सत्यता पछ्याउनु भनेको के हो (३)

आजभोली, कर्तव्य निर्वाह गर्नेहरू झन्-झन् व्यस्त हुँदै गइरहेका छन्। तिनीहरूलाई समय अत्यन्तै द्रुत गतिमा चलिरहेको छ, र पर्याप्त समय छैन भन्‍ने लाग्छ। किन? किनभने तिनीहरू अहिले सत्यता बुझ्छन् र तिनीहरूसँग विभिन्‍न मामिलाको अन्तर्ज्ञान छ। तिनीहरूमा जिम्‍मेवारी बोध झन्-झन् बढ्दै गइरहेको छ, र तिनीहरूले अझै विस्तृत काम गर्दै झन् लगनशील भई आफ्‍नो कर्तव्य पूरा गरिरहेका छन्। त्यसकारण, तिनीहरूलाई आफूले पूरा गर्नुपर्ने कर्तव्यहरू झन्-झन् धेरै छन् भन्‍ने लाग्छ। त्यसैले तिनीहरू आफ्‍नो कर्तव्यमा झन्-झन् व्यस्त हुँदै गइरहेका छन्। त्यसबाहेक, हरेक दिन आफ्‍नो कर्तव्य पूरा गर्ने धेरैजसोले परमेश्‍वरका वचनहरू पढ्ने र सत्यताबारे सङ्गति गर्ने पनि गर्नैपर्छ। तिनीहरूले आत्मचिन्तन गर्नैपर्छ, र समस्या आइपर्दा, त्यसलाई समाधान गर्न सत्यता खोजी गर्नैपर्छ। तिनीहरूले केही व्यावसायिक सीप पनि सिक्नैपर्छ। तिनीहरूलाई सधैँ पर्याप्त समय छैन, हरेक दिन अत्यन्त छिटो बित्छ भन्‍ने लाग्छ। राती, तिनीहरू त्यस दिन आफूले के गरे भन्‍ने बारेमा सोच्छन्, अनि तिनीहरूलाई आफूले गरेको कुराको त्यति मूल्य छैन र यसबाट कुनै ठूलो परिणाम आएन भन्‍ने लाग्छ। तिनीहरू आफूमा सानो कद र कमी भएको महसुस गर्छन्, र चाँडो कद बढाउन उत्सुक हुन्छन्। तिनीहरूमध्ये कतिले भन्छन्, “यो कामको व्यस्तता कहिले सकिनेछ? मैले कहिले आफ्‍नो हृदय शान्त पारेर राम्ररी परमेश्‍वरका वचनहरू पढ्न, र आफूलाई सत्यताले सुसज्‍जित गर्न पाउनेछु? हप्तामा एक-दुईवटा भेलाबाट एकदमै सीमित कुरा पाउँछु। हामीले अझै धेरै भेला आयोजना गर्नुपर्छ र अझै धेरै प्रवचन सुन्‍नुपर्छ—सत्यता बुझ्‍ने एकमात्र तरिका त्यही मात्रै हो।” त्यसकारण तिनीहरू प्रतीक्षा र तृष्णा गर्छन्, र आँखा झिमिक्‍क गर्दा तीन, चार, पाँच वर्ष बितिसकेको हुन्छ, र तिनीहरूलाई समय चाँडै बितेर जान्छ भन्‍ने लाग्छ। कतिपय मानिसहरू दश वर्ष विश्‍वास गरेपछि पनि अनुभवसम्‍बन्धी गवाही त्यति धेरै दिन सक्दैनन्। तिनीहरू बेचैन हुन्छन्, त्यागिनेछन् भनेर डराउँछन्, र आफूलाई अझै बढी सत्यताले सुसज्‍जित पार्न हतारिन्छन्। त्यसैले तिनीहरूलाई समयको पाबन्दी महसुस हुन्छ। यस्तो सोच्‍नेहरू धेरै छन्। कर्तव्य निर्वाहको बोझ लिने र सत्यता पछ्याउनेहरू समय अत्यन्तै चाँडै बित्छ भन्‍ने महसुस गर्छन्। सत्यतालाई प्रेम नगर्नेहरू, आराम र आनन्दको लोभ गर्नेहरूलाई समय चाँडै बित्छ भन्‍ने महसुस हुँदैन; तिनीहरूमध्ये कतिपय त गुनासोसमेत गर्छन्, “परमेश्‍वरको दिन कहिले आउँछ? तिनीहरू सधैँ उहाँको काम समाप्त हुनलागेको छ भनेर भन्छन्—तर यो किन अझै समाप्त भएको छैन? कहिले परमेश्‍वरको काम ब्रह्माण्डभरि फैलिनेछ?” यस्ता कुरा भन्‍ने मानिसहरूलाई समय अत्यन्तै ढिलो चल्छ भन्‍ने लाग्छ। तिनीहरूलाई हृदयमा सत्यताप्रति चासो हुँदैन; तिनीहरूलाई सधैँ बाहिरी संसारमा फर्केर गई आफ्‍नो तुच्छ जीवनलाई निरन्तरता दिन मन लाग्छ। तिनीहरूको यो स्थिति सत्यता पछ्याउने मानिसहरूको स्थितिभन्दा स्पष्टै फरक हुन्छ। सत्यता पछ्याउने मानिसहरू आफ्‍नो कर्तव्यमा जति नै व्यस्त भए पनि, आफूलाई आइपर्ने समस्याहरू समाधान गर्न सत्यता खोजी गर्न सक्छन्, र आफूले प्रवचनहरू सुन्दा अस्पष्ट लागेका कुराहरूबारे सङ्गति खोज्छन्, र कसरी काम गरेँ भनेर मनन गर्न दैनिक आफ्‍नो हृदय शान्त पार्छन्, त्यसपछि परमेश्‍वरका वचनहरूलाई विचार गर्छन् र अनुभवसम्बन्धी गवाहीका भिडियोहरू हेर्छन्। तिनीहरूले यसबाट केही कुरा प्राप्त गर्छन्। तिनीहरू आफ्‍नो कर्तव्यमा जति नै व्यस्त भए पनि, यसले तिनीहरूको जीवन प्रवेशमा पटक्‍कै बाधा दिँदैन, न त यसमा ढिलाइ नै गर्छ। सत्यतालाई प्रेम गर्ने मानिसहरूले यसरी अभ्यास गर्नु स्वभाविकै हो। सत्यतालाई प्रेम नगर्नेहरू आफू कर्तव्यमा व्यस्त भए पनि नभए पनि र आफूलाई जे-जस्ता समस्याहरू आइपरे पनि, आत्मचिन्तन गर्न र आफूलाई चिन्‍न सत्यता खोजी गर्दैनन् र परमेश्‍वरसामु आफूलाई शान्त पार्न चाहँदैनन्। त्यसकारण, तिनीहरू आफ्‍नो कर्तव्यमा व्यस्त होस् वा फुर्सत, सत्यता पछ्याउँदैनन्। वास्तविकता के हो भने, यदि कुनै व्यक्तिमा सत्यता पछ्याउने हृदय छ, ऊ सत्यताको तृष्णा गर्छ, अनि जीवन प्रवेश र स्वभाव परिवर्तनको बोझ लिन्छ भने, आफ्‍नो कर्तव्यमा जति नै व्यस्त भए पनि हृदयमा ऊ परमेश्‍वरको नजिक हुँदै जानेछ र उहाँलाई प्रार्थना गर्नेछ। तिनीहरूले पवित्र आत्‍माका केही अन्तर्दृष्टि र ज्योति प्राप्त गर्छन् नै, र तिनीहरूको जीवन निरन्तर वृद्धि हुनेछ। यदि कसैले सत्यतालाई प्रेम गर्दैन र जीवन प्रवेश वा स्वभाव परिवर्तनको कुनै बोझ लिँदैन, वा यदि उसलाई यी कुराहरूप्रति चासो लाग्दैन भने, उसले केही प्राप्त गर्न सक्दैन। आफूले के-कस्ता भ्रष्टता प्रकट गरेको छ भनेर मनन गर्नु जहीँ पनि र जहिले पनि गर्नुपर्ने कुरा हो। उदाहरणका लागि, यदि कसैले आफ्‍नो कर्तव्य पूरा गर्दा भ्रष्टता प्रकट गर्‍यो भने, उसले हृदयबाट अनिवार्य रूपमा परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ, र आत्मचिन्तन गर्नुपर्छ, अनि आफ्‍नो भ्रष्ट स्वभाव चिन्नुपर्छ, र यसलाई हटाउन सत्यता खोजी गर्नुपर्छ। यो हृदयसँग सम्‍बन्धित कुरा हो; हातमा भएको कामसँग यसको कुनै सम्‍बन्ध हुँदैन। के यसो गर्नु सजिलो छ? त्यो कुरा तँ सत्यतालाई पछ्याउने व्यक्ति होस् कि होइनस् भन्‍ने कुरामा निर्भर हुन्छ। सत्यतालाई प्रेम नगर्ने मानिसहरू जीवन-वृद्धिका मामिलाहरूमा चासो लिँदैनन्। तिनीहरू यस्ता कुराहरूलाई विचार गर्दैनन्। सत्यता पछ्याउने मानिसहरू मात्रै आफूलाई जीवन-वृद्धिमा लगाउन इच्छुक हुन्छन्; तिनीहरूले मात्रै वास्तवमै आइपर्ने समस्याहरूबारे र ती समस्याहरू समाधान कसरी सत्य खोज्ने भनी मनन गर्छन्। वास्तवमा, समस्याहरू समाधान गर्ने र सत्यता पछ्याउने प्रक्रिया एउटै हो। यदि कुनै व्यक्तिले आफ्‍नो कर्तव्य पूरा गर्दा समस्याहरू समाधान गर्न सत्यताको खोजीलाई निरन्तर ध्यान दिन्छ, र त्यस्तो अभ्यास गरेको धेरै वर्षको अवधिमा निकै समस्याहरू समाधान गरेको छ भने, उसको कर्तव्य निर्वाह अवश्य नै मापदण्डअनुरूप हुन्छ। यस्ता मानिसहरू निकै कम भ्रष्टता प्रकट गर्छन्, र कर्तव्य पूरा गर्ने क्रममा तिनीहरूले धेरै साँचो अनुभव पाएका हुन्छन्। त्यसरी तिनीहरू परमेश्‍वरको गवाही दिन सक्छन्। यस्ता मानिसहरूले सुरुमा आफ्‍नो कर्तव्य लिएदेखि परमेश्‍वरको गवाही दिन सकिञ्‍जेलसम्‍म कसरी अनुभव प्राप्त गर्छन्? तिनीहरूले समस्याहरू समाधान गर्न सत्यता खोजी गरेर यसो गर्छन्। त्यसकारण, सत्यता पछ्याउने मानिसहरू आफ्‍नो कर्तव्यमा जति नै व्यस्त भए पनि, समस्याहरू समाधान गर्न सत्यता खोजी गर्नेछन्, र सिद्धान्तहरूअनुसार आफ्‍नो कर्तव्य पूरा गर्न सफल हुन्छन्, अनि सत्यता अभ्यास गर्न र परमेश्‍वरमा समर्पित हुन सक्‍नेछन्। जीवन प्रवेशको प्रक्रिया यही हो, र यो सत्यता वास्तविकतामा प्रवेश गर्ने प्रक्रिया पनि हो। कतिपय मानिसहरू आफू आफ्‍नो कर्तव्यमा अत्यन्तै व्यस्त भएको कारण सत्यता पछ्याउने समय छैन भनेर सधैँ भनिरहेका हुन्छन्। यो स्वीकार्य छैन। सत्यता पछ्याउने व्यक्तिले त जे काम गरे पनि, समस्या पत्ता लगाउनेबित्तिकै त्यो समाधान गर्न सत्यता खोजी गर्छ, र सत्यता बुझ्छ र प्राप्त गर्छ। यो पक्‍का हो। दैनिक भेला भएर मात्रै सत्यता बुझ्‍न सकिन्छ भनेर सोच्‍नेहरू धेरै छन्। यो बिलकुलै गलत हो। सत्यता भनेको भेला भएर र प्रवचनहरू सुनेर मात्रै बुझ्‍न सकिने कुरा होइन; व्यक्तिले परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव पनि गर्नुपर्छ, अनि उसलाई समस्याहरू पत्ता लगाउने र समाधान गर्ने प्रक्रिया पनि चाहिन्छ। महत्त्वपूर्ण कुरा, तिनीहरूले सत्यता खोज्न सिक्‍नैपर्छ। सत्यतालाई प्रेम नगर्नेहरूको जीवनमा जस्तोसुकै समस्याहरू आइपरे पनि तिनीहरू सत्यता खोज्दैनन्; सत्यतालाई प्रेम गर्नेहरू आफू कर्तव्यमा जति नै व्यस्त भए पनि, सत्यता खोजी गर्छन्। त्यसकारण, आफ्‍नो कर्तव्यमा अत्यन्तै व्यस्त भएको कारण भेला हुने समय छैन, त्यसैले सत्यताको खोजीलाई थाँती राख्‍नुपर्छ भनेर सधैँ गुनासो गर्ने मानिसहरू सत्यतालाई प्रेम गर्नेहरू होइनन् भनेर हामी निश्‍चितसित भन्‍न सक्छौँ। तिनीहरू आत्मिक बुझाइ नभएका मूर्ख समझ भएका मानिस हुन्। जब तिनीहरू परमेश्‍वरका वचनहरू पढ्छन् वा प्रवचनहरू सुन्छन्, तब किन तिनीहरू त्यो आफ्‍नो कर्तव्य पूरा गर्दा अभ्यास वा लागू गर्दैनन्? तिनीहरू किन परमेश्‍वरका वचनहरूलाई आफ्‍नो वास्तविक जीवनमा लागू गर्न सक्दैनन्? तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् भन्‍ने कुरा देखाउन यो पर्याप्त छ, त्यसकारण तिनीहरूले आफ्‍नो कर्तव्य पूरा गर्दा जे-जस्ता कठिनाइहरू सामना गरे पनि, सत्यता खोज्दैनन् वा अभ्यास गर्दैनन्। स्पष्टतः यी मानिसहरू श्रमिकहरू हुन्। कतिपय मानिसहरूले सत्यता पछ्याउने चाहना गर्लान्, तर तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ। तिनीहरू आफ्‍नै जीवनसमेत राम्ररी सम्हाल्न सक्दैनन्; जब तिनीहरूले दुई वा तीनवटा कुरा गर्नुपर्ने हुन्छ, तब तिनीहरूलाई कुन पहिले गर्ने र कुन अन्तिममा गर्ने भन्‍ने थाहा हुँदैन। यदि तिनीहरूलाई दुई वा तीनवटा समस्या आइपऱ्यो भने, ती कसरी समाधान गर्ने भनेर तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूलाई रिँगटा छुट्छ। के यस्ता मानिसहरूले सत्यता भेट्टाउन सक्छन्? के तिनीहरू समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न सफल हुन सक्छन्? सक्छन् नै भन्‍ने छैन, किनभने तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ। धेरै मानिसहरू सत्यता पछ्याउने इच्छा त गर्छन्, तर दस-बीस वर्ष परमेश्‍वरमा विश्‍वास गरिसकेपछि पनि, कुनै अनुभवात्मक गवाही दिन सक्दैनन्, र तिनीहरूले पटक्कै सत्यता प्राप्त गरेका हुँदैनन्। यसको मुख्य कारण के हो भने, तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ। कुनै व्यक्तिले सत्यता पछ्याउँछ कि पछ्याउँदैन भन्‍ने कुरा ऊ आफ्‍नो कर्तव्यमा कति व्यस्त छ वा ऊसँग कति समय छ भन्‍ने कुरासँग सम्‍बन्धित हुँदैन; यो कुरा त उसले हृदयदेखि नै सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। वास्तविकता के हो भने, हरेकसँग उति नै मात्रामा समय हुन्छ; हरेक व्यक्तिले यो कसरी प्रयोग गर्छ त्यसमा भिन्‍नता हुन्छ। सत्यता पछ्याउने समय छैन भन्‍ने व्यक्तिले सम्भवतः आफ्‍नो समय देहसुखमा बिताइरहेको हुन्छ, वा ऊ केही बाहिरी कुराहरूमा व्यस्त हुन्छन्। तिनीहरू त्यो समय समस्याहरू समाधान गर्नका लागि सत्यता खोज्न बिताउँदैनन्। आफ्‍नो पछ्याइमा लापरवाही हुने मानिसहरू यस्तै हुन्छन्। यसले तिनीहरूको जीवन प्रवेशको ठूलो मामिलामा ढिलाइ गर्छ।

हाम्रो गत दुई भेलामा, हामीले “सत्यता पछ्याउनु भनेको के हो” भन्‍ने विषयमा, साथै त्यसमा समावेश हुने केही निश्‍चित कुराहरूबारे सङ्गति गरेका थियौँ। हामीले हाम्रो गत भेलामा के विषयमा सङ्गति गरेका थियौँ त्यसको समीक्षा गरेर सुरु गरौँ। हामीले “सत्यता पछ्याउनु भनेको के हो” भन्‍नेबारे सही परिभाषा प्रस्तुत गर्‍यौँ, त्यसपछि केही निश्‍चित समस्याहरू र सत्यता पछ्याउनुको अर्थमा समावेश मानिसहरूको व्यवहारका निश्‍चित तरिकाहरूबारे सङ्गति गरेका थियौँ। हाम्रो गत भेलाको अन्तिम सङ्गतिको विषय के थियो? (परमेश्‍वरले यो प्रश्‍न अघि सार्नुभएको थियो: मानिसले असल र सही ठान्ने कुरा सत्यता होइन, तैपनि किन ऊ अझै ती कुराहरूलाई सत्यताको रूपमा पछ्याइरहन्छ?) मानिसले असल र सही ठान्ने कुराहरू सत्यता होइनन्, तैपनि किन उसले अझै ती कुरालाई अँगालिराख्छ र आफूले सत्यता पछ्याइरहेको ठान्छ? हामीले गत सङ्गतिमा यो प्रश्‍नसम्बन्धी तीनवटा कुराबारे सङ्गति गर्‍यौँ। पहिलो: मानिसले पछ्याउने यी कुराहरू सत्यता होइनन्, र पनि किन ऊ तिनलाई सत्यतालाई झैँ अभ्यास गर्छ? किनभने मानिसलाई उसले सही र असल देख्‍ने कुराहरू सत्यता जस्तो लाग्छ, त्यसकारण उसले असल र सही ठान्ने ती कुराहरूलाई सत्यताझैँ पछ्याउँछ। के यसलाई बताउने स्पष्ट तरिका त्यही होइन र? (हो।) त्यसोभए, यो प्रश्‍नको सही उत्तर के हो त? मानिसहरू आफूले सही र असल ठान्‍ने कुराहरूलाई सत्यताझैँ कायम राख्छन्, र त्यसो गरेर सत्यता पछ्याइरहेको ठान्छन्। के त्यो पूरा उत्तर होइन र? (हो।) दोस्रो: आफूले असल र सही ठान्ने कुराहरूलाई सत्यताझैँ कायम राख्दा, किन मानिस आफूले सत्यता पछ्याइरहेको ठान्छ? यो प्रश्‍नको उत्तर यसरी दिन सकिएला: किनभने मानिस आशिषित हुन चाहन्छ। मानिस आफूले सही र असल ठान्ने यी कुराहरूलाई इच्‍छा र महत्त्वाकाङ्क्षाका साथ पछ्याउँछ, र यसरी उसले सत्यता अभ्यास गरिरहेको र पछ्याइरहेको ठान्छ। वास्तवमा, यो त परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गर्नु हो। तेस्रो: यदि व्यक्तिमा सामान्य विवेक र समझ छ भने, उसले सत्यता नबुझेको बेला, स्वभावैले आफ्‍नो विवेक र समझअनुसार काम गर्दै, प्रावधान, नियम, कानुन इत्यादि पालन गर्छन्। हामी के भन्‍न सक्छौँ भने स्वभावैले मानिसले आफ्‍नो विवेकमा सकारात्मक, रचनात्मक, र मानवतासँग मेल खाने ठानेका कुराहरूलाई सत्यताझैँ गरी अँगाल्छ। यसलाई मानिसको विवेक र समझको सीमाभित्र हासिल गर्न सकिन्छ। परमेश्‍वरको घरमा सामान्य रूपमा परिश्रम गर्न सक्ने धेरै मानिस छन्; तिनीहरूमा सामान्य विवेक र समझ हुने हुनाले तिनीहरू श्रम गर्न र परमेश्‍वरको घरका बन्दोबस्तहरू पालना गर्न इच्छुक हुन्छन्। तिनीहरूले आशिष प्राप्त गर्नका लागि कष्ट भोग्‍न र कुनै पनि मूल्यसमेत चुकाउनेछन्। त्यसकारण, मानिसले आफ्‍नो विवेक र समझको सीमाभित्र गर्न सक्‍ने कुरालाई पनि सत्यताको अभ्यास र पछ्याइको रूपमा लिन्छ। त्यो प्रश्‍नको उत्तरका तीनवटा मुख्य बुँदा छन्। अघिल्लो समय, हामीले यी तीनवटा बुँदाबारे अलि सङ्गति गरेका थियौँ; आज हामी यी तीनवटा बुँदाले छोडिराख्ने समस्याहरूबारे निश्‍चित र विस्तृत सङ्गति गर्नेछौँ, र हरेक बुँदामा समावेश समस्याहरू, साथै हरेक तत्व सत्यता पछ्याइभन्दा कसरी फरक छ र सत्यता पछ्याइसँग कसरी बाझिन्छ भनेर चिरफार गर्नेछौँ, ताकि तैँले सत्यता पछ्याउनु भनेको के हो र यो पछ्याइको अभ्यास ठ्याक्कै कसरी गर्ने भनेर अझ स्पष्ट रूपमा जान्‍न सकेस्। त्यसो गरेपछि मानिसहरूलाई आफ्‍नो दैनिक जीवनमा सही तरिकामा सत्यता अभ्यास गर्न र पछ्याउने झनै प्रेरणा मिल्नेछ।

