विजयको कामको वास्तविक कथा (१)
मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्वर हुनुहुन्छ भनी जान्दैन र उसले परमेश्वरको आराधना गर्न छाडेको छ। आदिमा, जब आदम र हव्वाको सृष्टि गरियो, यहोवाको महिमा र गवाही सधैँ विद्यमान थिए। तर भ्रष्ट पारिएपछि, मानिसले त्यो महिमा र गवाही गुमायो, किनकि सबैले परमेश्वरको विरुद्धमा विद्रोह गरे, र उहाँको डर मान्न पूरै छाडे। आजको विजयको काम भनेको सम्पूर्ण गवाही र सम्पूर्ण महिमा फेरि प्राप्त गर्नु, र सबै मानिसहरूलाई परमेश्वरको आराधना गर्ने बनाउनु हो, ताकि सृजित प्राणीहरूका माझमा गवाही होस्; यो यस चरणको दौरान गर्नुपर्ने काम हो। वास्तवमा, कसरी मानवजातिमाथि विजय प्राप्त गर्नुपर्छ? मानिसलाई पूर्ण रूपमा विश्वास दिलाउन यस चरणमा वचनहरूको काम प्रयोग गरेर; उसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन खुलासा, न्याय, सजाय र निर्दयी श्राप प्रयोग गरेर; मानिसको विद्रोहीपनलाई खुलासा गरेर अनि उसको प्रतिरोधको न्याय गरेर ताकि उसले मानवजातिको अधार्मिकता र फोहोर चिन्न सकोस्, र यसरी ती चीजहरूलाई परमेश्वरको धर्मी स्वभावको प्रतिभारको रूपमा प्रयोग गरेर। मुख्य रूपमा यी वचनहरूद्वारा नै मानिसउपर विजय प्राप्त गर्न र उसलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन सकिन्छ। वचनहरू मानवजातिलाई अन्तिम विजय गरिने माध्यम हुन्, र परमेश्वरको विजयलाई स्वीकार गर्ने सबैले उहाँको वचनको प्रहार र न्यायलाई स्वीकार गर्नुपर्दछ। आजको बोल्ने प्रक्रिया ठ्याक्कै जित्ने प्रक्रिया हो। अनि मानिसहरूले कसरी सहयोग गर्नुपर्छ? यी वचनहरू कसरी खाने र पिउने भनी जानेर, र ती बुझ्ने समझ प्राप्त गरेर। जहाँसम्म मानिसहरूलाई कसरी जित्ने भन्ने सवाल छ, यो तिनीहरू आफैँले गर्न सक्ने कुरा होइन। तैँले गर्न सक्ने भनेको यी वचनहरू खाएर अनि पिएर आफ्नो भ्रष्टता र फोहोर, आफ्नो विद्रोहीपन र अधार्मिकता थाहा पाउने, र परमेश्वरको अगाडि लम्पसार पर्ने मात्र हो। यदि, परमेश्वरका अभिप्रायहरू बोध गरेपछि, तैँले अभ्यास गर्न सक्छस्, र यदि तँसँग दर्शनहरू छन् र यी वचनहरूप्रति तँ पूर्ण रूपमा समर्पित हुन सक्छस्, र आफैले कुनै छनौट गर्दैनस् भने, तँमाथि विजय भएको हुनेछ—र त्यो विजय यी वचनहरूकै फलस्वरूप भएको हुनेछ। किन मानवजातिले गवाही गुमायो? किनकि कसैसँग पनि परमेश्वरमाथि विश्वास छैन, किनकि मानिसहरूको हृदयमा परमेश्वरको कुनै स्थान छैन। मानवजातिलाई जित्नु भनेको मानवजातिको विश्वास पुनर्स्थापित गर्नु हो। मानिसहरू सधैँ अनियन्त्रित रूपमा सांसारिक संसारमा दगुर्न चाहन्छन्, तिनीहरूले अत्याधिक आशा राख्छन्, आफ्नो भविष्यका लागि धेरै कुराहरू चाहन्छन्, र तिनीहरूका धेरै नै असाधारण मागहरू छन्। तिनीहरू जहिल्यै पनि देहको बारेमा सोच्छन्, देहका लागि योजना गर्दछन्, र परमेश्वरप्रतिको विश्वासको मार्ग खोज्न कुनै चासो राख्दैनन्। तिनीहरूका हृदयहरू शैतानले हरण गरेको हुन्छ, तिनीहरूले परमेश्वरको डर मान्ने आफ्नो हृदय गुमाएका छन्, र तिनीहरू शैतानप्रति आसक्त छन्। तर मानिसको सृष्टि परमेश्वरले गर्नुभएको थियो। यसैले, मानिसले उक्त गवाही गुमाएको छ, अर्थात उसले परमेश्वरको महिमा गुमाएको छ। मानवजातिउपर विजय प्राप्त गर्नुको उद्देश्य परमेश्वरप्रतिको मानिसको डरको महिमा फेरि प्राप्त गर्नु हो। यसलाई यसरी भन्न सकिन्छ: यस्ता धेरै मानिसहरू छन् जसले जीवनलाई पछ्याउँदैनन्; जीवनको पछि लाग्ने यदि कोही छन् भने पनि, तिनीहरूको सङ्ख्या औँलामा गन्न सकिने मात्र छ। मानिसहरू आफ्नो भविष्यको सोचमा डुबेका छन् र तिनीहरूले जीवनप्रति कुनै ध्यान दिँदैनन्। कसै-कसैले परमेश्वरको विरुद्ध विद्रोह र विरोध गर्छन्, उहाँको पिठिउँपछाडि उहाँलाई दोष लगाउँछन् र सत्यताको अभ्यास गर्दैनन्। अहिलेलाई यी मानिसहरूलाई बेवास्ता गरिन्छ; अहिलेलाई यी विद्रोहका छोराहरूलाई केही पनि गरिँदैन, तर भविष्यमा तँ रुँदै र दाह्रा किट्दै अन्धकारमा जिउनेछस्। ज्योतिमा जिउँदा तैँले ज्योतिको अनमोलता महसुस गर्नेछैनस्, तर एकपल्ट अँध्यारो रातमा जिउनुपरेमा तैँले त्यो कति मूल्यवान् रहेछ भनी महसुस गर्नेछस्, तब तँ दुःखी हुनेछस्। तँलाई अहिले ठीकै लाग्छ, तर त्यस्तो दिन आउनेछ जब तँ दुःखी