विश्वासको बारेमा तँलाई के थाहा छ?
मानिसमा भएजस्तो पनि देखिने र नभएजस्तो पनि देखिने “विश्वास” भन्ने शब्द मात्र रहेको छ, तैपनि मानिसलाई विश्वास भनेको वास्तवमा के हो भन्ने थाहा छैन, उसमा त्यो किन हुनुपर्छ भन्ने त झनै थाहा छैन। मानिस अत्यन्तै कम बुझ्छ, र मानिसमा ज्यादै कमी छ; मप्रतिको उसको विश्वास अनाडी र अज्ञानी मात्र छ। उसलाई विश्वास भनेको के हो, वा ऊ ममा किन विश्वास गर्छ भन्ने थाहा नभए पनि, ऊ एकोहोरो रूपमा ममा विश्वास गरिरहन्छ। मैले मानिससँग माग गर्ने भनेको उसले मलाई यसरी एकोहोरो रूपमा पुकारोस् वा ममा जथाभावी रूपमा विश्वास गरोस् भन्ने मात्र होइन, किनभने मैले गर्ने काम मानिसले मलाई देख्न सकोस्, र मलाई चिन्न सकोस् भन्नका लागि हो, मानिसले मलाई नयाँ दृष्टिले हेरोस् भन्नका लागि होइन। मैले कुनै समय धेरै वटा चिन्ह र आश्चर्यकर्म प्रकट गरेको थिएँ र धेरै वटा चमत्कार गरेको थिएँ, र त्यसबेलाका इस्राएलीहरूले मप्रति ठूलो प्रशंसा देखाए र बिरामीलाई निको पार्ने र पिशाचहरू निकाल्ने मेरा असाधारण शक्तिहरूलाई धेरै आदर गरे। त्यसबेला, यहूदीहरूले मेरो निको पार्ने शक्तिलाई अद्भुत, असाधारण ठाने—र मैले यति धेरै काम गरेको हुनाले, तिनीहरू सबैले मलाई मान गर्थे, र मेरा सबै शक्तिको निकै डाह गर्थे। त्यसकारण, मैले चमत्कारहरू गरेको देख्ने सबैले मलाई नजिकबाट पछ्याए, यतिसम्म कि मैले बिरामी निको पारेको हेर्न हजारौँले मलाई घेर्थे। मैले यति धेरै चिन्ह र आश्चर्यकर्म प्रकट गरेँ, तैपनि मानिसहरूले मलाई एक उत्कृष्ट वैद्यका रूपमा मात्र हेरे; त्यसै गरी, मैले त्यसबेला मानिसहरूलाई शिक्षाका धेरै वटा वचन पनि बोलेँ, तैपनि तिनीहरूले मलाई आफ्ना चेलाहरूभन्दा श्रेष्ठ शिक्षक मात्र माने। आज पनि, मानिसहरूले मेरो कामका ऐतिहासिक अभिलेखहरू देखेपछि, तिनीहरूको बुझाइ म बिरामीलाई निको पार्ने एक महान् वैद्य र अज्ञानीहरूका लागि एक शिक्षक हुँ भन्ने नै छ, र तिनीहरूले मलाई कृपालु प्रभु येशू ख्रीष्टका रूपमा सीमित गरेका छन्। धर्मशास्त्रहरूको व्याख्या गर्नेहरूले निको पार्ने मेरा “सीपहरू” लाई उछिनेका हुन सक्छन्, वा आफ्ना शिक्षकलाई उछिनेका चेलाहरू नै हुन सक्छन्, तैपनि संसारभरि नाम चलेका त्यस्ता नामुद मानिसहरू म एउटा सामान्य वैद्य मात्र भएझैँ मलाई अति नीच ठान्छन्। मेरा कार्यहरू यति धेरै छन्, तिनको सङ्ख्या समुद्री किनारको बालुवाका कणहरूभन्दा धेरै छ, र मेरो बुद्धि यति ठूलो छ, यसले सुलेमानका सबै पुत्रको बुद्धिलाई उछिन्छ, तैपनि मानिसहरू म मामुली वैद्य र मानिसको अज्ञात शिक्षक हुँ जसरी मात्र ममा विश्वास गर्छन्। धेरै मानिसहरू ममा केवल यस कारणले विश्वास गर्छन् कि म उनीहरूलाई निको पारिदिऊँ। धेरैले