हामी पहिलो विषयबारे सङ्गति गरेर प्रारम्भ गर्ने छौँ। स्पष्ट रूपमा भन्दा, पहिलो विषयसम्‍बन्धी हाम्रो सङ्गति मानिसले आफ्नो धारणामा सही र असल ठान्ने कुराहरूमा केन्द्रित हुने छ। किन हाम्रो सङ्गति त्यो विषयवस्तुमा केन्द्रित हुनुपर्छ? त्यो विषयवस्तुमा समावेश समस्याहरू के-के हुन्? सुरुमा त्यसबारे विस्तृत रूपमा विचार गर। यदि हामीले यसबारे भेलाहरूमा उचित तरिकाले सङ्गति गरेनौँ भने के तिमीहरू तीबारे सही ज्ञान प्राप्त गर्न सक्‍ने छौ? यदि हामीले यसबारे निश्‍चित सङ्गति गरेनौँ र तिमीहरूले यसबारे विचार मात्र गऱ्यौ, वा यदि तिमीहरूले यसलाई अनुभव गर्न र चिन्न समय बितायौ भने नि? त्यसपछि यो विषयवस्तुले कुन-कुन सत्यताहरूलाई समेट्छ भन्‍ने कुरा के तिमीहरूलाई थाहा हुन्छ? के तिमीहरू ती कुरालाई विचार गरेर पत्ता लगाउन सक्छौ? (सक्दैनौँ।) हामी “मानिसले आफ्नो धारणामा सही र असल ठान्ने कुराहरू” भन्‍ने वाक्यांशका शाब्दिक अर्थहरूलाई विचार गरेर सुरु गर्ने छौँ र यससम्‍बन्धी तिमीहरूको ज्ञान कति हदसम्‍म छ सो हेर्नेछौँ। पहिलो, हामीले सङ्गति गर्नलागेको यो वाक्यांशको महत्त्वपूर्ण भागले केलाई सम्‍बोधन गर्छ? के तिमीहरू भन्‍न सक्दैनौँ र? के यो अमूर्त वाक्यांश हो? के यसमा कुनै रहस्य छ? (यसले मानिसका धारणा र कल्‍पनाहरूलाई सम्‍बोधन गर्छ।) त्यो त यसलाई बताउने आम तरिका हो; एउटा उदाहरण देओ। (आफूलाई त्याग्‍न, समर्पित गर्न, कष्ट भोग्‍न, र मूल्य चुकाउन सकियो भने, परमेश्‍वरको अनुमोदन पाउन सकिन्छ भनेर मानिस आफ्नो धारणामा विश्‍वास गर्छ। केही परम्‍परागत संस्कृति पनि छन्—जस्तै आमाबुबाको सेवा र श्रीमानप्रति महिलाको ख्याल र छोराछोरीको पालनपोषण। मानिसहरू यी कुरालाई पनि असल कुरा ठान्छन्।) तैँले तीमध्ये केहीलाई अपनाइस्। के तिमीहरूले कुरा बुझ्यौ? हाम्रो विषयले छुने भागहरू के-के हुन्? (त्याग्‍नु, समर्पित हुनु, कष्ट भोग्‍नु, र मूल्य चुकाउनु।) (आमाबुबाको सेवा, र श्रीमानप्रति माहिलाको ख्याल र छोराछोरीको पालनपोषण।) हो। थप केही छ? (फरिसीहरूले जस्तै भक्ति, धैर्य, र सहनशीलताको देखावा गर्नु।) नम्रता, धैर्य, सहनशीलता—यो केही निश्‍चित व्यवहारको प्रदर्शन र भनाइहरूसँग सम्‍बन्धित छ। हामीले यस्तो विषयवस्तुबारे सङ्गति गर्न लागिरहेको हुनाले, हामीले निश्‍चित भनाइहरू प्रयोग गरेर निश्‍चित रूपमा सङ्गति गर्दा सर्वोत्तम हुन्छ। यदि हामीले प्रश्‍नमा त्यसरी ध्यान केन्द्रित गऱ्यौँ भने मानिसहरूले अझै सही र ठ्याक्कै बुझ्‍न सक्छन्। अहिले, तिमीहरू कुनै सुराग दिन सक्दैनौ, त्यसकारण म अघि बढेर सङ्गति गर्ने छु, हुन्छ? (हुन्छ।) चीनको पाँच हजार वर्षे संस्कृति “विशाल र गहन” छ, यो अनेक किसिमका चर्चित भनाइ र तुक्‍काहरूले भरिएको छ। यसमा कन्फ्युसियस, मेन्सियस आदिजस्ता उच्च सम्मान गरिने “प्राचीन सन्तहरू” पनि छन्। तिनीहरूले कन्फ्युसियसवादका चिनियाँ शिक्षाहरू निर्माण गरे, जुन परम्‍परागत चिनियाँ संस्कृतिको मुख्य भाग हो। चिनियाँ परम्‍परागत संस्कृतिमा पुस्तौँ-पुस्ताका मानिसहरूले सिर्जना गरेका धेरै भाषा, शब्दभण्डार, र भनाइहरू छन्। तीमध्ये कति प्रचीनकालसँग सम्‍बन्धित छन्, कति छैनन्; तीमध्ये कति सर्वसाधारण मानिसहरूबाट आएका हुन् भने अरू चर्चित मानिसहरूबाट आएका हुन्। तिमीहरूलाई परम्‍परागत संस्कृति त्यति मन पर्दैन होला, वा तिमीहरूले आफूलाई नीच परम्‍परागत संस्कृतिबाट अलग राखेका छौ होला, वा तिमीहरू अझै कलिलै भएकोले, चीनको “विशाल र गहन” परम्‍परागत संस्कृतिको गहन अध्ययन वा अनुसन्धानमा लागेका छैनौ होला, त्यसकारण तिमीहरूलाई यसबारे थाहा छैन, वा तिमीहरू यस्ता कुराहरू बुझ्दैनौ। त्यो वास्तवमा राम्रो कुरा हो। व्यक्तिले यो कुरा नबुझ्ला, तैपनि उसको सोचाइ र धारणाहरू परम्‍परागत संस्कृतिका कुराहरूद्वारा थाहै नपाई प्रभावित र सङ्क्रमित हुन्छ। तिनीहरू थाहै नपाई यी कुराहरूअनुसार जिउन थाल्छन्। अघिल्‍लो पुस्ताका मानिसहरूले हस्तान्तरण गरेका कुराहरू, अर्थात् मानिसका पितापुर्खाबाट हस्तान्तरण गरिएका परम्‍परागत संस्कृतिले मानिसले कसरी बोल्नुपर्छ, कसरी काम गर्नुपर्छ, र कसरी आफूलाई व्यवहारमा ढाल्नुपर्छ भन्‍नेबारे धेरै दाबी गर्छ। मानिसहरूमा परम्‍परागत संस्कृतिका विभिन्‍न कथनहरूबारे बेग्लाबेग्लै बुझाइ र दृष्टिकोण हुनसक्‍ने भए पनि, समग्रमा तिनीहरू परम्‍परागत संस्कृतिका यस्ता कुराहरूप्रति निश्‍चित हुन्छन्। यसरी नियाल्दा, हामी के देख्‍न सक्छौँ भने मानवजातिको जीवन र अस्तित्व, मानिसहरू र कामकुरालाई हेर्ने दृष्टिकोण, अनि व्यवहार र कार्यमाथि पर्ने प्रभावको स्रोत त परम्‍परागत संस्कृतिका सबै कुरा नै हुन्। विभिन्न मानव जातजातिले पालन गर्ने नैतिक स्तर र नैतिक मापदण्डबारेका कथनहरू फरक-फरक भए पनि, ती कुराहरूको आम अर्थ उस्तै हुन्छ। आज, हामी तीमध्ये केहीबारे विस्तृत रूपमा सङ्गति र चिरफार गर्ने छौँ। मानिसले सही र असल ठान्‍ने सबै कुरालाई हामीले उल्‍लेख र चिरफार गर्न नसक्‍ने भए पनि, तिनको सामान्य विषयवस्तु सत्यता पछ्याइको परिभाषामा समेटिएका दुई तत्व सिवाय केही होइन: मानिसहरू र कामकुराप्रति व्यक्तिको दृष्टिकोण अनि आफूलाई कसरी व्यवहारमा ढाल्नुपर्छ र कार्य गर्नुपर्छ। एउटा दृष्टिकोण हो भने, अर्को व्यवहार हो। यसको अर्थ, मानिसले आफ्नो धारणामा सही र असल ठान्ने कुराद्वारा मानिसहरू र संसारका घटनाहरूलाई हेर्छ, र उसले ती कुरालाई आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने जग, आधार, र मापदण्डको रूपमा लिन्छ। त्यसोभए, यी असल र सही कुराहरू वास्तवमा के हुन् त? समग्रमा भन्दा, मानिसले आफ्नो धारणामा सही र असल ठान्ने कुराहरू मानिसले राम्रो व्यवहार गर्नुपर्छ र उसमा असल मानव नैतिकता र चरित्र हुनुपर्छ भन्‍ने मापदण्ड नै हुन्। यो ती दुई कुरा हुन्। यसबारे विचार गर: के यो मूलतः ती दुई कुरा होइनन् र? (हुन्।) एउटा असल व्यवहार; अर्को मानव चरित्र र नैतिकताहरू। व्यक्ति जिउने मानवता र उसले आफूलाई व्यवहारमा ढाल्ने तरिका मापन गर्न मानवजातिले मुख्यतः दुईवटा कुराहरू मानकको रूपमा स्थापित गरेको छ: एउटाचाहिँ मानिसले बाहिरी रूपमा राम्रो व्यवहार गर्नुपर्छ भन्‍ने हो, र अर्कोचाहिँ ऊ आचरणमा नैतिकवान् बन्नुपर्छ भन्‍ने हो। तिनीहरूले यी दुई तत्वलाई व्यक्तिको भलाइ मापन गर्न प्रयोग गर्छन्। तिनीहरूले व्यक्तिको भलाइ मापन गर्न यी दुई तत्व प्रयोग गर्ने हुनाले, मानिसहरूको व्यवहार र नैतिकता मूल्याङ्कन गर्ने मापदण्डहरू त्यहीँबाट आए, अनि त्यसरी नै, मानिसहरूले स्वाभाविक रूपमा मानिसको नैतिक आचरण वा उसको व्यवहारबारेका अनेक किसिमका कथनहरू सुन्‍न थाले। के-कस्ता निश्‍चित भनाइहरू छन् त? के तिमीहरूलाई थाहा छ? उदाहरणका लागि, सरल कुरालाई लिऊँ: मानिसहरूको व्यवहार मापन गर्ने के-कस्ता मानक र भनाइहरू छन्? सुशिक्षित र समझदार, भद्र र परिष्कृत—यी कुरा बाहिरी व्यवहारसँग सम्‍बन्धित छन्। के यो शिष्ट बन्‍नु हो? (हो।) बाँकी पनि लगभग उस्तै छन्, र तिमीहरूले तुलना गरेर कुन-कुन शब्‍द र अभिव्यक्ति मानिसको व्यवहार मापन गर्ने मानक हुन्, र कुन-कुन कथन उसका नैतिकता मापन गर्ने मानक हुन् भन्‍ने थाहा पाउने छौ। अब, “स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान्‌ हुनुपर्छ”—त्यो बाहिरी व्यवहारको मानक हो कि नैतिकताको? (यो नैतिकता रनीतिसँग सम्‍बन्धित छ।) उदारता नि? (त्यो पनि नैतिकतासँग सम्बन्धित छ।) ठिक भन्यौ। यी कुराहरू नैतिकता र मानिसको नैतिक चरित्रसँग सम्‍बन्धित छन्। मानिसको व्यवहारसँग सम्‍बन्धित मुख्य कथनहरू भनेको शिष्ट बन्‍ने, भद्र र परिष्कृत बन्‍ने, र सुशिक्षित र समझदार बन्ने जस्ता कुरा हुन्। यी सबै कुरालाई मानिसले आफ्नो धारणामा सही र असल भनी कायम गर्छ; उसले ती कुराहरू सकारात्मक, परम्‍परागत संस्कृतिका दाबीहरूमा आधारित, वा कम्तीमा पनि विवेक र समझअनुरूप छन्, र नकारात्मक कुरा होइनन् भनी विश्‍वास गर्छ। हामी यहाँ मानिसहरूले सामान्यतया सही र असल मान्ने कुराहरूबारे कुरा गर्दै छौँ। त्यसकारण, मैले भर्खरै भनेका यी तीनवटा कुराबाहेक मानिसको असल व्यवहारबारे अरू के-कस्ता कथनहरू छन्? (ठूलालाई आदर गर्नु र सानालाई ख्याल गर्नु।) ठूलालाई आदर गर्नु र सानालाई ख्याल गर्नु, मिलनसार हुनु, व्यवहार गर्न सजिलो बन्नु—यी सबै कुरासँग मानिसहरू अलि परिचित हुन्छन् र ती बुझ्छन्। सुशिक्षित र समझदार, भद्र र परिष्कृत, शिष्ट बन्‍ने, ठूलालाई आदर गर्ने र सानालाई ख्याल गर्ने, मिलनसार हुने र व्यवहार गर्न सजिलो बन्ने—मानिसको मनमा, यी व्यवहार हुने हरेक व्यक्तिलाई असल, दयालु, र मानवता भएको व्यक्ति ठानिन्छ। हरेकले अरूलाई आफ्नो व्यवहारको आधारमा मापन गर्छ; तिनीहरू कुनै व्यक्तिको भलाइलाई उसको बाहिरी व्यवहारको आधारमा मूल्याङ्कन गर्छन्। मानिसहरूले कुनै व्यक्ति वृद्धि भएको छ कि छैन र उसमा मानवता छ कि छैन, ऊ अन्तरक्रिया गर्न र भरोसा गर्न लायक छ कि छैन भनेर परम्‍परागत संस्कृतिका सोचाइ र विचार अनि तिनीहरूले त्यो व्यक्तिमा देख्‍न सक्ने व्यवहारहरूअनुसार मूल्याङ्कन, निर्धारण, र मापन गर्छन्। के मानिसहरूमा भौतिक संसारमा घुस्ने क्षमता छ? अलिकति पनि छैन। मानिसहरूले व्यक्ति असल छ कि खराब छ, वा ऊ कस्तो व्यक्ति हो भनेर उसको व्यवहारको आधारमा मूल्याङ्कन गर्न र छुट्याउन मात्रै सक्छन्; मानिसहरूले कुनै व्यक्तिसँग अन्तरक्रिया, कुराकानी, र सहकार्य गरेर मात्रै यी कुराहरू अवलोकन र निर्धारण गर्न सक्छन्। तैँले मापन गर्ने क्रममा, “सुशिक्षित र समझदार बन्‍ने,” “मिलनसार हुने,” र “ठूलालाई आदर गर्ने र सानालाई ख्याल गर्ने” भन्‍नेजस्ता कथनहरू स्पष्टसँग प्रयोग गरे पनि नगरे पनि, तेरो मापनका मानकहरू यी कथनहरूभन्दा बाहिर जाँदैनन्। जब कुनै व्यक्तिले अर्को व्यक्तिको भित्री संसार देख्‍न सक्दैन, तब उसको व्यवहार र कार्य अवलोकन गरेर अनि व्यवहारसम्‍बन्धी यी मापदण्डहरू प्रयोग गरेर ऊ असल छ कि खराब, उच्च छ कि नीच, त्यो मापन गर्छ। वस्तवमा तिनीहरू यिनै कुरा प्रयोग गर्छन्। होइन त? (हो।) भर्खरै प्रस्तुत गरिएका कथनहरूका आधारमा, मानवजातिमा मापनका के-कस्ता मानकहरू छन्? मानवजातिले आफ्नो धारणामा असल र सही ठान्‍ने कुराहरू के-के हुन्? हामी आफ्नो सङ्गति र चिरफारलाई नैतिक आचरणसम्‍बन्धी कुराबाट सुरु गर्नुको सट्टा, मानिसले आफ्‍नो व्यवहारमा देखाउने र प्रकट गर्ने असल, सही र सकारात्मक कुराहरूबाट सुरु गरौँ। ती साँच्‍चै सकारात्मक कुराहरू हुन् कि होइनन् भनेर हेरौँ। त्यसकारण, के हामीले भर्खरै सूचीकृत गरेका कथनहरूमा सत्यतासँग सम्‍बन्धित कुनै कुरा छ? के त्यसका कुनै विषयवस्तु सत्यताअनुरूप छ? (छैन।) यदि कसैले त्यस्तो व्यक्ति, अर्थात् त्यस्तो व्यवहार र बाहिरी रूप भएको व्यक्ति बन्‍ने प्रयास गर्छ भने, के त्यो व्यक्तिले सत्यता पछ्याइरहेको हुन्छ? के उसले पछ्याउने कुरा सत्यता पछ्याइसँग सम्‍बन्धित छ? के यी व्यवहार भएको व्यक्तिले सत्यता अभ्यास गरिरहेको र पछ्याइरेहको हुन्छ? यी व्यवहार र प्रकटीकरणहरू भएको व्यक्ति साँचो अर्थमा असल व्यक्ति हो? उत्तर नकारात्मक आउँछ—ऊ होइन। यो प्रष्टै देखिन्छ।

हामी सुरुमा व्यक्ति सुशिक्षित र समझदार बन्ने भन्‍ने कथनलाई हेरौँ। “सुशिक्षित र समझदार बन्ने” भन्‍ने कथन आफैले के अर्थ दिन्छ, बता। (यसले ठिकैको शिष्ट र राम्रो आनीबानी भएको व्यक्तिलाई जनाउँछ।) “शिष्ट” हुनु भनेको के हो? (यसको अर्थ केही मात्रामा नियमबद्ध हुनु हो।) ठिक भनिस्। यस्ता व्यक्तिले के-कस्ता नियमहरू पालना गर्छ? तेरो उत्तर जति निश्‍चित हुन्छ, यो मामिला र यसको सारलाई उति नै राम्ररी बुझ्ने छस्। त्यसोभए, नियमबद्ध हुनु भनेको के हो? यहाँ एउटा उदाहरण छ। खाना खाँदा, ठूलो मान्छे नबसेसम्‍म सानाहरू बस्नै हुँदैन, र ठूलो मान्छे नबोलेको बेला सानाहरू चुपो लाग्नै पर्छ। ठूलो मान्छेको लागि राखिएको खानेकुरा, उनीहरूले खानू नभनेसम्‍म खानु हुँदैन। त्यसबाहेक, खाना खाँदा बोल्ने, दाँत देखाउने, वा जोरले हाँस्ने, वा ओठ चाट्ने, वा थालमा यताउता खोज्ने गर्नु हुँदैन। ठूलाहरूले खाइसकेपछि, सानाहरूले खान छोडेर उठ्नुपर्छ। तिनीहरूले ठूलाहरू गइसकेपछि मात्रै खाने क्रमलाई जारी राख्‍न सक्छन्। के यो नियम पालना गर्नु होइन र? (हो।) यी नियमहरू हरेक घर र परिवारमा, हरेक नाम र वंशको परिवारमा यी नियमहरू धेरथोर हुन्छन् नै। सबै मानिसहरू धेरथोर यी नियमहरू पालना गर्छन्, र यसो गर्ने क्रममा, तिनीहरू यी नियमहरूद्वारा नियन्त्रित हुन्छन्। हरेक परिवारमा फरक-फरक नियमहरू हुन्छन्—अनि ती कसले तय गर्छ? त्यो परिवारका पूर्वज र विगतका विभिन्न युगका आदरणीय बुज्रुगहरूले ती तय गर्छन्। महत्त्वपूर्ण बिदा र स्मरणीय दिनहरू मनाउँदा यी नियमहरूको विशेष महत्त्व हुन्छ; त्यसपछि सबैले ती पालन गर्नुपर्छ, कसैले छुट पाउँदैन। यदि कसैले नियमहरू तोड्छ वा उल्‍लङ्घन गर्छ भने, परिवारिक प्रतिबन्धद्वारा तिनीहरूलाई कठोर दण्ड दिइन्छ। कतिले त माफी माग्न परिवारको वेदीअगाडि घुँडासमेत टेक्‍नुपर्ने हुन सक्छ। नियमहरू तिनै हुन्। हामीले भर्खरै बताइएको घर वा परिवारमा लागू हुन सक्‍ने केही नियमहरूबारे मात्र कुरा गर्‍यौँ। के यस्ता नियमहरू “शिष्ट” हुनुको भाग होइनन् र? (हुन्।) कुनै व्यक्ति शिष्ट छ कि छैन भनेर उसले खाएको हेरेर नै भन्‍न सकिन्छ। यदि खाना खाँदा उसले ओठ चाट्छ, वा खानेकुरा छान्छ, वा आफ्नो गाँस अरूको भागमा हालिदिन्छ, खाँदा कुरा गर्छ, र जोरले हाँस्छ, र कतिपय अवस्थामा त आफूसँग बोल्‍ने व्यक्तिसँग चमचले देखाउँदै बोल्‍ने गर्छ भने, यो सबै कुराले उसको अशिष्टतालाई देखाइरहेको हुन्छ। व्यक्ति अशिष्ट छ भन्नुको अर्थ, अरूले उसको व्यवहारको सन्दर्भमा उसलाई चेतावनी दिन्छन्, प्रश्‍न उठाउँछन्, र घृणा गर्छन्। शिष्ट मानिसहरूको सन्दर्भमा भन्नुपर्दा, तिनीहरू खाँदा बोल्दैनन्, वा खितिती हाँस्दैनन्, न त तिनीहरू खानेकुरा छान्‍ने, वा आफ्नो गाँस अरूलाई दिने नै गर्छन्। तिनीहरू निकै निमयबद्ध हुन्छन्। अरूले तिनीहरूको व्यवहार र काम देखेर त्यसको आधारमा तिनीहरूलाई शिष्ट व्यक्ति भन्छन्। अनि तिनीहरूको यो शिष्टताको कारण, तिनीहरूले अरूको सम्‍मान र आदर, साथै स्‍नेह पाउँछन्। यो शिष्ट हुनुपछाडि लुकेको कारणको एउटा पक्ष हो। त्यसोभए, शिष्टता भनेको वास्तवमा के हो? हामीले भर्खरै भनिसक्यौँ: “शिष्टता” मानिसहरूको व्यवहारसँग मात्र सम्‍बन्धित छ। यी अन्तिम उदाहरणहरूमा, जस्तै खानपान गर्दा पुस्ताअनुसार ठूलालाई पहिला र सानालाई पछि प्राथमिकता दिइने क्रम रहेको छ। हरेकले ती नियमअनुसार आफ्‍नो ठाउँ पत्ता लगाउनैपर्छ; तिनीहरू गलत ठाउँमा बस्नै हुँदैन। बुज्रुग र जवान पुस्ता सबैले परिवारका नियमहरू पालना गर्छन्, जसलाई कसैले उल्‍लङ्घन गर्नु हुँदैन, र तिनीहरू अत्यन्तै नियमबद्ध, अति भद्र, अति उच्च, अति मर्यादि देखिन्छन्—तैपनि तिनीहरू जति नै यस्तो देखिए पनि, त्यो सब बाहिरी असल व्यवहार मात्रै हुन्छ। के यसमा भ्रष्ट स्वभाव समावेश हुन्छ? हुँदैन; यो मानिसहरूको बाहिरी व्यवहार मापन गर्ने मानकबाहेक केही होइन। कस्तो व्यवहार? मुख्यतः तिनीहरूको बोलीवचन र व्यवहार। उदाहरणका लागि, खाँदा बोल्‍नु हुँदैन वा चपाउँदा आवाज निकाल्‍नु हुँदैन। खान बस्दा, को पहिले बस्‍ने त्यसको क्रम हुन्छ। सामान्यतया, उभिने र बस्‍ने उचित तरिकाहरू हुन्छन्। यी सबै व्यवहार, अर्थात् बाहिरी व्यवहार मात्रै हुन्। त्यसकारण, के मानिसहरू साँच्‍चै यी नियमहरू पालना गर्न इच्छुक हुन्छन्? मानिसहरू यसबारे मनमनै के सोच्छन्? तिनीहरूलाई यो कस्तो लाग्छ? के यी दयनीय नियमहरू पालना गर्दा मानिसहरूलाई फाइदा पुग्छ? के यी कुराहरूले तिनीहरूलाई जीवनमा अघि बढाउँछन्? यी दयनीय नियमहरू पालना गर्नुमा के समस्या छ? के यो कामकुराप्रति कुनै व्यक्तिको दृष्टिकोण र जीवन स्वभावमा परिवर्तन आएको छ कि छैन भन्‍ने कुरासँग सम्‍बन्धित छ? पटक्‍कै छैन। यो मानिसहरूको व्यवहारसँग मात्रै सम्‍बन्धित छ। यसले मानिसहरूको व्यवहारसँग सम्‍बन्धित केही मापदण्डहरू, अर्थात् मानिसहरूले हासिल गर्नुपर्ने र पछ्याउनुपर्ने नियमहरूसम्‍बन्धी मापदण्डहरू मात्रै बनाउँछ। यी नियमहरूबारे कसैले जे सोचे पनि, र उसले यसलाई घृणा र तिरस्कार गरे पनि, आफ्‍नो परिवार र पूर्वजहरू, अनि पारिवारिक नियमको कारण ऊ यीअनुसार जिउन बाध्य हुन्छ। तर कोही पनि यी नियमहरूबारे मानिसहरूमा हुने निश्‍चित विचारहरू, वा मानिसहरूले यी कुराहरूलाई आफ्‍नो सोचाइअनुसार हेर्ने र लिने तरिका, वा तीप्रति तिनीहरूको दृष्टिकोण र मनोवृत्तिलाई अनुसन्धान गर्न अघि सर्दैन। तैँले असल व्यवहार देखाउनु र यो निश्चित सीमाभित्र यी नियमहरू पालना गर्नु नै पर्याप्त छ। यसो गर्नेहरू शिष्ट मानिस हुन्। “सुशिक्षित र समझदार बन्ने” भन्‍ने भनाइले मानिसहरूको व्यवहारसम्बन्धी मात्रै विभिन्न मागहरू राख्छ। यो मानिसहरूको व्यवहारलाई अर्थात् मानिसहरूको बस्ने र उभिने मुद्रा, तिनीहरूको शारीरिक हलचल, तिनीहरूको ज्ञानेन्द्रियहरूको हाउभाव, तिनीहरूको आँखा कस्तो देखिन्छ, तिनीहरूको मुख कसरी चल्छ, तिनीहरूको शिर कसरी फर्किन्छ इत्यादि कुरा समेटिएको व्यवहारलाईलाई सीमित गर्नको लागि मात्रै प्रयोग गरिन्छ। यसले मानिसहरूलाई तिनीहरूको मन, स्वभाव, र तिनीहरूको मानवताको सारलाई वास्ता नगरी बाहिरी व्यवहारको मानक प्रदान गर्छ। सुशिक्षित र समझदार बन्ने भन्‍ने कुराको मानक यस्तो छ। यदि तैँले यो मानक पूरा गरिस् भने, तँ सुशिक्षित र समझदार व्यक्ति होस्, र यदि तँमा सुशिक्षित र समझदार बन्ने भन्‍ने असल व्यवहार छ भने, तँ अरूको नजरमा आदर र सम्‍मान पाउनुपर्ने व्यक्ति होस्। के कुरा त्यस्तै होइन र? (हो।) त्यसोभए, के यो कथन मानिसको व्यवहारमा केन्द्रित छ? (छ।) व्यवहारसम्‍बन्धी यो मानकको वास्तवमा प्रयोग के हो? मुख्यतः यसको प्रयोग व्यक्ति शिष्ट र एकदमै नियमबद्ध छ कि छैन, अरूसँग व्यवहार गर्दा उसले अरूको आदर र सम्‍मान कमाउन सक्छ कि सक्दैन, र ऊ प्रशंसा पाउन योग्य छ कि छैन भनेर मापन गर्नु हो। मानिसहरूलाई यसरी मापन गर्नु पूर्णतया सत्यता सिद्धान्तहरूअनुरूप होइन। यो महत्त्वहीन छ।

