सत्यता पछ्याउनु भनेको के हो (१२)
मैले पछिल्लो भेलामा केबारे सङ्गति गरेको थिएँ, के तिमीहरू कसैले बताउन सक्छौ? (पछिल्लोपटक परमेश्वरले दुईवटा पक्षबारे सङ्गति गर्नुभएको थियो। एउटा के पक्ष थियो भने, जब मण्डलीमा बेग्लाबेग्लै समयावधि वा बेग्लाबेग्लै चरणमा केही विशेष घटनाहरू घट्छन्—उदाहरणको लागि, कतिपय मानिस ठूलो रातो अजिङ्गरको हातमा पक्राउ पर्छन्, कतिपय अगुवा र सेवकहरू प्रतिस्थापित हुन्छन्, केही मानिस बिमार पर्छन्, र केही मानिसले जीवनमरणको समस्या सामना गर्छन्—यी सबै घटना अचानक हुँदैनन्, र हामीले तीबारे सत्यता खोजी गर्नुपर्छ। परमेश्वरले अभ्यासका केही मार्गबारे पनि बताउनुभयो। हामीले यी परिस्थितिहरू सामना गर्दा, दुइटा कुरा पालन गर्नुपर्छ: पहिलो, सृष्टि गरिएको प्राणीको स्थान ग्रहण गर्नुपर्छ; दोस्रो, सच्चा र समर्पित हृदय बनाउनुपर्छ—न्याय र सजाय, परीक्षा र शोधन सामना गरे पनि वा अनुग्रह र आशिष् पाए पनि, परमेश्वरबाट आउने यी सबै कुरा हामीले स्विकार्नुपर्छ। त्यसबाहेक, परमेश्वरको सङ्गतिले परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी “धनले गर्दा भ्रष्ट हुनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्नु हुँदैन” भन्ने भनाइलाई पनि विश्लेषण गरेको थियो।) पछिल्लो सङ्गतिको मुख्य विषय नैतिक आचरणसम्बन्धी भनाइहरूमा निहित समस्याहरू पनि थियो। मैले यस विषयमा लामो समयदेखि सङ्गति गर्दै आएको छु, र परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी केही आम भनाइ, मापदण्ड र परिभाषाहरूबारे खुलासा गरेको छु। यी विषयहरूमा सङ्गति गरिसकेपछि, के तिमीहरूले नैतिक आचरणसम्बन्धी यी भनाइहरूबारे कुनै नयाँ बुझाइ र नयाँ परिभाषाहरू पाएका छौ? के तिमीहरूले यी कथनहरूको वास्तविकता चिनेका र यिनको सार स्पष्टसँग बुझेका छौ? के तिमीहरू यी भनाइहरूलाई आफ्नो हृदयदेखि निकाल्न, त्याग्न, सत्यता भनेर नझुक्किन, अनि सकारात्मक कुरा नठान्न, सत्यताको रूपमा नपछ्याउन र पालन नगर्न सक्छौ? विशेष गरी, नैतिक आचरणसम्बन्धी भनाइहरूसँग सम्बन्धित कुनै मामिला दैनिक जीवनमा आइपर्दा, के तँ मनमा सजग हुन्छस् र के तँ अझै पनि नैतिक आचरणसम्बन्धी यी भनाइहरूद्वारा प्रभावित छस् कि छैनस् भनेर होसियारीसाथ मनन गर्न सक्छस्? के तँ यी कुराद्वारा बाँधिएको, जकडिएको र नियन्त्रित गरिएको छस्? के तँ अझै पनि मनमा आफूलाई नियन्त्रण गर्न अनि आफ्नो बोली र व्यवहार, साथै परिस्थितिप्रतिको आफ्नो मनोवृत्ति प्रभावित पार्न नैतिक आचरणसम्बन्धी भनाइहरू प्रयोग गर्न सक्छस्? तिमीहरूको विचार बताओ। (परमेश्वरले परम्परागत संस्कृतिबारे सङ्गति र विश्लेषण गर्नुअघि, मलाई नैतिक आचरणसम्बन्धी यी विचार र दृष्टिकोणहरू गलत छन् वा यिनले मलाई कस्तो प्रकारको हानि गर्छन् भन्ने थाहा थिएन, तर अहिले मलाई केही मात्रामा थाहा छ।) तँलाई केही मात्रामा थाहा हुनु राम्रो कुरा हो। अवश्य नै, केही समयपछि तैँले नैतिक आचरणसम्बन्धी यी भनाइहरूका गल्तीहरू चिन्न सक्नुपर्छ। व्यक्तिपरक दृष्टिकोणबाट हेर्दा, तैँले यी भनाइहरूलाई त्याग्न र सकारात्मक कुरा ठान्नु छोड्न पनि सक्नुपर्छ, तर वस्तुपरक दृष्टिकोणबाट हेर्दा, तैँले अझै दैनिक जीवनका नैतिक आचरणसम्बन्धी यस्ता भनाइहरूलाई होसियारीपूर्वक बुझ्न, उदाङ्गो पार्न र चिन्न आवश्यक छ ताकि तैँले यिनलाई राम्ररी चिनेर त्याग्न सक्। व्यक्तिपरक दृष्टिकोणबाट थाहा पाउनुको अर्थ तैँले आफ्नो दैनिक जीवनका परम्परागत संस्कृतिका यी गलत विचार र दृष्टिकोणहरू त्याग्न सक्छस् भन्ने होइन। यस्ता कुराहरू आइपर्दा, तँलाई अचानक यी कुरा उचित छैनन् भन्ने लाग्न सक्छ, तर तँ यिनलाई पूर्ण रूपमा त्याग्न सक्दैनस्। त्यस्तो अवस्थामा, तैँले आफ्नो अनुभवभित्र सत्यता खोज्ने, र परम्परागत संस्कृतिका यी गलत दृष्टिकोणहरूलाई परमेश्वरको वचनअनुसार होसियारीपूर्वक विश्लेषण गर्ने गर्नुपर्छ, अनि परम्परागत संस्कृतिका यी भनाइहरूको सार सत्यताविपरीत, अवास्तविक, भ्रामक र मानिसहरूका लागि हानिकारक छ भनेर स्पष्टसित देख्नसक्ने हदमा पुग्नुपर्छ। यसरी मात्रै यी विकृत दृष्टिकोणहरूको विषलाई तेरो हृदयबाट सदाको लागि पखाल्न सकिन्छ। अब तिमीहरूले धर्मसिद्धान्तको रूपमा परम्परागत संस्कृतिका विभिन्न भनाइका त्रुटिहरू बुझेका छौ, र यो राम्रो कुरा हो, तर यो सुरुवात मात्र हो। जहाँसम्म परम्परागत संस्कृतिको विषालु प्रभावलाई भविष्यमा जरैदेखि उखेलेर फाल्न सकिन्छ कि सकिँदैन भन्ने कुरा छ, त्यो मानिसहरूले सत्यता कसरी पछ्याउँछन् त्यसमा निर्भर हुन्छ।
नैतिक आचरणसम्बन्धी भनाइ जे भए पनि, यो त मानवजातिद्वारा प्रवर्धित नैतिक आचरणसम्बन्धी एक प्रकारको वैचारिक दृष्टिकोण हो। हामीले पहिले नैतिक आचरणसम्बन्धी निकैवटा विभिन्न भनाइहरूको सार खुलासा गऱ्यौँ, तर हामीले पहिले सङ्गति गरेका पक्षहरूबाहेक, मानवजातिद्वारा प्रवर्धित नैतिक आचरणसम्बन्धी अनगिन्ती भनाइहरूबारे अझ गहिरोसित बुझ्न र चिन्नको लागि निश्चय नै खुलासा गर्नुपर्ने नैतिक आचरणका थप केही भनाइहरू अझै छन्। यो तिमीहरूले गर्नुपर्ने कुरा हो। हामीले पछिल्लोपटक सङ्गति गरेको नैतिक आचरणसम्बन्धी “धनले गर्दा भ्रष्ट हुनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्नु हुँदैन” भन्ने भनाइको सन्दर्भमा भन्नुपर्दा, यो वाक्यको अर्थलाई जाँच्दाखेरि यो मुख्यतः पुरुषप्रति लक्षित छ। यो मापदण्ड पुरुषको लागि हो, र यो मानवजातिले भन्ने गरेको “पुरुषार्थी, बहादुर पुरुष” को मानक पनि हो। हामीले पुरुषसित सम्बन्धित यो मानकलाई खुलासा र विश्लेषण गऱ्यौँ। पुरुषहरूप्रतिको यो मापदण्डबाहेक, हामीले पहिले नै सङ्गति गरिसकेको अर्को पनि भनाइ छ, “स्त्रीजाति सद्गुणी, दयालु, सुशील र नैतिकवान् हुनुपर्छ” र यो भनाइ स्त्रीहरूको सन्दर्भमा अघि सारिएको थियो। यी दुवै भनाइबाट के प्रस्टै देख्न सकिन्छ भने, मानवजातिको परम्परागत संस्कृतिले स्त्रीको लागि त अवास्तविक र अमानवीय मापदण्ड अघि राख्छ नै, यसले पुरुषलाई समेत बाँकी राख्दैन र उसको लागि पनि अनैतिक, अमानवीय र मानव प्रकृतिविपरीत दाबी र मापदण्डहरू अघि सार्छ, र यसरी स्त्रीलाई मात्र होइन पुरुषलाई पनि मानव अधिकारबाट वञ्चित गर्छ। यस दृष्टिकोणबाट हेर्दा, स्त्रीको लागि पनि सहज स्थिति नबनाएकोले र पुरुषलाई पनि बाँकी नछोडेकोले, यसरी निष्पक्ष हुनु उचित हो जस्तो देखिन्छ। तर स्त्री र पुरुषप्रतिका यी परम्परागत संस्कृतिका मापदण्ड र मानकअनुसार जाँच गर्दा, यो पद्धतिमा गम्भीर समस्याहरू छन् भन्ने स्पष्ट हुन्छ। एकातर्फ परम्परागत संस्कृतिले स्त्रीको लागि नैतिक आचरणका मानकहरू अघि सार्छ, अनि अर्कोतर्फ पुरुषार्थी र बहादुर पुरुषको लागि पनि मापदण्ड तय गर्छ, तैपनि यी मापदण्ड र मानकअनुसार जाँच्दा, त्यसमा निष्पक्षताको कमी रहेको स्पष्टै देखिन्छ। के त्यसो भन्न सकिँदैन र? (सकिन्छ।) स्त्रीको नैतिक आचरणका यी मापदण्ड र मानकहरूले चरम रूपमा स्त्रीको स्वतन्त्रता नियन्त्रित गर्छन्, उसको विचार मात्र होइन उसको हातखुट्टासमेत जकडेर उसले घरमै बस्नुपर्ने, एकान्त जीवन जिउनुपर्ने, कहिल्यै घर छोड्न नहुने र बाहिरी संसारसँग कमभन्दा कम सम्पर्कमा रहनुपर्ने मापदण्ड तोक्छ। यी मानकहरूले स्त्रीलाई सद्गुणी, दयालु, सुशील, र नैतिकवान् बन्न अर्ती दिनुबाहेक, स्त्रीको कार्यको दायरा र जीवन परिधिमाथि नै कडा नियमहरूसमेत लाद्छ र उसले आम रूपमा देखा पर्नुनहुने, टाढाटाढा यात्रा गर्नुनहुने र कुनै करियर लिनुनहुने मापदण्ड तोक्छन्, र उसलाई कुनै ठूलो महत्त्वाकाङ्क्षा, चाहना र आदर्श राख्न अनुमति दिइनु त परको कुरा हुन्छ, बरु यी मानकहरू अझै बढी अमानवीय दाबी अघि सार्ने हदसम्म जान पनि पछि पर्दैनन्—जस्तै, अदक्ष हुनु नै स्त्रीको सद्गुण हो। यो सुन्दा तिमीहरूलाई कस्तो लाग्छ? के यो “अदक्ष हुनु नै स्त्रीको सद्गुण हो” भन्ने दाबी वास्तवमै साँचो हो? स्त्रीको सद्गुण कसरी कुनै सीप नहुनु हुन सक्छ? यो “सद्गुण” भन्ने शब्द ठ्याक्कै के हो? के यसको अर्थ सद्गुणको कमी हुनु हो कि सद्गुणी बन्नु हो? यदि सीप नहुने सबै स्त्रीलाई सद्गुणी ठान्ने हो भने, के त्यसोभए सीप हुने स्त्रीहरूमा चाहिँ सद्गुण र सदाचार हुँदैन भन्ने हो त? के यो सीपवाला स्त्रीहरूको आलोचना र निन्दा गर्नु होइन र? के यो स्त्रीहरूलाई मानव अधिकारबाट गम्भीर रूपमा वञ्चित पार्नु होइन र? के यो स्त्रीको मर्यादामाथिको अपमान होइन र? (हो।) यसले स्त्रीको अस्तित्वलाई बेवास्ता गर्ने मात्र होइन, यसले त उसको अस्तित्वलाई अनादर पनि गर्छ, जुन स्त्रीहरूविरुद्धको पक्षपात र अनैतिक कुरा हो। त्यसैले, तँलाई यो “अदक्ष हुनु नै स्त्रीको सद्गुण हो” भन्ने भनाइ कस्तो लाग्छ? के यो अमानवीय छ? (छ।) यो “अमानवीय” शब्दलाई कसरी व्याख्या गर्नुपर्छ? के यो सद्गुणको कमी हुनु हो? (हो।) यो सद्गुणको एकदमै धेरै कमी हुनु हो। एउटा चिनियाँ भनाइअनुसार त, यो आठ जुनीसम्मको सुद्गुणको कमी हुनु हो। यस्तो दाबी निश्चय नै अमानवीय हो! “अदक्ष हुनु नै स्त्रीको सद्गुण हो” भनेर दाबी गर्ने मानिसहरूले गोप्य मनसाय र उद्देश्य पालेका हुन्छन्: तिनीहरू स्त्री सीपवान् बनेको चाहँदैनन्, र तिनीहरू स्त्रीले समाजको काममा हात बढाएको र ऊ पुरुषसमान खडा भएको चाहँदैनन्। तिनीहरू स्त्री केवल पुरुषको सेविका बनेको, घरमा विनम्र भई पुरुषको प्रतीक्षा गरेको र अरू केही नगरेको चाहन्छन्—तिनीहरू “सद्गुणी” हुनु भनेकै यही हो भन्ठान्छन्। तिनीहरू स्त्रीलाई बेकारको भनेर परिभाषित गर्न र उसको महत्त्व इन्कार्न चाहन्छन्, र यसरी उसलाई पुरुषको दासीभन्दा बढ्ता केही नबनाउन, उसलाई कहिल्यै पनि पुरुषसमान बन्न र समान व्यवहार पाउन नदिई सदैव पुरुषको सेवा गर्न लगाउन चाहन्छन्। के यो दृष्टिकोण सामान्य मानव सोचबाट आउँछ कि शैतानबाट? (शैतानबाट।) सही हो, यो पक्कै पनि शैतानबाट आउँछ। स्त्रीमा जुनै नैसर्गिक वा शारीरिक दुर्बलता भए पनि, त्यस्तो कुनै पनि कुरा समस्या होइन र त्यो कुरा पुरुषले स्त्रीको बदनाम गर्ने, स्त्रीको मर्यादामाथि अपमान गर्ने र स्त्रीलाई स्वतन्त्रता वा मानव अधिकारबाट वञ्चित पार्ने बहाना वा कारण हुन सक्दैन। परमेश्वरको दृष्टिमा, मानिसहरूले स्त्रीहरूसँग जोड्ने यी दुर्बलता र जन्मजात अरक्षितता कुनै समस्या होइनन्। किन त्यस्तो हो त? स्त्री पनि परमेश्वरद्वारै सृष्टि गरिएको हो, त्यसैले मानिसहरूले दुर्बलता र समस्या ठान्ने यी कुराहरू अवश्यै परमेश्वरबाट आउँछन्। यी कुराहरू उहाँले नै सृष्टि र पूर्वनिर्धारित गर्नुभएको हो र यी वास्तवमा त्रुटि वा समस्या होइनन्। मानव र शैतानको नजरमा दुर्बलता र त्रुटिजस्ता देखिने यी कुराहरू वास्तवमा प्राकृतिक र सकारात्मक कुराहरू हुन्, अनि यी कुरा परमेश्वरले मानवजाति सृष्टि गर्नुहुँदा उहाँद्वारा प्रतिपादित प्राकृतिक नियमअनुरूप पनि छन्। शैतानले मात्रै यसरी मानव धारणासँग मेल नखाने कुराहरूलाई नैसर्गिक कमीहरूसँग सम्बन्धित त्रुटि, दुर्बलता र समस्या ठान्दै, ती कुराहरूबारे किचलो गर्दै, र मानिसहरूलाई बदनाम, खिसी, हेला र बहिष्कार गर्न अनि स्त्रीलाई उसको जिउने अधिकार, मानिसहरूमाझ जिम्मेवारी र दायित्व पूरा गर्ने अधिकार, साथै मानिसहरूमाझ आफ्नो सीप र विशेष प्रतिभा देखाउने अधिकारबाट वञ्चित गर्न ती कुराहरू प्रयोग गर्दै, परमेश्वरद्वारा सृष्टि गरिएको प्राणीहरूलाई होच्याउन सक्छ। उदाहरणको लागि, समाजमा स्त्रीलाई व्याख्या गर्न र तिनीहरूलाई व्यर्थ भनी अवमूल्यन गर्न “मुर्झाएकी फूल” वा “केटीजस्तो” जस्ता अभिव्यक्तिहरू प्रायः प्रयोग गरिन्छन्। यस्ता अरू अभिव्यक्तिहरू केके छन्? “आइमाईजस्तो,” “कपालवाली दिमागखाली,” “ठूलो स्तनवालीको दिमाग हुँदैन” आदि इत्यादि सबै नै स्त्रीहरूलाई अपमान गर्ने शब्दहरू हुन्। अवश्य नै, यी शब्दहरू स्त्रीका विशिष्ट विशेषता वा स्त्रीजातिसँग सम्बन्धित नामहरू उल्लेख गर्दै स्त्रीहरूलाई अपमान गर्न प्रयोग गरिन्छ। स्पष्टै छ, समाज र मानिसहरूले स्त्रीलाई हेर्ने दृष्टिकोण पुरुषलाई हेर्ने दृष्टिकोणभन्दा बिलकुलै फरक हुन्छ, र त्यस्तो दृष्टिकोण असमान पनि हुन्छ। के यो पक्षपात होइन र? यो पुरुष र स्त्रीबीचको समानताको जगमा रहेर कुरा गर्नु वा परिस्थितिलाई हेर्नु होइन, बरु यो त पुरुष वर्चस्व अनि पुरुष र स्त्रीबीचको पूर्ण असमानताको दृष्टिकोणबाट स्त्रीलाई उपेक्षाको दृष्टिले हेर्नु हो। यसरी, समाजमा वा मानवजातिमाझ मानिस, घटना र परिस्थितिहरूसँग सम्बन्धित विभिन्न समस्यालाई व्याख्या गर्न महिलाका विशेष विशेषता र स्त्रीका विभिन्न नामपदवीहरू उल्लेख गर्ने अनेक अभिव्यक्तिहरू प्रकट भएका छन्। उदाहरणको लागि, हामीले भर्खरै उल्लेख गरेका “मुर्झाएकी फूल,” “केटीजस्तो,” “आइमाईजस्तो,” साथै “कपालवाली दिमागखाली,” र “ठूलो स्तनवालीको दिमाग हुँदैन” जस्ता अभिव्यक्तिहरू छन्, जसलाई मानिसहरूले महिलाहरूलाई व्याख्या गर्न र निशाना बनाउन मात्र होइन, महिलाको विशेषता र महिलाको लैङ्गिकतासँग सम्बन्धित अभिव्यक्तिहरू प्रयोग गर्दै आफूलाई घृणा लाग्ने मानिस, घटना र परिस्थितिहरूलाई खिल्ली उडाउन, होच्याउन र खुलासा गर्न प्रयोग गर्छन्। यो त कुनै व्यक्तिलाई मानवताहीन भनेर भन्नको लागि कसैले यस व्यक्तिमा ब्वाँसोको हृदय र कुकुरको फोक्सो छ भनेर भन्नुजस्तै हो, किनभने मानिसहरू ब्वाँसोको हृदय र कुकुरको फोक्सो राम्रो चीज होइन भन्ने सोच्छन्, त्यसैले तिनीहरू मानवता गुमाएको व्यक्ति कत्ति दुष्ट हुन्छ भनेर बताउन यी दुई कुरालाई एकसाथ जोड्छन्। त्यसै गरी, मानवजातिले स्त्रीलाई घृणा र उसको अस्तित्वलाई अनादर गर्ने हुनाले, तिनीहरू मानिस, घटना र परिस्थितिहरूलाई व्याख्या गर्न स्त्रीसँग सम्बन्धित केही अभिव्यक्तिहरू प्रयोग गर्छन्। यो प्रष्ट रूपमै महिला जातिलाई होच्याउनु हो। के यो यही होइन त? (हो।) जे होस्, मानवजाति र समाजले स्त्रीलाई हेर्ने र परिभाषित गर्ने तरिका पक्षपातपूर्ण र तथ्यविपरीत छ। छोटकरीमा, स्त्रीप्रति मानवजातिको मनोवृत्तिलाई दुई शब्दमा अर्थात् “होच्याउने” र “दबाउने” भनेर व्याख्या गर्न सकिन्छ। स्त्रीलाई शिर उठाउन र काम गर्न दिइँदैन, न त कुनै सामाजिक दायित्व र जिम्मेवारी नै पूरा गर्न दिइन्छ, झन् समाजमा कुनै भूमिका खेल्न दिइने त कुरै नगरौँ। सङ्क्षेपमा भन्नुपर्दा, स्त्रीलाई समाजमा कुनै काममा सहभागी हुन घरबाहिर जान दिइँदैन—यो कुरा स्त्रीलाई उसको अधिकारबाट वञ्चित गर्नु हो। स्त्रीलाई स्वतन्त्र भई कल्पना गर्न दिइँदैन, न त स्वतन्त्रसँग बोल्न नै दिइन्छ, अनि उसलाई स्वतन्त्रसँग कार्य गर्न दिइने त कुरै नगरौँ, उसलाई उसले गर्नुपर्ने कुनै कामसमेत गर्न दिइँदैन। के यो स्त्रीमाथि उत्पीडन गर्नु होइन र? (हो।) परम्परागत संस्कृतिले स्त्रीमाथि उत्पीडन गर्छ भन्ने कुरा ऊमाथि लादिने नैतिक आचरणका मापदण्डहरूबाट स्पष्ट हुन्छ। परिवार, समाज र समुदायले स्त्रीमाथि लाद्ने विभिन्न मापदण्डहरूलाई हेर्दा, सुरुमा समुदायहरू गठन भएर मानिसहरूले स्पष्टसँग लिङ्गभेद छुट्याउँदा नै स्त्रीहरूमाथि आधिकारिक रूपमा उत्पीडन सुरु भएको थियो भन्ने थाहा हुन्छ। अनि, यो चरमबिन्दुमा कहिले पुग्यो? परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी विभिन्न भनाइ र मापदण्डहरू क्रमिक रूपमा प्रकट हुँदै गएपछि, स्त्रीहरूमाथिको यो उत्पीडन चरमबिन्दुमा पुग्यो। समाजमा लिखित नियमहरू र स्पष्ट भनाइहरू विद्यमान रहेकाले, यी लिखित नियम र स्पष्ट भनाइहरूले आम जनमतलाई आकार दिनुका साथै एक प्रकारको शक्तिसमेत निर्माण गरेका छन्। यी आम जनमत र शक्ति स्त्रीहरूको लागि एक प्रकारको मजबुत पिँजडा र जन्जिर बनेका छन्, र तिनीहरूले आफ्नो भाग्य स्विकार्नुबाहेक अरू केही गर्न सक्दैनन्, किनभने स्त्रीहरूले मानवजातिमाझ र समाजको विभिन्न युगमा जिउँदा, केवल अन्याय सहन र अपमान भोग्न सक्छन्, आफूलाई तुच्छ ठान्न सक्छन्, अनि समाज र पुरुषको दासी बन्न मात्र सक्छन्। नैतिक आचरणको विषयमा विकसित ती लामो समयदेखिका प्राचीन विचार र भनाइहरूले पुरुष र स्त्रीलगायत वर्तमान मानव समाजलाई आजको दिनसम्मै र अझै पनि गहन रूपमा प्रभावित पार्ने गर्छन्। स्त्रीहरूले अनजानमै र थाहै नपाई नैतिक आचरणसम्बन्धी यी भनाइहरू र बृहत् सामाजिक विचारहरू प्रयोग गरी आफूलाई नियन्त्रित गर्छन्, अनि तिनीहरूले अवश्य नै त्यही बेला यी जन्जिर र पिँजडाबाट मुक्त हुन पनि थाहै नपाई संघर्ष गरिरहेका हुन्छन्। तर मानिसहरूले समाजमा रहेर आम जनमतको यो बलवान् शक्तिलाई कुनै प्रतिरोध गर्न नसक्ने हुनाले—वा अझ स्पष्टसँग भन्नुपर्दा, मानिसहरूले परम्परागत संस्कृतिका विभिन्न भनाइहरूको सार स्पष्टसँग देख्न पनि नसक्ने र ती भनाइहरू प्रष्टसित बुझ्न पनि नसक्ने हुनाले—तिनीहरूले चाहेर पनि आफूलाई यी जन्जिर र पिँजडाबाट मुक्त पार्न र बाहिर निकाल्न सक्दैनन्। व्यक्तिपरक दृष्टिकोणबाट हेर्दा, मानिसहरूले यी समस्याहरू स्पष्टसँग देख्न नसकेर यस्तो भएको हो; वस्तुपरक दृष्टिकोणबाट हेर्दा, मानिसहरूले सत्यता पनि नबुझेर अनि सृष्टिकर्ताले मानिसहरू सृष्टि गर्नुको अर्थ के थियो वा उहाँले पुरुष र स्त्रीको नैसर्गिक प्रवृत्ति किन सिर्जना गर्नुभयो भनेर पनि स्पष्टसँग नबुझेर यस्तो भएको हो। यसरी, पुरुष र स्त्री दुवै सामाजिक नैतिकताको यो विशाल ढाँचाभित्र जिउँदै अस्तित्वमा रहन्छन्, अनि यो विशाल सामाजिक वातावरणभित्र जति नै कडा संघर्ष गरे पनि, तिनीहरू परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी भनाइहरूको जन्जिरबाट मुक्त हुन सक्दैनन्, किनकि ती भनाइहरू हरेक व्यक्तिको मनमा अदृश्य जन्जिर बनेका हुन्छन्।
स्त्रीहरूमाथि उत्पीडन गर्ने परम्परागत संस्कृतिका ती भनाइहरू स्त्रीहरूको लागि मात्र नभई पुरुषहरूको लागि पनि अदृश्य जन्जिरजस्तै नै हुन्। किन म त्यसो भन्दै छु? किनभने पुरुष मानवजातिमाझ जन्मेकोले र यस समाजको समान महत्त्वको सदस्य भएकोले, ऊ पनि नैतिकताका यी परम्परागत संस्कृतिद्वारा त्यसरी नै प्रशिक्षित र प्रभावित हुन्छ। यी कुराहरूले हरेक पुरुषको मनमा गहिरोसित जरा पनि गाडेका हुन्छन्, अनि सबै पुरुषहरू परम्परागत संस्कृतिद्वारा थाहै नपाई प्रभावित भएका र जकडिएका हुन्छन्। उदाहरणको लागि, पुरुषले पनि “मुर्झाएकी फूल,” “अदक्ष हुनु नै स्त्रीको सद्गुण हो,” “स्त्रीजाति सद्गुणी, दयालु, सुशील, र नैतिकवान् हुनुपर्छ,” अनि “स्त्रीजाति पवित्र हुनुपर्छ” भन्नेजस्ता अभिव्यक्तिहरूमा दह्रो विश्वास गर्छ, र ऊ पनि स्त्रीजस्तै परम्परागत संस्कृतिका यी कुराहरूको सीमाभित्र बाँधिन्छ। एकातर्फ, स्त्रीमाथि उत्पीडन गर्ने यी भनाइहरूले पुरुषको हैसियत बढाउनमा ठूलो फाइदा र मद्दत पुऱ्याउँछन्, र यस सन्दर्भमा समाजमा पुरुषलाई आम जनमतद्वारा ठूलो सहयोग मिलेको जस्तो देखिन्छ। त्यसैले, उसले स्त्रीमाथि उत्पीडन गर्ने यी विचार र अभिव्यक्तिहरूलाई सहजै स्विकार्छ। तर अर्कोतर्फ, परम्परागत संस्कृतिको नैतिकतासम्बन्धी यी कुराहरूद्वारा पुरुष पनि बहकाइएको र प्रभावमा परेको हुन्छ, त्यसैले यो भन्न सकिन्छ कि स्त्रीको अलावा पुरुष पनि परम्परागत संस्कृतिको भेलको सिकार बनेको हुन्छ। कतिपयले यसो भन्छन्: “बृहत समाजले पुरुष अधिकारको वर्चस्वको खुल्लमखुल्ला समर्थन गर्छ, त्यसैले पुरुष पनि सिकार बनेको हुन्छ भनेर कसरी भन्नु?” यसलाई पक्कै पनि मानवजाति परम्परागत साँस्कृतिक नैतिकताको प्रलोभन, गलत निर्देशन, बहकाउ, भावशून्यता र परिसीमनमा पर्छन् भन्ने दृष्टिकोणबाट हेर्नुपर्छ। स्त्रीजातिलाई परम्परागत संस्कृतिको नैतिकतासम्बन्धी विचारले गहन रूपमा हानि गरेको छ, अनि त्यसरी नै पुरुषजातिलाई पनि गहन रूपमा र धेरै हदसम्म बहकाएको र कष्टमा पारेको छ। अर्को अर्थमा “बहकाएको” भनेको के हो? यसको अर्थ मानिसहरूसँग पुरुषलाई मूल्याङ्कन र स्त्रीलाई परिभाषित गर्ने सही दृष्टिकोण हुँदैन भन्ने हो। तिनीहरूले यी कुराहरूलाई जुनै कोणबाट हेरे पनि, यो सब परम्परागत संस्कृतिमा आधारित हुन्छ, परमेश्वरद्वारा व्यक्त सत्यतामा वा मानवजातिको लागि परमेश्वरद्वारा प्रतिपादित विभिन्न नियम-व्यवस्थामा आधारित हुँदैन, न त यो उहाँले मानवजातिलाई प्रकट गरिदिनुभएका सकारात्मक कुराहरूमै आधारित हुन्छ। यस दृष्टिकोणबाट हेर्दा, पुरुष पनि सिकार नै बनेको हुन्छ, जसलाई परम्परागत संस्कृतिले प्रलोभन, गलत निर्देशन, बहकाउ, धोका, भावशून्यता र परिसीमनमा पारेको हुन्छ। त्यसैले, पुरुषले स्त्रीलाई उसको समाजमा हैसियत छैन भन्दैमा अति दयनीय ठान्नु हुँदैन, अनि आफ्नो सामाजिक हैसियत स्त्रीकोभन्दा उच्च छ भन्दैमा पुरुष आत्मगर्वित बन्नु हुँदैन। तुरुन्तै खुसी भई नहाल्; वास्तवमा पुरुष पनि एकदमै दयनीय हुन्छ। यदि तैँले उसलाई स्त्रीसँग तुलना गरिस् भने, ऊ पनि उत्तिकै दयनीय हुन्छ। किन म ऊ पनि उत्तिकै दयनीय हुन्छ भनेर भन्दै छु? अब हामी समाज र मानवजातिले पुरुषबारे गर्ने व्याख्या र मूल्याङ्कन अनि उसलाई दिइने केही जिम्मेवारीहरूलाई फेरि एकपटक हेरौँ। हामीले पछिल्लोपटक सङ्गति गरेको मानवजातिले पुरुषको लागि तोकिदिएको मापदण्ड थियो “धनले गर्दा भ्रष्ट हुनु, गरिबीले गर्दा बदलिनु, र शक्तिले गर्दा झुक्नु हुँदैन”—यसलाई हेर्दा, यो मापदण्डको अन्तिम उद्देश्य पुरुषलाई पुरुषार्थी र बहादुर पुरुष भनेर परिभाषित गर्नु हो, जुन पुरुषको लागि मानक पदवी पनि हो। यो “पुरुषार्थी र बहादुर पुरुष” भन्ने पदवी पुरुषको काँधमा लादेपछि, उसले यो उपाधिको अपेक्षा पूरा गर्दै जिउनुपर्छ, र यदि उसले त्यस्तो अपेक्षा पूरा गर्दै जिउन चाहँदैन भने, कैयौँ निरर्थक त्यागहरू गर्दै सामान्य मानवताविपरीत शैलीमा धेरै काम गर्नुपर्ने हुन्छ। उदाहरणको लागि, यदि तँ पुरुष होस् र समाजले तँलाई पुरुषार्थी र बहादुर पुरुषको रूपमा चिनोस् भन्ने चाहन्छस् भने, तँमा कुनै कमजोरी हुनु हुँदैन, तँ कुनै तरिकामा पनि डरपोक हुनु हुँदैन, तँमा दह्रिलो इच्छा हुनुपर्छ, तैँले आफू थकित भएको गुनासो गर्नु हुँदैन, तँ रुनु हुँदैन वा तैँले कुनै मानव कमजोरी देखाउनु हुँदैन, तँ उदाससमेत हुनु हुँदैन, अनि तँ सुस्त पनि हुनु हुँदैन। “पुरुषार्थी र बहादुर पुरुष” भन्ने उपाधिको अपेक्षा पूरा गर्दै जिउनको लागि हरसमय तेरो आँखामा चमक हुनुपर्छ, तँ दृढ र निडर देखिनुपर्छ, र तैँले आफ्नो शत्रुमाथि रिस पोख्न सक्नुपर्छ। भन्नुको अर्थ, तैँले यो जीवनमा साहस बटुलेर कम्मर कस्नु जरुरी छ। तँ औसत, साधारण, सामान्य वा मामुली व्यक्ति बन्न मिल्दैन। तँ “पुरुषार्थी र बहादुर पुरुष” को उपाधियोग्य बन्नको लागि मामुली मरणशील व्यक्तिको सीमा नाघेर असाधारण इच्छाशक्ति अनि असाधारण दृढता, सहनशीलता र अडिगता भएको महामानव बन्नुपर्छ। यो त परम्परागत संस्कृतिले पुरुषलाई दिएको एउटा मात्र मापदण्ड हो। भन्नुको मतलब, पुरुषले यताउता घुम्दै जाँडरक्सी खान, केटी घुमाउन र जुवातास खेल्न सक्छ, तर ऊ स्त्रीभन्दा बलियो हुनैपर्छ र ऊसँग सर्वबलिष्ठ इच्छाशक्ति हुनैपर्छ। तँलाई जे आइपरे पनि, तैँले झुक्नु, पछि हट्नु वा “नाइँ” भन्नु, अनि छेरुवापन, डर वा कायरता देखाउनु हुँदैन। तैँले सामान्य मानवताका यी प्रकटीकरणहरूलाई लुकाउनु र छोप्नुपर्छ, र कुनै हालतमा पनि ती कुरा प्रकट गर्नु हुँदैन, न त कसैलाई ती कुरा देख्न दिनु नै हुन्छ, तेरा आमाबुबा, आफ्ना नजिकका नातेदार वा तैँले सबैभन्दा प्रेम गर्ने मानिसहरूलाई पनि ती कुरा देख्न दिनु हुँदैन। त्यस्तो किन हो? किनभने तँ पुरुषार्थी र बहादुर पुरुष बन्न चाहन्छस्। पुरुषार्थी र बहादुर पुरुषको अर्को विशेषता के हो भने, कुनै व्यक्ति, घटना वा परिस्थितिले पनि उसको सङ्कल्प भत्काउन सक्दैन। जबजब कुनै पुरुषले केही कुरा गर्न चाहन्छ—जब ऊसँग कुनै आकाङ्क्षा, आदर्श वा इच्छा हुन्छ, जस्तै आफ्नो देशको सेवा गर्ने, आफ्ना मित्रहरूप्रति बफादारी देखाउने वा तिनीहरूको लागि गोली खान तयार हुने कुरा होस् वा उसले लिन चाहने कुनै पनि करियर वा उसको कुनै महत्त्वाकाङ्क्षा होस्, र चाहे त्यो कुरा सही होस् वा गलत—कसैले पनि उसलाई रोक्न सक्दैन, अनि न त कुनै स्त्रीप्रतिको उसको प्रेमले, न त नातागोता, परिवार वा सामाजिक जिम्मेवारीले उसको सङ्कल्प बदल्न सक्छ, न त उसलाई उसको आकङ्क्षा, आदर्श र इच्छा त्याग्न लगाउन नै सक्छ। कसैले पनि उसको सङ्कल्प, उसले आकाङ्क्षा राखेको उद्देश्य वा उसले हिँड्न चाहेको मार्ग बदल्न सक्दैन। अर्कोतर्फ, उसले आफैलाई पनि कुनै एक क्षणको लागि पनि विश्राम लिन दिनु हुँदैन। जब उसले विश्राम लिन्छ र सुस्ताउँछ र जब उसले आफ्ना पारिवारिक जिम्मेवारीहरू पूरा गर्न, आमाबुबाको असल छोरो बन्न, छोराछोरीको देखभाल गर्न र सामान्य व्यक्ति बन्नको लागि फर्कन चाहँदै आफ्नो आदर्श, आकाङ्क्षा र आफूले हिँड्न चाहेको मार्ग र प्राप्त गर्न चाहेको लक्ष्य त्याग्छ, तब त्यसपछि ऊ पुरुषार्थी र बहादुर पुरुष पनि हुँदैन। अनि यदि ऊ पुरुषार्थी र बहादुर पुरुष हुँदैन भने, के हुन्छ त? ऊ असाध्यै दुर्बल र निकम्मा बन्छ, जुन समाजका सबैले र ऊ आफूले पनि घृणा गर्ने विशेषता हो। अनि जब कुनै पुरुषले आफ्नो कार्य र आचरणमा पुरुषार्थी र बहादुर पुरुष बन्ने मानक पूरा नगर्ने समस्या र कमीकमजोरी छन् भन्ने थाहा पाउँछ, तब उसले भित्रभित्रै आफैलाई घृणा गर्नेछ, अनि उसलाई यो समाजमा आफ्नो लागि कुनै स्थान छैन, आफ्नो क्षमता प्रस्फुटन गर्ने कुनै माध्यम छैन र आफूलाई पुरुषार्थी र बहादुर पुरुष वा केवल पुरुषसमेत भन्ने अवस्था छैन भन्ने लाग्छ। पुरुषार्थी र बहादुर पुरुषको अर्को विशेषता के हो भने, उसलाई बल प्रयोग गरेर झुकाउन सकिँदैन, जुन यस्तो मनोभाव हो, जसले गर्दा उसलाई कुनै पनि शक्ति, हिंसा, धम्की, आदि इत्यादिले झुकाउनु असम्भव हुन्छ। उसलाई जुनै शक्ति, हिंसा, धम्की वा ज्यानको खतरा नै आए पनि, यस्तो पुरुष मृत्युदेखि डराउँदैन र उसले यस्ता कैयौँ कठिनाइहरू पार गर्न सक्छ। उसलाई बाध्य पार्न वा आत्मसमर्पण गराउन धम्क्याएर केही हुँदैन, ऊ केवल बाँच्नलाई कुनै शक्तिअघि झुक्नेछैन र सम्झौता गर्न निउरिनेछैन। ऊ केही जम्मेवारी, दायित्व वा अन्य कारणले गर्दा कुनै शक्ति वा कुनै प्रकारको बलको अधीनमा पऱ्यो भने, उसले बाँचेर आफ्नो जीवन जोगाए पनि, उसलाई उसले आदर्श मान्ने परम्परागत साँस्कृतिक नैतिकताले गर्दा उसको आफ्नै व्यवहारप्रति घृणा लाग्नेछ। जापानको बुशिदोको मनोभाव पनि अलि यस्तै छ। आफू असफल र लज्जामा परेपछि, तँलाई आफ्नो भुँडी फोरेर आफै आत्महत्या गर्नुपर्छ भन्ने लाग्छ। के जीवन त्यति सस्तो छ? मानिसहरूको जीवन एकपटकको लागि मात्र हो। सानो असफलता वा रोकावटले गर्दा नै मर्ने सोच आउँछ भने, के यो परम्परागत संस्कृतिको प्रभावले गर्दा होइन र? (हो।) जब उसलाई कुनै समस्या आइपर्छ र जब उसले तुरन्तै निर्णय लिन वा परम्परागत संस्कृतिको मापदण्ड पूरा गर्ने विकल्प रोज्न वा आफ्नो मर्यादा र चरित्र प्रमाणित गर्न वा आफू पुरुषार्थी र बहादुर पुरुष हुँ भनेर साबित गर्न सक्दैन, तब उसले मृत्यु रोजेर आत्महत्या गर्नेछ। पुरुषले यी विचार र दृष्टिकोणहरू राख्नुको कारण भनेकै परम्परागत संस्कृतिको गम्भीर प्रभाव र यसले उसको सोचमाथि गरेको परिसीमन हो। यदि उसलाई परम्परागत संस्कृतिको विचार र दृष्टिकोणले प्रभाव नपारेको भए, यत्ति धेरै पुरुषहरूले आत्महत्या गर्ने वा भुँडी फोर्ने थिएनन्। पुरुषार्थी र बहादुर पुरुषको परिभाषाको कुरा गर्दा, पुरुषले एकदमै सकारात्मक र आश्वस्त भएर परम्परागत संस्कृतिका यी विचार र दृष्टिकोणहरू स्विकार्छ, अनि यी कुरालाई आफू र अन्य पुरुषहरूलाई पनि मापन र नियन्त्रण गर्ने सकारात्मक कुरा ठान्छ। पुरुषको सोच र दृष्टिकोण, विचार, लक्ष्य र उसले रोज्ने मार्गअनुसार जाँच्दा, यी सबले पुरुष परम्परागत संस्कृतिद्वारा गहन रूपमा प्रभावित र विषाक्त भएको हुन्छ भन्ने प्रमाणित गर्छन्। साहसिक कार्यका धेरै कथा र सुन्दर किंवदन्तीहरू मानिसहरूको मनमा पारम्परिक संस्कृतिले कति गहिरोसित जरा गाडेको हुन्छ भन्ने कुराको यथार्थ चित्रण हुन्। यस दृष्टिकोणबाट हेर्दा, के पुरुष पराम्परागत संस्कृतिद्वारा स्त्रीजत्तिकै विषाक्त भएको हुँदैन र? परम्परागत संस्कृतिले पुरुष र स्त्रीमाथि बेग्लाबेग्लै मापदण्डका मानकहरू मात्र लादेको हुन्छ, एकातर्फ यसले स्त्रीजातिलाई बिनारोकटोक अपमान गर्छ, होच्याउँछ, रोक्छ र नियन्त्रण गर्छ भने, अर्कोतर्फ पुरुषलाई कायर वा मामुली र साधारण मानिस नबन्न जोरदार आग्रह गर्छ, लोभ्याउँछ, भड्काउँछ र उक्साउँछ। पुरुषको लागि मापदण्ड यो हुन्छ कि ऊ स्त्रीभन्दा बेग्लै हुनुपर्छ, उसले स्त्रीलाई उछिन्नुपर्छ, र ऊ स्त्रीभन्दा माथि रहनुपर्छ र उसले स्त्रीभन्दा धेरै माथि पुग्नुपर्छ। उसले समाज, मानवजाति, र समाजको प्रचलन र दिशा नियन्त्रित गर्नुपर्छ, अनि उसले समाजका सबै कुरा नियन्त्रित गर्नुपर्छ। पुरुष समाज र मानवजातिलाई नियन्त्रण गर्ने शक्तिसहित समाजमा सर्वेसर्वासमेत हुनुपर्छ, अनि यो शक्तिमा स्त्रीमाथि हैकम र नियन्त्रण जमाउनु पनि समावेश हुन्छ। परुषले पछ्याउनुपर्ने कुरा यही हो, र यो पुरुषार्थी र बहादुर पुरुषको साहसिक आचरण पनि हो।
