया देखाउन सक्छ, त्यसले गर्दा व्यक्ति अपराधको दोषी ठहरिनेछैन र उसले पाउनुपर्ने दण्ड पाउनेछैन—आत्मिक संसारमा यस्तो हुँदैन। परमेश्‍वरले सृष्टि गरिएको प्रत्येक प्राणीको विगत र वर्तमान जिवनलाई पुराको पुरा आफूद्वारा स्थापित नियमहरू अर्थात् स्वर्गका नियमहरूअनुसार व्यवहार गर्नुहुनेछ। व्यक्तिको अपराध जतिसुकै गम्भीर वा नगण्य भए पनि, वा उसको काम जति नै महान् वा महत्त्वहीन भए पनि, केही फरक पर्दैन, न त व्यक्तिको अपराध वा असल काम जति नै लामो समयदेखि भइरहेको भए पनि वा ती जति नै अघि घटित भएको भए पनि, कुनै फरक नै पर्छ। यो कुनै कुराले पनि आफूले सृष्टि गरेका मानिसहरूलाई व्यवहार गर्ने सृष्टिको प्रभुको तरिकालाई परिवर्तन गर्दैन। भन्‍नुको अर्थ, परमेश्‍वरद्वारा निर्मित स्वर्गीय नियमहरू कहिल्यै परिर्तन हुनेछैनन्। यो परमेश्‍वरका कार्यहरूपछाडि रहेको सिद्धान्त र उहाँले कामकुरा गर्ने तरिका हो। मानवजाति अस्तित्वमा आएपछि परमेश्‍वरले उनीहरूमाझ काम गर्न थाल्नुभएदेखि नै, उहाँद्वारा निर्मित प्रशासनिक आदेशहरू अर्थात् स्वर्गका नियमहरू परिवर्तन भएका छैनन्। तसर्थ, परमेश्‍वरसँग अन्ततः मानवजातिको अपराध, सुकर्म र सबै प्रकारका दुष्कर्महरूलाई सम्हाल्ने तरिकाहरू हुनेछन्। सृष्टि गरिएका सबै प्राणीले नै आफ्नो कार्य र व्यवहारको तिर्नुपर्ने मूल्य तिर्नैपर्छ। तथापि, परमेश्‍वरले सृष्टि गरिएको हरेक प्राणीलाई उहाँ मानिसहरूलाई घृणा गर्नुहुने भएकोले नभई, उहाँप्रति तिनीहरू अनाज्ञाकारी भएकोले, दुष्कर्म गरेकोले, र अपराध गरेकोले दण्ड दिनुहुन्छ। परमेश्‍वर मानव प्रजातिका सदस्य हुनुहुन्‍न। परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, सृष्टिका प्रभु हुनुहुन्छ। सृष्टि गरिएका सबै प्राणीले नै तिनीहरूलाई सृष्टिका प्रभुले घृणा गर्नुभएकोले होइन, बरु तिनीहरूले स्वर्गीय नीतिनियम, प्रावधान, विधान र परमेश्‍वरद्वारा स्थापित आज्ञाहरू उल्लङ्घन गरेको कारण दण्ड पाउँछन्, अनि यो तथ्यलाई कसैले परिवर्तन गर्न सक्दैन। यस दृष्टिकोणबाट हेर्दा, परमेश्‍वरको नजरमा “जहाँ सम्भव हुन्छ, त्यहाँ नरम बन्‍नू” भन्‍नेजस्तो कुनै कुरा कहिल्यै हुँदैन। मैले भनिरहेको कुरा तिमीहरू पुरै बुझ्दैनौ होला, तर परिस्थिति जे भए पनि अन्तिम उद्देश्यचाहिँ परमेश्‍वरसँग घृणा छैन, केवल स्वर्गका नियमहरू, प्रशासनिक आदेशहरू, नियम-व्यवस्थाहरू, उहाँको स्वभाव, अनि उल्लङ्घन नसहने उहाँको क्रोध र प्रताप छन् भनेर तँलाई थाहा दिनु हो। त्यसैले, परमेश्‍वरको नजरमा “जहाँ सम्भव हुन्छ, त्यहाँ नरम बन्‍नू” भन्‍नेजस्तो कुनै कुरा नै छैन। तैँले जहाँ सम्भव हुन्छ त्यहाँ नरम हुनुपर्ने मापदण्डद्वारा परमेश्‍वरलाई मापन गर्नु हुँदैन, न त उहाँलाई यो मापदण्डअनुसार सूक्ष्म जाँचको कसीमा राख्‍नु नै हुन्छ। “परमेश्‍वरलाई सूक्ष्म जाँचको कसीमा राख्‍नु” को अर्थ के हो? यसको अर्थ हो, कहिलेकाहीँ परमेश्‍वरले मानिसहरूलाई कृपा र सहनशीलता देखाउनुहुँदा, कतिपयले भन्‍नेछन्, “हेर त, परमेश्‍वर असल हुनुहुन्छ, परमेश्‍वर मानिसहरूलाई प्रेम गर्नुहुन्छ, उहाँ जहाँ सम्भव हुन्छ, त्यहाँ नरम बन्‍नुहुन्छ, उहाँ मानवजातिप्रति साँच्चै सहनशील हुनुहुन्छ, परमेश्‍वरको मन सबैभन्दा फराकिलो छ, उहाँको मन मानवजातिको मनभन्दा धेरै फराकिलो र राजाको मनभन्दा पनि ठूलो छ!” के त्यसो भन्‍नु सही हो? (होइन।) यदि तैँले परमेश्‍वरलाई यसरी प्रशंसा गरिस् भने, के यो भन्‍नु उचित कुरा हो? (होइन्, यो अनुचित हो।) यस प्रकारको बोली गलत छ र यसलाई परमेश्‍वरप्रति लागू गर्नु हुँदैन। मानिसहरू आफ्नो उदारता र सहनशीलता देखाउन अनि आफू सहनशील र दिलदार, अनि उच्‍च गुणवान् व्यक्ति हो भनेर प्रदर्शन गर्न जहाँ सम्भव हुन्छ, त्यहाँ नरम बन्‍ने प्रयास गर्छन्। परमेश्‍वरको सन्दर्भमा भन्‍नुपर्दा, उहाँको सारमा कृपा र सहनशीलता छ। कृपा र सहनशीलता परमेश्‍वरका सार हुन्। तर परमेश्‍वरको सार र मानवजातिले जहाँ सम्भव हुन्छ त्यहाँ नरम बनेर देखाउने उदारता र सहनशीलता एउटै होइनन्। यी दुई बेग्लाबेग्लै कुरा हुन्। जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍ने कार्यमा, मानिहरूको उद्देश्य अरूले उनीहरूबारे राम्रो कुरा गरून्, उनीहरूमा उदारता र अनुग्रह छ, अनि उनीहरू राम्रा व्यक्ति हुन् भनेर भनून् भन्‍ने हुन्छ। त्यसबाहेक, यो बाँच्नको लागि सामाजिक दबाबको कारण पनि हुन्छ। मानिसहरू विवेकको मापदण्ड मान्‍न वा पालन गर्न होइन बरु अरूलाई तिनीहरूको मान र उपासना गर्न लगाउने उद्देश्य पूरा गर्न, वा केही अव्यक्त मानसायले वा कुनै चाल चल्न अरूप्रति अलिअलि उदारता वा अलिअलि फराकिलो मन देखाउँछन्। तिनीहरूको कार्यमा कुनै शुद्धता छैन। त्यसैले, के परमेश्‍वर जहाँ सम्भव हुन्छ त्यहाँ नरम बन्‍नेजस्ता कार्यहरू गर्नुहुन्छ त? परमेश्‍वर यस्ता कार्यहरू गर्नुहुन्‍न। कतिपय मानिसहरू भन्छन्, “के परमेश्‍वर पनि मानिसहरूप्रति नरमपन देखाउनुहुन्‍न र? त्यसैले उहाँले त्यसो गर्नुहुँदा, के उहाँ जहाँ सम्भव हुन्छ त्यहाँ नरम बनिरहनुभएको हुँदैन र?” हुँदैन, यहाँ मानिसहरूले बुझ्नुपर्ने भिन्‍नता छ। मानिसहरूले बुझ्नुपर्ने त्यो भिन्‍नता के हो? त्यो हो, मानिसहरूले “जहाँ सम्भव हुन्छ, त्यहाँ नरम बन्‍नू” भन्‍ने भनाइ लागू गर्दा, त्यो बिनाकुनै सिद्धान्त लागू गर्छन्। तिनीहरू यसो गर्छन् किनभने तिनीहरू सामाजिक दबाब र जनविचारको वशमा परिरहेका हुन्छन्, र आफू असल मानिस हुँ भनेर नाटक गर्न त्यसो गर्छन्। मानिसहरू यी अशुद्ध उद्देश्यले र आफूलाई असल मानिसको रूपमा देखाउन ढोँगको मुखौटो लगाएर मन नलागी-नलागी यस्तो गर्ने गर्छन्। अथवा सायद तिनीहरू परिस्थितिद्वारा बाध्य हुन्छन, र बदला लिन चाहन्छन् तर सक्दैनन्, अनि अर्को कुनै विकल्प नभएको यस परिस्थितिमा, तिनीहरू यो सिद्धान्त मन नलागी-नलागी पालना गर्छन्। यो तिनीहरूको आन्तरिक सारको प्रकटीकरणबाट आउँदैन। यस्तो गर्न सक्ने मानिसहरू साँच्चै असल मान्छे वा सकारात्मक कुरालाई साँच्चै प्रेम गर्ने मान्छे होइनन्। त्यसो भए, मानिसहरूप्रति सहनशील अनि कृपालु हुनुहुने परमेश्‍वर र “जहाँ सम्भव हुन्छ, त्यहाँ नरम बन्‍नू” भन्‍ने भनाइ अभ्यास गर्ने मानिसहरूबीच के भिन्‍नता छ? मलाई बता, के भिन्‍नताहरू छन्। (परमेश्‍वरले गर्नुहुने कुराहरूमा सिद्धान्तहरू हुन्छन्। उदाहरणको लागि, निनवेवासीहरूले साँचो पश्‍चात्ताप गरेपछि परमेश्‍वरको सहनशीलता प्राप्त गरे। यसमा हामी परमेश्‍वरका