१. धार्मिक संसारको धारणा: “प्रभुको पुनरागमन हुँदा, उहाँ बादलको सवारीमा आउनुहुनेछ”

बाइबलको आधारमा, धार्मिक संसारले आखिरी दिनहरूमा परमेश्‍वरको पुनरागमन हुँदा, उहाँ बादलको सवारीमा आउनुहुनेछ भनेर निष्कर्ष निकाल्छ। उदाहरणको लागि, तिनीहरू बाइबलमा यसो भनिएको देख्छन्, “हेर, उहाँ बादलहरूसहित आउनुहुन्छ; अनि हरेक आँखाले उहाँलाई देख्‍नेछन्, र तिनीहरूले पनि जुनले उहाँलाई घोचे: अनि उहाँको कारण पृथ्वीका सबै जातिले विलाप गर्नेछन्। यस्तै होस्, आमेन(प्रकाश १:७)। “ती दिनका महासङ्कष्टपछि तुरुन्तै सूर्य अँध्यारोमा परिणत हुनेछ र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन अनि ताराहरू आकाशमण्डलबाट खस्‍नेछन् र आकाशमण्डलका शक्तिहरू हल्लाइनेछन्: अनि त्यसपछि स्वर्गमा मानिसको पुत्रको चिन्‍ह देखा पर्नेछ: अनि पृथ्वीका सबै कुलले शोक गर्नेछन्, अनि तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महान् महिमाका साथमा स्वर्गको बादलमा आइरहनुभएको देख्‍नेछन्(मत्ती २४:२९-३०)। तिनीहरू यो कुरालाई प्रसङ्गबाहिर लान्छन्, र प्रभु येशू आत्मिक शरीरमा बादलको सवारीमा आउनुहुनेछ र महान् महिमासाथ सबै मानिसहरूको सामुन्‍ने खुल्लमखुल्‍ला देखा पर्नुहुनेछ, अनि स्वर्ग र पृथ्वी हल्‍लिएर भव्य दृश्य सिर्जित हुनेछ भन्‍ने निष्कर्ष निकाल्छन्।

बाइबलमा परमेश्‍वरका वचनहरू

“त्यसकारण तिमीहरू सचेत भएनौ भने त, म तिमीहरूकहाँ चोरजस्तै आउनेछु र म कुन समय तिमीहरूकहाँ आउनेछु तिमीहरूले थाहा पाउनेछैनौ” (प्रकाश ३:३)

“हेर, म चोरजस्तै आउँछु” (प्रकाश १६:१५)

“यसकारण, तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ” (मत्ती २४:४४)

“तर नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ” (मत्ती २४:३७)

“किनभने जसरी बिजुली आकाशमुनिको एउटा भागबाट चम्किँदा, आकाशमुनिको अर्को भागसम्म चम्किन्छ; मानिसको पुत्र पनि उहाँको दिनमा त्यस्तै हुनुहुनेछ। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्‍नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ” (लूका १७:२४-२५)

“अनि मध्यरातमा आवाज आयो, हेर, दुलहा आइपुगे; उनलाई भेट्न जाओ” (मत्ती २५:६)

“हेर, म ढोकामा खडा हुन्छु र ढकढक्याउँछु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म उसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ” (प्रकाश ३:२०)

“मेरा भेडाले मेरो सोर सुन्छन्, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्” (यूहन्‍ना १०:२७)

“तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्” (यूहन्‍ना २०:२९)

