परिवार सतावटको पर्दापछाडि

16 डिसेम्बर 2024

चेन ली, चीन

मेरी आमा र दिदीले मलाई अक्टोबर २००९ मा सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामको सुसमाचार सुनाउनुभयो। यसलाई ग्रहण गरिसकेपछि, म हरेक दिन परमेश्‍वरका वचनहरू पढ्थेँ, र दाजुभाइ-दिदीबहिनीहरूसँग भेलामा सहभागी हुने र सङ्गति गर्ने गर्थेँ। मैले परमेश्‍वरका वचनहरूबाट क्रमिक रूपमा केही सत्यताहरू बुझ्न थालेँ; मैले यो संसारको अन्धकार र दुष्टताको जड के हो, जीवनमा हामीले के कुराको खोजी गर्नुपर्छ, र अर्थपूर्ण जीवन कसरी जिउनुपर्छ भन्‍ने कुराहरू सिकेँ। जीवनको सही मार्ग भेट्टाउँदा म निकै खुशी, ढुक्‍क, र स्वतन्त्र भएकी थिएँ। मेरो श्रीमान र छोरीले म विश्‍वासी बनेपछि प्रायजसो खुशी मनस्थितिमा भएको देखेर, तिनीहरूले मेरो विश्‍वासको विरोध गरेनन्। पछि, मेरो श्रीमान कामको सिलसिलामा बाहिर जानुपर्ने भयो, त्यसकारण म सुसमाचार सुनाउने काम पनि गर्थेँ र छोराछोरीको हेरचाह पनि गर्थेँ।

सन् २०१३ को वसन्त ऋतुको एक साँझ, मेरो श्रीमानले अचानक कल गरेर मलाई कडाइका साथ भन्यो, “अबदेखि, आफ्‍नो काम गरेर घरमै बस्‍नू—अब परमेश्‍वरमा विश्‍वास गर्ने होइन। सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासीहरूले आफ्‍नो परिवार त्याग्छन् भनेर अनलाइन र टिभीमा भनेको सुन्छु। आफ्‍नो परिवारलाई नै त्याग्‍ने स्थितिसम्‍म नपुग। साथै, चीनमा विश्‍वासी हुनु भनेको कानुनविपरीत कार्य हो र अधिकारीहरूले थाहा पाए भने तिमी पक्राउ पर्नेछौ। हामीजस्ता साधारण मानिसहरू कसरी कम्युनिस्ट पार्टीको विरुद्धमा उठ्न सक्छौँ? सरकारले धर्म नमान्‍नू भनेको छ भने, नमान। नदुखेको टाउको नाम्‍लोले बाँधेर नदुखाऊ!” मेरो फोन पुलिसले मनिटर गरिरहेको हुन सक्छ भन्‍ने डरले, मैले उसलाई थप कुरा बोल्‍न दिइनँ। फोन राखेपछि म उदास भएँ। उसले कसरी कम्युनिस्ट पार्टीका झूटहरूलाई अन्धाधुन्ध पत्याउन सक्यो? परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो भन्‍ने उसलाई थाहा छ र उसले मेरो विश्‍वासमा समर्थन पनि गरेको थियो, तब किन उसले तिनीहरूका झूटहरू सुन्‍नेबित्तिकै मलाई रोक्‍ने प्रयास गर्‍यो? परमेश्‍वरलाई पछ्याउनु जीवनको सही मार्ग हो भन्‍ने कुरा स्पष्ट छ—किन कम्युनिस्ट पार्टीले मानिसहरूलाई विश्‍वास गर्न दिँदैन? विश्‍वासी भएर हामी कुनै पनि गैरकानुनी काम गर्दैनौँ, तर पनि किन तिनीहरूले हामीलाई दृढ रूपमा पक्राउ गर्ने र सताउने गर्छन्। त्यसपछि मैले एउटा भेलामा मेरो अन्योलको बारेमा एक जना सिस्टरलाई बताएँ, र उनले मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेर सुनाइन्। परमेश्‍वरले भन्‍नुभयो: “त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू अपमान र उत्पीडनको सिकार बन्छन्…। परमेश्‍वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरै वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्‍वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि यसद्वारा उहाँले महिमा