व्यवस्थाको युगको काम
यहोवाले इस्राएलीहरूमा गरेको कामले मानवजातिमाझ परमेश्वरको पृथ्वीको उद्गम स्थल स्थापित गर्यो, जुन उहाँ उपस्थित भएको पवित्र स्थान पनि थियो। उहाँले आफ्नो काम इस्राएलका मानिसहरूमा सीमित गर्नुभयो। सुरुमा, उहाँले इस्राएलबाहिर काम गर्नुभएन तर त्यसको सट्टा, उहाँले आफ्नो कामको दायरा सीमित गर्नका लागि आफूलाई उपयुक्त लागेका मानिसहरू छान्नुभयो। इस्राएल त्यो ठाउँ हो जहाँ परमेश्वरले आदम र हव्वा सृष्टि गर्नुभयो अनि त्यस ठाउँको धूलोबाट यहोवाले मानिस बनाउनुभयो; यो ठाउँ पृथ्वीमा उहाँको कामको आधार बन्यो। नोआको वंशज र आदमको पनि वंशज रहेका इस्राएलीहरू पृथ्वीमा यहोवाको कामको मानव जग थिए।
यसबेला, इस्राएलमा यहोवाको कामको महत्त्व, उद्देश्य र चरणहरू सम्पूर्ण पृथ्वीमा उहाँको काम अघि बढाउनु थियो, जुन इस्राएललाई यसको केन्द्रका रूपमा लिएर बिस्तारै अन्यजाति राष्ट्रहरूमा फैलियो। यो त्यो सिद्धान्त हो जुनअनुसार उहाँ ब्रह्माण्डभित्र काम गर्नुहुन्छ—सम्पूर्णलाई डोर्याउन एउटा निश्चित बिन्दुबाट सुरु गर्ने र त्यसपछि ब्रह्माण्डका सबै मानिसले उहाँको सुसमाचार प्राप्त नगरुन्जेल उहाँको काम विस्तार गर्ने। सुरुका इस्राएलीहरू नोआहका वंशज थिए। यी मानिसहरूलाई यहोवाको सास मात्र दिइएको थियो र तिनीहरूलाई जीवनका आधारभूत आवश्यकताहरूको ख्याल कसरी गर्ने भन्ने थाहा थियो, तर तिनीहरूलाई यहोवा कस्ता प्रकारका परमेश्वर हुनुहुन्छ वा मानिसका लागि उहाँका अभिप्रायहरू के हुन् भन्ने थाहा थिएन, झन् तिनीहरूलाई आफूले सृष्टिकर्ताको डर कसरी मान्नुपर्छ भनेर थाहा हुनु त परै जाओस्। पालन गर्नुपर्ने प्रावधान र व्यवस्थाहरू थिए कि थिएनन्[क] वा सृजित प्राणीहरूले सृष्टिकर्ताका लागि गर्नुपर्ने कुनै कर्तव्य थियो कि थिएन भन्ने कुराको हकमा भन्दा, आदमका वंशजहरूलाई यी कुराहरूबारे केही पनि थाहा थिएन। तिनीहरूलाई श्रीमानले पसिना बगाएर आफ्नो परिवारको भरणपोषण गर्नुपर्छ र श्रीमती आफ्ना श्रीमानको अधीनमा रहनुपर्छ अनि यहोवाले सृष्टि गरेको मानवजातिलाई निरन्तरता दिनुपर्छ भन्ने मात्र थाहा थियो। अर्को शब्दमा भन्दा, यहोवाको सास र उहाँको जीवन मात्र भएका त्यस्ता मानिसहरूलाई परमेश्वरका व्यवस्थाहरू कसरी पालन गर्ने वा सृष्टिकर्तालाई कसरी सन्तुष्ट पार्ने भन्नेबारे केही पनि थाहा थिएन। तिनीहरूले अत्यन्तै कम बुझेका थिए। त्यसैले तिनीहरूको हृदयमा कुनै कुटिल वा छली कुरा नभए पनि अनि तिनीहरूमाझ डाह र विवाद बिरलै उत्पन्न भए पनि, तिनीहरूमा