सत्यता पछ्याउनु भनेको के हो (४)

पछिल्लो सङ्गतिमा हामीले सङ्गति गरेको विषय स्मरण गर्दै सुरु गरौँ। (हामीले हाम्रो पछिल्लो भेलामा “सत्यता पछ्याउनु भनेको के हो” भन्‍ने विषयमा सङ्गति गरेका थियौँ। सुरुमा हामीले यो प्रश्‍नमा ध्यान केन्द्रित गरेका थियौँ: “मानिसहरूले असल र सही ठानेका कुराहरू सत्यता नहुँदा पनि, मानिसहरूले किन अझै पनि ती कुराहरू सत्यता भएझैँ गरी तिनलाई अङ्गालिराख्छन् र त्यसो गर्दा तिनीहरूले सत्यताको खोजी गरिरहेका छन् भन्‍ने सोच्छन्?” तपाईंले यसका तीन वटा कारणहरू दिनुभएको थियो। तपाईंले तीमध्ये पहिलोका बारेमा मुख्य रूपमा कुरा गर्नुभयो, जुन मानिसहरूले आफ्‍ना धारणाहरूमा असल र सही भन्ठानेका ती कुराहरू वास्तवमा के हुन् भन्‍ने बारेमा थियो।) हाम्रो पछिल्लो भेलामा हामीले पहिलो कारणबारे नै मुख्य रूपमा सङ्गति गरेका थियौँ। हामीले मानिसहरूले आफ्‍ना धारणाहरूमा असल र सही ठान्‍ने कुराहरूका बारेमा बताएका थियौँ, र ती कुराहरूलाई दुई मुख्य विस्तृत वर्गमा विभाजित गरेका थियौँ: पहिलो “असल व्यवहार,” र दोस्रो “असल नैतिक आचरण।” मैले पहिलो वर्ग, अर्थात् “असल व्यवहार” का जम्माजम्मी छ वटा उदाहरणहरू दिएको थिएँ: शिक्षित र समझदार बन्ने, भद्र र परिष्कृत बन्ने, शिष्ट बन्‍ने, ठूलालाई आदर र सानालाई ख्याल गर्ने, मिलनसार बन्ने र व्यवहार गर्न सजिलो बन्ने। हामीले अझै “असल नैतिक आचरण” का बारेमा सङ्गति गरेका छैनौँ। हामीले केही विषयहरूका बारेमा सङ्गति गरेर त्यस सङ्गतिका सत्यता र सिद्धान्तहरूलाई सहज र स्पष्ट तुल्याउँदै, सबै कुरालाई ठोस र प्रष्ट बनाउँदै तीबारे थोरै समीक्षा गर्नुपर्ने हुन्छ। यसो गर्दा तिमीहरूलाई सत्यता बुझ्‍न अलिक सहज हुनेछ। हाम्रो पछिल्लो सङ्गतिमा केही विस्तृत खण्डहरू, साथै केही निश्‍चित उदाहरणहरू समावेश थिए। त्यो धेरै जस्तो लाग्छ, तर वास्तवमा, हामीले ती विस्तृत खण्डहरूभित्रका केही विशिष्ट कुराहरूका बारेमा मात्रै सङ्गति गर्‍यौँ, र हामीले ती विशिष्टतालाई थप टुक्र्याएर हेर्‍यौँ, ताकि हाम्रो सङ्गति अलिक स्पष्ट र अझ फरक होस्। हामीले असल व्यवहारका छ वटा उदाहरणहरू दियौँ, तर तिनका बारेमा एक-एक गरी विस्तृत रूपमा सङ्गति गरेनौँ। ती उदाहरणहरूमध्ये, शिक्षित र समझदार हुनु मानिसहरूले आफ्‍ना धारणाहरूअनुसार सही र असल ठान्‍ने कुराहरूको एउटा उत्कृष्ट उदाहरण हो। हामीले यो उदाहरणका बारेमा अलिक बढी सङ्गति दियौँ। बाँकी पनि यस्तै छन्; तिनको चिरफार गर्न र तिनलाई खुट्टयाउनका लागि तिमीहरूले त्यस्तै विधिको प्रयोग गर्न सक्छौ।

आज, हामी हाम्रो सङ्गतिको खास विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिले, म तिमीहरूलाई दुई वटा छोटो कथा सुनाउनेछु। के तिमीहरूलाई कथा सुन्‍न मन पर्छ? (मन पर्छ।) कथा सुन्दा त्यति थकाइ लाग्दैन, र कुरा बुझ्‍न एकदमै धेरै ध्यान पनि दिनु पर्दैन। तुलनात्मक रूपमा यो त्यति कठिन पनि हुँदैन, र निकै रोचक हुन सक्छ। त्यसकारण, ध्यान दिएर सुन, अनि कथाको विषयवस्तु सुन्दै गर्दा, मैले ती किन सुनाइरहेको छु भन्‍ने बारेमा पनि विचार गर—तिनमा के-कस्ता निश्‍चित, मुख्य विचारहरू समावेश छन्, वा अर्को शब्‍दमा भन्दा, ती सुनेर मानिसहरूले के-कस्ता व्यावहारिक कुराहरू सिक्‍न सक्छन्। ल त—हामी हाम्रो कथा सुरु गरौँ। यी कथाहरू जियाओजियाओ र जियाओजीका कथाहरू हुन्।

जियाओजियाओ र जियाओजीका कथाहरू

केही समयसम्‍म, जियाओजियाओको आँखा दुखेको थियो, त्यसका साथै दृष्टि मधुरो भएको थियो, आँखा उज्यालोप्रति संवेदनशील भएको थियो, हावा पर्दा आँसु आउँथ्यो, आँखामा केही पसेको जस्तो लाग्थ्यो, र अरू पनि त्यस्तै लक्षणहरू थिए। उसले आँखा मिच्थ्यो, तर त्यसले केही हुन्नथ्यो। जियाओजियाओलाई आफूलाई के भएको हो भन्‍ने थाहा थिएन। उसले सोच्यो, “मेरो आँखामा पहिले कहिल्यै समस्या आएको थिएन, र म राम्ररी नै देख्थेँ। के भइरहेको छ?” ऐनामा हेर्दा, उसको आँखा पहिलेको जस्तै देखिन्थ्यो—अलिक रातो, र कहिलेकहीँ थोरै रगत जमेको जस्तो मात्रै देखिन्थ्यो। जियाओजियाओलाई यो देख्दा अचम्‍म लाग्थ्यो, र ऊ अलिक बेचैन पनि हुन्थ्यो। सुरुमा यो लक्षण देखिँदा उसले यसलाई त्यति मतलब गरेन, तर यस्ता लक्षणहरू बारम्‍बार देखिन थाले र उसले अन्ततः सहनै सकेन। उसले यसबारे केही विचार गर्‍यो: “म डाक्टरकहाँ जाऊँ कि आफै यसबारे खोजीनिधो गरौँ? यसबारे जानकारी खोज्‍नु निकै कष्टकर हुनेछ, र मैले वास्तविक समस्यालाई गलत रूपमा निदान गर्न सक्छु। म सीधै डाक्टरकहाँ जाँदा नै राम्रो हुन्छ; उनले अवश्य नै सही निदान गर्नेछन्।” त्यसकारण, जियाओजियाओ डाक्टरकहाँ गयो। डाक्टरले उसलाई जाँचे तर कुनै ठूलो समस्या भेट्टाएनन्। उनले आँखामा हाल्‍ने केही सामान्य औषधी दिए र जियाओजियाओलाई आफ्‍नो आँखाको हेरचाह गर्न र तिनलाई बढी दबाब नदिन सल्‍लाह दिए। आफ्‍नो आँखामा कुनै ठूलो समस्या छैन भन्‍ने थाहा पाउँदा जियाओजियाओलाई निकै राहत मिल्यो। घर फर्केपछि, जियाओजियाओले डाक्टरले भनेको समय र मात्राअनुसार हरेक दिन औषधी लगाउन थाल्यो, र केही दिनमा उसका लक्षणहरू हराउन थाले। जियाओजियाओको हृदयबाट ठूलो भारी हट्यो: उसलाई यदि औषधीले निको हुने रहेछ भने, यो समस्या गम्‍भीर रहेनछ भन्‍ने लाग्यो। तर यो भावना लामो समयसम्‍म रहेन, किनभने केही समयपछि, उसका लक्षणहरू फेरि देखापर्न थाले। जियाओजियाओले औषधीको डोज बढायो, र उसको आँखा अलिक निको भयो, र उसका लक्षणहरू अलिक कम भए। तर केही दिनपछि उसको आँखा पहिलेको जस्तै भयो, र लक्षणहरू अझै गम्‍भीर हुन र झन्-झन् बारम्बार देखा पर्न थाले। जियाओजियाओले के भएको हो भनेर थाहा पाउनै सकेन, र उसलाई दुःखको अर्को बादलले छोप्यो: “मैले के गर्ने? डाक्टरले दिएको औषधीले त काम गरिरहेको छैन। के यसको अर्थ मेरो आँखामा कुनै गम्‍भीर समस्या आएको हो? मैले यो कुरालाई बेवास्ता गर्नु हुँदैन।” उसले यसपाली फेरि डाक्टरकहाँ नजाने वा आफ्नो आँखाका समस्याहरूका बारेमा डाक्टरको सल्‍लाह नलिने निर्णय गर्‍यो। बरु, उसले आफै समस्या समाधान गर्ने निर्णय गर्‍यो। उसले अनलाइन गएर आफ्ना लक्षणहरूसँग सम्‍बन्धित सबै भिडियो र जानकारीहरू खोज्यो। तीमध्ये धेरैमा यी समस्याहरू आँखा अनुचित रूपमा प्रयोग गर्दा आउँछन्, उसले आफ्‍नो आँखाको हेरचाह गर्नुपर्छ, र उसले आफ्‍नो आँखा उचित रूपमा प्रयोग गर्नु अझै बढी महत्त्वपूर्ण हुन्छ भनेर भनिएको थियो। जियाओजियाओलाई यो सल्‍लाह उपयोगी छैन, र यसले आफ्नो समस्या समाधान गर्न सक्दैन भन्‍ने लाग्यो। त्यसकारण, उसले जानकारी खोजिरह्यो। एक दिन, उसले एउटा स्रोत भेट्टायो, जसमा यस्ता लक्षणहरू आँखाको नानीमा रक्तस्राव हुँदा देखा पर्छन्, र ग्‍लुकोमा हुनुभन्दा पहिले यस्तो हुन सक्छ भनेर भनिएको थियो। उसका लक्षणहरू बिग्रँदै गएको खण्डमा मोतीबिन्दु समेत हुन सक्थ्यो। जियाओजियाओले “ग्‍लुकोमा” र “मोतीबिन्दु” भन्‍ने शब्‍दहरू पढेपछि उसलाई रिँगटा नै लाग्यो। सबै कुरा अँध्यारो भयो र ऊ झन्डै बेहोस भयो, र उसको मुटुको धड्कन तेज हुन थाल्यो। “हे परमेश्‍वर, के भइरहेको छ? के मलाई साँच्‍चै ग्‍लुकोमा र मोतीबिन्दु हुन लागेको हो? मोतीबिन्दु भयो भने त शल्यक्रिया गर्नुपर्छ रे, र ग्‍लुकोमा भयो भने दृष्टिविहीन हुने सम्‍भावना हुन्छ भन्‍ने सुनेको छु। त्यसो भयो भने त मेरो सबै सक्कियो, होइन र? म अझै जवानै छु—म दृष्टिविहीन भएँ भने, दृष्टिविहीन भएर बाँकी जीवन कसरी जिउनु? त्यहाँदेखि त मैले के कुराको आशा गर्ने र? के मैले मेरो जीवन अन्धकारमा बिताउनेछैन र?” जियाओजियाओले “ग्‍लुकोमा” र “मोतीबिन्दु” भन्‍ने शब्‍दहरू देखेपछि, ऊ थपक्‍क बसिरहन नसक्‍ने अवस्थामा पुग्यो। ऊ व्याकुल भयो, र निराशा र दिक्दारीमा झन्-झन् डुब्दै गयो। उसलाई के गर्ने वा आउँदा दिनहरूको सामना कसरी गर्ने भन्‍ने थाहा थिएन। ऊ दुःखले भरियो र उसको अगाडि रहेको सबै कुरालाई कुहिरोले ढाक्यो। यो समस्याको सामना गर्दा, जियाओजियाओ पूर्ण रूपमा निराशामा डुब्यो। उसलाई बाँच्‍न पनि मन लाग्‍न छोड्यो, र उसले आफ्नो कर्तव्य निर्वाह गर्ने ऊर्जा बटुल्न सक्दैनथ्यो। ऊ डाक्टरकहाँ फर्केर जान वा अरू मानिसहरूलाई आफ्‍नो आँखाको समस्या बताउन चाहँदैनथ्यो। अवश्य नै, उसलाई ग्‍लुकोमा वा मोतीबिन्दु हुन्छ भन्‍ने मानिसहरूले थाहा पाउँछन् भन्‍ने डर थियो। अनि त्यसरी नै, जियाओजियाओले निराशा, नकारात्मकता, र अन्योलमा दिनहरू बिताउन थाल्यो। उसले आफ्‍नो भविष्यका बारेमा अनुमान लगाउने वा योजना गर्ने आँट गरेन, किनभने उसको विचारमा भविष्य भयानक र हृदयविदारक थियो। उसले आफ्‍ना दिनहरू निराशा र हैरानीमा अनि भयानक मनस्थितिमा बिताउन थाल्यो। उसलाई प्रार्थना गर्न वा परमेश्‍वरका वचनहरू पढ्न मन लाग्दैनथियो, र अरू मानिसहरूसँग बोल्‍न त झनै मन लाग्दैनथियो। ऊ पूर्ण रूपमा फरक व्यक्ति भएको छ जस्तै देखिन्थ्यो। यसको केही दिनपछि, जियाओजियाओलाई अचानक एउटा विचार आयो: “म जुन अवस्थामा छु, यो त अत्यन्तै दयनीय अवस्था हो। मेरो भविष्य अँध्यारो भएको हुनाले र परमेश्‍वरले मेरो सुरक्षा गर्नुको सट्टा यो रोग लाग्‍न दिनुभएको हुनाले, मैले किन आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने प्रयास गर्नु? जीवन छोटो छ; मैले मेरो आँखा राम्रै भएको बेला किन यो अवसर प्रयोग गर्दै आफूलाई मन पर्ने कुराहरू गरेर खुसी नहुने? मेरो जीवन किन यति थकाइलाग्दो हुनुपर्‍यो? मैले किन आफूलाई यति चोट दिने र आफूलाई यस्तो नराम्रो व्यवहार गर्ने?” अनि त्यसकारण, सुत्‍ने, खाने, वा काम गर्ने समयमा बाहेक, जियाओजियाओले आफ्‍नो धेरैजसो समय इन्टरनेटमा, गेम खेलेर, भिडियो हेरेर, निरन्तर टेलीश्रृङ्खलाहरू हेरेर बिताउँथ्यो, र बाहिर हुँदा, उसले आफूसँग फोन लिएर जान्थ्यो र निरन्तर गेमहरू खेल्थ्यो। उसले इन्टरनेटको संसारमा तल्‍लीन भएर आफ्‍ना दिनहरू बिताउँथ्यो। स्वाभाविक रूपमै, त्यसो गर्ने क्रममा उसको आँखाको पीडा झन्-झन् बढ्दै गयो, र उसका लक्षणहरू पनि गम्‍भीर हुँदै गए। उसले सहनै नसकेपछि आफ्‍ना लक्षणहरू कम गर्न आफ्नो आँखाको औषधी प्रयोग गर्थ्यो, र अलिक निको भएपछि, ऊ आफूलाई मन पर्ने कुराहरू हेर्दै फेरि इन्टरनेटको संसारमा डुब्थ्यो। उसले आफ्‍नो हृदयको गहिराइमा भएको डर र भयलाई यसरी नै हटाउँथ्यो, र उसले यसरी नै समय बिताउँथ्यो र दिन काट्थ्यो। जब-जब जियाओजियाओको आँखा दुख्थ्यो र लक्षणहरू बढ्दै जान्थे, उसले अवचेतन रूपमा आफ्‍ना वरिपरिका मानिसहरूलाई हेरेर सोच्थ्यो, “अरूले पनि मैले जस्तै आफ्‍नो आँखाको प्रयोग गर्छन्। तिनीहरूको आँखा किन कहिल्यै रातो हुँदैन, र आँसु झर्दैन, र आँखामा केही पसेको जस्तो अनुभव हुँदैन? किन मलाई नै यो रोग लाग्‍नुपर्ने? के यो त परमेश्‍वरले पक्षपात गरेको होइन र? मैले परमेश्‍वरका लागि कति मेहनत गरेको छु; र पनि किन उहाँले मेरो रक्षा गर्नुहुन्‍न? परमेश्‍वरले कति पक्षपात गर्नुहुन्छ! किन अरू सबै जनाले परमेश्‍वरको सुरक्षा पाउने सौभाग्य पाएका छन्, तर मैले पाउन सकेको छैनँ? किन सबै दुर्भाग्य मेरो भागमा आउनुपर्ने?” जियाओजियाओले जति सोच्थ्यो, उसलाई त्यति नै रिस उठ्थ्यो र झर्को लाग्थ्यो, र उसलाई जति रिस उठ्थ्यो, उसले आफ्‍नो तिक्तता र रिस मेटाउन अनलाइन मनोरन्जन र सोखहरू प्रयोग गर्न मन गर्थ्यो। ऊ आफ्‍नो आँखाको रोगबाट जति सक्दो चाँडो मुक्त हुन चाहन्थ्यो, तर ऊ यो तिक्तता र रिसबाट जति मुक्त हुन चाहन्थ्यो, उसको हर्ष र शान्ति त्यति नै कम हुन्थ्यो, र इन्टरनेटको संसारमा जति नै डुबे पनि, उसलाई आफू त्यति नै अभागी छु जस्तो लाग्थ्यो। अनि उसले आफ्‍नो हृदयमा परमेश्‍वरले पक्षपात गर्नुहुन्छ भनेर गुनासो गर्थ्यो। यसरी एकपछि अर्को गर्दै दिनहरू बित्‍न थाले। जियाओजियाओको आँखाको समस्या अलिकति पनि ठीक भएन, र उसको मुड झन्-झन् खराब हुँदै गयो। यस्तो अवस्थामा, जियाओजियाओले झनै असहाय र अभागी अनुभव गर्थ्यो। जियाओजियाओको जीवन यसरी नै बितिरह्यो। उसलाई कसैले पनि सहयोग गर्न सकेन, र उसले कुनै सहयोग खोजेन। ऊ निराश र विवश हुँदै आफ्‍नो हरेक दिन तुवाँलोभित्र बसेर बिताउन थाल्यो।

त्यो जियाओजियाओको कथा थियो। हामी यो कथालाई यहीँ समाप्त गर्नेछौँ। अर्को कथा जियाओजीको हो।

आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, जियाओजीले पनि जियाओजियाओको जस्तै समस्या सामना गर्‍यो। उसले मधुरो देख्‍न थाल्यो, र उसको आँखा प्राय सुन्‍निन्थ्यो र पोल्थ्यो। यसको साथै उसको आँखामा बारम्बार केही पसेको जस्तो अनुभूति हुन्थ्यो, र उसले आँखा मिचेपछि पनि सन्चो हुँदैनथियो। उसले सोच्थ्यो, “के भइरहेको छ? मेरो आँखा त राम्रो थियो; म पहिले कहिल्यै आँखाको डाक्टरकहाँ गएको छैन। आजभोली आँखामा के भएको छ? के मेरो आँखामा समस्या आएको हो?” ऐनामा हेर्दा, उसको आँखा पहिलेको भन्दा फरक देखिँदैनथियो। उसको आँखा पोल्थ्यो, र आँखा मज्जासँग झिम्काउँदा अझै पाछ्थ्यो र सुन्‍निन्थ्यो, र आँसु आउन थाल्थ्यो। जियाओजीलाई आफ्नो आँखामा समस्या छ भन्‍ने लाग्यो, र उसले सोच्यो, “आँखाको समस्या गम्‍भीर हुन्छ। मैले यसलाई बेवास्ता गर्नु हुँदैन। तैपनि, मलाई असहज महसुस हुँदैन, र यसले मेरो जीवन वा कर्तव्यमा असर गरेको छैन। आजभोली मण्डलीको काम निकै व्यस्त भएको छ, र डाक्टरकहाँ जाँदा मेरो कर्तव्यमा असर पर्न सक्छ। खाली समयमा म यसबारे जानकारी खोज्‍नेछु।” यो निर्णय गरेपछि, आफ्‍नो कर्तव्य पूरा गरेपछि खाली समय हुँदा जियाओजीले केही उपयुक्त जानकारी खोज्यो, र उसकोको आँखामा कुनै ठूलो समस्या छैन भन्‍ने थाहा पायो—यो असहजता आँखा लामो समयसम्‍म र धेरै प्रयोग गरेकाले भएको थियो। उचित तरिकाले आँखा प्रयोग गरेपछि, उचित हेरचाह गरेपछि, र केही उपयुक्त व्यायामहरू गरेपछि, उसको आँखा सामान्य हुनेथियो। यो पढ्दा जियाओजी निकै खुसी भयो। “यो ठूलो समस्या होइन रहेछ, त्यसकारण मैले य चिन्ता गर्नु पर्दैन। मैले आफ्‍नो आँखा उचित रूपमा प्रयोग गर्नुपर्छ र उचित व्यायाम गर्नुपर्छ भनेर यो स्रोतले भन्छ—त्यसकारण, म आफ्‍नो आँखा कसरी उचित रूपमा प्रयोग गर्ने र तिनलाई सामान्य अवस्थामा फर्काउन कुन व्यायाम गर्ने भन्‍नेबारे खोजी गर्नेछु।” त्यसपछि उसले थप उपयुक्त जानकारी खोज्यो र त्यसबाट उसले आफ्‍नो अवस्थासँग मिल्‍ने केही विधि र शैलीहरू छनौट गर्‍यो। त्यहाँदेखि, जियाओजीले आफ्‍नो सामान्य जीवन र कर्तव्य निर्वाह गर्नेबाहेक एउटा नयाँ काम पनि पायो: आफ्‍नो आँखाको हेरचाह गर्ने काम। उसले आफूले सिकेको आँखाको हेरचाह गर्ने उपायहरू दैनिक रूपमा अभ्यास गर्न थाल्यो। ती प्रयोग गरेर हेर्दा, उसले आफ्‍नो आँखामा देखा परेका लक्षणहरू कम हुन्छन् कि हुँदैनन् भनी जाँच्यो। केही समयसम्‍म तिनको जाँच र प्रयोग गरेर हेरेपछि, जियाओजीलाई केही विधिहरू उपयुक्त छन्, र अरू सिद्धान्तको हिसाबमा राम्रा भए पनि अभ्यासमा राम्रा छैनन् भन्‍ने लाग्यो—तिनले कम्तीमा पनि उस समस्या समाधान गर्न सक्दैनथिए। त्यसकारण, त्यो प्रारम्‍भिक अवधिमा पत्ता लगाएका कुराहरूबाट जियाओजीले आफ्‍नो आँखाको स्वास्थ्य स्थिति कायम राख्‍न केही विधि र शैलीहरू छनौट गर्‍यो, जसले काम गरेका थिए। त्यसले आफ्‍नो कर्तव्यमा ढिलाइ नगर्दा, उसले हरेक दिन उचित रूपमा आँखाको प्रयोग र हेरचाह गर्न थाल्यो। केही समयपछि, जियाओजीको आँखा झन्-झन् निको हुँदै गयो; उसका पहिलेका लक्षणहरू—रातो हुने, पाछ्‍ने, पोल्‍ने, र इत्यादि—बिस्तारै हराएर जान थाले, र यो समस्या झन्-झन् कम देखा पर्न थाल्यो। जियाओजीलाई भाग्यमानी अनुभव भयो। “परमेश्‍वरलाई उहाँको अगुवाइको लागि धन्यवाद। यो उहाँको अनुग्रह र उहाँको मार्गदर्शन हो।” जियाओजीले आफ्‍नो आँखाको समस्या र लक्षणहरू कम हुँदै गए पनि, आँखाको हेरचाह गर्ने र आफ्‍नो आँखा सही रूपमा प्रयोग गर्ने कार्यलाई कुनै अल्छी नगरी निरन्तरता दिइरह्यो। अनि केही समयपछि, उसको आँखा पूर्ण रूपमा सामान्य भयो। यस अनुभवबाट, जियाओजीले आफ्‍नो आँखा स्वस्थ राख्‍ने केही उपायहरू सिक्यो, र आफ्‍नो आँखा कसरी प्रयोग गर्ने र सही तरिकाले कसरी जिउने भन्‍ने कुरा पनि सिक्यो। उसले आफ्‍नो जीवनको फेहरिस्तमा केही सकारात्मक र सामान्य ज्ञान थप्यो। जियाओजी निकै खुसी थियो। उसलाई आफूले केही उकाली-ओराली अनुभव गरेको र केही असामान्य अनुभव आइपरेको भए पनि, अन्ततः यसबाट महत्त्वपूर्ण जीवन अनुभव पाएको छु भन्‍ने लाग्यो। जब-जब जियाओजीको नजिकका कसैले आँखा दुख्यो, सुन्‍नियो र पाछ्यो भनेर भन्थे, उसले खुलस्त रूपमा आफ्‍नो अनुभव र आफूले प्रयोग गरेका शैली र विधिहरू तिनीहरूलाई बताउँथ्यो। जियाओजीको सहयोगद्वारा, आँखाको समस्या अनुभव गरेका अरूले पनि आफ्‍नो आँखा सही तरिकाले प्रयोग गर्ने र आफ्‍नो आँखालाई स्वस्थ राख्‍ने तरिका र विधिहरू सिके। जियाओजी खुसी थियो, र उसले आफू वरिपरिका मानिसहरूलाई ठूलो सहयोग गर्यो। त्यसकारण, त्यस दौरान, जियाओजी र अरूले मानिसका रूपमा आफ्‍नो जीवनमा हुनुपर्ने केही सामान्य ज्ञान प्राप्त गरे। सबैले सँगै मिलेर खुसी र आनन्का साथ काम गरे र आफ्‍नो कर्तव्य निर्वाह गरे। जियाओजी आफ्‍नो आँखाको समस्याका कारण नकारात्मकता वा विवशतामा डुबेन, न त उसले आफ्‍नो दुर्भाग्यका बारेमा कहिल्यै गुनासो नै गर्यो। उसले जानकारी खोज्दा जियाओजियाओले देखेका केही भयानक दाबीहरू देखे पनि, उसले त्यसलाई त्यति ध्यान दिएन। बरु, उसले सक्रिय र उचित रूपमा आफ्‍नो समस्या समाधान गर्यो। यही कुरा जियाओजियाओलाई हुँदा, ऊ बारम्‍बार निराशा, विवशता र अन्योलमा परको थियो। अर्कोतर्फ, जियाओजी निराशा र अन्योलतामा पर्नबाट जोगिएको मात्रै होइन, तर ऊ परमेश्‍वरविरुद्धको द्वेषमा समेत परेन—र उसले यी घटनाहरूबाट जीवनप्रति अझै फाइदाजनक, सक्रिय, र सकारात्मक मनोवृत्ति समेत प्राप्गर्यो। उसले आफूलाई सहयोर्यो, र अरूलाई पनि सहयो गर्यो।