वर्तमान युगमा धेरै देश लोकतान्त्रिक समाज बनेका छन्, यहाँ महिला र बालबालिकाको अधिकार र हित केही मात्रामा प्रत्याभूत गरिएको छ, अनि परम्परागत संस्कृतिका यी विचार र दृष्टिकोणले मानिसहरूमा पार्ने प्रभाव र नियन्त्रण त्यति स्पष्ट छैनन्। आखिर, धेरै महिलाहरूले समाजमा प्रगति गरेका छन् अनि धेरै क्षेत्र र धेरै पेशामा तिनीहरूको संलग्नता बढिरहेको छ। तथापि, परम्परागत संस्कृतिका विचारहरूले मानवजातिको मनमा—महिलाको मनमा मात्र होइन, पुरुषको मनमा पनि—धेरै समयदेखि गहिरो गरी जरा गाडेका हुनाले, पुरुष र महिला दुवैले विभिन्न कुराहरू सोच्दा र सम्हाल्दा अनजानमै परम्परागत संस्कृतिको दृष्टिकोण र प्ररिप्रेक्ष्य अपनाउँछन्। सामान्यतया, तिनीहरूले परम्परागत संस्कृतिका विचार र दृष्टिकोणको डोऱ्याइमा विभिन्न करियर र जागिर अँगाल्छन्। आजको समाजमा, पुरुष र स्त्रीबीचको समानतामा केही मात्रामा सुधार आएको भए पनि, परम्परागत संस्कृतिको पुरुष श्रेष्ठताको विचारले नै अझै पनि मानिसहरूको दिमाग नियन्त्रित गर्छ, अनि धेरैजसो देशमा, शिक्षा मूलतः परम्परागत संस्कृतिका यिनै आधारभूत विचारहरूमा आधारित हुन्छ। तसर्थ, यो समाजमा मानवजातिले विभिन्न मामिलाबारे कुरा गर्न परम्परागत संस्कृतिका यी भनाइहरू बिरलै प्रयोग गरे पनि, तिनीहरू अझै पनि परम्परागत संस्कृतिको वैचारिक ढाँचाभित्रै कैद भएका हुन्छन्। वर्तमान समाजले स्त्रीको प्रशंसा गर्न कस्ता प्रकारका अभिव्यक्तिहरू चलाउँछन्? उदाहरणको लागि, “नर स्त्री” र “शक्तिशाली स्त्री।” यी अभिव्यक्तिहरू सम्माजनक सम्बोधन हुन् कि अपमानजनक सम्बोधन? यसो भन्ने महिलाहरू पनि छन्: “कसैले मलाई नर स्त्री भन्यो, त्यो एकदमै धेरै प्रशंसा गरेजस्तो लाग्यो। त्यसबारे के भन्न सकिन्छ? म पुरुष समाजमा घुलमिल भएकी छु र मेरो हैसियत बढेको छ। म स्त्री भए पनि, ‘नर’ शब्द थपेपछि त म नर स्त्री बन्छु, र त्यसपछि म पुरुषसमान बन्न सक्छु, जुन एक प्रकारको सम्मान हो!” यो त यस महिलालाई मानव समाजको समुदाय वा समूहले मान्यता दिनु र स्विकार्नु हो, जुन असाध्यै सम्मानजनक कुरा हो, होइन र? यदि कुनै महिलालाई नर स्त्री भनेर भनियो भने, यसले प्रमाणित गर्छ कि यो महिला पुरुषभन्दा कम छैन बरु पुरुषजस्तै एकदमै सक्षम छे, अनि उसको करियर, प्रतिभा र उसको सामाजिक हैसियत र उसको बौद्धिकता अनि उसले समाजमा स्थान प्राप्त गर्ने माध्यमसमेत पुरुष बराबर हुन पर्याप्त हुन्छन्। मेरो दृष्टिमा, अधिकांश महिलाको लागि यो “नर स्त्री” भन्ने पदवीनाम समाजबाट दिइने इनाम, वर्तमान समाजले महिलालाई दिने सामाजिक हैसियतको एक प्रकारको मान्यता हो। के कुनै महिला नर स्त्री बन्न चाहन्छे? यो पदवीनाम अप्रिय नै भए पनि, र चाहे जे-जस्तो परिस्थिति भए पनि, स्त्रीलाई नर भन्नु निश्चय नै उसलाई एकदमै दक्ष र सक्षम भएकोमा प्रशंसा गर्नु हो, अनि उसलाई पुरुषको दृष्टिमा अनुमोदन गर्नु हो। जहाँसम्म पुरुष पदवीनामको कुरा छ, मानिसहरू अझै पनि परम्परागत धारणा राख्छन्, जुन कहिल्यै परिवर्तन हुँदैन। उदाहरणको लागि, कतिपय पुरुषहरू करियर-केन्द्रित हुँदैनन् र शक्ति वा हैसियतको पछि लाग्दैनन्, बरु आफ्नो हालको परिस्थिति स्विकार्छन् अनि आफ्नो साधारण जागिर र जीवनसँग सन्तुष्ट हुन्छन्, र आफ्नो परिवारको अत्यन्तै देखभाल गर्छन्। यस्ता पुरुषलाई यो समाजले कस्तो नाम दिन्छ? के यस्ता पुरुषलाई निकम्मा भन्छ? (भन्छ।) कतिपय पुरुष आफ्नो कामकाजमा एकदमै सावधान र नाटीकुटी गर्ने हुन्छन्, र एकएक कुरा एकदमै ध्यान लगाएर गर्छन्। कतिपय मानिसले तिनीहरूलाई के भन्छन्? “अलि केटीजस्तो” वा “मुर्झाएकी फूल।” हेर् त, पुरुषलाई नराम्रा शब्दहरू प्रयोग गरेर होइन, बरु स्त्रीसँग सम्बन्धित अभिव्यक्ति प्रयोग गरेर अपमान गरिन्छ। यदि मानिसहरूले स्त्रीजातिलाई उचाल्न चाहे भने, स्त्रीको हैसियत बढाउन र स्त्रीको दक्षता पुष्टि गर्न “नर स्त्री” र “शक्तिशाली स्त्री” जस्ता अभिव्यक्ति प्रयोग गर्छन्, जबकि पुरुषलाई होच्याउन र उसलाई पुरुषार्थी नभएकोमा गाली गर्न “मुर्झाएकी फूल” जस्ता अभिव्यक्ति प्रयोग गरिन्छ। के यो समाजमा व्याप्त रहेको घटना होइन र? (हो।) वर्तमान समाजमा उत्पन्न यी भनाइहरूले एउटा समस्या प्रमाणित गर्छ, र त्यो के हो भने, परम्परागत संस्कृति आधुनिक जीवन र मानिसहरूको मनमस्तिष्कबाट एकदमै धेरै टाढा हटिसकेको जस्तो देखिए पनि, अनि मानिसहरू अहिले इन्टरनेट वा विभिन्न इलेक्ट्रोनिक उपकरणहरूको लतमा परेका वा हरप्रकारका आधुनिक जीवनशैलीप्रति आसक्त बनेका भए पनि, र मानिसहरूले आधुनिक जिउने वातावरणमा एकदमै आरामदायी तरिकामा जीवन जिउने भए पनि वा मानव अधिकार र स्वतन्त्रता पाए पनि, यो देखावटी मात्र हो; वास्तविकता के हो भने परम्परागत संस्कृतिको धेरैजसो विष तिनीहरूको मनमस्तिष्कमै रहिरहेको हुन्छ। मानिसहरूले केही मात्रामा शारीरिक स्वतन्त्रता पाएका भए पनि, अनि मानिसहरू र कामकुराहरूप्रतिको तिनीहरूको मुख्य दृष्टिकोण परिवर्तन भएको र तिनीहरूले आफ्नो सोचमा केही हदसम्म स्वतन्त्रता प्राप्त गरेको देखिए पनि, र समाचारको द्रूत प्रचारप्रसार र उन्नत सूचना प्रविधिले गर्दा आधुनिक समाजमा तिनीहरूले नयाँ अन्तर्ज्ञान प्राप्त गरेको देखिए पनि, अनि तिनीहरूले बाहिरी संसारका धेरै कुरा थाहा पाएका र देखेका भए पनि, मानवजाति अझै पनि परम्परागत संस्कृतिले वकालत गर्ने नैतिक आचरणसम्बन्धी अनगिन्ती भनाइहरूको छायाँमै जिउँछन्। केही मानिसहरूले “म सबैभन्दा अपरम्परागत व्यक्ति हुँ, म अत्यन्तै आधुनिक हुँ, म आधुनिकतावादी हुँ” भनेर भने पनि, अनि तिनीहरूको नाकमा सुनको नत्थी, कानमा मुन्द्री, अनि तिनीहरूको कपडा एकदमै नयाँ स्टाइलको र फेशनदार भए पनि, मानिसहरू र परिस्थिति हेर्ने तिनीहरूको दृष्टिकोण, साथै आफूलाई कसरी व्यवहारमा ढाल्ने र कार्य गर्ने भन्नेबारे तिनीहरूको दृष्टिकोण अझै पनि परम्परागत संस्कृतिबाट अलग्गिएको हुँदैन। मानिसहरू किन यसरी परम्परागत संस्कृतिबिना केही गर्न सक्दैनन्? किनभने तिनीहरूको मन र मस्तिष्क परम्परागत संस्कृतिमा चुर्लुम्मै डुबेको र बन्दी बनेको हुन्छ। तिनीहरूको अन्तरात्माभित्र उत्पन्न हुने हरेक कुरा र तिनीहरूको दिमागमा झलकझलक आउने विचारहरूसमेत परम्परागत संस्कृतिको सिद्धान्त र शिक्षाबाट पैदा हुन्छ, अनि यो सब कुरा परम्परागत संस्कृतिको विशाल ढाँचाभित्र उत्पन्न हुन्छ, तर यसको प्रभावबाट अलग्गिएको हँदैन। के यी तथ्यहरूले मानवजाति परम्परागत संस्कृतिको कैदमा परिसकेका छन् भनेर प्रमाणित गर्दैनन् र? (गर्छन्।) मानवजाति परम्पागत संस्कृतिको कैदमा परिसकेका छन्। तँ पढेलेखेको वा उच्च शिक्षित भए पनि नभए पनि, जबसम्म तँ मानवजातिमाझ जिउँछस्, तबसम्म तँ अवश्यै मानव नैतिकताको परम्परागत संस्कृतिद्वारा प्रशिक्षित र प्रभावित हुनेछस्, किनभने परम्परागत संस्कृतिका कुराहरूले एकप्रकारको अदृश्य बल र शक्ति पैदा गर्छन्, जुन चारैतिर व्याप्त हुन्छन्, स्कूल र मानिसहरूको पाठ्यपुस्तकमा मात्र होइन, विशेष गरी तिनीहरूको परिवारमा अनि समाजको हरेक कुनामा अवश्यै व्याप्त हुन्छन्। यसरी, यी कुराहरूले मानिसहरूलाई थाहै नपाई प्रशिक्षित र प्रभावित पार्छन् अनि गलत निर्देशन गर्छन् र बहकाउँछन्। तसर्थ, मानवाजाति परम्परागत संस्कृतिको बन्धन, जन्जिर र नियन्त्रमा जिउँछन्, अनि तिनीहरू चाहेर पनि यसबाट लुक्न वा उम्कन सक्दैनन्। तिनीहरू यसप्रकारको सामाजिक परिवेशमा जिइरहेका छन्। हालको स्थिति यही हो, र यी कुराहरू तथ्य पनि हुन्।
यसलाई हामीले पछिल्लोपटक सङ्गति गरेका नैतिक आचरणका भनाइहरू र तिनको सारको आधारमा हेर्दा, परम्परागत संस्कृतिका यस्ता भनाइहरूले मानवजातिको भ्रष्ट स्वभाव र सार ढाकछोप गर्छन्, अनि तिनले अवश्यै शैतानले मानवजातिलाई भ्रष्ट तुल्याउने तथ्य ढाकछोप गर्छन्। परम्परागत संस्कृतिमा रहेका पुरुष र स्त्रीका परिभाषाहरू, जसको बारेमा हामीले आज सङ्गति गर्यौँ, ती परिभाषाहरूले नैतिक आचरणसम्बन्धी भनाइहरूको अर्को सारगत पक्ष पनि स्पष्टसँग चित्रित गर्छन्। त्यो सार के हो त? नैतिक आचरणसम्बन्धी यी भनाइहरूले मानिसहरूको सोचलाई, बहकाउने र सीमित पार्ने र गलत निर्देशन गर्ने मात्र होइन, तिनले त निस्सन्देह नै मानिसहरूमा विभिन्न मानिस, मामिला र परिस्थितिबारे गलत अवधारणा र दृष्टिकोण पनि हालिदिन्छन्। यो तथ्य हो र शैतानद्वारा प्रवर्धित नैतिक आचरणसम्बन्धी भनाइहरूको अर्को सारगत पक्ष हो। यो कुरा कसरी प्रमाणित गर्न सकिन्छ? के हामीले भर्खरै सङ्गति गरेको नैतिक आचरणसम्बन्धी भनाइहरूभित्रका पुरुष र स्त्रीका परिभाषाहरू नै यो विषयलाई स्पष्ट पार्न पर्याप्त छैनन् र? (छन्।) ती परिभाषाहरू वास्तवमा यो कुरा स्पष्ट पार्न पर्याप्त छन्। नैतिक आचरणसम्बन्धी भनाइहरूले सही र गलत व्यवहार, अनि असल र खराब अभ्यासबारे कुरा मात्र गर्छन्, र केवल सतही तवरमा असल र खराब, अनि सही र गलतबारे कुरा गर्छन्। तिनले मानिस, मामिला र परिस्थितको सन्दर्भमा मानिसहरूलाई सकारात्मक र नकारात्मक, असल र खराब, अनि सही र गलत के हो भनेर थाहा दिँदैनन्। अनि, तिनले मानिसहरूलाई जुन कुरा पालन गर्न लगाउँछन् ती कुराहरू मानवतासँग मेल खाने वा मानिसहरूको लागि लाभदायी हुने आचरण र व्यवहारका सही मापदण्ड वा सिद्धान्त हुँदैनन्। नैतिक आचरणसम्बन्धी यी भनाइहरूले मानवताका प्राकृतिक नियमहरू उल्लङ्घन गरे पनि नगरे पनि, वा मानिसहरू तिनलाई पालन गर्न इच्छुक भए पनि नभए पनि, तिनले मानिसहरूलाई सही र गलत, असल र खराब नछुट्याई कडाइसाथ सिद्धान्त पालन गर्न बाध्य पार्छन्। यदि तैँले ती पालन गर्न सक्दैनस् भने, समाजले तँलाई धिक्कार्छ र निन्दा गर्छ, अनि तँ आफैले समेत आफूलाई धिक्कार्छस्। के यो परम्परागत संस्कृतिले मानव सोचलाई कसरी सीमित पार्छ भन्ने कुराको यथार्थ चित्रण हो? यो ठ्याक्कै परम्परागत संस्कृतिले मानव सोचलाई कसरी सीमित पार्छ भन्ने कुराको यथार्थ झलक हो। जब परम्परागत संस्कृतिले नयाँ भनाइ, मापदण्ड र नियम पैदा गर्छ, वा आम विचारलाई आकार दिन्छ वा समाजमा कुनै प्रचलन वा प्रथा स्थापित गर्छ, तब तँ अवश्यै यिनै प्रचलन वा प्रथाअनुसार चल्नेछस्, अनि तैँले “नाइँ” भन्ने वा इन्कार्ने आँट गर्दैनस्, झन् कुनै शङ्का वा बेग्लै विचार राख्नु त परको कुरा हो। तँ यसप्रति प्रतिबद्ध हुन मात्र सक्छस्, नत्र तँलाई समाजले तिरस्कार र आलोचना गर्नेछ, र तँ आम विचारद्वारा धिक्कारिनेछस् र मानवजातिद्वारा निन्दित हुनेछस्। धिक्कारिनु र निन्दित हुनुका कस्ता परिणामहरू हुन्छन्? तैँले मानिसहरूको वरपर अनुहार देखाउने हिम्मत गर्न सक्नेछैनस् किनभने तँसँग मर्यादा हुनेछैन, अनि तैँले सामाजिक नीतिहरू पालन गर्न सक्दैनस्, तँमा सदाचार हुँदैन र तँसँग परम्परागत संस्कृतिले माग गर्ने नैतिक आचरण हुँदैन, र त्यसरी तँसँग सामाजिक स्तर पनि हुनेछैन। सामाजिक स्तर नहुनुका परिणामहरू केके हुन्छन्? तँ समाजमा जिउन योग्य हुनेछैनस्, अनि तेरो मानव अधिकारका सबै पक्षहरू खोसिनेछन्, यहाँसम्म कि तेरो जिउने अधिकार, तेरो बोल्ने अधिकार र तेरो आफ्नो दायित्व पूरा गर्ने अधिकारसमेत नियन्त्रित र प्रतिबन्धित हुनेछन्। यसरी परम्परागत संस्कृतिले मानवजातिलाई असर र खतरामा पार्छ। हरेक व्यक्ति यसको सिकार बन्छ, र अवश्यै हरेक व्यक्ति यसको लागूकर्ता पनि बन्छ। तँ यी आम विचारको सिकार बन्छस्, र तँ स्वतः समाजका सबै विभिन्न मानिसहरूको पनि सिकार बन्छस्, अनि सँगसँगै तँ तेरो आफ्नै परम्परागत संस्कृति स्विकारको पनि सिकार बन्छस्। अन्तिम विश्लेषणमा, तँ परम्परागत संस्कृतिका यी कुराहरूको सिकार बन्छस्। के परम्परागत संस्कृतिका यी कुराहरूले मानवजातिमाथि ठूलो असर पार्छन्? (पार्छन्।) उदाहरणको लागि, कुनै स्त्री सद्गुणी, दयालु, सुशील र नैतिकवान् छैन अनि ऊ असल स्त्री होइन भन्ने अफवाह फैलियो भने, उसले पछि कुनै नयाँ जागिर सुरु गर्दा वा कुनै समूहमा आबद्ध हुँदा, मानिसले उसको बारेका अफवाह थाहा पाउनेबित्तिकै अनि कुरा काट्नेहरू र उसको निन्दा गर्नेहरूको कुरा सुन्नेबित्तिकै, कसैको नजरमा पनि ऊ असल स्त्री हुँदिन। यो परिस्थिति खडा भएपछि, उसलाई समाजमा अघि बढ्न वा बाँच्न गाह्रो हुनेछ। कतिपय मानिससँग त आफ्नो पहिचान लुकाउनु र अर्कै शहर वा परिवेशमा सर्नुबाहेक अर्को विकल्पसमेत हुँदैन। के आम विचार शक्तिशाली हुँदैन र? (हुन्छ।) यो अदृश्य शक्तिले जोकसैलाई बरबाद र तहसनहस अनि कुल्चिमिल्ची पार्न सक्छ। उदाहरणको लागि, यदि तँ परमेश्वरमा विश्वास गर्छस् भने, तँलाई चीनको सामाजिक परिवेशमा बाँच्न पक्कै गाह्रो हुन्छ। यहाँ बाँच्न किन त्यस्तो गाह्रो हुन्छ? किनभने परमेश्वरमा विश्वास गरेपछि, र कर्तव्य निर्वाह गर्दै आफूलाई उहाँमा समर्पित गरेपछि, तैँले कहिलेकाहीँ आफ्नो परिवारको देखभाल गर्न सक्नेछैनस्, अनि गैरविश्वासी दियाबलसहरूले तँ “सामान्य जीवन जिउँदै” छैनस्, “आफ्नो परिवार त्याग्दै” छस्, “कसैलाई पछ्याउँदै” छस्, आदि इत्यादि भनेर अफवाह फैलाउँछन्। यी दाबीहरू तथ्यसँग मेल नखाए पनि र ती सबै अडकल र झूटा अफवाह भए पनि, तँलाई यी दोषहरू लागेपछि, तँ एकदमै कठिन स्थितिमा पर्नेछस्। तँ किनमेल गर्न जाँदा, मानिसहरूले तँलाई कस्तो-कस्तो नजरले हेर्नेछन्, र तेरो पिठ्युँपछाडि खासखुस गर्दै यसो भन्नेछन्, “यो कस्तो-कस्तो धर्मकी आइमाई हो, उसमा स्त्रीको सद्गुण छैन, अमर्यादित जीवन बिताउँछे र ठाउँठाउँ डुल्दै दिन काट्छे। यो आइमाईले सामान्य जीवन बिताउन जोड लगाउँदिन। उसले चारचौरास डुलेर के गर्दै छे? स्त्रीजातिले कन्फुसियसको तीन अधिकारक्षेत्र र चार सद्गुणहरूको संहिता पालन गर्नुपर्छ, अनि आफ्नो श्रीमानको हेरचाह गर्नुपर्छ र छोराछोरीलाई हुर्काउनुपर्छ।” त्यो सुन्दा तँलाई कस्तो लाग्छ? के तँ रिसाउँछस्? तैँले परमेश्वरमा विश्वास गर्नु र कर्तव्य निभाउनुसँग तिनीहरूलाई केको खसखसी? यो तिनीहरूलाई खसखसी लाग्नुपर्ने कुरा कदापि होइन, तैपनि तिनीहरू यसलाई भात खाएर बसिबियाँलो गर्ने विषयजस्तै ठान्न सक्छन् अनि यो कत्ति नै ठूलो कुराजस्तो गरी यसबारे टीकाटिप्पणी र निन्दोचर्चो गर्छन्। के यो समाजमा हुने घटना होइन र? के यो सर्वत्र देख्न सकिने घटना होइन र? उदाहरणको लागि, तेरो एकदमै मिल्ने साथी छ, तर उसले तँ परमेश्वरमा विश्वास गर्छस् भन्ने सुनेपछि, तेरो पिठ्युँपछाडि हरप्रकारको निन्दोचर्चो गर्दै हिँड्छ, त्यसैले अब धेरै मानिसहरू तँलाई परपरै गर्छन्, र तँसँग राम्रो सम्बन्ध राख्न छोड्छन्। तेरो आफ्नो कामप्रति पहिलेकै जस्तो मनोवृत्ति भए पनि, धेरैजसो मानिसहरूले यो निन्दोचर्चो सुनेपछि, के तँलाई यो काममा प्रगति गर्न सजिलो हुन्छ? (अहँ, यो सजिलो हुनेछैन।) के तँप्रति मानिसहरूको मनोवृत्ति पहिलेको भन्दा फरक हुनेछ? (हुनेछ।) तिनीहरूले के-कस्ता कुराहरू गर्नेछन्? “यो आइमाईले सामान्य जीवन बिताउन जोड लगाउँदिन। उसले धर्ममा विश्वास गरेर के गर्दै छे?” र “किन मानिसहरू धर्ममा विश्वास गर्छन्? हरुवाहरूले मात्र धर्ममा विश्वास गर्छन्! त्यो त आइमाईले गर्ने कुरा हो, पुरुषार्थी र बहादुर पुरुषले त आफनो करियरलाई ध्यान दिनुपर्छ!” के कसैले यी कुरा भनेको छ? (छ।) यी कुराहरू कहाँबाट आउँछन्? तैँले परमेश्वरमा विश्वास गर्नुसँग तिनीहरूलाई केको खसखसी? मानिसहरू आफूले चाहेको कुरा विश्वास गर्न स्वतन्त्र छन् र अरूले हस्तक्षेप गर्ने कुनै अधिकार छैन। अनि, कसरी तिनीहरूले तँबारे कुरा गर्न सकेको? तैँले परमेश्वरमा विश्वास गर्न थालेपछि किन तिनीहरूले तँलाई जथाभाबी आलोचना गरेको? तिनीहरूले गर्ने टीकाटिप्पणीको सन्दर्भ ढाँचा केही हदसम्म परम्परागत संस्कृतिको विचार र दृष्टिकोण अनि विश्वासप्रतिको राष्ट्रिय सरकारको मनोवृत्तिमा आधारित हुन्छ। बाहिरी तवरमा तिनीहरूले तँबारे कुरा गरिरहेको भए पनि, वास्तवमा तँलाई जथाभाबी अलोचना गरिरहेका, तेरो खोइरो खनिरहेका र तँलाई मनपरी निन्दा गरिरहेका हुन्छन्। यी जुनसुकै अवस्था भए पनि, मानिसहरूको टीकाटिप्पणी र निन्दा, साथै तेरो विश्वासप्रतिको तिनीहरूको दृष्टिकोण र मनोवृत्तिको आधार धेरै हदसम्म परम्परागत संस्कृति र नास्तिकवादी विचारधाराद्वारा प्रभावित भएको हुन्छ। अनि, मानिसहरूलाई कसरी स्त्री र कसरी पुरुष बन्ने भनेर सिकाउनुबाहेक, परम्परागत संस्कृतिको सारगत विचार के हो? त्यो स्वर्ग र परमेश्वर हुँदैन भन्ने हो। अर्को शब्दमा भन्नुपर्दा, यो नास्तिकवादी विचार र दृष्टिकोण हो। तसर्थ, ती मानिसहरूले विश्वासमा भएका मानिसहरूलाई, विशेष गरी साँचो परमेश्वरमा विश्वास गर्नेहरूलाई इन्कार गर्छन्। यदि तँ अन्धविश्वासी क्रियाकलापमा