साँचो आज्ञापालनद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ

परमेश्‍वरमाथिको आस्था भनेको के हो? यो सबैभन्दा व्यावहारिक प्रश्‍न हो, साथै यो विश्‍वासीले बुझ्नैपर्ने सबैभन्दा आधारभूत सत्यता पनि हो। के परमेश्‍वरमाथिको आस्था एक प्रकारको दृढ निश्‍चयता हो, कि यो व्यक्तिको जीवनको दिशा र लक्ष्य हो? तेरो हृदयमा, आस्थाको अन्तिम उद्देश्य के हो? तँ किन परमेश्‍वरमाथि आस्था राख्न चाहन्छस्? अर्थात, तेरो विश्‍वास के हो? तैँले परमेश्‍वरमा आस्था राख्नुको आधार र जग के हो? तेरो उत्प्रेरणा के हो? अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरमा विश्‍वास गर्नुका तेरा अभिप्राय र उद्देश्य के हुन्? अन्त्यमा, त्यो केको लागि हो? यी सबैभन्दा व्यावहारिक प्रश्‍नहरू हुन्। तैँले मानिसहरू आशिष् प्राप्त गर्ने उद्देश्यले परमेश्‍वरमा विश्‍वास गर्छन् र उहाँलाई स्विकार्छन् भन्न सक्छस्। मानिसहरूले सोच र आत्मिक क्षेत्रमा आशा राख्ने, तृष्णा गर्ने र पछ्याउने केही आधार प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्छन्। परमेश्‍वरमाथि आस्था राख्नुमा सबै मानिसको मूल अभिप्राय यही हो। तर मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरू परमेश्‍वरको वचन, सत्यता, परमेश्‍वरको काम, र परमेश्‍वरको सार्वभौमिकताअन्तर्गतका सबै विविध मानिस, घट्ना र वस्तुहरूको सम्पर्कमा आएपछि, आस्थाबारे तिनीहरूको विचार थाहै नभई बदलिदिन्छ। तिनीहरूले निश्‍चित हदसम्म सत्यता बुझेपछि, तिनीहरूलाई यो महसुस हुन्छ कि परमेश्‍वरमाथिको आस्थाले तिनीहरूलाई सत्यता प्राप्त गर्न सक्षम तुल्याउँछ, आस्था भनेको सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र आस्थाले वास्तवमै मानिसहरूलाई धेरै अर्थमा बदल्न र अन्ततः मानवीय भ्रष्टताको समस्या समाधान गर्न सक्छ। परमेश्‍वरमा आस्था राख्नको लागि तैँले पहिला निम्‍न प्रश्‍नहरूको जवाफ पत्ता लगाउनुपर्छः मानिसहरू किन परमेश्‍वरमा विश्‍वास गर्छन्? परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य के हो? परमेश्‍वरमा विश्‍वास गर्न के कुराले उत्प्रेरणा दिन्छ? परमेश्‍वरमा विश्‍वास गर्नुको सुरुवाती चाहना र आकाङ्क्षा के हो? तिमीहरूले यी प्रश्‍नहरूबारे कति सोचेका छौ? के तिमीहरूसँग सही जवाफहरू छन्? (सुरुमा, आशिष्‌हरू प्राप्त गर्ने चाहनाले मैले परमेश्‍वरमा विश्‍वास गरेँ। परमेश्‍वरका वचनहरूबाट केही न्याय र सजाय अनुभव गरेपछि, मैले आशिष्‌ मात्र पछ्याउने रहेछु, ममा वास्तवमै कुनै विवेक र समझ रहेनछ, र म अत्यन्तै स्वार्थी रहेछु भन्ने कुरा मैले बुझेँ। मैले आफू शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएको रहेछु भन्‍ने अनुभूति गरेँ, र त्यसैले मैले विवेक र समझ भएको र सृष्टि गरिएको प्राणीको सही स्थान लिन सक्ने व्यक्ति बन्‍ने र परमेश्‍वरलाई पछ्याउने तृष्णा गरेँ। अहिले, ममा यति थोरै ज्ञान मात्र छ।) मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्दा, तिनीहरू सधैँ अनुग्रह प्राप्त गर्न, आशिष्‌ र लाभहरू प्राप्त गर्न, र आत्मा र देहका विविध आवश्यकता र चाहनाहरू पूरा गर्न चाहन्छन्। तिनीहरूले आफ्नो आस्थाको सुरुवाती चरणदेखि नै यस्ता कुराहरू पछ्याउँदा निकै कष्ट भोगेका हुन्छन्, र अहिले तिनीहरूले बुझेका छन् कि आस्थाको महत्त्व यी कुराहरूभन्दा बढी छ। आस्थाको महत्त्व अत्यन्तै गहन र अत्यन्तै व्यावहारिक छ, र तिनीहरूले यति धेरै लाभहरू प्राप्त गर्छन् कि त्यसको सारसङ्क्षेप यी थोरै शब्दहरूमार्फत गर्नै सकिँदैन। परमेश्‍वरमा आस्था राख्नको निम्ति व्यक्तिले पहिला मान्छेको भ्रष्ट स्वभाव र पापका समस्याहरू समाधान गर्नुपर्छ, साथै परमेश्‍वरप्रति आज्ञापालन र उहाँबारे ज्ञान हासिल गर्नुपर्छ। यस तरिकाले मात्र व्यक्तिले आफ्नो भ्रष्ट स्वभाव हटाउन र शैतानको प्रभावबाट उम्कन सक्छ ताकि ऊ पूर्णतया परमेश्‍वर्फ फर्कन सकोस्। परमेश्‍वरमा विश्‍वास गर्नु र परमेश्‍वरलाई पछ्याउनुको उद्देश्य परमेश्‍वरबाट सत्यता र जीवन प्राप्त गर्नु, र अन्ततः परमेश्‍वरको इच्छाअनुरूपको र परमेश्‍वरको आज्ञापालन र आराधना गर्न सक्ने व्यक्ति बन्नु हो। आस्थाको साँचो अर्थ यही हो। आस्थाबारे मानिसहरूको बुझाइलाई हेर्दा, आस्थाको सम्बन्धमा तिनीहरूको विचार, अभिप्राय, र उत्प्रेरणाहरू निकै परिवर्तन भएको देख्‍न सकिन्छ। के कुराले यस्तो परिवर्तन ल्यायो? (यो परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यता र उहाँले मानिसहरूमाथि गर्नुभएका सम्पूर्ण कामको परिणाम हो।) ठिक भनिस्। यो समयक्रमको मात्रै परिणाम होइन, न त यो कसैले तँमाथि लादेको हो, न त यो कुनै धार्मिक शिक्षणको प्रभाव वा फैलावटको परिणाम हो, र यो तेरो हृदयमा भएको असलपनको कारण स्वर्गले तँलाई झन् राम्रो, झन् मानवरूपी व्यक्तिमा परिवर्तन गरेको त झनै होइन। यी सबै मानव धारणा र कल्पनाहरू हुन्। खासमा, प्राप्त हुने सबैभन्दा व्यावहारिक लाभ के हो भने, परमेश्‍वरका वचनहरूको मार्गदर्शन, मलजल र रखवारी पाएर, मानिसहरूले सत्यता र परमेश्‍वरको इच्छा बुझ्न थाल्छन्, तिनीहरू मानिसहरूमाझको अन्धकार र दुष्टता प्रस्टसित देख्‍ने हुन्छन्, अनि तिनीहरूका युक्ति र विचारहरू निकै परिवर्तित हुन्छन्। के कुराले यी परिवर्तनहरू ल्याउँछ? यी परिवर्तनहरू परमेश्‍वरको काम र परमेश्‍वरका वचनहरूको क्रमिक रूपमा र अलिअलि गरेर गरिएका अनुभवका परिणाम हुन्। त्यसोभए, यी परिवर्तनहरूमा के-के कुराहरू संलग्न हुन्छन्? यिनमा आस्थाको सबैभन्दा ठुलो मामला—अर्थात् मुक्तिको मामला संलग्न हुन्छ। मान्छेको आस्थाको सबैभन्दा ठूलो महत्त्व नै यही हो। खासमा, मानिसहरू आस्थाबाट धेरै कुराहरू माग्दैनन्। तिनीहरूको उद्देश्य अनुग्रह प्राप्त गर्नु र शान्ति खोज्नु मात्र हो। त्यसपछि, यो खराब मानिसभन्दा असल मानिस हुने चाहनामा परिणत हुन्छ, र अन्त्यमा, तिनीहरू राम्रो गन्तव्य प्राप्त गर्न मात्र चाहन्छन्। यद्यपि, सबैभन्दा ठुलो प्रश्‍न यहीनेर छः परमेश्‍वरले वास्तवमा उहाँको न्याय र शुद्धीकरणको काम र मान्छेलाई मुक्ति दिने उहाँको काममार्फत कस्तो प्रभाव हासिल गर्न चाहनुहुन्छ? मानिसहरूले बुझ्नुपर्ने कुरा नै यही हो। मान्छेलाई मुक्ति दिने परमेश्‍वरको काममा, यो मुक्ति हासिल गराउन उहाँले के प्रयोग गर्नुहुन्छ? उहाँले सत्यता र उहाँका वचनहरूबारे तिनीहरूको बुझाइ र त्यसपछि न्याय र सजाय, परीक्षा र शोधनहरूबारेको तिनीहरूको अनुभव प्रयोग गर्नुहुन्छ, र यसरी तिनीहरूलाई पाप र शैतानको प्रभावबाट मुक्त गर्नुहुन्छ। यी सबै कुराहरू भनिसकेपछि, अब मानिसहरूको आस्थाको आधारभूत महत्त्व के हो त? सरल रूपमा भन्नुपर्दा, यो मुक्ति प्राप्त गर्नको निम्ति हो। अनि मुक्तिको महत्त्व के हो? म चाहन्छु कि तिमीहरू सबैले त्यसबारे सोच र वास्तवमा मुक्ति प्राप्त गर्नुको अर्थ के हो मलाई बताओ। (त्यसको अर्थ हामी शैतानको दुष्ट प्रभावबाट मुक्त हुन, पूर्णतया परमेश्‍वरतर्फ फर्कन, र अन्ततः बाँच्न सक्छौँ भन्ने हो।) (शैतानको शक्तिमा जिउने मानिसहरू मृत्युको हकदार हुन्छन्, तर परमेश्‍वरको काम अनुभव गरेर मुक्ति प्राप्त गर्ने मानिसहरू मर्नेछैनन्।) तिमीहरू सबैले यो कुरा बुझ्छौ र त्यसलाई धर्मसिद्धान्तको स्तरमा व्याख्या गर्न सक्छौ, तर तिमीहरूलाई मुक्ति प्राप्त गर्नु भनेको वास्तवमा के हो भनेर थाहै छैन। के मुक्ति प्राप्त गर्नु तेरो भ्रष्ट स्वभाव हटाउनु हो र? के मुक्ति प्राप्त गर्नुले नढाँट्ने, इमानदार व्यक्ति बन्‍ने र परमेश्‍वरविरुद्ध विद्रोह गर्न छोड्ने अर्थ दिन्छ? वास्तवमा मुक्ति प्राप्त गर्नु भनेको के हो? सामान्य भाषामा भन्नुपर्दा, मुक्ति प्राप्त गर्नुको अर्थ तँ जिइरहन सक्नेछस्, तँलाई जीवनमा फर्काइएको छ भन्ने हुन्छ। एक समय तँ पापमा जिइरहेको थिस्, र तँ मृत्युतर्फ लागेको थिइस्—र परमेश्‍वरको नजरमा तँ मृत व्यक्ति थिस्। यसो भन्नुको आधार के हो? मुक्ति पाउनुभन्दा अघि मानिसहरू कसको पकडमा जिउँछन्? (शैतानको पकडमा।) अनि शैतानको पकडमा जिउनको निम्ति मानिसहरू कुन कुरामा भर पर्छन् त? उनीहरू आफ्नो शैतानी प्रकृति र भ्रष्ट स्वभावमा भर पर्छन्। त्यसपछि उनीहरूको सम्पूर्ण अस्तित्व अर्थात् उनीहरूको देह, उनीहरूको आत्मा र उनीहरूका सोचजस्ता अन्य सबै कुराहरू जीवित हुन्छ कि मृत हुन्छ? परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, ती मृत हुन्छन्, तिनीहरू जिउँदो लाश हुन्। बाहिरी रूपमा, तैँले सास फेरिरहेको र सोचविचार गरिरहेको देखिन्छ, तर तैँले निरन्तर रूपमा सोच्ने सबथोक दुष्ट परमेश्‍वरको अवज्ञा गर्ने र परमेश्‍वरविरुद्ध विद्रोह गर्ने हुन्छन्, तैँले सोच्ने सबै कुराहरू परमेश्‍वरले घिनाउनुहुन्छ, घृणा र निन्दा गर्नुहुन्छ। परमेश्‍वरको नजरमा, यी सबै थोकहरू केवल देहका अधीनका कुराहरू मात्र होइनन्, बरु यी त पूर्ण रूपमा शैतान र दियाबलसका अधीनका कुराहरू हुन्। त्यसोभए, परमेश्‍वरको नजरमा, के भ्रष्ट मानवजाति मानवसमेत हुन्छ र? हुँदैन, तिनीहरू पशु, दियाबलस र शैतान हुन्; तिनीहरू जिउँदा शैतान हुन्! सबै मानिसहरू शैतानको प्रकृति र स्वभावअनुसार जिउँछन्, र परमेश्‍वरको नजरमा, तिनीहरू मानव देहमा लुकेका जिउँदा शैतान हुन्, मानवको खोल ओडेका दियाबलसहरू हुन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई जिउँदा लाशहरू, अर्थात मरेका मानिसहरू भन्नुहुन्छ। परमेश्‍वर अहिले मुक्तिको काम गर्दै हुनुहुन्छ, यसको मतलब उहाँले शैतानको भ्रष्ट स्वभाव र त्यसको भ्रष्ट सारअनुसार जिउने जिउँदा लाशहरूलाई—अर्थात् मरेका मानिसहरूलाई—लिनुहुन्छ र तिनीहरूलाई जिउँदा मानिसहरूमा परिणत गर्नुहुन्छ। मुक्ति प्राप्त गर्नुको अर्थ त्यही हो। व्यक्तिले मुक्ति प्राप्त गर्नको निम्ति परमेश्‍वरमा विश्‍वास गर्छ—यहाँ के कुरालाई मुक्ति दिइन्छ? जब व्यक्तिले परमेश्‍वरबाट मुक्ति प्राप्त गर्छ, तब ऊ मृतकबाट जीवित बन्छ। कुनैबेला तिनीहरू शैतानका मानिसहरू थिए र तिनीहरू मर्नु निश्‍चित थियो, तर अहिले तिनीहरूले परमेश्‍वरका मानिसहरूको रूपमा जीवन प्राप्त गरेका छन्। यदि परमेश्‍वरमा विश्‍वास गर्दा र उहाँलाई पछ्याउँदा, मानिसहरू परमेश्‍वरको आज्ञापालन गर्न, उहाँलाई चिन्न, र आराधनामा उहाँसामु झुक्न सक्छन् भने, यदि तिनीहरूको हृदयमा परमेश्‍वरविरुद्ध प्रतिरोध र विद्रोह छैन, र तिनीहरूले अबउप्रान्त उहाँलाई प्रतिरोध वा आक्रमण गर्नेछैनन्, र तिनीहरू उहाँप्रति साँच्चै समर्पित हुन सक्छन् भने, परमेश्‍वरको नजरमा तिनीहरू साँचा जिउँदा मानिसहरू हुन्। के मुखले मात्र परमेश्‍वरलाई स्विकार्ने व्यक्ति जिउँदो व्यक्ति हो र? (होइन।) त्यसोभए, कस्तो खालको व्यक्तिचाहिँ जिउँदो व्यक्ति हो त? जिउँदो मानिसका वास्तविकताहरू के-के हुन्? जिउँदा मानिसहरूमा के-कस्ता गुणहरू हुनुपर्छ? तिमीहरूको राय मलाई सुनाओ त। (सत्यता स्विकार्न सक्ने मानिसहरू नै जिउँदा व्यक्तिहरू हुन्। मानिसहरूका वैचारिक दुष्टिकोणहरू र विभिन्‍न कुराहरूसम्बन्धी विचारहरू परिवर्तन भएर परमेश्‍वरका वचनहरूअनुरूप हुन्छन् भने तिनीहरू जिउँदा मानिसहरू हुन्।) (सत्यता बुझ्ने र अभ्यास गर्न सक्नेहरू नै जिउँदा मानिसहरू हुन्।) (अय्यूबजस्तो परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति नै जिउँदो व्यक्ति हो।) (परमेश्‍वरलाई चिन्ने मानिसहरू परमेश्‍वरका वचनहरूअनुसार जिउन सक्छन्, र तिनीहरू सत्यता वास्तविकतामा जिउन सक्छन्—तिनीहरू जिउँदा मानिसहरू हुन्।) तिमीहरू सबैले एकखाले प्रकटीकरण बतायौ। व्यक्तिले अन्त्यमा मुक्ति प्राप्त गर्न र जिउँदो व्यक्ति बन्नको लागि, कम्तीमा पनि उसले परमेश्‍वरका वचनहरूमा चासो दिन सक्नुपर्छ, उसले विवेक र समझका वचनहरू बोल्न सक्नुपर्छ, ऊ विचारशील र विवेकशील व्यक्ति हुनुपर्छ, उसले सत्यता बुझ्न र अभ्यास गर्न सक्नुपर्छ, र उसले परमेश्‍वरप्रति समर्पित हुन र उहाँलाई आराधना गर्न सक्नुपर्छ। साँचो जिउँदो व्यक्ति त्यही हो। जिउँदा मानिसहरूले प्रायः के सोच्छन् र के गर्छन्? तिनीहरूले सामान्य मानिसहरूले गर्नुपर्ने केही कामहरू गर्न सक्छन्। मुख्य गरी, तिनीहरूले आफ्ना कर्तव्यहरू राम्ररी निभाउँछन्, र तिनीहरूले नियमित रूपले जे सोच्छन् र प्रकट गर्छन्, जे भन्छन् र गर्छन् त्यसमा परमेश्‍वरको डर मान्छन् र दुष्टताबाट अलग बस्छन्। तिनीहरूले प्रायः जे सोच्छन् र गर्छन् त्यसको प्रकृति यही हो। अझै अलि प्रस्ट रूपमा भन्नुपर्दा, कम्तीमा पनि तिनीहरूले सामान्यतया गर्ने र भन्ने कुरा सत्यतासँग मिल्छ। त्यसलाई परमेश्‍वरले निन्दा गर्ने वा घिनाउने र इन्कार्ने गर्नुहुन्न, बरु स्वीकार र अनुमोदन गर्नुहुन्छ। जिउँदा मानिसहरूले गर्ने कुरा यही हो, र तिनीहरूले गर्नुपर्ने कुरा पनि यही हो। यदि तँ मुखले मात्र परमेश्‍वरलाई स्विकार्छस् र हृदयमा उहाँको विश्‍वास गर्छस् भने, के तैँले परमेश्‍वरबाट अनुमोदन र मुक्ति प्राप्त गर्न सक्छस् र? (सक्दिनँ।) किन सक्दैनस्? कतिपय मानिसहरू यसो भन्छन्, “म परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्छु,” “म सारा कुराहरू र मानवजातिको नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भनी विश्‍वास गर्छु,” “मलाई जे हुन्छ त्यो परमेश्‍वरकै हातमा छ, परमेश्‍वरले मलाई मेरो जीवनको राम्रो पाटोतर्फ डोर्‍याउनुभएको छ, र परमेश्‍वरले त्यसरी नै मलाई भावी मार्गमा पनि डोर्‍याउन सक्नुहुन्छ भनेर म विश्‍वास गर्छु,” र “परमेश्‍वरले मेरो नियति परिवर्तन गर्न सक्नुहुन्छ भन्ने कुरामा म विश्‍वास गर्छु।” के यस्तो “आस्था” हुनुको अर्थ तिनीहरूले मुक्ति पाउँछन् भन्ने हुन्छ? (हुँदैन।) त्यसोभए कस्तो आस्था भएमा मानिसहरूले साँच्‍चिकै मुक्ति पाउँछन्? (अय्यूबको जस्तो परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने आस्था भएमा।) मानिसहरूले कसरी यस्तो साँचो आस्था राख्न सक्छन्? मौखिक स्वीकार र हृदयमा विश्‍वास: के यस्तो विश्‍वासले हृदयलाई परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने तुल्याउन सक्छ? के यसरी विश्‍वास गर्नुको अर्थ मानिसहरूमा परमेश्‍वरबारे ज्ञान छ भन्ने हुन्छ? के यसले मानिसहरूलाई परमेश्‍वरको आज्ञापालन गर्ने तुल्याउन सक्छ? के यसमार्फत मुक्ति हासिल गर्न सकिन्छ? यसमा अरू केके कुराहरू छुटेका छन्? यी प्रश्‍नहरूबारे मनन गर्नु र बुझ्‍नुपर्छ।