सृष्टिकर्ता यहोवाबारे कुनै ज्ञान वा बुझाइ थिएन। मानिसका यी पुर्खाहरू यहोवाका कुराहरू खान र यहोवाका कामकुराहरूको आनन्द लिन मात्र जान्दथे तर तिनीहरू यहोवाको डर मान्न जान्दैनथे; तिनीहरू यहोवा नै तिनीहरूले घुँडा टेकेर आराधना गर्नुपर्ने जन हुनुहुन्छ भनेर जान्दैनथे। त्यसोभए तिनीहरूलाई कसरी उहाँको सृजित प्राणी भन्न सकिन्थ्यो र? यदि यस्तो हुन्थ्यो भने, “यहोवा सृष्टिकर्ता हुनुहुन्छ” र “मानवजातिले उहाँलाई प्रकट गर्न सकोस्, उहाँको महिमा गर्न सकोस् र उहाँको प्रतिनिधित्व गर्न सकोस् भनेर उहाँले मानवजाति सृष्टि गर्नुभयो” भन्ने वचनहरू व्यर्थमा बोलिएका हुनेथिएनन् र? यहोवाको डर मान्ने हृदय नभएका मानिसहरू कसरी उहाँको महिमाको गवाही बन्न सक्थे र? तिनीहरू कसरी उहाँको महिमाको प्रकटीकरण बन्न सक्थे र? के त्यसपछि “मैले आफ्नो स्वरूपमा मानवजाति सृष्टि गरेँ” भन्ने यहोवाका वचनहरूको त्यो दुष्ट व्यक्ति, शैतानले फाइदा उठाउनेथिएन र? के त्यसपछि यी वचनहरू यहोवाले मानवजातिलाई सृष्टि गरेकामा लाजको चिह्न बन्नेथिएनन् र? कामको त्यो चरण पूरा गर्नका लागि, यहोवाले मानवजाति सृष्टि गर्नुभएपछि, आदमदेखि नोआसम्म तिनीहरूलाई निर्देशन दिनुभएन वा मार्गदर्शन गर्नुभएन। बरु, जलप्रलयले संसार नष्ट नगरून्जेल उहाँले नोआका वंशज र आदमका पनि वंशज रहेका इस्राएलीहरूलाई औपचारिक रूपमा मार्गदर्शन गर्न थाल्नुभएन। इस्राएलमा उहाँको काम र वाणीहरूले इस्राएलका सबै मानिसलाई इस्राएलको भूमिभरि आफ्नो जीवन जिउँदा मार्गदर्शन गऱ्यो, त्यसरी मानिसलाई के देखाइयो भने यहोवा मानिसले उहाँबाट जीवन पाउन र ऊ धूलोबाट उठेर सृजित मानिस बन्न सकोस् भनेर मानिसमा सास फुक्न मात्र सक्नुहुन्थ्यो होइन, तर उहाँ मानवजातिलाई भस्म गर्न र मानवजातिलाई सराप दिन अनि मानवजातिलाई शासन गर्न आफ्नो डण्डा प्रयोग गर्न पनि सक्नुहुन्थ्यो। त्यसैले, तिनीहरूले के पनि देखे भने यहोवा पृथ्वीमा मानिसको जीवनलाई मार्गदर्शन गर्न अनि दिन र रातको समयअनुसार मानिसमाझ बोल्न र काम गर्न सक्नुहुन्थ्यो। उहाँले गरेको काम उहाँका सृजित प्राणीहरूले मानिस उहाँले उठाएको धूलोबाट आएको हो र त्यसबाहेक मानिस उहाँद्वारा बनाइएको हो भनी जान्न सकून् भनेर मात्रै थियो। यति मात्र होइन, तर उहाँले पहिले इस्राएलमा आफ्नो काम गर्नुभयो ताकि अन्य मानिसहरू र राष्ट्रहरूले (जो वास्तवमा इस्राएलबाट अलग थिएनन्, बरु इस्राएलीहरूबाटै छुट्टिएका थिए, तैपनि अझै आदम र हव्वाकै वंशज थिए) इस्राएलबाट यहोवाको सुसमाचार प्राप्त