पाउन सक्‍नुभएको होस्, अनि उहाँले आफ्‍ना कार्यहरूको साक्षी बन्‍नेहरूलाई प्राप्त गर्न सक्‍नुभएको होस्। मानिसहरूको यस समूहका निम्ति परमेश्‍वरले गर्नुभएका सबै बलिदानको पूर्ण महत्त्व यही नै हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। यो पढेपछि, उनले मलाई यसो भन्दै सङ्गति दिइन्: “कम्युनिस्ट पार्टी नास्तिक पार्टी हो; यो परमेश्‍वरविरोधी भूत हो र कसैले परमेश्‍वरलाई विश्‍वास गरेको, उहाँको आराधना गरेको यसले पटक्‍कै सहन सक्दैन। यो शक्तिमा आएदेखि नै यसले इसाईहरूलाई पक्राउ गर्दै र सताउँदै आइरहेको छ। अहिले आखिरी दिनहरूमा सर्वशक्तिमान्‌ परमेश्‍वर देखा पर्नुभएको छ र आखिरी दिनहरूको काम गरिरहनुभएको छ, मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गरिरहनुभएको छ, त्यसैले कम्युनिस्ट पार्टीलाई मानिसहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेर सत्यता बुझ्छन् र समझशक्ति प्राप्त गर्छन् भन्‍ने डर छ। त्यसपछि मानिसहरूले यसको दुष्ट अनुहार साँच्चै नै चिन्नेछन् र त्यसउप्रान्त यसको कुरा पत्याउनेछैनन्—तिनीहरूले यसलाई पछ्याउन छोड्नेछन्। त्यसैले यसले उन्माद रूपमा परमेश्‍वरको विरोध र दोषारोपण, र विश्‍वासीहरूको सतावटलाई बढाएको छ। यसले हाम्रा अविश्‍वासी इष्टमित्र र परिवारलाई भ्रममा पार्न र तिनीहरूलाई परमेश्‍वर पछ्याउने हाम्रो कार्यमा बाधा र अवरोध गर्न उक्साउन अनेक किसिमका अफवाह र झूटहरू फैलाउँदै आइरहेको छ। सबैले परमेश्‍वरलाई इन्कारेको र धोका दिएको कम्युनिस्ट पार्टी चाहन्छ, ताकि परमेश्‍वरको मुक्तिलाई गुमाएर हामी योसँगै नरकमा दण्डित हुन परोस्। यदि हामीले हाम्रो परिवारको बन्धनमा परेर परमेश्‍वरलाई पछ्याउन र कर्तव्य पूरा गर्न आँट गर्दैनौँ भने, त्यसको अर्थ हामी शैतानका छलमा परेका छौँ र मुक्ति पाउने मौका गुमाएका छौँ भन्‍ने हुन्छ। परमेश्‍वरले हामीलाई कम्युनिस्ट पार्टीको दमन र पक्राउको सामना गर्न दिनुहुन्छ—उहाँले यसलाई सेवाकर्ताको रूपमा प्रयोग गरिरहनुभएको छ, ताकि हामीले स्पष्टसित यसको पैशाचिक सार देख्‍न, यसको वास्तविकता चिन्‍न र यसलाई इन्कार गर्न सकौँ। यसको साथै, यसमार्फत परमेश्‍वरले हाम्रो विश्‍वासलाई सिद्ध पारेर हामीलाई विजेता तुल्याउन सक्‍नुहुन्छ। यसमा परमेश्‍वरको हितकारी इच्‍छा लुकेको छ!” यो सिस्टरको सङ्गति सुनिसकेपछि, मैले त्यो पार्टी दियाबलस शैतान हो, अर्थात् परमेश्‍वरको शत्रु हो भनी देख्‍न सकूँ भनेर परमेश्‍वरले कम्युनिस्ट पार्टीको दमन र मेरो परिवारको बाधालाई अनुमति दिनुहुन्छ भन्‍ने कुरा मलाई स्पष्ट भयो। यो परमेश्‍वरको काममा लुकेको बुद्धि हो। कम्युनिस्ट पार्टीले मानिसहरूलाई भ्रममा पार्न झूटहरूको प्रयोग गर्छ ताकि परमेश्‍वरलाई विरोध गर्ने र विश्‍वासीहरूलाई सताउने, अनि परमेश्‍वरको काममा बाधा दिने र त्यसलाई भताभुङ्ग पार्ने काममा तिनीहरू पनि त्यससँगै लागून्। यो कम्युनिस्ट पार्टीको दुष्ट अभिप्राय हो, र म शैतानका चलाकीहरूमा पर्नु हुँदैन भन्‍ने मलाई थाहा थियो।

