अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्वरसँगको शत्रुतामा हुनु हो
हजारौँ वर्षको भ्रष्टतापछि, मानिस सुन्न नसक्ने र सुस्त भएको छ; ऊ परमेश्वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएको छ, र शैतानले उसलाई गलत बाटोमा डोर्याएकोले गर्दा आफू कतातिर जाने भनेर उसलाई थाहै छैन। आज पनि, मानिसले अझै परमेश्वरलाई धोका दिन्छ: जब मानिसले परमेश्वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्वरको श्रापहरू र परमेश्वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्हरू प्राप्त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्न सक्छ? मानिससँग साँच्चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्हरू प्राप्त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्हरू प्राप्त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्! यस्तो फोहोरी भूमिमा जन्मिएको मानिस समाजद्वारा गम्भीर रूपमा दूषित पारिएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसले “उच्च शिक्षालयहरूको” शिक्षा प्राप्त गरेको छ। पश्चगामी सोच, भ्रष्ट नैतिकता, जीवनबारे नीच दृष्टिकोण, संसारसँग व्यवहार गर्ने घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, साथै नीच चलनहरू र दैनिक जीवन—यी सबै कुराहरू मानिसको हृदयमा गम्भीर रूपमा घुसपैठ गर्दै आएका छन्, र तिनले उसको विवेकलाई गम्भीर रूपमा क्षति पुर्याउँदै र आक्रमण गर्दै आएको छ। फलस्वरूप, मानिस परमेश्वरबाट अझ धेरै टाढिन्छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी निर्दयी बन्छ, र परमेश्वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्वरमा समर्पित हुन इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्वरको देखा पराइलाई इच्छापूर्वक खोज्ने व्यक्ति त झन् छँदै छैन। बरु, मानिसले शैतानको सत्ताअन्तर्गत रहेर धीत मरुन्जेल आनन्द पछ्याउँछ र आफ्नो देहलाई लापरवाह रूपमा दलदलमा भ्रष्ट तुल्याउँछ। अन्धकारमा जिउनेहरू सत्यता सुनेर पनि त्यसलाई अभ्यास गर्ने चाहना राख्दैनन्, र परमेश्वर देखा परिसक्नुभएको छ भन्ने देख्दादेख्दै पनि तिनीहरूको झुकाव खोजी गर्नेतिर हुँदैन। यस्तो चरित्रभ्रष्ट मानवजातिका लागि कसरी मुक्तिको कुनै सम्भावना हुन सक्छ र? यस्तो पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?
