पागलखाना छोड्दा

16 डिसेम्बर 2024

छियाओकायो, चीन

जनवरी २०१२ मा मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार ग्रहण गरेँ। विश्‍वास गरेपछि, आफ्नो व्यवसायमा धेरै काम गर्नुपरेको कारण मेरो कम्मरको मांसपेशी असाध्यै दुख्‍ने र काँध चलाउन नहुने समस्या अचम्‍म तरिकाले निको भयो। मेरा श्रीमान र छोरा निकै खुसी थिए—पहिले त, मेरो पाखुरा यति दुख्थ्यो कि राम्ररी उचाल्‍न पनि सक्दिनथिएँ, कपाल कोर्न वा लुगा लगाउनसमेत गाह्रो हुन्थ्यो, र औषधिले केही काम गरेको थिएन। म निको भएको देखेर तिनीहरूले मेरो विश्‍वासमा निकै साथ दिए। तर केही महिनापछि, मेरा श्रीमानले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई बदनाम गर्न, आक्रमण गर्न र दोष लगाउन कम्युनिस्ट पार्टीले अनलाइनमा फिँजाएका केही झूटहरूलाई देखेछन्, र त्यहाँदेखि मेरो विश्‍वासलाई विरोध गर्न थाले। तिनले भने, “सरकार तिम्रो परमेश्‍वरको विरुद्धमा छ। यदि तिमी यसको कारणले पक्राउ पर्‍यौ भने, यसले हाम्रो छोराको करियरमा असर गर्न सक्छ। तिमीले यसलाई छोड्नुपर्छ।” एकपटक, म भर्खरै सुसमाचार प्रचार गरेर आएकी थिएँ, त्यसबेला तिनले अँध्यारो अनुहार लगाउँदै भने, “राष्ट्रिय सुरक्षा ब्रिगेडले मलाई कल गरेर तिमी विश्‍वासी हौ कि होइनौ, हौ भने, तिमीले परमेश्‍वरसम्‍बन्धी तिम्रा पुस्तक-पुस्तिकाहरू बुझाउनुपर्छ भनेर भन्यो। तिनीहरूले मलाई एक चाङ फोटोहरूमा भएका मानिसहरूलाई सनाखत गर्न पनि लगाए। तिमीले विश्‍वास गरिरह्यौ भने तिमी अवश्य नै पक्राउ पर्नेछौ।” मैले यस्तो जवाफ दिएँ, “परमेश्‍वरमा विश्‍वास गर्नु जीवनको सही मार्ग हो, र मैले कुनै पनि गैरकानुनी काम गरेकी छैनँ। तिनीहरूसँग कुनै अधिकार छैन!” तिनले भने, “तिमी साह्रै सोझी छौ! चिनियाँ कम्युनिस्ट पार्टीले विशेष गरी तिमी विश्‍वासीहरूलाई हैरान पार्ने गर्छ। तिमीले विश्‍वास गरिरह्यौ भने, तिनीहरूले तिमीलाई पक्राउ गरेर पिट्छन्, त्यसपछि तिनीहरू कति निर्दयी छन् भन्‍ने कुरा तिमीले देख्‍नेछौ। तिमीले अबदेखि विश्‍वास गर्नु हुँदैन!” मेरा श्रीमानले मेरो विश्‍वासको विरोध गर्न थालेपछि, यो मार्गमा हिँड्न अवश्य नै कठिन हुनेथियो। मैले हृदयदेखि परमेश्‍वरलाई प्रार्थना गरेँ र अगाडिको मार्गमा अगुवाइ मागेँ। मेरा श्रीमानले मलाई जसरी बाधा दिए पनि, म आफ्नो विश्‍वासलाई कहिल्यै त्याग्‍नेछैनँ भनेर पनि मैले सङ्कल्प गरेँ।