ती सिस्टरले मेरो लागि परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढिन्: “परमेश्‍वरको विश्‍वासी भएर, तिमीहरू हरेकले आखिरी दिनहरूमा परमेश्‍वरको कार्य अनि आज पनि तिमीहरूमा उहाँले गर्नुहुने उहाँको योजनाको कार्य ग्रहण गर्दै तिमीहरूले साँच्चै नै प्राप्त गरेको उच्च उत्थान अनि मुक्तिको सराहना गर्नैपर्छ। परमेश्‍वरले मानिसहरूको यस समूहलाई सारा ब्रह्माण्डभरिको उहाँको कार्यको केन्द्र बिन्दु बनाउनुभएको छ। उहाँले आफ्नो हृदयको सबै रगत तिमीहरूको निम्ति अर्पण गर्नुभएको छ; उहाँले ब्रह्माण्डभरिको आत्माका सबै काम पुनः दाबी गरेर तिमीहरूलाई प्रदान गर्नुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि उहाँको चुनिएको जाति, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहद्वारा पूर्णरूपमा प्रकट गर्नुहुनेछ। यसैकारण, परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, अनि त्योभन्दा बढी, परमेश्‍वरको महिमाका हकवाला पनि तिमीहरू नै हौ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। यो पढेपछि मलाई अत्यन्तै गर्व लाग्यो। शैतानद्वारा अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याइएका, हामीलाई मुक्ति दिन परमेश्‍वर देह बनेर दोस्रोपटक पृथ्वीमा आउनुभएको छ, र उहाँले कम्युनिस्ट पार्टी र धार्मिक संसारको विरोध, दोषारोपण, र ईश्‍वरनिन्दा सहनुभएको छ। उहाँले आफ्‍नो सारा रगत, पसिना, र आँसु दिँदै मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्दै र आफ्‍नो काम गर्दै धेरै अपमान सहनुभएको छ। यो परमेश्‍वरको असाधारण प्रेम हो! परमेश्‍वरको काम समाप्त हुन लागेको छ। मुक्ति पाउने यो मौका जीवनमा एकपटक मात्र आउने अवसर हो, र यसलाई मैले छुटाउनु हुँदैन—कम्युनिस्ट पार्टी जति नै दमनकारी भए पनि, वा मेरो श्रीमानले मलाई जसरी बाधा दिए पनि, मैले परमेश्‍वरलाई विश्‍वास गरेर पछ्याइरहनुपर्छ भन्‍ने मलाई थाहा थियो। त्यसपछि, मलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोक्‍न मेरो श्रीमानले मलाई बारम्‍बार कल गर्ने, अनि ममाथि चिच्याउनेसमेत गरिरह्यो। यो अलिक पीडादायी कुरा थियो, तर विश्‍वास गर्नु सही र उचित कुरा हो भन्‍ने मलाई थाहा थियो, त्यसकारण म कहिल्यै पनि उसको कारण पछि हटिनँ, बरु मैले आफ्‍नो कर्तव्य पूरा गरिरहेँ।