गर्न सकून्, ताकि ब्रह्माण्डका सबै सृजित प्राणीले यहोवालाई महान् मानेर उहाँको डर मान्न र उहाँलाई सम्मान गर्न सकून्। यदि यहोवाले इस्राएलमा आफ्नो काम सुरु नगर्नुभएको भए, तर यसको सट्टा, मानवजाति सृष्टि गरेर तिनीहरूलाई पृथ्वीमा निस्फिक्री जीवन जिउन मात्र दिनुभएको भए, त्यस अवस्थामा, मानिसको भौतिक प्रकृति विचार गर्दा (प्रकृतिको अर्थ मानिसले आफूले देख्न नसक्ने कुराहरू कहिल्यै जान्न सक्दैन, जसको अर्थ उसलाई मानवजाति सृष्टि गर्ने यहोवा नै हुनुहुन्थ्यो भन्ने थाहा हुनेथिएन र उहाँले किन त्यसो गर्नुभयो भन्ने त झनै थाहा हुनेथिएन), उसले मानवजाति सृष्टि गर्ने यहोवा नै हुनुहुन्थ्यो वा उहाँ यावत् थोकका प्रभु हुनुहुन्छ भनेर कहिल्यै जान्नेथिएन। यदि यहोवाले मानवजातिलाई सृष्टि गरेर पृथ्वीमा राख्नुभएको भए र केही समयका लागि मार्गदर्शन प्रदान गर्न मानिसमाझ रहनुको सट्टा आफ्नो हात नै टकटक्याएर छोडेर जानुभएको भए, सम्पूर्ण मानवजाति शून्यमा झरेको हुनेथियो; उहाँले सृष्टि गरेको स्वर्ग र पृथ्वी अनि यावत् थोक र सम्पूर्ण मानवजातिसमेत शून्यमा झरेका हुनेथिए र त्यसबाहेक शैतानद्वारा कुल्चिएका हुनेथिए। त्यस अवस्थामा, “पृथ्वीमा, अर्थात् यहोवाको सृष्टिबीच, उहाँसँग खडा हुने ठाउँ, एउटा पवित्र स्थान हुन सकोस्” भन्ने उहाँको इच्छा चकनाचुर हुनेथियो। अनि त्यसैले, मानवजाति सृष्टि गर्नुभएपछि, उहाँले मानिसहरूलाई तिनीहरूको जीवनमा मार्गदर्शन गर्नुभयो र मानवजातिबीचबाट तिनीहरूसँग बोल्नुभयो—यी सब उहाँको इच्छा साकार पार्न र उहाँको योजना साकार पार्नका लागि थियो। उहाँले इस्राएलमा गरेको काम उहाँले यावत् थोक सृष्टि गर्नुअघि बनाएको योजना साकार पार्नका लागि मात्र थियो र त्यसकारण उहाँले पहिले इस्राएलीहरूमाझ काम गर्नु र उहाँले यावत् थोक सृष्टि गर्नु एकअर्कासँग बाझिदैँनथ्यो, तर ती दुवै उहाँको व्यवस्थापन, उहाँको काम र उहाँको महिमाका खातिर गरिएका थिए अनि उहाँले मानवजातिलाई सृष्टि गर्नुको महत्त्वलाई अझ गहन बनाउनका लागि गरिएका थिए। उहाँले नोआपछि दुई हजार वर्षसम्म पृथ्वीमा मानवजातिको जीवनलाई मार्गदर्शन गर्नुभयो, मानिसहरूलाई यावत् थोकका प्रभु, यहोवाको डर कसरी मान्ने, आफ्नो जीवनलाई कसरी आचरणमा ढाल्ने र कसरी जिउने अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाको गवाही कसरी दिने, उहाँप्रति कसरी समर्पित हुने र उहाँको डर कसरी मान्ने, यहाँसम्म कि दाऊद र तिनका पूजाहारीहरूले जस्तै सङ्गीतद्वारा उहाँको प्रशंसा कसरी गर्ने भनी बुझ्नसमेत मद्दत गर्नुभयो।