के विश्‍वास, दृढ निश्‍चयता, र साँचो आस्थाबीच कुनै भिन्नता छ? (छ।) निश्‍चय नै भिन्नताहरू छन्, र तैँले यी भिन्नताहरू ठ्याक्‍कै के-के हुन् भनेर पत्ता लगाउनुपर्छ। यदि तैँले यी कुराहरू छुट्याउन सक्दैनस् भने, तँसित अस्पष्ट विश्‍वास वा अस्पष्ट निश्‍चयता हुँदा मात्र पनि, तैँले तँमा परमेश्‍वरमाथिको साँचो आस्था भएको अनुभूति गर्न सक्छस्। अस्पष्ट निश्‍चयताले कसरी परमेश्‍वरमाथिको तेरो साँचो आस्थाको ठाउँ लिन सक्छ? खासमा, वास्तविक भरोसा हुनुको साटो, तैँले त्यसको ठाउँमा तेरा आफ्नै दृढ निश्‍चयता र विश्‍वासहरू राखेको हुन्छस्। यदि परमेश्‍वरमाथिको तेरो आस्था एउटा विश्‍वास वा दृढ निश्‍चयताबाहेक केही होइन भने, तँ कहिल्यै पनि साँचो रूपमा परमेश्‍वरसामु आउन सक्दैनस्, र परमेश्‍वरले तेरोजस्तो आस्था अनुमोदन गर्नुहुन्न। त्यसोभए, विश्‍वास, दृढ निश्‍चयता र साँचो आस्थाबीचका भिन्नताहरू के-के हुन्? विश्‍वास र दृढ निश्‍चयतालाई प्रस्ट रूपमा व्याख्या गर्न सजिलो नभएकोले पहिला साँचो आस्थाबारे कुरा गरौँ। परमेश्‍वरमाथिको साँचो आस्था भनेको के हो? (यो सबै घट्नाहरू र सबै कुराहरू परमेश्‍वरको सार्वभौमिकताअन्तर्गत छन् भनी विश्‍वास गर्नु हो।) के यो साँचो आस्था हो कि विश्‍वास हो? (यो विश्‍वास हो।) (साँचो आस्था परमेश्‍वरबारे ज्ञानको जगमा स्थापित भएको हुन्छ। मानिसहरूले परमेश्‍वरलाई चिनेमा मात्र तिनीहरूमा साँचो आस्था हुन सक्छ।) यो बुझाइ आंशिक रूपमा मात्र सही छ। मानिसहरूले कसरी साँचो आस्था राख्न सक्छन्? साँचो आस्थाका प्रकटीकरणहरू के-के हुन्? यदि मानिसहरूमा साँचो आस्था छ भने, के तिनीहरूले परमेश्‍वरलाई गलत अर्थ्याउनेछन् वा उहाँबारे गुनासो गर्नेछन्? के तिनीहरूले परमेश्‍वरको विरोध गर्नेछन्? (गर्नेछैनन्।) यदि मानिसहरूमा साँचो आस्था छ भने, के तिनीहरूले परमेश्‍वरविरुद्ध विद्रोह गर्नेछन्? के मानिसहरूले आफ्नै धारणा र कल्पनाहरूमा आधारित भएर राम्रो गर्ने र असल मानिस बन्ने कोसिस गरेर परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्छन्? विश्‍वास, दृढ निश्‍चयता, र साँचो आस्थाका यी तीन अवधारणाहरूलाई एकातिर राखेर, पहिला एउटा मामलामाथि सङ्गति गरौँ। पत्रुसले मुक्ति र सिद्धता प्राप्त गर्नुअघि प्रसिद्ध रूपमा उसले के गर्‍यो? (प्रभुलाई तीनपटक नकार्‍यो।) प्रभुलाई तीनपटक नकार्नुअघि पत्रुसले अरू के गर्‍यो? प्रभु येशूले आफू क्रूसमा टाँगिने कुरा गर्नुहुँदा पत्रुसले के भन्यो? (“प्रभु, यस्तो कुरा तपाईंबाट टाढै होस्: यस्तो कुरा तपाईंलाई हुनेछैन” (मत्ती १६:२२)।) के पत्रुसले यसो भन्नुको कारण साँचो आस्था नै थियो त? (थिएन।) त्यसोभए के थियो त? त्यो मान्छेका असल अभिप्रायहरू थिए, र त्यो परमेश्‍वरको काममा बाधा थियो। पत्रुसले यसप्रकारको असल अभिप्राय कहाँबाट लियो? (मानव इच्छाबाट।) उसले किन यस्तो मानव इच्छामा ध्यान दियो? उसले परमेश्‍वरको इच्छा बुझेन, उसले प्रभु येशूको सेवकाइ के हो भनेर बुझेन, र उसमा प्रभु येशूबारे साँचो बुझाइ थिएन। उसमा प्रभुप्रति आदर भएको कारणले मात्र उसले उहाँलाई पछ्यायो। ऊ हृदयमा प्रभुको आराधना गर्थ्यो, त्यसैले उसले प्रभुलाई प्रेम र रक्षा गर्न चाह्यो। उसले सोच्यो, “यो कुरा तपाईंलाई कहिल्यै आइपर्नु हुँदैन। तपाईंले त्यो पीडा सहनु हुँदैन! यदि कष्ट भोग्नैपर्ने हो भने, मैले भोग्नेछु। तपाईंको साटो म कष्ट भोग्नेछु।” उसलाई परमेश्‍वरको इच्छा थाहा थिएन, र उसमा मानव इच्छाबाट आएको केही असल अभिप्राय थियो र ऊ त्यस्तो घटना घट्नबाट रोक्न चाहन्थ्यो। अनि उसले यस तरिकाले व्यवहार गर्नुको कारण के थियो? एकातिर, यो उसको आवेश र मानव इच्छाको कारणले र उसले कुरा बुझ्न नसकेको कारणले भएको थियो। अर्कोतिर, उसले परमेश्‍वरको काम बुझेको थिएन। के उसले साँचो भरोसाकै कारण यसो गरेको थियो त? (होइन।) त्यसोभए उसमा किन यस्तो असल अभिप्राय आयो त? के यस्ता असल अभिप्रायहरू सत्यतासँग मिल्छन् त? के ती असल कर्महरू हुन् त? हुन त, उसले राम्रो गर्न खोजेको थियो र असल अभिप्राय र इमानदारीसाथ व्यवहार पनि गरेको थियो, तर उसका कार्यहरूको प्रकृति कस्तो थियो? के ती साँचो आस्थाबाट उत्पन्न भएका व्यवहार र कार्यहरू थिए त? (थिएनन्।) अब कुरो प्रस्ट छ, यसको जवाफ हो: त्यस्तो कदापि थिएन। त्यसोभए के यो विश्‍वास हो त? (हो।) यसलाई प्रयोग गरेर विश्‍वास के हो भन्नेबारे कुरा गरौँ। विश्‍वास भनेको एक प्रकारको असल तृष्णा र असल चाहना हो जसको मानव धारणा र कल्पनाहरूसँग सबैभन्दा निकट सम्बन्ध हुन्छ। यो मानवजातिले सामान्यतया राम्रो, ठिक र सकारात्मक मान्ने कुरा हो। यो एक प्रकारको राम्रो सोच, राम्रो विचार, राम्रो अभ्यास, र राम्रो उत्प्रेरणा हो, जुन मानव धारणा र भावनाहरूसँग पूर्णतया मेल खान्छ। मानिसहरूले तृष्णा गर्ने कुरा यही हो। यो विश्‍वास हो। विश्‍वास भनेको साँचो आस्था होइन। यो पूर्णतया मानव इच्छाबाट आउँछ र यो परमेश्‍वरले तोक्‍नुभएका मापदण्डहरूसँग मेल खाँदैन, त्यसैले विश्‍वास भनेको वास्तविक भरोसा होइन। पत्रुस वास्तवमै असल मान्छे थियो। उसमा राम्रो मानवता थियो, र ऊ आफ्नो पछ्याइमा सरल, इमानदार, जोसिलो, र गम्भीर थियो। उसले प्रभु येशूको पहिचानबारे हृदयमा कुनै शङ्का राख्थेन। त्यसकारण, उसले हृदयको गहिराइदेखि नै यी वचनहरू व्यक्त गर्न सक्यो “प्रभु, यस्तो कुरा तपाईंबाट टाढै होस्: यस्तो कुरा तपाईंलाई हुनेछैन।” उसले यस्तो कुरा बोल्न सक्नुले उसको मानवता र व्यक्तित्व झल्काउँछ। यो एकप्रकारको चाहना, एकप्रकारको असल अभिप्राय भए पनि, र यो एकप्रकारको विश्‍वासबाट उत्पन्न हुने एकप्रकारको व्यवहार, अभ्यास, र प्रदर्शन मात्र भए पनि, पत्रुसमा एकप्रकारको मानवता भएको हामी देख्न सक्छौँ। उसमा सकारात्मक र सही विश्‍वासहरू थिए, तर दुर्भाग्य, उसको कद अत्यन्तै सानो भएकोले, उसले परमेश्‍वरबारे अत्यन्तै कम जानेकोले, परमेश्‍वरको व्यवस्थापन योजनाबारे थाहा नपाएकोले, परमेश्‍वरले गर्न चाहनुभएको काम थाहा नपाएकोले, र परमेश्‍वरको इच्छा नबुझेकोले, उसले एउटा मूर्खतापूर्ण काम गर्‍यो जुन पूर्णतया मानव इच्छामा आधारित थियो र जसले परमेश्‍वरको काममा बाधा पुर्‍याउँथ्यो। त्यो विश्‍वासले गराएको मानव व्यवहार थियो र स्पष्टतः त्यो साँचो आस्था थिएन। यदि कसैले यस्तो विश्‍वास धारण गर्छ र त्यसले असल व्यवहारहरू पैदा गराउँछ र तिनीहरूलाई असल अभिप्रायहरू राख्ने तुल्याउँछ भने, के परमेश्‍वरले तिनीहरूका ती कार्यहरू याद गर्नुहुनेछ? परमेश्‍वरले ती कुराहरू याद गर्नुहुन्न, त्यसैले ती व्यर्थै गरिएका हुन्छन्! त्यसको साटो, परमेश्‍वरले यसो भन्नुभयो: “शैतान, मबाट पछि हट्” (मत्ती १६:२३)। यसबारे मनन गर्। प्रभु येशूले किन मानिसहरूलाई अत्यन्तै असंवेदनशील लाग्ने वचनहरू बोल्नुभयो? पत्रुसका असल अभिप्रायहरू देख्दा प्रभु येशूले किन संवेदनशीलता देखाउनुभएन? यस मामलाप्रति परमेश्‍वरको मनोवृति के थियो? के परमेश्‍वरले पत्रुसको यो असल अभिप्राय अनुमोदन गर्नुभयो? (गर्नुभएन।) परमेश्‍वरले पत्रुसको हृदय जाँच्नुभयो र उसमा कुनै दुष्ट अभिप्रायहरू नभएको देख्नुभयो, त्यसैले उहाँलाई यस मामलाको सार पर्दाफास गर्नु आवश्यक नै परेन। के त्यो ठिक हो? (होइन।) किन? जब मानिसका अभिप्राय, विश्‍वास र सोचहरू असल हुन्छन् तर परमेश्‍वरको इच्छासँग मिल्दैनन्, तब परमेश्‍वरले के सोच्नुहुन्छ? परमेश्‍वरले भन्नुहुन्छ कि त्यस्ता कुराहरू शैतानबाट आउँछन् र ती परमेश्‍वरप्रतिका प्रतिरोध हुन्। परमेश्‍वरले यही विश्‍वास गर्नुहुन्छ। के यस्तो सोच मान्छेले सोच्ने तरिकासँग नमिल्दो हुन्छ? (हुन्छ।) मानव स्नेहलाई विचार गर्दा, औसत व्यक्तिले पत्रुसलाई के जबाफ दिन्थ्यो? उसले पत्रुसलाई उसको इज्जत जोगाउन दिन्थ्यो र उसलाई छुट दिन्थ्यो, र हृदयमा यस्तो सोच्थ्यो, “पत्रुसका अभिप्रायहरू राम्रा छन् र ऊ तपाईंलाई सुरक्षा दिन चाहन्छ। पत्रुसलाई यसरी धिक्कार्नु असंवेदनशील देखिन्छ!” तर परमेश्‍वरका कार्यहरू मानव धारणाहरूसँग मिल्दैनन्। परमेश्‍वरले बोल्नुभएका वचनहरूको प्रकृति कस्तो हुन्छ? एक हिसाबमा, ती पर्दाफास हुन्, र अर्को हिसाबमा, ती निन्दा हुन्, र तेस्रो हिसाबमा, ती न्याय हुन्। यी वचनहरू सुनेर पत्रुसले कस्तो अनुभूति गर्‍यो? उसले आफूलाई सजाय दिइयो, र उसको मुटुमा छुरा घोपियो भन्‍ने अनुभूति गर्‍यो। उसलाई एकदमै नरमाइलो लाग्यो र उसले कुरा बुझेन, अनि मनमनै सोच्योः “हे परमेश्‍वर, म तपाईंलाई निष्ठापूर्वक प्रेम गर्छु! म तपाईंमा अत्यन्तै धेरै विश्‍वास गर्छु, तपाईंलाई अत्यन्तै प्रेम गर्छु, र तपाईंलाई धेरै सुरक्षा दिन चाहन्छु, तर तपाईं किन मलाई यस्तो व्यवहार गर्नुहुन्छ? तपाईं मलाई शैतान भन्नुहुन्छ र पछाडि उभिई भनेर आदेश दिनुहुन्छ। के म शैतान हुँ र? के म निष्ठापूर्वक तपाईंलाई पछ्याउने व्यक्ति होइन र? अनि, तपाईंले मलाई कसरी शैतान देख्न सक्नुहुन्छ? त्यो भन्दा पनि, तपाईं अत्यन्तै असंवेदनशील हुनुहुन्छ, र मलाई पछाडि जा भन्नुहुन्छ। यो अत्यन्तै चोटिलो र अत्यन्तै पीडादायी कुरा हो!” परमेश्‍वरले यस्ता कुराहरूलाई यस तरिकाले सम्हाल्नुभएको कुराबाट, के तिमीहरूले मानव विश्‍वासप्रति परमेश्‍वरको मनोवृति कस्तो छ, देख्‍न सक्छौ? (निन्दा, न्याय र पर्दाफास गर्ने।) ठिक भन्यौ। परमेश्‍वरले यस्ता कुराहरू नरुचाउने मात्र नभई घिनाउनु पनि हुन्छ र सबैभन्दा गम्भीर कुरा त, उहाँले त्यस्ता कुराहरूको निन्दा गर्नुहुन्छ। परमेश्‍वरले प्रकट गर्नुभएका यी कुराहरूबाट, के तिमीहरूले परमेश्‍वरको स्वभाव देखेका छौ? (परमेश्‍वरको स्वभाव धर्मी छ।) निश्‍चय नै त्यस्तै छ। अनि अरू? परमेश्‍वरको नजरमा, सहनशीलता, कृपा, धैर्यता, र प्रेमिलोदयालुपन मानिसहरूको लागि निकै लाभदायक भए पनि, ती परमेश्‍वरसँगै भएका कुराहरूका अंश भए पनि र मानिसहरूलाई ती स्विकार्न सजिलो लाग्‍ने भए पनि, र ती परमेश्‍वरले सधैँ प्रकट गर्नुहुने र मानिसहरूलाई प्रदान गर्नुहुने कुरा भए पनि, मानिसहरूले परमेश्‍वरको स्वभाव चिढ्याएर उहाँका सिद्धान्तहरू उल्लङ्घन् गरेपछि, परमेश्‍वरले तिनीहरूलाई कसरी निराकरण गर्नुहुन्छ? परमेश्‍वरले तिनीहरूको निन्दा गर्नुहुन्छ! परमेश्‍वरले “मानिसहरूले असल अभिप्रायले र कुनै गोप्य मनसाय नराखी यसो गरेकाले म तिनीहरूलाई यसपटक छुट दिनेछु” भन्दै अनेकार्थक अभिव्यक्ति दिनुहुन्न। मान्छेले जस्तो गरी, परमेश्‍वरले मध्यमार्गलाई अनुमति दिने र मानव इच्छाको मिसावटलाई छुट दिने गर्नुहुन्न। एक एक नै हो, र दुई दुई नै हो। ठिक ठिक नै हो, र बेठिक बेठिक नै हो। परमेश्‍वरको नजरमा कुनै अनेकार्थ छैन। पत्रुसले “प्रभु, यस्तो कुरा तपाईंबाट टाढै होस्: यस्तो कुरा तपाईंलाई हुनेछैन” भनी प्रभु येशूलाई भनेको कुरा विश्‍लेषण गरेर, मानिसहरूले विश्‍वास के हो भन्ने कुरा बुझ्न सक्छन्। के विश्‍वास राख्ने मानिसहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन सक्छन् र? के विश्‍वासले साँचो आस्थातर्फ डोर्‍याउन सक्छ र? के त्यसले परमेश्‍वरमाथिको मानिसको साँचो आस्था प्रतिस्थापन गर्न सक्छ? (सक्दैन।) सक्दैन, यो पूर्णतया साँचो हो।