हुनेछस्। जब त्यो दिन आउँछ, जब अँध्यारो आइपर्छ र ज्योति रहँदैन, तब पछुतो गर्नलाई पनि धेरै ढिलो हुनेछ। किनकि तैँले आजको काम अझै बुझेको छैनस् र अहिले तँसँग भएको समयलाई कदर गर्न चुकेको छस्। जब सम्पूर्ण ब्रह्माण्डको काम सुरु हुन्छ, अर्थात् जब आज मैले भनेका सबै कुराहरू साँचो हुन्छ, तब धेरै मानिसहरू आफ्नो टाउको समातेर कष्टको आँसु रुनेछन्। अनि त्यसो गर्दा, के तिनीहरू रुँदै र दाह्रा किट्दै अन्धकारमा परेका हुँदैनन् र? साँचो रूपमा जीवनलाई पछ्याउने र पूर्ण बनाइएकाहरू सबैलाई प्रयोग गर्न सकिन्छ तर प्रयोग गर्न अयोग्य विद्रोहका सबै छोराहरू अन्धकारमा धकेलिनेछन्। तिनीहरू पवित्र आत्माको कामबाट वञ्चित हुनेछन् र कुनै पनि कुराको अर्थ बुझ्न असमर्थ हुनेछन्। त्यसैले तिनीहरू सजायमा पर्नेछन् र रोदनमा डुब्नेछन्। यदि तँ कामको यस चरणमा राम्रोसँग सुसज्जित भइस्, र तँ आफ्नो जीवनमा वृद्धि भएको छस् भने, तँ प्रयोग हुन योग्य छस्। यदि तँ राम्ररी सुसज्जित छैनस् भने, तँलाई अर्को चरणको कामका लागि बोलाइएको छ भने पनि, तँ प्रयोगका निम्ति अयोग्य हुनेछस्—यो बेला तैँले आफैलाई सुसज्जित पार्ने इच्छा गरिस् भने पनि अर्को मौका पाउनेछैनस्। परमेश्वर हिँडिसक्नुभएको हुनेछ; अहिले तेरो सामु रहेको यस किसिमको अवसर पाउन तँ कहाँ जान सक्छस् र? परमेश्वरले व्यक्तिगत रूपमा प्रबन्ध गर्नुभएको त्यो अभ्यास प्राप्त गर्न तँ कहाँ जान सक्छस् र? त्यति बेला, परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुहुने वा आवाज दिनुहुनेछैन; तैँले गर्न सक्ने भनेको आज बोलिएका कुराहरू पढ्न सक्ने मात्र हो—त्यस्तो भएमा, समझ सजिलै कसरी आउन सक्छ? आजको भन्दा भविष्यको जीवन कसरी राम्रो हुन सक्छ? त्यस स्थितिमा, के तैँले रुँदै र दाह्रा किट्दै जिउँदो मरण भोगिरहेको हुँदैनस् र? तँलाई अहिले आशिष्हरू दिइँदै छ, तर ती कसरी उपभोग गर्ने भनेर तँलाई थाहा छैन; तँ आशिष्मा बाँचिरहेको छस्, तर पनि तँ अनजान छस्। यसबाट तैँले कष्ट भोग्ने निश्चित छ भनी प्रमाणित हुन्छ। आज, केही मानिसहरूले प्रतिरोध गर्छन्, केहीले विद्रोह गर्छन्, कसैले यो वा त्यो गर्छन्, र म यसलाई बेवास्ता गर्छु, तर म तिमीहरूले गर्न लागेका कुराबारे अनजान छु भनी नसोच। के म तिमीहरूको सार बुझ्दिनँ र? किन मेरो विरुद्ध झगडा गरिरहन्छौ? के तँ आफ्नै खातिर जीवन र आशिष्हरूको पछि लाग्नलाई परमेश्वरमा विश्वास गर्दैनस् र? के तैँले विश्वास गरेको तेरो आफ्नै लागि होइन र? हाल, म केवल बोलेर विजयको कार्य गर्दै छु, र यो विजयको काम समाप्त भएपछि, तेरो अन्त्य पक्कै हुनेछ। के मैले तँलाई स्पष्ट रूपमा भनिरहनु पर्छ र?
आजको विजयको कामको अभिप्राय मानिसको परिणाम के हुनेछ भन्ने कुरा प्रकट गर्नु हो। आजको सजाय र न्याय आखिरी दिनहरूको सेतो महासिंहासनअघिको न्याय हो भनेर किन भनिन्छ? के तँ यो देख्दैनस्? विजयको काम किन अन्तिम चरण हो? के यो ठ्याक्कै हरेक वर्गको मानिसले कस्तो प्रकारको परिणाम भोग्नेछ भन्ने कुरा प्रकट गर्नका लागि होइन र? के यो सजाय र न्यायको विजयको कामको दौरान सबैलाई आफ्नो साँचो रूप देखाउन र त्यसपछि आफ्नो प्रकारअनुसार वर्गीकरण गरिन दिनका लागि होइन र? यो मानवजातिलाई विजय गर्नु हो भन्नुभन्दा, यो हरेक वर्गको व्यक्तिका लागि कस्तो प्रकारको परिणाम हुनेछ भन्ने कुरा प्रकट गर्नु हो भन्नु अझ राम्रो हुन सक्छ। यो मानिसहरूका पापहरूलाई न्याय गर्नु र त्यसपछि विभिन्न वर्गका मानिसहरूलाई प्रकट गर्नु, र यसरी तिनीहरू दुष्ट हुन् कि धर्मी हुन् भनी निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम दिने र दुष्टलाई दण्ड दिने काम आउँछ। पूर्ण रूपमा समर्पित हुने मानिसहरू—अर्थात् पूर्ण रूपमा विजय गरिएकाहरू—सम्पूर्ण ब्रह्माण्डमा परमेश्वरको काम फैलाउने अर्को चरणमा राखिनेछन्; विजय नगरिएकाहरू अन्धकारमा राखिनेछन् र तिनीहरूले विपत् भोग्नेछन्। यसरी मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुर्जनहरूलाई फेरि कहिल्यै सूर्यको ज्योति नपाउने गरी दुष्टहरूको समूहमा राखिनेछ, र धर्मीहरूलाई ज्योति प्राप्त गर्न र सधैँभरि ज्योतिमा जिउनका लागि असलहरूको समूहमा राखिनेछ। यावत् थोकका परिणामहरू नजिकिँदै छन्, र मानिसहरूका परिणामहरू