संलग्न हुन्छस्, कुनै पन्थमा जान्छस् वा कुनै धार्मिक क्रियाकलापमा संलग्न हुन्छस् भने, तिनीहरूले तँलाई अनादर गर्न सक्छन्। यदि तँ अन्धविश्वासी छस् भने पनि अझै तिनीहरूले तँसँग सरसङ्गत गर्न सक्छन्, तर तैँले परमेश्वरमा विश्वास गर्न थाल्नेबित्तिकै र उहाँको वचन दैनिक पढ्न, सुसमाचार सुनाउन, कर्तव्य निर्वाह गर्न र परमेश्वरलाई पछ्याउन थाल्नेबित्तिकै, तिनीहरू तँसँग नमिल्ने बन्नेछन्। तिनीहरू तँसँग नमिल्ने बन्नुको कारण के हो? ठ्याक्कै भन्ने हो भने, एउटा पक्षचाहिँ तिनीहरू गैरविश्वासी हुनु अनि तिनीहरू सबैले शैतानलाई पछ्याउनु र तिनीहरू शैतानको स्वामित्वका हुनु हो; अर्को पक्षचाहिँ तिनीहरूले परिस्थितिलाई परम्परागत संस्कृतिको विचार र दृष्टिकोण अनि ठूलो रातो अजिङ्गरको नीति र नियमअनुसार हेर्नु हो—यी वस्तुपरक तथ्यहरू हुन्। जबजब तिनीहरूले परम्परागत संस्कृतिको विचारसँग मेल नखाने मानिस, घटना र परिस्थिति देख्छन्, र जबजब तिनीहरूले विश्वासीहरू राज्यद्वारा हुने दमनको सिकार बनेका र पक्राउ परेका देख्छन्, तबतब तिनीहरूले उनीहरूलाई घृणा गर्छन्, जथाभाबी आलोचना, निन्दा र दोषारोपण गर्छन्, अनि परमेश्वरमा विश्वास गर्नेहरूको निगरानी र रिपोर्ट गर्न सरकारसँग सहकार्य गर्छन्। तिनीहरूले यसो गर्नुको आधार के हो? त्यो आधार मुख्यतः परम्परागत संस्कृति, नास्तिक विचारधारा र ठूलो रातो अजिङ्गरको दुष्ट नीति हो। उदाहरणको लागि, तिनीहरू परमेश्वरमा विश्वास गर्ने मानिसहरूबारे यस्तो टीकाटिप्पणी गर्छन्: “यो आइमाईले सामान्य जीवन बिताउन जोड लगाउँदिन। उसले चारचौरास डुलेर के गर्दे छे?” र “यो पुरुषले उचित करियर पछ्याउँदैन। उसले धर्ममा विश्वास गरेर के गर्दै छ? उचित पुरुषसँग दूरगामी महत्त्वाकाङ्क्षाहरू हुन्छन्। पुरुषार्थी र बहादुर पुरुषले आफ्नो करियरमा ध्यान केन्द्रित गर्नुपर्छ!” यसबारे सोच्, के यी सबै थोत्रा कथनहरू स्पष्टतः परम्परागत संस्कृतिबाट आएका होइनन् र? (हो।) ती सबै परम्परागत संस्कृतिबाट आएका हुन्। यी थोत्रा र सांसारिक मानिसहरूले कुनै विश्वास पछ्याउँदैनन्, केवल खानपिन र देहगत सुख पछ्याउँछन्। तिनीहरूको मन दुष्ट प्रचलनहरूले भरिएको मात्र होइन, परम्परागत संस्कृतिका यी कुराद्वारा गहन रूपमा बाँधिएको र सीमित पारिएको पनि छ, जसको प्रभावमा तिनीहरू थाहै नपाई जिइरहेका छन्, र त्यसकारण तिनीहरूले कुनै व्यक्ति र कुनै कुराप्रति व्यवहार गर्दा यी दृष्टिकोणहरू अपनाउनु स्वभाविकै हो। यो त आधुनिक समाजको जुनसुकै कुनामा हुन सक्ने कुरा हो र यो निकै सामान्य छ। शैतानद्वारा नियन्त्रित संसारमा अनि दुष्टता र व्याभिचारको युगमा परिस्थिति यस्तै हुन्छ।
नैतिक आचरणसम्बन्धी भनाइहरूले मानिसहरूमा गलत अवधारणा र दृष्टिकोण हालिदिने मात्र होइन, तिनीहरूलाई विशेष प्रसङ्ग र परिस्थितिमा केही चरम विचार र व्यवहार अपनाउन पनि उक्साउने र भड्काउने गर्छन्। उदाहरणको लागि, पहिले उल्लेख गरिएको, “साथीको लागि गोली खान तयार छु” भन्ने भनाइ साथीहरूसँग व्यवहार गर्ने सन्दर्भमा शैतानले मानिसहरूको नैतिक आचरण नियन्त्रण गर्ने बहानामा अघि सारेको एकप्रकारको मापदण्ड हो। स्पष्टतः नैतिक आचरणको यो पक्षसम्बन्धी भनाइहरूको आशय मानिसहरूलाई साथीसँग व्यवहार गर्दा तर्कहीन र बेमनासिब विचार र दृष्टिकोण राख्न लगाउनु हो, अनि तिनीहरूलाई साथीको लागि आफ्नो जीवन लापरवाहीसाथ त्याग्नसमेत प्रोत्साहित गर्नु हो। यो त शैतानले नैतिक आचरणको सन्दर्भमा मानवजातिमाथि लाद्ने अचाक्ली र चरम मापदण्ड हो। वास्तवमा, नैतिक आचरणसम्बन्धी अरू पनि केही भनाइहरू छन्, जुन “साथीको लागि गोली खान तयार छु” भन्ने भनाइजस्तै छन्, र जसले उही शैलीमा मानिसहरूलाई चरम व्यवहारहरू अपनाउने मापदण्ड दिन्छन्। यी सबै अमानवीय र अविवेकी भनाइहरू हुन्। मानिसहरूमा परम्परागत संस्कृतिको विचार र दृष्टिकोण हालिदिँदा, त्यससँगै शैतानले मानिसहरूलाई यी अविवेकी विचार र अमानवीय भनाइहरू पालन गर्न लगाउँछ, अनि तिनीहरूलाई यी विचार र अभ्यासहरूमा कठोरतासाथ अडिग रहन पनि लगाउँछ। यो त मानवजातिलाई कठपुतली बनाउनु र बरबाद गर्नुसरह हो! ती भनाइहरू के-के हुन्? उदाहरणको लागि, यी दुई “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” र “रेसम कीराले बाँचुन्जेल धागो बुन्छ, मैनबत्तीले आफू जलेर उज्यालो दिन्छ” भन्ने भनाइले मानिसहरूलाई “साथीको लागि गोली खान तयार छु” भन्ने भनाइले भन्दा अझ स्पष्ट तरिकामा जीवनलाई प्यार नगर्नू बरु यसरी खर्चिनू भनेर बताउँछन्। मानिसहरूले आफ्नो जीवन त्याग गर्नुपर्दा, जीवनलाई त्यति धेरै प्यार गर्नु हुँदैन, बरु त्यसको साटो “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” र “रेसम कीराले बाँचुन्जेल धागो बुन्छ, मैनबत्तीले आफू जलेर उज्यालो दिन्छ” भन्ने भनाइहरू पालन गर्नुपर्छ। लगभग तिमीहरू सबैले नैतिक आचरणसम्ब्धी यी दुई भनाइहरूको शाब्दिक अर्थ बुझ्छौ, तर वास्तवमा तिनले के-कस्ता घोषणा र उक्साहटहरू जारी गर्दै छन्? तैँले कसको लागि “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ”? कसको लागि “रेसम कीराले बाँचुन्जेल धागो बुन्छ, मैनबत्तीले आफू जलेर उज्यालो दिन्छ”? मानिसहरूले आफैलाई प्रश्न सोध्नु र आत्मचिन्तन गर्नुपर्छ: के यी भनाइहरूले बताएअनुसार गर्नु सार्थक हुन्छ त? यस्ता भनाइहरूले प्रथमतः तेरो दिमाग बहकाउँछन् र भावशून्य बनाउँछन्, तेरो परिकल्पनामा बाधा पुऱ्याउँछन्, त्यसपछि तेरो मानव अधिकार खोस्छन्, तँलाई गलत दिशामा डोऱ्याउँछन्, तँलाई गलत व्याख्या र दृष्टिकोण दिन्छन् अनि त्यसपछि तँलाई यो देश, समाज र राष्ट्र वा करियर वा प्रेमको खातिर आफ्नो जीवन त्याग्न बाध्य पार्छन्। यसरी मानिसहरूले अनजानमै, अन्योल र स्तब्ध हालतमा आफ्नो जीवन शैतानलाई दिन्छन्, र अझ भन्ने हो भने, तिनीहरू स्वेच्छाले र गुनासो वा अफसोसबिना नै त्यसो गर्छन्। तिनीहरूले ज्यान दिने क्षणमा मात्रै सबै कुरा बुझ्छन्, अनि आफूले यो सब निरर्थक कारणको लागि गरिरहेको रहेछु भनी ठगिएको महसुस गर्छन्, तर यतिन्जेलसम्ममा एकदमै ढिलो भइसकेको हुन्छ, अनि अफसोस गर्ने कुनै समय हुँदैन। त्यसरी, तिनीहरू आफ्नो जीवन शैतानको बहकाउ, धोका, विनाश, बरबादी र कुलिचिमिल्चीमा परेर जिउँछन्, अनि अन्त्यमा तिनीहरूसँग भएको सबैभन्दा बहुमूल्य कुरा अर्थात् जीवन पनि खोसिन्छ। यो मानवजातिले परम्परागत संस्कृतिको नैतिक आचरणसम्बन्धी भनाइहरूको शिक्षा पाउनुको परिणाम हो, अनि यसबाट शैतानको सत्ताअन्तर्गत जिउने, र त्यसको बहकाउ र छलमा पर्नेहरूलाई कस्तो दुर्भाग्य आइपर्छ भनेर पूर्ण रूपले प्रमाणित हुन्छ। मानवजातिसँग व्यवहार गर्न शैतानले प्रयोग गर्ने विभिन्न चालहरूलाई व्याख्या गर्ने के-कस्ता अभिव्यक्तिहरू छन्? सुरुमा त “भावशून्य पार्नु,” “बहकाउनु,” अनि अरू के छन्? मलाई केही बता। (मूर्ख बनाउनु, बरबाद पार्नु, कुल्चिमिल्ची पार्नु, तहसनहस पार्नु।) साथै, “उक्साउनु,” “ज्यान माग्नु,” र अन्त्यमा “मानिसहरूसँग खेल्नु र निल्नु” पनि छन्। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउनुको परिणाम यही हो। मानिसहरू शैतानको सत्ताअन्तर्गत र शैतानी स्वभावअनुसार जिउँछन्। यदि परमेश्वरले मानिसहरूलाई मुक्ति दिन सत्यता व्यक्त नगर्नुभएको भए अनि न्याय र सजायको कार्य नगर्नुभएको भए, के सबै मानवजाति शैतानद्वारा ध्वस्त पारिने, निलिने र नष्ट हुनेथिएनन् र?
मानवजातिले परम्परागत संस्कृतिमा के-कस्ता कुराहरू घोषित गर्छन्? “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइको अर्थ के हो? यो भनाइको मुख्य मापदण्ड के हो भने, मानिसहरूले कामकुराहरू गर्दा, तिनीहरू सच्चा र लगनशील हुनुपर्छ, तनमन लगाउनुपर्छ, अनि मरुन्जेल र सक्दो मेहनत गर्नुपर्छ। वास्तवमा मानिसहरूले यसो गरेर कसको सेवा गरिरहेका हुन्छन्? पक्कै पनि समाज, जन्मभूमि र राष्ट्रको सेवा गरिरहेका हुन्छन्। अनि, कसले यो समाज, यो जन्मभूमि र यो राष्ट्रमाथि नियन्त्रण जमाउँछ? निस्सन्देह नै, शैतान र दियाबलस राजाहरूले। त्यसोभए, शैतान र दियाबलस राजाहरूले मानिसहरूलाई बहकाउन परम्परागत संस्कृति प्रयोग गरेर हासिल गर्न चाहेको उद्देश्यचाहिँ के हो? एउटा त देशलाई शक्तिशाली र राष्ट्रलाई समृद्ध बनाउनु हो, अनि अर्कोचाहिँ मानिसहरूलाई आफ्ना पुर्खाहरूको सम्मान गर्न र आउने पुस्ताहरूमा आफ्नो सम्झना राख्न लगाउनु हो। त्यस तरिकाले, मानिसहरूलाई यी कुराहरू गर्नुभन्दा ठूलो सम्मान अरू हुँदैन भन्ने लाग्नेछ र तिनीहरू दियाबलस राजाहरूप्रति कृतज्ञ हुनेछन्, अनि राष्ट्र, समाज र मातृभूमिको लागि आफ्नो जीवन दिन इच्छुक हुनेछन्। वास्तवमा, तिनीहरू सबैले केवल शैतान र दियाबलस राजाहरूको सेवा गरिरहेका हुन्छन्, अनि शैतान र दियाबलस राजाहरूको प्रमुख पदको सेवा गर्दै तिनीहरूकै लागि आफ्नो मूल्यवान् जीवन त्यागिरहेका हुन्छन्। यदि परम्परागत संस्कृतिका भनाइहरूले मानिसहरूलाई आफ्नो सारा हृदय, मन र शक्तिले सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य पूरा गर्नुपर्छ र मानव स्वरूपमा जिउनुपर्छ भनेर बताउनुको साटो देशको खातिर, दियाबलस राजाहरूको निम्ति वा अन्य उद्देश्यको लागि मर्नुपर्छ भनेर बताउँछन् भने, ती भनाइहरूले मानिसहरूलाई बहकाइरहेका छन्। यसो हेर्दा, तिनले सानदार र प्रभावशाली शब्दहरू प्रयोग गरेर मानिसहरूलाई देश र राष्ट्रको लागि आफ्नो भूमिका निभाउनुपर्छ भनेर बताएजस्तो देखिन्छ, तर वास्तवमा तिनले मानिहरूलाई शैतान र दियाबलस राजाहरूको प्रमुख पदको सेवा गर्नको लागि जीवनभरको प्रयत्न समर्पण गर्न र आफ्नो जीवनसमेत बलिदान दिन दबाब दिन्छन्। के यो मानिसहरूलाई बहकाउनु, मूर्ख बनाउनु र हानि गर्नु होइन र? परम्परागत संस्कृतिद्वारा अघि सारिएका विभिन्न भनाइहरूले मानिसहरू वास्तविक जीवनमा कसरी सामान्य मानवताअनुसार जिउनुपर्छ भनेर भन्दैनन्, न त तिनीहरूले आफ्नो जिम्मेवारी र कर्तव्य कसरी पूरा गर्नुपर्छ भनेर नै भन्छन्, बरु मानिसहरूले समग्र समाजको ढाँचाभित्र, अर्थात् शैतानको सत्ताअन्तर्गत कस्तो प्रकारको नैतिक आचरण देखाउनुपर्छ भनेर भन्छन्। त्यसैगरी, नैतिक आचरणसम्बन्धी “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइ पनि मानवजातिलाई समाज, राष्ट्र र विशेषतः जन्मभूमिप्रति बफादार हुन बाध्य पार्न अघि सारिएको सिद्धान्त हो। यस्तो सिद्धान्तले मानिसहरू, राष्ट्र, जन्मभूमि र समाजको सेवामा लागिरहने र तिनीहरूले मरुन्जेल सक्दो मेहनत गर्ने माग गर्छ। परिश्रमी र मरुन्जेल तनमन लगाउनेहरूलाई मात्र आदर्शवान्, सद्गुणी अनि भावी पुस्ताद्वारा श्रद्धा र स्मरण गरिनयोग्य ठानिन्छ। यो भनाइको “काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भागको अर्थ परिश्रमी हुनु र तनमन लगाउनु हो। के यो वाक्यांशमा कुनै समस्या छ? यदि हामीले यसलाई मानव नैसर्गिकताको दृष्टिकोण र मानिसहरूले हासिल गर्न सक्ने कुराहरूको दायराबाट हेऱ्यौँ भने, यो वाक्यांशमा ठूला समस्याहरू छैनन्। यसले मानिसहरूलाई कामकुरा गर्दा वा कुनै उद्देश्य पूरा गर्दा लगनशील बन्न र तनमन लगाउन मात्र लगाउँछ। मूलतः यो मनोवृत्तिमा कुनै गल्ती छैन, जुन तुलनात्मक रूपमा सामान्य मानवताको मानकअनुरूप छ, अनि मानिसहरूले कामकुरा गर्दा यस्तो मनोवृत्ति नै राख्नुपर्छ। यो तुलनात्मक रूपमा सकारात्मक कुरा हो। भन्नुको अर्थ, कुनै काम गर्दा, तँ परिश्रमी हुनुपर्छ, तैँले तनमन दिनुपर्छ, आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नुपर्छ अनि आफ्नो विवेकअनुसार जिउनुपर्छ। सामान्य मानवता, विवेक र समझ भएको व्यक्तिको लागि योभन्दा सामान्य कुरा अरू कुनै छैन, र यो अत्यधिक माग होइन। तर अत्यधिक भनेको के हो? यो त मानिसहरू “मरुन्जेल” रोकिन नहुने कुरा हो। यो “मरुन्जेल” भन्ने शब्दमा समस्या छ, अनि त्यो के हो भने, तैँले परिश्रमी हुने र तनमन दिनुपर्ने मात्र होइन, तेरो जीवनसमेत अर्पित गर्नुपर्छ, र तँ मरिस् भने मात्र रोकिन सक्छस्, नत्र सक्दैनस्। यसको अर्थ, तैँले तेरो जीवन र तेरो जीवनभरको प्रयत्न अर्पित गर्नुपर्छ। तैँले स्वार्थी मनसाय राख्नु मिल्दैन, अनि बाँचुन्जेल लत्तो छोड्नु पनि हुँदैन। यदि तैँले मरुन्जेल दृढ रहनुको सट्टा बीचैमा लत्तो छोडिस् भने, यसलाई असल नैतिक आचरण मानिँदैन। परम्परागत संस्कृतिमा मानिसहरूको नैतिक आचरण मापन गर्ने मानक यही हो। यदि कुनै काम गर्दा, कुनै व्यक्ति पहिले नै परिश्रमी रहेछ र उसले आफूले हासिल गर्न सक्ने दायराभित्र रहेर त्यो काम गर्न इच्छुक भइन्जेल आफ्नो सर्वस्व दियो, तर मरुन्जेल यो गरिरहेन बरु बीचैमा लत्तो छोडेर अर्को उद्देश्य लिने वा विश्राम गर्ने र पछिका दिनहरूमा आफ्नो ख्याल गर्ने छनौट गऱ्यो भने, यो “मरुन्जेल काममै लागिरहनु र सक्दो मेहनत गर्नु” होइन, त्यसैले यो व्यक्तिमा असल नैतिक आचरण हुँदैन। त्यो मानकको रूपमा कस्तो छ? त्यो सही छ कि गलत? (गलत।) स्पष्टतः यो मानक सामान्य मानवताको नैसर्गिक प्रवृत्ति र सामान्य मानिसहरू हकदार हुने अधिकारहरूअनुरूप छैन। यसले मानिसहरूलाई परिश्रमी हुन, आफ्नो सर्वस्व दिन अनि थप केही नगर्न मात्र लगाउँदैन, बरु मानिसहरूलाई नमरुन्जेलसम्मै प्रयास गरिरहन र नरोकिनसमेत बाध्य पार्छ—यसले मानिसहरूमा लादेको मापदण्ड यही हो। तँ जति नै परिश्रमी भए पनि वा तैँले कुनै काम गर्दा आफ्नो सर्वस्व दिन जति नै लागिपरे पनि, यदि तैँले निरन्तरता दिन मन नलागेर बीचैमा लत्तो छोडिस् भने, तँ असल नैतिक आचरण भएको व्यक्ति हुँदैनस्; जबकि, यदि तैँले औसत स्तरको लगनशीलता देखाउँछस् र आफ्नो सर्वस्व दिँदैनस्, तर मरुन्जेल प्रयास गरिरहन्छस् भने, तँ असल नैतिक आचरण भएको व्यक्ति हुन्छस्। के परम्परागत संस्कृतिमा मानिसहरूको नैतिक आचरण मापन गर्ने मानक यही होइन र? (हो।) वास्तवमा, यही नै परम्परागत संस्कृतिमा मानिसहरूको नैतिक आचरण मापन गर्ने मानक हो। यसलाई यसरी हेर्दा, के “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने मापदण्डले सामान्य मानवताका आवश्यकताहरू पूरा गर्छ? के यो मानिसहरूको सन्दर्भमा उचित र मानवीय छ? (छैन, यो अनुचित र अमानवीय छ।) किन तँ त्यसो भन्दै छस्? (यो सामान्य मानवताको दायराभित्र अघि सारिएको मापदण्ड होइन्, यो त यस्तो कुरा हो जसलाई मानिसहरूले रोज्न चाहँदैनन्, अनि यो कुरा विवेक र समझविपरीत पनि छ।) यो मानकको मुख्य अर्थ के हो भने, यसले मानिसहरूलाई आफ्नो व्यक्तिगत रोजाइ अनि व्यक्तिगत चाहना र आदर्शहरू त्याग्न लगाउँछ। यदि तेरो क्षमता र प्रतिभालाई समाज, मावजाति, राष्ट्र, जन्मभूमि र शासकहरूको सेवामा प्रयोग गर्न सकिन्छ भने, तैँले बिनासर्त त्यो गर्नुपर्छ, र तँसँग अरू विकल्प हुँदैन। तैँले मरुन्जेल आफ्नो जीवन समाज, राष्ट्र, जन्मभूमि र शासकहरूसमेतलाई दिनुपर्छ। तैँले यो जीवनमा पूरा गर्नैपर्ने उद्देश्यको अर्को विकल्प हुन सक्दैन—तँसँग योबाहेक अरू कुनै विकल्प हुनु हुँदैन। तँ केवल राष्ट्र, मानवजाति, समाज, जन्मभूमि र शासकहरूसमेतको खातिर मात्र जिउन सक्छस्। तैँले तिनीहरूको सेवा मात्र गर्न सक्छस्, अनि तँसँग कुनै व्यक्तिगत आकाङ्क्षा हुनु हुँदैन, झन् स्वार्थी मनसाय हुनु हुने त कुरै नगरौँ। तैँले