डिसेम्‍बर २०१२ को एक दिन, मैले सुसमाचार प्रचार गरेको कुरा एक जना दुष्ट व्यक्तिले रिपोर्ट गरेको कारण मलाई पक्राउ गरेर थुनामा राखियो। तिनीहरूले मलाई रिहाइ गर्ने दिन एक जना प्रहरीले भने, “घर गएपछि, तपाईंले आफ्‍नो विश्‍वास छोडिदिनु नै उचित हुन्छ। त्यसो गर्नुभएन भने, तपाईं पक्राउ पर्नुभएपछि तपाईंलाई अवश्य नै जेलसजाय हुनेछ!” लगभग आधा घण्टापछि, मेरा श्रीमान रिसाएर भयानक अनुहार बनाउँदै मलाई लिन आए। तिनी सीधै प्रहरी कार्यालय गए। त्यहाँ के कुरा भयो मलाई थाहा भएन। घर आइपुगेपछि, मैले मेरा दाजु, दिदी, र जेठाजु सबै आँगनमा उभिरहेका देखेँ। मेरा दाजु प्रदेश-तहका नेता थिए, र तिनले मण्डलीलाई दोष दिने र निन्दा गर्ने कम्युनिस्ट पार्टीका सबै किसिमका अनलाइन झूटहरू देखेका थिए। तिनले मलाई मेरो विश्‍वास त्याग्‍न लगाउन फकाउने प्रयास गरे, र मैले विश्वास त्यागिनँ भने, यसमा मेरो छोरा मुछिनेछ, र मैले तिनलाई पनि यसमा मुछेर तिनले आफ्नो अधिकारीको रूपमा रहेको पद गुमाउनुपर्नेछ भनेर भने। तिनीहरू निश्चय नै मलाई मेरो विश्‍वास त्याग्‍न लगाउन आएका हुन् भन्‍ने कुरा मलाई थाहा भयो, त्यसकारण मैले यी बाधाहरूबाट रक्षा गर्नुहोस् भनेर परमेश्‍वरलाई अनुरोध गर्दै छोटो प्रार्थना गरेँ। मेरा दाजुले मुस्कुराउँदै भने, “तैँले यो परमेश्‍वरको कुरा छोड्नुपर्छ। घरमै बस्, समस्यामा नफँस्। आफ्‍नो परिवारको राम्रो हेरचाह गर्नु नै तैँले गर्न सक्‍ने सबैभन्दा राम्रो कुरा हो। तेरो छोराको राम्रो जागिर छ, र तँ यसमा लागिरहिस् भने त्यो खतरामा पर्नेछ। तिनले तँलाई सधैँको लागि घृणा गर्नेछन्।” त्यसपछि मेरा जेठाजुले हात हल्‍लाउँदै मलाई चिच्याएर भने, “परमेश्‍वरमा विश्‍वास गर्ने अरे? परमेश्‍वर कहाँ छ? मलाई परमेश्‍वरमा विश्‍वास छैन र पनि पूर्ण रूपमा सुखी जीवन पाएको छु!” त्यसपछि मेरा श्रीमानले रिसाउँदै भने, “हाम्रो छोरालाई राम्रो जागिर पाउन र पहिचान पाउन सजिलो भएको थिएन। तिम्रो विश्‍वासको कारण त्यसले जागिर गुमायो भने के गर्ने?” मेरी दिदीले मकहाँ आएर मलाई दबाब दिँदै भनिन्, “तैँले यो कुरालाई छोडिदिनुपर्छ। तेरो श्रीमानले तँलाई कति राम्रो गर्छ र तेरो छोराले राम्रो जागिर पाएको छ। त्यति भए पुग्नुपर्ने हो। आफ्‍नो परिवारको राम्रो हेरचाह गर् न।” यो सबै सुन्दा मैले सोचेँ, “मेरा श्रीमान र मैले हाम्रो छोराको शिक्षाको लागि पैसा कमाउन कति कडा परिश्रम गर्‍यौँ, र अहिले उसले सुख पाएको छ, जुन सजिलो काम थिएन। चिनियाँ कम्युनिस्ट पार्टीले मलाई धम्की दिएर परमेश्‍वरलाई धोका दिन लगाउन मेरो छोराको जागिरलाई प्रयोग गरिरहेको छ, र यसको कारण उसले साँच्‍चै जागिर गुमायो भने, के उसले बाँकी जीवनभरि मलाई घृणा गर्नेछैन र?” तर मैले आफ्नो विश्‍वास त्यागेको भए, त्यो त परमेश्‍वरलाई धोका दिनु हुनेथियो! मैले विश्‍वासीको हैसियतमा केही सत्यताहरू सिकेकी थिएँ, र सृष्टि गरिएको प्राणीको रूपमा परमेश्‍वरको आराधना गर्नु पूर्णतया स्वाभाविक र जायज कुरा हो, र यो हिँड्नुपर्ने सही मार्ग हो भन्‍ने मलाई थाहा थियो। परमेश्‍वरले मेरा दुखाइहरूलाई निको पार्नुभएको थियो। परमेश्‍वरले दिनुभएका यति धेरै आशिषहरूको आनन्द लिइसकेपछि म त्यति विवेकहीन बन्‍नु हुँदैनथियो। त्यसैले, मैले मनमनै परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, मेरो परिवारले मलाई विश्‍वास त्याग्‍न लगाउने प्रयास गरिरहेको छ, र मलाई नरमाइलो लागिरहेको छ। बिन्ती छ मलाई विश्‍वास र बल दिनुहोस्।” त्यसपछि मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “परमेश्‍वरले मानिसहरूभित्र गर्ने कार्यको प्रत्येक चरणमा, बाहिरी रूपमा यो मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानवको बन्दोबस्त वा हस्तक्षेपबाट जन्मेको जस्तो देखिन्छ। तर पर्दापछाडि, कार्यको प्रत्येक चरण, र जे कुरा पनि हुन्छ, त्यो शैतानले परमेश्‍वरसँग थापेको बाजी हो, र यसका लागि मानिसहरूले परमेश्‍वरको साक्षी दिन दह्रिलो भएर खडा हुनु आवश्यक हुन्छ। उदाहरणको लागि अय्यूबलाई परीक्षा गरिएको घटनालाई लिऊँ: पर्दापछाडि शैतानले परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूबलाई जे भयो त्यो मानिसहरूका कार्यहरू र मानिसहरूको हस्तक्षेप थियो। तिमीहरूमा परमेश्‍वरले गर्ने कार्यको प्रत्येक कदमको पछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—पछाडिपट्टि यो सबै युद्ध हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो)। परिवार मेरो विरुद्धमा एकजुट भएर लागिपर्नुको पछाडि वास्तवमा शैतानले मलाई प्रलोभनमा पारिरहेको र आक्रमण गरिरहेको हो भन्‍ने मलाई थाहा भयो। मेरो परिवार पार्टीका अफवाह र झूटहरूको धोकामा परेको थियो र मलाई परमेश्‍वरलाई धोका दिन लगाउनका लागि धम्की दिन मेरो छोराको जागिरलाई प्रयोग गरिरहेको थियो। म शैतानको चालमा फँस्नु हुँदैनथियो, र परमेश्‍वरको लागि गवाहीको रूपमा खडा हुनुपर्थ्यो। मेरो छोराले पाएको जागिर पूर्णरूपले परमेश्‍वरको हातमा रहेको र उहाँले नै मिलाउनुभएको थियो। कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैनथियो। त्यसकारण मैले भनेँ, “परमेश्‍वरमा विश्‍वास गर्नु सही र उचित कुरा हो, र यो जीवनको सही मार्ग हो, र मैले कुनै पनि कानुन तोडेकी छैनँ। कम्युनिस्ट पार्टीले मलाई पक्रिनु र तपाईंहरूलाई यसमा मुछ्नु पार्टीको आफ्‍नै दुष्टता हो। तपाईंहरूले यसको पछि लागेर मलाई दमन गर्नु हुँदैन वा मेरो विश्‍वासको मार्गमा खडा हुनु हुँदैन। कुरा तपाईंहरू सबैलाई थाहा छ, मैले परमेश्‍वरमा विश्‍वास गर्नुभन्दा पहिले, मेरो दुखाइ यति चरम थियो कि म आफ्‍नो हेरचाहसमेत गर्न सक्दिनथिएँ। तर विश्‍वासमा आएपछि म पूर्ण रूपमा निको भएँ, र यो सबै परमेश्‍वरको अनुग्रहले भएको थियो। यदि मैले परमेश्‍वरलाई धोका दिएँ भने, के ममा विवेकसमेत बाँकी हुन्छ र? विश्‍वासमा आएपछि म पूर्ण रूपमा निको भएकी मात्र होइन, मैले कैयौँ सत्यताहरू पनि बुझेकी छु, र मेरो हृदय भरिएको छ, र मैले यति धेरै आनन्द अनुभव गर्ने गरेकी छु। यी सबै अत्यन्तै सुन्दर कुराहरू हुन्। तर तपाईंहरू यो कुरा बुझ्नुहुन्‍न, र कम्युनिस्ट पार्टीको पक्षमा उभिनुहुन्छ र मेरो विश्‍वासको विरोध गर्नुहुन्छ। तपाईंहरू भ्रमित हुनुहुन्छ, र सही र गलत कुराहरू छुट्याउन सक्‍नुहुन्‍न। सर्वशक्तिमान्‌ परमेश्‍वर साँचो परमेश्‍वर, अनि आउनुभएका मुक्तिदाता हुनुहुन्छ। विपत्तिहरू झन्-झन् ठूला भइरहेका छन्, र सर्वशक्तिमान्‌ परमेश्‍वरले एकदमै धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। उहाँले मानवजातिलाई पाप र विपत्तिहरूबाट मुक्ति दिन त्यसो गर्नुभएको हो, ताकि यी विपत्तिहरूको बीचमा हामीले उहाँको सुरक्षा पाएर बच्न सकौँ र उहाँको राज्यमा प्रवेश गर्न सकौँ। यदि म कम्युनिस्ट पार्टीको सतावटदेखि डराएर आफ्नो विश्‍वासबाट टाढिएँ भने, मैले मुक्ति पाउने मौका गुमाउनेछु। तपाईंहरूले मलाई जति विरोध गर्नुभए पनि, म आफ्नो विश्‍वासको मार्गप्रति प्रतिवद्ध छु।” मेरा श्रीमानले पूर्ण आवेशमा आएर मलाई औँल्याउँदै भने, “तँ खतम भइस्!” त्यसपछि तिनी र दाजुले एकअर्कालाई हेराहेर गरे र सँगै घरपछाडि गए। म अन्योलमा थिएँ। तिनीहरूले यस्तो लुकेर के कुरा गरिरहेका थिए? एकछिन पछि, मेरा दाजु फर्केर आए र मेरी दिदीलाई पुलुक्‍क हेरेर रहस्यमय तरिकाले मुस्कुराउँदै भने, “जाऊँ केही खानेकुरा खाऊँ!” मेरी दिदी र तिनका जुवाइँले आएर मेरो दुवै हात एक-एक पट्टि समाउँदै मलाई कारतिर लगे। मलाई केही गडबड छ जस्तो लाग्यो। मैले तिनीहरूका हात झट्काएर निकालेँ र मलाई जान मन छैन भनेर भनेँ, तर तिनीहरूले मलाई ठेलेर कारभित्र हाले। आधा घण्टापछि कार रोकियो, र अचम्‍मको कुरो, हामी त मानसिक अस्पतालमा पो आएका रहेछौँ। मेरा दाजु र श्रीमान कारबाट ओर्लिए। म भाग्‍न चाहन्थेँ, तर मलाई भित्रै थुनिएको थियो। मैले तिनीहरू अस्पतालको कार्यालयतिर गइरहेको देखेँ र मलाई धेरै रिस उठ्यो र घृणा जाग्यो। तिनीहरूले मलाई यस्तो स्थानमा ल्याएको छ भन्‍ने कुरा मैले विश्‍वास गर्नै सकिनँ। तिनीहरू कति निर्दयी रहेछन्। प्रियजन भनौँदाहरू! मैले यसभन्दा अगाडि भएका सबै कुरा सोचेँ, मेरा श्रीमान मलाई प्रहरी चौकीमा लिन आउँदा तिनले प्रहरीसँग एकलै केहीबेर कुरा गरेका थिए, र मेरो परिवारले खाना खान जानुपर्छ भन्दा उनीहरूले एकअर्कालाई हेराहेर गरेका थिए। यो पक्‍कै पनि प्रहरीले बनाएको योजना हुन सक्छ भन्‍ने मलाई लाग्यो। तिनीहरूले मलाई परमेश्‍वरलाई धोका दिन लगाउनको लागि यसो गरिरहेका थिए। मलाई साह्रै नमिठो लाग्यो र आँखाबाट आँसु झऱ्यो। मैले रुष्ट हुँदै मेरी दिदीलाई भनेँ, “मैले परमेश्‍वरमा विश्‍वास गरेकै कारण तपाईंहरूले मलाई यहाँ कष्ट भोग्‍न ल्याइनुभएको छ। पागल त तपाईंहरू पो हुनुहुन्छ! तपाईंहरूले जे गरिरहनुभएको छ त्यो स्वर्गप्रति अपमान र अनुचित हो। तपाईंहरूले यसको लागि सजाय पाउनुहुनेछ!” ठीक त्यही बेला, एक दुई जना कर्मचारीहरू मलाई बाँध्‍ने केही डोरीहरू लिएर अस्पतालबाट निस्केर आए। मेरा श्रीमान र दाजु एक शब्‍द पनि नबोली मलाई हेर्दै उभिरहे। मलाई चित्त दुख्यो र म हताश भएँ। मेरा दाजु र श्रीमानले आफ्‍ना हितहरूको रक्षा गर्न, मेरो मामिलामा मुछिनबाट बच्‍न वास्तवमा कम्युनिस्ट पार्टीका झूटहरू सुनेर म एकदमै सकुशल भए पनि, म मर्छु कि बाँच्‍छु भन्‍ने विचार नै नगरी मलाई कष्ट दिइने मानसिक अस्पतालमा राख्छन् भन्‍ने कुरा मैले सपनामा समेत कहिल्यै कल्‍पना गरेकी थिइनँ। तिनीहरू प्रियजन छँदै थिएनन्—दियाबलस थिए! त्यो सोच्दा, मैले आँसु रोक्‍नै सकिनँ। मलाई तिनीहरूलाई हेर्नसमेत मन लागेन। मैले रुष्ट हुँदै ती कर्मचारीहरूलाई भनेँ, “मलाई केही पनि भएको छैन! तिनीहरूले मलाई झुक्‍काएर यहाँ ल्याएका हुन् र मैले परमेश्‍वरमा विश्‍वास गरेको हुनाले तिनीहरूले मलाई मानसिक रोगीजस्तो व्यवहार गरिरहेका छन्। तपाईंहरूले यसबारे जाँचसमेत गर्नुभएको छैन। किन मलाई बाँधेको?” तर तिनीहरूले मेरो कुरा सुन्दै सुनेनन्। तिनीहरूले मलाई अत्यन्तै गम्‍भीर बिरामीको रूपमा भर्ना गरे र वार्ड १ मा थुनेर राखे।

