सत्यता बुझेर मात्र व्यक्तिले परमेश्‍वरका कार्यहरू चिन्न सक्छ

सम्पूर्ण मानवजातिको नियतिमाथि र ब्रह्माण्डमा रहेका सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता हुन्छ। अनि, मानिसहरूले परमेश्‍वरको सार्वभौमिकताबारे के तथ्य बुझ्छन्? तिनीहरूले के बुझ्छन् भने, संसार जतिसुकै ठूलो वा ब्रह्माण्ड जतिसुकै विशाल होस्, आँखाले देखिनेदेखि नदेखिने सबै थोकमाथि परमेश्‍वरले सार्वभौम शासन गर्नुहुन्छ र उहाँले नै सबै कुराको योजना गर्नुहुन्छ। मान्छेको इच्छा, महत्त्वाकाङ्क्षा, माग, वा उसको झुकाव भएको मार्ग जेसुकै भए पनि, परमेश्‍वरको दृष्ठिकोणमा, उहाँको सार्वभौमिकता र योजनाहरूलाई यी कुराहरूले कुनै प्रभाव पार्दैनन्। परमेश्‍वरले कुन सिद्धान्तअनुसार सबै थोकमाथि सार्वभौम शासन गर्नुहुन्छ र ती सबैलाई योजनाबद्ध गर्नुहुन्छ? त्यो के कुरामा आधारित छ? परमेश्‍वरले यी सबै कुरा गर्नुको लक्ष्य के हो? त्यो केसँग सम्बन्धित छ? (त्यो परमेश्‍वरको व्यवस्थापन योजनासँग सम्बन्धित छ।) यो जवाफ सही हो; परमेश्‍वरका सबै कामहरू उहाँको व्यवस्थापन योजनासँग सम्बन्धित हुन्छन्। यी शब्दहरू अलि दुविधाजनक छन्, तर यिनीहरूको गहन अर्थ छ। यसबाट मैले भन्‍न खोजेको के हो भने, परमेश्‍वरले गर्नुहुने सबै कामहरू मान्छेका इच्छाहरूबाट प्रभावित हुँदैनन्। परमेश्‍वरको सार्वभौमिकता र योजनाहरू; उहाँले देशहरू, मानिसहरू, वा जातीय समूहहरूलाई योजनाबद्ध गर्ने तरिका; वा कुनै निश्‍चित युगमा होस् भनी उहाँले योजनाबद्ध गर्नुभएका कुराहरू मान्छेका इच्छाहरूबाट प्रभावित हुँदैनन्। समय, ठाउँ, भूगोल, वा मानिसहरूद्वारा परमेश्‍वर सीमित पारिनुहुन्‍न। उहाँले गर्नुहुने हरेक काम ठ्याक्कै उहाँकै योजनाबमोजिम अघि बढ्छ, र कसैले पनि त्यसलाई विफल पार्न वा बिथोल्न सक्दैन। तँ इच्छुक हू या नहू, अनि मानवजाति वा कुनै विशेष जातीय समूहका व्यक्तिपरक इच्छाहरू जेसुकै होऊन्, परमेश्‍वरले जे गर्ने निर्णय गर्नुभएको छ त्यसलाई कुनै मान्छे वा वस्तुले बिथोल्न, नष्ट पार्न, वा प्रभावित गर्न सक्दैन। तिमीहरूले यसबाट के सिकेका छौ? (हामीले परमेश्‍वरको अख्तियारबारे सिकेका छौँ।) यो परमेश्‍वरको अख्तियार हो। परमेश्‍वरले पहिलोचोटि मान्छेको सृष्टि गर्नुभएदेखि तिनीहरूले चरणबद्ध रूपमा प्रगति गर्दासम्म, मानवजातिमाझ परमेश्‍वरका चुनिएका मानिसहरू, अन्यजातिहरू, अनि परमेश्‍वरविरोधीहरू समेटिएका छन्। परमेश्‍वरले यी सबैखाले मानिसलाई मानवको रूपमा हेर्नुहुन्छ, तर के यी विभिन्‍न प्रकारका मानिसहरूलाई परमेश्‍वरले गर्ने व्यवहारमा कुनै भिन्नता हुन्छ? के परमेश्‍वरका चुनिएका मानिसहरूलाई उहाँले विशेष तरिकाले डोर्‍याउनुहुन्छ? (हो, डोर्‍याउनुहुन्छ।) परमेश्‍वरले उहाँका चुनिएका मानिसहरूलाई अरू मानिसहरुलाई भन्दा फरक व्यवहार गर्नुहुन्छ। तर परमेश्‍वरका चुनिएका मानिसहरूमै पनि कतिपयले उहाँको अनुसरण र आज्ञापालन गर्न सक्छन्, अनि कतिपयचाहिँ अनाज्ञाकारी हुन्छन् र उहाँको प्रतिरोध गर्छन्। त्यसो भए, परमेश्‍वरले तिनीहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृतिलाई उहाँले कसरी हेर्नुहुन्छ? (परमेश्‍वरको आज्ञापालन गर्नेहरूप्रति उहाँ कृपालु र प्रेमपूर्ण हुनुहुन्छ, तर जब मानिसहरू अनाज्ञाकारी हुन्छन् वा उहाँको प्रतिरोध गर्छन्, उहाँले तिनीहरूमाथि उहाँको धर्मी स्वभाव बर्साउनुहुन्छ।) त्यो सही हो। तँलाई आफू परमेश्‍वरका चुनिएका मानिसहरू वा उहाँका अनुयायीहरूमध्ये एक हुँ, वा आफूले परमेश्‍वरको घरको काममा कुनै न कुनै रूपमा योगदान दिएको छु भन्ने लागे पनि, परमेश्‍वरको दृष्टिकोणमा, उहाँले यी बाहिरी कुराहरू हेर्नुहुन्न। परमेश्‍वरसित धर्मी स्वभाव छ र मानिसलाई गर्ने व्यवहारमा उहाँ सिद्धान्तपरक हुनुहुन्छः न्याय गरिनुपर्नेहरूलाई न्याय गरिन्छ; दण्ड गरिनुपर्नेहरूलाई दण्डित गरिन्छ; र नष्ट गरिनुपर्नेहरूलाई नष्ट गरिन्छ। उदाहरणको लागि, यहूदीहरूलाई यहूदियाबाट खेदाइएको, र प्रभु येशूको स्वर्गको राज्यको सुसमाचार अन्यजातिहरूमाझ फैलाइएको तथ्यको के कुराले तिमीहरूलाई छुन्छ? मान्छेका धारणा र कल्पनाअनुसार, र यहूदी धर्मअनुसार, यहूदीहरू मात्र परमेश्‍वरका चुनिएका मानिसहरू हुन्। तिनीहरू परमेश्‍वरका सबैभन्दा अमूल्य सन्तान हुन्, परमेश्‍वरका सबैभन्दा निकटका मानव हुन्; तिनीहरू उहाँका आँखाका नानीहरू हुन्। मानिसहरूको कुराअनुसार, यहूदीहरू उहाँका सबैभन्दा प्रिय सन्तानहरू हुन्, अनि आफ्नो मनपर्ने बच्चालाई लाडप्यार र रक्षा गर्नुपर्छ, र तिनीहरूमाथि चोट लाग्‍न वा कुनै रूपको जोखिम मोलिन दिनु हुँदैन। मानिसहरू सोच्छन् कि यहूदीहरूले जेसुकैको लागि प्रार्थना गरे पनि, परमेश्‍वरले तिनीहरूलाई त्यो पूरा गरिदिनुहुन्छ, र तिनीहरूले मागे वा कल्पना गरेभन्दा बढी प्रदान गर्नुहुन्छ। तर परमेश्‍वरले त्यस्तै गर्नुभएको हो र? (अहँ, त्यस्तो होइन।) त्यसो भए, परमेश्‍वरले के गर्नुभयो त? यहूदीहरूले प्रभु येशूलाई क्रूसमा टाँगेको कारण परमेश्‍वर अति क्रोधित हनुभयो, र उहाँले रोमीहरूलाई यहूदिया कब्जा गर्न सैनिक पठाउन अनि यहूदीहरूलाई आफ्नो गृहभूमिबाट खेदाउन लगाउनुभयो। त्यो अत्यधिक हत्या र नरसंहारले भरिएको दृश्य थियो; अनगिन्ती मानिसहरू मरे र रगतको खोलो बग्यो। संसारका विभिन्न देशहरूमा भागेर मात्रै थुप्रै यहूदीहरू बाँचे। यी तथ्यहरूबाट, तिमीहरूले परमेश्‍वरको स्वभावमा के सार देख्छौ? (परमेश्‍वरको धर्मी स्वभावले चिढ्याइ नसहने सार।) परमेश्‍वरको स्वभावबारे कुरा गर्नुभन्दा पहिला मानिसहरूलाई उदाहरणको रूपमा प्रयोग गरी हेरौँ। वास्तविक जीवनमा, यदि कुनै व्यक्तिको एउटा बच्चा छ जसलाई ऊ धेरै माया गर्छ, र आफ्नो सम्पति र आफूसँग भएका सबथोक बच्चाले ग्रहण गरोस् भन्ने चाहन्छ भने, उसले के गर्ला? एकातिर, उसले आफ्नो बच्चालाई कडाइ गर्नेछ, ताकि ऊ हुर्केर निपुण व्यक्ति बनोस् र उसका अभिभावकको विरासत थाम्न सकोस्। तर सबैभन्दा महत्त्वपूर्ण रूपमा, उसले उसको रक्षा गर्नेछ र उसलाई कुनै चोट वा खतराको मुखमा पर्न दिनेछैन। यसो गर्नुको उद्देश्य बच्चाले बाँच्न र उसका अभिभावकसँग भएका सबैकुरा प्राप्त गर्न सकोस् भन्ने हो। यी सबै गर्न मानिसहरूलाई के कुराले उत्प्रेरित गर्छ? के मानिसहरूले आफूले प्रेम नगर्ने वा नचिन्ने बालबालिकालाई उस्तै रूपमा लिन्छन्? के तिनीहरूले उस्तै व्यवहार गर्छन्? (अहँ, गर्दैनन्।) यो प्रष्ट छ कि आफूले सबैभन्दा बढी माया गर्ने बच्चाको लागि मानिसहरूले जे गर्छन् त्यो स्वार्थीपन, संवेग, र व्यक्तिगत चाहनाबाट उत्प्रेरित भएको हुन्छ; यी कुराहरू मान्छेको प्रकृतिको सारका पाटाहरू हुन्। के मानिसको संवेग र स्वार्थीपनमा सत्यता हुन्छ? के त्यसमा निष्पक्षता हुन्छ? (अहँ, हुँदैन।) मानवजातिले यसरी नै आफ्नो प्रकटीकरण गर्छ। तर परमेश्‍वरले गर्नुभएका कामहरू हेर् त—परमेश्‍वर चाहनुहुन्थ्यो कि उहाँका चुनिएका मानिसहरू अर्थात यहूदीहरूले यहूदियादेखि संसारभरिका (एसिया, यूरोप, अफ्रिका, र आमेरिकी राष्ट्रहरूका) सबै अन्यजातिहरूमा सुसमाचार फैलाऊन्। तिनीहरूले सुसमाचार कसरी फैलाउनुपर्थ्यो? परमेश्‍वरले एउटा जुक्ति प्रयोग गर्नुभयो जुनबमोजिम विदेशी आक्रमणकारीहरूले यहूदी भूमिहरूमा हमला गरेर कब्जा जमाए, र त्यहाँ बस्दै आएका यहूदीहरू, जो मुक्तिदाता येशूको खबर फैलाउँथे, ती मानिसहरूलाई त्यहाँबाट लखेटे, र तिनीहरूले कहिल्यै नफर्कने गरी आफ्नो गृहभूमि गुमाउनुपर्‍यो। त्यसपछि, यहूदीहरू पृथ्वीका विभिन्न कुनामा बसोबास गर्न थाले, तिनीहरू त्यहीँ बाँचे र मुक्तिदाता येशूको सुसमाचार फैलाउन थाले, र क्रमिक रूपमा संसारको प्रत्येक देश, अनि पृथ्वीको हरेक कुनासम्म सुसमाचार पुर्‍याए। यसले एक तथ्य प्रमाणित गर्छ, त्यो के हो भनेः परमेश्‍वरको काम एकदमै व्यवहारिक हुन्छ। प्राथमिक रूपमा यसको प्रकटीकरण कहाँ हुन्छ? परमेश्‍वरले एउटा अति विशेष र असामान्य जुक्ति प्रयोग गरेर इस्रायलीहरूलाई ती विभिन्न देशहरूमा लखेटी प्रभु येशूको सुसमाचार फैलाउन लगाउनुभएको तथ्यमा। यदि उहाँले इस्रायलीहरूलाई नै प्रत्येक देशमा गएर सुसमाचार फैलाउने अनि परमेश्‍वरको साक्षी दिने निर्णय गर्न दिनुभएको भए, तिनीहरू आफ्ना परिवार र पूर्ख्यौली गृहभूमि त्याग्न राजी हुन सक्दैनथे। यो त परमेश्‍वरले तिनीहरूलाई लात हानेर बाटो तताउन लगाउनुएजस्तै हो, ताकि तिनीहरूले त्यहाँबाट निस्केर प्रभु येशूको सुसमाचार फैलाउन सकून्। स्वर्गको राज्यको सुसमाचारको लागि परमेश्‍वरले चुकाउनुभएको मूल्य यही हो; उहाँले आफ्ना चुनिएका मानिसहरूलाई युद्ध, नरसंहार र निर्वासन भोग्‍न लगाउनुभयो। यहूदीहरू कुनै घरबिना पृथ्वी चहार्दै प्रत्येक देशमा सुसमाचार फैलाउन बाध्य भए। मान्छेको नजरमा, यी जुक्तिहरू अति निर्दयी लाग्छन्, तर के परमेश्‍वरको सारलाई “निर्दयी” भनी व्याख्या गर्न मिल्छ? पक्कै मिल्दैन, किनकि त्यो निर्दयी छैन। किनभने परमेश्‍वरको स्वभाव र सारमा कुनै स्वार्थीपन वा संवेग छैन; उहाँले सम्पूर्ण मानवजातिको प्रगतिको लागि यो सब गर्नुभएको हो, ताकि मानवजातिको प्रगतिको अर्को चरण सफल होस्, र त्यो पूर्ण रूपले परमेश्‍वरको व्यवस्थापन योजनाका चरणहरूबमोजिम साकार होस्। त्यसकारण, परमेश्‍वरले यो गर्नैपर्थ्यो; अन्य विकल्पै थिएन। परमेश्‍वरको कामका चरणहरू यस बिन्दुसम्म अघि बढिसकेको थियो, अनि उहाँका कार्यहरूले द्रुत र राम्रा नतिजाहरू ल्याइसकेका थिए, त्यसकारण ती पूर्ण रूपले उपयुक्त थिए। परमेश्‍वरको सारलाई हेर्दा, परमेश्‍वरले मात्र यस्तो काम गर्न सक्नुहुन्थ्यो, अन्य कुनै देश वा जातिले गर्न सक्दैनथ। परमेश्‍वरको स्वभाव धर्मी छ। यहूदीहरूप्रतिको परमेश्‍वरको मनोवृति हेर्दा, आजका परमेश्‍वरका चुनिएका मानिसहरूको लागि केही अन्तर्दृष्टि मिल्नुपर्छ। मान्छेलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र परमेश्‍वरमा मान्छेको लागि प्रेम, स्नेह, कृपा, र प्रेमिलोदयालुपन हुन्छ, तर जब परमेश्‍वरले मानिसलाई कुनै मिसन दिनुहुन्छ, परमेश्‍वरको नजरमा मानिसहरू के हुन्छन्? तिमीहरूले यो स्तरको अर्थ बुझ्न सक्छौ? कतिपय मानिसहरू भन्छन्, “यो दृष्टिकोणबाट, परमेश्‍वरको नजरमा मानिसको कुनै मूल्य हुँदैन। तिनीहरू केवल गोटी हुन्। परमेश्‍वरले जहाँ भन्नुहुन्छ त्यहीँ गयो, अनि जे भन्नुहुन्छ त्यही गर्‍यो।” के यी शब्दहरू सही छन्? छैनन्। बाहिरी रूपमा कुरा यही हो जस्तो देखिन्छ, तर वास्तवमा त्यस्तो होइन। मान्छेको शब्दमा भन्नुपर्दा, जब परमेश्‍वरले काम गर्नुहुन्छ, उहाँले खासै चिन्ता लिनुहुन्न। उहाँमा मान्छेको परम्परागत सोँच वा धारणा हुँदैन, र उहाँलाई केही कुराले सीमित पार्दैन। