धार्मिक सेवालाई शुद्ध पारिनैपर्छ

सारा ब्रह्माण्डमा आफ्नो कामको सुरुवातदेखि नै, परमेश्‍वरले धेरै मानिसहरूलाई उहाँको सेवा गर्न अघिबाटै नियुक्त गरिसक्‍नु भएको छ, जसमा जीवनका हरेक क्षेत्रका मानिसहरू समावेश छन्। उहाँको उद्देश्य उहाँको इच्छा पूरा गर्नु र पृथ्वीमा उहाँको कामलाई सहजतापूर्वक पूर्णतामा ल्याउनु हो; उहाँको सेवाको लागि मानिसहरू छनौट गर्नुमा परमेश्‍वरको लक्ष्य यही हो। परमेश्‍वरको सेवा गर्ने हरेकले उहाँको इच्छा बुझ्नुपर्छ। उहाँको यो कामले परमेश्‍वरको बुद्धि र सर्वशक्तिमान्‌ता, र पृथ्वीमा उहाँको कामका सिद्धान्तहरू मानिसहरूका निम्ति अझ स्पष्ट पार्दछ। परमेश्‍वर वास्तवमा यस पृथ्वीमा आफ्नो काम गर्न, मानिसहरूसँग संलग्न हुन नै आउनुभएको छ ताकि तिनीहरूले उहाँका कामहरू अझ स्पष्ट रूपमा थाहा पाऊन्। आज तिमीहरू, मानिसहरूको यो समूह, व्यावहारिक परमेश्‍वरको सेवा गर्न पाएकोमा भाग्यशाली छौ। यो तिमीहरूका लागि अतुलनीय आशिष् हो—साँच्चै, तिमीहरू परमेश्‍वरद्वारा उठाइएका हौ। कुनै व्यक्तिलाई उहाँको सेवा गर्न छनौट गर्दा, परमेश्‍वरसँग सधैँ आफ्ना सिद्धान्तहरू हुन्छन्। मानिसहरूले कल्पना गरेझैं, परमेश्‍वरको सेवा गर्नु भनेको कुनै पनि हालतमा केवल उत्साहको कुरा होइन। आज, तिमीहरू देख्छौ कि परमेश्‍वरको अघि सेवा गर्नेहरू सबैले त्यसो गर्दछन् किनभने उनीहरूसँग परमेश्‍वरको मार्गदर्शन र पवित्र आत्माको काम छ, र किनभने तिनीहरू सत्यको पछि लाग्ने मानिसहरू हुन्। यी परमेश्‍वरको सेवा गर्नेहरू सबैका निम्ति न्यूनतम सर्तहरू हुन्।

परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले कहिले पनि परमेश्‍वरको सेवा गर्न सक्दैन। यदि तेरो स्वभावलाई परमेश्‍वरका वचनहरूद्वारा न्याय गरिएको र सजाय दिइएको छैन भने, तेरो स्वभावले अझै शैतानलाई नै प्रतिनिधित्व गर्दछ जसले के प्रमाणित गर्छ भने तैँले तेरो आफ्नै असल अभिप्रायहरूबाट सेवा गर्छस्, तेरो सेवा तेरो शैतानी स्वभावमा आधारित छ। तैँले आफ्‍नो स्वभाविक चरित्रद्वारा, र तेरा व्यक्तिगत अभिरुचिहरू अनुसार परमेश्‍वरको सेवा गर्छस्। यति मात्र होइन, तँ सँधै सोच्छस् कि तैँले गर्न चाहेका कुराहरूले परमेश्‍वरलाई खुशी तुल्याउँछ, र तैँले गर्न नचाहने कुराहरू परमेश्‍वरको निम्ती घृणित छन्; तँ पूर्ण रूपमा तेरा आफ्नै अभिरुचिहरू अनुसार काम गर्छस्। के यसलाई परमेश्‍वरको सेवा गरेको भन्न सकिन्छ? अन्ततः तेरो जीवन स्वभावमा हल्का परिवर्तन पनि हुनेछैन; यसको सट्टामा, तेरो सेवाले तँलाई अझै हठी बनाउनेछ, जसद्वारा