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

धेरै सहस्राब्दीदेखि मानिसले मुक्तिदाताको आगमन देख्न सक्‍ने उत्कट इच्छा गरेको छ। हजारौँ वर्षदेखि उहाँको निम्ति उत्कट इच्छा गर्ने र चाह गर्नेहरूका बीचमा मुक्तिदाता येशू व्यक्तिगत रूपमै सेतो बादलको सवारीमा ओर्लनुभएको देख्ने उत्कट इच्छा मानिसले गरेको छ। मानिसले मुक्तिदाताको आगमन र तिनीहरूसँगको पुनर्मिलनको पनि उत्कट इच्छा गरेको छ; अर्थात्, हजारौँ वर्षदेखि मानिसहरूबाट अलग गरिनुभएका मुक्तिदाता येशू फर्केर आउनुभएको र यहूदीहरू माझ गर्नुभएको छुटकाराको काम फेरि एक पटक कार्यान्वयन गरेको, मानिसप्रति करुणामय र प्रेमिलो भएको, मानिसको पाप क्षमा गरेको, मानिसका पापहरू बहन गरेको, मानिसका सबै अपराधहरू समेत बहन गरेको र मानिसलाई पापबाट छुटकारा दिएको उत्कट चाह गरेको छ। मानिसले खास चाहेको कुराचाहिँ मुक्तिदाता येशू पहिलेको जस्तै हुनुभएको होस् भन्‍ने हो—एक मुक्तिदाता जो प्रेमिलो, दयालु र सम्मानीय हुनुहुन्छ, जो मानिससँग कहिल्यै क्रोधित हुनुहुन्न, र जसले कहिल्यै पनि मानिसको निन्दा गर्नुहुन्न, तर जसले क्षमा गर्नुहुन्छ, मानिसका सबै पापहरू लिनुहुन्छ र पहिलेको जस्तै, मानिसको निम्ति क्रूसमाथि मर्नुहुनेछ। येशू बिदा भएर जानुभएपछि, उहाँलाई पछ्याउने चेलाहरू, साथै उहाँको नाउँमा मुक्ति पाउने सन्तहरू सबैले उहाँको उत्कट चाह गर्दै र उहाँको प्रतीक्षा गर्दै आएका छन्। अनुग्रहको युगमा येशू ख्रीष्टको अनुग्रहद्वारा मुक्ति पाएका सबै मानिसहरू आखिरी दिनहरूको त्यो महान् दिनको तृष्णा गर्दै आइरहेका छन् जब मुक्तिदाता येशू सारा मानिसहरूकहाँ देखा पर्न सेतो बादलमा ओर्लनुहुनेछ। वास्तवमा, यो आज मुक्तिदाता येशूको नाउँ ग्रहण गर्ने सबै जनाको सामूहिक इच्छा पनि हो। येशू मुक्तिदाताको मुक्तिलाई जान्‍ने ब्रह्माण्डका हरेकले पृथ्वीमा हुनुहुँदा: “म जसरी गएको छु त्यसै गरी आउनेछु” भन्नुभएको कुरा पूरा गर्न येशू ख्रीष्ट अचानक देखा पर्नुभएको होस् भनी उत्कट इच्छा गर्दैआइरहेका छन्। क्रुसीकरण र पुनरुत्थानपछि, सर्वोच्चको दाहिने हातपट्टिको उहाँको स्थान लिन येशू सेतो बादलमा स्वर्ग फर्केर जानुभयो भनी मानिसले विश्‍वास गर्छ। त्यसरी नै, हजारौँ वर्षदेखि उहाँको उत्कट चाह गर्नेहरूमाझ, येशू सेतो बादलमा (यो बादलले येशू स्वर्गमा फर्कनुहुँदा चढ्नुभएको बादललाई जनाउँछ) फेरि