तिनीहरूको आँखासामु स्पष्ट रूपमा देखाइएका छन्। यावत् थोकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिने भएपछि, हरेकलाई आफ्नो प्रकारअनुसार वर्गीकरण गरिने पीडाबाट मानिसहरू कसरी उम्कन सक्छन् र? यावत् थोकका परिणामहरू नजिकिँदा हरेक प्रकारको व्यक्तिको परिणाम प्रकट हुन्छ, र यो सम्पूर्ण ब्रह्माण्डलाई विजय गर्ने कामको दौरान (हालको कामबाट सुरु हुने सबै विजयको कामसहित) गरिन्छ। सबै मानिसका परिणामहरूको प्रकटीकरण न्यायको आसनसामु, सजायको दौरान, र आखिरी दिनहरूको विजयको कामको दौरान गरिन्छ। मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्नु भनेको मानिसहरूलाई तिनीहरूको मूल वर्गमा फर्काउनु होइन, किनभने सृष्टिको समयमा मानिस बनाइँदा एक प्रकारको मानव मात्रै थियो, विभाजन भनेको पुरुष र महिलाबीच मात्रै थियो। धेरै प्रकारका फरक-फरक मानिसहरू थिएनन्। केही हजार वर्षको भ्रष्टतापछि मात्रै मानवका विभिन्न वर्ग देखा परेका हुन्, जसमा कतिपय अशुद्ध आत्माहरूको सत्ताअन्तर्गत छन्, कतिपय दुष्ट दियाबलसहरूको सत्ताअन्तर्गत छन्, र जीवनको मार्ग पछ्याउने कतिपय सर्वशक्तिमान्को प्रभुत्वअन्तर्गत छन्। यसरी मात्रै मानिसहरूबीच बिस्तारै वर्गहरू अस्तित्वमा आउँछन्, र यसरी मात्रै मानिसको ठूलो परिवारभित्र मानिसहरू वर्गहरूमा छुट्टिन्छन्। सबै मानिसका “पिताहरू” फरक-फरक हुन पुग्छन्; सबै जना पूर्ण रूपमा सर्वशक्तिमान्को प्रभुत्वअन्तर्गत छन् भन्ने होइन, किनभने मानिस अत्यन्तै विद्रोही छ। धर्मी न्यायले हरेक प्रकारको व्यक्तिको साँचो रूप खुलासा गर्छ, र कुनै पनि कुरा गुप्त रहन दिँदैन। सबैले ज्योतिमा आफ्नो साँचो मुहार देखाउँछन्। यस बिन्दुमा, मानिस अब ऊ सुरुमा जस्तो थियो त्यस्तो रहँदैन, उसका पुर्खाहरूको मूल स्वरूप धेरै अघि नै हराइसकेको हुन्छ, किनभने आदम र हव्वाका अनगिन्ती वंशजलाई शैतानद्वारा धेरै अघि नै बन्दी बनाइएको छ, जसले गर्दा तिनीहरूले फेरि कहिल्यै स्वर्गको सूर्यलाई देख्नेछैनन्, र किनभने मानिसहरू शैतानका सबै प्रकारका विषले भरिएका छन्। यसरी, मानिसहरूका आफ्ना उपयुक्त गन्तव्यहरू हुन्छन्। यसबाहेक, तिनीहरूका फरक-फरक विषका आधारमा नै तिनीहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिन्छ, अर्थात् आज तिनीहरूलाई जुन हदसम्म विजय गरिएको छ त्यसैका आधारमा तिनीहरूलाई वर्गीकरण गरिन्छ। मानिसको परिणाम भनेको संसारको सृष्टि भएदेखि नै पूर्वनियोजित गरिएको कुरा होइन। किनभने सुरुमा एउटा मात्र वर्ग थियो, जसलाई सामूहिक रूपमा “मानवजाति” भनिन्थ्यो, र सुरुमा मानिस शैतानद्वारा भ्रष्ट तुल्याइएको थिएन, र मानिसहरू सबै परमेश्वरको ज्योतिमा जिउँथे, र तिनीहरूमाथि कुनै अन्धकार छाउँदैनथ्यो। तर मानिस शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, सबै प्रकार र किसिमका मानिसहरू—पुरुष र महिला मिलेर बनेको सामूहिक रूपमा “मानवजाति” नाम दिइएको परिवारबाट आएका सबै प्रकार र किसिमका मानिसहरू—पृथ्वीभरि फैलिए। तिनीहरू सबै तिनीहरूका पुर्खाहरूद्वारा तिनीहरूका सबैभन्दा पुराना पुर्खाहरूबाट—एक पुरुष र एक महिला मिलेर बनेको मानवजाति (अर्थात्, सुरुमा आदम र हव्वा, तिनीहरूका सबैभन्दा पुराना पुर्खाहरू) बाट—टाढा पारिए। त्यस समयमा, इस्राएलीहरू मात्र त्यस्ता मानिस थिए जसको जीवन पृथ्वीमा यहोवाको मार्गदर्शनमा चल्थ्यो। सारा इस्राएलबाट (अर्थात् मूल पारिवारिक कुलबाट) आएका विभिन्न प्रकारका मानिसले त्यसपछि यहोवाको मार्गदर्शन गुमाए। मानव संसारका मामलाहरूबारे पूर्ण रूपमा अनजान रहेका यी प्रारम्भिक मानिसहरू पछि आफ्ना पुर्खाहरूसँगै तिनीहरूले दाबी गरेका क्षेत्रहरूमा बस्नका लागि गए, जुन आजको दिनसम्म जारी छ। यसरी तिनीहरू कसरी यहोवाबाट विचलित भए र आजको दिनसम्म सबै प्रकारका अशुद्ध आत्मा र दुष्ट आत्माहरूद्वारा कसरी भ्रष्ट तुल्याइएका छन् भन्ने कुराबारे अनजान नै रहेका छन्। जो अहिलेसम्म गहिरो गरी भ्रष्ट तुल्याइएका र विषाक्त पारिएका छन्—जसले अन्ततः मुक्ति पाउन सक्दैनन्—तिनीहरूसँग आफूलाई भ्रष्ट तुल्याउने अशुद्ध आत्माहरू अर्थात् आफ्ना पुर्खाहरूसँग जानुको विकल्प हुनेछैन। जसले अन्त्यमा मुक्ति पाउन सक्छन्, तिनीहरू मानवजातिको उपयुक्त गन्तव्यमा