आखिर विश्‍वासहरू के हुन्? ती मानिसहरूले स्थापित गर्ने एकप्रकारका कल्पना र धारणाहरू, असल चाहनाहरू, असल लक्ष्यहरू, र ठूला आदर्शहरू हुन्। ती कुराहरू स्थापित गरिएपछि, मानिसहरू यही दिशामा दौडिन्छन्, र तिनीहरूले असल मानव अभिप्रायहरू, मानव प्रयत्न, कष्ट भोग्ने मानव इच्छा, वा थप असल मानव कर्महरूमा भर पर्दै ती कुराहरू पछ्याउँछन् र प्राप्त गर्छन्। यसमा के कुराको कमी छ? विश्‍वास बोकेका मानिसहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न नसक्नुको कारण के हो? (मानिसहरूले आफ्ना विश्‍वासहरूको आधारमा परमेश्‍वरको काममा बाधा र अवरोध पुर्‍याउँछन्।) यो एउटा स्पष्ट पक्ष हो। यसको साथै, मानिसहरूले आफ्ना विश्‍वासहरूमा आधारित भएर कामकुराहरू गर्दा, के तिनीहरूले गर्ने काममा कुनै सत्यता हुन्छ? (हुँदैन।) पत्रुसले गरेको काम नै विश्‍लेषण गरौँ न। पत्रुसले भन्यो, “प्रभु, यस्तो कुरा तपाईंबाट टाढै होस्: यस्तो कुरा तपाईंलाई हुनेछैन।” के यी वचनहरूमा सत्यता छ? (छैन।) उसले “यस्तो कुरा तपाईंलाई हुनेछैन” भन्नुको अर्थ के हो? यस्तो कुरा किन परमेश्‍वरलाई हुन सक्दैन? के यो सब परमेश्‍वरको सार्वभौमिकतामा नभएको हुन सक्छ? के यो सबथोकमा परमेश्‍वरको अन्तिम निर्णय हुँदैन र? यदि परमेश्‍वरले त्यो कुरा हुन दिनुभयो भने, त्यो हुनेछ। यदि परमेश्‍वरले त्यो कुरा हुन दिनुभएन भने, के त्यो पन्छिनेछैन र? के पत्रुसका “यस्तो कुरा तपाईंलाई हुनेछैन” भन्ने वचनले यो सब परिवर्तन गर्न सक्थ्यो र? यो पूरै मामलाको श्रृङ्खला, विकासक्रम र परिणाम कसले निर्धारण गरेको हो? (त्यो परमेश्‍वरद्वारा निर्धारण गरिएको हो।) त्यसोभए, पत्रुसले बोलेका यी वचनहरू के हुन् त? ती मूर्ख वचनहरू हुन्, अज्ञानतामा बोलिएका वचनहरू हुन्, शैतानको पक्षमा बोलिएका वचनहरू हुन्। मानव विश्‍वासले निम्त्याएको परिणाम यही हो। के यो गम्भीर समस्या होइन र? (यो गम्भीर नै हो।) यो कति गम्भीर हो? (यो परमेश्‍वरप्रतिको प्रतिरोध हो र यो शैतानको अभिव्यक्ति माध्यम बनिरहेको हुन्छ) त्यो सही हो। यो शैतानको अभिव्यक्ति माध्यमको रूपमा काम गर्नु हो, यसको अर्थ परमेश्‍वरको प्रतिरोध गर्नु र शैतानको हितमा परमेश्‍वरको काम भत्काउनु हो। यदि उक्त मामलामा प्रभु येशूले पत्रुसले भनेझैँ गर्नुभएको भए, के मानवजातिलाई छुटकारा दिने उहाँको काम बर्बाद हुन्थेन र? पत्रुसले बोलेका यी वचनहरूको प्रकृति कस्तो छ? (ती वचनहरूले परमेश्‍वरको काममा बाधा दिन्छन्।) यसै कारणले परमेश्‍वरले निर्दयी रूपमा रिसाएर “शैतान, मबाट पछि हट्!” भन्‍ने वचन बोल्नुभएको हो। यो वचन निन्दाको साथसाथै न्याय पनि हो। यसमा परमेश्‍वरको स्वभाव लुकेको छ! जब मानिसहरूले यस्ता विश्‍वासहरू, अर्थात असल अभिप्राय, मानव चाहना, मधुर मानव इच्छा, र मानिसहरूले सकारात्मक, सही र असल ठान्ने सबै कुरा मिसिएका विश्‍वासहरू अँगाल्छन्, तब के परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्छ? (गर्नुहुन्न।) मानिसहरूले यी सबै कुराहरूलाई राम्रो रूपमा हेर्छन्, तर परमेश्‍वरले किन उहाँको अनुमोदन गर्नुहुन्न? एक हिसाबले, यस्तो किन हुन्छ भने, मानिसहरूमा परमेश्‍वरबारे साँचो ज्ञान नै हुँदैन। यो आम कारण हो। यसअतिरिक्त, व्यावहारिक दृष्टिकोणबाट हेर्दा, मानिसहरू परमेश्‍वरले बोल्नुभएका वचनहरू र उहाँले गर्नुभएका कार्यहरूप्रति साँच्‍चिकै समर्पित हुँदैनन्, न त तिनीहरूले यी कुराहरू साँच्‍चिकै नै बुझ्छन्। मानव सोचको आधारमा भन्नुपर्दा, तिनीहरू सधैँ परमेश्‍वरले यो नगर्नुभएको वा त्यो नगर्नुभएको चाहन्छन्। तिनीहरू सधैँ यस्तो सोच्छन्, “परमेश्‍वरले यस्तो व्यवहार गर्नु वास्तवमै राम्रो होइन। यो हामीले अपेक्षा गर्ने व्यवहार होइन, यो मानिसहरूप्रति खासै विचार पुर्‍याएर गरिएको कुरो होइन।” मानिसहरूले यस्ता कुराहरू सामना गर्दा, तिनीहरू प्रायः धारणाहरू बनाउँछन्, मानवनिर्मित कल्पनाहरूले भरिन्छन्, र मान्छेको काम गर्ने हर तरिकाहरू अपनाउँछन्। यसमा कुनै आज्ञापालन, साँचो ज्ञान, र परमेश्‍वरप्रतिको साँचो डर हुँदैन, परमेश्‍वरको काम बिथोल्ने र भत्काउने कुरा मात्र हुन्छ। त्यसमा साँचो आस्थाको कुनै तत्व हुँदैन। त्यसकारण, पत्रुसले यी वचनहरू बोलेपछि उसलाई न्याय गरियो। न्याय गरिएपछि के उसले केही कुरा प्राप्त गर्‍यो? (ऊ आफ्नो बारे र परमेश्‍वरको स्वभावबारे अलि बढी बुझ्न सक्षम भयो।) यस्तो न्याय राम्रो कुरा हो कि नराम्रो? कम्तीमा पनि, त्यो ठुलो चेतावनी थियो जसले उसलाई रोकेर सोच्न बाध्य पार्‍यो, “प्रभु, के म शैतान हुँ र? म तपाईंमाथि साँच्चै विश्‍वास गर्छु, म तपाईंलाई प्रेम गर्ने व्यक्ति हुँ, म तपाईंको सच्चा अनुयायी हुँ! म कसरी शैतान हुन सक्छु र?” त्यसबारे फेरि मनन गरेर उसले सोच्यो, “प्रभु येशूले मलाई यस्तो प्रस्ट र सीधा वचनद्वारा हप्काउनुभयो। उहाँले मलाई उहाँबाट पछि हट् भन्नुभयो र मलाई शैतान भनेर हप्काउनुभयो। यसको मतलब, यस मामलामा, मैले शैतानको भूमिका निभाएछु! कस्तो खालको व्यक्तिले शैतानको पक्षमा काम गर्न सक्छ? परमेश्‍वरसित नमिल्ने व्यक्तिले। जहिले र जहाँसुकै, यस्तो व्यक्तिले परमेश्‍वरको प्रतिरोध र विश्‍वासघात गर्न सक्छ, परमेश्‍वरको काम भत्काउन सक्छ, र परमेश्‍वरको काममा बाधा र अवरोध पुर्‍याउन सक्छ, र त्यसपछि ऊ परमेश्‍वरको शत्रु बन्न सक्छ। यो भयानक कुरा हो! यदि त्यस्तो हो भने, म छिटोछिटो परमेश्‍वरबाट पछि हट्नेछु र आफ्नो मुख बन्द गर्नेछु।” के यसले पत्रुसको बिस्तारै चेत खुलेको, उसले बुझाइ प्राप्त गरेको, र समस्याको गम्भीरता महसुस गरेको देखाउँदैन र? उसले मान्छे सधैँ मान्छे नै हुन्छ र परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुन्छ, अनि मान्छे र परमेश्‍वरबीच एउटा दूरी हुन्छ भन्ने महसुस गर्‍यो। मान्छेले असल अभिप्रायको आधारमा कार्य गर्दा, परमेश्‍वरले यसलाई बाधा र अवरोधको रूपमा हेर्नुहुन्छ। यस तरिकाले बिस्तारै अघि बढ्दै जाँदा, के मान्छेमाथि परमेश्‍वरको न्याय राम्रो कुरा हुनेछ? (हुनेछ।) त्यसोभए, के व्यक्तिले अलिअलि मूर्खता प्रकट गर्नु खराब कुरा हो त? यसरी हेर्दा, त्यो खराब कुरा होइन, बरु राम्रो कुरा हो। हामी किन यो राम्रो कुरा रहेछ भनेर भन्दै छौँ? (मानिसहरूले यसबाट लाभ पाउँछन्।) ठिक भनिस्, मानिसहरूले केही लाभ पाउँछन्। यी लाभहरू कसरी हासिल हुन्छन्? जब तैँले परमेश्‍वरको न्याय भोग्छस् र जब तँ त्यसप्रति समर्पित हुन्छस्, आफूलाई जाँच्छस्, र परमेश्‍वरबाट आउने सबथोक—परमेश्‍वरका सबै अभिव्यक्तिहरू, परमेश्‍वरका प्रकाशहरू, र परमेश्‍वरले तँलाई गर्न लगाउनुहुने हरेक कुराहरू—स्विकार्छस् र जब त्यो तेरो वास्तविकता र तेरो जीवन बन्छ, तब थाहै नपाई तेरो भ्रष्टता पखालिनेछ। त्यसोभए के न्याय गरिनु नराम्रो कुरा हो कि राम्रो हो? (यो राम्रो कुरा हो।) के तिमीहरू न्याय भोग्न इच्छुक छौ? (हामी इच्छुक छौँ।) त्यसोभए तिमीहरूलाई हरदिन न्याय गरियो भने, के त्यो ठिक हुनेछ? यसले तँलाई सामान्य रूपमा खान, सुत्न र आराम गर्न दिनेछैन। केही आइपरेको बेलामा, परमेश्‍वरले तँलाई पछि हट् भन्नुहुनेछ। उहाँसँग समय हुँदा, उहाँले तेरो न्याय गर्नुहुनेछ। के त्यो स्वीकार्य हुनेछ? के तैँले त्यो सहन सक्छस्? मानिसहरूले त्यो सहन नसक्ने भए परमेश्‍वरले यस्तो काम गर्नुहुन्थेन। परमेश्‍वर साँच्चै नै तँ चाँडो बढेर परिपक्व बनेको चाहनुहुन्छ। त्यसैले, परमेश्‍वरको न्यायमा धेरै चरणहरू हुन्छन्। कहिलेकाहीँ उहाँ अलि रिसाउन सक्‍नुहुन्छ, तर त्यसपछि उहाँले तँलाई केही सान्त्वना दिनुहुन्छ। कहिलेकाहीँ उहाँले तँलाई हिर्काउन सक्‍नुहुन्छ, तर त्यसपछि उहाँले तँलाई कृपा गर्नुहुन्छ। परमेश्‍वर प्रायः रिसाउनुहुने भए पनि, उहाँका रिसहरूबीच अन्तरालहरू हुन्छन् जसले मानिसहरूलाई सास फेर्ने समय दिन्छ। परमेश्‍वरले मानिसहरूलाई यसरी प्रत्यक्ष रूपले न्याय र निन्दा गर्दा मात्र तिनीहरूको जीवनवृद्धिमा मद्दत पुग्नेछ। सत्यता प्राप्त गर्न अलिकति कष्ट भोग्नु सार्थक नै हुन्छ।

विश्‍वास मात्र बोकेका मानिसहरू परमेश्‍वरको इच्छा पूरा गर्नबाट निकै टाढा हुन्छन्, र विश्‍वासले परमेश्‍वरमाथिको साँचो आस्थालाई पर्याप्त रूपमा प्रतिस्थापन गर्न सक्दैन। यदि परमेश्‍वरमाथिको तिनीहरूको आस्था केवल विश्‍वासमा आधारित छ भने, मानिसहरू कहिल्यै साँचो रूपमा परमेश्‍वरको अगाडि आउन सक्दैनन्, तिनीहरूले उहाँको साँच्चै आज्ञापालन गर्ने र तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय हुने त कुरै नगरौँ। यस्तो किन हुन्छ? सत्यतासँग मान्छेका विश्‍वासहरूको कुनै सम्बन्ध हुँदैन, र ती परमेश्‍वरका मापदण्डहरू पूरा गर्नबाट निकै टाढा हुन्छन्। मानिसहरूमा विश्‍वास हुँदा, यसको अर्थ तिनीहरूले सत्यता बुझ्छन् भन्ने हुँदैन। परमेश्‍वरमाथिको आस्था विश्‍वासमा आधारित भएमा, मानिसहरूले परमेश्‍वरको काम कहिल्यै बुझ्नेछैनन्, बरु त्यसमा बाधा र अवरोध मात्र पुर्‍याउन सक्छन्। विश्‍वासमा आधारित आस्था हुनुको अर्थ मानिसहरूले परमेश्‍वरको इच्छाको ख्याल गर्नेछन् भन्ने हुँदैन, तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्नेछन् भन्ने त झनै हुँदैन। त्यसोभए, त्यसपछि पत्रुसलाई के भयो? प्रभु येशूलाई क्रूसमा टाँगिनुअघि, उहाँले पत्रुसलाई यसो भन्नुभयोः “साँच्चै म तिमीलाई भन्छु, आजको रात, भाले बास्नुभन्दा पहिले, तिमीले मलाई तीनपटक इन्कार्नेछौ” (मत्ती २६:३४)। जवाफमा पत्रुसले के भन्यो? (“म तपाईंसँग मर्नु परे पनि, तपाईंलाई इन्कार गर्नेछैनँ।” (मत्ती २६:३५)।) यसले पत्रुसलाई निराश तुल्यायो, र उसले परमेश्‍वरले भन्नुभएझैँ गर्नेछ भनेर स्विकारेन, तर अन्त्यमा, प्रभु येशूको वचन तथ्यहरूद्वारा पुष्टि भयो। के त्यतिखेर पत्रुसको भरोसा तिमीहरूकोभन्दा बढी थियो कि कम थियो? (बढी थियो, उसले प्रभुलाई बचाउन उच्च धर्मगुरुको नोकरको कान काटिदियो।) आवेशको कारणले यस्तो भएको थियो। प्रभु येशूबारे उसको ज्ञान र उसले उहाँको पहिचान स्विकार्नुले प्रभु येशूमाथि पत्रुसको आस्थाको हद जनाउँछ। यसले उसलाई प्रभु येशूको खातिर उग्र रूपमा लड्ने तुल्यायो, र उसले यसो भन्यो, “जसले मेरो प्रभुलाई छुन्छ, म आफ्नो जीवन जोखिममा राखेर लड्नेछु!” उसको आस्था यो स्तरमा पुगेको थियो, तर के परमेश्‍वरले चाहनुभएको कुरा मान्छेको आवेश हो त? निश्‍चय नै होइन। पत्रुसको आस्था त्यो स्तरमा पुगेको थियो जहाँ उसले प्रभुको लागि आफ्नो जीवन नै त्याग्थ्यो, तैपनि पत्रुसले किन प्रभुलाई तीनपटक इन्कार्‍यो? के यो प्रभु येशूको भविष्यवाणीद्वारा उसले यसो गर्ने निर्धारित भएकोले गर्दा हो? (होइन।) त्यसोभए कारण के थियो? ऊ किन त्यति कायर भयो? उसले आफ्नो जीवन जोखिममा राखेर प्रभु येशूको लागि अरूसँग लड्न र कसैको कान काट्न सक्थ्यो। प्रभु येशूप्रतिको प्रेमको कारण उसले ती वचनहरू हृदयको गहिराइबाटै बोल्न र सोहीअनुसार व्यवहार गर्न सक्यो, र यसले उसको असाधारण इमानदारीता देखायो। तर समय आएपछि उसले प्रभुलाई स्विकार्ने आँट किन गरेन? (किनकि उसलाई परिणामहरू थाहा थियो। यदि रोमी सेनाहरूले उसलाई पक्रन्थे भने, ऊ मारिनेथ्यो। ऊ पक्राउ पर्नबाट र मृत्युदेखि डराएको थियो।) मुख्य कारण जीवन बचाउने उसको चाहना नै थियो। पत्रुसले विश्‍वासहरू बोकेको कुरा साँचो हो, तर के उसमा साँचो आस्थाका तत्वहरू पनि थिए त? त्यस समयमा, प्रभु येशू नै ख्रीष्ट अर्थात जिउँदो परमेश्‍वरको पुत्र, र परमेश्‍वर स्वयम् हुनुहुन्छ भनेर पत्रुसले थाहा पाइसकेको थियो। उसमा यस्तो साँचो आस्था हुँदाहुँदै पनि, ऊ किन यति कायर भयो? (उसमा त्यो कदको कमी थियो।) उसले आफ्नो जीवनलाई प्रिय ठान्यो र मृत्यु, कष्ट र शारीरिक यातनाको डर मान्यो। कारण जेसुकै भए पनि, अन्त्यमा उसले प्रभुलाई तीनपटक इन्कार्‍यो। ठ्याक्कै प्रभु येशूले भन्नुभएझैँ भयो, “आजको रात, भाले बास्‍नुभन्दा पहिले, तिमीले मलाई तीनपटक इन्कार्नेछौ।” वास्तवमै यी वचनहरू पत्रुसमा पूरा भए। प्रभु येशूले पत्रुसबारे किन त्यस्ता कुराहरू बोल्न र त्यस्ता निष्कर्षहरू निकाल्न सक्नुभयो? (परमेश्‍वरले मानिसहरूको हृदयको गहिराइभित्रका कुराहरू देख्नुहुन्छ।) परमेश्‍वरले पत्रुसको हृदयमा के देख्नुभयो? (पत्रुसको कद र परमेश्‍वरप्रतिको उसको आस्था।) प्रभु येशूले पत्रुसको कद र उसको भरोसाको हद देख्नुभयो। त्यस्तो सानो कद भएपछि, के उसले प्रभुलाई तीनपटक इन्कार गर्नु त्यति अनौठो कुरा हो र? उसको कदको कारणले, त्यो परिस्थितिमा उसले त्यस्तो व्यवहार गर्ने नै थियो। त्यस समयमा उसमा किन त्यति थोरै मात्र भरोसा थियो? (त्यो बेला, पत्रुसले प्रभु येशूलाई करिब तीन वर्ष पछ्याएको थियो, त्यसैले उसले परमेश्‍वरको काम एकदमै कम अनुभव गरेको थियो।) प्रभु येशूलाई तीन वर्ष पछ्याएपछि, उसको भरोसा त्यति ठुलो मात्र हुन सक्थ्यो। त्यो नै त्यति बेलाको उसको कद थियो। पछि निरन्तर अनुभव गहिरिँदै गएपछि उसको कद वृद्धि भयो।

के वास्तविक भरोसाविना परमेश्‍वरलाई पछ्याउनु ठिक हो? मानिसहरूमा परमेश्‍वरमाथिको साँचो आस्था हुनुको वास्तविक अर्थ के हो? यसलाई सबैभन्दा सरल शब्दमा भन्नुपर्दाः यो परमेश्‍वरका सबै वचनहरू र कामप्रतिको तेरो भरोसाको हद कति छ र तैँले कति हदसम्म साँच्चै विश्‍वास गर्न सक्छस् भन्‍ने कुरा हो। विशेष गरी, यो परमेश्‍वरले बोल्नुभएका वचनहरू, परमेश्‍वरले तोक्नुभएका कुराहरू, परमेश्‍वरको सार्वभौमिकता, परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू, परमेश्‍वरले मानिसहरूको भविष्यको गन्तव्य बन्दोबस्त गर्ने तरिका र त्यस्ता अन्य सबै कुराहरूको अन्तिम परिपूर्ति र त्यस परिपूर्तिका माध्यमहरूलाई तैँले हृदयमा कति हदसम्म विश्‍वास गर्न र स्विकार्न सक्छस्, साथै यी कुराहरूमा तेरो वास्तविक भरोसाको हद कति छ भन्‍ने कुरा हो। त्यो बेला, पत्रुसले प्रभु येशूको नाम स्विकार्ने, वा प्रभु येशूसँग आफ्नो सम्बन्ध स्विकार्ने आँटसमेत गरेन। उसमा थोरै मात्र भरोसा थियो, र यो थोरै भरोसाले उसको वास्तविक कद जनाउँथ्यो। उसको त्यो वास्तविक कद के थियो? (उसले प्रभु येशू नै ख्रीष्ट भएको कुरा मात्र स्विकार्थ्यो, तर परमेश्‍वरबारे उसलाई कमै ज्ञान थियो।) उसको कद अत्यन्तै सानो थियो र ऊ योभन्दा अघि जानै सकेन। तिमीहरूको कुरा गर्नुपर्दा, अहिले तिमीहरूमा परमेश्‍वरमाथिको कुन स्तरको आस्था छ? के तिमीहरूको आस्था पत्रुसकोभन्दा बलियो छ? के त्यो कमजोर छ? कि पत्रुसको जतिकै छ? (ख्रीष्टलाई चिन्ने सन्दर्भमा पत्रुसको जतिकै छ। हामी पत्रुसले भन्दा अलि बढी सत्यता बुझ्छौँ, तर हामीले अझै यीमध्ये थुप्रै सत्यताहरूभित्र प्रवेश गर्न बाँकी नै छ।) यदि परमेश्‍वरमाथिको मानिसहरूको आस्था बस उहाँ परमेश्‍वर हुनुहुन्छ भनी स्विकार्नमा, र परमेश्‍वरले सबथोक योजनाबद्ध र बन्दोबस्त गर्न सक्नुहुन्छ, र सबै कुराहरूमाथि, तेरो नियतिमाथि, र तेरो जीवनमाथि उहाँको सार्वभौमिकता छ भनी स्विकार्नमा सीमित हुन्छ भने—यदि तैँले यो कुरा त स्विकार्छस्, तर तँसित विश्‍वास हुनुका थोरै तत्वहरू मात्र छन् भने, र आज्ञाकारीताको तत्व त्योभन्दा कम वा झण्डै शुन्य छ, र परमेश्‍वरको प्रतीक्षा र खोजी गर्नुका तत्वहरू बिलकुलै छैनन् भने—यो कस्तो खालको आस्था हो? तँ सधैँ परमेश्‍वरमा विश्‍वास गर्छु भनेर भन्छस्, र तँ परमेश्‍वर सबैमाथि सार्वभौम हुनुहुन्छ र उहाँले सबथोक योजनाबद्ध गर्नुहुन्छ, परमेश्‍वरले नै मानिसहरूलाई जीवन दिनुहुन्छ भनेर विश्‍वास गर्छस्, र तँ परमेश्‍वरले तँलाई जे भन्नुहुन्छ त्यही गर्छु र परमेश्‍वरको लागि आफ्नो जीवनसमेत त्याग्छु भनेर भन्छस्। तर त्यसपछि तैँले पत्रुसले भोगेजस्तै परिस्थिति सामना गर्छस्, जहाँ मानिसहरूले सोध्छन्: “के त्यो तेरो परमेश्‍वर हो?” अनि तैँले त्यो मामलामाथि मनन गर्दै यस्तो सोच्नेछस्, “जताततै गैरविश्‍वासीहरू छन्, यदि मैले उहाँलाई स्विकारेँ भने, के मलाई गिरफ्तार गरिनेछैन र? परमेश्‍वरले भन्नुभएको छ, हामीले महत्त्वपूर्ण समयहरूमा बुद्धि प्रयोग गरेर उहाँलाई स्विकार्ने कार्यबाट टाढा रहन सक्छौँ, त्यसैले म बुद्धि प्रयोग गर्नेछु, र परमेश्‍वरले यो कुरालाई नकारात्मक दृष्टिले हेर्नुहुनेछैन।” यदि यसरी तैँले आफ्नो जीवनलाई प्रिय ठान्छस् र तँ कायर बन्छस् भने, तैँले परमेश्‍वरलाई स्विकार्ने आँट गर्नेछैनस्, र परमेश्‍वरलाई इन्कारसमेत गर्न सक्छस्। त्यस्तो समयमा, सबै थोकमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भनी विश्‍वास गर्ने तेरो भरोसा खै त? (त्यो त छँदै छैन।) तैँले सामान्य अवस्थाहरूमा आफूमा भएको विश्‍वास गरेको तेरो भरोसा साँचो थियो कि झूटो? (झूटो।) जब तेरा धारणा वा रुचिहरूलाई विशेष रूपले कुल्चने कुनै कुरा आइपर्छ र जब त्यो मामलामा परमेश्‍वरको इच्छा पूर्ण रूपले खुलासा हुन बाँकी नै हुन्छ, तब उक्त मामलामा परमेश्‍वर तैँले आज्ञापालन गरेको चाहनुहुन्छ। तैँले एउटा पाठ सिक्न सक् भनेर उहाँले यो परिवेश बन्दोबस्त गर्नुभएको हो। त्यसैले, तँ के गर्छस्? उदाहरणको लागि, मानौँ तँमा विशेष रूपले बलियो आस्था छ र तँ विशेष रूपले भक्त र इमानदार छस्, तर परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्ने परिवेश बन्दोबस्त गर्नुहुन्छ, र तँलाई तँ अविश्‍वासी नै होस् जसरी व्यवहार गर्नुहुन्छ। तँलाई गलत व्यवहार गरिएको अनुभूति भएर तेरा आँखा आँसुले भरिनेछन् र तैँले परमेश्‍वरलाई गुनासो गर्नेछस्, र हृदयमा यसो भन्नेछस्: “हे परमेश्‍वर, म तपाईंमाथि विश्‍वास गर्छु, म तपाईंकै लागि जिउँछु, तैपनि तपाईंले मेरो लागि यस्तो परिवेश बन्दोबस्त गर्नुभयो, र मलाई अविश्‍वासीहरूमाझ राख्दै अशुद्ध आत्माहरूसित मिसाउनुभयो। के म यसद्वारा दुषित हुनेछैनँ र? म पवित्र व्यक्ति भनेर अलग्‍गै चिनिने व्यक्ति हुँ, जो परमेश्‍वरको स्वामित्वमा रहन्छ। तपाईंले यो बन्दोबस्त नगर्नुभएको भए हुन्थ्यो। म तपाईंलाई कति सम्झन्छु, कति प्रेम गर्छु, के त्यो तपाईंलाई थाहा छ? म तपाईंबाट अलग हुनै सक्दिनँ। तपाईंले मलाई यस्तो व्यवहार गर्न मिल्दैन, त्यो मेरो लागि न्यायसङ्गत छैन!” यस्तो कुरालई के भन्‍ने? तैँले तेरा धारणाहरूसँग नमिल्ने कुराहरू सामना गर्नुपर्दा, तेरो आज्ञापालन खै त? (त्यो त छँदै छैन।) तैँले आज्ञापालनलाई के कुराले प्रतिस्थापित गर्छस्? (गुनासो, गलतबुझाइ, र प्रतिरोधले।) के यो वास्तविक भरोसा हो? साँचो आस्थामा के हुनुपर्छ? त्यो कसरी प्रकट हुन्छ? (परमेश्‍वरको इच्छा खोजी गरेर अनि परमेश्‍वरको आज्ञापालन गरेर।) यसरी, कुनै व्यक्तिमा वास्तविक भरोसा छ, छैन भन्ने कुरा एउटै घट्नाले खुलाइदिन्छ।

