१. मानिसहरूको धारणा र कल्पनाको समस्या कसरी समाधान गर्ने
सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूका वचनहरू
परमेश्वरको कार्यमा सधैँ नयाँ प्रगतिहरू भइरहने हुनाले, नयाँ कार्यहरू पैदा हुने क्रममा अप्रचलित र पुरानो हुँदै जाने कार्य पनि छन्। यी विभिन्न किसिमका कार्यहरू, अर्थात् पुराना र नयाँ कार्यहरू, एक-अर्कामा विरोधाभासपूर्ण छैनन्, बरु परिपूरक छन्; प्रत्येक चरण पछिल्लो चरणपछि आउँछ। नयाँ काम आइसकेको हुनाले, पुराना कुराहरूलाई निश्चय नै हटाइनुपर्छ। उदाहरणको लागि, धेरै अघिदेखि स्थापित चलनचल्तीहरू अनि मानिसका प्रचलित भनाइहरूले, मानिसका धेरै वर्षका अनुभव अनि शिक्षाहरूसँग मिलेर, मानिसको मन-मस्तिष्कमा अनेक प्रकार र स्वरूपका आदत र धारणाहरू बनाएका हुन्छन्। परमेश्वरले मानिसलाई उहाँको साँचो मुहार अनि उहाँमा निहित स्वभाव पूर्ण रूपले प्रकट गर्न बाँकी छ, साथै प्राचीनकालदेखि नै धेरै वर्षसम्म फैलिएका परम्परागत सिद्धान्तहरूले मानिसमा यस्ता धारणाहरूको निर्माणमा अझ धेरै भूमिका खेलेको छ। परमेश्वरमाथिको मानिसको विश्वासको सिलसिलामा, विभिन्न प्रकारका धारणाहरूका प्रभावले मानिसमा परमेश्वरसम्बन्धी अनेक किसिमका धारणागत बुझाइहरूको निरन्तर निर्माण र विकास गरेको छ, जसले गर्दा परमेश्वरको सेवा गर्ने धेरै धार्मिक मानिसहरू उहाँको शत्रु हुनपुगेका छन्। त्यसकारण, मानिसहरूको धार्मिक धारणाहरू जति बलिया हुन्छन्, तिनीहरूले त्यति नै बढी परमेश्वरको विरोध गर्छन्, अनि तिनीहरू त्यति नै बढी परमेश्वरका शत्रु बन्छन्। परमेश्वरको काम सधैँ नै नयाँ हुन्छ र कहिल्यै पुरानो हुँदैन; यसले कहिले पनि धर्मसिद्धान्तको निर्माण गर्दैन, बरु धेरै वा थोरै हदमा यो निरन्तर बदलिरहन्छ र नवीकरण भइरहन्छ। यो तरिकाले कार्य गर्नु परमेश्वर स्वयम्को निहित स्वभावको एउटा अभिव्यक्ति हो। यो परमेश्वरको कार्यको निहित सिद्धान्त पनि हो, अनि यो परमेश्वरले आफ्नो व्यवस्थापन कार्यलाई पूरा गर्ने एक साधन पनि हो। यदि परमेश्वरले यसरी कार्य नगर्नुभएको भए, मानिस परिवर्तन हुनेथिएन वा उसले परमेश्वरलाई चिन्न सक्नेथिएन, अनि शैतानलाई हराउन सकिनेथिएन। तसर्थ, उहाँको कार्यमा, अस्थिर देखिने तर वास्तवमा आवधिक रहेका परिवर्तनहरू निरन्तर भइरहन्छन्। तैपनि, मानिसले जसरी परमेश्वरमा विश्वास गर्छ, त्यो बिलकुलै फरक हुन्छ। ऊ पुराना, परिचित धर्मसिद्धान्त र प्रणालीहरूमा नै झुन्डिरहन्छ, अनि तिनीहरू जति पुराना हुन्छन्, उसलाई ती त्यति नै राम्रा लाग्छन्। कसरी मानिसको मूर्ख मस्तिष्कले, एउटा ढुङ्गा जस्तै कठोर मस्तिष्कले, परमेश्वरको अथाह नयाँ काम र वचनलाई स्वीकार गर्न सक्छ? मानिसले त्यो परमेश्वरलाई घृणा गर्छ, जो सर्वदा नयाँ रहनुहुन्छ अनि कहिले पुरानो हुनुहुँदैन; ऊ केवल पुरानो परमेश्वरलाई मात्र मन पराउँछ, जसको लामो दाँत, सेतो कपाल हुन्छ, अनि जो एक ठाउँमा नै अडिग हुनुहुन्छ। तसर्थ, परमेश्वर र मानिसका आ-आफ्नै मनपर्ने कुराहरू भएको कारण, मानिस परमेश्वरको शत्रु बनेको छ। आज पनि, परमेश्वरले छ हजार वर्षदेखि नयाँ कार्य गर्दै आइरहनुभएको यस्तो समयमा पनि, अझै यस्ता धेरै विरोधाभासहरू छन्। अनि तिनीहरू सुधार गर्न नसकिने अवस्थामा छन्। सायद यो मानिसहरूको ढिपीको कारण, वा परमेश्वरका प्रशासनिक नियमहरूलाई मानिसले उल्लङ्घन गर्न नसक्ने कारणले यस्तो भएको हो—तर ती सेवक अनि सेविकाहरू ती ढुँडी लागेका पुराना पुस्तक र कागजहरूमा टाँसिरहन्छन्, जबकि परमेश्वरले आफ्ना व्यवस्थापन कार्यभित्रका अधुरा कार्यहरूलाई अघि बढाइरहनुहुन्छ, मानौं उहाँको पक्षमा कोही पनि छैनन्। यी विरोधाभासहरूले परमेश्वर र मानिसका शत्रुहरू बनाउने भए पनि, र ती समाधान हुन नसकिने भए पनि, परमेश्वरले तिनीहरूलाई तिनीहरू त्यहाँ भए पनि नभएको जस्तै गरी कुनै ध्यान दिनुहुन्न। तैपनि, मानिस अझै पनि आफ्ना विश्वास र धारणाहरूमा टाँसिरहन्छ, तिनीहरूलाई कहिले पनि छोड्दैन। यद्यपि एउटा कुरा चाहिँ स्पष्टै छ: मानिस आफ्नो अडानबाट पछि नहटे पनि, परमेश्वरको खुट्टा सधैँ अघि बढिरहन्छ, अनि उहाँले आफ्नो अडानलाई परिवेशअनुसार सँधै बदलिरहनुहुन्छ। अन्तमा, कुनै लडाइँविना नै हार्नुपर्ने त मानिस नै हो। यस क्रममा, परमेश्वर उहाँले पराजित गर्नुभएका उहाँका सबै शत्रुहरूको सबैभन्दा ठूलो शत्रु हुनुहुन्छ, अनि पराजित र अपराजित सबै मानवजातिको पक्षधर पनि हुनुहुन्छ। परमेश्वरसित प्रतिस्पर्धा गरेर को विजयी हुनसक्छ? मानिसका धारणाहरू परमेश्वरबाट नै आएका हुन् झैँ लाग्छ, किनभने तीमध्ये धेरै धारणाहरू परमेश्वरको कार्यपछि नै जन्मिएका थिए। तैपनि, यसको कारणले परमेश्वरले मानिसलाई क्षमा गर्नुहुन्न, न त उहाँले उहाँको कार्यपछि उहाँको कार्यभन्दा बाहिर “परमेश्वरको निम्ति” एकपछि अर्को जत्था उत्पादन गरेकोमा उहाँले मानिसलाई प्रशंसा नै गर्नुहुन्छ। बरु, उहाँ मानिसका धारणाहरू अनि पुराना, धार्मिक मान्यताहरूलाई यति घृणा गर्नुहुन्छ कि कुन मितिमा ती धारणाहरू सुरुमा आए भन्ने कुरा स्वीकार गर्ने मन पनि उहाँमा हुँदैन। उहाँले ती सबै उहाँकै कार्यको कारण भएको हो भनी स्वीकार गर्नुहुन्न, किनभने मानिसका धारणाहरू मानिसले नै फैलाउँछन्; तिनीहरूको स्रोत मानिसकै सोचहरू अनि मस्तिष्क हुन्—परमेश्वर हुनुहुन्न, शैतान हो। परमेश्वरको अभिप्राय सधैँ नै उहाँको कार्य पुरानो र मरेको होइन, नयाँ र जीवित होस् भन्ने रहेको छ अनि उहाँले मानिसलाई जे पालन गर्न लगाउनुहुन्छ त्यो युग र अवधिअनुसार फरक हुनसक्छ, अनि त्यो अनन्त र अपरिवर्तनीय छैन। यस्तो हुन्छ किनभने उहाँ मानिसलाई जिउन र नयाँ बन्न लगाउनुहुने परमेश्वर हुनुहुन्छ, मानिसलाई मर्न र वृद्ध हुन लगाउने दियाबलस होइन। के यसलाई तिमीहरू अझै बुझ्दैनौ? परमेश्वरको बारेमा तँमा धारणाहरू छन् अनि तैँले तिनलाई त्याग्न सक्दैनस्, किनभने तँ कुण्ठित मनको छस्। यो परमेश्वरको कार्यभित्र थोरै अर्थ भएको कारणले होइन, न त उहाँको कार्य मान्छेको भावनाप्रति असंवेदनशील भएर नै हो, अझ भन्ने हो भने, न त यो परमेश्वर आफ्नो जिम्मेवारीमा सँधै लापरवाही हुनुभएर नै हो। तैँले आफ्ना धारणाहरू त्याग्न सक्दैनस् किनभने तँमा समर्पणता अत्यन्तै कम छ, र किनभने तँमा सृजना गरिएका प्राणीजस्तो सादृश्यता अलिकति पनि छैन; यो परमेश्वरले तेरो लागि परिस्थिति कठिन बनाइदिनुभएकोले भएको होइन। यो सबै तैँले गर्दा नै भएको हो, अनि परमेश्वरसित यसको कुनै सम्बन्ध छैन; सबै कष्ट र दुर्भाग्यहरू मानिसद्वारा नै सृजना गरिएका हुन्। परमेश्वरका विचारहरू सधैं असल हुन्छन्: तैँले कुनै धारणाहरू सृजना गर् भन्ने परमेश्वरले चाहनुहुन्न, तर युग बित्दै जाँदा तँ परिवर्तन एवं नवीकरण भएको इच्छा गर्नुहुन्छ। तैपनि तेरो लागि के असल छ त्यो तँ जान्दैनस्, अनि सधैँ तँ सुक्ष्म जाँच वा विश्लेषण गर्दै बस्छस्। यो परमेश्वरले तेरो निम्ति परिस्थिति कठिन बनाउनुहुन्छ भन्ने कुरा होइन, बरु यो त तँमा परमेश्वरको डर मान्ने हृदय छैन, अनि तेरो विद्रोहीपन धेरै ठूलो छ भन्ने कुरा हो। सृष्टि गरिएको एउटा सूक्ष्म प्राणी, परमेश्वरले पहिले दिनुभएको कुनै कुराको एउटा सानो अंश लिने आँट गर्छ अनि फर्केर परमेश्वरलाई नै आक्रमण गर्न त्यसको प्रयोग गर्छ—के यो मानिसको विद्रोहीपन होइन र? मानवजाति परमेश्वरको अघि आफ्नो विचार पोख्न बिलकुलै अयोग्य छ, अनि तिनीहरू तिनीहरूले इच्छा गरेको जस्तो तिनीहरूको बेकारको, गन्हाउने, कुहेको, फुलाङ्गो भाषा बोल्दै वरिपरि घुम्नु अझै अयोग्य छन् भनेर भन्नु अत्युक्ति हुँदैन—ती सडेका धारणाहरूको बारेमा केही भन्नु पर्दैन। के तिनीहरू अझै बेकारका छैनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आज परमेश्वरको कामको बारेमा जान्नेहरूले मात्र परमेश्वरको सेवा गर्न सक्छन्
यो जान, कि तिमीहरू परमेश्वरको कार्यलाई विरोध गर्छौ, वा आजको कामलाई नाप्नको लागि तिमीहरूका आफ्नै धारणाहरूको प्रयोग गर्छौ, किनभने तिमीहरूलाई परमेश्वरको कार्यका सिद्धान्तहरू थाहा छैन, र किनभने तिमीहरूले पवित्र आत्माको कार्यलाई रूखो तरिकाले व्यवहार गरेका हुनाले। परमेश्वरप्रतिको तिमीहरूको विरोध र पवित्र आत्माको कामप्रतिको अवरोध तिमीहरूका धारणा र अन्तर्निहित अहङ्कारले पैदा गरेको हो। परमेश्वरको कार्य गलत भएर होइन, बरु तिमीहरू प्राकृतिक रूपमै अत्यन्तै विद्रोही भएकोले यसो भएको हो। परमेश्वरमाथिको आफ्नो आस्थालाई भेटिसकेपछि, कतिपय मानिसहरूले मानिस कहाँबाट आएको हो भनेर समेत निश्चयताको साथ भन्न सक्दैनन्, तैपनि तिनीहरू पवित्र आत्माको कामका सही र गलत कुराहरूलाई मूल्याङ्कन गर्दै सार्वजनिक भाषणहरू दिने आँट गर्छन्। तिनीहरू टिप्पणीहरू गर्दै र अनुचित गफ लडाउँदै पवित्र आत्माको नयाँ काम भएका प्रेरितहरूलाई समेत भाषण दिन्छन्; तिनीहरूको मानवता अत्यन्तै नीच छ, र तिनीहरूमा अलिकति पनि चेतना छैन। के त्यस्ता मानिसहरूलाई पवित्र आत्माले तिरस्कार गरेर नरकको आगोद्वारा जलाउने दिन आउनेछैन र? तिनीहरूलाई परमेश्वरको कामको बारेमा थाहा छैन, तैपनि उहाँको कामको आलोचना गर्छन्, र कसरी काम गर्ने भनेर परमेश्वरलाई समेत निर्देशन दिने प्रयास गर्छन्। त्यस्ता अनुचित मानिसहरूले कसरी परमेश्वरलाई चिन्न सक्छन् र? खोजी गर्ने र अनुभव गर्ने प्रक्रियामा मानिसले परमेश्वरलाई चिन्न पुग्छ; आवेगमा आलोचना गरेर होइन तर पवित्र आत्माको अन्तर्दृष्टिद्वारा मानिसले परमेश्वरलाई चिन्न पुग्छ। परमेश्वर सम्बन्धी मानिसहरूको ज्ञान जति यथार्थ हुन्छ, तिनीहरूले त्यति नै कम विरोध गर्छन्। यसको विपरीत, मानिसहरूले परमेश्वरलाई जति कम चिन्छन्, तिनीहरूले उहाँको विरोध गर्ने सम्भावना त्यति नै बढी हुन्छ। तेरा धारणाहरू, तेरो पुरानो प्रकृति, र तेरो मानवता, चरित्र र नैतिक दृष्टिकोण तैँले परमेश्वरलाई प्रतिरोध गर्ने पूँजी हो, र तेरा नैतिकताहरू जति भ्रष्ट, तेरा गुणहरू जति घिन लाग्दो, र तेरो मानवता जति नीच बन्छ, तँ त्यति नै बढी परमेश्वरको शत्रु बन्छस्। जोसँग दह्रिला धारणाहरू हुन्छन् र जोसँग आत्म-धर्मी स्वभाव हुन्छ तिनीहरू देहधारी परमेश्वरको अझै बढी शत्रुतामा हुन्छन्; त्यस्ता मानिसहरू ख्रीष्ट विरोधीहरू हुन्। यदि तेरा धारणाहरूलाई सुधार गरिएन भने, ती सधैँ नै परमेश्वरको विरुद्ध हुनेछन्; तँ कहिल्यै पनि परमेश्वरसँग मिल्ने बन्नेछैनस्, र तँ उहाँबाट सधैँ अलग हुनेछस्।
