परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?

मानिसहरूले लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए तापनि तिनीहरूमध्ये धेरैलाई “परमेश्‍वर” शब्दको अर्थ के हो भन्‍ने कुराको समझसम्म छैन, र अलमलमा परेर उहाँलाई पछ्याउँछन् मात्र। मानिसले परमेश्‍वरमाथि किन विश्‍वास गर्नुपर्छ वा परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुराको सुइँको तिनीहरूले पाएका छैनन्। यदि मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न र उहाँलाई पछ्याउन मात्र जान्दछन् तर परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुरा जान्दैनन् भने र यदि तिनीहरूले परमेश्‍वरलाई चिन्दैनन् पनि भने के यो एउटा ठूलो मजाक मात्र होइन र? यति टाढासम्म आइपुगे र, मानिसहरूले धेरै स्वर्गीय रहस्यका कुराहरू देखेका र मानिसले पहिले कहिले पनि नबुझेको धेरै गहन ज्ञानलाई सुनेका भए तापनि मानिसले यस अगाडि चिन्तन नगरेका धेरैजसो मूलभूत सत्यताहरूको बारेमा तिनीहरू अनजान छन्। कसैले यसो भन्‍ला, “हामीले धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्‍यौँ। परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुरा हामीलाई किन थाहा नहुने? के यस प्रश्‍नले हामीलाई तुछ्याउँदैन र?” तैपनि, वास्तवमा आज मानिसहरूले मलाई पछ्याए तापनि तिनीहरूलाई आजका कुनै पनि कामको बारेमा थाहा छैन र अत्यन्तै स्पष्ट र सजिला प्रश्‍नहरूलाई पनि राम्ररी बुझ्‍न सक्दैनन्, परमेश्‍वर बारेका जस्ता अत्यन्तै जटिल प्रश्‍नहरूको त कुरै नगरौँ। तैँले मतलब नै नगरेका, तैँले पहिचान नै नगरेका प्रश्‍नहरूलाई नै तैँले बुझ्‍नु अत्यन्तै जरुरी छ, किनकि आफूलाई जे कुराले सुसज्जित पार्नु पर्ने हो सो कुरालाई ध्यान नदिएर र वास्ता नराखेर भीडको पछि लाग्‍न मात्र तँलाई आउँछ। के तँलाई आफूले परमेश्‍वरमा किन विश्‍वास गर्नुपर्छ भन्‍ने साँच्चै थाहा छ? के तँलाई परमेश्‍वर के हुनुहुन्छ भन्‍ने साँच्चै थाहा छ? के तँलाई मान्छे के हो भन्‍ने साँच्चै थाहा छ? परमेश्‍वरमा विश्‍वास भएको एक व्यक्तिको रूपमा, यदि तँ यी कुराहरू बुझ्‍न असफल भइस् भने, के तैँले परमेश्‍वरमाथि विश्‍वास राख्‍ने विश्‍वासीको मर्यादालाई गुमाउँदैनस् र? आजको मेरो काम यही हो: मानिसहरूलाई तिनीहरूको सारको बारेमा बुझाउनु, मैले गर्ने सबै कुरा बुझाउनु र परमेश्‍वरको साँचो मुहार चिनाउनु। यही नै मेरो व्यवस्थापन योजनाको अन्तिम कार्य, मेरो कामको अन्तिम