अब, एउटा मामलाबारे सङ्गति गरौँ जुन मानव धारणाहरूसँग सबैभन्दा नमिल्दो छ। मोशा चालिस बर्षसम्म उजाड ठाउँमा बस्यो। चालिस बर्ष भनेको व्यक्तिको जीवनको अधिकांश समय हो। यदि कोही असी बर्षसम्म बाँच्छ भने, चालिस बर्ष उसको आधा जीवन हो। उजाड ठाउँ कस्तो जिउने वातावरण हो? बस्नको लागि उजाड ठाउँ अत्यन्तै नाजुक वातावरण त थियो नै जहाँ मोशाले धेरै कठिनाइहरू भोग्नुपर्‍यो, तर त्योभन्दा ठुलो समस्या के थियो भने, यी चालिस बर्षमा इस्राएलीहरूसँग उसको कुनै सम्पर्क नै भएन, र परमेश्‍वर पनि ऊसामु देखा पर्नुभएन। मोशाको शोधन गर्नहेतु परमेश्‍वरले उसको लागि यो परिवेश बन्दोबस्त गर्नुभयो। के यो मानव धारणाहरूसित मिल्छ? यदि मानिसहरूमा साँचो आस्था छैन भने, सामान्यतया यो कसरी प्रकट हुनेछ? सुरुवाती दुई बर्षमा, तिनीहरूको हृदयमा अझै केही शक्ति हुनेछ र तिनीहरूले यस्तो सोच्नेछन्, “परमेश्‍वरले मेरो परीक्षा लिइरहनुभएको छ, तर म डराएको छुइनँ। मसँग परमेश्‍वर हुनुहुन्छ! जबसम्म परमेश्‍वरले मलाई मर्न दिनुहुन्न, तबसम्म म अन्तिम सास रहुञ्जेल जिउन सक्छु। म परमेश्‍वरद्वारा जिउँछु। ममा भरोसा छ। मैले परमेश्‍वरलाई सन्तुष्ट पार्नैपर्छ!” तिनीहरूसित यो थोरै दृढता हुन्छ किनभने तिनीहरूको साथीसँगीको रूपमा अझै पनि भेडाहरू हुन्छन्। यद्यपि, केही बर्ष बितेपछि, भेडाको सङ्ख्या कम हुँदै जान्छ र दिनभरी ठुलो हावाहुरी चल्छ। रातको सन्नाटामा, मानिसहरूले एक्लो महसुस गर्नेछन्। हृदयका कुरा साट्नको लागि तिनीहरूसित कोही हुँदैन। आकाशतर्फ नजर फर्काउँदा, तिनीहरूले ताराहरू र चन्द्रमा मात्र देख्छन्। चन्द्रमासमेत नदेखिने गरी बादल लागेका र बर्षा भएका रातहरूमा तिनीहरूले झनै एक्लो महसुस गर्छन्। तिनीहरूको भरोसा पनि अचेतन रूपमै बिस्तारै घट्दै जान्छ। तिनीहरूको भरोसा घटेपछि, गुनासो र गलत अर्थ्याइहरूले भरिएको हृदय आफै प्रकट हुन्छ। त्यसलगत्तै, तिनीहरूको भित्री स्थिति झन्झन् विरक्तिन्छ र जीवन बिस्तारै अर्थहीन बन्छ। अनि, तिनीहरूले परमेश्‍वरले तिनीहरूलाई हेर्नुहुन्न, उहाँले तिनीहरूलाई त्यागिसक्‍नुभयो भन्ने अनुभूति निरन्तर गर्छन्। तिनीहरूले परमेश्‍वरको अस्तित्वमाथि प्रश्‍नचिह्न खडा गर्छन्, र तिनीहरूको भरोसा खुम्चिएर झन्झन् सानो हुन्छ। यदि तँसँग साँचो आस्था छैन भने, समय र परिवेशले लिने परीक्षामा तँ टिक्न सक्दैनस्। यदि परमेश्‍वरले लिनुभएको तेरो परीक्षामा तँ टिक्न सकिनस् भने, परमेश्‍वर तँसित बोल्नुहुने वा तेरो लागि देखा पर्नेहुनेछैन। परमेश्‍वर तैँले उहाँको अस्तित्वमा विश्‍वास गर्छस् गर्दैनस्, तैँले उहाँको अस्तित्व स्विकार्छस् स्विकार्दैनस्, र तेरो हृदयमा साँचो आस्था छ छैन भन्ने कुरा हेर्न चाहनुहुन्छ। परमेश्‍वरले यसरी नै मानिसहरूको हृदयको गहिराइमा हेर्नुहुन्छ। के स्वर्ग र धर्तीबीच जिउने मानिसहरू परमेश्‍वरको नियन्त्रणमा हुँदैनन् र? ती सबै परमेश्‍वरकै नियन्त्रणमा हुन्छन्। वास्तविकता ठ्याक्कै यही हो। तँ उजाड ठाउँ वा चन्द्रमामा छस् भने पनि फरक पर्दैन, तँ परमेश्‍वरकै नियन्त्रणमा हुन्छस्। यथार्थ यही हो। यदि परमेश्‍वर तेरो सामु देखा पर्नुभएको छैन भने, तैँले कसरी परमेश्‍वरको अस्तित्व र सार्वभौमिकता देख्न सक्छस् र? “परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र उहाँ सबै कुराहरूमाथि सार्वभौम हुनुहुन्छ” भन्ने सत्यता तैँले आफ्नो हृदयमा कसरी स्थापित गराउन अनि कहिल्यै नहट्ने बनाउन सक्छस्? यस कथनलाई तैँले कसरी तेरो जीवन, तेरो जीवनको प्रेरणा र तँलाई निरन्तर जिउन दिने भरोसा र शक्ति बनाउन सक्छस्? (प्रार्थना गरेर।) त्यो व्यावहारिक छ। अभ्यासको मार्ग त्यही हो। जब तँ तेरो सबैभन्दा कठिन घडीमा हुन्छस्, जब तैँले परमेश्‍वरको उपस्थिति सबैभन्दा कम महसुस गर्न सक्छस्, जब तँलाई सबैभन्दा बढी पीडादायी र एक्लो महसुस हुन्छ, जब तँलाई आफू परमेश्‍वरबाट धेरै टाढा छु जस्तो महसुस हुन्छ, तब तैँले गर्नुपर्ने एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? परमेश्‍वरलाई पुकार्नु। परमेश्‍वरलाई पुकार्दा तँलाई शक्ति प्राप्त हुन्छ। परमेश्‍वरलाई पुकार्दा तँलाई उहाँको अस्तित्व अनुभूत गर्न मदत मिल्छ। अनि, परमेश्‍वरलाई पुकार्दा तँलाई उहाँको सार्वभौमिकता अनुभूत गर्ने मौका मिल्छ। जब तैँले परमेश्‍वरलाई पुकार्छस्, परमेश्‍वरलाई प्रार्थना गर्छस्, र तेरो जीवन उहाँको हातमा राख्छस्, तब तैँले परमेश्‍वर तेरो साथमा हुनुहुन्छ, र उहाँले तँलाई त्याग्‍नुभएको छैन भन्‍ने अनुभूति गर्नेछस्। जब तैँले परमेश्‍वरले तँलाई त्याग्‍नुभएको छैन भन्‍ने अनुभूति गर्छस्, जब तैँले उहाँ तेरो साथमा हुनुहुन्छ भनेर साँच्चै अनुभूति गर्छस्, तब के तेरो भरोसा बढ्नेछ? यदि तँसँग साँचो भरोसा छ भने, के त्यो समयक्रमसँगै मेटिएर र हराएर जानेछ? त्यस्तो कदापि हुनेछैन। के अब भरोसाको समस्या हल भयो? के मानिसहरूले बाइबल बोकिहिँड्दैमा अनि हरेक पदको शब्दशब्द कण्ठ पार्दैमा तिनीहरूमा साँचो भरोसा हुनसक्छ? यो समस्या हल गर्न तैँले अझै पनि परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र परमेश्‍वरमाथि भरोसा गर्नुपर्छ। मोशाले उजाड ठाउँमा ती चालिस बर्ष कसरी पार गर्‍यो? त्यो बेला बाइबल थिएन, र उसको वरिपरि थोरै मात्र मानिसहरू थिए। ऊसँग भेडाहरू मात्र थिए। मोशालाई निश्‍चय नै परमेश्‍वरद्वारा अगुवाइ गरिएको थियो। परमेश्‍वरले उसलाई कसरी अगुवाइ गर्नुभयो भन्ने कुरा बाइबलमा उल्लेख नभएको भए पनि, र चाहे ऊकहाँ परमेश्‍वर देखा पर्नुभएको भए पनि वा नभए पनि, वा परमेश्‍वरले ऊसित बोल्नुभएको भए पनि वा नभए पनि, वा चाहे परमेश्‍वरले मोशालाई चालिस बर्षसम्म उजाड ठाउँमा किन बस्न लगाउनुभयो भनी उहाँले उसलाई बुझ्न दिनुभएको भए पनि वा नभए पनि, मोशा चालिस बर्षसम्म उजाड ठाउँमा बसेर बाँचेको कुरा एक अकाट्य तथ्य हो। यो तथ्य कसैले नकार्न सक्दैन। आफ्नो हृदयको कुरा साट्नलाई उसको वरिपरि कोही नहुँदा पनि, ऊ कसरी चालिस बर्षसम्म उजाड ठाउँमा बाँच्न सक्यो? साँचो आस्थाविना त यो जोकोहीको लागि पनि असम्भव हुनेथ्यो। यो आश्‍चर्यकर्म हुनेथ्यो! यस मामलामाथि मानिसहरूले जे-जसरी मनन गरे पनि, तिनीहरूलाई यो कहिल्यै हुन सक्दैन भन्ने लाग्छ। मानव धारणा र कल्पनाहरूसँग यसको तालमेल नै मिल्दैन! तर यो कुनै किंवन्दन्ती होइन, कुनै काल्पनिक कथा होइन, यो त वास्तविक, अपरिवर्तनीय, र अकाट्य तथ्य हो। अनि, यो तथ्यले मानिसहरूलाई के देखाउँछ? यदि तँसँग परमेश्‍वरमाथि साँचो आस्था छ भने, तेरो अन्तिम सास रहुञ्जेल परमेश्‍वरले तँलाई परित्याग गर्नुहुनेछैन। यो परमेश्‍वरको अस्तित्वको एउटा तथ्य हो। यदि तँसँग त्यस्तो वास्तविक भरोसा र परमेश्‍वरबारे त्यस्तो साँचो बुझाइ छ भने, तेरो भरोसा पर्याप्त छ। तैँले आफूलाई जस्तोसुकै परिवेशमा पाए पनि, र तँ त्यो परिवेशमा जति नै लामो समय रहे पनि, तेरो भरोसा अटल नै रहिरहनेछ।

मोशा चालिस बर्षसम्म उजाड ठाउँमा थियो। उकहाँ परमेश्‍वर कहिल्यै देखा पर्नुभएन, न त उहाँले उसलाई सत्यताद्वारा भरणपोषण नै गर्नुभयो। मोशाका हातमा परमेश्‍वरका वचनहरू समेटिएको कुनै पुस्तक थिएन, उसको छेउमा परमेश्‍वरका चुनिएका मानिसहरू कोही थिएनन्, र उसको हृदयको कुरा साट्नलाई साथमा कोही थिएनन्। उजाड ठाउँमा एक्लै बस्दा, परमेश्‍वरको प्रार्थनामा भर परेर मात्र ऊ जिउन सक्थ्यो। अन्त्यमा, यसबाट मोशाको वास्तविक भरोसा हासिल भयो। त्यसोभए, परमेश्‍वरले किन यस्तो गर्नुभयो? परमेश्‍वरले मोशालाई एउटा आज्ञा दिनु थियो, उसलाई राम्ररी प्रयोग गर्नु थियो, र परमेश्‍वरले ऊमाथि काम गर्नु थियो, त्यसैले उहाँले उसलाई निखार्नुभयो। परमेश्‍वरले मोशामा के कुरा निखार्नुभयो? (उसको भरोसा।) उसको भरोसा त परमेश्‍वरले सिद्ध पार्न चाहनुहुन्थ्यो, निखार्न होइन। परमेश्‍वरले निखार्नुहुने भनेको त मान्छेका असल अभिप्रायहरू, मान्छेका दृढताहरू र उसका क्षमता र सीपहरू, र उसका आवेशहरू हुन्। त्यसबेला मोशाले किन मिश्र छोड्यो? (किनकि उनले आवेशमा आएर एक मिश्रीलाई मारे।) के त्यसबेला परमेश्‍वरले उसलाई प्रयोग गर्न सक्नुहुन्थ्यो? (सक्नुहुन्थेन।) त्यसबेला परमेश्‍वरले उसलाई प्रयोग गर्नुभएको भए के हुनेथ्यो? ऊ मिश्रीहरूलाई घृणा गर्थ्यो र सधैँ आवेगमा काम गर्न चाहन्थ्यो। यदि उसले अर्को व्यक्तिलाई मार्थ्यो भने, के त्यसले समस्याहरू सिर्जना गर्थेन र? यदि परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रबाट बाहिर लैजान मोशालाई निर्देशन दिनुहुन्थ्यो भने, र फारोले नस्विकार्दा मोशाले आवेगमा काम गर्थ्यो भने, के त्यसले समस्या सिर्जना गर्थेन र? परमेश्‍वरले यसो भन्नुहुन्थ्यो, “के यस्तो व्यवहार गरेर तैँले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छस्?” त्यसकारण, उसको आवेगको कारण, परमेश्‍वरले उसलाई प्रयोग गर्न सक्नुभएन। आवेग मानिसहरूको लागि एक मुख्य वर्जित कुरा हो। यदि तँ आवेगमा आउँछस् भने, यदि तँ सधैँ तेरो प्राकृतिकता र आवेगमा कामकुराहरू गर्न चाहन्छस् भने, र यदि तँ सधैँ मानव विधिहरूद्वारा समस्याहरू हल गर्न चाहन्छस् भने; यदि तँसित परमरेश्‍वरमाथि साँचो आस्था छैन र यस्तो साँचो आस्थासहित परमेश्‍वरमा भर पर्दैनस् र उहाँको सार्वभौमिकतामा विश्‍वास गर्दैनस् भने, परमेश्‍वरले तँलाई प्रयोग गर्न सक्नुहुनेछैन। यदि परमेश्‍वरले तँलाई प्रयोग गर्नुभयो भने, तैँले केही हासिल गर्नु त परको कुरा, तैँले कामकुरा नै वास्तवमै लथालिङ्ग पार्नेछस्। त्यसकारण, त्यो मिश्रीलाई मारेपछि, मोशा भागेर उजाड ठाउँमा गयो। उसको इच्छा, झोक, र उसका असल अभिप्रायहरू, जोस, र आवेगका साथै उसलाई आफ्ना मानिसहरूको हित रक्षा गर्ने र अन्यायविरुद्ध लड्ने तुल्याउने उसको वीरता निखार्न परमेश्‍वरले उजाड परिवेश प्रयोग गर्नुभयो। यी सबै मानव इच्छा, आवेग र प्राकृतिकताका कुराहरू हुन्। परमेश्‍वरले किन केही इस्राएलीहरूलाई ऊसँगै जाने बन्दोबस्त गर्नुभएन? यदि ऊसँग थप एकजना व्यक्ति मात्र भएको भए, उसले परमेश्‍वरमा नभई त्यो अर्को व्यक्तिमा भर पर्नेथ्यो। यस्तो परिवेशमा शोधन भएर अन्ततः मोशा कस्तो व्यक्ति भयो? ऊ परमेश्‍वरको आज्ञापालन गर्न सक्‍ने भयो र उसमा वास्तविक भरोसा थियो। यसले देखाउँछ कि उसको प्राकृतिक आवेग हटेको थियो। जब ऊ उजाड ठाउँबाट बाहिर आयो, के उसमा अझै पनि उसको आवेग र वीरता थियो? (थिएन।) के कुराले यस्तो देखायो? (मोशाले भने कि अब ऊ राम्रा वक्ता रहेनन्।) उसको बोल्‍ने क्षमता नै गुमेको थियो, त्यसोभए के उसमा अझै उसका अभिप्राय र आवेगहरू थिए? (थिएनन।) यस तरिकाले हेर्दा, जब परमेश्‍वरले कुनै व्यक्तिलाई सिद्ध पार्न चाहनुहुन्छ, जब उहाँले परमेश्‍वरमाथिको उसको भरोसा सिद्ध पार्न चाहनुहुन्छ, चाहे उहाँले यो व्यक्तिलाई प्रयोग गर्नुभए पनि नभए पनि, परमेश्‍वरले सत्यताबारे र परमेश्‍वरको इच्छाबारे यो व्यक्तिको बुझाइ सिद्ध पार्नुहुनेछ र यो व्यक्तिलाई कुनै दूषित कुराहरूविना, कुनै मानव वीरता, आवेग, महत्त्वाकाङ्क्षा, र ठूला सोखहरूविना, कुनै झोकविना, र कुनै असल मानव अभिप्राय र उत्साहरूविना—कुनै पनि तथाकथित विश्‍वासहरूविना साँचो र पूर्ण रूपले परमेश्‍वरको आज्ञापालन गर्न दिनुहुनेछ। मानव इच्छाबाट आउने यी कुराहरूलाई हरव्यक्तिले प्रशंसा गर्छ र पछ्याउँछ, र तुलनात्मक रूपमा भन्नुपर्दा, यी कुराहरू मान्छेका हृदयले सकारात्मक, असल र सही ठान्ने कुराहरू हुन्। हरव्यक्ति यिनै कुराहरूद्वारा जिउन इच्छुक हुन्छ। यी कुराहरू मान्छेका विश्‍वासहरू हुन्। मानिसहरूसँग यी कुराहरू नहुँदा, तिनीहरूले साँचो रूपमा परमेश्‍वरको आज्ञापालन गर्न सक्छन् र त्यसपछि तिनीहरूले मानव कल्पनाहरू र मानिसहरूले राम्रो ठान्‍ने कुराहरूको आधारमा काम गर्ने र बोल्नेछैनन्। अनि, जब मानिसहरू फेरि पनि परमेश्‍वरको अगाडि आउँछन्, तब तिनीहरूसँग परमेश्‍वरमाथिको साँचो आस्थाका अझ धेरै तत्वहरू हुनेछन्। साँचो आस्थाका यी तत्वहरू के-के हुन्? के तिनीहरूले अझै परमेश्‍वरलाई सल्लाह दिनेछन्? “परमेश्‍वर, तपाईंले गर्नुहुने कुराहरू मानव धारणाबमोजिम छैनन्, र मानिसहरूलाई तपाईंका कार्यहरू स्विकार्न कठिन परिरहेको छ। तपाईंले त वास्तवमा यसो गर्नुपर्ने हो,” र “परमेश्‍वर, तपाईंले भन्नुभएको कुरा ठिक लाग्दैन। त्यसको भाव ठिक छैन, विधि पनि गलत छ, र तपाईंले प्रयोग गर्नुभएका वचनहरू गलत छन्” भनेर के तिनीहरूले अझै परमेश्‍वरलाई भन्‍नेछन्? यी कुराहरू तिनीहरूबाट मेटिइसकेका हुन्छन् र तिनीहरूले अबउप्रान्त परमेश्‍वरलाई सल्लाह दिनेछैनन्। तिनीहरूले साँचो रूपमा परमेश्‍वरको आज्ञापालन गर्न, समझ राख्न, र परमेश्‍वरको डर मान्न सक्नेछन्। उजाड ठाउँमा चालिस बर्ष निखारिएपछि, मोशाले साँच्‍चिकै परमेश्‍वरको अस्तित्व अनुभूति गर्‍यो। सामान्यतया व्यक्ति जीवित रहनै असम्भव भएको परिवेशमा दिनदिनै जीवित रहिरहन र एकदेखि अर्को गर्दै हरवर्ष आशामै टिकिरहन उसले परमेश्‍वरमा भरोसा गर्‍यो, र अन्त्यसम्मै जिइरह्यो। उसले वास्तवमै परमेश्‍वर देख्यो। त्यो संयोग थिएन र पौराणिक कथा पनि थिएन। त्यो संयोगवश वा अचानक भएको कुरा पनि थिएन। त्यो सबै साँचो थियो। उसले परमेश्‍वरको वास्तविक अस्तित्व देख्यो र यावत्‌ थोकमाथिको परमेश्‍वरको सार्वभौमिकता वास्तविक हो भनेर बुझ्यो। जब मानिसहरूमाथिको परमेश्‍वरको कामले यस्तो नतिजा हासिल गर्नेछ, तब तिनीहरूको हृदय परिवर्तन हुनेछ। तिनीहरूका धारणा र कल्पनाहरू हराउनेछन् र तिनीहरूलाई आफू केही होइन रहेछु, र परमेश्‍वरविना केही गर्न नसक्‍ने रहेछु भन्‍ने अनुभूति हुनेछ। फलस्वरूप, तिनीहरू आफूखुसी काम गर्न अनिच्छुक हुनेछन्। यो समयमा, के मानिसहरूले “प्रभु: यस्तो कुरा तपाईंलाई हुनेछैन” भन्‍ने कुरा बोल्नेछन् र? (बोल्‍नेछैनन्।) हामी के भन्न सक्छौँ भने, यो समयमा, मानिसहरूले परमेश्‍वरलाई बाधा दिन मानव धारणाहरूको आधारमा बोल्नेछैनन्, न त तिनीहरूले मानव इच्छाअनुसार वा आफूलाई उचित लागेको तरिकाले नै काम गर्नेछन्। यो समयमा, मानिसहरू केको आधारमा जिउनेछन्? तिनीहरू के-कसरी जिउनेछन्? व्यक्तिपरक रूपमा, तिनीहरू परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन सक्‍नेछन्। वस्तुपरक रूपमा, तिनीहरूले स्वाभाविक कुराहरूलाई स्वाभाविक रूपमै हुन दिन सक्‍नेछन्, अनि परमेश्‍वरको इच्छाको प्रतीक्षा र खोजी गर्न, र व्यक्तिगत छनौट नगरी परमेश्‍वरले गर्न दिनुभएका हरकाममा उहाँको आज्ञापालन गर्न सक्‍नेछन्।