त्यसपछि मे २०१४ मा, मैले अझै पनि विश्‍वास त्यागेकी छैन भन्‍ने देखेर, मेरो श्रीमान आफ्‍नो कार्यस्थलबाट हाम्रो सहर फर्क्यो। उसले मलाई जङ्गिँदै भन्यो, “मैले तिमीलाई विश्‍वास त्याग भनेर बारम्‍बार भनेँ, तर तिमी सुन्दै सुन्दैनौँ। विश्‍वासी बनेपछि मानिसहरूले आफ्‍नो परिवार त्याग्छन् भनेर अनलाइन र टिभीमा सबैले भनिरहेका छन्, तर तिमी अझै पनि त्यसैमा लागिरहेकी छ्यौ?” मैले मनमनै के सोचेँ भने, कम्युनिस्ट पार्टीले विश्‍वासीहरूलाई आफ्‍नो परिवार त्याग्छन् भनी दोष लगाउनु पीडितलाई नै दोष्याउने कार्य मात्र हो। यसले मानिसहरू विश्‍वासमा लागेर सही मार्गमा हिँडून् भन्‍ने चाहँदैन, त्यसकारण यसले इसाईहरूलाई उन्माद रूपले पक्राउ गर्ने र सताउने गर्छ, जसले गर्दा कैयौँ दाजुभाइ-दिदीबहिनीहरू आफ्‍नो घर छोडेर ठाउँठाउँमा भौतारिन बाध्य हुन्छन्। स्पष्ट रूपमा, कम्युनिस्ट पार्टीको दमनको कारणले नै दाजुभाइ-दिदीबहिनीहरू घर फर्केर जान सक्दैनन्, तर विश्‍वासी बनेपछि हामी हाम्रो परिवारलाई त्याग्छौँ भनेर तिनीहरू भन्छन्। के त्यो सत्य कुरालाई बङ्ग्याउने काम होइन र? त्यसकारण मैले मेरो श्रीमानलाई भनेँ, “मानिसहरूले अनलाइनमा भन्‍ने गरेको सबै कुरा झूट हो। ती कुराहरू सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई दोषारोपण र निन्दा गर्न कम्युनिस्ट पार्टीले फैलाएका झूट हुन्…।” तर उसले मेरो कुरा सुन्दै सुनेन। उसले यसो मात्रै भन्यो, “जेसुकै होस्, इन्टरनेटमा त्यसै भनेको देखेको छु, त्यसकारण तिमीले परमेश्‍वरमा विश्‍वास गरिरह्यौ र सरकारले थाहा पायो भने, तिमीलाई पक्रेर जेल हाल्नेछ। कम्युनिस्ट पार्टीले जे पनि गर्न सक्छ। यदि तिनीहरूले विश्‍वास नगर भन्छ भने, विश्‍वास गर्न छोड। अण्डाले ढुङ्गा कसरी फुटाउन सक्छ र? म घरमै बसेर तिमीलाई निगरानी गर्छु। विश्‍वास गरिरह्यौ भने, डिभोर्स गरौँ!” मैले सोचेँ: हाम्रो डिभोर्स भयो र हाम्रा दुई छोराछोरीलाई हेरचाह गर्ने कोही भएन भने के गर्ने? के तिनीहरू गलत मार्गमा लाग्दैनन् र? यस्तो सानो उमेरमा आमाको माया नपाउँदा तिनीहरूलाई अविश्‍वसनीय चोट पुग्छ! हाम्रा छोराछोरीको लागि यो कति चोट पुग्‍ने र अनुचित हुन्छ भन्‍ने सोच्दा मेरो हृदय पूरै तोडियो। म तुरुन्तै प्रार्थनमा परमेश्‍वरको अघि आएँ: “हे परमेश्‍वर! मेरो श्रीमानले मसँग डिभोर्स गर्न चाहन्छ, र म मेरा छोराछोरीबारे औधी चिन्तित छु। बिन्ती छ, मलाई रक्षा गर्नुहोस् र दह्रिलो गरी खडा हुन सहयोग गर्नुहोस्।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरले भन्‍नुभएको यो वचन सम्‍झेँ: “मानिसको भाग्य परमेश्‍वरका हातहरूद्वारा नियन्त्रित हुन्छ। तैँले आफैलाई नियन्त्रण गर्न सक्दैनस्: मानिसले सधैँ आफ्नै खातिर भागदौड गरे तापनि र व्यस्त रहे तापनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन। यदि तैँले आफ्नै भविष्य जान्न सक्थिस् भने, यदि तैँले आफ्नै भविष्यलाई नियन्त्रण गर्न सक्थिस् भने, के तँ अझै सृष्टि गरिएको प्राणी नै हुनेथिइस् र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु)। परमेश्‍वरका वचनहरूले मेरो हृदयलाई साँच्‍चै नै उज्यालो बनाए र मानिसहरूको नियति पूर्ण रूपमा परमेश्‍वरको हातमा छ भन्‍ने देखाए। मैले मेरा छोराछोरीको जीवनमा गर्न सक्‍ने भनेको अलिक राम्रो हेरचाह गर्नु मात्रै हो; तिनीहरूले कस्तो नियति पाउनेछन्, वा तिनीहरूले कति धेरै कष्ट भोग्‍नछन् भन्‍ने कुरा मैले निर्णय गर्न सक्दिनथेँ। मैले तिनीहरूलाई परमेश्‍वरकै हातमा छोडेर परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुनुपर्थ्यो। यो सोचेपछि मैले राहतको सास फेरेँ—त्यसउप्रान्त मलाई त्यति धेरै पीडा भएन। मलाई के पनि थाहा भयो भने मेरो श्रीमान कम्युनिस्ट पार्टीका झूटहरूको भ्रममा पर्नु, परमेश्‍वरलाई पछ्याउनबाट मलाई रोक्‍ने प्रयास गर्नु र मलाई डिभोर्सको धम्की दिनु सबै शैतानको चाल हो। म यो जालमा पर्नु हुँदैनथ्यो। त्यसकारण मैले उसलाई भनेँ, “म कहिल्यै पनि विश्‍वास त्याग्दिनँ। परमेश्‍वरमा विश्‍वास गर्नु र परमेश्‍वरका वचनहरू पढ्नु भनेको असल व्यक्ति बनेर सही मार्ग अपनाउनु हो। तपाईं किन सधैँ पार्टीको पक्ष लिएर मेरो बाटोमा उभिनुहुन्छ?” त्यसपछि उसले मलाई अचानक ठेलेर ओछ्यानमा लडायो र जङ्गिँदै भन्यो, “हाम्रो सरकार धर्मविरुद्ध छ। कम्युनिस्ट पार्टीले विश्‍वास गर्न दिँदैन भने, विश्‍वासी नबन्! तिनीहरूलाई कसले जित्‍न सक्छ?” हाम्री छोरीले यो सबै देखिन् र उनी यति डराइन् कि, उनले दौडिँदै आएर भनिन्, “बुबा, के गर्नुभएको? आमाले परमेश्‍वरमा विश्‍वास गर्नुभएपछि उहाँ कति खुशी हुनुहुन्छ। विश्‍वास गर्नु राम्रो कुरा हो! यसमा बाधा नदिनुहोस्!” मेरो श्रीमानले उसको कुरा सुन्दै नसुनी, उसलाई समेत गालामा झापड हान्यो। मलाई अत्यन्तै रिस उठ्यो! मेरी छोरीले मेरो प्रतिरक्षामा बोलेकी हुनाले उसलाई समेत उसले कुट्यो। मेरो श्रीमानले कम्युनिस्ट पार्टीलाई पछ्याइरहेको छ र मलाई विश्‍वास गर्नबाट रोक्‍नको लागि उन्मत्त रूपले प्रयास गरिरहेको छ—उसले सबै समझ गुमाएको छ भन्‍ने मैले थाहा पाएँ। मैले उसलाई थप केही कुरा भन्‍न चाहिनँ र मैले छोरीलाई उसको कोठामा लगेँ। भोलिपल्‍ट बिहानै, हामी नागरिक मामला ब्यूरोमा गयौँ। हामीले हाम्रो डिभोर्स प्रक्रिया अघि बढाउनुभन्दा पहिले, मेरो काका ससुरा आएर मेरो श्रीमानलाई सल्‍लाह दिए, र त्यो सल्‍लाहको आधारमा उसले डिभोर्स नगर्ने निर्णय गर्‍यो।