जियाओजियाओ र जियाओजीका कथाहरू यिनै थिए। अब तिमीहरूले तिनीहरू दुवैका कथा सुनेका छौ। के तिमीहरूले ती कथाहरू बुझ्यौ? तिमीहरूलाई को मन पर्‍यो? जियाओजियाओ कि जियाओजीको? (जियाओजी।) त्यसोभए, जियाओजियाओको नराम्रो कुरा के हो? (आफ्नो जीवनमा परिस्थितिहरू आइपर्दा, उसले उचित रूपमा सामना गर्न सकेन। तिनी नकारात्मक र विरोधी बन्यो।) नकारात्मक र विरोधी बन्‍नु भनेको आफैमाथि बरबादी निम्त्याउनु हो। अरू मानिसहरूको जीवनमा परिस्थितिहरू आइपर्दा तिनीहरूले तिनलाई समाधान गर्न सत्यताको खोजी गर्न सक्छन्, तर जियाओजियाओको जीवनमा यो परिस्थिति आइपर्दा, उसले सत्यताको खोजी गर्न सकेन, उसले नकारात्मकता र प्रतिरोध छनोट गर्यो। उसले आफ्‍नै बरबादी ल्याइरहको थियो। आजभोली जानकारी उन्नत भएको हुन सक्छ, तर यो शैतानी संसारमा, झूट र छल प्रशस्‍त्रै हुन्छन्। यो संसार झूट र छलले भरिएको छ। यो अराजक संसारमा कुनै पनि समस्या वा जानकारीको सामना गर्दा, मानिसहरूसँग बुद्धि हुनैपर्छ, तिनीहरू बुद्धिमान र सचेतन हुनैपर्छ, र तिनीहरूमा समझशक्ति हुनैपर्छ। तिनीहरूले सही दृष्टिकोणबाट फरक-फरक प्रकारका जानकारी कडाइका साथ छान्‍नुपर्छ। मानिसहरूले सहजै कुनै पनि दाबीमा विश्‍वास गर्नु हुँदैन, र निश्चय नै, कुनै पनि प्रकारको जानकारी सहज रूपमा विश्‍वास गर्नु त झनै हुँदैन। शैतानको संसारमा सबै मानिसहरू झूट बोल्छन्, र झूट बोल्नेहरूलाई कहिल्यै जवाफदेही बनाइँदैन। तिनीहरूले आफ्‍नो झूट बताउँछन् र त्यत्ति नै हो। यो संसारमा कसैले पनि झूटको भर्त्सना गर्दैनन्; कसैले पनि छलको भर्त्सना गर्दैनन्। मानिसको हृदय बुझ्‍न गाह्रो छ, र हरेक झूटो व्यक्तिको पछाडि एउटा अभिप्राय र उद्देश्य लुकेको हुन्छ। उदाहरणका लागि, तँ डाक्टरलाई जान्छ र उसले यसो भन्छ, “तपाईंको रोगको उपचार तुरुन्तै गर्नुपर्छ। उपचार गरेनौँ भने, यो क्यान्सरमा परिणत हुन सक्छ!” तँ डरपोक छस् भने, तँलाई डर लाग्‍नेछ: “अहो, खत्तम भयो! यो त क्यान्सर हुन सक्‍ने रहेछ! तुरुन्तै उपचार गरिहालौँ!” अनि परिणामस्वरूप, तैँले यसको उपचार गर्ने जति प्रयास गर्छस्, यो त्यति नै खराब हुँदै जान्छ, र तँ अस्पताल भर्ना हुनुपर्ने अवस्थामा पुग्छस्। डाक्टरले वास्तवमा तेरो रोग क्यान्सरमा परिणत हुन सक्छ भनेर भनेका थिए, जसको अर्थ यो क्यान्सर भइसकेको छैन भन्‍ने हुन्छ, तैपनि तैँले यसलाई गलत रूपले बुझिस् र यो क्यान्सर भएझैँ गरी यसको तुरुन्तै उपचार गरिहाल्‍नुपर्छभन्‍ने सोचिस्। के तैँले यसो गरेर मृत्युलाई आमन्त्रित गरिरहेको हुँदैनस् र? यदि तैँले यसलाई क्यान्सरको रूपमा लिइस् भने, यसको जति उपचार गर्ने प्रयास गर्छस्, तँ त्यति नै चाँडै मर्छस्। के त्यसपछि तँ त्यति धेरै बाँच्‍न सक्‍नेछस् र? (सक्नेछैनँ।) तँलाई वास्तवमा क्यान्सर लागेको हुँदैन, तैपनि किन डाक्टरले यसलाई उपचार गरिएन भने यो क्यान्सर बन्‍न सक्छ भनेर भन्छ त? उसले तेरो पैसा ठग्‍नलाई, तेरो रोगलाई गम्‍भीर रोगझैँ उपचार गर्का लागि यसो भनेको हुन्छ। यदि तँलाई यो सानोतिनो रोग हो भन्‍ने थाहा भएको भए, तैँले यसको उपचार गर्ने प्रयास गर्नेथिइनस्, र उसले तेरो पैसा पाउन सक्‍नेथिएन। जब धेरैजसो डाक्टरले आफ्‍ना बिरामीलाई भेट्छन्, तिनीहरूले तिनलाई पिशाचले मान्छेलाई आफ्नो पकडमा राखे जस्तै आफ्‍नो पकडमा राख्छन्, र कसिलो गरी पक्रेर छोड्दै छोड्दैनन्। यो धेरैजसो डाक्टरहरूले आफ्‍ना बिरामीहरूमा प्रयोग गर्ने आम पद्धति हो। तिनीहरूले आफू कति सुप्रसिद्ध छु, चिकित्सा क्षेत्रमा कति कुशल छु, कति जनालाई उपचार गरेको छु, के-कस्ता रोगहरू निको पारेको छु, र तिनीहरूले चिकित्सा क्षेत्रमा काम गरेको कति भयो भनेर बताउँदै सुरु गर्छन्। तिनीहरू तँलाई तिनीहरूमा विश्‍वास गर्न लगाएर थपक्‍क बसी तिनीहरूको उपचार स्वीकार गर्न लगाउँछन्। त्यसपछि, तिनीहरूले तँलाई ठूलो रोग लाग्‍न लागेको छ, र उपचार गरिएन भने, तँ मर्नेछस् भनेर भन्छन्। एक दिन सबै मान्छे मर्छन्, तर के तँलाई साँच्‍चै यही रोगले नै मार्नेछ? मार्ने नै छ भन्‍ने छैन। हरेक व्यक्तिको जीवन र मृत्यु परमेश्‍वरको हातमा हुन्छ। यसको निर्णय गर्ने डाक्टरहरू नभई उहाँ नै हुनुहुन्छ। डाक्टरहरूले प्रायजसो मानिसहरूलाई छल गर्न यही चाल प्रयोग गर्छन्। डरपोक र मृत्युदेखि डराउने मानिसहरूले जे कुरामा पनि मेडिकल सल्‍लाह लिन्छन् र तिनीहरूको स्वास्थ्य स्थितिबारे डाक्टरहरूलाई निर्णय गर्न दिन्छन्। यदि तिनीहरूका डाक्टरले तिनीहरूलाई क्यान्सर लाग्‍ने सम्‍भावना छ भनी बताए भने, तिनीहरूले त्यो विश्‍वास गर्छन्, र तिनीहरू क्यान्सरबाट मर्ने खतराबाट बच्न तुरुन्तै डाक्टरलाई उपचार गर्न लगाउँछन्। के तिनीहरू तर्सिरहेका मात्रै हुँदैनन् र? (हो।) अब हामी डाक्टरहरूका बारेमा कुरा गर्न छोड्नेछौँ र जियाओजियाओ र जियाओजीको कुरालाई जारी राख्‍नेछौँ। तिनीहरूको जीवनमा आइपर्ने सबै कुराको विषयमा तिनीहरूको दृष्टिकोण, हेराइ, र अडानहरू अत्यन्तै फरक छन्। जियाओजियाओ नकारात्मकताले भरिएका व्यक्ति हो भने, जियाओजीले आफूमाथि आइपरेका परिस्थितिहरूलाई उचित रूपमा लिन सक्यो। उसमा सामान्य मानवताको समझ र मूल्याङ्कन क्षमता छ र उसले सक्रिय तरिकाले परिस्थितिको सामना गर्छ। उसले आफ्‍नो कर्तव्य पनि निरन्तर निर्वाह गरिरहन्छ। तिनीहरू अत्यन्तै फरक किसिमका व्यक्ति हुन्। जियाओजियाओको जीवनमा कुनै परिस्थिति आइपर्दा, उसले त्यस परिस्थितिलाई निराशाका साथ हेर्छ, र लापरवाहीपूर्वक काम गर्छ। उसले यसलाई समाधान गर्न उचित विधि र माध्यमहरूको खोजी गर्दैन, र ऊ समझशक्तिरहित, भ्रमित, मूर्ख, एकोहोरो, र हठी पनि हुन्छ—अनि निकै द्वेषपूर्ण पनि। जब ऊ बिरामी पर्छ, वा जब उसलाई केही कठिनाइ आइपर्छ, वा कुनै खराब घटना घट्छ, तब उसले सबैलाई यस्तै होस् भन्‍ने आशा गर्छ। उसको सुरक्षा नगरेकोमा उसले परमेश्‍वरलाई घृणा गर्छ, र आफ्‍नो रिस पोखाउने चाहना गर्छ। तर उसले अरूलाई आफ्‍नो रिस पोखाउने र देखाउने आँट गर्दैनन्, त्यसकारण उसले आफैमाथि आफ्‍नो क्रोध पोखाउँछ र रिस देखाउँछ। के यो दुष्ट स्वभाव होइन र? (हो।) सानो कुरा आफूले भनेअनुसार नहुँदा आक्रोशित हुनु, घृणा र डाहाले भरिनु—त्यो त दुष्टता हो। जब जियाओजीलाई केही आइपर्छ, तब उसमा सामान्य मानवताको समझ र मूल्याङ्कन क्षमता हुन्छ। उसमा बुद्धि हुन्छ र उसले सामान्य मानवता भएको व्यक्तिले गर्नुपर्ने छनोट नै गर्छ। जियाओजीको रोग पनि जियाओजियाओको जस्तै भए पनि, अन्त्यमा उसको समस्या समाधान भयो, तर जियाओजियाओले आफ्‍नो समस्या कहिल्यै समाधान गर्न सकेन, र यो झन्-झन् खराब र तीव्र हुँदै गयो। जियाओजियाओको समस्या गम्‍भीर समस्या हो, र यो दैहिक रोग मात्रै पनि होइन—उसले आफ्‍नो हृदयको गहिराइमा भएको स्वभाव खुलासा गर्यो; उसले आफ्‍नै जिद्दी स्वभाव, कठोरता, मूर्खता, र खराबी खुलासा गर्यो। यी दुई बीचको भिन्‍नता त्यही हो। यदि तिमीहरूलाई यी दुई मानिसहरू जिउन्र तरिका, साथै परिस्थितिहरू सम्हाल्ने तिनीहरूको मनोवृत्ति र पद्धतिहरूका बारेमा थप ज्ञान र बुझइ छ भने, तिमीहरूले पछि यसबारे सङ्गतिलाई निरन्तरता दिन, यसलाई आफूसँग तुलना गर्न, र यसबाट पाठ सिक्‍न सक्छौ। अवश्‍य नै, तिमीहरू पनि जियाओजीले जस्तै सक्रिय रूपमा परिस्थितिको सामना गर्नुपर्छ। तिमीहरूले जीवनलाई उचित रूपमा लिनुपर्छ, परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्न कामकुराहरूलाई हेर्नुपर्छ, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नुपर्छ, ताकि तिमीहरू सत्यताको खोजी गर्ने व्यक्ति बन्‍न सक। तिमीहरू जियाओजियाओ जस्तो हुनु हुँदैन। होइन त? (हो।) तिमीहरूले त्यसरी नै खोजी र अभ्यास गर्नुपर्छ।

अब, हामीले पछिल्लो भेलामा सङ्गति गरेको विषयलाई फर्केर हेर्नेछौँ। हामीले मानिसहरूले आफ्‍ना धारणाहरूअनुसार सही र असल ठानेका कुराहरूको पहिलो पक्षका बारेमा, अर्थात्, असल व्यवहारका बारेमा कुरा गरेका थियौँ र असल व्यवहारका छ वटा उदाहरणहरू सूचीकृत गरेका थियौँ। ती सबै नै परम्‍परागत संस्कृतिले प्रवर्धन गरेका कुराहरू, र मानिसहरूले आफ्‍नो वास्तविक जीवनमा मन पराउने असल व्यवहारहरू थिए। ती के-के थिए भनेर तिमीहरूले मलाई भन्‍न सक्छौ? (शिक्षित र समझदार बन्ने, भद्र र परिष्कृत बन्ने, शिष्ट बन्ने, ठूलालाई आदर र सानालाई ख्याल गर्ने, मिलनसार बन्‍ने, व्यवहार गर्न सजिलो बन्ने।) हामीले अरू कुनै उदाहरण दिएनौँ। सायद चिनियाँ संस्कृतिले प्रस्तुत गरेका छ वटा मुख्य असल व्यवहारभन्दा अरू देशका परम्‍परागत संस्कृतिले अघि सारेका असल व्यवहारमा केही भिन्‍नता हुन सक्छन्, तर हामी तिनलाई सूचीकृत गर्नेछैनौँ। पछिल्लो पटक हामीले यी छ वटा असल व्यवहारका केही निश्‍चित विषयवस्तुका बारेमा सङ्गति र विश्‍लेषण गरेका थियौँ। समग्रमा, यी बाहिरी असल व्यवहारले मानवताभित्र रहेका सकारात्मक कुराहरूलाई प्रतिनिधित्व गर्दैनन्, न त तिनले व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्‍ने कुरालाई नै प्रतिनिधित्व गर्छन्—कुनै व्यक्तिले सत्यता बुझेको छ र ऊ सत्यता वास्तविकताअनुसार जिउँछ भन्‍ने कुरालाई त तिनले निश्चय नै प्रमाणित गर्दैनन्। ती त मानिसले देख्न सक्ने बाहिरी व्यवहारहरू मात्रै हुन्। सरल रूपमा भन्दा, ती त मानिसका बाहिरी प्रकटीकरणहरू हुन्। यी बाहिरी प्रकटीकरण र प्रस्फुटनहरू मानिसहरूले एक-अर्कासँग अन्तरक्रिया गर्दा, एकआपसमा मिल्दा, र जिउँदा देखिने औपचारिकताहरू मात्रै हुन्। “औपचारिकताहरू” ले केलाई जनाउँछ? यसले ती सबैभन्दा सतही कुराहरूलाई जनाउँछ, जसलाई हेर्दा मानिसहरूलाई सहज महसुस हुन्छ। तिनले मानिसको सारलाई अलिकति पनि प्रतिनिधित्व गर्दैनन्, न त तिनीहरूका विचार र दृष्टिकोणलाई, न त सकारात्मक कुराहरूप्रति तिनीहरूको मनोवृत्तिलाई नै प्रतिनिधित्व गर्छन्, र तिनले सत्यताप्रतिको मानिसहरूको मनोवृत्तिलाई प्रतिनिधित्व गर्नु त परको कुरा हो। बाहिरी व्यवहारहरूका बारेमा मानवजातिले राख्‍ने मूल्याङ्कनका माग र मानकहरू मानिसहरूले बुझ्‍न र हासिल गर्न सक्‍ने औपचारिकताहरू मात्रै हुन्। मानिसको सारसँग तिनको कुनै सम्‍बन्ध हुँदैन। मानिसहरू बाहिर रूपमा जति नै मिलनसार वा व्यवहार गर्न सजिलो देखिए पनि, र तिनीहरूले देखाउने बाहिरी व्यवहारलाई अरूले जति नै मन पराए पनि, सम्‍मान, आदर, र पूजा गरे पनि, यसको अर्थ तिनिहरूसँग मानवता छ भन्‍ने हुँदैन, न त यसको अर्थ तिनीहरूको प्रकृति सार असल छ, वा सकारात्मक कुराहरूलाई प्रेम गर्ने किसिमको छ, वा तिनीहरूमा न्यायको भावना छ भन्‍ने नै हुन्छ, अनि अवश्य नै, यसको अर्थ तिनीहरू सत्यता पछ्याउन सक्‍ने मानिसहरू हुन् भन्‍ने त हुँदै हुँदैन। मानवजातिले संक्षेपित गरेका सबै असल व्यवहारहरू मानवजातिले आफूलाई अरू प्राणीभन्दा फरक तुल्याउनका लागि प्रवर्धन गर्ने बाहिरी प्रकटीकरण र जियाइहरूभन्दा अरू केही पनि होइनन्। उदाहरणका लागि, शिक्षित र समझदार बन्नु, भद्र र परिष्कृत बन्नु, अनि शिष्ट बन्‍नु—यी असल व्यवहारले व्यक्ति बाहिरी रूपमा निकै शिष्ट, नम्र, शिक्षित, र सभ्य छ, जो कुनै पनि नियम नपछ्याउने पशुहरूभन्दा फरक छ भन्‍ने कुरालाई मात्रै देखाउँछन्। मानिसहरूले खान-पान गरेपछि आफ्‍नो मुख हातले वा कागजको टुक्राले पुछेर आफूलाई अलिकति सफा गर्छन्। यदि तैँले कुकुरले खाएपछि वा पिएपछि त्यसको मुख पुछ्‍ने प्रयास गरिस् भने, त्यसलाई त्यति मन पर्दैन। पशुले त्यस्ता कुराहरू बुझ्दैनन्। मानिसहरूले चाहिँ किन बुझ्छन् त? किनभने मानिसहरू “उच्‍च प्राणी” हुन्। तिनीहरूले यी कुराहरू बुझ्‍नुपर्छ। त्यसकारण, यी असल व्यवहारहरू मानवजातिको जैविक समूहको व्यवहारलाई नियमन गर्नका लागि मानिसले प्रयोग गर्ने कुराहरू मात्रै हुन्, र तिनले मानवजातिलाई तल्‍लो स्तरका प्राणीबाट अलग गर्ने बाहेक केही गर्दैनन्। व्यवहार, वा सत्यताको खोजी, वा परमेश्‍वरको आराधनासँग तिनको कुनै सम्‍बन्ध हुँदैन। यसको अर्थ तँ बाहिरी रूपमा शिक्षित र समझदार बन्ने, भद्र र परिष्कृत बन्ने, र इत्यादिका माग र मानकहरूअनुसार जिउन सक्लास्, तँमा यी असल व्यवहार हुन सक्ला, तर यसको अर्थ तँ मानवता भएको, वा सत्यता भएको, वा परमेश्‍वरको डर मान्‍ने र दुष्टतादेखि अलग बस्‍ने व्यक्ति होस् भन्‍ने हुँदैन। यसको अर्थ यीमध्ये कुनै पनि हुँदैन। यसको विपरीत, यसको अर्थ व्यवहारसम्‍बन्धी शिक्षा, र सामाजिक मर्यादाका नियमहरूको प्रणालीबाट गुज्रेपछि, तेरो बोलीवचन, अनुहारको हाउभाउ, चालचलन, र इत्यादि अलिक अनुशासित भएको छ भन्‍ने मात्रै हुन्छ। यसले तँ पशुभन्दा अलिक उत्तम छस् र तँमा केही मानव स्वरूप छ भन्‍ने देखाउँछ—तर तँ सत्यतालाई पछ्याउने व्यक्ति होस् भन्‍ने देखाउँदैन। के समेत भन्‍न सकिन्छ भने, सत्यता पछ्याउने कार्यसँग यसको कुनै सम्‍बन्ध हुँदैन। तँमा यी असल व्यवहारहरू छन् भन्दैमा यसको अर्थ तँमा सत्यता पछ्याउनका लागि चाहिने सही अवस्थाहरू छन् भन्‍ने हुँदैन, अनि तँ सत्यता वास्तविकतामा प्रवेश गरिसकेकोर तैँले सत्यता प्राप्त गरिसकेकोको छस् भन्‍ने त झनै हुँदैन। यसले यी कुराहरूलाई पटक्‍कै प्रदर्शन गर्दैन।

बिरालो वा कुकुर पाल्‍ने जोकोहीलाई पनि तिनीहरूमा केही मायालाग्दो कुरा हुन्छन् भन्‍ने लाग्छ। केही बिरालो र कुकुरहरूमा साँच्‍चै केही राम्रो बानी हुन्छ। कतिपय बिरालो मालिकको कोठामा जान चाहे भने, तिनीहरू भित्र पस्‍नुभन्दा पहिले एक-दुई पटक म्याउँ-म्याउँ गर्छन्। मालिकले केही भनेन भने तिनीहरू भित्र जाँदैनन्, र मालिकले “आइज” भन्यो भने मात्रै भित्र जान्छन्। बिरालोले समेत यस्तो मर्यादा पालना गर्न सक्छन्, र तिनीहरूलाई मालिकको कोठामा पस्‍नुभन्दा पहिले सोध्‍नुपर्छ भन्‍ने समेत थाहा हुन्छ। के त्यो एक प्रकारको राम्रो व्यवहार होइन र? पशुमा समेत यस्तो राम्रो व्यवहार हुन सक्छ भने, मानिसहरूमा हुने असल व्यवहारले तिनीहरूलाई पशुभन्दा कति माथि राख्‍न सक्छ? यो त मानिसहरूमा हुनुपर्ने सुझबुझको न्यूनतम स्तर हो—यो कुरा सिकाइरहनु पर्दैन, यो अत्यन्तै सामान्य कुरा हो। मानिसहरूलाई यस्तो असल व्यवहार तुलनात्मक रूपमा उचित हो भन्‍ने लाग्‍न सक्छ, र यसले तिनीहरूलाई अलिक सहज तुल्याउन सक्छ, तर के यी असल व्यवहारअनुसार जिउँदा त्यसले तिनीहरूको मानवताको गुणस्तर वा सारलाई प्रतिनिधित्व गर्छ? (गर्दैन।) यसले गर्दैन। ती त व्यक्तिले आफ्‍नो व्यवहारमा पालना गर्नुपर्ने नियम र विधिहरू मात्रै हुन्—व्यक्तिको मानवताको गुणस्तर र सारसँग तिनको कुनै सम्‍बन्ध हुँदैन। उदाहरणका लागि, बिरालो र कुकुरलाई नै लिऔँ—तिनीहरूबीच के कुरा समान हुन्छ? मानिसहरूले तिनीहरूलाई खानेकुरा दिँदा, तिनीहरूले घनिष्ठता र कृतज्ञता व्यक्त गर्छन्। तिनीहरूमा यस्तो आचरण हुन्छ, र तिनीहरूले यस्तो व्यवहार गर्न सक्छन्। तिनीहरूमा के भिन्‍नता छ भने, एउटा मूसा मार्न पोख्त हुन्छ भने, अर्को घरको रक्षा गर्नमा। बिरालोले कुनै पनि समय र स्थानमा आफ्‍नो मालिकलाई छोड्न सक्छ; कुनै कुरामा रमाउने मौका पाउँदा बिरालोले मालिकलाई बिर्सन्छ र कुनै ध्यान दिँदैन। कुकुरले कहिल्यै आफ्‍नो मालिकलाई छोड्दैन; यदि यसले तँलाई मालिक ठानेको छ भने, यसले घर परिवर्तन नै गरे पनि, तँलाई चिन्नेछ र मालिकका रूपमा हेर्नेछ। बिरालो र कुकुरको व्यवहार र सारको नैतिक गुणस्तरको हिसाबमा तिनीहरूबीचको भिन्‍नता यही हो। अब, हामी मानिसहरूका बारेमा कुरा गरौँ। शिक्षित र समझदार बन्नु, शिष्ट बन्नु, व्यवहार गर्न सजिलो बन्नु, र इत्यादि जस्ता मानिसले असल ठानेका व्यवहारहरूमध्ये, कतिले अरू प्राणीको व्यवहारलाई उछिन्न सके पनि—अर्थात्, मानिसको क्षमता अरू प्राणीको भन्दा बढी भए पनि—यी बाहिरी व्यवहार र नियमहरूबाहेक केही पनि होइनन्, ती त मानिसहरूको व्यवहारलाई नियमन गरेर तिनीहरूलाई अरू प्राणीभन्दा अलग गर्ने विधीहरू मात्रै हुन्। मानिसहरूमा यी असल व्यवहारहरू छन् भने यसले तिनीहरूलाई अरू प्राणीभन्दा फरक वा राम्रो भएको अनुभूति गराउन सक्छ, तर तथ्य के हो भने, केही हिसाबमा त, मानिसहरूले पशुभन्दा खराब व्यवहार गर्छन्। उदाहरणको लागि, ठूलालाई आदर र सानालाई ख्याल गर्नु भन्‍ने कुरालाई लिऊँ। पशु जगतमा, ब्‍वाँसाहरूले यो काम मानिसहरूभन्दा राम्ररी गर्छन्। ब्‍वाँसाको कुनै बथानमा, जोसुकैको छाउरा-छाउरी भए पनि, वयस्क ब्‍वाँसाहरूले तिनीहरूको हेरचाह गर्छन्। तिनीहरूले त्यसलाई हेप्‍ने वा हानि गर्ने गर्दैनन्। मानिसले यसो गर्न सक्दैन, र यसरी मानिस ब्‍वाँसाको बथानभन्दा पनि खराब हुन्छ। मानवजातिले ठूलालाई आदर र सानालाई ख्याल गर्नु भन्‍ने कुराको कुन पक्षलाई पालना गर्छन्? के मानिसहरूले साँच्‍चै यसो गर्न सक्छन्? धेरैजसो मानिसहरू “सानालाई ख्याल गर्न” सक्दैनन्, मानिसहरूमा यस्तो असल व्यवहार हुँदैन, जसको अर्थ तिनीहरूमा त्यस्तो मानवता हुँदैन। उदाहरणका लागि: एउटा बच्‍चा उसका आमाबुबासँग हुँदा मानिसहरू त्यस बच्‍चासँग बोल्दा निकै मिलनसार र व्यवहार गर्न सजिलो बन्छन्—तर तिनीहरूका त्यहाँ आमाबुबा नहुँदाभने, मानिसहरूको राक्षसी पक्ष प्रकट हुन्छ। यदि बच्‍चा तिनीहरूसँग बोल्यो भने, तिनीहरूले उसलाई बेवास्ता गर्छन्, वा बच्‍चाको कुरामा असहमत भई उसलाई दुर्व्यवहार समेत गर्छन्। तिनीहरू कति दुष्ट हुन्छन्! संसारका धेरै देशमा, बालबालिका बेचबिखन सामान्य कुरा हो—यो त विश्‍वव्यापी समस्या हो। यदि मानिसहरूमा ठूलालाई आदर र सानालाई ख्याल गर्ने असल व्यवहार समेत छैन, र बच्‍चाहरूलाई हेप्दा तिनीहरूको विवेकमा कुनै धक्‍का लाग्दैन भने, मलाई भन, त्यो कस्तो मानवता हो? तिनीहरू अझै पनि ठूलालाई आदर र सानालाई ख्याल गर्ने नाटक देखाउँछन्, तर यो त देखावटी कुरा मात्रै हो। मैले किन यो उदाहरण दिएँ? किनभने मानवजातिले यी असल व्यवहारहरू अघि सारेर यी माग र मानकहरूलाई मानिसहरूको व्यवहारका लागि प्रस्तावित गरे पनि, मानिसहरूले यी असल व्यवहार अभ्यास गर्न सके पनि नसके पनि, वा तिनीहरूमा जति वटा असल व्यवहार भए पनि, मानिसको भ्रष्ट सार कहिल्यै परिवर्तन हुन सक्दैन। मानिसहरू र कामकुराहरूलाई हेर्ने मानिसको दृष्टिकोण, र उसको आनीबानी र व्यवहारको मापदण्ड पूर्ण रूपमा भ्रष्ट मानवजातिका सोच र दृष्टिकोणबाट पैदा हुन्छ, र भ्रष्ट स्वभावले नै त्यसको निर्धारण गरेको हुन्छ। मानवजातिले अघि सारेका माग र मानकहरू असल र उच्‍च मानकमानिए पनि, के मानिसहरूले ती हासिल गर्न सक्छन्? (सक्दैनन्।) यो त समस्या हो। कुनै व्यक्तिले बाहिरी रूपमा अलिक असल व्यवहार गर्छ, र त्यसका लागि उसले इनाम र पहिचान पाउँछ भने, त्यो पनि नाटक र छलले दूषित भएको हुन्छ, किनभने सबैले स्विकारे जस्तै, सानोतिनो असल काम गर्न सजिलो हुन्छ—जीवनभरि असल काम गर्न चाहिँ गाह्रो हुन्छ। यदि तिनीहरू साँच्‍चै असल व्यक्ति हुन् भने, तिनीहरूलाई किन असल काम गर्न त्यति गाह्रो हुन्छ? त्यसकारण, कुनै पनि व्यक्ति मानवजातिको तथाकथित “असल” र पहिचान गरिएको मानक पूरा गर्न सक्दैन। यो सब धाक, छल, र बनावटी कुरा मात्रै हो। मानिसहरूले यी मानकहरूमध्ये केहीलाई बाहिरी रूपमा पूरा गर्न र तिनीहरूमा शिक्षित र समझदार बन्ने, भद्र र परिष्कृत बन्ने, शिष्ट बन्ने, ठूलालाई आदर र सानालाई ख्याल गर्ने, र मिलनसार बन्ने र व्यवहार गर्न सजिलो बन्ने जस्ता केही असल व्यवहार हुन सके पनि, मानिसहरूले यीमध्ये केही कुरा गर्न र बोक्न सके पनि, यो छोटो समयको लागि, क्षणिक रूपमा, वा कुनै अल्पकालीन परिवेशमा मात्रै हुन्छ। तिनीहरूलाई चाहिएको बेला मात्रै तिनीहरूमा यी प्रकटीकरणहरू हुन्छन्। कुनै कुराले तिनीहरूको हैसियत, स्वाभिमान, धन, चासो, वा तिनीहरूको भाग्य र भविष्यका सम्‍भावनाहरूमा हात लगाउने बित्तिकै, तिनीहरूको प्रकृति र उग्र भित्री रूप प्रस्फुटन हुन्छ। तिनीहरू शिक्षित र समझदार, भद्र र परिष्कृत, शिष्ट, ठूलालाई आदर र सानालाई ख्याल गर्ने, मिलनसार हुन वा व्यवहार गर्न सजिलो हुन छोड्छन्। बरु, तिनीहरू एक-अर्कासँग लडाइँ र एकअर्काविरुद्ध षड्यन्त्र गर्छन्, एक-अर्कालाई मात दिने, फसाउने र मार्ने प्रयास गर्छन्। यस्ता कुराहरू प्रायः भइरहन्छन्—आफ्‍ना हितहरू, हैसियत, वा अख्‍तियारका खातिर, साथी-साथी, आफन्त, र बाबु-छोराले समेत एक-अर्काको हत्या गर्ने र आफू मात्रै बाँकी रहने प्रयास। मानिसहरूका बीचमा रहेको दुःखदायी अवस्था स्पष्ट रूपमै देख्‍न सकिन्छ। त्यसैले त शिक्षित र समझदार बन्ने, भद्र र परिष्कृत बन्ने, शिष्ट बन्नु, ठूलालाई आदर र सानालाई ख्याल गर्ने, मिलनसार बन्‍ने र व्यवहार गर्न सजिलो बन्ने कार्यक्षणिक परिस्‍थितिका उपज मात्रै हुन् भनेर भन्न सकिन्छ। कुनै पनि व्यक्तिले तिनलाई साँचो रूपमा लागु गर्न सक्दैन—चिनियाँहरूले पूजा गरेका सन्त र महान् व्यक्तिहरू समेत यी कुराहरू गर्न सक्‍ने क्षमताका थिएनन्। त्यसकारण, यी शिक्षा र सिद्धान्तहरू सबै बेतुका छन्। ती सबै पूर्ण रूपमा वाहियात हुन्। सत्यताको पछ्याउने मानिसहरूले परमेश्‍वरका वचनहरूअनुसार, र सत्यतालाई आफ्‍नो मापदण्ड बनाएर आफ्‍ना व्यक्तिगत हितहरूसँग सम्‍बन्धित मामलाहरू समाधान गर्न सक्छन्, र तिनीहरू सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन सक्छन्। यसरी, तिनीहरूमा भएको सत्यता वास्तविकताले मानवजातिले स्विकारेको असल व्यवहारका मानकहरूलाई उछिन्छ। सत्यता नपछ्याउने मानिसहरूले आफ्‍नै हितहरूका बारलाई भत्काउन सक्दैनन्, त्यसकारण तिनीहरूले सत्यता अभ्यास गर्न सक्दैनन्। तिनीहरूले असल व्यवहार जस्ता नियमहरू समेत पालना गर्न सक्दैनन्। त्यसोभए, मानिसहरू र कामकुराहरू, अनि आफ्‍नो आनीबानी र व्यवहारप्रतिको तिनीहरूको आधार र मापदण्ड के-के हुन्? अवश्य नै, ती त नियम र धर्मसिद्धान्तहरू मात्रै हुन्, ती त शैतानका दर्शन र नियमहरू मात्रै हुन्, परमेश्‍वरको वचनका सत्यता होइनन्। किनभने ती मानिसहरू सत्यतालाई स्विकार्दैनन्, र तिनीहरूले आफ्‍नै हितहरूका बारेमा मात्रै सोचिरहेका हुन्छन्, त्यसकारण, तिनीहरूले स्वाभाविक रूपमा नै सत्यता अभ्यास गर्न सक्दैनन्। तिनीहरूले असल व्यवहार समेत लागु गर्न सक्दैनन्—तिनीहरूले नाटक गर्ने प्रयास गर्छन्, तर आफ्‍नो देखावटी रूपलाई कायम राखिरहन सक्दैनन्। यसरी, तिनीहरूले आफ्‍नो साँचो रङ देखाउँछन्। तिनीहरूले आफ्‍नै हितहरूका खातिर संघर्ष गर्छन्, लुछाचुँडी गर्छन्, र लुट्छन्, षड्यन्त्र गर्छन्, युक्ति रच्छन्, र ठगी गर्छन्, तिनीहरूले अरूलाई दण्ड दिन्छन्, र मार्ने काम समेत गर्छन्। तिनीहरूले यी सब भयानक कुराहरू गर्न सक्छन्—के त्यसमा तिनीहरूको प्रकृति खुलासा हुँदैन र? अनि जब तिनीहरूको प्रकृति खुलासा हुन्छ, तब अरूले सहजै तिनीहरूको बोलीवचन र व्यवहारको अभिप्राय र आधार देख्‍न सक्छन्; अरूले ती मानिसहरू शैतानका दर्शनहरू अनुसार नै पूर्ण रूपमा जिइरहेका छन्, मानिस र कामकुराहरूलाई हेर्ने तिनीहरूको दृष्टिकोण, र तिनीहरूको आनीबानी र व्यवहारको आधार शैतानका दर्शनहरू नै हुन् भनेर भन्‍न सक्छन्। उदाहरणका लागि: “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ,” “दुनियाँ पैसाको इसारामा चल्छ,” “सास भइञ्‍जेल आस हुन्छ,” “सानो मुटुले भलाद्मी भइँदैन, असली पुरुष कठोर हुनैपर्छ,” “आइलागे, जाइलागिन्छ,” “जस्तालाई त्यस्तै, ढिँडोलाई निस्तै,” र इत्यादि—यी शैतानी तर्क र नियमहरूले मानिसहरूको मनमा जड गाडेको हुन्छ। जब मानिसहरू यी कुराहरू अनुसार जिउँछन्, तब शिक्षित र समझदार बन्ने, भद्र र परिष्कृत बन्ने, शिष्ट बन्ने, ठूलालाई आदर र सानालाई ख्याल गर्ने, जस्ता असल व्यवहारहरू मानिसहरूले आफ्‍नो वास्तविक रूप लुकाउन प्रयोग गर्ने मुकुन्डोहरू बन्छन्, अर्थात् ती देखावटी रूप बन्छन्। ती किनदेखावटी रूप बन्छन्? किनभने मानिसहरूले साँचो रूपमा पालना गर्ने जग र नियमहरू सत्यता नभई शैतानले मानिसको मस्तिष्कमा हालिदिएका कुराहरू हु। त्यसकारण, सत्यतालाई प्रेम नगर्ने व्यक्तिलाई मानिसको सबैभन्दा आधारभूत विवेक र नैतिकताले कुनै असर पार्दैन। जब तिनीहरूका हितहरूसँग सम्‍बन्धित कुनै घटना घट्छ, तब तिनीहरूको वास्तविक स्वरूप प्रकट हुन्छ, र त्यो बेला मानिसहरूले तिनीहरूको वास्तविक अनुहार देख्‍नेछन्। मानिसहरूले चकित पर्दै भन्‍नेछन्, “तर के तिनीहरू त प्रायजसो नम्र, शिष्ट, र भद्र देखिँदैनन् र? किन तिनीहरूलाई केही आइपर्ने बित्तिकै तिनीहरू पूर्ण रूपमा फरक व्यक्ति बन्छन्?” वास्तवमा, त्यो व्यक्ति परिवर्तन भएको होइन; यति मात्र हो कि, तिनीहरूको साँचो रूप मात्रै त्यो बेलासम्‍म प्रकट र खुलासा भएको थिएन। परिस्थितिले तिनीहरूका हितहरूमा कुनै असर नगरेसम्म र तिनीहरूको साँचो अभिप्राय प्रकट नभएसम्म तिनीहरूले छल गर्ने र आफ्नो वास्तविक रूप लुकाउने काम मात्रै गरिरहेका हुन्छन्। तिनीहरूका हितहरूमा असर हुँदा वा ती खतरामा पर्दा, र तिनीहरूले आफ्‍नो वास्तविक रूप लुकाउन छोडेपछि तिनीहरूले प्रकट गर्ने आफ्नो अस्तित्वको नियम र आधार तिनीहरूको प्रकृति, सार, र तिनीहरूको वास्तविकताको पहिचान हो। त्यसकारण, व्यक्तिमा जस्तोसुकै असल व्यवहार भए पनि—अरू मानिसहरूका लागि तिनीहरूको बाहिरी व्यवहार जतिसुकै स्वच्छ देखिए पनि—यसको अर्थ तिनीहरू सत्यतालाई पछ्याउने र सकारात्मक कुराहरूलाई मन पराउने व्यक्ति हुन् भन्‍ने हुँदैन। कम्तीमा पनि, यसको अर्थ तिनीहरूमा सामान्य मानवता छ भन्‍ने हुँदैन, यसको अर्थ तिनीहरू भरोसा गर्न लायक वा अन्तरक्रिया गर्न लायक छन् भन्‍ने त झनै हुँदैन।