धेरै पहिले इस्राएलीहरूलाई मिश्रबाहिर निकालेर ल्याउन जब परमेश्‍वरले मोशालाई पठाउनुभयो, तब परमेश्‍वरले उसलाई दिनुभएको यस्तो आज्ञाप्रति उसको प्रतिक्रिया के थियो? (उसले आफू बोल्‍न सिपालु नरहेको, र आफ्नो मुख र जिब्रो ढिलो चल्ने गरेको बतायो।) ऊ बोल्‍नमा सिपालु छैन, उसको मुख र जिब्रो ढिलो चल्छ भन्‍ने उसमा सानो आशङ्का थियो। तर के ऊ परमेश्‍वरको आज्ञाप्रति अटेरी थियो त? उसले यसलाई कसरी लियो? ऊ घोप्टो पर्‍यो। घोप्टो पर्नुको अर्थ के हो? यसको अर्थ समर्पित हुनु र स्वीकार गर्नु हो। आफ्ना व्यक्तिगत इच्‍छाहरूबारे चासो नराखी र आफूमा हुनसक्ने कठिनाइहरू उल्‍लेख नगरी, उसले घोप्टो परेर आफ्‍नो सम्पूर्णता परमेश्‍वरको अघि समर्पित गरिदियो। परमेश्‍वरले उसलाई जे गर्न लगाउनुहुन्थ्यो, उसले तुरुन्तै त्यो काम गरिहाल्थ्यो। उसलाई आफूले गर्न सक्‍ने केही पनि छैन भन्‍ने लाग्थ्यो, तैपनि उसले किन परमेश्‍वरको आज्ञा स्वीकार गर्न सक्यो? किनभने उसमा साँचो भरोसा थियो। सबै थोक र मामलाहरूमाथिको परमेश्‍वरको सार्वभौमिकताबारे उसले केही अनुभव प्राप्त गरेको थियो, र उसले चालिस वर्ष उजाड ठाउँमा गरेको अनुभवमा परमेश्‍वरको सार्वभौमिकता सर्वशक्तिमान् छ भनेर जानेको थियो। त्यसकारण, उसले तत्परतासाथ परमेश्‍वरको आज्ञा स्वीकार गर्यो, र परमेश्‍वरले उसलाई जे काम गर्न आज्ञा दिनुभएको थियो, अरू केही नसोचीकन ऊ त्यो काम पूरा गर्न लागिपर्‍यो। ऊ लागिपर्‍यो भन्‍नुको अर्थ के हो? यसको अर्थ उसमा परमेश्‍वरमाथिको साँचो भरोसा थियो, उहाँमाथिको साँचो निर्भरता थियो, र उहाँप्रतिको साँचो समर्पण थियो। ऊ कायर थिएन, तर उसले आफै निर्णय लिने वा प्रतिवाद गर्ने प्रयास गरेन। बरु, उसले त पूर्ण रूपमा विश्‍वास गर्‍यो, अनि भरोसाले भरिपूर्ण भएर ऊ परमेश्‍वरको आज्ञा पूरा गर्न तयार भयो। उसले यस्तो विश्‍वास गर्‍यो “यदि परमेश्‍वरले नै यो आज्ञा दिनुभएको हो भने, यो काम परमेश्‍वरले भन्‍नुभएजस्तै गरी पूरा हुनेछ। परमेश्‍वरले मलाई इस्राएलीहरूलाई मिश्रबाहिर निकालेर ल्याउने आज्ञा दिनुभएको छ, त्यसकारण म जान्छु। यो परमेश्‍वरले दिनुभएको आज्ञा भएकोले, उहाँले काम गर्नुहुनेछ, र उहाँले मलाई शक्ति दिनुहुनेछ। मैले सहकार्य मात्रै गर्नुपर्छ।” मोशामा यस्तो अन्तर्दृष्टि थियो। आत्मिक बुझाइ नभएका मानिसहरूले परमेश्‍वरद्वारा जिम्मा दिइएका कुराहरू आफू एक्लैले गर्न सक्छु भन्‍ने ठान्छन्। के मानिसहरूमा यस्तो क्षमता हुन्छ त? कदापि हुँदैन। यदि मानिसहरू कायर छन् भने त झिन् तिनीहरूसँग मिश्रको फारोलाई भेट्ने साहससमेत हुँदैन। हृदयमा, तिनीहरूले यसो भन्नेछन्: “मिश्रको फारो दियाबलस राजा हो। उसको अधीनमा ठुलो फौज छ र उसले मलाई एकै वचनमा मार्न सक्छ। म त्यति धेरै इस्राएलीहरूलाई कसरी भगाउन सक्छु र? के मिश्रको फारोले मेरो कुरा सुन्ला त?” यी वचनहरूमा अस्वीकार, प्रतिरोध र विद्रोह छ। यी वचनहरूले परमेश्‍वरमाथिको विश्‍वास देखाउँदैनन्, र यो वास्तविक भरोसा होइन। त्यो बेलाको परिस्‍थिति इस्राएलीहरू वा मोशाको निम्ति अनुकूल थिएन। मानव नजरमा, इस्राएलीहरूलाई मिश्रबाहिर निकालेर ल्याउने काम असम्‍भव थियो, किनभने मिश्र लाल समुद्रले घेरिएको थियो, र त्यो पार गर्नु ठूलो चुनौती हुन्थ्यो। के यो आज्ञा पूरा गर्न कति कठिन छ भन्‍ने कुरा मोशालाई साँच्‍चै थाहा थिएन त? उसलाई हृदयमा यो कुरा थाहा थियो, तैपनि उसले आफ्नो मुख र जिब्रो ढिलो चल्छ, र आफ्नो कुरा कसैले सुन्दैन भनेर मात्रै बतायो। उसले हृदयबाट परमेश्‍वरको आज्ञा इन्कार गरेन। परमेश्‍वरले मोशालाई इस्राएलीहरूलाई मिश्रबाहिर निकाल्ने आज्ञा दिनुभएपछि, उसले घोप्टो पर्दै यो आज्ञा स्वीकार गर्‍यो। किन उसले कठिनाइहरूबारे केही उल्‍लेख गरेन? के चालीस वर्ष उजाड स्थानमा बिताएकोले, उसले मानव संसारका खतराहरू, वा मिश्रका कुराहरू प्रगति भएर कुन स्थितिमा पुगेका थिए, वा इस्राएलीहरूको वर्तमान दुर्दशा के छ भनी जान्दैनथ्यो? के उसले यी कुराहरू स्पष्ट रूपमा देख्‍न सक्दैनथ्यो? के यस्तै भएको थियो? अवश्य होइन। मोशा बुद्धिमान्‌ र ज्ञानी थियो। मानव संसारमा ती सबै कुरा व्यक्तिगत रूपमा भोगेको, र अनुभव गरेको कारण उसलाई यी सबै कुरा थाहा थियो, अनि उसले ती कुराहरू कहिल्यै बिर्सँदैनथ्यो। उसलाई ती सबै कुरा राम्ररी थाहा थियो। त्यसकारण, के परमेश्‍वरले दिनुभएको आज्ञा कति कठिन छ भन्‍ने कुरा उसलाई थाहा थियो? (थियो।) यदि थाहा थियो भने, उसले कसरी त्यो आज्ञा स्वीकार गर्न सक्यो? उसले परमेश्‍वरमाथि भरोसा राख्यो। आफ्‍नो जीवनभरिको अनुभवको आधारमा, उसले परमेश्‍वरको सर्वशक्तिमान्‌तामा विश्‍वास गर्थ्यो, त्यसकारण उसले भरोसाले भरिपूर्ण हृदयसाथ अलिकति पनि शङ्का नगरी परमेश्‍वरको आज्ञा स्वीकार गर्‍यो। ऊसित कस्ता अनुभवहरू थिए? ल भन् त। (तिनले आफ्नो अनुभवमा हरेकपटक परमेश्‍वरलाई पुकार्दा र हरेकपटक तिनी परमेश्‍वर नजिक जाँदा, परमेश्‍वरले तिनलाई अगुवाइ र मार्गदर्शन गर्नुभयो। परमेश्‍वर उहाँको वचनबाट कहिल्यै पछि हट्नुभएको छैन भन्ने कुरा मोशाले देखे, र तिनमा परमेश्‍वरमाथि वास्तविक भरोसा थियो।) यो एउटा पक्ष भयो। अरू के छन्? (चालिस बर्षसम्म उजाड ठाउँमा बस्दा, मोशाले परमेश्‍वरलाई पुकार्दै प्रार्थना गरेर वास्तवमै परमेश्‍वरको सार्वभौमिकता देखेका थिए। तिनी जीवित रहिरहन र त्यसबाट पार पाउन सक्षम भए, र तिनमा परमेश्‍वरको सार्वभौमिकतामाथिको साँचो आस्था थियो।) अरू के छन्? (मोशामाथि परमेश्‍वरले पहिल्यै थुप्रै काम गरिसक्नुभएको थियो। परमेश्‍वरले कसरी स्वर्ग, धर्ती, र यावत्‌ कुराहरू सृष्टि गर्नुभयो, र कसरी उहाँले नोआको समयमा संसारलाई ध्वस्त पार्न बाढी प्रयोग गर्नुभयो भन्नेबारे, अनि अब्राहम र त्यस्तै अन्य कुराहरूबारे मोशालाई केही थाहा थियो। तिनले यी कुराहरू पुरानो करारका पहिलो पाँच पुस्तकहरूमा लेखे, र यसले प्रमाणित गर्छ कि तिनले परमेश्‍वरका यी सबै कार्यहरूबारे अन्तर्ज्ञान प्राप्त गरेका थिए र परमेश्‍वर सर्वशक्तिमान् र सर्वज्ञ हुनुहुन्छ भन्ने कुरा थाहा पाएका थिए। त्यसकारण, परमेश्‍वरले तिनलाई अगुवाइ गर्नुभएपछि, तिनको प्रयास निश्‍चय नै सफल हुनेछ भनी तिनले विश्‍वास गरे। तिनी परमेश्‍वरका कार्यहरू हेर्न चाहन्थे, र तिनीमार्फत परमेश्‍वरले के गर्नुहुन्छ, र कसरी तिनलाई सहयोग र मार्गदर्शन गर्नुहुन्छ भनी हेर्न चाहन्थे। तिनमा यही भरोसा थियो।) यथार्थ त्यही थियो। मलाई भन, चालीस वर्ष उजाड स्थानमा बस्दा, के मोशाले परमेश्‍वरमा केही कुरा पनि गाह्रो हुँदैन र मानिस परमेश्‍वरकै हातमा हुन्छ भनेर अनुभव गर्न सकेको थियो? धेरै हदसम्म—उसको साँचो अनुभव त्यही थियो। चालीस वर्ष उजाड स्थानमा बिताउँदा, उसले त्यस्ता धेरै कुराहरू सामना गर्‍यो जसमा उसको मृत्यु हुने खतरामा हुन्थ्यो, र ती कुरा सामना गर्दा ऊ बाँच्‍न सक्छ कि सक्दैन उसलाई थाहा हुँदैनथ्यो। हरेक दिन, उसले आफ्‍नो ज्यानको लागि संघर्ष गर्थ्यो र सुरक्षाको लागि परमेश्‍वरलाई प्रार्थना गर्थ्यो। उसको एउटै कामना त्यही हुन्थ्यो। उसले ती चालीस वर्षमा परमेश्‍वरको सार्वभौमिकता र सुरक्षालाई गहन रूपमा अनुभव गरेको थियो। त्यसकारण, पछि उसले परमेश्‍वरको आज्ञा स्वीकार गर्दा, उसको पहिलो सोच पक्‍कै पनि यस्तो हुनुपर्छ: “परमेश्‍वरमा केही कुरा पनि गाह्रो हुँदैन। यदि परमेश्‍वरले गर्न सकिन्छ भनेर भन्‍नुहुन्छ भने, अवश्य नै सकिन्छ। परमेश्‍वरले मलाई यस्तो आज्ञा दिनुभएको हुनाले, उहाँले अवश्य नै हेर्नुहुनेछ—यो काम कुनै मानिसले नभई उहाँले नै गर्नुहुनेछ।” काम गर्नुभन्दा पहिले, मानिसले अग्रिम रूपमा योजना र तयारी गर्नुपर्छ। तिनीहरूले सुरुमा प्रारम्‍भिक कुराहरू सम्‍हाल्‍नुपर्छ। के परमेश्‍वरले काम गर्नुभन्दा पहिले यी कुराहरू गर्नुपर्छ? गर्नुपर्दैन। सृष्टि गरिएको हरेक प्राणी जति प्रभावशाली, जति सक्षम वा शक्तिशाली भए पनि, जति जोसिलो भए पनि, ऊ परमेश्‍वरकै हातमा हुन्छ। मोशासँग यस कुराको भरोसा, ज्ञान र अनुभव थियो, त्यसकारण उसको हृदयमा कुनै शङ्का वा डर थिएन। त्यसकारण, परमेश्‍वरमाथिको उसको भरोसा खास रूपमा साँचो र विशुद्ध थियो। ऊ भरोसाले भरिपूर्ण थियो भनेर पनि भन्‍न सकिन्छ।