कार्यहरूमा सिद्धान्तहरू हुन्छन् भन्‍ने देख्न सक्छौँ, अनि परमेश्‍वरको सारमा मानिसहरूप्रति कृपा र सहनशीलता छन् भन्‍ने पनि देख्न सक्छौँ।) तैँले राम्रोसँग बताइस्। यहाँ दुई मुख्य भिन्‍नता छन्। तिमीहरूले भर्खर बताएको बुँदा महत्त्वपूर्ण छ, त्यो हो परमेश्‍वरले गर्नुहुने कुराहरूमा सिद्धान्तहरू हुन्छन्। परमेश्‍वरले गर्नुहुने हरेक कुराको स्पष्ट सीमा र दायरा हुन्छ, अनि यी सीमा र दायरा मानिसहरूले बुझ्न सक्ने कुरा हुन्। तथ्य के हो भने, परमेश्‍वरले गर्नुहुने हरेक कुराहरूमा निश्‍चित सिद्धान्तहरू हुन्छन्। उदाहरणको लागि, परमेश्‍वरले निनवेवासीहरूको अपराधको लागि नरमपन देखाउनुभयो। निनवेवासीहरूले आफ्नो दुष्टता त्यागेर साँचो पश्‍चात्ताप गर्दा, परमेश्‍वरले तिनीहरूलाई क्षमा गर्नुभयो र त्यो शहरलाई त्यसउप्रान्त नष्ट नगर्ने प्रतिज्ञा गर्नुभयो। यो परमेश्‍वरका कार्यहरूपछाडिको सिद्धान्त थियो। यहाँ यस सिद्धान्तलाई कुन रूपमा बुझ्न सकिन्छ? यो न्यूनतम सर्त थियो। मानव बुझाइ र बोल्ने तरिकाअनुसार, यो परमेश्‍वरको न्यूनतम सर्त थियो भनेर भन्‍न सकिन्छ। जबसम्म निनवेवासीहरूले आफूमा भएको दुष्टता त्यागेर पापमा जिउन र पहिलेजस्तो परमेश्‍वरलाई त्याग्‍न छोड्न, र परमेश्‍वरसामु साँचो पश्‍चात्ताप गर्न सक्थे, यो साँचो पश्‍चात्ताप परमेश्‍वरले तिनीहरूलाई दिनुभएको न्यूनतम सर्त हुन्थ्यो। यदि तिनीहरूले साँच पश्‍चात्ताप गर्न सक्थे भने, परमेश्‍वर तिनीहरूप्रति नरम बन्‍नुहुन्थ्यो। त्यसको विपरीत, यदि तिनीहरूले साँचो पश्‍चात्ताप गर्न सक्थेनन् भने, के परमेश्‍वरले पुनर्विचार गर्नुहुन्थ्यो त? के त्यो शहर नष्ट गर्ने परमेश्‍वरको पहिलेको निर्णय र योजना परिवर्तन हुन्थ्यो त? (हुन्थेन।) परमेश्‍वरले तिनीहरूलाई दुईवटा विकल्प दिनुभयो: पहिलो, आफ्नो दुष्ट तरिकामा लागिरहने र विनाश भोग्‍ने, र त्यो अवस्थामा सारा शहर नामेट हुनेवाला थियो; दोस्रो, आफ्नो दुष्टता त्याग्‍ने, भाङ्ग्रा ओढी खरानीमा बसेर उहाँसामु साँचो पश्‍चात्ताप गर्ने अनि हृदयको गहिराइबाटै उहाँसामु आफ्नो पाप स्वीकार गर्ने, र त्यो अवस्थामा उहाँ तिनीहरूप्रति नरम हुनुहुनेथियो, अनि तिनीहरूले पहिला जुनै दुष्टता गरेको भए पनि, वा तिनीहरूको दुष्कर्म जति नै हदको गम्भीर भएको भए पनि, उहाँले तिनीहरूको पश्‍चात्तापको कारण त्यो शहर नष्ट नगर्ने मन बनाउनुहुनेथियो। परमेश्‍वरले तिनीहरूलाई दुईवटा विकल्ट दिनुभएको थियो, अनि तिनीहरूले पहिलो विकल्पको सट्टा दोस्रो विकल्प रोजे—भाङ्ग्रा ओढी खरानीमा बसेर परमेश्‍वरसित साँचो पश्‍चात्ताप गरे। यसको अन्तिम परिणाम के थियो? तिनीहरूले परमेश्‍वरलाई मन बदल्न अर्थात् पुनर्विचार गर्दै आफ्नो योजना बदल्न, तिनीहरूप्रति नरमपन देखाउन, र त्यो शहरलाई विनाश गर्नदेखि आफूलाई रोक्‍न लगाउन सके। के यो परमेश्‍वरले काम गर्नुहुने सिद्धान्त होइन र? (हो।) परमेश्‍वरले काम गर्नुहुने सिद्धान्त यही हो। यसबाहेक, अर्को महत्त्वपूर्ण बुँदा पनि छ। त्यो हो, परमेश्‍वरको सारमा प्रेम र कृपा हुन्छ, तर त्यसमा अवश्य नै मान्छेका अपराधहरूप्रतिको असहनशीलता र क्रोध पनि हुन्छ। निनवे विनाश गर्ने सन्दर्भमा, परमेश्‍वरको सारका यी दुवै पक्ष प्रकट भए। परमेश्‍वरले यी मानिसहरूका दुष्कर्महरू देख्नुहुँदा, परमेश्‍वरको क्रोधको सार स्वतः प्रकट भयो र देखियो। के परमेश्‍वरको रिसको कुनै सिद्धान्त छ? (छ।) सरल तरिकामा भन्‍नुपर्दा, यो सिद्धान्त के हो भने परमेश्‍वरको रिसको पनि आधार हुन्छ। यो अन्धाधुन्ध रिसाउनु वा क्रोधित हुनु होइन, र यो कुनै प्रकारको भावना हुनु त झन् परै जाओस्। बरु, यो त कुनै प्रसङ्गमा उत्पन्‍न हुने र स्वाभाविक रूपले प्रकट हुने स्वभाव हो। परमेश्‍वरको क्रोध र प्रतापले कुनै उल्लङ्घन सहँदैन। मानव भाषामा यसको अर्थ हो, निनवेवासीहरूका दुष्कर्महरू देख्दा परमेश्‍वर रिसाउनुभयो र क्रोधित हुनुभयो। ठ्याक्‍कै भन्‍नुपर्दा, परमेश्‍वर रिसाउनुभयो किनभने मानिसहरूको उल्‍लङ्घन नसहने उहाँको एउटा पक्ष छ, र त्यसैले, मानिसहरूको दुष्कर्म अनि नकारात्मक कुराहरूको घटना र उदय देख्दा, परमेश्‍वरले स्वाभाविक रूपमा आफ्नो क्रोध प्रकट गर्नुहुनेछ। अनि, यदि परमेश्‍वरको क्रोध प्रकट हुन्थ्यो भने, के तुरुन्तै उहाँले त्यो शहर नष्ट गर्नुहुन्थ्यो त? (गर्नुहुन्थेन।) यसरी तैँले परमेश्‍वरले गर्नुहुने कुराहरूमा सिद्धान्तहरू हुन्छन् भनेर देख्न सक्छस्। परमेश्‍वर रिसाउनुभएपछि “मसँग अख्तियार छ, म तँलाई नाश गर्नेछु! तेरो जे-जस्तो अप्ठ्यारो अवस्था भए पनि, म तँलाई मौका दिनेछैनँ!” भनेर भन्‍नुहुनेछ भन्‍ने होइन। यो कुरा त्यस्तरी हुँदैन। परमेश्‍वरले के-के गर्नुभयो? परमेश्‍वरले श्रृङ्खलाबद्ध कार्यहरू गर्नुभयो। मानिसहरूले ती कार्यहरूलाई कसरी अर्थ्याउनुपर्छ? परमेश्‍वरले गर्नुभएका श्रृङ्खलाबद्ध कार्यहरू सबै उहाँको स्वभावमा आधारित छन्। ती पूर्णतया उहाँको क्रोधमा आधारित भएर उत्पन्‍न भएका होइनन्। भन्‍नुको मतलब, परमेश्‍वरको क्रोध आवेग होइन। यो मानिसहरूको आवेगजस्तो होइन, जसले आवेगमा आएर भन्छ, “मसँग अधिकार छ, म तँलाई मार्दिन्छु, म तँलाई ठिक पार्दिन्छु,” अनि यो ठूलो रातो अजिङ्गरले यसो भनेजस्तो होइन, “यदि मैले तँलाई पक्रेँ भने, तेरो ज्यान लिनेछु, कुनै सजायबिनै कुटेर मार्नेछु।” शैतान र दियाबलसले काम गर्ने तरिका यही हो। आवेग शैतान र दियाबलसहरूबाट आउँछ। परमेश्‍वरको क्रोधमा आवेग हुँदैन। उहाँमा आवेग नभएको कुरा कुन तरिकामा स्वतः प्रकट हुन्छ? निनवेवासीहरू कति भ्रष्ट रहेछन् भन्‍ने देख्दा, परमेश्‍वर रिसाउनुभयो र क्रोधित हुनुभयो। तर रिसाउनुभएपछि, उहाँले आफूमा क्रोधको सार भएकै कारण एक शब्द नबोली तिनीहरूलाई नाश पार्ने काम गर्नुभएन। बरु, उहाँले किन र के गर्न गइरहनुभएको छ भनेर बताउँदै अब गर्नैलागेको कुराबारे जानकारी दिन योनालाई पठाउनुभयो, ताकि तिनीहरू स्पष्ट होऊन् र तिनीहरूले आशाको किरण पाऊन्। यस तथ्यले मानवजातिलाई के बताउँछ भने, नकारात्मक र दुष्ट कुराहरू देखा पर्दा परमेश्‍वरको क्रोध प्रकट हुन्छ, तर परमेश्‍वरको क्रोध मानवजातिको आवेग र मानव भावनाहरूभन्दा फरक हुन्छ। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरको क्रोध मानव आवेग र भावनाभन्दा फरक हुन्छ। के परमेश्‍वरको क्रोधलाई नियन्त्रण गर्न सकिन्छ?” सकिँदैन, यहाँ नियन्त्रण गर्न सकिने भन्‍ने वाक्यांश प्रयोग गर्नु उचित हुँदैन, यसो भन्‍नु उचित होइन। ठ्याक्‍कै भन्‍नुपर्दा, परमेश्‍वरको क्रोधका सिद्धान्तहरू छन्। उहाँले आफ्नो क्रोधमा श्रृङ्खलाबद्ध कार्यहरू गर्नुभयो, जसले उहाँका कार्यहरूमा सत्यता र सिद्धान्त छन् भन्‍ने थप प्रमाण दिन्छ, र साथमा परमेश्‍वरसँग क्रोधको अलावा कृपा र प्रेम पनि छ भन्‍ने जानकारी दिन्छ। मानवजातिलाई परमेश्‍वरको कृपा र प्रेम प्रदान गरिँदा, मानवजातिलाई के लाभ हुन्छ? भन्‍नुको मतलब, यदि मानिसहरू परमेश्‍वरले सिकाउनुभएको तरिकामा आफ्नो पाप स्विकारेर पश्‍चात्ताप गर्छन् भने, तिनीहरूले परमेश्‍वरबाट जीवनको मौका, अनि बाँच्ने आशा र सम्भावना प्राप्त गर्न सक्छन्। यसको अर्थ, यदि मानिसहरूले साँच्चै पाप स्विकारेर पश्‍चात्ताप गरेका छन् भने, परमेश्‍वरको अनुमतिमा तिनीहरू निरन्तर जिउन सक्छन्, र त्यसपछि तिनीहरू परमेश्‍वरले तिनीहरूलाई दिनुहुने प्रतिज्ञा प्राप्त गर्न सक्षम हुनेछन्। के यी सबै श्रृङ्खलाबद्ध कथनहरूको लागि कुनै सिद्धान्तहरू छैनन्? तैँले देख्‍न सक्छस्, परमेश्‍वरले गर्नुहुने हरप्रकारको कार्यपछाडि, मानव भाषा प्रयोग गरेर भन्दा, औचित्यता र श्रमसाध्यता हुन्छ र उहाँका वचनहरू प्रयोग गरेर भन्दा सत्यता र सिद्धान्तहरू हुन्छन्। यो मानवजातिले काम गर्ने तरिकाभन्दा फरक छ, र मानवजातिको आवेगद्वारा प्रदूषित हुने प्रश्‍नै छैन। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरको स्वभाव शान्त छ र आवेशपूर्ण छैन!” के कुरा यही हो त? होइन, परमेश्‍वरको स्वभाव शान्त, सौम्य छ, र आवेशपूर्ण छैन भनेर भन्‍न सकिँदैन—यो त मानवजातिले यसलाई मापन र व्याख्या गर्ने तरिका हो। परमेश्‍वरले गर्नुहुने कुराहरूमा सत्यता र सिद्धान्तहरू हुन्छन्। उहाँले जे गर्नुभए पनि, त्यसको आधार हुन्छ, अनि यो आधार भनेकै सत्यता र परमेश्‍वरको स्वभाव हो।

परमेश्‍वरले निनवेवासीहरूसँग व्यवहार गर्नुहुँदा, श्रृङ्खलाबद्ध कार्यहरू गर्नुभयो। पहिलो, उहाँले योनालाई निनवेवासीहरूलाई यसो भन्‍न पठाउनुभयो, “अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ” (योना ३:४)। के चालिस दिन लामो समय हो? यो ठ्याक्कै एक महिना दस दिन हो, यो निकै लामो समय हो, मानिसहरूलाई केही समय सोच्‍न र मनन गर्न अनि साँचो पश्‍चात्ताप गर्न पुग्दो समय हो। यदि त्यो चार घण्टा वा चार दिन भएको भए, पश्‍चात्ताप गर्नको लागि प्रशस्त समय हुँदैनथ्यो। तर परमेश्‍वरले चालिस दिन दिनुभयो, जुन एकदमै लामो समय र चाहिएकोभन्दा बढी नै थियो। एउटा शहर कति ठूलो हुन सक्छ र? योनाले शहरको एक छेउदेखि अर्को छेउसम्म चक्‍कर लगाएर केही दिनभित्रै सबैलाई जानकारी दियो, जसले गर्दा प्रत्येक नागरिक र हरेक परिवारले त्यो सन्देश पाए। त्यो चालिस दिन भाङ्ग्रा वा खरानी तयार पार्न अनि कुनै अन्य आवश्यक तयारीको लागि प्रशस्तै थियो। यी कुराहरूबाट तैँले के देख्छस्? परमेश्‍वरले निनवेवासीहरूलाई तिनीहरूको शहर उहाँले नष्ट गर्नै लाग्‍नुभएको छ भनेर थाहा दिन, अनि त्यसको लागि तिनीहरूलाई तयारी, मनन र आत्मजाँच गर्न दिनको लागि प्रशस्तै समय दिनुभयो। मानव भाषामा भन्‍नुपर्दा, परमेश्‍वरले आफूले गर्न सक्ने र गर्नुपर्ने सबै कुरा गर्नुभयो। त्यो चालिस दिनको अवधिले प्रत्येकलाई—राजादेखि साधारण मानिसहरूसम्म सबैलाई—मनन र तयारी गर्ने प्रशस्त समय दिएकोले, त्यो प्रशस्तै थियो। यसबाट एकातिर परमेश्‍वरले मानिसहरूको लागि जे गर्नुहुन्छ त्यो सहनशीलता देखाउनु हो भनेर देख्न सकिन्छ भने, अर्कोतिर परमेश्‍वर आफ्नो हृदयमा मानिसहरूलाई ख्याल गर्नुहुन्छ र उहाँसँग तिनीहरूप्रति साँचो प्रेम छ भन्‍ने देख्न सकिन्छ। परमेश्‍वरको कृपा र प्रेम वास्तवमै अस्तित्वमा छन्, तिनमा कुनै ढोँग छैन, अनि उहाँको हृदय विश्‍वासयोग्य छ, त्यसमा कुनै ढोँग छैन। उहाँले मानिसहरूलाई पश्‍चात्ताप गर्ने अवसर दिन चालिस दिन दिनुभयो। त्यो चालिस दिनले परमेश्‍वरको सहनशीलता र प्रेम समेटेको थियो। त्यो चालिस दिन परमेश्‍वरले मानिसहरूप्रति साँचो चिन्ता र प्रेम गर्नुहुन्छ, अनि उहाँको कृपा र प्रेम वास्तवमै अस्तित्वमा छन्, तिनमा कुनै ढोँग छैन भनेर प्रमाणित गर्न र मानिसहरूलाई पूर्णतया बुझ्न सक्ने बनाउनको लागि एकदमै प्रशस्त थियो। कतिपयले भन्‍नेछन्, “के तपाईंले पहिले परमेश्‍वर मानिसहरूलाई प्रेम गर्नुहुन्‍न, उहाँ मानिसहरूलाई घृणा गर्नुहुन्छ भनेर भन्‍नुभएको थिएन र? के त्यो तपाईंले भर्खर भनेको कुरासँग विरोधाभासपूर्ण भएन र?” के यो विरोधाभास हो? (अहँ, होइन।) परमेश्‍वर आफ्नो हृदयमा मानिसहरूको ख्याल गर्नुहुन्छ, उहाँमा प्रेमको सार छ। के यो परमेश्‍वर मानिसरूलाई प्रेम गर्नुहुन्छ भनेर भन्‍नुभन्दा फरक कुरा हो? (हो।) यो कसरी फरक हो? वास्तवमा परमेश्‍वर मानिसहरूलाई प्रेम गर्नुहुन्छ कि घृणा? (उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्छ।) त्यसो भए, किन परमेश्‍वर अझै मानिसहरूलाई श्राप र सजाय दिनुहुन्छ अनि न्याय गर्नुहुन्छ? यदि तिमीहरूलाई यति महत्त्वपूर्ण कुरा स्पष्ट छैन भने, तिमीहरूले त्यो अवश्यै गलत बुझेको हुनुपर्छ। के यो तँ र परमेश्‍वरबीचको विरोधाभास हो? यदि यो तँ स्पष्ट नभएको कुरा हो भने, के तँ र परमेश्‍वरबीच खाडल पर्ने सम्भावना हुँदैन र? मलाई बता, यदि परमेश्‍वर मानिसहरूलाई प्रेम गर्नुहुन्छ भने, के उहाँ तिनीहरूलाई घृणा पनि गर्नुहुन्छ? के मानिसहरूप्रतिको परमेश्‍वरको प्रेमले तिनीहरूप्रतिको उहाँको घृणामा असर गर्छ? के मानिसहरूप्रतिको परमेश्‍वरको घृणाले तिनीहरूप्रतिको उहाँको प्रेमलाई असर गर्छ? (अहँ, गर्दैन।) त्यसो भए, किन परमेश्‍वर मानिसहरूलाई प्रेम गर्नुहुन्छ? परमेश्‍वर मानिसहरूलाई मुक्ति दिन देह बन्‍नुभयो—के यो उहाँको सबैभन्दा अपार प्रेम होइन र? यदि तँलाई त्यो थाहा छैन भने, त्यो कति दुःखलाग्दो हो! यदि तँलाई किन परमेश्‍वर मानिसहरूलाई प्रेम गर्नुहुन्छ भनेरसमेत थाहा छैन भने, त्यो हास्यास्पद कुरा हो। मलाई बता, आफ्नो बच्चाप्रति आमाको प्रेम कहाँबाट आउँछ? (नैसर्गिक प्रवृत्तिबाट।) त्यो सही हो। मातृप्रेम नैसर्गिक प्रवृत्तिबाट आउँछ। के यो प्रेम बच्चा असल छ कि खराब छ भन्‍ने कुरामा आधारित हुन्छ? (अहँ, हुँदैन।) उदाहरणको लागि, बच्चा एकदमै बदमास छ र कहिलेकाहीँ आफ्नी आमालाई असाध्यै झोँक चलाउँछ भने पनि, आमाले अन्त्यमा उसलाई माया नै गर्छे। त्यस्तो किन हुन्छ? यसरी उसले आफ्नो बच्चालाई माया गर्ने कुरा आमाको भूमिकाको नैसर्गिक प्रवृत्तिबाट आउँछ। नैसर्गिक प्रवृत्तिबाट आउने यो मातृप्रेम भएकोले, बच्चाप्रतिको