तैँले ख्रीष्‍टसँग अनुकूलताको मार्ग खोजी गर्नुपर्छ

मैले मानिसमाझ धेरै काम गरेको छु, जसको दौरान मैले धेरै वटा वचन पनि व्यक्त गरेको छु। यी वचनहरू सबै मानिसको मुक्तिका खातिर हुन् र मानिस मसँग मिल्ने हुन सकोस् भनेर व्यक्त गरिएका हुन्। तर, मैले पृथ्वीमा मसँग मिल्ने थोरै मात्र मानिस प्राप्त गरेको छु, त्यसैले म भन्छु कि मानिस मेरा वचनहरूलाई बहुमूल्य ठान्दैन—किनभने मानिस मसँग मिल्दैन। यसरी, मैले गर्ने काम मानिसले मेरो आराधना गर्न सकोस् भन्नका लागि मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, यो त मानिस मसँग मिल्ने हुन सकोस् भन्नका लागि हो। भ्रष्टता भोगेका मानवहरू शैतानको पासोमा जिउँछन्; तिनीहरू सबै देहमा जिउँछन्, स्वार्थी चाहनाहरूमा जिउँछन्, र तिनीहरूमध्ये मसँग मिल्ने एक जना पनि छैन। आफू मसँग मिल्ने रहेको भनेर भन्‍नेहरू सबैले काल्पनिक मूर्तिहरूको आराधना गर्छन्। तिनीहरूले मेरो नाम पवित्र भएको भनी दाबी गरे पनि, तिनीहरू मभन्दा उल्टो मार्गमा हिँड्छन्, र तिनीहरूका शब्दहरू अहङ्कार र आत्मविश्‍वासले भरिएका हुन्छन्। किनभने तिनीहरू सबै अन्तर्निहित रूपमै मेरा विरुद्धमा छन् र मसँग नमिल्ने छन्। हरेक दिन, तिनीहरू बाइबलमा मेरा डोबहरू खोज्छन् र जथाभावी “उपयुक्त” खण्डहरू भेट्टाउँछन् जसलाई तिनीहरू निरन्तर पढ्छन् र धर्मशास्त्रका रूपमा वाचन गर्छन्। तिनीहरूलाई मसँग कसरी मिल्ने भन्‍ने थाहा छैन न त मेरा विरुद्धमा हुनुको अर्थ के हो भन्‍ने नै थाहा छ। तिनीहरू केवल अन्धाधुन्ध रूपमा धर्मशास्त्रहरू पढ्छन्। तिनीहरू आफूले देख्दै नदेखेको, र आधारभूत रूपमा देख्न नसक्ने काल्पनिक ईश्‍वरलाई बाइबलको घेराभित्र सीमित गर्छन्, अनि फुर्सदको समयमा, तिनीहरू बाइबल निकाल्छन् र पढ्छन्। तिनीहरू बाइबलको दायराभित्र मात्र मेरो अस्तित्वमा विश्‍वास गर्छन्, र तिनीहरू मलाई बाइबलसँग बराबर मान्छन्; बाइबलविना म छैनँ, र मविना बाइबल छैन। तिनीहरू मेरो अस्तित्व वा कार्यहरूमा कुनै ध्यान दिँदैनन्, बरु यसको सट्टा धर्मशास्त्रको हरेक शब्दमा अत्यधिक र विशेष ध्यान दिन्छन्। अझ धेरैले त धर्मशास्त्रद्वारा भविष्यवाणी नगरिएसम्म मैले आफूलाई गर्न इच्छा लागेको केही पनि गर्नु हुँदैन भन्नेसमेत विश्‍वास गर्छन्। तिनीहरू धर्मशास्त्रलाई ज्यादै नै महत्त्व दिन्छन्। के भन्न सकिन्छ भने तिनीहरू शाब्दिक शब्दहरूलाई ज्यादै महत्त्वपूर्ण ठान्छन्, यहाँसम्म कि तिनीहरू मैले बोल्ने हरेक वचनलाई मापन गर्न र मलाई दोषी ठहराउन बाइबलका पदहरू प्रयोग गर्छन्। तिनीहरूले खोज्ने भनेको मसँग मिल्ने मार्ग वा सत्यतासँग मिल्ने मार्ग होइन, बरु बाइबलका वचनहरूअनुरूप हुने मार्ग हो, र तिनीहरू बाइबलअनुरूप नरहेको कुनै पनि कुरा, विनाअपवाद, मेरो काम नभएको विश्‍वास गर्छन्। के त्यस्ता मानिसहरू फरिसीहरूका कर्तव्यपरायण वंशज होइनन् र? यहूदी फरिसीहरूले येशूलाई दोषी ठहराउन मोशाको व्यवस्था प्रयोग गरे। तिनीहरूले त्यस समयका येशूसँग मेल खोजेनन्, बरु व्यवस्थाको हरेक धारालाई यति गम्भीरताका साथ लिए कि—उहाँलाई पुरानो करारको व्यवस्था पालन नगरेको र मसीह नभएको