तेरो भ्रष्ट स्वभावले अझै गहिरो जरा गाड्छ, र त्यस्तै, परमेश्‍वरको सेवाको बारेमा तँभित्र मुख्यतया तेरो आफ्नै चरित्रमा आधारित नियमहरू, र तेरो आफ्नै स्वभाव अनुसार तेरा सेवाबाट व्युत्पन्न अनुभवहरू बन्नेछन्। यी मानिसका अनुभवहरू र पाठहरू हुन्। यो संसारमा जिउने सम्‍बन्धी मानिसको दर्शनशास्त्र हो। यस्ता मानिसहरूलाई फरिसीहरू र धार्मिक अधिकारीहरूको रूपमा वर्गीकरण गर्न सकिन्छ। यदि तिनीहरू कहिल्यै बिउँझिँदैनन् र तिनीहरूले कहिल्यै पश्‍चात्ताप गर्दैनन् भने, तिनीहरू पक्कै झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरूमा परिवर्तन हुनेछन् जसले आखिरी दिनहरूमा मानिसहरूलाई धोका दिन्छन्। पहिले नै भनिएका झूटा ख्रीष्टहरू र ख्रीष्ट-विरोधीहरू यस्ता मानिसहरूका बीचबाट खडा हुनेछन्। यदि परमेश्‍वरको सेवा गर्नेहरूले आफ्नै चरित्र अनुसरण गर्छन् र आफ्नै इच्छा अनुसार कार्य गर्छन् भने, तिनीहरूले कुनै पनि समयमा बाहिर फालिने जोखिम उठाउँछन्। जसले अरूको हृदय जित्न, उनीहरूलाई व्याख्यान गर्न र उनीहरूलाई नियन्त्रण गर्न, र उच्चमा खडा हुन परमेश्‍वरको सेवा गर्ने क्रममा प्राप्त गरेको आफ्नो वर्षौंको अनुभव प्रयोग गर्दछन्—र जसले कहिल्यै पश्‍चात्ताप गर्दैनन्, आफ्ना पापहरूलाई कहिल्यै स्वीकार गर्दैनन्, पदको फाइदा कहिल्यै त्याग्दैनन्—यी मानिसहरू परमेश्‍वरको अघि पतन हुनेछन्। तिनीहरू पावल जत्तिकै हुन्, जसले आफ्नो वरिष्ठतामा घमण्ड गर्दछन् र आफ्‍ना योग्यताहरूलाई बढवा दिन्छन्। परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्धतामा ल्याउनुहुनेछैन। यस्तो सेवाले परमेश्‍वरको काममा अवरोध पुऱ्याउँछ। मानिसहरू सँधै विगतसँग टाँसिरहेका हुन्छन्। तिनीहरू विगतका धारणाहरू, बितेका दिनका हरेक कुराहरूमा टाँसिएका हुन्छन्। यो तिनीहरूको सेवाको निम्ति ठूलो बाधा हो। यदि तैँले तिनलाई बाहिर फाल्न सक्दैनस् भने, यी कुराहरूले तेरो पूरै जीवनलाई दबाउनेछ। परमेश्‍वरले तेरो प्रशंसा गर्नुहुन्न, चाहे तैँले दौडेर आफ्‍नो खुट्टा वा परिश्रम गरेर आफ्‍नो ढाड नै भाँच्, चाहे तँ परमेश्‍वरको सेवामा शहीद नै बन्, उहाँले अलिकति पनि तेरो तारिफ गर्नुहुन्‍न। ठीक विपरीत: उहाँले तँलाई दुष्ट काम गर्ने भनी भन्‍नुहुनेछ।

