सत्यता पछ्याउनु भनेको के हो (१५)

अहिले, विपत्तिहरू झन्झन् तीव्र हुँदै गइरहेका छन्। महामारी निरन्तर फैलिरहेको मात्रै छैन, मानिसहरूको जीवनमा अनिकाल पनि परिरहेको छ। केही क्षेत्रमा युद्ध सुरु भएको छ र संसारका विभिन्‍न ठाउँमा कोलाहल मच्‍चिइरहेको छ। व्यापक विभाजन भइरहेको छ। विगतमा यसो भनिएको थियो, “युद्धको ज्वाला मडारिन्छ, तोपको धुवाँले हावा भरिन्छ, मौसम गरम हुन्छ, जलवायु परिवर्तन हुन्छ, र महामारी फैलनेछ,” र यो भविष्यवाणी पूरा भइरहेको छ। महामारी फैलिरहेको छ र रोकिएको छैन, र अविश्‍वासीहरू भयानक अवस्थामा जिइरहेका छन्। हरेक दिन र वर्ष अघिल्‍लोभन्दा खराब भइरहेको छ, र तिनीहरू विपत्तिमा परिसकेका छन्। तिनीहरू सबै यो कष्टबाट मुक्त हुन र विपत्तिका दिनहरूबाट उम्कन चाहन्छन्। तिनीहरू सबैले सरकारले तिनीहरूलाई उद्धार गरेर विपत्तिबाट छुटकारा देओस् भन्‍ने आशा गर्छन्, तर सरकार त छालले हानेको बालुवाको घरजस्तै छ—शक्तिहीन र आफूलाई समेत बचाउन नसक्‍ने अवस्थामा छ, अरूलाई बचाउन सक्‍नु त परको कुरा हो। अहिले कुनै पनि दिन, सरकार ढल्‍न र नष्ट हुन सक्छ; यो अपरिहार्य छ। तिमीहरू सबैले अविश्‍वासीहरू कस्तो अवस्थाबाट गुज्रिरहेका छन् भन्‍ने कुरा देखेका छौ—तिनीहरूले वास्तवमै कष्ट भोगिरहेका छन्! अहिले तिमीहरूको जीवन कस्तो छ? के तिमीहरू तिनीहरूभन्दा निकै राम्रो अवस्थामा छैनौ र? (छौँ।) तिमीहरू कसरी राम्रो अवस्थामा छौ? (हामीले अझै पनि परमेश्‍वरको वचन सँगै मिलेर पढ्न र सत्यता सङ्गति गर्न पाएका छौँ। हामीले अझै पनि परमेश्‍वरको घरमा आफ्‍नो कर्तव्य निभाउन र जीवनप्रवेश खोजी गर्न पाएका छौँ। हाम्रो हृदय शान्तिमा र चिन्तामुक्त छ। हामी अविश्‍वासीहरूभन्दा निकै राम्रो अवस्थामा छौँ।) कम्तीमा पनि, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरू अविश्‍वासीहरूभन्दा राम्रो अवस्थामा हुन्छन् किनभने तिनीहरूले भरोसा गर्ने केही न केही कुरा हुन्छ। तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छन्; तिनीहरूले सबै कुरा परमेश्‍वरको हातमा छ भनेर विश्‍वास गर्छन्, र तिनीहरूले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा विश्‍वास गर्छन्। तिनीहरूसँग परमेश्‍वरप्रति साँचो विश्‍वास र साँचो आस्था छ, त्यसकारण तिनीहरूले भरोसा गर्ने वास्तविक कुरा छ, र तिनीहरूसँग सुरक्षाको अनुभूति छ। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिसहरूले हृदयमा वास्तविक साथको अनुभूति गर्छन्, साथै सुरक्षा, शान्ति र आनन्द पनि महसुस गर्छन्, चाहे बाहिरको वातावरण जति नै खतरनाक वा अस्तव्यस्त नै किन नहोस्। त्यसकारण, तिनीहरूले जे-जस्तो परिस्थिति अनुभव गरे पनि, बाहिरी वातावरण जे-जसरी परिवर्तन भए पनि, जे-जस्ता घटना घटे पनि, विपत्ति, युद्ध वा महामारी आए पनि, र यो ठूलो वा सानो जे-जस्तो घटना भए पनि, परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्तिले परमेश्‍वरको घरको कर्तव्य निभाउन, परमेश्‍वरको वचन खान-पिउन, परमेश्‍वरको काम अनुभव गर्न, र सत्यता प्राप्त गर्ने प्रयास गर्नमा आफूलाई समर्पित गर्न सक्छन्, किनभने तिनीहरू परमेश्‍वरलाई पछ्याउँछन् र सांसारिक प्रचलनहरूबाट अलग बस्छन्। यो कुरा अपरिवर्तित नै रहन्छ। परमेश्‍वरमाथिको विश्‍वासमा तैँले खोजी गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा र महत्त्वपूर्ण उद्देश्य परिवर्तन हुन सक्दैन, र त्यो उद्देश्य भनेको सत्यता खोजी गर्नु, आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नु र परमेश्‍वरको सुन्दर गवाही दिनु हो। यो कुरा अवश्यै परिवर्तन हुन सक्दैन।

संसार जसरी परिवर्तन भए पनि, शैतानका शक्तिहरूले जसरी लडाइँ र झगडा गरे पनि, र यो समाज र संसार जति अराजक भए पनि, मानवजातिप्रतिको शैतानको धोका, भ्रष्टता, बन्धन, र नियन्त्रणजस्ता आधारभूत समस्याहरू अपरिवर्तित नै रहन्छन्। भन्‍नुको अर्थ, मानिसहरूमा शैतानले घुसाइदिने विभिन्‍न विधर्म र भ्रमहरू, अनि परमेश्‍वरलाई विरोध गर्ने र परमेश्‍वरले सृष्टि गर्नुभएको मानव र सबै थोकको व्यवस्था र नियमहरूसँग बाझिने सबै विचार र वचनहरू अपरिवर्तित नै रहन्छन्। एक हिसाबमा, यी शैतानी कुराहरू परिवर्तन भएका छैनन्। अर्को हिसाबमा, यो संसारको स्थिति र संरचना जे-जसरी परिवर्तन भए पनि, मानिसहरूको हृदयको गहिराइमा शैतानद्वारा रोपिएका विधर्म र भ्रमहरू हटाइएका छैनन्। संसार अराजक स्थितिमा रहेकोले यस्तो भएको होइन वा शैतान अहिले कमजोर स्थितिमा भएकोले र संसारलाई नियन्त्रण गर्न नसक्‍ने अवस्थामा रहेकोले मानिसहरूलाई शैतानले छल गर्ने र भ्रष्ट तुल्याउने विधर्म र भ्रमहरू मानिसहरूको हृदयबाट बिलाएर गएकोले यस्तो भएको होइन। यो कुरा त्यस्तो होइन। शैतानका विधर्म र भ्रमहरू अझै पनि मानिसहरूको हृदयमै छन्, र ती कुराहरू कसैले पनि हटाउन सक्दैन। शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउन थालेदेखि नै, शैतानका विधर्म र भ्रमहरू हरेक सृष्टि गरिएको मानवको हृदयको गहिराइ र मनमा रोपिएका छन्। आजको दिनसम्‍मै मानिसहरूको हृदय र मनमा यी कुराहरू पूर्ण रूपमा अपरिवर्तित अवस्थामै रहेका छन्। परमेश्‍वरले धेरै वर्ष काम गरेर मानिसहरूलाई धेरै सत्यता दिनुभएपछि पनि, मानिसहरूले अझै पनि शैतानले तिनीहरूमा घुसाइदिएका विभिन्‍न सोच, विचार, र भनाइहरूसमेत चिन्‍न सक्दैनन्, वातावरणीय तत्वहरूको प्रभावविना यी कुराहरूलाई तिनीहरूले सक्रिय रूपमा पहिचान गर्ने वा हृदयबाट निकाल्‍ने प्रयास गर्नु त परको कुरा हो। न त तिनीहरूले तिनीहरूमा शैतानले घुसाइदिएका विभिन्‍न विचार र अभिव्यक्तिहरूलाई नै सक्रिय रूपमा इन्कार गर्न सक्छन्, चाहे तिनिहरूले परमेश्‍वरको वचनको भरणपोषण र अगुवाइ नै किन नपाऊन्। सुरुमा शैतानले मानिसहरूलाई निष्क्रिय रूपमा भ्रष्ट तुल्याएको भए पनि, शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउँदै आएको सम्पूर्ण प्रक्रियामा, मानिसहरू शैतानको स्वभावअनुसार जिउन थाले, र विभिन्‍न कुराहरूलाई शैतानको सोच र दृष्टिकोणअनुसार हेर्न थाले। क्रमिक रूपमा, मानिसहरूले झन्झन् सक्रिय रूपमा शैतानसँग सहकार्य गर्न थाले, र परमेश्‍वरबाट टाढा हुँदै, र परमेश्‍वरलाई त्याग्दै, तिनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्न झन्झन् सक्रिय हुँदै गए, र अन्त्यमा, शैतानले तिनीहरूलाई पूर्ण रूपमा नियन्त्रण गर्‍यो। जब शैतानका दुष्ट र मूर्ख विचार र दृष्टिकोणहरू मानिसहरूमा पूर्ण रूपमा बसेका हुन्छन्, तब तिनीहरू शैतानका कैदी र कमाराहरू बन्छन्, वा अझै स्पष्ट रूपमा भन्दा, तिनीहरू शैतानकै मूर्तरूप बन्छन्। जब यस्तो हुन्छ, तब मानिसहरू पूर्ण रूपमा शैतानको स्वभावमा जिइरहेका हुन्छन्। तिनीहरू शैतानका दर्शन र विचारधाराअनुसार जिउने मात्र होइन, शैतानले तिनीहरूमा घुसाइदिएका विभिन्‍न धारणा र दृष्टिकोणहरू तिनीहरूको प्रकृतिमा गाभिएका समेत हुन्छन्। अझै स्पष्ट रूपमा भन्दा, मानिसहरू शैतानको स्वरूपमा मात्रै जिइरहेका हुँदैनन्, बरु दियाबलस शैतान नै भएर जिइरहेका हुन्छन्। जब यस्तो हुन्छ, मानिसहरू निष्क्रिय रूपमा शैतानद्वारा भ्रष्ट हुने, प्रभावित हुने, छलमा पर्ने वा नियन्त्रणमा पर्ने मात्रै हुँदैनन्, तिनीहरू त परमेश्‍वरविरुद्ध पूर्ण रूपमा शैतानको पक्षमा उभिरहेका समेत हुन्छन्। जब मानिसहरू यो हदसम्‍म भ्रष्ट भएका हुन्छन्, तब तिनीहरू शैतानको माध्यम, र मूर्तरूप बनेका हुन्छन् भनेर भन्‍न सकिन्छ। शैतानको माध्यम र मूर्तरूप बनिसकेको एउटा सृष्टि गरिएको प्राणीलाई मुक्ति दिनको लागि, परमेश्‍वरले सत्यता प्रदान गर्ने र परमेश्‍वरविरुद्ध रहेका मानिसहरूका विभिन्‍न भ्रष्ट स्वभाव र कार्यहरू खुलासा गर्नेबाहेक, मानिसहरूले आफ्‍नो हृदयको गहिराइमा राखेका शैतानका जस्तै विचार, दृष्टिकोण, र अभिव्यक्तिहरूलाई खोतल्‍नु र चिरफार गर्नु अझै महत्त्वपूर्ण हुन्छ। मानिसहरू र शैतानका उस्तै विचार, दृष्टिकोण, र अभिव्यक्तिहरू हुन्छन्। शैतान यी कुराहरूअनुसार जिउँछ, र शैतानले मानिसहरूलाई गहन रूपमा भ्रष्ट तुल्याएको हुनाले, तिनीहरू पनि त्यसरी नै स्वाभाविक रूपमै यी कुराहरूअनुसार नै जिइरहेका हुन्छन्। मानिसहरू यी कुराहरूअनुसार नै जिउने र यी दृष्टिकोणहरूद्वारा प्रभावित हुने, बहकिने, र नियन्त्रित हुने कारणले गर्दा नै, मानिसहरूले सत्यताको कुनै भाग बुझेर अनि परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने जानेर पनि, अझै तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासको आधारमा उहाँको अघि झुक्‍न वा उहाँमा पूर्ण रूपमा समर्पित हुन सक्दैनन्, न त तिनीहरूले इमानदार हृदयको साथ उहाँको आराधना नै गर्न सक्छन्। मानिसहरूले इमानदार हृदयले परमेश्‍वरलाई आराधना गर्न नसक्‍नुको कारण के हुन्छ भने, तिनीहरूको हृदय र मनको गहिराइमा तिनीहरूलाई अझै पनि शैतानका विभिन्‍न विचार र दृष्टिकोणहरूले काबुमा राखेका र नियन्त्रण गरेका हुन्छन्। मानिसहरूले परमेश्‍वरको काम स्विकारेर परमेश्‍वरद्वारा जितिएपछि, तिनीहरूले परमेश्‍वरको वचनलाई जीवनको रूपमा स्विकार्न सके पनि, यही कारणले गर्दा नै तिनीहरूले अझै पनि शैतानका विभिन्‍न विधर्म र भ्रमहरूलाई पूर्ण रूपमा त्याग्‍न सक्दैनन्; अझै पनि तिनीहरू अन्धकारको प्रभावबाट पूर्ण रूपमा मुक्त भएर परमेश्‍वरप्रति साँचो रूपमा आज्ञाकारी हुन वा उहाँको आराधना गर्न सक्दैनन्। त्यसकारण, यदि परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनु छ भने, एक हिसाबमा उहाँले मानिसहरूको भ्रष्ट स्वभावलाई न्याय गर्न र धुनको लागि सत्यता व्यक्त गर्नुपर्ने हुन्छ; मानिसहरूलाई सत्यता बुझ्‍न लगाउन, अनि परमेश्‍वरलाई चिन्‍न र उहाँको आज्ञापालन गर्न लगाउनुपर्ने हुन्छ; मानिसहरूलाई कस्तो आचरण अँगाल्ने र कसरी सही मार्गमा हिँड्ने भनेर सिकाउनुपर्ने हुन्छ; र मानिसहरूलाई तिनीहरूले कसरी सत्यता अभ्यास गर्नुपर्छ, कसरी आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ र तिनीहरू कसरी सत्यताको वास्तविकतामा प्रवेश गर्न सक्छन् भनी बताउनुपर्ने हुन्छ। अर्को हिसाबमा, उहाँले शैतानका विचार र दृष्टिकोणहरू खुलासा गर्नुपर्ने हुन्छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन प्रयोग गर्ने विभिन्‍न विधर्म र भ्रमहरूलाई उहाँले खुलासा र चिरफार गर्नुपर्छ, ताकि मानिसहरूले ती कुराहरूलाई चिन्‍न सकून्। त्यसपछि, मानिसहरू आफ्‍नो हृदयबाट यी शैतानी कुराहरू हटाउँदै शुद्ध हुन र मुक्तिसम्म पुग्‍न सक्छन्। यस तरिकाले, मानिसहरूले सत्यता के हो भन्‍ने कुरा बुझ्‍नेछन्, र तिनीहरूले शैतानको स्वभाव, शैतानको प्रकृति र यसका विधर्म र भ्रमहरूलाई पनि पहिचान गर्न सक्‍नेछन्। जब मानिसहरूले परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ भनेर स्विकार्छन् र परमेश्‍वरलाई पछ्याउने विश्‍वास पाउँछन्, तब तिनीहरू हृदयको गहिराइदेखि नै शैतानको कुरूपता देख्‍न र साँच्‍चै नै शैतानलाई इन्कार्न सक्षम हुन्छन्। यी मानिसहरूको हृदय त्यसपछि पूर्ण रूपमा परमेश्‍वरमा फर्किन सक्छ। जब व्यक्तिको हृदय परमेश्‍वरतिर फर्किन थालेको हुन्छ तर अझै पूर्ण रूपमा फर्किसकेको चाहिँ भएको हुँदैन, अर्थात् जब तिनीहरूको हृदयमा सत्यताले बास गरिसकेको हुँदैन, र जब तिनीहरूको हृदय अझै परमेश्‍वरद्वारा प्राप्त गरिएको हुँदैन, तब कम्तीमा पनि आफ्‍नो जीवन जिउने क्रममा तिनीहरूले शैतानले मानिसहरूमा घुसाइदिने सबै अभिव्यक्तिहरूलाई चिन्‍न, चिरफार गर्न र छर्लङ्गै देख्‍न परमेश्‍वरको वचन प्रयोग गर्नेछन् र अन्तिममा तिनीहरूले शैतानलाई त्याग्‍न सक्‍नेछन्। यस तरिकाले, मानिसहरूको हृदयमा रहेको शैतानको स्थान झन्झन् सानो बन्दै जानेछ, र अन्तिममा यो पूर्ण रूपमा हट्नेछ। परमेश्‍वरको वचन, परमेश्‍वरले मानिसहरूलाई दिनुहुने शिक्षा, परमेश्‍वरले दिनुहुने सत्यताका सिद्धान्तहरू, आदि इत्यादि कुराले यसको ठाउँ लिनेछन्। सकारात्मकता र सत्यताको जीवनले मानिसहरूभित्र क्रमिक रूपमा जरा गाड्नेछन् र तिनीहरूको हृदयको मुख्य स्थान ओगट्नेछन्, अनि यसको परिणामस्वरूप, मानिसहरूको हृदयमा परमेश्‍वरको प्रभुत्व काम हुनेछ। अर्थात्, शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउन प्रयोग गर्ने विभिन्‍न विचार, दृष्टिकोण, विधर्म र भ्रमहरूलाई जब पहिचान गरिन्छ र छर्लङ्गैसित बुझिन्छ, र जब मानिसहरूले तिनलाई घृणा र इन्कार गर्न थाल्छन्, तब सत्यताले बिस्तारै मानिसहरूको हृदयमा ठाउँ लिन थाल्नेछ। यो क्रमिक रूपमा मानिसहरूको जीवन बन्‍नेछ र तिनीहरूले सक्रिय रूपमा परमेश्‍वरको आज्ञापालन गर्न र परमेश्‍वरलाई पछ्याउन थाल्नेछन्। परमेश्‍वरले जे-जसरी कार्य र अगुवाइ गर्नुभए पनि, मानिसहरूले सक्रिय रूपमा सत्यता र परमेश्‍वरको वचन स्विकार्न अनि परमेश्‍वरको काममा समर्पित हुन सक्‍नेछन्। यसको साथै, यो अनुभवमार्फत, तिनीहरूले सक्रिय रूपमा सत्यताप्रति लागिपर्दै सत्यताको बुझाइ प्राप्त गर्न सक्‍नेछन्। यसरी मानिसहरूले परमेश्‍वरमाथिको साँचो विश्‍वास प्राप्त गर्न सक्‍नेछन्, र तिनीहरूको लागि सत्यता झन्झन् स्पष्ट हुँदै जाने क्रममा तिनीहरूको विश्‍वास पनि झन्झन् बढ्दै जानेछ। जब परमेश्‍वरप्रति मानिसहरूमा साँचो विश्‍वास हुन्छ, तब यसले तिनीहरूमा परमेश्‍वरप्रतिको डर पनि सिर्जना गर्छ। जब मानिसहरूमा परमेश्‍वरको डर हुन्छ, तब तिनीहरूले आफ्‍नो हृदयको गहिराइमा परमेश्‍वरलाई प्राप्त गर्ने इच्छा गर्छन्, र तिनीहरू स्वेच्छाले उहाँको प्रभुत्वमा समर्पित हुन्छन्। तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा, अनि परमेश्‍वरले तिनीहरूको नियतिबारे बनाउनुभएका योजनाहरूमा समर्पित हुन्छन्। तिनीहरू परमेश्‍वरले तिनीहरूको लागि तय गर्नुहुने हरेक दिन र हरेक विशेष परिस्‍थितिहरूमा समर्पित हुनेछन्। जब मानिसहरूमा यस्तो इच्छा र तृष्णा हुन्छ, तब तिनीहरू परमेश्‍वरले तिनीहरूलाई दिनुभएका मापदण्डहरूलाई पनि सक्रिय रूपमा स्विकार्छन् र तिनमा समर्पित हुन्छन्। जब यसका परिणामहरू मानिसहरूमा झन्झन् स्पष्ट र झन्झन् वास्तविक हुँदै जान्छन्, तब शैतानका अभिव्यक्ति, विचारधारा, र दृष्टिकोणहरूले मानिसहरूको हृदयमा आफ्‍नो प्रभाव गुमाउनेछन्। अर्को शब्‍दमा भन्दा, शैतानका अभिव्यक्ति, विचारधारा, र दृष्टिकोणले मानिसहरूलाई झन्झन् कम रूपमा मात्रै नियन्त्रण गर्दै र प्रभाव पार्दै जानेछन्। केही समयसम्‍म संघर्ष गरिसकेपछि, र केही समयसम्‍म मानिसहरूले सक्रिय सहकार्य गरेपछि र परमेश्‍वरमा समर्पित हुने सङ्कल्प गरेपछि, तिनीहरू शैतानको बन्धन र नियन्त्रणबाट मुक्त हुन सक्‍नेछन्। यो अवस्थामा पुगेपछि, मानिसहरू शैतानको अधीनबाट उम्किसकेका हुनेछन्। तिनीहरूले आफूलाई छल्न शैतानले प्रयोग गरेका अभिव्यक्ति, सोच र दृष्टिकोणहरू पूर्ण रूपमा त्याग्‍नेछन्, र परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास झन्झन् ठूलो हुँदै जानेछ। अवश्य नै, यो प्रभाव परमेश्‍वरको वचन र काममा निर्भर हुन्छ, र अझै महत्त्वपूर्ण कुरा, यो मानिसहरूको खोज र सहकार्यमा निर्भर हुन्छ। यदि कसैले धेरै सत्यता र प्रवचनहरू सुन्छ, तर अझै पनि शैतानका विचार र दृष्टिकोणहरूबारे सचेत बनेको र यी कुराहरूलाई घृणा गर्न थालेको हुँदैन भने, र यदि तयो व्यक्तिले यी शैतानी कुराहरूलाई सक्रिय रूपमा पहिचान गर्न, छर्लङ्गै बुझ्‍न, र त्याग्‍न चाहँदैन, बरु निष्क्रिय शैली अपनाउने वा तिनलाई बेवास्ता गर्ने गर्छ भने, शैतानका विभिन्‍न विचार र दृष्टिकोणहरू त्यो व्यक्तिको हृदयमा अझै पनि गहिरो जरा गाडेर बसेका हुन्छन्। तिनीहरू आफ्नो दैनिक जीवन र आफ्नो सारा जीवनको मार्गमा, अझै पनि शैतानका विभिन्‍न विचार र दृष्टिकोणहरूद्वारा अनजानमै प्रभावमा परेका र नियन्त्रित भएका हुन्छन्, र मानिसहरू र परिस्थितिहरूलाई हेर्ने तिनीहरूको दृष्टिकोण र तिनीहरूको व्यवहार र कार्य शैतानबाटै आएका हुन्छन्। यदि यो सब कुरा शैतानबाट आएको हुन्छ भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास परमेश्‍वरको अस्तित्वको स्विकार मात्रै हुन्छ, साँचो विश्‍वास हुँदैन, र तैँले साँचो रूपमा परमेश्‍वरको पहिचान र सार कहिल्यै स्विकार्नेछैनस्। अवश्‍य नै, तेरो हृदय आफै परमेश्‍वरतिर फर्कनेछैन र तैँले आफ्‍नो हृदयलाई परमेश्‍वरतिर फर्काउन पनि सक्‍नेछैनस्। यो भन्‍न सकिन्छ कि तँ परमेश्‍वरले तँलाई दिनुभएको कर्तव्य र दायित्वप्रति साँचो समर्पण देखाउन पनि सक्षम हुँदैनस्, र तैँले साँचो रूपमा परमेश्‍वरको डर मान्‍नसमेत सक्दैनस्, उहाँप्रति तँ साँच्‍चै आज्ञाकारी बन्‍न सक्‍ने कुरै नगरौँ। यदि यी कुराहरू हासिल गर्न सकिनस् भने प्रष्ट परिणाम के हुनेछ? तैँले मुक्ति पाउनेछैनस्। के यस्तै हुँदैन र? (हो।) यस्तै हुनेछ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने र मानिसहरूको हृदयको गहिराइमा राखिदिने विचार, दृष्टिकोण र धारणाहरू मानिसहरूलाई परमेश्‍वरको आवाज सुन्‍नबाट, परमेश्‍वरको वचनमा विश्‍वास गर्नबाट, सकारात्मक कुराहरू स्विकार्नबाट र सत्यता स्विकार्न र सत्यतामा प्रवेश गर्नबाट रोक्‍ने कुराहरू हुन्। सतही रूपमा, यी कुराहरू मानवजातिको भ्रष्ट स्वभावभन्दा फरक छन्। तैपनि, यी कुराहरूको सार शैतानको प्रकृतिको भाग हो, र यिनै कुराहरूद्वारा शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउँछ। बाहिरबाट हेर्दा, मानवजातिलाई भ्रष्ट तुल्याउने शैतानका दुष्कर्महरू र शैतानले असल कार्य गरेँ भनेर बनाउने बहानाहरूमा स्पष्ट भिन्‍नता हुन्छ, र यस्तो भिन्‍नता साधारण मानिसहरूले छुट्याउन सक्दैनन्। तैपनि, शैतानले मानिसहरूलाई छल गर्नु र भ्रष्ट तुल्याउनुका परिणामहरू अत्यन्तै स्पष्ट छन्। यही कारणले गर्दा नै मूलप्रवाही समाजका सबैले परमेश्‍वरलाई इन्कार र विरोध गरेका, र आफूलाई उहाँविरुद्ध उभ्याएका हुन् भन्‍ने कुरा स्पष्ट तथ्य हो।

