ख. परमेश्‍वरका नामहरू परिवर्तन हुन सक्छन् तर उहाँको सार कहिल्यै परिवर्तन हुँदैन

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वर हरेक पल्ट पृथ्वीमा आउनुहुँदा उहाँले आफ्नो नाउँ, उहाँको लिङ्ग, उहाँको स्वरूप, र उहाँको काम बदल्नुहुन्छ; उहाँले आफ्नो काम दोहोऱ्याउनुहुन्न। उहाँ त्यो परमेश्‍वर हुनुहुन्छ जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। जब उहाँ पहिले आउनुभयो, उहाँलाई येशू भनियो; उहाँ यस पटक फेरि आउनुहुँदा के उहाँलाई अझै येशू नै भन्न सकिन्छ? पहिले जब उहाँ आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो; के उहाँ यस पटक फेरि पुरुष हुन सक्नुहुन्छ? अनुग्रहको युगमा उहाँको काम क्रूसमा टाँगिनुथियो; जब उहाँ फेरि आउनुहुनेछ, के उहाँले अझै पनि मानव जातिलाई पापबाट छुटकारा दिन सक्नुहुन्छ? के उहाँलाई फेरि क्रूसमा टाँग्न सकिन्छ? के त्यो उहाँको कामलाई दोहोऱ्याउनुजस्तो हुँदैन र? के तँलाई थाहा छैन, परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न? केही मानिसहरू छन्, जसले परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भनी भन्छन्। यो सही हो, तर त्यसले परमेश्‍वरको स्वभाव र उहाँको सारको अपरिवर्तनीयतालाई बुझाउँछ। उहाँको नाउँ र काममा हुने परिवर्तनले उहाँको सार परिवर्तन भएको बुझाउँदैन; अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वर सधैँ नै परमेश्‍वर नै हुनुहुनेछ, र यो कहिल्यै परिवर्तन हुनेछैन। यदि तँ परमेश्‍वरको काम अपरिवर्तनीय छ भनी भन्छस् भने, के उहाँले आफ्नो छ हजार वर्षको प्रबन्ध योजना पूरा गर्न सक्नुहुन्छ? तँ परमेश्‍वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ भन्‍ने मात्र जान्दछस्, तर के तँ परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न भनी जान्दछस्? यदि परमेश्‍वरको काम अपरिवर्तनीय छ भने, के उहाँले मानव जातिलाई डोऱ्याएर आजको दिनसम्म ल्याउन सक्नुहुनेथियो? यदि परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ भने, उहाँले किन पहिले नै दुई युगको काम गरिसक्नुभयो? उहाँको काम अगाडि बढ्न कहिल्यै रोकिँदैन, जसको अर्थ यो हो, कि उहाँको स्वभाव बिस्तारै मानिसमा प्रकट गरियो, र जे प्रकट गरिएको छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो। आदिमा, परमेश्‍वरको स्वभाव मानिसबाट लुकेको थियो, उहाँले कहिल्यै पनि आफ्नो स्वभाव मानिसको सामु खुल्लमखुल्ला प्रकट गर्नुभएन, र मानिसलाई उहाँको बारेमा केही पनि थाहा थिएन। यसकारण, उहाँले मानिसलाई आफ्नो स्वभाव क्रमिक रूपमा प्रकट गर्न उहाँको काम प्रयोग गर्नुहुन्छ, तर यसरी काम गर्नुको अर्थ हरेक युगमा उहाँको स्वभाव परिवर्तन हुन्छ भन्‍ने होइन। परमेश्‍वरका अभिप्रायहरू सँधै परिवर्तन भइरहने भएकाले उहाँको स्वभाव सधैँ परिवर्तन भइरहेको छ भन्‍ने होइन। बरु, यो कुरा हो, कि उहाँको कामको युगहरू भिन्नाभिन्नै भएकोले, परमेश्‍वरले आफ्नो अन्तर्निहित स्वभावलाई पूर्ण रूपमा धारण गर्नुहुन्छ, र एक-एक चरण गर्दै त्यो मानिसलाई प्रकट गर्नुहुन्छ, यसैले कि मानिसले उहाँलाई चिन्न सकोस्। तर कुनै पनि प्रकारले यसको अर्थ सुरुमा परमेश्‍वरको कुनै विशेष स्वभाव हुँदैन वा युगहरू बित्दैजाँदा उहाँको स्वभाव बिस्तारै परिवर्तन भएको हो भन्‍ने प्रमाण होइन—त्यस्तो बुझाइ भ्रमित हुन्छ। युगहरू बित्दैजाँदा सोही अनुसार परमेश्‍वरले मानिसलाई उहाँको अन्तर्निहित र विशेष स्वभाव—उहाँ के हुनुहुन्छ भन्‍ने कुरा प्रकट गर्नुहुन्छ; एउटै युगको कामले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई व्यक्त गर्न सक्दैन। अनि यसैले “परमेश्‍वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न” भन्‍ने शब्दहरूले उहाँको कामलाई बुझाउँछ, अनि “परमेश्‍वर अपरिवर्तनीय हुनुहुन्छ” भन्‍ने शब्दहरूले परमेश्‍वरमा अन्तर्निहित रूपमा के छ र को हुनुहुन्छ भन्‍ने बुझाउँछ। जे सुकै होस्, तैँले छ हजार वर्षको कामलाई एक मात्र बिन्दुमा कब्जा गर्न सक्दैनस्, वा त्यसलाई मृत शब्दहरूमा सीमित गर्न सक्दैनस्। त्यसो गर्नु मानिसको मूर्खता हो। परमेश्‍वर मानिसले कल्पना गरेजस्तो सरल हुनुहुन्न, र उहाँको काम कुनै एक युगमा रहिरहन सक्दैन। उदाहरणका लागि, यहोवाले सधैँ परमेश्‍वरको नाउँ प्रतिनिधित्व गर्न सक्दैन; परमेश्‍वरले येशूको नाउँमा पनि आफ्नो काम गर्न सक्नुहुन्छ। यो परमेश्‍वरको काम सधैँ अगाडि दिशामा बढिरहेको छ भन्‍ने सङ्केत हो।

परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ कहिल्यै पनि शैतान बन्नुहुन्न; शैतान सधैँ शैतान नै रहन्छ, र त्यो कहिल्यै परमेश्‍वर बन्नेछैन। परमेश्‍वरको बुद्धि, परमेश्‍वरको आश्‍चर्यता, परमेश्‍वरको धार्मिकता, र परमेश्‍वरको प्रताप कहिल्यै परिवर्तन हुँदैन। उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कहिल्यै परिवर्तन हुँदैन। तर उहाँको कामको विषयमा भन्दा, यो सधैँ अगाडि बढिरहेको हुन्छ, सधैँ गहिरो हुँदै जान्छ, किनकि उहाँ सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। हरेक युगमा परमेश्‍वरले नयाँ नाउँ धारण गर्नुहुन्छ, हरेक युगमा उहाँले नयाँ काम गर्नुहुन्छ, र प्रत्येक युगमा उहाँले आफ्ना सृष्टि गरिएका प्राणीहरूलाई उहाँका नयाँ अभिप्राय र नयाँ स्वभाव देखाउनुहुन्छ। यदि नयाँ युगमा, मानिसहरू परमेश्‍वरको नयाँ स्वभाव प्रकट भएको देख्न असफल हुन्छन् भने, के तिनीहरूले उहाँलाई सदाका लागि क्रूसमा टाँग्नेछैनन् र? र त्यसो गरेर, के तिनीहरूले परमेश्‍वरको परिभाषा दिँदैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