त्यसपछि पनि मेरो श्रीमानले दमन गरिरह्यो र मलाई विश्‍वास गर्नबाट रोक्‍ने प्रयास गरिरह्यो। म भेलाबाट आउँदा जहिल्यै पनि मेरो गिल्‍ला गर्थ्यो र मलाई अनुहार बिगारेर हेर्थ्यो। उसको मनोवृति पनि झन्झन् नराम्रो बन्दै गयो। एक रात १० बजेतिर, मेरो श्रीमान मातेर आयो, र मलाई पागलले झैँ ओछ्यानबाट माथि तान्यो र जोरले भन्यो, “अहिले तैँले परमेश्‍वरमा विश्‍वास गरेको हुनाले, बाहिरी संसारमा मेरो कुनै इज्‍जत छैन। सबैले तेरो धर्मको कुरा गरिरहेका हुन्छन्। अहिले हाम्रा इष्टमित्रहरूले मलाई के सोच्छन्? यदि तैँले तेरो ईश्‍वरको यो कुरालाई जारी राखिस् भने, तँ पक्राउ पर्नेछस् र सरकारले तँलाई तह लगाउनेछ। अन्त्यमा, हाम्रो परिवारका कसैले पनि शिर ठाडो पार्न सक्‍नेछैनन्। तैँले विश्‍वास गर्न छोड्नुपर्छ!” म अलिक डरपोक थिएँ, त्यसैले उसको जङ्गिएको अनुहार देख्दा मलाई निकै डर लाग्यो। ऊ रिसले चूर थियो र धेरै मातेको पनि थियो—उसले के गर्न सक्छ मलाई थाहा थिएन। मलाई रक्षा गर्नुहोस् भन्दै मैले परमेश्‍वरलाई पुकारिरहेँ र म बिस्तारै शान्त भएँ। मैले अझै मेरो विश्‍वास छोड्नेछैन भन्‍ने देखेर, मेरो श्रीमान अझै चिढियो। उसले मलाई ओछ्यानबाट उठाएर भूइँमा फ्याँक्यो, त्यसपछि अनुहारमा धेरैपटक मुक्‍का हान्यो, जसले गर्दा मेरा आँखामा कालो दाग बस्यो। मैले उसलाई भनेँ, “मैले विश्‍वास गर्नु गलत कुरा होइन। किन मलाई कुटिरहनुभएको छ? तपाईं किन कम्युनिस्ट पार्टीको पक्षमा उभिएर मलाई दबाउनुहुन्छ?” उसले मेरो कुरा सुन्दै सुनेन, बरु बहुलाए झैँ गरी मलाई उठाएर झ्यालतिर बोकिलग्यो। मैले मनमा बारम्बार परमेश्‍वरलाई प्रार्थना गरिरहेँ। उसले मलाई झ्यालसम्‍म पुर्‍यायो र मेरो गोलीगाँठो पक्रेर मेरो पूरै जीउ झ्यालबाहिर निकाली मलाई उधोमुन्टो झुण्ड्यायो। त्यसपछि उसले चिच्याउँदै भन्यो, “भन्! विश्‍वास छोड्छु भनेर भन्! छोड्दैनस् भने, म अहिले नै तँलाई यहाँबाट खसाइदिन्छु!” हामी पाचौँ तलामा बस्थ्यौँ, त्यसकारण उसले मलाई फ्याँकिदिएको भए, म मर्नेथेँ। मलाई अत्यन्तै डर लागेको थियो, र मैले परमेश्‍वरसँग यसो भन्दै प्रार्थना गरिरहेँ, “हे परमेश्‍वर! बिन्ती छ मलाई रक्षा गर्नुहोस् र विश्‍वास दिनुहोस्। आज म मरे पनि, म शैतानको अघि झुक्दिनँ!” त्यो बेला, मलाई अचानक अय्यूबको अनुभवको बारेमा याद आयो। तिनको परीक्षाको पूरै अवधिमा, परमेश्‍वरले तिनलाई नजर लगाइरहनुभएको थियो, र शैतानले पनि हेरिरहेको थियो। अन्त्यमा, अय्यूब परमेश्‍वरको गवाहीको रूपमा द्ह्रिलो गरी खडा भए, र शैतान लज्‍जित भएर पछि हट्यो। त्यसकारण मैले हृदयमा शैतानलाई यसो भनेँ, “शैतान, तैँले मेरो विरुद्धमा जस्तोसुकै दुष्ट युक्ति प्रयोग गरे पनि, म परमेश्‍वरलाई कहिल्यै धोका दिनेछैनँ। म मर्नु परे पनि, म परमेश्‍वरमा विश्‍वास गरिरहनेछु र उहाँलाई पछ्याइरहनेछु!” यो सङ्कल्प गरेपछि, मलाई मेरो शरीर हलुका भएजस्तो लाग्यो, र म उधोमुन्टो भएको भए पनि, मेरो रगत टाउकोतिर जम्मा भइरहेको छ जस्तो लागेन। मलाई कुनै शक्तिले मेरो शरीर थामिरहेको छ जस्तो लाग्यो। मेरो श्रीमानसँग मलाई माथि उचाल्ने त्यति धेरै बल पक्‍कै थिएन भन्‍ने थाहा भयो। यो परमेश्‍वरको सुरक्षा थियो, र मैले हृदयबाट परमेश्‍वरलाई बारम्‍बार धन्यवाद दिएँ। ठीक त्यही बेला, हाम्रा छोराछोरीले अर्को पट्टिको बाल्कोनीबाट यो कुरा देखेछन्, र तिनीहरू दौडेर आई ढोकामा ढकढक्याउन थाले। तिनीहरू रोइरहेका र चिच्याइरहेका थिए, तर मेरो श्रीमानले भित्रबाट चुक्‍कुल लगाएको हुनाले, तिनीहरू भित्र आउन सकेनन्। हाम्री छोरी अर्को बाल्कोनीमा गएर चिच्याइन्, “बुबा, के गर्नुभएको?” तिनी चर्को सोरमा रोइरहेकी थिइन्, र मलाई नफाल्‍न चिच्याउँदै उसलाई कराइरहेकी थिइन्। त्यसपछि अचानक ऊ होस आएजस्तो भयो, र उसले मलाई माथि तान्यो। म परमेश्‍वरप्रति कृतज्ञताले भरिएँ। यदि परमेश्‍वरको सुरक्षा नभएको भए, अवश्य नै मेरो ज्यान जानेथ्यो।