असल व्यवहारहरूमध्ये, हामीले शिक्षित र समझदार हुनु, भद्र र परिष्कृत हुनु, शिष्ट हुनु, ठूलालाई आदर र सानालाई ख्याल गर्नु, मिलनसार बन्नु र व्यवहार गर्न सजिलो बन्‍नुका उदाहरणहरू प्रस्तुत गरिसक्यौँ। अब हामी ठूलालाई आदर र सानालाई ख्याल गर्नुलाई उदाहरणका रूपमा लिएर यसबारे विस्तृत रूपमा सङ्गति गर्नेछौँ। ठूलालाई आदर र सानालाई ख्याल गर्नु मानव जीवनमा हुने अत्यन्तै सामान्य कुरा हो। यो कुरा केही पशुमा पनि देखिन सक्छ, त्यसकारण, स्वाभाविक रूपमै यो विवेक र समझ भएका मानिसहरूमाझ अझै धेरै देखिनुपर्ने कुरा हो। मानिसले यो व्यवहारको सतहलाई मात्रै कोट्याउने होइन, तर यसलाई अरू प्राणीले भन्दा पनि अझै राम्ररी, अझै ठोस रूपमा, र अझै व्यावहारिक रूपमा पालन गर्नुपर्छ। ठूलालाई आदर र सानालाई ख्याल गर्नेसम्‍बन्धी यो असल व्यवहार पालन गर्नमा मानिस अरू प्राणीभन्दा अगाडि हुनुपर्छ, किनभने मानिसमा विवेक र समझ हुन्छ, जुन अरू प्राणीमा हुँदैन। मानिसले यो असल व्यवहार पालन गर्दा तिनीहरूको मानवता अन्य प्राणीको सारभन्दा उच्‍च र फरक छ भन्‍ने कुरा प्रदर्शन गर्न सक्‍नुपर्छ। तर के मानिसले साँच्‍चै यसो गर्छ? (गर्दैन।) के शिक्षित र ज्ञानी मानिसहरूले यसो गर्छन्? (तिनीहरूले पनि गर्दैनन्।) हामी सर्वसाधारणलाई एकातिर पन्छाएर कुलीनहरू, र दरबारका मामलाहरूका बारेमा छलफल गरौँ। अहिले, विभिन्‍न देशहरूले राजपरिवारका धेरै उथलपुथलपूर्ण कथाहरू खुलासा गर्दै विभिन्‍न दरबारिया नाटक मञ्चन गरिरहेका छन्। दरबारका सदस्यहरू र सर्वसाधारण मानिसहरू सबैले वरिष्ठताको पदानुक्रमलाई ठूलो जोड दिने हुँदा तिनीहरू उस्तै हुन्। राजपरिवारमा हुर्केकाहरूले ठूलालाई आदर र सानालाई ख्याल गर्ने असल व्यवहारका विषयमा सर्वसाधारणहरूले भन्दा अझै गहन र विशिष्ट शिक्षा पाएका हुन्छन्, र राजपरिवारका युवा पुस्ताका मानिसहरू आफूभन्दा ठूलाप्रति सम्‍मान र आदरको व्यवहार गर्नमा सर्वसाधारणभन्दा सिपालु हुन्छन्—यसमा ठूलो सामाजिक शिष्टाचार समावेश हुन्छ। ठूलालाई आदर र सानालाई ख्याल गर्ने विषयमा, राजपरिवारका मानिसहरूबाट असल व्यवहारको यो पक्षमा निकै उच्च माग गरिएको हुन्छ, जसलाई तिनीहरूले पूर्ण रूपमा पालना गर्नुपर्ने हुन्छ। झट्ट हेर्दा, तिनीहरूले सर्वसाधारणहरूले जस्तै ठूलालाई आदर र सानालाई ख्याल गर्ने परम्परागत संस्कृतिको माग पूरा गरिरहेका छन् जस्तो देखिन्छ—तैपनि, तिनीहरूले यो काम जति राम्ररी वा उपयुक्त रूपमा गरे पनि, तिनीहरू जति नै भद्र र निष्कलङ्क देखिए पनि, यो निष्कलङ्क व्यवहारको मुखौटापछाडि विभिन्‍न शक्तिहरूका बीचमा शक्ति हेरफेर र सङ्घर्ष लुकेको हुन्छ। बाबु-छोरा, बाजे-नाति, नोकर-मालिक, मन्त्री र राजाहरूका बीचमा—झट्ट हेर्दा, तिनीहरूले व्यवहारको सबैभन्दा आधारभूत मापदण्ड पालन गरिरहेका छन् जस्तो देखिन्छ: ठूलालाई आदर र सानालाई ख्याल गर्ने। तर यसमा राजतन्त्रीय सत्ता र अरू धेरै शक्तिहरू मिसिएको हुने हुनाले, यो बाहिरी व्यवहारले कुनै काम गर्दैन। राजतन्त्रीय शक्ति हेरफेर र विभिन्‍न शक्तिहरूबीचको सङ्घर्षबाट अन्तिममा आउने कुरालाई यस कार्यले पटक्‍कै असर पार्न सक्दैन। स्वाभाविक रूपमै, यस्तो असल व्यवहार सिंहासनको लोभ गर्ने वा शक्तिको महत्त्वाकाङ्क्षा राख्‍ने कुनै पनि व्यक्तिलाई काबुमा राख्‍नमा आधारभूत रूपमा नै असमर्थ हुन्छ। सर्वसाधारण मानिसहरूले ठूलालाई आदर र सानालाई ख्याल गर्ने नियम पालन गर्छन्, जुन तिनीहरूलाई तिनीहरूका पितापुर्खाले हस्तान्तरण गरेका हुन्छन्। तिनीहरू पनि यो नियमका बन्धनहरूमाझ नै जिउँछन्। जति वटा स्वार्थहरू बाझिए पनि, वा ती स्वार्थहरू बाझिँदा जस्तोसुकै सङ्घर्ष पैदा भए पनि, यो सब सकिएपछि सर्वसाधारण मानिसहरू अझै पनि सँगै बस्‍न सक्छन्। तर राजपरिवारमा यस्तो हुँदैन, किनभने तिनीहरूका स्वार्थ र शक्तिसम्‍बन्धी विवादहरू अझै महत्त्वपूर्ण हुन्छन्। तिनीहरू लडाइँ गरिरहन्छन्, र अन्त्यमामा परिणाम के हुन्छ भने जित्‍नेहरू राजा बन्छन् र हार्नेहरू अपराधी—कि एउटा पक्षको नाश हुन्छ, कि अर्को पक्षको। जित्‍ने र हार्ने सबैले ठूलालाई आदर र सानालाई ख्याल गर्ने यो नियम पालन गर्छन्, तर हरेकको शक्ति र चाहना अनि महत्वाकाङ्क्षा फरक-फरक हुने भएकाले, वा हरेक पक्षको शक्तिमा भिन्‍नताको कारणले, अन्त्यमा कोही बाँच्‍छन् भने कोही नष्ट हुन्छन्। यसलाई के कुराले निर्धारित गर्छ? के यसलाई ठूलालाई आदर र सानालाई ख्याल गर्ने नियमले निर्धारित गर्छ? (गर्दैन।) त्यसोभए, केले निर्धारित गर्छ? (मानिसको शैतानी प्रकृतिले।) मैले यो सब भन्‍नुको तात्पर्य के हो? मेरो तात्पर्य के हो भने, यी नियमहरू, मानवजातिका नवीन र तथाकथित राम्रा व्यवहारले केही पनि निर्धारित गर्न सक्दैनन्। व्यक्तिले हिँड्ने मार्ग उसको बाहिरी व्यवहार शिक्षित र समझदार, मिलनसार, वा ठूलालाई आदर र सानालाई ख्याल गर्ने किसिमको छ कि छैन भन्‍ने कुराले नभई उसको प्रकृतिले निर्धारित गर्छ। छोटकरीमा भन्दा, मानवजातिको बीचमा उत्पन्न भएका असल व्यवहारसम्‍बन्धी यी अभिव्यक्तिहरूलाई परमेश्‍वरको घरले बढावा दिँदैन। मानिसले असल ठान्‍ने यी व्यवहारहरू एक प्रकारको असल व्यवहार र प्रकटीकरणबाहेक केही पनि होइनन्; तिनले सत्यतालाई प्रतिनिधित्व गर्दैनन्, र यदि कुनै व्यक्तिमा यी असल व्यवहार र प्रकटीकरणहरू छन् भने, यसको अर्थ तिनीहरूले सत्यता अभ्यास गरिरहेका छन् भन्‍ने हुँदैन, तिनीहरूले सत्यताको खोजी गरिरहेका छन् भन्‍ने अर्थ हुनु त झन् परको कुरा हो।

मानिसले असल ठानेका यी व्यवहारहरू परमेश्‍वरबाट आएका होइनन्, तिनलाई उहाँको घरले बढावा दिँदैन, र ती उहाँका अभिप्रायहरू अनुरूप त पटक्‍कै छैनन्, साथै ती परमेश्‍वरका वचनहरू र उहाँले अघि सार्नुहुनेमागहरूसँग मिल्दैनन्, त्यसकारण के परमेश्‍वरले मानवजातिको व्यवहारका निम्ति पनि केही मापगहरू गर्नुभएको छ? (गर्नुभएको छ।) परमेश्‍वरले पनि उहाँलाई पछ्याउने विश्‍वासीहरूको व्यवहारका बारेमा केही अभिव्यक्तिहरू अघि सार्नुभएको छ। परमेश्‍वरले मानिसबाट सत्यताका बारेमा गर्नुभएका मापगहरूभन्दा ती फरक छन्, र अलिक सरल छन्, तर तिनमा केही विशिष्टताहरू भने अवश्य नै छन्। परमेश्‍वरलाई पछ्याउने मानिसहरूबाट परमेश्‍वरले के-कस्ता मापगहरू गर्नुभएको छ? उदाहरणका लागि, सन्तको जस्तो शिष्टता हुनु—के यो मानिसको व्यवहारसम्‍बन्धी मापग होइन? (हो।) लम्पट नहुनु, संयमित हुनु, असाधारण वस्‍त्रहरू नलगाउनु, धुम्रपान-मद्यपान नगर्नु, अरूलाई कुटपिट वा गालीगलौज नगर्नु, साथै मूर्ति पूजा नगर्नु, आफ्‍ना आमाबुबाको आदर गर्नु, र इत्यादि पनि छन्। यो सबै परमेश्‍वरले आफ्‍ना जनहरूसमक्ष अघि सार्नुभएका व्यवहारसम्‍बन्धी मागहरू हुन्। ती सबैभन्दा आधारभूत मापगहरू हुन् र तिनलाई अवश्य नै बेवास्ता गर्नु हुँदैन। परमेश्‍वरलाई पछ्याउनेहरूबाट उहाँले व्यवहारसम्बन्धी निश्‍चित मापगहरू राख्नुभएको छ, र ती गैरविश्‍वासीहरूले अघि सारेका असल व्यवहारभन्दा फरक छन्। गैरविश्‍वासीहरूले अघि सारेका असल व्यवहारहरूले मानिसहरूलाई पशुभन्दा माथि राख्‍ने, र तिनीहरूलाई अरू तल्‍लो स्तरका प्राणीबाट अलग गर्ने बाहेक अरू केही गर्दैनन्। तर, परमेश्‍वरले आफ्‍ना विश्‍वासीहरूबाट गर्नुभएका मापगहरूले गैरविश्‍वासीहरू, अर्थात् परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूबाट तिनीहरूलाई अलग गर्छन्। ती कुराहरू पशुभन्दा फरक हुने कुरासँग सम्‍बन्धित छैनन्। विगतमा, “शुद्धीकरण” बारे पनि कुरा भएको थियो। यो अलिक बढाइ-चढाइ गरेर र त्रुटिपूर्ण तरिकाले यसलाई प्रस्तुत गर्नु हो, तर पनि परमेश्‍वरले आफ्‍ना जनहरूसमक्ष तिनीहरूको व्यवहारका बारेमा केही मापगहरू अघि सार्नुभएको छ। मलाई भन, ती के-के हुन्? (सन्तको जस्तो शिष्टता हुनु, लम्पट नहुनु, संयनित् हुनु, असाधारण वस्‍त्र नलगाउनु, धुम्रपान-मद्यपान नगर्नु, अरूलाई कुटपिट वा गालीगलौज नगर्नु, मूर्ति पूजा नगर्नु, र आफ्‍ना आमाबुबाको आदर गर्नु।) यी बाहेक, अरू के-के छन्? (अरूको सम्पत्ति हिनामिना नगर्नु, चोरी नगर्नु, झूटो गवाही नदिनु, व्यभिचार नगर्नु।) यी पनि छन्। ती नियमका भाग हुन्, परमेश्‍वरले सुरुमा नै मानिसको व्यवहारको विषयमा अघि सार्नुभएका मापगहरू हुन्, र ती आज पनि वास्तविक र व्यावहारिक छन्। परमेश्‍वरले आफ्‍ना विश्‍वासीहरूको व्यवहारलाई नियमन गर्नका लागि यी मापगहरू प्रयोग गर्नुहुन्छ, अर्थात्, यी बाहिरी व्यवहारहरू परमेश्‍वरलाई पछ्याउने मानिसहरूका सङ्केत हुन्। यदि तँमा यी व्यवहार र प्रकटीकरणहरू छन्, जसले गर्दा अरूले तँलाई हेर्दा तँ परमेश्‍वरको विश्‍वासी होस् भनेर अरूले थाहा पाउँछन् भने, तिनीहरूले कम्तीमा पनि तँलाई अनुमोदन र आदर गर्नेछन्। तिनीहरूले तँमा सन्तको जस्तो शिष्टता छ, तँ परमेश्‍वरको विश्‍वासी जस्तो देखिन्छस्, र गैरविश्‍वासी जस्तो देखिँदैनस् भनी भन्‍नेछन्। परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिसहरू गैरविश्‍वासीहरू जस्तै प्रायः धुम्रपान-मद्यपान गर्ने, कुटाकुट र झगडा गर्ने गर्छन्। कतिपयले त व्यभिचार र चोरीसमेत गर्छन्। तिनीहरूको व्यवहार पनि असंयमित हुन्छ, र परमेश्‍वरका वचनहरूअनुसारको हुँदैन, अनि कुनै गैरविश्‍वासीले तिनीहरूलाई देख्दा तिनीहरू यसो भन्छन्, “के तिनीहरू साँच्‍चै परमेश्‍वरका विश्‍वासी हुन् त? त्यसोभए, तिनीहरू किन परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू जस्तै छन् त?” अरूले तिनीहरूलाई आदर वा भरोसा गर्ने गर्दैनन्, त्यसकारण तिनीहरूले सुसमाचार प्रचार गर्ने प्रयास गर्दा मानिसहरूले स्विकार्दैनन्। यदि कसैले परमेश्‍वरले मानिसबाट गर्नुभएका मापग पूरा गर्छ भने, ऊ सकारात्मक कुराहरूलाई प्रेम गर्ने, दयालु हृदय भएको, र सामान्य मानवता भएको व्यक्ति हुन्छ। त्यस्तो व्यक्तिले सुन्‍नेबित्तिकै परमेश्‍वरका वचनहरू अभ्यास गर्न सक्छ, र उसले अभ्यास गर्दा कुनै ढोंग गर्दैन, किनभने कम्तीमा पनि, उसले आफ्‍नो विवेक र समझअनुसार व्यवहार गरेको हुन्छ। मानिसबाट परमेश्‍वरले गर्नुभएका निश्‍चित मापगहरू मानवजातिले बढावा दिने असल व्यवहारहरूभन्दा कुन हिसाबमा फरक छन्? (परमेश्‍वरले मानवजातिबाट गर्नुभएका मापगहरू स्पष्ट रूपमा व्यावहारिक छन्, तिनले मानिसहरूलाई सामान्य मानवतामा जिउने तुल्याउन सक्छन्, तर परम्‍परागत संस्कृतिले केही देखावटी व्यवहारहरू मात्रै माग गर्छ, जसको कुनै ठोस काम हुँदैन।) ठीक भन्यौ। परम्‍परागत संस्कृतिले मानिसबाट माग गरेका असल व्यवहारहरू सबै नक्‍कली हुन् र ती सबै देखावटी हुन्। ती त स्वाङ मात्रै हुन्। तिनलाई पालना गर्नेहरूले मीठा शब्‍दहरू बोल्लान्, तर भित्री रूपमा तिनीहरू पूर्ण रूपमा फरक हुन्छन्। यी असल व्यवहारहरू त मकुन्डो र भ्रम हुन्। ती व्यक्तिको मानवताको सारबाट निस्कने कुराहरू होइनन्, ती त मानिसले आफ्‍नो अभिमान, प्रतिष्ठा र हैसियतका लागि धारण गर्ने देखावटी रूप मात्रै हुन्। ती त तमासा, ढोङ्गी शैली, अर्थात् अरूलाई देखाउन व्यक्तिले जानी-जानी गर्ने व्यवहार मात्रै हुन्। कहिलेकाहीँ मानिसहरूले व्यक्तिको व्यवहार असली हो कि नक्कली हो भनेर खुट्याउन सक्दैनन्, तर समय बित्दै जाँदा, सबैले व्यक्तिको साँचो स्वरूप देख्‍नेछन्। यो त ढोङ्गी फरिसीहरूको अवस्था जस्तै हो, जोसँग धेरै बाहिरी असल व्यवहारहरू थिए र तथाकथित भक्तिका धेरै प्रकटीकरणहरू थिए, तैपनि जब प्रभु येशू सत्यता व्यक्त गर्न र छुटकाराको काम गर्न आउनुभयो, तब तिनीहरूले उहाँलाई निन्दा गरे र क्रूसमा टाँगे, किनभने तिनीहरू सत्यताको विरुद्ध थिए र सत्यतालाई घृणा गर्थे। यसले के देखाउँछ भने, मानिसहरूको असल व्यवहार र बाहिरी शैलीले तिनीहरूको प्रकृति सारलाई प्रतिनिधित्व गर्दैन। ती मानिसहरूको प्रकृति सारसँग सम्‍बन्धित छैनन्। जबकि, व्यक्तिले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्छ र उसमा विवेक र समझ छ भने, परमेश्‍वरले मानिसले पूरागरोस् भनी माग गर्ने नियमहरू अभ्यास गर्न र साँच्चै पालन गर्न सकिन्छ। तैँले यी कुराहरू अरूको अगाडि गरिरहेको भए पनि वा तिनीहरूको पछाडि गरिरहेको भए पनि, यी कुराहरू गर्नैपर्छ; तेरो मानवता सार जस्तो भए पनि, तैँले परमेश्‍वरले अघि सार्नुभएका यी मापगरू पूरा गर्नैपर्छ। तैँले परमेश्‍वरलाई पछ्याउने हुनाले, तेरो भ्रष्ट स्वभाव जति नै गम्‍भीर भए पनि, तैँले आफूलाई काबुमा राखेर उहाँका वचनहरूअनुसार अभ्यास गर्नैपर्छ। केही समयसम्‍म यस्तो अनुभव गरेपछि, तैँले साँचो प्रवेश पाउनेछस्, र तँ साँच्‍चै परिवर्तन भएको हुनेछस्। त्यो साँचो परिवर्तन वास्तविक हुन्छ।