यहोवाले आफ्नो कार्य गर्नुभएको दुई हजार वर्षको अवधिभन्दा अगाडि मानिसलाई केही पनि थाहा थिएन र प्रायः सबै मानवजाति भ्रष्टतामा गिरेको थियो, जलप्रलयले संसारलाई नष्ट गर्नु अगाडि सम्ममा तिनीहरू छाडापन र भ्रष्टताको गहिराइमा पुगिसकेका थिए, यसरी तिनीहरूको हृदय पूर्ण रूपमा यहोवा रहित र उहाँको मार्गको चाहना नगर्ने भएको थियो। यहोवाले गर्न लाग्नुभएको कार्यलाई तिनीहरूले कहिल्यै पनि बुझेनन्; तिनीहरूमा समझशक्तिको अभाव थियो, तिनीहरूमा ज्ञान अझै थोरै मात्र थियो, तिनीहरू सास फेर्ने यन्त्रहरू झैँ मानिस, परमेश्वर, संसार र जीवन जस्ता कुराहरूका बारेमा पूर्ण रूपमा अनभिज्ञ थिए। पृथ्वीमा तिनीहरू सर्प झैँ धेरै प्रलोभनमा संलग्न भए र तिनीहरूले यहोवालाई रिस उठाउने धेरै कुराहरू भने, तर तिनीहरू अनभिज्ञ भएको कारण यहोवाले तिनीहरूलाई सजाय दिने वा अनुशासनमा राख्ने गर्नुभएन। जलप्रलयपछि जब नोआ ६०१ वर्ष पुगे तब यहोवा औपचारिक रूपमा नोआकहाँ देखा पर्नुभयो अनि उनी र उनका परिवारलाई पथप्रदर्शन गर्नुभयो, यस क्रममा उहाँले नोआ र तिनका सन्तानहरूका साथमा जलप्रलयबाट बाँचेका पंक्षी र जनावरहरूलाई व्यवस्थाको युग अन्त नभएसम्म २,५०० वर्ष अगुवाइ गर्नुभयो। उहाँले इस्राएलमा २,००० वर्ष औपचारिक रूपमा काम गर्नुभयो र इस्राएल तथा त्यस बाहिर एकसाथ ५०० वर्ष काम गर्नुभयो, यसरी उहाँले जम्मा २,५०० वर्ष काम गर्नुभयो। त्यस अवधिमा उहाँले यहोवाको सेवा गर्नको लागि मन्दिर बनाउनुपर्छ, पूजाहारीले लगाउने कपडा लगाउनुपर्छ, बिहान मन्दिरभित्र खाली खुट्टा हिँडेर जानुपर्छ नत्रत तिनीहरूका जुत्ताहरूले मन्दिरलाई अपवित्र पार्छन् र मन्दिरको माथिल्लो भागबाट आगो झरेर तिनीहरूलाई जलाएर मार्छ भनेर इस्राएलीहरूलाई निर्देशन दिनुभयो। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे र यहोवाका योजनाहरूमा समर्पित भए। तिनीहरूले मन्दिरमा यहोवासँग प्रार्थना गरे र यहोवाको प्रकाश प्राप्त गरेपछि अर्थात् यहोवा तिनीहरूसँग बोल्नुभएपछि तिनीहरूले भीडको अगुवाइ गरे र तिनीहरूले तिनीहरूका परमेश्वर यहोवाको डर मान्नुपर्छ भनी सिकाए। अनि यहोवाले तिनीहरूलाई एउटा मन्दिर र वेदी बनाउनुपर्छ, र यहोवाले तोक्नुभएको समयमा, अर्थात, निस्तारको बेलामा तिनीहरूले परमेश्वरको सेवाको निम्ति बलिदान गर्नलाई भर्खरै जन्मेका बाछा र थुमाहरूलाई वेदीमा तयार पारेर राख्नुपर्छ भनी भन्नुभयो, जसले तिनीहरूलाई अन्य कुराहरूबाट रोक्थ्यो र यहोवाको डर मान्ने