मानिसको स्वभाव परिवर्तन गर्ने कुरा उसको सारको ज्ञानबाट र उसको सोचविचार, प्रवृत्ति, र मानसिक दृष्टिकोणको परिवर्तन, अर्थात् आधारभूत परिवर्तनहरूबाट सुरु हुन्छ। यस किसिमले मात्र मानिसको स्वभावमा साँचो परिवर्तनहरू प्राप्त हुनेछन्। मानिसमा प्रकट हुने भ्रष्ट स्वभावको मूल कारण शैतानको बहकाइ, भ्रष्टता, र विष हो। मानिसलाई शैतानले बन्धन र नियन्त्रणमा राखेको छ, र शैतानले उसको सोचविचार, नैतिकता, अन्तर्ज्ञान र तर्कशक्तिमा चोट पुर्याएको असाधारण हानि उसले भोग्छ। मानिसका आधारभूत कुराहरू शैतानद्वारा भ्रष्ट बनाइएको कारण नै र तिनीहरू परमेश्वरले तिनीहरूलाई मौलिक रूपमा सृष्टि गर्नुभएको जस्तो अवस्थामा पटक्कै नभएकाले गर्दा नै, मानिसले परमेश्वरको विरोध गर्छ र सत्यतालाई स्वीकार गर्न सक्दैन। यसैले, मानिसको स्वभावमा हुने परिवर्तनहरू उसको सोचविचार, अन्तर्दृष्टि, र चेतनामा आउने परिवर्तनबाट सुरु हुन्छ, जसले परमेश्वर सम्बन्धी उसको ज्ञान र सत्यता सम्बन्धी उसको ज्ञानलाई परिवर्तन गर्नेछ। सबैभन्दा बढी भ्रष्ट भूमिमा जन्मेका व्यक्तिहरू परमेश्वर के हुनुहुन्छ, वा परमेश्वरमा विश्वास गर्नु भनेको के हो भन्ने कुरामा अनभिज्ञ हुन्छन्। मानिसहरू जति धेरै भ्रष्ट हुन्छन्, तिनीहरूलाई परमेश्वरको अस्तित्वको बारेमा त्यति नै थोरै थाहा हुन्छ, र तिनीहरूको चेतना र अन्तर्दृष्टि त्यति नै कमजोर हुन्छ। परमेश्वरको विरुद्धमा मानिसको प्रतिरोध र विद्रोहको स्रोत चाहिँ शैतानद्वारा तुल्याइएको उसको भ्रष्टता हो। शैतानको भ्रष्टताको कारण मानिसको विवेक अचेत भएको छ; ऊ अनैतिक छ, उसका सोच विचारहरू पतित भएका छन्, र ऊसँग पिछडिएको मानसिक दृष्टिकोण छ। शैतानद्वारा भ्रष्ट बनाइनुभन्दा अगाडि, मानिस स्वाभाविक रूपमा परमेश्वरमा समर्पित हुन्थ्यो र उहाँका वचनहरू सुनेपछि तिनमा समर्पित हुन्थ्यो। स्वाभाविक रूपमा उसको चेतना र विवेक सामान्य मानवको जस्तै स्वस्थ थियो। शैतानद्वारा भ्रष्ट बनाइएपछि, मानिसको मौलिक समझ, विवेक, र मानवता सुस्त भएको थियो र शैतानद्वारा नष्ट पारिएको थियो। यसरी, उसले परमेश्वरप्रति उसको समर्पणता र प्रेम गुमाएको छ। मानिसको समझ अस्वाभाविक बनेको छ, उसको स्वभाव एक पशुको स्वभावजस्तै बनेको छ, र परमेश्वरप्रति उसको विद्रोह निरन्तर बढिरहेको छ र घोर बनेको छ। तैपनि मानिसलाई यो कुरा थाहा छैन न त यो कुरा पहिचान नै गर्छ, र केवल निरन्तर विरोध र विद्रोह गर्छ। मानिसको स्वभाव उसले व्यक्त गर्ने चेतना, अन्तर्दृष्टि र विवेकमा प्रकट हुन्छ; किनकि उसको चेतना र अन्तर्दृष्टि अस्वस्थ छ, र उसको विवेक उच्च रूपमा सुस्त भएको छ, त्यसैले उसको स्वभाव परमेश्वरको विरुद्धमा विद्रोही भएको छ। यदि मानिसको चेतना र अन्तर्दृष्टि परिवर्तन हुन सक्दैन भने, उसको स्वभाव परिवर्तन हुने प्रश्नै भएन, र यो परमेश्वरका अभिप्राय अनुरूप हुन सक्दैन। यदि मानिसको चेतना