छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो
परमेश्वरमाथिको मान्छेको विश्वासको उद्देश्य के हो? (मुक्ति पाउनु।) मुक्ति परमेश्वरमाथिको विश्वासमा अनवरत उल्लेख भइरहने विषय हो। अनि, मुक्ति कसरी प्राप्त गर्न सकिन्छ? (सत्यता पछ्याएर अनि सधैँ परमेश्वरको अघि जिएर।) त्यो एक प्रकारको अभ्यास हो। सधैँ परमेश्वरको अघि जिएर के प्राप्त हुन्छ? यसको उद्देश्य के हो? (परमेश्वरसँग सामान्य सम्बन्ध निर्माण गर्नु।) (परमेश्वरको डर मान्नु र दुष्टताबाट अलग बस्नु, र सत्यता बुझेर परमेश्वरबारे साँचो ज्ञान हासिल गर्नु।) अरू के छ? (सत्यता खोजी गर्नु, र सत्यतालाई आफ्नो जीवन बनाउनु।) यी कुराहरू प्रायजसो प्रवचनको बेला भन्ने गरिन्छ, ती आत्मिक वाक्यांशहरू हुन्। अरू के छ? (आफ्नो बारेमा मनन गरेर आफूलाई चिन्न अनि यस प्रक्रियामा हाम्रो भ्रष्ट स्वभाव समाधान गर्न, साथै परमेश्वरबारे साँचो ज्ञान प्राप्त गर्न, र अन्त्यमा सत्यता र मानवता भएको व्यक्ति बन्नको लागि परमेश्वरको काटछाँट, साथै उहाँको न्याय र सजाय, र उहाँको परीक्षा र शोधन अनुभव गर्नु।) तिमीहरूले विगत धेरै वर्षको अवधिमा प्रवचनहरूबाट धेरै कुरा बुझेका छौ जस्तो देखिन्छ। त्यसो भए, के तिमीहरू आफ्नो अनुभवमा निश्चित वास्तविक समस्या र कठिनाइहरू समाधान गर्नको लागि आफूले बुझेका यी कुराहरू प्रयोग गर्न सक्छौ? जस्तै, गलत सोच र विचारहरू, र बेलाबेलामा आउने नकारात्मकता र कमजोरी, साथै धारणा र कल्पनाहरूसँग सम्बन्धित निश्चित समस्याहरू: के यी कुराहरूलाई चाँडै समाधान गर्न सकिन्छ? कतिपय मानिसहरूले केही सानातिना समस्याहरू समाधान गर्न सक्छन् होला, तर तिनीहरूलाई ठूला र जरैबाट आएका प्रमुख समस्याहरू समाधान गर्न अझै पनि गाह्रो हुन सक्छ। आज तिमीहरूमा रहेको सत्यतासम्बन्धी बुझाइको स्तरअनुसार, यदि तिमीहरूले पनि अय्यूबको जस्तै परीक्षा सामना गर्यौ भने, के तिमीहरू दह्रिलो गरी खडा हुन सक्छौ? (हामी दह्रिलो गरी खडा हुने सङ्कल्प गर्छौं, तर हाम्रो जीवनमा साँच्चै कुनै परिस्थिति आइपर्यो भने हाम्रो वास्तविक कद कस्तो हुने हो हामीलाई थाहा छैन।) तर तिमीहरूलाई केही नहुँदा पनि, तिमीहरूलाई आफ्नो वास्तविक कद थाहा हुनु पर्दैन र? यो थाहा नहुनु खतराको कुरा हो! बारम्बार दोहोर्याइने यी आत्मिक भनाइ र चल्तीका उक्तिहरूको व्यावहारिक पक्ष के हो, के तिमीहरूलाई थाहा छ? के तिमीहरूले यी हरेक उक्तिहरूको साँचो तात्पर्य बुझेका छौ? ती उक्तिमा रहेको सत्यता के हो, के त्यो बुझेका छौ? यदि तँलाई यो कुरा थाहा छ, र तैँले यी कुराहरू अनुभव गरेको छस् भने, यसबाट तैँले सत्यता बुझेको छस् भन्ने प्रमाणित हुन्छ। यदि तैँले केही आत्मिक भनाइ र उक्तिहरू मात्रै दोहोर्याउन सक्छस्, तर तैँले कुनै वास्तविक परिस्थिति अनुभव गर्दा ती भनाइ र उक्तिको कुनै काम हुँदैन, र ती कुराहरूले तेरा समस्याहरू समाधान गर्न सक्दैनन् भने, यसले प्रमाणित गर्छ कि यतिका वर्षसम्म परमेश्वरमा विश्वास गरेर पनि, तैँले अझै सत्यता बुझेकै रहेनछस्, र तैँले कुनै वास्तविक अनुभवहरू हासिल गरेकै रहेनछस्। मैले यसो भन्नुको अर्थ के हो? परमेश्वरमाथिको विश्वासमा यति टाढासम्म आइसकेपछि पनि, मानिसहरूले धर्मका मानिसहरू वा गैरविश्वासीहरूले भन्दा अलिकति बढी मात्रै सत्यता बुझेका हुन्छन्, तिनीहरूले परमेश्वरको कामका केही दर्शनहरू बुझेका हुन्छन्, तिनीहरू केही नियमका कुराहरू पालना गर्न सक्षम भएका हुन्छन्, र यो पनि भन्न सकिन्छ कि तिनीहरूले परमेश्वरको सार्वभौमिकताबारे केही बुझाइ, केही समझ, र केही साँचो बोध पाएका हुन्छन्—तर के यी कुराहरूले तिनीहरूको जीवन स्वभावमा परिवर्तन ल्याएका छन् त? तिमीहरू हरेकले समग्रमा दर्शनहरूसँग सम्बन्धित प्रायजसो सुन्ने गरिएका सत्यताहरूबारे थोरै बताउन सक्छौ: परमेश्वरको कामका दर्शनहरू, परमेश्वरको कामको उद्देश्य, र मानवजातिको लागि परमेश्वरका अभिप्राय; अनि तिमीहरूले बताउने ज्ञान धर्मका मानिसहरूको भन्दा निकै उच्च हुन्छ—तर के यो सबले तिमीहरूको स्वभावमा परिवर्तन ल्याउन सक्छ? के यसले तिमीहरूको स्वभावमा आंशिक परिवर्तनसमेत ल्याउन सक्छ? के तिमीहरूले यसको मापन गर्न सक्छौ? यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो।
पृथ्वीमा हुनुभएका परमेश्वरलाई ठीकसित कसरी चिन्ने, उहाँसँग कसरी अन्तरक्रिया गर्ने, र उहाँसँग सामान्य सम्बन्ध कसरी स्थापित गर्ने भन्ने बारेमा केही समय पहिले सङ्गति गरिएको थियो। के यी सबैभन्दा व्यावहारिक प्रश्नहरू होइनन् र? यी सबै अभ्यासको पक्षसँग सम्बन्धित सत्यताहरू हुन्, र यी विषयमा सङ्गति गर्नुको उद्देश्य मानिसहरूलाई परमेश्वरमा कसरी विश्वास गर्ने, दैनिक जीवनमा परमेश्वरसँग कसरी अन्तरक्रिया गर्ने र कसरी उहाँसँग सामान्य सम्बन्ध निर्माण गर्ने भनेर सिकाउनु हो। अभ्याससँग सम्बन्धित सत्यताहरू, तिमीहरूले सुनेका, बुझेका, र अभ्यास गर्न सक्ने सबै सत्यताहरूका हकमा भन्दा, के यी सत्यताहरूले तिमीहरूको स्वभाव परिवर्तन गर्न सक्छन्? यदि मानिसहरूले यसरी सत्यता अभ्यास गरे, र यो हासिल गर्न साँच्चै लागिपरे भने, के तिनीहरूले सत्यता अभ्यास गरिरहेका हुन्छन् भनेर भन्न सकिन्छ? अनि, यदि तिनीहरूले यी सत्यताहरूलाई आफ्नो वास्तविकता बनाए भने, के तिनीहरूले स्वभाव परिवर्तन हासिल गर्न सक्छन् भनेर भन्न सकिन्छ? (सकिन्छ।) धेरै मानिसहरूलाई स्वभाव परिवर्तन भनेको के हो त्यो थाहा हुँदैन। तिनीहरू धेरै आत्मिक धर्मसिद्धान्तहरू कण्ठ गर्न, र धेरै सत्यताहरू बझ्न सक्नु नै स्वभाव परिवर्तन हो भन्ने सोच्छन्। यो गलत हो। सत्यता बुझेको क्षणदेखि सत्यता अभ्यास गरेको क्षणसम्म, र त्यसपछि स्वभाव परिवर्तन भएको क्षणसम्मको जीवन अनुभव एउटा लामो प्रक्रिया हो। तिमीहरूले स्वभाव परिवर्तनलाई कसरी बुझ्छौ? यस बिन्दुसम्म तिमीहरूले अनुभव गरेका सबै कुराहरूमा, के तिमीहरूको जीवन स्वभावमा कुनै परिवर्तन आएको छ? तिमीहरूले यी कुराहरू देख्न सक्दैनौ होला, र यो सबै समस्या हो। “स्वभाव परिवर्तन” को “परिवर्तन” भन्ने शब्द बुझ्न त्यति गाह्रो छैन, तर यो “स्वभाव” भनेको चाहिँ के हो त? (मानव अस्तित्वको नियम, शैतानको विष।) अरू के छ? (मानिसमा प्राकृतिक रूपमा हुने कुरा, जीवनको सारमा रहेको कुरा।) तिमीहरूले यी आत्मिक शब्दहरू अघि सारिरहन्छौ, तर यी त सबै धर्मसिद्धान्त र रूपरेखा मात्रै हुन्, र यिनमा कुनै विस्तृत व्याख्या छैनन्। यो सत्यताको सार बुझ्नु होइन। हामी प्रायजसो स्वभाव परिवर्तनबारे कुरा गरिरहन्छौँ, र मानिसहरूले परमेश्वरमा विश्वास गर्न थालेको समयदेखि नै यस्ता विषयहरूबारे छलफल गर्छन्, चाहे तिनीहरूले भेलामा सहभागिता जनाइरहेका होऊन् वा प्रवचन सुनिरहेका होऊन्; यी कुराहरू मानिसहरूले परमेश्वरमा विश्वास गरेपछि बुझ्न प्रयास गर्नुपर्ने कुराहरू हुन्। तर स्वभावमा आउने परिवर्तनहरू के हुन्, तिनीहरूको आफ्नै स्वभावमा परिवर्तन आएको छ कि छैन, र परिवर्तन हासिल गर्न सम्भव छ कि छैन भन्ने विषयमा भन्नुपर्दा—धेरै मानिसहरूलाई यी कुराहरूबारे केही थाहा हुँदैन, यसबारेमा तिनीहरूले कहिल्यै विचार गरेका हुँदैनन्, न त तिनीहरूलाई यसबारेमा विचार गर्न कहाँबाट सुरु गर्ने भन्ने नै थाहा हुन्छ। स्वभाव भनेको के हो त? यो एउटा मुख्य विषय हो। यो कुरा बुझेपछि, तैँले तेरो स्वभावमा परिवर्तन आएको छ कि छैन, यो कति हदसम्म परिवर्तन भएको छ, कति वटा परिवर्तन आएको छ, र तैँले केही निश्चित परिस्थितिहरू सामना गरेपछि तेरो स्वभावमा परिवर्तन आएको छ कि छैन भन्नेजस्ता प्रश्नहरू केही हदसम्म बुझ्नेछस्। स्वभाव परिवर्तनबारे छलफल गर्नको लागि, तँलाई सुरुमा स्वभाव भनेको के हो त्यो थाहा हुनुपर्छ। “स्वभाव” भन्ने शब्द सबैलाई थाहा छ, र सबै जना यो शब्दप्रति परिचित छन्। तर स्वभाव के हो तिनीहरूलाई थाहा छैन। वास्तवमा स्वभाव भनेको के हो भनेर एक-दुई वटा शब्दद्वारा मात्रै स्पष्टसित व्याख्या गर्न सकिँदैन, र यसलाई नामपद भनेर पनि व्याख्या गर्न सकिँदैन, किनभने यो अत्यन्तै अमूर्त र सहजै बुझ्न नसकिने छ। म तिमीहरूलाई एउटा उदाहरण दिन्छु जसले तिमीहरूलाई यो कुरा बुझाउनेछ। भेडा र ब्वाँसो दुवै पशु हुन्। भेडाले घाँस खान्छ, र ब्वाँसोले मासु खान्छ। यो कुरा तिनीहरूको प्रकृतिले निर्धारित गर्छ। यदि एक दिन भेडाले मासु खान थाल्यो र ब्वाँसोले घाँस खान थाल्यो भने, के तिनीहरूको प्रकृति परिवर्तन भएको हुन्छ? (हुँदैन।) यदि भेडाले घाँस खाएन भने, त्यो धेरै भोकाउनेछ। यसलाई केही मासु देओ, र यसले त्यो खानेछ, तर भेडा तँप्रति नम्र नै रहनेछ। यो स्वभाव हो, यो भेडाको प्रकृति सार हो। कुन हिसाबमा भेडाको नम्रता आफै प्रकट हुन्छ? (यसले मानिसहरूलाई आक्रमण गर्दैन।) ठीक भन्यौ—यो नम्र स्वभाव हो। भेडामा देखिने स्वभाव लचक र आज्ञाकारी किसिमको हुन्छ। यो आक्रमक हुँदैन, बरु नम्र र दयालु हुन्छ। तर ब्वाँसो फरक हुन्छ। यसको स्वभाव आक्रमक हुन्छ र यसले हरकिसिमका साना पशुहरू खान्छ। भोकाएको ब्वाँसोसित जम्काभेट भयो भने त्यो निकै खतरनाक हुन्छ, र तैँले त्यसलाई रिस उठाइनस् भने पनि त्यसले तँलाई खाने प्रयास गर्नेछ। ब्वाँसोको स्वभाव नम्र वा दयालु हुँदैन, बरु निर्दयी र हिंस्रक हुन्छ, र त्यसमा अलिकति पनि सहानुभूति वा दया हुँदैन। ब्वाँसोको स्वभाव त्यस्तो हुन्छ। ब्वाँसो र भेडाको स्वभावले तिनीहरूको आ-आफ्नो प्रकृति सारको प्रतिनिधित्व गर्छ। मैले किन यसो भनेँ? किनभने प्रसङ्ग जेसुकै भए पनि, तिनीहरूमा प्रकट हुने कुराहरूले तिनीहरूको वास्तविकता देखाउँछ र त्यसको लागि मानव योगदान वा उक्साहट चाहिँदैन; ती प्राकृतिक रूपमै प्रकट हुन्छन्, र थप मानव योगदानको आवश्यकता नै हुँदैन। ब्वाँसाहरूको उग्रता र क्रूरता मान्छेद्वारा जबरजस्ती पैदा गरिँदैन, न त भेडाको दयालुपन र नम्रता तिनीहरूमा मान्छेले घुसाएको नै हुन्छ; तिनीहरू यी कुराहरू लिएरै जन्मेका हुन्छन्, प्राकृतिक रूपमै तिनीहरूमा यी कुराहरू प्रकट हुन्छन्, र ती तिनीहरूको सार हो। स्वभाव भनेकै यही हो। के यो उदाहरणले तिमीहरूलाई स्वभाव के हो भन्नेबारे केही बुझाइ प्रदान गर्यो? (गर्यो।) यो अवधारणागत विषय होइन र हामीले कुनै नामपदको व्याख्या गरिरहेका छैनौं। यसमा सत्यता छ। अनि, यहाँ कुन सत्यता छ? मानव स्वभाव मानव प्रकृतिसँग सम्बन्धित हुन्छ। मानव स्वभाव र मानव प्रकृति दुवै शैतानका कुरा हुन्, यी परमेश्वरप्रति विरोधी र शत्रुवत् हुन्छन्। यदि मानिसहरूले परमेश्वरको मुक्ति प्राप्त गरेनन् र तिनीहरू परिवर्तन भएनन् भने, तिनीहरूले जिउने र प्राकृतिक रूपमा प्रकट गर्ने कुरा दुष्ट, नकारात्मक, र सत्यता विपरीत मात्रै हुन्छ—यसमा कुनै शङ्का छैन।
हामीले भर्खरै भेडा र ब्वाँसोको स्वभावको बारेमा कुरा गर्यौँ। यी दुई पूर्ण रूपमा फरक पशुहरू हुन्: तिनीहरूको आ-आफ्नै स्वभाव र तिनीहरूमा प्रकट हुने आ-आफ्नै कुराहरू हुन्छन्। तर मानव स्वभावसँग यसको के सम्बन्ध छ? यो उदाहरणद्वारा मानव स्वभाव ठ्याक्कै के हो भनेर फेरि हेर्दा, के-कस्ता भ्रष्ट स्वभावहरू देखिन्छन्? (हामीले मानिसहरूसँग अन्तरक्रिया गरेर तिनीहरूसँग कस्तो स्वभाव छ भनेर सामान्यतया जान्न सक्छौं। उदाहरणको लागि, कसैसँग कुरा गर्दा, हामीलाई तिनीहरूले घुमाउरो पारामा बोल्ने गरेको र सधैँ दुईअर्थी कुरा गर्ने गरेको जसले गर्दा तिनीहरूले के भनेको हो त्यो अरूले बुझ्न नसकेको महसुस हुन्छ, र यसको अर्थ तिनीहरूमा छली स्वभाव छ भन्ने हुन्छ। तिनीहरूले सामान्यतया के भन्छन् र के गर्छन् त्यसबाट, र तिनीहरूका कार्यहरू र व्यवहारबाट हामीले तिनीहरूबारे मोटामोटी कुरा बुझ्छौं।) तिमीहरूले मानिसहरूसँग अन्तरक्रिया गरेर स्वभावका केही निश्चित समस्याहरू देख्न सक्छौ। यो उदाहरण सुनेपछि तिमीहरूले स्वभाव के हो भन्ने बारेमा मोटामोटी बुझाइ प्राप्त गरेछौ जस्तो लाग्यो। अनि, सबै मानिसहरूमा कुन भ्रष्ट स्वभाव हुन्छ? मानिसहरूलाई कुन स्वभावबारे पत्तै हुँदैन, र कुन स्वभाव महसुसै हुँदैन, तैपनि ती अवश्य नै भ्रष्ट स्वभाव हुन्? उदाहरणको लागि, मानौँ कतिपय मानिसहरू अत्यन्तै भावुक हुन्छन्, र परमेश्वरले भन्नुहुन्छ, “तँ साह्रै भावुक छस्। तँलाई मनपर्ने व्यक्ति वा तेरो परिवारको व्यक्तिको कुरा आउँदा, जोकसैले तिनीहरूको परिस्थितिबारे बुझ्न प्रयास गरे पनि वा अवस्था जे-जस्तो भए पनि, तैँले तिनीहरूबारे केही कुरा बताउँदैनस्, र तिनीहरूलाई ढाकछोप गरिरहन्छस्। यो भावुकता हो।” तिनीहरूले यो कुरा सुन्छन्, र बुझ्छन्, स्विकार्छन्, र यसलाई साँचो हो भनेर मान्छन्। तिनीहरूले परमेश्वरका वचनहरू सही छन्, ती सत्यता हुन् भनेर स्विकार्छन्, र यो कुरा परमेश्वरले खुलासा गरिदिनुभएकोमा तिनीहरूले उहाँलाई धन्यवाद दिन्छन्। के यसबाट तिनीहरूको स्वभाव देख्न सकिन्छ? के यसबाट तिनीहरू सत्यता स्विकार्छन्, तथ्यहरू मान्छन्, विरोध गर्दैनन्, र समर्पित हुन्छन् भन्ने कुरा स्पष्ट हुन्छ? (हुँदैन। यो कुरा तिनीहरूले समस्याहरू सामना गर्दा कसरी व्यवहार गर्छन्, र तिनीहरूको बोलीवचन र व्यवहार उस्तै हुन्छ कि हुँदैन त्यसमा निर्भर हुन्छ।) तिमीहरूले करिबकरिब ठीकै भन्यौ। त्यो बेला त तिनीहरूले स्विकार्छन्—तर पछि जब तिनीहरूको जीवनमा त्यस्तो कुरा आइपर्छ, तब तिनीहरूको व्यवहारमा कुनै परिवर्तन हुँदैन। यसले एक प्रकारको स्वभाव प्रतिनिधित्व गर्छ। कस्तो स्वभाव? तिनीहरूले त्यो बेला सुनिरहेका हुन्छन्, त्यसपछि तिनीहरूले यसबारेमा सोचेर मनमनै भन्छन्, “यति धेरै प्रवचन सुनेर पनि म भावुक छु भन्ने मलाई कसरी थाहा हुन सकेन? म भावुक छु, तर को भावुक हुँदैन र? यदि मैले मेरो परिवार र मेरो नजिकका मानिसहरूको ढाकछोप गरिनँ भने, कसले गर्छ त? सक्षम मान्छेलाई त अरू तीन जनाको साथ चाहिन्छ।” तिनीहरूले वास्तवमा यस्तै सोच्छन्। जब व्यवहारमा लागू गर्ने समय आउँछ, तिनीहरूले आफ्नो हृदयमा सोच्ने र योजना बनाउने कुरा, र परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति सबै तिनीहरूको स्वभावले निर्धारित गर्छ। अनि, तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? “परमेश्वरले जे चाहनुहुन्छ त्यही भन्न र त्यसैको खुलासा गर्न सक्नुहुन्छ, र म उहाँको अघि हुँदा जुन कुरा स्विकार्नुपर्ने हो त्यो स्विकार्छु, तर मैले मन बनाइसकेको छु, र मसँग भावनाहरू पन्छाउने कुनै अभिप्राय छैन।” के तिनीहरूको स्वभाव यही हो? तिनीहरूको स्वभाव आफै प्रकट भएको छ र तिनीहरूको साँचो रूप खुलासा भएको छ, होइन र? के तिनीहरू सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन् त? (होइनन्।) त्यसो भए यो के हो त? यो अवज्ञा हो। परमेश्वरको अघि, तिनीहरू आमेन भन्छन् र स्विकारेको नाटक गर्छन्। तर तिनीहरूको हृदय स्पर्शित हुँदैन। तिनीहरू परमेश्वरका वचनहरूलाई गम्भीर रूपमा लिँदैनन्, तिनलाई सत्यता मान्दैनन्, तिनलाई सत्यताको रूपमा अभ्यास गर्नु त परको कुरा हो। यो एक प्रकारको स्वभाव हो, होइन र? अनि के यस्तो स्वभाव कुनै निश्चित प्रकारको प्रकृतिको प्रकटीकरण होइन र? (हो।) त्यसो भए यस्तो स्वभावको सार के हो? के यो हठीपन हो? (हो।) हठीपन: यो एक प्रकारको मानव स्वभाव हो, र यो सबै मानिसहरूमा हुन्छ। म किन यो एउटा स्वभाव हो भनेर भन्दै छु? यो मानिसहरूको प्रकृति सारबाट पैदा हुने कुरा हो। तैँले यसबारेमा विचार गरिरहनु पर्दैन, अरूले तँलाई सिकाउनु वा तँभित्र विचारहरू भर्नु पर्दैन, न त शैतानले तँलाई बहकाइरहनु नै पर्छ; यो प्राकृतिक रूपमै तँमा प्रकट हुन्छ, र यो तेरो प्रकृतिबाट आउँछ। कतिपय मानिसहरू आफूले जति नै खराब काम गरे पनि सधैँ शैतानलाई दोष दिन्छन्। तिनीहरू सधैँ यसो भन्छन्, “शैतानले मेरो मस्तिष्कमा यो विचार हालिदियो र शैतानले मलाई यसो गर्न लगायो।” तिनीहरू सबै खराब कुरा शैतानको काँधमा हाल्छन्, तर आफ्नै प्रकृतिमा रहेका समस्याहरू कहिल्यै स्विकार्दैनन्। के यो सही हो? के तँलाई शैतानले गहन रूपमा भ्रष्ट तुल्याएको छैन र? यदि तैँले यो कुरा स्विकार्दैनस् भने, कसरी शैतानको स्वभाव तँमा प्रकट भइरहेको हुन्छ त? अवश्य नै, कहिलेकहीँ शैतानले बाधा दिइरहेको हुन्छ, जस्तै मानिसहरूलाई कुनै दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीले बहकाउँछ र उक्साउँछ, वा दुष्टात्माले काम गरेर तिनीहरूको दिमाग भुटिदिन्छ—तर यी त अपवादहरू मात्रै हुन्; धेरैजसो समय मानिसहरू आफ्नै शैतानी प्रकृतिद्वारा निर्देशित हुन्छन् र हरकिसिमका भ्रष्ट स्वभावहरू प्रकट गर्छन्। जब मानिसहरूले आफ्नै रुचि र झुकावअनुसार व्यवहार गर्छन्, जब तिनीहरूले आफ्नै माध्यम र आफ्नै धारणा र कल्पनाहरू अनुसार काम गर्छन्, तब तिनीहरू आफ्नै भ्रष्ट स्वभावद्वारा जिइरहेका हुन्छन्, र जब तिनीहरू यी कुराहरू अनुसार जिउँछन्, तब तिनीहरू आफ्नै प्रकृतिअनुसार जिइरहेका हुन्छन्। यी अकाट्य तथ्यहरू हुन्। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिअनुसार चल्छन्, जब तिनीहरू आफ्नो शैतानी प्रकृति अनुसार जिउँछन्, तब तिनीहरूमा प्रकट हुने सबै कुरा तिनीहरूको आफ्नै भ्रष्ट स्वभाव हुन्छ; यसको दोष शैतानलाई दिन मिल्दैन, र यी विचारहरू शैतानले ल्याएको हो भनेर भन्न मिल्दैन। मानिसहरू गहन रूपमा भ्रष्ट भएका हुनाले, तिनीहरू शैतानको स्वामित्वमा हुन्छन्, र मानिसहरू शैतानभन्दा फरक नभएका हुनाले, र तिनीहरू जिउँदा पिशाचहरू, जिउँदा शैतानहरू भएकाले, तैँले आफूमा प्रकट हुने सबै शैतानी कुराको दोष शैतानको काँधमा हाल्न मिल्दैन। तँ शैतानभन्दा असल छैनस्, र त्यो तेरो भ्रष्ट स्वभाव हो।
मानिसहरूमा हठी स्वभाव हुँदा तिनीहरूभित्र कस्तो स्थिति हुन्छ? मुख्य रूपमा तिनीहरू जिद्दी र आत्मधर्मी हुन्छन्। तिनीहरू सधैँ आफ्नै विचारहरूमा लागिरहन्छन्, सधैँ आफूले भनेकै कुरा सही हो भन्ने सोच्छन्, तिनीहरू अत्यन्तै अलचक, र मेरो गोरुको बाह्रै टक्का भन्ने खालका हुन्छन्। यो हठी मनोवृत्ति हो। तिनीहरू आफ्नै कुरामा जिद्दी गर्छन्, कसैको कुरा सुन्दैनन्, एउटै कार्यदिशामा एकोहोरो लागिरहन्छन्, त्यही कुरामा लागिरहने जिद्दी गर्छन् चाहे त्यो सही होस् वा गलत होस्; यसमा पश्चात्ताप नगर्ने केही मानसिकता हुन्छ। भनाइ नै छ, “मरेको सुँगुरलाई उम्लिरहेको पानीको के डर।” मानिसहरूलाई के गर्नु सही हो भनेर राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरूले त्यो काम गर्दैनन्, बरु जिद्दी भई सत्यता इन्कार गरिरहन्छन्। यो एक प्रकारको स्वभाव हो: त्यो हठीपन हो। तिमीहरूले कस्तो परिस्थितिमा हठी स्वभाव प्रकट गर्छौ? के तिमीहरू प्रायजसो हठी भइरहन्छौ? (हो।) एकदमै धेरै! अनि हठीपन तेरो स्वभाव भएकोले, यो तेरो अस्तित्वको हरेक दिन र हरेक क्षण तँसँगै रहन्छ। हठीपनले मानिसहरूलाई परमेश्वरको अघि आउनबाट रोक्छ, र यसले तिनीहरूलाई सत्यता स्विकार्नबाट र सत्यता वास्तविकतामा प्रवेश गर्नबाट रोक्छ। अनि, यदि तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनस् भने, के तेरो स्वभावको यो पक्षमा परिवर्तन आउन सक्छ त? यो निकै गाह्रो हुनेछ। के तिमीहरूको स्वभावको यो पक्षमा अर्थात् हठीपनमा अहिले कुनै परिवर्तन आएको छ? अनि कति परिवर्तन आएको छ? उदाहरणको लागि, मानौँ तँ अत्यन्तै जिद्दी हुने गर्थिस्, तर तँमा अहिले अलिअलि परिवर्तन आएको छ: जब तैँले कुनै समस्या सामना गर्छस्, तब तेरो हृदयमा केही विवेकको बोध हुन्छ, र तैँले मनमनै भन्छस्, “यस विषयमा मैले केही सत्यता अभ्यास गर्नुपर्छ। परमेश्वरले यो हठी स्वभावको खुलासा गर्नुभएको हुनाले—मैले यो सुनिसकेकोले र मलाई यसबारे अब थाहा भइसकेको हुनाले—म परिवर्तन हुनैपर्छ। विगतमा केही पटक यस्ता परिस्थितिहरू सामना गर्दा, म आफ्नो देहअनुसार चलेँ र असफल भएँ, र म यस कुराप्रति खुसी छैनँ। यो चोटि मैले सत्यता अभ्यास गर्नैपर्छ।” यस्तो आकाङ्क्षा लिएर, सत्यता अभ्यास गर्नु सम्भव हुन्छ, र यो परिवर्तन हो। जब तैँले यसरी केही समयसम्म अनुभव गर्छस्, र अझै बढी सत्यता अभ्यास गर्न सक्षम बन्छस्, अनि यसले अझै ठूलो परिवर्तन ल्याउँछ, र तेरो विद्रोही र हठी स्वभाव झन्झन् कम प्रकट हुँदै जान्छन्, तब के तेरो जीवन स्वभावमा परिवर्तन आएको हुँदैन र? यदि तेरो विद्रोही स्वभाव स्पष्ट रूपमै घट्दै गएको छ, र परमेश्वरप्रतिको तेरो समर्पणता पहिलेभन्दा बढ्दै गएको छ भने, तँमा साँचो परिवर्तन आएको छ। त्यसो भए, साँचो समर्पणता हासिल गर्नको लागि तँ कुन हदसम्म परिवर्तन हुनुपर्छ? यदि तँमा अलिअलि पनि हठीपन छैन, केवल समर्पणता मात्रै छ भने, तँ सफल भएको हुनेछस्। यो बिस्तारै हुने प्रक्रिया हो। स्वभाव परिवर्तन रातारात हुने कुरा होइन, त्यसको लागि धेरै समयको अनुभव चाहिन्छ, र सायद जीवनभरिको समयसमेत लाग्न सक्छ। कहिलेकहीँ धेरै ठूलाठूला कठिनाइहरू, मरेर फेरि जिउँदो हुनु सरहका कठिनाइहरू, हड्डी खुर्केर शरीरको विष फल्नुभन्दा पनि पीडादायी र गाह्रो कठिनाइहरू भोग्नु अत्यावश्यक हुन्छ। अनि, के तिमीहरूको हठी स्वभावमा कुनै परिवर्तन आएको छ? के तिमीहरूले यसको मापन गर्न सक्छौ? (पहिले, मलाई निश्चित कुराहरू निश्चित तरिकाले गर्नुपर्छ भन्ने लाग्थ्यो। मानिसहरूले फरक दृष्टिकोण प्रदान गर्दा, म सुन्दिनथेँ, र वास्तविक वाधा-व्यवधानहरू सामना गर्नुपरेपछि मात्रै म परिवर्तन भएँ। अहिले म अलिक सुध्रिएको छु। मानिसहरूले फरक-फरक दृष्टिकोणहरू प्रस्तुत गर्दा म त्यतिकै टारिदिन्छु, तर पछि गएर तिनीहरूले भनेका कतिपय कुराहरू म स्विकार्न सक्छु।) मनोवृत्तिमा हुने बदलाव अर्को परिवर्तन हो; यसको अर्थ अलिअलि परिवर्तन आएको छ भन्ने हुन्छ। यो पहिलेजस्तो हुँदैन, पहिले तिमीहरू अर्को व्यक्तिको कुरा सही छ भन्ने थाहा पाउँथ्यौँ, तर यसलाई इन्कार गर्थ्यौ र स्विकार्न मान्दैनथियौ, बरु अझै आफ्नै इच्छाहरूमा लागिरहन्थ्यौ; तर अहिले त्यस्तो अवस्था छैन। तिमीहरूको मनोवृत्ति सुल्टिएको छ। तिमीहरू यति बदलिँदा कति परिवर्तन भएका छौ? दश प्रतिशत पनि भएका हुँदैनन्। दश प्रतिशत परिवर्तन हुनु भनेको कम्तीमा पनि अर्को व्यक्तिले आफ्नो फरक दृष्टिकोण राख्दा, तँलाई कुनै विरोध वा प्रतिरोध महसुस हुँदैन; तँमा सामान्य मनोवृत्ति हुन्छ। तँलाई हृदयमा यो कुरा अझै सहज नलागे पनि, तँमा हठी मनोवृत्ति हुँदैन, तैँले यसबारेमा त्यस व्यक्तिसँग छलफल गर्न सक्छस्, अभ्यास गर्दा तँमा केही समर्पण हुन्छ, र तँ आफ्नै विचारहरू अनुसार मात्रै काम गर्दैनस्। पछि गएर कति यस्ता समयहरू आउँछन्, जुन बेला तँ आफ्नै विचारमा अडिग रहन्छस्, र कति अरू बेला तैँले अरूले भनेको कुरा स्विकार्न सक्छस्। स्वभाव परिवर्तनमा यसरी अगाडि बढ्ने र पछाडि फर्कने कुरा भइरहन्छ। तैँले थोरै परिवर्तन हासिल गर्नको लागि अनगिन्ती बाधाहरू र सफल हुनको लागि अनगिन्ती असफलताहरू अनुभव गर्नुपर्छ, त्यसकारण धेरै वर्षको परीक्षा र शोधन अनुभव नगरी तेरो स्वभाव परिवर्तन हुन सहज हुँदैन। कहिलेकहीँ, मानिसहरू असल मनस्थितिमा हुँदा, अरूले भनेका सही कुराहरू स्विकार्न सक्छन्, तर आफू निराश हुँदा, तिनीहरूले सत्यता खोजी गर्दैनन्। के यसले ढिलाइ गराउँदैन र? कहिलेकहीँ, आफ्नो साझेदार सहकर्मीसँग कुरा नमिलिरहेको बेला, तँ सत्यता सिद्धान्तहरू खोजी गर्दैनस्, बरु शैतानका दर्शनहरू अनुसार जिउँछस्। कहिलेकहीँ जब तँ अरूसँग सहकार्य गरिरहेको हुन्छस् र तिनीहरूको क्षमता तेरोभन्दा राम्रो र तिनीहरू तँभन्दा उत्तम हुन्छन्, तब तँलाई तिनीहरूद्वारा कुण्ठित हुनु परेको अनुभव हुन्छ, र समस्या सामना गर्दा तँसँग सिद्धान्तहरू पालना गर्ने साहस हुँदैन। कहिलेकहीँ तँ तेरो साझेदार सहकर्मीभन्दा उत्तम हुन्छस्, र तिनीहरूले मूर्ख काम गर्छन्, अनि तँ तिनीहरूलाई हेला गर्छस् र तिनीहरूसित सत्यता सङ्गति गर्न अनिच्छुक हुन्छस्। कहिलेकहीँ तँ सत्यता अभ्यास गर्न चाहन्छस् तर देहका भावनाहरूद्वारा बाँधिएको हुन्छस्। कहिलेकहीँ तँ देहसुखको लोभ गर्छस्, र तैँले चाहेर पनि देह विरुद्ध विद्रोह गर्न सक्दैनस्। कहिलेकहीँ तँ प्रवचन सुन्छस् र सत्यता बुझ्छस्, तैपनि सत्यता अभ्यास गर्न सक्दैनस्। के यी समस्याहरू समाधान गर्न सहज हुन्छन्? तेरो आफ्नै प्रयासले त ती समाधान गर्न सहज हुँदैनन्। परमेश्वरले मानिसहरूलाई केवल परीक्षा र शोधनमा पार्नुहुन्छ र तिनीहरूलाई धेरै कष्ट भोग्न र अन्तिममा सत्यताविना आफू खोक्रो भएको महसुस गर्न लगाउनुहुन्छ, र सत्यताविना जिउन सक्दिनँ भन्ने अनुभव गराउनुहुन्छ। यसले मानिसहरूलाई शोधन गरेर विश्वास वृद्धि गराउँछ र तिनीहरूलाई सत्यताको लागि लागिपर्नुपर्छ, तिनीहरूले सत्यता अभ्यास नगरेसम्म तिनीहरूको हृदय शान्त हुनेछैन, र तिनीहरूले परमेश्वरप्रति समर्पित हुन नसके ठूलो कष्ट भोग्नेछन् भन्ने अनुभव गराउँछ। परीक्षा र शोधनले हासिल गर्ने प्रभाव त्यस्तो हुन्छ। स्वभाव परिवर्तन गर्न त्यति गाह्रो हुन्छ। त्यो सजिलो छैन भनेर म किन तिमीहरूलाई भन्दै छु? के तिमीहरू नकारात्मक हुन्छौ भन्ने मलाई डर नलागेर हो? यो त तिमीहरूलाई स्वभाव परिवर्तन गर्नु कति महत्त्वपूर्ण छ भनेर बताउनको लागि हो। म के चाहन्छु भने, तिमीहरू सबैले यसमा ध्यान देओ, ती अवास्तविक, ढोँगी, र झूटो आत्मिक छविहरूको पछि लाग्न छोड, सधैँ ती मनगढन्ते आत्मिक धर्मसिद्धान्त, अभ्यास, र प्रावधानहरू पछ्याउन छोड; त्यसो गर्दा तिमीहरूलाई हानि हुन्छ र पटक्कै फाइदा हुँदैन।