मैले भर्खरै साँचो आस्था के हो भन्नेबारे कुरा गरेको छु। ल भन् त, परमेश्‍वरले अन्त्यमा मानिसको विश्‍वास चाहनुहुन्छ कि मानिसको साँचो आस्था? (उहाँ मानिसको साँचो आस्था चाहनुहुन्छ।) परमेश्‍वरले चाहनुहुने भनेको मानिसको साँचो आस्था हो। अनि, साँचो आस्था भनेको के हो? सबैभन्दा सरल र सोझो अर्थमा भन्नुपर्दा, त्यो परमेश्‍वरमाथिको मानिसहरूको वास्तविक भरोसा हो। अभ्यासमा वास्तविक भरोसा कस्तो हुन्छ? मानिसहरूको वास्तविक जीवनका सम्पूर्ण कृयाकलापहरूसित त्यसको के सम्बन्ध छ? (मानिसहरू विश्‍वास गर्छन् कि परमेश्‍वर सबै कुराहरूमाथि सार्वभौम हुनुहुन्छ र उहाँले सबै कुराहरू पूर्वनिर्धारित गर्नुहुन्छ। तिनीहरू आफूले सामना गर्ने सबै कुराहरूमाथिको परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छन् र परमेश्‍वरको लागि केही पनि कठिन हुँदैन भन्ने कुरामा विश्‍वास गर्छन्।) (मानिसहरू परमेश्‍वरका हरेक वचन पूरा भएरै छोड्छ भनी विश्‍वास गर्छन्।) यसमाथि थप मनन गर्। वास्तविक भरोसा अन्‍य कुनकुन तरिकाले प्रकट हुनेछ? (मोशाको भरोसा साधारण विश्‍वासीहरूकोभन्दा फरक छ। जब तिनले ‘उत्पत्ति’ पुस्तक लेखे, तिनले के विश्‍वास गरे भने, परमेश्‍वरले स्वर्ग र पृथ्वी र यावत्‌ कुराहरू उहाँका वचनहरूद्वारा सृष्टि गर्नुभएको हो, स्वर्ग र पृथ्वी र यावत्‌ कुराहरू परमेश्‍वरका वचनहरूमार्फत उत्पन्‍न गराइएका हुन्, परमेश्‍वरले जे भन्नुहुन्छ त्यो वास्तवमा त्यही हो र परमेश्‍वरले जे तोक्नुहुन्छ त्यो भएरै छाड्नेछ, र परमेश्‍वरका सबै वचनहरू भएरै छाड्नेछन् र पूरा हुनेछन्। यस अर्थमा, तिनीसँग परमेश्‍वरमाथिको वास्तविक भरोसा थियो। तिनी परमेश्‍वर साँच्चै हुनुहुन्छ भन्ने तथ्यमा मात्र विश्‍वास गर्दैनथे। तिनी त स्वर्ग, पृथ्वी र यावत्‌ कुराहरू परमेश्‍वरले सृष्टि गर्नुभएको हो भनेरसमेत विश्‍वास गर्थे। परमेश्‍वरका वचनहरूले सबथोक हासिल गर्छन् भन्ने कुरा तिनले हृदयमा पूरै विश्‍वास गर्थे, र तिनले परमेश्‍वरको सर्वशक्तिमान्‌तामा विश्‍वास गर्थे। यदि तिनमा परमेश्‍वरमाथिको त्यस्तो भरोसाको कमी हुन्थ्यो भने, तिनले कहिल्यै ‘उत्पत्ति’ पुस्तक लेख्न सक्दैनथे। यी वचनहरू पवित्र आत्माद्वारा उत्प्रेरित वा प्रकटित थिए, जुन तिनले प्रस्टसित देख्न सक्थे।) ल भन् त, के मानिसहरूको विश्‍वासको कारण परमेश्‍वरको वास्तविक अस्तित्व तथ्य भएको हो? (होइन।) परमेश्‍वरको वास्तविक अस्तित्व कस्तो तथ्य हो? (मानिसहरूले विश्‍वास गरे पनि नगरे पनि, परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरको आफ्नै अस्तित्व छ र उहाँ शाश्‍वत हुनुहुन्छ।) कम्तीमा पनि, परमेश्‍वरमाथिको भरोसा यो जगमा आधारित हुनुपर्छः तैँले मौखिक रूपमा स्विकारेकोले परमेश्‍वर अस्तित्वमा हुनुभएको होइन, र तैँले स्विकारिनस् भने, उहाँको अस्तित्व नहुने पनि होइन। बरु, तैँले परमेश्‍वरलाई विश्‍वास र स्वीकार गरे पनि नगरे पनि परमेश्‍वर अस्तित्वमा रहनुहुन्छ। परमेश्‍वर शाश्‍वत सृष्टिकर्ता हुनुहुन्छ र शाश्‍वत रूपमा सबै कुराहरूमाथि सार्वभौम हुनुहुन्छ। मानिसहरू किन यो बुझाइमा पुग्न आवश्यक छ? यसले मानिसहरूमा के परिवर्तन गर्न सक्छ? कतिपय मानिसहरू यसो भन्छन्, “यदि हामीले तपाईंमा विश्‍वास गर्‍यौँ भने, तपाईं परमेश्‍वर हुनुहुन्छ, तर यदि हामीले तपाईंमा विश्‍वास गरेनौँ भने, तपाईं परमेश्‍वर हुनुहुन्न।” यी वचनहरू के हुन्? यी विद्रोही र भ्रामक वचनहरू हुन्। परमेश्‍वर यसो भन्नुहुन्छ, “यदि तैँले ममा विश्‍वास गर्दैनस् भने, म अझै पनि परमेश्‍वर नै हुन्छु र म अझै पनि तेरो नियतिमाथि सार्वभौम नै रहन्छु। तैँले यसलाई परिवर्तन गर्न सक्दैनस्।” यो कसैले पनि नकार्नै नसक्ने तथ्य हो। एउटा नास्तिक व्यक्तिले परमेश्‍वरलाई जति नै इन्कार वा प्रतिरोध गरे पनि, उसको भाग्य अझै पनि परमेश्‍वरको सार्वभौमिकतामै हुन्छ, र ऊ परमेश्‍वरको दण्डबाट उम्कन सक्दैन। यदि तैँले परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू पूर्ण रूपमा स्विकार्छस् र ती कुराहरूप्रति समर्पित हुन्छस् अनि तँ परमेश्‍वरले व्यक्त गर्नुभएका सम्पूर्ण सत्यताहरू स्विकार्न सक्छस् भने, परमेश्‍वरका वचनहरूले तेरो जीवन शैली परिवर्तन गर्न सक्छन्, र तेरो जीवनका लक्ष्यहरू र तेरो पछ्याइको दिशा, तैँले रोज्ने मार्ग र तेरो जीवनको अर्थ परिवर्तन गर्न सक्छन्। कतिपय मानिसहरू परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छु, र यावत्‌ थोक र जे-जति कुरा छन् ती हरेकमाथि परमेश्‍वर सार्वभौम हुनुहुन्छ भनेर विश्‍वास गर्छु भनी मुखले भन्छन्, तर तिनीहरू परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्दैनन् र हरेक व्यक्तिको लागि परमेश्‍वरले फरकफरक बन्दोबस्तहरू गर्नुहुन्छ भनेर तिनीहरूले देख्न सक्दैनन्। यी मानिसहरू सधैँ आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पछ्याउन चाहन्छन् र सधैँ ठूलाठूला कामहरू गर्न चाहन्छन्, तर तिनीहरूले निरन्तर धक्‍का खान्छन् र अन्त्यमा तिनीहरू हार्छन्, र क्षतविक्षत र रक्ताम्मे हुन्छन्। त्यसपछि मात्र तिनीहरूले आत्मसमर्पण गर्छन्। यदि तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतामा साँच्चै विश्‍वास गर्थे भने, के तिनीहरूले यस्तो व्यवहार गर्थे र? यो तिनीहरूको लागि असम्भव हुन्थ्यो। तिनीहरू कसरी अघि बढ्नुपर्छ? सर्वप्रथम, तिनीहरूले परमेश्‍वरको इच्छा बुझ्नुपर्छ। मानवजातिलाई मुक्ति दिने काममा, परमेश्‍वरले मानिसहरूलाई तिनीहरूका भ्रष्ट स्वभावहरू त्याग्‍न र शैतानको प्रभावबाट मुक्त हुन, जीवनको सही मार्गमा हिँड्न, र परमेश्‍वरका वचनहरूद्वारा जिउन मद्दत गर्नुहुन्छ। यदि मानिसहरूले परमेश्‍वरको इच्छा साँच्चिकै बुझ्छन् भने, सत्यता पछ्याउँदा र परमेश्‍वरलाई बुझ्ने खोज गर्दा, तिनीहरूले परमेश्‍वरका मापदण्डहरू पालना गर्नेछन्, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पण हासिल गर्नेछन्। यस तरिकाले मात्र तिनीहरू परमेश्‍वरको इच्छाअनुरूपका हुन सक्छन्। धेरै मानिसहरू यस्ता पनि छन् जो परमेश्‍वरमा विश्‍वास त गर्छन् तर परमेश्‍वरको आज्ञापालन गर्न सक्दैनन्। तिनीहरू सधैँ आफ्नै चाहनाहरू पछ्याउन चाहन्छन्, तर अन्त्यमा तिनीहरू सबै असफल हुन्छन्। त्यसपछि मात्र तिनीहरूले आफ्नो हृदयका कुराहरू भन्छन्, “यो नियति हो, र परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा कसैले पनि बदल्न सक्दैन!” यो बेला, जब तिनीहरूले फेरि पनि “म परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्छु र परमेश्‍वरले सबथोक उहाँको हातैमा राख्नुहुन्छ भनेर विश्‍वास गर्छु” भन्छन्, तब के यी वचनहरू तिनीहरूले पहिले बोलेका वचनहरूभन्दा फरक हुन्छन्? ती तिनीहरूले पहिले बोलेका धर्मसिद्धान्तहरूभन्दा धेरै व्यावहारिक हुन्छन्। पहिले, तिनीहरूले परमेश्‍वर सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भनी मौखिक रूपमा मात्र स्वीकार र विश्‍वास गर्थे, तर जब तिनीहरूलाई केही आइपर्थ्यो, तिनीहरूले परमेश्‍वरको आज्ञापालन गर्न सक्दैनथे र परमेश्‍वरका वचनहरूको आधारमा सत्यता अभ्यास गर्न सक्दैनथे। तिनीहरूले हृदयमा आफ्ना आदर्शहरू आफै साकार पार्न सक्छौँ भन्‍ने सोच्थे। यसरी, तिनीहरूले हृदयभित्र विश्‍वास गरेका परमेश्‍वरका वचनहरू र तिनीहरूको मुखमा झुण्डिएका धर्मसिद्धान्तहरू तिनीहरूको कार्य-व्यवहारका सिद्धान्तहरू बन्न सकेनन्। अर्थात, तिनीहरूले परमेश्‍वरका सबै वचनहरू सत्यता हुन् र ती वचनहरूले सबै कुरा हासिल गर्न सक्छन् भनी विश्‍वास गरेनन्। तिनीहरू सत्यता बुझ्छौँ भन्ठान्थे तर परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तहरूप्रति समर्पित हुन सक्दैनथे, त्यसैले तिनीहरूले जे बुझे ती धर्मसिद्धान्त र अक्षरहरू मात्र थिए, सत्यता वास्तविकता थिएनन्। मुखले तिनीहरू परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छौँ भन्थे, तर वास्तविक जीवनमा, तिनीहरू परमेश्‍वरको आज्ञापालन गर्न सक्दैनथे। तिनीहरू सधैँ आफ्नै मार्गमा हिँड्थे, सधैँ आफ्नै चाहनाहरू पछ्याउन चाहन्थे, र परमेश्‍वरका मापदण्डहरू उल्लङ्घन् गर्थे। के यो साँचो आज्ञापालन हो र? के यसमा वास्तविक विश्‍वास र वास्तविक भरोसा छ र? (छैन।) बिलकुलै छैन, र त्यो वास्तवमै दयनीय कुरा हो! परमेश्‍वरमाथिको वास्तविक भरोसाका प्रकटीकरणहरू के-के हुन्? वास्तविक भरोसा बोकेका मानिसहरू कम्तीमा परमेश्‍वरका वचनहरू सत्यता हुन् र ती भएरै छाड्छन् र पूरा हुनेछन् भनी विश्‍वास गर्छन्, र तिनीहरू परमेश्‍वरका मापदण्डहरूअनुसार अभ्यास गर्नु जीवनको सही मार्ग हो भनी विश्‍वास गर्छन्। जीवनमा तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्छन् र परमेश्‍वरमाथि भरोसा गर्छन्, परमेश्‍वरका वचनहरूलाई आफ्नो वास्तविक जीवनमा ल्याउँछन्, सबै कुराहरूमा परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्छन्, इमानदार मानिस हुन खोज्छन्, र परमेश्‍वरका वचनहरूको वास्तविकता जिउँछन्। तिनीहरू परमेश्‍वरको अस्तित्व र सार्वभौमिकतामा विश्‍वास गर्ने मात्र नभई वास्तविक जीवनमा परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन पनि खोज्छन्। यदि तिनीहरू विद्रोही बने भने, तिनीहरूले आफूमाथि चिन्तन गर्न, सत्यता स्विकार्न, परमेश्‍वरको अनुशासन स्विकार्न र परमेश्‍वरप्रति आज्ञापालन हासिल गर्न सक्छन्। यदि तैँले यसरी अभ्यास गर्छस् भने, तैँले विश्‍वास गर्ने र स्विकार्ने सत्यता तेरो जीवन वास्तविकता बन्नेछ। यो सत्यताले तेरा सोचहरू, तेरो जीवन, र तेरो पूरै जीवनले लिने दिशा निर्देशित गर्न सक्नेछ। यो बेला, तैँले परमेश्‍वरप्रति साँचो भरोसा प्रकट गर्न सक्नेछस्। जब तँसँग परमेश्‍वरप्रति वास्तविक विश्‍वास र साँचो आज्ञाकारीता हुन्छ, यसले भरोसा सिर्जना गर्छ। यो भरोसा नै परमेश्‍वरमाथिको साँचो आस्था हो। अनि, यो साँचो आस्था कहाँबाट आउँछ? यो परमेश्‍वरका वचनहरू अभ्यास र अनुभव गरेर अनि सत्यता बुझेपछि प्राप्त हुन्छ। मानिसहरूले सत्यता जति बढी बुझ्छन्, परमेश्‍वरमाथिको तिनीहरूको भरोसा उति नै ठुलो हुन्छ, तिनीहरूले परमेश्‍वरबारे उति नै बढी थाहा पाउँछन्, र उति नै बढी परमेश्‍वरको आज्ञापालन गर्छन्। मानिसहरूले यसरी नै साँचो आस्था प्राप्त गर्छन्।

मानिसहरूले जुन प्रक्रियाद्वारा परमेश्‍वरमा साँचो आस्था राख्छन्, त्यसमा परमेश्‍वरले के गर्नुहुन्छ? (उहाँले अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्छ, परिवेशलाई योजनावद्व गर्नुहुन्छ, र त्यसपछि सत्यतालाई लिनुहुन्छ र त्यसलाई मानिसहरूमा घुसाउने काम गर्नुहुन्छ।) जब पत्रुसले प्रभु येशूको हप्काइ पायो, त्यो परमेश्‍वरले उसलाई पर्दाफास, न्याय र निन्दा गर्नु भएको कुरा थियो। के परमेश्‍वरमाथिको साँचो भरोसा प्राप्त गर्नुअघि मानिसहरूले यी कुराहरू अनुभव गर्नुपर्छ? (पर्छ।) तिनीहरूले किन यी कुराहरू अनुभव गर्नुपर्छ? के यी कुराहरूविना भरोसा प्राप्त गर्न असम्भव हुन्छ? के न्याय, पर्दाफास, गाली, अनुशासन, हप्काइ, र श्रापसमेतबाट पन्छिन सम्भव छ? (छैन।) मानौँ कि प्रभु येशूले पत्रुसलाई हप्काउनुको सट्टा यस विषयमा मित्रवत्‌ ढङ्गले छलफल गर्नुभयो रे, अनि उसलाई यसो भन्‍नुभयो रे, “पत्रुस, मलाई थाहा छ, तैँले राम्रो भन्न खोजेको छस्, तर अबदेखि त्यस्तो नबोल्। असल मानव अभिप्रायहरूद्वारा मेरा योजनामा बाधा नपुर्‍या। शैतानको पक्षमा नबोल् र शैतानको अभिव्यक्ति माध्यमको रूपमा काम नगर्। भविष्यमा, बढी सावधान हू र बकवास कुरा नगर्। बोल्नुभन्दा पहिले, तेरा वचनहरू सही छन् कि छैनन् र त्यसले परमेश्‍वरलाई दुःखी तुल्याउनेछ वा रिस उठाउनेछ कि छैन भनेर राम्ररी विचार गर्।” के यसरी बोलेर हुन्छ त? (हुँदैन।) किन हुँदैन? मानिसहरू शैतानद्वारा धेरै गहन रूपमा भ्रष्ट पारिएका छन्, र तिनीहरूको भ्रष्ट स्वभावको जरा धेरै गहिरो गाडिएको छ। तिनीहरू आफ्नो भ्रष्ट स्वभावद्वारा जिउँछन्। तिनीहरूका सबै सोच, कार्य, कल्पना र धारणाहरू, तिनीहरूको जीवनका सबै लक्ष्य र दिशाहरू, र तिनीहरूले बोल्ने र गर्ने सबै कुराहरू तिनीहरूको भ्रष्ट स्वभावबाट आउँछन्। यदि परमेश्‍वरले तिनीहरूलाई हप्काउनुहुन्न भने, के त्यो ठीक हो? के तिनीहरूले यो समस्याको गम्भीरता बुझ्लान्? के तिनीहरूको पापको मूल कारण निर्मूल पार्न सकिन्छ? (सकिँदैन।) यदि तिनीहरूको पापको मूल कारण निर्मूल पार्न सकिँदैन भने, के मानिसहरूले परमेश्‍वरको आज्ञापालन गर्न सक्छन्? (सक्दैनन्।) के अब तँलाई परमेश्‍वरले मानिसहरूलाई निन्दा गर्नु र श्राप दिनु राम्रो कि नराम्रो के हो, स्पष्ट भयो? (यो राम्रो कुरा हो।) के परमेश्‍वरले मानिसहरूको खुलासा गर्नु राम्रो कुरा हो? (हो।) उहाँले मानिसहरूको के कुरा खुलासा गर्नुहुन्छ? (उहाँले तिनीहरूको कमजोरी, कद र परमेश्‍वरप्रतिको भरोसा खुलासा गर्नुहुन्छ।) उहाँले मानिसहरूको पूर्ण खुलासा गर्नुहुन्छ। परमेश्‍वरले सराहना गर्नुहुने कुरा तैँले अँगालेका धर्मसिद्धान्तहरू, तैँले बारम्बार दोहोर्‍याउने बोलीहरू, तेरा विश्‍वासहरू, तेरो बाहिरी जोस र तेरा असल अभिप्रायहरू होइनन्। यी कुराहरू उहाँ चाहनुहुन्न। चाहे तँ जति नै जोसिलो भए पनि वा चाहे तैँले जति नै टाढाटाढा यात्रा गरे पनि, के यसले तँसँग सत्यता छ भनी देखाउन सक्छ र? के यसले तँसँग परमेश्‍वरप्रतिको साँचो आस्था छ भनेर देखाउन सक्छ र? (सक्दैन।) यी परमेश्‍वरले सराहना गर्नुहुने कुराहरू होइनन्। मानव-निर्मित सद्‌गुण र कल्पनाहरू बेकार हुन्छन्। परमेश्‍वरको अनुमोदन प्राप्त गर्न र परमेश्‍वरमा साँचो आस्था राख्नको लागि, तैँले परमेश्‍वरका विभिन्न कार्यविधिहरू अनुभव गर्नुपर्छ, जस्तै: खुलासा, न्याय, निन्दा, र श्राप—अनि कहिलेकाहीँ अनुशासन र सजाय पनि आवश्यक पर्छन्। के यी डराउनुपर्ने कुराहरू हुन् त? यी डराउनुपर्ने कुराहरू होइनन्। यी कुराहरूमा परमेश्‍वरको इच्छा, परमेश्‍वरका असल अभिप्रायहरू र परमेश्‍वरको प्रेम हुन्छ। यो कठिनाइ सहनु सार्थक छ! परमेश्‍वरले मानिसहरूमाथि काम गर्न यी कुराहरू गर्नुहुन्छ र यी विधिहरू चलाउनुहुन्छ। यसले देखाउँछ कि परमेश्‍वरले यी मानिसहरूबाट केही कुराहरू अपेक्षा गर्नुहुन्छ र तिनीहरूबाट केही प्राप्त गर्न चाहनुहुन्छ। परमेश्‍वरले यी कुराहरू यतिकै, बिनाकारण वा कल्पनामा आधारित रहेर गर्नुहुन्न। यी कुराहरूले पूर्णतया परमेश्‍वरको इच्छा प्रतिबिम्बित गर्छन्। अनि, परमेश्‍वरको इच्छा के हो? उहाँ मानिसहरूलाई परमेश्‍वरप्रतिको साँचो आस्थामा ल्याउन र तिनीहरूलाई सत्यता स्विकाराउन, भ्रष्ट स्वभाव छोडाउन र मुक्ति प्राप्त गराउन चाहनुहुन्छ।