आफ्नो युवावस्था त्याग्नुपर्ने र आफ्नो ऊर्जा समर्पित गर्नुपर्ने मात्र होइन, आफ्नो जीवन पनि त्याग्नुपर्छ, र त्यो मात्र तँ असल नैतिक आचरणवाला व्यक्ति बन्न सक्ने तरिका हो। मानवजातिले यस्तो असल नैतिक आचरणलाई के भन्छन्? महान् धार्मिकता। अनि, “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइलाई व्यक्त गर्ने अर्को तरिका के हो? प्रायः सुनिँदै आएको “महान् साहसी नायकहरूले आफ्नो देश र जनताप्रति आफ्नो भूमिका निर्वाह गर्छन्” भन्ने भनाइ प्रयोग गर्दा के होला? यसले तथाकथित महान् साहसी नायकहरूले आफ्नो देश र जनताप्रति आफ्नो भूमिका निभाउनुपर्छ भनेर भन्छ। के तिनीहरूले आफ्नो परिवार, आमाबुबा, पत्नी र छोराछोरी, अनि दाजुभाइ-दिदीबहिनीको यस्तो भूमिका निभाउनुपर्छ? के तिनीहरूले व्यक्तिको रूपमा आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गर्न यस्तो गर्नुपर्छ? होइन, बरु तिनीहरू देश र राष्ट्रपति बफादार र समर्पित हुनुपर्छ। यो “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइलाई ठ्याक्कै अर्को तरिकामा भनिएको कुरा हो। “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने मापदण्डले बताउने परिश्रमी हुनु र आफ्नो सर्वस्व दिनु भन्ने कुरा मानिसहरूले स्विकार्न सक्ने भनाइ मात्र हो, अनि त्यो मानिसहरूलाई स्वेच्छाले “आफू मरुन्जेल सक्दो मेहनत” गर्न प्रेरित गर्नलाई प्रयोग गरिन्छ। यो जीवनभरिको समर्पण पाउने पात्र के हो? (देश र राष्ट्र।) अनि, कसले देश र राष्ट्रको प्रतिनिधित्व गर्छ? (शासकहरूले।) सही हो, शासकहरूले नै हो। कुनै एक व्यक्ति वा स्वतन्त्र समूहले देश र राष्ट्रको प्रतिनिधित्व गर्न सक्दैन। शासकहरूलाई मात्र देश र राष्ट्रका प्रवक्ता भन्न सकिन्छ। यसो हेर्दा त, “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइले मानिसहरूलाई तिनीहरूले परिश्रमी भएर देश, राष्ट्र र शासकहरूको लागि आफ्नो भूमिका निर्वाह गर्नू, र मरुन्जेल आफ्नो सर्वस्व दिनू भनेर भन्दैन। तैपनि, वास्तविकता के हो भने, यसले मानिसहरूलाई मरुन्जेल शासकहरू र दियाबलस राजाहरूप्रति आफ्नो जीवन समर्पण गर्न बाध्यै तुल्याउँछ। यो भनाइ समाजको वा मानवजातिमाझको कुनै नगण्य व्यक्तिप्रति मात्र लक्षित छैन; यो त समाज, मानवजाति, जन्मभूमि, राष्ट्र र विशेष गरी शासकहरूप्रति ठूलो योगदान दिन सक्ने हरेक मानिसप्रति लक्षित छ। कुनै पनि कुलमा, कुनै पनि युगमा, अनि कुनै पनि राष्ट्रमा विशेष योग्यता, क्षमता र प्रतिभा भएका कतिपय मानिसहरू सधैँ हुन्छन्, र तिनीहरूलाई समाजले “आफ्नो सम्पत्ति” बनाएको र शासकहरूले शोषण र सम्मान गरेको हुन्छ। तिनीहरूमा विशेष प्रतिभा र क्षमता हुने भएकोले, अनि तिनीहरूले आफ्नो प्रतिभा र शक्तिलाई समाज, राष्ट्र, जन्मभूमि र शासकहरूको क्षेत्रधिकारको लागि सदुपयोग गर्न सक्ने भएकोले, यी शासकहरूको नजरमा तिनीहरू प्रायः मानवजातिमाथि अझ प्रभावकारी ढङ्गले शासन गर्न र समाजलाई अझ स्थिर बनाउन र जनभावनालाई अझ शान्त पार्न मदतगार हुन सक्ने व्यक्ति ठानिन्छन्। अक्सर यस्ता व्यक्तिलाई शासकहरूले शोषण गर्छन्, र उनीहरूले यस्ता मानिसहरूमा “नीच स्वार्थ” नहोस्, “उच्च स्वार्थ” मात्र होस्, अनि तिनीहरू आफ्नो साहसी मनलाई सदुपयोग गरेर हृदयमा केवल देश र जनता मात्र राख्ने महान् साहसी नायकहरू बनून्, अनि तिनीहरूले निरन्तर देश र मानिसहरूबारे चिन्ता लिन सकून्, यहाँसम्म कि तिनीहरू मरुन्जेल काममै लागिरहन र सक्दो मेहनत गर्न सकून् भन्ने आशा गर्छन्। यदि तिनीहरूले साँच्चै यसो गर्न सक्छन भने, यदि तिनीहरूले परिश्रमी भई आफ्नो सारा शक्तिले देश र मानिसहरूको सेवा गर्न सक्छन् र तिनीहरू मरुन्जेलसम्मै यसो गर्न इच्छुकसमेत हुन्छन् भने, निस्सन्देह नै तिनीहरू केही शासकका योग्य सहयोगी बन्न सक्छन् र तिनीहरूले निश्चित युगको अवधिमा राष्ट्र वा समाज वा सम्पूर्ण मानवजातिको गौरवको रूपमा समेत सम्मान पाउँछन्। जब कुनै निश्चित युगको अवधिमा समाजमा मानिसहरूको यस्तो समूह हुन्छ, वा महान् साहसी नायकहरूको रूपमा आदर गरिने अनि समाज, मानवजाति, जन्मभूमि, राष्ट्र र शासकको सेवा गर्न मरुन्जेल सक्दो मेहनत गर्न सक्ने केही मुठ्ठीभर धर्मी निष्ठावान् व्यक्तिहरू हुन्छन्, तब त्यस्तो युगलाई मानवजातिद्वारा इतिहासको गौरवमय युग मान्ने गरिन्छ।
चिनियाँ इतिहासमा कति जना महान् साहसी नायकहरूले देश र जनताको सेवामा मरुन्जेल काममै लागिरहन, र सक्दो मेहनत गर्न सके? के तिमीहरू तिनीहरूमध्ये केहीको नाम बताउन सक्छौ? (क्यु युआन, झुगे लियाङ, युए फेइ, आदि।) चिनियाँ इतिहासमा प्रसिद्ध व्यक्तित्वहरू मुठ्ठीभर मात्र छन्, जसले देश र जनताबारे चिन्ता लिन, देश र राष्ट्रको सेवा गर्न काममै लागिरहन, अनि जनताहरू बाँचिरहन सक्ने कुरा सुनिश्चित गर्न र मरुन्जेल सक्दो मेहनत गर्न सकेका थिए। इतिहासको हरयुगमा, चीनभित्र र चीनबाहिर चाहे राजनैतिक क्षेत्रमा होस् वा जन साधारणमाझ “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्नेजस्ता परम्परागत संस्कृतिका भनाइहरू पालन गर्ने मानिसहरू हुन्छन्, चाहे तिनीहरू राजनीतिज्ञ होऊन् वा घुमन्ते शूरवीरहरू। यस्ता मानिसहरू नियमनिष्ठ भई “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने मापदण्ड पालन गर्न सक्छन् अनि देश र जनताको सेवा गर्नुपर्छ, र देश र जनताहरूबारे चिन्ता लिनुपर्छ भन्ने यो विचारमा कडाइसाथ अडिग रहिरहन पनि सक्छन्। तिनीहरू नैतिक आचरणसम्बन्धी यस्ता भनाइहरूमा अडिग रहन सक्छन् र आफूलाई कडाइसाथ यी कुराहरू गर्न लगाउँछन्। तिनीहरू यो कुरा अवश्यै आफ्नो ख्यातिका लागि गर्छन्, ताकि मानिसहरूले तिनीहरूलाई भविष्यमा स्मरण गरून्। त्यो एउटा पक्ष हो। बताउनैपर्ने अर्को पक्ष के हो भने, यी व्यवहारहरू यस्ता मानिसहरू परम्परागत संस्कृतिका विचारहरूद्वारा प्रशिक्षित र प्रभावित भएको परिणामस्वरूप उत्पन्न हुन्छन्। त्यसोभए, के परम्परागत संस्कृतिले मानिसहरूमाथि लाद्ने यी मापदण्डहरू मानवताको दृष्टिकोणबाट उचित छन्? (छैनन्।) किन ती उचित छैनन्? कुनै व्यक्तिमा जति नै क्षमता भए पनि, वा ऊ जति नै योग्य, प्रतिभाशाली वा ज्ञानवान् भए पनि, उसको पहिचान र नैसर्गिकता मानवजातिकै हुन्छन्, अनि ऊ यो दायरादेखि बाहिर जानु असम्भव छ। ऊ अरूभन्दा अलि धेरै प्रतिभाशाली र उसमा अलि धेरै क्षमता मात्र हुन्छ, अनि कामकुरालाई हेर्ने तिनीहरूको दृष्टिकोणको सन्दर्भमा ऊ औसत व्यक्तिभन्दा अलि माथि हुन्छ, अनि उसमा कामकुरा गर्ने अलि धेरै विविध र लचिला तरिकाहरू हुन्छन्, ऊ अलि धेरै दक्ष हुन्छ र उसले अलि धेरै राम्रो परिणाम हासिल गर्छ—त्यति मात्र त हो। तर ऊ जति नै दक्ष भए पनि वा उसको परिणाम जति नै राम्रो भए पनि, उसको पहिचान र हैसियतको हिसाबमा, ऊ सामान्य मानिसभन्दा अरू केही हुँदैन। किन म ऊ अझै पनि सामान्य मानिस नै हो भनेर भन्छु त? किनभने देहमा जिउने व्यक्तिको दिमाग जति नै तीक्ष्ण भए पनि, वा ऊ जति नै प्रतिभाशाली र उच्च क्षमतावान् भए पनि, उसले सधैँ सृष्टि गरिएको मानवजातिको जीवितता नियमहरू मात्र पालन गर्छ, र योभन्दा अरू केही होइन। उदाहरणको लागि, कुकुरलाई ले। त्यो जति नै अग्लो, होचो, मोटो वा दुब्लो भए पनि, वा त्यो जुनै प्रजातिको भए पनि, वा त्यो जति सालको भए पनि, अर्को कुकुरसँग त्यसको भेट हुनासाथ, त्यसले त्यो कुकुरको लिङ्ग, व्यक्तित्व र आफूप्रतिको मनोवृत्ति त्यसको गन्ध सुँघेर थाहा पाउँछ। सञ्चारको यो विधि भनेको कुकुरको जीवितता प्रवृत्ति हो, अनि यो कुकुर जीवित रहने एउटा नियम र विधान हो, जुन परमेश्वरद्वारा प्रदिपादित हुन्छ। मानिसहरू पनि त्यसै गरी परमेश्वरद्वारा प्रतिपादित नियमहरूभित्र बाँच्छन्। तँ जति नै तीक्ष्ण बुद्धिको वा ज्ञानवान् भए पनि, तँ जति नै उच्च क्षमतावान् वा प्रतिभाशाली भए पनि, तँ जति नै सक्षम भए पनि, वा तेरो प्रयत्न जति नै ठूलो भए पनि, तैँले दैनिक छदेखि आठ घण्टा सुत्नैपर्छ, र तीन छाक खाना खानैपर्छ। तैँले एक छाक छुटाइस् भने तँलाई भोक लाग्नेछ, अनि प्रशस्त पानी पिइनस् भने तिर्खा लाग्नेछ। तैँले स्वस्थ रहन नियमित कसरत पनि नगरी हुन्न। उमेर ढल्कँदै जाँदा, तेरो आँखाले धमिलो देख्नेछ र तँलाई हरप्रकारको रोगले च्याप्नेछ। यो त जन्म, बढ्यौली, रोग र मृत्युको सामान्य प्राकृतिक नियम हो, अनि यो परमेश्वरद्वारा निर्धारित हुन्छ। कसैले पनि यो नियम तोड्न सक्दैन, न त यसबाट उम्कन नै सक्छ। यसको आधारमा, तँ जति नै सक्षम भए पनि, र तँमा क्षमता र प्रतिभा भए नि नभए नि, तँ सामान्य व्यक्ति नै होस्। तैँले पखेटा लगाएर आकासमा उड्दै दुई फन्का लगाउन सके पनि, आखिर तँ पृथ्वीमै फर्केर दुई खुट्टाले हिँडडुल नगरी हुँदैन, अनि थकाइ लाग्दा विश्राम नगरी, भोक लाग्दा खानेकुरा नखाई र तिर्खा लाग्दा पानी नपिई हुँदैन। यो मानव नैसर्गिकता हो, र यो नैसर्गिकता परमेश्वरले तेरो लागि निर्धारित गर्नुभएको कुरा हो। तैँले यो कहिल्यै बदल्न सक्दैनस, न त यसबाट उम्कन नै सक्छस्। तेरो क्षमता जति नै धेरै भए पनि, तैँले यो नियम तोड्न सक्दैनस्, अनि तँ यो दायरादेखि बाहिर जान सक्दैनस्। त्यसैले, मानिसहरू जति नै सक्षम भए पनि, मान्छेको रूपमा तिनीहरूको पहिचान र हैसियत कहिल्यै परिवर्तन हुँदैन, न त सृष्टि गरिएको प्राणीको रूपमा तिनीहरूको पहिचान र हैसियत नै परिवर्तन हुन्छ। तैँले मानवजातिको लागि अलि विशिष्ट र उल्लेखनीय लाग्ने योगदान दिन सके पनि, तँ अझै पनि मानवजाति नै होस्, अनि तँलाई खतरा आइपर्दा, तँलाई अझै पनि डर र त्रास लाग्छ, तेरो गोडा काम्छ र जिउ लत्याकलुतुक हुन्छ। तँलाई किन यस्तो भएको होला? किनभने तँ मानव होस्। तँ मानव भएकैले, तँमा मानवजातिसँग हुनुपर्ने यी व्यवहारहरू हुन्छन्। यी प्रकृतिका नियम हुन्, र यी नियमबाट कोही पनि उम्कन सक्दैन। तैँले भर्खरै कैयौँ उल्लेखनीय योगदान दिएको छस् भन्दैमा निश्चय नै तँ महामानव वा असाधारण व्यक्ति बन्छस् वा सामान्य व्यक्ति हुन छोड्छस् भन्ने होइन। त्यो सब असम्भव छ। तसर्थ, तैँले देश र राष्ट्रको सेवा गर्ने काममै लागिरहन र मरुन्जेल सक्दो मेहनत गर्न सके पनि, तँ सामान्य मानवताको दायराभित्र जिउने भएकोले तैँले आफ्नो हृदयभित्र एकदमै ठूलो दबाब सहनुपर्नेछ! तैँले दिनैभरि नै देश र जनताहरूबारे चिन्ता लिनुपर्छ, अनि आफ्नो हृदयको आकारले नै संसारको आकार निर्धारित गर्छ भन्ने विश्वास गर्दै सम्पूर्ण जनसंख्या र देशको लागि हृदयमा ठाउँ दिनुपर्छ—तर खासमा के त्यस्तो हुन्छ र? (हुँदैन।) कुनै व्यक्ति बेग्लै तरिकाले सोचेर मात्र सामान्य मान्छेभन्दा फरक कहिल्यै बन्नेछैन, न त ऊ सामान्य मान्छेभन्दा फरक वा श्रेष्ठ नै बन्नेछ, न त ऊसँग विशेष योग्यता वा प्रतिभा छ भन्दैमा, वा उसले मानवजातिप्रति उल्लेखनीय योगदान दिएको छ भन्दैमा उसलाई सामान्य मानवताका नियम र जीवितताका नियमहरू उल्लङ्घन गर्न नै अनुमति दिइन्छ। तसर्थ, “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भनेर मानवजातिमा लादिएको यो मापदण्ड एकदमै अमानवीय छ। यदि कुनै व्यक्तिमा सामान्य मानिसहरूमा भन्दा धेरै प्रतिभा र विचार वा अझ राम्रो दूरदर्शिता वा निर्णय क्षमता भए पनि वा ऊ मामिलाहरू सम्हाल्नमा सामान्य मानिसहरूभन्दा राम्रो अनि मानिसहरूलाई हेर्न र बुझ्नमा सामान्य मानिसहरूभन्दा उत्तम छ भने पनि—वा ऊ सामान्य मानिसहरूभन्दा जति नै राम्रो भए पनि—ऊ देहमै जिउँछ र उसले सामान्य मानवताको जीवितताका नियम र विधानहरू नै पालन गर्नुपर्छ। उसले सामान्य मानवताको जीवितताका नियम र विधानहरू पालन गर्नैपर्ने भएकोले, के उसलाई मानवताअनुरूप नभएका अवास्तविक मापदण्डहरू दिनु अमानवीय होइन र? के यो एक हिसाबले उसको मानवता कुल्चिमिल्ची पार्नु होइन र? (हो।) कतिपय मानिसहरू भन्छन्: “स्वर्गले मलाई यी योग्यता र प्रतिभा दिएको छ, त्यसैले म असाधारण व्यक्ति हुँ, म सामान्य व्यक्ति होइन। मैले स्वर्गमुनिका—मानिस, राष्ट्र, जन्मभूमि र संसार—सबथोकलाई आफ्नो हृदयमा राख्नुपर्छ।” म तँलाई भन्छु, यी कुराहरू तेरो हृदयमा राख्नु भनेको शासकवर्ग र शैतानले तँमाथि लादेको थप भार लिनु हो, त्यसैले यसो गरेर तैँले आफूलाई अँधेरो मार्गमा धकेलिरहेको हुन्छस्। यदि तँ आफ्ना हृदयमा संसार, मानिस, राष्ट्र, जन्मभूमि अनि शासकहरूको आदर्श र चाहना राख्न चाहन्छस् भने, तँ चाँडै मर्नेछस्। तैँले यसरी यी कुराहरू आफ्नो हृदयमा राख्छस् भने, यो त जोखिम मोल्दै बारुदको बोरामाथि बस्नुजस्तै हो। यसो गर्नु एकदमै खतरनाक र पुरै अर्थहीन हुन्छ। जब तँ यी कुरा आफ्नो हृदयमा राख्छस्, तैँले आफैमाथि मापदण्ड थोपर्दै यस्तो सोच्छस्, “मैले मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ। मैले राष्ट्र र मानवजातिको महान् उद्देश्यमा योगदान दिनैपर्छ, र मैले मानवजातिको लागि ज्यान दिनैपर्छ।” यस्ता ठूल्ठूला महत्त्वाकाङ्क्षा राख्दा, यसले तँलाई अकाल र अप्राकृतिक मृत्यु वा पूर्ण बरबादीमा पुऱ्याउनेछ। यसबारे सोच्, संसारलाई आफ्नो हृदयमा राख्ने ती प्रसिद्ध ऐतिहासिक व्यक्तित्वहरू कति जनालाई खुसीको मृत्यु मिल्यो? तीमध्ये कतिले नदीमा हाम फालेर आत्महत्या गरे, कतिपयको ज्यान शासकहरूले लिए, कतिको टाउको काटियो, र कतिलाई घाँटी कसेर मारियो। के मानवजातिले संसारलाई आफ्नो हृदयमा राख्नु सम्भव छ? के जन्मभूमिका ठूल्ठूला उद्देश्यहरू, राष्ट्रको समृद्धि, देशको नियति र मानवजातिको भाग्य कुनै व्यक्तिले काँधमा उठाउन सक्ने वा हृदयमा राख्न सक्ने कुरा हुन्? यदि तैँले आफ्ना आमाबुबा र छोराछोरी, आफ्ना नजिकका मान्छे र प्रियजन, अनि तेरो आफ्नै जिम्मेवारी र स्वर्गले तँलाई सुम्पेको मिसनलाई आफ्नो हृदयमा ठाउँ दिन सक्छस् भने, तैँले पहिले नै एकदमै राम्रो गरिरहेको, र आफ्नो जिम्मेवारी पूरा गरिरहेको हुन्छस्। तैँले देश र जनताहरूबारे चिन्ता लिनुपर्दैन, अनि तँ महान् साहसी नायक पनि बन्नुपर्दैन। सधैँ आफ्नो हृदयमा संसार, राष्ट्र र आफ्नो जन्मभूमि राख्न चाहने ती मानिसहरू को हुन्? तिनीहरू सबै नै आफ्नो क्षमतालाई बढी ठान्ने अति महत्त्वाकाङ्क्षी मानिसहरू हुन्। के तेरो हृदय साँच्चै त्यति ठूलो छ त? के तँ अति महत्त्वाकाङ्क्षी भइरहेको छैनस् र? अनि वास्तवमा तेरो महत्त्वाकाङ्क्षा कहाँबाट आउँछ? यी कुरा आफ्नो हृदयमा राखिसकेपछि तैँले के गर्न सक्छस्? तैँले कसको नियति हेरफेर र नियन्त्रण गर्न सक्छस्? तैँले आफ्नै नियतिसमेत नियन्त्रण गर्न सक्दैनस्, र पनि आफ्नो हृदयमा संसार, राष्ट्र र मानवजाति राख्न चाहन्छस्। के यो शैतानको महत्त्वाकाङ्क्षा होइन र? त्यसकारण, आफूलाई योग्य मानिस ठान्नेहरूले “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने मापदण्डलाई नियमनिष्ठ भई पालन गर्नु भनेको बरबादीको मार्गमा हिँड्नु हो, त्यो मृत्यु खोज्नु हो! जो देश र जनताहरूबारे चिन्ता लिन, अनि जनता र जन्मभूमिको सेवा गर्ने काममै लागिरहन, र मरुन्जेल सक्दो मेहनत गर्न चाहन्छ, ऊ भयानक नियतितर्फ लम्किरहेको हुन्छ। के यी मानिसहरू प्रेमयोग्य हुन्छन्? (हुँदैनन्, तिनीहरू प्रेमयोग्य हुँदैनन्।) यी मानिसहरू प्रेमयोग्य नहुने मात्र होइन, तिनीहरू त अलि दयनीय, हाँसउठ्दा र वास्तवमै हदै मूर्खसमेत हुन्छन्!
