क. बाइबल परमेश्‍वरको कामका दुई चरणहरू व्यवस्थाको युग र अनुग्रहको युगको कामको मात्र अभिलेख हो; यो परमेश्‍वरको कामको सम्पूर्णताको अभिलेख होइन

बाइबलमा परमेश्‍वरका वचनहरू

“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)

“आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ सो, कान हुनेले सुनोस्” (प्रकाश २:७)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

बाइबल कस्तो किसिमको पुस्तक हो? पुरानो नियम व्यवस्थाको युगको अवधिमा परमेश्‍वरले गर्नुभएको काम हो। बाइबलको पुरानो नियममा व्यवस्थाको युगको अवधिमा यहोवाले गर्नुभएका सबै कामहरू अनि उहाँले गर्नुभएको सृष्टिको काम अभिलेख गरिएको छ। यसका सबै भागहरूले यहोवाद्वारा गरिएको काम अभिलेख गर्दछन्, र यसले अन्ततः मलाकीको पुस्तकमा यहोवाको कामका विवरणहरू समापन गर्दछ। पुरानो नियममा परमेश्‍वरले गर्नुभएका दुईवटा कामहरू अभिलेख गरिएका छन्: एउटा सृष्टिको काम हो, र अर्को व्यवस्थाको घोषणा हो। दुवै काम यहोवाले गर्नुभएको थियो। व्यवस्थाको युगले यहोवा परमेश्‍वरको नाउँमा गरिएको कामको प्रतिनिधित्व गर्दछ; यो आधारभूत रूपमा यहोवाको नाउँमा गरिएका कामहरूको सम्पूर्णता हो। त्यसैले, पुरानो नियमले यहोवाको कामको अभिलेख गर्दछ, र नयाँ नियमले येशूको कामको अभिलेख गर्दछ, त्यो काम जुन विशेष रूपले येशूको नाउँमा गरिएको थियो। येशूको नाउँको महत्त्व र उहाँले गर्नुभएको काम प्रायः नयाँ नियममा लेखिएको छ। पुरानो नियमको व्यवस्थाको युगको अवधिमा, यहोवाले इस्राएलमा मन्दिर र वेदी निर्माण गर्नुभयो, उहाँले पृथ्वीमा इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो, त्यसले तिनीहरू उहाँका चुनिएका मानिसहरू थिए, उहाँले पृथ्वीमा चुन्नुभएका र उहाँका अभिप्रायअनुसार भएका मानिसहरूको पहिलो समूह र उहाँले व्यक्तिगत रूपमा डोऱ्याउनुभएको पहिलो समूह थिए भनी प्रमाणित गर्छ। इस्राएलका बाह्र कुल यहोवाले चुन्नुभएका पहिलो मानिसहरू थिए, र त्यसैले उहाँले सधैं व्यवस्थाको युगमा यहोवाको काम समाप्त नहुञ्जेल तिनीहरूमा काम गर्नुभयो। दोस्रो चरणको काम नयाँ नियमको अनुग्रहको युगको काम थियो, र त्यो यहूदीहरूको बीचमा, इस्राएलका बाह्र कुलमध्ये एकमा गरिएको थियो। यस कामको दायरा सानो थियो किनकि येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो। येशूले यहूदियाको देशमा मात्र काम गर्नुभयो, र साढे तीन वर्ष मात्र काम गर्नुभयो; त्यसैले, नयाँ नियममा अभिलेख गरिएका कुराहरूले पुरानो नियममा अभिलेख गरिएको कामको मात्रालाई उछिन्न नसकेको हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