हामीले स्वभावको एउटा पक्ष अर्थात् हठीपनको बारेमा कुरा गर्यौँ। हठीपन प्रायजसो मानिसहरूको हृदयको गहिराइमा लुकेर बस्ने मनोवृत्ति हो। सामान्यतया, यो बाहिरबाट हेर्दा स्पष्ट लाग्दैन, तर जब यो देखिन्छ, यसलाई पहिचान गर्न सजिलो हुन्छ, र मानिसहरूले यसो भन्नेछन्, “तिनीहरू अटेरी छन्! तिनीहरूले सत्यता पटक्कै स्विकार्दैनन्—तिनीहरू अत्यन्तै हठी छन्!” हठी स्वभाव भएका मानिसहरू एउटै विचार-पद्धतिमा एकोहोरो लागिरहन्छन्, र एउटै कुरा पक्रिरहन्छन्, कहिल्यै छोड्दैनन्। के त्यसोभए मानिसहरूको स्वभावको एउटै पक्ष यही मात्रै हो त? अवश्य होइन—अरू धेरै पक्षहरू छन्। अब म कस्तो स्वभावबारे बताउन गइरहेको छु तिमीहरूले भन्न सक्छौ कि हेर। कतिपय मानिसहरू यसो भन्छन्, “परमेश्वरको घरमा, म परमेश्वरबाहेक अरू कसैमा समर्पित हुँदिनँ, किनभने परमेश्वरसँग मात्रै सत्यता हुन्छ; मानिसहरूसँग सत्यता हुँदैन, तिनीहरूसँग भ्रष्ट स्वभाव हुन्छ, तिनीहरूले बोल्ने कुनै कुरामा भर पर्न सकिँदैन, त्यसकारण म परमेश्वरमा मात्रै समर्पित हुन्छ।” के तिनीहरूले यसो भन्नु सही हुन्छ? (हुँदैन।) किन हुँदैन? यो कस्तो प्रकारको स्वभाव हो? (यो अहङ्कारी र घमण्डी स्वभाव हो।) (यो शैतान र प्रधान स्वर्गदूतको स्वभाव हो।) यो अहङ्कारी स्वभाव हो। सधैँ यो शैतान र प्रधान स्वर्गदूतको स्वभाव हो भनेर नभन, किनभने यसरी बोल्दा त्यो निकै बृहत् र अस्पष्ट हुन्छ। शैतान र प्रधान स्वर्गदूतका भ्रष्ट स्वभावहरू अनगिन्ती छन्। एकै पटक प्रधान स्वर्गदूत, पिशाचहरू, र शैतानको कुरा गर्दा त्यो अत्यन्तै समग्र हुन्छ र मानिसहरूलाई त्यो बुझ्न सहज हुँदैन। यो अहङ्कारी स्वभाव हो भनेर भन्दा यो निकै विशिष्टतामा हुन्छ। अवश्य नै, तिनीहरूले प्रकट गर्ने स्वभाव यो मात्रै हुँदैन, तर यति मात्र हो कि, अहङ्कारी स्वभाव आफै एकदमै स्पष्ट रूपमा प्रकट हुन्छ। यो अहङ्कारी स्वभाव हो भनेर भन्दा, मानिसहरूले सहजै बुझ्न सक्छन्, त्यसकारण यसरी बोल्नु नै सबैभन्दा उपयुक्त हुन्छ। कतिपय मानिसहरूमा केही सीप, केही वरदान, केही सानातिना क्षमताहरू हुन्छन्, र तिनीहरूले मण्डलीको लागि केही कार्यहरू गरेका हुन्छन्। यी मानिसहरूले यस्तो सोच्छन्: “परमेश्वरमाथिको तपाईंहरूको विश्वासमा कुनै आत्मिक व्यक्तिले जस्तो परमेश्वरको वचन दिनभरि पढ्ने, सार्ने, लेख्ने, कण्ठ गर्ने कार्य समावेश हुन्छ। यसको अर्थ के हो? के तपाईंहरू कुनै वास्तविक काम गर्न सक्नुहुन्छ? तपाईंहरूले केही पनि गर्नुहुन्न भने कसरी आफूलाई आत्मिक व्यक्ति भनी भन्न सक्नुहुन्छ? तपाईंहरूसँग जीवन छैन। मसँग जीवन छ र मैले गर्ने सबै कुरा वास्तविक हुन्छन्।” यो कस्तो स्वभाव हो? तिनीहरूसँग केही विशेष सीप, केही वरदान हुन्छ र तिनीहरूले केही सानातिना असल काम गर्न सक्छन्, र यी कुराहरूलाई तिनीहरू जीवनको रूपमा लिन्छन्। फलस्वरूप, तिनीहरू कसैले टेर्दैनन्, जोकोहीलाई भाषण दिन पनि डराउँदैनन्, र अरू सबैलाई हेला गर्छन्—के यो अहङ्कार हो? (हो।) यो अहङ्कार हो। धेरैजसो कस्ता परिस्थितिहरूमा मानिसहरूले अहङ्कार प्रकट गर्छन्? (जब तिनीहरूसँग केही वरदान वा विशेष सीप हुन्छ, जब तिनीहरूले केही व्यावहारिक कामहरू गर्न सक्छन्, जब तिनीहरूसँग पूँजी हुन्छ।) त्यो एक प्रकारको परिस्थिति हो। के त्यसोभए वरदान नभएका वा कुनै विशेष सीप नभएका मानिसहरू अहङ्कारी हुँदैनन्? (तिनीहरू पनि अहङ्कारी हुन्छन्।) हामीले भर्खरै उल्लेख गरेको व्यक्तिले प्रायजसो भन्छ, “म परमेश्वरबाहेक अरू कसैमा समर्पित हुँदिनँ,” अनि यो सुनेर मानिसहरूले मनमनै भन्छन्, “यो व्यक्ति सत्यताप्रति कति समर्पित रहेछ, ऊ सत्यता बाहेक अरू कसैमा समर्पित हुँदैन, उसले भनेको कुरा सही हो!” वास्तवमा, यी सही देखिने शब्दहरू पछाडि एउटा अहङ्कारी स्वभाव हुन्छ: “म परमेश्वरबाहेक अरू कसैमा समर्पित हुँदिनँ” भन्ने वाक्यांशले तिनीहरू कसैमा समर्पित हुँदैनन् भन्ने स्पष्ट अर्थ दिन्छ। म तिमीहरूलाई सोध्छु, के त्यस्ता शब्दहरू बोल्ने मानिसहरू साँच्चै परमेश्वरप्रति समर्पित हुन सक्छन्? तिनीहरू कहिल्यै परमेश्वरप्रति समर्पित हुन सक्दैनन्। त्यस्ता शब्दहरू बोल्ने मानिसहरू सबैभन्दा अहङ्कारी हुने सम्भावना धेरै हुन्छ। बाहिरबाट हेर्दा, तिनीहरूले भनेको कुरा सही देखिन्छ—तर वास्तवमा, अहङ्कारी स्वभाव प्रकट हुने सबैभन्दा धूर्त तरिका नै यही हो। तिनीहरूले आफू उचित छु भनेर प्रमाणित गर्न “परमेश्वरको मात्रै” भन्ने वाक्यांश प्रयोग गर्छन्, तर वास्तवमा, यो त सुन गाडेर “यहाँ सुन गाडिएको छैन” भनेर लेखेर टाँस्नुजस्तै हो। के यो मूर्खता होइन र? तिमीहरूलाई के लाग्छ, कस्तो व्यक्ति सबैभन्दा अहङ्कारी हुन्छ? मानिसहरूले के-कस्ता कुराहरू बोल्छन् जसले तिनीहरूलाई सबैभन्दा अहङ्कारी तुल्याउँछ? सायद तिमीहरूले पहिले पनि केही अहङ्कारी कुराहरू सुनेका छौ होला। यीमध्ये सबैभन्दा अहङ्कारी कुरा कुन हो? के तिमीहरूलाई थाहा छ? के कसैले “म कसैमा पनि समर्पित हुँदिनँ—चाहे त्यो स्वर्ग वा पृथ्वी नै किन नहोस्, चाहे त्यो परमेश्वरको वचन नै किन नहोस्” भनेर भन्ने आँट गर्छ? ठूलो रातो अजिङ्गरले मात्र यसो भन्ने आँट गर्छ। परमेश्वरमा विश्वास गर्ने कसैले पनि यसो भन्दैन। तैपनि, परमेश्वरमा विश्वास गर्ने मानिसहरूले, “म परमेश्वरबाहेक अरू कसैमा समर्पित हुँदिनँ” भनेर भन्छन् भने, तिनीहरू ठूलो रातो अजिङ्गरभन्दा फरक हुँदैनन्, तिनीहरू संसारकै नम्बर एक हुन्छन्, र तिनीहरू सबैभन्दा अहङ्कारी हुन्छन्। तिमीहरू के भन्छौ, सबै मानिसहरू अहङ्कारी त हुन्छन्, तर के तिनीहरूको अहङ्कारमा कुनै भिन्नता हुन्छ? तिमीहरू कहाँ भिन्नता देख्छौ? भ्रष्ट मानिसहरू सबैमा अहङ्कारी स्वभाव हुन्छ, तर तिनीहरूको अहङ्कारमा भिन्नता हुन्छ। व्यक्तिको अहङ्कार निश्चित हदसम्म पुगेको बेला उसले सबै समझ गुमाएको हुन्छ। अनि, उसले बोल्ने कुरामा समझ छ कि छैन भन्ने कुरामै यो भिन्नता हुन्छ। कतिपय मानिसहरू अहङ्कारी हुन्छन् तैपनि तिनीहरूमा थोरथोरै समझ हुन्छ। यदि तिनीहरूले सत्यता स्विकार्न सक्छन् भने, तिनीहरूले अझै पनि मुक्ति पाउने आशा हुन्छ। कतिपय मानिसहरू यति अहङ्कारी हुन्छन् कि तिनीहरूमा कुनै समझ नै हुँदैन—तिनीहरूको अहङ्कारको कुनै सीमा हुँदैन—अनि त्यस्ता मानिसहरूले कहिल्यै पनि सत्यता स्विकार्न सक्दैनन्। यदि मानिसहरू अत्यन्तै अहङ्कारी भएको कारण तिनीहरूमा कुनै समझ नै छैन भने, तिनीहरू लाज-सरम सबै गुमाएर मूर्खे अहङ्कारी मात्रै हुन्छन्। यी सबै अहङ्कारी स्वभावका प्रस्फुटन र प्रकटीकरणहरू हुन्। यदि तिनीहरूमा अहङ्कारी स्वभाव छैन भने, कसरी “म परमेश्वरबाहेक अरू कसैमा समर्पित हुँदिनँ” भनी भन्न सक्छन्? तिनीहरूले अवश्यै त्यसो भन्दैनथे। यदि कसैमा अहङ्कारी स्वभाव छ भने, उसमा अवश्यै अहङ्कारको प्रकटीकरण हुन्छ, र उसले अवश्यै समझहीन कुराहरू बोल्नेछ र गर्नेछ। कतिपय मानिसहरू भन्छन्, “ममा अहङ्कारी स्वभाव छैन, तर त्यस्ता कुराहरू ममा प्रकट हुन्छन्।” के त्यस्ता शब्दहरू पत्याउन सकिन्छ? (सकिँदैन।) अरू भन्छन्, “म आफूलाई रोक्नै सक्दिनँ। म होसियार हुन छोड्नेबित्तिकै, ममा अहङ्कारी कुरा प्रकट भइहाल्छ।” के यी शब्दहरू पत्याउन सकिन्छ? (सकिँदैन।) किन सकिँदैन? यी शब्दहरूको मूल कारण के हो? (आफूलाई नचिन्नु।) होइन—तिनीहरूलाई आफू अहङ्कारी छु भन्ने थाहा हुन्छ, तर अरूले “किन तिमी यति अहङ्कारी भएको? तिमीलाई केको अहङ्कार छ?” भनेर निन्दा गरेको सुन्दा, तिनीहरूलाई लाज लाग्छ, त्यसैले तिनीहरू यस्तो कुरा बोल्छन्। तिनीहरूको अहम्ले त्यो सहन सक्दैन, र तिनीहरू त्यो ढाकछोप गर्ने, असली रूप लुकाउने, देखावटी रूप देखाउने, र अप्ठ्यारोबाट बच्ने बहाना बनाउन खोजिरहेका हुन्छन्। त्यसैले तिनीहरूका शब्दहरू पत्यारिला हुँदैनन्। जब तेरो अहङ्कारी स्वभाव समाधान हुन बाँकी हुन्छ, तैँले नबोल्दा पनि तँ अहङ्कारी नै हुन्छस्। अहङ्कार मानिसहरूको प्रकृतिमा, तिनीहरूको हृदयमा लुकेको हुन्छ, र कुनै पनि बेला त्यो प्रकाश हुन सक्छ। त्यसकारण, जबसम्म स्वभावमा कुनै परिवर्तन आएको हुँदैन, तबसम्म मानिसहरू अहङ्कारी र आत्मधर्मी नै रहन्छन्। म एउटा उदाहरण दिन्छु। भर्खरै निर्वाचित अगुवा एउटा मण्डलीमा आइपुग्छ र उसले त्यहाँका मानिसहरूको अनुहारको भाव र उसलाई हेर्ने शैली उत्साहप्रद छैन भन्ने पत्ता लगाउँछ। उसले मनमनै सोच्छ, “के म स्वागतयोग्य छैन? म भर्खरै चुनिएको अगुवा हुँ; तिमीहरूले कसरी मलाई त्यस्तो मनोवृत्तिले व्यवहार गर्न सक्छौ? किन तिमीहरूमा मेरो छाप परेन? मलाई दाजुभाइ-दिदीबहिनीहरूले छनौट गरेका हुन्, त्यसैले मेरो आत्मिक कद तिमीहरूको भन्दा राम्रो छ, होइन र?” अनि परिणामस्वरूप, उसले भन्छ, “म नवनिर्वाचित अगुवा हुँ। कतिपय मानिसहरूले मलाई नस्विकार्न सक्छन्, तर केही फरक पर्दैन। प्रतिस्पर्धा गरेर हेरौँ न, कसले परमेश्वरको वचनका धेरै खण्डहरू कण्ठ गरेको रहेछ, कसले दर्शनहरूका सत्यताहरू सङ्गति गर्न सक्दो रहेछ। मैलेभन्दा स्पष्ट रूपमा सत्यता सङ्गति गर्न सक्ने जोकोहीलाई म अगुवाको पद दिनेछु। के छ तपाईंहरू विचार?” यो कस्तो चाल हो? जब मानिसहरू ऊप्रति उदासीन हुन्छन्, तब उसलाई असन्तुष्टि हुन्छ र उसले तिनीहरूलाई दुःख दिन र बदला लिन चाहन्छ; अब ऊ अगुवा भएकोले, ऊ मानिसहरूलाई अधीनमा राख्न चाहन्छ—ऊ सबैभन्दा माथि हुन चाहन्छ। यो कस्तो स्वभाव हो? (अहङ्कार।) अनि के अहङ्कारी स्वभाव समाधान गर्न सजिलो हुन्छ? (हुँदैन।) मानिसहरूको अहङ्कारी स्वभाव बारम्बार आफै प्रकट हुन्छ। कतिपय मानिसहरूलाई अरूले नयाँ अन्तर्दृष्टि र बुझाइबारे सङ्गति गर्दा झिजो लाग्छ: “किन मैले यसबारे केही भन्न सकिनँ? यसरी हुन्न, मैले सोचेर अझै राम्रो कुरा गर्नुपर्छ।” त्यसकारण तिनीहरूले अरूलाई जित्न धर्मसिद्धान्तका धेरै कुराहरू फलाक्छन्। यो कस्तो स्वभाव हो? यो नाम र फाइदाको खातिर होड गर्नु हो; यो पनि अहङ्कार नै हो। स्वभावको हकमा भन्दा, तँ चुपचाप केही नबोली वा केही नगरी बसिरहेको हुन सक्छस्, तर त्यो स्वभाव तेरो हृदयमा अझै पनि हुन्छ, र यो अझै पनि तेरो विचार र हाउभाउमा प्रकट हुन सक्छ। मानिसहरूले यसलाई दबाउने वा नियन्त्रण गर्ने उपाय खोज्ने प्रयास गरे पनि, र यसलाई प्रकट हुन नदिन सधैँ होसियार भए पनि, के त्यो काम लाग्छ? (लाग्दैन।) कतिपय मानिसहरूले अहङ्कारी कुरा बोलेपछि तुरुन्तै महसुस गर्छन्: “मैले फेरि मेरो अहङ्कारी स्वभाव प्रकट गरेँ—कस्तो लाजमर्दो कुरा! मैले फेरि कहिल्यै यस्तो अहङ्कारी कुरा गर्नु हुँदैन।” तर मुखबाट यस्तो कुरा निकाल्दिनँ भनेर कसम खानुको कुनै काम छैन, किनभने यो त तेरो स्वभावको कुरा हो, तेरो वशको कुरा होइन। त्यसैले, यदि तँ आफ्नो अहङ्कारी स्वभाव आफै प्रकट नहोस् भन्ने चाहन्छस् भने, तैँले त्यो स्वभाव नै हल गर्नुपर्छ। यो केही शब्दहरू सुधार्ने वा आफूले काम गर्ने तरिका सही पार्ने कुरा होइन, झन् यो कुनै प्रावधान पालना गर्ने कुरा हुनु त परै जाओस्। यो आफ्नो स्वभावको समस्या समाधान गर्ने कुरा हो। अब मैले स्वभाव खासमा के हो भन्ने विषयमा बताइसकेको छु, त्यसैले के तैँले आफ्नो बारेमा अझै गहन र स्पष्ट बुझाइ प्राप्त गरेको छैनस् र? (छु।) आफूलाई चिन्नु भनेको आफ्नो बाहिरी चरित्र, चित्तप्रकृति, खराब व्यवहार, र आफूले विगतमा गरेका अहङ्कारी र मूर्ख कुराहरू चिन्ने कुरा होइन—यो यीमध्ये कुनै पनि होइन। बरु, यो त आफ्नो भ्रष्ट स्वभाव चिन्नु र परमेश्वर विरुद्ध आफूले गर्न सक्ने दुष्टताहरू चिन्नु हो। मुख्य कुरा यही हो। कतिपय मानिसहरू यसो भन्छन्, “म झडङ्ग रिसाउँछु, र केही गरेर पनि यो कुरा परिवर्तन गर्न सक्दिनँ। मैले यो स्वभाव कहिले बदल्न सक्छु होला?” अरूहरू यसो भन्छन्, “म आफ्नो कुरा बताउन सक्दै-सक्दिनँ, र मलाई राम्ररी बोल्न आउँदैन। मैले जे बोले नि मान्छेलाई ठेस लाग्ने वा तिनीहरूको भावनामा चोट पर्ने गर्छ। यो कुरा कहिले बदलिने हो?” के तिनीहरूले यसो भन्नु सही हो? (होइन।) तिनीहरूको गल्ती कहाँ भएको छ? (तिनीहरूले आफ्नो प्रकृतिभित्र रहेका कुराहरू चिनेका छैनन्।) ठीक भन्यौ। व्यक्तिको चरित्रले उसको प्रकृति निर्धारित गर्दैन। कसैको व्यक्तित्व जति राम्रो भए पनि, उसमा भ्रष्ट स्वभाव हुन सक्छ।
मैले भर्खरै स्वभावका दुई पक्षहरूबारे कुरा गरेँ। पहिलो हठीपन थियो, र दोस्रो अहङ्कार। हामीले अहङ्कारको बारेमा धेरै बताउनुपर्दैन। हरेक व्यक्तिले एकदमै अहङ्कार व्यवहार प्रकट गर्छ, र तिमीहरूले अहङ्कार भनेको स्वभावको एउटा पक्ष हो भनेर मात्र जाने पुग्छ। अर्को प्रकारको स्वभाव पनि छ। कतिपय मानिसहरूले कहिल्यै पनि कसैलाई सत्यता बताउँदैनन्। तिनीहरू मानिसहरूसँग बोल्नुभन्दा पहिले सबै कुरा राम्ररी सोचविचार गर्छन् र त्यसलाई सुन्दर बनाउँछन्। तिनीहरूले भन्ने कुन कुरा साँचो हो, र कुन झूटो हो बताउन सकिँदैन। तिनीहरूले आज एउटा र भोलि अर्को कुरा गर्छन्, एक जनालाई एउटा र अर्को जनालाई अर्को कुरा भन्छन्। तिनीहरूले भन्ने कुरा आफैमा बाझिन्छ। त्यस्ता मानिसहरूको कुरा कसरी विश्वास गर्न सकिन्छ? तथ्यको सही बुझाइ हासिल गर्न अत्यन्तै कठिन हुन्छ; अनि तैँले तिनीहरूबाट सीधा शब्द सुन्न सक्दैनस्। यो कस्तो स्वभाव हो? यो छल हो। के छली स्वभाव परिवर्तन गर्न सजिलो हुन्छ? यो परिवर्तन गर्न सबैभन्दा गाह्रो हुन्छ। स्वभावसँग सम्बन्धित कुनै पनि कुरा व्यक्तिको प्रकृतिसँग सम्बन्धित हुन्छ, र व्यक्तिको प्रकृतिसँग सम्बन्धित कुरालाई परिवर्तन गर्नुजस्तो गाह्रो अरू केही हुँदैन। “नानीदेखि लागेको बानी बदल्न सकिँदैन,” भन्ने उखान सतप्रतिशत सत्य हो। तिनीहरूले जेसुकै भनिरहेका वा गरिरहेका भए पनि, छली मानिसहरूले सधैँ आफ्नै उद्देश्य र अभिप्रायहरू बोकिरहेका हुन्छन्। तिनीहरूसँग कुनै अभिप्राय छैन भने, तिनीहरू केही पनि बोल्दैनन्। यदि तैँले तिनीहरूका उद्देश्य र अभिप्रायहरू के-के हुन् भनेर बुझ्ने प्रयास गरिस् भने, तिनीहरू मुखमा बुजो लगाउँछन्। यदि तिनीहरूले झुक्किएर कुनै साँचो कुरा मुखबाट फुत्काइहाले भने पनि, त्यो कुरालाई घुमाउन, तँलाई अलमल्याउन र तँलाई सत्यता जान्न नदिनको लागि सक्दो उपाय लगाउँछन्। छली मानिसहरूले जे गरिरहेको भए पनि, तिनीहरू कसैलाई पनि सबै कुरा बुझ्न दिँदैनन्। मानिसहरूले तिनीहरूलाई जति लामो समय बिताए पनि, तिनीहरूको मनमस्तिष्कमा के छ भन्ने कुरा कसैले जान्न सक्दैन। छली मानिसहरूको प्रकृति त्यही हो। छली मानिसहरूले जति धेरै बोले पनि, तिनीहरूका अभिप्रायहरू के हुन्, तिनीहरूले के सोचिरहेका छन्, वा तिनीहरूले वास्तवमा के हासिल गर्ने प्रयास गरिरहेका छन् भन्ने कुरा मानिसहरूलाई कहिल्यै थाहा हुनेछैन। तिनीहरूका आमाबाबुलाई समेत यो कुरा जान्न गाह्रो हुन्छ। छली मानिसहरूलाई बुझ्न खोज्नु एकदमै कठिन काम हो, तिनीहरूको मनमा के छ भनेर कसैले पत्ता लगाउन सक्दैन। छली मानिसहरूले यसरी नै बोल्छन् र व्यवहार गर्छन्: तिनीहरूले कहिल्यै मनको कुरा भन्दैनन् वा के भइरहेको छ भनेर कहिल्यै भन्दैनन्। यो एक किसिमको स्वभाव नै हो, होइन र? जब तँमा छली स्वभाव हुन्छ, तैँले के भन्छस् वा गर्छस् त्यसले केही फरक पार्दैन—यो स्वभाव सधैँ नै तँभित्र हुन्छ, र यसले तँलाई नियन्त्रण गरिरहेको हुन्छ, तँलाई खेल खेल्न र चलाकीमा संलग्न हुन, मानिसहरूलाई खेलौना बनाउन, सत्यता ढाकछोप गर्न, र देखावटी रूप धारण गर्न लगाइरहेको हुन्छ। छलीपन भनेको यही हो। छली मानिसहरूले अरू के-कस्ता विशेष व्यवहारहरू देखाउँछन् त? म एउटा उदाहरण दिन्छु। दुई जना मान्छे कुरा गरिरहेका छन्, र तिनीहरूमध्ये एउटाले आफ्नो आत्मज्ञानबारे बताइरहेको छ; यो व्यक्तिले आफू कति सुधार भएको छु भनेर भनिरहन्छ, र यो कुरामा अर्को व्यक्तिलाई विश्वस्त तुल्याउने प्रयास गर्छ, तर उसले त्यो अर्को व्यक्तिलाई वास्तविक तथ्यहरू बताउँदैन। यसमा, केही कुरा लुकाइएको छ, र यसले एक निश्चित स्वभाव जनाउँछ—र त्यो हो, छलीपन। तिमीहरू यसलाई चिन्न सक्छौ कि सक्दैनौ, हेरौँ है त। यो व्यक्तिले भन्छ, “हालै मैले केही कुराहरू अनुभव गरेँ, र मलाई लाग्छ मैले परमेश्वरमा यतिका वर्ष विश्वास गरेको व्यर्थ भएको छ। मैले केही हासिल गरेको छैन। म तुच्छ र दयनीय छु! मेरो व्यवहार आजभोलि त्यति राम्रो भएको छैन, र म साँच्चै पश्चात्ताप गर्न तयार छु।” तर यसो भनिसकेपछि पनि त्यस्ता व्यक्तिहरूमा पश्चात्तापको भाव कहीँ देखिँदैन। यहाँ समस्या के हो? त्यो के हो भने, तिनीहरूले अरूलाई ढाँट्छन् र छल्छन्। तिनीहरूले यसो भनेको सुन्दा, अरू मानिसहरूले यस्तो सोच्छन्, “यो व्यक्तिले पहिले सत्यता पछ्याउने गरेको रहेनछ, तर उसले अहिले यस्ता कुराहरू भन्न सकेको देख्दा उसले साँच्चै नै पश्चात्ताप गरेको छ भन्ने देखिन्छ। यसमा कुनै शङ्का छैन। हामीले उसलाई पहिले जसरी हेर्नु हुँदैन, नयाँ र राम्रो दृष्टिकोणले हेर्नुपर्छ।” यी शब्दहरू सुनेपछि मानिसहरूले यसरी नै मनन गर्ने र सोच्ने गर्छन्। तर के त्यो व्यक्तिको वर्तमान स्थिति उसले भनेको जस्तै हुन्छ त? वास्तवमा त्यस्तो हुँदैन। त्यस्ताहरूले साँचो रूपमा पश्चात्ताप गरेकै हुँदैनन्, तर तिनीहरूका शब्दहरूले तिनीहरूले पश्चात्ताप गरेका छन्, र तिनीहरू सुध्रिएका छन्, र तिनीहरू पहिलेभन्दा फरक भएका छन् भन्ने भ्रम छर्छन्। तिनीहरूले आफ्ना शब्दहरूबाट यही कुरा हासिल गर्न चाहन्छन्। मानिसहरूलाई छल्न यसरी बोलेर, तिनीहरूले कस्तो स्वभाव प्रकट गरिरहेका हुन्छन्? त्यो छलीपन हो—र यो अत्यन्तै धूर्त हुन्छ! वास्तवमा तिनीहरूलाई आफू परमेश्वरमाथिको विश्वासमा असफल भएको छु, र आफू कमजोर र दयनीय छु भन्ने पटक्कै थाहा हुँदैन। तिनीहरूले मानिसहरूलाई जालझेल गर्न, अरूलाई तिनीहरूको बारेमा राम्रो सोच्न र राम्रो विचार राख्न लगाउने आफ्नो उद्देश्य हासिल गर्न आत्मिक शब्द र भाषाहरू प्रयोग गरिरहेका हुन्छन्। के यो छलीपन होइन र? हो, र जब व्यक्ति अत्यन्तै छली हुन्छ, उसलाई परिवर्तन हुन सहज हुँदैन।
अर्को प्रकारको व्यक्ति पनि हुन्छ, जो बोल्दा कहिल्यै पनि सरल वा खुलस्त हुँदैन। त्यस्ता व्यक्तिहरूले सधैँ कुरा लुकाउने र ढाकछोप गर्ने गर्छन्, अनि हरेक मौकामा मानिसहरूबाट जानकारी लिएर तिनै कुरा बोल्ने गर्छन्। तिनीहरू सधैँ अरूको बारेमा पूर्ण सत्य जान्ने चाहना गर्छन्, तर तिनीहरू आफ्नो हृदयमा भएको कुरा भन्दैनन्। तिनीहरूसँग अन्तरक्रिया गर्ने कसैले पनि तिनीहरूबारे पूर्ण सत्य पत्ता लगाउने आशा गर्न सक्दैन। त्यस्ता मानिसहरूले आफ्नो योजना अरूले थाहा पाऊन् भन्ने चाहँदैनन्, र त्यसैले ती कुरा कसैलाई पनि बताउँदैनन्। यो कस्तो स्वभाव हो? यो छली स्वभाव हो। त्यस्ता मानिसहरू अत्यन्तै चतुर हुन्छन्, र कसैले पनि तिनीहरूलाई बुझ्न सक्दैन। यदि व्यक्तिमा छली स्वभाव छ भने, ऊ अवश्य नै छली व्यक्ति हो, र ऊ प्रकृति सारमै छली हुन्छ। के त्यस्ता व्यक्तिहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा सत्यता पछ्याउँछन्? यदि तिनीहरू अरू मानिसहरू सामु सत्य बोल्दैनन् भने, के तिनीहरू परमेश्वरसामु सत्य बोल्न सक्छन्? अवश्यै सक्दैनन्। छली व्यक्तिले कहिल्यै सत्य बताउँदैन। तिनीहरूले परमेश्वरमा विश्वास गर्न त सक्छन्, तर के तिनीहरूको विश्वास साँचो हुन्छ? परमेश्वरप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? निश्चय नै तिनीहरूको हृदयमा धेरै शङ्काहरू हुन्छन्: “परमेश्वर कहाँ हुनुहुन्छ? म उहाँलाई देख्न सक्दिनँ। उहाँ वास्तविक हुनुहुन्छ भन्ने प्रमाण के छ?” “परमेश्वर सबैथोक माथिको सार्वभौम हुनुहुन्छ? हो र? शैतानको शासनले परमेश्वरका विश्वासीहरूलाई उन्माद रूपमा दमन र पक्राउ गरिरहेको छ। परमेश्वरले किन यसलाई नष्ट गर्नुहुन्न?” “परमेश्वरले मानिसहरूलाई ठ्याक्कै कसरी मुक्ति दिनुहुन्छ? के उहाँको मुक्ति वास्तविक हो? यो कुरा त्यति स्पष्ट छैन।” “परमेश्वरको विश्वासीले स्वर्गको राज्यमा प्रवेश पाउँछ कि पाउँदैन? पुष्टि नहुँदासम्म, यसै हो भन्न गाह्रो छ।” के तिनीहरूले हृदयमा परमेश्वरबारे यति धेरै शङ्का बोकेर साँचो रूपमा उहाँको लागि आफैलाई अर्पित गर्न सक्छन्? यो असम्भव हुन्छ। तिनीहरूले यी सबै मानिसहरूले परमेश्वरलाई पछ्याउन आफूसँग भएका सबै कुरा त्यागेको, परमेश्वरको लागि आफैलाई अर्पित गरेको र आफ्नो कर्तव्य निभाइरहेको देख्छन्, र सोच्छन्, “मैले केही त लुकाएर राख्नुपर्छ। म तिनीहरूजस्तो मूर्ख हुनु हुँदैन। यदि मैले परमेश्वरलाई सबै कुरा सुम्पेँ भने, म भविष्यमा कसरी बाँचुँला? मलाई कसले हेरचाह गर्ला? मैले भैपरिआउने कुराको योजना बनाउनुपर्छ।” छली मानिसहरू कति “चतुर” हुन्छन्, तिनीहरू कति टाढाको कुरा सोच्छन् भनेर तैँले देख्न सक्छस्। अरूले भेलाहरूमा आफ्नो भ्रष्टताबारे आफैले पाएको ज्ञान खुलस्त बताइरहेको, आफ्नो हृदयमा लुकेका कुराहरू सङ्गतिमा बताउँदै गरेको, र आफूले कति पटक व्यभिचार गरेँ भनेर सत्य तथ्य बताइरहेको देख्दा कतिपय मानिसहरूले यस्तो सोच्छन्, “ए मूर्ख! ती व्यक्तिगत कुराहरू हुन्; किन अरूलाई भनेको? यस्ता कुराहरू त तिमीहरूले मबाट निकाल्न सक्दैनौ!” छली मानिसहरू यस्तै हुन्छन्—तिनीहरू इमानदार हुनुभन्दा त मर्न तयार हुन्छन्, र तिनीहरूले कसैलाई पनि पूर्ण सत्य बताउँदैनन्। कतिपय मानिसहरू यसो भन्छन्, “मैले अपराध र केही खराब कुराहरू गरेको छु, र मलाई ती कुरा मानिसहरूसामु भन्न अलिक लाज लाग्छ। आखिर ती व्यक्तिगत कुराहरू न हुन्, र ती लाजमर्दा पनि छन्। तर मैले परमेश्वरबाट लुकाउन वा ढाकछोप गर्न सक्दिनँ। मैले यी कुराहरू उदाङ्गो र खुलस्त पार्दै परमेश्वरलाई बताउनुपर्छ। म मेरा विचार वा व्यक्तिगत मामलाहरू अरू मानिसहरूलाई बताउने साहस गर्दिनँ, तर यी कुराहरू परमेश्वरलाई त भन्नैपर्छ। मैले अरू जोबाट मेरा गुप्त कुराहरू लुकाए पनि, परमेश्वरबाट लुकाउन सक्दिनँ।” परमेश्वरप्रति इमानदार व्यक्तिले राख्ने मनोवृत्ति यस्तो हुन्छ। तर छली मानिसहरू सबैप्रति सतर्क हुन्छन्, कसैलाई पनि भरोसा गर्दैनन्, र तिनीहरू कसैसँग पनि इमानदारीपूर्वक बोल्दैनन्। तिनीहरूले