अभियोग लगाएपछि—अन्ततः तिनीहरूले निर्दोष येशूलाई क्रूसमा टाँगे। तिनीहरूको मूल-तत्त्व के थियो? के तिनीहरूले सत्यतासँग मिल्ने मार्ग नखोजेको होइन र? तिनीहरूले धर्मशास्त्रको हरेक शब्दलाई मात्र ध्यान दिए जबकि मेरा अभिप्रायहरू वा मेरो कामका चरण र विधिहरूलाई कुनै ध्यान दिएनन्। तिनीहरू सत्यता खोज्ने मानिस थिएनन्, बरु कठोरतापूर्वक शब्दहरूमा टाँसिने मानिस थिए; तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने मानिस थिएनन्, बरु बाइबलमा विश्‍वास गर्ने मानिस थिए। अझै तीखो रूपमा भन्नुपर्दा, तिनीहरू बाइबलका पहरेदार थिए। बाइबलका हितहरूको रक्षा गर्न, बाइबलको इज्जत कायम राख्न, र बाइबलको प्रतिष्ठा जोगाउन, तिनीहरू कृपालु येशूलाई क्रूसमा टाँग्ने हदसम्म पुगे। यो तिनीहरूले बाइबलको रक्षा गर्नका खातिर, र मानिसको हृदयमा बाइबलको हरेक शब्दको हैसियत कायम राख्नका खातिर गरेका थिए। त्यसैले धर्मशास्त्रका सर्तहरूअनुरूप नरहेका येशूलाई दोषी ठहराएर मृत्युदण्ड दिनका लागि तिनीहरूले बरु आफ्नै भविष्य त्याग्न र पापबलि प्राप्त नगर्न रुचाए। के तिनीहरू सबै जना धर्मशास्त्रको हरेक शब्दका चम्चा थिएनन् र?

अनि आजका मानिसहरू के गर्छन्? स्वर्गमा प्रवेश पाउन र अनुग्रह प्राप्त गर्न सकियोस् भनेर तिनीहरू बरु सत्यता व्यक्त गर्न आउनुभएका ख्रीष्टलाई यस संसारबाट निष्कासन गर्न तयार हुन्छन्। तिनीहरू बरु बाइबलका हितहरूको रक्षा गर्नका निम्ति सत्यताको आगमनलाई पूर्ण रूपमा नकार्न तयार हुन्छन्, र बाइबलको अनन्त अस्तित्व सुनिश्‍चित गर्नका निम्ति तिनीहरू बरु देहमा फर्कनुभएका ख्रीष्टलाई फेरि क्रूसमा टाँग्न तयार हुन्छन्। मानिसको हृदय यति दुर्भावपूर्ण र उसको प्रकृति मप्रति यति विरोधी हुँदा उसले कसरी मेरो मुक्ति प्राप्त गर्न सक्छ? म मानिसमाझ जिउँछु, तर मानिसलाई मेरो अस्तित्व नै थाहा छैन। जब म मानिसमाथि मेरो ज्योति चम्काउँछु, ऊ अझै पनि मेरो अस्तित्वबारे अनजान नै रहन्छ। जब म मानिसमाथि आफ्नो क्रोध पोखाउँछु, तब ऊ मेरो अस्तित्वलाई झनै बढी नकार्छ। मानिस शब्दहरूसँगको मेल र बाइबलसँगको मेल खोज्छ, तैपनि सत्यतासँगको मेलको मार्ग खोज्न एक जना व्यक्ति पनि मेरो सामु आउँदैन। मानिस स्वर्गमा रहेको मलाई मान गर्छ र स्वर्गमा रहेको मेरो अस्तित्वप्रति विशेष चासो दिन्छ, तर देहमा कसैले पनि मेरो वास्ता गर्दैन, किनभने मानिसमाझ जिउने म अत्यन्तै मामुली छु। बाइबलका शब्दहरूसँग मात्र मेल खोज्नेहरू र काल्पनिक ईश्‍वरसँग मात्र मेल खोज्नेहरू मेरो नजरमा नीच छन्। किनभने तिनीहरूले आराधना गर्ने भनेको मृत शब्दहरूलाई हो, र मानिसलाई असीमित सम्पत्ति दिन सक्ने ईश्‍वरलाई हो; तिनीहरूले आराधना गर्ने भनेको त्यस्तो ईश्‍वर हो जसले आफूलाई मानिसको कृपामा छोड्छ—त्यस्तो ईश्‍वर जो अस्तित्वमै छैन। त्यसोभए, त्यस्ता मानिसहरूले मबाट के प्राप्त गर्न सक्छन्? मानिस यति नीच छ कि उसलाई शब्दमा व्याख्या गर्न सकिँदैन। जो मेरा विरुद्धमा छन्, जो मसित असीमित मागहरू राख्छन्, जसमा सत्यताप्रति कुनै प्रेम छैन, जो मप्रति विद्रोही छन्—तिनीहरू कसरी मसँग मिल्ने हुन सक्छन् र?

