स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको समर्पणता नै ख्रीष्टको सार हो
देहधारी परमेश्वरलाई ख्रीष्ट भनिन्छ, र ख्रीष्ट परमेश्वरका आत्माद्वारा धारण गरिएको देह हुनुहुन्छ। यो देह कुनै पनि मानिसको देहभन्दा फरक छ। यस भिन्नताको कारण के हो भने ख्रीष्ट दैहिक हुनुहुन्न, बरु आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्वरत्व दुवै छ। उहाँको ईश्वरत्व कुनै पनि मानिससँग छैन। उहाँको सामान्य मानवता भनेको देहमा हुने उहाँका सामान्य क्रियाकलापहरू सबैलाई सँभाल्नु हो, जबकि उहाँको ईश्वरत्वले परमेश्वर स्वयम्को काम गर्दछ। चाहे उहाँको मानवता होस् वा ईश्वरत्व, दुवै स्वर्गमा हुनुहुने पिताको इच्छाको अधीनमा रहन्छन्। ख्रीष्टको सार भनेको आत्मा हो, अर्थात्, ईश्वरत्व हो। त्यसकारण, उहाँको सार परमेश्वर स्वयम्को सार हो; यो सारले उहाँको आफ्नै काममा अवरोध पुऱ्याउनेछैन, र उहाँ आफ्नै कामलाई नष्ट गर्ने कुनै पनि काम बिलकुलै गर्न सक्नुहुन्न, न त उहाँ कहिल्यै आफ्नै इच्छाका विरुद्धमा जाने कुनै वचन नै बोल्नुहुनेछ। तसर्थ, देहधारी परमेश्वर कदापि आफ्नै व्यवस्थापनमा अवरोध पुऱ्याउने कुनै पनि काम कहिल्यै गर्नुहुनेछैन। सबै मानिसले बुझ्नुपर्ने कुरा यही हो। पवित्र आत्माको कामको सार भनेको मानिसलाई मुक्ति दिनु हो, र यो परमेश्वरको आफ्नै व्यवस्थापनका खातिर हो। त्यसै गरी, ख्रीष्टको काम मानिसलाई मुक्ति दिनु पनि हो, र यो परमेश्वरको इच्छाका खातिर हो। परमेश्वर देह बन्नुहुने हुनाले, उहाँ आफ्नो सारलाई आफ्नो देहभित्रै साकार पार्नुहुन्छ, जसले गर्दा उहाँको देह उहाँको काम वहन गर्न पर्याप्त हुन्छ। त्यसकारण, परमेश्वरका आत्माको सबै काम देहधारणको समयमा ख्रीष्टको कामद्वारा प्रतिस्थापित हुन्छ, र देहधारणको समयभरिका सबै कामको केन्द्रमा ख्रीष्टको काम हुन्छ। यसलाई अरू कुनै युगको कामसँग मिसाउन सकिँदैन। अनि परमेश्वर देह बन्नुहुने हुनाले, उहाँ आफ्नो देहको पहिचानमा काम गर्नुहुन्छ; उहाँ देहमा आउनुहुने हुनाले, उहाँ आफूले गर्नुपर्ने काम देहमा नै सकाउनुहुन्छ। चाहे परमेश्वरका आत्मा हुनुहोस् वा ख्रीष्ट, दुवै परमेश्वर स्वयम् हुनुहुन्छ, र उहाँ आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले निर्वाह गर्नुपर्ने सेवकाइ निर्वाह गर्नुहुन्छ।
परमेश्वरको सारले नै अख्तियारको प्रयोग गर्छ, तर उहाँबाट आउने अख्तियारप्रति उहाँ पूर्ण रूपमा समर्पित हुन सक्नुहुन्छ। चाहे यो आत्माको काम होस् वा देहको काम होस्, यीमध्ये कुनै पनि काम एकअर्कासँग बाझिँदैन। सारा सृष्टिमाथिको अख्तियार परमेश्वरका आत्मासँग छ। परमेश्वरको सारसहितको देहसँग पनि अख्तियार हुन्छ, तर देहमा हुनुभएका परमेश्वरले ती सबै कार्य गर्न सक्नुहुन्छ, जुन कार्य स्वर्गमा हुनुहुने पिताको इच्छाप्रति समर्पित हुन्छ। यसलाई कुनै पनि व्यक्तिले प्राप्त गर्न वा कल्पना गर्न सक्दैन। परमेश्वर स्वयम् नै अख्तियार हुनुहुन्छ, तर उहाँको देह उहाँको अख्तियारप्रति समर्पित हुन सक्छ। “ख्रीष्ट परमेश्वर पिताको इच्छाप्रति समर्पित बन्नुहुन्छ” भनेर भन्दा यही कुरालाई इङ्गित गरिन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँ जसरी परमेश्वर मानिस बन्न सक्नुहुन्छ त्यसरी नै उहाँले मुक्तिको काम पनि गर्न सक्नुहुन्छ। जे भए तापनि, परमेश्वर स्वयम्ले