केहीले भन्छन्, परमेश्‍वरको नाउँ परिवर्तन हुँदैन। त्यसो भए यहोवाको नाउँ किन येशू भयो त? मसीह आउनुहुनेछ भनी भविष्यवाणी गरिएको थियो, त्यसो भए किन येशू नाउँ गरिएको मानिस आउनुभयो त? परमेश्‍वरको नाउँ किन परिवर्तन भयो? के यस्ता काम धेरै पहिले कार्यान्वयन गरिएको थिएन र? के परमेश्‍वरले आज नयाँ काम गर्न सक्‍नुहुन्‍न? हिजो गरिएको कामलाई बदल्न सकिन्छ, र येशूको काम यहोवाको कामको निरन्तरता हुन सक्छ। त्यसो भए, के येशूको कामपछि अरू काम आउन सक्दैन र? यदि यहोवाको नाउँ येशूमा परिणत हुन्छ भने, येशूको नाउँ पनि परिवर्तन हुन सक्दैन र? यी कुनै पनि अनौठो कुरा होइनन्; यो के मात्रै हो भने मानिसहरू अत्यन्तै सरल विचार-धाराका छन्। परमेश्‍वर सदैव परमेश्‍वर नै हुनुहुनेछ। उहाँको काम जति परिवर्तन भए पनि, र उहाँको नाउँ जति परिवर्तन भए तापनि, उहाँको स्वभाव र बुद्धि कहिल्यै परिवर्तन हुँदैन। यदि तँ परमेश्‍वरलाई येशूको नाउँद्वारा मात्र पुकार्न सकिन्छ भनी विश्‍वास गर्छस् भने, तेरो ज्ञान अत्यन्त सीमित छ। के तँ परमेश्‍वरको नाउँ सदासर्वदा येशू नै रहनेछ र परमेश्‍वरलाई सदासर्वदा र सदैव येशूको नाउँले नै पुकारिन्छ भनी निश्‍चय गर्ने हिम्मत गर्छस्? येशूको नाउँले नै व्यवस्थाको युगको अन्त्य गर्‍यो र अन्तिम युगलाई पनि यही नाउँले नै अन्त गर्नेछ भनी के तँ निश्‍चयताका साथ पक्का गर्ने हिम्मत गर्छस्? येशूको अनुग्रहले नै युगलाई अन्ततिर ल्याउन सक्छ भनी कसले भन्न सक्छ?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?