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो मुक्त गर्ने, स्वतन्त्र पार्ने, सार्वजनिक, पारदर्शी, र इमानदार प्रकृतिको हुन्छ। एकातिर, उहाँले उहाँको व्यवस्थापन योजनाका चरणहरू पालना गर्नुहुन्छ ताकि सबैकुरा सामान्य रूपमा अघि बढून्; अर्कोतर्फ, यसो गरिनुको उद्देश्य मानिसहरू भविष्यमा परमेश्‍वरको रेखदेखमा उहाँको व्यवस्थापन योजनाबमोजिम सामान्य रूपमा प्रगति गर्न र अघि बढ्न सकून् भन्‍ने हो। मान्छेको प्रगति परमेश्‍वरको व्यवस्थापन योजनासँग घनिष्ठ रूपले गाँसिएको हुन्छ। यदि परमेश्‍वरले यो कदम चाल्नको लागि आफूले मन परेको कुरा त्याग गरी पीडा नभोग्नुभएको भए, मान्छेलाई अलिकति अघि बढ्न पनि गाह्रो हुने थियो। त्यसकारण मैले भन्ने गरेको छु कि परमेश्‍वरले रोज्नुभएका कुराहरू, उहाँले चाल्नुभएका कदमहरू, र उहाँको व्यवस्थापन योजनाभित्र भएका सबैकुराबारे उहाँले राम्ररी विचार गर्नुभएको छ; यसमा उहाँको शक्ति, अख्तियार, र बुद्धि रहेका छन्। परमेश्‍वरले गर्नुभएका कामहरूमा मानिसले नबुझ्ने सधैँ केही न केही हुने गर्छ। अनि, तिनीहरूले किन बुझ्न सक्दैनन् त? किनकि मानिसहरूमा धारणाहरू हुन्छन्। यी धारणाहरूमध्ये कतिपय कल्पना हुन्छन्, कतिपय मान्छेको परम्परागत संस्कृति र सोचबाट प्रभावित भएका हुन्छन्, अनि कतिपयचाहिँ मानिसका स्वार्थी चाहना र निष्कर्षहरू हुन्छन्। यी कुराहरूले परमेश्‍वरबारेको मान्छेको बुझाइ, साथसाथै परमेश्‍वरप्रतिको उसको दृष्टिकोणलाई प्रभावित गर्छन्।

यहूदीहरूलाई यहूदियाबाट खेदाइएकोबारे तिमीहरू के निष्कर्षमा पुग्न सक्छौ? (परमेश्‍वरको हृदय मान्छेको जस्तो स्वार्थी छैन। परमेश्‍वरले गर्नुहुने हरेक काम इमानदार हुन्छ र त्यो सारा मानवजातिको प्रगतिको लागि हुन्छ।) यदि तिमीहरूलाई यो परिस्थिति आइपर्‍यो, अनि नरसंहार भयो, रगतको खोलो बग्यो, तिमीहरूको घरमा विनाश र मृत्यु भयो, अनि परिवार भत्कियो भने, तिमीहरूको बुझाइ के हुन्छ? (हाम्रो मानवता अनि शैतानले हामीलाई भ्रष्ट तुल्याएको हदअनुसार, हामीमा थुप्रै गलतबुझाइहरू, आक्रोश, र अपव्याख्याहरू हुन सक्छन्, तर अहिले परमेश्‍वरको सङ्गतिमार्फत हामीले बुझेका छौँ कि परमेश्‍वरले जे गर्नुहुन्छ त्यसमा अर्थ र उहाँको इच्छा लुकेको हुन्छ। हामीले जतिसुकै कष्ट भोगे पनि, हामी तत्पर भएर परमेश्‍वरका सबै योजनाबद्ध कार्यहरूप्रति समर्पित बन्नुपर्छ, अनि परमेश्‍वरको आखिरी दिनहरूको कामबारे सुनाउँदै र साक्षी दिँदै उहाँसँग सहकार्य गर्ने सक्दो प्रयास गर्नुपर्छ।) यी तथ्यहरू मध्यनजर गर्दा, के मान्छेसँग विकल्प छ? परमेश्‍वरले जे गर्ने निर्णय गर्नुहुन्छ त्यो छनौट गर्ने अधिकार मान्छेमा हुँदैन। के यी वचनहरू सुनिसकेपछि पनि मानिसहरूलाई अझै परमेश्‍वर नै प्रेम हुनुहुन्छ भन्‍ने लाग्छ? तिनीहरू निराश हुनेछन्, र भन्‍नेछन्, “यदि यी तथ्यहरूबारे मानिसहरूसँग विकल्प हुँदैन भने, परमेश्‍वरको व्यवस्थापन योजनाको काममा मानिसले ठ्याक्कै के भूमिका खेल्छन् त?” तिमीहरूलाई थाहा छ? (हामी सृष्टि गरिएका प्राणीहरू हौँ।) तिमीहरू सृष्टि गरिएका प्राणीहरू मात्र होइनौ; तिमीहरूले प्रतिभारको रूपमा पनि काम गर्छौ। तिमीहरू परमेश्‍वरको न्याय र दण्डका पात्रहरू हौ, तर त्यो भन्दा पनि बढी, तिमीहरू उहाँको मुक्तिका पात्रहरू हौ। तिमीहरूले खेल्ने भूमिका त्यही हो। सृष्टि गरिएका प्राणीहरूको रूपमा तिमीहरूको कार्य के हो? यो व्यक्तिको अभ्यास र कर्तव्यसँग सम्बन्धित हुन्छ। तँ सृष्टि गरिएको प्राणी होस्, र यदि परमेश्‍वरले तँलाई गीतको वरदान दिनुभयो, अनि परमेश्‍वरको घरले तँलाई गाउने व्यवस्था मिलायो भने, तैँले राम्ररी गाउनुपर्छ। यदि तँसँग सुसमाचार प्रचार गर्ने प्रतिभा छ, र परमेश्‍वरको घरले तँलाई बाहिर गएर सुसमाचार प्रचार गर्ने व्यवस्था मिलायो भने, तैँले बाहिर गएर राम्ररी सुसमाचार प्रचार गर्नुपर्छ। परमेश्‍वरका चुनिएका मानिसहरूले तँलाई अगुवाको रूपमा चुन्छन् भने, तैँले नेतृत्वको जिम्‍मेवारी स्विकार्नुपर्छ, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान र पिउन, सत्यता सङ्गति गर्न, र वास्तविकतामा प्रवेश गर्न डोर्‍याउनुपर्छ। त्यसो गर्दा, तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरेको हुनेछस्। परमेश्‍वरले मान्छेलाई दिनुहुने आज्ञा अत्यन्तै महत्त्वपूर्ण र अर्थपूर्ण हुन्छ! अनि, तैँले यो आज्ञालाई कसरी पालना गर्नुपर्छ र कसरी आफ्नो कार्य पूरा गर्नुपर्छ? यो तैँले सामना गर्ने सबैभन्दा ठूला समस्याहरूमध्ये एक हो, र तैँले एउटा रोज्नैपर्छ। यसलाई तँ अति महत्त्वपूर्ण क्षण भनेर पनि भन्न सक्छस् जसले तैँले सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् र परमेश्‍वरद्बारा तँलाई सिद्ध पार्न सकिन्छ कि सकिँदैन भन्ने कुराको निर्क्यौल गर्छ। यदि तँ आफ्नै इच्छाको भरमा काम गर्छस् र भएभरका आक्रोश पोख्छस् भने, तैँले परमेश्‍वरको आज्ञा पूरा नगर्ने मात्र नभई परमेश्‍वरको घरको काम पनि खल्बल्याउनेछस्। फलस्वरूप, तैँले पावलले जस्तै गरी सजाय भोग्नुपर्ने हुन्छ। जब परमेश्‍वरले तँलाई केही काम गर्नू भन्नुहुन्छ, त्यतिबेला तेरो कार्य के हो? उक्त काम राम्ररी गर्नु र भद्रगोल नपार्नु हो। यसो गर्दा, तैँले राम्ररी सेवा गरिरहेको हुन्छस्। परमेश्‍वरले तँलाई जे सेवा गर्नू भन्नुभए पनि, तैँले त्यो राम्ररी र आज्ञाकारीपूर्वक गर्नुपर्छ। यसो गर्दा, तँ कुरा सुन्ने र आज्ञापालन गर्ने व्यक्ति हुन्छस्। यदि तैँले कुनै सेवा इमानदारीपूर्वक गर्दैनस्, जहिले पनि व्यक्तिगत अभिप्रायहरू राख्छस्, र सधै राजाजस्तो भएर शासन गर्न चाहन्छस् भने, तँ शैतान र ख्रीष्टविरोधी होस्, र तैँले दण्डित हुनैपर्छ। कतिपय मानिसहरूले सत्यता बुझ्दैनन् वा सत्यता पछ्याउँदैनन्; तिनीहरूले आफ्ना काममा मात्र बल गर्छन्। त्यसो भए, सृष्टि गरिएका प्राणीहरूको रूपमा तिनीहरूको कार्यचाहिँ के हो त? काम गर्नु र सेवा गर्नु मात्र हो। उसो भए निष्कर्षमा, परमेश्‍वरको नजरमा सृष्टि गरिएका प्राणीहरूले ठ्याक्‍कै निर्वाह गर्नुपर्ने कर्तव्यहरू के-के हुन् र तिनीहरूले कस्तो मानव स्वरूपमा जिउनुपर्छ? यो तिमीहरूको अभ्याससँग सम्बन्धित कुरा हो। मान्छेका धारणा र कल्पनाहरूअनुसार, परमेश्‍वरले उहाँको नजरका सृष्टि गरिएका प्राणीहरूलाई स्नेह, वास्ता, रक्षा, हेरचाह र अनुग्रह प्रदान गर्नुहुन्छ। अनि, उहाँले तिनीहरूलाई अनुशासनमा राख्‍नुहुन्छ, काटछाँट र निराकरण गर्नुहुन्छ, र तिनीहरूलाई हृदयमा प्रेम गर्नुहुन्छ, र आफ्नो हातमा लिनुहुन्छ। अन्ततः, परमेश्‍वरसँग तिनीहरूलाई सिद्ध पार्ने, तिनीहरूको सुरक्षा सुनिश्‍चित गर्ने र तिनीहरूलाई सिद्ध नपारुञ्जेल केही नहोस् भन्ने सुनिश्‍चित गर्ने एउटै अभिप्राय रहेको हुन्छ। तिनीहरूको लागि त परमेश्‍वरको नजरमा सृष्टि गरिएका प्राणीहरू यिनै हुन्। यो कुरा भोग्दा, मानिसहरू सोच्छन्, “परमेश्‍वर असाधारण रूपमा प्रेमिलो हुनुहुन्छ! हाम्रो परमेश्‍वर अति महान हुनुहुन्छ! उहाँ हाम्रो प्रेमको अति लायक हुनुहुन्छ! परमेश्‍वर कृपालु र प्रेमिल हुनुहुन्छ! परमेश्‍वर अद्भूत हुनुहुन्छ!” तर तैँले यसलाई तथ्यहरूसँग तुलना गरिस् भने, के परमेश्‍वरले सृष्टि गरिएका प्राणीहरूसँग गर्ने व्यवहार यी मात्र हुन् त? (अहँ, होइन।) त्यसो भए, परमेश्‍वरले मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्‍वरले मान्छेलाई व्यवहार गर्दा अपनाउनुहुने मनोवृतिबारे मानिसहरूमा अरू के-कस्ता धारणा र कल्पनाहरू हुन्छन्? के मानिसहरूले स्विकार्नै नसक्ने केही कुरा छन्? पक्‍कै पनि, यी परमेश्‍वरको न्याय, सजाय, परीक्षाहरू, शोधन, काटछाँट, अनुशासन, वञ्‍चितीकरण, र उहाँद्वारा मानिसको निराकरण हुन्। परमेश्‍वरको न्याय र सजाय स्विकार्न नसक्नेहरू कस्ता खालका मानिसहरू हुन्? तैँले तिनीहरू सत्यता नस्विकार्ने मानिसहरू हुन् भनेर भन्न सक्छस्, र तैँले ती सत्यता नस्विकार्ने मानिसहरू गैरविश्‍वासीहरू हुन् भनेर निश्‍चितसाथ भन्न सक्छस्। यदि मान्छेले परमेश्‍वरको न्याय र सजाय स्विकार्न सक्दैनन् भने, तिनीहरूले परमेश्‍वरको काम स्विकार्न सक्दैनन्। यो समस्या कस्तो प्रकृतिको हुन्छ? कस्तो भने तिनीहरूले सत्यता स्विकार्दैनन्, र परमेश्‍वरको काम अस्वीकार गर्छन्। यस्ता मानिसहरूले विपद्‌ र दण्ड मात्र सामना गर्नुपर्ने हुन्छ। तँ जस्तोसुकै व्यक्ति भए पनि, यदि तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् तर सत्यता स्विकार्दैनस् भने, तँलाई मुक्ति दिलाउन सकिँदैन। व्यक्तिहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, परमेश्‍वरले तिनीहरूको खुलासा गर्न तिनीहरूलाई जस्तोसुकै वातावरणमा राख्‍नुभए पनि, के तिनीहरूले आफ्नो खुलासा हुने प्रक्रियाको क्रममा परमेश्‍वरको आशिष्‌, अनुग्रह, वास्ता, वा रक्षा देख्न सक्छन्? (अहँ, सक्दैनन्।) बाहिरी रूपमा तिनीहरूले देख्न सक्दैनन्, तर परीक्षा र शोधन भोगेपछि के तिनीहरूले देख्न सक्नेछन्? निश्‍चय पनि सक्नेछन्। त्यसकारण, परमेश्‍वरको न्याय र सजाय भोगेपछि