त्यो रात म सुत्‍नै सकिनँ। मलाई मेरो श्रीमान र मैले सँगै कडा परिश्रम गरेका दिनहरू याद आए—हामी सधैँ मिलेर बस्‍ने गर्थ्यौँ, र सुरुमा मैले विश्‍वास गर्दा, उसले मलाई कुनै बाधा दिएको थिएन। तर अहिले उसले कम्युनिस्ट पार्टीका झूटहरूमा विश्‍वास गरेर मलाई बारम्‍बार दमन गरिरहेको थियो। मैले उसलाई जति नै बुझाउन खोजे पनि, उसले मेरो कुरा सुन्दै सुन्दैनथ्यो, र मेरो विश्‍वास त्यागाउन उसले मलाई डिभोर्स दिने धम्कीसमेत दिइरहेको थियो। उसले ममाथि हातसमेत उठाइरहेको थियो, र उसले झण्डै मलाई पाँच तलाको झ्यालबाट फ्याँकेको थियो। ऊ पूर्ण रूपमा फरक व्यक्तिजस्तो देखिन्थ्यो। यो अत्यन्तै चित्तदुख्दो, खिन्‍नलाग्दो अवस्था थियो। मेरो श्रीमान्‌ कसरी त्यस्तो परिवर्तन हुन सक्यो त्यो मैले बुझेकी थिइनँ। ठीक त्यही बेला, मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “विश्‍वासी र गैरविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्” र “देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। … यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। मलाई के महसुस भयो भने, मेरो श्रीमान परिवर्तन भएको होइन, बरु उसको सारचाहिँ खुलासा भएको हो। उसलाई परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो कुरा हो भन्‍ने राम्ररी थाहा थियो, तैपनि उसले कम्युनिस्ट पार्टीको पक्षमा उभिएर मलाई विरोध गर्‍यो। सारगत रूपमा, उसले परमेश्‍वरलाई घृणा गर्थ्यो र उहाँको विरुद्धमा काम गर्थ्यो। त्यही कारणले गर्दा उसले मसँग यस्तो दुष्ट व्यवहार गर्न सकेको थियो। उसले मलाई झण्डै मारेको थियो, र उसले पूर्ण रूपमा सबै समझ गुमाएको थियो—त्यो पैशाचिक प्रकटीकरण थियो! म परमेश्‍वरलाई पूर्ण रूपमा विरोध गर्ने दियाबलससँग बसिरहेकी थिएँ; हामी फरकफरक मार्गमा थियौँ—त्यसैले, हामी कसरी सँगै बसेर खुशी हुन सक्थ्यौँ र? उसले सुरुमा मसँग राम्रो व्यवहार गर्थ्यो, तर त्यो मैले उसका छोराछोरी जन्‍माएकोले र घरको सबै काम सम्‍हालेकोले गर्दा थियो। तर अहिले मेरो विश्‍वासले उसका आफ्‍नै हितहरूलाई असर गरिरहेको थियो, त्यसैले उसको साँचो रूप प्रकट भइरहेको थियो। यो कुरालाई महसुस गरेपछि मैले मेरो श्रीमानको वास्तविक सारलाई देखेँ, र मैले उसलाई मेरो हृदयबाट केही हदसम्म हटाउन सकेँ। पछि, मैले परमेश्‍वरका वचनहरूमा यो कुरा पढेँ: “जब परमेश्‍वरले काम गर्नुहुन्छ, कुनै व्यक्तिको हेरचाह गर्नुहुन्छ, र उसलाई नियालेर हेर्नुहन्छ, र जब उहाँले त्यो व्यक्तिलाई स्विकार्नुहुन्छ र अनुमोदन प्रदान गर्नुहुन्छ, तब शैतान पनि त्यसको पछिपछि लाग्छ, र त्यसलाई भ्रममा पार्ने, र हानि गर्ने प्रयास गर्छ। परमेश्‍वरले त्यो व्यक्तिलाई प्राप्त गर्न चाहनुभयो भने, शैतानले परमेश्‍वरलाई अवरोध गर्न आफ्नो भएभरको शक्ति लगाउँछ, र प्रलोभनमा पार्न, बाधा दिन र परमेश्‍वरको कामलाई बिगार्न विभिन्‍न दुष्‍ट चालहरू प्रयोग गर्छ, र त्यसले आफ्नो गुप्‍त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्‍वरले कुनै पनि व्यक्तिलाई प्राप्‍त गर्नुभएको त्यसले चाहँदैन; परमेश्‍वरले चाहनुभएका सबैलाई त्यसले आफ्नो कब्जामा लिन चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्कर्म गर्नमा तिनीहरू त्यससँग हात मिलाऊन्, र परमेश्‍वरको विरोध गरून्। के यो शैतानको दुष्‍ट आशय होइन र?(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ४)। मैले परमेश्‍वरका वचनहरूबारे मनन गरेँ, अनि मलाई शैतानले मानिसहरूको विश्‍वासलाई तोड्न सबै किसिमका दुष्ट युक्तिहरूको प्रयोग गरिरहेको छ र यो मानिसहरूको निम्ति परमेश्‍वरसँ लड्न केही कुरामा पनि पछि पर्दैन भन्‍ने थाहा भयो। त्यस तरिकाले सबैले शैतानको आराधना गरेर परमेश्‍वरलाई धोका दिनेथे, त्यसपछि मुक्ति पाउने आफ्‍नो मौकालाई गुमाउनेथे। परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासमा दह्रिलो गरी खडा हुनु, उहाँको आज्ञापालन गरिरहनु, र उहाँको गवाही दिनमा अडिग रहनु मात्रै शैतानका चालहरूको विरुद्धमा लड्ने र यसलाई साँचो रूपमा लाजमा पार्ने एउटै तरिका हो। मलाई अय्यूबको अनुभव याद आयो: अय्यूब परमेश्‍वरको डर मान्थे र दुष्टताबाट अलग बस्थे, त्यसकारण शैतानले अय्यूबलाई घृणा गर्थ्यो, र त्यसले तिनलाई आक्रमण गरेर परीक्षा गर्‍यो। शैतानले अय्यूबलाई आफ्‍ना सबै सम्पत्ति र छोराछोरी गुमाउने तुल्यायो, तर अय्यूबले परमेश्‍वरलाई दोष नदिएका मात्र नभई, बरु उल्टै परमेश्‍वरको नाउँलाई धन्यको समेत भनेका थिए। त्यसपछि शैतानले अय्यूबको जीउभरि खटिरा निकाल्यो, र उसलाई आक्रमण गर्न उसकी श्रीमतीलाई उक्साएर परमेश्‍वरलाई त्यागाउने प्रयास गर्‍यो। अय्यूबले त्यो कुरालाई नमानेको मात्र नभई, तिनले आफ्‍नी श्रीमतीलाई मूर्ख भनेरसमेत गाली गरे। अन्तिममा, अय्यूबले परमेश्‍वरको लागि सानदार साक्षी दिए, र शैतान पूर्ण रूपमा लज्‍जित भयो। मैले आफ्‍नो अनुभवको बारेमा, कम्युनिस्ट पार्टीले फैलाएका झूटहरूबारेमा, र त्यसले मलाई परमेश्‍वरलाई धोका दिन लगाएर अन्त्यमा नरक जान र त्यससँगै दण्डित हुन लगाउने प्रयासमा यसले कसरी मेरो विश्‍वासको विरोध गर्न लगाउन मेरो श्रीमानलाई बारम्‍बार प्रयोग गरेको थियो भन्‍नेबारेमा विचार गरेँ। मलाई थाहा थियो, मैले अय्यूबको उदाहरण पछ्याउनुपर्थ्यो; शैतानले मेरो विरुद्धमा जेजस्ता युक्तिहरू प्रयोग गरे पनि, म त्यसको बहकाउमा आउनु हुँदैनथ्यो, बरु मैले परमेश्‍वरमै विश्‍वास गर्नुपर्थ्यो, उहाँमा भरोसा गरेर उहँको गवाहीमा दह्रिलो रूपमा खडा हुनुपर्थ्यो। यो सोचेपछि म एकदमै तनावरहित भएँ, र निकै स्वतन्त्र भएको अनुभव गरेँ, यस्तो स्वतन्त्र अनुभव पहिले कहिल्यै गरेकी थिइनँ। यसपछि, मेरो श्रीमानले म परमेश्‍वरमा विश्‍वास गर्न र सुसमाचार प्रचार गर्नमा अझै पनि कटिबद्धै छु भन्‍ने देख्यो, र त्यसपछि मेरो विश्‍वासप्रति उसले त्यति धेरै चासो लिन छोड्यो।