वार्ड १ का सबै करिडोर र झ्याल-ढोकामा फलामका बार लगाइएका थिए। मेरो कोठा ४०-५० वर्ग फिटको थियो र यसमा केही पनि थिएन। एउटा खाट मात्रै राखिएको थियो जसमा पिसाबको दागैदाग भएको फोहोर सिरक थियो। पिसाब ठसठस गन्‍हाउँथ्यो। हलमा स्‍त्री-पुरुष दुवैको लागि एउटा बाथरूम थियो, जसमा ताला लगाइएको हुन्थ्यो। हरेकपटक बाथरूम जाँदा कुनै कर्मचारीलाई खोज्नुपर्थ्यो, र तिनीहरू व्यस्त छन् भने, ढोका खोल्दैनथिए। मैले पिसाब रोकेर राख्नुपर्थ्यो। अस्पतालमा लगातार मानसिक रोगीहरू चिच्याएको आवाज गुञ्जिरहन्थ्यो। कहिलेकहीँ तिनीहरू गीत गाउँथे वा रुन्थे, वा चिच्याउन थाल्थे, “मलाई छोडिदेऊ! मलाई छोडिदेऊ!” तिनीहरूले फलामका बारमा हिर्काएको-हिर्काएकै पनि गर्थे। सम्पूर्ण ठाउँ नै बिलौना गरिरहेका भूतहरू र कराइरहेका ब्‍वाँसाहरूले भरिएको जस्तो लाग्थ्यो। यसले गर्दा मलाई साह्रै डर लाग्थ्यो, “मानिसलाई राख्‍ने यो कस्तो ठाउँ हो? मलाई प्रहरीले रिहाइ गर्नेबित्तिकै, मेरो आफ्‍नै परिवारले मलाई पागलखानामा कष्ट भोगाउन लिएर आएको थियो। यो त दुखेको घाउमा नून-चूक छर्कनुजस्तै थियो। म कसरी यस्तो अवस्थामा जिउने? यदि चिनियाँ कम्युनिस्ट पार्टीले नसताएको भए, मेरो परिवारले मसँग यस्तो व्यवहार गर्नेथिएन।” मैले यसबारे जति विचार गरेँ मलाई त्यति नै नरमाइलो लाग्यो, र दुःख लागेरर रुन थालेँ। रुँदै गर्दा, मलाई भेलाहरूमा हामी दाजुभाइ-दिदीबहिनीहरूले भजन गाउँदै परमेश्‍वरलाई प्रशंसा गरेको कुराबारे सोचेँ। मलाई तिनीहरूसँगसँगै परमेश्‍वरका वचनहरू पढ्न र आफ्‍नो कर्तव्य पूरा गर्न धेरै मन लाग्यो, तर म बाहिर निस्कन सक्दिनथिएँ, र मलाई त्यहाँ कति समयसम्‍म राखिन्छ थाहा थिएन। मेरो कष्ट कहिले समाप्त हुनेथियो? मैले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्‍वर, मलाई मानसिक रोगीहरूसँग थुनेर राखिएको छ। म अत्यन्तै दयनीय हालतमा छु। हे परमेश्‍वर, यसलाई कसरी पार गर्ने, मलाई थाहा छैन। बिन्ती छ मलाई अगुवाइ गर्नुहोस्।” प्रार्थना गरिसकेपछि, मलाई परमेश्‍वरका वचनहरूको एउटा खण्ड याद आयो: “परमेश्‍वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरै वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। चीनमा विश्‍वासीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको धेरै सतावटबाट गुज्रनैपर्छ, किनभने यो पार्टी परमेश्‍वरको मरणशील शत्रु हो, र यसले मानिसहरूलाई विश्‍वास गर्न र परमेश्‍वरलाई पछ्याउन दिनेछैन भन्‍ने मैले बुझेँ। पार्टीले सत्यता नबुझेका मानिसहरूलाई छल गर्न विश्‍वासीहरूलाई चरम रूपमा पक्राउ गरिरहेको छ र सताइरहेको छ, अनि अफवाह र झूटहरू फैलाइरहेको छ, र सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई निन्दा गरिरहेको छ। यसले विश्‍वासीहरूको परिवारका सदस्यहरूलाई मुछ्ने गर्छ, तिनीहरूको जागिर र करियरका सम्‍भावनाहरूलाई नष्ट गर्छ, परिवारमा विश्‍वासीहरूप्रति घृणा पैदा गरिदिन्छ, र विश्‍वासीहरूलाई परमेश्‍वरलाई धोका दिन बाध्य गराउनका लागि तिनीहरूको परिवारलाई प्रयोग गर्छ। पार्टी घृणित रूपमा दुष्ट छ! पार्टीको यस्तो सतावटबाट गुज्रँदा मलाई ठूलो पीडा भए पनि, यसले गर्दा मैले पार्टीको दुष्ट सारलाई बुझ्न सकेँ, र यो त परमेश्‍वरले मेरो विश्‍वासको जाँच पनि गरिरहनुभएको थियो। मैले परमेश्‍वरमा भरोसा गरेर उहाँको गवाहीको रूपमा खडा हुनुपर्थ्यो। यो सोचेर मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मेरो साथमा रहनुहोस् अनि शैतान र दुष्ट आत्‍माहरूको यो कष्टबाट मलाई रक्षा गर्नुहोस् भनेर अनुरोध गरेँ। ठूलो रातो अजिङ्गरले मलाई जति धेरै दमन गर्थ्यो, परमेश्‍वरमाथिको मेरो विश्‍वास त्यति नै बलियो हुनेथियो।