हामी छोटो सारांश प्रस्तुत गरौँ: मानिसहरूको व्यवहारको बारेमा परमेश्‍वरले के-कस्ता मापगहरू गर्नुभएको छ? मानिसहरू सिद्धान्तनिष्ठ र संयमित हुनुपर्छ, र तिनीहरूले कुनै ढोंग नगरी यसरी इज्‍जतका साथ जिउनुपर्छ कि अरूले तिनीहरूलाई आदर गरून्। परमेश्‍वरले मानिसबाट गर्नुभएका व्यवहारसम्‍बन्धी मापगहरू यिनै हुन्। यसको अर्थ व्यक्ति अरूकोसामुन्ने भए पनि नभए पनि, वा ऊ जस्तो परिवेशमा भए पनि, वा उसले जसको सामना गर्नुपरे पनि, उसले यसरी अभ्यास गर्नैपर्छ र उसमा यस्तो वास्तविकता हुनैपर्छ। सामान्य मानवमा यी वास्तविकताहरू हुनुपर्छ; व्यक्तिले आफ्‍नो आनीबानीका सम्बन्धमा गर्नुपर्ने न्यूनतम कुरा यही हो। उदाहरणका लागि, मानौँ कसैले साह्रै ठूलो स्वरमा बोल्छ, तर उसले अरूलाई गालीगलौज गर्ने वा फोहोरी भाषा बोल्‍ने गर्दैन, र उसले भनेको कुरा साँचो र सटीक हुन्छ, र यसले अरूलाई आक्रमण गर्दैन। यदि त्यो व्यक्तिले कसैलाई खराब भन्छ वा कसैलाई केही न कामको भन्छ भने पनि, त्यो साँचो नै हुन्छ। तिनीहरूको बाहिरी बोली-वचन र व्यवहार गैरविश्‍वासीहरूले अघि सारेको मिलनसार हुनु वा भद्र र परिष्कृत हुनु भन्‍ने मागहरूसँग नमिले पनि, तिनीहरूले भन्‍ने कुराको विषयवस्तु, र तिनीहरूको बोली-वचनका सिद्धान्त र आधारले तिनीहरूलाई इज्‍जत र सत्यनिष्ठाको साथ जिउन दिन्छन्। सिद्धान्तनिष्ठ हुनु भनेको त्यही हो। तिनीहरू आफूलाई थाहा नभएको कुराका बारेमा जथाभावी बोल्दैनन्, न त आफूले राम्ररी चिन्‍न नसकेका मानिसहरूलाई स्वेच्‍छाचारी ढङ्गले मूल्याङ्कन नै गर्छन्। झट्ट हेर्दा तिनीहरू त्यति भद्र नदेखिए पनि, र तिनीहरूले सभ्य र नियम पालना गर्नेसम्बन्धी गैरविश्‍वासीहरूले भन्‍ने गरेका व्यावहारिक मानक पूरा नगरे पनि, तिनीहरूले हृदयमा परमेश्‍वरको डर मान्‍ने हुनाले, र तिनीहरू बोलीवचन र व्यवहारमा संयमित हुने हुनाले, तिनीहरूले जिउने कुरा शिक्षित र समझदार हुनु, भद्र र परिष्कृत हुनु, र शिष्ट हुनु भनी मानवजातिले भन्‍ने गरेको व्यवहारहरूभन्दा धेरै माथि हुन्छ। के संयमित र सिद्धान्तनिष्ठ हुनुको प्रकटीकरण यही होइन र? (हो।) जे भए पनि, परमेश्‍वरले आफ्‍ना विश्‍वासीहरूसमक्ष अघि सार्नुभएका असल व्यवहारका मापगहरूलाई तिमीहरूले नजिकबाट नियाल्यौ भने, तीमध्ये कुनचाहिँ मानिसहरूले व्यावहारिक रूपमा जिउनुपर्ने ठोस नियम होइन? तीमध्ये कुनले मानिसहरूलाई वास्तविक रूप लुकाउन लगाउँछ? कुनैले पनि गर्दैन, होइन र? तिमीहरूसँग कुनै शङ्का छ भने, भन। उदाहरणका लागि, कतिपयले भन्छन्, “अरूलाई कुटपिट वा गालीगलौज गर्नु हुँदैन भनी परमेश्‍वरले भन्‍नुहुँदा, यो अलिक झूटो हो जस्तो लाग्छ, किनभने अहिले कतिपय मानिसहरू यस्ता छन्, जसले कहिलेकाहीँ अरूलाई गालीगलौज गर्छन्, तर परमेश्‍वरले तिनीहरूलाई निन्दा गर्नुहुन्‍न।” अरूलाई गालीगलौज गर्नु हुँदैन भनी परमेश्‍वरले भन्‍नुहुँदा, “गालीगलौज” ले केलाई जनाउँछ? (आफ्‍नो भ्रष्ट स्वभावका कारण व्यक्तिले आफ्‍ना भावनाहरू पोखाउनु।) आफ्‍ना भावना पोखाउनु, अश्लील शब्‍द बोल्‍नु—गालीगलौज गर्नु भनेको त्यही हो। यदि कुनै व्यक्तिका बारेमा भनिएको कुरा अप्रिय सुनिन्छ, तर त्यो उसको भ्रष्ट सार अनुरूप छ भने, त्यो गालीगलौज होइन। उदाहरणका लागि, कसैले मण्डलीको काममा बाधा र अवरोध ल्याएको र धेरै दुष्कर्म गरेको हुनसक्छ, र तँ उसलाई भन्छस्, “तिमीले धेरै दुष्कर्म गर्‍यौ। तिमी त बदमाश हौ—तिमी मान्छे होइनौ!” के त्यो गालीगलौज हुन्छ? कि भ्रष्ट स्वभावको प्रस्फुटन हुन्छ? कि आफ्‍नो भावना पोखाउनु हुन्छ? कि सन्तको जस्तो शिष्टता नहुनु हुन्छ? (यो तथ्यहरू अनुरूप छ, त्यसकारण यो गालीगलौज होइन।) ठीक भन्यौ, यो गालीगलौज होइन। यो तथ्यहरू अनुरूप छ—यी शब्‍दहरू साँचो हुन्, साँचो रूपमा बोलिएका हुन्, र कुनै पनि कुरा ढाकिएको वा लुकाइएको छैन। यो कुरा शिक्षित र समझदारहुनु वा भद्र र परिष्कृतहुनुसँग नमिल्‍न सक्छ, तर यो तथ्यहरूसँग भने मिल्छ। हप्की खाएको व्यक्तिले आफूलाई ती वचनहरूसँग तुलना गरेर जाँच्‍नेछ, र उसले केही गलत काम गरेको र धेरै दुष्कर्म गरेको हुनाले उसलाई हप्काइएको हो भन्‍ने थाहा पाउनेछ। उसले यस्तो सोच्दै आफैलाई घृणा गर्नेछ, “म साँच्‍चै केही न कामको रहेछु! बदमासले मात्रै यस्तो गर्नेथ्यो—म त मानव समेत होइन! तिनीहरूले मलाई यसरी हप्काउनु सही र असल कुरा हो!” यो कुरा स्विकारेपछि, उसले आफ्‍नो प्रकृति सारबारे थोरै ज्ञान प्राप्त गर्नेछ, र केही समयको अनुभव र भोगाइपछि, उसले साँच्‍चै पश्‍चात्ताप गर्नेछ। भविष्यमा, तिनीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा सिद्धान्तहरू खोजी गर्न जान्नेछन्। के हप्की पाउनुले तिनीहरूलाई बिउँझाएन र? त्यसोभए, के त्यसरी हप्काउनु र अरूलाई गालीगलौज गर्नु हुँदैन भनी परमेश्‍वरले गर्नुभएको मागको “गालीगलौज” बीच भिन्‍नता छैन र? (छ।) भिन्‍नता के हो? अरूलाई गालीगलौज गर्नु हुँदैन भनी परमेश्‍वरले गर्नुभएको मागको “गालीगलौज” को अर्थ के हो? यसको एउटा पक्ष के हो भने, यदि विषयवस्तु र शब्‍दहरू फोहोरी छन् भने, त्यो राम्रो होइन। परमेश्‍वरले आफ्‍ना अनुयायीहरूको मुखबाट कुनै पनि फोहोरी भाषा निस्केको सुन्‍न चाहनुहुन्‍न। परमेश्‍वरले ती शब्‍दहरू सुन्‍न चाहनुहुन्‍न। तर यदि तथ्यहरू खुलासा गर्ने क्रममा अलिक अप्रिय शब्‍दहरू बोलिएको हो भने, त्यसलाई अपवाद मानिन्छ। त्यो गालीगलौज होइन। अर्को पक्ष यो हो: गालीगलौज गर्ने व्यवहारको सारमा के हुन्छ? के यो झोकीपनको प्रस्फुटन होइन र? यदि सामान्य सङ्गति, अर्ती, र कुराकानीबाट स्पष्ट र पारदर्शी रूपमा समस्याको व्याख्या गर्न सकिन्छ भने, किन व्यक्तिलाई गालीगलौज गर्ने? त्यसो गर्नु राम्रो होइन, र अनुचित हो। ती सकारात्मक शैलीहरूको तुलनामा, गालीगलौज गर्नु सामान्य रूपमा अपनाइने तरिका होइन। यो त आफ्‍ना भावना पोखाउनु र झोक देखाउनु हो, र परमेश्‍वर कुनै पनि मामला सम्‍हाल्‍ने क्रममा मानिसहरूले आफ्‍ना भावना पोखाएको वा झोक्‍किएको चाहनुहुन्‍न। जब मानिसहरूले झोक र भावनापोखाउने गर्छन्, तब तिनीहरूले प्रायजसो गालीगलौज र आक्रमणको भाषा प्रयोग गर्ने व्यवहार देखाउँछन्। तिनीहरूले जुन कुरा सबैभन्दा अप्रिय सुनिन्छ त्यही भन्छन्, र तिनीहरूले अर्को पक्षलाई जुन कुराले चोट पुर्‍याउँछ त्यही बोल्छन् र आफ्‍नो रिस पोखाउँछन्। अनि तिनीहरूले आफ्‍नो कुरा सकेपछि, अर्को पक्षलाई कलङ्कित पारेका र चोट पुर्‍याएका मात्रै हुँदैनन्—तिनीहरूले आफूलाई पनि कलङ्कित पारेका र चोट पुर्‍याएका हुन्छन्। परिस्थितिहरूलाई सम्‍हाल्‍ने क्रममा परमेश्‍वरका अनुयायीहरूले अपनाउनुपर्ने मनोवृत्ति वा शैली यो होइन। यसको साथै, भ्रष्ट मानिसहरूले सधैँ बदला लिने, आफ्‍नो भावना र असन्तुष्टि पोखाउने, झोक्‍किने मानसिकता बोक्छन्। तिनीहरूले हरेक मौकामा अरूलाई गालीगलौज गर्ने गर्छन्, र ठूलो-सानो जस्तोसुकै परिस्थिति आइपर्दा तिनीहरूले गालीगलौज गर्ने व्यवहार देखाइहाल्छन्। त्यस्तो व्यवहारले समस्या समाधान गर्दैन भन्‍ने थाहा हुँदा हुँदै पनि, तिनीहरू त्यसै गर्छन्। के त्यो शैतानी व्यवहार होइन र? तिनीहरू घरमा एकलै भएको बेला, अर्थात्, तिनीहरूको कुरा कसैले सुन्‍न नसक्‍ने अवस्थामा पनि यसै गर्छन्। के त्यो आफ्‍ना भावनाहरू पोखाउनु होइन र? के त्यो आफ्‍नो झोकीपन देखाउनु होइन र? (हो।) सामान्य रूपमा भन्दा, आफ्‍नो झोकीपन देखाउनु र भावनाहरूपोखाउनु भनेको कुनै कुरालाई लिने र सम्‍हाल्‍ने तरिकाका रूपमा आफ्‍नो झोकीपन प्रयोग गर्नु हो; यसको अर्थ सबै मामलालाई झोकी मनोवृत्तिको साथ सामना गर्नु हो, र त्यसको एउटा व्यवहार र प्रकटीकरण भनेको गालीगलौज गर्नु हो। गालीगलौजको सार त्यस्तो हुने हुनाले, परमेश्‍वरले मानिसबाट त्यसो नगर भनी माग गर्नु के राम्रो कुरा होइन र? (हो।) के अरूलाई गालीगलौज नगर्नु भनी परमेश्‍वरले मानिसबाट माग गर्नु तर्कसङ्गत कुरा होइन र? के यसले मानिसलाई फाइदा पुर्‍याउँदैन र? (पुर्‍याउँछ।) अन्ततः, मानिसले अरूलाई कुटपिट वा गालीगलौज गर्नु हुँदैन भनी परमेश्‍वरले गर्नुभएको मागको उद्देश्य भनेको मानिसहरूलाई संयमता अपनाउन लगाउनु, र तिनीहरूलाई सधैँ आफ्‍ना भावनाहरू र झोकीपनमा जिउनबाट टाढा राख्‍नु हो। आफ्‍ना भावनाहरू र झोकीपनमा जिउने मानिसहरूले कसैलाई गालीगलौज गर्दा जे भने पनि, तिनीहरूबाट प्रस्फुटित हुने कुरा भनेको भ्रष्ट स्वभाव नै हो। त्यो कस्तो भ्रष्ट स्वभाव हो? कम्तीमा पनि, त्यो क्रूरता र अहङ्कारको स्वभाव हो। के कुनै पनि समस्या भ्रष्ट स्वभाव प्रस्फुटित गरेर समाधान गर्नु परमेश्‍वरको अभिप्राय हो? (होइन।) परमेश्‍वर आफ्‍ना अनुयायीहरूले आफ्‍नो वरिपरि आइपरेका कुनै पनि परिस्थितिलाई लिँदा त्यस्तो विधी अपनाएकोचाहनुहुन्‍न, अर्थात् परमेश्‍वर मानिसहरूले आफ्‍नो जीवनमा आइपर्ने सबै कुरालाई अरूलाई कुटपिट अनि गालीगलौज गरेर सम्‍हालेको मन पराउनुहुन्‍न। तैँले मानिसहरूलाई गालीगलौज गरेर कुनै पनि समस्या समाधान गर्न सक्दैनस्, र त्यसो गर्दा सिद्धान्तहरूअनुसार काम गर्ने तेरो क्षमतामा असर पुग्‍छ। कम्तीमा पनि, यो सकारात्मक व्यवहार होइन, न त यो सामान्य मानवता भएकाहरूमा हुनुपर्ने व्यवहार नै हो। त्यसकारण परमेश्‍वरले आफ्‍ना अनुयायीहरूबाट अरूलाई कुटपिट वा गालीगलौज गर्नु हुँदैन भन्‍ने माग राख्नुभएको हो। “गालीगलौज” भित्र भावना र झोकीपन लुकेको हुन्छ। “भावना”—यसले खासमा केलाई जनाउँछ? यसमा घृणा र श्राप, अरूको नराम्रो सोच्ने, आफूलाई लागेअनुसार अरू न्यायोचित रूपमा दण्डको भागीदार हुनुपर्ने, अनि अरूको अन्त्य निकै नराम्रो होस् भन्‍ने आशा जस्ता कुरासमावेश हुन्छन्। भावनामा विशेषगरी यस्ता नकारात्मक कुराहरू समावेश हुन्छन्। त्यसोभए “झोकीपन” को अर्थ के हो? यसको अर्थ उग्र, निष्क्रिय, नकरात्मक, र दुष्ट विधिहरू प्रयोग गरी आफ्‍ना भावनाहरू पोखाउनु, र आफूले मन नपराएका कुरा र मानिसहरू हराएर जाऊन्, वा तिनीहरूलाई विपत्ति आइपरोस् भनेर कामना गर्नु हो, ताकि ऊ आफूले चाहेअनुसार नै तिनीहरूको दुर्भाग्यमा रमाउन सकोस्। झोकीपन भनेको त्यही हो। झोकीपनमा के-कस्ता कुराहरू पर्छन्? घृणा, वैमनस्यता, र श्रापहरू, साथै केही कुभलो होस् भन्‍ने इच्‍छाहरू पर्छन्—झोकीपनमा यी सबै कुराहरू पर्छन्। के तीमध्ये कुनै कुरा सकारात्मक छ? (छैन।) यी भावना र झोकीपनमा जिउँदा व्यक्ति कस्तो अवस्थामा हुन्छ? के ऊ बौलाहा दैत्यमा परिणत हुन लागेको हुँदैन? तैँले मानिसहरूलाई जति गालीगलौज गर्छस्, तँलाई त्यति नै रिस उठ्छ, र तँ त्यति नै क्रूर बन्छस्, र अरूलाई गालीगलौज गर्न तँलाई त्यति नै मन लाग्छ, र अन्त्यमा, तँलाई गएर कुनै व्यक्तिलाई हिर्काउन मन लाघ्छ। अनि जब तैँले कसैलाई हिर्काउँछस्, तब तँलाई त्यो व्यक्तिलाई मरणशील रूपमा चोट पुर्‍याउन, उसको ज्यान लिन मन लाग्छ, अर्थात् तँ यसो भन्छस्: “म तँलाई नष्ट गर्छु! म तँलाई मार्छु!” एउटा सानो भावनाले—नकरात्मक भावनाले—व्यक्तिको झोकीपन उत्तेजित र प्रस्फुटित गर्छ, र अन्त्यमा, यसले गर्दा मानिसहरूमा ज्यान मार्ने र नष्ट गर्ने चाहना उत्पन्न हुन्छ। के यो सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने र तिनीहरूले राख्नुपर्नेपर्ने कुरा हो? (अहँ, होइन।) यो केको रूप हो? (यो एउटा दियाबलसको रूप हो।) यो त एउटा दियाबलसले आफ्‍नो साँचो रूप प्रकट गर्नु हो। पिशाचले कुनै व्यक्तिलाई निल्‍न लागेको बेला त्यसको अनुहार पनि यस्तै हुन्छ। यसको पैशाचिक प्रकृति सतहमा देखा पर्छ, र यसलाई नियन्त्रण गर्न सकिँदैन। बौलाहा दैत्य हुनु भनेको त्यही हो। अनि यी मानिसहरू कति बौलाहा हुन्छन्? तिनीहरू मानिसको मासु र प्राण निल्‍न चाहने दैत्य बन्छन्। गालीगलौजको सबैभन्दा गम्भीर परिणाम के हो भने, यसले सानो कुरालाई पूर्ण रूपमा उल्ट्याएर, कसैको ज्यान जाने अवस्था ल्याउन सक्छ। विभिन्‍न समस्याहरू दुई जना मानिसहरूका बीचमा मनमुटाव भएर सुरु हुन्छन्, त्यसपछि त्यो एक-अर्कालाई चिच्याउने र गालीगलौज गर्ने अवस्थामा पुग्छ, त्यसपछि एक-अर्कालाई हात हालाहाल गर्ने अवस्था पैदा हुन्छ, त्यसपछि ज्यान मार्ने मन प्रबल इच्छा देखापर्छ, जुन वास्तविकतामा परिणत हुन्छ—एक जना मारिन्छ, र अर्कोले हत्याको अभियोगमा दोषी ठहर भएर मृत्युदण्ड पाउँछ। अन्त्यमा दुवै पक्ष हार्छन्। अन्तिम परिणाम यही हो। तिनीहरूको गालीगलौज सकिन्छ, तिनीहरूले आफ्‍ना भावनाहरू पोखाइसक्छन्, आफ्‍ना सबै झोकीपन प्रकट गरिसक्छन्, र दुवै जना नरक पुगेका हुन्छन्। परिणाम त्यही हुन्छ। मानिसले आफ्‍ना भावनाहरू पोखाउँदा र आफ्‍नो झोकीपन उत्तेजित गरी प्रस्फुटित गर्दा यस्तै परिणामहरू आउँछन्। यो असल परिणाम होइन, तर दुष्ट परिणाम हो। हेर् त, एउटा सरल नकारात्मक भावनाले पैदा गर्ने व्यवहारले गर्दा मानिसले सामना गर्ने परिणाम यस्तै हुन्छ। मानिसहरू यस्तो परिणाम हेर्न चाहँदैनन्, न त तिनीहरू आफै यसको सामना गर्न चाहन्छन्, तर मानिसहरू सबै किसिमका खराब भावनामाझ जिउने हुनाले, र तिनीहरू प्रायजसो बढेर प्रस्फुटित हुने झोकीपनको बन्धन र नियन्त्रणमा हुने हुनाले, अन्त्यमा यस्तै परिणामहरू आउँछन्। मलाई भन, के गालीगलौज गर्नु सरल व्यवहार हो? मानिसहरूले आफ्‍नो दैनिक जीवनमा प्रयोग गर्ने गालीगलौजले त्यस्तो दुष्ट परिणाम नल्याउन सक्छ—अर्थात्, गालीगलौजका हरेक घटनाले सधैँ त्यस्ता परिणामहरू नल्याउन सक्छ। तैपनि गालीगलौजको सार त्यही हो। यो त आफ्‍ना भावनाहरू पोखाउनु र आफ्नो झोकीपन उत्तेजित गरी प्रस्फुटित गर्नु हो। त्यसकारण, अरूलाई गालीगलौज नगर्नु भनी परमेश्‍वरले मानवजातिबाट गर्नुभएको माग मानिसका लागि पक्‍कै पनि फाइदाजनक छ—यसले उसलाई सयौँ तरिकाले फाइदा गर्छ र कुनै पनि तरिकाले हानि गर्दैन—यसको साथै, यो मानवजातिसमक्ष परमेश्‍वरले यो माग अघि सार्नुको महत्त्वको भाग पनि हो। अरूलाई गालीगलौज नगर्नु भन्‍ने यो माग सत्यता अभ्यास गर्ने वा सत्यताको खोजी गर्ने कार्यको स्तरमा नपुग्‍न सक्छ, तर यो मानिसले पूरा गर्नुपर्ने माग हो।

केवल आत्मसंयममा भर परेर मात्रै, के मानिसहरूले एकअर्कालाई गालीगलौज गर्नु हुँदैन भन्‍ने परमेश्‍वरको मापदण्ड पूरा गर्न सक्छन्? मानिसहरूलाई रिस उठेपछि, धेरैजसो समय तिनीहरूले आफूलाई संयम राख्‍न सक्दैनन्। त्यसकारण, मानिसहरूले एकअर्कालाई गालीगलौज नगर्नु भन्‍ने यो मापदण्ड कसरी पूरा गर्न सक्छन्? जब तैँले कसैलाई गालीगलौज गर्न लागेको हुन्छस्, विशेष गरी जब तैँले आफूलाई काबुमा राख्‍न सक्दैनस्, तैँले तुरुन्तै प्रार्थना गर्नुपर्छ। यदि तैँले केही समयसम्‍म प्रार्थना गरेर परमेश्‍वरसँग गम्भीरतासाथ बिन्ती गर्छस् भने, तेरो रिस हट्ने सम्‍भावना हुन्छ। त्यो बेला, तैँले आफूलाई प्रभावकारी रूपमा काबुमा राख्‍न, र आफ्‍नो आवेग र झोक नियन्त्रित गर्न सक्‍नेछस्। उदाहरणको लागि, कहिलेकहीँ मानिसहरूले तँलाई अपमानित गर्दै, विभिन्‍न कुराहरू भन्‍न सक्छन्, वा तेरो पिठ्यूँपछाडि तेरो कुरा काट्न सक्छन्, वा जानीनजानी तँलाई चोट पुर्‍याउन सक्छन्, वा तँबाट थोरै भए पनि फाइदा लिन, तँबाट केही कुरा चोर्न, वा तेरा महत्त्वपूर्ण हितहरूमा हानि गर्नसमेत सक्छन्। जब यस्ता कुराहरू आइपर्छन्, तैँले यस्तो सोच्नेछस्: “त्यसले मलाई चोट पुर्‍यायो, त्यसैले त्यसलाई घृणा गर्छु, त्यसलाई गाली गर्न चाहन्छु, बदला लिन चाहन्छु, र हिर्काउन चाहन्छु। म त्यसको पिठ्यूँपछाडि फोहोरी खेल खेलेरै त्यसलाई पाठ सिकाउन चाहन्छु।” के यो सबै खराब भावनाहरूले गर्दा आउने कुरा होइनन् र? खराब भावनाहरूले ल्याउने परिणाम भनेकै तँलाई यी कुराहरू गर्न मन लाग्‍नु हो। तैँले यसबारेमा जति विचार गर्छस्, त्यति नै तँलाई रिस उठ्छ, र त्यति नै तँलाई यो व्यक्तिले हेपेको छ, र तेरो इज्‍जत र चरित्र अपमानित भएको छ भन्‍ने लाग्छ। तँलाई भित्री रूपमा असहज महसुस हुन्छ, र तँलाई बदला लिन मन लाग्छ। के यो तँमा यी भावनाहरूले पैदा गरेको आवेगपूर्ण झोक होइन र? (हो।) बदला लिने तेरो यो इच्छा कस्तो व्यवहार हो? के तैँले झोक प्रकट गर्न लागेको हुँदैनस् र? यस्तो बेला, तैँले आफूलाई शान्त पार्नु अनिवार्य हुन्छ; सर्वप्रथम, तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, आफूलाई संयम राख्‍नुपर्छ, मनन गरेर सत्यता खोज्‍नुपर्छ, र बुद्धिमानी ढङ्गले व्यवहार गर्नुपर्छ। रिसले उत्तेजित हुने, र घृणा, भावना, र झोक पैदा हुने अवस्थाबाट जोगिने एउटै मात्र उपाय त्यही हो। कतिपयले यसो भन्‍न सक्छन्: “यदि दुई जना मानिसहरू दिनभरि सँगै काम गरे भने, यस्तो अवस्थाबाट जोगिने कुनै उपाय हुँदैन।” यदि तँ यस्तो अवस्थाबाट जोगिन नसके पनि, तैँले बदला लिनु हुँदैन, बरु संयम हुनुपर्छ। तैँले आफूलाई कसरी संयम राख्‍न सक्छस्? सर्वप्रथम, तैँले मनमनै यस्तो सोच्‍नुपर्छ: “यदि मैले बदला लिएँ भने, यसले पक्‍कै पनि परमेश्‍वरलाई प्रसन्‍न तुल्याउँदैन, त्यसकारण मैले त्यसो गर्नु हुँदैन। घृणा, बदला, र तिरस्कार सबका सब परमेश्‍वरले घृणा गर्नुहुने कुराहरू हुन्।” परमेश्‍वरले यी कुराहरूलाई घृणा गर्नुहुन्छ, तैपनि तँ यी कुराहरू गर्न चाहन्छस्, र आफूलाई नियन्त्रण गर्न सक्दैनस्। तैँले यसलाई कसरी समाधान गर्नुपर्छ? स्वाभाविक रूपमै, तैँले परमेश्‍वरमा भरोसा गर्नुपर्ने हुन्छ; परमेश्‍वरलाई प्रार्थना गरिनस् भने, तैँले यो समाधान गर्न सक्दैनस्। यसको साथै, यदि तेरो कद अत्यन्तै सानो छ, र तँ अत्यन्तै झोक्की छस्, र आफ्‍नो भावना र झोकलाई काबुमा राख्‍न सक्दैनस्, र तँ बदला लिन चाहन्छस् भने पनि, तैँले त्यो व्यक्तिलाई गालीगलौज गर्न मुख खोल्‍नु हुँदै हुँदैन। तँ जहाँ छस् त्यहाँबाट गइहाल्नुपर्छ, र अरू कसैलाई हस्तक्षेप गर्न र परिस्थिति सम्हाल्न लगाउनुपर्छ। तैँले मनमनै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र परमेश्‍वरको वचनका केही उपयुक्त वाक्यांशहरू पाठ गर्नुपर्छ। परमेश्‍वरलाई यसरी प्रार्थना गर्, अनि तेरो झोक बिस्तारै हराएर जानेछ। तँलाई महसुस हुनेछ कि मानिसहरूलाई गालीगलौज गर्दा समस्या समाधान नहुने रहेछ, यो त भ्रष्टताको प्रकटीकरण मात्र रहेछ, र यसले परमेश्‍वरलाई लज्‍जित मात्रै पार्ने रहेछ। के यसरी प्रार्थना गर्दा तेरो समस्या समाधान हुनेछैन र? तिमीहरूलाई यो समाधान कस्तो लाग्यो? (यो राम्रो छ।) परमेश्‍वरले अघि सार्नुभएको व्यवहारसम्‍बन्धी यो नियम “अरूलाई कुटपिट वा गालीगलौज गर्नु हुँदैन” भन्‍नेबारेमा मेरो सङ्गति यति नै हो।