चरण हो। यही कारणले गर्दा जीवनका सबै रहस्यहरूको बारेमा मैले तिमीहरूलाई अगाडि नै बताइरहेको छु, ताकि तिमीहरूले तिनलाई मबाट स्वीकार गर। यो अन्तिम युगको काम भएको हुनाले यस अघि तिमीहरूले कहिल्यै ग्रहण नगरेका सारा जीवन सत्यता मैले तिमीहरूलाई बताउनै पर्छ, यद्यपि आफ्ना कमजोरी र अयोग्यताका कारण तिमीहरूले यसलाई बुझ्‍न वा अपनाउन असक्षम छौ। मैले मेरो काम सम्पन्‍न गर्नैपर्छ; मैले गर्नुपर्ने काम मैले पूरा गर्नैपर्छ र मैले तिमीहरूलाई आज्ञा गर्नुपर्ने सबै कुराहरू तिमीहरूलाई बताउनैपर्छ, अन्यथा अन्धकार ओर्लेर आएको बेला तिमीहरू फेरि बरालिन्छौ वा दुष्टका योजनाहरूमा पर्छौ। तिमीहरूले नबुझ्‍ने धेरै तरिकाहरू छन् र तिमीहरूलाई धेरै विषयको ज्ञान छैन। तिमीहरू अत्यन्तै अनजान छौ; मलाई तिमीहरूको कद र कमजोरीहरूको बारेमा पूर्ण रूपमा थाहा छ। त्यसैले तिमीहरूले बुझ्‍न नसक्ने धेरै शब्‍दहरू भए तापनि तिमीहरूले पहिले ग्रहण नगरेका सबै सत्यताहरूको बारेमा तिमीहरूलाई बताउन अझ पनि म राजी नै छु, किनकि अहिले कै अवस्थामा तिमीहरू मेरो गवाहीमा बलियोसँग खडा हुन सक्छौ कि सक्दैनौ भन्‍ने कुराको चिन्ता गरिरहन्छु। मैले तिमीहरूलाई कम सोचेर यसो गरेको होइन; तिमीहरू सबै पशु सरह नै छौ जसले मेरो औपचारिक तालिम अझ पनि पाएका छैन, र तिमीहरू भित्र कति महिमा छ भन्‍ने कुरा म बिलकुल देख्‍न सक्दिनँ। मैले तिमीहरूमा काम गर्नको निम्ति धेरै शक्ति खर्च गरेको भए तापनि व्यवहारिक रूपमा सकारात्मक शक्तिको अस्तित्व तिमीहरूमा छैन भन्‍ने देखिन्छ र नकारात्मक तत्वहरूलाई औँलामा गन्‍न सकिन्छ र तिनले शैतानलाई शर्ममा पार्ने गवाहीको रूपमा काम गर्छन्। तिमीहरूमा भएका अरू सबै कुराहरू शैतानको विष हो। तिमीहरू मुक्तिदेखि बाहिर रहेको छौ जस्तो म देख्दछु। म तिमीहरूका विविध अभिव्यक्ति र आचरणहरूलाई हेर्छु र अन्ततः तिमीहरूको वास्तविक कद थाहा पाउँछु। यसै कारण म तिमीहरूप्रति सधैँ चिन्तित भइरहेको हुन्छु: के मानिसहरूलाई आफ्नै तरिकाले जिउन छाडिदिए बेस होला वा अहिलेको अवस्थाको तुलनामा असल होलान्? के तिमीहरूको शिशु कदले तिमीहरूलाई चिन्तित तुल्याउँदैन? के तिमीहरू साँच्चै इस्राएलका चुनिएका मानिसहरूजस्तै हरसमय मप्रति मात्र बफादार हुन सक्छौ? तिमीहरूमा प्रकट भएको कुरा आफ्ना अभिभावकहरूबाट बरालिएका बालबालिकाहरूमा हुने किसिमको बदमासी होइन, तर आफ्ना मालिकको कोर्रा नखाएका पशुहरूबाट उत्पन्‍न हुने पशुत्व हो। तिमीहरूले आफ्नो