कसैलाई पनि पूर्ण सत्य बताउँदैनन्, र कसैले पनि ती कुरा पत्ता लगाउन सक्दैनन्। यिनीहरू सबैभन्दा छली मानिसहरू हुन्। हरेक व्यक्तिमा छली स्वभाव हुन्छ; तर एउटै भिन्नता यो कति गम्भीर छ भन्ने मात्रै हो। तैँले भेलाहरूमा हृदय खोलेर आफ्ना समस्याहरूबारे सङ्गति गरे पनि, के त्यसको अर्थ तँमा छली स्वभाव छैन भन्ने हुन्छ र? त्यस्तो हुँदैन, किनभने तँमा पनि छली स्वभाव हुन्छ। म किन यसो भन्छु त? एउटा उदाहरण यस्तो छ: तैँले आफ्नो स्वाभिमान वा गर्वलाई नछुने, लाजमर्दो नरहेका, र तँलाई काटछाँटमा नपार्ने कुराहरूबारे सङ्गतिमा खुलस्त कुरा गर्न सक्छस् होला, तर यदि तँसँग सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने कुराहरू, सबैले घिनाउने र विरोध गर्ने कुराहरू हुन्थ्यो भने, के यसबारेमा तैँले भेलाहरूमा खुलस्त सङ्गति गर्न सक्थिस् त? अनि यदि तैँले कुनै बताउनै नसकिने कुरा गरेको थिइस् भने, यसबारेमा खुलस्त बताउन र यसको सत्यता खुलासा गर्न तँलाई अझै गाह्रो हुनेथियो। यदि कसैले यसबारेमा खोजीनिधो गर्ने वा यसको दोष लगाउने प्रयास गर्थ्यो भने, यसलाई लुकाउन तँ आफ्नो हातमा भएका सबै माध्यमहरू प्रयोग गर्नेथिइस्, र यो मामला खुलासा हुन्छ भनेर तँ अत्यन्तै भयभीत हुनेथिइस्। तँ सधैँ यसलाई ढाकछोप गर्ने र यसबाट पार पाउने प्रयास गरिरहेको हुनेथिइस्। के यो छली स्वभाव होइन र? तँलाई के विश्वास लाग्न सक्छ भने, यदि तैँले यो कुरा खुलस्त बताइनस् भने, कसैले पनि यो कुरा थाहा पाउनेछैन, र परमेश्वरसँग समेत त्यो कुरा थाहा पाउने कुनै उपाय हुनेछैन। तर त्यो गलतबुझाइ हो! परमेश्वरले मानिसहरूको हृदयको अन्तस्करणको छानबिन गर्नुहुन्छ। यदि तैँले यो कुरा बुझ्न सक्दैनस् भने, तैँले परमेश्वरलाई चिनेकै छैनस्। छली मानिसहरूले अरूलाई छल मात्रै गर्दैनन्—तिनीहरूले त परमेश्वरलाई छल्ने र उहाँको विरोध गर्न छली माध्यमहरू प्रयोग गर्ने दुस्साहससमेत गर्छन्। के त्यस्ता मानिसहरूले परमेश्वरको मुक्ति पाउन सक्छन्? परमेश्वरको स्वभाव धर्मी र पवित्र छ, र छली मानिसहरूलाई नै उहाँ सबैभन्दा बढी घृणा गर्नुहुन्छ। त्यसकारण, छली मानिसहरूलाई नै मुक्ति प्राप्त गर्न सबैभन्दा गाह्रो हुन्छ। छली प्रकृति भएका मानिसहरू सबैभन्दा बढी ढाँट्ने मानिसहरू हुन्। तिनीहरूले परमेश्वरलाई समेत ढाँट्ने र छल्ने गर्छन्, र तिनीहरू हठी भई अपश्चातापी रहन्छन्। यसको अर्थ तिनीहरूले परमेश्वरको मुक्ति प्राप्त गर्न सक्दैनन्। यदि कसैले कहिलेकहीँ मात्रै भ्रष्ट स्वभाव प्रकट गर्छ, र मानिसहरूलाई ढाँट्छ र छल्छ तर परमेश्वरसँग सरल र खुलस्त भई उहाँसामु पश्चात्ताप गर्छ भने, यस्तो व्यक्तिसँग मुक्ति पाउने आशा अझै बाँकी हुन्छ। यदि तँ साँच्चै नै समझ भएको व्यक्ति होस् भने, तैँले परमेश्वरसँग खुलस्त हुनुपर्छ, उहाँसँग हृदयदेखि कुरा गर्नुपर्छ, र आत्मचिन्तन गर्दै आफूलाई चिन्नुपर्छ। तैँले परमेश्वरलाई ढाँट्न छोड्नुपर्छ, उहाँलाई छल्ने प्रयास कहिल्यै गर्नु हुँदैन, र उहाँबाट कुनै पनि कुरा लुकाउने प्रयास त झनै गर्नु हुँदैन। वास्तवमा कतिपय कुरा मानिसहरूले थाहा पाउनु आवश्यक हुँदैन। यदि तैँले ती कुराहरू परमेश्वरलाई खुलस्त बताइस् भने, त्यो नै पर्याप्त हुन्छ। तैँले काम गर्दा, परमेश्वरबाट कुरा लुकाउने प्रयास नगर्। तैँले मानिसहरूलाई भन्न उचित नरहेका सबै कुरा परमेश्वरलाई भन्न सक्छस्। त्यसो गर्ने व्यक्ति बुद्धिमान् हो। कतिपय कुराहरू अरूलाई खुलस्त भन्नुपर्दैन भन्ने उसलाई लागे पनि, यसलाई छल भनेर भन्नु हुँदैन। छली मानिसहरू फरक हुन्छन्: तिनीहरूलाई लाग्छ कि तिनीहरूले सबै कुरा लुकाउनुपर्छ, अरूलाई कुनै कुरा पनि भन्नु हुँदैन, विशेष गरी व्यक्तिगत कुराहरू त भन्नै हुँदैन। यदि तिनीहरूले कुनै कुरा भन्दा त्यसले तिनीहरूलाई फाइदा दिँदैन भने, तिनीहरूले त्यो कुरा भन्दैनन्, चाहे त्यो परमेश्वरलाई नै किन नहोस्। के यो छली स्वभाव होइन र? त्यस्तो व्यक्ति वास्तवमै छली हुन्छ! यदि कुनै व्यक्ति अत्यन्तै छली भएको कारण उसले परमेश्वरलाई समेत साँचो कुरा भन्दैन, र परमेश्वरबाट सबै कुरा गुप्त राख्छ भने, के त्यो व्यक्ति परमेश्वरमा विश्वास गर्ने व्यक्ति हो? के परमेश्वरमाथिको उसको विश्वास साँचो हुन्छ? त्यस्ताहरू त परमेश्वरलाई शङ्का गर्ने मानिसहरू हुन्, र हृदयभित्र तिनीहरूले उहाँमा विश्वास गर्दैनन्। त्यसकारण, के तिनीहरूको विश्वास झूटो होइन र? तिनीहरू अविश्वासी, र झूटा विश्वासी हुन्। के तिमीहरूको जीवनमा त्यस्तो कुनै समय आएको छ, जुन बेला तिमीहरूले परमेश्वरलाई शङ्का गर्यौ र उहाँप्रति सतर्क भयौ? (आएको छ।) परमेश्वरलाई शङ्का गर्नु र उहाँप्रति सतर्क हुनु, यो कस्तो स्वभाव हो? यो छली स्वभाव हो। हरेक व्यक्तिमा छली स्वभाव हुन्छ, तर कति गम्भीर छ भन्ने कुरा मात्रै हो। तैँले सत्यता स्विकार्न सकुन्जेलसम्म पश्चात्ताप गरेर परिवर्तन हासिल गर्न सक्ने नै छस्।
कतिपय मानिसहरूले आफ्नो जीवनमा कुनै कुरा आइपर्दा भ्रष्ट स्वभाव प्रकट गर्छन्, तिनीहरूमा धारणा र विचारहरू हुन्छन्, र तिनीहरू अरू मानिसहरूप्रति पूर्वाग्रही हुन्छन्, उनीहरूको आलोचना गर्छन् र उनीहरूलाई पिठ्यूँ पछाडिबाट आँच पुर्याउने काम गर्छन्। तिनीहरू आत्मचिन्तन गर्न र यी कुराहरू पूर्ण रूपमा खुलेर बताउन सक्ने हुन्छन्, तर तिनीहरूले निश्चित लाजमर्दा कुराहरू गर्दा, त्यो कुरा लुकाउँदै सधैँको लागि हृदयभित्र बन्द गर्न चाहन्छन्। तिनीहरूले यी कुराहरूबारे अरूलाई मात्र होइन, प्रार्थना गर्दा परमेश्वरलाई समेत बताउँदैनन्। तिनीहरूले यी कुराहरू लुकाउन वा ढाकछोप गर्नको लागि झूट रच्न आफूले सक्ने सबै प्रयाससमेत गर्छन्। यो छली स्वभाव हो। जब तँमा यस्ता विचारहरू आउँछन्, जब तँ यस्तो स्थितिमा जिउँछस्, तब तैँले आफ्नो बारेमा मनन गर्नुपर्छ, र तैँले आफू इमानदार व्यक्ति होइन रहेछु, आफूमा परमेश्वरले इमानदार भनी व्याख्या गर्नुहुने कुनै पनि कुरा प्रकट हुँदैन रहेछ, अनि आफू पूरै र साँच्चिकै छली व्यक्ति रहेछु, आफू मूर्ख, कमजोर क्षमता भएको, र सुस्त भए पनि, छली त छली व्यक्ति नै रहेछु भनेर स्पष्ट बुझ्नुपर्छ। आफूलाई चिन्नु भनेको यही हो। तैँले आफूलाई चिन्ने क्रममा कम्तीमा पनि हासिल गर्न सक्नुपर्ने कुरा भनेको आफूद्वारा प्रकट हुने प्रष्टै देखिने भ्रष्टतालाई स्पष्ट देख्न र पत्ता लगाउन सक्षम हुनु, अनि यसलाई समाधान गर्न सत्यता खोजी गर्न सक्नु हो। यदि तँलाई आफ्नो छली स्वभावबारे साँच्चिकै थाहा छ भने, तैँले बारम्बार परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, आफ्नो बारेमा मनन गर्नुपर्छ, र परमेश्वरको वचनअनुसार आफ्नो छली स्वभाव चिन्नु र विश्लेषण गर्नुपर्छ, र यसको सार जान्नुपर्छ; त्यसपछि तैँले आफ्नो छली भ्रष्ट स्वभाव फाल्ने आशा हुनेछ। कतिपय मानिसहरूले छली मानिसहरू र इमानदार मानिसहरू बीचमा स्पष्ट भिन्नता छुट्याउन सक्दैनन्—र यसको अर्थ तिनीहरूको क्षमता अत्यन्तै कमजोर छ भन्ने हुन्छ। कतिपय मानिसहरूले आफ्नो कमजोर क्षमता, मूर्खता, अज्ञानता, अन्तर्दृष्टिको कमी, बेढङ्गी बोलीवचन, सामाजिक कौशलको कमी, र ठगिने बानीलाई इमानदारिताको प्रमाणको रूपमा लिन्छन्। तिनीहरूले अरूलाई यसो भनिरहेका हुन्छन्, “म साह्रै इमानदार छु, यसले गर्दा अरूले मलाई प्रायजसो ठगिरहन्छन्, अरूबाट फाइदा कसरी लिने मलाई थाहा छैन—तैपनि म इमानदार व्यक्ति भएकोले परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ।” के यी शब्दहरू सही छन्? त्यस्ता शब्दहरू हास्यास्पद हुन्छन्, ती शब्दहरू मानिसहरूलाई बहकाउनका लागि भनिएका हुन्, र ती नाङ्गा र लाजमर्दा शब्दहरू हुन्। मूर्ख र अबूझ मानिसहरू कसरी इमानदार हुन सक्छन्? यी त दुई फरक-फरक कुराहरू हुन्। आफूले गर्ने मूर्ख कुराहरूलाई इमानदारिताको रूपमा लिनु ठूलो गल्ती हो। सबैले देख्न सक्छन् कि मूर्खहरूले पनि अहङ्कारी र घमण्डी हुने, र आफूलाई ठूलो ठान्ने सम्भावना हुन्छ। मानिसहरू जति अनजान र तिनीहरूको क्षमता जति कमजोर भए पनि, तिनीहरूले अरूलाई ढाँट्न र छल्न सक्छन्। के यो सब तथ्य होइन र? के मूर्खहरू र कमजोर क्षमताका मानिसहरूले खराब कामकुराहरू कहिल्यै गर्दैनन् र? के तिनीहरूमा साँच्चै भ्रष्ट स्वभाव हुँदैन र? तिनीहरूमा भ्रष्ट स्वभाव अवश्य हुन्छ। कतिपय मानिसहरूले आफू इमानदार छु भनी भन्छन् र अरूलाई आफ्ना झूटहरूबारे खुलेर बताउँछन्, तर तिनीहरू आफूले गरेका लाजमर्दा कुराहरू खुलेर बताउने आँट गर्दैनन्। जब मण्डलीले तिनीहरूको समस्याको कारण तिनीहरूलाई निराकरण गर्छ, तब तिनीहरू त्यो स्विकार्न सक्दैनन् र त्यसमा समर्पित हुँदैनन्, बरु पर्दापछाडि यताउता गर्दै सत्य-तथ्य बिस्तारै मेटाउँछन्। यस्तो छली व्यक्तिले सत्यता पटक्कै स्विकार्दैन, र ऊ कहीँकतै समर्पित हुँदैन, तैपनि आफूलाई इमानदार नै ठान्छ। के यो तिनीहरूको बिलकुलै लाजमर्दो व्यवहार होइन र? यो त पूराको पूरा मूर्खता हो! यस्तो व्यक्ति पटक्कै इमानदार हुँदैन, न त ऊ निष्कपट नै हुन्छ। मूर्ख मानिसहरू मूर्ख नै हुन्छन्; अबूझ मानिसहरू अबूझ नै हुन्छन्। केवल छल नगर्ने निष्कपट मानिसहरू इमानदार हुन्छन्।
छली मानिसहरू कसरी चिन्न सकिन्छ? छली मानिसहरूको व्यवहार के-कस्तो हुन्छ? तिनीहरूले जोसित सङ्गत वा उठबस गरे पनि, तिनीहरूको जीवनमा वास्तवमा के भइरहेको छ भन्ने कुरा कहिल्यै कसैलाई जाँच्न दिँदैनन्; तिनीहरू सधैँ अरूप्रति सावधान हुन्छन्, तिनीहरूले मानिसहरूको पिठ्यूँपछाडि विभिन्न कुराहरू गरिरहेका हुन्छन्, र तिनीहरू आफूले सोचिरहेको कुरा कहिल्यै बताउँदैनन्। तिनीहरूले कहिलेकहीँ आफूलाई चिनेको बारेमा थोरै बताउन सक्छन्, तर मुख्य बुँदाहरू वा मुख्य शब्दहरू कहिल्यै उल्लेख गर्दैनन्, र तिनीहरू कुनै कुरा मुखबाट खुस्केला कि भनेर डराउँछन्। तिनीहरू यी कुराहरूप्रति अत्यन्तै संवेदनशील हुन्छन्, किनभने अरूले तिनीहरूको कमजोरी देख्लान् कि भनेर तिनीहरूलाई डर हुन्छ। यो एक प्रकारको छली स्वभाव हो। अनि, कतिपय मानिसहरूले जानीजानी देखावटी रूप धारण गर्छन् ताकि अरूले तिनीहरू निष्कपट मानिसहरू हुन्, तिनीहरूले कष्ट भोग्न सक्छन् र गुनासो गर्दैनन्, अनि तिनीहरू आत्मिक छन् र तिनीहरूले सत्यतालाई प्रेम गर्छन् र पछ्याउँछन् भन्ने सोचून्। तिनीहरू देखी त्यस्तो व्यक्ति हुँदैनन्, तर तिनीहरूले अरूलाई देखाउन त्यस्तो नाटक गर्छन्। यो पनि छली स्वभाव नै हो। छली मानिसहरूले भन्ने र गर्ने सबै कुरापछाडि अभिप्राय हुन्छ। यदि तिनीहरूमा कुनै अभिप्राय छैन भने, तिनीहरूले केही बोल्दैनन् वा केही गर्दैनन्। तिनीहरूभित्र एउटा स्वभाव हुन्छ जसले तिनीहरूलाई यसो गर्न लगाउँछ, र त्यो स्वभाव छलीपन हो। जब मानिसहरूमा छली स्वभाव हुन्छ, के तब परिवर्तन हुन सहज हुन्छ? तिमीहरू कति परिवर्तन भएका छौ? के तिमीहरू इमानदारीता पछ्याउने मार्गमा प्रवेश गरेका छौ? (हो, हामी यो दिशातर्फ मेहनत गरिरहेका छौँ।) तिमीहरूले कति कदम लिएका छौ? कि तिमीहरू त्यसो गर्ने चाहनाको स्थितिमै अल्झेका छौ? (यो अझै पनि हामीले चाहना गरेको कुरा नै हो। कहिलेकहीँ, हामीले कुनै कुरा गरिसकेपछि मात्रै यसमा छल समावेश थियो, हामीले मानिसहरूलाई झूटो प्रभाव पार्ने प्रयास गरिरहेका थियौँ भन्ने थाहा हुन्छ; त्यसपछि मात्रै हामीले छली व्यवहार गरिरहेका थिएछौँ भन्ने महसुस हुन्छ।) तिमीहरूलाई यो छली हुनु हो भन्ने महसुस हुन्छ—तर के तिमीहरूले यो एक प्रकारको भ्रष्ट स्वभाव हो भनेर महसुस गर्न सक्यौ? अनि यी छली कुराहरू कहाँबाट आउँछन्? (हाम्रो प्रकृतिबाट।) ठीक भन्यौ, तिमीहरूको प्रकृतिबाट। अनि के यी भ्रष्ट कुराहरूले तिमीहरूलाई बाधा दिन्छन्? तीबाट टाढा हुन, तिनलाई तह लगाउन, र तीबाट मुक्त हुन गाह्रो हुन्छ—अनि ती धेरै समस्याजनक हुन्छन्। किन ती समस्याजनक हुन्छन्? ती कुराको के चाहिँले तँलाई पीडा दिन्छ? (हामी परिवर्तन हुन चाहन्छौँ, तर त्यसो गर्न नसक्दा साह्रै पीडा हुन्छ।) त्यो एउटा पक्ष त हो, तर त्यो समस्याजनक कुरामा गनिँदैन। जब व्यक्तिलाई छली स्वभावले नियन्त्रण गरेको हुन्छ, तब उसले कुनै पनि समय वा स्थानमा अरूलाई ढाँट्न र छल्न सक्छ, र उसलाई जेसुकै भए पनि, उसले मानिसहरूलाई धोका दिन र बहकाउन कसरी झूट बोल्ने भनेर सोचिरहेको हुन्छ। उसले आफूलाई नियन्त्रण गर्न चाहे पनि, त्यसो गर्न सक्दैन, किनभने त्यो आफै पैदा हुन्छ। समस्या त्यहीँ नै हुन्छ। यो स्वभावको समस्या हो। छली स्वभाव कति तरिकामा प्रकट हुन सक्छ? जाँच, छल, सतर्कता, साथै शङ्का, बहाना, र पाखण्डमा। त्यस्ता व्यवहारहरूले खुलासा र प्रकट गर्ने स्वभाव छलीपन हो। यी विषयहरूमा सङ्गति गरिसकेपछि, के तिमीहरूले छली स्वभावबारे स्पष्ट ज्ञान पायौ? के तिमीहरूमध्ये कतिपयले “मसँग छली स्वभाव छैन, म छली व्यक्ति होइनँ, म त इमानदार व्यक्ति हुनुको काफी नजिक छु भनेर अझै भन्छौ”? (भन्दैनौँ।) यस्ता धेरै मानिसहरू छन्, जो इमानदार व्यक्ति भनेको खासमा के हो भन्ने नै बुझ्दैनन्। कतिपयले इमानदार मानिसहरू भनेका निष्कपट र सीधा कुरा गर्ने, जहाँ गए पनि हेपिने र एक्लो पारिने, वा सुस्त रहने र सधैँ अरूभन्दा ढिलो बोल्ने र ढिलो काम गर्ने मानिसहरू हुन् भन्ने सोच्छन्। अरूले नीच ठान्ने गरी मूर्खतामा संलग्न हुने कतिपय मूर्ख र अज्ञानी मानिसहरूले पनि आफूलाई इमानदार मानिसहरूको रूपमा व्याख्या गर्छन्। अनि त्यसै गरी, आफूलाई सानो ठान्ने समाजको तल्लो स्तरका ती सबै अशिक्षित मानिसहरूले पनि आफूलाई इमानदार मानिसहरू नै भन्छन्। तिनीहरूको गल्ती कहाँ छ? तिनीहरूलाई इमानदार व्यक्ति भनेको के हो त्यो थाहा छैन। तिनीहरूको गलतबुझाइको स्रोत के हो? मुख्य कारण तिनीहरूले सत्यता नबुझ्नु हो। तिनीहरूले के विश्वास गर्छन् भने, परमेश्वरले “इमानदार मानिसहरू” भनी भन्नुभएका मानिसहरू मूर्ख र अबुझहरू हुन्, तिनीहरू अशिक्षित, ढिलो बोल्ने र लठ्याब्रोहरू, हेपिएका र दमनमा परेकाहरू, र सहजै ठगिने र छलमा पर्ने मानिसहरू हुन्। यसको तात्पर्य के हुन्छ भने, परमेश्वरको मुक्ति पाउने मानिसहरू प्रायजसो अरूद्वारा हेपिने, समाजको तल्लो स्तरका मष्तिष्कहीन मानिसहरू हुन्। परमेश्वरले यी नीच र विपन्न मानिसहरूलाई मुक्ति दिनुहुन्न भने, कसलाई दिनुहुन्छ? के तिनीहरूले यही विश्वास गर्छन् होइन र? के तिनीहरू साँच्चै नै परमेश्वरले मुक्ति दिनुहुने मानिसहरू हुन त? यो परमेश्वरका अभिप्रायलाई गलत अर्थ्याइएको कुरा हो। परमेश्वरले मुक्ति दिनुहुने मानिसहरू त सत्यतालाई प्रेम गर्ने, योग्यता र बोध क्षमता भएका व्यक्तिहरू हुन्, तिनीहरू विवेक र समझ भएका, परमेश्वरको आज्ञा पूरा गर्ने र आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने सबै मानिसहरू हुन्। तिनीहरू सत्यता स्विकार्न र आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्ने मानिसहरू हुन्, र तिनीहरू साँचो रूपमा परमेश्वरलाई प्रेम गर्ने, परमेश्वरप्रति समर्पित हुने र परमेश्वरलाई आराधना गर्ने मानिसहरू हुन्। यीमध्ये धेरैजसो मानिसहरू समाजको तल्लो स्तरबाट, मजदुर र किसान परिवारबाट आएका भए पनि, तिनीहरू अवश्य नै बेवकुफ, बुद्धू, वा काम न काजका मानिसहरू होइनन्। यसको विपरीत, तिनीहरू सत्यता स्विकार्न, सत्यता अभ्यास गर्न र सत्यतामा समर्पित हुन सक्ने चलाख मानिसहरू हुन्। तिनीहरू सबै इन्साफसिद्ध मानिसहरू हुन्, जो परमेश्वरलाई पछ्याउन र सत्यता र जीवन प्राप्त गर्न सांसारिक वैभव र सम्पत्ति त्याग गर्छन्—तिनीहरू सबैभन्दा बुद्धिमानी मानिसहरू हुन्। तिनीहरू सबै नै परमेश्वरमा साँचो विश्वास गर्ने र उहाँको लागि आफूलाई अर्पित गर्ने इमानदार मानिसहरू हुन्। तिनीहरूले परमेश्वरको अनुमोदन र आशिष् पाउन सक्छन्, र तिनीहरू सिद्ध पारिन र उहाँका मानिसहरू र उहाँको मन्दिरका खामोहरू बन्न सक्छन्। तिनीहरू सुन, चाँदी, र बहुमूल्य धातुजस्तै मानिसहरू हुन्। बेवकुफ, मूर्ख, हास्यास्पद, र काम न काजका मानिसहरू त हटाइने मानिसहरू हुन्। अविश्वासी र मूर्ख मानिसहरूले परमेश्वरको काम र व्यवस्थापन योजनालाई केको रूपमा हेर्छन्? फोहोर फाल्ने ठाउँको रूपमा, होइन र? यी मानिसहरूको क्षमता कमजोर हुने मात्रै होइन, यिनीहरू मूर्ख पनि हुन्छन्। यिनीहरूले परमेश्वरका वचनहरू जति धेरै पढे पनि, सत्यता बुझ्न सक्दैनन्, र जति वटा प्रवचन सुने पनि, यिनीहरू वास्तविकतामा प्रवेश गर्न सक्दैनन्—यदि यिनीहरू यति मूर्ख छन् भने, के यिनीहरूले मुक्ति पाउन सक्छन् त? के परमेश्वरले यस्ता व्यक्तिहरूलाई चाहनुहुन्छ त? तिनीहरूले विश्वास गरेको जति वर्ष भए पनि, तिनीहरू अझै पनि कुनै सत्यता बुझ्दैनन्, अझै पनि निरर्थक कुराहरू बोल्छन्, तर त्यसको बाबजुद पनि तिनीहरू आफूलाई इमानदार ठान्छन्—के तिनीहरूमा कुनै लाज छैन? त्यस्ता मानिसहरूले सत्यता बुझ्दैनन्। तिनीहरूले सधैँ परमेश्वरका अभिप्रायलाई गलत अर्थ्याइरहेका हुन्छन्, तैपनि तिनीहरू जहाँ गए पनि, तिनीहरूले गलत अर्थ्याएका कुराहरू नै भट्याइरहन्छन्, र ती कुरालाई सत्यताको रूपमा प्रचार गर्दै मानिसहरूलाई भन्छन्, “अलिअलि हेपिनु राम्रै कुरा हो, मानिसहरूले अलिअलि गुमाउनैपर्छ, तिनीहरू अलिअलि मूर्ख हुनैपर्छ—यस्ता मानिसहरू नै परमेश्वरको मुक्ति पाउने मानिसहरू हुन् र परमेश्वरले तिनीहरूलाई नै मुक्ति दिनुहुन्छ।” यस्ता कुराहरू बोल्ने मानिसहरू घिनलाग्दा हुन्छन्; यसले परमेश्वरलाई धेरै अपमानित तुल्याउँछ! यो अत्यन्तै घिनलाग्दो कुरा हो! परमेश्वरको राज्यका खम्बाहरू र परमेश्वरले मुक्ति दिनुहुने विजेताहरू सबै नै सत्यता बुझ्ने, र बुद्धिमान् मानिसहरू हुन्। यी मानिसहरू स्वर्गीय राज्यमा सहभागी हुने मानिसहरू हुन्। मूर्ख र अज्ञानीहरू, लाज पचेका र समझहीन मानिसहरू, सत्यतालाई पटक्कै नबुझ्ने, र बुद्धू र अबुझहरू—के तिनीहरू काम न काजका मानिसहरू होइनन् र? त्यस्ता मानिसहरू कसरी स्वर्गीय राज्यको हकदार हुन सक्छन्? परमेश्वरले कुरा गर्नुहुने इमानदार मानिसहरू सत्यता बुझेपछि त्यसलाई अभ्यास गर्न सक्ने, बुद्धिमान् र बाठा, परमेश्वरको अघि खुलस्त बोल्ने, र सिद्धान्तअनुसार काम गर्ने र परमेश्वरप्रति पूर्ण रूपमा समर्पित हुने मानिसहरू हुन्। यी सबै मानिसहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ, तिनीहरूले सिद्धान्तहरूअनुसार काम गर्न ध्यान दिन्छन्, र तिनीहरू सबैले परमेश्वरप्रति पूर्ण समर्पण हासिल गर्न खोज्छन् र हृदयमा परमेश्वरलाई प्रेम गर्छन्। तिनीहरू मात्रै साँच्चिकै इमानदार मानिसहरू हुन्। यदि कसैलाई इमानदार बन्नु भनेको के हो भन्ने समेत थाहा छैन भने, यदि उसले इमानदार मानिसहरूको सार भन्नु नै परमेश्वरप्रति पूर्ण रूपमा समर्पित हुने, परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने कुरा हो भन्ने जान्दैन भने, र इमानदार मानिसहरूले सत्यतालाई प्रेम गर्ने, परमेश्वरलाई प्रेम गर्ने र सत्यता अभ्यास गर्ने हुनाले नै तिनीहरू इमानदार भएका हुन् भन्ने कुरा बुझ्दैन भने—यस्तो व्यक्ति एकदमै मूर्ख हुन्छ, र उसमा साँच्चै नै समझशक्ति हुँदैन। इमानदार मानिसहरू मान्छेले कल्पेजस्तै बेवकुफ, अज्ञानी, र मूर्खले निष्कपट मानिस होइनन्; तिनीहरू सामान्य मानवता भएका मानिसहरू हुन्, जोसँग विवेक र समझ हुन्छ। इमानदार मानिसहरूमा हुने चलाखी भनेकै तिनीहरू परमेश्वरका वचनहरू सुन्न र इमानदार बन्न सक्छन्, त्यसैले परमेश्वर तिनीहरूलाई आशिष् दिनुहुन्छ।
परमेश्वरले मानिसहरूलाई इमानदार बन्न गर्नुभएको अनुरोध जत्तिको महत्त्वपूर्ण कुरा अरू केही छैन—उहाँले मानिसहरूलाई उहाँको अघि जिउन, उहाँको सूक्ष्म जाँच स्विकार्न, र ज्योतिमा जिउन अनुरोध गरिरहनुभएको छ। इमानदार मानिसहरू मात्रै मानवजातिका साँचा सदस्यहरू हुन्। जो मानिसहरू इमानदार छैनन्, तिनीहरू पशुहरू हुन्, तिनीहरू मानव भेषमा हिँड्डुल गर्ने जन्तुहरू हुन्, तिनीहरू मानव होइनन्। इमानदार व्यक्ति बन्न लागिपर्नको लागि, तैँले परमेश्वरका मापदण्डहरू अनुसार व्यवहार गर्नुपर्छ; तैँले न्याय, सजाय र काटछाँट भोग्नुपर्छ। जब तिमीहरूको भ्रष्ट स्वभाव धोइन्छ र जब तिमीहरूले सत्यता अभ्यास गर्न र परमेश्वरका वचनहरू अनुसारको जीवन जिउन सक्छौ, तब मात्रै तिमीहरू इमानदार व्यक्ति बन्नेछौ। अज्ञानी, मूर्ख, र सुस्त मानिसहरू पटक्कै इमानदार हुँदैनन्। मानिसहरूलाई इमानदार बन्न आज्ञा गर्दै, परमेश्वरले तिनीहरूलाई सामान्य मानवतामा जिउन, आफ्ना छल र कपट त्याग्न, अरूलाई ढाँट्ने वा छल्ने नगर्न, आफ्नो कर्तव्य बफादारीसाथ पूरा गर्न, र उहाँलाई साँचो रूपमा प्रेम गर्ने र उहाँप्रति समर्पित हुन सक्ने हुन भनिरहनुभएको हुन्छ। यस्ता व्यक्तिहरू मात्रै परमेश्वरको राज्यका मानिसहरू हुन्। परमेश्वरले मानिसहरूलाई ख्रीष्टका असल सिपाहीहरू हुन आज्ञा गर्नुहुन्छ। ख्रीष्टका असल सिपाहीहरू को हुन्? तिनीहरू सत्यता वास्तविकताले सुसज्जित भएका र ख्रीष्टसँग एउटै हृदय र मन भएकाहरू हुनुपर्छ। कुनै पनि समय र स्थानमा, तिनीहरूले परमेश्वरको बढाइ गर्न र उहाँको गवाही दिन, र शैतानसँग लडाइँ गर्न सत्यता प्रयोग गर्न सक्नुपर्छ। सबै कुरामा, तिनीहरू परमेश्वरको पक्षमा उभिनुपर्छ, गवाही दिनुपर्छ, र सत्यता वास्तविकतामा जिउनुपर्छ। तिनीहरूले शैतानलाई लज्जित पारेर परमेश्वरको लागि अद्भुत विजयहरू प्राप्त गर्न सक्नुपर्छ। ख्रीष्टको असल सिपाही हुनु भनेको त्यही हो। ख्रीष्टका असल सिपाहीहरू विजेताहरू हुन्, तिनीहरू शैतानलाई जित्ने मानिसहरू हुन्। मानिसहरूलाई इमानदार बन्न र छली नबन्न आज्ञा दिएर, परमेश्वरले तिनीहरूलाई मूर्ख बन्न होइन, बरु आफ्नो छली स्वभाव फाल्न, उहाँप्रतिको समर्पण हासिल गर्न र उहाँको महिमा बढाउन भनिरहनुभएको छ। सत्यता अभ्यास गरेर यो कुरा हासिल गर्न सकिन्छ। यो व्यक्तिको व्यवहारमा आउने परिवर्तन होइन, यो धेरै बोल्ने वा थोरै बोल्ने कुरा होइन, न त यो व्यक्तिको कामगराइको कुरा नै हो। बरु, यो त व्यक्तिको बोलीवचन र व्यवहार, उसका सोच र विचारहरू, उसका अभिलाषा र इच्छाहरू पछाडि लुकेको अभिप्रायसँग सम्बन्धित हुन्छ। भ्रष्ट स्वभावको प्रकटीकरण र गल्तीसँग सम्बन्धित सबै कुरालाई जराबाटै परिवर्तन गरिनुपर्छ, ताकि यो सत्यताअनुरूप हुन सकोस्। यदि कसैले स्वभाव परिवर्तन हासिल गर्नु छ भने, उसले स्पष्टसित शैतानको स्वभावको सार देख्न सक्नुपर्छ। यदि तैँले छली स्वभावको सार स्पष्टसित देख्न सक्छस्, र यो शैतानको स्वभाव र दियाबलसको अनुहार हो भनेर बुझ्न सक्छस् भने, यदि तैँले शैतानलाई घृणा गर्न र दियाबलसलाई त्याग्न सक्छस् भने, तँलाई आफ्नो भ्रष्ट स्वभाव त्याग्न सहज हुनेछ। यदि तँलाई तँभित्र छली स्थिति छ भन्ने थाहा छैन भने, यदि तँ छली स्वभावको प्रकटीकरण पहिचान गर्दैनस् भने, तैँले यसलाई समाधान गर्न कसरी सत्यता खोजी गर्ने भनेर जान्नेछैनस्, र तँलाई तेरो छली स्वभाव परिवर्तन गर्न गाह्रो हुनेछ। तैँले सुरुमा तँमा के-कस्ता कुराहरू प्रकट हुन्छन्, ती कुराहरू पहिचान गरेर, ती भ्रष्ट स्वभावका कुन-कुन पक्षहरू हुन् भनेर थाहा पाउनुपर्छ। यदि तैँले प्रकट गर्ने कुराहरू छली स्वभावका कुराहरू हुन् भने, के तैँले ती कुरालाई हृदयबाटै घृणा गर्नेछस्? अनि यदि घृणा गर्छस् भने, तँ कसरी परिवर्तन हुनुपर्छ? तैँले तेरा अभिप्रायहरूलाई काटछाँट गर्नुपर्छ र तेरा दृष्टिकोणहरू सुधार्नुपर्छ। तैँले तेरा समस्याहरू समाधान गर्न सुरुमा यस मामिलाबारे सत्यता खोजी गर्नुपर्छ, परमेश्वरले आज्ञा गर्नुभएको कुरा हासिल गर्न र उहाँलाई सन्तुष्ट पार्न लागिपर्नुपर्छ, र परमेश्वरलाई वा अरू मानिसहरूलाई, वा अलिक मूर्ख वा अज्ञानीहरूलाई छल्न प्रयास नगर्ने व्यक्ति बन्नुपर्छ। मूर्ख वा अज्ञानीहरूलाई छल्न खोज्नु अत्यन्तै अनैतिक कार्य हो—यसले तँलाई एक दियाबलस बनाउँछ। इमानदार व्यक्ति बन्नको लागि, तैँले कसैलाई पनि छल्नु वा ढाँट्नु हुँदैन। तैपनि, दियाबलसहरू र शैतानको लागि चाहिँ तैँले तेरा शब्दहरू बुद्धिमानी ढङ्गले छनौट गर्नुपर्छ; यदि त्यसो गरिनस् भने, तँलाई तिनीहरूले मूर्ख बनाउने र परमेश्वरलाई बदनाम गर्ने सम्भावना अधिक हुन्छ। आफ्ना शब्दहरू बुद्धिमानी ढङ्गले छनौट गरेर अनि सत्यता अभ्यास गरेर मात्रै, तैँले शैतानलाई जित्न र लज्जित तुल्याउन सक्छस्। अज्ञानी, मूर्ख, र जिद्दी मानिसहरूले कहिल्यै सत्यता बुझ्न सक्दैनन्; तिनीहरू त शैतानद्वारा बहकाइन, खेलाइन, र कुल्चीमिल्ची पारिन, र अन्त्यमा त्यसद्वारा निलिन मात्रै सक्छन्।