बाइबल इतिहासको एक पुस्तक हो। निःसन्देह, यसमा अगमवक्ताहरूका केही भविष्यवाणीहरू पनि समावेश छन् र त्यस्ता भविष्यवाणीहरू कुनै पनि प्रकारले इतिहास होइनन्। बाइबलमा थुप्रै भागहरू छन्—त्यहाँ अगमवाणी मात्र छैन, वा यहोवाको काम मात्र छैन, न त त्यहाँ केवल पावलका पत्रहरू मात्र छन्। बाइबलमा कति भागहरू छन् तँलाई थाहा हुनुपर्दछ; पुरानो नियममा उत्पत्ति, प्रस्थान…, आदि छन् र त्यहाँ अगमवाणीहरूका पुस्तकहरू पनि छन् जुन अगमवक्ताहरूले लेखेका थिए। अन्त्यमा, पुरानो नियम मलाकीको पुस्तकमा गएर समाप्त हुन्छ। यसले व्यवस्थाको युगको काम अभिलेख गर्छ, जसको नेतृत्व यहोवाले गर्नुभएको थियो; उत्पत्तिदेखि मालाकीको पुस्तकसम्म, यो व्यवस्थाको युगको सबै कामको विस्तृत अभिलेख हो। भन्नुको अर्थ, पुरानो नियमले ती सबै कुराहरू अभिलेख गर्छ जुन व्यवस्थाको युगमा यहोवाद्वारा डोऱ्याइएका मानिसहरूले अनुभव गरेका थिए। पुरानो नियमको व्यवस्थाको युगको अवधिमा, यहोवाले खडा गर्नुभएका धेरै अगमवक्ताहरूले उहाँको निम्ति अगमवाणी व्यक्त गरे, विभिन्न कुल र जातिहरूलाई निर्देशनहरू दिए र यहोवाले गर्नुहुने कामबारे भविष्यवाणी गरे। खडा गरिएका यी मानिसहरू सबैलाई यहोवाले अगमवाणी गर्ने आत्मा दिनुभएको थियोः तिनीहरूले यहोवाका दर्शनहरू देख्न सक्थे र उहाँको आवाज सुन्न सक्थे, र यसरी तिनीहरूले उहाँद्वारा प्रेरणा पाए र अगमवाणी लेखे। तिनीहरूले गरेको काम यहोवाको आवाजको अभिव्यक्ति, यहोवाको अगमवाणीको अभिव्यक्ति थियो, र त्यस समय यहोवाको काम आत्मालाई प्रयोग गरी मानिसहरूलाई डोऱ्याउनु थियो; उहाँ देह बन्नुभएन, र मानिसहरूले उहाँको अनुहार देखेनन्। यसरी, उहाँले आफ्नो काम गर्न धेरै अगमवक्ताहरू खडा गर्नुभयो, उहाँले तिनीहरूलाई वाणीहरू दिनुभयो जसलाई तिनीहरूले इस्राएलको हरेक कुल र वंशमा हस्तान्तरण गरिदिए। तिनीहरूको काम अगमवाणी बोल्नु थियो, र तिनीहरूमध्ये कसै-कसैले अरूलाई देखाउन यहोवाले तिनीहरूलाई दिनुभएका निर्देशनहरू लेखे। यहोवाले तिनीहरूलाई अगमवाणी बोल्न वा भविष्यको कामको अगमवाणी गर्न वा त्यस समयमा गर्नुपर्ने बाँकी कामहरूबारे अगमवाणी गर्न खडा गर्नुभयो ताकि मानिसहरूले यहोवाको अद्भुतता र बुद्धि देख्न सकून्। अगमवाणीका यी पुस्तकहरू बाइबलका अन्य पुस्तकहरू भन्दा बिलकुलै भिन्न थिए; तिनीहरू त अगमवाणीको आत्मा दिइएका व्यक्तिहरूद्वारा—यहोवाबाट दर्शन वा आवाज पाएका व्यक्तिहरूद्वारा—बोलिएका वा लेखिएका वचनहरू थिए। अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो नियमका अरू सबै कुराहरू यहोवाले आफ्नो काम पूरा गरिसक्नुभएपछि मानिसहरूद्वारा तयार पारेका अभिलेखहरूले भरिएका छन्। उत्पत्ति र प्रस्थानका पुस्तकहरूको तुलना यशैया र दानिएलका पुस्तकहरूसँग गर्न नसकिएझैं, यी पुस्तकहरूले यहोवाले खडा गर्नुभएका अगमवक्ताहरूले बोलेका भविष्यवाणीको स्थान लिन सक्दैनन्। ती अगमवाणीहरू काम पूरा हुनुभन्दा अघि बोलिएका थिए; अन्य पुस्तकहरू भने काम समाप्त भएपछि लेखिएका थिए, जुन कुरा लेख्न मानिसहरू सक्षम थिए। त्यस समयका अगमवक्ताहरूले यहोवाबाट प्रेरणा पाए र केही अगमवाणी बोले, तिनीहरूले धेरै वचनहरू बोले, र तिनीहरूले अनुग्रहको युगका कुराहरूका साथसाथै आखिरी दिनहरूमा संसारको विनाश हुनेबारे पनि अगमवाणी गरे—जुन काम गर्ने यहोवाले योजना गर्नुभएको थियो। बाँकी पुस्तकहरू सबैले यहोवाले इस्राएलमा गर्नुभएको काम लेखे। यसरी, जब तिमी बाइबल पढ्छौ, तिमीहरूले मुख्य रूपमा यहोवाले इस्राएलमा जे गर्नुभयो त्यो पढिरहेका हुन्छौ; बाइबलको पुरानो नियमले मुख्य रूपमा यहोवाले इस्राएललाई डोऱ्याउनुभएको काम, इस्राएलीहरूलाई मिश्रबाट बाहिर निकाल्न मोशालाई प्रयोग गर्नुभएको कुराको अभिलेख गर्दछ, जसले तिनीहरूलाई फारोको बन्धनबाट मुक्त गरे, र तिनीहरूलाई उजाडस्थानमा लगे, अनि त्यहाँबाट तिनीहरू कनानमा प्रवेश गरे, र त्यसपछि आउने सबै कुराहरू कनानमा जिइएको तिनीहरूको जीवन थियो। यसबाहेकका अरू सबै भागहरू इस्राएलभरि यहोवाले गर्नुभएको कामका अभिलेखहरूले भरिएको छ। पुरानो नियममा अभिलेख गरिएका सबै कुराहरू इस्राएलमा यहोवाले गर्नुभएको काम हो, यो यहोवाले त्यही देशमा गर्नुभएको काम हो जहाँ उहाँले आदम र हव्वालाई बनाउनुभएको थियो। नोआपछि परमेश्‍वरले आधिकारिक रूपमा पृथ्वीमा मानिसहरूलाई डोऱ्याउन थाल्नुभएको कुरादेखि नै पुरानो नियममा अभिलेख गरिएका सबै कुराहरू इस्राएलको काम हो। अनि इस्राएलदेखि बाहिरको कुनै पनि काम किन अभिलेख गरिएको छैन त? किनकि इस्राएल देश मानवजातिको उद्गमस्थल हो। सुरुमा, इस्राएलबाहेक अरू कुनै देश थिएन, र यहोवाले अरू कुनै ठाउँमा काम गर्नुभएन। यस प्रकार, बाइबलको पुरानो नियममा जे अभिलेख गरिएको छ त्यो पूर्ण रूपमा त्यसबेला परमेश्‍वरले इस्राएलमा गर्नुभएको काम हो। अगमवक्ताहरू, यशैया, दानिएल, यर्मिया र इजकिएलद्वारा बोलिएका वचनहरू … तिनीहरूका वचनहरूले पृथ्वीमा उहाँको अन्य कामको भविष्यवाणी गर्छन्, तिनीहरूले यहोवा परमेश्‍वर स्वयम्‌को कामको भविष्यवाणी गर्छन्। यी सबै परमेश्‍वरबाट आएका हुन्, यो पवित्र आत्माको काम हो, र अगमवक्ताहरूका यी पुस्तकहरूबाहेक अरू सबै कुराहरू यहोवाको कामको बारेमा मानिसहरूका अनुभवहरूको अभिलेख हुन्।

मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले सृष्टिको काम भयो, तर उत्पत्ति पुस्तक मानवजाति सृष्टि गरिएपछि मात्र आयो; यो व्यवस्थाको युगको अवधिमा मोशाद्वारा लेखिएको पुस्तक थियो। यो आज तिमीहरूमाझ भइरहने कुराहरू जस्तै छः घटनाहरू घटेपछि तिमीहरूले भविष्यका मानिसहरूलाई देखाउनका निम्ति ती कुराहरू लेख्छौ, अनि तिमीहरूले जे अभिलेख गरेका हुन्छौ ती कुराहरू भविष्यका मानिसहरूको लागि विगतमा घटेका घटनाहरू हुन्—ती इतिहासभन्दा बढी अरू केही होइनन्। पुरानो नियममा अभिलेख गरिएका कुराहरू इस्राएलमा यहोवाले गर्नुभएको काम हो, र नयाँ नियममा लेखिएका कुराहरूचाहिँ अनुग्रहको युगको अवधिमा येशूले गर्नुभएको काम हो; तिनीहरूले दुई फरक-फरक युगहरूमा परमेश्‍वरले गर्नुभएको कामको दस्तावेजीकरण गर्छन्। पुरानो नियमले व्यवस्थाको युगको अवधिमा परमेश्‍वरले गर्नुभएको कामको दस्तावेजीकरण गर्छ, र यसरी पुरानो नियम एक ऐतिहासिक पुस्तक हो भने नयाँ नियमचाहिँ अनुग्रहको युगको कामको उपज हो। जब नयाँ काम सुरु भयो, तब नयाँ नियम पनि पुरानो भयो—र यसरी नयाँ नियम पनि एउटा ऐतिहासिक पुस्तक हो। निश्चय नै, नयाँ नियम पुरानो नियम जत्तिकै व्यवस्थित छैन, न त यसले त्यति नै धेरै कुराहरूको अभिलेख नै गर्दछ। यहोवाले बोल्नुभएका अनेकौं वचनहरू सबै बाइबलको पुरानो नियममा अभिलेख गरिएका छन् भने चारवटा सुसमाचारका पुस्तकहरूमा येशूका केही वचनहरू मात्र अभिलेख गरिएका छन्। निश्चय नै, येशूले पनि धेरै काम गर्नुभयो, तर त्यसलाई विस्तृत रूपमा अभिलेख गरिएको छैन। येशूले जति काम गर्नुभयो त्यसैको कारण नयाँ नियममा थोरै मात्र अभिलेख गरिएका छन्; उहाँले पृथ्वीमा साढे तीन वर्षमा गर्नुभएको काम र प्रेरितहरूले गरेका कामहरू जति छन् ती यहोवाले गर्नुभएको कामभन्दा धेरै नै कम थिए। अनि यसैकारण, नयाँ नियममा पुरानो नियममा भन्दा थोरै पुस्तकहरू छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