मानिसहरूमा रहेको शैतानी स्वभाव शैतानले तिनीहरूलाई छल्‍दा र भ्रष्ट पार्दाको परिणाम हो। यसको साथै, मानिसहरूले अङ्गालेर राखेका विभिन्‍न शैतानी विधर्म, भ्रम, दर्शन, र व्यवस्थाहरू, साथै जीवनसम्‍बन्धी तिनीहरूका दृष्टिकोण र मूल्य-मान्यताहरू सबै नै शैतानले तिनीहरूलाई छलेको र भ्रष्ट तुल्याएको ठोस प्रकटीकरण हुन्। अर्को शब्दमा भन्दा, शैतानले मानिसहरूलाई छल गरेपछि, र तिनीहरूलाई परमेश्‍वरबाट टाढिने र उहाँलाई इन्कार्ने बनाएपछि, यसले तिनीहरूमा हरकिसिमका शैतानी सोच, विचार, विधर्म र भ्रमहरू हालिदिन्छ। यसको साथै, शैतानले सबै कुरालाई कसरी लिने भन्‍नेबारेमा मानिसहरूलाई निर्देशन दिने र उक्साउने, र तिनीहरूलाई यो सबै कुरा हृदयमा ग्रहण गर्न लगाउने हरप्रकारका धारणा, विचार, र अभिव्यक्तिहरूलगायत खुलेआम अनगिन्ती प्रचारबाजी गर्छ। परिणामस्वरूप, तिनीहरूमा विविध किसिमका शैतानी स्वभावहरू हुर्कन्छन्। मानिसहरूलाई भ्रष्ट तुल्याउनको लागि शैतानले प्रयोग गर्ने विधि यही हो। अर्थात्, जब मानिसहरूको प्राणको गहिराइमा खोक्रोपन हुन्छ, जब तिनीहरूले सही सोचिरहेका हुँदैनन् र जब तिनीहरू रित्तो भाँडो बन्छन्, तब शैतानका विभिन्‍न अभिव्यक्तिहरू तिनीहरूको हृदयमा प्रवेश गर्छन् र त्यहीँ बास बस्छन्। उदाहरणको लागि, “मुक्तिदाता कहिल्यै आएका छैनन्,” “स्वर्ग र पृथ्वी अनि यावत् थोक प्रकृतिले सृष्टि गरेको हो,” “साथीको लागि गोली खान तयार छु,” “महिला भएर चरित्रवान्, दयालु, र नम्र हुनुपर्छ” “पुरुष भएपछि मर्दजस्तो हुनुपर्छ,” आदि इत्यादि भनाइहरूको उदय भएपछि, मानिसहरू अचेतन रूपमै ती भनाइहरूद्वारा प्रभावित हुन्छन्। यी दुष्ट शक्ति, विधर्म र भ्रमहरूको चेतनाविना, र तिनलाई पहिचान गर्ने क्षमता वा तिनलाई विरोध गर्ने शक्तिविना, मानिसहरूले शैतानका हरकिसिमका विचार र रायहरू स्विकार्छन्। मानिसहरूले यी शैतानी विचार र दृष्टिकोणहरूलाई स्विकार्ने प्रक्रिया नै तिनीहरू छल, उक्साहट, र भ्रष्टतामा पर्ने प्रक्रिया हो। उदाहरणको लागि, यदि तँ महिला होस् तर तँलाई महिला भएर कसरी जिउने, र तैँले गर्नुपर्ने कुराहरू के-के हुन् भन्‍ने थाहा छैन भने, शैतानले यसका विधर्म र भ्रमहरू अघि सार्नेछ, जस्तै, “महिला भएर चरित्रवान्, दयालु, र नम्र हुनुपर्छ, घरमै बस्‍नुपर्छ र बाहिर जानु हुँदैन,” “सीप नभएकी महिला चरित्रवान् महिला हो” आदि इत्यादि। तँलाई यी भनाइहरू निकै बुद्धिमानीपूर्ण र असल लाग्छन्, त्यसकारण तँ तिनलाई स्विकार्छस्। जब समाज र पृथ्वीमा यस्ता विधर्म र भ्रमहरू फैलिरहेका हुन्छन्, तब महिला भएको नाताले तैँले यी कुराहरूलाई अचेत रूपमै ग्रहण गर्छस् र यी कुराहरूअनुसार जिउने मापदण्ड कडाइसाथ आफैमाथि लाद्छस्। सर्वप्रथम, तैँले आफू महिला भएकोले, तँ चरित्रवान्, दयालु, र नम्र हुनुपर्छ, घरमा बस्‍नुपर्छ, सीप नभए पनि चरित्र भएकी महिला हुनुपर्छ भन्‍ने ठान्दै आफैलाई तिनीहरूसँग तुलना गर्नेछस्। यो प्रक्रियामा, तँ समाजमा चलिरहेका यी अभिव्यक्ति, विचार र दृष्टिकोणहरूको उक्साहट, शिक्षा, र प्रभावमा क्रमिक रूपमा पर्नेछस्, र अन्तिममा तँ तिनै कुराहरूमा सम्मिलित हुने अवस्थामा पुग्‍छस्। अझै तोकेरै भन्दा, शैतानका विचार र दृष्टिकोणहरूद्वारा छलमा परेपछि, तँ यी कुराहरूकै बन्धन र नियन्त्रणमा पर्नेछस्, त्यसपछि तेरो हृदयको गहिराइमा तैँले अचेतन रूपमै आफूमाथि यिनै कुराहरूको मापदण्ड थोपर्छस् र अरूहरूलाई यिनै कुराहरूअनुसार हेर्नेछस्। त्यसकारण, तेरो दैनिक जीवनमा यी विचार र अभिव्यक्तिहरूले तेरा हृदयभित्रका सोचाइ र दृष्टिकोणहरू निर्माण गर्नेछन्, त्यसपछि तैँले यिनलाई तेरो आनीबानी र व्यवहारको मापदण्ड र आधारको रूपमा अवलम्‍बन गर्नेछस्। यसरी शैतानका विभिन्‍न विचार र रायहरू क्रमिक रूपमा समाज र समुदायको आम अभ्यास बन्दै जान्छन्। यो अभ्यास समाजमा झन्झन् व्यापक हुँदै गएपछि, र यसले उक्साहट र प्रभावमा पार्ने मानिसहरूको सङ्ख्या झन्झन् बढ्दै गएपछि, यो एक किसिमको शक्ति बन्छ। जब यो शक्ति सिर्जित भएको हुन्छ, तब मानवजाति पूर्ण रूपमा यी विचार र दृष्टिकोणहरूको बन्धन र नियन्त्रणमा पर्छ, वा अर्को शब्‍दमा भन्दा, तिनीहरू यी कुराहरूको अधीनमा पुग्छन्। अझै सटीक रूपमा भन्दा, मानिसहरू शैतानको कैदी बन्‍न पुग्छन्। उदाहरणको लागि, शैतानको संसारमा, “पुरुष मर्दजस्तो, दह्रिलो र महत्त्वाकाङ्क्षी हुनुपर्छ,” “पुरुषमा महत्त्वाकाङ्क्षा, दूरगामी सपना, र अदब उत्साह हुनुपर्छ,” “पुरुषले आफ्नो विकास गर्नुपर्छ, परिवार बसाल्नुपर्छ, देशमाथि शासन गर्नुपर्छ, र संसारमा शान्ति ल्याउनुपर्छ,” “पुरुषले शक्ति चलाउन सिक्‍नुपर्छ, परिस्थिति नियन्त्रण गर्न सिक्‍नुपर्छ, र संसारलाई वशमा राख्‍न सिक्‍नुपर्छ,” “पुरुषले सजिलै आँसु झार्दैन,” आदि इत्यादि। हरेक पुरुष यी मापदण्ड, विचार र दृष्टिकोणहरूद्वारा जन्मैदेखि बाँधिएको हुन्छ। पुरुष र महिलाहरू दुवैलाई परम्‍परागत संस्कृतिका विभिन्‍न अभिव्यक्तिहरूद्वारा नियन्त्रित गरिएको र बाँधिएको हुन्छ। यदि पुरुषहरूलाई पुरुषले कस्तो व्यवहार गर्नुपर्छ, वा आफूलाई समुदाय, समाज, वा देशमा कसरी स्थापित गर्नुपर्छ भन्‍ने थाहा छैन भने, तिनीहरूले यी विचार र दृष्टिकोणहरूलाई सुन्‍नेबित्तिकै अचेतन रूपमै स्विकार्नेछ। तिनीहरूलाई क्रमिक रूपमा यी कुराहरूको बानी पर्नेछ र अन्तिममा तिनीहरूले यी कुराहरूलाई आफूमाथि कठोर रूपमा लागू गर्ने मापदण्ड र आधारको रूपमा लिनेछन्। यसको साथै, तिनीहरूले यी विचार र दृष्टिकोणलाई अभ्यास गर्नेछन्, वास्तविकतामा यस्तो व्यक्ति बन्‍ने अनुभव गर्नेछन्, र त्यसपछि यी उद्देश्यहरूतर्फ कार्य गर्दै उदाहरण प्रस्तुत गर्नेछन्। उदाहरणको लागि, पुरुषहरूमा दूरगामी महत्त्वाकाङ्क्षा हुनुपर्छ, उसले ठूलाठूला काम गर्नुपर्छ र उसको करियर ठूलो हुनुपर्छ। तिनीहरूले प्रेमिलो सम्‍बन्धहरूलाई अनि आफ्‍ना आमाबुबाको हेरचाह गर्ने वा आफ्‍ना छोराछोरी हुर्काउने कुरालाई आफ्‍नो जीवनको जिम्‍मेवारी वा उद्देश्य बनाउनु हुँदैन। बरु, तिनीहरूले आफ्‍नो क्षितिजलाई फराकिलो पार्नुपर्छ, आफ्‍ना आकाङ्क्षाहरू पछ्याउनुपर्छ, परिस्थिति नियन्त्रण गर्न सिक्‍नुपर्छ, र मानवजाति र महिलाहरूलाई काबूमा राख्‍न शक्तिसमेत हातमा लिनुपर्छ। मानिसहरूले यी विचार र दृष्टिकोणहरू स्विकारेका छन्; तिनीहरूले आफ्‍नो जीवनमा यी कुराहरू नै अभ्यास गरिरहेका छन्, यी कुराहरूअनुसार नै जिइरहेका छन्, र यी कुराहरूबाट आउने उद्देश्यहरू नै पछ्याइरहेका छन्। यसअलावा, जब यी विचार र दृष्टिकोणहरू पैदा भई मानिसहरूको हृदयको गहिराइमा जरा गाडेर बसेका हुन्छन्, तिनीहरूले मानवजाति, समाज र सम्पूर्ण संसारलाई यी कुराहरूद्वारा नै हेर्नेछन्। जब यी कुराहरूले मानिसको हृदयमा अत्यन्तै गहिरो गरी जरा गाड्छ र जब तिनलाई उखेल्‍न सकिँदैन, तब उसले “पुरुष भएपछि मर्दजस्तो र कठोर हुनुपर्छ” भन्‍नेजस्ता विचार र दृष्टिकोणहरूअनुसार नै मानिसहरू र परिस्थितिहरूलाई हेर्नेछ, र सोहीअनुरूप नै आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने गर्नेछ। संसार र जीवनलाई हेर्ने मानिसहरूको दृष्टिकोणको उत्पत्ति र मूल कारण यही हो। जब मानिसहरूले शैतानले तिनीहरूमा हालिदिएका विचार र दृष्टिकोणहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने गर्छन्, तब मानिसहरूमाझ र समाजमा यी विचार र दृष्टिकोणहरू व्यापक रूपमा फैलन्छन्, र क्रमिक रूपमा हरेक व्यक्तिको हृदयको गहिराइमा पुग्छन्—यसबाट पुरुषहरूलाई मात्रै होइन, महिलाहरूलाई पनि प्रभाव पर्छ। जब यी कुराहरू हरेक व्यक्तिको हृदयको गहिराइमा पुग्छन्, र भर्खरै बोल्‍न थालेका साना बालबालिकाको हृदयमा समेत पसेका हुन्छन्, तब यी विचार र दृष्टिकोणहरू समुदाय र समाजको आम अभ्यास बनिसकेका हुन्छन्। अनि यस्तो अभ्यास झन्झन् द्रुत गतिमा फैलिनेछ, र झन्झन् व्यापक बन्‍नेछ, र अन्तिममा सबैजना यसप्रति परिचित हुनेछन्, र तिनीहरूले यसलाई सतप्रतिशत मान्यता दिनेछन् र स्विकार्नेछन्। जब अवस्था यो स्थितिसम्‍म पुगेको हुन्छ, तब समाजशास्त्रीहरू, राजनीतिज्ञहरू र राज्यप्रमुखहरू, वा अझै स्पष्ट रूपमा भन्दा, शैतानलाई पछ्याउने दियाबलस राजाहरूले यी विचार र दृष्टिकोणहरूले मानवजातिमाझ कायम राख्‍ने हैसियतलाई ठोस बनाउन थप कदम अघि बढाउनेछन्। तिनीहरूले यी कुराहरूलाई लेखनमा उतार्नेछन्, र हरकिसिमका परिस्थितिगत प्रमाण, अनुकूल अवस्था, र मानिस, घटना, र वस्तुहरू प्रयोग गरी यी अभिव्यक्तिहरूलाई व्यवस्थित ढङ्गले फैलाउने र प्रवर्धन गर्नेछन्, ताकि यी अभिव्यक्तिहरू मानवजातिमाझ वृद्धि भएर समाजमा सामाजिक वातावरण र निश्‍चित नैतिक नियममा परिणत होऊन्। यो नैतिक नियमद्वारा, तिनीहरूले मानिसहरूलाई नियन्त्रण गर्ने र बाँध्‍नेछन्, र त्यो बेला शैतानको उद्देश्य हासिल भइसकेको हुनेछ। जब शैतानले यो उद्देश्य हासिल गरिसकेको हुन्छ, तब पुरुष र महिलालगायत सारा मानिसहरू यी विचार र दृष्टिकोणहरूद्वारा छलिइसकेका, भ्रष्ट भइसकेका, र काबूमा परिसकेका हुनेछन्। जब मानवजाति नै शैतानका विचार र दृष्टिकोणहरूद्वारा छलिइसकेका, भ्रष्ट भइसकेका, र काबूमा परिसकेका हुन्छन्, तब परिणामहरू के-कस्ता हुनेछन्, के तिमीहरूलाई थाहा छ? शैतानले किन यी विचार, अभिव्यक्ति, विधर्म र भ्रमहरू अघि सारिरहेको छ, तिमीहरूलाई के लाग्छ? के यो मानवजातिलाई भ्रष्ट तुल्याउनको लागि मात्रै हो? के यो मानिसहरूलाई खोसी लैजानको लागि मात्रै हो? यो सबको निसाना को हो? (परमेश्‍वर।) सही हो, तिमीहरू यो कुरामा स्पष्ट हुनुपर्छ। शैतानले गर्ने सबै दुष्ट कुराहरूमा, र खास गरी मानवजातिलाई छल, बाधा, र नियन्त्रण गर्न, र भ्रष्ट पार्न शैतानले गर्ने कुराहरूमा, मानिसहरू त सेवा गर्ने पात्र र औजारहरू मात्रै हुन्। तिनीहरू त शैतानले आफ्‍नो क्षमता र सीपहरू प्रयोग गर्ने भाँडाहरू मात्रै हुन्। शैतानले गर्ने सबै कुरा मानिसहरूप्रति होइन, परमेश्‍वरप्रति लक्षित हुन्छन्। त्यसले परमेश्‍वरको विरोध गर्न चाहन्छ र त्यस प्रयोजनको लागि मानिसहरू त्यसले प्रयोग गर्ने भाँडा वा औजारहरू मात्रै हुन्। त्यसोभए, किन शैतान परमेश्‍वरविरुद्ध लड्न चाहन्छ? त्यसले किन यसरी मानवजातिलाई भ्रष्ट तुल्याउन चाहन्छ? किनभने परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो र उसलाई उहाँ मुक्ति दिन चाहनुहुन्छ। शैतानले किन पशु, वनस्पति, वा अन्य ग्रहका प्राणीलाई भ्रष्ट तुल्याउँदैन? किनभने परमेश्‍वरले पशु, वनस्पति, वा अन्य ग्रहका प्राणी, वा मानवबाहेकका अन्य प्राणीलाई मुक्ति दिने प्रयास गरिरहनुभएको छैन। परमेश्‍वरले यो पृथ्वीमा सृष्टि गर्नुभएका मानिसहरूलाई मुक्ति दिने प्रयास गरिरहनुभएको छ। उहाँले पृथ्वीका मानिसहरूको यो समूहलाई प्राप्त गर्ने प्रयास गरिरहनुभएको छ। कस्ता खालका मानिसहरूलाई? परमेश्‍वरलाई पछ्याउने र मृत्युसम्‍मै विश्‍वासयोग्य रहने, परमेश्‍वरसँग एउटै हृदय र मन भएका, र परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने खालका मानिसहरूलाई। परमेश्‍वरले प्राप्त गर्न चाहनुहुने मानिसहरू यिनीहरू नै हुन्। परमेश्‍वरले यी मानिसहरूलाई मुक्ति दिने र प्राप्त गर्ने आफ्‍नो काम गरिसक्‍नुभन्दा पहिले, शैतानले अगाडि आएर तिनीहरूलाई भ्रष्ट तुल्याउने प्रयास गर्छ। शैतानले भन्छ, “परमेश्‍वर, के तपाईं मानवजातिलाई मुक्ति दिन चाहनुहुन्छ? त्यसोभए म तिनीहरूलाई पहिले भ्रष्ट तुल्याउनेछु। मानिसहरू भ्रष्ट भएर मानव नरही पूर्णतया पैशाचिक बनिसकेपछि, तपाईंले तिनीहरूलाई मुक्ति दिन सक्‍नुहुनेछैन। तपाईं सफल हुनुहुनेछैन, र अन्त्यमा तपाईं असफल हुनुहुनेछ।” यो शैतानको लक्ष्य हो। हामी मैले यसभन्दा पहिले सोधेको प्रश्‍नमा फर्केर जाऊँ। जब शैतानले मानव स्वभाव भ्रष्ट तुल्याउँछ, र मानव मन र हृदयलाई छल, बन्धन र नियन्त्रणमा पार्न विभिन्‍न विधर्म र भ्रमहरू अनि अनेक किसिमका विचार र दृष्टिकोणहरू अघि सार्छ, तब यसको उद्देश्य के हुन्छ? तिमीहरूले यसको उत्तर दिन सक्दैनौ; तिमीहरूले यो कुरा बुझ्दैनौ। यो सब गर्ने क्रममा, शैतानले मानिसहरूलाई भ्रष्ट पार्ने र नियन्त्रण गर्ने भए पनि, यसले मानिसहरूलाई लक्षित गरिरहेको हुँदैन। बरु, यो सबै परमेश्‍वरप्रति लक्षित हुन्छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउनुको अन्तिम उद्देश्य वा परिणाम के हो? यो मानिसहरूलाई परमेश्‍वरको विरुद्धमा राख्‍नु हो। जब मानिसहरू परमेश्‍वरको ठीक उल्टो रूप, र उहाँका शत्रुहरू बन्छन्, तब शैतानले यसको षड्यन्त्र र स्वार्थी युक्तिहरू सफल भएका छन्, र पृथ्वीका मानिसहरूले त्यसलाई आराधना गर्ने र पछ्याउनेछन् भन्‍ने विश्‍वास गर्छ। त्यसकारण, जब शैतानका विभिन्‍न विचार, अभिव्यक्ति, विधर्म, र भ्रमहरूले मानिसहरूको हृदयमा गहिरो जरा गाडेको हुन्छ, तब तिनीहरूले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भनेर विश्‍वास गर्न वा उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरू वा उहाँको सार्वभौमिकता स्विकार्न छोड्नेछन्। मानिसहरूले परमेश्‍वरलाई पूर्ण रूपमा इन्कार गर्ने र धोका दिनेछन्। शैतानले मानिसहरूलाई परमेश्‍वरलाई इन्कार्न सक्‍ने हदसम्‍म भ्रष्ट पार्नु नै पर्याप्त हुन्छ भन्‍ने सोच्छ। किन? किनभने त्यो अवस्थामा पुगेपछि, परमेश्‍वरले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई शैतानले पूरै र सम्पूर्ण रूपले कैदी बनाएर काबूमा पारिसकेको हुन्छ, र तिनीहरू पूरै र सम्पूर्ण रूपले परमेश्‍वरको ठीक उल्टो रूपवालाहरू बनिसकेका हुन्छन्। शैतानको उद्देश्य नै यही हो। के तिमीहरूले यसबारेमा कहिल्यै विचार गरेका छैनौ भन्‍ने कुरा साँचो होइन र? (हो।) तिमीहरूले बुझ्दैनौ। मानिसहरूले सोच्छन्, “शैतानले हामीलाई पक्रिन, फन्दामा पार्न, हानि गर्न, मर्नको लागि छोडिदिन, नरकमा पठाउन र परमेश्‍वरको मुक्ति र जीवनको सही मार्गबाट रोक्‍नको लागि हामीलाई भ्रष्ट पार्छ। शैतानले हामीलाई दुःख पाउने बनाउँछ।” यो एउटा भाग हो, तर यो शैतानले गर्ने सबै कुराले पैदा गर्ने एउटा वस्तुगत प्रभाव मात्र हो, तर वास्तवमा यो मुख्य उद्देश्य होइन। के अब मुख्य उद्देश्य के हो भन्‍ने कुरा तिमीहरू बुझ्छौ? मलाई भन, शैतानले किन मानिसहरूको मन-मस्तिष्कलाई धोका, नियन्त्रण, र बन्धनमा पार्छ? (शैतानले गर्ने हरेक कुरा परमेश्‍वरप्रति लक्षित हुन्छ, र मुख्य उद्देश्य भनेको सबै मानिसहरूलाई परमेश्‍वरविरुद्ध उभ्याउनु हो।) अरू केही? (परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन चाहनुहुन्छ, त्यसकारण शैतान तिनीहरूलाई भ्रष्ट पार्न र परमेश्‍वरविरुद्ध उक्साउन चाहन्छ, ताकि तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्न नसकून्। शैतान मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन योजना नष्ट गर्न चाहन्छ।) शैतानले मानिसहरूमा हरकिसिमका विधर्म र भ्रमहरू घुसाइदिन्छ, अनि जब यी भ्रामक विचार र दृष्टिकोणहरू, र विधर्म र भ्रमहरूले मानिसहरूको हृदयमा गहिरो जरा गाड्छन्, तब यी कुराहरूले तिनीहरूको मनमस्तिष्कलाई नियन्त्रित र बन्दी बनाउँछन्। यसले एक खास परिस्थिति सिर्जना गर्छ। कस्तो परिस्थिति? एक यस्तो परिस्थिति जहाँ परमेश्‍वरको उल्टो रूपवालाहरू पैदा भइसकेका हुन्छन्, जहाँ मानवजाति पूर्णतया परमेश्‍वरविरुद्धको शत्रु फौज बनिसकेको हुन्छ, र जहाँ शैतान खुसी भइरहेको हुन्छ। शैतानले हासिल गर्न चाहेको उद्देश्य नै यही हो। यो सब गर्नुपछाडिको शैतानको उद्देश्य के हुन्छ? एउटा वाक्यमा भन। (शैतानले मानिसहरूमा हरकिसिमका विधर्म र भ्रमहरू हालिदिन्छ, अनि जब यी विचार र दृष्टिकोणहरू, र विधर्म र भ्रमहरूले मानिसहरूको हृदयमा गहिरो जरा गाड्छन्, तब परमेश्‍वरको उल्टो रूपवालाहरू पैदा भइसकेको परिस्थिति आउँछ, र मानिसहरू परमेश्‍वरलाई विरोध गर्नेहरू बनिसकेका हुन्छन्। तिनीहरू परमेश्‍वरका शत्रुहरू बनिसकेका हुन्छन्, र शैतानले आफ्‍नो उद्देश्य हासिल गरिसकेको हुन्छ।) यसको उत्तर यही हो—के यो सरल कुरा होइन र? (हजुर, हो।) मानवजातिलाई भ्रष्ट तुल्याएर शैतानले हासिल गर्न चाहेको उद्देश्य र परिणाम यही हो।