यसपछि हामी, चौथो प्रकारको स्वभावबारे कुरा गरौँ। भेलाहरूमा, कतिपय मानिसहरूले आफ्नो स्थितिबारे अलिअलि सङ्गति गर्न सक्छन्, तर जब समस्याहरूको सार अनि तिनीहरूका व्यक्तिगत मनसाय र विचारहरू बताउने बेला आउँछ, तब तिनीहरू कुरा टार्ने काम गर्छन्। जब मानिसहरूले तिनीहरूलाई मनसाय र लक्ष्यहरू बोकिहिँडेको आरोप लगाउँछन्, तब तिनीहरूले शिर हल्लाएर सहमति जनाएजस्तो गर्छन्। तर जब मानिसहरूले कुनै पनि गहन कुरा खुलासा वा चिरफार गर्ने प्रयास गर्छन्, तब तिनीहरू त्यो सहन सक्दैनन्, र उठेर जान्छन्। किन महत्त्वपूर्ण क्षणमा तिनीहरू लुसुक्क भाग्छन्? (तिनीहरूले सत्यता स्विकार्दैनन् र आफ्नै समस्याहरू सामना गर्न इच्छुक हुँदैनन्।) यो स्वभावको समस्या हो। जब तिनीहरू आफूभित्रका समस्याहरू समाधान गर्नको लागि सत्यता स्विकार्न इच्छुक हुँदैनन्, तब के यसको अर्थ तिनीहरू सत्यताप्रति वितृष्ण हुने मानिसहरू हुन् भन्ने हुँदैन र? कस्ता प्रवचनहरू कतिपय अगुवा र सेवकहरू सुन्न त्यति मन गर्दैनन्? (ख्रीष्टविरोधी र झूटा अगुवाहरू कसरी चिन्ने भन्ने सम्बन्धी प्रवचनहरू।) सही भन्यौ। तिनीहरू सोच्छन्, “ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरू चिन्ने सम्बन्धी, अनि फरिसीहरू सम्बन्धी यी सब कुराहरू—किन तिमी यसबारेमा बताइरहन्छौ? तिमीले बस मलाई तनाव दिइरहेको छौ।” झूटा अगुवा र सेवकहरू पहिचान गर्ने बारेमा छलफल हुनेछ भन्ने सुन्नासाथ तिनीहरू बहाना बनाएर हिँडिहाल्छन्। यहाँ “हिँडिहाल्छन्” भन्नुको अर्थ के हो? यसले लुसुक्क भाग्नु, र लुक्नु जनाउँछ। किन तिनीहरू लुक्ने प्रयास गर्छन्? अरू मानिसहरूले तथ्यको कुरा निकाल्दा, तैँले सुन्नुपर्छ: सुन्नु तेरो लागि फाइदाजनक हुन्छ। जुन कुरा कठोर छ वा जुन कुराहरू तँलाई स्विकार्न गाह्रो लाग्छ, ती कुराहरू नोट गर्; त्यसपछि तैँले ती कुराहरूबारे बारम्बार विचार गर्नुपर्छ, ती कुरालाई बिस्तारै लिएर, बिस्तारै परिवर्तन हुनुपर्छ। त्यसकारण किन लुक्ने? त्यस्ता मानिसहरूले न्यायका यी वचनहरू धेरै कठोर छन्, र ती सुन्न सहज छैनन् भन्ने महसुस गर्छन्, त्यसकारण तिनीहरूमा प्रतिरोध र घृणाको विकास हुन्छ। तिनीहरूले मनमनै भन्छन्, “म ख्रीष्टविरोधी वा झूटो अगुवा होइन—किन मेरो बारेमा बोलेको बोल्यै गरेको? किन अरूको बारेमा कुरा नगरेको? दुष्ट मानिसहरू पहिचान गर्ने कुरा गर्नुहोस्, मेरो बारेमा कुरा नगर्नुहोस्!” तिनीहरू तर्किभाग्ने र विरोधी मानिसहरू बन्छन्। यो कस्तो स्वभाव हो? यदि तिनीहरू सत्यता स्विकार्न अनिच्छुक छन्, र सधैँ आफ्नो पक्षमा तर्क र दलिल गरिरहन्छन् भने, के त्यहाँ भ्रष्ट स्वभावको समस्या हुँदैन र? यो सत्यताप्रति वितृष्ण हुने स्वभाव हो। अगुवा र सेवकहरूमा यस्तो स्थिति हुन्छ, त्यसोभए साधारण विश्वासी दाजुभाइ-दिदीबहिनीहरूमा चाहिँ यस्तो हुन्छ कि हुँदैन? (तिनीहरूमा पनि यस्तै हुन्छ।) सुरुमा भेट्दा, सबै जनाले प्रेम देखाउँछन् र खुसीसाथ शब्द र धर्मसिद्धान्तहरू कण्ठ गर्छन्। तिनीहरू सबै जना सत्यतालाई प्रेम गर्नेजस्ता देखिन्छन्। तर व्यक्तिगत समस्या र वास्तविक कठिनाइहरूको कुरा आउँदा, धेरै मानिसहरूको मुखमा बुजो लाग्छ। उदाहरणको लागि, कतिपय मानिसहरूले वैवाहिक सम्बन्धको कारण निरन्तर बाधित महसुस गर्छन्। तिनीहरूलाई कर्तव्य पूरा गर्न वा सत्यता पछ्याउन मन लाग्दैन, र वैवाहिक सम्बन्ध नै तिनीहरूको सबैभन्दा ठूलो वाधा र बोझ बन्छ। भेलाहरूमा, जब सबैले यो स्थितिबारे सङ्गति गरिरहेका हुन्छन्, तब तिनीहरू अरूले सङ्गतिमा बोलेका वचनहरूलाई आफूसँग तुलना गर्छन् र आफ्नो बारेमा कुरा गरिँदै रहेछ भन्ने महसुस गर्छन्। तिनीहरू भन्छन्, “तपाईंहरूले सत्यता सङ्गति गर्दा मलाई समस्या छैन, तर मेरो कुरा किन गर्नुहुन्छ? के तपाईंहरूसँग कुनै समस्या छैन? किन मेरो बारेमा मात्रै कुरा गर्नुहुन्छ?” यो कस्तो स्वभाव हो? जब तिमीहरू सत्यता सङ्गति गर्न भेला हुन्छौ, तब तिमीहरूले वास्तविक समस्याहरू विश्लेषण गर्नुपर्छ र यी समस्याहरूबारे आफ्नो बुझाइ बताउन सबैलाई बोल्न दिनुपर्छ; त्यसपछि मात्रै तिमीहरूले आफूलाई चिन्न र आफ्ना समस्याहरू समाधान गर्न सक्नेछौ। किन मानिसहरूले यो कुरा स्विकार्न सक्दैनन्? मानिसहरूले काटछाँट स्विकार्न नसक्दा, र सत्यता स्विकार्न नसक्दा तिनीहरूमा के स्वभाव हुन्छ? के तिमीहरूले यसलाई स्पष्ट रूपमा चिन्नुपर्दैन र? यी सबै सत्यताप्रति वितृष्ण हुने स्वभावका प्रकटीकरणहरू हुन्—यही नै समस्याको सार हो। जब मानिसहरू सत्यताप्रति वितृष्ण हुन्छन्, तब तिनीहरूलाई सत्यता स्विकार्न निकै गाह्रो हुन्छ—अनि यदि तिनीहरूले सत्यता स्विकार्न सक्दैनन् भने, के तिनीहरूको भ्रष्ट स्वभावको समस्या समाधान हुन सक्छ? (सक्दैन।) त्यसोभए के सत्यता स्विकार्न नसक्ने यस्तो व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ? के त्यस्ताहरूलाई परमेश्वरले मुक्ति दिन सक्नुहुन्छ? अवश्य नै सक्नुहुन्न। के सत्यता नस्विकार्ने मानिसहरूले परमेश्वरमा साँचो विश्वास गर्न सक्छन्? अवश्य नै सक्दैनन्। परमेश्वरमा साँचो विश्वास गर्ने मानिसहरूको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सत्यता स्विकार्न सक्नु हो। सत्यता स्विकार्न नसक्ने मानिसहरूले परमेश्वरमा साँचो रूपले विश्वास गर्दै गर्दैनन्। के त्यस्ता मानिसहरू प्रवचनको बेला चुपचाप बस्न सक्छन्? के तिनीहरूले केही प्राप्ति गर्न सक्छन्? सक्दैनन्। यस्तो किन हुन्छ भने प्रवचनहरूले मानिसहरूका विभिन्न भ्रष्ट स्थितिहरू खुलासा गर्छन्। परमेश्वरका वचनहरूको विश्लेषण मार्फत, मानिसहरूले ज्ञान प्राप्त गर्छन्, र त्यसपछि अभ्यासका सिद्धान्तहरू सङ्गति गरेर, तिनीहरूलाई अभ्यासको मार्ग प्रदान गरिन्छ, र यसरी प्रभाव हासिल गरिन्छ। जब मानिसहरूले खुलासा भएको स्थिति आफूसँग सम्बन्धित छ, अर्थात् यो तिनीहरूका आफ्नै समस्याहरूसँग सम्बन्धित छ भन्ने थाहा पाउँछन्, तब तिनीहरूको सरमले तिनीहरूलाई क्रोधित तुल्याउँछ, र तिनीहरू उठेर भेलाबाट समेत हिँडिहाल्न सक्छन्। तिनीहरू हिँडिहालेनन् भने पनि, तिनीहरूले मनमनै झिजो मान्ने र आफूमाथि अन्याय भएको महसुस गर्न थाल्ने सम्भावना हुन्छ, र त्यो अवस्थामा तिनीहरूले भेलामा सहभागी हुनु वा प्रवचन सुन्नुको कुनै अर्थ हुँदैन। के प्रवचनहरू सुन्नुको उद्देश्य सत्यता बुझ्नु र आफ्ना वास्तविक समस्याहरू समाधान गर्नु होइन र? यदि तँलाई सधैँ आफ्ना समस्याहरू खुलासा होलान् भन्ने डर लाग्छ भने, सधैँ आफ्नो बारेमा कुरा गरिएला भन्ने डर लाग्छ भने, परमेश्वरमा किन विश्वास गर्छस्? यदि आफ्नो विश्वासमा सत्यता स्विकार्न सक्दैनस् भने, तैँले परमेश्वरमा साँचो विश्वास गरेको छैनस्। यदि तँ सधैँ खुलासा भइएला भनेर डराउँछस् भने, तैँले आफ्नो भ्रष्टताको समस्या कसरी समाधान गर्न सक्नेछस्? यदि तैँले आफ्नो भ्रष्टताको समस्या समाधान गर्न सक्दैनस् भने, परमेश्वरमा विश्वास गर्नुको के अर्थ? परमेश्वरमा विश्वास गर्नुको उद्देश्य परमेश्वरको मुक्ति स्विकार्नु, आफ्नो भ्रष्ट स्वभाव त्याग्नु, र साँचो मानवको रूपमा जिउनु हो, र यी सबै कुरा सत्यता स्विकारेर मात्रै हासिल गर्न सकिन्छ। यदि तैँले सत्यता स्विकार्न, वा काटछाँट हुन मान्न बिलकुलै सक्दैनस् भने, तैँले कुनै पनि हालतमा परमेश्वरको मुक्ति प्राप्त गर्दैनस्। त्यसकारण मलाई भन: हरेक मण्डलीमा, सत्यता स्विकार्न सक्नेहरू कति जना हुन्छन्? सत्यता स्विकार्न नसक्नेहरू धेरै हुन्छन् कि थोरै? (धेरै।) के यो कुरा मण्डलीका चुनिएका मानिसहरूमाझ आउने परिस्थिति हो, र के यो साँच्चै वास्तविक समस्या हो? सत्यता स्विकार्न नसक्ने र काटछाँट हुन नमान्नेहरू सबै नै सत्यताप्रति वितृष्ण हुने मानिसहरू हुन्। सत्यताप्रति वितृष्ण हुनु एक प्रकारको भ्रष्ट स्वभाव हो, र यदि यो स्वभाव परिवर्तन गर्न सकिएन भने, के तिनीहरूले मुक्ति पाउन सक्छन्? अवश्यै सक्दैनन्। आज, धेरै मानिसहरूलाई सत्यता स्विकार्न गाह्रो हुन्छ। यो कुनै पनि हालतमा सजिलो हुँदैन। यो समस्या समाधान गर्न, व्यक्तिले केही मात्रामा परमेश्वरको न्याय, सजाय, परीक्षा र शोधन अनुभव गर्नुपर्छ। त्यसोभए तिमीहरू के भन्छौ: मानिसहरूले काटछाँट स्विकार्न नसक्दा, तिनीहरूले परमेश्वरको वचनसँग वा प्रवचनको बेला खुलासा गरिएका स्थितिहरूसँग आफूलाई तुलना गर्न नसक्दा, त्यो कुन स्वभाव हो? (सत्यताप्रति वितृष्ण हुने स्वभाव।) यो चौथो भ्रष्ट स्वभाव हो: सत्यताप्रति वितृष्ण हुने स्वभाव। तिनीहरू कति वितृष्ण हुन्छन्? (तिनीहरू परमेश्वरका वचनहरू पढ्न, वा प्रवचनहरू सुन्न चाहँदैनन्, र तिनीहरूले सत्यता सङ्गति गर्न चाहँदैनन्।) सबैभन्दा स्पष्ट प्रकटीकरणहरू यिनै हुन्। उदाहरणको लागि, जब कसैले “तपाईंले साँच्चै परमेश्वरमा विश्वास गर्नुहुन्छ। तपाईंले आफ्नो कर्तव्य पूरा गर्न परिवार र करियर छोड्नुभएको छ, र विगत केही वर्ष तपाईंले धेरै कष्ट भोग्नुभएको र धेरै मूल्य चुकाउनुभएको छ। परमेश्वरले त्यस्ता मानिसहरूलाई आशिष् दिनुहुन्छ। परमेश्वरको लागि इमानदारीसाथ आफैलाई अर्पित गर्नेहरूले धेरै आशिष् पाउँछन् भनेर परमेश्वरको वचनले भन्छ” भनेर भन्छ, तब तँ आमेन भनेर त्यस्ता सत्यताहरू स्विकार्छस्। तैपनि, त्यसपछि जब त्यो मान्छेले, “तर तपाईंले सत्यताको लागि मेहनत गरिरहनुपर्छ! यदि मानिसहरूले आफूले गर्ने कार्यमा सधैँ मनसाय राखेर हिँड्छन्, र सधैँ आफ्नै अभिप्रायहरू अनुसार चल्दै अनियन्त्रित हुन्छन् भने, तिनीहरूले ढिलोचाँडो परमेश्वरलाई चिढ्याउनेछन् र उहाँको घृणा पाउनेछन्” भनेर भन्छ, वा यस्तै केही कुरा बताउँछ, तब तैँले यस्तो कुरा स्विकार्न सक्दैनस्। सङ्गति गरिएको सत्यता सुनेपछि, तैँले त्यो स्विकार्न नसक्ने मात्रै होइन, तँ रिसाउँछस्, र मनमनै यस्तो प्रतिक्रियासमेत दिन्छस्: “तिमीहरू सत्यता सङ्गति गरेरै सारा दिन बिताउँछौ, तैपनि मैले तिमीहरूमध्ये कोही पनि स्वर्ग गएको देखेको छैन।” यो कस्तो स्वभाव हो? (सत्यताप्रति वितृष्ण हुने स्वभाव।) जब बोलेको कुरा व्यवहारमा उतार्ने बेला आउँछ, जब मानिसहरू तँसँग गम्भीर हुन्छन्, तब तँमा अत्यन्तै धेरै विकर्षण, अधैर्यता, र प्रतिरोध पैदा हुन्छ। यो सत्यताप्रति वितृष्ण हुने स्वभाव हो। अनि सत्यताप्रति वितृष्ण हुने यो स्वभाव मुख्य रूपमा कसरी प्रकट हुन्छ? काटछाँट स्विकार्न नमान्ने रूपमा। काटछाँट नस्विकार्नु यस्तो स्वभावद्वारा प्रकट हुने एक प्रकारको स्थिति हो। आफूलाई काटछाँट गरिँदा, यी मानिसहरूले हृदयभित्र विशेष प्रतिरोध गर्छन्। तिनीहरू सोच्छन्, “म यो कुरा सुन्न चाहन्नँ! म यो सुन्न चाहन्नँ!” वा, “अरू मानिसहरूलाई चाहिँ किन काटछाँट नगरेको? किन मलाई नै गरेको?” अनि, सत्यताप्रति वितृष्ण हुनुको अर्थ के हो? सत्यताप्रति वितृष्ण हुनु भनेको व्यक्तिले सकारात्मक कुराहरूसँग, सत्यतासँग, परमेश्वरले अह्राउनुभएका कुराहरूसँग, वा परमेश्वरका अभिप्रायसँग जोडिएका कुनै पनि कुराप्रति पूर्ण अनिच्छुक हुनु हो। कहिलेकहीँ तिनीहरू यी कुराहरूबाट विकर्षित हुन्छन्; कहिलेकहीँ तिनीहरू यी कुराहरूलाई पूर्ण रूपमा बेवास्ता गर्छन्; कहिलेकहीँ तिनीहरू तिरस्कारी र उदासीन मनोवृत्ति अपनाउँछन्, यी कुरालाई गम्भीर रूपमा लिँदैनन्, यी कुराहरूलाई झारटारुवा रूपमा लिन्छन् र उपेक्षा गर्छन्;, वा तिनीहरू पूर्ण रूपमा जिम्मेवारीविहीन मनोवृत्ति प्रयोग गरेर तिनलाई निराकरण गर्छन्। सत्यताप्रति वाक्क मान्नुको प्रकटीकरण मानिसहरूले सत्यता सुन्दा वितृष्णा अनुभूति गर्नु मात्रै होइन। यसमा सत्यता अभ्यास गर्ने अनिच्छा गर्नु, सत्यताको अभ्यास गर्ने बेलामा, पछि हट्नु पनि हो, मानौँ सत्यतासँग उसको कुनै सम्बन्ध छैन। कतिपय मानिसहरूले भेलाहरूमा सङ्गति गर्दा, तिनीहरू अत्यन्तै सक्रिय देखिन्छन्, अरूलाई बहकाउन र अरूको मन जित्न शब्द र धर्मसिद्धान्तहरू दोहोर्याउन र ठूलाठूला अभिव्यक्तिहरू दिन मन पर्छ। यसो गर्दा तिनीहरू ऊर्जाले भरिएका र उत्साहित देखिन्छन्, र तिनीहरू अटुट रूपमा यस्ता कुराहरू भनिरहन्छन्। अनि, अरूले भने परमेश्वरका वचनहरू पढ्ने, प्रार्थना गर्ने, भजनहरू सुन्ने, र नोटहरू लेख्ने काम गर्दै बिहानदेखि बेलुकासम्म विश्वासका कुराहरूमा, यस्तो लाग्छ मानौँ तिनीहरू एक क्षण पनि परमेश्वरबाट अलग हुन सक्दैनन्। बिहानदेखि रातीसम्मै तिनीहरू आफ्नो कर्तव्य पूरा गर्नमा व्यस्त हुन्छन्। के यस्ता मानिसहरूले साँच्चै नै सत्यतालाई प्रेम गर्छन् र? के तिनीहरूमा सत्यताप्रति वाक्क मान्ने स्वभाव हुँदैन? कुन बेला तिनीहरूको साँचो स्थितिलाई देख्न सकिन्छ? (सत्यताको अभ्यास गर्ने बेला भएपछि, तिनीहरू भाग्छन्, र तिनीहरूलाई काटछाँटलाई स्वीकार गर्न मान्दैनन्।) के तिनीहरूले सुनेको कुरा नबुझेको कारणले यस्तो हुन्छ कि तिनीहरूले सत्यता नबुझेको कारण तिनीहरू यसलाई स्वीकार गर्न अनिच्छुक भएका हुन्छन्? उत्तर यीमध्ये कुनै पनि कारणले होइन। तिनीहरू आफ्नो प्रकृतिद्वारा नियन्त्रित हुन्छन्। यो त स्वभावसँग सम्बन्धित समस्या हो। यी मानिसहरूलाई आफ्नो हृदयमा परमेश्वरका वचनहरू सत्यता र सकारात्मक कुरा हुन्, अनि सत्यता अभ्यास गर्दा व्यक्तिको स्वभाव परिवर्तन हुन सक्छ र यसले व्यक्तिलाई परमेश्वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न सक्छ भन्ने कुरा राम्ररी थाहा हुन्छ, तर तिनीहरूले ती कुरा स्वीकार वा अभ्यास गर्दै गर्दैनन्। यो सत्यताप्रति वितृष्ण हुनु हो। तिमीहरूले कसमा सत्यताप्रति वितृष्णा हुने स्वभाव देखेका छौ? (अविश्वासीहरूमा।) अविश्वासीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, त्यो अत्यन्तै स्पष्ट छ। परमेश्वरसित त्यस्ता मानिसहरूलाई मुक्ति दिने कुनै उपाय छैन। अनि, परमेश्वरका विश्वासीहरूमाझ, तिमीहरूले के-कस्ता कुराहरूमा मानिसहरू सत्यताप्रति वितृष्ण भएका देखेका छौ? सायद तिमीहरूले तिनीहरूसँग सत्यता सङ्गति गर्दा, तिनीहरू उठेर गइहालेनन् होला, र सङ्गतिले तिनीहरूका कठिनाइ र समस्याहरू छुँदा, तिनीहरूले सही रूपमा त्यसको सामना गरे होलान्—तैपनि तिनीहरूमा सत्यताप्रति वितृष्ण हुने स्वभाव हुन्छ। त्यो कहाँ देख्न सकिन्छ? (तिनीहरू प्रायजसो प्रवचनहरू सुनिरहन्छन्, तर तिनीहरू सत्यता अभ्यास गर्दैनन्।) सत्यता अभ्यास नगर्ने मानिसहरूमा अवश्यै सत्यताप्रति वितृष्ण हुने स्वभाव हुन्छ। कतिपय मानिसहरूले कहिलेकहीँ थोरै सत्यता अभ्यास गर्न सक्छन्, त्यसोभए के तिनीहरूमा पनि सत्यताप्रति वितृष्ण हुने स्वभाव हुन्छ? सत्यता अभ्यास गर्नेहरूमा पनि त्यस्तो स्वभाव हुन्छ, यति हो, त्यसको हद फरक-फरक हुन्छ। तैँले सत्यता अभ्यास गर्न सक्नुको अर्थ तँमा सत्यताप्रति वितृष्ण हुने स्वभाव छैन भन्ने हुँदैन। सत्यता अभ्यास गर्दैमा तेरो जीवन स्वभाव तुरुन्तै बदलिसक्यो भन्ने हुँदैन—त्यस्तो हुँदैन। तैँले पहिले आफ्नो भ्रष्ट स्वभावको समस्या समाधान गर्नुपर्छ, र यो मात्रै तैँले जीवन स्वभावमा परिवर्तन हासिल गर्ने एउटै उपाय हो। एक पटक सत्यता अभ्यास गर्दैमा त्यसको अर्थ तँमा अबदेखि भ्रष्ट स्वभाव छैन भन्ने हुँदैन। तैँले एउटा क्षेत्रमा सत्यता अभ्यास गर्न सक्छस्, तर अरू क्षेत्रमा पनि सत्यता अभ्यास गर्न सक्छस् भन्ने हुँदैन। प्रसङ्ग र कारणहरू फरक-फरक हुन्छन्, तर सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको भ्रष्ट स्वभाव रहिरहेको हुन्छ, र त्यो समस्याको जड हो। त्यसैले, व्यक्तिको स्वभाव परिवर्तन भएपछि, उसका सबै कठिनाइ, सत्यता अभ्यास नगर्ने बहाना र निहुँहरू—यी सबै समस्याहरू समाधान हुन्छन्, र उसका सबै विद्रोहीपन, खराबी, र कमजोरीहरू हल हुन्छन्। यदि मानिसहरूको स्वभाव परिवर्तन भएन भने, तिनीहरूलाई सत्यता अभ्यास गर्न सधैँ कठिन हुनेछ, र निहुँ र बहानाहरू सधैँ भइरहनेछन्। यदि तँ सबै कुरामा सत्यता अभ्यास गर्न र परमेश्वरप्रति समर्पित हुन सक्ने बन्न चाहन्छस् भने, सर्वप्रथम तेरो स्वभावमा परिवर्तन आउनुपर्छ। त्यसपछि मात्रै तैँले जरैदेखि समस्याहरू समाधान गर्न सक्नेछस्।
सत्यताप्रति वितृष्ण हुने स्वभावले मुख्य रूपमा केलाई जनाउँछ? सुरुमा हामी एक प्रकारको स्थितिबारे छलफल गरौँ। कतिपय मानिसहरूलाई प्रवचनहरू सुन्ने ठूलो रुचि हुन्छ, र तिनीहरूले सत्यताको सङ्गति जति धेरै सुन्छन्, तिनीहरूको हृदय त्यति नै उज्यालो र तिनीहरू त्यति नै हर्षित हुन्छन्। तिनीहरूमा सकारात्मकता र सक्रियताको मनोवृत्ति हुन्छ। के यसले तिनीहरूमा सत्यताप्रति वितृष्ण हुने स्वभाव छैन भन्ने प्रमाणित गर्छ? (गर्दैन।) उदाहरणको लागि, कतिपय सात-आठ वर्षका बालबच्चाहरू परमेश्वरमाथिको विश्वासबारे सुन्दा उत्सुक हुन्छन्, र तिनीहरू आमाबुबासँगै सधैँ परमेश्वरको वचन पढ्ने र भेलाहरूमा जाने गर्छन्, र कतिपय मानिसहरूले भन्छन्, “यो बच्चामा सत्यताप्रति वितृष्ण हुने स्वभाव छैन, ऊ अत्यन्त चलाख छ, ऊ परमेश्वरलाई विश्वास गर्नै जन्मेको हो, र उसलाई परमेश्वरले चुन्नुभएको हो।” सायद परमेश्वरले नै तिनीहरूलाई चुन्नुभएको हुनसक्छ, तर यी शब्दहरूमा आधा सत्यता मात्रै छन्। किनभने तिनीहरू अझै सानै छन्, र तिनीहरूको खोजको दिशा र जीवनका उद्देश्यहरूले आकार लिन बाँकी नै छ। जब जीवन र समाजप्रतिको तिनीहरूको दृष्टिकोणले आकार लिन बाँकी नै हुन्छ, तब तिनीहरूको कलिलो आत्माले सकारात्मक कुराहरू मन पराउँछ भनेर त भन्न सकिन्छ, तर तिनीहरूमा सत्यताप्रति वितृष्ण हुने स्वभाव छैन भनेर भन्न सकिँदैन। म किन यसो भन्दै छु? तिनीहरू सानै उमेरका हुन्छन्। तिनीहरूको मानवता अझै अपरिपक्व हुन्छ, तिनीहरूमा अनुभवको कमी हुन्छ, तिनीहरूको ज्ञानको दायरा सीमित हुन्छ, र तिनीहरूले सत्यता भनेको के हो भनेर बुझेका हुँदैनन्। तिनीहरूले सकारात्मक कुराहरूको स्वाद मात्रै लिएका हुन्छन्। तिनीहरूले सत्यतालाई प्रेम गर्छन् भनेर भन्न सकिँदैन, तिनीहरूमा सत्यता वास्तविकता छ भनेर भन्न सकिने त कुरै नगरौँ। यति मात्र होइन, बालबालिकाहरूसँग कुनै अनुभव हुँदैन त्यसकारण तिनीहरूको हृदयमा के लुकेको छ, र तिनीहरूमा कस्तो प्रकृति सार छ भन्ने कुरा कसैले देख्न सक्दैन। तिनीहरूले परमेश्वरमाथिको विश्वासमा र प्रवचनहरू सुन्नमा चासो देखाए भन्दैमा, तिनीहरूले सत्यतालाई प्रेम गर्छन् भनेर मानिसहरूले निर्धारित गरिहाल्छन्—र त्यो अज्ञानता र मूर्खताको प्रकटीकरण हो, किनभने बालबालिकाहरूसँग सत्यता के हो भन्ने ज्ञान नै हुँदैन, त्यसकारण तिनीहरूलाई सत्यता मन पर्छ कि पर्दैन वा तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् कि हुँदैनन् भनेर उल्लेख समेत गर्न सकिँदैन। सत्यताप्रति वितृष्ण हुनु भनेको सत्यता र सकारात्मक कुराहरूप्रति चासो नहुनु र ती कुराहरूप्रति विद्वेष हुनु हो। सत्यताप्रति वितृष्ण हुने अवस्था तब हुन्छ, जब मानिसहरूले सत्यता बुझ्न सकेर पनि, सकारात्मक कुराहरू के हुन् भन्ने जानेर पनि, सत्यता र सकारात्मक कुराहरूलाई प्रतिरोध, झाराटारुवा, विद्वेष, कपट, र उदासीनताको मनोवृत्ति र स्थितिले लिन्छन्। यो सत्यताप्रति वितृष्ण हुने स्वभाव हो। के यस्तो स्वभाव सबैमा हुन्छ? कतिपय मानिसहरू यसो भन्छन्, “परमेश्वरको वचन सत्यता हो भन्ने मलाई थाहा भए पनि, मलाई अझै पनि यो मन पर्दैन, म यो स्विकार्दिनँ, र कम्तीमा पनि, अहिले म यसलाई स्विकार्न सक्दिनँ।” यहाँ के समस्या के छ? यो सत्यताप्रति वितृष्ण भएको अवस्था हो। तिनीहरूभित्र रहेको स्वभावले तिनीहरूलाई सत्यता स्विकार्न दिँदैन। सत्यता स्वीकार नगर्नुका विशिष्ट प्रकटीकरणहरू के-के हुन्? कतिले भन्छन्, “म सबै सत्यता बुझ्छु, तर यति हो कि म तिनलाई अभ्यास गर्नै सक्दिनँ।” यसले के प्रकट गर्छ भने, यो व्यक्ति सत्यताप्रति वितृष्ण हुने व्यक्ति हो, र उसले सत्यतालाई प्रेम गर्दैन, त्यसकारण ऊ सत्यता अभ्यास गर्न सक्दैन। कतिपय मानिसहरू भन्छन्, “मैले यति धेरै पैसा कमाउन सक्नुमाथि परमेश्वरकै सार्वभौमिकता छ। परमेश्वरले मलाई साँच्चै आशिष् दिनुभएको छ, परमेश्वरले मसँग कति राम्रो व्यवहार गर्नुभएको छ, र उहाँले मलाई धेरै धनसम्पत्ति दिनुभएको छ। मेरो पूरै परिवारले राम्रो लाउन र खान पाएका छन्, र तिनीहरूलाई न लाउनुको खाँचो छ न खानको।” परमेश्वरले आशिष् दिनुभएको देखेर, यी मानिसहरूले परमेश्वरलाई हृदयदेखि नै धन्यवाद दिन्छन्, र तिनीहरूलाई यो सबै परमेश्वरद्वारै शासित कुरा हो, र परमेश्वरले आशिष् नदिनुभएको भए, अर्थात् तिनीहरू आफ्नै प्रतिभामा भर परेका भए, तिनीहरूले अवश्यै यो सब पैसा कमाउँदैनथे भन्ने थाहा हुन्छ। तिनीहरूले हृदयमा साँच्चै यही सोच्छन्, यही कुरा थाहा पाएका हुन्छन्, अनि तिनीहरूले साँच्चै नै परमेश्वरलाई धन्यवाद दिन्छन्। तर एक दिन तिनीहरूको व्यापार असफल हुन्छ, तिनीहरूमाथि कठिन समय आइपर्छ, र तिनीहरूले गरिबी सामना गर्छन्। किन यस्तो हुन्छ? किनभने तिनीहरू चैनको लोभ गर्छन्, तर आफ्नो कर्तव्य कसरी राम्ररी पूरा गर्ने भनेर विचारै गर्दैनन्, अनि तिनीहरूले आफ्नो सारा समय सम्पत्तिको पछि लागेर, पैसाको दास बनेर बिताउँछन्, जसले तिनीहरूको कर्तव्य निर्वाहमा असर पार्छ, त्यसकारण परमेश्वरले तिनीहरूबाट यो कुरा खोस्नुहुन्छ। परमेश्वरले तिनीहरूलाई धेरै आशिष् दिनुभएको, र धेरै थोक दिनुभएको कुरा तिनीहरूलाई हृदयमा थाहा हुन्छ, तैपनि तिनीहरूसँग परमेश्वरको प्रेमको ऋण तिर्ने कुनै इच्छा हुँदैन, तिनीहरू बाहिर गएर आफ्नो कर्तव्य पूरा गर्न चाहँदैनन्, र तिनीहरू कायर बन्छन् र पक्राउ पर्छु भनेर निरन्तर डर मान्छन्, र तिनीहरूलाई यी सब सम्पत्ति र चैन गुमाउँछु भन्ने डर हुन्छ, र परिणामस्वरूप, परमेश्वरले यी कुराहरू तिनीहरूबाट खोसेर लिनुहुन्छ। परमेश्वरले तिनीहरूबाट यी कुराहरू खोस्नुभएको, र तिनीहरूलाई अनुशासित गर्नुभएको कुरा तिनीहरूलाई हृदयमा स्पष्ट थाहा हुन्छ, त्यसकारण, तिनीहरू परमेश्वरलाई प्रार्थना गर्दै यसो भन्छन्, “हे परमेश्वर! तपाईंले मलाई एक पटक आशिष् दिनुभयो, त्यसकारण मलाई फेरि दोस्रो पटक पनि आशिष् दिनुहोस्। तपाईंको अस्तित्व अनन्त छ, र मानवजातिप्रति तपाईंका आशिष्हरू पनि अनन्त नै छन्। म तपाईंलाई धन्यवाद दिन्छु! जेसुकै भए पनि, तपाईंका आशिष्हरू र प्रतिज्ञा परिवर्तन हुनेछैनन्। यदि तपाईंले मबाट लिनुभयो भने, म अझै पनि समर्पणकारी नै रहनेछु।” तर तिनीहरूको मुखबाट निस्केको “समर्पणकारी” भन्ने शब्द खोक्रो हुन्छ। तिनीहरूको मुखले समर्पणकारी रहन सक्छु भनी भन्छ, तर पछि तिनीहरूले यसबारेमा फेरि सोच्छन्, र तिनीहरूलाई यो ठीक लाग्दैन: “पहिले सबै कुरा कति राम्रो थियो। परमेश्वरले किन यो सब लिनुभयो? के घरमै बसेर कर्तव्य पूरा गर्नु पनि बाहिर गएर कर्तव्य पूरा गर्नुजस्तै होइन र? मैले कोचाहिँ ढिलाइ गराइरहेको थिएँ र?” तिनीहरूले विगतका कुरा सम्झिँदै सधैँ नरमाइलो मानिरहेका हुन्छन्। परमेश्वरप्रति तिनीहरूमा एक किसिमको गुनासो र असन्तुष्टि हुन्छ, र तिनीहरूले निरन्तर निराश महसुस गर्छन्। के परमेश्वर अझै पनि तिनीहरूको हृदयमा हुनुहुन्छ त? तिनीहरूको हृदयमा त पैसा, भौतिक सुखसुविधा, र खुसीका पलहरू मात्र हुन्छन्। तिनीहरूको हृदयमा परमेश्वरको लागि कुनै ठाउँ हुँदैन, अब त उहाँ तिनीहरूको परमेश्वर नै रहन छोड्नुभएको हुन्छ। “परमेश्वरले दिनुभयो, र परमेश्वरले नै लानुभयो” भन्ने सत्यता तिनीहरूलाई थाहा भए पनि, तिनीहरूलाई “परमेश्वरले दिनुभयो” भन्ने शब्दहरू मन पर्छ, र तिनीहरू “परमेश्वरले नै लानुभयो” भन्ने शब्दहरूप्रति वितृष्ण हुन्छन्। स्पष्टै छ, तिनीहरू छानी-छानी सत्यता स्विकार्छन्। जब परमेश्वरले तिनीहरूलाई आशिष् दिनुहुन्छ, तब तिनीहरू यसलाई सत्यताको रूपमा स्विकार्छन्—तर परमेश्वरले तिनीहरूबाट लिने बित्तिकै, तिनीहरू यो कुरा स्विकार्न सक्दैनन्। तिनीहरू परमेश्वरका त्यस्ता सार्वभौमिकताहरू स्विकार्न सक्दैनन्, बरु विरोधमा उत्रन्छन्, र मुरमुरिँदै बस्छन्। तिनीहरूलाई कर्तव्य पूरा गर्न लगाउँदा, तिनीहरू भन्छन्, “परमेश्वरले मलाई आशिष् र अनुग्रह दिनुभयो भने म कर्तव्य पूरा गर्नेछु। परमेश्वरका आशिष्हरू पाइनँ र मेरो परिवार यस्तो गरिबीको स्थितिमा रहन्छ भने, मैले कसरी आफ्नो कर्तव्य पूरा गर्ने? म कर्तव्य पूरा गर्न चाहन्नँ!” यो कस्तो स्वभाव हो? तिनीहरूले आफ्नो हृदयमा परमेश्वरका आशिष्हरू, र उहाँले तिनीहरूलाई धेरै कुरा दिनुभएको व्यक्तिगत रूपमा अनुभव गरेका हुन्छन्, तर परमेश्वरले तिनीहरूबाट लिनुहुँदा तिनीहरू त्यो स्विकार्न मान्दैनन्। यस्तो किन हुन्छ? यस्तो किन हुन्छ भने, तिनीहरूले आफ्नो सम्पत्ति र सुखी जीवन त्याग्न सक्दैनन्। तिनीहरूले यसबारेमा धेरै हल्लीखल्ली नगरे पनि, परमेश्वरको अघि हात नपसारे पनि, र आफ्नै प्रयासहरूमा भर पर्दै पहिलेका आफ्ना सम्पत्तिहरू खोसिलिने प्रयास नगरे पनि, परमेश्वरको कदमप्रति तिनीहरू पहिल्यै बेखुस भइसकेका हुन्छन्, र तिनीहरू स्वीकार गर्न पूर्ण असमर्थ हुँदै यसो भन्छन्, “परमेश्वरले यस्तो व्यवहार गर्नु एकदमै संवेदनहीन कुरा हो। यो त बुझेर बुझ्नै नसकिने भयो। मैले अब कसरी परमेश्वरलाई विश्वास गरिरहने हो? म अब उहाँ परमेश्वर हुनुहुन्छ भनेर स्विकार्न चाहन्नँ। यदि म उहाँ परमेश्वर हुनुहुन्छ भनेर मान्दिनँ भने, उहाँ परमेश्वर हुनुहुन्न।” के यो कुनै प्रकारको स्वभाव हो? (हो।) शैतानसँग यस्तो स्वभाव हुन्छ, र शैतानले परमेश्वरलाई यसरी इन्कार गर्छ। यस्तो स्वभाव सत्यताप्रति वितृष्ण हुने र सत्यतालाई घृणा गर्ने स्वभाव हो। जब मानिसहरू यस हदसम्म सत्यताप्रति वितृष्ण हुन्छन्, यसले तिनीहरूलाई कहाँ पुर्याउँछ? यसले तिनीहरूलाई परमेश्वरको विरोध गर्ने बनाउँछ, यसले तिनीहरूलाई जिद्दी पूर्वक अन्त्यसम्मै परमेश्वरको विरोध गर्ने बनाउँछ—यसको अर्थ तिनीहरूको काम तमाम भयो भन्ने हुन्छ।