जानेछन्, अर्थात् मुक्ति पाएका र विजय गरिएकाहरूका लागि आरक्षित परिणाममा जानेछन्। मुक्ति दिन सकिने सबैलाई मुक्ति दिनका लागि सबथोक गरिनेछ—तर निको पार्न नसकिने गरी भावशून्य रहेका मानिसहरूका हकमा, आफ्ना पुर्खाहरूलाई पछ्याउँदै सजायको अतल कुण्डमा जानु नै तिनीहरूको एक मात्र विकल्प हुनेछ। तेरो परिणाम सुरुमै पूर्वनियोजित गरिएको थियो र अहिले मात्रै प्रकट गरिएको छ भन्ने नसोच्। यदि तँ त्यसरी सोच्छस् भने, के तैँले मानवजातिको प्रारम्भिक सृष्टिको दौरान मानिसको कुनै छुट्टै शैतानी वर्ग सृष्टि गरिएको थिएन, आदम र हव्वा (मतलब पुरुष र महिला मात्र) मिलेर बनेको एउटा मानवजाति मात्र सृष्टि गरिएको थियो भन्ने कुरा बिर्सिस्? तँलाई सुरुमा शैतानको वंशज मान्ने हो भने, के यहोवाले आफ्नो सृष्टिमा मानिसको शैतानी वर्गलाई समावेश गर्नुहुनेथियो र? के उहाँले त्यस्तो केही गर्नुहुनेथियो र? उहाँले मानिसलाई आफ्नो गवाहीका खातिर सृष्टि गर्नुभयो; उहाँले मानिसलाई आफ्नो महिमाका खातिर सृष्टि गर्नुभयो। के उहाँले जानाजानी उहाँको प्रतिरोध गर्नका लागि शैतानका सन्तानहरूको एउटा वर्ग जानाजानी सृष्टि गर्नुहुनेथियो र? यहोवाले त्यस्तो काम कसरी गर्न सक्नुहुन्थ्यो होला? यदि उहाँले त्यसो गर्नुभएको भए, उहाँ धर्मी परमेश्वर हुनुहुन्छ भनेर कसले भन्नेथियो र? मैले अहिले तिमीहरूमध्ये कतिपयलाई अन्तमा शैतानलाई दिइनेछ भनेर भन्दा, यसको अर्थ तँ सुरुदेखि नै शैतानको थिइस् भन्ने होइन; बरु, यसको अर्थ तँ यति तल गिरेको छस् कि परमेश्वरले तँलाई मुक्ति दिने प्रयास गर्नुभएको भए पनि, तँ त्यो मुक्तिको अनुग्रह पाउन असफल भएको छस् भन्ने हो। तँलाई शैतानसँग वर्गीकरण गर्नुबाहेक अरू कुनै विकल्प छैन। यो तँ मुक्तिको दायराभन्दा बाहिर भएकाले मात्रै हो, परमेश्वर तँप्रति अधर्मी हुनुभएकाले र उहाँले तँलाई शैतानको मूर्त रूप हुन जानाजानी पूर्वनियोजित गर्नुभएकाले अनि त्यसपछि तँलाई शैतानलाई दिनुभएकाले र तँलाई जानाजानी दुःख दिन चाहनुभएकाले होइन। विजयको कामको वास्तविक कथा त्यो होइन। यदि तँलाई त्यस्तो लाग्छ भने, तेरो बुझाइ अत्यन्तै एकतर्फी छ! अन्तिम चरणको विजय मानिसहरूलाई मुक्ति दिनका लागि हो, र तिनीहरूका परिणामहरू प्रकट गर्नका लागि पनि हो। यो न्यायमार्फत मानिसहरूको पतन खुलासा गर्नका लागि हो, र यसरी तिनीहरूलाई पश्चात्ताप गर्न, उठ्न, अनि जीवन र जीवनको सही मार्ग पछ्याउन लगाउनका लागि हो। यो भावशून्य र सुस्त मानिसहरूको हृदयलाई ब्युँझाउनका लागि हो र न्यायमार्फत मानिसको भित्री विद्रोहीपन प्रकट गर्नका लागि हो। तर, यदि मानिसहरू अझै पनि पश्चात्ताप गर्न असमर्थ हुन्छन्, अझै पनि जीवनमा सही मार्ग पछ्याउन असमर्थ हुन्छन् र यी भ्रष्टताहरू फाल्न असमर्थ हुन्छन् भने, तिनीहरू शैतानले निल्ने वस्तु हुनेछन्, जो मुक्तिको दायराभन्दा बाहिर हुन्छन्। विजयको यस्तो महत्त्व छ: मानिसहरूलाई मुक्ति दिनु, र तिनीहरूका परिणामहरू पनि प्रकट गर्नु। असल परिणामहरू, खराब परिणामहरू—ती सबै विजयको कामद्वारा प्रकट गरिन्छन्। मानिसहरूले मुक्ति पाउनेछन् कि श्राप पाउनेछन् भन्ने कुरा सबै विजयको कामको दौरान प्रकट हुन्छ।
आखिरी दिनहरूमा नै यावत् थोकलाई विजयमार्फत तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ। विजय आखिरी दिनहरूको काम हो; अर्को शब्दमा भन्दा, हरेक व्यक्तिका पापहरूलाई न्याय गर्नु नै आखिरी दिनहरूको काम हो। नत्र भने, मानिसहरूलाई कसरी तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न सकिन्थ्यो र? तिमीहरूबीच गरिने हरेकलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गर्ने काम सम्पूर्ण ब्रह्माण्डभित्र गरिने त्यस्तो कामको सुरुवात हो। यसपछि, सबै भूमिमा रहेकाहरू र सबै मानिसले पनि विजयको काम ग्रहण गर्नुपर्नेछ। यसको अर्थ सृष्टिको हरेक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गरिनुपर्नेछ र उसले न्याय गरिनका लागि न्यायको आसनअघि आफूलाई समर्पण गर्नुपर्नेछ। कुनै पनि व्यक्ति र कुनै पनि वस्तु यो सजाय र न्याय भोग्नबाट उम्कन सक्दैन, न त कुनै पनि व्यक्ति वा वस्तुलाई त्यसको प्रकारअनुसार वर्गीकरण नगरिने नै हुन्छ; हरेक व्यक्तिलाई वर्गीकरण गरिनेछ, किनभने यावत् थोकका परिणामहरू