ल मलाई भन् त, पत्रुसले प्रभुलाई तीन पटकसम्म इन्कार गरेपछि, के उसले आफ्नै आस्थामाथि चिन्तन गर्‍यो? (गर्‍यो।) सामान्य मानवता भएका मानिसहरू, जो सत्यता पछ्याउँछन्, तिनीहरूले असफलता र झट्काहरू सामना गर्दा आफैँमाथि चिन्तन गर्छन्। पत्रुसले पनि निश्‍चय नै यसरी नै आफ्नो बारेमा चिन्तन गर्नेथिए। सत्यतालाई प्रेम नगर्ने मानिसहरूले आफ्नो बारेमा कहिल्यै चिन्तन गर्दैनन्। यदि तिनीहरूले पत्रुसको जस्तो अवस्था सामना गरे भने, तिनीहरूले यसो भन्नेछन्, “मैले प्रभुलाई तीनपटकसम्म इन्कार गरेको भए पनि, यी अपवादजनक परिस्थितिहरू थिए। यस्ता अपवादजनक परिस्थितिहरूमा कसले पो चिन्ता, डर र कमजोरी महसुस गर्दैनथ्यो र? यो ठुलो कुरा होइन। प्रभुप्रतिको मेरो प्रेम अझै पनि ठूलो छ, मेरो हृदयमा जोसको आगो छ, मेरो आत्मा बलियो छ, र मैले प्रभुलाई कहिल्यै छोड्ने रकहिल्यै त्याग्ने छैनँ! प्रभुलाई तीन पटकसम्म इन्कार गर्नु एउटा सानो दोष मात्र हो, र परमेश्‍वरले सायद यो सम्झनुसमेत हुनेछैन। आखिर, परमेश्‍वरप्रतिको मेरो आस्था एकदमै ठूलो छ।” यो कस्तो खाले चिन्तन हो? के यो सत्यता स्वीकार गर्ने मनोवृति हो? के यो वास्तविक भरोसा प्राप्त गर्ने तरिका हो? (होइन।) यदि पत्रुसले यस्तो सोच्थ्यो भने, “प्रभु येशू, तपाईं मानिसहरूलाई राम्ररी चिन्नुहुन्छ, तर तपाईंले म यस्तो काम गर्छु भनेर कसरी दाबी गर्न सक्नुहुन्छ? मैले तपाईंलाई इन्कार गर्नेछु भनेर तपाईंले भविष्यवाणी नगर्नुभएको भए हुनेथ्यो। बरु, म तपाईंलाई तीनपटकसम्म चिन्न सक्नेछु भनेर तपाईंले भविष्यवाणी गर्नुभएको भए हुनेथ्यो। त्यो धेरै राम्रो हुनेथ्यो, र त्यसपछि म मेरो शिर उच्च राखेर तपाईको अनुसरण गर्न सक्थेँ। साथै, यसले तपाईंप्रति मेरो ठूलो भरोसा देखाउनेथ्यो, र तपाईंको भविष्यवाणी पनि सही साबित हुनेथ्यो। हामी दुवै त्यसमा सन्तुष्ट हुनेथ्यौँ। म तपाईंलाई कति साँचो रूपमा विश्‍वास गर्छु। तपाईंले मलाई सिद्ध पार्नुपर्छ र मलाई मर्यादा प्रदान गर्नुपर्छ! तपाईंले मलाई हप्काउनु हुँदैन। तपाईंले मलाई यस्तो व्यवहार गर्नु हुँदैन। म सम्मानित पत्रुस हुँ। मैले परमेश्‍वरलाई नकार्ने वचनहरू कहिल्यै बोल्दिनथेँ। यो त अति बेइज्जतीपूर्ण र लाजमर्दो कुरा हो! तपाईं मलाई किन यस्तो आरोप लगाउनुहुन्छ? किन अरू कसैलाई लगाउनुहुन्न? तपाईंले जे गर्नुभयो त्यो उचित थिएन! मैले तपाईलाई इन्कार गरेको छु भनेर स्विकारेँ नै भने पनि, के तपाईंले यसरी सबैले मेरो बेइज्जती देख्न सक्‍ने गरी मेरो पर्दाफास गर्नुपर्थ्यो र? अब यहाँबाट म कहाँ जाने होला? के म भविष्यमा अझै राम्रो गन्तव्य प्राप्त गर्न सक्छु र? के यसको मतलब तपाईंले मलाई त्याग्नुभएको छ भन्ने होइन र? मेरो हृदयमा, मलाई यो उचित छैन जस्तो लाग्छ।” परमेश्‍वरसँग यसरी तर्क गर्नु सही हो कि गलत हो? (यो गलत हो।) यो कस्तो प्रकारको स्थिति हो? यहाँ पत्रुसको अनाज्ञाकारीता र गुनासाहरू छन्। पत्रुसले परमेश्‍वरको काम उसका धारणा र रुचिहरूअनुरूप छैनन् भनी गुनासो गर्छ। यसले गर्दा उसको इज्जत र मर्यादा गुम्छ र उसले आफ्नो शिर ठाडो पार्न सक्दैन। यहाँ, उसमा मानव रोजाइहरू छन्, उसमा मानव गुनासो, अवज्ञा, प्रतिरोध र विद्रोह छन्। यी सबै कुराहरू भ्रष्ट स्वभाव हुन्। यस तरिकाले सोच्नु र काम गर्नु, अनि यस्तो मनोवृत्ति र स्थिति हुनु प्रष्ट रूपमै गलत कुरा हो। यदि मानिसहरूले यस्तै सोच्‍ने र व्यवहार गर्ने गर्छन् र परमेश्‍वरले तिनिहरूलाई गाली गर्नुहुन्न भने, के तिनीहरूले आफ्नो पर्दाफास भएपछि साँचो आस्था विकास गर्न सक्छन् र? के तिनीहरूले परमेश्‍वरमा साँचो भरोसा राख्न सक्छन् र? (सक्दैनन्।) गुनासो, विद्रोह, र प्रतिरोध गर्ने, अनि परमेश्‍वरले उनीहरूबारे पर्दाफास गर्नुभएको कुरा र उहाँले उनीहरूप्रति गर्नुभएको यस्तो व्यवहार इन्कार गर्नेहरूले कस्तो परिणाम प्राप्त गर्छन्? त्यस्ता मानिसहरूको जीवनमा यसले के ल्याउँछ? यसले निम्त्याउने पहिलो कुरा भनेको क्षति हो। “क्षति” को तात्पर्य के हो? परमेश्‍वरको नजरमा, तँलाई निराकरण गर्नु अत्यन्तै समस्याजनक कुरा हो। तँलाई जे भए पनि, तँसँग सधैँ रोजाइहरू हुन्छन् र तँसँग सधैँ तेरा आफ्नै रुचि, इच्छा, रायहरू, र तेरा आफ्नै कल्पना, धारणा, र निष्कर्षहरू हुन्छन्। अनि, तँ अझै पनि किन परमेश्‍वरमा विश्‍वास गर्छस्? तेरो लागि त परमेश्‍वर तेरो दृढ निश्‍चयता र तेरो आध्यात्मिक साथको वस्तु मात्र हो। तँलाई परमेश्‍वर, परमेश्‍वरका वचनहरू, परमेश्‍वरको सत्यता, वा परमेश्‍वरको जीवन भरणपोषण आवश्यक छैन, र अवश्य नै परमेश्‍वरले तँमाथि तँलाई धेरै दुख दिने कुनै पनि प्रकारको न्याय कार्य गर्नु तँलाई आवश्यक छैन। जवाफमा, परमेश्‍वर भन्नुहुन्छ, “यो सजिलो छ, मैले तँलाई त्यस्तो गर्नुपर्दैन। एउटा कुरा मात्र गर्नुपर्छ: तैँले मलाई छोडेर जानुपर्छ। तँसँग रोज्ने अधिकार छ, र मसँग पनि रोज्ने अधिकार छ। तैँले तँलाई मुक्ति दिने मेरो तरिका स्वीकार नगर्ने निर्णय गर्न सक्छस्, त्यसरी नै मैले पनि तँलाई मुक्ति नदिने निर्णय गर्न सक्छु।” के यसको अर्थ तेरो र परमेश्‍वरबीच कुनै सम्बन्ध छैन भन्ने हो? के यो परमेश्‍वरको स्वतन्त्रता हो? (हो।) केपरमेश्‍वरलाई यसो गर्ने अधिकार छ? (छ।) के मानिसहरूसँग परमेश्‍वको मुक्ति स्वीकार नगर्न रोज्‍ने अधिकार छ? (छ।) मानिसहरूलाई पनि यो अधिकार छ। तेरो निम्ति परमेश्‍वरले दिनुहुने मुक्ति तैँले त्याग्न वा अस्वीकार गर्न सक्छस्, तर अन्तमा, क्षति बेहोर्ने तैँ हुनेछस्। तँ परमेश्‍वरद्वारा सिद्ध नपारिइने मात्र होइन, परमेश्‍वरले तँलाई अस्वीकार र घृणासमेत गर्नुहुनेछ र तँलाई निष्कासित पनि गर्नुहुनेछ। अन्त्यमा, तँलाई दोब्बर सजाय दिइनेछ। तेरो परिणाम यही हुनेछ। त्यो तेरो लागि साँचिएको समस्या हो! त्यसकारण, मुक्ति पाउन चाहने मानिसहरूले परमेश्‍वरको कामप्रति समर्पित हुन रोज्‍नुपर्छ। यसरी मात्र तिनीहरूले परमेश्‍वरमा वास्तविक भरोसा विकसित गर्न र उहाँप्रति साँचो आस्था राख्न सक्छन्। यस्तो आस्था परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुने क्रममा बिस्तारै उत्पन्न हुन्छ।

मानिसहरूको भ्रष्ट स्वभाव तिनीहरूको बोली र व्यवहारपछाडिका अभिप्रायहरूमा, विभिन्‍न कुराहरूप्रतिको तिनीहरूको दृष्टिकोणमा, तिनीहरूको हरेक सोच र युक्तिहरूमा, र सत्यता, परमेश्‍वर, र परमेश्‍वरको कामसम्बन्धी तिनीहरूका विचार, बुझाइ, धारणा, दृष्टिकोण, इच्छा, र मागहरूमा लुकेको हुन्छ। यो मानिसहरूलाई थाहै नभई तिनीहरूका वचन र व्यवहारहरूबाट प्रकट हुन्छ। त्यसोभए, परमेश्‍वरले मानिसभित्र रहेका यी कुराहरूलाई कुन रूपमा हेर्नुहुन्छ? उहाँले तँलाई उदाङ्गो बनाउने विविध परिवेशहरू मिलाउनुहुन्छ। उहाँले तँलाई उदाङ्गो मात्र पार्नुहुन्न, उहाँले त तेरो न्याय पनि गर्नुहुन्छ। जब तँ आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्छस्, जब तँसँग परमेश्‍वरको अवज्ञा गर्ने विचार र धारणाहरू हुन्छन्, जब तँसँग परमेश्‍वरसित प्रतिस्पर्धा गर्ने अवस्था र दृष्टिकोणहरू हुन्छन्, जब तँसित यस्ता अवस्थाहरू हुन्छन् जसले गर्दा तँ परमेश्‍वरलाई गलत रूपमा बुझ्छस्, वा उहाँको प्रतिरोध र विरोध गर्छस्, तब परमेश्‍वरले तँलाई हप्काउनुहुनेछ, तेरो न्याय गर्नुहुनेछ र तँलाई सजाय दिनुहुनेछ, र कहिलेकाहीँ उहाँले तँलाई अनुशासनमा राख्नुहुनेछ र दण्ड दिनुहुनेछ। तँलाई अनुशासनमा राख्नु र हप्काउनुको उद्देश्य के हो त? (हामीलाई पश्‍चात्ताप गर्न र बदलिन लगाउनु हो।) हो, त्यो तँलाई पश्‍चात्ताप गर्न लगाउनलाई हो। तँलाई अनुशासनमा राख्दा र हप्काउँदा के प्राप्त हुन्छ भने, त्यसले तँलाई तेरो मार्ग परिवर्तन गर्न मदत दिन्छ। यो तँलाई तेरा सोचहरू मानिसका धारणाहरू हुन्, र ती गलत छन् भन्ने कुरा बुझाउनलाई हो; तेरा प्रेरणाहरू शैतानबाट जन्मेका हुन्, ती मानवीय इच्छाबाट उत्पन्न हुन्छन्, ती सत्यतासँग मिल्दैनन्, ती परमेश्‍वरसित मेल नखाने हुन्छन्, तिनले परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्दैनन्, ती परमेश्‍वरका निम्ति अप्रिय र घृणित हुन्छन्, तिनले उहाँको क्रोध जगाउँछन्, र उहाँको श्रापसमेत निम्त्याउँछन्। यो कुरा महसुस गरेपछि, तैँले तेरा उत्प्रेरणा र मनोवृति परिवर्तन गर्नुपर्छ। अनि ती कसरी परिवर्तन हुन्छन् त? सर्वप्रथम, परमेश्‍वरले तँसँग जस्तो व्यवहार गर्नुहुन्छ तँ त्यसमै समर्पित भएर बस्नुपर्छ, र उहाँले तेरो निम्ति तयार पार्नुभएका वातावरण र मानिस, वस्तु र परिस्थितिहरूमा समर्पित भएर बस्नुपर्छ। दोषहरू मात्रै खोजेर नबस्, वस्तुगत बहानाहरू मात्रै नबना, आफ्ना जिम्मेवारीहरूबाट नपन्छी। दोस्रो, परमेश्‍वरले उहाँको काम गर्नुहुँदा मानिसहरूले अभ्यास र प्रवेश गर्नुपर्ने सत्यता खोजी गर्। तैँले यी कुराहरू बुझ् भनी परमेश्‍वर भन्नुहुन्छ। परमेश्‍वरले तेरो निम्ति मिलाउनुहुने वातावरणहरूमा तँ समर्पित हुन सक् र अन्त्यमा, उहाँको इच्छाअनुसार र उहाँले तँलाई आवश्यक गर्नुभएअनुसार अभ्यास गर्न सक् भनेर तैँले तेरो भ्रष्ट स्वभावहरू र शैतानी सारलाई बुझ्न र उहाँको इच्छा पूरा गर्न सक् भन्ने उहाँ चाहनुहुन्छ। तब तैँले जाँच पास गरेको हुनेछस्। तैँले परमेश्‍वरको प्रतिरोध र विरोध गर्न छोडेपछि, त्यसउप्रान्त तैँले परमेश्‍वरसँग विवाद गर्नेछैनस् र तँ आज्ञापालन गर्न सक्षम हुनेछस्। जब परमेश्‍वरले “शैतान, मबाट पछि हट्,” भन्नुहुन्छ, तँ यस्तो जबाफ दिन्छस्, “यदि परमेश्‍वरले म शैतान हुँ भन्नुहुन्छ भने म शैतान नै हुँ। मैले के गल्ती गरेको छु, वा परमेश्‍वरले मलाई किन शैतान भन्नुहुन्छ सो म बुझ्न सक्दिनँ, तैपनि उहाँले मलाई उहाँको पछि हट्न आदेश दिनुहुन्छ भने म हिच्किचाउने छैनँ। मैले परमेश्‍वरको इच्छाको खोजी गर्नुपर्छ।” जब परमेश्‍वरले तेरो कार्यहरूको स्वभाव शैतानी छ भन्नुहुन्छ, तब तँ भन्छस्, “परमेश्‍वरले जे भन्नुहुन्छ त्यसलाई म मान्छु र त्यो सबैलाई स्वीकार गर्छु।” यो कस्तो मनोवृत्ति हो त? यो आज्ञापालन हो। परमेश्‍वरले तँ दियाबलस शैतान होस् भन्नुहुँदा तैँले त्यो अनिच्छापूर्वक स्वीकार गर्छस्, तर उहाँले तँ एक जनावर होस् भन्नुहुँदा तँ त्यसलाई स्वीकार गर्न सक्दैनस्, र आज्ञापालन गर्न सक्दैनस् भने के त्यो आज्ञापालन हो त? आज्ञापालन भनेको आदेश पूर्ण पालना र स्वीकार गर्नु हो, तर्क गर्नु वा सर्तहरू राख्नु होइन। यसको अर्थ कारण र प्रभावहरूको विश्‍लेषण नगर्नु हो, वस्तुगत कारण जेसुकै भए पनि, केवल तैँले आफूलाई स्वीकार गर्नुसँग सरोकार राख्नु हो। जब मानिसहरूले यस्तो प्रकारको आज्ञाकारिता हासिल गरेका हुन्छन्, तब तिनीहरू परमेश्‍वरमा साँचो आस्थाको नजिक हुन्छन्। परमेश्‍वरले जति धेरै कार्य गर्नुहुन्छ र तैँले जति बढी अनुभव गर्छस्, त्यत्ति नै सबथोकमाथिको परमेश्‍वरको सार्वभौमिकता तेरो लागि वास्तविक बन्छ, त्यति नै परमेश्‍वरवमाथिको तेरो भरोसा ठूलो हुनेछ र त्यति नै धेरै तैँले यस्तो महसुस गर्नेछस्, “परमेश्‍वरले जे गर्नुहुन्छ सबै असल हुन्छ, त्यसमा केही पनि खराब हुँदैन। मैले टिप्‍ने र चुन्ने गर्नुहुँदैन, तर आज्ञापालन गर्नुपर्छ। मेरो जिम्मेवारी, मेरो दायित्व, मेरो कर्तव्य—भनेको आज्ञापालन गर्नु हो। परमेश्‍वरको एक प्राणीको रूपमा मैले गर्नुपर्ने यही हो। यदि म परमेश्‍वरको आज्ञापालन पनि गर्न सक्दिनँ भने म के हुँ त? म एउटा जनावर हुँ, म त्यो दियाबलस हुँ।” के यसले तँसित अहिले साँचो आस्था भएको देखाउँदैन र? एकपटक तँ यस स्थितिमा पुगेपछि, तँ दागरहित हुनेछस्, र परमेश्‍वरका निम्ति तँलाई प्रयोग गर्न सजिलो हुनेछ, र तँलाई पनि परमेश्‍वरका बन्दोबस्तहरूप्रति समर्पित हुन सजिलो हुनेछ। तँसँग परमेश्‍वरको अनुमोदन भएपछि तैँले उहाँका आशिष्‌हरू प्राप्त गर्न सक्नेछस्। यसैले आज्ञाकारितापूर्वक सिक्नुपर्ने पाठहरू धेरै हुन्छन्।