त्यसपछि मेरी छोरीले विश्‍वविद्यालयमा नाम निकाली, तर छोराले नाम निकाल्‍न सकेन। उसलाई आर्मीमा लगाउन मेरो श्रीमानले आफ्‍नो शक्तिले भ्याउञ्‍जेल सबै कुरा गर्‍यो। एक दिन, मेरो श्रीमान घर फर्कियो र मलाई रिसाउँदै भन्यो, “तँ र तेरी आमाले मेरो हरिबिजोग गर्‍यौ! मैले छोरालाई आर्मीमा लगाउने सक्दो प्रयास गरेँ, तर तिनीहरूले तेरी आमा धर्म मान्‍ने व्यक्ति हो भन्‍ने थाहा पाए, त्यसकारण तिनीहरूलाई मनाउन मैले अनेक भन्‍नुपर्‍यो, र साथमा पैसा खर्च गर्नुपर्‍यो, र कुरा पक्‍का गर्न तिनीहरूलाई उपहार दिनुपर्‍यो। अहिले सबै कुरा ठीकठाक छ भन्‍ने नसोच्! यदि तैँले तेरो विश्‍वासलाई नै जारी राखिस् र सरकारले थाहा पायो भने, छोरा आर्मीमा लाग्‍नेछैन र छोरी विश्‍वविद्यालयमा भर्ना हुनेछैन। तिनीहरूको कुनै भविष्य हुनेछैन। तैँले किन परिवार र छोराछोरीको बारेमा सोच्दैनस्? यदि तैँले आफ्‍नो विश्‍वासलाई कायम राख्‍न जिद्दी गर्छस् भने, हामी कुनै पनि हालतमा सँगै बस्‍न सक्दैनौँ। हामीले डिभोर्स गर्नुपर्छ। यसबारेमा राम्ररी सोच्!” उसले त्यसो भनेपछि मलाई निकै रिस उठ्यो। कम्युनिस्ट पार्टी साँच्‍चै नै अति दुष्ट छ—यसले मलाई परमेश्‍वरलाई धोका दिन लगाउन मेरा छोराछोरीको भविष्यद्वारा धम्की दिइरहेको थियो। मलाई हृदयदेखि नै यसप्रति घृणा जाग्यो! तर मेरो विश्‍वासको कारण मेरो छोराछोरीको भविष्यमा असर परेको कुरा, र तिनीहरूले अवश्यै मलाई दोष देलान् र घृणा गर्लान् भनेर सोच्दा, मन निकै खिन्‍न भयो र मलाई तिनीहरूप्रति ऋणी भएको अनुभव भयो। त्यसपछि मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “व्यक्तिले कुन पेशा अपनाउँछ, उसले बाँच्‍नको लागि के गर्छ, र उसले जीवनमा कति सम्पत्ति जम्मा गर्छ भन्‍ने कुरालाई उसका बाबुआमा, उसको प्रतिभा, उसका प्रयासहरू वा उसका महत्वाकांक्षाहरूले निर्धारित गर्दैनन्, ती कुरा त सृष्टिकर्ताले नै पूर्वनिर्धारित गर्नुहुन्छ(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३)। यो साँचो कुरा हो। मानिसहरूको नियति पूर्णतया परमेश्‍वरको हातमा छ, र मेरा छोराछोरीको भविष्य पनि परमेश्‍वरकै हातमा छन्। तिनीहरूको करियर कस्तो हुनेछ, र तिनीहरूको भविष्य कस्तो हुनेछ भन्‍ने कुरा परमेश्‍वरले धेरै पहिले नै निर्धारित गर्नुभएको छ। यो मैले हेरफेर गर्न सक्‍ने कुरा होइन, र यो कम्युनिस्ट पार्टीले अन्तिम निर्णय गर्ने कुरा होइन। यसको साथै, यदि कम्युनिस्ट पार्टीले मेरी छोरीले विश्‍वविद्यालय जान नसक्‍ने र राम्रो जागिर नपाउने कुरा निश्‍चित गर्‍यो भने पनि, यसको अर्थ तिनीहरूको नीति नै अत्यन्तै दुष्ट छ भन्‍ने हुन्थ्यो—यसमा मेरो कुनै गल्ती हुन्थेन। यसबारेमा यसरी विचार गर्दा, मैले बिस्तारै मेरा चिन्ताहरूलाई जान दिएँ र मैले मेरो श्रीमानलाई भनेँ, “मैले यसबारेमा विचार गरेँ। मेरो विश्‍वास गलत होइन, तर तपाईंलाई समस्यामा मुछिने डर छ र डिभोर्स गर्न साँच्‍चै मन छ भने, जाऊँ कागजात मिलाऊँ।” उसले भन्यो, “डिभोर्स गर्‍यौँ भने, तैँले हाम्रो परिवारको अंश पाउँदैनस्!” यो सुन्दा मलाई साँच्‍चै रिस उठ्यो। हामीले विवाह गरेको २० वर्ष भएको थियो, तर मैले परमेश्‍वरमा विश्‍वास गरेकै कारण डिभोर्स गर्न चाहन्थ्यो, र मलाई हाम्रो परिवारको करोडौँ युआनको सम्पत्तिबाट एक पैसा पनि दिन चाहँदैनथ्यो। उसले मलाई रित्तो हात छोड्न चाहन्थ्यो। कस्तो निर्दयी! मैले तथाकथित “वैवाहिक खुसी” भन्दा परेको कुरा देखेँ, र कुनै हिचकिचाहटविना मेरो श्रीमानसँग डिभोर्स गरेँ।