नै आफ्नो कार्य गर्नुहुन्छ; न त उहाँ अवरोध पुऱ्याउनुहुन्छ, न त बाधा नै दिनुहुन्छ, उहाँले आफैमा बाझिने किसिमको काम गर्नुहुने त प्रश्नै उठ्दैन, किनभने आत्मा र देहले गर्ने कार्यको सार उही प्रकारको हुन्छ। चाहे आत्मा होस् वा देह, दुवैले उही इच्छालाई पूरा गर्न र उही कार्यलाई व्यवस्थापन गर्न काम गर्नुहुन्छ। आत्मा र देहका गुणहरू पूर्ण रूपमा फरक भए तापनि, उहाँहरूका सारहरू उस्तै छन्; दुवैमा परमेश्वर स्वयम्को सार, अनि परमेश्वर स्वयम्को पहिचान छ। परमेश्वर स्वयम्मा विद्रोहीपनका कुनै पनि तत्वहरू छैनन्; उहाँको सार असल छ। उहाँ सारा सुन्दरता र भलाइका साथै सारा प्रेमको अभिव्यक्ति हुनुहुन्छ। देहमा समेत परमेश्वरले त्यस्तो कुनै पनि काम गर्नुहुन्न जसले परमेश्वर पिताविरुद्ध विद्रोह गर्छ। आफ्नो जीवन बलिदान दिनुपर्दासमेत उहाँले हृदयदेखि नै त्यसो गर्न चाहनुहुन्छ, र उहाँले अन्य कुनै पनि निर्णय गर्नुहुन्न। परमेश्वरमा आत्मधार्मिकता वा अहम्, वा अभिमान र अहङ्कारको कुनै तत्वहरू छैनन्; उहाँमा कुटिलताका कुनै तत्वहरू छैनन्। परमेश्वरविरुद्ध विद्रोह गर्ने हरेक कुरा शैतानबाट आउँछ; सारा कुरूपता र दुष्टताको स्रोत नै शैतान हो। मानिसमा शैतानको जस्तै गुणहरू हुनुको कारण के हो भने मानिसलाई शैतानले भ्रष्ट तुल्याएको र प्रशोधन गरेको छ। ख्रीष्टलाई शैतानले भ्रष्ट तुल्याएको छैन, त्यसकारण उहाँमा परमेश्वरका विशेषताहरू मात्रै छन्, शैतानका विशेषताहरू छैनन्। काम जतिसुकै कठिन होस् वा देह जतिसुकै कमजोर होस्, जब परमेश्वर देहमा जिउनुहुन्छ, उहाँले परमेश्वर स्वयम्को कार्यमा अवरोध पुऱ्याउने कुनै पनि कुरा कहिल्यै गर्नुहुनेछैन, विद्रोह गरी उहाँले परमेश्वर पिताको इच्छालाई त्याग्ने कुरा त गर्दै नगरौँ। उहाँले परमेश्वर पिताको इच्छालाई तोड्नुभन्दा देहको पीडालाई भोग्न रचाउनुहुन्छ; यो कुरा येशूले प्रार्थनामा भन्नुभएको जस्तै हो, “पिता, यदि सम्भव छ भने, यो कचौरा मबाट हटोस्: तैपनि मेरो चाहना होइन, तर तपाईंको चाहना पूरा होस्।” मानिसहरूले आफ्नो लागि आफै निर्णयहरू गर्छन्, तर ख्रीष्टले त्यसो गर्नुहुन्न। उहाँसँग परमेश्वर स्वयम्को पहिचान भए तापनि, उहाँले परमेश्वर पिताको इच्छाको खोजी गर्नुहुन्छ, र परमेश्वर पिताले उहाँलाई सुम्पनुभएको कुरालाई देहको दृष्टिकोणद्वारा पूरा गर्नुहुन्छ। यो मानिसले पूरा गर्न नसक्ने कुरा हो। शैतानबाट आउने कुरामा परमेश्वरको सार हुँदैन; यसमा परमेश्वरविरुद्ध विद्रोह र प्रतिरोध गर्ने सार मात्रै हुन्छ। यो परमेश्वरप्रति पूर्ण रूपले समर्पित हुन सक्दैन, परमेश्वरको इच्छाप्रति स्वेच्छाले समर्पित हुने कुरा त परै जाओस्। ख्रीष्टबाहेकका सबै मानिसहरूले त्यही काम गर्न सक्छन् जसले परमेश्वरको विरोध गर्छ, र कुनै पनि मानिसले परमेश्वरले सुम्पनुभएको कार्यलाई प्रत्यक्ष रूपमा अघि बढाउन सक्दैन; परमेश्वरको व्यवस्थापनलाई एक जनाले पनि आफूले निर्वाह गर्नुपर्ने कर्तव्यको रूपमा लिन सक्दैन। ख्रीष्टको सार भनेको परमेश्वर पिताको इच्छाप्रति समर्पित हुनु हो; परमेश्वरको विरुद्धको विद्रोहीपन शैतानको चरित्र हो। यी दुई गुणहरू परस्पर-विरोधी गुणहरू हुन्, र शैतानका गुणहरू भएको कसैलाई पनि ख्रीष्ट भन्न सकिँदैन। मानिसले परमेश्वरको खातिर उहाँको काम गर्न नसक्नुको कारण के हो भने मानिसमा परमेश्वरको कुनै पनि सार हुँदैन। मानिसले आफ्नो व्यक्तिगत रुचिहरूका लागि र भविष्यको आशाको लागि मात्रै परमेश्वरको काम गर्छ, तर ख्रीष्टले परमेश्वर पिताको इच्छालाई पछ्याउनको लागि काम गर्नुहुन्छ।