नजिकिन्छन्, र सारा स्वर्ग र पृथ्वी आफ्नो अन्त्यमा पुगेको छ। मानव अस्तित्व अन्त्य हुने दिनबाट मानिस कसरी उम्कन सक्छ र? अनि यसरी, तिमीहरूका विद्रोहका कार्यहरू अझै कति लामो समयसम्म जारी रहन सक्छन् र? के तिमीहरूको अन्तिम दिन अहिले ठ्याक्कै तिमीहरूकै अगाडि छैन र? परमेश्वरको डर मान्ने र उहाँको देखापराइको तृष्णा गर्नेहरूले परमेश्वरको धार्मिकता देखा पर्ने दिनलाई कसरी नदेख्न सक्छन् र? तिनीहरूले असलपनका लागि अन्तिम इनाम कसरी प्राप्त नगर्न सक्छन् र? तँ असल काम गर्ने व्यक्ति होस् कि दुष्टता गर्ने व्यक्ति होस्? तँ धर्मी न्यायलाई स्वीकार गर्ने अनि आफूलाई समर्पित गर्ने व्यक्ति होस् कि धर्मी न्यायलाई स्वीकार गर्ने अनि श्रापित हुने व्यक्ति होस्? तँ ज्योतिमा न्यायको आसनसामु जिउँछस् कि अन्धकारबीच पातालमा जिउँछस्? तेरो परिणाम इनामको हुनेछ कि दण्डको हुनेछ भनेर सबैभन्दा स्पष्ट रूपमा जान्ने व्यक्ति तँ आफै होइनस् र? परमेश्वर धर्मी हुनुहुन्छ भनी सबैभन्दा स्पष्ट रूपमा जान्ने र सबैभन्दा गहन रूपमा बुझ्ने व्यक्ति तँ नै होइनस् र? त्यसोभए तेरो आचरण र हृदय ठ्याक्कै कस्ता छन्? आज मैले तँलाई विजय गरिरहँदा, तेरो व्यवहार असल छ कि दुष्ट छ भनेर मैले तँलाई स्पष्ट रूपमा बताइदिनु साँच्चै आवश्यक छ र? तैँले मेरो लागि कति त्यागेको छस्? तँ मलाई कति गहन रूपमा आराधना गर्छस्? तँ मप्रति कस्तो व्यवहार गर्छस् भनेर तँ आफैलाई सबैभन्दा स्पष्ट रूपमा थाहा छैन र? तैँले कस्तो परिणाम पाउनेछस् भनेर अरू कसैलाई भन्दा तँलाई राम्ररी थाहा हुनुपर्छ! साँच्चै, म तँलाई भन्छु: मैले मानवजातिलाई मात्र सृष्टि गरेँ, र मैले तँलाई सृष्टि गरेँ, तर मैले तिमीहरूलाई शैतानको हातमा सुम्पिनँ; न त मैले जानाजानी तिमीहरूलाई मविरुद्ध विद्रोह गर्न वा मेरो प्रतिरोध गर्न र त्यसैकारण मबाट दण्डित हुन नै लगाएँ। के यी सबै विपत् तिमीहरूको हृदय अत्यन्तै हठी भएकाले र तिमीहरूको आचरण अत्यन्तै घृणास्पद भएकाले तिमीहरूले पाउने नतिजा होइनन् र? त्यसोभए के तिमीहरू आफूले प्राप्त गर्ने परिणाम पनि निर्धारण गर्न सक्षम छैनौ र? तिमीहरूको परिणाम के हुनेछ भनेर तिमीहरूलाई हृदयमा अरू कसैलाई भन्दा राम्रोसँग थाहा छैन र? मैले मानिसहरूलाई विजय गर्नुको कारण भनेको तिनीहरूलाई प्रकट गर्न, र तँलाई अझ राम्ररी मुक्ति दिनका लागि हो। यो तँलाई दुष्टता गर्न लगाउनका लागि होइन, न त तँलाई जानाजानी विनाशको नरकमा हिँड्न लगाउनका लागि नै हो। समय आएपछि, तेरो ठूलो दुःख, तेरो रुवाइ र दाह्रा किटाइ—के यो सबै तेरा पापहरूका कारणले हुनेछैन र? तसर्थ, के तेरो आफ्नै असलपन वा तेरो आफ्नै दुष्टता नै तँलाई गरिने सबैभन्दा राम्रो न्याय होइन र? तेरो परिणाम के हुनेछ भनेर सबैभन्दा राम्ररी प्रकट गर्न सक्ने प्रमाण यही होइन र?
आज, म चीनमा परमेश्वरले चुन्नुभएका मानिसहरूको माझमा तिनीहरूका सबै विद्रोही स्वभावहरू खुलासा गर्न र उनीहरूका सबै कुरूपताको नकाब उतार्नका निम्ति काम गर्दछु, र यसले मलाई मैले भन्नुपर्ने सबै कुरा भन्ने सन्दर्भ प्रदान गर्दछ। पछि, जब म सम्पूर्ण ब्रह्माण्डमा विजय हासिल गर्ने अर्को चरणको काम सम्पन्न गर्दछु, मैले तिमीहरूमाथि गरेको मेरो न्यायलाई म सम्पूर्ण ब्रह्माण्डमा भएका सबैको अधार्मिकताहरूको न्याय गर्न प्रयोग गर्नेछु, किनकि तिमीहरू मानवजातिमाझ विद्रोहीहरूका प्रतिनिधिहरू हौ। अगाडि बढ्न नसक्नेहरू केवल प्रतिभार र सेवा गर्ने वस्तुहरू बन्नेछन्, जबकि कदम अगि बढाउनेहरूलाई प्रयोगमा ल्याइनेछ। जो कदम अगि बढाउँदैनन् तिनीहरूले प्रतिभारको रूपमा मात्र काम गर्छन् भनेर म किन भन्छु त? किनभने मेरा वर्तमान वचनहरू र काम सबै तिमीहरूको पृष्ठभूमितिर लक्षित छन् अनि तिमीहरू सारा मानवजातिमाझ विद्रोहीहरूका प्रतिनिधि र प्रतीक बनेका छौ। पछिबाट, तिमीहरूलाई जित्ने यी वचनहरूलाई म पराई देशहरूमा लैजानेछु, र त्यहाँका सारा मानिसहरूलाई जित्न ती प्रयोग गर्नेछु, तैपनि तिमीहरूले तिनीहरूलाई प्राप्त गरेका हुनेछैनौ। के त्यसले तँलाई प्रतिभार बनाउँदैन र? सारा मानवजातिको भ्रष्ट स्वभाव, मानिसको विद्रोही कार्य, र मानिसको कुरूप छवि र अनुहार—यी सबै नै आज तिमीहरूलाई जित्न प्रयोग गरिएका वचनहरूमा अभिलेख गरिएका छन्। अनि