तेरा पुराना धारणाहरूलाई पन्छ्याएपछि मात्रै तैँले नयाँ ज्ञान प्राप्त गर्न सक्छस्, तैपनि पुरानो ज्ञान र पुराना धारणाहरू उही हुन् भन्ने छैन। “धारणाहरू” मानिसले कल्पना गरेका कुराहरू हुन्, जुन वास्तविकतासँग मिल्दैनन्। यदि पुरानो ज्ञानको म्याद पुरानो युगमा नै सकिएको छ र यसले मानिसलाई नयाँ काममा प्रवेश गर्न रोकेको छ भने, त्यस्तो ज्ञान पनि धारणा नै हो। यदि मानिसले त्यस्तो ज्ञानलाई सही रूपमा पहुँच गर्न सक्छ र पुरानो र नयाँलाई एकट्ठा गरेर विभिन्न पक्षहरूबाट परमेश्वरलाई चिन्न सक्छ भने, पुरानो ज्ञान मानिसको सहायता बन्छ, र मानिस नयाँ युगमा प्रवेश गर्ने आधार बन्छ। … मानिसले आफ्नो मनमा आफैले कल्पना गरेको परमेश्वरमा विश्वास गर्छ, र वास्तविक परमेश्वरलाई खोजी गर्दैन। यदि एउटा व्यक्तिमा एक प्रकारको आस्था हुन्छ भने, सय जना मानिसहरूमा सय प्रकारका आस्था हुन्छन्। मानिसले परमेश्वरको व्यावहारिक काम नदेखेको हुनाले, उसले यसलाई आफ्ना कानद्वारा मात्रै सुनेको र आफ्नो आँखाले नदेखेको हुनाले मानिसमा त्यस्तो आस्था हुन्छ। मानिसले दन्तकथा र कथाहरू सुनेको हुन्छ—तर परमेश्वरको कार्यको ज्ञानलाई उसले बिरलै सुनेको हुन्छ। तसर्थ एक वर्षदेखि विश्वासी बनेका मानिसहरू तिनीहरूका आफ्नै धारणाहरूद्वारा परमेश्वरमा विश्वास गर्न पुगेका हुन्छन्। आफ्नो जीवनभरि परमेश्वरमा विश्वास गरेका मानिसहरूको हकमा पनि यही कुरा लागू हुन्छ। तथ्यहरूलाई देख्न नसक्नेहरू परमेश्वरका बारेमा रहेका धारणाहरू सहितको विश्वासबाट कहिल्यै उम्कन सक्नेछैनन्। मानिसले आफैलाई आफ्ना पुराना धारणाहरूका बन्धनहरूबाट मुक्त गरेको छ र ऊ नयाँ क्षेत्रमा प्रवेश गरेको छ भन्ने विश्वास गर्छ। के परमेश्वरको साँचो मुहारलाई देख्न नसक्नेहरूको ज्ञान धारणाहरू र हल्लाहरू बाहेक केही पनि होइनन् भन्ने कुरा मानिसलाई थाहा हुँदैन र? उसका धारणाहरू सही छन् र त्रुटि रहित छन् भन्ने मानिसले विचार गर्छ, र उसले यी धारणाहरू परमेश्वरबाट आउँछन् भन्ने विचार गर्छ। आज, जब मानिसले परमेश्वरको काम देख्छ, उसले धेरै वर्षसम्म थुप्रिएर बसेका धारणाहरूलाई खुला छोड्छ। विगतका कल्पनाहरू र विचारहरू यो चरणको कार्यको निम्ति अवरोध बनेको छ, र त्यस्ता धारणाहरूलाई छोड्न र त्यस्ता विचारहरूलाई खण्डन गर्न मानिसको लागि कठिन भएको छ। आजसम्म परमेश्वरलाई पछ्याएका धेरैको यो चरणबद्ध कार्य सम्बन्धी धारणाहरू अझै बढी गम्भीर बनेको छ, र यी मानिसहरूले क्रमिक रूपमा देहधारी परमेश्वरप्रति जिद्दी शत्रुता निर्माण गरेका छन्। यो घृणाको स्रोत मानिसका धारणाहरू र कल्पनाहरूमा निहित छ। मानिसका धारणा र कल्पनाहरू आजको कामको शत्रु बनेको छ, जुन काम मानिसका धारणाहरूका विपरीत छ। तथ्यहरूले मानिसलाई उसका कल्पनाहरू बेलगाम छोड्न दिँदैन, यसको साथै यसलाई मानिसले सहजै खण्डन गर्न सक्दैन, र मानिसका धारणा र कल्पनाहरू तथ्यहरूको अस्तित्वसँग मिल्दैन, यसको साथै, मानिसले तथ्यहरूको सटीकता र सत्यतालाई विचार गर्दैन, र एकोहोरो रूपमा आफ्ना धारणाहरूलाई छोडिदिन्छ र उसको आफ्नो कल्पनाहरूको प्रयोग गर्छ, ठीक यही कारणले यसो भएको हो। यो मानिसका धारणाहरूको गल्ती हो भनेर मात्रै भन्न सकिन्छ, अनि परमेश्वरको कामको गल्ती हो भनेर भन्न सकिँदैन। मानिसले आफूलाई जस्तो मन लाग्यो त्यस्तै कल्पना गर्न सक्छ, तर उसले परमेश्वरको कार्यको कुनै पनि चरण वा यसको कुनै पनि भागलाई स्वतन्त्र रूपमा खण्डन गर्न सक्दैन; परमेश्वरको कार्यको तथ्यलाई मानिसले तोड्न सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्वरलाई चिन्ने मार्ग हो
यदि तिमीहरूले परमेश्वरलाई माटोबाट बनाइएको एउटा मूर्ति जस्तै मापन गर्न र सीमित गर्न आफ्नै धारणाको प्रयोग गर्छौ भने, र यदि तिमीहरूले परमेश्वरलाई बाइबलको सीमाभित्र मात्र सीमित राख्यौ र उहाँलाई कामको सीमित क्षेत्रभित्र मात्र राख्यौ भने तिमीहरूले परमेश्वरलाई दोष लगाएका छौ भनी यसले प्रमाणित गर्छ। पुरानो करारको युगका यहूदीहरूले परमेश्वरलाई मसीह भन्न सक्थे, र मसीह भनिने व्यक्ति मात्र परमेश्वर हुन सक्नुहुन्छ झैँ गरी परमेश्वरलाई तिनीहरूको हृदयमा राखिएको एक स्थिर मूर्तिको रूपमा लिएका हुनाले, र परमेश्वर (जीवनरहित) माटोको एउटा मूर्ति हुनुहुन्छ झैँ गरी मानवजातिले सेवा गरेको र आराधना गरेको हुनाले, तिनीहरूले त्यस बेलाको येशूलाई क्रूसमा झुन्ड्याएर मृत्युदण्ड दिए—यसरी दोषरहित येशूलाई मृत्युदण्ड दिइयो। परमेश्वर कुनै पनि अपराधबाट दोषरहित हुनुहुन्थ्यो, तैपनि मानिसले उहाँलाई छोड्न इन्कार गर्यो, अनि उहाँलाई मृत्युदण्ड दिन माग गरिरह्यो, त्यसैले येशूलाई क्रूसमा झुन्ड्याइयो। मानिससँग परमेश्वरको व्यवस्थापनको सिद्ध बुझाइ छ जस्तै गरी, परमेश्वरले गर्नुभएका सबै थोक मानिसले आफ्नो हतकेलामा राखेको छ जस्तै गरी परमेश्वर अपरिवर्तनशील हुनुहुन्छ भनी उसले सधैँ विश्वास गर्छ, र उहाँलाई एउटा पुस्तक अर्थात् बाइबलको आधारमा परिभाषित गर्छ। मानिसहरू चरम रूपमा हास्यास्पद, चरम रूपमा अहङ्कारी छन्, तिनीहरू सबैसँग बढाइचढाइ कुरा गर्ने अन्तर्निहित क्षमता हुन्छ। परमेश्वरको बारेमा तेरो ज्ञान जतिसुकै ठूलो भए तापनि तैँले परमेश्वरलाई चिनेको छैनस्, परमेश्वरको सबैभन्दा बढी विरोध गर्ने तँ नै होस्, र तैँले परमेश्वरलाई दोष लगाएको छस् भनी म अझै पनि भन्छु, किनकि तिमीहरू परमेश्वरको कामप्रति समर्पित हुन र परमेश्वरले सिद्ध तुल्याउनुहुने मार्गमा हिँड्न पूर्णतया असक्षम छौ। परमेश्वर मानिसका कार्यहरूदेखि किन कहिल्यै सन्तुष्ट हुनुभएको छैन? किनकि मानिसले परमेश्वरलाई चिन्दैन, किनकि उसँग थुप्रै धारणाहरू छन्, किनकि परमेश्वर सम्बन्धी उसको ज्ञान वास्तविकता अनुरूप हुँदैन, बरु कुनै भिन्नताविना एउटै विषयवस्तु एकोहोरो दोहोर्याइरहन्छ र हरेक परिस्थितिको निम्ति एउटै तरिका प्रयोग गर्छ। त्यसैले, परमेश्वर आज पृथ्वीमा आउनुभए पनि मानिसले फेरि उहाँलाई क्रूसमा टाँगेको छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुष्टलाई निश्चय नै दण्ड दिइनेछ
जब परमेश्वर देहधारी हुनुहुन्छ र मानिसहरूबीच काम गर्न आउनुहुन्छ, सबैले उहाँलाई देख्छन् र उहाँका वचनहरू सुन्छन्, र सबैले ती कार्य देख्छन् जुन परमेश्वरले उहाँको देहधारी शरीरभित्रबाट गर्नुहुन्छ। त्यस क्षणमा, मानिसका सबै धारणा फिँजजस्तै बन्छन्। परमेश्वर शरीरमा प्रकट हुनुभएको देख्ने व्यक्तिहरू स्वेच्छाले उहाँमा समर्पित हुन्छन् भने, उनीहरूलाई दोषी ठहराइनेछैन, जब कि उद्देश्यपूर्ण तरिकाले उहाँविरुद्ध खडा हुनेहरूलाई परमेश्वरको विरोधी ठानिनेछ। यस्ता मानिसहरू ख्रीष्टविरोधी, शत्रु हुन् जो जानीबुझी परमेश्वरविरुद्ध उभिन्छन्। परमेश्वरबारे धारणाहरू मनमा राख्ने तर उहाँमा समर्पत हुन अझै तत्पर र इच्छुक हुनेहरूलाई दोषी ठहराइनेछैन। परमेश्वरले मानिसलाई उसका अभिप्राय र व्यवहारका आधारमा दोषी ठहराउनुहुन्छ, उसका सोचाइ र विचारहरूको आधारमा कहिल्यै त्यसो गर्नुहुन्न। यदि परमेश्वरले मानिसलाई उसका सोचाइ र विचारहरूको आधारमा निन्दा गर्नुभएको भए, उहाँका क्रोधित हातहरूबाट एक जना पनि फुत्किन सक्दैनथियो। देहधारी परमेश्वरविरुद्ध जानीबुझी खडा हुनेहरू आफ्ना समर्पणताको कमीको कारण दण्डित हुनेछन्। परमेश्वरविरुद्ध जानीबुझी उभिने यस्ता मानिसहरूको सम्बन्धमा भन्नुपर्दा, वास्तवमा उनीहरूको प्रतिरोध परमेश्वरबारे उनीहरूले राख्ने धारणाबाट उत्पन्न हुन्छ, जसले उनीहरूलाई परमेश्वरको काममा बाधा पुऱ्याउने तुल्याउँछ। यी मानिसहरूले परमेश्वरको कामलाई जानाजान अवरोध र नष्ट गर्छन्। उनीहरूसँग परमेश्वरबारे धारणाहरू मात्र हुँदैनन्, तर उनीहरू उहाँको कामलाई बाधा दिने क्रियाकलापहरूमा समेत संलग्न हुन्छन्, र यही कारणले यस प्रकारका मानिसहरू दोषी ठहरिनेछन्। जसले जानीबुझी परमेश्वरको कामलाई बाधा दिँदैनन्, उनीहरू पापीको रूपमा दोषी ठहरिनेछैनन्, किनकि उनीहरू स्वेच्छाले समर्पित हुन सक्छन् अनि अवरोध र बाधा पैदा गर्ने क्रियाकलापहरूमा संलग्न हुँदैनन्। यस्ता मानिसहरूलाई दोषी ठहराइनेछैन। तथापि, जब मानिसहरूले परमेश्वरका कामको अनुभव धेरै वर्षदेखि गरेका हुन्छन्, तब यदि उनीहरू निरन्तर रूपमा परमेश्वरबारे मनमा धारणाहरू राखिराख्छन् र देहधारी परमेश्वरको कामलाई बुझ्न असमर्थ भइरहन्छन् भने, र जति धेरै वर्ष उनीहरूले उहाँको कामलाई अनुभव गरेका भए पनि, यदि उनीहरू परमेश्वरबारे धारणाहरूले निरन्तर भरिन्छन् र अझै उहाँलाई बुझ्न सक्दैनन् भने, उनीहरू बाधा पुऱ्याउने क्रियाकलापहरूमा संलग्न नभए पनि, उनीहरूको हृदय परमेश्वरबारे धेरै धारणाहरूले भरिएका हुन्छ, र ती धारणाहरू प्रस्ट भएनन् भने पनि, यस प्रकारका मानिसहरू परमेश्वरको कामको लागि कुनै कामका हुँदैनन्। उनीहरू परमेश्वरको लागि सुसमाचार फैलाउन वा उहाँको गवाहीको रूपमा खडा हुन असमर्थ हुन्छन्। यस प्रकारका मानिसहरू बेकामका र अल्पबुद्धिका हुन्छन्। उनीहरूले परमेश्वरलाई चिन्दैनन्, यसका अलावा उहाँबारे आफ्ना धारणाहरू फाल्न पूर्णरूपमा असमर्थ छन्, त्यसैले उनीहरू दोषी ठहरिन्छन्। यसलाई यसप्रकार भन्न सकिन्छ: विश्वासमा नयाँ हुनेहरूले परमेश्वरबारे धारणाहरू लिनु वा उहाँबारे केही पनि नजान्नु सामान्य कुरा हो, तर जसले परमेश्वरमा धेरै वर्षदेखि विश्वास गरेका छन् र उहाँका असल कामको अनुभव गरेका छन्, यस्ता व्यक्तिहरूले धारणाहरूलाई निरन्तर पक्रिराख्नु सामान्य हुँदैन, र यस्ता व्यक्तिहरूले परमेश्वरबारे कुनै ज्ञान नराख्नु अझ कम सामान्य हुनेछ। किनभने उनीहरूलाई सामान्य स्थितिमा दोषी ठहराइँदैन। यी असामान्य मानिसहरू सबै फोहोर हुन्; यिनीहरू परमेश्वरलाई सबैभन्दा धेरै विरोध गर्नेहरू हुन् र जसले व्यर्थमा परमेश्वरको अनुग्रह उपभोग गरेका छन्। यस्ता सबै मानिसलाई अन्त्यमा हटाइनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको विरोध गर्नेहरू हुन्