तैँले व्यक्तिको रूपमा परिवारमा आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्नुपर्छ, कुनै समाज वा जातीय समूहमा उचितसँग आफ्नो भूमिका निभाउनु र जिम्मेवारी पूरा गर्नुपर्छ, समाजको नियम र विधिविधान पालन गर्नुपर्छ अनि विवेकी ढङ्गमा कार्य गर्नुपर्छ, ठूल्ठूला कुराहरू बोल्दै हिँड्नु हुँदैन। मानिसहरूले गर्न सक्ने र गर्नुपर्ने कुरा गर्नु—यही नै उचित कुरा हो। परिवार, समाज, देश र जनताहरूको सन्दर्भमा भन्नुपर्दा, तैँले मरुन्जेल काममै लागिरहनु र सक्दो मेहनत गरिहनु पर्दैन। तैँले केवल परमेश्वरको परिवारमा आफ्नो सारा हृदय, मन र शक्तिले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ, थप केही गर्नु पर्दैन। त्यसोभए, तैँले आफ्नो कर्तव्य कसरी राम्ररी निर्वाह गर्नुपर्छ? यसको लागि परमेश्वरको वचन पछ्याउँदै परमेश्वरले मापदण्ड दिनुभएअनुसार सत्यताका सिद्धान्तहरू पालन गरे पुग्छ। तैँले परमेश्वरको इच्छा, उहाँका चुनिएका मानिसहरू, उहाँको व्यवस्थापन योजना, उहाँको तीन चरणीय कार्य र मानवजातिलाई मुक्ति दिने उहाँको कामलाई दिनभरि नै आफ्नो हृदयमा राखिरहनु पर्दैन। यी कुराहरू तेरो हृदयमा राखिरहनु आवश्यक छैन। किन आवश्यक छैन? किनभने तँ सामान्य व्यक्ति, नगण्य मान्छे, अनि परमेश्वरको हातद्वारा सृष्टि गरिएको प्राणी होस्, र तैँले लिनुपर्ने अडान र उठाउनुपर्ने जिम्मेवारी भनेको आफ्नो कर्तव्य निष्ठासाथ राम्ररी निर्वाह गर्नु, परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरू स्विकार्नु, र परमेश्वरले योजनाबद्ध गर्नुहुने सबै कुरामा समर्पित हुनु हो, र त्यति नै पर्याप्त हुन्छ। के यो मापदण्ड अत्यधिक हो? (अहँ, यो अत्यधिक होइन।) के परमेश्वर तँलाई आफ्नो जीवन अर्पण गर् भनेर भन्नुहुन्छ? (भन्नुहुन्न।) परमेश्वर तँलाई आफ्नो जीवन अर्पण गर्न लगाउनुहुन्न, तर नैतिक आचरणसम्बन्धी यो भनाइले यस्तो गर्नू भन्छ, “तँमा सानोभन्दा सानो क्षमता, हृदय र साहसी मन छ भने पनि, तैँले अघि बढेर आफ्नो जन्मभूमि र राष्ट्रको सेवा गर्ने काममा लागिरहनुपर्छ। आफ्नो जीवन दिनुपर्छ, आफ्ना परिवार र आफन्तहरू छोड्नुपर्छ, र आफ्नो जिम्मेवारी त्याग्नुपर्छ। तैँले आफूलाई यो समाजको बीचमा, यो मानवजातिमाझ राख्नुपर्छ अनि राष्ट्रको ठूलो काम, देशलाई पुनर्जागृत गराउने ठूलो कार्य र मरुन्जेल सम्पूर्ण मानवजातिलाई मुक्ति दिने ठूलो कामको जिम्मा लिनुपर्छ।” के यो चरम मापदण्ड होइन र? (हो।) मानिसहरूले यस्ता चरम विचारहरू ग्रहण गरेपछि, आफूलाई उच्च ठान्छन्। खास गरी विशिष्ट प्रतिभा र विशेष गरी ठूल्ठूला महत्त्वाकाङ्क्षा र चाहना राख्ने केही मानिसहरूको सन्दर्भमा भन्नुपर्दा, तिनीहरू आफ्नो नाम इतिहासमा लेखाउन र आफूलाई आउने पुस्ताले सम्झिऊन भन्ने चाहन्छन्, अनि आफूले आफूलाई जीवनमा केही असल उद्देश्य पूरा गर्न जरुरी गराउँछन्, त्यसैले तिनीहरू परम्परागत संस्कृतिको दृष्टिकोणलाई विशेष मान र श्रद्धा गर्छन्। परम्परागत संस्कृतिले अघि सारेका “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” अनि “मृत्यु विजयभन्दा प्रबल हुन सक्छ, वा पराजयभन्दा हलुको हुन सक्छ” भन्ने भनाइहरूले भनेजस्तै यस्ता मानिसहरू मृत्युभन्दा प्रबल हुन सङ्कल्पित हुन्छन्। “मृत्यु विजयभन्दा प्रबल हुन सक्छ” भन्ने भनाइको अर्थ के हो? यसको अर्थ तुच्छ प्राप्तिको लागि मर्नु होइन, न त सामान्य व्यक्तिको जीवन जिउनु वा सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नु वा प्रकृतिको नियम पालन गर्नु नै हो। बरु, यो त मानवजातिको ठूलो कामको लागि, राष्ट्रको पुनर्जागृतिको लागि, देशको समृद्धिको लागि, समाजको विकासको लागि मर्नु र मानवजातिको मार्गलाई दिशा प्रदान गर्नु हो। मानिसहरूका यी अवास्तविक विचारहरूले तिनीहरूलाई भुमरीभित्र धकेलेका छन्। के यो मानिसहरू खुसीसाथ जिउने कुनै तरिका हो र? (होइन।) यसरी तिनीहरू खुसीसाथ जिउनेछैनन्। मानिसहरू यस्तो भुमरीभित्र रहेपछि, तिनीहरूले सामान्य मानिसहरूभन्दा बेग्लै तरिकाले सोच्ने र कार्य गर्ने, अनि फरक कुराहरू पछ्याउनेसमेत गर्छन्। तिनीहरू आफ्नो महत्त्वाकाङ्क्षी योजना लागू गर्न, मुख्यमुख्य कामकाज र ठूलाठूला कार्यहरू पूरा गर्न अनि एकै चुट्कीमा ठूला कुराहरू हासिल गर्न चाहन्छन्। क्रमिक रूपमा कतिपय मानिसहरू राजनीतिमा लाग्छन्, किनभने राजनैतिक क्षेत्रले मात्र तिनीहरूको चाहना र महत्त्वाकाङ्क्षा पूरा गराउन सक्छ। कतिपय मानिसहरू भन्छन्: “राजनैतिक क्षेत्र साह्रै धमिलो हुन्छ, म राजनीतिमा लाग्दिनँ, तर म अझै पनि मानवजातिको न्यायोचित काममा केही योगदान गर्न चाहन्छु।” त्यसैले, तिनीहरू गैरराजनैतिक सङ्गठनमा आबद्ध हुन्छन्। अरू कतिपय भन्छन्: “म गैरराजनैतिक सङ्गठनमा आबद्ध हुनेछैनँ। म त एकल नायक बन्नेछु, गरिबलाई मद्दत गर्न धनीलाई लुटेर आफ्नो विशेषज्ञताको पूर्ण सदुपयोग गर्नेछु, अनि भ्रष्ट अधिकारीहरू, स्थानीय अत्याचारीहरू, दुष्ट कुलिनवर्ग, दुष्कर्मी प्रहरी, डाकु र बदमासहरूलाई मार्न महारत हासिल गर्नेछु अनि सर्वसाधारण मानिस र गरिबहरूलाई मद्दत गर्नेछु।” तिनीहरूले जुनै मार्ग लिए पनि, त्यो परम्परागत संस्कृतिको प्रभावमा गर्छन् र ती कुनै पनि सही मार्ग होइनन्। मानिसहरूको अभिव्यक्ति सामाजिक प्रचलन र जनरुचिसँग जति नै मेल खाए पनि, ती अपरिहार्य रूपमै परम्परागत संस्कृतिद्वारा प्रभावित हुन्छन्, किनभने मानविजातिले सधैँ “देश र जनताको चिन्ता गर्नू,” “स्वर्गमुनिका सबथोक आफ्नो हृदयमा राख्नू,” “महान् साहसी नायकहरू,” र “जन्मभूमिको न्यायोचित अभियान” जस्ता अभिव्यक्तिहरूलाई मरुन्जेल काममै लागिरहँदै र सक्दो मेहनत गर्दै पछ्याउनुपर्ने र समर्पित हुनुपर्ने लक्ष्य ठान्छन्। यो परिस्थितिको वास्तविकता यही हो। के कसैले “मैले जीवनमा चाहेको कुरा मरुन्जेल काममै लागिरहँदै र सक्दो मेहनत गर्दै किसान बन्नु हो” भनेर भनेको छ? के कसैले “म बाँकी जीवन मरुन्जेल काममै लागिरहँदै र सक्दो मेहनत गर्दै गाईवस्तु र भेडाबाख्रा चराउनेछु” भनेर कहिल्यै भनेको छ? के कसैले यो भनाइलाई यी परिस्थितिहरूमा प्रयोग गरेको छ? (छैन।) मानिसहरूले एकप्रकारको महत्त्वाकाङ्क्षा र आवस्तविक चाहना राखेर “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइ प्रयोग गर्छन्, र आफूभित्रको चाहना र महत्त्वाकाङ्क्षा लुकाउन यो मिठो सुनिने आलङ्कारिक अभिव्यक्ति प्रयोग गर्छन्। यो “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइले अवश्य नै देश र जनताको चिन्ता गर्ने र स्वर्गमुनिको सबथोक आफ्नो हृदयमा राख्नेजस्ता अवास्तविक र विकृत विचार र अभ्यासहरू पनि सिर्जना गरेको छ, जसले ठूलो सङख्यामा आदर्शवादी र परिकल्पनावादीहरूलाई हानि पुऱ्याएका छन्।
अहिले हामीले “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइलाई विश्लेषण गरेका छौँ र यसबारे विस्तृत सङ्गति गरेका छौँ, त्यसैले के तिमीहरूले यी सबै बताइएका कुराहरू बुझ्यौ? (बुझ्यौँ।) सङ्क्षेपमा भन्नुपर्दा, यो भनाइ सकारात्मक छैन र यसको सकारात्मक वा व्यावहारिक अर्थ छैन भनेर अहिले हामी पक्का हुन सक्छौँ। त्यसोभए, यसले मानिसहरूमा कस्तो प्रकारको प्रभाव पार्छ? के यो भनाइ घातक छ? के यसले मानिसहरूको जीवन माग्छ? के यसलाई “घातक भनाइ” भन्नु उचित हुन्छ? (हुन्छ।) यो तथ्यो हो, यसले तेरो जीवन लिन्छ। यसले तँलाई मरुन्जेल काममै लागिरहँदै र सक्दो मेहनत गर्दै आफ्नो जीवन बिताउन सक्नु एकदमै महान् र महिमामयी कुरा हो अनि त्यसले तँलाई निकै ठूलो हृदयको व्यक्ति बनाउँछ भनेर महसुस गराउन मिठो सुनिने शब्दहरू प्रयोग गर्छ। यस्तो ठूलो हृदय हुनुको अर्थ अबउप्रान्त तेरो हृदयमा दाउरा, चामल, तेल, नुन, मरमसाला, चिया र अन्य यस्तै घरेलु सरसामानहरूले कुनै स्थान पाउनु हुँदैन भन्ने हो, झन् श्रीमती र छोराछोरी वा न्यानो ओछ्यानको चाह गर्न हुने त कुरै नगरौँ। त्यस्तो ठूलो हृदय भएको व्यक्तिले केही विशेष कुरा नगरी त कसरी हुन्छ र? के तेरो हृदयमा दाउरा, चामल, तेल, नुन, मरमसाला र चियाजस्ता कुराहरूको लागि मात्र ठाउँ हुनु एकदमै सांसारिक हुन्न र? तैँले औसत व्यक्तिले हृदयमा ठाउँ दिन नसक्ने कुराहरूको लागि आफ्नो हृदयमा ठाउँ दिनुपर्छ, जस्तै राष्ट्र, जन्मभूमिका ठूल्ठूला क्रियाकलाप, मानवजातिको नियति, आदि इत्यादि—यो “स्वर्गले कुनै व्यक्तिलाई ठूलो जिम्मेवारी दिने अवस्था” हो। मानिसहरूलाई यस्तो विचार आएपछि, तिनीहरूले अझ धेरै मरुन्जेल काममै लागिरहने र सक्दो मेहनत गर्ने आकाङ्क्षा राख्छन्, र आफूलाई निरन्तर प्रेरित गर्न नैतिक आचरणसम्बन्धी यो भनाइ प्रयोग गर्छन् र यस्तो सोच्छन्, “म आफ्नो जन्मभूमि र मानवजातिको नियतिको सेवा गर्ने काममै लागिरहनुपर्छ र मैले मरुन्जेल सक्दो मेहनत गर्नुपर्छ, यो नै मेरो जीवनभरको प्रयत्न र अकाङ्क्षा हो।” तर के हुन्छ भने, तिनीहरू आफ्नो जन्मभूमि र राष्ट्रको महान् अभियानको बोझ लिन सक्दैनन्, अनि मरुन्जेल काममै लागिरहन्छन् र सक्दो मेहनत गर्छन्, र यस क्रममा यति थाक्छन् कि तिनीहरूले रगत नै छाद्छन्। यस्ता मानिसहरूलाई मान्छे कसरी जिउनुपर्छ वा मानवता भनेको के हो वा मानव भावना के हो वा प्रेम के हो वा घृणा के हो भन्ने थाहै हुँदैन, अनि तिनीहरू देश र जनताहरूको चिन्ता गर्दै यति बेस्सरी रुन्छन् कि तिनीहरूको आँशु नै रित्तिन्छ, तैपनि तिनीहरूले अझै अन्तिम स्वास रहुन्जेल आफ्नो जन्मभूमि र राष्ट्रका ठूला कामकाज त्याग्न सक्दैनन्। के “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइ मानिसहरूको ज्यान माग्ने घातक भनाइ होइन र? के यस्ता मानिसहरूले दयनीय मृत्यु भोग्दैनन् र? (हो त।) यस्ता मानिसहरूले मृत्युको मुखैमा समेत आफ्नो खोक्रो सोच र विचार त्याग्न मान्दैनन्, अनि आखिरी क्षणमा मनभरी गुनासो र घृणा बोकेर मर्छन्। किन म तिनीहरू मनभरी गुनासो र घृणा बोकेर मर्छन् भनेर भन्दै छु? किनभने तिनीहरू राष्ट्र, जन्मभूमि, मानवजातिको भाग्य अनि शासकहरूले दिएको मिसन त्याग्न सक्दैनन्। तिनीहरू सोच्छन्, “अहो, मेरो जीवन कति छोटो छ। म केही हजार साल जिउन सक्थेँ भने, मानवजातिको भविष्य कता जाँदै छ भनेर देख्नेथिएँ।” तिनीहरूले आफ्नो जीवनकाल स्वर्गमुनिका सबथोक आफ्नो हृदयमा राखेर बिताउँछन्, तर अन्त्यमा पनि ती कुरा त्याग्न सक्दैनन्। मृत्युको मुखैमा समेत तिनीहरूलाई आफ्नो पहिचान के हो वा आफूले के गर्नुपर्छ वा के गर्नु हुँदैन भन्ने थाहा हुँदैन। वास्तवमा तिनीहरू सामान्य मानिस हुन्, र तिनीहरूले सामान्य मानिसको जीवन जिउनुपर्थ्यो, तर तिनीहरूले शैतानको बहकाइ र परम्परागत संस्कृतिको विष स्विकारेका छन् र आफूलाई संसारको मुक्तिदाता ठान्छन्। के त्यो दयनीय स्थिति होइन? (हो।) यो चरम दयनीय स्थिति हो! मलाई बता, यदि क्यु युआन अझ ठूलो राष्ट्रिय धार्मिकताको यो परम्परागत विचारद्वारा प्रभावित नभएको भए, के उसले नदीमा हाम फालेर आत्महत्या गर्थ्यो र? के उसले आफ्नै ज्यान लिने यस्तो चरम कदम उठाउँथ्यो र? (उठाउँथेन।) निश्चय नै उसले त्यसो गर्दैनथ्यो। ऊ परम्परागत संस्कृतिको सिकार भयो, र उसले आफ्नो पूरा जीवन नै नजिई हतारमा जीवन अन्त्य गर्यो। यदि ऊ यी कुराद्वारा प्रभावित नभएको अनि देश र जनताहरूबारे चिन्तित नभएको भए, बरु आफ्नो जीवन जिउनेबारे ध्यान दिएको भए, के ऊ बूढो हुन्जेल बाँचेर प्राकृतिक तवरमा मर्न सक्दैनथ्यो र? के उसले सामान्य मरण मर्न सक्दैनथ्यो र? यदि उसले मरुन्जेल काममै लागिरहने र सक्दो मेहनत गर्ने आकाङ्क्षा नराखेको भए, के उसलाई जीवनमा अझ धेरै खुसी, स्वतन्त्रता र शान्ति मिल्न सक्दैनथ्यो र? (सक्थ्यो।) त्यसैले, “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइ मानिसहरूको ज्यान माग्ने घातक भनाइ हो। कुनै व्यक्ति यस्तो सोचद्वारा सङ्क्रमित भएपछि, उसले सारा दिन देश र जनताहरूबारे चिन्ता लिँदै बिताउँछ अनि चिन्ता गर्दै मर्ने अवस्थासम्म पुग्छ, तर वर्तमान हालतलाई भने परिवर्तन गर्न सक्दैन। के उसको जीवन मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ भन्ने यो विचार र दृष्टिकोणद्वारा लुटिएको हुँदैन र? वास्तवमा यस्ता विचार र दृष्टिकोणहरू घातक हुन्छन् र यिनले मानिसहरूको ज्यान माग्छन्। किन म यसो भन्दै छु? कसले आफ्नो हृदयमा देश वा राष्ट्रको भाग्यलाई ठाउँ दिन सक्छ? कसले यस्तो बोझ उठाउन सक्छ? के यो आफ्नो क्षमतालाई बढी ठान्नु होइन र? किन मानिसहरू आफ्नो क्षमतालाई बढी ठान्ने प्रवृत्ति राख्छन्? के कतिपय मानिसहरूले आफूमाथि स्वयम् आफैले यो सब ल्याउँछन्? के तिनीहरू आफै अग्रसर भएर यो गर्न चाहन्छन्? वास्तवमा तिनीहरू सिकार हुन्, तर केका सिकार? (शैतानले मानिसहरूमा हालिदिने विचार र दृष्टिकोणका सिकार।) सही हो, तिनीहरू शैतानका सिकार हुन्। शैतानले यसो भन्दै मानिसहरूमा यी विचारहरू हालिदिन्छ, “तैँले मामुली जीवन बिताउनुभन्दा, बरु स्वर्गमुनिका सबथोक आफ्नो हृदयमा राख्नुपर्छ, जनसाधारणलाई आफ्नो हृदयमै राख्नुपर्छ, देश र जनताको चिन्ता गर्नुपर्छ, धनीलाई लुटेर गरिबलाई मद्दत गर्ने शूरवीर, धार्मिक व्यक्ति बन्नुपर्छ, अनि मरुन्जेल काममै लागिरहँदै र सक्दो मेहनत गर्दै मानवजातिको नियतिमा योगदान दिनुपर्छ। पारिवारिक र सामाजिक जिम्मेवारीहरू किन पूरा गर्नुपर्यो? यी कुराहरू उल्लेख गर्न पनि लायक छैनन्, यस्ता कुरा गर्नेहरू त कमिला हुन्। तँ कमिला होइनस्, र तँ भँगेरा पनि बन्नु हुँदैन। बरु, तँ चील बन्नुपर्छ, र तैँले आफ्नो पखेटा फिँजाएर आकासमाथिमाथि उड्नुपर्छ र ठूल्ठूला आकाङ्क्षाहरू राख्नुपर्छ।” यस्तो उक्साहट र भड्काउले मानिसहरू अन्योलमा पर्छन् र यस्तो सोच्न थाल्छन्, “त्यो पूर्ण सही हो! म भँगेरा बन्नु हुँदैन, म त आकासमाथिमाथि उड्ने चील बन्नुपर्छ।” तर तिनीहरू जति नै कडा प्रयास गरे पनि माथिमाथि उड्न सक्दैनन्, र यसरी आफूले आफैलाई बरबाद पारेर अन्त्यमा थकित भई भुइँमा खस्छन् र पुक्लुक्कै हुन्छन्। वास्तवमा तँ केही पनि होइनस्। तँ भँगेरा होइनस्, न त चील नै होस्। त्यसोभए, तँ के होस् त? (सृष्टि गरिएको प्राणी।) सही भनिस्, तँ सामान्य व्यक्ति होस्, सृष्टि गरिएको एक सामान्य प्राणी होस्। तैँले तेरो तीन छाक खानामा एक छाक नखान सक्छस्, तर धेरै दिनसम्म लगातार केही नखानु ठिक हुँदैन। तँ बुढो हुनेछस्, तँ बिमार पर्नेछस्, तँ मर्नेछस्, किनकि तँ बस एक साधारण व्यक्ति होस्। अलिकति प्रतिभा र क्षमता भएका मानिसहरू निकै अहङ्कारी हुन सक्छन्, अनि यसरी तिनीहरू शैतानको प्रोत्साहन, प्रलोभन, उक्साहट र बहकाउमा परेपछि अन्योल भई आफू वास्तवमै संसारको मुक्तिदाता हो भन्ने सोच्छन्। तिनीहरू मुक्तिदाताको ठाउँ ओगटेर बस्छन्, र मरुन्जेल काममै लागिरहन्छन् र सक्दो मेहनत गर्छन् तर परमेश्वरले मानिसहरूलाई दिनुहुने सबैभन्दा मूल्यवान् कुरा अर्थात् मानवाजातिको मिसन, जिम्मेवारी, दायित्व वा जीवनबारे तिनीहरूले केही सोच्दैनन्। फलस्वरूप, तिनीहरूलाई जीवन महत्त्वपूर्ण वा मूल्यवान् छैन भन्ने लाग्छ, र जन्मभूमिको काम सबैभन्दा मूल्यवान् कुरा हो, आफ्नो हृदयमा स्वर्गमुनिका सबथोक राख्नुपर्छ, देश र जनताको चिन्ता गर्नुपर्छ, यसो गरेर आफूलाई सबैभन्दा मूल्यवान् गुण र उच्च सदाचार प्राप्त हुन्छ, र सबै मानिसहरूले यसरी नै जिउनुपर्छ भन्ने लाग्छ। शैतानले यी विचारहरू मानिसहरूमा हालिदिन्छ र तिनीहरूलाई सृष्टि गरिएको प्राणी र सामान्य मानिसको आफ्नो पहिचान त्याग्न अनि वास्तविकतासित मेल नखाने कतिपय कुराहरू गर्न बहकाउँछ र उक्साउँछ। यसको परिणाम के हुन्छ? तिनीहरूले आफूलाई विनाशको मार्गमा लैजान्छन्, र थाहै नपाई चरमसीमामा पुग्छन्। “चरमसीमामा पुग्छन्” भन्नुको अर्थ के हो? यसको अर्थ मानवजातिप्रति परमेश्वरको मापदण्डबाट र मानवजातिको लागि उहाँले पूर्वनिर्धारित गर्नुभएको नैसर्गिकताबाट झन्झन् टाढा जानु हो। अन्त्यमा यस्ता मानिसहरू निकासहीन स्थितिमा पुग्छन्, जुन तिनीहरूलाई विनाशमा पुऱ्याउने मार्ग हो।