ममा मैले तिनीहरूको शरीरबाट अशुद्ध आत्माहरू निकाल्न मेरो आफ्नो शक्ति प्रयोग गरूँ भनेर मात्र विश्वास गर्छन्, अनि धेरैले ममा तिनीहरूले मबाट शान्ति र आनन्द प्राप्त गर्न सकून् भनेर मात्र विश्वास गर्छन्। मबाट अझ धेरै भौतिक सम्पत्ति माग गर्नलाई मात्र धेरैले ममा विश्वास गर्छन्। धेरै मानिस यो जीवन शान्तिमा बिताउन र अर्को जुनीमा सुरक्षित र सकुशल हुनलाई मात्रै ममा विश्वास गर्छन्। नरकका कष्टहरूबाट बच्न र स्वर्गका आशिष्हरू प्राप्त गर्नलाई धेरैले ममा विश्वास गर्छन्। धेरैले अस्थायी सहजताका निम्ति मात्र ममा विश्वास गर्छन्, तैपनि अर्को जुनीमा कुनै पनि कुरा प्राप्त गर्न खोज्दैनन्। जब म मेरो रिस मानिसलाई प्रदान गर्छु र कुनै समय ऊसँग भएका सबै आनन्द र शान्ति खोस्छु, तब ऊ शङ्कालु बन्छ। जब म मानिसलाई नरकको कष्ट प्रदान गरेर स्वर्गका आशिष्हरू फिर्ता लिन्छु, तब ऊ रिसले आगो हुन्छ। जब मानिस आफूलाई निको पारिदिन भनी मलाई बिन्ती गर्छ र म उसलाई ध्यान दिन्नँ र ऊप्रति घृणा महसुस गर्छु, तब ऊ मबाट छुट्टिएर जान्छ र बरु दुष्ट औषधि र टुनामुनाको मार्ग खोज्छ। जब म मानिसले मबाट माग गरेको सबै कुरा खोस्छु, तब ऊ कुनै नामनिसानविना गायब हुन्छ। त्यसैले त म भन्छु, मैले प्रदान गर्ने अनुग्रह अत्यन्तै प्रशस्त भएको हुनाले र प्राप्त गर्नका लागि प्रशस्त लाभहरू भएकाले नै मानिस ममा विश्वास राख्छ। यहूदीहरूको घरानाका मानिसहरूले मेरो अनुग्रहको कारण ममा विश्वास गरे र म जहाँ गए पनि मलाई पछ्याए। यी सीमित ज्ञान र अनुभव भएका अज्ञानी मानिसहरूले मैले प्रकट गरेका चिन्ह र आश्चर्यकर्महरू हेर्न मात्र खोजे। तिनीहरूले मलाई सबैभन्दा ठूला चमत्कारहरू गर्न सक्ने यहूदीहरूको घरानाको मुखियाका रूपमा लिए। त्यसैले मैले मानिसहरूका लागि पिशाचहरू निकाल्दा, यसले तिनीहरूमाझ बहस उब्जाउथ्यो: तिनीहरूले मलाई एलिया, मोशा, अगमवक्ताहरूमा सबैभन्दा प्राचीन अगमवक्ता, सबै वैद्यहरूभन्दा महान् थिएँ भनी भने। म जीवन, बाटो र सत्य हुँ भनी म आफैले भनेको बाहेक मेरो अस्तित्व र मेरो पहिचानलाई कसैले थाहा गरेनन्। मेरा पिता बस्नुहुने ठाउँ स्वर्ग हो भनी मैले भनेको बाहेक मलाई म परमेश्वरको पुत्र र परमेश्वर स्वयम् पनि हुँ भनी कसैले चिनेनन्। मैले सारा मानवजातिकहाँ उद्धार ल्याउनेछु र मानवजातिको छुटकाराको मूल्य तिर्नेछु भनी म आफैले भनेको बाहेक, म मानवजातिको छुटकाराकर्ता भएको कसैलाई थाहा थिएन, र मानिसहरूले मलाई एक हितकारी र कृपालु व्यक्तिका रूपमा मात्र चिने। म आफैले मेरो बारेमा सबै कुरा बताउन सक्नु बाहेक कसैले मलाई चिनेनन् र म जीवित परमेश्वरको पुत्र हुँ भनी कसैले मलाई विश्वास गरेनन्। मप्रति मानिसको विश्वास यस्तो छ र तिनीहरू मलाई यसरी मूर्ख बनाउन खोज्छन्। तिनीहरूले मप्रति यस्तो धारणा राखेर मेरो निम्ति कसरी साक्षी दिन सक्थे र?
मानिसहरू ममा विश्वास गर्छन्, तर तिनीहरू मेरो साक्षी दिन असक्षम छन्, न त तिनीहरू मैले आफूलाई प्रकट गर्नुभन्दा पहिले मेरो साक्षी दिन नै सक्छन्। मानिसहरू म सृजित प्राणीहरू र सारा पवित्र मानिसभन्दा माथि भएको मात्र देख्छन्, र मैले गर्ने काम मानिसद्वारा गर्न सकिँदैन भन्ने देख्छन्। त्यसकारण, यहूदीहरूदेखि लिएर आजको दिनका मानिसहरूसम्म, मेरा महिमामय कार्यहरू देख्ने सबै जना मप्रति उत्सुकताले मात्र भरिएका छन्, तर एउटा पनि सृजित प्राणीको मुखले मेरो साक्षी दिन सकेको छैन। मेरा पिताले मात्र मेरो गवाही दिनुभयो, र सारा सृजित प्राणीमाझ मेरो लागि बाटो बनाइदिनुभयो; यदि उहाँले त्यसो नगर्नुभएको भए, मैले जतिसुकै काम गरेको भए पनि, म नै सृष्टिकर्ता भएको कुरा मानिसले कहिल्यै थाहा पाएको हुनेथिएन, किनभने मानिस मबाट लिन मात्र जान्दछ र मेरो कामको परिणामस्वरूप उसले ममा विश्वास गर्दैन। म निर्दोष भएको र कुनै पनि हिसाबले पापी नभएको हुनाले, मैले धेरै वटा रहस्य बुझाउन सक्ने भएकाले, म भीडभन्दा माथि भएकाले, वा मानिसलाई मबाट लाभ मिलेको हुनाले मात्र मानिस मलाई चिन्छ, तैपनि म सृष्टिकर्ता भएको भनेर थोरैले मात्र विश्वास गर्छन्। त्यसैले म भन्छु कि मानिसलाई उसले ममा किन विश्वास राख्नुपर्छ भन्ने थाहा छैन; उसलाई ममा विश्वास राख्नुको उद्देश्य वा महत्त्व थाहा छैन। मानिसको वास्तविकतामा अत्यन्तै कमी छ, यतिसम्म कि ऊ मुस्किलले मेरो साक्षी दिन योग्य छ। तिमीहरूसँग साँचो विश्वास अत्यन्तै कम छ, र तिमीहरूले अत्यन्तै कम प्राप्त गरेका छौ, त्यसैले तिमीहरूसँग अत्यन्तै कम गवाही छ। त्यसमाथि, तिमीहरू अत्यन्तै कम बुझ्छौ र तिमीहरूमा अत्यन्तै कमी छ, यतिसम्म कि मेरा कार्यहरूको साक्षी दिन सक्षम हुनका लागि चाहिने कुरामा तिमीहरू चुक्छौ। तिमीहरूको सङ्कल्प साँच्चै नै ठूलो छ, तर के तिमीहरू परमेश्वरको सारको साक्षी दिन सक्षम हुने कुरामा तिमीहरू साँच्चै निश्चित हुन सक्छौ? तिमीहरूले अनुभव गरेका र देखेका कुरा सबै युगका सन्त र अगमवक्ताले अनुभव गरेका र देखेका कुराभन्दा बढी छ, तर के तिमीहरू मलाई विगतका यी सन्त र अगमवक्ताहरूका वचनहरूभन्दा ठूला गवाही दिन सक्षम छौ? मैले अहिले तिमीहरूलाई प्रदान गर्ने कुराहरूले मैले मोशा र दाऊदलाई प्रदान गरेका कुरालाई नै उछिन्छन्, त्यसरी नै म तिमीहरूका गवाहीले मोशाका गवाहीहरूलाई उछिनून् र तिमीहरूका शब्दहरूले दाऊदका शब्दहरूलाई उछिनून् भन्ने चाहन्छु। म तिमीहरूलाई सय गुणा दिन्छु—त्यसै गरी म तिमीहरू मलाई सय गुणा फिर्ता गर भनेर भन्छु। मानवजातिलाई जीवन प्रदान गर्ने म नै हुँ भन्ने कुरा तिमीहरूलाई थाहा हुनैपर्छ, अनि मबाट जीवन पाउने र मेरो निम्ति गवाही दिनैपर्ने तिमीहरू नै हौ। मैले तिमीहरूलाई पठाउने कर्तव्य, र तिमीहरूले मेरा निम्ति निर्वाह गर्नुपर्ने कर्तव्य यही हो। मैले मेरा सारा महिमा तिमीहरूलाई प्रदान गरेको छु, इस्राएलका मेरा चुनिएका मानिसहरूले कहिल्यै प्राप्त नगरेको जीवन मैले तिमीहरूलाई प्रदान गरेको छु। तिमीहरूले मेरो गवाही दिनुपर्छ र तिमीहरूको जवानी मलाई अर्पण गर्नुपर्छ र आफ्नो ज्यान दिनुपर्छ। जसलाई म मेरो महिमा प्रदान गर्छु, उसले मेरो गवाही दिनेछ र मेरा निम्ति आफ्नो ज्यान दिनेछ—यो मैले उहिले नै पूर्वनियोजन गरेको छु। मैले तिमीहरूलाई मेरो महिमा प्रदान गर्नु एउटा आशिष् हो, र मेरो महिमाको साक्षी दिनु तिमीहरूको कर्तव्य हो। यदि तिमीहरूले आशिष्हरूका खातिर मात्र ममा विश्वास गर्ने हो भने, मेरो कामको कमै महत्त्व हुनेथियो, र तिमीहरू आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुनेथिएनौ। इस्राएलीहरूले मेरो कृपा, प्रेमपूर्ण दया, र महान्ता मात्र देखे, र यहूदीहरूले मेरो धैर्य र छुटकारा मात्र देखे। तिनीहरूले मेरो आत्माको काम अत्यन्तै कम देखे, र तिनीहरूले बुझेको कुरा तिमीहरूले सुनेको र देखेको कुराको दश हजार भागको एक भाग मात्र थियो भन्ने कुरा पनि सत्य हो। तिमीहरूले देखेको कुरा तिनीहरूका मुख्य पूजाहारीहरूले देखेको कुरा भन्दा पनि बढी छ। आज तिमीहरूले बुझेका सत्यताहरू तिनीहरूका सत्यताहरू भन्दा बढी छन्; आज तिमीहरूले देखेको कुरा व्यवस्थाको युगमा साथै अनुग्रहको युगमा देखिएको कुरा भन्दा बढी छ, र तिमीहरूले अनुभव गरेको कुरा मोशा र एलियाले अनुभव गरेको कुरा भन्दा पनि बढी छ। किनभने इस्राएलीहरूले बुझेको कुरा यहोवाको व्यवस्था मात्र थियो, र तिनीहरूले देखेको कुरा यहोवाको पिठ्युँको दृश्य मात्र थियो; यहूदीहरूले बुझेको कुरा येशूको छुटकारा मात्र थियो, तिनीहरूले पाएको कुरा येशूद्वारा प्रदान गरिएको अनुग्रह मात्र थियो, र तिनीहरूले देखेको कुरा यहूदीहरूको घरभित्रको येशूको स्वरूप मात्र थियो। आज तिमीहरू जे देख्छौ त्यो यहोवाको महिमा, येशूको छुटकारा, र मैले अहिले गर्ने सबै कार्य हुन्। तिमीहरू आफ्नै कानले मेरो आत्माका वचनहरू पनि सुन्छौ, र तिमीहरूले मेरो बुद्धिबारे बोध प्राप्त गरेका छौ, मेरो आश्चर्यकर्म थाहा पाएका छौ र मेरो स्वभावबारे थाहा पाएका छौ। मैले तिमीहरूलाई मेरो सारा व्यवस्थापन योजना पनि बताएको छु। तिमीहरूले जे देखेका छौ त्यो प्रेमिलो र कृपालु परमेश्वर मात्र होइन, धार्मिकताले भरिपूर्ण परमेश्वर हो। तिमीहरूले मेरो कामको अद्भुतता देखेका छौ र म प्रताप र क्रोधले भरिएको छु भन्ने थाहा पाउन पुगेका छौ; कुनै समय मैले