स्वभाव जान्‍नुपर्छ, यो तिमीहरू सबैमा भएको कमजोरी पनि हो; यो तिमीहरू सबैको साझा रोग हो। यसैले तिमीहरूको निम्ति आजको मेरो अर्ती यही हो कि तिमीहरू मेरो गवाहीमा बलियो गरी खडा होओ। कुनै पनि हालतमा पुरानो रोगलाई फर्किन नदेओ। गवाही बन्‍नु सबैभन्दा महत्त्वपूर्ण हो—यो नै मेरो कामको मुटु हो। तिमीहरूले मेरा वचनहरूलाई त्यसरी नै ग्रहण गर्नुपर्छ जसरी मरियमले आफ्नो सपनामा आएको यहोवाको प्रकाशलाई ग्रहण गरिन्: विश्‍वास गरेर अनि आज्ञापालन गरेर। यही नै पवित्र हुन योग्य छ। किनभने सबैभन्दा धेरै मेरा वचनहरू सुन्‍ने र मद्वारा सबैभन्दा बढी आशिषित तिमीहरू नै हौ। मैले तिमीहरूलाई मेरा सबै मूल्यवान् सम्पत्तिहरू दिएको छु, मैले तिमीहरूलाई सबै थोक प्रदान गरेको छु, तापनि तिमीहरूको अवस्था इस्राएलका मानिसहरूको भन्दा धेरै फरक छ; तिमीहरू आकाश-पातलले फरक छौ। तर तिमीहरूले तिनीहरूको तुलनामा धेरै नै प्राप्त गरेका छौ; तिनीहरू व्यग्रताका साथ मेरो उपस्थितिको प्रतिक्षा गर्छन् भने तिमीहरूले चाहिँ मेरो प्रशस्ततामा सहभागी भएर रमाइला दिनहरू बिताइरहेका छौ। यस भिन्‍नताको बाबजुद मसँग गुनासो र कचकच गर्ने तथा मेरो सम्पत्तिबाट तिमीहरूको हिस्सा माग्‍ने अधिकार तिमीहरूलाई केले दिन्छ? के तिमीहरूले धेरै नै पाएका छैनौ र? म तिमीहरूलाई धेरै दिन्छु तर यसको बदलामा तिमीहरूले मलाई हृदयविदारक दुःख र चिन्ता, अदम्य घृणा र असन्तुष्टि मात्र दिएका छौ। तिमीहरू यति घृणित छौ—तथापि तिमीहरू दयनीय पनि छौ, यसैले मेरा सबै घृणालाई निल्नु र तिमीहरूलाई मेरा विरोधहरू घरीघरी व्यक्त गर्नु बाहेक मसँग अर्को विकल्प छैन। हजारौँ वर्षको काममा मैले मानवजातिसँग कहिले पनि प्रतिवाद गरिनँ किनकि मैले यो कुरा पत्ता लगाएँ कि, मानवजातिको विकास हुने क्रमभरि, तिमीहरूका माझमा प्राचीन समयका प्रख्यात पुर्खाहरूले तिमीहरूको निम्ति छोडेको उत्तराधिकार जस्तै केवल “धोकाहरू” मात्र धेरै प्रख्यात भएको छ। ती अमानवीय सुँगुर र कुकुरहरूलाई म कति घृणा गर्छु। तिमीहरूमा विवेकको निकै अभाव छ! तिमीहरूको चरित्र अत्यन्तै नीच छ! तिमीहरूका हृदय अति कठोर छन्! यदि मैले मेरा वचन र कामहरू इस्राएलीहरूकहाँ पुर्‍याएको भए, मैले धेरै अगाडि नै महिमा प्राप्त गरिसक्‍ने थिएँ। तर तिमीहरूको बीचमा यो अप्राप्य छ; तिमीहरूको माझमा तिमीहरूका क्रूर उपेक्षा, तिमीहरूका बेपरवाह र तिमीहरूका बहानाहरू मात्र छन्। तिमीहरू अत्यन्तै असंवेदनशील र पूर्ण रूपमा बेकम्मा छौ!