ख्रीष्टको मानवता उहाँको ईश्वरत्वद्वारा सञ्चालित छ। उहाँ देहमा हुनुभए तापनि, उहाँको मानवता पूर्ण रूपमा देहको मानिसजस्तो छैन। उहाँमा उहाँको आफ्नै अद्वितीय चरित्र छ, र यो पनि उहाँको ईश्वरत्वद्वारा सञ्चालित छ। उहाँको ईश्वरत्वमा कुनै कमजोरी छैन; ख्रीष्टको कमजोरीले उहाँको मानवताको कमजोरीलाई जनाउँछ। केही हदसम्म, यो कमजोरीले उहाँको ईश्वरत्वलाई बाधा दिन्छ, तर त्यस्ता सीमितताहरू निश्चित क्षेत्र र समयभित्र हुन्छन्, र ती असीमित हुँदैनन्। जब उहाँको ईश्वरत्वको कामलाई अघि बढाउने समय आउँछ, तब उहाँको मानवताको बाबजुत पनि यसलाई पूरा गरिन्छ। ख्रीष्टको मानवता पूर्ण रूपमा उहाँको ईश्वरत्वद्वारा निर्देशित छ। उहाँको मानवताको सामान्य जीवनबाहेक, उहाँको मानवताका अरू सबै कार्यहरू पनि उहाँको ईश्वरत्वद्वारा अभिप्रेरित, प्रभावित र निर्देशित हुन्छन्। ख्रीष्टमा मानवता भए तापनि, यसले उहाँको ईश्वरत्वको काममा बाधा दिँदैन, र यसो हुनु ख्रीष्टको मानवता उहाँको ईश्वरत्वद्वारा निर्देशित भएकोले नै हो; अरूसँग कसरी व्यवहार गर्ने भन्नेबारेमा उहाँको मानवता परिपक्व नभए तापनि, यसले उहाँको ईश्वरत्वको सामान्य कार्यलाई असर पार्दैन। उहाँको मानवता भ्रष्ट भएको छैन भनी भन्ने क्रममा मैले ख्रीष्टको मानवता उहाँको ईश्वरत्वद्वारा प्रत्यक्ष रूपमा निर्देशित हुन सक्छ, र उहाँमा साधारण मानिसको भन्दा उच्च चेतना छ भनेर भन्न खोजेको हुँ। उहाँको मानवता उहाँको कार्यमा ईश्वरत्वद्वारा निर्देशित हुन सबैभन्दा बढी उपयुक्त छ; उहाँको मानवता ईश्वरत्वको कार्य व्यक्त गर्न सबैभन्दा सक्षम छ, र त्यस्तो कार्यप्रति समर्पित हुन सबैभन्दा समर्थ छ। परमेश्वरले देहमा काम गर्ने क्रममा उहाँले देहमा रहेको मानिसले निर्वाह गर्नुपर्ने कर्तव्यलाई कहिल्यै पनि बिर्सनुहुन्न; उहाँ स्वर्गमा हुनुहुने परमेश्वरलाई साँचो हृदयले आराधना गर्न सक्षम हुनुहुन्छ। उहाँमा परमेश्वरको सार छ, र उहाँको पहिचान परमेश्वर स्वयम्को पहिचान हो। यो के मात्रै हो भने उहाँ पृथ्वीमा आउनुभएको छ र सृष्टि गरिएको प्राणी बन्नुभएको छ र सृष्टि गरिएको प्राणीको बाहिरी आवरण ओढ्नुभएको छ र, अहिले मानवता धारण गर्नुभएको छ जुन पहिले उहाँमा थिएन। स्वर्गमा हुनुहुने परमेश्वरलाई आराधना गर्न उहाँ सक्षम हुनुहुन्छ; यो परमेश्वर स्वयम्को अस्तित्व हो र यसलाई मानिसले अनुकरण गर्न सक्दैन। उहाँको पहिचान परमेश्वर स्वयम् नै हो। देहको दृष्टिकोणद्वारा उहाँले परमेश्वरको आराधना गर्नुहुन्छ; त्यसकारण, “ख्रीष्टले स्वर्गमा हुनुहुने परमेश्वरलाई आराधना गर्नुहुन्छ” भन्ने वचन गलत छैनन्। मानिसबाट उहाँले चाहने कुरा भनेको उहाँको आफ्नै अस्तित्व हो; मानिसहरूबाट ती कुरा माग्नुभन्दा पहिले नै उहाँले ती सबै हासिल गर्नुभएको छ। जुन कुरा आफूमा छैन उहाँले त्यो कुरा अरूबाट कहिल्यै अपेक्षा गर्नुहुन्न, किनभने त्यो सबै उहाँको अस्तित्वमा रहेको हुन्छ। उहाँले आफ्नो कार्यलाई जसरी अघि बढाउनुभए तापनि, परमेश्वरविरुद्ध विद्रोह गर्ने तरिकाले उहाँले कहिल्यै काम गर्नुहुन्न। उहाँले मानिसबाट जे माग गर्नुभए पनि, त्यो