भोलिपल्ट, एक जना कर्मचारीले मलाई खुवाउन औषधी लिएर आए। मैले क्रोधित हुँदै तिनलाई भनेँ, “मलाई केही पनि भएको छैन। म पूर्ण रूपमा सामान्य छु, र म यो खानेछैनँ!” म लिँदिनँ भनेर मैले जिद्दी गरेँ। तेस्रो दिन, गम्भीर हालतको व्यक्तिलाई भर्ना गरियो, र वार्ड १ मा फाल्तु बेड नभएकोले मलाई वार्ड ३ मा सारियो। त्यो वार्डमा त्यति कडाइ गरिँदैनथियो—म विभिन्‍न क्रियाकलापहरू गर्न कोठाबाट बाहिर जान सक्थेँ। कतिपय बिरामीहरूका पाइन्ट यति साह्रो च्यातिएको थियो कि तिनीहरूका नितम्ब देखिन्थ्यो, तिनीहरूको अनुहार र घाँटी मैला थियो, र तिनीहरूका कपाल चराको गुँडजस्तै जिङग्रिङ्ग थिए। कतिपय मानिसहरूको लुगा यति फोहोर भएको थियो कि ती च्याप-च्याप देखिन्थे—त्यो देख्दा वाकवाकी नै लाग्थ्यो। त्यो वार्डमा मबाहेक अरू दुई जना थिए। एक जना एकोहोरो हेर्ने र केही हाउभाउ नदेखाउने किसिमका थिइन्, र कहिलेकहीँ आफै के-के बरबराउँथिन्। अर्को चाहिँ व्यक्ति करिडोरमा हरेक बिहान चुरोट तान्दै हिँडेको-हिँडेकै गर्थिन्। तिनीहरूलाई देख्दा मलाई निकै डर लाग्थ्यो। तिनीहरूलाई रोगले चाप्दा मैले ध्यान नदिएको बेला कतै तिनीहरूले मलाई हिर्काउलान्, वा मेरो कपाल जगट्याउलान्, वा सुतेको बेला तिनीहरूले मलाई घाँटी ङ्याकेर मार्लान् भन्‍ने यति डर लाग्थ्यो कि राती म कहिल्यै पनि गहिरो निदाउँदिनथिएँ। हरेकपटक, म परमेश्‍वरलाई बारम्‍बार मनमनै प्रार्थना गर्थेँ, र सुरक्षा माग्थेँ। त्यसरी मात्रै म अलि-अलि भए पनि आरामसाथ सुत्‍न सक्थेँ। हरेक दिन कर्मचारी आएर हामीलाई पालैपालो औषधी दिन्थे। तिनीहरूले हामीलाई हेर्थे, त्यसकारण मैले औषधी खानुपर्थ्यो। कहिलेकहीँ तिनीहरूले नहरेको बेला म फ्याँकिदिन्थेँ। अर्को बिरामीले यो देखेर मलाई यसो भने, “तिमीले त्यसो गर्नु हुँदैन। एकपटक मैले औषधि फ्याँकिरहेको बेला कर्मचारीले देखेछ। तिनले मलाई एक-दुई चड्कन हाने, त्यसपछि तिनले प्‍लास्टिकको नली मेरो नाकमा घुसारेर त्यहाँबाट जबरजस्ती औषधि खन्याइदिए। निकै दुखेको थियो।” त्यस महिलाले मैले औषधी फ्याँकेको कुरा कर्मचारीहरूलाई बताइन् कि बताइनन्, थाहा छैन, तर त्यहाँदेखि अस्पतालका कर्मचारीहरूले बिरामीहरूले औषधी खाँदा अझै ध्यान दिएर हेर्न थाले। कर्मचारीहरू हरेक दिन दुई फिट अल्गो चारकुने टेबलमा उभिएर हामीलाई निगरानी गर्थे, हामीलाई मुख खोल्‍न लगाउँथे र हामीले औषधि निल्यौँ कि निलेनौँ भनेर टर्चलाइट लगाएर चेक गर्थे। मैले चक्कीहरू निल्‍नेबाहेक कुनै विकल्‍प थिएन।