तिमीहरूले आफ्‍ना सबै कुराहरू मेरो कामको लागि समर्पण गर्नुपर्छ। तिमीहरूले मलाई फाइदा हुने काम गर्नुपर्छ। तिमीहरूमा अभाव भएका कुराहरू मबाट प्राप्त गर्न सक भनेर तिमीहरूले नबुझ्‍ने सबै कुराहरू तिमीहरूलाई बुझाउन म तयार छु। तिमीहरूका कमी-कमजोरीहरू गन्‍न नै नसकिने भए तापनि तिमीहरूले मबाट लाभ प्राप्त गर्न सक र तिमीहरूमा अभाव रहेको र संसारले कहिले पनि नदेखेको महिमा प्राप्त गर्न सक भनेर मेरो अन्तिम दया म तिमीहरूलाई दिँदै मैले तिमीहरूमा गर्नुपर्ने काम जारी राख्‍न म तयार छु। मैले यति धेरै वर्ष काम गरेँ तापनि कुनै पनि मानिसले मलाई चिनेको छैन। मैले कसैलाई पनि नभनेको रहस्यको कुरा म तिमीहरूलाई बताउने इच्छा गर्दछु।

मानिसहरूको बीचमा म आत्मा थिएँ जसलाई तिनीहरूले देख्‍न सकेनन्, त्यो आत्मा जससँग तिनीहरू कहिल्यै संलग्‍न हुन सकेनन्। पृथ्वीमा मेरो तिन चरणको काम (संसारको सृष्टि, छुटकारा र नाश) को कारण, तिनीहरूको माझमा मेरो काम गर्न म तिनीहरूकहाँ विभिन्‍न समयमा देखा पर्छु (सार्वजनिक रूपमा होइन)। छुटकाराको युगको समयमा म पहिलो पटक मानिसहरूको बीचमा आएँ। यो निश्‍चित हो कि, म यहूदी परिवारमा आएँ, यसैले परमेश्‍वर संसारमा आएको पहिलो पटक देख्‍ने मानिसहरू यहूदीहरू नै थिए। मेरो देहधारी शरीरलाई छुटकाराको निम्ति पाप बलीको रूपमा प्रयोग गर्न मैले चाहेको कारणले नै मैले यो काम व्यक्तिगत रूपमा गरेको हुँ। यसैले, अनुग्रहको युगमा मलाई पहिलो पटक देख्‍ने यहूदीहरू नै हुन्। मैले शरीरमा काम गरेको पहिलो पटक त्यही नै थियो। राज्यको युगमा मेरो काम भनेको विजय गर्नु र सिद्ध गर्नु हो, यसैले म फेरि मेरो गोठालाको काम शरीरमा नै गर्छु। मैले शरीरमा काम गरेको यो दोस्रो पटक हो। अन्तिम दुई चरणका काममा, मानिसहरू नदेखिने र अमूर्त आत्मासँग होइन तर त्यस्तो व्यक्तिसँग संलग्‍न हुन्छन् जो देहमा प्रकट हुनुभएका आत्मा हुनुहुन्छ। यसैले मानिसको आँखामा म फेरि मानव बन्छु, जसमा परमेश्‍वरको कुनै रूप र अनुभूति हुँदैन। यसबाहेक मानिसहरूले देख्‍ने परमेश्‍वर पुरुष मात्र होइन, तर महिला पनि हो, जुन तिनीहरूका लागि अचम्‍मको र छक्क पार्ने कुरा हो। समय समयमा, मेरा असाधारण कामले धेरै वर्षदेखि गरिएका पुराना विश्‍वासहरूलाई चकनाचूर पारेको छ। मानिसहरू छक्क पर्छन्! परमेश्‍वर पवित्र आत्मा अर्थात् सात गुणा तीव्र आत्मा वा सबै कुरालाई समेट्ने आत्मा मात्र हुनुहुन्‍न, तर एक साधारण अर्थात् अत्यन्तै साधारण मनुष्य पनि हुनुहुन्छ। उहाँ पुरुष मात्र नभएर स्त्री पनि हुनुहुन्छ। तिनीहरू उस्तै हुन् किनकि