मानिसले पूरा गर्न सक्नेभन्दा बाहिरको कुनै माग हुँदैन। उहाँले गर्ने सबै कुरा परमेश्वरको इच्छालाई पछ्याउने कार्य हो र ती सबै उहाँको व्यवस्थापनको खातिर हो। ख्रीष्टको ईश्वरत्व सबै मानिसहरूभन्दा माथि छ; त्यसकारण, सबै सृजित प्राणीमाझ सबैभन्दा उच्च अख्तियार उहाँ नै हुनुहुन्छ। यो अख्तियार नै उहाँको ईश्वरत्व, अर्थात् परमेश्वर स्वयम्को स्वभाव र अस्तित्व हो, जसले उहाँको पहिचानलाई निर्धारण गर्छ। त्यसकारण, उहाँको मानवता जतिसुकै सामान्य भए तापनि, उहाँमा परमेश्वर स्वयम्को पहिचान छ भन्ने कुरा अखण्डनीय छ; उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए तापनि र उहाँ परमेश्वरको इच्छाप्रति जसरी समर्पित हुनुभए पनि, उहाँ परमेश्वर स्वयम् हुनुहुन्न भनेर भन्न सकिँदैन। प्रायजसो मूर्ख र अज्ञानी मानिसहरूले ख्रीष्टको मानवतालाई त्रुटि ठान्छन्। आफ्नो ईश्वरत्वको अस्तित्वलाई उहाँले जसरी व्यक्त र प्रकट गर्नुभए पनि, उहाँ ख्रीष्ट हुनुहुन्छ भन्ने कुरालाई स्वीकार गर्न मानिस असमर्थ छ। अनि, ख्रीष्टले जति समर्पण र विनम्रता प्रदर्शन गर्नुहुन्छ, मूर्ख मानिसहरूले ख्रीष्टलाई त्यति नै हल्कासँग लिन्छन्। उहाँप्रति बहिष्कार र तिरस्कारको मनोवृति अपनाउने तर उच्च प्रतिष्ठा भएका “महान् मानिसहरू” लाई चाहिँ आराधनाको टेबलमा राख्ने मानिसहरू पनि छन्। मानिसमा परमेश्वरप्रतिको प्रतिरोध र उहाँविरुदद्धको विद्रोह देहधारी परमेश्वरको सार परमेश्वरप्रति समर्पित हुन्छ भन्ने तथ्यका साथै ख्रीष्टको सामान्य मानवताबाट आउँछ; यो नै मानिसमा परमेश्वरप्रतिको प्रतिरोध र उहाँविरुद्धको विद्रोहको स्रोत हो। यदि ख्रीष्टमा उहाँको मानवताको भेष नभएको भए र उहाँले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्वर पिताको इच्छालाई नखोज्नुभएको भए, र उहाँमा अधिक मानवता भएको भए, मानिसहरूमा कुनै विद्रोह नहुने सम्भावना बढी हुन्थ्यो। मानिसले सधैँ स्वर्गको अदृश्य परमेश्वरमा विश्वास गर्न तयार हुनुको कारण के हो भने स्वर्गको परमेश्वरमा कुनै मानवता हुँदैन, न त उहाँमा सृष्टि गरिएको प्राणीको कुनै एउटा गुण नै हुन्छ। त्यसकारण, मानिसले उहाँलाई सबैभन्दा उच्च आदरको दृष्टिकोणले हेर्छ, तर ख्रीष्टप्रति भने तिरस्कारको मनोवृति अँगाल्छ।
पृथ्वीमा हुनुहुने ख्रीष्ट परमेश्वर स्वयम्को तर्फबाट काम गर्न सक्षम हुनुभए पनि, उहाँ सबै मानिसलाई देहमा आफ्नो स्वरूप देखाउने अभिप्रायले आउनुहुन्न। उहाँ सबै मानिसले उहाँलाई देखून् भनेर आउनुहुन्न; उहाँ मानिसलाई आफ्नो हातद्वारा डोऱ्याइन दिन आउनुहुन्छ, र यसरी मानिस नयाँ युगमा प्रवेश गर्छ। ख्रीष्टको देहको प्रकार्य भनेको परमेश्वर स्वयम्को कामका लागि हो, अर्थात्, देहमा हुनुहुने परमेश्वरको कामका लागि हो, र मानिसलाई उहाँको देहको सार पूर्ण रूपमा बुझ्न सक्षम तुल्याउनका लागि होइन। उहाँले जसरी काम गर्नुभए पनि, उहाँले गर्नुहुने कुनै पनि काम देहद्वारा हासिल गर्न सकिने कुराभन्दा बाहिर जाँदैन। उहाँले जसरी काम गर्नुभए पनि, उहाँ त्यो काम सामान्य मानवता भएको देहमा नै गर्नुहुन्छ, र परमेश्वरको साँचो मुहार मानिससामु पूर्ण रूपमा प्रकट गर्नुहुन्न। यसका साथै, उहाँले देहमा गर्ने काम कहिल्यै पनि मानिसले कल्पना गरेजस्तो अलौकिक वा मापन गर्न नसकिने हुँदैन। ख्रीष्टले देहमा हुनुहुने परमेश्वर स्वयम्लाई