म यी वचनहरू हरेक राष्ट्र र हरेक सम्प्रदायका मानिसहरूलाई जित्न प्रयोग गर्नेछु, किनकि तिमीहरू प्रारूप र नजिर हौ। तर, मैले जानाजानी तिमीहरूलाई त्याग्न लागेको थिइनँ; यदि तँ आफ्नो खोजीमा राम्रो गर्न असफल हुन्छस् र त्यसरी तँ निको नहुने साबित हुन्छस् भने, के तँ केवल सेवा गर्ने वस्तु र प्रतिभार हुँदैनस् र? मैले एकपटक भनेँ कि मेरो बुद्धि शैतानका योजनाहरूको आधारमा प्रयोग गरिन्छ। मैले किन त्यसो भनेँ त? के मैले अहिले भनिरहेको र गरिरहेको कुराको पछि रहेको सत्यता यही होइन र? यदि तँ अगि बढ्न सक्दैनस् भने, यदि तँ सिद्ध बनाइएको छैनस्, बरु त्यसको साटो दण्ड पाएको छस् भने, के तँ प्रतिभार बन्दैनस् र? सायद, आजको दिनसम्म आइपुग्दा, तैँले निकै कष्ट भोगेको छस्, तर अझै पनि तँ केही बुझ्दैनस्; तँ जीवनबारे सबै विषयमा अनजान छस्। तँलाई सजाय दिइएको र न्याय गरिएको भए पनि, तँ बिलकुल परिवर्तन भएको छैनस्, र भित्री गहिराइमा तैँले जीवन प्राप्त गरेको छैनस्। जब तेरो काम जाँच्ने समय आउँछ, तैँले आगोजस्तो भीषण परीक्षा र अझ ठूलो सङ्कष्ट अनुभव गर्नेछस्। यो आगोले तेरो सम्पूर्ण सत्वलाई खरानीमा परिणत गर्नेछ। जीवन नभएको व्यक्ति, भित्र अलिकति पनि शुद्ध सुन नभएको व्यक्ति, अझै पनि पुरानो भ्रष्ट स्वभावमा अल्झेको व्यक्ति, र प्रतिभार बन्ने काम समेत राम्रोसँग गर्न नसक्ने व्यक्तिका रूपमा, तँलाई किन हटाइँदैन होला र? के एक पैसाभन्दा कम मूल्य भएको र जीवन नै नभएको व्यक्तिलाई विजयको काममा प्रयोग गर्न सकिन्छ? जब त्यो समय आउँछ, तिमीहरूका दिनहरू नोआ र सदोमको भन्दा कठिन हुनेछन्! तब तेरा प्रार्थना तेरा निम्ति व्यर्थ हुनेछन्। मुक्तिको काम समाप्त भइसकेपछि, के तैँले पछि फर्केर फेरि पश्चात्ताप गर्न सक्नेछस्? मुक्तिको सबै काम एकपल्ट समाप्त भइसकेपछि, त्यो फेरि हुनेछैन; दुष्टहरूलाई दण्ड दिने कामको सुरुआतचाहिँ हुनेछ। तँ प्रतिरोध गर्छस्, तँ विद्रोह गर्छस्, र तँ जानाजान दुष्टता गर्छस्। के तँ कठोर दण्डको पात्र होइनस् र? आज म यी कुराहरू तँलाई निकै स्पष्ट रूपमा व्याख्या गर्दै छु। यदि तँ नसुन्ने छनौट गर्छस् भने, पछि तँमाथि विपत्ति आइपर्दा, तब मात्र पछुतो महसुस गर्न र विश्वास गर्न थाल्छस् भने, के धेरै ढिलो हुनेछैन र? आज म तँलाई पश्चाताप गर्ने मौका दिँदै छु, तर तँ त्यसो गर्न तयार छैनस्। तँ कहिलेसम्म पर्खन चाहन्छस्? के सजाय पाउने दिनसम्म? आज म तेरो विगतका अपराधहरू याद गर्दिनँ; म तेरो नकारात्मक पक्ष नहेरी तेरो सकारात्मक पक्ष मात्र हेरेर तँलाई बारम्बार क्षमा दिन्छु, किनकि मेरा सबै वर्तमान वचन र काम तँलाई मुक्ति दिनका लागि हुन् र तँप्रति मेरो कुनै खराब अभिप्राय छैन। तैपनि तँ प्रवेश गर्न इन्कार गर्छस्; तँ असल र खराब छुट्ट्याउन सक्दैनस् र दयालाई कसरी सराहना गर्ने भनी जान्दैनस्। के त्यस्ता मानिसहरूले दण्ड र धर्मी प्रतिशोध मात्र पर्खेर बसिरहेका हुँदैनन् र?
मोशाले चट्टानमा हिर्काएपछि यहोवाले दिनुभएको पानी निस्कियो, यो उसको आस्थाका कारण थियो। जब दाऊदले आनन्दले भरिएको हृदयसाथ म, यहोवाको प्रशंसामा वीणा र सारङ्गी बजायो, त्यो उसको आस्थाका कारण थियो। जब अय्यूबले डाँडाकाँडा ढाक्ने आफ्ना गाईवस्तु र अथाह सम्पत्ति गुमायो, र उसको शरीरभरि पीडादायी खटिराहरू आए, त्यो उसको आस्थाका कारण थियो। जब उसले म, यहोवाको आवाज सुन्न सक्यो, र म, यहोवाको महिमा देख्न सक्यो, त्यो उसको आस्थाका कारण थियो। पत्रुसले येशू ख्रीष्टलाई पछ्याउन सक्नु उसको आस्थाका कारण थियो। ऊ मेरो खातिर क्रूसमा टाँगिन र महिमामयी गवाही दिन सक्नु पनि उसको आस्थाका कारण थियो। जब यूहन्नाले मानिसको पुत्रको महिमामयी स्वरूप देख्यो, त्यो उसको आस्थाका कारण थियो। जब उसले आखिरी दिनहरूको दर्शन देख्यो, त्यो झनै उसको आस्थाका कारण थियो। तथाकथित अन्यजाति राष्ट्रहरूका असङ्ख्य मानिसले मेरो प्रकाश प्राप्त गर्नु, र म मानिसहरूबीच मेरो काम गर्न देहमा फर्केको छु भनी जान्नुको कारण पनि तिनीहरूको आस्था नै हो। मेरा कठोर वचनहरूको ताडना पाएर पनि यसबाट सान्त्वना प्राप्त गर्ने र मुक्ति पाउनेहरू सबैले—के तिनीहरूले आफ्नो आस्थाका कारण त्यसो गरेका होइनन् र? मानिसहरूले आफ्नो आस्थाका कारण धेरै कुरा प्राप्त गरेका