ओर्लिआउनुहुनेछ र उहाँले यहूदीहरूको स्वरूप बहन गर्नुहुनेछ र पोसाक धारण गर्नुहुनेछ। मानिसकहाँ देखा पर्नुभएपछि, उहाँले तिनीहरूलाई खाना दिनुहुनेछ र तिनीहरूका निम्ति जिउँदो पानी निस्कन लगाउनुहुनेछ र मानिसहरू माझ अनुग्रहले पूर्ण, प्रेमले पूर्ण, सुस्पष्ट र यथार्थ भएर जिउनुहुनेछ। मानिसहरूले यस्तै सारा धारणाहरूमा विश्‍वास गर्छन्। तैपनि मुक्तिदाता येशूले यसो गर्नुभएन; उहाँले मानिसहरूले बुझेको भन्दा विपरीत गर्नुभयो। उहाँको पुनःआगमनको उत्कट इच्छा गर्नेहरूमाझ उहाँ आउनुभएन र सेतो बादलमा सवार भएर उहाँ सबै मानिसहरूकहाँ देखा पर्नुभएन। उहाँ पहिले नै आइसक्नुभएको छ, तर मानिसलाई थाहा छैन र यसबारे अज्ञात रहन्छ। उहाँ अघि नै “सेतो बादलमा” (त्यो बादलचाहिँ उहाँको आत्मा, उहाँका वचनहरू, उहाँको सारा स्वभाव र उहाँ जे हुनुहुन्छ सो सबै हो) ओर्लिआइसक्नुभएको छ भन्‍ने कुराप्रति बेखवर भएर, मानिसले उहाँलाई लक्ष्यहीन रूपमा प्रतीक्षा मात्रै गरिरहन्छन् र अहिले उहाँ आखिरी दिनहरूको अवधिमा उहाँले बनाउनुहुने विजेताहरूको समूह माझ हुनुहुन्छ। मानिसले यो कुरा जान्दैन: मानिसको निम्ति पवित्र मुक्तिदाता येशूसित भएको सारा स्नेह र प्रेमको बाबजुद पनि, फोहोरी र अशुद्ध आत्माहरूले बास गरेको “मन्दिरहरू” मा उहाँले कसरी काम गर्न सक्नुहुन्छ? मानिसले उहाँको आगमनको प्रतीक्षा गर्दैआइरहेको भए पनि, अधर्मीको देह खानेहरू, अधर्मीको रगत पिउनेहरू, र अधर्मीको वस्‍त्र धारण गर्नेहरू, उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्ने र उहाँलाई निरन्तर धुतिरहनेहरूकहाँ उहाँ कसरी देखा पर्न सक्नुहुन्थ्यो? येशू प्रेमले पूर्ण, र करुणाले भरिएको हुनुहुन्छ, र उहाँ पाप बलि र उद्धारले पूर्ण हुनुहुन्छ भन्‍ने मात्र मानिसले जान्दछ। यद्यपि, उहाँ स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ जो धार्मिकता, प्रताप, क्रोध र न्यायले पूर्ण, अख्तियारले भएको र प्रतिष्ठाले पूर्ण हुनुहुन्छ भन्‍ने कुरा मानिसले जान्दैन। यसकारण, मानिसले उद्धारकर्ताको आगमनको उत्कट इच्छा र चाह गरे पनि, र तिनीहरूको प्रार्थनाले “स्वर्ग” नै हल्लाए पनि, उहाँमा विश्‍वास गर्ने तर उहाँलाई नचिन्नेहरूकहाँ मुक्तिदाता येशू देखा पर्नुहुन्न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मुक्तिदाता पहिले नै “सेतो बादल” मा फर्किसक्नुभएको छ