उहाँको रक्षा र आशिष्‌ देख्‍न सक्‍ने कैयौँ मानिसहरू हुन्छन्। तर सत्यता मन नपराउने मानिसहरूले यी कुराहरू बिलकुलै देख्‍न सक्दैनन्। तिनीहरू अझै आफ्नै धारणा र कल्पनामा टाँसिइरहन्छन्, र तिनीहरू परमेश्‍वरप्रति शत्रुता र विद्रोहीपनले भरिएका हुन्छन्। यस प्रकारका मानिसहरू गैरविश्‍वासी, दुष्टजन, र ख्रीष्टविरोधीहरू हुन। तिनीहरूले जे-जे गर्छन् ती सबै गर्न नहुने कामका उदाहरण हुन्। पावल एउटा उदाहरण हो। पावललाई हेर्दा मानिसहरूले के देख्छन्? (पावल ख्रीष्टविरोधी मार्गमा थियो, र उसको कथा हाम्रा लागि चेतावनी हो।) पावल सत्यताको पछि लाग्दैनथ्यो। उसले आफ्नो देहको लागि भविष्य र गन्तव्य खोज्न मात्र परमेश्‍वरमा विश्‍वास गर्थ्यो। उसले इनाम र मुकुट मात्र प्राप्त गर्न खोज्यो। परमेश्‍वरले थुप्रै वचनहरू बोल्नुभयो, उसलाई अनुशासनमा राख्‍नुभयो, प्रशस्तै अन्तर्दृष्टि र ज्योति दिनुभयो, तैपनि उसले परमेश्‍वरको आज्ञापालन गर्ने वा सत्यता स्विकार्ने गरेन। उसले जहिले पनि परमेश्‍वरको अवज्ञा र प्रतिरोध गर्थ्यो, र अन्तिममा, ऊ ख्रीष्टविरोधी बन्यो र उसले निन्दा र दण्ड भोग्यो। पावल गर्न नहुने कुराको एउटा उदाहरण हो। आद्यरूपी ख्रीष्टविरोधीको रूपमा पावलको उदाहरण जाँच गर्दा, हामी बुझ्न सक्छौँ कि पावल परमेश्‍वरको प्रतिरोध र विनाशको मार्गमा थियो। थुप्रै मानिसहरूले यसबाट सिकेका र फाइदा प्राप्त गरेका छन्। तिनीहरूले सत्यता पछ्याउने मार्गमा, र विश्‍वासीको सही मार्गमा पाइला चालेका छन्। सत्यता स्विकार्न सक्ने, र पावलको पाठबाट फाइदा प्राप्त गरेका मानिसहरूको लागि परमेश्‍वरको के इच्छा हुन्छ? (मुक्ति र प्रेम।) त्यसो भए, परमेश्‍वरद्वारा भएको पावलको खुलासा, न्याय, र निन्दाबाट मानिसहरूले परमेश्‍वरको स्वभावको कुन पक्ष देख्न सक्छन्? (उहाँको धर्मी स्वभाव।) त्यसो भए परमेश्‍वरको नजरमा, सृष्टि गरिएको प्राणीको रूपमा पावल के बनेको थियो? ऊ सेवा गर्ने वस्तु भएको थियो। सबै मानिसहरू, फाइदा प्राप्त गर्नेहरू र खुलासा गरिनेहरू दुवै थरी नै, सृष्टि गरिएका प्राणीहरू हुन्। तर परमेश्‍वरले यी दुई थरीका मानिसहरूलाई पूरै फरक तरिकाले व्यवहार गर्नुहुन्छ। वास्तवमा, परमेश्‍वरको नजरमा यी दुवै थरीका मानिसहरू कमिला र किराजतिकै बेकार हुन्, तर परमेश्‍वरले एउटालाई गर्ने व्यवहार अर्कोलाई गर्नेभन्दा फरक छ। यो परमेश्‍वरको धर्मी स्वभाव हो। यी दुई थरीका मानिसहरूप्रति परमेश्‍वरको फरक मनोवृति केमा आधारित हुन्छ? (यो तिनीहरूले पछ्याउने मार्गमा आधारित हुन्छ।) यो कुरा व्यक्ति आफैले कसरी आफ्नो प्रकटीकरण गर्छ भन्‍ने कुरामा, र उसको सार, सत्यताप्रतिको उसको मनोवृति, र ऊ हिँडिरहेको मार्गमा आधारित हुन्छ। झट्ट हेर्दा, परमेश्‍वरमा मान्छेको लागि सहानुभूति नभएजस्तो, उहाँ संवेगहीन भएजस्तो, र उहाँका कदमहरू निर्दयी भएजस्तो लाग्छ। मान्छेका धारणा र कल्पनाहरूअनुसार, मानिसहरू सोच्छन्, “परमेश्‍वरले पावललाई त्यस्तो व्यवहार नगर्नुभएको भए हुन्थ्यो। पावलले धेरै काम गरेका र धेरै कष्ट भोगेका थिए। साथै, उनी परमेश्‍वरप्रति अति बफादार थिए। परमेश्‍वरले उनलाई किन त्यस्तो व्यवहार गर्नुभएको होला?” के मानिसहरूले यसो भन्नु उपयुक्त हुन्छ? के यो सत्यताबमोजिम छ? पावल कुन रूपमा परमेश्‍वरप्रति अति बफादार र भक्त थियो? के तिनीहरू सत्यता बङ्ग्याइरहेका छैनन् र? पावल आफ्नै लागि आशिष्‌ प्राप्त गर्न बफादार र भक्त बन्थ्यो। के त्यो परमेश्‍वरप्रतिको बफादारी हो? जब मानिसहरूले सत्यता बुझ्दैनन्, समस्याको सार प्रष्ट रूपमा देख्दैनन्, र संवेगको आधारमा अन्धाधुन्धा बोल्छन्, के तिनीहरू परमेश्‍वरविरुद्ध विद्रोह र प्रतिरोध गरिरहेका हुँदैनन् र? सबैले पावलको पूजा गर्नु नौलो कुरै भएन। शैतानका मानिसहरूले शैतानलाई नै पूजा गर्छन्, र संवेगको आधारमा शैतानकै पक्षमा बोल्छन्। मतलब, मानिसहरू शैतानबाट छुट्टिएजस्तो देखिए पनि तिनीहरू त्यससितै जोडिएका हुन्छन्। खासमा, जब मानिसहरू शैतानको पक्षमा बोल्छन्, तिनीहरू आफ्नै पक्षमा पनि बोलिरहेका हुन्छन्। मानिसहरूले पावलप्रति सहानुभूति जनाउँछन् किनभने तिनीहरू पनि पावलजस्तै हुन्छन्, र ऊसँगको एउटै मार्गमा हुन्छन्। मान्छेको सामान्य समझअनुसार त परमेश्‍वरले पावललाई त्यस तरिकाले व्यवहार नगर्नुभएको भए हुन्थ्यो, र उहाँले जे गर्नुभयो त्यो मानव तर्कको ठिक उल्टो थियो। यो परमेश्‍वरको धर्मी स्वभाव हो, र यो सत्यता हो। यदि व्यक्तिले मान्छेको सामान्य समझअनुसार बोल्यो भने, उसले यसो भन्‍न सक्छ, “पावलले खासै धेरै प्राप्त नगरे पनि, उनले धेरै परिश्रम र प्रयास गरे। उनले वर्षौँसम्म कष्ट भोगेको कारण उनलाई बचाइएको भए हुन्थ्यो। उनी सेवाकर्ता मात्र थिएछन् भने पनि त्यो ठिकै हुन्थ्यो। तर उनलाई दण्डित गर्नु वा नरकमा पठाउनु पर्दैनथ्यो।” यी मान्छेका तर्क र संवेग हुन्—यो सत्यता होइन। परमेश्‍वरको सबैभन्दा सुन्दर पक्ष के हो? उहाँमा मान्छेको सामान्य समझ नहुनु। उहाँले जे गर्नुहुन्छ ती सबै सत्यता र उहाँको सारबमोजिम हुन्छ। उहाँले धर्मी स्वभाव प्रकट गर्नुहुन्छ। परमेश्‍वरले न तेरो व्यक्तिपरक इच्छाहरूलाई न त तैँले जे गरेको छस् त्यसका वस्तुगत तथ्यहरूलाई नै वास्ता गर्नुहुन्छ। तैँले जे गर्छस्, जे प्रकट गर्छस्, र तैँले जुन मार्ग हिँड्छस्, त्यसको आधारमा परमेश्‍वरले तँ कस्तो व्यक्ति होस् भन्ने कुरा निर्धारण गर्नुहुन्छ, अनि त्यसपछि तेरो लागि उपयुक्त मनोवृति अपनाउनुहुन्छ। पावलको अन्त्य यसरी नै भएको हो। पावलको विषयलाई हेर्दा, परमेश्‍वर प्रेमरहित हुनुहुन्थ्यो जस्तो लाग्छ। पत्रुस र पावल दुवै सृष्टि गरिएका प्राणीहरू थिए, तर परमेश्‍वरले पत्रुसलाई प्रशंसा गर्नुभयो र आशिष्‌ दिनुभयो, तर पावललाई भने खुलासा, चिरफार, न्याय, र निन्दा गर्नुभयो। परमेश्‍वरले जसरी पावलको अन्त्य निर्क्यौल गर्नुभयो, त्यसमा तैँले परमेश्‍वरको प्रेम देख्न सक्दैनस्। त्यसैले, पावललाई जे भयो, त्यसको आधारमा, के तैँले परमेश्‍वरले प्रेम गर्नुहुन्न भन्न सक्छस्? अहँ, तैँले सक्दैनस्, किनभने परमेश्‍वरले उसलाई थुप्रैपटक अनुशासित गर्नुभयो, ज्योति दिनुभयो, र प्रायश्‍चित गर्ने थुप्रै मौकाहरू दिनुभयो, तर पावलले जिद्दीपूर्वक अस्वीकार गर्‍यो र परमेश्‍वरविरोधी मार्गमा हिँड्यो। त्यसकारण अन्त्यमा, परमेश्‍वरले उसलाई निन्दा र दण्डित गर्नुभयो। यस विषयलाई झट्ट हेर्दा, परमेश्‍वरको काम र मुक्तिमा मानिसको लागि केही विकल्प नै छैन जस्तो देखिन्छ। परमेश्‍वरले मानिसको रोजाइमा हस्तक्षेप गर्नुहुन्न, तर यदि कुनै व्यक्तिले आशिष्‌ खोजी गर्ने मार्ग रोज्यो भने, परमेश्‍वरले उसलाई निन्दा र दण्डित गर्नुहुनेछ। यस्तो लाग्छ मानौँ परमेश्‍वरले मानिसहरूलाई तिनीहरूको आफ्नै मार्ग रोज्न दिनुहुन्न, उहाँले तिनीहरूलाई सत्यता पछ्याउने मार्ग मात्र रोज्न दिनुहुन्छ, र कुनै व्यक्तिलाई न्याय गर्नु वा नगर्नु, शुद्ध पार्नु वा नपार्नु, र सिद्ध पार्नु वा नपार्नु सबै परमेश्‍वरकै हातमा हुन्छ। तर परमेश्‍वरको कामलाई यसरी हेर्नु र परमेश्‍वरलाई यस रूपमा व्याख्या गर्नु मूर्खतापूर्ण गल्ती र पूरै हास्यास्पद हुँदैन र? परमेश्‍वरको स्वभाव धर्मी र पवित्र हुन्छ भनेर मान्छे बिलकुलै जानकार छैन; उसले जहिले पनि आफ्नै मार्ग—अर्थात् परमेश्‍वरविरोधी मार्ग पछ्याउँछ, तर परमेश्‍वरको न्याय र निन्दा स्विकार्न चाहँदैन। यो पूर्ण रूपमा बेमनासिब छ! यहाँ कैयौँ मानिसहरू छन्, जो यस्तो सोच्छन्, “परमेश्‍वरले मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ, के मिसन दिनुहुन्छ, के काम अह्राउनुहुन्छ, वा के कर्तव्य निर्वाह गर्न लाउनुहुन्छ भन्ने कुरा तिनीहरूले रोज्न सक्दैनन्। आफ्नै मार्गमा हिँड्न खोज्‍नेलाई अन्ततः निन्दा गरिन्छ। परमेश्‍वरले तँलाई जुन मार्गमा डोर्‍याउनुहुन्छ, तैँले त्यही मार्ग रोजिस् भने मात्र, र तैँले सत्यता पछ्याउने मार्ग रोजिस् भने मात्र, परमेश्‍वरले तँलाई आशिष्‌ दिनुहुन्छ र प्रशंसा गर्नुहुन्छ।” कतिपय मानिसहरूले यसलाई परमेश्‍वर पक्षपाती हुनुभएको र मानिसको छनौटको स्वतन्त्रतामा हस्तक्षेप गर्नुभएको रूपमा लिन्छन्। तर के तथ्य यही हो त? (होइन।) परमेश्‍वरले सिद्धान्तअनुसार नै यो सब गर्नुहुन्छ। जब तैँले तथ्य र सत्यता बुझ्दैनस्, त्यतिखेर तैँले सजिलै परमेश्‍वरलाई गलत बुझ्न र आलोचना गर्न सक्छस्, तर जब तैँले तथ्य र सत्यता बुझ्छस्, तँलाई लाग्‍नेछ कि यी गलतबुझाइहरू पूर्णतया बेकार र घृणित कुराहरू हुन्, र यस्ता कुराहरू कहिल्यै पैदा हुनु हुँदैन। यस बिन्दुमा तैँले थाहा पाउनेछस् कि परमेश्‍वरले गर्नुहुने हरेक काम सही हो। मानिसहरूले यो बुझ्न सक्दैनन् किनभने तिनीहरू अति स्वार्थी र मूर्ख हुन्छन्। तिनीहरूले सत्यता बुझ्दैनन् र विभिन्‍न मामिलाहरू प्रष्ट रूपमा देख्न सक्दैनन्, त्यसैले तिनीहरूले परमेश्‍वरलाई तिनीहरूको आफ्नै धारणा र कल्पनाअनुसार व्याख्या गर्छन्। यो कुरा बुझेपछि, तैँले अबउप्रान्त पावलको बचाउ गर्ने वा परमेश्‍वरलाई गलत रूपमा बुझ्नेछैनस्। तैँले यसो भन्नेछस्, “परमेश्‍वरले जे गर्नुहुन्छ त्यो पूर्ण रूपले सही हुन्छ। भ्रष्ट हुने त मानवहरू हुन्। तिनीहरू सङ्कुचित सोच भएका र मूर्ख हुन्छन्। तिनीहरूले परिस्थितिहरू प्रष्ट बुझ्न सक्दैनन्। व्यक्तिले परमेश्‍वरको धर्मी स्वभाव देखे पनि नदेखे पनि वा यसमार्फत तिनीहरूले परमेश्‍वरको प्रेम देखे पनि नदेखे पनि, परमेश्‍वरले गर्ने हरेक चीज सही हुन्छ, र त्यो उहाँको धर्मी स्वभाव र सारको प्रकटीकरण हो। त्यो सबै सत्यताबमोजिम हुन्छ, र गलत हुँदैन!” आज, परमेश्‍वरले तिमीहरूमाथि काम गर्नुहुँदा र तिमीहरूलाई मुक्ति दिनुहुँदा, तिमीहरूले कुन मार्ग रोज्नुपर्छ? के परमेश्‍वरले तिमीहरूलाई हस्तक्षेप गर्दै हुनुहुन्छ? तिमीहरूले के विकल्प रोज्नुपर्छ? के तिमीहरूले पावलको गल्तीहरूबाट सिक्नुपर्छ? के तिमीहरू पत्रुसजस्तै बनेर सत्यता पछ्याउने मार्गमा हिँड्नुपुर्छ? तिमीहरूले यो मामिलालाई कसरी लिन्छौ? त्यो तिमीहरूले सत्यता बुझ्छौ या बुझ्दैनौ त्यसैमा भर पर्छ। सत्यता बुझ्दा, त्यसले कस्ता समस्याहरू समाधान गर्छ? सत्यता बुझ्नुको उद्देश्य मान्छेको भ्रष्ट स्वभाव र मान्छेका विभिन्न कठिनाइहरू सुल्झाउनु हो। जब तँ सुल्झाउनै नसकिने समस्याहरू; वा तेरो धारणासँग नमिल्ने मानिस, घटना, र वस्तुहरूको समुमुख आउँछस्, तब सत्यताले तँभित्रै आफ्नो कार्य गर्न शुरु गर्छ। त्यसो भए पावलको घटनाले तँलाई तेरो व्यक्तिगत जीवन प्रवेश र तेरो मार्ग रोजाइमा कसरी मदत गर्छ? (त्यसले हामीलाई परमेश्‍वरसामु आउन र आफैमाथि चिन्तन गर्न अभिप्रेरित गर्न सक्छ।) (त्यसले परमेश्‍वर र मान्छेबीच पर्खालहरू भत्काउन र गलत बुझाइहरू हटाउन सक्छ।) त्यो त्यसको एउटा पाटो हो, र तिमीहरूले यस छलफलबाट केही प्राप्त गरेका छौ। बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुराहरू भनेका सत्यता पछ्याउने मार्ग रोज्नुको महत्त्व, र त्यसो गर्नेहरूलाई परमेश्‍वरले किन प्रशंसा गर्नुहुन्छ र आशिष्‌ दिनुहुन्छ भन्ने कुराहरू हुन्। यस प्रश्‍नको जवाफ बुझ्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