तिमीहरूलाई के लाग्छ, के मानवजातिलाई भ्रष्ट पार्न शैतानले गर्ने यी कुराहरूबारे परमेश्‍वरलाई थाहा हुन्छ? (उहाँलाई थाहा हुन्छ।) त्यसो भए परमेश्‍वरले किन शैतानलाई यसो गर्न दिनुहुन्छ? यसलाई व्याख्या गर्न सत्यताबारे तिमीहरूले जे बुझेका छौ त्यो प्रयोग गर। यसबारेमा एउटा भनाइ छ नि होइन र? “परमेश्‍वरको बुद्धि शैतानका युक्तिको आधारमा प्रयोग हुन्छ।” यो भनाइ पूरा भएको एउटा उदाहरण यही त हो, होइन र? (हो।) साथै, के यहाँ “शैतान परमेश्‍वरको कामको प्रतिभार र सेवा गर्ने पात्र हो” भन्‍ने भनाइ लागू हुन्छ? (हुन्छ।) यी दुवै अभिव्यक्तिहरू सान्दर्भिक छन् र यिनलाई माथिको प्रश्‍न व्याख्या गर्न प्रयोग गर्न सकिन्छ। के यो कुरा साँचो होइन र? (हो।) वास्तविकता यही हो। यदि कसैले यो प्रश्‍न उठायो भने, तिमीहरू यो कुरा तिनीहरूलाई कसरी व्याख्या गरिदिन्छौ? तिमीहरूले “परमेश्‍वरको बुद्धि शैतानका युक्तिको आधारमा प्रयोग हुन्छ” भनेर अस्पष्ट रूपमा भन्यौ भने, तिनीहरू अन्योलमा पर्नेछन् र तिनीहरूले कुरा बुझ्‍नेछैनन्। यसलाई अझै विस्तृत रूपमा कसरी व्याख्या गर्ने, के तिमीहरूलाई थाहा छ? यो व्याख्या गर्न सजिलो छ, होइन र? परमेश्‍वरले शैतानलाई मानवजातिलाई भ्रष्ट पार्न यी कुराहरू गर्न अनुमति दिनुभएको, उहाँ यी कुराहरूलाई रोक्‍न वा ध्यान दिन असक्षम भएर होइन, बरु यसमा एउटा कारण भएकोले हो। मैले पहिले भनेजस्तै, त्यो कारण हो: “परमेश्‍वरको बुद्धि शैतानका युक्तिको आधारमा प्रयोग हुन्छ।” यो अभिव्यक्ति वा सिद्धान्त मात्रै होइन, यो त अकाट्य सत्य हो, र यो कुरा शैतानले मानिसलाई भ्रष्ट पारिसकेपछि पनि परमेश्‍वरले उसलाई मुक्ति दिन सक्‍नुहुन्छ भन्‍ने तथ्यद्वारा पुष्टि गर्न सकिन्छ। शैतानले मानव स्वभाव भ्रष्ट पारेर, र मानिसहरूमा हरकिसिमका विधर्म र भ्रमहरू घुसाएर, तिनीहरूको मष्तिष्क नियन्त्रण र बन्धनमा पार्नुको उद्देश्य के हो? के यसको अन्तिम उद्देश्य परमेश्‍वरको कामलाई दमन गरेर उहाँको व्यवस्थापन योजना हावामा बिलाउने बनाउनु होइन र? के यो शैतानको चलाकी होइन र? (हो।) यो शैतानको चलाकी हो। शैतानले त्यस्तो चलाकी गरिरहेको बेला परमेश्‍वरले के सोचिरहनुभएको हुन्छ? परमेश्‍वर के गर्दै बस्‍नुभएको हुन्छ? उहाँको मनमा के हुन्छ? यो सब कुरामा उहाँको बुद्धि कसरी प्रकट हुन्छ? परमेश्‍वरले शैतानको चलाकी प्रयोग गरिरहनुभएको हुन्छ। शैतानसँग एउटा चलाकी हुन्छ। यसले भन्छ, “म मानिसहरूलाई उक्साउँछु र भ्रष्ट पार्छु, र म त्यो तबसम्म गर्छु, जबसम्म तिनीहरू मजस्तो हुँदैनन्। जबसम्म तिनीहरू मेरो जस्तै विचार र दृष्टिकोणहरू भएका, मेरो शैतानी दृष्टिकणअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने साना शैतान र परमेश्‍वरविरोधी बन्दैनन्। परमेश्‍वरले सृष्टि गर्नुभएका यी सबै मानिसहरूलाई म लिन चाहन्छु, र तिनीहरूलाई म शैतानको स्वामित्वमा पार्न चाहन्छु, ताकि मानिसहरूमा हुने परमेश्‍वरको काम व्यर्थ र बेकार बनोस्। यसले अवश्यै परमेश्‍वरको व्यवस्थापन योजना हावामै बिल्ने बनाउनेछ।” के यो शैतानको छल होइन र? (हो।) त्यसपछि परमेश्‍वरले के विचार गर्नुहुन्छ? अनि उहाँले के गर्नुहुन्छ? परमेश्‍वरले भन्‍नुहुन्छ, “शैतान, तँ मानिसहरूलाई बाधा दिन र छल्न विधर्म र भ्रमहरू फैलाउँछस्, र परमेश्‍वरको काम बिथोल्न र नष्ट गर्न धेरै कुराहरू गर्छस्। यसले मानिसहरूमा केही विधर्म र भ्रमहरू मात्रै घुसाइदिन्छ, त्यसकारण तिनीहरू यी कुराहरूअनुसार जिउँछन् र परमेश्‍वरको विरोध गर्छन्। तब म मानवजातिको भ्रष्टतामै आफ्‍नो वचन र काम आधारित गर्नेछु, मानवजातिलाई भ्रष्ट तुल्याउन तैँले प्रयोग गर्ने विधर्म र भ्रमहरू खुलासा गर्नेछु, मानिसहरूका विभिन्‍न भ्रष्ट स्वभावको न्याय गर्नेछु र तैँले तिनीहरूमा घुसाएका विभिन्‍न विचार र अभिव्यक्तिहरू चिन्‍न मानिसहरूलाई सहयोग गर्नेछु। यस तरिकाले, मानिसहरूले सत्यता र परमेश्‍वरलाई बुझ्‍ने मात्र होइन, शैतानका विभिन्‍न अभिव्यक्ति, विचार र दृष्टिकोणहरूका साथै शैतानको स्वभाव, सार, र विभिन्‍न दुष्कर्महरू पनि चिन्‍न सक्‍नेछन्। सत्यताको बुझाइलाई जगको रूपमा प्रयोग गर्दै, मानिसहरूले शैतानलाई अझै सटीक र अझै जोडदार रूपमा पहिचान र इन्कार गर्न सक्छन्। यसको नकरात्मक पाटोको रूपमा, मानिसहरू शैतानद्वारा भ्रमित हुन छोड्‍नेछन् र दोस्रोपटक यसले तिनीहरूलाई कैदी बनाएर निल्‍न सक्‍नेछैन। सकारात्मक पाटोको रूपमा, तिनीहरूले परमेश्‍वर र उहाँको अस्तित्व र पहिचान, अनि उहाँले सबै प्राणीहरू र सबै थोकमाथि सार्वभौम शासन गर्नुहुन्छ भन्‍ने तथ्यबारे विश्‍वास र पुष्टि गर्न अझ बढी सक्षम हुनेछन्। यी दुई कुराहरू हासिल भएपछि, मानिसहरूले परमेश्‍वरको श्रद्धा र साँचो आज्ञापालन गर्नेछन्। परमेश्‍वरले तिनीहरूको हृदय जित्‍नुहुनेछ, वा अझै सटीक रूपमा भन्दा, परमेश्‍वरले तिनीहरूलाई प्राप्त गर्नुहुनेछ। जब मानिसहरू यो चरणमा पुग्छन्, तिनीहरूलाई शैतानले अब फेरि छल्न र प्रयोग गर्न सक्दैन। बरु, तिनीहरू शैतानलाई पूर्ण रूपमा चिन्‍न, यसको वास्तविकता देख्‍न र हृदयको गहिराइबाटै यसलाई इन्कार्न सक्षम हुनेछन्। तिनीहरूले आफू परमेश्‍वरको सृष्टि भएको कबुल गर्नेछन्, सृष्टिकर्ताको सार्वभौमिकता र योजनाबद्ध कार्यहरू स्वेच्छाले स्विकार्नेछन्, र यसरी तिनीहरू पूर्ण रूपमा परमेश्‍वरकहाँ फर्किनेछन्।” परमेश्‍वरको विशिष्ट बन्दोबस्त र योजना यही हो। अवश्यै यो भन्‍न सकिन्छ कि परमेश्‍वरको हृदयको गहिराइमा रहेको सोच र विचार पनि यही हो। परमेश्‍वरले यसरी नै सोच्‍नुहुन्छ, उहाँको विचारले यसरी नै काम गर्छ, र उहाँले यसलाई यसरी नै योजनाबद्ध गर्नुहुन्छ। शैतानले मानिसहरूलाई छल्दै र भ्रष्ट पार्दै आइरहेको दौरान, परमेश्‍वरले विधिवत् रूपमै सबै प्राणीहरू र सबै थोकको बन्दोबस्त मिलाउँदै आइरहनुभएको छ, अनि व्यवस्थित र चरणबद्ध रूपमा निरन्तर आजकै दिनसम्‍म उहाँको योजना र व्यवस्थापनलाई अघि बढाउँदै आइरहनुभएको छ। शैतानले मानवजातिलाई पूर्ण रूपमा भ्रष्ट पारेर कब्जामा लिएको छ। तैपनि, अकाट्य तथ्य यो छ कि शैतानका नानाथरी विषहरूले भिजेको र भरिएको यो मानवजातिलाई जब परमेश्‍वरले बोलाउनुहुन्छ र जब तिनीहरूले उहाँको आवाज सुन्छन्, तब तिनीहरू अझै पनि परमेश्‍वरको अघि आउन, उहाँको बोलावट स्विकार्न, र उहाँको न्याय र सजाय प्राप्त गर्न इच्छुक हुन सक्छन्। परमेश्‍वरले त्यस्तो मानवजातिलाई शैतानको मित्र र आफ्‍नो शत्रु भएकोमा निन्दा र धिक्‍कार गर्नुभए पनि, तिनीहरूले उहाँलाई कहिल्यै छोड्नेछैनन्। मानिसहरूको दिमाग र दृष्टिकोण शैतानले भरिदिएका कुराहरूले नै भरिएको हुने भए पनि, र तिनीहरूले अझै पनि शैतानका विचार र दृष्टिकोणहरूद्वारा गहन रूपमा प्रभावित र नियन्त्रित पद्धतिद्वारा नै मानिसहरू र परिस्थितिहरूलाई हेर्ने, र आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गरे पनि, तिनीहरूको हृदय झन्झन् साँचो र आतुरी रूपमा परमेश्‍वरतर्फ फर्किरहेको हुन्छ। के यो अकाट्य तथ्य होइन र? (हो।) साथै, निकट भविष्यमा, परमेश्‍वरले शैतानका सबै दुष्कर्महरू खुलासा गरिसक्‍नुभएपछि, शैतानले गहन रूपमा भ्रष्ट पारेको यो मानवजाति शैतानलाई पूर्ण रूपमा त्याग्‍न, र यसलाई “नाइँ” भन्दै परमेश्‍वरतर्फ आफ्‍नो हृदय फर्काउन सक्षम हुनेछ। तिनीहरू सबै उहाँको सार्वभौमिकता, योजनाबद्ध कार्य र बन्दोबस्तअनुसार उहाँलाई दृढ रूपमा पछ्याउन इच्छुक हुनेछन्। सफलतापूर्वक सम्पन्‍न हुँदा परमेश्‍वरको महान् कामले लिने दिशा यही हो, होइन र? (हो।) विशेष गरी, सत्यता पछ्याउनु भनेको के हो भन्‍नेबारेमा सङ्गति गरिसकेपछि, थप मानिसहरूले सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्न र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्‍न र कार्य गर्न सङ्कल्प गर्नेछन्। मानिसहरूको सङ्कल्प बलियो वा कमजोर जे भए पनि, तिनीहरू यसको वास्तविकतामा प्रवेश गरेका वा नगरेका भए पनि—जे-जस्तो अवस्था भए पनि, शैतानले गहन रूपमा भ्रष्ट पारेको त्यस्तो मानवजातिमा शैतानलाई त्याग्‍ने इच्छा र सङ्कल्प हुनु, र शैतानले तिनीहरूमा हालिदिएका विभिन्‍न विचार र दृष्टिकोणहरूको सट्टा, सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्न र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्‍न र कार्य गर्न सक्‍नु भनेको परमेश्‍वरले तिनीहरूलाई जितिसक्‍नुभएको छ भन्‍ने कुराको सङ्केत हो। त्यसैले, शैतानलाई पहिले नै लज्‍जित पारिसकिएको छ, होइन र? (हो।) त्यसकारण, “परमेश्‍वरको बुद्धि शैतानका युक्तिको आधारमा प्रयोग हुन्छ,” भन्‍ने अभिव्यक्ति खोक्रो वचन होइन, यो त व्यावहारिक, वस्तुगत, र अकाट्य तथ्य हो। शैतानले गरिरहेको सबै दुष्टता मानिसहरूलाई छल्‍ने र नियन्त्रण गर्ने हदमा पुगिसकेको छ। शैतानलाई आफूले परमेश्‍वरको काम बिथोलेर नष्ट गरिसकेको अनि परमेश्‍वरले आफ्‍नो व्यवस्थापन योजना जारी राख्‍न असम्‍भव भइसकेको विश्‍वास लाग्छ। त्यसकारण, शैतानले जित हासिल गरिसकेँ भन्‍ने सोच्छ। तर जति उच्छृङ्खलता देखाए पनि यसले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन योजनाको गति घटाउन सक्दैन, न त यसले परमेश्‍वरको व्यवस्थापन योजनाको महान् सफलता र शैतानमाथिको विजय रोक्‍न नै सक्छ। अहिले परमेश्‍वरको काम ब्रह्माण्डभरि फैलिसकेको छ, र परमेश्‍वरको वचन लाखौँ घरहरूमा पुगिसकेको छ। यो परमेश्‍वरको महान् सफलताको सबुत हो।

यदि कसैले फेरि तिमीहरूलाई, “शैतानले किन मानिसहरूको दिमाग छल्ने, नियन्त्रित गर्ने र बन्दी बनाउने गर्छ? परमेश्‍वरले किन शैतानलाई यसो गर्न दिनुहुन्छ?” भनेर सोध्यो भने, के तिमीहरूले यी प्रश्‍नहरूको उत्तर दिन सक्छौ? यसलाई पूर्ण रूपमा व्याख्या गर्न नसके पनि, तिमीहरूले आफ्‍ना केही बुझाइ बाँड्न सक्छौ। किन शैतानले यो सब गरिरहेको छ? परमेश्‍वरले त्यसलाई यो सब गर्न दिनुको महत्त्व के हो? तिमीहरूले यी कुराहरूबारे विचार गर्नुपर्छ र तिमीहरूको हृदयमा सही उत्तर हुनुपर्छ। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन छ हजार वर्षदेखि काम गर्दै आउनुभएको छ। कतिपय मानिसहरूले यो कुरा बुझ्दैनन् र भन्छन्, “परमेश्‍वरले छ हजार वर्षदेखि काम गरिरहनुभएको छ रे? त्यो त लामो समय होइन र?” परमेश्‍वरको कामले जति लामो समय लिए पनि, उहाँका व्यवहारहरू नै सबैभन्दा महत्त्वपूर्ण हुन्छन्। उहाँको कामको अवधि मात्रै महत्त्वपूर्ण हुँदैन; उहाँको कामले हासिल गर्ने अन्तिम परिणामहरू अझै महत्त्वपूर्ण हुन्छन्। यदि परमेश्‍वरले मानवतालाई मुक्ति दिनको लागि छ हजार वर्षदेखि काम नगर्नुभएको भए, मानवजातिलाई उसको स्तब्धता र मन्द बुद्धिले परमेश्‍वरलाई चिन्‍न वा उहाँमार्फत पूर्ण रूपमा मुक्त हुनबाट रोक्‍नेथियो। यदि मानिसहरूले ख्रीष्टविरोधीहरूले पैदा गरेको छल र बाधा एक-दुईपटक मात्रै अनुभव गर्न पाउँथे भने, के तिनीहरूले ख्रीष्टविरोधीहरू पहिचान गर्न र तिनीहरूको प्रकृति र सार चिन्‍न सक्‍नेथिए? के तीन वा पाँचपटक अनुभव गर्दा पर्याप्त हुनेथ्यो? सायद हुँदैनथ्यो। मानिसहरूले ख्रीष्टविरोधीहरूको प्रकृति र सार छर्लङ्गै देख्‍नको लागि तिनीहरूले यसलाई धेरैपटक अनुभव गर्नुपर्छ। त्यसपछि मात्रै तिनीहरूले ख्रीष्टविरोधीहरूलाई साँचो रूपमा चिन्‍न र पूर्ण रूपमा त्याग्‍न सक्छन्। खास गरी, यदि मानिसहरूले अत्यन्तै छोटो समयसम्म मात्रै ठूलो रातो अजिङ्गरको उन्मत्त दमन र निर्दयी सतावट अनुभव गरे भने, तिनीहरूले त्यो कष्ट पूर्ण रूपमा अनुभव गर्नेछैनन्, र त्यसलाई चाँडै नै बिर्सनेछन्। परिणामस्वरूप, तिनीहरूले ठूलो रातो अजिङ्गरलाई साँचो रूपमा घृणा र इन्कार गर्नेछैनन्। शैतानको निर्दयी सतावट मानिसहरूको हृदयमा तातो फलामको छापजस्तो बसेको हुनुपर्छ, तब मात्रै तिनीहरूले यसलाई आफ्‍नो हृदयको गहिराइदेखि घृणा गर्न र यसको साँचो रूप स्पष्ट देख्‍न सक्छन्। यदि मान्छेले एक-दुईपटक मात्रै सतावट भोगेका छन् भने, तिनीहरूले शैतानलाई घृणा गर्नु र त्याग्‍नु गाह्रो हुनेछ। अवसर पाए, तिनीहरूले अझै पनि शैतानको बारेमा राम्रो कुरा गर्दै यसको तारिफ गर्नेछन्। मान्छेलाई शैतानको हातमा धेरैपटक सुम्पनु नै पर्ने हुन्छ ताकि उसले यसको यातना र क्रूरता भोग्‍न सकोस् र शैतानको दुष्टता, कुरूपता, कठोरता, र बेसर्मीपन स्पष्टसित देखेर यसलाई पूर्ण रूपमा त्याग्‍न सकोस्। यी कुराहरूलाई बिलकुलै लामो समयसम्‍म अनुभव गरिनुपर्ने हुन्छ। उदाहरणको लागि, स्टिल बनाउँदा छोटो समय आगोमा हालेर राम्रो स्टिल बनाउन सकिँदैन; राम्रो परिणाम पाउनको लागि स्टिललाई तताएर राम्ररी खार्नुपर्छ। भन्‍नुको अर्थ, परमेश्‍वरको कामको हरेक चरण पूरा हुन लामो समय लाग्छ; हरेक चरणले लामो समय अवधि माग गर्छ। यो कार्य यसरी नै गरिनुपर्छ; यसरी गरिएन भने, असल परिणाम हासिल गर्न सकिँदैन। हरेक युगका बृहत् परिस्‍थितिहरूको प्रभावको कारण मानव हृदयको गहिराइमा र मानवजातिको भ्रष्ट स्वभावमा फरकफरक हदका परिवर्तनहरू आउँछन्, र यी हरेक परिवर्तनहरू हरेक युगमा परमेश्‍वरले मानिसहरूमा गर्न चाहनुहुने कामसँग सम्‍बन्धित हुन्छन्। यस्तो बृहत् तहमा काम गर्न र धेरै वचन बोल्‍नको लागि परमेश्‍वर फेरि आखिरी दिनहरूमा देहधारी हुनुको कारण के हो भने, यो अन्तिम चरणमा, मानवजातिको भ्रष्ट स्वभाव, विचार र दृष्टिकोणहरू, र समाजको व्यापक वातावरण र पृष्ठभूमि सबै नै परमेश्‍वरले आखिरी दिनहरूमा गर्न चाहनुभएको कामको पृष्ठभूमिसँग ठ्याक्‍कै मिल्छन्। समाजका प्रचलन, चलनचल्ती, ढाँचा वा परिस्थिति, राजनीतिक अवस्था, वा शैतानी राष्ट्रका राजनीतिक शक्तिसमेत सबै बृहत् वातावरणका तत्वहरू हुन्। यी तत्वहरू पृष्ठभूमिमा रहेको बेला, मानिसहरूको भित्री अवस्था र भ्रष्ट स्वभाव, अर्थात् सारा मानवजातिको भित्री स्थिति परमेश्‍वरलाई आफ्‍नो कामको लागि जे चाहिएको हो ठ्याक्‍कै त्यस्तै हुन्छ। आफ्‍नो प्रताप, धार्मिकता, कृपा, र दया प्रकट गर्नको लागि परमेश्‍वरले आफ्‍नो न्याय र सजाय लागू गर्ने यो नै सबैभन्दा उपयुक्त समय हो। जब यी सबै तत्वहरू पूर्ण र तयार हुन्छन्, तब परमेश्‍वरले आफ्‍नो काम गर्न थाल्‍नुहुन्छ। बृहत् पृष्ठभूमिको प्रभावभित्र रहेर परमेश्‍वरले गर्न चाहनुहुने काम यही हो। तिमीहरूले यति बुझ्‍नु नै पर्याप्त हुन्छ। राम्रो क्षमता भएका कतिपय मानिसहरूले बुझ्छन्, तर अनुभव नभएका कतिपय अरूले नबुझ्‍न सक्छन्। खास गरी, राजनीतिक अवस्था र समाजको प्रचलनको सार बुझ्‍न नसक्‍ने, र आफ्‍नो सोचमा परिपक्‍व नभएका मानिसहरू सानातिना आत्मिक अनुभव र सानातिना गवाहीहरूमै सन्तुष्ट हुन्छन्, र परमेश्‍वरको काममा संलग्‍न रहेका बृहत् राजनीतिक र सामाजिक पृष्ठभूमिबारे त्यति धेरै नबुझ्‍न सक्छन्। तिमीहरूले यी कुराहरू कति धेरै बुझ्न सक्छौ भन्‍ने कुराले त्यति फरक पर्दैन; तिमीहरूले यी कुराहरू बिस्तारै अझै धेरै बुझ्दै जाँदा तिमीहरूलाई यी कुराहरू स्पष्ट हुनेछन्, किनभने ती कुराहरूमा परमेश्‍वरको व्यवस्थापन योजना र परमेश्‍वरको काम संलग्‍न भएका हुन्छन्, र यो एक महान्‌ दर्शन हो। हामी यस विषयमा थप सङ्गति गर्नेछैनौँ किनभने तिमीहरू गहिराइमा जान तयार भइसकेका छैनौ।