इस्राएलको घरमाथि मेरो क्रोध खन्याएको थिएँ, र अब यो तिमीहरूमाथि आएको छ भन्ने कुरा तिमीहरूले अझ बढी थाहा पाएका छौ। तिमीहरू स्वर्गमा मेरा रहस्यहरू यशैया र यूहन्नाभन्दा बढी बुझ्छौ; तिमीहरू मेरो प्रेमिलो स्वभाव र श्रद्धेयता विगतका सबै सन्तभन्दा पनि बढी जान्दछौ। तिमीहरूले मेरो सत्यता, मेरो मार्ग र मेरो जीवन मात्र प्राप्त गरेका छैनौ, बरु यूहन्नाले पाएको भन्दा ठूला दर्शन र प्रकाशहरू प्राप्त गरेका छौ। तिमीहरू अझ धेरै रहस्य बुझ्छौ, र मेरो साँचो मुहार पनि हेरेका छौ; तिमीहरूले मेरो न्याय अझ धेरै स्वीकार गरेका छौ र मेरो धर्मी स्वभाव अझ बढी जान्दछौ। त्यसैले, तिमीहरू आखिरी दिनहरूमा जन्मिएका भए तापनि, तिमीहरू पहिलेका कुराहरू र विगतका कुराहरू बुझ्छौ, र तिमीहरूले आजका कुराहरू पनि अनुभव गरेका छौ, जुन मद्वारा व्यक्तिगत रूपमै गरिएका थिए। मैले तिमीहरूसँग माग गरेको कुरा अत्यधिक छैन, किनभने मैले तिमीहरूलाई अति धेरै दिएको छु, र तिमीहरूले ममा अति धेरै देखेका छौ। यसैले, म तिमीहरू विगतका सन्तहरूलाई मेरा निम्ति गवाही देऊ भनेर माग गर्छु, र मेरो हृदयको एक मात्र चाहना यही हो।
मेरो निम्ति पहिले गवाही दिनुहुने मेरो पिता हुनुहुन्थ्यो, तर म महान् महिमा प्राप्त गर्न र सृष्टि गरिएका प्राणीहरूको मुखबाट गवाहीका शब्दहरू आओस् भन्ने चाहन्छु—ताकि मसँग भएका सबै थोक तिमीहरूलाई दिन सकूँ, ताकि तिमीहरूले मानिसहरू माझ मेरो कामलाई खतम गरेर तिमीहरूको कर्तव्य पूरा गर्न सक। तिमीहरू ममा किन विश्वास गर्छौ भन्ने कुरा तिमीहरूले बुझ्नुपर्छ; यदि तिमीहरू मेरो “शिष्य” वा मेरो “बिरामी” मात्र हुन वा स्वर्गका मेरा सन्तहरू हुन चाहन्छौ भने, तिमीहरूले मलाई पछ्याउनु निरर्थक हुनेछ। यसरी मेरो पछि लाग्नु ऊर्जाको बरबादी मात्र हुन्छ; ममा यस्तो किसिमको आस्था राख्नु तिमीहरूको दिन गुजार्नु, तिमीहरूको जवानी खेर फाल्नु मात्र हुन्छ। अनि अन्तमा तिमीहरूले केही पनि प्राप्त गर्नेछैनौ। के त्यो व्यर्थको षड्यन्त्र हुँदैन र? म यहूदीहरूको माझबाट निस्केको धेरै भइसक्यो र यस उप्रान्त म मानिसको वैद्य होइन, न त म मानिसका निम्ति असल औषधी नै हुँ। यस उप्रान्त म मानिसले आफ्नो इच्छाअनुसार काम गर्न लगाइने वा काटिने भारी बोक्ने जनावर होइन; बरु, म मानिसले मलाई चिनोस् भनी न्याय गर्न र सजाय दिन मानिसमाझ आएको छु। कुनै समयमा मैले छुटकाराको काम गरेँ भन्ने कुरा तिमीहरूले जान्नुपर्छ; म कुनै समयमा येशू थिएँ, तर जसरी म कुनै समयमा यहोवा थिएँ र पछि येशू भएँ, त्यसै गरी म सदैव येशू रहन सक्दिनथेँ। म मानवजातिको परमेश्वर, सृष्टिकर्ता हुँ, तर म सदैव येशू वा यहोवा रहिरहन सक्दिनँ। म मानिसले वैद्य ठान्ने वैद्य भएको छु, तर यसले