भर्खरै मैले यहूदीहरूलाई निर्वासनमा कसरी पठाइयो, र तिनीहरू संसारभरका सबै देशमा कसरी छरिए भन्ने कुरा उल्लेख गरेँ। मानिसहरू यो तथ्यलाई कसरी लिन्छन्? तिनीहरू कस्तो सत्यता बुझ्छन्? यो घटनाले मानिसहरूलाई अलि चिन्तन गराउनुपर्ने हो। पहिलो, मानिसले कसरी अभ्यास गर्नुपर्छ भन्नेबारे, अनि दोस्रो, ताकि तिनीहरूले यो घटनामार्फत् परमेश्‍वरको स्वभाव बुझून् भन्‍नेबारे चिन्तन गर्नुपर्ने हो। पहिला, मानिसले यी परिस्थितिमा कसरी अभ्यास गर्नुपर्छ त्यसबारे कुरा गरौँ। परमेश्‍वरले गर्नुहुने कुनै पनि काम मान्छेको चाहनाद्वारा प्रभावित हुँदैन; परमेश्‍वरको आफ्नै योजना हुन्छ, र कामकुरा गर्ने उहाँका आफ्नै सिद्धान्तहरू हुन्छन्। त्यसोभए, मानिसहरूमा कस्तो मनोवृति हुनुपर्छ? मानिसहरूले जे परिस्थिति सामना गर्नुपरे पनि, वा त्यो तिनीहरूको धारणासँग मेल खाओस् या नखाओस्, तिनीहरू बिर्सेर पनि परमेश्‍वरविरुद्ध जानु हुँदैन। कतिपय मानिसहरू भन्छन्, “मैले अनाज्ञाकारी भएर परमेश्‍वरको विरोध गर्ने भए पनि, मैले आफ्नो कर्तव्य निर्वाह गरे पुगिहाल्यो नि, होइन र?” यो कस्तो खालको मनोवृति हो? स्पष्टतः यो अस्वीकार्य कुरा हो। यो साँचो आज्ञाकारिता होइन। त्यसोभए, मानिसले “परमेश्‍वरविरुद्ध जानु हुँदैन” भन्ने कुरालाई ठ्याक्कै कसरी अभ्यास गर्नुपर्छ, र त्यसलाई कसरी व्यवहारमा उतार्नुपर्छ? अभ्यासका दुईवटा सिद्धान्तहरू छन्: पहिलो, परमेश्‍वरको इच्छा के हो, मानिसहरूले के-कस्ता सत्यताहरू बुझ्नुपर्छ, र सहकार्य गर्दै परमेश्‍वरको आज्ञा कसरी पूरा गर्नुपर्छ भनेर सक्रिय रूपले खोजी गर्नुपर्छ—यो मानिसहरूले गर्नुपर्ने कामको सक्रिय पाटो हो। दोस्रो, तैँले परमेश्‍वरबारे कहाँनेर गलतबुझेको छस्, तँ उहाँप्रति कहाँ आज्ञाकारी छैनस्, कहाँ तेरा धारणा र कल्पनाहरू छन्, र कहाँ उहाँसँग नमिल्ने कुराहरू छन् भनी जाँच्‍नु र पहिचान गर्नुपर्छ। यसले तँ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सत्यताको सही अभ्यास गर्न, सिद्धान्तअनुसार काम गर्न, परमेश्‍वरको आज्ञा पूरा गर्न, र परमेश्‍वरद्वारा स्मरणमा रहन सक्छस् बनेर सुनिश्‍चित गर्नेछ। के अभ्यासका यी सिद्धान्तहरू सरल छन्? (हो, सरल छन्।) मैले “सरल” भन्नुको मतलब के हो? के हो भने, तर्क र शब्दहरू तुलनात्मक रूपले स्पष्ट छन्; “एक” भनेको एक हो र “दुई” भनेको दुई नै हो; यो सुन्नेबित्तिकै यसलाई कसरी अभ्यास गर्ने भनेर तँलाई थाहा हुन्छ। तर वास्तवमा यसलाई व्यवहारमा उतार्नु त्यति सरल छैन, किनकि मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्। तिनीहरू जहिले पनि वादविवाद गर्छन्, र तिनीहरूमा अनेकौँ कल्पना र धारणाहरू, साथै परमेश्‍वरबारे गलतबुझाइहरू हुन्छन्। मानिसहरूले यी कुराहरू विश्‍लेषण गरी परमरेश्‍वरको न्याय र सजाय स्विकार्नैपर्छ, तर यसले आत्मिक बुझाइ नभएका मानिसहरूलाई नयाँ धारणा बनाउन लगाउँछ: “सबै मानिसहरू परमेश्‍वर प्रेम हुनुहुन्छ भन्छन्, अनि किन परमेश्‍वर जहिले पनि मान्छेका सोच र धारणाहरूको खुलासा र न्याय गर्नुहुन्छ? म त परमेश्‍वरमा प्रेम देख्दिनँ; परमेश्‍वरको स्वभावले अपराध नसहेको मात्र देख्छु।” के यो मान्छेको धारणा होइन र? भ्रष्ट मान्छेका धारणा र कल्पनाहरूमा जस्तै, यदि परमेश्‍वरले सारा मानवजातिको विकासको क्रममा जहिल्यै कृपा र करूणा मात्र देखाउनुभएको भए र कहिल्यै धार्मिकता वा क्रोध नदेखाउनुभएको भए, के मान्छे हालसम्म बाँच्न सक्नेथियो? (अहँ, सक्नेथिएन।) मान्छेलाई शैतानले धेरै पहिले निलिसकेको हुनेथियो। पिशाच, शैतान र परमेश्‍वरको विरोध गर्ने भ्रष्ट मानिसहरूको समस्या सम्हाल्दा, परमेश्‍वरले जे देखाउनुहुन्छ र जसरी आफूलाई प्रकट गर्नुहुन्छ, त्यो मान्छेले भन्ने गरेको प्रेम होइन, बरु धर्मी स्वभाव हो; त्यो घृणा, तिरस्कार, न्याय, सजाय, दण्ड र विनाश हो। यसो गरेर मात्र परमेश्‍वरले उहाँको स्वभाव धर्मी, पवित्र, र अपराध नसहने छ भनी खुलासा गर्न; शैतानलाई पूर्ण रूपमा लज्जित तुल्याउन, र प्रभावकारी रूपले साँचो मानवताको रक्षा गर्न सक्नुहुन्छ। परमेश्‍वरले सधैँ यसरी नै मानवजातिलाई डोर्‍याउनुभएको र जोगाउनुभएको छ।

मानिसहरूले आफ्नो हृदयमा भएका परमेश्‍वरसँगमेल नखाने, वा उहाँबारे गलत बुझेको कुनै पनि कुरा बारम्बार जाँच गर्नुपर्छ। यी गलत बुझाइहरू कसरी उत्पन्न हुन्छन्? किन मानिसहरू परमेश्‍वरलाई गलत बुझ्छन्? (किनकि तिनीहरूको स्वार्थ प्रभावित हुन्छ।) मानिसहरूले यहूदियाबाट भएको यहूदीहरूको निर्वासनका तथ्यहरू देखेपछि, दुःख मान्छन्, र भन्छन्, “सुरुमा, परमेश्‍वरले इस्राएलीहरूलाई धेरै प्रेम गर्नुभयो। उहाँले तिनीहरूलाई मिश्रबाट निकालेर लाल समुद्र पार गराउनुभयो स्वर्गबाट मन्न बर्साइदिनुभयो र पिउनको लागि पानीको मुहान फुटाइदिनुभयो, त्यसपछि व्यक्तिगत रूपमै डोर्‍याउन व्यवस्था दिनुभयो, र जिउने तरिका सिकाउनुभयो। मान्छेको लागि परमेश्‍वरको प्रेम प्रचुर थियो—त्यतिखेरका मानिसहरू साह्रै भाग्यशाली थिए! कसरी परमेश्‍वरको मनोवृति आँखा झिमिक्क गर्दै उल्टिन पुग्यो? उहाँको त्यत्रो प्रेम कहाँ हरायो?” मानिसहरूको भावना यसबाट पर जान सक्दैन, र तिनीहरू शङ्का गर्न थाल्छन् र भन्छन्, “परमेश्‍वर प्रेम हुनुहुन्छ कि हुनुहुन्‍न? इस्राएलीहरूप्रतिको उहाँको पहिलेको मनोवृति अहिले किन बिलकुलै देखिँदैन? उहाँको प्रेम त नामोनिसानै हरायो। के उहाँमा अलिकति पनि प्रेम छ?” मानिसहरूको गलत बुझाइ यहीँबाट सुरु हुन्छ। मानिसहरूले कुन सन्दर्भमा गलत बुझाइ राख्छन्? के त्यो परमेश्‍वरका कार्यहरू मान्छेका धारणा र कल्पनाहरूसँग नमिलेर हुन सक्छ? के यही तथ्यले गर्दा मानिसहरू परमेश्‍वरलाई गलत बुझ्छन्? मान्छेले परमेश्‍वरको प्रेमको परिभाषा सीमित पार्ने भएकोले उहाँलाई गलत बुझ्छन् होइन र? तिनीहरू सोच्छन्, “परमेश्‍वर प्रेम हुनुहुन्छ। त्यसकारण, उहाँले मानिसहरूको ख्याल र रक्षा गर्नुपर्छ, र तिनीहरूलाई अनुग्रह र आशिष्‌ प्रदान गर्नुपर्छ। परमेश्‍वरको प्रेम भनेकै यही हो! परमेश्‍वरले मानिसहरूलाई यसरी प्रेम गर्नुभएको मलाई मन पर्छ। परमेश्‍वरले मानिसहरूलाई कति प्रेम गर्नुहुन्छ भन्ने कुरा मैले विशेषतः उहाँले तिनीहरूलाई लाल समुद्र पार गराएर डोर्‍यानुहुँदा देखेँ। त्यतिखेरका मानिसहरू धेरै भाग्यशाली थिए! म तिनीहरूमध्ये एक हुन सके त!” जब तँ यस कथाबाट मोहित हुन्छस्, तब तँ परमेश्‍वरले त्यस क्षणमा देखाउनुभएको प्रेमलाई सर्वोच्च सत्यता र उहाँको सारको एक्लो निशानको रूपमा लिन्छस्। तैँले हृदयमा उहाँको परिभाषालाई सीमित पार्छस्, र परमेश्‍वरले त्यस क्षणमा गर्नुभएका सबै कुरालाई सर्वोच्च सत्यता ठान्छस्। तँ सोच्छस्, यो परमेश्‍वरको सबैभन्दा प्रेमिलो पक्ष, र मान्छेलाई उहाँको सम्मान गर्न र डर मान्न बाध्य पार्ने कुरा हो, अनि यो परमेश्‍वरको प्रेम हो। वास्तवमा, परमेश्‍वरका कार्यहरू आफै सकारात्मक थिए, तर तेरो सीमित परिभाषाको कारण, ती तेरो दिमागका धारणाहरू, र परमेश्‍वरलाई परिभाषित गर्ने तेरो आधार बन्न पुगे। ती कुराले तँलाई परमेश्‍वरको प्रेमलाई गलत बुझ्न लगाउँछन्, मानौँ त्यसमा कृपा, वास्ता, सुरक्षा, मार्गदर्शन, अनुग्रह, र आशिष्‌बाहेक अरू केही छैन—परमेश्‍वरको प्रेम यति नै हो। प्रेमका यी पक्षहरूलाई किन तँ यति धेरै प्रिय ठान्छस्? के यो तेरो स्वार्थसँग जोडिएकोले हो? (हो।) यो कुन-कुन स्वार्थसँग जोडिएको छ? (देह सुख र आरामदायी जीवन।) जब मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्, तब उहाँबाट यी चीजहरू प्राप्त गर्न चाहन्छन्, तर अरू चीज चाहँदैनन्। मान्छेले न्याय, सजाय, परीक्षा, शोधन, परमेश्‍वरको निम्ति कष्टभोग, विभिन्‍न कुराहरूको त्याग र आफूलाई समर्पित गर्ने वा यहाँसम्म कि आफ्नो जीवन बलिदान दिनेजस्ता कुराहरूबारे सोच्न चाहँदैनन्। तिनीहरू त केवल परमेश्‍वरको प्रेम, वास्ता, सुरक्षा, र मार्गदर्शनमा रमाउन चाहन्छन्, त्यसैले तिनीहरू परमेश्‍वरको प्रेमलाई उहाँको सारको एकमात्र विशेषता, र उहाँको एक्लो सारको रूपमा परिभाषित गर्छन्। के परमेश्‍वरले इस्राएलीहरूलाई लाल समुद्र पार गराउँदै डोर्‍याउने क्रममा गर्नुभएका कुराहरू मान्छेका धारणाहरूको स्रोत बनेनन् र? (हो, बने।) यसले एउटा सन्दर्भ खडा गऱ्यो जसको आधारमा मानिसहरूले परमेश्‍वरबारे धारणाहरू बनाए। यदि तिनीहरूले यसरी परमेश्‍वरबारे धारणाहरू बनाए भने, के तिनीहरूले परमेश्‍वरको काम र स्वभावबारे साँचो बुझाइ प्राप्त गर्न सक्छन् त? स्पष्ट छ, तिनीहरूले केही पनि