मानिसहरूका धारणाहरूले प्रायः तिनीहरूलाई परमेश्वरलाई गलत बुझ्ने र प्रायः परमेश्वरबारे हरप्रकारका मापदण्ड र मूल्याङ्कन अघि सार्ने अनि परमेश्वरलाई मापन गर्ने हरप्रकारका मानक बनाउने तुल्याउँछन्; यी धारणाहरूले मानिसहरूलाई कुनै कुराहरू सही हुन् कि गलत छन्, कुनै व्यक्ति असल छ कि खराब छ, र कुनै व्यक्ति परमेश्वरप्रति बफादार छ छैन र उसमा परमेश्वरप्रति आस्था छ छैन भनी मापन गर्न प्रायः निश्चित गलत सोच र विचारहरू प्रयोग गर्ने तुल्याउँछन्। अनि, यी गल्तीहरूको मूल कारण के हो? त्यो मानिसहरूको धारणा हो। मानिसहरूले के खान्छन् वा कसरी सुत्छन् त्यसमा तिनीहरूका धारणाहरूको कुनै प्रभाव नहुन सक्छ, र यी धारणाले तिनीहरूको सामान्य जीवनमा प्रभाव नपार्न सक्छन्, तर यी धारणाहरू मानिसहरूका मनमस्तिष्क र विचारहरूमा छायाँझै टाँसिएर, हरसमय पछ्याउँदै बसिरहेका हुन्छन्। यदि तैँले बेलैमा समाधान गर्न सकिनस् भने, यी धारणाहरूले निरन्तर तेरो सोचविचार, तेरो निर्णय, तेरो व्यवहार, परमेश्वरबारेको तेरो ज्ञान र परमेश्वरसँगको तेरो सम्बन्ध नियन्त्रित गर्नेछन्। के तैँले अब यो कुरा प्रस्ट रूपमा बुझ्छस्? धारणाहरू प्रमुख समस्या हुन्। मानिसहरूमा परमेश्वरबारे धारणाहरू हुनु भनेको तिनीहरू र परमेश्वरबीच एउटा पर्खाल उभिनु हो, जसले तिनीहरूलाई परमेश्वरको वास्तविक अनुहार देख्नबाट रोक्छ, र जसले तिनीहरूलाई परमेश्वरको वास्तविक स्वभाव र सार देख्नबाट रोक्छ। किन रोक्छ? किनकि मानिसहरू आफ्ना धारणाहरूमाझ, र आफ्ना कल्पनाहरूमाझ जिउँछन्, र तिनीहरू परमेश्वर सही हुनुहुन्छ कि गलत भनी निर्धारण गर्न, र परमेश्वरले गर्नुहुने सबै कुरा मापन, आलोचना र निन्दा गर्न आफ्ना धारणाहरू प्रयोग गर्छन्। यसो गरेर मानिसहरू प्रायः कस्तो अवस्थामा डुब्छन्? के मानिसहरू आफ्ना धारणाहरूमा जिउँदा साँच्चै परमेश्वरमा समर्पित हुन सक्छन्? के तिनीहरू परमेश्वरमाथिको साँचो विश्वास प्राप्त गर्न सक्छन्? (अहँ, तिनीहरू सक्दैनन्।) मानिसहरू परमेश्वरप्रति थोरै समर्पित हुँदा पनि, तिनीहरू आफ्नै धारणा र कल्पनाहरूअनुसार समर्पित हुन्छन्। यसरी व्यक्ति आफ्ना धारणा र कल्पनाहरूमा भर पर्दा, यसमा शैतानको स्वामित्वमा रहने व्यक्तिगत कुराहरू मिसिन्छ, र यो कुरा सत्यतासित अमिल्दो हुन्छ। परमेश्वरबारेका मानिसहरूका धारणहरूको समस्या गम्भीर समस्या हो; यो मान्छे र परमेश्वरबीचको एउटा प्रमुख समस्या हो, जसलाई तुरुन्तै समाधान गर्नु आवश्यक छ। परमेश्वरसामु आउने जोकोहीले धारणाहरू ल्याउँछन्, र तिनीहरूले परमेश्वरबारे हरप्रकारका शङ्का ल्याउँछन्। अथवा, यो भन्न सकिन्छ कि, परमेश्वरले तिनीहरूलाई सबै कुराहरू प्रदान गर्नुहुँदा पनि, र उहाँका सबै बन्दोबस्त र योजनाबद्ध कार्यहरू हुँदा पनि, तिनीहरूले परमेश्वरबारे असङ्ख्य भ्रमहरू ल्याई नै हाल्छन्। अनि, परमेश्वरसित तिनीहरूको सम्बन्ध कस्तो बन्नेछ? मानिसहरूले निरन्तर परमेश्वरलाई गलत बुझ्छन्, तिनीहरू निरन्तर परमेश्वरबारे शङ्का गर्छन्, र परमेश्वर सही वा गलत के हुनुहुन्छ त्यो नाप्न, र उहाँका प्रत्येक वचनहरू र काम नाप्न आफ्नै मापदण्डहरू प्रयोग गर्छन्। यो कस्तो खाले व्यवहार हो? (यो विद्रोहीपन र अवज्ञा हो।) ठिक भनिस्, यो मानिसहरूले परमेश्वरविरुद्ध विद्रोह गर्नु, उहाँको अवज्ञा र निन्दा गर्नु हो, र यो मानिसहरूले परमेश्वरको आलोचना गर्नु, परमेश्वरविरुद्ध ईशनिन्दा गर्नु, र उहाँसित प्रतिस्पर्धा गर्नु हो, त गम्भीर अवस्थाहरूमा तिनीहरू परमेश्वरलाई अदालत लैजान र उहाँविरुद्ध “निर्णायक सङ्घर्ष” गर्न चाहन्छन्। त्यो सबैभन्दा गम्भीर स्तर के हो जहाँ मानिसहरूको धारणा पुग्न सक्छ? त्यो साँचो परमेश्वर स्वयम्लाई इन्कार्नु, उहाँका वचनहरू सत्यता हुन् भन्ने कुरा इन्कार्नु, र परमेश्वरको कामको निन्दा गर्नु हो। जब मानिसहरूका धारणाहरू यो स्तरमा पुग्छन्, तब तिनीहरूले स्वाभाविक रूपमै परमेश्वरलाई इन्कार र निन्दा गर्छन्, परमेश्वरविरुद्ध ईशनिन्दा गर्छन् र परमेश्वरलाई विश्वासघात गर्छन्। तिनीहरूले परमेश्वरको अस्तित्व मात्र इन्कार्ने नभएर सत्यता स्विकार्न र परमेश्वरलाई पछ्याउन पनि इन्कार्छन्—के यो डरलाग्दो होइन र? (हो।) यो डरलाग्दो समस्या हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१)
कति मानिसहरूले के सोच्छन् भने, परमेश्वरमा विश्वास गर्दा त्यसले शान्ति र आनन्द ल्याउनुपर्छ, र यदि तिनीहरूले परिस्थितिहरू सामना गरे भने, तिनीहरूले परमेश्वरलाई प्रार्थना मात्रै गर्नुपर्छ, अनि परमेश्वरले तिनीहरूको पुकार सुन्नुहुनेछ, र तिनीहरूलाई अनुग्रह र आशिष् दिनुहुनेछ, र तिनीहरूको लागि सबै कुरा शान्तिपूर्ण र सहज रूपमा अघि बढ्ने सुनिश्चित गर्नुहुनेछ। परमेश्वरमा विश्वास गर्नुपछाडिको तिनीहरूको उद्देश्य भनेकै अनुग्रह खोजी गर्नु, आशिष्हरू प्राप्त गर्नु, र शान्ति र खुशीको आनन्द लिनु हो। यही दृष्टिकोणहरूको कारण नै तिनीहरूले परमेश्वरका लागि आफूलाई अर्पित गर्न आफ्नो परिवार त्याग्छन् वा जागिर छोड्छन् र कठिनाइ भोग्न र मूल्य चुकाउन सक्छन्। तिनीहरू के विश्वास गर्छन् भने, जबसम्म तिनीहरूले यी कुराहरू त्याग्छन्, परमेश्वरका लागि आफूलाई अर्पित गर्छन्, कठिनाइहरू भोग्छन्, र लगनशीलतासाथ काम गर्छन्, असाधारण व्यवहार प्रदर्शन गर्छन्, तबसम्म तिनीहरूले परमेश्वरका आशिष्हरू र निगाह प्राप्त गर्नेछन्, र तिनीहरूले जस्तोसुकै कठिनाइहरू सामना गरे पनि, तिनीहरूले परमेश्वरलाई प्रार्थना गरे भने, उहाँले ती कठिनाइहरू समाधान गर्नुहुनेछ र सबै कुरामा तिनीहरूको लागि बाटो खोल्नुहुनेछ। परमेश्वरमा विश्वास गर्ने धेरैजसो मानिसहरूले राख्ने दृष्टिकोण यही हो। मानिसहरूलाई यो दृष्टिकोण जायज र सही हो भन्ने लाग्छ। वर्षौँसम्म हरेश नखाई परमेश्वरमाथिको आफ्नो विश्वास कायम राखिराख्ने धेरै मानिसहरूको क्षमता प्रत्यक्ष रूपमा यही दृष्टिकोणसँग जोडिएको हुन्छ। तिनीहरूले सोच्छन्, “मैले परमेश्वरको लागि धेरै मेहनत गरेको छु, मेरो व्यवहार अत्यन्तै राम्रो छ, र मैले कुनै दुष्कर्महरू गरेको छैनँ; परमेश्वरले अवश्य नै मलाई आशिष् दिनुहुनेछ। मैले धेरै कष्ट भोगेको छु र हरेक कामको लागि ठूलो मूल्य चुकाएको छु, कुनै गल्ती नगरी सबै कुरा परमेश्वरका वचन र मापदण्डहरूअनुसार गरिरहेको छु, त्यसकारण परमेश्वरले मलाई आशिष् दिनुपर्छ; उहाँले मेरो लागि सबै कुरा सहज रूपमा अघि बढ्ने, मेरो हृदयमा प्रायजसो शान्ति र आनन्द हुने, र मैले परमेश्वरको उपस्थितिमा आनन्द लिन पाउने सुनिश्चित गर्नुपर्छ।” के यो मानव धारणा र कल्पना होइन र? मानव दृष्टिकोणबाट हेर्दा, मानिसहरूले परमेश्वरको अनुग्रहको आनन्द लिन्छन् र फाइदाहरू प्राप्त गर्छन्, त्यसकारण यसको लागि अलिकति कष्ट भोग्नु उचित हुन्छ, र यो कष्टलाई परमेश्वरका आशिष्हरूसँग साट्नु सार्थक हुन्छ। यो परमेश्वरसँग सौदा गर्ने मानसिकता हो। तर सत्यताको दृष्टिकोणबाट र परमेश्वरको दृष्टिकोणबाट हेर्दा, यो आधारभूत रूपमा परमेश्वरको कामका सिद्धान्तहरू वा परमेश्वरले मानिसहरूलाई दिनुहुने मापदण्डहरूअनुरूप हुँदैन। यो पूर्ण रूपमा कामना मात्रै हो, परमेश्वरमा विश्वास गर्नेबारेको मानव धारणा र कल्पना मात्रै हो। चाहे यसमा परमेश्वरसँग सौदा गर्ने कार्य संलग्न होस् वा परमेश्वरबाट विभिन्न कुराहरू माग गर्ने कार्य समावेश होस्, वा चाहे मानव धारणा र कल्पनाहरू नै समावेश होस्, जे भए पनि यीमध्ये कुनै पनि कुरा परमेश्वरका मापदण्डहरूअनुरूप हुँदैन, न त यसले मानिसहरूलाई आशिष् दिने परमेश्वरका सिद्धान्त र मापदण्डहरू नै पूरा गर्छ। खासगरी, यो लेनदेनको सोच र दृष्टिकोणले परमेश्वरको स्वभाव चिढ्याउँछ, तर यो कुरा मानिसहरूले महसुस गर्दैनन्। जब परमेश्वरले गर्नुहुने कुरा मानिसहरूका धारणाहरूसँग मिल्दैन, तब तिनीहरूले तुरुन्तै आफ्नो हृदयमा उहाँबारे गुनासो र गलतफहमीहरू पैदा गर्छन्। तिनीहरूले अन्यायमा परेको महसुससमेत गर्छन् र त्यसपछि परमेश्वरसँग तर्क गर्न थाल्छन्, र तिनीहरूले उहाँलाई आलोचना र निन्दासमेत गर्न सक्छन्। मानिसहरूमा जस्तोसुकै धारणा र गलतफहमीहरू पैदा भए पनि, परमेश्वरको दृष्टिकोणबाट हेर्दा, उहाँले मानव धारणा वा इच्छाहरूअनुसार कहिल्यै कसैसँग