छन्, र ती आशिष्हरू नहुन सक्छन्। तिनीहरूले दाऊदले महसुस गरेको जस्तो सुख र आनन्द प्राप्त नगर्न सक्छन्, वा मोशाले जस्तै यहोवाबाट पानी प्राप्त नगर्न सक्छन्। उदाहरणका लागि, अय्यूबले आफ्नो आस्थाका कारण यहोवाबाट आशिष् पायो, तर उसले सङ्कष्ट पनि पायो। तैँले आशिष् प्राप्त गरे पनि वा सङ्कष्ट पाए पनि, दुवै आशिषित घटनाहरू हुन्। यदि तेरो आस्था नभएको भए, तैँले यो विजयको काम स्वीकार गर्न सक्नेथिइनस्, र आज तेरो आँखाअगाडि यहोवाका कार्यहरू प्रदर्शित भएको देख्न त झनै सक्नेथिइनस्—तैँले यो देख्न सक्नेथिइनस्, र यो प्राप्त गर्न त झनै सक्नेथिइनस्। यी सङ्कष्टहरू, यी प्रकोपहरू, र सबै न्याय—यदि ती तँमाथि नआइपरेका भए, के तैँले आज यहोवाका कार्यहरू देख्न सक्नेथिइस्? आज, आस्थाले नै तँलाई विजय गरिन सक्षम बनाउँछ, र विजय गरिनुले नै तँलाई यहोवाको हरेक कार्यमा विश्वास गर्न सक्षम बनाउँछ। आस्थाका कारण मात्रै तैँले यस्तो सजाय र न्याय प्राप्त गर्छस्। यो सजाय र न्यायमार्फत, तँ विजय गरिन्छस् र सिद्ध पारिन्छस्। यदि आजको सजाय र न्याय नभएको भए, तेरो आस्था व्यर्थ हुनेथ्यो, किनभने तैँले परमेश्वरलाई चिन्नेथिइनस्; तैँले उहाँमा जतिसुकै विश्वास गरे पनि, तेरो आस्था केवल खोक्रो शब्द हुनेथ्यो र त्यसमा कुनै वास्तविकता हुनेथिएन। तैँले तँलाई पूर्ण रूपमा समर्पित बनाउने विजयको यो काम प्राप्त गरेपछि मात्रै, तेरो आस्था साँचो, र भरपर्दो बन्छ, र तेरो हृदय परमेश्वरतर्फ फर्कन्छ। यो शब्द, “आस्था” का कारण तैँले धेरै न्याय वा धेरै सराप अनुभव गर्नुपरे पनि, तँसँग साँचो आस्था हुन्छ र तैँले सबैभन्दा साँचो, सबैभन्दा वास्तविक, र सबैभन्दा बहुमूल्य कुरा प्राप्त गरेको हुन्छस्। किनभने न्यायको क्रममा मात्रै तैँले सृजित प्राणीहरूको गन्तव्य देख्छस्; यस न्यायमा नै तैँले सृष्टिकर्ताको प्रेमिलो स्वभाव देख्छस्; यस्तो विजयको काममा नै तैँले परमेश्वरको बाहुली देख्छस्; यस विजयमा नै तैँले मानव जीवन पूर्ण रूपमा बुझ्छस्; यस विजयमा नै तैँले जीवनको सही मार्ग प्राप्त गर्छस् र “मानिस” को साँचो अर्थ बुझ्छस्; यस विजयमा मात्रै तैँले सर्वशक्तिमान्को धर्मी स्वभाव र उहाँको सुन्दर, महिमामयी मुहार देख्छस्; यस विजयको काममा नै तैँले मानिसको उत्पत्तिबारे थाहा पाउँछस् र सम्पूर्ण मानवजातिको “अमर इतिहास” बुझ्छस्; यस विजयमा नै तैँले मानवजातिका पुर्खाहरू र मानवजातिको भ्रष्टताको उत्पत्तिबारे थाहा पाउँछस्; यस विजयमा नै तैँले आनन्द र सान्त्वनाका साथै अनन्त ताडना, अनुशासन, र सृष्टिकर्ताद्वारा सृष्टि गरिएको मानवजातिलाई उहाँले दिनुभएका हप्कीका वचनहरू प्राप्त गर्छस्; यस विजयको काममा नै तैँले आशिष्हरू, साथै मानिसले भोग्नुपर्ने सङ्कष्टहरू प्राप्त गर्छस्...। के यो सबै तेरो अलिकति आस्थाका कारण होइन र? अनि के यी कुराहरू प्राप्त गर्दा तेरो आस्था बढ्दैन र? के तैँले असाध्यै धेरै प्राप्त गरेको छैनस् र? तैँले परमेश्वरको वचन सुनेको र परमेश्वरको बुद्धि देखेको मात्रै छैनस्, तैँले व्यक्तिगत रूपमा उहाँको कामको हरेक चरण अनुभव पनि गरेको छस्। सायद तँ भन्लास्, तँसँग आस्था नभएको भए, तैँले यस प्रकारको सजाय वा यस प्रकारको न्याय भोग्नेथिइनस्। तर तैँले बुझ्नुपर्छ कि आस्थाबिना, तँ यस प्रकारको सजाय प्राप्त गर्न वा सर्वशक्तिमान्बाट यस प्रकारको हेरचाह प्राप्त गर्न असक्षम हुने मात्रै हुनेछैनस्, तैँले सृष्टिकर्तालाई भेट्ने अवसर पनि सधैँका लागि गुमाउनेछस्। तैँले मानवजातिको उत्पत्ति कहिल्यै थाहा पाउनेथिइनस् र मानव जीवनको महत्त्व कहिल्यै बुझ्नेथिइनस्। तेरो देह नष्ट भए पनि र तेरो प्राण बिदा भए पनि, तैँले अझै पनि सृष्टिकर्ताका सबै कार्य बुझ्नेथिइनस्, र सृष्टिकर्ताले मानवजातिलाई सृष्टि गर्नुभएपछि पृथ्वीमा यति ठूलो काम गर्नुभयो भन्ने कुरा त झनै जान्नेथिइनस्। उहाँले सृष्टि गर्नुभएको यस मानवजातिको एक सदस्यका रूपमा, के तँ यसरी अनजानमै अन्धकारमा पर्न, र अनन्त दण्ड भोग्न इच्छुक छस्? यदि तैँले आजको सजाय र न्यायबाट आफूलाई अलग गरिस् भने, तैँले केको सामना गर्नेछस्? के तँलाई वर्तमान न्यायबाट अलग भएपछि, तँ यो कष्टको जीवनबाट उम्कन सक्षम हुनेछस् भन्ने लाग्छ? यदि तैँले “यो ठाउँ” छोडिस् भने, तैँले