आजदेखि सुरु गरेर, परमेश्‍वरले धार्मिक विचारहरू नभएकाहरूलाई, आफ्नो पुरानो स्वभाव पन्छाउन इच्छुक हुनेहरूलाई, र सरल हृदयले परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई औपचारिक रूपमा नै सिद्ध तुल्याउनुहुनेछ। जो मानिसहरू परमेश्‍वरको वचनहरूको निम्ति तिर्खाउँछन् उनीहरूलाई उहाँले सिद्ध गर्नुहुनेछ। यी मानिसहरू खडा भएर परमेश्‍वरको सेवा गर्नुपर्दछ। परमेश्‍वरमा अन्त्यहीन प्रशस्तता र असीम बुद्धि छ। उहाँको अचम्मको काम र बहुमूल्य वचनहरूले मानिसहरूको अझ ठूलो सङ्ख्याले आनन्द गरून् भनेर प्रतीक्षा गरिरहेका छन्। यस कुरालाई हेर्दा, धार्मिक धारणाहरू भएकाहरू, वरिष्ठता ग्रहण गर्नेहरू, र आफूलाई पन्छ्याउन नसक्नेहरूलाई ती नयाँ कुराहरू स्वीकार्न कठिन हुन्छ। पवित्र आत्मासँग यी मानिसहरूलाई सिद्ध गर्ने कुनै अवसर नै छैन। यदि कुनै व्यक्तिले आज्ञापालन गर्न संकल्प गरेको छैन, र परमेश्‍वरको वचनहरूको लागि तिर्खाउँदैन भने, ती नयाँ कुराहरू स्वीकार गर्नको लागि तिनीहरूसँग कुनै माध्यम छैन; तिनीहरू केवल झन्-झन् विद्रोही, झन्-झन् धेरै धूर्त हुनेछन्, र यसरी गलत मार्गमा पुग्‍नेछन्। आफ्नो काम अहिले गरिरहँदा, परमेश्‍वरले अझ धेरै व्यक्तिहरू खडा गर्नुहुनेछ जसले उहाँलाई साँच्चै प्रेम गर्दछन् र नयाँ ज्योति ग्रहण गर्न सक्छन्, र आफ्नो वरिष्ठता ग्रहण गर्ने धार्मिक अधिकारीहरूलाई उहाँले पूर्णरूपमा ढाल्नुहुनेछ; जिद्दी पूर्वक परिवर्तनको प्रतिरोध गर्नेहरूमध्ये एक जनालाई पनि उहाँ चाहनुहुन्न। के तँ यी मानिसहरूमध्ये एक जना हुन चाहन्छस्? तैँले तेरो आफ्नै अभिरुचिहरू अनुसार सेवा गर्छस्, कि परमेश्‍वरले चाहनुभए अनुसार गर्छस्? यो तैँले आफै जान्‍नुपर्ने कुरा हो। के तँ धार्मिक अधिकारी होस्, वा के तँ परमेश्‍वरले सिद्ध बनाउनुभएको नवजात शिशु होस्? तेरो कति सेवालाई पवित्र आत्माले प्रशंसा गर्नुभयो? योमध्ये कत्ति जति परमेश्‍वरले सम्झन समेत झन्झट मान्नुहुनेछ? तेरो वर्षौंको सेवाको परिणामको रूपमा तेरो जीवनमा कति ठूलो परिवर्तन आएको छ? के तँ यी सबैको बारेमा स्पष्ट छस्? यदि तँ साँच्चिकै विश्‍वासबाटकै होस् भने, तैँले पहिलेका तेरो पुरानो धार्मिक धारणाहरू हटाउनेछस्, र नयाँ तरिकामा अझै राम्ररी परमेश्‍वरको सेवा गर्नेछस्। अब खडा हुन धेरै ढीला भएको छैन। पुरानो धार्मिक धारणाहरूले कुनै व्यक्तिको सम्पूर्ण जीवनलाई हराउन सक्छ। एक व्यक्तिले प्राप्त गरेको अनुभवले उनीहरूलाई परमेश्‍वरबाट बरालिन र आफ्नै तरिकाले काम-कुराहरू गर्ने तुल्याउन सक्छ। यदि तैँले त्यस्ता कुराहरूलाई पन्छ्याउँदैनस् भने, ती तेरो जीवनको वृद्धिमा ठेस लाग्ने अवरोध हुनेछन्। परमेश्‍वरले सधैँ उहाँको सेवा गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ, र तिनीहरूलाई हल्का रूपमा बाहिर निकाल्नुहुन्न। यदि तैँले परमेश्‍वरको वचनहरूको न्याय