ती दुबै मानिसहरू हुन् र फरक यति मात्र हो कि एक जना पवित्र आत्माद्वारा गर्भमा आउनुभयो भने अर्कोचाहिँ मानिसद्वारा, तथापि उहाँ आत्माद्वारा सीधै आउनुभएको हो। दुबै जना उस्तै हुनुहुन्छ किनकि दुबैले परमेश्‍वर पिताको काम गर्ने देहधारी शरीरका परमेश्‍वर हुनुहुन्छ, उहाँहरू बीचको फरक यही हो कि एक जनाले छुटकाराको काम गर्नुभयो भने अर्कोले विजयको काम गर्नुहुन्छ। दुबैले परमेश्‍वर पिताको प्रतिनिधित्व गर्नुहुन्छ, तर एक प्रेम र दयाले भरिएको उद्धारक हुनुहुन्छ भने अर्कोचाहिँ क्रोध र न्यायले भरपूर धार्मिकताका परमेश्‍वर हुनुहुन्छ। एक छुटकाराको काम सुरुवात गर्ने सर्वोच्च सेनापति हुनुहुन्छ भने अर्को विजयको काम पूरा गर्ने धर्मी परमेश्‍वर हुनुहुन्छ। एक जना सुरु हुनुहुन्छ भने अर्को अन्त्य। एक जना पापरहितको शरीर हुनुहुन्छ भने अर्को छुटकाराको कामलाई पूरा गर्ने, कामलाई जारी राख्‍ने र कहिले पनि पाप नगर्ने शरीर हुनुहुन्छ। दुबै छुट्टाछुट्टै शरीरमा बास गर्ने, छुट्टै ठाउँमा जन्म लिनुभएका र हजारौँ वर्षको अन्तरमा आउनुभएका एउटै आत्मा हुनुहुन्छ। यद्यपि उहाँहरूको काम एक-अर्कामा परिपूरक छ, कुनै द्वन्द्व नभएको र एउटै सासमा भन्‍न सकिने किसिमको छ। दुवै मानिसहरू हुनुहुन्छ तर एउटाचाहिँ छोरा र अर्कोचाहिँ शिशु छोरी हुनुहुन्थ्यो। यतिका वर्षसम्म मानिसहरूले आत्मा र मानिस अर्थात् पुरुषलाई मात्र होइन, तर मानव धारणाहरूसँग मेल नखाने धेरै कुराहरू पनि देखे, यसरी मानिसहरूले मलाई कहिले पनि पूर्ण रूपमा बुझ्‍न सक्दैनन्। तिनीहरूले मलाई कहिले अस्तित्वमा रहेको जस्तो त कहिले भ्रमात्मक सपना जस्तो आधा विश्‍वास गर्छन् र आधा शङ्का गर्छन्, आजको दिनसम्म पनि मानिसहरूले परमेश्‍वर के हुनुहुन्छ भनेर जान्दैनन्। के तँ एउटा सामान्य वाक्यमा मेरो बारेमा बताउन सक्छस्? के तैँले, “येशू अरू कोही नभएर परमेश्‍वर नै हुनुहुन्छ र परमेश्‍वर अरू कोही नभएर येशू नै हुनुहुन्छ” भन्‍ने हिम्मत गर्न सक्छस्? के तँ साँच्चै “परमेश्‍वर अरू कोही नभएर आत्मा हुनुहुन्छ र आत्मा अरू कोही नभएर परमेश्‍वर नै हुनुहुन्छ” भन्‍ने हिम्मत गर्छस्? के तँ “परमेश्‍वर देहको भेसमा आउनुभएको मानव मात्र हुनुहुन्छ” भन्‍ने हिम्मत गर्न सक्छस्? के तँमा साँच्‍चै “येशूमा भएको स्वरूप परमेश्‍वरको महान् स्वरूप हो” भन्‍ने हिम्मत छ? परमेश्‍वरको स्वभाव र स्वरूपको बारेमा पूर्ण रूपमा वर्णन गर्नको निम्ति के तँ आफ्नो वाक्पटुताको प्रयोग गर्न सक्छस्? के तँ “परमेश्‍वरले आफ्नो स्वरूपमा पुरुषलाई मात्र बनाउनुभयो, महिलालाई