देहधारणको रहस्य (१)

अनुग्रहको युगमा, यूहन्नाले येशूको निम्ति बाटो तयार पारे। यूहन्ना आफैले परमेश्‍वरको काम गर्न सक्दैन थिए, तर केवल मानिसको कर्तव्य पूरा गरे। यूहन्ना प्रभुको अग्रदूत थिए, तैपनि तिनी परमेश्‍वरको प्रतिनिधित्व गर्न असमर्थ थिए; तिनी पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्ति मात्र थिए। येशूले बप्तिस्मा लिनुभएपछि, पवित्र आत्मा ढुकुरजस्तै उहाँमाथि ओर्लनुभयो। त्यसपछि उहाँले आफ्नो काम सुरु गर्नुभयो, अर्थात् उहाँले ख्रीष्टको सेवकाइ गर्न थाल्नुभयो। त्यसैकारण उहाँले परमेश्‍वरको पहिचान धारण गर्नुभयो, किनकि उहाँ परमेश्‍वरबाट आउनुभएको थियो। यसभन्दा पहिले उहाँको विश्‍वास जे-जस्तो भए पनि—त्यो कहिलेकहीँ कमजोर, वा कहिलेकहीँ बलियो भएको हुन सक्छ—त्यो सबै सामान्य मानव जीवनमा हुने कुरा हो, जुन उहाँले आफ्नो सेवकाइको काम गर्नुभन्दा पहिले उहाँमा थियो। उहाँले बप्तिस्मा लिइसकेपछि (अर्थात्, अभिषेक हुनुभएपछि), परमेश्‍वरको शक्ति र महिमा तुरुन्तै उहाँसँग थियो, त्यसैले उहाँले आफ्नो सेवकाइ गर्न थाल्नुभयो। उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू गर्न सक्नुहुन्थ्यो, आश्‍चर्यकर्महरू गर्न सक्नुहुन्थ्यो र उहाँसित शक्ति र अधिकार थियो, किनकि उहाँले सीधै परमेश्‍वरको तर्फबाट काम गर्दै हुनुहुन्थ्यो; उहाँले आत्माको तर्फबाट काम गर्दै हुनुहुन्थ्यो र आत्माको आवाज प्रकट गर्दै हुनुहुन्थ्यो। त्यसकारण, उहाँ आफै परमेश्‍वर हुनुहुन्थ्यो; यो निर्विवाद छ। यूहन्ना त्यस्तो व्यक्ति थिए जसलाई पवित्र आत्माले प्रयोग गर्नुभएको थियो। तिनले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैनथिए, न त तिनले परमेश्‍वरको प्रतिनिधित्व गर्नु सम्भव नै थियो। यदि तिनले त्यसो गर्ने इच्छा गरेका भए, पवित्र आत्माले तिनलाई त्यसो गर्ने अनुमति दिनुहुनेथिएन, किनकि तिनले त्यो काम गर्न सक्दैनथिए, जुन परमेश्‍वर आफैले पूरा गर्न चाहनुहुन्थ्यो। हुन सक्छ, तिनमा मानिसको इच्छाका धेरै कुराहरू थिए, वा विचलित पार्ने केही कुरा थियो; कुनै पनि परिस्थितिमा तिनले सीधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन थिए। तिनका गल्तीहरू र मूर्खताहरूले तिनी आफैलाई मात्र प्रतिनिधित्व गर्थे, तर तिनको काम भनेको पवित्र आत्माको प्रतिनिधि हुनु थियो। तापनि, तिनका सबै कुराले परमेश्‍वरको प्रतिनिधित्व गर्थे भनेर तैँले भन्‍न सक्दैनस्। के तिनको विचलन र गल्तीले पनि परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्थ्यो? मानिसको प्रतिनिधित्व गर्दा गल्ती गर्नु सामान्य कुरा हो, तर यदि कसैले परमेश्‍वरको प्रतिनिधित्व गर्दा गल्ती गर्छ भने के उसले परमेश्‍वरको अनादर गर्दैन? के यो पवित्र आत्माको विरुद्ध ईश्‍वरनिन्दा हुनेछैन र? पवित्र आत्माले मानिसलाई हलकासाथ परमेश्‍वरको स्थानमा खडा हुने अनुमति दिनुहुन्न, चाहे ऊ अरूद्वारा उच्च पारिएको नै किन नहोस्। यदि ऊ परमेश्‍वर होइन भने, ऊ अन्त्यसम्म स्थिर बस्न सक्दैन। पवित्र आत्माले मानिसको इच्छाअनुसार कुनै व्यक्तिलाई परमेश्‍वरको प्रतिनिधित्व गर्ने अनुमति दिनुहुन्न! उदाहरणका लागि, पवित्र आत्माले नै यूहन्नाको बारेमा साक्षी दिनुभएको थियो र तिनी येशूका निम्ति बाटो तयार पार्ने व्यक्ति हुन् भनी पवित्र आत्माले नै तिनलाई प्रकट गर्नुभएको थियो, तर तिनीमाथि गरिएको पवित्र आत्माको काम राम्ररी निर्धारित गरिएको थियो। येशूको निम्ति बाटो तयार पार्ने व्यक्ति हुनु, उहाँको निम्ति बाटो तयार पार्नु भनेर मात्रै यूहन्‍नालाई भनिएको थियो। भन्नुपर्दा, पवित्र आत्माले तिनलाई बाटो तयार पार्ने काममा मात्र समर्थन गर्नुभयो र तिनलाई त्यो काम मात्र गर्ने अनुमति दिनुभयो—तिनलाई अरू कुनै काम गर्न दिइएन। यूहन्नाले एलियाको प्रतिनिधित्व गर्थे र तिनले बाटो तयार पार्ने एक अगमवक्ताको प्रतिनिधित्व गरे। पवित्र आत्माले तिनलाई यसमा समर्थन गर्नुभयो; जबसम्म तिनको काम बाटो तयार पार्ने थियो पवित्र आत्माले तिनलाई समर्थन गर्नुभयो। तापनि, यदि तिनले आफू परमेश्‍वर हुँ भनेर दाबी गरेका भए, र तिनी मुक्तिको काम पूरा गर्न आएका हुन् भनेका भए पवित्र आत्माले तिनलाई अनुशासनमा राख्‍नु हुनेथियो। यूहन्नाको काम जति नै महान् भए पनि र त्यसलाई पवित्र आत्माले समर्थन गर्नुभएको भए पनि, तिनको काम सीमाहीन थिएन। मानिलिऊँ, पवित्र आत्माले साँच्चै तिनको कामलाई समर्थन गर्नुभएको भए पनि, तिनलाई दिइएको शक्ति बाटो तयार पार्ने कामसम्म मात्र सीमित थियो। तिनले अरू कुनै पनि काम पटक्कै गर्न सकेनन्, किनकि तिनी बाटो तयार पार्ने यूहन्ना मात्र थिए, येशू थिएनन्। त्यसकारण, पवित्र आत्माको गवाही महत्त्वपूर्ण हुन्छ, तर पवित्र आत्माले मानिसलाई जुन काम गर्ने अनुमति दिनुहुन्छ त्यो अझ महत्त्वपूर्ण हुन्छ। के यूहन्नाले त्यति बेला ठूलठूला साक्षी पाएका थिएनन् र? के तिनको काम पनि महान् थिएन र? तर तिनले गरेको कामले येशूको कामलाई उछिन्न सकेन, किनकि तिनी पवित्र आत्माले प्रयोग गर्नुभएको मानिसभन्दा बढी केही थिएनन् र सीधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन थिए, त्यसैले तिनले गरेका काम सीमित थियो। तिनले बाटो तयार पार्ने काम गरिसकेपछि, पवित्र आत्माले अब तिनको गवाहीलाई समर्थन गर्नुभएन, तिनीबाट कुनै नयाँ काम भएन, परमेश्‍वर आफैले काम सुरु गर्नुभएपछि तिनी गए।