केही दिनपछि, अस्पताल प्रबन्धक कोठाहरू निरीक्षण गर्न आए र मलाई अचानक सोधे, “के महाविपत्ति एक्‍काइसौँ शताब्दीमा आउँछ?” मलाई अनौठो लाग्यो र मैले भनेँ, “कहिले विपत्ति आउनेछ भनेर परमेश्‍वरले मात्रै भन्‍न सक्‍नुहुन्छ।” तिनले यस्तो प्रतिक्रिया दिए, “साँच्‍चै तिमी बिरामी रहिछौ। हामीले तिम्रो औषधीको खुराक बढाउनुपर्छ।” त्यसपछि, मैले एउटा होइन दुईवटा चक्की लिनुपर्‍यो। म क्रोधित भएँ। मलाई वास्तवमै केही भएको छ कि छैन भन्‍ने कुरा प्रबन्धकलाई थाहा थिएन, तर त्यतिकै मेरो औषधीको खुराक दुईगुणा बढाइदिए। तिनलाई मानव जीवनको कुनै वास्ता थिएन। अस्पताल त रोग निको पार्ने ठाउँ हुनुपर्ने हो, तर यो त कम्युनिस्ट पार्टीले इसाईहरूलाई सताउने स्थान बनेको थियो। तिनीहरूले मलाई मेरो विश्‍वासकै कारण अहित चिताउँदै हानि गरिरहेका थिए। मलाई पार्टीप्रति पूर्ण रूपमा घृणा जाग्यो।

दश दिनसम्‍म औषधी सेवन गरेपछि, मलाई निकै कमजोरी महसुस हुन थाल्यो, र हिँड्नसमेत गाह्रो भयो। मैले केही दिनदेखि औषधि मात्र लिइरहेको हुनाले म यस्तो अवस्थामा पुगिसकेकी छु भनेर सोचेँ। यदि मैले औषधि लिइरहेँ भने, म सुरुमा सकुशल भए पनि यसले मलाई बिरामी बनाउँछ भन्‍ने मलाई चिन्ता लाग्यो। र हरेक दिन यी मानसिक रोगीहरूसँग उठबस गर्दा, दयनीय र निराश भएर जिउँदा, यो कष्टको कारण मलाई मानसिक रोग लाग्‍न लागेको छ जस्तो लाग्यो। मैले त्यो वातावरणमा परमेश्‍वरलाई धेरै प्रार्थना गरिरहेकी थिएँ अनि अगुवाइ र विश्वास मागिरहेकी थिएँ। मलाई याद छ, एकपटक प्रार्थना गरिसकेपछि, प्रभु येशूले लाजरसलाई चिहानबाट उठाउनुभएको घटना मलाई याद आयो। तिनी मरेको चार दिन भएको थियो, र तिनको शरीर गन्‍हाउन थालिसकेको थियो, तर परमेश्वरले केही शब्‍द बोलर नै तिनलाई मृत अवस्थाबाट फर्काएर ल्याउनुभएको थियो। परमेश्‍वर सर्वशक्तिमान्‌ हुनुहुन्छ। मानवजातिको भाग्य उहाँकै हातमा छ। के मेरो जीवन पनि परमेश्‍वरको हातमा छैन र? मलाई परमेश्‍वरले भन्‍नुभएको केही कुरा याद आयो: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १)। त्यो औषधीले मलाई पागल बनाउनु-नबनाउनु र म कहिले बाहिर निस्कनेछु भन्‍ने कुरा सबै परमेश्‍वरको हातमा थियो। मैले विश्‍वास गरेर अनि परमेश्‍वरमा भरोसा राखेर यसलाई पार गर्नुपर्थ्यो। यो सोचेपछि मैले विश्‍वास पाएँ र त्यसउप्रान्त मलाई त्यति धेरै डर लागेन।