र सजायलाई साँच्चिकै स्वीकार गर्छस् भने, यदि तँ आफ्नो पुरानो धार्मिक आचरणहरू र नियमहरूलाई पन्छ्याउन सक्छस्, र पुरानो धार्मिक धारणाहरूलाई आजका वचनहरूको मापनको रूपमा प्रयोग गर्न छोड्छस् भने मात्रै तेरो निम्ति भविष्य हुनेछ। तर यदि तँ पुराना चीजहरूसँग टाँसिरहन्छस् भने, यदि तँ अझै तिनलाई मूल्यवान् ठान्छस् भने, तैँले मुक्ति पाउन सक्ने कुनै मार्ग छैन। यस्ता मानिसहरूलाई परमेश्‍वरले वास्ता गर्नुहुन्न। यदि तँ साँच्चिकै सिद्ध हुन चाहन्छस् भने, तैँले पहिलेदेखिका सबै कुरा त्याग्ने संकल्प गर्नुपर्छ। पहिले जे गरिएको थियो त्यो ठीक थियो भने पनि, यो परमेश्‍वरको काम थियो भने पनि, तँ अझै यसलाई अलग राख्न सक्षम हुनुपर्दछ र यससँग टाँसिन बन्द गर्नुपर्दछ। यदि यो स्पष्ट रूपमै पवित्र आत्माको काम, पवित्र आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको काम थियो भने पनि, आज तैँले त्यसलाई पन्छ्याउनुपर्छ। तैँले यसलाई समाति राख्‍नु हुँदैन। परमेश्‍वरले चाहनुहुने कुरा यही हो। सबै कुरालाई नवीकरण गरिनुपर्छ। परमेश्‍वरको काम र परमेश्‍वरको वचनहरूमा, उहाँले अघि गएका पुरानो कुराहरूको कुनै सन्दर्भ दिनुहुन्न, उहाँले पुरानो पञ्चाङ्गलाई खोतल्नुहुन्न; परमेश्‍वर त्यो परमेश्‍वर हुनुहुन्छ जो सँधै नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न, र विगतका आफ्ना वचनहरूमा समेत टाँसिनुहुन्न—जुन कुराले देखाउँदछ कि परमेश्‍वरले कुनै नियम पालना गर्नुहुन्न। त्यसकारण, यदि एक मानिसको रूपमा तँ जहिले पनि विगतका कुराहरूमा टाँसिरहन्छस्, यदि तैँले तिनलाई छोडिदिन इन्कार गर्छस् भने, र कठोरताका साथ तिनलाई सूत्रको रूपमा लागू गर्छस् भने, जबकि परमेश्‍वर अब आफूले पहिले गरेको माध्यमहरू प्रयोग गरेर काम गर्नुहुन्न, त्यसोभए के तेरा शब्दहरू र कार्यहरू विघटनकारी छैनन्? के तँ परमेश्‍वरको शत्रु बनेको छैनस् र? के तँ आफ्नो पूरै जीवन यी पुरानो चीजहरूले बरबाद गर्न र बिगार्न दिन इच्छुक छस्? यी पुराना चीजहरूले तँलाई यस्तो व्यक्ति बनाउनेछ जसले परमेश्‍वरको काममा अवरोध पुऱ्याउँछ—के तँ त्यस्तै प्रकारको व्यक्ति बन्‍न चाहन्छस्? यदि तँ साँच्चिकै त्यो चाहँदैनस् भने, तैँले के गरिरहेको छस् त्यसलाई रोकेर फर्किहाल्; फेरि सुरु गर्। परमेश्‍वरले तेरो विगतका सेवाहरू सम्‍झनुहुनेछैन।

अघिल्लो: भ्रष्ट मानिसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्दैन

अर्को: परमेश्‍वरमाथिको तेरो विश्‍वासमा तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्