काम वा व्यवहार गर्नुहुन्न। परमेश्वरले सधैँ उहाँले गर्न चाहेको कुरा, उहाँकै तरिका र उहाँकै प्रकृति सारको आधारमा गर्नुहुन्छ। परमेश्वरले हरेक व्यक्तिसँग कसरी व्यवहार गर्नुहुन्छ भन्नेबारे उहाँसित सिद्धान्तहरू हुन्छन्; र उहाँले हरेक व्यक्तिमाथि गर्ने कुनै पनि कुरा मानव धारणा, कल्पना, वा रुचिहरूमा आधारित हुँदैन—मानव धारणाहरूसँग सबैभन्दा नमिल्ने परमेश्वरको कामको पक्ष यही हो। जब परमेश्वरले मानिसहरूको लागि तिनीहरूका धारणा र कल्पनाहरूसँग पूर्ण रूपमा बाझिने वातावरण तय गर्नुहुन्छ, तब तिनीहरूले हृदयमा परमेश्वरविरुद्ध धारणा, आलोचना, र दोषारोपणहरू निर्माण गर्छन्, र उहाँलाई इन्कारसमेत गर्न सक्छन्। के त्यसपछि परमेश्वरले तिनीहरूका आवश्यकताहरू पूरा गर्न सक्नुहुन्छ? अवश्य नै सक्नुहुन्न। परमेश्वरले कहिल्यै पनि मानव धारणाहरूअनुसार आफ्नो काम गर्ने तरिका र इच्छाहरू परिवर्तन गर्नुहुनेछैन। त्यसोभए परिवर्तन हुनुपर्ने को हो? मानिसहरू। परमेश्वरले गर्नुहुने कुरालाई आफ्ना धारणाहरूसँग मापन गरेर यो सही छ कि छैन भनेर हेर्नुको सट्टा, बरु मानिसहरूले आफ्ना धारणाहरू त्याग्नुपर्छ, परमेश्वरले योजनाबद्ध गरेका वातावरण स्विकार्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ, ती वातावरणहरूलाई अनुभव गर्नुपर्छ, अनि आफ्ना धारणाहरू सुल्झाउन सत्यता खोज्नुपर्छ। जब मानिसहरूले आफ्नै धारणाहरूमा लाग्ने जिद्दी गर्छन्, तब तिनीहरूले परमेश्वरविरुद्ध प्रतिरोध विकास गर्छन्—यो स्वाभाविक रूपमै हुने कुरा हो। प्रतिरोधको जड केमा हुन्छ? यो मानिसहरूको हृदयमा सामान्यतया आफ्नै धारणा र कल्पनाहरू हुन्छन्, सत्यता हुँदैनन् भन्ने तथ्यमा निहित हुन्छ। त्यसैले, जब मानिसहरूले परमेश्वरको काम मानव धारणाहरूअनुरूप हुँदैन भन्ने तथ्य सामना गर्छन्, तब तिनीहरूले परमेश्वरको अवज्ञा गर्छन् र उहाँविरुद्ध आलोचना गर्न सक्छन्। यसले के प्रमाणित गर्छ भने मानिसहरूमा आधारभूत रूपमा परमेश्वरप्रति समर्पित हुने हृदय हुँदैन, तिनीहरूको भ्रष्ट स्वभाव शुद्ध हुनबाट निकै टाढा हुन्छ, र तिनीहरू आधारभूत रूपमै आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्। तिनीहरू मुक्ति प्राप्त गर्नबाट अझै निकै टाढा छन्।
—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (१६)
तिमीहरूको हृदयभित्र आफ्नो कर्तव्यपालनलाई प्रभाव पार्न सक्ने अरू के-कस्ता धारणाहरू छन्? के-कस्ता धारणाले तिमीहरूलाई जीवनमा प्रायः प्रभावित र नियन्त्रित पारिरहन्छन्? जब तँलाई मननपर्ने घटनाहरू आइपर्छन्, तेरा धारणाहरू स्वतः देखा पर्छन्, र त्यसपछि तैँले परमेश्वरसित गुनासो, विवाद र प्रतिस्पर्धा गर्छस्, र तिनले परमेश्वरसँगको तेरो सम्बन्धमा तीव्र रूपान्तरण ल्याउँछन्: तँ परमेश्वरलाई अत्यन्तै प्रेम गर्ने र उहाँप्रति अत्यन्तै बफादार, अनि आफ्नो पूरै जीवन उहाँप्रति अर्पित गर्न चाहने सुरुवाती अवस्थादेखि रूपान्तरित भएर अचानक मन परिवर्तन भएको, र आफ्नो कर्तव्य निर्वाह गर्न वा परमेश्वरप्रति अबउप्रान्त इमान्दार हुन नचाहने अवस्थामा पुग्छस्, र तैँले परमेश्वरमाथि विश्वास गरेकोमा र यो मार्ग रोजेकोमा पछुताउँछस्, र परमेश्वरद्वारा चुनिएकोमा समेत गुनासो गर्छस्। अरू के-कस्ता धारणाले परमेश्वरसँगको तेरो सम्बन्धमा अचानक परिवर्तन ल्याउन सक्छन्? (जब परमेश्वरले मलाई जाँच्ने परिस्थिति बन्दोबस्त गर्नुहुन्छ र मेरो खुलासा गर्नुहुन्छ, र मलाई मेरो राम्रो परिणाम आउनेछैन भन्ने अनुभूति हुन्छ, तब म परमेश्वरबारे धारणाहरू बनाउँछु। मलाई म परमेश्वरमा विश्वास गर्छु र परमेश्वरलाई पछ्याउँछु, अनि मैले सधैँ आफ्नो कर्तव्य निभाएको छु, त्यसैले जबसम्म म परमेश्वरलाई त्याग्दिनँ, तबसम्म उहाँले मलाई परित्याग गर्नुहुन्न भन्ने महसुस हुन्छ।) यो एकप्रकारको धारणा हो। के तिमीहरूसँग प्रायः यस्ता धारणाहरू हुन्छन्? परमेश्वरद्वारा परित्याग गरिनुबारे तिमीहरूको के बुझाइ छ? के तँलाई यदि परमेश्वरले तँलाई छोड्नुभयो भने, त्यसको अर्थ परमेश्वरले तँलाई चाहनुहुन्न र तँलाई मुक्ति दिनुहुनेछैन भन्ने लाग्छ? यो अर्को खालको धारणा हो। त्यसोभए यस्तो धारणा कसरी उत्पन्न हुन्छ? के यो तेरो कल्पनाबाट आउँछ, कि यसको कुनै आधार हुन्छ? परमेश्वरले तँलाई राम्रो परिणाम दिनुहुनेछैन भनेर तँलाई कसरी थाहा हुन्छ? के परमेश्वरले तँलाई भेटेरै भन्नुभयो? यस्ता सोचहरू पूरै तैँले नै रचेको होस्। अब तँलाई यो एउटा धारणा हो भन्ने थाहा छ; मुख्य प्रश्न भनेको त्यसलाई कसरी समाधान गर्ने भन्ने हो। वास्तवमा मानिसहरूमा परमेश्वरमाथिको आस्थाबारे थुप्रै धारणाहरू हुन्छन्। यदि तैँले आफूसँग धारणा छ भन्ने महसुस गर्न सकिस् भने, त्यो गलत हो भनेर तँलाई थाहा हुनुपर्छ। अनि, यी धारणाहरू कसरी हल गर्नुपर्छ? सर्वप्रथम, तैँले यी धारणाहरू ज्ञान वा शैतानी दर्शनबाट पो आउँछन् कि, त्रुटि कहाँनेर छ, कुन ठाउँबाट हानि हुन्छ भनेर प्रस्टसित देख्नुपर्छ, र यो प्रस्टसित देखिसकेपछि, तैँले स्वाभाविक रूपमै उक्त धारणा त्याग्न सक्नेछस्। तर यो तैँले त्यसलाई पूर्णतया समाधान गरेसरह होइन; तैँले अझै पनि सत्यता खोज्नुपर्छ, परमेश्वरका मापदण्डहरू के हुन् भनी हेर्नुपर्छ र त्यसपछि परमेश्वरका वचनअनुसार उक्त धारणा चिरफार गर्नुपर्छ। जब तैँले उक्त धारणा गलत छ, त्यो बेतुके कुरा हो, र त्यो पूर्णतया सत्यताविपरीत छ भनी प्रस्टसित चिन्न सक्छस्, त्यसको अर्थ मूलभूत रूपमा तैँले उक्त धारणा समाधान गरेको छस् भन्ने हुन्छ। यदि तँ सत्यता खोज्दैनस्, र परमेश्वरका वचनहरूसँग उक्त धारणा दाँजेर हेर्दैनस् भने, तैँले उक्त धारणा कसरी गलत छ भनेर प्रस्टसित चिन्न सक्नेछैनस्, र त्यसैले तैँले पूर्ण रूपमा उक्त धारणा त्याग्न सक्नेछैनस्; तँलाई त्यो धारणा हो भनेर थाहा भए पनि, तैँले अपरिहार्य रूपमै अझै त्यसलाई पूर्णतया त्याग्न सक्नेछैनस्। यस्ता परिस्थितिहरूमा, जब तेरा धारणाहरू परमेश्वरका मापदण्डसित बाझिन्छन्, र तँलाई तेरा धारणाहरू गलत छन् भन्ने महसुस भए पनि, अझै तेरो हृदय तेरा धारणाहरूमै अडिन्छ, र जब तँलाई तेरा धारणाहरू सत्यतासँग मेल खाँदैनन् भनी निश्चित रूपमा थाहा हुन्छ, तर अझै पनि हृदयमा तँलाई तेरा धारणाहरू तर्कयोग्य छन् भन्ने विश्वास लाग्छ, तब तँ सत्यता बुझ्ने व्यक्ति हुनेछैनस्, र तँजस्ता मानिसहरूको जीवन प्रवेश हुँदैन र कदमा पनि निकै कमी हुन्छ। उदाहरणको लागि, मानिसहरू विशेष गरी आफ्नो परिणाम र गन्तव्यप्रति, र आफ्नो कर्तव्यको हेरफेर र कर्तव्यमा आफूलाई गरिने प्रतिस्थापनप्रति संवेदनशील हुन्छन्। केही मानिसहरू त्यस्ता कुराहरूबारे बारम्बार झट्टै गलत निष्कर्षमा पुग्छन्, तिनीहरूको कर्तव्यबाट तिनीहरूलाई हटाइयो भने तिनीहरूको कुनै प्रतिष्ठा रहँदैन वा परमेश्वरले तिनीहरूलाई मन पराउनुहुन्न वा अब चाहनुहुन्न भन्नुहुनेछ, र तिनीहरूका निम्ति सबै कुरा समाप्त हुन्छ भनी सोच्छन्। तिनीहरूले निकाल्ने निष्कर्ष यही हो। अनि, तिनीहरू यस्तो विश्वास गर्छन्, “परमेश्वरमा विश्वास गर्नुको कुनै अर्थ छैन, परमेश्वरले मलाई चाहनुहुन्न, र मेरो परिणाम तय भइसकेको छ, त्यसैले अब जिइरहनुको के अर्थ?” यस्ता सोचहरू सुन्दा अरूलाई ती तर्कसङ्गत र मर्यादापूर्ण लाग्छन्—तर वास्तवमा यो कस्तो खाले सोचाइ हो? यो परमेश्वरविरुद्धको विद्रोहीपन हो, यो आफूलाई निराशामा डुबाउनु हो। अनि, तिनीहरू किन आफूलाई निराशामा डुबाउँछन्? किनभने तिनीहरू परमेश्वरका अभिप्राय बुझ्दैनन्, तिनीहरू परमेश्वरले कसरी मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनी प्रस्टसित बुझ्न सक्दैनन्, र तिनीहरूमा परमेश्वरमाथिको साँचो आस्था हुँदैन। के मानिसहरूले आफूलाई निराशामा डुबाएको कुरा परमेश्वरलाई थाहा हुन्छ? (हुन्छ।) परमेश्वरलाई थाहा हुन्छ, र त्यसैले उहाँले त्यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ? मानिसहरू एकप्रकारको धारणा बनाउँछन् र भन्छन्, “परमेश्वरले मान्छेको लागि यस्तो कठिन मूल्य चुकाउनुभएको छ, उहाँले हरेक व्यक्तिमा धेरै काम गर्नुभएको छ, र धेरै मेहनत गर्नुभएको छ; परमेश्वरको निम्ति कुनै व्यक्तिलाई चुन्नु र मुक्ति दिनु सजिलो छैन। यदि कुनै व्यक्तिले आफैलाई निराशामा डुबायो भने, परमेश्वर धेरै दुःखी बन्नुहुनेछ, र उसले आफैलाई माथि उठाउन सकोस् भनी प्रत्येक दिन आशा गर्नुहुन्छ।” बाहिरी स्तरमा यसको अर्थ यही हो, तर वास्तवमा, यो पनि एउटा मान्छेकै धारणा हो। परमेश्वरले त्यस्ता मानिसहरूको निम्ति निश्चित दृष्टिकोण राख्नुहुन्छ: उहाँले तँलाई नै निर्णय गर्न दिनुहुनेछ; उहाँले तँलाई तेरो इच्छाविपरीत केही पनि गर्न बाध्य पार्नुहुनेछैन। यदि तँ “म अझै पनि एक सृष्टि गरिएको प्राणीको कर्तव्य गर्न, परमेश्वरले भन्नुभएअनुसार र परमेश्वरका अभिप्राय पूरा गर्न मैले गर्न सक्ने सबै अभ्यास गर्न चाहन्छु। म मेरा सम्पूर्ण वरदान र प्रतिभाहरू प्रयोग गर्नेछु, र यदि म केही कामको लागि योग्य भइनँ भने, म समर्पित हुन र आज्ञापालन गर्न सिक्नेछु; म आफ्नो कर्तव्य छोड्नेछैन” भनेर भन्छस् भने, परमेश्वरले यसो भन्नुहुनेछ, “यदि तँ यसप्रकारले जिउन इच्छुक छस् भने पछ्याउन जारी राख्, तर तैँले परमेश्वरले अह्राउनुभएअनुसार नै गर्नुपर्छ; परमेश्वरले आवश्यक गर्नुभएका मानक र उहाँका सिद्धान्तहरू परिवर्तन हुँदैनन्।” यी वचनहरूको अर्थ के हो? तिनको अर्थ के हो भने, मानिसहरूले मात्रै तिनीहरू आफैलाई त्याग्न सक्छन्; परमेश्वरले कहिल्यै कसैलाई त्याग्नुहुन्न। आखिरमा मुक्ति प्राप्त गर्न र परमेश्वरलाई हेर्न सक्ने, परमेश्वरसित सामान्य सम्बन्ध स्थापित गर्ने र परमेश्वरसामु आउन सक्नेहरूको हकमा कुरा गर्नुपर्दा, यो एकपल्ट असफल बनेपछि वा एकपटक काँटछाँटमा परेपछि, वा एकपटक न्याय र सजाय भोगेपछि हासिल गर्न सकिने कुरा होइन। पत्रुसलाई सिद्ध पारिनुभन्दा पहिले, उसलाई सयौंपटक शोधन गरियो। अन्त्यसम्मै श्रम गरेर बाँकी रहिरहने मानिसहरूमध्ये एउटै पनि यस्तो हुँदैन जसले अन्त्यसम्म पुग्नुअघि आठदश पटकको परीक्षा र शोधन मात्रै अनुभव गरेको होस्। तर कुनै व्यक्तिलाई जतिपटक परीक्षा वा शोधन गरिए पनि, के यो परमेश्वरको प्रेम होइन र? (हो, यो परमेश्वरको प्रेम हो।) जब तैँले परमेश्वरको प्रेम देख्न सक्छस्, तब तैँले मान्छेप्रतिको परमेश्वरको मनोवृत्ति बुझ्न सक्छस्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१)