यहोवाले गर्नुभएका कामको पहिलो चरणमा उहाँ न त देह नै हुनुभयो, न मानिसकहाँ देखा पर्नुभयो। यसैले मानिसले उहाँको रूप कहिल्यै पनि देखेन। उहाँ जतिसुकै महान् र जति नै अग्लो हुनुभए पनि, उहाँ आत्मा, परमेश्‍वर स्वयम् नै हुनुहुन्थ्यो, जसले आदिमा मानिसलाई सृष्टि गर्नुभयो। अर्थात्, उहाँ परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो। उहाँले बादलहरूको बीचबाट मानिससँग बोल्नुभयो, केवल आत्माको रूपमा र कसैले पनि उहाँ देखापर्नुभएको घटनालाई देखेन। अनुग्रहको युगमा मात्र जब परमेश्‍वरका आत्मा देहमा आउनुभयो र यहूदियामा देहधारण हुनुभयो, तब मानिसले उहाँलाई एक यहूदीको स्वरूपमा पहिलोचोटि देख्यो। हेर्दा, उहाँमा यहोवासँग मिल्‍ने कुनै कुरा थिएन। तापनि, उहाँ पवित्र आत्माद्वारा गर्भधारण, अर्थात् स्वयम् यहोवा स्वयमको आत्माद्वारा गर्भधारण हुनुभएको थियो, र येशू परमेश्‍वरका आत्माको मूर्त रूपमा जन्मनुभयो। मानिसले पहिले पवित्र आत्मा ढुकुरको रूपमा येशूमाथि ओर्लनुभएको देख्यो; यो केवल येशूमा मात्र आउनुभएको आत्मा थिएन, बरु पवित्र आत्मा हुनुहुन्थ्यो। त्यसोभए के येशूका आत्मालाई पवित्र आत्माबाट अलग गर्न सकिन्छ? यदि येशू, पुत्र र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ भने, उहाँहरू कसरी एक हुन सक्नुहुन्छ? यदि त्यस्तो हो भने, काम गर्न सकिनेथिएन। येशूभित्रका आत्मा, स्वर्गमा हुनुहुने आत्मा, र यहोवाका आत्मा सबै एक हुन्। उहाँलाई पवित्र आत्मा, परमेश्‍वरका आत्मा, सात गुणा तीव्र आत्मा र सर्व-सम्मिलित आत्मा भनिन्छ। परमेश्‍वरका आत्माले धेरै काम गर्न सक्नुहुन्छ। उहाँले संसारलाई सृष्टि गर्न सक्नुहुन्छ र जलप्रलय पठाएर यसलाई नाश गर्न पनि सक्नुहुन्छ; उहाँले सबै मानवजातिलाई उद्धार गर्न सक्नुहुन्छ, यसबाहेक उहाँले सारा मानवजातिलाई जित्न र नाश पार्न सक्नुहुन्छ। यो काम सबै परमेश्‍वर आफैले गर्नुभएको हो र उहाँको सट्टामा परमेश्‍वरको कुनै व्यक्तित्वले गर्न सक्दैन। उहाँका आत्मालाई यहोवा र येशू, साथै सर्वशक्तिमान् भनेर पनि सम्बोधन गर्न सकिन्छ। उहाँ प्रभु र ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पुत्र पनि बन्न सक्नुहुन्छ। उहाँ स्वर्गहरूमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ; उहाँ ब्रह्माण्डभन्दा माथि र भीडको माझमा हुनुहुन्छ। स्वर्गहरू र पृथ्वीका एकमात्र मालिक उहाँ नै हुनुहुन्छ! सृष्टिको समयदेखि अहिलेसम्म यो काम परमेश्‍वर स्वयमको आत्माले गर्दै आउनुभएको छ। त्यो काम चाहे स्वर्गहरूमा होस् वा देहमा, सबै उहाँको आफ्नै आत्माद्वारा गरिन्छ। चाहे स्वर्गमा होस् वा पृथ्वीमा, सबै प्राणीहरू उहाँको सर्वशक्तिमान् हतकेलामा छन्; यी सबै स्वयम् परमेश्‍वरका काम हुन् र उहाँको ठाउँमा अरू कसैले यो गर्न सक्दैन। स्वर्गहरूमा उहाँ आत्मा हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् पनि हुनुहुन्छ; मानिसहरूका माझ उहाँ देह हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् नै रहनुहुन्छ। उहाँलाई सयौं हजारौं नाउँले सम्बोधन गर्न सकिए पनि, उहाँ उहाँ नै हुनुहुन्छ, र उहाँको आत्माको प्रत्यक्ष अभिव्यक्ति हुनुहुन्छ। उहाँको क्रूसीकरणद्वारा सारा मानवजातिलाई गरिएको छुटकारा, उहाँका आत्माको प्रत्यक्ष कार्य थियो, र सबै जाति र सबै देशहरूका निम्ति आखिरी दिनहरूमा गरिएको घोषणा पनि त्यस्तै हो। सबै समयमा, परमेश्‍वरलाई सर्वशक्तिमान् र एक मात्र साँचो परमेश्‍वर, सर्व-सम्मिलित परमेश्‍वर स्वयम् भन्न सकिन्छ। उहाँ अलग-अलग व्यक्तित्वहरूमा हुनुहुन्‍न, पिता, पुत्र र पवित्र आत्माको धारणाको त कुरै नगरौँ। स्वर्ग र पृथ्वीमा एउटै मात्र परमेश्‍वर हुनुहुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के त्रिएकत्व अस्तित्वमा छ?

सम्बन्धित चलचित्र उद्धरणहरू

आखिरी दिनहरूमा परमेश्‍वर आउनुहुँदा उहाँलाई किन सर्वशक्तिमान् परमेश्‍वर भनिन्छ?

सम्बन्धित भजनहरू

परमेश्‍वरको सार अपरिवर्तनीय छ

के तिमी परमेश्‍वरको नाउँ कहिल्यै परिवर्तन हुन सक्दैन भनेर जोड दिने आँट गर्छौ?

अघिल्लो: क. फरक-फरक युगहरूमा किन परमेश्‍वरका फरक-फरक नामहरू छन् र उहाँका नामहरूको महत्त्व

अर्को: ग. सर्वशक्तिमान्‌ परमेश्‍वर र प्रभु येशू उही परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्