मानिसहरूलाई परमेश्‍वरले पालन गर्न लगाउनुहुने असल व्यवहारहरूबारे मैले भर्खरै सङ्गति गरेँ, ती के-के थिए? (सन्तको जस्तो शिष्टता हुनु, लम्पट नहुनु, संयमित हुनु, असाधारण वस्‍त्र नलगाउनु, अरूलाई कुटपिट वा गालीगलौज नगर्नु, धुम्रपान-मद्यपान नगर्नु, मूर्ति पूजा नगर्नु, आफ्‍ना आमाबुबाको आदर गर्नु, चोरी नगर्नु, अरूको सम्पत्ति हिनामिना नगर्नु, व्यभिचार नगर्नु, र झूटो गवाही नदिनु।) हो, यी सबै सही छन्। मलाई भन, के नचोर्नु र अरूबाट फाइदा नलिनु भन्‍नेजस्ता व्यवस्थामा अघि सारिएका मापदण्डहरू अझै पनि लागूयोग्य छन्? के ती अझै पनि प्रभावकारी छन्? (ती अझै पनि लागूयोग्य र प्रभावकारी छन्।) त्यसोभए, अनुग्रहको युगका आज्ञाहरू नि? (ती पनि अझै लागूयोग्य छन्।) त्यसोभए, परमेश्‍वरले किन यी निश्‍चित मापदण्डहरू अघि सार्नुभयो? यी निश्‍चित मापदण्डहरूले मान्छेको अभ्यासको कुन पक्षलाई छुन्छन्? यदि परमेश्‍वरले यी मापदण्डहरू अघि नसार्नुभएको भए, के मानिसहरूले यी कुराहरू बुझ्नेथिए? (बुझ्‍नेथिएनन्।) मानिसहरूले यी कुरा बुझ्‍नेथिएनन्। मान्छेको व्यवहार नियमन गर्नको लागि परमेश्‍वरले अघि सार्नुभएका यी निश्‍चित मापदण्डहरू सबै वास्तवमा सामान्य मानवतामा जिउने कार्यसँग सम्‍बन्धित छन्। यी निश्‍चित मापदण्डहरू अघि सार्नुको उद्देश्य मानिसहरूलाई सकारात्मक र नकारात्मक कुराहरू, साथै के सही हो र के गलत हो भनेर सही रूपमा पत्ता लगाउन र पहिचान गर्न सक्‍ने बनाउनु हो; मानिसहरूलाई व्यभिचार नकारात्मक कुरा हो, यो लाजमर्दो, परमेश्‍वरलाई घिन लाग्‍ने, र मान्छेले तिरस्कार गर्ने कुरा हो, र मानिसहरूले आफूलाई यसबाट अलग राख्‍नुपर्छ, यो कार्यमा संलग्‍न हुनु वा यस्तो गल्ती गर्नु हुँदैन भनेर सिकाउनु हो; अरूबाट फाइदा लिने, चोर्ने, आदि इत्यादि कुराहरू नकारात्मक कुराहरू हुन्, र मानिसहरू ती कार्यमा संलग्‍न हुनु हुँदैन भनेर सिकाउनु हो। यदि तँलाई यी कुराहरू गर्न मन पर्छ, र तैँले यी कुराहरू गरेको छस् भने, तँ असल व्यक्ति होइनस्। असल मानवता भएको व्यक्ति र खराब मानवता भएको व्यक्तिबीच, वा सकारात्मक व्यक्ति र नकारात्मक व्यक्तिबीच कसरी भिन्‍नता छुट्याउन सकिन्छ? सर्वप्रथम, तँ यो कुरामा निश्‍चित हुनुपर्छ—मानिसहरूबीचको भिन्‍नता सही रूपमा छुट्याउन, र सकारात्मक र नकारात्मक व्यक्तिहरूबीचको फरक देख्‍न परमेश्‍वरका वचनहरूका आधारमा मात्रै सकिन्छ। परमेश्‍वरले मान्छेको व्यवहार नियमन गर्नको लागि अघि सार्नुभएका मापदण्ड र सर्तहरूका आधारमा मात्रै मानिसहरूलाई स्पष्ट रूपमा चिन्‍न र बुझ्न सकिन्छ। म एउटा उदाहरण दिन्छु: यदि व्यक्ति अरूको चीजबीजमा हात लगाइहाल्‍ने, र अरूका सरसामान चोर्ने किसिमको छ भने, उसको मानवता कस्तो हुन्छ? (खराब।) चोर्नु एक गम्‍भीर दुष्कर्म हो, त्यसैले चोरी गर्नेहरू दुष्ट मानिसहरू हुन्। अरू सबै मानिसहरू तिनीहरूप्रति सतर्क हुन्छन्, तिनीहरूबाट टाढा हुन्छन्, र तिनीहरूलाई चोर ठान्छन्। मानिसहरूको सोचमा, चोरहरू नकारात्मक मानिसहरू हुन्, चोर्नु नकारात्मक कुरा हो, र यो पापी व्यवहार हो। के यो पुष्टि भइसकेको कुरा होइन र? अर्को उदाहरण पनि छ। मानौँ एक जना व्यभिचारी छ, र कतिपय मानिसहरूलाई यो सकारात्मक कुरा हो कि नकारात्मक, थाहै छैन—यो कुरालाई तिनीहरूले सही रूपमा मापन गर्ने एउटै मात्र उपाय भनेको परमेश्‍वरका वचनहरूअनुसार मापन गर्नु हो, किनभने परमेश्‍वरका वचनहरू मात्रै सत्यता हुन्। अहिले व्यभिचारको बारेमा कानुनी प्रणाली र नैतिकताले जे नयाँ दाबी गरे पनि, यी कुराहरू सत्यता होइनन्। परमेश्‍वरले बोल्‍नुभएको “व्यभिचार गर्नु हुँदैन” भन्‍ने वचन सत्यता हो, र सत्यता कहिल्यै मर्दैन। परमेश्‍वरले “व्यभिचार गर्नु हुँदैन” भन्‍ने मापदण्ड अघि सार्नुभएको क्षणदेखि नै सबैजनाले व्यभिचारीहरूलाई घृणा गर्न र आफूलाई तिनीहरूबाट टाढा राख्‍न थालेको हुनुपर्छ। व्यभिचारीहरूमा मानवता हुँदैन, र कम्तीमा पनि, तैँले तिनीहरूलाई मानवताको दृष्टिकोणले मापन गरिस् भने पनि, तिनीहरू असल मानिसहरू हुँदैनन्। यस्तो व्यवहारमा संलग्‍न हुने, र यस्तो मानवता बोक्‍ने कुनै पनि व्यक्ति लाजपचेको व्यक्ति हो, र त्यस्ताहरूलाई मान्छेले घिनाउँछन्, तिनीहरूको आफ्नै समूहमा पनि तिनीहरू हेपिन्छन् र धिक्‍कारिन्छन्, र आम मानिसहरूमाझ तिनीहरू इन्कार हुन्छन्। परमेश्‍वरका वचनहरूको आधारमा, हामीले के कुरालाई पुष्टि गर्न सक्छौँ भने, व्यभिचार गर्नु नकारात्मक कुरा हो, र यसमा संलग्‍न हुने मानिसहरू नकारात्मक व्यक्तिहरू हुन्। समाजका प्रचलनहरू जति नै दुष्ट बन्‍न पुगे पनि, व्यभिचार र यौन अनैतिकता नकारात्मक कुराहरू हुन्, र त्यस्ता कार्यमा संलग्‍न हुने मानिसहरू नकारात्मक व्यक्तिहरू हुन्। यो निश्‍चित कुरा हो, र यसलाई तिमीहरूले राम्ररी बुझ्‍नुपर्छ; समाजका दुष्ट प्रचलनहरूद्वारा तिमीहरू बहकाउ वा प्रलोभनमा पर्नु हुँदैन। यी कुराहरूबाहेक, अरू थप केही निश्‍चित मापदण्डहरू पनि छन्: परमेश्‍वरले मानिसहरूलाई मूर्ति नपुज्नु, आफ्‍ना आमाबुबाको आदर गर्नु, अरूलाई कुटपिट वा गालीगलौज नगर्नु, सन्तको जस्तो शिष्टता हुनु, र यस्तै आदि इत्यादि कुराहरू बताउनुभएको छ। यी निश्‍चित मापदण्डहरू सबै नै परमेश्‍वरले मान्छेको व्यवहार नियमन गर्न प्रयोग गर्नुहुने मापदण्डहरू हुन्। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले मानिसहरूलाई सत्यता दिनुभन्दा पहिले, तिनीहरूलाई कुन-कुन कार्य सही र सकारात्मक हुन्, र कुन-कुन कार्य गलत र नकारात्मक हुन् भनेर सिकाउनुभयो, र तिनीहरूलाई कसरी असल व्यक्ति बन्‍ने र सामान्य मानवता भएको व्यक्ति बन्‍नको लागि तिनीहरूमा के-कस्ता असल व्यवहारहरू हुनुपर्छ, साथै सामान्य मानवता भएको व्यक्तिको रूपमा तिनीहरूले कुन-कुन कार्य गर्नुपर्छ र कुन-कुन कार्य गर्नु हुँदैन भनेर बताउनुभयो, ताकि तिनीहरूले सही निर्णय गर्न सकून्। मान्छेको व्यवहार नियमन गर्ने यी सबै मापदण्डहरू हरेक सामान्य व्यक्तिले साँचो रूपमा जिउनुपर्ने कुराहरू हुन्, र हरेक व्यक्तिले आफूले झेल्‍ने सबै कुरा वास्तविक रूपमा सामना गर्ने र सम्‍हाल्‍ने आधारहरू हुन्। उदाहरणको लागि, मानौँ तैँले अर्को व्यक्तिसँग कुनै राम्रो चीज रहेको देख्छस्, र तँलाई त्यो चीज आफ्‍नो लागि लिन मन लाग्छ, तर त्यसपछि तैँले यस्तो विचार गर्छस्: “अरू मानिसहरूको चीजबीज चोर्नु गलत हो भनेर परमेश्‍वरले भन्‍नुभएको छ, हामीले चोर्नु वा अरूबाट फाइदा लिनु हुँदैन भनेर उहाँले भन्‍नुभएको छ, त्यसकारण म चोर्दिनँ।” तब के यो चोर्ने व्यवहार काबुमा आएको हुँदैन र? अनि यसरी काबुमा आउँदा, तेरो व्यवहार नियमन गरिएको हुँदैन र? परमेश्‍वरले यी मापदण्डहरू अघि सार्नुभन्दा पहिले, जब मानिसहरूले अर्को व्यक्तिकहाँ कुनै राम्रो चीज देख्थे, तिनीहरूले त्यो चीज आफ्नै लागि लिन मन गर्थे। तिनीहरूले त्यसो गर्नु गलत वा लाजमर्दो कुरा हो, वा परमेश्‍वरले यस्तो कार्यलाई घिनाउनुहुन्छ, वा यो नकारात्मक कुरा हो, वा यो पापसमेत हो भन्‍ने सोच्दैनथे; तिनीहरूलाई यी कुराहरू थाहै थिएन, तिनीहरूसँग यी अवधारणाहरू थिँदै थिएन। परमेश्‍वरले “चोरी नगर्नू” भन्‍ने मापदण्ड अघि सार्नुभएपछि, मानिसहरूमा यी कुराहरू गर्नु हुँदैन भन्‍ने मानसिक सीमा आयो, र यो सीमामार्फत तिनीहरूलाई थाहा भयो कि चोर्नु र नचोर्नुमा भिन्‍नता छ। चोर्नु भनेको नकारात्मक कुरा, खराब वा दुष्ट कुरा गर्नुजस्तै हो, र यो लाजमर्दो कुरा हो। नचोर्नु भनेको मानवताको नैतिकता पालना गर्नु हो, र यसमा मानवता छ। मान्छेको व्यवहारसम्‍बन्धी परमेश्‍वरका मापदण्डहरूले मानिसहरूका नकारात्मक व्यवहार र शैलीहरूलाई समाधान गर्ने मात्र नभई, मान्छेको व्यवहारलाई समेत नियन्त्रित गर्छन्, र मानिसहरूलाई सामान्य मानवतामा जिउन, सामान्य व्यवहार र प्रकटीकरणहरू धारण गर्न, र कम्तीमा पनि सामान्य मानिसहरूजस्तो देखिन सहयोग गर्छन्। मलाई भन, के मान्छेको व्यवहार नियमन गर्नको लागि परमेश्‍वरले अघि सार्नुभएका यी मापदण्डहरू निकै अर्थपूर्ण छैनन् र? (छन्।) ती अर्थपूर्ण छन्। तैपनि, मान्छेको व्यवहार नियमन गर्ने यी निश्‍चित मापदण्डहरू परमेश्‍वरले अहिले व्यक्त गरिरहनुभएका सत्यताहरूभन्दा निकै टाढा छन्, र ती सत्यताको स्तरमा उक्‍लिन सक्दैनन्, किनभने धेरै पहिले, व्यवस्थाको युगमा, यी मापदण्डहरू मान्छेको व्यवहार नियमन गर्ने नियमहरू थिए, र परमेश्‍वरले मानिसहरूलाई तिनीहरूले के गर्नु हुन्छ र के गर्नु हुँदैन भनेर बताउन सबैभन्दा सरल र सीधा भाषा प्रयोग गरेर ती मापदण्डहरू अघि सारिरहनुभएको थियो, र तिनीहरूको लागि केही नियमहरू बनाइरहनुभएको थियो। अनुग्रहको युगमा, यी मापदण्डहरू आज्ञाहरू मात्रै थिए, र आजको दिनमा, यी कुराहरूलाई व्यक्तिको व्यवहार मापन गर्ने, र अन्य कुराहरू मूल्याङ्कन गर्ने मापदण्ड मात्र भन्‍न सकिन्छ। यी मापदण्डहरूलाई सत्यताको स्तरमा उचाल्‍न नसकिए पनि, र यी कुराहरू र सत्यताबीच निश्‍चित दूरी रहेको भए पनि, मानिसहरूले सत्यता पछ्याउन र अभ्यास गर्नको लागि यी कुराहरू अत्यावश्यक पूर्वसर्तहरू हुन्। जब व्यक्तिले मान्छेको व्यवहार नियमन गर्न परमेश्‍वरले स्थापित गर्नुभएका यी नियम र आज्ञाहरू, यी मापदण्ड र व्यावहारिक सीमाहरू पालना गर्छ, तब उसले सत्यता अभ्यास गर्ने र सत्यता पछ्याउने आधारभूत पूर्वसर्त पूरा गरेको हुन्छ भनेर भन्‍न सकिन्छ। यदि व्यक्तिले धुम्रपान र मद्यपान गर्छ भने, यदि उसको व्यवहार लम्पट छ, र उसले व्यभिचार गर्छ, अनि अरू मानिसहरूबाट फाइदा लुट्ने, बारम्‍बार चोरी गर्ने गर्छ, तर यदि तैँले “यो व्यक्तिले सत्यतालाई प्रेम गर्छ, र उसले अवश्य नै यसको अभ्यास गर्न र मुक्ति पाउन सक्छ” भनेर भन्छस् भने, के त्यो अभिव्यक्ति साँचो हुन्छ? (हुँदैन।) किन साँचो हुँदैन? (त्यो व्यक्तिले परमेश्‍वरका सबैभन्दा आधारभूत मापदण्डहरू पनि पूरा गर्न सक्दैन, त्यसकारण उसले सत्यता अभ्यास गर्न सक्‍नु असम्‍भव हुन्छ, र उसले सत्यतालाई प्रेम गर्छ भनेर भन्‍ने हो भने, त्यो झूट हुन्छ।) ठीक भन्यौ। यो व्यक्तिमा आत्मसंयमको सबैभन्दा आधारभूत स्तर पनि हुँदैन। यसको तात्पर्य, तिनीहरूमा व्यक्तिमा हुनुपर्ने विवेक र समझको सबैभन्दा आधारभूत मात्रा पनि हुँदैन। अर्को शब्‍दमा भन्दा, यो व्यक्तिमा सामान्य मानवतामा हुनुपर्ने विवेक र समझ नै हुँदैन। विवेक र समझ नहुनु भनेको के हो? यसको अर्थ के हो भने, यो व्यक्तिले परमेश्‍वरले बोल्‍नुभएका वचनहरू, र परमेश्‍वरले मान्छेको लागि अघि सार्नुभएका मापदण्डहरू, र परमेश्‍वरले स्थापित गर्नुभएका नियमहरू सुनेको छ, तर ती कुराहरूलाई गम्‍भीरतासाथ पटक्‍कै लिएको छैन। अरूको चीजबीज चोर्नु खराब कुरा हो, र मानिसहरूले चोर्नु हुँदैन भनेर परमेश्‍वरले भन्‍नुभएको छ, तर यो व्यक्तिले सोच्छ: “किन चोर्न पाइँदैन? म कति गरिब छु, त्यसकारण नचोरी म कसरी बाँच्‍न सक्छु? के मैले चोरिनँ वा अरूबाट फाइदा लिइनँ भने म धनी बन्‍न सक्छु र?” के यस्ताहरूमा सामान्य मानवतामा हुनुपर्ने विवेक र समझको कमी हुँदैन र? (हुन्छ।) परमेश्‍वरले मान्छेको व्यवहार नियन्त्रण गर्न अघि सार्नुभएका मापदण्डहरू तिनीहरूले पालना गर्न सक्दैनन्, त्यसकारण तिनीहरू मानवता भएका मानिसहरू होइनन्। यदि कसैले सामान्य मानवता नभएको व्यक्तिले सत्यतालाई प्रेम गर्छ भनेर भन्छ भने, के त्यो सम्‍भव हुन्छ? (हुँदैन।) तिनीहरूले सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्, र मानिसहरूले चोरी वा व्यभिचार गर्नु हुँदैन भनेर परमेश्‍वरले भन्‍नुभए पनि, तिनीहरूले यी मापदण्डहरू पूरा गर्न सक्दैनन्, र परमेश्‍वरका यी वचनहरूप्रति तिनीहरू वितृष्ण हुन्छन्—त्यसकारण के तिनीहरूले सत्यतालाई प्रेम गर्न सक्छन् त? सत्यता यी व्यावहारिक मापदण्डहरूभन्दा निकै उच्‍च हुन्छ—के तिनीहरूले ती सत्यता हासिल गर्न सक्छन् त? (सक्दैनन्।) सत्यता भनेको सरल व्यावहारिक मापदण्ड मात्रै होइन, यो मानिसहरूले पाप गर्दा वा स्वेच्‍छाचारी र लापरवाही हुँदा सत्यताबारेमा सोच्‍नु, र त्यसपछि संयम अपनाउनु वा स्वेच्‍छाचारी र लापरवाही व्यवहार गर्न छोड्नुजस्तो होइन। सत्यताले मानिसहरूको व्यवहार यति सरल रूपमा मात्रै नियन्त्रण गर्दैन—सत्यता त व्यक्तिको जीवन बन्‍न सक्छ, र यसले व्यक्तिको सबै कुरा नियन्त्रण गर्न सक्छ। जब मानिसहरूले सत्यतालाई आफ्‍नो जीवनको रूपमा स्विकार्छन्, तब यो कुरा तिनीहरूले परमेश्‍वरको काम अनुभव गरेर, सत्यतालाई चिनेर, अनि अभ्यास गरेर हासिल भएको हुन्छ। जब मानिसहरूले सत्यता स्विकार्छन्, तब तिनीहरूभित्र संघर्ष पैदा हुन्छ, र तिनीहरूको भ्रष्ट स्वभाव प्रकट हुने सम्‍भावना हुन्छ। जब मानिसहरूले आफ्‍नो भ्रष्ट स्वभाव सुल्झाउन सत्यता प्रयोग गर्न सक्छन्, तब सत्यता तिनीहरूको जीवन, र तिनीहरूले व्यवहार गर्ने र जिउने सिद्धान्त बन्‍न सक्छ। यो सत्यतालाई प्रेम गर्ने र मानवता भएका मानिसहरूले मात्रै हासिल गर्न सक्‍ने कुरा हो। के सत्यतालाई प्रेम नगर्ने र मानवता नभएकाहरू यो स्तरमा पुग्‍न सक्छन्? (सक्दैनन्।) ठीक भन्यौ, तिनीहरूले चाहे पनि सक्दैनन्।

यदि हामीले मान्छेको व्यवहार नियमन गर्न परमेश्‍वरले बनाउनुभएका यी मापदण्डहरू, उहाँले बोल्‍नुभएका सबै वचनहरू, र उहाँले अघि सार्नुभएका सबै निश्‍चित प्रावधानहरूलाई हेर्‍यौँ भने, के तीमध्ये कुनै अनावश्यक छन्? (छैनन्।) के ती अर्थपूर्ण छन्? के तिनको मूल्य छ? (छ।) के मानिसहरूले ती पालना गर्नुपर्छ? (पर्छ।) ठीक भन्यौ, मानिसहरूले ती पालना गर्नुपर्छ। अनि ती पालना गर्नेबाहेक, मानिसहरूले आफूलाई परम्‍परागत संस्कृतिले सिकाएका अभिव्यक्तिहरू पनि त्याग्‍नुपर्छ, जस्तै शिक्षित र समझदार हुनु, भद्र र परिष्कृत हुनु, आदि इत्यादि। परमेश्‍वरले मान्छेको व्यवहार नियमन गर्नको लागि अघि सार्नुभएका हरेक मापदण्डहरू तिनीहरूले पूरा गर्नुपर्छ, र पूर्णतया परमेश्‍वरका वचनहरूअनुसार आफूलाई व्यवहारमा ढाल्‍नुपर्छ। परमेश्‍वरले अघि सार्नुभएका सबै मापदण्डहरू राम्ररी पालना गरेर तिनीहरू सामान्य मानवतामा जिउनुपर्छ, त्यसपछि स्वाभाविक रूपमै, तिनीहरूले ती मापदण्डहरूअनुसार मानिसहरू र कामकुराहरूलाई मूल्याङ्कन गर्नुपर्छ, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्नुपर्छ। ती मापदण्डहरू सत्यताको मापदण्डको स्तरमा नपुगे पनि, ती सबै परमेश्‍वरका वचनहरू हुन्, र ती परमेश्‍वरका वचनहरू भएकाले, ती मापदण्डले मानिसहरूमा सकारात्मक र सक्रिय मार्गदर्शक प्रभाव पार्न सक्छन्। सत्यतालाई पछ्याउनुको बारेमा मैले कसरी परिभाषित गरेँ? पूर्णतया परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्न कामकुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु। परमेश्‍वरका वचनहरूले धेरै कुराहरू सम्मिलित गर्छ। कहिलेकहीँ उहाँको वचनको एउटै वाक्यांशले सत्यताको एक मूलतत्‍व प्रतिनिधित्व गर्छ। कहिलेकहीँ सत्यताको एक मूलतत्व प्रस्तुत गर्न कैयौँ वाक्यांश वा एक अनुच्‍छेद आवश्यक पर्छ। कहिलेकहीँ सत्यताको एक मूलतत्व व्यक्त गर्नको लागि पूरै अध्याय आवश्यक पर्छ। सत्यता सरलजस्तो लाग्छ, तर वास्तवमा, यो सरल छैन। समग्र हिसाबमा सत्यताको व्याख्या गरेर भन्दा, परमेश्‍वर सत्यता हुनुहुन्छ। परमेश्‍वरका सबै वचनहरू सत्यता हुन्, परमेश्‍वरका वचनहरू धेरै छन् र तिनले धेरै विषयवस्तु समावेश गर्छन्, र ती सबै सत्यताका अभिव्यक्तिहरू हुन्। उदाहरणको लागि, परमेश्‍वरले अघि सार्नुभएका नियम र आज्ञाहरू, साथै यो नयाँ युगमा परमेश्‍वरले अघि सार्नुभएका व्यवहारसम्‍बन्धी मापदण्डहरू सबै नै परमेश्‍वरका वचनहरू हुन्। तीमध्ये केही वचनहरू सत्यताको स्तरमा नपुगे पनि, र ती सत्यताको रूपमा मान्य नभए पनि, ती सकारात्मक कुराहरू हुन्। ती वचनहरू मान्छेको व्यवहार नियन्त्रण गर्ने वचनहरू मात्रै भए पनि, मानिसहरूले तिनलाई पालना गर्नुपर्छ। मानिसहरूमा कम्तीमा पनि यस्ता व्यवहारहरू हुनुपर्छ, र तिनीहरू यी मापदण्डहरूभन्दा तल पर्नु हुँदैन। त्यसकारण, मानिसहरू र कामकुराहरूप्रति व्यक्तिको दृष्टिकोण, र उसको व्यवहार र कार्य परमेश्‍वरका यी वचनहरूमै आधारित हुनुपर्छ। मानिसहरूले तिनलाई पालना गर्नुपर्छ किनभने ती परमेश्‍वरका वचनहरू हुन्; सबैले परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र कामकुराहरूलाई हेर्ने, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने गर्नुपर्छ, किनभने ती परमेश्‍वरका वचनहरू हुन्। के त्यो कुरा सही होइन र? (हो।) मैले पहिले यस्तो कुरा भनेको थिएँ: परमेश्‍वरले जे बोल्नुहुन्छ त्यो गम्भिरतापूर्वक भन्नुहुन्छ, र उहाँले जे भन्नुहुन्छ त्यो गरिनेछ, र उहाँले जे गर्नुहुन्छ त्यो सदा-सर्वदा रहिरहनेछ, र यसको अर्थ परमेश्‍वरका वचनहरू कहिल्यै मर्नेछैनन्। किन ती वचनहरू कहिल्यै मर्नेछैनन्? किनभने परमेश्‍वरले जति धेरै वचन बोल्‍नुभए पनि, र जहिले बोल्‍नुभए पनि, ती सबै सत्यता हुन्, र ती वचनहरू कहिल्यै मर्दैनन्। संसार नयाँ युगमा प्रवेश गरे पनि, परमेश्‍वरका वचनहरू परिवर्तन हुनेछैनन्, ती वचनहरू मर्नेछैनन्। परमेश्‍वरका वचनहरू कहिल्यै मर्नेछैनन् भनेर म किन भन्दै छु? किनभने परमेश्‍वरका वचनहरू सत्यता हुन्, र सत्य कुरा कहिल्यै परिवर्तन हुनेछैन। त्यसकारण, परमेश्‍वरले अघि सार्नुभएका र बोल्‍नुभएका सबै नियम र आज्ञाहरू, र मान्छेको व्यवहारबारे उहाँले अघि सार्नुभएका सबै मापदण्डहरू कहिल्यै मर्नेछैनन्। परमेश्‍वरका वचनहरूको हरेक मापदण्ड सृष्टि गरिएका मानवजातिको लागि फाइदाजनक छन्, यी सबै नै मान्छेको व्यवहार नियमन गर्नका लागि हुन्, र सामान्य मानवतामा जिउने र मानिसहरूले आफूलाई के-कस्तो व्यवहारमा ढाल्‍ने भन्‍ने सन्दर्भमा यी सुधारात्मक र बहुमूल्य छन्। यी सबै वचनहरूले मानिसहरूलाई परिवर्तन गर्न, र तिनीहरूलाई सामान्य मानवतामा जिउने तुल्याउन सक्छन्। यसविपरीत, यदि मानिसहरूले परमेश्‍वरका वचनहरू इन्कार गरे, मानवजातिको निम्ति परमेश्‍वरले अघि सार्नुभएका मापदण्डहरू इन्कार गरे, बरु मान्छेले नै अघि सारेका असल व्यवहारसम्‍बन्धी अभिव्यक्तिहरू पालना गरे भने, तिनीहरू ठूलो खतरामा हुन्छन्। तिनीहरूमा मानवता र समझको झन्झन् कमी मात्रै हुनेछैन, तिनीहरू झन्झन् छली र झूटा हुँदै जानेछन्, र झन्झन् जालझेल गर्न सक्‍ने बन्‍नेछन्, र तिनीहरू जुन मानवता जिउँछन् त्यसमा झन्झन् धेरै चलाकीहरू हुनेछन्। तिनीहरूले अरूलाई मात्रै छल गर्दैनन्, परमेश्‍वरलाई समेत छल गर्ने प्रयास गर्छन्।