मानिसहरू कसरी जिउनुपर्छ भन्ने सन्दर्भमा मानवजातिको लागि परमेश्वरका मापदण्डहरू केके हुन्? वास्तवमा ती एकदमै सरल छन्। तिनीहरूले सृष्टि गरिएको प्राणीको उचित स्थान ग्रहण गर्नुपर्छ र व्यक्तिले पूरा गर्नुपर्ने कर्तव्य पूरा गर्नुपर्छ। परमेश्वरले तँलाई महामानव वा प्रतिष्ठित व्यक्ति बन् भनेर भन्नुभएन, न त तँलाई आकासमा उड्नको लागि पखेटा नै दिनुभयो। उहाँले तँलाई केवल दुइटा हात र दुइटा खुट्टा दिनुभयो, जसको मद्दतले तँ जमिनमा एकपटकमा एक पाइला हिँड्न सक्छस्, र आवश्यक पर्दा दौडन सक्छस्। परमेश्वरले तेरो लागि सृष्टि गर्नुभएका भित्री अङ्गहरूले खाना पचाउने र सोस्ने काम गर्छन् अनि तेरो सारा शरीरमा पोषण प्रदान गर्छन्, त्यसैले तैँले दिनको तीन छाक खाना खाने तालिका पालन गर्नुपर्छ। परमेश्वरले तँलाई मानवजातिमा हुनैपर्ने स्वतन्त्र इच्छा, सामान्य मानवताको बुद्धि, अनि विवेक र समझ दिनुभएको छ। यदि तैँले यी कुराहरू राम्ररी र ठिकसित प्रयोग गरिस्, भौतिक शरीरको जीवितताका नियमहरू पालन गरिस्, आफ्नो स्वास्थ्यलाई उचितसँग ख्याल गरिस्, परमेश्वरले अह्राउनुभएको कुरा दृढतापूर्वक गरिस् र परमेश्वरले गर्न लगाउनुभएको कुरा हासिल गरिस् भने, त्यो पर्याप्त हो र यो एकदमै सरल पनि छ। के परमेश्वरले तँलाई मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ भनेर भन्नुभएको छ? के उहाँले तैँले आफूलाई सास्ती दिनुपर्छ भनेर भन्नुभएको छ? (छैन।) परमेश्वर यस्ता कुराहरू गर् भनेर भन्नुहुन्न। मानिसहरूले आफूलाई सास्ती दिनुपर्दैन, तर केही सामान्य समझ राख्नुपर्छ र शरीरका विभिन्न आवश्यकताहरू उचित रूपमा पूरा गर्नुपर्छ। तिर्खा लाग्दा पानी पिउनुपर्छ, भोक लाग्दा खाना खानुपर्छ, थकाइ लाग्दा आराम गर्नुपर्छ, लामो समयसम्म बसेपछि कसरत गर्नुपर्छ, बिमार हुँदा चिकित्सकलाई जँचाउनुपर्छ, दैनिक तीन छाक भोजन खानुपर्छ र सामान्य मानवताको जीवन कायम राख्नुपर्छ। अनि, तैँले अवश्य नै आफ्नो सामान्य कर्तव्य पनि जारी राख्नुपर्छ। यदि तेरो कर्तव्यमा तैँले नबुझ्ने केही विशेषज्ञ ज्ञान समावेश छ भने, तैँले अध्ययन र अभ्यास गर्नुपर्छ। यो सामान्य जीवन हो। परमेश्वरले मानिसहरूको लागि अघि सार्नुभएका अभ्यासका विभिन्न सिद्धान्तहरू सबै नै सामान्य मानवताको बुद्धिले ग्रहण गर्न सक्ने, र मानिसहरूले बुझ्न र स्विकार्न सक्ने कुरा हुन्, र ती कुरा सामान्य मानवताको दायराभन्दा अलिकति पनि पर जाँदैनन्। ती सबै कुरा मान्छेले प्राप्त गर्न सक्ने दायराभित्रै हुन्छन्, र कुनै हालतमा पनि उचितताको सीमाबाहिर जाँदैनन्। परमेश्वर मानिसहरूलाई महामानव वा प्रतिष्ठित व्यक्ति बन्न अनिवार्य गर्नुहुन्न, तर नैतिक आचरणसम्बन्धी भनाइहरूले चाहिँ मानिसहरूलाई महामानव वा प्रतिष्ठित व्यक्ति बन्ने आकाङ्क्षा राख्न बाध्य पार्छन्। तिनीहरूले आफ्नो देश र राष्ट्रको ठूलो काम गर्नैपर्ने मात्र होइन, मरुन्जेल काममै लागिरहनु र सक्दो मेहनत पनि गर्नुपर्ने हुन्छ। यसले तिनीहरूलाई आफ्नो जीवन त्याग्न बाध्य बनाउँछ, जुन पूर्णतया परमेश्वरको मापदण्डविपरीत हुन्छ। मानिसहरूको जीवनप्रति परमेश्वरको मनोवृत्ति कस्तो छ? परमेश्वर हरपरिस्थितिमा मानिसहरूलाई सुरक्षित राख्नुहुन्छ र तिनीहरूलाई प्रलोभन र अन्य खतरनाक अवस्थामा पर्नदेखि जोगाउनुहुन्छ, र तिनीहरूको जीवन रक्षा गर्नुहुन्छ। परमेश्वरले यस्तो गर्नुको उद्देश्य के हो? यसको उद्देश्य मानिसहरूलाई उचित रूपमा जीवन जिउन लाउनु हो। मानिसहरूलाई उचित रूपमा जीवन जिउन लाउनुको उद्देश्य के हो? उहाँ तँलाई महामानव बन्न बाध्य पार्नुहुन्न, न त स्वर्गमुनिका सबै थोक आफ्नो हृदयमा राख्न, न त देश र जनताको चिन्ता गर्न नै बाध्य पार्नुहुन्छ, झन् सबै थोकमाथि शासन गर्ने, सबै कुरा व्यवस्थापन गर्ने र मानवजातिलाई शासन गर्ने उहाँको ठाउँ ओगट्न लाउनु त परको कुरा हो। बरु, उहाँ त तँलाई सृष्टि गरिएको प्राणीको उचित स्थान ग्रहण गर्न, सृष्टि गरिएको प्राणीका कर्तव्यहरू पूरा गर्न, मानिसहरूले निर्वाह गर्नुपर्ने कर्तव्य निर्वाह गर्न र मानिसहरूले गर्नुपर्ने कुराहरू गर्न लाउनुहुन्छ। तैँले गर्नुपर्ने कुराहरू धेरै छन्, तर त्यसमा मानवजातिको नियतिमाथि शासन गर्ने, स्वर्गमुनिका सबैथोक आफ्नो हृदयमा राख्ने वा मानवजाति, आफ्नो जन्मभूमि, मण्डली, परमेश्वरको इच्छा वा मानवजातिलाई मुक्ति दिने उहाँको महान् कामलाई आफ्नो हृदयमा राख्नेजस्ता कुराहरू पर्दैनन्। यी कुराहरू समेवश हुँदैनन्। त्यसोभए, तैँले गर्नुपर्ने कुन-कुन कुराहरू समावेश हुन्छन् त? त्यसमा परमेश्वरले तँलाई सुम्पनुहुनेने कार्य, परमेश्वरले तँलाई दिनुहुने कर्तव्य अनि परमेश्वरको घरले तँलाई हरेक अवधिमा दिने हरेक मापदण्ड समावेश छन्। के यो सरल छैन र? के यो गर्न सजिलो छैन र? यो एकदमै सरल र गर्न पनि सजिलो छ। तर मानिसहरू सधैँ परमेश्वरलाई गलत बुझ्छन् र उहाँ तिनीहरूलाई गम्भीरतापूर्वक लिनुहुन्न भन्ने सोच्छन्। कतिपयले यस्तो सोच्छन्, “परमेश्वरमा विश्वास गर्ने मानिसहरूले आफूलाई धेरै महत्त्वपूर्ण ठान्नु हुँदैन, तिनीहरू आफ्नो भौतिक शरीरप्रति लिप्त हुनु हुँदैन, बरु तिनीहरूले अझ धेरै कष्ट भोग्नुपर्छ र राती चाँडै सुत्नु हुँदैन, किनभने यदि राती चाँडै सुत्यो भने परमेश्वर बेखुस हुन सक्नुहुन्छ। तिनीहरू बिहान सबेरै उठेर राती ढिलो सुत्नुपर्छ, अनि राती अबेरसम्म खटेर आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। तिनीहरूले कुनै परिणाम ननिकाले पनि, बिहान दुई वा तीन बजेसम्म जागा बस्नैपर्छ।” परिणामस्वरूप, यस्ता मानिसहरू यति साह्रो थकित हुने गरी खट्छन कि तिनीहरूलाई हिँड्न पनि हम्मेहम्मे पर्छ, अनि कर्तव्य निर्वाहले गर्दा लखतरान भइयो भनेर भन्छन्। के यो मानिसहरूको मूर्खता र अज्ञानताले गर्दा भएको होइन र? अरू कतिपयचाहिँ यस्तो सोच्छन्, “हामीले अलि विशेष र राम्रो लुगा लगाउँदा परमेश्वर खुसी बन्नुहुन्न, न त उहाँ हामीले हरेक दिन मासु र मिठो खानेकुरा खाँदा नै खुसी बन्नुहुन्छ। पररमेश्वरको घरमा हामी बस मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ,” अनि तिनीहरूलाई परमेश्वरका विश्वासीहरूको हैसियतमा तिनीहरूले मृत्युसम्मै कर्तव्य निर्वाह गर्नुपर्छ, नत्र परमेश्वरले छोड्नुहुनेछैन भन्ने लाग्छ। के वास्तवमा हुनुपर्ने कुरा त्यही हो त? (होइन।) परमेश्वर मानिसहरूलाई जिम्मेवार र बफादार भई कर्तव्य निर्वाह गर्ने मापदण्ड दिनुहुन्छ, तर उहाँ तिनीहरूलाई आफ्नै शरीरमाथि ज्यादती गर्न बाध्य पार्नुहुन्न, झन् तिनीहरूलाई झाराटारुवा बन्न वा त्यतिकै समय खेर फाल्न लाउनुहुने त कुरै नगरौँ। मैले देखेको छु, कतिपय अगुवा र सेवकहरूले मानिसहरूलाई कर्तव्य निर्वाह गराउन यसरी नै बन्दोबस्त मिलाउँछन्, दक्षताको मापदण्ड लागू गर्दैनन्, केवल मानिसहरूको समय र शक्ति खर्च गर्छन्। वास्तवमा तिनीहरूले मानिसहरूको जीवन बरबाद गरिरहेका हुन्छन्। दीर्घकालमा अन्ततः कतिपय मानिसहरूलाई स्वास्थ्य समस्या हुन्छ, ढाड दुख्छ, घुँडा दुख्छ र कम्प्युटरको स्क्रिन हेर्दा चक्कर लाग्छ। यस्तो कसरी हुन सक्छ? यसको कारण को हो? (यसको कारण तिनीहरू आफै हुन्।) परमेश्वरको घरले सबै जना राती १० बजेभित्रै विश्राम गरून् भन्छ, तर कतिपय मानिसहरू ११ वा १२ बजेसम्म पनि सुत्दैनन्, जसले गर्दा अरूहरूको विश्राममा बाधा पुग्छ। कतिपय मानिसहरू सामान्य तवरमा विश्राम गर्नेहरूलाई ऐसआरामको लालच गर्ने भनेरसमेत धिक्कार्छन्। यो गलत कुरा हो। यदि तेरो शरीरले राम्ररी विश्राम पाएको छैन भने तैँले कसरी राम्रो काम गर्न सक्छस् र? यसबारे परमेश्वर के भन्नुहुन्छ? परमेश्वरको घरले यसबारे कसरी नियमन गर्छ? सबै कुरा परमेश्वरको वचन र परमेश्वरको घरको सर्तअनुसार गरिनुपर्छ, अनि यो मात्र सही हुन्छ। कतिपय मानिसहरूको बुझाइ निरर्थक हुन्छ, तिनीहरू सधैँ चरमसीमामा पुग्छन् र अरूलाई रोकटोकसमेत गर्छन्। यो सत्यता सिद्धान्तअनुरूप हुँदैन। कतिपय मानिसहरू पटक्कै समझ नभएका पटमूर्ख हुन्छन्, र आफ्नो कर्तव्य निर्वाह गर्न आफू काममा व्यस्त नहुँदासमेत राती अबेरसम्म जागा बस्नैपर्छ भन्ने सोच्छन्, र यसरी थकित हुँदा पनि सुत्दैनन्, बिमार हुँदा पनि कसैलाई बताउँदैनन् र अझ खराब कुरा त, तिनीहरूले चिकित्सकलाई पनि देखाउँदैनन्, यसो गर्नु त समय खेर फाल्नु हो जसले गर्दा कर्तव्य निर्वाहमा ढिलाइ हुन्छ भन्ने सोच्छन्। के यो दृष्टिकोण सही हो त? किन विश्वासीहरू यत्तिका धेरै प्रवचन सुनेपछि पनि यस्तो निरर्थक दृष्टिकोण राख्छन्? परमेश्वरको घरका कार्य प्रबन्धहरूलाई कसरी नियमन गरिन्छ? तैँले ठिक १० बजेभित्र विश्राम गर्नुपर्छ र बिहान ६ बजे उठ्नुपर्छ, अनि आफूले आठ घण्टा सुत्ने कुरा सुनिश्चित गर्नुपर्छ। त्यसबाहेक, तैँले कामपछि कसरत गरेर आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ, र स्वस्थकर खाना र तालिका कायम राख्नुपर्छ भनेरसमेत बारम्बार जोड दिइन्छ, यसो गरेर कर्तव्य निर्वाहको क्रममा हुने स्वास्थ्य समस्या हटाउन सकिन्छ। तर कतिपय मानिसहरू यो कुरा पटक्कै बुझ्दैनन्, तिनीहरू सिद्धान्तहरू मान्न वा नियम पालन गर्न सक्दैनन्, अनि अनावश्यक रूपमा अबेरसम्म बस्छन् र गलत प्रकारका खानेकुरा खान्छन्। तिनीहरू बिमार परेपछि आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन्, र त्यतिबेला पछुतो गर्नुको कुनै अर्थ रहँदैन। मैले भर्खरै केही मानिसहरू बिरामी परेका छन् भन्ने सुनेँ। के यो तिनीहरूले सिद्धान्तहरू पालन नगरी कर्तव्य निभाएकोले र लापरवाही कार्य गरेकोले गर्दा भएको होइन र? तँ आफ्नो कर्तव्य तत्परतासाथ गर्छस्, त्यो साँचो हो, तर तैँले आफ्नो शरीरको प्राकृतिक नियम उल्ल्ङघन गर्नु हुँदैन। यदि तैँले त्यो उल्लङ्घन गरिस् भने, आफूलाई बिमारी बनाउनेछस्। तँसँग कसरी आफ्नो स्वास्थ्यको ख्याल गर्ने भनेर सामान्य बुझाइ हुनुपर्छ। तैँले उपयुक्त हुँदा कसरत गर्नुपर्छ र नियमित समयमा खाना खानुपर्छ। तैँले अचाक्ली खानेपिउने गर्नु हुँदैन, अनि खानामा कचकच गर्ने वा अस्वस्थकर खाना खाने गर्नु हुँदैन। त्यसबाहेक, तैँले आफ्नो मुड पनि नियन्त्रण गर्नुपर्छ, परमेश्वरसामु जिउने र सत्यता अभ्यास गर्ने कुरालाई ध्यान दिनुपर्छ अनि सिद्धान्तअनुसार कार्य गर्नुपर्छ। त्यसरी, तैँले हृदयमा शान्ति र आनन्द पाउनेछस्, अनि तँलाई ख्रोक्रो वा उदास महसुस हुनेछैन। विशेष गरी, यदि मानिसहरूले भ्रष्ट स्वभाव हटाएर सामान्य मानवताअनुसार जिए भने, तिनीहरूको मनस्थिति पूर्ण रूपले सामान्य हुनेछ र तिनीहरूको शरीर स्वस्थ बन्नेछ। मैले तिमीहरूलाई कहिल्यै पनि राती अबेर सुत्नू र बिहान सबेरै उठ्नू वा दैनिक दस घण्टाभन्दा बढी काम गर्नू भनेर भनेको छैनँ। यो सब मानिसहरूले नियमअनुसार व्यवहार नगर्नाले र परमेश्वरको घरका बन्दोबस्तहरू पालन नगर्नाले गर्दा हुन्छ। तर आखिर, मानिसहरू यति अनभिज्ञ छन् कि आफ्नो स्वास्थ्यलाई बस हल्कासँग लिइदिन्छन्। मैले कतिपय ठाउँमा मानिसहरूले सधैँ भित्रै रहेर कर्तव्य निर्वाह गरिरहेको अनि बाहिर गएर अलि घाम ताप्ने वा सक्रिय रहने नगरिरहेको देखेँ, त्यसकारण मैले मानिसहरूको लागि कसरत गर्ने केही उपकरण बन्दोबस्त गरिदिएँ र हप्ताको एक वा दुईपटक कसरत गर्नू भनेर भनेँ, जुन स्वस्थकर दैनिकी हो। उचित कसरत नगर्ने मानिसहरू बिमार पर्नु स्वभाविकै हो, अनि यसले तिनीहरूको सामान्य जीवनलाई पनि असर गर्छ। मैले यस्तो बन्दोबस्त मिलाएपछि, के मैले कसले कसरत गर्दै छ र कतिपटक गर्दै छ भनेर चेक गर्नुपर्छ? (पर्दैन।) मैले चेक गर्नुपर्दैन, मैले आफ्नो जिम्मेवारी पूरा गरेको छु, मैले आफ्नो काम गरेको छु, अनि तैँले के गर्नुपर्छ भनेर मैले एक शब्द पनि झूट नबोली एकदमै इमानदारीसाथ तँलाई बताएको छु, र तैँले बस दिइएको निर्देशनअनुसार गरे पुग्छ। मानिसहरू यो कुरा स्विकार्दैनन्, तिनीहरू आफू जवान र स्वस्थ छु भन्ठान्छन्, त्यसैले मेरो कुरा गम्भीरतापूर्वक लिँदैनन्। यदि तँ आफ्नो स्वास्थ्यलाई मूल्यवान् ठान्दैनस् भने, मैले यसमा चिन्ता लिनु अनावश्यक हुन्छ—आफू बिमार हुँदा अरूलाई मात्र दोष नदे। मानिसहरू कसरत गर्न ध्यान दिँदैनन्। यसको एउटा कारण तिनीहरूमा केही गलत विचार र दृष्टिकोण हुनु हो। अर्को कारणचाहिँ, तिनीहरूमा घातक समस्या अर्थात् अल्छीपन पनि हुनु हो। यदि मानिसहरूलाई सानो शारीरिक रोग छ भने, तिनीहरूले आफ्नो स्वास्थ्यमा ध्यान दिँदै अलि सक्रिय भए पुग्छ। तर कतिपय मानिसहरू कसरत गर्नु र स्वास्थ्यको ख्याल गर्नुभन्दा, बिमार परेपछि सुई लगाउन वा औषधि खान रुचाउँछन्। यो अल्छीपनले गर्दा हो। मानिसहरू अल्छी हुन्छन् र कसरत गर्न चाहँदैनन्, त्यसैले तिनीहरूलाई भनेर कुनै फाइदा छैन। अन्त्यमा, बिरामी परेपछि तिनीहरूले अरूलाई दोष दिन सक्दैनन्; मनभित्र तिनीहरूलाई वस्तविक कारण थाहा हुन्छ। सबैले दिनहुँ ठिक्क मात्रामा कसरत गर्नुपर्छ। मैले दैनिक रूपमा कम्तीमा एकदुई घण्टा हिँड्नु र केही जरुरी कसरत गर्नुपर्छ। यसले मेरो शारीरिक गठन चुस्त पार्न मद्दत मात्र गर्दैन, यसले त रोग पनि रोकथाम गर्छ र शारीरिक तवरमा फुर्तिलो पनि महसुस गराउँछ। तर कसरत रोग रोकथाम गर्नको लागि मात्र होइन, यो सामान्य शारीरिक आवश्यकता पनि हो। यस विषयमा, परमेश्वरको मापदण्ड भनेको मानवजातिसँग अलकति अन्तर्दृष्टि होस् भन्ने हो। अज्ञानी नबन्, र आफ्नो शरीरमाथि ज्यादती नगर्, बरु यसको प्राकृतिक नियम पालन गर्। आफ्नो देहमाथि दुर्व्यवहार नगर्, तर यसमा अचाक्ली लिप्त पनि नबन्। के यो सिद्धान्त बुझ्नु सजिलो छ? (छ।) वास्तवमा यो बुझ्नु एकदमै सजिलो छ, तर मुख्य कुरा मानिसहरू यसलाई अभ्यास गर्छन् कि गर्दैनन् भन्ने हो। मानिसहरूको अर्को घातक कमजोरी के हो? त्यो के हो भने, तिनीहरू सधैँ आफूलाई कल्पनामा डुबाउँछन् र यस्तो सोच्छन्, “यदि मैले परमेश्वरमा विश्वास गरेँ भने, म बिरामी पर्नेछैनँ, म बूढो हुनेछैनँ, र म अवश्यै मर्ने पनि छैनँ।” यो त पूराको पूरा बेवकुफी हो। परमेश्वर यी अलौकिक कुराहरू गर्नुहुन्न। उहाँ मानिसहरूलाई मुक्ति र प्रतिज्ञा दिनुहुन्छ अनि सत्यता पछ्याउनू र बुझ्नू, आफ्नो भ्रष्टता त्याग्नू, उहाको मुक्ति प्राप्त गर्नू र मानवजातिको सुन्दर गन्तव्यमा प्रवेश गर्नू भनेर भन्नुहुन्छ। तर परमेश्वरले मानिसहरू बिरामी पर्नेछैनन् वा बूढो हुनेछैनन् भनेर कहिल्यै प्रतिज्ञा गर्नुभएको छैन, न त तिनीहरू मर्नेछैनन् भनेर नै कहिल्यै प्रतिज्ञा गर्नुभएको छ। अनि, अवश्य नै, परमेश्वरले “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भनेर पनि मानिसहरूमाथि कुनै मापदण्ड लाद्नुभएको छैन। आफ्नो कर्तव्य र मण्डलीको काम गर्ने, अनि कस्तो कठिनाइ सहने, के त्याग्ने, के अर्पित गर्ने र के छोड्ने भन्ने सन्दर्भमा, मानिसहरूले सिद्धान्तअनुसार कार्य गर्नुपर्छ। आफ्नो भौतिक जीवन र शारीरिक आवश्यकताहरू सम्हाल्दा, मानिसहरूसँग केही सामान्य समझ हुनुपर्छ र तिनीहरूले आफ्नो शरीरका सामान्य आवश्यकताहरू बेवास्ता गर्नु हुँदैन, झन् परमेश्वरले मानिसहरूको लागि स्थापित गर्नुभएका व्यवस्था र नियमहरू उल्लङ्घन गर्नु हुने त कुरै नगरौँ। यो अवश्यै मानिसहरूमा हुनुपर्ने न्यूनतम सामान्य समझ पनि हो। यदि मानिसहरूलाई आफ्नो भौतिक शरीरका आवश्यकता र नियमहरूलाई कसरी सम्हाल्ने भनेरसमेत थाहा छैन र तिनीहरूसँग कुनै सामान्य समझसमेत फिटिक्कै छैन र तिनीहरू कल्पना र धारणामा मात्र भर पर्छन् अनि केही चरम विचारसमेत राख्छन् र आफ्नो भौतिक शरीरलाई सम्हाल्न केही चरम पद्धतिसमेत अपनाउँछन् भने, यस्ता मानिसहरूसँग मूर्ख बुझाइ हुन्छ। यस्तो क्षमता भएका मानिसहरूले कस्तो सत्यता बुझ्न सक्छन्? यहाँ प्रश्न खडा हुन्छ। परमेश्वर मानिसहरूले आफ्नो भौतिक शरीरलाई कसरी लिऊन् भन्ने मापदण्ड दिनुहुन्छ? परमेश्वरले मान्छेको सृष्टि गर्नुहुँदा, तिनीहरूको लागि नियमहरू स्थापित गर्नुभयो, त्यसैले उहाँ तैँले आफ्नो भौतिक शरीरलाई यस्तो नियमअनुसार व्यवहार गर्न लगाउनुहुन्छ। परमेश्वरले मानिसहरूको लागि स्थापित गर्नुभएको मापदण्ड र मानक यही हो। धारणामा भर नपर्, र कल्पनामा पनि भर नपर्। कुरा बुझिस्?