यहूदियाबाट भएको यहूदीहरूको निर्वासनबारे थुप्रै मानिसहरूमा धारणा र विचारहरू हुन्छन्, र तिनीहरूले परमेश्वरका अभिप्रायहरू बुझ्दैनन्, तर यो समस्या समाधान गर्न एकदमै सजिलो छ। म तिमीहरूलाई त्यसको एउटा सरल उपाय भन्नेछु। सुन, अनि यसले तिमीहरूका यी कठिनाइहरू सम्बोधन गर्न सक्छ कि सक्दैन, हेर। सबैभन्दा सजिलो उपाय भनेको, पहिले मानिसहरूले आफू सृष्टि गरिएको प्राणी हुँ, र सृष्टि गरिएका प्राणीहरू आफ्नो सृष्टिकर्ताप्रति समर्पित हुनु भनेको पूर्णतः प्राकृतिक र न्यायसङ्गत कुरा हो भनेर जान्नु हो। यदि सृष्टि गरिएका प्राणीहरूले आफ्नो सृष्टिकर्ताबारे लगातार रूपमा धारणाहरू राख्छन् र उहाँप्रति समर्पित हुन सक्दैनन् भने, त्यो ठूलो विद्रोह हुनेछ। मानिसहरूले के बुझ्नुपर्छ भने, सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूसँग गर्नुहुने व्यवहारको एउटा मौलिक सिद्धान्त छ, जुन सर्वोच्च सिद्धान्त पनि हो। सृष्टिकर्ताले सृष्टि गरिएका प्राणीहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्ने कुरा उहाँको व्यवस्थापन योजना र उहाँका कार्य मापदण्डहरूमा आधारित हुन्छ; उहाँले कुनै पनि व्यक्तिसँग सल्लाह लिनु आवश्यक पर्दैन, न त उहाँले कसैलाई उहाँसँग सहमत गराउनु आवश्यक हुन्छ। उहाँले जे गर्नुपर्दछ र उहाँले मानिसहरूसित जसरी व्यवहार गर्नुपर्छ उहाँले त्यसरी नै गर्नुहुन्छ, र उहाँले जे गर्नुभए पनि वा उहाँले मानिसहरूसित जसरी व्यवहार गर्नुभए पनि, ती सबै सत्यता सिद्धान्तहरू र सृष्टिकर्ताले काम गर्नुहुने सिद्धान्तहरूअनुरूप हुन्छन्। सृष्टि गरिएको प्राणीको रूपमा गर्नु पर्ने एक मात्र कार्य भनेको सृष्टिकर्तमा समर्पित हुनु हो; व्यक्तिले आफ्नै रोजाइ छनौट गर्नु हुँदैन। सृष्टि गरिएको प्राणीमा हुनुपर्ने समझ यही हो, र यदि व्यक्तिमा यो छैन भने, ऊ व्यक्ति भनिन लायक हुँदैन। मानिसहरूले के कुरा बुझ्नैपर्छ भने सृष्टिकर्ता सधैँ सृष्टिकर्ता हुनुहुनेछ; उहाँसँग आफूलाई मन लागेअनुसार सृष्टि गरिएका प्राणीहरूलाई योजनाबद्ध गर्ने र तिनीहरूमाथि सार्वभौमिकता राख्ने शक्ति र योग्यता छ, र त्यसो गर्नका निम्ति उहाँलाई कुनै कारणको आवश्यक पर्दैन। यो उहाँको अख्तियार हो। सृष्टि गरिएका प्राणीहरूमाझ एक जना पनि यस्तो छैन जोसँग सृष्टिकर्ताले गर्नुभएको काम सही वा गलत छ, वा उहाँले कसरी काम गर्नुपर्छ भनेर टीकाटिप्पणी गर्ने अधिकार वा योग्यता होस्। सृष्टिकर्ताका सार्वभौमिकता र बन्दोबस्तहरू स्वीकार गर्ने कि नगर्ने भनेर छनौट गर्ने अधिकार कुनै पनि सृष्टि गरिएको प्राणीमा हुँदैन; र सृष्टिकर्ताले तिनीहरूको नियतिमाथि कसरी सार्वभौमिकता राख्नुपर्छ र बन्दोबस्त गर्नुपर्छ भनेर मापदण्ड थोपर्ने अधिकार कुनै पनि प्राणीसँग हुँदैन। यो सर्वोच्च सत्यता हो। सृष्टिकर्ताले आफ्ना सृष्टि गरिएका प्राणीहरूसँग जे गर्नु भए पनि, र उहाँले त्यो जसरी गर्नुभए पनि, उहाँले सृष्टि गर्नुभएका मानिसहरूले एउटा मात्रै काम गर्नुपर्दछ: खोजी गर्नु, अधीनमा बस्नु, जान्नु अनि सृष्टिकर्ताले राख्नुभएको सबै कुरा स्वीकार गर्नु। अन्तिम परिणाम यो हुनेछ, कि सृष्टिकर्ताले उहाँको व्यवस्थापन योजनालाई कुनै बाधाविना अगाडि बढाउँदै आफ्नो व्यवस्थापन योजना हासिल गर्नुभएको र उहाँको काम पूरा गर्नुभएको हुनेछ; यसैबीच, सृष्टि गरिएका प्राणीहरूले सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तहरू स्वीकार गरेकाले, र उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित भएका हुनाले, उनीहरूले सत्यता प्राप्त गरेका हुनेछन्, सृष्टिकर्ताका अभिप्राय बुझेका हुनेछन्, र उहाँको स्वभाव जानेका हुनेछन्। मैले तिमीहरूलाई बताउनैपर्ने अझै अर्को सिद्धान्त छ: सृष्टिकर्ताले जे गर्नु भए पनि, उहाँले जस्तो प्रकटीकरण प्रदर्शन गर्नुभए पनि, र अनि उहाँले गर्नुहुने काम महान् वा सानो भए पनि, उहाँ अझै पनि सृष्टिकर्ता हुनुहुन्छ; जबकि उहाँले सृष्टि गर्नुभएका सबै मानवजातिले, जेसुकै गरे पनि, र उनीहरू जतिसुकै प्रतिभाशाली वा वरदानप्राप्त भए पनि, तिनीहरू सृष्टि गरिएका प्राणी नै रहन्छन्। सृष्टि गरिएको मानवजातिको सम्बन्धमा भन्दा, उनीहरूले सृष्टिकर्ताबाट जति धेरै अनुग्रह र आशिष् वा जति धेरै दया, करुणा वा भलाइ प्राप्त गरेका भए पनि, उनीहरूले आफू भीडहरूबाट अलग छौं भनी विश्वास गर्नुहुँदैन, वा उनीहरू परमेश्वरको स्तरको उभिन सक्छन् र उनीहरू सृष्टि गरिएका प्राणीहरूमध्ये उच्च स्तरको बनेका छन् भनी सोच्नु हुँदैन। परमेश्वरले तँलाई जति धेरै वरदानहरू दिनुभएको भए पनि, वा उहाँले तँलाई जति धेरै अनुग्रह दिनुभएको भए पनि, वा उहाँले तँसँग जति नै दयालु व्यवहार गर्नुभएको भए पनि, वा उहाँले तँलाई केही विशेष प्रतिभाहरू दिनुभएको भए पनि वा नभए पनि, ती कुनै पनि कुरा तेरो सम्पत्ति होइनन्। तँ सृष्टि गरिएको प्राणी होस्, र सधैँ सृष्टि गरिएको प्राणी नै रहन्छस्। तैँले कहिल्यै पनि यस्तो सोच्नु हुँदैन, “म परमेश्वरको हातको एक सानो र प्रिय व्यक्ति हुँ। परमेश्वरले मलाई कहिल्यै त्याग्नुहुन्न, मप्रतिको परमेश्वरको आचरण सधैँ प्रेम, हेरचाह, वास्ता अनि सान्त्वना र उपदेशका मधुर शब्दहरू बोल्दै कोमल छुवाइ प्रदान गर्ने किसिमको हुनेछ।” यसको विपरीत, सृष्टिकर्ताको नजरमा, तँ सृष्टि गरिएका अन्य सबै प्राणीहरू जस्तै छस्; परमेश्वरले तँलाई उहाँको इच्छाअनुसार प्रयोग गर्न सक्नुहुन्छ, र तँलाई उहाँको इच्छा अनुसार योजनाबद्ध गर्न सक्नुहुन्छ, र उहाँले सबै किसिमका मानिसहरू, घटनाहरू र परिस्थितिहरूको बीचमा तैँले खेल्नु पर्ने कुनै पनि भूमिका आफ्नो इच्छाअनुसार मिलाउन सक्नुहुन्छ। मानिसहरू हुनुपर्ने ज्ञान र समझ यही हो। यदि व्यक्तिले यी वचनहरूलाई बुझ्न र स्वीकार गर्न सक्छ भने, परमेश्वरसँगको उनीहरूको सम्बन्ध सामान्य हुँदै जान्छ, र उनीहरूले उहाँसँग उचित सम्बन्ध स्थापित गर्नेछन्; यदि व्यक्तिले यी वचनहरूलाई बुझ्न र स्वीकार गर्न सक्छ भने, उनीहरूले आफ्नो स्थितिलाई अनुकूल बनाउन, त्यहाँ आफ्नो स्थान लिन, र आफ्नो कर्तव्य सम्हाल्न सक्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता बुझेर मात्र व्यक्तिले परमेश्वरका कार्यहरू चिन्न सक्छ
जब मानिसहरूले परमेश्वरको बारेमा गलत बुझाइ र धारणाहरू विकास गर्छन्, तब तिनीहरूले सुरुमा परमेश्वर नै सत्यता हुनुहुन्छ र मानिसहरूसँग सत्यता छैन, र गल्ती गर्ने अवश्य नै तिनीहरू नै हुन् भन्ने कुरालाई स्वीकार गर्नुपर्छ। के यो एक प्रकारको औपचारिकता हो? (होइन।) यदि तैँले यो अभ्यासलाई औपचारिकता ठानेर सतही रूपमा मात्रै लागू गर्छस् भने, के तैँले आफ्नै गल्तीलाई जान्नेछस् त? कहिल्यै जान्नेछैनस्। आफैलाई चिन्नको लागि थुप्रै चरणहरू पूरा गर्नुपर्छ। पहिला, तैँले तेरा कार्यहरू सत्यता र सिद्धान्तहरूअनुरूप छन् कि छैनन् सो निर्धारित गर्नुपर्छ। आफ्ना चासोहरूलाई सबैभन्दा पहिला नहेर्; कहिलेकहीँ तेरा अभिप्रायहरू सही भए पनि तैँले अभ्यास गर्ने सिद्धान्तहरू गलत हुन्छन्। के यस्तो परिस्थिति प्रायजसो आइरहन्छ? (आइरहन्छ।) अनि, म किन तेरा अभ्यासका सिद्धान्तहरू गलत छन् भन्ने गर्छु? तैँले खोजी गरेको हुन सक्छ, तर सायद सिद्धान्तहरू भनेका के हुन् भन्नेबारेमा तँसँग कुनै बुझाइ नहुन सक्छ; सायद तैँले खोजी नै नगरेको हुन सक्छ, र तँले तेरा कार्यहरूलाई तेरा असल अभिप्राय र जोसको आधारमा, र तेरो कल्पना र अनुभवको आधारमा अघि बढाएको, र फलस्वरूप तैँले गल्ती गरेको हुन सक्छ। के तैँले त्यो परिकल्पना गर्न सक्छस्? तैँले कुनै कुरा पूर्वानुमान गर्न सकिनस् भने, तैँले गल्ती गरेको हुन्छस्—र त्यसपछि के तेरो प्रकाश भएको हुँदैन र? यदि प्रकाश भएपछि तँ परमेश्वरसित जोरी खोजिरहन्छस् भने, यसमा कहाँनेर गल्ती छ? (परमेश्वर सही हुनुहुन्छ भनी नस्विकार्नु र म सही छु भनी जिद्दी गर्नुमा गल्ती छ।) तैँले त्यही कारणले गर्दा नै गल्ती गरिस्। तेरो सबभन्दा ठूलो गल्ती यो थिएन कि तैँले केही गलत काम गरिस् र सिद्धान्तहरू उल्लङ्घन गरिस्, अनि त्यसमार्फत क्षति वा अन्य परिणामहरू निम्त्याइस्, तेरो गल्ती त यो हो कि तैँले केही गलत काम गरेपछि पनि तँ अझै आफ्नो तर्कमा जिद् कस्छस् र आफ्नो गल्ती स्विकार्दैनस्; तँ अझै पनि तेरा आफ्नै धारणा र कल्पनाहरूको आधारमा परमेश्वरको विरोध गर्छस्, अनि उहाँको काम र उहाँले व्यक्त गर्नुभएका सत्यताहरू नकार्छस्—यो नै तेरो सबभन्दा ठूलो र गम्भीर गल्ती थियो। व्यक्तिको यस्तो स्थितिलाई किन परमेश्वरविरोधी स्थिति भन्ने गरिन्छ? (किनभने उसले आफूले गरिरहेको काम गलत हो भनी