सत्यताप्रति वितृष्ण हुने स्वभावको प्रकृति कस्तो हुन्छ? सत्यताप्रति वितृष्ण हुने मानिसहरूले सकारात्मक कुराहरू वा परमेश्वरले गर्नुहुने कुनै पनि कुराहरूलाई प्रेम गर्दैनन्। उदाहरणको लागि, परमेश्वरको आखिरी दिनहरूको न्यायको कामलाई लिऊँ: कसैले पनि यो काम स्विकार्न चाहँदैनन्। मानिसहरूलाई खुलासा गर्ने, दोषी ठहराउने, सजाय दिने, जाँच्ने, शोधन गर्ने, ताडना दिने, र अनुशासित गर्ने परमेश्वरका प्रवचनहरू सुन्न थोरै मानिसहरू मात्रै इच्छुक हुन्छन्, तर तिनीहरू परमेश्वरले मानिसहरूलाई आशिष्, उपदेश, र प्रतिज्ञाहरू दिनुभएको प्रवचन सुन्दा भने खुसी हुन्छन्—यी कुराहरू कसैले पनि इन्कार गर्दैनन्। यो त अनुग्रहको युगको कुराजस्तै भयो, जुन बेला परमेश्वरले मानिसलाई क्षमा दिने, माफी दिने, आशिष् दिने र अनुग्रह दिने काम गर्नुभयो, अनि उहाँले बिरामीहरू निको पार्नुभयो र भूतहरू धपाउनुभयो, र मानिसहरूलाई प्रतिज्ञाहरू दिनुभयो—मानिसहरू ती सबै कुरा स्विकार्न तयार थिए, र येशूले मानिसहरूलाई गर्नुभएको महान् प्रेमको लागि सबैले उहाँको प्रशंसा गरे। तर अहिले राज्यको युग आइपुगेको छ र परमेश्वरले न्यायको काम गर्नुहुन्छ, र धेरै सत्यता व्यक्त गर्नुहुन्छ, तैपनि कसैले वास्ता गर्दैनन्। परमेश्वरले मानिसहरूलाई जसरी खुलासा र न्याय गर्नुभए पनि, तिनीहरूले त्यो स्विकार्दैनन्, बरु उल्टै तिनीहरू यसोसमेत भन्छन्, “के परमेश्वरले यस्तो गर्न सक्नुहुन्छ? के परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्न र?” यदि तिनीहरूलाई काटछाँट गरियो, ताडना दिइयो, वा अनुशासनमा राखियो भने, तिनीहरूमा अझै धेरै धारणा पलाउँछ, र तिनीहरू मनमनै भन्छन्, “यो कसरी परमेश्वरको प्रेम भयो र? न्याय र दण्डाज्ञाका यी वचनहरू पटक्कै प्रेमपूर्ण छैनन्, त्यसकारण म यी वचनहरू स्विकार्दिनँ। म त्यति मूर्ख छैनँ!” यो सत्यताप्रति वितृष्ण हुने स्वभाव हो। सत्यता सुनेपछि, कतिपय मानिसहरू भन्छन्, “कस्तो सत्यता? यो त सिद्धान्त मात्र हो। यो अत्यन्तै महान्, अत्यन्तै शक्तिशाली, अत्यन्तै पवित्रजस्तो देखिन्छ—तर यी त राम्रो सुनिने वचनहरू मात्रै हुन्।” के यो सत्यताप्रति वितृष्ण हुने स्वभाव होइन र? यो सत्यताप्रति वितृष्ण हुने स्वभाव हो। के यो तिमीहरूमा भएको स्वभाव हो? (हो।) मैले भर्खरै कस्तो स्थिति उल्लेख गरेँ, जसको सिकार तिमीहरू हुने सम्भावना बढी हुन्छ, जुन तिमीहरूले सबैभन्दा बढीजसो देखिरहन्छौ, र जसको सबैभन्दा गहन बुझाइ तिमीहरूसँग छ? (कर्तव्य निभाउँदा कठिनाइ सामना गर्न नचाहनु, परमेश्वरको न्याय र सजायमा पर्न नचाहनु, र सबै कुरा सहजतापूर्वक अघि बढोस् भन्ने चाहनु।) परमेश्वरको सार्वभौमिकता इन्कार गर्नु, परमेश्वरको अनुशासन र ताडना इन्कार गर्नु, परमेश्वरले भलाइको लागि नै यो गरिरहनुभएको छ भन्ने स्पष्ट जानेर पनि हृदयमा यसलाई इन्कार गर्नु: यो एक प्रकारको प्रकटीकरण हो। अरू के छ? (हामी कर्तव्य निर्वाहमा प्रभावकारी भयौँ भने, खुसी हुनु, र प्रभावकारी भएनौँ भने, नकारात्मक र कमजोर बन्नु, र सक्रिय रूपमा सहकार्य गर्न नसक्नु।) यो कस्तो किसिमको प्रकटीकरण हो? (हठीपन।) तिमीहरूले यसबारेमा सही कुरा भन्नुपर्छ। दोधारमा परेर अन्धाधुन्ध दाबी नगर। कहिलेकहीँ, मानिसहरूको स्थिति अत्यन्तै जटिल हुन्छ; ती एक प्रकारका मात्रै हुँदैनन्, तिनमा दुई-तीन वटा स्थिति मिसिएका हुन्छन्। त्यसोभए तैँले यसलाई कसरी परिभाषित गर्छस्? कहिलेकहीँ, एउटा स्वभाव दुई स्थितिमा प्रकट हुन्छ, कहिलेकहीँ तीन वटा स्थितिमा प्रकट हुन्छ, तर यी स्थितिहरू फरक-फरक भए पनि, अन्ततः यो स्वभाव एउटै हुन्छ। तिमीहरूले सत्यताप्रति वितृष्ण हुने यो स्वभाव बुझ्नुपर्छ, र सत्यताप्रति वितृष्ण हुने स्वभावका प्रकटीकरणहरू के-के हुन् त्यो जाँच्नुपर्छ। यसरी, तिमीहरूले सत्यताप्रति वितृष्ण हुने यो स्वभावलाई साँचो रूपमा बुझ्न सक्नेछौ। तँ सत्यताप्रति वितृष्ण हुन्छस्। कुनै कुरा सही हो भन्ने कुरा तँलाई राम्ररी थाहा हुन्छ—यो परमेश्वरको वचन वा सत्यता सिद्धान्त नै हुनुपर्छ भन्ने छैन, र कहिलेकहीँ यो सकारात्मक कुरा, सही कुरा, सही शब्द, र सही सुझाव पनि हुन सक्छ—तैपनि तँ अझै यसो भन्छस्, “यो सत्यता होइन, केवल सही शब्दहरू हुन्। म सुन्न चाहन्नँ—म मान्छेका वचनहरू सुन्दिनँ!” यो कस्तो स्वभाव हो? यसमा अहङ्कार, हठीपन, र सत्यताप्रति वितृष्ण हुने प्रवृत्ति समावेश छ—यसमा यी सबै प्रकारका स्वभावहरू हुन्छन्। एक प्रकारको स्वभावले विभिन्न प्रकारका स्थितिहरू सिर्जना गर्न सक्छ। अनि, एउटा स्थिति विभिन्न प्रकारका स्वभावहरूसँग सम्बन्धित हुन सक्छ। यी स्थितिहरूलाई कस्तो स्वभावले सिर्जना गर्छ त्यसबारे तँ स्पष्ट हुनुपर्छ। यसरी, तैँले विभिन्न प्रकारका भ्रष्ट स्वभावहरू छुट्याउन सक्नेछस्।
हामीले भर्खरै सङ्गति गरेका चार प्रकारका भ्रष्ट स्वभावहरूमध्ये, मानिसहरूलाई मृत्यु दण्ड दिनको लागि कुनै एक पनि पर्याप्त हुन्छ—के यसो भन्नु अत्योक्ति हुन्छ? (हुँदैन।) मानिसहरूका भ्रष्ट स्वभावहरू कसरी आउँछन्? ती सबै शैतानबाट आएका हुन्छन्। मानिसहरू शैतान, दियाबलसहरू, र चर्चित र प्रख्यात व्यक्तिहरूले छरेका हरकिसिमका झूटा शिक्षा र भ्रमहरूद्वारा भरिएका हुन्छन्, र यसरी यी विभिन्न भ्रष्ट स्वभावहरू देखा पर्छन्। यी स्वभावहरू सकारात्मक हुन्छन् कि नकारात्मक? (नकारात्मक।) यी नकारात्मक हुन्छन् भनेर तिमीहरूले कुन आधारमा भन्छौ? (सत्यताको आधारमा।) यी स्वभावहरूले सत्यताको उल्लङ्घन गर्ने र परमेश्वरको विरोध गर्ने भएकाले, अनि परमेश्वरको स्वभाव र परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्योप्रति चरम विरोधी हुने भएकाले, यदि मानिसहरूमा यीमध्ये एउटा स्वभाव मात्रै आयो भने पनि, तिनीहरू परमेश्वरको विरोध गर्ने व्यक्ति बनिहाल्छन्। यदि कुनै व्यक्तिमा यी चार स्वभावमध्ये प्रत्येक स्वभाव भेटियो भने, यो समस्याजनक हुन्छ र त्यो व्यक्ति परमेश्वरको शत्रु बनेको हुन्छ, र उसले कुनै निश्चित मृत्यु पाउने पक्का हुन्छ। स्वभाव जुनसुकै भए पनि, यदि तैँले त्यसलाई सत्यतासँग तुलना गरिस् भने, हरेक स्वभावले प्रकट गर्ने सार पूराको पूरा परमेश्वर विरुद्ध लक्षित, परमेश्वरको प्रतिरोधी, र परमेश्वरप्रति शत्रुवत् हुन्छ। त्यसकारण, यदि तेरो स्वभाव परिवर्तन भएन भने, तँ परमेश्वरसँग मिल्दो हुनेछैनस्, र तैँले सत्यतालाई घृणा गर्नेछस् र तँ परमेश्वरको शत्रु बन्नेछस्।
अब यसपछि हामी पाँचौँ प्रकारको स्वभावबारे कुरा गरौँ। म तिमीहरूलाई एउटा उदाहरण दिन्छु, र यो कस्तो प्रकारको स्वभाव हो तिमीहरूले पत्ता लगाउन प्रयास गर्न सक्छौ। मानौँ दुई मानिसहरू कुरा गरिरहेका छन्, र तिनीहरूमध्ये एउटा सीधै बोल्ने खालको छ, र त्यसबाट अर्को व्यक्तिलाई चोट पुग्छ। अनि, उसले मनमा यस्तो सोचिरहेको हुन्छ, “तिमी किन मलाई चोट पर्ने गरी व्यवहार गरिरहेको छौ? के म अरू मान्छेलाई आफूमाथि औँला उठाउन दिनेजस्तो लाग्यो?” यसरी त्यो व्यक्तिमा घृणा पैदा हुन्छ। वास्तवमा, यो समस्या समाधान गर्न सजिलो छ। यदि एउटा व्यक्तिले अर्को व्यक्तिलाई चोट पुर्याउने गरी कुनै कुरा भन्यो भने, त्यस्तो बोल्ने व्यक्तिले माफी मागेमा, यो समस्या समाधान हुन्छ। तर यदि चोट पाउने पक्षले यो कुरालाई कहिल्यै छोड्न सक्दैन र “बदला लिन भलाद्मीलाई कहिल्यै ढिला हुँदैन” भनेर सोच्छ भने, यो कस्तो स्वभाव हो? (द्वेष।) ठीक भन्यौ—यो द्वेष हो, र यो क्रूर स्वभाव भएको व्यक्ति हो। मण्डलीमा, उचित रूपमा कर्तव्य पूरा नगर्दा, कतिपय मानिसहरूलाई काटछाँट गरिन्छ। कुनै व्यक्तिलाई काटछाँट गर्दा, उसलाई प्रायजसो सम्झाइन्छ र सम्भवतः गालीसमेत गरिन्छ। यसले निश्चय नै तिनीहरूलाई व्याकुल बनाउँछ, र तिनीहरू बहाना बनाउँदै जवाफ फर्काउन चाहन्छन्। अनि, तिनीहरू यस्ता कुराहरू बोल्छन्, “तपाईंले मलाई सही कुराहरू भन्दै काटछाँट गर्नुभएको भए पनि, तपाईंले भन्नुभएका कतिपय कुराहरू अत्यन्तै अपमानजनक छन्, तपाईंले मलाई अपमानित गर्नुभएको छ, र मेरो भावनामा चोट पुगेको छ। मैले कुनै योगदान नदिएको भए पनि, धेरै परिश्रम गरेको छु र मैले परमेश्वरमा विश्वास गरेको यति वर्ष भयो—मलाई कसरी यस्तो व्यवहार गर्न सक्नुभयो? कसरी तपाईंले अरू कसैलाई काटछाँट गर्नुहुन्न? म यो कुरा स्विकार्न सक्दिनँ र म यसलाई त्यतिकै छोड्नेवाला छैनँ!” यो एक प्रकारको भ्रष्ट स्वभाव हो, होइन र? (हो।) यो भ्रष्ट स्वभाव गुनासो, अवज्ञा, र शत्रुताबाट मात्रै प्रकट भइरहेको हुन्छ, तर यो यसको चरम बिन्दुमा पुग्न बाँकी नै हुन्छ, र यसले केही लक्षणहरू देखाएको भए पनि, यो यसको अन्तिम हदसम्म पुगेको हुँदैन, तर यो प्रस्फुटन हुने विन्दुमा भने पुग्न थालिसकेको हुन्छ। यसको केही समयपछि तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू अब समर्पित रहँदैनन्, तिनीहरूले झिजो मान्छन् र अटेरी भई उल्टो व्यवहार गर्न थाल्छन्। तिनीहरूले यस्तो तर्क गर्न थाल्छन्: “मानिसहरूलाई काटछाँट गर्दा, अगुवा र सेवकहरू सधैँ सही नै हुन्छन् भन्ने छैन। तपाईंहरू यसलाई स्विकार्न सक्नुहुन्छ होला, तर म त सक्दिनँ। तपाईंहरू मूर्ख र कायर भएकाले यसलाई स्विकार्न सक्नुभएको हो। म यो स्विकार्दिनँ। यसबारे छलफल गरौँ र को सही छ र को गलत छ हेरौँ।” त्यसपछि मानिसहरूले तिनीहरूसित यसो भन्दै सङ्गति गर्छन्, “सही-गलत जे भए पनि, तपाईंले गर्नुपर्ने पहिलो कार्य भनेको आज्ञापालन गर्नु हो। के तपाईंले कर्तव्य पूरा गर्दा त्यसमा कति पनि गल्ती हुँदैन भन्ने सम्भावना हुन्छ र? के तपाईंले सबै कुरा सही गर्नुहुन्छ र? यदि तपाईंले सबै कुरा सही नै गर्नुभए पनि, काटछाँटमा पर्नु तपाईंको लागि फाइदाजनक नै हुन्छ! हामीले तपाईंलाई सिद्धान्तहरूबारे धेरै पटक सङ्गति दिएका छौँ, तर तपाईंले कहिल्यै सुन्नुभएन र आफूलाई जे मन लाग्यो त्यही गर्ने निर्णय गरिरहनुभयो, र मण्डलीको काममा बाधा पुर्याउनुभयो र ठूला घाटाहरू गराउनुभयो, त्यसकारण तपाईं कसरी काटछाँटमा पर्न सक्नुहुन्न र? शब्दहरू कठोर हुन सक्छन्, र सुन्दा गाह्रो लाग्न सक्छ, तर त्यो सामान्य कुरा हो, होइन र? त्यसकारण तपाईंले के कुराको तर्क गरिरहनुभएको छ? के तपाईंलाई अरूले काटछाँट नगरीकन खराब कुराहरू गर्न दिइरहनुपर्ने हो?” तर के तिनीहरूले यो सुनेर काटछाँट स्वीकार गर्न सक्छन् र? सक्दैनन्। तिनीहरूले बहाना बनाउने र प्रतिरोध गर्ने कार्यलाई नै निरन्तरता दिनेछन्। यसमा तिनीहरूले कस्तो स्वभाव प्रकट गरेका हुन्छन्? पैशाचिक; यो क्रूर स्वभाव हो। तिनीहरूको तात्पर्य वास्तवमा के हुन्छ? “मलाई मानिसहरूले झिज्याएको म सहन सक्दिनँ। कसैले पनि मेरो टाउकोको एउटा केशसमेत छुन पाउँदैन। मसित जोरी खोज्न सजिलो छैन भनेर यदि मैले तपाईंलाई देखाएँ भने, तपाईं भविष्यमा मलाई काटछाँट गर्ने आँट गर्नुहुनेछैन। त्यसपछि के मैले जितेको हुनेछैन र?” यो कुरा कस्तो लाग्यो? यसमा स्वभाव प्रकट भएको छ, होइन र? यो एउटा क्रूर स्वभाव हो। क्रूर स्वभाव भएका मानिसहरू सत्यताप्रति प्रतिकूल मात्रै हुँदैनन्—तिनीहरू सत्यतालाई घृणासमेत गर्छन्! जब तिनीहरू काटछाँटमा पर्छन्, तब तिनीहरू कि त भाग्ने प्रयास गर्छन्, कि त बेवास्ता गर्छन्—तिनीहरू आफ्नो हृदयमा अत्यन्तै शत्रुवत् रहन्छन्। यो तिनीहरूले केवल बहानाहरू बनाएको कुरा होइन। तिनीहरूको मनोवृत्ति त्यस्तो हुँदैन। तिनीहरू त अटेरी र विरोधी हुन्छन्, र तिनीहरू चुडेलले जस्तो मुख फर्काउँछन्। तिनीहरूले हृदयमा यस्तो सोच्छन्, “मलाई थाहा छ, तपाईं मलाई अपमान गर्न र जानीजानी लज्जित पार्न खोज्दै हुनुहुन्छ, र मैले तपाईंको अगाडि विरोध गर्ने आँट नगरे पनि, म आफ्नो बदला लिने मौका लिने नै छु! के तपाईं मलाई काटछाँट गर्न र यताउता खेलाउन सक्छु भन्ने ठान्नुहुन्छ? म सबैलाई मेरो पक्षमा पार्नेछु, तपाईंलाई एकल्याउनेछु, त्यसपछि तपाईंको व्यवहारको स्वाद म तपाईंलाई नै चखाउनेछु!” तिनीहरूले हृदयमा यही कुरा सोचिरहेका हुन्छन्; तिनीहरूको क्रूर स्वभाव अन्ततः आफै प्रकट भएको हुन्छ। तिनीहरूले आफ्ना लक्ष्यहरू हासिल गर्न र द्वेष पोखाउन, आफूलाई सही साबित गराउने र सबैलाई आफ्नो पक्षमा ल्याउने बहानाहरू खोज्न सक्दो प्रयास गर्छन्। त्यसपछि मात्रै तिनीहरू खुसी र शान्त हुन्छन्। यो द्वेषपूर्ण छ, होइन र? यो क्रूर स्वभाव हो। काटछाँटमा नपरेको हुँदा, यस्ता मानिसहरू साना थुमाजस्तै हुन्छन्। जब तिनीहरू काटछाँटमा पर्छन्, वा जब तिनीहरूको वास्तविक रूप खुलासा हुन्छ, तब तिनीहरू तुरुन्तै थुमाबाट ब्वाँसोमा परिणत हुन्छन्, र तिनीहरूको ब्वाँसोको स्वभाव प्रकट हुन्छ। यो क्रूर स्वभाव हो, होइन र? (हो।) तर धेरैजसो समय यो किन प्रकट हुँदैन त? (तिनीहरूलाई उक्साइएको हुँदैन।) ठीक भन्यौ, तिनीहरूलाई उक्साइएको हुँदैन र तिनीहरूका हितहरूमा चुनौती आएको हुँदैन। यो त नभोकाएको बेला ब्वाँसोले केही नखाएजस्तै हो—के त्यस्तो बेला त्यो ब्वाँसो होइन भनेर भन्न सकिन्छ त? त्यसलाई ब्वाँसो भन्नको लागि त्यसले तँलाई खाने प्रयास गर्न थालुन्जेल पर्खन्छस् भने, त्यो धेरै ढिला भइसकेको हुनेछ, होइन र? यसले तँलाई खाने प्रयास नै गरेको छैन भने पनि, तँ सधैँ सतर्क हुनुपर्छ। ब्वाँसोले तँलाई खाएको छैन भन्दैमा त्यसले तँलाई खान चाहँदैन भन्ने हुँदैन, यति मात्र हो कि त्यो समय आएको छैन—अनि जब त्यो समय आउँछ, ब्वाँसोको प्रकृतिले प्रहार गरिहाल्छ। काटछाँट गरिँदा, यसले हरप्रकारको व्यक्तिको खुलासा गर्छ। कतिपय मानिसहरू मनमनै सोच्छन्, “किन मलाई मात्रै काटछाँट गरिन्छ? किन सधैँ मलाई मात्रै ताकिन्छ? के तिनीहरू मलाई सजिलो निसाना ठान्छन्? म सहजै जोरी खोज्न मिल्ने व्यक्ति होइनँ!” यो कस्तो स्वभाव हो? कसरी तिनीहरू मात्रै काटछाँटमा पर्ने व्यक्तिहरू हुन सक्छन्? वास्तवमा अवस्था यस्तो हुँदैन। तिमीहरूमध्ये को काटछाँटमा परेका छैनौ र? तिमीहरू सबै परेका छौ। कहिलेकहीँ अगुवा र सेवकहरूले आफ्नो काममा सधैँ ढिपी र लापरवाही गर्छन्, नत्रभने तिनीहरूले कार्य बन्दोबस्तअनुसार त्यो काम अघि बढाउँदैनन्—र तिनीहरूमध्ये धेरैजसो काटछाँटमा पर्छन्। मण्डलीको काम रक्षा गर्न र मानिसहरूलाई कपटी हुनबाट रोक्न यसो गरिन्छ। कुनै निश्चित व्यक्तिलाई निसाना बनाउन यसो गरिँदैन। तिनीहरूले भनेको कुरा स्पष्ट रूपमै तथ्यहरू बङ्ग्याउने कार्य हो, र यो पनि क्रूर स्वभावको प्रकटीकरण नै हो।
अनि अरू कुन-कुन तरिकाले क्रूर स्वभाव प्रकट हुन सक्छ? यो कसरी सत्यताप्रति प्रतिकूल बन्नुसँग सम्बन्धित छ? वास्तवमा, जब प्रतिरोध र आलोचना प्रकट गर्दै सत्यताप्रति प्रतिकूल बन्ने स्वभाव गम्भीर रूपमा आफै प्रकट हुन्छ, तब यसले क्रूर स्वभाव खुलासा गर्छ। सत्यताप्रति प्रतिकूल बन्ने कार्यमा विभिन्न स्थितिहरू समावेश हुन्छन्, जसमा सत्यताप्रति चासो नराख्नेदेखि सत्यतालाई घृणा गर्ने कार्यसम्म पर्छ, र यो पछि गएर परमेश्वरलाई आलोचना गर्ने र दोष दिने अवस्थामा पुग्छ। जब सत्यताप्रति प्रतिकूल बन्ने स्वभाव चरम विन्दुमा पुग्छ, तब मानिसहरूले परमेश्वरलाई इन्कार, घृणा, र विरोध गर्ने सम्भावना बढी हुन्छ। यी विभिन्न स्थितिहरू क्रूर स्वभाव हुन्, होइन र? (हो।) त्यसकारण, सत्यताप्रति प्रतिकूल रहने मानिसहरूको स्थिति अझै गम्भीर हुन्छ, र यसभित्र एक प्रकारको स्वभाव हुन्छ, र त्यो हो, क्रूर स्वभाव। उदाहरणको लागि, कतिपय मानिसहरूले सबै कुरामाथि परमेश्वरले नै शासन गर्नुहुन्छ भन्ने कुरा स्विकार्छन्, तर जब परमेश्वरले तिनीहरूबाट खोस्नुहुन्छ, र तिनीहरूका हितहरूमा घाटा लाग्छ, तब तिनीहरूले बाहिरी रूपमा त गुनासो वा विरोध गर्दैनन्, तर भित्री रूपमा तिनीहरूमा स्वीकार वा समर्पण हुँदैन। तिनीहरूले निष्क्रिय भएर विनाश कुर्ने मनोवृत्ति अपनाउँछन्—जुन स्पष्ट रूपमा सत्यताप्रति प्रतिकूल रहने स्वभाव नै हो। अर्को अझै गम्भीर स्थिति पनि छ: तिनीहरू निष्क्रिय भएर विनाश कुर्दैनन्, बरु परमेश्वरका बन्दोबस्त र योजनाबद्ध कार्यहरू इन्कार्छन्, र तिनीहरूबाट परमेश्वरले खोस्नुहुँदा त्यसको विरोध गर्छन्। तिनीहरूले कसरी विरोध गर्छन्? (मण्डलीको काममा वाधा वा अवरोध गरेर, वा तोडफोड गरेर, वा आफ्नै राज्य स्थापना गर्ने प्रयास गरेर।) त्यो एक तरिका हो। कतिपय मण्डली अगुवाहरू बर्खास्त भएपछि, तिनीहरूले मण्डली जीवन जिउने क्रममा मण्डलीमा सधैँ बाधा र अवरोध गरिरहेका हुन्छन्, र तिनीहरूले नवनियुक्त अगुवाले भनेको सबै कुरा विरोध र अवज्ञा गर्छन्, र पिठ्यूँपछाडि उनीहरूलाई कमजोर बनाउने प्रयास गर्छन्। यो कस्तो स्वभाव हो? यो एउटा क्रूर स्वभाव हो। तिनीहरूले वास्तवमा यस्तो सोचिरहेका हुन्छन्, “यदि म अगुवा हुन सक्दिनँ भने, अरू कसैले पनि यो पद लिन सक्दैन, किनभने म तिनीहरूलाई लखेट्नेछु! म तिमीलाई बाहिरिन बाध्य बनाउनेछु, र म पहिलेजस्तै इन्चार्ज हुनेछु!” यो सत्यताप्रति प्रतिकूल बन्नु मात्रै होइन, यो त क्रूरता हो! हैसियत, क्षेत्र, व्यक्तिगत हितहरू र प्रतिष्ठाको लागि होड गर्नु, बदला लिन कुनै कसर नछाड्नु, आफूले सक्ने सबै कुरा गर्नु, आफ्ना सबै सीप प्रयोग गर्नु, आफ्ना उद्देश्यहरू पूरा गर्न सम्भव भएको सबै गर्नु, आफ्नो प्रतिष्ठा, गौरव, र हैसियत जोगाउनु, वा बदला लिने आफ्नो इच्छा पूरा गर्नु—यी सबै क्रूरताका प्रकटीकरणहरू हुन्। क्रूर स्वभावका केही व्यवहारहरूमा वाधा र अवरोध पुर्याउने खालका कुराहरू बोल्ने कार्य पनि पर्छन्; कतिपय व्यवहारहरूमा आफ्ना उद्देश्यहरू पूरा गर्न कैयौँ खराब कुराहरू गर्ने कार्य पनि पर्छन्। चाहे बोलीवचनमा होस् वा व्यवहारमा होस्, त्यस्ता मानिसहरूले गर्ने सबै कुरा सत्यता विपरीत, र सत्यता उल्लङ्घन गर्ने किसिमको हुन्छ, र यो सब क्रूर स्वभावको प्रकटीकरण हो। कतिपय मानिसहरू यी कुराहरू चिन्न नसक्ने हुन्छन्। यदि कुनै गलत बोली वा व्यवहार सजिलै देखिने खाले छैन भने, तिनीहरू त्यसको वास्तविकता देख्न सक्दैनन्। तर सत्यता बुझ्ने मानिसहरूको लागि भने दुष्ट मानिसहरूले भन्ने र गर्ने सबै कुरा दुष्ट नै हुन्छ, र सही वा सत्यतासँग मिल्ने केही कुरा तिनमा हुँदै हुँदैन; यो भन्न सकिन्छ कि यी मानिसहरूले भन्ने र गर्ने यी कुराहरू १००% दुष्टता हुन् र यी पूर्णतया क्रूर स्वभावका प्रकटीकरण हुन्। यस्तो क्रूर स्वभाव प्रकट गर्नुभन्दा पहिले दुष्ट मानिसहरूका मनसायहरू के-के हुन्छन्? तिनीहरूले के-कस्ता लक्ष्यहरू हासिल गर्ने प्रयास गरिरहेका हुन्छन्? तिनीहरूले कसरी यस्ता कुराहरू गर्न सक्छन्? के तिमीहरूले यो कुरा पत्ता लगाउन सक्छौ? म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। कसैको घरमा कुनै एउटा घटना घट्छ। अनि, ठूलो रातो अजिङ्गरले त्यो घर निगरानीमा राख्छ र तिनीहरू फर्केर जान सक्दैनन्, जसले गर्दा तिनीहरूलाई ठूलो पीडा हुन्छ। कतिपय विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई आश्रय दिन्छन्, र ती आश्रयदाताको घरमा सबै कुरा राम्रो देखेर, तिनीहरूले मनमनै सोच्छन्, “तिम्रो घरमा चाहिँ कसरी केही पनि नभएको? मेरो घरमा चाहिँ कसरी यस्तो भएको? यो त निष्पक्ष भएन। यसरी हुँदैन, मैले पनि तिम्रो घरमा यस्तै घटना घटाउने उपाय सोच्नुपर्छ, ताकि तिमी पनि घर आउन नसक्ने होऊ। म तिमीलाई पनि मैले भोगेको कठिनाइको स्वाद चखाउँछु।” तिनीहरूले केही गरे पनि नगरे पनि, वा यो कुरा वास्तविकतामा परिणत भए पनि नभए पनि, वा तिनीहरूले आफ्ना उद्देश्यहरू हासिल गरे पनि नगरे पनि, तिनीहरूमा अझै पनि यस्तै अभिप्राय हुन्छ। यो एक प्रकारको भ्रष्ट स्वभाव हो, होइन र? (हो।) यदि तिनीहरूले असल जीवन जिउन सकेनन् भने, अरूलाई पनि जिउन दिँदैनन्। यस्तो स्वभावको प्रकृति के हो? (द्वेष।) यो एउटा क्रूर स्वभाव हो—यो व्यक्ति घिनलाग्दो हुन्छ! यस्ताहरू भित्रैबाट कुहिएका हुन्छन्। यसले तिनीहरू कति क्रूर छन् भन्ने कुरा स्पष्ट पार्छ। अनि, यस्तो स्वभावको प्रकृति कस्तो हुन्छ? तिनीहरूमा यो स्वभाव प्रकट हुँदा, तिनीहरूको मनसाय, अभिप्राय, र उद्देश्य के हुन्छ के तिमीहरू त्यसलाई विश्लेषण गर्छौ? तिनीहरूले यो स्वभाव प्रकट गर्दाको सुरुवाती बिन्दु के हुन्छ? तिनीहरूले के हासिल गर्न चाहन्छन्? तिनीहरूको आफ्नो घरमा कुनै घटना घटेको हुन्छ, र आश्रयदाताको घरमा हुँदा तिनीहरूलाई राम्रो खानपान दिइएको हुन्छ—तैपनि किन तिनीहरूले यो कुरा बरबाद पार्न चाहन्छन्? के तिनीहरू आफ्नो आश्रयदाताको घर भताभुङ्ग भएपछि र केही घटना घटेर उक्त आश्रयदाता घर जान नपाउने अवस्थामा पुगेपछि मात्रै खुसी हुन्छन्? तिनीहरूले आफ्नै लागि भए पनि त्यो ठाउँको रक्षा गर्नुपर्छ, त्यो घरमा केही घटना घट्न दिनु हुँदैन, र आश्रयदातालाई हानि गर्नु हुँदैन, किनभने उनीहरूलाई हानि गर्नु भनेको आफैलाई हानि गर्नुजस्तै हो। त्यसोभए तिनीहरूले यसो गर्ने चाह राख्नु पछाडि के लक्ष्य हुन्छ? (जब आफ्नो परिस्थिति खराब हुन्छ, तब तिनीहरूले अरूको पनि परिस्थिति खराब होस् भन्ने चाहन्छन्।) क्रूरता भनेको यही