प्रतिनिधित्व गर्ने र परमेश्वर स्वयम्ले गर्नुपर्ने काम व्यक्तिगत रूपमा गर्ने भए पनि, उहाँ स्वर्गमा हुनुहुने परमेश्वरको अस्तित्वलाई नकार्नुहुन्न, न त उहाँ ठूलो तामझामका साथ आफ्नै कार्यहरूको घोषणा नै गर्नुहुन्छ। बरु, उहाँ दीनतापूर्वक आफ्नो देहभित्र लुकेर रहनुहुन्छ। ख्रीष्टबाहेक, जो ख्रीष्ट हुँ भनी झूटो दाबी गर्छन् तिनीहरूमा उहाँका गुणहरू हुँदैनन्। ती झूटा ख्रीष्टहरूको अहङ्कारी र आफूलाई उच्च पार्ने स्वभावसँग भिडाएर हेर्दा, ख्रीष्ट साँच्चै कस्तो प्रकारको देह हुनुहुन्छ भन्ने कुरा स्पष्ट हुन्छ। कोही जति बढी झूटो ख्रीष्ट हुन्छ, ऊ त्यति नै धेरै आफ्नो प्रदर्शन गर्छ, र मानिसलाई भ्रमित पार्न चिह्नका काम र आश्चर्यकर्महरू गर्न ऊ त्यति नै बढी सक्षम हुन्छ। झूटा ख्रीष्टहरूसँग परमेश्वरका गुणहरू हुँदैनन्; ख्रीष्ट झूटा ख्रीष्टहरूको कुनै पनि तत्त्वद्वारा दूषित हुनुहुन्न। परमेश्वर देहको काम पूरा गर्न मात्र देह बन्नुहुन्छ, मानिसले उहाँलाई देखोस् भन्नका लागि मात्रै होइन। बरु, उहाँ आफ्नो कामलाई आफ्नो पहिचान प्रमाणित गर्न दिनुहुन्छ, र उहाँबाट प्रकट हुने कुरालाई उहाँको सारको गवाही दिन लगाउनुहुन्छ। उहाँको सार आधारहीन छैन; उहाँको पहिचान उहाँको हातद्वारा खोसिएको होइन; यो उहाँको काम र उहाँको सारद्वारा निर्धारित हुन्छ। उहाँसँग परमेश्वर स्वयम्को सार भए पनि र उहाँ परमेश्वर स्वयम्को काम गर्न सक्षम हुनुभए पनि, उहाँ आखिर देह नै हुनुहुन्छ, जो आत्माजस्तो हुनुहुन्न। उहाँ आत्माका गुणहरू भएको परमेश्वर हुनुहुन्न; उहाँ देहको आवरण भएको परमेश्वर हुनुहुन्छ। त्यसकारण, उहाँ जतिसुकै सामान्य र जतिसुकै कमजोर हुनुभए पनि, र उहाँले जुनसुकै तरिकाले परमेश्वर पिताको इच्छा खोज्नुभए पनि, उहाँको ईश्वरत्वलाई नकार्न सकिँदैन। देहधारी परमेश्वरभित्र सामान्य मानवता र यसका कमजोरीहरू मात्रै हुँदैनन्; अझै बढी त उहाँको ईश्वरत्वको अद्भुतता र बुझ्न नसकिने अवस्था, साथै उहाँले देहमा गर्ने सबै कार्य हुन्छन्। त्यसकारण, मानवता र ईश्वरत्व दुवै ख्रीष्टभित्रै साँच्चै हुन्छन्, र ती अलिकति पनि खोक्रा वा अलौकिक हुँदैनन्। उहाँ काम गर्ने मुख्य उद्देश्यका साथ पृथ्वीमा आउनुहुन्छ; पृथ्वीमा काम गर्नका लागि सामान्य मानवता हुनु अनिवार्य छ; नत्र भने, उहाँको ईश्वरत्वको शक्ति जतिसुकै ठूलो भए पनि, यसको मूल प्रकार्यलाई राम्रो कार्यमा प्रयोग गर्न सकिँदैन। उहाँको मानवताको ठूलो महत्त्व भए पनि, त्यो उहाँको सार होइन। उहाँको सार भनेको ईश्वरत्व हो; त्यसकारण, उहाँ जुन क्षणमा पृथ्वीमा आफ्नो सेवकाइ निर्वाह गर्न सुरु गर्नुहुन्छ त्यही क्षणमा उहाँ आफ्नो ईश्वरत्वको सत्त्व व्यक्त गर्न सुरु गर्नुहुन्छ। उहाँको मानवता उहाँको देहको सामान्य जीवनलाई कायम राख्न मात्र अस्तित्वमा हुन्छ ताकि उहाँको ईश्वरत्वले देहमा सामान्य रूपमा काम गर्न सकोस्; उहाँको कामलाई पूर्ण रूपमा निर्देशित गर्ने भनेको ईश्वरत्वले हो। जब उहाँ आफ्नो काम पूरा गर्नुहुन्छ, तब उहाँले आफ्नो सेवकाइ पूरा गर्नुभएको हुनेछ। मानिसले जान्नुपर्ने कुरा उहाँको सम्पूर्ण काम हो, र उहाँ मानिसलाई आफ्नो काममार्फत नै उहाँलाई चिन्न सक्षम तुल्याउनुहुन्छ। आफ्नो कामको क्रममा, उहाँ आफ्नो ईश्वरत्वको सत्त्व लिनुहुन्छ र यसलाई अत्यन्तै पूर्ण रूपमा व्यक्त गर्नुहुन्छ—जसमा