परमेश्वर मानवजातिका निम्ति वैद्य मात्र हुनुहुन्छ भनेर सङ्केत गर्दैन। त्यसैले, यदि मप्रतिको आस्थामा तँ पुरानै दृष्टिकोण राख्छस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्। तैँले आज मेरो जति नै प्रशंसा गरे पनि, “परमेश्वर मानिसलाई निकै प्रेम गर्नुहुन्छ; उहाँ मलाई निको पार्नुहुन्छ र आशिष्, शान्ति र आनन्द दिनुहुन्छ। परमेश्वर मानिसका निम्ति कति असल हुनुहुन्छ; हामीले उहाँमा विश्वास गरेसम्म, हामीले पैसा बारे फिक्री गर्नुपर्दैन…,” म अझ पनि मेरो मौलिक कामालाई अवरोध गर्न सक्दिनँ। यदि तँ आज ममा विश्वास गर्छस् भने, तैँले मेरो महिमा मात्र पाउनेछस् र तँ मेरो गवाही दिनका लागि हकदार हुनेछस् र सबै कुरा गौण हुनेछन्। तैँले यो स्पष्ट रूपमा जान्नैपर्छ।
अब तैँले किन ममा विश्वास गर्नुपर्छ भन्ने कुरा तँलाई साँच्चै थाहा छ? के तँलाई मेरो कामको उद्देश्य र महत्त्व साँच्चै थाहा छ? के तँलाई तेरो कर्तव्य साँच्चै थाहा छ? के तँलाई मेरो गवाही के हो भन्ने साँच्चै थाहा छ? यदि तँ ममा विश्वास मात्र गर्छस्, तर तँमा मेरो महिमा वा गवाहीको कुनै सङ्केत छैन भने, मैले तँलाई धेरै अघि नै हटाइसकेको छु। सबै कुरा बुझ्नेहरूको कुरा गर्नुपर्दा, तिनीहरू झनै बढी मेरा आँखाका कसिङ्गर हुन्, र मेरो घरमा, तिनीहरू मेरो बाटोका अवरोधबाहेक केही होइनन्, तिनीहरू मेरो कामबाट पूर्ण रूपमा निफनेर फ्याँकिनुपर्ने सामा हुन्, तिनीहरूको कुनै काम छैन, तिनीहरूको बिलकुलै वजन छैन, र मैले तिनीहरूलाई धेरै अघिदेखि तिरस्कार गरेको छु। गवाहीविहीन सबैमाथि प्रायजसो मेरो रिस बर्सिन्छ, र मेरो डण्डा तिनीहरूबाट कहिल्यै टाढा हुँदैन। मैले धेरै अघि तिनीहरूलाई दुष्टको हातमा सुम्पिसकेको छु; तिनीहरू मेरा आशिष्हरूबाट पूर्ण रूपमा वञ्चित छन्। जब त्यो दिन आउँछ, तब तिनीहरूको सजाय मूर्ख, हठी महिलाहरूको भन्दा पनि बढी पीडादायी हुनेछ। आज, म त्यो काम मात्र गर्छु जुन मेरो कर्तव्य हो, सबै गहुँलाई ती सामाहरूसँगै मुठाहरूमा बाँध्छु। आजको मेरो काम यही हो। मैले निफन्ने बेलामा ती सामाहरू सबै निफनेर फ्याँकिनेछन्, त्यसपछि गहुँका दानाहरू भण्डारमा जम्मा गरिनेछन्, अनि निफनेर फ्याँकिएका ती सामाहरूलाई आगोमा जलाएर खरानी बनाइनेछ। अहिले मेरो काम सबै मानिसलाई मुठाहरूमा बाँध्नु मात्र हो; अर्थात्, तिनीहरूलाई पूर्ण रूपमा विजय गर्नु हो। त्यसपछि म सबै मानिसको परिणाम प्रकट गर्नका लागि निफन्न सुरु गर्नेछु। त्यसकारण तैँले मलाई अहिले कसरी सन्तुष्ट पार्नुपर्छ, र ममाथिको विश्वासमा तँ कसरी सही मार्गमा लाग्नुपर्छ भन्ने कुरा तैँले जान्नुपर्छ। मैले चाहना गर्ने भनेको तेरो अहिलेको बफादारी र समर्पण हो, तेरो अहिलेको प्रेम र गवाही हो। तँलाई यस क्षणमा