मेरो विरुद्धमा हुनेहरू मेरो अनुकूल छैनन्। सत्यतालाई प्रेम नगर्नेहरूका हकमा पनि यही कुरा लागू हुन्छ। मेरो विरुद्ध विद्रोह गर्नेहरू अझै बढी मेरो विरुद्धमा छन् र मेरो अनुकूल छैनन्। मसँग अनुकूल नरहेका सबैलाई म दुष्टको हातमा सुम्पिन्छु, र म तिनीहरूलाई दुष्टको भ्रष्टतामा छोडिदिन्छु, तिनीहरूलाई आफ्नो दुर्भाव प्रकट गर्न बेलगाम छोडिदिन्छु, र अन्तिममा तिनीहरूलाई दुष्टले निलोस् भनेर दुष्टको हातमा सुम्पिदिन्छु। कति जनाले मेरो आराधना गर्छन् म वास्ता गर्दिनँ, अर्थात् मलाई कति मानिसहरूले विश्‍वास गर्छन् त्यसको पर्वाह गर्दिनँ। मलाई चासो लाग्‍ने एउटै कुरा भनेको कति जना मेरो अनुकूल छन् भन्‍ने हो। यसको कारण के हो भने मप्रति अनुकूल नहुने सबै नै दुष्टहरू हुन् जसले मलाई धोका दिन्छन्; तिनीहरू मेरा शत्रुहरू हुन्, र मैले मेरा शत्रुहरूलाई मेरो घरमा “पवित्रसरह राख्‍नु” हुँदैन। मप्रति अनुकूल हुनेहरूले सदासर्वदा मेरो घरमा मलाई सेवा गर्नेछन् र मेरो विरुद्ध खडा हुनेहरूले सदासर्वदा मेरो दण्ड भोग्‍नेछन्। बाइबलका वचनहरूमा मात्रै चासो राख्‍नेहरू अनि सत्यता र मेरा पाइलाहरूको खोजी गर्नमा सरोकार नराख्‍नेहरू—तिनीहरू मेरो विरुद्धमा छन्, किनभने तिनीहरूले मलाई बाइबलअनुसार सीमित गर्छन्, मलाई बाइबलको सीमाभित्र सीमित गर्छन्, त्यसैले तिनीहरू मप्रति चरम ईश्‍वरविरोधी छन्। यस्ता मानिसहरू कसरी मेरो सामु आउन सक्छन्? तिनीहरूले मेरा कार्यहरू, वा मेरा अभिप्राय वा सत्यतालाई कुनै वास्ता गर्दैनन्, बरु तिनीहरू वचनहरूप्रति आसक्त छन्—त्यस्ता वचनहरू जसले मार्छ। यस्ता मानिसहरू कसरी मप्रति अनुकूल हुन सक्छन्?