मानवताको स्वभावको मिसावट, वा सोचाइ र मानव-निर्मित सत्त्वको मिसावट हुँदैन। जब उहाँको सम्पूर्ण सेवकाइ समाप्त हुने समय आउँछ, तब उहाँले आफूले व्यक्त गर्नुपर्ने स्वभाव पहिल्यै सिद्ध र पूर्ण रूपमा व्यक्त गरिसक्नुभएको हुनेछ। उहाँको काम कुनै पनि मानिसको निर्देशनमा चल्दैन; उहाँको स्वभावको अभिव्यक्ति पनि निकै स्वतन्त्र हुन्छ, र यो दिमागद्वारा नियन्त्रित वा सोचाइद्वारा प्रशोधित हुँदैन, बरु प्राकृतिक रूपमा प्रकट हुन्छ। यो कुनै पनि मानिसले हासिल गर्न नसक्ने कुरा हो। वरिपरिको वातावरण कठोर भए पनि वा अवस्थाहरू प्रतिकूल भए पनि, उहाँ उपयुक्त समयमा आफ्नो स्वभाव व्यक्त गर्न सक्नुहुन्छ। जो ख्रीष्ट हुनुहुन्छ उहाँ ख्रीष्टको सत्त्व व्यक्त गर्नुहुन्छ, जबकि जो ख्रीष्ट होइनन् तिनीहरूसँग ख्रीष्टको स्वभाव हुँदैन। त्यसकारण, सबैले उहाँको प्रतिरोध गर्ने वा उहाँबारे धारणाहरू पाल्ने भए पनि, ख्रीष्टद्वारा व्यक्त गरिने स्वभाव परमेश्वरको स्वभाव हो भन्ने कुरालाई मानिसका धारणाहरूका आधारमा कसैले पनि इन्कार गर्न सक्दैन। जो साँचो हृदयले ख्रीष्टलाई पछ्याउँछन् वा नियतवश परमेश्वरलाई खोज्छन् तिनीहरू सबैले उहाँको ईश्वरत्वको अभिव्यक्तिका आधारमा उहाँ ख्रीष्ट हुनुहुन्छ भनी स्वीकार गर्नेछन्। तिनीहरू कहिल्यै पनि मानिसका धारणाहरूसँग नमिल्ने उहाँको कुनै पनि पक्षका आधारमा ख्रीष्टलाई नकार्नेछैनन्। मानिस अत्यन्तै मूर्ख भए पनि, मानिसको इच्छाबाट के आउँछ र परमेश्वरबाट के उत्पन्न हुन्छ भन्ने कुरा सबैलाई ठ्याक्कै थाहा हुन्छ। कुरा यति हो कि धेरै मानिस आफ्ना अभिप्रायहरूको परिणामस्वरूप जानाजानी ख्रीष्टको प्रतिरोध गर्छन्। यदि यस्तो नहुँदो हो त, ख्रीष्टको अस्तित्वलाई कुनै पनि मानिसले ख्रीष्टलाई नकार्नुपर्ने कारण नै हुनेथिएन, किनभने ख्रीष्टद्वारा व्यक्त गरिएको ईश्वरत्व वास्तवमै अस्तित्वमा छ, र उहाँको कामलाई नाङ्गो आँखाले देख्न सकिन्छ।
ख्रीष्टको काम र अभिव्यक्तिले उहाँको सारलाई निर्धारित गर्छ। उहाँ आफूलाई सुम्पिएको कुरा साँचो हृदयले पूरा गर्न सक्नुहुन्छ। उहाँ स्वर्गमा हुनुहुने परमेश्वरलाई साँचो हृदयले आराधना गर्न सक्नुहुन्छ, र साँचो हृदयले परमेश्वर पिताको इच्छा खोज्न सक्नुहुन्छ। यो सब उहाँको सारद्वारा निर्धारित हुन्छ। अनि उहाँको स्वाभाविक प्रकटीकरण पनि उहाँको सारद्वारा नै निर्धारित हुन्छ; मैले यसलाई उहाँको “स्वाभाविक प्रकटीकरण” भन्नुको कारण के हो भने उहाँको अभिव्यक्ति कुनै नक्कल, वा मानिसको शिक्षाको नतिजा, वा मानिसले धेरै वर्षसम्म गरेको संवर्धनको नतिजा होइन। उहाँले यो सिक्नुभएको वा यसद्वारा आफूलाई सजाउनुभएको होइन; बरु, यो उहाँभित्र अन्तर्निहित हुन्छ। मानिसले उहाँको काम, उहाँको अभिव्यक्ति, उहाँको मानवता, र उहाँको सामान्य मानवताको सम्पूर्ण जीवनलाई नकार्न सक्ला, तर उहाँ स्वर्गमा हुनुहुने परमेश्वरलाई साँचो हृदयले आराधना गर्नुहुन्छ भन्ने कुरालाई कसैले पनि नकार्न सक्दैन; उहाँ स्वर्गमा हुनुहुने पिताको इच्छा पूरा गर्न आउनुभएको हो भन्ने कुरालाई कसैले पनि नकार्न सक्दैन, र उहाँ जुन व्यग्रताका साथ परमेश्वर पितालाई खोज्नुहुन्छ त्यसलाई कसैले पनि नकार्न सक्दैन। उहाँको स्वरूप इन्द्रियहरूलाई आनन्द दिने खालको नभएको, उहाँको मुद्दामा असाधारण भाव नभएको, र उहाँको काम मानिसले