हामी नागरिक मामला ब्यूरोको कार्यालयबाट बाहिर निस्कँदा, मलाई निकै शान्ति, र निकै स्वतन्त्र अनुभव भयो। परमेश्‍वरले मलाई कदमकदम गरी डोर्‍याउनुभयो, र उहाँका वचनहरूद्वारा मलाई अन्तर्दृष्टि दिनुभयो, त्यसले गर्दा मैले शैतानका परीक्षा र आक्रमणहरूलाई जित्‍न सकेँ। परमेश्‍वरको कृपा र सुरक्षाको लागि म अत्यन्तै कृतज्ञ भएँ! चीनमा, विश्‍वासी बन्दा धेरै दमन र कठिनाइ सहनुपर्छ, तर मैले भविष्यमा जे-जस्तो कुराको अनुभव गरे पनि, म अन्त्यसम्‍मै परमेश्‍वरलाई पछ्याउने कुरामा निश्‍चित छु!

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

विगतमा ममाथि लागेको लाञ्छना

लि यी, चीन२०१५ को अगस्टमा, म र मेरो परिवार सिनजियाङ सर्यौँ मैले त्यहाँ कम्युनिष्ट पार्टीले उइघुर जनहरूको हिंसा र अशान्तिविरुद्ध लड्ने नाममा...

मनको गाँठो फुकाउँदा

चुन्यु, चीन गत वसन्त ऋतुको कुरा हो, म मण्डीलमा सुससमाचार सुनाउने कर्तव्यमा खटिएकी थिएँ। त्यतिबेला, सिस्टर वाङ सुसमाचार डिकन चयन हुनुभएको...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्