बुझ्नेछैनन्, अनि तिनीहरूले त्यसको अपव्याख्या गर्नेछन् र त्यसबारे धारणाहरू निर्माण गर्नेछन्। यसले के प्रमाणित गर्छ भने मान्छेको बुझाइ अति सङ्कुचित हुन्छ, र त्यो साँचो बुझाइ हुँदैन। यो सत्यता नभई, बरु मान्छेले आफ्नै धारणा, कल्पना, स्वार्थी चाहना, र विश्‍लेषणको आधारमा परमेश्वरमा हुन्छ भनी ठान्ने एक प्रकारको प्रेम र बुझाइ भएकोले, त्यो परमेश्‍वरको साँचो सारसँग मिल्दैन। परमेश्‍वरले मानिसहरूलाई कृपा, मुक्ति, वास्ता, सुरक्षा, र तिनीहरूको प्रार्थना सुनेरबाहेक अरू कुन तरिकाले प्रेम गर्नुहुन्छ? (ताडना, अनुशासन, काटछाँट, निराकरण, न्याय, सजाय, परीक्षा, र शोधनमार्फत्।) त्यो सही हो। परमेश्‍वरले आफ्नो प्रेम अनेकौँ तरिकाले देखाउनुहुन्छः हिर्काएर, अनुशासनमा राखेर/अनुशासन दिएर, हप्काएर, अनि न्याय, सजाय, परीक्षा, शोधन आदि इत्यादिमार्फत्। यी सबै परमेश्‍वरको प्रेमका पक्षहरू हुन्। यो दृष्टिकोण मात्र विस्तृत र सत्यताबमोजिम छ। यदि तैँले यो बुझिस् भने, आफूलाई जाँचेर आफूले परमेश्‍वरलाई गलत बुझेको रहेछ भनी थाहा पाउँदा, के आफ्नो गल्ती चिन्न, र आफूले कहाँनेर गल्ती गरेको रहेछ भनेर चिन्तन गर्न सक्दैनस् र? के यसले तँलाई परमेश्‍वरबारे तेरा गलतबुझाइहरू सुल्झाउन मद्दत गर्न सक्दैन र? (हो, सक्छ।) तैँले यो कुरा हासिल गर्न सत्यता खोजी गर्नैपर्छ। यदि मानिसहरूले सत्यता खोजी गरे भने, परमेश्‍वरबारे आफ्ना गलतबुझाइहरू हटाउन सक्छन्, र तिनीहरूले परमेश्‍वरबारे आफ्ना गलतबुझाइहरू हटाएपछि, परमेश्‍वरका सबै बन्दोबस्तहरू पालना गर्न सक्छन्। यदि तैँले परमेश्‍वरबारे तेरा गलतबुझाइहरू हटाउन सक्छस् भने, तैँले यहूदियाबाट भएको यहूदीहरूको निर्वासनलाई हेर्दा, यसो भन्नेछस्, “मान्छे अर्थात् परमेश्‍वरको सृष्टि गरिएका प्राणीहरूप्रति उहाँको मनोवृति प्रेम मात्र होइन, उहाँले हिर्काएर अनि निर्वासित गराएर पनि डोर्‍याउनुहुन्छ। मानिसहरूले छनौट गरेर परमेश्‍वरप्रति मनोवृति राख्नु हुँदैन; त्यो समर्पण हुनुपर्छ, प्रतिरोध होइन।” मान्छेका धारणा र कल्पनाहरूको दृष्टिकोणबाट हेर्दा, यहूदीहरूप्रतिको परमेश्‍वरको मनोवृति बेवास्ता जस्तो देखिन्थ्यो, तर अहिले हेर्दा, परमेश्‍वरले बहुत राम्रो काम गर्नुभएको थियो; उहाँले जे देखाउनुभयो त्यो सबै धर्मी स्वभाव थियो। परमेश्‍वरले मानिसहरूलाई अनुग्रह र आशिष्‌ दिन, अनि दैनिक खुवाउन सक्नुहुन्छ, तर उहाँले ती सबै खोस्न पनि सक्नुहुन्छ। त्यो परमेश्‍वरको अख्तियार, सार, र स्वभाव हो।

यहूदियाबाट भएको यहूदीहरूको निर्वासनबारे धेरै मानिसहरूसँग धारणाहरू छन्, तर सत्यता खोज्ने मानिसहरूले यो घटनाबाट अन्तर्दृष्टि प्राप्त गर्न सक्छन्। यदि व्यक्तिसँग बुझ्ने क्षमता छ भने, यो घटनामार्फत उसले परमेश्‍वरको धर्मी स्वभावले चिढ्याइ सहँदैन भन्ने कुरा देख्नेछ। तर कतिपय मानिसहरूमा बुझ्ने क्षमता हुँदैन। यदि तिनीहरूलाई परमेश्‍वरले जे गर्नुभएको छ त्यो तिनीहरूको धारणासँग मेल खाँदैन भन्ने लाग्यो भने, तिनीहरूले परमेश्‍वर धर्मी हुनुहुन्छ, र उहाँको स्वभावले चिढ्याइ सहँदैन भन्ने कुरा पहिला स्विकार्नुपर्छ; यो निश्‍चित कुरा हो। त्यसपछि तिनीहरूले प्रार्थना गरी सत्यता खोज्नुपर्छ, र यहूदीहरूले परमेश्‍वरको स्वभाव चिढ्याउन र उहाँमा क्रोध पैदा गराउन के गरे त्यो हेर्नुपर्छ। यो तरिकाले मात्र मानिसहरूले पूर्ण रूपले आफ्ना धारणा सुल्झाउन, यो घटनामार्फत परमेश्‍वरको स्वभाव बुझ्न, र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्छन्। सत्यता बुझ्नु मान्छेको लागि सजिलो काम होइन। चाहे तैँले पहिले परमेश्‍वरको अनुग्रह र आशिष्‌ उपभोग गरेको, वा उहाँको मार्गदर्शन र आज्ञा स्विकारेर काम गरेको वा केही अर्पण वा केही त्याग गरेको भए पनि नभए पनि—चाहे मानिसहरूले तँलाई केही योगदान गरेको व्यक्तिको रूपमै हेरे पनि, तैँले कुनै पनि परिस्थितिमा यी कुराहरूलाई पूँजीको रूपमा हेर्नु हुँदैन। यो पहिलो कुरा हो। दोस्रो कुरा के हो भने, तैँले यी कुराहरूलाई परमेश्‍वरमाथि राखेर तँप्रतिको उहाँको व्यवहार नियन्त्रित गर्ने चिपको रूपमा कहिल्यै हेर्नु हुँदैन। सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरका वचनहरू र तँप्रतिको उहाँको मनोवृति जब तेरो धारणासँग मेल खाँदैनन्, वा सामान्य शिष्टाचारविपरीत हुन्छन्, तैँले उहाँको प्रतिरोध वा विरोध गर्नु हुँदैन। यो तेस्रो कुरा हो। के तिमीहरूले यी तीन कुराहरू हासिल गर्न सक्छौ? यी तीन कुराहरू वास्तविकतासँग सम्बन्धित छन्। के यी स्थितिहरू मान्छेमा सजिलै आउँछन्? (हो, आउँछन्।) यी स्थितिहरू मान्छेमा किन आउँछन्? यी कुरा किन यसरी आफै प्रकट हुन्छन्? परमेश्‍वरले सम्पूर्ण मानवजातिको व्यवस्थापन गर्नहुन्छ, र यावत्‌ थोकमाथि सार्वभौम शासन गर्नुहुन्छ, तर के परमेश्‍वरले यी कुराहरूलाई पूँजीको रूपमा हेर्नुहुन्छ? के परमेश्‍वरले यसको श्रेय लिनुहुन्छ? के परमेश्‍वरले “मैले तिमीहरूको लागि यति ठूला कामहरू गरेको छु। तिमी मानिसहरूले मलाई किन धन्यवाद दिँदैनौ?” भनेर आफैलाई प्रकट गर्नुहुन्छ? (अहँ, गर्नुहुन्न।) परमेश्‍वरको मनमा यस्ता कुराहरू हुँदैनन्। त्यसो भए, मान्छेले चाहिँ किन उसले गर्ने हरेक सानोतिनो त्याग वा खर्च, वा उसले गर्ने प्रत्येक मामुली योगदानको श्रेय खोज्छ? मान्छेले किन यसरी आफ्नै प्रकटीकरण र प्रदर्शन गर्छ? जवाफ सरल छ। त्यो किनभने मान्छेको स्वभाव भ्रष्ट हुन्छ। परमेश्‍वरले किन यसरी आफ्नै प्रकटीकरण वा प्रदर्शन गर्नुहुन्न? किनकि परमेश्‍वरको सार नै सत्यता हो, र सत्यता पवित्र हुन्छ। जवाफ यही हो। मानिसहरूले यस तरिकाले आफ्नै प्रकटीकरण वा प्रदर्शन गर्छन् किनभने तिनीहरूमा भ्रष्ट स्वभाव हुन्छ। के यो समस्या सुल्झाउन सकिन्छ? के मैले भर्खरै उल्लेख गरेका तीन कुराहरूले यो समस्या सुल्झाउन सक्छन्? (हो, सक्छन्।) मैले भनेका तीनवटै कुराहरू व्यवहारमा लागू गर्न सजिला छैनन्, तर एउटा समाधान छ। यी तीन कुराहरू सुनेपछि, मानिसहरूले सोच्‍न सक्छन्, “हामीलाई यो गर्ने अनुमति छैन, अनि हामीलाई त्यो गर्ने पनि अनुमति छैन। हामीले त केवल दिमाग नभएको कठपुतली भई बस्‍नुपर्छ।” के यो त्यस्तै हो त? (अहँ, होइन।) त्यसो भए, के हो त? सुन, परमेश्‍वरले तँलाई यी कुराहरू गर्न दिनुहुन्न किनभने यो तेरै रक्षाको लागि हो। यो पहिलो कुरा हो। तेरो खोजको विधि सत्यताबमोजिम छैन, र त्यो सही मार्ग होइन। तँभन्दा पहिले आएका मान्छेका गल्तीहरू नदोहोर्‍या। यदि तँ आफूले त्याग्‍ने र खर्चने कुराहरूलाई आफूले फाइदा लिन सक्ने पूँजी र चिपको रूपमा लिन्छस्, अनि तँप्रतिको परमेश्‍वरको मनोवृति तेरो इच्छाविपरीत हुँदा उहाँको विरोध गर्छस् भने, तेरो मनोवृति सत्यताबमोजिम छैन, त्यसमा मानवता छैन, र त्यो ठिक होइन। तँसँग हजार कारणहरू भए पनि तेरो मनोवृति अझै पनि गलत नै हुन्छ; त्यो कुनै पनि रूपमा सत्यतासँग मिल्दैन, र त्यो परमेश्‍वरको प्रतिरोध गर्नुबराबर हुन्छ। व्यक्तिमा हुनुपर्ने मनोवृति यो होइन। यो दोस्रो कुरा भयो। तेस्रो कुराचाहिँ के हो भने, यदि तँ यही मनोवृतिमा टाँसिएर बस्छस् भने, तैँले कहिल्यै सत्यता बुझ्ने वा प्राप्त गर्नेछैनस्। तैँले सत्यता प्राप्त नगर्ने मात्र नभई, तैँले आफैलाई पछि छुट्ने बनाउँछस्; तैँले सृष्टि गरिएका प्राणीहरूमा हुनुपर्ने मर्यादा र कर्तव्य गुमाउनेछस्। यदि तैँले “म आफ्नो मनोवृतिमा अडिग हुन्छु, र त्यसमा कसैले केही गर्न सक्दैन! मलाई विश्‍वास छ, म सही छु, त्यसैले म मेरो सोचमै दृढ रहनेछु। मेरो सोच सामान्य समझ र शिष्टाचारसँग मिल्छ, त्यसैले म अन्त्यसम्मै यसमै अडिग रहनेछु!” भनेर भन्छस् भने, त्यसरी नडगमगाई कुनै कुरामा लागिरहनाले तँलाई कुनै रूपमा पनि फाइदा गर्नेछैन। तेरो दृढताको कारण वा तँ कुनै कुरामा अडिग भएकैले गर्दा, परमेश्‍वरले उहाँको मनोवृति परिवर्तन गर्नुहुन्न। अर्को शब्दमा, तँ आफ्नो मनोवृतिमा अडिग भएकै कारण परमेश्‍वरले आफ्नो मनोवृति कहिल्यै परिवर्तन गर्नुहुन्न। बरु, तँप्रति परमेश्‍वरले तेरो विद्रोहीपन र दृढ प्रतिरोधसुहाउँदो मनोवृति बनाउनुहुनेछ। यो चौथो, अनि सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यी चार कुराहरूबारे तिमीहरूले नबुझेको केही छ? के मैले उल्लेख गरेकामध्ये कुनै कुरा मान्छेको वास्तविक स्थितिसँग नमिल्ने, र मान्छेको जीवनको व्यावहारिक पाटोमा केही फाइदा नपुर्‍याउने खोक्रो शब्द मात्र छन्? (छैनन्, ती सबै फाइदाजनक छन्।) के तीमध्ये कुनै कुरा अभ्यासको मार्ग हुनुको साटो खोक्रा सिद्धान्तहरू मात्र हुन् त? (होइनन्।) मानिसहरूले आफ्नो दैनिक जीवनमा सत्यताको वास्तविकतामा कसरी प्रवेश गर्नुपर्छ भन्ने सम्बन्धमा के यी चार कुराहरू फाइदाजनक छन्? (हो, फाइदाजनक छन्।) यदि तिमीहरू यी चार कुराहरूबारे आफ्नो बुझाइमा प्रष्ट छौ भने, र तिनलाई व्यवहारमा उतार्छौ र अनुभव गर्छौ भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध सामान्य रहनेछ। विविध परीक्षाहरूबाट गुज्रँदा, वा थरिथरीका मानिस, घटना, वा परिस्थितिहरू सामना गर्नुपर्दा, यी चार कुराहरूले तँलाई बचाउनेछन्। जब तँ विद्रोही स्थितिमा हुन्छस्, तब सत्यताका यी पक्षहरूबारे सोच्, यीसँग आफ्नो तुलना गर्, अनि सोहीअनुसार अभ्यास गर्। यदि शुरुमा यी कुरा व्यवहारमा लागू गर्न सक्दैनस् भने, तैँले प्रार्थना गर्नुपर्छ, र साथसाथै परमेश्‍वरले किन त्यस्तो काम गर्नुभयो भनेर पहिचान गर्नुपर्छ। तैँले चिन्तन गरेर तँसँग त्यस्ता के-कस्ता भ्रष्ट स्थिति वा प्रकटीकरणहरू छन् जसले तँलाई अभ्यास गर्न वा समर्पित हुन असक्षम पारिरहेका छन्, त्यो पहिचान गर्नुपर्छ। यदि तैँले यस तरिकाले सत्यता खोज्न सकिस् भने, तेरो स्थिति सामान्य रहनेछ, र तँ स्वाभाविक रूपमै सत्यताको वास्तविकतामा प्रवेश गर्नेछस्।