पत्रुसमा परमेश्‍वरप्रति साँचो आज्ञापालन थियो। जब परमेश्‍वरले “शैतान, मबाट पछि हट्” भन्नुभयो, उसले शान्त बनेर आफूमाथि चिन्तन गर्‍यो। आजका मानिसहरूले यसो गर्न सक्दैनन्। यदि परमेश्‍वरले “शैतान, मबाट पछि हट्” भन्नुभयो भने, तिनीहरूले बरु यसो भन्नेछन्, “तपाईंले कसलाई शैतान भन्नुभएको? मलाई शैतान भनेर बोलाएको ठिक लाग्दैन। मलाई परमेश्‍वरद्वारा चुनिएको भन्नुहोस्—त्यो अलि राम्रो हुनेछ। म त्यो स्विकार्न र मान्न सक्छु। यदि तपाईंले मलाई शैतान भन्नुभयो भने, म त्यो मान्न सक्दिनँ।” यदि तैँले मान्न सक्दैनस् भने, के तँमा परमेश्‍वरमाथिको साँचो भरोसा छ र? के तँमा साँचो आज्ञापालन छ र? (छैन।) आज्ञापालन र साँचो भरोसाबीच के सम्बन्ध छ? तँसँग साँचो आस्था हुँदा मात्र तँमा साँचो आज्ञापालन हुन्छ। तैँले परमेश्‍वरको आज्ञा साँच्चै पालना गर्न सकिस् भने मात्र तँभित्र बिस्तारै साँचो भरोसा उत्पन्न हुन सक्छ। अनि, तैँले परमेश्‍वरको साँचो रूपमा आज्ञापालन गर्ने क्रममा साँचो भरोसा प्राप्त गर्छस्, तर यदि तँसित साँचो भरोसा छैन भने, के तैँले परमेश्‍वरको साँचो आज्ञापालन गर्न सक्छस् त? (सक्दिनँ।) यी कुराहरू एकअर्कासँग जोडिएका छन्, र यो नियम वा तर्कको मामला होइन। सत्यता दर्शन् होइन, र यो तार्किक कुरा पनि होइन। सत्यताहरू अन्तरसम्बन्धित हुन्छन् र तिनलाई एकअर्काबाट छुट्याउन मिल्दैन। यदि तैँले “परमेश्‍वरको आज्ञापालन गर्न, तँसित परमेश्‍वरमाथिको भरोसा हुनैपर्छ, र यदि तँसित परमेश्‍वरमाथिको भरोसा छ भने, तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ” भनेर भन्छस् भने, यो एउटा नियम, वाक्यांश, सिद्धान्त, र एउटा भव्य विचार हो! तर जीवनका मामलाहरू नियम होइनन्। तँ सर्वशक्तिमान् परमेश्‍वर मात्र तेरो मुक्तिदाता र एक्लो साँचो परमेश्‍वर हुनुहुन्छ भनेर मौखिक रूपमा स्वीकार गरिरहन्छस्, तर के तँसित परमेश्‍वरमाथिको साँचो भरोसा छ त? तैँले प्रतिकूलता सामना गर्नुपर्दा खरो उत्रिन तँ के कुरामा भरोसा राख्छस्? धेरै मानिसहरूले सर्वशक्तिमान् परमेश्‍वरलाई स्विकार्छन् किनकि उहाँले अत्यन्तै धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्नको निम्ति उहाँलाई स्विकार्छन्। तर गिरफ्तार र सङ्कष्टहरू सामना गर्नुपरेको बेलामा, कैयौँ मानिसहरू पछि हट्छन्, र कैयौँ आफ्नो घरमा लुकेर बस्छन् र आफ्ना कर्तव्यहरू निभाउने आँट गर्दैनन्। यो बोला, तैँले “म परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छु, म मान्छेको नियतिमाथि परमेश्‍वरको नियन्त्रण छ र मेरो नियति परमेश्‍वरको हातमा छ भनेर विश्‍वास गर्छु” भनेर बोलेको वचन नामनिसानै नरही पहिल्यै हराइसकेको हुन्छ। त्यो त तेरो बोल्ने कुरा मात्र थियो। तैँले यी वचनहरू अभ्यास र अनुभव गर्ने आँट नगर्ने हुनाले, र तँ यी वचनहरूद्वारा नजिउने भएकोले, के तँसित परमेश्‍वरमाथि साँचो भरोसा छ त? परमेश्‍वरमाथि आस्था राख्नुको सार परमेश्‍वरको नाममा विश्‍वास गर्नु मात्र होइन, यो त परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भन्ने तथ्यमा विश्‍वास गर्नु हो। यो तथ्यलाई तैँले आफ्नो जीवनमा परिणत गर्नुपर्छ, र तेरो जीवनको वास्तविक गवाहीमा परिणत गर्नुपर्छ। तँ यी वचनहरूद्वारा जिउनुपर्छ। मतलब, तैँले यी वचनहरूलाई तेरो व्यवहारको मार्गदर्शन बन्न दिनुपर्छ र परिस्थितिहरू आइपर्दा तेरा कार्यहरूको दिशा र लक्ष्यको मार्गदर्शन् बन्न दिनुपर्छ। तैँले किन यी वचनहरूद्वारा जिउनुपर्छ त? उदाहरणको लागि, मानौँ परमेश्‍वरमा विश्‍वास गर्न र तेरो कर्तव्य निभाउन तँ विदेश जान सक्षम छस्, र तँलाई लाग्छ कि यो निकै राम्रो कुरा हो। ठूलो रातो अजिङ्गरको नियम विदेशमा लागू हुँदैन, र त्यहाँ विश्‍वासमाथि दमन गरिँदैन; त्यहाँ परमेश्‍वरमा विश्‍वास गर्दा, तेरो जीवन खतरामा पर्दैन, त्यसैले तैँले जोखिमहरू मोल्नुपर्दैन। जबकि मुख्यभूमि चीनमा बस्ने परमेश्‍वरका विश्‍वासीहरू जुनसुकै समयमा गिरफ्तार हुने खतरामा हुन्छन्; तिनीहरू पिशाचको ओढारमा जिइरहेका छन्, जुन निकै खतरनाक छ! त्यसपछि एक दिन परमेश्‍वरले भन्नुहुन्छ, “तँ विदेशमा बसेर धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएको छस्, र केही जीवन अनुभव बटुलेको छस्। मुख्यभूमि चीनमा एउटा ठाउँ छ, त्यहाँका दाजुभाइ-दिदीबहिनीहरू जीवनको सन्दर्भमा अपरिपक्व छन्। तँ फर्केर तिनीहरूको गोठालो बन्नुपर्छ।” यो जिम्मेवारी आइपर्दा तैँले के गर्थिस्? (आज्ञापालन र स्वीकार गर्थेँ।) बाहिरी रूपमा त तैँले स्विकार्लास्, तर तेरो हृदयमा असहज अनुभूति हुनेछ। राती ओछ्यानमा तँ रुनेछस् र यसो भन्दै परमेश्‍वरलाई प्रार्थना गर्नेछस्, “परमेश्‍वर, तपाईंलाई मेरो कमजोरी थाहा छ। मेरो कद अत्यन्तै सानो छ। म मुख्यभूमिमा फर्किएँ भने पनि, मैले परमेश्‍वरका चुनिएका मानिसहरूको गोठालो गर्न सक्दिनँ! के तपाईंले अरू कसैलाई नै छानेर पठाउन सक्नुहुन्न र? यो आज्ञा मलाई नै आएको छ, र म जान पनि चाहन्छु, तर यदि म गएँ भने, मलाई डर छ, मैले त्यसलाई राम्ररी कार्यान्वयन गर्नेछैनँ, मैले सन्तोषजनक रूपले मेरो कर्तव्य निभाउन सक्नेछैनँ, र म तपाईंको इच्छा पूरा गर्न असमर्थ हुनेछु! के म अझै दुई वर्ष विदेशमै बस्न मिल्दैन र?” तैँले कस्तो विकल्प रोजिरहेको छस्? तैँले जान पूरै अस्वीकार पनि गरिरहेको छैनस्, तर जान पूरै स्वीकार पनि गरिरहेको छैनस्। यो मौन अस्वीकृति हो। के यो परमेश्‍वरको आज्ञापालन गर्नु हो र? यो त परमेश्‍वरविरुद्धको सबैभन्दा प्रस्ट विद्रोह हो। तैँले फर्किन नचाहनु अर्थ तँसित प्रतिरोधी संवेगहरू छन्। के परमेश्‍वरलाई यो कुरा थाहा हुन्छ? (उहाँलाई थाहा हुन्छ।) अनि, परमेश्‍वरले “नजा न त। म तँमाथि कठोर बनिरहेको छैनँ, म तेरो एउटा परीक्षा मात्र लिइरहेको छु” भनेर भन्नुहुनेछ। यसरी, उहाँले तेरो पर्दाफास गर्नुभएको छ। के तँ परमेश्‍वरलाई प्रेम गर्छस् र? के तँ परमेश्‍वरको आज्ञापालन गर्छस् र? के तँसित साँचो भरोसा छ र? (छैन।) के यो कमजोरी हो र? (होइन।) यो विद्रोह हो, यो परमेश्‍वरको विरोध गर्नु हो। यो परीक्षाले तँमा परमेश्‍वरमाथिको साँचो भरोसा छैन, तँमा साँचो आज्ञापालन छैन, र परमेश्‍वर सबै थोकमाथि सार्वभौम हुनुहुन्छ भनेर तैँले विश्‍वास गर्दैनस् भन्ने खुलासा गरेको छ। तैँले भन्छस्, “जबसम्म म डराएको हुन्छु, तबसम्म मैले जान नखोज्नु तर्कसङ्गत कुरा हुन्छ। जबसम्म मेरो जीवन खतरामा हुन्छ, तबसम्म मैले अस्वीकार गर्न मिल्छ। मैले यो आज्ञा स्विकार्नु जरुरी हुँदैन र मैले मेरो आफ्नै मार्ग रोज्न सक्छु। मैले गुनासो र दुखेसोले भरिन पाउँछु।” यो कस्तो प्रकारको भरोसा हो? यसमा कुनै साँचो भरोसा छैन। तैँले फलाक्ने नाराहरू जति ठूला भए पनि, के ती कुराले अब कुनै परिणाम दिनेछन् र? बिलकुलै दिनेछैनन्। के तेरा शपथहरूले कुनै परिणाम दिनेछन् र? यदि अरू मानिसहरूले सत्यता सङ्गति गर्छन् र तँलाई कुरा बूझाउन खोज्छन् भने, के त्यसले केही राम्रो गर्नेछ र? (गर्नेछैन।) तिनीहरूले कुरा बुझाएपछि, तँ मन नलागीनलागी मुख्यभूमिमा गइस् भने पनि, के यो साँचो आज्ञापालन हुनेछ र? परमेश्‍वर तैँले यसरी आज्ञापालन गरेको चाहनुहुन्न। यदि तँ अनिच्छासाथ गइस् भने, तँ व्यर्थै गएको हुनेछस्। परमेश्‍वरले तँमाथि काम गर्नुहुनेछैन, र तैँले त्यसबाट केही पनि प्राप्त गर्नेछैनस्। परमेश्‍वरले मानिसहरूलाई जबरजस्ती काम गर्न लगाउनुहुन्न। तँ आफै इच्छुक हुनुपर्छ। यदि तँ जान चाहँदैनस्, बरु तेस्रो मार्ग लिन चाहन्छस्, र सधैँ उम्कन, अस्वीकार गर्न र पन्छिन खोज्छस् भने, तैँले जानुपर्दैन। जब तेरो कद पार्याप्त रूपमा ठूलो हुन्छ र तँसित त्यस्तो भरोसा हुन्छ, तब तैँले स्वेच्छाले जाने अनुमति माग्नेछस्, र यसो भन्नेछस्, “अरू कोही नगए पनि म जानेछु। यसपालि मलाई साँच्चै डर छैन, र म जीवनको जोखिम मोल्नेछु! के यो जीवन परमेश्‍वरले नै दिनुभएको होइन र? शैतानको त्यस्तो डरलाग्दो कुरा के छ र? त्यो त परमेश्‍वरको हातको खेलौना हो, र म त्यसको डर मान्दिनँ! यदि मलाई गिरफ्तार गरिएन भने, त्यो परमेश्‍वरको अनुग्रह र कृपाको कारणले हुनेछ। यदि परिस्थितिहरू अर्कै भएर मैले गिरफ्तार हुनपर्‍यो भने पनि, त्यो परमेश्‍वरको अनुमतिले नै हुनेछ। म जेलमै मरे पनि, मैले परमेश्‍वरको गवाही दिनैपर्छ! मसँग यो सङ्कल्प हुनैपर्छ—म मेरो जीवन परमेश्‍वरलाई नै सुम्पनेछु। म आफूले जीवनमा बुझेका, अनुभव गरेका र जानेका कुराहरू त्यहाँ लैजानेछु, अनि बुझाइ र ज्ञान नभएका ती दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति गर्नेछु। यस तरिकामार्फत, तिनीहरूमा पनि ममा जस्तै भरोसा र सङ्कल्प आउन सक्छ, र तिनीहरूले परमेश्‍वरको अगाडि आएर उहाँको गवाही दिन सक्छन्। मैले परमेश्‍वरको इच्छाप्रति विचारशील भएर यो गह्रुङ्गो बोझ उठाउनैपर्छ। यो गह्रुङ्गो बोझ उठाउनको लागि मैले जोखिम मोल्नु र मेरो जीवन त्याग्नुपरे पनि, मलाई डर छैन। मैले आफ्नो बारेमा सोच्नै छोडिसकेँ; मसँग परमेश्‍वर हुनुहुन्छ, मेरो जीवन उहाँकै हातमा छ, र म उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति स्वेच्छाले समर्पित हुन्छु।” अनि तँ फर्केपछि, तैँले त्यो परिवेशमा कष्ट भोग्नुपर्नेछ। तँलाई चाँडै बुढ्यौली लाग्न सक्छ, तेरो कपाल फुल्न सक्छ र तेरो अनुहार चाउरिन सक्छ। तँ बिमारी वा गिरफ्तारी र उत्पीडनमा पर्न सक्छस्, वा तैँले आफूलाई मृत्युको मुखमा समेत पाउन सक्छस्। तैँले यी समस्याहरू कसरी सामना गर्नुपर्छ? यसमा फेरि पनि साँचो भरोसाकै कुरा आउँछ। कतिपय मानिसहरू दृढताको जोसमा फर्कन सक्छन्, तर फर्केपछि यी कठिनाइहरू सामना गर्दा तिनीहरूले के गर्नेछन्? तैँले पूर्ण समर्पित भएर परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्नुपर्छ। तँलाई अलिअलि देखिँदो बुढ्यौली लागे पनि, तँ थोरथोरै बिरामी भए पनि, यी मामूली कुराहरू हुन्। यदि तैँले परमेश्‍वरविरुद्ध पाप गरिस् र उहाँको आज्ञा अस्वीकार गरिस् भने, तैँले यस जीवनमा परमेश्‍वरद्वारा सिद्ध पारिने मौका गुमाउनेछस्। यदि तेरो जीवनमा तैँले परमेश्‍वरविरुद्ध पाप गरिस र उहाँको आज्ञा अस्वीकार गरिस् भने, त्यो कहिल्यै नमेटिने दाग हुनेछ! यो अवसर गुमाउनु भनेको तेरो जवानीको अनगिन्ती वर्षले पनि किन्न नसकिने कुरा हो। स्वस्थ र बलियो शरीर भएको के काम? राम्रो अनुहार र सुन्दर शरीर भएको के अर्थ? यदि तँ असी वर्षसम्म बाँचिस् र तेरो दिमाग अझै तेजिलो छ भने पनि, यदि तँ परमेश्‍वरको वचनको एउटा वाक्यको अर्थसमेत बुझ्न सक्दैनस् भने, के त्यो दयनीय हुनेछैन र? त्यो अत्यन्तै दयनीय हुनेछ! त्यसोभए मानिसहरू परमेश्‍वरसामु आउँदा तिनीहरूले प्राप्त गर्नैपर्ने सबैभन्दा महत्त्वपूर्ण र अमूल्य कुरा के हो? त्यो परमेश्‍वरमाथिको साँचो आस्था हो। तँलाई जेसुकै आइपरे पनि, यदि तैँले पहिला आज्ञापालन गरिस् भने, त्यो बेला परमेश्‍वरबारे तँसित केही ससाना गलत धारणाहरू भए पनि, वा परमेश्‍वरले किन त्यो तरिकाले काम गर्दै हुनुहुन्छ भनेर तैँले खासै नबुझे पनि, तँ निष्क्रिय र कमजोर हुनेछैनस्। पत्रुसले भनेजस्तै, “यदि परमेश्‍वरले मानिसहरूलाई खेलौनाजस्तै प्रयोग गरिरहनुभएको थियो भने पनि, मानिसहरूसँग के नै गुनासो छ र?” यदि तँसित यति भरोसासमेत छैन भने, के तँ अझै पत्रुसजतिकै आज्ञाकारी हुन सक्छ र? परमेश्‍वरले तँलाई जे गर्नुहुन्छ त्यो प्राय उचित र मनासिब, अनि तेरो कद, कल्पना र धारणाहरूबमोजिम हुनेछ। परमेश्‍वरले तेरो कदअनुसार काम गर्नुहुन्छ। यदि तैँले अझै पनि त्यो स्विकार्न सक्दैनस् भने, के तैँले पत्रुसको आज्ञापालन हासिल गर्न सक्छस् त? त्यो त झनै असम्भव हुनेछ। त्यसकारण, तैँले यो दिशा र लक्ष्यतर्फ पछ्याउनुपर्छ। त्यसपछि मात्र तैँले परमेश्‍वरमाथिको साँचो आस्था हासिल गर्न सक्छस्।

यदि मानिसहरूमा साँचो आस्था छैन भने, के तिनीहरुले परमेश्‍वरको आज्ञापालन गर्न सक्छन्? त्यो भन्न गाह्रो छ। परमेश्‍वरमा साँचो भरोसा राखेर मात्र तिनीहरूले उहाँको आज्ञापालन गर्न सक्छन्। कुरो ठ्याक्कै यही हो। यदि तैँले साँचो रूपमा परमेश्‍वरको आज्ञापालन गर्दैनस् भने, तँसँग परमेश्‍वरको ज्ञान, मार्गदर्शन, वा सिद्धता प्राप्त गर्ने थप कुनै अवसरहरू हुनेछैनन्। परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुने यी सबै अवसरहरू तैँले नकारेको छस्। तँ ती अवसरहरू चाहँदैनस्। तँ तिनलाई अस्वीकार गर्छस्, र पन्छाउँछस्, र तँ तीबाट निरन्तर तर्किरहन्छस्। तैँले सधैँ देहसुख भएको र कष्ट नभएको परिवेश छनौट गर्छस्। यो एउटा समस्या हो! तैँले परमेश्‍वरको काम अनुभव गर्न सक्दैनस्। तैँले परमेश्‍वरको मार्गदर्शन, उहाँको अगुवाइ र उहाँको सुरक्षा अनुभव गर्न सक्दैनस्। तैँले परमेश्‍वरका कार्यहरू देख्न सक्दैनस्। फलस्वरुप, तैँले सत्यता प्राप्त गर्नेछैनस् र वास्तविक भरोसा पनि प्राप्त गर्नेछैनस्—तैँले केही पनि प्राप्त गर्नेछैनस्! यदि तैँले सत्यता प्राप्त गर्न सक्दैनस् र परमेश्‍वरको वचनलाई प्राप्त गरेर त्यसलाई तेरो जीवन बनाउन सक्दैनस् भने, के परमेश्‍वरले तँलाई प्राप्त गर्नुहुनेछ र? निश्‍चय नै गर्नुहुनेछैन। परमेश्‍वरबाट अन्तर्दृष्टि, मार्गदर्शन, र सिद्धता प्राप्त गरेर, तैँले कुन मुख्य कुरा हािल गर्न चाहन्छस्? यसबाट, तैँले सत्यता र परमेश्‍वरको वचन प्राप्त गर्छस्। अर्थात, परमेश्‍वरको वचन नै तेरो वास्तविकता, तेरो जीवनको स्रोत, र तेरा कार्यहरूको सिद्धान्त, आधार, र मापदण्ड बन्छ। जब यस्तो अवस्था हुन्छ, तैँले के-कस्तो कुरामा जिउँछस्? के अझै पनि भ्रष्ट स्वभावमै जिउँछस्? (होइन।) के परमेश्‍वरले तँलाई “शैतान, मबाट पछि हट्” भनेर भन्नुहुनेछ? (भन्नुहुनेछैन।) परमेश्‍वरले के भन्नुहुनेछ त? परमेश्‍वरले अय्यूबलाई दिनुभएको परिभाषा के थियो? (ऊ परमेश्‍वरको डर मान्छ र दुष्टताबाट अलग बस्छ, ऊ सिद्ध व्यक्ति हो।) यी वचनहरूलाई यहाँ उद्धृत गर्नु उचित हुन्छ। यदि तिमीहरू परमेश्‍वरले अय्यूबलाई दिनुभएको यो पदवी र परिभाषा हासिल गर्न चाहन्छौ भने, के त्यो सजिलो छ र? (छैन।) त्यो सजिलो छैन। तैँले सबै कुराहरूमा परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्नुपर्छ, हरठाउँमा परमेश्‍वरको इच्छा खोज्नुपर्छ, र परमेश्‍वरको इच्छाअनुसार कार्य गर्नुपर्छ, र परमेश्‍वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूप्रति समर्पित हुनुपर्छ। यदि तँ परमेश्‍वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूप्रति समर्पित हुनेछु भनेर मात्र भन्छस्, तर त्यसपछि निश्‍चित परिस्थिति, मानिस, घट्ना र वस्तुहरू किन तँलाई आइपर्छन् भनी विश्‍लेषण गर्न खोज्छस्, गुनासो र गलत बुझाइहरू राख्छस्, र परमेश्‍वरको इच्छाको गलत व्याख्या गर्छस् भने, त्यो परमेश्‍वरको लागि निकै पीडाजनक हुनेछ! यदि तँ परमेश्‍वरलाई चाहँदैनस् भने, परमेश्‍वरले पनि तँलाई चाहनुहुनेछैन। तिमीहरूको एक-अर्कासँग केही सम्बन्ध हुनेछैन। यदि त्यसरी नै चलिरहने हो भने, के त्यो समस्या हुँदैन र? तँ परमेश्‍वरको प्राणी नभएकोले, परमेश्‍वर तेरो सार्वभौम र तेरो परमेश्‍वर हुनुहुन्न। अन्त्यमा, परमेश्‍वरले तँलाई कसरी परिभाषित गर्नुहुनेछ? “दुष्ट काम गर्ने तिमीहरू मबाट दूर होओ!” के तिमीहरू आफ्नो बारे यी वचनहरू भनिएको चाहन्छौ? (चाहँदैनौँ।) यदि तिमीहरूबारे यसो भनियो भने, त्यसको अर्थ के हुन्छ? (त्यसको अर्थ हामीलाई परमेश्‍वरद्वारा निन्दा, निष्कासन र दण्डित गरिएको छ भन्ने हुन्छ।) त्यो बिलकुलै राम्रो होइन! परमेश्‍वरद्वारा तँलाई निन्दा र निष्कासन गरिसकिएपछि, त्यो कुनै अगुवा वा अख्तियार भएको व्यक्तिद्वारा निन्दा गरिएजस्तो हुँदैन—त्यो त परमेश्‍वरद्वारा गरिएको निन्दा हो! परमेश्‍वरले तँलाई जीवन प्रदान गर्नुहुन्छ र तेरो जीवन भरणपोषण गर्नुहुन्छ। अब परमेश्‍वरले तँलाई चाहनुहुन्न, के तँ अझै जिउन सक्छस् र? (सक्दिनँ।) यसको अर्थ के हो? यसले तेरो अन्तिम परिणाम सङ्केत गर्छ, जुन राम्रो कुरा होइन। यो राम्रो सङ्केत बिलकुलै होइन। यदि मैले कुनै व्यक्तिले परमेश्‍वरको डर मान्छ र दुष्टताबाट अलग बस्छ अनि ऊ सिद्ध व्यक्ति हो भनेर भनेँ भने, यो राम्रो सङ्केत हो, र त्यस्तो व्यक्तिलाई निश्‍चय नै परमेश्‍वरको आशिष्‌ प्राप्त हुन्छ। परमेश्‍वरले जुन वचनहरूद्वारा अय्यूबको मूल्याङ्कन् गर्नुभयो, तैँले तिनलाई कसरी बुझ्नुपर्छ? अय्यूबले के खान्थ्यो, के लाउँथ्यो, ऊ कसरी हिँड्थ्यो, र उसको चित्तप्रकृति कस्तो थियो भन्नेबारे यदि तैँले सोच्छस् र ती कुराहरू नक्कल गर्न खोज्छस् भने, तैँले यी सब कुरालाई गलत तरिकाले लिइरहेको छस्। तैँले चाँचाँडो मनन र खोजी गर्नुपर्छ, र यस्तो सोच्नुपर्छ, “अय्यूबले कसरी त्यसो गरे? परमेश्‍वरको सराहना प्राप्त गर्ने गरी उसले कसरी जियो? परमेश्‍वरले भन्नुभयो कि ऊ परमेश्‍वरको डर मान्थ्यो र दुष्टताबाट अलग बस्थ्यो, अनि ऊ सिद्ध व्यक्ति थियो। यो सानोतिनो कुरो होइन। यो परमेश्‍वर आफैले भन्नुभएको कुरा हो। मैले अय्यूबको उदाहरण पछ्याउनुपर्छ, परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने मार्ग खोज्नुपर्छ, र परमेश्‍वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने व्यक्ति बन्ने प्रयत्न पनि गर्नुपर्छ। यसो गरियो भने परमेश्‍वरले मलाई सराहना गर्नुहुनेछ र यो नामले पनि बोलाउनुहुनेछ। म परमेश्‍वरको नजरमा सिद्ध व्यक्ति हुन चाहन्छु।” यो सोच परमेश्‍वरको इच्छाअनुरूप छ।

डिसेम्‍बर ३०, २०१६

अघिल्लो: आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ

अर्को: छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्