मान्छेको व्यवहारबारे परमेश्‍वरले अघि सार्नुभएका मापदण्डहरूमध्ये, एउटा मापदण्ड यस्तो छ: “आफ्‍ना आमाबुबाको आदर गर्नुपर्छ।” मानिसहरूसँग अरू मापदण्डहरूबारे सामान्यतया कुनै विचार वा धारणाहरू हुँदैनन्, त्यसकारण “आफ्‍ना आमाबुबाको आदर गर्नुपर्छ” भन्‍ने यो मापदण्डबारे तिमीहरूको विचार के छ? के तिमीहरूको दृष्टिकोण र परमेश्‍वरले बोल्‍नुभएको यस सत्यता सिद्धान्तबीच कुनै विरोधाभास छ? यदि तिमीहरू यो कुरा स्पष्ट देख्‍न सक्छौ भने, त्यो राम्रो हो। सत्यता नबुझ्‍ने, नियमहरू पछ्याउन अनि वचन र र धर्मसिद्धान्तहरू मात्रै फलाक्‍न आउने मानिसहरूमा समझशक्तिको कमी हुन्छ; तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा, तिनीहरूसँग सधैँ मानव धारणाहरू हुन्छन्, र तिनीहरूले केही विरोधाभासहरू भएको महसुस गर्छन्, र उहाँका वचनहरूलाई स्पष्ट बुझ्‍न सक्दैनन्। तर सत्यता बुझ्‍ने मानिसहरूले परमेश्‍वरका वचनहरूमा कुनै विरोधाभास भेट्टाउँदैनन्, तिनीहरूलाई उहाँका वचनहरू अत्यन्तै स्पष्ट लाग्छन्, किनभने तिनीहरूमा आत्मिक बुझाइ हुन्छ र तिनीहरू सत्यता बुझ्‍न सक्छन्। कहिलेकहीँ, तिमीहरूले परमेश्‍वरका वचनहरू स्पष्ट बुझ्‍न सक्दैनौ, र कुनै प्रश्‍नहरू सोध्‍न सक्दैनौ—यदि तिमीहरूले कुनै प्रश्‍न सोधेनौ भने, तिमीहरूसँग कुनै समस्या छैनजस्तो देखिन्छ, तर वास्तवमा, तिमीहरूसँग धेरै समस्या र कठिनाइहरू हुन्छन्, यति हो तिमीहरूलाई यसबारेमा केही थाहा हुँदैन। यसले तिमीहरूको कद अत्यन्तै सानो छ भन्‍ने देखाउँछ। पहिला, हामी आफ्‍ना आमाबुबालाई आदर गर्नुपर्छ भन्‍ने परमेश्‍वरको मापदण्डलाई हेरौँ—यो मापदण्ड सही हो कि गलत? मानिसहरूले यसलाई पालन गर्नुपर्छ कि पर्दैन? (पर्छ।) यो निश्‍चित छ, र यसलाई नकार्न सकिँदैन; यसबारेमा हिचकिचाउनु वा सोचविचार गर्नु आवश्यक छैन, यो मापदण्ड सही छ। यसमा के सही छ? परमेश्‍वरले किन यो मापदण्ड अघि सार्नुभयो? परमेश्‍वरले भन्‍नुभएको “आफ्‍ना आमाबुबाको आदर गर्नु” भन्‍ने भनाइको अर्थ के हो? के तिमीहरूलाई थाहा छ? तिमीहरूलाई थाहै छैन। किन सधैँ तिमीहरूलाई थाहा हुँदैन? जबसम्म सत्यताको कुनै कुरा आउँछ, तिमीहरूलाई केही थाहै हुँदैन, तर वचन र धर्मसिद्धान्तहरूबारे तिमीहरू अनवरत बोलिरहन सक्छौ—यहाँ समस्या के हो? अनि तिमीहरूले परमेश्‍वरको यो वचन कसरी अभ्यास गर्छौ? के यो सत्यतासँग सम्‍बन्धित छैन र? (छ।) “तैँले आफ्‍ना आमाबुबाको आदर गर्नुपर्छ” भन्‍ने परमेश्‍वरको वचन देख्दा, तैँले “परमेश्‍वरले मलाई मेरा आमाबुबालाई आदर गर्न लगाइरहनुभएको छ, त्यसैले मैले उहाँहरूलाई आदर गर्नुपर्छ” भनेर मनमनै सोच्‍छस् र त्यस्तै गर्न थाल्छस्। तेरा आमाबुबाले तँलाई जे भन्छन् तँ त्यही गर्छस्—तेरा आमाबुबा बिरामी हुँदा तँ तिनीहरूको ओछ्यानछेउ बसेर तिनीहरूको सेवा गर्छस्, पिउने कुराहरू पिलाइदिन्छस्, मीठो खानेकुरा पकाइदिन्छस्, र बिदाको दिनमा आमाबुबालाई उपहारहरू किनिदिन्छस्। तिनीहरू थकित देख्दा, काँध र ढाडमा मालिस गरिदिन्छस्, र तिनीहरूलाई समस्या हुँदा, त्यो समाधान गर्ने उपाय निकालिदिन्छस्। यो सब कुराको कारण, तेरा आमाबुबा तँप्रति अत्यन्तै सन्तुष्ट हुन्छन्। तैँले आफ्‍ना आमाबुबाको आदर गरिरहेको, परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गरिरहेको, र सामान्य मानवतामा जिइरहेको हुनाले, तँलाई हृदयमा ढुक्‍क लाग्छ, र तैँले विचार गर्छस्: “हेर्नुहोस् त—मैले परमेश्‍वरमा विश्‍वास गरेपछि म परिवर्तन भएको छु भनेर मेरा आमाबुबा भन्‍नुहुन्छ। म अहिले उहाँहरूलाई आदर गर्न सक्‍ने र पहिलेभन्दा समझदार भएको छु भनेर उहाँहरू भन्‍नुहुन्छ। उहाँहरू निकै खुसी हुनुहुन्छ, र भन्‍नुहुन्छ, परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो, किनभने परमेश्‍वरमा विश्‍वास गर्ने छोराछोरीले मात्रै आफ्‍ना आमाबुबालाई आदर गर्छन्, तिनीहरू जीवनको सही मार्गमा हिँड्छन् र मानव रूपमा जिउँछन्—तिनीहरू गैरविश्‍वासीहरूभन्दा धेरै उत्तम हुन्छन्। परमेश्‍वरमा विश्‍वास गर्न थालेछि, मैले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्न र उहाँका मापदण्डहरूअनुसार व्यवहार गर्न थालेँ, अनि मेरा आमाबुबा ममा आएको यो परिवर्तन देखेर निकै खुसी हुनुहुन्छ। मलाई आफूप्रति पनि गर्व लागेको छ। मैले परमेश्‍वरलाई महिमा दिएको छु—परमेश्‍वर पक्‍कै पनि मसँग सन्तुष्ट हुनुहुन्छ, र उहाँले मलाई आफ्‍ना आमाबुबाको आदर गर्ने र सन्तको जस्तो शिष्टता भएको व्यक्ति भन्‍नुहुनेछ।” एक दिन, मण्डलीले तँलाई सुसमाचार प्रचारको निम्ति अर्को ठाउँ पठाउँछ, र सायद तँ लामो समयसम्‍म घर फर्केर आउन नसक्‍ने हुनसक्छ। परमेश्‍वरको आज्ञा पन्छाउनु हुँदैन, घरमा आमाबुबाको आदर गर्ने र बाहिर परमेश्‍वरको आज्ञा पूरा गर्ने दुवै गर्नुपर्छ भन्‍ने सोचेर तैँले जाने सहमति जनाउँछस्। तर जब तैँले आफ्‍ना आमाबुबासँग यसबारेमा छलफल गर्छस्, तब तिनीहरू क्रोधित हुन्छन् र भन्छन्: “कस्तो अटेरी सन्तान रहेछस्! तँलाई हुर्काउन हामीले कति परिश्रम गर्‍यौँ, तर तँ अहिले जान लाग्दै छस्। तँ गएपछि, हामीजस्तो बूढाबूढीलाई कसले हेर्छ? हामी बिरामी भयौँ वा कुनै विपत्ति आइलाग्यो भने, हामीलाई कसले अस्पताल लैजान्छ?” तिनीहरू तँ जाने निर्णयमा सहमत हुँदैनन्, र तँलाई चिन्ता लाग्छ: “परमेश्‍वरले हामीलाई आफ्‍ना आमाबुबाको आदर गर्नू भनेर भन्‍नुभएको छ, तर मेरा आमाबुबाले मलाई कर्तव्य पूरा गर्न जान दिनुहुन्‍न। मैले उहाँहरूको कुरा मानेँ भने, परमेश्‍वरको आज्ञा पन्छाउनुपर्नेछ, र परमेश्‍वरलाई त्यो कुरा मन पर्नेछैन। तर मैले परमेश्‍वरको आज्ञा मानेर कर्तव्य पूरा गर्न गएँ भने, मेरा आमाबुबाले चित्त दुखाउनुहुनेछ। मैले के गर्ने?” तँ सोचविचार गरिरहन्छस्: “मानिसहरूले आफ्‍ना आमाबुबाको आदर गर्नुपर्छ भन्‍ने मापदण्ड परमेश्‍वरले सुरुमा अघि सार्नुभएको हुनाले, म त्यो मापदण्ड पूरा गर्नेछु। मैले टाढा गएर आफ्‍नो कर्तव्य पूरा गर्नु पर्दैन।” अनि, तैँले आफ्‍नो कर्तव्य पन्छाएर घरमा आफ्‍ना आमाबुबाको आदर गर्ने निर्णय गर्छस्, तर तँलाई मनमा शान्ति हुँदैन। तैँले आफ्‍ना आमाबुबाको आदर गरेको भए पनि, आफ्‍नो कर्तव्य पूरा नगरेको महसुस गर्छस्, र परमेश्‍वरलाई निराश तुल्याएको छु भन्‍ने तँलाई लाग्छ। यो समस्या कसरी समाधान गर्न सकिन्छ? तैँले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र सत्यता खोजी गर्नुपर्छ, अनि एक दिन तैँले सत्यता बुझ्‍नेछस् र तेरो कर्तव्य नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने महसुस गर्नेछस्। त्यसपछि, तैँले स्वाभाविक रूपमै घर छोडेर जान र आफ्‍नो कर्तव्य पूरा गर्न सक्‍नेछस्। कतिपय मानिसहरू भन्छन्: “परमेश्‍वर मैले आफ्‍नो कर्तव्य पूरा गरेको चाहनुहुन्छ, र उहाँ मैले आफ्‍ना आमाबुबाको आदर गरेको पनि चाहनुहुन्छ। के यहाँ विरोधाभास र द्वन्द्व छैन र? मैले आखिर कसरी अभ्यास गर्ने?” “आफ्‍ना आमाबुबाको आदर गर्नु” भन्‍ने भनाइ मान्छेको व्यवहारको निम्ति परमेश्‍वरले अघि सार्नुभएको मापदण्ड हो, तर के परमेश्‍वरलाई पछ्याउन सबै कुरा त्याग्‍नु र परमेश्‍वरको आज्ञा पूरा गर्नु परमेश्‍वरको मापदण्ड होइन र? के परमेश्‍वरले यो कुरालाई अझै बढी जोड दिनुहुन्‍न र? के यो सत्यताको अझै बढी अभ्यास होइन र? (हो।) यी दुई मापदण्डहरू बाझिँदा तैँले के गर्नुपर्छ? कतिपय मानिसहरू भन्छन्: “त्यसोभए, मैले मेरा आमाबुबाको आदर गर्नुपर्छ र परमेश्‍वरको आज्ञा पूरा गर्नुपर्छ, र मैले परमेश्‍वरका वचनहरूको पालना र सत्यताको अभ्यास पनि गर्नुपर्छ—त्यो त सजिलो छ। म घरको सबै कुरा मिलाउँछु, आमाबुबाको खानेलाउने बन्दोबस्त गर्छु, एउटा नर्स राख्छु, त्यसपछि आफ्‍नो कर्तव्य पूरा गर्न जान्छु। म हप्तामा एकपटक अवश्य घर आउनेछु, र मेरा आमाबुबा ठीक छन् कि छैनन् भनेर हेर्नेछु, त्यसपछि म फेरि जानेछु; केही समस्या भयो भने, बरु म दुई दिन जति बसौँला। म तिनीहरूबाट सधैँ टाढा हुन र कहिल्यै फर्केर नआउने गर्न सक्दिनँ, र म घरमै सधैँ बसेर कर्तव्य पूरा गर्न नजाने पनि गर्न सक्दिनँ। के यो दुवै काम पूरा गर्ने राम्रो तरिका होइन र?” तिमीहरूलाई यो समाधान कस्तो लाग्यो? (यसले काम गर्दैन।) यो त कल्‍पना मात्रै हो; यो यथार्थमा परिणत हुन सक्दैन। त्यसोभए, यस्तो परिस्थिति सामना गर्दा, तिमीहरूले सत्यताअनुसार कसरी काम गर्नुपर्छ? (बफादारिता र आमाबुबाप्रतिको भक्तिको कुरा आउँदा, दुवै काम राम्रोसँग गर्न सकिँदैन—मैले आफ्‍नो कर्तव्यलाई नै पहिलो प्राथमिकता दिनुपर्छ।) परमेश्‍वरले मानिसहरूलाई आफ्‍ना आमाबुबाको आदर गर्नुपर्छ भनी सुरुमा भन्‍नुभयो, त्यसपछि मानिसहरूले सत्यता अभ्यास गर्ने, आफ्‍नो कर्तव्य पूरा गर्ने, र परमेश्‍वरको मार्ग पछ्याउने अभ्यास गर्नुपर्छ भनी उच्‍च मापदण्ड अघि सार्नुभयो—तैँले यीमध्ये कुनचाहिँ पालना गर्नुपर्छ? (उच्‍च मापदण्डहरू।) के उच्‍च मापदण्डहरूअनुसार अभ्यास गर्नु सही हुन्छ? के सत्यतालाई उच्‍च र निम्‍न सत्यता, वा पुरानो र नयाँ सत्यतामा विभाजित गर्न मिल्छ? (मिल्दैन।) त्यसकारण सत्यता अभ्यास गर्दा, तैँले केअनुसार अभ्यास गर्नुपर्छ? सत्यता अभ्यास गर्नु भनेको के हो? (सिद्धान्तहरूअनुसार मामलाहरू सम्‍हाल्‍नु।) सिद्धान्तहरूअनुसार मामलाहरू सम्‍हाल्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सत्यता अभ्यास गर्नु भनेको फरकफरक समय, स्थान, वातावरण, र परिस्थितिमा परमेश्‍वरका वचनहरू अभ्यास गर्नु हो; यो जिद्दीपूर्वक नियमहरू लागू गर्नु होइन, बरु सत्यता सिद्धान्तहरू लागू गर्नु हो। सत्यता अभ्यास गर्नु भनेकै त्यही हो। त्यसकारण, परमेश्‍वरका वचनहरू अभ्यास गर्ने र परमेश्‍वरले अघि सार्नुभएका मापदण्डहरू पालना गर्ने कार्यबीच कुनै विरोधाभास छैन। यसलाई अझै ठोस रूपमा भन्दा, आफ्‍ना आमाबुबालाई आदर गर्ने र परमेश्‍वरले तिमीहरूलाई दिनुभएको आज्ञा र कर्तव्य पूरा गर्ने कार्यबीच कुनै विरोधाभास छैन। यीमध्ये कुनचाहिँ परमेश्‍वरका वर्तमान वचन र मापदण्डहरू हुन्? तिमीहरूले सुरुमा यो प्रश्‍नबारे विचार गर्नुपर्छ। परमेश्‍वरले फरकफरक मानिसहरूको लागि फरकफरक कुराहरू तोक्‍नुभएको छ; उहाँले तिनीहरूलाई पृथक मापदण्डहरू दिनुभएको छ। अगुवा र सेवकहरूको रूपमा काम गर्नेहरूलाई परमेश्‍वरले बोलाउनुभएको हुन्छ, त्यसकारण तिनीहरूले आमाबुबालाई छोडेर जानुपर्छ, र उनीहरूलाई आदर गर्दै उनीहरूसँग बसिरहन मिल्दैन। तिनीहरूले परमेश्‍वरको आज्ञा स्विकारेर उहाँलाई पछ्याउन सबै कुरा त्याग्‍नुपर्छ। यो एक प्रकारको परिस्थिति हो। साधारण विश्‍वासीलाई परमेश्‍वरले बोलाउनुभएको हुँदैन, त्यसकारण तिनीहरूले आफ्‍ना आमाबुबासँग बसेर तिनीहरूलाई आदर गर्न सक्छन्। यसो गर्दा कुनै इनाम प्राप्त हुँदैन, अनि तिनीहरूले यसको परिणामस्वरूप कुनै आशिष्‌हरू प्राप्त गर्नेछैनन्, तर तिनीहरूले आमाबुबाप्रतिको कर्तव्य पूरा गरेनन् भने, तिनीहरूमा मानवताको कमी हुन्छ। वास्तवमा, आफ्‍ना आमाबुबाको आदर गर्नु एक प्रकारको जिम्‍मेवारी मात्रै हो, र यसले सत्यता अभ्यास गर्नुको मापदण्ड पूरा गर्दैन। परमेश्‍वरप्रति समर्पित हुनुचाहिँ सत्यता अभ्यास गर्नु हो, परमेश्‍वरको आज्ञा मान्‍नु नै परमेश्‍वरप्रतिको समर्पणको प्रकटीकरण हो, र कर्तव्य पूरा गर्न सबै कुरा त्याग्‍ने मानिसहरू नै परमेश्‍वरलाई पछ्याउने मानिसहरू हुन्। समग्रमा, तेरो अघि रहेको सबैभन्दा महत्त्वपूर्ण काम भनेको कर्तव्य राम्ररी पूरा गर्नु हो। सत्यता अभ्यास गर्नु भनेकै त्यही हो, र यो परमेश्‍वरप्रति समर्पित हुनुको प्रकटीकरण हो। त्यसैले, मानिसहरूले अहिले प्राथमिक रूपमा अभ्यास गर्नुपर्ने सत्यता के हो? (आफ्‍नो कर्तव्य पूरा गर्नु।) ठीक भन्यौ, बफादार भएर आफ्‍नो कर्तव्य पूरा गर्नु नै सत्यता अभ्यास गर्नु हो। यदि व्यक्तिले इमानदारीसाथ आफ्‍नो कर्तव्य पूरा गर्दैन भने, उसले श्रम मात्रै गरिरहेको हुन्छ।