हो। तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, “ठूलो रातो अजिङ्गरले मेरो घर नष्ट गरेको छ र मसँग अहिले घर छैन। तर तिम्रो त अझै पनि फर्केर आउने न्यानो र सुन्दर घर छ। यो निष्पक्ष भएन। तिमी घर फर्कन पाएको म हेर्न सक्दिनँ। म तिमीलाई एउटा पाठ पढाउनेछु। म तिमीलाई पनि घर फर्कन नपाउने अवस्थामा पुर्याउनेछु र तिमी पनि मजस्तै हुनेछौ। यसो गर्दा निष्पक्ष भएको अनुभव हुनेछ।” के यसो गर्नु द्वेषपूर्ण र खराब नियत होइन र? यो कस्तो प्रकृति हो? (क्रूरता।) दुष्ट मानिसहरूले भन्ने र गर्ने सबै कुरा कुनै न कुनै उद्देश्य हासिल गर्न गरिएको हुन्छ। तिनीहरूले प्राय कस्ता कुराहरू गर्छन्? क्रूर स्वभाव भएका मानिसहरूले गर्ने सबैभन्दा आम कुराहरू के-के हुन्? (तिनीहरूले मण्डलीको काममा वाधा दिन्छन्, अवरोध गर्छन्, र विनाश ल्याउँछन्।) (मानिसहरूको आमनेसामने हुँदा तिनीहरू ठिक्क पार्छन्, तर पिठ्यूँपछाडि तिनीहरूलाई कमजोर बनाउने प्रयास गर्छन्।) (तिनीहरू मानिसहरूलाई आक्रमण गर्छन्, बदला लिन्छन् र द्वेषपूर्ण रूपमा मानिसहरूमाथि जाइलाग्छन्।) (तिनीहरू अफवाह फैलाउँछन् र हिलो पोत्छन्।) (तिनीहरू अरूमाथि गालीगलौज, आलोचना, र निन्दा गर्छन्।) यी कार्यहरूको प्रकृति भनेको मण्डलीको काम बिथोल्नु र नाश पार्नु हो, र ती सबै नै परमेश्वर विरुद्ध विरोध र आक्रमण गर्ने प्रकटीकरणहरू हुन्, र ती सबै क्रूर स्वभावका प्रकटीकरणहरू हुन्। यस्ता कुराहरू गर्न सक्ने मानिसहरू अवश्य नै दुष्ट मानिसहरू हुन्, र क्रूर स्वभावका केही निश्चित प्रकटीकरणहरू भएका ती सबै मानिसहरूलाई दुष्ट मानिसहरूको रूपमा परिभाषित गर्न सकिन्छ। अनि, दुष्ट व्यक्तिको सार के हो? त्यो दियाबलस र शैतानको सार हो। यसमा कुनै अत्युक्ति छैन। के तिमीहरू पनि यी कार्यहरू गर्न सक्छौ? यीमध्ये कुन-कुन कार्यहरू तिमीहरू गर्न सक्छौ? (आलोचना गर्ने कार्य।) के तिमीहरू मानिसहरूलाई आक्रमण गर्ने वा बदला लिने साहस गर्छौ? (कहिलेकहीँ ममा यस्ता विचारहरू आउँछन्, तर म तिनलाई व्यवहारमा उतार्ने आँट गर्दिनँ।) तिमीहरूमा यी विचारहरू मात्रै आउँछन्, तर तिनलाई व्यवहारमा लागू गर्ने आँट गर्दैनौ। यदि कुनै सानो हैसियत भएको व्यक्तिले तँलाई चोट पुर्यायो भने, के तँ बदला लिने आँट गर्छस्? (कहिलेकहीँ बदला लिन्छु, म त्यस्ता कुराहरू गर्न सक्ने अवस्थामा छु।) यदि त्यो व्यक्ति छुनै नसकिने किसिमको छ भने—यदि ऊ बोल्न निकै सिपालु छ, र उसले तँलाई चोट पुर्यायो भने—के तँ बदला लिने आँट गर्छस्? सायद थोरै मात्रै यसो गर्न डराउँदैनन् होला। के कमजोरलाई हेप्ने र बलियोदेखि डराउने यस्ता मानिसहरूमा क्रूर स्वभाव हुन्छ? (हुन्छ।) यो व्यवहार जस्तोसुकै भए पनि, र जोप्रति लक्षित भए पनि, यदि तँ अरू विश्वासी दाजुभाइ-दिदीबहिनी विरुद्ध बदला लिने दुष्कर्म गर्न सक्छस् भने, यसले तँभित्र क्रूर स्वभाव छ भन्ने प्रमाणित गर्छ। यो क्रूर स्वभाव बाहिरबाट हेर्दा त्यति फरक देखिँदैन, तर तैँले यसलाई चिन्न सक्नुपर्छ र तैँले कसलाई निसाना बनाइरहेको छस् त्यो कुरा छुट्याउन सक्नुपर्छ। यदि तँ शैतानप्रति क्रोधित छस् र तैँले शैतानलाई वशीभूत र लज्जित पार्न सक्छस् भने, के यसलाई क्रूर स्वभाव मानिन्छ? मानिँदैन। यो त सही कुराको पक्षमा खडा हुनु र शत्रुको अघि निडर रहनु हो। यो त न्यायको बोध हुनु हो। यसलाई के-कस्ता परिस्थितिहरूमा चाहिँ क्रूर स्वभाव मानिन्छ? यदि तैँले असल मानिसहरू, वा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई हेप्ने, कुल्चीमिल्ची पार्ने, र अपमानित गर्ने गर्छस् भने, यो क्रूर स्वभाव हो। त्यसकारण, तँमा विवेक र समझ हुनुपर्छ, तैँले मानिसहरू र मामलाहरूलाई सिद्धान्तहरूअनुसार लिनुपर्छ, दुष्ट मानिसहरू र दियाबलसलाई चिन्न सक्नुपर्छ, तँमा न्यायबोध धारण गर्नुपर्छ, परमेश्वरका चुनिएका मानिसहरू र विश्वासी दाजुभाइ-दिदीबहिनीहरूप्रति सहनशील र धैर्य हुनुपर्छ, र सत्यताअनुसार अभ्यास गर्नुपर्छ। यो पूर्ण रूपमा सही, र परमेश्वरका अभिप्राय अनुरूप हुन्छ। क्रूर स्वभाव भएका मानिसहरूले अरूलाई यसरी सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्। यदि कसैले तिनीहरूलाई चोट पुर्याउने केही काम गर्यो भने, त्यो व्यक्ति जोसुकै भए पनि तिनीहरूले बदला लिने प्रयास गर्छन्—यो क्रूरता हो। दुष्ट मानिसहरूले व्यवहार गर्ने तरिकामा कुनै सिद्धान्त हुँदैन। तिनीहरूले सत्यता खोजी गर्दैनन्। चाहे व्यक्तिगत कुविचार प्रकट गर्ने व्यवहार होस्, वा कमजोरलाई हेप्ने र बलियोदेखि डर मान्ने कुरा होस्, वा कसैलाई बदला लिने दुस्साहस होस्, यी सबै नै क्रूर स्वभावसँग सम्बन्धित कुरा हुन्, र यी सबै नै भ्रष्ट स्वभाव हुन्। यसमा कुनै शङ्का छैन।
क्रूर स्वभाव भएको व्यक्तिको सबैभन्दा स्पष्ट प्रकटीकरण के हो? जब तिनीहरूले सहजै हेप्न सकिने कुनै निश्छल व्यक्तिलाई भेटेर त्यो व्यक्तिलाई हेप्न र खेलबाड गर्न थाल्छन्, तब यस्तो हुन्छ। यो आम रूपमा हुने कुरा हो। तुलनात्मक रूपमा अलिक दयालु हृदय भएको व्यक्तिले निष्कपट र डरपोक व्यक्तिलाई भेट्यो भने, तिनीहरूले त्यो व्यक्तिप्रति करुणा बोध महसुस गर्छन्, र उसलाई सहयोग गर्न नसके पनि, हेप्ने काम गर्दैनन्। जब तैँले तेरो विश्वासी दाजुभाइ-दिदीबहिनीमध्ये कोही निश्छल छ भन्ने देख्छस्, तब तैँले उसँग कस्तो व्यवहार गर्छस्? के तँ तिनीहरूलाई हेप्छस् कि गिज्याउँछस्? (म पक्कै पनि तिनीहरूलाई हेयको दृष्टिले हेर्छु होला।) मानिसहरूलाई हेयको दृष्टिले हेर्नु भनेको त तिनीहरूलाई हेर्ने एउटा तरिका हो, तिनीहरूप्रतिको एक दृष्टिकोण, र एक प्रकारको मानसिकता हो, तर तैँले तिनीहरूसित कस्तो व्यवहार गर्छस् र कसरी बोल्छस्, त्यो तेरो स्वभावसँग सम्बन्धित हुन्छ। मलाई भन त, डरपोक र कायर मानिसहरूप्रति तिमीहरू कस्तो व्यवहार गर्छौ? (म तिनीहरूमाथि हुकुम चलाउँछु र हेप्छु।) (तिनीहरूले गलत तरिकाले कर्तव्य गरेको देखेँ भने, म तिनीहरूलाई पक्षपात र बहिष्कार गर्छु।) तिमीहरूले उल्लेख गरेका यी कुराहरू क्रूर स्वभावका प्रकटीकरणहरू हुन् र यी कुरा मानिसहरूको स्वभावसँग सम्बन्धित छन्। यस्ता कुराहरू अझै धेरै छन्, त्यसैले यीबारे विस्तृत रूपमा बताउन जरुरी छैन। के तिमीहरूले कहिल्यै यस्तो व्यक्ति भेटेका छौ जो आफूलाई कसैले चिढ्यायो भने त्यो चिढ्याउने व्यक्ति मरोस् भन्ने कामना गर्छ, र परमेश्वरलाई प्रार्थना गरेर त्यसलाई मारिदिनुहोस्, र पृथ्वीबाट हटाइदिनुहोस् भनेर अनुरोधसमेत गर्छ? मान्छेमा त्यस्तो शक्ति नहुने भए पनि, हृदयमा तिनीहरू त्यस्तो शक्ति भए कति राम्रो हुन्थ्यो भनेर सोच्छन्, वा परमेश्वरलाई प्रार्थना गरेर यसो गर्न अनुरोध गर्छन्। के तिमीहरूको हृदयमा पनि त्यस्तो विचार आउँछ? (जब हामी सुसमाचार सुनाइरहेका हुन्छौँ र हामीलाई आक्रमण गर्ने र हाम्रो बारे पुलिसलाई रिपोर्ट गर्ने दुष्ट मानिसहरू भेट्छौँ, तब मलाई तिनीहरूप्रति घृणा लाग्छ, र “तँलाई परमेश्वरले एक दिन दण्ड दिनुहुनेछ” भनेर सोच्ने गर्छु।) त्यो निकै वस्तुगत परिस्थिति हो। तँलाई आक्रमण गरियो, तँ कष्ट र पीडामा परिस्, र तेरो व्यक्तिगत निष्ठा र आत्मसम्मानमा आँच पुग्यो—त्यस्तो परिस्थितिमा, धेरैजसो मानिसहरूलाई यस्तो कुरा भुल्न गाह्रो हुन्छ। (कतिपय मानिसहरूले हाम्रो मण्डलीबारे अनलाइनमा अफवाह फैलाउँछन्, तिनीहरूले धेरै आरोपहरू लगाउँछन्, र ती कुराहरू पढ्दा मलाई साह्रै रिस उठ्छ, र मेरो हृदयमा धेरै घृणा पैदा हुन्छ।) यो क्रूरता हो कि, झोक्कीपन हो कि, कि सामान्य मानवता हो? (यो सामान्य मानवता हो। पिशाचहरू र परमेश्वरका शत्रुहरूलाई घृणा नगर्नुचाहिँ सामान्य मानवता होइन।) ठीक भन्यौ। यो सामान्य मानवताको प्रकाश, प्रकटीकरण, र प्रतिक्रिया हो। यदि मानिसहरूले नकारात्मक कुराहरूलाई घृणा वा सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन् भने, यदि तिनीहरूमा विवेकको कुनै मापदण्डहरू छैन भने, तिनीहरू मानिसहरू नै होइनन्। यस्ता परिस्थितिहरूमा, व्यक्तिले के-कस्ता कार्यहरू गर्न सक्छ जुन पछि गएर क्रूर स्वभाव बन्छ? यदि यो घृणा र तिरस्कार निश्चित प्रकारको व्यवहारमा परिणत भयो भने, यदि तैँले सबै समझ गुमाइस्, र तेरो व्यवहार मानवताको घेराभन्दा बाहिर गयो भने, यदि तँ तिनीहरूलाई मार्ने र कानुन उल्लङ्घन गर्ने अवस्थामा पुगिस् भने, यो क्रूरता हो, र यो क्रोधित व्यवहार गर्नु हो। जब मानिसहरू सत्यता बुझ्छन्, दुष्ट मानिसहरू चिन्न सक्षम हुन्छन्, र दुष्टतालाई घृणा गर्छन्, त्यो सामान्य मानवता हो। तर यदि तिनीहरूले क्रोधित तरिकाले परिस्थितिहरू सामना गर्छन् भने, तिनीहरू सिद्धान्तहरूभन्दा बाहिर गएर काम गरिरहेका हुन्छन्। के यो दुष्कर्म गर्नुभन्दा फरक हुन्छ? (हुन्छ।) यसमा भिन्नता छ। यदि कुनै व्यक्ति अत्यन्तै खराब, अत्यन्तै क्रूर, अत्यन्तै दुष्ट, र अत्यन्तै अनैतिक छ, र तँलाई त्यस व्यक्तिप्रति अत्यन्तै घृणा लाग्छ, र यो घृणा बढेर तँ परमेश्वरलाई पुकारी तिनीहरूलाई श्राप दिनुहोस् भन्ने अवस्थामा पुग्छस् भने, त्यो ठीकै हो। तर तैँले दुई-तीन पटक प्रार्थना गरेपछि पनि परमेश्वरले केही गर्नुभएन र तैँले यो मामला आफ्नै हातमा लिइस् भने, के यो उचित हुन्छ त? (हुँदैन।) तैँले परमेश्वरलाई प्रार्थना गरेर आफ्ना दृष्टिकोण र विचारहरू व्यक्त गर्न सक्छस्, त्यसपछि सत्यता सिद्धान्तहरू खोजी गर्न सक्छस्, र त्यसो गरिस् भने तैँले परिस्थितिहरू सही रूपमा सम्हाल्न सक्छस्। तर तैँले परमेश्वरलाई तेरो खातिर बदला लिन लगाउन वा जबरजस्ती गर्न मिल्दैन, झन् तैँले रिसको झोँकमा मूर्ख कामहरू गर्नु त पटक्कै हुँदैन। तैँले समझदार भएर मामला सम्हाल्नुपर्छ। तँ धैर्य हुनुपर्छ, परमेश्वरको समय पर्खिनुपर्छ, र अझै धेरै समय परमेश्वरलाई प्रार्थना गर्दै बिताउनुपर्छ। परमेश्वरले शैतान र दियाबलसहरूसँग कसरी बुद्धिमत्तासाथ व्यवहार गर्नुहुन्छ भनेर हेर्नुपर्छ, र यसरी तँ धैर्य रहन सक्छस्। समझदार हुनु भनेको यो सबै कुराको लागि परमेश्वरमा भरोसा गर्नु र परमेश्वरलाई नै काम गर्न दिनु हो। सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा यही हो। रिसको झोकमा काम नगर्। रिसको झोकमा काम गर्नु परमेश्वरको लागि स्वीकार्य हुँदैन, र यसलाई परमेश्वरले दोषी ठहराउनुहुन्छ। यस्तो बेला, मानिसहरूमा प्रकट हुने स्वभाव मानव कमजोरी वा क्षणिक रिस होइन, तर क्रूर स्वभाव हो। यो क्रूर स्वभाव हो भन्ने निर्धारित भएपछि, तँ समस्यामा पर्छस्, र तैँले मुक्ति पाउने सम्भावना हुँदैन। किनभने मानिसहरूमा क्रूर स्वभाव छ भने, तिनीहरूले विवेक र समझ विपरीत काम गर्ने सम्भावना हुन्छ, र तिनीहरूले नियम-कानुन उल्लङ्घन गर्ने, र परमेश्वरका प्रशासनिक आदेशहरू तोड्ने सम्भावना धेरै हुन्छ। अनि, यस्तो अवस्थाबाट कसरी बच्ने? कम्तीमा पनि, तीन वटा घेराहरू छन् जसलाई तैँले नाघ्नु हुँदैन: पहिलो विवेक र समझ विपरीत काम नगर्नु, दोस्रो नियम-कानुन नतोड्नु, र तेस्रो परमेश्वरका प्रशासनिक आदेशहरू उल्लङ्घन नगर्नु। अनि त्यसैगरी, कुनै पनि चरम कुरा र मण्डलीको काममा बाधा दिने कुनै पनि कुरा नगर्नु। यदि तैँले यी सिद्धान्तहरू पालना गरिस् भने, कम्तीमा पनि तेरो सुरक्षा सुनिश्चित हुनेछ, र तँ हटाइनेछैनस्। तँलाई हरकिसिमका दुष्कर्महरू गरेको कारण काटछाँट गरिँदा, तैँले क्रूरतासाथ प्रतिरोध गरिस् भने, त्यो अझै खतरनाक कुरा हो। त्यसो गर्दा, तैँले सोझै परमेश्वरको स्वभाव चिढ्याउने र तँ मण्डलीबाट हटाइने वा निष्कासित हुने सम्भावना हुन्छ। परमेश्वरको स्वभाव चिढ्याए बापत आउने दण्ड नियम कानुन तोड्दाको भन्दा निकै गम्भीर हुन्छ—यो मृत्युभन्दा खराब नियति जस्तो हुन्छ। नियम कानुन तोड्दा बढीमा जेल सजाय हुन्छ; केही वर्ष दुःख हुन्छ अनि तँ रिहा हुन्छस्। तर तैँले परमेश्वरको स्वभाव चिढ्याइस् भने, तैँले अनन्त दण्ड भोग्नेछस्। त्यसकारण, यदि क्रूर स्वभाव भएका मानिसहरूमा कुनै समझ छैन भने, तिनीहरू चरम खतरामा हुन्छन्, तिनीहरूले दुष्ट्याइँ गर्ने सम्भावना हुन्छ, र तिनीहरू अवश्यै दण्डित हुनेछन् र प्रतिशोध पाउनेछन्। यदि मानिसहरूमा थोरै भए पनि समझशक्ति छ, र तिनीहरू सत्यता खोजी गर्न र त्यसमा समर्पित हुन सक्छन्, र धेरै दुष्टता गर्नबाट जोगिन सक्छन् भने, तिनीहरूसँग अवश्यै मुक्ति पाउने आशा हुन्छ। व्यक्तिमा तर्कसङ्गतता र समझ हुनु महत्त्वपूर्ण हुन्छ। समझ भएको व्यक्तिले सत्यता स्विकार्ने र काटछाँट हुनुलाई सही रूपमा लिने सम्भावना हुन्छ। समझ नभएको व्यक्ति काटछाँटमा पर्दा खतरामा हुन्छ। उदाहरणको लागि, मानौँ कुनै व्यक्ति अगुवाद्वारा काटछाँटमा परेपछि अत्यन्तै रिसाएको छ रे। उसलाई अफवाह फैलाउन र अगुवालाई आक्रमण गर्न मन लाग्छ, तर समस्यामा पर्छु भन्ने डरले उसले त्यस्तो गर्ने आँट गर्दैन। तैपनि उसको हृदयमा पहिले नै त्यस्तो स्वभाव हुन्छ, र उसले यसलाई व्यवहारमा प्रकट गर्छ गर्दैन त्यो भन्नु गाह्रो हुन्छ। जबसम्म व्यक्तिको हृदयमा यस्तो स्वभाव हुन्छ, जबसम्म व्यक्तिमा यी विचारहरू हुन्छन्, तबसम्म उसले त्यसलाई व्यवहारमा प्रकट नगरे पनि, ऊ पहिले नै खतरामा परिसकेको हुन्छ। परिस्थिति आइपर्दा—र मौका पाउँदा—उसले यस्तो व्यवहार देखाउन सक्छ। जबसम्म उसको क्रूर स्वभाव विद्यमान रहन्छ, जबसम्म यो सुल्झिएको हुँदैन, तबसम्म ढिलोचाँडो यो व्यक्तिले दुष्कर्म गर्ने सम्भावना हुन्छ। अनि, अरू कस्ता परिस्थितिहरूमा व्यक्तिले क्रूर स्वभाव प्रकट गर्न सक्छ? भन त। (म आफ्नो कर्तव्यमा लापरवाही थिएँ र मैले कुनै पनि परिणाम प्राप्त गरिनँ, त्यसपछि सिद्धान्तहरूअनुसार मलाई अगुवाले बर्खास्त गरे, र ममा अलिक प्रतिरोध जाग्यो। त्यसपछि जब तिनी आफैले भ्रष्ट स्वभाव प्रकट गरे, तब मलाई तिनको रिपोर्ट गर्न पत्र लेख्न मन लाग्यो।) के यो विचार त्यतिकै हावामा आएको हो र? अवश्यै होइन। यो त तेरो प्रकृतिले सिर्जना गरेको कुरा हो। ढिलोचाँडो, मानिसहरूको प्रकृतिमा भएका कुराहरू प्रकट हुन्छन् नै, तर ती कस्तो अवस्था वा परिस्थितिमा प्रकट र प्रस्तुत गरिन्छन् भन्ने थाहै हुँदैन। कहिलेकहीँ मानिसहरूले केही पनि गर्दैनन्, र परिस्थितिले मौका नदिएर त्यस्तो भएको हुन्छ। तर यदि तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भने, तिनीहरूले यसलाई समाधान गर्न सत्यता खोजी गर्न सक्छन्। यदि तिनीहरू सत्यता पछ्याउने मानिसहरू होइनन् भने, तिनीहरूले आफ्नो खुसीले काम गर्छन्, र परिस्थितिले साथ दिनेबित्तिकै, तिनीहरूले दुष्कर्म गरिहाल्छन्। त्यसकारण, यदि भ्रष्ट स्वभाव समाधान गरिएन भने, मानिसहरू आफै समस्यामा पर्ने सम्भावना धेरै हुन्छ, र त्यसो भयो भने, तिनीहरूले जे गरे त्यसैको फल पाउनेछन्। कतिपय मानिसहरू सत्यता खोजी गर्दैनन् र कर्तव्य निर्वाह गर्दा निरन्तर लापरवाह बन्छन्। तिनीहरूलाई काटछाँट गरिँदा, तिनीहरूले त्यो स्विकार्दैनन्, र तिनीहरूले कहिल्यै पश्चात्ताप गर्दैनन्, र अन्तिममा तिनीहरूलाई आत्मचिन्तनको लागि निष्कासन गरिन्छ। कतिपय मानिसहरूले मण्डली जीवनमा निरन्तर बाधा गर्ने हुनाले तिनीहरूलाई सफाइ गरी निकालिएको हुन्छ र तिनीहरू कुहेका स्याउजस्तै बनेका हुन्छन्; अनि कतिपय मानिसहरूले हरकिसिमका दुष्कर्महरू गरेको कारण तिनीहरूलाई निष्कासित गरिन्छ। त्यसकारण, तिनीहरू जे-जस्तो प्रकारका मानिसहरू भए पनि, यदि तिनीहरूले निरन्तर भ्रष्ट स्वभाव प्रकट गर्छन् र त्यसलाई समाधान गर्न सत्यता खोजी गर्दैनन् भने, तिनीहरूले दुष्कर्म गर्ने सम्भावना हुन्छ। मानवजातिको भ्रष्ट स्वभावमा अहङ्कार मात्रै हुँदैन, त्यसमा दुष्टता र क्रूरता पनि हुन्छ। अहङ्कार र क्रूरता त आम तत्वहरू नै हुन्।
त्यसोभए यो क्रूर स्वभाव प्रकट गर्ने समस्या कसरी समाधान गर्ने हो? मानिसहरूले आफ्नो भ्रष्ट स्वभाव के हो, त्यो पहिचान गर्नुपर्छ। कति मानिसहरूको स्वभाव अत्यन्तै क्रूर, द्वेषपूर्ण, र अहङ्कारी हुन्छ, र तिनीहरू अत्यन्तै बेइमान हुन्छन्। यो दुष्ट मानिसहरूको प्रकृति हो, र यस्ता मानिसहरू सबैभन्दा खतरनाक हुन्छन्। जब यस्ता मानिसहरूले शक्ति हात पार्छन्, तब दियाबलसहरू, र शैतानहरूले शक्ति हातमा लिन्छन्। परमेश्वरको घरमा, अनेक किसिमका दुष्ट कार्यहरू गरेको कारण, सबै दुष्ट मानिसहरूलाई खुलासा गरेर हटाइन्छ। जब तैँले ती दुष्ट व्यक्तिहरूलाई सत्यता सङ्गति गर्ने, वा काटछाँट गर्ने प्रयास गर्छस्, तब तिनीहरूले तँलाई आक्रमण गर्ने, वा तेरो आलोचना गर्ने, वा तँलाई बदलासमेत लिने सम्भावना धेरै हुन्छ, र त्यो सबै द्वेषपूर्ण स्वभावका परिणामहरू हुन्। यो वास्तवमा अत्यन्तै आम कुरा हो। उदाहरणको लागि, राम्ररी मिल्ने, एकअर्कालाई वास्ता गर्ने र बुझ्ने दुई मानिसहरू हुन सक्छन्—तर तिनीहरूका हितहरूसँग सम्बन्धित एउटै कुराले तिनीहरू अन्ततः विभाजित हुन पुग्छन्, र एक-अर्कासँगको सम्बन्ध नै तोडिदिन्छन्। अनि कति जना त शत्रु बन्छन्, र एक-अर्कासित बदला लिन समेत खोज्छन्। तिनीहरू सबै अत्यन्तै क्रूर हुन्छन्। मानिसहरूले कर्तव्य निभाउने कुरा आउँदा, के तिमीहरूले तिनीहरूमा प्रकट र खुलासा हुने कुन-कुन कुराहरू क्रूर स्वभावमा पर्छन् भनेर देखेका छौ? यस्ता कुराहरू निश्चय नै हुन्छन्, र तिनलाई तिमीहरूले जरैबाट उखेलेर फ्याँक्नुपर्छ। यसो गरे, तिमीहरूलाई यी कुराहरू चिन्न र पहिचान गर्न मदत मिल्नेछ। यदि यी कुराहरू उखेल्न र चिन्न जान्दैनौ भने, तिमीहरूले कहिल्यै पनि दुष्ट मानिसहरू चिन्न सक्नेछैनौ। कति मानिसहरू ख्रीष्टविरोधीहरूको बहकाउ र नियन्त्रणमा परेपछि, तिनीहरूको जीवनमा हानि हुन्छ, र त्यसपछि मात्रै तिनीहरूले ख्रीष्टविरोधी के हो, र क्रूर स्वभाव के हो भनेर जान्दछन्। सत्यतासम्बन्धी तिमीहरूको बुझाइ अत्यन्तै सतही छ। धेरैजसो सत्यतासम्बन्धी तिमीहरूको बुझाइ बोलाइ वा लेखाइको तहमै सीमित हुन्छ, वा तिमीहरूले धर्मसिद्धान्तका वचनहरू मात्रै बुझेका हुन्छौ, र यी कुराहरू वास्तविकतासँग कहीँकतै मेल खाँदैनन्। धेरै प्रवचनहरू सुनिसकेपछि, तिमीहरूको हृदयमा बुझाइ र अन्तर्दृष्टि आएजस्तो देखिन्छ; तर वास्तविकता सामना गर्दा, तिमीहरूले अझै पनि ती कुराहरू वास्तवमा के हुन् भनेर छुट्याउन सक्दैनौ। सैद्धान्तिक रूपमा, तिमीहरू सबैलाई ख्रीष्टविरोधीका प्रकटीकरणहरू के-के हुन् भन्ने थाहा छ, तर जब तिमीहरूले साँचो ख्रीष्टविरोधीलाई देख्छौ, तब त्यसलाई ख्रीष्टविरोधी भनेर चिन्न सक्दैनौ। यस्तो किन हुन्छ भने, तिमीहरूको अनुभव अत्यन्तै थोरै छ। जब तिमीहरूले धेरै अनुभव गरेका हुन्छौ, जब तिमीहरूलाई ख्रीष्टविरोधीहरूले पर्याप्त मात्रामा चोट पुर्याएका हुन्छन्, तब तिमीहरूले तिनीहरूलाई राम्ररी र साँचो रूपमा चिन्न सक्छौ। आज, धेरैजसो मानिसहरू भेलाहरूको बेला प्रवचनहरू निरन्तर सुन्ने गर्छन्, र सत्यतामा लागिपर्न चाहन्छन्, तर तिनीहरूले प्रवचन सुनिसकेपछि शाब्दिक अर्थ मात्रै बुझ्छन्, तिनीहरू सैद्धान्तिक स्तरभन्दा अघि जाँदैनन्, र तिनीहरू सत्यताको व्यावहारिक पाटो अनुभव गर्न असक्षम हुन्छन्। त्यसैले, सत्यता वास्तविकतामा तिनीहरूको प्रवेश अत्यन्तै सतही हुन्छ, र यसको अर्थ तिनीहरूमा दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू चिन्ने समझशक्तिको कमी हुन्छ। ख्रीष्टविरोधीहरूमा दुष्कर्मीहरूको सार हुन्छ, तर ख्रीष्टविरोधी र दुष्कर्मीहरू बाहेक, के अरू मानिसहरूमा क्रूर स्वभाव हुँदैन त? वास्तवमा, असल मान्छे छँदै छैनन्। केही गलत नहुँदा त, मानिसहरू खुसी हुन्छन्, तर तिनीहरूको हितमा हानि गर्ने कुनै कुरा आइपर्दा, तिनीहरू घिनलाग्दा बन्छन्। यो एउटा क्रूर स्वभाव हो। यो क्रूर स्वभाव कुनै पनि बेला प्रकट हुन सक्छ; यो आफै प्रकट हुने कुरा हो। त्यसोभए खासमा यहाँ के भइरहेको छ त? के यो दुष्ट आत्माहरूको वशमा पर्ने कुरा हो? के यो पैशाचिक पुनर्जन्मको कुरा हो? यदि यो यी दुईमध्ये कुनै एउटा हो भने, यो व्यक्तिमा दुष्ट व्यक्तिको सार छ र ऊ मदत गर्न नसकिने अवस्थामा छ। यदि उसमा दुष्ट व्यक्तिको सार छैन, र केवल भ्रष्ट स्वभाव मात्रै छ भने, उसको अवस्था अन्तिम हदमा पुगेको छैन, र यदि उसले सत्यता स्विकार्न सक्छ भने, उसले मुक्ति पाउने अझै सम्भावना हुन्छ। त्यसोभए, क्रूर भ्रष्ट स्वभाव कसरी समाधान गर्ने हो? सर्वप्रथम, समस्याहरू सामना गर्दा, बारम्बार प्रार्थना गर्नुपर्छ र आफूमा के-कस्ता मनसाय र इच्छाहरू छन् भनेर मनन गर्नुपर्छ। अनि, परमेश्वरको सूक्ष्म जाँच स्विकारेर आफ्नो व्यवहार ठीक पार्नुपर्छ। अझ भन्ने हो भने, कुनै पनि दुष्ट शब्दहरू वा व्यवहार प्रकट गर्नु हुँदैन। यदि व्यक्ति आफ्नो हृदयमा गलत अभिप्राय र द्वेष रहेको, र खराब कुराहरू गर्न चाहने अवस्थामा पुग्छ भने, यसलाई समाधान गर्न उसले सत्यता खोजी गर्नुपर्छ, यो समस्या बुझ्न र समाधान गर्न परमेश्वरका प्रासङ्गिक वचनहरू भेट्टाउनुपर्छ, अनि परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, उहाँको सुरक्षा माग्नुपर्छ, उहाँसँग शपथ खानुपर्छ, र सत्यता स्वीकार नगर्दा र दुष्कर्म गर्न पुग्दा, आफूले आफैलाई सराप्नुपर्छ। परमेश्वरसँग यसरी सङ्गति गर्दा, सुरक्षा मिल्छ र दुष्कर्म गर्नबाट बचिन्छ। यदि व्यक्तिलाई केही हुन्छ र उसमा दुष्ट अभिप्रायहरू देखा पर्छन्, तर उसले यसलाई ध्यान नदिई परिस्थितिलाई आफै चल्न दिन्छ, वा यसरी नै व्यवहार गर्नुपर्ने हो भन्दै यसलाई बेवास्ता गर्छ भने, ऊ दुष्ट व्यक्ति हो, र ऊ परमेश्वरमा साँचो विश्वास गर्ने र सत्यतालाई प्रेम गर्ने व्यक्ति होइन। त्यस्तो व्यक्तिले पनि परमेश्वरमा विश्वास गर्न र उहाँलाई पछ्याउन, अनि आशिष् पाएर स्वर्गीय राज्य प्रवेश गर्न चाहन्छ—के त्यो सम्भव हुन्छ त? तिनीहरूले सपना मात्रै देखिरहेका हुन्छन्। यो पाँचौ प्रकारको स्वभाव क्रूरता हो। यो पनि भ्रष्ट स्वभावसँगै सम्बन्धित समस्या हो, र यो विषयको कुरा करिबकरिब यति नै हो।