नैतिक आचरणसम्बन्धी “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने यो भनाइको शिक्षण र प्रभावमा परेपछि मानिसहरूलाई आफ्नो भौतिक शरीरप्रति कसरी व्यवहार गर्ने वा सामान्य जीवन कसरी बिताउने भन्ने पनि थाहा हुँदैन। यो एउटा पक्ष हो। अर्को पक्ष के हो भने, मानिसहरूलाई आफ्नो मृत्युलाई कसरी लिने भन्ने पनि थाहा हुँदैन, न त कसरी अर्थपूर्ण जीवन बिताउने भन्ने नै थाहा हुन्छ। त्यसोभए, अब हामी मानिसहरूको मृत्युप्रति गरिने व्यवहारबारे परमेश्वरको कस्तो मनोवृत्ति छ, सो हेरौँ। कर्तव्यको जुनै पक्ष निर्वाह गरिँदै गरिएको भए पनि, परमेश्वर मानिसहरूले आफ्नो कर्तव्यनिर्वाहको प्रक्रियामा सत्यता बुझून्, सत्यता अभ्यास गरून्, आफ्नो भ्रष्ट स्वभाव त्यागून्, सामान्य व्यक्तिको स्वरूपमा जिऊन्, र सोझै मृत्युतर्फ दौडनुभन्दा मुक्ति प्राप्त गर्ने स्तरसम्म पुगून् भन्ने उद्देश्य राख्नुहुन्छ। कतिपय मानिसहरूलाई गम्भीर रोग लाग्छ वा क्यान्सर हुन्छ र सोच्छन्, “यो त परमेश्वरले मलाई मर्नू र आफ्नो जीवन त्याग्नू भन्नुभएको हो, त्यसैले म यो आज्ञा मान्नेछु!” वास्तवमा, परमेश्वरले त्यो भन्नुभएको हुँदैन, न त उहाँमा त्यस्तो विचार नै आएको हुन्छ। यो त मानिसहरूको गलतफहमी मात्र हो। त्यसोभए, परमेश्वरले के भन्न खोज्नुभएको हो त? सबै जना निश्चित वर्षसम्म जिउँछन्, तर तिनीहरूको जीवनकाल फरकफरक हुन्छ। परमेश्वरले निर्धारित गर्नुभएपछि, सबै जना ठिक समय र ठिक ठाउँमा मर्छन्। यो सब परमेश्वरले तोक्नुभएको हुन्छ। उहाँले कसैलाई केही स्वेच्छाचारिताको कारण मर्न दिनुभन्दा पनि उसको जीवनकाल र उसको मृत्युको स्थान र तरिकाको लागि उहाँले तोक्नुभएको समयअनुसार यो कुरा गराउनुहुन्छ। परमेश्वर कुनै व्यक्तिको जीवनलाई एकदमै महत्त्वपूर्ण ठान्नुहुन्छ अनि उहाँ उसको मृत्यु र उसको भौतिक जीवनको अन्त्यलाई पनि एकदमै महत्त्वपूर्ण ठान्नुहुन्छ। यो सब परमेश्वरद्वारा पूर्वनिर्धारित हुन्छ। यस दृष्टिकोणबाट हेर्दा, परमेश्वरले मानिसहरूलाई अनिवार्य रूपमा कर्तव्य निर्वाह गर्न वा परमेश्वरलाई पछ्याउन लगाउनुभए पनि नभए पनि, उहाँ मानिसहरूलाई सोझै मृत्युतर्फ दौडन लगाउनुहुन्न। यसको अर्थ के हो? यसको अर्थ हो, परमेश्वरले तँलाई आफ्नो कर्तव्य निर्वाह गर्न वा परमेश्वरमा अर्पित हुनको लागि वा उहाँको आज्ञाको खातिर कुनै पनि समय आफ्नो जीवन दिन तयार हुन लगाउनुहुन्न। तैँले त्यस्तो तयारी गर्नुपर्दैन, तैँले त्यस्तो मनस्थिति राख्नुपर्दैन, र तैँले अवश्यै त्यसरी योजना बनाउनु वा सोच्नुपर्दैन, किनभने परमेश्वरलाई तेरो जीवन आवश्यक पर्दैन। म किन त्यसो भन्छु? स्पष्टै छ, तेरो जीवन परमेश्वरको हो, यो दिने उहाँ नै हुनुहुन्छ, त्यसैले उहाँ केको लागि यो फिर्ता चाहनुहुन्छ र? के तेरो जीवन मूल्यवान् हो? परमेश्वरको दृष्टिकोणबाट हेर्दा, यो मूल्यवान् हो, होइन भन्ने मुद्दा होइन, बरु तैँले उहाँको व्यवस्थापन योजनामा कस्तो भूमिका खेल्छस् भन्ने कुरा मात्र हो। तेरो जीवनको सन्दर्भमा भन्नुपर्दा, यदि परमेश्वरले यो फिर्ता लिन चाहनुभएको भए, यो कुनै पनि समय, कुनै पनि ठाउँ र कुनै पनि क्षण लिन सक्नुहुन्थ्यो। तसर्थ, व्यक्तिको जीवन उसको लागि महत्त्वपूर्ण हुन्छ, अनि उसको कर्तव्य, दायित्व र जिम्मेवारी अनि परमेश्वरको आज्ञाको लागि पनि महत्त्वपूर्ण हुन्छ। यो अवश्यै परमेश्वरको समग्र व्यवस्थापन योजनामा उसको भूमिकाको लागि पनि महत्त्वपूर्ण छ। यो महत्त्वपूर्ण भए पनि, परमेश्वरलाई तेरो जीवन फिर्ता लिनु आवश्यक छैन। किन? तेरो जीवन फिर्ता लिँदा, तँ मृतक बन्छस्, र थप कुनै कामको हुँदैनस्। तँ जीवित छँदा र परमेश्वरले शासन गर्नुहुने मानवजातिमाझ जिउँदा मात्र, तैँले यो जीवनमा खेल्नुपर्ने भूमिका खेल्न सक्छस् र तैँले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व अनि तैँले यो जीवनमा निर्वाह गर्नुपर्ने भनी परमेश्वरले तोक्नुभएको तेरो कर्तव्य पूरा गर्न सक्छस्। तैँले यो स्वरूपमा जिउँदा मात्र तेरो जीवन मूल्यवान् बन्न सक्छ र तैँले यसको मूल्य थाहा पाउँछस्। त्यसैले, “परमेश्वरको खातिर मर्नु” वा “परमेश्वरको कामको खातिर ज्यान दिनु” भन्नेजस्ता अभिव्यक्तिहरू त्यतिकै मुखबाट ननिकाल्, अनि ती बारम्बार भन्ने, वा तेरो मन वा हृदयभित्र राख्ने नगर्; यो अनावश्यक कुरा हो। जब कुनै व्यक्ति निरन्तर परमेश्वरको खातिर मर्न र आफ्नो कर्तव्यको लागि जीवन दिन चाहन्छ, यो सबैभन्दा तिरस्कारपूर्ण, मूल्यहीन र घृणित कुरा हुन्छ। किन? यदि तेरो जीवन समाप्त भयो, र तँ यो देहगत स्वरूपमा जिउन छोडिस् भने, तैँले कसरी सृष्टि गरिएको प्राणीको रूपमा कर्तव्य पूरा गर्न सक्छस् र? यदि सबै जना मरे भने, परमेश्वरले आफ्नो कामद्वारा मुक्ति दिनको लागि को बाँकी रहनेछ? यदि मुक्ति चाहिने मानवजाति नै रहेनन् भने, परमेश्वरको व्यवस्थापन योजना कसरी पूरा होला? के मानवजातिलाई मुक्ति दिने परमेश्वरको कार्य अझै विद्यमान रहला त? के त्यो अझै जारी रहन सक्ला त? यसलाई यी पक्षहरूबाट हेर्दा, के मानिसले आफ्नो शरीरको राम्रो ख्याल गर्नु र स्वस्थ जीवन बिताउनु महत्त्वपूर्ण होइन र? के यो सार्थक कुरो होइन र? निश्चय नै यो सबैभन्दा सार्थक कुरो हो, र मानिसले यो काम गर्नुपर्छ। त्यतिकै “यदि नारम्रोमाथि झन् नराम्रो हुन्थ्यो भने, म परमेश्वरको निम्ति मरिदिन्थेँ” भनेर भन्ने र मर्नुलाई लापरवाहीसँग हल्का लिने, आफ्नो जीवन त्याग्ने र देहलाई कष्ट दिने ती मूर्ख मानिसहरूको सन्दर्भमा भन्नुपर्दा, यिनीहरू कस्ता मानिस हुन्? के तिनीहरू विद्रोही मानिस हुन्? (हुन्।) यिनीहरू सबैभन्दा विद्रोही मानिस हुन्, र यिनीहरूलाई घृणा र तिरस्कार गर्नुपर्छ। जब कसैले आफू परमेश्वरको लागि मर्छु भनेर त्यतिकै भन्न सक्छ, तब यो पनि भन्न सकिन्छ कि उसले त्यतिकै आफ्नो जीवन अन्त्य गर्ने, आफ्नो कर्तव्य छोड्ने, परमेश्वरद्वारा सुम्पिइएको कार्यभार त्याग्ने अनि आफूमा परमेश्वरको वचन पूरा हुनबाट रोक्नेबारे पनि सोच्ने गर्छ। के यो कामकुरा गर्ने मूर्ख तरिका होइन र? तैँले त्यतिकै र सजिलै आफ्नो जीवन त्याग्न सक्छस् होला अनि यो जीवन परमेश्वरमा अर्पित गर्न चाहन्छु भनेर भन्छस् होला, तर के तैँले तेरो जीवन अर्पित गर्नुपर्ने परमेश्वरलाई आवश्यकता छ र? तेरो जीवन परमश्वरकै हो र उहाँले त्यो कुनै पनि समय फिर्ता लिन सक्नुहुन्छ, त्यसैले उहाँमा त्यो अर्पित गर्नुको के काम? यदि तैँले त्यो अर्पित गरिनस् तर परमेश्वरलाई त्यो आवश्यक पऱ्यो भने, के उहाँले तँलाई मिठो बोलीले त्यो माग्नुहुनेछ र? के उहाँले यसबारे तँसँग कुरा गर्नुपर्नेछ र? अहँ, उहाँले त्यसो गर्नुपर्नेछैन। तर परमेश्वरले तेरो जीवन केको लागि चाहनुहुनेछ? परमेश्वरले तेरो जीवन फिर्ता लिनुभएपछि, तैँले कर्तव्य निर्वाह गर्न सक्नेछैनस्, र परमेश्वरको व्यवस्थापन योजनाबाट एक व्यक्ति हराउनेछ। के उहाँ त्यसमा खुसी र सन्तुष्ट हुनुहुनेछ? वास्तवमा को खुसी र सन्तुष्ट हुनेछ? (शैतान।) यदि तँ आफ्नो जीवन त्याग्छस् भने, तैँले त्यसबाट के प्राप्त गर्न सक्छस्? अनि परमेश्वरले तेरो जीवन फिर्ता लिएर के प्राप्त गर्न सक्नुहुन्छ? यदि तैँले मुक्ति पाउने अवसर गुमाइस् भने, त्यो परमेश्वरको लागि नाफा हुन्छ कि नोक्सान? (नोक्सान।) परमेश्वरको लागि त्यो नाफा हुँदैन, बरु नोक्सान हुन्छ। परमेश्वर तँलाई सृष्टि गरिएको प्राणीको रूपमा सृष्टि गरिएको प्राणीको कर्तव्य निर्वाह गर्नको लागि सृष्टि गरिएको प्राणीको जीवन र स्थान ग्रहण गर्न दिँदै सत्यता वास्तविकतामा प्रवेश गर्न, परमेश्वरमा समर्पित हुन, उहाँका अभिप्राय बुझ्न र उहाँलाई जान्न, उहाँको इच्छा पछ्याउन, मानवजातिलाई मुक्ति दिने उहाँको कार्यपूर्तिमा उहाँसँग सहकार्य गर्न र अन्त्यसम्मै उहाँलाई पछ्याउन दिनुहुन्छ। यो धार्मिकता हो, अनि यो नै तेरो जीवन अस्तित्वको मूल्य र अर्थ हो। यदि तेरो जीवन यसको लागि अस्तित्वमा छ र तँ यसको लागि स्वस्थ जीवन जिउँछस् भने, यो सबैभन्दा अर्थपूर्ण कुरा हो, अनि परमेश्वरको सन्दर्भमा त यो साँचो समर्पण र सहकार्य हो—उहाँको लागि सबैभन्दा सन्तुष्टदायी कुरा नै यही हो। परमेश्वर देहमा जिउने सृजित प्राणीले उहाँको सजाय र न्यायमाझ आफ्नो भ्रष्ट स्वभाव फालेको, शैतानले उसमा हालिदिएको अनेकौँ भ्रामक विचारहरू इन्कार गरेको अनि परमेश्वरबाट सत्यता र मापदण्ड स्विकार्न सकेको, सृष्टिकर्ताको प्रभुत्वममा पूर्ण समर्पित भएको, सृष्टि गरिएको प्राणीले पूरा गर्नुपर्ने कर्तव्य पूरा गरेको र ऊ सृष्टि गरिएको साँचो प्राणी बन्न सकेको चाहनुहुन्छ। परमेश्वर यही कुरा हेर्न चाहनुहुन्छ र यही नै मानव जीवन अस्तित्वको मूल्य र अर्थ हो। तसर्थ, कुनै पनि सृष्टि गरिएको प्राणीको लागि मृत्यु अन्तिम गन्तव्य होइन। मानव जीवन अस्तित्वको मूल्य र अर्थ मर्नु होइन, बरु परमेश्वरको लागि जिउनु, उहाँको लागि र कर्तव्यको लागि अस्तित्वमा रहनु, सृष्टि गरिएको प्राणीको कर्तव्य र जिम्मेवारी पूरा गर्न, परमेश्वरको इच्छा पछ्याउन, र शैतानलाई लज्जित तुल्याउन अस्तित्वमा रहनु हो। यही नै सृष्टि गरिएको प्राणीको अस्तित्वको मूल्य हो र यसको जीवनको अर्थ पनि यही हो।
मानिसहरूप्रतिको परमेश्वरको मापदण्डको सन्दर्भमा भन्नुपर्दा, परमेश्वरले मानिसहरूको जीवन र मृत्युलाई जे-जसरी लिनुहुन्छ, त्यो परम्परागत संस्कृतिको “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइमा बताइएको कुराभन्दा बिलकुलै फरक छ। शैतान मानिसहरू मरून् भन्ने निरन्तर चाहना गर्छ। यसलाई मानिसहरू जीवित देख्दा नमज्जा लाग्छ, र तिनीहरूको जीवन कसरी लिने भनेर सोचिरहन्छ। मानिसहरूले शैतानबाट परम्परागत संस्कृतिका भ्रामक विचारहरू स्वीकार गरेपछि, तिनीहरूले चाहने भनेकै देश र राष्ट्रको लागि वा आफ्नो करियरको लागि, प्रेमको लागि वा आफ्नो परिवारको लागि आफ्नो जीवन बलिदान दिनु हो। तिनीहरू निरन्तर आफ्नो जीवनको अवहेलना गर्छन्, कहीँ पनि र कुनै पनि समय मर्न र जीवन दिन तयार हुन्छन्, तर जीवनलाई परमेश्वरद्वारा दिइएको सबैभन्दा मूल्यवान् र कदर गर्नुपर्ने कुरा ठान्दैनन्। तिनीहरू आफ्नो जीवनकालमा र आफूमा परमेश्वरले दिनुभएको जीवन छँदा, आफ्ना कर्तव्य र दायित्वहरू पूरा गर्न सक्दैनन्, बरु शैतानको भ्रम र दुष्ट शब्दहरू स्विकार्छन्, मरुन्जेल काममै लागिरहन र सक्दो मेहनत गर्न सधैँ उद्यत रहन्छन्, अनि परमेश्वरको लागि कुनै पनि समय मर्न तयार हुन्छन्। वास्तविकता के हो भने, यदि तँ साँच्चै मर्छस् भने, परमेश्वरको लागि होइन, शैतानको लागि मर्छस्, र तँलाई परमेश्वरले सम्झनुहुनेछैन। किनभने जीवित व्यक्तिले मात्र परमेश्वरको महिमा बढाउन र उहाँको गवाही दिन सक्छ, अनि जीवित व्यक्तिले मात्र सृष्टि गरिएको प्राणीको उचित स्थान ग्रहण गर्न र आफ्नो कर्तव्य पूरा गर्न सक्छ र त्यसरी कुनै पछुतो गर्नुपर्ने हुँदैन र उसले शैतानलाई लज्जित पार्न र सृष्टिकर्ताको अचम्मलाग्दा कार्य र सार्वभौमिकताको गवाही दिन सक्छ—यी कुरा जीवित व्यक्तिले मात्र गर्न सक्छ। यदि तेरो जीवनधरि छैन भने, यो सब कुरा अस्तित्वमा रहँदैन। के त्यस्तै होइन र? (हो।) तसर्थ, शैतानले नैतिक आचरणसम्बन्धी “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइलाई अघि सारेर निस्सन्देह नै मानव जीवनलाई खेलाउँदै र कुल्चीमिल्ची पार्दै छ। शैतानले मानव जीवनलाई आदर गर्दैन, बरु खेलौनाझै खेलाउँछ, र मानिसहरूलाई “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्नेजस्ता विचारहरू स्विकार्न लगाउँछ। अनि, तिनीहरू यस्ता विचारहरूअनुसार जिउँछन्, र जीवनको कदर गर्ने वा आफ्नो जीवनलाई मूल्यवान् ठान्ने गर्दैनन्, त्यसले गर्दा तिनीहरू जीवन अर्थात् परमेश्वरले मानिसहरूलाई दिनुभएका कुराहरूमध्येको सबैभन्दा मूल्यवान् कुरा त्यतिकै त्यागिदिन्छन्। यो छली र अनैतिक कुरा हो। परमेश्वरले तेरो लागि निर्धारित गर्नुभएको अन्तिम म्याद नपुगुञ्जेल, तैँले जहिलेसुकै भए पनि आफ्नो जीवन त्याग्छु भनेर हल्कासित भन्नु हुँदैन। तँमा सास रहुञ्जेल, लत्तो नछोड्, आफ्नो कर्तव्य नत्याग् अनि सृष्टिकर्ताले तँलाई जिम्मा दिनुभएको कुरा र कार्यभार नत्याग्। किनभने कुनै पनि सृष्टि गरिएको प्राणीको जीवन सृष्टिकर्ताको लागि मात्र, अनि उहाँको सार्वभौमिकता, योजनाबद्ध कार्य र बन्दोबस्तको लागि मात्र अस्तित्वमा रहन्छ, र साथै सृष्टिकर्ताको गवाही र मानवजातिलाई मुक्ति दिने उहाँको कार्यको लागि मात्र यो जीवन अस्तित्वमा रहँदै यसको मोल साकार हुन्छ। तैँले देख्न सक्छस् कि मानव जीवनलाई हेर्ने परमेश्वरको दृष्टिकोण शैतानको दृष्टिकोणभन्दा बिलकुलै फरक छ। त्यसैले, कसले साँच्चै मानव जीवनको कदर गर्छ? (परमेश्वरले।) परमेश्वरले मात्र कदर गर्नुहुन्छ, जबकि मानिसहरू आफैलाई समेत आफ्नो जीवनको कदर गर्न आउँदैन। परमेश्वर मात्र मानव जीवनको कदर गर्नुहुन्छ। मानवजाति प्यारा वा प्रेम पाउन लायक नभए भए पनि, र तिनीहरू फोहोरीपन, विद्रोहीपन र शैतानले हालिदिएका अनेकथरी निरर्थक विचार र दृष्टिकोणले भरिएका भए पनि, र तिनीहरूले शैतानलाई पुज्ने र पछ्याउने, अनि परमेश्वरको विरोधसमेत गर्ने भए पनि, मानवजातिलाई परमेश्वरले नै सृष्टि गर्नुभएको हो र उहाँले नै तिनीहरूलाई सास र जीवन दिनुहुन्छ, त्यसैले उहाँले मात्र मानव जीवनको कदर गर्नहुन्छ, उहाँले मात्र मानिसहरूलाई प्रेम गर्नुहुन्छ र उहाँले मात्र मानवजातिलाई निरन्तर हेरचाह र कदर गर्नुहुन्छ। परमेश्वरले मानवजातिलाई कदर गर्नुहुन्छ—तर तिनीहरूको भौतिक शरीरलाई होइन, तिनीहरूको जीवनलाई कदर गर्नुहुन्छ, किनभने परमेश्वरद्वारा जीवन दिइएको मानवजाति मात्र अन्ततः साँच्चै उहाँको उपासना गर्ने र गवाही दिने सृष्टि गरिएको प्राणी बन्न सक्छन्। परमेश्वरसँग यी सृष्टि गरिएका प्राणीहरू अर्थात् मानिसहरूको लागि काम, आज्ञा र अपेक्षाहरू छन्। तसर्थ, परमेश्वर तिनीहरूको जीवनलाई प्रिय र मूल्यवान् ठान्नुहुन्छ। यही नै सत्य हो। कुरो बुझिस्? (बुझेँ।) त्यसैले, मानिसहरूले सृष्टिकर्ता परमेश्वरको अभिप्राय बुझेपछि, तिनीहरूले आफ्नो भौतिक शरीरको जीवन अनि यो शरीर जीवित रहने नियम र यसका आवश्यकताहरूप्रति कसरी व्यवहार गर्ने, के त्यसको लागि सिद्धान्तहरू हुनु पर्दैन र? यी सिद्धान्तहरू केमा आधारित हुन्छन्? ती परमेश्वरको वचनमा आधारित हुन्छन्। ती अभ्यास गर्ने सिद्धान्तहरू केके हुन्? निष्क्रिय हिसाबमा, मानिसहरूले शैतानद्वारा तिनीहरूमा घुसाइएका अनेकथरी भ्रामक दृष्टिकोण त्याग्नुपर्छ, र शैतानको दृष्टिकोणका भ्रामात्मकता खुलासा र पहिचान गर्नुपर्छ—जस्तै “मरुन्जेल काममै लागिरहनुपर्छ र सक्दो मेहनत गर्नुपर्छ” भन्ने भनाइ—जसले मानिसहरूलाई भावशून्य बनाउँछ, हानि गर्छ र सीमित पार्छ, अनि तिनीहरूले यी दृष्टिकोणहरू त्याग्नुपर्छ; त्यसबाहेक, सक्रिय हिसाबमा चाहिँ, तिनीहरूले मानवजातिप्रति सृष्टिकर्ता परमेश्वरको मापदण्ड के हो भनेर प्रस्टसित बुझ्नुपर्छ र परमेश्वरको वचनलाई आफूले गर्ने हरेक कुराको जग बनाउनुपर्छ। यस तरिकाले, मानिसहरूले कुनै विचलनविना र ठिकसँग अभ्यास गर्न र साँच्चै सत्यता पछ्याउन सक्नेछन्। सत्यता पछ्याउनु भनेको के हो? (पूर्णतया परमेश्वरका वचनहरूअनुसार र सत्यतालाई आफ्नो मापदण्डको रूपमा लिएर मानिसहरू र विभिन्न कुराहरूलाई हेर्नु, र सोहीअनुरूप आफूलाई व्यवहारमा ढाल्नु र कार्य गर्नु।) यसलाई यी शब्दहरूद्वारा सारसङ्क्षेप गर्नु सही हो।
आज हामीले मुख्यतः मृत्युलाई कसरी लिने, साथै जीवनलाई कसरी लिने भन्नेबारे सङ्गति गरेका छौँ। शैतानले मानिसहरूको जीवन कुल्चीमिल्ची पार्छ, तहसनहस गर्छ र खोस्छ। यसले मानिसहरूमा भ्रामक प्रकारको विचार र दृष्टिकोण हालिदिएर तिनीहरूलाई बहकाउँछ र भावशून्य बनाउँछ, अनि तिनीहरूसँग भएको सबैभन्दा मूल्यवान् कुरा—अर्थात् तिनीहरूको जीवनलाई—अवहेलना गर्न लगाउँछ, र त्यसरी परमेश्वरको कामलाई बाधा दिन्छ र नष्ट पार्छ। मलाई बता त, यदि सारा संसारका सबै मानिसहरूले मर्न चाहेका भए र त्यतिकै त्यसो गर्न सकेका भए, के समाज अस्तव्यस्त हुन्थेन र? के त्यसपछि मानवजातिलाई बाँच्नु र अस्तित्वमा रहनु गाह्रो हुन्थेन र? (हुन्थ्यो।) त्यसोभए, मानव जीवनप्रति परमेश्वरको मनोवृत्ति कस्तो छ? उहाँ यसको कदर गर्नुहुन्छ। परमेश्वर मानव जीवनलाई प्रिय र मूल्यवान् ठान्नुहुन्छ। मानिसहरूले परमेश्वरका यी वचनहरूबाट अभ्यासको कस्तो मार्ग पाउनुपर्छ? मानिसहरूले आफ्नो जीवनकालमा, परमेश्वरद्वारा दिइएको सबैभन्दा मूल्यवान् कुरा अर्थात् जीवन र सास छँदै, उचितसँग सत्यता पछ्याउनु र बुझ्नुपर्छ अनि कुनै पछुतो बाँकी नरहने गरी परमेश्वरको मापदण्ड र सिद्धान्तअनुसार सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्नुपर्छ, ताकि एक दिन तिनीहरूले सृष्टि गरिएको प्राणीको स्थान ग्रहण गर्न अनि सृष्टिकर्ताको गवाही दिन र उपासना गर्न सकून्। यसो गर्दा, तिनीहरूले शैतानको लागि नभई बरु परमेश्वरको सार्वभौमिकता, उहाँको कार्य र उहाँको गवाहीको लागि जिएर आफ्नो जीवनलाई मूल्य र अर्थ प्रदान बनाउनेछन्। जब मानिसहरूले परमेश्वरका कामकुराहरूबारे गवाही दिन सक्छन्, तब तिनीहरूको जीवनको मूल्य र अर्थ हुन्छ। तर त्यतिबेला मानव जीवन यसको सबैभन्दा गौरवमय समयमा पुगेको हुन्छ भनेर भन्नचाहिँ सकिँदैन। यसो भन्नु त्यति सही हुँदैन्, किनभने त्यो समय अझै आइपुगेको हुँदैन। तैँले साँचो अर्थमा सत्यता बुझिसकेपछि, सत्यता प्राप्त गरिसकेपछि, परमेश्वरको ज्ञान पाइसकेपछि अनि परमेश्वरको उपासना गर्न सृष्टि गरिएको प्राणीको स्थान ग्रहण गर्न र परमेश्वरबारे, सृष्टिकर्ताको सार्वभौमिकताबारे, उहाँको कार्यबारे र उहाँको सार र पहिचानबारे गवाही दिन सकेपछि, तेरो जीवनको मूल्य यसको चरमबिन्दु र चरम हदमा पुगेको हुनेछ। यो सबै कुरा भन्नुको उद्देश्य र महत्त्व भनेको तिमीहरूलाई जीवन अस्तित्वको मूल्य र अर्थ अनि कसरी आफ्नो जीवनप्रति व्यवहार गर्नुपर्छ भनेर बुझाउनु हो, र यसो गर्दा तैँले यसको आधारमा आफूले हिँड्नुपर्ने मार्ग रोज्नेछस्। परमेश्वरका अभिप्रायअनुरूप बन्ने एकमात्र तरिका यही हो।
जुन ४, २०२२