अस्वस्थ छ भने, उसले परमेश्वरको सेवा गर्न सक्दैन र ऊ परमेश्वरद्वारा प्रयोग हुन अयोग्य हुन्छ। “सामान्य चेतना” ले परमेश्वरमा समर्पित हुने र उहाँप्रति विश्वासयोग्य हुने, परमेश्वरको निम्ति तिर्खाउने, पूर्णरूपमा परमेश्वरको हुने, र परमेश्वरप्रति स्वस्थ विवेक कायम राख्ने कुरालाई दर्साउँछ। यसले परमेश्वरप्रति एक हृदय र मनको हुने, र जानाजानी परमेश्वरको विरोध नगर्ने कुरालाई दर्साउँछ। अस्वाभाविक चेतना पाउने कुरा यस्तो किसिमको हुँदैन। मानिस शैतानद्वारा भ्रष्ट बनाइएको कारण उसले परमेश्वरको विषयमा आफ्नो धारणा बनाएको छ, र ऊसँग परमेश्वरप्रति बफादारीता छैन वा उहाँप्रति तिर्खाएको छैन, परमेश्वरप्रति स्वस्थ विवेक हुने त कुरै नगरौं। मानिसले परमेश्वरको जानाजानी विरोध गर्छ, र उहाँको आलोचना गर्छ, त्यसबाहेक उहाँको पिठ्यूँपछाडि उहाँको कुरा काट्छ। उहाँ परमेश्वर हुनुहुन्छ भन्ने स्पष्ट ज्ञान हुँदाहुँदै पनि मानिसले उहाँको पिठ्यूँपछाडि उहाँको आलोचना गर्छ; मानिससँग परमेश्वरप्रति समर्पित हुने अभिप्राय छैन, र केवल उहाँसँग माग राख्ने र अनुरोध गर्ने गरिरहन्छ। यस किसिमका मानिसहरू—अस्वाभाविक चेतना भएका मानिसहरू—तिनीहरू आफ्नै घृणित आचरण थाहा गर्न वा आफ्नो विद्रोही स्वभावप्रति पछुताउन असक्षम हुन्छन्। यदि मानिसहरू आफैलाई चिन्न सक्षम छन् भने, तिनीहरूले केही हदसम्म आफ्नो चेतना पुनः प्राप्त गरेका हुन्छन्; आफैलाई चिन्न नसकेका मानिसहरू जति धेरै परमेश्वरको विरुद्धमा विद्रोही बन्छन्, तिनीहरूको चेतना पनि त्यति नै थोरै स्वस्थ हुन्छ।
मानिसको भ्रष्ट स्वभावको प्रकाशको स्रोत मानिसको सुस्त विवेक, उसको घृणित प्रकृति, र उसको अस्वस्थ चेतनामा बाहेक अरू कही छैन; यदि मानिसको विवेक र चेतना फेरि सामान्य बन्न सक्यो भने, त्यसपछि ऊ परमेश्वरको अघि प्रयोगयोग्य एक व्यक्ति बन्नेछ। मानिसको विवेक सधैँ सुस्त भएको कारण, र कहिल्यै पनि स्वस्थ नबनेको मानिसको चेतना अझ बढी सुस्त हुँदै गइरहेको कारण, मानिस परमेश्वरप्रति अझ बढी विद्रोही बनेको छ, यहाँसम्म कि उसले येशूलाई क्रूसमा टाँगेको छ र उहाँको घरमा प्रवेश गराउने आखिरी दिनहरूको परमेश्वरको देहधारणलाई अस्वीकार गर्छ, र परमेश्वरको शरीरलाई दोषी ठहर्छ, र परमेश्वरको शरीरलाई नीच रूपले हेर्छ। यदि मानिससँग अलिकति मात्र मानवता भएको भए, उसले देहधारी परमेश्वरको शरीरलाई क्रूरतापूर्ण व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र चेतना भएको भए, उसले देहधारी परमेश्वरको शरीरलाई क्रूरतापूर्ण व्यवहार गर्ने थिएन; यदि उसँग अलिकति मात्र विवेक भएको भए, उसले देहधारी परमेश्वरलाई यस किसिमले “धन्यवाद दिने” थिएन। मानिस परमेश्वर देह बन्नुभएको युगमा जिउँछ, तैपनि उसलाई यति राम्रो मौका दिनुभएको निम्ति उसले परमेश्वरलाई धन्यवाद दिन सक्दैन, बरु परमेश्वरको आगमनलाई सराप्छ, वा परमेश्वरको देहधारणको यथार्थलाई पूर्ण रूपमा बेवास्ता गर्छ, र त्यसको विरुद्धमा भएको देखिन्छ र त्यसबाट वाक्क बन्छ। मानिसले परमेश्वरको आगमनलाई जसरी व्यवहार गरे तापनि, समग्रमा, परमेश्वरले आफ्नो कार्यलाई धैर्यतासाथ अगाडि बढाउनुभएको छ—यद्यपि मानिसले उहाँलाई अलिकति पनि स्वागत गरेको छैन, र अन्धाधुन्ध उहाँसँग अनुरोध मात्र गर्छ। मानिसको स्वभाव अत्यन्तै क्रूर बनेको छ, उसको चेतना अत्यन्तै सुस्त बनेको छ, र उसको विवेकलाई दुष्टले पूर्ण रूपमा कुल्चीमिल्ची गरेको छ र धेरै समय अगाडि नै मानिसको मौलिक विवेक हराएको छ। मानवजातिलाई परमेश्वरले दिनुभएको यति धेरै जीवन र अनुग्रहका निम्ति देहधारी हुनुभएको परमेश्वरप्रति मानिस कृतज्ञ छैन, तर परमेश्वरले उसलाई सत्यता दिनुभएकोमा परमेश्वरप्रति असन्तुष्ट बनेको छ; किनकि मानिससँग सत्यताको निम्ति अलिकति पनि चाहना छैन, त्यसैले ऊ परमेश्वरप्रति अझ बढी असन्तुष्ट बनेको छ। मानिस देहधारी परमेश्वरको निम्ति आफ्नो जीवन बलिदान दिन असक्षम मात्र छैन, तर उसले उहाँबाट कृपा पनि हासिल गर्ने प्रयत्न गर्छ, र मानिसले परमेश्वरलाई दिनुभएको भन्दा दर्जनौं गुणा बढी चासो छ भन्ने दाबी गर्छ। यस किसिमको विवेक र चेतना भएका मानिसहरूले यसलाई ठूलो विषय मान्दैनन्, र तैपनि तिनीहरूले परमेश्वरका निम्ति आफैलाई धेरै मात्रामा दिएको छ, र अझै परमेश्वरले तिनीहरूलाई थोरै दिनुभएको छ भनी विश्वास गर्छन्। मलाई एक कचौरा पानी दिएर मसँग दुई कचौरा दूधको रकम माग्न आफ्नो हात फैलाउने, वा मलाई एक रातको निम्ति कोठा दिएर मसँग थुप्रै रातको भाडा माग्नेहरू पनि छन्। यस किसिमको मानवता र यस किसिमको विवेकसित कसरी तँ अझै जीवन प्राप्त गर्ने चाहना गर्छस्? तँ कस्तो घिनलाग्दो नीच छस्! मानिसमा हुने यस किसिमको मानवता र मानिसमा हुने यस किसिमको विवेकले देहधारी परमेश्वरलाई भूमिमा भौँतारिन लगाउँछ, उहाँले कुनै ठाउँमा बास पाउनुहुन्न। साँच्चिकै विवेक र मानवता भएका व्यक्तिहरूले उहाँले कति धेरै काम गर्नुभएको छ भन्ने आधारमा होइन, तर उहाँले कुनै पनि काम नगर्नु भएको भए तापनि, देहधारी परमेश्वरको आराधना गर्नुपर्छ र पूर्ण हृदयले सेवा गर्नुपर्छ। स्वस्थ चेतना भएका व्यक्तिहरूले यस्तो किसिमको कार्य गर्नुपर्छ, र यही नै मानिसको कर्तव्य हो। अधिकांश मानिसहरूले परमेश्वरको लागि आफूले गर्ने सेवामा आफ्नो सर्त समेत राख्छन्: तिनीहरूले उहाँ परमेश्वर