दियाबलसहरूले दिने पीडादायी सास्ती वा पुर्याउने गम्भीर हानि सामना गर्नेछस् भन्ने कुरा साँचो होइन र? के तैँले सहन नसकिने दिन र रातहरू सामना गर्नुपर्ला? के तँलाई आज यस न्यायबाट उम्केर, तँ भविष्यको त्यो वेदनाबाट सधैँका लागि बच्न सक्छस् भन्ने लाग्छ? तेरो सामु के आउनेछ? के यो तैँले आशा गरेको शाङ्ग्रिला हुनेछ? के तँलाई अहिले जस्तै वास्तविकताबाट भागेर तँ भविष्यको त्यो अनन्त सजायबाट उम्कन सक्छस् भन्ने लाग्छ? आजपछि, के तैँले फेरि कहिल्यै यस प्रकारको अवसर र यस्तो प्रकारको आशिष् पाउन सक्नेछस्? के तैँले आफूमाथि प्रकोप आइपर्दा ती पाउन सक्नेछस्? के तैँले सम्पूर्ण मानवजाति विश्राममा प्रवेश गर्दा ती पाउन सक्नेछस्? तेरो वर्तमान सुखी जीवन र तेरो त्यो मिलेको सानो परिवार—के तिनले तेरो भविष्यको अनन्त गन्तव्यलाई प्रतिस्थापन गर्न सक्छन्? यदि तँसँग साँचो आस्था छ, र यदि तँ आफ्नो आस्थाका कारण धेरै कुरा प्राप्त गर्छस् भने, त्यो सबै तैँले—एक सृजित प्राणीले—प्राप्त गर्नुपर्ने कुरा हो र तँसँग सुरुदेखि नै हुनुपर्ने कुरा पनि हो। तेरो आस्था र जीवनका लागि यस्तो विजयभन्दा अरू कुनै कुरा लाभदायक हुँदैन।
आज, तैँले परमेश्वरले जितिएका मानिसहरूसँग के माग्नुहुन्छ, सिद्ध भएका व्यक्तिहरूप्रति उहाँको मनोवृत्ति कस्तो छ, र तँ अहिले कुन कुरामा प्रवेश गर्नुपर्दछ त्यो बुझ्नु आवश्यक छ। केही कुराहरू तैँले थोरै मात्र बुझ्नु आवश्यक हुन्छ। तैँले रहस्यका केही वचनहरूलाई छानबिन गर्नु पर्दैन; ती कुराले जीवनलाई धेरै सहयोग गर्दैन, र तिनलाई केवल सरसरती मात्र हेर्नुपर्छ। तैँले आदम र हव्वाको रहस्यजस्ता रहस्यहरू पढ्न सक्छस्: आदम र हव्वा त्यति बेला के-कस्ता थिए, र आज परमेश्वरले के काम गर्न चाहनुहुन्छ। तैँले यो बुझ्नु आवश्यक छ कि मानिसलाई जित्ने र सिद्ध गर्ने काममा, परमेश्वर मानिसलाई आदम र हव्वाको जस्तो मार्गमा फर्काउन चाहनुहुन्छ। तेरो हृदयमा, परमेश्वरका मापदण्डहरू पूरा गर्न प्राप्त गर्नैपर्ने सिद्धताको तहको बारेमा राम्रो बुझाइ हुनुपर्दछ, र त्यसपछि तैँले त्यो प्राप्त गर्ने प्रयास गर्नैपर्दछ। यो तेरो अभ्याससँग सम्बन्धित छ, र यो तैँले बुझ्नुपर्ने कुरा हो। यी विषयहरूको बारेमा तैँले परमेश्वरका वचनहरूअनुसार प्रवेश गर्न खोज्नु नै पर्याप्त छ। जब तैँले “मानवजातिलाई अहिलेको अवस्थामा आइपुग्न इतिहासका दशौं हजार वर्ष लागेको छ” भनेर पढ्छस्, तब तँ उत्सुक हुन्छस्, र तँ दाजुभाइ तथा दिदीबहिनीहरूसित जबाफ पाउने कोसिस गर्छस्। “परमेश्वर भन्नुहुन्छ, मानवजातिको विकास विगत छ हजार वर्षको छ, होइन र? यो दसौँ हजार वर्षको कुरा के हो?” यस प्रश्नको उत्तर पाउने कोसिस गर्नुको के नै अर्थ हुन्छ र? चाहे परमेश्वर आफैले दसौँ हजार वर्षदेखि वा करोडौँ वर्षदेखि काम गरिरहनुभएको छ नै भने पनि—के तैँले यसबारे साँच्चै जानेको उहाँ चाहनुहुन्छ? यो त्यस्तो चीज होइन जुन सृष्टि गरिएको व्यक्तिको रूपमा तैँले जान्नु आवश्यक छ। संक्षिप्त रूपमा मात्र यस किसिमको कुराकानीप्रति विचार गर्, र यसलाई कुनै एउटा दर्शनजस्तो सोचेर बुझ्ने कोसिस नगर्। आज तैँले कुन कुरामा प्रवेश गर्नुपर्छ र बुझ्नुपर्छ भन्ने कुरा तँलाई थाहा हुनुपर्छ, र तैँले त्यसलाई राम्ररी बुझ्नु आवश्यक छ। तब मात्र तँ जितिनेछस्। माथिको कुरा पढिसकेपछि, तँमा एउटा सामान्य प्रतिक्रिया हुनुपर्दछ: परमेश्वर चिन्ताले जल्दै हुनुहुन्छ, उहाँ हामीलाई जित्न अनि महिमा र गवाही प्राप्त गर्न चाहनुहुन्छ, त्यसो भए हामीले कसरी उहाँसँग सहकार्य गर्नुपर्छ? उहाँद्वारा पूर्ण रूपमा जितिन र उहाँको गवाही बन्नको निम्ति हामीले के गर्नुपर्छ? परमेश्वरलाई महिमा प्राप्त गर्न सक्ने बनाउन हामीले के गर्नुपर्छ? हामीले आफूलाई शैतानको सत्ताअन्तर्गत नभई परमेश्वरको राज्यक्षेत्रअन्तर्गत जिउन दिन के गर्नुपर्छ? मानिसहरूले यस विषयमा सोचिरहेको हुनुपर्छ। तिमीहरूमध्ये हरेक व्यक्ति परमेश्वरको विजयको महत्त्वबारेमा स्पष्ट हुनुपर्छ। यो तिमीहरूको उत्तरदायित्व हो। त्यस्तो स्पष्टता हासिल गरेपछि मात्र तिमीहरूले प्रवेश पाउनेछौ, तिमीहरूले यो चरणको कामलाई जान्नेछौ, अनि तिमीहरू पूर्ण समर्पित बन्नेछौ। नत्र, तिमीहरूले साँचो समर्पणता प्राप्त गर्नेछैनौ।