यदि, मानिसले कल्पना गरेझैं येशू फेरि आउनुहुनेछ र आखिरी दिनहरूमा पनि अझै येशू नै कहलाइनुहुन्छ र अझै पनि सेतो बादलमा सवार भएर येशूको स्वरूपमा मानिसहरूमाझ ओर्लनुहुन्छ भने, के त्यो उहाँको काम दोहोऱ्याउनु नै हुँदैन र? के पवित्र आत्मा पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? मानिसले विश्‍वास गर्ने सबै धारणाहरू हुन्, र मानिसले बुझ्ने सबै शाब्दिक अर्थअनुसार, र उसको कल्पनाशक्ति अनुसार हुन्छ; ती पवित्र आत्माको कामका सिद्धान्तहरूसँग बाझिन्छन् र ती परमेश्‍वरका अभिप्रायअनुरूप हुँदैनन्। परमेश्‍वरले त्यस्तो प्रकारले काम गर्नुहुन्न; परमेश्‍वर त्यति मूर्ख र अबुझ हुनुहुन्न, र उहाँको काम तैँले सोचेको जस्तो सरल छैन। मानिसले कल्पना गर्ने सबै कुराको आधारमा, येशू बादलमा सवार भएर आउनुहुनेछ र तिमीहरूको बीचमा ओर्लनुहुनेछ। तिमीहरू उहाँलाई देख्नेछौ, जसले बादलमा सवार भएर, तिमीहरूलाई म येशू हुँ भनी भन्नुहुनेछ। तिमीहरूले उहाँको हातमा कीलका डामहरू पनि देख्नेछौ, र उहाँ येशू नै हुनुहुन्छ भनी चिन्नेछौ। अनि उहाँले तिमीहरूलाई फेरि मुक्ति दिनुहुनेछ र उहाँ तिमीहरूका शक्तिशाली परमेश्‍वर हुनुहुनेछ। उहाँले तिमीहरूलाई बचाउनुहुनेछ, तिमीहरूलाई एउटा नयाँ नाउँ प्रदान गर्नुहुनेछ, र तिमीहरू हरेकलाई एउटा सेतो ढुङ्गा दिनुहुनेछ, त्यसपछि तिमीहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्ने अनुमति दिनुहुनेछ र स्वर्गलोकमा ग्रहण गरिनेछ। के यस्ता विश्‍वास मानिसका धारणाहरू होइनन् र? के परमेश्‍वरले मानिसको धारणाअनुसार काम गर्नुहुन्छ, वा उहाँले मानिसका धारणाहरू विपरीत काम गर्नुहुन्छ? के मानिसका धारणाहरू सबै शैतानबाट प्राप्त भएका होइनन् र? के सबै मानिस शैतानले भ्रष्ट भएका छैनन् र? यदि परमेश्‍वरले आफ्नो काम मानिसको धारणाअनुसार गर्नुभयो भने के उहाँ शैतान बन्नुहुन्न र? के उहाँ सृष्टि गरिएका प्राणीहरूजस्तै बन्नुहुन्न र? अहिले शैतानले सृष्टि गरिएका प्राणीहरूलाई धेरै भ्रष्ट पारेकाले मानिस शैतानको मूर्त रूप बनेको छ, यदि परमेश्‍वरले शैतानका कुराहरू अनुरूप काम गर्नुभयो भने के उहाँ शैतानको साठगाँठमा हुनुहुने थिएन र? मानिसले परमेश्‍वरको कामलाई कसरी बुझ्न सक्छ? त्यसकारण परमेश्‍वरले कहिल्यै पनि मानिसका धारणाहरू अनुसार काम गर्नुहुन्न, र तैँले कल्पना गरे अनुसार पनि काम गर्नुहुन्‍न। कति जना मानिसहरू छन्, जसले परमेश्‍वर आफैले उहाँ बादलमा आउनुहुनेछ भन्नुभएको छ भनी भन्छन्। परमेश्‍वर आफैले त्यसो भन्नुभएको थियो भन्‍ने कुरा सत्य हो, तर परमेश्‍वरका रहस्यहरू कसैले पनि बुझ्न सक्दैन भन्‍ने के तँलाई थाहा छैन? के परमेश्‍वरका वचनहरूको व्याख्या कसैले पनि गर्न सक्दैन भन्‍ने तँलाई थाहा छैन? के तँ पवित्र आत्माले नै त्यो ज्ञान र प्रकाश दिनुभएको हो भन्‍नेमा निश्चित छस्, र तँलाई अलिकति पनि शङ्का छैन? त्यसरी तँलाई प्रत्यक्ष रूपमा देखाउने निश्‍चय नै पवित्र आत्मा हुनुहुन्‍नथियो। तँलाई निर्देशन दिने पवित्र आत्मा हुनुहुन्थ्यो, कि तेरा आफ्नै धारणहरूको कारण तैँले त्यस्तो विचार गरिस्? तैँले भनिस्, “परमेश्‍वर आफैले यसो भन्नुभएको थियो।” तर परमेश्‍वरका वचनहरूलाई नाप्न हामीले हाम्रो आफ्नै विचार र दिमागको प्रयोग गर्न सक्दैनौं। यशैयाद्वारा बोलिएका वचनहरूको कुरा गर्दा, के तैँले तिनका वचनहरूलाई पूर्ण सुनिश्‍चितताको साथ व्याख्या गर्न सक्छस्? के तँ तिनका वचनहरूलाई व्याख्या गर्ने हिम्मत गर्छस्? तैँले यशैयाका वचनहरूको व्याख्या गर्ने हिम्मत गर्दैनस् भने येशूका वचनहरूको व्याख्या गर्ने हिम्मत किन गर्छस्? को धेरै उच्च हुनुहुन्छ, येशू कि यशैया? यसको जबाफ येशू हुनुहुन्छ भन्‍ने हुन्छ, त्यसकारण तैँले किन येशूले बोल्नुभएका वचनहरूको व्याख्या गर्छस्? के परमेश्‍वरले तँलाई उहाँको कामको बारेमा अघिबाटै बताउनुहुन्छ र? एउटै पनि सृष्टि गरिएको प्राणीले जान्न सक्दैन, स्वर्गका सन्देशवाहकहरूले पनि जान्दैनन्, न त मानिसका पुत्रले जान्नुहुन्छ, त्यसकारण तैँले कसरी जान्न सक्थिस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