स्विकार्दैन।) मानिसहरूले परमेश्वरले गर्नुहुने सबथोक र उहाँको सार्वभौमिकता सही हुन्, र तिनीहरूको के महत्त्व छ भनी चिने पनि नचिने पनि, यदि तिनीहरूले सुरुमा आफू गलत छु भनी चिन्न सक्दैनन् भने, तिनीहरूको स्थिति परमेश्वरविरोधी स्थिति हो। यो स्थिति सच्याउन के गर्नुपर्छ? सुरुमा, व्यक्तिले आफूलाई नकार्नुपर्छ। हामीले भर्खरै पहिला परमेश्वरका अभिप्रायहरू खोज्नुपर्नेबारे जे भन्यौँ त्यो मानिसहरूको लागि खासै व्यावहारिक छैन। अनि, कतिपयले भन्छन्, “यदि त्यो खासै व्यावहारिक छैन भने, के त्यसको अर्थ खोजी गर्नु जरुरी छैन भन्ने होइन र? खोज्न र बुझ्न सकिने कतिपय कुराहरू त खोज्न जरुरी हुँदैन—म त्यो चरणलाई त छोड्दिन सक्छु।” यसो गर्दा हुन्छ त? (हुँदैन।) के यस्तो शैलीमा काम गर्ने व्यक्ति मुक्ति पाउनै नसक्ने हुँदैन र? यस्ता मानिसहरूको बुझाइमा विकृति हुन्छ। परमेश्वरको इच्छा खोज्नु अलि टाढाको कुरा हो र त्यो तुरुन्तै प्राप्त गर्न सकिँदैन; छिटोमिठोको लागि, पहिला आफूलाई त्याग्नु, आफ्ना कार्यहरू गलत छन् र सत्यताबमोजिम छैनन् भनी जान्नु, र त्यसपछि सत्यता सिद्धान्तहरू खोज्नु बढी व्यावहारिक हुन्छ। यसका चरणहरू यिनै हुन्। यी कुरा सरल देखिन सक्छन्, तैपनि तिनलाई अभ्यास गर्ने कार्यमा धेरै कठिनाइहरू समावेश हुन्छन्, किनभने मानिसहरूसँग भ्रष्ट स्वभावका साथै कल्पना गर्ने बानी हुन्छ, हरप्रकारका मागहरू हुन्छन्, र तिनीहरूसँग इच्छाहरू पनि हुन्छन्, र यी सबैले मानिसहरूले आफूलाई इन्कार गर्ने र त्याग्ने काममा वाधा दिन्छन्। यी कार्य गर्नु सहज छैन।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (३)
परमेश्वरले गर्नुहुने सबै कुरामा अर्थ हुन्छ, र तँलाई त्यो स्विकार्न सजिलो भए नि, वा तँलाई त्यो स्विकार्न गाह्रो भए नि र यसले तँमा धारणाहरू पैदा गर्ने सम्भावना भए नि, चाहे जुनसुकै हकमा पनि, यसको फलस्वरूप परमेश्वरको पहिचान परिवर्तन हुँदैन; उहाँ सधैँ सृष्टिकर्ता नै रहनुहुनेछ, र तँ सधैँ सृष्टि गरिएको प्राणी रहनेछस्। यदि तँ कुनै पनि धारणाद्वारा सीमित हुँदैनस्, र अझै पनि सृष्टि गरिएको प्राणी र सृष्टिकर्ताको रूपमा परमेश्वरसँगको सम्बन्ध कायम गर्न सक्छस् भने, तँ परमेश्वरको सृष्टि गरिएको साँचो प्राणी होस्। यदि तँ कुनै पनि धारणाको प्रभाव वा बाधामा नपर्न सक्षम छस्, र हृदयदेखि नै परमेश्वरमा साँचो रूपमा समर्पित हुन सक्छस् भने, र यदि सत्यताबारे तेरो बुझाइ गहन भए नि वा सतही भए नि तैँले धारणाहरू पन्छाउन सक्छस्, र तँ तीद्वारा बाधित नभई बस्न सक्छस्, र परमेश्वर नै सत्यता, बाटो, र जीवन हुनुहुन्छ, परमेश्वर सदासर्वदा परमेश्वर नै रहनुहुनेछ, र परमेश्वरले गर्ने कुरा गलत हुँदैन भनेर विश्वास गर्छस् भने, तैँले मुक्ति पाउन सक्छस्। वास्तवमा, हरेकको कद सीमित हुन्छ। मानिसहरूक दिमागमा कति कुराहरू अटाउन सक्छ र? के तिनीहरूले परमेश्वरलाई बुझ्न सक्छन् र? त्यो त कामना मात्र हो! यो कुरा नबिर्सी: परमेश्वरअघि मानिसहरू सदैव शिशुहरू हुन्। यदि तँलाई आफू चलाख छु भन्ने लाग्छ भने, यदि तँ सधैँ चलाख बन्ने प्रयास गर्छस्, र सबै कुरा पत्ता लगाउने प्रयास गर्छस्, र “यदि मैले यो कुरा बुझ्न सकिनँ भने, म तपाईं मेरो ईश्वर हुनुहुन्छ भनेर स्विकार्न सक्दिनँ, म तपाईं मेरो ईश्वर हुनुहुन्छ भनेर मान्न सक्दिनँ, र म तपाईं सृष्टिकर्ता हुनुहुन्छ भनेर स्विकार्न सक्दिनँ। यदि तपाईंले मेरा धारणाहरू समाधान गर्नुभएन भने, तपाईं सपना मात्रै देख्दै हुनुहुन्छ कि म तपाईं ईश्वर हुनुहुन्छ भनेर स्विकार्नेछु, मैले तपाईंको सार्वभौमिकता स्विकार्नेछु, र म तपाईंमा समर्पित हुनेछु” भनेर सोच्छस् भने, यो समस्याजनक कुरा हो। कसरी? परमेश्वरले तँसँग त्यस्ता कुराहरूबारे तर्क गर्नुहुन्न। मानिसको हकमा उहाँ कहिल्यै पनि यस्तो हुनुहुनेछैन: यदि तैँले परमेश्वर तेरो परमेश्वर हुनुहुन्छ भनेर स्विकार्दैनस् भने, उहाँले तँ उहाँको सृष्टि गरिएको एक प्राणी होस् भनेर स्विकार्नुहुनेछैन। जब परमेश्वरले तँलाई उहाँको सृष्टि गरिएको एक प्राणी होस् भनेर स्विकार्नुहुन्न, तब परमेश्वरप्रतिको तेरो मनोवृत्तिको कारण परमेश्वरसँगको तेरो सम्बन्धमा बदलाव आउँछ। यदि तँ परमेश्वरमा समर्पित हुन, र परमेश्वरको पहिचान र सार, अनि परमेश्वरले गर्नुहुने सबै कुरा स्विकार्न सक्दैनस् भने, तेरो पहिचानमा बदलाव आउनेछ। अनि के तँ अझै पनि सृष्टि गरिएको प्राणी हुन्छस् र? परमेश्वरले तँलाई स्विकार्नुहुन्न; तर्क गर्नुको कुनै अर्थ छैन। अनि यदि तँ सृष्टि गरिएको प्राणी होइनस्, र परमेश्वरले तँलाई चाहनुहुन्न भने, के तँसँग अझै मुक्ति पाउने आशा हुन्छ र? (हुँदैन।) परमेश्वरले किन तँलाई सृष्टि गरिएको प्राणीको रूपमा लिनुहुन्न? तँ सृजित प्राणीले पूरा गर्नुपर्ने जिम्मेवारी र कर्तव्यहरू पूरा गर्न सक्दैनस्, र तैँले सृष्टिकर्तासँग सृष्टि गरिएको प्राणीको स्थानबाट व्यवहार गर्दैनस्। त्यसैले परमेश्वरले तँसँग कसरी व्यवहार गर्नुहुनेछ? उहाँले तँलाई कसरी हेर्नुहुनेछ? परमेश्वरले तँलाई मापदण्डअनुसारको सृजित प्राणीका रूपमा हेर्नुहुनेछैन, बरु एउटा भ्रष्ट, दियाबलस र शैतानको रूपमा हेर्नुहुनेछ। के तैँले आफूलाई चलाख ठानेको थिइनस् र? अनि तैँले कसरी आफूलाई दियाबलस र शैतान बनाएको छस्? यो चलाखपन होइन, यो त मूर्खता हो। यी वचनहरूले मानिसहरूलाई के बुझ्न मद्दत गर्छन्? मानिसहरू परमेश्वरसामु नियमअनुसार चल्नैपर्छ भनेर बुझ्न मद्दत गर्छन्। यदि तँसँग धारणाहरू हुने कारण छ नै भने पनि, तैँले आफसँग सत्यता छ, र तँसँग परमेश्वरविरुद्ध होहल्ला गर्ने र उहाँलाई सीमित गर्ने पूँजी छ भन्ने नसोच्। तैँले अरू जेसुकै गर्, तर त्यस्तो नबन्। तैँले सृष्टि गरिएको प्राणीको रूपमा रहेको आफ्नो पहिचान गुमाएपछि, तँ नष्ट हुनेछस्—यो कुनै मजाक होइन। यो ठ्याक्कै किन हो भने, जब मानिसहरूमा धारणाहरू हुन्छन्, तब तिनीहरू फरक शैली लिन्छन् र फरक समाधान अपनाउँछन्, त्यसकारण परिणामहरू पूर्ण रूपमा फरक हुन्छन्।
—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (१६)
मानिसहरूका धारणाहरूलाई परमेश्वरका वचनहरूमार्फत र सत्यता प्रयोग गरेर समाधान गर्न सकिन्छ; मानिसहरूलाई धर्मसिद्धान्त प्रचार र अर्ती प्रदान गरेर तिनलाई हटाउन सकिँदैन—यो त्यति सजिलो छैन। मानिसहरूमा धर्मी मामलाप्रति कुनै प्रतिबद्धता हुँदैन, बरु तिनीहरू विविध धारणा वा दुष्ट, विकृत र अर्थहीन कुराहरूमा टाँसिइरहने सम्भावना हुन्छ, जुन कुरा हटाउन तिनीहरूलाई कठिन हुन्छ। यसको कारण के हो? तिनीहरूमा भ्रष्ट स्वभावहरू भएकोले यस्तो भएको हो। मानिसहरूको धारणा चाहे ठूलो होस् वा सानो, वा गम्भीर होस् वा अगम्भीर, यदि तिनीहरूमा भ्रष्ट स्वभावहरू छैनन् भने, यी धारणाहरू समाधान गर्न सजिलो हुन्छ। आखिर, धारणा भनेको त एउटा सोच्ने तरिका मात्र न हो। तर अहङ्कार, हठीपन, र दुष्टताजस्ता मानिसहरूका भ्रष्ट स्वभावहरूको कारण, धारणाहरू मानिसहरूलाई परमेश्वरको विरोध गर्ने, गलत व्याख्या गर्ने, र परमेश्वरको आलोचना गर्ने तुल्याउने उत्प्रेरक बन्छन्। परमेश्वरबारे धारणाहरू बोक्दाबोक्दै पनि को उहाँप्रति समर्पित हुन र उहाँको प्रशंसा गर्न सक्छ? कोही सक्दैन। धारणाहरू बोकेर मानिसहरू परमेश्वरसँग परस्पर विरोधमा हुन्छन्, तिनीहरू उहाँबारे गुनासो गर्छन्, र उहाँलाई आलोचना र निन्दासमेत गर्छन्। धारणाहरू भ्रष्ट स्वभावभित्रबाटै उत्पन्न हुन्छन्, धारणाको देखापराइ भ्रष्ट स्वभावहरूको प्रकटीकरण हो, र प्रकट हुने सबै भ्रष्ट स्वभावहरू परमेश्वरविरुद्ध विद्रोही र परमेश्वरप्रति प्रतिरोधी हुन्छन् भनेर देखाउन यति काफी छ। कतिपय मानिसहरू भन्छन्, “ममा धारणाहरू छन्, तर म परमेश्वरको प्रतिरोध गर्दिनँ।” यो भ्रामक कुरा हो। तिनीहरूले केही नभने पनि, हृदयमा तिनीहरू अझै विरोधी नै हुन्छन्, र तिनीहरूको व्यवहार विरोधी नै हुन्छ। के यस्ता मानिसहरू यस्तो भएर पनि सत्यताप्रति समर्पित हुन सक्छन् र? यो असम्भव छ। भ्रष्ट स्वभावद्वारा सञ्चालित भएकोले तिनीहरू आफ्ना धारणाहरूमा टाँसिइरहन्छन्—यो तिनीहरूका भ्रष्ट स्वभावको कारण निम्तिएको हो। त्यसैले, जब धारणाहरू समाधान हुन्छन्, मानिसहरूका भ्रष्ट स्वभावहरू पनि समाधान हुन्छन्। यदि मानिसहरूका भ्रष्ट स्वभावहरू समाधान भएका छन् भने, तिनीहरूका धेरै अपरिपक्व, बालकका जस्ता सोचविचारहरू, र पहिल्यै धारणा बनिसकेका कुराहरूसमेत तिनीहरूको लागि समस्या बन्दैनन्; ती विचारहरू मात्र हुन्छन्, र तिनले कर्तव्य पूरा गर्ने कार्यमा वा परमेश्वरप्रति समर्पित हुनमा कुनै प्रभाव पार्दैनन्। धारणाहरू र भ्रष्ट स्वभावहरू जोडिएका हुन्छन्। कहिलेकहीँ तेरो हृदयमा कुनै धारणा हुन्छ, तर त्यसले तेरा कार्यहरूलाई निर्देशित गर्दैन। जब त्यसले तेरो तत्काल चासोहरूमा अतिक्रमण गर्दैन, तब तैँले त्यसमा ध्यान नदे। तापनि, त्यसमा ध्यान नदिनुको अर्थ तेरो धारणामा भ्रष्ट स्वभाव छैन भन्ने हुँदैन, र जब तेरो धारणासँग नमिल्ने केही कुरा हुन्छ, तँ तेरो स्वभावद्वारा नियन्त्रित एक निश्चित मनोवृत्तिसहित त्यसमा टाँसिन्छस्। यो स्वभाव हठीपन हुन सक्छ, यो अहङ्कार हुन सक्छ, र यो आक्रामकता हुन सक्छ; त्यसले तँलाई परमेश्वरप्रति आफ्नो मुख खोलेर यसो भन्ने तुल्याउँछ, “मेरो दृष्टिकोणलाई धेरैपटक शैक्षिक रूपमा मान्य गरिएको छ। मानिसहरूले हजारौँ वर्षदेखि यो धारणा राखेका छन्, मैले किन राख्न मिल्दैन? तपाईंले भन्नुहुने मानव धारणासँग अमिल्दा कुराहरू गलत छन्, तर