बाइबलमा लेखिएका कुराहरू सीमित छन्; तिनले परमेश्‍वरको पूरै कामको प्रतिनिधित्व गर्न सक्दैनन्। सुसमाचारका चार वटा पुस्तकहरूमा जम्मा एक सयभन्दा कम अध्यायहरू छन्, जसमा सीमित सङ्ख्यामा घटनाहरू छन्, जस्तै येशूले अञ्‍जीरको रूखलाई सराप दिनुभएको, पत्रुसले प्रभुलाई तीन पल्ट इन्कार गरेको, येशू क्रूसको मृत्यु र पुनरुत्थानपछि चेलाहरूकहाँ देखापर्नुभएको, उपवासको बारेमा सिकाउनुभएको, प्रार्थनाको बारेमा सिकाउनुभएको, सम्बन्धविच्छेदको बारेमा सिकाउनुभएको, येशूको जन्म र वंशावली, येशूले चेलाहरू नियुक्त गर्नुभएको, र यस्तै अरू। तापनि, मानिसले ती कुरालाई धन जत्तिकै महत्त्व दिन्छ, तिनलाई आजको कामको विरुद्ध तुलना पनि गर्छ। तिनीहरू येशूले आफ्नो जीवनमा गर्नुभएका सबै कामहरू यति मात्र थिए, परमेश्‍वरले यति मात्र गर्न सक्‍नुहुन्थ्यो, त्योभन्दा बढी केही पनि गर्न सक्‍नुहुन्‍नथियो भनी विश्‍वास गर्छन्। के यो हास्यास्पद छैन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (१)