उसको प्रेम बच्चा असल छ कि खराब छ भन्‍ने कुरामा आधारित हुँदैन। कतिपय मानिसहरू भन्छन्, “आमाले आफ्नो बच्चालाई नैसर्गिक प्रवृत्तिद्वारै माया गर्छिन्, तैपनि किन बच्चालाई चड्कन लगाउँछिन् त? अझै पनि किन उनी उसलाई घृणा गर्छिन्? अझै पनि किन उनी बेलाबेला रिसाउँछिन् र उसलाई गाली गर्छिन्? अनि किन उनी कहिलेकाहीँ यति साह्रो रिसाउँछिन् कि बच्चासँग कुनै सम्बन्ध राख्‍नै चाहँदिनन्? के तपाईंले आमासँग प्रेम हुन्छ र उनले आफ्नो बच्चालाई प्रेम गर्छिन् भनेर भन्‍नुभएको होइन? त्यसो भए, उनी कसरी त्यति निर्दयी बन्‍न सक्छिन् त?” के यो विरोधाभास हो? अहँ, यो विरोधाभास होइन। आमाले आफ्नो बच्चालाई कसरी व्यवहार गर्छे भन्‍ने कुरा आमाप्रतिको बच्चाको मनोवृत्ति र उसको व्यवहारमा निर्भर हुन्छ। तर उसले बच्चालाई जसरी व्यवहार गरे पनि, उसलाई चड्कन लगाए पनि र घृणा गरे पनि, यसले उसको बच्‍चाप्रतिको मातृप्रेममा असर गर्दैन। त्यसै गरी, मानिसहरूप्रतिको परमेश्‍वरको प्रेम कहाँबाट आउँछ? (परमेश्‍वरसँग प्रेमको सार छ।) त्यो सही हो। तैँले आखिर यो कुरा स्पष्ट पारिस्। गाँठी कुरा भनेकै परमेश्‍वरसँग प्रेमको सार छ। परमेश्‍वरले मानिसहरूलाई प्रेम र ख्याल गर्नुको कारण के हो भने एकातर्फ परमेश्‍वरसँग प्रेमको सार छ। यस प्रेमभित्र कृपा, प्रेमिलोदयालुपन, सहनशीलता र धैर्य छन्। अवश्य नै, यसमा सरोकारका प्रकटीकरण अनि कहिलेकाहीँ चिन्ता र दुःख, आदि इत्यादि पनि छन्। यो सब परमश्‍वरको सारद्वारा निर्धारित हुन्छ। यो व्यक्तिपरक दृष्टिकोणले हेर्नु हो। वस्तुपरक दृष्टिकोणले हेर्दा, बच्चा आमाको कोखबाट जन्मिएजस्तै मानवजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, अनि आमाले स्वाभाविक रूपमै बच्चाको ख्याल गर्छे र उनीहरूबीच रगतको अटुट नाता हुन्छ। मानिसहरूले भनेजस्तो मानवजाति र परमेश्‍वरबीच यो रगतको नाता नभए पनि, मानवजातिलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, अनि उहाँले तिनीहरूको ख्याल गर्नुहुन्छ र तिनीहरूप्रति स्नेह राख्नुहुन्छ। मानवजाति असल बनेको र सही मार्गमा हिँडेको परमेश्‍वर चाहनुहुन्छ, तर तिनीहरूलाई शैतानले भ्रष्ट पारेको, र तिनीहरूले दुष्टताको मार्ग हिँडेको र कष्ट भोगेको देख्दा परमेश्‍वर दुःख र वेदनामा डुब्‍नुहुन्छ। यो सामान्य कुरा हो, होइन र? परमेश्‍वरमा यी प्रतिक्रिया, भावना र प्रकटीकरणहरू आउँछन्, र यी सबै परमेश्‍वरको सारबाट उत्पन्‍न हुन्छन्, अनि यो कुरालाई परमेश्‍वरले मानिस सृष्टि गर्नुभएर बनेको सम्बन्धबाट छुट्याउन सकिँदैन। यी सबै वस्तुपरक तथ्य हुन्। कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वरको सारमा प्रेम छ, र पनि किन परमेश्‍वर मानिसहरूलाई घृणा गर्नुहुन्छ? के परमेश्‍वर मानिसहरूको ख्याल गर्नुहुन्‍न र? कसरी उहाँले अझै पनि तिनीहरूलाई घृणा गर्नुभएको हो?” यहाँ पनि एउटा वस्तुपरक तथ्य छ, त्यो के हो भने, मानिसहरूको स्वभाव, सार र अरू पक्ष परमेश्‍वर र सत्यतासँग मेल खाँदैनन्, यसले गर्दा मानिसहरूले परमेश्‍वरसामु प्रकट गर्ने र देखाउने कुरालाई उहाँ घृणा र तिरस्कार गर्नुहुन्छ। समय बित्दै जाँदा, मानिसहरूको भ्रष्ट स्वभाव झन्झन् गम्भीर बन्दै जान्छ, तिनीहरूको पाप झन्झन् गम्भीर बन्दै जान्छ, र तिनीहरू हदै हठी र ढिट भएर पश्‍चात्ताप नगर्ने पनि हुन्छन्, अनि अलकति पनि सत्यता स्विकार्दैनन्। तिनीहरू पूर्णतया परमेश्‍वरविपरीत हुन्छन्, त्यसैले उहाँमा घृणा जाग्छ। त्यसैले, परमेश्‍वरको घृणा कहाँबाट आउँछ? यो किन आउँछ? किनभने परमेश्‍वरको स्वभाव धर्मी र पवित्र छ, अनि परमेश्‍वरको घृणा उहाँको सारद्वारा जागृत हुन्छ। परमेश्‍वर दुष्टतालाई घृणा गर्नुहुन्छ, नकारात्मक कुरालाई तिरस्कार गर्नुहुन्छ, अनि दुष्ट शक्ति र दुष्ट कुरादेखि घिनाउनुहुन्छ। तसर्थ, परमेश्‍वर यो भ्रष्ट मानवजातिलाई घृणा गर्नुहुन्छ। त्यसैले, सृष्टि गरिएको प्राणीप्रति परमेश्‍वरले प्रकट गर्नुहुने प्रेम र घृणा सामान्य हुन् र ती उहाँको सारद्वारा निर्धारित हुन्छन्। यसमा कुनै विरोधाभास छैन। कतिपय मानिसहरू सोध्छन्, “त्यसो भए, के परमेश्‍वर वास्तवमा मानिसहरूलाई प्रेम गर्नुहुन्छ कि घृणा?” त्यसको उत्तर तँ कसरी दिन्छस्? (यो परमेश्‍वरप्रतिको मानिसहरूको मनोवृत्तिमा, वा मानिसहरूले साँचो पश्‍चात्ताप गरेका छन् कि छैनन् भन्‍ने कुरामा निर्भर हुन्छ।) यो मूलभूत हिसाबमा त साँचो हो, तर ठ्याक्‍कै सहीचाहिँ होइन। किन यो सही होइन? के तिमीहरू परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नैपर्छ भन्‍ने सोच्छौ? (सोच्दैनौँ।) मानवजातिप्रतिका परमेश्‍वरका वचनहरू र उहाँले मानिसहरूमा गर्नुभएका सबै काम उहाँको स्वाभाव र सारका स्वाभाविक प्रकटीकरणहरू हुन्। परमेश्‍वरसँग आफ्ना सिद्धान्तहरू छन्, उहाँले मानिहरूलाई प्रेम गर्नैपर्छ भन्‍ने छैन, तर उहाँले मानिसहरूलाई घृणा गर्नैपर्छ भन्‍ने पनि छैन। परमेश्‍वर मानिसहरूले सत्यता पछ्याएको, उहाँको मार्गमा हिँडेको अनि उहाँको वचनअनुसार आफूलाई व्यवहारमा ढालेको र कार्य गरेको अपेक्षा गर्नुहुन्छ। परमेश्‍वरले मानिहरूलाई प्रेम गर्नैपर्छ भन्‍ने छैन, तर उहाँले मानिसहरूलाई घृणा गर्नैपर्छ भन्‍ने पनि छैन। यो तथ्य हो, र मानिसहरूले यो बुझ्नुपर्छ। तिमीहरूले भर्खरै परमेश्‍वर मानिसहरूलाई तिनीहरूको व्यवहारको आधारमा प्रेम वा घृणा गर्नुहुन्छ भनेर भन्यौ। यसो भन्‍नु किन सही होइन? परमेश्‍वरले तँलाई प्रेम गर्नैपर्छ भन्‍ने छैन, न त तँलाई एकदमै घृणा गर्नैपर्छ भन्‍ने नै छ। परमेश्‍वरले बरु तँलाई बेवास्तासमेत गर्न सक्‍नुहुन्छ। तैँले सत्यता पछ्याएर परमेश्‍वरका वचनअनुसार आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने गरे पनि, वा सत्यता नस्विकारेर बरु परमश्‍वरको अवज्ञा र प्रतिरोध नै गरे पनि, आखिर उहाँ हरेक व्यक्तिलाई उसको कार्यअनुसार प्रतिफल दिनुहुन्छ। असल काम गर्नेले इनाम र दुष्ट काम गर्नेले दण्ड पाउनेछ। यसलाई निष्पक्ष र समान व्यवहार गर्नु भनिन्छ। भन्‍नुको अर्थ, सृष्टि गरिएको प्राणीको रूपमा तँसँग परमेश्‍वरले तँलाई कसरी व्यवहार गर्नुपर्छ भनेर माग गर्ने कुनै आधार छैन। जब तँ परमेश्‍वर र सत्यताप्रति तृष्णाको दृष्टिले व्यवहार गर्छस्, अनि सत्यता पछ्याउँछस्, तब तैँले उहाँले तँलाई प्रेम गर्नैपर्छ भन्‍ने सोच्छस्, अनि यदि परमेश्‍वरले तँलाई बेवास्ता गर्नुभयो र प्रेम गर्नुभएन भने, तँलाई उहाँ परमेश्‍वर हुनुहुन्‍न रहेछ भन्‍ने