केही हप्तापछि एक साँझ, मैले म चाँडै बाहिर निस्कन सक्छु कि भनेर बुझ्न मैले मेरो परिवारलाई कल गर्ने विचार गरेँ। भोलि बिहान, मेरा श्रीमान अस्पताल आए। मैले तिनलाई यो ठाउँ मान्छेको लागि उचित छैन, यहाँ लामो समय बस्यो भने सद्दे मान्छे पनि बौलाउँछ, र मलाई यहाँबाट लैजानुहोस् भनेर भनेँ। तिनले यसबारे छलफल गर्न मेरा दाजुलाई फोन गरे, र मैले फोनमा मेरा दाजुले यसो भनेको सुन्‍न सकेँ, “त्यसले उसको विश्‍वास छोड्नैपर्छ! पहिले त्यसलाई विश्‍वास त्यागको ग्यारेन्टीपत्रमा हस्ताक्षर गर्न लगाउनुहोस्, त्यसपछि त्यसलाई निकाल्‍न सकिन्छ। त्यसले विश्‍वास गरिरहन्छ भने त्यो त्यहीँ सडिरहोस्।” मेरा दाजुले यस्तो कुरा भन्छन् भनेर मैले कहिल्यै कल्‍पना गरेकी थिइनँ। त्यो निकै डरलाग्दो कुरा थियो। यो कस्तो परिवार हो? यो त बस दियाबलस हो! मेरा श्रीमानको मलाई निकाल्‍ने कुनै अभिप्राय नरहेको देखेपछि, मैले सोचेँ, “यदि तिनले मलाई लत्याउँछन् र कहिल्यै रिहाइ नहुने गरी परित्याग गर्छन् भने, मैले कसरी आफ्नो विश्‍वास अभ्यास गर्ने?” त्यसकारण मैले सहमतिको नाटक गरेँ। तिनले मलाई घर लगेपछि, हरेक दिन मेरो पिछा गरिरहे। तिनले मलाई भेलाहरूमा जान वा परमेश्‍वरका वचनहरू पढ्न दिँदैनथिए। कहिलेकाहीँ दिउँसो आराम गर्दा पनि मैले परमेश्‍वरका वचनहरू पो पढिरहेकी छु कि भनेर मलाई हेर्न आउँथे। मैले गर्न सक्ने भनेकै तिनले ध्यान नदिएको बेला मेरो एमपीफाइभ प्लेयरमा परमेश्‍वरका वचनहरू लुकिछिपी पढ्नु थियो। त्यसपछि एक बिहान मैले यसलाई चार्ज गरिरहेको बेला तिनले पक्रिहाले। तिनले त्यसलाई खोसे र रिसाउँदै चिच्याए, “अझै कसरी विश्‍वास गर्न सक्छेस्? यदि तँ पक्राउ परेर जेल गइस्, अनि तेरो कारणले हाम्रो छोराले जागिर गुमायो भने, तैँले कसरी उसलाई मुख देखाउन सक्छेस्? तँलाई उप्रान्त परमेश्‍वरलाई पछ्याउने अनुमति छैन!” तिनले यसो भन्दै मलाई जोडले धकेले र मेरो टाउको बेडको एक छेउमा ड्याङ्ग ठोक्‍कियो। मैले सोचेँ: मैले परमेश्‍वरलाई विश्‍वास गरेकी मात्र त हुँ। मैले कुनै गलत काम गरेकी छैनँ, तर तिनले मलाई यस्तो व्यवहार गरिरहेका छन्। तिनले मलाई पागलखानामा हालेका मात्रै होइनन्, तर अहिले मलाई हात पनि उठाइरहेका छन्, र मलाई परमेश्‍वरका वचनहरू पढ्न दिँदैनन्। मलाई झन्-झन् नमिठो लागेपछि, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर! मेरा श्रीमानले मलाई अत्यन्तै दबाब दिइरहेका छन्, र म कमजोर भएकी छु। यस मार्गमा कसरी रहिरहने मलाई थाहा छैन। बिन्ती छ, मलाई अगुवाइ गर्नुहोस्!” प्रार्थना गरिसकेपछि, मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “आज धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्‍वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको पारिवारिक जीवन समस्याग्रस्त छ, तिनीहरू परमेश्‍वरका प्रियहरू होइनन् र तिनीहरूका सम्भावनाहरू धमिला छन्। केही मानिसहरूको दुःख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यो परमेश्‍वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायरहरू हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्! परमेश्‍वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्सुक हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्दछ, मानिसको दुःख उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ मानिसको परीक्षा उति नै ठूलो हुन्छ। … यसैले, यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्)। परमेश्‍वरका वचनहरू मनन गरेर मलाई आफूले सामना गरेका दबाब र सङ्कष्टहरूले मलाई कष्टमा पारिरहेका भए पनि, यी परिस्थितिहरूको प्रकटीकरणबिना मैले आफ्नो साँचो कद देख्‍नेथिइनँ, न त साँचो विश्‍वास नै प्राप्त गर्न सक्नेथिएँ भन्ने कुरा स्पष्ट भयो। यी कठिनाइहरू भोग्‍नुको मूल्य थियो। तर मैले परमेश्‍वरको इच्‍छालाई बुझिनँ, र कष्ट भोग्‍न नसकेको कारण म नकारात्मक र कमजोर बनेँ। म कति कायर रहेछु भन्‍ने मलाई थाहा भयो। तथ्यहरू प्रकट भएकाले पनि मैले कतिपय कुरालाई स्पष्‍टसित देखेँ। मेरा श्रीमानले मलाई परमेश्‍वरमाथिको मेरो विश्‍वास त्याग्न दबाब दिनका लागि, म बाँच्‍छु कि मर्छु भन्‍ने वास्ता नगरी आफैले मानसिक अस्पतालमा लगे, र अहिले मलाई कुटपिटसमेत गरिरहेका थिए—तिनी परमेश्‍वरलाई घृणा गर्ने र परमेश्‍वरविरोधी दानव हुन् भन्‍ने मैले साँचो रूपमा देखेँ। परमेश्‍वरले भन्‍नुभएको यो कुरा मलाई याद आयो: “विश्‍वासी र गैरविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। मेरा श्रीमान र म फरक-फरक मार्गमा हिँड्ने दुई फरक-फरक प्रकारका मानिस थियौँ। मेरा श्रीमानले मलाई जसरी दमन गरे पनि म परमेश्‍वरलाई पछ्याइरहनेवाला थिएँ। म उप्रान्त तिनले रोक्दा रोकिनेवाला थिइनँ। त्यसकारण मैले तिनलाई भनेँ, “हामी छुटनाम गरौँ। तपाईं पैसाको पछि लाग्दै सांसारिक मार्गमा हिँडिरहनुभएको छ, र म विश्‍वासको मार्गमा छु। हामी फरक-फरक मार्गमा छौँ र हाम्रो कुनै पनि कुरा मिल्दैन। तपाईं हाम्रो छोराको निम्ति डराउनुभएको छ, त्यसकारण हामी छुटनाम गरौँ। त्यसपछि मेरो विश्‍वासले तपाईंहरू दुई जनालाई असर गर्नेछैन। मलाई तपाईंको कुनै सम्पत्ति चाहिँदैन। मलाई बस्‍नलाई एउटा कोठा भए पुग्छ। परमेश्‍वरलाई पछ्याउन पाएँ भने, मलाई पुगिहाल्यो।” तिनले भने, “मलाई थाहा छ, तिमी असल स्‍त्री हौ। म छुटनाम चाहन्‍नँ।” मैले तिनलाई भनेँ, “छुटनाम चाहनुहुन्‍न भने, मलाई स्वतन्त्रता दिनुहोस्। म विश्‍वासी हुँ, र तपाईंले मलाई बाधा दिन पाउनुहुन्‍न।” तिनले भने, “तिमीले स्वतन्त्रता पाउनेछौ, तर पहिला तिमीले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न छोड्छु भनेर सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्छ!” मैले भनेँ, “मैले आफ्नो विश्‍वास कायम राख्नुपर्छ—म त्यो सहमतिपत्रमा हस्ताक्षर गर्न सक्दिनँ।” तिनी अवाक् भए। त्यसपछि, मलाई विश्‍वास गर्नबाट रोक्‍न सकिँदैन भन्‍ने देखेर, तिनले मलाई आफ्नो विश्‍वासको अभ्यासमा त्यति धेरै बाधा दिएनन्। मैले सामान्य रूपमा मण्डली जीवन जिउन र कर्तव्य पूरा गर्न सकेँ।