गवाही भनेको के हो वा प्रेम भनेको के हो भन्ने थाहा नभए पनि, तैँले मकहाँ आफ्नो सबै कुरा ल्याउनुपर्छ, र आफूसँग भएका सबै खजाना—तेरो बफादारी र समर्पण—मलाई सुम्पिनुपर्छ। तैँले के जान्नुपर्छ भने मैले शैतानलाई पराजित गरेको कुराको गवाही मानिसको बफादारी र समर्पणभित्र निहित छ, जसरी मानिसमाथिको मेरो पूर्ण विजयको गवाही पनि त्यसमै निहित छ। ममाथिको तेरो विश्वासको कर्तव्य मेरो साक्षी दिनु, म बाहेक अरू कोहीप्रति बफादार नहुनु, र अन्त्यसम्म समर्पित हुनु हो। मैले मेरो कामको अर्को चरण सुरु गर्नुअघि, तैँले कसरी मेरो साक्षी दिनुपर्छ? तँ कसरी मप्रति बफादार र समर्पित हुनुपर्छ? के तँ आफ्नो प्रकार्यप्रति अर्पण देखाउनेछस्, कि तँ सिधै हरेस खानेछस्? के तँ मैले तेरो लागि प्रबन्ध गर्ने सबै कुराको अधीनमा रहन्छस् (चाहे तँ मर्नु वा नाश हुनु नै किन नपरोस्), कि मेरो सजायबाट बच्न बीचैमा भाग्छस्? तैँले मेरो साक्षी देलास्, र तँ मप्रति बफादार र समर्पित बन्लास् भनेर म तँलाई सजाय दिन्छु। वर्तमान सजाय मेरो कामको अर्को चरण पूरा गर्न, र भविष्यको काम निर्बाध रूपमा अघि बढोस् भन्नका खातिर हो भनेर पनि भन्न सकिन्छ। त्यसैले, म तँलाई बुद्धिमान् हुन र तेरो जीवनलाई वा तेरो अस्तित्वको महत्त्वलाई मूल्यहीन बालुवाको रूपमा नलिन अर्ती दिन्छु। के तँ मेरो आउने काम ठ्याक्कै के हुनेछ भन्ने थाहा पाउन सक्छस्? के तँलाई आउने दिनहरूमा म कसरी काम गर्नेछु र मेरो काम कसरी अघि बढाइनेछ भन्ने थाहा छ? तैँले मेरो काम अनुभव गर्नुको महत्त्व जान्नुपर्छ, र ममा विश्वास गर्नुको महत्त्व त झनै जान्नुपर्छ। मैले यति धेरै काम गरेको छु—तैँले कल्पना गरेजस्तो म कसरी बीचैमा हार मान्न सक्छु र? मैले यति ठूलो परियोजना सुरु गरेको छु—म यसलाई कसरी भत्काउन सक्छु र? म यस युगलाई अन्त्य गर्न आएको साँचो हो, तर अझ महत्त्वपूर्ण कुरा तैँले के जान्नुपर्छ भने मैले एउटा नयाँ युग सुरु गर्नु छ, नयाँ काम गर्नु छ, र अझ बढी, राज्यको सुसमाचार फैलाउनु छ। त्यसैले तैँले के जान्नुपर्छ भने वर्तमान काम भनेको एउटा युग सुरु गर्नु र आउने समयमा सुसमाचार फैलाउन र भविष्यमा युगको अन्त्य गर्नका लागि जग बसाल्नु मात्र हो। मेरो काम तैँले कल्पना गरेजस्तो सरल छैन, न त यो तँलाई लागेजस्तो मूल्यहीन वा अर्थहीन नै छ। त्यसकारण, मैले अझै पनि तँलाई भन्नैपर्छ: तैँले आफूलाई मेरो काममा अर्पित गर्नुपर्छ, र अझ बढी मेरो महिमाको खातिर आफूलाई समर्पित गर्नुपर्छ। अझ धेरै लामो समयदेखिको मेरो अभिलाषा भनेको तैँले मेरो साक्षी दिएस् भन्ने हो; र अझ बढी तैँले मेरो सुसमाचार फैलाएको हेर्न मैले धेरै लामो समयदेखि पर्खेको छु। तैँले मेरो हृदयमा के छ भन्ने कुरा बुझ्नुपर्छ।