तिमीहरू छैटौँ प्रकारको भ्रष्ट स्वभाव, अर्थात् दुष्टताप्रति पनि परिचित हुनुपर्छ। मानिसहरूले सुसमाचार प्रचार गर्दाको बारे कुरा गर्दै यसबारे सुरु गरौँ। केही मानिसहरूले सुसमाचार प्रचार गर्दा दुष्ट स्वभाव प्रकट गर्छन्। तिनीहरूले सिद्धान्तअनुसार प्रचार गर्दैनन्, न त तिनीहरूलाई कस्ता मानिसहरूले सत्यतालाई प्रेम गर्छन् र कस्ता मानिसहरूमा मानवता हुन्छ भन्ने नै थाहा हुन्छ; तिनीहरू त मन खाने, मन पर्ने र मन मिल्ने, विपरीतलिङ्गी मानिसहरू मात्रै खोज्छन्। तिनीहरू आफूलाई मन नपर्ने वा आफूसँग नमिल्ने मानिसहरूलाई प्रचार गर्दैनन्। व्यक्ति सुसमाचार प्रचार गर्ने सिद्धान्तअनुरूप छ छैन त्यसको मतलब छैन—यदि त्यो व्यक्ति तिनीहरूको चासोको व्यक्ति हो भने, तिनीहरू उसलाई छोड्दैनन्। अरूले तिनीहरूलाई त्यो व्यक्ति सुसमाचार प्रचार गर्ने सिद्धान्तअनुरूप छैन भनेर भन्न सक्छन्, तर तिनीहरू त्यही व्यक्तिलाई प्रचार गर्न जिद्दी गर्छ। तिनीहरूभित्र एउटा स्वभाव हुन्छ जसले तिनीहरूको व्यवहार नियन्त्रण गरिरहेको हुन्छ, जसले तिनीहरूलाई सुसमाचार प्रचारको नाममा आफ्नै कामुक इच्छा पूरा गर्न र आफ्नै उद्देश्यहरू हासिल गर्न लगाइरहेको हुन्छ। यो दुष्ट स्वभावभन्दा कमको हुँदैन। अनि, कतिपय त यस्ता पनि छन् जसलाई यसो गर्नु गलत हो, र यसो गर्दा यसले परमेश्वरलाई चिढ्याउँछ र उहाँका प्रशासनिक आदेशहरू उल्लङ्घन गर्छ भन्ने राम्ररी थाहा हुन्छ—तैपनि तिनीहरू रोकिँदैनन्। यो एक प्रकारको भ्रष्ट स्वभाव हो, होइन र? (हो।) यो दुष्ट स्वभावको एउटा प्रकटीकरण हो, तर कामुक इच्छाहरूको प्रकटीकरणलाई दुष्टता भनेर मात्रै व्याख्या गरिनु हुँदैन; दुष्टताको क्षेत्र देहको अभिलाषाभन्दा पनि ठूलो छ। सोच त: दुष्ट स्वभावका अरू के-कस्ता प्रकटीकरणहरू छन्? यो एउटा स्वभाव भएकोले, यो काम गर्ने तरिका मात्रै होइन, यसमा त विभिन्न प्रकारका स्थिति, प्रकटीकरण र खुलासाहरू हुन्छन्, जसले यसलाई एउटा स्वभावको रूपमा परिभाषित गर्छ। (सांसारिक प्रचलनहरू पछ्याउनु, संसारका प्रचलनहरूसँग सम्बन्धित कुराहरू नत्याग्नु।) दुष्ट प्रचलनहरू नत्याग्नु यसको एउटा प्रकार हो। संसारका दुष्ट प्रचलनहरूमा टाँसिनु, तिनको पछि लाग्नु, तिनमा लिप्त हुनु, तिनलाई ठूलो जोससाथ पछ्याउनु। यी कुराहरू कतिपय मानिसहरूले कहिल्यै त्याग्दैनन्, चाहे तिनीहरूलाई जे-जसरी नै सत्यता सङ्गति गरिएको र जे-जसरी नै काटछाँट गरिएको किन नहोस्; यो एउटा मोह नै बन्ने अवस्थामा समेत पुग्छ। यो दुष्टता हो। त्यसोभए, मानिसहरूले दुष्ट प्रचलनहरू पछ्याउँदा, के-कस्ता प्रकटीकरणहरूले तिनीहरूमा दुष्ट स्वभाव भएको इङ्गित गर्छन्? अनि, किन तिनीहरूले यी कुराहरूलाई प्रेम गर्छन्? यी दुष्ट सांसारिक प्रचलनहरू, जसले तिनीहरूलाई मानसिक सन्तुष्टि दिने, तिनीहरूका खाँचोहरू पूरा गर्ने, र तिनीहरूको अभिरुचि र इच्छाहरू पूरा गर्ने गर्छन्, यी प्रचलनहरूमा के हुन्छ? उदाहरणको लागि, मानौँ तिनीहरूलाई प्रख्यात चलचित्रकर्मीहरू मन पर्छ रे: यी प्रख्यात चलचित्रकर्मीहरूमा त्यस्तो के हुन्छ जसले तिनीहरूमा यस्तो चरम इच्छा सिर्जना गर्छ र यिनीहरूलाई पछ्याउने बनाउँछ? तिनीहरू यी मानिसहरूको ठाँटबाँट, विशिष्टता, र प्रसिद्धि, साथै भड्किलो जीवनको लोभ गर्छन्। तिनीहरू यी सबै कुराहरू नै पछ्याउँछन्—के तिनीहरू सबै दुष्ट होइनन् र? (हो।) तिनीहरू दुष्ट भनेर किन भनिन्छ? (किनभने तिनीहरू सत्यता र सकारात्मक कुराहरूको विपरीत रहेर जिउँछन्, र तिनीहरू परमेश्वरले भन्नुभएका कुराहरू अनुरूप हुँदैनन्।) यो धर्मसिद्धान्त हो। एक पटक यी सेलिब्रेटी र प्रख्यात चलचित्रकर्मीहरूलाई विश्लेषण गरेर हेर त: तिनीहरूको जीवनशैली, तिनीहरूको आचरण, सार्वजनिक व्यक्तित्व र वस्त्र शैलीलाई सबैले यति धेरै पूजा गरेका हुन्छन्। किन तिनीहरू त्यस्तो जीवन जिउँछन्? किन तिनीहरू अरूलाई आफ्नो पछि लाग्न उत्प्रेरित गर्छन्? तिनीहरू यी सब कुरामा धेरै मेहनत लगाउँछन्। तिनीहरूसँग तिनीहरूको छवि बनाउन मेकअप आर्टिस्ट र व्यक्तिगत स्टाइलिस्टहरू हुन्छन्। अनि, तिनीहरूले आफ्नो यस्तो छवि बनाउनुको उद्देश्य के हो? मानिसहरूलाई आकर्षित गर्नु, तिनीहरूलाई बहकाउनु, तिनीहरूलाई आफ्नो पछि लगाउनु—अनि यसबाट फाइदा लिनु। त्यसकारण, मानिसहरूले यी चलचित्रकर्मीहरूको ख्यातिको पूजा गरे पनि, तिनीहरूको रूप वा जीवनको पूजा गरे पनि, यी साँच्चै नै मूर्ख र हास्यास्पद कार्यहरू हुन्। यदि व्यक्तिमा समझशक्ति छ भने, उसले कसरी दियाबलसको पूजा गर्न सक्छ र? दियाबलसहरू त मानिसहरूलाई बहकाउने, छल्ने, र हानि गर्ने कुराहरू हुन्। दियाबलसहरू परमेश्वरमा विश्वास गर्दैनन् र तिनीहरू सत्यता पटक्कै स्विकार्दैनन्। यस्ता दियाबलसहरू सबैले शैतानलाई पछ्याउँछन्। अनि, दियाबलसहरू र शैतानलाई पछ्याउनेहरूको उद्देश्यचाहिँ के हुन्छ? तिनीहरू आफू पनि एक दिन यी दियाबलस र सेलिब्रेटीहरूजस्तै सुन्दर र कामुक दियाबलस बन्न सकूँ भन्ने आशामा यी दियाबलसहरूको अनुकरण गर्न, र तिनीहरूजस्तै हुन चाहन्छन्। तिनीहरूलाई यस्तो अनुभूतिमा रमाउन मन पर्छ। तर व्यक्तिले जुनसुकै सेलिब्रेटी वा प्रख्यात व्यक्तिको पूजा गरे पनि, यी प्रसिद्ध व्यक्तिहरूको अन्तिम उद्देश्य एउटै हुन्छ—र त्यो हो, मानिसहरूलाई बहकाउनु, आकर्षित गर्नु, र तिनीहरूको पूजा गर्ने र तिनीहरूलाई पछ्याउने बनाउनु। के यो दुष्ट स्वभाव होइन र? यो दुष्ट स्वभाव हो, र यो कुरा योभन्दा स्पष्ट हुन सक्दैन।
दुष्ट स्वभावहरू अर्को तरिकाले पनि प्रकट हुन्छन्। कतिपय मानिसहरूले परमेश्वरको घरका भेलाहरूमा सधैँ परमेश्वरको वचन पढिएको, सत्यता सङ्गति गरिएको, र आत्मज्ञान के हो, उचित तरिकाले कसरी कर्तव्य निभाउने, सिद्धान्तहरूअनुसार कसरी काम गर्ने, कसरी परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने, कसरी सत्यता बुझ्ने र अभ्यास गर्ने, र सत्यताका अरू धेरै पक्षहरूमा छलफल गरिएको देख्छन्। यतिका वर्ष सुनिसकेपछि, अब तिनीहरूलाई जति सुन्यो त्यति नै दिक्क लाग्न थाल्छ, र तिनीहरूले यसो भनेर गुनासो गर्न थाल्छन्, “के परमेश्वरमा विश्वास गर्नुको उद्देश्य आशिष्हरू प्राप्त गर्नु होइन र? किन हामी सधैँ सत्यताबारे बोलिरहेका र परमेश्वरका वचनहरूबारे सङ्गति गरिरहेका हुन्छौँ? के यो कहिल्यै अन्त्य हुँदैन? मलाई त दिक्क लागिसक्यो!” तर तिनीहरू बाहिरी संसारमा फर्कन पनि चाहँदैनन्। तिनीहरूले मनमनै विचार गर्छन्, “परमेश्वरमा विश्वास गर्नु कति निरस र दिक्कलाग्दो छ—म कसरी यसलाई अलिक चाखलाग्दो बनाउन सक्छु होला? मैले चाखलाग्दो केही न केही खोज्नैपर्छ,” त्यसकारण तिनीहरू यताउता जाँदै सोध्छन्, “मण्डलीमा परमेश्वरका कति विश्वासी छन्? कति अगुवा र सेवकहरू छन्? कतिलाई प्रतिस्थापन गरिएको छ? विश्वविद्यालय पढ्ने जवान विद्यार्थी र स्नातकका विद्यार्थी कति छन्? के कसैलाई थाहा छ?” तिनीहरू यी कुराहरू र आँकडालाई सत्यता मान्छन्। यो कस्तो स्वभाव हो? यो दुष्टता हो, जसलाई प्रायजसो “अधमता” भनिन्छ। तिनीहरूले यति धेरै सत्यता सुनेका हुन्छन्, र पनि तीमध्ये कुनैले पनि तिनीहरूमा ध्यान वा एकाग्रता ल्याएको हुँदैन। कुनै व्यक्तिले गफगाफ गर्नेबित्तिकै वा आन्तरिक मामलाहरू सुनाउनेबित्तिकै, तिनीहरूको कान ठाडो हुन्छ, र तिनीहरूलाई त्यो कुरा छुटाउँछु कि भन्ने डर हुन्छ। यो अधमता हो, होइन र? (हो।) यी अधम मानिसहरूको चरित्र कस्तो हुन्छ? तिनीहरूमा सत्यताप्रति अलिकति पनि चासो हुँदैन। तिनीहरूलाई बाहिरी मामलाहरूप्रति मात्रै चासो हुन्छ, र तिनीहरू अथक र लालची रूपमा जीवन प्रवेश वा सत्यतासँग सम्बन्धै नभएका कुराहरू र गफगाफको पछि लाग्छन्। तिनीहरू सोच्छन्, यस्तो कुरा र यस्ता सबै जानकारी पत्ता लगाएर, अनि यसलाई मनमा राखेर, तिनीहरूले सत्यता वास्तविकता पाउँछन्, तिनीहरू परमेश्वरको घरका असल र साँचो सदस्यहरू बन्छन्, र तिनीहरूलाई अवश्यै परमेश्वरले अनुमोदन गर्नुहुनेछ र तिनीहरू परमेश्वरको राज्य प्रवेश गर्न सक्नेछन्। के तिमीहरूलाई पनि कुरा त्यस्तै हो भन्ने लाग्छ? (लाग्दैन।) तिमीहरूले यो कुरा भित्रैसम्म देख्न सक्छौ, तर परमेश्वरका धेरै नयाँ विश्वासीहरूले देख्न सक्दैनन्। तिनीहरू यही कुरामा तल्लीन हुन्छन्, र यी कुराहरू थाहा पाएमा तिनीहरू परमेश्वरको घरका सदस्यहरू बन्छन् भन्ने सोच्छन्—तर वास्तवमा, परमेश्वरले त्यस्ता मानिसहरूलाई सबैभन्दा बढी घृणा गर्नुहुन्छ, तिनीहरू सबैभन्दा काम नलाग्ने, सतही र अज्ञानी मानिसहरू हुन्। परमेश्वर मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने काम गर्न आखिरी दिनहरूमा देहको रूपमा देखापर्नुभएको छ, र यसको परिणाम भनेको मानिसहरूलाई जीवनको रूपमा सत्यता दिनु हो। तर यदि मानिसहरू परमेश्वरको वचन खाने-पिउने कार्यमा ध्यान दिँदैनन्, बरु सधैँ कुरा काट्ने र मण्डलीको आन्तरिक मामलाबारे थप कुरा पत्ता लाउन मात्रै खोजिरहन्छन् भने, के तिनीहरू सत्यता पछ्याइरहेका हुन्छन् त? के तिनीहरू उचित काम गर्ने मानिसहरू हुन् त? मेरो विचारमा त तिनीहरू दुष्ट मानिसहरू हुन्। तिनीहरू अविश्वासी हुन्। यस्ताहरूलाई अधम मानिसहरू भन्न सकिन्छ। तिनीहरू हल्लाको पछि मात्रै लाग्छन्। यसले तिनीहरूको उत्सुकता पूरा गर्छ, तर परमेश्वर तिनीहरूलाई घृणा गर्नुहुन्छ। यिनीहरू परमेश्वरमा साँचो विश्वास गर्ने मानिसहरू होइनन्, झन् सत्यता पछ्याउने मानिसहरू हुनु त परको कुरा हो। यिनीहरू मण्डलीको काम बिथोल्न आएका शैतानका नोकरहरू हुन्। अझै भन्नुपर्दा, सधैँ परमेश्वरलाई जाँच्ने र अनुसन्धान गर्ने मानिसहरू ठूलो रातो अजिङ्गरका दास र नोकरहरू हुन्। परमेश्वरले यी मानिसहरूलाई सबैभन्दा बढी घृणा र तिरस्कार गर्नुहुन्छ। यदि तँ परमेश्वरमा विश्वास गर्छस् भने, किन परमेश्वरमा भरोसा गर्दैनस्? जब तैँले परमेश्वरलाई जाँच्छस् र अनुसन्धान गर्छस्, के तैँले सत्यता खोजी गरिरहेको हुन्छस् र? के ख्रीष्ट कुन परिवारमा जन्मनुभयो वा उहाँ कस्तो वातावरणमा हुर्कनुभयो भन्ने कुराको सत्यता खोज्ने कार्यसित कुनै सम्बन्ध हुन्छ र? परमेश्वरलाई सधैँ अनुसन्धानको नजरले हेर्ने मानिसहरू—के तिनीहरू घृणास्पद हुँदैनन् र? यदि तँमा ख्रीष्टको मानवताबारे सधैँ धारणाहरू हुन्छन् भने, तैँले अझै बढी समय लिएर परमेश्वरका वचनहरूको ज्ञान पछ्याउनुपर्छ; सत्यता बुझेपछि मात्रै, तैँले आफ्ना धारणाहरूको समस्या समाधान गर्न सक्नेछस्। ख्रीष्टको पारिवारिक पृष्ठभूमि वा उहाँको जन्मको परिस्थितिहरू जाँच गर्दा, के तँलाई परमेश्वर चिन्न मदत मिल्छ? के यसले तँलाई ख्रीष्टको ईश्वरीय सार पत्ता लगाउन मदत मिल्छ? अवश्यै मिल्दैन। परमेश्वरमा साँचो विश्वास गर्नेहरूले आफूलाई परमेश्वरका वचनहरू र सत्यतामा समर्पित गर्छन्, र यसरी मात्रै ख्रीष्टको ईश्वरीय सार चिन्न सकिन्छ। तैपनि परमेश्वरलाई निरन्तर सूक्ष्म जाँच गर्ने मानिसहरू किन सधैँ यस्तो अधमतामा संलग्न हुन्छन्? आत्मिक बुझाइ नभएका यी व्यर्थ मानिसहरू परमेश्वरको घरबाट तुरुन्तै गइहाल्नुपर्छ! भेला र प्रवचनहरूमा, धेरै सत्यताहरू व्यक्त गरिएका छन् र धेरै सङ्गतिहरू गरिएका छन्—तैपनि तँ किन परमेश्वरको जाँच गर्छस्? तैँले सधैँ परमेश्वरलाई जाँच्नुको अर्थ के हो? यसको अर्थ तँ अत्यन्तै दुष्ट छस् भन्ने हो! यति मात्र होइन, यो सबै तुच्छ कुराहरू जान्दा यसले पूँजी दिन्छ भनेर सोच्ने मानिसहरू पनि छन्, र तिनीहरू यताउता गएर मानिसहरूसामु यसको धाक लगाउँछन्। अनि अन्तिममा के हुन्छ? तिनीहरू परमेश्वरको लागि घृणित र तिरस्कृत हुन्छन्। के तिनीहरू मानिस समेत हुन् र? के तिनीहरू जीवित पिशाचहरू होइनन् र? तिनीहरू कसरी परमेश्वरमा विश्वास गर्ने मानिसहरू हुन सक्छन् र? तिनीहरूले आफ्नो सारा विचार दुष्टता र कुटिलतामा लगाउँछन्। तिनीहरूले यस्तो व्यवहार गर्छन्, मानौँ तिनीहरूलाई कसैबाट सुनेको कुरा जति धेरै थाहा छ, त्यति नै धेरै तिनीहरू परमेश्वरको घरको सदस्य हुन्छन्, र त्यति नै धेरै तिनीहरूले सत्यता बुझ्छन्। यस्ता मानिसहरू अत्यन्तै व्यर्थ हुन्छन्। परमेश्वरको घरमा, तिनीहरू जत्तिका घिनलाग्दा अरू कोही हुँदैनन्।
कतिपय मानिसहरू आफ्नो विश्वासमा निरन्तर अवास्तविक कुराहरूमा ध्यान दिन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरू राज्य कस्तो छ, तेस्रो स्वर्ग कहाँ छ, पाताल कस्तो छ, र नरक कहाँ छ भनेर सधैँ जाँचिरहेका हुन्छन्। तिनीहरू जीवनमा प्रवेशमा ध्यान दिनुको सट्टा सधैँ रहस्यहरू जाँचिरहेका हुन्छन्। यो अधमता हो, यो दुष्टता हो। तिनीहरूले जति प्रवचन र सङ्गति सुनेका भए पनि अझै सत्यता बुझेका हुँदैनन्, न त तिनीहरूलाई सत्यता कसरी अभ्यास गर्ने भन्ने नै थाहा हुन्छ। तिनीहरूसँग समय हुनेबित्तिकै, तिनीहरू परमेश्वरको वचन जाँच गर्छन्, हरेक शब्द-शब्द केलाउँछन्, र कुनै न कुनै खालको अनुभूति खोजतलास गर्छन्, र साथमा, तिनीहरूले परमेश्वरका वचनहरू पूरा भए भएनन् भनेर सधैँ जाँचिरहेका पनि हुन्छन्। यदि पूरा भएका रहेछन् भने, यो परमेश्वरको काम हो भन्ने तिनीहरूले विश्वास गर्छन्, र पूरा भएका रहेनछन् भने, यो परमेश्वरको काम हो भन्ने कुरा इन्कार गर्छन्। के तिनीहरू निरर्थक होइनन् र? के यो अधमता होइन र? के मानिसहरूले परमेश्वरका वचनहरू कहिले पूरा भए भनेर सधैँ देख्न सक्छन् र? परमेश्वरका वचनहरू पूरा हुँदा मानिसहरूले त्यो देख्न सक्छन् नै भन्ने हुँदैन। मानिसहरूको लागि उहाँका कतिपय वचनहरू पूरा भएजस्तो देखिँदैन, तर परमेश्वरको लागि ती पूरा भएका हुन्छन्। मानिसहरूले यी कुराहरू स्पष्ट देख्ने कुनै उपाय नै हुँदैन; तिनीहरूले २०% मात्रै बुझ्न सके पनि तिनीहरू भाग्यमानी हुन्। कतिपय मानिसहरूले सारा समय परमेश्वरको वचन अध्ययन गर्दै बिताउँछन्, तर सत्यता अभ्यास गर्ने वा वास्तविकतामा प्रवेश गर्ने बारेमा कुनै ध्यान दिँदैनन्। के यो आफ्नो उचित कर्तव्य बेवास्ता गर्नु होइन र? तिनीहरूले धेरै सत्यता सुनेका हुन्छन्, तैपनि सत्यता बुझ्दैनन्, र तिनीहरू अगमवाणीहरू पूरा भएको प्रमाण निरन्तर खोजिरहन्छन्, र यसैलाई आफ्नो जीवन र उत्प्रेरणाको रूपमा लिन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरूले प्रार्थना गर्दा यसो भन्छन्, “हे परमेश्वर, यदि मैले यो गरेको तपाईं चाहनुहुन्छ भने, मलाई भोलि बिहान छ बजे बिउँझाउनुहोस्; यदि त्यस्तो चाहनुहुन्न भने, सात बजेसम्म सुत्न दिनुहोस्।” तिनीहरू प्रायजसो यसरी नै व्यवहार गर्छन्, यसैलाई आफ्नो सिद्धान्तको रूपमा लिन्छन्, र सत्यता नै हो जसरी यसैलाई अभ्यास गर्छन्। अधमता भनेकै यही हो। तिनीहरू आफ्नो कार्य-व्यवहारमा सधैँ आफ्ना भावनाहरूमा भर पर्छन्, अलौकिक कुरामा ध्यान केन्द्रित गर्छन्, अनि सुनेको कुरा र अरू अवास्तविक कुराहरूमा भर पर्छन्; तिनीहरू सधैँ अधम कुराहरूमै आफ्नो ऊर्जा केन्द्रित गरिरहेका हुन्छन्। यो दुष्टता हो। तैँले तिनीहरूसँग जे-जसरी सङ्गति गरे पनि, तिनीहरूलाई त्यसको कुनै काम छैन, र भावनाहरूमा भरोसा गर्नु वा तुलनामार्फत प्रमाणीकरण गर्नु जत्तिको सही हुँदैन भन्ने लाग्छ। यो अधमता हो। तिनीहरू परमेश्वर मानिसहरूको भाग्यमाथि सार्वभौम हुनुहुन्छ र उहाँले नै मानिसहरूको भाग्य मिलाउनुहुन्छ भन्ने विश्वास गर्दैनन्, र तिनीहरूले परमेश्वरका वचनहरू सत्यता हुन् भनी स्विकार्छु भनेर भने पनि, हृदयमा सत्यता स्विकार्दैनन्, र कहिल्यै पनि परमेश्वरका वचनहरू अनुसार कामकुराहरू हेर्ने गर्दैनन्। यदि कुनै प्रसिद्ध व्यक्तिले केही भन्यो भने, तिनीहरू त्यसलाई सत्यता हो भनी विश्वास गर्छन्, र त्यहीअनुसार चल्छन्। यदि भाग्य हेर्ने वा अनुहार पढ्ने व्यक्तिले तिनीहरूलाई अर्को वर्ष व्यवस्थापकको पदमा बढुवा हुनेछ भनेर भन्यो भने, त्यो तिनीहरू विश्वास गर्छन्। के यो अधमता होइन र? तिनीहरूले जोखाना हेर्ने, भाग्य हेर्ने, र अलौकिक कुराहरू, र यस्ता खराब कुराहरूमा मात्रै विश्वास गर्छन्। यो त मानिसहरूले यसो भनेजस्तै हो, “म सबै सत्यता बुझ्छु, तर यति हो कि म तिनलाई अभ्यास गर्नै सक्दिनँ। के समस्या हो थाहा छैन।” अहिले हामीले यो प्रश्नको उत्तर भेट्टाएका छौँ: तिनीहरू अधम छन्। यस्ता मानिसहरूलाई तैँले जे-जसरी सत्यता सङ्गति गरे पनि, केही फर्क पर्दैन, तिनीहरूले त्यो बुझ्नेछैनन्, न त कुनै प्रभाव नै तैँले देख्न पाउनेछस्। यी मानिसहरू सत्यताप्रति प्रतिकूल मात्रै बन्दैनन्, तिनीहरूमा त दुष्ट स्वभाव पनि हुन्छ। सत्यताप्रति प्रतिकूल रहने स्वभावको सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण के हो? यो के हो भने, त्यस्तो व्यक्तिले सत्यता बुझ्छ, तर सत्यता अभ्यास गर्दैन। त्यस्ताहरूले सत्यता सुन्न चाहँदैनन्, बरु प्रतिरोध र तिरस्कार गर्छन्। तिनीहरूलाई सत्यता सही र असल हो भन्ने थाहा हुन्छ, तर तिनीहरू सत्यता अभ्यास गर्दैनन्, यो मार्ग हिँड्न इच्छुक हुँदैनन्, न त कष्ट भोग्न वा मूल्य चुकाउन नै इच्छुक हुन्छन्, झन् कुनै घाटा बेहोर्न इच्छुक हुनु त परको कुरा हो। दुष्ट मानिसहरू त्यस्ता हुँदै हुँदैनन्। तिनीहरू दुष्ट कुरा सत्यता हो, त्यो साँचो मार्ग हो भन्ने सोच्छन्, र तिनैलाई पछ्याउँछन्, र तिनैलाई अनुकरण गर्ने प्रयास गर्छन्, र निरन्तर तिनैमा ऊर्जा लगाउँछन्। परमेश्वरको घरले प्राय प्रार्थनाका यी सिद्धान्तहरू सङ्गति गरिरहन्छ: मानिसहरूले जहिले र जहाँसुकै प्रार्थना गर्न सक्छन्, समयको कुनै बन्धन छैन, तिनीहरूले बस परमेश्वरसामु आएर आफ्नो हृदयका कुराहरू बोल्दै, र सत्यता खोजी गरे हुन्छ। यी वचनहरू बारम्बार सुन्नुपर्छ र यी वचनहरू बुझ्न पनि सजिलै हुनुपर्छ, तर दुष्ट मानिसहरूले यसलाई कसरी अभ्यास गर्छन्? हरेक बिहान झिसमिसेको कोरस गाउँदा, तिनीहरू निरन्तर दक्षिणतिर फर्कन्छन्, घुँडा टेक्छन्, र दुवै हात भूँइमा तेर्साएर परमेश्वरअघि प्रार्थना गर्न आफूले सकेजति लम्पसार पर्छन्। तिनीहरूलाई लाग्छ कि परमेश्वरले यस्तो बेला मात्रै तिनीहरूको प्रार्थना सुन्न सक्नुहुन्छ, किनभने यति बेला परमेश्वर व्यस्त हुनुहुन्न, उहाँसँग समय हुन्छ, र उहाँले सुन्नुहुन्छ। के यो हास्यास्पद छैन र? के यो दुष्टता होइन र? अरू भन्छन्, प्रार्थना गर्ने सबैभन्दा प्रभावकारी समय त रातको एक-दुई बजे हो, जुन बेला सबै शान्त हुन्छ। तिनीहरू किन यसो भन्छन्? तिनीहरूको पनि आफ्नै कारण छ। तिनीहरू भन्छन्, त्यो बेला सबै जना सुतेका हुन्छन्; परमेश्वर व्यस्त नहुनुभएको बेला मात्रै उहाँसँग तिनीहरूको मामला सम्हाल्ने समय हुन्छ। के यो हास्यास्पद छैन र? के यो दुष्टता होइन र? तिनीहरूसित तैँले जे-जसरी सत्यता सङ्गति गरे पनि, तिनीहरू त्यो स्विकार्न मान्दैनन्। तिनीहरू सबैभन्दा हास्यास्पद मानिसहरू हुन् र तिनीहरू सत्यता बुझ्न सक्दैनन्। यसो भन्ने मानिसहरू पनि छन्, “मानिसहरूले परमेश्वरमा विश्वास गरेपछि, तिनीहरूले असल कुराहरू गर्नुपर्छ र दयालु बन्नुपर्छ, र तिनीहरूले काटमार गर्नु वा मासु खानु हुँदैन। मासु खानु भनेको हत्या गर्नु, पाप गर्नु हो, र यसो गर्ने मानिसहरूलाई परमेश्वर चाहनुहुन्न।” के यी शब्दहरूमा कुनै आधार छ? के परमेश्वरले कहिल्यै यस्तो कुरा भन्नुभएको छ? (छैन।) त्यसोभए यो कसले भनेको हो? यो मूर्ख प्रकारका गैरविश्वासीहरूले भनेको कुरा हो। वास्तवमा, यसो भन्ने मानिसहरूले मासु खाँदैनन् भन्ने हुँदैन—वा सायद, तिनीहरूले मासु अरूको अगाडि खाँदैनन् होला, तर एकलै हुँदाचाहिँ पेट फुटुन्जेल खान्छन्। यी मानिसहरू बहाना बनाउन निकै सिपालु हुन्छन्, र जहाँ गए पनि भ्रम फैलाउँछन्। यो दुष्टता हो। यस्ता मानिसहरू अत्यन्तै अधम हुन्छन्। तिनीहरू यी झूटा शिक्षा र भ्रमहरूलाई आज्ञा र नियमहरू ठान्छन्, र तिनीहरूले यी कुराहरूलाई सत्यता वा परमेश्वरका आदेशहरू नै हुन् जसरी अभ्यास गर्छन् र तिनैमा लागिपर्छन्, अनि तिनीहरूले जोससाथ र कुनै लाज नमानी अरूलाई पनि त्यसै गर्न सिकाउँछन्। यी मानिसहरूको काम गराइ, कुराहरू भन्ने शैली, र खोजी गर्ने माध्यमहरू दुष्ट छन् भनेर म किन भन्छु? (किनभने सत्यताको यी कुराहरूसित कुनै सम्बन्ध हुँदैन।) त्यसोभए, के सत्यतासँग सम्बन्धित नरहेको कुनै पनि कुरा दुष्टता हो? यस्तो बुझाइ निकै समस्याजनक हुन्छ। मानिसहरूको जीवनमा सत्यतासँग सम्बन्धित नरहेका विभिन्न कुराहरू हुन्छन्। ती सबै दुष्ट कुराहरू हुन् भनेर भन्नु तथ्यहरू बङ्ग्याउँनु होइन र? परमेश्वरले दोषी नठहराउनुभएका कुरालाई दुष्ट भन्न सकिँदैन, उहाँले दोषी ठहराउनुभएका कुराहरूलाई मात्रै दुष्ट भनेर भन्न सकिन्छ। सत्यतासँग सम्बन्धित नरहेका सबै कुरालाई दुष्टता भन्नु ठूलो गल्ती हुनेछ। उदाहरणको लागि, के खाने, सुत्ने, पिउने, आराम गर्नेजस्ता जीवन आवश्यकताका कुराहरू सत्यतासँग जोडिएका हुन्छन् र? के यी कुराहरू दुष्टता हुन् र? यी सबै सामान्य खाँचोहरू हुन्, यी मानिसहरूको दैनिक जीवनका भाग हुन्, र यी दुष्टता होइनन्। त्यसोभए मैले भर्खरै उल्लेख गरेका कार्यहरूलाई किन दुष्टतामा वर्गीकृत गरिन्छ त? किनभने त्यस्तो काम गराइले मानिसहरूलाई गलत र मूर्ख मार्गमा लैजान्छ—यसले तिनीहरूलाई धर्मको मार्गमा लैजान्छ। तिनीहरूले यसरी अभ्यास गर्दा र अरूलाई यसरी व्यवहार गर्न सिकाउँदा, यसले मानिसहरूलाई दुष्टताको मार्गमा लैजान्छ। यो अपरिहार्य नतिजा हो। जब मानिसहरूले दुष्ट सांसारिक प्रचलनहरू पुज्छन् र दुष्टताको मार्ग हिँड्छन्, तब तिनीहरू कस्तो अवस्थामा पुग्छन्? तिनीहरू पथभ्रष्ट बन्छन्, तिनीहरूले समझ गुमाउँछन्, तिनीहरू लाज विहीन बन्छन्, र अन्ततः तिनीहरू संसारका प्रचलनहरूद्वारा बहकिन्छन्, र तिनीहरू विनाशतर्फ हिँड्छन्, र तिनीहरूमा गैरविश्वासीहरूभन्दा कुनै फरक हुँदैन। कति मानिसहरूले यी झूटा शिक्षा र भ्रमहरूलाई पालना गर्नुपर्ने नियमहरू वा मान्नुपर्ने आज्ञाहरूको रूपमा मात्रै नभई, सत्यताको रूपमा समेत लिन्छन्। यस्तो त आत्मिक बुझाइको पूर्ण कमी रहेको मूर्ख व्यक्ति हो। अन्त्यमा, तिनीहरूलाई हटाइनेछ। के सत्यताप्रति यस्तो विकृत बोध भएको जोकसैमा पवित्र आत्माले काम गर्न सक्नुहुन्छ? (सक्नुहुन्न।) पवित्र आत्माले यस्ता मानिसहरूमा काम गर्नुहुन्न, र यस्तो अवस्थामा दुष्टात्माहरूले यिनीहरूमा काम गर्छन्, किनभने यी मानिसहरू दुष्टताको मार्ग हिँड्छन्, यिनीहरू दुष्टात्माहरूको मार्गतर्फ हतारिँदै हुन्छन्—अनि यी दुष्टात्माहरूलाई चाहिएको कुरा पनि ठ्याक्कै त्यही हो। अनि परिणाम के हुन्छ? यिनीहरूमा दुष्टात्मा चढ्छन्। पहिले, मैले यसो भनेको थिएँ, “गर्जने सिंहजस्तै दियाबलसहरू र शैतान मानिसहरूलाई निल्नको लागि खोजी गर्दै यता-उता घुम्छ र ढुक्छ।” जब मानिसहरू कुटिल र दुष्ट मार्ग हिँड्छन्, तब तिनीहरूलाई अपरिहार्य रूपमै दुष्टात्माहरूले टिपिलान्छन्। परमेश्वरले तँलाई दुष्टात्माहरूको हातमा दिनुपर्ने जरुरी नै हुँदैन। यदि तँ सत्यता पछ्याउँदैनस् भने, तँ सुरक्षित हुनेछैनस्, र परमेश्वर तेरो साथमा हुनुहुनेछैन। यदि परमेश्वरले तँलाई प्राप्त गर्न सक्नुहुन्न भने, उहाँले तेरो वास्ता गर्नुहुनेछैन, र यही अवसरमा दुष्टात्माहरू आउनेछन् र तँलाई काबुमा पार्नेछन्। परिणाम यही हो, होइन र? सत्यताप्रति प्रतिकूल रहने र परमेश्वरको देहधारणको कार्यप्रति निरन्तर निन्दा गर्ने, र सांसारिक प्रचलनहरू पछ्याउने, परमेश्वरका वचनहरू र बाइबललाई जानीजानी गलत अर्थ्याउने, झूटा शिक्षा र भ्रमहरू फैलाउने ती सबै व्यक्तिहरूले—तिनीहरूले गर्ने यी सबै कुरा दुष्ट स्वभावबाट आएका हुन्छन्। कतिपय मानिसहरूले आत्मिकता पछ्याउँछन्, र तिनीहरूको बुझाइ विकृत हुने हुनाले, मानिसहरूलाई बहकाउन तिनीहरूले धेरै भ्रमहरू पैदा गर्छन्, र तिनीहरू आदर्श सुधारवादी र सिद्धान्त प्रतिपादक बन्छन्, र त्यो पनि अधमता गर्नु नै हो। तिनीहरू दुष्ट मानिसहरू हुन्, फरिसीहरूजस्तै हुन्। ती फरिसीहरूले गरेका सबै कुरा ढोँगी थिए, तिनीहरू सत्यता अभ्यास गर्दैनथे, बरु मानिसहरूलाई बहकाएर तिनीहरूको आदर र उपासना गर्ने बनाउँथे। जब प्रभु येशू काम गर्न देखापर्नुभयो, तब तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। यो दुष्टता थियो र अन्त्यमा तिनीहरूलाई परमेश्वरले सराप्नुभयो। आज पनि धार्मिक संसारले परमेश्वरको देखापराइ र कामको आलोचना र निन्दा मात्रै गर्दैन, तर सबैभन्दा घिनलाग्दो कुरा त, यो ठूलो रातो अजिङ्गरको पक्षमा खडा हुन्छ, र परमेश्वरका चुनिएका मानिसहरूलाई सताउने दुष्ट शक्तिहरूसँग हात मिलाउँछ र परमेश्वरको शत्रुको रूपमा तिनीहरूसँगै उभिन्छ। यो दुष्टता हो। धार्मिक समुदायले शैतानका दुष्ट शक्तिहरूलाई कहिल्यै घृणा गरेन, र यसले ठूलो रातो अजिङ्गरको देशको दुष्टतालाई घृणा गर्दैन, बरु तिनीहरूको लागि प्रार्थना गर्छ र तिनीहरूलाई आशीर्वाद दिन्छ। यो दुष्टता हो। शैतान र दुष्टात्माहरूसँग जोडिएको वा त्यससँग सहकार्य गर्ने जुनसुकै व्यवहारलाई समग्रमा दुष्टता भन्न सकिन्छ। साँच्चै नै विकृत, दुष्ट, चरम, र असंयम अभ्यासका ती शैलीहरू पनि दुष्टता नै हुन्। कति मानिसहरूले निरन्तर परमेश्वरलाई गलत बुझ्छन्, र तिनीहरूलाई जे-जसरी सत्यता सङ्गति गरिए पनि तिनीहरूका यी गलतबुझाइहरू हट्न सक्दैनन्। तिनीहरूले सधैँ आफ्नै तर्कहरू प्रचार गरिरहेका, र आफ्नै भ्रमहरूमा जोड दिइरहेका हुन्छन्। अनि के यसमा पनि थोरै दुष्टता हुँदैन र? कति मानिसहरूमा परमेश्वरबारे धारणाहरू हुन्छन्; तिनीहरूलाई धेरै पटक सत्यता सङ्गति गरिएपछि, तिनीहरूले अब बुझेँ, र आफ्ना धारणाहरू हटे भनेर भन्छन्, तर पछि गएर तिनीहरू फेरि पनि आफ्नै धारणाहरूमा लागिरहन्छन्, सधैँ नकारात्मक भइरहन्छन्, र आफ्नै बहानाहरूमा जोडले टाँस्सिइरहन्छन्। यो दुष्टता हो, होइन र? यो पनि एक प्रकारको दुष्टता नै हो। समग्रमा, अनुचित काम गर्ने तर जे-जसरी सत्यता सङ्गति गरिए पनि यसलाई स्विकार्न नमान्ने जोकोही अधम नै हुन्छ, र केही हदसम्म दुष्ट पनि हुन्छ। दुष्ट स्वभाव भएका यी मानिसहरूलाई परमेश्वरद्वारा मुक्ति दिइनु सहज हुँदैन, किनभने तिनीहरू सत्यता स्विकार्न सक्दैनन् र आफ्ना दुष्ट भ्रमहरू त्याग्न मान्दैनन्; वास्तवमा, तिनीहरूको लागि गर्न सकिने कुरा केही पनि हुँदैन।