अनुग्रहको युगको अन्त्यमा, अन्तिम युग आइपुगेको हुन्छ, र येशू आइसक्नुभएको हुन्छ। उहाँलाई अझै कसरी येशू भन्न सकिन्छ? उहाँले कसरी अझै पनि मानिसहरूका बीचमा येशूको रूप धारण गर्न सक्नुहुन्छ? के येशू नासरतको एक छविबाहेक अरू केही हुनुहुन्‍नथियो भन्‍ने तैँले बिर्सिस्? के येशू मानव जातिका उद्धारक मात्र हुनुहुन्थ्यो भन्‍ने तैँले बिर्सिस्? आखिरी दिनहरूमा उहाँले मानिसलाई जित्ने र सिद्ध गर्ने काम कसरी गर्न सक्नुहुन्थ्यो? येशू सेतो बादलमा सवार भएर जानुभयो—तथ्य यही हो—तर उहाँ कसरी मानिसहरूमाझ सेतो बादलमा फर्केर आउनुभएपछि पनि उहाँलाई येशू नै भनेर बोलाइन्छ र? यदि उहाँ साँच्चै बादलमा आउनुभयो भने, मानिसहरू उहाँलाई चिन्न कसरी असफल बन्छन् र? के सारा संसारभरिका मानिसहरूले उहाँलाई चिन्‍नेछैनन् र? त्यसोभए, के येशू मात्र परमेश्‍वर बन्नुहुन्न र? त्यो अवस्थामा, परमेश्‍वरको स्वरूप एक यहूदीको रूप हुनेथियो, साथै सदाका लागि त्यस्तै हुनेथियो। येशूले भन्नुभयो, कि उहाँ जसरी जानुभएको थियो त्यसरी नै आउनुहुनेछ, तर के तँ उहाँका वचनहरूको वास्तविक अर्थ जान्दछस्? के यो उहाँले तिमीहरूको समूहलाई भन्नुभएको हुन सक्छ? तँ यति मात्र जान्दछस्, कि उहाँ जसरी बादलमा सवार भएर जानुभएको थियो त्यसरी नै आउनुहुनेछ, तर परमेश्‍वर आफैले कसरी आफ्नो काम गर्नुहुन्छ भन्‍ने के तँलाई ठीकसँग थाहा छ? यदि तँ साँच्चै देख्‍न सक्थिस् भने, येशूले बोल्नुभएका वचनहरूको व्याख्या कसरी गर्नुपर्छ? उहाँले भन्नुभयो: जब मानिसका पुत्र आखिरी दिनहरूमा आउँदछ, त्यो ऊ आफैले जान्नेछैन, स्वर्गदूतहरूले जान्‍नेछैनन्, स्वर्गका दूतहरूले जान्‍नेछैनन्, र सारा मानव जातिले जान्नेछैन। केवल पिताले मात्र जान्नुहुन्छ, अर्थात्, आत्माले मात्र जान्नुहुन्छ। मानिसको पुत्रले आफैले पनि जान्दैन, तापनि, के तँ देख्न र जान्न सक्छस्? यदि तैँले जान्न र आफ्नै आँखाले देख्न सक्थिस् भने, के यी वचनहरू व्यर्थमा बोलिएका हुने थिएनन् र? अनि त्यसबेला येशूले के भन्नुभयो? “तर त्यो दिन र घडीको बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ। तर नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। … यसकारण, तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ।” जब त्यो दिन आउँछ, मानिसको पुत्र आफैलाई पनि त्यो थाहा हुँदैन। मानिसका पुत्रले एक सामान्य र साधारण व्यक्ति, परमेश्‍वरको देहधारी शरीरलाई बुझाउँछ। मानिसका पुत्र आफैलाई पनि थाहा छैन भने तैँले कसरी जान्न सक्छस्? येशूले भन्नुभयो, कि उहाँ जसरी जानुभएको थियो त्यसरी नै आउनुहुनेछ। जब उहाँ आउनुहुन्छ, त्यो उहाँ आफैले पनि थाहा पाउनुहुन्न, त्यसोभए के उहाँले तँलाई पहिल्यैबाट जानकारी दिन सक्नुहुन्छ? के तँ उहाँको आगमनलाई देख्न सक्छस्? के यो ठट्टा होइन?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