पछिल्‍लोपटक हामीले नैतिक आचरणसम्बन्धी यो अभिव्यक्तिबारे सङ्गति गर्‍यौँ: “अरूले जिम्मा दिएको कुरा पूरा गर्न सक्दो गर्।” यसपछि, हामी “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भनाइबारे सङ्गति गर्नेछौँ। सर्वप्रथम, हामी नैतिक आचरणसम्‍बन्धी यो अभिव्यक्तिमा रहेको गलत सोच र दृष्टिकोण कसरी चिरफार गर्ने, र यो अभिव्यक्ति सिर्जना गर्नुपछाडिको शैतानको अभिप्राय के छ भन्‍ने कुरा पत्ता लगाउने प्रयास गर्नेछौँ। एउटा चिनियाँ तुक्‍काले यसो भन्छ, “व्यक्तिको वास्तविक अभिप्राय के हो भनेर भन्‍नु गाह्रो हुन्छ,” त्यसकारण शैतानका वास्तविक अभिप्रायहरू कहाँ लुकेका हुन्छन्? हामीले उत्खनन र चिरफार गर्नुपर्ने कुरा नै यही हो। “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भनाइ शैतानले मानिसहरूमाझ सिर्जित गरेको अर्को एउटा विचार र अभिव्यक्ति हो, र बाहिरबाट हेर्दा यो निकै आदर्शमय देखिन्छ; यो उत्साहवर्धक र शक्तिशाली लाग्छ। अनि, यो अभिव्यक्तिमा भएको प्रभावशाली कुराचाहिँ के हो त? के यो अभिव्यक्ति कदर गर्न र हृदयमा राख्‍न लायक छ? के यो विचारको दृष्टिकोणबाट मानिसहरू र परिस्थितिहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्ने र कार्य गर्ने गर्नु सार्थक छ? के यसको कुनै फाइदा छ? के यो सकारात्मक अभिव्यक्ति हो? यदि यो सकारात्मक कुरा वा सही दृष्टिकोण होइन भने, यसले मानिसहरूमा पार्ने नकारात्मक प्रभाव के हो? शैतानले यस्तो अभिव्यक्ति दिँदा र मानिसहरूमा यो विचार घुसाइदिँदा शैतानको अभिप्राय के हुन्छ? हामीले यसलाई कसरी पत्ता लगाउने? यदि तैँले यसलाई पत्ता लगाउन सक्छस् भने, तैँले तेरो हृदयदेखि नै यो वाक्यांशलाई नकार्ने र इन्कार्नेछस्, र तँ यसको प्रभावमा पर्न छोड्नेछस्। बेलाबेलामा यो वाक्यांश तेरो मनमा झलक्‍क देखा पर्ने र तँलाई भित्रबाट बाधा दिने भए पनि, यदि तँ यसलाई चिन्‍न सक्छस् भने, तँ यसको बन्धन वा नियन्त्रणमा पर्नेछैनस्। के तिमीहरूलाई “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भनाइमा कुनै फाइदाको कुरा छ भन्‍ने लाग्छ? के यो अभिव्यक्ति मानिसहरूलाई सकारात्मक प्रभाव पार्ने भनाइ हो? (होइन।) के तिमीहरूलाई सज्‍जन बन्‍न मन पर्छ? यस्तो सज्‍जन बन्‍नु राम्रो कुरा हो कि नराम्रो कुरा हो? सज्‍जन बन्‍नु राम्रो कि नक्‍कली सज्‍जन बन्‍नु राम्रो हो? सज्‍जन बन्‍नु राम्रो कि खलनायक बन्‍नु राम्रो? के तिमीहरूले यी कुराहरूबारे विचार गरेका छैनौ? (छैनौँ।) तिमीहरूले यी कुराहरूबारे विचार नगरेका भए पनि, एउटा कुरा पक्‍का छ: तिमीहरूले प्रायजसो “सज्‍जन” भन्‍ने शब्‍द प्रयोग गर्दै, “नक्‍कली सज्‍जन बन्‍नुभन्दा साँचो खलनायक बन्‍नु नै राम्रो हो,” र “साँचो सज्‍जन यति बुज्झकी हुन्छ कि कसैले उसलाई चिढ्यायो भने पनि उसले तिनीहरूप्रति रिस गर्दैन, बरु तिनीहरूलाई क्षमा दिन सक्छ। सज्‍जन भनेकै त्यस्तो व्यक्ति हो!” तैँले यी कुराहरू बोल्न सक्‍नुले तेरो बारेमा के कुरा प्रमाणित गर्छ? के यसले तेरो विचार र दृष्टिकोणमा सज्‍जनको लागि निश्‍चित हैसियत छ भन्‍ने, र तेरो मनमा सज्‍जनबारे वैचारिक भनाइहरू छन् भन्‍ने प्रमाणित गर्छ? के हामीले यसो भन्‍न सक्छौँ? (सक्छौँ।) तैँले समाजमा सज्‍जनजस्तो व्यवहार गर्ने मानिसहरूलाई वा सज्‍जन मानिने मानिसहरूलाई अनुमोदन र आदर गर्छस्, र सज्‍जन बन्‍नको लागि र खलनायकभन्दा पनि सज्‍जनको रूपमा चिनिनको लागि तैँले कठिन परिश्रम गर्छस्। यदि कसैले तँलाई “तिमी साँचो खलनायक हौ” भनेर भन्यो भने, तँ साह्रै दुःखित हुन्छस्। तर कसैले तँलाई “तिमी साँचो सज्‍जन हौ” भन्यो भने, तँ हर्षित हुन्छस्। यस्तो किन हुन्छ भने, यदि कसैले तँलाई सज्‍जन भनेर तारिफ गर्‍यो भने, तँलाई तेरो चरित्र उच्च भएको छ, र तेरो व्यवहार गर्ने शैली र मामिलाहरू सम्‍हाल्‍ने तेरा विधिहरू अनुमोदित भएका छन् भन्‍ने लाग्छ। अवश्य नै, समाजमा तैँले यस्तो समर्थन प्राप्त गरेपछि, तँलाई तँसँग आदर्शमय हैसियत छ र तँ तल्‍लो वर्ग वा तल्लो स्तरको व्यक्ति होइनस् भन्‍ने लाग्छ। सच्‍चा सज्‍जन मिथक भए पनि वा वास्तवमै अस्तित्वमा हुने भए पनि, यसले मानिसहरूको हृदयको गहिराइमा ठोस स्थान लिएको हुन्छ। त्यसकारण, तिमीहरूलाई मैले सज्‍जन राम्रो कि खलनायक राम्रो हो भनेर सोध्दा, तिमीहरू कसैले पनि उत्तर दिने आँट गरेनौ। किन? किनभने तिमीहरूले यस्तो सोच्यौ, “तपाईंले कसरी त्यो सोध्‍न सक्‍नुभयो? अवश्य पनि, खलनायक बन्‍नुभन्दा सज्‍जन बन्‍नु नै राम्रो हो। के सज्‍जन असल, सीधा, र उच्‍च नैतिक चरित्रको हुँदैन र? सज्‍जन बन्‍नु असल होइन भन्‍नु सामान्य समझविपरीत कुरा हो, होइन र? यो सामान्य मानवताको विरुद्ध जान्छ, होइन र? यदि सज्‍जन असल होइन भने, कस्तो व्यक्ति असल हो त?” त्यसकारण तिमीहरूले उत्तर दिने आँट गरेनौ, त्यही भएको होइन र? (हो।) के यसले तिमीहरूको हृदयमा सज्‍जन र खलनायकबीच एउटा स्पष्ट छनौट छ भन्‍ने कुरा पुष्टि गर्छ? तिमीहरूलाई कुन मन पर्छ? (सज्‍जन।) त्यसोभए हाम्रो उद्देश्य स्पष्ट छ। हामी सज्‍जनलाई पहिचान र विश्‍लेषण गर्ने कार्यमा ध्यान केन्द्रित गरौँ। कसैलाई पनि खलनायक मन पर्दैन, जुन भनिरहनुपर्ने कुरा होइन। त्यसोभए सज्‍जन भनेको के हो? यदि तिमीहरूले “सज्‍जन बन्‍नु राम्रो कि खलनायक बन्‍नु राम्रो?” भनेर सोध्यौ भने, मेरो हकमा, उत्तर स्पष्टै छ: दुवै खराब हो, किनभने न त सज्‍जन न त खलनायक नै सकारात्मक चरित्र हो। यति मात्र हो कि मानिसहरूले खलनायकको व्यवहार, कार्य, चरित्र र नैतिकता खराब हुन्छ भन्‍ने ठान्छन्, र त्यसैले तिनीहरू त्यस्तो व्यक्तिलाई मन पराउँदैनन्। जब खलनायकको तल्लो स्तरको नैतिकता र चरित्र खुलस्त हुन्छ, तब मानिसहरूले त्यस्तो व्यक्तिलाई अझै खलनायकी ठान्छन्। तर सज्‍जनले प्रायजसो उसको बोल्‍ने र व्यवहार गर्ने शिष्ट शैली, उसको असल नैतिकता र उत्कृष्ट चरित्र देखाउँछ, र मानिसहरूले उसलाई सम्‍मान गर्छन्, र त्यस्तो व्यक्तिद्वारा आफू परिपूर्ण भएको महसुस गर्छन्। परिणामस्वरूप, तिनीहरूले त्यस व्यक्तिलाई सज्‍जन भन्छन्। जब सज्‍जनले आफूलाई यसरी प्रस्तुत गर्छ, तब उसलाई तारिफ गरिन्छ, र उसलाई उच्‍च आदर र उच्‍च सम्‍मान दिइन्छ। त्यसकारण, मानिसहरूले सज्‍जनलाई मन पराउँछन् र खलनायकलाई घृणा गर्छन्। तर मानिसहरूले कुनै व्यक्ति सज्‍जन हो कि खलनायक हो भनेर कुन आधारमा निर्धारित गर्छन्? (तिनीहरूको बाहिरी व्यवहारको आधारमा।) मानिसहरूले कुनै व्यक्ति आदर्श हो कि नीच हो भनेर उसको व्यवहारको आधारमा मूल्याङ्कन गर्छन्, तर किन मानिसहरूले त्यसरी अरूलाई तिनीहरूको व्यवहारको आधारमा मूल्याङ्कन गर्छन्? यसको उत्तर के हो भने, धेरैजसो मानिसहरूमा यो स्तरसम्‍म पुग्‍ने मात्रै क्षमता हुन्छ। तिनीहरूले व्यक्तिको व्यवहार असल छ कि खराब छ भनेर मात्रै देख्‍न सक्छन्; तिनीहरूले व्यक्तिको सार स्पष्टसँग देख्‍न सक्दैनन्। परिणामस्वरूप, तिनीहरूले व्यक्तिको व्यवहारको आधारमा मात्रै ऊ सज्‍जन हो कि खलनायक हो भनेर निर्धारित गर्न सक्छन्। त्यसोभए, के यस्तो समझ सही छ? (छैन।) यो पूर्ण रूपमा गलत छ। के त्यसोभए सज्‍जनलाई उत्कृष्ट चरित्र र असल नैतिकता भएको व्यक्तिको रूपमा हेर्नु सही हुन्छ? (हुँदैन।) ठीक भन्यौ, त्यो सही हुँदैन। सज्‍जनलाई उत्कृष्ट चरित्र भएको, नैतिकवान्‌, इज्‍जतदार र चरित्रवान् भनेर हेर्नु गलत हुन्छ। त्यसकारण, अहिले यसलाई हेर्दा, के “सज्‍जन” भन्‍ने शब्‍द सकारात्मक छ? (छैन।) यो सकारात्मक छैन। सज्‍जन खलनायकभन्दा आदर्शमय हुँदैन। त्यसोभए, यदि कसैले “सज्‍जन बन्‍नु राम्रो कि खलनायक बन्‍नु राम्रो?” भनेर सोध्यो भने, उत्तर के हुन्छ? (दुवै खराब हो।) यो ठीक हो। यदि कसैले किन यी दुवै खराब हो भनेर सोध्यो भने, त्यसको उत्तर सरल छ। सज्‍जन र खलनायक दुवै सकारात्मक चरित्र होइनन्; ती दुइटै साँचो रूपमा असल व्यक्ति होइनन्। तिनीहरू शैतानको भ्रष्ट स्वभाव र विषले भरिएका हुन्छन्। तिनीहरू शैतानको नियन्त्रण र विषमा परेका हुन्छन्, र तिनीहरू यसका तर्क र नियमहरूअनुसार जिइरहेका हुन्छन्। त्यसकारण, निश्‍चितसाथ के भन्‍न सकिन्छ भने, खलनायक असल व्यक्ति नभए पनि, सज्‍जन पनि सकारात्मक व्यक्ति हुन सक्दैन। अरूले सज्‍जनलाई असल व्यक्तिको रूपमा हेरे पनि, उसले असल बनेको बहाना मात्रै गरिरहेको हुन्छ। ऊ परमेश्‍वरद्वारा अनुमोदन गरिने इमानदार व्यक्ति हुँदैन, झन् ऊ परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति हुनु त परको कुरा हो। यति मात्र हो कि सज्‍जनले अलिक बढी राम्रो व्यवहार गर्छ र कम रूपमा खराब व्यवहार गर्छ, जबकि खलनायकले अलिक बढी खराब व्यवहार गर्छ र कम रूपमा राम्रो व्यवहार गर्छ। सज्‍जनलाई अलिक बढी आदर गरिन्छ जब कि खलनायकलाई अलिक बढी घृणा गरिन्छ। सज्‍जन र खलनायकबीच रहेको भिन्‍नता यही मात्रै हो। यदि मानिसहरूले तिनीहरूलाई तिनीहरूको व्यवहारअनुसार मूल्याङ्कन गर्छन् भने, तिनीहरूले प्राप्त गर्ने परिणाम यही मात्रै हो।

कुनै व्यक्ति सज्‍जन हो कि खलनायक हो भनेर मानिसहरूले उसको व्यवहारबाट निर्धारित गर्छन्। तिनीहरूले यसो भन्‍न सक्छन्, “यो व्यक्ति सज्‍जन हो किनभने उसले सबैको हितमा धेरै कामकुराहरू गरेको छ। सबैले त्यस्तै सोच्छन्। त्यसकारण, ऊ सज्‍जन र उच्‍च नैतिक चरित्र भएको व्यक्ति हो।” यदि हरेकले कुनै व्यक्तिलाई सज्‍जन भन्छन् भने, के त्यो व्यक्ति साँच्‍चै असल व्यक्ति र सकारात्मक चरित्र भएको व्यक्ति हो भन्‍ने हुन्छ? (हुँदैन।) किन हुँदैन? किनभने सबै मानिसहरू भ्रष्ट हुन्छन्, तिनीहरूमा भ्रष्ट स्वभाव हुन्छ र तिनीहरूसँग सत्यताका सिद्धान्तहरू हुँदैन। त्यसकारण, कुनै व्यक्ति सज्‍जन हो भनेर जोसुकैले भने पनि, त्यो अभिव्यक्ति शैतानबाट, र भ्रष्ट व्यक्तिबाट आएको हुन्छ। मानिसहरूको मूल्याङ्कन मापदण्ड नै सही हुँदैन, त्यसकारण यसले दिने परिणाम पनि सही हुँदैन। परमेश्‍वरले सज्‍जन वा खलनायकको हिसाब गर्दै कहिल्यै बोल्‍नुहुन्‍न। उहाँले मानिसहरूलाई झूटो सज्‍जनको सट्टा साँचो सज्‍जन बन्‍नुपर्छ भनेर मापदण्ड दिनुहुन्‍न, न त कहिल्यै “तिमीहरू सबै खलनायक हौ, म खलनायक होइन सज्‍जन चाहन्छु” भनेर नै भन्‍नुहुन्छ। के परमेश्‍वरले यसो भन्‍नुहुन्छ त? (भन्‍नुहुन्‍न।) उहाँले यसो भन्‍नुहुन्‍न। परमेश्‍वरले कुनै व्यक्तिको बोलीवचन र व्यवहारको आधारमा त्यो व्यक्ति असल हो कि खराब हो भनेर मूल्याङ्कन वा निर्धारण गर्नुहुन्‍न। त्यो कुरा त उहाँले तिनीहरूको सारको आधारमा मूल्याङ्कन र निर्धारण गर्नुहुन्छ। यसको अर्थ के हो? पहिलो कुरा त यसको अर्थ मानिसहरूको मानवताको गुणस्तरको आधारमा, र तिनीहरूमा विवेक र समझ छ कि छैन भन्‍ने आधारमा तिनीहरूको मूल्याङ्कन गरिन्छ। दोस्रो कुरा, तिनीहरूलाई सत्यता र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिको आधारमा मूल्याङ्कन गरिन्छ। कुनै व्यक्ति उच्‍चकोटिको हो कि न्यूनकोटिको हो भन्‍ने कुराको मूल्याङ्कन र निर्धारण परमेश्‍वरले यसरी नै गर्नुहुन्छ। त्यसकारण, परमेश्‍वरका वचनहरूमा सज्‍जन वा खलनायक भन्‍ने कुरै छैन। मण्डलीमा, परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरूमाझ, उहाँले सज्‍जन बन्‍ने मापदण्ड तोक्‍नुहुन्‍न, वा सज्‍जन बन्‍नुपर्छ भन्‍ने विचार प्रवर्धन गर्नुहुन्‍न, र उहाँले मानिसहरूलाई खलनायकको आलोचना गर्न सिकाउनुहुन्‍न। परमेश्‍वरको घरले निश्‍चय नै नैतिक आचरणसम्‍बन्धी परम्‍परागत साँस्कृतिक दृष्टिकोणको आधारमा को उच्‍च नैतिक चरित्र भएको व्यक्ति हो भनेर मूल्याङ्कन गर्दैन। यसले सज्‍जनलाई पदोन्‍नति र जगेर्ना गर्ने र खलनायकलाई हटाउने र निकाल्‍ने गर्दैन। परमेश्‍वरको घरले यसका आफ्‍नै सिद्धान्तहरूअनुसार मानिसहरूलाई पदोन्‍नति गर्ने, जगेर्ना गर्ने, हटाउने वा निकाल्‍ने गर्छ। यसले मानिसहरूलाई नैतिक आचरणसम्‍बन्धी मापदण्ड र भनाइहरूको आधारमा हेर्दै, सज्‍जनलाई पदोन्‍नती गर्ने र खलनायकलाई इन्कार्ने गर्दैन। बरु, यसले सबै मानिसहरूलाई परमेश्‍वरको वचन र सत्यताअनुसार हेर्छ। सधैँ सज्‍जन बन्‍ने प्रयास गरिरहेका मण्डलीका कतिपय मानिसहरूबारे तिमीहरू के सोच्छौ? (तिनीहरू असल हुँदैनन्।) कतिपय नयाँ विश्‍वासीहरूले सधैँ सज्‍जन वा खलनायकसम्‍बन्धी मापदण्डको आधारमा मानिसहरूलाई मूल्याङ्कन गर्ने गर्छन्। बाधा र व्यवधान ल्याइरहेका मानिसहरूलाई मण्डली अगुवाहरूले काटछाँट र निराकरण गरेको देख्दा, तिनीहरूले यसो भन्छन्, “य अगुवा सज्‍जन रहेनछ! विश्‍वासी दाजुभाइ वा दिदीबहिनीले सानो गल्ती गर्दा, यसले त्यो कुरालाई ठूलो बनाउँछ र कहिल्यै बिर्सँदैन। सज्‍जनले यस्तो कुराको वास्ता गर्दैन। सज्‍जन त सहनशील, क्षमा दिने, र अरूको चित्त बुझाउनेसमेत हुन्छ—ऊ निकै सहनशील हुन्छ! यो अगुवाले मानिसहरूलाई साह्रै कडा गर्छ। ऊ पक्‍कै पनि खलनायक हो!” यी मानिसहरूले परमेश्‍वरको घरका हितहरू रक्षा गर्ने मानिसहरू सज्‍जनहरू होइनन् भनेर भन्छन्। तिनीहरूले गम्‍भीरता, सावधानी, र जिम्‍मेवासाथ काम गर्नेहरू खलनायक हुन् भन्छन्। अरूलाई यसरी हेर्ने मानिसहरू तिमीहरूलाई कस्तो लाग्छ? के तिनीहरूले मानिसहरूलाई सत्यता वा परमेश्‍वरको वचनको आधारमा हेरिरहेका हुन्छन्? (हुँदैनन्।) तिनीहरूले मानिसहरूलाई सत्यता र परमेश्‍वरको वचनको आधारमा हेर्दैनन्। यसअलावा, शैतानले मानिसहरूलाई मूल्याङ्कन गर्न प्रयोग गर्ने विचार, दृष्टिकोण, विधि र माध्यमहरूलाई तिनीहरूले टपक्‍क टिप्छन्, र मण्डलीमा फैलाउँछन् र प्रसार गर्छन्। यी कुराहरू स्पष्टतः अविश्‍वासी र गैरविश्‍वासीहरूका सोच र दृष्टिकोणहरू हुन्। यदि तँमा समझशक्ति छैन, र तँ सज्‍जन भनेको उच्‍च नैतिक चरित्र भएको असल व्यक्ति, र मण्डलीको खम्‍बा हो भनेर सोच्छस् भने, तँ त्यस्तो व्यक्तिद्वारा भ्रमित हुनेछस्। तँमा पनि त्यसको जस्तै विचार र दृष्टिकोणहरू हुने हुनाले, जब कसैले सज्‍जनबारे कुनै टिप्पणी वा अभिव्यक्ति दिन्छ, तँ त्यसतर्फ आकर्षित हुन्छस् र थाहै नपाई भ्रममा पर्छस्। तर यदि तँमा त्यस्ता कुराहरू बुझ्ने समझशक्ति छ भने, तैँले त्यस्ता अभिव्यक्तिहरू इन्कार्नेछस् र ती कुराहरूद्वारा तँ भ्रमित हुनेछैनस्। बरु, तैँले परमेश्‍वरको वचन र सत्यताका सिद्धान्तहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई मूल्याङ्कन गर्ने अनि सही र गलत निर्णय गर्ने कार्यमा जोड दिनेछस्। त्यसपछि तैँले मानिसहरू र परिस्थितिहरूलाई सही रूपमा हेर्नेछस्, र परमेश्‍वरको इच्‍छाअनुसार व्यवहार गर्नेछस्। सत्यता खोजी नगर्ने, र समझशक्ति नभएका र परमेश्‍वरको घरका नियमहरू पालन गर्न अनिच्छुक गैरविश्‍वासीहरूले विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई भ्रममा पार्न र सत्यतासम्‍बन्धी तिनीहरूको बुझाइ बिथोल्नको लागि प्रायजसो शैतानबाट आएका र अविश्‍वासीहरूमाझ आम मानिएका विचार र दृष्टिकोणहरूको कुरा उठाउँछन्। यदि मानिसहरूमा समझशक्ति छैन भने, तिनीहरू यी मानिसहरूद्वारा पूरै भ्रमित वा बाधित नभएका हुन सक्‍ने भए पनि, तिनीहरू प्रायजसो त्यस्ता मान्छेका अभिव्यक्तिहरूको नियन्त्रणमा पर्छन्, र काम गर्न वा बोल्‍नबाट पछि हट्छन्। तिनीहरूले सत्यताका सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्, र परमेश्‍वरको वचनका मापदण्डअनुसार काम गर्ने पनि आँट गर्दैनन्, झन् परमेश्‍वरको घरका हितहरू रक्षा गर्ने आँट गर्नु त परै जाओस्। के यो शैतानका विचार र अभिव्यक्तिहरूप्रति समझशक्ति नहुनुको परिणाम होइन र? (हो।) कारण अवश्यै यही हो। मण्डलीमा “सज्‍जन” र “खलनायक” भन्‍ने शब्‍दहरू मान्य हुँदैनन्। अविश्‍वासीहरू नाटक गर्न र देखावटी जीवन जिउन खप्पिस हुन्छन्। तिनीहरूले खलनायक होइन सज्‍जन बन्‍नुपर्छ भन्‍ने दलिल गर्छन्, र तिनीहरूले आफ्‍नो जीवनमा यी देखावटी व्यवहारहरू अँगाल्छन्। तिनीहरूले आफूलाई मानिसहरूमाझ स्थापित गर्न, मानिसहरूलाई झुक्याएर तिनीहरूबाट प्रतिष्ठा र इज्‍जत लिन, र ख्याति र सम्पत्ति प्राप्त गर्न यी कुराहरू प्रयोग गर्छन्। परमेश्‍वरको घरमा, यी सबै कुराहरूलाई हटाइनु र निकालिनुपर्छ। यी कुराहरूलाई परमेश्‍वरको घरमा वा परमेश्‍वरका चुनिएका मानिसहरूमाझ फैलन दिनु हुँदैन, वा न त यी कुराहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूलाई बाधा दिने र भ्रममा पार्ने मौका नै दिनु हुन्छ। किनभने यी सबै कुराहरू शैतानबाट आएका हुन्, परमेश्‍वरको वचनमा यिनको कुनै आधार छैन, र न त यी कुराहरू मानिसहरू र परिस्थितिहरूलाई हेर्दा, र आफूलाई व्यवहारमा ढाल्‍न र कार्य गर्दा पालना गर्नुपर्ने सत्यताका सिद्धान्तहरू नै हुन्। त्यसकारण, “सज्‍जन,” “नक्‍कली सज्‍जन,” र “खलनायक” भन्‍ने शब्‍दहरू व्यक्तिको सार परिभाषित गर्ने सही शब्‍दहरू होइनन्। के मैले “सज्‍जन” भन्‍ने शब्‍दलाई स्पष्‍ट रूपमा व्याख्‍या गरेँ? (गर्नुभयो।)