केही समय बित्यो। त्यसपछि, एक साँझ, नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने बारेमा छलफल गर्न म नजिकै बस्‍ने एक जना सिस्टरलाई भेट्न गएँ। हामी बस्‍नेबित्तिकै मेरो छोरा आइपुग्यो र उसले सिस्टरलाई क्रोधित हुँदै भन्यो, “मेरी आमालाई धर्म परिवर्तन गराउने तपाईं नै हुनुहुन्छ!” त्यसपछि उसले उनलाई हिर्काउन खोज्यो। मैले उसलाई हतपत च्याप्प समातेर पछि तानेँ। उसले मलाई क्रोधित हुँदै घरमा तानेर ल्यायो र रिसाउँदै भन्यो, “तपाईंले यसलाई छोड्नुपर्छ। तिनीहरूले तपाईंको मण्डलीबारे के भनिरहेका छन् हेर्नुहोस् त!” त्यसपछि उसले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई निन्दा गरिरहेको कम्युनिस्ट पार्टीका केही झूटहरू दोहोऱ्यायो। त्यसपछि, उसले चिच्याउँदै भन्यो, “बुबा, मानसिक अस्पतालमा फोन गरेर उहाँलाई त्यहाँ पठाउनुहोस्!” उसले त्यसो भनेको सुन्दा मलाई मेरो टाउको फुट्लाजस्तै भएको थियो। मेरो छोराले आफ्‍नो जागिरको खातिर आफ्‍नी आमालाई मानसिक अस्पतालमा पठाउँछ होला भन्‍ने मैले कहिल्यै कल्‍पना गरेकी थिइनँ। कति निर्दयी! मेरा श्रीमानले अस्पतालमा फोन गरेको र तिनीहरूले फोनमा सिट खाली छैन भनेको सुनेँ। मेरा श्रीमानले फोन राखे र भने, “पुलिसलाई फोन गरौँ अनि तिनीहरूले यसलाई लैजाऊन्।” मेरो छोराले भने, “उहाँलाई त्यहाँ थुनामा राख्‍नु हुँदैन। हामीले उहाँलाई खरायो पाल्ने गरेको अँध्यारो कोठामा राख्दा कसो होला?” त्यसपछि तिनीहरू दुईले मलाई जबरजस्ती त्यो कोठामा लिएर गए अनि फलामको ढोकामा ताला लगाएर गए। पार्टीको छलमा परेर मेरा श्रीमान र छोरा मप्रति यति क्रूर बनेका देख्दा मलाई निकै नरमाइलो लाग्यो, र कम्युनिस्ट पार्टीप्रति हृदयदेखि नै अझ धेरै घृणा जाग्यो। मलाई परमेश्‍वरका यी वचनहरू याद आए: “हजारौँ वर्षदेखि यो फोहोरको देशको रूपमा रहेको छ। यो असहनीय रूपमा फोहोर छ, प्रचुर दुःख छ, प्रेतहरू छल्दै र धोका दिँदै, आधारहीन आरोपहरू लगाउँदै, निर्दयी र क्रूर हुँदै, यो भूतको सहरलाई कुल्चिमिल्ची गर्दै र त्यसमा लासहरू छरपस्ट छोड्दै अनियन्त्रित हुन्छन्; कुहिएको लासको दुर्गन्धले देशलाई ढाक्छ र हावामा फैलिन्छ, र त्यसलाई कडा सुरक्षामा राखिन्छ। आकाशहरूभन्दा परको संसारलाई कसले देख्न सक्छ? शैतानले मानिसको सम्पूर्ण शरीरलाई कसिलो गरी बाँधेर राख्छ, त्यसले उसका दुवै आँखाहरू ढाकिदिन्छ, र उसका ओठहरू बलियो गरी बन्द गरिदिन्छ। दियाबलसहरूका राजाले हजारौं वर्षदेखि आजको दिनसम्म उधुम मच्चाएको छ, अनि अझै पनि यसले भूतको सहरमाथि ध्यान लाएर हेर्छ, मानौं यो भूतहरूको अभेद्य महल हो…। प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। पार्टीले इसाईहरूलाई पक्राउ गर्छ र सताउँछ, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीबारे सबै किसिमका अफवाह र निन्दाहरू फैलाउँछ र तिनीहरूका परिवारका सदस्यहरूलाई मुछ्ने गर्छ। त्यसैले मेरो परिवार पार्टीको बहकाउमा पर्‍यो र त्यसको पछि लागेर मेरो विश्‍वासमा बाधा दियो, यहाँसम्‍म कि मलाई आफैले मानसिक अस्पतालमा लग्यो, जहाँ मलाई सताइयो, र अहिले तिनीहरूले मलाई थुनेर राखिरहेका थिए। एउटा सुखी परिवार अहिले यो अवस्थामा पुगेको थियो। पार्टी नै वास्तविक खलनायक थियो र मलाई हृदयदेखि नै यो दानवप्रति घृणा जाग्यो। केही बेरपछि, मेरो छोरा स्टूल लिएर आयो र फलामको ढोकाबाहिर बसेर भन्यो, “आमा, तपाईंले परमेश्‍वरमा विश्‍वास गर्न छोड्नुपर्छ। तपाईंले व्यवसाय गर्नुहुँदा धेरै मेहनत गर्नुहुन्थ्यो र मेरो पढाइको पैसा जुटाउन सजिलो थिएन। अहिले म काम गरिरहेको छु र मसँग केही पैसा छ। तपाईंलाई घुम्‍न जान म पैसा दिन्छु, हुँदैन?” उसले यसो भन्दा, यो शैतानको चाल हो भन्‍ने महसुस गरेँ, त्यसकारण मैले उसलाई भनेँ, “म विश्‍वासी हुनुभन्दा पहिले, मलाई पैसा कमाउन मात्रै मन लाग्थ्यो। त्यो जिउने कठिन र थकाइलाग्दो तरिका थियो। अहिले मैले परमेश्‍वरलाई पाएकी छु र केही सत्यता बुझेकी छु, मेरो जीवन झनै स्वतन्त्र र आनन्दमय भएको छ। के तिमीहरू दुईले मलाई त्यतिकै छोडिदिन सक्दैनौ? तैँले मलाई आमा नभने पनि र तेरा बुबाले मलाई छुटनाम गरे पनि म आफ्नो विश्‍वास छोड्दिनँ। म यो मार्गप्रति प्रतिबद्ध छु।” उसले केही पनि जवाफ दिएन, र त्यतिकै त्यहाँबाट गयो। मेरो विश्‍वासलाई दह्रिलो पार्नुभएकोमा म परमेश्‍वरप्रति निकै कृतज्ञ भएँ, र मलाई निकै दृढ र शान्ति महसुस भयो। मैले यो भजन गाउन थालेँ: “सर्वशक्तिमान्‌ साँचो परमेश्‍वर, मेरो हृदय तपाईंकै हो। जेलले मेरो शरीर मात्रै नियन्त्रण गर्न सक्‍ने हो। यसले तपाईंलाई पछ्याउने मेरा पाइला रोक्‍न सक्दैन। कष्टदायी पीडा, अप्ठेरो बाटो छ, तर तपाईंको वचनको अगुवाइले मनमा कुनै डर छैन, तपाईंको प्रेमको साथ हुँदा, मेरो हृदय पूरै तृप्त छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, एउटा पछुतो विहीन निर्णय)। यो भजन गाउँदा, मैले परमेश्‍वर मेरो छेउमा हुनुहुन्छ भन्‍ने महसुस गर्न सकेँ। वरिपरि केही पनि देख्‍न नसकिने सानो कोठामा बस्दासमेत, मलाई दयनीय महसुस भएन। भोलि बिहान, मेरो छोराले अनपेक्षित रूपमा ढोका खोलेर मलाई बाहिर जान दियो, र भन्यो, “आमा, अब हामी तपाईंलाई एकलै छोडिदिनेछौँ। जे मन लाग्छ त्यही गर्न सक्नुहुन्छ।” उसले त्यसो भन्दा, शैतान लाजमा परेको र हारेको छ भन्‍ने मलाई थाहा भयो, र मैले परमेश्‍वरलाई धन्यवाद दिएँ।