यही समयतिर, परमेश्‍वर आत्मिक शरीरमा होइन तर अति साधारण शरीरमा काम गर्नको लागि आउनुहुन्छ। त्यसबाहेक यो, परमेश्‍वरको दोस्रो देहधारणको शरीर मात्र होइन, यो त्यो शरीर पनि हो जसबाट परमेश्‍वर देहमा फर्किनुहुन्छ। यो अति साधारण देह हो। तैँले उहाँलाई अरूबाट फरक बनाउने त्यस्तो कुनै कुरा पनि देख्न सक्दैनस्, तर तैँले उहाँबाट पहिले नसुनिएका सत्यताहरू पाउन सक्छस्। यी नगण्य देहले परमेश्‍वरबाट सत्यताका सबै वचनलाई मूर्तरूप दिनुहुन्छ, आखिरी दिनहरूमा परमेश्‍वरका कामको जिम्मा लिनुहुन्छ र मानिसको लागि बुझ्नको लागि परमेश्‍वरको स्वभावको सम्पूर्णता व्यक्त गर्नुहुन्छ। के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न बिछट्टै चाहना राख्दैनस्? के तँ स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्न बिछट्टै चाहना राख्दैनस्? के तँ मानवजातिको गन्तव्य देख्न बिछट्टै चाहना राख्दैनस्? उहाँले तँलाई यी सबै रहस्य बताउनुहुनेछ—यस्ता रहस्यहरू जुन कुनै पनि मानिसले तँलाई बताउन सकेको छैन, र उहाँले तँलाई सत्यताहरू पनि बताउनुहुनेछ जुन सत्यता तैँले बुझ्दैनस्। उहाँ राज्यमा तेरो प्रवेशद्वार र नयाँ युगमा तेरो पथप्रदर्शक हुनुहुन्छ। यस्तो साधारण देहले बुझ्न नसकिने धेरै रहस्यहरू धारण गर्छ। उहाँका कार्यहरू तँलाई दुर्बोध लाग्न सक्छ, तर उहाँले गर्नुभएका कामको सम्पूर्ण लक्ष्य उहाँ मानिसहरूले विश्‍वास गरेजस्तो साधारण देह हुनुहुन्न भनेर तँलाई देख्न लगाउनु पर्याप्त छ। किनकि उहाँले परमेश्‍वरका अभिप्राय र आखिरी दिनहरूमा मानवजातिप्रति परमेश्‍वरले देखाउनुहुने हेरविचारको प्रतिनिधित्व गर्नुहुन्छ। तैँले उहाँका वचनहरूले स्वर्ग र पृथ्वी हल्लाएको झैँ सुन्न नसके पनि, तैँले उहाँका आँखाहरू बलिरहेका ज्वालाहरू जस्ता देख्न नसके पनि, र तैँले उहाँको फलामे डन्डाको अनुशासन प्राप्त गर्न नसके पनि, तँ उहाँका वचनहरूबाट सुन्न सक्छस् कि परमेश्‍वर क्रोधी हुनुहुन्छ र थाहा पाउन सक्छस् कि परमेश्‍वरले मानवजातिको लागि करुणा देखाइरहनुभएको छ; तैँले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको बुद्धि देख्न सक्छस् र अझ, सबै मानवजातिको लागि परमेश्‍वरको व्यग्रता बुझ्न सक्छस्। आखिरी दिनहरूमा परमेश्‍वरको काम मानिसलाई पृथ्वीका मानिसहरूमाझ जिइरहनुभएको स्वर्गमा हुनुहुने परमेश्‍वरलाई हेर्न दिनु र परमेश्वरलाई जान्न, उहाँप्रति समर्पित हुन, उहाँको डर मान्न र उहाँलाई प्रेम गर्न सक्षम बनाउनु हो। यसैको लागि उहाँ दोस्रो पटक देहमा फर्किनुभएको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