भर्खरै हामीले गरेको सङ्गति मुख्य रूपमा व्यक्तिको वृद्धिसँग सम्‍बन्धित थियो, जुन “सुशिक्षित र समझदार बन्ने” भन्‍ने कथनले लादेका मापदण्डहरूमध्ये एउटा हो। “समझदार हुनु” ले केलाई जनाउँछ? (बानीबेहोरा र शिष्टाचार बुझेको देखाउनुलाई जनाउँछ।) त्यो अलि सतही हो, तर यो त्यसको भग हो। के “समझदार बन्‍नु” भनेको समझलाई देख्‍ने शिष्टता हुनु, र समझलाई मान्‍ने व्यक्ति हुनु होइन र? के हामीले यसलाई यति हदसम्म लिनुपर्ला र? (पर्छ।) असल बानीबेहोरा र शिष्टाचार बुझेको देखाउन, र समझलाई देख्ने शिष्टता हुन यति हदसम्म जानुपर्छ। त्यसकारण, यो सबलाई जोडेर हेर्दा, यदि कुनै व्यक्तिमा “सुशिक्षित र समझदार बन्न” मा चाहिने व्यवहारहरू छन् भने, समग्रमा उसले यस कुरालाई कसरी ठ्याक्कै देखाउँछ? के तिमीहरूले शिक्षित र समझदार व्यक्ति देखेका छौ? के तिमीहरूका बुज्रुगहरू र आफन्तहरू, वा मित्रहरूमाझ कुनै सुशिक्षित र समझदार व्यक्ति छ? तिनीहरूमा फरक विशेषता के छ? तिनीहरू अत्यधिक नियमहरू पालना गर्छन्। तिनीहरू आफ्‍नो बोलीवचनमा निकै होसियार हुन्छन्, जुन न त रुखो हुन्छ, नअशिष्ट, न त अरूलाई चोट पुर्‍याउने नै हुन्छ। तिनीहरू बस्दा, उचित रूपमा बस्छन्; उठ्दा, सही ढङ्गमा उठ्छन्। हरेक कुरामा, अरूले तिनीहरूको व्यवहार परिष्कृत र सन्तुलित देख्छन्, जसलाई तिनीहरू देखेर डाहा लाग्छ। मानिसहरूलाई भेट्दा, तिनीहरूले शिर र शरीर झुकाउँछन्, र शिर निहुराएर घुँडा टेक्छन्। तिनीहरू समाजको तल्‍लो तहको आनिबानी वा गुन्डागर्दी नदेखाई सार्वजनिक शालीनता र अध्यादेशहरू कडाइका साथ लागू गर्दै शिष्टतासाथ बोल्छन्। समग्रमा, तिनीहरूको बाहिरी व्यवहार देख्नेहरूमा सान्त्वना र सराहना पैदा हुन्छ। यद्यपि यसमा एउटा समस्या छ: तिनीहरूको हरेक कुरामा नियम हुन्छ। खाने नियम हुन्छ; सुत्‍ने नियम हुन्छ; हिँड्ने नियम हुन्छ; घरबाट हिँड्ने र घर फर्कने पनि नियम हुन्छ। यस्तो व्यक्तिको साथमा हुँदा जो कोहीलाई पनि निकै बन्धनमा परेको र अप्ठ्यारो महसुस हुन्छ। तिनीहरू कहिले नियमको कुरा उठाउँछन् तँलाई थाहा हुँदैन, र तैँले लापरवाह भएर त्यो उल्‍लङ्घन गरिस् भने, तँ निकै लापरवाह र अज्ञानी देखिन्छस्, जब कि तिनीहरूचाहिँ निकै परिष्कृत देखिन्छन्। तिनीहरू मुस्कुराउँदा पनि यति परिष्कृत तरिकाले मुस्कुराउँछन् कि दाँत देखाउँदैनन्, र तिनीहरू अरूको छेउमा रुँदैनन्, तर राती अरू सबै सुतेपछि कम्बल ओडेर रुन्छन्। तिनीहरूले जे गरे पनि, त्यो नियमअनुसार हुन्छ। “शिक्षादीक्षा” भनेको त्यही हो। यस्ता मानिसहरू शिष्टताको संसारमा, एकदमै ठूलो परिवारमा जिउँछन्; तिनीहरूसँग एकदमै धेरै नियम र धेरै प्रकारका शिक्षादीक्षा हुन्छ। तैँले यस कुरालाई जसरी व्याख्या गरे पनि, सुशिक्षित र समझदार बन्नमा चाहिने असल व्यवहारहरू त व्यक्ति हुर्केको वातावरणले उसमा हालिदिने, र उसले आफ्‍नो व्यवहारमा लागू गर्ने उच्‍च मानक र कडा नियमहरूद्वारा उसमा क्रमिक रूपले प्रभाव पर्ने देखावटी असल व्यवहार हुन्। यस्तो व्यवहारले मानिसहरूमा जस्तोसुकै प्रभाव पार्न सके पनि, त्यसमा व्यक्तिको बाहिरी व्यवहार मात्रै समावेश हुन्छ, र यस्तो बाहिरी व्यवहारलाई मानिसले असल ठान्ने व्यवहार, मानिसहरूले मरिमेट्ने र अनुमोदन गर्ने व्यवहार भए पनि, त्यो मानिसको स्वभावभन्दा फरक कुरा हो। व्यक्तिको बाहिरी व्यवहार जति नै असल भए पनि, यसले उसको भ्रष्ट स्वभावलाई ढाक्‍न सक्दैन; व्यक्तिको बाहिरी व्यवहार जति असल भए पनि, यसले उसको भ्रष्ट स्वभावमा आउने परिवर्तनको स्थान लिन सक्दैन। सुशिक्षित र समझदार व्यक्तिको व्यवहार निकै अनुशासित हुने भए पनि, यसले अरूको आदर र सम्‍मान पाउने भए पनि, उसको भ्रष्ट स्वभाव प्रकट हुँदा उसको त्यो असल व्यवहार कुनै कामको हुँदैन। उसको व्यवहार जति नै उच्च र परिपक्‍व भए पनि, जब सत्यता सिद्धान्तहरू मुछिएको कुरा उसलाई आइपर्छ, तब उसको त्यो असल व्यवहार कुनै कामको हुँदैन, न त त्यसले उसलाई सत्यता बुझ्‍न नै प्रेरित गर्छ—बरु, उसले सुशिक्षित र समझदार बन्नु सकारात्मक कुरा हो भन्‍ने आफ्नो धारणामा विश्‍वास गर्ने हुनाले त्यो कुरालाई सत्यताको रूपमा लिन्छ, जसद्वारा उसले परमेश्‍वरले भन्‍ने वचनहरूलाई मापन गर्छ र तीबारे सवाल उठाउँछ। उसले त्यो कथनअनुसार आफ्‍नो बोलीवचन र कामलाई मापन गर्छ, र अरूलाई मापन गर्ने उसको मानक पनि यही नै हुन्छ। अब “सत्यता पछ्याउनु भनेको के हो” भन्‍ने परिभाषालाई हेर्—सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर पूर्ण रूपमा परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र कामकुराहरूलाई हेर्नु, अनि आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु। अब, सुशिक्षित र समझदार बन्न चाहिने बाहिरी व्यवहारको परमेश्‍वरका वचनहरू र सत्यतासँग कुनै सम्‍बन्ध छ? (छैन।) ती असम्बन्धित मात्रै होइनन्—ती आपसमा बाझिन्छन्। कहाँ बाझिन्छन्? (यस्ता भनाइहरूले मानिसहरूलाई बाहिरी असल व्यवहारमा मात्रै ध्यान दिन र तिनीहरूभित्रको अभिप्राय र भ्रष्ट स्वभावहरूलाई बेवास्ता गर्न लगाउँछन्। यी भनाइहरूले मानिसहरूलाई यी बाहिरी व्यवहारहरूले बहकिने अनि आफ्नो सोचाइ र विचारहरूमा के छ भनेर मनन नगर्ने तुल्याउँछ, जसले गर्दा तिनीहरू आफ्‍नो भ्रष्ट स्वभावलाई देख्‍न सक्दैनन्, र अरूलाई तिनीहरूको व्यवहारअनुसार अन्धाधुन्ध डाहा गर्ने र उपासना गर्नेसमेत गर्छन्।) परम्‍परागत संस्कृतिका कथनहरूलाई स्विकार्नुका परिणाम यिनै हुन्। त्यसकारण, जब मानिसले यी असल व्यवहारहरूको प्रदर्शन देख्छन्, तब उसले ती व्यवहारहरूलाई मूल्यवान् ठान्छ। उसले यी व्यवहारहरू असल र सकारात्मक कुरा हुन् भनेर विश्‍वास गर्न थाल्छ, र ती सकारात्मक कुरा हुन् भन्‍ने आधारमा उसले ती कुरालाई सत्यताझैँ लिन्छ। त्यसपछि, उसले यसलाई मापदण्ड बनाएर आफूलाई रोकटोक लगाउँछ र अरूलाई मापन गर्छ; उसले यसलाई मानिसहरू र कामकुरालाई हेर्ने आधार मान्छ, अनि साथै उसले यसलाई आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने आधारको रूपमा लिन्छ। त्यसभए के यो सत्यतासँग बाझिएको होइन र? (बाझिएको हो।) अहिलेलाई हामी व्यक्ति सुशिक्षित र समझदार बन्नुपर्छ भन्‍ने कथनले मानिसहरूलाई बहकाउँछ कि बहकाउँदैन भन्‍ने कुरा पन्छाएर यो कथनकै बारेमा कुरा गर्ने छौँ। “सुशिक्षित र समझदार बन्ने”—यो सभ्य र उच्च वाक्यांश हो। सबैलाई यो कथन मन पर्छ, अनि यो सही, असल, र मापदण्ड हो भन्‍ने मान्यताको आधारमा मानिसले अरूलाई मापन गर्न अनि मानिसहरू र कामकुरालाई हेर्न यो कथन प्रयोग गर्छ। अनि साथै उसले यसलाई आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने आधारको रूपमा पनि लिन्छ। उदाहरणका लागि, मानिसले कसैको भलाइलाई परमेश्‍वरका वचनहरूको आधारमा मापन गर्दैन। उसले यो केको आधारमा गर्छ? “के यो व्यक्ति सुशिक्षित र समझदार छ? के उसको बाहिरी व्यवहार संस्कारी छ? के ऊ नियमअनुसार राम्ररी चल्छ? के ऊ अरूलाई आदर गर्छ? के उसको चालचलन राम्रो छ? के ऊ अरूसँग कुरा गर्दा नम्र मनोवृत्ति देखाउँछ? के कोङ रोङले ठूला नास्पाती त्यागेजस्तै[क], के उसमा असल व्यवहार छ? के ऊ त्यस्तै व्यक्ति हो?” उसले केको आधारमा यी प्रश्‍नहरू खडा गर्छन् र दृष्टिकोणहरू राख्छन्? पहिलो, यो सुशिक्षित र समझदार बन्ने भन्‍ने मापदण्डमा आधारित हुन्छ। के उसले त्यसलाई आफ्‍नो मापदण्डको रूपमा प्रयोग गर्नु सही हो? (होइन।) किन सही होइन? यति सरल उत्तर छ, र पनि तिमीहरू बताउन सक्दैनौ। किनभने परमेश्‍वर त्यसरी मापन गर्नुहुन्‍न, र उहाँले मानिसलाई त्यसो गर्न लगाउनुहुन्‍न। यदि मानिसले त्यसो गर्छ भने, उसले भूल गर्छ। यदि कसैले कुनै व्यक्ति वा घटनालाई यसरी मापन गर्छ भने, यदि उसले यसलाई मानिसहरू र कामकुरालाई हेर्ने मापदण्डको रूपमा प्रयोग गर्छ भने, उसले सत्यता र परमेश्‍वरका वचनहरू उल्‍लङ्घन गरिरहेको हुन्छ। त्यो त परम्‍परागत धारणा र सत्यता बाझिएको हो। होइन त? (हो।) परमेश्‍वरले मानिसलाई केको आधारमा अरूको मापन गर्न लगाउनुहुन्छ? उहाँले मानिसलाई केअनुसार मानिसहरू र कामकुरालाई हेर्न लगाउनुहुन्छ? (उहाँको वचनअनुसार।) उहाँले मानिसलाई उहाँको वचनअनुसार मानिसहरूलाई हेर्न लगाउनुहुन्छ। निश्चय नै, यसो गर्नु भनेको व्यक्तिमा मानवता छ कि छैन भनेर उहाँको वचनअनुसार मापन गर्नु हो। यो यसको एउटा भाग हो। त्यसबाहेक, यो कुरा व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन, उसमा परमेश्‍वरको डर मान्ने हृदय छ कि छैन, र ऊ सत्यता पालना गर्न सक्छ कि सक्दैन भन्‍ने कुरामा आधारित हुन्छ। के यसका निश्‍चित विषयहरू यिनै होइनन् र? (यिनै हुन्।) त्यसोभए, मानिसले अर्को व्यक्तिको भलाइलाई केको आधारमा मापन गर्छ? ऊ संस्कारी र नियमबद्ध छ कि छैन, खाँदा उसले ओठ चाट्ने, वा गाँसैपिच्छे खानेकुरा यताउता छान्‍ने गर्छ कि गर्दैन, खाना खाने बेला ठूलो मान्छे बसेपछि मात्रै बस्छ कि बस्दैन। तिनीहरू अरूलाई मापन गर्न यस्ता कुराहरू प्रयोग गर्छन्। के यी कुराहरू प्रयोग गर्नु भनेको सुशिक्षित र समझदार बन्ने भन्‍ने व्यवहारको मानक प्रयोग गर्नु होइन र? (हो।) के त्यस्तो मापन सही हुन्छ? के त्यो सत्यताअनुरूप हुन्छ? (हुँदैन।) त्यो सत्यताअनुरूप हुँदैन भनेर एकदमै स्पष्ट छ। त्यसोभए, यस्तो मापनको परिणाम के हुन्छ? मापन गर्ने व्यक्तिले सुशिक्षित र समझदार जोसुकै व्यक्ति असल हुन्छ भन्‍ने विश्‍वास गर्छ, र यदि तैँले उसलाई सत्यताबारे सङ्गति गर्न लगाइस् भने, उसले मानिसहरूलाई सधैँ घरेलु नियम र शिक्षाहरू, अनि असल व्यवहारहरू सिकाइरहेको हुने छ। अनि उसले मानिसहरूलाई यी कुराहरू सिकाउनुका परिणामस्वरूप उसले मानिसहरूलाई असल व्यवहार सिकाउने छ, तर ती मानिसहरूको भ्रष्ट सार पटक्कै परिवर्तन हुने छैन। कामकुरा गर्ने यस्तो शैली सत्यता र परमेश्‍वरको वचनभन्दा निकै पर हुन्छ। यस्ता मानिसहरूमा केही असल व्यवहार मात्रै हुन्छन्। त्यसोभए, के असल व्यवहारको कारण तिनीहरूभित्रको भ्रष्ट स्वभाव परिवर्तन हुन सक्छ? के तिनीहरू परमेश्‍वरप्रति समर्पित र बफादार हुन सक्छन्? अवश्य नै सक्दैनन्। यी मानिसहरू केमा परिवर्तन भएका हुन्छन्? फरिसीहरूमा परिवर्तन भएका हुन्छन्, जो बाहिरी रूपमा असल व्यवहार भएका हुन्छन् तर आधारभूत रूपमा सत्यतालाई नबुझ्‍ने, र परमेश्‍वरमा समर्पित हुन नसक्‍ने हुन्छन्। त्यसै होइन त? (हो।) फरिसीहरूलाई हेर् त—के तिनीहरू त्रुटिरहित देखिँदैन थिए र? तिनीहरू विश्राम दिन मान्थे; विश्राम दिनमा तिनीहरू केही पनि गर्दैन थिए। बोलीवचनमा तिनीहरू शिष्ट थिए, निकै निमयबद्ध र नियम पालक, निकै संस्कारी, निकै सभ्य र ज्ञानी थिए। तिनीहरू देखावटी रूप धारण गर्न सिपालु र परमेश्‍वरको डर पटक्‍कै नमान्ने, तर उहाँलाई आलोचना र निन्दा गर्ने भएकोले, अन्त्यमा उहाँले तिनीहरूलाई श्राप दिनुभयो। परमेश्‍वरले तिनीहरूलाई ढोँगी फरिसीहरूकोरूपमा परिभाषित गर्नुभयो, जो सबै दुष्कर्मी थिए। त्यसरी नै, सुशिक्षित र समझदार बन्ने भन्‍ने असल व्यवहारलाई आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने मापदण्डको रूपमा प्रयोग गर्ने मानिसहरू सत्यता पछ्याउने मानिस होइनन् भन्‍ने कुरा स्पष्ट हुन्छ। जब तिनीहरू अरूलाई मापन गर्न अनि आफूलाई व्यवहारमा ढाल्न र कार्य गर्न यो नियम प्रयोग गर्छन्, तब अवश्य नै सत्यता पछ्याइरहेका हुँदैनन्; र जब तिनीहरू कुनै व्यक्ति वा कुराबारे न्याय गर्छन्, तब त्यो न्यायको मानक र आधार सत्यताअनुरूप हुँदैन, तर यसको उल्लङ्घन भएको हुन्छ। तिनीहरू व्यक्तिको व्यवहार र उसको तौरतरिकामा मात्रै ध्यान दिन्छन्, उसको स्वभाव र सारमा ध्यान दिँदैनन्। तिनीहरूको आधार परमेश्‍वरको वचन वा सत्यता हुँदैन; बरु, तिनीहरूको मापन त सुशिक्षित र समझदार बन्ने भन्‍नेजस्ता परम्‍परागत संस्कृतिको व्यवहारको मानकमा आधारित हुन्छ। यस्तो मापनको परिणामस्वरूप व्यक्तिमा सुशिक्षित र समझदार बन्ने भन्‍ने बाहिरी असल व्यवहार छ भने, व्यक्ति असल र परमेश्‍वरका अभिप्रायहरूअनुरूप हुन्छ भन्‍ने तिनीहरूलाई लाग्छ। जब मानिसहरू यस्तो वर्गीकरण गर्छन्, तब तिनीहरूले अवश्य नै सत्यता र परमेश्‍वरका वचनहरूप्रति विपरीत अडान लिएका हुन्छन्। अनि तिनीहरूले मानिसहरू र कामकुरालाई हेर्ने अनि आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने व्यवहारसम्‍बन्धी यो मापदण्डलाई जति प्रयोग गर्छन्, यसबाट हुने परिणामले तिनीहरू सबैलाई परमेश्‍वरको वचन र सत्यताबाट झन् टाढा लैजान्छ। त्यसपछि पनि तिनीहरूलाई आफूले गर्ने कुरामा रमाइलो लाग्छ र तिनीहरू आफूले सत्यता पछ्याइरहेको छु भन्‍ने ठान्छ। तिनीहरू परम्‍परागत संस्कृतिका केही असल कथनहरू पालना गरेर आफूले सत्यतामा र साँचो मार्गमा हिँडिरहेको छु भन्‍ने ठान्छन्। तैपनि, तिनीहरूले यी कुरालाई जति पालना गरे पनि, तिनमा जति नै जोड लगाए पनि, अन्त्यमा तिनीहरूले परमेश्‍वरको वचनको, सत्यताको कुनै अनुभव पाउने छैनन्, न तिनलाई कदर नै गर्नेछन्, न त तिनीहरू अलिकति पनि परमेश्‍वरमा समर्पित नै हुने छन्। यसले परमेश्‍वरप्रतिको साँचो डर जगाउन सक्नु त परको कुरा हो। मानिसहरूले सुशिक्षित र समझदार बन्ने भन्‍नेजस्ता कुनै पनि र सबै असल व्यवहारहरू पालना गर्दा यस्तै हुन्छ। मानिसले असल व्यवहारमा, यसअनुसार जिउनुमा, वा यसलाई पछ्याउनुमा जति ध्यान दिन्छ, ऊ परमेश्‍वरका वचनहरूबाट त्यति नै टाढा हुन्छ—अनि मानिस परमेश्‍वरको वचनबाट जति टाढा हुन्छ, उसले सत्यता त्यति नै बुझ्‍न सक्दैन। यो अचम्मको कुरा होइन। यदि कसैको व्यवहारमा सुधार आउँछ भने, के त्यसको अर्थ उसको स्वभाव परिवर्तन भएको होइन र? के तिमीहरूले यस्तो अनुभव गरेका छौ? के तिमीहरूले कहिल्यै थाहै नपाई सुशिक्षित र समझदार मानिस बन्‍ने प्रयास गरेका छौ? (छौँ।) किनभने व्यक्ति सुशिक्षित, र समझदार बन्दा अरूको नजरमा आदरणीय र उच्च देखिन्छ भन्‍ने सबैले बुझ्छन्। अरूले तिनीहरूलाई निकै आदर गर्छन्। कुरा यही नै हो, होइन र? (हो।) त्यसकारण, यी असल व्यवहारहरू हुनु खराब कुरा अवश्य होइन। तर के यी असल व्यवहारहरू र यी असल देखावटी रूपहरू प्राप्त गर्दा मानिसको भ्रष्ट स्वभाव हट्न सक्छ? के यसले मानिसहरूलाई खराब कुरा गर्नबाट रोक्‍न सक्छ? सक्दैन भने, यस्तो असल व्यवहारको के काम? यो राम्रो देखिने मात्रै हो; यसको कुनै काम छैन। के यस्तो असल व्यवहार हुने मानिसहरू परमेश्‍वरमा समर्पित हुन सक्छन्? के तिनीहरू सत्यता स्विकार्न र अभ्यास गर्न सक्छन्? अवश्य नै सक्दैनन्। असल व्यवहारले मानिसको सत्यता अभ्यासको स्थान लिन सक्दैन। यो त फरिसीहरूलाई भए जस्तै हो। तिनीहरूको व्यवहार राम्रो थियो, र तिनीहरू निकै भक्त थिए, तर तिनीहरूले प्रभु येशूलाई कस्तो व्यवहार गरे? तिनीहरूले मानवजातिका मुक्तिदातालाई क्रूसमा टाँग्‍न सक्छन् भनेर कसैले पनि कल्‍पना गरेको थिएन। त्यसकारण, देखावटी असल व्यवहार मात्रै भएको तर सत्यता प्राप्त नगरेकाहरू जोखिममा हुन्छन्। तिनीहरूले अझै परमेश्‍वरलाई विरोध गरिरहलान् र धोका दिइरहलान्। यदि तिमीहरूले यो कुरा बुझ्न सकेनौ भने, सदाझैँ तिमीहरू अझै पनि असल व्यवहार भएका मानिसहरूद्वारा बहकाइन सक्छौ।

सुशिक्षित र समझदार बन्ने भन्‍ने भनाइ मानिसको परम्‍परागत धारणा हो। यो सत्यतासँग पटक्‍कै मेल खाँदैन। यो सत्यतासँग बाझिने हुनाले, यदि मानिसले सत्यता अभ्यास गर्‍यो भने, उसमा वास्तवमा के हुनुपर्छ? कुन वास्तविकतामा जिउँदा त्यो सत्यता र परमेश्‍वरको मापदण्डअनुरूप हुन्छ? के तँलाई थाहा छ? यस्तो सङ्गति सुनेपछि, कतिले यसो भन्लान्, “सुशिक्षित र समझदार बन्नु सत्यतासँगमेल खाँदैन, र यो बाहिरी असल व्यवहार मात्रै हो भनेर तपाईं भन्‍नुहुन्छ। त्यसकारण, हामी अबदेखि सुशिक्षित र समझदार मानिस बन्ने छैनौँ। जीवन अझ निस्फिक्री खालको हुनेछ, रोकटोकबिनाको, कुनै पनि नियमले नबाँधिएको हुनेछ। हामी आफूले चाहको कुरा गर्न, आफूले चाहेअनुसार जिउन सक्छौँ। त्यसपछि त हामी कति निस्फिक्री हुने छौँ! मानिसको असल व्यवहार उसको परिणामसँग सम्‍बन्धित नहुने हुनाले अब हामी झनै स्वतन्त्र हुन्छौँ। हामीले संस्कारी हुने, नियमहरू पालन गर्ने, वा यस्ता कुनै पनि कुराबारे चिन्ता गर्नुपर्दैन।” के यसबाट लिने सही कुरा यही हो? (होइन।) यो त विकृत बुझाइ हो; तिनीहरू हदै नाघ्ने गल्ती गर्छन्। त्यसोभए, के त्यस्तो गल्ती गर्ने कोही हुन्छ? कतिपयले यसो भन्लान्, “संस्कारी मानिसहरूले अझै परमेश्‍वरलाई विरोध गर्ने र धोका दिने भएकोले, म संस्कारी व्यक्ति बन्ने छैनँ। मलाई त संस्कारी मानिसहरूप्रति घृणा जाग्‍न थालेको छ। म ती व्यक्तिहरूलाई घृणा गर्छु, जो सुशिक्षित र समझदार, भद्र र परिष्कृत, शिष्ट छन्, जो ठूलालाई आदर र सानालाई ख्याल गर्छन्, जो मिलनसार छन्। म यस्ता कुराहरू प्रकट गर्ने जो कोहीलाई तुच्छ ठान्छु, र तिनीहरूलाई सबैमामु हप्काउँछु: ‘तिम्रो व्यवहार त फरिसीहरूको जस्तै छ। यो अरूलाई बहकाउनका लागि हो। यो सत्यता पछ्याउनु होइन, सत्यता अभ्यास गर्नु त परको कुरा हो। हामीसँग चाल चल्ने प्रयास गर्न छोड—हामी तिम्रो छल वा चालमा पर्ने छैनौँ!’” के तिमीहरू त्यसरी कार्य गर्छौ? (गर्दैनौँ।) तिमीहरूले त्यसो नगर्नु सही हो। तैँले यस्तो समझहीन कुरा गरेको भए, यसको अर्थ तँ विकृतिमा पर्ने सम्भावना भएको व्यक्ति होस् भन्‍ने हुनेथ्यो? विकृत बुझाइ भएका कतिपय मानिसहरूमा सत्यताको साँचो बोध हुँदैन—तिनीहरूमा बुझ्ने क्षमता हुँदैन। तिनीहरू नियमहरू पालन गर्नेबाहेक केही गर्न सक्दैनन्, र तिनीहरू त्यस्तै कार्य गर्छन्। त्यसोभए, किन हामी यो समस्याबारे सङ्गति र यसलाई चिरफार गर्छौँ? मुख्यतः मानिसहरूलाई सत्यता पछ्याउनु भनेको बाहिरी असल व्यवहार पछ्याउनु होइन, न त आफूलाई राम्रो व्यवहार गर्ने, नियम पालन गर्ने, र संस्कारी बन्ने बनाउनु नै हो भनेर बुझ्न लगाउनु हो। बरु, यो त आफूलाई सत्यता बुझ्न, अभ्यास गर्न र सत्यताअनुसार काम गर्न सक्‍ने बनाउनु हो, अर्थात् तैँले गर्ने सबै कुरा परमेश्‍वरको वचनमा आधारित हुन्छन्, ती सबै सत्यतासँग मेल खान्छन्। सत्यतासँग मेल खाने र परमेश्‍वरको वचनलाई आफ्‍नो आधार बनाउने व्यवहार प्रस्तुत गर्नु अनि सुशिक्षित र समझदार बन्नु एउटै कुरा होइन, न त ती अनि परम्‍परागत संस्कृति र परम्‍परागत नैतिकताले मानिसबाट माग गर्ने मानकहरू नै एउटै हुन्। ती दुई फरक-फरक कुरा हुन्। परमेश्‍वरका वचनहरू सत्यता हुन्, र मानिसको भलाइ र खराबी, सही र गलतलाई मापन गर्ने एकमात्र मापदण्ड ती नै हुन्। अर्कोतर्फ, परम्‍परागत संस्कृतिको सुशिक्षित र समझदार बन्ने भन्‍ने मानक सत्यता सिद्धान्तहरूको मानकको एक छेउ पनि पुग्न सक्दैन। परमेश्‍वरले कहिले, कामको कुन चरणमा, तँलाई नीच स्वार्थविनाको सुशिक्षित, समझदार, संस्कारी, र उच्च व्यक्ति बन्नैपर्छ भनेर भन्‍नुहुन्छ? के परमेश्‍वरले यस्तो कुरा भन्‍नुभएको छ? (छैन।) उहाँले भन्‍नुभएको छैन। त्यसोभए, परमेश्‍वर मानिसको व्यवहारसम्बन्धी के-कस्तो कथन र मापदण्ड दिनुहुन्छ? सत्यतालाई आफ्‍नो मापदण्ड बनाएर पूर्ण रूपमा परमेश्‍वरको वचनअनुसार आफूलाई व्यवहारमा ढाल् र कार्य गर्। त्यसोभए परमेश्‍वरका वचनहरूको त्यो आधार के हो? अर्थात्, सत्यता पछ्याउन र अभ्यास गर्न तैँले कुन सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा प्रयोग गर्नुपर्छ, र कस्तो जीवन जिउनैपर्छ? के यो बुझ्‍नुपर्ने कुरा होइन र? (हो।) त्यसोभए, मानिसको व्यवहारसम्‍बन्धी परमेश्‍वरको वचनका मानकहरू के-के हुन्? के तिमीहरूले यसबारे स्पष्ट पार्ने उहाँका वचनहरू खोज्न सक्छौ? (परमेश्‍वरका वचनहरूले भन्छ, “मलाई एकदमै धेरै आशा छ। म आशा गर्दछु कि तिमीहरूले उचित र शिष्ट तवरले व्यवहार गर्न, विश्‍वसनीय रूपले आफ्नो कर्तव्य निर्वाह गर्न, सत्यता र मानवता बोक्न, यस्ता मानिस बन्छौ जसले परमेश्‍वरको लागि आफूसँग भएका सबै कुरा र ज्यानै पनि त्याग्न सक्छ, र यस्तै-यस्तै अन्य कुराहरू गर्न सक्छौ। यी सबै आशाहरू तिमीहरूका अपर्याप्तताहरू अनि तिमीहरूका भ्रष्टता र विद्रोहीपनबाट आएका हुन्” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपराधले मानिसलाई नरकमा पुर्‍याउँछ)।) ती सबै वचनहरू मानिसको व्यवहारका सिद्धान्त र मापदण्ड हुन्। त्यसोभए, निश्‍चित अभ्याससँग सम्‍बन्धित परमेश्‍वरका अरू कुन-कुन वचनहरू छन्? (एउटा अर्को खण्ड पनि छ, जसले भन्छ, “तेरो हृदय निरन्तर शान्त स्थितिमा हुनैपर्छ अनि तँलाई परिस्थिति आइपर्दा विचारहीन, पूर्वाग्रही, जिद्दी, उग्र, देखावटी वा झूटो पटक्कै हुनु हुँदैन, ताकि तैँले समझअनुसार कार्य गर्न सकेस्। यो नै सामान्य मानवताको उचित प्रकटीकरण हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भ्रष्ट स्वभाव समाधान गर्ने मार्ग)।) त्यो अलि निश्‍चित अभ्यास हो। ती मानिसको बाहिरी व्यवहार र शैलीका निश्‍चित नियम र मापदण्ड हुन्। के तिनलाई परमेश्‍वरका वचनहरूको आधार मान्न सकिन्छ? के ती काफी निश्‍चित छन्? (छन्।) ती फेरि पढ्। (“तेरो हृदय निरन्तर शान्त स्थितिमा हुनैपर्छ अनि तँलाई परिस्थिति आइपर्दा विचारहीन, पूर्वाग्रही, जिद्दी, उग्र, देखावटी वा झूटो पटक्कै हुनु हुँदैन, ताकि तैँले समझअनुसार कार्य गर्न सकेस्। यो नै सामान्य मानवताको उचित प्रकटीकरण हो।”) यी बुँदाहरूको टिपोट ले; तिमीहरूले भविष्यमा कार्य गर्दा पालना गर्नुपर्ने सिद्धान्तहरू तिनै हुन्। तिनले मानिसहरूलाई आफूले आफ्नो व्यवहार र कार्यमा विवेकी भई परिस्थितिको सामना गर्न सिक्नुपर्छ, अनि विवेक र समझ चलाएर कार्य गर्ने आधारमा सत्यता सिद्धान्तहरू खोज्‍न अझ सक्षम हुनैपर्छ भनेर बताउँछन्। यसरी आफूलाई व्यवहारमा ढाल् र कार्य गर्, अनि सिद्धान्तहरू, साथै अभ्यासको मार्ग पाइने छ।

हामीले भर्खरै उल्‍लेख गरेका केही कुरा हुन्: “तँलाई परिस्थिति आइपर्दा विचारहीन, पूर्वाग्रही, जिद्दी, उग्र, देखावटी वा झूटो पटक्कै हुनु हुँदैन, ताकि तैँले समझअनुसार कार्य गर्न सकेस्”—के यी कुराहरू गर्न सजिलो छ? वास्तवमा, केही समय तालिम गरेपछि, ती सबै गर्न सकिन्छ। यदि कुनै व्यक्तिले साँच्‍चै यी कुराहरू गर्न सक्दैन भने, के गर्नुपर्ने त? तैँले एउटा मात्रै कुरा गरिस् भने, ठिक हुनेछ, भन्नुको मतलब, जब तँ कुनै समस्या सामना गर्छस्, वा अरूसँग अन्तरक्रिया गर्छस्, तब तैँले कम्तीमा पनि एउटा कुरा पालना गर्नुपर्छ: तैँले अरूलाई सुधार गर्ने किसिमले आफूलाई व्यवहारमा ढाल्नैपर्छ र कार्य गर्नैपर्छ। सबैभन्दा आधारभूत कुरा यही हो। यदि तैँले यसअनुसार र यसलाई आफ्नो मापदण्ड मानेर अभ्यास गरिस् र पालना गरिस् भने, मुख्यतः तैँले अरूलाई ठूलो हानि पुऱ्याउँदैनस्, न त आफूमाथि नै कुनै ठूलो हानि ल्याउनेछस्। तैँले अरूलाई सुधार गर्ने किसिमले आफूलाई व्यवहारमा ढाल् र कार्य गर्—के त्यसमा विस्तृत कुराहरू छन्? (छन्।) अरूका हितमा हानि पुऱ्याएर आत्मसन्तुष्टि लिने नगर्; अरूको कष्टमा खुसी र आनन्द नबटुल्। सुधार गर्नु भनेको यही हो। त्यस्तो सुधारलाई बुझ्‍ने सबैभन्दा आधारभूत तरिका के हो? यसको अर्थ तेरो व्यवहार अरूलाई सहनयोग्य, मानवताको विवेक र समझले मापन गरिएको हुनैपर्छ; यो मानवताको विवेक र समझअनुरूप हुनैपर्छ। के यो मानवता भएको जोकोही यसअनुरूप जिउन सकोस् भनेर होइन र? (हो।) मानिलिऊँ कुनै व्यक्ति कोठामा आराम गरिरहेको छ, र तँ आसपासका कुराहरू यादै नगरी भित्र गएर गीत गाउन र सङ्गीत बजाउन थाल्छस्। के त्यो उचित हुन्छ? (हुँदैन।) के त्यसो गर्नु भनेको अरूको कष्टमा आफूले आनन्द र खुसी बटुल्नु हुँदैन र? (हुन्छ।) यदि कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू पढिरहेको वा सत्यतामा सङ्गति गरिरहेको बेला, तैँले बिचैमा तिनीहरूसँग आफ्‍नै समस्याबारे कुरा गर्छस् भने, के त्यो तिनीहरूलाई आदर गरेको हुन्छ? के त्यो तिनीहरूलाई उत्थान नगरेको हुँदैन र? (हुन्छ।) उत्थान नगर्नु भनेको के हो? कम्तीमा पनि, यसको अर्थ तँ अरूलाई आदर गर्दैनस् भन्‍ने हो। तैँले अरूको बोली वा काममा बाधा दिनु पटक्कै हुँदैन। के त्यो सामान्य मानवले हासिल गर्न सक्‍ने कुरा होइन र? यदि तैँले त्यो पनि हासिल गर्न सक्दैनस् भने, तँमा साँच्‍चै विवेक वा समझ छैन। के विवेक वा समझ नभएकाहरू सत्यतामा प्रवेश गर्न सक्छन्? सक्दैनन्। सत्यता अभ्यास त विवेक र समझ भएकाहरूले मात्रै कम्तीमा पनि हासिल गर्न सक्‍ने कुरा हो, र तँ सत्यता पछ्याउँछस् भने, आफ्‍नो बोली र काममा कम्तीमा पनि विवेक र समझका मानकअनुरूप हुनैपर्छ; तेरो वरिपरिका मानिसहरूले तँलाई सहनीय पाउनैपर्छ र सबैले तँलाई स्विकार्नैपर्छ। हामीले भर्खरै भनेको कुरा यही हो: तेरा कार्यहरू कम्तीमा पनि अरूलाई शिष्ट र सुधारात्मक लागोस्। के अरूलाई सुधार गर्नु र फाइदा पुऱ्याउनु एउटै हो? वास्तवमा, होइन—सुधार गर्नु भनेको आपसमा अरूको स्थानको आदर गर्नु, र तिनीहरूलाई अवरोध नपुऱ्याउनु, रोकावट नदिनु, वा हस्तक्षेप नगर्नु हो; यो तेरो व्यवहारको कारण तिनीहरूलाई हानि पुग्न वा कष्ट महसुस गर्न नदिनु हो। सुधारा गर्नु भनेको त्यही हो। तिमीहरू यसलाई कसरी बुझ्छौ? सुधारा गर्नु भनेको तँ अरूलाई कति फाइदा पुऱ्याउँछस् भन्‍नेबारे होइन; यो त तेरो स्वेच्‍छाचारी र अनुचित व्यवहारद्वारा तिनीहरूलाई आफ्नो हित र अधिकार प्रयोग गर्न नरोकी र तीबाट बन्चित नगरी आफ्नो उचित हित र अधिकार लिन सक्ने बनाउनु हो। के त्यही होइन त? (हो।) अहिले तिमीहरूलाई मानिसको चालचलन र कार्यका लागि परमेश्‍वरका मापदण्डहरूसँग सम्‍बन्धित उहाँका केही वचन थाहा छ, तर पनि म अझै तिमीहरूलाई भन्छु, सबैभन्दा आधारभूत कुरा भनेको तिमीहरूको चालचलन र कार्य अरूको सुधार गर्ने हुनैपर्छ। यो कार्यको सिद्धान्त हो। के तिमीहरूले सुधा गर्नु भनेको के हो भनेर बुझ्यौ? (बुझ्यौँ।) कतिपय मानिस आफ्‍नो बोली र कामले अरूको सुधार हुन्छ कि हुँदैन भनेर सोचविचार गर्दैनन्, तैपनि आफू सुशिक्षित र समझदार भएको दाबी गर्छन्। के त्यो धोकाधडी होइन र? चालचलन र कार्यले अरूको सुधार गर्नु—के त्यसबाट सिक्‍न सकिने पाठ छैन र? सायद यो कुनै व्यवहार देखाउनु हुन सक्छ, तैपनि के यो पूरा गर्न सजिलो हुन्छ? यदि कसैले थोरै सत्यता बुझ्छ भने, उसलाई सिद्धान्तअनुसार कसरी कार्य गर्ने, अरूलाई सुधार गर्ने गरी कसरी कार्य गर्ने, र अरूलाई फाइदा हुने गरी कसरी काम गर्ने भन्‍ने कुरा थाहा हुन्छ। यदि कसैले सत्यता बुझ्दैन भने, उसलाई के गर्ने भनेर थाहा हुँदैन; उसले आफ्‍ना धारणा र कल्‍पनामा भर परेर मात्रै काम गर्न सक्छ। कतिपय मानिस आफूलाई जे आइपरे पनि आफ्‍नो दैनिक जीवनमा कहिल्यै सत्यता खोज्दैनन्। तिनीहरू अरूलाई कस्तो लाग्ला भन्‍ने वास्ता नगरी आफ्‍नो इच्छाअनुसार काम गर्छन्। के त्यस्तो कार्यका सिद्धान्त हुन्छ? हुन्छ कि हुँदैन भनेर तिमीहरूले देख्न सक्नुपर्छ, होइन र? तिमीहरू सबै प्रायजसो भेला भएर परमेश्‍वरका वचनहरू पढ्छौ; यदि तिमीहरूले साँच्‍चै अलिकति सत्यता बुझ्‍न सक्यौ भने, तिमीहरूअभ्यास गर्न र सत्यता सिद्धान्तअनुसार केही मामलामा संलग्‍न हुन सक्‍नेछौ। त्यस्तो अभ्यासले तँलाई कस्तो महसुस गराउँछ? त्यसले अरूलाई कस्तो महसुस गराउँछ? यदि तैँले त्यो महसुस गर्न जोड प्रयास गरिस् भने, कस्तो अभ्यासले अरूको सुधार गर्छ भनेर जान्नेछस्। सामान्यतया, तिमीहरूलाई केही कुरा आइपर्दा, त्यो जेसुकै भए पनि, तिमीहरू सामान्य मानवता वा सत्यता अभ्यासलाई समेट्ने तरिकाले कसरी कार्य गर्ने भन्‍ने वास्तविक समस्याबारे विचार गर्दैनौ। त्यसकारण, तिमीहरूलाई केही कुरा आइपर्दा, यदि कसैले तिमीहरूलाई कस्तो अभ्यास वा कार्यले अरूको सुधार गर्छ भनेर सोध्यो भने, तिमीहरूलाई यसको उत्तर दिन गाह्रो हुनेछ, मानौँ कुनै स्पष्ट मार्ग छैन। मैले भेलाहरूमा सङ्गति गर्ने सबै कुरा यी वास्तविक जीवनका समस्या हुन्, तैपनि तिमीहरूलाई ती आइपर्दा, तिमीहरू थेग्न सक्दैनौ र सधैँ तिमीहरूको दिमाग शून्य हुन्छ। के यसमा विसङ्गति छैन र? (छ।) त्यसोभए तिमीहरूले परमेश्‍वरप्रतिको विश्‍वासबाट के प्राप्त गर्‍यौ? केही धर्मसिद्धान्त र नाराहरू। तिमीहरू कति दीन र दयनीय छौ!

मानिसले आफ्‍ना धारणाहरूमा सही र असल ठानेका कुराहरू भनी हामीले छलफल गरेका कुराहरूमध्ये एउटा—सुशिक्षित र समझदार हुनु—मा मानिसका केही निर्द्धिष्ट धारणा र कल्‍पना, साथै मानिसले यो व्यवहारलाई बुझ्‍ने केही परम्‍परागत शैली छन्। छोटकरीमा, अब यो व्यवहार प्रदर्शनलाई हेर्दा, हामी यसको सत्यता वा साँचो मानवतासँग कुनै सम्‍बन्ध छैन भन्‍ने देख्‍छौँ। किनभने यसमा सत्यताको एकदमै कमी हुन्छ र यसलाई सत्यताको रूपमा लिन सकिँदैन, त्यसबाहेक, यस्तो व्यवहार मान्छेले मानिसहरू र कामकुरालाई हेर्नेबारे, परमेश्‍वरले मान्छेबाट माग गर्ने मापदण्डहरूसँग आधारभूत रूपमा मेल खाँदैन, साथै उसको चालचलन र कार्यसँग पनि यस्तो व्यवहार पूर्ण रूपमा मिल्दैन र सम्बन्धित हुँदैन। यो त मानिसको व्यवहार मात्रै हो। मानिसले यो व्यवहार जति नै राम्ररी देखाए पनि, र यसको जति नै पर्याप्त मात्रामा अभ्यास गरे पनि, यो एक प्रकारको व्यवहार मात्रै हो। यो त साँचो सामान्य मानवता गनिनसमेत योग्य हुँदैन। व्यक्ति सुशिक्षित र समझदार हुनैपर्छ भन्‍ने कथन मानिसको बाहिरी व्यवहारलाई पूर्ण रूप दिने तरिका मात्रै हो। मानिसले आफूलाई राम्रोसँग अन्तिम रूप दिएर सुन्दर बनाउनका लागि सुशिक्षित र समझदार व्यक्ति बन्‍न धेरै प्रयास गर्छ, यसरी उसले अरूको आदर र सम्‍मान कमाउँछ, अनि आफ्‍नो समूहमा आफ्‍नो स्थान र मूल्य बढाउँछ। तर वास्तवमा त्यस्तो व्यवहार साँचो व्यक्तिमा हुनुपर्ने नैतिकता, सत्यनिष्ठा, र मर्यादाको स्तरमा समेत पुग्दैन। सुशिक्षित र समझदार हुनु भन्‍ने कथन परम्‍परागत संस्कृतिबाट आएको हो, र यो त भ्रष्ट मानवजातिले आफूले पालना गर्नुपर्ने कुरा ठानी तय गरेको व्यवहार देखिनु हो। यी व्यवहार प्रदर्शन व्यक्तिको आफ्नो समूहमा उसको स्थान र मूल्य बढाउनका लागि हो, ताकि तिनीहरूले अरूको सम्‍मान कमाउन सकून् र तिनीहरू सबैभन्दा दह्रिलो, समूहमा कसैले तिरस्कार गर्न वा धम्काउन नसक्ने व्यक्ति बन्न सकून्। यो बाहिरी व्यवहारको नैतिकता वा मानवताको गुणस्तरसँग कुनै सम्‍बन्ध हुँदैन, तैपनि मानिस यसलाई अत्यन्तै उच्च ठान्छ र अत्यन्तै महत्त्व दिन्छ। त्यसमा कति धेरै धोकाधडी हुन्छ तिमीहरू आफै हेर! त्यसकारण, यदि तैँले अहिलेको पछ्याइ सुशिक्षित, समझदार व्यक्ति बन्नु हो, र तँ आफ्‍नो व्यवहारलाई नियन्त्रण गरिरहेको छस्, र सुशिक्षित र समझदार बन्ने लक्ष्य लिएर आफ्नो पछ्याइ र अभ्यासमा जोरदार प्रयास गर्छस् भने, म तँलाई यो कार्य तुरुन्तै रोक्न आग्रह गर्छु। यस्तो व्यवहार र विधिले तँलाई झन्-झन् धेरै छद्मवेशी र झन्-झन् धेरै ढोँगी बनाउन सक्छ, अनि यस्तो हुँदा, तँ इमानदार, सरल, र खुलस्त व्यक्ति त झनै बन्न सक्दैनस्। तँ जति धेरै सुशिक्षित, समझदार व्यक्ति बन्ने प्रयास गर्छस्, उति नै तैँले छद्मवेशी बन्नेछस्, अनि जति धेरै छद्मवेश धारण गर्छस्, अर्थात् तेरो छद्मवेश जति गहन हुन्छ, अरूलाई तेरो मापन गर्न वा तँलाई बुझ्‍न त्यति नै गाह्रो हुन्छ, अनि तेरो भ्रष्ट स्वभाव त्यति नै गहन रूपमा लुक्नेछ। त्यसो गरिस् भने, तँलाई सत्यता र मुक्ति प्राप्त गर्न एकदमै गाह्रो हुनेछ। त्यसकारण, यी बुँदाहरूलाई ध्यानमा राखी हेर्दा, के सुशिक्षित र समझदार व्यक्ति बन्न पछ्याउने मार्ग र सत्यता पछ्याउने मार्ग एउटै हो? के यो उचित पछ्याइ हो? (होइन।) सुशिक्षित र समझदार बन्ने व्यवहारको नकारात्मक निचोड र नकारात्मक परिणामबाहेक पनि, के यो व्यवहारपछाडि अरू र आफूविरुद्ध अझै धोकाधडी लुकेको हुँदैन र? (हुन्छ।) सुशिक्षित र समझदार व्यक्तिले आफूभित्र बताउन नसकिने धेरै रहस्य लुकेको हुन्छ, र त्योभन्दा पनि बढी, उसले अरूलाई थाहा नभएको, अरूलाई नीच, अप्रिय, दुष्ट, र घृणित लाग्ने सबै प्रकारको गलत सोच, धारणा, दृष्टिकोण, मनोवृत्ति र विचार, लुकाउँछ। सुशिक्षित र समझदार व्यक्तिको असल व्यवहारपछाडि अझै धेरै भ्रष्ट स्वभाव लुकेको हुन्छ। यस्तो व्यक्तिसँग त्यस्तो व्यवहार प्रदर्शनको खोल ओढेर आफ्‍नो भ्रष्ट स्वभाव सामना गर्ने साहस हुँदैन, न त उसँग आफ्‍नो भ्रष्ट स्वभाव स्विकार्ने आत्मविश्‍वास नै हुन्छ। झन् उसमा आफ्‍नो भ्रष्ट स्वभाव, विकृत ज्ञान, दुष्ट विचार, अभिप्राय, र उद्देश्यबारे, वा सायद उसको दुर्भावनापूर्ण, कटु विचारहरूबारे खुलस्त बताउने साहस र आत्मविश्‍वास हुनु त परको कुरा हो। ऊभित्र धेरै कुरा लुकेका हुन्छन्, र कसैले पनि ती देख्‍न सक्दैन; मानिसहरूले त आफूसामु तथाकथित “असल व्यक्ति” मात्रै देख्छन्, जोसँग सुशिक्षित र समझदार हुने असल व्यवहार हुन्छ। के यो धोकाधडी होइन र? (हो।) त्यो व्यक्तिको व्यवहार, कार्य प्रस्तुति, पछ्याइ, र सार सबै नै धोकाधडीको मामिला हो। उसले अरूलाई ठगिरहेको हुन्छ, र उसले आफूलाई ठगिरहेको हुन्छ। त्यस्तो व्यक्तिको अन्तिम परिणाम के हुनेछ? उसले सुशिक्षित, समझदार व्यक्ति बन्‍नका लागि, परमेश्‍वरलाई त्याग्छ, साँचा मार्गतर्फ पिठ्यूँ फर्काउँछ, र परमेश्‍वर उसलाई तिरस्कार गर्नुहुन्छ। सुशिक्षित र समझदार बन्ने असल व्यवहारपछाडि मानिसले हर गोप्य कुनामा छद्मवेश धारण गर्ने र धोकाधडी गर्ने आफ्‍ना तरकिब र व्यवहारहरू लुकाएको हुन्छ, र त्यसो गर्ने क्रममा, उसले अहङ्कारी, दुष्ट, सत्यता मन नपराउने, उग्र, र हठी स्वभाव लुकाउँछ। त्यसकारण, व्यक्ति जति सुशिक्षित र समझदार हुन्छ, र ऊ त्यति नै धोकेबाज हुन्छ, उसले सुशिक्षित र समझदार व्यक्ति बन्‍ने जति धेरै प्रयास गर्छ, ऊ त्यति नै कम सत्यतालाई प्रेम गर्छ, अनि ऊ त्यति नै सत्यता र परमेश्‍वरका वचनलाई मन नपराउने व्यक्ति बन्छ। लौ भन त, कुरा त्यस्तै हुँदैन त? (हुन्छ।) अहिलेका लागि हामी सुशिक्षित र समझदार बन्ने असल व्यवहारसम्‍बन्धी हाम्रो सङ्गतिलाई यतिमै समाप्त गर्नेछौँ।