लाग्छ। अथवा जब तँ परमेश्‍वरलाई अवाज्ञा गर्छस्, तब उहाँले तँलाई घृणा गर्नैपर्छ र दण्ड दिनैपर्छ भन्‍ने सोच्छस्, तर यदि उहाँले तँलाई बेवास्ता गर्नुभयो भने, तँलाई उहाँ परमेश्‍वर हुनुहुन्‍न रहेछ भन्‍ने लाग्छ। के यसरी सोच्नु सही हो? (अहँ, यो सही होइन।) आमाबुबा र छोराछोरीबीचको जस्तो मान्छे-मान्छेबीचको सम्बन्धलाई यसरी मूल्याङ्कन गर्न सकिन्छ—भन्‍नुको मतलब, छोराछोरीप्रतिको आमाबुबाको प्रेम वा घृणा कहिलेकाहीँ छोराछोरीको व्यवहारमा आधारित हुन्छ—तर मानवजाति र परमेश्‍वरबीचको सम्बन्धलाई यसरी मूल्याङ्कन गर्न सकिँदैन। मानवजाति र परमेश्‍वरबीचको सम्बन्ध भनेको सृष्टि र सृष्टिकर्ताबीचको सम्बन्ध हो, अनि त्यसमा रगतको नाता छँदै छैन। यो पूर्णतया सृष्टि र सृष्टिकर्ताबीचको सम्बन्ध हो। तसर्थ, मानवजातिले परमेश्‍वरले तिनीहरूलाई प्रेम गर्नुपर्छ वा तिनीहरूको सवालमा उहाँ कहाँ उभिने हो त्यो खुलाउनुपर्छ भनेर माग गर्न सक्दैनन्। यी अनुचित मागहरू हुन्। यस प्रकारको दृष्टिकोण गलत र बेठीक हो; मानिसहरूले यस्ता मागहरू गर्नु हुँदैन। त्यसैले अहिले यसलाई हेर्दा, के मानिसहरूले परमेश्‍वरको प्रेमलाई वास्तवमै बुझेका छन् त? तिनीहरूको पहिलेको बुझाइ गलत थियो, थिएन त? (थियो।) परमेश्‍वरले मानिसहरूलाई प्रेम कि घृणा गर्नुहुन्छ भन्‍नेबारे सिद्धान्तहरू छन्। यदि मानिसहरूको व्यवहार वा खोज सत्यताअनुरूप छ र त्यो परमेश्‍वरलाई मन पर्छ भने, उहाँ त्यसलाई अनुमोदन गर्नुहुन्छ। तथापि, मानिसहरूमा भ्रष्ट सार छ र तिनीहरू भ्रष्ट स्वभाव प्रकट गर्दै आफूलाई सही लाग्‍ने वा मनपर्ने आदर्श र चाहनाहरू पछ्याउन सक्छन्। त्यो त परमेश्‍वरले घृणा गर्नुहुने र अनुमोदन नगर्नुहुने कुरा हो। तर मानिसहरूले सोचेजस्तो—अर्थात् परमेश्‍वरले मानिसहरूलाई अनुमोदन गर्नुहुँदा तिनीहरूमाथि इनाम बर्साउनुहुनेछ, वा अनुमोदन नगर्नुहुँदा तिनीहरूलाई अनुशासित र दण्डित गर्नुहुनेछ भनेजस्तो—खास कुरा त्यस्तो हुँदैन। परमेश्‍वरका कार्यहरूका सिद्धान्तहरू हुन्छन्। यसले परमेश्‍वरको सारको करा गर्छ, र मानिसहरूले यसलाई यसरी नै बुझ्‍नुपर्छ।

मैले भर्खरै परमेश्‍वरको कार्य र उहाँको सारका सिद्धान्तहरूबारे प्रश्‍न उठाएँ र सङ्गति गरेँ। मैले भर्खरै सोधेको प्रश्‍न के थियो? (परमेश्‍वरले भर्खरै मानिसहरूप्रति उहाँको सहनशीलता र कृपा अनि सकेसम्म उदार हुने मानव अभ्यासबीचको भिन्नताबारे प्रश्‍न सोध्नुभयो। त्यसपछि, तपाईंले जीवन जिउने यो दर्शनअनुसार परमेश्‍वरले कार्य गर्नुहुन्न भनेर सङ्गति गर्नुभयो। परमेश्‍वरले मान्छेको अपराधलाई मुख्यतः दुई पक्षको आधारमा व्यवहार गर्नुहुन्छ: एकातर्फ, परमेश्‍वरले जे गर्नुहुन्छ त्यसका सिद्धान्तहरू हुन्छन्, र अर्कोतर्फ परमेश्‍वरको सारमा कृपा र क्रोध दुवै हुन्छन्।) वास्तवमा यसलाई बुझ्ने सही तरिका त्यही हो। यस्तो तरिकाले काम गर्ने परमेश्‍वरका सिद्धान्तहरू उहाँको सार र स्वभावमा आधारित हुन्छन्, अनि मानवजातिले जिवन जिउन पछ्याउने सकेसम्म उदार हुनु भन्‍ने दर्शनसँग यसको कुनै सम्बन्ध छैन। मानिसका कार्यहरू शैतानी दर्शनमा आधारित र शैतानी स्वभावद्वारा नियन्त्रित हुन्छन्। परमेश्‍वरका कार्यहरू उहाँको स्वभाव र सारका प्रकटीकरणहरू हुन्। परमेश्‍वरको सारमा प्रेम र कृपा, अनि अवश्यै घृणा पनि हुन्छ। त्यसैले, के तैँले अब मानिसहरूको दुष्कर्म, र तिनीहरूका विभिन्न प्रकारका अवज्ञा र विश्‍वासघातप्रति परमेश्‍वर कस्तो मनोवृत्ति राख्नुहुन्छ भनेर बुझिस्? परमेश्‍वरको मनोवृत्तिको आधार के हो? के यो उहाँको सारद्वारा उत्पन्न हुन्छ? (हो।) परमेश्‍वरको सारमा कृपा, प्रेम र क्रोध हुन्छन्। परमेश्‍वरको सार धर्मी छ र यही सारबाट परमेश्‍वरको कार्यका सिद्धान्तहरू आउँछन्। त्यसोभए, ठ्याक्‍कै भन्दा परमेश्‍वरको कार्यका सिद्धान्तहरू के हुन्? प्रचुर मात्रामा कृपा बर्साउनु र हदैसम्म क्रोध पोखाउनु हो। यसको सकेसम्म उदार हुनुसँग कुनै सम्बन्ध छैन, जुन मानवजातिमाझ अभ्यास गरिन्छ र एकदमै उच्च विचारझैँ देखिन्छ, तर परमेश्‍वरको नजरमा यो उल्लेख गर्नसमेत लायक छैन। एकातिर, तैँले विश्‍वासीको रूपमा परमेश्‍वरको सार, कार्य र उहाँको कार्यका सिद्धान्तहरूलाई यो विचारको आधारमा निन्दा गर्नु हुँदैन। यसबाहेक, मानिसहरूको आफ्नै दृष्टिकोणबाट हेर्दा, तिनीहरूले जिउनको लागि यो दर्शन पालन गर्नु हुँदैन; विभिन्‍न कुराहरू आइपर्दा तिनीहरूसँग कसरी विकल्पहरू छनौट गर्ने र परिस्थिति कसरी सम्हाल्ने भन्नेबारे सिद्धान्तहरू हुनुपर्छ। यो सिद्धान्त के हो? मानिसहरूमा परमेश्‍वरको सार हुँदैन, र तिनीहरू अवश्‍यै परमेश्‍वरले जस्तै सबै कुरा स्पष्ट सिद्धान्तसहित गर्न, वा उच्च स्थानमा रहेर मौका प्रदान गर्न र सबैसँग नरम बन्न सक्दैनन्। मानिसहरू यसो गर्न सक्दैनन्। त्यसोभए तैँले आफूलाई बाधा दिने, चोट पुऱ्याउने, वा तेरो मर्यादा र चरित्र अपमान गर्ने, वा तेरो हृदय र प्राणमा समेत चोट पुऱ्याउने कुराहरू सामना गर्दा, के गर्नुपर्छ? यदि तैँले नैतिक आचरणसम्बन्धी “सकेसम्म उदार हुनुपर्छ” भन्ने भनाइ पालन गर्छस् भने, सिद्धान्तलाई वास्तै नगरी परिस्थिति सुधार्ने कोसिस गर्नेछस्, र मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्‍नेछस्, अनि तँलाई यो संसारमा जिउन सजिलो छैन, त्यसैले शत्रु बनाउनु हुँदैन, मानिसहरूलाई कम चिढ्याउने वा चिड्याउँदै नचिढ्याउने प्रयास गर्नुपर्छ, सकेसम्म उदार हुनुपर्छ र हरेक अवसरमा निष्पक्ष रहनुपर्छ, मध्यमार्गी बन्नुपर्छ, आफूलाई कुनै खतरनाक परिस्थितिमा होम्‍नु हुँदैन, र आफ्नो सुरक्षा गर्न सिक्नुपर्छ भन्ने लाग्‍नेछ। के यो जीवन जिउने दर्शन होइन र? (हो।) यो जीवन जिउने दर्शन हो, परमेश्‍वरले मानवजातिलाई सिकाउनुभएको सिद्धान्त होइन। त्यसोभए, परमेश्‍वरले मानिसहरूलाई सिकाउनुहुने सिद्धान्तचाहिँ के हो त? सत्यता पछ्याउनुलाई कसरी परिभाषित गरिन्छ? सत्यता पछ्याउनु भनेको परमेश्‍वरका वचनहरूअनुसार, र सत्यतालाई मापदण्ड मानेर मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु हो। यदि तँमा घृणा जगाउने कुनै कुरा आइपऱ्यो भने, तँ त्यसलाई कसरी हेर्छस्? तँ त्यसलाई केको आधारमा हेर्छस्? (परमेश्‍वरका वचनहरूको आधारमा।) त्यो सही हो। यदि तँलाई परमेश्‍वरको वचनअनुसार यी कुराहरू कसरी हेर्ने भनेर थाहा छैन भने, तँ सकेसम्म उदार हुन, आफ्नो आक्रोश दबाउन, तत्काललाई छुट दिएर पछि प्रतिशोध लिनको लागि मौका कुर्न मात्र सक्छस्—तैँले लिने