कम्युनिस्ट पार्टीको पक्राउ र मेरो परिवारको दमनबाट गुज्रँदा, मैले पार्टीको परमेश्‍वरविरोधी शैतानी सारलाई पूर्ण रूपमा देख्‍न सकेँ। यसले विश्‍वासीहरूलाई पक्राउ गर्छ र सताउँछ अनि मानिसहरूलाई छल गर्न सबै किसिमका अफवाह र झूटहरू फैलाउँछ, जसले गर्दा विश्‍वासीहरूले आफ्‍नो परिवारबाट दबाब र बाधाको सामना गर्नुपर्छ। इसाई परिवारहरूलाई नष्ट गर्ने मुख्य अपराधी यही नै हो। आफ्‍नो हितको लागि, मेरा श्रीमान र छोरा पार्टीको पछि लागे, मेरो विश्‍वासमा दबाब दिए, र म मर्छु कि बाँच्‍छु भन्‍नेसमेत विचारै नगरी मलाई आफैले मानसिक अस्पतालमा राखे। मैले तिनीहरूको सार परमेश्‍वरविरोधी रहेछ भन्‍ने पूर्ण रूपमा देखेँ, र म फेरि तिनीहरूलाई मलाई बाधा दिन कहिल्यै दिनेछैनँ। परमेश्‍वरले मात्र हामीलाई प्रेम गर्नुहुन्छ, र उहाँले मात्रै हामीलाई मुक्ति दिन सक्‍नुहुन्छ भन्‍ने कुरा यो अनुभवबाट मैले देखेकी छु। म सबैभन्दा दयनीय र असहाय अवस्थामा हुँदा, परमेश्वरले मलाई अन्तर्दृष्टि, सान्त्वना र प्रोत्साहन दिन, अनि ती कठिन दिनहरूमा डोर्‍याउन आफ्‍ना वचनहरू प्रयोग गर्नुभयो। परमेश्‍वरको प्रेम मात्रै साँचो प्रेम हो भन्‍ने कुरा अहिले मैले व्यक्तिगत रूपमा अनुभव गरेकी छु। म परमेश्‍वरलाई पछ्याउन र आफ्‍नो कर्तव्य पूरा गर्न इच्छुक छु, र यसमा कहिल्यै पछुतो गर्नेछैनँ।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

सुसमाचार सुनाउँदाको अनुभव

फुसु, दक्षिण कोरिया मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कार्य स्वीकारेपछि सुसमाचार सुनाउन थालें। जस्तै कठिनाइहरू आइपरे तापनि म...

अप्रिय तथ्यलाई कसरी लिने

२०१७ को नोभेम्बरमा मलाई मण्डली अगुवा चुनियो। पहिलो पटक ब्रदर-सिस्टरहरूसँग भेला हुन वा छलफल गर्न सुरु गर्दा म आफ्नो विचार राख्न सक्षम भएँ, र...

आत्मसंरक्षणका परिणामहरू

२०१९ मा हाम्रो मण्डलीको काम अनुगमन गर्न सिस्टर गुवानलाई सरुवा गरिएको थियो। मैले उनलाई दुई वर्षपहिले भेटेकी थिएँ, र यसपटक उनीसँग कुराकानी...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्