अहिले भर्खरै हामीले परम्‍परागत संस्कृतिको असल व्यवहारसम्‍बन्धी एउटा कथनबारे सङ्गति गर्‍यौँ: सुशिक्षित र समझदार हुनु। हामी अरू केही कथनबारे हामी एक-एक गरेर सङ्गति गर्नेछैनौँ। समूहको रूपमा, असल व्यवहारसम्‍बन्धी सबै कथन मानिसको बाहिरी व्यवहार र छविलाई पूर्ण रूप दिने तरिका मात्रै हुन्। “पूर्ण रूप दिनु” यसका लागि राम्रो वाक्यांश हो; अझै यसलाई ठ्याक्कै भन्नुपर्दा, यो वास्तवमा छद्मवेशको प्रकार, अरूलाई आफूबारे राम्रो ठान्न लगाउन, तिनीहरूलाई आफ्नो सकारात्मक मूल्याङ्कन गर्न, आदर गर्न लगाउनका लागि चाल चल्न झूटो रूप देखाउने तरिका हो, तर व्यक्तिको हृदयको कालो पक्ष, उसका भ्रष्ट स्वभाव, र उसको साँचो रूप सबैलाई लुकाइएको हुन्छ र राम्ररी ढाकिएको हुन्छ। सायद हामी यो कुरालाई यसरी पनि बताउन सक्छौँ: यी असल व्यवहारहरूको ज्योतिभित्र भ्रष्ट मानवजातिको हरेक सदस्यको वास्तविक भ्रष्ट अनुहार लुकेको हुन्छ। यसभित्र अहङ्कारी स्वभाव, छली स्वभाव, उग्र स्वभाव, र सत्यता मन नपराउने स्वभावसहितको दुष्ट मानवजातिको हरेक सदस्य लुकेको हुन्छ। चाहे व्यक्तिको बाहिरी व्यवहार सुशिक्षित र समझदार, वा भद्र र परिष्कृत होस्, या ऊ मिलनसार र व्यवहार गर्न सजिलो, ठूलालाई आदर गर्ने र सानालाई ख्याल गर्ने, वा यस्तै कुनै कुरा होस्, त्यसले केही फरक पार्दैन—उसले यीमध्ये जुनसुकै कुरा प्रकट गरे पनि, यो अरूले देख्‍न सक्‍ने बाहिरी व्यवहारबाहेक केही होइन। यसले उसलाई असल व्यवहारमार्फत आफ्‍नो प्रकृति सारतर्फ डोऱ्याउँदैन। मानिस सुशिक्षित र समझदार हुने, भद्र र परिष्कृत बन्ने, व्यवहार गर्न सजिलो र मिलनसार बन्ने व्यवहारबारे राम्रो देखिए पनि, यहाँसम्म कि सारा मानव संसारले नै उसलाई रुचाए पनि, यी असल व्यवहारहरूपछाडि मानिसको भ्रष्ट स्वभाव साँच्चै लुकेको हुन्छ भन्‍ने तथ्यलाई नकार्न सकिँदैन। मानिसले सत्यता मन नपराउनु, परमेश्‍वरको प्रतिरोध र उहाँविरुद्ध विद्रोह गर्नु, सृष्टिकर्ताद्वारा व्यक्ति वचनहरू मन नपराउने, र सृष्टिकर्ताको प्रतिरोध गर्ने उसको प्रकृति सार—यी साँच्‍चै हुन्छन्। त्यो झूटो होइन। कुनै व्यक्तिले जति राम्ररी नाटक गरे पनि, उसको व्यवहारहरू जति उचित वा राम्रो देखिए पनि, उसले जति राम्ररी वा सुन्दर रूपमा देखावटी व्यवहार गरे पनि, वा ऊ जति नै छली भए पनि, हरेक भ्रष्ट व्यक्ति शैतानी स्वभावले भरिएको हुन्छ भन्‍ने तथ्य इन्कार गर्न सकिँदैन। यी बाहिरी व्यवहारहरूको मकुन्डोपछाडि, तिनीहरूले अझै पनि परमेश्‍वरविरुद्ध विरोध र विद्रोह गर्छन्, सृष्टिकर्ताविरुद्ध विरोध र विद्रोह गर्छन्। अवश्य नै, मानवजातिले यी असल व्यवहारहरूलाई वस्‍त्र र आवरण बनाएर हरदिन, हरघडी र हरक्षण, हरमिनेट र सेकेन्ड, हरेक मामलामा भ्रष्ट स्वभाव देखाउँछ, जुन अवधिमा तिनीहरू भ्रष्ट स्वभाव र पापमा जिउँछन्। यो निर्विवाद तथ्य हो। मानिसको राम्रो व्यवहार, मनपर्दा शब्‍दहरू, र झूटो बाहिरी रूपको बाबजुद, उसका बाहिरी व्यवहारहरूले गर्दा उसको भ्रष्ट स्वभाव अलिकति पनि कम भएको हुँदैन, न त कुनै परिवर्तन नै भएको हुन्छ। यसको विपरीत, उसले यी बाहिरी असल व्यवहारहरूको खोल ओडेको हुनाले, उसको भ्रष्ट स्वभाव निरन्तर प्रकट हुन्छ, र उसले दुष्ट काम गर्ने र परमेश्‍वरको प्रतिरोध गर्ने आफ्‍ना कदमहरू कहिल्यै रोक्दैन—अनि अवश्य नै, ऊ आफ्नो उग्र र दुष्ट स्वभावद्वारा नियन्त्रित भएर, उसको महत्त्वाकाङ्क्षा, चाहना, र अत्यधिक मागहरू निरन्तर बढिरहेका र विकास भइरहेका हुन्छन्। मलाई भन त, शिष्ट, मिलनसार, व्यवहार गर्न सजिलो व्यक्ति कहाँ छ, जसको वास्तविक छवि अनि उसको व्यवहार र कार्यको आधार सकारात्मक र परमेश्‍वरका वचन अर्थात् सत्यताअनुसार छन्? सत्यतालाई प्रेम गर्ने, परमेश्‍वरका वचनहरूमा आफ्‍नो जीवनको दिशा र उद्देश्य खोज्‍न इच्छुक, मानवजातिको मुक्तिमा योगदान दिएको सुशिक्षित र समझदार, भद्र र परिष्कृत व्यक्ति कहाँ छ? के तिमीहरू त्यस्तो व्यक्ति एक जना पनि भेट्टाउन सक्छौ? (सक्दैनौँ।) वास्तविकता के हो भने, मानवजातिमाझ कुनै व्यक्ति जति ज्ञानले भरिपूर्ण हुन्छ, ऊ जति शिक्षित हुन्छ, र उसँग जति धेरै विचार, हैसियत, र प्रतिष्ठा हुन्छ—सायद उसलाई सुशिक्षित र समझदार, मिलनसार, व्यवहार गर्न सजिलो व्यक्ति भन्‍न सकिए पनि—उसले लिखित रूपमा अघि सार्ने दाबीहरूले त्यति नै धेरै मानिसहरूलाई बहकाउँछन्, र उसले त्यति नै धेरै दुष्कर्म गर्छ, र परमेश्‍वरप्रति उसको प्रतिरोध त्यति नै गम्‍भीर बन्छ। ठूलो प्रतिष्ठा र हैसियत भएका मानिसहरूले अरूलाई झन् बढी बहकाउँछन्, र परमेश्‍वरविरुद्ध तिनीहरूको प्रतिरोध झनै चर्को हुन्छ। मानवजातिको इतिहासभरिका चर्चित मानिस, महान् व्यक्ति, विचारक, शिक्षाविद, लेखक, क्रान्तिकारी, राजनेता, वा कुनै क्षेत्रका त्यस्तै कुनै महान् हस्तीहरूलाई हेर्—तिनीहरूमध्ये कोचाहिँ सुशिक्षित र समझदार, व्यवहार गर्न सजिलो र मिलनसार भएका छैनन् र? तिनीहरूमध्ये कसले अरूको प्रशंसा पाउने र अरूको आदर पाउन लायक बन्ने तरिकामा देखावटी व्यवहार गरेनन्? तर वास्तवमा तिनीहरूले मानवजातिका लागि के योगदान दिएका छन्? तिनीहरूले मानवजातिलाई सही मार्गमा डोर्‍याएका छन् कि पथभ्रष्ट बनाएका छन्? (पथभ्रष्ट बनाएका छन्।) तिनीहरूले मानवजातिलाई सृष्टिकर्ताको प्रभुत्वमा डोऱ्याएका छन् कि शैतानको पैतालामुनि पुर्‍याएका छन्? (शैतानको पैतालामुनि पुऱ्याएका छन्।) तिनीहरूले मानवजातिलाई सृष्टिकर्ताको सार्वभौमिकता, प्रबन्ध, र मार्गदर्शनमा सहभागी हुन दिएका छन् कि शैतानको कुल्चीमल्ची, क्रूरता, र दुर्व्यवहार भोग्न लगाएको छ? इतिहासका बहादुर, चर्चित, महान्, उच्च, असाधारण, र शक्तिशाली मानिसहरूमध्ये कसले करोडौँ मानिसहरू नमारी आफ्‍नो अख्‍तियार र हैसियत प्राप्त गरेका छन्? तिनीहरूमध्ये कसले मानवजातिलाई धोकाधडी नगरी, नबहकाई, र नलोभाई प्रतिष्ठा कमाएका छन्? यसो हेर्दा, तिनीहरू दैनिक जीवनमा अरूसँग अन्तरक्रिया गर्दा व्यवहार गर्न सजिलो, र सहज, अनि आफ्‍नो बोलीवचनमा अरू समान रहेर मिलनसार भएको देखिन्छन्—तर तिनीहरूले पर्दापछाडि गर्ने कुरा पूर्ण रूपमा फरक हुन्छ। तिनीहरूमध्ये कतिपयले अरूलाई फन्दामा पार्न षड्यन्त्र रच्छन्; कतिपय अरूलाई सताउन र हानि गर्न चाल चल्छन्; अरूचाहिँ बदला लिने मौका खोज्छन्। धेरैजसो राजनेता अनगिन्ती मानिसहरूलाई निर्दयी व्यवहार गर्छन् र हानि पुऱ्याउँछन्। तिनीहरूले अनगिन्ती मानिसहरूलाई दबाएर अनि तिनीहरूको रगत बगाएर आफ्‍नो हैसियत कमाएका र प्रभाव जमाएका हुन्छन्, तैपनि सार्वजनिक अवस्थामा मानिसहरूले तिनीहरूको व्यवहार गर्न सजिलो र मिलनसार व्यवहार मात्रै देख्छन्। मानिसहरूले उनीहरूको भद्र र परिष्कृत, सुशिक्षित र समझदार, शालीन रूप मात्रै देख्छन्। बाहिरबाट तिनीहरू शिष्ट, भद्र र परिष्कृत हुन्छन्, तर त्यसको पछाडि भने तिनीहरू अनगन्ती मानिसहरूको हत्या गर्छन्, अनगन्ती मानिसहरूको सम्पत्ति हडप्छन्, अनगिन्ती मानिसहरूमाथि प्रभुत्व जमाउँछन् र तिनीहरूसँग खेलबाड गर्छन्। तिनीहरू हर मिठो शब्द बोल्छन् र हर दुष्ट कुरा गर्छन्, अनि कुनै लाज नमानी, निर्लज्जसाथ मञ्चबाट प्रवचन दिन्छन्, अरूलाई कसरी व्यवहार गर्न सजिलो, सुशिक्षित र समझदार मानिस बन्‍ने, कसरी देश र मानवजातिप्रति योगदान दिने मानिस बन्ने र जनताको सेवक बन्‍ने, कसरी आफूलाई राष्ट्रप्रति समर्पित गर्ने भनेर सिकाउँछन्। के त्यो निर्लज्जपन होइन र? तिनीहरू सबै निर्भीक, लालची र निकम्मा हुन्! छोटकरीमा, नैतिकताका परम्‍परागत धारणाहरू पालना गर्ने असल व्यवहार भएको व्यक्ति हुनु भनेको सत्यता खोजी गर्नु होइन; यो सृष्टि गरिएको साँचो व्यक्ति बन्‍ने खोजी होइन। यसविपरीत, यी असल व्यवहारहरू खोजी गर्नुपछाडि धेरै रहस्यमयी र अकथनीय गुप्त कुराहरू लुकेका हुन्छन्। मान्छेले जस्तोसुकै असल व्यवहार खोजी गरे पनि, यसको उद्देश्य अझ धेरै मानिसहरूको स्‍नेह र सम्‍मान पाउनु, आफ्‍नो हैसियत बढाउनु, र मानिसहरूका अघि आफूलाई आदरणीय अनि भरोसा र अभिभाराको योग्य छु भनी प्रस्तुत गर्नुबाहेक अरू केही हुँदैन। यदि तँ त्यस्तो शिष्ट व्यक्ति बन्‍ने प्रयास गर्छस् भने, के यो त प्रसिद्ध र महान्‌ व्यक्तिहरूको जस्तो गुण भएन र? यदि तँ राम्रो व्यवहार गर्ने व्यक्ति मात्रै होस्, तर परमेश्‍वरको वचनलाई प्रेम गर्दैनस् र सत्यता स्वीकार गर्दैनस् भने, गुणको हिसाबमा, तँ तिनीहरूजस्तै हुन्छस्। अनि परिणाम के हुन्छ? तैँले सत्यतालाई त्यागेको हुन्छस्; तैँले मुक्ति पाउने मौका गुमाएको हुन्छस्। यो सबैभन्दा मूर्ख व्यवहार हो—यो मूर्खको छनौट र खोजी हो। के तिमीहरूले कहिल्यै आफूले लामो समयदेखि आदर गर्दै आएको त्यस्तो महान्, चर्चित, अनि स्टेजमा देखिने आकर्षक व्यक्ति बन्‍ने चाहना गरेका छौ? त्यस्तो मिलनसार र व्यवहार गर्न सजिलो व्यक्ति बन्‍ने चाहना गरेका छौ? त्यस्तो शिष्ट, भद्र र परिष्कृत, शिक्षित र समझदार व्यक्ति बन्‍ने चाहना गरेका छौ? बाहिरबाट हेर्दा मित्रवत् र प्रेमिलो देखिने त्यस्तो व्यक्ति बन्‍ने चाहना गरेका छौ? के तिमीहरूले यसभन्दा पहिले मानिसहरूलाई यसरी पछ्याएका र पूजा गरेका छैनौ र? (छौँ।) यदि तैँले अझै पनि यसरी मानिसहरूलाई पछ्याइरहेको, र अझै पनि मानिसहरूलाई यसरी आदर्श मानिरहेको छस् भने, म तँलाई भन्छु: तँ मृत्युबाट त्यति टाढा छैनस्, किनभने तैँले आदर्श मान्‍ने मानिसहरू असल भएको बहाना गर्ने दुष्ट मानिसहरू हुन्। परमेश्‍वरले दुष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्‍न। यदि तँ दुष्ट मानिसहरूलाई आदर्श मान्छस् र सत्यता स्वीकार गर्दैनस् भने, अन्त्यमा तँ पनि नष्ट हुनेछस्।

व्यवहार गर्न सजिलो र मिलनसारजस्ता असल व्यवहारपछाडि रहेको सारलाई एउटै शब्‍दमा व्याख्या गर्न सकिन्छ: बहाना। त्यस्तो असल व्यवहार परमेश्‍वरको वचनबाट उत्पन्न हुँदैन, न त त्यो सत्यता अभ्यास वा सिद्धान्तअनुसार कार्य गर्नुको परिणाम नै हो। यसलाई केले पैदा गर्छ? यो मानिसहरूको मनसाय, युक्ति, बहाना, देखावटी व्यवहार, र छलबाट आउँछ। जब मानिसहरू यस्ता असल व्यवहारहरूमा टाँसिहन्छन्, तब आफूले चाहेको कुरा प्राप्त गर्ने उद्देश्य राख्छन्; नत्र तिनीहरू कहिल्यै आफूलाई यसरी कष्टमा पारेर आफ्नो इच्‍छाविपरीत जिउने थिएनन्। आफ्‍नो इच्‍छाविपरीत जिउनु भनेको के हो? त्यो के हो भने तिनीहरूको साँचो प्रकृति मानिसहरूले कल्‍पना गरेजस्तो शिष्ट, निष्कपट, भद्र, दयालु, र सद्गुणी हुँदैन। तिनीहरू विवेक र समझअनुसार जिउँदैनन्; बरु, तिनीहरू निश्‍चित लक्ष्‍य वा माग हासिल गर्न जिउँछन्। मानिसको साँचो प्रकृति कस्तो हुन्छ? यो भ्रमित र अज्ञानी हुन्छ। परमेश्‍वरले प्रदान गरेको व्यवस्था र आज्ञाविना मानिसहरूलाई पाप के हो भन्‍ने थाहा हुनेथिएन। के मानवजाति पहिले यस्तै थिएन र? परमेश्‍वरले व्यवस्था र आज्ञाहरू दिनुभएपछि मात्रै मानिसहरूले पापको धारणा केही मात्रामा पाए। तर अझै तिनीहरूले सही र गलत, वा सकारात्मक र नकारात्मक कुराहरूको अवधारणा पाएका थिएनन्। अनि, यस्तो अवस्था भएकाले, कसरी तिनीहरूलाई बोल्‍ने र व्यवहार गर्नेबारे सही सिद्धान्तहरू थाहा हुन सक्थ्यो र? के तिनीहरूले सामान्य मानवतामा काम गर्ने कुन शैली, कस्तो असल व्यवहार हुनुपर्छ भनेर जान्‍न सक्थे? के तिनीहरूले केले साँच्चै असल व्यवहार पैदा गर्छ र मानव रूपमा जिउन आफूले कस्तो मार्ग पछ्याउनुपर्छ भन्‍ने कुरा जान्‍न सक्थे? सक्दैनथे। मानिसहरूको शैतानी प्रकृतिको कारण, तिनीहरूको नैसर्गिक प्रवृत्तिको कारण, तिनीहरूले शिष्ट रूपमा, र मर्यादासाथ जिउने बहाना र नाटक मात्र गर्न सक्थे—जसले गर्दा सुशिक्षित र समझदार, भद्र र परिष्कृत, शिष्ट हुने, ठूलोलाई आदर र सानालाई ख्याल गर्ने, अनि मिलनसार र व्यवहार गर्न सजिलो बन्नेजस्ता छलहरू पैदा भए; यसरी छलका यी चाल र तरकिबहरू पैदा भए। यी कुरा पैदा भएपछि, मानिसहरूले यी छलहरूमध्ये एक वा केही छानेर त्यसैमा टाँसिरहे। कतिपयले मिलनसार र व्यवहार गर्न सजिलो हुने निर्णय गरे, कतिले सुशिक्षित र समझदार अनि भद्र र परिष्कृत, कतिले शिष्ट, ठूलोलाई आदर र सानालाई ख्याल गर्ने बन्न निर्णय गरे, कतिपयले चाहिँ यी सबै बन्ने निर्णय गरे। तैपनि म यस्तो असल व्यवहार भएका मानिसहरूलाई एउटै अभिव्यक्तिले परिभाषित गर्छु। त्यो अभिव्यक्ति के हो? “चिल्‍ला ढुङ्गाहरू।” चिल्‍ला ढुङ्गाहरू भनेको के हुन्? यी ढुङ्गाहरू धेरै वर्ष पानीको बहावले गर्दा रगडिएर चिल्‍ला भएका चिल्‍ला ढुङ्गा हुन्। तिनमा टेक्दा नदुख्ला, तैपनि होसियार भइएन भने मानिसहरू तिनमा चिप्‍लन सक्छन्। हेर्नमा र आकारमा ती ढुङ्गाहरू एकदमै सुन्दर देखिन्छन्, तर घर लगेपछि ती कामै लाग्दैन। ती फाल्‍न मन लाग्दैन, तर राख्‍नुको पनि कुनै अर्थ हुँदैन—“चिल्‍लो ढुङ्गा” यस्तै हुन्छ। मेरा लागि, यस्ता असल व्यवहार भएको देखिने मानिसहरू तातो न चिसो हुन्छन्। तिनीहरू बाहिर असल भएको बहाना गर्छन्, तर पटक्कै सत्यता स्विकार्दैनन्, तिनीहरू मिठो कुरा गर्छन्, तर कुनै वास्तविक कुरा गर्दैनन्। तिनीहरू केवल चिल्‍ला ढुङ्गा हुन्। यदि तैँले तिनीहरूलाई सत्यता र सिद्धान्तबारे सङ्गति दिइस् भने, तिनीहरूले तँलाई भद्र र परिष्कृत, अनि शिष्ट बन्‍नेबारे बताउनेछन्। यदि तैँले तिनीहरूलाई ख्रीष्टविरोधीहरू चिन्‍नेबारे कुरा गरिस् भने, तिनीहरूले तँलाई ठूलालाई आदर र सानालाई ख्याल गर्ने, अनि सुशिक्षित र समझदार बन्‍नेबारे बताउनेछन्। यदि तैँले तिनीहरूलाई व्यक्तिको आनीबानी सिद्धान्तहरूअनुरूप हुनुपर्छ, आफ्‍नो कर्तव्यमा सिद्धान्तहरू खोजी गर्नुपर्छ र मनमानी ढङ्गले काम गर्नु हुँदैन भनेर भनिस् भने, तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले भन्‍नेछन्, “सत्यता सिद्धान्तहरूअनुसार काम गर्नु फरक कुरा हो। म सुशिक्षित र समझदार हुन, अनि अरूले मेरो व्यवहार अनुमोदन गरून् भन्‍ने मात्रै चाहन्छु। मैले ठूलालाई आदर र सानालाई ख्याल गरेँ, र अरूको अनुमोदन प्राप्त गरेँ भने, त्यो नै पर्याप्त हुन्छ।” तिनीहरूले असल व्यवहारबारे मात्रै वास्ता गर्छन्, सत्यताप्रति कुनै ध्यान दिँदैनन्। तिनीहरूले सामान्यतया पाकालाई, आफूभन्दा ठूलालाई, योग्यता भएकाहरूलाई, आफ्नो समूहभित्र राम्रो नैतिक स्तर र प्रतिष्ठा भएकाहरूलाई आदर गर्न सक्छन्, यसका साथै साना र नाजुकहरूको समुदायलाई धेरै वास्ता र मायालु हेरचाह गर्छन्। तिनीहरू आफूलाई कुलीन देखाउन ठूलालाई आदर र सानालाई माया गर्ने सामाजिक नियम कडाइका साथ पालना गर्छन्। तैपनि के कुरा नकार्न सकिँदैन भने, तिनीहरूको हित र त्यो नियम बाझियो भने, तिनीहरू त्यो नियमलाई पन्छाएर अघि बढ्छन्, विचार नगरी र कसैको रोकटोक “नसही” आफ्‍ना हितको रक्षा गर्छन्। तिनीहरूले भेट्ने, तिनीहरूसँग परिचित, वा चिनजान सबैले तिनीहरूको असल व्यवहारलाई अनुमोदन गर्ने भए पनि, के कुरा नकार्न सकिँदैन भने तिनीहरूले अरूले तारिफ गर्ने यी असल व्यवहार प्रस्तुत गर्ने क्रममा, तिनीहरू आफ्ना हितमा अलिकति पनि घाटा निम्त्याउँदैनन्, र कसैको पनि रोकटोक “नसही” आफ्‍ना हितका निम्ति लड्छन्। तिनीहरूले ठूलालाई आदर र सानालाई माया गर्नु त तिनीहरूका हितमा हस्तक्षेप नगर्ने जगमा निर्मित क्षणिक व्यवहार मात्रै हो। यसको दायरा व्यवहारको एउटा प्रकारमा सीमित हुन्छ। यसले पटक्कै तिनीहरूको हितलाई छुँदैन वा अतिक्रमण गर्दैन भने तिनीहरू यो कार्य गर्न सक्छन्, तर तिनीहरू नै आफ्नो हित अगाडी आउँदा, अन्त्यसम्म लडाइँ लड्छन्। त्यसकारण, तिनीहरूले ठूलालाई आदर र सानालाई माया गर्नुले वास्तवमा तिनीहरूका हित पछ्याइलाई हस्तक्षेप गर्दैन, न त त्यो पछ्याइलाई नै रोक्छ। ठूलालाई आदर र सानालाई माया गर्ने व्यवहार मानिसहरूले निश्चित परिस्थितिहरूमा, आफ्नो हितमा हस्तक्षेप नहुने अवस्थामा मात्र गर्न सक्ने असल व्यवहार हो। यो व्यक्तिको जीवनबाट, उसको हृदयभित्रबाट उत्पन्‍न हुने कुरा होइन। कुनै व्यक्तिले यस्तो व्यवहार जति नै अभ्यास गर्न सके पनि, ऊ यसमा जति नै लामो समय डट्न सके पनि, यसले जिउनका लागि मानिस निर्भर हुने भ्रष्ट स्वभाव परिवर्तन गर्न सक्दैन। यसको अर्थ के हो भने कुनै व्यक्तिमा यो असल व्यवहार नहोला, तैपनि भ्रष्ट स्वभाव प्रकट गर्छ—तर उसले यो असल व्यवहार प्राप्त गरेपछि पनि, उसको भ्रष्ट स्वभाव अलिकति पनि सुध्रिँदैन वा परिवर्तन हुँदैन। यसको विपरीत, उसले त्यसलाई झन्-झन् भित्र लुकाउँछ। त्यस्तो असल व्यवहारभित्र लुकाइने महत्त्वपूर्ण कुरा यिनै हुन्।