हुनुहुन्छ कि मानिस हुनुहुन्छ भन्ने कुनै परवाह गर्दैनन्, तिनीहरू केवल आफ्नो सर्तहरूका बारेमा मात्र बोल्छन्, र तिनीहरूका आफ्नै चाहनाहरूलाई सन्तुष्ट पार्न खोज्छन्। जब तिमीहरूले मेरो निम्ति खाना पकाउँछौ, तिमीहरू सेवा शुल्क माग गर्छौ, जब तिमीहरू मेरो लागि दौडिन्छौ, तिमीहरू दौड शुल्क माग गर्छौ, जब तिमीहरू मेरो निम्ति काम गर्छौ, तिमीहरू मसँग कामको ज्याला माग्छौं, जब तिमीहरू मेरो लुगा धोइदिन्छौ, तिमीहरू लुगा धुने शुल्क माग्छौ, जब तिमीहरूले मण्डलीको निम्ति दिन्छौ तिमीहरू स्वास्थ्य लाभ शुल्क माग्छौ, जब तिमीहरू वक्ता बनेर बोल्छौ, तिमीहरू वक्ताको शुल्क माग्छौ, जब तिमीहरूले पुस्तकहरू वितरण गर्छौ, तिमीहरू पुस्तक वितरण शुल्क माग्छौ, जब तिमीहरू लेख्छौ, तिमीहरू लेखन शुल्क लिन्छौ। मैले काटछाँट गरेकाहरूले समेत प्रतिफलको माग गर्छौ, घरमा पठाइएका व्यक्तिहरूले आफ्नो नाम खराब बनाएको भन्दै क्षतिपूर्ति माग गर्छन्; विवाह नभएकाहरूले दाइजो माग्छन्, वा आफ्नो यौवन गुमाएको क्षतिपूर्ति माग्छन्; कुखुरा काट्नेहरूले पनि कसाई शुल्क माग्छन्, खाना पकाउनेहरूले त्यसको शुल्क माग्छन्, र सुप पकाउनेहरूले पनि त्यसको शुल्क माग्छन्…। यही नै तिमीहरूको उच्च र शक्तिशाली मानवता हो, तिमीहरूको न्यानो विवेकले आदेश गर्ने कार्यहरू यिनै हुन्। तिमीहरूको चेतना कहाँ छ? तिमीहरूको मानवता कहाँ छ? तिमीहरूलाई म यो कुरा बताउँछु! यदि तँ यसरी नै अगाडि बढ्छस् भने म तिमीहरूको बीचमा काम गर्न छोड्नेछु। म मानव भेषमा रहेका पशुहरूको समूहमा काम गर्नेछैन, यस किसिमका मानिसहरूका समूह जसको सुन्दर अनुहारमा क्रुद्ध हृदयहरू लुकेको छ, तिनीहरूको निम्ति म कुनै दुःख भोग्नेछैन, यस किसिमका पशुहरूका समूहका निम्ति म धैर्यशील हुनेछैन, जसका निम्ति मुक्तिको अलिकति पनि सम्भाव्यता छैन। मैले तिमीतिर पिठ्यूँ फर्काएको दिन तिमीहरूको मर्ने दिन हुन्छ, त्यो दिन तिमीहरूमाथि अन्धकार आउँछ, र त्यो दिन ज्योतिले तिमीहरूलाई त्यागेको दिन हुन्छ। म तँलाई भन्छु! तिमीहरूको जस्तो समूहप्रति म कहिल्यै पनि उदारवादी हुनेछैन, जुन समूह पशुभन्दा तल झरेको छ! मेरा वचन र कार्यहरूका हद छन्, तिमीहरूका मानवता र विवेक जस्तो छ, त्यसको कारण म कुनै थप कार्य गर्नेछैन, किनकि तिमीहरूमा विवेकको अभाव छ, तिमीहरूले मलाई धेरै पीडा दिएका छौ, तिमीहरूका घृणित आचरणले मलाई धेरै दिक्दार बनाउँछ। मानवता र विवेकको कमी भएका मानिसहरूलाई कहिल्यै पनि मुक्तिको अवसर हुनेछैन; म हृदयहीन र अकृतज्ञ मानिसहरूलाई कहिल्यै मुक्त गर्नेछैन। जब मेरो दिन आउँछ, तब म मेरो डरलाग्दो क्रोधलाई उक्साउने विद्रोहका