होइन” भन्‍ने हिम्मत गर्न सक्छस्? यदि तैँले यसो भनिस् भने कुनै पनि महिला मैले चुनिएका भित्र पर्दैनन्, महिलाहरू मानवजातिको एक वर्ग हुनु त परै जाओस्। अब परमेश्‍वर के हुनुहुन्छ भन्‍ने कुरा तँलाई साँच्चै थाहा छ? के परमेश्‍वर मानव हुनुहुन्छ? के परमेश्‍वर आत्मा हुनुहुन्छ? के परमेश्‍वर साँच्चै पुरुष हुनुहुन्छ? के मैले गर्ने काम येशूले मात्र गर्न सक्‍नुहुन्छ? यदि मेरो सारको बारेमा बताउन माथिका मध्ये कुनै एउटाको मात्रै छनौट गरिस् भने, तँ एकदमै अनजान वफादार विश्‍वासी हौ। यदि मैले एक पटक मात्र शरीर धारण गरेर काम गरेँ भने के तँ मलाई सीमित बनाउँछस्? के तैँले मलाई एक झलक हेरेर नै पूर्ण रूपमा बुझ्‍न सक्छस्? तेरो जीवनकालमा तैँले देखेका र भोगेका कुराहरूकै आधारमा मेरो बारेमा पूर्ण रूपमा बताउन सक्छस्? यदि मेरा दुबै देहधारणहरूमा मैले एउटै किसिमका काम गरेको भए तैँले मलाई कसरी बुझ्थिस्? के तँ मलाई क्रूसमा सधैँको निम्ति काँटी ठोकेर राख्छस्? के परमेश्‍वर तैँले दाबी गरे जस्तै साधारण हुनुहुन्छ?

तिमीहरूको विश्‍वास अत्यन्तै सच्‍चा भए तापनि, तिमीहरूमध्ये कसैले पनि मेरो बारेमा पूर्ण रूपमा बताउन सक्दैन, तिमीहरूले देखेका सबै तथ्यहरूको पूर्ण गवाही कसैले पनि दिन सक्दैन। यसको बारेमा सोच: आज तिमीहरूमध्ये धेरै जना आफ्नो कर्तव्यबाट विमुख भएर शरीरका कुराहरूको खोजी गर्ने, शरीरलाई सन्तुष्ट पार्ने र लालचका साथ शरीरको मज्जा लिने भएका छौ। तिमीहरूसँग थोरै मात्र सत्यता छ। यस्तो हो भने तिमीहरूले देखेका सबै कुराहरूको गवाही कसरी दिन सक्छौ? के तिमीहरू मेरा साक्षी बन्‍न सक्छौ भन्‍ने कुरामा साँच्चै तिमीहरू निश्‍चित छौ? तिमीहरूले आज देखेका सबै कुराहरूको गवाही दिन नसक्‍ने दिन आयो भने तिमीहरूले सृजित प्राणीहरूको कार्य गुमाएको हुनेछौ र तिमीहरूको अस्तित्वको कुनै अर्थ रहनेछैन। तिमीहरू मानिस हुनको निम्ति अयोग्य हुनेछौ। यसो पनि भन्‍न सकिन्छ कि तिमीहरू मानिस हुने छैनौ! मैले तिमीहरूमा मापन नै गर्न नसकिने काम गरेको छु, तर तिमीहरूले अहिले केही पनि नसिकेको, थाहा नपाएको र तिमीहरूका परिश्रमहरूमा अप्रभावी भएको कारण मैले मेरो कामलाई विस्तार समय आउँदा तिमीहरूले खाली नजर, बाँधिएको जिब्रो र पूर्ण रूपमा बेकम्मा भएर हेर्नेछौ। यसले तिमीहरूलाई सदाको निम्ति पापी बनाउनेछैन र? जब त्यो समय आउँछ, के तिमीहरूले सबैभन्दा गहिरो पश्‍चातापको अनुभव गर्नेछैनौ र? के तिमीहरू निराशामा डुब्‍ने छैनौ र? आज मैले गर्ने सबै कामहरू निष्क्रियता र आलस्यतामा होइन तर भविष्यको मेरो कामको लागि जग