हामीले भर्खरै कुन प्रश्‍नबारे छलफल गरिरहेका थियौँ? (परमेश्‍वरले मानिसहरूलाई आफ्‍ना आमाबुबाको आदर गर्नुपर्छ भनी सुरुमा मापदण्ड दिनुभयो, त्यसपछि मानिसहरूले सत्यता अभ्यास गर्ने, आफ्‍नो कर्तव्य पूरा गर्ने, र परमेश्‍वरको मार्ग पछ्याउने अभ्यास गर्नुपर्छ भनी उच्‍च मापदण्ड अघि सार्नुभयो, त्यसकारण मानिसहरूले यीमध्ये कुनचाहिँ पालना गर्नुपर्छ?) मानिसहरूले उच्‍च मापदण्डहरूअनुसार अभ्यास गर्नुपर्छ भनी तिमीहरूले भनेका थियौ। सिद्धान्तको हिसाबमा, यो अभिव्यक्ति सही छ—सिद्धान्तको हिसाबमा यो सही छ भनेर मैले किन भनेँ? यसको अर्थ यदि तैँले यो विषयमा नियम र सूत्रहरू लागू गरिस् भने, यो उत्तर सही हुन्छ भन्‍ने हो। तर जब मानिसहरूले वास्तविक जीवन सामना गर्छन्, तब यो अभिव्यक्तिले प्राय काम गर्दैन, र यसलाई लागू गर्न गाह्रो हुन्छ। त्यसोभए, यो प्रश्‍नको जबाफ कसरी दिने? पहिलो, तैँले आफूले सामना गरेको परिस्थिति र जिउने वातावरण, र तँ रहेको परिवेश हेर्नुपर्छ। यदि तेरो जिउने वातावरण र तँ रहेको परिवेशको आधारमा, आफ्‍ना आमाबुबाको आदर गर्दा त्यो परमेश्‍वरको आज्ञा पूरा गर्ने र कर्तव्य निभाउने कार्यसँग बाझिँदैन भने—अर्को शब्‍दमा भन्दा, यदि तैँले आफ्‍ना आमाबुबाको आदर गर्दा त्यस कार्यले बफादारीसाथ कर्तव्य निभाउनमा तँलाई बाधा हुँदैन भने—तैँले एकसाथ ती दुवै अभ्यास गर्न सक्छस्। तँ आफ्‍ना आमाबुबाबाट बाहिरी रूपमा अलग भइरहनु पर्दैन, र तैँले बाहिरी रूपमा तिनीहरूलाई त्याग्‍नु वा इन्कार्नु पर्दैन। यो कुन अवस्थामा लागू हुन्छ? (आफ्‍ना आमाबुबाको आदर गर्ने कार्य कर्तव्य निभाउने कार्यसँग नबाझिँदाको अवस्थामा।) ठीक भन्यौ। अर्को शब्‍दमा भन्दा, यदि तेरा आमाबुबाले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा बाधा दिने प्रयास गर्दैनन्, र तिनीहरू पनि विश्‍वासी हुन्, अनि तिनीहरूले तँलाई साँच्‍चै नै आफ्‍नो कर्तव्य निष्ठापूर्वक निभाउन र परमेश्‍वरले दिनुभएको आज्ञा पूरा गर्न साथ र प्रोत्साहन दिन्छन् भने, आमाबुबासँगको तेरो सम्‍बन्ध सामान्य अर्थको आफन्तहरूबीचको नाता मात्रै होइन, मण्डलीका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूबीचको सम्बन्ध पनि हुन्छ। त्यस्तो हकमा, तिनीहरूसँग मण्डलीका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको रूपमा अन्तरक्रिया गर्नेबाहेक, तैँले आमाबुबाप्रतिको सन्तानको जिम्मेवारी पनि पूरा गर्नुपर्छ। तैँले तिनीहरूप्रति अलिकति भए पनि थप वास्ता गर्नुपर्छ। तेरो कर्तव्यमा असर पर्दैन भने, अर्थात्, तिनीहरूद्वारा तेरो हृदयमा बन्धन हुँदैन भने, तैँले तेरा आमाबुबालाई कल गरेर हालखबर सोध्‍न सक्छस् र तिनीहरूप्रति अलिकति भए पनि वास्ता देखाउन सक्छस्, तिनीहरूका केही कठिनाइहरू हल गर्न र तिनीहरूको जीवनका केही समस्या सम्‍हाल्‍न सहयोग गर्न सक्छस्, अनि तिनीहरूको जीवन प्रवेशसँग सम्‍बन्धित कतिपय कठिनाइहरू हल गर्न पनि तैँले सहयोग गर्न सक्छस्—तैँले यी सबै कुराहरू गर्न सक्छस्। अर्को शब्‍दमा भन्दा, यदि तेरा आमाबुबाले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा बाधा दिँदैनन् भने, तैँले तिनीहरूसँगको यो सम्‍बन्ध कायम राखिराख्‍नुपर्छ, र आफ्ना आमाबुबाप्रतिका तेरा जिम्मेवारीहरू पूरा गर्नुपर्छ। अनि तैँले किन तिनीहरूलाई वास्ता र हेरचाह गर्नुपर्छ, र तिनीहरूको हालखबर सोध्‍नुपर्छ? किनभने तँ तिनीहरूको सन्तान होस् र तिनीहरूसँग तेरो यो नाता छ, त्यसकारण तेरो अर्को प्रकारको जिम्‍मेवारी पनि हुन्छ, र त्यो जिम्‍मेवारीको कारण, तैँले तिनीहरूलाई अझै बढी वास्ता र अझै बढी सहयोग दिनुपर्छ। तेरो कर्तव्यनिर्वाहमा असर पर्दैन भने, र तेरो आमाबुबाले परमेश्‍वरमाथिको तेरो विश्‍वास वा तेरो कर्तव्यनिर्वाहमा बाधा वा व्यवधान ल्याउँदैनन्, र तँलाई रोक्‍ने प्रयास पनि गर्दैनन् भने, तैँले तिनीहरूप्रतिको तेरो जिम्मेवारी पूरा गर्नु प्राकृतिक र उचित हुन्छ, र तैँले तेरो विवेकले तँलाई नदोष्याउने हदसम्‍म त्यो जिम्मेवारी पूरा गर्नुपर्छ—तैँले पूरा गर्नुपर्ने न्यूनतम मापदण्ड यही हो। यदि तेरो परिस्‍थितिहरूको प्रभाव र बाधाको कारण तैँले घरमा आफ्‍ना आमाबुबाको आदर गर्न सक्दैनस् भने, तैँले यो नियम पालना गर्नु पर्दैन। तैँले आफूलाई परमेश्‍वरको योजनाबद्ध कार्यहरूमा सुम्पेर उहाँका बन्दोबस्तहरूमा समर्पित गर्नुपर्छ, अनि आफ्‍ना आमाबुबाको आदर गर्नुपर्छ भनेर तैँले जिद्दी गरिरहनु पर्दैन। के परमेश्‍वरले यो कार्यलाई दोषी ठहराउनुहुन्छ? परमेश्‍वरले यो कार्यलाई दोषी ठहराउनुहुन्‍न; उहाँले मानिसहरूलाई यसो गर्न जबरजस्ती पनि गर्नुहुन्‍न। अहिले हामीले के विषय सङ्गति गरिरहेका छौँ? मानिसहरूले आफ्‍ना आमाबुबालाई आदर गर्दा त्यो तिनीहरूको कर्तव्यनिर्वाहसँग बाझिन्छ भने तिनीहरूले कसरी अभ्यास गर्ने भन्‍नेबारे हामी सङ्गति गरिरहेका छौँ; हामीले अभ्यासका सिद्धान्तहरू र सत्यताबारे सङ्गति गरिरहेका छौँ। तैँले आफ्‍ना आमाबुबालाई आदर गर्नु तेरो जिम्‍मेवारी हो, र परिस्‍थितिले साथ दियो भने, तैँले यो जिम्‍मेवारी पूरा गर्नुपर्छ, तर तँ आफ्‍ना भावनाहरूको बन्धनमा पर्नु हुँदैन। उदाहरणको लागि, यदि तेरो आमाबुबामध्ये एक जना बिरामी भयो र अस्पताल जानुपर्‍यो, अनि तिनीहरूको हेरचाह गर्ने कोही छैन, तर तँ आफ्‍नो कर्तव्यमा व्यस्त भएकोले घर फर्किन पाउँदैनस् भने, तैँले के गर्नुपर्छ? यस्तो अवस्थामा, तँ आफ्‍ना भावनाहरूको बन्धनमा पर्नु हुँदैन। तैँले यस विषयमा प्रार्थना गर्नुपर्छ, र यो कुरालाई परमेश्‍वरको जिम्‍मा र परमेश्‍वरका योजनाबद्ध कार्यहरूको भरमा छोड्नुपर्छ। तँसँग यही मनोवृत्ति हुनुपर्छ। यदि परमेश्‍वरले तेरा आमाबुबाको जीवन लिन चाहनुहुन्छ, र तिनीहरूलाई तँबाट टाढा लैजान चाहनुहुन्छ भने पनि, तँ समर्पित हुनुपर्छ। कतिपय मानिसहरू भन्छन्: “म समर्पित भएको भए पनि, म साह्रै दुखी छु र धेरै दिनदेखि रोइरहेको छु—के यो देहगत भावना होइन र?” यो देहगत भावना होइन, यो त मानव दया हो, यो आफूमा मानवता हुनु हो, र परमेश्‍वरले यसलाई दोष दिनुहुन्‍न। तँ रुन सक्छस्, तर यदि तँ धेरै दिनसम्‍म रुन्छस् र खान वा सुत्‍न सक्दैनस्, र तँ आफ्‍नो कर्तव्य निभाउने मुडमा छैनस्, बरु घर जान र आफ्‍ना आमाबुबा भेट्नसमेत चाहन्छस् भने, तैँले आफ्‍नो कर्तव्य राम्ररी निभाउन सक्दैनस्, र तैँले सत्यता अभ्यास गरेको छैनस्, र यसको अर्थ तैँले आमाबुबाको आदर गरेर आफ्नो जिम्‍मेवारी पूरा गरेको छैनस्, तँ भावनामा जिइरहेको छस्। यदि तैँले भावनामा जिएर आफ्‍ना आमाबुबालाई आदर गर्छस् भने, तैँले आफ्‍नो जिम्‍मेवारी पूरा गरिरहेको छैनस्, र तैँले परमेश्‍वरका वचनहरू पालना गरिरहेको छैनस्, किनभने तैँले परमेश्‍वरको आज्ञा त्यागेको छस्, र तँ परमेश्‍वरको मार्ग पछ्याउने व्यक्ति होइनस्। जब तँ यस्तो परिस्थितिमा हुन्छस्, तब यदि यसो गर्दा तेरो कर्तव्यमा ढिलाइ हुँदैन वा बफादार भएर कर्तव्य पूरा गर्न तँलाई असर पर्दैन भने, तैँले आमाबुबाप्रतिको आफ्‍नो धर्म पूरा गर्न, र आफूले पूरा गर्नसक्‍ने जिम्‍मेवारी पूरा गर्न सक्छस्। समग्रमा, मानिसहरूले गर्नुपर्ने र मानवताको क्षेत्रभित्र रही गर्नसक्‍ने कुरा नै यही हो। यदि तँ आफ्‍ना भावनाहरूको बन्धनमा फसेको छस्, र यसले तँलाई कर्तव्य पूरा गर्नमा बाधा दिन्छ भने, यो परमेश्‍वरका अभिप्रायहरूसँग पूर्ण रूपमा बाझिन्छ। परमेश्‍वरले कहिल्यै पनि तँलाई त्यसो गर्न लगाउनुहुन्‍न, परमेश्‍वरले त तँलाई आमाबुबाप्रतिको तेरो जिम्‍मेवारी मात्रै पूरा गर्न लगाउनुहुन्छ, कुरा त्यति हो। आमाबुबाप्रति भक्त हुनु भनेको के हो? परमेश्‍वरले एउटा प्रसङ्गमा रहेरै “आफ्‍ना आमाबुबाको आदर गर्नु” भन्‍ने वाक्यांश बोल्नुभएको हो। तैँले हरकिसिमका अवस्थाहरूमा पूरा गर्न सकिने केही जिम्‍मेवारीहरू मात्रै पूरा गर्नुपर्छ, कुरा त्यति हो। तेरा आमाबुबा साह्रै बिरामी हुने वा मर्ने अवस्थाहरूको कुरा गर्दा, के ती तैँले निर्णय गर्ने कुराहरू हुन्? तिनीहरूको जीवन कस्तो हुन्छ, तिनीहरू कहिले मर्छन्, कस्तो रोगले मर्छन्, वा कसरी मर्छन्—के यी कुराहरूसँग तेरो कुनै सम्‍बन्ध हुन्छ? (हुँदैन।) तँसँग ती कुराको कुनै सम्‍बन्ध हुँदैन। कतिपय मानिसहरू भन्छन्: “मैले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्नैपर्छ, ताकि मैले आफ्‍ना आमाबुबालाई आदर गर्न सकूँ। तिनीहरूलाई कुनै रोग नलागोस्, विशेष गरी क्यान्सर वा त्यस्तै अरू घातक रोग नलागोस् भनेर मैले सुनिश्‍चित गर्नुपर्छ। मैले उहाँहरू १०० वर्ष बाँच्‍ने कुरा सुनिश्‍चित गर्नुपर्छ। त्यसपछि मात्रै मैले उहाँहरूप्रतिको आफ्‍नो जिम्मेवारी पूरा गरेको हुनेछु।” के यी मानिसहरू मूर्खहरू होइनन् र? यो त प्रष्टसँगै मानिसको कल्‍पना हो, र यो अवश्यै परमेश्‍वरको मापदण्ड होइन। तँ १०० वर्ष बाँच्‍न सक्छस् कि सक्दैनस् भन्‍ने कुरासमेत तँलाई थाहा हुँदैन, तैपनि तँ तेरा आमाबुबा त्यो उमेरसम्‍म बाँचून् भन्‍ने माग गर्छस्—त्यो मूर्खको सपना हो! “आफ्‍ना आमाबुबाको आदर गर्नु” भनी भन्दा, परमेश्‍वरले बस तँलाई सामान्य मानवताको क्षेत्रमा पर्ने तेरा जिम्‍मेवारीहरू पूरा गर्न लगाइरहनुभएको हुन्छ। तैँले आफ्‍ना आमाबुबालाई दुर्व्यवहार गर्दैनस् भने वा तेरो विवेक र नैतिकतासँग बाझिने कुनै काम गर्दैनस् भने, त्यो नै पर्याप्त हुन्छ। के यो परमेश्‍वरका वचनहरूअनुरूप छैन र? (छ।) अवश्‍य नै, हामीले भर्खरै तेरा आमाबुबाले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा बाधा दिन्छन् भने, तिनीहरूको प्रकृति सार अविश्‍वासी र गैरविश्‍वासीहरूको जस्तो हुन्छ, वा दुष्ट मानिस र दियाबलसहरूको जस्तोसमेत हुन्छ, र तिनीहरू र तेरो बाटो एउटै हुँदैन भन्‍ने कुरा पनि उल्‍लेख गर्‍यौँ। अर्को शब्‍दमा भन्दा, तिनीहरू तँजस्तो व्यक्ति हुँदै होइनन्, र तँ तिनीहरूसँग एउटै परिवारमा धेरै वर्ष बसेको भए पनि, तिनीहरूसँग तेरो जस्तो उही खोज वा चरित्र हुँदैन, र तिनीहरूसँग निश्‍चय नै तेरो जस्तो रुचि वा आकाङ्क्षा पनि हुँदैन। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर तिनीहरू परमेश्‍वरमा पटक्‍कै विश्‍वास गर्दैनन्, र परमेश्‍वरको विरोधसमेत गर्छन्। यस्तो परिस्‍थितिमा के गर्नुपर्छ? (तिनीहरूलाई इन्कार गर्नुपर्छ।) परमेश्‍वरले तँलाई यस्तो परिस्‍थितिमा तिनीहरूलाई इन्कार्नु वा धिक्‍कार्नुपर्छ भनेर भन्‍नुभएको छैन। परमेश्‍वरले त्यसो भन्‍नुभएको छैन। “आफ्‍ना आमाबुबाको आदर गर्नु” भन्‍ने परमेश्‍वरको मापदण्ड अझै लागू हुन्छ। यसको अर्थ तँ आफ्‍ना आमाबुबासँग बस्दा, तैँले आफ्‍ना आमाबुबालाई आदर गर्ने यो मापदण्ड पालना गर्नुपर्छ। यसमा कुनै विरोधाभास छैन, छ र? (छैन।) यसमा बिलकुलै कुनै पनि विरोधाभास छैन। अर्को शब्‍दमा भन्दा, जब तँ कुनै ठाउँ गएर घर फर्केर आउन पाउँछस्, तब तैँले तिनीहरूको लागि खाना पकाइदिन वा तिनीहरूको लागि मम बनाइदिन सक्छस्, र सम्‍भव भयो भने, तिनीहरूको लागि स्वास्थ्य सामग्रीहरू किनिदिन सक्छस्, र तिनीहरू तँप्रति सन्तुष्ट हुनेछन्। तर यदि तैँले आफ्‍नो विश्‍वासको बारेमा कुरा गर्छस्, र तिनीहरूले यसलाई स्विकार्दैनन् वा यसमा विश्‍वास गर्दैनन्, र तँलाई गालीसमेत गर्छन् भने, तैँले तिनीहरूलाई सुसमाचार प्रचार गर्नु पर्दैन। यदि तैँले तिनीहरूलाई भेट्न सम्भव छ भने, यसरी अभ्यास गर्; भेट्‍न सम्भव छैन भने, यस्तै हुन दे, र यो परमेश्‍वरको योजनाबद्ध कार्य हो, र तैँले तिनीहरूबाट टाढा हुन र तर्किन हतारिनुपर्छ। यसको सिद्धान्त के हो? यदि तेरा आमाबुबाले परमेश्‍वरमा विश्‍वास गर्दैनन्, र तिनीहरूको बोलीचाली वा खोज र उद्देश्य तेरोसँग मिल्दैन भने, र तिनीहरू तँ हिँड्ने मार्गमा हिँड्दैनन्, र परमेश्‍वरमाथिको तेरो विश्‍वासमा बाधा दिने र तँलाई सताउनेसमेत गर्छन् भने, तैँले तिनीहरूलाई चिन्‍नुपर्छ, तिनीहरूको वास्तविकता देख्‍नुपर्छ, र तिनीहरूलाई इन्कार गर्नुपर्छ। यदि तिनीहरूले परमेश्‍वरलाई गालीगलौज गर्ने वा तँलाई धिक्‍कार्ने गर्छन् भने, तैँले पनि अवश्यै तिनीहरूलाई हृदयमा धिक्‍कार्न सक्छस्। त्यसोभए, परमेश्‍वरले उल्‍लेख गर्नुभएको “आफ्‍ना आमाबुबाको आदर गर्नु” भन्‍ने भनाइको अर्थ के हो त? तैँले कसरी त्यो अभ्यास गर्नुपर्छ? त्यो कसरी भने, यदि तैँले आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न सक्‍ने अवस्था छ भने, तीमध्ये केही जिम्मेवारी पूरा गर्, तर यदि त्यसो गर्ने मौका पाइनस्, वा तिनीहरूसँगको अन्तरक्रियामा तेरो भनाभन पहिले नै धेरै भइसकेको छ, र तिमीहरूबीच द्वन्द्व छ, अनि तिमीहरू एकअर्कालाई भेट्न नसक्‍ने अवस्थामा पुगिसकेका छौ भने, तैँले तुरुन्तै तिनीहरूबाट आफूलाई अलग पार्नुपर्छ। यस्ता आमाबुबालाई आदर गर्नेबारेमा कुरा गर्दा, परमेश्‍वरले के भनिरहनुभएको हो भने, तैँले तिनीहरूका सन्तानको रूपमा आमाबुबाप्रतिको जिम्‍मेवारी पूरा गर्नुपर्छ, र सन्तानले गर्नुपर्ने कामकुराहरू गर्नुपर्छ। तैँले आफ्‍ना आमाबुबालाई दुर्व्यवहार गर्नु हुँदैन, वा तिनीहरूसँग बाझ्‍नु हुँदैन, तिनीहरूलाई कुट्ने वा हकार्ने गर्नु हुँदैन, तिनीहरूमाथि दुर्व्यवहार गर्नु हुँदैन, र सकेससम्‍म तिनीहरूप्रतिको जिम्‍मेवारी पूरा गर्नुपर्छ। तैँले मानवताको क्षेत्रमा रही यी कामकुराहरू गर्नुपर्छ; “आफ्‍ना आमाबुबाको आदर गर्नु” भन्‍ने विषयमा अभ्यास गर्नुपर्ने सिद्धान्तहरू यिनै हुन्। के ती पूरा गर्नु सजिलो छैन र? तैँले आफ्‍ना आमाबुबासँग झोक्‍किदै, तिनीहरूलाई यसो भन्‍नु हुँदैन: “तिमीहरू दियाबलस र अविश्‍वासीहरू हौ, परमेश्‍वरले तिमीहरूलाई श्राप दिनुहुन्छ, र आगो र गन्धकको अतल कुण्‍डमा फ्याँक्‍नुहुनेछ, तिमीहरूलाई अठारौँ तहको नरकमा पठाउनुहुनेछ!” त्यसो भनिरहनु जरुरी छैन, र तँ यो हदसम्‍म जानु पर्दैन। परिस्‍थितिले साथ दियो, र जरुरी अवस्था आइपर्‍यो भने, तैँले आमाबुबाप्रतिको आफ्‍नो कर्तव्य पूरा गर्नुपर्छ। यदि त्यो जरुरी होइन, वा परिस्‍थिति मिलेन र त्यसो गर्नु सम्‍भव भएन भने, तैँले यो दायित्व त्याग्‍न सक्छस्। तैँले आमाबुबालाई भेट्दा र अन्तरक्रिया गर्दा मात्र तिनीहरूप्रतिका तेरा जिम्‍मेवारीहरू पूरा गरे पुग्छ। जब तैँले त्यसो गरिसक्छस्, तैँले आफ्‍नो काम पूरा गरिसकेको हुन्छस्। तिमीहरूलाई यो सिद्धान्त कस्तो लाग्यो? (यो राम्रो छ।) तिमीहरूले आफ्‍ना आमाबुबालगायत सबै मानिसहरूसँग गर्ने व्यवहारमा सिद्धान्तहरू लागू हुनुपर्छ। परमेश्‍वरमाथिको तेरो विश्‍वासको निम्ति तेरा आमाबुबाबाट तँमाथि सतावट भयो भन्दैमा तैँले अविवेकी व्यवहार गर्नु हुँदैन, र तिनीहरूलाई गाली गर्नु हुँदैन। संसारमा परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू कैयौँ छन्, गैरविश्‍वासीहरू कति हो कति छन्, र परमेश्‍वरलाई अपमान गर्नेहरू धेरै छन्—के तँ तिनीहरू सबैलाई सराप्‍ने र गाली गर्नेवाला छस् र? यदि छैनस् भने, तैँले आफ्‍ना आमाबुबालाई पनि गाली गर्नु हुँदैन। यदि तैँले आफ्‍ना आमाबुबालाई गाली गर्छस् तर अरूलाई गाली गर्दैनस् भने, तँ झोकमा जिइरहेको छस्, र परमेश्‍वरलाई यस्तो कुरा मन पर्दैन। तैँले आफ्‍ना आमाबुबालाई कुनै कारणविना दियाबलसहरू, जिउँदा शैतानहरू, र शैतानका नोकरहरू भन्दै गाली गरिस् र श्राप दिइस्, अनि तिनीहरूलाई नरक जाओ भनी सरापिस् भने परमेश्‍वर तँप्रति सन्तुष्ट हुनुहुनेछ भन्‍ने नसोच्—त्यस्तो हुँदैन। यस्तो झूटो पूर्वसक्रियता देखाउँदैमा परमेश्‍वरले तँलाई स्वीकार्य पाउनुहुनेछैन वा तँमा मानवता छ भनेर भन्‍नुहुनेछैन। बरु, परमेश्‍वरले तेरो व्यवहारमा भावनाहरू र झोक लुकेका छन् भनेर भन्‍नुहुनेछ। तैँले यस्तो व्यवहार गरेको परमेश्‍वरलाई मन पर्दैन, किनभने यो अत्यन्तै चरम छ, र यो उहाँका अभिप्रायहरूसँग मिल्दैन। तिमीहरूले आफ्‍ना आमाबुबालगायत सबै मानिसहरूसँग गर्ने व्यवहारमा सिद्धान्तहरू हुनुपर्छ; तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि नगरे पनि, र तिनीहरू दुष्ट मानिसहरू भए पनि नभए पनि, तैँले तिनीहरूसँग सिद्धान्तअनुसार व्यवहार गर्नुपर्छ। परमेश्‍वरले मान्छेलाई यो सिद्धान्त बताउनुभएको छ: यो अरूलाई उचित व्यवहार गर्ने कार्यसँग सम्‍बन्धित छ—यति हो कि, आफ्‍ना आमाबुबाप्रति मानिसहरूको अलिक बढी जिम्‍मेवारी हुन्छ। तैँले गर्नुपर्ने एउटै कुरा भनेको यो जिम्‍मेवारी पूरा गर्नु हो। तेरा आमाबुबा विश्‍वासी भए पनि नभए पनि, तिनीहरूले आफ्‍नो आस्था पछ्याए पनि नपछ्याए पनि, तिनीहरूको जीवन दृष्टिकोण र मानवता तेरोसँग मिले पनि नमिले पनि, तैँले बस तिनीहरूप्रतिको आफ्‍नो जिम्‍मेवारी पूरा गर्नुपर्छ। तिनीहरूबाट तर्किहिँड्नु आवश्यक छैन—सबै कुरालाई बस स्वाभाविक रूपमा, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूअनुसार अघि बढ्न दे। यदि तिनीहरूले परमेश्‍वरमाथिको तेरो विश्‍वासमा बाधा दिन्छन् भने पनि, तैँले आफ्‍नो क्षमताले भ्याउञ्‍जेल आमाबुबाप्रतिको आफ्‍नो जिम्‍मेवारी पूरा गर्नुपर्छ, ताकि कम्तीमा पनि तँलाई तेरो विवेकमा तिनीहरूप्रति ऋणी भएको अनुभव नहोस्। यदि तिनीहरूले तँलाई बाधा दिँदैनन्, र परमेश्‍वरमाथिको तेरो विश्‍वासमा साथ दिन्छन् भने, तैँले सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्छ, र तिनीहरूसँग उचित व्यवहार गर्नुपर्ने ठाउँमा उचित व्यवहार गर्नुपर्छ। समग्रमा, जेसुकै भए पनि, मान्छेको लागि परमेश्‍वरले तोक्‍नुभएका मापदण्डहरू परिवर्तन हुँदैनन्, र मानिसहरूले अभ्यास गर्नुपर्ने सत्यता सिद्धान्तहरू परिवर्तन हुन सक्दैनन्। यी मामलाहरूमा, तिमीहरूले बस सिद्धान्तहरू पालना गर्नुपर्छ, र आफूले सक्‍नेजति जिम्‍मेवारीहरू पूरा गर्नुपर्छ।

अब म परमेश्‍वरले मानिसको व्यवहारसम्बन्धी “आफ्‍ना आमाबुबाको आदर गर्नुपर्छ” भन्‍ने जस्तो माग किन अघि सार्नुभयो भन्‍ने बारेमा कुरा गर्नेछु। परमेश्‍वरका अन्य सबै मागहरू हरेक व्यक्तिको व्यक्तिगत आनीबानीसँग सम्‍बन्धित व्यवहारसम्‍बन्धी नियमहरू हुन्, त्यसकारण परमेश्‍वरले किन आमाबुबाप्रतिको कर्तव्य पूरा गर्ने विषयमा फरक किसिमको माग अघि सार्नुभयो? मलाई भन: यदि कुनै व्यक्तिले आफ्‍ना आमाबुबालाई समेत आदर गर्न सक्दैन भने, उसको प्रकृति सार कस्तो हुन्छ? (खराब।) तिनीहरूका आमाबुबाले उसलाई जन्‍माएर हुर्काउँदा निकै दुःख गरेका हुन्छन्, र उसलाई पालनपोषण गर्न अवश्य नै सजिलो भएको हुँदैन—अनि वास्तवमा, तिनीहरूले आफ्नो बच्‍चाले आफूहरूलाई धेरै खुसी वा सन्तुष्टि दियोस् भन्‍ने अपेक्षा गरेका हुँदैनन्, तिनीहरूले त्यो बच्‍चा ठूलो भएपछ उसले सुखी जीवन जिओस्, र उसको बारेमा धेरै चिन्ता गर्नु नपरोस् भनेर मात्रै आशा गरेका हुन्छन्। तर तिनीहरूको बच्‍चाले मेहनत वा परिश्रम गर्ने गर्दैन, र राम्रो जीवन जिउँदैन—अझै पनि आमाबुबाको भरमा बाँच्छ, र ऊ आफ्‍ना आमाबुबालाई आदर नगर्ने मात्र नभई उनीहरूलाई हेप्दै र धम्की दिँदै उनीहरूको सम्पत्ति समेत हडप्न चाहने परजीवी बन्छ। तिनीहरूले यस्तो नीच व्यवहार गर्न सक्छन् भने, तिनीहरू कस्ता व्यक्ति हुन्? (खराब मानवता भएको व्यक्ति।) तिनीहरूले आफूलाई जन्‍माएर हुर्काउने मानिसहरूप्रतिको आफ्‍नो कुनै जिम्‍मेवारी पूरा गर्दैनन्, र यसबारे तिनीहरूलाई अलिकति पनि ग्‍लानि हुँदैन—यदि तिमीहरूले तिनीहरूलाई यो दृष्टिकोणले हेर्‍यौ भने, के तिनीहरूसँग विवेक छ भन्‍ने देखिन्छ त? (देखिँदैन।) तिनीहरूले आफ्‍ना आमाबुबा लगायत जोसुकैलाई कुटपिट र गालीगलौज गर्ने गर्छन्। तिनीहरूले आफ्‍ना आमाबुबालाई अरूलाई जस्तै व्यवहार गर्छन्—आवेगमा आएर तिनीहरूलाई कुट्ने र गालीगलौज गर्ने गर्छन्। तिनीहरूलाई रिस उठ्दा, आफ्‍ना आमाबुबामाथि रिस पोखाउँछन्, थाल-भाँडा फुटाउँछन्, र तिनीहरूलाई तर्साउँछन्। के यस्तो व्यक्तिमा समझ हुन्छ? (हुँदैन।) यदि कुनै व्यक्तिमा विवेक वा समझ छैन भने, र आफ्‍नै आमाबुबालाई समेत यत्तिकै दुर्व्यवहार गर्न सक्छ भने, के त्यो व्यक्ति मान्छे हो? (होइन।) ऊ के हो त? (पशु।) ऊ पशु हो। के यो अभिव्यक्ति सही छ? (छ।) वास्तवमा, यदि व्यक्तिले आफ्‍ना आमाबुबाप्रतिको केही जिम्‍मेवारी पूरा गर्छ, र तिनीहरूको हेरचाह गर्छ, र तिनीहरूलाई धेरै माया गर्छ भने—के सामान्य मानवता भएका मानिसहरूमा स्वाभाविक रूपमा हुनुपर्ने कुराहरू यिनै होइनन् र? (हुन्।) यदि व्यक्तिले आफ्‍ना आमाबुबालाई दुर्व्यवहार र गालीगलौज गर्छ भने, के उसको विवेकले यो कुरा स्विकार्न सक्छ? के सामान्य व्यक्तिले त्यस्तो कार्य गर्न सक्छ? विवेक र समझ भएका मानिसहरूले यस्तो कार्य गर्न सक्दैनन्—तिनीहरूले आफ्‍ना आमाबुबालाई रिस उठाए भने, तिनीहरूलाई धेरै दिनसम्‍म खिन्‍न महसुस हुन्छ। कतिपय मानिसहरू झडङ्ग रिसाउने गर्छन्, र निराशाको क्षणमा तिनीहरू आफ्‍ना आमाबुबादेखि रिसाउन सक्छन्, तर रिसाएपछि तिनीहरूको विवेकले तिनीहरूलाई धिक्‍कार्छ, र तिनीहरूले माफी नमागे पनि, यस्तो कार्य फेरि दोहोर्‍या उँदैनन्। यो सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने कुरा हो, र यो सामान्य मानवताको प्रस्फुटन हो। मानवता नभएका मानिसहरूले केही पनि महसुस नगरी आफ्‍ना आमाबुबालाई जस्तोसुकै दुर्व्यवहार गर्न सक्छन्, र तिनीहरू यस्तै कार्य गर्छन्। यदि तिनीहरूका आमाबुबाले तिनीहरू सानो हुँदा तिनीहरूलाई एक पटक कुटेका थिए भने, तिनीहरूले आफ्‍नो जीवनभरि यो कुरा सम्झिराखेका हुन्छन्, र ठूलो भएपछि, तिनीहरूले अझै पनि आफ्‍ना आमाबुबालाई कुटेर तिनीहरूसँग बदला लिने इच्छा गर्छन्। धेरैजसो मानिसहरूले आफूलाई सानो हुँदा कुटेको भनेर आफ्‍ना आमाबुबालाई हिर्काउँदैनन्; उमेरमा ३० कटेर पनि कतिपय मानिसहरूले आफ्‍ना आमाबुबाको कुटाइ खाए भने हात फर्काउँदैनन्, र दुखे पनि तिनीहरूले यसबारे एक शब्‍द बोल्दैनन्। सामान्य मानवता भएका व्यक्तिहरूमा हुनुपर्ने कुरा यही हो। तिनीहरूले किन यसबारे एक शब्‍द बोल्दैनन्? यदि अरू कसैले तिनीहरूलाई हिर्कायो भने, के तिनीहरूले त्यो व्यक्तिलाई हिर्काउने अनुमति दिनेथिए? (दिनेथिएनन्।) यदि अरू कुनै व्यक्ति भएको भए, त्यो व्यक्ति जो भए पनि, तिनीहरूले उसलाई हिर्काउन दिनेथिएनन्—तिनीहरूले उसलाई गालीगलौज समेत गर्न दिनेथिएनन्। त्यसोभए तिनीहरूका आमाबुबाले तिनीहरूलाई जसरी हिर्काए पनि किन हात फर्काउँदैनन् वा रिसाउँदैनन्र? किन तिनीहरूले यो कुरा सहन्छन्? के तिनीहरूको मानवतामा विवेक र समझ भएकाले गर्दा होइन र? तिनीहरू मनमनै सोच्छन्: “मेरा आमाबुबाले मलाई हुर्काउनुभएको हो। उहाँहरूले मलाई हिर्काउनु सही नभए पनि, मैले यो सहनुपर्छ। यसबाहेक, उहाँहरूलाई रिस उठाउने म नै हुँ, त्यसकारण म कुटाइ खान लायक छु। मैले उहाँहरूको आज्ञापालन नगरेको र उहाँहरूलाई रिस उठाएकोले गर्दा मात्रै उहाँहरूले यसो गर्नुभएको हो। म कुटाइ खान लायक छु! म अबदेखि कहिल्यै यस्तो गर्नेछैनँ।” के सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने समझ यही होइन र? (हो।) सामान्य मानवताको यो समझले गर्दा नै तिनीहरूलाई तिनीहरूका आमाबुबाले तिनीहरूप्रति गर्ने यस्तो व्यवहार सहन सक्‍ने तुल्याउँछ। यो सामान्य मानवता हो। त्यसोभए, के यस्तो व्यवहार सहन नसक्‍ने मानिसहरू, आफ्‍ना आमाबुबालाई हात फर्काउने मानिसहरूमा यस्तो मानवता हुन्छ? (हुँदैन।) ठीक भन्यौ, तिनीहरूमा हुँदैन। सामान्य मानवताको विवेक र समझ नभएका मानिसहरूले आफ्‍ना आमाबुबालाई समेत हिर्काउन र गालीगलौज गर्न सक्छन् भने, तिनीहरूले परमेश्‍वर र मण्डलीका आफ्‍ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई कस्तो व्यवहार गर्लान्? आफूलाई जन्‍माएर हुर्काउने मानिसहरूलाई तिनीहरूले यस्तो व्यवहार गर्न सक्छन् भने, तिनीहरूसँग रगतको नाता नभएका मानिसहरूलाई त तिनीहरूले झनै कम वास्ता नगर्लान् र? (हो।) तिनीहरूले देख्‍न वा छुन नसक्‍ने परमेश्‍वरलाई त झन् कस्तो व्यवहार गर्लान्? के तिनीहरूले देख्‍न नसक्‍ने परमेश्‍वरलाई विवेक र समझअनुसार व्यवहार गर्न सक्लान्? के परमेश्‍वरले योजनाबद्ध गर्नुभएका सबै परिवेशहरूमा तिनीहरू समर्पित हुन सक्लान्? (अहँ।) यदि परमेश्‍वरले तिनीहरूलाई काट-छाँट गर्नुभयो, न्याय गर्नुभयो वा सजाय दिनुभयो भने, के तिनीहरूले उहाँको विरोध गर्नेथिए? (गर्नेथिए।) यो कुरा विचार गर: व्यक्तिको विवेक र समझले के काम गर्छ? एक हदसम्‍म, व्यक्तिको विवेक र समझले उसको व्यवहारलाई काबुमा राख्न र नियमन गर्न सक्छ—आफूमाथि केही आइपर्दा, यसले तिनीहरूलाई सही मनोवृत्ति राख्‍न र सही निर्णय गर्न, अनि आफूमाथि आइपरेका सबै कुरालाई विवेक र समझअनुसार लिन सक्षम बनाउँछ। प्रायजसो, विवेक र समझअनुसार काम गर्दा यसले मानिसहरूलाई ठूलो दुर्भाग्यमा पर्नबाट जोगाउँछ। अवश्य नै, सत्यता पछ्याउने मानिसहरूले यो जगमा रही सत्यता पछ्याउने मार्ग हिँड्ने, सत्यता वास्तविकतामा प्रवेश गर्ने, र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुने छनोट गर्न सक्छन्। सत्यता नपछ्याउने मानिसहरूमा मानवताको कमी हुन्छ, र तिनीहरूमा यस्तो विवेक र समझ हुँदैन—यसका परिणामहरू घातक हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई जे पनि गर्न सक्छन्—जसरी फरिसीहरूले प्रभु येशूसँग व्यवहार गरेका थिए, त्यसरी नै तिनीहरूले पनि परमेश्‍वरलाई अपमान गर्न, उहाँसँग बदला लिन, उहाँको इशनिन्दा गर्न, वा उहाँलाई आरोप लगाउन र धोका दिन समेत सक्छन्। यो समस्या अत्यन्तै गम्‍भीर छ—के यसले समस्या ल्याउँदैन र? मानवताको समझ नभएका मानिसहरूले प्रायजसो झोक देखाएर अरूसँग बदला लिने गर्छन्; तिनीहरू मानवताको समझको नियन्त्रणमा हुँदैनन्, त्यसकारण तिनीहरूले सहजै केही उग्र विचार र दृष्टिकोणहरू विकास गर्छन्, त्यसपछि केही उग्र व्यवहार देखाउँछन्, र विवेक र समझविहीन तरिकाले काम गर्छन्, र अन्ततः यसका परिणामहरू नियन्त्रणभन्दा बाहिर जान्छन्। “आफ्‍ना आमाबुबाको आदर गर्नु” र सत्यताको अभ्यासको विषयमा मैले लगभग सङ्गति गरिसकेँ—अन्तिममा यो मानवतामा निर्भर हुने कुरा हो। परमेश्‍वरले किन “आफ्‍ना आमाबुबाको आदर गर्नुपर्छ” भन्‍ने जस्ता मागहरू अघि सार्नुभयो? किनभने यो मानिसको आनीबानीसँग सम्‍बन्धित छ। एक हिसाबमा, परमेश्‍वरले मानिसको व्यवहारलाई नियमन गर्न यो मागको प्रयोग गर्नुहुन्छ, यसको साथै यसद्वारा उहाँले मानिसहरूको मानवताको जाँच र व्याख्या गर्नुहुन्छ। यदि कुनै व्यक्तिले आफ्‍ना आमाबुबालाई समेत विवेक र समझयुक्त व्यवहार गर्दैन भने, त्यो व्यक्तिमा पक्‍कै पनि मानवता हुँदैन। कतिपय मानिसहरू भन्छन्: “तिनीहरूको आमाबुबामा असल मानवता छैन, र तिनीहरूले आफ्‍ना छोराछोरीप्रतिको जिम्‍मेवारी पूर्ण रूपमा पूरा गरेका छैनन् भने—के त्यो व्यक्तिले अझै पनि तिनीहरूप्रतिको कर्तव्य पूरा गर्नुपर्छ?” यदि तिनीहरूमा विवेक र समझ छ भने, छोरी वा छोरा भएको नाताले तिनीहरूले आफ्‍ना आमाबुबालाई दुर्व्यवहार गर्दैनन्। आफ्‍ना आमाबुबालाई दुर्व्यवहार गर्ने मानिसहरूमा विवेक र समझ पटक्कै हुँदैन। त्यसकारण, परमेश्‍वरले जुनसुकै माग अघि सार्नुभए पनि, यो माग मानिसहरूले आफ्‍नो आमाबुबालाई व्यवहार गर्ने मनोवृत्तिसँग सम्‍बन्धित भए पनि, वा मानिसहरूले सामान्यतया जिउने र प्रकट गर्ने मानवतासँग सम्‍बन्धित भए पनि, परमेश्‍वरले बाहिरी व्यवहारसम्बन्धी यी पद्धति अघि सार्नुभएका हुनाले, यसो गर्नुको पछाडि पक्‍कै पनि उहाँका आफ्‍नै कारण र उद्देश्यहरू छन्। परमेश्‍वरले अघि सार्नुभएका व्यवहारसम्‍बन्धी यी मागहरू सत्यतादेखि टाढा भए पनि, ती मानिसको व्यवहारलाई नियमन गर्न परमेश्‍वरले अघि सार्नुभएका मानक हरू हुन्। ती सबै महत्त्वपूर्ण छन् र ती आज पनि मान्य हुन्छन्।