हामी यसको अर्थ के हो भनेर हेर्न फेरि पनि “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भनाइलाई हेरौँ। यो वाक्यांशको शाब्दिक अर्थ सज्‍जनले आफ्‍नो बोलीलाई गम्‍भीर रूपमा लिनुपर्छ भन्‍ने हो। यो भनाइको मतलब, व्यक्तिले बोलेको पूरा गर्छ कि गर्दैन त्यसले नै ऊ कस्तो हो भन्‍ने देखाउँछ; सज्‍जन भनेको मनमा जे छ त्यही बोल्‍ने र आफूले कबुलेको कुराहरू पूरा गर्ने व्यक्ति हो। त्यसकारण, उच्‍च नैतिक चरित्र भएको, सबैले मन पराउने र सबैले निकै आदर गर्ने सज्‍जन बन्‍नको लागि, व्यक्तिले “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भनाइअनुसार व्यवहार गर्नुपर्छ। अर्थात्, सज्‍जन विश्‍वासयोग्य व्यक्ति नै हुनुपर्छ। उसले आफूले बोलेको र प्रतिज्ञा गरेको कुराको जिम्‍मेवारी लिनुपर्छ, र त्यसलाई पक्‍कै पूरा गर्नुपर्छ। उसले आफूले बोलेको कुरा फिर्ता गर्ने वा अरूलाई गरेको कबुल पूरा नगर्ने गर्नु हुँदैन। आफूले गरेको कबुल प्राय पूरा नगर्ने व्यक्ति सज्‍जन वा असल व्यक्ति होइन, बरु खलनायक हो। “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने वाक्यांशलाई यसरी अर्थ्याउन सकिन्छ। यसले मुख्य रूपमा नैतिकता र विश्‍वासनीयताको हिसाबमा सज्‍जनको बोलीवचन र व्यवहारलाई जोड दिन्छ। सर्वप्रथम, “सज्‍जनको बोली” भन्‍ने वाक्यांशमा “बोली” ले केलाई जनाउँछ? यसले दुइटा कुरा जनाउँछ: उसले गरेको प्रतिज्ञा वा कुनै कुरा गर्ने वाचा। यसभन्दा पहिले मैले भनेजस्तै, सज्‍जन असल व्यक्ति होइन, बरु शैतानले गहन रूपमा भ्रष्ट पारेको साधारण मानिस हो। त्यसकारण, मानिसहरूको सारको हिसाबमा भन्दा, मानिसहरूले प्रतिज्ञा गर्ने कुरामा आफूलाई प्रकटीकरण गर्ने मुख्य तरिकाहरू कुन-कुन हुन्? अहङ्कारी रूपमा बोल्‍ने, बढाइचढाइ गर्ने, आफूलाई उचालेर कुरा गर्ने, आफ्‍नो बारेमा साँचो नरहेका कुराहरू बताउने, तथ्यहरूसँग नमिल्‍ने कुराहरू बोल्‍ने, झूट बोल्‍ने, रूखो बोल्‍ने र रिस पोखाउने। मानिसहरूले बोल्‍ने र प्रतिज्ञा गर्ने कुरामा यी सबै कुराहरू पाउन सकिन्छ। त्यसकारण, मान्छेले यी कुराहरू बोलिसकेपछि, तैँले तिनीहरूलाई आफ्‍नो प्रतिज्ञा पूरा गर्न, आफूले बोलेको कुराको कदर गर्न, र आफ्‍नो बोली फिर्ता नगर्न अनुरोध गर्छस्, र यदि तिनीहरूले यो कुरा माने भने, तँ तिनीहरूलाई सज्‍जन र असल व्यक्ति ठान्छस्। के त्यो हास्यास्पद कुरा होइन र? यदि भ्रष्ट मानिसहरूले हरेक दिन बोल्ने कुराहरूलाई होसियारीसाथ अनुसन्धान र जाँच गर्ने हो भने, तैँले ती कुराहरू सतप्रतिशत झूटो बोली, खोक्रो शब्‍द, वा आधा सत्य रहेको पत्ता लगाउनेछस्। एउटै शब्‍द पनि सही, साँचो वा वास्तविक हुँदैन। बरु, तिनीहरूका अभिव्यक्तिहरूले तथ्यहरू बङ्ग्याउँछन्, कालो-सेतो पूरै झुक्याउने बनाउँछन्, र तिनीहरूमध्ये कतिले त दुष्ट अभिप्राय वा शैतानी चलाकीहरूसमेत बोकेका हुन्छन्। यदि यी सबै वचनहरू पूरा गर्ने हो भने, यसले धेरै कोलाहल मच्चाउनेछ। मानिसहरूको ठूलो समूहमा के हुन्छ भन्‍नेबारेमा कुरा नगरौँ, तर मानौँ एउटा परिवारमा यस्तै कोही सज्‍जन छ, जसले सधैँ जथाभाबी टिप्पणीहरू गरिरहेको हुन्छ, र अर्थहीन सिद्धान्तहरू अनि अहङ्कारी, गलत, कुटिल र आक्रमक शब्‍दहरू बोलिरहेको हुन्छ। यदि उसले आफ्‍ना शब्दहरूलाई गम्‍भीर रूपमा लिन्छ र बोलेपछि उसलाई त्यो पूरा नगरी हुँदैन भने, यसका परिणामहरू के हुनेछन्? यो परिवार कति अराजक बन्छ होला? यो त ठूलो रातो अजिङ्गरको देशको दुष्ट राजाजस्तै हो। यसका नीतिहरू जति नै हास्यास्पद वा दुष्ट भए पनि, यसले ती नीति लागू गरेरै छाड्छ, र यसको अधीनमा रहेकाहरूले यसका नीतिहरू एकएक गरी लागू र कार्यान्वयन गर्छन्—तिनीहरूलाई विरोध गर्ने वा रोक्‍ने कसैले आँट गर्दैन, जसले गर्दा राष्ट्रिय कोलाहल मच्‍चिन्छ। यसको साथै, विभिन्‍न विपत्तिहरू आइरहेका छन्, र युद्धको तयारी सुरु भएको छ। पूरै देश अत्यन्तै अन्योलमा डुबेको छ। यदि दियाबलस अगुवाले लामो समयसम्‍म देशमा शासन गर्‍यो भने, त्यो देशका मानिसहरू गम्‍भीर समस्यामा हुन्छन्। त्यो अवस्था कति अराजक होला? यदि दियाबलस राजाहरूले जारी गर्ने अनेक किसिमका वाहियात कुरा, भ्रम, र झूटहरूलाई मानिसहरूले लागू र कार्यान्वयन गरे भने, के यसबाट मानवजातिको निम्ति कुनै भलाइ आउँछ? मानवजाति झन्झन् अराजक, अन्धकारपूर्ण र दुष्ट मात्रै हुँदै जानेछ। तर खुसीको कुरा, “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भनाइ खोक्रो वचन मात्र हो; यो त एउटा मीठो अलङ्कार मात्रै हो, शैतानले यसलाई वास्तविकतामा परिणत गर्न, र यसमा भनिएको कुरा हासिल गर्न सक्दैन। त्यसकारण, संसारमा थोरै नै भए पनि अझै सुव्यवस्था रहेको छ र मानिसहरू तुलनात्मक रूपमा अझै पनि स्थिर नै छन्। यदि यस्तो नभएको भए, मानव संसारको हरेक कुनामा, जहाँजहाँ “सज्‍जनहरू” हुन्थे, त्यहाँ कोलाहल नै कोलहल हुनेथियो। “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भनाइमा रहेका गलत कुराहरूमध्ये एउटा यही हो। मानिसहरूको सारको दृष्टिकोणले हेर्दा, हामी के देख्‍न सक्छौँ भने, तिनीहरूको दृष्टिकोण, तिनीहरूले बोल्ने, र तिनीहरूले प्रतिज्ञा गर्ने कुराहरू भरपर्दा हुँदैनन्। यसमा रहेको अर्को गलत कुरा के हो भने, मानवजाति “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने वैचारिक दृष्टिकोणद्वारा नियन्त्रित हुन्छ। तिनीहरूले के विचार गर्छन् भने, “हामीले बोलेको कुरा पूरा गर्नुपर्छ र गर्छु भनेको कुरा गर्नुपर्छ किनभने सज्‍जन त्यस्तै हुन्छ।” यो वैचारिक दृष्टिकोणले मानिसहरूको विचारलाई नियन्त्रण गर्छ र यो कुरा तिनीहरूले कुनै व्यक्तिलाई हेर्ने, मूल्याङ्कन गर्ने र उसको चरित्र निर्धारण गर्ने मापदण्ड बन्छ। के यो उचित र सही हुन्छ? (अहँ, यो सही हुँदैन।) किन यो सही हुँदैन? पहिलो कुरा त मानिसहरूले बोल्ने कुराको महत्त्व थोरै मात्र हुने र त्यो खोक्रो शब्द, झूट र अत्युक्ति मात्रै हुने हुनाले यो सही हुँदैन। दोस्रो कुरा, मानिसहरूलाई नियन्त्रण गरेर आफूले बोलेको कुरा पूरा गर्न लगाउनको लागि यो वैचारिक दृष्टिकोण प्रयोग गर्नु न्यायोचित हुँदैन। मानिसहरूले प्रायजसो व्यक्तिको उच्‍चता वा नीचता मापन गर्नको लागि “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भनाइ प्रयोग गर्छन्। थाहै नपाई, मानिसहरूले आफ्‍नो प्रतिज्ञा कसरी पूरा गर्ने भन्‍नेबारेमा प्रायजसो चिन्ता गर्न थाल्छन् र तिनीहरू यो कुराद्वारा नियन्त्रित हुन्छन्। यदि तिनीहरूले आफ्‍नो प्रतिज्ञा पूरा गर्न सकेनन् भने तिनीहरू अरूको भेदभाव र हप्काइमा पर्छन्, र तिनीहरूले सानोतिनो कुरा पूरा गर्न नसके पनि समुदायमा आफूलाई स्थापित गर्न तिनीहरूलाई गाह्रो हुन्छ। यो कुरा यी मानिसहरूप्रति अनुचित र अमानवीय हुन्छ। मानिसहरूले आफ्‍नो भ्रष्ट स्वभावको कारण, आफ्‍नै रुचिहरूअनुसार र जे मन लाग्यो त्यही बोल्छन्; तिनीहरूले आफ्‍नो अभिव्यक्ति कति हास्यास्पद वा तथ्यविपरीत छ भन्‍ने कुरा वास्ता गर्दैनन्। भ्रष्ट मानिसहरू यस्तै हुन्छन्। हरेक कुराले आफ्‍नै स्वभावअनुसार व्यवहार गर्नु स्वाभाविक कुरा हो: कुखुराले कुखुराजस्तै कराउन सिक्‍नुपर्छ, कुकुरले भुक्‍न सिक्‍नुपर्छ, र ब्‍वाँसोले ब्वाँसोको आवाज निकाल्‍न सिक्‍नुपर्छ। यदि कुनै कुरा मानव होइन, तैपनि त्यसलाई मानवीय कुराहरू भन्‍न र गर्न लगाइयो भने, त्यसलाई निकै गाह्रो हुन्छ। मानिसहरूमा शैतानको भ्रष्ट स्वभाव हुन्छ, अर्थात् अहङ्कारी र छली स्वभाव हुन्छ, त्यसकारण तिनीहरूले झूट बोल्‍नु, बढाइचढाइ गर्नु, र रित्तो शब्‍द बोल्‍नु स्वाभाविकै हुन्छ। यदि तैँले सत्यता बुझ्‍न र मानिसहरूको वास्तविकता देख्‍न सक्छस् भने, यो सबै कुरा तेरो लागि सामान्य र साधारण देखिन सक्छ। तैँले मानिसहरू र परिस्थितिहरूलाई हेर्न, अनि मानिसहरू असल हुन् कि होइनन् वा भरोसा गर्न लायक छन् कि छैनन् भनेर मूल्याङ्कन गर्न र तिनीहरूको चरित्र निर्धारण गर्नको लागि “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भ्रमित विचार प्रयोग गर्नु हुँदैन। मूल्याङ्कन गर्ने यो तरिका सही छैन, र यसलाई अवलम्‍बन गर्नु हुँदैन। सही तरिकाचाहिँ के हो त? मानिसहरूमा भ्रष्ट स्वभाव छ, त्यसकारण तिनीहरूले बढाइचढाइ गर्नु र तिनीहरूको वास्तविक अवस्थासँग नमिल्‍ने कुरा बोल्‍नु सामान्य नै हुन्छ। तैँले यो कुरालाई सही तरिकाले लिनुपर्छ। तैँले कुनै व्यक्तिलाई सज्‍जनका मापदण्डहरूअनुसार आफ्‍नो प्रतिज्ञा पूरा गर्न लगाउनु हुँदैन, र तैँले निश्‍चय नै अरूलाई वा आफूलाई “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने विचारले बाँध्‍नु हुँदैन। यसो गर्नु सही होइन। यति मात्र होइन, कुनै व्यक्ति सज्‍जन हो कि होइन भन्‍ने आधारमा उसको मानवता र नैतिक चरित्रको मूल्याङ्कन गर्नु भनेको आधारभूत गल्ती हो, त्यो सही तरिका होइन। यसको आधार गलत छ र यो परमेश्‍वरको वचन वा सत्यताअनुरूप छैन। त्यसकारण, व्यक्तिलाई मूल्याङ्कन गर्न बाहिरी संसारले जे-जस्तो प्रकारको वैचारिक दृष्टिकोणको प्रयोग गरे पनि, र बाहिरी संसारले सज्‍जन बन्‍ने वा खलनायक बन्‍ने कुरालाई प्रवर्धन गरे पनि नगरे पनि, परमेश्‍वरको घरमा “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भनाइलाई प्रवर्धन गरिँदैन, र कुनै व्यक्ति सज्‍जन बन्‍नुपर्छ भनेर सिफारिश गरिँदैन, अनि तैँले “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भनाइअनुसार व्यवहार गर्नुपर्छ भन्‍ने पनि अनिवार्य हुँदैन। यदि तैँले आफूलाई कडाइसाथ सज्‍जन बन्‍न बाध्य गरिस्, र “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने भनाइको मूर्तरूप बनिस् भने पनि, के नै हुन्छ र? तैँले यो काम राम्ररी गर्न सक्छस होला र आफ्‍नो प्रतिज्ञा पूरा गर्ने र आफूले बोलेको वचन पूरा गर्न कहिल्यै नचुक्‍ने नम्र किसिमको सज्‍जन बन्‍न सक्छस् होला। तैपनि, यदि तँ कहिल्यै पनि परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्दैनस्, अनि सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्‍ने वा कार्य गर्ने गर्दैनस्, वा सत्यताका सिद्धान्तहरू पछ्याउँदैनस् भने, तँ पूर्ण रूपमा गैरविश्‍वासी हुन्छस्। यदि धेरै मानिसहरूले तँसँग सहमति जनाएर तँलाई समर्थन गरे पनि, तँलाई सज्‍जन र आफूले बोलेको वचन पूरा गर्ने व्यक्ति होस् र तैँले आफ्‍नो प्रतिज्ञालाई गम्‍भीर रूपमा लिन्छस् भनेर भने पनि, के नै हुन्छ र? के यसको अर्थ तँ सत्यता बुझ्छस् भन्‍ने हुन्छ र? के यसको अर्थ तँ परमेश्‍वरको बाटो पछ्याउँछस् भन्‍ने हुन्छ र? तैँले “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने नैतिक अभिव्यक्तिलाई जति राम्ररी र जति उचित रूपमा पछ्याए पनि, यदि तैँले परमेश्‍वरको वचन बुझेको छैनस्, र सत्यताका सिद्धान्तहरू पालना गर्दैनस् र त्यसअनुसार व्यवहार गर्दैनस् भने, तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछैनस्।

“सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने विचारका त्रुटिहरू पहिचान र चिरफार गरिसकेपछि, अब हामी परमेश्‍वरले मानिसहरूको बोलीवचन र व्यवहारबारे के मापदण्ड दिनुहुन्छ भन्‍ने कुरालाई हेरौँ। परमेश्‍वरले मानिसहरू कस्तो व्यक्ति बनून् भन्‍ने चाहनुहुन्छ? (इमानदार व्यक्ति।) ठीक भन्यौ। इमानदार बनून्, झूट नबोलून्, धोका नदिऊन्, छली नबनून्, र चलाकी नगरून्। व्यवहार गर्दा परमेश्‍वरको वचन र सत्यताका सिद्धान्तहरू खोजी गरून्। यति थोरै कुराहरू मात्रै त हुन्; यो कुरा यति सरल छ। यदि तँ बेइमानी तरिकाले बोल्छस् भने, आफूलाई सुधार्। यदि तँ बढाइचढाइ गर्छस्, झूट बोल्छस् वा आफ्‍नो स्थानभन्दा बाहिर रही बोल्छस् भने, यसबारेमा मनन गर् र सचेत बन्, अनि यसलाई समाधान गर्न सत्यता खोजी गर्। तैँले तेरो वास्तविक अवस्था प्रतिबिम्‍बित गर्ने कुराहरू बोल्नुपर्छ, आफ्‍नो हृदयले बुझेको कुरा र तथ्यहरू बोल्नुपर्छ। यसको साथै, यदि तैँले अरूलाई प्रतिज्ञा गरेका कुराहरू गर्न सक्छस् भने, ती कुराहरू गर्। यदि सक्दैनस् भने, तुरुन्तै तिनीहरूलाई भनिहाल्। यसो भन्, “माफ गर्नुहोस्, म यो कुरा गर्न सक्दिनँ। मसँग क्षमता छैन, र म राम्रो काम गर्न सक्दिनँ। म तपाईंलाई अल्झाएर राख्‍न चाहन्‍नँ, त्यसकारण तपाईंले अरू कसैलाई सहयोग माग्दा राम्रो हुन्छ।” तैँले सधैँ आफूले भनेको कुरा पूरा गरिछोड्छु भन्‍ने अड्डी कस्दै बस्‍नु हुँदैन, तैँले आफूले गरेको प्रतिज्ञा पूरा गर्न सक्दिनँ भनेर पनि भन्‍न सक्छस्। बस इमानदार व्यक्ति बन्। झूट बोल्‍ने र छल गर्ने प्रयास गर्नुको सट्टा, तैँले बोल्ने र गर्ने कुरामा इमानदार बन्, अनि सबै परिस्थितिमा सत्यताका सिद्धान्तहरू खोजी गर्। यो यति सरल छ; यो यति सहज छ। के परमेश्‍वरले मानिसहरूलाई गर्न लगाउनुहुने कुरामा कुनै त्यस्तो कुरा छ जसले तिनीहरूलाई नाटक गर्ने तुल्याउँछ? के उहाँले मानिसहरूलाई हदभन्दा बढी, तिनीहरूले सहन सक्‍ने वा गर्न सक्‍नेभन्दा बढी कहिल्यै माग्‍नुभएको छ? (छैन।) यदि मानिसहरूसँग क्षमता, बुझ्‍ने शक्ति, शारीरिक ऊर्जा वा सामर्थ्य छैन भने, परमेश्‍वरले तिनीहरूलाई आफूले सकेजति गर्नु, सक्दो प्रयास गर्नु, र तनमन लगाउनु नै पर्याप्त हुन्छ भनेर भन्‍नुहुन्छ। तँ भन्छस्, “मैले आफूसँग भएको सबै थोक दिएको छु, तर म अझै पनि परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्दिनँ। मैले गर्न सक्‍ने त्यति नै हो तर परमेश्‍वर सन्तुष्ट हुनुहुन्छ कि हुन्‍न मलाई थाहा छैन।” वास्तवमा, यसो गरेर तैँले परमेश्‍वरका मापदण्डहरू पहिले नै पूरा गरिसकेको हुन्छस्। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूले बोक्‍नै नसक्‍ने भार दिनुहुन्‍न। यदि तैँले सय पाउन्ड भारी बोक्‍न सक्छस् भने, परमेश्‍वरले अवश्यै तँलाई सय पाउन्डभन्दा गह्रौँ भारी बोक्‍न दिनुहुनेछैन। उहाँले तँलाई कुनै दबाब दिनुहुनेछैन। परमेश्‍वरले सबैलाई यसरी नै व्यवहार गर्नुहुन्छ। अनि तँ कुनै पनि कुरा—कुनै पनि व्यक्ति वा कुनै पनि वैचारिक दृष्टिकोणको नियन्त्रणमा पर्नेछैनस्। तँ स्वतन्त्र हुन्छस्। कुनै कुरा आइपर्दा, तँसँग विकल्प रोज्ने अधिकार हुन्छ। तैँले परमेश्‍वरको वचनअनुसार अभ्यास गर्ने विकल्प रोज्न सक्छस्, आफ्‍ना व्यक्तिगत इच्छाहरूअनुसार अभ्यास गर्ने विकल्प रोज्न सक्छस्, वा अवश्य नै, तैँले शैतानले तँभित्र घुसाएका वैचारिक दृष्टिकोणहरूमै लागिरहने विकल्प रोज्न सक्छस्। तैँले यीमध्ये कुनै पनि विकल्‍प रोज्न सक्छस्, तर जुनसुकै विकल्प रोजे पनि तैँले त्यसको जिम्‍मेवारी लिनुपर्छ। परमेश्‍वरले तँलाई बाटो मात्रै देखाउनुहुन्छ; उहाँले तँलाई कुनै कुरा गर्न वा नगर्न बाध्य गर्नुहुन्‍न। परमेश्‍वरले तँलाई बाटो देखाउनुभएपछि, विकल्प तेरै हातमा हुन्छ। तँसँग छनौट गर्ने पूर्ण अधिकारलगायत सम्पूर्ण मानव अधिकार हुन्छ। तैँले सत्यता रोज्‍न सक्छस्, आफ्‍ना मानव इच्छाहरू रोज्‍न सक्छस्, वा अवश्य नै, शैतानका वैचारिक दृष्टिकोणहरू रोज्‍न सक्छस्। तर तैँले जे रोजे पनि, अन्तिम परिणाम तैँले नै भोग्‍नुपर्छ; कसैले पनि तेरो लागि त्यसको बोझ लिनेछैन। जब तैँले कुनै विकल्प रोज्छस्, तब परमेश्‍वरले कुनै पनि हालतमा तँलाई हस्तक्षेप गर्नुहुन्‍न, न त उहाँले तँलाई कुनै जबरजस्ती नै गर्नुहुन्छ। तैँले आफ्‍नो इच्छाअनुसार रोज्‍न सक्छस्, चाहे त्यो रोजाइ जेसुकै नै किन नहोस्। तर अन्त्यमा, तैँले सही मार्ग र सत्यता रोजिस् भन्दैमा, परमेश्‍वरले तँमाथि तारिफ बर्साउने, तँलाई ठूलो फाइदा गराउने, तेरो हृदयमा सुखद अनुभूति हालिदिने, वा तँलाई अत्याधिक आदर्शमय भएको महसुस गराउने काम पनि गर्नुहुनेछैन। उहाँले त्यस्तो कुनै काम गर्नुहुनेछैन। तैँले आफ्‍नो मानव इच्छा रोजिस् भने उहाँले तँलाई तुरुन्तै अनुशासनमा राख्‍ने वा सराप्‍ने पनि गर्नुहुनेछैन वा शैतानले तँमा हालिदिएका विचारहरूअनुसार जथाभाबी काम गरिस् भने तुरुन्तै तँमाथि विपत्ति पनि बर्साउनुहुनेछैन। तैँले छनौट गरिरहेको बेला, सबै कुरा प्राकृतिक रूपमै अघि बढ्छ, र तैँले छनौट गरिसकेपछि पनि सबै कुरा प्राकृतिक रूपमै निरन्तर अघि बढ्नेछ। परमेश्‍वरले यो सब भइरहेको अवलोकन गर्नुहुन्छ र नियाल्‍नुहुन्छ, र यसको कारण, प्रक्रिया र परिणाम हेर्नुहुन्छ। अवश्य नै अन्त्यमा, जब मानिसहरूलाई न्याय गरिन्छ र जब तिनीहरूको अन्त्य निर्धारित हुन्छ, तब परमेश्‍वरले तैँले आफ्‍नो व्यक्तिगत रोजाइअनुसार लिएको मार्ग वर्गीकरण गर्नुहुन्छ, र तँ वास्तवमा कस्तो व्यक्ति होस् भनेर यो मार्गलाई समग्रमा हेर्नुहुन्छ, र त्यसबाटै उहाँले तेरो अन्त्य कस्तो हुनेछ भनेर निर्धारित गर्नुहुन्छ। परमेश्‍वरको तरिका त्यही हो। कुरो बुझ्यौ? (बुझ्यौँ।) जब परमेश्‍वरले आफ्‍नो काम गरिरहनुभएको हुन्छ, तब उहाँले मानिसहरूलाई उहाँले चाहनुभएकै कुरा गर्न बाध्य गराउन तिनीहरूका विचारहरूलाई बन्धन र नियन्त्रणमा पार्ने गरी कुनै अभिव्यक्ति, भनाइ, वा वैचारिक विचारलाई तिनीहरूमाझ प्रचलन बन्‍न कहिल्यै दिनुहुन्‍न। परमेश्‍वरको काम गर्ने तरिका त्यो होइन। परमेश्‍वरले मानिसहरूलाई विकल्प रोज्ने पूर्ण स्वतन्त्रता र अधिकार दिनुहुन्छ, र तिनीहरूले पूर्ण मानव अधिकार र पूर्ण छनौट अधिकार उपभोग गर्न पाउँछन्। मानिसहरूले सामना गर्ने हरेक परिस्थितिमा, तिनीहरूले कुनै निश्‍चित कुराको बनावट पत्ता लगाउन र मूल्याङ्कन गर्नको लागि शैतानका वैचारिक दृष्टिकोणहरू स्विकार्ने र प्रयोग गर्ने विकल्प रोज्‍न सक्छन्, वा तिनीहरूले परमेश्‍वरको वचन र सत्यताका सिद्धान्तहरूअनुसार यसो गर्ने विकल्‍प रोज्‍न सक्छन्। के यो तथ्य होइन र? (हो।) परमेश्‍वरले मानिसहरूलाई जबरजस्ती गर्नुहुन्‍न; परमेश्‍वरले गर्नुहुने कुरा हरेकको लागि निष्पक्ष हुन्छ। सत्यता र सकारात्मक कुराहरू प्रेम गर्नेहरूले अन्तिममा सत्यता पछ्याउने मार्ग हिँड्छन्, सत्यता प्राप्त गर्छन्, परमेश्‍वरको डर मान्‍ने हृदय धारण गर्छन्, र परमेश्‍वरमा समर्पित भएर मुक्ति प्राप्त गर्न सक्छन्, किनभने तिनीहरूले सत्यता र सकारात्मक कुराहरू प्रेम गर्छन्। सत्यतालाई प्रेम नगर्ने र आफ्‍नै इच्छाअनुसार सधैँ जथाभाबी व्यवहार गर्नेहरू सत्यताप्रति दिक्‍क मान्छन् र सत्यतालाई कुनै पनि हालतमा स्विकार्दैनन्। तिनीहरूलाई परमेश्‍वरको सजाय र न्यायदेखि डर लाग्छ, र दण्डित भइएला भन्‍ने डर लाग्छ, त्यसकारण तिनीहरूले देखाउनकै लागि परमेश्‍वरको घरमा मन नलागीनलागी भए पनि अलिअलि काम गर्छन्, अलिअलि सेवा गर्छन् र केही असल व्यवहार प्रस्तुत गर्छन्। तैपनि, तिनीहरूले कहिल्यै पनि सत्यता स्विकार्ने वा परमेश्‍वरको मार्ग पछ्याउने गर्दैनन्, र तिनीहरू सत्यता पछ्याउने र अभ्यास गर्ने मार्गमा हुँदैनन्। परिणामस्वरूप, तिनीहरूले सत्यता कहिल्यै बुझ्दैनन् वा कहिल्यै सत्यताको वास्तविकतामा प्रवेश गर्दैनन्, त्यसकारण तिनीहरूले मुक्ति पाउने अवसर गुमाउँछन्। यिनीहरूमध्ये अधिकांश मानिसहरू सेवाकर्ताहरू हुन्। तिनीहरूले कुनै दुष्कर्म नगरे पनि, वाधा वा व्यवधान नल्याए पनि र ख्रीष्टविरोधी र दुष्ट मानिसहरूजस्तै परमेश्‍वरको घरबाट नहटाइए पनि वा ननिकालिए पनि, अन्त्यमा तिनीहरूले जसोतसो “सेवाकर्ता” को उपाधि मात्रै पाउनेछन्, र तिनीहरूलाई जोगाइनेछ कि छैन त्यो पनि स्पष्ट हुँदैन। मानिसहरूको अर्को समूह पनि छ जो शैतानको स्वामित्वमा रहन्छन् र यसैका विचार र दृष्टिकोणहरू जोडदार रूपमा पालना गर्छन्। यी मानिसहरू सत्यता स्विकार्नु वा सत्यता र परमेश्‍वरको वचनअनुसार काम गर्नुभन्दा मर्न चाहन्छन्। तिनीहरू हरेक सकारात्मक कुराहरू र परमेश्‍वरभन्दा विपरीतसमेत हुन्छन्। तिनीहरूले मण्डलीको काममा वाधा र व्यवधान ल्याउने, कैयौँ दुष्कर्म गर्ने र पूर्ण रूपमा शैतानको भूमिका खेल्‍ने हुनाले, तीमध्ये कति मानिसहरूलाई अन्त्यमा मण्डलीबाट हटाइनेछ, र कतिलाई बहिष्कार गरिनेछ वा कतिको नाम खाताबाट काटिनेछ। कतिले नाम काटिनबाट वा बहिष्कार गरिनबाट आफूलाई जोगाए पनि, परमेश्‍वरले अन्तिममा तिनीहरूलाई हटाउनु नै पर्ने हुन्छ। तिनीहरूले सत्यता र परमेश्‍वरको मुक्ति स्वीकार नगर्ने हुनाले मुक्ति पाउने मौका गुमाउँछन्, र अन्तिममा तिनीहरूलाई संसार नष्ट गरिँदा शैतानसँगै नष्ट गरिनेछ। तँलाई थाहै छ, परमेश्‍वरले यति स्वतन्त्र र मुक्त रूपमा काम गर्नुहुन्छ कि सबै कुराले आफ्‍नो दिशा स्वाभाविक रूपमै आफै लिन्छ। परमेश्‍वरले मानिसहरूलाई अगुवाइ गर्न, अन्तर्दृष्टि दिन र सहयोग गर्न, अनि कहिलेकहीँ तिनीहरूलाई स्मरण गराउन, सान्त्वना दिन र सल्‍लाह दिन तिनीहरूमा काम गर्नुहुन्छ। यो परमेश्‍वरको स्वभावको त्यो पक्ष हो जसले प्रशस्‍त कृपा देखाउँछ। परमेश्‍वरले आफ्‍नो कृपा देखाउनुहुँदा, मानिसहरूले प्रशस्त मात्रामा परमेश्‍वरको अनुग्रह र आशिष्‌को आनन्द उठाउँछन्, र तिनीहरूले नियन्त्रित वा बाँधिएको महसुस नगरीकनै, र निश्‍चय नै कुनै अभिव्यक्ति वा वैचारिक दृष्टिकोणद्वारा सीमित पारिएको पनि महसुस नगरीकनै, पूर्ण स्वतन्त्रता र मुक्तिको आनन्द उठाउँछन्। परमेश्‍वरले यस्तो काम गर्ने क्रममा, उहाँले मानिसहरूलाई विभिन्‍न प्रशासनिक नियमहरू र मण्डलीका विभिन्‍न प्रणालीहरूद्वारा नियन्त्रित गर्नुहुन्छ, र तिनीहरूको भ्रष्टता र अवज्ञाको निम्ति तिनीहरूलाई काटछाँट, निराकरण, न्याय र सजाय गर्नुहुन्छ। उहाँले तिनीहरूमध्ये कतिलाई त आफ्‍ना वचनहरूद्वारा अनुशासनमा राख्‍नुहुन्छ र ताडना दिनुहुन्छ, वा खुलासा गर्नुहुन्छ र हप्‍काउनुहुन्छ, अनि साथमा अरू कामहरू पनि गर्नुहुन्छ। तैपनि, मानिसहरूले यो सब कुरामा आनन्द प्राप्त गर्ने भए पनि, तिनीहरूले परमेश्‍वरको प्रशस्‍त कृपा र गहन रिस पनि प्राप्त गर्छन्। जब परमेश्‍वरको धर्मी स्वभावको अर्को पक्ष, अर्थात्, गहन रिस मानिसहरूलाई प्रकट गरिन्छ, तब पनि अझै तिनीहरूले स्वतन्त्र र मुक्त नै महसुस गर्छन्, तर नियन्त्रित भएको, बन्धनमा परेको, वा सीमित पारिएको महसुस गर्दैनन्। जब मानिसहरूले परमेश्‍वरको धर्मी स्वभावको कुनै पनि पक्ष अनुभव गर्छन् र जब यसले तिनीहरूमा काम गर्छ, तब तिनीहरूले वास्तवमै परमेश्‍वरको प्रेम महसुस गर्छन्। तिनीहरूमा हासिल हुने परिणाम सकारात्मक हुनेछ, तिनीहरूले यसबाट फाइदा पाउनेछन्, र तिनीहरू अवश्यै सबैभन्दा ठूला लाभार्थीहरू बन्‍नेछन्। परमेश्‍वरले मानिसहरूलाई यसरी कहिल्यै पनि जबरजस्ती नगरी, बाध्य नपारी, दमन नगरी वा बन्धनमा नपारी काम गर्नुहुन्छ, बरु तिनीहरूलाई मुक्त, स्वतन्त्र, ढुक्‍क र खुसी महसुस गराउनुहुन्छ। मानिसहरूले परमेश्‍वरको कृपा र प्रेमिलोदया प्राप्त गरे पनि नगरे पनि वा उहाँको धार्मिकता र प्रताप प्राप्त गरे पनि नगरे पनि, अन्तिममा तिनीहरूले परमेश्‍वरबाट सत्यता प्राप्त गर्नेछन्, जीवनको अर्थ र मूल्य बुझ्‍नेछन्, र तिनीहरूले हिँड्ने मार्ग र मानव हुनुको दिशा र उद्देश्य प्राप्त गर्नेछन्। तिनीहरूले धेरै कुरा प्राप्त गर्नेछन्! मानिसहरू शैतानको प्रभुत्‍वमा जिउँछन्, र यसले तिनीहरूमा हालिदिएका विभिन्‍न विचार र दृष्टिकोणहरूद्वारा तिनीहरू बाँधिन्छन्, र सीमित र अशक्त पारिन्छन्। यो कुरा असहनीय छ, तर तिनीहरू मुक्त हुन नसक्‍ने गरी असहाय छन्। जब मानिसहरू परमेश्‍वरकहाँ आउँछन्, तब तिनीहरूप्रतिको परमेश्‍वरको मनोवृत्ति सधैँ उस्तै रहन्छ, चाहे उहाँप्रतिको तिनीहरूको मनोवृत्ति जस्तोसुकै नै किन नहोस्। यस्तो किन हुन्छ भने परमेश्‍वरको स्वभाव र सार परिवर्तन हुँदैन। उहाँले सधैँ सत्यता व्यक्त गर्नुहुन्छ, र यसो गर्ने क्रममा, आफ्‍नो स्वभाव र सार व्यक्त गर्नुहुन्छ। उहाँले मानिसहरूमा यसरी नै काम गर्नुहुन्छ। तिनीहरूले परमेश्‍वरको प्रेमिलोदया र कृपा, साथै उहाँको धार्मिकता र प्रतापको पूर्ण आनन्द लिन्छन्, र यो वातावरणमा जिउने मानिसहरू आशिषित हुन्छन्। यदि यस्तो वातावरणमा मानिसहरूले सत्यता पछ्याउन, यसलाई प्रेम गर्न र अन्तिममा यसलाई प्राप्त गर्न सक्दैनन् भने, यदि तिनीहरूले मुक्ति पाउने मौका गुमाउँछन्, र कति त शैतानजस्तै दण्डित र नष्टसमेत हुन्छन् भने, यसको एउटै मात्र कारण हुन्छ, र यो तथ्य हो। तिमीहरूलाई यो के होला जस्तो लाग्छ? मानिसहरू आफ्नो प्रकृतिअनुसार निश्‍चित मार्गमा हिँड्नेछन् र तिनीहरूको अन्त्य पनि त्यस्तै किसिमको हुनेछ। अन्तिममा हरेक व्यक्तिको अन्त्य निर्धारित गरिने बेलामा तिनीहरूलाई तिनीहरूको प्रकारअनुसार समूहमा छुट्याउने समय पनि हुनेछ। यदि कुनै व्यक्तिले सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्छ भने, जब परमेश्‍वरले अन्तिममा बोल्‍नुहुनेछ र काम गर्नुहुनेछ, तब तिनीहरू परमेश्‍वरकहाँ फर्कनेछन् र सत्यता पछ्याउने मार्गमा हिँड्नेछन्, चाहे शैतानले तिनीहरूमा जति नै धेरै नकारात्मक कुरा हालिदिएको नै किन नहोस्। तैपनि, यदि कुनै व्यक्तिले सत्यतालाई प्रेम गर्दैन र यसप्रति दिक्‍क मान्छ भने, परमेश्‍वरले जति धेरै बोल्‍नुभए पनि, उहाँका वचनहरू जति नै सच्‍चा भए पनि, उहाँले जति धेरै काम गर्नुभए पनि, र उहाँका चिन्‍ह र अचम्‍मका कामहरू जति नै आश्‍चर्यजनक भए पनि, त्यो व्यक्तिको स्वभाव अपरिवर्तित नै रहनेछ र त्यही स्वभावले नै उसलाई निर्देशित गर्नेछ। दुष्ट मानिसहरू त अझै चरम किसिमका हुन्छन्। तिनीहरू सत्यताप्रति दिक्‍क मान्‍ने मात्रै हुँदैनन्, तिनीहरूमा दुष्ट खाले र सत्यतालाई घृणा गर्ने किसिमको सारसमेत हुन्छ। तिनीहरू परमेश्‍वरको विरोध गर्छन् र शैतानको शिविरअन्तर्गत रहन्छन्। तिनीहरूले परमेश्‍वरमा विश्‍वासै गरे पनि, तिनीहरू अन्तिममा शैतानकहाँ नै फर्कनेछन्। यी तीन प्रकारका मानिसहरू सबैले शैतानको भ्रष्टता अनुभव गरेका हुन्छन्, र शैतानका विभिन्‍न अभिव्यक्ति र वैचारिक दृष्टिकोणहरूद्वारा तिनीहरू भ्रमित र बन्दी भएका हुन्छन्। त्यसोभए, किन कतिपय मानिसहरूले अन्तिममा मुक्ति पाउँछन् तर अरूले पाउँदैनन्? यो कुरा मानिसहरूले पछ्याउने मार्ग र तिनीहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् भन्‍ने कुरासँग नै मुख्य रूपमा सम्‍बन्धित हुन्छ। यी दुई कुरासँग नै यो कुरा सम्‍बन्धित हुन्छ। त्यसोभए, किन कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्न सक्छन् तर अरूले सक्दैनन्? किन कतिपय मानिसहरूले सत्यता पछ्याउने मार्ग अवलम्बन गर्न सक्छन्, तर अरूले सक्दैनन्, अनि कतिले त किन खुल्‍लमखुल्‍ला परमेश्‍वरसँग तर्क गर्छन् र सार्वजनिक रूपमै सत्यको बदनाम गर्छन्? यहाँ के भइरहेको छ? के यो कुरा तिनीहरूको प्रकृति र सारले निर्धारित गर्छ? (गर्छ।) तिनीहरू सबैले शैतानको भ्रष्टता अनुभव गरेका छन्, तर हरेक व्यक्तिको सार फरक हुन्छ। मलाई भन, के परमेश्‍वरले आफ्‍नो काम बुद्धिले गर्नुहुन्छ? के परमेश्‍वरले मानवजातिको वास्तविकता देख्‍न सक्‍नुहुन्छ? (सक्‍नुहुन्छ।) त्यसोभए, किन परमेश्‍वरले मानिसहरूलाई स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार दिनुहुन्छ? किन परमेश्‍वरले सबैलाई जबरजस्ती धर्मसिद्धान्तको शिक्षा दिनुहुन्‍न? किनभने परमेश्‍वरले हरेक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गर्न र उहाँ तिनीहरू सबैलाई खुलासा गर्न चाहनुहुन्छ। परमेश्‍वरले व्यर्थको काम गर्नुहुन्‍न; परमेश्‍वरले गर्नुहुने सबै कामको पछाडि सिद्धान्तहरू हुन्छन्, र उहाँले व्यक्तिमा गर्नुहुने काम ऊ कस्तो प्रकारको व्यक्ति हो त्यसमा आधारित हुन्छ। मान्छेको वर्ग कसरी प्रकट गरिन्छ? कुन आधारमा तिनीहरूलाई फरकफरक वर्गमा विभाजित गरिन्छ? यो मानिसहरूले मन पराउने कुराहरू र तिनीहरूले पछ्याउने मार्गमा आधारित हुन्छ। के यो कुरा साँचो हो? (हो।) परमेश्‍वरले मानिसहरूलाई तिनीहरूले मन पराउने कुराहरू र तिनीहरूले पछ्याउने मार्गअनुसार वर्गीकरण गर्नुहुन्छ, अनि तिनीहरूले मुक्ति पाउँछन् कि पाउँदैनन् भन्‍ने कुरा तिनीहरूको वर्गको आधारमा निर्धारित गर्नुहुन्छ, र तिनीहरूले मुक्ति पाउन सक्छन् कि सक्दैनन् भन्‍ने कुराको आधारमा उहाँले तिनीहरूमा काम गर्नुहुन्छ। यो कुरा कतिपय मानिसहरूलाई गुलियो खानेकुरा मनपर्ने, कतिलाई पिरो कुरा मनपर्ने, कतिलाई नुनिलो र कतिलाई अमिलो कुरा मनपर्ने अवस्थाजस्तै हो। यदि यी फरकफरक खानेकुरालाई टेबलमा राखियो भने, मानिसहरूलाई के खाने र के नखाने भनेर भनिरहनुपर्दैन। पिरो मनपर्नेले पिरो खान्छन्, गुलियो मनपर्नेले गुलियो खान्छन् र नुनिलो मनपर्नेले नुनिलो खान्छन्। तिनीहरूलाई स्वतन्त्र रूपमा छनौट गर्न दिन सकिन्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूसँग सत्यतालाई प्रेम गर्ने कि नगर्ने र कुन मार्ग लिने भन्‍ने छनौट गर्ने अधिकार हुन्छ, तर तिनीहरूले मुक्ति पाउँछन् कि पाउँदैनन् र तिनीहरूको अन्त्य के हुनेछ भन्‍ने कुराको निर्णय गर्ने कुरा तिनीहरूको हातमा हुँदैन। के तँ परमेश्‍वरको कामपछाडि सिद्धान्तहरू रहेको देख्छस्? (देख्छु।) उहाँको कामपछाडि सिद्धान्तहरू हुन्छन्, र सबैभन्दा ठूलो एउटा सिद्धान्तचाहिँ मानिसहरूलाई तिनीहरूको खोज र मार्गअनुसार वर्गीकरण हुन दिनु, र सबै कुरा प्राकृतिक रूपले अघि बढ्न दिनु हो। मानिसहरू सधैँ यो कुरा बुझ्‍न असफल हुन्छन्, र सोध्छन्, “परमेश्‍वरको अख्‍तियार छ भनेर सदैव भनिन्छ, तर यो कहाँ छ? किन परमेश्‍वरले आफ्‍नो अख्‍तियार देखाउन जबरजस्ती अलिअलि धर्मसैद्धान्तिक शिक्षा प्रदान गर्नुहुन्‍न?” परमेश्‍वरको अख्तियार त्यसरी प्रकट हुँदैन; परमेश्‍वरले मानिसहरूको अघि आफ्‍नो अख्‍तियार यसरी देखाउनुहुन्‍न।