निर्माण गर्नको निम्ति गरिन्छन्। मैले केही गर्न नै नसक्ने प्रतिरोधको अवस्थामा आएको कारण केही नयाँ गरौं भनेर यसो गरेको होइन। मैले गर्ने काम तैँले बुझ्‍नुपर्छ; यो बालकले सडकमा खेले जस्तो होइन, यो त मेरा पिताको प्रतिनिधित्व गर्न गरिने काम हो। यी सबै कुराहरू म आफैँ गर्दिनँ तर म मेरा पिताको प्रतिनिधित्व गर्छु भन्‍ने कुरा तिमीहरूले जान्‍नुपर्छ। यस बीच, तिमीहरूको भूमिका भनेको पछ्याउनु, आज्ञा पालन गर्नु, परिवर्तन गर्नु र गवाही दिनु हो। तिमीहरूले ममाथि किन विश्‍वास गर्नुपर्छ भन्‍ने तिमीहरूले बुझ्‍नुपर्छ; यो तिमीहरू हरेकले बुझ्‍नुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्‍न हो। मेरा पिताले आफ्नो महिमाको निम्ति संसारको सृष्टिदेखि नै तिमीहरूलाई मेरो निम्ति अघिबाटै नियुक्त गर्नुभएको हो। उहाँले तिमीहरूलाई यो मेरो काम र उहाँको महिमाको निम्ति अघिबाटै नियुक्त गर्नुभएको हो। मेरा पिताको कारण तिमीहरू ममाथि विश्‍वास गर्छौ; मेरा पिताले अघिबाटै नियुक्त गर्नुभएको कारण तिमीहरूले मलाई पछ्याउँछौ। यीमध्ये कुनै पनि कुरा तिमीहरूले आफैले छनौट गरेका होइनौ। मेरा पिताले मेरो गवाहीको उद्देश्य राखेर तिमीहरूलाई मकहाँ सुम्पिनुभएको हो भन्‍ने कुरा तिमीहरूले बुझ्‍नु अझ महत्त्वपूर्ण कुरा हो। उहाँले मलाई तिमीहरू प्रदान गर्नुभएको कारण तिमीहरूलाई मैले दिएका कुराहरूका साथै मेरा मार्गहरू र मैले तिमीहरूलाई सिकाउने वचनहरूमा तिमीहरू रहनुपर्छ, किनकि मेरा मार्गहरूमा रहनु तिमीहरूको कर्तव्य हो। ममाथिको तिमीहरूको विश्‍वासको मूल उद्देश्य यही हो। यसैले म तिमीहरूलाई भन्छु: तिमीहरू मेरा मार्गमा चल्‍नको निम्ति मेरा पिताले मलाई सुम्पिनुभएका मानिसहरू मात्र हौ। यद्यपि तिमीहरू ममाथि विश्‍वास मात्र गर्छौ; तिमीहरू इस्राएली परिवारका नभएका कारण मबाट आएका होइनौ, तिमीहरू त प्राचीन सर्पबाटका हौ। मैले तिमीहरूलाई गर्नको निम्ति भनेको कुरा यही हो कि तिमीहरू मेरो गवाही बन, तर आजचाहिँ तिमीहरूले मेरा मार्गहरू पछ्याउनुपर्छ। यी सबै कुराचाहिँ भविष्यको गवाहीको निम्ति हो। यदि तिमीहरूले मेरा मार्गहरूको बारेमा सुन्‍ने मानिसहरूको रूपमा मात्रै कार्य गर्‍यौ भने तिमीहरू मूल्य नभएका व्यक्तिहरू हुनेछौ र मेरा पिताले तिमीहरूलाई मेरो निम्ति सुम्पिनुभएको कुराको महत्त्व हराउने छ। मैले तिमीहरूलाई जोड दिएर भन्‍ने कुरा यही हो: तिमीहरूले मेरो मार्ग पछ्याउनुपर्छ।

अघिल्लो: आशिष्‌को बारेमा तिमीहरूको बुझाइ कस्तो छ?

अर्को: वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्