त्यो त परम्परागत संस्कृतिको भद्र र परिष्कृत हुनु, शिष्ट बन्नु, ठूलालाई आदर र सानालाई ख्याल गर्नु, मिलनसार र व्यवहार गर्न सजिलो हुनु भन्‍ने असल व्यवहारसम्‍बन्धी हाम्रो सङ्गति र विश्‍लेषण हो। यी असल व्यवहारहरू सुशिक्षित र समझदार बन्‍नुजस्तै हुन्, र सारमा पनि यिनीहरू लगभग एउटै हुन्। ती महत्त्वहीन छन्। मानिसहरूले यी असल व्यवहारहरू त्याग्‍नुपर्छ। मानिसहरूले सबैभन्दा बढी हासिल गर्न प्रयास गर्नुपर्ने कुरा भनेको परमेश्‍वरको वचनलाई आफ्‍नो आधार बनाउनु, र सत्यतालाई आफ्‍नो मापदण्ड बनाउनु हो; तब मात्रै तिनीहरू ज्योतिमा जिउन र सामान्य व्यक्तिको रूपमा जिउन सक्छन्। यदि तिमीहरू ज्योतिमा जिउन चाहन्छौ भने, तिमीहरूले सत्यताअनुसार व्यवहार गर्नुपर्छ; तिमीहरू इमानदार शब्‍दहरू बोल्‍ने र गर्ने इमानदार मानिसहरू बन्‍नुपर्छ। आधारभूत कुरा भनेको आफ्‍नो आनीबानीमा सत्यता सिद्धान्तहरू पालना गर्नु हो; मानिसहरूले सत्यता सिद्धान्तहरू गुमाएपछि, र असल व्यवहारमा मात्रै ध्यान केन्द्रित गर्न थालेपछि, यसले अपरिहार्य रूपमै नाटक र बहानाबाजी पैदा गर्छ। मानिसहरूको आनीबानीमा कुनै सिद्धान्त छैन भने, तिनीहरूको व्यवहार जति नै राम्रो भए पनि, तिनीहरू ढोँगी हुन्छन्; तिनीहरूले अरूलाई केही क्षणको लागि बहकाउन सक्लान्, तर तिनीहरू कहिल्यै पनि विश्‍वासयोग्य हुनेछैनन्। परमेश्‍वरका वचनहरूअनुसार आनीबानी र काम प्रस्तुत गरेमा मात्रै मानिसहरूले साँचो जग प्राप्त गर्छन्। यदि तिनीहरूले परमेश्‍वरका वचनहरू अनुसार आनीबानी प्रस्तुत गर्दैनन्, बरु राम्रो व्यवहार गरेको बहाना गर्नमा मात्रै ध्यान दिन्छन् भने, के तिनीहरू असल मानिस बन्‍न सक्छन्? अवश्य सक्दैनन्। असल धर्मसिद्धान्त र व्यवहारले मानिसहरूको भ्रष्ट स्वभाव र सारलाई परिवर्तन गर्न सक्दैन। सत्यता र परमेश्‍वरका वचनहरूले मात्रै मानिसहरूको भ्रष्ट स्वभाव, विचार, र दृष्टिकोणलाई परिवर्तन गर्न सक्छन्, र ती मात्रै तिनीहरूको जीवन बन्‍न सक्छन्। मानिसले आफ्‍नो परम्‍परागत संस्कृति र धारणामा असल ठान्ने व्यवहारहरू जस्तै सुशिक्षित र समझदार हुनु, भद्र र परिष्कृत हुनु, शिष्ट बन्‍नु, ठूलालाई आदर गर्नु र सानालाई ख्याल गर्नु, मिलनसार र व्यवहार गर्न सजिलो बन्‍नु त व्यवहार मात्रै हुन्। ती जीवन होइनन्, झन् सत्यता हुनु त परको कुरा हो। परम्‍परागत संस्कृति सत्यता होइन, न त यसले बढावा दिने कुनै असल व्यवहार नै हो। मानिसले जति नै धेरै परम्‍परागत संस्कृति बुझे पनि र उसले आफ्‍नो जीवनमा जति धेरै असल व्यवहार लागू गरे पनि, यसले उसको भ्रष्ट स्वभाव परिवर्तन गर्न सक्दैन। त्यसकारण, हजारौँ वर्षदेखि मानवजाति परम्‍परागत संस्कृतिद्वारा प्रभावित हुँदै आएको छ, र यसको भ्रष्ट स्वभाव फिटिक्कै परिवर्तन भएको छैन; बरु, यसको भ्रष्टता झन्-झन् गहन भएको छ, अनि संसार झन् अँध्यारो र दुष्ट भएको छ। यो सिधै परम्‍परागत संस्कृतिसँग सम्‍बन्धित छ। मानिसहरू परमेश्‍वरका वचनलाई आफ्‍नो जीवनको रूपमा लिएर मात्रै साँचो मानिसका रूपमा जिउन सक्छन्। यसमा कुनै विवाद छैन! त्यसोभए, मानिसको व्यवहारका लागि परमेश्‍वरको वचनले कस्ता प्रकारका सीमा र मापदण्डहरू तय गरेको छ। व्यवस्था र आज्ञाहरूमा दिइएका बाहेक, मानिसको व्यवहारबारे प्रभु येशूले पनि मापदण्डहरू दिनुभएको छ, विशेष गरी परमेश्‍वरका आखिरी दिनहरूको न्यायमा मानिसका निम्ति दिइएका मापदण्ड र नियमहरू। मानवजातिको सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण वचनहरू यिनै हुन्, र तिनीहरूको चालचलनका लागि सबैभन्दा आधारभूत सिद्धान्तहरू यिनै हुन्। तिमीहरूले आफ्‍नो चालचालन र कार्यका निम्ति परमेश्‍वरको वचनमा व्यवहारसम्‍बन्धी सबैभन्दा आधारभूत मापदण्ड खोज्नैपर्छ। जब तिमीहरू त्यसो गर्छौ, तब असल व्यवहारसम्‍बन्धी चिनियाँ परम्‍परागत संस्कृतिको लहलहै र बहकाउबाट मुक्त हुन सक्नेछौ। त्यसपछि तिमीहरूले चालचन र कार्यको मार्ग र सिद्धान्त भेट्टाएका हुनेछौ, जसको अर्थ तिमीहरूले मुक्तिको मार्ग र सिद्धान्त पनि भेट्टाएका छौ भन्‍ने हो। यदि तैँले परमेश्‍वरका वर्तमान वचनहरूलाई आफ्‍नो आधार र भर्खरै सङ्गति गरेको सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिइस् अनि मानवजातिले आफ्‍ना धारणामा असल ठान्ने व्यवहारका मापदण्डहरूको ठाँउमा राखिस् भने, तँ सत्यता पछ्याउने मानिस होस्। सबै अवस्थामा परमेश्‍वरले मानिसबाट माग गर्ने भनेको ऊ कस्तो व्यक्ति हुनुपर्छ र उसले कस्तो मार्गमा हिँड्नुपर्छ भन्‍ने हो। उहाँ मानिसमा केही अलग्गै व्यवहार हुनुपर्छ भनेर कहिल्यै माग गर्नुहुन्न। उहाँ मानिसहरू इमानदार, छलरहित बनेको माग गर्नुहुन्छ; उहाँ मानिसले सत्यता स्विकारेको र पछ्याएको, अनि उहाँप्रति वफादार र समर्पित बनेको, अनि उहाँको गवाही दिएको माग गर्नुहुन्छ। उहाँले मानिसमा केही असल व्यवहार मात्रै हुनुपर्छ, त्यति भए पुग्छ भनेर कहिल्यै माग गर्नुभएको छैन। तर चीनको परम्‍परागत संस्कृतिले मानिसलाई असल व्यवहारमा मात्र ध्यान दिन, देखावटी असल प्रदर्शन गर्न लगाउँछ। यसले मानिसको भ्रष्ट स्वभाव के हो वा उसको भ्रष्टता कहाँबाट आउँछ भनेर प्रस्ट्याउन केही पनि गर्दैन, झन् उसको भ्रष्ट स्वभाव हटाउने मार्ग औँल्याउन सक्‍नु त परको कुरा हो। त्यसकारण, परम्‍परागत संस्कृतिले जुन असल व्यवहार हो त्यो मानिसमा हुनुपर्छ भनेर जसरी वकालत गरे पनि, जब मानवजातिले आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍ने र साँचो मानिसका रूपमा जिउने कुरा आउँछ, तब यो व्यर्थ हुन्छ। नैतिकतासम्‍बन्धी यसका अभिव्यक्तिहरू जति नै उच्च वा आकर्षक भए पनि, यसले मानवजातिको भ्रष्ट सार परिवर्तन गर्नका लागि केही गर्न सक्दैन। परम्‍परागत संस्कृतिको शिक्षा र प्रभावमा परेर भ्रष्ट मानवजातिमा धेरै अवचेतन कुरा उत्पन्न भएका छन्। यहाँ “अवचेतन” को अर्थ हो? यसको अर्थ के हो भने परम्‍परागत संस्कृतिले मानिसलाई थाहै नपाई प्रभावित र असर गरिसकेपछि, कसरी उचित रूपमा कार्य गर्ने भन्‍नेबारे स्पष्ट शब्‍द, कथन, नियम, वा संज्ञान नहुँदा, उसले नैसर्गिक रूपमा मानिसहरूको चलिआएका विचार र विधिहरू अभ्यास र पालना गर्छ। त्यस्तो परिस्‍थितिमा, त्यस्तो अवस्थामा जिउँदा सबै मानिसहरूले जस्तै स्पष्टतः तिनीहरूले पनि अवचेतन रूपमा यस्तो सोच्छन्, “सुशिक्षित र समझदार हुनु राम्रो कुरा हो—यो सकारात्मक कुरा हो, र यो सत्यताअनुरूप छ; भद्र र परिष्कृत हुनु एकदम राम्रो हो—मानिस यस्तै हुनुपर्छ, परमेश्‍वरलाई यो मन पर्छ, र यो सत्यताअनुरूप छ; शिष्ट हुनु, ठूलालाई आदर गर्ने र सानालाई ख्याल गर्ने हुनु, मिलनसार र व्यवहार गर्न सजिलो हुनु, यी सबै सामान्य मानवताका प्रकटीकरण हुन्—ती परमेश्‍वरका वचन र सत्यताअनुरूप छन्।” परमेश्‍वरका वचनमा स्पष्ट आधार नभेटे पनि, तिनीहरूलाई हृदयमा परमेश्‍वरका वचन र उहाँले मानिसबाट माग गर्ने कुरा अनि परम्‍परागत संस्कृतिले माग गरेको स्तर उस्तै हुन्, तिनमा कुनै ठूलो भिन्‍नता छैन भन्‍ने लाग्छ। के यो परमेश्‍वरका वचनलाई बङ्ग्याउनु र गलत रूपमा अर्थ्याउनु होइन र? के परमेश्‍वरका वचनहरूमा यस्ता कुरा भनिएको छ? भनिएको छैन, न त ती उहाँका अर्थ नै हुन्; त्यो त मानिसले परमेश्‍वरका वचनलाई बङ्ग्याएको र गलत रूपमा अर्थ्याएको हो। परमेश्‍वरको वचनले कहिल्यै यी कुरा भनेको छैन, त्यसकारण तैँले कुनै पनि हालतमा यी कुराबारे सोच्‍नु हुँदैन। तैँले परमेश्‍वरका वचनहरू विस्तृत रूपमा पढेर उहाँको वचनले मानिसबाट माग गर्ने ठ्याक्कै व्यवहार पत्ता लगाउनुपर्छ, त्यसपछि उहाँको वचनका थप खण्डहरू खोज्नुपर्छ, ती सङ्कलन गर्नुपर्छ, प्रार्थनापूर्वक पढ्नुपर्छ र तीबारे सङ्गति गर्नुपर्छ। तैँले तीबारे ज्ञान पाएपछि, ती अभ्यास र अनुभव गर्नुपर्छ। यसले परमेश्‍वरका वचनलाई तेरो वास्तविक जीवनमा ल्याउँछ र ती वचन तैँले मानिसहरू र कामकुरालाई हेर्ने, साथै तेरो चालचलन र कार्यको आधार बन्छन्। मानिसहरूको बोलीवचन र कार्यहरूको आधार के हुनुपर्छ? परमेश्‍वरका वचनहरू। त्यसो भए, परमेश्‍वरले मानिसहरूको बोलीवचन र कार्यहरूको लागि तय गरेका सर्त र मापदण्डहरू के-के हुन्? (ती कुराहरू मानिसहरूलाई सुधार गर्ने किसिमको हुनुपर्छ।) ठिक भनिस्। सबैभन्दा आधारभूत रूपमा, तैँले सत्य कुरा भन्‍नुपर्छ, इमानदारीपूर्वक बोल्‍नुपर्छ, र अरूलाई फाइदा पुर्‍याउनुपर्छ। कम्तीमा पनि, तेरो बोलीवचनले मानिसहरूलाई सुधार गर्नुपर्छ, अनि छल्‍ने, बहकाउने, हाँसोमा उडाउने, व्यङ्ग गर्ने, घृणा गर्ने, गिल्‍ला गर्ने, बन्देज लगाउने, तिनीहरूका कमजोरीहरू खुलासा गर्ने, र तिनीहरूलाई निन्दा गर्ने वा चोट पुर्‍याउने गर्नु हुँदैन। यो सामान्य मानवताको अभिव्यक्ति हो। यो मानवजातिको सद्‌गुण हो। के परमेश्‍वरले तँलाई कति चर्को आवाजमा बोल्ने भनेर बताउनुभएको छ? के उहाँले तैँले स्तरीय भाषा प्रयोग गर्नुपर्छ भनेर माग गर्नुभएको छ? के उहाँले तँबाट अलङ्कृत, वा भव्य, परिष्कृत भाषाशैली प्रयोग गर्नुपर्छ भन्‍ने माग गर्नुभएको छ? (छैन।) उहाँले त्यस्ता कुनै सतही, ढोँगी, झूटा, र तुच्छ कुराहरू एउटै पनि माग गर्नुभएको छैन। परमेश्‍वरका सबै मापदण्ड सामान्य मानवतामा हुनुपर्ने कुरा, मानिसको भाषा र कार्यका स्तर र सिद्धान्त हुन्। कुनै व्यक्तिको जन्‍मस्थल वा उसले बोल्ने भाषाले केही फरक पार्दैन। जे भए पनि, तैँले बोल्‍ने शब्‍दहरू—तिनलाई भन्‍ने शैली र तिनको विषयवस्तु—अरूलाई सुधार गर्ने हुनैपर्छ। ती सुधार गर्ने हुनुपर्छ भन्‍नुको अर्थ के हो? यसको अर्थ अरूलाई ती शब्‍दहरू सुनेपछि ती साँचो लाग्छ, र तीबाट संवर्धन र सहयोग पाउँछन्, र तिनीहरू सत्यता बुझ्‍न सक्छन्, र अन्योलमा पर्न छोड्छन, अनि अरूको बहकाउमा परिहाल्दैनन्। त्यसकारण, मानिसहरूले सत्य बोलून्, आफूले सोचेको कुरा बताऊन्, अनि छल्‍ने, बहकाउने, हाँसोमा उडाउने, व्यङ्ग गर्ने, घृणा गर्ने, गिल्‍ला गर्ने, बन्देज लगाउने, तिनीहरूका कमजोरीहरू खुलासा गर्ने, र तिनीहरूलाई निन्दा गर्ने वा चोट पुर्‍याउने गर्नु हुँदैन भन्‍ने परमेश्‍वर चाहनुहुन्छ। के यी बोलीवचनका सिद्धान्तहरू होइनन् र? मानिसका कमजोरीहरू खुलासा गर्नुहुँदैन भन्‍नुको अर्थ के हो? यसको अर्थ अरू मान्छेलाई दोष नलगाउनु भन्‍ने हो। तिनीहरूलाई आलोचना गर्न वा दोष दिन तिनीहरूको विगतका गल्ती वा कमीकमजोरीहरू कोट्याउनु हुँदैन। तैँले कम्तीमा पनि यति गर्नुपर्छ। सक्रिय पक्षलाई हेर्दा, सुधार गर्ने खालको बोलीवचन कसरी व्यक्त गरिन्छ? यो मुख्यतः प्रोत्साहन दिने, अभिमुखीकरण गर्ने, अगुवाइ गर्ने, सल्‍लाह दिने, बुझ्‍ने, र सान्त्वना दिने कार्य हो। यसको साथै, कतिपय विशेष अवस्थाहरूमा, अरू मानिसहरूको गल्तीलाई सीधै खुलासा गरेर तिनीहरूलाई काट-छाँट गर्नुपर्ने आवश्यकता हुन्छ, ताकि तिनीहरूले सत्यताको ज्ञान र पश्‍चात्ताप गर्ने इच्‍छा प्राप्त गर्न सकून्। त्यसपछि मात्रै उचित प्रभाव हासिल हुन्छ। यस प्रकारको अभ्यासले मानिसहरूलाई ठूलो फाइदा दिन सक्छ। यो तिनीहरूको लागि वास्तविक सहयोग हो, र यसले तिनीहरूलाई सुधार गर्छ, होइन र? उदाहरणको लागि, मानौँ तँ औधी नै स्वेच्‍छाचारी र अहङ्कारी छस्। यसबारेमा तँलाई कहिल्यै थाहा थिएन, तर तँलाई राम्ररी चिन्‍ने व्यक्ति आउँछ, र तँलाई समस्या सीधै बताइदिन्छ। तैँले मनमनै विचार गर्छस्, “के म स्वेच्‍छाचारी छु? के म अहङ्कारी छु? कसैले पनि मलाई यसो भन्‍ने आँट गरेन, तर उसले मलाई बुझेको छ। उसले यस्तो कुरा भन्‍न सक्यो, यसले यो साँचो हो भन्‍ने जनाउँछ। मैले यसबारेमा केही समय मनन गर्नुपर्छ।” त्यसपछि, तैँले त्यस व्यक्तिलाई भन्छस्, “अरूले मलाई राम्रा कुराहरू मात्रै भन्छन्, तिनीहरूले मेरो गुणगान गाउँछन्, कसैले पनि मसँग यति व्यक्तिगत कुरा गर्दैन, कसैले पनि मलाई कहिल्यै मेरा यी कमीकमजोरी र समस्याहरूलाई औँल्याइदिएका थिएनन्। तपाईंले मात्रै मलाई बताउन, र यति व्यक्तिगत कुरा गर्न सक्‍नुभयो। मेरो लागि यो निकै राम्रो, निकै ठूलो सहयोग हो।” हृदयदेखि कुरा गर्नु भनेको यही हो, होइन र? अलिअलि गर्दै, अर्को व्यक्तिले आफ्‍नो मनको कुरा, तेरो बारेमा आफ्नो विचार बताउँछ, र आफूसँग यस विषयमा धारणा, कल्‍पना, नकारात्मकता र कमजोरी रहेको, तर सत्यताको खोजी गरेर त्यसबाट उम्‍कन सकेको आफ्नो अनुभव बताउँछ। हृदयदेखि कुरा गर्नु भनेको यही हो; आत्मा-आत्माबीचमा सञ्चार हुनु भनेको यही हो। अनि समग्रमा भन्दा, बोल्‍नुको पछाडि रहेको सिद्धान्त के हो? यो यस्तो हो: हृदयमा भएको कुरा भन्‍नु, र साँचो अनुभवको बारेमा अनि तैँले वास्तवमा के सोच्छस् त्यही कुरा बोल्‍नु। ती शब्‍दहरू नै मानिसहरूको लागि सबैभन्दा लाभदायी हुन्छन्, यिनले तिनीहरूलाई भरणपोषण गर्छन्, सहयोग गर्छन्, र ती सकारात्मक हुन्छन्। नक्‍कली शब्‍दहरू बोल्‍न, मानिसहरूलाई फाइदा नदिने वा शिक्षाप्रद नहुने शब्‍दहरू बोल्‍न इन्कार गर्; यसले तिनीहरूलाई हानि हुन वा पछारिन, नकारात्मकतामा डुब्‍न र नकारात्मक असर पर्नबाट बचाउँछ। तैँले सकारात्मक कुराहरू भन्‍नुपर्छ। तैँले मानिसहरूलाई सक्दो सहयोग गर्ने, तिनीहरूलाई फाइदा पुर्‍याउने, तिनीहरूको लागि भरणपोषण गर्ने, तिनीहरूमा परमेश्‍वरप्रति साँचो विश्‍वास पैदा गर्ने प्रयास गर्नुपर्छ; र परमेश्‍वरका वचनहरू सम्बन्धी तेरा अनुभवहरू र समस्या हल गर्ने तेरा तरिकाहरूबाट तैँले मानिसहरूलाई मदत लिन र धेरै कुरा सिक्‍न दिनुपर्छ, साथै परमेश्‍वरको कामको अनुभव गरेर सत्यता वास्तविकतामा प्रवेश गर्ने मार्ग बुझ्‍न, र यसरी तिनीहरूलाई जीवन प्रवेश प्राप्त गर्न र आफ्‍नो जीवनमा वृद्धि ल्याउन सहयोग गर्नुपर्छ—तेरा शब्‍दहरू सिद्धान्तहरू अनुरूप हुनु, र मानिसहरूलाई सुधार्ने किसिमको हुनुको प्रभाव यही हो। यसबाहेक, मानिसहरूले भेला भएर कुरा काट्दै फोकटमा हाँस्नु असैद्धान्तिक कार्य हो। तिनीहरू आफ्‍नो भ्रष्ट स्वभाव मात्र प्रकट गर्छन्। यो परमेश्‍वरको वचनमा आधारित हुँदैन, र तिनीहरूले सत्यता सिद्धान्तहरू पालना गरिरहेका हुँदैनन्। यो सबै त सांसारिक व्यवहारका लागि मानिसका दर्शन हुन्—तिनीहरू आफूलाई आफ्नो भ्रष्ट स्वभावले जसरी चलाउँछ त्यसरी नै जिइरहेका हुन्छन्।

परमेश्‍वर मानिसको बोलीवचन सिद्धान्तअनुसार र अरूलाई सुधार गर्ने होस् भन्‍ने माग गर्नुहुन्छ। के यसको मानिसका ती बाहिरी असल व्यवहारहरूसँग कुनै सम्‍बन्ध छ? (छैन।) यसको ती कुरासँग कुनै सम्‍बन्ध छैन। मानौँ तेरो बोली अरूमाथि हैकम जमाउने वा झूटो र छली छैन, त्यसबाहेक तँ अरूलाई प्रोत्साहन दिन, डोऱ्याउन र सान्त्वना दिन सक्छस्। यदि तँ यी दुवै कुरा गर्न सक्छस् भने, के तैँले व्यवहार गर्न सजिलो मनोवृत्तिले त्यसो गर्नु आवश्यक छ? के तँ व्यवहार गर्न सजिलो हुनैपर्छ? के तैँले शिष्ट, भद्र र सभ्य बन्‍नेजस्ता बाहिरी व्यवहारहरूको ढाँचामा मात्रै ती कुरा गर्न सक्छस्? त्यसो गर्नु पर्दैन। तेरा बोली अरूलाई सुधार गर्ने हुनका लागि पूर्वसर्त के हो भने, यो परमेश्‍वरका वचन र उहाँका मापदण्डमा आधारित हुनुपर्छ—यो परम्‍परागत संस्कृतिमा स्थापित असल व्यवहारहरूमा होइन तर सत्यतामा आधारित हुनुपर्छ। तेरो बोली सिद्धान्तअनुसार र अरूलाई सुधार गर्ने भएपछि, तँ बसेर पनि वा उभेर पनि बोल्न सक्छस्, चर्को सोरमा पनि वा धिमा सोरमा पनि बोल्न सक्छस्, कोमल शब्‍दमा पनि वा कठोर शब्‍दमा पनि बोल्न सक्छस्। अन्तिम परिणाम सकारात्मक भयो, तैँले आफ्‍नो जिम्‍मेवारी पूरा गरिस् र अर्को पक्षलाई फाइदा पुग्यो भने, यो सत्यता सिद्धान्तअनुरूप हो। यदि तैँले पछ्याउने कुरा सत्यता हो, र तैँले अभ्यास गर्ने कुरा सत्यता हो, र तेरा बोली र कार्यहरू परमेश्‍वरका वचनहरू, सत्यता सिद्धान्तहरूमा आधारित छन् भने, र अरूले तँबाट लाभ र प्राप्ति हासिल गर्न सक्छन् भने, के त्यो तिमीहरू दुवैका लागि लाभदायी हुनेछैन र? यदि तँ परम्परागत संस्कृतिको सोचद्वारा बाँधिएर जिउँछस्, अरूले देखावटी व्यवहार गर्दा तँ पनि त्यसै गर्छस्, तिनीहरूले झुक्दै सम्‍मान दिँदा तैँले भद्र शिष्टता देखाउँछस्, र यसरी तिमीहरूले एकअर्कोको लागि देखावटी व्यवहार गर्छौ भने, तिमीहरू दुवै असल होइनौ। तँ र तिनीहरू झुक्दै सम्मान गर्दै हिँड्छौ अनि सत्यताबिना दिनभरि शिष्टतामा अलमलिन्छौ, र जीवनमा परम्परागत संस्कृतिले प्रवर्धन गरेको असल व्यवहार मात्र अँगाल्छौ। बाहिरबाट हेर्दा यस्तो व्यवहार परम्परागत देखिए पनि, यो सब आडम्बर हो, अरूलाई छल्ने र बहकाउने, मान्छेलाई मूर्ख र बेवकुफ बनाउने, एक शब्द पनि इमानदार नहुने व्यवहार हो। तैँले यस्तो व्यक्तिसँग मित्रता गाँसिस् भने, अन्त्यमा तँ मूर्ख बन्छस् र उसको चालमा पर्छस्। तिनीहरूको राम्रो व्यवहारबाट तेरो लागि शिक्षाप्रद हुने कुनै कुरा पनि प्राप्त गर्न सकिँदैन। यसले तँलाई सिकाउने भनेकै झूट र छल हो: तैँले तिनीहरूलाई छल्छस्, तिनीहरूले तँलाई छल्छन्। अन्त्यमा तँलाई तेरो निष्ठा र मर्यादाको अत्यधिक अपमान भएको महसुस हुन्छ, र त्यसलाई तैँले केवल सहनुपर्ने हुन्छ। तैँले अझै शिक्षित र समझदार तरिकाले शिष्टाचार देखाउनुपर्ने हुन्छ, अरूसँग बाझ्नु हुँदैन वा तिनीहरूबाट धेरै अपेक्षा गर्नु हुँदैन। तँ अझै धैर्य र सहनशील हुनुपर्नेछ, मुस्कान छर्दै उदासीन र खुल्ला मनले उदारताको बहाना गर्नुपर्नेछ। यस्तो स्थिति हासिल गर्न कति वर्षको कठिन प्रयास चाहिन्छ? यदि तैँले आफूलाई अरूको अगाडि यसरी जिउन दबाब दिन्छस् भने, के तेरो जीवन थकाइलाग्दो हुनेछैन र? तँलाई आफूमा यति धेरै प्रेम छैन भन्‍ने राम्ररी थाहा भएर पनि, आफूसँग धेरै प्रेम भएको बहाना गर्नु—यस्तो ढोँग गर्नु सजिलो छैन! तैँले व्यक्तिको रूपमा यसरी व्यवहार गर्दा झनै बढी थकाइ महसुस गर्नेछस्; तँ तेरो अर्को जुनीमा मान्छेको रूपमा भन्दा गाई वा घोडा, सुँगुर वा कुकुर भएर जन्मनु राम्रो हुनेछ। तँलाई तिनीहरू अति झूटा र दुष्ट लाग्‍नेछ। मानिस किन थकित हुने किसिमले जिउँछ? किनभने ऊ परम्‍परागत धारणामा जिउँछ जसले उसलाई नियन्त्रण गर्छ र बाँध्छ। ऊ आफ्‍नो भ्रष्ट स्वभावमा भर पर्दै पापमा जिउँछ, जसबाट आफूलाई मुक्त गर्न सक्दैन। उसँग उम्‍कने बाटो हुँदैन। ऊ साँचो मानव रूपमा जिउँदैन। मानिसहरूबीच आधारभूत सच्चापनको एक शब्‍द सुन्न वा पाउन सकिन्न, यहाँसम्म कि श्रीमान-श्रीमतीबीच, आमा-छोरीबीच, बाबु-छोराबीच वा आपसी घनिष्ठ मानिसहरूबीच—कुनै पनि आत्मीय शब्‍द, न्यानो शब्‍द वा अरूलाई सान्त्वना मिल्ने एक शब्‍द सुनिँदैन। त्यसोभए, यी बाहिरी असल व्यवहारहरूले के काम गर्छन् त? तिनले मानिसहरूबीच सामान्य दूरी र सामान्य सम्‍बन्ध कायम राख्‍ने काम गर्छन्। तर यी असल व्यवहारपछाडि, कसैले अरू कसैसँग गहन सम्‍बन्ध गाँस्‍ने आँट गर्दैन्, जसलाई मानवजातिले यो वाक्यांशद्वारा सारांशीकृत गरेको छ: “दूरीले सुन्दरता जन्‍माउँछ।” यसले मानवजातिको वास्तविक प्रकृतिलाई प्रकट गर्छ, होइन र? कसरी दूरीले कसरी सुन्दरता जन्‍माउँछ? त्यस्तो जीवनको झूटो र दुष्ट वास्तविकतामा, मानिस झन्-झन् बढ्दो एकलोपन, विरक्ति, डिप्रेसन, क्रोध, र असन्तुष्टिमा जिउँछ, र उसको अघि बढ्ने कुनै बाटो हुँदैन। गैरविश्‍वासीहरूको वास्तविक अवस्था यस्तै हुन्छ। तर, आज तँ परमेश्‍वरलाई विश्‍वास गर्छस्। तँ परमेश्‍वरको घरमा आएको छस् र परमेश्‍वरका वचनहरूको भरणपोषण स्विकारेको छस्, र तँ प्रायजसो प्रवचनहरू सुन्छस्। तैपनि, तँलाई हृदयमा अझै पनि परम्‍परागत संस्कृतिले बढावा दिने असल व्यवहारहरू मन पर्छ। यसले एउटा कुरा प्रमाणित गर्छ: तैँले सत्यता बुझेको छैनस् र तँसँग कुनै वास्तविकता छैन। किन तँ अहिले आफ्‍नो जीवनमा अझै यति निराश, एक्लो, दयनीय छस्, र आफूलाई तुच्छ ठान्छस्? यसको एउटै कारण के हो भने तँ सत्यता पटक्‍कै स्विकार्दैनस् र पटक्‍कै परिवर्तन भएको छैनस्। अर्को शब्‍दमा भन्नुपर्दा, तँ परमेश्‍वरका वचनअनुसार र सत्यतालाई आफ्नो मापदण्ड मानेर मानिसहरू र कामकुरालाई हेर्दैनस्, अनि आफूलाई व्यवहारमा ढाल्दैनस् र कार्य गर्दैनस्। तँ अझै पनि भ्रष्ट स्वभाव र परम्‍परागत धारणाहरूमा भर परेर जिइरहेको छस्। त्यसैले तेरो जीवन अझै यति एक्लो छ। तेरो कुनै साथीसङ्गी छैन, वा मनको कुरा पोख्ने कोही छैन। तैँले अरूबाट पाउनुपर्ने प्रोत्साहन, डोऱ्याइ, सहयोग, वा सुधार पाउँदैनस्, न त तँ अरूलाई प्रोत्साहन, डोऱ्याइ, वा सहयोग दिन नै सक्छस्। तैँले यी सबैभन्दा न्यूनतम व्यवहारहरूमा पनि परमेश्‍वरको वचनलाई आफ्‍नो आधार र सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिँदैनस्, त्यसकारण मानिस र कामकुराप्रति तेरो दृष्टिकोण वा तेरो चालचलन र कार्यबारे उल्‍लेखसमेत गरिरहनु पर्दैन—यी कुराहरू सत्यता अर्थात् परमेश्‍वरको वचनबाट हजारौँ कोस टाढा छन्!