मैले भर्खरै परमेश्‍वरले मानिसका लागि अघि सार्नुभएको व्यवहारसम्‍बन्धी मापदण्ड र उहाँले माग गर्नुहुने सत्यताहरूका बीचमा रहेका अन्तरसम्‍बन्ध र भिन्‍नताहरूका बारेमा सङ्गति गरेँ। यस विन्दुमा, के हामीले मानिसहरूले आफ्‍ना धारणाहरू अनुसार सही र असल ठानेका कुराहरूको भागका रूपमा रहेका असल व्यवहारहरूका बारेमा सङ्गति गर्ने कार्यलाई लगभग सकेका छैनौँ र? यस विषयमा हाम्रो सङ्गतिलाई समाप्त गरिसकेपछि, हामीले मानिसको व्यवहार र मानिसले जिउने कुरालाई नियमन गर्न परमेश्‍वरले अघि सार्नुभएका केही मापदण्ड र भनाइहरूका बारेमा कुराकानी गर्‍यौँ, र हामीले केही उदाहरणहरू सूचीकृत गर्‍यौँ, जस्तै: अरूलाई कुटपिट वा गालीगलौज गर्नु हुँदैन, आफ्‍ना आमाबुबाको आदर गर्नुपर्छ, धुम्रपान-मद्यपान गर्नु हुँदैन, चोरी गर्नु हुँदैन, अरूबाट फाइदा लिनु हुँदैन, झूटो गवाही दिनुहुँदैन, मूर्ति पूजा गर्नु हुँदैन, र इत्यादि। अवश्य नै, यी त मुख्य कुराहरू मात्रै हुन्, र त्यस्ता धेरै विस्तृत कुराहरू छन्, जसमा हामी प्रवेश गर्नेछैनौँ। त्यसकारण, यी कुराहरूमा सङ्गति गरेपछि, तिमीहरूले के-कस्ता सत्यताहरू प्राप्त गरेको हुनुपर्छ? तिमीहरूले कुन-कुन सिद्धान्तहरू अभ्यास गर्नुपर्छ? तिमीहरूले के गर्नुपर्छ? के तिमीहरूले ठूलालाई आदर र सानालाई ख्याल गर्नुपर्छ? के तिमीहरू शिष्ट व्यक्ति बन्‍नुपर्छ? के तिमीहरू मिलनसार र व्यवहार गर्न सजिलो बन्‍नुपर्छ? के महिलाहरू भद्र र परिष्कृत वा शिक्षित र समझदार बन्‍नुपर्छ? के पुरुषहरू महान्, महत्त्वाकाङ्क्षी, र सफल बन्‍नुपर्छ? पर्दैन। अवश्य नै, हामीले धेरै कुराका बारेमा सङ्गति गर्‍यौँ। परम्‍परागत संस्कृतिले वकालत गरेका यी कुराहरू मानिसहरूलाई बहकाउनका लागि शैतानले प्रयोग गर्ने कुराहरू हुन् भन्‍ने स्पष्ट छ। यी अत्यन्तै भ्रामक कुराहरू हुन्, र मानिसहरूलाई छल गर्ने कुराहरू हुन्। तिमीहरूले आफूलाई जाँच्‍नुपर्छ र तिमीहरूमा अझै यी विचार र दृष्टिकोण, वा व्यवहार र प्रकटीकरणहरू छन् कि छैनन् भनी हेर्नुपर्छ। छन् भने, तिनलाई समाधान गर्न तिमीहरूले तुरुन्तै सत्यताको खोजी गर्नुपर्छ, त्यसपछि सत्यतालाई स्विकारेर परमेश्‍वरका वचनहरू अनुसार जिउनुपर्छ। त्यसरी, तिमीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्‍नेछौ। परम्‍परागत संस्कृतिअनुसार जिउँदा तिमीहरूको आन्तरिक स्थिति कस्तो थियो, र तिमीहरूले अन्तस्करणमा कस्तो अनुभव गर्थ्यौ, के प्राप्त गर्‍यौ, र परिणाम के थियो भन्‍ने बारेमा मनन गर्नुपर्छ, त्यसपछि संयम बन्‍नु, सन्तको जस्तो शिष्टता हुनु, अरूलाई कुटपिट वा गालीगलौज नगर्नु, र इत्यादि जस्ता मानिसहरूबाट परमेश्‍वरले माग गर्नुभएका मानकहरूअनुसार आचरण गर्दा तिमीहरूलाई कस्तो महसुस हुन्छ भन्‍ने कुरा हेर्नुपर्छ। यीमध्ये कुन किसिमको जीवनशैलीले तँलाई अझै सहज, स्वतन्त्र, स्थिर, र शान्तिपूर्ण रूपमा जिउन, र अझै बढी मानवता लिएर जिउन सक्षम बनाउँछ, र कुनले तँलाई देखावटी जीवन जिएको जस्तो अनुभव गराउँछ, र तेरो जीवनलाई अत्यन्तै झूटो र दुःखी बनाउँछ, त्यो कुरालाई हेर्। यीमध्ये कुन किसिमको जीवनशैलीले तँलाई परमेश्‍वरका मागहरूको झन्-झन् नजिक जिउन सक्षम बनाउँछ, र परमेश्‍वरसँगको तेरो सम्‍बन्धलाई झन्-झन् सामान्य बनाउँछ, त्यो हेर्। जब तैँले वास्तविक रूपमा यो अनुभव गर्छस्, तब तैँले थाहा पाउनेछस्। परमेश्‍वरका वचनहरू र सत्यता अभ्यास गरिस् भने मात्रै तैँले रिहाइ र स्वतन्त्रता पाउँछस्, र परमेश्‍वरको अनुमोदन पाउन सक्छस्। उदाहरणका लागि, मानौँ, तैँले ठूलालाई आदर र सानालाई ख्याल गर्छस्, तँ नियमहरूको पालना गर्छस्, र तँ असल व्यक्ति होस् भनेर अरूलाई भन्न लगाउनका लागि, तैँले आफूभन्दा पाको विश्‍वासी दाजु वा दिदीलाई भेट्दा, तँ तिनीहरूलाई “दाजु” वा “दिदी” भन्छस्, तिनीहरूलाई कहिल्यै तिनीहरूको नामले बोलाउने आँट गर्दैनस्, र तिनीहरूलाई नामले बोलाउन साह्रै अप्ठ्यारो मान्छस्, र त्यसरी नामले बोलाउँदा अनादर गर्नु हो भन्ठान्छस्। ठूलालाई आदर र सानालाई ख्याल गर्नुपर्छ भन्‍ने परम्‍परागत धारणा तेरो हृदयभित्र लुकेको हुन्छ, त्यसकारण जब तँ आफूभन्दा अग्रज व्यक्तिलाई देख्छस्, तब तँ अत्यन्तै भद्र र दयालु व्यवहार गर्छस्, र तँ नियम मान्‍ने र सभ्य मानिस भएझैँ गरी व्यवहार गर्छस्, अनि १५ डिग्रीदेखि ९० डिग्रीसम्‍म कम्‍मर नभाँची बस्‍न सक्दैनस्। तँ आफूभन्दा पाको व्यक्तिलाई आदरका साथ व्यवहार गर्छस्—तेरो अगाडि तँभन्दा जति अग्रज व्यक्ति हुन्छ, तँ त्यति नै शिष्ट बनेको नाटक गर्छस्। के यस्तो शिष्टता देखाउनु असल कुरा हो? यो त दुर्बल भएर मर्यादाविना जिउनु हो। जब यस्ता मानिसहरूले सानो बालकलाई देख्छन्, तब तिनीहरूले प्यारो र चकचके शैलीमा बच्‍चाले जस्तै व्यवहार गर्छन्। जब तिनीहरूले आफ्ना सहकर्मीलाई देख्छन्, तब तिनीहरू सीधा उभिएर वयस्कले जस्तै व्यवहार गर्छन्, ताकि अरूले तिनीहरूलाई अपमान गर्ने साहस नगरून्। तिमीहरू कस्ता मानिसहरू हुन्? के तिनीहरू धेरै रूप भएका मानिसहरू होइनन् र? तिनीहरू कति चाँडै परिवर्तन हुन्छन्, होइन र? तिनीहरूले वृद्ध व्यक्तिलाई देख्दा, “हजुरबा” वा “हजुरआमा” भनेर बोलाउँछन्। आफूभन्दा केही पाको व्यक्तिलाई देख्दा, तिनीहरूले उनीहरूलाई “अङ्कल,” “अन्टी,” “दाइ,” वा “दिदी” भनी बोलाउँछन्। आफूभन्दा सानालाई भेट्दा, तिनीहरूले “भाइ” वा “बहिनी” भनी बोलाउँछन्। तिनीहरूले मानिसहरूको उमेरअनुसार उनीहरूलाई फरक-फरक नाम र उपनाम दिन्छन्, र अत्यन्तै सटीक र सही तरिकाले यी सम्‍बोधनहरूको प्रयोग गर्छन्। यी कुराले तिनीहरूको हाडमा जरा गाडेको हुन्छ, र तिनीहरूले यी कुराहरू बडो सहजताका साथ लागु गर्न सक्छन्। विशेष गरी, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरू यस कुराप्रति अझै विश्‍वस्त हुन्छन्: “अब म परमेश्‍वरको विश्‍वासी भएँ, त्यसकारण म नियम मान्‍ने र सभ्य बन्‍नुपर्छ; म शिक्षित र समझदार हुनुपर्छ। मैले ती गैरविश्‍वासी, समस्याग्रस्त युवाहहरू जस्तो नियमहरू तोड्नु, वा विद्रोही बन्नु हुँदैन—मानिसहरूले त्यस्तो कुरा मन पराउँदैनन्। यदि सबैले मलाई मन पराऊन् भन्‍ने चाहन्छु भने, मैले ठूलालाई आदर र सानालाई ख्याल गर्नुपर्छ।” त्यसकारण, तिनीहरूले आफ्‍नो व्यवहारलाई अझै कडाइका साथ नियमन गर्छन्, फरक-फरक उमेरका मानिसहरूलाई फरक-फरक स्तरमा विभाजित गर्छन्, पद र उपनाम दिन्छन्, त्यसपछि यस कुरालाई आफ्‍नो दैनिक जीवनमा निरन्तर लागु गरेर यस्तो सोच्छन्: “मलाई हेर त, परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि म साँच्‍चै परिवर्तन भएको छु। म शिक्षित, समझदार, र शिष्ट छु, म ठूलालाई आदर र सानालाई ख्याल गर्छु, अनि म मिलनसार छु। म साँच्‍चै मानव स्वरूपमा जिइरहेको छु। मैले भेट्ने हरेक व्यक्तिको उमेर जति भए पनि, म उसलाई उसको उचित उपनामले सम्बोधन गर्न सक्छु। मलाई मेरा आमाबुबाले यो कुरा सिकाइरहनु परेन, र मेरो वरिपरिका मानिसहरूले मलाई यसो गर्नुपर्छ भनेर भनिरहनु परेन, किनभने मलाई यो कसरी गर्ने थाहा थियो।” यी असल व्यवहारहरू अभ्यास गरेपछि, तिनीहरूले आफूमा साँच्‍चै मानवता छ, तिनीहरू नियम पालना गर्ने मानिसहरू हुन्, र परमेश्‍वरले यो कुरा मन पराउनुहुन्छ भन्‍ने सोच्छन्—के तिनीहरूले आफूलाई र अरूलाई भ्रममा पारिरहेका हुँदैनन् र? अबदेखि, तिमीहरूले यी कुराहरूलाई त्याग्नैपर्छ। यसभन्दा पहिले, मैले दामिङ र जियाओमिङ्गको कथा सुनाएको थिएँ—त्यो कथा ठूलालाई आदर र सानालाई ख्याल गर्ने बारेमा थियो, होइन र? (हो।) जब कतिपय मानिसहरूले आफूभन्दा पाको व्यक्तिलाई देख्छन्, तब त्यस व्यक्तिलाई “दाजु” वा “दिदी” भनेर बोलाउनुपर्याप्त रूपमा शालीन हुँदैन, र यसले तिनीहरूलाई मानिसहरूको नजरमा पर्याप्त रूपमा सभ्य देखाउँदैन भन्‍ने सोच्छन्, त्यसकारण तिनीहरूले यस्तो व्यक्तिलाई “बाजे” वा “अन्टी” भनेर बोलाउँछन्। तैँले तिनीहरूलाई पर्याप्त सम्‍मान दिएको जस्तो देखिन्छ, अनि तिनीहरूप्रतिको तेरो सम्‍मान कहाँबाट आउँछ? तँसँग अरूलाई सम्‍मान गर्ने व्यक्तिको अनुहार छैन। तँ डरलाग्दो र भयङ्कर, उग्र, र अहङ्कारी देखिन्छस्, र तँ तेरो व्यवहारमा अरूभन्दा निकै अहङ्कारी छस्। तैँले सत्यता सिद्धान्तहरू नखोज्‍ने मात्रै होइन, तर अरू कसैसँग सल्‍लाह पनि लिँदैनस्; तँ आफ्नै नियमअनुसार जिउँछस्, र तँमा अलिकति पनि मानवता छैन। तँ कोसँग हैसियत छ भनेर हेर्छस्, त्यसपछि मानिसहरूको प्रशंसा पाउने आशामा त्यस व्यक्तिलाई “अङ्कल” वा “अन्टी” भनेर बोलाउँछस्—के यसरी नाटक गर्नुको कुनै काम हुन्छ? तैँले यसरी नाटक गरिस् भने के तँसँग मानवता र नैतिकता हुन्छ? यसको विपरीत, जब तैँले यसो गरेको अरूले देख्छन्, तब तँप्रति तिनीहरूलाई अझै बढी घिन लाग्छ। जब परमेश्‍वरको घरका हितहरूसँग सम्‍बन्धित मामलाहरू देखा पर्छन्, तब तैँले परमेश्‍वरको घरका हितहरूलाई बलि चढाउन सक्छस्। तँ आफूलाई सन्तुष्ट पार्नका लागि मात्रै जिउँछस्, र यस्तो मानवता बोकेर पनि, तँ अझै मानिसहरूलाई “अन्टी” भनी बोलाउँछस्—के यो नाटक होइन र? (हो।) तँ नाटक गर्न साँच्‍चै सिपालु छस्! मलाई भन, के यस्ता मानिसहरू घिनलाग्दा हुँदैनन् र? (हुन्छन्।) यस्ता मानिसहरूले सधैँ परमेश्‍वरको घरका हितहरूलाई बलि चढाइरहेका हुन्छन्—तिनीहरूले ती हितहरूको पटक्‍कै रक्षा गर्दैनन्। तिनीहरू आफूले खाने थालमा थुक्‍ने मानिसहरू हुन्, र तिनीहरू परमेश्‍वरको घरमा बस्‍न लायक हुँदैनन्। आफैलाई जाँच, र तिमीहरूमा मानवजातिले असल व्यवहार भनी आम रूपमा पहिचान गरेका तर वास्तवमा परमेश्‍वरले घृणा गर्नुहुने के-कस्ता कुराहरू छन्, अर्थात् मानिसहरूसँग व्यवहार गर्ने के-कस्ता विचार, दृष्टिकोण, मनोवृत्ति, शैली, र तरिकाहरू छन् भनी हेर। तिमीहरूले तुरुन्तै यी व्यर्थका कुराहरू त्याग्‍नुपर्छ, र तिनलाई अङ्गालिराख्‍नु त पटक्कै हुँदैन। कतिपय मानिसहरू भन्छन्: “यस्तो व्यवहार गर्दा के गलत भयो र?” यदि तैँले त्यस्तो व्यवहार गरिस् भने, मलाई तँदेखि घिन लाग्‍नेछ र म तँलाई तिरस्कार गर्नेछु, त्यसकारण तैँले यस्तो व्यवहार पटक्‍कै गर्नु हुँदैन। कतिपय मानिसहरू भन्छन्: “तपाईंले हामीलाई घृणा गरेर केही फरक पर्दैन, किनभने हामी तपाईंसँग बस्दैनौँ।” हामी सँगै नबसे पनि, तैँले त्यस्तो व्यवहार गर्नु हुँदैन। तैँले सत्यता स्विकार्न वा अभ्यास गर्न नसक्‍ने हुनाले, अनि त्यसको अर्थ तँलाई मुक्ति दिन नसकिने भएको हुनाले, मलाई तँदेखि घिन लाग्छ। त्यसकारण, तैँले यी कुराहरूलाई जति सक्दो चाँडो त्याग्दा नै राम्रो हुन्छ। नाटक नगर् र मकुन्डो लगाएर नबस्। मलाई लाग्छ, पश्चिमा मानिसहरू यस विषयमा निकै सामान्य हुन्छन्। उदाहरणका लागि, अमेरिकामा तैँले मानिसहरूलाई तिनीहरूको नामले बोलाए पुग्छ। तैँले अप्ठ्यारो मानी त्यस व्यक्तिलाई “बाजे” र अर्को व्यक्तिलाई “बजू” भनेर बोलाउनु पर्दैन, र मानिसहरूले केही भन्छन् कि भनेर चिन्ता गर्नु पर्दैन—तैँले मानिसहरूलाई इज्‍जतदार तरिकाले तिनीहरूको नामले बोलाउन सक्छस्, र तैँले त्यसरी बोलाएको सुन्दा, मानिसहरू वयस्क भए पनि वा बालबच्‍चा भए पनि, तिनीहरूले खुसी मान्छन्, र तैँले आदरपूर्ण व्यवहार गरिरहेको छस् भन्‍ने सोच्छन्। यसको विपरीत, यदि तँलाई तिनीहरूको नाम थाहा छ, र पनि तँ तिनीहरूलाई “सर” वा “अन्टी” भनी बोलाउँछस् भने, तिनीहरूलाई खुसी लाग्दैन, र तिनीहरूले तेरो वास्ता गर्दैनन्, र तँलाई यो अनौठो लाग्नेछ। पश्चिमी संस्कृति चिनियाँ परम्‍परागत संस्कृतिभन्दा फरक छ। चिनियाँ मानिसहरू परम्‍परागत संस्कृतिद्वारा शिक्षित र प्रभावित छन्, र तिनीहरू हैसियत पाउने, समूहमा सबैभन्दा वरिष्ठ हुने र अरूलाई आफ्नो सम्‍मान गर्न लगाउने चाहना राख्छन्। तिनीहरूलाई “बाजे” वा “बजू” मात्रै भनेर पुग्दैन, तिनीहरू मानिसहरूले त्यसमा “हजुर” थपून्, र तिनीहरूलाई “बाजे हजुर,” “बजू हजुर,” वा “अङ्कल हजुर” भनून् भन्‍ने चाहन्छन्। त्यसपछि “अन्टी हजुर” वा “अङ्कल हजुर” पनि छ—तिनीहरूलाई “हजुर” भनिएन भने, तिनीहरूलाई “तपाईं” भनीयोस् भन्‍ने चाहन्छन्। के यस्ता मानिसहरू घिनलाग्दा हुँदैनन् र? यो कस्तो प्रकारको स्वभाव हो? के यो नीच स्वभाव होइन र? यो अत्यन्तै घिनलाग्दो छ! यस्ता मानिसहरूले अरूको सम्‍मान नपाउने मात्र होइन, अरूले तिनीहरूलाई घृणा र तिरस्कार समेत गर्छन्, अनि तिनीहरूबाट टाढा बस्छन् र तिनीहरूलाई इन्कार गर्छन्। त्यसैले, परमेश्‍वरले परम्‍परागत संस्कृतिका यी पक्षहरूलाई खुलासा र तिरस्कार गर्नुहुने एउटा कारण छ। त्यो के हो भने, यी कुराहरूमा शैतानको चलाकी र स्वभाव लुकेको हुन्छ, र यी कुराहरूले व्यक्तिको आनीबानीको विधि र दिशामा असर पार्न सक्छन्। तिनले अवश्य नै मानिसहरू र कामकुराहरूलाई हेर्ने व्यक्तिको दृष्टिकोणलाई पनि असर पार्न सक्छन्, साथ-साथै, तिनले मानिसहरूलाई अन्धो बनाउँछन्, र सही मार्ग चुन्‍ने तिनीहरूको क्षमतामा असर गर्छन्। त्यसकारण, के मानिसहरूले यी कुराहरू त्याग्‍नु पर्दैन? (पर्छ।)

चिनियाँ मानिसहरूलाई परम्‍परागत संस्कृतिले साह्रै गहन रूपमा प्रभाव पारेको छ। अवश्‍य नै, संसारका हरेक देशको आ-आफ्‍नै परम्‍परागत संस्कृति हुन्छ, र यी परम्‍परागत संस्कृति अलिअलि मात्रै फरक हुन्छन्। तिनीहरूका केही भनाइहरू चिनियाँ परम्‍परागत संस्कृतिका भनाइहरूभन्दा फरक भए पनि, प्रकृतिको हिसाबले ती उस्तै हुन्छन्। मानिसहरूमा भ्रष्ट स्वभाव हुने र सामान्य मानवताको कमी हुने हुनाले यी भनाइहरू अस्तित्वमा आएका हुन्, त्यसकारण तिनीहरूले आफूलाई बाहिरबाट राम्रो देखाउनका लागि बाहिरी रूपमा असल देखिने, मानिसका धारणा र कल्‍पनाहरूसँग मिल्‍ने, लागू गर्न सजिलो हुने अत्यन्तै छली व्यवहारहरू प्रयोग गर्छन्, ताकि तिनीहरू अत्यन्तै भद्र, आदर्शमय, र सम्‍माननीय देखिन सकून्, र तिनीहरूमा इज्‍जत र सत्यनिष्ठा छ जस्तो देखियोस्। तर परम्‍परागत संस्कृतिका यी पक्षहरूले नै मानिसहरूको आँखा धमिल्याएर तिनीहरूलाई भ्रममा पर्छन्, र यिनै कुराहरूले मानिसहरूलाई साँचो मानव स्वरूपमा जिउनबाट रोक्छन्। अझै खराब कुरा त, शैतानले मानिसहरूको मानवतालाई भ्रष्ट तुल्याउन, र सही मार्गबाट विमुख गराउनका लागि यी कुराहरू प्रयोग गर्छ। के कुरा यही होइन र? (हो।) परमेश्‍वरले मानिसहरूलाई चोर्ने, व्यभिचार गर्ने गर्नु हुँदैन, इत्यादि कुरा भन्नुहुन्छ, जबकि शैतानले मानिसहरूलाई शिक्षित र समझदार हुनुपर्छ, भद्र र परिष्कृत, शिष्ट हुनुपर्छ, इत्यादि कुरा भन्छ—के यी कुराहरू परमेश्‍वरले अघि सार्नुभएका मागहरूको ठीक विपरीत छैनन् र? के यी कुराहरू परमेश्‍वरका मागहरूसँग जानाजान बाझिँदैनन् र? शैतानले मानिसहरूलाई अरूलाई छल गर्नका लागि बाहिरी विधी र व्यवहार कसरी प्रयोग गर्ने, र कसरी जिउने भनेर सिकाउँछ। परमेश्‍वरले मानिसहरूलाई के सिकाउनुहुन्छ? झूटो तरिकाले अरूको विश्‍वास जित्‍नका लागि तिनीहरूले देखावटी व्यवहार प्रयोग गर्नु हुँदैन, तर उहाँका वचनहरू र सत्यताअनुसार आफ्‍नो आचरण गर्नुपर्छ। त्यसरी तिनीहरू अरूको भरोसा र विश्‍वास पाउन योग्य हुनेछन्—यस्ता मानिसहरूमा मात्रै मानवता हुन्छ। के यसमा भिन्‍नता छैन र? धेरै ठूलो भिन्‍नता छ। परमेश्‍वरले तँलाई कसरी आचरण गर्ने भनेर भन्‍नुहुन्छ, जबकि शैतानले तँलाई कसरी नाटक गर्ने र अरूलाई छल गर्ने भनेर सिकाउँछ—के त्यो ठूलो भिन्‍नता होइन र? त्यसोभए, मानिसहरूले अन्त्यमा के छनौट गर्नुपर्छ भन्‍ने तैँले बुझिस्? यीमध्ये कुनचाहिँ सही मार्ग हो? (परमेश्‍वरका वचनहरू।) ठीक भन्यौ, परमेश्‍वरका वचनहरू नै जीवनको सही मार्ग हो। मानिसको व्यवहारसम्‍बन्धी परमेश्‍वरका वचनहरूले जे-जस्ता मागहरू अघि सारे पनि, यदि यो परमेश्‍वरले मानिसलाई दिनुभएको नियम, आज्ञा, वा व्यवस्था हो भने पनि, त्यो पूर्ण रूपमा सही हुन्छ, र तिनलाई मानिसहरूले पालना गर्नु नै पर्छ। किनभने परमेश्‍वरका वचनहरू सधैँ नै सही मार्ग र सकारात्मक कुरा हुनेछन्, जबकि शैतानका शब्‍दहरूले मानिसहरूलाई छल्छन् र भ्रष्ट तुल्याउँछन्, तिनमा शैतानका चालहरू हुन्छन्, र ती मानिसहरूको स्वाद वा धारणा र कल्‍पनाहरूसँग जति नै मिले पनि सही मार्ग होइनन्। के तिमीहरूले यो कुरा बुझ्यौ? (बुझ्यौँ।) आजको सङ्गतिको विषयवस्तु सुनेपछि तिमीहरूलाई कस्तो लाग्यो? के यो सत्यतासँग सम्‍बन्धित छ? (छ।) के तिमीहरूले सत्यताको यो पक्ष यसभन्दा अघि बुझेका थियौ? (स्पष्ट रूपमा बुझेका थिएनौँ।) अहिले तिमीहरूले यो स्पष्ट रूपमा बुझ्यौ? (पहिलेको भन्दा धेरै राम्ररी बुझ्यौँ।) समग्रमा, यी सत्यताहरू बुझ्दा, पछि मानिसहरूलाई फाइदा हुनेछ। तिनीहरूले भविष्यमा सत्यतालाई पछ्याउँदा, मानवतामा जिउँदा, र तिनीहरूको जीवनको खोजीको उद्देश्य र दिशामा यो फाइदाजनक हुनेछ।

फेब्रुअरी २६, २०२२

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (३)

अर्को: सत्यता पछ्याउनु भनेको के हो (५)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्