धेरैजसो मानिसहरूले के विश्‍वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको सही मार्ग पत्ता लगाउनुसरह हो—तर वास्तवमा, कामकुराहरू के यति सरल छन् र? बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो त परमेश्‍वरको कार्यको ऐतिहासिक अभिलेख, र परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणको गवाही भन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्‍वरको कार्यको उद्देश्यको बारेमा कुनै बुझाइ प्रदान गर्दैन। यसले व्यवस्थाको युग र अनुग्रहको युगको परमेश्‍वरको कामका दुई चरणहरू प्रस्तुत गर्छ भन्‍ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारले इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्मको यहोवाको कार्यलाई वर्णन गर्छ। नयाँ करारले पृथ्वीमा येशूले गर्नुभएका कामको अभिलेख गर्छ जुन सुसमाचारका चार पुस्तकहरूका साथै पावलको काममा पनि उल्लिखित छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति नै सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्‍वरले इतिहासलाई फर्केर हेर्नुहुन्‍न! यसैले, यदि तैँले केवल बाइबललाई मात्रै बुझ्छस्, र आज परमेश्‍वरले गर्न चाहनुभएको कामको बारेमा केही बुझ्दैनस् भने, र यदि तँ परमेश्‍वरमा विश्‍वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, परमेश्‍वरको खोजी गर्नुको अर्थ के हो तँलाई थाहा छैन। यदि तँ इस्राएलको इतिहासको अध्ययन गर्न, परमेश्‍वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको इतिहासको अनुसन्धान गर्न बाइबल पढ्छस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गर्दैनस्। तर आज, तँ परमेश्‍वरमा विश्‍वास गर्ने र जीवनको पछि लाग्‍ने तर परमेश्‍वरको ज्ञानको खोजी गर्ने, र मृत वचन र धर्मसिद्धान्तहरू वा इतिहास बुझ्‍ने प्रयासको पछि नलाग्‍ने हुनाले, तैँले परमेश्‍वरको आजको अभिप्रायहरू, र पवित्र आत्माको कामको दिशा खोज्नुपर्छ। यदि तँ पुरातत्वविद्‌ होस् भने तैँले बाइबल पढ्न सक्‍नेथिइस्—तर तँ पुरातत्वविद्‌ होइनस्, तँ परमेश्‍वरमा विश्‍वास गर्नेहरूमध्ये एक होस्, र तैँले परमेश्‍वरका आजका अभिप्रायहरूको खोजी गर्नु नै उत्तम हुनेछ। बाइबल पढेर बढीमा तैँले इस्राएलको थोरै इतिहास बुझ्न सक्‍नेछस्, अब्राहाम, दाऊद र मोशाको जीवनको बारेमा जान्‍न सक्‍नेछस्, उनीहरूले कसरी यहोवाको डर माने र उहाँको विरोध गर्नेहरूलाई यहोवाले कसरी जलाउनुभयो, र उहाँले त्यो युगका मानिसहरूसँग कसरी बोल्नुभयो भनेर तैँले पत्ता लगाउनेछस्। तैँले केवल विगतमा परमेश्‍वरले गर्नुभएको कामको बारेमा पत्ता लगाउनेछस्। बाइबलका अभिलेखहरू प्रारम्भिक इस्राएलका मानिसहरूले कसरी परमेश्‍वरको डर माने र यहोवाको अगुवाइमा जीवन बिताए भन्‍ने कुरासँग सम्बन्धित छन्। इस्राएलीहरू परमेश्‍वरका चुनिएका मानिसहरू थिए, त्यसकारण पुरानो करारमा तैँले इस्राएलका सबै मानिसहरूमा यहोवाप्रतिको बफादारिता के-कस्तो थियो, कसरी यहोवामा समर्पित हुनेहरू सबैले उहाँबाट हेरचाह पाए र कसरी उहाँले तिनीहरूलाई आशिष् दिनुभयो भनेर देख्‍न सक्छस्; जब परमेश्‍वरले इस्राएलमा काम गर्नुभयो उहाँ कृपा र प्रेमले भरिपूर्ण हुनुहुन्थ्यो, साथसाथै उहाँले भस्म पार्ने आगोको ज्वाला पनि धारण गर्नुभएको थियो, र निम्‍नस्तरका देखि लिएर शक्तिशालीसम्मका सारा इस्राएलीहरूले यहोवाको डर मान्थे र त्यसैले सम्पूर्ण राष्ट्र नै परमेश्‍वरद्वारा आशिषित थियो भन्‍ने कुरा तैँले जान्‍न सक्छस्। पुरानो करारमा अभिलेख गरिएको इस्राएलको इतिहास यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (४)

यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो करार पढ्नुपर्छ; यदि तैँले अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ करार पढ्नुपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्छस् त? तैँले आजको परमेश्‍वरको नेतृत्वलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्‍वर देह बन्नुभएको छ र चीनमा अरू चुनिएका मानिसहरूलाई छान्नुभएको छ। परमेश्‍वरले यी मानिसहरूमा काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामबाट अघि बढ्नुहुन्छ, र अनुग्रहको युगमा भएको कामबाट अघि बढ्नुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो पृथ्वीमा परमेश्वरको नवीनतम काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्‍वरले पृथ्वीमा र इस्राएलदेखि बाहिर अझ ठूलो, अझ नयाँ काम गर्नुभएको छ, त्यो इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो भन्ने कुरा मानिसहरूलाई थाहा छैन, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामको बारेमा एउटै कुरा पनि नछोडी अग्रिम रूपमा कसले लेख्न सक्थ्यो र? त्यो जीर्ण पुरानो पुस्तकको परम्परालाई चुनौती दिने यो अझ शक्तिशाली, अझ बुद्धिमानी काम कसले अभिलेख गर्न सक्थ्यो र? आजको काम इतिहास होइन, र यस्तो भएकोले यदि तैँले आजको नयाँ मार्गमा हिंड्न चाहन्छस् भने तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। बाइबल सम्बन्धमा (१)

परमेश्‍वरले उहाँका वचनहरू विभिन्न जाति समूह र पृष्ठभूमिका मानिसहरूलाई लक्षित गर्नुहुनेछ, र उहाँले सबै मानवजातिलाई जित्नुहुनेछ र पुरानो युगको अन्त्य गर्नुहुनेछ। यस्तो अवस्थामा उहाँले आफ्ना वचनहरूको एउटा सानो भाग व्यक्त गरेर कसरी यो सबै समेट्न सक्नुहुन्छ? यति मात्र हो कि उहाँको काम फरक समय अवधि र विभिन्न चरणहरूमा विभाजित छ; उहाँले आफ्नो योजनाअनुसार काम गर्दैहुनुहुन्छ र उहाँका चरणहरू अनुसार आफ्ना वचनहरू व्यक्त गर्दैहुनुहुन्छ। मानिसले कसरी परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धिलाई बुझ्न सक्छ? मैले यहाँ व्याख्या गर्न इच्छा गरेको तथ्य यही हो: परमेश्‍वर जे हुनुहुन्छ र उहाँसँग जे छ त्यो अनन्त रूपले अक्षय र असीम छ। परमेश्‍वर जीवन र सबै थोकको स्रोत हुनुहुन्छ; सृष्टि गरिएको कुनै पनि प्राणीले उहाँलाई बुझ्‍न सक्दैन। अन्तमा, मैले हरेकलाई सम्झना दिलाउने कार्यलाई निरन्तरता दिनुपर्छ: परमेश्‍वरलाई फेरि कहिल्यै पनि पुस्तकहरू, शब्दहरू वा उहाँका विगतका वाणीहरूमा सीमित नगर। परमेश्‍वरको कार्यको चरित्रलाई वर्णन गर्ने एउटा मात्रै शब्द छ: नयाँ। उहाँ पुराना बाटोहरू लिन वा आफ्नो कार्यलाई दोहोर्‍याउन मन पराउनुहुन्‍न; यसका अतिरिक्त, मानिसहरूले एक निश्‍चित क्षेत्रमा सीमित गरेर उहाँलाई आराधना गरेको उहाँ चाहनुहुन्‍न। यो परमेश्‍वरको स्वभाव हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सन्दर्भग्रन्थ

सम्बन्धित चलचित्र उद्धरणहरू

के बाइबलभन्दा बाहिर परमेश्‍वरका कुनै वचनहरू वा कार्य छैनन्?

सम्बन्धित प्रवचनहरू

के परमेश्‍वरका सबै काम र वचनहरू बाइबलमा नै छन् भन्‍ने कुरा साँचो हो?

सम्बन्धित भजनहरू

परमेश्‍वरले आखिरी दिनहरूमा अन्यजातिहरूमाझ अझै महान् र नयाँ काम गर्नुभएको छ

अघिल्लो: ग. चिह्न र अचम्मका कामहरू मात्र हेर्न चाहनेहरूलाई किन हटाइनेछ

अर्को: ख. धार्मिक संसारले सबै पवित्रशास्‍त्र परमेश्‍वरको प्रेरणाद्वारा आएको हो र यो सबै उहाँको वचन हो भन्‍ने विश्‍वास गर्छ; यो दृष्टिकोण गलत छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्