केही व्यक्तिहरू हुन्छन्, जो दुष्टात्माले सताइएका हुन्छन् र डरलाग्दो आवाजमा कराउँदै भन्छन्, “म ईश्‍वर हुँ!” तापनि, अन्त्यमा उनीहरू प्रकट हुन्छन्, किनकि उनीहरूले जसको प्रतिनिधित्व गर्छन् त्यसमा तिनीहरू गलत हुन्छन्। उनीहरूले शैतानको प्रतिनिधित्व गर्दछन् र पवित्र आत्माले तिनीहरूलाई सुन्नुहुन्न। तैँले आफूलाई जति नै उच्च पारे पनि वा तँ जति नै बल लगाएर कराए पनि तँ सृष्टि गरिएको एक प्राणी मात्र होस् र तँ शैतानको होस्। म कहिल्यै पनि यसो भन्दै कराउँदिन, “म ईश्‍वर हुँ, म ईश्‍वरको प्यारो छोरा हुँ!” तर मैले गर्ने काम भनेको परमेश्‍वरको काम हो। के म चिच्याउनु पर्छ? उच्च पारिनुपर्ने कुनै आवश्यकता छैन। परमेश्‍वरले आफ्नो काम आफै गर्नुहुन्छ र उहाँलाई कुनै व्यक्तिको दर्जा वा सम्‍मानजनक पदवी दिन मानिसको सहमति चाहिँदैन: उहाँको कामले उहाँको पहिचान र प्रतिष्ठाको प्रतिनिधित्व गर्दछ। बप्तिस्मा लिनु अघि, के येशू स्वयम् परमेश्‍वर हुनुहुन्न थियो र? के उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुन्न थियो र? निस्सन्देह, उहाँले साक्षी प्राप्त गर्नुभएपछि मात्र उहाँ परमेश्‍वरका एकले पुत्र बन्नुभयो भनी भन्न सकिँदैन। उहाँले आफ्नो काम सुरु गर्नुभन्दा धेरै अघिदेखि नै के येशूको नाउँको कुनै मानिस थिएन र? तैँले नयाँ बाटोहरू बनाउन वा आत्माको प्रतिनिधित्व गर्न सक्दैनस्। तैँले आत्माको काम वा उहाँले बोल्नुहुने वचनहरूलाई व्यक्त गर्न सक्दैनस्। आफैले परमेश्‍वरको काम गर्न तँ असमर्थ छस्, र आत्माको काम गर्न पनि तँ असमर्थ नै छस्। परमेश्‍वरको बुद्धि, चमत्कार, अथाहपन र उहाँको स्वभावको सम्पूर्णता—जसबाट परमेश्‍वरले मानिसलाई सजाय दिनुहुन्छ—यी सबै तेरो व्यक्त गर्ने क्षमतादेखि बाहिर छन्। यसैले परमेश्‍वर हुँ भनेर दाबी गर्ने प्रयास गर्नु व्यर्थ हो; तँसँग केवल नाउँ मात्र हुनेछ र कुनै पनि सार हुँदैन। परमेश्‍वर स्वयम् आउनुभएको छ, तर कसैले उहाँलाई चिन्दैनन्, तापनि उहाँ आफ्नो काममा लागिरहनुहुन्छ र आत्माको प्रतिनिधित्व गर्दै त्यसो गर्नुहुन्छ। तैँले चाहे उहाँलाई मानिस भन् वा परमेश्‍वर, प्रभु भन् वा ख्रीष्ट, वा उहाँकी बहिनी भन्, त्यसले कुनै फरक पार्दैन। तर उहाँले गर्नुहुने काम आत्माको हो र यो कामले स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्दछ। मानिसले उहाँलाई जसरी सम्बोधन गरे पनि उहाँले त्यो वास्ता गर्नुहुन्न। के नाउँले उहाँको काम निर्धारित गर्न सक्छ? तैँले उहाँलाई जसरी सम्बोधन गरे पनि, जहाँसम्म परमेश्‍वरको कुरा छ, उहाँ परमेश्‍वरका आत्माको देहधारी शरीर हुनुहुन्छ; उहाँले आत्माको प्रतिनिधित्व गर्नुहुन्छ र आत्माद्वारा स्वीकृत हुनुहुन्छ। यदि तैँले नयाँ युगको लागि बाटो बनाउन वा पुरानोलाई अन्त्य गर्न वा नयाँ युगमा प्रवेश गर्न, वा नयाँ काम गर्न सक्दैनस् भने, तँ परमेश्‍वर कहलिन सक्दैनस्!

पवित्र आत्माद्वारा प्रयोग गरिएको मानिसले पनि परमेश्‍वर स्वयम्‌को प्रतिनिधित्व गर्न सक्दैन। त्यस्तो मानिसले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन भन्‍ने मात्र होइन, तर उसले गर्ने कामले पनि सीधै परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्दैन। अर्को शब्दमा भन्‍ने हो भने, मानव अनुभवलाई प्रत्यक्ष रूपमा परमेश्‍वरको व्यवस्थापनमा राख्न सकिँदैन, र यसले परमेश्‍वरको व्यवस्थापनको प्रतिनिधित्व गर्न सक्दैन। परमेश्‍वर आफैले गर्ने काम पूर्ण रूपमा त्यो काम हो जुन उहाँले आफ्नै व्यवस्थापन योजनामा गर्न चाहनुहुन्छ र यो महान् व्यवस्थापनसँग सम्बन्धित छ। मानिसले गर्ने काममा तिनीहरूको व्यक्तिगत अनुभव मिसिएको हुन्छ। यसमा पहिलेबाटै गइसकेकाहरूले टेकेका भन्दा उता अनुभवको एउटा नयाँ बाटो खोजिन्छ, अनि पवित्र आत्माको अगुवाइमा आफ्ना भाइ-बहिनीहरूलाई डोऱ्याइन्छ। यी मानिसहरूले आफ्ना अनुभवहरू वा आत्मिक मानिसहरूको आत्मिक लेखनहरू प्रदान गर्छन्। यी मानिसहरू पवित्र आत्माद्वारा प्रयोग गरिएका भए पनि, उनीहरूले गर्ने काम छ हजार वर्षको महान् योजनाको व्यवस्थापन कार्यसित सम्बन्धित हुँदैनन्। उनीहरू केवल ती हुन्, जो उनीहरूले गर्न सक्ने कामहरू समाप्त नभएसम्म वा उनीहरूका जीवन समाप्त नभएसम्मका निम्ति पवित्र आत्माले विभिन्न कालखण्डमा पवित्र आत्माको प्रवाहमा मानिसहरूलाई अगुवाइ गर्नका निम्ति खडा गर्नुभएको हुन्छ। उनीहरूले गर्ने काम परमेश्‍वर स्वयम्‌का निम्ति बाटो तयार पार्नु वा पृथ्वीमा परमेश्‍वर स्‍वयम्‌को व्यवस्थापनको एक खास पक्षलाई निरन्तरता दिनु मात्र हो। उनीहरू आफैमा, यी मानिसहरू उहाँको व्यवस्थापनको ठूलो काम गर्न असमर्थ हुन्छन्, न त उनीहरूले नयाँ तरिकाहरू निकाल्न सक्छन्, अझ थोरैले मात्र परमेश्‍वरको पहिलेका युगका सबै कार्यहरूलाई टुङ्गोमा पुर्‍याउन सक्छन्। यसैले, उनीहरूले गर्ने कार्यले केवल सृष्टि गरिएको प्राणीले आफ्‍नो कार्य पूरा गर्नुलाई मात्र प्रतिनिधित्व गर्दछ र परमेश्‍वर आफैले आफ्नो सेवकाइ गर्नुहुने कुरालाई प्रतिनिधित्व गर्न सक्दैन। किनकि उनीहरूले गर्ने काम परमेश्‍वर आफैले गर्नुहुने कामजस्तो हुँदैन। नयाँ युगमा प्रवेश गर्ने काम भनेको परमेश्‍वरको स्थानमा रहेर मानिसले गर्न सक्ने काम होइन। यो काम परमेश्‍वर स्‍वयम्‌ले बाहेक अरू कसैले गर्न सक्दैन। मानिसले गर्ने सबै कामहरू सृष्टि गरिएको प्राणीको रूपमा उसले निभाउने आफ्नो कर्तव्य मात्र हुन् र पवित्र आत्माद्वारा प्रेरित भएर वा अन्तर्ज्ञान प्राप्त गरेपछि मात्र यो गरिन्छ। यी मानिसहरूले प्रदान गर्ने मार्गनिर्देशनमा पूर्ण रूपमा मानिसलाई दैनिक जीवनमा अभ्यास गर्ने, र उसले कसरी परमेश्‍वरको इच्छा अनुरूप व्यवहार गर्नुपर्छ भन्‍ने देखाउनु हो। मानिसको कामले न त परमेश्‍वरको व्यवस्थापनलाई सम्मिलित गर्दछ, न आत्माको कामलाई प्रतिनिधित्व गर्दछ। उदाहरणको लागि, विटनेस ली र वाचम्यान नीको काम भनेको बाटो देखाउनु थियो। बाटो नयाँ होस् वा पुरानो, त्यो काम बाइबलमै रहेको सिद्धान्तमा आधारित थियो। चाहे त्यो काम स्थानीय चर्चको पुनर्स्थापना गर्ने होस् वा स्थानीय चर्च निर्माण गर्ने होस्, जे भए पनि तिनीहरूको काम चर्च स्थापना गर्नुसित सम्बन्धित थियो। तिनीहरूले जुन काम अगि बढाए त्यो येशू र उहाँका प्रेरितहरूले