कुरालाई तिनीहरूको हृदयमा हालिदिन्थ्यो। तिनीहरूले यस व्यवस्थाको पालना गरे कि गरेनन् भन्ने कुरा यहोवाप्रति तिनीहरूको निष्ठाको मापन बन्यो। यहोवाले तिनीहरूको निम्ति उहाँको सृष्टिको सातौँ दिनलाई शबाथको दिन भनेर पनि ठहराइदिनुभयो। शबाथको दिनपछिको दिनलाई उहाँले पहिलो दिन अर्थात् यहोवाको प्रशंसा गर्ने, बलिदान चढाउने र उहाँको निम्ति सङ्गीत बजाउने दिनको रूपमा ठहराइदिनुभयो। यस दिन, मानिसहरूले यहोवाको वेदीको बलिदानहरू आनन्द मानेर खान सकून् भनेर यहोवाले वेदीमा भएको बलिदानलाई तिनीहरूको बीचमा बाँड्नको निम्ति सबै पूजाहारीहरूलाई भेला गराउनुभयो। तिनीहरूले परमेश्वरसँग मिलेर खाएका र तिनीहरू उहाँका चुनिएका मानिसहरू (यो इस्राएलीसँगको उहाँको करार थियो) भएका हुनाले यहोवाले तिनीहरूलाई धन्यका भन्नुभयो। यसैले आजका दिनसम्म पनि इस्राएलका मानिसहरूले यहोवा तिनीहरूका मात्रै परमेश्वर हुन्, अन्यजातिहरूका परमेश्वर होइनन् भनी भन्छन्।
व्यवस्थाको युगको दौरान, यहोवाले मोशालाई तिनको पछि लागेर मिश्रबाट निस्की आएका इस्राएलीहरूलाई दिनका लागि धेरै आज्ञा दिनुभयो। यी आज्ञाहरू यहोवाद्वारा इस्राएलीहरूलाई प्रदान गरिएका थिए र यिनको मिश्रीहरूसँग कुनै सम्बन्ध थिएन; ती इस्राएलीहरूलाई नियन्त्रित गर्नका लागि थिए र उहाँले तिनीहरूसँग मागहरू गर्न ती आज्ञाहरू प्रयोग गर्नुभयो। तिनीहरूले शबाथ पालन गरे पनि नगरे पनि, तिनीहरूले आफ्ना आमाबुबालाई आदर गरे पनि नगरे पनि, तिनीहरूले मूर्तिहरू पूजे पनि नपुजे पनि इत्यादि कुराहरू—तिनीहरूलाई पापी वा धर्मी भनी मूल्याङ्कन गरिने सिद्धान्तहरू यिनै थिए। तिनीहरूमध्ये, कतिपयलाई यहोवाको आगोले प्रहार गऱ्यो, कतिपयलाई ढुङ्गाले हानेर मारियो र कतिपयले यहोवाका आशिषहरू प्राप्त गरे र यो तिनीहरूले यी आज्ञाहरू पालन गरे कि गरेनन् भन्ने कुराअनुसार निर्धारण गरिन्थ्यो। शबाथ पालन नगर्नेहरूलाई ढुङ्गाले हानेर मारिन्थ्यो। शबाथ पालन नगर्ने ती पूजाहारीहरूलाई यहोवाको आगोले प्रहार गर्थ्यो। आफ्ना आमाबुबालाई आदर नगर्नेहरूलाई पनि ढुङ्गाले हानेर मारिन्थ्यो। यी सब यहोवाद्वारा अनुमोदित थियो। यहोवाले आफ्ना आज्ञा र व्यवस्थाहरू स्थापित गर्नुभयो ताकि उहाँले तिनीहरूलाई तिनीहरूको जीवनमा अगुवाइ गर्नुहुँदा, मानिसहरूले उहाँको वचन सुनून् र तिनीहरू उहाँको वचनको अधीनमा रहून् अनि तिनीहरूले उहाँविरुद्ध विद्रोह नगरून्। उहाँले भर्खरै जन्मेको मानवजातिलाई नियन्त्रणमा राख्न यी व्यवस्थाहरू प्रयोग गर्नुभयो, ताकि उहाँको भावी