यस्तो कुरालाई जाँच्नु त्यत्ति कठिन कार्य होइन, तर यसका निम्ति हामी प्रत्येकले यो एउटा सत्यतालाई जान्नु आवश्यक हुन्छ: जो देहधारी परमेश्‍वर हुनुहुन्छ, उहाँमा परमेश्‍वरको सार हुनेछ, र जो देहधारी परमेश्‍वर हुनुहुन्छ उहाँमा परमेश्‍वरको अभिव्यक्ति हुनेछ। परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई ल्याउनुहुनेछ, र परमेश्‍वर देह बन्नुहुने हुनाले, उहाँ जे हुनुहुन्छ त्यो अभिव्यक्त गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन, उसलाई जीवन दिन, र उसका लागि बाटो देखाउन सक्नुहुनेछ। परमेश्‍वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्‍वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले व्यक्त गर्ने स्वभाव र वचनहरूबाट निर्धारित गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्‍वरको देहधारी शरीर हो कि होइन, वा यो साँचो बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्‍वरको शरीर हो कि होइन भनी पहिचान गर्दा, मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा निहित हुन्छ (उहाँको काम, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अज्ञानी छ भन्‍ने देखाउँछ। बाहिरी स्वरूपले सार निर्धारण गर्न सक्दैन; अझ भन्‍ने हो भने, परमेश्‍वरको कार्य मानिसका धारणाहरूसँग कहिल्यै पनि मेल खाँदैन। के येशूको बाहिरी स्वरूप मानिसको धारणाहरूभन्दा विपरीत थिएन र? के उहाँको अनुहार र पोसाकले उहाँको वास्तविक पहिचानलाई प्रस्तुत गर्न सक्थे र? के सुरु-सुरुका फरिसीहरूले येशूको बाहिरी स्वरूपलाई हेरेकाले र उहाँको मुखका वचनहरूलाई हृदयमा स्वीकार नगरेकाले उहाँको विरोध गरेका होइनन् र? म आशा गर्छु, परमेश्‍वरको देखा पर्ने घटनाको खोजी गर्ने प्रत्येक दाजुभाइ-दिदीबहिनीहरूले इतिहासको त्रासदी दोऱ्याउनेछैनन्। तैँले आधुनिक समयको फरिसी बनेर परमेश्‍वरलाई फेरि क्रूसमा टाँग्‍नु हुँदैन। तैँले परमेश्‍वरको पुनरागमनलाई कसरी स्वागत गर्नुपर्छ त्यो राम्ररी विचार गर्नुपर्छ, अनि सत्यताको अधीनमा बस्ने व्यक्ति कसरी बन्ने त्यस विषयमा स्पष्ट विचार हुनुपर्छ। येशू बादलमा सवार भएर फर्केर आउनुहुने दिनको प्रतीक्षा गर्ने सबैको जिम्मेवारी यही हो। हामीले आफ्ना आत्मिक आँखाहरूलाई स्पष्ट देख्‍ने बनाउनुपर्छ, अनि बढाइचढाइ गरिएका काल्पनिक शब्दहरूको दलदलमा फस्नु हुँदैन। हामीले परमेश्‍वरको वास्तविक कार्यबारे सोच्नुपर्छ, र परमेश्‍वरको व्यावहारिक पक्षलाई हेर्नुपर्छ। तिमीहरू प्रभु येशू बादलमा सवार भएर अचानक तिमीहरूको बीचमा आउनुहुने, र उहाँलाई कहिल्यै नचिनेका र नदेखेका, र उहाँको इच्छा कसरी पालन गर्नुपर्छ भनी नजानेका तिमीहरूलाई लैजानुहुने दिनको चाहनामा बगेर सधैँ अन्तै जाने नगर वा आफै दिवा सपनामा बगेर नजाओ। व्यावहारिक विषयहरूमा अझ बढी सोचविचार गर्नु नै राम्रो हुन्छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। यसअतिरिक्त, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। यस्ता मूर्ख, हठी र निर्बुद्धि मानिसहरूले परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भनी कसरी तिमीहरू भन्छौ? तिनीहरूले मसीहलाई कसरी देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूले पवित्र आत्माको कार्यको दिशा थाहा पाएनन्, र येशूले बोल्नुभएको सत्यताको मार्गलाई चिनेनन्; यसका अतिरिक्त, तिनीहरूले मसीहलाई पनि बुझेनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र तिनीहरू मसीहका साथमा कहिल्यै नरहेका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव साधनहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यताको पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्‍वास उपहासपूर्ण र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै अरू कुराहरू सोध्छु: तिमीहरूसित येशूको थोरै बुझाइ पनि नभएकाले, तिमीहरूलाई पनि प्राचीन फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तिमीहरूले सत्यताको मार्ग ठम्याउन सक्छौ? के तिमीहरूले म ख्रीष्टको विरोध गर्नेछैनँ भनी साँच्‍चै प्रत्याभूति गर्न सक्छौ? के तिमीहरूले पवित्र आत्माको कार्य अनुसरण गर्न सक्छौ? तिमीहरूले ख्रीष्टको विरोध गर्नेछौ कि छैनौ भन्‍ने तिमीहरूलाई थाहा छैन भने, म त भन्छु, तिमीहरू पहिले नै मृत्युको खतरामा जिइरहेका छौ। मसीहलाई नचिन्‍नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरू सबैले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। यसअतिरिक्त, तिनीहरूले येशूको पुनरागमनलाई शैतानले भ्रम छरेको रूपमा देख्‍न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत तुल्याउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्मा विरुद्धको ईश्‍वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरू आफ्ना त्रुटिहरू महसुस गर्न हठपूर्वक इन्कार गर्छौ भने, सेतो बादलमा येशू देह भई फर्कनुहुँदा तिमीहरूले उहाँको काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यो भन्छुः सत्यतालाई नस्विकार्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरूले निश्‍चय नै पवित्र आत्माको ईशनिन्दा गर्नेछन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिसहरू हुन्। तिमीहरू येशूको अनुग्रहको मात्र चाहना गर्छौ, र स्वर्गको उल्लासपूर्ण राज्यको आनन्द लिन मात्र चाहन्छौ; तर येशूले बोल्नुभएका वचनहरू तिमीहरूले कहिल्यै पालन गरेका छैनौ, र येशू देहमा आउनुहुँदा बताउनुभएको सत्यता कहिल्यै स्विकारेका छैनौ। सेतो बादलमा येशूको पुनरागमन हुने तथ्यको सट्टामा तिमीहरू के देखाउनेछौ? तिमीहरूले पटकपटक पाप गर्ने अनि बारम्बार स्वीकार गर्ने इमानदारी? सेतो बादलमा आउनुहुने येशूलाई तिमीहरू के बलि चढाउनेछौ? के यो तिमीहरूले आफैलाई उच्‍च पार्ने वर्षौँको कार्यरूपी पुँजी हो? फर्केर आउनुभएका येशूलाई तिमीहरूप्रति भरोसा दिलाउन तिमीहरूले के देखाउनेछौ? के त्यो कुनै सत्यताप्रति समर्पित नहुने तिमीहरूको त्यही अहङ्कारी प्रकृति हो?