हामीले भर्खरै मानिसको व्यवहारसम्बन्धी परमेश्‍वरका कुरा मापदण्डहरूबारे सङ्गति गर्‍यौँ: उहाँ मानिसको बोली र काम सिद्धान्तअनुसार र अरूलाई सुधार गर्ने भएको माग गर्नुहुन्छ। त्यसकारण, त्यसको आधारमा, के अब सबैलाई मानिसले अघि सार्ने असल व्यवहारहरूको कुनै मूल्य छ कि छैन भन्‍ने थाहा छ—के ती मूल्यवान् ठान्नलायक छन्? (छैनन्।) त्यसोभए, तिमीहरूलाई ती मूल्यवान् ठान्नलायक लाग्दैन भने, तिमीहरूले के गर्नुपर्छ? (ती त्याग्‍नुपर्छ।) तिनलाई कसरी त्याग्‍ने? ती त्याग्‍न व्यक्तिसँग अभ्यासको निर्द्धिष्ट मार्ग र चरणहरू हुनुपर्छ। पहिलो, परम्‍परागत संस्कृतिले बढावा दिने शिक्षित र समझदार हुने अनि भद्र र परिष्कृत हुने व्यवहार आफूले देखाउँछ कि देखाउँदैन भनेर आफूलाई जाँच्नैपर्छ। त्यस्तो जाँच कस्तो प्रकारको हुन्छ, र यसमा के-कस्ता विषयवस्तु हुन्छन्? ती विषयवस्तु मानिसहरू र कामकुराप्रति तेरो दृष्टिकोण, साथै तेरो व्यवहार र कार्यको आधार के हो भनेर हेर्नु, अनि शैतानका कुन कुराहरूले तेरो हृदयमा गहिरो जरा गाडेका छन् अनि ती कुरा तेरो रगत र हाडमा सोसिएका छन् कि भनेर हेर्नु हुनेछ। उदाहरणका लागि, मानौँ कुनै व्यक्तिलाई सानैदेखि पुलपुल्याइएको छ, उसलाई आफू कसरी चल्नुपर्छ भन्‍नेबारे त्यति थाहा छैन, तर उसको मानवता खराब छैन। ऊ साँचो विश्‍वासी हुन्छ, अनि उसले परमेश्‍वरमा सच्चा रूपमा विश्‍वास गर्छ र आफ्‍नो कर्तव्य निर्वाह गर्छ, अनि कष्ट भोग्‍न र मूल्य चुकाउन सक्छ। उसमा एउटै कुरा खराब हुन्छ: उसले खाना खाँदा गाँसैपिच्छे खानेकुरा छान्‍ने र जिब्रो पड्काउने गर्छ। त्यो सुन्दा तँलाई यति दिक्दार लाग्छ कि तँ आफ्‍नो खाना निल्‍न सक्दैनस्। तँलाई विशेषतः त्यस्ता मानिसहरूप्रति घृणा लाग्‍ने गर्थ्यो। तँ तिनीहरूलाई शिष्टचार नभएका र आफू कसरी चल्नुपर्छ भनेर नजान्‍ने, अनि सुशिक्षित वा समझदार नभएका मानिस ठान्थिस्। तैँले मनमा तिनीहरूलाई घृणा गरिस्, त्यस्ता मानिसहरूलाई नीच र अमर्यादित हुन्, तिनीहरू कुनै हालतमा परमेश्‍वरले चुन्‍ने मानिस बन्‍नेछैनन्, झन् उहाँले प्रेम गर्ने मानिस बन्‍नु त परको कुरा हो भनेर सोचिस्। तैँले त्यस्तो ठान्नुको आधार के हो? के तैँले तिनीहरूको सार छर्लङ्गै देखेको थिइस्? के तैँले तिनीहरूलाई तिनीहरूको सारको आधारमा मापन गरिरहेको थिइस्? तेरो मापनको आधार के थियो? स्पष्टतः तैँले मानिसहरूलाई चिनियाँ परम्‍परागत संस्कृतिका विभिन्‍न कथनको आधारमा मापन गरिरहेको थिइस्। त्यसकारण, जब तैँले यो समस्याबारे थाहा पाइस्, तब के तैँले आज हामीले सङ्गति गरेका सत्यताहरूका आधारमा विचार गर्नुपर्छ? “अहो, मैले त तिनीहरूलाई तुच्छ ठान्ने गर्थेछु। म कहिल्यै तिनीहरूको सङ्गति स्वेच्छाले सुन्थिनँ। जब तिनीहरूले केही कुरा भन्थे वा गर्थे, तिनीहरूले गर्ने काम जति नै सही भए पनि वा तिनीहरूको सङ्गतिका वचनहरू जति वै व्यावहारिक भए पनि, तिनीहरूले जिब्रो पड्काएको र गाँसैपिच्छि खानेकुरा छानेको सम्झिनेबित्तिकै, मलाई तिनीहरूको कुरा सुन्‍न मन लाग्दैनथ्यो। म तिनीहरूलाई सधैँ क्षमता नभएको अशिष्ट मानिस ठान्थेँ। अहिले, मैले परमेश्‍वरबाट यस्तो सङ्गति पाएर मानिसहरूप्रतिको मेरो दृष्टिकोण परमेश्‍वरका वचनमा आधारित रहेनछ भन्‍ने बुझ्दै छु; बरु, म त मानिसहरूको जीवनमा भएको खराब बानी र व्यवहारलाई—ती कुरा जहाँ विशेष गरी तिनीहरूसँग शिष्टचार हुँदैन वा तिनीहरू अशोभनीय हुन्छन्—तिनीहरूको मानवता सारको प्रकटीकरणझैँ गरी लिन्छु। अहिले, परमेश्‍वरका वचनको आधारमा मापन गर्दा, ती सबै कुरा तिनीहरूको मानवता सारलाई नजनाउने सानातिना गल्ती रहेछन्। ती सिद्धान्तका समस्या हुँदै होइनन्।” के यो आत्म-परीक्षण होइन र? (हो।) परमेश्‍वरका वचन स्विकार्न र सत्यता बुझ्‍न सक्‍नेहरूले यी कुराहरू स्पष्ट रूपमा देख्‍न सक्छन्। त्यसोभए, त्यसपछि के गर्ने त? के कुनै मार्ग छ? यदि तैँले तिनीहरूलाई यी खराब बानीबेहोरा तुरुन्तै त्याग्‍न माग गरिस् भने के यसले काम गर्छ? (गर्दैन।) त्यस्ता सानातिना त्रुटिहरू भित्र गडिएका हुन्छन् र तिनलाई परिवर्तन गर्न गाह्रो हुन्छ। ती त्रुटि व्यक्तिले एक-दुई दिनमा परिवर्तन गर्न सक्‍ने कुरा होइनन्। व्यवहारका समस्याहरू समाधान गर्न त्यति गाह्रो हुँदैन, तर व्यक्तिको जीवनको बानीमा हुने त्रुटिहरू हटाउन केही समय लाग्छ। यद्यपि, तिनले कसैको मानवताको गुणस्तर वा तिनीहरूको मानवता सारलाई जनाउँदैनन्, त्यसकारण त्यसलाई धेरै महत्त्व नदे वा ती त्याग्‍न इन्कार गर्ने नगर्। हरेकको जीवनमा आ-आफ्‍नै बानी र तौरतरिका हुन्छन्। कोही पनि सुन्यताबाट आउँदैन। हरेक व्यक्तिमा केही त्रुटि हुन्छन्, र ती त्रुटि जेसुकै भए पनि, तिनले अरूलाई असर गर्छन् भने, तिनलाई सच्याउनैपर्छ। मिलनसार अन्तरक्रिया गर्ने तरिका त्यही हो। तर, हरेक कुरामा आदर्श बन्‍नु सम्‍भव हुँदैन। मानिसहरू फरक-फरक ठाउँबाट आउँछन्, र तिनीहरूको जीवनका बानी सबै फरक-फरक हुन्छन्, त्यसकारण तिनीहरूले एकअर्कालाई सहनैपर्छ। यो सामान्य मानवतामा हुनुपर्ने कुरा हो। सानातिना समस्याहरूलाई मनमा नराख्। सहनशीलता अभ्यास गर्। अरूलाई व्यवहार गर्ने सबैभन्दा उचित तरिका त्यही हो। यो सहनशीलताको सिद्धान्त, त्यस्ता मामलाहरू सम्‍हाल्‍ने सिद्धान्त र तरिका हो। मानिसहरूका सानातिना त्रुटिको आधारमा तिनीहरूको सार र मानवतालाई निर्धारण गर्ने प्रयास नगर्। त्यो आधार सिद्धान्तअनुरूप पटक्कै हुँदैन, किनभने कुनै पनि व्यक्तिमा जे-जस्ता त्रुटि वा कमी भए पनि, त्यसले त्यो व्यक्तिको सारलाई जनाउँदैन, न त त्यसको अर्थ त्यो व्यक्ति परमेश्‍वरको साँचो विश्‍वासी होइन भन्‍ने नै हो, झन् ऊ सत्यता पछ्याउने व्यक्ति होइन भन्‍ने अर्थ हुनु त परको कुरा हो। हामीले मानिसहरूका सबल पक्षलाई हेर्नैपर्छ अनि मानिसहरूलाई हेर्ने हाम्रो दृष्टिकोण परमेश्‍वरका वचन र मानिसका लागि उहाँका मापदण्डहरूमा आधारित गर्नैपर्छ। मानिसहरूलाई उचित व्यवहार गर्ने तरिका त्यही हो। सत्यता पछ्याउने व्यक्तिले मानिसहरूलाई कसरी हेर्नुपर्छ? मानिसहरू र कामकुराप्रति तिनीहरूको दृष्टिकोण, अनि व्यवहार र कार्य सबै सत्यतालाई आफ्नो मापदण्ड मान्दै परमेश्‍वरका वचनहरूअनुसार हुनैपर्छ। त्यसकारण, कसरी तँ हरेक व्यक्तिलाई परमेश्‍वरका वचनअनुसार लिन्छस्? तिनीहरूमा विवेक र समझ छ कि छैन, तिनीहरू असल व्यक्ति हुन् कि खराब, त्यो हेर्। तैँले तिनीहरूलाई सम्पर्क गर्दा, तिनीहरूमा अलिकति त्रुटि र कमी भए पनि, तिनीहरू मानवतामा निकै असल भएको देख्लास्। तिनीहरू मानिसहरूसँग अन्तरक्रिया गर्दा सहनशील र धैर्यवान् हुन्छन्, अनि कुनै व्यक्ति नकारात्मक र कमजोर हुँदा, तिनीहरू त्यस व्यक्तिलाई प्रेमिलो व्यवहार गर्छन् अनि उसलाई भरणपोषण र सहयोग दिन सक्छन्। अरूप्रतिको तिनीहरूको आचरण त्यस्तै हुन्छ। त्यसोभए परमेश्‍वरप्रतिको तिनीहरूको आचरण कस्तो हुन्छ? परमेश्‍वरप्रतिको तिनीहरूको आचरणद्वारा, तिनीहरूमा मानवता छ कि छैन भनेर झन् धेरै मापन गर्न सकिन्छ। सायद परमेश्‍वरले गर्ने सबै कुरामा, तिनीहरू समर्पित हुन्छन्, र खोजी र तृष्णा गर्छन्, अनि आफ्‍नो कर्तव्य निर्वाह गर्ने र अरूसँग अन्तरक्रिया गर्ने क्रममा—तिनीहरूले कार्य गर्दा—तिनीहरूमा परमेश्‍वरको भय मान्ने हृदय हुन्छ। तिनीहरू साहसी, उपद्रवी व्यवहार गर्ने हुन्छन्, र तिनीहरूले जे पनि गर्छन् र जे पनि भन्छन् भन्‍ने होइन। परमेश्‍वर वा उहाँको कामसँग सम्‍बन्धित कुनै घटना घट्दा, तिनीहरू अत्यन्तै सतर्क हुन्छन्। तैँले तिनीहरू यी कुरा प्रकट गर्छन् भनेर पत्ता लगाइसकेपछि, तिनीहरूको मानवताबाट प्रकट हुने कुराको आधारमा त्यो व्यक्ति असल छ कि खराब छ भनेर कसरी मापन गर्नुपर्छ? त्यसलाई परमेश्‍वरका वचनको आधारमा मापन गर्, र त्यसलाई तिनीहरूमा विवेक र समझ छ कि छैन, अनि सत्यता र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिको आधारमा मापन गर्। तैँले तिनीहरूलाई यी दुई पक्षमा मापन गरेर के देख्‍नेछस् भने, तिनीहरूको व्यवहारमा केही समस्या र त्रुटि भए पनि, तिनीहरू अझै विवेक र समझ भएको, परमेश्‍वरप्रति समर्पित र उहाँको भय मान्ने हृदय र सत्यतालाई प्रेम गर्ने र स्विकार्ने मनोवृत्ति भएको व्यक्ति हुन सक्छन्। त्यसो हो भने, परमेश्‍वरको नजरमा, सायद तिनीहरू मुक्ति पाउन सक्‍ने, उहाँले प्रेम गर्ने मानिस हुन्। अनि परमेश्‍वरको नजरमा तिनीहरू मुक्ति पाउन सक्‍ने, र उहाँले प्रेम गर्ने मानिस हुन् भने, तैँले तिनीहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? तैँले मानिसहरू र कामकुरालाई परमेश्‍वरका वचनअनुसार हेर्नैपर्छ र उहाँका वचनअनुसार मापन गर्नैपर्छ। तिनीहरू साँचो दाजुभाइ-दिदीबहिनी हुन्, र तैँले तिनीहरूलाई उचितसँग र पूर्वाग्रहविना व्यवहार गर्नुपर्छ। तिनीहरूलाई असल मात्र नठान् वा परम्‍परागत संस्कृतिका कथनअनुसार मापन नगर्—त्यसको साटो तिनीहरूलाई परमेश्‍वरका वचनअनुसार मापन गर्। अनि तिनीहरूको व्यवहारमा हुने त्रुटिहरूका हकमा कुरा गर्दा, यदि तँ दयालु हृदयको छस् भने, तैँले तिनीहरूलाई सहयोग गर्नुपर्छ। कसरी उचित रूपमा व्यवहार गर्ने भनेर तिनीहरूलाई सिका। तिनीहरूले त्यो कुरा स्विकार्न सके पनि आफ्‍नो व्यवहारका त्रुटिहरू तुरुन्तै त्याग्‍न सक्दैनन् भने के गर्ने? तँ सहनशील हुनुपर्छ। यदि तँ सहनशील भइनस् भने, तँ दयालु हृदयको होइनस्, र तैँले तिनीहरूप्रतिको आफ्नो मनोवृत्तिमा सत्यता खोजी गर्नुपर्छ, अनि मनन गरेर आफ्‍ना कमजोरीहरू जान्‍नुपर्छ। त्यसरी तैँले मानिसहरूलाई सही व्यवहार गर्न सक्छस्। यसको विपरीत, यदि तँ “त्यो व्यक्तिमा धेरै त्रुटि छन्। ऊ अशिष्ट व्यक्ति हो, उसलाई आफू कसरी चल्नुपर्छ भन्‍ने थाहा छैन, उसलाई अरूको सम्‍मान गर्न आउँदैन, र उसलाई आफ्‍नो आचरण थाहा छैन। त्यसकारण ऊ गैरविश्‍वासी हो। म ऊसँग सङ्गत गर्न, उसको अनुहार हेर्न चाहन्‍नँ, र म उसको कुरा सही होस् किन नहोस्, सुन्‍न चाहन्‍नँ। उसले परमेश्‍वरको भय मान्छ र उहाँमा समर्पित हुन्छ भनेर कसले पत्याउँछ? के ऊ त्यो स्तरको छ र? के उसमा क्षमता छ?” भनेर भन्छस् भने, त्यो कस्तो मनोवृत्ति हो? के अरूलाई त्यस्तो व्यवहार गर्नु दयालु सहयोग हो? के त्यो सत्यता सिद्धान्तहरूसँग मेल खान्छ? के तैँले अरूलाई त्यस्तो व्यवहार गर्नु सत्यता बुझ्‍नु र अभ्यास गर्नु हो? के यो प्रेममय हुन्छ? के तँ हृदयमा परमेश्‍वरको भय मान्छस्? यदि परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिमा आधारभूत दयासमेत छैन भने, के त्यस्तो व्यक्तिमा सत्यता वास्तविकता हुन्छ? यदि तँ आफ्‍ना धारणाहरूलाई अङ्गालिरहन्छस्, अनि मानिसहरू र कामकुराप्रतिको तेरो दृष्टिकोण आफ्‍नै भावना, विचार, रुचि, र धारणामा आधारित भइरहन्छ भने, त्यो नै तैँले अलिकति पनि सत्यता बुझ्दैनस् र तँ अझै पनि शैतानी दर्शनहरूमा भर परेर जिइरहेको छस् भन्‍ने कुराको पर्याप्त प्रमाण हो। त्यो नै तँ सत्यतालाई प्रेम नगर्ने वा नपछ्याउने व्यक्ति होस् भन्‍ने कुराको पर्याप्त प्रमाण हो। कतिपय मानिस अत्यन्तै आत्मधर्मी हुन्छन्। तैँले तिनीहरूलाई जसरी सङ्गति दिए पनि, तिनीहरू आफ्‍नै दृष्टिकोणहरूमा टाँसिरहन्छन्: “म त ठूलालाई आदर गर्ने र सानालाई ख्याल गर्ने शिष्ट व्यक्ति हुँ—यो के त? कम्तीमा पनि म असल व्यक्ति हुँ। मेरो व्यवहारमा के नराम्रो छ? कम्तीमा सबैले मलाई सम्‍मान गर्छन्।” तँ असल व्यक्ति होस् भन्‍ने कुरामा म आपत्ति जनाउँदिनँ, तर यदि तैँले यसरी नै बहाना गरिरहिस् भने, के तैँले सत्यता र जीवन प्राप्त गर्न सक्‍नेछस्? यसरी तँ असल व्यक्ति बन्दा, त्यसले तेरो सत्यनिष्ठा नतोड्ला वा त्यो तेरो व्यवहारको उद्देश्य र दिशाविरुद्ध नजाला, तर तैँले एउटा कुरा बुझ्‍नैपर्छ: त्यसरी अघि बढिरहिस् भने, तैँले सत्यता बुझ्न वा सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछैनस्, अनि अन्त्यमा तैँले सत्यता वा जीवन, वा परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्नेछैनस्। सम्‍भावित परिणाम त्यही मात्र हो।

मैले भर्खरै मानिसहरूका धारणाको असल व्यवहारलाई कसरी लिने, र सत्यता पछ्याउने जस्ता असल व्यवहारहरू कसरी पहिचान गर्ने भन्‍नेबारे सङ्गति गरेँ। के तिमीहरूले अब मार्ग भेट्टायौ? (भेट्टायौँ।) तिमीहरूले के गर्नुपर्छ? (पहिले, आफूमा यस्ता व्यवहारहरू छन् कि छैन भनेर मनन गर्नुपर्छ। त्यसपछि, मानिसहरू र कुराप्रति व्यक्तिको दृष्टिकोणको सामान्य आधार र मापदण्ड के हो भनेर मनन गर्नुपर्छ।) ठिक भन्यौ। तैँले सुरुमा मानिसहरू र कामकुराप्रतिको तेरो पहिलेका दृष्टिकोण, वा तेरा व्यवहार र कार्यमा मैले आज सङ्गति गरेको कुरासँग बाझिएको वा त्यसविरुद्ध जाने कुनै कुरा छ कि भनेर स्पष्ट रूपमा हेर्नुपर्छ। तैँले मानिसहरू र कामकुराप्रतिको हेराइ र दृष्टिकोणको आधार के हो, तेरो आधार परम्‍परागत संस्कृतिका मापदण्ड वा केही महान् र प्रख्यात व्यक्तिहरूका भनाइ हो कि परमेश्‍वरका वचन अर्थात् सत्यता हो भनेर मनन गर्। त्यसपछि, परम्‍परागत संस्कृति र महान्, चर्चित मानिसहरूका विचार र दृष्टिकोण सत्यताअनुरूप छन् कि छैनन्, ती सत्यतासँग बाझिन्छन् कि बाझिँदैनन्, ती ठ्याक्कै कहाँ गलत छन्, त्यसबारे मनन गर्। यी नै दोस्रो चरणको आत्मचिन्तनमा समावेश कुरा हुन्। अब, तेस्रो चरण। तैँले मानिसहरू र कामकुरालाई हेर्ने तेरो दृष्टिकोण, तरिका, आधार, र मापदण्ड, साथै तेरो व्यवहार र कार्य मानिसको इच्छा, समाज र परम्‍परागत संस्कृतिका दुष्ट प्रचलनहरूबाट आउँछन्, र ती सत्यताविपरीत छन् भन्‍ने पत्ता लगाएपछि, के गर्नुपर्छ? के तैँले परमेश्‍वरका सान्दर्भिक वचनहरू खोजेर तिनलाई आफ्‍नो आधारको रूपमा लिनु पर्दैन र? (पर्छ।) मानिसहरू र कामकुराप्रतिको दृष्टिकोण, साथै व्यवहार र कार्य समावेश सत्यता सिद्धान्तहरू परमेश्‍वरका वचनहरूमा खोज्। तैँले यसलाई मुख्य रूपमा परमेश्‍वरको वचनले भनेको कुरा, वा सटीक रूपमा भन्नुपर्दा, परमेश्‍वरको वचनका सत्यता सिद्धान्तहरूमा आधारित गर्नुपर्छ। ती सत्यता सिद्धान्तहरू नै मानिसहरू र कामकुराप्रतिको तेरो दृष्टिकोण, अनि तेरो व्यवहार र कार्यको आधार र मापदण्ड बन्‍नुपर्छ। यो हासिल गर्न सबैभन्दा गाह्रो कुरा हो। सुरुमा व्यक्तिले आफ्‍ना दृष्टिकोण, धारणा, विचार, र मनोवृत्ति त्याग्नैपर्छ। यसमा मानिसका केही गलत र विकृत दृष्टिकोण समावेश छन्। उसले ती दृष्टिकोणहरू खोतल्नैपर्छ, चिन्नैपर्छ, र राम्ररी विश्‍लेषण गर्नैपर्छ। यसको अर्को भाग के हो भने, जब मानिसहरूले परमेश्‍वरका सान्दर्भिक वचनहरूमा उचित कथन भेट्टाएका हुन्छन्, तब तिनीहरूले यसबारे चिन्तन-मनन गर्नुपर्छ र सङ्गति गर्नुपर्छ, अनि सत्यता सिद्धान्तहरू के हुन् भनेर स्पष्ट गरिसकेपछि, यो तुरुन्तै तिनीहरूले कसरी सत्यता स्विकार्नुपर्ने र अभ्यास गर्नुपर्ने सवाल बन्छ। मलाई भन् त, व्यक्तिले सत्यता सिद्धान्तहरू बुझेपछि, के ऊ तुरुन्तै ती स्विकार्न र त्यसमा समर्पित हुन सक्छ? (सक्दैन।) मानिसको विद्रोहीपन र भ्रष्ट स्वभाव क्षणभरमा नै हटाउन सकिँदैन। मानिससँग भ्रष्ट स्वभाव हुन्छ, र उसलाई परमेश्‍वरका वचनहरूको अर्थ थाहा भए पनि, ऊ त्यो तुरुन्तै अभ्यास गर्न सक्दैन। हरेक मामिलामा सत्यता अभ्यास गर्नु उसका लागि फलामको चिउरा चपाउनु बन्छ। मानिससँग विद्रोही स्वभाव हुन्छ। उसले आफ्‍नो पूर्वाग्रह, सन्कीपन, ढिटपन, हठ, आत्म-धार्मिकता, वा अहम्‌ त्याग्‍न सक्दैन, न त आफ्‍ना सफाइ दिने अनेकौँ तर्क र बहानाहरू, न त आफ्‍नो मूल्य, हैसियत, प्रतिष्ठा, वा अभिमान नै त्याग्‍न सक्छ। त्यसकारण, जब तैँले आफ्‍ना धारणामा असल ठानेको कुरा त्याग्छस्, तब तैँले त्याग्नैपर्ने कुरा भनेको तेरा यी हित र तैँले बहुमूल्य ठान्‍ने कुरा नै हुन्। जब तँ यी सबै कुरा छोड्न र त्याग्‍न सक्छस्, तब तैँले परमेश्‍वरका वचनको आधारमा, सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्ने आशा वा मौका पाउनेछस्। आफूलाई त्याग्‍नु र इन्कार गर्नु—सफलता पाउन सबैभन्दा गाह्रो कुरा यही हो। तैँले यो पार गरिसकेपछि, तेरो हृदयमा कुनै ठूला कठिनाइहरू बाँकी हुनेछैनन्। जब तैँले सत्यता बुझेर असल व्यवहारहरूको वास्तविक सारलाई छिचोल्न सक्छस्, तब मानिसहरू र कामकुराप्रति तेरो दृष्टिकोण परिवर्तन हुनेछ, र त्यसपछि तैँले बिस्तारै परम्‍परागत संस्कृतिका त्यस्ता कुराहरूलाई त्याग्‍न सक्‍नेछस्। त्यसकारण, मानिसहरू र कामकुराप्रतिको मानिसका गलत दृष्टिकोणहरू, र उसको व्यवहारको तौरतरिका र शैलीहरू, अनि उसको व्यवहारको उत्पत्ति र अभिप्राय—यो परिवर्तन गर्नु सरल कुरा होइन। मानिसमा हुने भ्रष्ट स्वभावहरू परिवर्तन गर्नु सबैभन्दा गाह्रो हुन्छ। कामकुराप्रति मानिसको दृष्टिकोण र उसको जीवनशैली उसको भ्रष्ट स्वभावबाट पैदा हुन्छ। भ्रष्ट स्वभावले तँलाई अहङ्कारी, आत्म-धर्मी, र जिद्दी बनाउँछ; यी कुराले तँलाई अरूलाई तिरस्कार गर्न, सधैँ आफ्‍नो नाम र हैसियत कायम राख्न, आफ्नो सम्मान बटुल्न र अरूमाझ केन्द्रबिन्दु बन्न ध्यान दिन, सधैँ आफ्‍नो भावी सम्‍भावना र भाग्यलाई विचार गर्न आदि गर्न लगाउँछन्। यी सबै कुरा तेरो भ्रष्ट स्वभावबाट पैदा हुन्छन् र तेरा हितसँग सम्‍बन्धित हुन्छन्। जब तैँले यी प्रत्येक कुरालाई लिएर विश्लेषण गरेको, बुझेको, र इन्कार गरेको हुन्छस्, तब ती त्याग्‍न सक्‍नेछस्। अनि तैँले ती अलिअलि गर्दै त्याग्न सकेपछि मात्रै कुनै सम्झौता नगरी र पूर्ण रूपमा परमेश्‍वरका वचनलाई आधार र सत्यतालाई मापदण्डको रूपमा लिएर मानिसहरू र कामकुरालाई हेर्न, अनि व्यवहार र कार्य गर्न सक्‍नेछस्।