कामका लागि जग बसोस्। अनि त्यसैले, यहोवाले गरेको कामका आधारमा, पहिलो युगलाई व्यवस्थाको युग भनियो। यहोवाले धेरै वाणी बोल्नुभएको र धेरै काम गर्नुभएको भए पनि, उहाँले मानिसहरूलाई सकारात्मक रूपमा मात्र मार्गदर्शन गर्नुभयो, यी अज्ञानी मानिसहरूलाई आफूलाई कसरी आचरणमा ढाल्ने, कसरी जिउने र यहोवाको मार्ग कसरी बुझ्ने भनी सिकाउनुभयो। धेरैजसो, उहाँले गरेको काम मानिसहरूलाई उहाँको मार्गमा हिँड्न र उहाँका व्यवस्थाहरू पालन गर्न लगाउनु थियो। यो काम सतही रूपमा भ्रष्ट भएका मानिसहरूमा गरिएको थियो; यो तिनीहरूको स्वभाव रूपान्तरण गर्ने वा जीवनमा प्रगति गर्ने हदसम्म विस्तारित भएको थिएन। उहाँले मानिसहरूलाई व्यवस्थाहरू पालन गर्न लगाएर तिनीहरूलाई बाँध्ने र नियन्त्रण गर्ने मात्र गर्नुभयो। त्यस समयका इस्राएलीहरूका लागि, यहोवा मन्दिरमा हुनुहुने परमेश्वर, स्वर्गमा हुनुहुने परमेश्वर मात्र हुनुहुन्थ्यो। उहाँ बादलको खम्बा, आगोको खम्बा हुनुहुन्थ्यो। यहोवाले तिनीहरूबाट गरेको माग भनेको आज मानिसहरूले व्यवस्था र आज्ञाहरू—प्रावधानहरूसमेत भन्न सकिन्थ्यो—भनी जान्ने कुराहरू तिनीहरूले पालन गरून् भन्ने मात्र थियो, किनभने यहोवाले गरेको कुरा तिनीहरूलाई रूपान्तरण गर्नका लागि थिएन, तर तिनीहरूलाई मानिससँग हुनुपर्ने थप कुराहरू प्रदान गर्न र यी कुराहरू व्यक्तिगत रूपमा तिनीहरूलाई दिनका लागि थियो, किनभने सृष्टि गरिएपछि मानिससँग आफूसित हुनुपर्ने कुनै कुरा थिएन। अनि त्यसैले, यहोवाले मानिसहरूलाई पृथ्वीमा तिनीहरूको जीवनका लागि तिनीहरूसँग हुनुपर्ने कुराहरू प्रदान गर्नुभयो, जसले गर्दा उहाँले अगुवाइ गरेको मानवजातिले आफ्ना पुर्खाहरू, आदम र हव्वालाई उछिन्यो, किनभने यहोवाले तिनीहरूलाई प्रदान गरेको कुराले उहाँले सुरुमा आदम र हव्वालाई प्रदान गरेको कुरालाई उछिन्यो। जे भए पनि, यहोवाले इस्राएलमा गरेको काम मानिसलाई मार्गदर्शन गर्न र मानिसलाई सृष्टिकर्ता स्वीकार गर्न लगाउनका लागि मात्र थियो। उहाँले उसलाई विजय गर्नुभएन वा उसलाई रूपान्तरण गर्नुभएन तर केवल उसलाई मार्गदर्शन गर्नुभयो। यो नै व्यवस्थाको युगमा यहोवाको कामको सम्पूर्णता हो। यो नै सम्पूर्ण इस्राएल भूमिमा उहाँको कामको पृष्ठभूमि, वास्तविक कथा र सार अनि उहाँको छ हजार वर्षे कामको सुरुवात—मानिसलाई यहोवाको हातको नियन्त्रणमा राख्नु हो। यसैबाट उहाँको छ हजार वर्षे व्यवस्थापनको योजनामा थप कामको जन्म भयो।
फूटनोटहरू:
क. मूल पाठमा “पालन गर्नुपर्ने” भन्ने वाक्यांश समावेश छैन।