कल्पना गरेजस्तो पृथ्वीलाई तहसनहस पार्ने वा स्वर्ग हल्लाउने खालको नभएको भए पनि, उहाँ वास्तवमै ख्रीष्ट हुनुहुन्छ, जो साँचो हृदयले स्वर्गमा हुनुहुने पिताको इच्छा पूरा गर्नुहुन्छ, पूर्ण रूपमा स्वर्गमा हुनुहुने पिताको अधीनमा रहनुहुन्छ, र मृत्युसम्मै समर्पित हुनुहुन्छ। किनभने उहाँको सार ख्रीष्टको सार हो। यो सत्यता मानिसलाई विश्वास गर्न गाह्रो छ, तर यो तथ्य हो। जब ख्रीष्टको सेवकाइ पूर्ण रूपमा पूरा भएको हुन्छ, तब मानिसले उहाँको कामबाट उहाँको स्वभाव र उहाँको सत्त्वले स्वर्गमा हुनुहुने परमेश्वरको स्वभाव र सत्त्वलाई प्रतिनिधित्व गर्छन् भनी देख्न सक्नेछ। त्यस बेला, उहाँका सबै कामको सारांश निकालेर, मानिसले उहाँ साँच्चै त्यही देह हुनुहुन्छ जसमा मार्ग देह बन्नुहुन्छ, र उहाँ मासु र रगतले बनेको मानिसको देहजस्तो हुनुहुन्न भनी पुष्टि गर्न सक्छ। पृथ्वीमा ख्रीष्टको कामको हरेक चरणको आफ्नै प्रतिनिधिमूलक महत्त्व छ, तर हरेक चरणको वर्तमान कामको अनुभव गर्ने मानिसले उहाँको कामको महत्त्वलाई स्पष्ट रूपमा देख्न सक्दैन। यो विशेषगरी परमेश्वरद्वारा आफ्नो दोस्रो देहधारणमा गरिएको कामका केही चरणमा लागु हुन्छ। जसले ख्रीष्टका वचनहरू सुनेका वा देखेका मात्र छन् तर उहाँलाई कहिल्यै देखेका छैनन् तिनीहरूमध्ये धेरैजसोमा उहाँको कामबारे कुनै धारणा हुँदैन; जसले ख्रीष्टलाई देखेका र उहाँका वचनहरू सुनेका छन्, साथै उहाँको कामको अनुभव गरेका छन् तिनीहरूलाई उहाँको काम स्वीकार गर्न गाह्रो लाग्छ। के यो ख्रीष्टको रूप र सामान्य मानवता मानिसको रुचिअनुसार नभएकोले गर्दा होइन र? जो ख्रीष्ट गइसक्नुभएपछि उहाँको काम स्वीकार गर्छन् तिनीहरूलाई त्यस्ता कठिनाइहरू हुनेछैनन्, किनभने तिनीहरू उहाँको काम मात्र स्वीकार गर्छन् र ख्रीष्टको सामान्य मानवताको सम्पर्कमा आउँदैनन्। मानिस परमेश्वरबारे आफ्ना धारणाहरू त्याग्न सक्दैन र त्यसको सट्टा वृहत् रूपमा उहाँको गहन जाँच गर्छ; यसको कारण के हो भने मानिस उहाँको रूपमा मात्र ध्यान केन्द्रित गर्छ र उहाँको काम र उहाँका वचनहरूका आधारमा उहाँको सार चिन्न सक्दैन। यदि मानिसले ख्रीष्टको रूपप्रति आँखा चिम्लन्छ वा ख्रीष्टको मानवताका बारेमा छलफल गर्दैन, र उहाँको ईश्वरत्वका बारेमा मात्र कुरा गर्छ, जसका काम र वचनहरू कुनै पनि मानिसद्वारा हासिल गर्न नसकिने हुन्छन् भने, मानिसका धारणाहरू आधा घट्नेछन्, र मानिसका कठिनाइहरू समेत पूर्ण रूपमा समाधान हुनेछन्। देहधारी परमेश्वरको कामको दौरान, मानिस उहाँलाई सहन सक्दैन र उहाँबारे असङ्ख्य धारणाले भरिएको हुन्छ, अनि प्रतिरोध र विद्रोहका घटनाहरू सामान्य हुन्। मानिस परमेश्वरको अस्तित्वलाई सहन, ख्रीष्टको दीनता र गुप्तताप्रति “उदारता” देखाउन, वा स्वर्गमा हुनुहुने पिताको अधीनमा रहने ख्रीष्टको सारलाई “क्षमा” गर्न सक्दैन। त्यसकारण, उहाँले आफ्नो काम पूरा गर्नुभएपछि उहाँ मानिससँग सदासर्वदा बस्न सक्नुहुन्न, किनभने मानिस उहाँलाई आफ्नो साथमा जिउन दिन इच्छुक हुँदैन। यदि मानिसले उहाँको कामको अवधिमा उहाँप्रति “उदारता” देखाउन सक्दैन भने, उहाँले आफ्नो सेवकाइ पूरा गरिसक्नुभएपछि मानिसले उहाँका वचनहरू बिस्तारै अनुभव गरिरहेको उहाँले हेरिरहँदा, मानिसले उहाँ आफ्नो साथमा जिइरहेको कसरी चाहिँ सहन सक्छ? त्यसोभए के उहाँका कारण धेरै जना