मार्ग यही हुनेछ। यदि तँ सत्यता पछ्याउन चाहन्छस् भने, तैँले परमेश्‍वरको वचनअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नुपर्छ, र आफूलाई सोध्नुपर्छ: “किन यो व्यक्तिले मलाई यसरी व्यवहार गर्दै छ? मलाई यस्तो कसरी हुन सक्छ? कसरी यस्तो परिणाम आउन सक्छ?” यस्ता कुराहरूलाई परमेश्‍वरको वचनअनुसार हेर्नुपर्छ। सबैभन्दा पहिले गर्नुपर्ने भनेको परमेश्‍वरबाट यो कुरा ग्रहण गर्न सक्नु हो, अनि यो परमेश्‍वरबाट आउँछ र यो तेरो लागि उपयोगी र लाभदायी छ भनेर सक्रिय रूपमा स्विकार्न सक्नु हो। तैँले परमेश्‍वरबाट यो कुरा ग्रहण गर्नलाई पहिला यो परमेश्‍वरद्वारा योजनाबद्ध र निर्देशित हो भन्‍ने ठान्‍नुपर्छ। पृथ्वीमा हुने हरेक थोक, तैँले महसुस गर्न सक्ने सबथोक, तैँले देख्न सक्ने सबथोक, तैँले सुन्न सक्ने सबथोक—यी सबै कुरा परमेश्‍वरको अनुमतिले नै हुन्छ। तैँले यो कुरा परमेश्‍वरबाट आएको भनी स्विकारेपछि, यसलाई परमेश्‍वरको वचनअनुसार मापन गर्, अनि यो कुरा गर्ने व्यक्ति कस्तो हो र यो मामिलाको सार के हो भनेर पत्ता लगा, चाहे उसको बोली वा कामले तँलाई चोट नै किन नपुऱ्याओस्, चाहे त्यसले तेरो भावनालाई घात नै किन नगरोस्, र चाहे त्यसले तेरो चरित्र कुल्चिमिल्ची पारेको नै किन होस्। सर्वप्रथम, त्यो व्यक्ति दुष्ट हो कि साधारण भ्रष्ट व्यक्ति हो भनेर हेर्, पहिले ऊ कस्तो हो भनेर परमेश्‍वरको वचनअनुसार खुट्या अनि त्यसपछि यो मामिलालाई परमेश्‍वरको वचनअनुसार खुट्या र सम्हाल्। के यी चाल्नुपर्ने सही कदम होइनन् र? (हुन्।) पहिला यो मामिलालाई परमेश्‍वरबाट आएको भनी स्विकार्, अनि यस मामिलामा संलग्‍न मानिसहरूलाई तिनीहरू साधारण दाजुभाइ-दिदीबहिनी, दुष्ट मानिस, ख्रीष्टविरोधी, गैरविश्‍वासी, दुष्टात्मा, घृणित पिशाच, वा ठूलो रातो अजिङ्गरको जासुस हुन् कि होइनन्, अनि तिनीहरूले गरेको कुरा भ्रष्टताको साधारण प्रकटीकरण हो कि बाधा र अवरोध दिन जानाजानी अभिप्रायसहित गरिएको दुष्कर्म हो भनेर निर्धारण गर्न परमेश्‍वरको वचनअनुसार हेर्। यो सबै कुरा परमेश्‍वरको वचनसँग दाँजेर निर्धारित गरिनुपर्छ। परमेश्‍वरको वचनअनुसार विभिन्‍न कुराहरूको मापन गर्नु सबैभन्दा सही र निष्पक्ष तरिका हो। परमेश्‍वरको वचनअनुसार नै मानिसहरूलाई छुट्याउनुपर्छ र मामिलाहरूलाई सम्हाल्नुपर्छ। तैँले यसरी मनन गर्नुपर्छ: “यो घटनाले मेरो भावनामा साह्रै गहिरो चोट पुऱ्याएको छ र मेरो जिन्दगीमा छायाँ पारिदिएको छ। तर जीवन प्रवेश गर्नको लागि यो घटनाले मलाई सुधार्न के गरेको होला? परमेश्‍वरको इच्छा के होला?” यसले तँलाई मामिलाको जडमा पुऱ्याउँछ, जसलाई तैँले पत्ता लगाउनु र बुझ्नुपर्छ—यही नै सही मार्ग पछ्याउनु हो। तैँले यसरी सोच्दै परमेश्‍वरको इच्छा खोज्‍नुपर्छ: “यो घटनाले मेरो हृदय र प्राणमा आघात पारेको छ। मलाई वेदना र पीडा हुन्छ, तर म नकारात्मक र निन्दनीय बन्नु हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो घटना वास्तवमा मेरो लागि लाभदायी छ कि छैन भनेर परमेश्‍वरको वचनअनुसार खुट्याउनु, छुट्याउनु र निर्धारित गर्नु हो। यदि यो परमेश्‍वरको अनुशासनबाट आउँछ, अनि मेरो जीवन प्रवेशको लागि र आफूलाई बुझ्नको लागि लाभदायी छ भने, मैले यो स्विकार्नु र पालन गर्नुपर्छ; यदि यो शैतानबाट आएको परीक्षा हो भने, परमेश्‍वरलाई प्रार्थना गरेर यसलाई बुद्धिमानीपूर्वक सम्हाल्नुपर्छ।” के यसरी खोजी गर्नु र सोच्नु सकारात्मक प्रवेश हो? के यो परमेश्‍वरको वचनअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु हो? (हो।) त्यसपछि, तैँले जुनसुकै कुरा सम्हालिरहेको भए पनि, वा तेरो मानिसहरूसँगको सम्बन्धमा जुनसुकै समस्या उत्पन्न भए पनि, ती समाधान गर्न परमेश्‍वरका सान्दर्भिक वचनहरू खोज्नुपर्छ। यी श्रृङ्लाबद्ध सम्पूर्ण कार्यहरूको उद्देश्य के हो? यसको उद्देश्य परमेश्‍वरको वचनअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्नु हो, जसले गर्दा मानिसहरू र विभिन्‍न कुराहरूप्रतिको तेरो दृष्टिकोण र ठम्याइ बिलकुलै फरक हुनेछन्। यसको उद्देश्य अति उच्च सम्मान पाउनको लागि राम्रो प्रतिष्ठा प्राप्त गर्नु र इज्जत बचाउनु, वा शासकवर्गलाई सन्तुष्ट पार्न देश र समाजमा मेलमिलाप कायम गराउनु होइन, बरु परमेश्‍वरलाई सन्तुष्ट पार्न र सृष्टिकर्ताको महिमा बढाउन परमेश्‍वरको वचन र सत्यताअनुसार जिउनु हो। यसरी अभ्यास गरेर मात्र तँ पूर्णतया परमेश्‍वरको इच्छाअनुरूपको हुन सक्छस्। तसर्थ, तैँले पारम्परिक संस्कृतिका नैतिक आचरणसम्बन्धी भनाइहरू पालन गर्नु आवश्यक छैन। तैँले “यस्तो परिस्थिति मलाई आइपर्दा, के मैले ‘कर्मअनुसारको फल मिल्छ; त्यसैले सकेसम्‍म उदार हुनुपर्छ’ भन्ने भनाइ अभ्यास गर्नु पर्दैन र? यदि मैले त्यो गर्न सकिनँ भने, मबारे अरूको विचार कस्तो हुनेछ?” भनेर मनन गर्नु जरुरी छैन। तैँले आफूलाई बन्धन र नियन्त्रणमा राख्न यी नैतिक सिद्धान्तहरू प्रयोग गर्नुपर्दैन। बरु, तैँले सत्यता पछ्याउने व्यक्तिको दृष्टिकोण अपनाउनुपर्छ, अनि परमेश्‍वरले तँलाई सत्यता पछ्याउन बताउनुभएको तौरतरिकाले मानिसहरू र विभिन्‍न कुराहरू सम्हाल्नुपर्छ। के यो अस्तित्वको पूरै नयाँ शैली होइन र? के यो पुरै नयाँ जीवन दृष्टिकोण र जीवन उद्देश्य होइन र? (हो।) तैँले मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्ने यस्तो शैली अपनाउँदा, आफूलाई जानाजानी “यदि मैले उदार हुन र मानिसहरूमाझ स्थान बनाउन चाहने हो भने, मैले यो कि त्यो गर्नैपर्छ,” भनेर भन्नुपर्दैन, तँ आफूसँग त्यति कठोर हुनुपर्दैन, तैँले आफ्नो इच्छाविपरीत जिउनुपर्दैन, र तेरो मानवता पनि त्यतिविधि विकृत हुनुपर्दैन। बरु, तैँले परमेश्‍वरबाट आउने यी वातावरण, मानिस, मामिला र परिस्थितिलाई स्वभाविक रूपमा र स्वेच्छाले स्विकार्नेछस्। अनि त्यो मात्र होइन, तैँले ती कुराबाट अप्रत्याशित लाभहरू पनि पाउन सक्‍नेछस्। आफूभित्र घृणा जगाउने यस्ता कुराहरू सम्हाल्दा, तैँले मानिसहरू वास्तवमा कस्ता हुन् भनेर तिनीहरूलाई परमेश्‍वरको वचनअनुसार चिन्‍न अनि यस्ता कुराहरू परमेश्‍वरको वचनअनुसार चिन्‍न र सम्हाल्‍न जानिसकेको हुनेछस्। तैँले केही समय अनुभव, जीवन-भोगाइ र संघर्ष गरेपछि यस्ता कुराहरू सम्हाल्‍ने सत्यताका सिद्धान्तहरू भेट्टाइसकेको हुनेछस्, अनि मानिसहरू, मामिलाहरू र विभिन्‍न कुराहरू सम्हाल्दा सत्यताका कस्ता सिद्धान्तहरू प्रयोग गर्ने भनेर सिकिसकेको हुनेछस्। के यो सही मार्ग