तपाईंले अझै कसरी ती सत्यता हुन्, ती अरू सबै कुराभन्दा माथि छन् भनेर भन्न सक्नुहुन्छ? मेरो दृष्टिकोण सारा मानवजातिमा सबैभन्दा उच्च छ!” एउटा धारणाले तँलाई यस्तो व्यवहार गर्ने, चर्को सोरमा आक्रामक भएर बोल्ने बनाउन सक्छ। कुन कुराले यस्तो गराउँछ? (भ्रष्ट स्वभावहरूले।) ठिक भनिस्, यो भ्रष्ट स्वभावहरूले गराएको हो। धारणा र मानिसहरूका भ्रष्ट स्वभावबीच एउटा सम्बन्ध हुन्छ, र तिनीहरूका धारणाहरू समाधान गरिनैपर्छ। परमेश्वरमाथिको विश्वासबारेका मानिसहरूका धारणाहरूलाई सम्बोधन गरिएपछि, तिनीहरूलाई परमेश्वरका घरको कामका व्यवस्थाहरूमा समर्पित हुन सजिलो हुन्छ, र त्यसैले तिनीहरूले अझ राम्ररी सुचारु ढङ्गले कर्तव्य निभाउँछन्, तिनीहरू बाङ्गोटिङ्गो बाटो हिँड्दैनन्, तिनीहरूले अवरोध वा बाधा पुर्याउँदैनन्, र तिनीहरूले त्यस्तो केही गर्दैनन् जसको कारण परमेश्वरलाई लाज हुन्छ। यदि मानिसहरूका धारणा र कल्पनाहरूलाई सम्बोधन गरिएन भने, तिनीहरूले सजिलै बाधा र अवरोधहरू ल्याउने कार्यहरू गर्न सक्छन्। धेरै गम्भीर अवस्थाहरूमा, मानिसहरूका धारणाहरूले तिनीहरूमा परमेश्वरको देहधारणप्रति हरप्रकारको विरोध सिर्जना गराउन सक्छन्। जहाँसम्म धारणाहरूको कुरा छ, ती निश्चय नै गलत विचारहरू हुन् जुन सत्यतासँग अमिल्दा हुन्छन्, ती पूर्ण रूपमा सत्यताविरोधी हुन्छन्, र तिनले मानिसहरूमा परमेश्वरप्रति हरप्रकारका विरोधी भावनाहरू सिर्जना गर्न सक्छन्। यो विरोधले तँलाई ख्रीष्टमाथि प्रश्न गर्ने बनाउँछ र तँ उहाँलाई स्विकार्न वा उहाँप्रति समर्पित हुन असमर्थ बन्छस्, र यस क्रममा त्यसले सत्यता स्विकार्न र सत्यता वास्तविकतामा प्रवेश गर्नमा पनि तँलाई असर पार्छ। अझ धेरै गम्भीर अवस्थाहरूमा, परमेश्वरको कामबारेका मानिसहरूका विभिन्न धारणाहरूले तिनीहरूलाई परमेश्वरको काम, परमेश्वरको काम गर्ने तरिकाहरू, र परमेश्वरको सार्वभौमिकता र प्रबन्धहरू इन्कार्ने बनाउँछ—जुन अवस्थामा तिनीहरूले कुनै पनि प्रकारले मुक्ति पाउने आशा हुँदैन। मानिसहरूमा परमेश्वरको जुनै पक्षबारे धारणाहरू भए पनि, यी धारणाहरूको पछाडि तिनीहरूका भ्रष्ट स्वभावहरू लुकेका हुन्छन्, जसले मानिसहरूलाई आफ्नै भ्रष्ट स्वभावहरू प्रयोग गर्दै परमेश्वरको काम, परमेश्वर स्वयम्, अनि परमेश्वरको स्वभावबारे बोल्ने अरू बहाना प्रदान गर्दै यी भ्रष्ट स्वभावहरूलाई अझ बढी खराब बनाउन सक्छन्। अनि के यसले तिनीहरूलाई आफ्नै भ्रष्ट स्वभाव प्रयोग गर्दै परमेश्वरको विरोध गर्ने उत्साह दिँदैन र? मानिसहरूको धारणाहरूको परिणाम यही हो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्वरमा विश्वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१)
जब धारणाहरू देखा पर्छन्, तब धारणा जस्तोसुकै भए पनि, सुरुमा यो सोचाइ सही छ कि छैन भनेर आफ्नो हृदयमा मनन र विश्लेषण गर्। यदि तँलाई स्पष्ट रूपमा यो सोचाइ गलत र विकृत छ, र यो परमेश्वरको ईशनिन्दा हो भन्ने लाग्छ भने, तुरुन्तै प्रार्थना गर्, र परमेश्वरलाई यो समस्याको सार पहिचान गर्न अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस् भनेर अनुरोध गर्, र त्यसपछि भेलामा आफ्नो बुझाइबारे छलफल गर्। अनि परिस्थितिलाई बुझने र अनुभव गर्ने क्रममा, आफ्ना धारणाहरू समाधान गर्ने कार्यमा ध्यान दे। यदि यसरी अभ्यास गर्दा स्पष्ट परिणामहरू प्राप्त हुँदैनन् भने, तैँले सत्यता बुझेको व्यक्तिसँग सत्यताको यो पक्षबारे सङ्गति गर्नुपर्छ, र अरूबाट सहयोग र परमेश्वरका वचनहरूबाट समाधानहरू प्राप्त गर्ने प्रयास गर्नुपर्छ। परमेश्वरका वचनहरू र तेरा अनुभवहरूमार्फत, तैँले परमेश्वरका वचनहरू सही छन् भन्ने कुरा क्रमिक रूपमा पुष्टि गर्नेछस्, र तैँले आफ्ना धारणाहरू समाधान गर्ने सवालमा ठूला परिणामहरू प्राप्त गर्नेछस्। परमेश्वरका त्यस्ता वचन र कामहरू स्वीकार र अनुभव गरेपछि, तैँले बल्ल परमेश्वरका अभिप्रायहरू बुझ्नेछस् र परमेश्वरको स्वभावबारे केही ज्ञान प्राप्त गर्नेछस्, र यसले तँलाई आफ्ना धारणाहरू त्याग्न र समाधान गर्न सक्षम बनाउनेछ। तैँले परमेश्वरलाई अबदेखि गलत रूपमा बुझ्नेछैनस् वा तँ उहाँविरुद्ध सतर्क हुनेछैनस्, न त तैँले अनुचित मागहरू नै गर्नेछस्। यो सहजै समाधान गर्न सकिने धारणाहरूको कुरा हो। तर एउटा अर्को प्रकारको धारणा पनि छ जसलाई बुझ्न र समाधान गर्न मानिसहरूलाई गाह्रो हुन्छ। समाधान गर्न गाह्रो रहेका धारणाहरूको हकमा, तैँले पालना गर्नुपर्ने एउटा सिद्धान्त छ: तिनलाई व्यक्त गर्ने वा फैलाउने नगर्, किनभने त्यस्ता धारणाहरू व्यक्त गर्दा त्यसले अरूलाई फाइदा गर्दैन; यो त परमेश्वरलाई अवज्ञा गरेको तथ्य हो। यदि तैँले धारणाहरू फैलाउनुका प्रकृति र परिणामहरू बुझ्छस् भने, तैँले यसलाई स्पष्ट रूपमा आफै राम्ररी मापन गर्नुपर्छ र लापरवाह रूपमा बोल्नबाट टाढा बस्नुपर्छ। यदि तैँले “मण्डलीमा मेरा शब्दहरू रोकेर राख्दा साह्रै नमिठो लाग्छ; मलाई त म विस्फोट हुन्छु जस्तो लाग्छ” भनेर भन्छस् भने, तैँले अझै पनि यी धारणाहरू फैलाउँदा परमेश्वरका चुनिएका मानिसहरूको लागि साँच्चै फाइदाजनक हुन्छ कि हुँदैन भनेर विचार गर्नुपर्छ। यदि यो फाइदाजनक छैन र यसले गर्दा अरूले परमेश्वरबारे धारणाहरू राख्छन्, वा परमेश्वरलाई अवज्ञा र आलोचना गर्नसमेत सक्छन् भने, के तैँले परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गरिरहेको हुँदैनस् र? तैँले मानिसहरूलाई हानि गरिरहेको हुन्छस्; यो महामारी फैलाउनुभन्दा फरक हुँदैन। यदि तँसँग साँच्चै नै समझ छ भने, तैँले धारणाहरू फैलाएर अरूलाई हानि गर्नुको सट्टा आफै पीडा भोग्न चाहनेछस्। तैपनि, यदि तँलाई आफ्ना शब्दहरू रोकेर राख्दा पीडा हुन्छ भने, तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। यदि समस्या समाधान भयो भने, के त्यो राम्रो कुरा होइन र? यदि तैँले परमेश्वरलाई प्रार्थना गर्दासमेत आफ्ना धारणाहरूद्वारा उहाँलाई आलोचना गर्दै गलत बुझ्छस् भने, तैँले आफूलाई नै समस्यामा पारिरहेको हुन्छस्। तैँले परमेश्वरलाई यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्वर, ममा यी विचारहरू छन्, र म तिनलाई त्याग्न चाहन्छु, तर सक्दिनँ। बिन्ती छ मलाई अनुशासित गर्नुहोस्, विभिन्न वातावरणहरूद्वारा मलाई खुलासा गर्नुहोस्, र मेरा धारणाहरू गलत छन् भनेर पहिचान गर्न मलाई मद्दत गर्नुहोस्। तपाईँले मलाई जसरी अनुशासनमा राख्नुभए पनि, स्वीकार गर्न तयार छु।” यो मानसिकता सही छ। यस्तो मानसिकता लिएर परमेश्वरसँग प्रार्थना गरेपछि, के तँलाई कम उकुसमुकुस हुँदैन र? यदि तैँले प्रार्थना र खोजी जारी राखिस्, परमेश्वरबाट अन्तर्दृष्टि र ज्योति प्राप्त गरिस्, परमेश्वरका अभिप्रायहरू बुझिस्, र तेरो हृदय उज्यालो भयो भने, तँलाई अबदेखि उकुसमुकुस महसुस हुनेछैन। अनि, के समस्या समाधान हुनेछैन र? परमेश्वरप्रतिको तेरो धारणा, प्रतिरोध, र विद्रोहीपन लगभग हराउनेछ; कम्तीमा पनि, तँलाई ती कुरा व्यक्त गर्नुको आवश्यकता महसुस हुनेछैन। यदि त्यसले अझै पनि काम गरेन र समस्या पूर्ण रूपमा समाधान भएन भने, तेरा धारणाहरू समाधान गर्न मद्दत गर्ने अनुभव भएको व्यक्ति खोज्। तिनीहरूलाई तँसँग भएका धारणाहरू समाधान गर्नेसँग सम्बन्धित परमेश्वरका वचनहरूका केही खण्डहरू खोज्न लगा, र तिनलाई दर्जनौँ वा सयौँपटक पढ्; सम्भवतः तेरा धारणाहरू पूर्ण रूपमा समाधान हुनेछन्। कतिले यसो भन्न सक्छन्, “यदि मैले दाजुभाइ-दिदीबहिनीहरूसँगका भेलामा धारणाहरू व्यक्त गरेँ भने, त्यो धारणाहरू फैलाउने कार्य हुनेछ, त्यसकारण म त्यसो गर्न सक्दिनँ। तर ती कुरा लुकाएर राख्दा साह्रै नराम्रो लाग्छ। के मैले मेरो परिवारसँग यसबारे कुरा गर्न सक्छु?” यदि तेरो परिवारका सदस्यहरू पनि विश्वासी दाजुभाइ-दिदीबहिनीहरू हुन् भने, तिनीहरूको वरपर यी धारणाहरू व्यक्त गर्दा तिनीहरूलाई पनि बाधा हुनेछ। के यो उचित हुन्छ त? (हुँदैन।) यदि तैँले भनेको कुराले अरूलाई खराब प्रभाव पार्छ, तिनीहरूलाई हानि गर्छ र बहकाउँछ भने, तैँले त्यो कुरा कदापि भन्नु हुँदैन। बरु, समस्या समाधान गर्न परमेश्वरलाई प्रार्थना गर्। यदि तैँले भक्त हृदयले, धार्मिकताका लागि भोकाउने र तिर्खाउने हृदयले प्रार्थना गरिस् र परमेश्वरका वचनहरू खाने-पिउने गरिस् भने, तेरा धारणाहरू समाधान हुन सक्छन्। परमेश्वरका वचनहरूमा समग्र सत्यता हुन्छ; तिनले कुनै पनि समस्या समाधान गर्न सक्छन्। यो तैँले सत्यता स्वीकार गर्न सक्छस् कि सक्दैनस् र तँ परमेश्वरका वचनहरू अभ्यास गर्न तयार छस् कि छैनस्, र तैँले आफ्ना धारणाहरू त्याग्न सक्छस् कि सक्दैनस् भन्ने कुरामा मात्रै निर्भर हुन्छ। यदि तँलाई परमेश्वरका वचनहरूमा समग्र सत्यता हुन्छ भन्ने विश्वास छ भने, तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ र समस्याहरू देखा पर्दा तिनलाई समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यदि केही समयसम्म प्रार्थना गरेपछि, तँलाई अझै पनि परमेश्वरले अन्तर्दृष्टि दिनुभएको अनुभव हुँदैन र तैँले के गर्ने भन्नेबारे परमेश्वरबाट स्पष्ट वचनहरू प्राप्त गरेको हुँदैनस्, तर अचेतन रूपमै तेरा धारणाहरूले तँलाई आन्तरिक रूपमा असर गर्न छोड्छन्, अब देखि तेरो जीवनमा बाधा दिँदैनन्, र ती बिस्तारै हराउँदै जान्छन्, र तिनले परमेश्वरसँगको तेरो सामान्य सम्बन्धमा असर गर्दैनन्, र अवश्य नै तेरो कर्तव्य निर्वाह गर्ने कार्यमा पनि असर गर्दैनन् भने, के यो धारणा लगभग समाधान भएको हुँदैन र? (हुन्छ।) अभ्यासको मार्ग भनेकै यही हो।