ढल्दैनन् र? मानिस उहाँलाई केवल पृथ्वीमा काम गर्न दिन्छ; यो नै मानिसको सबैभन्दा ठूलो उदारता हो। यदि उहाँको काम नहुँदो हो त, मानिसले उहाँलाई धेरै अघि नै पृथ्वीबाट निकालिसक्नेथियो, त्यसकारण उहाँको काम पूरा भएपछि उसले झनै कति कम उदारता देखाउला? त्यसोभए के मानिसले उहाँलाई मृत्युदण्ड दिने र यातना दिएर मार्नेथिएन र? यदि उहाँलाई ख्रीष्ट नभनिएको भए, उहाँले मानवजातिमाझ काम गर्नै सक्नुहुनेथिएन; यदि उहाँले परमेश्वर स्वयम्को पहिचान बोकेर काम गर्नुभएको थिएन, र त्यसको सट्टा एक सामान्य व्यक्तिका रूपमा मात्र काम गर्नुभएको थियो भने, उहाँले एउटै वाक्य बोलेको समेत मानिसले सहनेथिएन, उहाँको सानोभन्दा सानो कामलाई सहनु त झनै परको कुरा हो। त्यसैले उहाँ आफ्नो काममा मात्र यो पहिचान आफूसँगै बोक्न सक्नुहुन्छ। यसरी, उहाँको काम उहाँले त्यसो नगर्नुभएको अवस्थामा भन्दा अझ बढी शक्तिशाली हुन्छ, किनभने सबै मानिस हैसियत र महान् पहिचानको अधीनमा रहन इच्छुक हुन्छन्। यदि उहाँले काम गर्दा परमेश्वर स्वयम्को पहिचान बोक्नुभएको थिएन वा परमेश्वर स्वयम्का रूपमा देखा पर्नुभएको थिएन भने, उहाँले काम गर्ने अवसर पटक्कै पाउनुहुनेथिएन। उहाँसँग परमेश्वरको सार र ख्रीष्टको सत्त्व हुनुका बाबजुद, मानिस नरम हुनेथिएन र उसले उहाँलाई मानवजातिमाझ सहजताका साथ काम गर्न दिनेथिएन। उहाँ आफ्नो काममा परमेश्वर स्वयम्को पहिचान बोक्नुहुन्छ; त्यस्तो काम पहिचानविना गरिएको कामभन्दा दर्जनौँ गुणा शक्तिशाली हुने भए पनि, मानिस अझै पनि पूर्ण रूपमा उहाँको अधीनमा रहँदैन, किनभने मानिस केवल उहाँको हैसियतको अधीनमा रहन्छ र उहाँको सारको अधीनमा रहँदैन। यदि त्यसो हो भने, जब सायद कुनै दिन ख्रीष्ट आफ्नो पदबाट हट्नुहुन्छ, तब के मानिसले उहाँलाई एक दिन पनि जीवित रहन दिनेछ र? आफ्नो हातद्वारा गरिएको कामले आउने वर्षहरूमा ल्याउने प्रभावहरू देख्न सकियोस् भनेर परमेश्वर मानिससँग पृथ्वीमा जिउन इच्छुक हुनुहुन्छ। तर, मानिस उहाँको उपस्थितिलाई एक दिन पनि सहन सक्दैन, त्यसैले उहाँले हार मान्नेबाहेक केही गर्न सक्नुभएन। परमेश्वरलाई मानिसमाझ उहाँले गर्नुपर्ने काम गर्न र उहाँको सेवकाइ पूरा गर्न दिनु नै मानिसको सबैभन्दा ठूलो उदारता र शिष्टाचार हो। उहाँद्वारा व्यक्तिगत रूपमा विजय गरिएकाहरूले उहाँलाई त्यस्तो शिष्टाचार देखाउने भए पनि, तिनीहरू अझै पनि उहाँलाई एक क्षण नकट्नेगरी उहाँको काम समाप्त हुन्जेल मात्र बस्न अनुमति दिन्छन्। यदि यस्तो हो भने, उहाँले विजय नगर्नुभएकाहरूको अवस्था कस्तो होला? मानिसले देहधारी परमेश्वरलाई यसरी व्यवहार गर्नुको कारण उहाँ सामान्य मानवताको बाहिरी आवरण भएको ख्रीष्ट हुनुभएकोले गर्दा होइन र? यदि उहाँसँग ईश्वरत्व मात्र भएको भए र सामान्य मानवता नभएको भए, के मानिसका कठिनाइहरू सबैभन्दा सहज रूपमा समाधान हुनेथिएनन् र? उहाँको सार ठ्याक्कै ख्रीष्टको सार हो जुन स्वर्गमा हुनुहुने पिताको इच्छाप्रतिको अधीनता हो भन्ने तथ्यको बाबजुद, मानिस उहाँको ईश्वरत्वलाई अनिच्छापूर्वक स्वीकार गर्छ र उहाँको सामान्य मानवताको बाहिरी आवरणमा कुनै रुचि देखाउँदैन। त्यसकारण, उहाँले मानिससँग सुख र दुःख दुवै बाँड्न मानिसमाझ रहने आफ्नो कामलाई रद्द गर्नुबाहेक अरू केही गर्न सक्नुभएन, किनभने मानिसले उहाँको अस्तित्वलाई थप सहन सकेन।