अधूरो छोडेका वा अनुग्रहको युगमा थप विकास नभएको काम थियो। तिनीहरूले त्यो कामलाई पुनर्स्थापित गरे जुन येशूले त्यस बेलाको उहाँको काममा उहाँको पछि आउने पुस्ताहरूलाई गर्न भनी अह्राउनुभएको थियो, जस्तै उनीहरूका शिर ढाक्ने, बप्तिस्मा लिने, रोटी भाँच्ने, वा दाखमद्य पिउने। यो भन्न सकिन्छ, कि तिनीहरूको काम बाइबल पालन गर्दैजानु र बाइबलभित्र बाटाहरू खोज्नु थियो। तिनीहरूले कुनै पनि प्रकारको नयाँ प्रगति गरेनन्। त्यसकारण, तिनीहरूको काममा केवल बाइबलभित्रका नयाँ बाटाहरू साथै अझ राम्रो र अझ बढी यथार्थवादी अभ्यासहरूलाई पत्ता लगाउने कार्यलाई मात्रै देख्न सकिन्छ। तर तिनीहरूको काममा परमेश्‍वरको वर्तमान इच्छा भेट्टाउन सकिँदैन, परमेश्‍वरले अन्त्यको दिनमा गर्न चाहनुभएका नयाँ काम भेट्टाउने कुरा परै जाओस्। किनकि तिनीहरूले हिँडेका बाटो अझै पनि पुरानो नै थियो—त्यसमा कुनै नवीकरण थिएन र कुनै प्रगति थिएन। तिनीहरूले येशूको क्रूसीकरणलाई समाति राखे, मानिसहरूलाई पश्‍चात्ताप गर्न र उनीहरूका पापहरू स्वीकार गर्न लगाउने अभ्यासलाई पालना गरे, अनि जो आखिरीसम्म स्थिर रहन्छ त्यसले उद्धार पाउनेछ र पुरुष स्त्रीको शिर हो, पत्नीले आफ्‍नो पतिको आज्ञापालन गर्नुपर्छ भन्‍ने भनाइलाई नै पालना गरिरहे, र अझ बढी परम्परागत धारणा पालन गर्दै दिदी-बहिनीहरूले प्रचार गर्नुहुँदैन, तर आज्ञापालन मात्र गर्नुपर्छ भनी भने। यदि यस्तो प्रकारको नेतृत्वलाई निरन्तरता दिइएको भए पवित्र आत्माले कहिल्यै पनि नयाँ कामहरू गर्न, मानिसहरूलाई नियमहरूबाट छुटकारा दिन वा तिनीहरूलाई स्वतन्त्रता र सुन्दरताको क्षेत्रभित्र लैजान सक्नुहुने थिएन। त्यसकारण, युगलाई परिवर्तन गर्ने कामको यो चरणमा परमेश्‍वर आफैले काम गर्नु र बोल्नु आवश्यक हुन्छ; अन्यथा कसैले पनि उहाँको सट्टामा त्यसो गर्न सक्दैन। अहिलेसम्म, यस प्रवाहदेखि बाहिर गरिएको पवित्र आत्माका सबै काम ठप्प भएका छन्, र पवित्र आत्माद्वारा प्रयोग भएका व्यक्तिहरूले आफ्नो प्रासङ्गिकतालाई हराएका छन्। त्यसकारण, पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्तिको काम परमेश्‍वर आफैले गर्नुभएको कामजस्तो हुँदैन, उनीहरूका पहिचानहरू र उनीहरूले जसको लागि काम गर्छन् ती पनि त्यस्तै फरक हुन्छन्। किनभने पवित्र आत्माले गर्न चाहनुभएको काम फरक हुन्छ, र काम गर्ने अरूलाई फरक-फरक पहिचान र दर्जाहरू दिइन्छ। पवित्र आत्माले प्रयोग गर्नुहुने मानिसहरूले पनि केही नयाँ काम गर्न सक्दछन्, र पहिलेको युगमा गरिएका केही कामहरूलाई हटाउन सक्दछन्, तर उनीहरूले जे गर्छन् त्यसले नयाँ युगमा परमेश्‍वरको भित्री स्वभाव र इच्छा प्रकट गर्न सक्दैनन्। उनीहरू केवल पहिलेको युगको कामलाई हटाउनका लागि मात्र काम गर्दछन्, अनि परमेश्‍वर स्‍वयम्‌को स्वरूपको सिधा प्रतिनिधित्व गर्ने उद्देश्यले काम गर्दैनन्। यसैले, उनीहरूले जति नै पुराना अभ्यासहरू रद्द गरे पनि वा जति नयाँ अभ्यासहरू लागू गरे पनि तिनीहरूले मानिसको र सृष्टि गरिएका प्राणीहरूको नै प्रतिनिधित्व गर्दछन्। तापनि, जब परमेश्‍वर आफैले काम गर्नुहुन्छ, उहाँले खुल्लमखुल्ला पुरानो समयका अभ्यासहरू रद्द भएको घोषणा गर्नुहुन्न वा नयाँ युगको सुरुवात भएको भनी प्रत्यक्ष रूपमा घोषणा गर्नुहुन्न। उहाँ आफ्नो काममा प्रत्यक्ष र स्पष्ट हुनुहुन्छ। आफूले गर्न चाहेको काम गर्न उहाँ स्पष्ट हुनुहुन्छ; अर्थात् उहाँले गर्नुभएको काम उहाँले प्रत्यक्ष रूपमा प्रकट गर्नुहुन्छ, उहाँले सुरुमा चाहनुभएको जस्तै आफ्नो अस्तित्व र स्वभाव प्रकट गर्दै आफ्नो काम प्रत्यक्ष रूपमा गर्नुहुन्छ। जब मानिसहरूले यसलाई हेर्छन्, उहाँको स्वभाव र त्यसरी उहाँको काम पनि विगतका युगहरूको भन्दा फरक हुन्छ। तापनि, परमेश्‍वर स्वयम्‌को दृष्टिकोणबाट, यो केवल उहाँको कार्यको निरन्तरता र थप विकास मात्रै हो। जब परमेश्‍वर आफैले काम गर्नुहुन्छ, उहाँले आफ्नो वचन प्रकट गर्नुहुन्छ र सीधै नयाँ काम ल्याउनुहुन्छ। यसको विपरीत, जब मानिसले काम गर्दछ, यो जानी-जानी र अध्ययन मार्फत हुन्छ, वा यो ज्ञानको विस्तार हो र अरूको काममा आधारित अभ्यासको प्रणालीबद्धता हो। भन्नुको अर्थ, मानिसले गरेको कामको सार भनेको स्थापित व्यवस्था पालन गर्नु हो र “नयाँ जुत्ता लगाएर पुरानो बाटोमा हिँड्नु” हो। यसको अर्थ पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरू हिँड्ने बाटो पनि परमेश्‍वर आफैले सुरु गर्नुभएको कुरामा निर्मित हुन्छ भन्‍ने हो। त्यसैले, यी सबै कुरालाई विचार गर्दा, मानिस अझै मानिस नै हो, र परमेश्‍वर पनि परमेश्‍वर नै हुनुहुन्छ।

जसरी इसहाक प्रतिज्ञाद्वारा अब्राहामको निम्ति जन्मेका थिए, त्यसरी नै यूहन्ना पनि प्रतिज्ञामा नै जन्मेका थिए। तिनले येशूका लागि बाटो बनाए, र धेरै काम गरे, तर तिनी परमेश्‍वर थिएनन्। बरु, तिनी अगमवक्ताहरूमध्ये एक थिए, किनकि तिनले केवल येशूको निम्ति बाटो मात्रै तयार पारे। तिनको काम पनि महान् थियो, र तिनले बाटो तयार पारेपछि मात्र येशूले आधिकारिक रूपमा आफ्नो काम सुरु गर्नुभयो। सारांशमा भन्नुपर्दा, तिनले केवल येशूका निम्ति परिश्रम मात्रै गरे, र तिनले गरेको काम येशूको सेवाका लागि गरिएको काम थियो। तिनले बाटो तयार पारिसकेपछि, येशूले आफ्नो काम सुरु गर्नुभयो, जुन काम नयाँ, अझ ठोस र विस्तृत थियो। यूहन्नाले कामको सुरुको भाग मात्रै गरे; त्यो नयाँ कामको धेरैजसो भाग येशूले नै गर्नुभयो। यूहन्नाले पनि नयाँ काम त गरे, तर नयाँ युग सुरुवात गर्ने व्यक्ति तिनी थिएनन्। यूहन्ना प्रतिज्ञाद्वारा जन्मेका थिए, र तिनको नाउँ स्वर्गदूतले राखेका थिए। त्यस बेला, कसै-कसैले तिनको नाउँ तिनका बुबा जकरिया कै नाउँ राख्न चाहन्थे, तर तिनकी आमाले भनिन्, “यो बालकलाई त्यो नाउँले बोलाउन सकिँदैन। उसलाई यूहन्ना भनिनुपर्छ।” यो सबै