हामीले भर्खरै कूल छ स्वभावबारे सङ्गति गर्यौँ: कठोरता, अहङ्कार, छल, सत्यताप्रति प्रतिकूल हुनु, क्रूरता, र दुष्टता। के यी छ स्वभावबारे विश्लेषण गरेपछि यसले तिमीहरूलाई स्वभाव परिवर्तनबारे नयाँ ज्ञान र बुझाइ दिएको छ? अनि, स्वभावमा हुने परिवर्तनहरू के-के हुन्? के यसको अर्थ कुनै निश्चित कमजोरी हटाउनु, कुनै निश्चित व्यवहार सुधार्नु, वा कुनै निश्चित चारित्रिक गुण परिवर्तन गर्नु हो? अवश्यै होइन। के त्यसोभए तिमीहरू अहिले स्वभाव के हो भन्नेबारे अलिक स्पष्ट भयौ त? के यी छ स्वभावलाई मान्छेका भ्रष्ट स्वभावहरू, र मान्छेको प्रकृति सारको रूपमा व्याख्या गर्न सकिन्छ? (सकिन्छ।) यी छ स्वभावहरू सकारात्मक कुराहरू हुन् कि नकारात्मक? (नकारात्मक कुराहरू हुन्।) यी स्पष्ट रूपमा मान्छेका भ्रष्ट स्वभावहरू नै हुन्, र यी मान्छेको भ्रष्ट स्वभावका मुख्य पक्षहरू हुन्। यीमध्ये परमेश्वर र सत्यताप्रति शत्रुवत् नरहेको भ्रष्ट स्वभाव एउटा पनि छैनन्, र यी कुनै पनि सकारात्मक छैनन्। त्यसकारण, यी छ स्वभावहरू त्यस्ता छ पक्षहरू हुन् जसलाई समग्रमा भ्रष्ट स्वभाव भनेर भनिन्छ। भ्रष्ट स्वभावहरू मान्छेका प्रकृति सार हुन्। यो “सार” लाई कसरी व्याख्या गर्न सकिन्छ? सारले मान्छेको प्रकृति जनाउँछ। मान्छेको प्रकृति भनेको उसले आफ्नो अस्तित्वको लागि भरोसा गर्ने कुराहरू, र उसको जिउने शैली नियमन कुराहरू हो। मानिसहरू आफ्नो प्रकृतिद्वारा जिउँछन्। तर तँ जसरी जिए पनि, तेरो उद्देश्य र दिशा जे भए पनि, र तँ जुन नियमअनुसार जिए पनि, तेरो प्रकृति सार परिवर्तन हुँदैन—यो निर्विवाद कुरा हो। त्यसकारण, जब तँमा सत्यता हुँदैन, र जब तँ यी भ्रष्ट स्वभावहरूमा भर परेर जिउँछस्, तब तैँले जिउने हरेक कुरा परमेश्वरको विरुद्धमा, सत्यताको विपरीत, र परमेश्वरका अभिप्रायसँग नमिल्ने हुन्छन्। अब तैँले यो कुरा बुझ्नुपर्छ: यदि मानिसहरूको स्वभाव परिवर्तन भएन भने, के तिनीहरूले मुक्ति पाउन सक्छन्? (सक्दैनन्।) त्यो असम्भव हुनेछ। अनि, यदि मानिसहरूको स्वभाव परिवर्तन भएन भने, के तिनीहरू परमेश्वर अनुरूप हुन सक्छन्? (सक्दैनन्।) त्यो अत्यन्तै गाह्रो हुनेछ। यी छ स्वभावको कुरा गर्दा, चाहे यो जुनै स्वभाव भए पनि, र यो तँमा जति नै हदसम्म प्रकट वा खुलासा भए पनि, यदि तैँले आफूलाई यी भ्रष्ट स्वभावहरूको बन्धनबाट मुक्त गर्न सक्दैनस् भने, तेरो कार्य-व्यवहारको अभिप्राय वा लक्ष्य जे भए पनि, र तैँले जानीजानी व्यवहार गरिरहेको भए पनि नभए पनि, तैँले गर्ने सबै कुराको प्रकृति परमेश्वरको विरुद्धमै हुनेछ, र परमेश्वरले अवश्यै त्यसलाई दोषी ठहर्याउनुहुनेछ—र त्यो अत्यन्तै गम्भीर परिणाम हो। के परमेश्वरमा विश्वास गर्ने सबैले अन्तिममा परमेश्वरद्वारा दोषी ठहरिने चाहना गरेका हुन्छन् त? (हुँदैनन्।) अनि यो मानिसहरूले चाहना गर्ने परिणाम होइन भने, तिनीहरूले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो त? तिनीहरूले आफ्नो भ्रष्ट स्वभाव र भ्रष्ट सार चिन्नुपर्छ, सत्यता बुझ्नुपर्छ, र त्यसपछि सत्यता स्विकार्नुपर्छ—परमेश्वरले तिनीहरूको लागि तय गर्नुभएका परिवेशहरूमा तिनीहरूले क्रमिक रूपमा र अलिअलि गर्दै यी भ्रष्ट स्वभावहरूबाट आफूलाई मुक्त पार्दै र परमेश्वर र सत्यतासँग मिल्दो स्थिति हासिल गर्दै जानुपर्छ। आफ्नो स्वभाव परिवर्तन गर्ने मार्ग यही हो।
यसभन्दा पहिले, आफ्नो स्वभाव परिवर्तन गर्ने कार्यलाई अत्यन्तै सहज र सरल ठान्ने मानिसहरू पनि थिए। तिनीहरूले के सोच्थे भने, “मैले आफूलाई परमेश्वर विरुद्ध बोल्नबाट वा मण्डलीको काममा बाधा वा अवरोध गर्ने काम गर्नबाट रोक्न सकुन्जेल, र मसँग सही दृष्टिकोण हुन्जेल, मेरो हृदय सही रहुन्जेल, र मैले अलिक बढी सत्यता बुझुन्जेल, अझै बढी मेहनत गरुन्जेल, अझै बढी कष्ट भोगुन्जेल, र अझै धेरै मूल्य चुकाउन्जेल, मैले केही वर्षपछि अवश्यै आफ्नो स्वभाव परिवर्तन हासिल गर्नेछु।” के यी शब्दहरू साँच्चै यथार्थ हुन् त? (होइनन्।) कहाँनेर तिनीहरूको गल्ती छ? (तिनीहरूसँग आफ्नो भ्रष्ट स्वभावबारे कुनै ज्ञान छैन।) आफ्नो भ्रष्ट स्वभावबारे ज्ञान राख्नुको उद्देश्य के हो? (परिवर्तन हुनु।) अनि यो परिवर्तनको परिणाम के हुन्छ? सत्यता प्राप्त गर्नु। तेरो स्वभावमा परिवर्तन आएको छ छैन भनेर मापन गर्नको लागि, तेरो कार्य-व्यवहार सत्यतासँग मिल्ने छन् कि सत्यता उल्लङ्घन गर्ने खालका छन्, ती मानव इच्छाबाट आएका हुन् कि ती परमेश्वरको मापदण्ड पूरा पार्ने खालका छन्, त्यो हेर्नुपर्छ। तेरो स्वभाव कुन हदसम्म परिवर्तन भएको छ भनेर हेर्नको लागि, तैँले आफ्नो बारेमा मनन गर्न सक्छस् सक्दैनस्, र तैँले भ्रष्ट स्वभाव प्रकट गर्दा आफ्नो देह, अभिप्राय, उग्र महत्त्वाकाङ्क्षा, र इच्छा त्याग्न सक्छस् सक्दैनस्, र यसो गर्दा तैँले सत्यता अभ्यास गर्न सक्छस् सक्दैनस्, त्यो हेर्नुपर्छ। तैँले सत्यता र परमेश्वरका वचनहरू अनुसार कति हदसम्म अभ्यास गर्न सक्छस् र तेरो अभ्यास सत्यताका मापदण्डहरू अनुरूप छन् छैनन्, त्यो कुराले तेरो स्वभावमा कति ठूलो परिवर्तन आएको छ भन्ने कुरा प्रमाणित गर्छ। यो सापेक्षित कुरा हो। उदाहरणको लागि, हठी स्वभावलाई लिऊँ: सुरुमा, तेरो स्वभावमा कुनै परिवर्तन आएको नहुँदा, तैँले सत्यता बुझेको थिइनस्, र तँलाई आफूमा हठी स्वभाव छ भन्ने पनि थाहा थिएन, र सत्यता सुन्दा, तँ मनमनै सोच्थिस्, “सत्यताले कसरी सधैँ मानिसहरूको घाउ उदाङ्गो पार्न सक्छ?” यो सुनेपछि, तँलाई परमेश्वरका वचनहरू सही छन् भन्ने लाग्यो, तर एक-दुई वर्षपछि, तैँले तीमध्ये कुनैलाई पनि हृदयमा राखिनस्, तीमध्ये कुनैलाई पनि स्विकारिनस् भने, यो हठीपन हो, होइन र? यदि दुई-तीन वर्षपछि पनि तैँले स्वीकार गरिनस् भने, यदि तँभित्रको स्थितिमा कुनै परिवर्तन आएन भने, र तँ आफ्नो कर्तव्य निर्वाहमा पछि परेको नभए पनि, र तैँले धेरै कष्ट भोगेको भए पनि, तेरो हठी स्थिति पटक्कै परिवर्तन भएको हुँदैन भने, वा त्यो कति पनि मत्थर भएको हुँदैन भने, के तेरो स्वभावको यो पक्षमा कुनै परिवर्तन आएको हुन्छ त? (हुँदैन।) त्यसोभए तँ किन दौडधूप गर्दै काम गरिरहेको छस्? तैँले त्यसो गर्नुको कारण जे भए पनि, तैँले अन्धाधुन्ध रूपमा दौडधूप गर्दै काम गरिरहेको छस्, किनभने तैँले यति दौडधूप र यति काम गरेको छस्, तैपनि तेरो स्वभावमा कति पनि परिवर्तन आएको छैन। अनि एक दिन तैँले अचानक मनमनै यस्तो सोच्नेछस्, “म कसरी गवाहीको एक शब्द पनि बोल्न सक्दिनँ? मेरो जीवन स्वभाव पनि बिलकुलै परिवर्तन भएको छैन।” त्यो बेला यो समस्या कति गम्भीर रहेछ भन्ने कुरा तँलाई महसुस हुनेछ, र तैँले मनमनै यस्तो सोच्नेछस्, “म साँच्चै विद्रोही र हठी रहेछु! म सत्यता खोजी गर्ने व्यक्ति होइन रहेछु! मैले आफ्नो हृदयमा परमेश्वरको निम्ति कुनै ठाउँ राखेको रहेनछु! यसलाई कसरी परमेश्वरमा विश्वास गरेको भनेर भन्न मिल्छ र? मैले परमेश्वरमा विश्वास गरेको वर्षौँ भयो र पनि म अझै मान्छेको स्वरूपमा जिउँदिन, न त मेरो हृदय नै परमेश्वरको नजिक छ। मैले परमेश्वरका वचनहरूलाई पनि हृदयमा राखेको छैनँ; न त मैले कुनै गलत काम गर्दा ममा आत्मधिक्कार वा पश्चात्ताप गर्ने इच्छा नै हुन्छ—के यो हठीपन होइन र? के म विद्रोह पुत्र होइन र?” तँ बेचैन हुन्छस्। अनि तँ बेचैन हुनुको अर्थ के हो? यसको अर्थ तँ पश्चात्ताप गर्न चाहन्छस्। तँलाई आफ्नो हठीपन र विद्रोहीपनबारे थाहा हुन्छ। अनि यस पटक, तेरो स्वभाव परिवर्तन हुन थाल्छ। थाहै नपाई, तँ आफ्नो विवेकमा रहेका केही निश्चित विचार र इच्छाहरू परिवर्तन गर्न चाहन्छस्, र तँ परमेश्वरसँग गतिरोधको स्थितिमा हुन छोड्नेछस्। तँलाई परमेश्वरसँगको आफ्नो सम्बन्ध सुधार्न, अब हठी हुन छोड्न, आफ्नो दैनिक जीवनमा परमेश्वरका वचनहरू अभ्यास गर्न सक्ने बन्न, तिनलाई सत्यता सिद्धान्तहरूको रूपमा अभ्यास गर्न मन लाग्न थाल्छ—तँमा यो सचेतना हुन्छ। तँ यी कुराहरूप्रति सचेत हुनु राम्रो कुरा हो, तर के यसको अर्थ तँ तुरुन्तै परिवर्तन हुन सक्नेछस् भन्ने हुन्छ त? (हुँदैन।) तँ धेरै वर्षको अनुभव हुँदै जानुपर्छ, र त्यस अवधिमा तैँले हृदयमा झन्झन् स्पष्ट सचेतना प्राप्त गर्दै जानेछस् र तँसँग शक्तिशाली खाँचो हुनेछ, र तैँले हृदयमा यस्तो सोच्नेछस्, “यो ठीक होइन—मैले समय खेर फाल्न छोड्नुपर्छ। मैले सत्यता खोजी गर्नैपर्छ, र मैले केही उचित कार्य गर्नुपर्छ। विगतमा, मैले आफ्ना उचित कर्तव्यहरू बेवास्ता गर्दै आएँ, खानेकुरा र लुगाफाटाबारे मात्रै सोचिरहेँ, र ख्याति र लाभको पछि लागिरहेँ। परिणामस्वरूप, मैले कुनै सत्यता प्राप्त गरिनँ। मलाई यो कुराको पछुतो लाग्छ र मैले पश्चात्ताप गर्नैपर्छ!” यो बेला, तँ परमेश्वरमाथिको विश्वासको सही मार्ग हिँड्न सुरु गर्छस्। जब मानिसहरूले सत्यता अभ्यास गर्न थालेका हुन्छन्, तब के यसले तिनीहरूलाई स्वभाव परिवर्तनको अझ एक कदम नजिक लैजाँदैन र? तैँले परमेश्वरमा विश्वास गरेको जति लामो समय भए पनि, यदि तँ आफ्नो धमिलोपन महसुस गर्न सक्छस् भने—यदि तँलाई आफू सधैँ यताउता बहकिँदै हिँडेको, र धेरै वर्ष यसरी बहकिँदै हिँडेपछि पनि आफूले केही नसिकेको, र आफू अझै पनि खोक्रै रहेको महसुस हुन्छ भने—अनि यदि यसले तँलाई असहज महसुस गराउँछ, र तैँले आफ्नो बारेमा मनन गर्न थाल्छस्, र सत्यता नपछ्याउनु भनेको समय बरबाद गर्नु हो भन्ने महसुस गर्छस् भने, त्यस्तो बेला तँलाई परमेश्वरले दिनुहुने अर्तीका वचनहरू त मानिसप्रतिको उहाँको प्रेम हो रहेछ भन्ने महसुस हुनेछ, र तैँले परमेश्वरका वचनहरू नसुनेकोमा र विवेक र समझ गुमाएकोमा आफूले आफैलाई घृणा गर्नेछस्। तँलाई पछुतो हुनेछ, र त्यसपछि तैँले अब नयाँ र फरक रूपमा व्यवहार गर्ने, र साँचो रूपमा परमेश्वरको अघि जिउने इच्छा गर्नेछस्, अनि तैँले मनमनै यसो भन्नेछस्, “म अबदेखि परमेश्वरलाई चोट दिनेछैनँ। परमेश्वरले धेरै वचनहरू बोल्नुभएको छ, र हरेक वचन मान्छेको फाइदाको लागि, र मान्छेलाई सही मार्ग देखाउनको लागि बोलिएको छ। परमेश्वर कति प्रेमिलो हुनुहुन्छ, र मान्छेको प्रेमको कति लायक हुनुहुन्छ!” यो मानिसहरूको रूपान्तरणको सुरुवात हो। यसरी कुरा बुझ्नु एकदमै राम्रो कुरा हो! तँ अत्यन्तै भावशून्य रहेर यी कुराहरू समेत जान्दैनस् भने, तँ समस्यामा हुन्छस्, होइन र? आज मानिसहरूले के महसुस गर्छन् भने, परमेश्वरमाथिको विश्वासको मुख्य कुरा परमेश्वरका वचनहरू पढ्नु हो, र सत्यता बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो, र सत्यता बुझ्नु र आफूलाई चिन्नु पनि उत्तिकै महत्त्वपूर्ण कुरा हो, र सत्यता अभ्यास गर्न र सत्यतालाई आफ्नो वास्तविकता बनाउन सक्नु मात्रै परमेश्वरमाथिको विश्वासको सही मार्ग प्रवेश गर्नु हो। त्यसोभए हृदयमा यो कुरा स्विकार्न र महसुस गर्नको लागि तिमीहरूलाई कति वर्षको अनुभव चाहिन्छ जस्तो लाग्छ? जो मानिसहरू चतुर, अन्तर्ज्ञानपूर्ण, र परमेश्वरप्रति दह्रिलो इच्छा भएका छन्—त्यस्ता मानिसहरूले एक-दुई वर्षमा आफूलाई परिवर्तन गरेर प्रवेश पाउन थाल्न सक्छन्। तर भ्रमित, भावशून्य, मन्दबुद्धि भएको, र अन्तर्ज्ञान नभएका मानिसहरूले तीनदेखि पाँच वर्ष स्तब्धतामै बिताउँछन्, र तिनीहरूले केही पनि प्राप्त नगरको कुरा तिनीहरू आफैलाई थाहा हुँदैन। यदि तिनीहरूले उत्साहसाथ आफ्नो कर्तव्य पूरा गरे भने, तिनीहरूले स्तब्धतामै दश वर्षभन्दा बढी समय बिताउन सक्छन् तर कुनै खास उपलब्धि गर्न वा आफ्नो अनुभव गवाही बोल्न सक्दैनन्। तिनीहरूलाई धपाइएपछि वा हटाइएपछि मात्रै तिनीहरू बल्ल बिउँझन्छन् र मनमनै यस्तो सोच्छन्, “मसँग साँच्चै कुनै सत्यता वास्तविकता छैन रहेछ। म साँच्चै सत्यता खोजी गर्ने व्यक्ति भएको रहेनछु!” के यस बेलासम्म तिनीहरूको बिउँझाइ अलिक ढिलो भइसकेको हुँदैन र? कतिपय मानिसहरू परमेश्वर आउने दिनको अटुट प्रतीक्षा गरिरहेका हुन्छन्, तर बिलकुलै सत्यता नपछ्याई स्तब्ध अवस्थामै जिइरहन्छन्। परिणामस्वरूप, कुनै उपलब्धि नगरीकनै वा तिनीहरू कुनै गवाही बाँड्न सक्ने नभईकनै दश वर्षभन्दा बढी समय बितेर जान्छ। तिनीहरूलाई कठोरतासाथ काटछाँट गरिएपछि, र चेतावनी दिइसकेपछि मात्रै, तिनीहरूलाई परमेश्वरका वचनहरूले आफ्नो हृदय छेडेको महसुस हुन्छ। तिनीहरूको हृदय कति हठी हुन्छ! के तिनीहरूलाई काटछाँट नगरिनु र दण्ड नदिइनु ठीक हुन्छ? के तिनीहरूलाई गम्भीर रूपमा अनुशासनमा नराख्नु ठीक हुन्छ? तिनीहरूलाई सचेत र प्रतिक्रिया दिने बनाउन के गरिनुपर्छ? सत्यता नपछ्याउनेहरूले लास राख्ने बाकस नदेखेसम्म आँसु झार्दैनन्। धेरै पैशाचिक र दुष्ट कुराहरू गरिसकेपछि मात्रै तिनीहरूले चेत महसुस गर्छन्, र तिनीहरूले मनमनै यसो भन्छन्, “के परमेश्वरमाथिको मेरो विश्वास समाप्त भएको हो? के परमेश्वरले अबदेखि मलाई चाहन छोड्नुभएको हो? के मलाई दोषी ठहराइएको हो?” तिनीहरूले मनन गर्न थाल्छन्। जब तिनीहरू नकारात्मक हुन्छन्, तब तिनीहरूलाई परमेश्वरमाथि विश्वास गरेका यतिका वर्ष व्यर्थ भए भन्ने महसुस हुन्छ, र तिनीहरू आक्रोशले भरिन्छन्, र आफ्नो कुनै आशा छैन भनी हरेस खान बाध्य हुन्छन्। तर जब तिनीहरूको होस खुल्छ, तिनीहरूले महसुस गर्छन् “के मैले आफैलाई चोट दिइरहेको छैन र? म आफ्नो खुट्टामा उभिनैपर्छ। मैले सत्यतालाई प्रेम गर्दिनँ भनेर मलाई भनिएको छ। मलाई किन यसो भनियो? मैले कसरी सत्यतालाई प्रेम गर्दिनँ? अहँ हुँदैन! मैले सत्यतालाई प्रेम नगर्ने मात्र होइन, आफूले बुझेका सत्यताहरू पनि अभ्यास गर्न सक्दिनँ। यो सत्यताप्रति प्रतिकूल रहने स्वभावको प्रकटीकरण हो!” यो सोचेर, तिनीहरू अलिक पछुतो मान्छन्, र अलिक डराउँछन् पनि: “यदि म यसरी नै अघि बढिरहेँ भने, म पक्कै पनि दण्डित हुनेछु। हुँदैन, मैले तुरुन्तै पश्चात्ताप गर्नुपर्छ—परमेश्वरको स्वभावलाई चिढ्याउनु हुँदैन।” यो बेला, के तिनीहरूको हठीपन घटेको हुन्छ? तिनीहरूको हृदयमा सियोले घोचेजस्तै हुन्छ; तिनीहरूले केही महसुस गर्छन्। अनि जब तँलाई यस्तो महसुस हुन्छ, तब तेरो हृदयमा हलचल मच्चिन्छ, र तैँले सत्यतामा चासो राख्न थाल्छस्। अनि, तँमा किन यो चासो हुन्छ? किनभने तँलाई सत्यताको खाँचो पर्छ। सत्यताविना, जब तँलाई काटछाँट गरिन्छ, तँ त्यसमा समर्पित हुन वा सत्यता स्विकार्न सक्दैनस्, र जाँचमा पर्दा तँ दृढ हुन सक्दैनस्। यस्तोमा तँ अगुवा बनिस् भने, के तँ झूटो अगुवा हुनबाट र ख्रीष्टविरोधी मार्ग हिँड्नबाट जोगिन सक्छस् र? सक्दैनस्। के तैँले हैसियत पाउने र अरूको प्रशंसा पाउने इच्छाबाट पार पाउन सक्छस्? के तँ तेरो सामु प्रस्तुत गरिएका परिस्थिति वा जाँचलाई जित्न सक्छस्? तैँले आफूलाई अत्यन्तै राम्ररी चिनेको र बुझेको छस्, र तैँले यसो भन्नेछस्, “यदि मैले सत्यता बुझिनँ भने, यो सबबाट पार पाउन सक्दिनँ—म त फोहोर हुँ, मैले केही गर्न सक्दिनँ।” यो कस्तो किसिमको मानसिकता हो? यो सत्यताको खाँचो पर्नु हो। जब तँ खाँचोमा हुन्छस्, जब तँ सबैभन्दा लाचार हुन्छस्, तब तँ सत्यतामा मात्रै भरोसा गर्न चाहन्छस्। अनि तँलाई अरू कसैमा पनि भर पर्न सकिँदैन, सत्यतामा भर परेर मात्रै आफ्ना समस्याहरू समाधान गर्न, काटछाँट, जाँच र परीक्षाहरू छिचोल्न, र कुनै पनि परिस्थितिबाट पार पाउन सकिन्छ भन्ने महसुस हुनेछ। अनि तैँले सत्यतामा जति धेरै भरोसा गर्छस्, त्यति नै धेरै तँलाई सत्यता असल, उपयोगी, र तेरो लागि सबैभन्दा मदतगार छ, र यसले तेरा सबै कठिनाइहरू समाधान गर्न सक्छ भन्ने महसुस हुनेछ। त्यस्तो बेला, तैँले सत्यताको तृष्णा गर्न थाल्नेछस्। जब मानिसहरू यो विन्दुमा पुग्छन्, तब के तिनीहरूको भ्रष्ट स्वभाव अलिअलि गर्दै घट्न वा परिवर्तन हुन थाल्दैन र? मानिसहरूले सत्यता बुझ्न र स्विकार्न थालेपछि, तिनीहरूको दृष्टिकोण परिवर्तन हुन थाल्छ, र त्यसपछि तिनीहरूको स्वभाव पनि परिवर्तन हुन थाल्छ। यो बिस्तारै हुने प्रक्रिया हो। प्रारम्भिक चरणमा, मानिसहरूले यी साना परिवर्तनहरू देख्न सक्दैनन्; तर तिनीहरूले साँचो रूपमा सत्यता बुझ्न र अभ्यास गर्न थालेपछि, आधारभूत परिवर्तनहरू आउन थाल्छन्, र तिनीहरूले त्यस्तो परिवर्तन अनुभव गर्न सक्छन्। मानिसहरूले सत्यताको तृष्णा गर्न अनि तिनीहरूलाई सत्यताको भोक लाग्न, र तिनीहरूले सत्यता खोजी गर्ने इच्छा गर्न थालेदेखि, तिनीहरूको जीवनमा कुनै कुरा आइपरेर तिनीहरूले सत्यतासम्बन्धी आफ्नो बुझाइको आधारमा सत्यता अभ्यास गर्न र परमेश्वरका अभिप्राय पूरा गर्न, र आफ्नै इच्छाअनुसार काम नगर्न, र आफ्ना मनसायहरू, र आफ्नो अहङ्कार, विद्रोहीपन, हठीपन, र धोकेबाज हृदयलाई जित्न थालेको विन्दुसम्म, के अलिअलि गर्दै सत्यता तिनीहरूको जीवन बन्दैन र? अनि जब सत्यता तेरो जीवन बन्छ, तब तँभित्रको अहङ्कारी, विद्रोही, हठी, र धोकेबाज स्वभावहरू तेरो जीवन हुन छोड्छन्, र अब उप्रान्त तिनले तँलाई नियन्त्रण गर्दैनन्। अनि त्यो बेला तेरो व्यवहार केले निर्देशित गर्छ? परमेश्वरका वचनहरूले। जब परमेश्वरका वचनहरू तेरो जीवन बन्छन्, के तब परिवर्तन आएको हुन्न र? (हुन्छ।) अनि पछि, तँ जति परिवर्तन हुन्छस्, अवस्था त्यति नै राम्रो हुन्छ। यही प्रक्रियाद्वारा मानिसहरूको स्वभाव परिवर्तन हुन्छ, र यो प्रभाव हासिल गर्न लामो समय लाग्छ।
स्वभाव परिवर्तनको लागि कति लामो समय लाग्छ त्यो कुरा व्यक्तिमा भर पर्छ; यसको कुनै निश्चित समयअवधि छैन। यदि व्यक्तिले सत्यतालाई प्रेम गर्छ र पछ्याउँछ भने, सात, आठ वा दश वर्षमा उसको स्वभाव परिवर्तन हुनेछ। यदि ऊ औसत क्षमताको छ र सत्यता पछ्याउन इच्छुक पनि छ भने, उसको स्वभावमा परिवर्तन देखिन लगभग पन्ध्र वा बीस वर्ष लाग्न सक्छ। मुख्य कुरा त व्यक्तिको सत्यता पछ्याउने संकल्प र ऊ कति अन्तर्ज्ञानवाला छ भन्ने कुरा हो, र यसका निर्धारक तत्वहरू यिनै हुन्। हरेक व्यक्तिमा हरप्रकारको भ्रष्ट स्वभाव फरक-फरक हदमा रहेको हुन्छ, ती सबै व्यक्तिको प्रकृति हुन्, र ती सबैले गहन जरा गाडिबसेका हुन्छन्। तैपनि, सत्यता पछ्याएर अनि अभ्यास गरेर, साथै परमेश्वरको न्याय, सजाय, काटछाँट, परीक्षा र शोधन स्विकारेर, हरेक स्वभावमा फरक-फरक हदको परिवर्तन हासिल गर्न सकिन्छ। कतिपय मानिसहरू भन्छन्, “यदि त्यसो हो भने, के स्वभाव परिवर्तन समय बित्दै गएपछि आफै प्राप्त हुँदैन र? समय आएपछि, मलाई स्वभाव परिवर्तन के हो भन्ने आफै थाहा हुनेछ, र म प्रवेश गर्न सक्ने हुनेछु।” के यस्तो हुन्छ त? (हुँदैन।) अवश्यै हुँदैन। यदि स्वभाव परिवर्तन गर्न समय मात्रै चाहिने हो भने, आफ्नो जीवनभर परमेश्वरमा विश्वास गरेका ती सबै मानिसहरूले समयसँगै आफ्नो स्वभाव परिवर्तन गरिसकेका हुन्थे। तर के वास्तवमा यस्तो हुन्छ त? के यी मानिसहरूले सत्यता प्राप्त गरेका हुन्छन् त? के तिनीहरूले आफ्नो स्वभावमा परिवर्तन हासिल गरेका हुन्छन् त? हुँदैनन्। परमेश्वरमा विश्वास गर्ने मानिसहरू किरासरी प्रशस्त छन्, तर स्वभाव परिवर्तन भएका मानिसहरू हिरासरी दुर्लभ छन्। मानिसहरूको स्वभाव साँचो रूपमा परिवर्तन हुनको लागि, तिनीहरू त्यो हासिल गर्न सत्यता पछ्याउनमा भर पर्नुपर्छ; तिनीहरू पवित्र आत्माको कार्यमा भर परेर सिद्ध पारिन सक्छन्। सत्यता पछ्याउने काम गरेर स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ। एकातर्फ, मानिसहरूले मूल्य चुकाउनैपर्छ, अर्थात् सत्यता पछ्याउँदा तिनीहरूले मूल्य चुकाउनैपर्छ र सत्यता हासिल गर्नको लागि भोग्नुपर्ने कुनै पनि कठिनाइ पनि कमको हुँदैन। साथै, पवित्र आत्माले तिनीहरूमा काम गर्न र तिनीहरूलाई सिद्ध पार्नको लागि, परमेश्वरले तिनीहरूलाई सही प्रकारको व्यक्ति, दयालु, र परमेश्वरलाई साँचो प्रेम गर्ने व्यक्ति भनेर प्रमाणित गर्नुपर्छ। मानिसहरूको सहकार्य अपरिहार्य हुन्छ, तर पवित्र आत्माको कार्य प्राप्त गर्नु अझै महत्त्वपूर्ण हुन्छ। यदि मानिसहरूले सत्यतालाई पछ्याउने वा प्रेम गर्ने गर्दैनन् भने, यदि तिनीहरूले परमेश्वरलाई कसरी प्रेम गर्ने भन्ने त कुरै छोडौँ, परमेश्वरका अभिप्रायलाई ध्यान दिन समेत कहिल्यै जान्दैनन् भने, र यदि तिनीहरूमा मण्डलीको कामप्रति कुनै बोझको बोध छैन र तिनीहरूमा अरूप्रति पनि कुनै प्रेम छैन भने—र विशेष गरी, आफ्नो कर्तव्य पूरा गर्दा तिनीहरूमा कुनै बफादारी हुँदैन भने—तिनीहरू परमेश्वरका प्रियहरू होइनन्, र परमेश्वरले तिनीहरूलाई कहिल्यै पनि सिद्ध पार्न सक्नुहुन्न। त्यसकारण मानिसहरूले अन्धाधुन्ध हठ गर्नु हुँदैन, बरु परमेश्वरका अभिप्राय बुझ्नुपर्छ। परमेश्वरले जे भन्नुभए पनि वा जे गर्नुभए पनि, तिनीहरू समर्पित हुन र मण्डलीको काम रक्षा गर्न सक्षम हुनुपर्छ, र तिनीहरूको हृदय ठीक हुनुपर्छ, त्यसपछि मात्रै पवित्र आत्माले काम गर्न सक्नुहुन्छ। यदि मानिसहरू परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छन् भने, तिनीहरूमा परमेश्वरलाई प्रेम गर्ने, परमेश्वरमा समर्पित हुने, र परमेश्वरको डर मान्ने हृदय हुनुपर्छ, र कर्तव्य निभाउँदा तिनीहरू बफादार हुनुपर्छ, र परमेश्वरलाई सन्तुष्टि दिलाउनुपर्छ। त्यसपछि मात्रै तिनीहरूले पवित्र आत्माको कार्य प्राप्त गर्न सक्नेछन्। जब मानिसहरूसँग पवित्र आत्माको कार्य हुन्छ, तब तिनीहरूले परमेश्वरका वचनहरू पढ्दा अन्तर्दृष्टि प्राप्त गर्छन्, तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा तिनीहरूसँग सत्यता अभ्यास गर्ने मार्ग हुन्छ र तिनीहरूको कर्तव्य निर्वाहमा सिद्धान्तहरू हुन्छन्, तिनीहरू समस्यामा हुँदा परमेश्वरले तिनीहरूलाई अगुवाइ गर्नुहुन्छ, र तिनीहरूले जति धेरै कष्ट भोगे पनि तिनीहरूको हृदयमा आनन्द र शान्ति हुन्छ। यसरी दश-बीस वर्ष पवित्र आत्माको मार्गदर्शन अनुभव गरेपछि, थाहै नपाई तिनीहरू परिवर्तन हुनेछन्। जति चाँडो परिवर्तन आउँछ, त्यति नै चाँडै शान्ति प्राप्त हुन्छ, अनि त्यति नै चाँडै तिनीहरू खुसी हुन सक्छन्। मानिसहरूको स्वभाव परिवर्तन भएपछि मात्रै तिनीहरूले साँचो शान्ति र आनन्द प्राप्त गर्न सक्छन्, त्यसपछि मात्रै तिनीहरूले साँचो रूपमा खुसीसाथ जिउन सक्छन्। सत्यता नपछ्याउने मानिसहरूमा कुनै आत्मिक शान्ति वा आनन्द हुँदैन, तिनीहरूका दिनहरू झन्झन् खोक्रा, र झन्झन् सहन नसकिने बन्दै जान्छन्। परमेश्वरमा विश्वास गर्ने तर सत्यता नपछ्याउनेहरूका दिनहरू पीडा र कष्टले भरिएका हुन्छन्। त्यसकारण, परमेश्वरमा विश्वास गर्दा, सत्यता प्राप्त गर्नुजत्तिको महत्त्वपूर्ण कुरा अरू हुँदैन। सत्यता प्राप्त गर्नु भनेको जीवन प्राप्त गर्नु हो, र सत्यता जति चाँडै प्राप्त हुन्छ, त्यति नै राम्रो हो। सत्यताविना, मानिसहरूको जीवन खोक्रो हुन्छ। सत्यता प्राप्त गर्नु भनेको शान्ति र आनन्द प्राप्त गर्नु हो, परमेश्वरको अघि जिउन सक्नु हो, पवित्र आत्माको कार्यको अन्तर्दृष्टि, अगुवाइ र डोर्याइ पाउनु हो, अनि तिनीहरूको हृदयमा झन्झन् बढी ज्योति छाउँछ, र परमेश्वरमाथिको तिनीहरूको विश्वास झन्झन् ठूलो बन्छ। के अब स्वभाव परिवर्तन सम्बन्धी सत्यताबारे तिमीहरूलाई स्पष्ट भयो? (हो, अब हामीले बुझ्यौं।) यदि यो साँच्चै स्पष्ट भयो भने, अब तिमीहरूसँग एउटा मार्ग छ, र सत्यता पछ्याउनमा कसरी प्रभावकारी हुने त्यो ज्ञान छ।
अप्रिल २८, २०१७