मैले धेरै वचन व्यक्त गरेको छु, र मैले मेरा अभिप्राय र मेरो स्वभाव पनि व्यक्त गरेको छु, तैपनि मानिस मलाई चिन्‍न असमर्थ छ र अझै पनि ममा विश्‍वास गर्न अझै असमर्थ छ। अथवा, यसो भन्‍न सकिन्छ, मानिस अझै पनि मेरो अधीनमा रहन असक्षम छ। बाइबलभित्र जिउनेहरू, व्यवस्थाभित्र जिउनेहरू, क्रूसमा जिउनेहरू, प्रावधानहरूअन्तर्गत जिउनेहरू, आज मैले गर्ने कामको माझमा जिउनेहरू—तिनीहरूमध्ये कोचाहिँ मसँग मिल्दो छन्? तिमीहरू निश्चित आशिष् प्राप्त गर्नेबारे मात्रै सोच्छौ, तिमीहरू इनामहरू प्राप्त गर्नेबारे मात्रै सोच्छौ, तर तिमीहरूले ठ्याक्कै कसरी मसँग मिल्ने, वा आफैलाई मप्रति शत्रुता साँध्नबाट ठ्याक्कै कसरी रोक्‍ने भन्‍ने बारेमा एकपटक पनि कहिल्यै सोचेका छैनौ। म तिमीहरूप्रति धेरै निराश छु, किनभने मैले तिमीहरूलाई धेरै कुरा प्रदान गरेको छु तर तिमीहरूबाट भने मैले अत्यन्तै थोरै पाएको छु। तिमीहरूको छल, तिमीहरूको अहङ्कार, तिमीहरूको लोभ, तिमीहरूका अत्यधिक चाहनाहरू, तिमीहरूको धोका, तिमीहरूको अवज्ञा—यीमध्ये कुनचाहिँ मेरो नजरबाट उम्कन सक्छ र? तिमीहरू मसित झाराटारुवा तरिकाले व्यवहार गर्छौ, तिमीहरू मलाई मूर्ख बनाउने प्रयास गर्छौ, तिमीहरू मलाई बेइज्जत गर्छौ, तिमीहरू मेरो चापलुसी गर्छौ, तिमीहरू मसँग जबरजस्ती असुली गर्छौ र मबाट मेरा भेटीहरू खोस्छौ—त्यस्ता दुष्ट कार्यहरू कसरी मेरो दण्डबाट उम्कन सक्छन्? यी सबै दुष्ट कार्य तिमीहरूको मप्रतिको शत्रुताका प्रमाण हुन् र मसँग तिमीहरूको बेमेलका प्रमाण हुन्। तिमीहरूमध्ये प्रत्येकले आफू मसँग एकदमै मिल्ने रहेको विश्‍वास गर्छौ, तर त्यस किसिमको अकाट्य प्रमाण कसमा लागू हुनेथ्यो र? तिमीहरू आफूमा मप्रति अत्यधिक इमानदारी छ भन्ने विश्वास गर्छौ, र तिमीहरू आफूमा मप्रति बफादारी छ भनी विश्‍वास गर्छौ। तिमीहरू सबैलाई आफू अति कृपालु, अति करुणामय रहेको जस्तो लाग्छ, र तिमीहरूलाई आफूले मलाई अत्यन्तै धेरै कुरा समर्पित गरेको जस्तो लाग्छ। तिमीहरू मेरो लागि आफूले जति गर्नुपर्ने हो त्योभन्दा बढी नै गरेको भन्ने विश्वास गर्छौ। तर के तिमीहरूले कहिल्यै यसलाई आफ्ना कार्यहरूसँग तुलना गरेका छौ? म भन्छु, तिमीहरू अत्यन्तै अहङ्कारी, अत्यन्तै लोभी, अत्यन्तै झाराटारुवा छौ; मलाई मूर्ख बनाउन प्रयास गर्ने तिमीहरूका युक्तिहरू अत्यन्तै चतुर छन्, र तिमीहरूमा प्रशस्तै घृणास्पद अभिप्राय र घृणास्पद विधिहरू छन्। यस विपरीत, तिमीहरूको बफादारी अत्यन्तै थोरै छ, तिमीहरूको निष्कपटता अत्यन्तै नगण्य छ, र तिमीहरूमा विवेक त झनै छैन। तिमीहरू हृदयमा अत्यन्तै दुर्भावपूर्ण छौ, र तिमीहरू कसैलाई छोड्दैनौ, मलाई समेत छोड्दैनौ। तिमीहरू आफ्‍ना छोराछोरी, वा आफ्‍नो श्रीमान्, वा आफ्नै आत्मसंरक्षणको