पवित्र आत्माको आज्ञामा भएको थियो। येशूको नाउँ पनि पवित्र आत्माको आज्ञामा राखिएको थियो, उहाँ पवित्र आत्माबाट जन्मनुभएको थियो, र उहाँ पवित्र आत्माद्वारा प्रतिज्ञा गरिनुभएको थियो। येशू परमेश्‍वर, ख्रीष्ट र मानिसको पुत्र हुनुहुन्थ्यो। तर, यूहन्नाको काम पनि ठूलो थियो भने तिनलाई किन परमेश्‍वर भनिएन? येशूले गर्नुभएको काम र यूहन्नाले गरेको काम बीचको वास्तविक भिन्नता के थियो? के त्यसको एक मात्र कारण यूहन्नाले येशूका निम्ति बाटो तयार पारेकोले हो? कि तिनी परमेश्‍वरद्वारा पहिलेबाटै नियुक्त गरिएकोले गर्दा हो? यूहन्नाले पनि “पश्‍चात्ताप गर: किनभने स्वर्गको राज्य नजिकै छ,” भनेर भनेको भए पनि र तिनले पनि स्वर्गको राज्यको सुसमाचार प्रचार गरेको भए पनि, तिनको काम त्योभन्दा अघि बढेन, तिनले केवल सुरुवात मात्र गरे। यसको विपरीत, येशूले नयाँ युगको थालनी गर्नुभयो र पुरानोलाई अन्त्य गर्नुभयो, तर उहाँले पुरानो करारको व्यवस्था पनि पूरा गर्नुभयो। उहाँले गर्नुभएको काम यूहन्नाको भन्दा महान् थियो, र त्यति मात्र होइन, उहाँ सारा मानव जातिलाई उद्धार गर्न आउनुभयो—उहाँले त्यो चरणको काम पूरा गर्नुभयो। यूहन्नाको कुरा गर्ने हो भने तिनले बाटो मात्र तयार पारे। तिनको काम महान् थियो, तिनका वचनहरू धेरै थिए र तिनको पछि लाग्ने चेलाहरू धेरै थिए, तैपनि तिनको कामले मानिसलाई एउटा नयाँ सुरुवातमा ल्याउनुभन्दा बढी केही गरेन। मानिसले तिनीबाट कहिले पनि जीवन वा बाटो वा गहिरा सत्यताहरू प्राप्त गरेन, न मानिसले तिनीबाट परमेश्‍वरको इच्छाको बुझाइलाई नै प्राप्त गर्न सक्यो। यूहन्ना एक महान् अगमवक्ता (एलिया) थिए, जसले येशूको कामका लागि नयाँ आधार खोलिदियो, र चुनिएकाहरूलाई तयार गरे; तिनी अनुग्रहको युगका अग्रदूत थिए। त्यस्ता मामिलाहरूलाई तिनीहरूको सामान्य मानवीय उपस्थितिलाई हेरेर मात्र बुझ्न सकिँदैन। यो अझ बढी उपयुक्त पनि छ, किनकि यूहन्नाले पनि धेरै काम गरे, अनि त्यसबाहेक तिनी पवित्र आत्माद्वारा प्रतिज्ञा गरिएका थिए, र तिनको कामलाई पवित्र आत्माले समर्थन गर्नुभएको थियो। त्यस्तो भएकोले, उनीहरूले गरेका कामद्वारा मात्र कसैले पनि उनीहरूका विशेष पहिचानको भिन्नतालाई छुट्याउन सक्दछ, किनकि कुनै व्यक्तिको बाहिरी रूप हेरेर उसको सार बताउन सक्ने कुनै उपाय छैन, न त मानिसले पवित्र आत्माको गवाही निश्चित गर्ने कुनै उपाय नै छ। यूहन्नाले गरेका काम र येशूले गर्नुभएको काम फरक र भिन्नाभिन्नै प्रकृतिका थिए। यसैबाट नै कसैले पनि यूहन्ना परमेश्‍वर थिए कि थिएनन् भनी निश्चित गर्न सक्दछ। येशूको कामको थालनी गर्नु, जारी राख्नु, निष्कर्षमा पुऱ्याउनु र त्यसलाई सफल तुल्याउनु पर्नेथियो। उहाँले यी सबै चरणहरू पूरा गर्नुभयो, तर यूहन्नाको काम सुरुवात गर्नुभन्दा बाहेक अरू केही थिएन। सुरुमा, येशूले सुसमाचार प्रचार गर्नुभयो र पश्चात्तापको बाटो प्रचार गर्नुभयो, र त्यसपछि मानिसलाई बप्तिस्मा दिन, बिरामीहरूलाई निको पार्न र भूतात्माहरू निकाल्न थाल्नुभयो। अन्त्यमा, उहाँले मानव जातिलाई पापबाट छुटाउनुभयो र सम्पूर्ण युगका लागि आफ्नो काम पूरा गर्नुभयो। उहाँ मानिसलाई प्रचार गर्दै र स्वर्गको राज्यको सुसमाचार फैलाउँदै सबै ठाउँमा जानुभयो। यस सन्दर्भमा उहाँ र यूहन्ना एक समान हुनुहुन्थ्यो, भिन्नता यति मात्र थियो कि येशूले नयाँ युग सुरु गर्नुभयो र मानिसका निम्ति अनुग्रहको युग ल्याउनुभयो। उहाँको मुखबाट मानिसले अभ्यास गर्नुपर्ने वचनहरू र अनुग्रहको युगमा मानिसले हिँड्नुपर्ने बाटो आयो र अन्त्यमा उहाँले छुटकाराको काम समाप्त गर्नुभयो। यूहन्नाले यो काम कहिल्यै गर्न सक्दैनथियो। अनि यसरी येशूले परमेश्‍वर स्वयम्‌ले गर्नुहुने काम गर्नुभयो, र उहाँ परमेश्‍वर स्‍वयम्‌ हुनुहुन्छ, जसले प्रत्यक्ष रूपमा परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ। मानिसका धारणाले प्रतिज्ञाद्वारा जन्मने, पवित्र आत्माद्वारा जन्मने, पवित्र आत्माद्वारा समर्थन गरिएका र नयाँ बाटो खोल्नेहरू सबै परमेश्‍वर हुन् भनी भन्छ। यस तर्कअनुसार त यूहन्ना पनि परमेश्‍वर हुनेथियो, साथै मोशा, अब्राहाम र दाऊद…, सबै परमेश्‍वर हुनेथिए। के यो ठूलो ठट्टा होइन र?

आफ्नो सेवकाइको काम गर्नुभन्दा पहिले, येशू पनि केवल एक सामान्य व्यक्ति हुनुहुन्थ्यो जसले पवित्र आत्माले जे गर्नुभयो त्यस अनुसार काम गर्नुभयो। त्यति बेला उहाँलाई आफ्नो पहिचान थाहा भएको भए पनि वा नभएको भए पनि, उहाँले परमेश्‍वरबाट आएका सबै कुरा पालन गर्नुभयो। उहाँको सेवकाइ सुरु हुनुभन्दा अघि पवित्र आत्माले आफ्नो पहिचान कहिल्यै प्रकट गर्नुभएन। जब उहाँले आफ्नो सेवकाइ थाल्‍नुभयो तब मात्र उहाँले ती नियमहरू र ती व्यवस्थाहरू रद्द गर्नुभयो, र उहाँले आधिकारिक रूपमा आफ्नो सेवाको काम सुरु गर्नुभएपछि मात्र उहाँका वचनहरू अधिकार र शक्तिले ओतप्रोत भए। उहाँले आफ्नो सेवकाइ सुरु गर्नुभएपछि मात्र उहाँले नयाँ युगको सुरुवात गर्नका लागि काम गर्नुभयो। यसभन्दा अघि, २९ वर्षसम्म पवित्र आत्मा उहाँभित्र लुकेर रहनुभयो, जुन अवधिमा उहाँले केवल एक मानिसको प्रतिनिधित्व गर्नुभयो र उहाँ परमेश्‍वरको पहिचान विहीन हुनुहुन्थ्यो। परमेश्‍वरको काम उहाँको काम र उहाँको सेवकाइसँगै सुरु भयो, कुनै मानिसले उहाँलाई नचिने पनि उहाँले आफू भित्रको योजनाअनुसार काम गर्नुभयो र उहाँले गर्नुभएको काम स्वयम् परमेश्‍वरको प्रत्यक्ष प्रतिनिधित्व थियो। त्यस बेला, येशूले आफ्नो वरपरका मानिसहरूलाई सोध्नुभयो, “तिमीहरू म को हुँ भनी भन्दछौ?” तिनीहरूले जबाफ दिए, “तपाईं अगमवक्ताहरूमध्ये सबैभन्दा महान् र हाम्रा उत्कृष्ट चिकित्सक हुनुहुन्छ” र कोहीले भने, “तपाईं हाम्रा प्रधान पूजाहारी हुनुहुन्छ” र त्यस्तै अरू। सबै किसिमका उत्तरहरू दिइए, कति जनाले त उहाँ यूहन्ना नै हुनुहुन्छ, उहाँ एलिया नै हुनुहुन्छ भनी भने। त्यसपछि येशू सिमोन पत्रुसतर्फ फर्कनुभयो र सोध्नुभयो, “म को हुँ भनी तिमी भन्दछौ?” पत्रुसले जबाफ दिए, “तपाईं जीवित परमेश्‍वरको पुत्र, ख्रीष्ट हुनुहुन्छ।” त्यस बेलादेखि, मानिसहरूले उहाँ परमेश्‍वर नै हुनुहुन्छ भनी जाने। जब उहाँको पहिचान प्रकट भयो, त्यसबारे सबैभन्दा पहिले थाहा पाउने पत्रुस नै थिए, र तिनको मुखबाट यो बोलिएको थियो। तब येशूले भन्नुभयो, “तिमीले भनेको कुरा मासु र रगतले होइन, तर मेरा पिताले प्रकट गर्नुभयो।” उहाँको बप्तिस्मापछि, अरूलाई यो थाहा नभए पनि, उहाँले गर्नुभएको काम परमेश्‍वरको तर्फबाट थियो। उहाँ आफ्नो काम गर्न आउनुभयो, उहाँको पहिचान प्रकट गर्नु होइन। पत्रुसले यसबारे बोलेपछि मात्र उहाँको पहिचान खुल्लमखुल्ला जानियो। उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ भनी तैँले नजाने पनि, जब समय आयो, तब उहाँले आफ्नो काम थाल्नुभयो। अनि तँलाई यो कुरा थाहा नभए पनि, उहाँले पहिलेजस्तै आफ्नो काम गर्दैजानुभयो। यदि तैँले यसलाई अस्वीकार गरिस् भने पनि, उहाँले आफ्नो काम गर्नुहुने नै थियो र त्यो गर्ने समय भएपछि त्यो पूरा गर्नुहुनेथियो, तर मानिसहरूले उहाँको देहलाई जान्न सकून् भनेर होइन, बरु मानिसले उहाँको कामलाई स्वीकार गरोस् भनेर उहाँ आफ्‍नो काम र सेवकाइ गर्न आउनुभयो। यदि तैँले यो दिनको कामको चरण परमेश्‍वर स्‍वयम्‌को काम हो भनी चिन्न असफल भइस् भने, त्यो तँमा दर्शनको अभाव भएकोले गर्दा हो। अझै, तँ यस चरणको कामलाई अस्वीकार गर्न सक्दैनस्; तँ यो पहिचान गर्न सक्दैनस् भन्‍दैमा त्यसले पवित्र आत्माले काम गरिरहनुभएको छैन वा उहाँको काम गलत छ भनी प्रमाणित गर्दैन। कोही-कोही छन्, जसले बाइबलमा भएको येशूको कामसँग तुलना गर्दै वर्तमान कार्यको जाँच गर्दछन् र यस चरणको कामलाई अस्वीकार गर्न त्यसबाट देखिएको कुनै पनि अमेलहरूको प्रयोग गर्दछन्। के यो अन्धाको काम होइन र? बाइबलमा लेखिएका कुराहरू सीमित छन्; तिनले परमेश्‍वरको पूरै कामको प्रतिनिधित्व गर्न सक्दैनन्। सुसमाचारका चार वटा पुस्तकहरूमा जम्मा एक सयभन्दा कम अध्यायहरू छन्, जसमा सीमित सङ्ख्यामा घटनाहरू छन्, जस्तै येशूले अञ्‍जीरको रूखलाई सराप दिनुभएको, पत्रुसले प्रभुलाई तीन पल्ट इन्कार गरेको, येशू क्रूसको मृत्यु र पुनरुत्थानपछि चेलाहरूकहाँ देखापर्नुभएको, उपवासको बारेमा सिकाउनुभएको, प्रार्थनाको बारेमा सिकाउनुभएको, सम्बन्धविच्छेदको बारेमा सिकाउनुभएको, येशूको जन्म र वंशावली, येशूले चेलाहरू नियुक्त गर्नुभएको, र यस्तै अरू। तापनि, मानिसले ती कुरालाई धन जत्तिकै महत्त्व दिन्छ, तिनलाई आजको कामको विरुद्ध तुलना पनि गर्छ। तिनीहरू येशूले आफ्नो जीवनमा गर्नुभएका सबै कामहरू यति मात्र थिए, परमेश्‍वरले यति मात्र गर्न सक्‍नुहुन्थ्यो, त्योभन्दा बढी केही पनि गर्न सक्‍नुहुन्‍नथियो भनी विश्‍वास गर्छन्। के यो हास्यास्पद छैन र?

पृथ्वीमा येशूले बिताउनुभएको समय साढे तेत्तीस वर्ष थियो, अर्थात् उहाँ पृथ्वीमा साढे तेत्तीस वर्षसम्म जिउनुभयो। यस समयको साढे तीन वर्ष मात्र उहाँको सेवकाइ गर्नुमा खर्च भयो; बाँकी समय उहाँले सामान्य मानव जीवन बिताउनुभयो। सुरुमा, उहाँ सभाघरमा आराधना गर्न जानुहुन्थ्यो र त्यहाँ पूजाहारीहरूले गर्ने धर्मशास्त्रको व्याख्या र अरूको प्रचार सुन्नुहुन्थ्यो। उहाँले बाइबलको धेरै ज्ञान प्राप्त गर्नुभयो: उहाँ त्यस्तो ज्ञानसहित जन्मनुभएको थिएन, र पढेर अनि सुनेर मात्र यो प्राप्त गर्नुभएको थियो। बाइबलमा स्पष्ट रूपमा लेखिएको छ, कि उहाँले बाह्र वर्षको उमेरमा सभाघरका शिक्षकहरूलाई प्रश्‍न गर्नुहुन्थ्यो: प्राचीन अगमवक्ताहरूका भविष्यवाणीहरू कुन-कुन थिए? मोशाको व्यवस्थाको विषयमा के भन्न सकिन्छ? पुरानो करार? मन्दिरमा पूजाहारीको पोसाक लगाएर परमेश्‍वरको सेवा गर्ने मानिसको बारेमा के भन्न सकिन्छ? … उहाँले धेरै प्रश्नहरू सोध्नुहुन्थ्यो, किनकि उहाँमा न त ज्ञान थियो न बुझाइ नै थियो। उहाँ पवित्र आत्माबाट जन्मनु भएको भए पनि, उहाँ पूर्ण रूपमा सामान्य मानिसजस्तो जन्मनुभएको थियो; उहाँमा केही विशेष गुणहरू थिए, तैपनि उहाँ एक सामान्य मानिस नै हुनुहुन्थ्यो। उहाँको कद र उमेरको अनुपातमा नै उहाँको बुद्धि निरन्तर वृद्धि हुँदै गयो र उहाँले सामान्य मानिसको जीवनका चरणहरू पार गर्नुभयो। मानिसहरू कल्पनामा, येशूले कुनै बाल्यावस्था र किशोरावस्थाको अनुभव गर्नुभएन; उहाँले जन्मने बित्तिकै ३० वर्षे मानिसको जीवन जिउन थाल्नुभयो, र आफ्नो काम पूरा भएपछि उहाँ क्रूसमा टाँगिनुभयो। उहाँ सायद सामान्य मानिसको जीवनका चरणहरूबाट भएर जानुभएन; उहाँले न त अन्य मानिसहरूसँग खानपान गर्नुभयो न त सम्बन्ध स्थापना नै गर्नुभयो, र उहाँको एक झलक पाउन समेत मानिसहरूलाई सजिलो थिएन। उहाँ सायद मतिभ्रममा हुनुहुन्थ्यो, जसले उहाँलाई देख्नेहरूलाई तर्साउनुहुन्थ्यो, किनकि उहाँ परमेश्‍वर हुनुहुन्थ्यो। देहमा आउनुहुने परमेश्‍वर पक्कै पनि सामान्य मानिस जस्तो जिउनुहुन्न भन्‍ने विश्‍वास मानिसहरू गर्छन्; उनीहरू उहाँले दाँत माझ्नु पर्दैन वा मुख धुनु पर्दैन किनभने उहाँ पवित्र व्यक्ति हुनुहुन्छ भन्‍ने विश्‍वास गर्छन्। के यी सब विशुद्ध रूपमा मानव धारणा होइनन् र? बाइबलले मानिसको रूपमा येशूले जिउनुभएको जीवनको बारेमा वर्णन गरेको छैन, उहाँको कामको मात्र वर्णन गरेको छ, तर त्यसले उहाँमा सामान्य मानवता थिएन वा तीस वर्षको हुनुभन्दा अघिसम्म उहाँले सामान्य मानव जीवन जिउनुभएन भनी प्रमाणित गर्दैन। उहाँले २९ वर्षको उमेरमा आफ्नो आधिकारिक काम सुरु गर्नुभयो, तर उहाँको त्यो उमेरभन्दा अघिको उहाँको सम्पूर्ण जीवनलाई तैँले खारिज गर्न सक्दैनस्। बाइबलले त्यस अवधिलाई यस विवरणबाट हटाएको मात्रै हो; किनकि त्यो सामान्य मानिसको रूपमा उहाँको जीवन थियो, र