के अब तिमीहरूले “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने नैतिक अभिव्यक्तिको वास्तविकता चिन्‍न सक्छौ? के तिमीहरूले परमेश्‍वरले मानिसहरूलाई के गर्न लगाउनुहुन्छ भन्‍ने कुरा पनि बुझ्छौ? (बुझ्छौ।) तिमीहरूको बुझाइ के हो? (परमेश्‍वरले मानिसहरूलाई इमानदार बन्‍न लगाउनुहुन्छ।) परमेश्‍वरले मानिसहरूलाई गर्न लगाउनुहुने कुराहरू अत्यन्तै सरल छन्। उहाँ मानिसहरूलाई इमानदार बन्‍न, आइपरेका मामिलाहरू सत्यताका सिद्धान्तहरूअनुसार सम्‍हाल्‍न, नाटक नगर्न, बाहिरी व्यवहारमा मात्रै ध्यान नदिन, बरु सिद्धान्तहरूअनुसार काम गर्नमा ध्यान दिन लगाउनुहुन्छ। यदि तैँले लिएको मार्ग सही छ, र तँ जुन सिद्धान्तहरूअनुसार आफूलाई व्यवहारमा ढाल्ने प्रयास गर्छस् ती सिद्धान्तहरू सही र परमेश्‍वरका वचनहरू र सत्यताअनुरूप छन् भने, त्यो नै पर्याप्त हुन्छ। के यो कुरा सरल छैन र? (छ।) शैतानसँग सत्यता हुँदैन, यसले सत्यता स्विकार्दैन, त्यसकारण यसले मानिसहरूलाई तिनीहरूले असल र सही ठान्‍ने अभिव्यक्तिहरूद्वारा छल गर्छ, र तिनीहरूलाई खराब काम गर्ने खलनायकभन्दा पनि राम्रो व्यवहार गर्ने सज्‍जन बन्‍ने प्रयास गर्न लगाउँछ। शैतानले मानिसहरूलाई तुरुन्तै बहकाउँछ, किनभने यी कुराहरू मानिसहरूका धारणा र रुचिहरूसँग मिल्छन्, र यी कुरा तिनीहरूले सहजै स्विकार्न सक्छन्। शैतानले मानिसहरूलाई असलजस्तो मात्र देखिने कुराहरू गर्न लगाउँछ। तैँले पर्दापछाडि जति खराब काम गरेको भए पनि, तेरो स्वभाव जति खराब भए पनि, वा तँ खराब भए पनि नभए पनि यसले फरक पार्दैन; तैँले आफ्‍नो बाहिरी रूपलाई शैतानले तय गरेका अभिव्यक्ति र मापदण्डहरूअनुसार ढालिस् भने, र अरूले तँलाई असल व्यक्ति भन्छन् भने, तँ असल व्यक्ति हुन्छस्। यी सर्त र मापदण्डहरूले मानिसहरूलाई छली र खराब हुन, देखावटी रूप धारण गर्न अनि सही मार्ग नहिँड्न स्पष्ट रूपमै प्रोत्साहन दिन्छन्। त्यसकारण, के शैतानले मानिसहरूमा हालिदिने हरेक विचार र दृष्टिकोणले तिनीहरूलाई एकपछि अर्को गर्दै गलत मार्गमा लैजाँदै छन् भनेर भन्‍न सकिन्छ? (सकिन्छ।) आज, परमेश्‍वरले गर्न चाहनुहुने काम भनेको मानिसहरूलाई शैतानका विभिन्‍न विधर्म र भ्रमहरू पहिचान गर्न र यी कुराहरूलाई स्पष्ट बुझ्न र इन्कार्न लगाउनु हो, र तिनीहरूलाई तिनीहरूको गलत बाटोबाट सही मार्गमा ल्याउनु हो, ताकि तिनीहरूले सिद्धान्तहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्न सकून्, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्‍न र कार्य गर्न सकून्। यीमध्ये कुनै पनि सिद्धान्त मानिसहरूबाट आएका हुँदैनन्, यी त सत्यताका सिद्धान्तहरू हुन्। जब मानिसहरूले सत्यताका यी सिद्धान्तहरू बुझ्छन्, र यिनलाई अभ्यास गर्न र यिनको वास्तविकतामा प्रवेश गर्न सक्छन्, तब परमेश्‍वरका वचनहरू र जीवन क्रमशः यी मानिसहरूमा ठोस हुँदै जान्छन्। यदि मानिसहरूले परमेश्‍वरका वचनहरूलाई आफ्‍नो जीवनको रूपमा लिन्छन् भने, तिनीहरू अब फेरि शैतानको बहकाउमा पर्दैनन् र गलत बाटो, शैतानको बाटो, र फर्केर आउन नसकिने बाटो हिँड्न छोड्छन्। शैतानले यी मानिसहरूलाई जसरी छल गरे पनि र भ्रष्ट तुल्याए पनि तिनीहरूले परमेश्‍वरलाई कहिल्यै धोका दिँदैनन्। संसार जसरी परिवर्तन भए पनि, र जस्तोसुकै समय आए पनि, तिनीहरूको जीवन सड्ने वा नष्ट हुने हुँदैन किनभने यी मानिसहरूले परमेश्‍वरका वचनहरूलाई जीवनको रूपमा लिएका हुन्छन्, र तिनीहरूको जीवन सड्ने वा नष्ट हुने नभएकोले, तिनीहरू यस्तो जीवनसँगको सहअस्तित्वमा रहन र सदासर्वदा जिउन सक्छन्। के यो राम्रो कुरा हो? (हो।) जब मानिसहरूले मुक्ति पाउँछन् तब तिनीहरू प्रचुर रूपमा आशिषित हुन्छन्!

अहिले तिमीहरूको लागि एउटै मात्र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? अझै बढी सत्यताले सुसज्‍जित हुनु। जब तिमीहरू राम्ररी सत्यताले सुसज्‍जित भएका हुन्छौ र जब तिमीहरूले अझै धेरै सत्यता सुनेका, अनुभव गरेका र बुझेका हुन्छौ, तब मात्रै तिमीहरूले परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्न, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्‍न र कार्य गर्न, अनि सत्यताका सिद्धान्तहरू वास्तवमा के हुन् भनेर जान्‍न सक्छौ। त्यसपछि मात्रै तिमीहरू पथभ्रष्ट हुनेछैनौ, र परमेश्‍वरका वचनहरू र सत्यताका सिद्धान्तहरूको सट्टामा शैतानले तिमीहरूमा हालिदिएका मानव इच्छा र विचारहरू, र दृष्टिकोणहरू प्रयोग गर्नेछैनौ। के कुरा यही होइन र? (हो।) त्यसकारण, अहिले तिमीहरूले गर्नुपर्ने एउटा सबैभन्दा महत्त्वपूर्ण र आतुरी कुरा भनेको सत्यताद्वारा सुसज्‍जित हुनु र अझै धेरै परमेश्‍वरका वचनहरू बुझ्‍नु हो। तिमीहरूले आफ्‍नो जीवनमा परमेश्‍वरका वचनहरू लागू गर्नैपर्छ। परमेश्‍वरका वचनहरूमा धेरै कुराहरू पर्छन्, र तिनमा सत्यताका धेरै तत्वहरू हुन्छन्। तिमीहरूले कुनै ढिलाइ नगरी ती सबै सत्यताहरूले आफूलाई सुसज्‍जित गर्नुपर्छ। यदि तिमीहरू ती सत्यताले सुसज्‍जि भएनौ भने, कुनै कुरा आइपर्दा तिमीहरूले आफ्‍नो जगको रूपमा परमेश्‍वरका वचनहरू प्रयोग गर्न सक्‍नेछैनौ, र आफ्‍नै इच्छाअनुसार मामिलाहरू सम्‍हाल्‍नेछौ। फलस्वरूप, तिमीहरूले सिद्धान्तहरू उल्‍लङ्घन गर्नेछौ, र तिमीहरूका अपराधहरू तिमीहरूभित्र कलङ्कको रूपमा रहनेछन्। यदि तिमीहरूलाई कुनै कुरा आइपर्दा सत्यता कसरी खोजी गर्ने भन्‍ने थाहा हुँदैन, र यसलाई आफ्‍नै इच्छाअनुसार र आफ्‍ना उद्देश्यहरू हासिल गर्ने तरिकाले मात्रै सम्‍हाल्छौ भने, र यदि तिमीहरू आफ्‍नै इच्छामा भर पर्छौ र तिमीहरूमा अशुद्धताहरू छन् तर तिमीहरूलाई आफ्‍नो बारेमा कसरी मनन गर्ने र आफ्‍नो बारेमा कसरी सचेत बन्‍ने, अनि आफूलाई परमेश्‍वरका वचनहरूसँग कसरी तुलना गर्ने भन्‍ने थाहा हुँदैन भने, तिमीहरूले आफूलाई चिन्‍नेछैनौ, र साँचो रूपमा पश्‍चात्ताप गर्न सक्‍नेछैनौ। यदि तैँले साँचो रूपमा पश्‍चात्ताप गर्दैनस् भने, परमेश्‍वरले तँलाई कसरी हेर्नुहुनेछ? यसको अर्थ के हुन्छ भने तँमा हठी स्वभाव छ र तँ सत्यताप्रति दिक्‍क मान्छस्, जसले अर्को कलङ्क लगाइदिन्छ, र यो अर्को गम्‍भीर अपराध हो। के तैँले धेरै कलङ्क र अपराधहरू बटुल्नु फाइदाजनक हुन्छ? (हुँदैन।) अहँ, हुँदैन। त्यसोभए यी अपराधहरूलाई कसरी समाधान गर्न सकिन्छ? यसभन्दा पहिले, मैले “अपराधहरूले मानिसलाई नरकमा पुर्‍याउँछ” भन्‍ने अध्याय व्यक्त गरेको थिएँ। यसको अर्थ अपराधहरू प्रत्यक्ष रूपमा व्यक्तिको अन्त्यसँग सम्‍बन्धित हुन्छन्। सधैँ अपराध गर्ने मानिसहरूलाई के भइरहेको हुन्छ? तिनीहरूमध्ये कतिले भन्छन्, “यो जानीजानी भएको थिएन। त्यो बेला मैले कुनै दुष्ट काम गर्ने अभिप्राय राखेको थिइनँ।” के यो बहाना राम्रो हो? के तेरो अभिप्राय थिएन भन्दैमा यो अपराध थिएन त? के तैँले मनन गरेर पश्‍चात्ताप गर्नु पर्दैन र? यो जानीजानी भएको थिएन होला, तर के यो अझै पनि अपराध नै थिएन र? तैँले यो जानीजानी गरेको थिइनस् होला, तर तैँले परमेश्‍वरको स्वभाव र उहाँको प्रशासनिक आदेशहरू उल्‍लङ्घन गरिस्, होइन र? (हो।) यो साँचो हो, त्यसकारण यो अपराध हो। को कुनै काम छैन। तँ भन्छस्, “म जवानै छु। मैले धेरै पढेको छैन, र समाजमा मेरो त्यति धेरै अनुभव छैन। यो गलत हो भन्‍ने मलाई थाहा थिएन—कसैले पनि मलाई भनेन।” या त तँ भन्छस्, “परिस्थिति निकै खतरनाक थियो। अत्तालिएर मैले यसो गरेको थिएँ।” के यी कारणहरू राम्रा हुन्? यीमध्ये कुनै पनि कारण राम्रा होइनन्। यदि तैँले आफ्‍नै इच्छाअनुसार काम गर्ने अवसर पाइस् भने, तैँले सत्यता खोजी गर्ने अवसर पनि पाएको हुन्छस्, अनि तैँले सत्यतालाई आफ्‍नो व्यवहारको सिद्धान्तको रूपमा प्रयोग गर्नुपर्छ। तैँले सत्यता खोजी गर्ने मौका पाउँदा किन आफ्‍नो इच्छाअनुसार गर्ने निर्णय गरिस्? एउटा कारण के हो भने सत्यतासम्‍बन्धी तेरो बुझाइ अत्यन्तै सतही छ, र तैँले सत्यता पछ्याउने र आफूलाई परमेश्‍वरका वचनहरूले सुसज्जित पार्ने कार्यलाई महत्त्व दिँदैनस्। अर्को कारण र परिस्थिति पनि छ र त्यो पनि साँचो नै हो: तैँले प्रायजसो हृदयमा परमेश्‍वर वा परमेश्‍वरका वचनहरूलाई नराखी काम गर्ने गर्छस्। परमेश्‍वरका वचनहरूले कहिल्यै पनि तेरो हृदयमा शासन गरेका हुँदैनन्। तँलाई स्वेच्‍छाचारी हुने, र आफू सही छु भन्‍ने बानी परेको छ, र हरेक कुरामाथि शासन गर्ने, र आफ्‍नै रुचिअनुसार काम गर्ने बानी परेको छ। तैँले परमेश्‍वरलाई प्रार्थना गर्ने प्रक्रिया र औपचारिकता मात्रै पूरा गर्छस्। तेरो हृदयमा परमेश्‍वरका वचनहरूको निम्ति कुनै ठाउँ छैन र ती वचनहरूले त्यहाँ शासन गर्न सक्दैनन्, अनि परमेश्‍वरको निम्ति पनि तेरो हृदयमा कुनै ठाउँ छैन र उहाँले त्यहाँ शासन गर्न सक्‍नुहुन्‍न। तैँले गर्ने सबै कुरामा तँ स्वतः इन्‍चार्ज बन्छस्, जसको परिणामस्वरूप, तैँले सत्यताका सिद्धान्तहरू उल्‍लङ्घन गर्छस्। के यो अपराध होइन? अवश्य नै यो अपराध हो। अनि, तैँले किन बहानाहरू बनाइरहेको छस्? यसमा मान्य बहाना केही छैन। अपराध भनेको अपराध नै हो। यदि तैँले धेरै अपराधहरू गरेको छस्, परमेश्‍वरको घरका हितहरू र मण्डलीको काममा हानि गर्छस्, र अन्तिममा परमेश्‍वरको स्वभाव चिढ्याउँछस् भने, तेरो मुक्ति पाउने मौका काटिनेछ। “अपराधले मानिसलाई नरकमा पुर्‍याउँछ” भन्‍ने भनाइको सटीक व्याख्या यही हो; यो एउटा तथ्य हो। यो मानिसहरूको भ्रष्ट स्वभावले पैदा हुन्छ, जसले हरकिसिमको व्यवहार पैदा गर्छ, र त्यसपछि यसले मानिसहरू हिँड्ने मार्ग सिर्जना गर्छ। यो गलत मार्गले मानिसहरूलाई आफ्‍नो कर्तव्य निभाइरहेको महत्त्वपूर्ण र निर्णायक क्षणमा हरकिसिमका अपराधहरू गर्न लगाउँछ। यदि तैँले अत्यन्तै धेरै अपराधहरू गरेको छस् र ती बढ्दै जान्छन् भने, तेरो मुक्ति पाउने मौका समाप्त हुनेछ। किन मानिसहरूले सधैँ अपराधहरू गर्छन्? यसको आधारभूत कारण के हुन्छ भने तिनीहरू परमेश्‍वरका वचनहरूद्वारा सुसज्‍जित कहिल्यै हुँदैनन् वा बिरलै हुन्छन्, अनि तिनीहरूले परमेश्‍वरका वचनहरू वा सत्यताका सिद्धान्तहरूअनुसार बिरलै काम गर्छन्—र अन्त्यमा तिनीहरूले सधैँ अपराध गरिछोड्छन्। जब मानिसहरूले अपराध गर्छन्, तब तिनीहरूले सधैँ आफूलाई माफी दिन्छन् र यस्ता कारण र बहानाहरू प्रस्तुत गर्छन्, “मैले जानीजानी गरेको होइनँ। यसो गर्ने मेरो कुनै अभिप्राय थिएन। परिस्थिति आपत्कालीन भएकोले यस्तो भएको हो। फलानोले गर्दा यस्तो भएको हो। अनेकथरी वस्तुगत कारणहरूले यस्तो भएको हो। …” कारण जेसुकै भए पनि, यदि तैँले सत्यता खोजी गर्दैनस्, र परमेश्‍वरका वचनहरूअनुसार अनि सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर काम गर्दैनस् भने, तैँले अपराध गर्ने र परमेश्‍वरलाई विरोध गर्ने सम्‍भावना अधिक हुन्छ। यो इन्कार्न नसकिने तथ्य हो। यो तथ्यअनुसार, तेरो अन्त्य: “अपराधहरूले मानिसलाई नरकमा पुर्‍याउँछ” भनेर माथि उल्‍लेख गरिएजस्तै हुनेछ। यो तेरो अन्त्य हुनेछ। कुरो बुझिस्? (हो, बुझेँ।)