मामिला जेसुकै होस्, यदि तैँले सत्यता बुझ्दैनस् भने, तँ कि त धारणा र कल्पनाहरूको आधारमा, कि त अवज्ञापूर्वक र प्रतिरोध गर्दै काम गरिरहेको हुनेछस्। यो सतप्रतिशत निश्‍चित कुरा हो। कहिलेकाहीँ, बाहिरी रूपमा, तैँले परमेश्‍वरको प्रतिरोध गरिरहेको, खराब काम गरिरहेको, वा बाधा र अवरोध सिर्जना गरिरहेको जस्तो नदेखिएला, तर त्यसको अर्थ तेरा कार्यहरू सत्यताबमोजिम नै छन् भन्ने होइन। कहिलेकाहीँ, तैँले धारणा र कल्पनाहरूको आधारमा काम गर्छस्, र भलै त्यसले बाधा वा क्षति नपुर्‍याउँला, तर जबसम्म त्यो सत्यताबमोजिम हुँदैन, तबसम्म तेरा कार्यहरू परमेश्‍वरको इच्छाविपरीत नै हुन्छन्। अनि अरू बेला तेरो मनमा परमेश्‍वरबारे धारणाहरू हुन सक्छन्। तैँले ती कुरा मुखैले कहिल्यै नबोले पनि, भित्री रूपमा चाहिँ परमेश्‍वरले यसो वा उसो गर्नुपर्छ भनेर सोच्दै, र उहाँ यस्तो हुनुपर्छ भनेर भन्दै, तँ यी धारणा र कल्पनाहरू बनाइराख्छस्। बाहिरबाट हेर्दा त तैँले केही गलत गरेको हुँदैनस्, तर भित्री रूपमा, तँ निरन्तर परमेश्‍वरप्रति विद्रोहीपन र प्रतिरोधको स्थितिमा हुन्छस्। उदाहरणको लागि, मैले भर्खरै धारणाहरू राख्ने र परमेश्‍वरको प्रेमको परिभाषा सीमित पार्ने कार्यबारे कुरा गरेँ। तेरा धारणा र कल्पनाहरूको कारण तैँले परमेश्‍वरको काममा कुनै बाधा वा अवरोध सिर्जना गरिनस् भने पनि, तेरो स्थितिले प्रमाणित गर्छ कि तेरो हृदयले निरन्तर रूपले परमेश्‍वरलाई सीमित पार्दै र गलत बुझ्दै छ। यसबाट हामी के निष्कर्ष निकाल्न सक्छौँ? यही कि तैँले परमेश्‍वरलाई निरन्तर प्रतिरोध गर्दैछस्। के म सत्य बोल्दिनँ र? (हो, बोल्‍नुहुन्छ।) यदि त्यस्तो कुनै दिन आयो जुन दिन यहूदियाबाट भएको यहूदीहरूको निर्वासनसँग मिल्दोजुल्दो घटना घट्यो भने, तेरा धारणाहरूले तँलाई परमेश्‍वरका कार्यहरूको लागि ‘आमेन’ भन्न, वा परमेश्‍वरका कार्यहरूको प्रतिक्रियास्वरूप प्रशंसा, डर, वा आज्ञाकारिता जनाउन असक्षम बनाउनेछ। बरु उल्टै, तैँले परमेश्‍वरलाई गलत बुझ्नेछस्, गुनासो गर्नेछस्, र उहाँप्रति हृदयमा अलि शत्रुतापूर्ण पनि बन्‍नेछस्। भित्री रूपमा, तैँले उहाँलाई यसो भन्नेछस्, “परमेश्‍वर, तपाईंले त्यसो नगर्नुभएको भए हुन्थ्यो। यो मानिसहरूको इच्छाहरूविपरीत हुन जान्छ। तपाईंले आफ्नो सृष्टिलाई कसरी यस्तो व्यवहार गर्न सक्नुहुन्छ? आफ्ना चुनिएका मानिसहरूलाई कसरी यस्तो गर्न सक्नुहुन्छ? तपाईंले जे गर्नुभयो त्यो देखेपछि म तपाईंको प्रशंसा गाउन वा तपाईंका कार्यहरूको जयजयकार गर्न सक्दिनँ। म भित्रभित्रै कष्ट भोग्दै, लाचार महसुस गर्दै छु, लाग्छ मैले असीमित रूपले आराधना गर्ने परमेश्‍वरमा म भरोसा गर्न सक्दिनँ। मैले विश्‍वास गर्ने परमेश्‍वर यस्तो हुनुहुन्न। मैले विश्‍वास गर्ने परमेश्‍वरले सृष्टि गरिएका उहाँका प्राणीहरूलाई यस्तो व्यवहार गर्न मिल्दैन। मैले विश्‍वास गर्ने परमेश्‍वर यस्तो कठोर वा निर्दयी हुनुहुन्न। मैले विश्‍वास गर्ने परमेश्‍वरले मान्छेलाई नरमसाथ र ध्यानपूर्वक बच्चालाई जस्तै व्यवहार गर्नुहुन्छ, र तिनीहरूलाई अत्यन्तै सौभाग्यशाली र सौहार्द महसुस गराउनुहुन्छ, अहिलेजस्तो कठोर वा उदासीन व्यवहार उहाँले गर्नुहुन्‍न।” जब यी विलापहरू भित्रैबाट उत्पन्न हुन्छन्, तैँले तेरै अगाडि घटिरहेका घटनाहरूलाई पनि परमेश्‍वरको कामको रूपमा हेर्दैनस्। तैँले त्यो स्विकार्दैनस् वा ‘आमेन’ भन्दैनस्, प्रशंसा गर्ने त कुरै छोडौँ। त्यसैले, तेरो संवेग र स्थिति परमेश्‍वरप्रतिको आज्ञापालन हो कि विरोध? (विरोध।) प्रष्टै छ, यो साँचो आज्ञापालन होइन। यहाँ कुनै आज्ञापालन छैन, छ त केवल आक्रोश, विरोध, अनाज्ञाकारिता, र रीस। के सृष्टि गरिएका प्राणीहरूमा आफ्नो सृष्टिकर्ताप्रति हुनुपर्ने मनोवृति यही हो? अहँ, होइन। तेरो हृदयमा विरोधाभास छ; तँ सोच्छस्, “यदि परमेश्‍वरले यसो गर्नुभएको हो भने, मेरो हृदयले यो किन स्विकार्दैन? किन अधिकांश मानिसहरूले यो स्विकार्दैनन्? उहाँका कार्यहरू किन मान्छेका इच्छाहरूको यति विपरीत हुन्छन्, र ती किन रगत र नरसंहारले भरिएका हुन्छन्?” त्यो क्षण, तेरो हृदयमा भएको परमेश्‍वर र वास्तविक जीवनमा अस्तित्वमा रहेको सृष्टिकर्ताबीच विरोधाभास हुन्छ, र ती एकअर्कासँग मिल्दैनन्, होइन र? (हो, त्यस्तै हुन्छ।) त्यसो भए तैँले कुन परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ? त्यो बेला, के तैँले तेरो हृदयको गहिराइमा रहेका धारणाहरूको परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ कि तेरै अगाडि वास्तविक काम गरिरहनुभएको परमेश्‍वरमा? (हाम्रै अगाडि वास्तविक काम गरिरहनुभएको परमेश्‍वरमा।) आफ्नो व्यक्तिपरक इच्छाको सम्बन्धमा, मानिसहरू आफ्नै अगाडि वास्तविक काम गरिरहनुएको परमेश्‍वरमा विश्‍वास गर्न इच्छुक हुन्छन्, तर मान्छेका धारणा, स्वार्थी चाहना, र संवेगहरूको कारण, आफ्नो हृदयमा भएको परमेश्‍वरलाई ढाकछोप गर्छन्, र आफ्नै अगाडि वास्तविक काम गरिरहनुभएको परमेश्‍वरलाई जबरजस्ती स्विकार्छन्। तर भित्री रूपमा, सृष्टिकर्ताले जे गरिरहनुभएको छ ती सबै तथ्यहरू तिनीहरूले अझै स्विकार्न सकेका छैनन्; तिनीहरूले अझै पनि आफूलाई गुप्त राख्छन् र आफ्नै सानो संसारमा बस्छन्, आफूले कल्पेको परमेश्‍वरसँग अथक रूपमा बोल्छन् र अन्तरक्रिया गर्छन्, जबकि वास्तविक परमेश्‍वर जहिले पनि अस्पष्ट नै देखिनुहुन्छ। केही मानिसहरू यस्ता पनि छन्, जो सोच्छन्, “मलाई त साँचो परमेश्‍वर नहनुभए हुन्थ्यो जस्तो लाग्छ। मैले हृदयमा कल्पेको परमेश्‍वर नै मेरो परमेश्‍वर हुनुहुन्छ, जो प्रेमले भरिपूर्ण हुनुहुन्छ र मानिसहरूलाई उहाँको सौहार्दता महसुस गराउनुहुन्छ। उहाँ नै वास्तविक परमेश्‍वर हुनुहुन्छ। व्यावहारिक परमेश्‍वर त मैले कल्पेजस्तो हुनुहुन्न, किनभने उहाँले गर्नुहुने कामले मलाई निराश बनाउँछ र म उहाँबाट केही सौहार्दता महसुस गर्न सक्दिनँ। विशेष गरी, उहाँले त्यति धेरै मानिसलाई जसरी न्याय, सजाय, निन्दा, र निष्कासन गर्नुहुन्छ, त्यो कुरालाई म बेवास्ता गर्न सक्दिनँ।” कस्तो खालको व्यक्तिले यसो भन्छ? यो त गैरविश्‍वासी, र सत्यता नस्विकार्नेहरूले भन्ने कुरा हो। यी सबै कुरा मानिसहरूले परमेश्‍वरका कामहरू नबुझ्दा, र तिनीहरूले कल्पने र परमेश्‍वरले गर्नुहुने कामबीच विरोधाभास हुँदा तिनीहरूमा देखापर्ने विभिन्न स्थितिहरू हुन्। त्यसो भए, यी स्थितिहरू कसरी देखा पर्छन्? एउटा कुराचाहिँ, मानिसहरूमा भ्रष्ट स्वभावहरू हुन्छन्; र अर्कोचाहिँ, जब केही हुन्छ र तथ्यहरू मान्छेका धारणा र कल्पनाहरूसँग मिल्दैनन्, तिनीहरूका आशाहरू भत्कन्छन्, सपनाहरू चकनाचुर हुन्छन्, अनि तिनीहरूलाई आशिष्‌ पाउने आफ्नो अभिप्राय र चाहना पुरा हुन सक्दैन भन्ने महसुस हुन्छ, र अन्त्यमा तिनीहरूले के गर्ने निर्णय गर्छन्? भाग्ने, सम्झौता गर्ने, र जिद्दीपूर्वक अस्वीकार गर्ने। केही मानिसहरू अनिर्णीत हुन्छन्, र भन्छन्, “म दुवै पक्षलाई स्विकार्नेछु। मेरो हृदयमा शुरुदेखि नै हुनुभएको परमेश्‍वर नै परमेश्‍वर हुनुहुन्छ र उहाँ प्रेम हुनुहुन्छ। अनि मेरो आँखैअगाडि महान कार्यहरू गरिरहनुभएको र अख्तियार प्रयोग गरिरहनुभएको उहाँ पनि परमेश्‍वर नै हुनुहुन्छ। म दुवैलाई स्विकार्नेछु र कुनै एकलाई पनि त्याग्ने छुइनँ।” मानिसहरू अक्सर अनिर्णीत भएर यस प्रकारको स्थितिमा बस्छन्। तिनीहरू अक्सर आफ्नो मनमस्तिष्कमा रहने परमेश्‍वरप्रतिको सोचमै तल्लीन रहन्छन्। तिनीहरू दौडधुप गर्छन्, आफैलाई अर्पित गर्छन्, भेटी चढाउँछन्, र यो अस्पष्ट परमेश्‍वरको लागि काम गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउन जतिसुकै मूल्य पनि चुकाउनेछन्, आफ्नै जीवनसमेत त्याग्‍नेछन् र आफ्नो सर्वस्व सबै बलि चढाउनेछन्। मानिसहरूले जसरी व्यवहार गरे पनि वा तिनीहरूमा जस्तोसुकै स्थिति पैदा भए पनि, जब तिनीहरूको मनमस्तिष्कमा यस्तो परमेश्‍वर हुन्छ, तब वास्तविक सृष्टिकर्ताको नजरमा तिनीहरूको काम असल हुन्छ कि दुष्ट? यो आज्ञापालन हो कि प्रतिरोध? स्पष्टै छ, ती राम्रा कर्म होइनन् र स्मरणयोग्य छैनन्। यसले देखाउँछ कि मानिसहरूले साँचो रूपमा परमरेश्‍वरको आज्ञापालन गरेका छैनन् र तिनीहरू पूर्ण रूपले समर्पित भएका छैनन्; बरु, तिनीहरू प्रतिरोध, विद्रोहीपन, र विरोधले भरिएका छन्। विशेष गरी मानिसहरू यस्तो स्थितिमा हुने, र अक्सर यस्तै स्थितिमा बाँच्ने भएकाले, जब तिनीहरू सपनाबाट ब्युँझेर आफ्नो वास्तविक संसारमा बाँच्छन्, तिनीहरूले थाहा पाउँछन् कि वास्तविक जीवनको परमेश्‍वरका कार्यहरूले तिनीहरूका मनोवैज्ञानिक र आत्मिक आवश्यकताहरू पूरा गर्न सक्दैनन्। उहाँका कार्यहरूले त उल्टै मानिसहरूलाई विभिन्न रूपले चोट पुर्‍याउँछन्, र तिनीहरूलाई उहाँ विभिन्न रूपले भावनाहीन भएको, र उहाँले मान्छेको इच्छाविपरीत काम गर्ने गरेको अनुभव गराउँछन्। कतिपय मानिसहरू यसो भन्दै पनि शङ्का गर्छन्, “के परमेश्‍वर प्रेम हुनुहुन्छ? के उहाँले मानिसलाई अझै प्रेम गर्नुहुन्छ? भनिन्छ कि परमेश्‍वरले मान्छेको चिन्ता लिनुहुन्छ र उसलाई उहाँ आफैलाई जस्तो प्रेम गर्नुहुन्छ। तपाईं यो कहाँ देख्‍नुहुन्छ? खोइ त, मैले किन कहिल्यै देखिनँ?” यो समस्या हो! मानिसहरू अक्सर यी स्थितिहरूमा बाँच्छन्, जसले गर्दा मान्छे र परमेश्‍वरबीचको विरोधाभास अझ गम्भीर बन्छ, र तिनीहरूबीचको दूरी झन्झन् बढ्दै जान्छ। परमेश्‍वरले आफ्ना धारणाहरूसँग मिल्ने केही कुरा गर्नुभयो भने, मानिसहरू सोच्छन्, “मेरो परमेश्‍वरले धर्ती हल्लाउने काम गर्नुभएको छ। मैले साँचो रूपमा विश्‍वास गर्न चाहेको परमेश्‍वर उहाँ नै हुनुहुन्छ। उहाँ मात्र मेरो परमेश्‍वर हुनुहुन्छ। म उहाँको सृष्टि गरिएको प्राणी बन्न इच्छुक छु। उहाँ मात्र मेरो सृष्टिकर्ता हुनुहुन्छ।” तर जब तिनीहरूको दैनिक जीवनमा कठिनाइ, निष्क्रियता, वा कमीकमजोरीहरू उत्पन्न हुन्छन्, र तिनीहरूले कल्पेको परमेश्‍वरले तिनीहरूलाई सधैँ सहयोग गर्न वा तिनीहरूका आवश्यकताहरू पूरा गर्न सक्दैनन्, तब परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास कमजोर हुन्छ वा हराउँछ। मानिसहरूमा भएका यी सबै स्थितिहरू र तिनीहरूको काम गर्ने अनि आफैलाई प्रदर्शन गर्ने यी सबै तौरतरिकाहरू के कुराले निम्त्याउँछ? यो मान्छेले सृष्टिकर्तालाई बुझ्दै नबुझ्ने भएकोले गर्दा हुन गएको हो। तैँले उहाँलाई बुझ्दैनस्; कारण यही मात्र हो। मान्छे र परमेश्‍वरबीचका सबै विरोधाभास, दूरी, र गलतबुझाइहरूको जड यही हो। अनि, मानिसहरूले यो समस्या कसरी सुल्झाउने? पहिलो, तिनीहरूले आफ्ना धारणाहरू हटाउनुपर्छ। दोस्रो, परमेश्‍वरले मानिसहरूमा गर्नुहुने सबैखाले कामबारे तिनीहरूले अनुभव, खोजी र मनन गर्नुपर्छ, र तिनीहरू त्यो हदमा पुग्‍नुपर्छ जहाँ तिनीहरू परमेश्‍वरले तिनीहरूको लागि तय गर्नुहुने प्रत्येक बन्दोबस्त, अनि उहाँले तिनीहरूको लागि योजनाबद्ध गर्नुहुने सबै मानिस, घटना, र वस्तुहरूप्रति पूर्ण रूपले समर्पित हुन सक्छन्। समर्पित हुनुको उद्देश्य के हो? यी सबै सत्यताहरू चिन्नु र बुझ्नु हो।