उहाँले ईश्‍वरीय कार्य गर्नुभएको अवधि थिएन, त्यसैले त्यो लेख्नु जरुरी थिएन। किनकि येशूको बप्तिस्माभन्दा अघि पवित्र आत्माले प्रत्यक्ष रूपमा कार्य गर्नुभएन, तर येशूले उहाँको सेवकाइ गर्ने समय नआउञ्‍जेल सामान्य मानिसको रूपमा जिउनुभयो। उहाँ देहधारी परमेश्‍वर हुनुहुन्थ्यो, तैपनि उहाँ सामान्य मानिसजस्तै परिपक्व हुने क्रमबाट भएर जानुभयो। परिपक्वताको यो प्रक्रिया बाइबलबाट हटाइएको थियो। त्यसले मानिसको जीवनको विकासमा कुनै ठूलो सहयोग नपुर्याउने भएकोले त्यसलाई हटाइएको हो। उहाँको बप्तिस्माभन्दा अघिको अवधि लुकेको अवधि थियो, जुन बेला उहाँले कुनै चिन्ह र आश्‍चर्यकर्महरू गर्नुभएन। बप्तिस्मापछि मात्र येशूले मानव जातिको छुटकारा, प्रशस्त र अनुग्रह, सत्यता, र प्रेम र दयाको सारा काम गर्न थाल्नुभयो। यस कामको सुरुवात निश्चित रूपमा अनुग्रहको युगको सुरुवात पनि थियो; यस कारणले गर्दा, यसबारे लेखियो र वर्तमानसम्म हस्तान्तरण गरियो। त्यसले एउटा मार्ग खोल्नु थियो र अनुग्रहको युगमा र क्रूसको बाटोमा खुट्टा टेक्नका निम्ति सबैलाई सिद्धतामा ल्याउनु थियो। यो मानिसद्वारा लेखिएको विवरणबाट आएको भए पनि सबै कुरा सत्य तथ्य हो, तापनि कता-कता स-साना त्रुटिहरू भेट्टाइन्छ। त्यसो भए पनि, यी विवरणहरू असत्य छन् भन्न सकिँदैन। जुन कुराहरू लेखिएका छन् ती पूर्ण रूपमा सत्य छन्, मानिसहरूले यसबारे लेख्दा मात्र केही गल्तीहरू गरे। कसै-कसैले के भन्छन् भने, यदि येशू सामान्य र साधारण मानवतामा हुनुहुन्थ्यो भने, उहाँले कसरी चिन्‍ह र चमत्कारहरू गर्न सक्नुभयो? येशू जुन चालीस दिनको परीक्षाबाट भएर जानुभयो त्यो एउटा आश्चर्यको चिन्‍ह थियो, जुन एक साधारण मानिसले हासिल गर्न सक्दैनथियो। उहाँको चालीस दिनको परीक्षा पवित्र आत्माको काम गर्ने स्वभावमा थियो; त्यसैले कसैले उहाँमा अलौकिक शक्ति अलिकति पनि थिएन भनी कसरी भन्न सक्छ? चिन्ह र चमत्कारहरू गर्ने उहाँको क्षमताले उहाँ मानवभन्दा माथिको व्यक्ति हुनुहुन्थ्यो, सामान्य मानिस होइन भनी प्रमाणित गर्दैन; यो पवित्र आत्माले उहाँजस्तो एक सामान्य मानिसमा गर्नुभएको काम हो; त्यसैले उहाँलाई आश्‍चर्यकर्महरू गर्न र अझ ठूलो काम गर्न सक्षम बनाइयो। येशू आफ्नो सेवकाइ गर्नुभन्दा अघि, वा बाइबलले भने अनुसार, पवित्र आत्मा उहाँमाथि ओर्लिनुभन्दा अघि केवल एक साधारण मानिस हुनुहुन्थ्यो र कुनै पनि हिसाबले अलौकिक हुनुहुन्न थियो। जब पवित्र आत्मा उहाँमाथि ओर्लनुभयो, अर्थात् जब उहाँले आफ्नो सेवकाइको काम सुरु गर्नुभयो, उहाँ अलौकिकताले भरिनुभयो। यसरी, मानिसले परमेश्‍वरको देहधारी शरीरमा सामान्य मानवता हुँदैन भनी विश्‍वास गर्छ; यसबाहेक, उसले देहधारी परमेश्‍वरमा ईश्‍वरत्व मात्र हुन्छ, तर मानवता हुँदैन भनी गलत विचार गर्छ। निस्सन्देह, जब परमेश्‍वर पृथ्वीमा आफ्नो काम गर्न आउनुहुन्छ, सबै मानिसहरूले अलौकिक घटनाहरू देख्छन्। उनीहरूले आफ्ना आँखाले जे देख्छन् र उनीहरूले आफ्नो कानले जे सुन्छन् ती सबै अलौकिक हुन्, किनकि उहाँको काम र उहाँका वचनहरू बुझ्न नसकिने र प्राप्त गर्न नसकिने कुरा हुन्। यदि स्वर्गको कुनै चीज पृथ्वीमा ल्याइयो भने त्यो अलौकिक नभएर अरू के हुन सक्छ र? जब स्वर्गको राज्यका रहस्यहरू पृथ्वीमा ल्याइन्छन्, रहस्यहरू जुन बुझ्न नसकिने र अज्ञात हुन्छन्, जुन आश्‍चर्यजनक र बुद्धिमान हुन्छन्—के ती सबै अलौकिक होइनन् र? तापनि, तँलाई थाहा हुनुपर्छ, त्यो जतिसुकै अलौकिक भए पनि, सबै थोक उहाँको सामान्य मानवतामा नै सम्पन्न हुन्छन्। परमेश्‍वरको देहधारी शरीर मानवतामा छ; यदि उहाँ हुनुहुन्नथ्यो भने उहाँ परमेश्‍वरको देहधारी शरीर हुनुहुनेथिएन। येशूले आफ्नो समयमा धेरै आश्‍चर्यकर्महरू गर्नुभयो। त्यस समयका इस्राएलीहरूले जे देखे त्यो अलौकिक कुराले भरिएका थिए; तिनीहरूले स्वर्गदूतहरू र सन्देशवाहकहरू देखे, अनि तिनीहरूले यहोवाको आवाज सुने। के यी सबै अलौकिक थिएनन् र? निश्चय, आज त्यहाँ केही दुष्ट आत्माहरू छन् जसले अलौकिक चीजहरूद्वारा मानिसलाई धोका दिन्छन्; तिनीहरूले गर्ने नकल बाहेक अरू केही होइन, पवित्र आत्माले अहिले नगर्नुहुने कामद्वारा मानिसहरूलाई धोका दिन्छन्। धेरै मानिसहरूले चमत्कारहरू गर्छन् र बिरामीहरूलाई निको पार्छन् र भूतहरू धपाउँछन्; यी सबै दुष्टात्माको कामबाहेक अरू केही होइन, किनकि पवित्र आत्माले अहिले त्यस्तो काम गर्नुहुन्न, र त्यस समयदेखि पवित्र आत्माको कामको नकल गर्ने सबै जना वास्तवमा साँच्चै दुष्टात्माहरू हुन्। इस्राएलमा त्यसबेला गरिएका सबै कामहरू अलौकिक प्रकृतिको काम थिए, यद्यपि पवित्र आत्मा अहिले त्यस्तो तरिकाले काम गर्नुहुन्न, र त्यस्ता कुनै पनि काम अहिले शैतानको नकल र छली भेष र त्यसको खलबली हो। तर तैँले जुनै पनि अलौकिक कार्य दुष्ट आत्माबाट नै आउँछ भनेर भन्न सक्दैनस्—यो परमेश्‍वरको कामको युगमा निर्भर हुन्छ। वर्तमान समयमा देहधारी परमेश्‍वरले गर्नुभएको कामलाई विचार गर्: यसको कुन पक्ष अलौकिक होइन? उहाँका वचनहरू तेरो निम्ति बुझ्न नसकिने र प्राप्त गर्न नसकिने छन्, र उहाँले गर्नुहुने काम कुनै मानिसले गर्न सक्दैन। उहाँले जे बुझ्नुहुन्छ त्यसलाई बुझ्‍न मानिसको निम्ति कुनै उपाय छैन, र उहाँको ज्ञानको विषयमा भन्दा, त्यो कहाँबाट आउँछ मानिसले जान्दैन। केही मानिसहरू भन्छन्, “म पनि तपाईंजस्तो नै सामान्य छु, तर तपाईंले जे जान्‍नुहुन्छ त्यो म जान्दिनँ, यो कसरी हुन सक्छ? म जेठो छु र अनुभवमा धनी छु, तर म जे जान्दिनँ त्यो तपाईंले कसरी जान्‍नुहुन्छ?” जहाँसम्म मानिसको कुरा छ, यी सबै यस्ता कुरा हुन् जुन मानिसले प्राप्त गर्न सक्दैन। त्यसपछि यस्ता मानिसहरू पनि छन्, जो भन्छन्, “इस्राएलमा गरिएको काम कसैले जान्दैन, र बाइबलका व्याख्याकारहरूले पनि कुनै स्पष्टीकरण दिन सक्दैनन्; तपाईंले कसरी ती