मानिसहरू र कामकुराप्रतिको तेरो दृष्टिकोण, अनि तेरो व्यवहार र कार्यमा परमेश्‍वरका वचनहरूलाई आधारको रूपमा ले—यी वचनहरू सबैले बुझ्छन्। यी वचनहरू बुझ्‍न सजिलो छन्। मानिसले आफ्‍नो विवेक र विचारमा, आफ्‍नो सङ्कल्प र आदर्शमा, यी वचनहरूलाई बुझ्‍न सक्छ र ती पछ्याउन इच्छा गर्छ। त्यसमा कुनै कठिनाइ हुनु हुँदैन। तर वास्तवमा, मानिसले सत्यता अभ्यास गर्दा, उसलाई ती वचनअनुसार जिउन गाह्रो हुन्छ, अनि त्यसो गर्दा आउने अवरोध र समस्याहरू बाहिरी वातावरणले मात्रै ल्याउँदैन। मुख्य कारण उसको भ्रष्ट स्वभावसँग सम्‍बन्धित हुन्छ। मानिसको भ्रष्ट स्वभावबाट नै उसका विभिन्‍न समस्याहरू पैदा हुन्छन्। त्यसलाई समाधान गरेपछि, मानिसका सबै समस्या र कठिनाइ कुनै ठूलो समस्या रहँदैन। त्यसोभए, मानिसको भ्रष्ट स्वभावले गर्दा नै उसलाई सत्यता अभ्यास गर्न गाह्रो हुन्छ। त्यसकारण, तैँले परमेश्‍वरका यी वचनहरू अभ्यास गर्ने, र सत्यता अभ्यासको यो वास्तविकतामा प्रवेश गर्ने क्रममा, तँलाई यसबारे झन्-झन् बढी थाहा हुँदै जानेछ: “ममा भ्रष्ट स्वभाव छ। परमेश्‍वरले उल्‍लेख गरेको ‘भ्रष्ट मानवजाति’ म नै हुँ, मलाई शैतानले भित्रैदेखि भ्रष्ट पारेको छ, र म शैतानी स्वभावमा जिउने व्यक्ति हुँ।” त्यस्तै हुन्छ होइन र? (हो।) त्यसकारण, यदि मानिसले सत्यता पछ्याउँछ र ऊ सत्यता वास्तविकतामा प्रवेश गर्छ भने, नकारात्मक कुराहरू जान्‍नु र बुझ्नु जीवन प्रवेशको पहिलो कदम, सुरुको कदम मात्रै हो। त्यसकारण, किन धेरै मानिसले केही सत्यता बुझे पनि ती अभ्यास गर्न सक्दैनन्? किन तिनीहरूले धर्मसिद्धान्तका धेरै वचन र धर्मसिद्धान्त प्रचार गर्न सक्छन्, तर सत्यता वास्तविकतामा प्रवेश गर्न सकेका छैनन्? के तिनीहरूले कुनै सत्यता नबुझेकाले हो? होइन—यसको ठिक विपरीत हुन्छ। सत्यताबारे तिनीहरूको सैद्धान्तिक, शब्‍द र वाक्यांश स्तरको बुझाइ जत्तिको हुनुपर्छ ठिक त्यति नै हुन्छ। तिनीहरू त्यो पाठ गर्दा सजिलै उच्चारणसमेत गर्छन्। तिनीहरूसँग अवश्य पनि सङ्कल्प, अनि मानसिकता र आकाङ्क्षा हुन्छ; तिनीहरू सबै सत्यतातर्फ लागिपर्न इच्छुक हुन्छन्। तैपनि किन तिनीहरू सत्यता अभ्यास गर्न, अनि सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन्? किनभने तिनीहरूले बुझ्‍ने शब्‍द, लेखोट र सिद्धान्तहरू तिनीहरूको वास्तविक जीवनमा प्रकट हुनै सक्दैनन्। त्यसोभए यो समस्या कहाँबाट आउँछ? यसको उत्पत्ति तिनीहरूको भ्रष्ट स्वभावबाट हुन्छ, जुन बाधा दिने कुरा हो। त्यसैले कतिपय मानिसमा आत्मिक बुझाइको कमी हुन्छ र तिनीहरू सत्यता पछ्याउनु भनेको के हो भनेर बुझ्दैनन्, असफल हुँदैपिच्छे वा लड्दैपिच्छे, वा सत्यता अभ्यास गर्न नसक्दा प्रतिज्ञा गर्छन् र आफ्‍नो इच्छा घोषणा गर्छन्। तिनीहरू त्यस्ता अनगिन्ती प्रतिज्ञा र घोषणा गर्छन्, र पनि समस्या समाधान हुँदैन। तिनीहरू आफ्‍नो इच्छा घोषणा गर्ने र प्रतिज्ञा गर्ने त्यस चरणमा रोकिने गर्छन्। तिनीहरू त्यहीँ अल्झेर बस्छन्। धेरै मानिस सत्यता अभ्यास गर्दा सधैँ आफ्‍नो इच्छा तय गर्छन् र शपथ खान्छन्, आफूले सङ्घर्ष गर्ने बताउँछन्। हरेक दिन, तिनीहरू आफूलाई प्रोत्‍साहित गर्छन्। तीन वर्ष, चार वर्ष, पाँच वर्ष सङ्घर्ष गरेपछि अन्त्यमा कस्तो परिणाम आउँछ? केही पनि हासिल भएको हुँदैन, र अन्त्यमा असफलता मात्रै हात लाग्छ। तिनीहरूले बुझ्‍ने थोरै धर्मसिद्धान्त कहीँ पनि लागू हुँदैन। तिनीहरूलाई केही आइपर्दा, त्यसलाई कसरी हेर्ने र बुझ्ने त्यो तिनीहरूलाई थाहा हुँदैन। तिनीहरू आफ्‍नो आधारको रूपमा प्रयोग गर्न परमेश्‍वरका वचनहरू भेट्टाउन सक्दैनन्; तिनीहरू कामकुरालाई परमेश्‍वरका वचनहरूअनुसार कसरी हेर्ने भनेर जान्दैनन्, न त आफूलाई आइपरेको कुरामा परमेश्‍वरका वचनहरूको सत्यताको कुन पक्ष लागू हुन्छ भनेर नै जान्दछन्। त्यसपछि तिनीहरूलाई ठूलो चिन्ता हुन्छ, र तिनीहरू आफूलाई घृणा गर्छन्, परमेश्‍वरलाई प्रार्थना गरेर अझै धेरै शक्ति र विश्‍वास माग्छन्, अन्त्यमा आफैलाई प्रोत्साहन दिन्छन्। के त्यो पटमूर्ख व्यक्ति होइन र? (हो।) तिनीहरू बच्‍चाजस्तै हुन्। के सत्यतालाई पछ्याउने कार्यलाई मानिसले साधारण रूपमा लिनु वास्तवमा यस्तै बचकना होइन र? मानिस सत्यता अभ्यास गर्ने आफ्‍नो इच्छा घोषणा गरेर अनि प्रतिज्ञा गरेर, आफूलाई काबुमा राखेर अनि प्रोत्‍साहित गरेर सधैँ आफूलाई हौसला दिने इच्छा गर्छ, तर आफूलाई प्रोत्साहित गरे सत्यता अभ्यास र यसमा प्रवेश हुँदैन। बरु, तैँले साँच्‍चै नै मैले तँलाई बताएको तरिका र चरणहरूअनुसार, दह्रिलो र स्थिर भई, एकपछि अर्को कदम चाल्दै साँचो रूपमा प्रवेश र अभ्यास गर्नैपर्छ। त्यसरी मात्रै तैँले परिणामहरू पाउनेछस्; त्यसरी मात्रै तैँले सत्यता पछ्याइरहेको हुनेछस् र तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्। यसको वैकल्पिक कुनै छोटो बाटो छैन। यसको अर्थ थोरै हृदय लगाउँदा, आफूलाई समर्पित गर्ने थोरै चाहना राख्दा, ठूलो इच्छा ऱाख्दा, र ठूलो उद्देश्य लिँदा, सत्यता तेरो वास्तविकता बन्‍नेछ भन्‍ने होइन, तर मानिसले खोजी गर्ने, प्रवेश गर्ने, अभ्यास गर्ने, र समर्पित हुनेसम्‍बन्धी आधारभूत पाठहरू आफ्‍नो वास्तविक जीवनमा, मानिसहरू, घटनाक्रम, र परिस्थितिमाझ सिक्नैपर्छ। यी पाठहरू सिकेपछि मात्रै मानिस सत्यता र परमेश्‍वरका वचनहरूमा जोडिन सक्छ, वा उसले ती वचन अनुभव गर्न वा तिनलाई जान्‍न सक्छ। त्यसो नगरी, मानिसले उसको हृदयको रिक्तता भर्ने थोरै धर्मसिद्धान्त मात्रै प्राप्त गर्नेछ, चाहे उसले आफूलाई उत्प्रेरित गर्दै, प्रोत्‍साहन दिँदै, र हौसला दिँदै जति नै वर्ष किन नबिताओस्। उसले थोरै र क्षणिक आत्मिक सन्तुष्टि मात्रै पाउनेछ, तर उसले कुनै पनि साँचो महत्त्वको कुरा प्राप्त गरेको हुनेछैन। साँचो महत्त्वको कुरा प्राप्त नगर्नु भनेको के हो? यसको अर्थ मानिसहरू र कामकुराप्रतिको तेरो दृष्टिकोण अनि तेरो व्यवहार र कार्यको आधार परमेश्‍वरका वचनहरू होइनन् भन्‍ने हो। त्यसमा परमेश्‍वरका वचनहरू मानिसहरू र कामकुराप्रतिको तेरो दृष्टिकोण वा व्यवहार र कामकुरासम्‍बन्धी तेरो हेराइको आधारको हुँदैनन्। तँ अन्योलपूर्ण जीवन, असहाय जीवन जिउँछस्, अनि तँलाई आफ्‍ना दृष्टिकोण, सिद्धान्त र अडान व्यक्त गर्न माग गर्ने समस्या जति सामना गर्छस्, उति नै तेरो अज्ञानता, मूर्खता, खोक्रोपन, र असहायपन स्पष्ट हुनेछ। सामान्य परिस्‍थितिहरूमा, तैँले केही सही धर्मसिद्धान्त र थेगोहरू फलाक्न सक्छस्, मानौँ तैँले सबै कुरा बुझेको छस्। तर जब समस्या खडा भएको हुन्छ, र कुनै व्यक्तिले आएर तेरो स्थानको घोषणा गर्न र तँ कहाँ खडा छस् भनेर बताउन लगाउँछ, तब तँ निश्शब्द हुनेछस्। कतिले भन्‍नेछन्, “निश्शब्द? त्यस्तो होइन—मलाई त्यो भन्‍न आँट आउनेछैन।” त्यसोभए, तँ किन भन्दैनस् त? त्यसले तैँले गरिरहेको काम सही हो कि होइन भन्‍नेमा तँ निश्‍चित छैनस् भन्‍ने देखाउँछ। किन तँ त्यसमा अनिश्‍चित हुन्छस्? किनभने जब तैँले कुनै कुरा गरिरहेको थिइस्, तब गरिरहेको कुराको आधार कहिल्यै निश्‍चित गरिनस्, न त यसो गर्नुका तेरा सिद्धान्तहरू के हुन् भनेर नै निश्‍चित गरिस्, झन् अवश्यै, आफूले परमेश्‍वरका वचनहरूअनुसार, सत्यतालाई मापदण्ड मानेर मामला हेरिरहेको र काम गरिरहेको छ कि छैन भनेर निश्चित गर्नु त परै जाओस्। त्यसकारण, जब समस्या आइपर्छ, तब तँ बेढङ्गी र असक्त देखिन्छस्। कतिपयले पत्याउँदैनन्। तिनीहरू भन्छन्, “म त्यस्तो छैनँ। मैले कलेज पढेँ। मैले मास्टर्स गरेको छु,” वा “म दार्शनिक, प्राध्यापक, उच्च तहको बुद्धिजीवी हुँ,” वा “म सुसंस्कारी व्यक्ति हुँ। मैले भन्‍ने कुरा छापेर राख्न सक्नुहुन्छ,” वा “म महत्त्वपूर्ण विद्वान हुँ,” वा “म प्रतिभाशाली छु।” के यी कुराहरू फलाक्दा यो तेरो कुनै कामको हुन्छ? ती तेरा गुणहरू होइनन्। बढीमा, यी कुराहरूले तँमा थोरै ज्ञान छ भन्‍ने देखाउँछन्। परमेश्‍वरको घरमा त्यो काम लाग्नेछ कि लाग्नेछैन त्यो भन्‍न गाह्रो छ, तर कम्तीमा पनि तेरो त्यो ज्ञान सत्यता होइन, र यसले तेरो कद झल्काउँदैन भन्‍ने कुराचाहिँ पक्‍का हुन्छ। तेरो ज्ञानले तेरो कद झल्काउँदैन भन्‍नुको अर्थ के हो? त्यस्ता कुराहरू तेरो जीवन होइनन्; ती त तेरो शरीरबाहिरका कुरा हुन्। त्यसोभए तेरो जीवन के हो? यो यस्तो जीवन हो जसको आधार र मापदण्ड शैतानको तर्क र दर्शन हुन्छ, अनि तैँले आफ्नो ज्ञान, संस्कृति, मष्तिष्कले समेत, यी कुराहरूलाई दबाउन, वा नियन्त्रण गर्न सक्दैनस्। त्यसैले, जब कुनै समस्या आइपर्छ, तब तेरो प्रतिभा, बौद्धिकता र प्रशस्त ज्ञान केही कामको हुनेछैन—वा के हुन सक्ला भने तेरो भ्रष्ट स्वभावको एउटा पक्ष प्रकट हुँदा, अन्त्यमा तेरो धैर्य, शिक्षा, ज्ञान आदि सबै केही कामको हुनेछैन। त्यसपछि तँलाई असहाय महसुस हुनेछ। यी सबै कुरा सत्यता नपछ्याएको र सत्यता वास्तविकतामा प्रवेश नगरेको कुरा मानिसमा देखिने अनौठा तरिका हुन्। के सत्यतामा प्रवेश गर्नु सजिलो छ? के यसमा चुनौती छ? कहाँ छ? मलाई सोध्यौ भने, कुनै चुनौती छैन भन्छु। आफ्नो इच्छा घोषणा गर्न वा प्रतिज्ञा गर्न ध्यान नदे। यी कुरा व्यर्थ हुन्। यदि तँसँग आफ्नो इच्छा घोषणा गर्ने र प्रतिज्ञा गर्ने समय छ भने, बरु त्यो समय परमेश्‍वरका वचनहरूमा लगाउने प्रयास गर्। ती वचनहरूले के भन्छन्, र तिनको कुन भागले तेरो वर्तमान स्थितिलाई समेट्छ, त्यसबारे विचार गर्। आफ्नो इच्छा तय गर्नु व्यर्थ छ। तैँले आफ्नो दिमाग खियाएर र रगत-पसिना एक गरेर आफ्नो इच्छा तय गरे पनि, त्यो व्यर्थ हुनेछ। यसरी कुनै समस्या समाधान गर्न सकिँदैन। त्यसरी तैँले मानिस र पिशाचहरूलाई छल्‍न सक्छस्, तर परमेश्‍वरलाई छल्‍न सक्दैनस्। तेरो त्यो इच्छामा परमेश्‍वरलाई खुसी लाग्दैन। तैँले कतिपटक आफ्नो इच्छा तय गरेको छस्? तँ प्रतिज्ञा गर्छस्, त्यसपछि त्यो फिर्ता लिन्छस्, अनि त्यसलाई फिर्ता लिएपछि, फेरि प्रतिज्ञा गर्छस्, र फेरि फिर्ता लिन्छस्। त्यसले तँलाई कस्तो व्यक्ति बनाउँछ? तँ आफ्नो वचन कहिले पूरा गर्छस्? तैँले आफ्नो वचन पूरा गरे पनि नगरे पनि, वा आफ्नो इच्छा तय गरे पनि नगरे पनि, त्यसले फरक पार्दैन। तैँले प्रतिज्ञा गरे पनि नगरे पनि, त्यसले पनि फरक पार्दैन। महत्त्वपूर्ण कुरा के हो त? त्यो तैँले आफूले बुझेको सत्यता तुरुन्तै, झट्टै, लगत्तै अभ्यास गरिहाल्‍नु हो। यो सबैभन्दा स्पष्ट, अरूले त्यति ध्यान नदिने र तैँले पनि त्यति जोड नदिने सत्यता भए पनि, यसलाई तुरुन्तै अभ्यास गरिहाल्—यसमा तुरुन्तै प्रवेश गरिहाल्। त्यसो गरिस् भने, तँ सत्यता वास्तविकतामा तुरुन्तै प्रवेश गर्नेछस्, र तुरुन्तै, सत्यता पछ्याउने मार्गंमा हिँड्न सुरु गर्नेछस्। तैँले सत्यता पछ्याउन लागेको हुनेछस्। त्यो जगमा तँ सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र कामकुरालाई हेर्ने, अनि आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने व्यक्ति चाँडै बन्‍न सक्‍नेछस्। त्यो कस्तो इनाम हुनेछ—कस्तो वास्तविक मूल्यको हुनेछ!

परम्‍परागत संस्कृतिअनुसारका असल व्यवहारसम्‍बन्धी भनाइहरूबारे सङ्गति गरेपछि, के तिमीहरूले तिनका बारेमा कुनै बुझाइ प्राप्त गर्‍यौ? यस्तो असल व्यवहारलाई तिमीहरूले कसरी लिनुपर्छ? कतिले भन्‍न सक्छन्, “आजदेखि, म शिक्षित र समझदार, भद्र र परिष्कृत वा शिष्ट व्यक्ति बन्दिनँ। म कथित ‘असल’ व्यक्ति बन्‍नेछैनँ; म ठूलालाई आदर गर्ने वा सानालाई ख्याल गर्ने व्यक्ति बन्‍नेछैनँ; म मिलनसार र व्यवहार गर्न सजिलो व्यक्ति बन्‍नेछैनँ। यो कुनै पनि सामान्य मानवताको सामान्य प्रकटीकरण होइन; यो त छलपूर्ण व्यवहार हो जुन झुटो र गलत छ, र यसले सत्यता अभ्यासको स्तर पूरा गर्दैन। म कस्तो व्यक्ति हुनेछु? म इमानदार व्यक्ति हुनेछु; म इमानदार व्यक्ति भएर यो सुरु गर्नेछु। बोलीवचनमा, म अशिक्षित, नियमहरू नबुझ्‍ने, ज्ञान नभएको, र अरूले हेप्‍ने व्यक्ति हुन सक्छु, तर म इमानदारीसाथ, कुनै झुटविना खुलस्त बोल्‍नेछु। मैले व्यक्तिको रूपमा र व्यवहारमा नाटक र देखावटी व्यवहार गर्नेछैनँ। हरेकपटक बोल्दा, म हृदयदेखि बोल्‍नेछु—मनभित्र सोचेको कुरा नै भन्‍नेछु। यदि कुनै व्यक्तिप्रति ममा घृणा छ भने, म आफूलाई जाँच्‍नेछु र तिनहरूलाई चोट पुर्‍याउने खालको केही कुरा भन्‍नेछैनँ; म सुधार गर्ने खालका कुराहरू मात्रै गर्नेछु। बोल्दा, म आफ्‍नो व्यक्तिगत फाइदालाई ध्यान दिनेछैनँ, न त आफ्‍नो प्रतिष्ठा वा इज्‍जतको बन्धनमै पर्नेछु। साथै, म मानिसहरूलाई मेरो आदर गर्न लगाउने अभिप्राय बोक्‍नेछैनँ। परमेश्‍वर खुशी हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने कुरालाई मात्रै महत्त्व दिनेछु। मानिसहरूलाई चोट नपुर्‍याउनु नै मेरो आधारभूत व्यवहार हुनेछ। म जे गर्छु त्यो परमेश्‍वरका मापदण्डहरूअनुसार हुनेछन्; म अरूलाई हानि गर्ने कुराहरू गर्नेछैनँ, न त परमेश्‍वरको घरका हितहरूलाई हानि गर्ने कामहरू नै गर्नेछु। म अरूका लागि फाइदाजनक कुराहरू मात्रै गर्नेछु, इमानदार व्यक्ति, र परमेश्‍वरलाई खुशी पार्ने व्यक्ति बन्‍नेछु।” के यो व्यक्तिमा आएको परिवर्तन होइन र? यदि तिनीहरूले साँच्‍चै नै यी बोलीवचनहरू अभ्यास गरे भने, तिनीहरू साँचो रूपमा परिवर्तन भएका हुनेछन्। तिनीहरूको भविष्य र नियति परिवर्तन भएर असल हुनेछन्। तिनीहरूले चाँडै नै सत्यता खोजी गर्ने मार्ग सुरु गर्नेछन्, सत्यताको वास्तविकतामा चाँडै प्रवेश गर्नेछन्, र मुक्ति पाउने आशासहितको व्यक्ति बन्‍नेछन्। यो राम्रो र सकारात्मक कुरा हो। के यसका लागि तैँले आफ्नो इच्छा तय गर्नुपर्ने वा प्रतिज्ञा गर्नुपर्ने हुन्छ? यसका लागि केही आवश्यक हुँदैन: तैँले परमेश्‍वरप्रति आफ्नो इच्छा तय गर्नु पर्दैन; न त आफ्नो विगतका सबै अपराध, गल्ती, र विद्रोहीपनको सूची बनाउनुपर्छ, न त तुरुन्तै परमेश्‍वरसामु गल्ती स्विकारेर उहाँलाई क्षमा माग्‍नु नै पर्छ। त्यस्ता औपचारिकताहरू पूरा गरिरहनु पर्दैन। अहिले, तुरुन्तै साँचो कुरा र हृदयको कुरा मात्र भन्, अनि झूट वा छलविना ठोस कार्य गर्। त्यसपछि तैँले केही कुरा हासिल गरेको हुनेछस्, र तँ इमानदार व्यक्ति बन्‍ने आशा हुनेछ। जब कुनै व्यक्ति इमानदार बन्छ, तब उसले सत्यता वास्तविकता हासिल गर्छ र ऊ मानव स्वरूपमा जिउन थाल्छ। परमेश्‍वर त्यस्ता मानिसहरूलाई अनुमोदन गर्नुहुन्छ। यसमा, कुनै शङ्का छैन।

फेब्रुअरी ५, २०२२

फूटनोटहरू:

क. एउटा प्रसिद्ध चिनियाँ कथामा प्रस्तुत कोङ रोङका विशेषताहरू केटाकेटीहरूलाई शिष्टाचार र भातृप्रेमका मूल्यबारे शिक्षा दिन परम्परागत रूपमा प्रयोग गरिन्छ। त्यस कथामा, कोङ रोङको परिवारले नास्पातीको टोकरी प्राप्त गर्दा, चार वर्षीय कोङ रोङले कसरी ठूला नस्पातिहरू आफ्ना दाजुहरूलाई दिएर आफ्ना लागि सबैभन्दा सानो नास्पाती लिन्छ भनेर बताइएको छ।

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (२)

अर्को: सत्यता पछ्याउनु भनेको के हो (४)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्