पछ्याउनु होइन र? यसरी तेरो मानवता सुध्रिसकेको हुनेछ किनभने तँ सत्यता पछ्याउने मार्ग हिँडिरहेको हुन्छस्, अर्थात् तँ तेरो मानव विवेक र समझअनुसार मात्र जिउन छोडिसकेको हुन्छस्, अनि परिस्थितिहरू आइपर्दा तँ ती कुराहरूलाई विवेक र समझमा आधारित सोच र दृष्टिकोणले मात्र हेर्ने गर्दैनस्, र अझ भन्दा, यस्तो किन हुन्छ भने तैँले परमेश्‍वरका धेरै वचनहरू पढिसकेको हुन्छस र परमेश्‍वरको काम वास्तवमै अनुभव गरिसकेको हुन्छस्, केही सत्यता बुझिसकेको हुन्छस् र परमेश्‍वर—सृष्टिकर्ता सम्बन्धमा केही वास्तविक बुझाइ हासिल गरिसकेको हुन्छस्। यो निश्‍चय नै एक प्रचुर प्रतिफल हो, जसबाट तैँले सत्यता र जीवन दुवै प्राप्त गरिसकेको हुनेछस्। तैँले आफ्नो विवेक र समझको आधारमा, आफूमाथि आइपर्ने सबै समस्या सामना र समाधान गर्नहेतु परमेश्‍वरको वचन र सत्यता प्रयोग गर्न सिकिसकेको हुनेछस्, अनि तँ क्रमिक रूपमा परमेश्‍वरको वचनअनुसार जिउन सक्‍नेछस्। यस्ता मानवजाति कस्ता हुन्छन्? के तिनीहरू परमेश्‍वरको इच्छाअनुरूप हुन्छन्? यस्ता मानवजाति झन्झन् धेरै परमेश्‍वरले तोक्‍नुभएझैँ योग्य सृष्टि गरिएको प्राणी बन्दै गइरहेका हुन्छन्, अनि यसो गर्ने क्रममा तिनीहरू परमेश्‍वरको मुक्तिको कामका अपेक्षित परिणामहरू क्रमिक रूपमा हासिल गर्न सक्षम बन्छन्। जब मानिसहरू सत्यता स्विकार्न र परमेश्‍वरको वचनअनुसार जिउन सक्छन्, तब यसरी जिउनु एकदमै सहज हुन्छ, अलिकति पनि वेदना हुँदैन। तर पारम्परिक सांस्कृतिक शिक्षा ग्रहण गरेका मानिसहरूको सन्दर्भमा भन्नुपर्दा, तिनीहरूले गर्ने हरेक कुरा तिनीहरूको इच्छाको एकदमै विपरीत र एकदमै ढोँगी हुन्छ, अनि तिनीहरूको मानवताले प्रकट गर्ने कुराहरू एकदमै विकृत र असामान्य हुन्छन्। किन यस्तो हुन्छ? किनभने तिनीहरू आफूले जे सोचिरहेको हो त्यो भन्दैनन्। तिनीहरूको मुखले भन्छ, “सकेसम्‍म उदार हुनुपर्छ,” तर तिनीहरूको मनले भन्छ, “तँसँग गर्नुपर्ने कुरा अझै बाँकी छ। बदला लिन भलादमीलाई कहिल्यै ढिलो हुँदैन”—के यो तिनीहरूको आफ्नै इच्छाविपरीत छैन र? (छ।) “विकृत” भनेको के हो? यो भनेको, तिनीहरू बाहिर केवल उपकार र नैतिकताको कुरा गर्छन् तर पिठ्यूँपछाडिचाहिँ हरप्रकारका खराब काम गर्छन्, जस्तै व्याभिचार र लुट। यो सबै बाहिर बोलिने उपकार र नैतिकताको कुरा मुखुण्डो मात्र हो र तिनीहरूको हृदय हरप्रकारको दुष्टताले, र हरप्रकारको घृणित विचार र दृष्टिकोणले भरिएको हुन्छ; यो अतुल्य रूपले फोहोर, हदै घिनलाग्दो, तुच्छ मनको र लज्जास्पद हुन्छ। विकृत भनेको यही हो। चल्तीको भाषामा विकृतिलाई बिग्रेको भनिन्छ। तिनीहरू सबै अति बिग्रेका हुन्छन्, तैपनि अरूको अघि अति भद्र, परिष्कृत र भलादमी र आदरणीय भएको नाटक गर्छन्। तिनीहरूलाई पटक्कै लाज लाग्दैन, तिनीहरू अत्यन्तै दुष्ट हुन्छन्! परमेश्‍वरले मानिसहरूको लागि औँल्याउनुभएको मार्ग भनेको तँलाई यसरी जिउन लगाउनु नभई, तँलाई सही सिद्धान्त र अभ्यासको मार्ग पछ्याउन सक्षम पार्नु हो, जुन मानिसहरूले परमेश्‍वर वा अरू मानिसहरूसामु गर्ने हरेक कुराको सन्दर्भमा परमेश्‍वरले औँल्याउनुभएको छ। यदि तैँले तेरो हितलाई हानि गर्ने वा तँलाई मलाई मननपर्ने, वा तँलाई जीवनभर असर गर्ने कुराको सामना गरे पनि, यी कुराहरू सम्हाल्न तँसँग सिद्धान्तहरू हुनुपर्छ। उदाहरणको लागि, तैँले वास्तविक दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेमपूर्वक व्यवहार गर्नुपर्छ, तिनीहरूप्रति सहनशील हुनुपर्छ अनि तिनीहरूलाई सहयोग र साथ दिनुपर्छ। त्यसोभए, तैँले परमेश्‍वरको शत्रु, ख्रीष्टविरोधी, दुष्ट मानिस र गैरविश्‍वासी वा मण्डलीमा घुसपैठ गर्ने एजेन्ट र जासुसहरूलाई के गर्नुपर्छ? तैँले तिनीहरूलाई सदाको लागि इन्कार गर्नुपर्छ। अनि, त्यो प्रक्रिया भन्‍नु नै पहिचान गर्नु, खुलासा गर्नु, घृणा महसुस गर्नु अनि अन्त्यमा इन्कार गर्नु हो। परमेश्‍वरको घरमा प्रशासनिक आदेश र नीतिनियमहरू छन्। ख्रीष्टविरोधीहरू, दुष्ट मानिसहरू, गैरविश्‍वासीहरू अनि दियाबलस, शैतान र दुष्टात्मा वर्गकाहरूको सन्दर्भमा भन्नुपर्दा, तिनीहरू सेवा गर्न इच्छुक हुँदैनन्, त्यसैले तिनीहरूलाई परमेश्‍वरको घरबाट सदाको लागि हटाइदे। अनि, परमेश्‍वरका चुनिएका मानिसहरूले तिनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? (तिनीहरूलाई इन्कार गर्नुपर्छ।) त्यो सही हो, तैँले तिनीहरूलाई इन्कार गर्नुपर्छ, तिनीहरूलाई सदाको लागि इन्कार गरिदे। कतिपय मानिसहरू भन्छन्: “इन्कार त केवल शब्द हो। मानौँ, तपाईंले तिनीहरूलाई सैद्धान्तिक रूपमा इन्कार गर्नुभयो, तर त्यसपछि तपाईं यसलाई वास्तविक जीवनमा यथार्थ रूपले कसरी लागू गर्नुहुन्छ?” के तिनीहरूसँग सदैव परस्परविरोधी हुनु सही हो? तैँले आफूलाई त्यसरी अनावश्यक रूपमा थकित पार्नुपर्दैन, तँ तिनीहरूसँग सदैव परस्परविरोधी बन्नु पर्दैन। तैँले तिनीहरूसँग मृत्यपर्यन्त लडाइँ गर्नुपर्दैन, र तैँले तिनीहरूलाई पिठ्यूँपछाडि सराप्नुपर्दैन। तैँले यी कुनै कुरा गर्नु आवश्यक छैन। तैँले बस आफूलाई तिनीहरूबाट हृदयभित्रैदेखि अलग राख्, र सामान्य परिस्थितिमा तिनीहरूसँग सम्बन्ध नराख्। विशेष परिस्थितिमा र तँसँग कुनै विकल्प नहुँदा, तँ तिनीहरूसँग सामान्य तवरमा कुराकानी गर्न सक्छस्, तर त्यसपछि मौका पाउनेबित्तिकै तिनीहरूबाट अलग बसिहाल्, र तिनीहरूको कुनै पनि मामिलामा संलग्‍न नहू। यसको अर्थ, तिनीहरूलाई हृदयभित्रैदेखि इन्कार गर्नु, तिनीहरूलाई दाजुभाइ-दिदीबहिनी वा परमेश्‍वरको घरका सदस्य र विश्‍वासी नठान्नु हो। परमेश्‍वर र सत्यतालाई घृणा गर्ने, वा परमेश्‍वरको काममा जानाजानी बाधा र अवरोध पुऱ्याउने, वा परमेश्‍वरको काम नष्ट पार्न खोज्नेहरूको सन्दर्भमा चाहिँ तैँले परमेश्‍वरलाई प्रार्थना गरेर तिनीहरूलाई श्राप दिनुहोस् भनेर मात्र भन्‍ने होइन, बरु तिनीहरूलाई सदाको लागि बन्धन र नियन्त्रणमा राख्‍ने, र तिनीहरूलाई एकैचोटि र सदाको लागि इन्कार गर्ने गर्नुपर्छ। के यसो गर्नु परमेश्‍वरको इच्छाअनुरूप हुन्छ? यो पूर्णतया परमेश्‍वरको इच्छाअनुरूप हुन्छ। यी मानिसहरूलाई सम्हाल्नको लागि अडान लिनु र सिद्धान्तहरू धारण गर्नु आवश्यक छ। अडान लिनु र सिद्धान्तहरू धारण गर्नुको अर्थ के हो? यसको अर्थ, तिनीहरूको सार स्पष्टसँग देख्नु, तिनीहरूलाई कहिल्यै विश्‍वासी नठान्नु, र तिनीहरूलाई दाजुभाइ वा दिदीबहिनी कदापि नठान्नु हो। तिनीहरू दियाबलस हुन्, तिनीहरू शैतान हुन्। यो तिनीहरूलाई क्षमा दिने कि नदिने भन्ने कुरा होइन, यो त सदाको लागि आफूलाई तिनीहरूदेखि अलग राख्ने र तिनीहरूलाई इन्कार गर्ने कुरा हो। यो पूर्णतया जायज र सत्यताअनुरूप छ। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले यस्तो गर्नु अति निर्दयी कुरा होइन र?” (होइन।) अडान लिनु र सिद्धान्तहरू धारण गर्नु भनेको यही हो। परमेश्‍वर जे गर् भन्नुहुन्छ, हामी त्यही गर्छौँ। परमेश्‍वरले जोसँग उदार हू भन्नुहुन्छ, हामी ऊसँग उदार हुन्छौँ, र उहाँ जुन कुरालाई घृणा गर् भन्नुहुन्छ, हामी त्यसलाई घृणा गर्छौँ। व्यवस्थाको युगमा, व्यवस्था र आज्ञा उल्लङ्घन गर्नेहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूले ढुङ्गाले हानेर मार्थे, तर अहिले राज्यको युगमा, परमेश्‍वरसँग प्रशासनिक आदेशहरू छन्, र उहाँले दियाबलस र शैतान वर्गका मानिसहरूलाई मात्र हटाउनु र निष्कासित गर्नुहुन्छ। परमेश्‍वरका चुनिएका मानिसहरूले मानव धारणाहरूको नियन्त्रण वा प्रभावमा नपरी र धार्मिक मानिसहरूले निन्दा र दोषारोपण गर्लान् भन्‍ने डर नमानी, परमेश्‍वरका वचनहरू र उहाँले जारी गर्नुहुने प्रशासनिक आदेशहरू अभ्यास र पालन गर्नुपर्छ, उल्लङ्घन गर्नु हुँदैन। परमेश्‍वरको वचनअनुसार कार्य गर्नु भनेको स्वर्गले आदेश गरेको र पृथ्वीले स्विकारेको कुरा हो। हरसमय केवल यो विश्‍वास गर् कि परमेश्‍वरका वचनहरू सत्यता हुन्, मानिसका वचनहरू जति राम्रा भए पनि सत्यता होइनन्। मानिसहरूसँग यही विश्‍वास हुनुपर्छ। तिनीहरूमा परमेश्‍वरप्रति यही विश्‍वास हुनुपर्छ, र तिनीहरूमा आज्ञाकारिताको यही मनोवृत्ति हुनुपर्छ। यही नै मनोवृत्तिको सवाल हो।

हामीले नैतिक आचरणसम्बन्धी “कर्मअनुसारको फल मिल्छ; त्यसैले सकेसम्‍म उदार हुनुपर्छ” भन्ने भनाइ र परमेश्‍वरको कार्यका सिद्धान्तहरूबारे धेरथोर मनग्गे कुरा गरिसकेका छौँ। मानिसहरूलाई हानि पुऱ्याउने मामिलाहरूको कुरा गर्नुपर्दा, के अहिले तिमीहरूले ती मामिलाहरू सम्हाल्ने सिद्धान्त बुझ्यौ, जुन पमेश्‍वरले मानिसहरूलाई सिकाउनुहुन्छ? (बुझ्यौँ।) यो के हो भने, परमेश्‍वरले मानिसहरूलाई आफूमाथि आइपर्ने मामिला सम्हाल्दा आवेगमा आउने अनुमति दिनुहुन्न, झन् कुनै मामिला सम्हाल्न मानव नैतिक नियमहरू प्रयोग गर्ने अनुमति दिनु त परै जाओस्। परमेश्‍वरले मानिसहरूलाई बताउनुहुने सिद्धान्त के हो? मानिसहरूले कुन सिद्धान्त पछ्याउनुपर्छ? (परमेश्‍वरको वचनअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्ने, अनि सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने।) त्यो सही हो, परमेश्‍वरको वचनअनुसार मानिसहरू र विभिन्‍न कुराहरूलाई हेर्ने अनि सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्ने। जेसुकै आइपरे पनि, त्यसलाई परमेश्‍वरको वचनअनुसार सम्हाल्‍नुपर्छ, किनभने सबै मामिला र सबै कुरामा आइपर्ने हरेक कुरा र जुनसुकै व्यक्ति वा मामिलापछाडि मूल कारण हुन्छ, र ती सबै कुरा परमेश्‍वरले बन्दोबस्त गर्नुहुन्छ र ती सबैमाथि उहाँको सार्वभौकिता हुन्छ। आइपर्ने हरेक कुराको अन्तिम परिणाम सकारात्मक वा नकारात्मक हुन सक्छ, अनि ती कुराहरूबीचको भिन्नता मानिसहरूको खोजी र तिनीहरू हिँड्‍ने मार्गमा निर्भर हुन्छ। यदि तैँले परमेश्‍वरको वचनअनुसार मामिलाहरू सम्हाल्ने छनौट गरिस् भने, अन्तिम परिणाम सकारात्मक हुनेछ; यदि तैँले देहगत र आवेगपूर्ण तरिका, अनि मानिसहरूबाट आउने ती सबै विभिन्न भनाइ, विचार र दृष्टिकोणहरूअनुसार ती मामिला सम्हाल्ने छनौट गरिस् भने, अन्तिम परिणाम निश्‍चय नै आवेगपूर्ण र नकारात्मक हुनेछ। यदि ती आवेगपूर्ण र नकारात्मक कुराहरूले मानिसहरूको मर्यादा, शरीर, प्राण, हित, आदि इत्यादिमा हानि गरे भने, ती कुराहरूले अन्ततः मानिसहरूमा घृणा र कालो छायाँ मात्र पारिदिनेछन्, जसबाट तिनीहरू कहिल्यै मुक्त हुन सक्दैनन्। कुनै व्यक्तिले सामना गर्ने विभिन्न मानिस, मामिला र वस्तुहरूको कारण पत्ता लगाउन परमेश्‍वरका वचनहरू पछ्याएर मात्र सम्भव हुन्छ, अनि यस्ता मानिस, मामिला र वस्तुहरूको सार स्पष्टसित देख्न पनि परमेश्‍वरका वचनहरू पछ्याएर मात्र सम्भव हुन्छ। अनि अवश्य नै, मानिसहरूले आफूले सामना गर्ने ती सबै विभिन्न मानिस, मामिला र वस्तुहरूसँग सम्बन्धित समस्याहरू परमेश्‍वरका वचनहरू पछ्याएर मात्र सहीसँग सम्हाल्न र हल गर्न सक्छन्। अन्त्यमा, यसले मानिसहरूलाई परमेश्‍वरले सिर्जना गर्नुहुने सबै वातावरणबाट लाभ उठाउन सक्षम बनाउनेछ, तिनीहरूको जीवन क्रमिक रूपमा वृद्धि हुनेछ, तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन हुनेछ, र त्यससँगै तिनीहरूले त्यसमा जीवनको सही दिशा, जीवनप्रतिको सही दृष्टिकोण, जीवन अस्तित्वको सही पद्धति अनि पछ्याउनुपर्ने सही लक्ष्य र मार्ग भेट्टाउनेछन्। हामीले मूलतः नैतिक आचरणसम्बन्धी “कर्मअनुसारको फल मिल्छ; त्यसैले सकेसम्‍म उदार हुनुपर्छ” भन्ने भनाइबारे हाम्रो सङ्गतिलाई पूरा गरेका छौँ। यो भनाइ अलि सतही छ, तर सत्यताअनुसार विश्‍लेषण गर्दा यसको सार त्यति सरल छैन। यस सन्दर्भमा मानिसहरूले के गर्नुपर्छ र यस्ता परिस्थितिहरू कसरी सम्हाल्नुपर्छ भन्ने कुरा त झनै सरल छैन। यो मानिसहरूले सत्यता खोज्न र पछ्याउन सक्छन् कि सक्दैनन् भन्ने कुरासँग सम्बन्धित छ, अनि अवश्यै यो मानिसहरूको स्वभाव परिवर्तन र मानिसहरूको मुक्तिसँग पनि झनै धेरै सम्बन्धित छ। तसर्थ, चाहे यी सरल हुन् कि जटिल, सतही हुन् कि गहन, यी समस्याहरूलाई सही तरिका र गम्भीरतासाथ सम्हाल्नुपर्छ। मानिसहरूको स्वभाव परिवर्तन वा मानिसहरूको मुक्तिसँग सम्बन्धित कुनै कुरा पनि नगण्य मामिला होइन, यस्ता सबै कुरा गम्भीर र महत्त्वपूर्ण हुन्छन्। मलाई आशा छ, अबउप्रान्त तिमीहरूले आफ्नो दैनिक जीवनमा पारम्परिक संस्कृतिको नैतिकतासम्बन्धी ती सबै विभिन्न भनाइ र दृष्टिकोणहरूलाई आफ्नो विचार र विवेकदेखि बाहिर निकाल्नेछौ, अनि ती वास्तवमा के रहेछन् भनेर परमेश्‍वरको वचनअनुसार विश्‍लेषण गर्नेछौ र चिन्नेछौ, र यसरी तिमीहरूले क्रमिक रूपमा ती कुराहरू बुझ्‍न र समाधान गर्न, जीवनमा पूर्णतया नयाँ दिशा र लक्ष्य अपनाउन, अनि तिमीहरूको जीवन अस्तित्वको पद्धतिलाई पुरै परिवर्तन गर्न सक्‍नेछौ। लौ त, आजको सङ्गति यतिमै टुङ्ग्याऔँ। फेरि भेटौँला!

अप्रिल २३,२०२२

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (८)

अर्को: सत्यता पछ्याउनु भनेको के हो (१०)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्