कतिपय मानिसहरूको स्वभाव यति हठी र तिनीहरू यति बेइमान हुन्छन् कि तिनीहरूले सधैँ यस्तो सोच्छन्, “थोरै अपराध त केही होइन। परमेश्‍वरले मानिसहरूलाई दण्ड दिनुहुन्‍न। उहाँ कृपालु र प्रेमिलो हुनुहुन्छ, र मानिसहरूप्रति क्षमाशील र धैर्यवान्‌ हुनुहुन्छ। परमेश्‍वरको दिन आउन अझै धेरै बाँकी छ। म उहाँले जारी गर्नुभएका यी सत्यताहरूलाई पछि जब मौका पाउँछु तब पछ्याउनेछु। परमेश्‍वरले यी वचनहरू इमान्दारी र आतुरीसाथ बोल्‍नुभएको भए पनि, परमेश्‍वरमा विश्‍वास गर्ने र मुक्ति पाउने मौका हाम्रो लागि प्रशस्तै हुनेछ।” तिनीहरू सधैँ उपेक्षाकारी हुन्छन्, कहिल्यै आतुरी महसुस गर्दैनन्, र तिनीहरूमा परमेश्‍वरप्रतिको ठूलो इच्छा, वा सत्यताप्रतिको तृष्णा हुँदैन। तिनीहरूमा सधैँ हठी हृदय हुन्छ, र तिनीहरू सधैँ सत्यता र परमेश्‍वरका वचनहरूका मापदण्डहरूलाई पूर्ण इन्कार गर्छन्। यदि तिनीहरूले यस्तो मनोवृत्तिद्वारा र यस्तो स्थितिमा रहेर यो कर्तव्य निर्वाह गरे भने, अन्तिममा के हुनेछ? तिनीहरूले निरन्तर अपराधहरू गर्नेछन् र कलङ्क बटुल्‍नेछन्! व्यक्तिले यसरी निरन्तर कलङ्क बटुल्‍नु र अपराधहरू गर्नु, तैपनि यसलाई गम्‍भीरसाथ नलिनु, र यसबारेमा चिन्ता नगर्नु खतरनाक हुन्छ। परमेश्‍वरले तँलाई अहिले दोषी ठहराउनुहुन्‍न भन्दैमा भविष्यमा पनि उहाँले तँलाई दोषी ठहराउनुहुनेछैन भन्‍ने हुँदैन। छोटकरीमा भन्दा, त्यस्तो स्थितिमा जिउने व्यक्ति खतरामा हुन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरू, मुक्ति पाउने अवसर वा आफ्‍नो कर्तव्य पूरा गर्ने अवसरलाई त कदर गर्दैनन्, परमेश्‍वरले तिनीहरूको लागि योजनाबद्ध गर्नुभएको हरेक परिस्थितिलाई कदर गर्नु त परको कुरा हो। तिनीहरू सधैँ सुस्त र बेपरवाह हुन्छन्, र सबै काम लापरवाह, निस्फिक्री र हुस्सू शैलीमा गर्छन्। यस्तो व्यक्ति खतरामा हुन्छ। तर अझै पनि कतिपय मानिसहरू आफ्‍नो बारेमा राम्रो महसुस गर्छन् र सोच्छन्, “जब म विभिन्‍न कुराहरू गर्छु, तब मेरो साथमा परमेश्‍वर हुनुहुन्छ, मसँग परमेश्‍वरको अन्तर्दृष्टि र अगुवाइ हुन्छ, कहिलेकहीँ म परमेश्‍वरको अनुशासन प्राप्त गर्छु, र मेरो प्रार्थनामा उहाँ मेरो साथमा आउनुहुन्छ!” परमेश्‍वरको अनुग्रह प्रशस्‍त छ—निश्‍चय नै, तैँले आनन्द लिनलाई यो पर्याप्त छ—तैँले आफूले चाहेजति सबै लिन सक्छस् र तैँले प्रयोग गरेर यो कहिल्यै सक्‍किनेछैन, तर त्यसले के हुन्छ र? परमेश्‍वरको अनुग्रहले सत्यता प्रतिनिधित्व गर्दैन, र तैँले परमेश्‍वरको अनुग्रहमा आनन्द गरिस् भन्दैमा तँसँग सत्यता छ भन्‍ने हुँदैन। परमेश्‍वरसँग हरेक व्यक्तिप्रति करुणा हुन्छ, तर परमेश्‍वरको करुणा अति उदार पनि हुँदैन। परमेश्‍वरसँग मानव जीवन र हरेक प्राणीप्रति करुणा हुन्छ। तैपनि, यसको अर्थ उहाँले गर्नुहुने कार्यमा कुनै सिद्धान्त हुँदैन, उहाँसँग धर्मी स्वभाव हुँदैन, र उहाँले मानिसहरूलाई जुन मापदण्ड दिनुहुन्छ र जुन मापदण्डअनुसार तिनीहरूलाई मूल्याङ्कन गर्नुहुन्छ त्यो मापदण्ड बदलिनेछ भन्‍ने हुँदैन। कुरो बुझिस्? (बुझेँ।) तँलाई परमेश्‍वर तँसँग कहिल्यै रिसाउनुहुन्‍न, परमेश्‍वर तँप्रति सधैँ भद्र र बुज्झकी रहनुहुन्छ, र उहाँले अथाह रूपमा वास्ता, प्रेम र हेरचाह गर्नुहुन्छ भन्‍ने लाग्छ। तैँले परमेश्‍वरको स्नेह, परमेश्‍वरको भरणपोषण, परमेश्‍वरको सहयोग, र परमेश्‍वरको कृपा र अनुग्रहसमेत अनुभूति गर्छस्। तँलाई लाग्छ कि परमेश्‍वरले सबैभन्दा बढी तँलाई नै प्रेम गर्नुहुन्छ, र उहाँले अरूलाई त्यागे पनि तँलाई कहिल्यै त्याग्‍नुहुन्‍न। त्यसकारण, तँ आत्मविश्‍वासले भरिन्छस्, र तँलाई तैँले सत्यता खोजी नगरे पनि, आफ्‍नो कर्तव्य निर्वाह गर्दा कष्ट नभोगे पनि र मूल्य नचुकाए पनि, अनि स्वभाव परिवर्तन हासिल गर्न नखोजे पनि त्यो ठीकै हो भन्‍ने लाग्छ। तैँले सोच्छस्, परमेश्‍वरले अवश्यै तँलाई त्याग्‍नुहुन्‍न। के यो तेरो दह्रिलो आत्मविश्‍वास परमेश्‍वरका वचनहरूमा आधारित छ? यदि कुनै दिन तैँले साँच्‍चै परमेश्‍वरको उपस्थिति अनुभव गरिनस् भने, तेरो हृदयमा त्रास मच्‍चिनेछ र तैँले सोच्नेछस्, “के परमेश्‍वरले मलाई त्याग्‍नुभएको हो?” तँलाई तेरो अन्त्य के हुनेछ भन्‍ने कुरा स्पष्ट हुनुपर्छ। सत्यता खोजी नगर्ने र अत्यन्तै आत्मधर्मी मानिसहरूको अन्त्य अवश्यै राम्रो हुँदैन। मानिसहरूलाई प्रेम गर्नु र प्यारो ठान्‍नु, मानिसहरूप्रति करुणा राख्‍नु, मानिसहरूलाई अनुग्रह गर्नु, वा केही निश्‍चित मात्राका मानिसहरूलाई कृपापूर्ण वा अनुग्रही व्यवहार गर्नुको परमेश्‍वरको लक्ष्य, साथै यी कार्यहरूको सार तँलाई पुलपुल्याउनु वा लिप्त पार्नु, वा तँलाई गलत मार्गमा डोर्‍याउनु वा पथभ्रष्ट पार्नु वा तँलाई सत्यता वा साँचो मार्ग त्याग्‍न लगाउनु होइन। परमेश्‍वरले यो सब गर्नुको उद्देश्य तँलाई सही मार्गमा हिँड्न सहयोग गर्नु, तँमा उहाँप्रतिको अथाह चाह भएको हृदय सिर्जना गर्नु, उहाँमाथिको तेरो विश्‍वास बढाउनु, र त्यसपछि उहाँप्रति साँच्‍चै डर मान्‍ने हृदयको विकास गर्नु हो। यदि तँ सधैँ परमेश्‍वरको पुलपुल्याइमा रमाउन र उहाँको घरपालुवा जन्तु बन्‍न चाहन्छस् भने, म भन्छु, तँ गलत छस्। तँ परमेश्‍वरको घरपालुवा जन्तु होइनस्, र तँलाई उहाँले गर्नुहुने अनुग्रह वा कृपापूर्ण व्यवहार निश्‍चय नै पुलपुल्याउने वा लिप्त बनाउने कार्य होइन। यो सब गर्नुपछाडिको परमेश्‍वरको उद्देश्य तँलाई परमेश्‍वरका वचनहरू कदर गर्न, सत्यता स्विकार्न, र उहाँको अनुग्रह र आशिष्‌द्वारा सामर्थ्य प्राप्त गर्न सक्षम तुल्याउनु हो, ताकि तँसँग सत्यता पछ्याउने र जीवनको सही मार्ग हिँड्ने इच्छा र दृढता होस्। अवश्य नै, यो निश्‍चितसाथ भन्‍न सकिन्छ कि जब परमेश्‍वरले यी सत्यताहरू जारी गर्नुहुन्छ, तब तँलाई भरणपोषण प्रदान गरिएको हुन्छ, तैँले जीवन प्राप्त गरेको हुन्छस्, र तैँले उहाँको प्रेमको आनन्द उठाएको हुन्छस्। यदि तँ परमेश्‍वरलाई उहाँको अनुग्रहको निम्ति धन्यवाद दिन, आफ्‍नो उचित स्थानमा अडिग रहन, परमेश्‍वरका वचनहरूद्वारा अझै सुसज्‍जित हुन, उहाँका वचनहरूलाई अझै प्रिय ठान्‍न, आफ्‍नो कर्तव्य निभाउँदा सत्यताका सिद्धान्तहरू खोजी गर्न, र उहाँका वचनहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्न, र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्‍न र कार्य गर्न सक्छस् भने, तैँले उहाँलाई निराश तुल्याएको हुँदैनस्। तर यदि तैँले तँप्रतिको परमेश्‍वरको अनुग्रह र निगाहको फाइदा उठाउँछस्, तँप्रतिको उहाँको करुणालाई बेवास्ता गर्छस्, आफ्‍नै तरिकाले काम गर्न जिद्दी गर्छस्, र स्वेच्‍छाचारी र लापरवाही रूपमा व्यवहार गर्छस्, आफूलाई कहिल्यै पनि परमेश्‍वरका वचनहरूले सुसज्‍जित गर्दैनस्, सत्यताप्रति लागिपर्ने इच्छा राख्‍दैनस्, वा सत्यतालाई आफ्‍नो मापदण्डको रूपमा लिएर परमेश्‍वरका वचनहरूअनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्ने र सोहीअनुसार आफूलाई व्यवहारमा ढाल्‍ने र कार्य गर्ने गर्दैनस्, बरु उहाँको अनुग्रहको आनन्द लिएर आफ्‍नो बारेमा राम्रो महसुस मात्र गर्छस् भने, जब तँ परमेश्‍वरका अपेक्षाहरूबाट चुक्छस्—अर्थात्, जब तैँले बारम्बार परमेश्‍वरलाई खिन्‍न तुल्याउँछस्, तब ढिलोचाँडो, तँप्रतिको परमेश्‍वरको अनुग्रह, करुणा र प्रेमिलोदया रित्तिनेछन्। यी कुराहरू रित्तिएको दिन परमेश्‍वरले आफ्‍नो सबै अनुग्रह फिर्ता लैजानुहुनेछ। जब तैँले परमेश्‍वरको उपस्थितिसमेत महसुस गर्दैनस्, तब तँलाई भित्री रूपमा कस्तो महसुस हुन्छ त्यो थाहा हुनेछ। तँभित्र अन्धकार हुनेछ। तँलाई निराश र असहज, चिन्ता र खोक्रो महसुस हुनेछ। तँलाई तेरो भविष्य अनिश्‍चित लाग्‍नेछ। तँ त्रसित हुनेछस् र तँलाई निरन्तर चिन्ताले गाँज्‍नेछ। यो अत्यन्तै भयानक कुरा हो। त्यसकारण, मानिसहरूले परमेश्‍वरले दिनुभएका सबै कुरालाई कदर गर्न, आफूले पूरा गर्नुपर्ने कर्तव्यलाई कदर गर्न, र यसको साथै आफूले पाएअनुसारको फर्काउन सिक्‍नुपर्छ। वास्तवमा, आफूले पाएअनुसारको फर्काउनू भनेर परमेश्‍वरले गर्नुभएको अनुरोध तैँले उहाँको लागि कति धेरै योगदान दिन्छस् वा तैँले उहाँको बारेमा कति सानदार गवाही दिन्छस् भन्‍ने कुरासँग सम्‍बन्धित छैन। परमेश्‍वर तँ सही मार्गमा हिँडेको, अर्थात् उहाँले तँलाई हिँड्न लगाउनुभएको मार्गमा तँ हिँडेको चाहनुहुन्छ। मानिसहरूले आनन्द लिनको लागि परमेश्‍वरको अनुग्रह नै पर्याप्त हुन्छ। उहाँले मानिसहरूलाई यो अनुग्रह दिन कन्जुसी गर्नुहुन्‍न, न त मानिसहरूलाई यो अनुग्रह दिएकोमा उहाँलाई पछुतो नै लाग्छ। यदि परमेश्‍वरले कुनै व्यक्तिलाई आशिष्‌ र अनुग्रह दिनुहुन्छ भने, यो सधैँ स्वेच्छाले गरिएको हुन्छ। उहाँले यसो गर्नु उहाँको सार, स्वभाव र परिचयको भाग हो। मानिसहरूलाई यी कुराहरू दिएकोमा उहाँले कहिल्यै पनि पछुतो वा अफसोस मान्‍नुहुन्‍न। तर मानौँ कि मानिसहरूलाई असलखराब छुट्याउन आउँदैन रे वा कसरी निगाहप्रति सराहना व्यक्त गर्ने भन्‍ने नै थाहै छैन रे। तिनीहरूले परमेश्‍वरलाई सधैँ निराश पार्छन् र उहाँलाई बारम्‍बार खिन्‍न तुल्याउँछन्। परमेश्‍वरले जति धेरै मूल्य चुकाउनुभए पनि वा जति धेरै प्रतीक्षा गर्नुभए पनि, अझै मानिसहरूले उहाँलाई बेवास्ता गर्छन् र उहाँका असल अभिप्रायहरू बुझ्दैनन्। मानिसहरू परमेश्‍वरको अनुग्रहमा रमाउन मात्रै खोज्छन्—पाएसम्म त्यसैमा धेरै रमाउन खोज्‍छन्। तर तिनीहरूले परमेश्‍वरको जति धेरै अनुग्रह र आशिष्‌ प्राप्त गरे पनि, परमेश्‍वरको प्रेमको ऋण कसरी तिर्ने वा कसरी परमेश्‍वरकहाँ हृदय फर्काउने र उहाँलाई पछ्याउने त्यो तिनीहरूलाई थाहै हुँदैन। तिमीहरूलाई के लाग्छ, के मानिसहरूले परमेश्‍वरसँग यसरी व्यवहार गरे भने उहाँ सन्तुष्ट हुनुहुनेछ? (हुनुहुनेछैन।) परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि व्यक्तिमा कस्तो साँचो मनोवृत्ति हुनुपर्छ? मानिसहरूमा पश्‍चात्ताप हुनुपर्छ, व्यावहारिक प्रकटीकरण देखिनुपर्छ, र राम्रो कर्तव्यपालन हुनुपर्छ। तिनीहरू विभिन्‍न किसिमका औचित्य पुष्ट्याइ र बहानाबाजीमा अल्झनु हुँदैन। मानवजातिप्रतिको परमेश्‍वरको अनुग्रह, क्षमादान, र करुणा तिमीहरू लिप्त हुने पूँजी वा आफैमा लिप्त हुने बहाना होइनन्। परमेश्‍वरले जे गर्नुभए पनि, वा उहाँले मानिसहरूमा जस्तो मेहनत, मूल्य, वा विचार लगानी गर्नुभए पनि, उहाँको अन्तिम उद्देश्य एउटै छ। अर्थात्, उहाँ मानिसहरू सही मार्गमा फर्किऊन् र त्यसैमा हिँड्न सकून् भन्‍ने आशा गर्नुहुन्छ। त्यो सही मार्ग के हो? सत्यता पछ्याउनु र सत्यताद्वारा अझै बढी सुसज्‍जित हुनु। यदि मानिसहरूले हिँड्ने मार्ग परमेश्‍वरका वचनहरूअनुसार र सत्यतालाई मापदण्डको रूपमा लिएर हिँडिएको मार्ग हो भने, मानिसहरूमा उहाँले चुकाउनुहुने मूल्य र तिनीहरूप्रति उहाँमा भएका सबै अपेक्षाहरूको मान राखिएको हुनेछ। के परमेश्‍वरले मानिसहरूलाई उच्‍च मापदण्डहरू दिनुहुन्छ भन्‍ने तिमीहरूलाई लाग्छ? (लाग्दैन।) परमेश्‍वरले मानिसहरूलाई उच्च मापदण्डहरू दिनुहुन्‍न, र मानिसहरू फर्किऊन् भनेर पर्खनलाई उहाँसँग पर्याप्त धैर्य र प्रेम छ। जब तँ परमेश्‍वरतर्फ फर्कन्छस्, उहाँले तँलाई केही अनुग्रह र आशिष्‌ मात्रै दिनुहुनेछैन, उहाँले तँलाई भरणपोषण पनि दिनुहुनेछ, र तँलाई सत्यता खोजी गर्ने कार्यमा, जीवनमा, र तैँले हिँडिरहेको मार्गमा साथ र अगुवाइ पनि दिनुहुनेछ। परमेश्‍वरले तँमा अझै ठूलो काम गर्नुहुनेछ। उहाँले यही कुरा गर्ने अपेक्षा गरिरहनुभएको हुन्छ। यो काम गर्नुअघि, परमेश्‍वरले मानिसहरूलाई अथक रूपमा अगुवाइ गर्नुहुन्छ, साथ दिनुहुन्छ, र तिनीहरूलाई अनुग्रह र आशिष्‌ दिनुहुन्छ। यो सबै परमेश्‍वरको मूल अभिप्राय थिएन, न त यो उहाँले विशेष रूपमा गर्न चाहनुभएको कुरा नै हो। तैपनि, उहाँसँग मानिसहरूको लागि मूल्य चुकाउने, र कुनै पनि हालतमा यो काम गर्नेबाहेक अरू कुनै विकल्‍प छैन। यो सब काम गरिसकेपछि परमेश्‍वरले अन्तिममा मानिसहरू फर्केर आएको हेर्न चाहनुहुन्छ। यदि मानिसहरूले उहाँका अभिप्राय र सोचलाई, र उहाँले किन साँच्‍चै यसो गर्न चाहनुहुन्छ भन्‍ने कुरा बुझे भने, मानिसहरूले उहाँको प्रेमिलोपन पहिचान गर्नेछन्, र केही कद पाउनेछन् अनि तिनीहरू केही मात्रामा वृद्धि हुनेछन्। जब मानिसहरूले परमेश्‍वरले तिनीहरूलाई प्रदान गर्नुभएको हरेक सत्यतामा अत्यन्तै ध्यानपूर्वक परिश्रम गर्दै हरेक सत्यताको वास्तविकतामा प्रवेश गर्न थाल्छन्, तब परमेश्‍वर प्रसन्‍न बन्‍नुहुन्छ। त्यसउप्रान्त, उहाँले मानिसहरूको साथमा रहने, र तिनीहरूलाई सान्त्वना, प्रोत्साहन र उत्प्रेरणा दिने मामुली काम गर्नु पर्दैन। बरु, उहाँले तिनीहरूलाई सत्यता, जीवन, र तिनीहरूले हिँड्ने मार्गसँग सम्‍बन्धित अझै बढी कुराहरू प्रदान गर्न सक्‍नुहुन्छ। उहाँले मानिसहरूमा अझै ठूलो र ठोस काम गर्न सक्‍नुहुन्छ। परमेश्‍वरले किन यस्तो काम गर्न मन पराउनुहुन्छ? किनभने यस्तो काम गर्ने क्रममा, उहाँले मानिसहरूमा आशा देख्‍नुहुन्छ, मानिसहरूको भविष्य देख्‍नुहुन्छ र मानिसहरू हृदय र मनमा उहाँसँग एक भएको देख्‍नुहुन्छ। मानिसहरू र परमेश्‍वर दुवैको लागि यो अथाह विशाल कुरा हो, र यो उहाँले लामो समयदेखि आशा गर्दै आउनुभएको कुरा हो। जब व्यक्तिले सत्यता पछ्याउने मार्ग लिन्छ, तब उसँग शैतानसँग लड्ने, र परमेश्‍वरप्रतिको उसको गवाहीमा दह्रिलो रहने अझै बढी सामर्थ्य र वास्तविक कद हुन्छ, र परमेश्‍वरसँग सृष्टि गरिएको थप एक प्राणी उहाँको लागि खडा भएर शैतानविरुद्ध लडेको हेर्ने आशा हुन्छ। यो परमेश्‍वरको महिमा हो। मानिसहरू कदमा बढेर झन्झन् बलियो हुँदै गएपछि, र झन्झन् बढी गवाही दिँदै झन्झन् बढी परमेश्‍वरको डर मान्‍ने र आज्ञापालन गर्ने बन्दै गएपछि, यसको अर्थ के हुन्छ भने, परमेश्‍वरले विजेताहरूको एउटा समूह प्राप्त गर्नुभई मानिसहरूद्वारा र मानिसहरूमाझ उहाँ महिमित बन्‍नुहुने आशा हुन्छ। के यो राम्रो कुरा होइन र? (हो।) परमेश्‍वरले देख्‍न चाहिरहनुभएको कुरा, र तँप्रतिको उहाँको आशा र अपेक्षा यही हो। उहाँले यसको प्रतीक्षा गर्नुभएको धेरै भइसक्यो। यदि मानिसहरूले परमेश्‍वरको हृदय बुझ्छन् र वास्ता गर्छन् भने, तिनीहरूले उहाँले गर्न लगाउनुभएको कुरा गर्नेछन्, र उहाँले गर्न लगाउनुभएको कुराको लागि मूल्य चुकाउनेछन्। तिनीहरूले परमेश्‍वर जे गर्न चाहनुहुन्छ त्यसमा सहकार्य गर्न, उहाँका इच्छाहरू पूरा गर्न, र उहाँको हृदयलाई सान्त्वना दिन सक्दो प्रयास गर्नेछन्। तैपनि, यदि तँ यसो गर्न चाहँदैनस् भने, परमेश्‍वरले तँलाई जबरजस्ती गर्नुहुनेछैन। तँ भन्छस्, “म किन यो चाहन्‍नँ? म किन परमेश्‍वरले लगाउनुभएको कुरा गर्न चाहन्‍नँ? परमेश्‍वरका मापदण्डहरू पूरा गर्नेबारेमा सोच्दा मलाई किन अप्ठ्यारो, असहज, र अनिच्छा हुन्छ?” तैँले परमेश्‍वरका मापदण्डहरू पूरा गर्नैपर्छ भन्‍ने छैन; यो स्वेच्छिक कुरा हो। तँसँग छनौट गर्ने अधिकार छ, र तँ स्वतन्त्र छस्। परमेश्‍वरले मानिसहरूलाई जबरजस्ती गर्नुहुन्‍न। परमेश्‍वरले के हासिल गर्न चाहनुहुन्छ त्यसको वास्तविकता के हो, अनि तिमीहरूले पूरा गर्नुपर्ने जिम्‍मेवारी र तिमीहरूप्रतिको परमेश्‍वरको अपेक्षा के हो त्यसलाई पूर्ण रूपमा जान्‍न सक भनेर मात्रै मैले यो भनिरहेको छु। के यो कुरा स्पष्ट भयो? (भयो।) स्पष्ट भयो भने राम्रो हो। यदि यो कुरा स्पष्ट भयो भने, मानिसहरूको हृदय सचेत हुन्छ। तिनीहरूलाई अब अर्को केमा काम गर्ने, के गर्नुपर्ने र कुन मूल्य चुकाउनुपर्ने त्यो कुरा भित्री रूपमै थाहा हुनेछ; तिनीहरूसँग दिशा हुनेछ।

आज, मैले नैतिक आचरणसम्‍बन्धी “सज्‍जनको बोली र बन्दुकको गोली उस्तै हो” भन्‍ने अभिव्यक्तिबारे सङ्गति गरेँ। शैतानले प्रवर्धन गरेका नैतिक आचरणसम्‍बन्धी अरू धेरै वटा अभिव्यक्तिहरूबारे यसभन्दा पहिले नै सङ्गति गरिसकिएको हुनाले, यो अभिव्यक्तिको वास्तविकता चिन्‍न सहज भएको छ। जुनसुकै नैतिक अभिव्यक्ति भए पनि, शैतानले मानिसको व्यवहार बाँध्‍न र नियन्त्रण गर्न, अनि समाजमा एउटा प्रचलन सिर्जना गर्न यस्तो विचार प्रयोग गर्न चाहन्छ। यस्तो प्रचलन सिर्जना गरेर, यसले सारा मानवजातिको मनमस्तिष्कलाई धोका दिन, नियन्त्रण गर्न र कैद गर्न, अनि सारा मानवजातिलाई परमेश्‍वरविरुद्ध उक्साउन चाहन्छ। मानिसहरू परमेश्‍वरविरुद्ध उठेपछि, शैतान चाहन्छ कि परमेश्‍वरले मानिसहरूलाई चलाउने वा आफ्‍नो काम गर्ने कुनै उपाय नहोस्। शैतानले हासिल गर्न चाहेको उद्देश्य यही हो, र शैतानले गर्ने यी सब कुराहरूको सार यही हो। यी कुराहरूले व्यवहारको जुन पक्ष, वा जुन विचार र दृष्टिकोण प्रतिनिधित्व गरे पनि, शैतानले प्रवर्धन गर्ने नैतिक आचरणसम्‍बन्धी यी अभिव्यक्तिहरू सत्यतासँग कहीँकतै सम्बन्धित छैनन्, र ती सत्यताविपरीत पनि छन्। शैतानले प्रवर्धन गर्ने नैतिक आचरणसम्‍बन्धी यी अभिव्यक्तिहरूलाई मानिसहरूले कसरी लिनुपर्छ? अत्यन्तै सरल र आधारभूत सिद्धान्त के हो भने, शैतानबाट आउने कुनै पनि अभिव्यक्ति हामीले खुलासा र चिरफार गर्नुपर्ने, र वास्तविकता बुझेर इन्कार गर्नुपर्ने कुरा हो। ती कुराहरू शैतानबाट आउने हुनाले, यदि हाम्रो हृदयले ती कुराहरूको वास्तविकता देख्छ भने, हामीले त्यसलाई निन्दा र इन्कार गर्नुपर्छ। हामीले शैतानका कुराहरूलाई मण्डलीमा रहन दिनु हँदैन, र यी कुराहरूलाई परमेश्‍वरका चुनिएका मानिसहरूलाई छल गर्न, भ्रष्ट पार्न र बाधा दिन दिनु हुँदैन। परमेश्‍वरका चुनिएका मानिसहरूले शैतानलाई इन्कार्ने, र शैतानको विधर्म र भ्रम आफूमा अलिकति पनि देखिन नदिने उद्देश्य हासिल गर्नुपर्छ। परमेश्‍वरका चुनिएका मानिसहरूको हृदयमा यी विधर्म र भ्रमहरूको सट्टा परमेश्‍वरका वचनहरू र सत्यताले शासन गर्नुपर्छ, र ती कुराहरू तिनीहरूको जीवन बन्‍नुपर्छ। यसप्रकारको मानवजाति नै परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको मानवजाति हो।

आजको सङ्गति अब हामी यहीँ समाप्त गरौँ।

जुलाइ ९, २०२२

अघिल्लो: सत्यता पछ्याउनु भनेको के हो (१४)

अर्को: मानिसले किन सत्यताको खोजी गर्नैपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्