जान्न सक्‍नुहुन्छ?” के यी सबै अलौकिक विषयहरू होइनन्? उहाँसँग आश्‍चर्यकर्मको कुनै अनुभव छैन, तापनि उहाँले सबै कुरा जान्नुहुन्छ; उहाँ बोल्नुहुन्छ र ठूलो सहजतासँग सत्य व्यक्त गर्नुहुन्छ। के यो अलौकिक होइन? उहाँको कामले देहले प्राप्त गर्न सक्‍ने चीजलाई पार गर्दछ। मासुको शरीर भएको कुनै पनि मानिसको विचारमा यो प्राप्त गर्न नसकिने र मानिसको मनको तर्कले बुझ्नै नसक्ने कुरा हो। उहाँले कहिल्यै बाइबल पढ्नुभएको थिएन, तापनि उहाँले इस्राएलमा परमेश्‍वरले गर्नुभएको कामलाई बुझ्नुहुन्छ। उहाँ यस पृथ्वीमा उभिएर बोल्नुहुन्छ, तापनि उहाँले तेस्रो स्वर्गका रहस्यहरूको कुरा बोल्नुहुन्छ। जब मानिसले यी वचनहरू पढ्छन्, यो भावनाले उसलाई जित्न सक्छ: “के यो तेस्रो स्वर्गको भाषा होइन?” के यी सबै मामिलाहरू सामान्य मानिसले हासिल गर्न सक्नेभन्दा बढी छैनन् र? त्यस समय, जब येशू चालीस दिन उपवास बस्नुभयो, के त्यो अलौकिक थिएन र? यदि तँ चालीस दिनको उपवास सबै अवस्थाहरूमा अलौकिक हो, जो दुष्टात्माको काम हो भनी भन्छस् भने, के तैँले येशूको निन्दा गर्दैनस् र? आफ्नो सेवकाइ गर्नुभन्दा अघि येशू एक साधारण मानिसजस्तै हुनुहुन्थ्यो। उहाँ पनि पाठशाला जानुभयो; नत्र भने उहाँले कसरी पढ्न र लेख्न सिक्नुहुन्थ्यो र? जब परमेश्‍वर देह बन्‍नुभयो, आत्मा देहमा लुक्नुभएको थियो। यद्यपि, एक सामान्य मानिस भएकोले, उहाँ विकास र परिपक्वताको प्रक्रियाबाट भएर जानु आवश्यक थियो, र उहाँको अनुभूति गर्ने क्षमता परिपक्व नहुञ्जेल र उहाँले सबै कुरा बुझ्न सक्ने नहुञ्जेल उहाँलाई एक साधारण मानिस मान्न सकिन्थ्यो। उहाँको मानवता परिपक्व भएपछि मात्र उहाँले आफ्नो सेवकाइ गर्न सक्नुभयो। उहाँको सामान्य मानवता अपरिपक्व नभई र उहाँको विवेक कमजोर हुँदाहुँदै उहाँले आफ्नो सेवकाइ कसरी गर्न सक्नुहुन्थ्यो र? निश्चय, उहाँले छ वा सात वर्षको उमेरमा आफ्नो सेवकाइ गरून् भनी अपेक्षा गर्न सकिँदैनथ्यो! परमेश्‍वरले उहाँ पहिलोचोटि देह बन्नुभएको बेला किन आफैलाई खुलेआम प्रकट गर्नुभएन? किनभने उहाँको देहको मानवता अझै अपरिपक्व थियो; उहाँको देहको संज्ञानात्मक प्रक्रियाहरू, र यस देहको सामान्य मानवता पूर्ण रूपमा उहाँको अधीनमा थिएनन्। यसकारण उहाँले आफ्नो काम सुरु गर्नुभन्दा अघि नै उहाँमा सामान्य मानवता र सामान्य व्यक्तिको सामान्य ज्ञान हुनुपर्ने पूर्ण आवश्यकता थियो—यतिसम्‍म कि उहाँले देहमा आफ्नो काम पूरा गर्न पर्याप्त रूपमा सुसज्जित हुनुभएको होस्। यदि उहाँ यस कामको बराबरी हुनुहुन्नथ्यो भने उहाँ बढ्दै र परिपक्व हुँदै जानु आवश्यक हुनेथियो। यदि येशूले सात वा आठ वर्षको उमेरमा आफ्नो काम सुरु गर्नुभएको भए, के मानिसले उहाँलाई विलक्षण प्रतिभा सम्पन्न व्यक्ति ठान्ने थिएनन् र? के सबै मानिसले उहाँलाई एउटा बालक ठान्ने थिएनन् र? कसले उहाँलाई पत्याउन सकिने मान्ने थियो होला र? सात वा आठ वर्षको बालक खडा हुने मञ्चभन्दा अग्लो हुँदैन, यदि ऊ त्यसको पछाडि खडा भयो भने के ऊ प्रचार गर्न योग्य हुन्छ? उहाँको सामान्य मानवता परिपक्व हुनुभन्दा अघि, उहाँले कार्य गर्नु हुँदैनथ्यो। जहाँसम्म अझै अपरिपक्‍व नै रहेको उहाँको मानवताको कुरा छ, कामको राम्रो अंश प्राप्त गर्न सकिँदैनथियो। शरीरमा हुने परमेश्‍वरका आत्माको काम पनि त्यसका आफ्नै सिद्धान्तहरूद्वारा संचालन हुन्छ। उहाँ सामान्य मानवतामा सुसज्जित हुनुभएपछि मात्र उहाँले काम गर्न सक्नुहुन्छ र पिताको कार्यभार लिन सक्नुहुन्छ। तब मात्र उहाँले आफ्नो काम सुरु गर्न सक्नुहुन्छ। उहाँको बाल्यकालमा, येशूले पुरानो समयमा घटेका धेरै कुराहरूको बारेमा केही बुझ्न सक्नुहुन्नथियो, र सभाघरका शिक्षकहरूलाई सोधेर मात्र उहाँले यो कुरा बुझ्न सक्नुभयो। यदि उहाँले बोल्न सिक्ने बित्तिकै आफ्नो काम सुरु गर्नुभएको थियो भने, के उहाँले गल्ती नगर्नु सम्भव हुनेथियो? परमेश्‍वरले कसरी गलत कदम चाल्न सक्‍नु सम्‍भव हुन्छ? तसर्थ, जब उहाँ काम गर्न सक्षम हुनुभयो तब मात्र उहाँले आफ्नो काम सुरु गर्नुभयो; जबसम्म उहाँ यो काम गर्न पूर्ण रूपमा सक्षम हुनुभएन तबसम्म उहाँले कुनै काम गर्नुभएन। २९ वर्षको उमेरमा, येशू पहिले नै परिपक्व हुनुहुन्थ्यो र उहाँले गर्नुपर्ने काम गर्न उहाँको मानवता पर्याप्त थियो। तब मात्र परमेश्‍वरका आत्माले उहाँमा आधिकारिक रूपमा काम गर्न थाल्नुभयो। त्यसबेला, यूहन्नाले उहाँका निम्ति बाटो खोल्नलाई सात वर्षसम्म तयारी गरेका थिए र तिनको काम सिध्याएपछि तिनी झ्यालखानामा परे। त्‍यसपछि यो बोझ पूरै येशूमाथि आइपर्‍यो। यदि उहाँले यो काम २१ वा २२ वर्षको उमेरमा गर्नुभएको भए, त्यो बेला उहाँमा मानवताको अझै कमी हुन्थ्यो, उहाँ भर्खर मात्र युवा वयस्क अवस्थामा प्रवेश गर्नुभएको हुनुहुनेथियो, र उहाँले बुझ्न नसक्‍ने धेरै कुराहरू हुनेथिए, तब उहाँ नियन्त्रण गर्न असक्षम हुनुहुनेथियो। येशूले उहाँको काम सुरु गर्नुभन्दा अघि नै यूहन्नाले आफ्नो काम समाप्त गरेको केही समय भइसकेको थियो, जुन बेला उहाँ अधबैँसे भइसक्नुभएको थियो। त्यस उमेरमा, उहाँको सामान्य मानवता उहाँले गर्नुपर्ने कामका निम्ति पर्याप्त थियो। अब, देहधारी परमेश्‍वरको पनि सामान्य मानवता छ, र तुलनात्मक रूपमा उहाँको परिपक्वता तिमीहरू बीचका वृद्धको जति नभए पनि यो मानवता उहाँको यो कार्य गर्नका लागि पहिलेबाट नै पर्याप्त छ। आजको कामका परिस्थितिहरू पूर्ण रूपमा येशूको समयको जस्तै छैनन्। येशूले बाह्र प्रेरितलाई किन चुन्नुभयो? यो सबै उहाँको कार्यको समर्थनमा र त्यसमा मिलेर काम गर्नका निम्ति थियो। एकातिर, त्यस बेला उहाँले आफ्नो कामको लागि जग बसाल्नुपर्थ्यो भने अर्कोतर्फ आउने दिनहरूका निम्ति उहाँले आफ्नो कामको जग बसाल्नु पर्नेथियो। त्यस बेलाको कामको आधारमा, बाह्र प्रेरितहरू चुन्‍ने इच्‍छा येशूको थियो, किनकि