खातिर मेरा लागि ढोका बन्द गरिदिन्छौ। तिमीहरू मेरो बारेमा वास्ता गर्दैनौ—तिमीहरू त आफ्नो परिवार, आफ्‍ना छोराछोरी, आफ्‍नो हैसियत, आफ्‍नो भविष्य, र आफ्‍नो सुखको वास्ता गर्छौ। तिमीहरूले बोल्दा कहिले पो मेरा बारेमा विचार गरेका छौ र वा काम गर्दा कहिले पो मेरा बारेमा विचार गरेका छौ र? ठन्डीका दिनहरूमा, तिमीहरू आफ्‍नो सन्तान, आफ्‍नो श्रीमान्, आफ्‍नी श्रीमती, वा आफ्‍ना आमाबाबुका बारेमा सोच्छौ। गर्मीका दिनहरूमा पनि, तिमीहरूको विचारमा मेरो कुनै स्थान हुँदैन। तँ आफ्‍नो कर्तव्य निर्वाह गर्दा आफ्‍नै हितहरू, आफ्‍नै व्यक्तिगत सुरक्षा, आफ्नै परिवारका सदस्यहरूका बारेमा सोचिरहेको हुन्छस्। तैँले मेरा लागि कहिले के नै गरेको छस् र? तैँले कहिले चाहिँ मेरा बारेमा सोचेको छस्? तँ कहिले मेरो खातिर र मेरो कामका खातिर जुन हदसम्म पनि पुगेको छस्? मसँगको तेरो अनुकूलताको प्रमाण कहाँ छ? मप्रति तेरो बफादारीको वास्तविकता कहाँ छ? मप्रति तेरो अधीनताको वास्तविकता कहाँ छ? आशिष्‌हरू नखोज्ने तेरो अभिप्राय कहाँ छ? तिमीहरू सबैजना मलाई मूर्ख बनाउन खोजिरहेका छौ। तिमीहरू सबैजना मलाई छल गरिरहेका छौ। तिमीहरू सबै सत्यतासँग खेलिरहेका छौ, तिमीहरू सबै सत्यताको अस्तित्वलाई लुकाइरहेका छौ, र तिमीहरू सबै सत्यताको सारमाथि विश्वासघात गरिरहेका छौ। तिमीहरूले यसरी मप्रति शत्रुता साँधेका हुनाले, भविष्यमा तिमीहरूलाई केले कुरिरहेको छ? तिमीहरू काल्पनिक ईश्‍वरसँगको मेल मात्रै पछ्याउँछौ, र काल्पनिक विश्‍वास मात्रै पछ्याउँछौ, तैपनि तिमीहरू ख्रीष्‍टसँग मिल्दा छैनौ। यस्ता दुष्ट कार्यहरू गरेपछि, के तिमीहरूले दुर्जन मानिसहरूसँगै भोग्नुपर्ने बदला भोग्नेछैनौ र? त्यस समयमा, तिमीहरूले ख्रीष्‍टसँग नमिल्ने कोही पनि रिसको दिनबाट बच्न सक्दैन भन्‍ने महसुस गर्नेछौ, र ख्रीष्‍टप्रति शत्रुता साँध्नेहरूमाथि कस्तो प्रकारको प्रतिशोध आउनेछ भन्‍ने कुरा पत्ता लगाउनेछौ। जब त्यो दिन आउँछ, परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वासको कारण आशिषित् हुने र स्वर्गमा प्रवेश प्राप्त गर्ने तिमीहरूका सपनाहरू सबै चकनाचुर हुनेछन्। ख्रीष्‍टसँग मिल्नेहरूका लागि, यद्यपि, यस्तो हुनेछैन। तिनीहरूले धेरै कुरा गुमाएका भए पनि, तिनीहरूले धेरै कष्ट भोगेका भए पनि, मैले मानवजातिलाई प्रदान गर्ने सबै उत्तराधिकार तिनीहरूले प्राप्त गर्नेछन्। अन्ततः, तिमीहरूले म मात्र धर्मी परमेश्‍वर हुँ, र मानवजातिलाई उनीहरूको सुन्दर गन्तव्यमा लैजान सक्‍ने म मात्रै हुँ भन्‍ने कुरा बुझ्‍नेछौ।

अघिल्लो: धेरैलाई बोलाइन्छ, तर थोरैलाई चुनिन्छ

अर्को: के तँ साँच्चै परमेश्‍वरको विश्‍वासी होस्?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्