… तिमीहरूलाई परमेश्‍वर के हुनुहुन्छ थाहा छैन, ख्रीष्ट के हुनुहुन्छ थाहा छैन, कसरी यहोवाको मान्ने थाहा छैन, पवित्र आत्माको काममा कसरी प्रवेश गर्ने थाहा छैन, र परमेश्‍वर स्वयम्‌को काम र मानिसको बहकाउलाई कसरी छुट्ट्याउने थाहा छैन। तँ त परमेश्‍वरले व्यक्त गर्नुभएको तेरो विचारसित नमिल्ने सत्यको जुनसुकै वचनको निन्दा गर्न मात्र जान्दछस्। तेरो नम्रता कहाँ छ? तेरो समर्पण कहाँ छ? तेरो बफादारिता कहाँ छ? सत्यता खोजी गर्ने तेरो इच्छा कहाँ छ? परमेश्‍वरको डर मान्ने तेरो हृदय कहाँ छ? म तिमीहरूलाई बताउँछु, चिन्हहरूका कारणले परमेश्‍वरमा विश्‍वास गर्नेहरू निश्‍चय नै नष्ट पारिने श्रेणीका हुन्। देहमा फर्किआउनुभएका येशूका वचनहरू स्विकार्न नसक्‍नेहरू निश्‍चय नै नरकका सन्तान, प्रधान स्वर्गदूतका सन्तती हुन्, र यिनीहरू अनन्त विनाशमा पर्ने श्रेणीका हुन्। धेरै मानिसहरूले मैले भनेको कुराको वास्ता नगर्न सक्छन्, तर येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई म अझै भन्छु; जब तिमीहरूले येशू स्वर्गबाट सेतो बादलमा आउनुभएको आफ्नै आँखाले देख्छौ, त्यो धार्मिकताको सूर्य सार्वजनिक रूपमा देखा पर्ने क्षण हुनेछ। सायद त्यो क्षण तेरो निम्ति ठूलो उल्लासको समय हुन सक्छ, तर तैँले येशू स्वर्गबाट ओर्लनुभएको देख्‍ने समय तँ दण्ड भोग्‍नलाई नरक जाने बेला पनि हो भनी जान्‍नुपर्छ। त्यो परमेश्‍वरको व्यवस्थापन योजनाको अन्त्यको समय हुनेछ, र त्यो परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय हुनेछ। सत्यताको अभिव्यक्ति मात्र हुँदा मानिसले चिन्हहरू देख्‍नुअघि नै परमेश्‍वरको न्याय अन्त्य भइसकेको हुनेछ। सत्यता स्वीकार गर्नेहरू, चिन्हहरू नखोज्नेहरू र यसरी शुद्ध पारिएकाहरू परमेश्‍वरको सिंहासनसामु फर्केका र सृष्टिकर्ताको अंगालोमा प्रवेश गरेका हुनेछन्। “सेतो बादलमा सवार नहुने येशू झुटो ख्रीष्ट हो” भन्‍ने विश्‍वासमा अड्डी कस्‍नेहरू अनन्त दण्डको भागीदार हुनेछन्, किनभने तिनीहरूले चिन्ह प्रदर्शन गर्नुहने येशूमा मात्र विश्‍वास गर्छन्, तर कठोर न्याय घोषणा गर्नुहुने र साँचो मार्ग र जीवनको निकास दिनुहुने येशूलाई स्वीकार गर्दैनन्। यसकारण, सेतो बादलमा येशूको खुल्लमखुल्ला पुनरागमन हुँदा मात्र उहाँले तिनीहरूलाई निराकरण गर्नुहुनेछ। तिनीहरू अति हट्ठी, आफैमा अति आत्मविश्‍वासी, अति अहङ्कारी छन्। यस्ता पतितहरूलाई येशूले कसरी इनाम दिन सक्‍नुहुन्छ? सत्यता स्वीकार गर्न सक्‍नेहरूका निम्ति येशूको पुनरागमन ठूलो मुक्ति हो, तर सत्यता स्वीकार गर्न नसक्‍नेहरूका निम्ति यो निन्दाको चिन्ह हो। तिमीहरूले आफ्नै मार्ग चुन्‍नुपर्छ र पवित्र आत्माको निन्दा र सत्यतालाई इन्कार गर्नु हुँदैन। तँ अज्ञानी र अहङ्कारी व्यक्ति हुनुहुँदैन, बरु पवित्र आत्माको मार्गदर्शनप्रति समर्पित हुने, सत्यताको तृष्णा र खोजी गर्ने व्यक्ति हुनुपर्छ; तिमीहरू यसरी मात्र लाभान्वित हुनेछौ। म तिमीहरूलाई परमेश्‍वरप्रतिको विश्‍वासको बाटो होसियारीपूर्वक हिँड्न सल्लाह दिन्छु। निचोडमा पुग्न हतार नगर; अझ भन्‍ने हो भने, परमेश्‍वरप्रतिको विश्‍वासमा लापरवाह र असावधान नबन। तिमीहरूले जान्‍नुपर्छ कि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा कम्तीमा पनि नम्र र परमेश्वरको डर मान्ने हृदय हुनैपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई फेरि बनाइसक्‍नुभएको हुनेछ

सम्बन्धित चलचित्र उद्धरणहरू

त्यसकारण प्रभु यसरी नै फर्कनुहुन्छ

मानिसको पुत्रको आगमनको रहस्य

सम्बन्धित भिडियोहरू

नाटक “प्रभुले ढकढक्याउनुहुँदैछ”

सम्बन्धित प्रवचनहरू

के प्रभु साँच्‍चै नै बादलको सवारीमा फर्कनुहुन्छ?

सम्बन्धित भजनहरू

विजेताहरूको एक समूहबीच परमेश्‍वर ओर्लनुभएको छ

आखिरी दिनहरूको ख्रीष्टलाई त्याग्नेहरू सदाका लागि दण्डित हुनेछन्

अघिल्लो: ङ. मानवजातिको सुन्दर गन्तव्य कस्तो हुनेछ

अर्को: २. धार्मिक संसारको धारणा: “प्रभुको पुनरागमन हुँदा, उहाँ आफू बौरी उठेको आत्मिक शरीरमा मानिसहरूसामु देखा पर्नुहुनेछ”

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्