यो परमेश्‍वर स्‍वयम्‌को इच्छा थियो। उहाँले बाह्र प्रेरितहरू चुन्नुपर्छ र सबै ठाउँमा प्रचारको लागि डोऱ्याउनुपर्छ भन्‍ने विश्‍वास उहाँको थियो। तर आज तिमीहरूको बीच यसको कुनै आवश्यकता छैन! जब देहधारी परमेश्‍वरले शरीरमा काम गर्नुहुन्छ, त्यसमा धेरै वटा सिद्धान्तहरू हुन्छन्, र थुप्रै कुराहरू हुन्छन् जुन मानिसले सजिलै बुझ्दैन; मानिसले उहाँको काम गर्न वा परमेश्‍वरबाट धेरै मागहरू गर्न लगातार आफ्ना धारणाहरूको प्रयोग गर्दछ। तापनि आजको दिनसम्म धेरै मानिसहरूलाई तिनीहरूका ज्ञान पूर्ण रूपमा तिनीहरूका आफ्नै धारणाले बनेको छ भन्‍ने थाहा छैन। परमेश्‍वरले जुनै युग वा जुन स्थानमा देहधारण हुनुभए पनि, उहाँले शरीरमा गर्नुहुने कामका सिद्धान्तहरू अपरिवर्तित छन्। उहाँले देह बनेर आफ्‍नो काममा शरीरको सीमालाई नाघ्न सक्नुहुन्न; झन् उहाँ देह बनेर शरीरको सामान्य मानवताभित्र काम नगर्न त अझै सक्नुहुन्छ। अन्यथा, परमेश्‍वरको देहधारणको महत्त्व विलीन हुनेथियो, र वचन देहधारी बन्नुभयो भन्‍ने कुरा पूर्ण अर्थहीन हुनेथियो। यसबाहेक, स्वर्गमा बस्नुहुने पिताले (आत्माले) मात्र परमेश्‍वरको देहधारणको बारेमा जान्नुहुन्छ, र अरू कसैले जान्दैन, न त देह आफैले जान्नुहुन्छ न स्वर्गका सन्देशवाहकहरूले जान्दछन्। यस्तो भएकोले परमेश्‍वरले शरीरमा गर्नुहुने काम अति सामान्य हुन्छ, र वचन साँच्चै देहधारी बन्नुभएको छ भनी देखाउन राम्ररी सक्षम हुन्छ, र देहको अर्थ एक साधारण र सामान्य मानिस भन्‍ने हुन्छ।

कसै-कसैलाई यस्तो लाग्न सक्छ, “किन परमेश्‍वर आफैले यो युगको सुरुवात गर्नुपर्दछ? के कुनै सृष्टि गरिएको प्राणी उहाँको स्थानमा खडा हुन सक्दैन र?” तिमीहरू सबैलाई थाहा छ, कि परमेश्‍वर एउटा नयाँ युग सुरु गर्ने स्पष्ट उद्देश्यसहित देह बन्नुभयो, र निश्चय, जब उहाँ एउटा नयाँ युगमा प्रवेश गर्नुहुन्छ, त्यसको साथमा उहाँले पहिलेको युगको अन्त्य गर्नुभएको हुनेछ। परमेश्‍वर सुरु र अन्त्य हुनुहुन्छ; उहाँ आफैले आफ्नो कामलाई गति दिनुहुन्छ, त्यसैले यो पहिलेको युगको अन्त्य गर्ने पनि स्वयम् उहाँ नै हुनुपर्दछ। त्यो उहाँले शैतानलाई जित्नुभएको र संसारमा उहाँको विजयको प्रमाण हो। प्रत्येकचोटि जब उहाँले मानिसको माझमा काम गर्नुहुन्छ, त्यो एक नयाँ लडाइँको सुरुवात हुन्छ। नयाँ कार्यको सुरुवातविना स्वाभाविक रूपले पुरानोको अन्त्य भएको हुँदैन। र जब पुरानोको अन्त्य भएको हुँदैन, तब त्यो शैतानसँगको लडाइँ अझै समाप्त भएको छैन भन्‍ने कुराको प्रमाण हुन्छ। यदि परमेश्‍वर स्वयम् आउनुहुन्छ, र मानिस बीचमा नयाँ कामहरू गर्नुहुन्छ भने मात्र, मानिसले शैतानको सत्ताबाट छुटकारा पाएर नयाँ जीवन प्राप्त गरी नयाँ सुरुवात गर्न सक्दछ। अन्यथा, मानिस सदासर्वदा पुरानो युगमा जिउनेछ र सधैँका लागि शैतानको पुरानो प्रभावमा जिउनेछ। परमेश्‍वरले अगुवाइ गर्नुभएको हरेक युगमा, मानिसको एक अंश स्वतन्त्र हुन्छ, र यसरी मानिस परमेश्‍वरको कामसहित नयाँ युगतर्फ अगि बढ्छ। परमेश्‍वरको विजय हुनुको अर्थ उहाँलाई पछ्याउने सबैको विजय हो। यदि सृष्टि गरिएको मानव जातिलाई युगको अन्त्य गर्ने जिम्मेवारी दिइयो भने त्यो मानिस वा शैतानको दृष्टिकोणबाट हुन्छ, र त्यो परमेश्‍वरको विरोध गर्नु वा उहाँलाई धोका दिनुभन्दा कम हुँदैन, त्यो परमेश्‍वरको आज्ञापालन हुँदैन, र मानिसले गर्ने काम शैतानको हतियार बन्दछ। यदि मानिसले परमेश्‍वर आफैले सुरु गर्नुभएको युगमा परमेश्‍वरको आज्ञापालन गर्दछ भने मात्र शैतानलाई पूर्ण रूपले विश्‍वस्त तुल्याउन सकिन्छ, किनकि सृष्टि गरिएको प्राणीको कर्तव्य त्यही नै हो। त्यसकारण म भन्छु, कि तिमीहरूले केवल उहाँलाई पछ्याउनु र आज्ञापालन गर्नुपर्छ, त्योभन्दा बढी तिमीहरूले गर्नुपर्दैन। प्रत्येकले आफ्नो कर्तव्य पालन गर्नु र प्रत्येकले आ-आफ्नो काम गर्नु भनेको यही नै हो। परमेश्‍वरले आफ्‍नै काम गर्नुहुन्छ र उहाँको खातिर मानिसले यो गरिदिनु आवश्यक छैन, न त उहाँ सृष्टि गरिएका प्राणीहरूको काममा नै सहभागी बन्‍नुहुन्छ। मानिसले आफ्‍नै कर्तव्य पूरा गर्छ र ऊ परमेश्‍वरको काममा सहभागी हुँदैन। यो मात्र आज्ञापालन र शैतानको हारको प्रमाण हो। परमेश्‍वर आफैले नयाँ युग सुरु गर्ने काम समाप्त गर्नुभएपछि मानव जातिको बीचमा काम गर्न फेरि उहाँ आफै आउनुहुन्न। तब मात्र मानिसले आफ्नो काम गर्न र सृष्टि गरिएको एक प्राणीको रूपमा उसको काम पूरा गर्न आधिकारिक रूपमा नयाँ युगमा पाइला टेक्छ। यी नै ती सिद्धान्तहरू हुन् जसद्वारा परमेश्‍वरले काम गर्नुहुन्छ, जसलाई कसैले उल्लङ्घन गर्न सक्दैन। यस तरिकाले कार्य गर्नु मात्र समझदारी र व्यावहारिक हुन्छ। परमेश्‍वरको काम परमेश्‍वर आफैले गर्नुपर्छ। उहाँ नै हुनुहुन्छ जसले आफ्नो कामलाई गति दिनुहुन्छ, र उहाँ नै हुनुहुन्छ, जसले आफ्नो काम समाप्त गर्नुहुन्छ। उहाँले कामको योजना बनाउनुहुन्छ, र उहाँ यसलाई प्रबन्ध गर्नुहुन्छ, र अझ बढी, उहाँ नै हुनुहुन्छ, जसले कामलाई फलदायी बनाउनुहुन्छ। जसरी बाइबलमा भनिएको छ “आदि र अन्त्य म नै हुँ; म बीउ छर्ने र कटनी गर्ने हुँ।” उहाँको व्यवस्थापन कार्यसित सम्बन्धित सबै कुरा परमेश्‍वर आफैले गर्नुहुन्छ। उहाँ छ हजार वर्षे व्यवस्थापन योजनाको शासक हुनुहुन्छ; उहाँको स्थानमा रहेर कसैले पनि उहाँको काम गर्न सक्दैन र कसैले पनि उहाँको कामलाई समाप्त गर्न सक्दैन, किनकि उहाँ नै हुनुहुन्छ, जसले सबै थोक आफ्नो हातले समात्नुहुन्छ। संसार सृष्टि गर्नुभएपछि, उहाँले सारा संसारलाई उहाँको ज्योतिमा जिउनका निम्ति डोऱ्याउनुहुन्छ, र उहाँले सम्‍पूर्ण युगलाई पनि समाप्त गर्नुहुन्छ, त्यसरी आफ्नो सम्पूर्ण योजनालाई सफल तुल्याउनुहुनेछ!

अघिल्लो: परमेश्‍वरको कामको दर्शन (३)

अर्को: देहधारणको रहस्य (२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्