—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (१६)
धारणाहरूको हकमा कसरी अभ्यास गर्ने भन्नेबारेमा, के तिमीहरूसँग सिद्धान्तहरू छन्? … तिमीहरूले सत्यता र सिद्धान्तहरू बुझेपछि, स्वाभाविक रूपमै तिमीहरूका धारणाहरू समाधान हुनेछन्। तैँले तेरा धारणाहरूलाई तँमाथि बाधा वा ठेस पुर्याउन दिनु हुँदैन; समाधान गर्न सकिने ती धारणाहरू समाधान गर्न सक्दो गर्, र अस्थायी रूपमा समाधान गर्न नसकिने ती धारणाहरूको हकमा, कम्तीमा पनि तिनलाई तँमाथि असर पुर्याउन नदे। तिनले तँलाई कर्तव्य निर्वाह गर्नबाट छेक्नु हुँदैन, न त तिनले परमेश्वरसँगको तेरो सम्बन्धमै असर पुर्याउनु हुन्छ। तैँले ध्यान दिनुपर्ने मुख्य कुरा के हो भने, तैँले कम्तीमा पनि धारणाहरू फैलाउनु हुँदैन, दुष्कर्म गर्नु हुँदैन, बाधा वा व्यवधानहरू पैदा गर्नु हुँदैन, र तैँले शैतानको सेवक वा शैतानको निकासको रूपमा काम गर्नु हुँदैन। यदि, तैँले जति नै प्रयास गरे पनि, केही धारणालाई सतही रूपमा मात्रै समाधान गर्न सकिन्छ तर पूर्ण रूपमा समाधान गर्न सकिँदैन भने, त्यसलाई बेवास्ता गर्। धारणाहरूलाई सत्यता खोजी गर्ने तेरो कार्य वा तेरो जीवन प्रवेशमा असर पुर्याउन नदे। यी सिद्धान्तहरूमा पोख्त बन्, अनि सामान्य परिस्थितिहरूमा तँ सुरक्षित हुनेछस्। यदि तँ सत्यता स्वीकार गर्ने, सकारात्मक कुराहरूलाई प्रेम गर्ने व्यक्ति होस्, दुष्ट व्यक्ति होइनस्, र तँ बाधा वा व्यवधानहरू ल्याउन अनिच्छुक हुन्छस्, र जानीजानी बाधा र व्यवधानहरू ल्याउँदैनस् भने, जब तैँले सामान्यतया धारणाहरू उत्पन्न हुने समस्या सामना गर्छस्, तब तँ सामान्यतया सुरक्षित नै हुनेछस्। अभ्यासको सबैभन्दा आधारभूत सिद्धान्त यही हो: यदि समाधान गर्न कठिन हुने धारणा देखा पर्यो भने, त्यो धारणाअनुसार काम गर्न हतार नगर्। पहिला, प्रतीक्षा गर् र यसलाई समाधान गर्न सत्यता खोजी गर्, परमेश्वरले गर्नुहुने कुरा गलत हुन सक्दैन भन्ने विश्वास गर्। यो सिद्धान्त याद राख्। त्यसबाहेक, आफ्नो कर्तव्य पन्छ्याउने नगर् वा आफ्ना कर्तव्य निर्वाहमा धारणालाई असर पुर्याउन नदे। यदि तँसँग धारणाहरू छन् र तैँले “म यो कर्तव्य जसोतसो टार्नेछु; म खराब मुडमा छु, त्यसकारण म तपाईंका लागि राम्रो काम गर्नेछैनँ” भनेर भन्छस् भने, यो राम्रो कुरा होइन। तेरो मनोवृत्ति नकारात्मक र झाराटारुवा बनेपछि, यो समस्याजनक बन्छ; यो तँभित्र धारणाहरूले काम गरेको हो। जब धारणाहरूले तँभित्र काम गर्छन् र तेरो कर्तव्य निर्वाहमा असर पुर्याउँछन्, तब यसको अर्थ यो बेला परमेश्वरसँगको तेरो सम्बन्ध वास्तवमा परिवर्तन भइसकेको छ भन्ने हुन्छ। कतिपय धारणाहरूले तेरो कर्तव्य निर्वाहमा असर पुर्याउन सक्छन्, र त्यो गम्भीर समस्या हो, र ती धारणाहरूलाई तुरुन्तै समाधान गरिनुपर्छ। कति अरू धारणाहरूले तेरो कर्तव्य निर्वाहमा वा परमेश्वरसँगको तेरो सम्बन्धमा असर पुर्याउँदैनन्, त्यसकारण ती मुख्य समस्याहरू होइनन्। यदि तैँले विकास गर्ने धारणाहरूले तेरो कर्तव्य निर्वाहमा असर पार्न सक्छन्, जसले गर्दा तैँले परमेश्वरमा शङ्का गर्न सक्छस्, आफ्नो कर्तव्य लगनशील भई निर्वाह गर्न सक्दैनस्—र आफ्नो कर्तव्य निर्वाह नगर्दा कुनै दुष्परिणाम आउनेछैन भन्नेसमेत सोच्छस्—र तँमा कुनै त्रास वा परमेश्वरको भय मान्ने हृदय छैन भने, यो खतरनाक कुरा हो। यसको अर्थ तँ परीक्षामा पर्नेछस्, र शैतानले तँलाई छल्नेछ र बन्दी बनाउनेछ। तेरा धारणाहरू र तैँले गर्ने छनौटप्रतिको तेरो मनोवृत्ति महत्त्वपूर्ण हुन्छ; धारणाहरू समाधान गर्न सकिए पनि नसकिए पनि, र तिनीहरूको समाधान जुनसुकै हदसम्म गर्न सकिए पनि, तँ र परमेश्वरबीचको सामान्य सबन्धमा परिवर्तन हुनु हुँदैन। एउटा कुरो, तैँले परमेश्वरले योजनाबद्ध गरेका सबै वातावरणमा समर्पित हुन सक्नुपर्छ, र परमेश्वरले गर्नुहुने हरेक कुरा सही र अर्थपूर्ण हुन्छ भनेर पुष्टि गर्न सक्नुपर्छ, र यो ज्ञान र सत्यताको यो पक्ष तेरा लागि कहिल्यै परिवर्तन हुनु हुँदैन। अर्को कुरो, तँलाई परमेश्वरले हस्तान्तरण गर्नुभएको कर्तव्यलाई तैँले पाखा लगाउनु हुँदैन, यसको बोझ तैँले आफूबाट हटाउनु हुँदैन। यदि, आन्तरिक वा बाहिरी रूपमा, तँसँग परमेश्वरप्रति कुनै प्रतिरोध, विरोध, विद्रोहीपन छैन भने, परमेश्वरले तेरो समर्पणता, र तँ पर्खिरहेको छस् भनेर मात्रै देख्नुहुनेछ। तँसँग अझै पनि धारणाहरू हुन सक्छन्, तर परमेश्वरले तेरो विद्रोहीपन देख्नुहुन्न। अनि तँभित्र कुनै विद्रोहीपन र विरोध नभएपछि, परमेश्वरले अझै पनि तँलाई सृष्टि गरिएको आफ्नो प्राणी सम्झनुहुन्छ। यसविपरीत, यदि तेरो हृदय गुनासो र अवज्ञाले भरिएको छ, र तैँले बदला लिने मौका खोजिरहेको छस्, र आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक छैनस्, तर तैँले यसको बोझ आफूबाट हटाउन खोजिरहेको छस्—यहाँसम्म कि, तेरो हृदयमा, परमेश्वरबारे सबै प्रकारका गुनासाहरू छन्, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा तँमा निश्चित प्रकारका अवज्ञा र द्वेषका प्रकटीकरणहरू देखा पर्छन् भने—त्यो बेला परमेश्वरसँगको तेरो सम्बन्धमा पहिले नै धेरै ठूलो परिवर्तन आइसकेको हुन्छ। तैँले पहिले नै परमेश्वरको सृष्टि गरिएको प्राणीको रूपमा रहेको स्थान छोडिसकेको हुन्छस्; तँ उप्रान्त सृष्टि गरिएको प्राणी हुँदैनस्, बरु तँ दियाबलसहरू र शैतानको वाहक बनेको हुन्छस्—र त्यसैले परमेश्वरले तँलाई कुनै दया देखाउनुहुनेछैन। जब कुनै व्यक्ति यो बिन्दुमा आइपुग्छ, ऊ डरलाग्दो क्षेत्रतर्फ अघि बढिरहेको हुन्छ। यदि परमेश्वरले केही गर्नुभएन भने पनि, ऊ मण्डलीमा दृढ रहन सक्नेछैन। त्यसैले, तिनीहरूले गर्ने प्रत्येक कुरामा—विशेषगरी धारणाहरू समाधान गर्ने जस्ता कुराहरू भएमा—मानिसहरूले परमेश्वरलाई चिढ्याउने, वा परमेश्वरले दोषी ठहराउनुभएका, वा अरूलाई चोट वा हानि पुर्याउने कुरा नगर्ने सवालमा सचेत हुनुपर्छ। यो नै सिद्धान्त हो।
मानिसहरूमा परमेश्वरबारे धारणाहरू हुनु सानो समस्या होइन! मानिसहरूले परमेश्वरसँगको सामान्य सम्बन्ध कायम राख्नु महत्त्वपूर्ण हुन्छ, तर यो सम्बन्धमा सबैभन्दा बढी असर पार्ने कुरा भनेको मानिसहरूका धारणाहरू हुन्। परमेश्वरबारेका मानिसहरूका धारणाहरू समाधान भएपछि मात्रै परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्न सकिन्छ। अहिले, धेरै मानिसहरूमा गम्भीर समस्या छ। तिनीहरूले परमेश्वरमा विश्वास गरेको जति नै धेरै वर्ष भए पनि, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा कष्ट भोग्न र मूल्य चुकाउन सक्षम नै भए पनि, सुरुदेखि अन्त्यसम्मै तिनीहरूका धारणाहरू पूर्णतया समाधान गर्न सक्दै सकिँदैन। यसले परमेश्वरसँगको तिनीहरूको सम्बन्धमा गम्भीर असर पार्छ र परमेश्वरप्रतिको तिनीहरूको प्रेम र उहाँप्रतिको तिनीहरूको समर्पणमा सीधै असर पार्छ। त्यसकारण, मानिसहरूले परमेश्वरबारे जुनसुकै धारणाहरू विकास गरे पनि, यो एउटा गम्भीर कुरा हो, जसलाई बेवास्ता गरिनु हुँदैन। धारणाहरू पर्खालजस्तै हुन्; तिनले परमेश्वरसँगको मानिसहरूको सम्बन्ध छेक्छन्, जसले गर्दा तिनीहरू परमेश्वरको मुक्तिको कामसँग असम्बन्धित बन्छन्। त्यसकारण, मानिसहरूले परमेश्वरबारे धारणाहरू राख्नु अत्यन्तै गम्भीर समस्या हो, जसलाई बेवास्ता गर्नु हुँदैन! यदि मानिसहरूमा धारणाहरू छन् र तिनीहरूले तुरुन्तै सत्यता खोजी गरेर ती समस्या समाधान गर्न सक्दैनन् भने, यसले सजिलै नकारात्मकता, परमेश्वरप्रतिको प्रतिरोध, र उहाँविरुद्ध शत्रुतासमेत पैदा गर्न सक्छ। के त्यसपछि तिनीहरूले अझै सत्यता स्विकार्न सक्छन् र? तिनीहरूको जीवन प्रवेश ठप्प हुनेछ। परमेश्वरको काम अनुभव गर्ने मार्ग अनियमित र खाल्टाखुल्टी परेको हुन्छ। मानिसहरूमा भ्रष्ट स्वभाव हुने भएकोले, तिनीहरूले कैयौँ छड्के बाटो अपनाउन सक्छन्, र तिनीहरूले कुनै पनि परिस्थितिमा धारणाहरू निर्माण गर्न सक्छन्। यदि सत्यता खोजी गरेर यी धारणाहरू समाधान गरिएन भने, मानिसहरूले परमेश्वरविरुद्ध विद्रोह गर्न र उहाँलाई अवज्ञा गर्न सक्छन्, उहाँप्रति शत्रुताको बाटो हिँड्न सक्छन्। मानिसहरूले ख्रीष्टविरोधीहरूको बाटो लिएपछि, तिमीहरूलाई के लाग्छ, के तिनीहरूको लागि मुक्ति पाउने मौका बाँकी हुन्छ? त्यो बेला सम्हाल्न सजिलो हुँदैन, र कुनै मौका बाँकी रहँदैन। त्यसैले, परमेश्वरले तँलाई आफ्नो सृष्टि गरिएको प्राणीको रूपमा इन्कार्नुभन्दा पहिले, तैँले परमेश्वरको सृष्टि गरिएको प्राणी कसरी बन्ने भनेर सिक्नुपर्छ। सृष्टिकर्ताको सूक्ष्मजाँच गर्ने वा तैँले विश्वास गरेको परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भनेर कसरी प्रमाणित र पुष्टि गर्ने भनेर पत्ता लगाउने प्रयास नगर्। यो तेरो दायित्व वा जिम्मेवारी होइन। तैँले हृदयमा सोच्नु र मनन गर्नुपर्ने भनेको आफ्नो कर्तव्य कसरी पूरा गर्ने र मापदण्डअनुसारको सृजित प्राणी कसरी बन्ने भन्नेबारे हो, तर तैँले हरदिन परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ कि हुन्न, वा उहाँ साँच्चै परमेश्वर हुनुहुन्छ कि हुन्न भनेर प्रमाणित गर्ने, वा परमेश्वरले के गर्नुभएको छ र उहाँका कार्यहरू सही छन् कि छैनन् भनेर सूक्ष्मजाँच गर्ने गर्नु हुँदैन। यी तैँले सूक्ष्मजाँच गर्नुपर्ने कुराहरू होइनन्।
—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्मेवारीहरू (१६)
सम्बन्धित भजनहरू
धारणा र कल्पनाले तँलाई परमेश्वर चिन्न कहिल्यै मदत गर्नेछैनन्