छोराहरूमाथि सदासर्वदाको लागि मेरो दन्किएको आगो बर्साउनेछु, मेरो विरुद्ध कुवाच्य बकिँहिँड्ने र मलाई त्याग्ने पशुहरूजस्ता मानिसहरूमाथि मेरो अनन्त दण्ड ल्याउनेछु, म विद्रोहका छोराहरूलाई मेरो रिसको आगोले सदाको लागि जलाउनेछु, जसले कुनै समय मसँगै खाएका र पिएका थिए तर तिनीहरूले ममाथि विश्वास गरेका थिएनन्, जसले मेरो बेइज्जत गरे र मलाई धोका दिए। मेरो रिसलाई उक्साउनेहरू सबैलाई म दण्ड दिनेछु, म ती पशुहरूमा मेरो सारा रिस बर्साउनेछु, जसले एक पटक मेरो बराबरी भए जस्तै गरी मसँगै उभिने चाहना गरेका थिए, तैपनि मेरो आराधना गरेनन् वा ममा समर्पित भएनन्; एक पटक मेरो वास्तामा आनन्दित भएका र मैले बोलेका रहस्यमय वाणीमा आनन्दित भएका र एक पटक मबाट भौतिक आनन्दमा रमाएका ती पशुहरूमाथि मेरो लट्ठी प्रहार गर्नेछु। मेरो स्थान लिन प्रयत्न गर्ने कुनै पनि व्यक्तिलाई म क्षमा गर्नेछैन; मबाट खाना र कपडा प्राप्त गर्नको लागि मसँग कुस्ती खेल्न प्रयत्न गर्नेहरूलाई म त्यतिकै छोड्नेछैन। अहिले, तिमीहरू हानिबाट मुक्त छौ र निरन्तर मबाट थुप्रै कुराहरू माग गरिरहेका छौ। जब क्रोधको दिन आउँछ, त्यसबेला मबाट अरू कुनै कुरा माग गर्नेछैनौ; त्यसबेला, म तिमीहरूलाई आफ्नो हृदयको सन्तुष्टतामा “आनन्द” मनाउन दिनेछु, म तिमीहरूको मुहार भुइँमा बजार्नेछु, र तिमीहरू फेरि कहिल्यै खडा हुन सक्नेछैनौ! ढिलो वा चाँडो, म तिमीहरूको यो ऋण “चुक्ता” गर्न जाँदैछु—र म आशा गर्छु कि तिमीहरू धैर्यतापूर्वक यो दिनको प्रतीक्षा गर्छौ।
यदि यी तिरस्कारयोग्य मानिसहरूले आफ्ना असाधारण अभिलाषाहरू साँच्चिकै त्याग्छन् र परमेश्वरतिर फर्कन्छन् भने, त्यसबेला तिनीहरूले अझै पनि मुक्ति प्राप्त गर्ने मौका पाउँछन्; यदि मानिससँग परमेश्वरको निम्ति तिर्खाउने हृदय छ भने, त्यसबेला परमेश्वरले उसलाई त्याग्नुहुनेछैन। परमेश्वरसँग देहगत भावना भएको कारण, वा परमेश्वर मानिसद्वारा प्राप्त गरिन नचाहनुभएको कारण, मानिस परमेश्वरलाई प्राप्त गर्न असफल भएको होइन, बरु मानिसले नै परमेश्वरलाई प्राप्त गर्न नचाहेकोले, र ऊसँग परमेश्वरलाई आतुरीसाथ खोजी गर्ने हृदय नभएको कारणले त्यस्तो भएको हो। परमेश्वरलाई साँच्चिकै खोज्ने व्यक्तिहरूमध्ये एक जनालाई कसरी परमेश्वरद्वारा श्राप दिइन सक्छ? स्वस्थ चेतना र संवेदनशील विवेक भएको व्यक्तिहरूमध्ये एक जनालाई कसरी परमेश्वरद्वारा श्राप दिइन सक्छ? परमेश्वरको साँचो आराधना गर्ने र उहाँको सेवा गर्ने व्यक्तिलाई कसरी उहाँको क्रोधको आगोद्वारा भस्म गरिनसक्छ? परमेश्वरमा समर्पित हुँदा खुशी हुने व्यक्ति कसरी परमेश्वरको घरबाट बाहिर निकालिन