हामीले भर्खरै सङ्गति गरेको विषय के तिमीहरूलाई गहन लाग्छ? के तिमीहरू त्यो बुझ्न सक्छौ? के तिमीहरू त्यो बोध गर्न सक्षम छौ? (हो, छौँ।) तिमीहरू यसलाई सैद्धान्तिक रूपमा बुझ्न सक्षम हुनुपर्छ, तर के यसलाई सैद्धान्तिक रूपमा बुझ्नु भनेको सत्यता बुझ्नु र स्विकार्नुसरह हो? (अहँ, होइन।) त्यसो भए, के गर्नुचाहिँ सत्यता बुझ्नु र स्विकार्नुसरह हो त? तिमीहरूले दैनिक जीवनमा बारम्बार आफूलाई जाँच्‍नुपर्छ, तर केचाहिँ जाँच्नुपर्छ? (हामीमा परमेश्‍वरले भन्नुभएको जस्तो स्थिति छ कि छैन, वा त्यस तरिकाले हामी आफैलाई प्रदर्शन गर्छौँ कि गर्दैनौँ, अनि परमेश्‍वरको बारेमा मानिसहरूमा कस्ता धारणा र गलतबुझाइहरू छन् भनी जाँच्नुपर्छ।) ठ्याक्कै त्यही हो। तैँले यी कुराहरू जाँच्नैपर्छ; तैँले कस्तो भ्रष्टता देखाउँछस्, र तँसँग कस्ता धारणा र कल्पनाहरू छन्, त्यो जाँच्। कतिपय मानिसहरू आफैलाई जाँच्न नसक्ने बताउँछन्। त्यो पहिला अरूलाई हेरेर सजिलै हल हुन्छ। अरू मानिसहरू तेरो लागि ऐना हुन्। जब तैँले मानिसहरू निश्‍चित स्वभाव वा स्थितिहरू प्रस्तुत गरिरहेका देख्छस्, तेरो नजर आफैतिर फर्का, आफैलाई जाँच्, र आफैलाई तुलना गर्; तँसँग पनि यस्तै धारणा र कल्पनाहरू छन् कि, अनि तँ पनि यही स्थितिमा छस् कि हेर्। यदि यस्तै छस् भने, त्यसको लागि तैँले के गर्नुपर्छ? के तैँले आफैलाई उदाङ्गो पारेर यी कुराहरू विश्‍लेषण गर्नुपर्छ कि त्यसैमा अडिग रहेर त्यो “फूल्ने र फल्ने” प्रतीक्षा गर्नुपर्छ? (हामीले आफैलाई उदाङ्गो पारेर ती कुरा विश्‍लेषण गर्नुपर्छ।) तैँले ती कुराहरू उदाङ्गो पारेर विश्‍लेषण गर्नुपर्छ ताकि सबैलाई फाइदा पुगोस्, ताकि त्यसमार्फत सबैले सही रूपमा भ्रष्ट स्थितिहरू चिन्न, सत्यता बुझ्न, निकास पत्ता लगाउन, र यस्ता समस्याहरू मिलेर सुल्झाउन सकून्। धारणाहरू अनि निष्क्रिय र नकारात्मक स्थितिहरू विश्‍लेषण गर्नुको औचित्य के हो? (ताकि मानिसहरूले आफ्ना धारणा र निष्क्रिय स्थितिहरूको निकास पत्ता लगाउन सकून्।) अनि निकास पत्ता लगाउनुको औचित्य के हो? सत्यता प्राप्त गर्नु। तेरा धारणाहरू सुल्झाउनुको उद्देश्य ती धारणाहरू गलत छन्, र ती तँसँग हुनुपर्ने कुरा होइनन् भनी तँलाई चिन्न लगाउनु हो। तैँले ती कुरा त्याग्नुपर्छ, तिनैमा अडिग रहनु हुँदैन। त्यसपछि, सही के हो, सकारात्मक कुराहरू वास्तवमा के हुन्, र वास्तवमा सत्यता के हो, सो सम्बन्धमा सक्रिय रूपमा खोजी गर्। जब तैँले सकारात्मक कुराहरू र सत्यता स्विकार्छस्, र ती कुरालाई आफूसँग हुनुपर्ने अभ्यासका सिद्धान्त, सोच, र दृष्टिकोणहरूको रूपमा लिन्छस्, तब परिवर्तन आउँछ, अनि तैँले सत्यता प्राप्त गरेको हुनेछस्। अनि, यी सत्यताहरूलाई ध्यानमा राख्दा, यहूदियाबाट भएको यहूदीहरूको निर्वासनलाई कुन रूपमा हेर्नुपर्छ? यो घटनाबारे मानिसहरूको आम धारणा के छ? (परमेश्‍वरले यहूदीहरूलाई यहूदियाबाट लत्त्याएर ननिकाल्नुपर्थ्यो र उहाँले यहूदीहरूलाई बचाउनुपर्थ्यो। तिनीहरूले जसरी उहाँको प्रतिरोध गरेका भए पनि, र तिनीहरूले उहाँलाई क्रूसमा टाँगेका भए पनि, उहाँले तिनीहरूको पाप सदाको लागि क्षमा गर्नुपर्थ्यो, र यो मात्र परमेश्‍वरको प्रेम हो।) यी मानव धारणाहरू हुन्। के यी निरर्थक छैनन् र? यदि परमेश्‍वरले मान्छेका धारणाअनुसार काम गर्नुहुन्थ्यो भने, के उहाँमा अझै पनि धर्मी स्वभाव हुन्थ्यो र? निर्वासित भएको अवस्थाले मानिसहरू उदास थिए, तर परमेश्‍वरप्रति तिनीहरूको प्रतिरोध र निन्दाले सीमा नाघेको थियो; तिनीहरूका कार्यहरू शैतानको भन्दा केही फरक थिएनन्, अनि त्यसबारेमा परमेश्‍वर कसरी नरिसाई बस्न सक्नुहुन्थ्यो र? कतिपय मानिसहरू सत्यता स्विकार्न सक्दैनन्, र सोच्छन्, “परमेश्‍वरले मानिसहरूलाई कसरी यस्तो व्यवहार गर्न सक्नुहुन्छ? मानिसहरूले यस खालको प्रेम स्विकार्न सक्दैनन्, यो पूर्ण रूपले आम सुझबुझविपरीत छ! यो प्रेमजस्तो पनि देखिन्न। यदि परमेश्‍वरले यहूदीहरूलाई यस्तै व्यवहार गर्नुहुन्छ भने उहाँमा प्रेम नै छैन।” परमेश्‍वरको प्रेम इन्कार्नु मान्छेले धारणा हो। मान्छेको धारणाचाहिँ के हो त? (मान्छेले उसको परिभाषामा परमेश्‍वरको प्रेमलाई सीमित तुल्याउँछ।) हो, जब मानिसले कुनै कुराको परिभाषालाई सीमित पार्छन्, त्यो धारणा हुन्छ, र त्यो सत्यताबमोजिम हुँदैन, न त त्यो कुनै सत्यता नै हुन्छ। मानिसहरूले केको परिभाषालाई सीमित तुल्याएका छन्? तिनीहरूले परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्ने कुराको परिभाषा सीमित तुल्याएका छन्; तिनीहरू सोच्छन् कि कुनै काम परमेश्‍वरको काम हुनको लागि परमेश्‍वरले कुनै निश्‍चित तरिकाले काम गर्नुपर्छ, र परमेश्‍वरले काम गर्नुपर्ने तरिकाहरू यिनै हुन्। परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्नेबारे मानिसहरूसँग सीमित परिभाषा छ, र यो सीमित परिभाषा नै तिनीहरूको धारणा हो। अनि, परमेश्‍वरको कामबारे मानिसहरूसँग कस्तो खालको परिभाषा छ? तिनीहरूको परिभाषाको कुन कुराले तिनीहरूलाई परमेश्‍वरले त्यो परिस्थितिमा गर्नुभएको कामप्रति अरुचि महसुस गराउँछ, र तिनीहरूलाई परमेश्‍वरको गलत अर्थ लगाउने र विरोध गराउने बनाउँछ? (मानिसहरू सोच्छन् कि परमेश्‍वरले यहूदीहरूलाई प्रचुर मात्रामा अनुग्रह र आशिष्‌ प्रदान गर्नुपर्थ्यो, तर यसको साटो, उहाँले यी धारणा र कल्पनाहरू र तिनीहरूको अपेक्षाभन्दा बाहिरको काम गर्नुभयो; उहाँले यहूदीहरूलाई लखेट्नुभयो र तिनीहरूलाई संसार चहार्न लगाउनुभयो। मानिसले यो कुरा बुझ्दैनन्, र यसले ठूलो मात्रामा धारणाहरू उत्पन्न गरायो।) परमेश्‍वरले यहूदीहरूप्रति गर्नुभएका कार्यहरूबारे थुप्रै मानिसहरूमा धारणा र गलतबुझाइहरू रहेका हुन्छन्। अर्को शब्दमा, मानिसहरू परमेश्‍वरको कार्यप्रति असहज महसुस गर्छन् र उहाँले त्यो तरिकाले काम नगर्नुपर्थ्यो भन्ने सोच्छन्। के यो धारणा हो? (हो।) अनि, जब मानिसहरू परमेश्‍वरले जे गर्नुभयो त्यो “नगर्नुपर्थ्यो” भन्ने सोच्छन्, के त्यो परमेश्‍वरको कार्यको परिभाषा सीमित पार्नु होइन र? परमेश्‍वरले यो तरिकाले काम नगर्नुपर्थ्यो भन्ने तँलाई कसरी थाहा थाहा भयो? तैँले परमेश्‍वरले यो तरिकाले काम नगर्नुपर्थ्यो भनेर भन्नुको आधार के हो? तँलाई उहाँले त्यसो गर्नु हुँदैनथ्यो भन्ने लाग्छ, तर उहाँले त्यसै गर्नुभयो, के त्यसको अर्थ परमेश्‍वर वास्तवमा परमेश्‍वर नै हुनहुन्‍न भन्‍ने हो? के त्यसको अर्थ, परमेश्‍वरले जे गर्नुभयो त्यो गलत थियो, र सत्यताबमोजिम थिएन भन्ने हो? के यो हिसाबमा मान्छे मूर्ख छैन र? मान्छे अत्यधिक रूपले मूर्ख र अज्ञानी, अहङ्कारी र आत्मधर्मी छ; उसको लागि त परमेश्‍वरबारे धारणाहरू बनाउनु र परमेश्‍वरको परिभाषा सीमित पार्नु नै सबैभन्दा सजिलो कुरा हो। यदि यस्ता मानिसहरूले सत्यता स्विकार्न सक्दैनन् भने, त्यो धेरै खतरनाक हुन्छ, र तिनीहरूलाई सम्भवतः हटाइनेछ।

यहूदियाबाट भएको यहूदीहरूको निर्वासनबारे थुप्रै मानिसहरूमा धारणा र विचारहरू हुन्छन्, र तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझ्दैनन्, तर यो समस्या समाधान गर्न एकदमै सजिलो छ। म तिमीहरूलाई त्यसको एउटा सरल उपाय भन्नेछु। सुन, अनि यसले तिमीहरूका यी कठिनाइहरू सम्बोधन गर्न सक्छ कि सक्दैन, हेर। सबैभन्दा सजिलो उपाय भनेको, पहिले मानिसहरूले आफू सृष्टि गरिएको प्राणी हुँ, र सृष्टि गरिएका प्राणीहरूले आफ्नो सृष्टिकर्ताको आज्ञापालन गर्नु भनेको स्वर्गले तोकेको र पृथ्वीले स्विकारेको कुरा हो भनेर जान्नु हो। यदि सृष्टि गरिएका प्राणीहरूले आफ्नो सृष्टिकर्ताबारे लगातार रूपमा धारणाहरू राख्छन् र उहाँप्रति समर्पित हुन सक्दैनन् भने, त्यो ठूलो अवज्ञा हुनेछ। मानिसहरूले के बुझ्नुपर्छ भने, सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूसँग गर्नुहुने व्यवहारको एउटा मौलिक सिद्धान्त छ, जुन सर्वोच्च सिद्धान्त पनि हो। सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा उहाँको व्यवस्थापन योजना र उहाँका कार्य मापदण्डहरूमा आधारित हुन्छ; उहाँले कुनै पनि व्यक्तिसँग सल्लाह लिनु आवश्यक पर्दैन, न त उहाँले कसैलाई उहाँसँग सहमत गराउनु आवश्यक हुन्छ। उहाँले जे गर्नुपर्दछ र उहाँले मानिसहरूसित जसरी व्यवहार गर्नुपर्छ उहाँले त्यसरी नै गर्नुहुन्छ, र उहाँले जे गर्नुभए पनि वा उहाँले मानिसहरूसित जसरी व्यवहार गर्नुभए पनि, ती सबै सत्यताका सिद्धान्तहरू र सृष्टिकर्ताले काम गर्नुहुने सिद्धान्तहरूअनुरूप हुन्छन्। सृष्टि गरिएको प्राणीको रूपमा गर्नु पर्ने एक मात्र कार्य भनेको सृष्टिकर्तमा समर्पित हुनु हो; व्यक्तिले आफ्नै रोजाइ छनौट गर्नु हुँदैन। सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ यही हो, र यदि व्यक्तिमा यो छैन भने, ऊ व्यक्ति भनिन लायक हुँदैन। मानिसहरूले के कुरा बुझ्‍नैपर्छ भने सृष्टिकर्ता सधैँ सृष्टिकै प्रभु हुनुहुनेछ; उहाँसँग आफूलाई मन लागेअनुसार सृष्टि गरिएका प्राणीहरूलाई योजनाबद्ध गर्ने र शासन गर्ने शक्ति र योग्यता छ, र त्यसो गर्नका निम्ति उहाँलाई कुनै कारणको आवश्यक पर्दैन। यो उहाँको अख्तियार हो। सृष्टिका प्राणीहरूमा एक जना पनि यस्तो छैन जोसँग सृष्टिकर्ताले गर्नुभएको काम सही वा गलत छ, वा उहाँले कसरी काम गर्नुपर्छ भनेर टीकाटिप्पणी गर्ने अधिकार वा योग्यता होस्। सृष्टिकर्ताका नियम र बन्दोबस्तहरू स्वीकार गर्ने कि नगर्ने भनेर छनौट गर्ने अधिकार कुनै पनि प्राणीमा हुँदैन; र सृष्टिकर्ताले तिनीहरूको नियतिलाई कसरी शासन र बन्दोबस्त गर्नुपर्छ भनेर मापदण्ड थोपर्ने अधिकार कुनै पनि प्राणीसँग हुँदैन। यो सर्वोच्च सत्यता हो। सृष्टिकर्ताले आफ्‍ना सृष्टि गरिएका प्राणीहरूसँग जे गर्नु भए पनि, र उहाँले त्यो जसरी गर्नुभए पनि, उहाँले सृष्टि गर्नुभएका मानिसहरूले एउटा मात्रै काम गर्नुपर्दछ: खोजी गर्नु, अधीनमा बस्नु, जान्नु अनि सृष्टिकर्ताले राख्नुभएको सबै कुरा स्वीकार गर्नु। अन्तिम परिणाम यो हुनेछ, कि सृष्टिकर्ताले उहाँको व्यवस्थापन योजनालाई कुनै बाधाविना अगाडि बढाउँदै आफ्नो व्यवस्थापन योजना हासिल गर्नुभएको र उहाँको काम पूरा गर्नुभएको हुनेछ; यसै बीच, सृष्टि गरिएका प्राणीहरूले सृष्टिकर्ताको शासन र व्यवस्थाहरू स्वीकार गरेकाले, र उहाँको शासन र बन्दोबस्तहरूमा समर्पित भएका हुनाले, उनीहरूले सत्यता प्राप्त गरेका हुनेछन्, सृष्टिकर्ताको इच्छालाई बुझेका हुनेछन्, र उहाँको स्वभाव जानेका हुनेछन्। मैले तिमीहरूलाई बताउनैपर्ने अझै अर्को सिद्धान्त छ: सृष्टिकर्ताले जे गर्नु भए पनि, उहाँ जसरी प्रकट हुनुभए पनि, र अनि उहाँले गर्नुहुने काम महान् वा सानो भए पनि, उहाँ अझै पनि सृष्टिकर्ता हुनुहुन्छ; जबकि उहाँले सृष्टि गर्नुभएका सबै मानवजातिले, जेसुकै गरे पनि, र उनीहरू जतिसुकै प्रतिभाशाली वा वरदानप्राप्त भए पनि, तिनीहरू सृष्टि गरिएका प्राणी नै रहन्छन्। सृष्टि गरिएको मानवजातिको सम्बन्धमा भन्दा, उनीहरूले सृष्टिकर्ताबाट जति धेरै अनुग्रह र आशिष्‌ वा जति धेरै दया, करुणा वा भलाइ प्राप्त गरेका भए पनि, उनीहरूले आफू भीडहरूबाट अलग छौं भनी विश्‍वास गर्नुहुँदैन, वा उनीहरू परमेश्‍वरको स्तरको उभिन सक्छन् र उनीहरू सृष्टि गरिएका प्राणीहरूमध्ये उच्च स्तरको बनेका छन् भनी सोच्नु हुँदैन। परमेश्‍वरले तँलाई जति धेरै वरदानहरू दिनुभएको भए पनि, वा उहाँले तँलाई जति धेरै अनुग्रह दिनुभएको भए पनि, वा उहाँले तँसँग जति नै दयालु व्यवहार गर्नुभएको भए पनि, वा उहाँले तँलाई केही विशेष प्रतिभाहरू दिनुभएको भए पनि वा नभए पनि, ती कुनै पनि कुरा तेरो सम्पत्ति होइनन्। तँ सृष्टि गरिएको प्राणी होस्, र सधैँ सृष्टि गरिएको प्राणी नै रहन्छस्। तैंले कहिल्यै पनि यस्तो सोच्नु हुँदैन, “म परमेश्‍वरको हातको एक सानो र प्रिय व्यक्ति हुँ। परमेश्‍वरले मलाई कहिल्यै फाल्नुहुन्‍न, मप्रतिको परमेश्‍वरको आचरण सधैँ प्रेम, हेरचाह, वास्ता र सान्त्वना र प्रोत्साहनको मधुर शब्‍दहरू बोल्दै कोमल छुवाइ प्रदान गर्ने किसिमको हुनेछ।” यसको विपरीत, सृष्टिकर्ताको नजरमा, तँ सृष्टि गरिएका अन्य सबै प्राणीहरू जस्तै छस्; परमेश्‍वरले तँलाई उहाँको इच्छाअनुसार प्रयोग गर्न सक्नुहुन्छ, र तँलाई उहाँको इच्‍छा अनुसार योजनाबद्ध गर्न सक्‍नुहुन्छ, र उहाँले सबै किसिमका मानिसहरू, घटनाहरू र परिस्थितिहरूको बीचमा तैंले खेल्नु पर्ने कुनै पनि भूमिका आफ्नो इच्छाअनुसार मिलाउन सक्नुहुन्छ। मानिसहरू हुनुपर्ने ज्ञान र समझशक्ति यही हो। यदि व्यक्तिले यी वचनहरूलाई बुझ्न र स्वीकार गर्न सक्छ भने, परमेश्‍वरसँगको उनीहरूको सम्बन्ध सामान्य हुँदै जान्छ, र उनीहरूले उहाँसँग उचित सम्बन्ध स्थापित गर्नेछन्; यदि व्यक्तिले यी वचनहरूलाई बुझ्न र स्वीकार गर्न सक्छ भने, उनीहरूले आफ्नो स्थितिलाई अनुकूल बनाउन, त्यहाँ आफ्‍नो स्थान लिन, र आफ्‍नो कर्तव्य सम्हाल्न सक्छन्।

यी वचनहरू सुनेपछि तिमीहरू के सोच्छौ? के तिमीहरू त्यसपछि पनि परमेश्‍वरलाई गलत बुझ्नेछौ? कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरले मानिसलाई यस्तो व्यवहार गर्नुहुने भएकोले, जब परमेश्‍वरले उहाँको नजरमा मान्छेहरू कमिलाजस्तै र किराभन्दा तल्‍लो स्तरका हुन् भनेर भन्नुभयो, लाग्छ त्यो कुरा सैद्धान्तिक मात्र नभई वास्तविकतै थियो! मानिसहरूले कल्पेजस्तो मान्छे परमेश्‍वरको प्रिय हुँदैन, र परमेश्‍वर मान्छेको निकट हुनुहुन्न।” ज्वालामा पानी हालेजस्तो मानिसका हृदयहरू कठोर बन्छन्, र तिनीहरूको जोस घट्छ। तिनीहरूको हृदय कठोर बनेको राम्रो कि तिनीहरूमा निरन्तर रूपमा परमेश्‍वरबारे गलतबुझाइ हुनु राम्रो, तिमीहरू के भन्छौ? (तिनीहरूको हृदय कठोर बन्नु राम्रो हो।) केहीबेर शान्त भएर मात्र तिनीहरूले परमेश्‍वरको स्वभाव बुझ्न सक्छन्। सृष्टि गरिएका प्राणीहरूमा हुनुपर्ने समझ भनेकै तिनीहरूले सबै कुराको लागि आफ्नो सिद्धान्तको रूपमा सत्यता प्रयोग गर्नु हो; तिनीहरूले सबै कुरालाई कसरी हेर्ने भन्‍ने आधारको रूपमा सत्यता प्रयोग गर्नुपर्छ, अनि तिनीहरूले आफूले गर्ने हरेक कामकुराको लागि सिद्धान्त र जगको रूपमा सत्यता प्रयोग गर्नुपर्छ। यो सही तरिका हो। तर यसविपरीत, मानिसहरूले मनमा जहिले पनि परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध कुनै अर्को व्यक्तिसँगको सम्बन्धजस्तै नै हो, र तिनीहरूसँगको अन्तरक्रिया समान स्तरमा हुनुपर्छ भन्ने महसुस गर्छन्। के यो राम्रो अवस्था हो? (अहँ, होइन।) कसरी होइन? मानिसहरूले आफूलाई गलत स्थानमा राखेका छन्; तिनीहरूले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्दैनन्। यस्तो किन हुन्छ भने मानिसहरूमा परमेश्‍वरबारे थुप्रै गलतबुझाइहरू छन्, तर मानिसहरूको गलतबुझाइ वा संवेगात्मक समस्याकै कारण परमेश्‍वरले उहाँको मनोवृति परिवर्तन गर्नुहुनेछैन। बरु यसविपरीत, उहाँले आफ्नो मनोवृति परिवर्तन गर्दै नगरी, पहिलेजसरी नै मानिसहरूमा काम गर्न निरन्तरता दिनुहुनेछ, र सबै मानवजातिको जीवनमाथि बन्दोबस्त मिलाउँदै सार्वभौम शासन गर्नुहुनेछ। तर मान्छेमा परमेश्‍वरबारे धारणाहरू बनाउने, र उहाँविरुद्ध प्रतिरोध र विद्रोह गर्ने प्रवृति हुन्छ, त्यसकारण मान्छेले ठूलै कष्ट भोग्‍नुपर्छ। मानिसहरू परमेश्‍वरसँग निकट हुन र उहाँसँग सम्बन्ध बढाउन चाहन्छन्, अनि तिनीहरू आफ्ना भावना, पूँजी, प्रतिभा, क्षमता, आफूले गरेका त्यागहरू, आफ्ना विगतका उपलब्धिहरू, र अन्य सबैखाले तर्कहरूबारे कुरा गर्छन्। सधै यी स्थितिहरूमा रहेर के मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन् त? अहँ, सक्दैनन्। यदि तँसित परमेश्‍वरको आज्ञापालन गर्ने हृदय छैन, र तँ जहिले पनि गलत विचारहरू राख्छस्, सृष्टि गरिएको प्राणीको स्थानमा बस्न सक्दैनस्, असीमित महत्त्वाकाङ्क्षाहरू राख्छस्, र जहिले पनि माथिल्लो पदको लालसा गर्छस् भने, त्यसले अन्ततः तँलाई आफ्नो कर्तव्यलाई राम्रो तरिकाले लिन, वा तँप्रतिका परमेश्‍वरका मापदण्ड र मनोवृतिहरू बुझ्न असक्षम तुल्याउनेछ। लगातार रूपमा तेरो शोधन भइरहे पनि र तैँले निरन्तर कष्ट भोगे पनि, तँ आफ्ना धारणा र कल्पनाहरू त्याग्न असक्षम हुन्छस्, तर आफैलाई भने परमेश्‍वरले सबैभन्दा धेरै रुचाउनुहुने र उहाँको सबैभन्दा निकट व्यक्ति ठान्छस्। फलस्वरूप, जब तैँले खासमा परमेश्‍वरले त्यो तरिकाले काम गर्नुहुन्न, र त्यो तेरो कामना मात्र हो भन्ने बुझ्छस्, तब तँलाई झट्का लाग्छ र आफूमाथि आक्रमण भएको महसुस गर्छस्; तँमा आक्रोश जाग्छ र तैँले आफूलाई खस्काइएजस्तो महसुस गर्छस्। तेरो भावनामा पनि नकारात्मक प्रभाव पर्छ। के यो कष्ट सहन लायक छ? (अहँ, छैन।) मानिसहरूले आफ्ना कामना, धारणा, र कल्पनाहरूको कारण आफैमा कष्ट निम्त्याएका छन्। तिनीहरूको लागि यो सबैभन्दा ठूलो समस्या हो, र तिनीहरू आफै सकारात्मक परिवर्तनतर्फ लाग्नु जरुरी छ! तिनीहरूले यो कसरी शुरु गर्नुपर्छ? यो बुझेर कि परमेश्‍वर सबैप्रति धर्मी हुनुहुन्छ, र परमेश्‍वरले गर्नुहुने सबै काम मानवजातिलाई मुक्ति दिनको लागि हो—उहाँसँग अन्य कुनै कार्ययोजना छैन। मान्छेले गर्नुपर्ने भनेकै सृष्टि गरिएको प्राणीको स्थानमा बस्‍नु, सृष्टिकर्ताको सार्वभौमिकता, योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनु, सृष्टिकर्ताले जे गर्नुहुन्छ त्यो स्विकार्नु र त्यसमा समर्पित हुनु, यी कुराहरूमा सत्यता र परमेश्‍वरको इच्छा खोज्नु, र परमेश्‍वरको आचरण पहिचान गर्नु हो। यदि मानिसहरूले जहिले पनि आफ्नै धारणाहरू प्रयोग गरेर परमेश्‍वरका कार्यहरू मूल्याङ्कन र परिभाषित गर्छन्, परमेश्‍वरसामु अनुचित मागहरू राख्छन्, र परमेश्‍वरले तिनीहरूकै तरिकाले काम गर्नुपर्ने जिद्दी गर्छन् भने, तिनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गरिरहेका छन्, र तिनीहरू सत्यता बुझ्न असक्षम त हुन्छन् नै, अन्त्यमा तिनीहरूको लागि परमेश्‍वरद्वारा घृणा गरिनु र निकालिनुबाहेक अरू केही कुरा बाँकीसमेत हुनेछैन। यदि मानिसहरू परमेश्‍वरको आशिष्‌ पाउन चाहन्छन् भने, सृष्टिकर्ताले गर्नुहुने हरेक कुराको सन्दर्भमा खोजी गर्नु, समर्पित हुनु, पहिचान गर्नु र स्विकार्नुपर्छ। मानिसहरूले सत्यता बुझ्ने, परमेश्‍वरलाई चिन्ने, परमेश्‍वरको साँचो आज्ञापालन हासिल गर्ने, र मुक्ति पाउने यो एकमात्र उपाय हो।

मे १८, २०१८

अघिल्लो: सत्यता अभ्यास गरेर र परमेश्‍वरप्रति समर्पित भएर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ

अर्को: पावलको प्रकृति सार कसरी पहिचान गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्