सक्छ? परमेश्वरलाई पर्याप्त प्रेम गर्न नसक्ने व्यक्ति कसरी परमेश्वरको दण्डमा बाँच्न सक्छ? परमेश्वरको निम्ति सबै थोक त्याग्न खुशी हुने व्यक्ति कसरी कुनै थोक नभएको व्यक्ति बन्न सक्छ? मानिस परमेश्वरलाई पछ्याउन अनिच्छुक छ, परमेश्वरको निम्ति आफ्नो सम्पत्ति खर्च गर्न अनिच्छुक छ, परमेश्वरलाई आजीवन भक्ति अर्पण गर्न अनिच्छुक छ; बरु, परमेश्वर टाढा जानुभएको छ, परमेश्वरको बारेमा धेरै कुरा मानिसको धारणामा असुहाउँदो छ भनी उसले भन्छ। यस किसिमको मानवतासित, तिमीहरूले आफ्ना प्रयत्नहरूलाई विस्थापित गरे तापनि, तिमीहरूले परमेश्वरको स्वीकृति प्राप्त गर्न सक्दैनौ, तिमीहरूले परमेश्वरको खोजी गर्ने यथार्थको बारेको त कुरै नगरौं। तिमीहरू मानवजातिको त्रुटिपूर्ण सामान हौ भनी के तिमीहरूलाई थाहा छैन? कुनै पनि मानवता तिमीहरूको भन्दा कम छैन भनी के तिमीहरूलाई थाहा छैन? अरू व्यक्तिहरूले तिमीहरूलाई आदर गर्न के भन्छन् भनी के तिमीहरूलाई थाहा छैन? परमेश्वरलाई साँचो प्रेम गर्ने व्यक्तिहरूले तिमीहरूलाई ब्वाँसोको पिता, ब्वाँसोकी आमा, ब्वाँसोको छोरो, ब्वाँसोको नाति भन्छन्; तिमीहरू ब्वाँसोको सन्तान, ब्वाँसोको मानिसहरू हौ, र तिमीहरूलाई आफ्नो परिचय थाहा हुनुपर्छ र त्यसलाई कहिल्यै पनि बिर्सनु हुँदैन। तिमीहरू कुनै उत्कृष्ट व्यक्तित्वहरू हौ भनी विचार नगर: तिमीहरू मानवजातिका बीचमा सबैभन्दा अमानवीय क्रूर समूहको सदस्यहरू हौ। के तिमीहरूलाई यसको विषयमा केही पनि थाहा छैन? मैले तिमीहरूका बीचमा काम गरेर कति धेरै जोखिम उठाएको छु भनी के तिमीहरूलाई थाहा छैन? यदि तिमीहरूको चेतना फेरि सामान्य बन्न सक्दैन भने, र तिमीहरूको विवेकले सामान्य रूपमा काम गर्न सक्दैन भने, तिमीहरूले “ब्वाँसो” भन्ने नामबाट कहिल्यै छुटकारा पाउनेछैनौ, तिमीहरू श्रापको दिनबाट उम्किने छैनौ र तिमीहरू आफ्नो दण्डको दिनबाट उम्किने छैनौ। तिमीहरू निम्न स्तरमा जन्मियौ, कुनै पनि मूल्य नभएको थोकको रूपमा जन्मियौ। तिमीहरू स्वाभाविक रूपमा भोको ब्वाँसाहरूको झुण्ड, टुटेफुटेका टुक्राहरू र फोहोरको थुप्रो हौ, तिमीहरूले जस्तै म कृपा पाउन मात्र काम गर्दिनँ, तर कामको खाँचो भएको कारणले गर्छु। यदि तिमीहरू यसरी निरन्तर विद्रोही भइरहन्छौ भने, म आफ्नो काम रोक्नेछु, र तिमीहरूमा फेरि कहिल्यै काम गर्नेछैन; यसको विपरीत, मलाई प्रसन्न तुल्याउने समूहलाई म मेरो काम हस्तान्तरण गर्नेछु, र यसरी तिमीहरूलाई सदाको लागि त्यागिदिनेछु, किनकि मप्रति शत्रुता राख्ने मानिसहरूलाई म हेर्न अनिच्छुक छु। त्यसैले, के तिमीहरू मसँग सङ्गत गर्न चाहन्छौ, वा मेरो विरुद्ध शत्रुता कायम राख्न चाहन्छौ?